परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू

मानिसहरूको भ्रष्ट स्वभावमा एउटा साझा समस्या छ, एउटा यस्तो साझा समस्या जुन हरेक व्यक्तिको मानवतामा विद्यमान रहन्छ, र यो सबैभन्दा गम्भीर समस्या हो। यो साझा समस्या तिनीहरूको मानवताको सबैभन्दा कमजोर, सबैभन्दा घातक भाग हो, र तिनीहरूको प्रकृति सारमा, यो खुलासा वा परिवर्तन गर्नलाई सबैभन्दा गाह्रो कुरा हो। यो समस्या के हो त? यो मानिसहरू सधैँ असाधारण, अलौकिक, र सिद्ध मान्छे बन्न चाहने समस्या हो। मानिसहरू आफै सृष्टि गरिएका प्राणीहरू हुन्। के सृष्टि गरिएका प्राणीहरूले सर्वशक्तिमान्‌ता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, सबै कुरा देख्‍न, र सबै कुराको लागि सक्षम हुन सक्छन्? तिनीहरूले सक्दैनन्। तैपनि, मानिसहरूभित्र भ्रष्ट स्वभावहरू र घातक कमजोरी हुन्छन्। तिनीहरूले कुनै सीप वा पेसा सिक्ने बित्तिकै तिनीहरूले आफू सक्षम छन्, तिनीहरू हैसियत र महत्त्व भएका मानिसहरू हुन्, र तिनीहरू पेसेवारहरू हुन् भन्ने विचार गर्छन्। तिनीहरू जति नै “साधारण” भए पनि, तिनीहरू सबै आफूलाई महत्त्वपूर्ण वा असाधारण व्यक्तिको भेषमा प्रस्तुत गर्न चाहन्छन्, आफूलाई सानोतिनो सेलिब्रेटी नै बनाउन चाहन्छन्, र मानिसहरूको नजरमा एउटै पनि खोट नभएको सिद्ध र दोषरहित देखिन चाहन्छन्; तिनीहरू प्रसिद्ध, शक्तिशाली वा कुनै महान् व्यक्ति, र जुनसुकै कार्य गर्न सक्षम र गर्न नसक्‍ने कुनै कुरा नभएको पराक्रमी व्यक्ति बन्‍न चाहन्छन्। यदि तिनीहरूले अरूको सहायता खोजे भने, तिनीहरू असक्षम, कमजोर, र महत्त्वहीन देखिन्छन्, र मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्नेछन् भन्‍ने तिनीहरू विचार गर्छन्। यसकारण, तिनीहरू सधैँ अगाडि रहन चाहन्छन्। कतिपय मानिसहरूलाई जब कुनै काम गर्न लगाइन्छ, तब उनीहरूले त्यो कसरी गर्नुपर्छ सो जान्दछौं भनी भन्छन्, तर वास्तवमा तिनीहरूले त्यो जानेका हुँदैनन्। पछि, गुप्त रूपमा उनीहरू त्यसको बारेमा खोजी गर्छन् र त्यो कसरी गर्ने भनी सिक्‍ने कोसिस गर्छन्, तर धेरै दिनसम्म अध्ययन गरेपछि पनि तिनीहरूले अझै त्यसलाई कसरी गर्ने भनेर बुझ्दैनन्। जब तिनीहरूले त्यो कसरी गर्दै छन् भनी सोधिन्छ, तिनीहरू भन्छन्, “चाँडै भइहाल्छ!” तर हृदयमा, तिनीहरूले यस्तो सोचिरहेका हुन्छन्, “म अहिलेसम्‍म त्यो स्तरमा पुगेको छैन, मैले केही बुझेको छैन, के गर्ने मलाई थाहा छैन! मैले मेरो भित्री कुरा फुत्काउनु हुँदैन, मैले मुखौटा ओढ्न जारी राख्‍नुपर्छ, मैले मानिसहरूलाई मेरा कमीकमजोरी र अज्ञानता देखाउनु हुँदैन, मैले तिनीहरूलाई मलाई हेप्‍न दिनु हुँदैन!” यो कस्तो समस्या हो? यो जसरी भए पनि आफ्‍नो इज्‍जत बचाउने प्रयास गर्दै नारकीय जीवन जिउनुसरह हो। यो कस्तो किसिमको स्वभाव हो? त्यस्ता मानिसहरूको अहङ्कारको कुनै सीमा हुँदैन, तिनीहरूले सबै समझ गुमाइसकेका हुन्छन्। तिनीहरूलाई जोकोहीजस्तो बन्‍न मन लाग्दैन, तिनीहरू मामुली, सामान्य मानिसहरू बन्‍न चाहँदैनन्, बरु महामानव, असाधारण व्यक्ति, वा चर्चाको विषय बन्‍न चाहन्छन्। यो निकै ठूलो समस्या हो! सामान्य मानवताभित्रका कमजोरीहरू, कमीहरू, अज्ञानता, मूर्खता, र समझको कमीको सम्बन्धमा भन्दा, तिनीहरूले ती सबै कुरा पोको पार्छन्, र अरू मानिसहरूलाई त्यो देख्न दिँदैनन्, र त्यसपछि आफैलाई लुकाइरहने गर्छन्। कतिपय मानिसहरू त कुनै पनि कुराको समझ नभएका हुन्छन्, तैपनि तिनीहरूले हृदयमा बुझेको छु भनेर दाबी गर्छन्। जब तैँले तिनीहरूलाई त्यो कुरा व्याख्या गर्न लगाउँछस्, तिनीहरूले व्याख्या गर्न सक्दैनन्। अरू कसैले त्यसको बारेमा व्याख्या गरेपछि मात्र तिनीहरूले त्यही कुरा भन्न लागेका, तर समयमा भन्न नसकेका दाबी गर्छन्। तिनीहरूले आफूलाई लुकाउन र राम्रो देखाउनका लागि गर्न सक्‍ने सबै कुरा गर्छन्। तिमीहरू के भन्छौ, के त्यस्ता मानिसहरू यथार्थबाहिर गएर बाँचिरहेका हुँदैनन् र? के तिनीहरूले दिवासपना देखिरहेका हुँदैनन्? तिनीहरूले आफू को हुन् भनेर आफै चिन्दैनन्, न त तिनीहरूले सामान्य मानवतामा कसरी जिउने भनेर नै जान्दछन्। तिनीहरूले कहिल्यै पनि व्यावहारिक मानिसले जस्तो व्यवहार गरेका हुँदैनन्। यदि तँ सधैँ यथार्थबाहिर गई, लटरपटर गर्दै, कुनै पनि काम व्यावहारिकताअनुसार नगरेर अनि सधैँ कल्पनामा जिएर दिन बिताउँछस् भने, त्यो समस्याजनक कुरा हो। तैँले जीवनमा चुनेको मार्ग सही हुँदैन। यदि तैँले यसो गरिस् भने, तैँले परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि तैँले सत्यता बुझ्नेछैनस्, न त सत्यता प्राप्त गर्न नै सक्नेछस्। इमानदारीसाथ भन्दा, तेरो सुरुआती बिन्दु नै गलत छ, त्यसैले तैँले सत्यता प्राप्त गर्न सक्दैनस्। तैँले जमिनमा कसरी हिँड्ने, र एक पल्टमा एक कदम गर्दै कसरी स्थिर भएर हिँड्ने सो सिक्नुपर्छ। यदि तँ हिँड्न सक्छस् भने हिँड्; कसरी दगुर्नुपर्छ त्यो सिक्ने कोसिस नगर। यदि तँ एक पटकमा एक कदम हिँड्न सक्छस् भने, एक पटकमा दुई कदम हिँड्ने कोसिस नगर। तैँले आफ्नो खुट्टा जमिनमा दह्रो टेकेर व्यवहार गर्नुपर्छ। तैँले महामानव, महान् वा उच्च हुने कोसिस नगर्। मानिसहरू, आफ्नो शैतानी स्वभावको प्रभुत्वमा परेर, आफूभित्र केही महत्त्वाकाङ्क्षा र इच्छाहरू पाल्छन्, जुन तिनीहरूको हृदयभित्र लुकेको हुन्छ। तिनीहरू जमिनमा खुट्टा टेकेर जिउन चाहँदैनन्, सधैँ हावामा उड्न, बादल र कुहिरोमाझ जिउन चाहन्छन्। के तिनीहरू सपना देखिरहेका छैनन् र? के मान्छेको बसोबास मध्य-हावामा हुन्छ र? त्यो त शैतानको राज्यक्षेत्र हो, त्यो मानिसहरू जिउने स्थान होइन। परमेश्‍वरले मानिसलाई पृथ्वीको धुलोबाट सृष्टि गर्नुभयो; उहाँले तिनीहरूलाई जमिनमा, सामान्य रूपमा र नियमहरूसाथ जिउन लगाउनुहुन्छ, र तिनीहरूलाई कसरी व्यवहार गर्ने, कसरी कार्य गर्ने, कसरी जिउने अनि कसरी उहाँको आराधना गर्ने भन्‍नेबारे साधारण ज्ञान सिक्‍न लगाउनुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई पखेटा दिनुभएन, र उहाँले तिनीहरूलाई हावामा जिउन दिनुहुन्न। हावामा घुमफिर गर्नेहरू शैतान र हरप्रकारका दुष्टात्माहरू हुन्, मानिसहरू होइनन्। यदि मानिसहरू सधैँ यस्तो महत्त्वाकाङ्क्षा राख्छन् भने, सधैँ अलौकिक बन्न र अरू केहीमा परिणत हुन चाहन्छन् भने, तिनीहरूले समस्या निम्त्याउँदै छन्। पूर्ण आसक्तिमा पर्नु धेरै सजिलो छ! सुरुमा त, तेरो यो सोच र विचार नै गलत छ। यो शैतानबाट आउँछ, वास्तविकताभन्दा पूर्ण फरक छ, परमेश्‍वरको मापदण्डअनुरूप छँदै छैन, र परमेश्‍वरका वचनहरूभन्दा पूरै बाहिर छ। त्यसोभए यो विचार के हो त? यो जहिले पनि अश्‍लीलताबाट मुक्त रहन, उत्कृष्ट, मित्ररहित, सर्वश्रेष्ठ, अद्वितीय, प्रसिद्ध र महान हुन, र मानिसहरूको हृदयमा आराध्य बन्न चाहनु हो—के व्यक्तिले पछ्याउनुपर्ने लक्ष्यहरू यिनै हुन् त? बिल्कुलै होइनन्। परमेश्‍वरका पुरै वचनहरूमा, मानिसहरूलाई महामानव, पहलवान, प्रसिद्ध वा महान व्यक्ति बन्न लागिपर्नु भन्ने एउटा पनि वचन छैन। मानिसहरूले कल्पने यी कुनै पनि कुराहरू वास्तविक होइनन्, यी कुनै पनि अस्तित्वमा छैनन्। यी कुराहरू पछ्याउनु भनेको तैँले आफ्नै चिहान खन्नु हो—तैँले यी कुराहरूलाई जति पछ्याउँछस्, त्यति नै छिटो तँ मर्छस्। यो विनाशको बाटो हो।

