सत्यता पछ्याएर मात्रै व्यक्तिले परमेश्वरबारे आफ्ना धारणा र गलतफहमीहरू हटाउन सक्छ
मानिसहरू सुरुमा परमेश्वरमा विश्वास गर्न थाल्दा सत्यता बुझ्दैनन् अनि तिनीहरूमा परमेश्वरबारे धेरै धारणा र कल्पना हुन्छन्। तिमीहरूले परमेश्वरमा कैयौँ वर्ष विश्वास गरेपछि, उहाँका यतिका धेरै वचन पढेपछि र यतिका धेरै प्रवचन सुनेपछि, यी धारणा र कल्पनामध्ये कतिवटा समाधान भएका छन् त? परमेश्वरमा कैयौँ वर्ष विश्वास गरेपछि पनि कतिपय मानिसमा परमेश्वरले गर्ने न्याय र सजाय अनि काटछाँट र निराकरणबारे धारणाहरू हुन्छन्, जबकि अरू मानिसमा परमेश्वरका वचनहरूको कठोरता देख्दा धारणाहरू उत्पन्न हुन सक्छन्। के सत्यता खोजेर यी कुराहरू समाधान गर्न सकिन्छ? यदि तिमीहरू सबै कुरामा सत्यता खोज्न सक्छौ र आफूले सामना गर्ने कुनै पनि समस्या समाधान गर्नका लागि त्यसलाई प्रयोग गर्न सक्छौ भने तिमीहरू सत्यता पछ्याउने व्यक्ति हौ। के अब तिमीहरू समस्याहरू समाधान गर्न सत्यता खोज्न सक्छौ त? तिमीहरूले धारणा उत्पन्न गर्ने कुनै पनि कुरा सामना गर्दा, वा कुनै अपराध गर्दा, त्यसलाई समाधान गर्न कसरी सत्यता खोज्छौ? यस्तो कुराबारे कसले आफ्नो अनुभव बताउन सक्छ? (मैले आफू अगुवा हुँदा कुनै पनि व्यवहारिक काम गरिनँ, आफूलाई राम्रो देखाउने कार्यहरू मात्र गरेँ, अनि सधैँ प्रतिष्ठा र हैसियतका लागि मरिहत्ते गरेँ। यसले मण्डलीको काममा बाधा र अवरोध पुऱ्यायो, अनि काटछाँट र निराकरणमा पर्दा आफूलाई सही ठहर्याउन खोजेँ अनि ममा साँचो आत्मचिन्तन र ज्ञान थिएन, न त पश्चत्ताप र बदलाव नै थियो। पछि मण्डलीले मलाई हटायो, तर मेरो हृदयमा अझै पनि प्रतिरोध र असन्तुष्ट थियो, अनि म सधैँ गुनासो र नकारात्मक कुरा गर्थेँ। मैले सत्यता पटक्कै स्वीकार नगरेको, परमेश्वरको प्रतिरोध गरेको र त्यो उहाँको स्वाभावलाई चिढ्याउने कुरा भएकाले अगुवाहरूले मलाई निराकरण गरे र मैले अझै पनि पश्चात्ताप नगरेमा मलाई पन्छाइने र हटाइनेछ भनेर पनि बताए। मैले त्यतिबेला सत्यता बुझेको थिइनँ र परमेश्वरलाई एकदमै गलत बुझेको थिएँ। मैले परमेश्वरमा विश्वास गर्दिनँ भनेर कहिल्यै नभनेको भए पनि उहाँलाई चिढ्याएकाले उहाँले मलाई पक्कै पनि मुक्ति दिनुहुन्न, त्यसैले म सेवा मात्र चढाउँछु भन्ने सोचेँ। त्यसपछि मैले सत्यता पछ्याउमा त्यति ध्यान दिइनँ र एक दिन परमेश्वरको सङ्गति सुनेपछि म बल्ल परिवर्तन भएँ।) परिवर्तन भएपछि, के तैँले अभ्यासको सही मार्ग पाइस् त? फेरि त्यसो भयो भने तँ के गर्नेछस्? (अहिले, मैले यस पक्षमा अभ्यासको मार्ग पाएको छैन।) वास्तवमा, यी सबै समस्या सत्यता प्रयोग गरेर समाधान गर्न सकिन्छ। यदि मानिसहरू परमेश्वरबारे आफ्नो गलतफहमी हटाउन चाहन्छन् भने, एक हिसाबले तिनीहरूले आफ्ना भ्रष्ट स्वभाव चिन्नैपर्छ, अनि आफूले पहिले गरेका गल्ती, अपराध र लापरवाही, लिएका गलत मार्गलाई विश्लेषण गरेर बुझ्नैपर्छ। यसरी तिनीहरूले आफ्नो प्रकृतिलाई स्पष्टसँग बुझ्न र देख्न सक्नेछन्। यसका साथै, तिनीहरूले मानिसहरू किन पथभ्रष्ट हुन्छन् र सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने यति धेरै काम किन गर्छन् भन्ने कुरा र यी कार्यहरूको प्रकृति स्पष्टसँग बुझ्नुपर्छ। त्यसबाहेक, तिनीहरूले मानवजातिका लागि परमेश्वरका खास इच्छा र मागहरू के हुन्, मानिसहरू परमेश्वरका मागअनुसार काम गर्न किन सधैँ असमर्थ हुन्छन् र किन सधैँ उहाँको इच्छाविरुद्ध गएर आफूखुसी गर्छन् भन्ने कुरा पनि बुझ्नैपर्छ? यी कुराहरू परमेश्वरसामु ल्याएर प्रार्थना गर्, र ती स्पष्टसँग बुझ्—तबमात्र तैँले आफ्नो स्थिति र मनस्थिति बदल्न र परमेश्वरबारे आफ्ना गलतफहमीहरू हटाउन सक्छस्। कतिपय मानिस आफूले गर्ने हरेक कुरामा सधैँ अनुचित अभिप्राय राख्ने गर्दछन्, तिनीहरूमा सधैँ दुष्ट विचार हुन्छ र तिनीहरू आफ्नो भित्री स्थिति सही छ कि छैन भनेर जाँच गर्न सक्दैनन्, न त त्यसलाई परमेश्वरका वचनहरूअनुसार खुट्ट्याउन नै सक्छन्। यी मानिसहरू अन्योलमा हुन्छन्। अन्योलमा हुने व्यक्तिको सबैभन्दा स्पष्ट विशेषता भनेको उसले खराब काम गरेपछि काटछाँट र निराकरणमा पर्दा ऊ नकारात्मक रहन्छ, निराश भएर आफू सकिएको र मुक्ति पाउन सक्दिनँ भन्ने निर्णय समेत गर्छ। के अन्योलमा हुने व्यक्तिको सबभन्दा दयनीय व्यवहार यही होइन र? ऊ परमेश्वरको वचनअनुसार आत्मचिन्तन गर्न सक्दैन र कठिननाइहरू सामना गर्दा समस्या समाधान गर्नका लागि सत्यता खोज्न सक्दैन। के यो अत्यन्त अन्योलमा हुनु होइन र? के निराश भएर समस्या समाधान हुन सक्छ र? सधैँ नकारात्मकतामा रुमलिएर समस्या समाधान हुन सक्छ र? मानिसहरूले के बुझ्नुपर्छ भने आफूले गल्ती गर्दा वा समस्या आइपर्दा त्यसको समाधान गर्न सत्यता खोज्नुपर्छ। तिनीहरूले सुरुमा आफूले दुष्कर्म गर्नुको कारण, त्यसको अभिप्राय र सुरुवाती बिन्दु, आफूले यसो गर्नुको अभिप्राय र लक्ष्य के थियो, अनि आफूलाई कसैले प्रोत्साहित गरेर, उक्साएर वा छल गरेर यसो गर्न लगाएको हो कि वा आफूले जानाजानी यसो गरेको हो भन्नेबारे चिन्तन गरी बुझ्नुपर्छ। यी प्रश्नहरूलाई चिन्तन गरी राम्रोसँग बुझ्नैपर्छ अनि त्यसपछि तिनीहरूले आफूबाट के-कस्ता गल्तीहरू भए र आफू को हुँ भनेर बुझ्न सक्नेछन्। यदि तँ आफ्ना गल्तीहरूको सार पहिचान गर्न वा त्यसबाट पाठ सिक्न सक्दैनस् भने, समस्या समाधान गर्न सकिँदैन। धेरै मानिस खराब काम गरेर कहिल्यै आत्मचिन्तन गर्दैनन्, त्यसैले, के यस्ता मानिसहरूले कहिल्यै साँच्चै पश्चात्ताप गर्न सक्छन्? के तिनीहरूको मुक्ति पाउने कुनै आशा हुन्छ? मानवजाति शैतानका सन्तति हुन्, अनि तिनीहरूले परमेश्वरको स्वभावलाई चिढ्याएको भए पनि वा नचिढ्याएको भए पनि, तिनीहरूको प्रकृति सार उस्तै छ। तिनीहरूले आत्मचिन्तन गरी आफूलाई अझ राम्रोसँग चिन्नुपर्छ, आफूले कुन हदसम्म परमेश्वरविरुद्ध विद्रोह र प्रतिरोध गरेको छ, अनि अझै पनि सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ कि सक्दैन भनी स्पष्टसँग हेर्नुपर्छ। यदि तिनीहरूले यो स्पष्ट देख्न सक्छन् भने आफू कति खतरामा छु भन्ने थाहा पाउनेछन्। वास्तवमा, सबै भ्रष्ट मानिस तिनीहरू प्रकृति सारका आधारमा हेर्दा खतरामा हुन्छन्; तिनीहरूले सत्यता स्विकार्न निकै प्रयास गर्नुपर्छ र तिनीहरूलाई यो सजिलो हुँदैन। कतिपय मानिसले दुष्कर्म गरेर आफ्नो प्रकृति सार प्रकट गरेका छन्, जबकि कतिपयले अहिलेसम्म दुष्कर्म गरेका छैनन् तर तिनीहरू अरूभन्दा निकै राम्रा छन् भन्ने पनि होइन—तिनीहरूलाई त्यसो गर्ने मौका वा परिस्थिति नमिलेको मात्र हो। तैँले यी अपराधहरू गरेको हुनाले अब कस्तो मनोवृत्ति राख्नुपर्छ, परमेश्वरसामु के कुराको जिम्मा लिनुपर्छ र उहाँले के हेर्न चाहनुहुन्छ भन्ने कुराबारे तँ आफ्नो हृदयमा स्पष्ट हुनैपर्छ। तैँले यी कुरालाई प्रार्थना र खोजीद्वारा स्पष्ट पार्नैपर्छ; त्यसपछि तैँले भविष्यमा कसरी पछ्याउनुपर्छ भनेर थाहा पाउनेछस् र त्यसउप्रान्त आफूले विगतमा गरेका गल्तीबाट प्रभावित र नियन्त्रित हुनेछैनस्। तँ अगाडिको मार्गमा हिँड्नैपर्छ र तैँले आफूले गर्नुपर्ने तरिकाले कर्तव्य निभाउनैपर्छ, अनि उप्रान्त पटक्कै निराश हुनु हुँदैन; तँ नकारात्मकता र गलतफहमीबाट पूर्ण रूपमा बाहिर निस्कनैपर्छ। एक हिसाबले, तैँले आफ्नाविगतका अपराध र गल्तीहरूको भर्पाई गर्न अहिले आफ्नो कर्तव्य निर्वाह गर्नु नकारात्मक कुरा हो र त्यो त्यति उचित होइन, तर कम्तीमा पनि तँमा यो मानसिकता चाहिँ हुनुपर्छ। अर्को हिसाबले, तैँले सकारात्मक र सक्रिय भएर सहकार्य गर्नुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्य राम्रोसँग निभाउने सक्दो प्रयास गर्नुपर्छ र आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्नुपर्छ। सृजित प्राणीले गर्नुपर्ने कुरा यही नै हो। तँमा परमेश्वरबारे जे-जस्ता धारणाहरू भए पनि, वा तैँले भ्रष्टता प्रकट गरेको वा उहाँको स्वभावलाई चिढ्याएको भए पनि, तैँले यी सबै कुरालाई आत्मचिन्तन गरेर र सत्यता खोजेर समाधान गर्नैपर्छ। आफ्ना असफलताहरूबाट पाठ सिक् र नकारात्मकताको दलदलबाट पूर्ण रूपमा बाहिर निस्की। तँ सत्यता बुझेर स्वतन्त्र भएपछि, कुनै व्यक्ति, मामला वा परिस्थितिको नियन्त्रणमा नभएपछि, तँसँग अगाडिको मार्गमा हिँड्न आत्मविश्वास हुनेछ। तैँले केही प्राप्ति र जीवनमा केही प्रगति गरिसकेपछि, अनि तँमा परमेश्वरबारे कुनै धारणा नभएपछि, तँ बिस्तारै-बिस्तारै परमेश्वरमा विश्वास गर्ने सही बाटोमा प्रवेश गर्नेछस्।
कसैले विगतमा अपराध गरेको हुन सक्छ, वा ऊ पथभ्रष्ट भएको हुन सक्छ, तर ऊ वास्तवमा कुनै अति धूर्त वा दुष्ट व्यक्ति होइन, ऊ केवल अति अहङ्कारी मात्र थियो, यति सम्म अहङ्कारी थियो कि ऊ अव्यावहारिक भयो, संयमता गुमायो र आफूलाई सम्हाल्ने सकेन, अनि परमेश्वरले घृणा गर्ने वा घिन मान्ने काम मात्र गऱ्यो र जुन काम ऊ आफैले पनि घिनाउँछ। तर उसले अहिलेसम्म उहाँलाई पछ्याएकोले केही प्रगति गरेको हुनुपर्छ। जब तिनीहरू अन्ततः रहन सक्छन् कि सक्दैनन् भन्ने कुरा आउँछ, तब परमेश्वरले यो कुरा उसको हालको व्यवहार, साथै उसको उहाँप्रतिको र आफ्नो कर्तव्यप्रतिको अहिलेको मनोवृत्ति हेरेर निर्धारण गर्नुहुनेछ। कसैले भन्न सक्ला: “मैले विगतमा गम्भीर अपराधहरू गरेको छु, तर पछि मैले सत्यता बुझेँ। मलाई आफूले गरेका अपराधबारे साँच्चै पछुतो छ, तर मैले अहिले सत्यता अभ्यास गरे पनि तिनलाई फिर्ता लिन सक्दिनँ। मलाई सधैँ म कलङ्क हुँ झैँ लाग्छ र परमेश्वरले मलाई चाहनुहुन्छ कि चाहनुहुन्न भनेर मेरो हृदय स्पष्ट छैन।” यो तँ आफैले आफैबारे गरेको फैसला हो, परमेश्वरको फैसला होइन; तेरो फैसलाले परमेश्वरको फैसलाको प्रतिनिधित्व गर्दैन, न त तेरो मनोवृत्तिले उहाँको मनोवृत्तिको प्रतिनिधित्व गर्दछ। तैँले परमेश्वरको मनोवृत्ति, अनि हरेक भ्रष्ट व्यक्ति र मुक्ति दिन सकिने मानिसहरूप्रति उहाँको अन्तिम फैसला कस्तो छ भनेर बुझ्नुपर्छ। के तिमीहरू यसबारे स्पष्ट भयौ? परमेश्वरले सत्यता पछ्याउँदा व्यक्तिको मनोवृत्ति, अठोट र संकल्प कस्तो छ भनेर हेर्नुहुन्छ। उहाँले तँ पहिले को थिइस्, तैँले के अपराध गरेको थिइस् वा तँ कति समर्पित, अर्पित भइस् वा तैँले कति कष्ट भोगिस् भन्ने