३. धार्मिक संसारको धारणा: “प्रभुको पुनरागमन हुँदा, उहाँले तुरुन्तै मानिसहरूको स्वरूप बदलिदिनुहुनेछ र तिनीहरूलाई पवित्र पार्नुहुनेछ”

बाइबलमा पावलले यसो भनेका छन्: “एकै क्षणमा, आँखाको झिमिकमा, अन्तिम तुरहीमा: किनभने तुरही फुकिनेछ, अनि मृतकहरू अविनाशी भई उठ्नेछन्, अनि हामी परिवर्तन हुनेछौं” (१ कोरिन्थी १५:५२), त्यसकारण धार्मिक संसारले जब परमेश्‍वर आउनुहुन्छ, तब उहाँले तुरुन्तै तिनीहरूको स्वरूप बदलिदिनुहुनेछ, तिनीहरूलाई पवित्र पार्नुहुनेछ, र सोझै स्वर्गको राज्यमा उठाइलैजानुहुनेछ भन्‍ने विश्‍वास गर्छ।

बाइबलका वचनहरू

“मलाई प्रभु, प्रभु भन्‍ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ” (मत्ती ७:२१)

“किनभने यदि हामीले सत्यको ज्ञान प्राप्त गरिसकेपछि पनि जानी-जानी पाप गर्छौं भने, त्यसउप्रान्त पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन” (हिब्रू १०:२६)

“स्वर्गको राज्यले हिंसा भोगेको छ, र यसलाई हिंस्रकहरूले बलजफती कब्जा गर्छन्” (मत्ती ११:१२)

“उहाँका आज्ञाहरू अनुसार गर्नेहरू आशिषित् हुन्, तिनीहरूले जीवनको रुखको अधिकार पाउन सक्छन् र प्रवेशद्वार भएर सहरभित्र प्रवेश गर्न सक्छन्” (प्रकाश २२:१४)

“मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यताका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्‍ना १६:१२-१३)

“तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनेर होइन, तर तपाईंले तिनीहरूलाई दुष्टताबाट अलग राख्‍नुहोस् भनेर म प्रार्थना गर्छु। … तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो। … अनि तिनीहरूका खातिर म आफैलाई पवित्र पार्छु, ताकि तिनीहरू पनि सत्यताद्वारा शुद्ध पारिन सकून्” (यूहन्‍ना १७:१५-१९)

“मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्विकार्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले आखिरी दिनमा उसको न्याय गर्नेछ” (यूहन्‍ना १२:४८)

“किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ” (१ पत्रुस ४:१७)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्‍वरले मानिसका अपराधहरू सम्‍झनुहुन्‍न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्‍न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ। … आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिसलाई बिस्तारै यस बिन्दुबाट परिवर्तन गर्न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

तैँले येशू आखिरी दिनहरूको अवधिमा ओर्लनुहुनेछ भन्‍ने मात्रै जान्दछस्, तर उहाँ खास कसरी ओर्लनुहुनेछ? भर्खरै छुटकारा पाएको, र परिवर्तन भई नसकेको, वा परमेश्‍वरद्वारा सिद्ध भई नसकेको तँजस्तो पापी, के तँ परमेश्‍वरका अभिप्रायअनुरूपको बन्‍न सक्छस्? अझै आफ्नो पुरानो व्यक्तित्व बोकेको तेरो सन्दर्भमा भन्नुपर्दा, येशूले तँलाई मुक्ति दिनुभएको थियो, र परमेश्‍वरले दिनुभएको मुक्तिको कारण तँलाई पापीको रूपमा गन्ती गरिँदैन भन्‍ने कुरा साँचो हो, तर तँ पापी छैनस्, र तँ अशुद्ध छैनस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। तँलाई परिवर्तन गरिएको छैन भने तँ कसरी सन्तमय बन्‍न सक्छस्? भित्री रूपमा, तँ अपवित्रताले भरिएको, स्वार्थी र तुच्छ छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—तँ निकै भाग्यमानी हुनुपर्नेछ! परमेश्‍वरमाथिको विश्वासमा तैँले एउटा कदमलाई चुकाएको छस्: तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँलाई परिवर्तन गरिएको छैन। तँ परमेश्‍वरका अभिप्रायअनुरूपको बन्‍नका लागि, परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमै परिवर्तन गर्ने र धुने काम गर्नुपर्छ; यदि तँलाई छुटकारा मात्रै दिइएको हो भने, तैँले पवित्रता प्राप्त गर्न सक्‍नेछैनस्। यसरी तँ परमेश्‍वरका असल आशिषहरूमा भाग पाउन अयोग्य हुनेछस्, किनभने मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको एक चरणलाई तैँले चुकाएको छस्, जुन परिवर्तन हुने र सिद्ध पारिने कार्यको मुख्य चरण हो। भर्खरै छुटकारा दिइएको पापी, तैँले यसर्थ प्रत्यक्ष रूपमा परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पद र पहिचानको सम्‍बन्धमा

