२९. इमानदार व्यक्ति भनेको के हो र किन परमेश्‍वर मानिसहरू इमानदार बनेकोमाग गर्नुहुन्छ

बाइबलमा परमेश्‍वरका वचनहरू

“तर तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्: किनकि यीभन्दा बढी जे छ त्यो दुष्टबाट आउँछ” (मत्ती ५:३७)

“यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्। परमेश्‍वर र थुमाका लागि पहिलो फल यिनीहरूलाई मानिसबीचबाट छुटकारा दिइएको थियो। अनि तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निष्खोट छन्” (प्रकाश १४:४-५)

“अनि त्यहाँ अशुद्ध पार्ने कुनै पनि कुरा प्रवेश गर्नेछैन, न त घृणित काम गर्ने, वा झूट बोल्‍नेहरू नै प्रवेश गर्नेछन्” (प्रकाश २१:२७)

“अनि भन्‍नुभयो, साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ” (मत्ती १८:३)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। सारमा, परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्‍वास गर्न सकिन्छ; यसको अलाबा, उहाँका कार्यहरू खोटरहित र निर्विवाद छन्, त्यसैले परमेश्‍वरले उहाँप्रति एकदम इमानदार हुनेलाई मन पराउनुहुन्छ। इमानदारीता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि तथ्य कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्‍ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो। मैले जे भन्छु त्यो एकदमै सरल छ, तर तिमीहरूको लागि त्यो दुई गुणा बढी मुस्किल छ। धेरै मानिसहरू इमानदारीपूर्वक बोल्न र कार्य गर्नुभन्दा बरु दण्डित भई नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति भण्डारमा मसँग अर्कै इलाज छ भन्‍ने कुरा त्यत्ति आश्‍चर्यपूर्ण कुरा होइन। अवश्य पनि, तिमीहरूलाई इमानदार हुन कति गाह्रो छ भन्‍ने कुरा म राम्ररी जान्दछु। तिमीहरू सबै यति चलाख भएका छौ र मानिसहरूलाई आफ्नै तुच्छ मापदण्डले मापन गर्न एकदमै सिपालु भएका छौ, त्यसैले, यसले मेरो कार्यलाई अझ सरल बनाउँछ। अनि तिमीहरू प्रत्येकले आ-आफ्ना गोप्य कुराहरू छातीमा टाँसेर राखेको हुनाले, म तिमीहरूलाई अग्निमार्फत “शिक्षा दिन” एक-एक गर्दै विपदमा पार्नेछु ताकि तत्पश्चात् मेरा वचनहरूमाथिको तिमीहरूको विश्‍वासमा तिमीहरू दृढ हुन सक्छौ। अन्त्यमा, म तिमीहरूको मुखबाट “परमेश्‍वर विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ” भन्‍ने शब्दहरू खोस्नेछु र त्यसपछि तिमीहरू आफ्ना छाती पिट्दै र “मानिसको हृदय छली हुन्छ!” भन्दै विलाप गर्नेछौ। यो बेला तिमीहरूको मनस्थिति कस्तो होला? मलाई लाग्छ, तिमीहरू अहिलेको जति विजयी हुनेछैनौ र आजभन्दा एकदमै कम “गहन र दुर्बोध” हुनेछौ। परमेश्‍वरको उपस्थितिमा, केही मानिसहरू पूर्ण रूपमा स्वच्छ र सही हुन्छन्, उनीहरू “शिष्ट” हुनको लागि कोसिस गर्छन्, तर उनीहरूले आत्माको उपस्थितिमा आफ्ना दाँतहरू देखाउँछन् र नङ्ग्राहरू फिँजाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूलाई इमानदार व्यक्तिहरूको रूपमा गणना गर्छौ? यदि तिमीहरू “अन्तर वैयक्तिक सम्बन्धहरू” मा पोख्त भएको पाखण्डी हौ भने म त भन्छु तिमीहरू पक्कै पनि परमेश्‍वरसँग तुच्छ व्यवहार गर्न प्रयास गर्ने व्यक्तिहरू हौ। यदि तिमीहरूका शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने म भन्छु तिमीहरू सत्यतालाई अभ्यास गर्न नरुचाउने व्यक्तिहरू हौ। यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्। यदि तँलाई सत्यको खोजी गर्दा धेरै खुशी मिल्छ भने, तँ त्यस्तो व्यक्ति होस् जो सधैँ उज्यालोमा बस्छ। यदि तँ परमेश्‍वरको घरमा सेवाकर्ता हुन खुशी छस्, तल्लीनताको साथ काम गर्ने र विवेकपूर्ण तवरले गुमनाम हुने, सधैँ दिने तर कहिल्यै नलिने व्यक्ति होस् भने म भन्छु तँ बफादार सन्त होस् किनभने तैँले कुनै इनाम खोजी गर्दैनस् बरु केवल इमानदार बनिरहने व्यक्ति होस्। यदि तँ स्पष्टवादी बन्न इच्छुक हुँदैनस् भने, यदि तँ आफ्ना सबै कुराहरू समर्पण गर्न इच्छुक छस् भने, यदि तँ परमेश्‍वरको लागि आफ्नो जीवन बलिदान दिन सक्षम छस् र आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन्छस् भने, यदि तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्रै जान्ने तर आफ्नोबारे नसोच्ने र आफ्नो लागि केही नलिने हदसम्मको इमानदार छस् भने म भन्छु त्यस्ता मानिसहरू ती व्यक्तिहरू हुन् जो ज्योतिमा हुर्किएका हुन् र जो राज्यमा सदासर्वदा बस्नेछन्। तैँले तँमा साँचो विश्‍वास र साँचो बफादारीता छ कि छैन, तँमा परमेश्‍वरको लागि कष्ट भोगेको अभिलेख छ कि छैन र तँ सम्पूर्ण रूपले परमेश्‍वरप्रति समर्पण भएको छस् कि छैनस् भनेर थाहा पाउनुपर्छ। यदि तँसँग यी कुराहरूको कमी छ भने तँभित्र विद्रोहीपन, छल, लोभ र गुनासो छन्। तेरो हृदय इमानदारीदेखि दूर भएकोले तैँले परमेश्‍वरबाट कहिल्यै पनि सकारात्मक पहिचान प्राप्त गरेको छैनस् र प्रकाशमा कहिल्यै पनि बसेको छैनस्। आखिरमा व्यक्तिको नियति कसरी तय हुन्छ भन्‍ने कुरा उनीहरूसँग इमानदार र रगत झैं रातो हृदय छ कि छैन र उनीहरूसँग विशुद्ध आत्मा छ कि छैन भन्‍ने कुरामा निर्भर रहन्छ। यदि तँ त्यस्तो व्यक्ति होस् जो एकदमै बेइमान छ, त्यस्तो व्यक्ति जोसँग कपटी हृदय छ, त्यस्तो व्यक्ति जोसँग अशुद्ध प्राण छ भने तँ त्यो ठाउँमा पुग्ने कुरा निश्चित छ जहाँ तेरो नियतिको विवरणमा लेखिए अनुरूप तँलाई दण्ड दिइन्छ। यदि तँ आफू एकदमै इमानदार छु भनेर दाबी गर्छस् तर कहिल्यै पनि सत्य अनुरूप व्यवहार गर्न सक्दैनस् वा सत्यको वचन बोल्न सक्दैनस् भने के तैँले अझै परमेश्‍वरबाट इनाम पाउन प्रतीक्षा गरिरहेको छस्? के तँ अझै परमेश्‍वरले तँलाई उहाँको आँखाको नानीझैं राख्नुहुन्छ भन्‍ने आशा गर्छस्? के यस्ता सोचहरू निरर्थक छैनन् र? तैँले सबै कुराहरूमा परमेश्‍वरलाई धोका दिन्छस्; अनि अपवित्र हातहरू भएका तँ जस्तालाई परमेश्‍वरको घरले कसरी अटाउन सक्थ्यो?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्। यदि तँ छली छस् भने, तँ सबै मानिस र विषयहरूप्रति सतर्क बन्नेछस् र शङ्कालु बन्नेछस्, यसैले मप्रतिको तेरो विश्‍वास शङ्काको जगमाथि निर्माण हुनेछ। त्यस्तो विश्‍वासलाई म कहिल्यै स्विकार्न सक्दिनँ। साँचो विश्‍वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। र यदि तँ परमेश्‍वरलाई शङ्का गर्न जिम्‍मेवार छस् र जानी-जानी उहाँको बारेमा अनुमान गर्छस् भने निस्सन्देह तँ सबै मानिसहरूमध्ये सबैभन्दा छली होस्। तँ परमेश्‍वर मानिसजस्तो हुन सक्नुहुन्छ कि सक्‍नुहुन्‍न भनेर अनुमान लगाउँछस्: क्षमा गर्नै नसकिने पापी, क्षुद्र चरित्र भएको, निष्पक्षता र विवेकरहित, न्यायको भावना नभएको, हिंस्रक युक्तिमा लागेको, छलपूर्ण र धूर्त, दुष्ट र अन्धकारद्वारा प्रसन्न, र यस्तै अरू। के मानिसहरूमा परमेश्‍वरको अलिकति पनि ज्ञान नभएको कारण तिनीहरूमा यस्ता विचारहरू आएका होइनन् र? त्यस्तो विश्‍वास पापभन्दा कम होइन! केही यस्ता व्यक्तिहरू पनि छन्, जसले मलाई प्रसन्न तुल्याउनेहरू चापलुसी गर्ने र चिप्लो घस्नेहरू हुन्, अनि त्यस्ता सीपको अभाव हुनेहरूलाई परमेश्‍वरको भवनमा स्वागत गरिँदैन र तिनीहरूले त्यहाँ आफ्नो स्थान गुमाउनेछन् भनी विश्‍वास गर्छन्। यतिका वर्षहरूमा तिमीहरूले प्राप्त गरेको ज्ञान के यही मात्र हो? के तिमीहरूले प्राप्त गरेको यही नै हो? अनि मेरो बारेमा तिमीहरूको ज्ञान यी भ्रमहरूमा रोकिँदैन; अनि त्योभन्दा अझ नराम्रो तिमीहरूले गरेका परमेश्‍वरका आत्माको निन्दा र स्वर्गको बदनाम हो। यसैले म भन्छु, कि तिमीहरूको जस्तो विश्‍वासले तिमीहरूलाई मबाट अझ टाढा बनाउँछ र मेरो विरुद्धमा अझ ठूलो विरोधी बनाउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने

यस्ता धेरै मानिसहरू छन्, जो इमानदार व्यक्ति भनेको खासमा के हो भन्‍ने नै बुझ्दैनन्। कतिपयले इमानदार मानिसहरू भनेका निष्कपट र सीधा कुरा गर्ने, जहाँ गए पनि हेपिने र एक्लो पारिने, वा सुस्त रहने र सधैँ अरूभन्दा ढिलो बोल्‍ने र ढिलो काम गर्ने मानिसहरू हुन् भन्‍ने सोच्छन्। अरूले नीच ठान्‍ने गरी मूर्खतामा संलग्‍न हुने कतिपय मूर्ख र अज्ञानी मानिसहरूले पनि आफूलाई इमानदार मानिसहरूको रूपमा व्याख्या गर्छन्। अनि त्यसै गरी, आफूलाई सानो ठान्‍ने समाजको तल्‍लो स्तरका ती सबै अशिक्षित मानिसहरूले पनि आफूलाई इमानदार मानिसहरू नै भन्छन्। तिनीहरूको गल्ती कहाँ छ? तिनीहरूलाई इमानदार व्यक्ति भनेको के हो त्यो थाहा छैन। तिनीहरूको गलतबुझाइको स्रोत के हो? मुख्य कारण तिनीहरूले सत्यता नबुझ्‍नु हो। तिनीहरूले के विश्‍वास गर्छन् भने, परमेश्‍वरले “इमानदार मानिसहरू” भनी भन्‍नुभएका मानिसहरू मूर्ख र अबुझहरू हुन्, तिनीहरू अशिक्षित, ढिलो बोल्‍ने र लठ्याब्रोहरू, हेपिएका र दमनमा परेकाहरू, र सहजै ठगिने र छलमा पर्ने मानिसहरू हुन्। यसको तात्पर्य के हुन्छ भने, परमेश्‍वरको मुक्ति पाउने मानिसहरू प्रायजसो अरूद्वारा हेपिने, समाजको तल्‍लो स्तरका मष्तिष्कहीन मानिसहरू हुन्। परमेश्‍वरले यी नीच र विपन्‍न मानिसहरूलाई मुक्ति दिनुहुन्‍न भने, कसलाई दिनुहुन्छ? के तिनीहरूले यही विश्‍वास गर्छन् होइन र? के तिनीहरू साँच्‍चै नै परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू हुन त? यो परमेश्‍वरको इच्‍छालाई गलत अर्थ्याइएको कुरा हो। परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू त सत्यतालाई प्रेम गर्ने र कुरा बुझ्‍ने क्षमता र शक्ति भएका व्यक्तिहरू हुन्, तिनीहरू विवेक र समझ भएका, परमेश्‍वरको आज्ञा पूरा गर्ने र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने सबै मानिसहरू हुन्। तिनीहरू सत्यता स्विकार्न र आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍न सक्‍ने मानिसहरू हुन्, र तिनीहरू साँचो रूपमा परमेश्‍वरलाई प्रेम गर्ने, परमेश्‍वरको आज्ञापालन गर्ने र परमेश्‍वरलाई आराधना गर्ने मानिसहरू हुन्। यीमध्ये धेरैजसो मानिसहरू समाजको तल्‍लो स्तरबाट, मजदुर र किसान परिवारबाट आएका भए पनि, तिनीहरू अवश्य नै बेवकुफ, बुद्धू, वा काम न काजका मानिसहरू होइनन्। यसको विपरीत, तिनीहरू सत्यता स्विकार्न, सत्यता अभ्यास गर्न र सत्यतामा समर्पित हुन सक्‍ने चलाख मानिसहरू हुन्। तिनीहरू सबै धर्मी मानिसहरू हुन्, जो परमेश्‍वरलाई पछ्याउन र सत्यता र जीवन प्राप्त गर्न सांसारिक वैभव र सम्‍पत्ति त्याग गर्छन्—तिनीहरू सबैभन्दा बुद्धिमानी मानिसहरू हुन्। तिनीहरू सबै नै परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र उहाँको लागि आफूलाई अर्पित गर्ने इमानदार मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरको अनुमोदन र आशिष् पाउन सक्छन्, र तिनीहरू सिद्ध पारिन र उहाँका मानिसहरू र उहाँको मन्दिरका खामोहरू बन्‍न सक्छन्। तिनीहरू सुन, चाँदी, र बहुमूल्‍य धातुजस्तै मानिसहरू हुन्। बेवकुफ, मूर्ख, हास्यास्पद, र काम न काजका मानिसहरू त निष्कासित हुने मानिसहरू हुन्। गैरविश्‍वासी र मूर्ख मानिसहरूले परमेश्‍वरको काम र व्यवस्थापन योजनालाई केको रूपमा हेर्छन्? फोहोर फाल्ने ठाउँको रूपमा, होइन र? यी मानिसहरूको क्षमता कमजोर हुने मात्रै होइन, यिनीहरू मूर्ख पनि हुन्छन्। यिनीहरूले परमेश्‍वरका वचनहरू जति धेरै पढे पनि, सत्यता बुझ्‍न सक्दैनन्, र जति वटा प्रवचन सुने पनि, यिनीहरू वास्तविकतामा प्रवेश गर्न सक्दैनन्—यदि यिनीहरू यति मूर्ख छन् भने, के यिनीहरूले मुक्ति पाउन सक्छन् त? के परमेश्‍वरले यस्ता व्यक्तिहरूलाई चाहनुहुन्छ त? तिनीहरूले विश्‍वास गरेको जति वर्ष भए पनि, तिनीहरू अझै पनि कुनै सत्यता बुझ्दैनन्, अझै पनि निरर्थक कुराहरू बोल्छन्, तर त्यसको बाबजुद पनि तिनीहरू आफूलाई इमानदार ठान्छन्—के तिनीहरूमा कुनै लाज छैन? त्यस्ता मानिसहरूले सत्यता बुझ्दैनन्। तिनीहरूले सधैँ परमेश्‍वरको इच्‍छालाई गलत अर्थ्याइरहेका हुन्छन्, तैपनि तिनीहरू जहाँ गए पनि, तिनीहरूले गलत अर्थ्याएका कुराहरू नै भट्याइरहन्छन्, र ती कुरालाई सत्यताको रूपमा प्रचार गर्दै मानिसहरूलाई भन्छन्, “अलिअलि हेपिनु राम्रै कुरा हो, मानिसहरूले अलिअलि गुमाउनैपर्छ, तिनीहरू अलिअलि मूर्ख हुनैपर्छ—यस्ता मानिसहरू नै परमेश्‍वरको मुक्ति पाउने मानिसहरू हुन् र परमेश्‍वरले तिनीहरूलाई नै मुक्ति दिनुहुन्छ।” यस्ता कुराहरू बोल्‍ने मानिसहरू घिनलाग्दा हुन्छन्; यसले परमेश्‍वरलाई धेरै अपमानित तुल्याउँछ! यो अत्यन्तै घिनलाग्दो कुरा हो! परमेश्‍वरको राज्यका खम्‍बाहरू र परमेश्‍वरले मुक्ति दिनुहुने विजेताहरू सबै नै सत्यता बुझ्‍ने, र बुद्धिमान्‌ मानिसहरू हुन्। यी मानिसहरू स्वर्गीय राज्यमा सहभागी हुने मानिसहरू हुन्। मूर्ख र अज्ञानीहरू, लाज पचेका र समझहीन मानिसहरू, सत्यतालाई पटक्‍कै नबुझ्‍ने, र बुद्धू र अबुझहरू—के तिनीहरू काम न काजका मानिसहरू होइनन् र? त्यस्ता मानिसहरू कसरी स्वर्गीय राज्यको हकदार हुन सक्छन्? परमेश्‍वरले कुरा गर्नुहुने इमानदार मानिसहरू सत्यता बुझेपछि त्यसलाई अभ्यास गर्न सक्‍ने, बुद्धिमान्‌ र बाठा, परमेश्‍वरको अघि खुलस्त बोल्‍ने, र सिद्धान्तअनुसार काम गर्ने र परमेश्‍वरको पूर्ण आज्ञापालन गर्ने मानिसहरू हुन्। यी सबै मानिसहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ, तिनीहरूले सिद्धान्तहरूअनुसार काम गर्न ध्यान दिन्छन्, र तिनीहरू सबैले परमेश्‍वरप्रति पूर्ण आज्ञापालन हासिल गर्न खोज्छन् र हृदयमा परमेश्‍वरलाई प्रेम गर्छन्। तिनीहरू मात्रै साँच्‍चिकै इमानदार मानिसहरू हुन्। यदि कसैलाई इमानदार बन्‍नु भनेको के हो भन्‍नेसमेत थाहा छैन भने, यदि उसले इमानदार मानिसहरूको सार भन्‍नु नै परमेश्‍वरप्रति पूर्ण रूपमा आज्ञाकारी हुने, परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने कुरा हो भन्‍ने जान्दैन भने, र इमानदार मानिसहरूले सत्यतालाई प्रेम गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने र सत्यता अभ्यास गर्ने हुनाले नै तिनीहरू इमानदार भएका हुन् भन्‍ने कुरा बुझ्दैन भने—यस्तो व्यक्ति एकदमै मूर्ख हुन्छ, र उसमा साँच्‍चै नै समझशक्ति हुँदैन। इमानदार मानिसहरू मान्छेले कल्पेजस्तै बेवकुफ, अज्ञानी, र मूर्खखाले निष्कपट मानिस होइनन्; तिनीहरू सामान्य मानवता भएका मानिसहरू हुन्, जोसँग विवेक र समझ हुन्छ। इमानदार मानिसहरूमा हुने चलाखी भनेकै तिनीहरू परमेश्‍वरका वचनहरू सुन्‍न र इमानदार बन्‍न सक्छन्, त्यसैले परमेश्‍वर तिनीहरूलाई आशिष् दिनुहुन्छ।

