आफ्‍नो भ्रष्ट स्वभावलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ

अहिले, तिमीहरू सबैजना ऊर्जापूर्वक रूपमा आफ्नो कर्तव्य निभाइरहेका छौ, र तिमीहरू अलिकति कष्ट सम्हाल्न सक्षम छौ; त्यसकारण जीवन प्रवेशको सन्दर्भमा, के तिमीहरूसँग अगाडि बढ्ने मार्ग छ? के तिमीहरू नयाँ अन्तर्दृष्टि प्राप्त गर्छौ वा नयाँ ज्योति देख्छौ? जो परमेश्‍वरमा विश्वास गर्छन् तिनीहरूका लागि जीवन प्रवेश एक गम्भीर विषय हो, आफ्नो कर्तव्य निभाउनु पनि त्यस्तै हो; तर आफ्नो कर्तव्य राम्ररी निभाउन सक्षम हुन, स्विकार्य मापदण्डको हुन, आफ्नो कर्तव्य वफादारीपूर्वक निभाउन—यी कुराहरू प्राप्त गर्ने मार्ग के हो? (सत्यताको खोजी गर्ने।) ठिक हो, तैँले सत्यताको खोजी गर्नुपर्छ। सत्यताको खोजी गर्ने मार्ग के हो? तैँले परमेश्‍वरका वचनहरू बढी पढ्नैपर्छ; परमेश्‍वरका वचनहरू मात्र सत्यता हुन्। तैँले परमेश्‍वरका वचनहरू व्यवहारमा लागू गर्नैपर्छ र त्यसलाई बढीभन्दा बढी अनुभव गरेर सत्यता प्राप्त गर्नुपर्छ, अनि त्यसपछि मात्र तँ सत्यता बुझ्न सक्छस्। त्यसैले सत्यता बुझ्नका लागि, के तैँले परमेश्‍वरका वचनहरूप्रति कोसिस गर्नुपर्दैन र? कतिपय मानिसहरू यसो भन्छन्: “मैले परमेश्‍वरमा विश्वास गरेको यी वर्षहरूमा, मैले परमेश्‍वरका धेरै वचनहरू पढेको छु र साँच्चिकै केही सत्यता बुझेको छु, तर जब मलाई असामान्य कुराहरू आइपर्छन्, म मार्ग भेट्टाउन सक्दिनँ र कसरी सत्यता अभ्यास गर्ने भनेर मलाई थाहा हुँदैन; म जे बुझ्छु र जे चीजको बारेमा कुरा गर्छु त्यसलाई म कसरी उपयोग गर्न सक्दिनँ? यो समयमा, म आफूलाई धर्मसिद्धान्तका वचनहरू मात्र थाहा भएको, र आफूलाई केही आइपर्दा कसरी सत्यता अभ्यास गर्ने भनेर थाहा नभएको महसुस गर्छु। म एकदम कमजोर र दयनीय छु।” सङ्गति गर्दा कतिपय मानिसहरू निरन्तर रूपमा वचनहरू बोलिरहन्छन्, र याद गरेका परमेश्‍वरका वचनहरू पनि भन्न सक्छन्, त्यसैले तिनीहरू आफूले सत्यता बुझ्ने, आफू आत्मिक भएको, र आफूसँग सत्यताको केही वास्तविकता भएको भन्ठान्छन्; तर जब कुनै दिन तिनीहरूलाई आफ्नो इच्छा विपरीतका कुरा आइपर्छ, तिनीहरू परमेश्‍वरबारे धारणाहरू बनाउन थाल्छन्। बेलाबेलामा, तिनीहरू उहाँलाई दोष लगाउन पनि सक्छन्। तिनीहरूका भ्रष्ट स्वभावहरू प्रकट हुन्छन्, र तिनीहरूले जसरी नै प्रार्थना गरे पनि, तिनीहरू आफ्ना समस्याहरू समाधान गर्न सक्षम हुनेछैनन्। जब अन्य मानिसले तिनीहरूसँग सङ्गति गर्छन्, तिनीहरू यसो भन्छन्: “म यो धर्मसिद्धान्तलाई तिमीले भन्दा राम्ररी बुझ्छु। सत्यता बुझ्नेबारे भन्नुपर्दा, म तिमीले भन्दा धेरै बुझ्छु; धर्मसिद्धान्तको प्रवचन दिनेबारे भन्नुपर्दा, कसरी बोल्ने भनेर तँलाई भन्दा मलाई राम्रो आउँछ; उपदेशहरू सुन्नेबारे भन्नुपर्दा, तिमीले भन्दा मैले धेरै सुनेको छु; कोसिस गर्ने सन्दर्भमा, म तिमीले भन्दा धेरै कोसिस गर्छु; परमेश्‍वरमा विश्वास गर्नेबारे भन्नुपर्दा, तिमीले भन्दा मैले लामो समय विश्वास गरेको छु। मलाई सिकाउने कोसिस नगर; म सबैथोक बुझ्छु।” तिनीहरू आफूले सबैथोक बुझ्छु भन्‍ने सोच्छन्, तर जब तिनीहरूका महत्वाकाङ्क्षा र चाहनाहरूले काम गर्न थाल्छन् र तिनीहरूलाई आफ्ना भ्रष्ट स्वभावहरूले नियन्त्रण गर्छन्, तिनीहरूलाई के गर्ने भन्‍ने थाहै हुँदैन। तिनीहरू प्रायः जुन आत्मिक धर्मसिद्धान्तहरू फलाक्छन् त्यसले तिनीहरूका कठिनाइहरू समाधान गर्न सक्दैन। तिनीहरूको कद वास्तवमा ठूलो छ कि सानो छ? तिनीहरू आफूले सत्यता बुझ्ने भन्ठान्छन्, त्यसो भए तिनीहरू अहिलेको आफ्ना कठिनाइहरू किन समाधान गर्न सक्दैनन्? यहाँ के भइरहेको छ? के तिमीहरू प्रायः यस प्रकारका समस्याहरूमा पर्दैनौ? यो जीवन प्रवेशको सन्दर्भमा विश्वासीहरूले भोगिरहने कठिनाइ हो, र यो मान्छेको सबैभन्दा ठूलो कठिनाइ हो। तँलाई केही हुनुअघि नै, तैँले आफूले परमेश्‍वरमा लामो समय विश्वास गरेको, आफूसँग निश्चित कद र जग भएको भन्ठान्छस् होला, र जब अरू मानिसलाई केही आइपर्छ, तँ तिनीहरूको सार अलिअलि बुझ्न सक्छस्। तँ आफ्नो कर्तव्य निभाउँदा केही हदसम्म कष्ट भोग्न, ठूलो मूल्य तिर्न, र शारीरिक बिमारी, त्रुटीहरू, र कमजोरीपनहरू जस्ता तेरा आफ्नै थुप्रै कठिनाइहरूलाई जित्न पनि सक्छस्; तर समाधान गर्न सबैभन्दा कठिन मामिला भनेको मानिसहरूबाट प्रायः प्रकट हुने विभिन्न भ्रष्ट स्वभावहरू हुन्। “भ्रष्ट स्वभाव” एउटा शब्दावली हो जुनसँग मानिसहरू परिचित छन्, तर भ्रष्ट स्वभाव भनेको ठ्याक्कै के हो, कुन प्रकटीकरणहरू भ्रष्ट स्वभाव हुन्, र कुन सोच र व्यवहारहरू भ्रष्ट स्वभावका उपजहरू हुन् भन्‍नेबारे चाहिँ सबैजना प्रष्ट छैनन्। यदि भ्रष्ट स्वभाव भनेको के हो, वा कस्ता कार्यहरू भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन् भनी मानिसहरूले बुझ्दैनन् वा बोध गर्दैनन् भने, के कुनै व्यक्तिले ऊ भ्रष्ट स्वभाव अनुसार नै जिउने भए पनि उसले पाप नगरुञ्जेल आफू सत्यता अभ्यास गरिरहेको भन्ठान्दैन होला त? के तिमीहरूमा त्यस्तो स्थिति छ? (छ।) यदि तँ भ्रष्ट स्वभाव के हो भनेर बिलकुलै बुझ्दैनस् वा बोध गर्दैनस् भने, के तँ आफूलाई चिन्न सक्षम छस्? के तँ आफ्नै भ्रष्ट प्रकृतिलाई बोध गर्न सक्षम छस्? पक्कै छैनस्। यदि तँलाई भ्रष्ट स्वभाव भनेको के हो भन्‍ने नै थाहा छैन भने, के तँ सत्यतालाई व्यवहारमा लागू गर्न कसरी व्यवहार गर्ने, कुन कार्यहरू सही हुन्, र कुन गलत हुन् भन्‍ने कुरा चिन्न सक्छस्? पक्कै सक्दैनस्। त्यसैले, जो मानिसहरू आफूलाई चिन्दैनन् तिनीहरूले जीवन प्रवेश पाउनेछैनन्।

जीवन प्रवेशको मार्गले धेरै स्थितिहरू समेट्छ। सायद तिमीहरू सबैलाई “स्थिति” भन्‍ने शब्द थाहा छ, तर त्यसले के जनाउँछ? तिमीहरू त्यसलाई कसरी बुझ्छौ? (स्थिति भनेको व्यक्तिलाई केही आइपर्दा ऊबाट प्रकट हुने दृष्टिकोणहरू र सोचहरू हुन्; त्यसले उसको बोली, व्यवहार, र रोजाइहरूलाई प्रभाव पार्न र नियन्त्रण गर्न सक्छ। यी सबैकुराहरू एउटा स्थिति हो।) झण्डै मिल्यो। अरू कसले केही भन्न चाहन्छ? (स्थिति भन्नुको मतलब व्यक्ति नकारात्मक, र अलि असामान्य स्थितिमा बाँचिरहेको छ किनकि ऊमाथि कुनै विशेष समयावधिमा, वा कुनै विशेष मामिलामा एक खालको भ्रष्ट स्वभाव हावी भइरहेको हुन्छ—उदाहरणका लागि, उसलाई गम्भीर रूपमा निराकरण र काटछाँट गरिँदा, वा उसले केही कठिनाइहरू सामना गर्दा।) (हालसालै, जब आफूले कर्तव्य गरे अनुसार नै मैले केही परिणाम पाएँ, म एक खालको आत्म-सन्तुष्ट, प्रसन्न स्थितिमा थिएँ। मैले आफू परिवर्तन भएको रहेछु, मसँग सत्यताको वास्तविकता थिएछ, र मलाई परमेश्‍वरले स्वीकार गर्नुहुनेछ भन्‍ने सोचेँ; खासमा, परमेश्‍वरका मागहरूअनुसार, म ती पूरा गर्नबाट धेरै टाढा थिएँ। म अहिले मात्र बुझ्दैछु कि यो एक प्रकारको अहङ्कारी, अभिमानी स्थिति थियो।) तिमीहरूले भनेका सबै स्थितिहरू नकारात्मक हुन्, त्यसो भए के सही, अर्थात सकारात्मक स्थितिहरू हुन्छन्? (हुन्छन्। उदाहरणका लागि, जब म सारा शक्ति प्रयोग गरेर परमेश्‍वरलाई सन्तुष्ट पार्न चाहन्छु, म देहलाई त्याग्न र सत्यता अभ्यास गर्न सक्षम हुन्छुः त्यस प्रकारको स्थिति सकारात्मक हो।) अहिले सम्म, तिमीहरूले स्थितिको परिभाषा नै नदिइ केही स्थितिहरूको व्याख्या मात्र गरेका छौ। त्यसैले अब, तिमीहरू सबैले जे भनेका छौ त्यसैको आधारमा वास्तवमा स्थिति भनेको के हो भनी सारांशीकरण गरौँ। “स्थिति” ले वास्तवमा के जनाउँछ? यो मानिसलाई केही आइपर्दा तिनीहरूमा हुने एक प्रकारको दृष्टिकोण वा तिनीहरूको अवस्था हो, साथसाथै यस अवस्थाले उत्पन्न गराउने सोचहरू, मूडहरू, र दृष्टिकोणहरू हुन्। उदाहरणका लागि, तैँले आफ्नो कर्तव्य निभाउने क्रममा तँलाई निराकरण र काटछाँट गरिँदा, तँलाई बेखुसी अनुभूति हुनेछ, र तँ नकारात्मक स्थितिमा हुनेछस्। यो समयमा, तँबाट प्रकट हुने दृष्टिकोण र मनोवृतिहरू, साथै तेरा दृष्टिकोणहरू जे हुन्—यी तेरो स्थितिका केही सान्दर्भिक विवरणहरू हुन्। के यसले तैँले प्रायः भोगिरहने कुराहरूलाई समेट्दैन? (समेट्छ।) यो मानिसहरूको जीवनसँग सम्बन्धित छ; यो सबैले अनुभूत गर्न सक्ने कुरा—तिनीहरूले हरेक दिन आफ्नो दैनिक जीवनमा अनुभूत गर्न, अनुभव गर्न, र सम्पर्कमा आउन सक्ने कुरा हो। तँलाई के लाग्छः व्यक्ति नकारात्मक स्थितिमा हुँदा, ऊबाट कस्ता कुराहरू प्रकट हुन्छन्? (गलत बुझाइ, आलटाल, आत्म-परिभाषा, र कुनै झट्का लागेपछि पूर्ण रूपमा त्याग्ने; गम्भीर अवस्थामा, उसले आफ्ना जिम्मेवारीहरू पूरै पन्छाउन पनि सक्छ।) अवस्था गम्भीर भएर उसले जिम्मेवारीहरू पन्छाउनु मनोवृति हो कि दृष्टिकोण? कि त्यो अरू नै केही हो? (त्यो एक खालको अवस्था र मूड हो।) त्यो बढीजसो अवस्था र मूड नै हो। यो समयमा, व्यक्तिले आफ्नो कर्तव्य निभाउँदा उसको मनोवृति कस्तो हुन्छ? (ऊ नकारात्मक र अल्छी हुन्छ, उसमा लगाव हुदैन, र ऊ झारा टार्ने काम मात्र गर्छ।) यसले वास्तविक स्थितिलाई समेट्छ। “उसमा लगाव हुदैन” भन्नु अर्थहीन वाक्यांश हो; तैँले वास्तविक स्थितिबारे भन्नैपर्छ। जब मानिसले लगावबिना आफ्नो कर्तव्य निभाउँछन्, तिनीहरूले हृदयमा के सोचिरहेका हुन्छन्? यो समयमा प्रकट हुने भ्रष्ट स्वभाव के हो? (तिनीहरू आफ्नो कर्तव्य निभाउँदा झारा टार्ने काम मात्र गर्छन्; तिनीहरू झाराटारुवा तरिकाले काम गर्छन्।) यो कुनै स्वभाव नभएर तैँले काम गरेपछि तँलाई गरिने परिभाषा हो; यो कार्य गर्ने एउटा शैली हो। तर तँलाई के कुराले झाराटारुवा बनायो भन्‍ने सम्बन्धमा, के तैँले गहिराइमा खोतल्नु पर्दैन? गहिराइमा खोतलेर, तैँले आफ्नो भ्रष्ट स्वभाव खोल्नेछस्। झारा टार्ने काम गर्नु भनेको एउटा भ्रष्ट स्वभावको प्रकटीकरण हो। तैँले हृदयमा जसरी सोच्छस् त्यसले झारा टार्ने कामतर्फ डोर्याउन सक्छ, र तँलाई पहिलेभन्दा कम ऊर्जाशील बन्नतर्फ डोर्याउन सक्छ। तेरो त्यो सोच एउटा भ्रष्ट स्वभाव हो, र तँलाई त्यो सोचतर्फ डोर्याउने कुरा तेरो प्रकृति हो। कतिपय मानिसहरू आफ्नो कर्तव्य निभाउने क्रममा काटछाँट र निराकरणको सामना गर्छन्, र यसो भन्छन्: “मेरो सीमित क्षमताले म साँच्चिकै कति नै गर्न सक्छु र? म धेरै बुझ्दिनँ, त्यसैले यदि म यो काम राम्ररी गर्न चाहन्छु भने, के मैले काम गर्दै जाँदा सिक्नुपर्नेछैन र? के त्यो मेरो लागि सजिलो हुनेछ? परमेश्‍वर मान्छेलाई बुझ्नैहुन्न; के यो व्यक्तिलाई उसको क्षमताले नभ्याउने काम गर्न दिनु होइन र? यो काम मैले भन्दा बढी बुझ्ने व्यक्तिलाई गर्न दिनुस्। म त्यसलाई यस्तो मात्र गर्न सक्छु—म योभन्दा बढी गर्नै सक्दिनँ।” मानिसहरू निरन्तर रूपमा यस्ता कुराहरू भन्छन् र सोच्छन्, हैन र? (हो।) त्यो सबैले स्वीकार गर्न सक्छ। कोही पनि सिद्ध हुँदैन, र कोही पनि स्वर्गदूत हुँदैन; मानिसहरू शुन्यतामा बाँच्दैनन्। सबैमा यी सोचहरू र भ्रष्ट प्रकटीकरणहरू हुन्छन्। सबैजना यी कुराहरू प्रकट गर्न र बारम्बार यी स्थितिहरूमा जिउन सक्षम हुन्छन्, र त्यो तिनीहरूको इच्छाले गर्दा हुने होइन; तिनीहरू यस तरिकाले सोच्नबाहेक केही गर्न सक्दैनन्। मानिसहरूलाई केही हुनुअघि, तिनीहरूको सामान्य स्थिति नै हुन्छ, तर केही आइपरेपछि परिस्थितिहरू फरक हुन्छन्—तिनीहरूबाट स्वाभाविक रूपमा, कुनै बाधा वा अवरोधबिना, र अरूको दबाब वा उक्साहटबिना, निकै सजिलो तरिकाले नकारात्मक स्थिति प्रकट हुन्छ; जबसम्म तिनीहरूले सामना गर्ने कुराहरू आफ्नो इच्छाबमोजिम हुँदैनन्, तिनीहरूबाट यी भ्रष्ट स्वभावहरू सधैँ सबै ठाउँमा प्रकट हुन्छन्। ती स्वभावहरू तिनीहरूबाट सधैँ सबै ठाउँमा किन प्रकट हुन सक्छन्? यसले प्रमाणित गर्छ कि मानिसहरूभित्र यस प्रकारको भ्रष्ट स्वभाव र भ्रष्ट प्रकृति हुन्छ। मानिसका भ्रष्ट स्वभावहरू तिनीहरूमाथि अरूले थोपर्दैनन्, न त ती अरूले हालिदिन्छन्, अरूले सिकाउने, प्रोत्साहित पार्ने वा उक्साउने त झनै हुँदैन; बरु, ती त मानिसहरूमै हुन्छन्। यदि मानिसहरूले यी भ्रष्ट स्वभावहरू समाधान गर्दैनन् भने, तिनीहरू सही, सकारात्मक स्थितिहरूमा जिउन सक्दैनन्। यी भ्रष्ट स्वभावहरू प्रायः किन प्रकट हुन्छन्? वास्तवमा, तिमीहरू सबैजनाले थाहा पाइसकेका छौ कि यी स्थितिहरू गलत र असामान्य हुन्, कि तिनीहरूलाई परिवर्तन गर्नुपर्छ; अहिले सम्म, तिमीहरूले यी भ्रष्ट स्वभावहरू फ्याँकेका छैनौ वा यी गलत सोचहरू र दृष्टिकोणहरू त्यागेका छैनौ, अनि तिमीहरूको स्थितिमा कुनै उल्लेखनीय परिवर्तन भएको छैन। दस-बीस वर्षपछि पनि, तिमीहरूमा बिलकुलै केही परिवर्तन आएको छैन, र भ्रष्टता खुलासा गर्दा तिमीहरू पहिलेकै स्थितिमा छौ, त्यसमा उल्लेखनीय कमी आएको छैन, त्यसोभए समस्या चाहीँ के हो? यसले के प्रमाणित गर्छ? यतिका वर्षपछि, तिमीहरूमध्ये अधिकांशमा कुनै परिवर्तन आएको छैन; तिमीहरू केवल धर्मसिद्धान्तका केही वचनहरू बुझ्छौ, तर सत्यतालाई व्यवहारमा लागू गर्न सक्दैनौ, र अनुभवात्मक गवाही दिन सक्दैनौ; किनकि यतिका वर्षहरूमा, तिमीहरूले सत्यता पछ्याएका छैनौ, र तिमीहरूको भ्रष्ट स्वभाव उल्लेखनीय रूपमा परिवर्तन भएको छैन। यसले प्रमाणित गर्छ कि तिमीहरूको जीवन अनुभव अति सतही छ, र त्यसमा गहनता छैन; निश्चितताका साथ भन्न सकिन्छ कि अहिले तिमीहरूको कद अत्यन्तै सानो छ, र तिमीहरूमा सत्यताको केही वास्तविकता छैन। के तिमीहरू मैले भनेको कुरा स्वीकार गर्न सक्छौ? थोरै व्यावहारिक अनुभव भएकाहरूले मेरा वचनहरू बुझ्न सक्नुपर्छ, तर जो सत्यता बुझ्दैनन् र जसलाई अझै जीवन प्रवेशको अर्थ थाहा छैन तिनीहरूले यी वचनहरूको अर्थ नबुझ्न सक्छन्। मैले भर्खरै तिमीहरूलाई स्थिति भनेको के हो भनी किन सोधेँ? यदि तिमीहरू स्थितिको अर्थ नै बुझ्दैनौ भने, मैले भनिरहेको कुरा तिमीहरूले बिलकुलै बुझ्नेछैनौ; तिमीहरू यी वचनहरू सुन्ने काम मात्र गर्नेछौ, र ती सही हुन् जस्तो गर्नेछौ। यदि तिमीहरूमा यो दृष्टिकोण छ भने, त्यसले प्रमाणित गर्छ कि तिमीहरूमा अनुभव छैन, र तिमीहरू परमेश्‍वरका वचनहरू बुझ्दैनौ। यदि मानिसहरू सत्यताको वास्तविकताभित्र प्रवेश गर्न चाहन्छन् भने, जीवन प्रवेश प्राप्त गर्नका लागि तिनीहरूले धेरै स्थितिहरू बुझ्नैपर्छ; तिनीहरूले आफ्ना समस्याहरू बुझेर त्यसलाई सम्हाल्नैपर्छ, र तिनीहरू आफ्नो वास्तविक जीवनमा कुन स्थितिमा छन्, त्यो स्थिति सही हो कि गलत, मानिसहरू गलत स्थितिमा हुँदा तिनीहरूबाट कस्ता प्रकारका भ्रष्ट स्वभावहरू प्रकट हुन्छन्, र यो भ्रष्ट स्वभावको सार के हो भनी जान्नैपर्छ—तिनीहरूले यी सबै कुराहरू बुझ्नैपर्छ। यदि तँ यी कुराहरू बुझ्दैनस् अथवा बोध गर्दैनस् भने, एउटा कुरा, आफ्नो भ्रष्ट स्वभावबारे ज्ञान लिन कसरी सुरु गर्ने, आफूलाई कसरी परिवर्तन गराउने भन्‍ने कुरा नै तँलाई थाहा हुँदैन; अर्को कुरा, परमेश्‍वरका वचनहरू खान र पिउन वा सत्यताभित्र प्रवेश गर्न कसरी सुरु गर्ने भन्‍नेबारे तँलाई थाहा हुँदैन। के तिमीहरू प्रायः निम्न स्थितिको सामना गर्छौ? मैले कुनै चीजबारे बोलेको सुनेपछि, तिमीहरूलाई त्यस चीजबारे मात्र थाहा हुन्छ, तर त्यसले कस्तो स्थितिलाई जनाउँछ भन्‍ने बारे थाहा हुँदैन, अनि तिमीहरू त्यो कुरा आफैमा लागू गर्न सक्दैनौ? (हामी गर्छौँ।) यसले देखाउँछ कि तिमीहरूको अनुभव अझै त्यस बिन्दुमा पुगेको छैन। यदि म जे बारेमा बोल्छु त्यसले तिमीहरूसँग सरोकार राख्छ, र त्यो तिमीहरूको जीवनसँग निकट रूपमा जोडिएको छ भने—उदाहरणका लागि, मानिसहरूले आफ्ना कर्तव्य निभाउँदा हरेक दिन ठोक्किन पुग्ने कुराहरू, वा मानिसहरूले आफ्ना कर्तव्य निभाउँदा प्रकट हुने भ्रष्ट स्वभावहरू, वा मानिसका अभिप्रायहरू, अहङ्कारी स्वभावहरूलाई छुने कुराहरू, वा तिनीहरूको झारा टार्ने काम गराइ, वा तिनीहरूमा आफ्नो कर्तव्य निभाउने क्रममा हुने मनोवृतिको बारेमा भन्नुपर्दा—तिमीहरूले सुनेपछि, तिमीहरू यो कुरा आफैमा लागू गर्न सक्षम हुन सक्छौ। यदि मैले त्यसबारे थप गहिराइमा बोलेँ भने, त्यसमा तिमीहरूले आफूमा लागू गर्न नसक्ने कुराहरू हुन सक्छन्। के कहिलेकाहीँ यस्तो हुन्छ त? (हुन्छ।) तिमीहरूले आफूमा लागू गर्न नसक्ने कुराहरूको सम्बन्धमा, के तिमीहरू ती कुरालाई धर्मसिद्धान्त सुनेजस्तै गरी सुन्छौ, खासै ध्यान नदिई सुन्ने काम मात्र गर्छौ? त्यसो भए तिमीहरूले आफूमा लागू गर्न सक्ने कुराहरूलाई कसरी बुझ्नुपर्छ? (आफूमाथि चिन्तन गरेर आफैलाई चिन्ने, र सत्यता खोजेर हाम्रो आफ्नै भ्रष्टतालाई समाधान गर्ने।) अनुभव गर्ने सही तरिका यही हो।