आखिरी दिनहरूको काममा, वचन चिह्न र चमत्कारका कार्यहरूको प्रकटीकरणभन्दा अझ शक्तिशाली हुन्छ, र वचनको अधिकारले चिह्न र चमत्कारका कार्यहरूलाई उछिन्‍नेछ। त्यो वचनले मानिसको हृदयको गहिराइमा गडेका सबै भ्रष्ट स्वभावलाई प्रकट गर्दछ। तँसित त्यसलाई आफै पहिचान गर्ने कुनै उपाय छैन। जब वचनद्वारा तिनलाई तेरो अगि उदाङ्गो पारिन्छ तब तैँले तिनलाई प्राकृतिक रूपमै चिन्‍नेछस्; तैँले तिनलाई अस्वीकार गर्न सक्‍नेछैनस्, र तँ पूर्ण रूपमा विश्‍वस्त हुनेछस्। के यो वचनको अधिकार होइन र? यो आज वचनको कामद्वारा प्राप्त गरिने परिणाम हो। त्यसकारण, रोग निको पारेर र भूतहरू निकालेर मानिस उसका पापहरूबाट पूर्ण रूपले मुक्त हुन सक्दैन, न त चिह्न र चमत्कारहरू देखाएर नै उसलाई सम्पूर्ण रूपमा पूर्ण बनाउन सकिन्छ। रोग निको पार्ने र भूतहरू धपाउने अधिकारले मानिसलाई अनुग्रह मात्र दिन्छ, तर मानिसको शरीर अझै पनि शैतानकै अधीनमा हुन्छ, र ऊभित्र त्यो भ्रष्ट शैतानिक स्वभाव अझै रहिरहन्छ। अर्को शब्दमा भन्‍ने हो भने, जुन कुरा अझै शुद्ध पारिएको हुँदैन त्यो पाप र फोहोरसँग सम्बन्धित हुन्छ। वचनको माध्यमबाट शुद्ध पारिएपछि मात्र मानिस परमेश्‍वरद्वारा प्राप्त हुन सक्छ। जब मानिसबाट भूतहरू निकालिन्थ्यो र उसले छुटकारा पाउँथ्यो, त्यसको मतलब ऊ शैतानको हातबाट खोसिएर परमेश्‍वरमा फर्कियो भन्‍ने मात्र हुन्थ्यो। तापनि, परमेश्‍वरद्वारा शुद्ध नपारी वा परिवर्तन नगरी ऊ भ्रष्ट मानिसजस्तो नै रहन्छ। मानिसभित्र अझै पनि फोहोर, विरोध, र विद्रोहीपन हुन्छ; परमेश्‍वरले छुटकारा दिनुभएकोले मानिस उहाँकहाँ फर्केको मात्र हुन्छ, तर ऊसँग परमेश्‍वरको बारेमा रत्तीभर पनि ज्ञान हुँदैन र अझै पनि ऊ उहाँको विरोध गर्न र उहाँलाई धोका दिन सक्षम हुन्छ। मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौँ वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई किनिएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्ण रूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय, सजाय, र शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र ऊ शुद्ध पारिन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। यो वचनको न्याय र सजायको माध्यमबाट नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिने स्थितिमा आउँछ, र वचन प्रयोग गर्दा नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, अभिप्राय र व्यक्तिगत आकांक्षाहरूलाई शुद्ध गर्न, न्याय गर्न र पूर्ण रूपमा प्रकट गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने काम व्यावहारिक काम हो। येशूको युगको अवधिमा, उहाँ मानिसलाई सिद्ध बनाउन आउनुभएन, तर मानिसलाई उद्धार गर्न आउनुभयो, त्यसकारण, मानिसहरूलाई उहाँको पछि लगाउन उहाँले केही आश्‍चर्यकर्महरू गर्नुभयो। किनकि उहाँ मुख्य रूपले क्रूसीकरणको काम पूरा गर्न आउनुभएको थियो, र चिह्नहरू देखाउनु उहाँको सेवकाइको हिस्सा थिएन। त्यस्ता चिन्हहरू र अचम्‍मका कामहरू उहाँको कामलाई अझ प्रभावकारी बनाउन गरिएका थिए; ती अतिरिक्त काम थिए, र तिनले सम्पूर्ण युगको कामको प्रतिनिधित्व गर्दैनथिए। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्‍वरले केही चिन्हहरू र अचम्‍मका कामहरू पनि देखाउनुभयो—तर परमेश्‍वरले आज गर्नुहुने काम व्यावहारिक काम हो, र निश्चय पनि उहाँले अहिले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्‍न। यदि उहाँले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुभयो भने उहाँको व्यावहारिक काम लथालिङ्ग हुनेथियो, र उहाँले अरू थप काम गर्न सक्नुहुनेथिएन। यदि परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन वचन प्रयोग गर्छु भनी भन्‍नुभयो, तर उहाँले चिन्हहरू र अचम्‍मका कामहरू पनि देखाउनुभयो भने, के मानिसले साँच्चै उहाँमा विश्‍वास गरेको छ कि छैन भनी स्पष्ट पार्न सकिन्थ्यो? यसैले, परमेश्‍वरले त्यस्ता कार्यहरू गर्नुहुन्न। मानिसभित्र धर्म धेरै छ; परमेश्‍वर मानिसभित्र भएका सबै धार्मिक धारणाहरू र अलौकिक कुराहरूलाई रद्द गर्न अनि मानिसलाई परमेश्‍वरको व्यवहारिकता जनाउन आखिरी दिनहरूमा आउनुभएको छ। उहाँ परमेश्‍वरको त्यो प्रतिरूप हटाउन आउनुभएको छ, जुन अस्पष्ट र काल्पनिक छ—अर्को शब्दमा भन्‍ने हो भने, एउटा यस्तो परमेश्‍वरको प्रतिरूप जसको कुनै अस्तित्व नै छैन। अनि यसैले अहिले तेरो निम्ति एउटै मात्र मूल्यवान् कुरा भनेको व्यावहारिकताको ज्ञान प्राप्त गर्नु हो! सत्य सबै कुराभन्दा माथि हुन्छ। आज तँमा कति धेरै सत्यता छ? के चिन्हहरू र अचम्‍मका कामहरू देखाउनेहरू सबै परमेश्‍वर हुन्? दुष्टात्माहरूले पनि चिन्हहरू र अचम्‍मका कामहरू देखाउन सक्छन्; के ती सबै परमेश्‍वर हुन्? परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा मानिसले खोज्ने भनेको सत्यता हो र उसले जीवनमा खोज्‍ने कुरा जीवन हो, चिन्हहरू र अचम्‍मका कामहरू होइनन्। परमेश्‍वरमा विश्‍वास गर्ने सबैको उद्देश्य यही नै हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्‍वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुईवटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँ खुलासा र काँटछाँट लामो समयसम्म गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक तरिकाहरूलाई सामान्य वचनले प्रतिस्थापन गर्न सक्दैन, तर मानिससँग नभएको सत्यताले प्रतिस्थापन गर्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णत: विश्‍वस्त हुन सक्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरका अभिप्राय, र