परमेश्वरमाथिको विश्वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो
जब परमेश्वरमाथिको तिमीहरूको विश्वासको कुरा आउँछ, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने बाहेक, मुख्य कुरा भनेको सत्यतालाई बुझ्नु, सत्यता वास्तविकतामा प्रवेश गर्नु, र जीवन प्रवेशमा थप प्रयत्न लगाउनु हो। जेसुकै भए पनि, यसमा सिक्नुपर्ने पाठहरू छन्, त्यसैले यसलाई त्यतिकै हल्कासित जान नदेऊ। तिमीहरूले यसबारे आपसमा सङ्गति गर्नुपर्छ, र त्यसपछि पवित्र आत्माले तिमीहरूलाई अन्तर्दृष्टि र ज्योति दिनुहुनेछ, र तिमीहरूले सत्यता बुझ्न सक्नेछौ। तिमीहरूले सङ्गतिमार्फत अभ्यासको मार्ग प्राप्त गर्नेछौ र परमेश्वरको काम कसरी अनुभव गर्ने सो जान्नेछौ, अनि तिमीहरूले थाहै नपाई तिमीहरूका कतिपय समस्या समाधान हुनेछन्, तैँले स्पष्टसित देख्न नसक्ने कुराहरू झन्झन् कम हुँदै जानेछन्, र तैँले झन्झन् धेरै सत्यता बुझ्नेछस्। यसरी, तँलाई थाहै नभई तेरो कद बढ्नेछ। तैँले सत्यतामा लागिपर्न पहल गर्नैपर्छ र सत्यतमा आफ्नो हृदय लगाउनैपर्छ। कतिपय मानिसहरूले भन्छन्, “मैले परमेश्वरलाई विश्वास गरेको धेरै वर्ष भयो र मैले धेरै धर्मसिद्धान्त बुझेको छु। अब मसँग एउटा जग छ। अहिले, हाम्रो विदेशका मण्डलीहरूमा जीवन राम्रो छ, दाजुभाइ-दिदीबहिनीहरू परमेश्वरमाथिको विश्वासका मामलाहरूमा सङ्गति गर्न दिनभरि भेला हुन्छन्, यसरी म जे देख्छु र जे सुन्छु त्यसबाट प्रभावित हुन्छु, र त्यसबाट भरणपोषण प्राप्त गर्छु—र त्यो नै पर्याप्त छ। मैले मेरो आफ्नै जीवन प्रवेशका समस्याहरूलाई वा मेरो आफ्नै विद्रोहीपनका समस्याहरूलाई समाधान गर्नको लागि प्रयास गर्नु पर्दैन। यदि मैले हरेक दिन प्रार्थना गर्ने, परमेश्वरको वचन खाने र पिउने, भजनहरू गाउने, आफ्नो कर्तव्य निर्वाह गर्ने, र आफूले गर्नुपर्ने कर्तव्य पूरा गरेँ भने, मेरो जीवनमा स्वाभाविक रूपले वृद्धि हुनेछ।” अलमलिएका विश्वासीहरूले यही सोच्छन्। यी मानिसहरूले सत्यता फिटिक्कै स्वीकार गर्दैनन्। तिनीहरू केवल धार्मिक अनुष्ठानहरूमा संलग्न हुन्छन्, धाराप्रवाह रूपमा बोल्छन्, रित्तो नारा लाउँछन्, शब्द र धर्मसिद्धान्तहरूका कुरा फलाक्छन् र आफूले राम्रो गरेको महसुस गर्छन्। फलस्वरूप, अरू मानिसले केही सत्यता अभ्यास गरेर आफूमा केही परिवर्तन ल्याउँदा, यी अलमलिएका विश्वासीहरूसँग चाहिँ अनुभवात्मक गवाही फिटिक्कै हुँदैन। तिनीहरू आफ्नो ज्ञानबारे समेत बोल्न सक्दैनन्। तिनीहरू खाली हात हुन्छन् र केही प्राप्त गर्दैनन्। के तिनीहरू गरिब र दयनीय छैनन् र? मुक्ति पाउनका लागि सत्यता स्विकार्नु र सत्यता पछ्याउनुभन्दा बढी यथार्थ वा व्यावहारिक मार्ग अर्को छैन। यदि तैँले सत्यता प्राप्त गर्न सक्दैनस् भने, परमेश्वरप्रतिको तेरो विश्वास रित्तो हुन्छ। शब्द र धर्मसिद्धान्तहरूका रित्ता शब्दहरू बोल्ने, सधैँ नाराहरू फलाक्ने, आडम्बरी कुरा गर्ने, प्रावधानहरू पालन गर्ने तर सत्यता अभ्यास गर्नमा कहिल्यै ध्यान नदिनेहरूले जति नै धेरै वर्षदेखि विश्वासमा रहे पनि, केही प्राप्त गर्दैनन्। केही प्राप्त गर्ने मानिसहरूचाहिँ को हुन् त? तिनीहरू ती व्यक्तिहरू हुन्, जो आफ्नो कर्तव्य इमानदारीसाथ निर्वाह गर्छन् र सत्यता अभ्यास गर्न इच्छुक हुन्छन्, जो आफूलाई परमेश्वरले सम्पिनुभएको कुरालाई मिसनको रूपमा लिन्छन्, जो आफ्नो सारा जीवन खुसीसाथ परमेश्वरमा समर्पण गर्दै बिताउँछन् र आफ्नो फाइदाको खातिर षड्यन्त्र रच्दैनन्, जो धरातलमा अडिग भएर आफूलाई आचरणमा ढाल्छन्, र जो परमेश्वरका योजनाबद्ध कार्यहरूप्रति समर्पित हुन्छन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरू बुझ्न सक्षम हुन्छन् र सबै मामलाहरूलाई सही तरिकाले ध्यानपूर्वक हेरचाह गर्छन्, र त्यसरी तिनीहरू परमेश्वरको गवाहीको प्रभाव हासिल गर्न, र परमेश्वरका अभिप्राय पूरा गर्न सक्छन्। आफ्नो कर्तव्यपालनको दौरान कठिनाइहरू आइपर्दा, तिनीहरूले परमेश्वरलाई प्रार्थना गर्छन् र परमेश्वरका अभिप्रायहरू बुझ्ने प्रयास गर्छन्, तिनीहरू परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छन्, र कामकुरा गर्दा सत्यताको खोजी र अभ्यास गर्छन्। तिनीहरूले नाराहरू सुगारटाइ गर्ने वा आडम्बरी कुरा गर्ने गर्दैनन्, बरु धरातलमा अडिग भई गर्न र सावधानीपूर्वक सिद्धान्तहरू पछ्याउन ध्यान दिन्छन्। तिनीहरू आफूले गर्ने सबै कुरामा हृदय लगाउँछन्, र हरेक कुरालाई पूर्ण हृदयसाथ बुझ्न सिक्छन्, र धेरै कुरामा सत्यता अभ्यास गर्न सक्षम हुन्छन्, र त्यसपछि तिनीहरूले ज्ञान र बुझाइ प्राप्त गर्छन्, र पाठहरू सिक्न र साँचो अर्थमा केही प्राप्त गर्न सक्षम हुन्छन्। अनि आफूमा गलत विचार आउँदा वा गलत स्थिति हुँदा, तिनीहरू परमेश्वरलाई प्रार्थना गर्छन् र ती विचार हटाउन सत्यता खोजी गर्छन्; तिनीहरूले जुनै सत्यता बुझे पनि, तिनलाई आफ्नो हृदयमा कदर गर्छन्, र आफ्ना अनुभवात्मक गवाहीबारे बोल्न सक्छन्। यस्ता मानिसहरूले अन्त्यमा सत्यता प्राप्त गर्छन्। ती मानिसहरू जो लापरवाह छन् र ध्यान दिँदैनन्, तिनीहरूले कसरी सत्यता अभ्यास गर्ने भनेर कहिल्यै सोच्दैनन्। तिनीहरूले प्रयास खर्चन र काम गर्न, अनि आफ्नो प्रदर्शन र देखावटी गर्न मात्रै ध्यान दिन्छन्, तर तिनीहरू कसरी सत्यता अभ्यास गर्ने भनी कहिल्यै खोजी गर्दैनन्, जसले गर्दा तिनीहरूलाई सत्यता प्राप्त गर्न गाह्रो हुन्छ। यसबारे सोच्, कस्ता प्रकारका मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? (तिनीहरू जो वास्तविक धरातलमा अडिग उभिने, व्यावहारिक र कामकुरामा मन लगाउने खालका छन्।) वास्तविकतामा उभिएर कामकुरामा मन लगाउने, र हृदय भएका मानिसहरू: यस्ता मानिसहरूले कार्य गर्दा वास्तविकतामा र सत्यता सिद्धान्तहरूको प्रयोगमा धेरै ध्यान दिन्छन्। साथै, तिनीहरू सबै कुरामा व्यावहारिकतालाई ध्यान दिन्छन्, तिनीहरू यथार्थपरक हुन्छन्, र तिनीहरू सकारात्मक कुराहरू, सत्यता, र वास्तविक कुराहरू मन पराउँछन्। अन्त्यमा सत्यता बुझ्न र प्राप्त गर्न सक्ने मानिसहरू यिनै हुन्। तिमीहरू कस्तो खाले व्यक्ति हौ? (अव्यावहारिक, जो सधैँ देखाउनको लागि कामकुराहरू गर्न चाहन्छ, र जो छलकपटमा भर पर्छ।) के यसो गरेर केही प्राप्त गर्न सकिन्छ? (सकिँदैन।) के तिमीहरूले आफ्ना समस्याहरू हल गर्ने उपाय फेला पारेका छौ? यदि तँ यसलाई महसुस गरेर परिस्थिति बदल्न सुरु गर्न सक्छस् भने, के तँलाई आफ्ना धारणा र कल्पनाहरू, अनि विभिन्न कुराहरूबारे आफ्नो दृष्टिकोण बदलिएको छ कि छैन भनेर थाहा हुनेछ? (मलाई ती अलिअलि बदलिएका छन् जस्तो लाग्छ।) परिणाम र प्रगति आउन्जेलसम्म, तैँले यसबारे सङ्गति गर्नुपर्छ र अरूलाई सुध्रने मौका दिनुपर्छ। तेरो अनुभव सीमित भए पनि, यो अझै पनि जीवनवृद्धिकै अनुभव हो। जीवनवृद्धिको प्रक्रिया भनेकै परमेश्वरमाथि तैँले विश्वास गरेको अनुभव हो, यो परमेश्वरको वचन अनुभव गरेर तेरो जीवन वृद्धि हुँदै जाने कुरा हो। यी अनुभवहरू सबैभन्दा बहुमूल्य हुन्छन्।
तिनीहरू सबै परमेश्वरमा विश्वास गर्ने, परमेश्वरको वचन पढ्ने र आफ्नो कर्तव्य पूरा गर्ने भएकाले, किन केही वर्षपछि तिनीहरू एकअर्काभन्दा भिन्न हुन्छन्, तिनीहरूमा उतार-चढावदेखापर्छ र तिनीहरूको वास्तविक रूप खुलासा हुन्छ? वास्तवमा, प्रत्येक व्यक्ति आफ्नो प्रकारअनुसार वर्गीकृत हुन्छ। केही मानिसहरू आफ्नो अनुभवात्मक गवाहीबारे कुरा गर्न सक्छन्, जबकि केहीसँग अनुभवात्मक गवाही नै हुँदैन। केही मानिसहरू धेरै सत्यताहरू बुझ्न र वास्तविकतामा प्रवेश गर्न सक्षम हुन्छन्, जबकि केही मानिसहरूले कुनै पनि सत्यता प्राप्त गरेका वा आफ्नो स्वभाव अलिकति पनि परिवर्तन गरेका हुँदैनन्। केही मानिसहरूले आफ्नो कर्तव्यमा परिणामहरू प्राप्त गर्छन्, तिनीहरू समस्या समाधान गर्न सत्यता खोज्न सक्षम हुन्छन्, र बिस्तारै मानकअनुरूप तरिकाले आफ्ना कर्तव्यहरू निर्वाह गर्दै जान्छन्। कतिपय मानिसहरू आफ्नो कर्तव्य निभाउँदा भरहीन र लापरवाह हुन्छन्, झारा मात्रै टार्छन् र सत्यता बुझे पनि सत्यता अभ्यास गर्दैनन्। तिनीहरू सबै भेलामा उपस्थित हुने, परमेश्वरको वचन पढ्ने र आफ्नो कर्तव्य पूरा गर्ने गर्छन्, तर परिणामहरूचाहिँ किन फरक हुन्छन् त? किन केही मानिसहरू सत्यता पछ्याउने मार्गमा लाग्न सक्छन् जबकि केही मानिसहरू आफ्नै बाटोमा हिँड्छन्? किन केही मानिसहरू सत्यता स्विकार्न सक्छन् जबकि केहीले सक्दैनन्? यो कसरी हुन सक्छ? किन केही व्यक्तिहरू काटछाँट सामना गर्दा त्यो स्विकार्न र आज्ञाकारी हुन सक्छन्, जबकि केही मानिसहरू प्रतिरोध महसुस गर्दै तर्क, विद्रोह र बखेडासमेत गर्छन्? तिनीहरू सबै भेलाहरूमा परमेश्वरका वचनहरू खाने र पिउने, प्रवचन र सङ्गतिहरू सुन्ने, मण्डली जीवन बिताउने र आ-आफ्ना कर्तव्यहरू निभाउने गर्छन्, तैपनि तिनीहरूबीच किन यति ठूलो भिन्नता हुन्छ? के तँ यो समस्या बुझ्न सक्छस्? यो असल र खराब मानवताबीचको भिन्नता हो, र यो मानिसहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन् भन्ने कुरासँग प्रत्यक्ष सम्बन्धित हुन्छ। वास्तवमा, व्यक्तिको क्षमता जतिसुकै होस्, जबसम्म उसले सत्यता स्विकार्न, आफ्नो कर्तव्य लगनसाथ पूरा गर्न र आफैबारे चिन्तन गर्न अनि आफैलाई चिन्न सक्छ, तबसम्म उसले जीवन प्रवेश हासिल गर्नेछ, उसले साँचो परिवर्तन अनुभव गर्नेछ, र ऊ मानकअनुरूप तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम हुनेछ। यदि तँ परमेश्वरका वचनहरू पढ्नमा लगनशील छैनस्, र तँ सत्यता बुझ्दैनस् भने, तैँले आफ्नो बारेमा मनन गर्न सक्दैनस्; तँ नाममात्रको प्रयास गर्न र कुनै