१६. धार्मिक संसारको धारणा: “प्रभुको पुनरागमन हुँदा, सम्भवतः उहाँ चीनमा देखा पर्न र कार्य गर्न सक्नुहुन्न”

धार्मिक संसारले के विश्‍वास गर्छ भने, पुरानो र नयाँ करारको युगमा परमेश्‍वरले गर्नुभएको सबै काम इस्राएलमा गरिएको थियो, र आखिरी दिनहरूमा प्रभु येशूको पुनरागमन हुँदा पनि त्यो सबै इस्राएलमै हुनेछ, र उहाँ कहिल्यै चीनमा देखा पर्न र काम गर्न सक्‍नुहुन्‍न।

बाइबलका वचनहरू

“किनकि मेरा विचारहरू तेरा विचारहरू होइनन्, न त तेरा मार्गहरू नै मेरा मार्गहरू हुन्, यहोवाले भन्नुभयो” (यशैया ५५:८)

“किनकि जसरी बिजुली पूर्वबाट चम्किँदा पश्‍चिमसम्मै चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। किनभने जहाँ सिनु हुन्छ, त्यहाँ गिद्धहरू जम्मा हुनेछन्” (मत्ती २४:२७-२८)

“किनभने घाम उदाएदेखि अस्ताउञ्‍जेलसम्‍म नै अन्यजातिहरूका बिचमा मेरो नाउँ महान् हुनेछ; … सेनाहरूका यहोवा भन्‍नुहुन्‍छ” (मलाकी १:११)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्‍वर र मानिसको बारेमा उही शब्दहरू प्रयोग गरी बताउन सकिँदैन। उहाँको सार र उहाँको कार्य मानिसका लागि अति नै अथाह र बुझ्नै नसकिने हुन्छन्। यदि परमेश्‍वरले व्यक्तिगत रूपले आफ्नो कार्य नगर्नुभएको भए र मानिसको संसारमा उहाँका वचनहरू नबोल्‍नुभएको भए, मानिसले कहिल्यै पनि परमेश्‍वरको इच्छा बुझ्न सक्‍नेथिएन। त्यसैले, आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरमा समर्पण गर्नेहरूले पनि उहाँको अनुमोदन प्राप्त गर्न सक्‍नेथिएनन्। यदि परमेश्‍वरले कामको योजना बनाउनुभएन भने, मानिसले त्यो काम जति नै राम्रो गरे पनि त्यो सब व्यर्थको हुनेछ, किनकि परमेश्‍वरका विचारहरू सधैँ मानिसका विचारहरूभन्दा उच्च हुन्छन्, र परमेश्‍वरको बुद्धि मानिसको समझभन्दा धेरै हुन्छ। यसैले म भन्छु कि जसले परमेश्‍वर र उहाँको कार्यलाई “पूर्ण रूपमा बुझेको” दाबी गर्छन्, तिनीहरू धेरै अयोग्य छन्; तिनीहरू सबै आफैमा अति विश्‍वस्त र अनभिज्ञ छन्। मानिसले परमेश्‍वरको कार्यलाई परिभाषित गर्नु हुँदैन; अझ भन्‍ने हो भने, मानिसले परमेश्‍वरको कार्यलाई परिभाषित गर्न सक्दैन। परमेश्‍वरको नजरमा, मानिस कमिलाजस्तै महत्त्वहीन छ; त्यसैले मानिसले कसरी परमेश्‍वरको कार्यलाई बुझ्न सक्छ र? जसले गर्वसाथ “परमेश्‍वरले यसरी वा त्यसरी कार्य गर्नुहुन्न” वा “परमेश्‍वर यस्तो वा त्यस्तो हुनुहुन्छ” भन्छन्—के उनीहरू अहङ्कारसाथ बोलिरहेका हुँदैनन् र? हामी सबैले जान्नुपर्छ कि देहबाट आएको मानिस शैतानद्वारा भ्रष्ट पारिएको छ। मानवजातिको स्वभाव नै परमेश्‍वरको विरोध गर्ने हुन्छ। मानवजाति परमेश्‍वरको बराबरी हुनै सक्दैन, परमेश्‍वरको कार्यमा मानवजातिले सल्लाह दिने कुरा त परै जाओस्। जहाँसम्‍म परमेश्‍वरले मानिसलाई कसरी डोऱ्याउनुहुन्छ भन्‍ने सवाल छ, यो परमेश्‍वर आफैले गर्नुहुने कार्य हो। मानिसले यो वा त्यो विचार व्यक्त नगरी अधीनमा बस्नु नै उचित हुन्छ, किनकि मानिस धुलो मात्र हो। परमेश्‍वरको खोजी गर्नु नै हाम्रो अभिप्राय भएकोले, हामीले हाम्रा धारणाहरूलाई परमेश्‍वरको ध्यान जाओस् भनी उहाँको कार्यमा थप्‍नु हुँदैन, हामीले जानीजानी परमेश्‍वरको कार्यको विरोध गर्न आफ्नो भ्रष्ट स्वभावलाई जानी-जानी र जोडदार रूपमा प्रयोग गर्ने कुरा त परै जाओस्। के त्यसले हामीलाई ख्रीष्ट-विरोधीहरू बनाउँदैन र? त्यस्ता मानिसहरूले कसरी परमेश्‍वरमा विश्‍वास गर्न सक्छन्? हामी परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छौं, र हामी उहाँलाई सन्तुष्ट पार्न र उहाँलाई हेर्न चाहन्छौं, त्यसैले हामीले सत्यताको बाटो खोज्नुपर्दछ, र परमेश्‍वर अनुरूप हुने उपायको खोजी गर्नुपर्छ। हामी उहाँप्रतिको हठपूर्ण विरोधमा खडा हुनु हुँदैन। त्यस्तो कार्यबाट के भलाइ हुन सक्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

परमेश्‍वर देखा पर्नुहुने कुरा मानिसको धारणाहरूसँग मेल खान सक्दैन, परमेश्‍वर मानिसको आग्रहमा देखा पर्नुहुन्छ भन्‍ने कुरा त परै जाओस्। परमेश्‍वरले आफ्‍नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू गर्नुहुन्छ र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँ जुनसुकै काम गर्नुभए पनि, उहाँले यसका बारेमा मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, प्रत्येक र हरेक व्यक्तिलाई उहाँको कामको बारेमा सूचित गर्ने कुरा त परै जाओस्। यो परमेश्‍वरको स्वभाव हो, जसलाई अझ भन्‍ने हो भने सबैले पहिचान गर्नुपर्छ। यदि तिमीहरू परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍न, परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्नो धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरलाई यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले तिमीहरूका सीमामा राख्‍न र तिमीहरूका धारणाहरूमा उहाँलाई सीमित गर्न हुने कुरा त परै जाओस्। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई कसरी खोज्नुपर्छ, कसरी परमेश्‍वर देखा पर्नुहुने कुरालाई स्वीकार्नुपर्छ, र कसरी परमेश्‍वरको नयाँ काममा समर्पण गर्नुपर्छ आफूले आफैलाई सोध्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र समर्पित हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