परमेश्‍वरको कामको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्‍वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई उहाँले न्याय नगरिकन, मानिसले सम्भवतः उहाँको धर्मी स्वभावलाई जान्न सक्दैन, जसले कुनै अपराध सहन सक्दैन, न त मानिसले परमेश्‍वरको आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न सक्छ। उहाँको गवाहीको खातिर, र उहाँको प्रबन्धको खातिर, उहाँले आफ्नो सम्पूर्णतालाई सार्वजनिक गर्नुहुन्छ, यस प्रकारले मानिसहरूलाई उहाँ सार्वजनिक रूपमा देखा परेर, परमेश्‍वरको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभावमा रूपान्तरित हुन, र जोडदार गवाही दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभाव रूपान्तरण परमेश्‍वरका विभिन्न प्रकारका कार्यहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरूविना, मान्छे परमेश्‍वरको गवाही दिन र परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभाव रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्‍वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्‍वरको साक्षी भएको छ, र परमेश्‍वरका अभिप्रायहरू अनुरूप भएको छ भन्‍ने सङ्केत गर्छ। आज, देहधारी परमेश्‍वर पृथ्वीमा आफ्नो कार्य गर्न आउनुभएको छ, र उहाँको माग मानिसले उहाँको ज्ञान हासिल गरोस्, उहाँप्रति समर्पित होस्, उहाँको गवाही दिओस्, तिनीहरूले उहाँको व्यावहारिक र सामान्य कार्य जानून्, मानिसका धारणासँग नमिल्ने उहाँका सबै वचन र कार्यहरूप्रति तिनीहरू समर्पित होऊन्, र मानिसलाई बचाउनका साथै मानिसउपर विजय गर्नका लागि उहाँले समापन गर्ने सबै कार्यहरूको गवाही तिनीहरूले दिऊन् भन्‍ने हो। परमेश्‍वरको गवाही दिनेहरूसँग परमेश्‍वरको ज्ञान हुनैपर्छ; यस प्रकारको गवाही मात्र सही र व्यावहारिक हुन्छ, र यस प्रकारको गवाहीले मात्र शैतानलाई लाजमा पार्न सक्छ। उहाँको न्याय, सजाय, र काँटछाँट भोगेर उहाँलाई जानिसकेकाहरूलाई उहाँ आफ्नो गवाही दिनका लागि प्रयोग गर्नुहुन्छ। शैतानले भ्रष्ट तुल्याएका मानिसहरूलाई उहाँले उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ, र त्यसैगरी जसको स्वभाव परिवर्तन भएको छ, र जसले उहाँको आशिषप्राप्त गरेको छ, यी सबैलाई पनि उहाँले गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँद्वारा मुक्ति नपाएको मानिसले आफ्नो मुखबाट उहाँको प्रशंसा गरिरहनु पर्दैन, न त उहाँलाई शैतानको दुष्ट्याइँको प्रशंसा र गवाहीको नै आवश्यकता छ। केवल उहाँलाई चिन्नेहरू मात्र उहाँको गवाही दिन योग्य छन्, र स्वभावमा परिवर्तन भएकाहरू मात्रै उहाँको गवाही दिन योग्य छन्। परमेश्‍वरले जानाजानी मानिसलाई उहाँको नामको बेइज्जत गर्न दिनुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

