परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो

कतिपय मानिसहरूले वर्षौँसम्म परमेश्‍वरमा विश्‍वास गरेका छन् तर अझै पनि खाना, पोशाक, र देहका अन्य आनन्दहरूमै रमाउँछन्। के यी कुराहरूले मान्छेको हृदयका आवश्यकताहरू पूरा गर्न सक्छन्? मान्छेलाई सबैभन्दा बढी आवश्यक पर्ने कुराबारे परमेश्‍वरमा धेरै वर्ष विश्‍वास गरेका कतिपय मानिसहरूसमेत अस्पष्ट छन्। कतिपय मानिसहरू मैले कसैलाई केही कुरा दिएको देख्छन् र हङ्गामा गर्छन्, अनि यसो भन्छन्, “परमेश्‍वरले किन तिनीहरूको हेरचाह गर्नुहुन्छ तर मेरो गर्नुहुन्न? मैले त अझै हेरचाह पाएको छैन त।” वास्तवमा, तँ भोकै परिरहेको छैनस्, र तँलाई कपडाको अभाव छैन। तँ केवल लोभी भइरहेको छस्; तँ सन्तुष्टिबारे केही जान्दैनस्, र तँ विभिन्‍न कुराहरूको लागि होडबाजी गर्न रुचाउँछस्। तेरो हेरचाह गर्नु मेरो दायित्व होइन। तैँले सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्छ। कहिल्यै पनि आफ्नो स्वार्थ वा फाइदाको लागि नलड्। यी सबै बाह्य कुराहरू हुन्; यी कुराले तेरो सत्यता र जीवन प्राप्तिको स्थान लिन सक्दैनन्। बाहिर तैँले जतिसुकै राम्रो पोशाक लगाएको भए पनि, यदि तैँले सत्यता हासिल गरेको छैनस् भने तेरो हृदय अझै खोक्रो नै हुनेछ। बोल्‍ने मात्र हो भने त, मानिसहरूले यी कुराहरू बुझ्छन्, तर यी कुराहरू वास्तवमै सामना गर्नुपर्दा तिनीहरूले केही गर्नै सक्दैनन्। तिनीहरूले वास्तवमा आफू को हुँ भनेर चिन्नै सक्दैनन्। यस संसारमा सम्पति र शक्ति भएका थुप्रै मानिसहरू छन्, अनि यी मानिसहरूले कस्तो जीवनशैली जिउँछन्? केवल खाने, पिउने र मोजमस्ती गर्ने; हरेक दिन मस्त पिउने र खाने; पाहुनाहरूलाई मनोरञ्जन गराउने र उपहारहरू प्रदान गर्ने; र असंयम व्यवहार गर्ने। तिनीहरू यसरी नै जिउँछन्। के तिनीहरूमा मानव जीवन छ त? छैन। तिनीहरू दिनभरी नै भुँडी फुटुन्जेल खाने, ब्रान्डेड कपडाहरू लगाउने, जता गए पनि धाक देखाउने, र अरूमाथि अधिकार जमाउनमै केन्द्रित हुन्छन्। त्यस्ता मानिसहरू के हुन्? तिनीहरू दियाबलस शैतानका पात्रहरू हुन्; तिनीहरू क्रूर पशुहरू हुन्। जब धनी मानिसहरूलाई सुखसयल चाहिनेभन्दा बढी भइसकेको हुन्छ, तब तिनीहरूमध्ये केहीमा जिउने रुचि हराउँछ र तिनीहरूले आत्महत्या गर्छन्। तिनीहरूले खाना, कपडा, र मोजमस्तीको चाहिनेभन्दा बढि आनन्द लिएका होलान्, तर तिनीहरूले किन यसरी आफैलाई मारेको? यसबाट बुझ्न सकिन्छ कि प्रसिद्धि र लाभ, हैसियत, सम्पति, खाना, पोशाक, र आनन्दहरू वास्तवमा मानिसहरूलाई आवश्यक पर्ने कुराहरू बिलकुलै होइनन्। तिमीहरूले ती कुराहरू पछ्याउनु हुँदैन। यदि तँ मुक्ति पाउनै नसक्ने गरी पतित भएपछि मात्र सुध्रन खोज्छस् भने, त्यो अति ढिलो हुनेछ! जब कुनै बुद्दिमानी व्यक्तिले अर्को व्यक्ति असफल भएको देख्छ, उसले त्यसबाट सोझै अनुभव हासिल गर्छ, ऊ आफैले त्यो अनुभव गर्न जरुरी हुँदैन। अर्कोतर्फ, अज्ञानी व्यक्तिले एकपछि अर्को असफलताको अनुभव गर्न सक्छ तर पनि ती असफलताबाट पाठ सिक्नै सक्दैन। निराकरण र काटछाँटमा परेपछि मात्र तिनीहरूले केही बुझ्न थाल्छन्, तर त्यतिञ्जेल धेरै ढिलो भइसक्छ। अत्यन्तै अज्ञानीहरूले सत्यता हासिल गर्नै सक्दैनन्। परमेश्‍वरको काम अनुभव गर्ने बुद्धिमानी मानिसहरूले मात्र सत्यता हासिल गर्न सक्छन्। तथ्य के हो भने, सबै मानवजातिलाई सत्यता आवश्यक पर्छ, र सत्यता खोजी गरेर मात्र तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन्। चाहे तँ परमेश्‍वरका चुनिएका मानिसहरूमध्येकै एक भए पनि वा एक अविश्‍वासी भए पनि, तँलाई सत्यताको भरणपोषण र परमेश्‍वरको मुक्ति आवश्यक पर्छ। कतिपय मानिसहरूमा कति पनि मानवता हुँदैन र तिनीहरूले अलिअलि पनि सत्यता स्विकार्दैनन्—त्यस्ता मानिसहरू पशुवत् व्यवहारका हुन्छन्। तिनीहरू भेलाहरूमा सहभागी होलान्, तर तिनीहरूले हृदयमा जे खोजी गर्छन्, ती पापी खुसी, र खाना, पोशाक, र मोजमस्तीको खुसी हुन्, र तिनीहरू यिनै कुराहरूले भरिएका हुन्छन्। तिनीहरू सत्यता बिलकुलै खोज्दैनन्, र तिनीहरूको हृदय नास्तिक धारणा र क्रमिक विकासको सिद्धान्तका विचारहरूले भरिएको हुन्छ। तैँले तिनीहरूसित जे-जसरी सत्यता सङ्गति गरे पनि, तिनीहरूले तँलाई सुन्दैनन्, र परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो कुरा हो भनी तिनीहरूलाई थाहा भए पनि र तिनीहरू आफ्नो विश्‍वासमा लागिपर्न सक्ने भए पनि, तिनीहरू सत्यता पछ्याउने मार्गमा यात्रा गर्न सक्दैनन्। तसर्थ, सत्यताप्रति प्रेम नभएकाहरू परमेश्‍वरले उहाँको मुक्तिको लागि पूर्वनिर्धारित गर्नुभएका मानिसहरू होइनन्।

अहिले धेरै मानिसहरूमा परमेश्‍वरप्रति भयानक रूपले दोधारे विश्‍वास छ। तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गरेर के हासिल गर्नुपर्छ भन्‍ने नै थाहा छैन; तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ नै थाहा छैन—तिनीहरूमा त्यस्तो कुनै ज्ञान नै छैन। मान्छेले केको लागि जिउनुपर्छ, तिनीहरू केद्वारा जिउनुपर्छ, वा कसरी मूल्यवान्‌ र महत्त्वपूर्ण तरिकामा जिउने भन्नेबारे तिनीहरूलाई बिलकुलै केही थाहा छैन। यदि परमेश्‍वरमा तैँले किन विश्‍वास गर्नुपर्छ भन्‍नेबारे हृदयमा तँ अनिश्‍चित छस् भने, तैँले परमेश्‍वरप्रतिको तेरो विश्‍वासको कारण भोग्ने उत्पीडन र पीडाको कुनै मूल्य वा महत्त्व हुँदैन। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेर प्राप्त गर्न खोज्ने ठ्याक्कै कुरा के हो? यदि तैँले सत्यता र जीवन प्राप्त गर्न विश्‍वास गरेको हैनस् भने, परमेश्‍वरको काम सकिएपछि र मानिसहरूको अन्त्य निर्धारण गरिएपछि, के तँ पश्‍चात्तापले भरिनेछैनस् र? जब तैँले पहिलोपटक परमेश्‍वरलाई पछ्याउने सङ्कल्प गरिस्, के त्यो क्षणिक आवेग मात्र थियो, कि परमेश्‍वरमा विश्‍वास गर्ने विषयबारे सोचविचार गरेर अनि बुझेर त्यो निर्णय गरेको थिइस्? तँ ठ्याक्कै केको लागि जिउँदै छस्? जीवनमा तँ कुन मार्ग पछ्याइरहेको छस्, र तेरा लक्ष्यहरू के-के हुन्? के तँसँग अन्त्यसम्म परमेश्‍वरलाई पछ्याउने र अन्ततः सत्यता प्राप्त गर्ने सङ्कल्प छ? के तैँले बीचैमा नछोड्ने कुरा सुनिश्‍चित गर्न सक्छस्? के तँ जस्तोसुकै परिस्थिति वा सङ्कष्ट, परीक्षा, कठिनाइ, वा समस्याहरूको बाबजुद निष्ठापूर्वक आफ्नो कर्तव्य निभाउन सक्षम छस्? कतिपय मानिसहरूमा यति थोरै आस्था वा सत्यता खोजी गर्ने दृढतासमेत हुँदैन। त्यसपछि सत्यता प्राप्त गर्न सजिलो हुनेछैन। जब मानिसहरू सत्यतामा रुचि राख्दैनन्, तिनीहरू स्वेच्छाले आफ्नो कर्तव्य निभाउन सक्षम हुँदैनन् र तिनीहरूले आफूलाई इमानदारीपूर्वक परमेश्‍वरमा अर्पित गर्दैनन्। त्यस्ता मानिसहरूले कसरी अन्त्यसम्म परमेश्‍वरलाई पछ्याउन सक्छन् र? यदि तैँले तिनीहरूलाई “तँ किन परमेश्‍वरमा विश्‍वास गर्छस्? परमेश्‍वरमा विश्‍वास गरेर तँ के चाहन्छस्? तैँले कुन मार्ग हिँड्नुपर्छ?” भनी सोधिस् भने, तिनीहरूलाई केही थाहा हुन्थेन र तिनीहरू जवाफ दिन असक्षम हुन्थे। यसले प्रमाणित गर्छ कि तिनीहरू सत्यता र जीवन प्राप्त गर्न परमेश्‍वरलाई पछ्याइरहेका छैनन्, बरु आशिष्‌ प्राप्त गर्ने अवसरहरू खोजीरहेका छन्। त्यस्तो व्यक्तिले कसरी इमानदारीपूर्वक आफ्नो कर्तव्य निभाउन सक्छ? सत्यतालाई प्रेम गर्नेहरूले सत्यताबारे जति बढी बुझ्छन्, तिनीहरू आफ्नो कर्तव्य निभाउनमा उति बढी उत्साहित हुन्छन्। सत्यता नबुझ्नेहरू आफ्नो कर्तव्य निभाउँदा बारम्बार नकारात्मक बन्छन्। यदि तिनीहरूले सत्यता स्विकार्न सक्दैनन् भने, तिनीहरू निस्केर भाग्‍नेछन्। तर सत्यता खोजी गर्नेहरू फरक हुन्छन्: तिनीहरूले जति बढी आफ्नो कर्तव्य निभाउँछन्, त्यति नै बढी सत्यता बुझ्छन्, र त्यस क्रममा तिनीहरूको भ्रष्टता पखालिन्छ। व्यक्तिले जति बढी सत्यता बुझ्छ, उति नै बढी उसलाई परमेश्‍वरलाई पछ्याउँदा प्राप्त हुने कुरा झन् ठूला हुन्छन् भन्ने अनुभूति हुन्छ, र तिनीहरू परमेश्‍वरलाई पछ्याउने मार्गमा जति धेरै हिँड्छन् त्यो मार्ग झन्झन् उज्यालो हुन्छ भनेर बुझ्न सक्छन्। यिनीहरू सत्यता प्राप्त गरेका मानिसहरू हुन्। यदि मानिसहरूले साँच्चिकै सत्यता बुझ्छन् भने, तिनीहरूमा परमेश्‍वरलाई पछ्याउने आत्मविश्‍वास हुन्छ र तिनीहरू अन्तिमसम्मै बफादार रहन्छन्।

