४५. परमेश्‍वरको धार्मिक स्वभावलाई कसरी बुझ्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

युगलाई समापन गर्ने आफ्‍नो अन्तिम काममा, परमेश्‍वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै मानिसहरू न्याय गर्न र साँचो हृदयले उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध बनाउनको लागि सबै अधर्मी कुरालाई प्रकट गर्नुहुन्छ। यस्तो स्वभावले मात्र युगलाई अन्त्यमा पुर्‍याउन सक्छ। आखिरी दिनहरू पहिले नै आइसकेका छन्। सृष्टिमा भएका सबै थोकहरूलाई तिनीहरूको प्रकारअनुसार अलग गरिनेछ, र तिनीहरूका प्रकृतिको आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्‍वरले मानवताको परिणाम र तिनीहरूको गन्तव्य प्रकट गर्नुहुने क्षण यही नै हो। यदि मानिसहरूले सजाय र न्याय भोग्दैनन् भने, तिनीहरूको विद्रोहीपन र अधार्मिकता प्रकट गर्ने कुनै तरिका हुनेछैन। केवल सजाय र न्यायको माध्यमबाट मात्र सबै सृष्टिको परिणाम प्रकट गर्न सकिन्छ। जब मानिसलाई सजाय दिइन्छ र न्याय गरिन्छ, तब मात्र उसले आफ्नो वास्तविक रङ्ग देखाउँदछ। खराबलाई खराबको साथमा, असललाई असलको साथमा राखिनेछ, र सारा मानव जातिलाई तिनीहरूको आफ्नै प्रकारअनुसार अलग गरिनेछ। सजाय र न्यायद्वारा, सबै सृष्टिको परिणाम प्रकट गरिनेछ, यसरी दुष्टलाई दण्ड दिन र असललाई इनाम दिन सकिन्छ, र सबै मानिस परमेश्‍वरको प्रभुत्वप्रति आत्मसमर्पण गर्छन्। यी सबै काम धर्मी सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसको भ्रष्टता चरम सीमामा पुगेकाले, र उसको विद्रोहीपन अत्यन्तै गम्भीर बनेकाले परमेश्‍वरको धर्मी स्वभाव, अर्थात् विशेष गरी दण्ड र न्याय मिसिएको, र आखिरी दिनहरूमा प्रकट भएको स्वभावले मात्र मानिसलाई पूर्ण रूपमा परिवर्तन गर्न र पूर्ण बनाउन सक्छ। यो स्वभावले मात्र खराबीलाई प्रकट गर्न र त्यसरी सबै अधर्मीहरूलाई कडा दण्ड दिनु सक्छ। त्यसकारण, यस प्रकारको स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ, अनि उहाँको स्वभावको प्रकाश तथा प्रदर्शन प्रत्येक नयाँ युगको कामका लागि प्रकट गरिन्छ। परमेश्‍वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकट गर्नुहुन्छ भन्‍ने होइन। आखिरी दिनहरूमा मानिसका परिणामहरू प्रकट गर्ने क्रममा, परमेश्‍वरले मानिसलाई असीम करुणा र प्रेम प्रदान गर्नुहुन्छ र ऊप्रति प्रेमिलो गरिरहनुहुन्छ, मानिसलाई धर्मी न्यायको अधीनमा ल्याउनुभएन, बरु उसलाई सहनशीलता, धैर्य र क्षमा देखाउनुहुन्छ, र मानिसको पाप जति नै गम्भीर नै भए पनि त्यसको निम्ति अलिकति पनि धर्मी न्याय नगरी क्षमा गर्नुहुन्छ भन्‍ने मान्यता राख्दा: परमेश्‍वरको सबै व्यवस्थापन कहिले समाप्त हुनेछ? यस्तो प्रकारको स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेछ? उदाहरणको लागि, एक जना न्यायाधीश, जो सधैँ प्रेमिलो छ, दयालु अनुहार र कोमल हृदयका न्यायाधीश छ, उसलाई लिऊँ। मानिसहरूले जस्तो-सुकै अपराध गरेको भए पनि उसले तिनीहरूलाई प्रेम गर्छ, र तिनीहरू जो-सुकै भए पनि तिनीहरूलाई प्रेम गर्छ। त्यो अवस्थामा, के ऊ निर्णयमा पुग्नसक्छ? आखिरी दिनहरूमा, केवल धर्मी इन्साफले मात्र मानिसलाई उनीहरूको प्रकारअनुसार छुट्ट्याउन सक्छ र मानिसलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यस तरिकाले, न्याय र सजायको परमेश्‍वरको धर्मी स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

म अद्वितीय परमेश्‍वर स्वयम्‌ हुँ र यसको अतिरिक्त, म एक र परमेश्‍वरको एक मात्र व्यक्ति हुँ। त्यो भन्दा पनि, म, शरीरको पूर्णता, परमेश्‍वरको पूर्ण प्रकटीकरण हुँ। जसले मेरो डर नमान्ने आँट गर्छ, जसले तिनीहरूका आँखाहरूमा प्रतिरोध प्रकट गर्ने आँट गर्छ, र जसले मेरो विरुद्धमा चुनौती दिने कुराहरू बोल्ने आँट गर्छ त्यो निश्चित रूपमा मेरो श्राप र क्रोधबाट मर्नेछ (मेरो क्रोधको कारण श्राप आउनेछ)। यसबाहेक, जो मप्रति बफादार नहुने वा जसले छोराछोरीले जस्तो आदर नगर्ने आँट गर्छ, र जसले मलाई छक्काउने कोसिस गर्छ, त्यो निश्चय मेरो घृणाको कारण मर्नेछ। मेरो धार्मिकता, प्रताप र न्याय सदासर्वदा रहिरहनेछ। सुरुमा, म प्रेमिलो र दयालु थिएँ, तर यो मेरो सम्पूर्ण ईश्‍वरत्वको स्वभाव होइन; धार्मिकता, प्रताप र न्यायले मात्र म स्वयम् पूर्ण परमेश्‍वरको स्वभाव बनेको छु। अनुग्रहको युगको अवधिमा म प्रेमिलो र दयालु थिएँ। मैले समाप्त गर्नुपर्ने कामको कारण मैले दया र कृपा धारण गरेको थिएँ; तापनि त्यसपछि त्यस्ता कुराहरूको कुनै आवश्यकता परेन (र त्यस बेलादेखि यता ती कुनै पनि छैनन्)। यो सबै धार्मिकता, महिमा र न्याय हो, र यो मेरो सम्पूर्ण ईश्‍वरत्वसँग जोडिएको मेरो सामान्य मानवताको पूर्ण स्वभाव हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७९

म दुष्टहरूलाई दण्ड र असललाई इनाम दिनेछु, म मेरो धार्मिकतालाई लागू गर्नेछु, र म मेरो न्याय अघि बढाउनेछु। म सबै थोक सम्पन्‍न गर्न मेरा वचनहरूको प्रयोग गर्नेछु, र यसरी सबै मानिस र सबै थोकलाई मेरो हातको सजाय अनुभव गराउनेछु, र सबै मानिसहरूलाई मेरो पूर्ण महिमा, मेरो पूर्ण बुद्धि र मेरो पूर्ण उदारता देखाउनेछु। न्यायको दौरान विद्रोहमा खडा हुने कसैले आँट गर्नेछैन, किनकि ममा सबै थोक हासिल हुन्छन्; र यहाँ सबै मानिसले मेरो पूर्ण मर्यादा देखून् र मेरो पूर्ण विजयको स्वाद लिऊन्, किनकि ममा सबै कुरा प्रकट हुन्छन्। यसबाट, मेरो महान् शक्ति र मेरो अख्तियारलाई देख्‍न सम्भव हुन्छ। कसैले पनि मलाई चिढ्याउने आँट गर्नेछैन, र कसैले पनि मलाई बाधा दिने आँट गर्नेछैन। ममा सबै थोक खुला गरिन्छ। कसले कुनै कुरा लुकाउने आँट गर्छ र? म अवश्य नै त्यस्ता व्यक्तिहरूलाई कुनै दया देखाउँदिनँ! त्यस्ता दुष्टहरूले मेरो कठोर दण्ड पाउनैपर्छ, र त्यस्ता निकम्मा मानिसहरू मेरो नजरबाट हटाइनुपर्छ। म फलामको डन्डाले उनीहरूमाथि शासन गर्नेछु र अलिकति पनि दया नदेखाई र तिनीहरूका भावनाहरूलाई रत्तीभर विचार नगरी तिनीहरूको न्याय गर्न म आफ्नो अख्तियार प्रयोग गर्नेछु, किनकि म परमेश्‍वर स्वयम्‌ हुँ, जो देहगत भावनाहीन र प्रतापी हुनुहुन्छ र जसलाई चिढ्याउन सकिँदैन। सबैले यो बुझ्नु र हेर्नुपर्छ, नत्र तिनीहरू मद्वारा कुनै “उद्देश्य वा कारणविना” प्रहार गरिएर ढालिनेछन् र नाश पारिनेछन्, किनकि मलाई चिढ्याउनेहरू सबैलाई मेरो डन्डाले प्रहार गरी ढाल्नेछ। तिनीहरूले मेरा प्रशासनिक आदेशहरू जान्दछन् कि जान्दैनन् त्यसको मलाई कुनै मतलब छैन; त्यो मेरो निम्ति कुनै परिणामको हुनेछैन, किनकि मेरो व्यक्तित्वले कसैले चिढ्याएको सहन गर्दैन। त्यसैकारण म एक सिंह हुँ भनी भनिएको हो; म जसलाई छुन्छु, त्यसलाई प्रहार गरी ढाल्छु। त्यसैले, मलाई करुणा र प्रेमिलोदयालुपनका परमेश्‍वर हुँ भन्‍नु ईश्‍वरनिन्दा हो भनेर भनिएको हो। सारमा, म थुमा होइनँ, बरु सिंह हुँ। कसैले मलाई चिढ्याउने आँट गर्दैन; जसले मलाई चिढ्याउँछ, म उसलाई तुरुन्तै र कुनै दया नगरी मृत्यु दण्ड दिनेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १२०