तिमीहरूले परमेश्‍वरका अभिप्रायहरू देख्न सक्‍नुपर्छ, अनि परमेश्‍वरको कार्य स्वर्ग र पृथ्वी अनि सारा थोकहरूको सृष्टि जस्तो सरल छैन भन्‍ने देख्नैपर्छ। किनभने, आजको कार्य भ्रष्ट भएका, चरम रूपमा लट्टिएकाहरूको रूपान्तरण हो, यो तिनीहरूलाई शुद्ध गर्नको लागि हो जो सृष्टि त गरिए तर शैतानको बन्धनमा परे। यो आदम अनि हव्वाको सृष्टि होइन, न त ज्योतिको सृष्टि, अथवा हरेक वनस्पति अनि पशुको सृष्टि नै हो। परमेश्‍वरले शैतानद्वारा भ्रष्ट बनाइएका कुराहरूलाई शुद्ध गर्नुहुन्छ अनि तिनीहरूलाई नयाँ बनाउनुहुन्छ; तिनीहरू उहाँको आफ्नै स्वामित्वका कुराहरू बन्छन्, अनि तिनीहरू उहाँको महिमा बन्छन्। यो मानिसले सोचेजस्तो हुँदैन, यो स्वर्ग अनि पृथ्वी अनि त्यसमा भएका यावत् थोकहरूको सृष्टि जस्तो, अथवा शैतानलाई सरापेर अतल कुण्डमा फ्याँके जस्तो सरल हुँदैन; बरु, यो मानिसलाई रूपान्तरण गर्ने, नकारात्मक कुराहरूलाई परिवर्तन गरेर सकारात्मक बनाउने, उहाँका नभएका कुराहरूलाई उहाँको आफ्नै बनाउने कार्य हो। परमेश्‍वरको कार्यको यस चरण पछाडिको सत्यता यही नै हो। तिमीहरूले यस कुरालाई बुझ्नैपर्छ अनि यी कुराहरूलाई ज्यादै सरल बनाउन छाड्नैपर्छ। परमेश्‍वरको कार्य अन्य साधारण कामहरू जस्तो हुँदैन। यसको अद्भुतता अनि बुद्धि मान्छेको समझदेखि बाहिरको कुरा हो। परमेश्‍वरले यी सबै कुराहरू कार्यको यस चरणको समयमा सृष्टि गर्नुहुन्न, न त उहाँले तिनीहरूलाई नष्ट नै गर्नुहुन्छ। बरु, उहाँले आफैले सृष्टि गर्नुभएका सबै कुराहरूलाई रूपान्तरण गर्नुहुन्छ, अनि शैतानले दूषित पारेको सबै कुराहरूलाई शुद्ध पार्नुहुन्छ। अनि यस किसिमले परमेश्‍वरले एउटा महान कार्यको सुरुवात गर्नुहुन्छ, अनि परमेश्‍वरको कार्यको सम्पूर्ण महत्त्व यही हो। के यी वचनहरूमा तिमीहरूले परमेश्‍वरको कार्य साँच्चै नै सरल छ भन्‍ने देख्छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

सम्बन्धित भजनहरू

आखिरी दिनहरूमा परमेश्‍वरको कामको भित्री सत्य

वचनद्वारा गरिएको न्यायले परमेश्‍वरको अख्तियारलाई अझ राम्ररी प्रतिनिधित्व गर्छ

मानिसको पापी प्रकृति बदल्न के गर्न सकिन्छ?

अघिल्लो: २. धार्मिक संसारको धारणा: “प्रभुको पुनरागमन हुँदा, उहाँ आफू बौरी उठेको आत्मिक शरीरमा मानिसहरूसामु देखा पर्नुहुनेछ”

अर्को: ४. धार्मिक संसारको धारणा: “प्रभुको पुनरागमन हुँदा, मानिसहरूलाई उहाँसँग आकाशमा भेट्न सिधै उठाइलगिनेछ”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्