जब कतिपय मानिसहरू बिरामी परेर जीवन र मृत्युको दोसाँधमा पुग्छन्, तब तिनीहरू मुक्ति दिनुहोस् भनी परमेश्‍वरलाई याचना गर्छन्, र त्यसबाट पार पाएपछि, तिनीहरूले सत्यताबारे अलिअलि बुझ्छन्। तर सबैले जीवन वा मरणको दोसाँधमा पुगेर परमेश्‍वरलाई याचना गर्नुपर्ने अवस्था भोग्‍नु जरुरी हुँदैन। केही मानिसहरूका अनुभवहरू हेर् अनि तिनीहरूका सङ्गति र भावनाहरू सुन, तब तैँले त्यसबाट लाभ प्राप्त गर्नेछस्। तँ आफैले भोगेको अनुभव नभए पनि, तैँले अरूका अनुभवहरूबाट केही कुराहरू बुझ्न सक्छस्। कतिपय मानिसहरू मृत्युको नजिक पुग्दा आफू धेरै परिवर्तन नभएको, आफूलाई परमेश्‍वरबारे कमै मात्र थाहा भएको, र आफूले परमेश्‍वरको लागि गरेको काम र अर्पण सीमित रहेको अनुभूति गर्छन्। तिनीहरू आफूले परमेश्‍वरमा विश्‍वास गरेका वर्षहरूमा सत्यता खोजी नगरेको, आफूले अति थोरै हासिल गरेको र आफू परमेश्‍वरको अति धेरै ऋणी भएको अनुभूति गर्छन्। यदि तिनीहरू मर्छन् नै भने पनि, इच्छापूर्वक मर्नेछैनन्, किनकि त्यसमा तिनीहरूसँग पश्‍चात्ताप गर्ने मौका बिलकुलै हुनेछैन। जब अय्यूबले परीक्षाहरू भोग्यो, उसको शरीर घावैघाउले ढाकिएको थियो; उसकी श्रीमतीले उसलाई बुझिन र उसको खिल्ली उडाई, र उसका साथीहरूले पनि उसलाई बुझेनन् र उसले निश्‍चित रूपमा कुनै खराब काम गरेर यहोवा परमेश्‍वरलाई चिढ्याएको छ भन्ने विश्‍वास गर्दै उसलाई आलोचना र निन्दासमेत गरे। तिनीहरूले अय्यूबलाई यसो भने, “तिमीले यहोवा परमेश्‍वरलाई कसरी चिढ्यायौ? जाऊ, आफ्ना पापहरू स्वीकार गर। यहोवा परमेश्‍वर धर्मी हुनुहुन्छ।” तर अय्यूबले आफ्नो हृदयमा त्यो कुरा बुझ्यो र उसलाई आफूले कुनै खराब काम गरेजस्तो महसुस भएन। यति हुँदाहुँदै पनि, उसको लागि यस्तो परीक्षा भोग्नु पीडादायी कुरा थियो! उसले आफ्नो कष्टमा जीवनभन्दा मृत्यु खोज्यो; उसले यति कष्ट भोग्यो कि उसलाई मृत्यु नै त्यसबाट उम्कने उपाय हो, मृत्यु नै त्यसको अन्त्य हो भन्ने लाग्यो, तर अझै पनि उसले हृदयमा परमेश्‍वरको प्रशंसा गर्न सक्थ्यो। यो सामान्य व्यक्तिले हासिल गर्न सक्ने कुरा होइन। पीडामा हुँदा अधिकांश मानिसहरू परमेश्‍वरको प्रशंसा गर्दैनन्। तिनीहरू यसो भन्दै उहाँसित माग राख्ने काम मात्र गर्छन्, “परमेश्‍वर, मलाई बस थप एक सास दिनुहोस्। मलाई चाँडो सन्चो पार्नुहोस्! म सन्चो भएपछि तपाईंले मबाट जे चाहनुहुन्छ म त्यही गर्नेछु।” तिनीहरू सौदाबाजी गर्ने कोसिस गर्न थाल्छन्। आफू बिरामी हुँदा, त्यसको अनुभव तैँले कसरी गर्नुपर्छ? तँ परमेश्‍वरसामु आउनुपर्छ, र प्रार्थना गर्दै परमेश्‍वरको अभिप्राय के हो भनी खोज्‍ने र बुझ्ने कोसिस गर्नुपर्छ; तैँले आफैलाई जाँचेर सत्यताविरुद्ध हुने गरी के गरिस्, र तँभित्रको कुन भ्रष्टता समाधान गरिएको छैन भनी पत्ता लगाउनुपर्छ। कष्ट नभोगीकन तेरो भ्रष्ट स्वभाव समाधान गर्न सकिँदैन। कष्टद्वारा खारिएर मात्र मानिसहरू मनमौजी नहुन सक्छन्, र सधैँ परमेश्‍वरसामु जिउन सक्षम हुन्छन्। व्यक्ति कष्टमा हुँदा, ऊ जहिले पनि प्रार्थनामै हुन्छ। उसले खाना, पोशाक, र अन्य आनन्दहरूको सुखबारे सोच्दैन, बरु आफ्नो हृदयमा निरन्तर प्रार्थना गर्छ, र आफैलाई जाँच गरेर आफूले कुनै गलत काम गरेको छु कि वा कतै आफू सत्यताविपरीत गएको छु कि भनी हेर्छ। सामान्यतया, जब तैँले कुनै गम्भीर वा अनौँठो रोग सामना गर्छस् र जब त्यसले तँलाई नराम्रोसँग कष्ट दिन्छ, त्यो संयोगवश हुँदैन। तँ बिरामी वा स्वस्थ जे-जस्तो भए पनि, त्यो परमेश्‍वरको इच्छा हो। जब पवित्र आत्माले काम गर्नुहुन्छ र जब तँ शारीरिक रूपमा ठिक हुन्छस्, तब तैँले प्राय परमेश्‍वरको खोजी गर्न सक्छस्, तर जब तैँले बिरामी भएर कष्ट भोग्छस्, तब तैँले खोजी गर्नै छोडिदिन्छस्, र उहाँलाई कसरी खोज्ने भन्‍ने पनि तँलाई थाहा हुँदैन। तँ बिरामीपनमै जिउँछस्, र आफूलाई कस्तो उपचारले राम्रो गर्ला भनेर सधैँ सोचेरै बस्छस्। यस्ता समयहरूमा तँ बिरामी नभएका मानिसहरूको ईर्ष्या गर्छस्, र तँ आफ्नो बिमार र पीडाबाट सक्दो चाँडो मुक्त हुन चाहन्छस्। यी नकारात्मक र प्रतिरोधी भावनाहरू हुन्। जब मानिसहरू बिरामी पर्छन्, तिनीहरू कहिलेकाहीँ यस्तो सोच्छन्, “के मैले यो बिमार आफ्नै अज्ञानतामार्फत निम्त्याएँ, कि त्यो परमेश्‍वरको इच्छा हो?” तिनीहरूले त्यो पत्ता लगाउनै सक्दैनन्। खासमा, कतिपय रोगहरू सामान्य हुन्छन्, जस्तै चिसो लाग्ने, सुन्‍निएर रातो हुने, वा फ्लुजस्ता कुराहरू। जब तैँले कुनै ठूलो रोगको पीडा भोग्छस् र जसले तँलाई थला पार्छ, र जब तँ त्यो कष्ट भोग्नुभन्दा मर्न चाहन्छस्, त्यस्तो रोग संयोगले लाग्दैन। जब तँलाई बिमार र कष्ट आइपर्छ, के तँ परमेश्‍वरलाई प्रार्थना गरेर उहाँको मार्गदर्शन खोज्छस्? पवित्र आत्माको कामले तँलाई कसरी मार्गदर्शन र अगुवाइ गर्छ? के उहाँले तँलाई अन्तर्दृष्टि र ज्योति मात्र दिनुहुन्छ? त्यो एउटै मात्र उहाँको विधि होइन; उहाँले तेरो परीक्षा र शोधन पनि गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूको परीक्षा कसरी लिनुहुन्छ? के उहाँले कष्ट भोग्न लगाएर मानिसहरूको परीक्षा लिनुहुन्न र? कष्ट भोगाइ र परीक्षाको सामना सँगसँगै हुने कुरा हुन्। यदि त्यो परीक्षा नहुँदो हो त मान्छेले किन कष्ट भोग्थे र? कष्ट नभोगी मानिसहरू कसरी परिवर्तन हुन सक्छन् र? कष्ट भोगाइ र परीक्षाको सामना सँगसँगै हुन्छन्—त्यो पवित्र आत्माको काम हो। कहिलेकाहीँ परमेश्‍वरले मानिसहरूलाई केही कष्ट दिनुहुन्छ किनकि अन्यथा तिनीहरूलाई ब्रह्माण्डमा आफ्नो स्थान नै थाहा हुन्थेन, र तिनीहरू अभद्र बन्थे। भ्रष्ट स्वभावलाई सत्यता सङ्गति गरेर मात्र पूर्ण रूपले समाधान गर्न सकिँदैन। अरूले तेरा समस्याहरू औँल्याउन सक्छन्, र ती कुरा तँ आफैलाई पनि थाहा हुन सक्छ, तर तैँले तिनलाई परिवर्तन गर्न सक्दैनस्। तैँले आफूलाई काबुमा राख्न आफ्नो इच्छाशक्तिमाथि जति भरोसा गरे पनि, आफ्नै अनुहारमा चड्कन हाने पनि, आफ्नै टाउकोमा हिर्काए पनि, आफैलाई भित्तामा ठोक्काए पनि, र आफ्नो देहलाई चोट पुर्‍याए पनि, त्यसले तेरा समस्याहरू समाधान गर्नेछैन। तँभित्र तँलाई निरन्तर यातना दिने र अवरोध पुर्‍याउने, अनि तँलाई अनेक प्रकारका सोच र विचारहरू दिने शैतानी स्वभाव भएकोले, तेरो भ्रष्ट स्वभाव प्रकट हुने नै छ। त्यसैले, यदि तैँले त्यसलाई समाधान गर्न सकिनस् भने, तँ के गर्छस्? रोगव्याधिमार्फत तेरो शोधन हुनुपर्छ। कतिपय मानिसहरूलाई यो शोधनमा यति कष्ट हुन्छ कि तिनीहरूले यसलाई स्विकार्नै सक्दैनन्, अनि प्रार्थना र खोजी गर्न थाल्छन्। बिरामी नहुँदा, तँ अत्यन्तै मनमौजी र हदै अहङ्कारी हुन्छस्। तर जब तँ बिरामी हुन्छस्, तब तँ आज्ञाकारी बन्छस्—के तँ त्यसपछि पनि जङ्गलीझै अहङ्कारी हुन सक्छस्? जब तँसँग जसोतसो बोल्ने ऊर्जा मात्र हुन्छ, के तँ अरूलाई भाषण दिन वा अहङ्कारी हुन सक्छस्? त्यस्ता समयहरूमा, तैँले कुनै मागहरू गर्दैनस्; तँ आफ्नो कष्ट मिल्काउन मात्र चाहन्छस्, कुनै खाना, पोशाक वा आनन्दबारे बिलकुलै सोच्दैनस्। तिमीहरूमध्ये धेरैजसोले त्यो भावना अनुभव गरेका छैनौ, तर अनुभव गरेपछि तिमीहरूले बुझ्नेछौ। अहिले कतिपय मानिसहरू यस्ता छन् जो पदको लागि, देहसुखको लागि, र आफ्नै स्वार्थको लागि लड्ने गर्छन्। तिनीहरूलाई अति धेरै सहजता भएर, तिनीहरूको कष्ट अति कम भएर, अनि तिनीहरूको अपमान भएर, यो सब भएको हो। यी मानिसहरूलाई अगाडि बाटोमा कठिनाइ र शोधनले पर्खिरहेको छ!

कहिलेकाहीँ परमेश्‍वरले तेरो लागि केही परिस्थितिहरू बन्दोबस्त गर्नुहुनेछ, तेरा वरपरका मानिसहरूमार्फत तेरो निराकरण गर्नुहुनेछ र तँलाई कष्ट भोगाउनुहुनेछ, तँलाई पाठहरू सिकाउनुहुनेछ र तँलाई सत्यता बुझ्ने अनि विभिन्‍न कुराहरूको वास्तविकता देख्‍ने मौका दिनुहुनेछ। तेरो देहलाई कष्ट भोगाएर, परमेश्‍वरले अहिले यही काम गर्दै हुनुहुन्छ, ताकि तैँले आफ्नो पाठ सिक्न, आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्। पावलले बारम्बार उसको देहमा एउटा काँढा छ भन्थ्यो। त्यो के काँढा थियो? त्यो एउटा रोग थियो, र ऊ त्यसबाट उम्कन सक्दैनथ्यो। उसलाई त्यो के रोग हो भनेर राम्ररी थाहा थियो, त्यो उसको स्वभाव र उसको प्रकृतिप्रति लक्षित थियो। यदि उसमा त्यो काँढा अल्झेको थिएन भने, यदि उसलाई त्यो रोगले पछ्याएको थिएन भने, उसले जुनसुकै स्थान र समयमा उसको आफ्नै राज्य खडा गर्न सक्थ्यो, तर उसको रोगले गर्दा उसमा त्यो शक्ति थिएन। त्यसकारण, बढीजसो समय रोगले मानिसहरूको लागि एकप्रकारको “सुरक्षा कवच” को काम गर्छ। यदि तँ बिरामी नभएर शक्तिले भरिपूर्ण छस् भने, तैँले कुनै दुष्ट काम र कुनै प्रकारको समस्या निम्त्याउन सक्छस्। मानिसहरू अत्यन्तै अहङ्कारी र मनमौजी हुँदा तिनीहरूले सजिलै आफ्नो समझ गुमाउन सक्छन्। तिनीहरूले दुष्ट काम गरिसकेपछि पश्‍चात्ताप त गर्नेछन्, तर त्यतिञ्जेल तिनीहरू त्यसबारे केही गर्नै नसक्ने भइसक्‍नेछन्। त्यसले गर्दा थोरै रोग हुनु राम्रो कुरा हो, अर्थात यो मानिसहरूको लागि सुरक्षा हो। तँ अरू मानिसहरूका सबै समस्याहरू समाधान गर्न सक्षम छस् होला र तँ तेरो आफ्नै सोचभित्रका सबै समस्याहरू सुल्झाउन सक्छस् होला, तर रोग निको नभईकन तैँले केही गर्न सक्दैनस्। बिरामी पर्नु वास्तवमै तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। यदि तँ बिरामी भइस् र तँलाई निको पार्ने कुनै उपाय छैन भने, त्यो तैँले सहनैपर्ने कष्ट हो। त्यसबाट मुक्त हुने कोसिस नगर्; पहिला तैँले आज्ञापालन गर्नुपर्छ, र परमेश्‍वरलाई प्रार्थना गर्दै परमेश्‍वरका अभिप्रायहरू खोज्नुपर्छ। यसो भन्: “हे परमेश्‍वर, मलाई थाहा छ कि म भ्रष्ट छु र मेरो प्रकृति खराब छ। म त्यस्ता चीजहरू गर्न सक्षम छु जुन तपाईंप्रति विद्रोही र प्रतिरोधी छन्, जसले तपाईंलाई चोट र पीडा निम्त्याउँछन्। कस्तो गज्जबको कुरो, तपाईंले मलाई यो रोग दिनुभएको छ। म यसप्रति समर्पित हुनुपर्छ। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस्, तपाईंको इच्छा के हो र तपाईं मभित्रको कुन कुरा बदल्न र सिद्ध पार्न चाहनुहुन्छ, त्यो बुझ्न दिनुहोस्। म यति मात्र माग्छु कि तपाईं मलाई मार्गनिर्देशन गर्नुहोस्, ताकि मैले सत्यता बुझ्न र जीवनको सही मार्ग लिन सकूँ।” तैँले खोजी र प्रार्थना गर्नुपर्छ। तैँले बिरामी हुनुको केही अर्थ छैन, त्यो तैँले परमेश्‍वरलाई चिढ्याएकोले तैँले भोग्‍नुपर्ने ताड्ना होइन भन्‍ने विश्‍वास गर्दै दुविधामा रहनु हुँदैन। हतारमा निचोड ननिकाल्। यदि तँ साँच्चिकै हृदयमा परमेश्‍वर भएको व्यक्ति होस् भने, तैँले जे सामना गरे पनि, त्यसलाई त्यतिकै जान नदे। तैँले प्रार्थना र खोजी गर्नुपर्छ, हरेक मामिलामा परमेश्‍वरको इच्छा अनुभूत गर्नुपर्छ, र परमेश्‍वरको आज्ञापालन गर्न सिक्नुपर्छ। जब परमेश्‍वरले तँ समर्पित हुन सक्छस् र तँसित उहाँप्रतिको आज्ञाकारिताको हृदय छ भन्‍ने देख्नुहुन्छ, उहाँले तेरो कष्ट सहज पार्नुहुन्छ। परमेश्‍वरले कष्ट र शोधनको माध्यमबाट त्यस्ता परिणामहरू हासिल गर्नुहुन्छ।

