१८. आमाबुबाप्रति छोराछोरीको धर्म अर्थात् दैहिक सम्बन्धलाई कसरी लिने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

हजारौं वर्षदेखिको “राष्ट्रियताको उच्‍च भावना” का हानिकारक प्रभावहरूका साथै सामन्ती सोच मानिसको हृदयको गहिराइमा छोडिएका छन्, जसद्वारा मानिसहरू बन्धन र साङ्लामा परेका छन्, उनीहरूसँग अलिकति पनि स्वतन्त्रता छैन, आकाङ्क्षा राख्‍ने र दृढ रहने कुनै चाहना छैन, प्रगति गर्ने कुनै इच्छा छैन, बरु नकारात्मक र प्रतिगामी भई दास मानसिकता र अन्य यस्तै कुराहरूमा डुबेका छन्—र यी वस्तुगत तत्त्वहरूले मानवजातिको वैचारिक दृष्टिकोण, आदर्श, नैतिकता र स्वभावमा एक अमेट फोहोर र घिनलाग्दो कुरा हालिदिएका छन्। यस्तो लाग्छ, मानिसहरू आतङ्कवादको अन्धकार संसारमा बाँचिरहेका छन्, जसलाई तिनीहरूमध्ये कसैले पनि पार गर्न खोज्दैन, र तिनीहरूमध्ये कसैले पनि आदर्श संसारमा जाने विचार गर्दैन; बरु, तिनीहरू आफ्नो जीवनको नियतिसित सन्तुष्ट छन्, आफ्ना दिनहरू बच्‍चा जन्माउँदै र हुर्काउँदै, पसिना बगाउँदै, घरको कामकाज गर्दै, एक आरामदायी र सुखी परिवारको सपना देख्दै, र शान्तिसित जीवन बिताउने क्रममा वैवाहिक स्‍नेह, छोराछोरीको आदर र जीवनको उत्तरार्धको खुसी पाउने सपना बुन्दै जिउँछन्…। दसौं, हजारौं वर्षदेखि अहिलेसम्‍म मानिसहरूले आफ्नो समय यसरी नै नष्ट पारिरहेका छन्, कसैले पनि सिद्ध जीवन सिर्जना गरेको छैन, सबै जना यस अन्धकार संसारमा प्रसिद्धि र धनको पछि दौडँदै र एकअर्काको विरुद्ध षड्यन्त्र गर्दै एकअर्काको हत्या गर्न तत्पर रहेका छन्। के कहिल्यै कसैले परमेश्‍वरका अभिप्रायहरू खोजेको छ? के कसैले कहिल्यै परमेश्‍वरको काममा ध्यान दिएको छ? अन्धकारको प्रभावमा परेका मानवताका सबै भागहरू लामो समयदेखि मानव प्रकृति बनेको छ, त्यसैले परमेश्‍वरको काम अघि बढाउन धेरै गाह्रो छ, र मानिसहरूमाझ आज परमेश्‍वरले तिनीहरूलाई जिम्मा दिनुभएको काममा ध्यान दिने हृदय झन् कम भएको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (३)

यस वास्तविक समाजमा जिउने मानिसहरू शैतानद्वारा गहिरोसित भ्रष्ट पारिएका हुन्छन्। तिनीहरू शिक्षित भए पनि वा नभए पनि, तिनीहरूको विचार र दृष्टिकोणमा परम्परागत संस्कृतिको धेरै कुरा गढिएका हुन्छन्। विशेषत: महिलाहरूले आफ्ना श्रीमानलाई सहायता गरेको र आफ्ना सन्तानलाई शिक्षा दिएको, उनीहरू असल श्रीमती र स्नेही आमा बनेको, आफ्नो सारा जीवन आफ्ना श्रीमान र सन्तानलाई समर्पित गरेको अनि उनीहरूका लागि जिएको, परिवारले तीन छाक खाएको निश्चित गरेको, धोइधाइ, सरसफाइ र अरू सबै घरायसी कामकुरा गरेको माग गरिन्छ। यो नै असल श्रीमती र स्नेही आमा हुनुको स्वीकार्य स्तर हो। हरेक महिलाले पनि कामकुरा यसरी नै गरिनुपर्छ, र यदि आफूले त्यसो नगरे आफू असल नारी होइँदैन, र आफूले विवेकअनुसार काम नगरेको र नैतिकताको स्तर उल्लङ्घन गरेको हुन्छ भनेर सोच्छे। यी नैतिक स्तरहरू उल्लङ्घन गर्दा केही मानिसलाई आफ्नो विवेकले घोच्नसम्म घोच्छ; तिनीहरूलाई आफूले श्रीमान र सन्तानलाई निराश बनाएको, आफू असल नारी नभएको भन्ने लाग्नेछ। तर तैँले परमेश्वरमा विश्वास गरेपछि, उहाँका धेरै वचनहरू पढेपछि, केही सत्यता बुझेपछि, र केही मामिलालाई प्रष्टसित देखेपछि, यस्तो सोच्नेछस्, “म सृजित प्राणी हुँ र मैले आफ्नो कर्तव्य यसरी नै पूरा गर्नुपर्छ, र आफूलाई परमेश्वरमा समर्पित गर्नुपर्छ।” यस बेला, असल श्रीमती र स्नेही आमा हुनु, र सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नुबीच कुनै अमेल छ? यदि तँ असल श्रीमती र स्नेही आमा हुन चाहन्छस् भने तैँले आफ्नो कर्तव्य पूर्ण समय निभाउन सक्दैनस्, तर यदि तँ आफ्नो कर्तव्य पूर्ण समय निभाउन चाहन्छस् भने तँ असल श्रीमती र स्नेही आमा बन्न सक्दैनस्। अब के गर्छस्? यदि तँ आफ्नो कर्तव्य राम्ररी निभाउन र मण्डलीको कामका लागि जिम्मेवार बन्न, परमेश्वरप्रति समर्पित हुन चाहन्छस् भने तैँले असल श्रीमती र स्नेही आमा बन्नै हुँदैन। अब तँ के सोच्ने थिइस्? तेरो मनमा कस्तो किसिमको विसङ्गति पैदा हुनेथ्यो? के तँ आफूले आफ्नो सन्तान र श्रीमानलाई निराश बनाएको महसुस गर्ने थिइस्? यो दोषीपन र असहजताको बोध कहाँबाट आउँछ? के तँ आफूले सृजित प्राणीको कर्तव्य पूरा नगर्दा, परमेश्वरलाई निराश बनाएको महसुस गर्छस्? तँमा दोषीपनको बोध छैन र दोषी महसुस गर्दैनस् किनकि तेरो मनमष्तिष्कमा सत्यताको नामोनिशान छैन। त्यसैले, तँ के बुझ्छस्? परम्परागत संस्कृति अनि असल श्रीमती र स्नेही आमा बन्नेबारे। त्यसैले तेरो दिमागमा “यदि म असल श्रीमती र स्नेही आमा होइन भने असल वा सुशील नारी होइन” भन्ने धारणा पलाउनेछ। त्यसपछि तँ यो धारणाद्वारा बाँधिनेछस् र जकडिनेछस्, अनि तैँले परमेश्वरमा विश्वास गरिसकेपछि र आफ्नो कर्तव्य पूरा गरिसकेपछि पनि तँ यस्ता धारणाहरूद्वारा त्यसरी नै बाँधिएको र जकडिएको हुनेछस्। जब आफ्नो कर्तव्य पूरा गर्ने अनि असल श्रीमती र स्नेही आमा बन्नेकुराबीच अमेल हुन्छ, तब सायद तँ मन नपरी-नपरी आफ्नो कर्तव्य पूरा गर्ने छनौट गर्छस्, परमेश्वरप्रति अलि निष्ठा राख्छस्, तैपनि तेरो हृदयमा अझै पनि असहजपन र दोषी भावना हुनेछ। तसर्थ, जब तँसँग कर्तव्य पूरा गरेर पनि अलि खालि समय हुन्छ, तब तँ आफ्ना सन्तान र श्रीमानको हेरचाह गर्ने मौका खोज्नेछस्, उनीहरूका लागि झन् बढी गर्न चाहनेछस्, र अझ बढी कष्ट भोग्नुपरे पनि मनको शान्ति मिलेसम्म यसो गर्नु ठिकै छ भनी सोच्नेछस्। के यो असल श्रीमती र स्नेही आमा बन्ने परम्परागत संस्कृतिको विचार र मतले ल्याएको होइन र? अब तैँले दुइटा डुङ्गामा खुट्टा टेकेको हालेकी छस् अर्थात् आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न पनि चाहन्छस् अनि असल श्रीमती र स्नेही आमा बन्न पनि चाहन्छस्। तर परमेश्वरसामु हाम्रो एउटा मात्र जिम्मेवारी र दायित्व छ, एउटा मात्र मिशन छ: सृजित प्राणीको कर्तव्य राम्ररी पूरा गर्नु। के तैँले यो कर्तव्य राम्रोसँग पूरा गरेकी छस्? किन तँ फेरि बाटो तर्किन्छस्? के तँलाई हृदयमा साँच्चै दोषी र ग्लानी महसुस हुँदैन? किनकि तेरो हृदयमा सत्यताले अझै पनि जग बसालेको छैन, र त्यसमा अझै शासन गर्दैन, तँ आफ्नो कर्तव्य पूरा गर्दा मार्गबाट तर्किन सक्छस्। अहिले तँ आफ्नो कर्तव्य पूरा गर्न सक्षम भए पनि, वास्तवमा अझै सत्यताको मानक र परमेश्वरको मापदण्डको स्तरमा पुगेको छैनस्। के तँ यो तथ्य अहिले स्पष्टसँग देख्न सक्छस्? परमेश्वरले “परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ” भन्नुहुँदाको अर्थ के हो? यसको अर्थ सबैलाई यो कुरा बोध गराउनु हो: हाम्रो जीवन र आत्मा सबै परमेश्‍वरबाट आउँछन्; र ती उहाँद्वारा सृष्टि गरिएका थिए—हाम्रा बुबाआमाबाट आउँदैनन्, र प्रकृतिबाट त पक्कै होइन, तर परमेश्‍वरले दिनुभएको हो। हाम्रो देहको जन्म मात्रै आफ्ना बुबाआमाबाट भएको हुन्छ, जसरी हाम्रा सन्तान हामीबाट जन्मन्छन्, तर तिनीहरूको नियति पूर्ण रूपमा परमेश्वरको हातमा हुन्छ। हामीले परमेश्‍वरमा विश्‍वास गर्न सक्नु त उहाँद्वारा दिइएको अवसर हो; यसलाई परमेश्‍वरले नै तोक्‍नुभएको हो, र यो उहाँको अनुग्रह हो। तसर्थ, तैँले अरू कसैप्रतिको दायित्व वा जिम्मेवारी पूरा गर्न आवश्यक छैन; तैँले केवल परमेश्वरप्रतिको सृजित प्राणीको हैसियतमा आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। मानिसहरूले अरू सबै कुराभन्दा माथि राखेर गर्नैपर्ने, आफ्नो जीवनको मुख्य मुद्दाझैँ गरी गर्नुपर्ने कुरा यही हो। यदि तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्दैनस् भने, तँ सृष्टि गरिएको योग्य प्राणी होइनस्। अरूको नजरमा, तँ सायद असल श्रीमती र स्नेही आमा, उत्तम गृहिणी, आमाबुबाभक्त छोरी, र समाजको इमानदार सदस्य होलिस्, तर परमेश्‍वरसामु, तँ उहाँविरुद्ध विद्रोह गर्ने, आफ्‍नो दायित्व वा कर्तव्य पूरा गर्दै नगर्ने, र परमेश्‍वरको आज्ञा स्विकारेर अझसम्म पूरा नगर्ने, र आधाउधीमै हार मान्ने व्यक्ति हुन्छस्। के यस्तो व्यक्तिले परमेश्वरको अनुमोदन पाउन सक्छ? यस्ता मानिसहरू बेकम्मा हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना बहकिएका दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ

यदि हामीले यसलाई छोराछोरीको दृष्टिकोणबाट हेर्‍यौँ भने, तिनीहरूको जीवन र शरीर तिनीहरूका आमाबुबाबाट आएका हुन्छन्, तिनीहरूको आमाबुबासँग तिनीहरूलाई हुर्काउने र शिक्षा दिने दया पनि हुन्छ, त्यसकारण छोराछोरीले आमाबुबाको हरेक शब्‍द पालन गर्नुपर्छ, आमाबुबाप्रतिको सन्तानको दायित्व पूरा गर्नुपर्छ, र आमाबुबाका गल्तीहरू खोतल्‍नु हुँदैन। यी शब्दहरूको इङ्गित अर्थ के हो भने, तैँले आफ्ना आमाबुबाको असली रूप खुट्याउनु हुँदैन। यदि हामीले यसलाई यो दृष्टिकोणबाट विश्‍लेषण गर्‍यौँ भने, के यो दृष्टिकोण सही हुन्छ? (होइन, यो गलत हुन्छ।) हामीले यो मामिलालाई सत्यताअनुसार कसरी लिनुपर्छ? यसलाई भन्‍ने सही तरिका के हो? के छोराछोरीको शरीर र जीवन तिनीहरूका आमाबुबाले तिनीहरूलाई दिएका हुन् त? (होइन।) व्यक्तिको दैहिक शरीर उसका आमाबुबाबाट जन्मन्छ, तर बच्‍चा जन्माउने आमाबुबाको क्षमता कहाँबाट आउँछ? (यो परमेश्‍वरले दिनुभएको हो र परमेश्‍वरबाट आउँछ।) अनि, व्यक्तिको प्राण? यो कहाँबाट आउँछ? यो पनि परमेश्‍वरबाटै आउँछ। त्यसैले मूल रूपमा, परमेश्‍वरले नै मानिसहरूको सृष्टि गर्नुभएको हो, र यी सबै कुरा उहाँले नै पूर्वनिर्धारित गर्नुभएको हो। तँलाई यो परिवारमा जन्म लिनको लागि परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हो। परमेश्‍वरले यो परिवारमा एउटा प्राण पठाउनुभयो, त्यसपछि तँ यस परिवारमा जन्मिस्, अनि तेरा आमाबुबासँग तेरो यो पूर्वनिर्धारित सम्बन्ध रहेको हो—यो कुरा परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हो। परमेश्‍वरको सार्वभौमिकता र पूर्वनिर्धारणको कारण नै, तेरा आमाबुबाले तँलाई जन्माउन सकेका हुन् र तँ यो परिवारमा जन्‍मेको होस्। यसलाई मूल रूपमा हेर्दा यस्तै देखिन्छ। तर यदि परमेश्‍वरले यसरी पूर्वनिर्धारित नगर्नुभएको भए के हुन्थ्यो? तेरा आमाबुबाले तँलाई कहिल्यै जन्माउँदैनथे, र तिनीहरूसँग तेरो यो आमाबुबा-बच्‍चाको सम्‍बन्ध कहिल्यै नहुनेथ्यो। रगतको कुनै साइनो, कुनै पारिवारिक स्‍नेह, र कुनै सम्भन्ध हुनेथिएन। तसर्थ, व्यक्तिलाई उसका आमाबुबाले जीवन दिएका हुन्छन् भन्‍नु गलत छ। अर्को पक्ष के हो भने, यसलाई छोराछोरीको नजरबाट हेर्दा, तिनीहरूका आमाबुबा तिनीहरूभन्दा एक पुस्ता अग्रज हुन्छन्। तर जहाँसम्म हरेक मानिसहरूको कुरा छ, आमाबुबा पनि अरू सबैजस्तै हुन्, र तिनीहरू सबै भ्रष्ट मानवजातिका सदस्यहरू हुन्, र तिनीहरू सबैमा शैतानको भ्रष्ट स्वभाव छ। तिनीहरू अरूभन्दा फरक पनि छैनन्, र तँभन्दा पनि फरक छैनन्। तिनीहरूले तँलाई शारीरिक रूपमा जन्म दिएका भए पनि, र तँसँगको देह र रगतको सम्बन्धको हिसाबमा, तिनीहरू तँभन्दा एक पुस्ता जेठा भए पनि, तिमीहरूको मानव स्वभावको सारको हिसाबमा, तिमीहरू सबै शैतानको सत्ताको अधीनमा जिइरहेका छौ, र तिमीहरू सबैलाई शैतानले भ्रष्ट तुल्याएको छ र तिमीहरू सबैमा भ्रष्ट, शैतानी स्वभावहरू छन्। सबै मानिसहरूमा भ्रष्ट शैतानी स्वभावहरू छन् भन्‍ने तथ्यलाई हेर्दा, सबै मानिसहरूको सार एउटै छ। व्यक्तिको वरिष्ठता, वा उसको उमेर, वा ऊ यस संसारमा कति चाँडो वा ढिलो आयो भन्‍ने कुराको बाबजुत पनि, सारको हिसाबमा हेर्दा, मानिसहरूमा उस्तै भ्रष्ट स्वभाव छ, तिनीहरू सबै शैतानद्वारा भ्रष्ट पारिएका मानिसहरू हुन्, र यस हिसाबमा तिनीहरूमाझ केही भिन्‍नता छैन। तिनीहरूको मानवता राम्रो भए पनि वा नराम्रो भए पनि, तिनीहरू सबैमा भ्रष्ट स्वभाव हुने हुनाले, मानिसहरू र मामिलाहरूलाई हेर्ने, र सत्यताप्रति व्यवहार गर्ने प्रक्रियामा तिनीहरू सबैले समान दृष्टिकोण र अडान लिन्छन्। यस अर्थमा, तिनीहरूमाझ कुनै भिन्‍नता छैन। यसको साथै, यो दुष्ट मानवजातिमाझ जिउने हरसकैले यो संसारमा हाबी रहेका विविध विचार र दृष्टिकोणहरूलाई नै स्विकार्छन्, चाहे त्यो बोलीमा होस् वा सोचमा होस्, वा चाहे त्यो स्वरूपमा होस् वा विचारधारामा होस्, अनि तिनीहरूले शैतानबाट आएका हरकिसिमका विचारहरूलाई नै स्विकार्छन्, चाहे त्यो राष्ट्रको शिक्षाबाट होस् वा चाहे त्यो सामाजिक प्रचलनहरूको अभ्यस्तीकरणबाट होस्। तर यी कुराहरू सत्यतासँग बिल्कुलै मेल खाँदैनन्। तिनमा कुनै सत्यता हुँदैन, र मानिसहरूले पनि निश्‍चय नै सत्यता के हो भनेर बुझ्दैनन्। यस दृष्टिकोणबाट हेर्दा, आमाबुबा र छोराछोरी समान हुन्छन् र तिनीहरूका विचार र दृष्टिकोणहरू पनि समान हुन्छन्। यति मात्र हो कि तेरा आमाबुबाले यी विचार र दृष्टिकोणहरू २०-३० वर्षपहिले स्विकारेका थिए, जबकि तैँले अलिक पछि स्विकारिस्। भन्‍नुको अर्थ, सामाजिक पृष्ठभूमि उही हो, र तँ सामान्य व्यक्ति होस् भने, तँ र तेरा आमाबुबा दुवैले शैतानबाट आएको उही भ्रष्टता, सामाजिक प्रचलनहरूको उही अभ्यस्तीकरण, र समाजका विभिन्‍न दुष्ट प्रवृत्तिहरूबाट उत्पन्‍न उही विचार र दृष्टिकोणहरू स्विकारेका छौ। यो दृष्टिकोणबाट हेर्दा, छोराछोरी र तिनीहरूका आमाबुबाको प्रकार एउटै हुन्छ। परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, उहाँले पूर्वतय, पूर्वनिर्धारित, र छनौट गर्नुहुन्छ भन्‍ने कुरालाई छोड्ने हो भने पनि, परमेश्‍वरको नजरमा, आमाबुबा र छोराछोरी दुवै सृष्टि गरिएका प्राणीहरू हुन्, र त्यसैले तिनीहरू उस्तै हुन्, र तिनीहरू परमेश्‍वरलाई आराधना गर्ने सृष्टि गरिएका प्राणीहरू भए पनि नभए पनि, तिनीहरू सबै सामूहिक रूपमा सृष्टि गरिएका प्राणीहरूकै रूपमा चिनिन्छन्, र तिनीहरू सबैले परमेश्‍वरको सार्वभौमिकता, योजनाबद्ध कार्य र बन्दोबस्तहरू स्विकारिरहेका हुन्छन्। यो दृष्टिकोणबाट हेर्दा, परमेश्‍वरको नजरमा आमाबुबा र छोराछोरीको हैसियत समान हुन्छ, र तिनीहरू सबैले उस्तै र समान रूपमा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्त स्विकार्छन्। यो वस्तुनिष्ठ तथ्य हो। यदि तिनीहरू सबै परमेश्‍वरद्वारा चुनिएका हुन् भने, तिनीहरू सबैसँग सत्यता खोजी गर्ने समान अवसरहरू हुन्छ। अनि अवश्य नै, तिनीहरूसँग परमेश्‍वरको दण्ड र न्याय स्विकार्ने पनि समान अवसर हुन्छ, र मुक्ति पाउने पनि समान अवसर हुन्छ। माथिका यी समानताहरूबाहेक, आमाबुबा र छोराछोरीबीच एउटै मात्र भिन्‍नता हुन्छ, र त्यो के हो भने तथाकथित पारिवारिक पदानुक्रममा आमाबुबाको दर्जा छोराछोरीको भन्दा ठूलो हुन्छ। यो पारिवारिक पदानुक्रमको तिनीहरूको दर्जा भनेको के हो? यो भनेको तिनीहरू २०-३० वर्षको उमेरले, अर्थात् एक पुस्ताले मात्र जेठा हुन्छन्—यो उमेरको ठूलो भिन्‍नताभन्दा बढी अरू केही होइन। अनि आमाबुबाको विशेष हैसियतको कारण, छोराछोरीले सन्तानोचित व्यवहार गर्नुपर्छ र आमाबुबाप्रतिका दायित्वहरू पूरा गर्नुपर्छ। व्यक्तिले आमाबुबाप्रति पूरा गर्नुपर्ने जिम्मेवारी यही मात्र हो। तर छोराछोरी र आमाबुबा सबै एउटै भ्रष्ट मानवजातिको भाग भएकाले, आमाबुबा छोराछोरीका नैतिक उदाहरण होइनन्, न त तिनीहरू छोराछोरीको सत्यता पछ्याइको लागि मापदण्ड वा आदर्श नमुना नै हुन्, अनि न त तिनीहरू परमेश्‍वरको आराधना र आज्ञापालन गर्नको लागि नै छोराछोरीका आदर्श नमूना नै हुन्। अवश्य नै, आमाबुबा सत्यताको देहधारण होइनन्। मानिसहरूले आमाबुबालाई विनासर्त आज्ञापालन गरिने नैतिक उदाहरण र व्यक्तित्वहरू मान्‍नैपर्ने कुनै दायित्व वा जिम्मेवारी हुँदैन। छोराछोरीहरू आमाबुबाको आचरण, व्यवहार र स्वभाव सार खुट्याउन डराउनु हुँदैन। भन्‍नुको अर्थ, आफ्‍ना आमाबुबासँग व्यवहार गर्दा, मानिसहरूले “आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ” भन्‍नेजस्ता विचार र दृष्टिकोणहरू पालना गर्नु हुँदैन। यो दृष्टिकोण परमेश्‍वरको पूर्वनिर्धारणअन्तर्गत आमाबुबाले तँलाई जन्‍म दिएका हुन् र तिनीहरू तँभन्दा २०, ३० वा ४० वा ५० वर्ष पाका छन् तथ्यमा आधारित छ। यो देह र रगतको सम्बन्धको दृष्टिकोणबाट मात्र, अनि तिनीहरूको हैसियत र पारिवारिक पदानुक्रममा तिनीहरूको दर्जाको हिसाबमा मात्र, तिनीहरू छोराछोरीहरूभन्दा फरक छन्। तर यो भिन्‍नताको कारण, मानिसहरूले आमाबुबालाई कुनै गल्ती नगर्ने व्यक्तिहरू ठान्छन्। के यो सही हो त? यो गलत र तर्कहीन छ र यो सत्यतासँग मेल खाँदैन। आमाबुबा र छोराछोरीबीच यो देह र रगतको सम्बन्ध भएकोले, कतिपय व्यक्तिहरू आमाबुबासँग कस्तो व्यवहार गर्ने भनेर अचम्भित हुन्छन्। यदि आमाबुबाले परमेश्‍वरमा विश्‍वास गर्छन् भने, तिनीहरूलाई विश्‍वासीको रूपमा व्यवहार गर्नुपर्छ; यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, तिनीहरूलाई अविश्‍वासीहरूको रूपमा व्यवहार गर्नुपर्छ। आमाबुबा जुनसुकै प्रकारका मानिसहरू भए पनि, तिनीहरूलाई सम्बन्धित सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्छ। यदि तिनीहरू दियाबलसहरू हुन् भने, तैँले तिनीहरू दियाबलसहरू हुन् भनेर भन्‍नुपर्छ। यदि तिनीहरूसँग मानवता छैन भने, तैँले तिनीहरूसँग मानवता छैन भनेर भन्‍नुपर्छ। यदि तिनीहरूले तँलाई सिकाउने विचार र दृष्टिकोणहरू सत्यताअनुरूप छैनन् भने, तैँले यी कुराहरू सुन्‍नु वा स्विकार्नु पर्दैन, र तैँले तिनीहरूको वास्तविकता खुट्याएर खुलासासमेत गर्न सक्‍नुपर्छ। यदि तेरा आमाबुबाले “म यो तेरो आफ्नै भलाइको लागि गर्दै छु” भनेर भन्छन्, र झोँक्‍किँदै कोलाहल मच्‍चाउँछन् भने, के तैँले वास्ता गर्नेछस्? (अहँ, म वास्ता गर्नेछैनँ।) यदि तेरा आमाबुबाले विश्‍वास गर्दैनन् भने, तिनीहरूलाई कुनै ध्यान नदे, र यो कुरालाई यही छोडिदे। यदि तिनीहरूले यति ठूलो कोलाहल मच्‍चाउँछन् भने, तैँले तिनीहरू दियाबलसहरू हुन्, अरू केही होइनन् भनेर देख्‍नेछस्। परमेश्‍वरमाथिको विश्‍वाससँग सम्‍बन्धित यी सत्यताहरू नै मानिसहरूले सबैभन्दा बढी स्विकार्नुपर्ने विचार र दृष्टिकोणहरू हुन्। तर तिनीहरूले यी कुराहरू स्वीकार वा पालना गर्नै सक्दैनन्, त्यसैले तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? तिनीहरूले परमेश्‍वरका वचनहरू नै बुझ्दैनन्, त्यसैले तिनीहरू अर्धमानव हुन्, होइन र?

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१३)