धेरै स्थानहरूमा, परमेश्‍वरले सिनिमको भूमिमा उहाँले विजयीहरूको एउटा समूह प्राप्त गरिरहनुभएको हुनुहुनेछ भनी अगमवाणी गर्नुभएको छ। संसारको पूर्वमा विजेताहरू प्राप्त गर्नुपर्ने भएकोले, परमेश्‍वरले उहाँको दोस्रो देहधारणमा पाइला टेक्‍नुहुने ठाउँ निस्सन्देह सिनिमको भूमि हो, ठीक त्यही स्थान जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको छ। त्यहाँ, परमेश्‍वरले ठूलो रातो अजिङ्गरका सन्तानहरू प्राप्त गर्नुहुनेछ ताकि त्यसलाई पूर्ण रूपमा पराजित र लज्जित तुल्याउन सकिओस्। परमेश्‍वरले यी मानिसहरूलाई जगाउन लाग्नुभएको छ, जो दुःखको बोझले दबिएका छन्, उनीहरू पूर्ण रूपमा नबिउँझिञ्‍जेलसम्म जगाउनुहुनेछ र उनीहरूलाई कुइरोबाट बाहिर निकालेर त्यो ठूलो रातो अजिङ्गरलाई अस्वीकार गर्न लगाउनुहुनेछ। उनीहरू आफ्नो सपनाबाट बिउँझनेछन्, ठूलो रातो अजिङ्गरको सारलाई चिन्न सक्‍नेछन्, आफ्नो सम्पूर्ण हृदय परमेश्‍वरलाई दिन सक्षम हुनेछन्, अन्धकारका शक्तिहरूको दमनबाट माथि उठ्नेछन्, संसारको पूर्वमा खडा हुनेछन्, र परमेश्‍वरको विजयको प्रमाण बन्नेछन्। यस प्रकारले मात्र परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ। यही कारणले गर्दा मात्र, परमेश्‍वरले इस्राएलमा समाप्त गर्नुभएको काम त्यो देशमा ल्याउनुभयो जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको छ, र उहाँ जानुभएको करिब दुई हजार वर्षपछि फेरि अनुग्रहको युगको कामलाई निरन्तरता दिन देहमा आउनुभएको छ। मानिसको नाङ्गो आँखाको नजरमा, परमेश्‍वरले देहमा नयाँ काम सुरु गर्दै हुनुहुन्छ। तर परमेश्‍वरको दृष्टिमा, केही हजार वर्षको अन्तरालपछि मात्र, अनि उहाँको कामको स्थान र कार्यक्रममा परिवर्तन गरेर उहाँले अनुग्रहको युगको कामलाई निरन्तरता दिँदै हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (६)

