१२. धार्मिक संसारको धारणा: “सम्पूर्ण बाइबल परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो, र बाइबलका सबै वचन परमेश्वरका वचन हुन्”
बाइबलमा पावलले यसो भनेका छन्, “सम्पूर्ण धर्मशास्त्र परमेश्वरको प्रेरणाबाट दिइएको हो, र यो धर्मसिद्धान्त, अर्ती, सुधार र धार्मिकतामा निर्देशन दिनको निम्ति लाभदायक छ” (२ तिमोथी ३:१६)। त्यसकारण, धार्मिक संसारले सम्पूर्ण बाइबल परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो, र बाइबलमा भएका सबै वचनहरू परमेश्वरका वचनहरू हुन् भन्ने ठान्छ।
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
आज, मानिसहरू बाइबल नै परमेश्वर हुन् र परमेश्वर नै बाइबल हुनुहुन्छ भनेर विश्वास गर्छन्। त्यसैले, तिनीहरू बाइबलका सबै वचनहरू मात्र परमेश्वरले बोल्नुभएका वचनहरू थिए र ती सबै परमेश्वरले भन्नुभएको थियो भनेर विश्वास गर्छन्। परमेश्वरमा विश्वास गर्नेहरूले यो समेत सोच्छन् कि, पुरानो र नयाँ करारका सबै छैसठ्ठी पुस्तकहरू मानिसहरूले लेखेका भए पनि, ती सबै परमेश्वरका प्रेरणाद्वारा दिइएका थिए, र पवित्र आत्माका वाणीहरूका अभिलेख थिए। यो मानिसको विकृत बुझाइ हो, र यो कुरा तथ्यहरूसँग पूर्ण रूपमा मेल खाँदैन। वास्तवमा, अगमवाणीका पुस्तकहरूबाहेक पुरानो करारको अधिकांश भाग एक ऐतिहासिक अभिलेख हो। नयाँ करारका केही पत्रहरू मानिसका अनुभवहरूबाट आएका हुन्, र केही पवित्र आत्माको अन्तर्ज्ञानबाट आएका हुन्; उदाहरणका लागि, पावलका पत्रहरू मानिसकै कामबाट उत्पन्न भएका थिए, ती सबै पवित्र आत्माको अन्तर्ज्ञानका परिणाम हुन्, र ती मण्डलीहरूका लागि लेखिएका थिए, र मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि उपदेश र प्रोत्साहनका शब्दहरू थिए। तिनीहरू पवित्र आत्माले बोलेका वचनहरू थिएनन्—पावल पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे, न त तिनी अगमवक्ता नै थिए, तिनले यूहन्नाले देखेका दर्शनहरू देख्ने कुरा त परै जाओस्। तिनका पत्रहरू एफिसस, कोरिन्थ, गलातिया र अन्य मण्डलीहरूको लागि लेखिएका थिए। त्यसकारण, नयाँ करारका पावलका पत्रहरू पावलले मण्डलीहरूका निम्ति लेखेका पत्रहरू थिए, अनि तिनीहरू न त पवित्र आत्माबाट आएका प्रेरणाहरू हुन्, न त तिनीहरू पवित्र आत्माका प्रत्यक्ष वाणीहरू नै हुन्। ती केवल उपदेश, सान्त्वना र प्रोत्साहनका शब्दहरू हुन् जुन तिनले आफ्नो कामको सिलसिलामा मण्डलीहरूको लागि लेखेका थिए। त्यसैले पनि ती पावलको त्यतिखेरको कामका अभिलेख हुन्। ती प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीहरूका लागि लेखिएका थिए, ताकि त्यस समयका मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूले उनको सल्लाह पछ्याऊन् र प्रभु येशूको पश्चात्तापको मार्ग पछ्याऊन्। पावलले चाहे तिनीहरू त्यो समयका मण्डलीहरू हुन् वा भविष्यका, तिनीहरू सबैले तिनले लेखेका कुरा खानु र पिउनुपर्छ भनेर कुनै पनि हिसाबले भनेनन्, न त तिनले आफ्ना सबै शब्दहरू परमेश्वरबाट आएका हुन् भनेर नै भने। त्यस बेलाको