तेरा आमाबुबाले तँलाई हुर्काउँदा तेरो जति पालनपोषण गरे पनि, र तिनीहरूले तँप्रतिको आफ्नो जिम्मेवारी जति पूरा गरे पनि, तिनीहरूले सृष्टि गरिएको मानवको क्षमताको दायराभित्र आफूले गर्नुपर्ने काम मात्र पूरा गरिरहेका हुन्छन्—यो तिनीहरूको अन्तर्निहित प्रवृत्ति हो। चराहरूलाई हेर त, तिनीहरूसहवासको मौसम आउनअघि एक महिनाभन्दा बढी समयसम्म आफ्नो गुँड बनाउनका लागि सुरक्षित ठाउँ खोजिरहन्छन्। अलिक बाक्ला रूखहरूमा आफ्नो गुँड बनाउन सुरु गर्नका निम्ति भाले-पोथी पालै-पालो बाहिर गएर विभिन्‍न प्रकारका बोटबिरुवा, प्वाँख र डाँठहरू बोकेर ल्याउँछन्। विभिन्‍न प्रकारका चराहरूले बनाएका साना गुँडहरू सबै निकै बलिया र जटिल किसिमका हुन्छन्। आफ्नो सन्तानको खातिर, चराहरूले यो सबै प्रयास गुँड बनाउन र वासस्थान निर्माण गर्नमा लगाउँछन्। तिनीहरूले आफ्नो गुँड बनाइसकेपछि र ओथारा बस्‍ने समय आएपछि, प्रत्येक गुँडमा सधैँ एउटा चरा बसेको हुन्छ; दिनको २४ घण्टासम्म भाले-पोथी पालैपालो बस्छन्, र तिनीहरूले निकै ध्यान दिन्छन्—जब तिनीहरूमध्ये एउटा फर्कन्छ, त्यसलगत्तै अर्को उडेर जान्छ। यसको केही समयपछि नै, केही चल्‍लाहरू पैदा हुन्छन् र अण्डा फुटाएर टाउको बाहिर निकाल्छन्, र तैँले तिनीहरू रूखमा चिरबिर गर्न थालेको सुन्‍न सक्छस्। ठूला चराहरू घरी तिनीहरूका बच्‍चालाई केही कीरा-फट्याङ्ग्रा खुवाउन, अनि घरी के कुरा खुवाउन आउने-जाने गरिरहन्छन्, र यसरी तिनीहरूले निकै धेरै ध्यान दिन्छन्। केही महिनापछि, केही बच्‍चाहरू अलिक हुर्किसकेका हुन्छन्, र गुँडको किनारमा उभिएर पखेटा फड्काउन सक्छन्; तिनीहरूका आमाबुबाहरू तिनीहरूलाई खुवाउँदै र तिनीहरूको सुरक्षा गर्दै पालो-पालो आउने-जाने गर्छन्। … सबै प्रकारका जीवित प्राणी र जनावरहरूमा यी अन्तर्निहित प्रवृत्ति र नियमहरू हुन्छन्, र तिनीहरूले यी नियमहरूलाई राम्ररी र पूर्ण रूपमा पालना गर्छन्। यो कुनै पनि व्यक्तिले नष्ट गर्न नसक्‍ने कुरा हो। केही विशेष जनावरहरू पनि छन्, जस्तै बाघ र सिंहहरू। यी जनावरहरू वयस्क भएपछि, आफ्ना आमाबुबालाई छोड्छन्, र केही भाले जनावरहरू त आवश्यकताअनुसार प्रतिद्वन्द्वी भएर एक-अर्कालाई टोक्‍ने, एक-अर्कासँग प्रतिस्पर्धा गर्ने र झगडा गर्ने पनि गर्छन्। यो सामान्य कुरा हो, र यो नियम हो। तिनीहरू त्यति स्नेही हुँदैनन्, र तिनीहरू मानिसहरू जस्तो “मैले तिनीहरूको दया-मायाको ऋण तिर्नुपर्छ, मैले तिनीहरूलाई भरपाई गर्नुपर्छ—मैले मेरा आमाबुबाको आज्ञा पालन गर्नुपर्छ। यदि मैले तिनीहरूप्रति पैतृक निष्ठा देखाइनँ भने, अरूले मेरो निन्दा गर्नेछन्, मलाई हप्काउनेछन्, र मेरो पिठ्युँपछाडि मेरो आलोचना गर्नेछन्। म त्यो सहन सक्दिनँ!” भन्दै आफ्नो भावनामा बाँच्दैनन्। पशु जगतमा यस्तो कुरा भनिँदैन। मानिसहरूले किन यस्तो कुरा गर्छन्? किनभने समाजमा र मानिसहरूको समूहभित्र, विभिन्‍न गलत विचार र सर्वसम्मतिहरू रहेका हुन्छन्। मानिसहरू यी कुराहरूद्वारा प्रभावित, क्षतविक्षत भएपछि र सडेपछि, तिनीहरूमा आमाबुबा र सन्तानको सम्बन्धलाई व्याख्या गर्ने र लिने विभिन्‍न तरिकाहरू पैदा हुन्छन्, र तिनीहरूले अन्ततः आफ्ना आमाबुबालाई आफ्‍ना ऋणदाताका रूपमा व्यवहार गर्छन्—तिनीहरूले आफ्नो सम्पूर्ण जीवनभरि पनि कहिल्यै तिर्न नसक्‍ने ऋणदाताहरू। कतिपय मानिसहरूले त आफ्ना आमाबुबाको मृत्युपछि आफ्नो सम्पूर्ण जीवनभरि दोषी महसुस पनि गर्छन्, र तिनीहरूले आफ्‍ना आमाबुबालाई खुसी नपार्ने कुनै काम गरेकोले वा तिनीहरूका आमाबुबाले चाहे जस्तो नगरेकोले आफ्ना आमाबुबाको दया-माया पाउन आफूलाई अयोग्य ठान्छन्। मलाई भन, के यो अति नै भएन र? मानिसहरू आफ्नो भावनाका माझ जिउँछन्, त्यसैले तिनीहरूलाई यी भावनाहरूबाट उत्पन्‍न हुने विभिन्‍न विचारहरूले मात्रै अतिक्रमण गर्न र बाधा पुर्‍याउन सक्छन्। मानिसहरू भ्रष्ट मानवजातिको विचारधाराले रङ्गिएको वातावरणमा जिउँछन्, त्यसैले तिनीहरूलाई विभिन्‍न गलत विचारहरूले अतिक्रमण गर्छन् र बाधा पुर्‍याउँछन्, जसले गर्दा तिनीहरूको जीवन थकाइलाग्दो र अन्य जीवित प्राणीहरूको भन्दा कम सरल हुन्छ। तैपनि, अहिले परमेश्‍वर काम गरिरहनुभएको हुनाले, र उहाँले मानिसहरूलाई यी सबै तथ्यहरूको वास्तविक प्रकृति बताउन, र तिनीहरूलाई सत्यता बुझ्न सक्षम तुल्याउन सत्यता व्यक्त गरिरहनुभएको हुनाले, तैँले सत्यता बुझेपछि, यी गलत विचार र दृष्टिकोणहरूले तँमाथि बोझ थोपर्न छोड्नेछन्, र ती तैँले आफ्ना आमाबुबासँगको सम्बन्धलाई कसरी सम्हाल्‍ने भन्ने कुराको मार्गदर्शक हुन छोड्नेछन्। यस बिन्दुमा, तेरो जीवन थप ढुक्‍क हुनेछ। ढुक्‍क जीवन बिताउनुको मतलब तँलाई आफ्ना जिम्मेवारी र दायित्वहरू के हुन् भनेर थाहा नहुने भन्‍ने हुँदैन—तँलाई यी कुराहरू थाहा हुने नै छ। यो कुरा तैँले आफ्नो जिम्मेवारी र दायित्वहरूलाई लिनका लागि कुन दृष्टिकोण र विधिहरू रोज्छस् भन्‍ने कुरामा निर्भर हुने मात्र हो। एउटा तरिका भनेको भावनाहरूको बाटो समात्नु हो, र भावनात्मक माध्यमहरू, र शैतानले मानिसलाई निर्देशित गर्ने विधि, विचार र दृष्टिकोणहरूका आधारमा यी कुरालाई लिनु हो। अर्को मार्ग भनेको परमेश्‍वरले मानिसलाई सिकाउनुभएका वचनहरूका आधारमा यी कुराहरूलाई लिनु हो। जब मानिसहरूले शैतानका गलत विचार र दृष्टिकोणअनुसार यी मामिलाहरू सम्हाल्छन्, तब तिनीहरू आफ्नो भावनाको उल्झनभित्र जिउन मात्रै सक्छन्, र तिनीहरूले कहिले पनि सही र गलत छुट्याउन सक्दैनन्। यी परिस्थितिहरूमा, तिनीहरूसँग बन्धनमा जिउनेबाहेक अरू कुनै विकल्प हुँदैन, तिनीहरू सधैँ “तिमी सही छौ, म गलत छु। तिमीले मलाई बढी दिएका छौ; मैले तिमीलाई कम दिएको छु। तिमी अकृतज्ञ छौ। तिमीले मेरा लागि धेरै गरेका छौ” भन्ने जस्ता कुराहरूको जालमा फसेर जिउनुपर्ने हुन्छ। परिणामस्वरूप, तिनीहरू कहिल्यै स्पष्ट रूपमा बोल्दैनन्। तैपनि, मानिसहरूले सत्यता बुझेपछि, र तिनीहरू गलत विचार, दृष्टिकोण र भावनाहरूको जालबाट मुक्त भएपछि, तिनीहरूका लागि यी कुराहरू सरल बन्छन्। यदि तैँले सही र परमेश्‍वरबाट आउने सत्यता सिद्धान्त, विचार, वा दृष्टिकोणको पालना गरिस् भने, तेरो जीवन धेरै ढुक्‍कलाग्दो बन्‍नेछ। उपरान्त, तैँले आफ्‍ना आमाबुबासँगको सम्‍बन्धलाई कसरी लिन्छस् भन्‍ने कुरालाई न त जनमतले, न त तेरो विवेकको सचेतनाले, न त तेरो भावनाको बोझले नै अवरोध गर्न सक्छ; यसको विपरीत, यी कुराहरूले तँलाई यो सम्बन्धलाई सही र तर्कसङ्गत ढङ्गले सामना गर्न सक्षम तुल्याउनेछन्। … मैले तँलाई आफ्ना आमाबुबालाई धोका दिन लगाउनका लागि यस विषयमा सङ्गति गरिरहेको छैनँ, र मैले तँलाई तँ र तेरा आमाबुबाको बीचमा सीमा कोर्न गर्न लगाउनका लागि त अवश्य नै यसो गररिरहेको छैनँ—हामीले कुनै अभियान सुरु गरिरहेका छैनौँ, कुनै सीमा कोर्नु गर्नु आवश्यक छैन। म तँलाई यी मामिलाहरूका बारेमा सही समझ प्रदान गर्न, र तँलाई सही विचार र दृष्टिकोण स्वीकार गर्न मद्दत गर्नका लागि यस विषयमा सङ्गति गरिरहेको छु। यसका साथै, तँलाई यी कुराहरू आइपर्दा यी कुराले तँलाई कष्ट नदिऊन्, वा तेरो हातखुट्टा नबाँधुन्न्, र अझ महत्त्वपूर्ण कुरा, तैँले यी कुराहरूको सामना गर्दा यी कुराहरूले सृष्टि गरिएको प्राणीका रूपमा तेरो कर्तव्य निर्वाह गर्ने कार्यमा असर नगरून् भनेर मैले यस विषयमा सङ्गति गरिरहेको छु। यसरी, मेरो सङ्गतिले आफ्नो लक्ष्य हासिल गर्नेछ।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१७)

के आफ्ना आमाबुबाप्रति सन्तानीय भक्ति देखाउनु सत्यता हो त? (अहँ, होइन।) आफ्ना आमाबुबाको भक्त हुनु सही र सकारात्मक कुरा हो, तर हामी किन यो सत्यता होइन भन्ने गर्छौँ? (किनभने मानिसहरू सिद्धान्तद्वारा आफ्ना आमाबुबाप्रति सन्तानीय भक्ति देखाउँदैनन् र तिनीहरू आफ्ना आमाबुबाहरू साँच्चिकै कस्ता मानिस हुन् भनी खुट्ट्याउन सक्दैनन्।) व्यक्तिले आफ्ना आमाबुबालाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा सत्यतासँग सम्बन्धित छ। तेरा बुबाआमाले परमेश्‍वरमा विश्‍वास गर्छन् र तँलाई राम्रो व्यवहार गर्छन् भने, के तँ तिनीहरूको भक्त हुनुपर्छ? (हुनुपर्छ।) अनि, तँ कसरी भक्त हुन्छस्? तैँले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूभन्दा फरक व्यवहार गर्छस्। तँ तिनीहरूले भन्‍ने हरेक कुरा मान्छस्, र तिनीहरू पाका उमेरका छन् भने, तिनीहरूको हेरचाह गर्न तँ तिनीहरूसँगै बस्नुपर्छ, जसले तँलाई कर्तव्य निर्वाह गर्न जानबाट रोक्छ। के यसो गर्नु ठिक हो? (होइन।) त्यस्तो बेला तैँले के गर्नुपर्छ? यो परिस्‍थितिमा निर्भर हुन्छ। यदि तैँले घरनजिकै रहेर कर्तव्य निर्वाह गर्दै तिनीहरूको हेरचाह गर्न सक्छस् र तेरा बुबाआमाले परमेश्‍वरमाथिको तेरो विश्‍वासको विरोध गर्दैनन् भने, तैँले छोरा वा छोरीको रूपमा तेरो जिम्‍मेवारी पूरा गर्नुपर्छ र बुबाआमालाई केही काममा सघाउनुपर्छ। तिनीहरू बिरामी छन् भने, तिनीहरूको हेरचाह गर्; यदि कुनै कुराले तिनीहरूलाई समस्यामा पारिरहेको छ भने, तिनीहरूलाई सान्त्वना दे; यदि तेरो आर्थिक स्थिति राम्रो छ भने, तेरो गच्छेअनुसार तिनीहरूलाई पौष्टिक तत्वहरू किनिदे। तर यदि तँ कर्तव्यमा व्यस्त छस्, तेरा बुबाआमालाई हेरचाह गर्ने कोही पनि छैन, अनि तिनीहरूले पनि परमेश्‍वरमा विश्‍वास गर्छन् भने तैँले के गर्नुपर्छ? तैँले कुन सत्यता अभ्यास गर्नुपर्छ? आमाबुबाको भक्त सन्तान बन्‍नु सत्यता होइन, यो त मानव जिम्‍मेवारी र दायित्व मात्रै हो, त्यसकारण तेरो दायित्व तेरो कर्तव्यसँग बाझिन्छ भने तैँले के गर्नुपर्छ? (कर्तव्यलाई प्राथमिकता दिनुपर्छ; कर्तव्यलाई पहिलो स्थानमा राख्‍नुपर्छ।) दायित्व व्यक्तिको कर्तव्य नै हो भन्‍ने हुँदैन। कर्तव्य निभाउने निर्णय गर्नु सत्यता अभ्यास गर्नु हो, तर दायित्व पूरा गर्नु सत्यता अभ्यास गर्नु होइन। यदि तेरो यो अवस्था छ भने, तैँले यो जिम्‍मेवारी वा दायित्व पूरा गर्न सक्छस्, तर वर्तमान अवस्था प्रतिकूल छ भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, “मैले कर्तव्य पूरा गर्नैपर्छ—त्यो सत्यता अभ्यास गर्नु हो। आमाबुबाप्रति भक्तिभाव देखाउनु विवेकअनुसार जिउनु हो तर त्यो सत्यता अभ्यासभन्दा तल हुन्छ।” त्यसैले, तैँले कर्तव्यलाई प्राथमिकता दिनुपर्छ र यसैको परिपालन गर्नुपर्छ। यदि अहिले तँसँग कुनै कर्तव्य छैन, र घरबाट टाढा काम गर्दैनस्, र आमाबुबाको नजिकै बस्छस् भने, तिनीहरूको हेरचाह गर्ने उपाय लगा। तिनीहरूलाई अलिक राम्ररी जिउन र तिनीहरूको कष्ट कम गर्न मदत गर्न सक्दो गर्। तर यो कुरा तेरा आमाबुबा कस्ता मानिसहरू हुन् त्यसमा पनि भर पर्छ। यदि तेरा आमाबुबाको मानवता खराब छ र तिनीहरू तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट निरन्तर बाधा दिइरहन्छन् भने, र यदि तिनीहरूले तँलाई परमेश्‍वरमा विश्‍वास गर्न र कर्तव्य निर्वाह गर्नबाट टाढा लागिरहन्छन् भने, तैँले के गर्नुपर्छ? तैँले कुन सत्यता अभ्यास गर्नुपर्छ? (इन्कार।) यस्तो बेलामा, तैँले तिनीहरूलाई इन्कार गर्नैपर्छ। तैँले आफ्‍नो दायित्व पूरा गरेको छस्। तेरा आमाबुबाले परमेश्‍वरमा विश्‍वास गर्दैनन्, त्यसकारण तँसँग तिनीहरूलाई सन्तानीय आदर देखाउने कुनै दायित्व छैन। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् भने, तिनीहरू तेरो परिवार र आमाबुबा हुन्। तर विश्‍वास गर्दैनन् भने, तिमीहरू फरकफरक मार्ग हिँडिरहेका छौ: तिनीहरू शैतानमा विश्‍वास गर्छन् र दियाबलस राजाको आराधना गर्छन्, र शैतानको मार्ग हिँड्छन्; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूभन्दा फरक मार्ग हिँड्ने मानिसहरू हुन्। तिमीहरू अब परिवार रहँदैनौ। तिनीहरू परमेश्‍वरका विश्‍वासीहरूलाई आफ्‍ना विरोधी र शत्रुहरू मान्छन्, त्यसकारण तँसँग तिनीहरूलाई हेरचाह गर्ने कुनै दायित्व बाँकी हुँदैन र तैँले तिनीहरूसँग पूरै सम्‍बन्ध तोड्नुपर्छ। कुनचाहिँ सत्यता हो: आमाबुबाको भक्ति गर्नु कि कर्तव्य निभाउनु? अवश्य नै, कर्तव्य निभाउनुचाहिँ सत्यता हो। परमेश्‍वरको घरमा कर्तव्य निभाउनु भनेको केवल दायित्व पूरा गर्नु र आफूले गर्नुपर्ने काम गर्नु मात्रै होइन। यो त सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउनु हो। यसमा परमेश्‍वरको आज्ञा समावेश हुन्छ; यो तेरो दायित्व र जिम्‍मेवारी हो। यो साँचो जिम्‍मेवारी हो, अर्थात् सृष्टिकर्ताको अघि आफ्‍नो जिम्‍मेवारी र दायित्व पूरा गर्नु। यो सृष्टिकर्ताले मानिसहरूलाई दिनुभएको मापदण्ड हो, र यो जीवनको ठूलो विषय हो। तर आमाबुबाप्रति सन्तानीय आदर देखाउनु छोराछोरीको जिम्‍मेवारी र दायित्व मात्रै हो। यो निश्‍चय नै परमेश्‍वरले आज्ञा गर्नुभएको होइन, यो परमेश्‍वरको मापदण्डबमोजिम हुने त परको कुरा हो। त्यसकारण, आमाबुबालाई सन्तानीय आदर देखाउनु र कर्तव्य निभाउनुबीचमा, निस्सन्देह नै कर्तव्य निभाउनु मात्रै सत्यता अभ्यास गर्नु हो। सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउनु नै सत्यता हो, र यो हामीले पूरा गर्नैपर्ने कर्तव्य हो। आमाबुबाप्रति सन्तानीय आदर देखाउनु भनेको मानिसहरूप्रति भक्ति देखाउनु हो। यसको अर्थ व्यक्तिले आफ्‍नो कर्तव्य निभाउँदै छ भन्‍ने हुँदैन, न त यसबाट उसले सत्यता अभ्यास गरिरहेको छ भन्‍ने नै बुझिन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको वास्तविकता भनेको के हो?

