धार्मिक सेवालाई उन्मुलन गरिनैपर्छ
परमेश्वरले ब्रह्माण्डमा आफ्नो काम सुरु गर्नुभएदेखि नै, उहाँका अभिप्रायहरू पूरा होऊन् र पृथ्वीमा उहाँको काम सहज रूपमा सम्पन्न होस् भन्ने उद्देश्यका साथ, उहाँले जीवनको हरेक क्षेत्रका मानिसहरूलगायत धेरै मानिसलाई उहाँको सेवा गर्न पूर्वनिर्धारित गर्नुभएको छ—मानिसहरूलाई उहाँको सेवा गर्न छान्नुमा परमेश्वरको उद्देश्य यही हो। परमेश्वरको सेवा गर्ने हरेक व्यक्तिले उहाँको यो अभिप्राय बुझ्नुपर्छ। परमेश्वरको यस काममार्फत, मानिसहरूले उहाँको बुद्धि र सर्वशक्तिमान्ता, र पृथ्वीमा उहाँले गर्ने कामका सिद्धान्तहरू अझ स्पष्ट रूपमा देख्छन्। परमेश्वर व्यावहारिक तवरले आफ्नो काम गर्न र मानिसहरूसँग घूलमिल हुन पृथ्वीमा आउनुभएको छ, ताकि तिनीहरूले उहाँका कार्यहरू अझ स्पष्ट रूपमा चिन्न सकून्। आज, तिमीहरू—मानिसहरूको यो समूहले—व्यावहारिक परमेश्वरको सेवा गर्ने सौभाग्य पाएका छौ। यो तिमीहरूका लागि अमापनीय आशिष् हो—यो साँच्चै परमेश्वरले तिमीहरूलाई उचाल्नुभएको हो। उहाँको सेवा गर्न कुनै व्यक्तिलाई छान्दा, परमेश्वरसँग सधैँ उहाँका आफ्नै सिद्धान्तहरू हुन्छन्। मानिसहरूले कल्पना गरेजस्तो, व्यक्तिमा उत्साह भएसम्म उसले परमेश्वरको सेवा गर्न सक्छ भन्ने पटक्कै होइन। आज, तिमीहरू परमेश्वरसामु सेवा गर्ने सबैले परमेश्वरको मार्गदर्शनका कारण त्यसो गर्छन्, र तिनीहरूसँग पवित्र आत्माको काम हुन्छ, र तिनीहरू सत्यता पछ्याउने मानिस हुन् भन्ने देख्न सक्छौ। परमेश्वरको सेवा गर्ने सबैका न्यूनतम सर्तहरू यिनै हुन्।
परमेश्वरको सेवा गर्नु कुनै सरल काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ, तिनीहरू कहिल्यै परमेश्वरको सेवा गर्न सक्दैनन्। यदि तेरो स्वभावलाई परमेश्वरका वचनहरूद्वारा न्याय र सजाय गरिएको छैन भने, तेरो स्वभावले अझै पनि शैतानको प्रतिनिधित्व गर्छ, जसले परमेश्वरप्रतिको तेरो सेवा तैँले आफ्नै असल अभिप्रायहरू अर्पण गर्नु मात्र हो, र तेरो सेवा तेरो शैतानी प्रकृतिमा आधारित छ भन्ने प्रमाणित गर्छ। तँ आफ्नो प्राकृतिक चरित्रद्वारा, र आफ्ना व्यक्तिगत अभिरुचिहरूअनुसार परमेश्वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सधैँ आफूलाई गर्न इच्छा लाग्ने कुराहरू नै परमेश्वरका आनन्ददायी कुरा हुन्, र आफूलाई गर्न इच्छा नलाग्ने कुराहरू नै परमेश्वरका लागि घृणास्पद हुन् भन्ने सोच्छस्; तँ पूर्ण रूपमा आफ्नै अभिरुचिहरूअनुसार