तेरो आफ्नै भ्रष्ट स्वभावमाथि चिन्तन गर्नु र त्यसलाई चिन्न पाउनु महत्वपूर्ण छ भन्नु फराकिलो कथन हो। वास्तवमा तैँले कसरी चिन्तन गरेर आफूलाई चिन्नुपर्छ? यसको लागि एउटा मार्ग छ: जब तँलाई केही आइपर्छ, तैँले आफ्नो दृष्टिकोण र मनोवृति, तँसँग भएका सोचहरू, र तैँले यस समस्यालाई कस्तो दृष्टिकोणले हेर्छस्, निराकरण गर्छस्, र लिन्छस् भन्‍ने कुरालाई हेर्नुपर्छ। यी चरणहरूमार्फत तँ चिन्तन गर्न र आफ्नो भ्रष्ट स्वभाव चिन्न सक्छस्। यस प्रकारको चिन्तन र आत्मज्ञानको उद्देश्य के हो? तेरो आफ्नो भ्रष्ट स्थितिलाई राम्रो चिन्नु, र सत्यताको खोजी गरेर आफ्ना समस्याहरू समाधान गर्नु अनि स्वभाव परिवर्तन हासिल गर्नु हो। त्यसो भए तिमीहरू सबैजना अहिले कुन चरणमा छौ? तिमीहरूले आफूलाई कति धेरै र कति गहिरो रूपमा चिन्छौ? फरक-फरक समयमा वा फरक-फरक कुराहरू आइपर्दा आफूहरू कुन स्थितिमा हुन्छौँ भन्‍ने बारे तिमीहरू कतिको बुझ्छौ? के तैँले यस सम्बन्धमा कुनै कोसिस गरेको छस् वा आफ्नो गृहकार्य गरेको छस्? के तैँले कुनै प्रवेश अनुभव गरेको छस्? (जब मलाई बढी प्रष्ट कुराहरू वा ठूला घटनाहरू आइपर्छन्, म आफ्नै केही प्रकटीकरणहरू देख्न सकुँला तर स-साना कुराहरू सजिलै छुटाउँछु। कहिलेकाहीँ म आफू गलत स्थितिमा जिउँछु भन्‍ने कुरा थाहै पाउँदिनँ।) जब तँ थाहा पाउँदैनस्, तँ कुन स्थितिमा हुन्छस्? कस्तो खालको परिस्थितिमा तैँले थाहा पाउनेथिनस्? (मैले परमेश्‍वरका वचनहरूको सत्यताप्रति कोसिस नगरी आफ्नो कर्तव्य निर्वाहलाई काम गराइ जस्तो मात्र ठान्दा, त्यसैले कुनै भ्रष्ट स्वभाव प्रकट हुने हो भने पनि, म थाहा पाउँदिनथेँ।) आफ्नो कर्तव्यलाई कामकुराहरू गरेको जस्तो, एक प्रकारको जागिर, काम, वा जिम्मेवारीको रूपमा लिनु, र त्यसलाई जीवन प्रवेशसँग नजोडि अनजानमै गर्नु भनेको धेरै साधारण स्थिति हो; त्यसो गर्नु भनेको आफ्नो कर्तव्यलाई जीवन प्रवेशको मार्ग वा विधिको रूपमा नभइ एउटा सम्हाल्नुपर्ने मामिलाको रूपमा मात्र लिनु हो। यो काममा जानु जस्तो मात्र हो: कतिपय मानिसहरू आफ्नो कामलाई जीवनवृतिको रूपमा लिन्छन्, आफ्ना जीवनमा मिसाउँछन्, र आफ्ना स्वार्थ, रुचि, साथसाथै आफ्ना जीवनका आदर्श र लक्ष्यहरूसँग जोड्छन्। जबकि, अन्य कतिपयले काममा जानुलाई एक प्रकारको जिम्मेवारीको रूपमा लिन्छन्—तिनीहरू काममा नजानै सक्दैनन्। तिनीहरू हरेक दिन समयमै जान्छन् ताकि आफ्ना परिवारहरूलाई मद्दत गर्न केही पैसा कमाउन सकून् तर तिनीहरूसँग जीवनको लक्ष्य वा आदर्शहरू हुँदैनन्। अहिले, के तिमीहरूमध्ये अधिकांश यस्तै स्थितिमा छैनौ र? तेरो कर्तव्य परमेश्‍वरका वचनहरू वा सत्यताबाट अलग छ। तैँले आफ्ना त्रुटिहरू चिन्छस् भने पनि, तैँले कुनै वास्तविक रुपान्तरण हासिल गर्दैनस्; तेरो हृदयमा अलिकति दोषी भावना हुँदा पनि तँ जीवन प्रवेशका मामिलाहरूबारे सोच्नमै मात्र पुग्छस्। बाँकी समय, तँ आफूले चाहेका कुराहरू मात्र गर्छस्। तँ खुसी हुँदा वा धेरै राम्रो मूडमा हुँदा अलि राम्रो गर्छस्, तर यदि कुनै दिन तेरो इच्छा विपरीत केही आइपर्यो भने, वा यदि तैँले आफूलाई नराम्रो मूडमा पुर्याउने डरलाग्दो सपना देखिस् भने, त्यसले दिनौँसम्म तेरो मनस्थितिलाई प्रभावित पार्न सक्छ, साथै तेरो कर्तव्यको परिणामलाई पनि प्रभावित पार्न सक्छ। यद्यपि, तँलाई हृदयमा यसबारे थाहै हुँदैन; तँ मानसिक दुविधामा हुन्छस्, र ती दस दिनसम्म, वा दुई हप्तासम्म पनि, तेरो गतिरोध हुन्छ, त्यसबाट पार पाउन झारा टार्ने काम मात्र गर्छस्। जब व्यक्ति त्यस्तो स्थितिमा जिउँछ, के जीवन प्रवेश गतिरोधमा पुग्दैन र? यदि जीवन प्रवेश गतिरोधमा पुगेमा, के मानिसका कार्यहरू वा तिनीहरूले गर्ने कर्तव्यले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? यो अवस्थामा सत्यतासँग तिनीहरूका कार्यहरू र कर्तव्यको केही सम्बन्ध हुँदैन र त्यो परमेश्‍वरको गवाही दिनुसरह होइन, त्यसैले यसरी आफ्नो कर्तव्य निभाउनाले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्दैन। एक समयका लागि तैँले आफ्नो कर्तव्यमा केही गल्ती नगर्न सम्भव हुन्छ, त्यसैले तैँले यस तरिकाले आफ्नो कर्तव्य निभाउनु पूर्ण रूपले उचित हो भन्ठान्छस्; जबसम्म तँ सधैँ आफ्नो कर्तव्यमा व्यस्त रहन्छस्, आफ्नो कर्तव्यलाई छाड्दैनस्, र अन्य कुराहरूबारे विचार गर्दैनस्, तँलाई यस तरिकाले कर्तव्य निभाउनु ठिकै हो जस्तो लाग्छ। के यस प्रकारको मनोवृति झारा मात्र टार्नुको उदाहरण होइन र? यदि तँ कार्यहरू मात्र गरेर सन्तुष्ट हुन्छस्, सत्यताका सिद्धान्तहरूबाट अलग छस् भने, के तैँले आफ्नो कर्तव्यमा परिणाम प्राप्त गर्न सक्छस्? जब परमेश्‍वरको काम सकिन्छ, तैँले परमेश्‍वरलाई आफ्नो वृतान्त कसरी सुनाउनेछस्? यदि तैँले आफ्नो कर्तव्य निभाउँदा जिम्मेवारी लिँदैनस्, र सत्यता खोज्दैनस् र सत्यता अनुसार मामिलाहरू सम्हाल्दैनस् भने, के तेरो कर्तव्य गराइ स्विकार्य मापदण्डको हुन्छ? के त्यसले परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछ? यदि तैँले अचानक कुनै परीक्षा सामना गर्छस् वा तँलाई काटछाँट वा निराकरण गरिन्छ, र त्यसपछि तैँले परमेश्‍वरको स्वभावलाई चिढ्याएकोले न्याय र दण्ड आएको हो भनी थाहा पाउँछस्, र यसले तँलाई सपनाबाट तुरुन्तै ब्युँझाउछ र एकदुई दिनका लागि सचेत पार्छ भने, के यो जीवन प्रवेशका लागि सामान्य स्थिति हो? (होइन।) तँलाई काटछाँट र निराकरण गरिएपछि तँमा प्रष्ट देखिने परिवर्तन भनेको कोर्रा हानेपछिको दुखाइ जस्तै नै हो। तँसँग आफूबारे थोरै मात्र ज्ञान छ। बाहिरबाट हेर्दा, तिमीहरू थोरै बढेका छौ जस्तो र काटछाँट, निराकरण, न्याय र दण्डित गरिनुबारे बुझाइ प्राप्त गरेका छौ जस्तो देखिन्छौ। तर विषयगत रूपमा भन्नुपर्दा, यदि मानिसहरू तिनीहरूका आफ्नै भ्रष्ट स्वभावहरू र विभिन्न भ्रष्ट स्थितिहरू बिलकुलै बुझ्दैनन् वा बोध गर्दैनन् भने, र यदि तिनीहरूले कहिल्यै यी कुराहरू ध्यानपूर्वक जाँचेका छैनन्, र यी समस्याहरू कहिल्यै समाधान गरेका छैनन् भने, के तिनीहरू जीवन प्रवेशका लागि सामान्य स्थिति हासिल गर्न सक्छन्? के तिनीहरू सत्यताको वास्तविकताभित्र प्रवेश गर्न सक्छन्? मलाई तिनीहरूका लागि यो हासिल गर्न सजिलो छ जस्तो लाग्दैन। कतिपय मानिसहरू भन्छन्: “आफ्नो कर्तव्य निभाउने मामिलामा म सिद्धान्तहरू बोध गर्न सक्छु; के यो सत्यता बुझ्नु र सत्यताको वास्तविकताभित्र प्रवेश गर्नु होइन र?” नियमहरू पालना गर्न, र बाह्य कार्यहरू कायम राख्न सजिला छन्, तर ती सत्यता अभ्यास गर्नुसरह होइन, न त ती मामिलाहरूलाई सिद्धान्तहरू अनुसार सम्हालेसरह हो। उदाहरणका लागि, मानौँ तँ हरेक दिन बिहान पाँच बजे उठ्नुपर्ने, र राती दस बजे सुत्नुपर्ने थियो; के तैँले दैनिक जीवनमा यो सिद्धान्तको पालना गर्न सक्नेथिस्? (अहँ।) पाँच बजेदेखि दस बजेसम्मको समयतालिका राम्रै हो; त्यो मानिसहरूको स्वाभाविक लयबमोजिम छ, र त्यो तिनीहरूको शरीरका लागि राम्रो हो, तर यो कुरा स्विकार्न तिनीहरूलाई किन गाह्रो पर्छ? यसमा एउटा समस्या छ। मानिसलाई यो तर्क थाहा छैन वा यो सामान्य ज्ञान थाहा छैन भन्‍ने होइन—तिनीहरूलाई सबै कुरा राम्ररी थाहा छ—त्यसो भए तिनीहरू यो कुरा किन स्विकार्न सक्दैनन्? मानिसहरू किन यो समयतालिका पालना गर्न, यो विधि र रुटिन अनुसार जिउन अनिच्छुक छन्? यसमा मानिसका भौतिक रुचिहरू पर्छन्। के चाँडो उठ्न नचाहनु भनेको धेरै सुत्न चाहनु जस्तै, आफ्ना भौतिक प्राथमिकताहरू र भौतिक अनुभूतिहरूको पछि लाग्न चाहनु जस्तै होइन र? चाँडो उठ्नु मानिसको शारीरिक सहजता विपरीत हुन्छ, त्यसैले तिनीहरू त्यसो गर्न अनिच्छुक हुन्छन्, र त्यसले तिनीहरूलाई बेखुसी तुल्याउँछ। त्यसो भए, के मानिसले “चाँडो उठ्नु आफ्नो शरीरको लागि राम्रो हो” भन्‍ने तथ्य स्विकार्न सक्छन्? सक्दैनन्। मानिसहरू आफ्नो यति सानो रुचि समेत त्याग्न सक्दैनन्, तर पनि तिनीहरूले आफ्नो शरीरलाई अनुशासनमा राख्ने, प्रार्थना गर्ने, र आफ्नो सोचमाथि काम गर्ने गर्नैपर्छ। तिनीहरू आफ्नो वातावरणबाट पनि प्रभावित हुनुपर्छ: तिनीहरू अरू मान्छे उठेका छन् भन्‍ने देखेपछि मात्र उठ्छन् र तिनीहरू आफ्नो सुताइको चाहनाबारे अफ्ठ्यारो मान्छन्। तिनीहरू हरेक दिन बाध्य भएर उठ्छन्, र विशेषगरी त्यसैमा बेखुसी हुन्छन्। के कुराले यी सोचहरू र स्थितिहरूतिर डोर्याउँछ? मानिसहरू भौतिक आरामको लोभ गर्छन्, आफूले चाहेअनुसार व्यवहार गर्न चाहन्छन्, र अल्छी, आत्मभोगी सोचहरू राख्छन्। एउटा कुरा, तिनीहरू आफ्नो शरीरको नियमित ढाँचाबारे विचार गर्दैनन्, र अर्को कुरा, तिनीहरू आफूले गरिरहेको कर्तव्यबारे विचार गर्दैनन्; बरु, तिनीहरू पहिला आफ्ना भौतिक चाहनाहरू पूरा गर्नमा ध्यान दिन्छन्। अन्तिममा, मान्छेको भ्रष्ट स्वभावमा एउटा चीज छ, त्यो के हो भने तिनीहरू सधैँ देहमा लिप्त हुन र असंयमित हुन चाहन्छन्। यदि तिनीहरूलाई निराकरण गरियो भने, तिनीहरू तर्क गर्न खोज्छन्, सधैँ आफूलाई बचाउँछन्, जुन अलि अनुचित छ। चाँडो उठ्नु सानो कुरा हो जसले मानिसहरूको लाभ वा हानिलाई प्रभाव पार्दैन—बढी सुत्ने चाहनालाई जित्न सकुञ्जेल, तैँले त्यो प्राप्त गर्न सक्छस्—तर अलि बढी आराम गर्ने भौतिक लाभ त्याग्न मानिसलाई निकै कठिन हुन्छ। जब तेरो बढी सुत्ने इच्छाले आफ्नो कामलाई प्रभावित पार्छ, तैँले यो कुरा सत्यताको सिद्धान्तबमोजिम नभएको थाहा पाउँछस्; तैँले आत्म-चिन्तन नगर्ने मात्र नभई तेरो हृदयमा गुनासाहरू पनि हुन्छन्, र तँ बेखुसी हुन्छस्, र सधैँ यस्तो सोच्छस्: “म किन कहिल्यै अलि भोगी हुन, वा केहीबेर आफूले चाहेकै कुरा गर्न सक्दिनँ?” कतिपय मानिसहरूमा प्राय: यस्ता सोचहरू हुन्छन्। त्यसो भए, यो स्थितिलाई कसरी समाधान गर्नुपर्छ? तैँले प्रार्थना गर्नैपर्छ, शारीरिक कठिनाइहरूलाई जित्न सक्नैपर्छ, आफ्नो कर्तव्यप्रति वफादार हुनैपर्छ, आफूले चाहेको जे पनि गर्नु हुँदैन, र आफूलाई संयम बनाउन सिक्नैपर्छ। के आफूलाई संयम बनाउनु सजिलो छ? (छैन।) किन छैन? (किनकि मानिसहरू रोकिन इच्छुक हुँदैननन्, तिनीहरू व्यवस्थापन गरिन रुचाउँदैनन्, र तिनीहरू आत्मभोगी हुन चाहन्छन्।) मानिसहरू जो आत्मसंयम बुझ्न सक्दैनन्, जो आफूलाई रोक्न सक्दैनन्, जोसँग कमजोर आत्मसंयम छ, र जो सधैँ मनोमानीपूर्वक व्यवहार गर्छन् र स्वैरकल्पनामा लिप्त हुन्छन्, तिनीहरूको उमेर जतिसुकै भए पनि तिनीहरूमा अपरिपक्व मानवता हुन्छ। जब यो सानो मामिलाले मानिसहरूका रुचिहरूलाई छुन्छ, तिनीहरूको भ्रष्ट स्वभाव प्रकट हुन्छ। यस्तो हुँदा, तिनीहरूले सत्यता खोजेर त्यसलाई समाधान गर्नुपर्छ; आफ्नो भ्रष्टताको समस्यालाई समाधान गर्न तिनीहरूले आफूलाई चिन्नु र सत्यतालाई बुझ्नु आवश्यक हुन्छ। जब मानिसहरूको भ्रष्ट स्वभावलाई धोइन्छ, तिनीहरू अनजानमै सत्यताको वास्तविकताभित्र प्रवेश गर्छन्, तिनीहरूको जीवन वृद्धि हुन्छ र परिपक्व हुन्छ, अनि तिनीहरूको जीवनको स्वभाव परिवर्तन हुन्छ।