मण्डलीको परिस्थितिअनुसार, उनले केवल दाजुभाइ तथा दिदीबहिनीहरूसँग कुराकानी गरे र तिनीहरूलाई हौसला दिए र तिनीहरूमा विश्वासको प्रेरणा दिए र उनले केवल मानिसहरूलाई प्रचार गरे वा सम्झाए अनि उपदेश दिए। तिनका शब्दहरू आफ्नै बोझमा आधारित थिए र तिनले यी शब्दहरूमार्फत मानिसहरूलाई सहायता गरे। तिनले त्यस समयका मण्डलीहरूको प्रेरितको काम गरे, तिनी प्रभु येशूद्वारा प्रयोग भएका कामदार थिए, र यसैले तिनले मण्डलीहरूको जिम्मेवारी लिनुपर्थ्यो, र मण्डलीहरूको काम गर्नुपर्थ्यो, तिनले दाजुभाइ तथा दिदीबहिनीहरूको स्थितिको बारेमा थाहा पाउनुपर्थ्यो—र यसैकारण, तिनले प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीहरूका लागि पत्रहरू लेखे। तिनले मानिसहरूका लागि भनेका सबै सुधारात्मक र सकारात्मक कुराहरू सही थिए, तर यसले पवित्र आत्माको वाणीहरूलाई प्रतिनिधित्व गर्दैन, र यसले परमेश्वरलाई प्रतिनिधित्व गर्न सक्दैन। एकजना मानिसको अनुभवहरूका अभिलेखहरू र एकजना मानिसको पत्रहरूलाई मानिसहरूले मण्डलीहरूको लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको रूपमा लिनु एक अत्यन्तै गलत बुझाइ, र एक ठूलो ईश्वरनिन्दा हो! यो कुरा विशेषगरी पावलले मण्डलीहरूका निम्ति लेखेका पत्रहरूको प्रसङ्गमा सत्य हुन आउँछ, किनकि उनका पत्रहरू त्यस बेलाका प्रत्येक मण्डलीको परिस्थितिहरू र स्थितिहरूको आधारमा दाजुभाइ तथा दिदीबहिनीहरूका लागि लेखिएका थिए र ती प्रभुमा दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रोत्साहन दिनको लागि थिए ताकि तिनीहरूले प्रभु येशूको अनुग्रह प्राप्त गर्न सकून्। तिनका पत्रहरू त्यसबेलाका दाजुभाइ तथा दिदीबहिनीहरूलाई जगाउनको लागि थियो। यो भन्न सकिन्छ कि यो तिनको आफ्नै बोझ थियो र यो पवित्र आत्माले उनलाई दिनुभएको बोझ पनि थियो; जे भए पनि, तिनी त्यस समयका मण्डलीहरूको नेतृत्व गर्ने एक प्रेरित थिए जसले मण्डलीहरूको लागि पत्रहरू लेखे र तिनीहरूलाई प्रोत्साहित गरे—यो तिनको जिम्मेवारी थियो। तिनको पहिचान केवल एक कामदार प्रेरितको मात्र थियो, र तिनी परमेश्वरले पठाउनुभएको एक प्रेरित थिए; तिनी अगमवक्ता थिएनन्, न त तिनी भविष्यवक्ता नै थिए। तिनको लागि, तिनको आफ्नो काम र दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण थियो। तसर्थ, तिनी पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे। तिनका शब्दहरू पवित्र आत्माका वचनहरू थिएनन्, तिनलाई परमेश्वरको वचन भन्न मिल्ने कुरा त परै जाओस्, किनकि पावल सृष्टि गरिएको प्राणी बाहेक अरू केही थिएनन्, र तिनी अवश्य पनि परमेश्वरको देहधारण थिएनन्। तिनको परिचय येशूको जस्तो थिएन। येशूका शब्दहरू पवित्र आत्माका वचनहरू थिए, ति परमेश्वरका वचनहरू थिए, किनकि उहाँको परिचय परमेश्वरको पुत्र—ख्रीष्टको थियो। कसरी पावल उहाँको बराबर हुन सक्छन् र? यदि मानिसहरूले पावलको जस्तो पत्रहरू र शब्दहरूलाई पवित्र आत्माका वाणीहरूका रूपमा देख्छन् र तिनलाई परमेश्वरको रूपमा पुज्छन् भने, तिनीहरू फरक नै छुट्याउन