यदि तेरो जिउने वातावरण र तँ रहेको परिवेशको आधारमा, आफ्‍ना आमाबुबाको आदर गर्दा त्यो परमेश्‍वरको आज्ञा पूरा गर्ने र कर्तव्य निभाउने कार्यसँग बाझिँदैन भने—अर्को शब्‍दमा भन्दा, यदि तैँले आफ्‍ना आमाबुबाको आदर गर्दा त्यस कार्यले बफादारीसाथ कर्तव्य निभाउनमा तँलाई बाधा हुँदैन भने—तैँले एकसाथ ती दुवै अभ्यास गर्न सक्छस्। तँ आफ्‍ना आमाबुबाबाट औपचारिक रूपमा अलग भइरहनु पर्दैन, र तैँले औपचारिक रूपमा तिनीहरूलाई त्याग्‍नु वा इन्कार्नु पर्दैन। यो कुन अवस्थामा लागू हुन्छ? (आफ्‍ना आमाबुबाको आदर गर्ने कार्य कर्तव्य निभाउने कार्यसँग नबाझिँदाको अवस्थामा।) ठीक भन्यौ। अर्को शब्‍दमा भन्दा, यदि तेरा आमाबुबाले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा बाधा दिने प्रयास गर्दैनन्, र तिनीहरू पनि विश्‍वासी हुन्, अनि तिनीहरूले तँलाई साँच्‍चै नै आफ्‍नो कर्तव्य निष्ठापूर्वक निभाउन र परमेश्‍वरले दिनुभएको आज्ञा पूरा गर्न साथ र प्रोत्साहन दिन्छन् भने, आमाबुबासँगको तेरो सम्‍बन्ध सामान्य अर्थको आफन्तहरूबीचको नाता मात्रै होइन, मण्डलीका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूबीचको सम्बन्ध पनि हुन्छ। त्यस्तो हकमा, तिनीहरूसँग मण्डलीका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको रूपमा अन्तरक्रिया गर्नेबाहेक, तैँले आमाबुबाप्रतिको सन्तानको जिम्मेवारी पनि पूरा गर्नुपर्छ। तैँले तिनीहरूप्रति अलिकति भए पनि थप वास्ता गर्नुपर्छ। तेरो कर्तव्यमा असर पर्दैन भने, अर्थात्, तिनीहरूद्वारा तेरो हृदयमा बन्धन हुँदैन भने, तैँले तेरा आमाबुबालाई कल गरेर हालखबर सोध्‍न सक्छस् र तिनीहरूप्रति अलिकति भए पनि वास्ता देखाउन सक्छस्, तिनीहरूका केही कठिनाइहरू हल गर्न र तिनीहरूको जीवनका केही समस्या सम्‍हाल्‍न सहयोग गर्न सक्छस्, अनि तिनीहरूको जीवन प्रवेशसँग सम्‍बन्धित कतिपय कठिनाइहरू हल गर्न पनि तैँले सहयोग गर्न सक्छस्—तैँले यी सबै कुराहरू गर्न सक्छस्। अर्को शब्‍दमा भन्दा, यदि तेरा आमाबुबाले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा बाधा दिँदैनन् भने, तैँले तिनीहरूसँगको यो सम्‍बन्ध कायम राखिराख्‍नुपर्छ, र आफ्ना आमाबुबाप्रतिका तेरा जिम्मेवारीहरू पूरा गर्नुपर्छ। अनि तैँले किन तिनीहरूलाई वास्ता र हेरचाह गर्नुपर्छ, र तिनीहरूको हालखबर सोध्‍नुपर्छ? किनभने तँ तिनीहरूको सन्तान होस् र तिनीहरूसँग तेरो यो नाता छ, त्यसकारण तेरो अर्को प्रकारको जिम्‍मेवारी पनि हुन्छ, र त्यो जिम्‍मेवारीको कारण, तैँले तिनीहरूलाई अझै बढी वास्ता र अझै बढी सहयोग दिनुपर्छ। तेरो कर्तव्यनिर्वाहमा असर पर्दैन भने, र तेरो आमाबुबाले परमेश्‍वरमाथिको तेरो विश्‍वास वा तेरो कर्तव्यनिर्वाहमा बाधा वा व्यवधान ल्याउँदैनन्, र तँलाई रोक्‍ने प्रयास पनि गर्दैनन् भने, तैँले तिनीहरूप्रतिको तेरो जिम्मेवारी पूरा गर्नु प्राकृतिक र उचित हुन्छ, र तैँले तेरो विवेकले तँलाई नदोष्याउने हदसम्‍म त्यो जिम्मेवारी पूरा गर्नुपर्छ—तैँले पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड यही हो। यदि तेरो परिस्‍थितिहरूको प्रभाव र बाधाको कारण तैँले घरमा आफ्‍ना आमाबुबाको आदर गर्न सक्दैनस् भने, तैँले यो नियम पालना गर्नु पर्दैन। तैँले आफूलाई परमेश्‍वरको योजनाबद्ध कार्यहरूमा सुम्पेर उहाँका बन्दोबस्तहरूमा समर्पित गर्नुपर्छ, अनि आफ्‍ना आमाबुबाको आदर गर्नुपर्छ भनेर तैँले जिद्दी गरिरहनु पर्दैन। के परमेश्‍वरले यो कार्यलाई दोषी ठहराउनुहुन्छ? परमेश्‍वरले यो कार्यलाई दोषी ठहराउनुहुन्‍न; उहाँले मानिसहरूलाई यसो गर्न जबरजस्ती पनि गर्नुहुन्‍न। … यदि तेरा आमाबुबाले परमेश्‍वरमा विश्‍वास गर्दैनन्, र तिनीहरूको बोलीचाली वा खोज र उद्देश्य तेरोसँग मिल्दैन भने, र तिनीहरू तँ हिँड्ने मार्गमा हिँड्दैनन्, र परमेश्‍वरमाथिको तेरो विश्‍वासमा बाधा दिने र तँलाई सताउनेसमेत गर्छन् भने, तैँले तिनीहरूलाई चिन्‍नुपर्छ, तिनीहरूको वास्तविकता देख्‍नुपर्छ, र तिनीहरूलाई इन्कार गर्नुपर्छ। यदि तिनीहरूले परमेश्‍वरलाई गालीगलौज गर्ने वा तँलाई धिक्‍कार्ने गर्छन् भने, तैँले पनि अवश्यै तिनीहरूलाई हृदयमा धिक्‍कार्न सक्छस्। त्यसोभए, परमेश्‍वरले उल्‍लेख गर्नुभएको “आफ्‍ना आमाबुबाको आदर गर्नु” भन्‍ने भनाइको अर्थ के हो त? तैँले कसरी त्यो अभ्यास गर्नुपर्छ? त्यो कसरी भने, यदि तैँले आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्न सक्‍ने अवस्था छ भने, तीमध्ये केही जिम्मेवारी पूरा गर्, तर यदि त्यसो गर्ने मौका पाइनस्, वा तिनीहरूसँगको अन्तरक्रियामा तेरो भनाभन पहिले नै धेरै भइसकेको छ, र तिमीहरूबीच द्वन्द्व छ, अनि तिमीहरू एकअर्कालाई भेट्न नसक्‍ने अवस्थामा पुगिसकेका छौ भने, तैँले तुरुन्तै तिनीहरूबाट आफूलाई अलग पार्नुपर्छ। यस्ता आमाबुबालाई आदर गर्नेबारेमा कुरा गर्दा, परमेश्‍वरले के भनिरहनुभएको हो भने, तैँले तिनीहरूका सन्तानको रूपमा आमाबुबाप्रतिको जिम्‍मेवारी पूरा गर्नुपर्छ, र सन्तानले गर्नुपर्ने कामकुराहरू गर्नुपर्छ। तैँले आफ्‍ना आमाबुबालाई दुर्व्यवहार गर्नु हुँदैन, वा तिनीहरूसँग बाझ्‍नु हुँदैन, तिनीहरूलाई कुट्ने वा हकार्ने गर्नु हुँदैन, तिनीहरूमाथि दुर्व्यवहार गर्नु हुँदैन, र सकेससम्‍म तिनीहरूप्रतिको जिम्‍मेवारी पूरा गर्नुपर्छ। तैँले मानवताको क्षेत्रमा रही यी कामकुराहरू गर्नुपर्छ; “आफ्‍ना आमाबुबाको आदर गर्नु” भन्‍ने विषयमा अभ्यास गर्नुपर्ने सिद्धान्तहरू यिनै हुन्। के ती पूरा गर्नु सजिलो छैन र? तैँले आफ्‍ना आमाबुबासँग झोक्‍किदै, तिनीहरूलाई यसो भन्‍नु हुँदैन: “तिमीहरू दियाबलस र गैरविश्‍वासीहरू हौ, परमेश्‍वरले तिमीहरूलाई श्राप दिनुहुन्छ, र आगो र गन्धकको अतल कुण्‍डमा फ्याँक्‍नुहुनेछ, तिमीहरूलाई अठारौँ तहको नरकमा पठाउनुहुनेछ!” त्यसो भनिरहनु जरुरी छैन, र तँ यो हदसम्‍म जानु पर्दैन। परिस्‍थितिले साथ दियो, र जरुरी अवस्था आइपर्‍यो भने, तैँले आमाबुबाप्रतिको आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ। यदि त्यो जरुरी होइन, वा परिस्‍थिति मिलेन र त्यसो गर्नु सम्‍भव भएन भने, तैँले यो दायित्व त्याग्‍न सक्छस्। तैँले आमाबुबालाई भेट्दा र अन्तरक्रिया गर्दा मात्र तिनीहरूप्रतिका तेरा जिम्‍मेवारीहरू पूरा गरे पुग्छ। जब तैँले त्यसो गरिसक्छस्, तैँले आफ्‍नो काम पूरा गरिसकेको हुन्छस्। तिमीहरूलाई यो सिद्धान्त कस्तो लाग्यो? (यो राम्रो छ।) तिमीहरूले आफ्‍ना आमाबुबालगायत सबै मानिसहरूसँग गर्ने व्यवहारमा सिद्धान्तहरू लागू हुनुपर्छ। परमेश्‍वरमाथिको तेरो विश्‍वासको निम्ति तेरा आमाबुबाबाट तँमाथि सतावट भयो भन्दैमा तैँले अविवेकी व्यवहार गर्नु हुँदैन, र तिनीहरूलाई गाली गर्नु हुँदैन। संसारमा परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरू कैयौँ छन्, अविश्‍वासीहरू कति हो कति छन्, र परमेश्‍वरलाई अपमान गर्नेहरू धेरै छन्—के तँ तिनीहरू सबैलाई सराप्‍ने र गाली गर्नेवाला छस् र? यदि छैनस् भने, तैँले आफ्‍ना आमाबुबालाई पनि गाली गर्नु हुँदैन। यदि तैँले आफ्‍ना आमाबुबालाई गाली गर्छस् तर अरूलाई गाली गर्दैनस् भने, तँ झोकमा जिइरहेको छस्, र परमेश्‍वरलाई यस्तो कुरा मन पर्दैन। तैँले आफ्‍ना आमाबुबालाई कुनै कारणविना दियाबलस, जिउँदा शैतान, र शैतानका नोकरहरू भन्दै गाली गरिस् र श्राप दिइस्, अनि तिनीहरूलाई नरक जाओ भनी सरापिस् भने परमेश्‍वर तँप्रति सन्तुष्ट हुनुहुनेछ भन्‍ने नसोच्—त्यस्तो हुँदैन। यस्तो झूटो पूर्वसक्रियता देखाउँदैमा परमेश्‍वरले तँलाई स्वीकार्य पाउनुहुनेछैन वा तँमा मानवता छ भनेर भन्‍नुहुनेछैन। बरु, परमेश्‍वरले तेरो व्यवहारमा भावनाहरू र झोक लुकेका छन् भनेर भन्‍नुहुनेछ। तैँले यस्तो व्यवहार गरेको परमेश्‍वरलाई मन पर्दैन, किनभने यो अत्यन्तै चरम छ, र यो उहाँको इच्‍छासँग मिल्दैन। तिमीहरूले आफ्‍ना आमाबुबालगायत सबै मानिसहरूसँग गर्ने व्यवहारमा सिद्धान्तहरू हुनुपर्छ; तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि नगरे पनि, र तिनीहरू दुष्ट मानिसहरू भए पनि नभए पनि, तैँले तिनीहरूसँग सिद्धान्तअनुसार व्यवहार गर्नुपर्छ। परमेश्‍वरले मान्छेलाई यो सिद्धान्त बताउनुभएको छ: यो अरूलाई उचित व्यवहार गर्ने कार्यसँग सम्‍बन्धित छ—यति हो कि, आफ्‍ना आमाबुबाप्रति मानिसहरूको अलिक बढी जिम्‍मेवारी हुन्छ। तैँले गर्नुपर्ने एउटै कुरा भनेको यो जिम्‍मेवारी पूरा गर्नु हो। तेरा आमाबुबा विश्‍वासी भए पनि नभए पनि, तिनीहरूले आफ्‍नो आस्था पछ्याए पनि नपछ्याए पनि, तिनीहरूको जीवन दृष्टिकोण र मानवता तेरोसँग मिले पनि नमिले पनि, तैँले बस तिनीहरूप्रतिको आफ्‍नो जिम्‍मेवारी पूरा गर्नुपर्छ। तिनीहरूबाट तर्किहिँड्नु आवश्यक छैन—सबै कुरालाई बस स्वाभाविक रूपमा, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूअनुसार अघि बढ्न दे। यदि तिनीहरूले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा बाधा दिन्छन् भने पनि, तैँले आफ्‍नो क्षमताले भ्याउञ्‍जेल आमाबुबाप्रतिको आफ्‍नो जिम्‍मेवारी पूरा गर्नुपर्छ, ताकि कम्तीमा पनि तँलाई तेरो विवेकमा तिनीहरूप्रति ऋणी भएको अनुभव नहोस्। यदि तिनीहरूले तँलाई बाधा दिँदैनन्, र परमेश्‍वरमाथिको तेरो विश्‍वासमा साथ दिन्छन् भने, तैँले सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ, र तिनीहरूसँग उचित व्यवहार गर्नुपर्ने ठाउँमा उचित व्यवहार गर्नुपर्छ। समग्रमा, जेसुकै भए पनि, मान्छेको लागि परमेश्‍वरले तोक्‍नुभएका मापदण्डहरू परिवर्तन हुँदैनन्, र मानिसहरूले अभ्यास गर्नुपर्ने सत्यताका सिद्धान्तहरू परिवर्तन हुन सक्दैनन्। यी मामलाहरूमा, तिमीहरूले बस सिद्धान्तहरू पालना गर्नुपर्छ, र आफूले सक्‍नेजति जिम्‍मेवारीहरू पूरा गर्नुपर्छ।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (४)

परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न आग्रह गर्छन्? परमेश्‍वरले जुन कुरालाई प्रेम गर्नुहुन्छ त्यसलाई प्रेम गर्नू र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्‍वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घृणा गर्नुपर्छ। परमेश्‍वरले मानिसलाई यस्तै गर्नू भन्नुहुन्छ। यदि तेरा आमाबाबुले परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, यदि तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु सही मार्ग हो र यसले मुक्तिको मार्गतर्फ डोर्‍याउँछ भन्‍ने राम्ररी थाहा छ, तैपनि तिनीहरू अग्रहणशील नै रहन्छन् भने, तिनीहरू सत्यताप्रति दिक्‍क भएका, सत्यतालाई घृणा गर्ने मानिसहरू हुन् भन्‍नेमा कुनै शङ्का हुँदैन, र तिनीहरू परमेश्‍वरको विरोध गर्ने, र परमेश्‍वरलाई घृणा गर्ने मानिसहरू हुन् भन्‍नेमा पनि कुनै शङ्का हुँदैन—र स्वाभाविक रूपमा परमेश्‍वरले पनि उनीहरूलाई घृणा र तिरस्कार गर्नुहुन्छ। के तँ त्यस्ता आमाबाबुलाई घृणा गर्न सक्छस्? उनीहरूले परमेश्‍वरको विरोध र निन्दा गर्छन्—र त्यो अवस्थामा, निश्‍चित रूपमा उनीहरू नरपिशाच र शैतान हुन्छन्। के तँ उनीहरूलाई घृणा गर्न र श्राप दिन सक्छस्? यी सबै वास्तविक प्रश्‍नहरू हुन्। यदि तेरा आमाबाबुले तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोके भने, तैँले उनीहरूसित कस्तो व्यवहार गर्नुपर्छ? परमेश्‍वरले भनेअनुसार, परमेश्‍वरले जुन कुरालाई प्रेम गर्नुहुन्छ त्यसलाई तैँले प्रेम गर्नुपर्छ, र जुन कुरालाई परमेश्‍वरले घृणा गर्नुहुन्छ त्यसलाई तैँले घृणा गर्नुपर्छ। अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, “मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?” “जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्‍छा पूरा गर्छन्, तिनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।” यी वचनहरू पहिल्यै अनुग्रहको युगमै अस्तित्वमा थिए, र अहिले परमेश्‍वरका वचनहरू अझ स्पष्ट भएका छन्: “परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नु, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नु।” यी वचनहरू स्पष्ट छन्, तर मानिसहरूले तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्। यदि कुनै व्यक्ति परमेश्‍वरलाई इन्कार र विरोध गर्ने व्यक्ति हो, र ऊ परमेश्‍वरद्वारा श्रापित भएको छ, तर ऊ तेरो आमा वा बुबा, वा आफन्त हो, र तेरो मूल्याङ्कनअनुसार ऊ दुष्कर्मी होइन, र उसले तँलाई राम्रो व्यवहार गर्छ भने, त्यो व्यक्तिलाई घृणा गर्न तँलाई गाह्रो पर्न सक्छ, तँ ऊसित निकटतम सम्पर्कमै रहिरहन सक्छस्, र ऊसँगको तेरो सम्बन्ध नबदलिन सक्छ। परमेश्‍वरले त्यस्ता व्यक्तिहरूलाई तिरस्कार गर्नुहुन्छ भन्‍ने सुनेर तँ विचलित हुनेछस्, र तैँले परमेश्‍वरको पक्षमा उभिन र तिनीहरूलाई निर्दयतापूर्वक अस्वीकार गर्न सक्‍नेछैनस्। तँ सधैँ भावनाको बन्धनमा हुन्छस्, र तँ तिनीहरूलाई पूर्णरूपमा त्याग्‍न सक्दैनस्। यसको कारण के हो? तेरो भावना अत्यन्तै प्रगाढ हुनाले यस्तो हुन्छ, र यसले तँलाई सत्यताको अभ्यास गर्नबाट रोक्छ। त्यस व्यक्तिले तँसँग राम्रो व्यवहार गर्छ, त्यसकारण तैँले उसलाई घृणा गर्नै सक्दैनस्। उसले तँलाई चोट पुर्‍याएको छ भने मात्रै तैँले उसलाई घृणा गर्न सक्छस्। के त्यो घृणा सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ? यसको साथै, तँ परम्‍परागत धारणाहरूको बन्धनमा हुन्छस्, र तिनीहरू तेरा बुबाआमा वा आफन्त हुन्, त्यसकारण तैँले तिनीहरूलाई घृणा गरिस् भने, तँलाई समाजले गाली गर्नेछ र जनमतले तेरो निन्दा गर्नेछ र तँलाई छोराछोरी हुनलायक नभएको, विवेक नभएको, र मानवसमेत बन्‍न नसकेको भनी दोष लाग्‍नेछ भन्‍ने सोच्छस्। तँलाई आफू ईश्‍वरद्वारा दोषी ठहरिएर दण्डित हुनेछु भन्‍ने लाग्छ। तैँले तिनीहरूलाई घृणा गर्न चाहिस् नै भने पनि तेरो विवेकले तँलाई त्यसो गर्न दिँदैन। किन तेरो विवेकले यसरी काम गर्छ? किनकि तँभित्र तँ बालकै छँदादेखि तेरो परिवारको विरासतद्वारा, तैँले आमाबुबाबाट पाएको शिक्षाद्वारा, र परम्परागत संस्कृतिको सिकाइद्वारा एउटा सोच्ने तरिकाको बीजारोपण भएको हुन्छ। यसरी सोच्ने तरिकाले तेरो हृदयमा निकै गहिरो जड बसालेको हुन्छ, र यसले गर्दा तँ पितृभक्ति पूर्णतय: प्राकृतिक र उचित कुरा हो, र आफ्‍ना पितापुर्खाबाट आएका जुनसुकै कुरा पनि सधैँ असल हुन्छ भन्‍ने गलत विश्‍वास गर्छस्। तैँले सुरुमा यही कुरा सिकेको थिइस् र यही नै तँमा हावी रहन्छ, जसले तेरो विश्‍वासमा र सत्यता स्वीकार गर्ने कार्यमा ठूलो बाधा र रोकावट पैदा गर्छ, र तँ परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्न, अनि परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्न, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्न असमर्थ हुन्छस्। तेरो जीवन परमेश्‍वरबाट आएको हो, तेरा आमाबुबाबाट होइन भन्‍ने कुरा तँलाई हृदयमा थाहा हुन्छ, र तैँले तेरा आमाबुबाले परमेश्‍वरमा विश्‍वास नगर्ने मात्र होइन, परमेश्‍वरको विरोधसमेत गर्छन् भन्‍ने जान्दछस्; कि परमेश्‍वरले तिनीहरूलाई घृणा गर्नुहुन्छ र तँ परमेश्‍वरमा समर्पित हुनुपर्छ, उहाँको पक्षमा उभिनुपर्छ, तर तैँले तिनीहरूलाई चाहेर पनि घृणा गर्न सक्दैनस्। तँ यो कठिनाइ पार गर्न सक्दैनस्, तँ आफ्नो हृदय कठोर बनाउन सक्दैनस्, र तँ सत्यता अभ्यास गर्न सक्दैनस्। यसको मूल कारण के हो? शैतानले यस प्रकारका परम्परागत संस्कृति र नैतिकताका धारणाहरू प्रयोग गरी तेरो सोचविचार, तेरो दिमाग, र तेरो हृदयलाई बन्धनमा पार्छ, अनि तँ परमेश्‍वरका वचनहरू स्वीकार गर्न नसक्‍ने अवस्थामा पुग्छस्; तँ शैतानका यी कुराहरूको अधीनमा परेको छस्, र तँलाई परमेश्‍वरका वचनहरू स्विकार्न नसक्‍ने तुल्याइएको छ। तैँले परमेश्‍वरका वचनहरू अभ्यास गर्न चाहँदा, यी कुराहरूले तँभित्र खैलाबैला मच्चाउँछन्, तँलाई सत्यता र परमेश्‍वरको मापदण्डको विरोध गर्ने र आफैलाई यो परम्परागत संस्कृतिको बन्धनबाट छुटाउन नसक्‍ने बनाउँछन्। केही समयसम्‍म संघर्ष गरिसकेपछि, तैँले सम्झौता गर्छस्: तैँले नैतिकताका परम्‍परागत धारणाहरू सही र सत्यताअनुरूप छन् भनी विश्‍वास गर्न रुचाउँछस्, त्यसकारण तैँले परमेश्‍वरका वचनहरूलाई इन्कार गर्छस् वा त्याग्छस्। तैँले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा स्वीकार गर्दैनस् र तैँले मुक्ति पाउनेबारेमा केही पनि सोच्दैनस्, किनभने तैँले अझै पनि यो संसारमा जिउनु छ, र यी मानिसहरूमा भर परेर मात्र बाँच्न सकिन्छ भन्‍ने सोचिरहेको हुन्छस्। समाजको दोषारोपण सहन नसकेर, तँ सत्यता र परमेश्‍वरका वचनहरू त्याग्‍न रुचाउँछस्, र यसरी परमेश्‍वरलाई चिढ्याउन र सत्यता अभ्यास नगर्न रुचाउँदै, तैँले आफैलाई नैतिकताका परम्‍परागत धारणाहरू र शैतानको प्रभावमा होमिदिन्छस्। के मानिस दयनीय छैन र? के तिनीहरूलाई परमेश्‍वरको मुक्तिको खाँचो छैन र? कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको धेरै भएको हुन्छ, तर आमाबुबाप्रतिको भक्तिबारे अझै पनि अन्तर्ज्ञान पाएका हुँदैनन्। तिनीहरूले वास्तवमै सत्यता बुझ्दैनन्। तिनीहरू यी सांसारिक सम्बन्धहरूको पर्खाल कहिल्यै नाघ्न सक्दैनन्; तिनीहरूमा साहस हुँदैन, न त आत्मविश्वास नै हुन्छ, झन् अठोट हुनु त परै जाओस्, त्यसैले तिनीहरू परमेश्वरलाई प्रेम गर्न र उहाँको आज्ञा मान्न सक्दैनन्। केही मानिस यसाई छल्लङ्गै देख्न सक्छन्, र तिनीहरूलाई वास्तवमा यसो भन्न सजिलो हुँदैन, “मेरा आमाबुबा परमेश्वरमा विश्वास गर्नुहुन्न, र उहाँहरू मलाई विश्वास गर्न रोक्नुहुन्छ। उहाँहरू दियाबलस हुनुहुन्छ।” कुनै पनि अविश्वासीहरू परमेश्वर हुनुहुन्छ, वा उहाँले स्वर्ग र पृथ्वी अनि सबै थोक सृष्टि गर्नुभयो भनी विश्वास गर्दैनन्। यस्ता भन्ने मानिस पनि छन्, “मानिसलाई उसका आमाबुबाले जीवन दिन्छन् र उसले उनीहरूको सम्मान गर्नुपर्छ।” यस्तो विचार वा दृष्टिकोण कहाँबाट आउँछ? के यो शैतानबाट आउँछ? हजारौँ वर्षदेखि परम्परागत संस्कृतिले मानिसलाई यसरी शिक्षा र धोका दिँदै आएको छ, तिनीहरूलाई परमेश्वरको सृष्टि र सार्वभौमिकता अस्वीकार गर्ने तुल्याएको छ। शैतानको छल र नियन्त्रण नभएको भए, मानवजातिले परमेश्वरको काम अनुसन्धान गर्नेथिए र उहाँका वचन पढ्नेथिए, अनि तिनीहरूलाई आफू परमेश्वरद्वारा सृष्टि गरिएको हो, र आफ्नो जीवन परमेश्वरले दिनुभएको हो; आफूसँग भएका सबै कुरा परमेश्वरले दिनुभएको हो, र आफू परमेश्वरप्रति धन्यवादी हुनुपर्छ भन्ने थाहा हुनेथियो। कसैले हाम्रो भलो गर्छ भने हामीले त्यसलाई परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ—विशेष गरी यो कुरा हाम्रा आमाबुबामा लागू हुन्छ जसले हामीलाई जन्माएर हुर्काउनुभयो; यो सबै परमेश्वर बन्दोबस्त गर्नुहुन्छ। परमेश्वर सबैमाथि शासन गर्नुहुन्छ; मानिस त केवल सेवाको औजार हो। यदि कसैले परमेश्वरप्रति समर्पित हुन आफ्ना आमाबुबा, वा आफ्नो पति (वा पत्नी) र छोरोछोरीलाई छेऊ लगाउन सक्छ भने, त्यो व्यक्ति दह्रिलो हुनेछ र ऊसँग परमेश्वरसामु धार्मिकताको बोध झन् धेरै हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना बहकिएका दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ

एक दिन, जब तैँले केही सत्यता बुझ्छस्, तब तेरी आमा नै सबैभन्दा उत्तम व्यक्ति हुन्, वा तेरा बुबाआमा सबैभन्दा उत्तम मानिसहरू हुन् भनेर सोच्‍न छोड्नेछस्। तैँले तिनीहरू पनि भ्रष्ट मानवजातिका सदस्य नै हुन्, र तिनीहरूका भ्रष्ट स्वभावहरू सबै उस्तै छन् भन्‍ने महसुस गर्नेछस्। तिनीहरूको भिन्‍नता भनेको तँसँगको भौतिक रगतको सम्‍बन्ध मात्रै हो। यदि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, अविश्‍वासीसरह हुन्। तैँले तिनीहरूलाई परिवारको सदस्य वा तेरो देहको नाताको दृष्टिकोणले हेर्न छोड्नेछस्, तर सत्यताको पाटोबाट हेर्नेछस्। तैँले हेर्नुपर्ने मुख्य पक्षहरू के-के हुन्? तैँले परमेश्‍वरप्रतिको विश्‍वासमा तिनीहरूको दृष्टिकोण, संसारप्रति र परिस्थितिहरू सम्‍हाल्‍नेसम्‍बन्धी तिनीहरूको दृष्टिकोण र सबैभन्दा महत्त्वपूर्ण, परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्तिलाई हेर्नुपर्छ। यदि तैँले यी पक्षहरूलाई सही रूपमा मूल्याङ्कन गर्छस् भने, तिनीहरू असल मानिस हुन् कि खराब हुन् भनेर स्पष्टसित देख्‍नेछस्। एक दिन तैँले तिनीहरू पनि तँजस्तै भ्रष्ट स्वभाव भएका मानिसहरू हुन् भनेर स्पष्ट देख्‍न सक्‍नेछस्। तिनीहरू तैँले कल्‍पना गरेजस्तो तँलाई साँचो प्रेम गर्ने दयालु हृदयका मानिस होइनन्, र तिनीहरूले तँलाई सत्यतामा वा जीवनको सही मार्गमा डोर्‍याउन सक्दैनन् भन्‍ने कुरा अझ स्पष्ट हुनेछ। तिनीहरूले तँलाई जे गरेका छन् त्यसबाट तँलाई खासै फाइदा पुग्दैन, र तैँले जीवनमा सही मार्ग लिन यसको कुनै काम छैन भन्‍ने कुरा पनि स्पष्टसित देख्‍न सक्‍नेछस्। अनि, तैँले तिनीहरूका धेरैजसो अभ्यास र विचारहरू सत्यताविपरीत छन्, तिनीहरू देहका हुन्, यसले गर्दा तँ तिनीहरूलाई तुच्छ ठान्छस्, र तिनीहरूप्रति तँलाई अरुचि र घृणा लाग्छ भन्‍ने कुरा पनि थाहा पाउनेछस्। यदि तैँले यी कुराहरू देख्‍न सक्छस् भने, त्यसपछि तैँले तेरा आमाबुबालाई हृदयभित्र सही व्यवहार गर्न सक्‍नेछस्, र तँलाई तिनीहरूको त्यति धेरै याद आउने, चिन्ता लाग्‍ने, र अलग हुन नसक्‍ने हुन छोड्नेछ। तिनीहरूले आमाबुबाका रूपमा आफ्‍नो मिसन पूरा गरेका छन्, त्यसैले तैँले तिनीहरूलाई तेरो सबैभन्दा नजिकका मानिस ठान्न वा तिनीहरूलाई आदर्श मान्‍न छोड्नेछस्। बरु, तैँले तिनीहरूलाई सामान्य मानिसका रूपमा लिनेछस्, र त्यो बेला, तँ भावनाहरूको बन्धनबाट पूर्ण रूपमा उम्‍केर आफ्‍नो भावना र पारिवारिक स्‍नेहबाट साँच्चै मुक्त हुनेछस्। एकपटक त्यस्तो गरिसकेपछि, तैँले ती कुराहरू प्रिय ठान्नलायक नभएको महसुस गर्नेछस्। त्यस बिन्दुमा, तैँले आफ्ना नातेदार, परिवार र देहका सम्बन्धहरू सत्यता बुझ्ने र आफूलाई संवेगबाट मुक्त पार्ने कार्यको निम्ति अवरोधहरू रहेछन् भनेर देख्‍नेछस्। यस्तो किन हुन्छ भने तिनीहरूसँग तेरो पारिवारिक सम्बन्ध छ—र त्यो यस्तो देहको सम्बन्ध हो जसले तँलाई कुँजो पार्छ, बहकाउँछ, र तिनीहरूले तँलाई सबैभन्दा राम्रो व्यवहार गर्छन्, तिनीहरू तेरा सबैभन्दा नजिकका हुन्, र तिनीहरूले तेरो ख्याल अरूले भन्दा राम्रो राख्छन् र तँलाई सबैभन्दा बढी प्रेम गर्छन् भन्‍ने विश्‍वास गराउँछ—र यो सबै कुराले तँलाई तिनीहरू राम्रा मानिस हुन् कि नराम्रा भनेर प्रष्ट रूपमा छुट्याउन असक्षम बनाउँछ। यी संवेगहरू साँचो रूपमा त्यागिसकेपछि, तैँले तिनीहरूबारे अझै बारम्बार सोच्छस् भने पनि, के तँ तिनीहरूलाई हृदयदेखि नै सम्झिरहने, तिनीहरूकै बारेमा सोचिबस्ने, र अहिलेजस्तै तिनीहरूको तृष्णा गरिरहने गर्नेछस् र? तैँले त्यस्तो गर्नेछैनस्। अनि, यस्तो भन्‍नेछैनस्: “म जोबिना साँच्चिकै रहनै सक्दिनँ उनी मेरी आमा हुन्; मलाई प्रेम गर्ने, मेरो हेरचाह गर्ने, र मेरो सबैभन्दा बढी ख्याल राख्ने उनी नै हुन्।” जब तँसित यो स्तरको अनुभूति हुन्छ, के तँ तिनीहरूबारे सोच्दा अझै रुनेछस्? अहँ। यो समस्या समाधान हुनेछ। त्यसकारण, तँलाई कठिनाइ निम्त्याउने समस्या वा मामिलाहरूको सन्दर्भमा, यदि तैँले सत्यताको त्यो पक्ष हासिल गरेको छैनस् र यदि तँ सत्यताको वास्तविकताको त्यो पक्षमा प्रवेश गरेको छैनस् भने, तँ यस्ता कठिनाइ वा स्थितिहरूको जालमा फस्नेछस्, र तँ त्यहाँबाट कहिल्यै उम्किन सक्नेछैनस्। यदि तँ यसप्रकारका कठिनाइ र समस्याहरूलाई जीवन प्रवेशका प्रमुख समस्याहरूका रूपमा लिन्छस् र त्यसपछि ती समस्या समाधान गर्न सत्यता खोज्छस् भने, तँ सत्यताको वास्तविकताको यस पक्षभित्र प्रवेश गर्न सक्षम हुनेछस्; थाहै नभई तैँले यी कठिनाइ र समस्याहरूबाट आफ्नो पाठ सिक्नेछस्। जब ती समस्याहरू समाधान हुन्छन्, तैँले आफ्ना आमाबुबा र परिवारका सदस्यहरूसँग आफू पहिलेजति नजिक नभएको अनुभूति गर्नेछस्, तैँले तिनीहरूको प्रकृति र सार अझ प्रष्ट रूपमा देख्नेछस्, र तैँले तिनीहरू साँच्चिकै कस्ता खालका मानिसहरू हुन् भनेर चिन्‍नेछस्। अनि, आफ्ना प्रियजनहरूलाई प्रष्टै चिनेपछि, तैँले यसो भन्‍नेछस्: “मेरी आमा सत्यता बिलकुलै स्वीकार गर्दिनन्; वास्तवमा उनी सत्यताबाट दिक्क छिन् र सत्यतालाई घृणा गर्छिन्। उनी सारमा एक दुष्ट व्यक्ति, अर्थात दियाबलस हुन्। मेरो बुबा मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुन्, उनी मेरी आमाको पक्षमा उभिन्छन्। उनले सत्यता बिलकुलै स्वीकार र अभ्यास गर्दैनन्; उनी सत्यता पछ्याउने व्यक्ति होइनन्। मेरा आमा र बुबाको व्यवहारको आधारमा, उनीहरू दुबै गैरविश्‍वासीहरू हुन्; उनीहरू दुबै दियाबलसहरू हुन्। मैले उनीहरूलाई पूर्ण रूपमा त्याग्नुपर्छ, र उनीहरूसँग मेरो प्रष्ट सीमा कोर्नुपर्छ।” यसरी, तँ सत्यताको पक्षमा उभिनेछस्, र उनीहरूलाई परित्याग गर्न सक्षम हुनेछस्। जब तँ उनीहरू को हुन्, र कस्ता खालका मानिस हुन् भनेर चिन्न सक्छस्, के तब पनि तँमा उनीहरूप्रति आत्मीय भावना हुनेछ? के तैँले अझै पनि तिनीहरूप्रति स्नेह अनुभूति गर्नेछस्? के तेरो अझै पनि तिनीहरूसँग देहको सम्बन्ध हुनेछ? हुनेछैन। के तैँले अझै आफ्ना संवेगहरूलाई रोक्न आवश्यक हुनेछ? (हुनेछैन।) त्यसो भए, यी समस्याहरू समाधान गर्न वास्तवमा तँ के कुरामा निर्भर हुन्छस्? तँ सत्यता बुझ्ने, परमेश्‍वरमा भर पर्ने, र परमेश्‍वरतर्फ फर्किहेर्ने कुरामा निर्भर हुन्छस्। यदि तँ यी कुराहरूबारे आफ्नो हृदयमा प्रष्ट छस् भने, के तैँले त्यसपछि पनि आफूलाई नियन्त्रित गर्नुपर्छ र? के तैँले अझै पनि अन्यायमा परेको महसुस गर्नेछस् र? के तैँले अझै पनि यस्तो ठूलो पीडा भोग्नुपर्छ र? के तँलाई अझै पनि अरूले सङ्गति र वैचारिक काम गरिदिन आवश्यक पर्छ र? पर्दैन, किनकि तँ आफैले ती सबै समाधान गरिसकेको हुन्छस्—त्यो एकदमै सजिलो काम हो। फेरि पहिलेकै कुरामा आऔँ, तँ उनीहरूबारे सोच्न वा उनीहरूलाई सम्झन नचाहने मामिला कसरी सुल्झाउँछस्? (त्यो कुरा सुल्झाउन सत्यता खोज्छु।) ती ठूला शब्दहरू हुन्, ती एकदमै आधिकारिक सुनिन्छन्—तर अलि व्यावहारिक रूपमा बोल। (उनीहरूको सार बुझ्न परमेश्‍वरका वचनहरू लागू गर्नुपर्छ; मतलब, तिनीहरूलाई तिनीहरूको सारको आधारमा चिन्‍नुपर्छ। त्यसपछि, हामी हाम्रो स्नेह, र हाम्रो देहको सम्बन्ध पन्छाउन सक्षम हुनेछौँ।) त्यो ठिक हो। तैँले परमेश्‍वरका वचनहरूलाई मानिसको प्रकृति र सारबारे तेरो समझको आधार बनाउनुपर्छ। परमेश्‍वरको वचनको खुलासाबिना, कसैले पनि अरूको प्रकृति र सार बुझ्न सक्दैन। परमेश्‍वरका वचनहरू र सत्यतामा आधारित भएर मात्र व्यक्तिले मानिसहरूको प्रकृति र सार बुझ्न सक्छ; त्यसपछि मात्र व्यक्तिले मानव संवेगको समस्या जरैबाट समाधान गर्न सक्छ। सर्वप्रथम, आफ्ना स्नेहहरू र देहका सम्बन्धहरूबाट टाढिँदै काम सुरु गर्; जसको लागि तेरो संवेग सबैभन्दा बलियो छ, तैँले सर्वप्रथम उसैलाई विश्‍लेषण गर्नु र चिन्‍नुपर्छ। यस्तो समाधानबारे तेरो के विचार छ? (यो राम्रो छ।) कतिपय मानिसहरू यसो भन्छन्: “आफूमा जो मानिसहरूको लागि सबैभन्दा बलियो संवेग हुन्छ उनीहरूलाई खुट्याउनु र विश्‍लेषण गर्नु—यो अति कठोर कुरा हो!” तँलाई उनीहरूलाई खुट्याउन लगाउनु भनेको तैँले उनीहरूसँग सम्बन्ध तोड् भनेर होइन—त्यो तैँले आमाबुबा र बच्चाबीचको तेरो सम्बन्ध तोड् भनेर होइन, न त त्यो तैँले उनीहरूलाई पूर्ण रूपमा त्याग्, उनीहरूसँग फेरि कहिल्यै कुरा नगर् भनेर नै हो। तैँले आफ्ना प्रियजनहरूप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ, तर तँ उनीहरूको बन्धन वा जालोमा पर्नु हुँदैन, किनकि तँ परमेश्‍वरको अनुयायी होस्; तँमा यो सिद्धान्त हुनैपर्छ। यदि तँ अझै पनि उनीहरूको बन्धन वा जालोमा पर्न सक्छस् भने, तैँले आफ्नो कर्तव्य राम्ररी निभाउन सक्दैनस्, न त बाटोको अन्त्यसम्मै परमेश्‍वरलाई पछ्याउने प्रत्याभूति नै गर्न सक्छस्। यदि तँ परमेश्‍वरको अनुयायी वा सत्यताप्रेमी नहुँदो हो त कसैले पनि तँबाट यस्तो कुनै अपेक्षा राख्‍ने थिएनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ

अय्यूबले आफ्‍ना छोराछोरीसँग कस्तो व्यवहार गर्थ्यो? उसले बुबाको रूपमा आफ्‍नो जिम्‍मेवारी मात्रै पूरा गर्थ्यो र तिनीहरूलाई सुसमाचार सुनाउँथ्यो र सत्यता सङ्गति गर्थ्यो। तैपनि, तिनीहरूले उसको कुरा सुने पनि नसुने पनि, उसको आज्ञापालन गरे पनि नगरे पनि, अय्यूबले तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न जबरजस्ती गर्दैनथ्यो—तिनीहरूले तिनीहरूलाई लछारपछार र हकारपकार गर्ने, वा तिनीहरूको जीवनमा हस्तक्षेप गर्ने गर्दैनथे। तिनीहरूका सोच र विचारहरू तिनका भन्दा फरक थिए, त्यसैले तिनीहरूको काममा तिनले दखल अन्दाजी गर्दैनथे, र तिनीहरूले कस्तो मार्ग हिँडिरहेका छन् त्यसमा कुनै हस्तक्षेप गर्दैनथे। के अय्यूबले आफ्‍ना छोराछोरीसित परमेश्‍वरमा विश्‍वास गर्नेबारेमा बिरलै मात्र कुरा गर्थे? अवश्य नै उनले तिनीहरूसित यसबारेमा पर्याप्त रूपमा कुरा गर्थे, तर तिनीहरूले सुन्‍न मान्दैनथे, र ती कुरा स्विकार्दैनथे। त्यसप्रति अय्यूबको मनोवृत्ति कस्तो थियो? तिनले भन्थे, “मैले आफ्‍नो जिम्‍मेवारी पूरा गरेको छु; तिनीहरूले कस्तो मार्ग अपनाउनेछन् त्यो तिनीहरू आफैले रोज्‍ने कुरा हो, र त्यो परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा निर्भर हुने कुरा हो। यदि परमेश्‍वरले तिनीहरूमा काम गर्नुहुन्‍न वा भावनात्मक प्रभाव पार्नुहुन्‍न भने, म तिनीहरूलाई जबरजस्ती गर्ने प्रयास गर्नेछैनँ।” त्यसकारण, अय्यूबले तिनीहरूका लागि परमेश्‍वरसामु प्रार्थना गर्ने वा तिनीहरूप्रति वेदनाको आँसु बगाउने, वा तिनीहरूका लागि उपवास बस्‍ने, वा कुनै पनि प्रकारको कष्ट भोग्‍ने काम किमार्थ गर्दैनथ्यो। उसले यी कुराहरू गर्दै गर्दैनथ्यो। किन अय्यूबले यी कुराहरू गर्दैनथ्यो त? किनभने यीमध्ये कुनै पनि कुरा परमेश्‍वरको शासन र बन्दोबस्तहरूमा समर्पित हुने कार्य होइनन्; ती सबै मानव विचारबाट आउने कुराहरू हुन् र ती सक्रियतासाथ विभिन्‍न कुराहरू जबरजस्ती लाद्‌ने तौरतरिकाहरू हुन्। अय्यूबका छोराछोरीले उसको जस्तो मार्ग नअपनाउँदा अय्यूबको मनोवृत्ति यस्तो थियो; तर उसका छोराछोरीहरू मर्दाचाहिँ उसको मनोवृत्ति कस्तो थियो? ऊ रोयो कि रोएन? के उसले आफ्नो भावना पोख्यो? के उसलाई चोट पऱ्यो? बाइबलमा यस्ता कुनै कुराको अभिलेख छैन। अय्यूबले आफ्ना छोराछोरीहरू मरेको देख्दा, के ऊ मर्माहात वा दुःखी भयो? (भयो।) आफ्ना छोराछोरीप्रति उसको स्नेहको सन्दर्भमा कुरा गर्नुपर्दा, उसलाई निश्‍चय नै अलि दुःख लाग्यो, तर पनि ऊ परमेश्‍वरप्रति समर्पित भयो। उसको समर्पण कसरी व्यक्त भयो? उसले यसो भन्यो: “यी छोराछोरीहरू मलाई परमेश्‍वरले दिनुभएको थियो। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि नगरे पनि, तिनीहरूको जीवन परमेश्‍वरकै हातमा छ। यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, परमेश्‍वरले तिनीहरूलाई लैजान चाहनुभएको थियो भने, उहाँले तिनीहरूलाई लैजानु नै हुनेथ्यो; यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास नगरेका भए पनि, परमेश्‍वरले यिनीहरूलाई लगिनेछ भनेर भन्‍नुभएको भए, तिनीहरूलाई लगिने नै थियो। यो सब परमेश्‍वरको हातमा हुन्छ; अन्यथा, कसले पो मानिसहरूको जीवन लैजान सक्छ र?” सङ्क्षेपमा भन्नुपर्दा, लगिनु भनेको के हो? “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। उसले आफ्ना छोराछोरीलाई व्यवहार गर्दा यही मनोवृत्ति कायम राख्यो। तिनीहरू जीवित रहे पनि मरे पनि, उसले निरन्तर यही मनोवृत्ति राखिरह्यो। उसको अभ्यास गर्ने शैली सही थियो; उसले अभ्यास गर्ने हरेक तरिकामा र उसले हरेक कुरालाई हेर्ने दृष्टिकोण, मनोवृत्ति र स्थितिमा, ऊ समर्पित हुने, प्रतीक्षा गर्ने, खोजी गर्ने, र त्यसपछि ज्ञान हासिल गर्ने स्थान र स्थितिमा हुन्थ्यो। यो मनोवृत्ति अत्यन्तै महत्त्वपूर्ण छ। यदि मानिसहरूले आफूले गर्ने हरेक कुरामा यस्तो मनोवृत्ति कहिल्यै राख्दैनन्, र विशेष गरी कठोर व्यक्तिगत विचारहरू पाल्छन् र सबै कुराभन्दा माथि व्यक्तिगत मनसाय र फाइदा राख्छन् भने, के तिनीहरू साँच्‍चै समर्पित भइरहेका हुन्छन् त? (हुँदैनन्।) त्यस्ता मानिसहरूमा सच्‍चा समर्पण देख्‍न सकिँदैन; तिनीहरूले सच्‍चा समर्पण हासिल गर्नै सक्दैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरप्रति समर्पित हुने अभ्यासका सिद्धान्तहरू