परमेश्‍वरले कैयौँ वचनहरू बोल्नुभएको छ, त्यसैले मानिसहरूको व्यवहार कस्तो हुनुपर्छ भन्‍नेबारे उहाँको मापदण्ड के हो, के तँलाई थाहा छ? (उहाँ तिनीहरू अन्तर्विवेकसाथ व्यवहार गरून् भन्ने चाहनुहुन्छ।) (उहाँ तिनीहरू आफैलाई असल व्यवहार गर्दै, पाउ जमिनमै राखेर, लगनसाथ र अनावश्यक ध्यानाकर्षित नगरी कार्य गरून् भन्ने चाहनुहुन्छ।) यी केही शब्दहरू सरल त छन्, तर धेरै मानिसहरू यति पनि हासिल गर्न सक्षम हुँदैनन्; इमानदार मानिसहरू मात्र सक्षम हुन्छन्। वास्तवमा, तिमीहरूले यसलाई जसरी व्यक्त गरे पनि, सङ्क्षेपमा भन्नुपर्दा, परमेश्‍वरले मानिसहरूलाई इमानदार हुन लगाउनुहुन्छ। इमानदारहरू मात्र अन्तर्विवेकसाथ व्यवहार गर्न, कार्य गर्दा पाउ जमिनमै राख्न, अनावश्यक ध्यानाकर्षित नगर्न, र लगनशील हुन सक्षम हुन्छन्, त्यसैले इमानदार व्यक्ति बन्‍नु सही कुरा हो, र परमेश्‍वर इमानदार मानिसहरू मन पराउनुहुन्छ। परमेश्‍वर छली मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। अन्तर्विवेकसाथ व्यवहार नगर्ने, र काम गर्दा पाउ जमिनमै नराख्नेहरू छली हुन्छन्। के यो कुरा यसरी बताउँदा तिमीहरूले बुझ्छौ? त्यसोभए मलाई फेरि भन त, इमानदार मानिस बन्‍ने मापदण्डबाहेक, परमेश्‍वरसित मानिसहरूको लागि अरू के-के मापदण्ड छन्? (तिनीहरूले आफैलाई विनम्र बनाउनुपर्छ।) तिमीहरू “विनम्र” भन्छौ, तर के यो शब्द मानिसहरूलाई वर्णन गर्न प्रयोग गर्नु उचित हुन्छ? (अनुचित हुन्छ।) यो किन अनुचित हुन्छ? शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिको सुरुमा कुनै हैसियत थिएन; तिनीहरू सुरुमा कीराहरू भन्दा तुच्छ थिए, त्यसैले तिनीहरू अझ कति नम्रसित झुक्‍न सक्छन् र? यदि तिनीहरूले आफूलाई अझ झुकाए भने, तिनीहरू के बन्नेछन्? के तिनीहरू दियाबलस वा पशु बन्नेछैनन् र? मान्छे परमेश्‍वरद्वारा सृष्टि गरिएको थियो, र परमेश्‍वरले सृष्टि गर्नुभएको सबैमा मानव प्रवृत्ति हुन्छ। सबै मानिसहरू तिनीहरूसँग हुनुपर्ने कुराहरू हासिल गर्न सक्षम हुन्छन्, र ती सबै तिनीहरूको सामान्य व्यवहार र प्रकटीकरणका भाग हुन्। हामी पहिला खुसी, क्रोध, शोक र आनन्दजस्ता मानिसहरूमा भएका केही भावनाहरूबारे कुरा गरौँ। कोही शोकाकुल वा दुःखी हुँदा, सबैभन्दा सामान्य प्रकटीकरण रुनु हो। यो सामान्य मानवताको एक प्राकृतिक प्रकटीकरण हो। तिमीहरू शोकाकुल वा पीडामा हुँदा, रुन र आँसु बगाउन सक्छौ। ढोंग नगर। कतिपय मानिसहरू भन्छन्: “म रोइनँ, म एक बलियो मर्द हुँ, र मर्द सजिलै आँसु झार्दैनन्!” अरू मानिसहरू भन्छन्: “म महिला भए पनि, दृढ छु। म पुरुषजस्तै बलियो हुनुपर्छ। म कमजोर महिला होइन, हिरोइन हुनेछु।” के यस्तो खाले सोच सही हो? यो कस्तो मानवता हो? यो ढोंग हो; यो सत्य होइन। ढोंग गरिएको कुरा सामान्य मानवताको प्रकटीकरण होइन। यो त अरूलाई देखाइने झूटो रूप हो, सामान्य मानवतालाई पूरै बङ्ग्याइएको अवस्था हो। त्यसकारण, मानिसहरूलाई कुनै शोक वा चिन्ता गर्नुपर्ने कुरा आइपर्दा, जब तिनीहरूले सुस्केरा हाल्छन्, वा जब तिनीहरूको अभिव्यक्ति तुलनात्मक रूपमा गम्भीर हुन्छ, वा जब तिनीहरूले खान चाहँदैनन्, यी सबै कुराहरू सामान्य मानवताका प्रकटीकरण हुन्, जसलाई कसैले ढाकछोप गर्न सक्दैन। कसैले केही राम्रो कुरा सामना गर्दा, ऊ मुस्कुराउँछ, र यो पनि एक सामान्य प्रकटीकरण हो। कतिपय मानिसहरू खुसी हुँदा ठूलो स्वरले हाँस्ने आँट गर्दैनन्। तिनीहरू सधैँ आफ्नो मुस्कान लुकाउन आफ्नो मुख छोप्छन्, सधैँ मानिसहरूले मजाक उडाउलान् भनेर डराउँछन्। के यो सामान्य हो? (यो सामान्य होइन।) यो पनि ढोंग हो। तिनीहरू महिलाहरूले धेरै मानिसहरूसामु सार्वजनिक रूपमा हाँस्नु हुँदैन, र विशेष गरी आफ्नो दाँत देखाउनु हुँदैन, अन्यथा मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्नेछन् वा घृणा गर्नेछन्, त्यसैले तिनीहरूले आफूलाई संयमित राख्‍नुपर्छ, र तिनीहरू लापरवाह हुन मिल्दैन भन्ने सोच्छन्। यो परम्परागत चिनियाँ सांस्कृतिक शिक्षाको परिणाम हो। कुनै व्यक्तिको सुख, क्रोध, शोक र आनन्द असामान्य हुँदा, अरूले उसको सामान्य मानवताको प्रकटीकरण वा आवश्यकताहरू देख्न सक्दैनन्। के यस्तो मानिस सामान्य हुन्छ? (ऊ सामान्य हुँदैनन्।) के तिनीहरूको विचारमा कुनै कुरा हाबी हुँदैन र? मानिसहरू शैतानद्वारा अत्यन्तै गहिरो रूपमा भ्रष्ट तुल्याइएका छन्। कुरा त्यही नै हो। तिनीहरू मानिसहरूजस्ता नभई दुष्टहरूजस्ता हुन्छन्। यो शैतानी स्वभाव हाबी हुनेहरूको रूप हो। तिनीहरू अत्यन्तै झूटा हुन्छन्, र धेरै ढोंग गर्छन्। किन होला, वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू पनि परिवर्तित भएकै हुँदैनन्? एउटा कुरा त, मानिसहरूसँग सामान्य व्यक्ति बन्ने मार्ग, सिद्धान्त, दिशा र लक्ष्यबारे सही ज्ञान वा स्पष्ट दृष्टिकोण नै हुँदैन, न त तिनीहरूसँग सत्यता पछ्याउने मार्गको स्पष्ट दृष्टिकोण नै हुन्छ। अर्को कुरा, यस्तो व्यक्ति अज्ञानी हुन्छ। ऊ चालीस वा पचास वर्षको उमेरसम्म जिए पनि, इमानदार व्यक्ति कसरी बन्ने, वा सामान्य मानवतामा जिउन उसले कुन मापदण्डहरू पूरा गर्नुपर्छ भन्नेबारे केही पनि जान्दैन। यस्तो किन हुन्छ भने परम्परागत संस्कृतिले मानिसहरूको हृदयमा निकै गहिरो गरी जरा गाडेको छ, र तिनीहरू सधैँ आफैले कल्पना गरेझैँ आफू पवित्र, महान् भएको ढोंग गर्न चाहन्छन्, जसले गर्दा तिनीहरू विभिन्‍न कुराहरूलाई पूर्वाग्रही, हास्यास्पद र अनौठो तरिकामा बुझ्ने गर्छन्। के तिमीहरूमाझ यस्ता मानिसहरू छन्? कतिपय मानिसहरूले अरूसामु आफ्नो हृदय कहिल्यै खोलेका हुँदैनन्, न त तिनीहरूलाई आफ्नो भित्री विचारहरूबारे कसरी कुरा गर्ने भन्ने नै थाहा हुन्छ। तिनीहरू कुनै कठिनाइ नभएका जस्ता देखिन्छन्, मानौँ तिनीहरू कहिल्यै नकारात्मक वा कमजोर नै भएका छैनन् र तिनीहरूलाई जीवन प्रवेशमा कहिल्यै कुनै कठिनाइ नै भएको छैन। लाग्छ, तिनीहरूले केही खोजी गर्नै पर्दैन, न त अरूसँग सङ्गति नै गर्नुपर्छ, न त तिनीहरूलाई अरू कसैको सङ्गति, भरणपोषण, मद्दत, वा सहयोग आवश्यक नै पर्छ। तिनीहरू आफै सबै कुरा बुझ्छन् जस्ता, र जे पनि हल गर्न सक्छन् जस्ता देखिन्छन्। कसैले तिनीहरूलाई पहिले कहिल्यै नकारात्मक भएको छौ कि छैनौ भनेर सोध्दा, तिनीहरू भन्छन्: “म कहिलेकाहीँ नकारात्मक हुन्छु, तर म बस परमेश्‍वरलाई प्रार्थना गर्छु, सङ्कल्प गर्छु, र कसम खान्छु, र त्यसपछि म ठीक भइहाल्छु।” यो कस्तो मानिस हो? बाहिरबाट हेर्दा यस्ता मानिसहरू धेरै छन् जस्तो नदेखिएला, तर वास्तवमा यस्तो स्थिति भएका मानिसहरू धेरै छन्। आजसम्म पनि यस्तो व्यक्तिलाई परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ के हो भन्ने थाहै छैन। उसले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको उहाँलाई स्विकार्नु र असल व्यक्ति बन्‍नु हो, र ऊ एक दिन “अमर बन्नेछ र साँचो मार्ग प्राप्त गर्नेछ” अनि स्वर्गको राज्यमा प्रवेश गर्नेछ भनेर सोच्छ, र यो त ठ्याक्‍कै बौद्धधर्मीहरूले मानव इच्छा र चाहनाहरूबाट मुक्त हुने वा हृदय शुद्ध पार्ने अनि थोरै इच्छाहरू राख्ने कुरा गरेजस्तै भयो। ऊ लगनसाथ काम गर्छ र यस दिशामा आफ्नो परिश्रम लगाउँछ, तर के यो परमेश्‍वरमा विश्‍वास गर्नु हो त? अहिले पनि, उसलाई परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो, उसले के पछ्याउनुपर्छ, वा ऊ कस्तो व्यक्ति हुनुपर्छ भन्ने थाहै छैन। उसले सत्यताबारे जति धेरै प्रवचनहरू सुने पनि, उसले पछ्याएको लक्ष्य र परमेश्‍वरमा विश्‍वास गर्ने उसको दृष्टिकोण परिवर्तन हुँदैन। यो निकै समस्याजनक कुरा हो! यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थसमेत बुझेको छैनस् भने, के तँ तेरो परमेश्‍वर को हुनुहुन्छ भनेर जान्न सक्षम हुन्छस्? यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थसमेत बुझेको छैनस् भने, के तँ सत्यता पछ्याउन सक्षम हुन्छस्? के परमेश्‍वरमा विश्‍वास गर्ने दर्शनको ज्ञान नै नभएको व्यक्तिले सत्यतालाई प्रेम गर्न सक्छ? परमेश्‍वरमा विश्‍वास गर्ने दर्शन नबुझ्नेहरू सत्यता प्राप्त गर्न नसक्ने मानिसहरू हुन्। यस्ता व्यक्तिलाई तिमीले सत्यतालाई प्रेम गर्छौ कि गर्दैनौ भनेर सोध्नु बेकार हुन्छ; तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु वा सत्यता पछ्याउनु के हो, त्यो बुझ्दैनन्। तिनीहरूले यी कुरा बुझ्दैनन्। तिनीहरूले तीन वा पाँच वर्ष, दस वा आठ वर्ष परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, तिनीहरूमध्ये कसैले पनि सत्यता बुझ्दैन। तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु भनेको असल व्यक्ति बन्नु, असल कार्य गर्नु, दयालु र परोपकारी हुनु हो भन्ने मात्र थाहा हुन्छ, र तिनीहरू यो जीवन जिउने सम्मानजनक तरिका हो भन्ने सोच्छन्। के यो दृष्टिकोण अति सतही र पुरानो छैन र? यो परमेश्‍वरमा विश्‍वास गर्ने सत्यतासँग मिल्दै नमिल्ने र पूर्ण रूपमा असम्बन्धित कुरा हो। वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गरेको, तर अझै पनि परमेश्‍वरमा विश्‍वास गर्ने मामलालाई गैरविश्‍वासी, बौद्ध र ताओवादीहरूको दृष्टिकोण, विचार र विधिहरूद्वारा व्यवहार गर्ने, परमेश्‍वरमाथिको विश्‍वासको मार्गमा हिँड्न परम्परागत धारणा र कल्पनाहरूमा भर पर्ने, आफ्नो बुझाइ शुद्ध छ भनेर गलत विश्‍वास गर्ने, परमेश्‍वरमा विश्‍वास गर्नु नै सत्यता पछ्याउने एकमात्र तरिका हो भनी सोच्ने मान्छे—के तिनीहरू आफैसँग झूट बोलिरहेका छैनन् र?

चिनियाँ मानिसहरूको परम्परागत सांस्कृतिक पृष्ठभूमि ताओवाद र बौद्ध धर्म हो। यस महान परम्परागत सामाजिक पृष्ठभूमिअन्तर्गत, चिनियाँ मानिसहरूलाई आफ्ना विचारहरू यी कुराहरूबाट मुक्त गर्न निकै गाह्रो हुन्छ, त्यसैले जब चिनियाँ मानिसहरूले परमेश्‍वरमाथिको विश्‍वासबारे कुरा गर्छन्, तिनीहरूले सबैभन्दा पहिला शाकाहारी हुने र बुद्धलाई प्रार्थना गर्ने, काटमार नगर्ने, दान दिने र असल कर्म गर्ने, अरूलाई सहयोग गर्ने, आक्रमण वा गाली नगर्ने, हत्या वा आगजनी नगर्ने, असल मानिस बन्ने, आदि इत्यादिजस्ता बौद्ध र ताओ दृष्टिकोणका कुराहरू सोच्छन्। त्यसोभए, व्यक्तिलाई यस्ता कुरा त्याग्न र परमेश्‍वरमाथिको विश्‍वासको साँचो अर्थ बुझ्न कति समय लाग्छ? यी गलत विचार र धारणाहरूलाई पूर्णतया सुल्ट्याउन, र हटाउन व्यक्तिले कुन-कुन सत्यताहरू बुझ्नुपर्छ? साँचो रूपमा परमेश्‍वरको मापदण्ड बुझेर, अनि सत्यताका सिद्धान्तअनुसार परमेश्‍वरमा विश्‍वास गरेर मात्र व्यक्तिले परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा पाइला चाल्न सक्छ; त्यसउप्रान्त मात्र उसको परमेश्‍वरमा विश्‍वास गर्ने जीवन औपचारिक रूपमा सुरु हुन्छ। यदि कसैको मनमा अझै पनि सामन्ती अन्धविश्‍वासहरू, वा परम्परागत धर्मका धारणा, कल्पना र प्रावधानहरू छन् भने, उसले आफ्नो हृदयमा राखेका यी कुराहरूलाई नै परमेश्‍वरले सबैभन्दा बढी घृणा र तिरस्कार गर्नुहुन्छ। उसले सत्यता खोज्‍नुपर्छ, यी कुराहरू खुट्ट्याउनुपर्छ, र त्यसपछि यी कुराहरूलाई पूर्ण रूपमा त्याग्‍नुपर्छ। त्यस्ता मानिसहरूले मात्र सत्यतालाई प्रेम गर्छन्, तिनीहरूले मात्र पवित्र आत्माको काम प्राप्त गर्न सक्छन्। यो कुरा निश्‍चित छ। यदि तैँले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासलाई उहाँका वचनहरूको सत्यतामा आधारित गर्दैनस् भने, तैँले कहिल्यै पनि उहाँको आशिष् प्राप्त गर्न सक्नेछैनस्। एकपटक कसैले परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा पाइला राखेपछि, एकपटक उसले त्यो न्यूनतम हद पूरा गरिसकेपछि, उसको भित्री स्थितिमा परिवर्तन आउँछ। पहिलो कुरा त, उसका विचार र दृष्टिकोणहरू भ्रामक हुँदैनन्, बरु वास्तविक हुन्छन्। अनि, उसको स्थिति, उसका सोच र विचारहरू खाली हुँदैनन्, बरु पूर्ण रूपमा सत्यताअनुरूप हुन्छन्, ती पूर्णतया परमेश्‍वरका वचनहरूसँग मिल्छन्। उसले पछ्याउने लक्ष्य र दिशा धर्मसैद्धान्तिक हुँदैन, न त यो अप्राप्य वा अदृश्य नै हुन्छ, बरु यो सकारात्मक, परमेश्‍वरको मापदण्डअनुरूपको र परमेश्‍वरको अनुमोदन पाउने खालको हुन्छ। उसको समग्र स्थिति, उसका सोच र विचारहरू सबै व्यावहारिक र वास्तविक हुन्छन्। तँ अहिले परमेश्‍वरमा विश्‍वास गर्छस्, त्यसोभए तेरा विचारहरू कहाँ छन्? यदि ती अझै पनि सही दिशाबिना हावामा तैरिरहेका छन्, यदि त्यहाँ अझै पनि वास्तविकतासँग मेल नखाने धेरै विचारहरू छन्, र हरप्रकारका मानव विचार, धारणा र कल्पनाहरूसहित कैयौँ खाली, धर्मसैद्धान्तिक विचारहरू छन् भने, तँ अझै पनि कल्पनाको आकाशमा जिइरहेको छस्, र तँ वास्तविक धरातलमा आएको छैनस्। यो ज्यादै खतरनाक छ, किनकि तैँले सोच्ने, गर्ने, र हृदयमा पछ्याउने लक्ष्यहरूको, परमेश्‍वरमाथिको विश्‍वासको सत्यता वा परमेश्‍वरका मापदण्डहरूसँग कुनै सरोकार छैन—ती अलिकति पनि सम्बन्धित छैनन्। त्यसोभए तँ के आधारमा कार्य गर्छस्? तँ मानिसहरूका सारसङ्क्षेप गरिएका अनुभवहरू, संसारसँग व्यवहार गर्ने दर्शनहरू, साथै तैँले आफ्नो समाज, परिवार र हरप्रकारका परिस्थितिहरूबाट सिकेका कुराहरू, र तैँले कल्पना गरेका र मनमा सारांशित गरेका कुराहरूको आधारमा कार्य गर्छस्। उदाहरणको लागि, जब तँलाई केही हुन्छ, तब तैँले जसरी कार्य गर्नुपर्छ जस्तो लाग्छ, त्यसरी नै कार्य गर्छस्, र त्यसो गर्नु सत्यताअनुरूप हुन्छ भन्‍ने सोच्छस्, र तैँले जे सही र सकारात्मक हो भन्ने सोच्छस् त्यही नै सत्यता हो भन्‍ने ठान्छस्। एक दिन, जब तेरो सामु अवरोध आउँछ, वा तँलाई काटछाँट गरिन्छ, तब तैँले आफ्ना कार्य, सोच र विचारहरू सबै मानव कल्पना र धारणाहरू रहेछन्, जुन आधारभूत रूपमै सत्यता सिद्धान्तहरूसँग मिल्दैनन् रहेछ भन्ने महसुस गर्नेछस्। अर्थात्, व्यक्तिले औपचारिक रूपमा परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नुअगाडि, उसले गर्ने धेरै कामकुराहरूसित सत्यता सिद्धान्तहरूको कुनै सरोकार हुँदैन। ती मानिसहरूको सोच र कल्पनाहरू, वा प्राथमिकताहरू, उत्साह, र इच्छाशक्ति, वा शुभेच्‍छा र आशाहरू, वा चाहनाहरूबाट आउँछन्। यी सबै कुराहरू मान्छेको कार्यव्यवहारका शुरुवाती बिन्दु र स्रोतहरू हुन्।

परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नको लागि व्यक्तिसँग कस्तो स्थिति हुनुपर्छ भन्नेबारे एउटा मापदण्ड हुन्छ, र त्यो के हो भने, उसले परमेश्‍वरका वचनहरू अनुभव गर्दा, ऊ सामान्य स्थितिमा हुनुपर्छ। केही मानिसहरू पहिलेदेखि नै यस स्थितिमा जिइरहेका हुन्छन्, जबकि अरूहरूले यो स्थितिमा अझै प्रवेश गरेका हुँदैनन्, वा आक्कलझुक्कल यो स्थिति हासिल गरेका हुन्छन्, तर केही समयपछि, फेरि पुरानै स्थितिमा फर्कन्छन्। यो कस्तो स्थिति हो? यो स्थिति तब हुन्छ, जब कसैले आफ्नो उत्साह, प्राथमिकता, धारणा र कल्पनामा भर पर्दै कुनै समयावधि बिताउँछ, र उसले अचानक महसुस गर्छ कि यसरी विश्‍वास गर्नु त अस्वीकार्य हुने रहेछ, र यसरी उसले सत्यता प्राप्त गर्न नसक्‍ने रहेछ, र यसरी विश्‍वास गर्नु रित्तो र अवास्तविक हुँदो रहेछ। उसले के पनि महसुस गर्छ भने, ऊ सदैव सृष्टि गरिएको प्राणी रहेको रहेछ, र ऊ सृष्टि गरिएको साँचो प्राणी हुनुपर्ने, र उसले इमानदारीपूर्वक सम्पूर्ण हृदय र शक्तिले सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउनुपर्ने रहेछ। त्यसपछि उसले आफ्नो पाउ जमिनमै राखेर काम गर्न थाल्छ र पूर्ण निष्ठासाथ आफ्नो कर्तव्य निभाउँछ। उसले कामकुराहरू गर्दा, कसरी सत्यताअनुसार व्यवहार गर्ने, कसरी परमेश्‍वरका अभिप्राय सन्तुष्ट पार्ने र कसरी परमेश्‍वरद्वारा स्विकारिने भनेर मनन र खोजी गर्न थाल्छ। उसले आफ्ना धारणा, कल्पना, वा प्राथमिकताहरूमा आधारित भएर व्यवहार गर्दैन। यस बिन्दुमा मात्र मानिसहरूमा परमेश्‍वरलाई सन्तुष्ट पार्ने र उहाँको प्रेमको ऋण तिर्ने इच्छा हुन्छ। यस बिन्दुमा, तिनीहरू सत्यता खोज्‍न, परमेश्‍वरका अभिप्राय खोज्न, र उहाँका मापदण्डहरू पूरा गर्न थाल्छन्। जब तँमा यो चाहना हुन्छ, जब तेरो हृदयमा सामान्य स्थिति हुन्छ, तँ एक हिसाबले, आफ्नो सही स्थानमा उभिरहेको र सृष्टि गरिएको साँचो प्राणी भइरहेको हुन्छस्। अर्को हिसाबले हेर्दा, जुन प्राथमिक कुरा पनि हो, यसअनुसार तैँले साँच्चै आफ्नो हृदयको गहिराइबाट परमेश्‍वर तेरो प्रभु र तेरो परमेश्‍वर हुनुहुन्छ भनेर स्विकारेको हुन्छस्, र परमेश्‍वरका सबै वचनहरू स्विकारेको र ती सत्यता हुन् भनेर बुझेको हुन्छस्। अनि, तँ परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्न पनि सक्षम हुन्छस्, र तैँले परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवन वास्तविकता बनाउँछस्, जसले तँलाई सत्यता र जीवन प्राप्त गर्ने तुल्याउँछ। जब तँमा यो इच्छा र चाहना, साथै परमेश्‍वरको वचन र तँप्रतिका उहाँका मापदण्डहरू स्विकार्नुपर्ने खाँचो हुन्छ, र जब तँमा परमेश्‍वरमा समर्पित हुने र उहाँलाई सन्तुष्ट पार्ने इच्छा हुन्छ, तब तेरो जीवनको स्थिति परिवर्तन हुन थाल्नेछ। यस क्षणदेखि, तँ परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँडिरहेको हुनेछस्।

