आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो

मानवजातिलाई शैतानद्वारा यति गहिरो रूपले भ्रष्ट तुल्याइएको छ कि तिनीहरू सबैमा शैतानी प्रकृति र अहङ्कारी स्वभाव हुन्छ; बेबकुफ र मूर्खहरूसमेत अहङ्कारी हुन्छन्, र तिनीहरू अरूभन्दा राम्रो छु भन्ठान्छन् र अरूको आज्ञापालन गर्न मान्दैनन्। यो प्रष्टै देखिन्छ, मानवजातिलाई अति गहिरो रूपले भ्रष्ट तुल्याइएको छ र तिनीहरूलाई परमेश्‍वरप्रति समर्पित हुन धेरै कठिन हुन्छ। तिनीहरू आफ्नो अहङ्कार र आत्मधार्मिकताको कारण पूरै समझहीन बनेका छन्; तिनीहरूले कसैको आज्ञापालन गर्दैनन्—अरू मानिसहरूको कुरा सही र सत्यताबमोजिम भए पनि, तिनीहरूले ती कुराहरू पालन गर्दैनन्। अहङ्कारकै कारण मानिसहरू परमेश्‍वरको आलोचना, निन्दा, र प्रतिरोध गर्ने आँट गर्छन्। अनि, कसरी यो अहङ्कारी स्वभाव समाधान गर्न सकिन्छ? के यसलाई मानव संयममा भर परेर समाधान गर्न सकिन्छ? के यसलाई पहिचान र स्वीकार गरेर मात्र समाधान गर्न सकिन्छ? कदापि सकिँदैन। अहङ्कारी स्वभाव समाधान गर्ने एउटै मात्र तरिका छ, र त्यो परमेश्‍वरको न्याय र दण्ड स्विकार्नु हो। सत्यता स्विकार्न सक्षमहरूले मात्र बिस्तारै आफ्नो अहङ्कारी स्वभाव त्याग्न सक्छन्; सत्यता नस्विकार्नेहरूले कहिल्यै आफ्नो अहङ्कारी स्वभाव समाधान गर्न सक्दैनन्। म त्यस्ता धेरै मानिसहरू देख्छु जो आफूले केही प्रतिभा देखाउँदा घमण्डी बनिहाल्छन्। जब तिनीहरूले आफूमा केही क्षमता भएको देखाउँछन्, तिनीहरू आफू धेरै प्रभावशाली छु भन्ठान्छन्, अनि यी क्षमताहरूमै भर परिबस्छन्, थप मेहनत गर्दैनन्। अरूले जे भने पनि तिनीहरू सुन्दैनन्, तिनीहरू आफूसँग भएका यी साना कुराहरू सत्यता हुन्, र आफू सर्वोच्च हुँ भन्ठान्छन्। यो कस्तो स्वभाव हो? यो अहङ्कारी स्वभाव हो। तिनीहरूमा समझको अत्यन्तै कमी छ। के व्यक्तिमा अहङ्कारी स्वभाव हुँदा उसले आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छ? के उसले परमेश्‍वरप्रति आज्ञाकारी हुन र अन्त्यसम्मै परमेश्‍वरलाई पछ्याउन सक्छ? यो त झन् कठिन छ। अहङ्कारी स्वभाव सुल्झाउन, उसले आफ्नो कर्तव्य निभाउने क्रममा परमेश्‍वरको काम, उहाँको न्याय र दण्ड अनुभव गर्न सिक्‍नुपर्छ। यस तरिकाले मात्र उसले आफूलाई साँच्चिकै चिन्न सक्छ। प्रस्ट रूपमा आफ्नो भ्रष्ट सार बुझेर, राम्रोसित आफ्नो अहङ्कारको जड देखेर, र त्यसपछि त्यसलाई खुट्याएर अनि विश्‍लेषण गरेर मात्र तैँले साँच्चिकै आफ्नो प्रकृति सार चिन्न सक्छस्। तैँले आफूभित्रका सबै भ्रष्ट कुराहरू उजागर गर्नुपर्छ, र ती कुराहरूलाई सत्यतासँग तुलना गरेर सत्यताको आधारमा चिन्नुपर्छ, र त्यसपछि तैँले तँ को होस् भनेर चिन्‍नेछस्: तँ अहङ्कारी स्वभावले मात्र भरिएको छैनस्, र तँमा समझ र आज्ञाकारिताको मात्र कमी छैन, तँमा त धेरै कुराहरूको पनि कमी छ, तँमा सत्यता वास्तविकता छैन, र तँ कति दयनीय छस् भनी तैँले देख्नेछस्। त्यसपछि, तँ अहङ्कार बन्‍न सक्दै सक्नेछैनस्। यदि तैँले आफूलाई यस तरिकाले विश्‍लेषण गरेर चिन्दैनस् भने, आफ्नो कर्तव्य निभाउँदा तैँले ब्रहमाण्डमा आफ्नो स्थान के हो भनेर चिन्नेछैनस्। तैँले आफू हर कोणबाट महान्‌ छु, अरूका सबै कुराहरू खराब छन्, र आफू मात्र सबैभन्दा उत्तम हुँ भन्ठान्नेछस्। अनि, तैँले आफूलाई अरूले आदर र आराधना गरून् भनेर सधैँ हरेक व्यक्तिसामु धाक देखाउनेछस्। यो आफूमा बिलकुलै आत्मसचेतना नहुनु हो। कतिपय मानिसहरू सधैँ धाक देखाइरहेका हुन्छन्। जब अरूहरूलाई त्यो कुरा त्यति रुचिकर लाग्दैन, तब उनीहरूले तिनीहरूलाई अहङ्कारी भनेर आलोचना गर्छन्। तर तिनीहरू त्यो कुरा स्वीकार गर्दैनन्; तिनीहरू अझै पनि आफूलाई प्रतिभाशाली र सीपालु नै भन्ठान्छन्। यो कस्तो स्वभाव हो? तिनीहरू अत्यन्तै अहङ्कारी र आत्मधर्मी छन्। के यति धेरै अहङ्कारी र आत्मधर्मी मानिसहरू सत्यताको तृष्णा गर्न सक्षम हुन्छन्? के तिनीहरूले सत्यता पछ्याउन सक्छन्? यदि तिनीहरूले आफूलाई चिन्न कहिल्यै सक्दैनन् र आफ्ना भ्रष्ट स्वभावहरू कहिल्यै फाल्दैनन् भने, के तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छन् त? कदापि सक्दैनन्।

धेरै मानिसहरू आफूलाई जसरी मन लाग्छ त्यसरी नै आफ्नो कर्तव्य निभाउँछन् र अरूका सुझावहरू कहिल्यै सुन्दैनन्। यदि कसैले तिनीहरूलाई कुनै योजना दिए भने, तिनीहरूले त्यसलाई लेखेर राख्नेछन् र त्यसैअनुसार गर्न सहमत हुनेछन्, तर पछि गएर तिनीहरूले त्यसमा कुनै चासो नदिईकन आफूलाई जे मन लाग्छ त्यही गर्न जारी राख्नेछन्। यो कस्तो खालको स्वभाव हो? (आत्मधर्मी र अहङ्कारी स्वभाव।) के यसमा कुनै हठीपन छ? (छ।) हठीपन र अहङ्कार हरेक व्यक्तिमा हुन सक्छ। जब मानिसहरूले अरू कसैले कुनै सही र तर्कसङ्गत कुरा बोलेको सुन्छन्, तब यदि तिनीहरूले उक्त मामिलालाई विवेक र समझपूर्वक लिन्छन् भने, तिनीहरूलाई त्यो स्विकार्नुपर्छ भन्‍ने नै लाग्‍नेछ, तर के तिनीहरूले त्यसलाई व्यवहारमा लागू गर्न सक्लान् त? सर्वप्रथम, तिनीहरूमा सही मनोवृति हुनुपर्छः तिनीहरूले आफ्ना कल्पना, मूल्याङ्कन्, वा गलत बुझाइहरू त्याग्‍नुपर्छ, अनि उक्त व्यक्तिको राम्रो सुझावबारे सोचविचार गरेर सत्यता खोज्नुपर्छ, र यदि तिनीहरूले उसको सुझाव सही र सत्यता सिद्धान्तहरूअनुरूप भएको निर्धारित गरे भने, तिनीहरूले त्यसलाई स्वीकार र पालना गर्नुपर्छ। के तिनीहरूमा हुनुपर्ने मनोवृति यही होइन र? के यो मनोवृतिमा कुनै अहङ्कार छ? त्यसमा कुनै अहङ्कार छैन; त्यो गम्भीर र जिम्मेवार मनोवृति हो, सत्यता स्विकार्ने मनोवृति हो, र सकारात्मक कुराहरूलाई प्रेम गर्ने मनोवृति हो। जब तँ अरू कसैले राम्रो सुझाव दिएको सुन्छस्, जुन सुझाव तँलाई सत्यता सिद्धान्तहरूअनुरूप छ भन्‍ने लाग्छ, तब यदि तैँले आफ्नो इज्जत जोगाउन वा क्षणिक बुझाइको कारण त्यसलाई स्विकार्छु भनेर भन्छस्, तर केही गर्नुपर्ने समय आउँदा तँ बस आफ्नो इच्छाबमोजिम काम गर्छस्, आफूलाई जे मन लाग्यो त्यही गर्छस्, र तेरो हृदयले सही हो भनी स्विकारेको सुझावलाई छेउ लगाउँछस् भने, तँ कस्तो प्रकारको व्यक्ति होस्? के यो सत्यता स्वीकार गर्ने मनोवृति हो? यो कस्तो खालको स्वभाव हो? यो अहङ्कार र विद्रोहीपन हो, सत्यता स्वीकार गर्नु होइन, यो त व्यक्तिले आफ्नै इच्छालाई प्राथमिकता दिनु, आफ्नै राय र विचारहरूलाई हाबी हुन दिनु, अनि सत्यता सिद्धान्तहरू, सकारात्मक कुराहरू र परमेश्‍वरका वचनहरूलाई दिमागबाटै गौण पार्नु हो। अरू मानिसहरू यस्ता हुन्छन् जो भेट्दा राम्रा वाचाहरू गर्छन्, तर केही आइपर्दा तिनीहरू ती वाचाहरू पूरा गर्न चाहँदैनन्, अनि तिनीहरू आफै यस्ता हिसाबकिताबहरू गर्छन्: “यदि मैले सिद्धान्तहरूअनुसार यो गरेँ भने, मैले प्रस्ट रूपमा सत्यता सङ्गति गर्नुपर्नेछ र मानिसहरूका धारणाहरू सुल्टाउनुपर्नेछ, र त्यो निकै कठिन हुनेछ। मैले एकदमै धेरै बोल्नुपर्ने हुनेछ र मलाई आफूले प्रस्ट रूपमा बोल्दिनँ कि भन्‍ने चिन्ता छ, र त्यो समय र शक्तिको नाश र अत्यन्तै अफ्ठ्यारो कुरो हुनेछ! समस्या रोक्नको लागि, मैले यो काम यस तरिकाले नै गर्नुपर्छ, अनि सहमत नभए पनि सबैले मेरो कुरा सुन्नैपर्नेछ, अनि यसमा अन्तिम निर्णय मेरै हुनेछ।” यो कस्तो खालको मनोवृति हो? यो विश्‍वासघाती मनोवृति हो। तिनीहरूले वाचा गर्दा, तिनीहरू सच्चा, इमानदार, आज्ञाकारी, धर्मी र अरूका रायहरू र सत्यता स्विकार्न सक्‍नेजस्ता देखिन्छन्, तर जब काम गर्ने समय आउँछ, तिनीहरू पूरै फरक हुन्छन् र तिनीहरूको मनोवृति बदलिन्छ। त्यो किन बदलिन्छ? तिनीहरूको मनोवृति किन ठ्याक्‍कै १८० डिग्री घुम्छ? के कुराले यस्तो गराउँछ? तिनीहरूलाई यस तरिकाले कार्य गर्नु शारीरिक रूपमा अत्यन्तै सकसपूर्ण र अफ्ठ्यारो हुन्छ, त्यसैले तिनीहरू त्यो कठिनाइ सहन आनाकानी र अनिच्छा गर्छन्। त्यसउप्रान्त, तिनीहरूले पहिले गरेका प्रतिज्ञा वा वाचाहरूले तिनीहरूको लागि कुनै महत्त्व राख्दैनन्, न त सत्यता सिद्धान्तहरूअनुसार कामकुरा सम्हाल्नुले नै कुनै महत्त्व राख्छ। तिनीहरूको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नो देहलाई सन्तुष्ट तुल्याउनु हो, त्यही नै सबभन्दा पहिले आउँछ, अनि तिनीहरूले परमेश्‍वरको आदेशलाई पछिल्तिर धकेल्छन् र त्यसलाई गम्भीरतापूर्वक लिँदैनन्। के यो जिम्मेवार व्यक्ति हो? के यो निष्ठावान्‌ व्यक्ति हो? के यो सत्यतालाई प्रेम गर्ने व्यक्ति हो? होइन। मानिसहरू त्यस्ता पनि हुन्छन् जो अरूसित आमनेसामने हुँदा तिनीहरूसित कुनै मामिला राम्ररी सम्हाल्ने वाचा गर्छन्, र तिनीहरूलाई पूर्ण सहज अनुभूति गराउँछन्, तर जब तिनीहरूले त्यसलाई सम्हाल्ने क्रममा कठिनाइहरू सामना गर्छन्, तिनीहरूले त्यसलाई पन्छाउँछन् र त्यहीँ छोडिदिन्छन्। के यो विश्‍वासनीय व्यक्ति हो? के यो कामकुरा गर्ने सिद्धान्तपरक तरिका हो? विशेषगरी व्यक्तिले आफ्नो कर्तव्य निभाउँदा र परमेश्‍वरको घरको लागि काम गर्दा, ऊ सत्यता सिद्धान्तहरूमा झन् बढी अडिग हुनुपर्छ, र उसले कहिलेकाहीँ क्षति र अपमान सहनुपरे पनि परमेश्‍वरको घरका हितहरू रक्षा गर्नुपर्छ, र उसले मण्डलीको काममा कहिल्यै हानि पुग्न दिनु हुँदैन। यसो गर्ने मानिसहरू इमानदार हुन्छन्, तिनीहरूले परमेश्‍वरको इच्छाप्रति ध्यान दिन्छन्, र तिनीहरू हरमोडमा परमेश्‍वरको घरबारे सोच्छन्। छली मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा निरन्तर रूपले आफ्नै स्वार्थबारे सोच्छन्, र आफूले गर्ने कुनै पनि काममा अलिकति पनि क्षति भोग्न कहिल्यै चाहँदैनन्; तिनीहरूले आफूले क्षति भोग्नुभन्दा परमेश्‍वरको घरको हितमा क्षति पुग्न दिन्छन्। कुनै व्यक्तिले सत्यता सिद्धान्तहरूबमोजिम आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ कि छैन भन्‍ने कुरा परमेश्‍वरलाई थाहा हुन्छ—परमेश्‍वरले मान्छेका सोचविचारहरू जाँच्नुहुन्छ। यदि परमेश्‍वरले व्यक्तिको हृदय छली र दुष्ट छ, उसले दैहिक स्वार्थको लोभमा काम गर्छ, उसले सत्यतालाई प्रेम गर्दैन र ऊ सत्यतादेखि दिक्क छ भनी थाहा पाउनुभयो भने, उक्त व्यक्तिमा ती कुराहरू भएको थाहा पाउनेबित्तिकै उहाँले उसलाई त्याग्नुहुनेछ। त्यसोभए, के त्यो व्यक्ति आफैले यी सबै कुराहरू चाल पाउन सक्छ? (सक्दैन।) उसले किन त्यो चाल पाउन सक्दैन? (किनकि जब व्यक्तिको प्रकृतिले उसका कार्यहरू नियन्त्रित गर्छ, तब उसका दैहिक स्वार्थहरू पूर्ति हुन्जेलसम्म, उसले आफूलाई जाँच्नेछैन। अनि अन्त्यमा, उसले यस तरिकाले काम गर्नु सत्यताबमोजिम होइन भन्‍ने बारे चाल पाउनेछैन।) त्यसोभए, मान्छेले भित्री रूपमा बाँच्ने त्यो आधार के हो? त्यो शैतानको भ्रष्ट स्वभाव हो। मान्छेको सार भन्‍नु नै शैतानको सार हो, मान्छे उसको शैतानी स्वभावले जिउँछ, र उसले आफ्नै आडम्बर, घमण्ड र दैहिक स्वार्थहरू रक्षा गर्छ। यसप्रकारको स्वार्थी र घृणित सोच मानिसहरूको प्रकृति बनेको छ, त्यसैले तिनीहरू सत्यता अभ्यास गर्नु, परमेश्‍वरको आज्ञापालन गर्नु, परमेश्‍वरका वचनहरूलाई साँच्चिकै निर्बाध रूपले सुन्नु र सत्यता सिद्धान्तहरू र परमेश्‍वरका मानकहरूअनुसार कार्य गर्नु अत्यन्तै जटिल र बोझिलो रहेको अनुभूति गर्छन्। यसमा के समस्या छ? मान्छेलाई शैतानी स्वभावद्वारा बाँधिएको र नियन्त्रित गरिएको हुन्छ, र उसको हृदयमा अनेकौँ नकारात्मक कुराहरू हुन्छन्, त्यसैले सत्यता अभ्यास गर्नु अत्यन्तै कठिन लाग्छ, सजिलो बिलकुलै लाग्दैन। यदि मान्छेका भ्रष्ट स्वभावहरू शुद्ध पारिन्छन्, र तिनीहरूले सत्यता बुझ्न र परमेश्‍वरको इच्छाप्रति ध्यान दिन सक्छन् भने, तिनीहरूले सत्यता अभ्यास गर्नमा कुनै अवरोध वा कठिनाइ भोग्नेछैनन्, र त्यो बोझिलो पनि लाग्नेछैन।