इतिहासभरि नै, भक्त इसाईहरू, अनुयायीहरू, प्रेरितहरू, र अगमवक्ताहरू ढुङ्गाले हानेर मारिएका छन्, घोडाले घिसारेर मारिएका छन्, टुक्राटुक्रा पारिएका छन्, तेलमा उमालिएका छन्…। अनि क्रुसमा टाँगिएका छन्। तिनीहरू हरतरिकाले मारिएका छन्। यसमार्फत मैले भन्न खोजेको के हो भने, परमेश्‍वरलाई पछ्याउँदा सहजताको साथ मिल्छ भन्‍ने अपेक्षा नै नगर्। यस्तो कुराको माग नगर्; त्यस्तो असाधारण चाहना नराख्। म किन भन्दै छु कि मानिसहरूले परमेश्‍वरलाई त्यस्तो माग गर्नु गलत हो? किनभने जतिसुकै सानो माग पनि असाधारण चाहनासरह हुन्छ, र तैँले यस्ता चाहनाहरू राख्नु हुँदैन। विभिन्‍न कुराहरू चाहँदै यस्तो नबोल्, “हे परमेश्‍वर, मलाई राम्रो लाउन दिनुहोस्, किनकि राम्रा कुराहरू लाउने कारण मसित छ। हे परमेश्‍वर, अहिले म आफ्नो कर्तव्य पूरा गरिरहेको छु, त्यसैले मलाई आशिष्‌ र सुस्वास्थ्य प्रदान गर्नुहोस् भनी तपाईंसित माग गर्ने आधार मसित छ।” यदि कुनै दिन तँ बिरामी परिस् भने, के तँ नकारात्मक बन्नेछैनस् र? के तैँले परमेश्‍वरमा विश्‍वास गर्न छोड्नेछैनस् र? यदि तँ स्वस्थ नहुँदो हो त, के तैँले आफ्नो कर्तव्य निभाउँथिस् र? के तैँले खासमा आफ्नो कर्तव्य नै निभाइरहेको हुनुपर्ने होइन र? त्यो स्वर्गले नै आह्वान गरेको काम, अर्थात फाल्न नमिल्ने जिम्मेवारी हो। अरू कसैले नगरे पनि, तैँले आफ्नो कर्तव्य निभाउनुपर्छ। तँसँग यो दृढता हुनैपर्छ। धेरै मानिसहरू यस्तो सोच्छन्, “यदि मैले परमेश्‍वरमा विश्‍वास गर्दा पनि कष्ट भोग्नुपर्छ भने, मैले उहाँलाई केको लागि पछ्याउने? म त परमेश्‍वरका आशिष्‌हरूमा आनन्द लिन उहाँलाई पछ्याउँछु। आनन्द लिनलाई आशिष्‌हरू नै हुन्‍न भने, म उहाँलाई पछ्याउनेछुइनँ!” के यो यसलाई हेर्ने गलत तरिका होइन र? यतिका वर्षहरूको अनुभवमा, तिमीहरू सबैले बुझेका छौ कि साँच्चिकै सत्यता खोजी गर्नेहरूको लागि, मानिसहरूले कल्पेजस्तो प्रस्ट देखिने आशिष्‌हरू हुँदैनन्। हरेक दिन प्रसन्न र मस्त हुनु, राम्रो लुगा लगाउनु, सबथोक सहज रूपमा चल्नु, र दुनियामा समृद्धि हासिल गर्नु—परिस्थितिहरू सबैको लागि यस्तै हुँदैनन्। तिनीहरू सबैले एकपछि अर्को अवरोध सामना गर्दै जीवन चलाउँछन्। कतिपय मानिसहरूले अन्यत्र कहीँ आफ्नो जागिरमा विभेद र दुर्व्यवहार भोग्छन्; कतिपय मानिसहरूलाई रोगले सधैँ च्यापिरहन्छ; जबकि अरूहरू व्यवसायमा असफल हुन्छन्, र तिनीहरूका गैरविश्‍वासी परिवारका सदस्यहरूले तिनीहरूलाई छोडेर जान्छन्। जीवनमा उतारचढावहरू आइरहन्छन्; त्यो सहज यात्रा मात्र कहिल्यै हुँदैन। व्यक्तिले जति बढी सत्यता खोजी गर्छ, उसले त्यति नै बढी कष्ट भोग्छ, जबकि सत्यता खोजी गर्दै नगर्नेहरूले आरामदायी जीवन जिउँछन्। तिनीहरूमा कुनै रोग वा समस्याहरू हुँदैनन्; तिनीहरूको सबथोक सहज रूपमा चल्छ, र अरूले तिनीहरूको ईर्ष्या गर्छन्। तर तिनीहरूसित जीवन प्रवेश अलिकति पनि हुँदैन, अनि तिनीहरू अविश्‍वासीहरूझैँ जिउँछन्। सच्चा रूपमा परमेश्‍वरलाई पछ्याउनेहरूले अनिवार्य रूपमा उत्पीडन र कठिनाइ भोग्नैपर्छ। अनि, तैँले उत्पीडन र कठिनाइ सहनुले के प्रमाणित गर्छ? परमेश्‍वरले तँलाई छाड्नुभएको छैन, परमेश्‍वरले तँलाई त्याग्नुभएको छैन, परमेश्‍वरको हात सधैँ तँमाथि छ र उहाँले तँलाई कहिल्यै फुत्किन दिनुहुन्न। यदि उहाँले फुत्किन दिनुभएको भए, र तँ शैतानको जालमा फसेको भए, के तँ त्यसपछि खतरामा हुन्थिनस् र? यदि तँ प्रसिद्धि र सम्पति खोज्दै, सुखसयल चाहँदै, अनि रक्सी, जुवा र व्यभिचारमा लागेर पतित हुँदै हरदिन पापमा जिउँछस् भने, परमेश्‍वरले तँलाई त्याग्नुहुनेछ। उहाँले तँलाई बिलकुलै ख्याल गर्नुहुनेछैन, र तँलाई निश्‍चय नै हटाइनेछ। तैँले सांसारिक सम्पति र हैसियत त प्राप्त गर्छस् होला, तर खासमा, तैँले सबैभन्दा अमूल्य कुरा—अर्थात् सत्यता गुमाएको हुनेछस्, जुन अनन्त जीवन हो—र तँलाई यो कुरा थाहासमेत हुनेछैन!

कतिपय मानिसहरू यसो भन्छन्, “परमेश्‍वरले मलाई किन सधैँ अनुशासनमा राख्नुहुन्छ? अरू मानिसहरू किन अति स्वस्थ छन्, जबकि म सधैँ बिरामी हुन्छु। म किन सधैँ कष्ट भोगिरहेको हुन्छु? मेरो परिवार किन यति गरिब छ? हामी किन धनी हुन सक्दैनौँ? मैले किन कहिल्यै राम्रा कपडाहरू लाउन सक्दिनँ? अरू मानिसहरूले किन राम्रा कपडाहरू लाउन सक्छन्?” अरू मानिसहरू परमेश्‍वरको कति धेरै अनुग्रह र आशिष्‌हरूमा रमाउँछन् भनी ईर्ष्या नगर्। त्यो त तिनीहरूको कद सानो भएकोले पनि हुन सक्छ र परमेश्‍वरले तिनीहरूको कमजोरी बुझ्नुहुन्छ, त्यसैले उहाँले तिनीहरूलाई आनन्द लिनको लागि केही अनुग्रह प्रदान गर्नुहुन्छ, र तिनीहरूलाई थोरैथोरै गरेर ती कुरा अनुभव गराउनुहुन्छ, ताकि तिनीहरूले बिस्तारै उहाँका कार्यहरू बुझून्। तेरो लागि, परमेश्‍वरका अत्यन्तै कडा मापदण्डहरू छन्। मान्छेले हेर्दा, तेरो जीवन बिलकुलै खुसी छैन, र तँ निरन्तर कष्ट भोगिरहेको छस्, तर तैँले धेरै सत्यताहरू बुझेको छस्, र तैँले परमेश्‍वरलाई धेरै धन्यवाद दिनुपर्छ र प्रशंसा गर्नुपर्छ। यस्तो व्यक्ति परमेश्‍वरका कार्यहरू थाहा भएको व्यक्ति हो। यदि व्यक्तिले सत्यता बुझ्न सक्छ भने, त्यो नै परमेश्‍वरको सबैभन्दा ठूलो आशिष्‌ हो, चाहे उसले जस्तोसुकै कष्ट नै किन सहनु नपरोस्। बारम्बार परमेश्‍वरद्वारा अनुशासित पारिनु र बारम्बार परीक्षाहरू सामना गर्नु, यतिसम्म कि त्यसैबाट तैँले बारम्बार पाठहरू सिक्न र सत्यताहरू बुझ्न सक्‍नु—यसको मतलब परमेश्‍वरले तँलाई प्रेम गर्नुहुन्छ। यदि तँ सधैँ मनमौजी हुन्छस् र तैँले अहिलेसम्म अनुशासन कार्बाही भोगेको छैनस्, र तँ अनुशासित छैनस् भने, तेरो मनमौजीपन जतिसुकै लम्बिए पनि, तेरो निराकरण गर्ने वा तँलाई ध्यान दिने कोही छैन भने, तँ सक्‍किनेछस्। कतिपय मानिसहरू यस्ता हुन्छन् जो कुनै पनि कर्तव्य निभाउँदैनन् र कुनै पनि जिम्मेवारी लिँदैनन्। तिनीहरू एकदमै आरामसाथ फुर्सदिलो र मस्त जीवन जिउँछन्। तिनीहरूलै कुनै पनि पाठ सिक्‍न सक्दैनन्, र तिनीहरूले केही पनि प्राप्त गर्दैनन्। के यो खुसी हो र? मनमौजी हुने आफ्नै तत्परताबाट, र आफ्नो स्वतन्त्रता र दैहिक आनन्द पछ्याउने कार्यबाट तिनीहरूले के प्राप्त गर्न सक्छन् र? आफ्नो कर्तव्य निभाएर तँ कष्ट भोग्छस् र आफैलाई थकित पार्छस्, अनि सबैजनाले तेरो वास्ता गर्छन्; कहिलेकाहीँ तिनीहरूले तेरो काटछाँट र निराकरण गर्छन्। यसले देखाउँछ कि परमेश्‍वरले तँलाई प्रेम गर्नुहुन्छ र तेरो जिम्मेवारी लिनुहुन्छ। धेरै मामिलाहरूमा, तैँले खोजी गर्नुपर्छ, र परमेश्‍वरलाई अझ बढी प्रार्थना गर्नुपर्छ। त्यसपछि तँ उहाँको इच्छा बुझ्न सक्षम हुनेछस्। तैँले जुनै कर्तव्य निभाउने भए पनि, तँ कुनै पनि परिस्थितिमा स्वेच्छाचारी, वा मनमौजी, वा लापरवाह र झाराटारुवा, वा आफ्नो गलत मार्गमा पनि जिद्दी गर्ने हुनु हुँदैन। तँसँग कुनै समस्या भए, चाँडो सत्यता खोज्। आफ्नो कर्तव्य पूरा गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र त्यसपछि तेरो हृदयले स्वतः शान्ति र खुसीको आनन्द लिन सक्नेछ। यदि तँ अति स्वेच्छाचारी वा मनमौजी छस्, र ताडना स्विकार्दैनस्, अनि अलि जिद्दी पनि छस् भने, तँ खतरामा हुनेछस्। एकपटक तँलाई हटाइयो भने, तँसित कुनै अवसर रहनेछैन, र पश्‍चात्तापको लागि पनि अति ढिलो भइसकेको हुनेछ। सुरुमा बिरामी पर्दा, कतिपय मानिसहरू जतिखेर पनि प्रार्थना गरिबस्छन्, तर पछि, जब तिनीहरूको प्रार्थनाले आफूलाई निको नपारेको देख्छन्, तिनीहरू आफ्नो रोगदेखि निरीह हुन्छन्, र सधैँ गुनासो गर्छन्, र मनमनै यसो भन्छन्, “परमेश्‍वरमा विश्‍वास गरेर मलाई केही राम्रो भएको छैन। म बिरामी छु, र परमेश्‍वरले मेरो चङ्गाइ गराउनुहुन्न!” यो साँचो आस्था होइन। यसमा आज्ञाकारिता बिलकुलै छैन, अनि तिनीहरूले गुनासो गरिसकेपछि त्यसबाट आउने कुरा मृत्यु मात्र हो। यो परमेश्‍वरले तिनीहरूको देह फिर्ता गर्नुभएको र तिनीहरूलाई नर्क पठाउनुभएको हो; यो तिनीहरूको लागि सबथोकको अन्त्य हो। तिनीहरूलाई यो जीवनमा मुक्ति प्राप्त गर्ने कुनै मौका हुँदैन, र तिनीहरूको आत्मा नर्कै जानुपर्छ। यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कामको अन्तिम चरण हो, र यदि कसैलाई निष्कासित गरियो भने, उसलाई अर्को मौका कहिल्यै मिल्नेछैन! यदि परमेश्‍वरले उहाँको मुक्तिको काम गर्नुहुँदा तँ मरिस् भने, यो मृत्यु एक दण्ड हो, सामान्य मृत्यु होइन। जो मानिसहरू दण्डस्वरूप मर्छन् तिनीहरूलाई मुक्ति प्राप्त गर्ने मौका हुँदैन। के पावलले पातालमा निरन्तर दण्ड भोगिरहेको छैन र? दुई हजार वर्ष भइसक्दा पनि ऊ अझै त्यहीँ दण्डित भइरहेको छ! तैँले जानाजान गलत काम गरिस् भने त्यो झन् खराब हुन्छ, अनि त्यसको दण्ड अझ गम्भीर हुनेछ!