मैले भर्खरै सङ्गति गरेका वचनहरू सारांशमा एकदमै सरल छन्; अर्थात् कुनै व्यक्तिले आफू सृष्टि गरिएको प्राणी हुँ भन्‍ने कुरा पहिचान गर्न थालेपछि, उसमा परमेश्‍वरलाई सन्तुष्ट पार्न सच्चा सृष्टि गरिएको प्राणी बन्‍ने आशा जाग्‍नेछ। यसको साथै, त्यस्ता व्यक्तिहरूले परमेश्‍वरलाई आफ्‍नो प्रभु र परमेश्‍वरको रूपमा स्वीकार पनि गर्नेछन् र परमेश्‍वरका सबै मापदण्डहरूका साथै उहाँको सार्वभौमिकतामा समर्पित हुने इच्‍छा पनि गर्नेछन्। त्यसकारण, तिनीहरूले छाडा भई काम गर्न छोड्नेछन्, र आफूले गर्ने हरेक कुरामा परमेश्‍वरका चाहनाहरू र सत्यता सिद्धान्तहरू खोजी गर्नेछन्। तिनीहरूले अबउप्रान्त आफूलाई जे मन लाग्यो त्यही गर्न वा आफ्‍नै योजनाअनुसार काम गर्नेछैनन्। कार्य गर्न आफ्‍ना व्यक्तिगत विचारहरूमा भर पर्नुको सट्टा, तिनीहरूले आफ्‍ना विचारहरूमा सधैँ परमेश्‍वरलाई राख्‍न सुरु गर्नेछन्, र तिनीहरूका व्यक्तिपरक इच्‍छा भन्नु नै सबै पक्षमा परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनु, आफ्ना सबै कार्यमा सत्यताअनुरूप हुनु र परमेश्‍वरका मापदण्डहरूलाई पूरा गर्नु हुनेछ। त्यस्तो स्थितिमा रहेका मानिसहरूले अवश्य नै सत्यताको खोजी गर्न, सत्यता अभ्यास गर्न, र सत्यता वास्तविकतामा प्रवेश गर्न सिक्‍न थालेका हुन्छन्। यदि तँ त्यस्तो स्थितिमा छस् र तँमा यस्तो इच्छा छ भने, तैँले प्राकृतिक रूपमै परमेश्‍वरका अभिप्राय कसरी खोजी गर्ने भन्ने कुरा सिक्‍न थाल्‍नेछस्, र कसरी परमेश्‍वरको नामको अनादर नगर्ने, कसरी परमेश्‍वरलाई महान् मानी सम्मान गर्ने गर्ने, परमेश्‍वरको कसरी डर मान्‍ने, र परमेश्‍वरलाई कसरी सन्तुष्ट तुल्याउने भनेर खोजी गर्न सुरु गर्नेछस्; तैँले आफ्‍नै स्वार्थी इच्‍छाहरू वा अरू कसैलाई सन्तुष्ट तुल्याउनुको सट्टा परमेश्‍वरलाई सन्तुष्ट पार्नेछस्। जब कोही यस स्थितिमा प्रवेश गर्छ, ऊ परमेश्‍वरको उपस्थितिमा जिइरहेको हुन्छ, र त्यसपछि ऊ आफ्नो भ्रष्ट स्वभावद्वारा निर्देशित हुँदैन। जब तँ यस स्थितिमा प्रवेश गर्छस्, तैँले आफ्ना व्यक्तिपरक चाहनाहरूबारे सोच्ने कुराहरू सकारात्मक हुन्छन्। तैँले कहिलेकाहीँ भ्रष्ट स्वभाव प्रकट गरे पनि, तँ यसबारे सचेत हुनेछस्, र यो समस्या सुल्झाउन आत्मचिन्तन गर्न र सत्यता खोजी गर्न सक्षम हुनेछस्। तसर्थ, तँमा अझै भ्रष्ट स्वभाव भए पनि, तेरो भ्रष्ट स्वभावले तेरो सबैकुरा निर्देशित गर्न, तँलाई नियन्त्रित गर्न सक्‍नेछैन। यस समयमा, के परमेश्‍वरको वचनको सत्यताले तँभित्र सार्वभौमिकता लिइरहेको हुँदैन र? के तँ परमेश्‍वरका वचनहरूमा जिइरहेको हुँदैनस् र? के तिमीहरू सबैजना आफ्नो हृदयमा सत्यतालाई अख्तियार प्रयोग गर्न दिन सक्छौ? यो तिमीहरूमा सत्यता पछ्याउने इच्छा छ कि छैन भन्ने कुरामा भर पर्छ। यदि व्यक्तिले स्पष्टसितै धेरै सत्यता बुझ्छ भने, सत्यताले स्वाभाविक रूपमै उसको हृदयमा अख्तियार प्रयोग गर्नेछ। यदि उसले सत्यताबारे धेरै कुरा बुझ्दैन, वा ऊभित्र शैतानका धेरै विषहरू छन् भने, उसको हृदयमा सत्यताले अख्तियार प्रयोग गर्न सक्दैन। धेरै मानिसहरू यस्ता छन् जो सत्यता अभ्यास गर्न इच्छुक त हुन्छन्, तर आफूमाथि कुनै कुरा आइपर्दा, थाहै नपाई आफ्नै खुलासा गर्छन्, ख्याति, लाभ र हैसियत पछ्याउँछन्, तिनीहरूमा कुनै संयम वा नियन्त्रण हुँदैन, र तिनीहरूले जसरी मन लाग्यो त्यसरी आफ्नो भ्रष्ट स्वभाव प्रकट हुन दिन्छन्। यो कस्तो स्थिति हो? यो तब हुन्छ जब व्यक्तिले निकै कम सत्यता बुझ्छ, जब उसको कद अति सानो हुन्छ, र जब ऊ देह वा शैतानको प्रभाव पार गर्न असमर्थ हुन्छ। यस प्रकारको व्यक्तिलाई आफ्नो हृदयमा सत्यतालाई अख्तियार प्रयोग गर्न दिन निकै गाह्रो हुन्छ। त्यसैले, सत्यता पछ्याउनु कुनै साधारण कुरा होइन, र केही वर्षको अनुभव पनि नभएमा, भ्रष्ट स्वभावको समस्या समाधान गर्न निकै गाह्रो हुन्छ। उदाहरणको लागि, केही मानिसहरू निकै छली हुन्छन्, तिनीहरूले कहिल्यै आफ्ना भित्री विचारहरू अरूले सुन्‍ने गरी बोल्दैनन्, र तिनीहरू एउटा पनि साँचो शब्द बोल्न सक्दैनन्। तिनीहरूले जे छलफल गरे पनि वा जति शब्दहरू बोले पनि, तिनीहरू स्पष्ट रूपमा बोल्दैनन्, सधैँ घुमाईघुमाई बोल्छन्, र तिनीहरू आफ्नो नियन्त्रणमै हुँदैनन्। आफ्नो भ्रष्ट स्वभाव, र आफ्नो घृणित, शैतानी प्रकृति सार सामना गर्दा, मानिसहरू असाध्यै तुच्छ, कमजोर, शक्तिहीन र पूर्ण रूपमा असहाय प्रकट हुन्छन्, त्यसैले तिनीहरू प्रायः पाप गर्छन्, गल्ती गर्छन् र नकारात्मक हुन्छन्। यहाँ के भइरहेको छ? (तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँडेका छैनन्।) तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँडेका छैनन्, र यसले के सङ्केत गर्छ? (तिनीहरूले अझै बुझेका छैनन् कि तिनीहरू सृष्टि गरिएका प्राणी हुन्, र तिनीहरू परमेश्‍वरमा समर्पित हुन वा उहाँलाई सन्तुष्ट पार्न इच्छुक छैनन्।) यो सत्यता नपछ्याउँदाको परिणाम हो। तिमीहरू यो परिस्थितिमा छौ, त्यसोभए के तिमीहरूले अझै पनि सत्यता वास्तविकतामा प्रवेश गर्न सुरु गरेकै छैनौ भनेर भन्न सक्छौ? (सक्छौँ।) के सत्यता वास्तविकतामा प्रवेश नगरेको व्यक्तिलाई सत्यता प्राप्त गरेको व्यक्ति मानिन्छ? (मानिँदैन।) के सत्यता प्राप्त नगरेको व्यक्तिको हृदयमा सत्यता हुन्छ? (हुँदैन।) सत्यताबिना, के मानिसहरू आफ्नो भ्रष्ट स्वभावको आधारमा काम गर्दैनन् र? त्यसैले आफ्नो कर्तव्य निभाउँदा केही सकारात्मक कुराहरू गर्न, व्यक्तिसँग के हुनैपर्छ? के तिनीहरूले सत्यता बुझ्नुपर्दैन र? यदि व्यक्तिले आफ्नो कर्तव्य निभाउँदा सत्यता अभ्यास गर्न सक्दैन, बरु आफ्नै इच्छाअनुसार कसरी काम गर्ने भनेर मात्र जान्दछ भने, त्यो कस्तो गुण हो? के यो श्रम गर्नु होइन र? यो त परमेश्‍वरले उहाँका लागि श्रम गर्न कुनै गैरविश्‍वासीलाई ज्यालामा नियुक्त गर्नुबराबर हो। यदि तँ सत्यता पछ्याउँदैनस् वा सत्यता वास्तविकतामा प्रवेश गर्दैनस् भने, तैँले श्रम गरिरहेको हुन्छस्। के तिमीहरूलाई परमेश्‍वर उहाँले मुक्ति दिन चाहनुभएका मानिसहरूले मुक्ति प्राप्त गर्नहेतु उहाँका वचनहरूअनुसार अभ्यास नगरी, उहाँका लागि श्रम मात्र गरिरहेको हेर्न इच्छुक हुनुहुन्छ जस्तो लाग्छ? (उहाँ त्यस्तो हुनुहुन्न।) उहाँले किन त्यस्तो इच्छा गर्नुहुन्न? (परमेश्‍वरले मानिसहरूलाई प्राप्त गर्न तिनीहरूलाई सृष्टि गर्नुभयो।) त्यो सही हो, परमेश्‍वरले आफूलाई प्रकट गर्न र त्योभन्दा पनि बढी मानिसहरूलाई प्राप्त गर्न तिनीहरूलाई सृष्टि गर्नुभयो। मानिसहरूले परमेश्‍वरका लागि श्रम मात्र गर्दा उहाँ किन असन्तुष्ट हुनुहुन्छ? (किनभने मानिसहरूका कार्यहरू परमेश्‍वरले चाहेजस्ता हुँदैनन्।) त्यसोभए परमेश्‍वर के चाहनुहुन्छ त? (परमेश्‍वर मानिसहरूको इमानदारिता चाहनुहुन्छ।) के परमेश्‍वरका लागि श्रम गर्नु भनेको आफैमा इमानदारिता होइन र? तैँले गर्ने श्रम वास्तविक र इमानदार होस् वा नहोस्, यदि तैँले सत्यता पछ्याउँदैनस् भने, जीवनभर श्रम गरे पनि सत्यता प्राप्त गर्नेछैनस्। यदि तैँले सत्यता प्राप्त गर्दैनस् भने, यसको मतलब तैँले परमेश्‍वरलाई प्राप्त गर्दैनस्, र परमेश्‍वरले तँलाई प्राप्त गर्नुहुन्न, त्यसैले तैँले गर्ने श्रम मूल्यहीन वा अर्थरहित हुन्छ। तैँले जति वर्ष श्रम गरे पनि, यदि तँ सत्यता पछ्याउँदैनस् भने, परमेश्‍वरले तँलाई प्राप्त गर्नुहुनेछैन, जसको मतलब तँ अझै पनि परमेश्‍वरको प्रतिरोध गर्छस् भन्ने हुन्छ। यो कसले गराएको हो? यो मानिसहरू आफैले सहकार्य गर्न कडा परिश्रम नगर्नाले, तिनीहरूले सत्यता नपछ्याउनाले भएको हो; बस त्यो मात्र मूल कारण हो। परिस्थितिको व्यावहारिक पक्षबाट हेर्दा, परमेश्‍वरले कुनै व्यक्तिलाई प्राप्त नगर्नुहुने कुरालाई कसरी स्पष्ट पार्न सकिन्छ? आफ्नो कर्तव्य निभाउँदा, तिनीहरूसँग सधैँ आफ्नै अभिप्राय हुन्छ, र तिनीहरूले आफ्नो हृदय परमेश्‍वरलाई अर्पण गर्दैनन्, त्यसैले तिनीहरूको हृदय उहाँतर्फ फर्किएको हुँदैन, न त तिनीहरूको हृदय उहाँको निमित्त नै हुन्छ। तिनीहरूले उहाँका अभिप्रायलाई ध्यानमा राख्दैनन्, आफ्नो कर्तव्य पूरा गरेर तिनीहरूले उहाँलाई सन्तुष्ट पार्ने प्रयास गर्नु त परै जाओस्। सबैभन्दा सरल व्याख्या यो हो कि यो व्यक्ति परमेश्‍वरप्रति इमानदार हुँदैन, त्यसैले ऊ पूर्ण रूपमा आशारहित हुन्छ। परमेश्‍वर मानिसहरूले उहाँमा साँच्चै विश्‍वास गर्छन् कि गर्दैनन् भनेर हेर्न तिनीहरूलाई जाँच्नुहुन्छ। उहाँ तिनीहरूको इमानदारिता चाहनुहुन्छ। इमानदार हुनु भनेको के हो? (आफूसित परमेश्‍वरतिर फर्किने र परमेश्‍वरमा समर्पित हुने हृदय हुनु हो।) त्यो सही हो। यदि व्यक्तिमा परमेश्‍वरतर्फ फर्कने, र उहाँमा समर्पित हुने हृदय छैन भने, के उसलाई असल व्यक्ति भन्न सकिन्छ? के परमेश्‍वरले त्यस्तो व्यक्तिलाई मन पराउन सक्नुहुन्छ? के परमेश्‍वरसँग एकैमन नभएको व्यक्तिले सत्यता अभ्यास गर्न सक्छ? के तिमीहरूसँग परमेश्‍वरमा समर्पित हुने हृदय छ? के तिमीहरू सबै कुरामा परमेश्‍वरको पक्षमा उभिन सक्छौ? के तिमीहरूको हृदय परमेश्‍वरतर्फ फर्कन्छ? तिमीहरूसँग कुनै इमानदारिता छैन भन्नु तिमीहरूलाई अन्याय हुनेछ, तर तिमीहरू साँच्चै शैतानलाई घृणा गर्छौ, शैतानविरुद्ध विद्रोह गरेर पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्कन सक्छौ भन्नु पनि गलत हुनेछ। यसको लागि तिमीहरूसँग परमेश्‍वरमा समर्पित हुने हृदय हुनुपर्छ, तिमीहरूले सत्यता पछ्याउनुपर्छ, र अझ धेरै सत्यताको बुझाइ प्राप्त गर्नुपर्छ। परमेश्‍वर मानिसहरूसँग कस्तो हृदय होस् भन्ने चाहनुहुन्छ? सबैभन्दा पहिला, यो हृदय इमानदार हुनुपर्छ, र तिनीहरू पाउ जमिनमै राखेर निष्ठापूर्वक आफ्नो कर्तव्य निभाउन र मण्डलीको काममा साथ दिन सक्षम हुनुपर्छ, र तिनीहरूले अबउप्रान्त तथाकथित “महान् महत्वाकाङ्क्षा” वा “उच्च लक्ष्यहरू” राख्नुहुन्न। तिनीहरूले परमेश्‍वरलाई पछ्याउँदा र आराधना गर्दा र सृष्टि गरिएका प्राणीको रूपमा व्यवहार गर्दा, तिनीहरूको हरेक पाइलाले पदचिह्न छोड्छ। तिनीहरू अबउप्रान्त असाधारण वा महान व्यक्ति बन्न खोज्दैनन्, विशेष प्रकार्यात्मक व्यक्ति बन्न त झनै खोज्दैनन्, र तिनीहरूले सृष्टि गरिएका अन्यग्रहीय प्राणीको आराधना पनि गर्दैनन्। यसका साथै, यो हृदयले सत्यतालाई प्रेम गर्नैपर्छ। सत्यतालाई प्रेम गर्नुको मुख्य अर्थ के हो? यसको अर्थ सकारात्मक कुराहरूलाई प्रेम गर्नु, न्यायको बोध हुनु, आफूलाई इमानदारीपूर्वक परमेश्‍वरको लागि खर्चर्न सक्षम हुनु, उहाँलाई साँच्चै प्रेम गर्नु, उहाँमा समर्पित हुनु र उहाँको गवाही दिनु हो। निस्सन्देह, तिमीहरूले सत्यता बुझेपछि मात्र यी कुराहरू हासिल गर्न सक्छौ। यस्तो हृदय भएको व्यक्ति सामान्य मानवता भएको व्यक्ति हो। सामान्य मानवता भएको व्यक्तिसँग कम्तीमा पनि विवेक र समझ हुनैपर्छ। व्यक्तिसँग विवेक र समझ छ कि छैन भनेर तिमीहरू कसरी भन्न सक्छौ? यदि उसका बोलीवचन र कार्यहरू आधारभूत रूपमा विवेक र समझको मापदण्डअनुरूप हुन्छन् भने, मानव दृष्टिकोणबाट ऊ असल र स्वीकार्य मापदण्डमा रहेको व्यक्ति हो। यदि ऊ सत्यता बुझ्न र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न पनि सक्छ भने, उसले परमेश्‍वरका मापदण्डहरू पूरा गरिरहेको हुन्छ, जुन विवेक र समझको मापदण्डभन्दा उच्च हुन्छ। केही मानिसहरू भन्छन्: “मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभयो। परमेश्‍वरले हामीलाई जीवनको सास दिनुभयो, र परमेश्‍वरले नै हामीलाई आपूर्ति र भरणपोषण गर्नुहुन्छ, र हामीलाई वयस्क हुन अगुवाइ गर्नुहुन्छ। विवेक र समझ हुने मानिसहरू आफ्नो लागि वा शैतानको लागि जिउन मिल्दैन; तिनीहरू परमेश्‍वरको लागि जिउनुपर्छ, र तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ।” यो साँचो हो, तर यो केवल एउटा फराकिलो ढाँचा, एउटा खेस्रा हो। वास्तविकतामा परमेश्‍वरको लागि कसरी जिउने भन्ने कुरा गर्दा, यसमा विवेक र समझ समावेश हुन्छ। त्यसोभए व्यक्ति कसरी परमेश्‍वरको लागि जिउँछ त? (सृष्टि गरिएको प्राणीले निभाउनुपर्ने कर्तव्य राम्रोसँग निभाएर।) सही हो। अहिले तिमीहरू सबैजना मानिसको कर्तव्य मात्र पूरा गर्छौ, तर वास्तवमा, तिमीहरू यो कसको लागि गरिरहेका छौ? (परमेश्‍वरको लागि।) यो परमेश्‍वरको लागि हो, यो उहाँसँगको सहकार्य हो! परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आज्ञा तिमीहरूको कर्तव्य हो। यो सुनियोजित, पूर्वनिर्धारित, र उहाँद्वारा सुशासित हुन्छ, वा अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वरले नै तँलाई यो कार्य दिनुहुन्छ, र तैँले यो कार्य पूरा गर् भन्‍ने चाहनुहुन्छ। अनि, तँ यसलाई पूरा गर्न र यसलाई राम्रोसँग गर्न कसरी आफ्नो विवेकमा भर पर्न सक्छस्? (हामीले सक्नेजति सबै गर्नुपर्छ।) तैँले आफूले सक्नेजति सबै गर्नुपर्छ, जुन तँ विवेकमा भर पर्नुको प्रकटीकरण हो। यसका साथै, तैँले आफ्नो पूरै हृदय प्रयोग गर्नुपर्छ र आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ—यसबारे लापरवाह नहो। परमेश्‍वरको अपेक्षा र उहाँको कडा परिश्रमको मूल्य हामीमाथि छ। हामीले यो जिम्मेवारी पूरा गर्नुपर्छ र कर्तव्य निभाउनुपर्छ भनी परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएकोले, हामीले उहाँलाई निराश, र हताश वा दुःखी बनाउनु हुँदैन। हामीले आफ्नो कर्तव्य राम्रोसँग निभाउनुपर्छ, र परमेश्‍वरलाई सिद्ध र सन्तोषजनक जवाफ दिनुपर्छ। हामीले गर्न नसक्ने कुराको लागि हामी परमेश्‍वरमा भर पर्छौँ, आफ्नो पेशाबारे अझ बढी सिक्छौँ, र अझ बढी सत्यता सिद्धान्तहरू खोजी गर्छौँ। परमेश्‍वरले हामीलाई जीवन दिनुहुन्छ, त्यसैले हामीले आफ्नो कर्तव्य राम्रोसँग निभाउनुपर्छ; हामीले जिउने हरेक दिन, त्यो दिनको कर्तव्य राम्ररी निभाउनुपर्छ। परमेश्‍वरले हामीलाई सुम्पनुभएको कुरालाई हामीले आफ्नो प्राथमिक मिसन बनाउनुपर्छ, कर्तव्य राम्रोसँग निभाउन आफ्नो कर्तव्यलाई नै जीवनमा पहिलो प्राथमिकता दिनुपर्छ। हामीले सिद्धता नपछ्याए पनि, सत्यतातर्फ प्रयास लगाउन सक्छौँ, र परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरूमा आधारित भएर कार्य गर्न सक्छौँ, ताकि हामी परमेश्‍वरलाई सन्तुष्ट पार्न, शैतानलाई लज्जित तुल्याउन, र कुनै पछुतो नगरी बस्‍न सकौँ। परमेश्‍वरमा विश्‍वास गर्नेहरूको आफ्नो कर्तव्यप्रतिको दृष्टिकोण यस्तो हुनुपर्छ। तँ चालीस वा पचास—वा सत्तरी वा असी वर्षसम्म बाँचेपछि—जब तैँले जवान र अज्ञानी हुँदा गरेका कामहरूलाई फर्केर हेर्छस्, तब देख्‍नेछस् कि तैँले त्यति धेरै उमेरको नभए पनि, आफूले सबै कुरा आफ्नो पूरै हृदय र शक्तिले गरिस्; तैँले सधैँ आफ्नो विवेकको आधारमा काम गरिस्, परमेश्‍वरलाई निराश, हतास वा दुःखी बनाइनस्, र आफ्नो हृदयमा परमेश्‍वरको सूक्ष्म जाँच र निरीक्षण स्वीकार गरिस्। जब यो सबै पूरा हुन्छ र जब तैँले परमेश्‍वरसामु आफूले पूरा गरेको जाँच पेश गर्छस्, तब परमेश्‍वरले भन्नुहुनेछ: “ तैँले धेरै राम्रो काम नगरे पनि, र तेरो नतिजा औसत भए पनि, तैँले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरिस्, र आफ्नो कर्तव्यलाई बेवास्ता गरिनस्।” के यो आफ्नो विवेकमा आधारित भएर कार्य गर्नु होइन र? अनि, मानिसहरूले बारम्बार भ्रष्टाचार प्रकट गर्दा, तिनीहरूसँग व्यक्तिगत छनौट, इच्छा र प्राथमिकताहरू हुँदा, यहाँसम्म कि तिनीहरूले आफ्नो विवेकको मापदण्ड पूर्ण रूपमा उल्लङ्घन गर्दा, र आफ्नो सामान्य मानवता गुमाउँदा, के गर्नुपर्छ? तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र आफूविरुद्ध विद्रोह गर्नुपर्छ, तैँले ती कुराहरूलाई आफूमाथि बाधा पुर्‍याउन वा आफ्नो विवेक र समझ नियन्त्रित गर्न दिनु हुँदैन। जब तेरो विवेक तेरो कार्य, तेरो जीविकोपार्जन र तेरो जीवनलाई निर्देशित गर्न सक्षम हुन्छ, तब तँलाई देहका स्वार्थी इच्छाहरूबाट पार पाउन सजिलो हुनेछ, र तँ सत्यताको यो पक्ष प्राप्त गर्न सक्षम हुनेछस्। यो तँसँग हुनुपर्ने न्यूनतम कुरा हो। परमेश्‍वरले कस्तो प्रकारको मानव हृदय चाहनुहुन्छ भन्ने सन्दर्भमा, मैले भर्खरै कतिवटा पक्षहरूबारे कुरा गरेको छु? (तीनवटा पक्षहरू: इमानदार हृदय, सत्यतालाई प्रेम गर्ने हृदय, अनि विवेक र समझ भएको हृदय।) इमानदार हृदय र सत्यतालाई प्रेम गर्ने हृदयबारे केही थप कुराहरू छन्, तिमीहरूले यसबारे विचार गर्नुपर्छ र पछि यसलाई सारसंक्षेप गर्नुपर्छ। कम्तीमा पनि, व्यक्तिमा सामान्य मानवता भएको व्यक्तिसँग हुनुपर्ने विवेक र समझ हुनुपर्छ। यदि व्यक्तिसँग विवेक वा समझ हुँदैन भने, उसले आफ्नो सामान्य मानवता गुमाउँछ, कुनै पनि कामकुरा राम्रोसँग गर्न सक्दैन, केही पनि हासिल गर्न सक्दैन, र अन्त्यमा, ऊ पूर्ण रूपमा असफल हुनेछ। तर यदि ऊसँग विवेक र समझ मात्र छ भने, यदि ऊ आफ्नो विवेकमा आधारित भएर जिउँछ र कुनै दुष्ट काम गर्दैन भने, के यो परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नु बराबर हुन्छ त? के उसले आफ्नो विवेक र समझको आधारमा जीवन जिएर परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छ त? बिल्कुलै सक्दैन।

परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नको लागि तँसँग परमेश्‍वरको डर मान्ने हृदय हुन पनि आवश्यक हुन्छ। पहिलो कुरा त, हैसियतको सन्दर्भमा भन्नुपर्दा, मानिसहरू सृष्टि गरिएका प्राणी हुन्, र तिनीहरू एकदमै तल्‍लो तहका हुन्छन्; परमेश्‍वर सृष्टिकर्ता, सर्वोच्च हुनुहुन्छ। मानव समझको सन्दर्भमा भन्नुपर्दा, मानिसहरूले परमेश्‍वरको डर मान्न के गर्नुपर्छ? उदाहरणको लागि, मानौँ तँलाई केही आइपर्छ, र तँलाई कुनै एक तरिकाले कार्य गर्नु सत्यताको विपरित हुन्छ भन्‍ने लाग्छ, तर तँलाई परमेश्‍वरका अभिप्रायसँग मेल खान आफूले के गर्नुपर्छ भन्‍ने थाहा छैन। यदि तँसँग परमेश्‍वरको डर मान्ने हृदय छ भने, तैँले के गर्नुपर्छ? तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, सत्यता खोज्‍नुपर्छ, सत्यता अभ्यास गर्ने मार्ग खोज्‍नुपर्छ, र त्यसपछि कार्य गर्नुपर्छ। यदि व्यक्तिसँग परमेश्‍वरको डर मान्‍ने हृदय छैन भने, उसले कस्तो व्यवहार गर्नेछ? उसले “जे भए पनि, मेरो नियत असल छ, त्यसैले मैले यो गरेँ भने ठिकै हुन्छ” भन्‍ने सोच्दै, जे चाह्यो त्यही गर्नेछ। त्यसले अरू मान्छेले दिएका सल्लाहहरूअनुसार कार्य गर्दैन, न त अरू कसैको कुरा नै सुन्छ; त्यसले आफ्नो लागि जे योजना बनाउँछ, त्यही गर्ने निर्णय गर्छ, र गोरुगाडा लगाएर ताने पनि त्यसलाई फिर्ता तान्न सकिँदैन। के त्यस्तो व्यक्ति परमेश्‍वरको डर मान्ने हृदय भएको व्यक्ति हो? (होइन।) कतिपय मानिसहरूलाई परमेश्‍वरले इमानदार मानिसहरू मन पराउनुहुन्छ र आफूले झूट बोल्नु हुँदैन भनेर थाहा भए पनि, तिनीहरूले अझै पनि, केही मामलाहरूमा, यदि तिनीहरूले साँचो बोले भने, तिनीहरू लज्जित हुनुपर्नेछ, तिनीहरूको नाफा गुम्नेछ, र सायद तिनीहरूको हैसियत कायम रहनेछैन भनेर सोच्छन्। तिनीहरू घोत्लिरहन्छन्, तैपनि यस्तो सोच्दै झूट बोल्छन्: “एकपटकको झुटले केही फरक पर्दैन, र म सधैँ झूट बोलिरहन्छु भन्ने पनि होइन। मैले झूट बोल्दा पनि कुनै दुष्परिणाम देख्दिनँ, त्यसैले मैले एकपटक फेरि झूट बोल्दा केही हुनेछैन।” यो सब हिसाब गरेपछि, तिनीहरूले त्यो गर्ने निर्णय गर्छन्, र तिनीहरूले आफ्नो हृदयमा कुनै धिक्कार महसुस गर्दैनन्, न त तिनीहरू प्रार्थना गर्न र परमेश्‍वरको जाँच स्विकार्न नै चाहन्छन्। के यो परमेश्‍वरको डर मान्ने हृदय भएको व्यक्ति हो त? (होइन।) त्यसो भए, परमेश्‍वरको डर मान्ने हृदय भएको व्यक्तिले चाहिँ कस्तो व्यवहार गर्नेछ? (उसले लापरवाही वा मनपरी काम गर्नेछैन।) यी दुई शब्दहरू एकदम उपयुक्त छन्। त्यसोभए तँ लापरवाही वा मनपरी काम नगर्नुलाई कसरी अभ्यास गर्छस्? (हामीसँग खोजी गर्ने हृदय हुनुपर्छ।) समस्या सामना गर्दा, केही मानिसहरू अरूबाट जवाफ खोज्छन्, तर अर्को व्यक्ति सत्यताअनुसार बोल्दा, त्यसलाई स्विकार्दैनन्, तिनीहरू त्यो पालन गर्न सक्षम हुँदैनन्, र हृदयमा यस्तो सोच्छन्, “म सामान्यतया ऊभन्दा असल छु। यदि मैले योचोटि उसको सुझाव सुनेँ भने, के ऊ मभन्दा उच्च देखिनेछैन र? अहँ, म यस विषयमा उसको कुरा सुन्न सक्दिनँ। म बस यसलाई आफ्नै तरिकाले गर्नेछु।” त्यसपछि तिनीहरूले त्यो अर्को व्यक्तिको दृष्टिकोण काट्ने कारण र बहाना खोज्छन्। यदि कुनै व्यक्तिले आफूभन्दा राम्रो कसैलाई देख्छ र उसलाई होच्याउने प्रयास गर्छ, उसको बारेमा अफवाह फैलाउँछ वा उसलाई बदनाम गर्न र उसको प्रतिष्ठा गिराउन घृणित माध्यमहरू प्रयोग गर्छ—र उसलाई कुल्चिमिल्चीसमेत गर्छ—र यो सबै काम मानिसहरूको मनमस्तिष्कमा आफ्नो स्थान जोगाउनको लागि गर्छ भने, यो कस्तो प्रकारको स्वभाव हो? यो अहङ्कार र दम्भ मात्र होइन, यो त शैतानको स्वभाव हो, यो दुष्ट स्वभाव हो। यस व्यक्तिले आफूभन्दा राम्रा र सबल मानिसहरूलाई आक्रमण गर्न र एकल्याउन सक्‍नु कपटीपन र दुष्टता हो। अनि ऊ मानिसहरूलाई होच्याउन कहीँकतै नरोकिनुले ऊभित्र धेरै हदसम्म दियाबलस रहेको हुन्‍छ भन्‍ने देखाउँछ! यस्ता मानिसहरूले शैतानको स्वभावअनुसार जिएर, मानिसहरूलाई होच्याउन, तिनीहरूलाई फसाउने प्रयास गर्न, र तिनीहरूका लागि परिस्थिति गाह्रो बनाइदिन सक्छन्। के यो दुष्कर्म होइन र? अनि यसरी जिएर पनि तिनीहरूले म ठीक छु, म असल व्यक्ति हुँ भनी सोच्छन्—तर तिनीहरूले आफूभन्दा उत्तम कसैलाई देख्दा, तिनीहरूले दुष्ट काम गरेर तिनीहरूलाई गाह्रो परिस्थितिमा पार्न, तिनीहरूलाई कुल्चीमिल्ची पार्न सक्छन्। यहाँ समस्या के हो? के यस्ता दुष्ट कार्यहरू गर्न सक्‍ने मानिसहरूमा अनैतिक र मनोमानी हुँदैनन् र? त्यस्ता मानिसहरूले आफ्ना हितहरू मात्रै सोच्छन्, तिनीहरूले आफ्नै भावनाबारे मात्रै विचार गर्छन्, र तिनीहरू आफ्नै इच्छा, महत्त्वाकाङ्क्षा, र उद्देश्य हासिल गर्न मात्र चाहन्छन्। आफूले मण्डलीको काममा कति हानि पुऱ्याउँछु भनेर तिनीहरूले वास्ता गर्दैनन्, र तिनीहरू मानिसहरूको मनमस्तिष्कमा रहेको आफ्नो हैसियत र तिनीहरूको आफ्नै प्रतिष्ठा जोगाउन परमेश्‍वरको घरका हितहरूलाई बलि चढाउन रुचाउँछन्। के यस प्रकारका व्यक्तिहरू अहङ्कारी र आत्मधर्मी, स्वार्थी र नीच होइनन् र? यस्ता मानिसहरू अहङ्कारी र आत्मधर्मी मात्र हुँदैनन्, तिनीहरू त हदैसम्मका स्वार्थी र नीच पनि हुन्छन्। तिनीहरूले परमेश्‍वरका अभिप्रायलाई पटक्‍कै वास्ता गर्दैनन्। के यस्ता मानिसहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुन्छ? तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय पटक्कै हुँदैन। यसैकारण, तिनीहरूले कुनै दोषको भावनाविना, कुनै डरविना, कुनै चिन्ता वा फिक्रीविना र परिणामहरूलाई विचार नगरी छाडा व्यवहार देखाउँछन्, र आफूले जे चाह्यो त्यही गर्छन्। तिनीहरूले प्रायः यसै गर्छन्, र सधैँ यसरी नै व्यवहार गरेका हुन्छन्। त्यस्तो व्यवहारको प्रकृति के हो? यसलाई सरल रूपमा भन्नुपर्दा, त्यस्ता मानिसहरूमा व्यक्तिगत प्रतिष्ठा र हैसियतका निम्ति अति नै बढी जोस हुन्छ र अति नै बलियो चाहना हुन्छ; तिनीहरू अति नै छली र धूर्त हुन्छन्। यसलाई अझ कठोर रूपमा भन्नुपर्दा, समस्याको सार के हो भने, त्यस्ता मानिसहरूमा परमेश्‍वरको भय मान्ने हृदय पटक्कै हुँदैन। तिनीहरू परमेश्‍वरको भय मान्दैनन्, तिनीहरू आफैलाई अत्यन्त महत्त्वपूर्ण ठान्छन्, र तिनीहरू आफ्नो हरेक पक्षलाई परमेश्‍वरभन्दा उच्च र सत्यताभन्दा उच्च ठान्छन्। तिनीहरूका हृदयमा, परमेश्‍वर उल्लेखयोग्य हुनुहुन्‍न, बरु नगण्य हुनुहुन्छ, र तिनीहरूको हृदयमा परमेश्‍वरको कुनै हैसियत नै हुँदैन। के आफ्नो हृदयमा परमेश्‍वरका निम्ति कुनै स्थान नहुने, र परमेश्‍वरको भय मान्ने हृदय नहुने व्यक्तिहरूले सत्यता अभ्यास गर्न सक्छन्? कदापि सक्दैनन्। त्यसैले, जब तिनीहरू विशेष रूपले खुसी हुँदै यताउता गएर आफूलाई व्यस्त राख्छन् र धेरै ऊर्जा खर्च गर्छन्, तब तिनीहरूले के गरिरहेका हुन्छन्? त्यस्ता मानिसहरूले परमेश्‍वरको निम्ति अर्पित हुन आफूले सबै कुरा त्यागेका र धेरै दुःख भोगेका समेत दाबी गर्छन्, तर वास्तवमा तिनीहरूका सबै कार्यका अभिप्राय, सिद्धान्त र उद्देश्य तिनीहरूको आफ्नै हैसियत र प्रतिष्ठाको लागि, तिनीहरूको आफ्नै हित रक्षा गर्नको खातिर हुन्छन्। के तिमीहरू यस किसिमको मानिस डरलाग्दो हुन्छ भनी भन्छौ, कि भन्दैनौ? कस्ता किसिमका मानिसहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुँदैन? के तिनीहरू अहङ्कारी होइनन्? के तिनीहरू शैतान होइनन्? अनि कोसँग परमेश्‍वरको भय मान्ने हृदयको सबैभन्दा कमी हुन्छ? पशुहरूबाहेक, दियाबलस र ख्रीष्टविरोधीहरू, शैतान र दियाबलस कोटिकाहरूमा त्यस्तो कमी हुन्छ। तिनीहरूले सत्यता कदापि स्वीकार गर्दैनन्; तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुँदै हुँदैन। तिनीहरूले जुनसुकै दुष्ट काम गर्न सक्छन्; तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन्, र उहाँका चुनिएका मानिसहरूका पनि शत्रुहरू हुन्।