यदि व्यक्तिले सत्यताको अभिलाषा बिलकुलै राख्दैन, र त्यसलाई स्विकार्न चाहँदै चाहँदैन भने, उसमा कुनै पनि असल गुण छैन, अनि जबजब उसलाई केही आइपर्छ, ऊ शैतानको दर्शनद्वारा मात्र जिउनेछ, र ऊ अत्यन्तै नाजुक, दयनीय र अन्धो देखिनेछ। अर्को शब्दमा, यस्ताहरू दरिद्र हुन्छन् र तिनीहरूभित्र केही हुँदैन; तिनीहरूसँग पापलाई जित्ने क्षमता हुँदैन, दैहिकता त्याग्ने क्षमता हुँदैन, अनि सत्यता अभ्यास गर्ने उत्प्रेरणा, आफ्ना विचारहरू बदल्‍ने दृढता, र परमेश्‍वरको पूर्ण आज्ञापालन गर्ने सङ्कल्प हुँदैन। तिनीहरू नाजुक, दयनीय, र अन्धा मात्र हुन्छन्, र तिनीहरू केही पनि हुँदैनन्। जानाजान अनियन्त्रित भई दौडनलाई तिनीहरूमा ठूलो ऊर्जा हुन्छ, तर तिनीहरू परमेश्‍वरका मापदण्ड र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न असमर्थ हुन्छन्। यदि तैँले तिनीहरू कस्ता देखिन्छन् भनेर हेरिस् भने, यीमध्ये कतिपय मानिसहरू वाक्पटु हुन्छन्, तिनीहरू शिक्षित र केही न केही वरदान र सामर्थ्यवान्‌ हुन्छन्, अनि तिनीहरू सक्षम मानिसहरू हुन्, तैपनि म किन तिनीहरू नाजुक र दयनीय हुन्छन् भनेर भन्छु? त्यो कसरी मापन गरिन्छ? जो व्यक्तिमा सत्यता बिलकुलै हुँदैन ऊ नाजुक र दयनीय हो। के शिक्षा र ज्ञान वा वरदान र प्रतिभाले सत्यताको स्थान लिन सक्छन्? के ती कुराहरूले व्यक्तिलाई सत्यता बुझ्न र कठिन घडीहरू पार गर्नमा मद्दत गर्न सक्छन्? के ती कुराहरूले व्यक्तिलाई आफ्नो साक्षीमा खरो उत्रिने र परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने तुल्याउन सक्छन्? कदापि सक्दैनन्। मानिसहरूले जेसुकै गर्दा पनि, तिनीहरू आफ्नै अभिरुचि, चाहना, धारणा र कल्पनाहरूका आधारमा कार्य गर्न रुचाउँछन्, र तिनीहरू यसबारे धेरै खुसी, प्रसन्न, र आराम अनुभूति गर्छन्। तर पनि, यदि तिनीहरूले सत्यताको अभ्यास र परमेश्‍वरको आज्ञापालन गर्ने हो भने, तिनीहरू त्यसो गर्नमा सामर्थ्यरहित र पूरै अनिच्छुक, वा कुँजो परेजस्तो समेत अनुभूति गर्नेछन्। यहाँ के भइरहेको हुन्छ? तिनीहरूको हृदय कहाँ हुन्छ? तिनीहरू कसको सेवा गर्छन्? मानिसहरूले आफ्ना वरदान र ज्ञान प्रयोग गरेर, अनि आफ्ना अभिप्राय र अभिरुचिहरूअनुसार कामकुराहरू गर्दा, तिनीहरू धेरै सक्षम हुन्छन्, र तिनीहरूसित धेरै चालहरू र असीमित ऊर्जाहरू हुन्छन्, तर तिनीहरूलाई सत्यता अभ्यास गर्न, सत्यता वास्तविकतामा प्रवेश गर्न, र सत्यता सिद्धान्तहरूअनुसार कामकुराहरू गर्न लगाउँदा, तिनीहरू जतिसुकै नामी व्यक्ति भए पनि, तिनीहरू असहाय र सामर्थ्यहीन बन्छन्, यस्तो हुनुको कारण के हो? यसको मूल कारण के हो? सत्यता अभ्यास गर्नमा र सत्यता सिद्धान्तहरू खोज्नमा, मानिसहरू मूर्खजस्तै, अति नाजुक र दयनीय हुन्छन्, तैपनि किन तिनीहरू धाक र रवाफ देखाउँछन् र आफू अरू सबैभन्दा राम्रो छु भन्ठान्दै कसैको पनि आज्ञापालन गर्न मान्दैनन्? यसको कारण के हो? (मानिसहरूले आफैलाई चिन्दैनन्।) आफूलाई नचिन्नु यसको एउटा पक्ष हो—यसको प्रमुख कारणचाहिँ के हो भने मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्। तिनीहरूले सत्यता बुझ्नुअघि, यही नै तिनीहरूको कुरूप स्थिति, तिनीहरूको चरित्र, र तिनीहरूको दयनीय रूप हुन्छ, अर्थात् तिनीहरू केही पनि हुँदैनन्। सत्यता नभएकाहरू सबै यस्तै हुन्छन्; तिनीहरूको ज्ञान वा हैसियत जति नै उच्च भए पनि, तिनीहरूले देखाउने भनेकै कुरूप स्थिति र नाजुक रूप मात्र हो। परमेश्‍वर र सत्यतासामु, मान्छे यस्तो नाजुक र दयनीय हुन्छ, ऊसँग केही हुँदैन र ऊ केही पनि होइन। म केही मानिसहरूको सम्पर्कमा आएको छु, र जब म तिनीहरूसित बोल्छु र काम गर्छु, म तिनीहरूको अनुत्साहित, मन्द बुद्धिवाला, नाजुक, र दयनीय रूप देख्छु। तिनीहरू बाह्य कुराहरूबारे अलिअलि बोल्न सक्छन्, तर जब सत्यता सिद्धान्तहरू संलग्‍न हुने कुनै कुरा आउँछ, तिनीहरूका विचारहरू कि त बायाँ कि त दायाँतर्फ ढल्कने, कि त त्यसबारे तिनीहरूको बिलकुलै कुनै विचार नहुने हुन्छ। जब कुनै व्यक्तिले परमेश्‍वरमा त्यति लामो समयसम्म विश्‍वास गरेको, परमेश्‍वरको वचन त्यति धेरै पढेको, र प्रवचनहरू त्यति धेरै सुनेको हुन्छ, अनि ऊ हरदिन आत्मिक जीवन जिउँछ भने, ऊ कसरी त्यति अनुत्साहित, मन्द बुद्धिवाला, नाजुक र दयनीय हुन सक्छ? जब केही कुरा आइपर्छ, उसमा किन सही दृष्टिकोण हुँदैन? कामकुराहरूबारे उसको दृष्टिकोण किन कहिल्यै परिवर्तन हुँदैन? (उसले सत्यता स्विकारेको वा अभ्यास गरेको हुँदैन।) त्यो सही हो। उसले थुप्रै प्रवचनहरू सुनेको छ, तर उसले सुनेको सबै धर्मसिद्धान्तहरू मात्र हुन्; उसले परमेश्‍वरको वचन धेरै पढेको छ, तर त्यसबाट उसले धर्मसिद्धान्तहरू मात्र बुझेको छ; ऊ धेरै भेलाहरूमा गएको छ, तर उसले केही शाब्दिक कुराहरू र नियमहरू मात्र प्राप्त गरेको छ। यो केसँग सम्बन्धित छ? किन तिनीहरूले प्राप्त गर्ने भनेकै यी कुराहरू हुन्छन्? यदि परमेश्‍वरले मान्छेलाई जे भरणपोषण गर्नुहुन्छ त्यो सत्यता, जीवन र सत्यता वास्तविकता हो भने, यी मानिसहरूलाई हात लाग्‍ने परिणामहरू किन त्यस्ता कुराहरू हुन्छन्? के तिमीहरूले कहिल्यै यो प्रश्‍नमाथि विचार गरेका छौ? यो गम्भीर र ठूलो समस्या हो। त्यसोभए, यो समस्या कसरी समाधान गर्न सकिन्छ? तैँले परमेश्‍वरको वचन खानु र पिउनुपर्छ र तिनलाई हृदयभित्र ग्रहण गर्नुपर्छ अनि तिनलाई आफ्नो वास्तविकता बन्न दिनुपर्छ; तैँले आफ्नो भित्री अवस्था र स्थिति परिवर्तन गरेर आफूले सामना गर्ने हरेक कुराप्रति सही विचार र सही मनोवृति राख्नुपर्छ। के तैँले अभ्यास गर्नुपर्ने मार्ग यही होइन र? के तैँले यही दिशामा खोजी गर्नुपर्ने होइन र? यसबारे सोच, तिमीहरू यस मार्गमा कसरी लाग्‍न सक्छौ? तिमीहरू सबैलाई के लाग्छ? (परमेश्‍वर, जब मलाई केही आइपर्छ, मैले मेरो आफ्नै अभिप्राय, ध्येय, र मेरो भ्रष्ट स्वभावका प्रकटीकरणहरूबारे मनन गर्नुपर्छ, र त्यसपछि सचेत रूपमा मैले मेरा गलत अभिप्राय र भ्रष्ट प्रकटीकरणहरू त्याग्नुपर्छ, र परमेश्‍वरका वचनको सत्यताअनुरूप कार्य गर्नुपर्छ भन्‍ने लाग्छ।) यो सही मार्ग हो, तर त्यसो गर्ने क्रममा, के तैँले आफ्ना समस्याहरू पत्ता लगाउन सक्छस्? (कहिलेकाहीँ पत्ता लगाउन सक्छु, तर कहिलेकाहीँ सक्दिनँ।) यसको लागि तैँले बारम्बार परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, आफ्नै बारेमा मनन गर्नुपर्छ, र आफ्ना कार्यहरू जाँच गर्नुपर्छ। पवित्र आत्माले मानिसहरूलाई तिनीहरूले नबुझ्ने कुराहरूबारे अन्तर्दृष्टि दिनुहुनेछ, र तैँले पवित्र आत्माको अन्तर्दृष्टि पाइसकेपछि, के तेरा समस्याहरू हल हुनेछैनन् र? जब व्यक्तिले परमेश्‍वरमाथि भरोसा राख्छ, तब समाधान गर्न नसकिने कुनै समस्या हुँदैन।