परमेश्‍वरले मानिसहरूलाई इमानदार बन्‍न गर्नुभएको अनुरोधजत्तिको महत्त्वपूर्ण कुरा अरू केही छैन—उहाँले मानिसहरूलाई उहाँको अघि जिउन, उहाँको सूक्ष्म जाँच स्विकार्न, र ज्योतिमा जिउन अनुरोध गरिरहनुभएको छ। इमानदार मानिसहरू मात्रै मानवजातिका साँचा सदस्यहरू हुन्। जो मानिसहरू इमानदार छैनन्, तिनीहरू पशुहरू हुन्, तिनीहरू मानव भेषमा हिँड्डुल गर्ने जन्तुहरू हुन्, तिनीहरू मानव होइनन्। इमानदार व्यक्ति बन्‍न लागिपर्नको लागि, तैँले परमेश्‍वरका मापदण्डहरूअनुसार व्यवहार गर्नुपर्छ; तैँले न्याय, सजाय, निराकरण र काटछाँट भोग्‍नुपर्छ। जब तिमीहरूको भ्रष्ट स्वभाव धोइन्छ र जब तिमीहरूले सत्यता अभ्यास गर्न र परमेश्‍वरका वचनहरूअनुसारको जीवन जिउन सक्छौ, तब मात्रै तिमीहरू इमानदार व्यक्ति बन्‍नेछौ। अज्ञानी, मूर्ख, र सुस्त मानिसहरू पटक्‍कै इमानदार हुँदैनन्। मानिसहरूलाई इमानदार बन्‍न आज्ञा गर्दै, परमेश्‍वरले तिनीहरूलाई सामान्य मानवतामा जिउन, आफ्‍ना छल र कपट त्याग्‍न, अरूलाई ढाँट्ने वा छल्‍ने नगर्न, आफ्‍नो कर्तव्य बफादारीसाथ पूरा गर्न, र उहाँलाई साँचो रूपमा प्रेम गर्ने र उहाँको आज्ञापालन गर्न सक्‍ने हुन भनिरहनुभएको हुन्छ। यस्ता व्यक्तिहरू मात्रै परमेश्‍वरको राज्यका मानिसहरू हुन्। परमेश्‍वरले मानिसहरूलाई ख्रीष्‍टका असल सिपाहीहरू हुन आज्ञा गर्नुहुन्छ। ख्रीष्‍टका असल सिपाहीहरू को हुन्? तिनीहरू सत्यताको वास्तविकताले सुसज्‍जित भएका र ख्रीष्‍टसँग एउटै हृदय र मन भएकाहरू हुनुपर्छ। कुनै पनि समय र स्थानमा, तिनीहरूले परमेश्‍वरको बढाइ गर्न र उहाँको गवाही दिन, र शैतानसँग लडाइँ गर्न सत्यता प्रयोग गर्न सक्‍नुपर्छ। सबै कुरामा, तिनीहरू परमेश्‍वरको पक्षमा उभिनुपर्छ, गवाही दिनुपर्छ, र सत्यताको वास्तविकतामा जिउनुपर्छ। तिनीहरूले शैतानलाई लज्‍जित पारेर परमेश्‍वरको लागि अद्‌भुत विजयहरू प्राप्त गर्न सक्‍नुपर्छ। ख्रीष्‍टको असल सिपाही हुनु भनेको त्यही हो। ख्रीष्‍टका असल सिपाहीहरू विजेताहरू हुन्, तिनीहरू शैतानलाई जित्‍ने मानिसहरू हुन्। मानिसहरूलाई इमानदार बन्‍न र छली नबन्‍न आज्ञा दिएर, परमेश्‍वरले तिनीहरूलाई मूर्ख बन्‍न होइन, बरु आफूलाई छली स्वभावबाट मुक्त गर्न, उहाँप्रतिको समर्पण हासिल गर्न र उहाँको महिमा बढाउन भनिरहनुभएको छ। सत्यता अभ्यास गरेर यो कुरा हासिल गर्न सकिन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