अघिल्लो दुई युगहरूको कार्यको एउटा चरणलाई इस्राएलमा अघि बढाइएको थियो, र एउटालाई यहूदियामा अघि बढाइयो। सामान्य रूपमा भन्दा, न त यो कामको कुनै पनि चरणले इस्राएललाई छोड्यो, र प्रत्येक चरण प्रथम चुनिएका मानिसहरूका माझमा नै गरिएको थियो। परिणामस्वरूप, यहोवा परमेश्‍वर इस्राएलीहरूका एक मात्र परमेश्‍वर हुनुहुन्छ भन्‍ने इस्राएलीहरूले विश्‍वास गर्छन्। येशूले यहूदियामा काम गर्नुभयो, जहाँ उहाँले क्रूसीकरणको काम गर्नुभयो, त्यसकारण यहूदीहरूले उहाँलाई यहूदी मानिसहरूका मुक्तिदाताको रूपमा हेर्छन्। तिनीहरूले सोच्छन् कि उहाँ यहूदीहरूका मात्रै राजा हुनुहुन्छ, अरू कुनै मानिसहरूको होइन; अर्थात्, उहाँ अङ्ग्रेजहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्न, अमेरिकीहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्न, तर इस्राएलीहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्छ; अनि इस्राएलमा उहाँले छुटकारा दिनुभएकाहरू यहूदीहरू नै थिए। वास्तविकतामा, परमेश्‍वर यावत् थोकका सार्वभौम हुनुहुन्छ। उहाँ सारा सिर्जित प्राणीका परमेश्‍वर हुनुहुन्छ। उहाँ इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुन्न, न त यहूदीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ; उहाँ सारा सिर्जित प्राणीका परमेश्‍वर हुनुहुन्छ। उहाँको कार्यका अघिल्ला दुई चरणहरू इस्राएलमा भए, जसले मानिसहरूमा निश्चित धारणाहरू सिर्जना गरेको छ। तिनीहरुले विश्‍वास गर्छन कि यहोवाले आफ्नो काम इस्राएलमा गर्नुभयो, येशू स्वयमले आफ्नो काम यहूदियामा गर्नुभयो, र, यसको साथै, उहाँ काम गर्नको लागि देह बन्नु्भयो—र जेसुकै भए तापनि, यो काम इस्राएलभन्दा टाढा विस्तार गरिएन। परमेश्‍वरले मिश्रीहरू वा भारतीयहरूमा काम गर्नुभएन; उहाँले इस्राएलीहरूमा मात्रै काम गर्नुभयो। यसरी मानिसहरूले विभिन्न धारणाहरू निर्माण गर्छन्, अनि परमेश्‍वरको कार्यलाई निश्चित क्षेत्रभित्र चित्रण गर्छन्। तिनीहरू भन्छन् कि जब परमेश्‍वरले काम गर्नुहुन्छ, उहाँले चुनिएका मानिसहरूका माझमा, र इस्राएलमा नै सो गर्नुपर्छ; इस्राएलीहरू बाहेक, परमेश्‍वरले अरू कसैको माझमा काम गर्नुहुन्न, न त उहाँको कामको कुनै ठुलो क्षेत्र नै छ। देहधारी परमेश्‍वरलाई ठीक ठाउँमा राख्ने बारेमा तिनीहरू विशेष गरी कठोर हुन्छन्, र इस्राएलको सीमाभन्दा टाढा उहाँलाई जाने अनुमति दिँदैनन्। के यी सबै मानव धारणाहरू मात्रै होइनन् र? परमेश्‍वरले स्वर्गहरू र पृथ्वी अनि यावत् थोकहरू बनाउनुभयो, उहाँले सारा सिर्जित प्राणीलाई बनाउनुभयो, त्यसकारण उहाँले कसरी आफ्नो कामलाई इस्राएलमा मात्रै सीमित राख्न सक्नुहुन्छ र? यदि त्यसो हो भने, उहाँले सारा सिर्जित प्राणीलाई बनाउनुको अर्थ के हुने थियो र? उहाँले सारा संसार सृष्टि गर्नुभयो, र उहाँले इस्राएलमा मात्रै होइन, तर ब्रह्माण्डका हरेक व्यक्तिमा आफ्नो छ हजार वर्षे व्यवस्थापन योजनालाई कार्यान्वयन गर्नुभएको छ। तिनीहरू चीन, संयुक्त राज्य अमेरिका, बेलायतमा बसून् या रूसमा बसून्, हरेक व्यक्ति आदमका सन्तान नै हुन्; तिनीहरू सबैलाई परमेश्‍वरले नै बनाउनुभएको हो। तिनीहरूमध्ये एक जना पनि सृष्टिको सीमानाहरूबाट बाहिर उम्कन सक्दैनन्, र तिनीहरूमध्ये एक जनाले पनि आफूलाई “आदमका सन्तान” भन्‍ने नामबाट आफूलाई अलग गर्न सक्दैनन्। तिनीहरू सबै परमेश्‍वरका प्राणीहरू हुन्, तिनीहरू सबै आदमका सन्तान हुन्, र तिनीहरू सबै नै आदम र हव्वाका भ्रष्ट तुल्याइएका वंश पनि हुन्। सिर्जित प्राणीइस्राएलीहरू मात्रै सिर्जित प्राणी होईनन्, सबै मानिसहरू हुन्; यति मात्रै हो कि कतिलाई श्राप दिइएको छ, र कतिलाई आशिष दिइएको छ। इस्राएलीहरूका बारेमा सहमत गर्न सकिने कुराहरू धेरै छन्; परमेश्‍वरले शुरुमा तिनीहरूमा काम गर्नुभयो किनभने तिनीहरू सबैभन्दा कम भ्रष्ट थिए। चिनियाँहरूलाई तिनीहरूसँग तुलना गर्न सकिँदैन; तिनीहरू अत्यन्तै निम्न छन्। त्यसकारण, प्रारम्भमा परमेश्‍वरले इस्राएलका मानिसहरूका माझमा काम गर्नुभयो, र उहाँको कामको दोस्रो चरणलाई यहूदियामा मात्रै गरियो—जसले मानिसको माझमा विभिन्न धारणाहरू र नियमहरू पैदा गरेको छ। वास्तवमा, यदि परमेश्‍वरले मानवीय धारणाहरू अनुसार काम गर्नुभएको थियो भने, उहाँ इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुने थियो, र आफ्नो कामलाई अन्यजातिहरूको राष्ट्रमा बढाउन असक्षम हुनुहुने थियो, किनभने उहाँ इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुने थियो, सारा सिर्जित प्राणीका परमेश्‍वर होइन। अन्यजातिहरूको राष्ट्रका बीच यहोवाको नाम महान हुनेछ, कि यो गैरयहूदी राष्ट्रहरूमा फैलनेछ भनेर अगमवाणीहरूले बताए। किन यो अगमवाणी गरियो? यदि परमेश्‍वर इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुन्थ्यो भने, उहाँले इस्राएलमा मात्रै काम गर्नुहुने थियो। यसको साथै, उहाँले यो कामलाई फैलाउनुहुने थिएन, र उहाँले त्यस्तो अगमवाणी गर्नुहुने थिएन। उहाँले यो अगमवाणी गर्नुभएको हुनाले, उहाँले अवश्य नै गैरयहूदी राष्ट्रहरू, हरेक राष्ट्र र हरेक भूमिमा आफ्नो काम फैलाउनुहुनेछ। उहाँले यसो भन्नुभएको हुनाले, उहाँले यो गर्नु नै पर्छ; उहाँको योजना यही नै हो, किनभने उहाँ स्वर्गहरू र पृथ्वी अनि यावत् थोकहरू सृष्टि गर्नुहुने प्रभु, र सारा सिर्जित प्राणीका परमेश्‍वर हुनुहुन्छ। उहाँले इस्राएलीहरूका माझमा काम गर्नुभए पनि, वा यहूदियाभरि काम गर्नुभए पनि, उहाँले गर्नुहुने काम सम्पूर्ण ब्रह्माण्डको काम हो र सम्पूर्ण मानवजातिको काम हो। विशाल रातो अजिङ्गरको देशमा—गैरयहूदी देशमा—आज उहाँले गर्नुहुने काम अझै सम्पूर्ण मानवजातिको काम हो। पृथ्वीमा उहाँको कामको आधार इस्राएल हुन सक्यो; त्यसरी नै, चीन पनि गैरयहूदी राष्ट्रहरूका माझमा उहाँले गर्नुहुने कामको आधार बन्न सक्छ। के उहाँले अब “गैरयहूदी राष्ट्रहरूका माझमा यहोवाको नाम महान हुनेछ” भन्‍ने अगमवाणीलाई पूरा गर्नुभएको छैन र? गैरयहूदी राष्ट्रहरूका माझमा उहाँको कामको पहिलो चरण, अर्थात् उहाँले विशाल रातो अजिङ्गरको देशमा गर्नुहुने काम, अर्थात् यही काम हो। देहधारी परमेश्‍वरले यो भूमिमा काम गर्नुपर्छ, र यी श्रापित मानिसहरूका माझमा काम गर्नुपर्छ भन्‍ने कुरा मानव धारणाहरूका लागि निश्चय नै अलिक अमिल्दो छ; यिनीहरू सबैभन्दा निम्न मानिसहरू हुन्, र तिनीहरूका कुनै मूल्य छैन, र तिनीहरूलाई शुरुमा यहोवाद्वारा त्यागिएका थिए। मानिसहरूलाई अरू मानिसहरूले त्याग्न् सक्छन्, तर यदि तिनीहरूलाई परमेश्‍वरद्वारा त्यागिन्छन् भने, त्यतिको प्रतिष्ठाविहीन कोही पनि हुँदैन, त्यतिको कम मूल्यको कोही पनि हुँदैन। सिर्जित प्राणीको लागि, शैतानको वशमा हुनु वा मानिसहरूद्वारा त्यागिनु अत्यन्तै पीडादायक कुरा हो—तर कुनै सृष्टि उसको सृष्टिकर्ताद्वारा त्यागिनु जत्तिको निम्न प्रतिष्ठा केही हुँदैन। मोआबका सन्तानहरू श्रापित थिए, र तिनीहरू त्यस पिछडिएको देशमा जन्मिएका थिए; अन्धकारको प्रभावमा रहेका सबै मानिसहरूमध्ये, मोआबका सन्तानहरू नै सबैभन्दा कम प्रतिष्ठा भएकाहरू हुन् भन्‍ने कुरामा कुनै शङ्का छैन। यी मानिसहरूका अहिलेसम्म सबैभन्दा कम प्रतिष्ठा भएका हुनाले, तिनीहरूमा गरिने कामले मानव धारणाहरूलाई राम्ररी तोड्न सक्छ, र यो परमेश्‍वरको सम्पूर्ण छ हजार वर्षे व्यवस्थापन योजनाको लागि पनि सबैभन्दा फाइदाजनक छ। यी मानिसहरूका माझमा त्यस किसिमको काम गर्नु भनेको मानव धारणाहरूलाई तोड्ने सबैभन्दा राम्रो तरिका हो, र यससँगै परमेश्‍वरले नयाँ युगको शुरूवात गर्नुहुन्छ; यसद्वारा उहाँले सारा मानव धारणाहरूलाई तोड्नुहुन्छ; यसद्वारा उहाँले सम्पूर्ण अनुग्रहको युगको कार्यलाई समाप्त गर्नुहुन्छ। उहाँको पहिलो काम इस्राएलको सिमानाभित्र, यहूदियामा गरियो; गैरयहूदी राष्ट्रहरूका माझमा, उहाँले नयाँ युग आरम्भ गर्नको लागि कुनै काम गर्नुभएन। त्यो कामको अन्तिम चरणलाई अन्यजातिहरूका माझमा गरिने मात्रै होइन, तर अझै बढी श्रापित भएकाहरूका माझमा अझै बढी गरिन्छ। यो एउटा बुँदा शैतानलाई अपमान गर्नुमा सबैभन्दा बढी सक्षम प्रमाण हो, र तसर्थ, यो परमेश्‍वर ब्रह्माण्डका सारासिर्जित प्राणीका परमेश्‍वर, यावत् थोकका प्रभु, जीवन भएका हरेक कुराले आराधना गर्ने पात्र “बन्नु्हुन्छ।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर सारा सृष्टिका प्रभु हुनुहुन्छ