म तिमीहरूलाई एउटा उदाहरण विश्‍लेषण गर्न दिनेछु र तिमीहरू आफैबारे चिन्तन गर्न सक्छौ सक्दैनौ, अनि अरूका समस्याहरूमार्फत आफ्ना समस्याहरू चिन्न सक्छौ सक्दैनौ भनी हेर्नेछु। एकपटक मैले एक व्यक्तिसँग समय बिताएँ, र सुरुमा, ऊ होसियार र सचेत थियो, र मैले केही काम गर्दा मेरा अभिप्रायहरू के हुन् भनी सोध्थ्यो, अनि मैले जे भने पनि, उसले शिर हल्लाउँथ्यो र झुकेर ध्यानपूर्वक सुन्थ्यो। उसमा आन्तरिक दायरा थियोः “तपाईं परमेश्‍वर हुनुहुन्छ, म तपाईंलाई चिढ्याउन सक्दिनँ, म यो दायरा नाँघ्न सक्दिनँ, तपाईं जे भन्नुहुन्छ म सुन्नेछु, तपाईंले जे गर् भन्नुहुन्छ म त्यही गर्नेछु।” मूलभूत रूपमा, उसमा कुनै समस्याहरू देखिन्नथ्यो। तर हामीले निश्‍चित समय सँगै बिताएर केही अन्तरक्रिया गरेपछि, उसलाई मेरो बोल्ने शैली र लवजमा बानी पर्‍यो—ऊ यी कुराहरूसँग परिचित बन्यो, र यस्तो सोच्न थाल्यो, “हामी दुईजना बराबर नभए पनि, अनि हाम्रो पहिचान र हैसियत उही नभए पनि, मलाई तपाईंसित बोल्न सहज लाग्छ, मैले केही लुकाउनै पर्दैन, म जे चाहन्छु त्यो भन्न सक्छु।” समयक्रमसँगै मान्छे र परमेश्‍वरबीचको सम्बन्ध तोडियो, अनि उसले यस्तो सोच्‍न थाल्यो, “तपाईंको व्यवहार कस्तो छ मलाई थाहा छ, तपाईं कस्तो प्रकारको व्यक्ति हुनुहुन्छ मलाई थाहा छ। तपाईंलाई के कुराहरूले रिस उठाउनेछैन र मेरो निराकरण गराउनेछैन त्यो मलाई थाहा छ, र तपाईंले जे कुराको लागि मेरो निराकरण गर्नुहुन्छ म ती कुराहरू गर्नेछुइनँ। मैले ती कुराहरू गरे पनि, तपाईंलाई ती कुरा देख्न वा तीबारे थाहा पाउन दिनेछुइनँ। तपाईंलाई थाहा पाउन नदिनको लागि, तपाईंका निकट मानिसहरूलाई समेत म तपाईंको पिठ्यूँपछाडि के गरिरहेको छु भनेर भन्‍ने छुइनँ। त्यसरी, तपाईंले ती कुरा थाहा पाउनुहुनेछैन, हैन र? यदि तपाईंले ती कुरा थाहा पाउनुभएन भने, तपाईंले मेरो निराकरण गर्नुहुनेछैन, गर्नुहुनेछ र? मैले इज्जत गुमाउनु र त्यसको कष्ट भोग्नुपर्नेछैन, पर्नेछ र? कति गज्जब! तपाईंले अरू जे गर् भन्नुहुन्छ म त्यही गर्नेछु, र म तपाईंको आज्ञापालन गर्नेछु, तर मलाई उचित स्वतन्त्रता हुनुपर्छ।” के यसमा समस्या उत्पन्न भएको छैन र? (छ।) के समस्या उत्पन्न भएको छ त? के यसमा मान्छेको हृदयको छलीपन छैन र? (छ।) चाहे अरू मानिसहरूसामु होस् वा परमेश्‍वरसामु, मानिसहरू आफ्नो हृदयको गहिराइमा रहेका र आफूले अरूलाई भन्न नचाहेका कुराहरू सधैँ लुकाउने कोसिस गर्छन्, यो छलीपनको मनस्थिति र स्वभाव हो, जुन हरेक व्यक्तिमा हुन्छ। यसमा अर्को पनि स्वभाव छ, र त्यो हो अहङ्कार। यसमा अहङ्कार कहाँनेर प्रकट हुन्छ? यो व्यक्तिले मनमनै सोच्थ्यो, “त्यसोभए, तपाईं यस्तो गफ र कुराकानी पनि गर्नुहुन्छ। तपाईंको बोल्ने शैलीमा त्यस्तो बिछट्टै राम्रो कुरा केही छैन, तपाईंले यी कुराहरू यतिकै भन्न मात्र सक्नुहुन्छ, र यदि मैले तपाईंलाई राम्ररी चिन्न पाएँ भने, म ती कुरा तपाईंलेभन्दा पनि राम्ररी भन्न सक्नेछु। तपाईं यस्तो तरिकाले कपडा लगाउनुहुन्छ? मेरो कपडा लगाउने शैली तपाईंकोभन्दा राम्रो छ, म तपाईंभन्दा बढी आकर्षक छु, तपाईंसँग मसँगभन्दा बढी सत्यता भएको मात्र हो। त्यसैले, समयक्रममा मैले तपाईंलाई राम्ररी चिन्न पाएपछि, म जे भन्न चाहन्छु त्यो फ्याट्टै भन्‍ने छु, र म गलत बोलिरहेको हुनेछुइनँ।” के यो अहङ्कार होइन र? (हो।) यी दुईवटा स्वभावहरू हुन्। अर्को लुकेको स्वभाव हुन्छ, के तिमीहरूले त्यो पत्ता लगाएका छौ? जब व्यक्तिले परमेश्‍वरसामु अहङ्कार, छल, र पाखण्ड प्रकट गर्छ, के हृदयको गहिराइमा उसलाई यसबारे थाहा हुन्छ? (हुन्छ।) जब उसलाई यो थाहा हुन्छ, उसले यसबारे के गर्छ? के उसले आफूलाई नियन्त्रण गर्छ? के ऊ रोकिन्छ? के उसले आफूमाथि चिन्तन गर्छ? (गर्दैन।) आफूले अहङ्कारी स्वभाव प्रकट गरेको छु भन्‍ने थाहा हुँदाहुँदै पनि आफूमाथि चिन्तन नगर्ने र आफूलाई चिन्न नखोज्ने, र यदि कसैले उसलाई त्यो कुरा औँल्याइदिए पनि उसले त्यो स्वीकार गर्नुको साटो आफूलाई बचाउनतिर लाग्छ भने त्यो कस्तो प्रकारको स्वभाव हो? (हठीपन।) त्यो ठिक हो, यो हठीपन हो। यस्तो प्रकारको हठी स्वभाव अरू मानिसहरूसामु जे-जसरी प्रकट भए पनि, र यस्तो मनोवृति जुनसुकै प्रसङ्गमा प्रकट भए पनि, त्यो हठी स्वभाव भएको व्यक्ति हो। मानिसहरू जति नै धूर्त वा छद्मभेषी भए पनि, यो हठी स्वभाव सजिलै प्रकट हुन्छ। मानिसहरू शून्यतामा नजिउने भएकोले, र तिनीहरू अरू मानिसहरूसामु भए पनि नभए पनि, सबै मानिसहरू परमेश्‍वरसामु जिउँछन्, र सबै व्यक्ति परमेश्‍वरको सूक्ष्म निगरानीमै हुन्छन्। यदि कुनै व्यक्ति प्रायः मनमौजी, ऐयास, असंयम हुन्छ, अनि उसमा यी प्रवृत्ति र भ्रष्टताका यी प्रकटीकरणहरू छन्, र यदि उसले थाहा पाउँदापाउँदै पनि मार्ग परिवर्तन गर्दैन भने, र उसले यो कुरा चिनेपछि पनि पश्‍चात्ताप गर्दैन, खुला रूपले सङ्गति गर्दैन, वा सत्यता खोजेर यो समस्या समाधान गर्दैन भने, यो हठीपन हो। हठीपनका प्रकटीकरणहरूको कुरा गर्नुपर्दा, ती दुई प्रकारका हुन्छन्: “जिद्दीपन” र “कठोरता”।[क] “जिद्दीपन” भनेको धेरै ढिपी गर्नु, आफ्नो मार्ग नबदल्नु, र नरम नहुनु हो। “कठोरता” भन्नुको मतलब अरू मानिसहरू त्यसलाई छुने आँट गर्दैनन्, र छोएमा पीडा महसुस गर्छन्। प्रायः मानिसहरू हठी स्वभाव भएकाहरूको सम्पर्कमा आउन चाहँदैनन्, ठिक त्यसरी नै जसरी मानिसहरू कठोर वस्तुहरूको सम्पर्कमा आउन चाहँदैनन् र आइहालेमा असहज महसुस गर्नेछन्; मानिसहरू नरम कुराहरू रुचाउँछन्, नरम कुराहरूको बनावटले मानिसहरूलाई सहज अनुभूति गराउँछ, र त्यसले तिनीहरूलाई आनन्द दिन्छ, जबकि हठीपन त्यसको ठिक उल्टो हुन्छ। हठीपनले मानिसहरूलाई एकखाले मनोवृति देखाउने तुल्याउँछ, र यो मनोवृति एकोहोरेपन र ढिपीपन हो। यसमा कस्तो स्वभावले काम गरिरहेको हुन्छ? हठी स्वभावले। यसको मतलब के हो भने, जब व्यक्तिले कुनै कुरा सामना गर्छ, उसलाई आफ्नो यो मनोवृति राम्रो र ठिक छैन भन्‍ने राम्ररी वा अलिअलि थाहा भए पनि, उसलाई आफ्नो हठी स्वभावले यस्तो सोच्ने तुल्याउँछ, “कसैले थाहा पाए के हुन्छ र? म त यस्तै नै हुँ!” यो कस्तो प्रकारको मनोवृति हो? उसले यो मामिला अस्वीकार गर्छ, उसलाई यो मनोवृति खराब वा परमेश्‍वरको विद्रोही हो, यो शैतानबाट आउँछ, वा यो शैतानको स्वभावको प्रकटीकरण हो भन्‍ने लाग्दैन; परमेश्‍वरले यसलाई कसरी हेर्नुहुन्छ र कति घृणा गर्नुहुन्छ भन्‍ने कुरा उसलाई पत्तो वा महसुस नै हुँदैन—यो समस्या यति गम्भीर हुन्छ। यो हठी स्वभाव असल हो कि खराब? (यो खराब हो।) यो शैतानी स्वभाव हो। यसले मानिसहरूलाई सत्यता स्विकार्न कठिन तुल्याउँछ, र पश्‍चात्ताप गर्न त झनै कठिन तुल्याउँछ। सबै शैतानी स्वभावहरू नकारात्मक कुराहरू हुन्, ती सबैलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, तीमध्ये कुनै पनि सकारात्मक कुराहरू होइनन्।

मैले भर्खरै उल्लेख गरेका तीन प्रकारका स्वभावहरू, छलीपन, अहङ्कार, हठीपन, सबै घातक कुराहरू हुन्। यदि तैँले अरू मानिसहरूसामु अहङ्कार, छलीपन, वा हठीपन प्रकट गर्छस् भने, तँसँग खराब स्वभाव वा दरिद्र मानवता मात्र हुन्छ; तर यदि तैँले परमेश्‍वरसामु अहङ्कार, छलीपन, वा हठीपन प्रकट गर्छस् भने, यो परमेश्‍वरको प्रतिरोध गर्नुको प्रकटीकरण हो, र यसले उहाँको स्वभाव चिढ्याउन सक्छ—यदि तैँले पश्‍चाताप गर्दैनस् भने, यो एकदमै खतरनाक हुनेछ। यदि तैँले यी स्वभावहरू अरू मानिसहरूको अगाडि प्रकट गर्छस् भने, तिनीहरूले यसलाई गम्भीरतापूर्वक लिँदैनन्; तर यदि तैँले यी भ्रष्ट स्वभावहरू त्यसरी नै परमेश्‍वरको अगाडि पनि प्रकट गर्छस् भने, तैँले परमेश्‍वरको प्रतिरोध गरिरहेको र उहाँको स्वभाव चिढ्याइरहेको हुनेछस्। यो नियतवश वा जानाजानी नभए पनि, तैँले यो तेरो शैतानी प्रकृतिको प्रभुत्वमा रही अन्जानमा गर्नेछस्। त्यसकारण, जब तेरो भ्रष्ट स्वभाव प्रकट हुन्छ, यदि तैँले आफ्नो बारेमा मनन गरेर सत्यताद्वारा त्यसलाई समाधान गर्न सक्दैनस् भने, ढिलोचाँडो यो रोग बन्नेछ, र यो पुरानो रोग बल्झिनेबित्तिकै यो धेरै कष्टदायी हुनेछ। यदि तैँले बारम्बार परमेश्‍वरको स्वभाव चिढ्याउँछस् भने, तँलाई निश्‍चय नै निष्कासित गरिनेछ।