नसक्ने अति नै अविवेकी छन् भनेर मात्र भन्न सकिन्छ। अझै कठोर रूपमा बोल्दा, के यो ईश्वरनिन्दा होइन र? कुनै मानिस कसरी परमेश्वरको तर्फबाटबोल्न सक्छ र? अनि कसरी मानिसहरू तिनका पत्रहरू र तिनले बोलेका शब्दहरूको अभिलेखहरूसामु ती पवित्र पुस्तक वा स्वर्गीय पुस्तक नै हुन् जस्तो गरी झुक्न सक्छन र? के कुनै मानिसले परमेश्वरका वचनहरूलाई यत्तिकै बोल्न सक्छ त? कुनै मानिसले कसरी परमेश्वरको तर्फबाट बोल्न सक्छ र? अनि त्यसो भए, तँ के भन्छस्—तिनले मण्डलीहरूको लागि लेखेका पत्रहरूमा तिनको आफ्नै विचारको दाग मिसिएको हुन सक्दैन र? कसरी तिनमा मानव विचारहरूको दाग नलागेको हुन सक्छ र? तिनले आफ्ना व्यक्तिगत अनुभवहरू र आफ्नै ज्ञानको आधारमा मण्डलीहरूको लागि पत्रहरू लेखे। उदाहरणका लागि, पावलले गलातिका मण्डलीहरूलाई एउटा पत्र लेखे जसमा एउटा निश्चित धारणा थियो, र पत्रुसले अर्को पत्र लेखेका थिए, जसमा अर्को दृष्टिकोण थियो। तीमध्ये कुनचाहिँ पवित्र आत्माबाट आयो र? निश्चित रूपमा कसैले पनि भन्न सक्दैन। तसर्थ, यो मात्र भन्न सकिन्छ कि तिनीहरू दुवैले मण्डलीहरूका लागि बोझ बहन गरेका थिए, तैपनि तिनीहरूका पत्रहरूले तिनीहरूको कद प्रतिनिधित्व गर्छन्, तिनले दाजुभाइ तथा दिदीबहिनीहरूको लागि प्रावधन र सहयोग अनि मण्डलीहरूमाथिको तिनीहरूको बोझलाई प्रतिनिधित्व गर्दछन् र तिनले मानव कार्यलाई मात्र प्रतिनिधित्व गर्दछन—ती सम्पुर्ण रूपमा पवित्र आत्माका थिएनन्। यदि तैँले तिनका पत्रहरूलाई पवित्र आत्माका वचनहरू हुन् भनेर भन्छस् भने, तँ हास्यास्पद छस्, र तैँले ईश्वरनिन्दा गर्दैछस्! नयाँ करारका पावलका पत्रहरू र अन्य पत्रहरू हालसालैका आत्मिक व्यक्तिहरूका संस्मरण जस्तै हुन्: ती वाचम्यान नीका पुस्तकहरू वा लरेन्सका अनुभवहरूसँग मिल्दाजुल्दा छन्। कुरा यति मात्र हो कि हालसालैका आत्मिक व्यक्तित्वका पुस्तकहरूलाई नयाँ करारमा संकलित गरिएको छैन, तैपनि यी मानिसहरूको सार चाहिँ एउटै थियो: तिनीहरू एक निश्चित अवधिमा पवित्र आत्माले प्रयोग गर्नुभएका व्यक्तिहरू थिए, र तिनीहरूले प्रत्यक्ष रूपमा परमेश्वरलाई प्रतिनिधित्व गर्न सक्दैनथे।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)
बाइबलमा भएका सबै कुरा परमेश्वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्वरको कार्यको अघिल्ला दुई चरणहरूको अभिलेख राखिएको छ, जसमा एउटा अंश अगमवक्ताहरूको अगमवाणीको अभिलेख हो, र अर्को अंश परमेश्वरले सबै युगहरूमा प्रयोग गर्नुभएका मानिसहरूद्वारा लेखिएका अनुभव र ज्ञान हुन्। मानवीय अनुभवहरू मानवीय धारणा र ज्ञानद्वारा प्रभावित भएका हुन्छन् र यो टार्न नसकिने कुरा हो। बाइबलका धेरैजसो पुस्तकहरूमा मानवीय धारणा, मानवीय पूर्वाग्रह, र मानवका विकृत बुझाइहरू छन्। अवश्य नै, धेरैजसो वचनहरू पवित्र आत्माको अन्तर्ज्ञान र ज्योतिका परिणाम हुन्, र ती सही बुझाइहरू हुन्—तर पनि ती सत्यताको पूर्णतः सही अभिव्यक्ति हुन् भनेर भन्न सकिँदैन। कुनै चीजको बारेमा तिनीहरूको दृष्टिकोण व्यक्तिगत अनुभवबाट