यहोवाको काम संसारको सृष्टि गर्नु थियो, त्यो सुरुआत थियो; कामको यो चरण कामको समाप्ति हो, अनि यो निष्कर्ष हो। सुरुमा, परमेश्‍वरको काम इस्राएलका चुनिएका मानिसहरूको माझमा गरिएको थियो, यो सबै ठाउँहरूमध्ये सबैभन्दा पवित्र स्थानमा नयाँ युगको शुभारम्भ थियो। कामको अन्तिम चरण संसारको न्याय गर्न र युगको अन्त्य गर्न सबै देशहरूमध्ये सबैभन्दा अशुद्ध देशमा गरिन्छ। पहिलो चरणमा, परमेश्‍वरको काम सबैभन्दा उज्यालो ठाउँमा गरिएको थियो, अनि अन्तिम चरण सबैभन्दा अन्धकार स्थानमा गरिन्छ, अनि यस अन्धकारलाई हटाइनेछ, ज्योति ल्याइनेछ र सबै मानिसहरूलाई जितिनेछ। जब यो सबैभन्दा अशुद्ध र अन्धकार ठाउँका मानिसहरूलाई जितिएको हुन्छ, अनि सारा जनसङ्ख्याले परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्छन्, जो साँचो परमेश्‍वर हुनुहुन्छ, र हरेक व्यक्ति पूर्ण रूपमा विश्‍वस्त भएपछि त्यही तथ्यलाई सारा ब्रह्माण्डमा विजयको काम गर्नको निम्ति प्रयोग गरिनेछ। यो चरणको काम प्रतीकात्मक हुन्छ: यो युगको काम समाप्त भएपछि छ हजार वर्षको व्यवस्थापन काम पूर्ण रूपमा समाप्त हुनेछ। सबैभन्दा अन्धकार ठाउँमा रहेका सबै मानिसहरूलाई जितिसकेपछि, अरू ठाउँमा पनि यस्तै हुनेछ भन्‍नेमा कुनै शङ्का छैन। त्यसरी नै चीनमा गरिएको विजयको कामले मात्र अर्थपूर्ण प्रतीक बोक्दछ। चीनले अन्धकारका सबै शक्तिहरू सम्मिलित गर्दछ, अनि चीनका मानिसहरूले ती सबैको प्रतिनिधित्व गर्छन्, जो देहका, शैतानका र मासु र रगतका हुन्। ठूलो रातो अजिङ्गरद्वारा अति भ्रष्ट भएकाहरू, परमेश्‍वरको जोरदार विरोध गर्नेहरू, मानवता अति नै नीच र अशुद्ध भएकाहरू चीनका मानिसहरू नै हुन्, यसैले तिनीहरू सारा भ्रष्ट मानवजातिको मुख्य नमुना हुन्। यसको अर्थ अरू देशमा कुनै समस्याहरू छैनन् भन्‍ने होइन; मानिसका धारणाहरू सबै एकै प्रकारका हुन्छन्, अनि ती देशका मानिसहरू असल क्षमताका भए पनि यदि तिनीहरूले परमेश्‍वरलाई चिन्दैनन् भने तिनीहरूले पक्‍कै पनि उहाँको विरोध गरिरहेका हुन सक्छन्। किन यहूदीहरूले पनि परमेश्‍वरको विरोध र उहाँविरुद्ध विद्रोह गरे? किन फरिसीहरूले पनि उहाँको विरोध गरे? किन यहूदाले येशूलाई धोका दिए? त्यो बेला धेरै जना चेलाहरूले येशूलाई चिनेनन्। येशू क्रूसमा टाँगिनुभएपछि र फेरि जीवित हुनुभएपछि पनि किन मानिसहरूले अझै उहाँमा विश्‍वास गरेनन्? के मानिसको विद्रोहीपन सबै एकै प्रकारको छैन र? चीनका मानिसहरूलाई एउटा उदाहरण बनाइएको मात्र हो, अनि जब तिनीहरू जितिन्छन् तिनीहरू आदर्श र नमुनाहरू बन्‍नेछन्, र अरूका निम्ति उदाहरणका रूपमा काम गर्नेछन्। मैले किन सधैँ तिमीहरू मेरो व्यवस्थापन योजनाको एक सहायक हौ भनेर भनेको छु? चीनका मानिसहरूमा भ्रष्टता, अशुद्धता, अधार्मिकता, विरोध र विद्रोह सबैभन्दा पूर्ण रूपमा देखिएका छन् र ती विभिन्‍न स्वरूपमा प्रकट भएका छन्। एकातिर, तिनीहरू कम क्षमताका छन् भने अर्कोतिर तिनीहरूका जीवन र मानसिकता पछौटे छ, र तिनीहरूका आनीबानी, सामाजिक वातावरण, जन्मेको परिवार—सबै गरिब र सबैभन्दा पछौटे छन्। तिनीहरूको हैसियत पनि निकै तल्लो स्तरको छ। यो ठाउँको काम प्रतीकात्मक हो, अनि यो परीक्षण काम सम्पूर्ण रूपमा पूरा गरिएपछि, परमेश्‍वरले गर्नुहुने त्यसपछिको काम धेरै नै सहज हुनेछ। यदि यो चरणको काम पूरा गर्न सकियो भने त्यसपछिका कामहरू अवश्य नै अघि बढ्नेछन्। यो चरणको काम पूरा भएपछि, पूर्ण रूपमा ठूलो सफलता हासिल हुनेछ, अनि सारा ब्रह्माण्डभरि विजय गर्ने काम पूर्ण रूपमा समाप्त हुनेछ। वास्तवमा, तिमीहरूको माझमा काम सफल भएपछि, त्यो सारा ब्रह्माण्डभरि सफलता पाएको बराबर हुनेछ। मैले तिमीहरूलाई आदर्श र नमुनाको रूपमा काम गर्न लगाउनुको महत्त्व यही नै हो। विद्रोहीपन, विरोध, अशुद्धता, अधार्मिकता—यी सबै नै यी मानिसहरूमा पाइन्छ, अनि तिनीहरूमा मानवजातिका सारा विद्रोहीपनको प्रतिनिधित्व गरिएको छ। तिनीहरू साँच्‍चै केही त हुन्। यसैले तिनीहरूलाई विजयको नमुनाको रूपमा उच्‍च पारिएको छ, अनि तिनीहरूलाई जितिएपछि तिनीहरू स्वाभाविक रूपले नै अरूका निम्ति नमुना र आदर्शहरू बन्‍नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (२)