म धर्मी छु, म भरोसायोग्य छु, र म मानिसको अन्तस्करण जाँच गर्ने परमेश्‍वर हुँ! को साँचो हो र को झूटो हो सो म तुरुन्तै प्रकट गर्नेछु। नआत्तिओ; सबै थोकले मेरो समयअनुसार काम गर्दछन्। कसले मलाई इमानदारीसाथ चाहन्छ, र कसले चाहँदैन, त्यो एक-एक गरी म तिमीहरूलाई बताउनेछु। तिमीहरू केवल खाने, पिउने र मेरो उपस्थितिमा आउँदा मेरो नजिक आउने कुरामा मात्रै ध्यान देओ, र मेरो काम म आफै गर्नेछु। तुरुन्तै परिणामहरू प्राप्त गर्नको लागि अनावश्यक रूपमा चिन्तित नहोओ; मेरो काम झट्टै एकै पटक सम्पन्न गर्न सकिने काम होइन। त्यसभित्र मेरा चरणहरू र मेरो बुद्धि छन्, त्यसैले मेरो बुद्धि प्रकट गर्न सकिन्छ। म तिमीहरूलाई मेरा हातहरूले के गरेका छन् त्यो देखाउनेछु—दुष्टलाई दण्ड र असललाई इनाम दिनु। म अवश्य नै कसैको पनि पक्ष लिँदिनँ। तँ, जसले इमानदारीसाथ मलाई प्रेम गर्छ, म तँलाई इमानदारीसाथ प्रेम गर्दछु, जसले मलाई इमानदारीसाथ प्रेम गर्दैनन्, मेरो क्रोध सधैँ तिनीहरूसित रहनेछ, ताकि तिनीहरूले सारा अनन्तताभरि यो स्मरण गरून् कि म नै साँचो परमेश्‍वर, मानिसको अन्तस्करण जाँच्ने परमेश्‍वर हुँ। अरूको सामुन्ने एक प्रकारको र तिनीहरूका पिठिउँपछाडि अर्को प्रकारको व्यवहार नगर्; तैँले गर्ने सबै कुरा म स्पष्ट रूपमा देख्न सक्छु, र तैँले अरूलाई मूर्ख बनाउन सके पनि, मलाई मूर्ख बनाउन सक्दैनस्। म यो सबै स्पष्ट देख्दछु। तैँले कुनै पनि कुरा लुकाउनु सम्भव छैन; सबै थोक मेरा हातमा छन्। आफैलाई धेरै चतुर सम्झँदै तेरो क्षुद्र साना युक्तिहरूले तेरो फाइदा गराउँछ भन्‍ने नठान्। म तँलाई भन्छु: मानिसहरूले जति धेरै योजनाहरू बनाए पनि, चाहे ती हजारौं वा लाखौँ भए पनि, आखिरमा ती मेरो हत्केलाबाट उम्कन सक्दैनन्। सबै थोक र सबै वस्तुहरू मेरा हातहरूद्वारा नियन्त्रित छन्, एक जना व्यक्तिको त कुरै नगरौं! मलाई छल्ने वा मबाट लुक्ने कोसिस नगर्, फुस्लाउने वा लुकाउने कोसिस नगर्। के मेरो महिमित अनुहार, मेरो क्रोध र मेरो न्यायलाई सार्वजनिक रूपमा प्रकट गरिएको छ भन्‍ने तैँले अझै देखेको छैनस् भन्‍ने हुन सक्छ? ज-जसले मलाई इमानदारीसाथ चाहँदैन, म तिनीहरूलाई तुरुन्तै र कृपा नगरी न्याय गर्नेछु। मेरो दयाको अन्त्य भएको छ; अब केही बाँकी छैन। अब उप्रान्त पाखण्डी नबन्, र तेरा असभ्य र लापरवाह चालहरूलाई बन्द गर्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४४

परमेश्‍वरको धर्मी स्वभाव बुझ्‍नको निम्ति सर्वप्रथम परमेश्‍वरका संवेगहरू बुझ्‍नुपर्छ: उहाँले केलाई घृणा गर्नुहुन्छ, उहाँले केलाई घिनाउनुहुन्छ, उहाँले केलाई प्रेम गर्नुहुन्छ, कोप्रति उहाँ सहनशील र कृपालु हुनुहुन्छ र उहाँले कस्तो व्यक्तिलाई त्यो कृपा प्रदान गर्नुहुन्छ। यो एउटा मुख्य बुँदा हो। व्यक्तिले यो पनि बुझ्‍नुपर्छ कि परमेश्‍वर जति नै प्रेमिलो हुनुभए तापनि, मानिसहरूका निम्ति उहाँसँग जति नै कृपा र प्रेम भए तापनि, परमेश्‍वरले उहाँको पहिचान र पदको उल्लङ्‍घन गर्ने कसैलाई पनि सहन गर्नुहुन्‍न, न त उहाँको गरिमाको उल्लङ्‍घन गर्ने कसैलाई सहनुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई प्रेम गर्नुहुने भए तापनि, उहाँले तिनीहरूलाई पुलपुल्याउनुहुन्न। उहाँले मानिसहरूलाई उहाँको प्रेम, उहाँको कृपा र उहाँको सहनशीलता दिनुहुन्छ, तर उहाँले तिनीहरूलाई कहिले पनि काखी च्याप्ने गर्नुभएन; परमेश्‍वरसँग उहाँका सिद्धान्तहरू र उहाँका सीमाहरू छन्। तैँले परमेश्‍वरको जतिसुकै प्रेम महसुस गरेको भए तापनि, त्यो प्रेम जतिसुकै गहिरो भए तापनि तैँले परमेश्‍वरलाई कहिले पनि अर्को व्यक्तिलाई जस्तो व्यवहार गर्नु हुँदैन। परमेश्‍वरले मानिसहरूलाई अत्यन्तै घनिष्ठताका साथ व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा साँचो भए तापनि, यदि कुनै व्यक्तिले परमेश्‍वरलाई अर्को व्यक्तिको रूपमा मात्र, उहाँ सृष्टि गरिएसरहको व्यक्तिको रूपमा, र एक मित्र वा पूजा गरिने वस्तुको रूपमा मात्र हेर्छ भने, परमेश्‍वरले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुहुनेछ र तिनीहरूलाई त्याग्‍नुहुनेछ। यो उहाँको स्वभाव हो र मानिसहरूले यस विषयलाई लापरवाही भएर लिनु हुँदैन। यसैले, हामीले प्रायजसो आफ्नो स्वभावको बारेमा परमेश्‍वरले बोल्‍नुभएका यस्ता वचनहरू देख्छौं: तैँले कति ओटा मार्गहरू यात्रा गरेको छस्, तैँले कति काम गरेको छस् वा तैँले कति कष्ट भोगेको छस् भन्‍ने कुराले फरक पार्दैन, तैँले परमेश्‍वरको स्वभावलाई चिढ्याइस् भने उहाँले तिमीहरू हरेकलाई तिमीहरूले गरेको कामको आधारमा बदला लिनुहुनेछ। यसको अर्थ यही हो कि परमेश्‍वरले मानिसहरूलाई अत्यन्तै घनिष्ठताका साथ व्यवहार गर्नुहुन्छ, तथापि मानिसहरूले परमेश्‍वरलाई एक मित्र वा आफन्तको रूपमा व्यवहार गर्नु हुँदैन। परमेश्‍वरलाई तेरो “दोस्त” नभन्। उहाँबाट तैँले जतिसुकै प्रेम प्राप्त गरेको भए तापनि, उहाँले तँलाई जतिसुकै सहन गर्नुभए तापनि तैँले परमेश्‍वरलाई कहिले पनि मित्रको रूपमा व्यवहार गर्नु हुँदैन। यो परमेश्‍वरको धर्मी स्वभाव हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ७

उल्‍लङ्घनप्रतिको परमेश्‍वरको असहनशीलता नै उहाँको अद्वितीय सार हो; परमेश्‍वरको क्रोध उहाँको अद्वितीय स्वभाव हो; परमेश्‍वरको प्रताप उहाँको अद्वितीय सार हो। परमेश्‍वरको रिसपछाडिको सिद्धान्त भनेको उहाँको पहिचान र हैसियतको प्रदर्शन हो, जुन उहाँमा मात्रै छ। यो सिद्धान्त अद्वितीय परमेश्‍वर स्वयम्‌को सारको प्रतीक पनि हो भनेर भनिरहनु पर्दैन। परमेश्‍वरको स्वभाव उहाँको आफ्‍नै अन्तर्निहित सार हो, जुन समयको बहावद्वारा परिवर्तन हुँदै-हुँदैन, न त भौगोलिक अवस्थितिद्वारा नै बदलिन्छ। उहाँको अन्तर्निहित स्वभाव नै उहाँको अन्तर्निहित सार हो। उहाँले जसमाथि आफ्‍नो काम गर्नुभए तापनि, उहाँको सार परिवर्तन हुँदैन, न त उहाँको धर्मी स्वभाव नै परिवर्तन हुन्छ। जब कसैले परमेश्‍वरलाई रिस उठाउँछ, तब परमेश्‍वरले जे प्रकट गर्नुहुन्छ त्यो उहाँको अन्तर्निहित स्वभाव हो; त्यस बेला उहाँको रिसको पछाडिको सिद्धान्त परिवर्तन हुँदैन, न त उहाँको अद्वितीय पहिचान र हैसियत नै परिवर्तन हुन्छ। उहाँको सारको परिवर्तनको कारण वा उहाँको स्वभावबाट फरक-फरक तत्वहरू उत्पन्‍न हुने कारणले उहाँ रिसाउनुहुन्‍न, बरु उहाँ विरुद्ध मानिसले गरेको विरोधले उहाँको स्वभावलाई चिढ्याउने हुनाले उहाँ रिसाउनुहुन्‍छ। मानिसद्वारा परमेश्‍वरलाई हुने खुल्ला उक्साहट परमेश्‍वरको आफ्‍नै पहिचान र हैसियतप्रतिको गम्भीर चुनौती हो। परमेश्‍वरको दृष्टिकोणमा, जब मानिसले उहाँलाई चुनौती दिन्छ, तब मानिसले उहाँसँग होडबाजी गरिरहेको हुन्छ र उहाँलाई रिस उठाउन खोजिरहेको हुन्छ। जब मानिसले परमेश्‍वरको विरोध गर्छ, जब मानिसले परमेश्‍वरसँग होडबाजी गर्छ, जब मानिसले निरन्तर रूपमा परमेश्‍वरलाई रिस उठाउँछ—र पापको बिगबिगी बढ्ने समयमा यस्तो हुन्छ—तब परमेश्‍वरको क्रोध प्राकृतिक रूपमै प्रकट हुनेछ र आफै प्रस्तुत हुनेछ। त्यसकारण, परमेश्‍वरले आफ्‍नो क्रोध प्रकट गर्नु भनेको सारा दुष्ट शक्तिहरू अस्तित्वमा रहन छोड्नेछन् भन्‍ने कुराको प्रतीक हो, र यो सारा शत्रुवत् शक्तिहरूलाई नष्ट गरिनेछ भन्‍ने कुराको पनि प्रतीक हो। यो परमेश्‍वरको धर्मी स्वभाव, र परमेश्‍वरको क्रोधको अद्वितीयपन हो। जब परमेश्‍वरको गरिमा र पवित्रतालाई चुनौती दिइन्छ, जब न्यायका शक्तिहरूमा मानिसले बाधा पुर्‍याउँछ र उसले तिनलाई देख्दैन, तब परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुहुनेछ। परमेश्‍वरको सारको कारणले गर्दा, परमेश्‍वरसँग लड्ने, र उहाँसँग संघर्ष गर्ने र होडबाजी गर्ने पृथ्वीका ती सबै शक्तिहरू दुष्ट, भ्रष्ट र अन्यायी हुन्; तिनीहरू शैतानबाट आउँछन् र शैतानकै स्वामित्वमा हुन्छन्। परमेश्‍वर न्यायी हुनुहुन्छ र ज्योतिमय एवं कुनै त्रुटि नभएको पवित्र हुनुहुन्छ, त्यसकारण परमेश्‍वरको क्रोध वर्षिएपछि दुष्ट, भ्रष्ट र शैतानको स्वामित्वमा रहेका सबै कुराहरू लोप हुनेछन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