मैले भर्खरै दिएको उदाहरणमा, त्यो व्यक्तिले अरू कस्तो स्वभाव देखाउँछ? (सत्यताबाट दिक्क हुने।) कुन भागले देखाउँछ कि ऊ सत्यताबाट दिक्क छ? बाहिरी रूपमा, उसले सत्यतालाई प्रेम गर्छ, उसलाई लाग्छ कि परमेश्‍वरले जे चाहनुहुन्छ त्यो गर्नु, अनि उसको कर्तव्य जे हो र जुन कुरा मण्डलीको कामको दायराभित्र पर्छ त्यो गर्नु उसको दायित्व हो, अनि उसलाई कसरी सत्यताबाट दिक्क भएको भनेर भन्न सकिन्छ? (उसले सत्यता कहिल्यै खोजी गरेन।) उसले सत्यता कहिल्यै खोजी गरेन; त्यो स्पष्ट प्रमाण हो। त्यसोभए, व्यवहार वृतान्त हेर्दा, के-कस्ता प्रकटीकरणहरूले देखाउँछन् कि ऊ सत्यताबाट दिक्क भएको छ? (जब परमेश्‍वरले गर्न लगाउनुभएको कुरा उसको आफ्नो इच्छासँग बाझियो, उसले परमेश्‍वरको इच्छा खोजी गर्नुको सट्टा आफ्नै इच्छा रोज्यो।) व्यवहार वृतान्त त्यही हो। सत्यताबाट दिक्क हुने स्वभाव मुख्यतया मानिसहरूमा कसरी प्रकट हुन्छ? जब सकारात्मक कुरा देख्छन्, तिनीहरूले यसलाई सत्यताद्वारा मापन गर्दैनन्—अनि तिनीहरूले यसलाई मापन गर्न के प्रयोग गर्छन्? तिनीहरूले यसलाई मापन गर्न र यो ढङ्ग पुर्‍याएर गरिएको छ कि छैन, यसको स्वरूप कस्तो छ, र यो कति राम्रो छ भनेर हेर्न शैतानको तर्क प्रयोग गर्छन्। तिनीहरूले सबै कुराहरूको मापन शैतानले मानिसहरूको मूल्याङ्कन गर्न प्रयोग गर्ने विधिहरूद्वारा, अर्थात् अविश्‍वासीहरूले मानिसहरूको मूल्याङ्कन गर्न प्रयोग गर्ने सिद्धान्त तथा विधिहरूद्वारा गर्छन्। तिनीहरूले कामकुरा गर्दा सत्यता खोज्दैनन्, र तिनीहरूले गर्ने सबै कार्यहरूको सुरुवाती बिन्दु भनेकै सत्यतालाई पन्छाउँदै तिनीहरूको आफ्नै कल्पना र दृष्टिकोणहरू तथा तिनीहरूले प्राप्त गरेको जीवन दर्शन र ज्ञान प्रयोग गरेर तिनीहरूका कार्यहरू मापन गर्नु हो—तिनीहरू हरेक कामकुरा यसरी नै गर्छन्। तिनीहरूले मानव दृष्टिकोण र शैतानका तर्कहरूलाई आफ्नो मापकको रूपमा प्रयोग गर्छन्, र बारम्बार मापन गरेपछि, तिनीहरूलाई आफ्नो नजरमा, आफूजत्तिको राम्रो अरू कोही छैन—मै सर्वोत्तम हुँ भन्‍ने लाग्छ। के तिनीहरूको हृदयमा मानवजातिको लागि चाहिने परमेश्‍वरका मापदण्डहरू छन्? के त्यसमा सत्यताका कुनै सिद्धान्तहरू छन्? छैनन्, एउटै पनि छैनन्। तिनीहरूले मानवजातिको लागि चाहिने परमेश्‍वरका मापदण्डहरू देख्दैनन्, तिनीहरूले सत्यता सबै सकारात्मक चीजहरूको वास्तविकता हुन्छ भन्‍ने देख्दैनन्, तिनीहरूले सत्यता सबै चीजहरूभन्दा माथि हुन्छ भन्‍ने देख्दैनन्, त्यसैले तिनीहरूले स्वतः देहधारी परमेश्‍वरलाई नजरअन्दाज गर्छन्, र तिनीहरूसँग देहधारी परमेश्‍वरको पोशाक शैली, र बोलीवचन तथा व्यवहारबारे सधैं धारणाहरू हुन्छन्। त्यसैले, लामो हिमचिमश्‍चात्, तिनीहरूले यस्तो सोच्छन्, “तपाईं मैले कल्पेजस्तो सम्मानित, प्रतापी, र प्रखर हुनुहुन्न, र तपाईँसँग मेरो जतिको परिष्कृतता पनि छैन। के म यहाँ उभिँदा मसँग उच्च व्यक्तित्वको परिष्कृतता छैन र? तपाईंले सत्यता बोले पनि म तपाईंसँग परमेश्‍वरजस्तो केही कुरा पनि देख्दिनँ। तपाईं सधैँ सत्यताबारे कुरा गर्नुहुन्छ, तपाईं सधैँ वास्तविकतामा प्रवेश गर्ने कुरा गर्नुहुन्छ, बरु तपाईं किन केही रहस्यहरू खोल्‍नुहुन्न? तपाईं किन तेस्रो स्वर्गको भाषामा अलिअलि बोल्नुहुन्न?” यो कस्तो तर्क र दृष्टिकोण हो? (यो शैतानको दृष्टिकोण हो।) यो शैतानबाट आउँछ। तिमीहरूलाई मैले यी कुराहरू कसरी सम्हाल्छु जस्तो लाग्छ? (तपाईं यसप्रकारको व्यक्तिलाई घृणा गर्नुहुन्छ र तपाईं तिनीहरूसँग अन्तरक्रिया गर्न अनिच्छुक बन्‍नुहुन्छ।) तिमीहरू गलत छौ। तिमीहरूले सोचेभन्दा विपरीत, जब त्यस्ता व्यक्तिहरूसित जम्काभेट हुन्छ, म तिनीहरूको नजिक जान्छु र तिनीहरूसँग सामान्य रूपमा सङ्गति गर्छु, र मैले जे सक्छु त्यो प्रदान गर्छु र जसरी सक्छु त्यसरी सहयोग गर्छु। यदि तिनीहरू ढिपीवाल र जिद्दी छन् भने, म तिनीहरूसँग सामान्य रूपमा मिल्न सक्ने मात्र नभई, तिनीहरूसँग सकेसम्म धेरै कुराहरू छलफलसमेत गर्नेछु। मैले यसो भन्‍ने छु, “तिमीलाई यो तरिकाले काम गरेर हुन्छ जस्तो लाग्छ? तिमीलाई उचित लाग्ने यी विधिहरूमध्ये कुनै एउटा प्रयोग गर, र यदि तिमीलाई यीमध्ये कुनै पनि उचित छैन भन्‍ने लाग्छ भने, यो समस्या समाधान गर्नेबारे आफ्नै तरिका सोच।” यसप्रकारका व्यक्तिहरूले आफूलाई जति ठूला ठान्छन्, त्यति नै म तिनीहरूसँग यसरी नै घुलमिल गर्छु; म कसैको अगाडि ठालु पल्टिनेछैन। यदि दुईवटा कुर्सीहरू छन्, र एउटा अग्लो र अर्को होचो छ भने, म तिनीहरूलाई अग्लो कुर्सीमा बस्न दिनेछु, र म होचो कुर्सीमा बस्नेछु। म तिनीहरूसँग आफ्नो शिर माथितिर फर्काएर कुरा गर्नेछु, र अन्त्यमा तिनीहरूलाई लज्जित महसुस गराउनेछु, र तिनीहरूलाई तिनीहरूसँग कुनै सत्यता छैन, तिनीहरू दरिद्र र दयनीय, अनि बोधा र मन्दबुद्धिका छन् भन्‍ने महसुस गराउनेछु। तँलाई यो विधि कस्तो लाग्छ? (यो राम्रो छ।) त्यसोभए, यदि मैले तिनीहरूलाई बेवास्ता गर्थेँ भने, के यो तिनीहरूको लागि राम्रो हुन्थ्यो? वास्तवमा, त्यसमा गलत कुरा केही छैन, तर यसले तिनीहरूलाई केही राम्रो पनि गर्दैन। यदि तिनीहरूले परमेश्‍वरमा केही इमानदारीसाथ विश्‍वास गर्छन्, तिनीहरूमा केही मानवता छ, र तिनीहरूलाई मुक्ति दिन सकिन्छ भने, तिनीहरूसँग मैले अन्तरक्रिया गर्नु ठीकै हुन्छ। अन्ततः एकदिन, यदि तिनीहरूले सत्यता बुझ्छन् भने, तिनीहरू बस्नलाई आफैँ होचो कुर्सी रोज्नेछन्, र घमण्डी हुन छोड्नेछन्। यदि मैले तिनीहरूलाई बेवास्ता गरेँ भने, तिनीहरू सधैँभरि यतिकै अज्ञानी र मूर्ख रहिरहनेछन्, मूर्ख कुराहरू बोल्दै र गर्दै हिँड्नेछन्, र तिनीहरू सधैं मूर्ख, गरिब र दयनीय हुनेछन्—यो सत्यता नपछ्याउने मानिसहरूको कुरूप स्थिति हो। मानिसहरूले सकारात्मक कुराहरूलाई हेयको दृष्टिले हेर्ने र तिरस्कार गर्ने गर्छन्, र जब तिनीहरूले इमानदार, प्रेमिलो र सधैं सत्यता अभ्यास गर्ने तर कहिलेकाहीँ विवेकको कमी हुने व्यक्ति देख्छन्, तिनीहरूले उनीहरूलाई आफ्नो हृदयदेखि नै तिरस्कार गर्छन्। तिनीहरू सोच्छन् कि त्यस्तो व्यक्ति बेकार र केही न कामको छ, जबकि तिनीहरू आफू भने चतुर छन्, हिसाकिताब गर्नमा राम्रो, षड्यन्त्र र जालझेलमा माहिर छन्, तिनीहरूसँग साधन र वरदानहरू, र सक्षमता र वाक्पटुता छ। तिनीहरूलाई लाग्छ कि यसले तिनीहरूलाई परमेश्‍वरको छुटकाराको पात्र बनाउँछ, तर यो वास्तवमा उल्टो हुन्छ—परमेश्‍वर यस्तो व्यक्तिबाट दिक्क हुनुहुन्छ। यो सत्यता मन नपराउने र सत्यताबाट दिक्क हुने स्वभाव हो।