प्राप्त ज्ञान, वा पवित्र आत्माको अन्तर्ज्ञानबाहेक अरू केही हुँदैन। अगमवक्ताहरूका अगमवाणीहरूलाई व्यक्तिगत तवरमा परमेश्वरले निर्देशित गर्नुभएको थियो: यशैया, दानियल, एज्रा, यर्मिया र इजकिएललगायतका भविष्यवाणीहरू पवित्र आत्माको प्रत्यक्ष निर्देशनबाट आएका हुन्; यी व्यक्तिहरू द्रष्टा थिए, तिनीहरूले भविष्यवाणी गर्ने आत्मा पाएका थिए, र तिनीहरू सबै पुरानो करारका अगमवक्ताहरू थिए। व्यवस्थाको युगको दौरान, यहोवाको प्रेरणा पाएका यी व्यक्तिहरूले थुप्रै भविष्यवाणी बोले, जसलाई यहोवाले प्रत्यक्ष निर्देशन दिनुभएको थियो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)
पुरानो नियमको व्यवस्थाको युगको अवधिमा, यहोवाले खडा गर्नुभएका धेरै अगमवक्ताहरूले उहाँको निम्ति अगमवाणी व्यक्त गरे, विभिन्न कुल र जातिहरूलाई निर्देशनहरू दिए र यहोवाले गर्नुहुने कामबारे भविष्यवाणी गरे। खडा गरिएका यी मानिसहरू सबैलाई यहोवाले अगमवाणी गर्ने आत्मा दिनुभएको थियोः तिनीहरूले यहोवाका दर्शनहरू देख्न सक्थे र उहाँको आवाज सुन्न सक्थे, र यसरी तिनीहरूले उहाँद्वारा प्रेरणा पाए र अगमवाणी लेखे। तिनीहरूले गरेको काम यहोवाको आवाजको अभिव्यक्ति, यहोवाको अगमवाणीको अभिव्यक्ति थियो, र त्यस समय यहोवाको काम आत्मालाई प्रयोग गरी मानिसहरूलाई डोऱ्याउनु थियो; उहाँ देह बन्नुभएन, र मानिसहरूले उहाँको अनुहार देखेनन्। यसरी, उहाँले आफ्नो काम गर्न धेरै अगमवक्ताहरू खडा गर्नुभयो, उहाँले तिनीहरूलाई वाणीहरू दिनुभयो जसलाई तिनीहरूले इस्राएलको हरेक कुल र वंशमा हस्तान्तरण गरिदिए। तिनीहरूको काम अगमवाणी बोल्नु थियो, र तिनीहरूमध्ये कसै-कसैले अरूलाई देखाउन यहोवाले तिनीहरूलाई दिनुभएका निर्देशनहरू लेखे। यहोवाले तिनीहरूलाई अगमवाणी बोल्न वा भविष्यको कामको अगमवाणी गर्न वा त्यस समयमा गर्नुपर्ने बाँकी कामहरूबारे अगमवाणी गर्न खडा गर्नुभयो ताकि मानिसहरूले यहोवाको अद्भुतता र बुद्धि देख्न सकून्। अगमवाणीका यी पुस्तकहरू बाइबलका अन्य पुस्तकहरू भन्दा बिलकुलै भिन्न थिए; तिनीहरू त अगमवाणीको आत्मा दिइएका व्यक्तिहरूद्वारा—यहोवाबाट दर्शन वा आवाज पाएका व्यक्तिहरूद्वारा—बोलिएका वा लेखिएका वचनहरू थिए। अगमवाणीका पुस्तकहरूबाहेक, पुरानो नियमका अरू सबै कुराहरू यहोवाले आफ्नो काम पूरा गरिसक्नुभएपछि मानिसहरूद्वारा तयार पारेका अभिलेखहरूले भरिएका छन्। उत्पत्ति र प्रस्थानका पुस्तकहरूको तुलना यशैया र दानिएलका पुस्तकहरूसँग गर्न नसकिएझैं, यी पुस्तकहरूले यहोवाले खडा गर्नुभएका अगमवक्ताहरूले बोलेका भविष्यवाणीको स्थान लिन सक्दैनन्। ती अगमवाणीहरू काम पूरा हुनुभन्दा अघि बोलिएका थिए; अन्य पुस्तकहरू भने काम समाप्त भएपछि लेखिएका थिए, जुन कुरा लेख्न मानिसहरू सक्षम थिए। त्यस समयका अगमवक्ताहरूले यहोवाबाट प्रेरणा पाए र केही अगमवाणी बोले, तिनीहरूले धेरै वचनहरू बोले, र तिनीहरूले अनुग्रहको युगका कुराहरूका साथसाथै आखिरी दिनहरूमा संसारको विनाश हुनेबारे पनि अगमवाणी गरे—जुन काम गर्ने यहोवाले योजना गर्नुभएको