कुरालाई वास्ता गर्नुहुन्न। परमेश्वरले यी कुराहरू हेर्नुहुन्न। कसैले म परमेश्वरमा विश्वास गर्छु र मैले आठ पटक जेल सजाय भोगिसकेँ भन्ला, अनि परमेश्वर यसो भन्नुहुन्छ: “तेरा यी कुराहरूलाई हेर्दिनँ। तैँले अहिले कसरी व्यवहार गर्छस्, तँ सत्यता पछ्याउने व्यक्ति होस् कि होइनस्, तैँले जेलमा हुँदा गवाही दिइस् कि दिइनस्, तैँले के-के प्राप्त गरेको छस्, तैँले परमेश्वरलाई चिन्छस् कि चिन्दैनस् र सत्यता वास्तविकतामा प्रवेश गरेको छस् कि छैनस्, त्यो मात्र हेर्छु।” परमेश्वरले चाहनुहुने नतिजा यही नै हो। कतिपय मानिसहरू भन्छन्: “मैले अपराध गरेको छु र म पथभ्रष्ट भएको छु, तर अहिले मलाई त्यो थाहा छ, र गहन चिन्तन गरेर म पश्चात्ताप गर्न इच्छुक भएको छु, र आफ्नो कर्तव्य राम्ररी निभाउने, झारा नटार्ने, र आफूले सक्दो गर्ने दृढ सङ्कल्प गर्छु ताकि म परमेश्वरलाई सन्तुष्ट पार्न सकूँ, उहाँको प्रेम चुकाउन सकूँ र आफ्ना विगतका गल्तीहरूको भर्पाई गर्न सकूँ। म आफ्नो कर्तव्य निर्वाह गर्दै सत्यता पछ्याउन र अभ्यास गर्न चाहन्छु। म सेवा वा आफूलाई समर्पित मात्रै गर्ने छैन, सत्यतालाई अभ्यास गर्ने, मानव स्वरूपमा जिउने र राम्रोसँग कर्तव्य निर्वाह गरेर परमेश्वरलाई सम्मानित तुल्याउने कोसिस गर्नेछु।” यो मनोवृत्ति हुँदा के परमेश्वरले अझै पनि तेरा अपराधहरूलाई हेर्नुहुनेछ त? उहाँले त्यसो गर्नुहुनेछैन। तसर्थ, विगतका अपराधबाट नियन्त्रित नहुन तँ आफ्नो हृदयमा यस कुराबारे निश्चित बन्नैपर्छ। कतिपय मानिसहरू सधैँ आफ्ना विगतका अपराधहरूद्वारा नियन्त्रित रहन्छन्, अनि यसो सोच्छन्, “परमेश्वरले पक्कै पनि उहाँको स्वभावलाई चिढ्याउने कुनै पनि कुरालाई माफ गर्न सक्नुहुन्न। उहाँको हृदयले मलाई लामो समयदेखि घृणा र इन्कार गरेको छ, र मैले सत्यता पछ्याउनु व्यर्थ छ।” यो कस्तो मनोवृत्ति हो? यो भनेको परमेश्वरलाई शङ्का गर्नु र गलत बुझ्नु हो। वास्तवमा तैँले परमेश्वरको स्वभावलाई चिढ्याउने कुनै पनि कामकुरा गर्नुअघि नै तँमा उहाँको सम्मान र आदर नगर्ने, अनि उहाँप्रति लापरवाह हुने मनोवृत्ति थियो, र तँ परमेश्वरलाई परमेश्वर झैँ व्यवहार गर्दैन थिइस्। मानिसहरूले क्षणिक अज्ञानता वा उत्तेजनाका कारण आफ्नो शैतानी स्वभाव प्रकट गर्छन् र तिनीहरूलाई अनुशासित गर्ने वा रोक्ने कोही भएन भने तिनीहरू अपराध गर्न पुग्छन्। तिनीहरूले गरेका अपराधको दुष्परिणामहरू आइसकेपछि तिनीहरू पश्चात्ताप गर्न जान्दैनन् र अझै पनि असहज नै महसुस गर्छन्। तिनीहरू आफ्नो भावी परिणाम र गन्तव्यबारे चिन्तित हुन्छन्, अनि यी सबै कुरा आफ्नो हृदयमा बोकेर हिँड्छन्, र सधैँ यसो सोच्छन्, “म सकिएँ, बर्बाद भएँ, त्यसैले म आफैलाई आशाहीन घोषित गर्दैछु। यदि कुनै दिन परमेश्वरले मलाई चाहनुभएन र पूर्ण रूपमा घृणा गर्नुभयो भने यसबाट हुनसक्ने सबभन्दा नराम्रो कुरा भनेको म मर्नेछु। म आफूलाई परमेश्वरको कृपामा छोड्छु।” सतही रूपमा तिनीहरूले आफूलाई परमेश्वरको कृपामा छाड्ने र उहाँको बन्दोबस्त एवं सार्वभौमिकताप्रति समर्पित गर्ने कुरा गरे पनि तिनीहरूको वास्तविक स्थिति कस्तो हुन्छ? त्यो प्रतिरोधी, हठी, अनि पश्चात्ताप नगर्ने हुन्छ। पश्चात्ताप नगर्ने हुनु भनेको के हो? यो भनेको आफ्नै विचार पक्रिरहनु, परमेश्वरले बोलेका कुनै पनि कुरालाई विश्वास वा स्वीकार नगर्नु र सधैँ यस्तो सोच्नु हो, “परमेश्वरका प्रोत्साहन र सान्तवनायुक्त वचनहरू मेरा लागि होइनन्, अरू मानिसका लागि हुन्। म त सकिँए, म अयोग्य भइसकेको छु, म बेकार छु—परमेश्वरले मलाई धेरै पहिले सुधार्न छोडिसक्नु भएको छ, र मैले आफ्ना पाप जसरी स्विकारे पनि, जसरी प्रार्थना गरे पनि वा पछुतो मान्दै रोइकराइ गरे पनि उहाँले कहिले पनि मलाई अर्को मौका दिनुहुनेछैन।” तिनीहरू आफ्नो हृदयमा परमेश्वरलाई मापन गर्ने र उहाँबारे अनुमान लगाउने यो कस्तो मनोवृत्ति हो? के यो स्वीकारोक्ति र पश्चात्तापको मनोवृत्ति हो त? पक्कै पनि होइन। यस्तो खालको मनोवृत्तिले एक किसिमको स्वभाव प्रतिनिधित्व गर्छ—हठ, गहन हठ। बाहिरबाट तिनीहरू निकै आत्मधर्मी, कसैको कुरा नसुन्ने, हरेक धर्मसिद्धान्त बुझ्ने, तर केही अभ्यास नगर्नेजस्ता देखिन्छन्। वास्तवमा तिनीहरूमा हठी स्वभाव हुन्छ। परमेश्वरको नजरमा, यो हठ, आज्ञाकारिता हो कि विद्रोपीपन? स्पष्ट रूपमा विद्रोहीपन नै हो। तर तिनीहरू आफूलाई ठूलो अन्याय भएको ठान्छन्, “म परमेश्वरलाई अत्यन्तै प्रेम गर्थेँ, तर उहाँले मैले गरेको एउटा सानो गल्ती पनि माफ गर्न सक्नुहुन्न र अहिले मेरो परिणाम गुमेको छ। परमेश्वरले मजस्ता मानिसहरूबारे फैसला गर्नुभएको छ। म पावल हुँ।” के परमेश्वरले तँ पावल होस् भनेर भन्नुभयो? परमेश्वरले त्यसो भन्नुभएन। तँ नै आफूलाई पावल भन्छस्—त्यो कहाँबाट आउँछ त? तँ भन्छस् परमेश्वरले तँलाई मार्नु हुनेछ, दण्ड दिनुहुनेछ अनि नरकमा पठाउनुहुनेछ। यो परिणाम कसले निर्धारण गर्यो? स्पष्टरूपमा, यो तैँले आफैले निर्धारण गरिस्, किनभने परमेश्वरले उहाँको काम पूरा भएपछि तँलाई नरकमा पठाइनेछ र तैँले स्वर्गको राज्यमा प्रवेश पाउनेछैनस् भनेर कहिल्यै भन्नुभएको छैन। परमेश्वरले तँलाई घृणा र इन्कार गर्नुहुन्छ भनेर नभनेसम्म तँसँग सत्यता पछ्याउने मौका र अधिकार हुन्छ, तैँले केवल परमेश्वरका वचनहरूको न्याय र सजाय स्विकार्नुपर्छ। तँमा यस प्रकारको मनोवृत्ति हुनैपर्छ किनभने यो सत्यता र परमेश्वरले दिनुहुने मुक्ति स्विकार्ने र साँचो पश्चात्ताप गर्ने मनोवृत्ति हो। तँ सधैँ आफ्नै धारणा, कल्पना र गलतफहमीहरूलाई पक्रिरहन्छस्; तँ पहिल्यै यी कुराहरूले भरिएको र तीद्वारा नियन्त्रित छस्, र तैँले परमेश्वरले तँलाई मुक्ति दिनुहुनेछैन भनेर निर्णयसमेत गरेर आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा लापरवाह र झारा टार्ने मानसिकता पनि अँगालिसकेको छस्—आफैलाई आशाहीन घोषित गर्ने मानसिकता, नकारात्मक र निष्क्रिय मानसिकता, दैनिक दिनचर्यामा जिउने मानसिकता, अल्छी मानसिकता। के तैँले सत्यता प्राप्त गर्न सक्छस् त? तैँले यस मानसिकतासाथ सत्यता प्राप्त गर्न सक्ने छैनस्, र तैँले मुक्ति पाउने छैनस्। के यस्तो व्यक्ति दयनीय हुँदैन? (हो, दयनीय हुन्छ।) के कुराले उसलाई यति दयनीय बनायो त? यो अज्ञानताको कारणले हो। केही आइपर्दा, तिनीहरू सत्यता खोज्दैनन्, बरु सधैँ अध्ययन र अनुमान गर्छन्, अनि परमेश्वरका वचनहरूमध्ये कुन चाहिँ आफ्नो परिस्थितिबारे बोलिएका थिए, परमेश्वरको मनोवृत्ति कस्तो छ, उहाँले कसरी फैसलाहरू गर्नुहुन्छ, र तिनीहरूको परिणाम के हुनेछ भनी हेर्न तिनलाई खोतल्न चाहन्छन्—र यसबाट त्यस मामलाको नतिजा के हुनेछ भनेर निर्धारण गर्छन्। के यो सत्यता खोजी गर्ने व्यवहार हो त? पक्कै होइन। तिनीहरू परमेश्वरका निन्दा गर्ने र श्राप दिने वचनहरूबारे सोचिरहन्छन्, नकारात्मकतामा जिइरहन्छन्—जुन कमजोर, नाजुक र निष्क्रिय हुनु हो जस्तो देखिन्छ, तर यो वास्तवमा एक प्रकारको प्रतिरोध हो। यो प्रतिरोध पछाडि कस्तो स्वभाव लुकेको हुन्छ? हठी स्वभाव। परमेश्वरको नजरमा, यस प्रकारको हठ एक किसिमको विद्रोहीपन हो र यसैलाई उहाँले सबभन्दा घृणा गर्नुहुन्छ। यदि परमेश्वरले तँलाई मुक्ति दिन चाहनुहुन्नथ्यो भने उहाँले तँलाई किन यति धेरै सत्यता बताउनुहुन्थ्यो, किन यति धेरै अभ्यासका मार्ग दिनुहुन्थ्यो वा किन यति इमानदार वचनहरू बोलेर तँलाई अर्ती दिनुहुन्थ्यो? तैपनि तँ परमेश्वरले तँलाई मुक्ति दिनुहुन्न भन्छस्। यसको आधार के हो? परमेश्वरको हृदयले सधैँ मानिसहरू पश्चात्ताप गरून् भन्ने चाहन्छ, तर मानिसहरूले नै आफूलाई मौका दिँदैनन्। यहाँ समस्या के हो? समस्या के हो भए मानव प्रकृति अत्यन्तै छली हुन्छ। मानिसहरू परमेश्वर वा उहाँका वचनहरूमा विश्वास गर्दैनन् र यही मनोवृत्ति साथ उहाँलाई व्यवहार गर्छन्। कसैले भन्ला: “परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, र उहाँका वचनहरूभित्र न्याय, प्रकटीकरण, निन्दा, श्राप, कृपा र क्षमा हुन्छ। मलाई थाहा छ, यी सबै वचनहरूले परमेश्वरको स्वभाव प्रतिनिधित्व गर्छन्, तर कुन चाहिँ मेरो अवस्थाप्रति लक्षित छन् भनेर मलाई थाहा छैन। मलाई सधैँ के लाग्छ भने परमेश्वरका निन्दा र श्रापका वचनहरू मेरा लागि हुन्, अनि उहाँका आशिष र स्याबासीका वचनहरू सत्यता पछ्याउने मानिसहरूका लागि हुन्। जुनसुकै अवस्थामा पनि म त सकिएँ।” तिनीहरूमा सुरुदेखि अन्तसम्म नै यस प्रकारको अशिष्ट मनोवृत्ति हुन्छ, र परमेश्वरले तिनीहरूलाई मुक्ति दिनुहुन्न भन्नका लागि बहानाको रूपमा यसैलाई प्रयोग गर्छन्। तिनीहरू यस्तो सोच्नेछन्, “परमेश्वर, तपाईँले मलाई मुक्ति नदिनुहुने भएकोले, म पनि आफ्नो कर्तव्य निर्वाहमा लापरवाह र झारा टार्ने बनेकै राम्रो। यदि तपाईँ मलाई कुनै इनाम दिनुहुन्न भने म किन यति मेहनत गरूँ?” तिनीहरूको मानसिकतामा बदलिन्छ र अव्यावहारिक बन्छ। तिनीहरू सत्यता स्विकार्दैनन्, बरु आफ्नै अभिप्राय, नकारात्मक स्थिति, अनि मानव कल्पना, अनुमान र बहाना बोकेर परमेश्वर विरोधी हुन्छन् र उहाँसँग प्रतिस्पर्धा गर्छन्। तिनीहरू नकारात्मकतामा जिउँछन्, सत्यता खोज्न वा त्यसबारे सङ्गति गर्न इच्छुक हुँदैनन् र त्यसलाई अभ्यास गर्न वा इमानदार व्यक्ति बन्न वास्ता देखाउँदै नन्। तिनीहरू यसप्रति टालमटोल मनोवृत्ति अपनाउँछन् र अहिले पनि जागेका छैनन्, बरु अझै पनि नकारात्मक स्थितिमा जिउँछन्। परमेश्वरको भनाइअनुसार यस प्रकारका मानिसहरू सबभन्दा दयनीय हुन्छन्। सुरुदेखि अन्तसम्म परमेश्वरसँग प्रतिस्पर्धा गर्ने, उहाँबारे अनुमान लगाउने, उहाँलाई गलत बुझ्ने मानिसहरू नै हुन्छन्, अनि आफ्नै मानव धारणा र कल्पनाहरूमा रुमलिँदै आफैलाई यातना दिँदै नकारात्मकतामा पुग्छन्। तिनीहरू परमेश्वरबाट टाढिन्छन्, तैपनि उहाँको उपयोग गर्न चाहन्छन् र अलिकति पनि नहिच्किचाई उहाँसँग लेनदेन गर्न खोज्छन्। के यो आत्मघात होइन र? यो त ती गीतहरूले, अर्थात् तिनीहरूले “ठूलो भोजमा आफूलाई भोकै राखिरहेका छन्” भनेजस्तै हो। यो सबैभन्दा दयनीय कुरा हो। परमेश्वरले मानिसहरूलाई प्रचुरता दिनुभएको छ, तैपनि मानिसहरू फुटेको कचौरा बोकेर भीख माग्न निस्कन्छन्। के यो कष्ट भोग्नै पर्ने भिखारी होइन?