कतिपय मानिसहरू भन्छन्, “म जहिले पनि बिरामी नै हुँदै आएको छु, सधैँ कष्ट र पीडा भोग्दै आएको छु। मलाई सधैँ परिस्थितिहरूले घेरेका छन्, तर मैले पवित्र आत्माको काम कहिल्यै अनुभूति गरिनँ।” यो ठिक हो। पवित्र आत्माले बढीजसो यसरी नै काम गर्नुहुन्छ—तैँले त्यो अनुभूति गर्नै सक्दैनस्। यो शोधन हो। कहिलेकाहीँ पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ र सङ्गतिमार्फत तँलाई सत्यता बुझ्ने तुल्याउनुहुनेछ। कहिलेकाहीँ उहाँले तेरो परिवेशमार्फत तँलाई केही महसुस गराउनुहुनेछ, र उक्त परिवेशमा तेरो जाँच लिनुहुनेछ, तँलाई खार्नुहुनेछ, तालिम दिनुहुनेछ, र तँलाई हुर्काउनु-बढाउनुहुनेछ—पवित्र आत्माले यसरी नै काम गर्नुहुन्छ। पहिले तिमीहरूले विभिन्‍न परिस्थितिहरू सामना गर्नुपर्दा तिमीहरूमा ज्ञान थिएन किनकि तिमीहरूले हृदयमा सत्यता खोज्‍न ध्यान दिएनौ। जब व्यक्तिले सत्यता बुझ्दैन, तब उसले कुनै पनि कुरा साँचो रूपमा देख्न सक्दैन र उसको बुझाइ टेढो हुन्छ। यो कुरा कुनै व्यक्ति बिरामी पर्दा उसले त्यो परमेश्‍वरले उसलाई ताड्ना दिनुभएको भनी विश्‍वास गरेजस्तै हो, जबकि खासमा कतिपय रोगहरू मानवसिर्जित हुन्छन्, जुन जीवन जिउने नियमहरू नबुझ्नाले निम्तिन्छ। जब तैँले अत्यधिक मात्रामा खान्छस् र स्वस्थ जिवन जिउने कुरा बुझ्दैनस्, तब तँ विविध रूपमा बिरामी पर्छस्। तर अझै पनि तँ त्यो परमेश्‍वरको ताडना हो भन्छस्, जबकि खासमा त्यो तेरो आफ्नै अज्ञानताले गर्दा भएको हुन्छ। तर फेरि पनि, कुनै रोग मानवकै कारण भएको भए पनि वा पवित्र आत्‍माद्वारा दिइएको भए पनि, यो परमेश्‍वरको विशेष अनुग्रह हो; यो तँलाई पाठ सिकाउनको लागि हो, र तैँले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ, गुनासो गर्ने होइन। तैँले गर्ने हरेक गुनासोले दाग बसाउँछ, र त्यो धोएर पखाल्न नसकिने पाप हो! जब तैँले गुनासो गर्छस्, तेरो स्थितिलाई परिवर्तन गर्न कति समय लाग्छ? यदि तँ अलिअलि नकारात्मक छस् भने, आफूलाई ठीक अवस्थामा ल्याउन तँलाई एक महिना लाग्‍न सक्छ। तर जब तैँले गुनासो गर्छस्, र केही नकारात्मक भावनाहरू पोखाउन थाल्छस्, तब तँ एक वर्षमा पनि सायद ठीक अवस्थामा नआउन सक्छस्, र त्यसपछि पवित्र आत्‍माले तँभित्र काम गर्नुहुनेछैन। यदि तँ सधैँ गुनासो गर्छस् भने त्यो तेरो लागि भयानक कुरो हो, र त्यसपछि तँलाई पवित्र आत्‍माको कार्य प्राप्त गर्न अझै कठिन हुन्छ। आफ्नो मानसिकता सही पार्न र पवित्र आत्माको केही काम प्राप्त गर्नको लागि व्यक्तिले प्रार्थनामा ठूलो प्रयास गर्नुपर्ने हुन्छ। तर मानसिकता पूर्णतया बदल्‍नु भनेको सहज कुरो होइन। सत्यता खोजी गरेर अनि पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरेर मात्रै यस्तो गर्न सकिन्छ। वास्तवमा तेरो आफ्नै अनुभवमा पनि तैँले पवित्र आत्माको काम प्राप्त गरेका धेरै समयहरू छन्। बढीजसो, तैँले उत्पीडन र कठिनाइ वा बिमार र पीडा सामना गर्दा, यस्ता समयहरू आउँछन्। त्यसपछि मात्र तैँले परमेश्‍वरलाई दृढतापूर्वक प्रार्थना गर्छस्, र उहाँलाई तेरो चङ्गाइ गराउनुहोस्, र तँलाई आस्था र शक्ति प्रदान गर्नुहोस् भनेर भन्छस्। तैँले यही एउटा कुराको लागि मात्र प्रार्थना गर्छस्। तँ अझै बढी प्रार्थना गर्न र परमेश्‍वरको इच्छा खोज्न पनि चाहन्छस् होला, तर के भन्ने भनी तँलाई थाहा छैन। तँ तेरो हृदयका केही शब्दहरू परमेश्‍वरलाई भन्न चाहन्छस्, तर चढाउनको लागि तँसित एक शब्‍द पनि छैन। तेरो कद अत्यन्तै सानो छ। कहिलेकाहीँ परमेश्‍वरले तेरो वरपरका मानिसहरूमार्फत तँलाई कठिनाइमा पार्नुहुन्छ। ती समयहरूमा, तैँले अरू केही गर्न सक्दैनस्, बस परमेश्‍वरसामु फर्केर यसरी चिन्तन मात्र गर्न सक्छस्, “मैले ठ्याक्कै के गलत गरेछु? कृपया परमेश्‍वर, मलाई अन्तर्दृष्टि प्रदान गरेर बुझ्न दिनुहोस्। यदि परमेश्‍वरले मलाई अन्तर्दृष्टि दिनुहुन्न भने, म प्रार्थना मात्रै गरिबस्नेछु। यदि मैले प्रार्थना गरेपछि पनि बुझ्दिनँ भने, म यस मामिलामा खोजी गरिरहनेछु, र म सत्यता बुझ्ने व्यक्तिसँग खोजी गर्नेछु।” आफ्नो लागि जिम्मेवारी लिनु भनेकै यही हो। कतिपय मानिसहरू आफूलाई केही आइपर्दा कहिल्यै सत्यता खोज्दैनन्। तिनीहरू धर्मसिद्धान्तका केही वचन र वाक्यांशहरू बुझ्छन् र सत्यता नै बुझ्छु भन्ठान्छन्। तिनीहरूले आफैलाई छल्छन्, जुन मूर्खता हो। तिनीहरू सबैभन्दा मूर्ख र अज्ञानी मानिसहरू हुन्, र यसको सम्भावित एउटै परिणाम यो हुन्छ कि तिनीहरूले आफैलाई हानि र नाश गर्नेछन्, तर सत्यता बिलकुलै प्राप्त गर्नेछैनन्।

तिमीहरूले सामान्यतया त्यति धेरै प्रार्थना गर्दैनौ, गर्छौ र? जब मानिसहरूले त्यति धेरै प्रार्थना गर्दैनन्, तब तिनीहरूले त्यति धेरै खोजी गर्दैनन्, र यदि तिनीहरूले त्यति धेरै खोजी गर्दैनन् भने, तिनीहरूलाई सत्यता बुझ्न कठिन हुन्छ, र तिनीहरूमा आज्ञाकारिता हुँदैन। यदि तँसित खोजी गर्ने मनोवृति छैन भने, तँमा आज्ञाकारिता कसरी हुन सक्छ र? तँ कसरी परमेश्‍वरका कार्यहरू बुझ्न सक्षम हुन्छस् र? तँलाई परमेश्‍वरले तँमाथि कसरी काम गर्नुहुन्छ भन्नेसमेत थाहा छैन, न त तैँले कसको आज्ञापालन गर्नुपर्छ वा कसका वचनहरू सुन्‍नुपर्छ भन्ने नै थाहा छ। तैँले त आज्ञाकारिताबारे सोच्दा पनि सोच्दैनस्। आज्ञाकारिता कुनै अस्पष्ट कुरा होइन। यसको लागि एउटा उद्देश्य र एउटा लक्ष्य आवश्यक पर्छ। यदि तँलाई परमेश्‍वरले किन सत्यता व्यक्त गर्नुहुन्छ वा उहाँले के गर्नुहुन्छ भन्नेसमेत थाहा छैन भने, तँ कसरी आज्ञाकारी हुन सक्छस् र? जब तैँले आज्ञाकारिता शब्द उच्‍चारण गर्छस्, त्यो एउटा खोक्रो शब्द बन्छ। तँलाई केही आइपर्दा, तैँले कसरी प्रार्थना गर्नुपर्छ, र तेरो हृदयको कुरा बोलेर तैँले कसरी खोजी गर्नुपर्छ? तैँले के खोजी गर्नुपर्छ? तँ यी कुराहरूबारे प्रस्ट हुनुपर्छ, अनि मात्र तैँले वास्तविक प्रार्थना गर्न सक्छस्। तैँले प्रार्थना गर्दा, अरू मानिसहरूले बोल्ने कुरा नक्कल नगर्, “तपाईंको इच्छा पूरा गरिनेछ” भन्ने प्रभु येशूका वचनहरू त झनै नक्कल नगर्। आँखा चिम्लेर यी वचनहरू नक्कल नगर्। तँभित्र जे छ त्यो अन्तर्दृष्टि र ज्योतिबाहेक अरू केही होइन, र त्यो परमेश्‍वरको इच्छा हासिल गरेसरह हुनै सक्दैन। जब कहिलेकाहीँ तँलाई निराकरण वा काटछाँट गरिन्छ वा तैँले केही कष्ट भोग्छस्, तब त्यो परमेश्‍वरले तँलाई सिद्ध पार्नुभएको वा त्यो उहाँको इच्छा हो भनेर नभन्। त्यो भन्नु गलत हो, र तैँले यसरी प्रार्थना गर्नु हुँदैन। तैँले गलत हैसियत ओगटिरहेको हुन्छस्, र पवित्र आत्माले तँमाथि काम गर्नुहुनेछैन। कतिपय मानिसहरूले येशूको प्रार्थना नक्कल गर्छन्, र यसो भन्छन्, “तैपनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।” के त्यसले तँलाई परमेश्‍वरसित एउटै स्तरमा राख्नेछ र? ख्रीष्टले देहको दृष्टिकोणबाट स्वर्गका आत्मासित उक्त प्रार्थना बोल्नुभएको थियो। उहाँहरू एउटै स्तरमा, एउटै हैसियतमा हुनुहुन्थ्यो। उहाँहरू एउटै परमेश्‍वर हुनुहुन्थ्यो, केवल दृष्टिकोणमा फरक हुनुहुन्थ्यो। ख्रीष्टले त्यस तरिकाले प्रार्थना गर्नुहुन्थ्यो; तर यदि मानिसहरूले पनि त्यसरी नै प्रार्थना गर्छन् भने, यसले तिनीहरूमा समझ छैन भन्ने देखाउँछ, र पवित्र आत्माले तिनीहरूलाई बिलकुलै अन्तर्दृष्टि नदिनु कुनै आश्‍चर्य होइन! तैँले बोल्ने ती वचनहरू नक्कल गरिएका वचनहरू हुन्, हृदयबाट बोलिएका वचनहरू होइनन्। ती पूर्ण रूपले खोक्रो हुन् र वास्तविक होइनन्, यसले देखाउँछ कि परमेश्‍वरका वचनहरू वा मापदण्डहरू बुझ्न सक्षम हुनको लागि तेरो कद अति सानो छ। पवित्र आत्माले कसरी तँलाई अन्तर्दृष्टि दिनुहुनेछ? मानिसहरू अत्यन्तै दुविधामा हुन्छन्! यदि तिनीहरूले यति पनि पत्ता लगाउन सक्दैनन् भने, तिनीहरूले सत्यता कहिल्यै बुझ्नेछैनन्। प्रार्थना गर्दा यतिकै अरूको नक्कल नगर्। तँसित तेरो आफ्नै सोच र विचारहरू हुनुपर्छ। यदि तैँले कुनै कुरा बुझ्दैनस् भने, तैँले सत्यता खोज्‍नुपर्छ। आफूलाई विभिन्न प्रकारका मामिलाहरू आइपर्दा, कसरी प्रार्थना गर्ने भनी तैँले बारम्बार मनन गर्नुपर्छ, र यदि अघि बढ्ने बाटो भेट्टाइस् भने, तैँले आफ्ना ब्रदर-सिस्टरहरूलाई पनि त्यस तरिकाले प्रार्थना गर्न डोर्‍याउनुपर्छ। परमेश्‍वर यसैमा खुसी मान्नुहुन्छ। परमेश्‍वरसामु कसरी आउने भनी सबैजनाले सिक्‍नुपर्छ। हरेक कुरालाई आँखा चिम्लेर आफैले सम्हाल्ने कोसिस नगर्, अनि तैँले जे गर्छस् त्यो तेरो कल्पनाको आधारमा नगर्। यदि त्यसो गर्दा, तैँले बाधा र अवरोधहरू निम्त्याउने र परमेश्‍वरको इच्छाविपरीत जाने कामहरू गर्छस् भने, त्यसले समस्या सिर्जना गर्नेछ। यदि तँलाई एउटा मण्डलीको अगुवाइ गर्न भनियो र तँ सधैँ धर्मसिद्धान्तका वचनहरू मात्र प्रचार गर्छस्, तर परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने वा परमेश्‍वरलाई कसरी प्रार्थना गर्ने भनेर सङ्गति गर्दैनस् भने, तँ बहकिएको छस्। यदि तँ सधैँ धर्मसिद्धान्तका वचनहरू भट्याउँदै मानिसहरूलाई खोक्रा प्रार्थनाहरू सिकाइरहन्छस्, र तिनीहरूले पनि त्यसमा बाइबलका केही वचनहरू र धर्मसिद्धान्तका वचनहरू मात्र पाठ गर्छन् भने, तिनीहरूले जति प्रार्थना गरे पनि त्यसबाट कुनै नतिजा आउनेछैन। तिनीहरूको जीवन प्रगति हुनेछैन, परमेश्‍वरसितको तिनीहरूको सम्बन्ध सामान्य हुनेछैन, र यसको मतलब तैँले तिनीहरूलाई पनि बहकाउनेछस्। कस्तो प्रकारको प्रार्थनाले नतिजा प्राप्त हुन्छ? त्यस्तो प्रार्थना खुला हृदयले परमेश्‍वरसित गरिने सङ्गति हो। सबैभन्दा महत्त्वपूर्ण कुरो, व्यक्तिले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँका वचनहरू र उहाँका मापदण्डहरूबमोजिम सत्यता खोज्नुपर्छ। यसको लागि व्यक्ति पूर्ण हृदयले समर्पित हुनुपर्छ। पूर्ण हृदयले समर्पित नहुनेहरूलाई यो कुरा हासिल गर्न कठिन हुनेछ। पवित्र आत्‍माले कस्ता खाले मानिसहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ? तीक्ष्ण र मिहीन सोच भएकाहरूलाई। जब पवित्र आत्माले तिनीहरूलाई कुनै भावना वा अन्तर्दृष्टि दिनुहुन्छ, तब तिनीहरूले यो पवित्र आत्‍माको कार्य हो, र यो परमेश्‍वरले गर्नुभएको काम हो भनेर अनुभूति गर्न सक्छन्। अथवा कहिलेकहीँ, जब तिनीहरूलाई पवित्र आत्‍माले अन्तर्दृष्टि दिनुहुन्छ वा धिक्‍कार्नुहुन्छ, तब तिनीहरूले तुरुन्तै त्यो बताउन सक्छन्, र आफैलाई संयमित पार्छन्। यस्ता खालका मानिसहरू नै पवित्र आत्‍माले अन्तर्दृष्टि दिनुहुने मानिसहरू हुन्। यदि कुनै व्यक्ति लापरवाह छ र आत्मिक मामिलाहरू बुझ्दैन भने, पवित्र आत्माले उसलाई कुनै भावना दिनुहुँदा पनि उसले थाहा पाउनेछैन। यस्ताहरूले पवित्र आत्माको कामलाई बेवास्ता गर्छन्। पवित्र आत्माले तिनीहरूलाई तीन-चारपटक पनि अन्तर्दृष्टि दिन सक्‍नुहुन्छ, तर अझै पनि तिनीहरू त्यो स्विकार्दैनन्, र त्यसैले पवित्र आत्माले तिनीहरूमाथि काम गर्नै छोड्नुहुन्छ। कतिपय मानिसहरू किन विश्‍वास त गरी नै रहन्छन्, तर परमेश्‍वरकहाँ पुग्‍ने वा पवित्र आत्माको काम अनुभूत गर्ने गर्दैनन्, र भित्री रूपमा अँध्यारो, उदास र ऊर्जाहीन हुन्छन्? तिनीहरूमा पवित्र आत्माको अन्तर्दृष्टि बिलकुलै हुँदैन। तिनीहरूले धर्मसिद्धान्तका ती निर्जीव कुराहरूबाट के शक्ति पाउँथे र? उत्साहले मात्र व्यक्ति धेरैबेर टिक्न सक्दैन; शक्ति प्राप्त गर्नको लागि उसले सत्यता बुझ्‍नुपर्छ। त्यसैले, परमेश्‍वरमा विश्‍वास गर्न, व्यक्तिमा मिहीन सोच हुनुपर्छ, र उसले परमेश्‍वरका वचनहरू पढ्नमा, आफूलाई चिन्नमा, अनि सत्यता बुझ्न र अभ्यास गर्नमा ध्यान दिनुपर्छ। त्यसपछि मात्र उसले पवित्र आत्माको काम र अगुवाइ प्राप्त गर्न सक्छ। कतिपय मानिसहरूसँग सत्यता बुझ्ने क्षमता मात्र हुन्छ, तर तिनीहरूले पवित्र आत्माको काम अवलोकन वा अनुभव कहिल्यै गरेका हुँदैनन्। अघि बढ्दै जाँदा, तिमीहरूले सानोभन्दा सानो भावना, र सानोभन्दा सानो ज्योतिलाई पनि ध्यान दिनुपर्छ। तँलाई केही हुँदा, प्रत्येकपटक तैँले यसलाई सत्यताअनुरूप हेर्ने र व्यवहार गर्ने गर्नुपर्छ। यसरी तँ बिस्तारै परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा पुग्‍न सक्‍नेछस्। यदि तँ हरेक कुरालाई दैहिक नजरले हेर्छस् भने; यदि तँ हरेक कुरालाई धर्मसिद्धान्त, तर्क र नियमहरू प्रयोग गरी विश्‍लेषण गर्छस् भने; अनि यदि तँ हरेक कुरालाई मानव सोचमा आधारित भएर विश्‍लेषण गर्छस् र सम्हाल्छस् भने, त्यो सत्यता खोज्नु होइन, र तँ यसरी परमेश्‍वरको आज्ञापालन गर्न सक्षम हुनेछैनस्। तैँले परमेश्‍वरमा जति वर्ष विश्‍वास गरेको भए पनि, तँ परमेश्‍वरका वचनहरूभन्दा बाहिर हुनेछस्, तँ बाह्य व्यक्ति हुनेछस्, र तैँले सत्यता बुझ्न सक्नेछैनस्। तिमीहरूले आफ्नो ध्यान अब बिस्तारै यस दिशामा सार्नुपर्छ र सत्यतामा लागिपर्नुपर्छ। कैयौँ वर्षको अनुभवपछि, तँ कदको हिसाबले थोरै बढ्नेछस् र केही सत्यता बुझ्न सक्षम हुनेछस्। यो नसोच् कि परमेश्‍वरमा ढिलो आस्था राख्नु समस्या होइन, र अरू मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गरेका छन् भने तँ पनि सक्छस्, वा तँ कहिल्यै पछि पर्नेछैनस्। तैँले यस्तो सोच्‍नु हुँदैन। यदि यस्तो सोच्छस् भने, तँ अवश्य पछि पर्नेछस्। यदि तँ परमेश्‍वरको आस्थामा ढिलो आएको होस् भने, तँ झन् बढी हतारिनुपर्छ। तैँले अरूलाई भेट्टाउन सक्दो गर्नुपर्छ, किनकि त्यसपछि मात्र तैँले परमेश्‍वरको कामका पाइलाहरूको लय समात्न अनि आफूलाई पछि पर्न र निष्कासित हुनबाट रोक्न सक्नेछस्।