केही मानिसहरू मसँग लामो समयदेखि सम्पर्कमा छन् र मसँग बढी परिचित छन्, र तिनीहरूले मलाई आफ्नो साथीको रूपमा वा तिनीहरूसँग समान स्तरमा रहेको व्यक्तिलाई जस्तो व्यवहार नगरे पनि, तिनीहरूले अलिकति पनि नियन्त्रित महसुस गर्दैनन्, र समय बित्दै जाँदा, तिनीहरू झन्झन्‌ दुस्साहसी बन्दै जान्छन्‌ र तिनीहरूको हृदयमा भएका दायराहरू क्रमशः हराएर जान्छन्‌। तिनीहरू सधैँ आफूले सबथोक बुझ्छु भन्ठान्छन्, र तिनीहरूले आफूबाहेक अरू कसैले केही बुझ्दैनन् भन्ठानेर आफूले बुझेका कुराहरू प्रायः मलाई बताउँछन्। यो कस्तो स्वभाव हो? (अहङ्कार।) यो अहङ्कार हो। ती बाह्य कुराहरू एकै नजरमा बुझ्न सकिन्छ, तैपनि यी मानिसहरूले आफूलाई धेरै चलाख ठान्छन्, र यो कुरा वाक्कलाग्दो हुन्छ। यदि कुनै व्यक्तिको अहङ्कारी स्वभाव उसले सबै समझ गुमाउने बिन्दुमा पुग्छ भने, यसले तिनीहरूलाई दुष्ट काम गर्ने मार्गमा पुर्‍याउन सक्छ, र त्यसपछि तिनीहरूको अहङ्कारी स्वभाव क्रूर स्वभाव बन्नेछ। यदि कुनै व्यक्ति बाठो छ, यदि उसका वचन र कार्यहरू सधैँ षडयन्त्रले भरिपूर्ण हुन्छन्, यदि ऊ अजङ्गको व्यक्ति हो, र तँ त्यस व्यक्तिसँग हुँदा, त्यसले सधैँ तँलाई नियन्त्रण र परिबन्धमा राख्छ भने, तँलाई यो व्यक्ति दयालु लाग्छ कि क्रूर? (क्रूर।) तँ ऊदेखि डर मान्छस्, र तँ सोच्छस्, “यो व्यक्तिले सधैँ मलाई नियन्त्रण गर्न चाहन्छ। म यस व्यक्तिबाट सक्दो चाँडो टाढा जानुपर्छ। यसले भनेको मानिनँ भने, यसले मलाई बदला लिनेबारे सोच्‍नेछ र उसले मलाई कुन विधिद्वारा दण्ड दिनेछ भनेर कसलाई के थाहा।” तैँले तिनीहरूको स्वभाव क्रूर भएको अनुभूति गर्न सक्छस्, सक्दैनस् र? (सक्छु।) तैँले कसरी यस्तो अनुभव गर्न सक्छस्? (तिनीहरूले मानिसहरूलाई सधैँ आफ्नै जिद्दी सर्त र विचारअनुसार काम गर्न लगाउँछन्।) के तिनीहरूले अरूले निश्‍चित तरिकाले काम गरून् भनी उसले माग गर्नु गलत हो? के अरूले तँबाट माग गर्नु गलत नै हुन्छ त? के यो तर्क सही छ? के यो सत्यताअनुरूप छ? (छैन।) तँलाई यसरी असहज तुल्याउने तिनीहरूको शैली हो कि स्वभाव? (तिनीहरूको स्वभाव।) त्यो सही हो, तिनीहरूको स्वभावले तँलाई असहज तुल्याउँछ। यसले तँलाई यो स्वभाव शैतानबाट आएको हो, यो सत्यतासँग मिल्दैन, र यसले तँलाई बाधा, नियन्त्रण र बन्धनमा पारिरहेको अनुभव गराउँछ। यसले तँलाई असहज मात्रै तुल्याउँदैन, यसले तँलाई भयभीत तुल्याउँछ, र तिनीहरूले भनेअनुसार नगरे, तँलाई तिनीहरूले “दण्डित गर्न” सक्छन् भन्‍ने सोच्‍ने तुल्याउँछ। यस्तो व्यक्तिको स्वभाव अति आक्रमक हुन्छ! तिनीहरूले तँलाई त्यतिकै मात्र कुनै कुरा भन्दैनन्—तिनीहरूले त तँलाई नियन्त्रण गर्न चाहन्छन्। तिनीहरूले तँलाई विभिन्‍न कुरा गर्न जबरजस्ती गर्छन्, र त्यो कुरा निश्‍चित तरिकाले गर्न दबाब दिन्छन् र यो निश्‍चित प्रकारको स्वभावले भरिएको हुन्छ। तिनीहरूले तँलाई कुनै काम गर् भनेर जबर्जस्ती गर्ने मात्र होइन, तिनीहरूले तँलाई नियन्त्रण गर्नसमेत चाहन्छन्। यदि तिनीहरूले तँलाई नियन्त्रण गरे भने, तँ तिनीहरूको कठपुतली अर्थात तिनीहरूको हातको खेलौना बन्नेछस्। यदि तँ आफूले जे बोल्छस्, जे गर्छस्, र जसरी गर्छस्, त्यसको लागि तिनीहरूको पूरै कुरा सुन्छस् भने, तिनीहरू खुशी हुनेछन्। तैँले यो स्वभावबारे बुझेपछि, तँलाई हृदयमा के अनुभव हुन्छ? (मलाई डर लाग्छ।) अनि जब तँलाई डर लाग्छ, तैँले तिनीहरूको यो स्वभावलाई कसरी परिभाषित गर्छस्? के यो जिम्‍मेवार हुन्छ कि दयालु वा क्रूर हुन्छ? तँलाई यो क्रूर लाग्छ। जब तैँले कसैको स्वभाव क्रूर छ भन्‍ने बुझ्छस्, तँलाई खुशी लाग्छ कि घृणा, इन्कार र डर लाग्छ? (घृणा, इन्कार, र डर।) तँभित्र यी खराब भावनाहरू पैदा हुन्छन्। जब तँलाई घृणा, इन्कार, र डर हुन्छ, तब तँलाई मुक्त र स्वतन्त्र अनुभव हुन्छ कि बाँधिएको अनुभव हुन्छ? (बाँधिएको।) यस्ता विचार र भावना कहाँबाट आउँछन्? ती शैतानबाट आउँछन्। अनि मानिसहरूले परमेश्‍वरबाट आउने कुराहरूबाट कस्तो भावनाको आनन्द लिन्छन्? (मुक्ति र स्वतन्त्रता।) तेरो हृदय एकदमै मुक्त र स्वतन्त्र हुन्छ। तँलाई निकारण, काटछाँट, निन्दा, र अनुशासित गरिए पनि, वा न्याय र दण्ड दिइए पनि, त्यो भावना र अनुभूति कस्तो हुन्छ? (मेरो हृदयमा कृतज्ञता र पछुतो आभास हुन्छ, र मैले केही गल्ती गरेको छु भन्‍ने भावना आउँछ, अनि त्यसपछि म साँच्चिकै पश्‍चात्ताप गर्न र सही दिशामा अघि बढ्न सक्छु भन्‍ने लाग्छ। हृदयमा केही पीडा महसुस भए पनि मेरो आत्मा परमेश्‍वरको प्रेम र शान्ति तथा आनन्दमा रमाउँछ।) यसमा प्राप्त भएको परिणाम सकारात्मक हुन्छ, र यो परमेश्‍वरको कारण भएको हो। शैतानको कार्यका परिणामहरू के के हुन्? (यसले मानिसहरूलाई बन्धनमा राख्छ, र तिनीहरूले छुटकारा पाउन सक्दैनन्। तिनीहरूले आफ्नो हृदयमा कष्ट भोग्छन् र आफूलाई कसरी मुक्त गर्ने भनेर जान्दैनन्।) यसले मानिसहरूलाई बाधित महसुस गराउँछ, यसले तिनीहरूभित्र भन्नै नसकिने र अनौठो डर भरिदिन्छ, र यसले तिनीहरूको हृदयलाई बाँध्छ र बाधित महसुस गराउँछ। तिनीहरूले काम गर्न खोज्नेबित्तिकै, यसले तिनीहरूको हात र खुट्टा बाँध्छ, र तिनीहरूको सातोपुत्लो उडाउँछ। यो शैतानको काम हो, र यो शैतानबाट आएको हो। शैतान र ख्रीष्टविरोधीहरूले यसरी काम गर्दा कस्तो स्वभाव प्रकट हुन्छ? क्रूर स्वभाव प्रकट हुन्छ।

क्रूर स्वभाव भएका मानिसहरूले सधैँ अरूलाई नियन्त्रित गर्न चाहन्छन्। मानिसहरूलाई नियन्त्रित गर्नु भनेको के हो? के यो तँलाई केही शब्दहरू बोल्न निषेध गर्नु मात्र हो? के यो तँलाई निश्‍चित तरिकाले सोच्नबाट निषेध गर्नु मात्र हो? कदापि होइन—यो शब्द वा सोचको समस्या होइन, यो त तिनीहरूको स्वभाव क्रूर भएको हो। “क्रूर” शब्दमा आधारित रहेर, व्यक्तिबाट यो स्वभाव प्रकट हुँदा उसले गर्न सक्ने कुराहरू केके हुन्? सबभन्दा पहिले त त्यस्ताहरूले मानिसहरूलाई आफूअनुकूल प्रयोग गर्न चाहन्छन्। यो आफूअनुकूल प्रयोग गर्नुको अर्थ के हो? यसको मतलब मण्डलीमा जे-जस्ता घटना परिघटना घटे पनि, त्यसमा तिनीहरूले हात हाल्न, हस्तक्षेप गर्न र बन्दोबस्तहरू मिलाउन चाहन्छन्। तिनीहरूले तेरो लागि एउटा नियम बनाउँछन्, र त्यसपछि तैँले त्यो नियम पालना गर्नैपर्ने हुन्छ। यदि तैँले त्यो नियम पालना गरिनस् भने, तिनीहरू रिसाउनेछन्। तिनीहरू तँलाई आफूअनुकूल प्रयोग गर्न चाहन्छन्: यदि तिनीहरूले तँलाई पूर्व जाऊ भन्छन् भने, तैँले पूर्व जानुपर्छ, र यदि तिनीहरूले तँलाई पश्‍चिम जाऊ भन्छन् भने, तैँले पश्‍चिम नै जानुपर्छ। तिनीहरूसँग यस्तो चाहना हुन्छ, र त्यसपछि तिनीहरू यस्तो तरिकाले कार्य गर्छन्—यसलाई नै आफूअनुकूल प्रयोग गर्नु भनेर भनिन्छ। यी मानिसहरू व्यक्तिको नियति हातमा लिन, र उसको जीवन, मस्तिष्क, व्यवहार, र अभिरूचिहरू हातमा लिन र नियन्त्रण गर्न चाहन्छन्, ताकि यो व्यक्तिको मस्तिष्क, विचार, अभिरूचि, र इच्छाहरू, परमेश्‍वरले भन्नुभएअनुसारको हुनुको साटो तिनीहरूले भनेबमोजिम र चाहेअनुसारको होस्—यसलाई नै आफूअनुकूल प्रयोग गर्नु भनेर भनिन्छ। तिनीहरू सधैँ आफ्नै इच्छाअनुसार मानिसहरूलाई यो वा त्यो गर्ने बन्दोबस्त मिलाउन चाहन्छन्, तिनीहरू सिद्धान्तहरूमा आधारित रहेर कार्य गर्दैनन्, बरु आफ्नै अभिप्राय र अभिरूचिहरूमा आधारित रहेर कार्य गर्छन्। तिनीहरूले तेरो भावनाको वास्ता गर्दैनन्, तँलाई जबरजस्ती आदेश दिन्छन्, र तिनीहरूले तँलाई जे गर्नू भन्छन् तैँले त्यही गर्नुपर्छ; यदि तैँले तिनीहरूको इच्छाअनुसार काम गरिनस् भने, तिनीहरूले तँलाई ठेगान लाउनेछन् र तँलाई तँसँग वास्तवमै कुनै विकल्प छैन र त्यसमा केही गर्न सकिँदैन भन्‍ने महसुस गराउनेछन्। तँलाई तेरो हृदयमा थाहा हुन्छ कि तँ ठगी र नियन्त्रणमा परिरहेको छस्, तर तँलाई अझै पनि त्यसको वास्तविकता कसरी खुट्याउने भनी थाहा हुँदैन, र प्रतिरोध गर्ने त झन् तँलाई आँटै आउँदैन। के तिनीहरूको कार्य शैतानको व्यवहार होइन र? (हो।) यो शैतानको व्यवहार हो। शैतानले मानिसहरूलाई यसरी नै मूर्ख बनाउँछ र नियन्त्रण गर्छ, त्यसैले शैतानी स्वभाव सधैं अरूलाई नियन्त्रण गर्न र आफूअनुकूल प्रयोग गर्न खोज्ने व्यवहारको रूपमा मानिसहरूमा आफैँ प्रकट हुन्छ। मानिसहरूले अरूलाई नियन्त्रण गर्ने र आफूअनुकूल प्रयोग गर्ने यो उद्देश्य हासिल गर्न सके वा नसके पनि, तिनीहरू सबैमा यस्तो स्वभाव हुन्छ। यो कस्तो स्वभाव हो? (क्रूरता।) यो क्रूरता हो। यसलाई किन क्रूरता भनिन्छ? यस स्वभावका स्पष्ट प्रकटीकरणहरू के-के हुन्? के यसले जबर्जस्तीको अर्थ दिन्छ? (दिन्छ।) यसले जबरजस्तीको अर्थ दिन्छ, जसको मतलब तैँले सुने पनि नसुने पनि, तैँले जस्तोसुकै महसुस गरे पनि, तैँले यसलाई मन पराए पनि वा बुझे पनि, तिनीहरूले तँलाई जबर्जस्ती सुन्नैपर्छ र तिनीहरूले भनेको कुरा गर्नैपर्छ भनेर भन्छन्, तँसँग कुनै छलफल गर्दैनन्, तँलाई बोल्ने कुनै अवसर दिँदैनन्, र तँलाई कुनै स्वतन्त्रता पनि दिँदैनन्—के यसमा यो अन्तर्निहित अर्थ छैन र? (छ।) यसलाई “उग्रता” भनिन्छ, जुन क्रूरताको एउटा पक्ष हो।[ख] क्रूरताको अर्को पक्ष भनेको “दुष्टता” हो।[ग] “दुष्टता” ले केलाई जनाउँछ? यसले तँलाई नियन्त्रण गर्ने र तँलाई उनीहरूको चालबाजीमा चासो राख्न लगाउने र यसरी आफूलाई सन्तुष्ट पार्ने परिणाम हासिल गर्नको लागि जबर्जस्ती प्रशिक्षण र दमन गर्ने विधिहरू प्रयोग गर्ने मानिसहरूलाई जनाउँछ। यसलाई “दुष्टता” भनिन्छ। शैतानले त्यसका कार्यहरूमा तँलाई स्वतन्त्र इच्छा राख्नबाट, मनन गर्न र वास्तविकता खुट्याउन सिक्नबाट, अनि तेरो जीवन परिपक्व बनाउन सक्ने सत्यता बुझ्नबाट रोक्न चाहन्छ। शैतानले तँलाई ती कुराहरू गर्न दिँदैन, र त्यसले तँलाई नियन्त्रण गर्न चाहन्छ। शैतानले तँलाई सत्यता खोज्न र परमेश्‍वरको इच्छा बुझ्न दिँदैन, र त्यसले तँलाई परमेश्‍वरको अगाडि ल्याउँदैन, बरु तँलाई त्यसकै अगाडि लैजान्छ र तँलाई त्यसको कुरा सत्यता नै हो जसरी, र त्यसले जे भन्छ त्यो सही हो जसरी, र त्यो सबै कुराहरूको केन्द्र भएर तैँले त्यसको कुरा सुन्नुपर्छ र त्यसका वचनहरू सही वा गलत छन् भनेर विश्‍लेषण गर्ने प्रयास गर्नु हुँदैन जसरी तँलाई त्यसकै कुरा सुन्न लगाउँछ। जबर्जस्ती र हिंस्रक ढङ्गले मानिसहरूको व्यवहार र दिमागलाई आफूअनुकूल प्रयोग र नियन्त्रण गर्ने स्वभावलाई क्रूरता भनिन्छ। के तिमीहरूले आफ्नो दैनिक जीवनमा यी प्रकटीकरणहरू प्रायः देख्दैनौ र? (देख्छौँ।) जब तिमीहरू ती कुराहरूको सम्पर्कमा आउँछौ, के तिमीहरूलाई ती क्रूर स्वभावका प्रकटीकरणहरू हुन् भन्‍ने महसुस हुन्छ? (पहिले मैले यस्तो महसुस गर्थिनँ, तर अब बुझ्छु।) यदि अरू मानिसहरूले तिमीहरूमाथि त्यस्ता कुराहरू गर्छन् र त्यस्तो स्वभाव प्रकट गर्छन् भने, तिमीहरूले त्यो चाल पाउन र खुट्याउन सक्छौ, तर यदि तिमीहरूले नै यस्ता कुराहरू गर्छौ र यस्तो स्वभाव प्रकट गर्छौ भने, के तिमीहरूले यो समस्या हो भनेर महसुस गर्नेछौ? के तिमीहरूले “यसप्रकारको स्वभाव क्रूर हुन्छ! यसरी कार्य गर्नु मामुली कुरा होइन! सधैं मानिसहरूमाथि प्रभुत्व जमाउने चाहना र महत्त्वाकाङ्क्षा राख्नु, र मानिसहरूलाई जबर्जस्ती नियन्त्रण गर्नु गलत हो, यो शैतानी कुरा हो, यो शैतानी स्वभाव हो। म यस्तो व्यवहार गर्न सक्दिनँ, मैले सत्यतासित मिल्दो रूपमा मानिसहरूसँग व्यवहार र अन्तरक्रिया गर्ने तरिका खोज्नुपर्छ” भन्‍ने महसुस गर्नेछौ? के तिमीहरूले यस्तो अनुभूति गर्नेछौ? (छैनौँ।) यदि तिमीहरूले यस्तो अनुभूति गर्न सक्दैनौ र प्राय: यही स्वभाव प्रकट गरिरहन्छौ भने, त्यसका परिणामहरू कस्ता हुनेछन्? के तिमीहरूलाई थाहा छ? (ब्रदर-सिस्टरहरूले मसँग समय बिताउन चाहनेछैनन्, र तिनीहरूले मलाई अस्वीकार गर्नेछन्।) यो पनि एउटा परिणाम हो। यस्तो व्यक्ति अरूसँग सामञ्जस्यपूर्ण रूपले मिलेर बस्न सक्दैन, र मानिसहरूले ऊप्रति ठूलो घृणाभाव राख्नेछन्। यस्ताहरू महामारीजस्तै हुन्; तिनीहरू आइपुग्नेबित्तिकै सबलाई निस्किहाल्नुपर्छ, अनि यस्तो किन हुन्छ? कोही पनि तिनीहरूद्वारा नियन्त्रित हुन चाहँदैनन्। मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन् र परमेश्‍वरलाई पछ्याउन इच्छुक हुन्छन्, र तिनीहरू शैतानलाई पछ्याउन इच्छुक हुँदैनन्, तैपनि यसप्रकारको व्यक्ति सधैं अरूलाई नियन्त्रण गर्न चाहन्छ, अनि मानिसहरूले तिनीहरूलाई किन अस्वीकार नगरून् र? सर्वप्रथम त, तिनीहरू प्रायः ब्रदर-सिस्टरहरूबाट अस्वीकृत हुनेछन् र तिनीहरूले मानिसहरूलाई वाक्‍कदिक्क पार्नेछन्। पश्‍चात्ताप गर्न नसके, त्यस्तो व्यक्ति आफ्नो कर्तव्य उचित रूपमा वा लामो समयसम्म पूरा गर्नसमेत सक्षम नहुन सक्छ, किनभने उसले अरूसँग सामञ्जस्यपूर्वक काम गर्न सक्दैन। त्यसैले, उसलाई निष्कासित गर्नुपर्नेछ। यसबाहेक, अन्य कस्ता परिणामहरू हुनेछन्? (मण्डलीको जीवन खल्बलिनेछ।) यो अर्को परिणाम हो। त्यो व्यक्ति ब्रदर-सिस्टरहरूमाझ कलङ्क बन्नेछ, र उसले मण्डलीको जीवन खल्बल पार्नेछ। यसको कारण व्यक्तिगत रूपमा उसले के गुमाउनेछ? (उसले जीवन वृद्धि हासिल गर्न सक्नेछैन।) उसले निश्‍चय नै जीवन वृद्धि हासिल गर्न सक्नेछैन, त्यसोभए अन्तिम परिणाम के हुनेछ? ऊ अवश्य दण्डित र निष्कासित हुनेछ। जो सधैँ आफ्ना ब्रदर-सिस्टरहरूद्वारा अस्वीकार हुन्छ, जसले जीवन वृद्धि कहिल्यै हासिल गर्न सक्दैन, र जो सधैँ मानिसहरूलाई नियन्त्रण गर्न, तिनीहरूलाई उसको कुरा सुन्‍ने पार्न, र तिनीहरूको हृदयमा परमेश्‍वरको स्थान लिन चाहन्छ, र अन्ततः आफै एक्लो बन्छ, र जो अझै पनि पश्‍चात्ताप गर्दैन र कहिल्यै परिवर्तन हुँदैन, त्यस्तो व्यक्तिलाई परमेश्‍वरले कसरी सम्हाल्नुहुनेछ? ल भन्, के परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनुहुन्छ कि गैरमानवजातिलाई? (मानवजातिलाई।) त्यसोभए परमेश्‍वरले यस्तो व्यक्तिलाई कसरी परिभाषित गर्नुहुन्छ? (एक गैरमानवको रूपमा।) परमेश्‍वरले त्यस्तो व्यक्तिलाई गैरमानवको रूपमा परिभाषित गर्नुहुन्छ, र उहाँले उसलाई बचाउनुहुन्न। त्यसोभए के उसको अन्त्य पूर्वनिर्धारित छैन? यस्तो व्यक्तिको कुनै आशा हुँदैन, उसले जिउनुको कुनै मूल्य हुँदैन। परमेश्‍वरद्वारा गैरमानव भनेर परिभाषित हुनु निकै दयनीय कुरा हो!