तिमीहरूको दैनिक जीवनमा कुन-कुन मामलाहरूमा तिमीहरूसँग परमेश्‍वरको डर मान्ने हृदय हुन्छ? अनि कुन-कुन मामलाहरूमा हुँदैन? के तँ कसैले तँलाई चिढ्याउँदा वा तेरो हितहरूमा असर गर्दा उसलाई घृणा गर्न सक्छस्? अनि, जब तैँले कसैलाई घृणा गर्छस्, के तँ उसलाई दण्ड दिन र उसँग बदला लिन सक्छस्? (सक्छु।) त्यसोभए तँ निकै डरलाग्दो छस्! यदि तँसँग परमेश्‍वरको डर मान्ने हृदय छैन, र तँ दुष्कर्महरू गर्न सक्छस् भने, तेरो यो क्रूर स्वभाव निकै गम्भीर छ! प्रेम र घृणा त्यस्ता कुराहरू हुन्, जुन सामान्य मानवतामा हुनुपर्दछ, तर तैँले कुन कुरालाई मन पराउँछस् र कुनलाई घृणा गर्छस् भन्ने कुराबीच तैँले स्पष्ट भिन्नता छुट्ट्याउनु पर्छ। तेरो हृदयमा तैँले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, सत्यतालाई प्रेम गर्नुपर्छ, सकारात्मक कुराहरूलाई प्रेम गर्नुपर्छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्नुपर्छ, जबकि तैँले शैतान र दियाबलसहरूलाई घृणा गर्नुपर्छ, नकारात्मक कुरालाई घृणा गर्नुपर्छ, ख्रीष्ट-विरोधीहरूलाई घृणा गर्नुपर्छ, र दुष्ट मानिसहरूलाई घृणा गर्नुपर्छ। यदि तँ घृणाको कारण दाजुभाइ-दिदीबहिनीहरूलाई दबाउन र तिनीहरूसित बदला लिन सक्छस् भने, यो धेरै डरलाग्दो हुन्छ, र यो दुष्ट व्यक्तिको स्वभाव हो। कतिपय मानिसहरूमा घृणाले भरिएका सोच र विचारहरू अर्थात् दुष्ट विचारहरू मात्र हुन्छन् तर तिनीहरूले कहिल्यै पनि दुष्ट कार्यहरू गर्दैनन्। तिनीहरू दुष्ट मानिसहरू होइनन् किनभने केही आइपर्दा, तिनीहरू सत्यता खोज्न सक्षम हुन्छन्, र आफूले कस्तो आचरण अँगाल्‍ने र कसरी परिस्थिति सम्हाल्ने भन्‍नेबारेमा तिनीहरूले सिद्धान्तहरूमा ध्यान दिन्छन्। अरूसँग अन्तरक्रिया गर्दा, तिनीहरूले माग्‍नुपर्नेभन्दा बढी माग गर्दैनन्; यदि तिनीहरू त्यो व्यक्तिसँग राम्ररी मिल्छन् भने, तिनीहरूसँग अन्तरक्रिया गरिरहनेछन्; यदि मिल्दैनन् भने, अन्तरक्रिया गर्नेछैनन्। यसले तिनीहरूको कर्तव्यपालन वा जीवन प्रवेशलाई बिरलै असर गर्छ। परमेश्‍वर तिनीहरूको हृदयमा हुनुहुन्छ र तिनीहरूसँग उहाँको डर मान्ने हृदय छ। तिनीहरू परमेश्‍वरलाई चिढ्याउन अनिच्छुक हुन्छन्, र उहाँलाई चिढ्याउन डराउँछन्। यी मानिसहरूमा केही निश्‍चित गलत धारणा र विचारहरू भए पनि, तिनीहरू ती विचारहरूविरुद्ध विद्रोह गर्न वा ती त्याग्‍न सक्षम हुन्छन्। तिनीहरूले आफ्नो कार्यव्यवहारमा संयम अपनाउँछन्, र विषयबाहिरको वा परमेश्‍वरलाई चिढ्याउने एक शब्द पनि बोल्दैनन्। यस तरिकाले बोल्ने र व्यवहार गर्ने व्यक्ति सिद्धान्तहरू भएको र सत्यता पालना गर्ने व्यक्ति हो। यस्तोमा तेरो व्यक्तित्व कसैको व्यक्तित्वसँग नमिल्दो हुन सक्छ, र तँलाई त्यो व्यक्ति मन नपर्न सक्छ, तर जब तैँले ऊसँग काम गर्छस्, तँ निष्पक्ष रहन्छस् र आफ्नो कर्तव्य पूरा गर्दा तेरा निराशाहरू व्यक्त गर्दैनस्, वा परमेश्‍वरको परिवारका हितहरूमाथि तेरा निराशाहरू पोखाउँदैनस्; तैँले सिद्धान्तअनुसार कामकाज सम्हाल्न सक्छस्। यो के कुराको प्रकटीकरण हो? यो परमेश्‍वरको डर मान्ने हृदय हुनुको प्रकटीकरण हो। यदि तँसँग त्योभन्दा थोरै मात्र बढी छ भने, जब तँ अरू कसैमा केही कमी वा कमजोरीहरू देख्छस्, तब उसले तँलाई चोट पुऱ्याएको छ भने पनि वा ऊ तँविरुद्ध पूर्वाग्रही छ भने पनि, तँसित अझै पनि त्यो गुण छ र तैँले उसलाई सही व्यवहार र प्रेमपूर्वक मदत गर्नेछस्। यसको अर्थ के हो भने, तँमा प्रेम छ, तँ मानवता भएको व्यक्ति होस्, तँ दयालु र सत्यता अभ्यास गर्ने व्यक्ति होस्, तँ सत्यता वास्तविकता भएको इमान्दार व्यक्ति होस् र तँ परमेश्‍वरको डर मान्ने हृदय भएको व्यक्ति होस्। यदि तँ अझै पनि सानो कदको छस, तर तँसँग इच्छाशक्ति छ, र तँ सत्यताको लागि लागिपर्न इच्छुक छस्, र तँ सिद्धान्तअनुसार काम गर्न लागिपर्छस्, र तँ सिद्धान्तअनुसार परिस्थिति सम्हाल्न र अरूसित व्यवहार गर्न सक्छस् भने, यसलाई पनि अलिअलि परमेश्वरको डर मान्ने हृदय भएको मान्‍न सकिन्छ; यो सबैभन्दा आधारभूत कुरा हो। यदि तैँले यो कुरासमेत हासिल गर्न सक्दैनस् भने, र आफूलाई काबुमा राख्‍न सक्दैनस् भने, तँ निकै ठूलो खतरामा छस् र तँ निकै डरलाग्दो छस्। यदि तँलाई कुनै पद दिइयो भने, तैँले मानिसहरूलाई दण्ड दिन र तिनीहरूलाई समस्यामा पार्न सक्छस्; अनि तँ कुनै पनि बेला ख्रीष्टविरोधीमा परिवर्तन हुने सम्‍भावना हुन्छ। व्यक्ति असल होस् वा खराब, उसले परमेश्‍वरमा जसरीसुकै विश्‍वास गरोस् वा ऊ जुनसुकै बाटोमा हिँडोस्, केही वर्षमा उसको खुलासा हुनेछ। तैँले उसलाई सैद्धान्तिक तरिकामा व्यवहार गर्नुपर्छ, चाहे उसको नतिजा जस्तोसुकै नै किन नहोस्, चाहे ऊ दण्डित होस् वा चाहे पुरस्कृत होस्—त्यो मामला परमेश्‍वरको निम्ति हो। तैँले उसलाई सिद्धान्तहरूअनुसार चिन्‍न र व्यवहार गर्न सक्षम भए सम्म, त्यो पर्याप्त हुनेछ। तँ जो सँग संलग्न भइरहेको भए पनि, त्यस्ता मानिसहरूको नतिजा कस्तो हुन्छ भन्ने कुरा जबसम्म परमेश्‍वरले निर्धारण गर्नुहुन्न, जबसम्म मण्डलीले तिनीहरूलाई निष्कासन गर्दैन, र जबसम्म परमेश्‍वरले तिनीहरूलाई दण्ड दिनुहुन्न, र जबसम्म तिनीहरूले मुक्ति पाइरहेका हुन्छन्, तबसम्म तैँले तिनीहरूलाई प्रेम गर्दै धैर्यपूर्वक मदत गर्नुपर्छ; तैँले त्यस्ता मानिसहरूको परिणाम निर्धारण गर्नु हुँदैन, न त तैँले तिनीहरूलाई दण्ड दिन मानवीय साधनहरूको प्रयोग गर्नु नै हुन्छ। यदि त्यस्ता मानिसहरूमा भ्रष्टताका प्रकटीकरणहरू छन् भने, तैँले तिनीहरूलाई काटछाँट गर्न सक्छस्, वा तैँले तिनीहरूलाई मदत गर्न इमानदारीसाथ आफ्नो हृदय खोलेर सङ्गतिमा संलग्न हुन सक्छस्। तापनि, यदि तैँले यी मानिसहरूलाई दण्ड दिने, बहिष्कार गर्ने र झूटो आरोप लगाउने विचार गर्छस् र स्वर्गको हवाला दिँदै गल्तीहरू सच्याउन जोडबल लगाउँछस् भने, तँ समस्यामा पर्नेछस्। के त्यसो गर्नु सत्यता अनुरूप हुनेछ? त्यस्ता विचारहरू उत्तेजनाका परिणाम हुन्; ती विचारहरू शैतानबाट आउँछन् र ती मानिसको अप्रसन्नता, साथसाथै मानिसको ईर्ष्या र घृणाबाट उत्पन्न हुन्छन्। यस्तो आचरण सत्यताअनुरूप हुँदैन। यो तँमाथि उचित दण्ड ल्याउने कुरा हो, र तैँले यस्तो काम गर्नु हुँदैन। मानिसहरू तिमीहरूलाई मन नपर्ने किसिमको भएकोले वा तिनीहरू तिमीहरूसँग मिलेर बस्न नसक्ने भएकोले के तिमीहरूले तिनीहरूलाई दण्ड दिने विभिन्न तरिकाहरूको बारेमा सोच्न सक्छौ? के तिमीहरूले पहिले कहिल्यै त्यस्तो काम गरेका छौ? तैँले कतिसम्म यस्तो काम गरेको छस्? के तैँले जहिल्यै पनि अप्रत्यक्ष रूपमा मानिसहरूलाई तुच्छ बनाइरहेको, र कटु वचनहरू भनिरहेको थिइनस्, र तिनीहरूप्रति व्यङ्ग्यात्मक भइरहेको थिइनस्? त्यस्ता कुराहरू गर्दा तिमीहरू कस्ता अवस्थामा थियौ? त्यस बेला, तिमीहरूले रीस पोखाइरहेका थियौ, र तिमीहरूलाई खुसी लाग्यो; तिमीहरूले अधिकार जमाउन सक्यौ। तर पछि, तिमीहरूले मनमनै सोच्यौ, “मैले त्यस्तो घिनलाग्दो काम गरेँ। ममा परमेश्‍वरको डर मान्ने हृदय छैन, र मैले त्यस व्यक्तिसित धेरै अनुचित व्यवहार गरेको छु।” के तिमीले हृदयभित्र दोषी महसुस गर्‍यौ? (गऱ्यौँ।) तिमीहरू परमेश्‍वरको डर नमान्ने भए पनि, तिमीहरूसित कम्तीमा विवेकको बोध छ। त्यसो भए, के तिमीहरूले भविष्यमा फेरि पनि त्यस्तै प्रकारको कार्य गर्न सक्छौ? जबजब तँ मानिसहरूलाई घृणा गर्छस्, जबजब तँ तिनीहरूसँग मिलेर बस्न सक्दैनस्, वा जबजब तिनीहरूले तेरो आज्ञापालन गर्दैनन् वा तेरो कुरा सुन्दैनन्, तबतब के तँ अझै पनि तिनीहरूविरुद्ध आक्रमण गर्ने र तिनीहरूमाथि बदला लिने काम गर्न सक्छस्? त्यस्तो कार्य गर्ने व्यक्तिले कस्तो मानवता धारण गरेको हुन्छ? उसको मानवताको हिसाबमा, ऊ दुर्भावनापूर्ण हुन्छ। सत्यतासँग तुलना गरेर भन्दा, उसमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन। आफ्‍ना बोलीवचन र कार्यहरूमा, ऊसँग कुनै सिद्धान्तहरू हुँदैन; उसले छाडा शैलीमा व्यवहार गर्छ र आफूलाई जे मन लाग्यो त्यही बोल्छ र त्यही गर्छ। के त्यस्ता मानिसहरूमा सत्यता वास्तविकता हुन्छ? अवश्यै हुँदैन; यसको उत्तर, सतप्रतिशत “हुँदैन” भन्‍ने हुन्छ। के परमेश्‍वरको डर मान्ने हृदय नभएको मानिसले साँच्चै उहाँमा समर्पित भएर उहाँको आराधना गर्न सक्छ? बिल्कुलै सक्दैन।