तँलाई जे आइपरे पनि, परिस्थितिहरूलाई तैँले परमेश्‍वरका वचनहरूअनुसार नै हेर्नुपर्छ र तिनलाई सत्यताको दृष्टिकोणबाट सम्हाल्नुपर्छ। यस तरिकाले समस्याहरू देख्‍न सजिलो हुन्छ, र परिस्थितिहरूलाई परमेश्‍वरका वचनहरूअनुसार हेरेर, तैँले सजिलै ती कुराहरूको सार छर्लङ्गै देख्न सक्नेछस्। कतिपय मानिसहरूले सधैँ सिकाइकै आधारमा परिस्थितिहरू हेर्ने गर्छन्। तिनीहरूले विविध कुराहरूलाई सधैँ दिमागले अध्ययन र विश्‍लेषण गरिरहेका वा दैहिक नजरले हेरिरहेका र विचार गरिरहेका हुन्छन्। त्यसकारण, तिनीहरूले समस्याहरूको सार छर्लङ्गै देख्न सक्दैनन् र सधैँ बाटो बिराउँछन्। यस्तो कुरा दशकौँसम्म चलिरहन सक्छ—र वस्तुस्थिति प्रस्ट रूपमा नबुझी नै तिनीहरू मृत्युमा पुग्न सक्छन्। उदाहरणको लागि, कहिलेकाहीँ तैँले कुनै बिमार सामना गर्छस्, अनि तैँले सोच्छस् कि त्यो वस्तुगत कारणहरू भएको सामान्य बिमार मात्र हो, र त्यो परमेश्‍वरको ताडना पनि होइन र समस्या पनि होइन, जबकि खासमा, त्यसमा एउटा ठूलो समस्या हुन्छ। यदि यस मामिलामा तेरो सोच सूक्ष्म तरिकाको छ र तँ परमेश्‍वरलाई प्रार्थना गर्न र सत्यता खोज्न सक्छस् भने, कहिलेकाहीँ, जब पवित्र आत्माले तँलाई कुनै अर्थ भन्नुहुन्छ, तब तैँले आफूमा केही कमीकमजोरीहरू वा आफ्नो स्वभावमा केही समस्याहरू भएको चिन्न सक्नेछस्। परमेश्‍वरले तँलाई खार्नको लागि, कष्ट भोगाउनको लागि, र गहिरो आत्मिक जाँच र मननमा फर्काउनको लागि तँलाई रोग दिनुहुन्छ, र त्यो रोगको ठ्याक्कै उद्देश्य के हो त्यो तँलाई बुझाउनुहुन्छ। जब तँ गहिरो आत्मिक जाँचमा फर्किन्छस्, तैँले समस्याको जड भेट्टाउन र आफ्नो भ्रष्टताबारे केही ज्ञान प्राप्त गर्न सक्छस्। अलिअलि कष्टबिना, तैँले सधैँ आफू महान्‌ छु भनेर सोच्नेथिस्, र तँ यो भ्रष्टता पत्ता लगाउन असफल हुन्थिस्। त्यसपछि तैँले आफूलाई आवश्यक पर्ने सत्यता बुझ्न सक्‍नेथिनस्। के तिमीहरूले यस्तो अनुभव गरेका छौ? पवित्र आत्माले सबथोक एकदमै समयमै गर्नुहुन्छ, र सबथोक मानिसहरूको आवश्यकता र तिनीहरूको वर्तमान कद र स्थितिअनुसार नै गर्नुहुन्छ। पहिला भनिएको थियो कि परमेश्‍वरको काम समयनिष्ठ र यथार्थपरक, र अत्यन्तै समसामयिक हुन्छ, र त्यसमा कुनै ढिलाइ हुँदैन। यो कुरा तैँले आफ्नो वास्तविक अनुभवमै देखेको छस्। हरेकपटक तैँले कुनै कुरा सामना गर्नुपर्दा, पवित्र आत्माले तँलाई तुरुन्तै उत्प्रेरणा र अन्तर्दृष्टि दिनुहुन्छ, तर तैँले राम्ररी सहकार्य गर्दैनस्। तँ अति बोधो छस्। कहिलेकाहीँ के भइरहेको छ भनेर तैँले समझ त पाउँछस् तर त्यसलाई अझ गहन रूपमा बुझ्ने कोसिस नगरी त्यतिकै छोडिदिन्छस्। तँ सतही बुझाइमै सन्तुष्ट हुन्छस्, र त्यससँगै तैँले सबै बुझ्छु भन्ठान्छस्, तर वास्तवमा तँ साँचो बुझाइमा पुगेको हुँदैनस्। तेरो सतही बुझाइलाई तर्कसंगत बुझाइको उचाइमा पुर्‍याइएपछि मात्र, तैँले अघि बढ्ने मार्ग प्राप्त गर्न सक्छस्। यदि पवित्र आत्माले तँलाई फेरि पनि उत्प्रेरित गर्नुहुन्छ तर तैँले यसलाई अझै बेवास्ता गर्छस् र टिपोट गर्न चाहँदैनस् भने, तैँले यो कुरा चाँडै बिर्सनेछस्। तब तैँले यो ज्योति, यो वास्तविक कुरा प्राप्त गरेको हुनेछैनस्, र त्यो ठूलो सरमको कुरो हुनेछ। लगनशील मानिसहरूले कामकुराहरू टिपोट गर्छन् र पछि फेरि ती टिपोटहरू हेर्दा तिनीहरूलाई गज्जबको अनुभूति हुन्छ। तिनीहरूले यो जगमाथि केही ज्योति प्राप्त गर्न सक्छन्। जो व्यक्ति लापर्बाह छ र जोसँग आत्मिक मामिलाहरूबारे कुनै बुझाइ छैन उसले यो ज्योतिको अनुभूति गर्न सक्दैन—उसलाई त ज्योतिको के हो भन्‍नेसमेत थाहा हुँदैन। यो ज्योति तिनीहरूभित्रै चम्किन्छ र हराइहाल्छ, र यदि तिनीहरू सधैँ यस्तै रहिरहन्छन् भने, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुनेछैन। सत्यता पछ्याउनको लागि, तँ संवेदनशील र मिहीन रूपमा सोच्न सक्ने हुनुपर्छ; तँ अल्छी हुनु हुँदैन। तैँले तत्कालै सहकार्य पनि गर्नुपर्छ। जब तैँले सतही बुझाइ प्राप्त गर्छस्, तैँले त्यसलाई समातिहाल्नुपर्छ, यसबारे चाँचाँडो मनन गर्नुपर्छ, र परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ। अनि, तैँले कसरी प्रार्थना गर्नुपर्छ? तेरो प्रार्थनालाई तैँले प्राप्त गरेको अन्तर्दृष्टिमा केन्द्रित गर्। कहिलेकाहीँ त्यो तेरो आफ्नै सोचजस्तो लाग्न सक्छ, र त्यो ठिकै नै हो। तँलाई आनन्द र प्रस्टता अनुभूति हुन्छ भने, तैँले प्रार्थना र खोजी गर्नुपर्छ। यो नयाँ ज्योति पत्ता लगाउनु र यसलाई सही तरिकाले गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तैँले प्रार्थना गर्दा शब्‍दहरू विशेष रूपले राम्ररी प्रवाहित हुन्छन् भने, र तँलाई सहज महसुस हुन्छ, तैँले फेरि अन्तर्दृष्टि प्राप्त गर्छस्, र तेरो मस्तिष्कले ज्योति प्राप्त गर्छ भने, तैँले यो नयाँ ज्योतिको टिपोट गर्नुपर्छ। किनभने तँ राम्रो स्थितिमा हुँदा तैँले त्यो सम्झन सक्छस्, तर नराम्रो स्थितिमा हुँदा तैँले त्यो बिर्सन्छस्। कुनै लेख लेख्दा मानिसहरूले धेरै पन्ना लेख्न सक्छन्, तर जब अनुभवात्मक गवाही वा परमेश्‍वरबारे तिनीहरूको ज्ञान लेख्‍ने कुरा आउँछ, तिनीहरूले एक शब्द पनि लेख्न सक्दैनन्। तिनीहरूमा अझै पनि वास्तविकता हुँदैन। जो सत्यतालाई प्रेम गर्छन् तिनीहरू पवित्र आत्माको अन्तर्दृष्टि र ज्योतिप्रति केन्द्रित हुन्छन्। जो सत्यतालाई प्रेम गर्दैनन् तिनीहरूले पवित्र आत्माको अन्तर्दृष्टिलाई बहुमूल्य ठान्दैनन्, र यसले तिनीहरूलाई के महत्त्वपूर्ण हो, के गौण हो, के निर्णायक कुरा हो, वा तिनीहरूले के हासिल गर्नुपर्छ, त्यो थाहै छैन भन्ने देखाउँछ। यसले गर्दा, तिनीहरूले पवित्र आत्माको अन्तर्दृष्टि गुमाउँछन्। त्यसैले आफूसँगै सानो टिपोट पुस्तिका बोक्नु उत्तम हुन्छ, अनि जबजब पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ र तैँले नयाँ ज्योति प्राप्त गर्छस्, तैँले त्यसलाई तुरुन्तै टिप्‍न र लेख्‍न सक्छस्। पवित्र आत्माले जुनसुकै समय र स्थानमा काम गर्नुहुन्छ। कुनै व्यक्ति जस्तोसुकै परिस्थितिमा भए पनि, जबसम्म उसले परमेश्‍वरका वचनहरू मनन गर्छ र यदि ऊ सत्यता खोज्न सक्छ भने, पवित्र आत्माले उसलाई अन्तर्दृष्टि दिनुहुन्छ। तँ काममा व्यस्त भएर तँलाई निकै थकित महसुस हुँदा पनि, यदि तैँले खोजी र प्रार्थना गर्छस् भने, पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ। तैँले परमेश्‍वरका वचनहरू पढ्दा वा सत्यता सङ्गति गर्दा पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ। जब तैँले परमेश्‍वरका वचनहरू मनन गर्छस् र आफ्नो बारेमा चिन्तन गर्छस्, उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ। जब पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ, त्यसलाई लेखेर राख् र मनन गर्, अनि त्यसले तेरो हृदय स्पष्ट पार्नेछ। जब तैँले साँच्चिकै सत्यता बुझ्छस्, तँलाई पूर्ण मुक्ति मिल्नेछ। जब तैँले यस तरिकाले परमेश्‍वरको काम अनुभव गर्छस्, तैँले भित्र्याउने प्रतिफल बढेको बढ्यै हुनेछ। तथ्य के हो भने पवित्र आत्माको बढीजसो अन्तर्दृष्टि तिमीहरू आफैले बर्बाद पार्छौ। तिमीहरू धनी परिवारका आफ्नै विरासत बर्बाद पार्ने बच्चाहरूजस्तै छौ, र पवित्र आत्माले तिमीहरूमाथि गर्नुहुने सबै कामलाई बेवास्ता गर्छौ, र परमेश्‍वरद्वारा सिद्ध पारिने कैयौँ मौकाहरू गुमाउँछौ! पवित्र आत्माले प्रचुर मात्रामा काम गर्नुभएको छ, तैपनि तैँले त्यो बोध गर्न सक्दैनस्। के तैँले वास्तवमै परमेश्‍वर तँप्रति दयालु हुनुहुन्न भनेर भन्न सक्छस्? तथ्य यो होइन कि परमेश्‍वरले तँलाई पर्याप्त दया देखाउनुभएन—तथ्य त यो हो कि तैँले नै त्यो हासिल गरेको छैनस्।