दुष्कर्म वा अपराध नगरी बस्न पाउँदा मात्रै पनि सन्तुष्ट हुन्छस्, र यसलाई पूँजीको रूपमा प्रयोग गर्छस्। तँ हरेक दिन झारा टार्दै बिताउँछस्, अन्योलको स्थितिमा जिउँछस्, समयतालिकाअनुसार मात्रै काम गर्छस्, आफूलाई जाँच्न हृदय प्रयोग गर्ने वा आफूलाई चिन्न प्रयत्न लगाउने कहिल्यै गर्दैनस्, सधैँ लापरवाह हुनेछस्। यसरी, तैँले कहिल्यै मानकअनुरूप तरिकाले आफ्नो कर्तव्य पूरा गर्नेछैनस्। कुनै कुरामा आफ्नो सम्पूर्ण प्रयास लगाउनको लागि, तैँले सुरुमा यसमा आफ्नो सारा हृदय लगाउनुपर्छ; तैँले कुनै कुरामा आफ्नो सारा हृदय लगाइस् भने मात्रै तैँले यसमा आफ्नो सम्पूर्ण प्रयास लगाउन, अनि सक्दो राम्रो गर्न सक्छस्। आज, कतिपय व्यक्तिहरू आफ्नो कर्तव्यपालनमा लगनशील हुन थालेका छन्, तिनीहरूले परमेश्वरको हृदय सन्तुष्ट पार्नको लागि सृष्टि गरिएको प्राणीको कर्तव्य कसरी उचित रूपमा निर्वाह गर्ने भनी विचार गर्न थालेका छन्। तिनीहरू नकारात्मक र सुस्त हुँदैनन्, निष्क्रिय भई माथिबाट आदेशहरू जारी गरियोस् भनेर पर्खिँदैनन्, बरु केही अग्रसरता देखाउँछन्। तिमीहरूको कर्तव्यपालनको मूल्याङ्कन् गरेर हेर्दा, तिमीहरू पहिलेभन्दा अलिक बढी प्रभावकारी भएका छौ, र यो अझै मापदण्डको स्तरमा पुग्न नसकेको भए पनि, थोरै वृद्धिचाहिँ भएको छ—जुन राम्रो कुरा हो। तर तिमीहरू यथास्थितिमै सन्तुष्ट भएर बस्नु हुँदैन, तिमीहरूले खोजी गरिरहनुपर्छ, तिमीहरू वृद्धि भइरहनुपर्छ—त्यसपछि मात्रै तिमीहरूले आफ्नो कर्तव्य अझै राम्ररी, र मानकअनुरूप तरिकाले निर्वाह गर्नेछौ। तथापि, आफ्नो कर्तव्य निर्वाह गर्दा, कतिपय मानिसहरू कुनै कसर बाँकी नछोडी तनमन दिएर लागिपर्दैनन्, केवल ५० देखि ६०% प्रयास मात्रै लगाउँछन्, र आफूले गर्दै गरेको काम पूरा भइञ्जेलसम्म कामचलाउ प्रयास मात्र गर्छन्। तिनीहरूले कहिल्यै पनि सामान्य स्थिति कायम राख्दैनन्: तिनीहरूलाई रेखदेख गर्ने वा सहयोग गर्ने कोही नहुँदा, तिनीहरू सुस्त हुन्छन् र आफ्नो जोश-जाँगर गुमाउँछन्; जब सत्यताको सङ्गति गर्ने कोही हुन्छ, तब तिनीहरू उत्साहित हुन्छन्, तर केही समयसम्म सत्यताको बारेमा सङ्गति दिइएन भने, तिनीहरू शिथिल बन्छन्। यसरी तिनीहरू सधैँ घरि यता, घरि उता गरिरहनुमा के समस्या छ? मानिसहरूले सत्यता प्राप्त नगरेको अवस्थामा, तिनीहरू यस्तै हुन्छन् र यसरी नै जोसमा जिउँछन्, जुन जोस कायम राखिराख्न गाह्रो हुन्छ: तिनीहरूलाई हरदिन कसै न कसैले प्रचार र सङ्गति गर्नुपर्छ; तिनीहरूलाई मलजल र भरणपोषण गर्ने, र तिनीहरूलाई साथ दिने कोही छैन भने, तिनीहरूको हृदय फेरि चिसो भइहाल्छ, र तिनीहरू फेरि सुस्त बन्छन्। अनि, तिनीहरूको हृदय सुस्त हुँदा, तिनीहरू आफ्नो कर्तव्यमा कम प्रभावकारी हुन्छन्; यदि तिनीहरूले थप परिश्रम गरे भने, प्रभावकारितामा वृद्धि हुन्छ, तिनीहरूको कर्तव्यपालनका नतिजाहरू अझ राम्रा हुनेछन्, र तिनीहरूले अझै धेरै कुरा प्राप्त गर्छन्। के तिमीहरूको अनुभव यस्तै छ? सायद तिमीहरू यसो भन्छौ होला, “किन हामीलाई आफ्नो कर्तव्य पूरा गर्न सधैँ समस्या हुन्छ? यी समस्याहरू समाधान हुँदा, हामीमा जोसजाँगर आउँछ; यी समाधान नहुँदा, हामी शिथिल बन्छौँ। हामीले आफ्नो कर्तव्य निर्वाह गर्दा केही नतिजा हात लाग्यो भने, हाम्रो वृद्धिको लागि हामीलाई परमेश्वरले अनुमोदन गर्नुभयो भने, हामी प्रसन्न हुन्छौँ, र हामी बल्ल वृद्धि भएका छौँ भन्ने हामीलाई अनुभूति हुन्छ, तर चाँडै नै, हामीले कुनै कठिनाइको सामना गर्नुपर्छ, र हामी फेरि पनि नकरात्मक बन्छौँ—किन हाम्रो स्थिति कहिल्यै एकरूपको हुँदैन?” वास्तवमा, यसका मुख्य कारणहरू के हुन् भने, तिमीहरूले अत्यन्तै थोरै मात्र सत्यता बुझेका छौ, तिमीहरूमा अनुभव र प्रवेशको गहिराइको कमी छ, तिमीहरूले अझै पनि धेरै सत्यता बुझ्दैनौ, तिमीहरूमा सङ्कल्पको कमी छ, र आफ्नो कर्तव्य निर्वाह गर्न सकेकोमै तिमीहरू सन्तुष्ट हुन्छौ। यदि तिमीहरू सत्यता बुझ्दैनौ भने, कसरी मानकअनुरूप तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्न सक्छौ? वास्तवमा, परमेश्वरले मानिसहरूलाई जे गर्न लगाउनुहुन्छ त्यो सबै कुरा मानिसहरूले गर्न सक्छन्; जबसम्म तिमीहरूले आफ्नो विवेक लगाउन सक्छौ, र आफ्नो कर्तव्य पूरा गर्दा विवेकलाई पछ्याउन सक्छौ, तबसम्म तिमीहरूलाई सत्यता स्वीकार गर्न सजिलो हुनेछ—र यदि तिमीहरूले सत्यता स्वीकार गर्न सक्छौ भने, मानकअनुरूप तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्न सक्छौ। तिमीहरूले यसरी सोच्नुपर्छ: “यतिका वर्षमा परमेश्वरमा विश्वास गरेर, यतिका वर्षसम्म परमेश्वरका वचनहरू खाएर-पिएर, मैले धेरै कुरा प्राप्त गरेको छु, र परमेश्वरले मलाई ठूला अनुग्रह र आशिष्हरू दिनुभएको छ। म परमेश्वरको हातमा जिउँछु, उहाँको अधीन र सार्वभौमिकतामा जिउँछु, र उहाँले मलाई यो सास दिनुभएको हो, त्यसैले मैले मेरो मनमस्तिष्क लगाउनुपर्छ, र सारा शक्तिले आफ्नो कर्तव्य पूरा गर्न लागिपर्नुपर्छ—यही नै मुख्य कुरा हो।” मानिसहरूमा सङ्कल्प हुनैपर्छ; सङ्कल्प भएकाहरू मात्रै सत्यताप्रति लागिपर्न सक्छन्, र तिनीहरूले सत्यता बुझेपछि मात्रै आफ्नो कर्तव्य राम्ररी पूरा गर्न, परमेश्वरलाई सन्तुष्ट पार्न, अनि शैतानलाई लाजमा पार्न सक्छन्। यदि तँमा यस्तो इमानदारिता छ, र आफ्नै खातिर योजना बनाउँदैनस्, बरु सत्यता प्राप्त गर्ने र आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्ने योजना मात्रै बनाउँछस् भने, तेरो कर्तव्यपालन सामान्य बन्छ, र सधैँ एकसमान रहिरहन्छ; तैँले जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि, तँ आफ्नो कर्तव्य पूरा गर्नमा लागिरहन सक्छस्। तँलाई बहकाउन वा बाधा दिन जोसुकै आए पनि, र तेरो मनस्थिति राम्रो भए पनि नराम्रो भए पनि, तैँले सामान्य रूपमै आफ्नो कर्तव्य पूरा गर्न सक्नेछस्। यसरी, परमेश्वर तँप्रति ढुक्क बन्नुहुनेछ, र पवित्र आत्माले तँलाई सत्यता सिद्धान्तहरू बुझ्न अन्तर्दृष्टि दिन सक्नुहुनेछ, र सत्यता वास्तविकतामा प्रवेश गर्न तँलाई अगुवाइ गर्नुहुनेछ, फलस्वरूप, तेरो कर्तव्यपालन अवश्य नै मापदण्डको स्तरमा पुग्नेछ। जबसम्म तँ इमानदारीपूर्वक परमेश्वरमा समर्पित हुन्छस्, आफ्नो कर्तव्य व्यावहारिक रूपमा पूरा गर्छस्, र धूर्त तरिकाले काम वा चलाकी गर्ने प्रयास गर्दैनस्, तबसम्म तैँले परमेश्वरको मापदण्ड पूरा गर्नेछस्। परमेश्वरले मानिसहरूका मन र सोच, तिनीहरूले सोच्ने हरेक कुरा र तिनीहरूमा भएका हरेक विचार, अनि तिनीहरूका अभिप्राय र मनसायहरूको छानबिन गर्नुहुन्छ। यदि तेरो हृदयले सत्यताको तृष्णा गर्छ र तँ सत्यताको खोजी गर्न सक्छस् भने, परमेश्वरले तँलाई अन्तर्दृष्टि र ज्योति दिनुहुनेछ। कुनै पनि मामलामा, तैँले जबसम्म सत्यता खोजी गर्छस्, तबसम्म परमेश्वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, तेरो हृदय उज्यालो पारिदिनुहुनेछ र तँलाई अभ्यासको मार्ग प्राप्त गर्न सक्षम बनाउनुहुनेछ, अनि तेरो कर्तव्यपालनले फल फलाउनेछ। परमेश्वरको अन्तर्दृष्टि उहाँको अनुग्रह र आशिष् हो। सानातिना कुराहरूमा पनि, यदि परमेश्वरले मानिसहरूलाई अन्तर्दृष्टि दिनुहुन्न भने, तिनीहरूले कहिल्यै प्रेरणा पाउनेछैनन्। प्रेरणाबिना मानिसहरूलाई आफ्ना समस्याहरू समाधान गर्न गाह्रो हुन्छ, र तिनीहरूले आफ्नो कर्तव्यमा परिणाम हासिल गर्नेछैनन्। मानिसहरूले मानव प्रज्ञा, बुद्धि र क्षमतामा मात्र निर्भर भएर, वर्षौँको अध्ययनपछि पनि, कैयौँ कुराहरू पार गर्नै सक्दैनन्। किन सक्दैनन्? किनभने परमेश्वरद्वारा तोकिएको समय अझै आएको छैन। यदि परमेश्वरले कार्य गर्नुहुन्न भने, मानिस जतिसुकै सक्षम भए पनि त्यो बेकार हुन्छ। तैँले यो कुरा स्पष्ट रूपमा देख्नैपर्छ। तैँले सबैथोक परमेश्वरको हातमा छ, र मानिसहरूले केवल सहकार्य मात्र गर्दै छन् भन्ने कुरा विश्वास गर्नैपर्छ। यदि तँ इमानदार छस् भने, परमेश्वरले त्यो देख्नुहुनेछ, र उहाँले हरेक परिस्थितिमा तेरा लागि एउटा मार्ग खोलिदिनुहुनेछ, अनि कुनै पनि कठिनाइ पार गर्न नसकिने हुँदैन—तँमा यही आस्था हुनैपर्छ। त्यसकारण, कर्तव्य पूरा गरिरहेको बेला, तँमा कुनै पनि आशङ्का हुनु जरुरी छैन। जबसम्म तैँले त्यसमा आफूले सक्दो लगाउँछस्, र सम्पूर्ण हृदय लगाउँछस्, तबसम्म त्यो पर्याप्त हुन्छ। परमेश्वरले तेरा लागि कामकुराहारू गाह्रो बनाइदिनुहुनेछैन, न त तँलाई तैँले सम्हाल्नै नसक्ने कुराहरू नै जिम्मा लगाउनुहुन्छ। डर मान्नुपर्ने एक मात्र कुरा भनेको तँ गम्भीर नभई बोल्नु, कुरा मात्रै गर्नु र काम नगर्नु, र कर्णप्रिय शब्दहरू बोल्नु तर आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह नगर्नु हो—त्यसपछि त सबै सक्किनेछ। यदि तेरो कर्तव्य र परमेश्वरप्रतिको मनोवृत्ति यस्तो हुन्छ भने, के तैँले परमेश्वरको आशिष् प्राप्त गर्नेछस् र? बिल्कुलै गर्नेछैनस्। यदि तैँले झाराटारुवा शैलीमा परमेश्वरलाई व्यवहार गर्छस् र उहाँलाई धोका दिन्छस् भने, परमेश्वरले तँलाई वास्ता गर्नुहुनेछैन र हटाइदिनुहुनेछ; परिणाम त्यही हुनेछ। यदि तैँले परमेश्वरलाई धोका दिन्छस् भने, आफैलाई धोका दिन्छस्। परमेश्वरले भन्नुहुनेछ, “यो व्यक्तिको हृदय अति छली छ, र त्यसमा इमानदारीको कुनै निशान छैन। यसलाई कुनै पनि कुरामा भरोसा गर्न वा कुनै पनि कुरा जिम्मा दिन सकिँदैन। यसलाई अलग राखियोस्।” यसको अर्थ के हो? यसको अर्थ तँलाई एक्लै छोडिनेछ र बेवास्ता गरिनेछ। यदि पश्चात्ताप नगरे, तँलाई पूर्णतया त्यागिनेछ। तँलाई दण्ड दिन शैतान, दुष्टात्मा र अशुद्ध आत्माहरूको हातमा सुम्पिइनेछ। यसरी एक्लै छोडेर बेवास्ता गर्दा