थियो। बाँकी पुस्तकहरू सबैले यहोवाले इस्राएलमा गर्नुभएको काम लेखे। … यस प्रकार, बाइबलको पुरानो नियममा जे अभिलेख गरिएको छ त्यो पूर्ण रूपमा त्यसबेला परमेश्वरले इस्राएलमा गर्नुभएको काम हो। अगमवक्ताहरू, यशैया, दानिएल, यर्मिया र इजकिएलद्वारा बोलिएका वचनहरू … तिनीहरूका वचनहरूले पृथ्वीमा उहाँको अन्य कामको भविष्यवाणी गर्छन्, तिनीहरूले यहोवा परमेश्वर स्वयम्को कामको भविष्यवाणी गर्छन्। यी सबै परमेश्वरबाट आएका हुन्, यो पवित्र आत्माको काम हो, र अगमवक्ताहरूका यी पुस्तकहरूबाहेक अरू सबै कुराहरू यहोवाको कामको बारेमा मानिसहरूका अनुभवहरूको अभिलेख हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)
आज, तिमीहरूका बीचमा कसले पवित्र आत्माले प्रयोग गर्नुभएकाहरूले बोलेका सबै वचनहरू पवित्र आत्माबाट नै आएका थिए भनेर भन्ने आँट गर्छ? के कसैले त्यस्ता कुराहरू भन्ने आँट गर्छ? यदि तैँले त्यस्ता कुराहरू भन्ने आँट गर्छस् भने, एज्राको अगमवाणीको पुस्तकलाई किन खारेज गरियो, र प्राचीन सन्तहरू र अगमवक्ताहरूको पुस्तकलाई पनि किन त्यसै गरियो? यदि ती सबै पवित्र आत्माबाट नै आएका थिए भने, तिमीहरूले किन त्यस्तो स्वेच्छाचारी छनौटहरू गर्ने आँट गर्छौ? के तँ पवित्र आत्माको कार्यलाई छनौट गर्न योग्य छस्? इस्राएलका धेरै कथाहरूलाई पनि खारेज गरियो। अनि यदि तँ विगतका यी लेखहरू पवित्र आत्माबाट आएका हुन् भन्ने विश्वास गर्छस् भने, किन कतिपय पुस्तकहरूलाई खारेज गरियो? यदि ती सबै पवित्र आत्माबाट नै आएका थिए भने, तिनीहरू सबैलाई सुरक्षित राखिनुपर्थ्यो, र पढ्नको लागि मण्डलीहरूका दाजुभाइ-दिदीबहिनीहरूकहाँ पठाइनु पर्नेथियो। तिनीहरूलाई मानिसको इच्छाद्वारा चुनिनु वा हटाउनु हुँदैनथियो; त्यसो गर्नु गलत हो। पावल र यूहन्नाका अनुभवहरू तिनीहरूका व्यक्तिगत अन्तर्दृष्टिहरूसँग मिसिएका थिए भन्दैमा तिनीहरूका अनुभवहरू र ज्ञान शैतानबाट आएको थियो भन्ने हुँदैन, तर तिनीहरूसँग तिनीहरूका व्यक्तिगत अनुभवहरू र अन्तर्दृष्टिहरूबाट आएका कुराहरू थिए भन्ने मात्रै यसको अर्थ हुन्छ। तिनीहरूका ज्ञान त्यस बेलाको तिनीहरूको खास अनुभवहरूको पृष्ठभूमि अनुरूप थियो, र यो सबै पवित्र आत्माबाट नै आएको थियो भनेर कसले निर्धक्कसाथ भन्न सक्छ? सुसमाचारका चार वटै पुस्तकहरू पवित्र आत्माबाट आएका थिए भने, किन मत्ती, मर्कूस, लूका र यूहन्नाले येशूको कामको बारेमा केही फरक-फरक कुरा भने? यदि तिमीहरू यो कुरामा विश्वास गर्दैनौ भने, पत्रुसले प्रभुलाई कसरी तीन पटक इन्कार गरे त्यसको बारेमा बाइबलमा दिइएको विवरणलाई हेर: तिनीहरू सबै फरक छन्, र ती प्रत्येकमा आ-आफ्नै विशेषताहरू छन्। अज्ञानी धेरैले यसो भन्छन्, “देहधारी परमेश्वर पनि मानिस नै हुनुहुन्छ भने, के उहाँले बोल्नुहुने वचनहरू पूर्ण रूपमा पवित्र आत्माबाट नै आउन सक्छन्? यदि पावल र यूहन्नाका वचनहरू मानव इच्छाद्वारा मिश्रित थिए भने, के उहाँले बोल्नुहुने वचनहरूमा मानव इच्छा वास्तवमै मिश्रित छैनन् र?” यस्ता कुराहरू भन्ने मानिसहरू अन्धा र अज्ञानी