२६. स्वभाव परिवर्तन भनेको के हो

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

स्वभाव परिवर्तन भनेको परमेश्वरका विश्वासीहरूका लागि मुख्य दर्शन हो। स्वभाव परिवर्तन गर्नु सजिलो कुरा होइन। किनभने परमेश्वरले मुक्ति दिने भनेको भर्खरै सृष्टि गरिएका र शैतानद्वारा भ्रष्ट नतुल्याइएका मानवजातिलाई होइन, तर त्यसद्वारा गहिरोसित भ्रष्ट तुल्याइएका, शैतानी विष र शैतानी स्वभावहरूले भरिएका, शैतानजस्तै अनि परमेश्वरविरुद्ध प्रतिरोध र विद्रोह गर्ने मानवजातिको समूहलाई हो। व्यक्तिको भ्रष्ट स्वभाव परिवर्तन गर्नु भनेको क्यान्सर लागेको व्यक्तिलाई उपचार गर्नुजस्तै हो। यो जटिल प्रक्रिया हो, होइन र? यसका लागि शल्यक्रिया, लामो समयसम्म किमोथेरापी, र केही समयपछि फेरि जाँच गर्नु आवश्यक पर्छ। यो प्रक्रिया साँच्चै जटिल हुन्छ। त्यसकारण, स्वभाव परिवर्तनलाई सजिलो कुरा नठान्। यो त मानिसले कल्पना गरेको व्यवहार वा चरित्र परिवर्तन होइन। मानिसले चाह्यो भन्दैमा हासिल हुने कुरा यो होइन। स्वभाव परिवर्तनमा धेरै प्रक्रियाहरू—परमेश्वरको वचनमा एकदमै प्रस्टसित व्याख्या गरिएका प्रक्रियाहरू सामेल छन्। त्यसकारण, तैँले परमेश्वरमा विश्वास गरेको पहिलो दिनदेखि नै, परमेश्वरले मानिसहरूलाई मुक्ति दिने तरिका र तिनीहरूलाई मुक्ति दिएर हासिल गर्न चाहने परिणाम बुझ्नैपर्छ। यदि तँ सत्यता पछ्याउन र स्वभाव परिवर्तन गर्न चाहन्छस् भने, तैँले परमेश्वरप्रतिको विश्वासबारे तेरा गलत दृष्टिकोणहरूलाई परिवर्तन गर्नैपर्छ। परमेश्वरमा विश्वास गर्नका लागि सुशील, असल व्यक्ति, वा कानुन पालक हुनु, वा अरूको अनुमोदन प्राप्त हुने थुप्रै असल कार्य गर्नु पर्दैन। विगतमा, मानिसहरू परमेश्वरमा विश्वास गर्नु र स्वभाव परिवर्तनको पछि लाग्नु भनेको मान्छे खुसी पारिहिँड्ने हुनु—बाहिरी रूपमा केही मानव स्वरूप, केही संस्कार, केही धैर्य, अथवा अरू मानिसप्रति केही सतही दया र प्रेम हुनु, अरूलाई मद्दत गर्नु र भिक्षा दिनु हो भन्ने सोच्थे। अर्को शब्दमा भन्नुपर्दा, मानव धारणा र कल्पनाहरूमा असल ठानिने व्यक्ति हुनु हो भन्ने सोच्थे। सबैको हृदयमा त्यस्ता धारणा र कुरा हुन्छन्—यो शैतानी विषहरूको एउटा पक्ष हो। विगतमा, परमेश्वरमा विश्वास गर्ने कसैले पनि स्वभाव परिवर्तनको विषयलाई प्रस्ट रूपले व्याख्या गर्न सक्थेन। तिनीहरूलाई आस्थाको मामिलाबारे थाहा थिएन—त्यो तिनीहरूले जन्मजात बुझेको, वा इसाई धर्ममा केही वर्ष विश्वास गरेपछि बुझ्न सकेको कुरा थिएन। किनभने परमेश्वरले त्यत्तिञ्जेल उहाँको कामको यो पक्ष निर्वाह गर्नुभएको थिएन, न त सत्यताको यो पक्षबारे बताउनुभएको नै थियो। त्यसैले गर्दा धैरै मानिसहरू आफ्नो धारणा र कल्पनाको आधारमा आस्थालाई आफ्नो सतही व्यवहार र अभ्यासहरूलाई केही परिवर्तन गर्ने अनि आफ्ना केही प्रस्ट गलत दृष्टिकोणहरू परिवर्तन गर्ने विषय ठान्थे। कतिपयले त आस्था राख्नु भनेको ठूल्ठूला कठिनाइहरू सहनु, राम्रो खानेकुरा नखानु, वा फेन्सी कपडा नलगाउनु हो भनेरसमेत विश्वास गर्थे। जस्तै, विगतमा पश्चिमा देशका क्याथोलिक ननहरू परमेश्वरप्रतिको आस्था भनेको अझ बढी कठिनाइहरू सहनु र जीवनमा कम मात्रामा राम्रा कुराहरूको आनन्द लिनु—आफूसँग पैसा हुँदा गरिबलाई दिनु, वा थप असल कार्यहरू गर्नु र अरूलाई मद्दत गर्नु मात्र हो भन्ने विश्वास गर्थे। तिनीहरूले आफ्नो जीवनभरि कष्ट भोग्नुलाईजोड दिए। तिनीहरूले कुनै राम्रो खानेकुरा खाएनन्; तिनीहरूले कुनै राम्रा कपडा लाएनन्। तिनीहरूको मृत्यु हुँदा, तिनीहरूको कपडाको मोल केही डलर मात्र थियो। तिनीहरूका कार्यहरूबारे संसारभरि समाचारमा दिइएको हुन सक्ला। यसको मतलब के हो? यसको मतलब हो, मानिसहरूको मनमा, यस्ता मानिसहरू मात्र असल र सद्गुणी हुन्; धार्मिक संसारले यी मानिसहरूले मात्र असल कुरा र असल कार्य गरेका छन्, तिनीहरू मात्र रूपान्तरित भएका छन् र तिनीहरूमा मात्र साँच्चै दृढ विश्वास छ भन्ठान्छन्। त्यसैले, तिमीहरू सबै अपवाद होइनौ होला, सायद तिमीहरू पनि विश्वास परमेश्वरप्रतिको आस्था भनेको असल व्यक्ति—अरूलाई नहिर्काउने वा बेइज्जत नगर्ने, नराम्रो भाषा प्रयोग नगर्ने वा खराब काम नगर्ने, बाहिरी रूपमा मानिसहरूले परमेश्वरको विश्वासीको रूपमा हेर्न सक्ने र परमेश्वरको महिमा गर्न सक्ने व्यक्ति बन्नु हो भनेर विश्वास गर्छौ। यो त भर्खरै परमेश्वरमा विश्वास गर्न थालेकाहरूमा हुने मानसिक स्थिति हो। तिनीहरू स्वभाव परिवर्तन यही हो, र परमेश्वरलाई मन पर्ने व्यक्ति यस्तै हो भनी विश्वास गर्छन्। के यो दृष्टिकोण सही हो? भर्खरै आस्थामा लागेकाहरूमा मात्र यस्ता सिधासाधा सोच हुन्छ। व्यक्तिले केही सत्यता बुझिसकेपछि यस्ता सोचाइहरू तुरुन्तै हराउनेछन्। पहिले तेरो हृदयमा यो दृष्टिकोणले जति नै गहिरो जरा गाढेको भए पनि, तिमीहरूले अझै त्यसका त्रुटि र विचलनहरू उदाङ्गो पारेका छैनौ। तैँले परमेश्वरमा जति नै वर्ष विश्वास गरेको भए पनि, यी गलत दृष्टिकोणहरू पूर्णतया हटाइएको छैन। यसबाट के प्रस्ट हुन्छ भने स्वभाव परिवर्तन भनेको के हो भनी थोरै मानिसले मात्र साँच्चै बुझ्छन्, न त तिनीहरू परमेश्वरमा साँच्चै विश्वास गर्नुको अर्थ के हो, कसरी वास्तविक व्यक्ति बन्ने, परमेश्वरलाई कस्तो व्यक्ति मन पर्छ, वा परमेश्वर कस्तो व्यक्तिलाई स्वीकार्य ठान्नुहुन्छ, र परमेश्वर कस्तो व्यक्ति प्राप्त गर्न चाहनुहुन्छ भन्ने कुरा नै बुझ्छन्। यदि तँ यी कुराहरू बुझ्दैनस् भने, त्यसबाट तैँले साँचो मार्गमा बलियो जग बसालेको छैनस् भन्ने देखिन्छ। ती मानव धारणा, कल्पना, र व्यक्तिगत सोचहरू अझै पनि तेरो सोचाइ र दृष्टिकोणमा हाबी हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग

स्वभावमा हुने रूपान्तरण भनेको के हो? जब सत्यतालाई प्रेम गर्ने कुनै व्यक्तिले परमेश्‍वरको कामको अनुभव गर्दै उहाँका वचनहरूको न्याय र सजाय स्वीकार गर्छ अनि सबै प्रकारका कष्ट र शोधन भोग्छ, तब यस्तो हुने गर्छ। यस्तो व्यक्तिको भित्री शैतानी विषहरू पखालिन्छ अनि उसले आफ्ना भ्रष्ट स्वभावहरू पूर्ण रूपमा फालिदिन्छ ताकि ऊ कहिल्यै पनि परमेश्‍वरविरुद्ध विद्रोह नगर्न वा उहाँको विरोध नगर्नको लागि परमेश्‍वरका वचनहरू र उहाँका सबै योजनाहरू र व्यवस्थापनहरूमा समर्पित हुन सकोस्। स्वभावमा हुने रूपान्तरण यही हो। … स्वभावमा हुने रूपान्तरण भनेको सत्यतालाई प्रेम र स्वीकार गर्ने व्यक्तिले अन्ततः परमेश्‍वरसित विद्रोह गर्ने र परमेश्‍वरविरुद्ध रहेको आफ्नो प्रकृति चिन्‍नु हो। उसले मानिसहरू अति गहन रूपमा भ्रष्ट पारिएका छन् भनेर बुझ्छ, र उसले मानवजातिको निरर्थकता र छलीपन, अनि मानवजातिको दरिद्रता र दयनीय अवस्था पनि बुझ्छ, अनि आखिरमा उसले मानवजातिको प्रकृति सार पनि बुझ्‍न पुग्छ। यी सबै कुरा जानेर, ऊ आफूलाई पूर्ण रूपमा इन्कार्न र आफैविरुद्ध विद्रोह गर्न, परमेश्‍वरका वचनहरूद्वारा जिउन, र हरेक कुरामा सत्यता अभ्यास गर्न सक्षम हुन्छ। ऊ त्यो व्यक्ति हो जसले परमेश्‍वरलाई चिन्छ र जसको स्वभाव रूपान्तरित भएको छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

स्वभाव परिवर्तन भनेको व्यवहार वा व्यक्तित्वमा हुने परिवर्तन होइन, झन् मानिस अझ बढी ज्ञानी वा विद्वान बन्ने परिवर्तन त हुँदै होइन; परमेश्वर आफ्नो वचनमार्फत् हर व्यक्तिको सोच र दृष्टिकोण परिवर्तन गर्न, र तिनीहरूलाई सत्यता बुझ्न सक्षम पार्न चाहनुहुन्छ, ताकि तिनीहरूले कामकुरालाई हेर्ने तरिकामा रूपान्तरण गर्न सकून्। यो एउटा पक्ष मात्र हो, अर्को पक्ष भनेको मानिसहरूले आफूलाई कसरी व्यवहारमा ढाल्छन् भन्नेबारे आधारभूत सिद्धान्तहरू परिवर्तन गर्नु हो, जुन जीवनप्रति तिनीहरूको दृष्टिकोणमा हुने परिवर्तन हो; अझै अर्को पक्षचाहिँ मानिसहरूमा प्रकट हुने गहिरो जरा गाढेको शैतानी प्रकृति र स्वभावलाई परिवर्तन गर्नु हो। सामान्यतया, स्वभाव परिवर्तनमा यी तीन पक्ष पर्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग

स्वभावमा हुने रूपान्तरणले व्यक्तिको प्रकृतिको रूपान्तरणलाई जनाउँछ। व्यक्तिको प्रकृतिका कुराहरू बाहिरी व्यवहारबाट अनुभूत गर्न सकिँदैन। ती कुराहरू सीधै उसको अस्तित्वको मूल्य र महत्त्वसँग र जीवनसम्‍बन्धी उसको दृष्टिकोण र उसका मूल्य-मान्यताहरूसँग सम्बन्धित हुन्छन्, अनि ती कुराहरूमा उसका प्राणका गहिराइहरूमा रहेका कुराहरू र उसको सार समावेश हुन्छन्। यदि व्यक्तिले सत्यता स्विकार्न सक्दैन भने, यी पक्षहरूको सन्दर्भमा ऊ कहिल्यै रूपान्तरित हुनेछैन। परमेश्‍वरको कार्य अनुभव गरेर, सत्यमा पूर्ण रूपमा प्रवेश गरेर, अस्तित्व र जीवनसम्‍बन्धी आफ्‍ना मान्यता र विचारहरू परिवर्तन गरेर, विविध कुराहरूप्रतिको आफ्‍नो दृष्टिकोणलाई परमेश्‍वरको वचनसँग मिल्‍दो तुल्याएर, अनि पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित र इमानदार हुन योग्य भएर मात्र, उसको स्वभाव रूपान्तरण भएको छ भनेर भन्‍न सकिन्छ। अहिले, तैँले केही प्रयास गरेकोजस्तो देखिन सक्छ, र कर्तव्य निभाउँदा कठिनाइ आइपरे तँ लचकदार हुन सक्छस्, तैँले माथिबाट प्राप्त कामका प्रबन्धहरूलाई अगि बढाउन सक्छस्, वा तँलाई जहाँ जान भनिए पनि तँ त्यहाँ जान सक्छस्। बाहिरी रूपमा, तँ अलि आज्ञाकारी छस् भन्‍ने देखिन्छ होला, तर तेरो धारणासँग नमिल्ने केही कुरा आइपर्दा, तेरो विद्रोहीपन प्रकट हुन्छ। उदाहरणको लागि, तँ काटछाँट हुन मान्दैनस्, र विपद्‌ आइपर्दा त झन् तँ अझ कम समर्पित बन्छस्; तैँले आफूभित्रैबाट परमेश्‍वरबारे गुनासोसमेत गर्छस्। त्यसैले, त्यो सानो समर्पण र बाह्य परिवर्तन भनेको व्यवहारमा आउने सानो परिवर्तन मात्र हो। यसमा अलिअलि परिवर्तन त आएको हुन्छ, तर यो तेरो स्वभाव रूपान्तरणको रूपमा गणना हुनको लागि पर्याप्त हुँदैन। तँ धेरै बाटाहरूमा दगुर्न सक्छस्, धेरै कठिनाइ भोग्‍न सक्छस्, र ठूलो अपमान सहन सक्छस्; तैँले परमेश्‍वरको अत्यन्तै नजिक भएको महसुस गर्न सक्छस् र पवित्र आत्माले तँमा केही काम गर्न सक्‍नुहुन्छ। तापनि, जब परमेश्‍वरले तेरा धारणाहरूसँग नमिल्ने केही गर्न लगाउनुहुन्छ, तँ अझै पनि समर्पित हुन सक्दैनस्, बरु बहानाहरू बनाउन खोज्छस्, परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गर्छस् र गम्भीर परिस्थितिहरूमा त, उहाँमाथि सवाल खडा गर्दै उहाँविरुद्ध लड्छस्। यो एउटा गम्भीर समस्या हुनेछ! यसले तँमा अझै पनि परमेश्‍वरको प्रतिरोध गर्ने प्रकृति छ, तैँले साँचो रूपमा सत्यता बुझ्दैनस्, र तेरो जीवन स्वभावमा बिलकुलै परिवर्तन आएको छैन भन्‍ने देखाउनेछ। आफूलाई बर्खास्त गरिएपछि वा हटाइएपछि पनि केही मानिसहरूले परमेश्‍वरको आलोचना गर्छन् र उहाँ धर्मी हुनुहुन्‍न भन्छन्। तिनीहरू परमेश्‍वरसँग विवाद र झगडा गर्छन्, र तिनीहरू जहाँ गए पनि परमेश्‍वरबारे आफ्नो धारणा र उहाँप्रति असन्तुष्टि फैलाउँछन्। यस्ता मानिसहरू परमेश्‍वरको विरोध गर्ने दियाबलस हुन्। दियाबलसको प्रकृति भएका मानिस कहिल्यै परिवर्तन हुँदैनन् र तिनीहरूलाई त्यागिनुपर्छ। जुनसुकै परिस्थितिमा सत्यता खोज्न र स्विकार्न सक्‍ने, र परमेश्‍वरको काममा समर्पित हुनेहरूले मात्र सत्यता प्राप्त गर्ने र स्वभाव परिवर्तन हासिल गर्ने आशा हुन्छ। तैँले आफ्ना अनुभवहरूमा बाहिरी रूपमा सामान्य लाग्‍ने स्थितिहरू खुट्याउन सिक्‍नुपर्छ। प्रार्थना गर्दा तैँले सुक्सुक्याउन र रुन सक्छस्, वा तेरो हृदयले परमेश्‍वरलाई अति प्रेम गर्ने गरेको र तेरो हृदय परमेश्‍वरसँग अति निकट रहेको महसुस गर्न सक्छस्, तैपनि यी स्थितिहरू पवित्र आत्माका काम मात्र हुन् र यो कुराले तँ परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति होस् भन्‍ने जनाउँदैन। यदि पवित्र आत्माले काम नगर्नुहुँदा पनि, र परमेश्‍वरले तेरो धारणासँग नमिल्ने कुराहरू गर्नुहुँदा पनि, तैँले परमेश्‍वरलाई प्रेम गर्न र उहाँमा समर्पित हुन सक्छस् भने मात्र तँ परमेश्‍वरलाई साँच्‍चिकै प्रेम गर्ने व्यक्ति होस्। तब मात्र तँ जीवन स्वभाव परिवर्तन भएको व्यक्ति हुन्छस्। यस्तो व्यक्तिमा मात्र सत्यता वास्तविकताहरू हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ

यदि व्यक्तिको जीवन स्वभाव परिवर्तन भएको छ भने, जीवनसम्‍बन्धी उसको दृष्टिकोण पनि निश्‍चित रूपमा नै परिवर्तन भएको छ। उसँग अब फरक मूल्य-मान्यताहरू भएको हुनाले, ऊफेरि कहिल्यै पनि आफ्‍नो लागि जिउनेछैन, र उसले फेरि कहिल्यै पनि आशिष्‌हरू प्राप्त गर्ने उद्देश्‍यले परमेश्‍वरमा विश्‍वास गर्नेछैन। त्यस्तो व्यक्तिले यसो भन्‍न सक्‍नेछ, “परमेश्‍वरलाई चिन्नु निकै सार्थक हुन्छ। यदि म परमेश्‍वरलाई चिनेर मरेँ भने, त्यो अत्ति राम्रो हुनेछ। यदि म परमेश्‍वरलाई चिन्‍न र उहाँमा समर्पित हुन अनि अर्थपूर्ण जीवन जिउन सक्छु भने, मैले व्यर्थमा जिएको हुनेछैन, न त म कुनै पछुतोहरू लिएर नै मर्नेछु; मसँग कुनै गुनासो हुनेछैन।” यो व्यक्तिको जीवनसम्‍बन्धी दृष्टिकोण रूपान्तरीत भएको छ। व्यक्तिको जीवन स्वभावमा परिवर्तन आउनुको मुख्य कारण भनेको ऊभित्र सत्यता वास्तविकता भएको, उसले सत्यता प्राप्त गरेको र उसँग परमेश्‍वरबारे ज्ञान भएको कारण हो; त्यसरी जीवनसम्‍बन्धी उसको दृष्टिकोण परिवर्तन हुन्छ, र उसका मूल्य-मान्यताहरू पहिलेका भन्दा फरक हुन्छन्। रूपान्तरण व्यक्तिको हृदयभित्र बाट, र उसको जीवनभित्र बाट सुरु हुन्छ; यो बाहिरी परिवर्तन पक्कै पनि होइन। कतिपय नयाँ विश्‍वासीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि बाहिरी संसारलाई छोड्छन्। जब पछि तिनीहरूले अविश्‍वासीहरूलाई भेट्छन्, यी विश्‍वासीहरूसँग भन्‍नुपर्ने कुरा केही पनि हुँदैन, र तिनीहरूले आफ्‍ना अविश्‍वासी आफन्त र इष्टमित्रलाई बिरलै सम्पर्क गर्छन्। अविश्‍वासीहरू भन्छन्, “यो व्यक्ति परिवर्तन भएको छ।” त्यसपछि विश्‍वासीहरूले यस्तो सोच्छन्, “मेरो जीवन स्वभाव साँच्‍चै नै रूपान्तरित भएको छ; यी अविश्‍वासीहरूले म परिवर्तन भएको छु भनेर भनिरहेका छन्।” के यस्तो व्यक्तिको स्वभाव वास्तवमै रूपान्तरण भएको हुन्छ र? अहँ, भएको हुँदैन। उसले जे प्रकट गर्छ ती बाहिरी परिवर्तनहरू मात्रै हुन्। उसको जीवनमा कुनै वास्तविक परिवर्तन भएको हुँदैन, र उसको शैतानी प्रकृति उसको हृदयभित्रै जरा गाडेर, पूर्ण रूपमा जस्ताको त्यस्तै बसिरहेको हुन्छ। कहिलेकहीँ, मानिसहरू पवित्र आत्‍माको कार्यको कारण जोशले भरिपूर्ण हुन्छन्; केही बाहिरी परिवर्तनहरू देखा पर्न सक्छन्, अनि तिनीहरूले केही असल कार्य गर्न सक्छन्। तैपनि, यो स्वभाव रूपान्तरण हासिल गर्नु जस्तै होइन। यदि तँसँग सत्यता छैन र कामकुराहरूसम्‍बन्धी तेरो दृष्टिकोण परिवर्तन भएको छैन, यहाँसम्‍म कि त्यो अविश्‍वासीहरूको भन्दा पनि फरक छैन भने, र यदि जीवनसम्‍बन्धी तेरो दृष्टिकोण र मुल्य-मान्यताहरू परिवर्तन भएका छैनन् भने, र तँसँग परमेश्‍वरप्रति श्रद्धाभाव पनि छैन भने—जुन तँसँग कम्तीमा पनि हुनै पर्ने कुरा हो—तँ स्वभावमा परिवर्तन हासिल गरेको अवस्थाको अलिकति पनि नजिक पुगेको छैनस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