जीवन प्रवेश पछ्याउनलाई दैनिक जीवनका हर मामिलाहरूमा आफ्ना वचन, कर्म, सोच र विचारहरू जाँच्‍नु, आफ्नो स्थिति बोध गर्नु र तत्पश्‍चात यी कुराहरूलाई परमेश्‍वरको वचनसँग तुलना गर्नु, सत्यता खोजी गर्नु, र आफूले बुझेजति सत्यता सक्दो लागू गर्नु आवश्यक छ। अभ्यास र अनुभव गर्ने क्रममा, व्यक्तिले आफ्नो स्थितिलाई पनि निरन्तर जाँच्नुपर्छ, र सत्यता अभ्यासमा बाधा पुर्‍याउने अन्य कस्ता नकारात्मक स्थिति र कुराहरू उसको मनमा रहेका छन् भनी हेर्नुपर्छ, र यी कुराहरू पत्ता लगाएपछि उसले यी असामान्य स्थितिहरूलाई समाधान गर्न परमेश्‍वरलाई प्रार्थना र बिन्ती गर्न आवश्यक छ—यो कुराले उसले आफूले बुझेका सत्यताहरू व्यवहारमा लागू गर्न सक्छ भन्‍ने कुरा सुनिश्‍चित गर्नेछ। व्यक्तिले नकारात्मक स्थिति, धारणा, र कल्पनाहरूलाई निरन्तर समाधान गर्नु नै उसले सत्यताहरू व्यवहारमा लागू गर्न सक्छ भन्‍ने कुरा सुनिश्‍चित गर्ने एक मात्र तरिका हो। सत्यताको जुनसुकै पक्ष व्यवहारमा लागू गरिँदै गरिएको भए पनि, त्यसमा निश्‍चित कठिनाइहरू हुनेछन्, र परिवेश तथा प्रसङ्ग बदलिँदा नयाँ कठिनाइहरू उत्पन्न हुनेछन्। यसबाहेक, मानिसहरूका विभिन्न धारणा, कल्पना, र दूषित अभिप्रायहरूले तिनीहरूलाई सत्यता अभ्यास गर्नबाट रोक्न सक्छन्, त्यसैले विभिन्न परिवेश र प्रसङ्गहरूमा र हरप्रकारका मामिलाहरूमा आफूले सत्यता सिद्धान्तहरूअनुरूप सत्यता अभ्यास गर्न सक्‍ने कुरा सुनिश्‍चित गर्न तिनीहरूले प्रायः सत्यता बुझ्नेहरूसँग खुलस्त भएर सङ्गति गर्नुपर्छ, र सत्यता वास्तविकतामा प्रवेश गर्ने मार्ग खोज्दै सत्यता सिद्धान्तहरू खोजी गर्नुपर्छ। यस तरिकाले प्रवेश गर्ने खोज र अभ्यास गरेर मात्र सत्यता वास्तविकतामा प्रवेश गर्न सकिन्छ। यदि मानिसहरूले आफ्नो बारेमा प्रायः चिन्तन गर्दैनन् भने, तिनीहरूले आफ्नै स्थितिहरू बुझ्न सक्नेछैनन्, र तिनीहरूले सत्यता अभ्यासमा कठिनाइहरू कहाँ छन् र बाधाहरू कति ठूला छन् भनेर थाहा पाउनेछैनन्, त्यसैले तिनीहरूले व्यवहारमा सत्यता लागू गर्न सक्ने सुनिश्‍चितता गर्न सक्नेछैनन्। आफूलाई चिन्‍ने र आफ्नै स्थितिहरूबारे बोध राख्नेहरूले मात्र परमेश्‍वरमा भरोसा गर्न र उहाँतर्फ हेर्न अनि व्यवहारमा सत्यता सजिलै लागू गर्न सक्छन्। जो आफूलाई चिन्दैनन् तिनीहरू सधैं आफ्ना धारणा र कल्पनाहरूको आधारमा नियमहरू पालना गर्छन्, त्यसैले तिनीहरूले सामना गर्ने बाधाहरू धेरै र तिनीहरूका कठिनाइहरू ठूला हुन्छन्। खासमा, मानिसहरूले सामना गर्ने सबैभन्दा ठूलो कठिनाइ तिनीहरूको आफ्नो भ्रष्ट स्वभावमा निहित हुन्छ, र त्यसपछि तिनीहरूले अभ्यासका सिद्धान्तहरू नबुझ्‍नु अर्को कठिनाइ हो। यी दुई समस्याहरू समाधान भइसकेपछि मानिसहरूलाई व्यवहारमा सत्यता लागू गर्न सजिलो हुन्छ। परमेश्‍वरको आज्ञाकारी व्यक्ति बन्न र सत्यता वास्तविकतामा प्रवेश गर्न, व्यक्तिले सर्वप्रथम व्यवहारमा सत्यता लागू गर्ने काम गर्नुपर्छ; यदि कसैले प्रत्येक दिन सामना गर्ने विभिन्न मामिलाहरूमा सत्यताका धेरै पक्षहरू व्यवहारमा लागू गर्न सक्छ भने, तिनीहरू पहिले नै सत्यता वास्तविकतामा प्रवेश गरिसकेका हुन्छन्। यदि तँ निरन्तर रूपले यसरी नै आफूलाई तालिम दिन्छस्, र आफ्नो बारेमा चिन्तन गर्छस् र परमेश्‍वरको वचनअनुरूप अभ्यास गर्ने मार्ग खोज्छस् भने, तँ बिस्तारै आफ्नो भ्रष्ट स्थिति समाधान गर्न सक्षम हुनेछस्, र तैँले सत्यता अभ्यास गर्ने र त्यसमा प्रवेश गर्ने बाटो भेट्नेछस्। सोही समयमा, तैँले सत्यताका सबै पक्षहरूलाई व्यवहारमा लागू गर्न चाहिने सिद्धान्तहरूको आधारभूत बुझाइ पनि प्राप्त गर्नेछस्। जब कुनै व्यक्तिमा यी स्थितिहरू र सत्यताका सबै पक्षहरूबारे साँचो बुझाइ हुन्छ, उसको हृदयले पूर्णता पाएको महसुस गर्नेछ, र उसमा बढ्दो रूपमा प्रचुरता आउनेछ; ऊ अब फेरि बोधो र बुद्धु, वा दरिद्र र दयनीय बिलकुलै देखिनेछैन। आजकल, धेरैजसो मानिसहरू बाह्य मामिलाहरूबारे अलिअलि कुरा गर्न सक्छन्, तर सही र गलतको विषयमा सही दृष्टिकोण व्यक्त गर्न लगाउँदा, र यी मामिलाहरूबारे तिनीहरूको बुझाइका साथै यी कुराहरू सम्हाल्‍ने विधिहरू, र अभ्यास गर्ने मार्गहरूबारे कुरा गर्दा धेरैजसोमा स्पष्ट बुझाइको कमी हुन्छ र तिनीहरू भित्री रूपमा पूरै खाली हुन्छन्। कतिपय मानिसहरूले यस्तो भन्न सक्छन्, “तपाईं गलत हुनुहुन्छ, हामी भित्री रूपमा पूरै खाली छैनौं। हामीलाई थाहा छ कि वर्षामाथि परमेश्‍वरको सार्वभौमिकता छ, परमेश्‍वरले नै वसन्त ऋतुमा रूखहरूले मुना लगाउने बन्दोबस्त गर्नुहुन्छ, परमेश्‍वरले तोक्नुभएका नियमहरूले नै चराहरूले गुँड बनाउने समय, र विविध फूलहरू थरीथरीका र धेरै रंगका हुने, र रूखका पातहरू हरियो हुने कुराहरू निर्धारण गर्छन्—ती कुराहरू परमेश्‍वरको यावत्‌ थोक सृष्टिका नियमहरू हुन्, र ती परमेश्‍वरद्वारा तोकिएका हुन्छन्। हामीलाई थाहा छ कि हामीले परमेश्‍वरले तोक्नुभएका नियमहरूअनुसार जिउनुपर्छ, बिहान उठ्ने, राती सुत्ने र दिनमा तीनपटक खाने गर्नुपर्छ, र हामीलाई यो पनि थाहा छ कि मानवजातिको जन्म, बुढ्यौली, रोग र मृत्युका नियमहरू छन् र कसैले पनि यी कुराहरू तोड्न सक्दैन। साथै, हामी परमेश्‍वरबारे गुनासो गर्दैनौं—हामी आज बाँच्न सक्षम भएकोमा परमेश्‍वरलाई धन्यवाद दिन्छौँ, र यदि हामी भोलि मर्ने हो भने पनि परमेश्‍वरलाई यसरी नै धन्यवाद दिनेछौँ। हामी दरिद्र, बोधो र बुद्धु छैनौँ।” के यी धर्मसिद्धान्तहरू मात्र बुझ्नु सत्यता बुझ्नुसरह हो? के यो सत्यता वास्तविकतामा प्रवेश गर्नु हो र? (होइन।) यी कुराहरू बुझ्नु भनेको पहिलो चरण मात्र हो, र यी मानिसहरूले बुझ्नैपर्ने कुराहरू पनि हुन्, तर तिनीहरूले सबैभन्दा बढी बुझ्नुपर्ने कुराचाहिँ तिनीहरूले कसरी जिउनुपर्छ, तिनीहरूले के कुराहरूद्वारा जिउनुपर्छ, र तिनीहरूले कस्ता कर्तव्यहरू पूरा गर्नुपर्छ भन्‍ने हो। यदि तँ आफ्नो भ्रष्ट स्वभावहरू समाधान गर्न सत्यता खोज्न सक्दैनस् भने, तेरो जीवन प्रवेश हुनेछैन, र तैँले सत्यता र जीवन प्राप्त गर्नेछैनस्, अनि के परमेश्‍वरमा राखिने यसप्रकारको आस्था खोक्रो हैन र? यसको मतलब तँ भित्री रूपमा पूरै खाली छस्। अरूहरूले भन्छन्, “विगतमा, म कदमा सानो थिएँ र मलाई थाहा थिएन कि ममाथि आइपर्ने सबै कुराहरू परमेश्‍वरद्वारा योजनाबद्व गरिएका हुन्छन्, र मलाई यी कुराहरूलाई कसरी हेर्ने वा सम्हाल्ने भन्‍ने पनि थाहा थिएन, र जब यी कुराहरू आइपरे, म अलमलमा परेँ र मैले मानव विधिहरू प्रयोग गरेर तिनलाई सम्हालेँ। अब म बुझ्छु कि दैनिक रूपमा घट्ने घटनाहरू, जतिसुकै झिना भए पनि, सबै परमेश्‍वरद्वारा योजनाबद्व गरिएका हुन्छन्, र सबै कुराहरू परमेश्‍वरद्वारा तोकिएका हुन्छन्, र म भन्छु, ‘परमेश्‍वर, म तपाईंलाई तपाईंको सार्वभौमिकताको लागि धन्यवाद दिन्छु, र म मेरो भाग्य तपाईंको हातमा र तपाईंको योजनाबद्व कार्यको कृपामा राख्न तयार छु; म विद्रोह गर्न चाहन्नँ, म तपाईंका वचनहरू सुन्न चाहन्छु, र म मेरो कर्तव्य अवश्य राम्ररी पूरा गर्नेछु र यसप्रति मेरो भक्ति तथा मेरो सबै प्रयत्न अर्पित गर्नेछु!' यो सबै बुझ्दा बुझ्दै पनि म अझै दरिद्र र दयनीय कसरी हुन सक्छु?” वास्तवमा, तिनीहरू दरिद्र र दयनीय छन्। म किन यसो भन्दै छु? (किनभने तिनीहरूलाई आफ्नो शैतानी स्वभाव र आफ्नो प्रकृति सारको ज्ञान छैन; तिनीहरूले धेरै आत्मिक सिद्धान्तहरूबारे कुरा गर्न सक्छन्, तर जब कुनै घटना घट्छ, तिनीहरू अझै पनि आफ्नो शैतानी स्वभावअनुसार नै जिउँछन्, र परमेश्‍वरमा विश्‍वास गरेको वर्षौं हुँदा पनि तिनीहरूको जीवन स्वभाव अलिकति पनि परिवर्तन भएको छैन।) तिनीहरूले बुझ्ने भनेको तिनीहरूले ओढेको झूटो आत्मिक आवरण मात्र हो; तिनीहरूमा परमेश्‍वरको विश्‍वासीको स्वरूप र सन्तको शिष्टता भएजस्तो देखिन्छ, र तिनीहरूले केही गहन र आत्मिक धर्मशास्‍त्रीय सिद्धान्तहरूमा पोख्तता हासिल गरेजस्तो देखिन्छ, तर तिनीहरूले जे बुझ्छन् त्यो सत्यता होइन, त्यो एकप्रकारको धर्मशास्‍त्रीय सिद्धान्त मात्र हो। यसले व्यक्तिको जीवन दिशा, वा विभिन्‍न कुराहरूबारे उसको दृष्टिकोण वा संसारसँग व्यवहार गर्ने सिद्धान्तहरू परिवर्तन गर्न सक्दैन, यसले व्यक्तिको भ्रष्ट स्वभाव परिवर्तन गर्न त झनै सक्दैन। यी धर्मशास्‍त्रीय सिद्धान्तहरू, यी आत्मिक धर्मसिद्धान्तहरूले परमेश्‍वरसँगको व्यक्तिको सम्बन्ध सामान्य बनाउन, वा उसलाई आफ्नै भ्रष्ट स्वभावहरू चिन्न सक्षम तुल्याउन, वा उसलाई यी भ्रष्ट स्वभावहरू त्याग्ने तुल्याउन कदापि सक्दैन, यी कुराहरूले उसलाई परमेश्‍वरको काम अनुभव गरेर परमेश्‍वरलाई बुझ्ने र पालन गर्ने बिन्दुसम्म पुग्ने तुल्याउन सक्‍ने त कुरै नगरौँ। त्यसकारण, यी तथाकथित आत्मिक वचनहरू र धर्मसिद्धान्तहरूले मानिसहरूलाई थोरै पनि फाइदा पुऱ्‍याउँदैनन्, बरु तिनीहरूलाई अहङ्कारी तथा अभिमानी र परमेश्‍वरप्रति बढ्दो अवज्ञाकारी र प्रतिरोधी बनाउँछ, किनकि यी सडेका कुराहरूको सत्यतासँग कुनै सरोकार छैन र यी सबै पाखण्डी कुरा हुन् जसलाई पूर्ण रूपमा त्याग र इन्कार गर्नुपर्छ।