मैले भर्खरै दैनिक रुटिनजस्तो सानोभन्दा सानो कुराले पनि कसरी मानिसहरूका भ्रष्ट स्वभावहरू र तिनीहरूको मनमा चलिरहेका कुराहरू खुलासा गर्न सक्छ भन्‍नेबारेमा एउटा सामान्य उदाहरण प्रस्तुत गरेँ; अब यो पूरै उद्‌घाटित भइसकेको छ। यी भ्रष्ट स्वभावहरू उद्‌घाटित गरेर, तैँले आफू वास्तवमै शैतानद्वारा अत्यन्तै भ्रष्ट तुल्याइएको रहेछु भन्‍ने कुरा पत्ता लगाएको छस्। तैँले वर्षौँसम्म परमेश्‍वरमा विश्‍वास गरेको छस्, र तँ केही धर्मसिद्धान्त बुझ्छस्, तैपनि तैँले अझै आफ्नो भ्रष्ट स्वभाव फालेको छैनस्। तैँले जुनसुकै कर्तव्य निभाए पनि, स्वीकार्य स्तरमा निभाउन सक्दैनस्; तैँले जुनसुकै मामिला सम्हाले पनि, त्यसलाई सिद्धान्तहरूअनुसार सम्हाल्न सक्दैनस्; तँ अझै पनि परमेश्‍वरप्रति साँच्चिकै समर्पित व्यक्ति हैनस्। त्यसैले, मानिसहरूको अहिलेको स्थितिहरूको आधारमा, के तिनीहरूलाई परमेश्‍वरले साँच्चिकै मुक्ति दिनुभएको छ त? छैन, किनकि तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू अझै पूरै फालेका छैनन्, तिनीहरूको सत्यता अभ्यास अझै अति सीमित छ, र तिनीहरू साँच्चिकै परमेश्‍वरप्रति समर्पित हुनबाट टाढा छन्; कतिपय मानिसहरू त शैतान वा मान्छेलाई पछ्याउनसमेत सक्‍ने खालका छन्। यी तथ्यहरू मानिसहरूको कद साँच्चिकै मुक्तिको बिन्दुमा पुगिसकेको छैन भन्‍ने कुराको पर्याप्त प्रमाण हुन्। हरेकले आफूलाई आफ्नै साँचो स्थितिको आधारमा वर्गीकृत गर्नुपर्छ र आफू कस्तो व्यक्ति हुँ भनेर निर्धारित गर्नुपर्छ। कतिपय मानिसहरूले आफ्ना भ्रष्ट स्वभावहरूबारे चिन्तन गरेर आफ्ना विभिन्न भित्री स्थितिहरू चिन्‍न पुग्छन्, साथै तिनीहरूलाई विभिन्न कुराहरू आइपर्दा उत्पन्न हुने सोच, दृष्टिकोण, र मनोवृतिहरू पनि चिन्‍न पुग्छन्। कतिपय मानिसहरूले आफू अहङ्कारी र अभिमानी भएको, आफूलाई धाक देखाउन मनपर्ने गरेको, र आफूमा ठालु पल्टने र आफूलाई अरूभन्दा माथि पार्ने चाह भएको देख्छन्। कतिपय मानिसहरूले आफूलाई कुटिल र छली, विभिन्न गोप्य युक्तिहरू प्रयोग गर्ने, र अर्काको कुभलो चाहने व्यक्तिको रूपमा देख्छन्। अनि, अरूले चाहिँ आफूलाई नाफालाई पहिलो प्राथमिकता दिने, अरूको फाइदा उठाउन रुचाउने, र स्वार्थी र घृणित मानिसहरूको रूपमा देख्छन्। कतिपय मानिसहरू केहीबेर चिन्तन गर्छन् र आफू पाखण्डी भएको महसुस गर्छन्। अरूचाहिँ पहिले आफूलाई प्रतिभावान्‌, क्षमतावान्‌, र आफ्नो पेशाको राम्रो दखल भएको व्यक्ति सोच्ने गर्थे, तर केहीबेर चिन्तन गरेपछि, आफूमा छुटकारा पाउनयोग्य एउटा पनि गुण नभएको देख्छन्; तिनीहरू प्रतिभाहीन, साथसाथै मूर्ख र आफ्ना कार्यहरूमा सिद्धान्तहीन भएको देख्छन्। कतिपय मानिसहरू केहीबेर चिन्तन गर्छन् र आफू तुच्छ र झिनोमसिनो कुरामा अल्झने मान्छे भएको थाहा पाउँछन्; अनि अरूलाई चाहिँ आफ्नो स्वार्थ छोइदिने कुनै कुरा कसैले बोलेको पनि स्विकार्य हुँदैन, र तिनीहरूमा अलिकति पनि सहनशीलता हुँदैन। यसरी आत्मचिन्तन गर्दै ज्ञान प्राप्त गर्दा, के यसले तेरो जीवन प्रवेशमा मद्दत गर्नेछ? (गर्नेछ।) त्यसले कसरी मद्दत गर्नेछ? (त्यसले हामीलाई सत्यता खोज्ने हृदय विकास गर्न मद्दत गर्न सक्छ। यदि हामीले यी समस्याहरू चिन्न पाएनौँ भने, हामीले प्रायः भ्रष्ट स्वभाव प्रकट गरिरहेका हुन्छौँ भनेर थाहा पाउनेछैनौँ, झन् हामीले सत्यता खोजेर आफ्ना समस्याहरू हल गर्न सक्‍नु त परको कुरा हो।) (यदि हामीलाई यीबारेमा थाहा छैन भने, हामीले आफू दयनीय अवस्थामा भएको कुरा थाहा पाउनेछैनौँ। यी कुराहरूबारे जानेपछि, हामी सत्यता खोज्दै आफ्ना समस्याहरू समाधान गर्न चाहनेछौँ। हामी आफ्नो भ्रष्ट स्वभावका बन्धनहरूबाट मुक्त हुन इच्छुक हुनेछौँ, र परमेश्‍वरका वचनहरूअनुसार आफूलाई व्यवहारमा ढाल्‍नको लागि सत्यता खोज्न चाहनेछौँ।) एउटा त्यस्तो व्यक्तिबारे विचार गर्, जो आफू महान्‌, धर्मी, उदार, प्रतिभावान्‌, सहनशील, दयालु, इमानदार, र अरूप्रति अत्यन्तै भक्त रहेको, र आफ्नो भ्रष्ट स्वभावमा सामान्य मानिसहरूमा झैँ ससाना खोटहरू, जस्तै अहङ्कार, आत्मधार्मिकता, घृणा, र ईर्ष्या रहेको ठान्छ, तर यी ससाना खोटहरूबाहेक आफू सिद्ध, साथै अरूभन्दा बढी सम्मानयोग्य, बढी महान्‌, र बढी प्रेमिलो नै रहेको पनि ठान्छ—यदि व्यक्ति सधैँ त्यस्तै स्थितिमा हुन्छ भने, के तँलाई उसले परमेश्‍वरसामु आएर साँच्चिकै पश्‍चाताप गर्न सक्छ जस्तो लाग्छ? (लाग्दैन।) कस्ता परिस्थितिहरूमा व्यक्ति साँच्चिकै परमेश्‍वरसामु आएर आफूलाई चिन्न, उहाँसामु साँच्चिकै लम्पसार पर्न, र यसो भन्न सक्छ, “हे परमेश्‍वर, म गहिरो रूपमा शैतानद्वारा भ्रष्ट तुल्याइएको छु। म आफ्ना हितहरूसँग सम्बन्धित कुनै पनि कुरा त्याग्न अनिच्छुक छु। म छुटकारा पाउनयोग्य गुणै नभएको स्वार्थी र घृणित व्यक्ति हुँ। म साँच्चिकै पश्‍चाताप गर्न र वास्तविक मानव स्वरूपमा जिउन चाहन्छु—म परमेश्‍वरले मलाई मुक्ति दिनुहोस् भन्‍ने चाहन्छु”? जब व्यक्तिमा साँच्चिकै पश्‍चाताप गर्ने इच्छा हुन्छ, त्यो राम्रो हो; त्यसपछि उसलाई परमेश्‍वरप्रतिको विश्‍वासको सही मार्गमा प्रवेश गर्न, र मुक्ति प्राप्त गर्न सजिलो हुन्छ।

मानौँ कुनै व्यक्तिले एउटा चित्र कोर्छ—उसले त्यो उत्तम छ भन्ठान्छ र ऊ सन्तुष्ट हुन्छ, तर एक दिन, कसैले भन्छ कि उसको चित्रमा थुप्रै त्रुटिहरू छन्। उक्त व्यक्तिले पूरै कुरा भन्नुअघि नै उसलाई त्यो आफूमाथिको आक्रमण हो भन्‍ने लाग्छ। उसलाई रिस उठ्छ, र तुरुन्तै यसो भन्दै प्रतिवाद गर्छः “के तिमीले म राम्रो चित्र बनाउँदिनँ भनेर भनेको हो? तिमीचाहिँ मभन्दा नराम्रो बनाउँछौ र तिम्रा चित्रहरूमा मेरोमा भन्दा बढी समस्या हुन्छन्! ती कसैले हेर्नसमेत चाहँदैन!” उसले यस्तो कुरा कसरी भन्न सकेको हो? ऊ कस्तो स्थितिमा छ र उसले यस्तो कुरा भन्न सक्यो? त्यस्तो सानो कुराले कसरी उसमा त्यति रिस र क्रोध, अनि प्रतिशोधी र आक्रामक मानसिकता उत्पन्न गराउन सक्यो? के कुराले यस्तो गरायो? (उसलाई आफ्नो चित्र उत्तम छ भन्‍ने लाग्छ, र अरू कसैले त्यसमा त्रुटिहरू छन् भन्दा ऊ चिढिन्छ।) कुरा के हो भने, तैँले उसको उत्तम छवि बिगार्न मिल्दैन। यदि उसले कुनै कुरालाई राम्रो भन्ठान्छ भने, तैँले कुनै पनि दाग नऔँल्याउनु वा कुनै पनि शङ्का नगर्नु नै बेस हुन्छ। तैँले यसो भन्‍नुपर्छः “तिम्रो चित्र साँच्चिकै राम्रो छ। यसलाई सर्वोत्कृष्ट कृति भन्न सकिन्छ। मलाई लाग्दैन कि महान्‌ हस्तीहरूको कला पनि तिम्रोभन्दा राम्रो हुन्छ। यदि तिमीले यसलाई प्रकाशित गर्‍यौ भने, पक्‍कै पनि उद्योगमै हलचल मच्‍चिनेछ, र पुस्तौँसम्म यसको कदर हुनेछ!” त्यसपछि ऊ खुसी हुनेछ। खुसी र क्रोध एउटै व्यक्तिबाट आउँछ, अनि उसमा ती दुई भिन्न प्रकटीकरणहरू कसरी भएका हुन्? कुनचाहिँ तिनीहरूको भ्रष्ट स्वभाव हो? (ती दुबै हुन्।) ती भ्रष्ट स्वभावहरूमध्ये कुन बढी गम्भीर छ? (दोस्रो।) दोस्रो स्वभावले तिनीहरूको पाखण्ड, अज्ञानता, र मूर्खता खुलासा गर्छ। जब कुनै व्यक्तिले भन्छ कि तैँले नराम्रो चित्र बनाउँछस्, तब तँ किन त्यति बेखुसी हुन्छस्, यतिसम्म कि तैँले घृणास्पद, आक्रामक, र प्रतिशोधी मनस्थिति विकास गर्छस्? किन कसैले तेरो लागि केही फुलबुट्टा भरेर बोल्दा तँ त्यति धेरै खुसी हुन्छस्? तँ किन त्यति साह्रो दम्भी छस्? के यस्ता मानिसहरू पूरै निर्लज्ज हैनन् र? तिनीहरूलाई लाज भन्‍ने नै थाहा हुँदैन; तिनीहरू मूर्ख र दयनीय हुन्छन्। यी शब्दहरू त्यति राम्रा नसुनिने भए पनि, वास्तविक अवस्था यही हो। मानिसहरूको अज्ञानता, मूर्खपन, र कुरूप मुहारहरू कहाँबाट आउँछन्? ती मानिसका भ्रष्ट स्वभावहरूबाट आउँछन्। यदि यस्ता कुराहरू हुँदा व्यक्तिमा त्यस्तो मनोवृति हुन्छ भने, उसबाट प्रकट हुने कुराहरू सामान्य मानवता भएको व्यक्तिसँग हुनुपर्ने समझ र विवेक होइनन्, न त ती सामान्य मानवता भएको व्यक्तिले जिउनुपर्ने कुराहरू नै हुन्। त्यसो भए, यस्ता मामिलाहरू कसरी सम्हाल्नुपर्छ? कतिपय मानिसहरू भन्छन्: “मसँग एउटा तरिका छ। जब कसैले मलाई असल हुनुहुन्छ भनेर ठूलो पार्छ, म चूप बस्छु; जब कसैले मलाई खराब हुनुहुन्छ भनेर भन्छ, तब पनि म चूप नै बस्छु। म हरेक कुरा रूखो शैलीमा सम्हाल्छु। यसमा सही र गलत भन्‍ने हुँदैन, न त यो भ्रष्ट स्वभावको प्रकटीकरण नै हो। के यो राम्रो होइन र?” यो दृष्टिकोण कस्तो छ? के यसको मतलब यी मानिसहरूमा भ्रष्ट स्वभाव छैन भन्‍ने हो? बहाना बनाउनमा व्यक्ति जतिसुकै राम्रो होस्, उसले केही समय बहाना बनाउन सके पनि, जिन्दगीभर बहाना बनाउँदै हिँड्नु सजिलो छैन। बहाना बनाउनमा तँ जतिसुकै राम्रो भए पनि, वा तैँले जतिसुकै नदेखिने गरी ढाकछोप गरे पनि, तँ आफ्नो भ्रष्ट स्वभावलाई छद्म रूप दिन वा छाकछोप गर्न सक्दैनस्। तँ आफ्नो हृदयको कुराबारे मानिसहरूलाई छल गर्न सक्छस् होला, तर तँ परमेश्‍वरलाई छल गर्न सक्दैनस्, न त तँ आफूले आफैलाई छल गर्न नै सक्छस्। चाहे त्यो प्रकट होस् या नहोस्, अन्त्यमा व्यक्तिले जेबारेमा सोच्छ र उसको दिमागमा जे पैदा हुन्छ, त्यो गहन भए पनि नभए पनि, त्यो प्रष्ट देखिए पनि नदेखिए पनि, त्यसले नै उसको भ्रष्ट स्वभाव प्रतिनधित्व गर्छ। त्यसो भए, के यी भ्रष्ट स्वभावहरू जहाँसुकै र जुनसुकै बेलामा स्वाभाविक रूपमा प्रकट हुँदैनन् र? कतिपय मानिसहरूलाई आफू सावधान नहुँदा केही कुरा चिप्ल्याउँछु कि, आफ्ना भित्री सोचहरू खुलाउँछु कि भन्‍ने लाग्छ, र त्यसबारे पछुतो मान्छन्। अनि, तिनीहरू सोच्छन्, “अर्कोपटक, म केही बोल्नेछुइनँ; जो धेरै बोल्छ उसले धेरै गल्ती गर्छ। यदि मैले केही बोलिनँ भने, मेरो भ्रष्ट स्वभाव प्रकट हुनेछैन, हैन र?” तर अन्त्यमा, जब तिनीहरूले कार्य गर्छन्, तिनीहरूका भ्रष्ट स्वभावहरू पुनः एकपटक प्रकट हुन्छन्, र तिनीहरूले आफ्ना अभिप्रायहरू एकपटक पुनः खुलाउँछन्, र त्यस्तो अवस्था जहाँसुकै र जुनसुकै बेला आउन सक्छ, र त्यसबाट सावधान रहन असम्भव छ। त्यसैले, यदि तेरो भ्रष्ट स्वभाव समाधान गरिएको छैन भने, त्यो भ्रष्ट स्वभाव नियमित रूपमा प्रकट हुनु सामान्य कुरा हो। त्यसलाई समाधान गर्ने एउटा मात्र तरिका छ, र त्यो के हो भने, तैँले साँच्चिकै सत्यता नबुझुञ्जेल, र आफ्नो भ्रष्ट स्वभावको सार प्रष्ट नदेखुञ्जेल, सत्यता खोजिरहनुपर्छ र केही प्रयास लाइरहनुपर्छ; त्यसपछि, तैँले शैतान र तेरो देहलाई घृणा गर्न सक्नेछस्, र यसरी तेरो लागि सत्यता व्यवहारमा लागू गर्न सजिलो हुनेछ। जब तँ सत्यता व्यवहारमा लागू गर्न सक्षम बन्छस्, तँबाट प्रकट हुने कुरा भ्रष्ट स्वभाव हुनेछैन, बरु विवेक, समझ, र सामान्य मानवताका प्रकटीकरणहरू हुनेछन्। त्यसैले, सत्यता खोजी गरेर मात्र तैँले भ्रष्ट स्वभावको समस्या समाधान गर्न सक्छस्; आत्मनियन्त्रण, आत्मसंयम, र आत्मअनुशासनमा भर पर्नु राम्रो तरिका होइन, र यसले भ्रष्ट स्वभाव समाधान गर्न बिलकुलै सक्दैन।