व्यक्ति कस्तो स्थितिमा हुन्छ? यसको अर्थ पवित्र आत्माले अबउप्रान्त तँमा काम गरिरहनुभएको छैन भन्ने हो। तैँले स्पष्ट रूपमा केही देख्नेछैनस्, र अरूले सधैँ अन्तर्दृष्टि र ज्योति पाउँदा, तैँले पाउनेछैनस्; तँ भावशून्य रहनेछस्। सत्यता र जीवन प्रवेशबारे कसैले सङ्गति गर्दा तँ सधैँ झुल्दै निदाउनेछस्। यो कस्तो घटना हो? परमेश्वरले काम नगरिरहनुभएको घटना। यदि परमेश्वर काम गरिरहनुभएको छैन भने, के मान्छे जिउँदो लास बन्दैन र? परमेश्वरमा विश्वास गर्नु तर उहाँको उपस्थिति महसुस नगर्नु निकै डरलाग्दो हुन्छ। यस्तो व्यक्तिले आफ्नो जिउने आत्मविश्वास र आफ्नो प्रेरणा गुमाउँछ। आफ्नो जिउने सबै पुँजी गुमाउँछ। यस्तो जीवनको के मूल्य हुन्छ? के तँ सुँगुर र कुकुरभन्दा पनि नराम्रो हुँदैनस् र? तेरा कार्यहरू र व्यवहारको कारण, परमेश्वरले तँ भर र विश्वास गर्न लायक छैनस् भन्ने देख्नुहुन्छ। परमेश्वरले हृदयको गहिराइबाटै तँलाई घृणा गर्नुहुन्छ, र यसरी तँलाई या त त्याग्नुहुन्छ या त केही समयको लागि पन्छ्याउनुहुन्छ। मलाई अचम्म लाग्छ, यस्तो व्यक्तिलाई आफ्नो मनको पीडा र असहजता किन थाहा हुँदैन? तिनीहरूको हृदयमा के खराबी छ? के तिनीहरूमा विवेकको सचेतना छ? तैँले परमेश्वरमा जति नै वर्षसम्म विश्वास गरेको भए पनि, वा तेरो विश्वास चाहे साँचो वा झूटो नै भए पनि, तैँले आत्म-आचरणका केही धर्मसिद्धान्त बुझिसकेको छस्, र तँ कसैको भर नपरी जिउन र बाँच्न सक्छस्, तर यदि तैँले तँलाई प्रकाश गरिएको र परमेश्वरले पहिल्यै तँलाई त्यागिसक्नुभएको कुरा थाहा पाइस् भने, के तँ अझै जिइरहन सक्छस्? के तेरो जीवनको अझै अर्थ हुन्छ? त्यसबेला तँ रुनेछस् र अँध्यारोमा दाह्रा किट्नेछस्। मण्डलीमा, प्रायः हामी त्यस्ता मानिसहरू देखिरहन्छौँ, जो आफूहरूलाई प्रकाश गरिएपछि र हटाइएपछि र मण्डलीले खेदाउन लागेपछि, आँखा रातो हुने गरी रुन्छन् र जिउने इच्छा गुमाई मर्नेसमेत सोच बनाउँछन्। तिनीहरूले रुँदै पश्चात्ताप गर्ने कसम खान्छन्, तर त्यति बेलासम्म, धेरै ढिलो भइसकेको हुन्छ। यो त आफ्नै चिहान नदेखेसम्म आँसु नबगाउने मामिला हो। त्यसैले, यदि तँ पश्चात्ताप गर्न चाहन्छस् भने, अहिल्यै गर्नुपर्छ। तुरुन्तै तेरो कर्तव्यपालनमा के समस्या बाँकी छ, तँ झाराटारुवा छस् कि छैनस्, र तँ गैरजिम्मेवार भएको कुनै क्षेत्र छ कि छैन, मनन गर्। तैँले आफ्नो कर्तव्य निभाएर वास्तवमै नतिजाहरू प्राप्त गरेको छस् कि छैनस्, सोच्—यदि गरेको छस् भने, तैँले त्यो किन हासिल गरिस्, र यदि गरेको छैनस् भने, किन हासिल गरेको छैनस्, चिन्तन गर्। चिन्तनमार्फत यी कुराहरूमा स्पष्टता प्राप्त गर्, र यदि समस्याहरू बाँकी छन् भने, ती हल गर्न सत्यता खोज्। यसो गर्दा, तँलाई कर्तव्य निभाउन कुनै कठिनाइ हुनेछैन। समस्या आइपर्दा त्यसलाई सुल्झाउन सत्यता खोज्न सक्नेहरू सबैलाई कर्तव्य निभाउन झन् कम कठिनाइ हुने मात्र होइन, तिनीहरू ती कर्तव्य निभाउन झन् प्रभावकारीसमेत हुनेछन्, र त्यस दौरान तिनीहरूले जीवन प्रवेश पनि हासिल गर्नेछन्। उदाहरणमार्फत, केही मानिसहरूले धेरै चरणको काटछाँट भोगेपछि सत्यता बुझ्न थाल्छन्। तिनीहरू प्रायः आफैबारे चिन्तन गर्न सक्षम हुन्छन्, र जबजब आफूले केही गल्ती गरेको भेट्टाउँछन्, तिनीहरूलाई आफूबाट सत्यता सिद्धान्तहरू उल्लङ्घन भएको थाहा हुन्छ, अनि तिनीहरू परमेश्वरलाई प्रार्थना गर्छन्, र विशेष रूपले पछुताउँछन्। कहिलेकाहीँ, तिनीहरू आफैलाई घृणा पनि गर्छन् र आफैलाई थप्पड हान्दै यसो भन्छन्: “मैले फेरि गल्ती गरेर परमेश्वरलाई कसरी दुःख दिन सकेँ? म अति हृदयहीन छु! परमेश्वरले कति धेरै बोल्नुभएको छ—म किन आफ्नो पाठ सिकेको छैन? म किन परमेश्वरप्रति समर्पित हुन र उहाँलाई सन्तुष्ट पार्न सक्दिनँ? म साँच्चै शैतानद्वारा निकै गहन रूपमा भ्रष्ट पारिएको छु। मेरो हृदयमा परमेश्वरको लागि कुनै ठाउँ छैन, र म सत्यताको कदर गर्दिनँ। म सँधै शैतानी दर्शनसाथ जिइरहेको हुन्छु, र म परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्दिनँ। मसँग साँच्चै विवेक वा समझ छैन। म परमेश्वरप्रति अति विद्रोही छु!” यसरी, तिनीहरूले पश्चात्ताप गर्ने सङ्कल्प गर्छन् र सत्यता अभ्यास गर्ने, आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्ने र परमेश्वरलाई सन्तुष्ट पार्ने अठोट गर्छन्। तिनीहरूसँग साँच्चै पश्चात्ताप गर्ने हृदय हुन्छ, तर भ्रष्ट स्वभाव त्याग्नु त्यति सजिलो कुरा होइन—अलिअलि परिवर्तित हुन सक्षम हुनुअघि पनि व्यक्तिले केही परीक्षा र शोधन अनुभव गर्नुपर्छ। अहिले धेरै मानिसहरू छन् जसले सत्यतामा आफ्नो ध्यान केन्द्रित गर्न थालेका छन्, जो सत्यता वास्तविकतामा प्रवेश गर्ने र परमेश्वरप्रति समर्पित हुने मानिसहरू बन्न इच्छुक छन्। त्यसोभए, साँच्चै पश्चात्ताप गर्ने हृदय हुने व्यक्तिले कसरी अभ्यास गर्नुपर्छ? यसको एउटा पक्ष भनेको उसले आफूमा भएका समस्याहरू समाधान गर्दै र आफ्नो कर्तव्यनिर्वाहमा अभ्यासको मार्ग खोज्दै परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र अझ बढी सत्यता खोज्नुपर्छ। यसको अर्को पक्ष भनेको उसले सत्यता बुझ्ने र ऊसँग सङ्गति गरिदिने कुनै व्यक्ति खोज्नुपर्छ, जसले आफ्नै विद्रोहीपन, आफ्नै प्रकृति सार, अनि आफूले परमेश्वरको प्रतिरोध गर्ने क्षेत्रहरू चिरफार गर्छ। उसले यी समस्याहरू स्पष्ट रूपमा चिन्नुपर्छ, त्यसपछि परमेश्वरका वचनहरूलाई राम्ररी विचार गर्नुपर्छ र ती आफैमा कसरी लागू हुन्छन् भनेर हेर्नुपर्छ; बारम्बार, उसले परमेश्वरका ती महत्त्वपूर्ण वचनहरूलाई विचार गरिहनुपर्छ, र साँचो ज्ञान प्राप्त नगरेसम्म, आफ्नै समस्याहरू र प्रकृति सारतर्फ आफ्नो आत्मचिन्तन लक्षित गरिरहनुपर्छ। यसरी, उसले साँचो पश्चाताप प्राप्त गर्न र आफैलाई घृणा गर्न सक्छ। त्यसपछि, उसले कर्तव्य निर्वाह गर्दा आइपर्ने कठिनाइहरू पहिचान गर्नुपर्छ र ती समाधान गर्न सत्यता प्रयोग गर्नुपर्छ। यसरी, उसले कर्तव्य निभाउँदा कठिनाइहरू कम हुँदै जानेछन्, र यसमा एक प्रभाव पनि हासिल भइसकेको हुनेछ। यदि व्यक्ति साँच्चै पश्चात्ताप गर्न चाहन्छ भने, उसले यसरी नै अभ्यास गर्नुपर्छ। साँचो पश्चात्तापको एकमात्र मार्ग यही हो।
सत्यता पछ्याउँदा कस्तो प्रभाव हासिल हुनेछ? यसको एउटा पक्ष भनेको व्यक्तिको भ्रष्ट स्वभाव त्याग्नको लागि सत्यता पछ्याइन्छ; अर्को पक्षचाहिँ के हो भने, कर्तव्य निभाउँदा व्यक्तिलाई सत्यता अभ्यास गर्ने र साँच्चै परमेश्वरप्रति समर्पित हुने व्यक्ति बन्ने तुल्याउन यसो गरिन्छ। यो साँचो पश्चात्तापको गवाही हो। साँच्चै पश्चात्ताप गर्नको लागि, प्रभाव हासिल नहुन्जेलसम्म व्यक्तिले सत्यता बुझ्नु र अभ्यास गरिरहनुपर्छ। यदि तँ समस्या समाधान गर्न सत्यता खोज्दैनस् भने, र यदि तेरो पश्चात्ताप तैँले भन्ने कुरा मात्र हो भने, यसले प्रभाव हासिल गर्न सक्दैन। यसरी तँ शान्त वा स्थिर महसुस गर्नेछैनस्। यदि तँ प्रार्थनामा साँच्चै पश्चात्ताप गर्न चाहन्छु भनेर मात्र भन्छस् तर आफ्नो कर्तव्य निर्वाह गर्दा, आफ्ना समस्याहरू समाधान गर्न र मानकअनुरूप कर्तव्य निर्वाह गर्न सत्यता खोज्दैनस् भने, तँ परमेश्वरलाई धोका दिन खोज्दै छस्। साँचो पश्चात्ताप मुख्यतया अर्पण, सिद्धान्तहरूअनुसारको व्यवहार, सत्यता अभ्यास, र कर्तव्य निभाउँदाको साँचो गवाहीको रूपमा प्रकट हुन्छ। यी साँचो पश्चात्तापका सङ्केतहरू हुन्, र ती साँचो पश्चात्तापका गवाही पनि हुन्। यदि व्यक्तिले आफ्नो कर्तव्य राम्रोसँग ननिभाई प्रार्थनामा परमेश्वरसँग पश्चात्तापको कुरा मात्र गर्छ भने, के उसले परमेश्वरलाई धोका दिन खोजिरहेको छैन र? यदि कुनै कुराले कम्तीमा व्यक्तिको विवेक पनि पार गर्न सक्दैन भने, त्यो कुरा परमेश्वरसम्म कसरी पुग्न सक्छ? तेरो वर्तमान परिस्थिति जस्तोसुकै होस्, तैँले परमेश्वरको लागि तेरो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्न नसकेसम्म, र तेरो कर्तव्यपालनमा धेरै समस्याहरू रहिरहेसम्म, र त्यो समाधान गर्न तैँले सत्यता खोज्दैनस् भने, तेरो समस्या ठूलो छ र तैँले यसबारे इमानदारीपूर्वक प्रार्थना र आफैबारे चिन्तन गर्नुपर्छ। यदि तँ साँच्चै पश्चात्ताप गर्न सक्दैनस् र सधैँ आफ्नो कर्तव्य खराब तरिकाले निभाउँछस् भने, तैँले निश्चित रूपमा हटाइने खतरा सामना गर्नेछस्। तैँले परमेश्वरमा कति वर्ष विश्वास गरेको छस् भन्ने कुराले फरक पार्दैन—तँ आफ्नो कर्तव्य निभाउनमा सधैँ झाराटारुवा रहुञ्जेल, सधैँ आफ्नो फाइदाको पछि लागुञ्जेल, तैँले अलिअलि पनि सत्यता स्वीकार वा अभ्यास नगरी सधैँ परमेश्वरको घरको फाइदा उठाउञ्जेल, तँ परमेश्वरको साँचो विश्वासी हुँदैनस्। तँ सत्यताबारे वितृष्णा पाल्ने व्यक्ति हुन्छस्, केवल आफ्नो भागको रोटी खाने अभिप्राय भएको अविश्वासी हुन्छस्। तँ अझै परमेश्वरको घरमा जिइरहेको हुन सक्छस्, र तैँले अझै पनि परमेश्वरको विश्वासी हुँ भन्न सक्छस्, तर तथ्य यो हो कि तेरो अब परमेश्वरसँग कुनै सम्बन्ध हुँदैन। परमेश्वरले लामो समयदेखि तँलाई एक छेउमा पन्छाइदिनुभएको हुन्छ, र तँ आत्माहीन भूस, एक जिउँदो लास बनेको हुन्छस्। तब, जिउनुको अर्थ के नै हुन्छ र? साँच्चै भन्ने हो भने, यस चरणमा पुगेका कसैसँग पनि कुनै गन्तव्य नै हुँदैन। तिनीहरूको एउटै निकास भनेको झट्टै परमेश्वरसामु आएर पाप स्विकार्नु मात्र हो। यदि तँ साँच्चै इमानदार छस् र साँच्चै पश्चात्ताप गर्छस् भने, परमेश्वरले तेरा अपराधहरू सम्झनुहुनेछैन। तर तैँले एउटा कुरा याद गर्नुपर्छ: चाहे जुनसुकै बेला होस्, र चाहे तँसँग परमेश्वरबारे ज्ञान होस् वा नहोस्, वा उहाँबारे धारणा वा