सुरुदेखि नै, मैले बारम्बार तिमीहरूलाई तिमीहरू प्रत्येकले सत्यताको खोजी गर्नुपर्छ भनेर अर्ती दिएको छु। जबसम्म सम्भव हुन्छ तबसम्म हरेस नखाओ; सत्यताको खोजी गर्नु हरेक व्यक्तिको दायित्व, जिम्मेवारी, र कर्तव्य हो, र यो हरेक व्यक्तिले हिँड्नुपर्ने मार्ग हुनुका साथै मुक्ति पाउन चाहना गर्ने सबैले हिँड्नुपर्ने मार्ग पनि हो। तैपनि कसैले यस कुरामा ध्यान दिँदैन—यो खोक्रो कुरा मात्रै हो भन्ने ठानेर, हरेक व्यक्तिले आफ्नै इच्छाअनुसार विचार गर्छ, कसैले पनि यसलाई महत्त्वपूर्ण विषय ठान्दैन। सुरुदेखि आजसम्म, आफ्नो हातमा परमेश्वरका वचनहरूको पुस्तकहरू पक्रेर पढ्ने, प्रवचनहरू सुन्ने, आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्वरको न्याय र सजाय, अनि उहाँको अगुवाइ स्वीकार गरेको जस्तो देखिने धेरै जना भए पनि, मानिस र परमेश्वरको बीचमा सम्बन्ध स्थापित भएको छैन, र सबै मानिसहरू आफ्नो कल्पना, धारणा, गलत बुझाइ, र अनुमानअनुसार जिउँछन्, यहाँसम्म कि परमेश्वरका वचनहरू र काम, साथै उहाँको अगुवाइलाई तिनीहरूले जसरी लिन्छन् त्यसमा तिनीहरू हरेक दिन शङ्का र नकारात्मकतामा जिउँछन्। यदि तँ त्यस्तो स्थितिमा जिउँछस् भने, तैँले कसरी नकारात्मकतालाई त्याग्न सक्छस्? तैँले कसरी विद्रोहीपनलाई त्याग्न सक्छस्? तैँले कसरी छल अनि दुष्कर्मको मानसिकता र मनोवृत्तिलाई वा परमेश्वरले तँलाई दिनुभएको आज्ञा र कर्तव्यलाई तैँले जुन अनुमान र गलत बुझाइले हेर्छस् ती अनुमान र गलत बुझाइहरूलाई कसरी त्याग्न सक्छस्? अवश्य नै, तिनलाई त्याग्न सकिँदैन। त्यसकारण, यदि तँ सत्यताको खोजी र अभ्यास गर्ने अनि सत्यता वास्तविकतामा प्रवेश गर्ने मार्गमा अघि बढ्न चाहन्छस् भने, तँ तुरुन्तै परमेश्वरको अघि आउनुपर्छ, उहाँसँग प्रार्थना गर्नुपर्छ, र उहाँको इच्छा खोज्नुपर्छ—र उहाँको इच्छा के हो सोबारेमा स्पष्ट बुझाइ प्राप्त गर्नु नै सबैभन्दा महत्वपूर्ण कुरा हो। सधैँ धारणा र कल्पनाहरूमा जिउनु अत्यन्तै अव्यावहारिक हुन्छ; तैँले सबै कुरामा आत्मचिन्तन गर्न सिक्नुपर्छ, साथै तँमा अझैपनि धोइनुपर्ने कुन भ्रष्ट स्वभावहरू छन्, सत्यता अभ्यास गर्न तँलाई कुन कुराहरूले रोकिरहेका छन्, तँमा परमेश्वरबारे कस्ता गलतफहमी वा धारणाहरू छन्, र उहाँले गर्नुहुने कुन कुराहरू तेरो धारणासँग मिल्दैन, अनि तँलाई उहाँलाई शङ्का गर्ने र गलत बुझ्ने बनाउँछ भन्ने कुराको पहिचान गर्न सिक्नुपर्छ। यदि तैँले यसरी आत्मचिन्तन गरिस् भने तँमा सत्यता खोजेर समाधान गरिनुपर्ने कुन समस्याहरू अझै बाँकी छन् भनेर पत्ता लगाउन सक्छस्, र यदि तैँले यसरी अभ्यास गरिस् भने तेरो जीवन वृद्धि तीव्र हुनेछ। यदि तँ आत्मचिन्तन गर्दैनस्, हृदयमा सधैँ परेमश्वरबारे धारणा र गलतफहमीहरू पालिरहन्छस्, सधैँ आफ्नै विचारहरूमा जोड दिइरहन्छस्, अनि परमेश्वरले तँलाई निराश बनाउनुहुन्छ वा उहाँ तँप्रति न्यायोचित हुनुहुन्न भन्ने सोचिरहन्छस् र सधैँ आफ्नै तर्कहरू पक्रिरहन्छस् भने परमेश्वरबारे तेरो गलत बुझाइ झन् गहिरो हुँदै जानेछ र तँ र उहाँबीचको सम्बन्ध झन् टाढिँदै जानेछ, साथै तेरो हृदयमा उहाँप्रतिको विद्रोह र विरोध झन्-झन् बढ्दै जानेछ। तेरो स्थिति यति खराब हुनु भनेको खतरनाक कुरा हो, किनभने यसले तेरो कर्तव्यको प्रभावकारितालाई गम्भीर असर गरिसकेको हुनेछ। तैँले आफ्नो कर्तव्य र जिम्मेवारीलाई केवल लापरवाह, झारा टार्ने, अनादर, विद्रोही र प्रतिरोधी मनोवृत्तिसाथ व्यवहार गर्न सक्छस्, अनि यसको अन्तिम नतिजा के हुन्छ? यसले तँलाई कर्तव्य निभाउँदा लापरवाह र झारा टारुवा हुनेअनि परमेश्वरप्रति छली र प्रतिरोधी बन्नेतर्फ डोऱ्याउँछ। तैँले सत्यता प्राप्त गर्न सक्ने छैनस्, न त सत्यता वास्तविकतामा नै प्रवेश गर्न सक्नेछस्। यो नतिजाको मूल कारण के हो? यसको मूल कारण के हो भने, मानिसहरूको हृदयमा अझै पनि परमेश्वरबारे धारणा र गलतफहमीहरू छन्, अनि यी व्यावहारिक समस्याहरू समाधान भइसकेका छैनन्। त्यसैले, मानिसहरू र परमेश्वरबीच सधैँ एउटा खाडल हुनेछ। तसर्थ, यदि मानिसहरू परमेश्वरसामु आउन चाहन्छन् भने तिनीहरूले सबैभन्दा पहिले आफूमा रहेका परमेश्वरबारे के-कस्ता गलतफहमी, धारणा, कल्पना, आशङ्का वा अनुमानहरू छन् भन्नेबारे चिन्तन गर्नुपर्छ। यी सबै कुराहरू जाँचिनुपर्छ। वास्तवमा परमेश्वरबारे धारणा वा गतलफहमीहरू हुनु सामान्य कुरा होइन, किनभने यसमा परमेश्वरप्रति मानिसहरूको मनोवृत्तिका साथै तिनीहरूको प्रकृति सारलाई समावेश हुन्छ। यदि मानिसहरूले यी धारणा र गलतफहमीहरू समाधान गर्न सत्यता खोज्दैनन् भने यी कुराहरू आफै हराएर जानेछन् भन्ने हुँदैन। तिनीहरूले तेरो कर्तव्य निर्वाह वा सत्यताको पछ्याइमा असर नगरे पनि केही आइपर्दा वा विशेष परिस्थितिहरूमा तिनीहरूले अझै पनि तेरो मस्तिष्कलाई खलबल्याएको र तेरो कर्तव्यपालनमा बाधा दिएको जस्तो देखिनेछ। त्यसैले, यदि तँमा धारणा वा गलतफहमीहरू छन् भने तैँले परमेश्वरसामु आएर आत्मचिन्तन गर्नुपर्छ, सत्यता खोज्नुपर्छ, अनि मानिसहरूमा यी धारणा र गलतफहमीहरू किन उत्पन्न हुन्छन् भन्ने कुराको मूल कारण र सार स्पष्ट रूपमा बुझ्नुपर्छ। तबमात्र ती बिलाउनेछन्, परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य बन्न सक्नेछ रबिस्तारै तेरो जीवन वृद्धि हुन सक्नेछ। मानिसहरूमा परमेश्वरको बारेमा अत्यन्त धेरै धारणा र गलत बुझाइहरू हुनुले मानवजातिले उहाँको प्रतिरोध गर्छ र उहाँसँग मिल्दैन भनी पुष्टि गर्छ। यी धारणा र गलतफहमीहरूलाई नियमित रूपमा समाधान गरेमात्र मानिसहरू र परमेश्वरबीच रहेको खाडल बिस्तारै पुरिँदै जान सक्छ। तिनीहरूले परमेश्वरलाई पालन गर्न सक्नेछन् र उहाँमा अझ बढी विश्वास गर्न थाल्नेछन्; अझ बढी विश्वास गरेसँगै तिनीहरूको सत्यता अभ्यासमा अशुद्धता निकै कम हुनेछ, अनि तिनीहरूको सत्यता पछ्याइमा पनि अशुद्धता र अवरोध धेरै कम हुनेछन्।
कर्तव्य निर्वाह गर्दा कस्ता मानिसहरू कम दूषित हुन्छन् र आफ्नै लागि कम षड्यन्त्र गर्छन्? (सरल मानिसहरू, जो परमेश्वरलाई गलत रूपमा बुझ्दैनन्।) यो एउटा प्रकार भयो। तर, इमानदार, दयालु मानिसहरू पनि छन्, जो सत्यतालाई अझ बढी पछ्याउँछन्—यी मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्दा कम दूषित हुन्छन्। परमेश्वरबारे गलतफहमी वा कल्पना भएकाहरू, वा उहाँबाट अत्यधिक चाह वा माग गर्नेहरू, आफ्नो कर्तव्य निर्वाह गर्दा अत्यन्तै दूषित हुन्छन्। तिनीहरू प्रतिष्ठा, हैसियत र इनाम चाहन्छन् र यदि कुनै ठूलो इनाम तिनीहरूबाट अझै पनि टाढा र ओझेल छ भने तिनीहरू यसो सोच्नेछन्, “यसलाई मैले तुरुन्तै पाउन नसक्ने भएकोले मैले केवल प्रतीक्षा र धैर्य गर्नुपर्नेछ। तर अहिले मैले थोरै भए पनि लाभ वा कम्तीमा केही हैसियत पाउनुपर्छ। म सबभन्दा पहिले मण्डलीमा अगुवा बन्न, दर्जनौँ मानिसको जिम्मा लिन लागिपर्नेछु। मानिसहरू सधैँ आफू वरपर झुम्मिएको त निकै रोमाञ्चक हुन्छ।” त्यसैले परमेश्वरप्रति तिनीहरूको विश्वासको यो अशुद्धता देखा पर्छ। जब तैँले कुनै पनि कर्तव्य निर्वाह गरेको हुँदैनस् वा परमेश्वरको घरका लागि कुनै व्यावहारिक कार्य गरेको हुँदैनस्, तब तँलाई आफू अयोग्य भएको महसुस हुनेछ र तँमा यी कुराहरू उत्पन्न हुने छैनन्। तर जब तँ केही गर्न सक्षम हुन्छस्, र आफू अधिकांश मानिसहरूभन्दा अलिक उच्च भएको, केही धर्मसिद्धान्त प्रचार गर्न सक्षम रहेको महसुस गर्छस् तब यी कुराहरू उत्पन्न हुनेछन्। उदाहरणका लागि कुनै अगुवा चुनिँदै गर्दा, यदि तैँले परमेश्वरमा एक-दुई वर्षदेखि मात्र विश्वास गरेको छस् भने तैँले आफ्नो कद सानो रहेको, आफू कुनै पनि प्रवचन दिन असमर्थ रहेको र आफू योग्य नभएको ठान्नेछस्, त्यसैले तँ चुनावको बेला पछि हट्नेछस्। तैँले तीन-चार वर्ष विश्वास गरिसकेपछि, केही आत्मिक धर्मसिद्धान्त प्रचार गर्न सक्नेछस्, त्यसैले फेरि कुनै अगुवा चुन्ने समय आउँदा, सक्रिय भएर त्यो पदको लागि पहल गर्दै यसरी प्रार्थना गर्नेछस्, “हे परमेश्वर मैले एउटा बोझ उठाएको छु, म एउटा मण्डली अगुवा बन्न र तपाईँको इच्छाको ख्याल गर्न इच्छुक छु। तर म चुनिए पनि वा नचुनिए पनि, सधैँ तपाईँको बन्दोबस्तमा समर्पित हुन इच्छुक छु।” तैँले आफू समर्पित हुन इच्छुक रहेको त भन्नेछस्, तर हृदयमा यस्तो सोच्नेछस्, “तर तपाईँले मलाई अगुवा बन्ने मौका दिनुभयो भने त धेरै राम्रो हुनेथ्यो!” यदि तेरो माग यस्तो छ भने, के परमेश्वरले त्यो पूरा गर्नुहुनेछ त? पक्कै गर्नुहुनेछैन, किनभने तेरो यो माग जायज छैन, यो त विलासी चाहना हो। तैँले परमेश्वरको बोझको ख्याल गर्न अगुवा बन्न चाहन्छु भने पनि, यसलाई आफ्नो भनाइ सही ठहर्याउने बहानाको रूपमा प्रयोग गर्दा, र यो सत्यताअनुरूप छ भन्ठान्दा, जब परमेश्वरले तेरो माग पूरा गर्नुहुन्न, तब तैँले के सोच्नेछस्? तैँले कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्नेछस्? (म परमेश्वरलाई गलत रूपमा बुझ्नेछु, र मैले केवल उहाँको बोझ उठाउन खोज्दा उहाँले किन मलाई सन्तुष्ट पार्नुभएन भनेर सोच्नेछु। म नकारात्मक, प्रतिरोधी हुनेछु र गुनासो गर्न थाल्नेछु।) तँ नकारात्मक हुनेछस् र यस्तो सोच्नेछस्, “तिनीहरूले चुनेका व्यक्तिले मैले जति लामो समय परमेश्वरमा विश्वास गरेको छैन, ऊ म जति शिक्षित छैन र उसको क्षमता मेरो भन्दा कमजोर छ। म प्रवचन पनि दिन सक्छु, त्यसैले ऊ कसरी म भन्दा राम्रो भयो?” तँ सोचेको-सोच्यै हुनेछस्, तर तैँले पत्ता लगाउन चाहिँ सक्ने छैनस्, त्यसैले तँमा धारणाहरू उत्पन्न हुनेछन् र परमेश्वरलाई अधर्मी ठहऱ्याउने छस्। के यो भ्रष्ट स्वभाव होइन र? के तँ अझै पनि समर्पित हुन सक्नेछस्? अहँ, सक्नेछैनस्। यदि तँमा अगुवा हुने यो चाहना नभएको भए, यदि तैँले सत्यता पछ्याउन सकेको भए र तँसँग आत्मज्ञान भएको भए, तैँले यसो भन्ने थिइस्, “म साधारण अनुयायी हुँदा पनि ठिकै छु। मसँग सत्यता वास्तविकता छैन, मेरो मानवता औसत छ र म बोल्नमा त्यति सिपालु छैन। मसँग केही अनुभव त छ, तर म त्यसबारे बताउन साँच्चै सक्दिनँ। म यसबारे अझ बढी बताउन चाहन्छु तर म तिनलाई राम्ररी व्याख्या गर्नै सक्दिनँ। यदि म धेरै बोलेँ भने मानिसहरू मेरो कुरा सुनेर दिक्क मान्न सक्नेछन्। म यो पदका लागि अत्यन्तै अयोग्य छु। म अगुवा हुन उपयुक्त छैन र मैले केवल अरूबाट सिक्दै जानुपर्छ, आफ्नो क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ र धरातलमा रहेर सत्यता पछ्याउनुपर्छ। कुनै दिन मसँग कद हुँदा र म अगुवाइ गर्न योग्य हुँदा, मेरा दाजुभाइ र दिदीबहिनीहरूले मलाई चुनेमा म इन्कार गर्नेछैन।” यो सही मनस्थिति हो। यदि कुनै दिन तेरा दाजुभाइ र दिदीबहिनीहरूले तँलाई अगुवा हुन योग्य देखेर चुने भने त्यो निश्चय नै परमेश्वरले अनुमति दिनुभएकोले नै हुनेछ, तब तैँले अगुवाइ गर्नेछस् कि गर्नेछैनस्? (हजुर, म गर्नेछु, म समर्पित हुनेछु।) तँ कसरी समर्पित हुनेछस्? मानौँ तँ यस्तो सोच्छस्, “मलाई म यो गर्न सक्छु जस्तो लाग्छ। मभन्दा राम्रो अरू कोही छैन, त्यसैले म यो अवश्य नै गर्न सक्छु। यो भनेको परमेश्वरले मलाई चुन्न मेरा दाजुभाइ र दिदीबहिनीहरूलाई उत्प्रेरित गर्नुभएको हो। यी मानिसहरूमध्ये मैले नै सबभन्दा लामो समयदेखि परमेश्वरमा विश्वास गरेको छु, मेरो उमेर उपयुक्त छ, मसँग समाजबारे केही अनुभव छ र म सक्षम सेवाकर्ता हुँ, म बोल्नमा सिपालु छु, शिक्षित छु, मैले हर प्रकारका कर्तव्यहरू निर्वाह गरेको छु, र केही अनुभव बटुलेको छु। म सबै तरिकाले उपयुक्त छु। यदि मेरा दाजुभाइ र दिदीबहिनीहरू मेरो अगुवाइमा रहे भने यो मण्डली जीवन पक्कै पनि फस्टाउनेछ र सुध्रिँदै जानेछ।” तब तँमा अहङ्कार उत्पन्न हुन्छ। के यो समझयुक्त कुरा हो त? त्यसपछि तँ के गर्नेछस्? तँ दुष्कर्म र खराब कामहरू गर्नेछस्, अनि त्यसपछि तँलाई निराकरण गरिनैपर्ने हुन्छ र तैँले न्याय र सजाय सामना गर्नैपर्ने हुन्छ। के व्यक्तिको मनस्थिति महत्वपूर्ण हुन्छ? (हजुर, हुन्छ।) तैँले जेसुकै गरे पनि, आफ्ना इरादा, सुरुवाती बिन्दु, अभिप्राय, लक्ष्य र सबै विचारहरूलाई सत्यताअनुसार चिन्तन गरेर बुझ्नैपर्छ र ती सही छन् कि गलत भनेर निर्धारण गर्नैपर्छ। तँ गलत मार्गमा नलाग्नका निम्ति, परमेश्वर वचनहरू नै यी सबै कुराको जग र आधार हुनुपर्छ। तैँले जे गर्न चाहे पनि वा तैँले परमेश्वरसामु जे खोजे, प्रार्थना गरे वा मागे पनि, त्यो जायज र उचित हुनुपर्छ, त्यो प्रस्तुत गर्न सकिने र सबैको अनुमोदन पाउन सक्ने कुरा हुनुपर्छ। सबैको सामुन्ने खुला रूपमा प्रस्तुत गर्न नसकिने कुराहरू खोज्नु वा त्यसका लागि प्रार्थना गर्नुको कुनै अर्थ हुँदैन। तैँले ती कुराहरूका लागि जति प्रार्थना गरे पनि कुनै फाइदा हुने छैन।