त्यसो भए, तँ कसरी भ्रष्ट स्वभावहरू समाधान गर्छस्? पहिला, तैँले यी भ्रष्ट स्वभावहरूको उत्पत्ति चिन्नु र विश्‍लेषण गर्नुपर्छ, त्यसपछि त्यसको अभ्यास विधि पत्ता लगाउनुपर्छ। मैले भर्खरै दिएको उदाहरणकै कुरा गरौँ। त्यो व्यक्तिले आफ्नो चित्र उत्तम छ भन्‍ने सोच्छ, तर अन्त्यमा, चित्रकला बुझ्ने कुनै व्यक्तिले त्यसमा थुप्रै त्रुटिहरू छन् भनेर भन्दिन्छ, त्यसैले ऊ बेखुसी हुन्छ, र उसले आफ्नो आत्मासम्मानमा ठेस पुगेको अनुभूति गर्छ। तेरो आत्मासम्मानमा ठेस पुग्दा र तेरो भ्रष्ट स्वभाव प्रकट हुँदा के गर्न सकिन्छ? अरू मानिसहरूले फरकफरक विचार र दृष्टिकोणहरू राख्‍ने गर्छन्, र तैँले ती कुराहरू स्विकार्न नसक्दा के गर्न सकिन्छ? कतिपय मानिसहरू यसलाई सही ढङ्गले सम्हाल्न सक्षम हुँदैनन्। जब तिनीहरूलाई केही हुन्छ, तिनीहरू पहिला त्यसलाई विश्‍लेषण गर्छन्: “तिनीहरूले त्यसो भन्नुको अर्थ के हो? के तिनीहरूले त्यो कुरा मप्रति लक्षित गर्दै छन्? के हिजो मैले तिनीहरूलाई नराम्रो नजरले हेरेकोले आज तिनीहरू मविरुद्ध प्रतिशोध लिन चाहन्छन्? यदि तिनीहरू त्यो कुरा मप्रति लक्षित गर्दै छन् भने, म त्यत्तिकै छोड्नेवाला छुइनँ: खुनको बदला खुन, ज्यानको बदला ज्यान लिनेछु। यदि तिनीहरू मप्रति दयालु हुँदैनन् भने, म पनि तिनीहरूप्रति न्यायोचित रहनेछुइनँ। मैले प्रतिशोध लिनैपर्छ!” यो कस्तो खालको प्रकटीकरण हो? यो भ्रष्ट स्वभावकै प्रकटीकरण हो। व्यवहारमा, भ्रष्ट स्वभावको यस्तो प्रकटीकरणले प्रतिशोध लिने प्रवृत्ति र अभिप्राय देखाउँछ। सारमा, यस्तो कार्यशैलीको प्रकृति कस्तो हुन्छ? के त्यो दुर्भावपूर्ण हुँदैन र? त्यसमा दुर्भावपूर्ण प्रकृति नै हुन्छ। यदि मानिसहरूमा दुर्भावपूर्ण प्रकृति हुँदैनथ्यो भने, के तिनीहरूले प्रतिशोध लिन्थे र? तिनीहरूले त्यसबारे सोच्दा नि सोच्थेनन्। प्रतिशोधबारे सोच्दा मात्र तिनीहरूबाट यस्तो भाषा प्रकट हुन्छ: “के तिमीले म राम्रो चित्र बनाउँदिनँ भनेर भनेको हो? तिमीचाहिँ मभन्दा नराम्रो बनाउँछौ र तिम्रा चित्रहरूमा मेरोमा भन्दा बढी समस्या हुन्छन्! ती कसैले हेर्नसमेत चाहँदैन!” यस्तो बोलीको चरित्र कस्तो हुन्छ? त्यो एक प्रकारको आक्रामण हो। यस्तो कार्यशैलीबारे तेरो धारणा के छ? आक्रामण गर्नु र प्रतिशोध लिनु सकारात्मक हुन् कि नकारात्मक? के ती प्रशंसापूर्ण हुन् कि अपमानजनक? प्रष्टै छ, ती नकारात्मक र अपमानजनक हुन्। आक्रामण र प्रतिशोध एक खालको व्यवहार र प्रकटीकरण हो जुन दुर्भावपूर्ण शैतानी प्रकृतिबाट उत्पन्न हुन्छ। त्यो एक प्रकारको भ्रष्ट स्वभाव पनि हो। मानिसहरू यस्तो विचार गर्छन्: “यदि तिमी मप्रति निर्दयी हुन्छौ भने, म पनि तिमीप्रति न्यायोचित हुनेछैनँ! यदि तिमीले मसित इज्जतसाथ व्यवहार गर्दैनौ भने, मैले किन तिमीलाई इज्जतसाथ व्यवहार गर्ने?” यो कस्तो प्रकारको सोच हो? के यो प्रतिशोध लिने किसिमको सोच होइन र? साधारण व्यक्तिको विचारमा, के यो जायज दृष्टिकोण हैन र? के यो उचित लाग्दैन र? “आइनलागिञ्‍जेल जाइलागिँदैन; आइलागे छोडिँदैन,” र “जस्तालाई त्यस्तै, ढिँडोलाई निस्तै”—अविश्‍वासीहरूले प्राय यस्ता कुराहरू बोलिरहन्छन्; तिनीहरूमाझ यी सबै उचित तर्कहरू हुन् र यी कुराहरू पूर्ण रूपमा मानवीय धारणाहरूसँग मेल खान्छन्। तर परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता पछ्याउनेहरूले यी वचनहरूलाई कसरी हेर्नुपर्छ? के यी विचारहरू सही छन्? (छैनन्।) ती किन सही छैनन्? तिनीहरूलाई कसरी खुट्याउनुपर्छ? यी कुराहरू कहाँ उत्पन्न हुन्छन्? (शैतानबाट।) ती शैतानबाट उत्पन्न हुन्छन्, यसमा कुनै शङ्का छैन। ती शैतानका कुन-कुन स्वभावहरूबाट आउँछन्? तापनि, परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको निम्ति—सत्यता बुझ्न खोज्ने र स्वभाव बदल्न खोज्ने व्यक्तिको रूपमा—के तँ त्यस्ता शब्दहरू सही छन् भन्छस् कि गलत छ भन्छस्? ती कुराहरूलाई बुझ्न तैँले के गर्नुपर्छ? त्यस्ता कुराहरू कहाँबाट आउँछन्? ती शैतानको दुर्भावनापूर्ण प्रकृतिबाट आउँछन्; तिनमा विष हुन्छ, र तिनमा शैतानको सारा द्वेष र कुरूपतासहित त्यसको वास्तविक अनुहार हुन्छ। तिनमा त्यस प्रकृतिको वास्तविक सार हुन्छ। त्यस प्रकृतिको सार भएका दृष्टिकोण, विचार, प्रकटीकरण, बोलीवचन, र कार्यहरूसमेतमा कस्तो चरित्र हुन्छ? निस्सन्देह नै, त्यो मान्छेको भ्रष्ट स्वभाव हो—त्यो शैतानको स्वभाव हो। के ती शैतानी कुराहरू परमेश्‍वरको वचनअनुरूप हुन्छन्? के ती सत्यता अनुरूप हुन्छन्? के ती कुराको आधार परमेश्‍वरको वचनमा छ? (छैन।) के ती परमेश्‍वरका अनुयायीहरूले गर्नुपर्ने कामहरू हुन्, र तिनीहरूमा हुनुपर्ने विचार र दृष्टिकोणहरू हुन्? के ती विचार र कार्यशैलीहरू सत्यताअनुरूप छन् (छैनन्।) यी कुराहरू सत्यताअनुरूप नभएकाले, के यी सामान्य मानवताको विवेक र समझअनुरूप हुन्छन् त? (हुँदैनन्।) अब तँ प्रष्ट रूपमा देख्न सक्छस् कि यी कुराहरू सत्यता वा सामान्य मानवताअनुरूप हुँदैनन्। के पहिले तँलाई यी कार्यशैली र सोचहरू उचित र आकर्षक, अनि आधार भएका कुरा लाग्थे? (हो।) यी शैतानी सोच र सिद्धान्तहरूले मानिसहरूको हृदयमा पकड जमाउँछन्, र तिनीहरूका सोच, दृष्टिकोण, आचरण, र कार्यशैलीहरू, साथै तिनीहरूका थुप्रै स्थितिहरू नियन्त्रित गर्छन्; त्यसकारण, के मानिसहरूले सत्यता बुझ्न सक्छन् त? कदापि सक्दैनन्। यसविपरीत—के मानिसहरू आफूलाई सही लाग्ने कुराहरू नै सत्यता मानेर अभ्यास र पालना गर्दैनन् र? यदि ती कुराहरू सत्यता हुन् भने, तिनैमा लागिपर्दा पनि किन तेरा व्यावहारिक समस्याहरू समाधान हुँदैनन्? तैँले वर्षौँसम्म परमेश्‍वरमा विश्‍वास गरिसकेको बाबजुद, ती कुराहरूमा लागिपर्दा पनि तँमा किन साँचो परिवर्तन आउँदैन? तँ परमेश्‍वरका वचनहरू प्रयोग गरेर शैतानबाट आउने यी दर्शनहरू किन खुट्याउन सक्दैनस्? के तँ अझै पनि ती शैतानी दर्शनहरू सत्यता नै हुन् जसरी तिनैको पालना गर्छस्? यदि तँमा साँच्चिकै समझशक्ति छ भने, के तैँले ती समस्याहरूको जड भेट्टाएको छैनस्? तैँले जे पालना गरिरहेको थिस् त्यो कहिल्यै सत्यता थिएन—बरु, त्यो त शैतानी भ्रम र दर्शनहरू थियो—त्यसैले समस्या त्यसैमा छ। तिमीहरू सबैले यो मार्ग अवलम्बन गरेर आफ्नो जाँच र अनुसन्धान गर्नुपर्छ; तिमीहरूभित्रका ती कुन चीजहरू हुन् जसको आधार छ र जुन सामान्य समझ र सांसारिक बुद्धिअनुरूप छन् भन्‍ने तिमीहरूलाई लाग्छ, र जसलाई तिमीहरू आफूले प्रस्तुत गर्न सक्छु भन्‍ने सोच्छौ, ती कुराहरू हेर—ती गलत सोच, दृष्टिकोण, कार्यशैली, र आधारहरू जसलाई तिमीहरूले आफ्नो हृदयमा पहिल्यै सत्यताको रूपमा लिइसकेका छौ, जुन तिमीहरूलाई भ्रष्ट स्वभावहरू हुन् भन्‍ने लाग्दैन, ती कुराहरू हेर। ती कुराहरू खोतल्ने काम गरिराख; ती कुराहरू अझै थुप्रै छन्। यदि तिमीहरूले ती सबै भ्रष्ट र नकारात्मक कुराहरू खोतल्यौ, समझ प्राप्त गरुञ्जेल विश्‍लेषण गर्‍यौ, र ती कुराहरू त्याग्न सक्यौ भने, तिमीहरूका भ्रष्ट स्वभावहरू सजिलै समाधान हुनेछन्, र तिमीहरू शुद्ध पारिन सक्षम हुनेछौ।