गलत अवधारणाहरू होस् वा नहोस्, तैँले कहिल्यै उहाँविरुद्ध लड्नु वा चुनौती दिनु हुँदैन। नत्र तैँले पक्कै पनि प्रतिशोध भोग्नेछस्। यदि तैँले आफ्नो हृदय हठी भएको पाउँछस्, र “म यो काम यसरी नै गर्नेछु, हेरौँ, परमेश्वरले मलाई के गर्न सक्नुहुन्छ। म कसैसँग डराउँदिनँ, मैले पहिला पनि सधैँ यसरी नै काम गरेको छु” भन्ने स्थितिमा हुन्छस् भने, तँ समस्यामा हुन्छस्। यो शैतानी प्रकृतिको विष्फोटन हो; यो हठीपन हो। तँलाई तैँले गरिरहेको कुरा गलत र खतरनाक छ भनेर पहिले नै राम्रोसँग थाहा हुन्छ, तर तैँले यसलाई गम्भीरतापूर्वक लिँदैनस्। तेरो हृदयले डर मान्दैन, कुनै आरोप वा दोष स्विकार्दैन, र चिन्तित वा दुःखी पनि हुँदैन—तँलाई पश्चात्ताप गर्न पनि आउँदैन। यो हठी स्थिति हो, र यसले तँलाई समस्या ल्याउनेछ। यसले परमेश्वरलाई तँलाई पन्छाउन सजिलो बनाउँछ। यदि व्यक्ति यो बिन्दुमा पुग्छ र अझै पनि अति भावशून्य हुन्छ, र सुध्रनुपर्छ भनेर जान्दैन भने, के परमेश्वरसँगको उसको सम्बन्ध पुनर्स्थापित गर्न सकिन्छ र? यो सजिलैसँग पुनर्स्थापित हुनेछैन। त्यसोभए, तैँले परमेश्वरसँगको सामान्य सम्बन्ध कसरी पुनर्स्थापित गर्न सक्छस्, जसले तँलाई उहाँको नजिक जानु पूर्णतः प्राकृतिक र न्यायोचित कुरा हो भन्ने महसुस गराउँछ? तैँले कहाँ समर्पित हुन, झुक्न र आफूसँग भएका सबै कुरा उहाँलाई अर्पण गर्न, उहाँको डर मान्न र तैँले बुझे वा नबुझे पनि उहाँका वचनहरूलाई सत्यताको रूपमा स्विकार्न, अनि सत्यता खोज्न र समर्पणता अभ्यास गर्न सक्छस्? तँ कहिले यो स्थितिमा पुनर्स्थापित हुन सक्छस्? यो स्थिति पुनर्स्थापित गर्न तैँले कुन हदसम्म जानुपर्छ? मलाई डर छ, यो निश्चित रूपमा गाह्रो हुनेछ किनभने यो समयावधि, वा यात्राको लम्बाइ वा पार गर्नुपर्ने दूरीको सवाल होइन। यो तेरो जीवन स्थिति, र तैँले साँच्चै सत्यता वास्तविकतामा प्रवेश गरेको छस् कि छैनस् भन्ने कुराको सवाल हो। यदि तैँले वर्षौँदेखि परमेश्वरमा विश्वास गरेको छस्, तैपनि तँ आफूभित्रका समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सक्षम छैनस् भने, र यदि यी समस्याहरूको गम्भीरताबारे अनजान छस्, प्रायः बिनाकुनै चेतना विद्रोही स्थितिमा मक्ख परेर जिउँछस्, गलत कामहरू गर्छस्, गलत शब्दहरू बोल्छस्, परमेश्वरविरुद्ध हठी हृदयले विरोध, प्रतिरोध र विद्रोह गर्छस्, अनि आफ्नै धारणा, कल्पना, विचार र दृष्टिकोणहरूमा अडिग रूपमा अल्झिरहन्छस् तर यसबारे तँलाई पत्तै हुँदैन भने, तँसँग कुनै सत्यता वास्तविकता छैन, तँ परमेश्वरप्रति समर्पित हुने व्यक्ति होइनस्, र तँ अझै पनि परमेश्वरका मापदण्डहरू पूरा गर्नबाट धेरै टाढा छस्। तँ आफ्नो हृदयमा यसबारे स्पष्ट हुनुपर्छ। यदि तँ आफ्नो साँचो स्थिति स्पष्ट रूपमा देख्न सक्दैनस् भने, र सधैँ आफूले विश्वास गर्ने तरिका ठीक छ, परमेश्वरप्रति अर्पित हुन सक्षम छु, दुःख भोगेको छु र मूल्य चुकाएको छु भन्ठान्छस्, र आफू स्वर्गको राज्यमा प्रवेश गर्ने कुरा निश्चित छ भन्ने विश्वास गर्छस् भने, तँमा अलिकति पनि समझ छैन। तँमा कुनै सत्यता वास्तविकता छैन, तर तँलाई त्यो थाहा पनि छैन। यसको मतलब, तँसँग अस्पष्ट मन छ, तँ अन्योलमा छस्, तँ बेबकुफ व्यक्ति होस्, र तँ सत्यता बुझ्न वा आफैलाई चिन्न पर्याप्त क्षमताको छैनस्, र तसर्थ तँलाई परमेश्वरद्वारा मुक्ति दिन सकिँदैन।
के तिमीहरूलाई परमेश्वर अन्ततः कस्ता मानिसहरूलाई त्याग्नुहुन्छ भनेर थाहा छ? (निरन्तर रूपमा हठी हुने र परमेश्वरसामु पश्चात्ताप नगर्नेहरूलाई।) यस प्रकारको व्यक्तिको खास स्थिति के हुन्छ? (तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्दा सधैँ झाराटारुवा हुन्छन् र समस्याहरू सामना गर्दा समाधान पत्ता लगाउन सत्यता खोज्दैनन्। तिनीहरू सत्यता अभ्यास कसरी गर्ने भनेर गम्भीर हुँदैनन्, र सबै कुरालाई लापरवाह रूपमा सम्हाल्छन्। तिनीहरू दुष्ट वा खराब काम नगरेर मात्र पनि सन्तुष्ट हुन्छन् र सत्यता पछ्याउँदैनन्।) झाराटारुवापनलाई परिस्थितिअनुसार छुट्ट्याएर विश्लेषण गर्नुपर्छ: केही मानिस सत्यता नबुझेको कारण झाराटारुवा हुन्छन् र झाराटारुवा हुनु सामान्य हो भनी सोच्छन्, जबकि अरू चाहिँ जान्दाजान्दै झाराटारुवा हुन्छन्, जानाजानी यस्तो तरिकामा कार्य गर्न रोज्छन्। तिनीहरू सत्यता नबुझेको बेला यसरी व्यवहार गर्छन्, र बुझेपछि पनि आफ्नो बाटो बदल्दैनन्। तिनीहरू सत्यता अभ्यास गर्दैनन्, अलिकति पनि परिवर्तित नभई निरन्तर यसरी नै कार्य गर्छन्। कसैले आलोचना गर्दा तिनीहरूले सुन्दैनन्, न काँटछाँट नै स्विकार्छन्। बरु, जिद्दी भई आफ्नो कुरामा अन्त्यसम्मै दृढ रहन्छन्। यसलाई के भनिन्छ? यसलाई हठीपन भनिन्छ। सबैलाई थाहा छ कि “हठीपन” एक नकारात्मक र अपमानजनक शब्द हो। यो राम्रो शब्द होइन। अनि, यदि कुनै व्यक्तिमा “हठीपन” शब्द लागू भयो भने, र ऊ त्यसको व्याख्यासँग मिल्यो भने, उसको परिणाम के हुनेछ, तिमीहरूलाई के लाग्छ? (ऊ परमेश्वरद्वारा तिरस्कृत र उपेक्षित हुन्छ।) म तिमीहरूलाई भन्छु, परमेश्वरले सबैभन्दा बढी घृणा गर्ने र त्याग्न चाहनेहरू यिनै प्रकारका हठी मानिसहरू हुन्। तिनीहरूलाई आफूले गल्ती गरेको छु भनेर पूर्ण रूपमा थाहा हुन्छ, तैपनि तिनीहरू आत्मचिन्तन गर्दैनन्; तिनीहरूले अलिकति पनि पछुतो महसुस नगर्ने मात्र होइन, तर तिनीहरू जिद्दी भई गल्ती स्विकार्न पनि मान्दैनन्। तिनीहरू आफूलाई दोषमुक्त गर्न बहाना र कारणहरूसमेत खोज्छन् र आफ्नो बचाउ गर्न कुतर्क गर्छन्, अरू मानिसहरूको आँखामा छारो हाल्न यो अझ धूर्त तरिका प्रयोग गर्न चाहन्छन्। फलस्वरूप, तिनीहरू पश्चात्ताप गर्ने वा गल्ती स्विकार्ने अलिकति पनि अभिप्रायविना दुष्कर्ममा संलग्न भइरहन्छन्। त्यस्ता मानिसहरू समस्यामा हुन्छन् र तिनीहरूलाई मुक्ति हासिल गर्न सजिलो हुनेछैन। तिनीहरू नै परमेश्वरले त्याग्न चाहने मानिस हुन्। परमेश्वर किन त्यस्ता मानिसहरूलाई त्याग्नुहुन्छ? (किनभने तिनीहरू सत्यता पटक्कै स्वीकार गर्दैनन्, र तिनीहरूको विवेक भावशून्य भएको हुन्छ।) किनभने त्यस्ता मानिसहरूलाई मुक्ति दिन सकिँदैन। परमेश्वर यी मानिसहरूलाई मुक्ति दिनुहुन्न; उहाँ यस्तो व्यर्थको काम गर्नुहुन्न। बाहिरी रूपमा त परमेश्वर तिनीहरूलाई मुक्ति दिनुहुन्न र तिनीहरूलाई चाहनुहुन्न जस्तो देखिन्छ, तर वास्तवमा त्यसको एउटा वास्तविक कारण छ, जुन के हो भने यी मानिसहरू परमेश्वरको मुक्ति स्वीकार गर्दैनन् र तिनीहरू परमेश्वरको मुक्तिलाई इन्कार र अवज्ञा गर्छन्। तिनीहरू सोच्छन्, “तिमी मलाई समर्पित हुन, सत्यता स्वीकार गर्न र सत्यता अभ्यास गर्न भन्छौ—यसबाट म के पाउँछु? त्यसमा के फाइदा छ? यदि मलाई कुनै फाइदा छ भने मात्रै म त्यो गर्नेछु। यदि कुनै फाइदा छैन भने म गर्नेछैनँ।” यी कस्ता प्रकारका मानिसहरू हुन्? तिनीहरू आफ्नै स्वार्थद्वारा मात्रै प्रेरित हुने मानिस हुन् र सत्यतालाई प्रेम नगर्नेहरू सबै आफ्नै स्वार्थद्वारा मात्रै प्रेरित हुन्छन्। आफ्नै स्वार्थद्वारा मात्रै उत्प्रेरित हुने मानिसहरूले सत्यता स्वीकार गर्न सक्दैनन्। यदि तैँले आफ्नै स्वार्थद्वारा मात्रै प्रेरित हुने व्यक्तिसँग सत्यताबारे सङ्गति गर्ने प्रयास गरिस् र तिनीहरूलाई आफूलाई चिन्न र आफ्ना गल्तीहरू मान्न भनिस् भने, तिनीहरूले कसरी प्रतिक्रिया दिनेछन्? “आफ्ना गल्तीहरू स्वीकार गरेर म के फाइदा पाउँछु? तिमी मलाई आफूले गरेको केही गल्ती मान्न अनि आफ्ना पापहरू स्वीकार गरेर पश्चात्ताप गर्न भनिरहेका छौ—त्यसबाट म के-कस्ता आशिष्हरू पाउनेछु? यदि मेरो प्रतिष्ठा र हितहरूमा हानि पुग्यो र मैले घाटा भोगेँ भने, मलाई कसले क्षतिपूर्ति दिनेछ?” यो तिनीहरूको मानसिकता हो। तिनीहरू व्यक्तिगत लाभ मात्र खोज्छन् र परमेश्वरबाट आशिष्हरू प्राप्त गर्न आफूले कसरी कार्य गर्नुपर्छ भन्ने कुरा आउँदा, तिनीहरूलाई त्यो एकदमै अपत्यारिलो लाग्छ र तिनीहरू त्यो सम्भव छ भनी विश्वास नै गर्दैनन्; तिनीहरू आफ्नै आँखाले देखेको कुरालाई मात्र विश्वास गर्छन्। त्यस्ता मानिसहरू आफ्नै स्वार्थद्वारा मात्रै प्रेरित हुन्छन् र तिनीहरू शैतानको दर्शन “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ” अनुसार जिउँछन्। तिनीहरूको प्रकृति सार नै यही हो। तिनीहरूको हृदयमा, परमेश्वरलाई स्विकार्नु र सत्यतालाई स्विकार्नु भनेको आफूले परमेश्वरमा विश्वास गर्नु हो। दुष्टता नगर्नु तिनीहरूलाई स्वीकार्य हुन्छ, तर फाइदा चाहिँ तिनीहरूलाई हुनैपर्छ र नोक्सानी हुनै हुँदैन। तिनीहरूले आफ्नो हितमा असर नपुग्दा मात्र सत्यता अभ्यास गर्नु र परमेश्वरप्रति समर्पित हुनुलाई वास्ता गर्नेछन्। यदि त्यसले तिनीहरूको हितलाई चोट पुऱ्यायो र तिनीहरूलाई सत्यता अभ्यास गर्न र परमेश्वरप्रति समर्पित हुन भनियो भने, तिनीहरू त्यो गर्न सक्षम हुनेछैनन्। तिनीहरूलाई परमेश्वरमा अर्पित हुन, परमेश्वरको लागि कष्ट भोग्न वा मूल्य चुकाउन आग्रह गर्नु त झनै असम्भव हुन्छ। त्यस्ता मानिसहरू साँचो विश्वासी होइनन्। तिनीहरू आफ्नै हितहरूका लागि मात्र जिउँछन्, आशिष् र फाइदाहरू मात्र खोज्छन्, र कष्ट सहन वा मूल्य चुकाउन इच्छुक हुँदैनन्, तैपनि तिनीहरू अझै पनि मृत्युको दुष्परिणामबाट उम्कने आशामा परमेश्वरको घरको वरिपरि निर्लज्ज रूपमा हल्लिएर बस्न चाहन्छन्। त्यस्ता मानिसहरूले अलिकति पनि सत्यता स्विकार्दैनन् र तिनीहरूले परमेश्वरबाट मुक्ति पाउन सक्दैनन्। के परमेश्वरले अझै पनि तिनीहरूलाई मुक्ति दिन सक्नुहुन्छ र? परमेश्वरले निश्चय नै तिनीहरूलाई तिरस्कार गर्नुहुनेछ र तिनीहरूलाई हटाउनुहुनेछ। के त्यसको मतलब परमेश्वर