केही मानिसहरू यसो भन्छन्: “जब म विपत्तिहरू आएको देख्छु, म परमेश्‍वरलाई बारम्बार प्रार्थना गर्छु, म कुनै क्षणमा पनि परमेश्‍वरलाई छोड्ने आँट गर्दिनँ, बरु म परमेश्‍वरको अगुवाइ र सुरक्षा माग्छु। म रातमा एक्लै बाटोमा हिँड्दा, जब ममाथि खतरा आइपर्छ, म सधैँ परमेश्‍वरमा भर पर्छु, उहाँलाई छोड्ने आँट गर्दिनँ, र उहाँलाई मद्दत गर्न अनुरोध गर्छु। आफ्नो कर्तव्य निभाउँदा, मेरो हृदयले निरन्तर परमेश्‍वरलाई प्रार्थना गर्छ र उहाँसँग विभिन्‍न कुराहरू माग्छ, ताकि उहाँले मलाई लापरवाह हुन नदिनुहोओस्, र उहाँले नै प्रभुत्व लिनुहोओस्। मैले पहिला पनि प्रयास गरेको छु, तर यदि परमेश्‍वर काम गरिरहनुभएको छैन भने, म केही पनि गर्न सक्दिनँ, र म आफैसँग केही पनि छैन।” के यो परमेश्‍वरको डर मान्ने हृदय भएको व्यक्ति हो? (होइन।) के परमेश्‍वरमा भर पर्नु गल्ती हो? के परमेश्‍वरसँग सुरक्षा माग्नु गल्ती हो? यहाँ बोलिएका शब्दहरू गलत होइनन्, तर यस प्रकारको स्थिति असामान्य हुन्छ। यसको मतलब तँलाई सहयोग गर्ने कुरा केही छैन र तँ जाने ठाउँ कतै छैन, तँ बाध्य छस् र त्यो मामलामा तैँले कुनै छनौट गर्न सक्दैनस्, र तँ आफ्ना लक्ष्यहरू हासिल गर्न परमेश्‍वरलाई प्रयोग गर्न चाहन्छस्, त्यसकारण मात्र तँ परमेश्‍वरलाई खोज्छस्। के त्यो परमेश्‍वरको डर मान्नु हो? तँलाई त्यो समस्या नहुनेबित्तिकै, तैँले परमेश्‍वरलाई पूर्णतया बिर्सिसकेको हुनेछस्। जब तँ सबैभन्दा खुसी हुन्छस्, जब तँ सफलताले भरिपूर्ण हुन्छस्, जब सबैले चापलूसी र पूजा गर्ने गरी तेरो हैसियत अरू सबैभन्दा माथि उठाइन्छ, तबचाहिँ किन तँ परमेश्‍वरमा भर पर्दैनस्? तब किन तँ उहाँको जाँच स्विकार्ने वा उहाँको मार्गदर्शन खोज्‍ने गर्दैनस्? तब किन परमेश्‍वरलाई तैँले आफूले गर्ने सबै कार्य उहाँका अभिप्रायअनुरूप छन् कि छैनन् भनेर सोध्दैनस्? जब तैँले दुष्ट कार्य गर्छस्, जब तैँले आफैलाई उच्च पारेर आफ्नै गवाही दिन्छस्, तब किन परमेश्‍वरलाई यो उहाँका अभिप्रायअनुरूप छ कि छैन भनेर सोध्दैनस्? तब किन तँ आत्मचिन्तन गर्ने, वा आफूलाई संयमित राख्न परमेश्‍वरमा भर पर्ने गर्दैनस्? यो कस्तो समस्या हो? यी सबै स्थितिहरूलाई के भनिन्छ? परमेश्‍वरको डर मान्‍ने हृदय नहुनु भनिन्छ। के परमेश्‍वरको डर मान्ने हृदय नभएको व्यक्तिले आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छ? के ऊ साँच्चै असल व्यक्ति बन्न सक्छ? के ऊ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छ? (अहँ, सक्दैन।) ऊ वास्तवमै सक्दैन। परमेश्‍वरको डर मान्ने हृदयबिना, उसले आफ्नो कर्तव्य राम्रोसँग निभाउन बिल्कुलै सक्दैन, न त चाहेर पनि सत्यता अभ्यास गर्न वा परमेश्‍वरमा समर्पित हुन नै सक्छ। परमेश्‍वरको डर मान्‍ने हृदयबिना, सत्यता अभ्यास गर्न सजिलो हुँदैन। यदि ऊ आफ्नो कर्तव्य राम्रोसँग निभाउन चाहन्छ भने पनि, त्यहाँ निश्‍चय नै अति धेरै कठिनाइ र अवरोधहरू हुनेछन्, र उसले सफलतापूर्वक सत्यता अभ्यास गर्न सक्‍नेछैन। अब अहिले, तिमीहरूले आफ्नो हृदय शान्त पारेर एक क्षण सोच्‍नुपर्छ। तिमीहरूको हालको कदको आधारमा, तिमीहरूलाई अझै पनि स्वीकार्य स्तरमा आफ्नो कर्तव्य निभाउन निकै गाह्रो हुन्छ, किनभने तिमीहरूमध्ये अधिकांशले शब्द, धर्मसिद्धान्त र प्रावधान मात्र बुझ्‍नुका साथै केही व्यक्तिगत इच्छा, आदर्श र उत्साह पालेर बसेका छौ। तर तिमीहरूको सुरूवाती बिन्दु र अभ्यासका मापदण्डहरू परमेश्‍वरको वचनको जगमा स्थापित छैनन्। तिमीहरू अझै पनि सत्यता वास्तविकतामा साँच्चै प्रवेश गरेका छैनौ; प्रावधानहरू मात्र पालन गरिरहेका छौ। यदि तिमीहरूले सत्यता पछ्याएनौ भने, भविष्यमा तिमीहरूलाई निकै खतरा हुनेछ। यदि तिमीहरू परमेश्‍वरमा विश्‍वास त गर्छौ तर सत्यता अभ्यास गर्दैनौ वा परमेश्‍वरमा समर्पित हुँदैनौ भने, ढिलोचाँडो तिमीहरू हटाइनेछौ। व्यक्तिले साँचो विश्‍वास गर्छ कि झूटो भन्ने कुरा वर्षहरूमा मापन गरिँदैन; तिमीहरूले धेरै वर्षदेखि, लामो समय परमेश्‍वरमा विश्‍वास गरेका छौ भन्दैमा, तिमीहरू साँच्चै विश्‍वास गर्छौ र परमेश्‍वरले तिमीहरूलाई स्विकार्नुहुनेछ भन्ने हुँदैन। अन्त्यमा, सत्यता अभ्यास नगर्ने मानिसहरूलाई परमेश्‍वरले स्विकार्नुहुनेछैन। उहाँले तिनीहरूलाई खुलासा गरेर हटाउनुहुनेछ। तिमीहरूले यो कुरा बुझ्नुपर्छ।