पहिलेकै उदाहरणमा फर्कौँ। जब त्यो चित्रकारले उसको काममाथि अरूको नकारात्मक र सुखद दुबै खालको मूल्याङ्कन् सुन्छ, तब कस्तो प्रतिक्रियाचाहिँ सही अनि तिनीहरूको व्यवहार र प्रकटीकरणमा मानवता र तर्कसङ्गतता दुबै देखाउने खालको हुन्छ? मैले भर्खरै भनेँ कि मानिसहरूभित्रका ती सोचहरू, चाहे तिनीहरूलाई ती सही लागून् या गलत, ती सबै शैतानबाट, अर्थात तिनीहरूको भ्रष्ट स्वभावबाट आउँछन्; ती गलत कुरा हुन्, सत्यता होइनन्। तैँले जतिसुकै सही ढङ्गले सोचे पनि, वा तँलाई जति नै अरूले तेरा सोचहरू अनुमोदन गर्छन् भन्‍ने लागे पनि, ती सोच सत्यताबाट आउँदैनन्; ती सत्यताको वास्तविकताका प्रकटीकरणहरू वा त्यसको जियाइ होइनन, र ती परमेश्‍वरको इच्छाअनुरूप छैनन्। त्यसैले, वास्तविक रूपमा तैँले समझ र मानवतासहित कसरी यो मामिला सम्हाल्नुपर्छ? सबैभन्दा पहिला, अरूले तँलाई दिने प्रशंसाका शब्दहरूबारे दम्भी भावना नराख्; त्यो एक प्रकारको स्थिति हो। यसअतिरिक्त, तेरो बारेमा तिनीहरूले भन्‍ने नराम्रा कुराहरूको विरोध वा इन्कार नगर्, दुर्भावपूर्ण वा प्रतिशोधी मानसिकता त झनै नराख्। तिनीहरूले तेरो प्रशंसा गरिरहेका होऊन् या नहोऊन्, वा तेरो बारेमा नराम्रा कुराहरू नै बोलिरहेका किन नहोऊन्, तैँले हृदयमा सही मनोवृति राख्‍नुपर्छ। कस्तो प्रकारको मनोवृति? पहिला, तँ शान्त रहनुपर्छ, त्यसपछि तिनीहरूलाई यसो भन्नुपर्छ: “चित्रकला मेरो लागि एउटा गैरव्यावसायिक सोख मात्र हो। मलाई मेरो सीपको स्तर थाहा छ। तिमीले जे भने पनि, म तिमीलाई सही रूपमा लिन सक्छु। चित्रकलाबारे छलफल नगरौँ; त्यसमा मेरो चासो छैनँ। बरु, मैले महसुस नगरेको वा मैले थाहा नपाएको भ्रष्ट स्वभावका प्रकटीकरणहरू ममा कहाँ छन्, त्यो तिमीले भन्न सक्छौ कि सक्दैनौ, त्यसमा मेरो चासो छ। हामी यी मामिलाहरूबारे सङ्गति र छानबिन गरौँ। अनि जीवनवृद्धि पनि अनुभव गरौँ, र गहन प्रवेश पनि गरौँ—त्यो अत्यन्तै राम्रो हुनेछ! बाह्य मामिलाहरूमा छलफल गरेर के काम? त्यसले व्यक्तिलाई आफ्नो कर्तव्य राम्ररी निभाउनमा मद्दत गर्न सक्दैन। तिमीले मेरो चित्र राम्रो भने पनि नराम्रो भने पनि, त्यसको मतलब छैन। यदि तिमीले मेरो चित्रको प्रशंसा गर्छौ भने पनि, के तिमीसित गोप्य उद्देश्य नहुन सक्छ र? के तिम्रो लागि केही गर्न तिमीले मलाई प्रयोग गर्न चाहँदैनौ होला र? यदि तिमी कुनै मामिला सम्हाल्न मैले तिमीलाई मद्दत गरूँ भन्‍ने चाहन्छौ भने, म आफूले सक्ने मद्दत निःशुल्क गर्नेछु; यदि मैले मद्दत गर्न सकिनँ भने, म तिमीलाई केही सुझावहरू दिन सक्छु। मसँग त्यसरी अन्तरक्रिया गर्नु आवश्यक नै छैन। त्यो पाखण्डीपन हो, र त्यसले मलाई दिक्दार र वाकवाक पार्छ! यदि तिमीले मेरो चित्र नराम्रो छ भन्छौ भने, के तिमीले मेरो परीक्षा गर्न, र मलाई परीक्षामा फसाउन खोजेको पो हो कि? के तिमी मैले आवेगमा कार्य गरूँ, र तिमीविरुद्ध प्रतिशोध लिँदै आक्रामण गरूँ भन्‍ने चाहेको हो कि? त्यो त म गर्नेछुइनँ; म त्यति मूर्ख छुइनँ। म शैतानको छलमा पर्नेछैन।” तँलाई यस्तो मनोवृतिबारे के लाग्छ? (यो राम्रो कुरा हो।) यस्तो कार्यशैलीलाई के भनिन्छ? त्यसलाई शैतानविरुद्ध प्रतिप्रहार गर्नु भनिन्छ। कतिपय सत्यता नपछ्याउने मानिसहरूहरूसँग गर्नको लागि केही हुँदैन, र तिनीहरू अनेक खालका बेकामे कुरा बोल्छन्: “ओहो, तिम्रो पहिलेको करियर कति सफल थियो, त्यो देख्दा अरू सबै ईर्ष्याले जल्थे!” “ओहो! हेर त तिमी कति सुन्दर छौ! तिम्रो मुहार त सौभाग्यको नमुना हो।” तिनीहरू को शक्तिशाली छ, को राम्रो देखिन्छ, वा आफ्नो लागि को केही हदसम्म सहयोगी बन्न सक्छ भनेर हेर्छन्, अनि त्यसपछि सोही व्यक्तिसँग निरन्तर टाँसिएर बस्छन्, र उसको चापलूसी गर्छन्, प्रशंसा गर्छन्, र चिप्लो घस्छन्। तिनीहरूले थरीथरीका घृणित, निर्लज्ज विधिहरू प्रयोग गर्छन् र आफ्ना अकथनीय अभिप्राय र चाहनाहरू पूरा गर्छन्। के यो घिनलाग्दो कुरा होइन र? (हो।) त्यसो भए, यस्तो व्यक्तिसँग ठोक्किन पुग्दा तिमीहरूले ऊसँग कस्तो व्यवहार गर्नुपर्छ? के खुनको बदला खुन, ज्यानको बदला ज्यान लिनु ठिक हो? (होइन।) यदि तँसँग समय छैन भने, बदला लिन केही कठोर शब्दहरू मात्र बोल् र तिनीहरूलाई लज्जित तुल्या। तैँले यसो भन्न सक्छस्: “तिमी किन यति नीरस छौ? के तिमीले हेर्नुपर्ने कुनै मामिला छैनन्? यस्ता कुराहरू गफ गर्नुको के अर्थ?” यदि तँलाई तिनीहरूका चिप्ले शब्दहरू अति सतही र वाकवाकलाग्दो लाग्छ, तँलाई सुन्नै मन लाग्दैन, र विस्तारमा बोल्नको लागि तँसँग समय छैन भने, यी केही वाक्यहरूमार्फत जवाफ दे, अनि कुरा टुङ्ग्याइदे। यदि तँसँग समय छ भने, तिनीहरूसँग सङ्गति गर्। सङ्गतिको सन्दर्भमा भन्नुपर्दा, यसमा भ्रष्ट स्वभाव हुनु हुँदैन, आवेग वा प्राकृतिकता हुनु हुँदैन, आक्रामण वा प्रतिशोध हुनु हुँदैन, घृणा हुनु हुँदैन, र मानिसले तिरस्कार गर्ने एउटा पनि कुरा हुनु हुँदैन—तँबाट प्रकट हुने कुराहरू सामान्य मानवताअनुरूप हुनुपर्छ, विवेक र समझबमोजिम हुनुपर्छ, त्यसमा सत्यताको वास्तविकता हुनुपर्छ, त्यो अरूलाई मद्दत गर्न सक्‍ने हुनुपर्छ, अनि रचनात्मक र अरूको लागि लाभदायक हुनुपर्छ। यी सबै कुराहरू सकारात्मक प्रकटीकरणहरू हुन्। अनि, केही नकारात्मक प्रकटीकरणहरूचाहिँ के-के हुन्? ती सारांशीकरण गर्ने प्रयास गर्। (प्रतिशोध लिने, आक्रामण गर्ने, खुनको बदला खुन लिने।) प्रतिशोध गर्ने, आक्रामण गर्ने, खुनको बदला खुन, ज्यानको बदला ज्यान लिने, र मानिसहरूले परम्परागत रूपमा सही हुन् भनी सोच्ने विचारहरू: “जस्तालाई त्यस्तै, ढिँडोलाई निस्तै,” र “म सोझो भद्रभलाद्मी हुँ, म घृणित पनि हैन, र ढोँगी पनि हैन।” के मानिसहरूले सोच्ने यी कुराहरू ठ्याक्कै सत्यताबमोजिम छन् त? (छैनन्।) यी कुराहरू त छानबिन गर्नलायक छन्। सामान्य, प्रष्ट, र एकै नजरमा देख्न सजिला यी कुराहरू खुट्याउनको लागि अलि सजिला हुन्छन्। तर अधिकांश मानिसहरूले देख्न नसक्ने, अनि धेरै मानिसहरूले सही र राम्रा भन्ठानेका कुराहरू—मानिसहरूले ती कुरा चिन्दैनन्, त्यसैले तिनीहरू ती सत्यता नै हुन् जसरी ती कुराहरू नै स्वीकार र पालना गर्छन्। ती कुराहरू पालना गर्दा, मानिसहरूलाई आफूले सत्यताको वास्तविकता र सामान्य मानवता जिइरहेको भन्‍ने लाग्छ; तिनीहरूले आफू कति सिद्ध छु, कति असल छु, कति निष्पक्ष र सम्मानयोग्य छु, अनि कति खुला र सीधा छु भनेर सोच्छन्। प्रायजसो अधिकांश मानिसहरू आवेगपूर्ण, प्राकृतिक, दैहिक, र नैतिक कुराहरूमै जिउने गर्छन् र तिनीहरूले ती कुराहरू सत्यताको वास्तविकता नै हुन् जसरी ती कुराहरूद्वारा सत्यतालाई प्रतिस्थापित गर्ने गल्ती गर्छन्, यस्तोसम्म कि वर्षौँसम्म परमेश्‍वरमा विश्‍वास गरेका मानिसहरूले पनि ती कुराहरू चिन्न सक्दैनन्; परमेश्‍वरमा विश्‍वास गर्ने लगभग सबैजनाले यो चरण पार गर्नैपर्छ, र सत्यता पछ्याउनेहरू मात्र यस्ता गलत विचारहरूबाट उम्किन सक्छन्। त्यसैले, मानिसहरूले आवेग र प्राकृतिकताबाट आउने यी कुराहरूलाई चिनेर गहन रूपले छानबिन गर्नुपर्छ। यदि तँ यी कुराहरूको सार बुझ्न र ती समाधान गर्न सक्छस् भने, सामान्यतया तँबाट प्रकट हुने केही कुराहरू सत्यताको वास्तविकताबमोजिम हुनेछन्। सत्य अभ्यास सामान्य मानवतामार्फत हासिल गर्न सकिन्छ; सत्य अभ्यास एउटा मात्र मापदण्ड हो जसले व्यक्तिमा विवेक र समझ भएको प्रमाणित गर्छ। तिनीहरूले जति मात्रामा सत्यता अभ्यास गरे पनि, त्यो सबै कुरा सकारात्मक हुन्छ; त्यो कदापि भ्रष्ट स्वभाव हुँदैन, झन् त्यो आवेगको कार्य हुनु परै जाओस्। यदि कसैले तँलाई पहिले चोट पुर्‍याएको छ, र तैँले पनि तिनीहरूलाई उस्तै व्यवहार गर्छस् भने, के यो सत्यताका सिद्धान्तहरूबमोजिम हुन्छ? यदि तिनीहरूले तँलाई चोट पुर्‍याएकोले—नराम्रोसित चोट पुर्‍याएकोले—तैँले हरसम्भव माध्यम प्रयोग गरी तिनीहरूविरुद्ध प्रतिशोध लिन र तिनीहरूलाई दण्डित गर्न खोज्छस् भने, अविश्‍वासीहरूका अनुसार, यो न्यायोचित र उचित कुरा हुन्छ, र यसमा आलोचना गर्नुपर्ने कुनै कुरा हुँदैन; तर यो कस्तो कार्यशैली हो? यो आवेग हो। तिनीहरूले तँलाई चोट पुर्‍याए, र त्यो कार्यशैली भ्रष्ट शैतानी प्रकृतिको प्रकटीकरण हो, तर यदि तैँले तिनीहरूविरुद्ध प्रतिशोध लिइस् भने, के त्यो तेरो कार्यशैली तिनीहरूकै जस्तो भएन र? तेरो प्रतिशोधपछाडिको मानसिकता, शुरुवात बिन्दु, र स्रोत तिनीहरूकै जस्तो हुन्छ; त्यसमा केही फरक हुँदैन। त्यसैले, तेरा कार्यहरूको चरित्र पक्‍कै पनि आवेगपूर्ण, प्राकृतिक, र शैतानी छ। अनि, त्यो शैतानी र आवेगपूर्ण भएको देखेपछि, के तैँले तेरो यो कार्यशैली परिवर्तन गर्नुपर्दैन र? के तेरा कार्यहरूपछाडिका स्रोत, अभिप्राय, र प्रेरणाहरू परिवर्तन हुनुपर्छ? (पर्छ।) तैँले ती कुरा कसरी परिवर्तन गर्छस्? यदि तँलाई जे आइपर्छ त्यो सानो कुरा हो भने, र त्यसले तँलाई असहज नै बनाए पनि, जब त्यसले तेरो स्वार्थ छुँदैन, वा तँलाई नराम्रोसँग चोट पुर्‍याउँदैन, वा तँलाई त्यसप्रति घिनाउने तुल्याउँदैन, वा तँलाई प्रतिशोध लिन जीवन जोखिममा पार्ने तुल्याउँदैन भने, तैँले आवेगमा भर नपरी आफ्नो घृणा त्याग्न सक्छस्; बरु, तैँले आफ्नो तर्कसङ्गतता र मानवतामाथि भर परी उचित र शान्तसित यो मामिला सम्हाल्न सक्छस्। तैँले यो कुरा तेरो समकक्षीलाई खुलस्त र इमानदारीपूर्वक भनेर आफ्नो घृणा समाधान गर्न सक्छस्। तर यदि यो घृणा अत्यन्तै गहन छ, र तँ प्रतिशोध लिन चाहने र तिक्ततापूर्ण घृणाले भरिने हदसम्म पुग्छस् भने, के तैँले अझै पनि धैर्यधारण गर्न सक्छस् र? जब तँ आवेगमाथिको निर्भरताबाहिर रहन सक्षम हुन्छस्, र शान्त रूपमा यसो भन्न सक्छस्, “म समझदार हुनुपर्छ। म आफ्नो विवेक र समझले जिउनुपर्छ, र सत्यताका सिद्धान्तहरूले जिउनुपर्छ। मैले दुष्टताको जबाफ दुष्टताले नै दिन मिल्दैन, म आफ्नो गवाहीमा अडिग रहनुपर्छ, र शैतानलाई लज्जित तुल्याउनुपर्छ,” तब के यो भिन्न स्थिति हुँदैन र? (हुन्छ।) विगतमा तेरा कस्ता खाले स्थितिहरू थिए? यदि अरू कसैले तेरो कुनै चीज चोरी गर्छ वा खाइदिन्छ भने, यसले ठूलो, गहिरो घृणा जनाउँदैन, त्यसैले तैँले आफू रिसले चुर नहुञ्जेल तिनीहरूसँग विवाद गर्नु आवश्यक ठान्नेछैनस्—त्यो तेरो भन्दा तल्लो स्तरको कुरा हो, र त्यो विवादको लायक छैन। यस प्रकारको परिस्थितिमा, तँ तर्कसङ्गगत रूपमा उक्त मामिला सम्हाल्न सक्छस्। के यस मामिला तर्कसङ्गगत रूपमा सम्हाल्न सक्नु सत्यता अभ्यास गर्नुसरह हो? के त्यो यस मामिलामा सत्यताको वास्तविकता हुनुसरह हो? अवश्य होइन। तर्कसङ्गतता र सत्यता अभ्यास दुई अलगअलग कुरा हुन्। यदि तैँले आफूलाई विशेष क्रोधित बनाउने कुनै कुरा सामना गर्छस्, तर तैँले त्यसलाई तर्कसङ्गत र शान्त तरिकाले सम्हाल्न सक्छस्, र आफूबाट आवेग वा भ्रष्टता प्रकट हुन दिँदैनस् भने—यसको लागि तैँले सत्यताको सिद्धान्त बुझेको हुनुपर्छ र बुद्धिमा भर परी यसलाई सम्हालेको हुनुपर्छ। यस्तो परिस्थितिमा, यदि तँ परमेश्‍वरलाई प्रार्थना गर्ने वा सत्यता खोज्‍ने गर्दैनस् भने, तँमा सजिलै आवेग उत्पन्न हुनेछ—हिंसासमेत उत्पन्न हुन सक्‍नेछ। यदि तँ सत्यता खोज्दैनस्, मानव विधिहरू मात्र अँगाल्छस्, र आफ्नै प्राथमिकताअनुसार मामिलाहरू सम्हाल्छस् भने, तैँले धर्मसिद्धान्तको थोरै प्रवचन दिएर वा भूइँमा बसी हृदय उदाङ्गो पारेर त्यो समस्या समाधान गर्न सक्दैनस्। यो त्यति सजिलो छैन।

अहिले, हामी जे कुराहरूको बारेमा सङ्गति गरिरहेका छौँ ती सबैले मानिसका भ्रष्ट स्वभावहरू र भ्रष्ट प्रकृतिहरूको समस्यालाई समेट्छन्। केही मानिसहरू सामान्य, स्पष्टवादी स्वभाव लिएर जन्मिन्छन्; जब अरूले तिनीहरूको स्वार्थमा हानि पुर्याउँछन्, वा तिनीहरूलाई केही अप्रिय कुरा भन्छन्, तिनीहरू त्यसलाई हाँसोमै उडाउँछन्। कतिपय मानिसहरू तुच्छ हुन्छन्, र त्यसलाई बिर्सनै सक्दैनन्, जिन्दगीभर खराब भावना बोकेर हिँड्छन्। यी दुई प्रकारका मानिसहरूमध्ये कुनमा भ्रष्ट स्वभाव हुन्छ? वास्तवमा, ती दुबैमा हुन्छ, तिनीहरूको जन्मसिद्ध स्वभाव मात्र फरक हुन्छ। स्वभावले व्यक्तिको भ्रष्ट स्वभावलाई प्रभाव पार्न सक्दैन, न त स्वभावले तिनीहरूको भ्रष्ट स्वभावको गहिराइ निर्धारण गर्छ। मानिसको हुर्काइ, शिक्षा, र पारिवारिक परिस्थितिहरूले तिनीहरूको भ्रष्ट स्वभावको गहिराइ निर्धारण गर्दैन। त्यसो भए के तिनीहरूको भ्रष्ट स्वभावको गहिराइ मानिसले अध्ययन गर्ने कुरासँग सम्बन्धित छ? कतिपय मानिसहरू यसो भन्छन्: “मैले साहित्य अध्ययन गरेँ र थुप्रै पुस्तकहरू पढेको छु; त्यसप्रति मेरो राम्रो झुकाव छ र म सभ्य छु, त्यसैले ममा आत्मसंयमता अपनाउने क्षमता अरूमा भन्दा बढी छ, मानिसहरूबारे मेरो बुझाइ अरूको भन्दा राम्रो छ, र मेरो दिमाग अरूको भन्दा फराकिलो छ। जब म परिस्थितिहरू सामना गर्छु, मसँग ती समाधान गर्ने तरिका हुन्छ, त्यसैले मेरो भ्रष्ट स्वभाव त्यति गहिरो नहुन सक्छ।” कतिपय मानिसहरू यसो भन्छन्: “मैले सङ्गीत अध्ययन गरेँ, त्यसैले म एक विशेष प्रतिभा हुँ। सङ्गीतले मानिसको आत्मालाई माथि उठाउँछ र शुद्ध पार्छ। प्रत्येक नोटले व्यक्तिको आत्मालाई प्रभाव पार्ने भएकाले, उसको आत्मा शुद्ध र रुपान्तरित हुन्छ। सङ्गीत सुन्नाले मानिसलाई फरक-फरक मनस्थितिमा पुर्याउँछ, र विभिन्न मूडहरू सिर्जना गर्छ। जब म नकारात्मक मूडमा हुन्छु, म त्यसलाई समाधान गर्न सङ्गीत सुन्छु, त्यसैले सङ्गीत सुन्दा मेरो भ्रष्ट स्वभावमा बिस्तारै कमी आउँछ। मेरो साङ्गीतिक क्षमतामा सुधार भएसँगै मेरो भ्रष्ट प्रकृति पनि बिस्तारै समाधान हुन्छ।” कतिपय गाउने मानिसहरू यसो भन्छन्: “मधुर गीतहरूले मानिसको आत्मामा खुसी ल्याउन सक्छ। म जति बढी गाउँछु, मेरो आवाज उति बढी उत्कृष्ट बन्छ, र म उति बढी व्यावसायिक बन्छु, यसले त्यसपछि मेरो स्थितिलाई सुधार्छ। जब मेरो स्थिति झन्झन् राम्रो बन्छ, के मेरो भ्रष्ट स्वभाव झन्झन् सानो बन्नेछैन र?” के तिमीहरूलाई यस्तै हुन्छ जस्तो लाग्छ? (लाग्दैन।) त्यसो भए, धेरै मानिसहरूसँग भ्रष्ट स्वभावबारे तिनीहरूको ज्ञान र बुझाइमा गलत विचारहरू छन्; जब तिनीहरूले थोरै शिक्षा पाएका हुन्छन्, तिनीहरू आफ्नो भ्रष्ट स्वभाव घटेको छ भन्ठान्छन्। कतिपय पाको उमेरका मानिसहरू यस्तो पनि सोच्छन्: “जब म जवान थिएँ मैले निकै कष्ट भोगेँ, र जीवन अति सामान्य थियो; मैले बचत गर्ने र खेर नफाल्नेमा ध्यान दिएँ। मैले जे काम गरेँ, म बेदाग रहेँ र मेरो बोली नम्र थियो। म खुलस्त बोल्थेँ र निष्कपट व्यक्ति थिएँ। त्यसैले, ममा त्यति धेरै भ्रष्ट स्वभावहरू छैनन्। कतिपय जवान मानिसहरू आफ्ना समाजको वातावरणबाट प्रभावित हुन्छन्: तिनीहरू नशालु पदार्थ सेवन गर्छन्, र दुष्ट प्रवृतिहरूको पछि लाग्छन्। तिनीहरू सामाजिक माहौलबाट गम्भीर रूपमा सङ्क्रमित, र गहिरो रूपमा भ्रष्ट तुल्याइएका हुन्छन्!” भ्रष्ट स्वभावबारे यी गलत बुझाइहरू र ज्ञानले मानिसलाई तिनीहरूको भ्रष्ट सार र शैतानी प्रकृतिको सम्बन्धमा फरक भावनाहरू र पूर्वाग्रहहरू राख्ने तुल्याउँछन्। यी भावनाहरू र पूर्वाग्रहहरूले अधिकांश मानिसहरूलाई तिनीहरूमा भ्रष्ट स्वभाव भए पनि, तिनीहरू अहङ्कारी, आत्म-धर्मी, र विद्रोही भए पनि, तिनीहरूको बढीजसो व्यवहार राम्रै छ भन्‍ने अनुभूति गराउँछन्। विशेषगरी, जब मानिसहरू नियमहरू हेर्न, सामान्य, विनियमित आत्मिक जीवन जिउन सक्छन्, र केही आत्मिक धर्मसिद्धान्त बोल्न सक्छन्, त्यसपछि तिनीहरू आफूले परमेश्‍वरमा विश्वास गर्ने मार्गमा उपलब्धि हासिल गरेको, र आफ्नो बढीजसो भ्रष्ट स्वभाव समाधान गरिएको भन्‍नेमा झन् बढी विश्वास्त हुन्छन्। कतिपय यस्ता मानिसहरू पनि छन् जो आफ्नो स्थिति अति खराब नहुँदा, आफ्नो कर्तव्य निर्वाहमा उपलब्धिहरू हुँदा, वा आफूले केही प्राप्त गर्दा, आफू आत्मिक भइसकेको, आफू सिद्ध र शुद्ध तुल्याइसकिएको पवित्र मानिस भएको, र आफूमा अब भ्रष्ट स्वभाव नै नभएको भन्ठान्छन्। के मानिसका यस्ता सोचहरू आफ्ना भ्रष्ट, शैतानी स्वभावहरूलाई साँच्चिकै नचिनेको परिस्थितिहरूमा उत्पन्न हुने विभिन्न गलत धारणाहरू होइनन् र? (हुन्।) के यी गलत धारणाहरू मानिसका लागि आफ्ना भ्रष्ट स्वभावहरू र कठिनाइहरू समाधान गर्नमा सबैभन्दा ठूला अवरोधहरू होइनन् र? यो सबैभन्दा ठूलो अवरोध, अर्थात मानिसलाई सम्हाल्न सबैभन्दा गाह्रो पार्ने चीज हो।