काम गर्छस्। के यसलाई परमेश्वरको सेवा गरेको भन्न मिल्छ? अन्ततः तेरो जीवन स्वभावमा अलिकति पनि परिवर्तन हुनेछैन; बरु, तेरो सेवाले त्यसलाई अझ बढी जिद्दी बनाउनेछ, जसले गर्दा तेरो भ्रष्ट स्वभावले गहिरो जरा गाड्नेछ, र यसरी, तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा, र तेरो आफ्नै स्वभावअनुसारको तेरो सेवाबाट प्राप्त अनुभवमा आधारित परमेश्वरको सेवा गर्नेबारे नियमहरू बन्नेछन्। यी मानिसका अनुभव र पाठहरू हुन्। यो संसारसँग व्यवहार गर्ने मानिसको दर्शन हो। यस्ता मानिसहरू फरिसी र धार्मिक अधिकारी हुन्। यदि तिनीहरूले अहिले नै ब्युँझेर पश्चात्ताप गरेनन् भने, तिनीहरू पक्कै पनि आखिरी दिनहरूमा मानिसहरूलाई भ्रममा पार्ने झूटा ख्रीष्ट र ख्रीष्टविरोधीमा परिणत हुनेछन्। उल्लेख गरिएका झूटा ख्रीष्टहरू र ख्रीष्टविरोधीहरू यस्तै मानिसहरूमाझबाट पैदा हुनेछन्। यदि परमेश्वरको सेवा गर्नेहरू आफ्नै चरित्रलाई पछ्याउँछन् र आफ्नै इच्छाअनुसार काम गर्छन् भने, तिनीहरू कुनै पनि समयमा हटाइने जोखिममा हुन्छन्। अरूको मन जित्न, तिनीहरूलाई उपदेश दिन र नियन्त्रणमा राख्न, र उच्च स्थानमा खडा हुन आफ्नो धेरै वर्षको अनुभवमा भर परेर परमेश्वरको सेवा गर्नेहरू—र कहिल्यै पश्चात्ताप नगर्ने, कहिल्यै आफ्ना पापहरू नस्विकार्ने, कहिल्यै हैसियतका लाभहरू परित्याग नगर्नेहरू—यी मानिसहरू परमेश्वरसामु ढल्नेछन्। तिनीहरू पावलकै प्रकारका हुन्, जो आफ्नो वरिष्ठताको फाइदा लिन्छन् र अरूको अगाडि आफ्नो योग्यताको धाक देखाउँछन्। परमेश्वर यस्ता मानिसहरूलाई सिद्ध पार्नुहुन्न। यस्तो सेवा गर्नु भनेको परमेश्वरको काममा अवरोध गर्नु हो। मानिसहरू सधैँ पुराना कुराहरूमा टाँसिन्छन्। तिनीहरू विगतका धारणाहरूमा, बितेका समयका सबै कुरामा टाँसिन्छन्। यो तिनीहरूको सेवामा एउटा ठूलो अड्चन हो। यदि तैँले तिनलाई फालिनस् भने, यी कुराहरूले तेरो सम्पूर्ण जीवन बर्बाद गर्नेछन्। तैँले परमेश्वरको “सेवा” गर्नका खातिर दौडधुप गरेर आफ्नो खुट्टा भाँचिस् भने पनि, परिश्रम गरेर आफ्नो ढाड भाँचिस् भने पनि, वा शहादत नै प्राप्त गरिस् भने पनि, परमेश्वरले तँलाई अलिकति पनि अनुमोदन गर्नुहुनेछैन। यसविपरित: उहाँले तँ दुष्कर्मी होस् भनेर भन्नुहुनेछ।