हुन्! सुसमाचारका चार पुस्तकहरूलाई ध्यान दिएर पढ; येशूले गर्नुभएका कुराहरू र उहाँले बोल्नुभएका वचनहरूका बारेमा तिनमा के विवरण दिइएका छन् त्यसलाई पढ। हरेक पुस्तक अलिक फरक छ, र हरेकको आ-आफ्नै दृष्टिकोण छ। यदि यी पुस्तकहरूका लेखकहरूले लेखेका कुराहरू सबै पवित्र आत्माबाट आएका थिए भने, यो सबै उही र समरूप हुनुपर्ने थियो। त्यसो भए किन तिनमा भिन्नताहरू छन् त? के यसलाई देख्न नसक्ने गरी मानिस अत्यन्तै मूर्ख छैन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पद र पहिचानको सम्बन्धमा
नयाँ करारको मत्तीको सुसमाचारले येशुको वंशावलीको दस्तावेजीकरण गर्छ। सुरुमा, यसले भन्छ कि येशू अब्राहाम र दाऊदका सन्तान र योसेफका छोरा थिए; त्यसपछि यसले भन्छ कि येशू पवित्र आत्माबाट गर्भधारण हुनुभयो अनि कन्याबाट जन्मनुभयो—यसको मतलब उहाँ योसेफको छोरा वा अब्राहम र दाऊदका सन्तान हुनुहुन्नथ्यो। यद्यपि, वंशावलीले येशू योसेफसित सम्बन्धित हुनुहुन्छ भनेर जोड दिन्छ। त्यसपछि, वंशावलीले येशू जन्मनुभएको प्रक्रियाको अभिलेख राख्न सुरू गर्दछ। यसले भन्छ कि येशू पवित्र आत्माबाट गर्भधारण हुनुभएको थियो, उहाँ कन्याबाट जन्मनुभयो, र उहाँ योसेफको छोरा हुनुहुन्नथ्यो। यद्यपि वंशावलीमा यो स्पष्ट रूपमा लेखिएको छ कि येशू योसेफका पुत्र हुनुहुन्थ्यो र वंशावली येशूका निम्ति लेखिएकोले यसमा बयालिस पुस्ताका अभिलेखहरू राखिएका छन्। जब यो योसेफको पुस्तामा जान्छ, तब यसले तुरुन्तै भन्छ कि योसेफ मरियमको पति थिए, र यी शब्दहरू येशू अब्राहामका सन्तान हुनुहुन्छ भनेर प्रमाणित गर्नका निम्ति दिइएका थिए। के यो विरोधाभास होईन र? वंशावलीले स्पष्ट रूपमा योसेफको पुर्खाको अभिलेख राख्छ, यो स्पष्ट रूपमा योसेफको वंशावली हो, तर मत्तीले यो येशूको वंशावली हो भनेर जोड दिन्छन्। के यसले पवित्र आत्माद्वारा येशूको गर्भधारणको तथ्यलाई इन्कार गर्दैन र? त्यसो भए, मत्तीले लेखेको वंशावली मानव विचार होइन र? यो हास्यास्पद छ! यसरी यो पुस्तक पूर्ण रूपमा पवित्र आत्माबाट आएको थिएन भनेर तैँले थाहा पाउन सक्छस्। हुन सक्छ, केही मानिसहरूले यस्तो सोच्न सक्छन कि पृथ्वीमा परमेश्वरको वंशावली हुनुपर्छ, जसको फलस्वरूप तिनीहरूले येशूलाई अब्राहमको बयालीसौँ पुस्ताको रूपमा तोक्छन्। त्यो साँच्चै हास्यास्पद छ! पृथ्वीमा आइसकेपछि परमेश्वरको कसरी एउटा वंशावली हुन सक्छ? यदि तैँले परमेश्वरको वंशावली छ भनेर भन्छस् भने, के तैँले उहाँलाई सृष्टि गरिएका प्राणीहरूको दर्जा दिएको हुँदैनस् र? परमेश्वर पृथ्वीको नहुनुभएकोले उहाँ सृष्टिको प्रभु हुनुहुन्छ, र उहाँ देहीय हुनुभए तापनि उहाँ मानिस जस्तो उही सारको हुनुहुन्न। कसरी तैँले परमेश्वरलाई सृष्टि गरिएको प्राणीसँग समान दर्जामा राख्न सक्छस्? अब्राहमले परमेश्वरको प्रतिनिधित्व गर्न सक्दैनन्। तिनी त्यस समयमा यहोवाको कामको पात्र थिए, तिनी त केवल यहोवाले स्वीकार्नुभएको एक विश्वासी सेवक थिए र तिनी इस्राएलका मानिसहरूमध्ये एक थिए। तिनी कसरी येशूको पुर्खा हुन सक्छन् र?