पवित्र आत्माको कामको एउटा ढाँचा छ, र त्यसबारे निष्कर्षहरू निकालिनु आवश्यक छ। यदि व्यक्तिले आफूलाई निष्कर्ष निकाल्नमै लागी पराउँछ भने, उसले धेरै कुराहरूको निष्कर्ष निकाल्न सक्छ। यसबाट केही न केही पक्कै हासिल हुनेछ। उदाहरणको लागि, प्रार्थनाकै कुरा गरौँ। कति समयहरूमा प्रार्थनाबाट तैँले धेरै अन्तर्दृष्टि प्राप्त गर्न सक्छस्, तर यदि तैँले बेवास्ता गरिस् भने, तैँले थाहै पाउनेछैनस्। अन्तर्दृष्टिका केही वचनहरू तेरै मुखबाट आउन सक्छन्, तर यदि तैँले ध्यान दिइनस् भने, तैँले त्यो चालै पाउनेछैनस्। तँलाई यति मात्र थाहा हुनेछ कि तैँले राम्रो प्रार्थना गरिस्, जबकि खासमा पवित्र आत्माले अन्तर्दृष्टि र ज्योति दिनुभएका वचनहरू त तेरो प्रार्थनाभित्रै रहेका थिए। ती सबै नयाँ ज्योति थिए, तर तैँले तिनलाई फुत्किन दिइस्। पवित्र आत्माको कामले मानिसहरूलाई सबैभन्दा बढी मदत गर्ने तरिका भनेको तिनीहरूलाई अन्तर्दृष्टि र ज्योति प्रदान गरेर, तिनीहरूलाई सत्यता अनि परमेश्‍वरको केही इच्‍छा बुझ्‍न दिएर, अनि तिनीहरूलाई परमेश्‍वरको मापदण्डअनुरूप काम गर्न र सही मार्गबाट नबहकिन सक्षम तुल्याएर हो। पवित्र आत्माको कामले मानिसहरूलाई अन्तर्दृष्टि दिनुको लक्ष्य के हो? कहिलेकाहीँ, यसको काम बाटो देखाउने हुन्छ; कहिलेकाहीँ यसले तँमा केही समझ आओस् भनेर तँलाई सम्झाउने काम गर्छ; र कहिलेकाहीँ यसले तँलाई ज्योति प्रदान गरेर सत्यता बुझ्न मदत गर्छ र तँलाई अभ्यास गर्ने बाटो प्रदान गर्छ। जब तँ बहकिएर आफ्नै बाटोमा लागेको हुन्छस्, उहाँले तँलाई सही मार्गतर्फ डोर्‍याउँदै र निर्देशित गर्दै बैसाखीले झैँ साथ र सहयोग दिनुहुन्छ। पवित्र आत्माले जुनसुकै ज्योति र ज्ञानद्वारा मानिसहरूलाई अन्तर्दृष्टि दिनुभए पनि, र त्यो मानिसहरूको व्यक्तिगत पृष्ठभूमिको कारण फरक भए पनि, त्यो सत्यतासँग विरोधाभास हुने वा बाझिने कदापि गर्दैन। यदि हरेक व्यक्तिले साँचो रूपमा खोजी र प्रार्थना गर्दै, र साँचो रूपमा आज्ञापालन गर्दै अनुभव गर्थ्यो भने, र पवित्र आत्माले पनि त्यसरी नै निरन्तर काम गर्दै तिनीहरूलाई अन्तर्दृष्टि र अगुवाइ प्रदान गर्नुहुन्थ्यो भने, र यदि तिनीहरू तीक्ष्ण र मिहीन सोच भएका हुन्थे र तिनीहरू पवित्र आत्‍माले अन्तर्दृष्टि दिनुहुने कुराहरू अभ्यास गर्न र तिनमा प्रवेश गर्न सक्षम हुन्थे भने, तिनीहरूको कद चाँडै वृद्धि हुनेथ्यो। तिनीहरूले त्यसपछि अवसरको फाइदा उठाएका हुन्थे। पवित्र आत्‍माको कार्यको एउटा विशेषता के हो भने यो अत्यन्तै शीघ्र हुन्छ। यो एकै पलकमा समाप्त हुन्छ, र यो दुष्ट आत्‍माहरूको कामजस्तो हुँदैन, जहाँ मानिसहरूलाई सधैँ विभिन्‍न काम गर्न यसरी उक्साइन्छ र बाध्य पारिन्छ कि तिनीहरूले अर्को कुनै तरिकाले काम गर्नै सक्दैनन्। कहिलेकाहीँ, पवित्र आत्माले मानिसहरू खतराको सङ्घारमा पुगेको बेला, तिनीहरूलाई भित्री रूपमा अत्यन्तै असहज र व्याकुल महसुस गराउने अनुभूति दिलाउँदै काम गर्नुहुन्छ। विशेष परिस्‍थितिहरूमा यस्तो हुन्छ। प्रायजसो, जब मानिसहरू परमेश्‍वरनजिक जान्छन्, र सत्यता खोज्छन्, वा जब तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्छन्, तब पवित्र आत्माले तिनीहरूलाई एउटा भावना, वा सूक्ष्म सोच वा विचार दिनुहुन्छ। अथवा, उहाँले तँलाई कुनै अभिव्यक्ति वा सन्देश प्रदान गर्नुहुन्छ। त्यसमा कुनै आवाज भएझैँ हुन्छ, र त्यो आवाजविहीन भएझैँ पनि हुन्छ; त्यो एउटा ताकेताजस्तै हो, र तैँले त्यसको अर्थ के हो, त्यो बुझ्न सक्छस्। त्यसपछि, यदि तैँले आफूले बुझेको अर्थलाई उपयुक्त शब्दहरूमार्फत व्यक्त गर्छस् भने, तैँले केही न केही हासिल गर्नेछस्, र त्यसले अरूलाई पनि सुधार्नेछ। यदि मानिसहरू सधैँ यस तरिकाले अनुभव गर्छन् भने, तिनीहरूले बिस्तारै धेरै सत्यताहरू बुझ्नेछन्। यदि मानिसहरूसँग सधैँ आफ्नो छेउमा पवित्र आत्माको काम छ भने, र तिनीहरूलाई डोर्‍याउनको लागि सधैँ नयाँ ज्योति हुन्छ भने, तिनीहरू साँचो मार्गबाट कहिल्यै नबहकिने निश्‍चित छ। यदि तँसित कसैले कहिल्यै सङ्गति गर्दैन, र तँलाई कसैले मार्गदर्शन गर्दैन, अनि तँसित कामको बन्दोबस्तसमेत छैन भने पनि, यदि तँ पवित्र आत्माले मार्गदर्शन गर्नुभएको दिशामा हिँड्छस् भने, तँ निश्‍चय नै बहकिनेछैनस्। पत्रुसले प्रभु येशूलाई उहाँ बौरी उठ्नुभएर स्वर्गमा आरोहण भएपछि देख्यो, तर थोरैपटक मात्र देख्यो। उसले प्रभु येशूलाई मानिसहरूले कल्पेजस्तो बारम्बार, वा आफूले चाहेको बेला देख्न सक्दैनथ्यो, र उसले आफूले नबुझेको कुराबारे प्रार्थना गर्दा पनि उहाँलाई देख्थेन। त्यो कल्पेजस्तो हुँदैनथ्यो। के परमेश्‍वरलाई देख्नु त्यति सजिलो छ र? परमेश्‍वर मानिसहरूसामु सजिलै देखा पर्नुहुन्न। बढीजसो, परमेश्‍वरले पत्रुसलाई पवित्र आत्माको काममार्फत कामकुराहरू बुझ्न लगाउनुहुन्थ्यो। पत्रुसले हासिल गर्न सकेको कुरा हासिल गर्न तिमीहरू किन सक्दैनौ? अन्त्यमा यसले के प्रमाणित गर्छ? यसले तेरो क्षमता अपर्याप्त छ, तँसित बुझ्ने शक्ति छैन, र मननमार्फत तैँले कामकुराहरूको भित्री यथार्थ पत्ता लगाउन सक्दैनस् भन्ने प्रमाणित गर्छ। तैँले जुनसुकै कुराहरू सामना गरे पनि, तैँले तिनलाई सधैँ परमेश्‍वरका वचनहरूमा उल्‍लेखित सत्यताअनुसार हेर्नुपर्छ। यदि मानिसहरूलाई केही आइपर्दा तिनीहरू सधैँ आफ्नै सोच र मानसपटलमा रहन्छन्, र तिनीहरूले ती कुराहरूलाई मानव विधिद्वारा नै सम्हाल्छन् भने, तिनीहरूले केही पनि हासिल गर्नेछैनन्। पत्रुसलाई केही आइपर्दा उसले के सोच्थ्यो? उसले प्रभु येशूका वचनहरूअनुसार त्यसबारे सोचविचार र मनन गर्थ्यो, र ऊ यसरी नै परमेश्‍वरको इच्छा पत्ता लगाउन सक्षम भयो। अनि पछि, प्रभु येशू स्वर्गमा आरोहण गरिसक्नुभएपछि पनि, पत्रुस कसरी परमेश्‍वरको इच्छा पत्ता लगाउन सक्षम भयो? ऊ पवित्र आत्माको अन्तर्दृष्टिमार्फत त्यसो गर्न सफल भयो। यदि उसले पवित्र आत्माको अन्तर्दृष्टिबारे चाल पाउन सक्दैनथ्यो भने, र प्रभु येशू बौरी उठेर स्वर्ग आरोहण गर्नुभएपछि ऊसामु देखा नपर्नुभएको भए, ऊ कसरी परमेश्‍वरको इच्छा बुझ्न सक्षम हुन्थ्यो होला र? देहधारी परमेश्‍वरले मानिसहरूले कल्पेजस्तो गरी मानिसहरूलाई हरदिन व्यक्तिगत रूपमा र निरन्तर मार्गदर्शन गर्दै तिनीहरूलाई सिद्ध पार्ने तरिकाले काम गर्नुहुन्न। त्यो त्यस्तो हुँदैन। पवित्र आत्माको काम साझेदारीमा हुन्छ। आत्माको त्यो साझेदारीको कामले नै बढीजसो काम गर्छ। अगुवाइ गर्ने कामचाहिँ देहले गर्छ, र जब त्यो काम सकिन्छ, बाँकी रहेका ससाना मामिलाहरूबारे पवित्र आत्माले मानिसहरूलाई अन्तर्दृष्टि दिएर बुझाउनुहुन्छ। यदि मानिसहरू यसलाई टिप्‍न सक्दैनन् र यसको एउटा अंश मात्र प्राप्त गर्न सक्षम हुन्छन् भने, तिनीहरूले बाँकी विवरणहरू प्राप्त गर्न सक्नेछैनन्—अनि यदि तिनीहरूले ती कुराहरू प्राप्त गर्न सक्दैनन् भने, तिनीहरू परिवर्तन हुनेछैनन्, र तिनीहरूले केही प्रगति गर्नेछैनन्।