के तिमीहरू आज हामीले गरेको सङ्गति बुझ्छौ? के तिमीहरूले त्यसका प्रमुख तत्वहरू बोध गरेका छौ? यदि मानिसका भ्रष्ट स्वभावहरू समाधान गरिएनन् भने, तिनीहरू सत्यताको वास्तविकताभित्र प्रवेश गर्न सक्दैनन्। यदि तिनीहरूलाई आफूमा कुन भ्रष्ट स्वभावहरू छन्, वा आफ्ना शैतानी प्रकृति र सार के हुन् भन्‍ने थाहा छैन भने, के तिनीहरू आफूहरू नै भ्रष्ट मानवहरू भएको साँच्चिकै स्विकार्न सक्छन्? (सक्दैनन्।) यदि मानिसहरू आफू शैतानी भएको, आफू भ्रष्ट मानव जातिको सदस्य भएको साँच्चिकै स्विकार्न सक्दैनन् भने, के तिनीहरू साँच्चिकै पश्चाताप गर्न सक्छन्? (सक्दैनन्।) यदि तिनीहरू साँच्चिकै पश्चाताप गर्न सक्दैनन् भने, के तिनीहरू आफू त्यति खराब नभएको, आफू सम्मानित, उच्च ओहदाको भएको, आफूसँग हैसियत र सम्मान भएको नसोच्लान्? के तिनीहरूसँग प्रायः यस्ता स्थितिहरू नहोलान्? (हुन्छन्) त्यसो भए यी स्थितिहरू किन देखा पर्छन्? यसलाई एउटै वाक्यमा भन्न सकिन्छः यदि मानिसका भ्रष्ट स्वभावहरू समाधान गरिएन भने, तिनीहरूका हृदयहरू सधैँ अशान्त हुन्छन्, र तिनीहरूलाई सामान्य स्थिति प्राप्त गर्न कठिन हुन्छ। अर्थात, यदि कुनै पक्षमा तेरो भ्रष्ट स्वभाव समाधान गरिएन भने, तँलाई कुनै नकारात्मक स्थितिको प्रभावबाट मुक्त हुन, र उक्त नकारात्मक स्थितिबाट बाहिर निस्किन निकै गाह्रो हुन्छ, त्यस स्थितिमा तँलाई तेरो त्यो स्थिति ठिक, सही र सत्यताबमोजिम छ भन्‍ने पनि लाग्न सक्छ। तँ त्यसलाई पालना गर्नेछस् र त्यसैमा लागिपर्नेछस्, अनि स्वाभाविक रूपमा त्यसको जालमा पर्नेछस्, जसले गर्दा त्यसबाट बाहिर निस्किन निकै गाह्रो हुनेछ। त्यसपछि एक दिन, सत्यता बुझेपछि, तैँले थाहा पाउनेछस् कि यस प्रकारको स्थितिले तँलाई परमेश्‍वरलाई गलत अर्थ्याउन र उहाँको प्रतिरोध गर्नतिर डोर्याउँछ, र तँलाई परमेश्‍वरको न्यायविपरीत डोर्याउँछ, यतिसम्म कि तैँले परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने कुरामा शङ्का गर्छस्, परमेश्‍वरको कामलाई शङ्का गर्छस्, परमेश्‍वर सबैमाथि सार्वभौम हुनुहुन्छ भन्‍नेमा शङ्का गर्छस्, र परमेश्‍वर नै सम्पूर्ण सकारात्मक चीजहरूको वास्तविकता र उत्पति भएको कुरामा शङ्का गर्छस्। तैँले आफ्नो स्थिति अत्यन्तै खतरनाक रहेको देख्नेछस्। यो गम्भीर परिणाम आयो किनकि तँमा यी शैतानी दर्शन, विचार, र वादहरूबारे साँच्चिकै ज्ञान थिएन। यस समयमा मात्र तैँले शैतान कति अशुभ र दुर्भावपूर्ण छ भन्‍ने कुरा देख्न सक्नेछस्; शैतान मानिसलाई घात गर्न र भ्रष्ट तुल्याउन, र तिनीहरूलाई परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँलाई घात गर्ने तुल्याउन सक्षम हुन्छ। यदि भ्रष्ट स्वभावहरू समाधान गरिएन भने, परिणामहरू गम्भीर हुन्छन्। यदि तँ यो ज्ञान, यो अनुभूति प्राप्त गर्न सक्षम छस् भने, त्यो पूर्ण रूपमा तैँले सत्यता बुझ्नुको, र परमेश्‍वरका वचनहरूले तँलाई अन्तर्दृष्टि र ज्योति दिनुको परिणाम हो। जो मानिसहरू सत्यता बुझ्दैनन् तिनीहरू शैतानले मानिसलाई कसरी भ्रष्ट तुल्याउँछ, त्यसले मानिसलाई कसरी छल गर्छ र परमेश्‍वरको प्रतिरोध गर्ने तुल्याउँछ भनी बुझ्न सक्दैनन्; यो परिणाम विशेष रूपमा खतरनाक छ। मानिसहरूले परमेश्‍वरको काम अनुभव गर्दा, यदि तिनीहरू आत्म-चिन्तन गर्न, नकारात्मक कुराहरू छुट्याउन, वा शैतानी दर्शनहरू छुट्याउन जान्दैनन् भने, तिनीहरूसँग शैतानको छल र भ्रष्टताबाट मुक्त हुने मार्ग हुँदैन। परमेश्‍वर किन मानिसहरूले उहाँका बढी वचनहरू पढेको चाहनुहुन्छ? मानिसहरूले सत्यता बुझून्, आफूलाई चिनून्, के चीजले तिनीहरूको भ्रष्ट स्थितिहरू उत्पन्न गराउँछ भनी प्रष्ट देखून्, र बोल्ने, व्यवहार गर्ने, र मामिलाहरू सम्हाल्ने तिनीहरूका विचारहरू, दृष्टिकोणहरू, र विधिहरू कहाँबाट आउँछन् भन्‍ने कुरा देखून् भन्नाका लागि। जब तँसँग रहेका यी दृष्टिकोणहरू सत्यताबमोजिम छैनन्, ती परमेश्‍वरले भन्नुभएका सबै कुराको विपरीत छन्, र ती उहाँले चाहनुहुने कुराहरू होइनन् भनी तैँले थाहा पाउँछस्; जब परमेश्‍वरले तँमाथि अपेक्षाहरू राख्नुहुन्छ, जब तँ परमेश्‍वरका वचनहरू भोग्छस्, र जब तेरो स्थिति र मानसिकताले तँलाई परमेश्‍वरप्रति समर्पित हुन, उहाँले बन्दोवस्त गर्नुभएका परिस्थितिहरूप्रति समर्पित हुन, परमेश्‍वरको उपस्थितिमा स्वतन्त्र र स्वाधीन भएर जिउन र उहाँलाई सन्तुष्ट पार्न दिँदैन—यी सबै कुराले प्रमाणित गर्छ कि तँसँग जुन स्थिति छ त्यो गलत छ। के तिमीहरू पहिले यस प्रकारको परिस्थितिमा परेका छौः तँ आफूलाई सकारात्मक लाग्ने, आफूलाई सबैभन्दा उपयोगी लाग्ने कुराहरू अनुसार जिउँछस्; तर अप्रत्याशित रूपमा, जब तँलाई परिस्थितिहरू आइपर्छन्, तँलाई सबैभन्दा सही लागेका कुराहरूको प्रायः सकारात्मक प्रभाव हुँदैन—त्यसको विपरीत, ती कुराहरूले तँलाई परमेश्‍वरप्रति शङ्का गर्ने तुल्याउँछन्, तँलाई मार्गविहीन छोड्छन्, तँलाई परमेश्‍वरबारे गलत अर्थ दिन्छन्, र परमेश्‍वरको विरोध उत्पन्न गराउँछन्—के तैँले त्यस्ता समयहरू भोगेको छस्? (छु।) अवश्य, तँ आफूलाई गलत लाग्ने कुराहरूको पक्कै पनि पालना गर्नेथिनस्; तँ आफूलाई ठिक लाग्ने कुराहरूको मात्र पालना गरिरहन्छस् र त्यसमा लागिरहन्छस्, र सधैँ त्यस्तै स्थितिमा बाँचिरहन्छस्। जब एक दिन तँ सत्यता बुझ्छस्, त्यसपछि मात्र आफूले पालना गरिरहेका कुराहरू सकारात्मक छैनन् भन्‍ने कुरा तैँले थाहा पाउँछस्—ती पूरै गलत छन्, ती मानिसलाई राम्रा लाग्ने कुराहरू हुन्, तर सत्यता होइनन्। तिमीहरूलाई आफूले पालना गर्ने कुराहरू गलत हुन् भनेर कतिको महसुस र थाहा हुन्छ? यदि तिमीहरूलाई ती गलत हुन् भनेर बढीजसो थाहा हुन्छ, तर तिमीहरू चिन्तन गर्दैनौ, र तिमीहरूको हृदयमा प्रतिरोध छ, तिमीहरू सत्यता स्वीकार गर्न सक्षम छैनौ, त्यसलाई सही ढङ्गले सामना गर्न सक्षम छैनौ, र तिमीहरू आफ्नो पक्षमा तर्क दिन सक्षम छौ भने—यदि यस प्रकारको गलत स्थितिलाई उल्ट्याइएन भने, त्यो एकदमै खतरनाक हुन्छ। सधैँ यस्ता कुराहरू पालना गर्नाले तँ सजिलै दुखमा पर्छस्, सजिलै ठेस खान्छस् र असफल हुन्छस्, र साथै, तँ सत्यताको वास्तविकताभित्र प्रवेश गर्नेछैनस्। जब मानिसहरू आफ्ना पक्षमा तर्क गर्छन्, त्यो विद्रोह हो; त्यसको मतलब तिनीहरूमा समझ छैन। तिनीहरूले सुनिने गरी केही नभने पनि, यदि तिनीहरू त्यो कुरालाई मनमा राख्छन् भने, अन्तर्निहित समस्या समाधान गरिएको छैन। त्यसो भए तँ कस्ता समयमा परमेश्‍वरको विरोध नगर्न सक्षम छस्? यस सम्बन्धमा तैँले आफ्नो स्थितिलाई परिवर्तन गरी समस्याका जडहरू समाधान गर्नैपर्छ; तैँले विश्वास गर्ने दृष्टिकोणमा ठ्याक्कै कहाँनेर गल्ती छ भन्‍ने कुरामा तँ प्रष्ट हुनैपर्छ; तैँले यसमा छानबिन गर्नैपर्छ, र सत्यता खोजेर त्यसलाई समाधान गर्नैपर्छ। त्यसपछि मात्र तँ सही स्थितिमा जिउन सक्छस्। जब तँ सही स्थितिमा जिउँछस्, तँमा परमेश्‍वरबारे गलत बुझाइहरू हुनेछैन, र तैँले उहाँको विरोध गर्नेछैनस्, तँभित्र धारणा उत्पन्न हुने त परको कुरा। यो समयमा, यस सम्बन्धी तेरो विद्रोहीपन समाधान हुनेछ। जब त्यो समाधान हुन्छ, र तँलाई परमेश्‍वरको इच्छाबमोजिम कार्य गर्न आउँछ, के यस बेलाको तेरा कार्यहरू परमेश्‍वरसँग मिल्नेछैनन्? यदि यस मामिलामा तँ परमेश्‍वरसँग मिल्छस् भने, के तैँले जे गर्छस् ती सबै परमेश्‍वरको इच्छाबमोजिम हुनेछैन र? के परमेश्‍वरको इच्छाबमोजिमका कार्यशैलीहरू र अभ्यास सत्यता बमोजिम हुँदैनन् र? जब यस मामिलामा तँ अडिग उभिन्छस्, तँ सही स्थितिमा जिइरहेको हुन्छस्। जब तँ सही स्थितिमा जिउँछस्, तँबाट प्रकट हुने र तैँले जिउने कुरा बिलकुलै भ्रष्ट स्वभाव हुँदैन; तँ सामान्य मानवता जिउन सक्षम हुन्छस्, तँलाई सत्यतालाई व्यवहारमा लागू गर्न सजिलो हुन्छ, र तँ साँच्चिकै समर्पित हुन्छस्। अहिले, तिमीहरूमध्ये अधिकांशको अनुभव अझै यो बिन्दुमा पुगेको छैन, त्यसैले सायद तिमीहरू परमेश्‍वरका वचनहरू खासै राम्ररी बुझ्दैनौ, र ती वचनहरूबारे तिमीहरूको बुझाइ अस्पष्ट छ। सैद्धान्तिक रूपमा तैँले ती स्विकार्न सक्छस् र तैँले बुझ्छस् जस्तो, तर बुझ्दैनस् जस्तो पनि देखिन्छ। तैँले बुझ्ने भाग धर्मसिद्धान्त हो, र तैँले नबुझ्ने भाग स्थिति र वास्तविकताको भाग हो। जब तिमीहरूको अनुभव गहिरो बन्छ, तिमीहरूले यी वचनहरू बुझ्नेछौ, र व्यवहारमा लागू गर्न जान्नेछौ। अहिले, तेरो अनुभवको गहिराइको बाबजुद, तँलाई आइपर्ने विभिन्न परिस्थितिहरूमा तँसँग भएका कठिनाइहरू थोरै त पक्कै छैनन्, त्यसैले तँ यी कठिनाइहरू कसरी समाधान गर्न सक्छस्? पहिला, आफूले छानबिन गर्नुपर्ने भ्रष्ट स्थितिहरूमाथि तैँले चिन्तन गर्नैपर्छः त्यसमा कस्ता फरक-फरक पक्षहरू छन्? यी कुराहरू व्याख्या गर्न को चाहन्छ? (यसमा त्यस्ता पाँचवटा पक्षहरू पर्छन्: विचारहरू, दृष्टिकोणहरू, अवस्थाहरू, मूडहरू, र धारणाहरू।) तैँले धर्मसिद्धान्त बुझेपछि, आफूलाई केही आइपर्दा तैँले कसरी अभ्यास र अनुभव गर्नुपर्छ? (जब केही आइपर्छ, हामीले आफूबाट प्रकट हुने मनोवृतिहरू र विचारहरू कस्ता स्वभाव र प्रकृतिसँग सम्बन्धित छन् भनी जाँच्नुपर्छ, यी मानसिकताहरू, विचारहरू, र दृष्टिकोणहरू थाहा पाउनुपर्छ, त्यसपछि यहीबाट समाधान गर्न सुरु गर्नुपर्छ।) त्यो ठिक हो। यदि तँलाई आफ्ना साँचो स्थितिहरू, मनोवृतिहरू, विचारहरू, र दृष्टिकोणहरू पूरै थाहा छ भने, यो समस्याको आधा समाधान भइसकेको हुन्छ, र त्यसपछि सत्यता खोजेर व्यवहारमा लागू गर्दा उक्त कठिनाइ हट्छ।