हामीले भर्खरै परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा लाग्नको लागि पूरा गर्नैपर्ने चार सर्तहरूबारे सङ्गति गऱ्यौँ। तर एउटा अर्को, अन्तिम सर्त पनि छ, जुन सबैभन्दा महत्त्वपूर्ण छ, र यो तिमीहरूले प्रायः भनिरहने कुरा पनि हो। यो के हुन सक्छ भनेर एकछिन मनन गर। (परमेश्‍वरलाई प्रेम गर्नु।) अहिलेको लागि, हामी परमेश्‍वरलाई प्रेम गर्ने विषय छुनेछैनौँ, त्यसको लागि धेरैजसो मानिसहरूको स्तर नै पुग्दैन। बरु, हामी अझ व्यावहारिक र वास्तविक कुराबारे छलफल गरौँ, जसमा मानिसहरू वास्तवमै जिउन सक्ने सत्यता संलग्‍न छ। (परमेश्‍वरमा समर्पित हुनु।) सही हो। यो परमेश्‍वरमा समर्पित हुने हृदय धारण गर्नु हो। धेरैजसो समय, मानिसहरूमाथि केही कुराहरू आइपर्दा, तिनीहरूलाई वास्तवमा अभ्यासका सही सिद्धान्तहरू नै थाहा हुँदैन, न त कुन दिशामा फर्किने वा कुन लक्ष्यतर्फ काम गर्ने भन्‍ने नै थाहा हुन्छ। तर यहाँ तिनीहरूको मनोवृत्ति र स्थितिको सवालमा एउटा कुरा छ: तिनीहरूसँग परमेश्‍वरमा समर्पित हुने हृदय हुनैपर्छ। यो मानिसहरूमा सबैभन्दा बढी हुनुपर्ने कुरा हो। उदाहरणको लागि: मानौँ तँमाथि केही आइपऱ्यो, र तँलाई के गर्ने भनेर थाहै छैन, न त तैँले अरू कसैले के गर्ने भनेर भनेको नै सुनेको छस्। यो कुरा तेरो धारणा र कल्पनाहरूसँग मिल्दो नहुन सक्छ, र यो वास्तवमै तेरो रुचिअनुरूप नहुन सक्छ; त्यसैले तेरो हृदयमा केही प्रतिरोध हुन्छ, र तँ अलि अशान्त हुन्छस्। तब, तैँले के गर्नुपर्छ? यहाँ अभ्यास गर्ने एउटा सबैभन्दा सरल तरिका छ, जुन सबैभन्दा सुरुमा समर्पित हुनु हो। समर्पण कुनै बाहिरी कार्य वा भनाइ होइन, न त यो कुनै मौखिक दाबी नै हो—यसभित्र एउटा स्थिति हुन्छ। यो तिमीहरूको लागि अपरिचित कुरा पक्‍कै नहोला। तिमीहरूको आफ्नै वास्तविक अनुभवहरूको आधारमा, तिमीहरूलाई मानिसहरू वास्तवमै समर्पित हुँदा तिनीहरूले कसरी बोल्छन्, व्यवहार गर्छन् र सोच्छन्, अनि तिनीहरूको स्थिति र मनोवृत्ति कस्तो हुन्छ जस्तो लाग्छ? (आफूले अझै पनि नबुझेका कुराहरूमा, तिनीहरूले सुरुमा आफ्ना धारणा र कल्पनाहरू पन्छाउँछन्। अनि, सत्यता र परमेश्‍वरका अभिप्राय खोज्छन्। यदि तिनीहरूले खोजी गरे पछि पनि नबुझेमा, परमेश्‍वरको समय-छनौट पर्खन सिक्छन्।) यो त्यसको एउटा पक्ष हो। अरू के छ? (जब तिनीहरूलाई काटछाँट गरिन्छ, तिनीहरू तर्क गर्ने वा आफ्नो प्रतिरक्षा गर्ने प्रयास गर्दैनन्।) यो यस स्थितिको अर्को पक्ष हो। केही मानिसहरूले तिमीहरूको मुखै अगाडि तर्क र आत्मरक्षा गर्दैनन्, यद्यपि तिनीहरू गुनासो र असन्तुष्टिले भरिएका हुन्छन्। तिनीहरूले यो कुरा तेरो मुखैमा त भन्दैनन्, तर तेरो पछाडि मनपरी बोल्छन्, र यसलाई जताततै फैलाउँछन्। के यो समर्पित हुने मनोवृत्ति हो? (होइन।) त्यसोभए, समर्पित हुने मनोवृत्ति ठ्याक्कै कस्तो हुन्छ? पहिलो कुरा त, तँसँग सकारात्मक मनोवृत्ति हुनुपर्छ: जब तँलाई काटछाँट गरिन्छ, तैँले सुरुमै सही र गलत विश्‍लेषण गर्दैनस्—समर्पित हृदयले यसलाई स्वीकार मात्र गर्छस्। उदाहरणको लागि, कसैले तैँले केही गलत गरिस् भन्न सक्छ। तैँले आफ्नो हृदयमा यो नबुझे पनि, र तँलाई आफूले के गल्ती गरेँ भनेर थाहा नभए पनि, तँ यसलाई स्विकार्छस्। स्वीकार मूलतः सकारात्मक मनोवृत्ति हो। यसका साथै, यसमा अलि बढी नकारात्मक हुने एउटा मनोवृत्ति पनि हुन्छ, जुन मौनता कायम राख्नु र कुनै प्रतिरोध नगर्नु हो। यसमा कस्तो खाले व्यवहार समावेश हुन्छ? तँ तर्क गर्दैनस्, आफ्नो प्रतिरक्षा गर्दैनस्, न आफ्नो लागि वस्तुगत बहानाहरू बनाउँछस्। यदि तँ आफ्नो लागि सधैँ बहाना बनाउँछस्, तर्क गर्छस्, र जिम्मेवारी अरू मानिसहरूमा थोपर्छस् भने, के त्यो प्रतिरोध होइन र? त्यो विद्रोही स्वभाव हो। तैँले अस्वीकार, प्रतिरोध, वा तर्क गर्नु हुँदैन। यदि तैँले सही तर्क गर्छस् नै भने पनि, के त्यो सत्यता हुन्छ र? त्यो त मानिसको वस्तुगत बहाना हो, सत्यता होइन। अहिले, म तँलाई यी कुराहरू किन भए, वा यी कसरी भए भनेर वस्तुगत बहानाहरूबारे सोधिरहेको छैन। बरु, तेरो कार्यको प्रकृति सत्यताअनुरूप छैन भनेर भनिरहेको छु। यदि तँसँग यो स्तरको ज्ञान छ भने, तँ वास्तवमै स्विकार्न र प्रतिरोध नगर्न सक्षम हुनेछस्। तँमाथि केही कुरा आइपर्दा, सुरुमा तँसित समर्पित हुने मनोवृत्ति हुनु महत्त्वपूर्ण छ। केही मानिसहरू यस्ता छन् जो काटछाँट सामना गरेपछि सधैँ तर्क र आत्मरक्षा गर्छन्: “यसको लागि म मात्र दोषी छैन, त्यसैले जिम्मेवारी कसरी मेरै टाउकोमा थोपरियो? किन कसैले मेरो पक्षमा बोल्दैन? यसको जिम्मेवारी म किन एक्लै बोक्दै छु? यो त वास्तवमै 'फाइदाजति सबैलाई, दोषजति एउटालाई' भनेजस्तो भयो। म कति अभागी रहेछु!” यो कस्तो भावना हो? यो प्रतिरोध हो। बाहिरबाट तिनीहरूले टाउको हल्लाएर गल्ती भयो भन्छन, र मुखले त्यो गल्ती स्विकार्छन्, तर हृदयमा भने तिनीहरू गुनासो गर्छन्, “मलाई काटछाँट गर्न लागिरहेको छौ भने गर, तर यस्तो कठोर रूपमा किन बोल्नुपऱ्यो? यति धेरै मानिसहरूको अगाडि मेरो आलोचना गरिरहेको छौ, तर मैले आफ्नो अनुहार कहाँ लुकाउने हो? तिमीले मलाई प्रेमसाथ व्यवहार गरिरहेको छैनौ! मैले बस एउटा सानो गल्ती गरेँ, किन निरन्तर त्यसकै कुरा गरिरहन्छौ?” यसरी, तिनीहरू आफ्नो हृदयमा यो व्यवहारलाई प्रतिरोध र अस्वीकार गर्छन्, हठी रूपमा यसको विरोध गर्छन्, र अनुचित र बझौटे बन्छन्। यी विचार र भावनाहरू भएको व्यक्ति स्पष्ट रूपमा प्रतिरोधी र विरोधी हुन्छ, त्यसैले उसमा कसरी साँच्चै समर्पित हुने मनोवृत्ति हुन सक्छ? काटछाँट सामना गर्दा, के-कस्तो कार्यव्यवहारमा स्वीकार गर्ने र समर्पित हुने मनोवृत्ति हुन्छ? कम्तीमा पनि, तँ व्यावहारिक हुनुपर्छ र तँमा समझ हुनुपर्छ। तँ सबभन्दा सुरुमा समर्पित हुनुपर्छ, र तैँले प्रतिरोध वा अस्वीकार गर्नु हुँदैन, र तैँले तर्कसङ्गततासाथ व्यवहार गर्नुपर्छ। यसरी, तँसँग न्यूनतम रूपमा आवश्यक समझ हुनेछ। यदि तँ स्वीकार र समर्पणको स्थिति हासिल गर्न चाहन्छस् भने, तैँले सत्यता बुझ्नैपर्छ। सत्यता बुझ्नु सामान्य कुरा होइन। सुरुमा, तैँले परमेश्‍वरबाट आएका कुराहरू स्विकार्नुपर्छ: कम्तीमा पनि तैँले काटछाँट भोग्नु भनेको परमेश्‍वरले नै तँलाई ती भोग्न अनुमति दिनुभएको कुरा हो, वा त्यो परमेश्‍वरबाटै आएको कुरा हो भनेर जान्‍नुपर्छ। चाहे काटछाँट पूर्णतया व्यावहारिक होस् वा नहोस्, तँसँग स्विकार्ने र समर्पित हुने मनोवृत्ति हुनुपर्छ। यो परमेश्‍वरप्रतिको समर्पणको प्रकटीकरण हो, र साथै, परमेश्‍वरको सूक्ष्म जाँच स्विकार्नु पनि हो। यदि तँ काटछाँट परमेश्‍वरबाट होइन मानिसबाट आउँछ भन्ने सोच्दै, आफ्नो पक्षमा तर्क र प्रतिरक्षा मात्र गर्छस् भने, त्यो तेरो बुझाइ त्रुटिपूर्ण छ। एकातिर, तैँले परमेश्‍वरको जाँचलाई स्विकारेको छैनस्, र अर्कोतिर, परमेश्‍वरले तेरो लागि बनाउनुभएको वातावरणमा तँसँग समर्पित हुने मनोवृत्ति वा व्यवहार छैन। यो त परमेश्‍वरमा समर्पित नहुने व्यक्ति हो। केही मानिसहरू काटछाँट सामना गर्दा, सत्यता स्विकार्ने वा आत्मचिन्तन गर्ने गर्दैनन्; तिनीहरू अन्धाधुन्ध प्रावधानहरू मात्र पछ्याउँछन्। तिनीहरूको कार्यव्यवहारले स्पष्ट रूपमै सिद्धान्तहरू उल्लङ्घन गर्छ, र तिनीहरूले सबै दोष शैतानलाई दिन्छन्। तिनीहरू भन्छन्: “ठिक्क पऱ्यो! कसले यो पुरानो शैतानलाई अन्धाधुन्ध आफूलाई प्रकट गर्न, कार्य गर्न, कुरा बिगार्न र अशान्ति सिर्जना गर्न दियो? शैतानलाई काटछाँट गर्नुपर्छ, त्यसलाई आफ्नो अनुहार देखाउन पनि लाज हुने पार्नुपर्छ, र त्यसलाई अपमानित तुल्याउनुपर्छ! शैतानले यसको जिम्मेवारी लिनुपर्छ; यसको मसँग कुनै सरोकार छैन! यो सबै दोष शैतानको हो!” त्यसपछि, तिनीहरूको हृदय खुसी हुन्छ, र तिनीहरूले आफू शैतानमाथि विजयी भएको ठान्छन्। के यस्तो सोच्नु वाहियात होइन र? जाहिर छ, तिनीहरू आफैले केही गलत गरेर शैतानले त्यो गल्ती गऱ्यो भन्छन्। त्यसोभए, वास्तवमा त्यो गल्ती गर्ने तिनीहरू थिए कि शैतान? (त्यो गल्ती गर्नेहरू तिनीहरू आफै थिए।) के तिनीहरूले तिनीहरू आफै नै शैतान हुन् भनेर साँच्चै बुझ्छन् त? (बुझ्दैनन्।) त्यसोभए, के तिनीहरूले वास्तवमा शैतानलाई घृणा गर्छन् कि आफैलाई? तिनीहरूले स्पष्ट रूपमा भन्दैनन्। छोटकरीमा भन्नुपर्दा, काँटछाँट नस्विकार्ने व्यक्ति त्यो व्यक्ति हो जो परमेश्‍वरमा पटक्कै समर्पित हुँदैन। समर्पित हुन सिक्नु भनेको सबैभन्दा कठिन पाठ हो। अधिकांश मानिसहरू, आफ्नै धारणा र कल्पनाहरूसँग मिल्ने, र आफ्नै रुचिअनुरूप हुने कुरा आइपर्दा, निकै राम्रो महसुस गर्छन्, त्यसैले तिनीहरू खुसीसाथ समर्पित हुन्छन्, र सबै कुरा सहज रूपमा अघि बढ्छ। तिनीहरूको हृदय सहज र शान्त हुन्छ, र तिनीहरू खुसी र प्रसन्न हुन्छन्। तर आफ्नो धारणासँग मेल नखाने, वा आफ्नो लागि हानिकारक कुराहरू सामना गर्दा, तिनीहरूलाई आफू समर्पित हुनुपर्छ भनेर थाहा भए पनि तिनीहरू समर्पित हुन सक्दैनन्। तिनीहरूले पीडा महसुस गर्छन्, तिनीहरूसँग चुपचाप पीडा भोग्नुबाहेक अरू कुनै विकल्प हुँदैन, र तिनीहरूलाई आफ्ना कठिनाइहरूबारे कुरा गर्न गाह्रो हुन्छ। तिनीहरू उदास महसुस गर्छन्, र कतै पोख्‍न नमिल्‍ने गुनासोहरूले भरिन्छन्, त्यसैले तिनीहरूको हृदय हुँडलिन्छ: “अरूहरू सही छन्। तिनीहरूको हैसियत मेरो भन्दा उच्च छ; मैले कसरी तिनीहरूको कुरा नसुन्नु? मैले आफ्नो भाग्य स्विकारे हुन्छ। म अर्कोपटक निकै होसियार हुनुपर्छ र सीमाबाहिर जानु हुँदैन—जो मानिसहरू आफ्नो सीमाबाहिर जान्छन्, तिनीहरू काटछाँटमा पर्छन्। समर्पित हुनु सजिलो छैन। यो निकै गाह्रो छ! मेरो उत्साहमा पानी खन्याइएको छ। म सरल र खुलस्त हुन चाहन्थेँ, तर परिणाम के भयो भने, मैले गलत कुरा भनिरहेँ, र मलाई काटछाँट गरिरहियो। भविष्यमा, म चुपचाप बस्नेछु, र अरूलाई खुशी बनाउने व्यक्ति बन्नेछु।” यो कस्तो मनोवृत्ति हो? यो त एक चरम बिन्दुबाट अर्को चरम बिन्दुमा जानु हो। परमेश्‍वरले मानिसहरूलाई समर्पणको पाठ सिक्‍न दिनुको अन्तिम लक्ष्य के हो? त्यो बेला तैँले, जतिसुकै गल्ती र पीडा भोग्नुपरे पनि, तँ जति लज्जित भए पनि, वा तेरो इज्जत, आडम्बर वा प्रतिष्ठामा जति चोट पुगे पनि, यी सबै गौण हुन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो स्थिति सुल्ट्याउनु हो। कस्तो स्थिति? सामान्य परिस्थितिमा, मानिसहरूको हृदयको गहिराइमा एक प्रकारको हठी र विद्रोही स्थिति रहेको हुन्छ—र त्यसको मूख्य कारण के हो भने, तिनीहरूको हृदयमा, निश्‍चित प्रकारको मानव तर्क र मानव धारणाहरू हुन्छन्, जुन “मेरो नियत सही भएसम्म, नतिजा जे भए पनि फरक पर्दैन; तैँले मलाई काटछाँट गर्नुहुँदैन, र गरे पनि, मैले मान्नुपर्दैन” भन्ने हुन्छ। तिनीहरूले आफ्ना कार्यहरू सत्यता सिद्धान्तअनुरूप छन् कि छैनन् वा परिणामहरू के हुनेछन् भनेर चिन्तन गर्दैनन्। तिनीहरू सधैँ केमा अडिग रहन्छन् भने, “ मेरो नियत असल र सही भएसम्म, परमेश्‍वरले मलाई स्विकार्नुपर्छ। परिणाम राम्रो नआए पनि, तैँले मलाई काटछाँट गर्नु हुँदैन, निन्दा गर्नु त झनै हुँदैन।” यो मानव तर्क हो, होइन र? यी मानिसका धारणा हुन्, होइनन् र? मानिस सधैँ आफ्नै तर्कमा अडिग रहन्छ—के यसमा कुनै समर्पणता हुन्छ? तैँले आफ्नै तर्कलाई सत्यता बनाइस् र सत्यतालाई एकातिर पन्छ्याइस्। तँ आफ्नो तर्कसँग मिल्ने कुरा सत्यता हो, र आफ्नो तर्कसँग नमिल्ने कुरा सत्यता होइन भनेर विश्‍वास गर्छस्। के योभन्दा हास्यास्पद कुरा अरू केही हुन्छ? के योभन्दा अहङ्कारी र आत्मधर्मी अरू कोही हुन्छ? समर्पणको पाठ सिक्न कुन भ्रष्ट स्वभाव समाधान गरिनुपर्छ? मानिसहरूले सत्यता अभ्यास गर्दा र तिनीहरू परमेश्‍वरमा समर्पित हुने क्रममा, सबैभन्दा ठूलो बाधा ल्याउने कुरा भनेकै वास्तवमा अहङ्कारी र आत्मधर्मी स्वभाव हो। अहङ्कारी र आत्मधर्मी स्वभाव भएका मानिसहरूले तर्क गर्ने र आज्ञापालन नगर्ने सम्भावना सबैभन्दा धेरै हुन्छ, तिनीहरू सधैँ आफू सही भएको सोच्छन्, र त्यसैले व्यक्तिको अहङ्कारी र आत्मधर्मी स्वभावलाई समाधान र काटछाँट गर्नुभन्दा जरुरी अरू केही हुँदैन। एकपटक मानिसहरूले भद्र भएर आफ्नो पक्षमा तर्क गर्न बन्द गरेपछि, विद्रोहीपनको समस्या समाधान हुनेछ, र तिनीहरू समर्पित हुन सक्षम हुनेछन्। यदि मानिसहरूलाई समर्पित हुन सक्षम बन्‍नु छ भने, के तिनीहरूमा निश्‍चित हदको तर्कसङ्गतता हुनुपर्दैन र? तिनीहरूसँग सामान्य व्यक्तिमा हुनुपर्ने समझ हुनैपर्छ। उदाहरणको लागि, कुनै कुरामा, हामीले सही कार्य गरेको वा नगरेको भए पनि, यदि परमेश्‍वर सन्तुष्ट हुनुहुन्न भने, हामीले उहाँले भन्‍नुभएअनुसार गर्नुपर्छ, र उहाँका वचनहरूलाई सबै कुराको मानकको रूपमा व्यवहार गर्नुपर्छ। के यो तर्कसङ्गत छ? सबैभन्दा पहिला मानिसहरूमा यस्तो समझ पाइनुपर्छ। हामीले जतिसुकै दुःख भोग्नुपरे पनि, र हाम्रा अभिप्राय, उद्देश्य र कारणहरू जे भए पनि, यदि परमेश्‍वर सन्तुष्ट हुनुहुन्न भने—यदि उहाँका मापदण्डहरू पूरा भएका छैनन् भने—हाम्रा कार्यहरू निस्सन्देह रूपमै सत्यतासँग मिलेका छैनन्, त्यसैले हामीले परमेश्‍वरलाई सुन्नैपर्छ र उहाँमा समर्पित हुनैपर्छ, र हामीले उहाँसँग तर्क गर्ने वा आफ्नो तर्कसङ्गतता साबित गर्ने प्रयास गर्नु हुँदैन। जब तँसँग यस्तो तर्कसङ्गतता हुन्छ, जब तँसँग सामान्य मानिसको समझ हुन्छ, तेरा समस्याहरू समाधान गर्न सजिलो हुन्छ, र तँ साँचो रूपमा समर्पित हुनेछस्। तँ जस्तोसुकै अवस्थामा भए पनि, तँ विद्रोही हुनेछैनस्, र परमेश्‍वरका मापदण्डहरूलाई अवहेलना गर्नेछैनस्; तैँले परमेश्‍वरले जे माग्‍नुहुन्छ, त्यो सही छन् कि गलत, असल छ कि खराब भनेर विश्‍लेषण गर्नेछैनस्, र तँ आज्ञापालन गर्न सक्षम हुनेछस्—र यसरी तैँले आफ्नो तर्कबाजीपन, हठीपन र विद्रोहीपनको स्थिति समाधान गर्नेछस्। के हरेक मान्छेभित्र यी विद्रोही स्थितिहरू हुन्छन्? यी स्थितिहरू मानिसहरूमा प्रायः देखा परिरहन्छन्, र तिनीहरू मनमनै यस्तो सोच्छन्, “जबसम्म मेरो दृष्टिकोण, प्रस्ताव र सुझावहरू समझदारीपूर्ण हुन्छन्, तबसम्म मैले सत्यता सिद्धान्तहरू उल्लङ्घन गरे पनि, मलाई काटछाँट गरिनु हुँदैन, किनभने मैले दुष्ट कार्य गरेको हुँदिनँ।” यो मानिसहरूको आम अवस्था हो। तिनीहरू सोच्छन् कि यदि तिनीहरूले दुष्ट कार्य गरेका छैनन् भने, तिनीहरूलाई काटछाँट गरिनु हुँदैन; र दुष्ट कार्य गर्ने मानिसहरूलाई मात्र काटछाँट गरिनुपर्छ। के यो दृष्टिकोण सही हो त? पक्कै होइन। काटछाँट मुख्यतया मानिसहरूको भ्रष्ट स्वभावप्रति लक्षित हुन्छ। यदि कसैको स्वभाव भ्रष्ट छ भने, उसलाई काटछाँट गर्नुपर्छ। यदि उसले दुष्ट कार्य गरेपछि मात्र उसलाई काटछाँट गर्ने हो भने, त्यो धेरै ढिलो भइसकेको हुनेछ, किनकि समस्या त पहिले नै उत्पन्न भइसकेको हुनेछ। यदि परमेश्‍वरको स्वभाव चिढ्याइएको छ भने, तँ समस्यामा हुन्छस्, र परमेश्‍वरले तँभित्र काम गर्न बन्द गर्न सक्नुहुन्छ—यस्तो अवस्थामा, तँलाई काटछाँट गर्नुको के अर्थ हुन्छ? तँलाई प्रकाश गर्नु र हटाउनुको कुनै विकल्प हुँदैन। मानिसहरूलाई परमेश्‍वरमा समर्पित हुनबाट रोक्ने मुख्य समस्या भनेको तिनीहरूको अहङ्कारी स्वभाव हो। यदि मानिसहरू साँच्चै न्याय र सजाय स्विकार्न सक्षम हुन्छन् भने, तिनीहरू प्रभावकारी रूपमा आफ्नो अहङ्कारी स्वभाव समाधान गर्न सक्षम हुनेछन्। अनि, तिनीहरू यसलाई समाधान गर्न जुनसुकै हदसम्म सक्षम भए पनि, यो सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुनका लागि लाभदायक नै हुनेछ। न्याय र सजाय स्विकार्नु सबैभन्दा बढी आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न र परमेश्‍वरबाट मुक्ति पाउनको लागि हो। अनि, यदि मानिसहरू साँच्चै परमेश्‍वरप्रतिको पूर्ण समर्पणता हासिल गर्न सक्षम हुन्छन् भने, के तिनीहरूले अझै पनि न्याय र सजाय अनुभव गर्नुपर्छ? के तिनीहरूले अझै पनि काटछाँट भोग्नुपर्छ? तिनीहरूले त्यो भोग्नुपर्दैन, किनभने तिनीहरूको भ्रष्ट स्वभाव पहिले नै समाधान भइसकेको हुन्छ। परमेश्‍वरको न्याय, सजाय, काटछाँट सामना गर्दा, मानिसहरू सधैँ आफ्नै पक्षबाट तर्क गर्न मन पराउँछन्। तर तैँले जति नै तर्क गरे पनि, तीमध्ये कुनै पनि कुरा सत्यता होइन; यसको मतलब, तेरो भ्रष्ट स्वभाव ठीक गरिएको छ भन्ने पनि होइन, र तँ परमेश्‍वरमा साँच्चै समर्पित हुन्छस् भन्ने त झनै होइन। त्यसैले तर्क गर्नुको कुनै अर्थ छैन; समस्या समाधान गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