इमानदार व्यक्ति भनेको सत्यतालाई स्वीकार गर्न सक्‍ने व्यक्ति हो—बिचरा भन्‍न लायक, केही न कामको, मूर्ख, वा निष्कपट व्यक्ति होइन। तिमीहरूले यी कुराहरूलाई खुट्ट्याउन सक्‍नुपर्छ, होइन र? म प्रायजसो कतिपय मानिसहरूले यसो भनेर प्रार्थना गरेको सुन्‍ने गर्छु: “म कहिल्यै झूट बोल्दिनँ—मलाई पो सधैँ झूट बोलिन्छ। मलाई मानिसहरूले सधैँ हेप्छन्। परमेश्‍वरले खाँचोमा परेकोलाई गोबरको थुप्रोबाट उठाउनुहुन्छ भनेर भन्‍नुभएको छ, र म त्यस्तै मानिसहरूमध्येको एक हुँ। यो परमेश्‍वरको अनुग्रह हो। परमेश्‍वरले हामीजस्ता समाजबाट हेपिएका निश्छल मानिसहरूलाई दया गर्नुहुन्छ। यो साँच्‍चै नै परमेश्‍वरको करुणा हो!” परमेश्‍वरले खाँचोमा परेकालाई गोबरको थुप्रोबाट उठाउनुहुन्छ भन्‍नुको पछाडि व्यावहारिक पक्ष छ। तैँले त्यसलाई पहिचान गर्न सके पनि, यसले तँ इमानदार व्यक्ति होस् भन्‍ने प्रमाणित गर्दैन। वास्तवमा, कतिपय मानिसहरू बेवकुफ र मूर्ख नै हुन्छन्; तिनीहरू कुनै सीप नभएका, कमजोर क्षमता भएका, र सत्यतालाई पटक्‍कै नबुझेका मूर्खहरू हुन्छन्। परमेश्‍वरले उल्‍लेख गर्नुहुने इमानदार मानिसहरूसँग त्यस्तो व्यक्तिको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले खाँचोमा परेकाहरूलाई गोबरको थुप्रोबाट उठाउनुहुन्छ भन्‍ने कुरा साँचो हो, तर बेवकुफ र मूर्खहरू यसरी उठाइनेमा पर्दैनन्। तेरो क्षमता स्वाभाविक रूपमै अत्यन्तै खराब छ, र तँ मूर्ख, केही न कामको छस्, र तँ गरिब परिवारमा जन्‍मेको र समाजको तल्‍लो वर्गको सदस्य भए पनि, तँ परमेश्‍वरको मुक्तिको निसाना होइनस्। तैँले समाजमा धेरै कष्ट र विभेद भोगेको छस् भन्दैमा, तँलाई सबैले हेपेका र ठगेका छन् भन्दैमा तँ इमानदार व्यक्ति होस् भन्‍ने नसोच्। त्यस्तो सोच्छस् भने, तँ नराम्ररी भूलमा परेको छस्। के तैँले इमानदार व्यक्ति कस्तो हुन्छ भन्ने बारेमा कुनै गलत बुझाइ वा विकृत समझ पालिरहेको छस्? के तिमीहरूले यो सङ्गतिद्वारा केही स्पष्टता प्राप्त गर्‍यौ? इमानदार व्यक्ति बन्‍नु मानिसहरूले सोचेको जस्तो होइन; यो शब्दजाल रच्नबाट टाढा बस्‍ने सीधा बोल्‍ने व्यक्ति बन्‍नु होइन। व्यक्ति स्वाभाविक रूपमै सीधा बोल्‍ने व्यक्ति हुन सक्छ, तर त्यसको अर्थ ऊ जालझेल वा छलमा संलग्‍न हुँदैन भन्‍ने हुँदैन। सबै भ्रष्ट मानवमा ठग र छली भ्रष्ट स्वभाव हुन्छ। जब मानिसहरू शैतानको प्रभावमा रहेर, र यसका शक्तिहरूबाट सञ्चालित र नियन्त्रित भएर, संसारमा जिउँछन् तब तिनीहरूको लागि इमान्दार हुनु असम्भव हुन्छ। तिनीहरू पहिलेभन्दा झन धेरै छली मात्र बन्न सक्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्? पहिलो, परमेश्‍वरका वचनहरूप्रति कुनै शङ्का नहुनु। यो इमानदार व्यक्तिको एउटा प्रकटीकरण हो। यसबाहेक, सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर सधैं परमेश्‍वरका वचनहरूलाई तेरो दिमागको पछाडिको भागमा धकेलेर राख्छस् र जे मन लाग्यो त्यही गर्छस् भने, के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, “मेरो योग्यता कम भए पनि मसँग इमानदार हृदय छ।” तापनि जब तँमाथि कुनै काम-कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्‍नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ आफ्नो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? अवश्य होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा भक्तिसाथ लाग्‍नुपर्छ, र परमेश्‍वरको इच्‍छालाई सन्तुष्ट पार्न लागिपर्नुपर्छ। यसले आफूलाई धेरै तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्‍नो कर्तव्य राम्ररी निभाउन आफ्‍नो सारा हृदय र बल लगाउनु, सबै काम उचित रूपमा गर्नु, र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि आफ्‍नो कर्तव्यमा आफ्‍नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्। यदि तैँले आफूले जानेको र बुझेको कुरा गर्दैनस्, अनि आफ्नो प्रयासको ५० वा ६० प्रतिशत मात्र लगाउँछस् भने, त्यसमा आफ्नो सारा हृदय र सारा बल लगाइरहेको छैनस्।बरु तँ धूर्त होस् र सुस्त हुँदै छस्। के यसरी आफ्ना कर्तव्य निर्वाह गर्ने मानिसहरू इमानदार हुन् त? अवश्य होइनन्। परमेश्‍वरलाई यस्ता धूर्त र छली मानिसहरूको कुनै काम हुँदैन; तिनीहरूलाई हटाउनैपर्छ। परमेश्‍वरले इमान्दार मानिसहरूलाई मात्र कर्तव्य निभाउन प्रयोग गर्नुहुन्छ। भक्त सेवाकर्ताहरूसमेत इमानदार हुनैपर्छ। लामो समयदेखिका लापरवाह, झाराटारुवा मानिसहरू, धूर्त र सुस्त हुन खोज्ने मानिसहरू सबै छली हुन्, तिनीहरू सबै पिशाच हुन्, तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरमा साँचो विश्‍वास गर्दैन, र तिनीहरू सबैलाई हटाइनेछ। कतिपय मानिसहरू सोच्छन्, “इमानदार व्यक्ति बन्‍नु भनेको सत्य बोल्‍नु र झूट नबोल्‍नु मात्रै हो। इमानदार व्यक्ति बन्‍न साँच्‍चै सहज हुन्छ।” यो विचार तिमीहरूलाई कस्तो लाग्छ? के इमानदार व्यक्ति बन्नुको दायरा यति सीमित छ? निश्चित रूपमा छैन। तैँले आफ्नो हृदयलाई प्रकट गर्नुपर्छ र त्यो परमेश्‍वरलाई दिनुपर्छ। इमानदार व्यक्तिमा यस्तै मनोवृत्ति हुनुपर्छ। त्यसैले त इमानदार हृदय अत्यन्तै बहुमूल्‍य हुन्छ। यसले के सङ्केत गर्छ? यसले के सङ्केत गर्छ भने, इमानदार हृदयले तेरो व्यवहारलाई नियन्त्रण र तेरो स्थितिलाई परिवर्तन गर्न सक्छ। यसले तँलाई सही निर्णय गर्न, र परमेश्‍वरमा समर्पित भएर उहाँको अनुमोदन प्राप्त गर्न अगुवाइ गर्न सक्छ। यस्तो हृदय साँच्चै मूल्यवान् हुन्छ। यदि तँसँग यस्तो इमानदार हृदय छ भने, तँ जिउनुपर्ने स्थिति त्यही हो, तैँले त्यसरी नै व्यवहार गर्नुपर्छ र त्यसरी नै आफूलाई समर्पित गर्नुपर्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरले मानिसहरूलाई किन इमानदार हुने आग्रह गर्नुहुन्छ? के यो तिनीहरूको लागि मानिसहरूलाई बुझ्न सजिलो होस् भनेर हो? अवश्य होइन। परमेश्‍वरले मानिसलाई इमानदार हुन लगाउनुहुन्छ किनभने उहाँले इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ र इमानदारहरूलाई नै आशिष्‌ दिनुहुन्छ। इमानदार व्यक्ति हुनु भनेको विवेक र समझ भएको व्यक्ति हुनु हो। यसको अर्थ भरोसायोग्य व्यक्ति, परमेश्‍वरले प्रेम गर्नुहुने व्यक्ति, र सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई प्रेम गर्न सक्‍ने व्यक्ति बन्‍नु हो। इमानदार व्यक्ति बन्‍नु सामान्य मानवता हुनु र साँचो मानव रूपमा जिउनुको सबैभन्दा आधारभूत प्रकटीकरण हो। यदि कुनै व्यक्ति कहिल्यै इमानदार भएको छैन, वा उसले कहिल्यै इमानदार हुने कुरा सोचेको छैन भने, उसले सत्यता बुझ्न सक्दैन, सत्यता प्राप्त गर्न सक्‍नु त परको कुरा हो। यदि तँ मलाई विश्‍वास गर्दैनस् भने, तँ आफै गएर हेर्, वा गएर आफै अनुभव गर्। इमानदार व्यक्ति बनेमा मात्र परमेश्‍वरको लागि तेरो हृदय खुल्न सक्छ, तैँले सत्यता स्वीकार गर्न सक्छस्, सत्यता तेरो जीवन बन्‍न सक्छ, र तैँले सत्यता बुझ्न र प्राप्त गर्न सक्छस्। यदि तेरो हृदय सधैं बन्द छ भने, यदि तँ कसैलाई आफ्‍नो कुरा खुलस्त भन्दैनस् वा हृदयमा भएको कुरा बताउँदैनस्, जसले गर्दा तँलाई कसैले पनि बुझ्दैन भने, तेरो पर्खाल अत्यन्तै मोटो छ, र तँ सबैभन्दा छली मानिस होस्। यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् तैपनि परमेश्‍वरको अघि आफ्‍नो मन साँचो रूपले खोल्‍न सक्दैनस् भने, यदि तैँले परमेश्‍वरलाई ढाँट्न वा परमेश्‍वरलाई छल गर्न बढाइचढाइ कुरा गर्न सक्छस् भने, र यदि तैँले परमेश्‍वरको अघि आफ्‍नो हृदय खोल्‍न सक्दैनस्, तर अझै घुमाउरो कुरा गरेर आफ्‍ना अभिप्रायहरूलाई लुकाउन सक्छस् भने, तैँले आफैलाई हानि मात्रै गर्नेछस्, र परमेश्‍वरले तँलाई बेवास्ता गर्नुहुनेछ र तँमा काम गर्नुहुनेछैन। तैँले कुनै पनि सत्यता बुझ्‍नेछैनस्, र तैँले कुनै सत्यता प्राप्त गर्नेछैनस्। अब के तिमीहरूले सत्यता पछ्याउनु र प्राप्त गर्नुको महत्त्व बुझ्‍न सक्यौ? सत्यता पछ्याउनका लागि तिमीहरूले गर्नुपर्ने पहिलो कुरा के हो? तिमीहरू इमानदार व्यक्ति बन्‍नुपर्छ। यदि मानिसहरू इमानदार हुन खोज्छन् भने मात्र तिनीहरूले आफू कति गहन रूपमा भ्रष्ट छु र आफूमा वास्तवमै कुनै मानव स्वरूप छ कि छैन भनेर जान्‍न सक्छन्, र तिनीहरूले स्पष्टसित आफैलाई तौलन वा आफ्ना कमीकमजोरीहरू देख्‍न सक्छन्। जब तिनीहरूले इमानदारीसाथ अभ्यास गरिरहेका हुन्छन् तब मात्र तिनीहरूले कति धेरै झूटो बोल्छन् र तिनीहरूको छलकपट र बेइमानी कतिसम्म गम्भीर रूपमा लुकेका छन् सो थाहा पाउनेछन्। इमानदार बन्ने अभ्यासको अनुभव प्राप्त गरेपछि मात्र मानिसहरूले बिस्तारै उनीहरूको आफ्नै भ्रष्टताको सत्यता जान्न सक्छन् र आफ्नै प्रकृति र सार चिन्न सक्छन्, अनि मात्र तिनीहरूका भ्रष्ट स्वभावहरूलाई निरन्तर शुद्ध पार्न सकिनेछ। तिनीहरूको भ्रष्ट स्वभाव निरन्तर रूपमा शुद्ध भइरहेको बेला मात्र मानिसहरूले सत्यता प्राप्त गर्न सक्नेछन्। तिमीहरूको समय निकालेर यी वचनहरू अनुभव गर। परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्न जो छली छन्। यदि तेरो हृदय इमानदार छैन भने—यदि तँ इमानदार व्यक्ति होइनस् भने—तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछैन। त्यसरी नै, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, र तँ परमेश्‍वरलाई प्राप्त गर्न पनि असमर्थ हुनेछस्। तैँले परमेश्‍वरलाई प्राप्त गर्दैनस् भन्‍नुको अर्थ के हो? यदि तैँले परमेश्‍वरलाई प्राप्त गर्दैनस् र तैँले सत्यतालाई बुझेको छैनस् भने, तैँले परमेश्‍वरलाई चिन्‍नेछैनस्, त्यसकारण तँ कुनै पनि हालतमा परमेश्‍वर अनुरूप हुनेछैनस्, जसले गर्दा तँ परमेश्‍वरको शत्रु हुन्छस्। यदि तँ परमेश्‍वर अनुरूप छैनस् भने, परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्‍न; र यदि परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्न भने, तैँले मुक्ति पाउनेछैनस्। यदि तैँले मुक्ति प्राप्त गर्ने खोजी गर्दैनस् भने, तँ किन परमेश्‍वरमा विश्‍वास गर्छस्? यदि तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भने तँ सधैँका निम्ति परमेश्‍वरको घोर शत्रु बन्नेछस्, र तेरो परिणाम निश्चित भएको हुनेछ। यसैले, यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरू इमानदार बनेर यो काम सुरु गर्नुपर्छ। अन्त्यमा, परमेश्‍वरद्वारा प्राप्त गरिनेहरूमा एउटा चिन्‍ह लगाइनेछ। यो के हो भन्‍ने के तिमीहरूलाई थाहा छ? यसको बारेमा बाइबलमा प्रकाशको पुस्तकमा लेखिएको छ: “तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निष्खोट छन्” (प्रकाश १४:५)। यहाँ “तिनीहरू” भनेका को हुन्? तिनीहरू परमेश्‍वरद्वारा मुक्ति दिइने, सिद्ध पारिने र प्राप्त गरिने व्यक्तिहरू हुन्। परमेश्‍वरले यी मानिसहरूको वर्णन कसरी गर्नुहुन्छ? तिनीहरूका आचरणका विशेषता र अभिव्यक्तिहरू के-के हुन्? तिनीहरू निष्खोट छन्। तिनीहरू कुनै झूटो कुरा बोल्दैनन्। झूटो कुरा नबोल्नुको अर्थ के हो सो सम्भवतः तिमीहरू सबैले जान्‍न र बुझ्न सक्छौ होला: यसको अर्थ इमानदार हुनु हो। “निष्खोट” ले केलाई जनाउँछ? यसले कुनै दुष्कर्म नगर्ने कार्यलाई जनाउँछ। अनि, कुनै दुष्कर्म नगर्ने कार्य कुन जगमा आधारित हुन्छ? यो कार्य अवश्य नै परमेश्‍वरको डर मान्‍ने जगमा आधारित हुन्छ। त्यसकारण, कुनै खोट नहुनु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्‍नु हो। कुनै खोट नभएको मानिसलाई परमेश्‍वरले कसरी परिभाषित गर्नुहुन्छ? परमेश्‍वरको नजरमा, परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति मात्र सिद्ध व्यक्ति हो; तसर्थ, कुनै खोट नभएका मानिसहरू भनेका परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्तिहरू हुन्, र सिद्ध व्यक्तिहरू मात्र निष्खोट हुन्छन्। यो पूर्ण रूपमा सही कुरा हो। यदि कसैले हरेक दिन झूट बोल्छ भने, के त्यो खोट होइन र? यदि तिनीहरूले आफ्‍नै इच्छाअनुसार बोल्छन् र व्यवहार गर्छन् भने, के त्यो खोट होइन र? यदि तिनीहरूले काम गर्दा सधैँ कदर पाउन खोज्छन्, परमेश्‍वरसँग सधैँ इनाम माग्छन् भने, के त्यो खोट होइन र? यदि तिनीहरूले कहिल्यै परमेश्‍वरको बढाइ गरेका छैनन्, सधैँ आफ्‍नै गवाही दिन्छन् भने, के त्यो खोट होइन र? यदि तिनीहरूले लापरवाहीपूर्वक आफ्‍नो कर्तव्य पूरा गर्छन्, अवसरवादी तरिकाले काम गर्छन्, दुष्ट अभिप्रायहरू राख्छन्, र सुस्त हुन्छन् भने, के त्यो खोट होइन र? भ्रष्ट स्वभावका यी सबै प्रस्फुटनहरू खोट हुन्। यति मात्र हो कि मानिसहरूले सत्यता बुझ्‍नुभन्दा पहिले, तिनीहरूलाई यो कुरा थाहा हुँदैन। अहिले, तिमीहरू सबैलाई यी भ्रष्ट प्रस्फुटनहरू खोट र फोहोर हुन् भन्‍ने थाहा भयो; तिमीहरूले थोरै सत्यता बुझेपछि मात्रै तिमीहरूमा यस्तो समझशक्ति हुन सक्छ। भ्रष्ट प्रस्फुटनहरूसँग सम्‍बन्धित सबै कुरा झूटसँग सम्‍बन्धित हुन्छन्; “कुनै झूट पाइएन” भन्‍ने बाइबलका वचनहरू तँमा खोट छ कि छैन भनेर मनन गर्ने कार्यको मुख्य तत्त्व हो। त्यसकारण, कुनै व्यक्तिले आफ्‍नो जीवनमा वृद्धि अनुभव गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्नका लागि, थप एउटा सूचक छ, र त्यो हो: तँ इमानदार व्यक्ति बन्‍ने कार्यमा प्रवेश गरेको छस् कि छैनस्, तैँले भन्‍ने कुराहरूमा कति वटा झूट हुन्छ, र तेरो झूटहरू क्रमिक रूपमा घटिरहेका छन् कि पहिलेको जस्तै छन्। तेरो छल र धोकाका शब्‍दहरू लगायत तेरा झूटहरू क्रमिक रूपमा घटिरहेका छन् भने, यसले तँ वास्तविकतामा प्रवेश गर्न थालेको छस्, र तेरो जीवन वृद्धि भइरहेको छ भन्‍ने कुरालाई प्रमाणित गर्छ। के यो व्यावहारिक दृष्टिकोण होइन र? (हो।) यदि तँलाई वृद्धि अनुभव गरिसकेको छु जस्तो लाग्छ, तर तेरा झूटहरू पटक्‍कै घटेका छैनन्, र तँ आधारभूत रूपमा अविश्‍वासी जस्तै छस् भने, के यो सत्यताको वास्तविकतामा प्रवेश गर्नुको सामान्य प्रकटीकरण हो? (होइन।) जब कुनै व्यक्ति सत्यताको वास्तविकतामा प्रवेश गरेको हुन्छ, तब उसले कम्तीमा पनि झूट बोल्‍न कम गरेको हुन्छ; ऊ लगभग इमानदार व्यक्ति बनिसकेको हुन्छ। यदि तैँले धेरै झूट बोल्छस् र तेरा शब्‍दहरू अत्यन्तै दूषित छन् भने, यसले तँ फिटिक्कै परिवर्तन भएको छैनस्, र तँ अझै इमानदार व्यक्ति भएको छैनस् भन्‍ने प्रमाणित गर्छ। यदि तँ इमानदार व्यक्ति होइनस् भने, तँसँग जीवन प्रवेश हुँदैन, त्यसकारण तैँले कस्तो वृद्धि अनुभव गर्न सक्छस् र? तेरो भ्रष्ट स्वभाव अझै पनि जस्ताको त्यस्तै छ, र तँ अविश्‍वासी र दियाबलस होस्। इमानदार व्यक्ति हुनु भनेको व्यक्तिले आफ्‍नो जीवनमा वृद्धि अनुभव गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्ने एउटा सूचक हो; मानिसहरूले आफूलाई यी कुराहरूसँग तुलना गर्न जान्नुपर्छ र आफैले आफ्नो मापन गर्न जान्नुपर्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू

इमानदार व्यक्तिहरू मात्र विश्‍वासयोग्य हुन्छन्, तिनीहरूसँग मात्र विवेक र समझ हुन्छ, र तिनीहरू मात्रै मानव कहलिन लायक हुन्छन्। यदि व्यक्तिले आफ्नो कर्तव्य पालना गर्ने क्रममा सत्यता स्विकार्न र सिद्धान्तहरूअनुसार व्यवहार गर्न सक्छ, अनि आफ्ना कर्तव्यहरू पर्याप्त मात्रामा गर्न सक्छ भने, त्यो व्यक्ति साँच्चै इमानदार र वास्तवमै विश्‍वासयोग्य हुन्छ। अनि, परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्ने मानिसहरू इमानदार हुन्छन्। विश्‍वासयोग्य र इमानदार व्यक्ति बन्नु भनेको तेरा योग्यता वा तेरो रूपरङ्गसँग सम्बन्धित कुरा होइन, र तेरो क्षमता, सामर्थ्य वा प्रतिभासँग सम्बन्धित कुरा त झन् हुँदै होइन। जबसम्म तँ सत्यता स्विकार्छस्, र जिम्मेवारीपूर्वक काम गर्छस् र जबसम्म तँसँग विवेक र समझ हुन्छ र तँ परमेश्‍वरमा समर्पित हुन सक्छस्, तबसम्म त्यो पर्याप्त नै हुनेछ। व्यक्तिसँग जस्तोसुकै योग्यताहरू भए पनि, वास्तविक सरोकारको विषय ऊसँग सद्‌गुण छ कि छैन भन्ने हो। व्यक्ति सद्‌गुणरहित हुनेबित्तिकै उसलाई मानव मान्न सकिँदैन, बरु उसलाई पशु मान्नुपर्छ। परमेश्‍वरको घरबाट निकालिएका मानिसहरूमा मानवता र सद्‌गुण नभएकै कारण तिनीहरूलाई निकालिएको हो। त्यसैले, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले सत्यता स्विकार्न सक्नैपर्छ, तिनीहरू इमानदार हुनैपर्छ, तिनीहरूसँग कम्तीमा पनि विवेक र समझ हुनैपर्छ, र तिनीहरूले आफ्ना कर्तव्यहरू राम्रोसँग पालना गर्न र परमेश्‍वरको आज्ञा पूरा गर्न सक्नैपर्छ। यस्ता मानिसहरूले मात्रै परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छन्; उहाँमा साँच्चै विश्‍वास गर्नेहरू र आफूलाई इमान्दारीसाथ उहाँमा अर्पित गर्न सक्नेहरू यिनै हुन्। परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू यिनै हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