तिमीहरूमध्ये धेरै जवान मानिसहरू, साथै अहिलेसम्म परिवार नभएका मानिसहरू छन्। तिमीहरू सबैजना आफ्ना कर्तव्य निभाउनका लागि वर्षौँसम्म आफ्ना घर छाडेका छौ, त्यसैले के तिमीहरूलाई आफ्नो घरको याद आउँछ? के तिमीहरूलाई आफ्ना अभिभावकको याद आउँछ? के तिमीहरू प्रायः आफ्ना अभिभावकलाई सम्झने स्थितिमा जिउँछौ? आफ्ना अभिभावकलाई सम्झने स्थितिको बारेमा सुनौँ—यो एउटा वास्तविक अनुभव हो। (जब म भर्खरै विदेशमा आएको थिएँ, मैले विशेषगरी मेरी आमा र बहिनीलाई सम्झेँ; म सधैँ उनीहरूमाथि निर्भर रहने गर्थेँ, त्यसैले जब म आफैँ छोडेर हिँडे, मैले उनीहरूलाई बारम्बार सम्झेँ। तर विदेशको यति अनुभवपछि, मलाई अब मैले छोडेर हिँड्न नसक्ने एक्लो भनेको परमेश्‍वर हुनुहुन्छ भन्‍ने अनुभूति हुन्छ; जब केही आइपर्छ, म उहाँलाई प्रार्थना गर्छु, र म उनीहरूलाई बिलकुलै सम्झन्नँ।) यी दुई फरक स्थितिहरू हुन्। पहिलो स्थिति के हो? सधैँ घर सम्झने, आमा र बहिनी सम्झने। यस प्रकारको स्थितिमा के-के पर्छन्? जब केही आइपर्छ, तँलाई के कसरी गर्ने भन्‍ने नै थाहा हुँदैन, त्यसैले तँ असहाय महसुस गर्छस्; तँ आफ्ना प्रियजनहरू साथमा नभई रहनै सक्दैनस्, र तैँले भरोसा गर्ने कोही पनि हुँदैन। जब तैँले बिहान आफ्नो आँखा खोल्छस्, तँ उनीहरूलाई सम्झन थाल्छस्, र राती सुत्नुअघि तँ उनीहरूलाई सम्झन्छस्; तँ आफ्ना प्रियजनहरूलाई सम्झने यस्तो स्थितिमा अल्झिएको हुन्छस्। तँ उनीहरूलाई किन यति धेरै सम्झन्छस्? किनकि तेरा परिस्थितिहरू परिवर्तन भएका छन् र तैँले उनीहरूलाई छोडेर आएको छस्। तँ उनीहरूको बारेमा चिन्ता लिन्छस्, र साथै, तँलाई उनीहरूमाथि निर्भर हुने, उनीहरूसँग जिउने र जीवनयापनका लागि उनीहरूमाथि भर पर्ने बानी परेको थियो। तिमीहरू जीवनका थुप्रै कुराहरूमा पहिल्यै एकअर्काबाट छुट्नै नसक्ने थियौ, त्यसैले तँ उनीहरूलाई अति धेरै सम्झन्छस्; तँ यस प्रकारको स्थितिमा छस्। त्यसो भए अहिले तँ उनीहरूलाई नसम्झने कस्तो प्रकारको स्थितिमा छस्? (मलाई आफ्नो घर छोड्नु र आफ्नो कर्तव्य निभाउनु परमेश्‍वरको प्रेम हो, उहाँको मुक्ति हो जस्तो अनुभूति हुन्छ, जसले मलाई उहाँमांथि निर्भर हुन सिक्ने तुल्याएको छ। मेरो भ्रष्ट स्वभाव केही हदसम्म परिवर्तन भएको छ, र मेरो आत्मालाई आरामको अनुभूति हुन्छ; साथै, परमेश्‍वरको सार्वभौमिकतालाई स्विकारेर, म सबै मानिसहरूको भवितव्य उहाँकै हातमा छ भन्‍ने कुरा बुझ्छु। उनीहरूको आफ्नै मिसन छ, र मेरो आफ्नै मिसन छ, त्यसैले अब म उनीहरूलाई सम्झन्नँ।) के उक्त समस्या समाधान भयो? (मलाई त भएजस्तै लाग्छ।) सबैले के सोच्छन्, के त्यो समाधान भएको हो? (त्यो अस्थायी रूपमा समाधान भएको हो।) त्यो अस्थायी रूपमा समाधान भएको हो। यदि कुनै दिन विशेषगरी तेरी आमा वा तेरी बहिनीकै जस्तो रूप, लवज, वा तँलाई व्यवहार गर्ने शैली भएकी एउटी सिस्टरसँग तेरो जम्काभेट हुने हो भने, तैँले कस्तो अनुभूति गर्नेथिस्? (म फेरि उनीहरूलाई सम्झन थाल्नेथेँ।) तँ उनीहरूलाई सम्झने स्थितिमा फेरि एकपटक पुग्नेथिस्, त्यसैले उक्त समस्या समाधान हुन्थेन। त्यसो भए तँ यो समस्यालाई जरैदेखि कसरी समाधान गर्छस्? जब तिमीहरूलाई आफ्ना प्रियजनहरूको याद आउँछ, तिमीहरू के कुरा सम्झन्छौ? प्रायः जब तँ कसैलाई सम्झन्छस्, प्रियजन सम्झन्छस्, वा घर सम्झन्छस्, तैँले पक्कै पनि ती चीजहरू सम्झँदैनस् जसले तँलाई दुखी बनायो; तँलाई जे कुराले प्रसन्न बनायो, जे कुराले खुसी र राम्रो अनुभूति गरायो, तँ जे कुरामा रमाइस् तँ त्यसैलाई सम्झन्छस्, जस्तै जसरी तेरी आमाले तेरो ख्याल राख्नुहुन्थ्यो, तँलाई स्नेह गर्नुहुन्थ्यो, र तँलाई प्रिय ठान्नुहुन्थ्यो, वा तेरो बुबाले तेरो लागि किन्नु हुने राम्रा चीजहरू। तँ यी सबै राम्रा कुराहरू सम्झन्छस्, त्यसैले तँ आफ्ना प्रियजनहरूलाई सम्झन छोड्नै सक्दैनस्। तँ आफ्ना प्रियजनहरूलाई जति धेरै सम्झन्छस्, त्यति नै धेरै तिनीहरूलाई त्याग्न सक्दैनस्, र तँ आफूलाई नियन्त्रण गर्न सक्दैनस्। कतिपय मानिसहरू यसो भन्छन्: “यतिका वर्षपछि मैले मेरी आमालाई पहिले कहिल्यै छोडेको छैन। उहाँ जता जानुहुन्छ म उहाँकै पछि लाग्छु, म उहाँको सबैभन्दा प्रिय व्यक्ति हुँ। त्यतिका लामो समय उहाँबाट टाढा भएपछि म उहाँलाई कसरी नसम्झन सकूँ?” उहाँको याद आउनु स्वाभाविक हो; मान्छेको देह नै यस्तै हो। भ्रष्ट मानवजातिहरू आफ्ना संवेगमा जिउँछन्। तिनीहरू यस्तो सोच्छन्: “यसरी बाँच्नु मात्र मानवको झल्को हो। यदि मैले आफ्ना प्रियजनहरूलाई समेत सम्झिनँ, वा तिनीहरूका बारेमा सोचिनँ, वा तिनीहरूमा जीवन निर्वाह देखिनँ भने, के म मानव हुँ? के म कुनै जनावर जस्तै हुन्थिनँ र?” के मानिसहरू यसरी सोच्दैनन् र? यदि तिनीहरूमा स्नेह वा मित्रता छैन, र तिनीहरू अरूका बारेमा सोच्दैनन् भने, अरूले तिनीहरूमा मानवता नभएको र तिनीहरू यस तरिकाले जिउन नसक्ने भन्ठान्छन्। के यो दृष्टिकोण सही हो? (होइन।) खासमा, तैँले आफ्नो अभिभावकलाई सम्झनु वा नसम्झनु ठूलो विषय होइन। तिनीहरूलाई सम्झनु गलत होइन, न त नसम्झनु नै गलत हो। कतिपय मानिसहरू अत्यन्तै आत्मनिर्भर हुन्छन्, जबकि कतिपय आफ्ना अभिभावकसँग टाँसिएरै बस्छन्, तर तिमीहरू सबैजनाले आफ्ना घर र अभिभावक छाडेर आफ्नो कर्तव्य निभाउन सकेका छौ। सर्वप्रथम, तँसँग आफ्नो कर्तव्य निभाउने तत्परता, आफ्नो कर्तव्य निभाउने इच्छा, परमेश्‍वरका लागि समर्पित हुने र वस्तुहरू पन्छाउने इच्छा छ; तर तेरा कठिनाइहरू एक पटकको प्रयासले मात्र समाधान गर्न सकिँदैन, न त तँ आफ्ना भ्रष्ट स्वभावहरू एक पटकको असल कार्यहरू र असल आचारणको प्रयासले समाधान गर्न सक्छस्। तँ यो धर्मसिद्धान्त बुझ्छस् नि, हैन? त्यसो भए तँ आफ्नो अभिभावकलाई सम्झने मामिलालाई त्यसको जराबाटै कसरी समाधान गर्छस्? कतिपय मानिसहरू घर छाडेर दुईतीन वर्षदेखि आत्मनिर्भर भएर बाँचिरहेका छन्; तिनीहरू हुर्किसकेका छन्, र आफ्ना अभिभावकलाई त्यति धेरै सम्झँदैनन्। के उक्त समस्या समाधान भएको हो? होइन। यदि तैँले तिनीहरूलाई तिनीहरू कोसँग सबैभन्दा नजिक छन् भनी सोधिस् भने, तिनीहरू किताबी जवाफ फर्काउँछन्: “म परमेश्‍वरसँग सबैभन्दा नजिक छु, परमेश्‍वर मेरा लागि सबैभन्दा प्रिय हुनुहुन्छ!” तर हृदयमा तिनीहरू यस्तो सोच्छन्: “परमेश्‍वर मेरो पक्षमा हुनुहुन्न, न त उहाँ मेरो हेरचाह गर्न सक्नुहुन्छ। म अझै मेरी आमासँगै सबैभन्दा नजिक छु। म उनकै देहबाट आएको हुँ, उनी मलाई सबैभन्दा बढी स्नेह गर्छिन्, र उनी मलाई सबैभन्दा बढी बुझ्छिन् र बोध गर्छिन्। जब परिस्थिति सबैभन्दा कठिन र तीतो हुन्छ, मेरी आमाले जहिले पनि मलाई ढाडस् दिन्छिन्, मद्दत गर्छिन्, र मेरो ख्याल राख्छिन्। अहिले, घर छाडेपछि, म बिरामी हुँदा मेरो हेरचाह गर्ने मेरी आमाजस्ती कोही छैन। तिमी परमेश्‍वर राम्रो हुनुहुन्छ भन्छौ, तर म उहाँको मुहार देख्न सक्दिनँ, उहाँ कहाँ हुनुहुन्छ? यो व्यावहारिक छैन।” तिनीहरू परमेश्‍वरमा निर्भर हुनु व्यावहारिक होइन भन्ठान्छन्, र तिनीहरूको परमेश्‍वर आफूसँग सबैभन्दा नजिक हुनुहुन्छ भन्‍ने शब्दहरू अलि बनावटी, अलि ढोँगी छन्। खासमा, हृदयको गहिराइमा, तिनीहरूलाई आफ्नो आमा आफूसँग सबैभन्दा नजिक छिन् भन्‍ने लाग्छ। तर किन? “मेरी आमाले मलाई सुनाउनुभएको सुसमाचारकै कारण म परमेश्‍वरमा विश्वास गर्छु; उहाँबिना म यहाँ हुन्थिनँ।” के तिनीहरू यस तरिकाले सोच्दैनन्? (सोच्छन्।) के तँलाई यस्ता मानिसहरूले सत्यता बुझ्छन् भन्‍ने लाग्छ? (बुझ्दैनन्।) तेरी आमाले तँलाई जन्माएर बीस वर्षजति तेरो हेरचाह गर्ने काम मात्र गरिन्। के उनले तँलाई सत्यता प्रदान गर्न सक्छिन्? के उनले तँलाई जीवन प्रदान गर्न सक्छिन्? के उनले तँलाई शैतानको प्रभावबाट मुक्ति दिलाउन सक्छिन्? के उनले तेरो भ्रष्ट स्वभाव शुद्ध पार्न सक्छिन्? उनी यीमध्ये केही गर्न सक्दिनन्। त्यसैले अभिभावकीय अनुग्रह र अभिभावकीय प्रेम अत्यन्तै सीमित हुन्छ। परमेश्‍वरले तेरा लागि के गर्न सक्नुहुन्छ? परमेश्‍वरले मानिसलाई सत्यता प्रदान गर्न सक्नुहुन्छ, शैतानको प्रभावबाट र मृत्युबाट मुक्ति दिलाउन सक्नुहुन्छ, र अनन्त जीवन प्रदान गर्न सक्नुहुन्छ—के यो महान प्रेम होइन र? यो प्रेम स्वर्गजतिकै उच्च र पृथ्वीजतिकै गहिरो छ। यो अत्यन्तै महान छ: एउटा अभिभावकको प्रेमभन्दा सय, हैन, हजार गुणा बढी महान छ। यदि मानिसहरू परमेश्‍वरको प्रेम कति महान छ भन्‍ने कुरा साँच्चिकै जान्छन् भने, के तिनीहरू आफ्ना अभिभावकबारे उति नै बलियो भावना राख्नेछन्? के तिनीहरू नयाँ वर्ष र छुट्टीका समयमा आफ्ना अभिभावकका बारेमा अझै पनि दिनभरि नै सोचेर बस्नेछन्? यदि तिनीहरू सत्यता बुझ्छन् भने, तिनीहरू परमेश्‍वरको प्रेमबारे बढी सोच्नेछन्। यदि कसैले वर्षौँसम्म परमेश्‍वरमा विश्वास गर्छ तर पनि आफ्नो अभिभावकको प्रेम परमेश्‍वरको भन्दा ठूलो हो भन्ठान्छ भने, त्यो व्यक्ति अन्धो हो, र उसँग परमेश्‍वरमा बिलकुलै विश्वास छैन। यदि कसैले परमेश्‍वरमा विश्वास गर्छ, तर सत्यता पछ्याउँदैन भने, के उसले आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न सक्छ? के उसले मुक्ति प्राप्त गर्न सक्छ? सक्दैन। यदि तेरो भ्रष्ट स्वभाव समाधान गरिएको छैन र तेरो आत्मिक जीवन कुनै निश्चित कदसम्म वृद्धि भएको छैन भने, तँ केही नाराहरू फलाक्न सक्छस्, तर तैँले ती काम गर्न सक्नेछैनस्, किनकि तँसँग कद छैन। तैँले आफूसँग गर्न सक्ने शक्ति जति छ त्यति ठूला कामहरू गर्न सक्छस्। तँसँग सहने कद जति ठूलो छ तैँले त्यति नै ठूला परीक्षाहरूबाट पार पाउनेछस्। तँ जति बढी बुझ्न सक्छस् उति नै बढी सत्यताको वास्तविकताभित्र प्रवेश गर्न सक्छस्; तैँले जिउन सक्ने सत्यताको वास्तविकता त्यति हो। त्यहीअनुरूप, तैँले समाधान गर्न सक्ने आफ्नो भ्रष्ट स्वभावको प्रकटीकरणको मात्रा र आफ्ना कठिनाइहरूको सङ्ख्या पनि त्यति नै हो; त्यो सदृश छ।

एक दिन, जब तैँले केही सत्यता बुझ्छस्, तब तेरी आमा नै सबैभन्दा उत्तम व्यक्ति हुन्, वा तेरा बुबाआमा सबैभन्दा उत्तम मानिसहरू हुन् भनेर सोच्‍न छोड्नेछस्। तैँले तिनीहरू पनि भ्रष्ट मानवजातिका सदस्य नै हुन्, र तिनीहरूका भ्रष्ट स्वभावहरू सबै उस्तै छन् भन्‍ने महसुस गर्नेछस्। तिनीहरूको भिन्‍नता भनेको तँसँगको भौतिक रगतको सम्‍बन्ध मात्रै हो। यदि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, अविश्‍वासीसरह हुन्। तैँले तिनीहरूलाई परिवारको सदस्य वा तेरो देहको नाताको दृष्टिकोणले हेर्न छोड्नेछस्, तर सत्यताको पाटोबाट हेर्नेछस्। तैँले हेर्नुपर्ने मुख्य पक्षहरू के-के हुन्? तैँले परमेश्‍वरप्रतिको विश्‍वासमा तिनीहरूको दृष्टिकोण, संसारप्रति र परिस्थितिहरू सम्‍हाल्‍नेसम्‍बन्धी तिनीहरूको दृष्टिकोण र सबैभन्दा महत्त्वपूर्ण, परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्तिलाई हेर्नुपर्छ। यदि तैँले यी पक्षहरूलाई सही रूपमा मूल्याङ्कन गर्छस् भने, तिनीहरू असल मानिस हुन् कि खराब हुन् भनेर स्पष्टसित देख्‍नेछस्। एक दिन तैँले तिनीहरू पनि तँजस्तै भ्रष्ट स्वभाव भएका मानिसहरू हुन् भनेर स्पष्ट देख्‍न सक्‍नेछस्। तिनीहरू तैँले कल्‍पना गरेजस्तो तँलाई साँचो प्रेम गर्ने दयालु हृदयका मानिस होइनन्, र तिनीहरूले तँलाई सत्यतामा वा जीवनको सही मार्गमा डोर्‍याउन सक्दैनन् भन्‍ने कुरा अझ स्पष्ट हुनेछ। तिनीहरूले तँलाई जे गरेका छन् त्यसबाट तँलाई खासै फाइदा पुग्दैन, र तैँले जीवनमा सही मार्ग लिन यसको कुनै काम छैन भन्‍ने कुरा पनि स्पष्टसित देख्‍न सक्‍नेछस्। अनि, तैँले तिनीहरूका धेरैजसो अभ्यास र विचारहरू सत्यताविपरीत छन्, तिनीहरू देहका हुन्, यसले गर्दा तँ तिनीहरूलाई तुच्छ ठान्छस्, र तिनीहरूप्रति तँलाई अरुचि र घृणा लाग्छ भन्‍ने कुरा पनि थाहा पाउनेछस्। यदि तैँले यी कुराहरू देख्‍न सक्छस् भने, त्यसपछि तैँले तेरा आमाबुबालाई हृदयभित्र सही व्यवहार गर्न सक्‍नेछस्, र तँलाई तिनीहरूको त्यति धेरै याद आउने, चिन्ता लाग्‍ने, र अलग हुन नसक्‍ने हुन छोड्नेछ। तिनीहरूले आमाबुबाका रूपमा आफ्‍नो मिसन पूरा गरेका छन्, त्यसैले तैँले तिनीहरूलाई तेरो सबैभन्दा नजिकका मानिस ठान्न वा तिनीहरूलाई आदर्श मान्‍न छोड्नेछस्। बरु, तैँले तिनीहरूलाई सामान्य मानिसका रूपमा लिनेछस्, र त्यो बेला, तँ भावनाहरूको बन्धनबाट पूर्ण रूपमा उम्‍केर आफ्‍नो भावना र पारिवारिक स्‍नेहबाट साँच्चै मुक्त हुनेछस्। एकपटक त्यस्तो गरिसकेपछि, तैँले ती कुराहरू प्रिय ठान्नलायक नभएको महसुस गर्नेछस्। त्यस बिन्दुमा, तैँले आफ्ना नातेदार, परिवार र देहका सम्बन्धहरू सत्यता बुझ्ने र आफूलाई संवेगबाट मुक्त पार्ने कार्यको निम्ति अवरोधहरू रहेछन् भनेर देख्‍नेछस्। यस्तो किन हुन्छ भने तिनीहरूसँग तेरो पारिवारिक सम्बन्ध छ—र त्यो यस्तो देहको सम्बन्ध हो जसले तँलाई कुँजो पार्छ, बहकाउँछ, र तिनीहरूले तँलाई सबैभन्दा राम्रो व्यवहार गर्छन्, तिनीहरू तेरा सबैभन्दा नजिकका हुन्, र तिनीहरूले तेरो ख्याल अरूले भन्दा राम्रो राख्छन् र तँलाई सबैभन्दा बढी प्रेम गर्छन् भन्‍ने विश्‍वास गराउँछ—र यो सबै कुराले तँलाई तिनीहरू राम्रा मानिस हुन् कि नराम्रा भनेर प्रष्ट रूपमा छुट्याउन असक्षम बनाउँछ। यी संवेगहरू साँचो रूपमा त्यागिसकेपछि, तैँले तिनीहरूबारे अझै बारम्बार सोच्छस् भने पनि, के तँ तिनीहरूलाई हृदयदेखि नै सम्झिरहने, तिनीहरूकै बारेमा सोचिबस्ने, र अहिलेजस्तै तिनीहरूको तृष्णा गरिरहने गर्नेछस् र? तैँले त्यस्तो गर्नेछैनस्। अनि, यस्तो भन्‍नेछैनस्: “म जोबिना साँच्चिकै रहनै सक्दिनँ उनी मेरी आमा हुन्; मलाई प्रेम गर्ने, मेरो हेरचाह गर्ने, र मेरो सबैभन्दा बढी ख्याल राख्ने उनी नै हुन्।” जब तँसित यो स्तरको अनुभूति हुन्छ, के तँ तिनीहरूबारे सोच्दा अझै रुनेछस्? अहँ। यो समस्या समाधान हुनेछ। त्यसकारण, तँलाई कठिनाइ निम्त्याउने समस्या वा मामिलाहरूको सन्दर्भमा, यदि तैँले सत्यताको त्यो पक्ष हासिल गरेको छैनस् र यदि तँ सत्यताको वास्तविकताको त्यो पक्षमा प्रवेश गरेको छैनस् भने, तँ यस्ता कठिनाइ वा स्थितिहरूको जालमा फस्नेछस्, र तँ त्यहाँबाट कहिल्यै उम्किन सक्नेछैनस्। यदि तँ यसप्रकारका कठिनाइ र समस्याहरूलाई जीवन प्रवेशका प्रमुख समस्याहरूका रूपमा लिन्छस् र त्यसपछि ती समस्या समाधान गर्न सत्यता खोज्छस् भने, तँ सत्यताको वास्तविकताको यस पक्षभित्र प्रवेश गर्न सक्षम हुनेछस्; थाहै नभई तैँले यी कठिनाइ र समस्याहरूबाट आफ्नो पाठ सिक्नेछस्। जब ती समस्याहरू समाधान हुन्छन्, तैँले आफ्ना आमाबुबा र परिवारका सदस्यहरूसँग आफू पहिलेजति नजिक नभएको अनुभूति गर्नेछस्, तैँले तिनीहरूको प्रकृति र सार अझ प्रष्ट रूपमा देख्नेछस्, र तैँले तिनीहरू साँच्चिकै कस्ता खालका मानिसहरू हुन् भनेर चिन्‍नेछस्। अनि, आफ्ना प्रियजनहरूलाई प्रष्टै चिनेपछि, तैँले यसो भन्‍नेछस्: “मेरी आमा सत्यता बिलकुलै स्वीकार गर्दिनन्; वास्तवमा उनी सत्यताबाट दिक्क छिन् र सत्यतालाई घृणा गर्छिन्। उनी सारमा एक दुष्ट व्यक्ति, अर्थात दियाबलस हुन्। मेरो बुबा मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुन्, उनी मेरी आमाको पक्षमा उभिन्छन्। उनले सत्यता बिलकुलै स्वीकार र अभ्यास गर्दैनन्; उनी सत्यता पछ्याउने व्यक्ति होइनन्। मेरा आमा र बुबाको व्यवहारको आधारमा, उनीहरू दुबै गैरविश्‍वासीहरू हुन्; उनीहरू दुबै दियाबलसहरू हुन्। मैले उनीहरूलाई पूर्ण रूपमा त्याग्नुपर्छ, र उनीहरूसँग मेरो प्रष्ट सीमा कोर्नुपर्छ।” यसरी, तँ सत्यताको पक्षमा उभिनेछस्, र उनीहरूलाई परित्याग गर्न सक्षम हुनेछस्। जब तँ उनीहरू को हुन्, र कस्ता खालका मानिस हुन् भनेर चिन्न सक्छस्, के तब पनि तँमा उनीहरूप्रति आत्मीय भावना हुनेछ? के तैँले अझै पनि तिनीहरूप्रति स्नेह अनुभूति गर्नेछस्? के तेरो अझै पनि तिनीहरूसँग देहको सम्बन्ध हुनेछ? हुनेछैन। के तैँले अझै आफ्ना संवेगहरूलाई रोक्न आवश्यक हुनेछ? (हुनेछैन।) त्यसो भए, यी समस्याहरू समाधान गर्न वास्तवमा तँ के कुरामा निर्भर हुन्छस्? तँ सत्यता बुझ्ने, परमेश्‍वरमा भर पर्ने, र परमेश्‍वरतर्फ फर्किहेर्ने कुरामा निर्भर हुन्छस्। यदि तँ यी कुराहरूबारे आफ्नो हृदयमा प्रष्ट छस् भने, के तैँले त्यसपछि पनि आफूलाई नियन्त्रित गर्नुपर्छ र? के तैँले अझै पनि अन्यायमा परेको महसुस गर्नेछस् र? के तैँले अझै पनि यस्तो ठूलो पीडा भोग्नुपर्छ र? के तँलाई अझै पनि अरूले सङ्गति र वैचारिक काम गरिदिन आवश्यक पर्छ र? पर्दैन, किनकि तँ आफैले ती सबै समाधान गरिसकेको हुन्छस्—त्यो एकदमै सजिलो काम हो। फेरि पहिलेकै कुरामा आऔँ, तँ उनीहरूबारे सोच्न वा उनीहरूलाई सम्झन नचाहने मामिला कसरी सुल्झाउँछस्? (त्यो कुरा सुल्झाउन सत्यता खोज्छु।) ती ठूला शब्दहरू हुन्, ती एकदमै आधिकारिक सुनिन्छन्—तर अलि व्यावहारिक रूपमा बोल। (उनीहरूको सार बुझ्न परमेश्‍वरका वचनहरू लागू गर्नुपर्छ; मतलब, तिनीहरूलाई तिनीहरूको सारको आधारमा चिन्‍नुपर्छ। त्यसपछि, हामी हाम्रो स्नेह, र हाम्रो देहको सम्बन्ध पन्छाउन सक्षम हुनेछौँ।) त्यो ठिक हो। तैँले परमेश्‍वरका वचनहरूलाई मानिसको प्रकृति र सारबारे तेरो समझको आधार बनाउनुपर्छ। परमेश्‍वरको वचनको खुलासाबिना, कसैले पनि अरूको प्रकृति र सार बुझ्न सक्दैन। परमेश्‍वरका वचनहरू र सत्यतामा आधारित भएर मात्र व्यक्तिले मानिसहरूको प्रकृति र सार बुझ्न सक्छ; त्यसपछि मात्र व्यक्तिले मानव संवेगको समस्या जरैबाट समाधान गर्न सक्छ। सर्वप्रथम, आफ्ना स्नेहहरू र देहका सम्बन्धहरूबाट टाढिँदै काम सुरु गर्; जसको लागि तेरो संवेग सबैभन्दा बलियो छ, तैँले सर्वप्रथम उसैलाई विश्‍लेषण गर्नु र चिन्‍नुपर्छ। यस्तो समाधानबारे तेरो के विचार छ? (यो राम्रो छ।) कतिपय मानिसहरू यसो भन्छन्: “आफूमा जो मानिसहरूको लागि सबैभन्दा बलियो संवेग हुन्छ उनीहरूलाई खुट्याउनु र विश्‍लेषण गर्नु—यो अति कठोर कुरा हो!” तँलाई उनीहरूलाई खुट्याउन लगाउनु भनेको तैँले उनीहरूसँग सम्बन्ध तोड् भनेर होइन—त्यो तैँले आमाबुबा र बच्चाबीचको तेरो सम्बन्ध तोड् भनेर होइन, न त त्यो तैँले उनीहरूलाई पूर्ण रूपमा त्याग्, उनीहरूसँग फेरि कहिल्यै कुरा नगर् भनेर नै हो। तैँले आफ्ना प्रियजनहरूप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ, तर तँ उनीहरूको बन्धन वा जालोमा पर्नु हुँदैन, किनकि तँ परमेश्‍वरको अनुयायी होस्; तँमा यो सिद्धान्त हुनैपर्छ। यदि तँ अझै पनि उनीहरूको बन्धन वा जालोमा पर्न सक्छस् भने, तैँले आफ्नो कर्तव्य राम्ररी निभाउन सक्दैनस्, न त बाटोको अन्त्यसम्मै परमेश्‍वरलाई पछ्याउने प्रत्याभूति नै गर्न सक्छस्। यदि तँ परमेश्‍वरको अनुयायी वा सत्यताप्रेमी नहुँदो हो त कसैले पनि तँबाट यस्तो कुनै अपेक्षा राख्‍ने थिएनन्। कतिपय मानिसहरू यसो भन्छन्: “अहिले म सत्यता बुझ्दिनँ; म अरूलाई खुट्याउन जान्दिनँ।” यदि तँसँग यो कद छैन भने, समझशक्तिको कुरा अहिलेलाई पन्छाएर राख्। जब तँसँग पर्याप्त कद हुन्छ, र तँ त्यस्ता परीक्षाहरू पार गर्न, र यसरी अभ्यास गर्नहेतु आफै पहल गर्न सक्षम हुन्छस्, सत्यताको यो पक्ष अभ्यास गर्न तेरो लागि त्यति ढिला हुनेछैन।