जब परमेश्‍वरले आफ्‍नो क्रोध वर्षाउनुहुन्छ, तब दुष्ट शक्तिहरू नियन्त्रित हुन्छन् र दुष्ट कुराहरू नष्ट हुन्छन्, जबकि न्यायसंगत र सकारात्मक कुराहरूले परमेश्‍वरको हेरचाह र सुरक्षा प्राप्त गर्न पुग्छन् र तिनीहरूलाई निरन्तर रहन दिइन्छ। परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुहुन्छ किनभने अन्यायी, नकारात्मक र दुष्ट कुराहरूले न्यायसंगत र सकारात्मक कुराहरूको सामान्य क्रियाकलाप र विकासलाई रोक्‍ने, बिथोल्ने वा नष्ट गर्ने गर्छन्। परमेश्‍वरको रिसको उद्देश्य भनेको उहाँको आफ्‍नै हैसियत र पहिचानलाई सुरक्षा गर्नु होइन, बरु न्यायसंगत, सकारात्मक, सुन्दर र असल कुराहरूलाई रक्षा गर्नु हो, मानवजातिको सामान्य अस्तित्वको नियम र सुव्यवस्थालाई सुरक्षा गर्नु हो। परमेश्‍वरको क्रोधको मूल कारण यही हो। परमेश्‍वरको क्रोध उहाँको स्वभावको अत्यन्तै उचित, प्राकृतिक र साँचो प्रकाश हो। उहाँको क्रोधमा कुनै गोप्‍य अभिप्रायहरू हुँदैनन्, न त कुनै छल वा षड्यन्त्र नै हुन्छन्, इच्‍छाहरू, धूर्तता, शत्रुभाव, हिंसा, दुष्टता वा भ्रष्ट मानवजातिको अरू कुनै पनि साझा गुणहरू हुने कुरा त परै जाओस्। परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुभन्दा पहिले, उहाँले हरेक मामलाको सारलाई निकै स्पष्ट र पूर्ण रूपमा बुझिसक्‍नुभएको हुन्छ, र उहाँले पहिले नै यथार्थ, स्पष्ट परिभाषा र निष्कर्षहरू तयार गरिसक्‍नुभएको हुन्छ। यसैले, उहाँले गर्ने सबै कुरामा परमेश्‍वरको उद्देश्य उहाँको मनोवृत्ति जस्तै स्पष्ट हुन्छ। उहाँ बेवकुफ, अन्धो, आवेगशील, वा लापरवाह हुनुहुन्‍न, र उहाँ अवश्य नै सिद्धान्तहीन हुनुहुन्‍न। परमेश्‍वरको क्रोधको व्यावहारिक पक्ष यही हो, र परमेश्‍वरको क्रोधको यही व्यवहारिक पक्षकै कारण मानवजातिले आफ्नो सामान्य अस्तित्व प्राप्त गरेको छ। परमेश्‍वरको क्रोधविना, मानवजाति अस्वाभाविक जीवन परिस्थितिहरूमा ओर्लनेथिए र न्यायसंगत, सुन्दर र असल सबै कुराहरू नष्ट हुनेथिए र अस्तित्वमा हुनेथिएनन्। परमेश्‍वरको क्रोधविना, सृष्टि गरिएका प्राणीहरूका कानूनहरू र नियमहरू तोडिनेथिए वा पूर्ण रूपमा उल्ट्याइने थिए। मानिसको सृष्टि भएदेखि नै, परमेश्‍वरले मानवजातिको सामान्य अस्तित्वलाई रक्षा गर्न र दिगो राख्‍नको लागि निरन्तर रूपमा आफ्‍नो धर्मी स्वभावको प्रयोग गर्नुभएको छ। उहाँको धर्मी स्वभावमा क्रोध र प्रताप हुने भएकोले, सारा दुष्ट मानिसहरू, वस्तु र चीजबीजहरू, अनि मानवजातिको सामान्य अस्तित्वलाई बाधा र हानी गर्ने सबै कुराहरूलाई उहाँको क्रोधको परिणामस्वरूप दण्डित, नियन्त्रित र नष्ट गरिन्छ। विगतका कैयौँ सहस्राब्दीको अवधिमा, परमेश्‍वरको विरोध गर्ने र मानवजातिको व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यमा शैतानका मतियार अनि नोकरहरूका रूपमा काम गर्ने सबै प्रकारका अशुद्ध र दुष्ट आत्‍माहरूलाई प्रहार गरी ढाल्‍न र नष्ट गर्नको लागि परमेश्‍वरले निरन्तर रूपमा आफ्‍नो धर्मी स्वभावको प्रयोग गर्नुभएको छ। यसरी, मानिसको मुक्ति सम्‍बन्धी परमेश्‍वरको कार्य सधैँ नै उहाँकै योजना अनुसार अघि बढेको छ। भन्‍नुको अर्थ, परमेश्‍वरको क्रोधको अस्तित्वको कारणले गर्दा, मानवजातिमाझका सबैभन्दा धर्मी अभियानहरू कहिल्यै नष्ट भएका छैनन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

मानवजाति जति नै मूर्ख र अज्ञानी भए पनि, परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई गर्नुहुने व्यवहार मुख्यतया कृपा र सहनशीलतामा आधारित छ। अर्कोतर्फ, धेरैजसो समय र धेरैजसो घटनाहरूमा उहाँको क्रोध लुकाइएको हुन्छ, यो मानिसको लागि अज्ञात हुन्छ। परिणामस्वरूप, परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुभएको मानिसले देख्न कठिन हुन्छ, र उहाँको क्रोधलाई बुझ्‍न पनि कठिन नै हुन्छ। त्यसो भएको हुँदा, मानिसले परमेश्‍वरको क्रोधलाई हल्‍कासित लिन्छ। जब मानिसले परमेश्‍वरको अन्तिम कार्य र मानिसको लागि उहाँको सहनशीलता र पापक्षमाको सामना गर्छ—अर्थात्, जब परमेश्‍वरको अन्तिम पटकको कृपा र उहाँको अन्तिम चेतावनी मानवजातिमा आइपर्छ—यदि मानिसहरूले अझै पनि परमेश्‍वरको विरोध गर्नको लागि उही विधिहरूको प्रयोग गर्छन् भने र पश्‍चात्ताप गर्न, तिनीहरूका मार्गहरूलाई सुधार्न र उहाँको कृपालाई स्वीकार गर्न कुनै पनि प्रयास गर्दैनन् भने, परमेश्‍वरले तिनीहरूलाई अबउप्रान्त उहाँको सहनशीलता र धैर्यता प्रदान गर्नुहुनेछैन। यसको विपरीत, यस पटक परमेश्‍वरले आफ्‍नो कृपा फिर्ता लिनुहुनेछ। यसपछि, उहाँले आफ्‍नो क्रोध मात्रै बर्साउनुहुनेछ। जसरी उहाँले मानिसहरूलाई दण्ड दिन र नष्ट गर्नको लागि फरक-फरक विधिहरूको प्रयोग गर्नुहुन्छ त्यसरी नै उहाँले फरक-फरक तरिकाले आफ्‍नो क्रोध प्रकट गर्न सक्‍नुहुन्छ।