तिनीहरूलाई मुक्ति दिनुहुन्न भन्ने हो? तिनीहरूले आफूलाई त्यागेका छन्। तिनीहरू सत्यता पछ्याउने, परमेश्वरलाई प्रार्थना गर्ने वा परमेश्वरमा भर पर्ने गर्दैनन्, त्यसैले परमेश्वरले तिनीहरूलाई कसरी मुक्ति दिन सक्नुहुन्छ? एउटै बाटो भनेको तिनीहरूलाई त्याग्नु र पन्छ्याउनु, अनि तिनीहरूलाई आत्मचिन्तन गर्न दिनु हो। यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरूका लागि एउटै मात्र तरिका भनेको सत्यता स्वीकार गर्नु, आफूलाई चिन्नु, सत्यता अभ्यास गर्नु र साँचो रूपमा समर्पित हुनु हो। यसरी, तिनीहरू परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छन्। परमेश्वरप्रति समर्पित हुन र उहाँको डर मान्नका लागि सत्यता अभ्यास गर्नु भनेको तिनीहरूले मुक्ति प्राप्त गर्नका लागि अन्ततः हासिल गर्नैपर्ने अनि तिनीहरूले प्रकट गर्नैपर्ने र जिउनैपर्ने कुरा हो। यदि तँ सत्यता पछ्याउने मार्गमा हिँड्दैनस् भने, तैँले छनौट गर्न सक्ने अर्को मार्ग छैन। यदि कुनै व्यक्ति यस मार्गमा हिँड्दैन भने, ऊ सत्यताले आफूलाई मुक्ति दिन सक्छ भनी विश्वास गर्दैन र ऊ परमेश्वरले बोलेका सबै वचनले आफूलाई रूपान्तरण गर्न र साँचो मानव बनाउन सक्छ भनी विश्वास गर्दैन भनेर मात्रै भन्न सकिन्छ। यसबाहेक, ऊ परमेश्वर सत्यता हुनुहुन्छ भनी मूलतः विश्वास गर्दैन न त ऊ सत्यताले मानिसहरूलाई परिवर्तन गर्न र मुक्ति दिन सक्छ भन्ने तथ्यलाई नै विश्वास गर्छ। त्यसकारण, तैँले त्यसलाई जसरी चिरफार गरे पनि, त्यस्तो व्यक्तिको हृदय अत्यन्तै हठी हुन्छ। जेसुकै भए पनि ऊ सत्यता स्वीकार गर्न मान्दैन, ऊ मुक्ति पाउन नसक्ने हुन्छ र उसलाई मुक्ति दिन असम्भव हुन्छ।
के तिमीहरूमध्ये कसैमा हठी स्थिति छ? (छ।) त्यसोभए के तिमीहरू सबै हठी मानिसहरू हौ? हठी स्थिति हुनु र हठी व्यक्ति हुनुमा के फरक हुन्छ? यी दुई फरक कुराहरू हुन्, त्यसैले यी दुईलाई फरकफरक हिसाबले नै लिनुपर्छ। हठी स्थिति हुनु भनेको यस प्रकारको भ्रष्ट स्वभाव हुनु हो। यदि तिमीहरू सत्यता स्विकार्न सक्छौ भने मुक्ति प्राप्त गर्न सक्छौ, तर यदि तिमीहरू हठी व्यक्ति हौ भने तिमीहरूलाई समस्या हुनेछ। हठी मानिसहरूले सत्यता पटक्कै स्विकार्दैनन्; तिनीहरू मुक्ति प्राप्त गर्न असमर्थ हुनेछन्। यी दुई प्रकारका मानिसहरूबीचको भिन्नता यही हो। हठी स्थिति भएकाहरूले केही विद्रोही व्यवहार देखाउँछन्, र आफूमा केही भ्रष्टता प्रकट गर्छन्। यद्यपि, भ्रष्टता प्रकट गर्ने प्रक्रियामा, तिनीहरू निरन्तर आफ्ना पापहरू स्विकार्छन् र परमेश्वरको अगाडि पश्चात्ताप गर्छन्, अनि निरन्तर परमेश्वरको न्याय, सजाय र ताडना स्विकार्छन्। तिनीहरूले जतिपटक असफलता वा ठेस अनुभव गरे पनि, तिनीहरू आत्मचिन्तन गर्न, समस्याहरू समाधान गर्न, फेरि उठ्न, अनि परमेश्वरलाई पछ्याउन जारी राख्न सक्छन्। यस यात्रामार्फत, तिनीहरूले आफ्नो भ्रष्ट स्वभावको साँचो बुझाइ प्राप्त गर्छन्, र परमेश्वरको न्याय र सजाय अनुभव गर्नु वास्तवमै मुक्तिको एक रूप हो, र तिनीहरू परमेश्वरको न्याय र सजायबिना रहन सक्दैनन् भनेर महसुस गर्छन्। निरन्तर पश्चात्ताप, अनवरत पाप-स्वीकार, अनि परमेश्वरको न्याय र सजाय स्विकारमार्फत, तिनीहरूको जीवन क्रमशः बढ्दै जान्छ, र तिनीहरूको आत्मिक स्थिति पनि निरन्तर बदलिँदै जान्छ। यस प्रक्रियामा, व्यक्तिको भ्रष्ट स्वभाव बिस्तारै फाल्न सकिन्छ, अनि उसले वृद्धि र रूपान्तरण अनुभव गर्नेछ। तिनीहरूको विद्रोही व्यवहार हेर्दा, त्यस्ता मानिसहरू निकै हठी पनि हुन्छन् जस्तो लाग्न सक्छ, र तिनीहरू कहिलेकाहीँ हठी स्थितिमा पनि हुन्छन्, तर तिनीहरू त्यस प्रकारका मानिस होइनन्। तिनीहरू त्यस प्रकारका मानिस नभएकाले, तिनीहरूले त्यसपछि निश्चय नै सकारात्मक व्यवहार र प्रगति देखाउँछन्। त्यस्ता मानिसहरूलाई मुक्ति दिन सकिन्छ। तिमीहरू कस्तो प्रकारका व्यक्ति हौ? (हामी आफूले गल्ती गर्दा थाहा पाउँछौँ, र परमेश्वरसामु पश्चात्ताप गर्न र आफ्ना गल्तीहरू सुधार्न इच्छुक छौँ।) यदि तँ आफ्ना गल्ती, विद्रोहीपन र आफूले प्रकट गर्ने भ्रष्ट स्वभावहरूबारे सचेत हुन्छस्, र तँ आफ्नो हृदयमा पश्चात्ताप र पछुतो महसुस गर्छस् भने, यो राम्रो कुरा हो र तँसँग मुक्तिको आशा हुन्छ। यद्यपि, यदि तँ व्यक्तिगत रूपमा आफ्नो विद्रोह वा भ्रष्टताबारे अलिकति पनि सचेत हुँदैनस्, र कसैले यो कुरा औँल्याउँदा, तँ जिद्दी र अस्वीकारी प्रवृत्तिको बनिरहन्छस्, अनि वाक्छ्ल र स्व-औचित्य पुस्ट्याइको समेत साहारा लिन्छस् भने, तँ समस्यामा हुनेछस् र तँलाई मुक्ति पाउन सजिलो हुनेछैन। यदि तैँले परमेश्वरमा थोरै समयदेखि मात्र, मानौँ तीन देखि पाँच वर्षदेखि मात्र विश्वास गरेको छस्, र तँ अझै पनि विश्वासबारे धेरै कुरा बुझ्दैनस् भने, यो तेरो कद अति सानो भएकोले गर्दा भएको हो। यद्यपि, यदि तँ दस वर्षभन्दा बढी समयदेखि विश्वासी रहेको छस् र अझै पनि आफैलाई चिन्दैनस्, वा काँटछाँट स्विकार्दैनस् भने, तँ समस्यामा छस्। यस्तो त एक हठी स्वभाव भएको व्यक्ति हो जो सत्यता स्विकार्नै मान्दैन। सत्यता नबुझ्ने र वास्तविकता नभएकाहरूको कुरा आउँदा, तैँले तिनीहरू कुन समय बिन्दुमा छन् भनेर हेर्नुपर्छ। कतिपय मानिसहरूमा राम्रो क्षमता हुन्छ, तिनीहरू सत्यतामा छिट्टै प्रवेश गर्छन्, र विश्वास गरेको एक वा दुई वर्षपछि नै तिनीहरूले जीवन प्रवेश केसँग सम्बन्धित छ भनेर बुझिसक्छन्। तिनीहरूको सम्पर्क जीवन प्रवेशमा राम्रो गरेका, सत्यता वास्तविकता भएका र धेरै सत्यता बुझेका मानिसहरूसँग हुन पनि सक्छ। नयाँ विश्वासीहरू पनि यी कुराहरूको तृष्णा गर्छन्, त्यसैले तिनीहरूले पनि धेरै सुन्छन्, र धेरै प्राप्त गर्छन्, र यसरी छिट्टै जीवन प्रवेश गर्छन्। कतिपय मानिसहरू कम क्षमताका हुन्छन्, र तिनीहरू राम्रो क्षमता भएका मानिसहरूको सम्पर्कमा भए पनि तिनीहरूको प्रगति सुस्त हुन्छ। कतिपय मानिसहरू अन्तर्निहित रूपमै सत्यता मन नपराउने हुन्छन्, र तिनीहरूले जतिसुकै वर्ष विश्वास गरे पनि सत्यता अभ्यास गर्नेछैनन्, न त तिनीहरूले आफ्नो जीवनमा प्रगति नै गर्नेछन्। केही मानिसहरू कार्यहरू गरिरहन मात्र मन पराउँछन् र निकै उत्साही हुन्छन्, तर सत्यता पछ्याउन इच्छुक हुँदैनन्। तिनीहरू हरेक दिन व्यस्त हुन्छन् तर जीवनमा प्रगति गर्दैनन्। परमेश्वरमा विश्वास गर्ने मानिसहरू अनेक प्रकारका परिस्थितिहरूमा हुन सक्छन्। यद्यपि, सत्यतालाई प्रेम गर्नेहरूले मात्र सत्यता अभ्यास गर्न, सत्यता प्राप्त गर्न र मुक्ति पाउन सक्छन्। विश्वासीहरूको लागि सबैभन्दा ठूलो चिन्ता भनेको हठी स्वभाव हुनु र सत्यता नस्विकार्नु हो। त्यस्ता मानिसहरू सबैभन्दा समस्याजनक हुन्छन् र यो तिनीहरूको प्रकृतिको समस्या हो। तिनीहरूले धर्मसिद्धान्त स्विकार्न सक्छन्, तर सत्यता स्विकार्न मान्दैनन्। यिनीहरू मुक्ति पाउने सम्भावना सबैभन्दा कम भएका मानिसहरू हुन्। सत्यतालाई प्रेम नगर्ने र सत्यताप्रति वितृष्णा पाल्ने यी मानिसहरूलाई त्याग्न मात्र सकिन्छ।
म ढाँट्नुका दुइटा उदाहरणहरू दिन्छु। ढाँट्न सक्ने मानिसहरू दुई प्रकारका हुन्छन्। तिमीहरूले कुन मानिसहरू हठी र छुटकारा दिन नसकिने हुन्छन् भनेर छुट्याउनु आवश्यक हुन्छ। तिमीहरूले कुन मानिसहरूलाई मुक्ति दिन सकिन्छ भनेर छुट्याउनु पनि आवश्यक हुन्छ। मुक्ति दिन सकिनेहरूले प्रायः भ्रष्टता प्रकट गरे पनि, जबसम्म तिनीहरूले सत्यता स्विकार्न र आत्मचिन्तन गर्न अनि आफैलाई चिन्न सक्छन्, तबसम्म आशा हुन्छ। पहिलो उदाहरणमा, बारम्बार झुट बोल्ने एक व्यक्ति थियो। तर, उसले केही सत्यता बुझेपछि, फेरि झुट बोल्दा, उसलाई त्यो कुरा थाहा हुने मात्र होइन, तर आफ्नो हृदयमा गहिरो पीडा र सास्ती पनि महसुस भयो र उसले चिन्तन गर्न थाल्यो, “म किन सधैँ झुट बोल्छु? म किन बदलिन सक्दिनँ?” त्यसपछि उसले परमेश्वरलाई प्रार्थना गर्न र यसो भन्दै सङ्कल्प गर्न सक्यो, “यस पटक, जे भए पनि, मैले आफूलाई खुला बनाउनैपर्छ, आफूलाई उदाङ्गो पार्नैपर्छ र आफूलाई चिरफार गर्नैपर्छ अनि मैले आफ्नो इज्जत जोगाउन झुट बोलेको तथ्यलाई स्पष्ट रूपमा व्याख्या गर्नैपर्छ।” खुलस्त भएर सङ्गति गरेपछि, उसले ढुक्क महसुस गऱ्यो र यस्तो बुझ्यो, “झुट बोल्नु त एकदमै पीडादायी हुने रहेछ, जबकि इमानदार व्यक्ति हुनु कति आरामदायी हुन्छ—यो त अद्भुत छ! परमेश्वर मानिसहरू इमानदार बनून् भन्ने माग गर्नुहुन्छ; मानिसहरूमा हुनुपर्ने रूप यही हो।” यति थोरै खुसी अनुभव गरेपछि, उप्रान्त ऊ कम ढाँट्ने, सकेसम्म नढाँट्ने, सबै कुराबारे स्पष्ट रूपमा बोल्ने, इमानदारीसाथ बोल्ने, इमानदार कार्य गर्ने र इमानदार व्यक्ति बन्नेबारे सचेत भयो। तर उसले आफ्नो गर्वसँग सम्बन्धित परिस्थिति सामना गर्नुपर्दा, स्वतः ढाँट्यो र पछि पछुतायो। त्यसपछि, उसले अर्को परिस्थिति सामना गर्दा, आफूलाई राम्रो देखाउने प्रयासमा फेरि ढाँट्यो। उसले यस्तो सोच्दै भित्रभित्रै आफैलाई घृणा गऱ्यो, “म किन आफ्नो मुख नियन्त्रण गर्न सक्दिनँ? के यो साँच्चै मेरो प्रकृतिको समस्या हुन सक्छ? के म अति छली छु?” उसले यो समस्या समाधान गरिनैपर्छ; अन्यथा, परमेश्वरले उसलाई तिरस्कार गर्नुहुनेछ र हटाउनुहुनेछ भनी महसुस गऱ्यो। उसले परमेश्वरलाई प्रार्थना गऱ्यो, र उसले फेरि ढाँटेमा उसलाई अनुशासनमा राख्न आग्रह गऱ्यो, र ऊ दण्ड स्विकार्न इच्छुक भयो। उसले भेलाहरूमा आफूलाई चिरफार गर्ने साहस जुटायो, र भन्यो, “मैले यी परिस्थितिहरूमा ढाँटे, किनकि मेरो मनसाय स्वार्थी थियो र म आफ्नो अभिप्रायद्वारा नियन्त्रित थिएँ। आत्मचिन्तन गर्दा, मैले के बुझेँ भने ढाँट्दैपिच्छे, त्यो घमण्ड र अभिमान वा