येशूको वंशावली कसले लेख्यो? के येशू आफैले यो लेख्नुभएको थियो? के येशू आफैले तिनीहरूलाई, “मेरो वंशावली लेख्” भन्नुभएको थियो? येशूलाई क्रूसमा टाँगिएपछि मत्तीले अभिलेख राखेका थिए। त्यस बेला, येशूले धेरै कामहरू गर्नुभयो जुन उहाँका चेलाहरूले बुझ्न नसक्ने प्रकृतिका थिए, र उहाँले कुनै व्याख्या उपलब्ध गराउनुभएको थिएन। उहाँ जानुभइसकेपछि, चेलाहरूले जताततै प्रचार र काम गर्न थाले, र त्यो चरणको कामको खातिर, तिनीहरूले पत्र र सुसमाचारका पुस्तकहरू लेख्न थाले। नयाँ करारको सुसमाचारका पुस्तकहरू येशू क्रूसमा टाँगिनुभएको बीसदेखि तीस वर्षपछि अभिलेखीकरण गरिएका थिए। पहिले, इस्राएलका मानिसहरूले केवल पुरानो करार पढ्थे। यसको मतलब, अनुग्रहको युगको शुरूमा मानिसहरूले पुरानो करार पढ्थे। नयाँ करार केवल अनुग्रहको युगमा देखा पर्यो। जब येशूले काम गर्नुभयो त्यो बेला नयाँ करार अस्तित्वमा थिएन; उहाँ पुनरुत्थान हुनुभएपछि र स्वर्गमा उक्लनुभएपछि मानिसहरूले उहाँको कामको अभिलेखीकरण गरे। त्यसपछि मात्र चारओटा सुसमाचारका पुस्तकहरू आए र यसका अतिरिक्त पावल र पत्रुसका पत्रहरू, साथै प्रकाशको पुस्तक पनि आए। येशू स्वर्गमा उक्लनुभएको तीन सयभन्दा बढी बर्षपछि, त्यसपछिका पुस्ताहरूले यी कागजातहरूलाई छनौट गर्दै एकत्रीकरण गरे, र त्यसपछि मात्र बाइबलको नयाँ करार अस्तित्वमा आयो। यो काम पूरा भएपछि मात्र त्यहाँ नयाँ करार अस्तित्वमा आयो; यो पहिले अस्तित्वमा थिएन। परमेश्वरले ती सबै कामहरू गरिसक्नुभएको थियो, र पावल र अन्य प्रेरितहरूले विभिन्न स्थानहरूमा भएका मण्डलीहरूलाई धेरै पत्रहरू लेखिसकेका थिए। त्यसपछिका मानिसहरूले तिनीहरूका पत्रहरूलाई एकत्रित गरे, र यसमा तिनीहरूले पत्मोस टापुमा युहन्नाले अभिलेख राखेका सबैभन्दा ठूलो दर्शनलाई परिशिष्टको रूपमा संलग्न गरे, जसमा परमेश्वरको आखिरी दिनहरूको कार्यको बारेमा अगमवाणी गरिएको थियो। मानिसहरूले यो अनुक्रम बनाए, जुन आजका वाणीहरू भन्दा फरक छ। आज जे अभिलेख गरिएको छ त्यो परमेश्वरको कार्यको चरणहरूअनुसार छ; आज मानिसहरू जे कुरामा संलग्न हुन्छन् त्यो नै व्यक्तिगत तवरमा परमेश्वरले गर्नुभएको काम हो, र व्यक्तिगत तवरमा उहाँले बोल्नुभएका वचनहरू हुन्। तैँले—मानवजातिले—हस्तक्षेप गर्न आवश्यक छैन; आत्माबाट सीधै आएका वचनहरूलाई चरणबद्ध रूपमा क्रमबद्ध गरिएको छ, र तिनीहरू मानिसका अभिलेखहरूको बन्दोबस्त भन्दा फरक छन्। तिनीहरूले जे अभिलेख राखे, यो भन्न सकिन्छ कि त्यो तिनीहरूको शिक्षा र मानव क्षमताको स्तरअनुसारको थियो। तिनीहरूले जे अभिलेख राखे त्यो मानिसहरूको अनुभवहरू थियो, र प्रत्येकको अभिलेख राख्ने र जान्ने आफ्नै तरिका थियो, र प्रत्येक अभिलेख फरक थियो। तसर्थ, यदि तैँले बाइबललाई परमेश्वरको रूपमा पुज्छस् भने, तँ अत्यन्तै अनभिज्ञ र मूर्ख छस्! किन तँ आजका परमेश्वरको कामको खोजी गर्दैनस्? केवल परमेश्वरको कामले मानिसलाई मुक्त गर्न सक्छ। बाइबलले मानिसलाई मुक्त गर्न सक्दैन, मानिसहरूले यसलाई हजारौं बर्षसम्म पढ्न सक्छन् र अझै पनि तिनीहरूमा थोरै पनि परिवर्तन नहुन सक्छ, र यदि तैँले बाइबललाई पुज्छस् भने, तैँले पवित्र आत्माको काम कहिल्यै पनि प्राप्त गर्न सक्नेछैनस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)