केवल इमानदार मानिसहरू मात्र सत्यताको अभ्यासमा दृढ रहन र सिद्धान्तको साथ काम गर्न सफल हुन सक्छन्, र मापदण्डअनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छन्। सिद्धान्तसहित काम गर्ने मानिसहरू राम्रो मनस्थितिमा हुँदा आफ्ना कर्तव्यहरू सावधानीपूर्वक निर्वाह गर्छन्; तिनीहरू लापरवाही तरिकाले काम गर्दैनन्, तिनीहरू अहङ्कारी हुँदैनन्, र अरूले तिनीहरूलाई ठूलो सम्झून् भनी आफ्‍नो धाक लगाउँदैनन्। तिनीहरू खराब मुडमा हुँदा आफ्ना दैनिक कार्यहरू उत्तिकै गम्भीरता र जिम्मेवारीका साथ पूरा गर्न सक्छन्, र तिनीहरूका कर्तव्य निर्वाह गर्न बाधा दिने वा तिनीहरूलाई केही दबाब दिने वा तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा बाधा उत्पन्न गर्ने कुरा भेटे भने पनि तिनीहरू परमेश्‍वरसामु आफ्ना हृदयलाई शान्त पार्न सक्छन् र यस भन्दै प्रार्थना गर्न सक्छन्, “मेरो विरुद्धमा जति नै ठूलो समस्या आइपरे पनि—यदि आकाश नै खस्यो भने पनि—जबसम्म म जीवित रहन्छु, म मेरो जिम्मेवारी पूरा गर्नको लागि सक्दो गर्न प्रतिबद्ध छु। म जिउने प्रत्येक दिन नै मैले मेरो कर्तव्य राम्रोसित निभाउनुपर्ने दिन हो, यसैले कि परमेश्‍वरले मलाई दिनुभएको यो कर्तव्य, साथै उहाँले मेरो शरीरमा हालिदिनुभएको यो सासको योग्य बन्न सकूँ। जतिसुकै कठिनाइमा परे पनि म यी सबैलाई पन्छ्याउनेछु, किनकि मेरो कर्तव्य पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो!” कुनै व्यक्ति, घटना, वस्तु, वा वातावरणबाट प्रभावित नहुने मानिसहरू, कुनै मुड वा बाहिरी परिस्थितिद्वारा बन्धनमा नपर्नेहरू, र जसले परमेश्‍वरले सुम्पिनुभएका तिनीहरूका कर्तव्यहरू र आदेशहरूलाई सबैभन्दा पहिले स्थानमा राख्छन्—तिनीहरू त्यस्ता मानिसहरू हुन् जो परमेश्‍वरप्रति बफादार हुन्छन् र जो सच्‍चा रूपमा उहाँको अधीनमा बस्छन्। यस्ता मानिसहरूले जीवनमा प्रवेश पाएका हुन्छन् र सत्यता वास्तविकतामा प्रवेश गरेका हुन्छन्। सत्यतामा जिउनुको सबैभन्दा सच्‍चा र व्यावहारिक अभिव्यक्ति यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ

जब परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिनुहुन्छ, तब उहाँले तिनीहरूलाई शैतानको प्रभावबाट अलग हुन र आफ्‍नो भ्रष्ट स्वभाव हटाउन, इमानदार मानिसहरू बन्‍न, र उहाँका वचनहरूअनुसार जिउन मदत गर्नुहुन्छ। इमानदार व्यक्तिको रूपमा जिउनुले स्वतन्त्र र बन्धनमुक्त अनुभूत गराउँछ, र यो अत्यन्तै कम पीडादायी हुन्छ। यो सबैभन्दा सुखी जीवन हो। इमानदार मानिसहरू सरल हुन्छन्। तिनीहरूले आफ्‍नो मनको कुरा भन्छन्, र जे सोचेको छ त्यही भन्छन्। तिनीहरूले आफ्‍ना बोलीवचन र व्यवहारमा, विवेक र समझ अपनाउँछन्। तिनीहरू सत्यतामा लागिपर्न इच्छुक हुन्छन्, र सत्यता बुझेपछि तिनीहरूले यसलाई अभ्यास गर्छन्। तिनीहरूले कुनै कुरा स्पष्ट रूपमा बुझ्‍न सकेनन् भने, तिनीहरू सत्यता खोजी गर्न इच्छुक हुन्छन् र जुन काम सत्यताअनुरूप हुन्छ त्यही गर्छन्। तिनीहरूले जहाँ पनि र जुनसुकै कुरामा परमेश्‍वरको इच्‍छा खोज्छन्, त्यसपछि आफ्‍नो व्यवहारमा यसलाई लागू गर्छन्। केही क्षेत्रमा तिनीहरू मूर्ख पनि हुन सक्छन् र तिनीहरूले सत्यता सिद्धान्तहरूद्वारा आफूलाई सुसज्‍जित तुल्याउनुपर्ने हुन्छ, र यसको लागि तिनीहरू निरन्तर वृद्धि हुनुपर्छ। यसरी अनुभव गर्दा, तिनीहरू इमानदार र बुद्धिमान्‌ मानिसहरू बन्‍न र पूर्णतया परमेश्‍वरको इच्‍छाअनुरूप हुन सक्छन्। तर छली मानिसहरू त्यस्ता हुँदैनन्। तिनीहरू शैतानी स्वभावअनुसार जिउँछन्, आफ्‍नो भ्रष्टता प्रकट गर्छन्, तैपनि यस्तो व्यवहार गर्ने क्रममा तिनीहरू अरूले आफूविरुद्ध प्रयोग गर्ने केही कुरा भेट्लान् कि भन्‍ने डर मान्छन्। त्यसकारण, प्रतिक्रियास्वरूप तिनीहरूले छलछाम र जालझेल प्रयोग गर्छन्। तिनीहरूलाई सबै कुरा खुलासा हुने समय आउला भन्‍ने डर लाग्छ, त्यसकारण हर उपाय लगाउँदै तिनीहरू झूटहरू बोल्ने र ढाकछोप गर्ने गर्छन्, र कुनै अन्तराल देखा पर्‍यो भने, यसलाई भर्न थप झूट बोल्छन्। सधैँ झूट बोल्नु र आफ्‍ना झूटहरू ढाकछोप गर्नु—के यो जिउने थकाइलाग्दो तरिका होइन र? तिनीहरू झूटहरू रच्‍न र आफूलाई ढाकछोप गर्न सधैँ दिमाग खियाइरहेका हुन्छन्। यस्तो गर्नु अत्यन्तै बोझिलो हुन्छ। त्यसैले, झूटहरू रच्दै र आफैलाई ढाकछोप गर्दै दिन बिताउने छली मानिसहरूको जीवन यस्तो थकाइलाग्दो र पीडादायी हुन्छ! तर इमानदार मानिसहरूको अवस्था फरक हुन्छ। इमानदार व्यक्तिको रूपमा, आफूले बोल्‍ने र व्यवहार गर्ने विषयमा मान्छेले धेरै विचार गर्नु पर्दैन। धेरैजसो अवस्थामा, इमानदार व्यक्तिले साँचो कुरा बोल्‍न सक्छ। कुनै खास मामलाले तिनीहरूको हितमा असर गर्ने भयो भने मात्रै तिनीहरूले अलिक बढी दिमाग खियाउँछन्—तिनीहरूले आफ्‍ना हितहरू रक्षा गर्न, आफ्‍नो आडम्बर र गौरव कायम गर्न थोरै झूट बोल्‍न सक्छन्। यस्ता झूटहरू सीमित हुन्छन्, त्यसकारण इमानदार मानिसहरूको बोलाइ र व्यवहार गराइ त्यति थकाइलाग्दो हुँदैन। छली मानिसहरूका अभिप्रायहरू इमानदार मानिसहरूका भन्दा धेरै जटिल हुन्छन्। तिनीहरूले धेरै कुराहरूबारे विचार गर्नुपर्ने हुन्छ: तिनीहरूले आफ्‍नो प्रतिष्ठा, मर्यादा, नाफा, र हैसियतबारे सोच्‍नुपर्ने हुन्छ; अनि तिनीहरूले आफ्‍ना हितहरू रक्षा गर्नुपर्ने हुन्छ—यो सबै अरूसामु आफ्नो कुनै कमीकमजोरी नदेखाई वा आफ्नो खेल के हो त्यो प्रकट नगरी गर्नुपर्ने हुन्छ, त्यसकारण तिनीहरूले झूटहरू रच्‍न आफ्‍नो दिमाग खियाउनुपर्छ। यसको साथै, छली मानिसहरूसँग ठूलाठूला, अनावश्यक इच्छाहरू र धेरै मागहरू हुन्छन्। तिनीहरूले आफ्‍ना लक्ष्यहरू हासिल गर्ने उपायहरू सोच्‍नुपर्छ, त्यसकारण तिनीहरूले झूट बोल्‍ने र धोका दिने कार्यलाई जारी राख्‍नुपर्छ, अनि अझ धेरै झूट बोल्‍दै जाँदा, तिनीहरूले थप झूटहरू ढाकछोप गर्नुपर्ने हुन्छ। त्यसकारण छली व्यक्तिको जीवन इमानदार व्यक्तिको भन्दा निकै थकाइलाग्दो र पीडादायी हुन्छ। कतिपय मानिसहरू तुलनात्मक रूपले इमानदार हुन्छन्। यदि तिनीहरूले सत्यता पछ्याउन, आफूले जुनसुकै झूट बोले पनि आफ्‍नो बारेमा मनन गर्न, आफूले गरेको छल जेसुकै भए पनि त्यसलाई पहिचान गर्न, त्यसलाई परमेश्‍वरका वचनहरूअनुसार हेर्दै चिरफार गर्न र बुझ्‍न, र त्यसलाई परिवर्तन गर्न सक्छन् भने, तिनीहरूले केही वर्षको अवधिमै आफ्‍ना झूट र छलहरूमध्ये धेरैबाट आफूलाई मुक्त गर्न सक्‍नेछन्। त्यसपछि तिनीहरू आधारभूत रूपमै इमानदार व्यक्ति बनिसकेका हुनेछन्। यसरी जिउँदा यसले तिनीहरूलाई धेरै पीडा र थकाइबाट मुक्त मात्रै गर्नेछैन, तिनीहरूलाई शान्ति र खुसी पनि दिनेछ। धेरै मामलाहरूमा, तिनीहरू प्रसिद्धि, लाभ, हैसियत, आडम्बर र स्वाभिमानका बन्धनहरूबाट मुक्त हुनेछन्, र स्वाभाविक रूपमै स्वतन्त्र र मुक्त भएर जिउनेछन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