अय्यूबको मानवताको अर्को पक्षलाई तिनी र तिनकी पत्‍नीबीचको यो बातचितमा देखाइएको छ: “तब तिनकी श्रीमतीले तिनलाई भनिन्, के तपाईं अझै पनि आफ्नो निष्ठा कायम राख्‍नुहुन्छ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्। तर तिनले उनलाई भने, तिमी मूर्ख स्‍त्रीले जस्तै कुरा गर्छौ। के? के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:९-१०)। तिनले भोगेका यातना देखेर, अय्यूबकी पत्‍नीले तिनलाई त्यस पीडाबाट बच्न मदत गर्नलाई सल्लाह दिन खोजिन्, तर उनका “असल मनसायहरू” ले अय्यूबको स्वीकृति प्राप्त गरेनन्; बरु ती कुराले तिनलाई रिस उठ्यो, किनकि उनले यहोवा परमेश्‍वरमाथिको तिनको विश्‍वास र समर्पणलाई इन्कार गरेकी थिइन्, र साथै यहोवा परमेश्‍वरको अस्तित्वलाई पनि इन्कार गरेकी थिइन्। अय्यूबको लागि यो असहनीय थियो, किनकि तिनले कहिल्यै पनि परमेश्‍वरको विरुद्ध वा उहाँलाई चोट पुर्‍याउने वा अरूको विषयमा केही भन्‍ने काम कहिल्यै गरेका थिएनन्। अरूले परमेश्‍वरको निन्दा र अपमान गर्ने कुरा बोलेको देख्दा तिनी कसरी उदासीन हुन सक्थे र? यसैले तिनले आफ्नी पत्‍नीलाई “मूर्ख स्‍त्री” भनी भने। आफ्नी पत्‍नीप्रति अय्यूबको मनोवृत्ति क्रोध र घृणाका साथसाथै निन्दा र हप्कीले भरिएको थियो। यो अय्यूबको मानवताको स्वाभाविक अभिव्यक्ति थियो—प्रेम र घृणाबीचको भिन्‍नता छुट्ट्याउने—यो तिनको सोझो मानवताको एक साँचो प्रतिनिधित्व थियो। अय्यूबमा न्यायको बोध थियो—जसले तिनलाई दुष्टताका प्रचलन र छालहरूलाई घृणा गर्ने बनायो, वाहियात विधर्म, हास्यास्पद बहसहरू र लाजलाग्दो दाबीहरूलाई घृणा, निन्दा र अस्वीकार गर्ने बनायो, अनि तिनलाई भीडहरूले अस्वीकार गर्दा र नजिकका मानिसहरूले त्याग्दा पनि तिनलाई आफ्नै सही सिद्धान्तहरू र अडानप्रति सच्‍चा रहने व्यक्ति तुल्यायो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

हरेक व्यक्तिको आफ्नै नियति हुन्छ, र यो सबै परमेश्वरद्वारा पूर्वनिर्धारित हुन्छ; कसैले पनि अरूको भाग्यलाई नियन्त्रण गर्न सक्दैन। तैँले आफ्नो परिवारबारे चिन्ता गर्न छोड्नुपर्छ र सबै थोक छोड्न र त्याग्न सिक्नुपर्छ। तैँले यो कसरी गर्न सक्छस् त? एउटा तरिका भनेको परमेश्वरलाई प्रार्थना गर्नु हो। तैँले परमेश्वरमा विश्वास नगर्ने तेरा आफन्तहरूले कसरी सांसारिक कुराहरू, सम्पत्ति र भौतिक सुख पछ्याउँछन् भनेर पनि चिन्तन गर्नुपर्छ। तिनीहरू शैतानका हुन्, र तिनीहरू तँभन्दा फरक किसिमका मानिस हुन्। यदि तैँले आफ्नो कर्तव्य निभाउँदैनस् र तिनीहरूमाझ जिउँछस् भने, पीडादायी जीवन जिउनेछस्। तैँले काम-कुराबारे तिनीहरूभन्दा फरक दृष्टिकोण राख्ने भएकोले, तँ तिनीहरूसँग मिल्नेछैनस्, बरु यातना भोग्नेछस्। त्यहाँ पीडा मात्र हुनेछ, खुशी हुनेछैन। के मोहले तँलाई शान्ति र आनन्द दिन सक्छ? देहको खाँचो पूरा गर्दा तैँले पीडा, खोक्रोपन, र जीवनभरको पछुतोमात्र पाउनेछस्। यो तैँले राम्ररी बुझ्नुपर्ने कुरा हो। त्यसैले, तैँले आफ्नो परिवारलाई सम्झिनु एकतर्फी हुन्छ; यो अनावश्यक रूपमा भावनात्मक हुनु हो। तँ तिनीहरू भन्दा फरक मार्गमा हिँडिरहेको छस्। जीवन र संसारबारे तेरो दृष्टिकोण, जीवन मार्ग, र पछ्याइका उद्देश्यहरू सबै फरक छन्। तँ अहिले आफ्नो परिवारसँग छैनस्, तर रगतको सम्बन्ध भएकोले, तँ जहिले पनि तिनीहरूको नजिक भएको अनि एकै परिवार भएको आभास गर्छस्। तर, जब तँ तिनीहरूसँग वास्तवमै बस्छस्, तब तँ केही दिन तिनीहरूसँग व्यवहार गर्दा नै दिक्क हुनेछस्। तिनीहरू झूटले भरिएका छन्; तिनीहरूले भन्ने कुरा सबै गलत, गुलियो र छली हुन्छन्। तिनीहरूको आचरण र संसारसँग व्यवहार गर्ने तरिका सबै शैतानी दर्शनमा र जीवनका भनाइहरूमा आधारित हुन्छन्। तिनीहरूको विचार र दृष्टिकोण सबै गलत र बेतुका हुन्छन्, र तिनीहरूलाई सुन्दा कान पाक्छ। अनि तँ मनमनै यसो सोच्नेछस्, “म तिनीहरूलाई सधैँ सम्झिरहन्थेँ, र तिनीहरू राम्ररी जिइरहेका छैनन् भनेर सधैँ चिन्तित रहन्थेँ। तर अहिले तिनीहरूसँग जिउनु त साँच्चै असहनीय छ!” तँ तिनीहरूबाट वाक्क हुनेछस्। तैँले अझै पनि तिनीहरू कस्ता मानिस हुन् भनेर पत्ता लगाएको छैनस्, त्यसैले तँ अझै पनि पारिवारिक बन्धनहरू अरू कुनै पनि कुरा भन्दा महत्त्वपूर्ण र वास्तविक हुन्छन् भनेर सोच्छस्। तँ अझै पनि मोहमा बाँधिएको छस्। तैँले जसरी भए पनि ती मोहका कुराहरूलाई छोड्न खोज्। तैँले छोड्न सक्दैनस् भने, आफ्नो कर्तव्यलाई प्राथमिकता दे। परमेश्वरको आज्ञा र तेरो मिसन सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्। सुरुमा आफ्नो कर्तव्य निभाउनु सबैभन्दा पहिला आउँछ, र अहिलेका लागि तेरा देहमा भएका नातेदारहरूका बारेमा चिन्ता नगर्। जब तेरो आज्ञा र कर्तव्य पूरा हुन्छन्, तब तँलाई सत्यता झन्-झन् स्पष्ट हुँदै जान्छ, परमेश्वरसँगको तेरो सम्बन्ध झन्-झन् सामान्य बन्दै जान्छ, परमेश्वरलाई पालन गर्ने तेरो चाहना झन्-झन् बढ्दै जान्छ, र परमेश्वरको डर मान्ने तेरो हृदय झन्-झन् बढ्दै र झन्-झन् स्पष्ट हुँदै जान्छ, त्यसपछि तँभित्रको स्थिति परिवर्तन हुनेछ। तेरो स्थिति परिवर्तन भएपछि, तेरा सांसारिक दृष्टिकोण र मोहहरू बिलाएर जानेछन्, तैँले उप्रान्त ती कुराहरू खोज्नेछैनस्, र तेरो हृदयले परमेश्वरलाई कसरी प्रेम गर्ने, उहाँलाई कसरी सन्तुष्ट पार्ने, उहाँलाई प्रसन्न तुल्याउने शैलीमा कसरी जिउने, र सत्यतासाथ कसरी जिउने भनेर खोज्न मात्र चाहनेछ। तेरो हृदय यसमा लागिपरेपछि, देहगत मोहसँग सम्बन्धित कुराहरू बिस्तारै हराएर जानेछन्, र तिनले उप्रान्त तँलाई बाँध्न वा नियन्त्रण गर्न सक्नेछैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

उनीहरूका पूर्ण रूपमा गैरविश्‍वासी बालबालिकाहरू र नातेदारहरूलाई मण्डलीतिर खिँचेर लानेहरू अत्यन्त स्वार्थीहरू हुन् र उनीहरूले केवल दया देखाइरहेका हुन्छन्। उनीहरूले विश्‍वास गरे पनि नगरे पनि, यो परमेश्‍वरको अभिप्राय होस् वा नहोस्, यी मानिसहरू प्रेमिलो हुने कुरामा मात्र केन्द्रित हुन्छन्। केहीले आफ्ना पत्‍नीहरूलाई परमेश्‍वरको सामु ल्याउँछन्, वा आफ्ना आमाबुबाहरूलाई परमेश्‍वरको सामु खिँचेर ल्याउँछन् अनि पवित्र आत्मा यसमा सहमत हुनुभएको छ वा छैन, वा उनीहरूमा काम गरिरहनुभएको छ वा छैन, उनीहरूले “प्रतिभाशाली मानिसहरूलाई” परमेश्‍वरको निम्ति अन्धाधुन्ध रूपमा अपनाई रहन्छन्। यी अविश्‍वासीहरूप्रति दया अघि सारेर के फाइदा लिन सकिन्छ? ती पवित्र आत्माको उपस्थिति नभएकाहरूले परमेश्‍वरलाई पछ्याउने संघर्ष गरे तापनि, कसैले विश्‍वास गरेजस्तो उनीहरूलाई अझै मुक्त गर्न सकिँदैन। उनीहरू जसले मुक्ति पाउन सक्छन्, वास्तवमा उनीहरूलाई पाउन त्यत्ति सजिलो छैन। ती मानिसहरू जो पवित्र आत्माको काम र जाँचहरू भएर गुज्रेका छैनन् र देहधारी परमेश्‍वरद्वारा सिद्ध तुल्याइएको छैनन्, उनीहरूलाई पूर्ण बनाइन सर्वथा अयोग्य हुन्छन्। यसकारण, उनीहरूले नामधारी रूपमा मात्र परमेश्‍वरलाई पछ्याउन सुरु गरेदेखि नै, ती मानिसहरूमा पवित्र आत्माको उपस्थितिको कमी हुन्छ। उनीहरूको अवस्थाहरू र वास्तविक स्थितिहरूको प्रकाशमा, उनीहरूलाई केवल पूर्ण बनाउन सकिँदैन। त्यस्तै, पवित्र आत्माले उनीहरूमाथि धेरै सामर्थ्य नखर्चने निर्णय गर्नुहुन्छ, न त उहाँले उनीहरूलाई कुनै किसिमको अन्तर्ज्ञान वा मार्गदर्शन प्रदान गर्नुहुन्छ; उहाँले उनीहरूलाई केवल पछ्याउन मात्र दिनुहुन्छ र अन्तमा उनीहरूका परिणामहरू प्रकट गर्नुहुनेछ—यो नै पर्याप्‍त छ। मानवजातिको जोश र इरादाहरू शैतानबाट आउँछन्, र यी कुराहरूले कुनै पनि हालतमा पवित्र आत्माको काम पूरा गर्न सक्दैनन्। मानिसहरू जस्तोसुकै होऊन्, उनीहरूमा पवित्र आत्माको काम हुनु नै पर्छ। के मानवले मानवलाई पूर्ण बनाउन सक्छन्? पतिले उसको पत्‍नीलाई किन प्रेम गर्छ? पत्‍नीले उनको पतिलाई किन प्रेम गर्छिन्? छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठा हुन्छन्? किन बुबाआमाहरू आफ्ना छोराछोरीहरूप्रति स्नेही हुन्छन्? वास्तवमा मानिसहरूले कस्ता किसिमका अभिप्रायहरू मनमा राख्छन्? के उनीहरूको मनसाय उनीहरूका आफ्नै योजनाहरू र स्वार्थी चाहनाहरू तृप्‍त पार्नु होइन र? के उनीहरूको आशय साँच्चै परमेश्‍वरको व्यवस्थापन योजनाको खातिर काम गर्नु नै हो त? के उनीहरूले साँच्चै परमेश्‍वरको कार्यको खातिर नै काम गरिरहेका हुन्छन् त? के उनीहरूको मनसाय सृष्टि गरिएका प्राणीका कर्तव्यहरू पूरा गर्नु हो त? उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न सुरु गरेको क्षणदेखि नै पवित्र आत्माको उपस्थिति हासिल गर्न असक्षम हुनेहरूले पवित्र आत्माको काम कहिल्यै पनि हासिल गर्न सक्दैनन्; यी मानिसहरू अवश्य नै नष्ट पारिने पात्रहरू हुन्। कसैले उनीहरूलाई जति धेरै प्रेम गरे तापनि, यसले पवित्र आत्माको कामलाई प्रतिस्थापन गर्न सक्दैन। मानिसहरूको जोश र प्रेमले मानव मनसायहरूको प्रतिनिधित्व गर्छन्, तर परमेश्‍वरका अभिप्रायहरूको प्रतिनिधित्व गर्न सक्दैनन्, न त तिनीहरू परमेश्‍वरको कामको प्रतिस्थापन हुन नै सक्छन्। नामधारी रूपमा परमेश्‍वरमा विश्‍वास गर्नेहरू र परमेश्‍वरमा विश्‍वास गर्नुको वास्तविक अर्थ के हो सो नजानिकन नै उहाँलाई पछ्याएको बहाना गर्नेहरूप्रति कसैले सम्भावित महान्‌ प्रेम वा कृपा अघि सारे, तापनि उनीहरूले अझै परमेश्‍वरको सहानुभूति पाउनेछैनन् न त उनीहरूले पवित्र आत्माको काम नै प्राप्‍त गर्नेछन्। ईमानदार रूपमा परमेश्‍वरलाई पछ्याउने मानिसहरू कमजोर क्षमता भएका र धेरै सत्यताहरू बुझ्न असक्षम भए तापनि उनीहरू कहिलेकाहीँ पवित्र आत्माको काम अझ पनि हासिल गर्न सक्छन्; यद्यपि, एकदमै असल क्षमता भएका तर ईमानदार रूपमा विश्‍वास नगर्नेहरूले पवित्र आत्माको उपस्थिति पाउन सक्दैनन्। यस्ता मानिसहरूलाई निश्‍चय नै मुक्तिको निम्ति कुनै सम्भावना हुँदैन। उनीहरूले परमेश्‍वरको वचनहरू पढे तापनि वा कहिलेकाहीँ वचनहरू प्रचार गरेको सुने तापनि वा परमेश्‍वरको प्रशंसा गाए तापनि उनीहरू अन्तमा विश्रामको समयसम्म बाँच्न सक्षम हुँदैनन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