परमेश्‍वरको कार्य सारा सिर्जित प्राणीप्रति लक्षित छ; कुनै व्यक्ति सृष्टि गरिएपछि श्रापित छ कि छैन भन्‍ने कुरामा यो निर्भर हुदैन। उहाँको व्यवस्थापन कार्य सारा सिर्जित प्राणीप्रति लक्षित छ, श्रापित नभएका चुनिएका मानिसहरूप्रति होइन। परमेश्‍वरले आफ्नो् काम आफ्नो सृष्टिको माझमा गर्न चाहनुहुने भएकोले, उहाँले यसलाई सफलतापूर्वक पूरा गर्ने गरी यो गर्नुहुनेछ, र उहाँले उहाँको कामको लागि फाइदाजनक मानिसहरूका माझमा काम गर्नुहुनेछ। त्यसकारण, मानिसहरूका माझमा काम गर्ने क्रममा उहाँले सबै परम्पराहरूलाई तोड्नुहुन्छ; उहाँको लागि, “श्रापित,” “सजाय दिइएको” र “आशिषित” भन्‍ने शब्दहरू अर्थहीन छन्! यहूदी मानिसहरू, इस्राएलका चुनिएका मानिसहरू जस्तै असल छन्; तिनीहरू असल क्षमता र मानवता भएका मानिसहरू हुन्। शुरुमा, तिनीहरूकै माझमा यहोवाले आफ्नो काम शुरु गर्नुभयो र आफ्नो सबैभन्दा शुरुको काम गर्नुभयो—तर तिनीहरूमा आज विजयको काम गर्नु व्यर्थ हुने थियो। तिनीहरू पनि सिर्जित प्राणीहरूको हिस्सा हुन सक्लान्, र तिनीहरूको बारेमा धेरै कुरा सकारात्मक हुन सक्छ, तर तिनीहरूका माझमा कामको यो चरण गर्नुको कुनै अर्थ हुने थिएन; परमेश्‍वरले मानिसहरूलाई विजय गर्न सक्नुहुने थिएन, न त उहाँले सारा सिर्जित प्राणीलाई विश्‍वस्त तुल्याउन नै सक्नुहुने थियो, र उहाँको कामलाई विशाल रातो अजिङ्गरको देशका मानिसहरूमा सार्नको कारण पनि ठीक त्यही नै हो। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उहाँले युगको शुरूवात गर्नु, उहाँले सारा नियमहरू र सारा मानव धारणाहरूलाई तोड्नु र सम्पूर्ण अनुग्रहको युगको कार्यलाई समाप्त गर्नु हो। यदि उहाँको हालको कार्यलाई इस्राएलीहरूका माझमा गरिएको भए, छ हजार वर्षे व्यवस्थापन योजना समाप्त भइञ्जेलसम्ममा, सबैले परमेश्‍वर इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ, इस्राएलीहरू मात्रै परमेश्‍वरका चुनिएका मानिसहरू हुन्, परमेश्‍वरको आशिष र प्रतिज्ञाको हकदार हुन योग्य इस्राएलीहरू मात्रै हुन् भनेर विश्‍वास गर्ने थिए। ठूलो रातो अजिङ्गरको देश अर्थात् गैरयहूदी देशमा आखिरी दिनहरूको अवधिमा भएको परमेश्‍वरको देहधारणले सारा सिर्जित प्राणीका परमेश्‍वरका रूपमा परमेश्‍वरको कामलाई पूरा गर्छ; उहाँले आफ्नो सम्पूर्ण व्यवस्थापन कार्यलाई पूरा गर्नुहुन्छ, र उहाँले आफ्नो् कामको प्रमुख भाग विशाल रातो अजिङ्गरको देशमा समाप्त गर्नुहुन्छ। यी तीन वटा चरणहरूको कार्यको केन्द्र भनेको मानिसको मुक्ति हो—अर्थात्, सारासिर्जित प्राणीलाई सृष्टिकर्ताको आराधना गर्ने बनाउनु हो। तसर्थ, कामको हरेक चरणको ठूलो अर्थ हुन्छ; परमेश्‍वरले अर्थ वा मूल्य विनाको केही पनि गर्नुहुन्न। एकतर्फ, कामको यो चरणले नयाँ युगलाई प्रारम्भ गर्छ र अघिल्ला दुई वटा युगहरूलाई समाप्त गर्छ; अर्कोतर्फ, यसले सारा मानव धारणाहरू र मानव विश्‍वास र ज्ञानको सबै पुराना शैलीहरूलाई तोड्छ। अघिल्ला दुई युगहरूको कार्य फरक मानव धारणाहरू अनुसार गरियो; तैपनि, यो चरणले मानव धारणाहरूलाई पूर्ण रूपमा हटाउँछ, जसद्वारा यसले मानवजातिलाई पूर्ण रूपमा जित्छ। मोआबका सन्तानहरूलाई विजय गरेर, मोआबका सन्तानहरूका माझमा गरिएको कार्यद्वारा, परमेश्‍वरले ब्रह्माण्डभरिका सारा मानिसहरूलाई विजय गर्नुहुनेछ। उहाँको कामको यो चरणको सबैभन्दा गहन महत्त्व यही नै हो, र उहाँको कामको यो चरणको सबैभन्दा बहुमूल्य पक्ष यही नै हो। तेरो प्रतिष्ठा निम्न छ र तेरो मूल्य थोरै छ भन्‍ने तँलाई थाहा छ भने पनि, तैँले सबैभन्दा आनन्ददायी कुरा भेटेको छस् भन्‍ने तैँले अनुभव गर्नेछस्; तँ महान् आशिषको हकदार भएको छस्, तैँले महान् प्रतिज्ञा प्राप्त गरेको छस्, र तैँले परमेश्‍वरको यो महान् कार्यलाई पूरा गर्न सहायता गर्न सक्छस्। तैँले परमेश्‍वरको साँचो मुहारलाई हेरेको छस्, तँलाई परमेश्‍वरको अन्तर्निहित स्वभाव थाहा छ, र तैँले परमेश्‍वरको इच्छा पछ्याउँछस्। परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणहरू इस्राएलमा गरिए। यदि आखिरी दिनहरूको अवधिमा उहाँको कार्यको यो चरणलाई पनि इस्राएलीहरूका माझमा नै गरिएको भए, इस्राएलीहरू मात्रै परमेश्‍वरका चुनिएका मानिसहरू हुन् भन्‍ने सारा सिर्जित प्राणीले विश्‍वास गर्ने मात्र होइन, तर परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाले यसको अपेक्षित परिणाम प्राप्त गर्न असफल हुने थियो। उहाँको कार्यका दुई वटा चरणहरू इस्राएलमा गरिएका अवधिमा, न त कुनै नयाँ कार्य, न नयाँ युग शुरु गर्ने कुनै कार्य नै गैरयहूदी राष्ट्रहरू माझमा गरियो। आजको कार्यको चरण—नयाँ युगलाई प्रारम्भ गर्ने कार्य—शुरुमा गैरयहूदी राष्ट्रहरूका माझमा गरिन्छ, र यसको साथै, यसलाई शुरुमा मोआबका सन्तानहरूका माझमा गरिन्छ, जसद्वारा सम्पूर्ण नयाँ युगको शुरुवात गरिन्छ। मानव धारणाहरूभित्र निहित भएका कुनै पनि ज्ञानलाई परमेश्‍वरले तोड्नुभएको छ, अलिकति पनि बाँकी राख्नु भएको छैन। आफ्नो विजयको काममा, उहाँले मानव धारणाहरू, अर्थात् ती पुराना, ज्ञानका प्रारम्भिक मानव शैलीहरूलाई तोड्नुभएको छ। उहाँले परमेश्‍वरको लागि कुनै नियमहरू छैन, परमेश्‍वरको बारेमा पुरानो केही छैन, उहाँले गर्नुहुने काम पूर्ण रूपमा विमुक्त, पूर्ण रूपमा स्वतन्त्र छ, र उहाँले गर्नुहुने सबै काममा उहाँ सहि हुनुहुन्छ भन्‍ने कुरा मानिसहरूलाई देखाउनुहुन्छ। उहाँले सिर्जित प्राणीहरूका माझमा गर्नुहुने कुनै पनि काममा तँ पूर्ण रूपमा समर्पित हुनुपर्छ। उहाँले गर्नुहुने सबै कामको अर्थ हुन्छ, र उहाँको आफ्नै अभिप्राय र बुद्धि अनुसार ती गरिन्छन्, र मानव छनौटहरू र धारणाहरू अनुसार होइन। यदि कुनै कुरा उहाँको कामको लागि फाइदाजनक छ भने, उहाँले यो गर्नुहुन्छ; अनि यदि कुनै कुरा उहाँको कामको लागि फाइदाजनक छैन भने, यो जति नै असल भए पनि उहाँले यो गर्नुहुन्न! उहाँले आफ्नो कामको अर्थ र उद्देश्यअनुसार काम गर्नुहुन्छ र सोही अनुसार उहाँको कामका प्रापकहरू र स्थान छनौट गर्नुहुन्छ। काम गर्ने क्रममा उहाँले विगतका नियमहरू पालना गर्नुहुन्न, न त उहाँले पुराना सूत्रहरूलाई नै पछ्याउनुहुन्छ। बरु, उहाँले कामको महत्त्वअनुसार आफ्नो कामको योजना बनाउनुहुन्छ। अन्तिममा, उहाँले सच्चा परिणाम र प्रत्याशित लक्ष्य प्राप्त गर्नुहुन्छ। यदि तैँले यी कुराहरूलाई आज बुझिनस् भने, तँमा यो कामको कुनै प्रभाव हुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर सारा सृष्टिका प्रभु हुनुहुन्छ