तैँले पहिले स्वभावमा परिवर्तन हुनु भनेको हतारमा कुरै नबुझी दोष दिइहाल्ने तिमीहरू परमेश्‍वरको अनुशासनमा परेपछि विचार नगरी बोल्न छाड्नु हो भनी बुझेको थिइस्; तर त्यो परिवर्तनको एउटा पक्ष मात्र हो। अहिले, सबैभन्दा महत्त्वपूर्ण कुरा पवित्र आत्माको मार्गनिर्देशनलाई पछ्याउनु हो: परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यो मान्‍नु र उहाँले जे भन्‍नुहुन्छ त्यसमा समर्पित हुनु हो। मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनि दुःखकष्ट र शोधन भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा अनुशासित र काटछाँट गरिनुपर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति समर्पणता र बफादारिता हासिल गर्न सक्छन्, र अबउप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुन्छ। उहाँका वचनहरूको खुलासा, न्याय, अनुशासन र काटछाँटद्वारा मात्र तिनीहरू अबउप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् र त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि परमेश्‍वरका वर्तमान वचनहरू र उहाँको काम मानिसहरूका धारणाहरूसँग मेल नखाए पनि तिनीहरू ती कुरामा समर्पित हुन सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्छ्याएर स्वेच्छाले समर्पित हुन सक्छन्। विगतमा, स्वभाव परिवर्तनको कुराले मुख्य रूपमा आफ्‍नो विरुद्धमा विद्रोह गर्न सक्‍ने हुनु, देहलाई दुःख भोग्‍न दिनु, आफ्नो शरीरलाई अनुशासनमा राख्‍नु, र आफैलाई शारीरिक अभिलाषाहरूबाट मुक्त गर्नु भन्‍ने कुरालाई बुझाउँथ्यो, जुन स्वभावमा आउने एक प्रकारको परिवर्तन हो। आज, स्वभाव परिवर्तनको साँचो अभिव्यक्ति परमेश्‍वरका वर्तमान वचनहरूमा समर्पित हुनु र उहाँको नयाँ कामलाई साँचो रूपमा जान्‍नु हो भन्‍ने कुरा सबैलाई थाहा छ। यस तरिकाले, मानिसहरूका आफ्‍नै धारणाहरूले रङ्गिएका परमेश्‍वरसम्‍बन्धी तिनीहरूको पहिलेको बुझाइलाई हटाउन सकिन्छ, र तिनीहरूले परमेश्‍वरको साँचो ज्ञान र उहाँप्रतिको समर्पणता हासिल गर्न सक्छन्—यही मात्र स्वभावमा हुने परिवर्तनको सच्‍चा अभिव्यक्ति हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

स्वभाव परिवर्तन धार्मिक अनुष्ठान वा नियमनको परिवर्तनमा निर्भर हुँदैन, झन् व्यक्तिको बाहिरी स्वरूप वा बाहिरी व्यवहार, चरित्र, वा स्वभावको परिवर्तनमा निर्भर हुनु त परको कुरा हो। यो सुस्त स्वभावलाई तीब्र स्वभावमा वा तीब्र स्वभावलाई सुस्त स्वभावमा रूपान्तरण गर्नु होइन, न त यो अन्तर्मुखीलाई बहिर्मुखीमा रूपान्तरण गर्नु, वा बोलक्कड व्यक्तिलाई अल्पभाषी व्यक्तिमा रूपान्तरण गर्नु नै हो। यो मार्ग होइन, यो परमेश्वरका मापदण्डहरूभन्दा एकदमै फरक छ, र असाध्यै टाढा छ! कसैले सुरुमा परमेश्वरमा विश्वास गर्न थाल्दा, उसले सत्यता नबुझ्ने हुनाले सधैँ आफ्नो धारणा र कल्पनाअनुसार कामकुरा गर्छ। फलस्वरूप, ऊ सही मार्गबाट तर्किन्छ, अनि कुनै वास्तविक कुरा हासिल नगरी आफ्नो कैयौँ वर्ष खेर फाल्छ। त्यस बेला, उसलाई परमेश्वरप्रतिको विश्वासमा सत्यता पछ्याउने मार्गमा हिँड्नुपर्छ भन्ने थाहा हुँदैन। यसले गर्दा ऊ वर्षौँसम्म गलत मोडहरूतिर लाग्छ, तब मात्र उसले परमेश्वरमा विश्वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्यता बुझ्नु र मुक्ति प्राप्त गर्न वास्तविकतामा प्रवेश गर्नु, अनि यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनी विश्वास गर्छ। त्यसपछि मात्र उसले, परमेश्वरले उल्लेख गर्ने स्वभाव परिवर्तनले बाहिरी व्यवहारको परिवर्तनलाई जनाउँदैन, बरु परमेश्वर मानिसहरूले आफूलाई र आफ्नो भ्रष्ट सारलाई चिनेको, प्रयत्न गरेको र मान्छेको प्रकृति सारलाई बुझ्नेसम्बन्धी जड कारण फेला पारेको, अनि आफ्नो भ्रष्ट स्वभाव हटाएको, सत्यता अभ्यास गरेको, अनि परमेश्वरको आज्ञापालन गर्न र उहाँको आराधना गर्न सकेको माग गर्दै हुनुहुन्छ भनेर बुझ्छ। आफ्नो स्वभाव परिवर्तन गर्नु भनेको यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग

व्यक्तिको स्वभावमा रूपान्तरण हुनु भनेको व्यवहारमा परिवर्तन हुनु होइन, न त यो बाहिरी परिवर्तनको स्वाङ हो, न जोसका कारण गरिएको अस्थायी परिवर्तन हो। यी परिवर्तनहरू जति नै असल भए पनि, तिनले जीवन स्वभावमा हुने परिवर्तनको ठाउँ लिन सक्दैनन्, किनभने यी बाहिरी परिवर्तनहरू व्यक्तिको आफ्नै प्रयासद्वारा हासिल गर्न सकिन्छ, तर जीवन स्वभावको परिवर्तन मानव प्रयासले मात्रै हासिल गर्न सकिँदैन। यसको लागि परमेश्‍वरको न्याय, सजाय, परीक्षा र शोधनका साथै पवित्र आत्‍माले दिनुहुने सिद्धताको अनुभव गर्नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले केही असल व्यवहार देखाउने भए पनि, तिनीहरूमध्ये एक जना पनि साँचो रूपमा परमेश्‍वरमा समर्पित हुँदैनन्, परमेश्‍वरलाई साँचो प्रेम गर्दैनन्, वा परमेश्‍वरको इच्‍छा पछ्याउन सक्दैनन्। यस्तो किन हुन्छ? किनभने यसको लागि जीवन स्वभावमा परिवर्तन ल्याउनु जरुरी छ, र व्यवहारमा मात्रै परिवर्तन ल्याउनु पर्याप्त हुँदैन। स्वभावमा परिवर्तन आउनुको अर्थ तैँले सत्यताको ज्ञान र अनुभव पाएको छस्, र सत्यता तेरो जीवन बनेको छ, यसले तँलाई निर्देशित गर्न, र तेरो जीवन र तेरो बारेका सबै कुरा अधीनमा राख्‍न सक्छ भन्‍ने हुन्छ। तेरो जीवन स्वभावमा आउने परिवर्तन यही हो। सत्यतालाई जीवनको रूपमा प्राप्त गरेका मानिसहरू मात्र स्वभाव परिवर्तन भएका मानिसहरू हुन्। विगतमा, तैँले कतिपय सत्यताहरू बुझ्दा पनि तिनलाई अभ्यास गर्न सक्दैनथिस् होला, तर अहिले तैँले आफूले बुझेको सत्यताको कुनै पनि पक्षलाई कुनै बाधा वा कठिनाइविना नै अभ्यास गर्न सक्छस्। जब तैँले सत्यता अभ्यास गर्छस्, तब आफूलाई शान्ति र खुसीले भरिएको पाउनेछस्, तर तैँले सत्यता अभ्यास गर्न सकिनस् भने, तँलाई पीडा हुन्छ र तेरो विवेक खलबलिन्छ। तँ सबै कुरामा सत्यता अभ्यास गर्न सक्छस्, परमेश्‍वरका वचनहरूअनुसार जिउन सक्छस्, र तँसँग जिउने आधार हुन्छ। यसको अर्थ तेरो स्वभाव परिवर्तन भएको छ भन्‍ने हुन्छ। अब तैँले तेरा धारणा र कल्‍पनाहरू, तेरा देहगत प्राथमिकता र खोजीहरू, अनि तैँले पहिले त्याग्‍न नसकेका कुराहरूलाई सहजै त्याग्‍न सक्छस्। तँलाई परमेश्‍वरका वचनहरू साँच्‍चि नै असल छन्, र सत्यता अभ्यास गर्ने कार्य अत्यन्तै उत्तम हो भन्‍ने लाग्छ। यसको अर्थ तेरो स्वभाव परिवर्तन भएको छ भन्‍ने हुन्छ। स्वभाव परिवर्तन गर्ने कार्य अत्यन्तै सरल छ जस्तो सुनिन्छ, तर वास्तवमा यो यस्तो प्रक्रिया जसको लागि धेरै अनुभव चाहिन्छ। यस अवधिमा, मानिसहरूले धेरै कठिनाइहरू भोग्‍नुपर्छ, तिनीहरूले आफ्‍नै शरीरलाई वशमा राख्‍नुपर्छ र देहविरुद्ध विद्रोह गर्नुपर्छ, तिनीहरूले न्याय, सजाय, काटछाँट, परीक्षा र शोधनको पनि सामना गर्नुपर्छ, अनि तिनीहरूले विभिन्‍न असफलता, पतन, भित्री संघर्ष, र हृदयमा कष्ट पनि सहनुपर्छ। यी अनुभवहरूपछि मात्रै मानिसहरूले आफ्‍नो प्रकृतिको बारेमा बुझ्‍न सक्छन्, तर कतिपय कुराहरू बुझेर पनि तुरुन्तै पूर्ण परिवर्तन हासिल गरिहाल्‍न सकिँदैन; तिनीहरूले लामो समयसम्‍म अनुभव गरिसकेपछि मात्रै बल्‍ल आफ्ना भ्रष्ट स्वभावहरू हटाउन सक्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ

व्यक्तिको स्वभावमा रूपान्तरण हासिल गर्नु साधारण कुरा होइन; यसको अर्थ व्यवहारमा केही परिवर्तनहरू हुनु, सत्यको केही ज्ञान प्राप्त गर्नु, सत्यको प्रत्येक पक्षसँगको आफ्नो अनुभव अलि-अलि बताउन सक्‍नु वा केही परिवर्तन हासिल गर्नु वा अनुशासनमा परेपछि केही समर्पित हुनु मात्र होइन। यी कुराहरूले व्यक्तिको जीवन स्वभावको रूपान्तरणलाई जनाउँदैन। म यो किन भन्छु? तँ केही हदसम्म परिवर्तन भएको भए पनि, तैँले अझै पनि साँचो रूपमा सत्यता अभ्यास गरिरहेको छैनस्। सायद तँ अस्थायी रूपमा उपयुक्त वातावरणमा रहेकोले र अवस्था अनुकूल भएकोले, वा तेरो वर्तमान अवस्थाले तँलाई बाध्य तुल्याएकोले, तँ यस प्रकारले व्यवहार गर्छस्। यसबाहेक, यसको साथै, जब तँ राम्रो मनस्थितिमा हुन्छस्, जब तेरो स्थिति सामान्य हुन्छ, र जब तँसँग पवित्र आत्‍माको कार्य हुन्छ, तब तैँले सत्यता अभ्यास गर्न सक्छस्। तर मानौँ तँ परीक्षाको बीचमा छस्, र त्यो बेला तैँले अय्यूबले जस्तै परीक्षाहरूमाझ कष्ट भोगिरहेको छस्, वा तैँले मृत्युको परीक्षा सामना गरिरहेको छस्। जब यस्तो अवस्था आउँछ, के तैँले अझै पनि सत्यता अभ्यास गर्न र गवाहीमा दह्रिलो गरी खडा हुन सक्छस्? के तैँले पनि पत्रुसले भनेजस्तै यसो भन्‍न सक्छस्, “यदि तपाईंलाई चिनेपछि म मर्नु नै परे पनि, म कसरी आनन्द र खुशीसाथ त्यसो नगर्न सक्थेँ र?” पत्रुसले कुन कुरालाई महत्त्व दिन्थे? पत्रुसले समर्पणलाई महत्त्व दिन्थे, र तिनले परमेश्‍वरलाई चिन्‍ने कार्यलाई नै सबैभन्दा महत्त्वपूर्ण कुरा मान्थे, त्यसकारण तिनी मृत्युसम्‍मै समर्पित हुन सके। स्वभावको रूपान्तरण रातारात हुँदैन; त्यो हासिल गर्न जीवनभरिको अनुभव चाहिन्छ। सत्यता बुझ्‍नु तुलनात्मक रूपमा सजिलो छ, तर विभिन्‍न परिस्थितिमा सत्यता अभ्यास गर्न सक्षम हुन कठिन छ। किन मानिसहरूलाई सत्यता अभ्यास गर्न सधैँ कठिन हुन्छ? वास्तवमा, यी कठिनाइहरू सीधै मानिसहरूको भ्रष्ट स्वभावसँग सम्‍बन्धित हुन्छन्, र ती सबै भ्रष्ट स्वभावबाट आउने बाधाहरू हुन्। त्यसकारण, सत्यता अभ्यास गर्न सक्षम हुनको लागि तिमीहरूले धेरै कष्ट भोग्‍नु र मूल्य चुकाउनुपर्छ। यदि तँसँग भ्रष्ट स्वभाव नभएको भए, सत्यता अभ्यास गर्नको लागि तैँले कष्ट भोग्‍नु र मूल्य चुकाउनु पर्दैनथ्यो। के यो स्पष्ट तथ्य होइन र? कहिलेकहीँ तैँले सत्यको अभ्यास गरिरहेको छस् भन्‍ने जस्तो लाग्छ, तर वास्तविकतामा, तेरा कार्यहरूको प्रकृतिले तैँले त्यसो गरिरहेको छस् भन्‍ने देखाउँदैन। परमेश्‍वरलाई पछ्याउँदा, धेरै मानिसहरूले आफ्नो परिवार र पेसालाई पन्साएर आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छन्, र त्यसैले तिनीहरूलाई आफूले सत्यता अभ्यास गरिरहेका छौं भन्‍ने विश्‍वास लाग्छ। तर तिनीहरूले साँचो अनुभवको गवाही कहिल्यै दिन सक्दैनन्। यहाँ वास्तवमा के भइरहेको छ? तिनीहरूलाई मानिसका धारणाहरूद्वारा मापन गर्दा, तिनीहरूले सत्यता अभ्यास गरिरहेजस्तो देखिन्छ, तर तिनीहरूले जे अभ्यास गरिरहेका छन् त्यसलाई परमेश्‍वरले सत्यता अभ्यासको रूपमा मान्यता दिनुहुन्‍न। यदि तैँले गर्ने कुराहरूको पछाडि कुनै व्यक्तिगत मनसाय छ र त्यसमा अशुद्धता मिसिएको छ भने, तँ सिद्धान्तबाट विचलित हुने सम्भावना हुन्छ, र त्यो बेला तँलाई सत्यता अभ्यास गरिरहेको भनेर भन्‍न सकिँदैन; यो त केवल एक प्रकारको आचरण हो। कडा अर्थमा भन्‍नुपर्दा, यस प्रकारको आचरणलाई परमेश्‍वरले सायद दोषी नै ठहराउनुहुनेछ; उहाँले यस्तो आचरणलाई अनुमोदन वा सम्झना गर्नुहुनेछैन। यसलाई सार र जडसम्मै विश्‍लेषण गर्दै जाने हो भने, तँ दुष्कर्म गर्ने व्यक्ति होस्, र तेरा यी बाह्य व्यवहारहरू परमेश्‍वरविरोधी कुरा हुन्। बाहिरबाट, तैँले कुनै कुरालाई रोकावट वा अवरोध गरिरहेको हुँदैनस् र तैँले वास्तविक क्षति गरेको हुँदैनस्। यो तर्कसंगत र उचितजस्तो देखिन्छ, तर भित्रचाहिँ यसमा मानव अशुद्धता र अभिप्रायहरू हुन्छन्, र यसको सार दुष्कर्म गर्ने र परमेश्‍वरको विरोध गर्ने खालको हुन्छ। त्यसकारण, तेरो स्वभावमा परिवर्तन आएको छ वा छैन र परमेश्‍वरको वचनहरू प्रयोग गर्दै र तेरा आफ्नै कामहरूको पछाडि रहेका हेतुहरूलाई ध्यान दिँदै तैँले सत्यता अभ्यास गरेको छस् कि छैनस् सो तैँले निर्धारण गर्नुपर्छ। तेरा कार्यहरू मानव कल्पना र मानव सोचहरूअनुरूप छन् वा छैनन्, वा ती तेरा स्वाद सुहाउँदो छन् कि छैनन् भन्‍ने कुरा मानवीय दृष्टिकोणमा निर्भर हुँदैन; त्यस्ता कुराहरू महत्त्वपूर्ण हुँदैनन्। बरु, यो त तँ परमेश्‍वरका अभिप्रायसँग मिलेको छस् कि छैनस्, तेरा कार्यहरूमा सत्यता वास्तविकता छ वा छैन, र तिनले उहाँका मागहरू र मापदण्डहरू पूरा गर्छन् कि गर्दैनन् भन्‍ने विषयमा उहाँले भन्‍नुहुने कुरामा निर्भर हुन्छ। परमेश्‍वरका मागहरूको तुलनामा आफैलाई नाप्नु मात्रै सटीक हुन्छ। स्वभावमा रूपान्तरण ल्याउने र सत्यलाई अभ्यास गर्ने कार्य मानिसहरूले कल्पना गरेजस्तो सरल र सजिलो हुँदैन। के अब तिमीहरूले यो बुझ्यौ? के तिमीहरूसँग यसको बारेमा कुनै अनुभव छ? जब समस्याको सारको कुरा आउँदछ, तिमीहरूले यसलाई नबुझ्न सक्छौ; तिमीहरूको प्रवेश अत्यन्तै सतही भएको छ। तिमीहरू चाँडै उठेर ढिलो सुतेर बिहानदेखि बेलुकीसम्‍मै दिनभर दौडधूप गर्छौ, तर तिमीहरूले आफ्नो जीवन स्वभावमा रूपान्तरण प्राप्त गर्न सकेका छैनौ, र स्वभाव रूपान्तरण भनेको के हो भनेर तिमीहरूले बुझ्न सक्दैनौ। यसको अर्थ तिमीहरूको प्रवेश अत्यन्तै सतही छ भन्‍ने हुन्छ, होइन र? तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति लामो समय भए पनि, तिमीहरूले स्वभाव रूपान्तरणसँग सम्बन्धित सार र गहिरा चीजहरूलाई सायद महसुस गरेका छैनौ। के तिमीहरूको स्वभाव परिवर्तन भएको छ भनेर भन्‍न सकिन्छ? परमेश्‍वरले तँलाई अनुमोदन गर्नुहुन्छ कि गर्नुहुन्‍न भनी तैँले कसरी जान्दछस्? कम्तीमा पनि, आफूले गर्ने सबै कार्यहरूमा तैँले आफूलाई अत्यन्तै अटल भएको महसुस गर्नेछस्, र तैंले तेरा कर्तव्यहरू निर्वाह गरिरहेको बेला, परमेश्‍वरको घरमा वा आम रूपमा कुनै पनि काम गरिरहेको बेला पवित्र आत्माले तँलाई मार्गनिर्देशन र अन्तर्दृष्टि दिइरहनुभएको महसुस गर्नेछस्। तेरो आचरण परमेश्‍वरको वचनसँग मिल्दोजुल्दो हुनेछ, र तैंले केही हदसम्म अनुभव प्राप्त गरेपछि, तैंले विगतमा जसरी व्यवहार गरिस् त्यो तुलनात्मक रूपमा उचित थियो भन्‍ने महसुस गर्नेछस्। तापनि, निश्‍चित अवधिसम्म अनुभव प्राप्त गरेपछि, यदि तैंले विगतमा गरेका केही कामहरू उचित थिएन जस्तो लाग्यो भने, र तँ तीप्रति असन्तुष्ट छस्, र ती कार्यहरू सत्यताअनूरूप थिएनन् भन्‍ने महसुस गर्छस् भने, तैंले गरेको सबै कुराहरू परमेश्‍वरको विरोधमा थिए भन्‍ने यसले प्रमाणित गर्छ। यो तेरा सेवा विद्रोहीपन, प्रतिरोध र काम गर्ने मानवीय तरिकाहरूले भरिएको थियो, र तँ स्वभाव परिवर्तन हासिल गर्न पूर्ण रूपमा असफल भएको छस् भन्‍ने कुराको प्रमाण हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ

स्वभाव भनेको व्यक्तिको प्रकृतिबाट प्रकट हुने कुरा हो, र स्वभाव परिवर्तन हुनु भनेको व्यक्तिको भ्रष्ट स्वभावलाई शुद्ध पारी त्यसको ठाउँ सत्यताले लिनु हो। त्यसकारण प्रकट हुने कुरा भ्रष्ट स्वभाव होइन, तर सामान्य मानवताको अभिव्यक्ति हो। शैतानले मानिसलाई भ्रष्ट तुल्याएपछि, मानिस शैतानको मूर्त रूप, र परमेश्वरको प्रतिरोध गर्ने र उहाँलाई धोका दिन पूर्णरूपमा सक्षम शैतानी वस्तुको प्रकार भन्यो। किन परमेश्वर मानिसहरूले आफ्नो स्वभाव परिवर्तन गरेको माग गर्नुहुन्छ? किनकि परमेश्वर मानिसहरूलाई सिद्ध बनाई प्राप्त गर्न चाहनुहुछन्छ, अनि अन्ततः पूर्ण बनाइएका मानिसहरूमा परमेश्वरलाई चिन्ने थप वास्तविकता र सत्यताका सबै पक्षहरूको वास्तविकता हुन्छ। यस्ता मानिसहरू पूर्णतया परमेश्वरका अभिप्रायअनुसारका हुन्छन्। विगतमा, मानिसहरूमा भ्रष्ट स्वभाव थियो, र कुनै कुरा गर्दा गल्ती गर्ने वा प्रतिरोध देखाउने गर्थे, तर अहिले मानिसहरू केही सत्यता बुझ्छन्, र परमेश्वरका अभिप्रायअनुरूप धेरै कुरा गर्न सक्छन्। तर, यसको अर्थ मानिसहरूले परमेश्वरलाई धोका दिँदैनन् भन्ने होइन। मानिसहरू अझै पनि यसो गर्न सक्छन्। तिनीहरूको प्रकृतिबाट प्रकट हुने कुराको हिस्सालाई परिवर्तन गर्न सकिन्छ, र परिवर्तन हुन सक्ने त्यो हिस्सामा मानिसहरूले सत्यताअनुसार अभ्यास गर्न सक्छन्। तर तैँले अहिले सत्यता अभ्यास गर्न सक्छस् भन्दैमा तेरो प्रकृति परिवर्तन भएको छ भन्ने होइन। यो त मानिसहरूले सधैँ परमेश्वरबारे धारणा राख्ने र उहाँसँग मागहरू गर्ने गरेजस्तै हो, र अहिले तिनीहरू धेरै सन्दर्भमा त्यसो गर्दैनन्—तर तिनीहरू अझै पनि केही मामिलामा धारणाहरू राख्लान् वा मागहरू गर्लान्, र अझै पनि परमेश्वरलाई धोका दिन सक्छन्। तँ भन्लास्, “परमेश्वरले जे गर्नुहुन्छ म त्यो मान्न सक्छु र धेरै मामिलामा गुनासो र माग नगरी समर्पित हुन सक्छु,” तर तँ अझै पनि केही मामिलामा परमेश्वरलाई धोका दिन सक्छस्। तैँले जानाजानी परमेश्वरको प्रतिरोध नगरे पनि, उहाँ काअभिप्रायलाई नबुझ्दा, तँ अझै पनि उहाँका चाहनाविरुद्ध जान सक्छस्। त्यसोभए, परिवर्तन हुन सक्ने भागको अर्थ के हो? यसको अर्थ, जब तैँले परमेश्वरका अभिप्राय बुझ्छस्, तब समर्पित हुन सक्छस्, र जब सत्यता बुझ्छस्, तब यो अभ्यास गर्न सक्छस् भन्ने हो। यदि तँ सत्यता वा परमेश्वरका अभिप्रायलाई केही मामिलामा बुझ्दैनस् भने, तैँले अझै पनि भ्रष्टता प्रकट गर्ने सम्भावना हुन्छ। यदि तँ सत्यता बुझ्छस्, तर केही कुराको बन्धनमा परेकोले अभ्यास गर्दैनस् भने, यो विश्वासघात हो र यो तेरो प्रकृतिमा हुने कुरा हो। अवश्य नै, तेरो स्वभाव कति परिवर्तन हुन सक्छ भन्ने कुनै सीमा छैन। तैँले जति धेरै सत्यता प्राप्त गर्छस् अर्थात् परमेश्वरबारे तेरो ज्ञान जति गहिरिन्छ, तैँले उहाँलाई त्यति नै कम प्रतिरोध गर्छस् र कम धोका दिन्छस्। व्यक्तिको स्वभाव परिवर्तन मुख्यतया सत्यता पछ्याएर मात्र गर्न सकिन्छ, अनि सत्यता बुझेर मात्र आफ्नो प्रकृति सारलाई बुझ्न सकिन्छ। जब व्यक्तिले साँचो रूपमा सत्यता प्राप्त गर्दछ, तब उसका सबै समस्या समाधान हुनेछन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्