आफ्नो व्यक्तिगत लाभका लागि हुन्थ्यो। मलाई अहिले स्पष्ट भयो: म मेरो अभिमान र व्यक्तिगत हितहरूका लागि जिउँदो रहेछु र त्यसले नै मलाई हरक्षण र हरकुरामा ढाँट्ने तुल्यायो।” आफ्ना झुटहरूलाई चिरफार गर्दा, उसले आफ्नो अभिप्राय पनि खुलासा गऱ्यो र आफ्नो अभिप्राय खुलासा गर्दा आफ्नो भ्रष्ट स्वभावको समस्या पत्ता लगायो। यो त दोहोरो फाइदा हुने अवस्था हो; एकातिर उसले इमानदार व्यक्ति बन्ने अभ्यास गर्न सक्छ र सोही समयमा उसले अन्तर्दृष्टि प्राप्त गर्न र आफ्नो भ्रष्ट स्वभाव चिन्न पनि सक्छ। पछि, उसले मनन गऱ्यो, “म परिवर्तित हुनु आवश्यक छ! मेरो यो समस्या छ भनेर मैले भर्खरै पत्ता लगाएँ। यो साँच्चै परमेश्वरबाट आएको अन्तर्दृष्टि हो। सत्यता अभ्यास गर्ने मानिसहरू परमेश्वरद्वारा आशिषित हुन्छन्!” उसले सत्यता अभ्यासको अलि मिठो स्वाद फेरि एक पटक अनुभव गऱ्यो। तर एक दिन त्यो व्यक्तिले अनजानमा फेरि ढाँट्यो। उसले परमेश्वरको ताडना माग्दै, फेरि एकपटक उहाँलाई प्रार्थना गऱ्यो। यसबाहेक, उसले ऊ बोल्दा किन उसँग सधैँ गुप्त अभिप्राय हुन्छ र उसले किन सधैँ परमेश्वरका अभिप्रायको सट्टा आफ्नै आडम्बर र घमण्डलाई ध्यान दिन्छ भन्ने कुराबारे चिन्तन गऱ्यो। चिन्तन गरेपछि, उसले आफ्नो भ्रष्ट स्वभावबारे केही बुझाइ प्राप्त गऱ्यो र आफूलाई घृणा गर्न थाल्यो अनि सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्ने उसको सङ्कल्प झन्-झन् दृढ हुँदै गयो। उसले यसरी सत्यता पछ्याउन र सत्यताप्रति प्रयत्न गर्न जारी राख्यो। तीनदेखि पाँच वर्षपछि, उसका झुटहरू साँच्चै कमकम हुँदै गए, र उसले सोचेकै कुरा बोल्ने र इमानदार व्यक्तिको व्यवहार गर्ने सङ्ख्या बढेर गयो। उसको हृदय बिस्तारै शुद्ध भयो र अझ बढी शान्त र आनन्दित भयो। उसले परमेश्वरको उपस्थितिमा अझ बढी समय बिताउँदै गयो र उसको स्थिति अझ बढी सामान्य भयो। यो यस्तो व्यक्तिको वास्तविक स्थिति हो, जो इमानदार व्यक्ति हुन अनुभव गर्दा अक्सर झुट बोल्थ्यो। त्यसोभए, के अब यो व्यक्तिले अझै पनि ढाँट्छ? के ऊ अझै पनि ढाँट्न सक्षम हुन्छ? के ऊ साँच्चै इमानदार व्यक्ति हो? ऊ इमानदार व्यक्ति हो भनेर अझै भन्न सकिँदैन। के मात्र भन्न सकिन्छ भने, उसले इमानदार व्यक्ति हुने सत्यता अभ्यास गर्न सक्छ र ऊ इमानदार व्यक्ति हुने अभ्यास गर्ने प्रक्रियामा छ, तर अझै पनि ऊ पूर्ण रूपमा इमानदार व्यक्तिमा रूपान्तरित भएको छैन। अर्को शब्दमा भन्दा, यो व्यक्ति सत्यता अभ्यास गर्न इच्छुक व्यक्ति हो। के सत्यता अभ्यास गर्न इच्छुक व्यक्तिलाई सत्यता प्रेम गर्ने व्यक्ति भनेर भन्न सकिन्छ? उसले सत्यता अभ्यास गरेको छ र तथ्यहरू खुलासा भइसकेका छन्, त्यसैले के उसलाई सत्यता प्रेम गर्ने व्यक्ति भनेर चित्रित गर्नु स्वाभाविक होइन र? अवश्य नै, उसले इमानदार व्यक्ति बन्ने अभ्यास गर्दैगर्दा, ऊ तुरुन्तै शुद्ध र खुलस्त तरिकामा सङ्गति अभ्यास गर्न वा केही नलुकाई आफूभित्र लुकेका सबै कुरा खुलासा गर्न सक्षम भएन। उसले अझै पनि केही कुराहरू लुकायो र सावधानीपूर्वक अगाडि बढ्ने प्रयास गऱ्यो। तर, उसले आफ्नो प्रयास र अनुभवहरूमार्फत के बुझ्यो भने, इमानदार व्यक्ति बन्ने जति धेरै प्रयास गऱ्यो, उसलाई त्यति नै राम्रो र स्थिर महसुस हुन्छ अनि कुनै ठूला कठिनाइहरूविना सत्यता अभ्यास गर्न त्यति नै सहज हुन्छ। तब मात्र उसले इमानदार व्यक्ति हुनुको मिठास चाख्यो र उसको परमेश्वरमाथिको विश्वास बढ्यो। यसरी इमानदार व्यक्ति बन्ने अनुभव गरेर, ऊ सत्यता अभ्यास गर्न सक्षम हुने मात्र होइन, उसले हृदयमा शान्ति र आनन्द पनि अनुभव गर्छ। साथमा उसले इमानदारिता अभ्यास गर्ने मार्गको अझ स्पष्ट बुझाइ हासिल गर्छ। उसलाई इमानदार व्यक्ति बन्न धेरै गाह्रो हुँदैन रहेछ भन्ने अनुभूति हुन्छ। उसले मानिसहरूको लागि परमेश्वरका मापदण्डहरू समझपूर्ण र प्राप्य छन् भनेर देख्छ, र परमेश्वरको कामको केही बुझाइ पनि हासिल गर्छ। यो सब उसलाई निगाह देखाउनु होइन, बरु, यो त व्यक्तिले आफ्नो जीवन प्रवेशको यात्रामा हासिल गर्नुपर्ने कुरा हो र ऊ यो सब हासिल गर्न सक्षम हुन्छ।
दोस्रो उदाहरण ढाँट्न मन पराउने व्यक्तिबारे छ, जसका लागि यो दोस्रो प्रकृति बनेको हुन्छ। ऊ नबोल्दा ठिकै हुन्छ, तर मुख खोल्नेबित्तिकै उसको बोलीमा धेरै मिलावट भरिन्छन्। चाहे उसले यो जानाजानी गरोस् वा नगरोस्, छोटकरीमा भन्दा, उसले भनेका अधिकांश कुराहरू विश्वास गर्न सकिँदैन। एक दिन, झुट बोलेपछि, उसले सोच्यो, “झुट बोल्नु गलत हो र यसले परमेश्वरलाई अप्रसन्न बनाउँछ। मैले झुट बोलेको कुरा मानिसहरूले थाहा पाए भने म बदनाम हुनेछु! तर मैले झुट बोलेको कसैले थाहा पाएजस्तो छ। खैर, म यसलाई सजिलै व्यवस्थापन गर्न सक्छु। म अर्को विषय खोज्नेछु र विभिन्न शब्दहरू प्रयोग गर्दै उसको सतर्कता कम गर्नेछु, उसलाई बहकाउनेछु, र मेरा झुटहरू छर्लङ्ग बुझ्न असक्षम तुल्याउनेछु। के त्यो झन् ठूलो चलाखी होइन र?” त्यसपछि उसले आफ्नो अघिल्लो झुटलाई ढाकछोप गर्न र त्यसमा भएका छिद्रहरू टालटुल गर्न अझ ठूलो झुट बोल्यो, जसले मानिसहरूलाई सफलतापूर्वक बहकायो। उसले यस्तो सोच्दै आत्मसन्तुष्टि महसुस गऱ्यो, “हेर त म कति अक्कली छु! मैले झुट बोलेँ र यसमा कुनै छिद्रहरू छैनन्; केही छिद्र भए पनि, म तिनलाई टालटुल गर्न फेरि झुट बोल्न सक्छु। धेरैजसो मानिसले मेरा झुटहरू छर्लङ्गै देख्न सक्दैनन्। झुटहरू बोल्न सिप चाहिन्छ!” कतिपय मानिस यसो भन्छन्, “झुटहरू बोल्नु साँच्चै थकाइलाग्दो हुन्छ। एउटा झुट बोलेपछि त्यसमा भएका छिद्रहरू टालटुल गर्ने अझ धेरै झुट बोल्नुपर्छ। यसमा धेरै सोच र प्रयास लाग्छ।” तर, यो झुट बोल्नमा माहिर व्यक्तिलाई त्यस्तो महसुस भएन। एउटा झुट बोलेपछि, त्यसले अर्को झुट बोलेर त्यसमा भएका छिद्रहरू टालटुल गऱ्यो, सफलतापूर्वक अरूलाई छल गऱ्यो; आफूसँग प्रसन्न भयो र आफूलाई दोष दिएन वा उसको हृदयमा कुनै आत्मग्लानि भएन। उसले आफ्नो विवेकमा केही महसुस गरेन। यहाँ के भइरहेको हो? उसलाई झुट बोल्नु आफ्ना लागि कति हानिकारक छ भन्ने थाहा छैन। ऊ आफ्ना अघिल्ला झुटहरूमा भएका छिद्रहरू टालटुल गर्नका लागि झुटहरू प्रयोग गर्नाले उसलाई घमण्ड, अभिमान र फाइदाहरू प्राप्त गर्न सक्षम बनाउँछ भन्ने विश्वास गर्छ। कठिनाइ र थकानको बावजूद, ऊ यसो गर्नु सार्थक हुन्छ भन्ने सोच्छ। यसो गर्नु उसलाई सत्यता बुझ्नु र अभ्यास गर्नुभन्दा मूल्यवान लाग्छ। किन ऊ ग्लानि महसुस नगरी बारम्बार झुट बोल्छ? किनभने उसको हृदयमा सत्यताप्रति प्रेम नै हुँदैन। ऊ आफ्नो घमण्ड, अभिमान, प्रतिष्ठा र हैसियतलाई महत्त्व दिन्छ। उसले अरूसँगको सङ्गतिमा आफ्नो हृदय कहिल्यै खोल्दैन; बरु, ऊ आफ्ना झुटहरू लुकाउन झुटो रूप र ढोँग प्रयोग गर्छ। उसले यसरी नै मानिसहरूसँग अन्तरक्रिया र उठबस गर्छ। उसले जतिसुकै झुट बोले पनि, आफ्ना झुटहरूका जतिसुकै छिद्रहरू टालटुल गरे पनि वा जतिसुकै स्वार्थी र नीच अभिप्रायहरू लुकाए पनि, उसलाई हृदयमा कुनै दोषी वा असहजता महसुस हुँदैन। केही विवेक र लाजको बोध भएका धेरैजसो मानिसले झुट बोलेपछि भित्रभित्रै असहज र पछुतो महसुस गर्नेछन्, तर यस व्यक्तिले यस्तो महसुस गर्दैन। झुट बोलेर अरूलाई मूर्ख बनाएपछि, ऊ अरू सबै मूर्ख हुन् भनी सोच्दै, आफैसँग निकै प्रसन्नता महसुस गर्छ। तर, वास्तवमा, उसले अन्योलमा परेका र कुनै सुझबुझ नभएकाहरूलाई मात्र धोका दिन सक्छ; साँच्चै सत्यता बुझ्नेहरूले उसको सार छर्लङ्गै देख्न सक्छन्। ऊ सारा दिन झुट बोलेर र आफ्ना झुटहरूमा भएका छिद्रहरू टालटुल गरेर बिताउँछ—के यसरी जिउनु थकाइलाग्दो होइन र? यो कस्तो प्रकारको प्रकृति हो? यो दियाबलसको प्रकृति हो। दियाबलसहरू हरेक दिन झुट बोल्छन्, आफ्ना झुटहरूद्वारा जिउँछन् र कुनै असहजता वा पीडा महसुस गर्दैनन्। यदि तिनीहरूले असहजता वा पीडा महसुस गर्थे भने, झुट बोल्न छोड्नेथिए। तिनीहरूले पीडा महसुस गर्नु असम्भव छ। यस प्रकारको व्यक्तिका लागि झुट बोल्नु त दैनिक जीवन हो—यो उसको प्रकृतिमै हुन्छ। यो उसले स्वाभाविक रूपमा प्रकट गर्ने कुरा हो र उसले झुट बोल्दा कुनै संयम देखाउँदैन वा कुनै आत्म-चिन्तन गर्दैन। उसले जतिसुकै झुटहरू बोले पनि वा छलहरू गरे पनि, आफ्नो हृदयमा कुनै दोषी महसुस गर्दैन र आफ्नो विवेकले घोच्दैन। उसलाई परमेश्वर मानिसहरूको हृदयको गहिराइ छानबिन गर्नुहुन्छ भनेर थाहा हुँदैन; ऊ झुट बोलेपछि र छलपूर्ण व्यवहार गरेपछि आफूले बोक्ने जिम्मेवारी र आफूले पाउने प्रतिफल महसुस गर्न ऊ असफल हुन्छ। उसको सबैभन्दा ठूलो डर भनेको कसैले उसका छलपूर्ण युक्तिहरू खुलासा गर्नेछ भन्ने हो, त्यसैले ऊ आफ्ना युक्तिहरूलाई ढाकछोप गर्न अझ धेरै झुट बोल्ने सहारा लिन्छ, र त्यससँगसँगै आफ्ना झुट र तथ्यहरू लुकाउनका लागि कुनै तरिका, कुनै माध्यम खोज्न आफ्नो दिमाग खियाउँछ। के यस्तो व्यक्तिले त्यो सम्पूर्ण प्रक्रियाको दौरान अलिकति पनि पश्चात्ताप गरेको छ त? के ऊ कुनै दोष वा दु:ख महसुस गर्छ? के ऊसँग आफूलाई परिवर्तन गर्ने कुनै चाहना छ? छैन। ऊ झुट बोल्नु वा तिनमा भएका छिद्रहरू टालटुल गर्नु पाप होइन र धेरैजसो मानिस यसरी नै जिउँछन् भन्ने सोच्छ। ऊसँग परिवर्तन हुने कुनै अभिप्राय हुँदैन। इमानदार व्यक्ति बन्ने हकमा भन्दा, ऊ आफ्नो हृदयमा यस्तो सोच्छ, “त्यसोभए तिमी म इमानदार व्यक्ति बनूँ, हृदयदेखि बोलूँ र सत्य कुरा भनूँ भन्ने चाहन्छौ? म त्यो कहिल्यै गर्नेछैनँ! त्यो त मूर्खहरूका लागि हो र म त्यस्तो मूर्ख छैनँ। यदि मैले झुट बोलेँ र मलाई आफू खुलासा हुने डर भयो भने, मैले त्यो ढाकछोप गर्न अरू कारण र बहानाहरू खोज्नुपर्नेछ। के