मानव धारणाहरूअनुसार त, म उच्च हैसियतको हुँ भनेर देखाउन, म ठूलो मूल्यको हुँ भनेर देखाउन, मेरो आदर, पवित्रता र महानता देखाउन म एउटा राम्रो देशमा जन्मिनुपर्नेथियो। यदि म आफूलाई चिनाउने स्थानमा, एउटा कुलीन परिवारमा जन्‍मिएको भए, अनि यदि म उच्च दर्जा र हैसियतको भएको भए, मलाई अत्यन्तै राम्रो व्यवहार गरिन्थ्यो। त्यसले मेरो कामलाई लाभ पुर्‍याउनेथिएन, अनि त्यस्तो ठूलो मुक्ति अझै प्रकट गर्न सकिन्थ्यो र? जसले मलाई देख्छन्, तिनीहरू सबैममा समर्पित हुन्थे, अनि तिनीहरू फोहोरले प्रदूषित हुँदैनथिए। म त्यस्तो प्रकारको ठाउँमा जन्मिनुपर्थ्यो। तिमीहरूले विश्‍वास गर्ने यही नै हो। तर यसबारे सोच: परमेश्‍वर पृथ्वीमा आनन्दको निम्ति आउनुभयो कि कामको निम्ति? यदि मैले त्यस्तो प्रकारको सजिलो, आरामदायी ठाउँमा काम गरेको भए, के मैले मेरो पूरा महिमा प्राप्त गर्न सक्थेँ र? के म मेरो सृष्टि गरिएका सारा प्राणीहरूलाई जित्न सक्षम हुन्थेँ र? जब परमेश्‍वर पृथ्वीमा आउनुभयो, उहाँ यस संसारका हुनुहुन्‍नथियो, र उहाँ संसारको आनन्द लिन देह बन्नुभएन। जुन स्थानमा काम गर्दा उहाँको स्वभाव प्रकट हुन्थ्यो र सबैभन्दा अर्थपूर्ण हुन्थ्यो त्यही उहाँ जन्मनुभएको स्थान थियो। चाहे त्यो पवित्र देश होस् वा फोहोर देश, उहाँले जहाँसुकै काम गर्नुभए पनि उहाँ पवित्र हुनुहुन्छ। संसारमा भएका सबै थोक उहाँद्वारा सृष्टि गरिएका थिए, तापनि यी सबै शैतानद्वारा भ्रष्ट पारिएको छ। यद्यपि सबै थोक उहाँकै हुन्; ती सबै उहाँकै हातमा छन्। उहाँ आफ्‍नो पवित्रतालाई प्रकट गर्नको लागि फोहोर देशमा आउनुहुन्छ र त्यहाँ काम गर्नुहुन्छ; उहाँले यो केवल आफ्नो कामको खातिर गर्नुहुन्छ, जसको अर्थ यस फोहोर देशका मानिसहरूलाई मुक्ति दिन उहाँले त्यस्तो काम गर्न ठूलो अपमान सहनुहुन्छ भन्‍ने हो। यी सबै मानवजातिको खातिर साक्षी दिनका लागि गरिन्छ। त्यस्तो कामले मानिसहरूलाई परमेश्‍वरको धार्मिकता देखाउँदछ, र यसले परमेश्‍वरको सर्वोच्चता राम्ररी प्रकट गर्न सक्छ। उहाँको महानता र इमानदारीता अरूले खिसी गर्ने तुच्छ मानिसहरूको एउटा समूहको मुक्तिमा प्रकट हुन्छ। फोहोर देशमा जन्मनुले उहाँ तुच्छ हुनुहुन्छ भनेर प्रमाणित गर्दैन; यसले केवल सृष्टि गरिएका सबै प्राणीहरूलाई मानवजातिप्रतिको उहाँको महानता र उहाँको साँचो प्रेम देख्ने मौका दिँदछ। उहाँले जति बढी त्यसो गर्नुहुन्छ, त्यत्ति नै उहाँको शुद्ध प्रेम, मानिसप्रति उहाँको निष्खोट प्रेम प्रकट हुन्छ। परमेश्‍वर फोहोर भूमिमा जन्मनुभएको भए पनि, र येशू अनुग्रहको युगमा पापीहरूसँग बस्नुभएको जस्तै उहाँ फोहोरले भरिएका मानिसहरूको साथमा बस्नुभएको भए पनि, उहाँ पवित्र र धर्मी हुनुहुन्छ। के उहाँको कामको प्रत्येक भाग सबै मानवजातिलाई जीवित राख्नका निम्ति गरिएको होइन र? के यी सबै मानवजातिले महान् मुक्ति पाऊन् भनेर गरिएको होइन र? दुई हजार वर्षअघि, उहाँ केही वर्षसम्म पापीहरूसँग बस्नुभयो। त्यो छुटकाराको लागि थियो। आज, उहाँ फोहोर, तुच्छ मानिसहरूको एउटा समूहसँग बसिरहनुभएको छ। यो मुक्तिको खातिर हो। के उहाँका सबै कामहरू तिमी मानिसहरूका खातिर नै होइनन् र? यदि मानवजातिलाई मुक्ति दिनु नपर्ने भए, डूँडमा जन्मेर उहाँले त्यत्ति धेरै वर्षसम्म किन पापीहरूमाझ जिउनु र दुःख भोग्‍नुपर्थ्यो र? र यदि मानवजातिलाई मुक्ति दिनु नपर्ने भए, उहाँ किन दोस्रोपटक देहमा फर्केर आउनुपर्थ्यो, भूतात्माहरू भेला हुने यो देशमा किन जन्मनुपर्थ्यो, र शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका मानिसहरूको साथमा बस्‍नुपर्थ्यो र? के परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्न? उहाँको कामको कुन भाग मानवजातिका लागि गरिएको छैन र? कुन भाग तिमीहरूको भाग्यका लागि गरिएको छैन? परमेश्‍वर पवित्र हुनुहुन्छ—यो अपरिवर्तनीय छ! उहाँ फोहोरद्वारा प्रदूषित हुनुहुन्न, यद्यपि उहाँ फोहोर देशमा आउनुभएको छ; यी सबैको केवल के अर्थ हुन सक्छ भने मानवजातिप्रति परमेश्‍वरको प्रेम अत्यन्त निस्वार्थ छ र उहाँले भोग्नुभएको कष्ट र अपमान अत्यन्तै ठूलो छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व

तिमीहरू अमेरिकी, बेलायती वा जुनसुकै राष्ट्रको भए तापनि, तिमीहरूले आफू स्वयम्‌भन्दा माथि उठेर, तिमीहरूको आफ्नै राष्ट्रियताको सीमाभन्दा बाहिर आफ्नो पाइला चाली परमेश्‍वरको कामलाई सृष्टि गरिएको प्राणीको पहिचानबाट हेर्नुपर्छ। यो तरिकाले, तिमीहरूले परमेश्‍वरका पाइलाहरूमा सीमितता ल्याउनेछैनौ। यस्तो हुन्छ किनभने आजकल धेरै मानिसहरूले परमेश्‍वर कुनै विशेष राष्ट्र वा निश्चित मानिसहरूका बीचमा देखा पर्नु असम्भव छ भनी मान्छन्। परमेश्‍वरको कामको महत्त्व कति गहन छ, र परमेश्‍वर देखा पर्नु कति महत्त्वपूर्ण छ! कसरी मानिसका धारणाहरू र विचारले यसको मापन गर्न सम्भव छ र? त्यसैले म भन्छु, परमेश्‍वर देखा पर्नुभएको खोजी गर्नको निम्ति तिमीहरूले राष्ट्रियता र जातीयताका धारणाहरूलाई तोड्नुपर्छ। त्यसपछि मात्रै तिमीहरू आफ्नै धारणाहरूको वशमा हुनेछैनौ; त्यसपछि मात्रै तिमीहरू परमेश्‍वरको देखा पराइलाई स्वागत गर्न योग्य हुनेछौ। अन्यथा, तिमीहरू अनन्त अन्धकारमा रहनेछौ, र तिमीहरूले कहिल्यै पनि परमेश्‍वरबाट स्वीकृति प्राप्त गर्नेछैनौ।