यदि कसैसँग परमेश्‍वरमा समर्पित हुने हृदय छैन भने, तिनीहरू समस्यामा छन्। परमेश्‍वरले कहिलेकाहीँ तेरो लागि यस्ता परिस्थितिहरू प्रबन्ध गर्नुहुन्छ जुन तैँले कल्पना गरेजस्ता हुँदैनन्, त्यसैले तँ प्रतिरोध गर्छस्। उदाहरणको लागि, मानौँ तँ सरसफाइ मन पराउने व्यक्ति होस्, र तँलाई मैला, फोहोरी मानिसहरू मन पर्दैन; यी मानिसहरू देख्दा तँलाई घिनलाग्दा लाग्छन्। तब के तँ आफूलाई नियन्त्रणमा राख्न सक्छस्? तैँले के गर्नुपर्छ? सुरुमा, तँसँग सही मनोवृत्ति हुनुपर्छ। कस्तो मनोवृत्ति? (समर्पित हुने मनोवृत्ति।) अनि, समर्पित कसरी हुने हो? के-कस्ता भित्री विचारहरू हुँदा समर्पित हुने मनोवृत्ति हुन्छ? के कुराहरू हुँदा समर्पणको वास्तविकता हुन्छ? जब तँ यस्तो कुरा सामना गर्छस्, त्यहाँ परस्पर समायोजन हुनैपर्छ। यीमध्ये कुनै पनि समस्या होइनन्। व्यक्तिको जीवनकालमा, दसमध्ये नौ कुराहरू उसको इच्छाअनुरूप हुँदैनन्। तँ यो वा त्यो कुरा मन नपराउन सक्छस्, र तँलाई जे आइपरे पनि, तँ सधैँ आफ्नै पक्षबाट तर्क गर्छस् र परमेश्‍वर तँप्रति अन्यायपूर्ण हुनुहुन्छ भनेर गुनासो गर्छस्। वास्तवमा, यो तेरो आफ्नै समस्या हो, त्यसैले यसबारे गुनासो नगर्। तैँले लामो समयसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि र धेरै असफलताहरू अनुभव गरेपछि, आफू वास्तवमै सम्मानजनक नभएको र अरूभन्दा राम्रो नभएको थाहा पाउनेछस्। तैँले विगतमा आफूले आफूलाई अरूभन्दा राम्रो, उच्च र सम्मानजनक ठानेको कुरा सोच्दा, आफू अति नै मूर्ख भएको महसुस गर्नेछस्! जब एक व्यक्तिले अलिअलि सत्यता बुझ्छ, ऊसँग पहिलेभन्दा धेरै समझ हुन्छ, त्यसैले उसलाई सत्यता स्विकार्न सजिलो हुन्छ, र केही आइपर्दा उसलाई सत्यता खोजेर परमेश्‍वरमा समर्पित हुन सजिलो हुन्छ। यसरी आफ्नो वातावरणमा कसरी समायोजित हुने भन्‍ने कुरा तैँले सिक्नैपर्छ। परमेश्‍वरमा विश्‍वास गर्नेहरूसँग सुरुमा यो ज्ञान हुनैपर्छ: मण्डलीमा हरेक देशका मानिसहरू हुन्छन्, र प्रत्येक भूमिमा फरकफरक रीतिथिति र आनीबानीहरू हुन्छन्। यी कुराहरूले व्यक्तिको मानवताको गुणस्तर प्रतिनिधित्व गर्दैनन्; व्यक्तिको जीवनचर्या असल, सामान्य र नियमित, अनि चरित्र राम्रो भए पनि, यसको मतलब उसले सत्यता बुझ्छ भन्ने हुँदैन। तैँले यो कुरा बुझ्नैपर्छ र तँसँग यसबारे सकारात्मक बुझाइ हुनैपर्छ। यसको साथै, तेरा आफ्नै त्रुटिहरू धेरै छन्, र तँ अति नै नाटीकुटी गर्छस्। परमेश्‍वरले तँलाई राम्रो वातावरण दिनुहुन्छ, त्यसैले तैँले त्यसमा समायोजित हुन, अरूका कमजोरीहरू नऔँल्याउन, र अझ भन्‍ने हो भने, अरूसँग प्रेमसाथ घुलमिल हुन, तिनीहरूको नजिक हुन, र तिनीहरूको सबलता हेरेर त्यसबाट ज्ञान लिन सिक्‍नुपर्छ, र त्यसपछि आफ्ना त्रुटिहरू हटाउन मद्दत माग्दै परमेश्‍वरलाई प्रार्थना गर्न सिक्‍नुपर्छ। यो समर्पित हुने मनोवृत्ति र अभ्यास हो। यदि तँ अरू मानिसहरूलाई अत्यन्तै मन पराउँदैनस्, र यसले तेरो कर्तव्यमा असर गर्छ भने, तँ तिनीहरूबाट अलि टाढा रहनुपर्छ, र तिनीहरूलाई छुनु-चलाउनु हुँदैन। हस्तक्षेप छुनु-चलाउनु भनेको के हो? यो तब हुन्छ जब तँ भन्छस्: “मैले तिनीहरूको यो त्रुटि सच्याउनुपर्छ—यदि यो सच्‍चिएन भने, म यसलाई त्यतिकै छोड्दिनँ!” यो व्यवहार गर्ने कस्तो तरिका हो? यो अभद्र, अहङ्कारी र अज्ञानी तरिका हो। यस्तो खालको मान्छे नबन्। हामी सबै साधारण मानिसहरू हौँ; हामी विशेष देखिदैनौँ। हामी प्रत्येकको एउटा टाउको, दुई आँखा, एउटा नाक र एउटा मुख हुन्छ। चाहे हामी खाइरहेका हौँ, चाहे हिँडिरहेका वा काम गरिरहका हौँ, हामी बिनाकुनै भिन्नता सबैजना समान नै हुन्छौँ, र हामी अरूभन्दा असल पनि हुँदैनौ, त्यसैले हामीले आफूलाई आदरणीय वा महान्‌ व्यक्तिको रूपमा हेर्नु हुँदैन। यदि तँसँग अलिकति सीप वा प्रतिभा छ नै भने पनि, त्यसमा घमण्ड गर्नलायक केही कुरा हुँदैन। सबभन्दा पहिले, तैँले आफूलाई सही स्थानमा राख्‍नुपर्छ, र मामिलाहरू सामना गर्दा, ती मामिलाहरूलाई परमेश्‍वरका वचनहरूमा आधारित भएर हेर्नुपर्छ, र त्यसपछि तैँले कुनै पनि कुरामा गुनासो गर्नेछैनस्। यदि तँलाई केही विशेष कुरा आइपर्छ, र तँ साँच्चै समर्पित हुन सक्दैनस्, र यसले तेरो कर्तव्यमा असर गर्छ भने, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र यसको समाधानहेतु सत्यता खोज्नुपर्छ। हाम्रो कुनै सम्बन्ध नभएको ठाउँमा हामी घुस्‍नु हुँदैन। सबै कुरामा परमेश्‍वरको असल सद्भाव हुन्छ। उहाँले मानिसहरूलाई सधाइने प्रक्रियाबाट गुज्रन र समर्पित हुन सिक्‍न लगाउँदै हरप्रकारका परिस्थितिहरूमार्फत तालिम दिनुहुन्छ, र अन्त्यमा, यो सधाइने प्रक्रियाले फल दिन्छ: तिनीहरू परमेश्‍वरको डर मान्न र दुष्टताबाट टाढा रहन, र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम हुन्छन्, र त्यसपछि तिनीहरूमा वास्तविक परिवर्तन आउँछ। सत्यता पछ्याउन, तँसँग सुरुमा दुःख भोग्ने इच्छा हुनुपर्छ, र तँ आफ्नो परिस्थितिप्रति समर्पित हुन सिक्‍नुपर्छ। कहिलेकाहीँ, तेरा परिस्थितिहरू त्यति सरल हुँदैनन्; तँ हरप्रकारका मानिसहरूको सम्पर्कमा आउन सक्छस्, र हरप्रकारका अनौठा कुराहरूसँग तेरो सामना हुन सक्छ। तँमाथि जे आइपरे पनि, आफ्नो इच्छा वा आवेगमा भर नपर्, बरु प्रार्थनामा परमेश्‍वरसामु आइज। यो गर्न, तँसँग सुरुमा समर्पित हुने मनोवृत्ति हुनुपर्छ, जुन सबै सामान्य मानिसहरूमा हुनुपर्ने भित्री गुण हो। यसको साथै, यदि तँ प्रार्थना गरेर परमेश्‍वरलाई कार्य गर्न अनुरोध गर्छस्, तर उहाँले कार्य गर्नुहुन्न वा तेरो लागि कुनै बाटो खोलिदिनुहुन्न भने पनि तँ समर्पित हुनुपर्छ। तैँले यस प्रकारको परिस्थितिमै जिउन जारी राख्नुपर्छ, र परमेश्‍वरलाई तँलाई योजनाबद्ध गर्न दिनुपर्छ, र ती कुराहरूमा जबरजस्ती आफ्नो हात घुसाउने र परमेश्‍वरलाई नाघ्‍ने गर्नु हुँदैन। यो मात्रै बहुमूल्य जीवन जिउने एउटै तरिका हो। परमेश्‍वरमा समर्पित हुने वास्तविकतामा प्रवेश गर्न त्यति सजिलो छैन, किनभने कोही पनि शून्यमा जिउँदैन। तिनीहरूको जीवनलाई हेर्दा, हरेक व्यक्तिको आफ्नै बानी र आफ्नै व्यक्तिपरक विचार, चाहना र इच्छाहरू हुन्छन्। वस्तुगत परिस्थितिहरू हेर्दा, कोही पनि आफ्नो बोली र कार्यमा पूर्णतया तेरो इच्छाअनुरूप हुन सक्दैन। तसर्थ, सबैभन्दा महत्त्वपूर्ण पाठ भनेको सबैलाई आफ्नो परिस्थितिप्रति समर्पित हुन सिक्‍न र आफूमाथि आइपर्ने जीवन परिस्थितिहरूमा परमेश्‍वरका अभिप्राय खोज्‍न दिनु हो। चाहे तेरो जीवन परिस्थिति असल होस् वा खराब, सहज होस् वा कठोर, त्यहाँ तैँले सिक्नुपर्ने पाठहरू हुन्छन्। आराम र सहजता चाहनेहरूले समर्पण र दुःखको पाठ सिक्नैपर्छ; तिनीहरूले कुनै पनि परिस्थितिमा जिउन सक्ने, कर्तव्य राम्रोसँग निभाउन सक्ने र आफ्नो गवाहीमा दृढ रहन सक्ने क्षमता हासिल गर्नैपर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरका अभिप्राय पूरा गर्न सक्छन्। के यसप्रकारको जीवन परिस्थिति परमेश्‍वरद्वारा योजनाबद्ध र प्रबन्ध गरिएको हुँदैन र? सबैले असल जीवनको तृष्णा गर्छन्, तर यदि तिनीहरू बिनाकुनै पीडा, अति सहज र आदर्श परिस्थितिहरूमा जिउँछन् भने, के तिनीहरू परमेश्‍वरमा समर्पित हुन र उहाँको गवाही दिन सक्षम हुनेछन् र? जब परमेश्‍वरले तेरो लागि केही कठिनाइ र खराब परिस्थितिहरू प्रबन्ध गर्नुहुन्छ, मूख्य प्रश्‍न भनेको तँ समर्पित हुन सक्षम हुन्छस् कि हुँदैनस् भन्ने हो। यदि सबैजना यी परिस्थितिहरूमा परमेश्‍वरका अभिप्रायलाई विचार गर्न र उहाँका मापदण्डअनुसार अभ्यास गर्न सक्षम छन् भने, तैँले पनि आफूले हेर्न नचाहेका यी सबै कुराहरू र तँलाई मन नपर्ने यी कुराहरू सहनुपर्छ; यसबाहेक, तँ यी कुराहरूद्वारा बाधित हुनु हुँदैन र आफ्नो कर्तव्य सामान्य रूपमा निभाउन सक्षम हुनुपर्छ। यसरी अनुभव गर्दा, तेरो जीवन वृद्धि हुनेछ। केही मानिसहरू भन्छन्: “यदि अरूले सत्यता अभ्यास गर्दैनन् भने, म पनि अभ्यास गर्दिनँ। यदि तिनीहरू समर्पित हुँदैनन् भने, मैले चाहिँ किन समर्पित हुनुपर्ने? यदि तिनीहरूमा कुनै सहनशीलता छैन भने, ममा किन हुनुपर्ने? तिनीहरूले नगर्ने कामहरू किन सधैँ मैले नै गर्नुपर्ने? यति धेरै परिश्रम लगाउने व्यक्ति सधैँ म नै किन हुनुपर्ने? म पनि यो गर्दिनँ।” यस्तो मनोवृत्तिबारे के भन्ने? तेरो सत्यता अभ्यास तेरो आफ्नै मामला हो; यो तेरो र परमेश्‍वरबीचको कुरा हो, र यो अरू कसैसँग सम्बन्धित नै छैन। कसैलाई तँसँग सहकार्य गर्नैपर्ने कुनै दायित्व हुँदैन। तँ तँ होस्, तिनीहरू तिनीहरू हुन्। यदि तिनीहरू सत्यता अभ्यास गर्दैनन् र सत्यता वास्तविकतामा प्रवेश गर्दैनन् भने, अन्त्यमा, तँ होइन, तिनीहरू नै त्यागिनेछन्, र तैँले केही गुमाउनेछैनस्। के परमेश्‍वरमा समर्पित हुने मानिसहरूले केही गुमाउनेछन्? तिनीहरूले केही गुमाउनेछैनन्। यदि तिमीहरू यति पनि बुझ्न सक्दैनौ भने, तिमीहरू अति मूर्ख छौ!

जीवन प्रवेशको कुरा आउँदा, यी कुराहरू सङ्गतिका केही वचनहरू मात्र भए पनि, यदि तिमीहरूले यी वचनहरूलाई इमानदारीपूर्वक स्विकार्न, र आफ्नो वास्तविक जीवनमा अभ्यास गर्न र आफ्नो वास्तविकता बनाउन सक्छौ भने म व्यर्थमा बोलेको हुनेछैन। त्यसैले, चाहे यो वास्तविकताको जुनसुकै पक्ष नै किन नहोस, र चाहे यो केवल केही वचनहरू मात्र नै किन नहोस्, यदि सत्यता तेरो हृदयमा पुग्छ भने, र यदि तैँले यसलाई सत्यताको रूपमा अभ्यास गर्छस् भने, यसले तँभित्र जरा गाड्नेछ, फूल लगाउनेछ र फल फलाउनेछ। यो तेरो जीवन बन्नेछ, र तँ यसलाई जिउन सक्षम हुनेछस्, र यसलाई फलित बनाउनेछस्। यो राम्रो परिणाम हो। यदि मैले तिमीहरूसँग हरेक दिन सङ्गति गरेँ, तर मैले जति नै बोले पनि, तिमीहरूले यसलाई उपयोग गरेनौँ भने—यदि कसैले पनि यसलाई आफ्नो हृदयमा प्रवेश गर्न दिएन भने, बरु तिनीहरूले अझै पनि आफूले जे चाह्यो त्यही गरे भने, अनावश्यक र मनपरी व्यवहार गरे भने, मैले भनेको कुरा सुनेनन् भने, र अझै पनि आफ्नै इच्छा, कल्पना र धारणाहरूअनुसार नै जीवन जिए भने—तब के म व्यर्थमा बोलिरहेको हुँदिनँ र? मैले यसबारे तिमीहरूसँग कति वचनहरू बोल्छु भन्ने कुराले फरक पर्दैन—तर तिमीहरूले लगनसाथ सुन्छौ कि सुन्दैनौ, र स्वीकार र अभ्यास गर्छौ कि गर्दैनौ भन्ने कुराले फरक पार्छ। सत्यता साँच्चै र वास्तविक रूपमै मानिसको जीवन हो। यो विद्वताको शाखा होइन, न यो ज्ञान हो, न लोकपरम्परा हो, न त तर्क नै हो, यो मानिसको जीवन हो। यसले तँलाई शैतानको बन्धनबाट उम्कन, आफ्नो भ्रष्ट स्वभावबाट स्वतन्त्र हुन, बल र झन् ठूलो शक्तिसाथ जिउन, अझ आरामसँग जिउन, अनि दिशा र लक्ष्यसाथ जिउन मदत गर्छ। सत्यता वास्तवमै मानिसको जीवन बन्न सक्छ। पत्यार लाग्दैन भने, त्यसलाई केही समयको लागि अनुभव र अभ्यास गर्, परिणाम आउँछ कि आउँदैन भनेर हेर्, त्यसपछि तैँले थाहा पाउनेछस्। यदि तँ प्रायः कमजोर र नकारात्मक महसुस गर्छस् भने, म यति मात्र भन्न सक्छु कि तैँले अझै पनि सत्यता प्राप्त गरेको छैनस्। यदि तैँले सत्यता प्राप्त गरेको भए, तँ अहिले यो स्थितिमा हुनेथिनस्, यति असहाय, कमजोर र निर्बल हुनेथिनस्; तँ यसरी बारम्बार नकारात्मक हुनेथिनस्, र कहाँ जाने भन्‍ने नै थाहा नभएर अक्सर यसरी चौबाटोमा अड्किनेथिनस्। त्यो शतप्रतिशत निश्‍चित कुरा हो! कुरो बुझिस्? (बुझेँ।)

अहिले, हामीले परमेश्‍वरमाथिको विश्‍वासको सही मार्ग हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरूबारे सङ्गति पूरा गरेका छौँ। ती पाँच सर्तहरू के-के हुन्? (पहिलो, व्यक्तिसँग इमानदार हृदय हुनुपर्छ; दोस्रो, व्यक्तिसँग सत्यतालाई प्रेम गर्ने हृदय हुनुपर्छ; तेस्रो, व्यक्तिसँग विवेक र समझ हुनुपर्छ; चौथो, व्यक्तिसँग परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्छ; पाँचौँ, व्यक्तिमा परमेश्‍वरमा समर्पित हुने हृदय हुनुपर्छ।) यी पाँच सर्तहरूलाई सम्झ, यी सर्तहरूबारे सङ्गति गर र फुर्सदमा यी सर्तहरूको प्रार्थना-वाचन गर। अनि, यस अवधिमा तिमीहरूले कुन सत्यता सिद्धान्तहरू अभ्यास गरेका छौ, तिमीहरूका बोलीवचन र कार्यहरू इमानदार छन् कि छैनन्, तिमीहरूसँग परमेश्‍वरको डर मान्ने हृदय छ कि छैन, कर्तव्य निभाउँदा हृदय इमानदार हुन्छ कि हुँदैन, तिमीहरूको स्थिति झारातिरुवा छ कि छैन, तिमीहरूमा ढिलाइ गर्ने, जिम्मेवारी पन्छाउने, वा छली हुने विचारहरू छन् कि छैनन्, अनि तिमीहरू खोजी गर्छौ कि गर्दैनौ, र परमेश्‍वरका मापदण्डहरूप्रति समर्पित छौ कि छैनौ भनेर हेर। तिमीहरूले समयसमयमा यस्तो जाँच गर्नैपर्छ। परिणामहरू प्राप्त गरेर मात्र तिमीहरूको जीवनमा प्रगति हुनेछ।

सेप्टेम्बर १५, २०१५

अघिल्लो: सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरू तोड्न सकिन्छ

अर्को: आफ्‍नो भ्रष्ट स्वभावलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्