“जब कसैले परमेश्‍वरमा विश्‍वास गर्छ, भाग्य पुरै परिवारमाथि मुस्कुराउँछ” भनी विगतका भनिएका ती शब्दहरू अनुग्रहको युगको निम्ति उपयुक्त छन्, तर मानव गन्तव्यसँग असम्बन्धित छन्। तिनीहरू अनुग्रहको युगको एउटा चरणभरि मात्र उपयुक्त थिए। ती शब्दहरूका आशयचाँहि मानिसहरूले उपभोग गरेका शान्ति र भौतिक आशिष्‌हरूप्रति लक्षित थियो; एक जनाले प्रभुमा विश्‍वास गर्दा समग्र परिवार नै प्रभुमा मुक्त हुनेछ भन्‍ने उनीहरूको आशय थिएन, न त एक जनाले आशिष्‌ प्राप्त गर्दा उसको समग्र परिवारलाई नै विश्राममा ल्याइन्छ भन्‍ने नै उनीहरूको आशय थियो। कसैले आशिष्‌ पाउँछ वा दुर्गति भोग्छ भन्‍ने कुरा उसको सार बमोजिम निर्धारण गरिन्छ, कसैको अरूहरूसँग बाँड्न सक्ने कुनै पनि साझा सार बमोजिम होइन। त्यस किसिमको भनाइ वा नियमको राज्यमा कुनै स्थान छैन। यदि कुनै व्यक्ति अन्तमा बाँच्न सक्षम भयो भने, यो उनीहरूले परमेश्‍वरका मापदण्डहरू पुरा गरेको कारणले हो, र यदि उनीहरू अन्तमा विश्रामको समयसम्म रहन असक्षम भए भने, उनीहरू परमेश्‍वरविरुद्ध विद्रोही भएकाले र उनीहरूले परमेश्‍वरका मापदण्डहरू पूरा नगरेकाले नै हो। हरेकको एउटा सुहाउँदो गन्तव्य छ। यी गन्तव्यहरू हरेकको सारअनुसार निर्धारण गरिन्छ र यसको अरू मानिसहरूसँग कुनै सरोकार छैन। एउटा बालकको खराब आचरण उनीहरूको आमाबुबामा सार्न सकिँदैन, न त एउटा बालकको धार्मिकतालाई उनीहरूको आमाबुबासँग बाँड्न नै सकिन्छ, कुनै आमाबुबाको खराब आचरण उनीहरूको छोराछोरीहरूमा सार्न सकिँदैन न त एउटा आमाबुबाको धार्मिकतालाई उनीहरूको छोराछोरीहरूसँग बाँड्न नै सकिन्छ। हरेकले आ-आफ्नै पापहरू बहन गर्छन्, र हरेकले आ-आफ्नो आशिष्‌ उपभोग गर्छन्। कोही पनि अर्को व्यक्तिको प्रतिस्थापन हुन सक्दैन; यो धार्मिकता हो। मानिसको दृष्टिकोणबाट, यदि आमाबुबाले आशिष्‌ प्राप्त गर्छन् भने, उनीहरूका छोराछोरीहरूले पनि आशिष्‌ प्राप्त गर्न सक्‍नुपर्छ, र यदि उनीहरूका छोराछोरीहरूले खराबी गर्छन् भने, उनीहरूलाई आमाबुबाले ती पापहरूका निम्ति प्रायश्‍चित गर्नुपर्छ। यो मानवीय दृष्टिकोण हो र मानवको काम गर्ने शैली हो; यो परमेश्‍वरको दृष्टिकोण होइन। हरेकको परिणामलाई उनीहरूको आचरणबाट आउने सार बमोजिम निर्धारण गरिन्छ, र यसलाई सदैव उपयुक्त रूपमा निर्धारण गरिन्छ। कसैले अर्काको पापहरू बहन गर्न सक्दैन; यसको अतिरिक्त, कसैले पनि अर्काको सट्टामा दण्ड पाउन सक्दैन। यो पक्का हो। उनीहरूका छोराछोरीहरूप्रति आमाबुबाका स्‍नेहपूर्ण हेरचाहले उनीहरूले उनीहरूका छोराछोरीहरूमा धर्मी कामहरू गर्न सक्छन् भन्‍ने सङ्केत गर्दैन, न त एउटा बालकको उनीहरूका आमाबुबाप्रति कर्तव्यनिष्ठा स्नेहको अर्थ उनीहरूले उनीहरूका आमाबुबाको सट्टामा धर्मी कामहरू गर्न सक्छन् भन्‍ने नै लाग्छ। यही नै वचनहरूको साँचो अर्थ हो, “त्यति बेला खेतमा दुई जना हुनेछन्; एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ। दुई स्त्री जाँतो पिँधिरहेका हुनेछन्; एउटालाई लगिनेछ र अर्कीलाई छोडिनेछ।” मानिसहरूले उनीहरूका दुष्ट कर्म गर्ने छोराछोरीहरूलाई उनीहरूप्रतिको गहन प्रेमको आधारमा विश्राममा लान सक्दैनन्, न त उनीहरूको धर्मी आचरणको आधारमा उनीहरूका पति वा पत्‍नीलाई विश्राममा लान सक्छन्। यो एउटा प्रशासकीय नियम हो; त्यहाँ कसैको निम्ति छुट हुन सक्दैन। अन्तमा, धार्मिकता गर्नेहरू धार्मिकता गर्नेहरू नै हुन् र दुष्ट काम गर्नेहरू दुष्ट काम गर्नेहरू नै हुन्। धर्मीहरूलाई अन्तमा बाँच्न दिइनेछ, जबकि दुष्कर्मीहरूलाई नष्ट गरिनेछ। पवित्रहरू भनेका पवित्रहरू नै हुन्; उनीहरू अपवित्र होइनन्। अपवित्रहरू अपवित्र नै हुन्, र उनीहरूका एक अंश पनि पवित्र होइनन्। नष्ट पारिने मानिसहरू सबै खराब हुन् र बाँच्नेहरू धर्मी हुन्—यद्यपि खराबहरूका छोराछोरीहरूले धर्मी कामहरू नै गरे पनि, र यद्यपि धर्मीका आमाबुबाले दुष्ट काम गरे पनि। विश्वासी पति र गैरविश्वासी पत्‍नी बीच कुनै सम्बन्ध हुँदैन र विश्‍वास गर्ने छोराछोरीहरू र गैरविश्वासी आमाबुबा बीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू पूर्ण रूपमा आपसी विरोधीहरू हुन्। विश्राममा प्रवेश गर्नु अघि कसैको शारीरिक नाताहरू हुन्छ, तर एक पटक विश्राममा प्रवेश गरेपछि त्यस उप्रान्त उल्लेख गर्ने योग्यको कुनै शारीरिक नाताहरू हुँदैनन्। उनीहरूका कर्तव्य पूरा गर्नेहरू उनीहरूका कर्तव्य पूरा नगर्नेहरूका शत्रुहरू हुन्; परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँलाई घृणा गर्नेहरू एक अर्काको विपक्षमा छन्। विश्राममा प्रवेश गर्नेहरू र नष्ट पारिनेहरू दुई अमिल्दा किसिमका सृष्टि गरिएका प्राणी हुन्। आफ्नाकर्तव्य पूरा गर्ने सृष्टि गरिएका प्राणीहरू बाँच्नेछन्, जबकि उनीहरूका कर्तव्य पूरा नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्; यसको अतिरिक्त, यो अनन्तसम्म नै रहन्छ। के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पतिलाई प्रेम गर्छस्? के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पत्नीलाई प्रेम गर्छस्? के तँ सृष्टि गरिएको सृष्टिको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्ना गैरविश्‍वासी आमाबुबाप्रति कर्तव्यनिष्ठा छस्? के परमेश्‍वरमा विश्‍वास गर्ने बारेको मानवीय धारणा सही वा गलत छ? तैँले परमेश्‍वरमा किन विश्‍वास गर्छस्? तैँले के पाउन चाहन्छस्? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्छस्? सृष्टि गरिएका सृष्टिहरूको रूपमा उनीहरूका कर्तव्यहरू पूरा गर्न नसक्नेहरू र दिलोज्‍यानले प्रयास नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्। अस्तित्वमा रहेका आजका मानिसहरू बीच शारीरिक नाता-सम्बन्धहरूका साथै रगतको सम्बन्धहरू छन्, तर भविष्यमा यी सबै कुराहरू चकनाचूर पारिनेछन्। विश्‍वासी र गैरविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्। विश्राममा हुनेहरूले परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्नेछन्, र परमेश्‍वरको अधीनमा रहनेछन्, जबकि परमेश्‍वरविरुद्ध विद्रोह गर्नेहरू सबै नष्ट पारिनेछन्। यस उप्रान्त परिवारहरू पृथ्वीमा रहनेछैनन्, अनि त्यहाँ आमाबुबा वा छोराछोरीहरू वा दाम्पत्य सम्बन्धहरू कसरी हुन सक्थ्यो? विश्‍वास र अविश्‍वासको असंगतताले नै यस्ता शारीरिक नाता-सम्बन्धहरूलाई पूर्ण रूपमा छुट्टाइएको हुनेछ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

एक पटक मानवजाति विश्राममा प्रवेश गरेपछि, दुष्ट काम गर्नेहरूलाई नष्ट पारिनेछन् र सबै मानवजाति सही मार्गमा हुनेछ; सबै किसिमका मानिसहरू उनीहरूले गर्नु पर्ने कार्यहरू अनुसार उनीहरूको आ-आफ्नै किसिमसँग हुनेछन्। यो मात्र मानवजातिको विश्रामको दिन हुनेछ, यो मानवजातिको विकासको निम्ति अपरिहार्य प्रचलन हुनेछ, र जब मानवजाति विश्राममा प्रवेश गर्छ अनि मात्र परमेश्‍वरको महान्‌ र आखिरी उपलब्धिले पूर्णता पाउनेछ; यो उहाँको कामको अन्तिम भाग हुनेछ। यो कार्यले मानवजातिको शरीरको पतनशील जीवन साथै भ्रष्ट मानवजातिको जीवनलाई अन्त गर्नेछ। त्यस पश्चात्, मानवजाति नयाँ राज्यमा प्रवेश गर्नेछ। तथापि सबै मानव शरीरमा नै जिउनेछन्, तर पनि जीवनको सार र भ्रष्ट मानवजातिको जीवनबीच सार्थक भिन्नताहरू हुनेछन्। यो अस्तित्वको सार्थकता र भ्रष्ट मानवजातिको अस्तित्वको सार्थकता पनि फरक हुन्छ। यद्यपि, यो नयाँ किसिमको व्यक्तिको जीवन हुनेछैन, तर पनि यसलाई मुक्ति प्राप्‍त गरेको मानवजातिको जीवन साथै मानवता र विवेकलाई पुनर्प्राप्‍त गरिएको मानवजातिको एउटा जीवन भन्न सकिन्छ। यी ती मानिसहरू हुन् जो कुनै समय परमेश्‍वरविरुद्ध विद्रोही थिए, जसलाई परमेश्‍वरले जित्नुभयो र त्यसपछि उहाँले मुक्त गर्नुभयो; यी ती मानिसहरू हुन् जसले परमेश्‍वरको अपमान गरेका थिए र पछि उहाँको गवाही वहन गरे। उनीहरू उहाँको जाँच भएर गुज्रेर र बाँचेपछि उनीहरूको अस्तित्व सबैभन्दा अर्थपूर्ण हुनेछ; उनीहरू शैतानको सामु परमेश्‍वरको गवाही दिने मानिसहरू हुन् र बाँच्न योग्यका मानव हुन्। ती नष्ट पारिनेहरूचाहिँ परमेश्‍वरको निम्ति गवाहीको रूपमा खडा हुन नसक्नेहरू र जिइरहन अयोग्यहरू हुन्। उनीहरूको विनाश उनीहरूको खराब आचरणको परिणाम हुनेछ, र यस्तो सर्वनाश नै उनीहरूको निम्ति उत्तम गन्तव्य हो। भविष्यमा, जब मानवजाति सुन्दर राज्यमा प्रवेश गर्नेछ, मानिसहरूले त्यहाँ पाउनेछन् भनी कल्पना गरेका पति र पत्‍नीबीच, बुबा र छोरीबीच, वा आमा र छोरा बीचको कुनै सम्बन्धहरू हुनेछैन। त्यस बेला, हरेक मानवले उनीहरूको आ-आफ्नै वर्ग-समूहलाई पछ्याउनेछ र परिवारहरूलाई पहिले नै चकनाचूर पारिएको हुनेछ। पूर्ण रूपमा असफल भएकोले शैतानले मानवजातिलाई फेरि कहिल्यै पनि बाधा दिनेछैन र मानवजातिमा भ्रष्ट शैतानी स्वभावहरू हुनेछैनन्। ती विद्रोही मानिसहरूलाई पहिले नै नष्ट गरिसकेका हुनेछन्, र अधीनमा रहने मानिसहरू मात्र रहनेछन्। यस्तै, अति थोरै परिवार मात्र अखण्ड रहेनछन्; शारीरिक नाता-सम्बन्धहरू कसरी रहिरहन सक्छ? मानवजातिको अघिल्लो शारीरिक जीवनलाई पूर्ण रूपमा निषेध गरिनेछ; तब मानिसहरू माझ शारीरिक नाता-सम्बन्धहरू कसरी रहन सक्छ? भ्रष्ट शैतानी स्वभावहरूविना, मानव जीवन यस उप्रान्त विगतको पुरानो जीवन हुनेछैन, तर बरु नयाँ जीवन हुनेछ। आमाबुबाले छोराछोरीहरू गुमाउनेछन् र छोराछोरीहरूले आमाबुबा गुमाउनेछन्। पतिहरूले पत्नीहरूलाई गुमाउनेछन् र पत्‍नीहरूले पतिहरूलाई गुमाउनेछन्। हाल मानिसहरूका बीचमा भौतिक नाता-सम्बन्धहरू छन्, तर सबै जना विश्राममा प्रवेश गरेपछि, उप्रान्त सो रहनेछैन। यस किसिमका मानवजातिले मात्र धार्मिकता र पवित्रता हासिल गर्नेछन्; यस किसिमका मानवजातिले मात्र परमेश्‍वरको आराधना गर्न सक्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

सम्बन्धित अनुभवात्मक गवाहीहरू

मेरा आमाबाबुको वास्तविकता देख्दा

आफ्नो भावनाले गर्दा मेरो समझ धमिलियो

सम्बन्धित भजनहरू

के मानिसले यो छोटो समयको लागि आफ्‍नो देहलाई पन्छाउन सक्दैन र?

परमेश्‍वरले मानिसको सार अनुसार तिनीहरूको अन्त्य निधो गर्नुहुन्छ

अघिल्लो: १७. बिमार र पीडालाई कसरी लिने

अर्को: १९. विवाहलाई कसरी लिने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्