आफ्नो कर्तव्य निर्वाह गर्दा मानिसहरू सधैँ दूषित हुन्छन्, तिनीहरू आफ्नै अभिप्राय र प्राथमिकताहरूले दूषित हुन्छन्। त्यसोभए, के मानिसहरू जानाजानी आफूलाई दूषित हुन दिन्छन्? होइन, यो जानाजानी हुँदैन। कुनै व्यक्तिले कति दूषित छ भन्ने कुरा तिनीहरूको स्वभाव र पछ्याइमा भर पर्दछ। यदि कसैले सत्यता पछ्याउँछ भने, उसमा कर्तव्य निर्वाह गर्दा अभिप्राय, स्वार्थी इरादा, चाहना र नकारात्मक स्थितिहरू कम हुनेछन्। यदि उसले सत्यता पछ्याउँदैन भने ऊ झन् बढी दूषित हुनेछ, अनि असफलता वा अवरोध सामना गर्दा ऊ नकारात्मक हुने सम्भावना हुनेछ, कहिलेकाहीँ ऊ एउटै शब्दले गर्दा पनि पछारिन पुग्छ। तिमीहरू सधैँ “अभिमान, हैसियत र स्नेहले पीडित भएको” कुरा गर्छौँ—तिमीहरू दिनभरि नै यावत् कुराहरुले पीडित महसुस गर्छौ। यो तर्कहीन कुरा हो। मानिसहरूमा प्राय: शैतानी प्रकृति हावी हुन्छ, तिनीहरू आफ्नो शैतानी स्वभावको नियन्त्रणमा जिउँछन्, र सबै प्रकारका विलासी चाहनाहरू राख्छन्, तर तिनलाई समाधान गर्न सत्यता खोज्दैनन्। तिनीहरूले जस्तोसुकै भ्रष्टता प्रकट गरे पनि तिनीहरू सधैँ नकारात्मक र पीडित महसुस गर्छन्। यदि तिमीहरू पीडा महसुस गर्छौ भने तिमीहरू समस्यामा छौ; जबजब पीडित महसुस भएको कुरा उल्लेख गरिन्छ, यो कहिल्यै पनि राम्रो कुरा हुँदैन। किन? “पीडित हुनु” भन्ने शब्द आफैमा समेत जायज छैन—मानिसहरू विशेष परिस्थितिहरूमा मात्र पीडित महसुस गर्छन्, अनि यो सत्यता पछ्याउनेहरूले बारम्बार प्रकट गर्ने कुरा होइन। सधैँ पीडित महसुस गर्नु भनेको केही गडबड हुनु हो, त्यस्ता मानिसहरूमा केही समस्या हुन्छ—यो नकारात्मकता र प्रतिरोधको स्थिति हो। यसका साथै, “पीडित हुनु” शब्दलाई यसरी प्रयोग गर्नु गलत र अनुचित हो। सधैँ पीडित महसुस गर्ने मानिसहरूले किन अन्तमा त्यसबाट नतिजाहरू पाउँदैनन् त? किनभने तिनीहरूले सत्यता खोज्दैनन्, बरु उल्टै सधैँ नकारात्मक र प्रतिरोधी हुँदै परमेश्वरको विरोध गर्छन्। फलस्वरूप तिनीहरूले निकै कष्ट भोग्छन्, तर केही प्राप्त गर्दैनन्। सत्यतालाई प्रेम गर्ने मानिसहरू, जस्तोसुकै कठिनाइ वा समस्याको सामना गरे पनि सधैँ परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुन्छन्। तिनीहरूले परमेश्वरको योजनाबद्ध कार्य स्वीकार गर्नेछन्, सत्यता खोज्न उहाँसामु आउनेछन् र सत्यता पछ्याउने मार्गमा हिँड्नेछन्। कुनै असल कारण नभई पीडित महसुस नगर्, किनभने यसले तँलाई कहीँ पुर्याउँनेछैन। उदाहरणका लागि, तँ स्नेहका कारण पीडित महसुस गर्छस्, तर के तैँले आफूलाई कहिल्यै यसबाट निकाल्न सक्छस् त? तँ हैसियतका कारण पीडित महसुस गर्छस्, तर के तँसँग हैसियतबारे साँचो परिज्ञान छ त? तँ आफ्नो भविष्य र नियतिका कारण पीडित त महसुस गर्छस्, तर के तँ आफूलाई आफ्नो भविष्य र नियतिको बन्धनबाट स्वतन्त्र गर्न सक्छस् त? के तँ आफ्नो आशिष् पाउने चाहनालाई छोड्न सक्छस्? (अहँ, म सक्दिनँ।) त्यसोभए, तैँले यी समस्याहरू कसरी समाधान गर्न सक्छस् त? ती सबै सत्यता पछ्याएर नै समाधान गरिनुपर्छ। सत्यता पछ्याउँदा यसले मानिसहरूको अनुचित माग र विलासी चाहनाहरूका साथै परमेश्वरबारे तिनीहरूमा रहेको गलतफहमी, कल्पना, अनुमान, आशंका र निर्धारण गरेका कुराहरू पनि समाधान गर्न सक्छ। के यी सबै स्थिति समाधान भइसकेपछि पनि मानिसहरूले पीडित महसुस गर्नेछन् त? के पीडित महसुस गराउने यी सबै स्थितिहरू हराएर जानेछैनन् त? त्यस बेला, तेरो विचार, दृष्टिकोण, मनोवृत्ति र स्थिति कस्तो हुनेछ? तँ समर्पित हुन अनि प्रतीक्षा गर्न सक्षम हुनेछस्, र तैँले परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तविरुद्ध लडाइँ गर्नेछैनस्, न त उहाँविरुद्ध विद्रोह वा उहाँको मूल्याङ्कन नै गर्नेछस्। यसका साथै, परमेश्वरको हात तँमाथि पर्दा, वा उहाँले तेरा लागि एउटा वातावरण योजनाबद्ध गर्नुहुँदा, तँ उहाँको प्रतिरोध वा उहाँलाई बेवास्ता गर्नुको सट्टा सक्रिय रूपमा सहकार्य गर्दै उहाँसामु समर्पित हुन सक्नेछस्; यसबाट उम्किन त झनै खोज्नेछैनस्। तँमा यी सकारात्मक स्थितिहरू बढ्दै जानेछन् र यसले तँ सत्यता पछ्याइरहेको छस् भन्ने प्रमाणित गर्छ। यद्धपि ती नकारात्मक कुराहरूले निरन्तर तेरो दिमागलाई गाँजेर तेरो दैनिक कार्य, सोच र विचारलाई प्रभावित पार्छन्, र तेरो स्थितिलाई असर गर्छन् भने यसले तैँले सत्यता पटक्कै पछ्याउँदैनस् भन्ने प्रमाणित गर्दछ र तँलाई अन्त्यमा हटाइनेछ।
धेरै मानिसहरू, आफ्नो कर्तव्य निर्वाह गर्दा, सधैँ आफ्ना अभिप्रायहरूले दूषित हुन्छन्, सधैँ उत्कृष्ट देखिने प्रयास गर्छन्, सधैँ प्रशंसा र प्रोत्साहन पाउन खोज्छन् र यदि तिनीहरूले केही काम राम्ररी गरे भने सधैँ त्यसको केही प्रतिफल वा इनाम चाहन्छन्; यदि कुनै इनाम पाएनन् भने कर्तव्य निर्वाहमा उदासीन बन्छन् र यदि तिनीहरूलाई ध्यान दिने वा प्रोत्साहन गर्ने केही भएन भने नकारात्मक भइहाल्छन्। तिनीहरू बालक झैँ अस्थिर हुन्छन्। यहाँ के भइरहेको छ—यस्ता मानिसहरू किन सधैँ आफ्ना अभिप्रायहरूले दूषित हुन्छन् र कहिल्यै तिनलाई पन्छाउन सक्दैनन्? यसको मुख्य कारण भनेकै तिनीहरू सत्यता स्विकार्दैनन्; परिणामस्वरूप तैँले तिनीहरूसँग सत्यताबारे जसरी सङ्गति गरेपनि तिनीहरू यी कुराहरूलाई पन्छाउन सक्दैनन्। यदि यी समस्याहरू कहिल्यै पनि समाधान गरिएनन् भने, समय बित्दै जाँदा तिनीहरू सजिलै नकारात्मक बन्छन् र कर्तव्य निर्वाहप्रति बढ्दो रूपमा उदासीन हुँदै जान्छन्। तिनीहरू परमेश्वरका प्रशंसा वा आशिष् पाउने वचनहरू देखेर अलिक प्रोत्साहित हुन्छन् र अलिक उत्साहित बन्छन्, तर यदि कसैले पनि तिनीहरूसँग सत्यताबारे सङ्गति गरेन भने, कसैले पनि तिनीहरूलाई प्रोत्साहन र प्रशंसा गरेन भने तिनीहरू उदासीन हुन थाल्छन्। यदि मानिसहरूले बारम्बार तिनीहरूको सराहना, गुणगान र प्रशंसा गरे भने तिनीहरू आफूलाई निकै अद्भूत मान्न थाल्छन् र हृदयमा परमेश्वरले तिनीहरूलाई रक्षा गरिरहनुभएको र आशिष दिइरहनुभएको छ भनेर विश्वस्त हुन्छन्। यस बेला तिनीहरूको भीडभन्दा उत्कृष्ट देखिने चाहना हासिल अनि परिपूर्ति हुन्छ, तिनीहरूको आशिषित हुने अभिप्राय क्षणिक रूपमा शान्त हुन्छ, र तिनीहरूको सीप र प्रतिभाहरू उपयोग गरिएका हुन्छन्, जसले तिनीहरूलाई इज्जत दिन्छ। तिनीहरू यति खुशी हुन्छन् कि सडकमा उफ्रिन थाल्छन्, तिनीहरूको अनुहार चम्किरहेको हुन्छ। के यो सत्यता पछ्याउँदाको प्रभाव हो त? (होइन।) यो त केवल तिनीहरूको चाहनाहरू पूरा भएकोले हो। यो कस्तो स्वभाव हो? यो अहङ्कारी स्वभाव हो। तिनीहरूमा अलिकति पनि आत्मचेतना हुँदैन, बरु विलासी चाहनाहरू हुन्छन्। तिनीहरूले कुनै प्रतिकूलता वा कठिनाइ सामना गर्दा वा तिनीहरूको अभिमान र आडम्बर पूर्ति नभएमा वा तिनीहरूको स्वार्थमा थोरै मात्र पनि सम्झौता हुन गएमा, तिनीहरू नकारात्मक हुन्छन् र लड्छन्। पहिला तिनीहरू दैत्य झैँ उच्च खडा हुन्थे, तर केही दिनमै तिनीहरू टुक्रा-टुक्रा भएर धुलोको थुप्रो बन्न पुगेका छन्—यो भिन्नता अत्यन्तै ठूलो छ। यदि तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् भने, तिनीहरू यति छिटो कसरी लड्न सक्छन्? स्पष्ट छ, उत्साह, चाहना र महत्वाकांक्षाको आधारमा कर्तव्य निभाउने मानिसहरू निकै कमजोर हुन्छन्; कुनै अवरोध वा असफलता सामना गर्दा, तिनीहरू लड्छन्। आफ्ना कल्पनाहरू व्यर्थ, चाहनाहरू अपूरो भएको र आशिष् पाउने कुनै आशा नभएको देखेर तिनीहरू लगत्तै लड्छन्। यसले के देखाउँछ भने तिनीहरू त्यति बेला आफ्नो कर्तव्यबारे जतिसुकै उत्साहित भएपनि, त्यो उत्साह तिनीहरूले सत्यता बुझेको कारण थिएन। तिनीहरू आशिष् पाउने चाहना र उत्साहका कारण आफ्नो कर्तव्य निर्वाह गरिरहेका थिए। मानिसहरू जतिसुकै उत्साहित भएपनि वा तिनीहरूले जतिसुकै वचन वा धर्मसिद्धान्त प्रचार गर्न सकेपनि, यदि तिनीहरू सत्यता अभ्यास गर्न सक्दैनन् भने, सिद्धान्तअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन् भने, उत्साहमा मात्रै भर पर्छन् भने लामो समय टिक्न सक्नेछैनन्, अनि सङ्कष्ट वा विपत्ति सामना गर्दा तिनीहरू दह्रिलो गरी खडा हुन सक्नेछैनन्, र लडनेछन्। कतिपय मानिसहरू असफलता वा अवरोध सामना गर्दा लडिहाल्छन्, अरू मानिसहरू काटछाँट र निराकरण गरिँदा लड्ने गर्छन्, भने अन्य मानिसहरू ताडना सामना गर्दा लड्ने गर्छन्। सत्यता नहुनेहरू पहिलो अवरोधमै यसरी नै लड्ने गर्छन्। तसर्थ, सत्यता पछ्याउने व्यक्तिको प्रकटीकरण के-के हुन्? (जस्तोसुकै शोधन सामना गरे पनि र निकै पीडामा भएपनि तिनीहरू नकारात्मक बन्नेछैनन्। तिनीहरूले सत्यता खोज्नेछन् र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुनेछन्।) नकारात्मक नबन्नु एउटा प्रकटीकरण हो, तर तिमीहरूले मुख्य प्रकटीकरणलाई छर्लङ्ग देखेका छैनौ र त्यो प्रकटीकरण भनेको के हो भने, सत्यता पछ्याउने मानिसहरूले कर्तव्य निर्वाह गर्दा जस्तोसुकै कठिनाइ, पीडा वा कमजोरी अनुभव गरे पनि बाधित वा प्रभावित हुँदैनन्। सत्यता नपछ्याउनेहरू खुसी हुँदा निकै उत्साहित भएर आफ्नो कर्तव्य निर्वाह गर्दछन्, जतिसुकै कष्ट भोगेपनि थकावट महसुस गर्दैनन् र सबै व्यक्तिगत कुरालाई एकातिर पन्छाउन सक्छन् र कर्तव्य त्याग्दैनन्। तर तिनीहरू बेखुसी हुँदा, अवस्था फरक हुन्छ। अलिकति काम गर्दा पनि तिनीहरू अत्यन्तै थकित महसुस गर्छन्, अनि अलिकित कष्ट भोग्नेबित्तिकै गुनासो गर्छन् र घर गएर जीवन जिएर धनी हुने र उम्कने बाटो खोज्ने बारेमा सोचिरहन्छन्। तर सत्यतालाई पछ्याउनेहरू यसो सोच्छन्, “मैले जतिसुकै कष्ट भोगेपनि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ र परमेश्वरको प्रेम चुकाउनुपर्छ। आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरेर मात्रै मैले विवेक र समझ पाउनेछु, र मानव भनिन लायक हुनेछु।” आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नमा केन्द्रित गर्नु बाहेक, तिनीहरू जस्तोसुकै कठिनाइ सामना गर्नु परे पनि परमेश्वरका वचनहरू खान र पिउन सक्छन् र आफ्ना दाजुभाइ र दिदीबहिनीहरूसँग सत्यताबारे सङ्गति गर्न सक्छन् अनि कठिनाइहरू समाधान गर्न सत्यताको खोज्छन्। तिनीहरू बारम्बार यी कुराहरूबारे विचार गर्छन्: “मैले यो स्थितिलाई कसरी समाधान गर्न सक्छु? समस्या कहाँनेर छ? म किन नकारात्मक महसुस गर्छु? मलाई निराकरण किन गरिँदैछ? मैले कसरी यो गल्ती गर्न पुगेँ? मबाट गल्ती कहाँ भयो? के यो स्वभावसँग सम्बन्धित समस्या हो, के म यस क्षेत्रमा निपुण छैन र, कि मैले आफ्नै केही अभिप्रायहरू पालेर बसेको छु?” तिनीहरूले यी कुराहरूलाई केही दिन जाँचेपछि नतिजा पाउनेछन्, अनि तिनीहरूले आफ्नै अभिप्रायहरू पालेर राखेकाले, अरूलाई चिढ्याउन डराएकोले र परमेश्वरको घरका हितहरूलाई ख्याल नगरेकोले मण्डलीको काममा हानि पुगेको छ भनेर थाहा पाउँछन्। यस प्रकारको निष्कर्षमा पुगेपछि तैँले कस्तो मनोवृत्ति अपनाउनुपर्छ? तैँले यो समस्या कसरी समाधान गर्नुपर्छ? तैँले परमेश्वरको वचनहरूको न्याय र सजाय, काटछाँट र निराकरण स्विकार्नुपर्छ, उहाँको वचनभित्र रहेर आत्मचिन्तन गर्नुपर्छ, आफ्नो स्थिति र उहाँका वचनहरूलाई दाँजेर हेर्नुपर्छ, अनि आफ्नै भ्रष्ट स्वाभावहरूबारे बुझाइ हासिल गर्नुपर्छ। यसरी तँलाई आफू सत्यतालाई प्रेम गर्ने र परमेश्वरलाई पालन गर्ने व्यक्ति भए-नभएको थाहा हुनेछ। के यो निष्कर्षमा पुग्नु पर्याप्त छ त? तैँले अझै पनि यसो भन्दै परमेश्वरसामु पाप स्विकारी पश्चाताप गर्नुपर्छ, “मैले जे गरेँ त्यो सत्यताअनुरूप थिएन, मेरा कार्यहरू मेरा शैतानी स्वभावहरूद्वारा निर्देशित थिए। म पश्चाताप गर्न इच्छुक छु, र परमेश्वरविरुद्ध अब कहिल्यै पनि विद्रोह गर्नेछैन। चाहे जेसुकै होस्, म सधैँ सत्यता खोज्नेछु र परमेश्वरका मागअनुसार काम गर्नेछु। मैले त्यसो गर्न सकिनँ भने परमेश्वरले मलाई ताडना र सजाय दिनुहोस्।” यो वास्तवमै पश्चाताप गर्ने खालको हृदय हो। यदि तँ यसरी प्रार्थना गरेर दृढ सङ्कल्प गर्न सक्छस् भने, अनि यसरी अभ्यास गर्न सक्छस् भने यो आज्ञाकारी मानसिकता हो। यदि तँ यसरी अनुभव गर्छस् भने, बिस्तारै परमेश्वरको कामलाई पालन गर्न थाल्नेछस्, उहाँबारे साँचो बुझाइ हासिल गर्नेछस्, उहाँको स्वभाव साँच्चै धर्मी र पवित्र छ भन्ने देख्नेछस्, र आफूमा परमेश्वरको डर मान्ने हृदयको विकास गर्नेछस्। तँ आफ्नो कर्तव्य निर्वाहमा जिम्मेवार र वफादार हुनेछस्, र यसरी तैँले केही व्यावहारिक अनुभव बटुल्नेछस्, अनि तँ सत्यता वास्तविकतामा प्रवेश गरेको हुनेछस्।