तिमीलाई म इमानदारीपूर्वक बोल्ने प्रकारको व्यक्ति हुन सक्छु भन्ने लाग्छ? के त्यसले मलाई पूर्ण रूपमा मूर्ख बनाउनेछैन र?” उसले सत्यता स्विकार्दैन वा मान्दैन। सत्यता नमान्ने मानिसहरू सत्यतालाई कदापि प्रेम गर्नै सक्दैनन्। उसको आन्तरिक स्थिति असामान्य हुन्छ र ऊसँग पश्चात्ताप गर्ने कुनै अभिप्राय हुँदैन। त्यसोभए उसको हृदयलाई कस्ता सोचहरूले नियन्त्रण गर्छन् त? के भन्न सकिन्छ भने इमानदार व्यक्ति हुनु नै व्यक्तिको जीवनको सही मार्ग हो भन्ने कुरालाई ऊ आधारभूत रूपमै इन्कार गर्छ। ऊ सत्यताको अस्तित्वलाई, साथै आखिरी दिनहरूमा मानवजातिमाथि परमेश्वरले गर्ने न्यायलाई पनि इन्कार गर्छ; ऊ परमेश्वर मानिसहरूका परिणामहरू निर्धारण गर्नुहुन्छ र उहाँले हरेक व्यक्तिलाई उसको कार्यअनुसार प्रतिफल दिनुहुनेछ भन्ने कुरालाई पनि इन्कार गर्छ। त्यस्ता मानिसहरू पूर्ण रूपमा अज्ञानी हुन्छन्; तिनीहरू जिद्दी मूर्ख हुन्। यस्तो सोचाइले तिनीहरूका हठी स्थिति, कार्य र व्यवहारहरूलाई जन्म दिन्छ। यी कुराहरू तिनीहरूको प्रकृति सारबाट उत्पन्न हुन्छन्। तिनीहरू त्यस प्रकारको मानिस हुन्—खाँटी छली मानिसहरू; तिनीहरूले सत्यता स्वीकार नगर्ने हुनाले, तिनीहरू कहिल्यै इमानदार व्यक्ति बन्नेछैनन्। धेरै मानिस यस्ता मानिसहरूलाई छर्लङ्गै देख्न सक्दैनन् र सधैँ प्रेमका खातिर तिनीहरूलाई मद्दत गर्न चाहन्छन्, तर त्यसो गर्दा बिलकुलै परिणामहरू निस्कँदैनन् र यो एकदमै मूर्खतापूर्ण कुरा हो। वास्तवमा, छली मानिसहरूमा सामान्य मानवता हुँदैन; तिनीहरूको विवेकले काम नै गर्दैन अनि तिनीहरूको बोली र कार्यहरूमा समझ हुँदैन। जब सामान्य मानवताको समझ भएका मानिसहरू परमेश्वरका वचनहरू सुन्छन्, तब तिनीहरू यी वचनहरू नै सत्यता हुन् भनी बुझ्न सक्छन्; विशेष गरी परमेश्वरको न्यायका वचनहरू सुन्दा, तिनीहरू आत्मचिन्तन गर्न र साँचो पछुतो महसुस गर्न सक्छन्। यस्ता मानिसहरूमा मात्रै मानवता हुन्छ। तर छली मानिसहरू साँचो मार्गबारे सुनेपछि प्रतिक्रिया जनाउँदैनन्। तिनीहरू शैतानका दर्शनहरूद्वारा र आफ्ना शैतानी भ्रष्ट स्वभावहरूद्वारा निरन्तर जिउँछन्, केही वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि समेत अलिकति पनि परिवर्तन हुँदैनन्। यसको अर्थ तिनीहरूसँग सामान्य मानवताको समझ हुँदैन; त्यस्ता मानिसहरूलाई मुक्ति पाउन सजिलो हुनेछैन।
तिमीहरूलाई यी दुई प्रकारका मानिसहरूमध्ये परमेश्वरले कसलाई मुक्ति दिनुहुन्छ भन्ने लाग्छ? (पहिलो प्रकारकोलाई, किनभने तिनीहरूले झुट बोले पनि, तिनीहरू सत्यता स्विकार्न र इमानदार बन्न सक्छन्।) मानिसहरूले यो देखेर सोध्न सक्छन्, “परमेश्वरले मुक्ति दिनुहुने मानिसहरूले कसरी अझै पनि सधैँ झुट बोल्न र गलत काम गर्न सक्छन्? के तिनीहरू अझै पनि भ्रष्ट छैनन् र? तिनीहरू सिद्ध मानिसहरू होइनन्!” तिनीहरूले यहाँ “सिद्ध” शब्द प्रयोग गरे। तिमिहरू यसबारे के सोच्छौ? यी जीवन वृद्धिको सामान्य प्रक्रिया नबुझ्ने व्यक्तिका शब्दहरू हुन्। परमेश्वरले शैतानद्वारा भ्रष्ट तुल्याइएका र भ्रष्ट स्वभाव भएका मानिसहरूलाई मुक्ति दिनुहुन्छ, त्रुटिरहित सिद्ध मानिसहरू वा शून्यतामा जिउने मानिसहरूलाई होइन। केही मानिसहरू, थोरै भ्रष्टता प्रकट गर्दा पनि, यस्तो सोच्छन्, “मैले फेरि परमेश्वरको विरोध गरेँ। मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको छु तर अझै पनि परिवर्तित भएको छुइनँ। पक्कै पनि अब परमेश्वरले मलाई चाहनुहुन्न!” त्यसपछि तिनीहरू निराश हुन्छन् र सत्यतातर्फ प्रयत्न गर्न अनिच्छुक हुन्छन्। तिमीहरूलाई यो मनोवृत्ति कस्तो लाग्छ? तिनीहरू आफैले परमेश्वरका अभिप्रायहरूसमेत नखोजी सत्यता त्यागेका हुन्छन्, र पनि उप्रान्त परमेश्वर तिनीहरूलाई चाहनुहुन्न भनेर विश्वास गर्छन्। के यो परमेश्वरबारे गलतबुझाइ होइन? यस्तो नकारात्मकता शैतानद्वारा शोषित हुने सबैभन्दा सजिलो तरिका हो। शैतानले तिनीहरूको खिल्ली उडाउँदै भन्छ, “तँ मूर्ख होस्! परमेश्वर तँलाई मुक्ति दिँदै हुनुहुन्छ, तर तँ अझै यसरी कष्ट भोगिरहेको छस्! त्यसैले, बस हार मान्! यदि तैँले हार मानिस् भने, परमेश्वरले तँलाई हटाउनुहुनेछ, र यो उहाँले तँलाई मेरो हातमा सुम्पिनुभएजस्तै हो। तँलाई त म पीडा दिएरै मार्नेछु!” यदि शैतान सफल भयो भने, नतिजाहरू अकल्पनीय हुनेछन्। तसर्थ, व्यक्तिले जस्तोसुकै कठिनाइ वा नकारात्मकता सामना गरे पनि, हार मान्नै हुँदैन। उसले समाधान पाउन सत्यता खोज्नुपर्छ, र निष्क्रिय रूपमा पर्खनु हुँदैन। कुनै व्यक्तिले मुक्ति पाइरहेको अवधिमा, अर्थात्, उसको जीवन वृद्धि भइरहेको अवधिमा, उसले जीवनमा अपरिपक्वताका स्थिति र प्रकटीकरणहरू देखाउनेछ। कहिलेकाहीँ ऊ कमजोर वा नकारात्मक बन्न सक्छ, गलत कुरा बोल्न सक्छ, ठेस खान सक्छ, असफलता र रोकावटहरू सामना गर्न सक्छ, वा कहिलेकाहीँ बाटो बिराएर गलत मार्गमा लाग्न पनि सक्छ। यो सब परमेश्वरको नजरमा सामान्य हुन्छ। उहाँ त्यसलाई उसका विरुद्धमा राख्नुहुन्न। केही मानिसलाई आफ्नो भ्रष्टता अति गहन रहेको, र आफूले परमेश्वरलाई कहिल्यै सन्तुष्ट गर्न नसक्ने लाग्छ, त्यसैले तिनीहरू व्यथित महसुस गर्छन् र आफैलाई घृणा गर्छन्। ठ्याक्कै यस्तो पश्चात्ताप गर्ने हृदय भएकाहरूलाई नै परमेश्वरले मुक्ति दिनुहुन्छ। अर्कोतर्फ, आफूलाई परमेश्वरको मुक्ति जरुरी छैन भनेर विश्वास गर्नेहरू, जो आफूलाई असल मानिस र आफूमा केही गल्ती छैन भन्ने सोच्छन्, तिनीहरूलाई सामान्यतया परमेश्वरले मुक्ति दिनुहुन्न। मैले यहाँ तिमीहरूलाई के कुरा बताइरहेको छु? जसले बुझ्छ, बोल। (हामीले आफ्नो भ्रष्टताका प्रकटीकरणहरूलाई उचित रूपमा सम्हाल्नुपर्छ र सत्यता अभ्यासमा ध्यान दिनुपर्छ, अनि त्यसपछि हामीले परमेश्वरको मुक्ति प्राप्त गर्नेछौ। यदि हामीले निरन्तर परमेश्वरलाई गलत बुझ्यौँ र धारणाहरू पाल्यौँ भने, हामी सजिलै नकारात्मक बन्नेछौँ र आफूलाई निराशामा डुबाउनेछौँ।) तँमा विश्वास हुनुपर्छ र तैँले यसो भन्नुपर्छ, “म अहिले कमजोर भए पनि, मैले ठेस खाएको र म असफल भएको भए पनि, म वृद्धि हुनेछु, र एकदिन सत्यता बुझ्नेछु, परमेश्वरलाई सन्तुष्ट पार्नेछु, र मुक्ति प्राप्त गर्नेछु।” तँसँग यस्तो सङ्कल्प हुनैपर्छ। तैँले जतिसुकै बाधा, कठिनाइ, असफलता, वा पतन सामना गर्नुपरे पनि तँ नकारात्मक हुनु हुँदैन। तँलाई परमेश्वरले कस्ता खालका मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनेर थाहा हुनुपर्छ। यसबाहेक, यदि तँ अझै पनि परमेश्वरबाट मुक्ति पाउन योग्य छैनस् भन्ने महसुस गर्छस् भने, वा यदि तँ कहिलेकाहीँ परमेश्वरले घृणा गर्ने वा उहाँ असन्तुष्ट हुने स्थितिमा हुन्छस् भने, वा तैँले एक समयमा निकै खराब व्यवहार गरेको थिइस्, र परमेश्वरले तँलाई तिरस्कार गर्नुभएको थियो भने, केही फरक पर्दैन। अब तँलाई थाहा छ, र धेरै ढिलो भएको छैन। जबसम्म तँ पश्चात्ताप गर्छस्, तबसम्म परमेश्वरले तँलाई अवसर दिनुहुनेछ।
परमेश्वरमा विश्वास गर्दा सबैभन्दा महत्त्वपूर्ण कुरा के हुन्छ? (सत्यता बुझ्नु र जीवन प्रवेश गर्नु।) त्यो सही हो, जीवन प्रवेश गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो—यो सुरुमा आउँछ। तैँले जुनसुकै कर्तव्य पूरा गरे पनि, तेरो उमेर जतिसुकै भए पनि, तैँले परमेश्वरमा जति लामो समयदेखि विश्वास गरेको भए पनि, र तैँले जति सत्यता बुझे पनि, जीवन प्रवेश गर्नु सबैभन्दा पहिला आउँछ। तँ “केही मानिसहरूले बीस वर्षदेखि परमेश्वरमा विश्वास गरेका छन्, तर मैले पाँच वर्षदेखि मात्र विश्वास गरेको छु। म तिनीहरूभन्दा निकै पछाडि छु। के मैले मुक्ति पाउने आशा अझै छ? कतै म धेरै पछाडि पो छु कि?” भनेर नसोच्। केही वर्ष ढिलोदेखि विश्वास गर्नु ठूलो समस्या होइन। यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् भने, तैँले अझै पनि पहिला परमेश्वरमा विश्वास गर्नेहरूलाई भेट्टाउन सक्छस्। के बाइबलले, “तर धेरै जो पहिलो छन् ती अन्तिम हुनेछन्; र अन्तिमचाहिँ पहिलो हुनेछ” (मत्ती १९:३०) भन्दैन र? यदि व्यक्तिले सधैँ सत्यता नपछ्याउन कारण र बहानाहरू खोजिरहन्छ भने, उसले आफ्नो जीवनभर विश्वास गरे पनि, व्यर्थ हुनेछ, र उसले केही पनि प्राप्त गर्नेछैन। परमेश्वरको घरमा, धेरै मानिसहरू छन् जसले बीस वा तीस वर्षसम्म परमेश्वरमा विश्वास गरे, तर मापदण्डअनुसार आफ्नो कर्तव्य पूरा गरेनन्, र तिनीहरू हटाइए। यस्ता धेरै मानिसहरू छन् जो सधैँ प्रसिद्धि, लाभ र हैसियत पछ्याउँछन्, र झूटा अगुवा र ख्रीष्टविरोधी बन्छन्, र हटाइन्छन्। जिद्दी भई सत्यता स्विकार्न नमान्ने अविश्वासीहरू पनि धेरै छन् र तिनीहरू सबैलाई हटाइएको छ। यो साँचो हो नि? (हो।) यसबाहेक, केही मानिसहरू यस्ता पनि छन्, जो केवल तीनदेखि पाँच वर्षसम्म विश्वास गरेपछि नै आफ्नो अनुभवात्मक गवाहीहरूबारे बोल्न सक्छन्। तिनीहरूको गवाही र विश्वासले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्नेहरूलाई निकै उछिनेर जान्छ। यी मानिसहरूले परमेश्वरको आशिष् पाएका हुन्छन्। धेरै वर्षसम्म परमेश्वरमा विश्वास गर्ने यस्ता धेरै मानिसहरू छन्, जसले सत्यता पटक्कै पछ्याएनन् र तिनीहरूलाई हटाइयो। यसले मानिसहरूको लागि एउटा तथ्य स्पष्ट पार्छ: परमेश्वर सबैका लागि धर्मी र निष्पक्ष हुनुहुन्छ। परमेश्वर तँ पहिला कस्तो थिइस् वा तेरो हालको कद कस्तो छ त्यो हेर्नुहुन्न; उहाँ तँ सत्यता पछ्याउँछस् कि पछ्याउँदैनस् र सत्यता पछ्याउने मार्गमा हिँड्छस् कि हिँड्दैनस् भनेर हेर्नुहुन्छ। तैँले कहिल्यै पनि परमेश्वरलाई गलत बुझेर यस्तो भन्नु हुँदैन, “परमेश्वरबाट मुक्ति पाउन सक्नेहरूले