जो मानिसहरूले पवित्र आत्माको काम वा अन्तर्दृष्टि अनुभव गरेका छैनन्, तिनीहरूलाई ती कुराहरू बुझ्न सजिलो छैन। तथ्य के हो भने, पवित्र आत्माको काम र अन्तर्दृष्टिको एउटा ढाँचा हुन्छ। जबजब पवित्र आत्माको काम र अन्तर्दृष्टिको कुरा हुन्छ, मानिसहरू पवित्र आत्माको काम प्राप्त गर्न धेरै कष्ट भोग्नुपर्ने र ठूलो मूल्य चुकाउनुपर्ने भनी सधैँ गलत अर्थ लगाउँछन्। के यो मानव धारणा होइन र? मानिसहरू अल्छी भएकाले र तिनीहरूको हृदय कठोर हुनाले, तिनीहरूले साधारणतया आफ्ना आत्माभित्रका भावनाहरूमा कहिल्यै ध्यान दिँदैनन्, अनि जब त्यसमा अलिअलि ज्योति र अन्तर्दृष्टि हुन्छ, त्यसलाई तिनीहरू केही होइन भनी बेवास्ता गर्छन्। यदि तँ पूरै दिन आफ्नो मामिलामा भूल्छस्, धर्मसिद्धान्तका वचनहरू र नियमहरूमा अडिग रहन्छस्, र देह र स्वच्छन्द प्रेमको जीवन जिउँछस् भने, पवित्र आत्माले तँलाई अन्तर्दृष्टि र मार्गदर्शन दिन सक्नुहुन्न। उहाँले यो काम कसैगरी गर्न सक्नुहुन्न। तैँले अझ बढी प्रार्थना गर्नुपर्छ, र पवित्र आत्माको काम खोज्नुपर्छ, र पवित्र आत्माको काम कसरी स्विकार्ने र कसरी त्यसलाई नफुत्काउने भन्‍ने उपाय खोज्नुपर्छ। परमेश्‍वरलाई प्रार्थना गर्: “हे परमेश्‍वर! कृपया ममाथि काम गर्नुहोस्, मलाई सिद्ध पार्नुहोस् र परिवर्तन गर्नुहोस्, मलाई हरेक कुरामा तपाईंको इच्छा बुझ्न र तपाईंका अभिप्रायहरूप्रति समर्पित हुन दिनुहोस्। तपाईंको महान प्रेम र तपाईंको इच्छा तपाईंले मलाई दिनुहुने मुक्तिमै छ। मानिसहरू अटेरी छन् र तिनीहरूले तपाईंको प्रतिरोध गर्छन्, र तिनीहरू विद्रोही स्वभावका छन्, तर म अहिले मानिसहरूलाई मुक्ति दिनुमा रहेको तपाईंको इच्छा बुझ्छु, र म तपाईंसँग सहकार्य गर्न चाहन्छु। तपाईंले मलाई अझ बढी परिस्थिति, परीक्षा, र कठिनाइहरू दिनुहोस्, मलाई यी कठिनाइहरूमा तपाईंको हात देख्ने र तपाईंका कामहरू देख्ने तुल्याउनुहोस्, ताकि म तपाईंको इच्छा बुझ्ने र त्यसप्रति समर्पित हुने व्यक्ति बन्न सकूँ। मलाई मनमौजी हुन नदिनुहोस्, बरु वास्तविकतामा जिउने व्यक्ति हुन दिनुहोस्।” यसरी प्रार्थना गर्, र यस्तो प्रार्थना बारम्बार गर्; पवित्र आत्मालाई सधैँ तँमाथि काम गर्न र तँलाई डोर्‍याउन अनुरोध गर्। जब पवित्र आत्माले तँलाई सही मार्गमा हिँडिरहेको र गर्नुपर्ने काम गरिरहेको देख्नुहुन्छ, पहिला उहाँले तँलाई केही परिस्थितिहरू दिएर तेरो परीक्षण गर्नुहुन्छ र त्यसपछि तँलाई बोझिलो परीक्षा दिएर तैँले त्यसबाट पार पाउन सक्छस् कि सक्दैनस् भनी हेर्नुहुन्छ। कतिले त त्यो सहनै सक्दैनन्। तिनीहरूले यसो भन्नेछन्: “हे परमेश्‍वर, यो परिस्थिति अति भयो—म यो सहनै सक्दिनँ!” त्यसपछि तिनीहरू यस मामिलामा असफल भएका हुनेछन्। यदि तँलाई तँ जुन परिस्थितिमा छस् त्यो तेरो लागि अति धेरै हो जस्तो साँच्चिकै लाग्छ भने, परमेश्‍वरलाई यसरी प्रार्थना गर्: “हे परमेश्‍वर, तपाईंले दिनुभएको परिस्थिति मलाई अति भयो। म त्यो सहनै सक्दिनँ, तर म कोसिस गर्न चाहन्छु। कृपया मलाई मेरो कदअनुसार भरणपोषण गर्नुहोस् र तपाईंको इच्छा बुझ्न दिनुहोस्, चाहे म गम्भीर कष्ट भोगूँ वा हलुका कष्ट भोगूँ, मैले तपाईंलाई घात वा गुनासो गर्नेछैन। मलाई पूर्ण रूपले समर्पित हुन यसरी सक्षम तुल्याउनुस् कि त्यसबाट तपाईंलाई पूर्ण सन्तुष्टि मिलोस्। चाहे म गम्भीर कष्ट भोगूँ वा हलुका कष्ट भोगूँ, यदि त्यो तपाईंकै इच्छा हो भने, म कुनै गुनासोबिना त्यसप्रति समर्पित हुन चाहन्छु। म तपाईंका अभिप्रायहरूविपरीत जान चाहँदिनँ, र कष्ट जतिसुकै गम्भीर बने पनि, जबसम्म म सहन सक्छु, बिन्ती छ तबसम्म तपाईं मलाई कष्ट दिइरहनुहोस्।” तैँले निर्धक्क भएर अनि साहसपूर्वक प्रार्थना गर्नुपर्छ। भाग्‍ने वा डराउने नगर्‌। जब पवित्र आत्माले तँ सही मार्गमा हिँडिरहेको, तैँले जे गर्नुपर्ने हो त्यही गरिरहेको, तैँले परमेश्‍वरलाई हृदयमा साँच्चिकै चाहेको, र तैँले सत्यता पछ्याइको देख्नुहुन्छ, उहाँले तँलाई बोझिलो परिस्थिति अनि त्यसलाई पार लाउन सक्ने ठूलो शक्ति प्रदान गर्न सक्नुहुन्छ—र त्यसपछि तैँले जितेको हुनेछस्। तैँले विशेष कष्टपूर्ण परिस्थिति पार गर्न सक्नु भनेको धर्मसिद्धान्तका केही वचनहरू बुझ्नुभन्दा धेरै ठूलो कुरा हो। यो साक्षी दिने कुरा हो।

दैनिक जीवनमा, मानिसहरू हरप्रकारका मानिस, घट्ना र वस्तुहरूको सम्पर्कमा आउँछन्, र यदि तिनीहरूमा सत्यता छैन र तिनीहरूले प्रार्थना गरेर सत्यता खोज्दैनन् भने, प्रलोभन फाल्न तिनीहरूलाई कठिन लाग्नेछ। उदाहरणको लागि, पुरुष र महिलाबीचको सम्बन्धहरूकै कुरा गरौँ। कतिपय मानिसहरू यस्ता प्रलोभनहरूको प्रतिरोध गर्न सक्दैनन्, र यस्तो परिस्थिति सामना गर्नेबित्तिकै तिनीहरू फस्छन्। के यसले कदको हिसाबले तिनीहरू अति साना छन् भन्‍ने देखाउँदैन र? सत्यता नभएका मानिसहरू यस्तै दयनीय हुन्छन् र तिनीहरूले कदापि साक्षी दिँदैनन्। कतिपय मानिसहरू पैसासम्बन्धी परिस्थिति सामना गर्नुपर्दा प्रलोभनमा फस्छन्। जब तिनीहरूले पैसा भएको अरू कोही व्यक्ति देख्छन्, तिनीहरू गुनासो गर्छन्, “तिनीहरूसँग किन यति धेरै पैसा छ र मचाहिँ किन यति गरिब छु? यो न्यायसङ्गत भएन।” आफूलाई यस्तो हुँदा तिनीहरू गुनासो गरिहाल्छन्, र परमेश्‍वरका कुरा बुझ्न वा उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्दैनन्। कतिपय यस्ता मानिसहरू पनि छन् जो सधैँ हैसियतमाथि केन्द्रित हुन्छन्, र यस्तो परीक्षा सामना गर्नुपर्दा, तिनीहरूले त्यसबाट पार पाउन सक्दैनन्। उदाहरणको लागि, एउटा अविश्‍वासीले तिनीहरूलाई कुनै आधिकारिक पदमा राख्‍न चाहन्छ, जसबाट तिनीहरूलाई थुप्रै फाइदाहरू हुन सक्छ, अनि तिनीहरू अडिग रहन सक्दैनन्। तिनीहरू सोच्छन्, “के म यो काम गरूँ?” अनि, तिनीहरू प्रार्थना र मनन गर्छन्, र भन्छन्: “हो—मैले गर्नुपर्छ!” तिनीहरूले मन बनाइसकेका छन्, र अबउप्रान्त तिनीहरूले खोजी गर्नुको अर्थ छैन। तिनीहरूले त्यो आधिकारिक पद सम्हाल्ने र त्यसका लाभहरू प्राप्त गर्ने प्रस्ट निर्णय गरिसकेका छन्, तर तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दा प्राप्त हुने आशिष्‌हरू गुमाउने डरले गर्दा, फर्केर आउन र परमेश्‍वरमै विश्‍वास गर्न पनि चाहन्छन्। त्यसैले तिनीहरू उहाँलाई प्रार्थना गर्छन्: “कृपया मेरो परीक्षा लिनुहोस्, परमेश्‍वर।” तेरो के नै परीक्षा लिन बाँकी छ र? तैँले तेरो आधिकारिक पद सम्हाल्ने मन बनाइसकेको छस्। तँ यो मामिलामा अडिग रहिनस्, र तँ पहिल्यै फसिसकेको छस्। के तँलाई अझै परीक्षा गरिनु आवश्यक छ र? तँ परमेश्‍वरको परीक्षाको लायक नै छैनस्। के तैँले तेरो दयालाग्दो सानो कद लिएर उहाँको परीक्षा भोग्न सक्नेछस् र? कतिपय त्यस्ता घृणित मानिसहरू पनि हुन्छन् जो आफूले देख्ने जुनसुकै लाभको लागि प्रतिस्पर्धा गर्छन्। पवित्र आत्मा तिनीहरूकै छेउमै रहेर, तिनीहरूले कस्तो विचार व्यक्त गर्छन् र तिनीहरूको मनोवृति के छ भनी हेर्दै हुनुहुन्छ, र तिनीहरूको परीक्षा लिन थाल्दै हुनुहुन्छ। कतिपय मानिसहरू मनमनै सोच्छन्, “म यो चाहँदिनँ, चाहे त्यो मप्रतिको परमेश्‍वरको दया नै किन नहोस्। मसँग पहिल्यै त्यो पर्याप्त छ, र परमेश्‍वरले मलाई अति बढी दया देखाउनुहुन्छ। म राम्रो खानु र लाउनुको मतलब गर्दिनँ, म त सत्यता पछ्याउने र परमेश्‍वरलाई पाउन सक्षम हुनेबारे मात्र मतलब गर्छु। मैले जुन सत्यता प्राप्त गरेको छु त्यो मैले केही नगरीकनै परमेश्‍वरले मलाई दिनुभएको हो। म यी कुराहरूको लायक छुइनँ।” पवित्र आत्माले तिनीहरूको हृदय सूक्ष्म जाँच गर्नुहुन्छ र तिनीहरूलाई झन् बढी अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ, तिनीहरूलाई झन् बढी बुझ्ने र झन् बढी ऊर्जावान्‌ तुल्याउनुहुन्छ, र तिनीहरूको लागि सत्यता झन् बढी छर्लङ्गै बनाउनुहुन्छ। तर ती घृणित मानिसहरूले भने यसमा कुनै लाभ दिइँदै गरेको देख्छन् र यस्तो सोच्छन्, “म अरू कोहीभन्दा अघि त्यसको लागि लड्नेछु। यदि तिनीहरूले त्यो मलाई नदिएर अरू कसैलाई दिन्छन् भने, म तिनीहरूलाई दह्रो गाली दिनेछु र तिनीहरूलाई कठिनाइमा पार्नेछु। म तिनीहरूलाई म के चीज हुँ भनेर देखाउनेछु, अनि तिनीहरूले अर्कोपटक त्यो कसलाई दिँदा रैछन्, हेरौँला!” पवित्र आत्माले तिनीहरू यस्तै हुन् भनेर बुझ्नुहुन्छ र तिनीहरूलाई पर्दाफास गरिदिनुहुन्छ। तिनीहरूको कुरूपता प्रकट हुन्छ, अनि यस्तो व्यक्तिलाई दण्डित गरिनुपर्छ। तिनीहरूले जति धेरै वर्ष विश्‍वास गरे पनि, त्यसबाट तिनीहरूलाई केही हुनेवाला छैन। तिनीहरूले केही हासिल गर्न सक्‍नेछैनन्! धेरैजस्तो, पवित्र आत्माले मानिसहरूलाई जब दया देखाउनुहुन्छ, तिनीहरूले त्यो नसोचेको बेला प्राप्त गर्छन्। यदि परमेश्‍वरले तँलाई दया देखाउनुहुन्न भने, तेरो दण्ड पनि तैँले नसोचेकै समयमा हुनेछ। सत्यता नपछ्याउनेहरूको लागि परिस्थितिहरू यति खतरनाक हुन्छन्।