सदोम सहरलाई नष्ट गर्नको लागि परमेश्‍वरले गर्नुभएको आगोको प्रयोग मानवजाति वा अरू कुनै पनि कुरालाई पूर्ण रूपमा नष्ट गर्ने उहाँको सबैभन्दा शीघ्र तरिका हो। सदोमका मानिसहरूलाई जलाउँदा यसले तिनीहरूका भौतिक शरीरलाई मात्र नष्ट गरेन; यसले तिनीहरूका आत्मा, तिनीहरूका प्राण र तिनीहरूका शरीरको सम्पूर्णता नष्ट गर्‍यो र त्यस सहरका मानिसहरूलाई भौतिक संसार र मानिसको निम्ति अदृश्य रहेको संसार दुवैमा अस्तित्व विहीन हुने कुरा सुनिश्‍चित गर्‍यो। परमेश्‍वरले आफ्‍नो क्रोधलाई प्रकाश पार्ने र व्यक्त गर्ने एउटा तरिका यही हो। जसरी यो प्राकृतिक रूपमा परमेश्‍वरको धर्मी स्वभावको सारको प्रकाश हो त्यसरी नै प्रकाश र अभिव्यक्तिको यो शैली परमेश्‍वरको क्रोधको सारको एउटा पक्ष हो। जब परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुहुन्छ, उहाँले न त कुनै कृपा वा प्रेमिलो दयालुपन नै प्रकट गर्नुहुन्छ, न त त्यसपछि उहाँले उहाँको सहनशीलता वा धैर्यतालाई नै देखाउनुहुन्छ; उहाँलाई निरन्तर धैर्य रहिरहन, फेरि उहाँको कृपा प्रदान गर्न, फेरि एक पटक उहाँको सहनशीलता प्रदान गर्नको लागि उहाँलाई मनाउन सक्‍ने कुनै व्यक्ति, वस्तु वा कारण नै छैन। यी कुराहरूको स्थानमा, क्षणिक हिचकिचाहटविना नै परमेश्‍वरले आफ्‍नो इच्‍छाअनुसार आफ्‍नो क्रोध र प्रताप प्रकट गर्नुहुन्छ। उहाँले आफ्‍नै चाहनाहरू अनुसार यी कुराहरू शीघ्र र शुद्ध रूपमा गर्नुहुन्छ। परमेश्‍वरले आफ्‍नो क्रोध र प्रताप निकाल्ने तरिका यही हो, जसलाई मानिसले चिढ्याउनु हुँदैन, र यो उहाँको धर्मी स्वभावको एउटा पक्षको अभिव्यक्ति पनि हो। जब परमेश्‍वरले मानिसप्रति चिन्ता र प्रेम देखाइरहेको मानिसहरूले देख्छन्, तिनीहरूले उहाँको क्रोधलाई पत्ता लगाउन, उहाँको प्रतापलाई देख्‍न वा उल्‍लङ्घनप्रति उहाँको असहनशीलतालाई महसुस गर्न सक्दैनन्। यी कुराहरूले मानिसहरूलाई सधैँ परमेश्‍वरको धर्मी स्वभाव भनेको कृपा, सहनशीलता र प्रेम मात्रै हो भनेर विश्‍वास गर्ने तुल्याउँछ। तैपनि, जब कसैले परमेश्‍वरले कुनै सहरलाई नष्ट गर्नुभएको वा मानवजातिलाई तिरस्कार गर्नुभएको देख्छ, तब मानिसको विनाशमा उहाँको प्रचुर रिस अनि उहाँको प्रतापले मानिसहरूलाई उहाँको धर्मी स्वभावको अर्को पक्षको झलक देखाउँछ। उल्‍लङ्घनप्रतिको परमेश्‍वरको असहनशीलता यही हो। कुनै पनि उल्‍लङ्घन नसहने परमेश्‍वरको स्वभावले सृष्टि गरिएको कुनै पनि प्राणीको कल्‍पनालाई नाघ्छ, अनि सृष्टि नगरिएका प्राणीहरूमाझ, यसलाई हस्तक्षेप गर्न वा यसलाई प्रभाव पार्न सक्‍ने कोही छैन; यसको नक्कल गर्न वा अनुकरण गर्न सक्‍ने कुरा त परै जाओस्। तसर्थ, परमेश्‍वरको स्वभावको यो पक्ष नै मानवजातिले सबैभन्दा बढी जान्‍नुपर्ने कुरा हो। परमेश्‍वर स्वयम्‌मा मात्रै यस प्रकारको स्वभाव छ, र परमेश्‍वर स्वयम्‌ले मात्रै यस प्रकारको स्वभाव धारण गर्नुभएको छ। उहाँले दुष्ट्याइँ, अन्धकार, विद्रोहीपन र शैतानका दुष्ट कार्यहरूलाई, अर्थात् मानवजातिलाई भ्रष्ट बनाउने र भस्‍म गर्ने कार्यहरूलाई तिरस्कार गर्नुहुने भएकोले, उहाँको विरुद्धमा रहेका सबै पापकर्महरूलाई उहाँले तिरस्कार गर्नुहुने भएकोले अनि उहाँको पवित्र र निष्कलङ्क सारको कारण परमेश्‍वरमा यस प्रकारको धर्मी स्वभाव हुन्छ। यही कारणले गर्दा उहाँले सृष्टि गरिएको वा नगरिएको कुनै पनि प्राणीले खुलेआम उहाँको विरोध गरेको वा उहाँसँग होडबाजी गरेको पीडा सहनुहुनेछैन। उहाँले कुनै बेला कृपा देखाउनुभएको वा उहाँले चुन्‍नुभएको व्यक्तिले समेत उहाँको स्वभावलाई एक पटक चिढ्याउनु र उहाँका धैर्यता र सहनशीलताका सिद्धान्तहरूलाई भङ्ग मात्रै गर्नुपर्छ, अनि अलिकति कृपा वा हिचकिचाहटविना नै उहाँले कुनै पनि उल्‍लङ्घन सहन नगर्ने आफ्‍नो धर्मी स्वभावलाई खुला छाडी प्रकट गर्नुहुनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरका हरेक कार्यहरूको सामना गर्ने क्रममा, तँ पहिले परमेश्‍वरको धर्मी स्वभाव अरू कुनै तत्वहरूबाट मुक्त छ, यो पवित्र र त्रुटि विहीन छ भन्‍ने कुरामा निश्‍चित हुनैपर्छ। यी कार्यहरूमा परमेश्‍वरले मानवजातिलाई प्रहार गर्ने, दण्ड दिने र विनाश गर्ने कार्यहरू पर्दछन्। परमेश्‍वरको हरेक कार्यहरू विना कुनै अपवाद पूर्ण रूपमा उहाँको अन्तर्निहित स्वभाव र उहाँको योजनाअनुसार नै हुन्छन्, र तिनमा मानवजातिको ज्ञान, परम्परा र दर्शनको कुनै पनि भाग समावेश हुँदैन। परमेश्‍वरको हरेक कार्य उहाँको स्वभाव र सारको अभिव्यक्ति हो, जुन भ्रष्ट मानवजातिको स्वामित्वमा रहेको कुनै पनि कुरासँग सम्‍बन्धित हुँदैन। मानवजातिप्रतिको परमेश्‍वरको प्रेम, कृपा र सहनशीलता मात्रै त्रुटि विहीन, विशुद्ध र पवित्र छन् भन्‍ने धारणा मानवजातिमा छ, तर परमेश्‍वरको रिस र उहाँको क्रोध पनि त्यस्तै विशुद्ध छन् भनेर कसैलाई पनि थाहा छैन; यसको साथै, परमेश्‍वरले किन कुनै पनि उल्‍लङ्घन सहनुहुन्‍न, वा उहाँको रिस किन यति ठूलो छ भन्‍ने जस्ता प्रश्‍नहरूमा कसैले पनि चिन्तन गरेका छैनन्। यसको विपरीत, कतिपयले परमेश्‍वरको क्रोधलाई भ्रष्ट मानवजातिको रिसाहा स्वभाव जस्तै हो भनी ठान्छन्, अनि परमेश्‍वरको रिस भनेको भ्रष्ट मानवजातिको रिस त हो नि भनेर गलत बुझ्छन्। तिनीहरूले परमेश्‍वरको रिस मानवजातिको भ्रष्ट स्वभावको प्राकृतिक प्रकाश जस्तै हो र परमेश्‍वरको क्रोध प्रकट हुनु भनेको कुनै चित्त नबुझ्‍ने परिस्थिति आइपर्दा भ्रष्ट मानिसहरूमा आउने रिस जस्तै हो भनेर गलत अनुमान गर्छन्, र परमेश्‍वरको क्रोध बाहिर आउनु भनेको उहाँको मनस्थितिको अभिव्यक्ति हो भन्‍ने विश्‍वास गर्छन्। … परमेश्‍वरको धर्मी स्वभाव परमेश्‍वरको आफ्‍नै साँचो सार हो। यो मानिसले लेखेको वा आकार दिएको कुरा होइन। उहाँको धर्मी स्वभाव भनेको उहाँको धर्मी स्वभाव नै हो र कुनै पनि सिर्जित प्राणीसँग यसको सम्‍बन्ध वा सरोकार छैन। परमेश्‍वर स्वयम्‌ भनेको परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ। उहाँ कहिल्यै पनि सिर्जित प्राणी बन्‍नुहुनेछैन, र उहाँ सृष्टि गरिएको प्राणीको सदस्य बन्‍नुभयो भने पनि, उहाँको अन्तर्निहित स्वभाव र सार परिवर्तन हुनेछैन। त्यसकारण, परमेश्‍वरलाई चिन्‍नु भनेको कुनै वस्तुलाई चिन्‍नुजस्तो होइन; परमेश्‍वरलाई चिन्‍नु भनेको कुनै पनि कुरालाई चिरफार गर्नु होइन, न त यो व्यक्तिलाई बुझ्‍नु जस्तो नै हो। यदि मानिसले परमेश्‍वरलाई चिन्‍नको लागि वस्तुलाई चिन्‍ने वा व्यक्तिलाई बुझ्‍ने आफ्‍नो अवधारणा वा विधिको प्रयोग गर्छ भने, तैँले कहिल्यै पनि परमेश्‍वरसम्‍बन्धी ज्ञान हासिल गर्न सक्‍नेछैनस्। परमेश्‍वरलाई चिन्‍ने कार्य अनुभव वा कल्‍पनामा निर्भर हुँदैन, त्यसकारण तैँले परमेश्‍वरमा कहिल्यै पनि आफ्‍नो अनुभव वा कल्‍पना लाद्‍नु हुँदैन; तेरो अनुभव र कल्‍पना जति नै अमूल्य भए तापनि, ती अझै पनि सीमित नै हुन्छन्। यति मात्र कहाँ हो र, तेरो कल्‍पना तथ्यहरूसँग मेल खाँदैन, सत्यतासँग मेल खाने त कुरै नगरौँ, अनि यो परमेश्‍वरको साँचो स्वभाव र सारसँग पनि मिल्दैन। यदि तँ परमेश्‍वरको सारलाई बुझ्‍नको लागि आफ्‍नो कल्‍पनामा भर पर्छस् भने तँ कहिल्यै पनि सफल हुनेछैनस्। एउटै मार्ग यही हो: परमेश्‍वरबाट आउने सबै कुरालाई स्वीकार गर्, त्यसपछि यसलाई क्रमिक रूपमा अनुभव गर् र बुझ्। तेरो सहकार्यको कारण अनि सत्यताप्रतिको तेरो भोक र तिर्खाको कारण उहाँलाई साँचो रूपमा बुझ्‍न र चिन्‍नको लागि परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिने दिन पनि आउनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

जब निनवेका मानिसहरूप्रति परमेश्‍वरको हृदय परिवर्तन भयो, तब के उहाँको कृपा र सहनशीलता देखावटी थियो? अवश्य थिएन! त्यसोभए परमेश्‍वरले यो एउटा परिस्थितिको सामना गर्ने क्रममा उहाँको स्वभावका यी दुई पक्षमा एकदेखि अर्कोमा भएको परिवर्तनले के देखाएको छ? परमेश्‍वरको स्वभाव पूर्ण रूपमा सिङ्गो छ—यो विभाजित छैन। उहाँले मानिसहरूप्रति रिस वा कृपा र सहनशीलता जे व्यक्त गरिरहनुभएको भए तापनि, यी सबै उहाँको धर्मी स्वभावका अभिव्यक्ति हुन्। परमेश्‍वरको स्वभाव जीवन्त र स्पष्ट छ, र अवस्था जे-जसरी विकसित हुन्छन्, त्यसरी नै उहाँले आफ्‍ना विचार र मनोवृत्तिलाई परिवर्तन गर्नुहुन्छ। निनवेवासीप्रति उहाँको मनोवृत्तिको रूपान्तरणले मानवजातिलाई उहाँसँग उहाँका आफ्‍नै सोचाइ र विचार छन् भनेर बताउँछ; उहाँ रोबट वा माटोको मूर्ति हुनुहुन्‍न, जीवित परमेश्‍वर हुनुहुन्छ। उहाँ निनवेका मानिसहरूप्रति त्यसरी नै रिसाउन सक्‍नुहुन्थ्यो जसरी उहाँले तिनीहरूको मनोवृत्तिको कारण तिनीहरूको विगतलाई क्षमा गरिदिन सक्‍नुभयो। उहाँले निनवेवासीमाथि दुर्दशा ल्याउने निर्णय गर्न सक्‍नुहुन्थ्यो, र तिनीहरूको पश्‍चात्तापको कारण उहाँले आफ्‍नो निर्णय परिवर्तन पनि गर्न सक्‍नुहुन्थ्यो। मानिसहरू त्यसरी नै कठोर रूपमा नियमहरू लागू गर्न अनि त्यस्ता नियमहरू परमेश्‍वरलाई सीमांकित र परिभाषित गर्न प्रयोग गर्न चाहन्छन्, जसरी तिनीहरू परमेश्‍वरको स्वभाव बुझ्‍ने प्रयास गर्न सूत्रहरू प्रयोग गर्न चाहन्छन्। त्यसकारण, जहाँसम्म मानव सोचको कुरो छ, तिनीहरूलाई लाग्छ कि परमेश्‍वरले सोच्नुहुन्न, न त उहाँसँग कुनै अत्यावश्यक विचारहरू नै हुन्छन्। तर वास्तवमा, वस्तु र वातावरणमा आउने परिवर्तनअनुसार परमेश्‍वरका विचारहरू अटुट रूपान्तरणको अवस्थामा हुन्छन्। यी विचार रूपान्तरण हुँदै गर्दा, परमेश्‍वरको सारका फरक-फरक पक्षहरू प्रकट हुन्छन्। रूपान्तरणको यो प्रक्रियाको अवधिमा, परमेश्‍वरमा परिवर्तित हृदय भएकै क्षणमा, उहाँले मानवजातिलाई जे देखाउनुहुन्छ त्यो उहाँको जीवनको यथार्थ अस्तित्व हो, र उहाँको धर्मी स्वभाव गतिशील जीवनशक्तिले भरिपूर्ण छ। यसको साथै, परमेश्‍वरले आफ्नो क्रोध, कृपा, प्रेमिलो दयालुपन, र सहनशीलताको अस्तित्वको सत्यता मानवजातिसामु प्रमाणित गर्नको लागि आफ्‍नै साँचो प्रकाशहरू प्रयोग गर्नुहुन्छ। अवस्था जे-जसरी विकसित हुन्छन्, त्यसैअनुसार कुनै पनि समय र कुनै पनि स्थानमा उहाँको सारलाई प्रकट गरिनेछ। उहाँमा सिंहको क्रोध अनि आमाको कृपा र सहनशीलता छ। उहाँको धर्मी स्वभावले कुनै पनि व्यक्तिलाई कुनै पनि सवाल उठाउन, उल्लंघन गर्न, परिवर्तन गर्न, वा बिगार्न दिँदैन। सबै मामिला र सबै थोकमध्ये परमेश्‍वरको धर्मी स्वभावलाई—अर्थात्, उहाँको क्रोध र कृपालाई—कुनै पनि समय र कुनै पनि स्थानमा प्रकट गर्न सकिन्छ। उहाँले सारा सृष्टिको हरेक कुनामा यी पक्षको अत्यावश्यक प्रकटीकरण गर्नुहुन्छ, र बितेर जाने हरेक क्षणमा उहाँले तिनलाई जीवन्त शक्तिको साथ कार्यान्वयन गर्नुहुन्छ। परमेश्‍वरको धर्मी स्वभाव समय वा स्थानद्वारा सीमित छैन; अर्को शब्‍दमा भन्दा, उहाँको धर्मी स्वभाव समय वा स्थानका पाबन्दीअनुसार यान्त्रिक रूपमा होइन, बरु पूर्ण सहजताको साथ र सबै समय र स्थानमा व्यक्त वा प्रकट गरिन्छ। जब तैँले परमेश्‍वरको हृदय परिवर्तन भएको र उहाँले आफ्‍नो क्रोध व्यक्त गर्न छोड्नुभई निनवे सहरलाई नष्ट गर्नबाट पछि हट्नुभएको देख्छस्, के तँ परमेश्‍वर कृपालु र प्रेमिलो मात्र हुनुहुन्छ भनेर भन्‍न सक्छस्? के परमेश्‍वरको क्रोध खोक्रो शब्‍दहरूले बनेको छ भनेर भन्‍न सक्छस्? जब परमेश्‍वर भीषण क्रोधले चूर बन्‍नुहुन्छ र उहाँले आफ्‍नो कृपा फिर्ता लिनुहुन्छ, तब के तँ उहाँले मानवजातिप्रति कुनै साँचो प्रेमको अनुभूति गर्नुहुन्‍न भनेर भन्‍न सक्छस्? यो भीषण क्रोध मानिसहरूका दुष्ट कार्यहरूको प्रतिक्रिया स्वरूप परमेश्‍वरले व्यक्त गर्नुहुन्छ; उहाँको क्रोध त्रुटिपूर्ण छैन। मानिसहरूले गरेको पश्‍चात्तापको प्रतिक्रिया स्वरूप परमेश्‍वरको हृदय उत्प्रेरित हुन्छ, र यही पश्‍चात्तापले नै उहाँको हृदयमा परिवर्तन ल्याउँछ। जब उहाँ उत्प्रेरित हुनुहुन्छ, जब उहाँको हृदय परिवर्तन हुन्छ, र जब उहाँले मानिसप्रति आफ्‍नो कृपा र सहनशीलता देखाउनुहुन्छ, यी सबै पूर्ण रूपमा त्रुटिविहीन हुन्छन्; ती चोखो, विशुद्ध, निष्खोट र मिश्रणरहित हुन्छन्। जसरी उहाँको कृपा, कृपाभन्दा अरू केही पनि होइन, त्यसरी नै परमेश्‍वरको सहनशीलता ठ्याक्‍कै त्यही हो: सहनशीलता। उहाँको स्वभावले मानिसको पश्‍चात्ताप र उसको चालचलनमा आउने अन्तरहरूअनुसार क्रोध वा कृपा र सहनशीलतालाई प्रकट गर्छ। उहाँले जे प्रकट गर्नुभए पनि र जे व्यक्त गर्नुभए पनि, यी सबै विशुद्ध र प्रत्यक्ष हुन्छन्; यसको सार जुनसुकै सिर्जित प्राणीको सारभन्दा पृथक हुन्छ। जब परमेश्‍वरले आफ्ना कार्यहरूका अन्तर्निहित सिद्धान्तहरू व्यक्त गर्नुहुन्छ, ती कुनै पनि त्रुटि वा दागमुक्त हुन्छन्, अनि उहाँका सोच, विचार र उहाँले गर्नुहुने हरेक निर्णय र हरेक कार्य पनि त्यस्तै हुन्छन्। परमेश्‍वरले त्यसरी निर्णय गर्नुभएको हुनाले र त्यसरी कार्य गर्नुभएको हुनाले, आफ्‍ना काम-कार्यवाहीहरूलाई पनि त्यसरी नै पूरा गर्नुहुन्छ। उहाँका काम-कार्यवाहीहरूको स्रोत त्रुटिविहीन र निष्खोट भएकै कारणले ती सही र त्रुटिविहीन छन्। परमेश्‍वरको क्रोध त्रुटिविहीन छ। त्यसरी नै, परमेश्‍वरको कृपा र सहनशीलता—जुन कुनै पनि सिर्जित प्राणीसँग हुँदैन—पवित्र र त्रुटिविहीन छन्, र तिनले ध्यानपूर्वक गरिने सोचविचार र अनुभवलाई सामना गर्न सक्छन्।