आजदेखि सुरु गरेर, परमेश्वरले धार्मिक विचारहरू नभएकाहरूलाई, आफ्नो पुरानो स्वभाव पन्छाउन इच्छुक हुनेहरूलाई, र सरल हृदयले परमेश्वरमा समर्पित हुनेहरूलाई औपचारिक रूपमा नै सिद्ध तुल्याउनुहुनेछ। जो मानिसहरू परमेश्वरको वचनहरूको निम्ति तिर्खाउँछन् उनीहरूलाई उहाँले सिद्ध गर्नुहुनेछ। यी मानिसहरू खडा भएर परमेश्वरको सेवा गर्नुपर्दछ। परमेश्वरमा अन्त्यहीन प्रशस्तता र असीम बुद्धि छ। उहाँको अचम्मको काम र बहुमूल्य वचनहरूले मानिसहरूको अझ ठूलो सङ्ख्याले आनन्द गरून् भनेर प्रतीक्षा गरिरहेका छन्। यस कुरालाई हेर्दा, धार्मिक धारणाहरू भएकाहरू, वरिष्ठता ग्रहण गर्नेहरू, र आफूलाई पन्छ्याउन नसक्नेहरूलाई ती नयाँ कुराहरू स्वीकार्न कठिन हुन्छ। पवित्र आत्मासँग यी मानिसहरूलाई सिद्ध गर्ने कुनै अवसर नै छैन। यदि कुनै व्यक्तिमा समर्पित हुने सङ्कल्प छैन, र ऊ परमेश्वरको वचनहरूको लागि तिर्खाउँदैन भने, ती नयाँ कुराहरू स्विकार्नका लागि तिनीहरूसँग कुनै माध्यम छैन; तिनीहरू केवल झन्-झन् विद्रोही, झन्-झन् धेरै धूर्त हुनेछन्, र यसरी गलत मार्गमा पुग्नेछन्। आफ्नो काम अहिले गरिरहँदा, परमेश्वरले अझ धेरै व्यक्तिहरू खडा गर्नुहुनेछ जसले उहाँलाई साँच्चै प्रेम गर्दछन् र नयाँ ज्योति ग्रहण गर्न सक्छन्, र आफ्नो वरिष्ठता ग्रहण गर्ने धार्मिक अधिकारीहरूलाई उहाँले पूर्णरूपमा ढाल्नुहुनेछ; जिद्दी पूर्वक परिवर्तनको प्रतिरोध गर्नेहरूमध्ये एक जनालाई पनि उहाँ चाहनुहुन्न। के तँ यी मानिसहरूमध्ये एक जना हुन चाहन्छस्? तैँले तेरो आफ्नै अभिरुचिहरू अनुसार सेवा गर्छस्, कि परमेश्वरले चाहनुभए अनुसार गर्छस्? यो तैँले आफै जान्नुपर्ने कुरा हो। के तँ धार्मिक अधिकारी होस्, वा के तँ परमेश्वरले सिद्ध बनाउनुभएको नवजात शिशु होस्? तेरो कति सेवालाई पवित्र आत्माले अनुमोदन गर्नुहुन्छ? योमध्ये कत्ति जति परमेश्वरले सम्झन समेत झन्झट मान्नुहुनेछ? तेरो वर्षौंको सेवाको परिणामको रूपमा तेरो जीवनमा कति ठूलो परिवर्तन आएको छ? के तँ यी सबैको बारेमा स्पष्ट छस्? यदि तँ साँच्चिकै विश्वासबाटकै होस् भने, तैँले पहिलेका तेरो पुरानो धार्मिक धारणाहरू हटाउनेछस्, र नयाँ तरिकामा अझै राम्ररी परमेश्वरको सेवा गर्नेछस्। अब खडा हुन धेरै ढीला भएको छैन। पुरानो धार्मिक धारणाहरूले कुनै व्यक्तिको सम्पूर्ण जीवनलाई हराउन सक्छ। एक व्यक्तिले प्राप्त गरेको अनुभवले उनीहरूलाई परमेश्वरबाट बरालिन र आफ्नै तरिकाले काम-कुराहरू गर्ने तुल्याउन सक्छ। यदि तैँले त्यस्ता कुराहरूलाई पन्छ्याउँदैनस् भने, ती तेरो जीवनको वृद्धिमा ठेस लाग्ने अवरोध हुनेछन्। परमेश्वरले सधैँ उहाँको सेवा गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ, र तिनीहरूलाई हल्का रूपमा हटाउनुहुन्न। यदि तैँले परमेश्वरको वचनहरूको न्याय र सजायलाई साँच्चिकै स्वीकार गर्छस् भने, यदि तँ आफ्नो पुरानो धार्मिक आचरणहरू र नियमावलीहरूलाई पन्छ्याउन सक्छस्, र पुरानो धार्मिक धारणाहरूलाई आजका वचनहरूको मापनको रूपमा प्रयोग गर्न छोड्छस् भने मात्रै तेरो निम्ति भविष्य हुनेछ। तर यदि तँ पुराना चीजहरूसँग टाँसिरहन्छस् भने, यदि तँ अझै तिनलाई मूल्यवान् ठान्छस् भने, तैँले मुक्ति पाउन सक्ने कुनै मार्ग छैन। यस्ता मानिसहरूलाई परमेश्वरले वास्ता गर्नुहुन्न। यदि तँ साँच्चिकै सिद्ध हुन चाहन्छस् भने, तैँले पहिलेदेखिका सबै कुरा त्याग्ने संकल्प गर्नुपर्छ। पहिले जे गरिएको थियो त्यो ठीक थियो भने पनि, यो परमेश्वरको काम थियो भने पनि, तँ अझै यसलाई अलग राख्न सक्षम हुनुपर्दछ र यससँग टाँसिन बन्द गर्नुपर्दछ। यदि यो स्पष्ट रूपमै पवित्र आत्माको काम, पवित्र आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको काम थियो भने पनि, आज तैँले त्यसलाई पन्छ्याउनुपर्छ। तैँले यसलाई समाति राख्नु हुँदैन। परमेश्वरले चाहनुहुने कुरा यही हो। सबै कुरालाई नवीकरण गरिनुपर्छ। परमेश्वरको काम र परमेश्वरको वचनहरूमा, उहाँले अघि गएका पुरानो कुराहरूको कुनै सन्दर्भ दिनुहुन्न, उहाँले पुरानो पञ्चाङ्गलाई खोतल्नुहुन्न; परमेश्वर त्यो परमेश्वर हुनुहुन्छ जो सँधै नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न, र विगतका आफ्ना वचनहरूमा समेत टाँसिनुहुन्न—जुन कुराले देखाउँदछ कि परमेश्वरले कुनै नियमावलीहरू पालना गर्नुहुन्न। त्यसकारण, यदि एक मानिसको रूपमा तँ जहिले पनि विगतका कुराहरूमा टाँसिरहन्छस्, यदि तैँले तिनलाई छोडिदिन इन्कार गर्छस् भने, र कठोरताका साथ तिनलाई सूत्रको रूपमा लागू गर्छस् भने, जबकि परमेश्वर अब आफूले पहिले गरेको माध्यमहरू प्रयोग गरेर काम गर्नुहुन्न, त्यसोभए के तेरा शब्दहरू र कार्यहरू विघटनकारी छैनन्? के तिनीहरू परमेश्वरका विरोधी होइनन् र? के तँ आफ्नो पूरै जीवन यी पुरानो चीजहरूले बरबाद गर्न र बिगार्न दिन इच्छुक छस्? यी पुराना चीजहरूले तँलाई यस्तो व्यक्ति बनाउनेछ जसले परमेश्वरको काममा अवरोध पुऱ्याउँछ—के तँ त्यस्तै प्रकारको व्यक्ति बन्न चाहन्छस्? यदि तँ साँच्चिकै त्यो चाहँदैनस् भने, तैँले के गरिरहेको छस् त्यसलाई रोकेर फर्किहाल्; फेरि सुरु गर्। परमेश्वरले तेरो विगतका सेवाहरू सम्झनुहुनेछैन।