काम गर्ने क्रममा कतिपय मानिसहरूले आफ्नै इच्छा पछ्याउँछन्। तिनीहरूले सिद्धान्तहरू उल्लङ्घन गर्छन्, अनि तिनीहरूलाई काटछाँट र निराकरण गरिँदा, तिनीहरूले केवल शब्दहरूले मात्र अहङ्कारी भएको स्विकार्छन् र तिनीहरूसँग सत्यता नभएकोले मात्रै तिनीहरूबाट गल्ती भएको हो भन्छन्। तिनीहरूले आफ्नो हृदयमा भने यसो भनेर गुनासो गर्छन्, “मबाहेक अरू कसैले पनि खतरा मोल्दैनन्—अनि अन्तिममा, केही गलत हुँदा, तिनीहरूले सबै जिम्मेवारी ममाथि थोपर्छन्। के यो मेरो मूर्खता होइन र? अर्कोपटक म त्यसरी खतरा मोलेर त्यही कुरा गर्न सक्दिनँ। टाउको उठाउने चराले नै गोली खान्छ!” यस मनोवृत्तिको बारेमा तिमीहरूलाई के लाग्छ? के यो पश्चात्तापको मनोवृत्ति हो? (होइन।) यो के मनोवृत्ति हो त? के तिनीहरू अस्थिर र छली बनिरहेका छैनन् र? तिनीहरूले आफ्नो मनमा यस्तो सोच्छन्, “यसपटक म भाग्यशाली भएँ, यसले विपत्ति ल्याएन। भनाइ नै छ, हरेक गल्तीबाट सिकिन्छ। भविष्यमा म अझै होशियार हुनुपर्छ।” तिनीहरूले कुनै मामला हेर्न र सामना गर्नको लागि सत्यता खोजी गर्दैनन्, बरु आफ्नो छुद्र चाल र चतुर युक्ति प्रयोग गर्छन्। के तिनीहरूले यसरी सत्यता प्राप्त गर्न सक्छन् र? सक्दैनन्, किनभने तिनीहरूले पश्चात्ताप गरेकै हुँदैनन्। पश्चात्ताप गर्दा गर्नुपर्ने पहिलो कुरा आफूले गरेको गल्ती पहिचान गर्नु हो: तैँले कहाँ गल्ती गरिस्, समस्याको सार के थियो, अनि तैँले कस्तो भ्रष्ट स्वभाव प्रकट गरिस् भनी बुझ्नु हो; तैँले यी कुराहरू मनन गर्नु र सत्यता स्विकार्नुपर्छ, त्यसपछि सत्यताअनुसार अभ्यास गर्नुपर्छ। यो मात्रै पश्चात्तापको मनोवृत्ति हो। अर्कोतर्फ, यदि तैँले विस्तृत रूपमा धूर्त शैलीहरूको बारेमा विचार गर्छस्, तँ पहिलेभन्दा छली बन्छस्, तेरा तरिकाहरू अझै चलाख र गुप्त हुन्छन्, अनि परिस्थिति सामना गर्ने तँसँग अझै बढी विधिहरू हुन्छन् भने, यो समस्या केवल छली बन्नुजस्तो सरल छैन। तैँले छलपूर्ण माध्यमहरूको प्रयोग गरिरहेको छस् र तँसँग रहस्यहरू छन् जसलाई तँ खोल्न सक्दैनस्। यो दुष्टता हो। तैँले पश्चात्ताप नगरेको मात्र छैनस्, तँ झन् धूर्त र छलीसमेत बनेको छस्। परमेश्वरले तँलाई अत्यन्तै हठी र दुष्ट, सतही रूपमा आफ्नो गल्ती मान्ने अनि निराकरण र काटछाँट स्विकार्ने, तर वास्तवमा अलिकति पनि पश्चात्तापी मनोवृत्ति नभएको व्यक्तिको रूपमा हेर्नुहुन्छ। म किन यसो भन्छु? किनभने यो घटना भइरहेको वा भएपछिको अवस्थामा, तैँले सत्यता खोज्दै खोजिनस्, चिन्तन गर्ने वा आफूलाई चिन्ने प्रयास गर्दै गरिनस्, र सत्यताअनुसार अभ्यास गर्दै गरिनस्। तेरो मनोवृत्ति भनेको समस्या समाधान गर्नको लागि शैतानका दर्शन, तर्क र विधिहरू प्रयोग गर्नु हो। वास्तवमा, तैँले यो समस्यालाई पन्छाइरहेको छस्, र यसलाई अरूले देख्दै नदेखून् भनेर, गल्तीको निशान नछोडी, राम्रोसित पोको पार्दै छस्। अन्त्यमा, तँलाई तँ निकै बाठो छस् भन्ने लाग्छ। परमेश्वरले यी कुराहरूलाई हेर्नुहुन्छ, तैँले आफूमाथि समस्या आइपर्दा साँचो रूपमा मनन गरेको, आफ्नो पाप स्वीकार गरेको, र पश्चात्ताप गरेको, त्यसपछि सत्यता खोजी गर्न र सत्यताअनुसार अभ्यास गर्न अघि बढेको कुरालाई हेर्नुहुन्न। तेरो मनोवृत्ति सत्यताको खोजी गर्ने वा सत्यताको अभ्यास गर्ने मनोवृत्ति होइन, न त यो परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुने मनोवृत्ति नै हो, बरु यो त तेरो समस्यालाई समाधान गर्नको लागि शैतानका तरिका र विधिहरूको प्रयोग गर्ने मनोवृत्ति हो। तैँले अरूमा गलत छाप छोड्छस् र परमेश्वरद्वारा खुलासा हुने कुराको प्रतिरोध गर्छस्, अनि तँ परमेश्वरले तेरो लागि योजनाबद्ध गर्नुभएका परिस्थितिहरूविरुद्ध प्रतिरक्षा र मुकाबला गर्छस्। यसको अर्थ तेरो हृदय पहिलेको भन्दा बढी बन्द र परमेश्वरदेखि झन् टाढिएको छ। अनि यसरी के यसबाट कुनै राम्रो नतिजा आउँछ त? के तँ अझै पनि ज्योतिमा, शान्ति र आनन्दमा रमाउँदै जिउन सक्छस्? सक्दैनस्। यदि तँ सत्यताबाट अलग बस्छस् र परमेश्वरबाट पनि अलग बस्छस्, तँ निश्चय नै अन्धकारमा खस्नेछस् अनि रुनेछस् र दाह्रा किट्नेछस्। के यस्तो स्थिति मानिसहरूमा व्याप्त छ? (छ।) कतिपय मानिसहरू बारम्बार यसो भन्दै आफूलाई चेतावनी दिन्छन्, “यसपटक मेरो निराकरण गरिएको छ। अर्कोपटक, म अझै बढी मतलबी र होशियार बन्नुपर्छ। सबै मामिलामा म चनाखो बन्नुपर्छ ताकि म नहारूँ; जो मानिसहरू मतलबी छैनन् तिनीहरू मूर्ख हुन्छन्।” यदि तैँले सधैँ आफूले आफैलाई निर्देशित र सचेत गरिरहेको छस् भने, के तैँले कहिल्यै राम्रो नतिजाहरू हासिल गर्न सक्नेछस्? के तैँले सत्यता प्राप्त गर्न सक्नेछस्? यदि कुनै समस्या तँमाथि आइपर्छ भने, तैँले सत्यताको एउटा पक्ष खोज्नु र बुझ्नुपर्छ र सत्यताको त्यो पक्ष प्राप्त गर्नुपर्छ। सत्यतालाई बुझेर के हासिल गर्न सकिन्छ त? जब तैँले सत्यताको एउटा पक्षलाई बुझ्छस्, तब तैँले परमेश्वरको इच्छाको एउटा पक्षलाई बुझ्छस्; परमेश्वरले किन तँमाथि यो कुरा गर्नुभयो, उहाँले किन तँबाट यस्तो अपेक्षा गर्नुहुन्छ, तँलाई ताडना दिन र अनुशासनमा राख्न उहाँले किन यस्तो परिस्थितिको योजना गर्नुहुन्छ, उहाँले तँलाई काटछाँट र निराकरण गर्न किन यो समस्याको प्रयोग गर्नुहुन्छ, र तँ यो समस्याको सन्दर्भमा किन पतन, असफल, र खुलासा भएको छस् भनी बुझ्छस्। यदि तैँले यी कुराहरूलाई बुझ्छस् भने, तैँले सत्यता खोजी गर्न सक्नेछस् र जीवन प्रवेश हासिल गर्नेछस्। यदि तैँले यी कुराहरूलाई बुझ्दैनस् र यी तथ्यहरूलाई स्वीकार गर्दैनस्, बरु विरोध र प्रतिरोध गर्न, आफ्नै युक्तिहरूको प्रयोग गरी छद्म भेष धारण गर्न, अनि अरू सबैलाई र परमेश्वरलाई गलत मुहार देखाउन जिद्दी गर्छस् भने, तैँले सदासर्वदा नै सत्यता प्राप्त गर्न सक्नेछैनस्। यदि तँसँग सत्यता स्विकार्ने र पालन गर्ने इमानदार मनोवृत्ति छ, अनि जे भए पनि, तेरो हृदयमा जतिसुकै पीडा भए पनि वा तँ जतिसुकै अपमानित भएपनि सधैँ सत्यता स्विकार्न र पालन गर्न सक्छस्, र “परमेश्वरले गर्नुहुने सबै कुरा सही छ र मैले यसलाई स्विकार्नै पर्छ” भन्दै परमेश्वरलाई अझै पनि प्रार्थना गर्न सक्छस् भने यो आज्ञाकारी मनोवृत्ति हो। तर, स्विकार्ने प्रक्रिया दौरान तैँले निरन्तर आत्मचिन्तन गर्नैपर्छ, आफ्ना कार्य र व्यवहारमा कहाँ त्रुटिहरू भएका छन् भन्नेबारे चिन्तन गर्नुपर्छ, र तैँले सत्यताको कुन पक्ष उल्लङ्घन गरेको छस् भनेर हेर्नुपर्छ। तैँले आफ्नो वास्तविक स्थिति र कदलाई स्पष्टसँग देख्न सक्षम हुन, आफ्नै अभिप्रायलाई पनि विश्लेषण गर्नुपर्छ। तैँले त्यसपछि सत्यता खोजिस् भने सिद्धान्तहरूअनुसार सत्यता कसरी अभ्यासमा गर्ने भनेर जान्नेछस्। तैँले यसरी अभ्यास र अनुभव गरिस् भने थाह हुनु अगावै प्रगति गर्नेछस्। सत्यताले तँभित्र जरा गाड्नेछ; यो फस्टाउनेछ, फल्नेछ र तेरो जीवन बन्नेछ। तेरो भ्रष्टता प्रकटीकरणका सबै समस्या बिस्तारै समाधान हुँदै जानेछन्। अनि कुराहरू आइपर्दा तेरो मनोवृत्ति, दृष्टिकोण र स्थिति झन्-झन् सकारात्मकता उन्मुख हुँदै जानेछ। के त्यतिबेला तँ परमेश्वरबाट टाढा हुनेछस्? सायद तँ अझै पनि उहाँबाट टाढा रहनेछस्, तर त्यो दूरी घट्दै जानेछ, अनि परमेश्वरप्रति तैँले पालेका शङ्का, अनुमान, गलतफहमी, गुनासो, विद्रोहीपन र प्रतिरोध पनि घट्दै जानेछ। जब ती घट्छन्, तब कुराहरू आइपर्दा तँलाई आफूलाई परमेश्वरसामु शान्त राख्न, उहाँलाई प्रार्थना गर्न, सत्यता खोज्न र अभ्यासको मार्ग खोज्न तँलाई झनै सजिलो हुनेछ। यदि तँ कुराहरू आइपर्दा तिनलाई स्पष्टसँग देख्न सक्दैनस्, उल्टै अत्यन्तै अन्योलमा हुन्छस् र अझै पनि सत्यता खोज्दैनस् भने त्यहाँ समस्या हुनेछ। तैँले निश्चित रूपमा मामलाहरूलाई समाधानका मानव उपायहरू प्रयोग गरेर सम्हाल्नेछस्, र अनि तेरा संसारसँग व्यवहार गर्ने दर्शन, धूर्त विधि र चलाक तरिकाहरू सबै देखा पर्नेछन्। मानिसहरूले आफ्नो हृदयमा सुरुमा कामकुराप्रति यसरी नै प्रतिक्रिया जनाउँछन्। कतिपय मानिसहरू कामकुराहरू आइपर्दा कहिल्यै आफ्नो हृदयलाई सत्यतातर्फ लगाउदैनन्, उल्टै ती कुराहरूलाई मानव उपायहरूद्वारा सम्हाल्नेबारे सोचिरहन्छन्। परिणामस्वरूप, तिनीहरू लामो समयसम्म यताउता भट्किरहन्छन्, थाकेर अनुहार मलीन नभएसम्म आफूलाई पीडा दिन्छन्, तैपनि सत्यतालाई अभ्यास गर्दैनन्। सत्यतालाई नपछ्याउने मानिसहरू यस्तै दयनीय हुन्छन्। अहिले तैँले आफ्नो कर्तव्य स्वेच्छाले निर्वाह गरिरहेको हुनसक्ने, अनि तैँले स्वेच्छाले बलिदानहरू र आफूलाई समर्पित गर्नसक्ने भए पनि, यदि तँसँग अझै पनि परमेश्वरप्रति गलतबुझाइ, अनुमान, शङ्का, वा गुनासो, वा उहाँविरुद्ध विद्रोहीपन र विरोधसमेत छ भने, वा यदि तैँले उहाँलाई विरोध गर्न र तँमाथिको उहाँको सार्वभौमिकतालाई इन्कार गर्न विभिन्न विधि र तरिकाहरू प्रयोग गर्छस् भने—यदि तँ यी कुराहरू समाधान गर्दैनस् भने—सत्यता तेरो व्यक्तित्वको मालिक बन्न करिबकरिब असम्भव हुनेछ, र तेरो जीवन थकाइलाग्दो हुनेछ। दलदलमा डुबेझैँ गरी मानिसहरू प्रायजसो यी नकरात्मक स्थितिहरूमा रही संघर्ष गर्छन् र कष्ट भोग्छन्, अनि तिनीहरू सधैँ सही र गलत अवधारणाको भूमरीमा फसेका हुन्छन्। तिनीहरूले कसरी सत्यता पत्ता लगाउन र बुझ्न सक्छन्? सत्यताको खोजी गर्नको लागि, व्यक्ति सुरुमा समर्पित हुनुपर्छ। अनि, अनुभवको एक अवधिपछि, तिनीहरूले केही अन्तर्दृष्टि प्राप्त गर्न सक्नेछन्, र त्यो अवस्थामा सत्यता बुझ्न सहज हुन्छ। यदि कुनै व्यक्ति सधैँ सही र गलत के हो त्यसलाई छुट्ट्याउने प्रयास गरिरहन्छ र साँचो र झूटो के हो भन्ने कुरामै अलमलिन्छ भने, ऊसँग सत्यतालाई पत्ता लगाउने वा बुझ्ने कुनै उपाय हुँदैन। अनि, यदि व्यक्तिले कहिल्यै सत्यता बुझ्न सक्दैन भने, यसले के निम्त्याउँछ? सत्यता नबुझ्दा परमेश्वरबारे धारणा र गलतबुझाइ पैदा हुन्छ; जब व्यक्तिमा परमेश्वरबारे गलत बुझाइ पैदा हुन्छ, तब उसले उहाँबारे गुनासो गर्ने सम्भावना हुन्छ; जब यी गुनासोहरू प्रकट हुन्छ, तब ऊ विरोधी बन्छ; परमेश्वरको विरोधी हुनु भनेको परमेश्वरको प्रतिरोध गर्नु हो, र यो गम्भीर अपराध हो। यदि व्यक्तिले धेरै अपराध गरेको छ भने उसले अनेक दुष्कर्ममा गरेको हुन्छ, र उसलाई दण्डित गरिनुपर्छ। सत्यता बुझ्न सधैँ असक्षम हुँदा आउने परिणाम यही हो। त्यसकारण, सत्यताको खोजी तँलाई तेरो कर्तव्य राम्ररी निर्वाह गर्न, आज्ञाकारी बन्न, नियमहरूअनुसार व्यवहार गर्न, भक्त देखिन, वा सन्तको जस्तो मर्यादा प्राप्त गर्न लगाउने माध्यम मात्रै होइन। यो यी कुराहरू हासिल गर्ने तरिका मात्रै होइन; सिद्धान्ततः यो त परमेश्वरप्रति तैँले पालेर राखेका विभिन्न गलत दृष्टिकोणहरूलाई समाधान गर्ने तरिका हो। सत्यतालाई बुझ्नुको उद्देश्य मानिसका भ्रष्ट स्वभावहरूलाई समाधान गर्नु हो; जब ती भ्रष्ट स्वभावहरू समाधान हुन्छन्, मानिसहरूसँग त्यसउप्रान्त परमेश्वरको बारेमा कुनै गलत बुझाइ हुँदैन। यी दुई कुराहरू जोडिएका छन्। मानिसहरूले आफ्ना भ्रष्ट स्वभाव समाधान गर्दैगर्दा तिनीहरू र परमेश्वरको बीचको सम्बन्ध क्रमिक रूपमा सुधार हुँदै जान्छ र झन्-झन् सामान्य हुँदै जान्छ। भ्रष्ट स्वभाव समाधान भएपछि, परमेश्वरसम्बन्धी मानिसका सन्देह, शङ्का, परीक्षा, गलत-बुझाइ, प्रश्न, र गुनासाहरू, अनि तिनीहरूको प्रतिरोध समेत सबै अलि-अलि गर्दै समाधान हुनेछन्। व्यक्तिको भ्रष्ट स्वभावको समाधान भएपछि तत्कालीन रूपमा के प्रकटीकरण हुन्छ? (परमेश्वरप्रति तिनीहरूको मनोवृत्ति परिवर्तन हुन्छ।) तिनीहरू परमेश्वरलाई पालन गर्ने हृदयसाथ हरकुराको सामना गर्न सक्छन्, र त्यसपछि उहाँसँग तिनीहरूको सम्बन्ध सुधार हुनेछ। यदि तिनीहरू सत्यता बुझ्छन् भने त्यसलाई अभ्यास गर्न सक्नेछन्। तिनीहरूसँग परमेश्वरलाई पालन गर्ने हृदय हुन्छ, त्यसैले तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा लापरवाह हुनेछैनन्, न त परमेश्वरलाई धोका नै दिनेछन्। यसरी तिनीहरूमा परमेश्वरबारे गलतफहमी र धारणाहरू झन्-झन् कम हुँदै जानेछ, उहाँसँग तिनीहरूको समबन्ध झन्-झन् सामान्य बन्दै जानेछ, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा पूर्णत: परमेश्वरलाई आज्ञापालन गर्न सक्नेछन्। यदि तिनीहरूले आफ्नो भ्रष्ट स्वभावको समस्या समाधान गर्दैनन् भने, कहिल्यै पनि परमेश्वरसँग सामान्य सम्बन्ध बनाउन सक्नेछैनन्, र उहाँप्रति आज्ञाकारी हृदय हासिल गर्न कहिल्यै पनि सक्नेछैनन्। अविश्वासीहरू झैँ, तिनीहरू पनि अत्यन्तै विद्रोही हुनेछन्, आफ्नो हृदयमा सदैव परमेश्वरलाई अस्वीकार र प्रतिरोध गर्नेछन्, र तिनीहरूलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न असम्भव हुनेछ। यसै कारण, सत्यता पछ्याउनु र अभ्यास गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ! तँ सत्यता पछ्याउँदैनस्, तैपनि परमेश्वरबारे आफ्ना धारणा, गलतफहमी र गुनासोहरू समाधान गर्न चाहन्छस्—के तँ यो प्राप्त गर्न सक्छस् त? पक्कै पनि सक्दैनस्। कतिपय मानिसहरू भन्छन्, “म एउटा साधारण व्यक्ति मात्र हुँ, ममा धारणा, गलतफहमी वा गुनासो जस्तो कुनै पनि कुरा छैन। म यी कुराहरूबारे सोच्दिनँ।” यदि तँ धारणाहरूबारे सोच्दैनस् भने, के तँ आफूमा कुनै पनि धारणा छैन भनेर ग्यारेन्टी गर्न सक्छस् त? के तँ भ्रष्ट स्वभावबारे नसोचेर त्यसलाई प्रकट हुनबाट रोक्न सक्छस् त? व्यक्तिले जस्तोसुकै भ्रष्टता प्रकट गरून्, यो जहिले पनि तिनीहरूको प्रकृतिद्वारा निर्धारित हुन्छ। मानिसहरू सबै आफ्ना शैतानी स्वभावले जिउँछन्; तिनीहरूको शैतानी स्वभावहरू तिनीहरूभित्र गहिरोसँग गडेका हुन्छन्, र ती तिनीहरूको प्रकृति सार बनेका हुन्छन्। मानिसहरूसँग आफ्नो शैतानी स्वभाव उन्मूलन गर्ने कुनै माध्यम हुँदैन, तिनीहरूले सत्यता र परमेश्वरको वचनहरूको प्रयोग गरेर मात्रै आफ्ना भ्रष्ट स्वभावका सबै समस्याहरू बिस्तारै समाधान गर्न सक्छन्।