परमेश्‍वर सबै मानवजातिको परमेश्‍वर हुनुहुन्छ। उहाँले आफूलाई उहाँ कुनै राष्ट्र वा मानिसहरूको व्यक्तिगत सम्पत्ति मान्नुहुन्न, बरु उहाँ त कुनै पनि स्वरूप, राष्ट्र वा मानिसहरूमा सीमित नभई उहाँले योजना गर्नुभएअनुसार उहाँको काम गर्दै जानुहुन्छ। सायद तैँले यो स्वरूपलाई कहिल्यै कल्पना गरेको छैनस्, वा सायद यस प्रकारका स्वरूपप्रति तेरो यो अस्वीकृतिको मनोवृत्ति हुन सक्छ, वा सायद परमेश्‍वरले जुन राष्ट्रमा आफैलाई प्रकट गर्नुहुन्छ र जुन मानिसहरूमाझ आफैलाई प्रकट गर्नुहुन्छ तिनीहरू सबैद्वारा भेदभाव भएकाहरू र पृथ्वीमा सबैभन्दा पछि परेकाहरू हुन्छन्। अझै पनि परमेश्‍वरसँग उहाँको बुद्धि छ। उहाँको महान शक्तिको साथमा र उहाँको सत्यता अनि उहाँको स्वभावद्वारा, उहाँले साँच्चै उहाँको जस्तै मन भएका मानिसहरूको समूहलाई प्राप्त गर्नुभएको छ, र उहाँले पूर्ण बनाउने कामना गर्नुभएको मानिसहरूको समूहलाई प्राप्त गर्नुभएको छ—यो उहाँले जित्नुभएको त्यो समूह हो जसले सबै प्रकारका परीक्षाहरू र कष्टहरू र सबै प्रकारका सतावटहरूलाई सहेर अन्त्यसम्म नै उहाँलाई पछ्याउन सक्छ। कुनै पनि स्वरूप वा जातिमा सीमित नरहेको परमेश्‍वर देखा पराइको उद्देश्य भनेको, उहाँले योजना गर्नुभएको कामलाई पूरा गर्न उहाँलाई सक्षम पार्नु हो। यो चाहिँ परमेश्‍वर यहूदियामा देहधारी हुनुभएको जस्तो हो: उहाँको उद्देश्य सम्पूर्ण मानवजातिको उद्धार गर्न क्रुसीकरणको काम पूर्ण गर्नु थियो। तैपनि यहूदीहरूले परमेश्‍वरको निम्ति यो असम्भव थियो भनेर विश्‍वास गर्थे, र तिनीहरूले परमेश्‍वरलाई देहधारी हुन र प्रभु येशू ख्रीष्टको स्वरूप धारण गर्न असम्भव छ भन्‍ने ठाने। तिनीहरूको “असम्भव” विचार नै तिनीहरूले परमेश्‍वरलाई दोष दिने र विरोध गर्ने आधार बन्यो, र अन्ततः यसले इस्राएललाई विनाशतर्फ डोर्यायो। आज पनि धेरै मानिसहरूले त्यस्तै प्रकारका गल्तीहरू गरेका छन्। तिनीहरूले आफ्नो सारा शक्तिले परमेश्‍वर तुरुन्तै देखा पर्नुहुने घटनाको घोषणा गर्छन्, तैपनि फेरि उही समयमा परमेश्‍वर देखा पर्नुहुने कुराको निन्दा गर्छन्; तिनीहरूको “असम्भव” विचारले फेरि एकचोटि परमेश्‍वर देखा पर्नुहुने कुरालाई तिनीहरूको कल्पनाका सीमितताहरूमा बन्द गरी राख्छ। अनि त्यसैले धेरै मानिसहरूलाई मैले परमेश्‍वरको वचनको कुरा आउँदा जङ्गली र कठोर हाँसो छुटेको देखेको छु। तर के यो हाँसो यहूदीहरूको दोषारोपण र ईश्‍वरनिन्दा भन्दा फरक छ र? तिमीहरू सत्यताको उपस्थितिमा आदरयुक्त छैनौं, तिमीहरूमा तृष्णाको मनोवृत्ति हुने कुरा त परै जाओस्। तिमीहरूले गर्ने सबै कुरा भनेको अन्धाधुन्ध अध्ययन गर्नु र कुनै चासोबिनै पर्खि बस्नु हो। यसरी अध्ययन गरी पर्खी बसेर तिमीहरूले के प्राप्त गर्छौ? के तिमीहरूले परमेश्‍वरबाट व्यक्तिगत मार्गदर्शन पाउँछौं भन्‍ने लाग्छ? यदि तँले परमेश्‍वरको वाणीलाई छुट्ट्याउन सक्दैनस् भने, कुन तरिकामा तँ परमेश्‍वर देखा पर्नुहुने घटनाको साक्षी बन्न योग्य हुन्छस्? जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुन्छ, र त्यहाँ परमेश्‍वरको आवाज हुनेछ। केवल सत्यतालाई स्वीकार गर्नेले मात्रै परमेश्‍वरको आवाजलाई सुन्न सक्नेछ, र यस्ता मानिसहरू मात्रै परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍नको लागि योग्य हुनेछन्। तेरा धारणालाई छोडिदे! आफैलाई शान्त पार् र यी शब्दहरूलाई होसियारीसाथ पढ्। यदि तँ सत्यको तृष्णा गर्छस् भने, परमेश्‍वरले तँलाई ज्योति दिनुहुनेछ र तैँले उहाँका वचन र अभिप्राय बुझ्नेछस्। तिमीहरूको “असम्भव” भन्‍ने विचारलाई छोडिदेओ! मानिसहरूले जति धेरै कुनै कुरा असम्भव छ भन्‍ने विश्‍वास गर्छन्, त्यति नै धेरै त्यस्तै हुने सम्भावना हुन्छ, किनभने परमेश्‍वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्‍वरका विचारहरू मानिसको विचारहरूभन्दा उच्च छन्, र परमेश्‍वरको कामले मानिसका सोचाइ र धारणाका सीमाहरूलाई नाघ्छ। कुनै कुरा जति धेरै असम्भव हुन्छ, त्यसमा त्यति नै धेरै खोज्न सकिने सत्यता हुन्छ; कुनै कुरा मानिसको धारणाहरू र कल्पनाभन्दा जति धेरै बाहिर हुन्छ, त्यसमा त्यति नै धेरै परमेश्‍वरका अभिप्राय हुन्छन्। यस्तो हुन्छ किनभने उहाँले आफूलाई जहाँ प्रकट गर्नुभए पनि परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ देखा पर्नुहुने शैली र स्थानले उहाँको सारतत्व परिवर्तन हुनेछैन। उहाँका पाइलाहरू जहाँ भए तापनि परमेश्‍वरको स्वभाव उही रहन्छ, र उहाँका पाइलाहरू जहाँ भए तापनि, उहाँ सबै मानवजातिको परमेश्‍वर हुनुहुन्छ, त्यसरी नै जसरी प्रभु येशू इस्राएलीहरूका मात्रै परमेश्‍वर नभई सबै एसिया, युरोप र अमेरिकाका मानिसहरूका परमेश्‍वर हुनुहुन्छ र त्यो भन्दा पनि बढी, उहाँ सारा ब्रम्‍हाण्डका एकमात्र परमेश्‍वर हुनुहुन्छ। त्यसैले, हामी परमेश्‍वरका अभिप्रायको खोजी गरौं र उहाँका वाणीहरूमा उहाँ देखा पर्नुहुने कुरा पत्ता लगाऔं, र उहाँका पाइलाहरूसँग कदममा कदम मिलाऔं! परमेश्‍वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ। उहाँका वचनहरू र उहाँ देखा पर्नुहुने कुरा एकैसाथ अस्तित्वमा रहन्छन्, र उहाँको स्वभाव अनि पाइलाहरू सबै मानवजातिको लागि सधैं खुल्ला छन्। प्रिय दाजुभाइ-दिदीबहिनीहरू, म आशा गर्छु कि तिमीहरूले यी वचनहरूमा परमेश्‍वर देखा पर्नुभएको हेर्न सक्नेछौ, तिमीहरूले नयाँ युगमा पाइला राखी अघि बढ्दै गर्दा उहाँका पाइलाहरू पछ्याउन थाल्‍न सक्नेछौ, र उहाँ देखा पर्नुभएको पर्खाइमा रहेकाहरूको लागि परमेश्‍वरले तयार गर्नुभएको सुन्दर नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्न सक्नेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