अहिले, परमेश्‍वरमा विश्‍वास गर्नेहरूले पछ्याउनुपर्ने महत्त्वपूर्ण कुरा के हो? (स्वभाव परिवर्तन।) के धेरै धर्मसिद्धान्तहरूबारे कुरा गरेर व्यक्तिको स्वभाव परिवर्तन हुन सक्छ? (सक्दैन।) स्वभाव परिवर्तन भनेको ठ्याक्कै के हो? के स्वभाव परिवर्तनको मतलब व्यक्तिको चरित्र परिवर्तन हुनु, र ऊ अविश्‍वसनीय रूपमा मिजासिलो, मिलनसार र सबैको प्यारो बन्‍नु भन्‍ने हो र? के स्वभाव परिवर्तनको अर्थ व्यक्ति चुपचाप हुनु र बोल्न वा हाँस्न हिचकिचाउनु हो र? के स्वभाव परिवर्तन हुनुको अर्थ निखारिएको, अनुभवी र परिपक्व बन्‍नु भन्‍ने हो र? (होइन।) त्यसोभए स्वभाव परिवर्तन भनेको के हो त? आफ्नो स्वभाव परिवर्तन गर्नको लागि सबैभन्दा पहिले बुझ्‍नुपर्ने कुरा के हो? सर्वप्रथम, व्यक्तिले स्वभाव परिवर्तन हासिल गर्ने आधार के हो भनेर बुझ्‍नुपर्छ, अर्थात् उसले पहिले शैतानद्वारा भ्रष्ट तुल्याइएपछि मान्छेको प्रकृति सार र मान्छेको स्वभाव कस्तो भएको छ भनेर पहिचान गर्नुपर्छ। यसले तिनीहरूलाई आफ्नै भ्रष्टताको सत्यता चिन्न सक्षम तुल्याउँछ। उदाहरणको लागि, केही मानिसहरू विशेष रूपमा छली हुन्छन्, र यो छलीपन तिनीहरूको प्रकृति र स्वभाव पनि हो; कतिपय मानिसहरू विशेष रूपमा अहङ्कारी हुन्छन्, र यो अहङ्कार तिनीहरूको प्रकृति र स्वभाव पनि हो। म एउटा उदाहरण दिन्छु। मानौँ तँलाई केही आइपर्दा त्यसबारे तँसित आफ्नै अभिप्रायहरू हुन्छन्। जब यी अभिप्रायहरू देखा पर्छन्, त्यो के कुराको नियन्त्रणमा हुन्छ? पहिलो, निश्‍चय नै त्यो तेरो व्यक्तित्वको नियन्त्रणमा हुँदैन, न त त्यो तेरो पारिवारिक पृष्ठभूमिको नियन्त्रणमा हुन्छ, र त्यो अरू कुनै व्यक्तिको नियन्त्रणमा हुने त कुरै नगरौँ। तेरा अभिप्रायहरू तेरै स्वभावको नियन्त्रणमा हुन्छन्। त्यसकारण, तैँले यो कुन स्वभाव हो, यो अहङ्कार, दुष्टता, क्रूरता, हठीपन वा कुन स्वभाव हो भनेर पत्ता लगाउन सबैभन्दा पहिले आफैलाई जाँच्नुपर्छ। जब तैँले यसलाई बुझेको हुन्छस्, तब यो स्वभावले कस्ता स्थितिहरू निम्त्याउनेछ भनी पत्ता लगाउन आफैलाई थप जाँच गर्। उदाहरणको लागि छलीपनलाई हेर्। जब मानिसहरू छलमा संलग्‍न हुन्छन्, यो के-कस्ता अभिप्रायहरूबाट आउँछन्? तिनीहरू के उद्देश्य हासिल गर्न खोजिरहेका हुन्छन्? कुनै अपवाद छैन, यो प्रतिष्ठा, लाभ र हैसियत प्राप्त गर्नको लागि हो; समग्रमा, यो तिनीहरूको आफ्‍नै हितको लागि हो। अनि, त्यो स्वार्थको खोजीको केन्द्रमा के लुकेको हुन्छ? यसको कारण के हो भने मानिसहरूले तिनीहरूका आफ्‍नै हितहरूलाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। तिनीहरू आफूलाई फाइदा पुर्‍याउनको निम्ति छलमा संलग्‍न हुन्छन्, र त्यसरी तिनीहरूको छली स्वभाव प्रकट हुन्छ। यो समस्यालाई कसरी समाधान गर्नुपर्छ? सुरुमा तैँले हितहरू के हुन्, तिनले मानिसहरूलाई ठ्याक्कै के दिन्छन्, र तिनको पछि लाग्दा के-कस्ता परिणामहरू आउँछन्, त्यो खुट्याउनु र जान्‍नुपर्छ। यदि तैँले त्यस्तो गर्न सक्दैनस् भने, तिनलाई त्याग्‍ने काम भन्‍न सजिलो तर गर्न गाह्रो हुन्छ। यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरूको लागि आफ्‍ना हितहरू त्याग्‍नुजत्तिको गाह्रो अरू केही हुँदैन। किनभने तिनीहरूको जीवनदर्शन नै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” र “धनी बन्‍न मान्छेले जे पनि गर्छ” भन्‍ने हुन्छ। स्पष्‍टै छ, तिनीहरू आफ्‍नै हितहरूका लागि जिउँछन्। मानिसहरूले के सोच्छन् भने तिनीहरूका हितहरूविना—यदि तिनीहरूले आफ्‍ना हितहरू गुमाउने हो भने—तिनीहरू बाँच्‍न सक्ने थिएनन्। मानौँ तिनीहरूको अस्तित्वलाई तिनीहरूका हितहरूबाट अलग गर्न सकिँदैन, त्यसकारण धेरैजसो मानिसहरू आफ्‍नै हितहरूबाहेक अरू केही देख्दैनन्। तिनीहरूतिनीहरूका आफ्नै हितहरूलाई अरू कुनै पनि कुराभन्दा उच्‍च ठान्छन्, तिनीहरू आफ्‍नै हितका लागि जिउँछन्, र तिनीहरूलाई तिनीहरूका हितहरू त्याग्‍न लगाउनु भनेको ज्यान दिन लगाउनुजत्तिकै हुन्छ। त्यसो भए त्यस्तो परिस्थितिमा के गर्नुपर्छ? मानिसहरूले सत्यता स्वीकार गर्नैपर्छ। तिनीहरूले सत्यता बुझेपछि मात्रै आफ्ना हितहरूको सारलाई देख्‍न सक्छन्; त्यसपछि मात्रै तिनीहरूले आफूले औधी प्रेम गरेको कुरालाई त्याग्‍न, इन्कार गर्न, र त्यसरी त्याग्दाको पीडालाई सहन सक्छन्। अनि, जब तैँले यसो गर्न सक्छस्, र आफ्‍नै हितहरूलाई त्याग्‍न सक्छस्, तब तैँले हृदयमा त्यति नै ढुक्‍क र त्यति नै शान्ति प्राप्त गर्छस्, र त्यसो गरेर तैँले देहलाई जितेको हुनेछस्। यदि तँ आफ्‍ना हितहरूमै अल्झिरहन्छस् र तिनीहरूलाई त्याग्न अस्वीकार गर्छस्, अनि तैँले थोरै सत्यता पनि स्वीकार गर्दैनस् भने—तैँले मनमा यसो भन्न सक्छस्, “आफूलाई लाभ पुर्‍याउन कोसिस गर्नु र कुनै पनि घाटा बेहोर्न नमान्‍नुमा के गलत छ र? परमेश्‍वरले त मलाई दण्ड दिनुभएको छैन, मानिसहरूले मलाई के नै गर्न सक्छन् र?”—कसैले पनि तँलाई केही गर्न सक्दैन, तर परमेश्‍वरमा विश्‍वास राखेर, तँ अन्त्यमा सत्यता र जीवन प्राप्त गर्न असफल हुनेछस्। यो तेरो लागि ठूलो घाटा हुनेछ—तैँले मुक्ति प्राप्त गर्न सक्नेछैनस्। योभन्दा ठूलो पछुतो अरू कुनै छ र? आफ्‍नै हितहरूको पछि लाग्दा अन्त्यमा प्राप्त हुने कुरा यही हो। यदि मानिसहरूले प्रतिष्ठा, लाभ र हैसियतको मात्रै खोजी गर्छन् भने—यदि तिनीहरूले आफ्‍नै हितहरूको मात्रै खोजी गर्छन् भने—तिनीहरूले कहिल्यै पनि सत्यता र जीवन प्राप्त गर्नेछैनन्, र अन्त्यमा, तिनीहरूले नै घाटा बेहोर्नुपर्छ। परमेश्‍वरले सत्यता खोजी गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। यदि तँ सत्यता स्वीकार गर्दैनस् भने, र यदि तँ आफ्‍नो भ्रष्ट स्वभावको बारेमा मनन गर्न र त्यसबारेमा जान्‍न सक्षम छैनस् भने, तैँले साँचो रूपमा पश्‍चात्ताप गर्नेछैनस्, र तैँले जीवन प्रवेश हासिल गर्नेछैनस्। सत्यता स्वीकार गर्नु र आफूलाई चिन्‍नु तेरो जीवनमा हुने वृद्धि र मुक्ति प्राप्त गर्ने मार्ग हो, र यो तेरो लागि परमेश्‍वरको छानबिन, न्याय र सजाय स्वीकार्न, अनि सत्यता र जीवन प्राप्त गर्न उहाँको अघि आउने मौका हो। यदि तँ ख्याति र हैसियत, अनि तेरो आफ्‍नै हितलाई पछ्याउनको लागि सत्यता पछ्याउन छोड्छस् भने, यो परमेश्‍वरको न्याय र सजाय प्राप्त गर्ने र मुक्ति पाउने अवसरलाई त्याग्‍नुसरह हो। तैँले प्रतिष्ठा, लाभ र हैसियत अनि तेरा आफ्‍नै हितहरू रोजिरहेको हुन्छस्, तर तैँले जे त्यागिरहेको हुन्छस् त्यो नै सत्यता हो, र तैँले जे गुमाइरहेको हुन्छस् त्यो जीवन, र मुक्ति पाउने मौका हो। कुन धेरै अर्थपूर्ण हुन्छ? यदि तैँले आफ्‍नै हित छनौट गर्छस् र सत्यतालाई त्याग्छस् भने, के यो मूर्ख कुरा होइन र? ठेट शब्दमा भन्नुपर्दा, यो सानो फाइदाको लागि ठूलो घाटा बेहोर्नु हो। प्रतिष्ठा, लाभ, हैसियत, पैसा, र स्वार्थहरू सबै क्षणिक हुन्, ती सबै अल्पकालीन हुन्, जबकि सत्यता र जीवन अनन्त र अपरिवर्तनीय छन्। यदि मानिसहरूले प्रतिष्ठा, लाभ र हैसियतको पछि लाग्‍ने तुल्याउने आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्छन् भने, तिनीहरूले मुक्ति पाउने आशा हुन्छ। यसको साथै, मानिसहरूले प्राप्त गर्ने सत्यताहरू अनन्त हुन्छन्; शैतानले मानिसहरूबाट सत्यताहरू खोसेर लान सक्दैन, न त अरू कसैले नै यसलाई खोसी लान सक्छन्। तँ तेरा हितहरूलाई त्याग्छस् तर तैँले प्राप्त गर्ने भनेको सत्यता र मुक्ति हुन्; यी परिणामहरू तेरै हुन्, र तिनीहरू तैँले आफ्नै लागि प्राप्त गर्छस्। यदि मानिसहरूले सत्यताको अभ्यास गर्ने निर्णय गरे भने, तिनीहरूले आफ्‍ना हितहरू गुमाएका भए पनि, तिनीहरूले परमेश्‍वरको मुक्ति र अनन्त जीवन प्राप्त गरिरहेका हुन्छन्। ती मानिसहरू सबैभन्दा बुद्धिमान मानिसहरू हुन्। यदि मानिसहरूले आफ्ना हितका लागि सत्यतालाई त्याग्छन् भने, तिनीहरूले जीवन र परमेश्‍वरबाट प्राप्त हुने मुक्ति गुमाउँछन्; ती मानिसहरू सबैभन्दा मूर्ख हुन्। व्यक्तिले के रोज्छ—आफ्नो हित कि सत्यता—भन्‍ने कुराले धेरै खुलासा गरिरहेको हुन्छ। सत्यतालाई प्रेम गर्नेहरूले सत्यतालाई छनौट गर्नेछन्; तिनीहरूले परमेश्‍वरप्रति समर्पित हुने, र उहाँलाई पछ्याउने कार्यको छनौट गर्नेछन्। तिनीहरूले सत्यतालाई पछ्याउन आफ्‍नै हितलाई त्याग्न चाहन्छन्। तिनीहरूले जति नै धेरै कष्ट भोग्‍नु परे पनि, तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने गवाहीमा खरो उत्रिने अठोट गरेका हुन्छन्। सत्यतालाई अभ्यास गर्ने अनि सत्यता वास्तविकतामा प्रवेश गर्ने आधारभूत मार्ग यही हो।