जुन मानिसहरूले आफ्नो स्वभावमा परिवर्तन अनुभव गरेका हुन्छन् तिनीहरू भिन्नै हुन्छन्; तिनीहरूले सत्यतालाई बुझेका हुन्छन्, तिनीहरू सबै विषयहरूमा विवेकी हुन्छन्, तिनीहरूलाई परमेश्‍वरको इच्छाबमोजिम कसरी काम गर्ने, सत्यता सिद्धान्तअनुसार कसरी व्यवहार गर्ने, र परमेश्‍वरलाई सन्तुष्ट पार्न कसरी कार्य गर्ने भनी जानेका हुन्छन्, र आफूले प्रदर्शन गर्ने भ्रष्टताको प्रकृति तिनीहरूले बुझेका हुन्छन्। जब तिनीहरूका आफ्नै विचारहरू र धारणाहरू प्रकट हुन्छन्, तिनीहरू विवेकी हुन्छन् र देहलाई त्याग्‍ने बन्‍न सक्छन्। स्वभावमा भएको परिवर्तनलाई यसरी नै प्रकट गरिन्छ। स्वभावको परिवर्तन भएका मानिसहरूको मुख्य प्रकटीकरण भनेको तिनीहरूले सत्यतालाई स्पष्टसँग बुझेका हुन्छन् र कार्यहरू पूरा गर्दा तिनीहरूले सत्यतालाई तुलनात्मक रूपमा सटीक रूपले अभ्यास गर्छन् र तिनीहरूले बारम्बार भ्रष्टता प्रकट गर्दैनन्। सामान्यतया, जसको स्वभाव रूपान्तरण भएको हुन्छ तिनीहरू विशेष रूपमा व्यावहारिक र समझदार देखिन्छन्, र तिनीहरूमा सत्यको ज्ञान भएकोले, तिनीहरूले त्यति धेरै स्व-धार्मिकता वा अहङ्कार प्रकट गर्दैनन्। तिनीहरूमा प्रकट हुने धेरैजसो भ्रष्टता तिनीहरूले देख्न र बुझ्न सक्छन्, त्यसैले तिनीहरू अहङ्कार गर्दैनन्। तिनीहरूले लिनुपर्ने स्थान के हो र के कस्ता व्यावहारिक कुराहरू गर्नुपर्छ, कसरी कर्तव्यपरायण हुने, के भन्ने र के नभन्ने, कुन मानिसहरूलाई के भन्ने र के गर्ने सो तिनीहरूले निश्‍चित हदसम्म बुझ्न सक्छन्। यसरी, स्वभाव परिवर्तन भएका मानिसहरू तुलनात्मक रूपमा विवेकशील हुन्छन् र त्यस्ता मानिसहरू मात्रै साँचो तवरले मानव स्वरूपमा जिउँछन्। तिनीहरू सत्यता बुझ्छन्, त्यसैले तिनीहरूले सधैँ सत्यताअनुसार बोल्न र परिस्थिति देख्‍न सक्छन्, र आफूले गर्ने सबै कुरामा तिनीहरू सिद्धान्तअनुसार काम गर्छन्; तिनीहरू कुनै पनि व्यक्ति, वस्तु वा थोकको प्रभावमा परेका हुँदैनन्, र तिनीहरू सबैका आ-आफ्नै विचारहरू हुन्छन् र सत्यता सिद्धान्तलाई समर्थन गर्न सक्छन्। तिनीहरूका स्वभाव तुलनात्मक रूपमा स्थिर हुन्छ, तिनीहरू घरी तातो र घरी चिसो हुँदैनन्, र तिनीहरूका परिस्थितिहरू जस्तोसुकै भए पनि आफ्ना कर्तव्यहरू कसरी उचित रूपले पूरा गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने किसिमको व्यवहार कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुन्छ। जस-जसका स्वभावहरू परिवर्तित भएका हुन्छन्, तिनीहरूले अरूले तिनीहरूको बारेमा राम्रो सोचून् भन्ने हेतु बाहिरी रूपमा के गर्नुपर्छ भन्ने कुरामा ध्यान लाउँदैनन्; तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न के गर्नुपर्छ सो आन्तरिक रूपमा स्पष्ट बुझेका हुन्छन्। त्यसकारण, बाहिरबाट हेर्दा, तिनीहरू त्यत्ति उत्साहित वा तिनीहरूले कुनै महत्वपूर्ण काम गरेको जस्तो नदेखिन सक्छ, तर तिनीहरूले गर्ने सबै कुरा अर्थपूर्ण, मूल्यवान् हुन्छन्, र तिनले व्यावहारिक परिणामहरू ल्याउँछन्। ज-जसका स्वभावहरू परिवर्तन भएका छन् तिनीहरूमा निश्‍चित रूपमा धेरै सत्यता वास्तविकताहरू हुन्छन्, र यसलाई विभिन्न कुराहरूप्रति तिनीहरूका दृष्टिकोण र कार्यका सिद्धान्तहरूद्वारा पुष्टि गर्न सकिन्छ। सत्यता प्राप्त नगरेका मानिसहरूले जीवन स्वभावमा कुनै परिवर्तन हासिल गरेका हुँदैनन्। ठ्याक्‍कै भन्दा, स्वभाव परिवर्तन कसरी हासिल गर्न सकिन्छ? मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ, तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरू सबैसँग परमेश्‍वरविरोधी प्रकृति छ। परमेश्‍वरले परमेश्‍वरविरोधी प्रकृति भएका र परमेश्‍वरलाई विरोध गर्ने मानिसहरूलाई परमेश्‍वरको आज्ञापालन गर्ने र उहाँको डर मान्‍ने मानिसहरूमा परिणत गरी मुक्ति दिनुहुन्छ। स्वभाव परिवर्तन भएको व्यक्ति बन्‍नु भनेको यही हो। व्यक्ति जति नै भ्रष्ट भए पनि, तिनीहरूसँग जति नै धेरै भ्रष्ट स्वभावहरू भए पनि, तिनीहरूले सत्यता स्वीकार गर्न, अनि परमेश्‍वरको न्याय र सजाय, र विभिन्‍न परीक्षा र शोधन स्वीकार गर्न सकुञ्जेलसम्म, तिनीहरूसँग परमेश्‍वरबारे साँचो बुझाइ हुन्छ, साथै तिनीहरूले आफ्‍नो प्रकृति सारलाई स्पष्ट देख्‍न सक्छन्। जब तिनीहरूले आफूलाई साँचो रूपमा बुझ्छन्, तब तिनीहरूले आफूलाई र शैतानलाई घृणा गर्न सक्छन् र तिनीहरू शैतानलाई त्याग्‍न, र परमेश्‍वरप्रति पूर्ण रूपमा आज्ञाकारी हुन तयार हुन्छन्। व्यक्तिमा यस्तो दृढ़ता भएपछि, उसले सत्यता खोजी गर्न सक्छ। यदि मानिसहरूमा परमेश्‍वरबारे साँचो ज्ञान छ, तिनीहरूको शैतानी स्वभावलाई शुद्ध पारिएको छ, र तिनीहरूभित्र जरा गाडेर परमेश्‍वरका वचनहरू तिनीहरूका जीवन र अस्तित्वका आधार बनेका छन् भने, यदि तिनीहरू परमेश्‍वरका वचनहरूअनुसार जिउँछन्, र तिनीहरू पूर्ण रूपमा परिवर्तन भएर नयाँ मानिसहरू बनेका छन् भने, यसलाई तिनीहरूको जीवन स्वभावमा आएको परिवर्तनको रूपमा लिन सकिन्छ। स्वभाव परिवर्तन हुनु भनेको उसको मानवता परिपक्‍व र अनुभवी हुनु होइन न त मानिसहरूको बाहिरी स्वभाव पहिलेको भन्दा नम्र हुनु नै हो, यो पहिले तिनीहरू अहङ्कारी थिए, तर अब विवेकी भएर कुराकानी गर्न सक्छन्, वा पहिले तिनीहरूले कसैको कुरा सुन्दैनथे, तर अब अलिकति अरूका कुरा सुन्न सक्छन् भन्ने होइन; त्यस्ता बाहिरी परिवर्तनलाई स्वभावको रूपान्तरण भनी भन्न सकिँदैन। अवश्य, स्वभावमा हुने रूपान्तरणमा त्यस्ता प्रकटीकरणहरू पनि पर्छन्, तर सबैभन्दा महत्त्वपूर्ण भाग भनेको आन्तरिक रूपमा, तिनीहरूका जीवन परिवर्तन भएको हुन्छ। मुख्तया यस्तो किन हुन्छ भने परमेश्‍वरका वचनहरू र सत्यताले तिनीहरूभित्र जरा गाडेका हुन्छन्, तिनले नै तिनीहरूभित्र शासन गर्छन्, र ती तिनीहरूको जीवन बनेका हुन्छन्। तिनीहरूको दृष्टिकोण पनि बदलिएका हुन्छन्। तिनीहरूले संसारमा अनि मानवजातिलाई के भइरहेको छ, शैतानले मानवजातिलाई कसरी भ्रष्ट तुल्याउँछ, ठूलो रातो अजिङ्गरले कसरी परमेश्‍वरको विरोध गर्छ, र ठूलो रातो अजिङ्गरको सार के हो भन्‍ने कुरा स्पष्ट देख्‍न सक्छन्। तिनीहरूले हृदयदेखि ठूलो रातो अजिङ्गर र शैतानलाई घृणा गर्न सक्छन्, र तिनीहरूले परमेश्‍वरकहाँ पूर्ण रूपमा फर्केर उहाँलाई पछ्याउन सक्छन्। यसको अर्थ तिनीहरूको जीवन स्वभाव परिवर्तन भएको छ, र तिनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुभएको छ। जीवन स्वभावमा आउने परिवर्तनहरू आधारभूत परिवर्तनहरू हुन्, जबकि बानीबेहोरामा आउने परिवर्तनहरू सतही परिवर्तनहरू हुन्। जीवन स्वभावमा परिवर्तन हासिल गरेका मानिसहरूले मात्रै सत्यता प्राप्त गरेका हुन्छन्, र तिनीहरूलाई मात्रै परमेश्‍वरले प्राप्त गर्नुभएको हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

अघिल्लो: २५. सत्यता अभ्यास गर्नु भनेको के हो

अर्को: २७. असल व्यवहार र स्वभाव परिवर्तनबीच भिन्नता

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्