निनवेको कथासम्‍बन्धी तेरो बुझाइबाट, के अब तिमीहरू परमेश्‍वरको धर्मी स्वभावको सारको अर्को पक्षलाई देख्छौ? के तिमीहरू परमेश्‍वरको अद्वितीय धर्मी स्वभावको अर्को पक्षलाई देख्छौ? के मानवजातिमाझ कसैसँग यस प्रकारको स्वभाव छ? के कसैमा यस प्रकारको क्रोध अर्थात् परमेश्‍वरको क्रोध छ? के कसैसँग परमेश्‍वरसँग भएको जस्तो कृपा र सहनशीलता छ? सिर्जित प्राणीहरूमध्ये कसले त्यति भयङ्कर क्रोध आह्‍वान गरी मानवजातिलाई नष्ट गर्ने वा त्यसमाथि विपत्ति ल्याउने निर्णय गर्न सक्छ? मानिसलाई कृपा प्रदान गर्न, सहन र क्षमा गर्न, र यसरी मानिसलाई नष्ट गर्ने आफ्‍नो पहिलेको निर्णयलाई परिवर्तन गर्न को योग्य छ? सृष्टिकर्ताले आफ्‍नै अद्वितीय विधि र सिद्धान्तमार्फत आफ्‍नो धर्मी स्वभाव व्यक्त गर्नुहुन्छ, र उहाँ कुनै पनि मानिस, घटना, वा कुराले लादेको नियन्त्रण वा प्रतिबन्धको अधीनमा हुनुहुन्‍न। उहाँको अद्वितीय स्वभाव भएकोले, कसैले पनि उहाँका सोचाइ र विचारलाई परिवर्तन गर्न सक्दैन, न त कसैले उहाँलाई मनाउन र उहाँका कुनै पनि निर्णयलाई परिवर्तन गर्न नै सक्छ। सम्पूर्ण सिर्जित प्राणीहरूमा हुने बानीबेहोरा र विचारहरूको सम्पूर्णता उहाँको धर्मी स्वभावको न्यायअन्तर्गत अस्तित्वमा हुन्छन्। कसैले पनि उहाँले क्रोध वा कृपामध्ये के अभ्यास गर्नुहुन्छ सो नियन्त्रण गर्न सक्दैन; सृष्टिकर्ताको सारले मात्रै—वा अर्को शब्‍दमा भन्दा, सृष्टिकर्ताको धर्मी स्वभावले मात्रै—यसको निर्णय गर्न सक्छ। सृष्टिकर्ताको धर्मी स्वभावको अद्वितीय प्रकृति यही हो!

निनवेका मानिसहरूप्रति भएको परमेश्‍वरको मनोवृत्ति रूपान्तरणलाई विश्‍लेषण गरेर अनि बुझेर, के तिमीहरूले उहाँको धर्मी स्वभावभित्र पाइने कृपालाई व्याख्या गर्न “अद्वितीय” शब्‍दको प्रयोग गर्न सक्छौ? परमेश्‍वरको क्रोध उहाँको अद्वितीय धर्मी स्वभावको सारको एउटा पक्ष हो भनेर हामीले यसअघि नै भनेका थियौँ। अब म यी दुईवटा पक्षलाई—परमेश्‍वरको क्रोध र कृपालाई—उहाँको धर्मी स्वभावको रूपमा परिभाषित गर्नेछु। परमेश्‍वरको धर्मी स्वभाव पवित्र छ; यसले चिढ्याएको वा सवाल उठाएको सहँदैन; यो सृष्टि गरिएका वा सृष्टि नगरिएका प्राणी कसैमा पनि नहुने कुरा हो। यो, परमेश्‍वरमा मात्र लागू हुने अद्वितीय र एकमात्र कुरा हो। भन्‍नुको अर्थ परमेश्‍वरको क्रोध पवित्र र चिढ्याउन नसकिने छ। त्यसरी नै, परमेश्‍वरको धर्मी स्वभावको अर्को पक्ष—परमेश्‍वरको कृपा—पवित्र छ र यसलाई चिढ्याउन सकिँदैन। सृष्टि गरिएका वा सृष्टि नगरिएका कुनै पनि प्राणीले उहाँका काममा परमेश्‍वरलाई प्रतिस्थापन वा प्रतिनिधित्व गर्न सक्दैन, न त कसैले सदोमको विनाश वा निनवेको मुक्तिमा उहाँलाई प्रतिस्थापन वा प्रतिनिधित्व गर्न नै सक्थ्यो। परमेश्‍वरको अद्वितीय धर्मी स्वभावको साँचो अभिव्यक्ति यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरको कृपा र सहिष्णुता साँच्‍चै अस्तित्वमा छ, तर परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुभएको बेलामा परमेश्‍वरको पवित्रता र धार्मिकताले मानिसलाई परमेश्‍वरको कुनै उल्‍लङ्घन नसहने पक्षलाई पनि देखाउँछ। जब मानिस परमेश्‍वरका आज्ञाहरू पालन गर्न र परमेश्‍वरका मापदण्डहरूअनुसार काम गर्न पूर्ण रूपमा सक्षम हुन्छ, तब परमेश्‍वर मानिसप्रति प्रशस्त मात्रामा कृपालु हुनुहुन्छ; जब मानिस उहाँप्रतिको भ्रष्टता, घृणा र शत्रुताले भरिन्छ, परमेश्‍वर गम्भीर रूपले रिसाउनुहुन्छ। कुन हदसम्म उहाँ गम्भीर रूपले रिसाउनुहुन्छ? जबसम्म परमेश्‍वरले मानिसको प्रतिरोध र दुष्‍कर्महरू देख्‍नुहुनेछैन, जबसम्म तिनीहरू उहाँको नजरबाट हट्दैनन् तबसम्म उहाँको क्रोध रहनेछ। तब मात्र परमेश्‍वरको रिस हराउनेछ। अर्को शब्दमा भन्दा, व्यक्ति चाहे जो सुकै भए पनि, यदि तिनीहरूको हृदय परमेश्‍वरबाट टाढा भएको छ र परमेश्‍वरबाट कहिल्यै नफर्कने गरी तर्किगएको छ भने, चाहे जुनसुकै देखापराइ वा आफ्ना व्यक्तिगत चाहनाहरूको आधारमा तिनीहरूले जस्तै प्रकारले आराधना गर्ने, आफ्नो शरीर र सोचविचारमा परमेश्‍वरलाई पछ्याउने र समर्पण गर्ने चाहना गरे पनि, तिनीहरूको हृदय परमेश्‍वरबाट टाढा जानेबित्तिकै, परमेश्‍वरको क्रोध नरोकिने गरी बर्सिनेछ। मानिसलाई प्रशस्त मौकाहरू दिइसकेपछि जब परमेश्‍वरले गम्भीर रूपमा आफ्नो क्रोध पोखाउनुहुन्छ तब यस्तो अवस्था हुनेछ कि उहाँले त्यो फिर्ता लिने कुनै उपाय हुनेछैन, र उहाँ त्यस्तो मानव जातिसित फेरि कहिल्यै कृपालु र सहनशील हुनुहुनेछैन। यो परमेश्‍वरको स्वभावको एक पक्ष हो, जसले कुनै उल्‍लङ्घन सहँदैन। … उहाँ दयालु र सुन्दर र असल कुराहरूप्रति सहनशील र कृपालु हुनुहुन्छ; खराब, पापी र दुष्ट कुराहरूप्रति उहाँ गम्भीर रूपमा क्रोधित हुनुहुन्छ, यहाँसम्म कि उहाँको क्रोध पनि कहिल्यै समाप्त हुँदैन। परमेश्‍वरका स्वभावका दुई वटा प्रमुख र अति महत्वपूर्ण पक्षहरू यिनै हुन्, र अझ भन्‍ने हो भने, यी पक्षहरू परमेश्‍वरद्वारा सुरुदेखि अन्त्यसम्मै प्रकट गरिएका छन्: प्रशस्त कृपा र गम्भीर क्रोध।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