व्यक्तिको परमेश्वरसँगको सम्बन्धमा भएको सुधार, वा त्यसको कमी, कहाँ प्रकट हुन्छ? त्यो तैँले मानिस, घटना र कामकुराहरू सामना गर्दा तेरो मनोवृत्ति र दृष्टिकोणमा प्रकट हुन्छ। यदि तेरो मनोवृत्ति र दृष्टिकोण सांसारिक जगतसँग व्यवहार गर्ने शैतानी दर्शन वा ज्ञान र सिद्धान्तहरूबाट आउँछन् र तैँले यी कुराहरूलाई आफ्नो जीवन दर्शन र नारा बनाउँछस् भने, के तँ सत्यता पछ्याउने व्यक्ति होस् त? के तैँले सत्यता प्राप्त गरेको छस् त? (छैन।) यसबाट तँ सत्यता पछ्याउने व्यक्ति होइनस् भनेर निश्चित रूपमा भन्न सकिँदैन; सायद तँ सत्यता पछ्याउने बाटोमा छस्, तर कम्तीमा पनि यसले के देखाउँछ भने तँ सत्यता वास्तविकताहरूमा प्रवेश गरिसकेको छैनस्। यदि तैँले आफ्ना धारणाहरूसँग मेल नखाने कुनै कुरा सामना गर्दा तँ तुरुन्तै रिसाउँछस्, टेबल ठोक्छस् र मानिसहरूमाथि चिच्याउँछस्, अनि त्यो स्विकार्न मान्दैनस् र समर्पित हुँदैनस् भने यहाँ समस्या के हो? के यो परमेश्वरसामु जिउने व्यक्ति हो? तँ किन सत्यताको खोजी गर्न असमर्थ छस्? यसले के देखाउँछ भने सत्यताले अझैसम्म पनि तेरो हृदयमा हैकम जमाएको छैन! यदि तँ यस्ता सानातिना कुरामा पनि तँ शान्त रहन सक्दैनस् भने र यति सानो मामलाले तेरो कुरूप स्थिति खुलासा गर्छ भने यसले तँ समस्याहरू समाधान गर्नहेतु सत्यताको प्रयोग गर्न सिपालु छैनस्, र रिसाउँदा सत्यताको खोजीलाई पन्छाइदिन्छस् भन्ने प्रमाणित गर्दछ। यदि मामला यो हो भने, तैँले जीवन प्रवेश कसरी पाउन सक्छस्? कतिपय मानिसहरूले कयौँ वर्षदेखि परमेश्वरमा विश्वास गरेका हुन्छन्, तर चाहे जेसुकै होस्, तिनीहरू अविश्वासी झैँ व्यवहार गर्छन्, शैतानी दर्शनअनुसार जिउँछन् र सत्यता कहिल्यै खोज्दैनन् वा अरूसँग अन्तरक्रिया गर्ने र मामिलाहरू सम्हाल्ने तरिकामा आफ्नो दृष्टिकोण बदल्दैनन्। तिनीहरूले कुनै स्पष्ट दुष्कर्म नगरेका भए पनि वा कुनै ठूलो गल्ती नगरेका भए पनि, र तिनीहरू असल मानिस झैँ देखिए पनि, तिनीहरूले कयौँ वर्षदेखि परमेश्वरमा विश्वास गरेका भए पनि, जीवन प्रवेश पाएका हुँदैनन् र सत्यतालाई कहिल्यै अभ्यास गरेका हुँदैनन्। के त्यस्ता मानिसहरूले परमेश्वरको मुक्ति पाउन सक्छन् त? तिनीहरूलाई मुक्ति पाउन गाह्रो हुनेछ। कतिपय मानिसहरूले कयौँ वर्षदेखि परमेश्वरमा विश्वास गरेका हुन्छन्, र चाहे जेसुकै होस्, तिनीहरू सधैँ यसो भन्ने गर्छन्, “मेरो विचारमा यस्तो-यस्तो…,” “मेरो योजना यो-यो…,” र “म यस्तो र उस्तो सोच्छु…,” वा तिनीहरू भन्छन्, “यो पुरानो भनाइले यसलाई राम्रोसँग भन्दछ…,” र “यो त्यो प्रसिद्ध व्यक्तिले भनेको…जस्तै छ।” सधैँ यसरी कुरा गर्ने मानिसहरूमा समस्या हुन्छ, किनभने यसले तिनीहरू शैतानका मान्छे हुन्, हृदयमा रत्तिभर सत्यता नभएका मान्छे हुन् भन्ने प्रमाणित गर्दछ। कुनै कुरा घटित हुँदा, यदि तँ सधैँ “मलाई याद छ परमेश्वरका वचनहरूले यसो भन्छन्…,” “परमेश्वरले एकपटक भन्नुभएको थियो…,” वा “परमेश्वरको घरको एउटा प्रवचनमा के भनिएको थियो भने…,” “परमेश्वरको वचनहरूको भजनमा एउटा पंक्ति छ जसले के भन्छ भने…,” भनेर भन्ने गर्छस् भने, यदि तँ सधैँ समस्याहरूबारे सोचविचार गरी यसरी कुरा गर्छस् भने, यसले तँ सत्यतालाई प्रेम गर्ने र केही सत्यता वास्तविकता भएको व्यक्ति होस् भनेर प्रमाणित गर्छ। परमेश्वरमा विश्वास गर्ने व्यक्तिमा जेसुकै आइपरे पनि, तिनीहरूले सबभन्दा पहिले परमेश्वरका वचनहरूले के भन्छन् भनेर खोज्नुपर्छ, हरकुरालाई परमेश्वरका वचनहरूसँग तुलना गरेर हेर्नुपर्छ र परमेश्वरका वचनहरूलाई आधार, जग र सुरुवाती बिन्दुको रूपमा प्रयोग गर्नुपर्छ। के सत्यता पछ्याउँदा र अभ्यास गर्दा तिनीहरूमा हुनुपर्ने मनोवृत्ति यही नै होइन र? कम्तीमा पनि यति चाहिँ हुनुपर्छ। अचेल, मानिसहरूले प्रवचन सुन्ने र हर दिन परमेश्वरका वचनहरू पढ्ने गरेपनि कुराहरू आइपर्दा, तिनीहरू अझै पनि यसो भन्छन् “मेरी आमाले भन्नुभएको थियो…,” “एउटा पुरानो भनाइ के छ भने…,” “फलानो-फलानो प्रसिद्ध व्यक्तिले के भनेका छन् भने…,” “एउटा उखानले भन्दछ…,” अनि “एउटा भनाइले यसो भन्छ…”। तिनीहरूले खाएका अनि पिएका परमेश्वरका वचनहरू कहाँ गए त? तैँले यी मानिसहरूको मनोवृत्ति र प्रतिक्रियाहरूबाट, तिनीहरूले अझै पनि सत्यता प्राप्त गरेका छैनन् वा सत्यता वास्तविकताहरूमा प्रवेश गरेका छैनन्, अनि तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय छैन र सधैँ अविश्वासीको लवजमा बोल्दछन् भन्ने कुरा देख्न सक्छस्। यस्ता मानिसहरू अनुहार भावशून्य र बोधो हुन्छ। यसको कारण के हो? (यसको कारण सत्यता नपछ्याउनु हो।) मानिसहरू बाहिरबाट भावशून्य र बोधो देखिन सक्छन्, तर भित्र तिनीहरू कस्ता हुन्छन्? भित्र तिनीहरू ओइलाएका हुन्छन्, अर्को शब्दमा भन्नुपर्दा, तिनीहरूले अझै पनि सत्यताबाट मलजल र पोषण पाएका हुँदैनन्। तिनीहरू अझै पनि भोकै छन्, र तिनीहरूले अझैसम्म सत्यता प्राप्त गरेका छैनन्। त्यसैले, तिनीहरू भावशून्य, थकित जीवन जिउँछन्, प्रतिक्रिया जनाउनमा सुस्त हुन्छन् र केही आइपर्दा तिनीहरू अत्यन्तै असहाय हुन्छन्, अनि बेलाबेलामा भन्ने गर्छन्, “परमेश्वर, मलाई के गर्ने भनेर थाहा छैन!” “म अन्योलमा छु!” वा “मसँग कुनै मार्ग नै छैन!” यी शब्दहरू जहिले तिनीहरूका ओठमा हुन्छन्। के यी असल शब्दहरू हुन्? (अहँ, होइनन्।) त्यसोभए केही मानिसहरूले सधैँ यस्ता शब्दहरू किन सिक्छन् त? ती लोकप्रिय नाराहरू समेत बनेका छन्? यी शब्दहरू मलाई किन यति अनौठा लाग्छन्? ती असल शब्द होइनन्, र त्यस्ता शब्दहरू सिक्न कुनै आवश्यकता छैन। लोकप्रिय कुराहरूमा ध्यान नदे, बरु सत्यता र आफ्नो व्यावहारिक समस्याहरू समाधान गर्ने कुरामा ध्यान दे। तैँले केही आइपर्दा आफ्ना दृष्टिकोण, मनोवृत्ति, अभिप्राय र सुरुवाती बिन्दुले भ्रष्ट स्वभाव प्रकट गर्छन् कि गर्दैनन् भन्ने कुरामा चिन्तन गर्नैपर्छ। तैँले यसबारे चिन्तन गर्नैपर्छ। चाहे जेसुकै भएको होस्, के तँ त्यसलाई समाधान गर्न शैतानी दर्शनमा भर पर्ने र मानव तरिका प्रयोग गर्ने गर्छस्, कि सत्यता खोजी गरेर त्यसलाई परमेश्वरका वचनहरूअनुसार समाधान गर्ने गर्छस् कि सम्झौता गर्ने मध्यमार्गी तरिका अपनाउँछस्? तँ सत्यतालाई प्रेम गर्ने र पछ्याउने व्यक्ति होस् कि होइनस् भन्ने कुरा तेरो छनोटले सबैभन्दा राम्ररी प्रकट गर्दछ। यदि तँ समस्या समाधान गर्न सधैँ शैतानी दर्शन र मानव तरिकाहरूमा नै भर पर्ने छनोट गर्छस् भने भने परिणामस्वरूप तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, न त तैँले पवित्र आत्माको अन्तर्दृष्टि, ज्योति र मार्गदर्शन नै पाउन सक्नेछस्। अझ भन्नुपर्दा, तँमा परमेश्वरबारे धारणा र गलतफहमीहरू उत्पन्न हुनेछन्, अनि अन्ततः उहाँले तँलाई घृणा र इन्कार गरी हटाउनुहुनेछ। तर यदि तँ सबै कुरामा सत्यता खोजी गर्न सक्छस् र परमेश्वरको वचनहरूअनुसार तिनलाई समाधान गर्न सक्छस् भने तँ पवित्र आत्माका अन्तर्दृष्टि, ज्योति र मार्गदर्शन पाउन सक्षम हुनेछस्। सत्यताबारे तेरो बुझाइ झन्-झन् स्पष्ट हुँदै जानेछ र तैँले परमेश्वरलाई झन्-झन् चिन्दै जानेछस्; यसरी तैँले परमेश्वरलाई साँच्चै पालन र प्रेम गर्न सक्नेछस्। केही समय यसरी अभ्यास र अनुभव गरेपछि तेरा भ्रष्ट स्वभाव अझ धेरै धोइनेछन् र तैँले परमेश्वरविरुद्ध गर्ने विद्रोहका घटना झन्-झन् कम हुँदै गएर अन्तमा तैँले उहाँसँग पूर्ण अनुकूलता हासिल गर्नेछस्। यदि तँ सधैँ सम्झौता गर्ने मध्यमार्गी तरिका रोज्छस् भने, तँ समस्याहरू सम्हाल्नका निम्ति वास्तवमा अझै पनि शैतानी दर्शनहरूमा नै भर परिरहेको हुन्छस्। यसरी जिउँदा तैँले कहिल्यै पनि परमेश्वरको अनुमोदन आर्जन गर्नेछैनस्, तँ केवल खुलासा भएर हटाइनेछस्। यदि तैँले परमेश्वरमा विश्वास गर्ने गलत तरिका अर्थात् धार्मिक तरिका रोजेको छस् भने तैँले आफ्नो बाटो तुरुन्तै मोड्नुपर्छ, किनाराबाट कदम पछाडि लानुपर्छ र सही मार्ग अपनाउनुपर्छ। तब तैँले मुक्ति प्राप्त गर्ने आशा अझै पनि हुन सक्छ। यदि तँ परमेश्वरमा विश्वास गर्ने सही मार्ग प्राप्त गर्न चाहन्छस् भने, तैँले त्यसका लागि आफैले खोजी गर्नुपर्छ र यताउति हेर्नुपर्छ। आत्मिक मामिलाहरू बुझ्ने व्यक्तिले केही समयको अनुभवपछि सही मार्ग भेट्नेछ।
त्यसोभए, हामीले भर्खरै के कुराबारे सङ्गति गऱ्यौँ? (हामीले सत्यतालाई पछ्याउँदा यसले मुख्य गरी कुन कुरा समाधान गर्छ भन्ने कुरा, अर्थात् यसले परमेश्वरको बारेमा मानिसहरूमा हुने विभिन्न त्रुटिपूर्ण दृष्टिकोण, र मानिसहरूको भ्रष्ट स्वभाव समाधान गर्छ भन्नेबारे सङ्गति गऱ्यौँ। हामीले मानिसमाथि कुराहरू आइपर्दा तिनीहरूको दृष्टिकोण, मनोवृत्ति र अभिप्राय कस्तो हुन्छ, अनि मानिसहरूले काम-कुराहरूलाई शैतानी दर्शन र मानव धारणा र कल्पनाहरूसाथ व्यवहार गर्छन् कि त्यसलाई सत्यताको खोजीद्वारा समाधान गर्छन् भन्ने कुराबारे पनि सङ्गति गऱ्यौँ।) यी शब्दहरू सम्झन सजिलो छ, तर मुख्य कुरा भनेको कुनै कुरा आइपर्दा तँ त्यसलाई परमेश्वरका वचनअनुसार मापन गर्न सक्छस् कि सक्दैनस् र तैँले अभ्यासका सिद्धान्तहरू फेला पार्न सक्छस् कि सक्दैनस् भन्ने हो। यदि तँ सिद्धान्तहरू लागु गर्न सक्छस् भने, तँ सत्यता अभ्यास गर्न सक्षम हुनेछस् र यदि तँ सत्यता अभ्यास गर्न सक्छस् भने तसँग सत्यता वास्तविकताहरू हुनेछन्। सत्यता बुझ्नुको अर्थ तैँले सत्यता प्राप्त गरेको छस् भन्ने हुँदैन। सत्यता अभ्यास गर्न सके मात्र तैँले सत्यतालाई साँच्चै बुझ्न सक्नेछस्। यदि तँ बारम्बार सत्यता अभ्यास गर्छस् र त्यो कार्य पूर्ण रूपमा सिद्धान्तअनुरूप गर्छस् भने यो सत्यता प्राप्त गर्नु हो। केवल वचन र धर्मसिद्धान्तहरूबारे बोल्न सक्नुलाई राम्रो क्षमता मान्न सकिँदैन। यदि तँ कुराहरू आइपर्दा तिनलाई समाधान गर्न सत्यता खोज्न सक्छस् भने मात्र तँसँग बोध गर्ने क्षमता हुन्छ। सबभन्दा महत्वपूर्ण कुरा भनेको व्यावहारिक समस्याहरू समाधान गर्न सक्षम हुनु हो। उदाहरणका लागि, यदि कुनै दाजुभाइ वा दिदीबहिनीसँग तेरो राम्रो सम्बन्ध छ, र तिनीहरूले आफूमा भएको गलत कुरालाई औँल्याउन तँलाई अनुरोध गर्छन् भने, तैँले कसरी यो काम गर्नुपर्छ? यो कुरा तैँले त्यस विषयलाई कसरी लिन्छस् भन्ने तरिकासँग सम्बन्धित छ। के तेरो तरिका सत्यता सिद्धान्तहरूमा आधारित छ, कि तैँले सांसारिक कुराहरू सम्बन्धी दर्शनको प्रयोग गर्छस्? तिनीहरूमा समस्या छ भनेर स्पष्टसित देख्दा पनि तैँले आफ्नो सम्बन्धमा हानि नपुगोस् भनेर तिनीहरूलाई तुरुन्तै त्यो बताउँदैनस्, बरु “मेरो कद अहिले निकै सानो छ र मैले तपाईंका समस्याहरूलाई पूर्ण रूपमा बुझेको छैन, पूर्ण रूपमा बुझेपछि, म तपाईंलाई बताउनेछु” भन्दै बहाना बनाउँछस् भने, यसमा के समस्या छ? त्यसो भए समस्या के हो त? यसमा सांसारिक कुराहरू सम्बन्धी दर्शन समावेश हुन्छ। के यो मानिसहरूलाई मूर्ख बनाउने प्रयास होइन र? तैँले स्पष्टसित जति देख्छस् त्यति बोल्नुपर्छ; र यदि कुनै कुरा तेरो लागि स्पष्ट छैन भने, स्पष्ट छैन भन्। आफ्नो मनमा जे छ त्यही भन्नु भनेको यही हो। यदि तँमा केही विचारहरू छन् र निश्चित कुराहरू तँलाई स्पष्ट भयो, तर तिनीहरूलाई चिढ्याउँछु, तिनीहरूको भावनामा चोट पुर्याउँछु भन्ने डर मानेर तैँले केही पनि नभन्ने निर्णय गर्छस् भने, यो सांसारिक कुराहरू