बाइबल इस्राएलमा परमेश्वरले गर्नुभएको कार्यको ऐतिहासिक अभिलेख हो, र यसले प्राचीन अगमवक्ताहरूका धेरै अगमवाणीका साथै यहोवाले त्यस समय उहाँको कार्यको दौरान बोल्नुभएका केही वाणीहरूको अभिलेख गर्छ। यसैले, सबै मानिसहरूले यस पुस्तकलाई पवित्र ठान्छन् (किनकि परमेश्वर पवित्र र महान् हुनुहुन्छ)। अवश्य नै, यी सबै यहोवाको डर मान्ने र परमेश्वरको भक्ति गर्ने तिनीहरूको हृदयको परिणाम हो। सृष्टि गरिएका प्राणीहरूले आफ्ना सृष्टिकर्ताको यति डर मान्ने र प्रिय ठान्ने भएकाले मात्रै मानिसहरूले यो पुस्तकलाई यसरी उल्लेख गर्छन्, र केही मानिसहरूले त यस पुस्तकलाई स्वर्गीय पुस्तक भनेर पनि भन्ने गर्छन्। वास्तवमा, यो मानव अभिलेख मात्र हो। यसलाई व्यक्तिगत तवरमा यहोवाले नामाकरण गर्नुभएको थिएन, न त यसको रचना गर्नको लागि यहोवाले व्यक्तिगत तवरमा अगुवाइ नै गर्नुभयो। अर्को शब्दमा भन्दा, यस पुस्तकको लेखक परमेश्वर होइनन्, मानिसहरू हुन्। पवित्र बाइबल केवल मानिसले यसलाई दिएको सम्मानजनक नाम मात्र हो। यो नामको बारेमा यहोवा र येशूले एकअर्कासँग छलफल गर्नुभएर निर्णय गर्नुभएको थिएन; यो मानव विचारभन्दा बढी केही पनि होइन। किनकि यो पुस्तक यहोवाले लेख्नुभएको थिएन, येशूले लेख्नुभएको हुने कुरा त परै जाओस्। यसको सट्टा, यो धेरै प्राचीन अगमवक्ता, प्रेरित र द्रष्टाहरूले मानिसहरूका लागि दिएका विवरणहरू हुन् जसलाई पछिल्ला पुस्ताले प्राचीन लेखहरूको पुस्तकको रूपमा सङ्ग्रहित गरे, र यो पुस्तक मानिसहरूको लागि विशेष रूपमा पवित्र देखिन्छ, अर्थात् तिनीहरू यो पुस्तकमा भविष्यका पुस्ताहरूद्वारा खोलिने धेरै अतुलनीय र गहिरा रहस्यहरू समावेश छन् भन्ने विश्वास गर्छन्। त्यसैले, मानिसहरू यो पुस्तक स्वर्गीय पुस्तक हो भनेर विश्वास गर्न अझ बढी चाहना गर्छन्। चार सुसमाचार र प्रकाशको पुस्तकलाई यसमा जोडेपछि त, यसप्रति मानिसहरूको मनोवृत्ति अरू कुनै पनि पुस्तकप्रतिभन्दा विशेष रूपमा फरक हुन्छ, र कसैले पनि यो “स्वर्गीय पुस्तक” को चिरफार गर्ने आँट गर्दैन किनकि यो एकदमै “पवित्र” छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)
सम्बन्धित चलचित्र उद्धरणहरू
बाइबल परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो कि होइन
के सम्पूर्ण बाइबल परमेश्वरको प्रेरणाद्वारा दिइएको हो?
सम्बन्धित अनुभवात्मक गवाहीहरू
के सम्पूर्ण बाइबल परमेश्वरको प्रेरणाद्वारा दिइएको हो?
सम्बन्धित भजनहरू
के सम्पूर्ण बाइबल परमेश्वरको प्रेरणाद्वारा दिइएको हो?