परमेश्वरले गर्ने कुनै पनि काम उचित हुन्छ। उहाँलाई के गर्ने र कसरी गर्ने त्यो थाहा हुन्छ, र उहाँले मानिसहरूलाई तिनीहरूले नैसर्गिक रूपमा गर्न नसक्ने कुनै पनि कुरा निश्चय नै गराउनुहुनेछैन। परमेश्वर हरेक व्यक्तिलाई उसको त्यस बेलाको परिस्थिति र पृष्ठभूमिको वास्तविक अवस्था, साथै त्यस व्यक्तिको कार्य, व्यवहार र प्रकृति सारको आधारमा व्यवहार गर्नुहुन्छ। परमेश्वरले कहिल्यै कसैलाई पनि गलत गर्नुहुनेछैन। यो परमेश्वरको धार्मिकताको एउटा पाटो हो। उदाहरणका लागि, सर्पले हव्वालाई असल र खराबको ज्ञान दिने रुखको फल खान बहकायो, तर यहोवाले उसलाई, “मैँले तँलाई नखानू भनेको थिएँ, तर किन खाइस्? तैँले विवेक चलाउनुपर्थ्यो; सर्पले तँलाई बहकाउन मात्र बोलेको भनेर तैँले बुझ्नुपर्थ्यो” भनी हप्काउनुभएन। यहोवाले हव्वालाई त्यसरी गाली गर्नुभएन। मानव परमेश्वरको सृष्टि भएकाले, उहाँलाई तिनीहरूको नैसर्गिक क्षमता के हो र त्यो क्षमताले के गर्न सक्छ, मानिसले आफूलाई कुन हदसम्म नियन्त्रण गर्न सक्छ, र मानिसहरू कुन हदसम्म जान सक्छन् भन्‍ने थाहा छ। परमेश्वरलाई यो सबै निकै स्पष्ट रूपमा थाहा छ। परमेश्वरले व्यक्तिलाई गर्ने व्यवहार मानिसले सोचेझैँ सरल हुँदैन। उहाँले कुनै व्यक्तिप्रति घृणा वा तिरस्कार गर्ने मनोवृत्ति राख्नुहुँदा, वा यस व्यक्तिले विद्यमान सन्दर्भमा के भन्छ भन्‍ने कुरामा, उहाँ उसको अवस्थालाई राम्ररी बुझ्नुहुन्छ। किनभने परमेश्वर मानिसको हृदय र सार जाँच्नुहुन्छ। मानिसहरूले सधैँ सोचिरहेका हुन्छन्, “परमेश्वरसँग आफ्नो ईश्वरत्व मात्र छ। उहाँ धर्मी हुनुहुन्छ र आफूलाई मानिसले चिढ्याउँदा सहनुहुन्न। उहाँ मानिसको कठिनाइको मतलब गर्नुहुन्न वा आफूलाई मानिसको ठाउँमा राखेर हेर्नुहुन्न। यदि कुनै व्यक्तिले परमेश्वरको प्रतिरोध गर्छ भने उहाँले त्यसलाई सजाय दिनुहुनेछ।” त्यस्तो हुँदै होइन। यदि कसैले उहाँको धार्मिकता, उहाँको काम र मानिसप्रति उहाँको व्यवहारलाई त्यसरी बुझ्छ भने ऊ सरासर गलत हो। परमेश्वर हरेक व्यक्तिको परिणाम मानिसको धारणा र कल्पनामा नभई उहाँको धर्मी स्वभावको आधारमा निर्धारण गर्नुहुन्छ। उहाँले हरेक व्यक्तिलाई उसका कार्यअनुसार प्रतिफल दिनुहुनेछ। परमेश्वर धर्मी हुनुहुन्छ, र ढिलो-चाँडो उहाँले सबै मानिस पूर्ण विश्वस्त बनेको सुनिश्चित गर्नुहुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

मानिसहरू के भन्छन् भने, परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र जबसम्‍म मानिसले उहाँलाई अन्त्यसम्‍मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्‍चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। यदि मानिसले उहाँलाई अन्तिमसम्‍मै पछ्याउँथ्यो भने, के उहाँले मानिसलाई पन्छाउन सक्‍नुहुन्थ्यो? म सबै मानिसहरूप्रति निष्पक्ष छु, र म सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसको लागि मैले तय गरेका मापदण्डहरूमा उचित सर्तहरू छन्, र उनीहरू जोसुकै भए पनि मैले तय गरेको मापदण्ड सबै मानिसहरूले पूरा गर्नुपर्छ। तेरा योग्यताहरू कति छन् वा कति लामो समयदेखि ती योग्यता तँमा रहेका छन्, म त्यो कुराको वास्ता गर्दिनँ; तँ मेरो मार्ग पछ्याउँछस् कि पछ्याउँदैनस् र तैँले सत्यप्रति प्रेम र तृष्णा गर्छस् कि गर्दैनस् म त्यो कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ र यसको सट्टा तैँले मेरो नाउँमा सर्म ल्याउँछस् र कुनै वास्ता वा चिन्ता नगरी पछ्याउने काम मात्र गर्छस् तर मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि प्रहार गर्नेछु र दण्ड दिनेछु, र त्यसपछि तैँले के भन्‍नेछस्? के तँ परमेश्‍वर धर्मी हुनुहुन्‍नु भनेर भन्‍न सक्‍नेछस्? आज, मैले बोलेका वचनहरूलाई तैँले पालन गरेको छस् भने, तँ मैले स्वीकार गर्ने प्रकारको व्यक्ति होस्। परमेश्‍वरलाई पछ्याउने क्रममा तैँले सधैँ आफूले कष्ट भोगेको छु, दुःख र सुख दुवै अवस्थामा उहाँलाई पछ्याएको छु, र उहाँसँग राम्रा र नराम्रा पलहरू बिताएको छु भनेर भन्छस्, तर परमेश्‍वरले बोल्‍नुभएको वचनमा तँ जिएको छैनस्; तँ उहाँको लागि दौडधूप गर्ने र हरदिन आफूलाई उहाँमा समर्पित गर्न मात्रै चाहन्छस्, तर तैँले अर्थपूर्ण जीवन जिउनेबारेमा कहिल्यै पनि विचार गरेको छैनस्। तँ यो पनि बन्छस्, “जेसुकै भए पनि, परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने म विश्‍वास गर्छु। मैले उहाँका लागि कष्ट भोगेको छु, उहाँको लागि दगुरिहिँडेको छु, र उहाँको लागि आफैलाई समर्पित गरेको छु, अनि कुनै सम्‍मान प्राप्त नगरे पनि कठिन परिश्रम गरेको छु; उहाँले निश्‍चय नै मलाई याद गर्नुहुन्छ।” परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूदेखि कलङ्कित छैन: यसमा कुनै पनि मानव इच्‍छा समावेश हुँदैन र यो देह वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। विद्रोही र विरोध गर्नेहरू सबैलाई, उहाँको मार्ग नपछ्याउनेहरू सबैलाई दण्ड दिइनेछ; कसैलाई पनि क्षमा दिइनेछैन र कसैलाई पनि छूट दिइनेछैन! कतिपय मानिसहरू भन्छन्, “आज म तपाईंको निम्ति दौडधूप गर्छु; जब अन्त्य आउँछ, के तपाईं मलाई अलिकति आशिष् दिन सक्‍नुहुन्छ?” त्यसैले म तँलाई प्रश्‍न गर्छु, “के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्?” तैँले जुन धार्मिकताको बारेमा कुरा गर्छस् त्यो लेनदेनमा आधारित छ। म सबै मानिसहरूप्रति धर्मी र निष्पक्ष छु, र मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू सबैलाई मुक्ति दिइनेछ र उनीहरूले मेरा आशिषहरू प्राप्त गर्नेछन् भन्‍ने मात्र तँ ठान्छस्। “मलाई अन्त्यसम्‍मै पछ्याउनेहरूलाई निश्‍चय नै मुक्ति दिइनेछ” भन्‍ने मेरो वचनमा भित्री आशय छ: मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू नै मद्वारा पूर्ण रूपमा प्राप्त गरिनेहरू हुन्, मद्वारा विजय गरिएपछि सत्यताको खोजी गर्ने र सिद्ध पारिनेहरू तिनीहरू नै हुन्। तैँले के-कस्ता अवस्थाहरू प्राप्त गरेको छस्? मलाई अन्त्यसम्‍मै पछ्याउनेबाहेक तैँले अरू के प्राप्त गरेको छस्? के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्? तैँले मेरा पाँच मापदण्डहरूमध्ये एउटालाई पूरा गरेको छस्, तर तँसँग बाँकी चार वटालाई पूरा गर्ने कुनै अभिप्राय छैन। तैँले सबैभन्दा सरल, सबैभन्दा सजिलो मार्गलाई मात्रै भेट्टाएको छस्, र भाग्यमानी हुने आशावादी मनोवृत्तिसाथ यसलाई पछ्याएको छस्। तँजस्तो व्यक्तिको लागि मेरो धर्मी स्वभाव भनेको सजाय र न्याय हो, यो एउटा धर्मी प्रतिशोध हो र यो दुष्ट काम गर्ने सबैलाई दिइने धर्मी दण्ड हो; तिनीहरूले अन्त्यसम्मै पछ्याए पनि मेरो मार्ग नपछ्याउनेहरू सबैलाई अवश्य नै दण्ड दिइनेछ। परमेश्‍वरको धार्मिकता नै यही हो। मानिसलाई दण्ड दिने क्रममा जब यो धर्मी स्वभाव प्रकट गरिन्छ, तब मानिस अवाक् हुनेछ र परमेश्‍वरलाई पछ्याउने क्रममा उहाँको मार्ग नपछ्याएकोमा उसले अफसोस गर्नेछ। “त्यस बेला, परमेश्‍वरलाई पछ्याउने क्रममा मैले अलिकति मात्रै कष्ट भोगेँ, तर परमेश्‍वरको मार्ग पछ्याइनँ। स्पष्टीकरण दिने के ठाउँ छ र? सजाय पाउनेबाहेक अरू कुनै पनि विकल्‍प छैन!” तैपनि उसले आफ्‍नो मनमा यो विचार गरिरहेको हुन्छ, “जे होस्, मैले अन्त्यसम्‍मै पछ्याएको छु, त्यसैले तपाईंले मलाई सजाय दिनुभयो भने पनि, यो अत्यन्तै कठोर सजाय हुन सक्दैन र यो सजाय दिइसक्‍नुभएपछि तपाईंले मलाई अझै पनि चाहनुहुनेछ। मलाई थाहा छ तपाईं धर्मी हुनुहुन्छ, र मलाई सधैँभरि त्यस्तो व्यवहार गर्नुहुनेछैन। आखिर, म ती नष्ट गरिने मानिसहरूजस्तो छैनँ; नष्ट गरिनुपर्नेहरूले भारी सजाय प्राप्त गर्नेछन्, तर मेरो सजाय हल्‍का हुनेछ।” धर्मी स्वभाव तैँले भनेको जस्तो होइन। आफ्‍नो पापलाई स्वीकार गर्न सिपालु मानिसहरूलाई उदारताको साथ निराकरण गरिनेछ भन्‍ने होइन। धार्मिकता भनेको पवित्रता हो र यो त्यस्तो स्वभाव हो जसले मानिसले गरेको उल्‍लङ्घनलाई सहँदैन, र अशुद्ध र परिवर्तन नभएकाहरू सबै नै परमेश्‍वरको घृणाका निसानाहरू हुन्। परमेश्‍वरको धर्मी स्वभाव व्यवस्था होइन, तर प्रशासनिक आदेश हो: यो राज्यभित्रको प्रशासनिक आदेश हो र यो प्रशासनिक आदेश नै सत्यता धारण नगरेका र परिवर्तन नभएका र मुक्तिको कुनै गुन्जाइस नभएका जोकोहीको लागि धर्मी दण्ड हो। जब हरेक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकरण गरिन्छ, तब असललाई इनाम दिइनेछ र दुष्टलाई दण्ड दिइनेछ। मानिसको गन्तव्य स्पष्ट पारिने बेला यही हो; यो मुक्तिको काम समाप्त हुने समय हो, जुन समयपछि मानिसलाई मुक्ति दिने कार्य फेरि गरिनेछैन र दुष्ट कार्य गर्ने हरेकमाथि दण्ड ल्याइनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