किन अझै पनि झुट बोल्न र भ्रष्टता प्रकट गर्न सक्छन्? परमेश्वरले झुट नबोल्नेहरूलाई मुक्ति दिनुपर्छ।” के यो भ्रम होइन र? के भ्रष्ट मानवजातिमध्ये नढाँट्ने कोही छ र? के झुट नबोल्ने मानिसहरूलाई अझै पनि परमेश्वरको मुक्तिको खाँचो पर्छ र? मानवजाति, जो शैतानद्वारा भ्रष्ट तुल्याइएको छ, त्यही मानवजातिलाई परमेश्वरले मुक्ति दिनुहुन्छ। यदि तँ यो तथ्य स्पष्टसँग देख्नसमेत सक्दैनस् भने, तँ अत्यन्तै अज्ञानी र मूर्ख होस्। परमेश्वरले भन्नुभएजस्तै, “यस पृथ्वीमा कोही पनि धर्मी छैन, धर्मीहरू यस संसारमा छैनन्।” मानवजाति शैतानद्वारा भ्रष्ट तुल्याइएकोले गर्दा नै, यी भ्रष्ट मानिसहरूलाई मुक्ति दिन परमेश्वर पृथ्वीमा देहधारी हुनुभयो। परमेश्वरले स्वर्गदूतहरूलाई मुक्ति दिनेबारेमा किन केही बोल्नुहुन्न? किनभने स्वर्गदूतहरू स्वर्गमा छन्, र शैतानद्वारा भ्रष्ट तुल्याइएका छैनन्। परमेश्वरले सँधै सुरुदेखि नै के भन्नुभएको छ भने “मैले मुक्ति दिने मानवजाति भनेको शैतानद्वारा भ्रष्ट तुल्याइएको मानवजाति, शैतानको हातबाट फिर्ता लिइएको मानवजाति, शैतानको भ्रष्ट स्वभाव भएको मानवजाति, मप्रति शत्रुवत् हुने, मेरो प्रतिरोध गर्ने र मविरुद्ध विद्रोह गर्ने मानवजाति हो।” अनि, मानिसहरूले किन यो तथ्य स्विकार्दैनन्? के तिनीहरूले परमेश्वरलाई गलत बुझ्दैनन् र? परमेश्वरलाई गलत बुझ्नु नै उहाँको प्रतिरोध गराउने सबैभन्दा सम्भावित कुरा हो, किनभने परमेश्वरलाई गलत बुझ्नु भनेको समस्याको जड परमेश्वरमाथि थोपर्नु र आफ्नै भ्रमपूर्ण सोच्ने तरिकाका आधारमा उहाँलाई औँला ठहऱ्याउनु हो; यो अत्यन्तै गम्भीर समस्या हो। परमेश्वरलाई गलत बुझ्ने मानिसहरूले उहाँलाई बुझ्न नसक्ने मात्र होइन, तर परमेश्वरलाई गलत ठहराउन र दोषी ठहराउन पनि सक्छन् अनि तिनीहरू आफ्नो हृदयमा परमेश्वरसँग द्वन्द्व गर्छन्; यसले तिनीहरूलाई परमेश्वरको प्रतिरोध गर्ने कामकुराहरू गर्न अत्यन्तै सजिलो बनाउँछ। त्यसैले, परमेश्वरलाई गलत बुझ्नु अत्यन्तै खतरनाक छ र यो मानिसहरूले तुरुन्तै सत्यता खोजेर समाधान गर्नुपर्ने कुरा हो। यदि तिनीहरूले यसलाई समाधान गरेनन् भने, परमेश्वरको प्रतिरोध गर्ने कामकुराहरू गर्न सक्नेछन् र तिनीहरू परमेश्वरद्वारा तिरस्कृत हुने र दोषीसमेत ठहराइने सम्भावना हुन्छ। यदि तिनीहरूले पश्चात्ताप गर्न सकेनन् भने, तिनीहरू परमेश्वरद्वारा हटाइनेछन् र तिनीहरूले मुक्ति प्राप्त गर्ने आफ्नो अवसर गुमाउनेछन्। मानिसहरूका गलत बुझाइहरू सबै तिनीहरूका धारणा र कल्पनाहरूको परिणामस्वरूप विकास हुन्छन्। यदि तिनीहरू सधैँ आफ्ना धारणा र कल्पनाहरूमै टाँसिइरहन्छन् भने, तिनीहरूले सत्यता स्विकार्न नमान्ने सम्भावना सबैभन्दा बढी हुन्छ। परमेश्वरलाई गलत बुझ्दा, यदि तिमीहरू समाधान पाउन सत्यता खोज्दैनौ भने, तिमीहरूलाई परिणामहरू थाहै छ। परमेश्वरले तँलाई ठोकर खान, असफल हुन र गल्तीहरू गर्न दिनुहुन्छ। परमेश्वरले तँलाई सत्यता बुझ्न, सत्यता अभ्यास गर्न, उहाँका अभिप्रायहरू क्रमिक रूपमा बुझ्दै जान, उहाँका अभिप्रायहरूअनुसार सबै काम गर्न, र यसरी परमेश्वरप्रति साँचो समर्पण हासिल गर्न र परमेश्वरले मानिसहरूमा भएको माग गर्ने सत्यता वास्तविकता हासिल गर्न असवरहरू र समय दिनुहुनेछ। तर परमेश्वरले सबैभन्दा बढी घृणा गर्नुहुने व्यक्ति को हो? यो त्यो व्यक्ति हो जसले आफ्नो हृदयमा सत्यता थाहा पाए पनि, त्यो स्वीकार गर्न मान्दैन, झन् त्यसलाई अभ्यास गर्नु त परै जाओस्। बरु, ऊ अझै पनि शैतानका दर्शनहरूअनुसार जिउँछ र अरूलाई बहकाउन र परमेश्वरको घरमा हैसियत प्राप्त गर्न पनि खोज्दै आफूलाई निकै असल र परमेश्वरप्रति समर्पित ठान्छ। परमेश्वर यस प्रकारको व्यक्तिलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ, ऊ ख्रीष्टविरोधी हो। सबैसँग भ्रष्ट स्वभावहरू हुने भए तापनि, यी कार्यहरू फरक-फरक प्रकृतिका हुन्छन्—ती भ्रष्ट स्वभावका सामान्य प्रकटीकरणहरू होइनन्। तँ पूर्ण सचेतताका साथ अन्त्यसम्मै जिद्दी भई परमेश्वरको अवज्ञा गर्छस्। तँलाई परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने थाहा छ, तँ परमेश्वरमा विश्वास गर्छस् र तँलाई मानिसबाट परमेश्वरले गर्ने मागहरू के हुन् भन्ने थाहा छ तैपनि तँ ती स्वीकार गर्दैनस्; तँ जानाजानी उहाँको अवज्ञासमेत गर्छस्। यो परमेश्वरबारे धारणाहरू हुनु र उहाँलाई गलत बुझ्नुको समस्या होइन; बरु तँ जानाजानी अन्त्यसम्मै परमेश्वरको अवज्ञा गर्छस्। के परमेश्वरले यस्तो व्यक्तिलाई मुक्ति दिन सक्नुहुन्छ र? परमेश्वर तँलाई मुक्ति दिनुहुन्न। तँ परमेश्वरप्रति शत्रुवत् छस्, त्यसकारण तँ दियाबलस र शैतान होस्। के परमेश्वर अझै पनि दियाबलसहरू र शैतानहरूलाई मुक्ति दिनुहुन्छ र?
तिमीहरूलाई मेरो आजको सङ्गति कस्तो लाग्यो? के तिमीहरूले यो सङ्गति बुझ्यौ? (हजुर, हामीले बुझ्यौँ।) यदि तिमीहरूले केही बुझ्छौ भने, केही प्राप्त गर्नेछौ, र सत्यतामा केही प्रवेश गर्नेछौ। अनि, तँ सत्यतामा प्रवेश गर्छस् भने, तेरो जीवन वृद्धि हुनेछ, तर यदि सत्यतामा प्रवेश गर्दैनस् भने, तेरो जीवन वृद्धि हुनेछैन। यो एउटा टुसाइरहेको बीउजस्तै हो, जसलाई पानी हाल्नुपर्छ, मल हाल्नुपर्छ र घामको किरणको सम्पर्कमा राख्नुपर्छ। यदि तँ त्यसलाई सावधानीपूर्वक मलजल गर्दैनस् भने, यो बढ्न सक्नेछैन र अन्ततः ओइलाउनेछ र मर्नेछ। मैले यसो भन्नुको अर्थ के हो? त्यो के हो भने, परमेश्वरलाई चिन्न र उहाँको राज्यमा प्रवेश गर्न योग्य हुनका लागि परमेश्वरको देहधारणलाई मौखिक रूपमा स्विकार्नु र आफ्नो हृदयमा विश्वास गर्नु मात्र पर्याप्त हुँदैन। यो निश्चित हुँदैन; यो त प्राथमिक चरण मात्र हो। तैँले अझै पनि मुक्ति प्राप्त गरेको हुँदैनस्, तँ रूपान्तरित भएको हुँदैनस्, र तैँले अझै धेरै लामो यात्रा गर्नुपर्ने हुन्छ। आखिरी दिनहरूमा, परमेश्वरले मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ। जब तँ परमेश्वरमा विश्वास गर्ने मार्गमा लाग्छस्, तँसँग सुरुदेखि नै परमेश्वरबाट मुक्ति पाउने अवसर हुन्छ। यो ठूलो आशिष् हो! यसलाई त्याग्न मिल्दैन। आखिरी दिनहरूमा परमेश्वरले मानिसहारूलाई मुक्ति दिनु र सिद्ध पार्नु अत्यन्तै दुर्लभ अवसर हो। मानवजातिले हजारौँ पुस्ता जिएको छ, तर यसअघि कसैलाई पनि यस्तो अवसर मिलेको थिएन। मुक्ति पाउनु ठूलो कुरा हो; तैँले यो अवसर गुमाउनै हुँदैन। तिमीहरूको पुस्ताले परमेश्वरको देहलाई भेटेको छ; यो एक आशिष् हो! यो आशिष् बाह्य संसारका मानिसहरूका लागि अदृश्य हुन्छ, तर तिमीहरूले यसलाई देखेका र यसको आनन्द लिएका छौ, र यही नै परमेश्वरको आशिष् हो। सायद केही मानिसहरू दर्शनहरूबारे अझै पनि अस्पष्ट नै छन्; तिनीहरू केही धर्मसिद्धान्तहरू मात्र बुझ्छन्, तर तिनीहरूसँग साँचो विश्वास छैन। तिनीहरूलाई परमेश्वरमा विश्वास गर्नु निकै राम्रो कुरा हो भन्ने लाग्छ, र परमेश्वरका वचनहरू पढ्दा तिनीहरूको हृदय अत्यन्तै उज्यालो हुन्छ, त्यसैले तिनीहरू यो जीवनको सही मार्ग हो भनेर विश्वास गर्छन् र तिनीहरूको हृदयमा शक्ति छ। तिनीहरू गैरविश्वासीहरूको विनाशको मार्ग र धार्मिक मानिसहरूको परमेश्वरको प्रतिरोध गर्ने मार्ग नपछ्याउन कटिबद्ध छन्। तिनीहरू केवल परमेश्वरको पछि लाग्न, सत्यता पछ्याउन, शुद्धिकरण प्राप्त गर्न, मुक्ति हासिल गर्न र केवल परमेश्वरको पछि लाग्ने मार्ग हिँड्न कटिबद्ध छन्। यस्तो सङ्कल्प हुनु मानिसहरूका लागि राम्रो हो, र यसको मतलब त्यहाँ आशा छ। परमेश्वरको पछि लागेसँगै परमेश्वरको सुरक्षा आउँछ। कम्तीमा पनि, अहिले यो जीवनमा तिनीहरू खुसी हुनेछन्। तिनीहरूलाई शैतान, समाज वा मानवजातिले अबउप्रान्त हानि पुऱ्याउनेछैन, र तिनीहरू पूर्णतया र साँचो रूपमा परमेश्वरको प्रभुत्वमुनि जिउनेछन्। यो सम्मानको कुरा हो; यो यही जीवनकालमा महसुस गर्न सकिने खुसी हो। अब, आउने संसारबारे चाहिँ के नि? परमेश्वरले एउटा प्रतिज्ञा गर्नुभएको छ। उहाँले तँलाई मुक्ति दिनु अनि सत्यता र जीवन प्रदान गर्नुबाहेक, तँलाई एउटा प्रतिज्ञा पनि गर्नुभएको छ: तैँले यो जीवनमा सय गुणा र आउँदो संसारमा अनन्त जीवन प्राप्त गर्नेछस्। त्यसैले यो मामलालाई कम नठान्। तैँले सत्यता र मुक्ति प्राप्त गर्न चुकाउने मूल्य र भोग्ने कष्टहरू अस्थायी हुन्। भविष्यमा, जब मानिसहरूले सत्यता बुझ्छन् र सत्यता प्राप्त गर्छन्, तिनीहरूले उपभोग गर्ने खुसी, आनन्द र आशिष् अवर्णनीय हुन सक्छ। यसको मतलब, जब तैँले सत्यता बुझ्छस् र प्राप्त गर्छस्, तब मात्र तँ परमेश्वरको प्रतिज्ञा प्राप्त गर्न योग्य हुनेछस्। परमेश्वरले प्रचुर रूपमा तँलाई सबै सत्यता र जीवनको आपूर्ति दिनुहुन्छ, र परमेश्वरले तँलाई मुक्ति दिन सक्नुहुन्छ—यो सब साँचो हो। तर तैँले अन्ततः सत्यता र जीवन प्राप्त गर्छस् कि गर्दैनस् भन्ने कुरा तँ सत्यता पछ्याउने मार्ग रोज्छस् कि रोज्दैनस् भन्ने कुरामा भर पर्छ। के यो छनौट गर्ने निर्णय तेरो आफ्नै हातमा छैन र? (छ।) अर्को शब्दमा, तैँले सत्यता र जीवन प्राप्त गर्न सक्छस् कि सक्दैनस्, तँ परमेश्वरको प्रतिज्ञा प्राप्त गर्न योग्य छस् कि छैनस्, र तैँले यो आशिष्, अर्थात् “यो जीवनमा सय गुणा र आउँदो जीवनमा अनन्त जीवन” पाउने यो आशिष् पाउन सक्छस् कि सक्दैनस्, यो तेरै हातमा हुने अवसर हो। अरू कसैले तँलाई प्रभाव पार्न, मद्दत गर्न, वा नियन्त्रित गर्न सक्दैन। तँसँग यो अधिकार हुन्छ; परमेश्वरले तँलाई पहिल्यै यो प्रदान गरिसक्नुभएको छ। यो अन्ततः तँ सत्यता पछ्याउने मार्ग हिँड्न रोज्छस् कि रोज्दैनस् भन्ने कुरामा भर पर्छ। सबैभन्दा महत्वपूर्ण कुरा यही हो।
नोभेम्बर ९, २०१६