धेरै मानिसहरूले नचाहिँदो रूपमा भावनात्मक कष्ट भोग्छन्; वास्तवमा, त्यो सब अनावश्यक र अर्थहीन कष्ट हो। म किन त्यसो भन्दै छु? मानिसहरू सधैँ आफ्‍ना भावनाहरूको बन्धनमा हुन्छन्, त्यसकारण तिनीहरू सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन सक्दैनन्; यसअलावा, भावनाहरूको बन्धनमा पर्नु कर्तव्य निभाउने वा परमेश्‍वर पछ्याउने कार्यको लागि कदापि फाइदाजनक हुँदैन, र अझ भन्‍ने हो भने यो जीवन प्रवेशको लागि पनि ठूलो बाधा हो। त्यसकारण, भावनात्मक बन्धनहरूको कष्ट भोग्‍नुको कुनै अर्थ छैन, र परमेश्‍वरले यसलाई स्मरण गर्नुहुन्‍न। त्यसैले, तैँले कसरी यी अर्थहीन कष्टबाट आफैलाई मुक्त गराउँछस्? तैँले सत्यता बुझ्‍नुपर्छ, र तैँले यी देहगत सम्‍बन्धहरूको सार देख्‍नु र बुझ्‍नुपर्छ; त्यसपछि तँलाई देहका संवेगहरूको बन्धनहरूबाट मुक्त हुन सजिलो हुनेछ। परमेश्‍वरमा विश्‍वास गर्ने कतिपय मानिसहरूलाई तिनीहरूका अविश्‍वासी आमाबुबाले गम्भीर उत्पीडन दिन्छन्; तिनीहरूलाई कहिले जीवनसाथी खोज्न र कहिले जागिर खोज्न बाध्य पारिन्छ। तिनीहरूले चाहेको जे पनि गर्न पाउँछन्, तर तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न दिइँदैन। कतिपय आमाबुबाले त परमेश्‍वरविरुद्ध ईशनिन्दा पनि गर्छन्, अनि यी मानिसहरूले आफ्ना आमाबुबाको साँचो दियाबलस रूप देख्छन्। त्यसपछि मात्र तिनीहरूको हृदय रुन्छः “उनीहरू साँच्चिकै दियाबलस हुन्, त्यसैले म उनीहरूलाई प्रियजनका रूपमा हेर्न सक्दिनँ!” त्यसपछि, तिनीहरू आफ्ना संवेगहरूको बन्धन र जन्जिरबाट मुक्त हुन्छन्। शैतानले मानिसहरूलाई बाधा र बन्धनमा पार्न स्नेह प्रयोग गर्न चाहन्छ। यदि मानिसहरू सत्यता बुझ्दैनन् भने, तिनीहरू सजिलै छलमा पर्छन्। बारम्बार आफ्ना आमाबुबा र प्रियजनहरूको लागि, तिनीहरू बेखुसी हुन्छन्, रुन्छन्, कठिनाइहरू सहन्छन्, र त्यागहरू गर्छन्। यो तिनीहरूको अनाडी अज्ञानता हो; तिनीहरूले यही दुर्भाग्य स्विकार्छन्, र आफ्नो कार्यको फल भोग्छन्। यी कुराहरूको कष्ट भोग्नुको अर्थ छैन—यो अनर्थ प्रयास हो जुन परमेश्‍वरले बिलकुलै सम्झनुहुन्न—र यसलाई नारकीय अनुभव भोगेको भन्न सकिन्छ। जब तैँले साँच्चिकै सत्यता बुझ्छस् र तिनीहरूको सार देख्छस्, तँ स्वतन्त्र बन्नेछस्; तँलाई तेरो पहिलाको कष्ट अज्ञानी र अनाडी भएको थाहा हुनेछ। तैँले अरू कसैलाई दोष दिनेछैनस्; बरु आफ्नै अन्धोपन, आफ्नो मूर्खता, र आफूले सत्यता नबुझेको वा मामिलाहरू प्रष्ट नबुझेको तथ्यलाई दोष दिनेछस्। के संवेगको समस्या समाधान गर्न सजिलो छ? के तिमीहरूले त्यसलाई समाधान गरेका छौ? (छैनौँ। हामीले अझै पनि परमेश्‍वरले तोक्नुभएको अभ्यासको मार्ग अभ्यास वा प्रवेश गरेका छैनौँ; यस प्रकारका कुराहरू आइपर्दा, हामीसँग सन्दर्भको लागि एउटा आधार मात्र छ।) यसो भनिरहँदा, व्यावहारिक मामिलाहरूबारे बोल्दा होस् वा तिमीहरूले मार्गका रूपमा व्याख्या गरेका कुराहरूबारे बोल्दा होस्, म तिमीहरूलाई भन्दै छुः जब तिमीहरू यस प्रकारको कुरा सामना गर्छौ, त्यसलाई सम्हाल्ने सबैभन्दा उत्तम विधि परमेश्‍वरलाई प्रार्थना गर्नु र सत्यता खोज्नु हो, त्यसपछि तिमीहरूसँग त्यसलाई समाधान गर्ने मार्ग हुनेछ। जब तिमीहरूले देहका संवेगहरूको सार बुझेका हुन्छौ, तिमीहरूलाई सत्यताका सिद्धान्तहरूअनुसार मामिलाहरू सम्हाल्न सजिलो हुनेछ। यदि तँ सधैँ आफ्ना प्रियजनहरूसँगको देहगत सम्बन्धको बन्धनमा हुन्छस् भने, तँसँग सत्यता अभ्यास गर्ने कुनै मार्ग हुँदैन; यदि तँ धर्सिद्धान्त बुझ्छस् र नाराहरू फलाक्छस् नै भने पनि, तैँले अझै आफ्ना वास्तविक समस्याहरू समाधान गर्न सक्नेछैनस्। कतिपय मानिसहरूलाई सत्यता कसरी खोज्ने भन्‍ने नै थाहा हुँदैन। अन्यले सत्यता खोज्न सक्छन्, तर जब मानिसहरूले तिनीहरूसँग प्रष्ट रूपमा सत्यता सङ्गति गर्छन्, तिनीहरू त्यसमा पूरा विश्‍वास गर्दैनन् र त्यसलाई पूरा स्विकार्न सक्दैनन्; तिनीहरूले त्यो धर्मसिद्धान्त नै हो जसरी केवल सुन्ने मात्र गर्छन्। त्यसैले, संवेगहरूको बन्धनमा पर्ने तेरो समस्या कहिल्यै सुल्झाउन सकिँदैन; यदि त्यो सुल्झाउन सकिँदैन भने, तँ त्यसबाट बाहिर निस्कन कहिल्यै सक्‍नेछैनस्, र तँ बाधित भइरहनेछस् र बाँधिइरहनेछस्। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् तर उहाँलाई पछ्याउन वा आफूले गर्नुपर्ने कर्तव्य गर्न सक्दैनस् भने, अन्त्यमा, तँ परमेश्‍वरको प्रतिज्ञा प्राप्त गर्नलायक हुनेछैनस्, तँ विपत्तिमा फस्नेछस् र दण्डित हुनेछस्—रोएर, दाह्रा किटेर केही हुनेवाला छैन, र तँलाई कसैले मुक्ति दिन सक्नेछैन। के अब तँ भ्रष्ट स्वभावहरू नसुल्झाउनुका परिणामहरूबारे प्रष्ट भइस्?

आज हामीले केको बारेमा सङ्गति गर्‍यौँ? हामीले मानिसहरूका स्थितिहरू, तिनीहरूका भ्रष्ट स्वभावहरू, साथै सत्यताको वास्तविकताभित्र कसरी प्रवेश गर्ने, आफूलाई आइपर्ने मामिलाहरूलाई सही तरिकाले कसरी लिने, आफूले कस्ता दृष्टिकोणहरू अपनाउनुपर्छ, र आफ्नो भ्रष्ट स्वभाव कसरी पहिचान, विश्‍लेषण र समाधान गर्ने भन्‍नेबारेमा सङ्गति गर्‍यौँ। जीवन प्रवेशको पाठ सदैव सिक्‍नुपर्छ; सिक्न वा शुरुवात गर्नलाई धेरै ढिलो कहिल्यै हुँदैन। अनि, धेरै ढिलोचाहिँ कहिले हुन्छ? यदि तँ मरिसकेको छस् भने, त्यो धेरै ढिलो हो; यदि तँ जीवितै छस् भने, धेरै ढिलो भएको छैन। अहिले तिमीहरू सबै जीवितै छौ, मरेका छैनौ, तर के तिमीहरू जीवित र मृत भनेको के हो भनेर साँच्चिकै प्रष्ट छौ? अंग्रेजीमा, मानिसहरू सधैँ “I’m still alive” भन्छन्। त्यसो भन्नुको अर्थ के हो? जब कुनै परिस्थिति आइपरेरर तँ केही सोच्नै नसक्ने अवस्थामा पुग्छस्, वा समाजको लहरमा तानिन्छस्, वा आफू पतित भएको अनुभूति गर्छस्, र त्यसपछि जब तँ सियोले आफैलाई घोच्छस् र त्यसलाई महसुस गर्न सक्छस्—तब तैँले आफू अझै जीवितै रहेको, आफ्नो हृदय अझै नमरेको अनुभूति गर्नेछस्। यदि तँ अझै जीवितै छस् भने, तैँले खोजहरू गर्नुपर्छ र मानव स्वरूपमा जिउनुपर्छ। पहिले, तँ पतित थिइस्, सांसारिक चीजहरूको पछि लागिस् र दुष्टताको लहरमा बाँचिस्; के तैँले आफूलाई सम्हाल्ने र थप पतित हुनबाट बच्ने बेला भएन र? तैँले देख्‍न सक्छस्, पश्‍चिमाहरूले साँचो मार्ग भेट्टाएका छैनन्, र मानव जीवन र आफ्नो जीवनशैलीको सम्बन्धमा तिनीहरूले निराशा अनुभूति गर्छन्, त्यसैले तिनीहरूको बोलीवचन गहिरो संवेगले भरिएको छ, र त्यसमा एकप्रकारको उदासीनता र आशाहीनता छ—त्यसको मतलब, त्यसमा निराशाजनक भाव छ। जिउँने क्रममा, तिनीहरू प्रायः आफू मानव नभएको अनुभूति गर्छन्, तर तिनीहरू यसरी नै जिउनुपर्छ; तिनीहरूलाई भूत, जन्तु, वा पशुझैँ अनुभूति भए पनि, यस तरिकामै जिइरहनुपर्छ। यसमा के गर्न सकिन्छ? तिनीहरूले यसमा गर्न सक्ने केही छैन। यदि तिनीहरू मरेनन् भने, तिनीहरूले यसरी नै जिउनुपर्छ; तिनीहरूको लागि अरू कुनै मार्ग छैन, र तिनीहरू दयनीय रूपमा जिउँछन्। के तिमीहरू सबैजना यस्तै छौ? यदि एक दिन तिमीहरू गहिरो संवेगले भरिन्छौ, र “ओहो, म अझै जीवितै छु, मेरो हृदय अझै मरेको छैन” भनेर सोच्‍छौ भने—यदि कुनै व्यक्ति त्यो हदसम्म पुग्छ भने, उसको नियति के हुनेछ? ऊ पहिल्यै ठूलो खतरामा परिसकेको हुन्छ! एउटा विश्‍वासीको लागि यो पहिल्यै धेरै खतरनाक भइसकेको हुन्छ। तिमीहरूले “म अझै जीवितै छु, तर मेरो देह एक खोल हो, र म हिँड्ने लाश हुँ। मेरो हृदय जीवितै छ, र मेरो हृदयका थोरै चाहना र आदर्शहरूले मात्र मेरो देह अड्याइरहेका छन्” भन्‍नेजस्ता कुराहरू कदापि भन्न मिल्दैन। त्यो हदसम्म नपुग! यदि तिमीहरू त्यो हदसम्म पुग्यौ भने, तिमीहरूलाई मुक्ति दिन निकै कठिन हुनेछ। अहिले तिमीहरू सबैलाई हेर्दा, तिमीहरूको परिस्थिति खराब छैन। यदि तिमीहरूले कुनै अविश्‍वासीलाई परमेश्‍वरको वचन पढेर सुनाउँछौ भने, उसलाई कुनै चेतानचेतना हुनेछैन; अनि, यदि अहिले मैले तिमीहरूलाई काटछाँट र निराकरण गर्न गम्भीर वचनहरू प्रयोग गरेँ भने, के तिमीहरूलाई त्यसबारे बिलकुलै चेतना हुनेछ? (हुनेछ।) तिमीहरूमध्ये कति जना काटछाँट र निराकरण गरिएपछि मात्र आफूबारे एउटा बुझाइमा पुग्छौ; त्यसपछि मात्र तिमीहरूलाई पछुतो हुनेछ। यसको मतलब तिमीहरूमा अझै चेतना छ, र तिमीहरूको हृदय अझै पूरै मरेको छैन, र यसले प्रमाणित गर्छ कि तिमीहरू अझै जागै छौ, अझै जीवितै छौ! यदि तिमीहरू सत्यता स्विकार्न र व्यवहारमा लागू गर्न सक्छौ भने, तिमीहरूले मुक्ति पाउने आशा रहन्छ। यदि कोही सिधै सत्यता अस्वीकार गर्ने अवस्थामा पुग्छ भने, ऊ पूर्ण रूपले मरेको छ, ऊ मुक्ति पाउनै नसक्‍ने अवस्थामा पुगेको छ। सत्यता स्वीकार नगर्ने मानिसहरू मण्डलीमा थुप्रै छन्। ती मानिसहरू सास फेरिरहेका भए पनि, तिनीहरूमा वास्तवमा आत्मा छैन। तिनीहरू आत्माविहीन मृत मानिसहरू र हिँड्ने लाशहरू हुन्। यस्ता मानिसहरू पूर्ण रूपमा खुलासा भएर हटाइएका छन्।

अक्टोबर ५, २०१६

अघिल्लो: परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू

अर्को: परमेश्‍वरमाथिको विश्‍वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्