परमेश्‍वरको प्रेम र धार्मिकतालाई पूर्णतः बुझ्नैपर्छ अनि परमेश्‍वरका वचन र सत्यतामा आधारित भएर त्यसलाई व्याख्या र बोध गर्नैपर्छ। त्यसबाहेक, व्यक्तिले परमेश्‍वरको प्रेम र धार्मिकतालाई साँचो रूपमा जान्‍न साँचो अनुभवबाट गुज्रनैपर्छ र परमेश्‍वरको अन्तर्दृष्टि पनि पाउनैपर्छ। उहाँको प्रेम र धार्मिकताको मूल्याङ्कन व्यक्तिको धारणा र कल्पनाको आधारमा हुनुहुँदैन। मानव धारणाअनुसार, असललाई इनाम दिइन्छ र दुष्टलाई सजाय, असल मानिसहरूलाई असल प्रतिफल प्राप्त हुन्छ र दुष्टहरूलाई दुष्ट प्रतिफल, अनि कुनै दुष्टता नगर्नेहरू सबैलाई असल प्रतिफल दिइनुपर्छ र तिनीहरूले आशिष् पाउनुपर्छ। के देखिन्छ भने, मानिसहरू दुष्ट नहुने सबै अवस्थामा, तिनीहरूलाई असल प्रतिफल दिइनुपर्छ; परमेश्‍वरको धार्मिकता भनेको यही मात्र हो। के यो मानिसहरूको धारणा होइन र? तर तिनीहरूलाई असल प्रतिफल दिन सकिएन भने के हुन्छ त? त्यसपछि के तँ परमेश्‍वर धर्मी हुनुहुन्‍न भन्‍नेछस्? उदाहरणका लागि, नूहको समयमा, परमेश्‍वरले नूहलाई यसो भन्‍नुभयो: “मेरा सामुन्‍ने सारा देहको अन्त आएको छ; किनकि तिनीहरूद्वारा पृथ्वी हिंसाले भरिएको छ; अनि, हेर्, म तिनीहरूलाई पृथ्वीसहित नष्ट गर्नेछु” (उत्पत्ति ६:१३)। त्यसपछि उहाँले नूहलाई जहाज बनाउने आदेश दिनुभयो। नूहले परमेश्‍वरको आदेश स्विकारेर जहाज बनाएपछि, पृथ्वीमा चालीस दिन र चालीस रातसम्म घनघोर वर्षा भयो, सम्पूर्ण संसार बाढीमा डुब्यो, अनि परमेश्‍वरले नूह र उसको परिवारका सात सदस्यबाहेक त्यस युगका सबै मानिसलाई नष्ट गर्नुभयो। तँलाई यसबारे के लाग्छ? के तँ परमेश्‍वर प्रेमिलो हुनुहुन्‍न भन्छस्? मानिसको सम्बन्धमा भन्‍नुपर्दा, मानवजाति जतिसुकै भ्रष्ट हुन सक्ने भए पनि, यदि परमेश्‍वर मानवजातिलाई नष्ट गर्नुहुन्छ भने यसको अर्थ उहाँ प्रेमिलो हुनुहुन्‍न—के तिनीहरूले यस्तो विश्‍वास गर्नु सही हो त? के यो विश्‍वास निरर्थक होइन र? परमेश्‍वर आफूले नष्ट गरेकाहरूलाई प्रेम गर्नुहुन्‍नथ्यो, तर के तँ बाँचेका र उहाँको मुक्ति पाएकाहरूलाई पनि उहाँले प्रेम गर्नुहुँदैनथ्यो भनेर साँच्चै भन्‍न सक्छस् त? पत्रुसले परमेश्‍वरलाई अत्यधिक प्रेम गर्थ्यो र परमेश्‍वर पत्रुसलाई प्रेम गर्नुहुन्थ्यो—के तँ साँच्चै परमेश्‍वर प्रेमिलो हुनुहुन्‍न भन्‍न सक्छस् त? परमेश्‍वर उहाँलाई साँच्चै प्रेम गर्नेहरूलाई प्रेम गर्नुहुन्छ अनि उहाँको प्रतिरोध गर्ने र पश्चात्ताप गर्न नमान्‍नेहरूलाई घृणा गर्नुहुन्छ र श्राप दिनुहुन्छ। परमेश्‍वरसँग प्रेम र घृणा दुवै हुन्छ, यही सत्यता हो। मानिसहरूले परमेश्‍वरलाई आफ्ना धारणा र कल्पनाअनुसार लेबल लगाउनु वा मूल्याङ्कन गर्नु हुँदैन, किनकि मानवजातिका धारणा र कल्पनाहरू, जुन कामकुराप्रति तिनीहरूका दृष्टिकोण हुन्, तिनमा बिलकुलै सत्यता हुँदैन। परमेश्‍वरलाई मानिसप्रति उहाँको मनोवृत्ति, उहाँको स्वभाव र सारको आधारमा चिन्नैपर्ने हुन्छ। परमेश्‍वरसँग कस्तो सार छ भनी उहाँले गर्ने र सम्हाल्ने कामकुराको सतही रूपको आधारमा बिलकुलै परिभाषित गर्नु हुँदैन। मानवजाति शैतानद्वारा अति गहन रूपमा भ्रष्ट पारिइएको छ; तिनीहरूलाई मानवजातिको प्रकृति सार थाहा हुँदैन, झन् परमेश्‍वरसामु भ्रष्ट मानवजाति के हो भन्‍ने कुरा थाहा हुनु र तिनीहरूलाई उहाँको धर्मी स्वभावअनुसार कसरी व्यवहार गर्नुपर्छ भन्‍ने थाहा हुनु त परको कुरा हो। अय्यूबलाई हेरौँ, ऊ धर्मी मानिस थियो र परमेश्‍वरले उसलाई आशिष्‌ दिनुभएको थियो। यो परमेश्‍वरको धार्मिकता थियो। शैतानले यहोवासँग बाजी थाप्यो: “के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र? के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र? तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछन्” (अय्यूब १:९-११)। यहोवा परमेश्‍वरले भन्‍नुभयो, “त्यससँग भएको सबै तेरो शक्तिमा छ; त्यसमाथि मात्रै तैँले तेरो हात नलगा” (अय्यूब १:१२)। त्यसैले शैतान अय्यूबकहाँ गयो, र अय्यूबलाई आक्रमण गऱ्यो र प्रलोभनमा पाऱ्यो, अनि अय्यूबले परीक्षाहरूको सामना गऱ्यो। ऊसँग भएका सबै कुरा खोसियो—उसले आफ्‍ना छोराछोरी र सम्पत्ति गुमायो, उसको सम्पूर्ण शरीर फोकाहरूले भरियो। अब, के अय्यूबका परीक्षाहरूका बीचमा परमेश्‍वरको धर्मी स्वभाव थियो? तैँले स्पष्ट रूपमा भन्‍न सक्दैनस्, होइन त? यदि तँ धर्मी व्यक्ति नै भए पनि, परमेश्‍वरले तँलाई परीक्षाहरूमा पर्न र उहाँको गवाही दिन लगाउन सक्‍नुहुन्छ। परमेश्‍वरको स्वभाव धर्मी छ; उहाँ हरेकलाई समान रूपमा व्यवहार गर्नुहुन्छ। त्यतिबेला धर्मी मानिसहरूले परीक्षाहरू सहन सके पनि तीबाट गुज्रनुपर्दैन वा तिनीहरूको रक्षा गरिनैपर्छ भन्‍ने होइन; यस्तो हुँदैन। परमेश्‍वरसँग धर्मी मानिसहरूलाई परीक्षाहरूबाट गुज्रन दिने अधिकार छ। यो परमेश्‍वरको धर्मी स्वभावको प्रकाश हो। आखिरमा, अय्यूबले परीक्षाहरूबाट गुज्रेर यहोवाको गवाही दिइसकेपछि, यहोवाले उसलाई पहिलेभन्दा पनि बढी, पहिलेभन्दा पनि उत्तम आशिष्‌हरू दिनुभयो, अनि उहाँले उसलाई दुगुना आशिष्‌ दिनुभयो। त्यसबाहेक, यहोवा ऊकहाँ देखा पर्नुभयो, र ऊसँग बतासमार्फत बोल्‍नुभयो, र अय्यूबले उहाँलाई आमने-सामने जस्तै गरी देखे। यो उसलाई परमेश्‍वरद्वारा दिइएको आशिष्‌ थियो। यो परमेश्‍वरको धार्मिकता थियो। यदि अय्यूबले परीक्षाहरूको सामना गरिसक्दा र यहोवाले शैतानको उपस्थितिमा उसले उहाँको गवाही दिएर शैतानलाई लज्जित पारेको देख्‍नुहुँदा, उसलाई बेवास्ता गर्दै यहोवा फर्केर आफ्‍नो बाटो लाग्‍नुभएको भए, र अय्यूबले आशिष्‌हरू नपाएको भए—के यसमा परमेश्‍वरको धार्मिकता हुनेथियो? परीक्षापछि अय्यूबलाई आशिष्‌ दिइएको भए पनि वा नदिइएको भए पनि, वा यहोवा ऊकहाँ देखा पर्नुभएको भए पनि वा नभएको भए पनि, यो सबैमा परमेश्‍वरको इच्‍छा समावेश थियो। अय्यूबकहाँ देखा पर्नु परमेश्‍वरको धार्मिकता थियो, र अय्यूबकहाँ देखा नपर्नु पनि परमेश्‍वरको धार्मिकता नै हुनेथियो। सृष्टि गरिएको प्राणीको रूपमा तैँले कुन आधारमा परमेश्‍वरसँग मागहरू राख्छस्? मानिसहरू परमेश्‍वरसँग सर्त राख्न योग्य छैनन्। परमेश्‍वरसँग सर्तहरू राख्नु जत्तिको अनुचित कुरा अरू केही छैन। उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुनेछ, र उहाँको स्वभाव धर्मी छ। धार्मिकता कुनै पनि हिसाबले निष्पक्षता वा व्यावहारिकता होइन; यो समानतावाद होइन, वा यो तैँले कति काम पूरा गरेको छस् त्यसको आधारमा तैँले पाउनु पर्ने उचित थोक तँलाई दिनु, वा तैँले पूरा गरेको कामको ज्याला तँलाई दिनु, वा तैँले कति कोसिस गरिस् त्यसको आधारमा तँलाई दिनु पर्ने कुरासँग सम्‍बन्धित कार्य होइन। यो धार्मिकता होइन, यो त निष्पक्ष र समझदार हुनु मात्रै हो। अत्यन्तै थोरै मानिसहरू मात्रै परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्न सक्‍ने हुन्छन्। मानिलिऊँ, अय्यूबले परमेश्‍वरको गवाही दिएपछि उहाँले तिनलाई हटाउनुभयो: के यो धर्मी कार्य हुनेथियो? वास्तवमा, हुनेथियो। किन यसलाई धार्मिकता भनिन्छ? मानिसहरूले धार्मिकतालाई कसरी हेर्छन्? यदि कुनै कुरा मानिसहरूका धारणाहरूअनुरूप छ भने, परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर भन्‍न तिनीहरूलाई निकै सहज हुन्छ; तापनि, यदि तिनीहरूले ती कुराहरू आफ्ना धारणाहरूसँग मेल खाएका देख्दैनन् भने—यदि त्यो तिनीहरूले बुझ्न नसक्ने कुरा हो भने—तिनीहरूलाई परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍न गाह्रो पर्छ। यदि परमेश्‍वरले त्यो बेला अय्यूबलाई नष्ट गर्नुभएको भए, मानिसहरूले उहाँ धर्मी हुनुहुन्छ भनेर भन्‍नेथिएनन्। तर, वास्तवमा, मानिसहरू भ्रष्ट भए पनि नभए पनि, र तिनीहरू अत्यन्तै भ्रष्ट भएका भए पनि नभएका भए पनि, के परमेश्‍वरले तिनीहरूलाई नष्ट गर्दा उहाँले आफ्‍नो स्पष्टीकरण दिनुपर्छ? उहाँले कुन आधारमा त्यसो गर्नुहुन्छ भन्‍ने कुरा उहाँले मानिसहरूलाई व्याख्या गर्नुपर्छ र? के परमेश्‍वरले मानिसहरूलाई आफूले तय गरेका नियमहरू बताउनैपर्छ र? त्यसको आवश्यकता छैन। परमेश्‍वरको नजरमा भ्रष्ट र परमेश्‍वरको विरोध गर्न सक्‍ने व्यक्ति बेकम्मा हो; परमेश्‍वरले तिनीहरूलाई जसरी सम्‍हाल्‍नुभए पनि त्यो उचितै हुनेछ, र सबै कुरा परमेश्‍वरका बन्दोबस्तहरू नै हुन्। यदि तँ परमेश्‍वरको नजरमा मन नपर्दो छस्, र तैँले गवाही दिइसकेपछि तेरो कुनै काम छैन भनी उहाँले भन्‍नुभयो, र यसैको कारणले तँलाई नष्ट गर्नुभयो भने, के यो पनि उहाँको धार्मिकता नै हुनेथियो त? हुनेथियो। तैँले तथ्यहरूबाट अहिले यसलाई पहिचान गर्न सक्दैनस् होला, तर तैँले यसलाई धर्मसिद्धान्तको हिसाबले बुझ्‍नैपर्छ। तिमीहरू के भन्छौ—के परमेश्‍वरले शैतानको विनाश गर्नु उहाँको धार्मिकताको प्रकटीकरण हो? (हो।) उहाँले शैतानलाई रहन दिनुभयो भने के हुन्छ? तिमीहरू भन्‍ने आँट गर्दैनौ, होइन त? परमेश्‍वरको सार धार्मिकता हो। उहाँले जे गर्नुहुन्छ त्यसलाई बुझ्न सजिलो नभए पनि, उहाँले गर्नुहुने सबै कार्य धर्मी हुन्छन्; यति मात्र हो कि मानिसहरूले त्यो बुझ्दैनन्। जब परमेश्‍वरले पत्रुसलाई शैतानको हातमा दिनुभयो, तब पत्रुसले कस्तो प्रतिक्रिया दिए? “मानवजाति तपाईंले गर्नुहुने काम बुझ्न असमर्थ छ, तर तपाईंले गर्नुहुने सबै कार्यमा तपाईंको भलो इच्छा सामेल छ; ती सबैमा धार्मिकता छ। तपाईंको बुद्धि र कार्यहरूका लागि म तपाईंको प्रशंसा नगरी बस्‍न कसरी सक्छु र?” अब त तिमीहरूले देख्‍नुपर्ने हो, परमेश्‍वरले मानिसलाई मुक्ति दिनुहुने समयमा शैतानलाई नष्ट नगर्नुको कारण भनेकै शैतानले मानिसहरूलाई कसरी भ्रष्ट तुल्याएको छ र यसले तिनीहरूलाई कति हदसम्‍म भ्रष्ट तुल्याएको छ भनेर स्पष्ट रूपमा देख्‍न सकून्, अनि परमेश्‍वरले कसरी तिनीहरूलाई शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ भनेर देख्‍न सकून् भन्‍ने हो। अन्तिममा, जब मानिसहरूले सत्यता बुझिसकेका र शैतानको घिनलाग्दो अनुहार स्पष्टसित देखिसकेका हुन्छन्, अनि शैतानले तिनीहरूलाई भ्रष्ट पारेको राक्षसी पाप देखिसकेका हुन्छन्, तब परमेश्‍वरले शैतानलाई नष्ट गर्नुहुनेछ, र तिनीहरूलाई उहाँको धार्मिकता देखाउनुहुनेछ। परमेश्‍वरले जुन बेला शैतानलाई नष्ट गर्नुहुन्छ, त्यो समय निर्धारणमा परमेश्‍वरको स्वभाव र बुद्धि भरिएको हुन्छ। परमेश्‍वरले गर्नुहुने सबै कुरा धर्मी हुन्छन्। मानिसहरूले परमेश्‍वरको धार्मिकता नबुझ्न सक्छन्, तर तिनीहरूले आफ्नै इच्छाले फैसला गर्नु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तिनीहरूलाई बेमनासिब लाग्छ भने, वा यदि तिनीहरूसित त्यसको बारेमा कुनै धारणाहरू छन् भने, र त्यसले तिनीहरूलाई उहाँ धर्मी हुनुहुन्‍न भन्‍ने बनाउँछ भने, तिनीहरू सबैभन्दा अविवेकी भइरहेका हुन्छन्। पत्रुसले कुनै बुझ्न नसकिने थोक भेट्टाए, तर तिनी ईश्‍वरीय बुद्धि उपस्थित छ र ती कुरामा उहाँको भलो इच्छा पनि छ भनी निश्चित थिए भन्‍ने कुरा तैँले देख्छस्। मानिसहरूले सबै कुरा बुझ्न सक्दैनन्; तिनीहरूले बुझ्‍न नसक्‍ने कुरा धेरै छन्। यसैले, परमेश्‍वरको स्वभाव जान्‍नु कुनै सजिलो कुरा होइन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