सम्बन्धी दर्शनअनुसार जिउनु हो। यदि तैँले कुनै व्यक्तिमा समस्या छ वा ऊ बरालिएको छ भन्ने पत्ता लगाइस् भने, तैँले उसलाई प्रेमसाथ सहयोग गर्न नसके पनि, कम्तीमा तैँले समस्या औँल्याउनुपर्छ ताकि उसले यस कुरालाई मनन गर्न सकोस्। यदि तैँले यसलाई बेवास्ता गरिस् भने, के यो उसलाई हानि गर्नु होइन र? यदि तैँले एक पटक उसलाई मद्दत गर्दा उसले सत्यता स्वीकार गर्दैन, ऊ अव्यावहारिक छ, उसको स्वभाव दुष्ट छ र मुलभूत रूपमा ऊ सत्यतालाई प्रेम गर्दैन भनी देख्छस् भने तैँले उसको समस्या उसलाई औँल्याएर नदेखाउनु नै बुद्धिमानी हो। तर यदि तैँले सत्यता स्वीकार गर्नसक्ने व्यक्तिलाई उसका समस्यारू औँल्याउँदैनस् भने, तँमा प्रेम छैन। यदि तँ आफ्ना दाजुभाइ र दिदीबहिनीहरूसँग यसरी अन्तरक्रिया गर्छस् भने तैँले खेल मात्र खेलिरहेको, चतुर शब्दहरूले मानिसहरूलाई छलछाम गरिरहेको हुन्छस् र सदैव अरू मानिसहरूलाई हाँसोमा उडाउन चाहिरहेको हुन्छस्। यस्तो व्यवहार गर्ने मानिसहरू असल मानिस होइनन्, र यसमा एक प्रकारको स्वभाव रहेको हुन्छ। यस्ता मानिसहरू पूर्ण रूपमा शैतनी दर्शनअनुसार जिइरहेका हुन्छन्, तिनीहरूले सामान्य मानवताको समझद्वारा बोलिरहेका वा कार्य गरिरहेका हुँदैनन्, न त तिनीहरूले सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गरिरहेका हुन्छन्। त्यसो भए, सत्यता सिद्धान्तहरूअनुसार, तैँले यस विषयलाई कसरी सम्बोधन गर्नुपर्छ? कुन कार्य सत्यताअनुरूप हुन्छ? उपयुक्त सिद्धान्तहरू कतिवटा छन्? पहिलो, कम्तीमा पनि, अरूलाई पछारिन नदे। तैँले सुरुमा अरूको कमजोरीको बारेमा र तिनीहरूसँग कुन तरिकाले बोल्दा तिनीहरूलाई पछारिन दिँदैन त्यसको बारेमा विचार गर्नुपर्छ। कम्तीमा पनि यो कुरालाई ध्यान दिनुपर्छ। दोस्रो, यदि तिनीहरू साँच्चै परमेश्वरमा विश्वास गर्ने र सत्यता स्विकार्न सक्ने व्यक्ति हुन् भनेर तँलाई थाहा छ भने, तैँले तिनीहरूमा समस्या रहेको देखेपछि, तिनीहरूलाई मदत गर्न अघि सर्नुपर्छ। यदि तैँले केही गर्दैनस् र तिनीहरूलाई हाँसोमा उडाउँछस् भने, यो तिनीहरूलाई चोट पुऱ्याउनु र हानि गर्नु हो। यसो गर्ने व्यक्तिमा विवेक वा समझ हुँदैन, र उसमा अरूप्रति प्रेम पनि हुँदैन। अलिकति भए पनि विवेक र समझ हुनेहरूले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई हाँसोको पात्र मात्र ठान्नु हुँदैन। तिनीहरूलाई आफ्नो समस्यासमाधान गर्न मदत गर्न उनीहरूले विभिन्न तरिकाहरू विचार गर्नुपर्छ। त्यो व्यक्तिलाई उनीहरूले के भएको हो र कहाँ उसको गल्ती भएको छ भनेर बुझ्न मदत गर्नुपर्छ। तिनीहरूले पश्चात्ताप गर्न सक्ने वा नसक्ने कुरा तिनीहरूको आफ्नै मामिला हो; हामीले त आफ्नो जिम्मेवारी निभाइसकेका हुनेछौँ। तिनीहरूले अहिले पश्चात्ताप गरेनन् भने पनि, ढिलोचाँडो एक दिन तिनीहरूको होस खुल्नेछ, र तिनीहरूले तेरो बारेमा गुनासो गर्नेछैनन् वा आरोप लगाउनेछैनन्। कम्तीमा, तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई व्यवहार गर्ने तरिका विवेक र समझका मापदण्डभन्दा तल हुनु हुँदैन। आफूलाई अरूको ऋणी नबना; तिनीहरूलाई सक्दो सहयोग गर्। मानिसहरूले गर्नुपर्ने यही हो। आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेमपूर्वक र सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्न सक्ने मानिसहरू नै सर्वोत्तम प्रकारका मानिस हुन्। तिनीहरू सबैभन्दा दयालु हृदयका पनि हुन्छन्। निस्सन्देह नै, सत्यता स्विकार्न र अभ्यास गर्न सक्ने मानिसहरू नै साँचो दाजुभाइ-दिदीबहिनी हुन्। यदि कुनै व्यक्तिले आफ्नो रोटीले लिन वा आशिष् प्राप्त गर्न मात्र परमेश्वरमा विश्वास गर्छ, तर सत्यता स्विकार्दैन भने, ऊ दाजुभाइ वा दिदीबहिनी होइन। तैँले साँचो दाजुभाइ-दिदीबहिनीलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्छ। तिनीहरूले जसरी परमेश्वरमा विश्वास गरे पनि वा जुनै मार्ग अपनाए पनि, तैँले तिनीहरूलाई प्रेमभावले सहयोग गर्नुपर्छ। व्यक्तिले हासिल गर्नुपर्ने न्यूनतम प्रभाव के हो? पहिलो, तिनीहरूलाई पछारिन, र नकारात्मक बन्न नदिनु हो; दोस्रो, तिनीहरूलाई सहयोग गर्नु, र गलत मार्गबाट फर्कन लगाउनु हो; अनि तेस्रो, तिनीहरूलाई सत्यता बुझ्न र सही मार्ग लिन लगाउनु हो। यी तीन प्रकारका प्रभावहरू तिनीहरूलाई प्रेमभावले सहयोग गरेपछि मात्र हासिल गर्न सकिन्छ। यदि तँमा साँचो प्रेम छैन, तैँले यी तीन प्रकारका प्रभावहरू हासिल गर्न सक्दैनस्, र हदै भए एउटा वा दुइटा मात्र हासिल गर्न सक्छस्। यी तीन प्रकारका प्रभावहरू अरूलाई मदत गर्ने तीन सिद्धान्तहरू पनि हुन्। तँलाई यी तीन सिद्धान्तहरू थाहा छ र ती तैँले बुझेको पनि छस्, तर वास्तवमा ती कसरी लागू गरिन्छ? के तैँले अरूको कठिनाइलाई साँचो रूपमा बुझ्छस्? के यो अर्को समस्या होइन र? तैँले यो कुरा पनि सोच्नुपर्छ: “तिनीहरूको कठिनाइको स्रोत के हो? के म तिनीहरूलाई सहयोग गर्न सक्षम छु? यदि मेरो कद अत्यन्तै सानो छ र म तिनीहरूको समस्या समाधान गर्न सक्दिनँ, र लापरवाही रूपमा बोल्छु भने, मैले तिनीहरूलाई गलत बाटोमा डोर्याउन सक्छु। यसबाहेक, यो व्यक्तिको बोध शक्ति कस्तो छ, र उसको क्षमता के रहेको छ? के ऊ हठी छ? के उसँग आत्मिक बुझाइ हुन्छ? के ऊ सत्यता स्वीकार गर्न सक्छ? के ऊ सत्यता खोजी गर्छ? यदि उसले म ऊभन्दा सक्षम रहेको देख्यो, अनि मैले ऊसँग सङ्गति गरेँ भने, के उसमा डाहा वा नकारात्मकता पैदा हुनेछ?” यी सबै प्रश्नहरूलाई ध्यान दिनुपर्छ। तैँले यी प्रश्नहरूलाई विचार गरिसकेपछि र यीबारे तँलाई स्पष्ट भइसकेपछि, गएर त्यो व्यक्तिसँग सङ्गति गर्, उसको समस्यामा लागू हुने परमेश्वरका वचनहरूका धेरै खण्डहरू पढ्, र उसलाई परमेश्वरका वचनहरूको सत्यता बुझ्न र अभ्यासको मार्ग भेट्टाउन सक्षम बना। त्यसपछि, त्यो समस्यासमाधान हुन्छ, र ऊ आफ्नो कठिनाइबाट मुक्त हुनेछ। के यो सामान्य कुरा हो? यो सामान्य कुरा होइन। यदि तँ सत्यता बुझ्दैनस् भने, तैँले जति नै बोले पनि त्यो बेकार हुनेछ। यदि तँ सत्यता बुझ्छस् भने, तैँले उसलाई एकदुई वाक्यबाटै अन्तर्दृष्टि दिन र लाभ पुर्याउन सक्छस्। मानिसलाई प्रेमपूर्वक सहयोग गर्ने कुञ्जी भनेको समस्याबारे परमेश्वका वचनहरूको केही खण्डहरूमा सङ्गति गर्नु हो र यो विधि सबभन्दा प्रभावकारी हुन्छ। यदि तँ परमेश्वरका वचनहरूमा सङ्गति गर्दैनस्, र केवल मानव शब्दहरू प्रयोग गर्ने प्रयास गर्छस् भने तैँले तैँले जतिसुकै धेरै शब्दहरू बोले पनि, कुनै पनि व्यावहारिक समस्यालाई कहिल्यै समाधान गर्ने छैनस्। कतिपय मानिसहरू अरूलाई उत्साहित मात्र गर्न सक्छन् र अरू मानिसहरूले जस्तोसुकै समस्या सामना गरेपनि यसो भन्नेछन्, “परमेश्वरका वचनहरू धेरै पढ्नुहोस् र त्यसमा सत्यता खोजी गर्नुहोस्, अनि समस्या समाधान गर्न सजिलो हुनेछ,” वा “तपाईँले परमेश्वरलाई प्रेम गर्नुपर्छ, र त्यति गरे पुग्छ। तपाईँ कहिल्यै नकारात्मक हुनुहुनेछैन, किनभने परमेश्वरलाई प्रेम गर्नाले तपाईँका सबै समस्याहरू समाधान हुनेछन्।” यो त्यस्तो सरल पनि छैन। के परमेश्वरलाई प्रेम गर्ने कुरा तैँले भन्नेबित्तिकै अभ्यास गर्न सक्ने कुरा हो त? मानिसहरूले सत्यता बुझ्दैनन् भने, परमेश्वरलाई कसरी प्रेम गर्छन्? मानिसहरूले परमेश्वरको काम चिन्दैनन् भने उहाँलाई कसरी प्रेम गर्न सक्छन्? यदि मानिसहरूले वास्तवमै परमेश्वरलाई प्रेम गर्छन् भने तिनीहरू कहिल्यै नकारात्मक हुनेछैनन्, र तिनीहरूलाई कुनै कठिनाइ हुने छैन। परमेश्वरलाई प्रेम गर्नु सरल मामला होइन, र के यो केही धर्मसिद्धान्तहरूबारे बोलेर वा केही नाराहरू लगाएर मात्रै हासिल हुने कुरा हो र? परमेश्वरमा समर्पित हुनु झनै सरल छैन, र कसैलाई उत्साहका केही शब्द बोल्दैमा उहाँमा समर्पित हुने तुल्याउन सकिन्छ भन्ने होइन। परमेश्वरका वचनहरूमा सङ्गति गर्नाले त्यो बेला मानिसहरूलाई अलिकति फाइदा पुगे पनि, तर यो तैँले तिनीहरूसँग सत्यतामा सङ्गति गरेको एकैचोटिमा तिनीहरूको विद्रोहीपनको समस्या समाधान गरेर तिनीहरूलाई परमेश्वरप्रति समर्पित हुने तुल्याउन सक्छस् भन्ने चाहिँ होइन, र यो तैँले सत्यताबारे स्पष्टसँग सङ्गति गर्दा मानिसहरू तुरुन्तै परमेश्वरमा समर्पित हुन सक्नेछन् भन्ने पनि होइन। मानिसहरूले नतिजाहरू हासिल गर्नका लागि न्याय, सजाय, अनि काटछाँट अनुभव गर्नैपर्छ। अरूलाई उत्साहित गर्न सधैँ वचन र धर्मसिद्धान्तहरूबारे बोल्ने मानिसहरू सबभन्दा सतही हुन्छन्। तिनीहरूसँग कुनै सत्यता वास्तविकता हुँदैन, तिनीहरू अरूलाई मद्दत गर्न सधैँ वचन र धर्मसिद्धान्तहरू बोल्ने कुरामा भर पर्छन्, र तिनीहरूले कुनै परिणाम हासिल गर्दैनन्। यसलाई झारा टार्नु भनिन्छ, र यो मानिससँग व्यवहार गर्ने इमानदार तरिका होइन, यो अत्यन्त नक्कली कुरा हो, यो दयालु हुनु होइन। सङ्क्षेपमा भन्नुपर्दा, यस्तो व्यक्ति पाखण्डी हो। यदि तँसँग अरूका लागि सहानुभूति वा प्रेमको हृदय छैन भने तैँले मानिसहरूलाई कसरी सहयोग गर्न सक्छस्? कुनै पनि समस्यालाई साँचो रूपमा समाधान गर्न सजिलो छैन। तैँले सत्यता बुझ्नैपर्छ, समस्याको सार छर्लङ्ग देख्नुपर्छ र त्यसपछि सत्यता सिद्धान्तहरूअनुसार अरूसँग स्पष्टसँग सङ्गति गर्नुपर्छ, र अरूले बुझ्ने तरिकाले अभ्यासको मार्गबारे सङ्गति गर्न सक्नुपर्छ। यसरी मानिसहरूले सत्यतालाई बुझ्ने मात्र होइन, तिनीहरूसँग यसलाई अभ्यास गर्ने मार्ग पनि हुनेछ, त्यसपछि मात्रै त्यो समस्या समाधान भएको मान्न सकिन्छ। तैँले यी सबै कुरा भोग्नुपर्छ, बुझाइ तेरो व्यावहारिक, आफ्नो व्यक्तिगत अनुभवबाट आउनेछ। तैँले जति सत्यताबारे सङ्गति गर्दछस्, त्यो त्यति स्पष्ट हुनेछ, अनि तेरो हृदय त्यति आश्वस्त हुँदै जानेछ र तँसँग त्यति नै धेरै अगाडि बढ्ने मार्ग हुनेछ। जब तैँले सत्यता साँच्चै बुझ्छस्, तब तँलाई त्यसलाई अभ्यासमा कसरी ल्याउने भनी थाहा हुनेछ। परमेश्वरका विश्वासीहरूले यसरी नै अनुभव गर्नुपर्छ, तिनीहरूले एक-एक गरी आफ्ना समस्या समाधान गर्नुपर्छ र हरेक पटक समस्या समाधान गर्दा तिनीहरूले कुनै न कुनै प्रकारको भ्रष्ट स्वभाव समाधान गर्नुपर्छ। तिनीहरूले धेरै समस्याहरू समाधान गरिसकेपछि, तिनीहरूको भ्रष्ट स्वभावहरू पनि धेरथोर समाधान भएका हुनेछन्। यस प्रकारले तिनीहरूले जति धेरै समस्या समाधान गर्छन्, तिनीहरूसँग त्यति थोरै भ्रष्ट स्वभाव हुनेछ र त्यति नै धेरै परमेश्वरप्रति समर्पणताको वास्तविकता हुनेछ। यसरी, मानिसहरू थाहै नपाई सत्यता वास्तविकतामा प्रवेश गर्नेछन्। मानिसहरूले जति धेरै समस्या समाधान गर्छन्, र जति धेरै सत्यता बुझ्छन्, तिनीहरूसँग त्यति धेरै अभ्यासका मार्गहरू हुनेछन्; तिनीहरूले जति धेरै समस्या समाधान गर्दछन् र जति धेरै भ्रष्ट स्वभावलाई धुन्छन्, तिनीहरू त्यति नै धेरै सत्यता वास्तविकताहरूमा प्रवेश गर्नेछन्। परमेश्वरमा विश्वास गर्ने प्रक्रिया यो हो: तँ निरन्तर समस्याहरू पत्ता लगाएर तिनलाई समाधान गर्छस्—एउटा समस्या समाधान गरेपछि, तँ अर्को समस्या पत्ता लगाएर त्यसलाई पनि समाधान गर्छस्, र अन्तमा तैँले धेरै समस्याहरू समाधान गर्छस्, सत्यता बुझ्न थाल्छस्, अनि कुनै समस्या फेरि देखिएमा, तँ आफै त्यसलाई तुरुन्तै समाधान गर्न सक्षम हुन्छस्। तेरो कद क्रमिक रूपमा बढ्दै जाने यसरी नै हो। जब थोरैभन्दा थोरै समस्या र कठिनाइ हुन्छन्, तब तैँले पक्कै पनि कम भ्रष्टता प्रकट गर्नेछस्, तँ परमेश्वरमा झन् धेरै समर्पित हुनेछस् र तँसँग झन् धेरै अनुभवात्मक गवाही हुनेछ। यसरी, थाहै नपाई, तेरो जीवन स्वभाव परिवर्तन हुनेछ र अन्ततः परमेश्वरसँग अनुकूलता हासिल गर्नेछस्। तँमा कुनै विद्रोहीपन हुनेछैन, अनि तैँले जुनसुकै कुरामा पनि सत्यतालाई अभ्यास गर्न र तँ परमेश्वरमा समर्पित हुनेछस्। यसको अर्थ तेरो कद बढेको हुनेछ र पूर्ण रूपमा मुक्ति हासिल गरेको हुनेछस्।