परमेश्‍वरले मानिसहरूलाई इमानदार हुनू भनेर भन्‍नुभएको कुराले प्रमाणित गर्छ कि उहाँले छली मानिसहरूलाई साँच्‍चै घृणा गर्नुहुन्छ, र तिनीहरूलाई मन पराउनुहुन्‍न। छली मानिसहरूप्रतिको परमेश्‍वरको घृणा तिनीहरूको काम गर्ने तरिका, तिनीहरूको स्वभाव, तिनीहरूको मनसाय, र तिनीहरूको छलकपटका विधिहरूप्रतिको घृणा हो; परमेश्‍वरले ती सबै कुरालाई घृणा गर्नुहुन्छ। यदि छली मानिसहरूले सत्यता स्वीकार गर्न, आफूमा छली स्वभाव छ भनेर मान्‍न, र परमेश्‍वरको मुक्ति स्विकार्न इच्‍छुक हुन्छन् भने, तिनीहरूसँग पनि मुक्ति पाउने आशा हुन्छ—किनभने सत्यताले जस्तै परमेश्‍वरले पनि सबै मानिसहरूलाई समान रूपमा लिनुहुन्छ। त्यसकारण, यदि हामी परमेश्‍वरलाई खुसी पार्ने व्यक्ति बन्‍न चाहन्छौँ भने, हामीले पहिले हाम्रो चालढालसम्बन्धी सिद्धान्तहरूलाई परिवर्तन गर्नुपर्छ: हामी अबउप्रान्त शैतानी दर्शनहरूअनुसार जिउनु हुँदैन, हामी झूट र छलकपटको आधारमा अघि बढ्नु हुँदैन। हामीले हाम्रा सबै झूटलाई फालेर इमानदार व्यक्ति बन्‍नुपर्छ। अनि, हामीप्रतिको परमेश्‍वरको दृष्टिकोण परिवर्तन हुनेछ। यसभन्दा पहिले, अरू मानिसहरूमाझ जिउन मानिसहरूले सधैँ झूट, बहाना, र छलकपटमा भर पर्दै आए, र शैतानी दर्शनहरूलाई आफ्नो अस्तित्वको आधार, जीवन, र आफ्‍नो चालढालको जगको रूपमा प्रयोग गरे। यो परमेश्‍वरले घृणा गर्नुहुने कुरा थियो। अविश्‍वासीहरूमाझ, यदि तैँले खुलस्त भई कुरा गर्छस्, सत्य बोल्छस्, र इमानदार व्यक्ति बन्छस् भने, तँलाई निन्दा, आलोचना, र त्याग गरिनेछ। त्यसकारण, तँ सांसारिक प्रचलनहरू पछ्याउँछस्, र शैतानी दर्शनहरूअनुसार जिउँछस्; तँ झन्झन्‌ झूट बोल्‍न सिपालु, र झन्झन्‌ छली बन्दै जान्छस्। तैँले आफ्‍ना उद्देश्यहरू हासिल गर्न र आफैलाई रक्षा गर्न धूर्त माध्यमहरूसमेत प्रयोग गर्छस्। तँ शैतानको संसारमा झन्झन्‌ सम्‍पन्‍न हुँदै जान्छस्, र फलस्वरूप, तँ पापको दलदलमा झन्झन्‌ फस्दै जान्छस्, र आफूलाई मुक्त गर्नै नसक्‍ने अवस्थामा पुग्छस्। परमेश्‍वरको घरमा, ठीक विपरीत अवस्था हुन्छ। तैँले जति झूट बोल्छस् र जति छली खेल खेल्छस्, परमेश्‍वरका चुनिएका मानिसहरू तँप्रति त्यति नै दिक्‍क हुनेछन् र तिनीहरूले तँलाई त्याग्‍नेछन्। यदि तैँले पश्‍चात्ताप गर्न इन्कार गरिस् र अझै पनि शैतानी दर्शन र तर्कहरूमा लागिरहिस् भने, यदि तैँले वास्तविक रूप लुकाउन र आफूलाई राम्रो देखाउन जालझेल र व्यापक युक्तिहरू प्रयोग गरिरहिस् भने, तँ खुलासा भएर हटाइने सम्‍भावना धेरै हुन्छ। यस्तो किन हुन्छ भने परमेश्‍वरले छली मानिसहरूलाई घृणा गर्नुहुन्छ। इमानदार मानिसहरू मात्रै परमेश्‍वरको घरमा फस्टाउन सक्छन्, र छली मानिसहरूलाई अन्त्यमा त्याग र निष्कासन गरिनेछ। यो सबै कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको छ। इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा सहभागी हुन सक्छन्। यदि तँ इमानदार व्यक्ति बन्‍ने प्रयास गर्दैनस् भने, यदि तँ सत्यता पछ्याउने दिशामा अनुभव र अभ्यास गर्दैनस् भने, र यदि तैँले आफ्नो कुरूपता खुलासा गर्दैनस् भने, र यदि तैँले आफूलाई उदाङ्गो पार्दैनस् भने, तैँले कहिल्यै पनि पवित्र आत्माको कार्य वा परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैनस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

मानिसहरू इमानदार बन्‍नुपर्छ भनेर परमेश्‍वरले किन सधैँ जोड दिनुहुन्छ? किनभने इमानदार बन्‍नु अत्यन्तै महत्त्वपूर्ण छ—यो कुरा व्यक्ति परमेश्‍वरमा समर्पित हुन सक्छ कि सक्दैन वा उसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरासँग सोझै सम्‍बन्धित हुन्छ। कतिपय मानिसहरू यसो भन्छन्: “म अहङ्कारी र आत्मधर्मी छु, र म चाँडै रिसाउँछु र म प्रायजसो भ्रष्टता प्रकट गरिरहन्छु।” अरूहरू भन्छन्, “म सतही र आडम्बरी छु, र म अरूले मलाई प्रशंसा गरेको मन पराउँछु।” यी सबै नै मानिसहरूले बाहिरबाट देख्‍न सक्‍ने कुराहरू हुन्, र यी कुराहरू ठूला समस्याहरू होइनन्। तैँले सधैँ यी कुराहरूबारे धेरै बोलिरहनु हुँदैन। तेरो स्वभाव वा चरित्र जे-जस्तो भए पनि, तँ परमेश्‍वरले आवश्यक गर्नुभएजस्तै इमानदार व्यक्ति बन्‍न सक्छस् भने, तैँले मुक्ति पाउन सक्छस्। त्यसकारण, तिमीहरू के भन्छौ? के इमानदार बन्‍नु महत्त्वपूर्ण छ त? यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो, त्यसकारण उहाँका वचनहरूको तीन अर्तीहरू भन्‍ने खण्डमा परमेश्‍वरले इमानदार बन्‍नेबारेमा बताउनुभएको छ। अरू अध्यायमा, उहाँले विश्‍वासीहरूमा सामान्य आत्मिक जीवन र उचित मण्डली जीवन हुनुपर्छ भनेर बारम्‍बार उल्‍लेख गर्नुभएको छ, र तिनीहरूले सामान्य मानवतामा कसरी जिउनुपर्छ भनेर वर्णन गर्नुभएको छ। यी विषयहरूमा उहाँका वचनहरू आम किसिमका छन्; तिनका बारेमा विशेष रूपमा वा अत्यन्तै विस्तृत रूपमा छलफल गरिएको छैन। तर जब परमेश्‍वरले इमानदार बन्‍ने बारेमा बोल्दा उहाँले मानिसहरूलाई पछ्याउने मार्ग देखाउनुहुन्छ। उहाँले मानिसहरूलाई कसरी अभ्यास गर्ने भनेर बताउनुहुन्छ, र उहाँ पर्‍याप्त विवरण र स्पष्टताको साथमा बोल्‍नुहुन्छ। परमेश्‍वर भन्‍नुहुन्छ, “यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नको लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने व्यक्ति होस्।” इमानदार बन्‍ने कार्य मुक्ति प्राप्त गर्नुसँग सम्‍बन्धित छ। त्यसैले तिमीहरू के भन्छौ, परमेश्‍वरले किन मानिसहरू इमानदार बन्‍नुपर्छ भनेर भन्‍नुहुन्छ? यो विषयले मानव चालढालको सत्यतालाई छुन्छ। परमेश्‍वरले इमानदार मानिसहरूलाई मुक्ति दिनुहुन्छ, र उहाँले उहाँको राज्यको लागि चाहनुहुने व्यक्तिहरू पनि इमानदार मानिसहरू नै हुन्। यदि तँ झूट बोल्‍न र जालझेल गर्न सक्छस् भने, तँ छली, कुटिल, र कपटी व्यक्ति होस्; तँ इमानदार व्यक्ति होइनस्। यदि तँ इमानदार व्यक्ति होइनस् भने, परमेश्‍वरले तँलाई कुनै पनि हालतमा मुक्ति दिनुहुनेछैन, न त तैँले मुक्ति पाउने सम्‍भावना नै हुन्छ। तँ अहिले आफू अत्यन्तै भक्त छु, अहङ्कारी वा आत्मधर्मी छैन, कर्तव्य निभाउँदा आफूले राम्ररी मूल्य चुकाउन सक्छु, वा सुसमाचार प्रचार गरेर धेरै मानिसहरूलाई विश्‍वासी बनाउन सक्छु भनी भन्छस्। तर तँ इमानदार छैनस्, तँ अझै पनि छली छस्, र तँ परिवर्तन भएकै छैनस्, अनि के तैँले मुक्ति पाउन सक्छस् त? (अवश्य सक्दिनँ।) त्यसकारण, परमेश्‍वरका यी वचनहरूले प्रत्येकलाई यो स्मरण गराउँछन् कि तिनीहरूले मुक्ति पाउनलाई सबभन्दा पहिले तिनीहरू परमेश्‍वरका वचनहरू र मापदण्डहरूअनुसार इमानदार बन्‍नुपर्छ। तिनीहरूले खुलेर कुरा गर्नुपर्छ, आफ्ना भ्रष्ट स्वभावहरू, र आफ्ना मनसाय र रहस्यहरू उदाङ्गो पार्नुपर्छ, र ज्योतिको मार्ग खोजी गर्नुपर्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

सम्बन्धित भजनहरू

ईमानदारहरूलाई परमेश्‍वरले आशिष्‌ दिनुहुन्छ

अघिल्लो: २८. मुक्तिले केलाई जनाउँछ

अर्को: ३०. मुक्ति पाउन किन इमानदार व्यक्ति बन्नैपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्