सबै मानिसहरूमा भ्रष्ट स्वभावहरूले गहिरो रूपले जरा गाडेका हुन्छन् र कोही पनि अरू कोहीभन्दा कम भ्रष्ट हुँदैन। मानिसहरूका दृष्टिकोण, धारणा, कल्पना, र अनाज्ञाकारिताको हद उल्लेखनीय रूपमा फरक हुदैनन् र ती धेरैजसो एउटै हुन्छन्। सबै मानिसहरू शैतानको प्रभुत्वमा बस्छन्, र तिनीहरू सबै शैतानी स्वभावअनुसार जिउँछन्। समानता के छ भने, परमेश्‍वरले प्रत्येक व्यक्तिलाई समान अवसर दिनुहुन्छ, परमेश्‍वरले सबैप्रति एउटै मनोवृत्ति राख्नुहुन्छ, र सबैको लागि परमेश्‍वरको सत्यता र जीवनको भरणपोषण समान छ, र त्यसैले प्रत्येक व्यक्तिको लागि परमेश्‍वरको मानक र मापदण्डहरू पनि समान छन्। यदि तँलाई तैँले मुक्ति प्राप्त गर्न सक्दैनस्, तँ अरूभन्दा बढी भ्रष्ट छस्, र तँलाई परमेश्‍वरले मुक्ति दिनुहुनेछैन, किनकि तैँले केही भ्रष्ट स्वभावहरू प्रकट गरेको छस् जुन अरूले देखेका छन् र तिनीहरू त्यसदेखि दिक्क भएका छन् भन्‍ने लाग्छ, र तैँले आफैलाई उद्देश्यहीन ठान्छस्, कुनै उत्साह ल्याउन सक्दैनस्, तँलाई कुनै काम गर्न मन लाग्दैन, र तँ जिउनुको कुनै अर्थ छैन र तैँले मर्नु नै बेस हुन्छ भन्ठान्छस् भने, यो कस्तो प्रकारको मनोवृत्ति हो? यो परिपक्वताको प्रकटीकरण होइन, र यो परमेश्‍वरले हेर्न चाहनुभएको कुरा पनि होइन; परमेश्‍वरले यसप्रकारको व्यक्ति वा मनोवृत्ति मन पराउनुहुन्न। सत्यता पछ्याउने क्रममा मानिसहरूले धेरै गलत स्थितिहरू सुल्टाउनुपर्छ, र तिनीहरूले आफ्नो पछ्याइप्रतिका आफ्ना विचारहरू निरन्तर रूपले सही पार्नुपर्छ, र बारम्बार परमेश्‍वरसामु आएर उहाँलाई मेरो जाँच गर्नुहोस् र मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् भनेर भन्‍नुपर्छ। अनि परमेश्‍वरले तिनीहरूलाई मदत र अनुग्रह प्रदान गर्नुहुनेछ, र परमेश्‍वरले प्रत्येक व्यक्तिलाई ठूलो धैर्यता, दया, कृपा र क्षमाद्वारा मार्गदर्शन गर्नुहुनेछ। त्यसैले, तैँले मानिसहरूको सही मनोवृत्ति र सत्यता पछ्याउने चाहना, र न्याय तथा ज्योतिको तृष्णाप्रति शङ्का गर्नु हुँदैन, र परमेश्‍वरको सार भनेको मानवजातिलाई मुक्ति दिनु र मानवजातिलाई करुणा र क्षमा गर्नु हो भन्‍ने कुरामा पनि शङ्का गर्नु हुदैन। तिमीहरूले यी वचनहरू याद गर्नुपर्छ! अनि यी वचनहरू मानिसहरूलाई बताउनुको अर्थ के हो? यसको अर्थ तिनीहरूले कुनै पनि समय सत्यता पछ्याउन छोड्नु हुँदैन, तिनीहरूले आफूलाई उद्देश्यहीन ठान्नु हुँदैन वा आफू नकारात्मक हुनु हुँदैन भन्‍ने हो। जब तँ नकारात्मकतामा फस्छस्, तैँले मनमनै यस्तो सोच्नुपर्छः किन परमेश्‍वरले यति धेरै सत्यताहरू व्यक्त गर्नुभएको हो? यो धेरैभन्दा धेरै मानिसहरूलाई सत्यता बुझाउन र तिनीहरूका वास्तविक समस्याहरू समाधान गर्नहेतु आपूर्ति दिनलाई हो। तैँले परमेश्‍वरका वचनहरूबाट प्रत्यक्ष रूपमै धेरै लाभहरु प्राप्त गर्ने मात्र नभई तैँले तेरो ब्रदर-सिस्टरहरूसँग सत्यता सङ्गति गर्दा पनि धेरै लाभहरू प्राप्त गर्छस्—के त्यो तँलाई त्यही बेला परमेश्‍वरले आपूर्ति दिनुभएजत्तिकै होइन र? यदि तँलाई त्यस्तो लाग्छ, र तैँले त्यो चाल पाउँछस् भने, तँ किन हार मान्न चाहन्छस्? किन तेरो मनमा गुनासोहरू उत्पन्न हुन्छन्? तँ किन तँलाई मुक्ति दिने कुरामा परमेश्‍वरको इमानदारीबारे शङ्का गर्छस्? मानिसहरू बेबकुफ, सानो कदका, र कमजोर हुन सक्छन्, तर मुक्तिको कुरामा तिनीहरूले आस्था गुमाउन मिल्दैन। जब म कुनै दिन तिमीहरूसँग बोल्छु र पुनः अन्तरक्रिया गर्छु, म आशा गर्छु कि तिमीहरू दरिद्र र दयनीय वा बोधो र बुद्धु नभई तिमीहरूले केही न केही प्राप्ति र हासिल गरेका हुनेछौ। तिमीहरूले धेरै सुनेका, देखेका र बुझेका छौ, तर तिमीहरुले सत्यता प्राप्त गरेका छौ या छैनौ, र तिमीहरूलाई सिद्व पार्न सकिन्छ कि सकिदैन भन्‍ने कुरा तिमीहरूको पछ्याइमा भर पर्छ। तथ्य यो हो कि यदि कसैले यसलाई पछ्याउँछ भने उसले यो प्राप्त गर्न सक्छ, तर यदि उसले सुन्दैन र पछ्याउँदैन भने उसले यो कहिल्यै प्राप्त गर्नेछैन। यदि तिमीहरू साँच्चिकै सत्यता पछ्याउँछौ र पत्रुसझैँ परमेश्‍वरको निम्ति प्रेम र स्वभाव परिवर्तनको पछि लाग्छौ भने, तिमीहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्नेछौ; त्यो कुरा निश्‍चित छ।

फेब्रुवरी ६, २०१८

फूटनोटहरू:

क. मूल पाठमा “ती दुई प्रकारका हुन्छन्: ‘जिद्दीपन’ र ‘कठोरता’” भन्‍ने वाक्यांश समावेश छैन।

ख. मूल पाठमा “जुन क्रूरताको एउटा पक्ष हो” भन्‍ने वाक्यांश समावेश छैन।

ग. मूल पाठमा “क्रूरताको अर्को पक्ष भनेको ‘दुष्टता’ हो” भन्‍ने वाक्यांश समावेश छैन।

अघिल्लो: असल व्यवहार गर्‍यो भन्दैमा व्यक्तिको स्वभाव परिवर्तन भएको छ भन्‍ने हुँदैन

अर्को: सत्यता पछ्याएर मात्रै व्यक्तिले परमेश्‍वरबारे आफ्‍ना धारणा र गलतफहमीहरू हटाउन सक्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्