जब मानिसहरूलाई आफूमाथि आइपरेका परिस्थितिहरूबारे अन्तर्दृष्टि हुँदैन, र गर्नुपर्ने उचित काम के हो भन्‍ने पनि थाहा हुँदैन, तब तिनीहरूले गर्नुपर्ने पहिलो कुरा के हो? तिनीहरूले सर्वप्रथम प्रार्थना गर्नुपर्छ; सुरुमा प्रार्थना नै आउँछ। प्रार्थनाले के कुरा देखाउँछ? यसले तँ भक्त छस्, तँसँग परमेश्‍वरको केही डर मान्‍ने हृदय छ, र तँलाई तैँले परमेश्‍वरको खोजी कसरी गर्नुपर्छ भन्‍ने थाहा छ भन्‍ने देखाउँछ, र यसले तैँले परमेश्‍वरलाई नै पहिलो स्थानमा राख्छस् भन्‍ने प्रमाणित गर्छ। जब तेरो हृदयमा परमेश्‍वर हुनुहुन्छ र जब त्यहाँ परमेश्‍वरको निम्ति स्थान हुन्छ, र जब तैँले परमेश्‍वरको आज्ञापालन गर्न सक्छस्, तब तँ एक भक्त इसाई हुन्छस्। कैयौँ पाका विश्‍वासीहरू यस्ता हुन्छन् जो हरेक दिन उही समय र स्थानमा घुँडा टेकेर प्रार्थना गर्छन्। तिनीहरू हरेकपटक एकदुई घण्टा घुँडा टेकेर बस्छन्, तर जति धेरै वर्षदेखि यसरी घुँडा टेके पनि, यसले तिनीहरूको पापका कैयौँ समस्याहरू समाधान गरेकै हुँदैन। अब हामी एकैछिन त्यस्तो धार्मिक प्रार्थना उपयोगी हुन्छ हुँदैन भन्‍ने कुरालाई पन्छाऔँ। कम्तीमा पनि, यी पाका ब्रदर-सिस्टरहरू अलिअलि त भक्त नै छन्। यस हिसाबमा, तिनीहरू जवानहरूभन्दा त धेरै नै असल छन्। यदि तँ परमेश्‍वरको अघि जिउन र परमेश्‍वरको काम अनुभव गर्न चाहन्छस् भने, तँमाथि कुनै कुरा आइपर्दा तैँले गर्नुपर्ने पहिलो कुरा प्रार्थना हो। प्रार्थना गर्नु भनेको घोकेका वाक्यांशहरू बिनासोच भट्याउने, तर त्यसबाहेक अरू केही नगर्ने भन्‍ने होइन; यसरी त तँ कहीँ पनि पुग्‍नेवाला छैनस्। तैँले हृदयदेखि प्रार्थना गर्नमा प्रशिक्षित हुनुपर्छ। तैँले आठ-दशपटक यसरी प्रार्थना गरिसकेपछि पनि खासै केही प्रभाव नदेखिन सक्छस्, तर तँ निरूत्साहित नबन्; तैँले तेरो प्रशिक्षण जारी राख्‍नुपर्छ। जब कुनै कुरा आइपर्छ, पहिले प्रार्थना गर्। पहिले परमेश्‍वरलाई भन्, र उहाँलाई नै परिस्थिति नियन्त्रण गर्न दे। परमेश्‍वरलाई तँलाई मदत गर्ने दे, उहाँलाई तँलाई डोर्‍याउन र बाटो देखाउन दे। यसले तँमा परमेश्‍वरको डर मान्‍ने हृदय छ, र तँ परमेश्‍वरलाई पहिलो स्थानमा राख्छस् भन्‍ने प्रमाणित गर्छ। जब तँमाथि कुनै कुरा आइपर्छ वा तैँले केही कठिनाइ सामना गर्छस् र तँ नकारात्मक बन्छस्, अनि रिसाउँछस्, तब यो तेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍न, र तँमा परमेश्‍वरको डर छैन भन्‍ने कुराको प्रकटीकरण हो। वास्तविक जीवनमा, तैँले जे-जस्ता कठिनाइहरू सामना गरे पनि, तैँले परमेश्‍वरको अघि आउनैपर्छ। तैँले गर्नुपर्ने पहिलो कुरा भनेको प्रार्थनामा परमेश्‍वरसामु घुँडा टेक्‍नु हो। सबभन्दा महत्त्वपूर्ण कुरा नै यही हो। प्रार्थनाले तेरो हृदयमा परमेश्‍वरको निम्ति ठाउँ छ भन्‍ने देखाउँछ। जब तँलाई कुनै समस्या हुन्छ, तब तैँले परमेश्‍वरतर्फ हेर्नु र उहाँलाई प्रार्थना गर्नु, र उहाँमार्फत खोजी गर्नुले तेरो हृदयमा परमेश्‍वरको निम्ति केही डर छ भन्‍ने देखाउँछ; यदि परमेश्‍वर तेरो हृदयमा नहुनुभएको भए तैँले यसो गर्ने थिइनस्। कतिपय मानिसहरू भन्छन्, “मैले प्रार्थना त गरेँ तर अझै पनि परमेश्‍वरले मलाई अन्तर्दृष्टि दिनुभएन!” त्यसरी भन्‍ने होइन। तैँले सुरुमा तेरो प्रार्थनापछाडिको मनसाय सही छ कि छैन भनेर हेर्नुपर्छ। यदि तैँले साँच्‍चै नै सत्यता खोजिरहेको छस् र तँ परमेश्‍वरसँग बारम्‍बार प्रार्थना गर्छस् भने, परमेश्‍वरले निश्‍चित मामलामा तँलाई अन्तर्दृष्टि र बुझाइ प्रदान गर्नुहुनेछ। जुनसुकै मामलामा पनि, परमेश्‍वरले तँलाई कुरा बुझाउनुहुनेछ। यदि परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुभएन भने, तैँले आफै यो कुरा बुझ्‍नेछैनस्। तँसँग बुझ्‍ने शक्ति भए पनि नभए पनि, वा तेरो क्षमता जति धेरै भए पनि, कतिपय कुराहरू मानव सोचद्वारा हासिल गर्न नसकिने हुन्छन्। जब तैँले कुनै कुरा बुझ्छस्, के त्यो तेरो आफ्‍नै सोचबाट आएको हुन्छ र? परमेश्‍वरका अभिप्रायहरू र पवित्र आत्‍माको कामका अभिप्रायहरूको कुरामा, यदि तँलाई पवित्र आत्‍माले अन्तर्दृष्टि दिनुभएन भने, तैँले त्यसबारे जान्‍ने कोही भेट्टाउनेछैनस्। परमेश्‍वर स्‍वयम्‌ले उहाँको अभिप्राय के हो भनेर बताउनुभएपछि मात्रै तँलाई थाहा हुनेछ। त्यसैले, तँमाथि कुनै कुरा आइपर्दा तैँले गर्नुपर्ने पहिलो कुरा भनेकै प्रार्थना हो। जब तैँले प्रार्थना गर्छस्, तब तैँले आफ्नो विचार, दृष्टिकोण र मनोवृत्ति परमेश्‍वरको अघि व्यक्त गर्नुपर्छ, र आज्ञापालनको मानसिकतासाथ उहाँसित सत्यता खोजी गर्नुपर्छ; मानिसहरूले अभ्यास गर्नुपर्ने कुरा यही हो। यदि तँ झारा टार्ने काम मात्रै गर्छस् भने, तैँले कुनै पनि नतिजा हासिल गर्नेछैनस्, र त्यसपछि तैँले पवित्र आत्‍माले तँलाई अन्तर्दृष्टि दिनुभएन भनेर गुनासो गर्न मिल्नेछैन। मैले देखेको छु, परमेश्‍वरमाथिको विश्‍वासमा कतिपय मानिसहरूले धार्मिक संस्कार मात्र पालना गर्ने र धार्मिक क्रियाकलाप मात्र गर्ने गर्छन्; तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति कहीँकतै कुनै स्थान हुँदैन; तिनीहरूले पवित्र आत्‍माको कामलाई समेत इन्कार्छन्। तिनीहरूले प्रार्थना गर्ने वा परमेश्‍वरका वचनहरू पढ्ने गर्दैनन्। तिनीहरू केवल सेवामा गइरहन्छन्, र त्योभन्दा बढी केही गर्दैनन्। के यो परमेश्‍वरमाथिको विश्‍वास हो र? तिनीहरूले विश्‍वास गर्न त जारी नै राख्‍छन्, तर तिनीहरूको विश्‍वासमा परमेश्‍वरको अस्तित्व नै हुँदैन। तिनीहरूको हृदयमा परमेश्‍वर रहनुहुन्‍न, तिनीहरू अबउप्रान्त परमेश्‍वरलाई प्रार्थना गर्न चाहन्‍नन् र तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्‍ने इच्‍छा गर्न छोडेका हुन्छन्। तब, के तिनीहरू अविश्‍वासी बनेका हुँदैनन् र? कतिपय अगुवा र सेवकहरू छन् जो विशेष गरी प्राय साधारण कामकाज सम्हाल्छन्। तिनीहरूले कहिल्यै जीवन प्रवेशमा ध्यान दिँदैनन्, बरु यी साधारण कामकाजलाई आफ्‍नो मुख्य काम मान्छन्। तिनीहरू कार्य प्रबन्धकभन्दा बढी अरू केही बनेका हुँदैनन्, र तिनीहरूले अगुवा र सेवकहरूको जरुरी काम एउटै पनि गर्दैनन्। फलस्वरूप, परमेश्‍वरलाई विश्‍वास गरेको बीसतीस वर्षपछि पनि, तिनीहरूसँग सुनाउनको लागि जीवन अनुभवको एक शब्द पनि हुँदैन, र तिनीहरूसँग परमेश्‍वरको बारेमा कुनै साँचो ज्ञान हुँदैन। तिनीहरूले धर्मसिद्धान्तका केही शब्‍द र वाक्यांशहरू मात्र बोल्‍न सक्छन्। के यसरी तिनीहरू झूटा अगुवा बनेका हुँदैनन् र? यस्तो किन हुन्छ भने, परमेश्‍वरमाथिको विश्‍वासमा तिनीहरूले आफ्‍नो उचित कर्तव्य पूरा गर्ने वा सत्यता पछ्याउने गर्दैनन्। धर्मसिद्धान्तका केही शब्दहरूप्रतिको आफ्नो बुझाइमा मात्रै भर परेर कुनै कुरा पनि हल हुँदैन। जाँच, विपद्‌ वा रोगबिमारमा पर्नेबित्तिकै, तिनीहरूले परमेश्‍वरविरुद्ध गुनासो गर्छन्। तिनीहरूमा आफ्‍नो बारेमा कुनै साँचो ज्ञान हुँदैन, र तिनीहरूसित अलिकति पनि अनुभवात्मक गवाही हुँदैन। यसले देखाउँछ कि परमेश्‍वरमा विश्‍वास गरेको यतिका वर्षमा तिनीहरूले सत्यता पछ्याएकै छैनन्, तिनीहरू सतही कुराहरूमा मात्रै व्यस्त भएका छन्, र फलस्वरूप तिनीहरूले आफैलाई बर्बाद पारेका छन्। मानिसहरूले परमेश्‍वरलाई विश्‍वास गरेको जति वर्ष भए पनि, तिनीहरू पतन नहुने, दुष्कर्म नगर्ने, वा निष्कासित नहुने सुनिश्‍चित गर्न चाहन्छन् भने, तिनीहरूले कम्तीमा पनि केही सत्यताको बुझाइ हासिल गरेको हुनुपर्छ। तिनीहरू कम्तीमा पनि यी कुराहरूद्वारा सुसज्‍जित हुनुपर्छ। कतिपय मानिसहरू प्रवचन सुन्दा आधामनका हुन्छन्, र परमेश्‍वरका वचनहरू मनन गर्दैनन्। तिनीहरू आफूमाथि जे आइपरे पनि सत्यता खोजी गर्दैनन्। आफूले सत्यता प्राप्त गरिसकेको छु भन्ठान्दै, तिनीहरू धर्मसिद्धान्तका अक्षर र शब्‍दहरू बुझ्दा नै तिनीहरू सन्तुष्ट हुन्छन्। अनि, जब परीक्षा आउँछ, तिनीहरूमा कुनै ज्ञान हुँदैन, र तिनीहरूको हृदय असन्तुष्टि र गुनासोले भरिएको हुन्छ, र त्यो तिनीहरूलाई पोख्‍न त मन लाग्छ तर बोल्‍न आँटै आउँदैन। के यस्ता मानिसहरू अत्यन्तै दयनीय हुँदैनन् र? कतिपय मानिसहरू कर्तव्यपालनमा सधैँ लापरवाह र झाराटारुवा बन्छन्। तिनीहरू आफूलाई काटछाँट र निराकरण गरिँदा आफ्‍नो बारेमा मनन गर्ने वा आफूलाई चिन्‍ने प्रयास गर्दैनन्। तिनीहरूले सधैँ औचित्य साबित गर्न खोजिरहेका हुन्छन्, र त्यसैले तिनीहरूको कुरूपता विभिन्‍न तरिकाले बाहिर आउँछ, अनि अन्त्यसम्मै आफूलाई चिन्‍न नसकी, तिनीहरू खुलासा हुन्छन् र हटाइन्छन्। तब, तिनीहरूले ती धर्मसिद्धान्तहरू बुझेको के अर्थ हुन्छ र? त्यसको कुनै अर्थ हुँदैन। परमेश्‍वरमा जति नै वर्ष विश्‍वास गरे पनि, मानिसहरूले धर्मसिद्धान्तहरू बुझ्‍न र बोल्‍न मात्र सक्‍नु व्यर्थ हुन्छ। तिनीहरूले सत्यता प्राप्त गरेका हुँदैनन् बरु बाटो बिराएका हुन्छन्। त्यसकारण, जब तँमाथि कुनै कुरा आइपर्छ र तैँले परमेश्‍वरका अभिप्रायहरू खोजी गर्दै परमेश्‍वरलाई प्रार्थना गर्छस्, तब यदि समस्या समाधान गर्नु छ भने, मुख्य कुरा भनेको सत्यताको बुझाइ हासिल गर्न सक्‍नु हो। सही मार्ग यही हो, र तैँले निरन्तर यस्तो अभ्यासमा लागिपरिरहनुपर्छ।

१९९७

अघिल्लो: परमेश्‍वरले सांसारिक कष्ट चाख्नुको महत्त्व

अर्को: अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्