मैले मेरो महिमा इस्राएललाई दिएँ, अनि यसबाट लिएँ, यसरी मैले इस्राएलीहरूलाई र सारा मानवजातिलाई पूर्वतिर ल्याएँ। तिनीहरूको ज्योतिसँग पुनर्मिलन होस् भनेर, यससँगै होस् र यसलाई खोज्न नपरोस् भनेर मैले तिनीहरू सबैलाई प्रकाशमा ल्याएको छु। खोजिरहनेहरू सबैलाई मैले फेरि ज्योति देख्न दिनेछु र मसँग इस्राएलमा भएको महिमा देख्नेछन्; तिनीहरूलाई लामो समयअघि नै म मानवजातिमाझ सेतो बादलमा ओर्लेको कुरा देख्‍न दिनेछु, तिनीहरूलाई कैयौँ सेता बादलहरू र झुप्पा-झुप्‍पा प्रशस्त फलहरू देख्न दिनेछु; यसअतिरिक्त, तिनीहरूलाई इस्राएलको यहोवा परमेश्‍वर देख्न दिनेछु। म तिनीहरूलाई यहूदीहरूको मालिक, प्रतीक्षा गरिएको मसीहको र सारा युगहरूभरि राजाहरूले सताएका मेरो पूर्ण देखापराइ हेर्न दिनेछु। आखिरी दिनहरूमा मेरो सारा महिमा र मेरा सबै कामहरू मानिसलाई प्रकट गर्दै म सारा ब्रह्माण्डभरि काम गर्नेछु र म ठूला-ठूला काम गर्नेछु। मलाई वर्षौंदेखि प्रतीक्षा गरिरहेकाहरू, म सेतो बादलमा आएको उत्कट चाह गर्नेहरूलाई, म पटक-पटक देखा परेको उत्कट चाह गर्ने इस्राएललाई, र मलाई सताउने सबै मानवजातिलाई म मेरो महिमित मुहार देखाउनेछु, ताकि मैले मेरो महिमा उहिले नै लिएको छु र मैले यसलाई पूर्वतिर ल्याएको छु, र यो अब यहूदियामा छैन भन्‍ने कुरा सबैले बुझून्। किनभने अन्तको दिन आइसकेको छ!

मैले सारा ब्रह्माण्डभरि मेरो काम गरिरहेको छु र पूर्वमा चट्याङहरू असीम रूपमा देखा पर्छन्, जसले सारा जाति र सम्प्रदायहरूलाई हल्लाइदिन्छन्। सारा मानिसहरूलाई वर्तमानमा ल्याउने मेरो आवाज नै हो। म सबै मानिसहरूलाई मेरो आवाजद्वारा जित्छु, यही प्रवाहमा पार्नेछु र मेरो सामु झुक्न लगाउनेछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा नयाँ गरी जारी गरेको छु। कसले मलाई देख्ने उत्कट इच्छा गर्दैन? कसले मेरो आगमनलाई उत्सुकतापूर्वक प्रतीक्षा गर्दैन? उहाँको पुन: देखापराइको तृष्णा कसले गर्दैन? उहाँको प्रेमिलो स्वभावका निम्ति को लालायित हुँदैन? ज्योतिमा कोचाहिँ आउँदैन? कनानको सम्‍पन्‍नतालाई कसले हेर्दैन? उद्धारकको आगमनलाई कसले चाह गर्दैन? महाशक्ति भएकोलाई कसले प्रशंसा गर्दैन? मेरो आवाज पृथ्वीभरि फैलनेछ; म मेरा चुनिएका मानिसहरूलाई सामना गर्नेछु, र शक्तिशाली मेघगर्जनहरूले पहाड़ र नदीहरू थर्काएझैँ, तिनीहरूलाई अझ धेरै वचनहरू भन्नेछु। म मेरा वचनहरू सारा ब्रह्माण्ड र मानवजातिको निम्ति बोल्छु। यसकारण, मेरो मुखको वचन मानिसहरूको खजाना भएको छ र सबै मानिसहरूले मेरो वचनलाई मनमा लिन्छन्। मेरो ज्योति पूर्वदेखि पश्‍चिमसम्म नै चम्कन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस तिनलाई त्याग्न अनिच्छुक हुन्छन्, साथै ती वचन तिनीहरूलाई अथाह लाग्छ, तर तिनमा अझ धेरै आनन्दित हुन्छन्। भर्खरै जन्‍मेको शिशुझैँ, सबै मानिसहरू मेरो आगमनको उत्सव मनाउँदै खुशी र आनन्दित हुन्‍छन्। मेरो आवाजको माध्यमले म सबै मानिसहरूलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म मानिसहरूको जातिभित्र औपचारिक रूपमा प्रवेश गर्नेछु, यसरी तिनीहरू मेरो आराधना गर्न आउनेछन्। मैले जगमगाउने मेरो महिमा र मेरो मुखका वचनहरूसँगै, मैले यसलाई यस्तो बनाइदिनेछु कि सबै मानिसहरू मेरो सामु आउनेछन् र पूर्वबाट चम्किरहेको त्यो ज्योति देख्नेछन् र म पूर्वको जैतूनको डाँड़ामा ओर्लेको पनि देख्नेछन्। यहूदीको छोराको रूपमा होइन, तर पूर्वको ज्योतिको रूपमा म पृथ्वीमा लामो समयदेखि बसेको छु भन्‍ने तिनीहरूले देख्नेछन्। किनभने मेरो उहिले नै पुनरुत्थान भएको छ र म मानवजातिको माझबाट प्रस्थान गरेको छु, र मानिसहरू माझ मेरो महिमासँगै फेरि देखा परेको छु। कैयौँ युगहरू अघिदेखि आराधना गरिएको म नै हुँ र म पनि त कैयौँ वर्षअघि इस्राएलीहरूले त्यागिएको बालक हुँ। यसको अतिरिक्त, म हालको युगको महा-महिमित सर्वशक्तिमान परमेश्‍वर हुँ। सबै जना मेरो सिंहासन सामु आऊन् र तिनीहरूले मेरो महिमित मुहार देखून्, मेरो आवाज सुनून् र मेरा कामहरू हेरून्। मेरो समग्र अभिप्राय यही हो; यो नै मेरो योजनाको अन्त र उत्कर्ष हो, अनि हरेक जातिले मेरो आराधना गरोस्, हरेक जिब्रोले मलाई स्वीकार गरोस्, हरेक मानिसले आफ्नो विश्‍वासलाई ममा राखोस् र हरेक मानिस मेरो अधीनमा रहोस् भन्‍ने मेरो प्रबन्धको उद्देश्य हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

सम्बन्धित अनुभवात्मक गवाहीहरू

परमेश्‍वर चीनमा देखा पर्नु र काम गर्नु धेरै अर्थपूर्ण छ

सम्बन्धित भजनहरू

परमेश्‍वरले आफ्नो महिमा पूर्वमा ल्याउनुभएको छ

परमेश्‍वर महिमा साथ संसारको पूर्वमा देखा पर्नु भएको छ

परमेश्‍वरको देखा पराई खोज्न राष्ट्रियता र जातीयताका धारणाहरू तोड

सत्यता स्वीकार गर्नेले मात्र परमेश्‍वरको आवाज सुन्न सक्छन्

अघिल्लो: १५. धार्मिक संसारको धारणा: “प्रभु येशूको पुनरागमन हुँदा, उहाँ स्‍त्री नभई, पुरुष हुनुहुनेछ”

अर्को: १८. धार्मिक संसारको धारणा: “पोप पृथ्वीमा परमेश्‍वरको प्रतिनिधि हुनुहुन्छ, प्रभुको पुनरागमन हुँदा, उहाँले यो कुरा सर्वप्रथम पोपलाई नै प्रकट गर्नुहुनेछ”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्