सत्यतालाई अभ्यास गर्न वास्तवमा निकै सरल छ, तर यदि तँसँग पर्याप्त बोध गर्ने क्षमता छैन भने वा तेरो हृदय यसमा लाग्दैन भने र तँ सधैँ सुस्त, लापरवाह र झारा टारुवा हुन्छस् भने तैँले कहिल्यै सत्यता हासिल गर्नेछैनस्। त्यसोभए, व्यक्तिले सत्यता कसरी प्राप्त गर्न सक्छ? के यो संदिग्ध चाल वा बल प्रयोग गरेर प्राप्त हुन्छ? हुँदैन। यो वास्तविक जीवनमा अघि बढ्दै गर्दा बिस्तारै, थोरै-थोरै गरेर, जोड्दै लगेर, खोजी गरेर, व्यक्तिगत अनुभव हासिल गरेर र खोजखाज गरेर प्राप्त गरिन्छ। यो तँलाई पवित्र आत्माले मार्गदर्शन गर्ने तरिका पनि हो, त्यसमा उहाँले कहिलेकाहीँ तँलाई थोरै वचनहरू मात्र दिनुहुन्छ, जुन तैँले त्यो बेला बुझ्दैनस्, तर सत्यताको खोजीद्वारा केही दिनपछि बुझ्छस्, र त्यसपछि तेरो हृदय उज्यालो हुन्छ, अनि तैँले मार्ग पाउँछस्। तैँले प्राप्त गर्छस्, तर अरूले गर्दैनन् र तँ सत्यताको यो पक्षमा बढ्छस्। त्यो कृपा देखाइनु हो। सत्यताका केही कुराहरू महसुस र अनुभव गरिनुपर्छ, र तेरो अनुभव गहन र विस्तृत हुँदै जाँदा, तैँले आफ्नो मार्ग अझ सटीक रूपमा महसुस गर्नेछस्। थाहै नपाई तैँले सत्यता खोज्न र अभ्यास गर्नहेतु यो मार्ग पछ्याउनेछस्। तेरो सत्यताबारे बुझाइको जगमा तैँले थप अन्तर्दृष्टि पाउनेछस्, अनि सत्यताका अझ धेरै विवरण र अझ धेरै सत्यता वास्तविकतामा बुझ्नेछस्। यही नै सत्यता पछ्याउने मार्ग हो। यदि तैँले यसलाई अनुभव र अभ्यास गर्न सक्छस् भने, सत्यता अभ्यास गर्न कठिन छैन भन्ने महसुस गर्नेछस्, तर तैँले यसरी अभ्यास गर्दैनस् भने, सधैँ यसलाई निकै अमूर्त र कठिन पाउनेछस्, विश्वविद्यालय जानु वा कुनै उन्नत प्रविधिबारे अनुसन्धान गर्नुभन्दा पनि कठिन। तर वास्तवमा, यो भनेको केवल तेरो हृदय प्रयोग गर्ने मामला हो। कुनै पनि पेशागत ज्ञान वा सिद्धान्तको सिकाइ व्यक्तिको स्मरण र मानसिक विश्लेषण एवं अनुसन्धानमा भर पर्छ, तर सत्यता मात्र प्राप्त गर्न तेरो हृदयको प्रयोग आवश्यक हुन्छ। तैँले यसलाई अनुभव गर्न र यसको स्वाद चाख्न आफ्नो हृदय प्रयोग गर्नुपर्छ र यसलाई कसरी अनुभव गर्ने भन्नेबारे सोचविचार गर्न प्रयास गर्नुपर्छ। बिस्तारै-बिस्तारै तैँले सत्यता अभ्यास गर्ने सही मार्ग भेट्टाउन अनि हासिल गर्न थाल्नेछस्। तब, तँलै खजाना पाएको हुनेछस्। सत्यता प्राप्त गर्ने रहस्य के हो? सबभन्दा पहिले, तेरो आसपासमा हुने घटनाहरूलाई सम्हाल्न सांसारिक जगतसँग व्यवहार गर्ने शैतानी सोच, तर्क, दर्शन वा तरिकाहरूको प्रयोग नगर्। यो एउटा गतिरोध हो, किनभने यदि तँ शैतानी दर्शनअनुसार जिउँछस् भने तैँले कहिल्यै सत्यता प्राप्त गर्न सक्ने छैनस्। तँलाई कुराहरू आइपर्दा, यदि तेरो पहिलो प्रतिक्रिया मानव विधि र तरिका प्रयोग गरेर ती कुरालाई सम्हाल्न र समाधान गर्ने हुन्छ र तँ सधैँ आफ्नो व्यक्तिगत स्वार्थ र छविको रक्षा गर्न चाहन्छस् भने यसले तँलाई गतिरोधमा पुर्याउँछ। यदि तँ समस्या सामना गर्दा सत्यता खोज्न सक्छस्, यदि तँ परमेश्वरलाई प्रार्थना गर्न र उहाँको इच्छा खोज्न सक्छस्, र आफूले कुन-कुन पाठ सिक्नुपर्छ र परमेश्वरका प्रबन्धभित्र रहेर तैँले कुन-कुन सत्यता बुझ्नुपर्छ भन्ने थाहा हुन्छभने यो सही हुन्छ। तसर्थ, सत्यतानपछ्याउने मानिसहरू, चाहे जे भए पनि, सदैव भावशून्य, बेढंगी, हिचकिचाउने, असहाय र मार्गरहित हुन्छन्। वास्तवमा, परमेश्वरले मानिसलाई सत्यता प्राप्त गर्ने धेरै मौकाहरू दिनुहुन्छ, तर तिनीहरूले सत्यतालाई प्रेम नगर्ने भएकाले गलत बाटो रोज्छन् र सत्यता प्राप्त गर्न असफल हुन्छन्।
भ्रष्ट स्वभावहरूको बीचमा जिउने मानिसहरू हैसियत, आडम्बर, लाभ र चाहनाका लागि जिउँछन्। सम्पूर्ण भ्रष्ट मानवता यस्तै छ, वस्तुतः लगभग एकै प्रकारका छन्, भिन्नताहरू थोरै मात्र छन्। व्यक्तिमा चाहे जतिसुकै भ्रष्ट स्वभाव भए पनि, परमेश्वरमा विश्वास गर्न थालेपछि सत्यतालाई प्रेम गर्नेहरू सबैले परमेश्वरका वचनहरू खानपिन र अनुभव गरेर आफ्नो भ्रष्ट स्वभावहरूलाई बुझ्न सक्छन् र तिनीहरूका धेरै भ्रष्ट स्वभावहरू बिस्तारै समाधान हुँदै जानेछन्, अनि तिनीहरूले थोरैभन्दा थोरै भ्रष्टता प्रकट गर्न थाल्नेछन्। तिनीहरू अविश्वासीहरूभन्दा बिलकुलै फरक हुन्छन्, तिनीहरू दुई फरक प्रकारका मानिहरूस हुन् र के यो सत्यता पछ्याएर हासिल भएको परिवर्तन होइन र? यी मानिसहरू अविश्वासी दियाबलसबाट सत्यता प्राप्त गरेका र परमेश्वरमा विश्वास गर्न थालेपछि मानव स्वरूपमा जिउने वास्तविक मानिसहरूमा रूपान्तरण हुन्छन्; यो परमेश्वरमा विश्वास गर्नुको लाभ र फल हो। तर परमेश्वरमा विश्वास गर्न थालेपछि पनि सत्यतालाई पटक्कै नपछ्याउनेहरू, वर्षौँको विश्वासपछि पनि बदलिँदैनन् र अझै पनि अविश्वासीहरूझैँ रहन्छन्। यस प्रकारका व्यक्तिलाई हटाइनेछ। समान रूपमा परमेश्वरमा विश्वास गर्ने र कर्तव्य निर्वाह गर्ने मानिसहरूबीच किन यति ठूलो फरक? महत्वपूर्ण कुरा भनेको सत्यताप्रति तिनीहरूको मनोवृत्ति फरक हुनु हो। सत्यतालाई प्रेम गर्नेहरूले जति धेरै परमेश्वरका वचनहरू पढ्छन् तिनीहरूको हृदय झनझन उज्यालो हुँदै जानेछ र तिनीहरूले जति धेरै प्रवचन सुन्छन् त्यति नै धेरै बुझ्नेछन्—तिनीहरू सदैव प्रगति गरिरहेका हुन्छन्। तर सत्यतालाई प्रेम नगर्नेहरू परमेश्वरका वचनहरू पढ्न आनन्द मान्दैनन्, न त तिनीहरू सत्यतालाई अभ्यास गर्ने प्रयास नै गर्छन्, त्यसैले तिनीहरूको भ्रष्ट स्वभाव समाधान गर्न वा हटाउन सकिँदैन। तिनीहरूले कोसिस गरे पनि आफ्नो भ्रष्ट स्वभाव लुकाउन सक्दैनन्, र चाहे पनि त्यसलाई ढाकछोप गर्न सक्दैनन्। यसो हुनुको कारण भनेको भ्रष्ट मानवहरू सबैलाई शैतानले भ्रष्ट तुल्याएको छ, चाहे तिनीहरू अविश्वासीहरू हुन् वा परमेश्वरमा विश्वास गर्नेहरू, तिनीहरूको भ्रष्ट शैतानी स्वभावको सार वास्तवमा एउटै हुन्छ र तिनीहरू सबै हैसियत, छवि, लाभ र चाहनाका लागि जिउँछन्। मानिसहरू केका खातिर बहस गर्छन्? तिनीहरू किन कुनै कुराका लागि एकअर्कासँग मारपिट गर्छन्? यो सबै यही कुराहरूका लागि हुन्, र चाहे जुनसुकै विधि, तरिका वा स्वरूप अपनाइ पनि, लक्ष्य वास्तवमा एउटै हुन्छ। शैतानलाई मुनि, बीच हावामा किन फालियो? (किनभने त्यसले परमेश्वरसँग हैसियतका लागि प्रतिस्पर्धा गर्यो।) शैतानको वास्तविक अनुहार यही नै हो। अचेल, शैतानका जीनहरू भ्रष्ट मानवमा आएका छन्, यसले तिनीहरूलाई भ्रष्ट बनाइरहेको छ, त्यसैले मानिसहरू शैतानजस्तै बनेका छन्, तिनीहरूले शैतानको रूप धारण गरेका छन्, र उनीहरूले जिउने कुरा शैतान जस्तै छ। यदि तँ शैतानको प्रकृति सारभित्रको भ्रष्ट स्वभावहरूलाई चिन्न सक्छस् अनि तिनलाई एकएक गरी समाधान गर्न सक्छस् भने तैँले मुक्ति पाउनेछस् र शैतानको प्रभावलाई हटाउन सक्नेछस्। के भ्रष्ट स्वभावका समस्या समाधान गर्न कठिन छ? (सत्यता पछ्याउनेहरूका लागि त्यो कठिन छैन, तरप्रायजसो हामी सत्यता अभ्यास गर्न इच्छुक हुँदैनौँ, र आफ्नै इच्छाअनुसार मात्रै कार्य गर्छौँ। हामीलाई काटछाँट र निराकरण गरिंदा, हामी नकारात्मक बन्छौँ र केही समय दुःखी हुन्छौँ, अनि अनिच्छापूर्वक सत्यताअनुसार अभ्यास गर्छौँ।) सत्यतालाई प्रेम नगर्ने सबै जना यस्तै हुन्छन् र सत्यतालाई अलिकति अभ्यास गराउनका लागि मात्रै पनि तिनीहरूलाई अरूले आग्रह गर्नुपर्छ, तान्नु र ठेल्नुपर्छ। सत्यता अभ्यास गर्ने कुरामा सबभन्दा ठूलो कठिनाइ के हो? अहिले कतिपय मानिसहरूले सबभन्दा ठूलो कठिनाइ मुख्य रूपमा भ्रष्ट स्वभावबाट निस्कने वाधाहरू हुन् भनेर स्पष्टसँग देख्न सक्छन्। त्यो मानिसहरूको प्रसिद्धि, लाभ, हैसियत, आडम्बर र छविप्रतिको मोहको कारण नै हो। मानिसहरूबीच हुने संवाद, विवाद रबहस, को ठूलो हो भनेर हेर्ने स्पर्धा हो—जसले अर्को पक्षलाई विश्वस्त बनाउन सक्छ ऊ राम्रो देखिन्छ। तिनीहरू सबै कोसँग अन्तर्दृष्टि, सक्षमता वा अख्तियार छ र अन्तिम निर्णय कसको हुनेछ भन्ने बारे स्पर्धा हुन्। यी कुराहरूमा हुने स्पर्धाको कुनै अन्त छैन र यी सब पछाडि शैतानको स्वभाव लुकेको हुन्छ, जुन प्रसिद्धि, सम्पत्ति र हैसियतका लागि जिउँछ। यो कुरा छर्लङ्ग देखेमा समस्या सजिलैसँग समाधान हुन सक्छ। कम्तीमा पनि, समाधान गर्न सहज, ती सतही तहका कुराहरूलाई समाधान गर् र त्यसपछि बिस्तारै-बिस्तारै परमेश्वरको बारेमा तेरो भित्री हृदयमा रहेका गलतफहमी, अनुमान, शङ्का र गुनासोहरू समाधान गर्, साथै त्यहाँ लुकेका विरोध, खोजीनिधो र प्रतिस्पर्धाको भावनालाई पनि समाधान गर्। यी कुराहरू पूर्ण रूपमा समाधान भएपछि, तँ अय्यूबजस्तै बन्नेछस्, परमेश्वरको नजरमा एउटा सिद्ध व्यक्ति बन्नेछस्। परमेश्वरले अय्यूब सिद्ध व्यक्ति थियो भनेर किन भन्नुभयो? परमेश्वरले उसलाई लिनुभएको परीक्षालाई हेर्दा हामी के देख्न सक्छौँ भने परमेश्वरको मामिलामा ऊभित्र कुनै विरोध वा खोजीनिधोको भावना थिएन। आफ्नो जीवनअवधिमा र सबथोकमा परमेश्वरको सार्वभौमिकता अनुभव गर्दाको समयमा, उसका विद्रोहीपन र प्रतिरोधजस्ता कुराहरू सबै निराकरण गरेर समाधान गरिए। यी नकारात्मक कुराहरू समाधान भएपछि, उसले परमेश्वरको परीक्षाहरू सामना गर्दा उसको व्यवहार सम्पूर्ण भ्रष्ट मानवजातिभन्दा बिलकुलै भिन्न थियो। के उसले परीक्षाहरू सामना गर्दा भनेको, “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ, यहोवाको नाउँको प्रशंसा होस्,” धर्मसिद्धान्त हो त? पक्कै पनि होइन। यी शब्दहरूमा वजन छ, र यसभन्दा पहिले यी शब्दहरू कसैले बोलेको थिएन। यी शब्दहरूलाई सबभन्दा पहिले अय्यूले नै बोलेको थियो र यो उसकै व्यक्तिगत अनुभवहरूबाट आएको थियो।
आफूले दैनिक रूपमा यति धेरै भ्रष्टता प्रकट गरेको र त्यति परिवर्तित नभई, आफू सधैँ शैतानी स्वभावहरूमाझ जिएको देख्दा के तिमीहरू चिन्तित हुन्छौ। (हो, म चिन्तित हुन्छु, र कहिलेकाहीँ पीडा महसुस गर्छु।) पीडा महसुस गर्नु जस्तै चिन्ता गर्नु पनि सामान्य कुरा हो। तर तैँले जतिसुकै चिन्ता वा पीडा महसुस गरे पनि, शान्त रहनुपर्छ र आफ्नो भ्रष्ट स्वभाव कसरी समाधान गर्ने भनेर खोज्नुपर्छ। यो नै सही मनस्थिति हो। यदि तँ वर्षौँदेखि पीडा महसुस गरिरहेको छस् र तेरो भ्रष्ट स्वभाव अझै पनि समाधान भएको छैन भने, यसले काम गर्ने छैन र पीडाको यो भावना बेकार छ। तैँले यी कुरा मनन गर्नुपर्छ, “मेरा कुन समस्याहरू समाधान भएका छन् त? मेरा कुन भ्रष्ट स्वभावहरू समाधान भएका छन् त? कुन मामिलाहरूमा मैले परमेश्वरबारे गुनासो गर्न छोडेको छु?” तैँले सधैँ आफूलाई यो कुरा सोध्नुपर्छ। यदि तँ, “यस्तो कुरा सामना गर्दा म सधैँ गुनासो र गनगन गर्थेँ, र परमेश्वरबारे गलतफहमी पाल्थेँ, तर फेरि यस्तो हुँदा म अहिले गुनासो गर्दिनँ र परमेश्वरबारे कुनै पनि गलतफहमी पाल्दिनँ,” भन्छस् भने यसले तैँले आफ्नो समय बर्बाद गरेको छैनस् भनी देखाउँछ। एकपटक तैँले सत्यता बुझेर प्राप्त गरेपछि, तेरो परमेश्वरप्रति मनोवृत्ति फरक हुनेछ र स्वभाविक रूपमै तँसँग परमेश्वरको डर मान्ने हृदय र आज्ञाकारी मनस्थिति हुनेछ। यो सामान्य शिष्टता होइन, न त यो परबाट आदर देखाउनु, वा तृष्णा, प्रेम, लगाव र निर्भरता नै हो; यो केवल यी कुराहरू मात्र होइनन्, यो वास्तविक डर हो। आजका भ्रष्ट मानवजातिका लागि परमेश्वरको डर मान्नेबारे कुरा गर्नु अझै पनि समयपूर्व नै हुन्छ, यो निकै टाढाको कुरा हो। त्यसैले, तिमीहरूले अहिले सबभन्दा पहिले के पछ्याउनुपर्छ त? जेसुकै भए पनि परमेश्वरलाई शङ्का नगर्नु। शङ्कालु हुनबाट तिमीहरू कसरी जोगिन सक्छौ त? सबभन्दा पहिले, तिमीहरूले परमेश्वरको इच्छा के हो र सत्यता के हो भनेर जान्नुपर्छ। दोस्रो, कुराहरू तिमीहरूको धारणाअनुरूप नहुँदा परमेश्वर बारेमा गुनासो नगर्नू वा उहाँबारे कुनै गलतफहमी नराख्नू। कुनै पनि गलतफहमी पैदा हुनबाट तिमीहरू कसरी बच्न सक्छौँ? तिमीहरूले सत्यतालाई बुझ्न जरुरी छ, र त्यसपछि बिस्तारै, परमेश्वरबारे आफूभित्र रहेका धारणा र गलत बुझाइलाई चिर्दै एक-एक गरी सुल्झाउनुपर्छ। अनि त्यो दिन आउनेछ जब तैँले सामना गर्ने जाँच वा परीक्षा जतिसुकै ठूलो भए पनि तैँले प्रतिरोध गर्नेछैनस्, उल्टै तँमा परमेश्वरको डर मान्ने हृदय हुनेछ र उहाँले तँलाई जसरी जाँच्नु भए पनि तँ पालन गर्न सक्षम हुनेछस्। त्यसपछि तँ सफल भएको हुनेछस्। तिमीहरू अहिले कुन चरणमा छौ? कुनै कुरा आइपर्दा, तँ यसो सोच्छस्, “के यो परमेश्वरले नै गर्नुभएको हो त? के उहाँले यसो गर्नु सही हो त?” वा कहिलेकाहीँ यसो समेत सोच्छस्, “परमेश्वर कहाँ हुनुहुन्छ? के परमेश्वर त हुनुहुन्छ? म किन उहाँलाई महसुस गर्न सक्दिनँ?” यस्ता धेरै सोच र स्थितिहरू आउँछन्, र यो ठीक होइन, किनभने तँ सिद्ध पारिने बाटोमा लाग्नबाट अझै पनि धेरै टाढा छस्। तैँले आफ्नो खोजीमा निकै मेहनत गर्नुपर्छ, किनभने हाल तेरो कद अझै पनि निकै सानो छ, सत्यता वास्तविकता प्राप्त गर्ने स्तरबाट टाढा छ। तँ ठीक छस्, तँसँग केही वास्तविकताहरू छ, अनि तँ स्वर्ग जान अनि स्वर्गदूत बन्न सक्छस् भन्ने नसोच्। तँसँग भएका थोरै वास्तविकता अझै पनि निकै कम छन्, तँलाई पखेटा लगाइदिए पनि तँ स्वर्गदूत हुँदैनस्। आफूलाई धेरै राम्रो र अति उच्च नसोच्, तँमा केही आत्मचेतना हुनुपर्छ। के तँ परमेश्वरको गवाही दिन सक्छस्? के तँ परमेश्वरको उपयोगमा आउन योग्य छस्? यस मापदण्डका आधारमा मापन गर्दा तँ अझै पनि परमेश्वरको मागबाट निकै पर छस्, र तँलाई अझै कयौँ वर्षको अनुभव चाहिन्छ।
मार्च ११, २०१८