मलाई प्रेम गर्ने र आफूलाई अस्वीकार गर्नेप्रति मेरो कृपा व्यक्त हुनेछ। दुष्टप्रति दण्ड दन्किनेछ, यसबीच, यो मेरो धर्मी स्वभावको सटीक प्रमाण हो, र अझ मेरो क्रोधको साक्षी हो। जब विपद् आउँछ, मेरो विरोध गर्नेहरू भोकमरी र महामारीले पीडित हुँदै रुनेछन्। सबै प्रकारका दुष्कर्म गर्नेहरू तर धेरै वर्षसम्म मलाई पछ्याएकाहरूले पनि उनीहरूको पापबाट छुटकारा पाउनेछैनन्; उनीहरू पनि विपदमा डुब्नेछन्, यस्तो विपद् जुन विगतका लाखौँ वर्षमा विरलै देखिएको छ, र उनीहरू सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मप्रति निष्ठा राख्ने मेरा अनुयायीहरू आनन्दित हुनेछन् र मेरो शक्तिको प्रशंसा गर्नेछन्। उनीहरूले वर्णन गर्न नसकिने सन्तुष्टि प्राप्त गर्नेछन् र मैले मानवजातिलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षका साथ बाँच्नेछन्। किनभने म मानिसले गरेका असल कार्यलाई महत्त्व दिन्छु र उनीहरूको दुष्ट कर्मलाई तिरस्कार गर्छु। मैले मानवजातिलाई नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मेरो जस्तै सोच भएका मानिसहरूको समूह प्राप्त गर्ने आशा व्यग्रताका साथ गरेको छु। यसै समयमा, मेरो जस्तो सोच नभएकाहरूलाई पनि म कहिल्यै बिर्सिन्नँ; म उनीहरूलाई आफ्नो हृदयभित्र सधैँ घृणा गर्दछु, उनीहरूलाई उनीहरूको दुष्कर्मको जवाफ दिन बनाउने अवसर कुरिरहेको छु, र त्यो कुरा देख्दा मलाई आनन्द आउनेछ। अब अन्ततः मेरो दिन आएको छ, र मैले अब पर्खनु पर्नेछैन!

मेरो अन्तिम कार्य मानिसलाई दण्ड दिनका लागि मात्रै होइन, तर मानिसका लागि गन्तव्यको व्यवस्था गर्नु पनि हो। यसका अतिरिक्त, यो कार्य सबै मानिसहरूले मेरो व्यवहार र कार्यहरूलाई कदर गरून् भन्नका लागि हो। मैले गरेका सबै कार्य सही छन् र मैले गरेका सबै कार्य मेरो स्वभावको अभिव्यक्ति हुन् भनेर प्रत्येक व्यक्तिले देखून् भन्‍ने मेरो चाहना हो। मानिसजातिलाई जन्माएको मानिसले होइन, प्रकृतिले त झनै होइन, तर सृष्टिमा भएका सबै जीवित प्राणीको पालनाहार मैले जन्माएको हुँ। मेरो अस्तित्वविना मानवजाति नाश मात्रै हुँदै जानेछ र विपदको अभिशाप भोग्नुपर्नेछ। कुनै पनि मानवजातिले सुन्दर सूर्य र चन्द्रमा, वा हराभरा संसार फेरि कहिल्यै देख्न पाउनेछैनन्; मानवजातिले कठ्याङ्ग्रिँदो चिसो रात र मृत्युको निर्मम कुवाको सामना मात्र गर्नेछन्। म मानवजातिको एकमात्र मुक्ति हुँ। म मानवजातिको एकमात्र आशा हुँ र, अझ, ममा नै सबै मानवजातिको अस्तित्व निर्भर छ। मविना मानवजातिको गति तत्कालै रोकिनेछ। मविना मानवजातिले प्रलय भोग्नेछ र सबै प्रकारका प्रेतात्माको पैतालामुनि कुल्चिइनुपर्नेछ, तथापि मलाई कसैले ध्यान दिँदैन। कसैले पनि गर्न नसकेका कार्य मैले गरेको छु, र केही असल कार्यमार्फत मानिसले मेरो ऋण चुकाउनेछ भन्‍ने मात्र आशा गरेको छु। तर केहीले मात्र मेरो ऋण चुकाउन सकेका छन्, तथापि म मेरो मानव संसारको यात्रालाई अन्त्य गर्नेछु र खुलासा गर्ने मेरो कार्यको अर्को कदम प्रारम्भ गर्नेछु, किनभने मानिसहरूमाझ यी धेरै वर्षहरूमा मैले गरेको हतारो आवतजावत फलदायी भएको छ, र म अत्यन्तै खुसी छु। म मानिसहरूको सङ्ख्याबारे चासो दिन्नँ, बरु उनीहरूको असल कार्यहरूप्रति चासो राख्छु। जे भए पनि, तिमीहरूले आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार पारेका छौ भन्‍ने आशा गर्दछु। त्यसपछि म सन्तुष्ट हुनेछु; अन्यथा, तिमीहरूमाथि आइपर्ने विपत्तिबाट तिमीहरू कोही पनि उम्कन सक्नेछैनौ। विपत्ति मभित्रैबाट उत्पत्ति हुन्छ र पक्कै पनि मबाटै व्यवस्थित हुन्छ। यदि तिमीहरू मेरा नजरमा असल देखा पर्न सकेनौ भने, विपत्तिबाट उम्कन सक्नेछैनौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्

सम्बन्धित अनुभवात्मक गवाहीहरू

परमेश्‍वर अत्यन्तै धर्मी हुनुहुन्छ

सम्बन्धित भजनहरू

परमेश्‍वरको धर्मी स्वभाव जीवन्त छ

अघिल्लो: ४४. किन परमेश्‍वरलाई जान्न खोजी गर्नैपर्छ

अर्को: ४६. परमेश्‍वरलाई चिन्नेहरूले मात्र उहाँको सेवा गर्न र गवाही दिन सक्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्