असल व्यवहार गर्‍यो भन्दैमा व्यक्तिको स्वभाव परिवर्तन भएको छ भन्‍ने हुँदैन

अहिले, कतिपय मानिसहरू झिसमिसदेखि गोधूलिसम्म काम गर्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्दा खान वा सुत्न नै बिर्सन्छन्, तिनीहरू देहलाई काबुमा राख्‍न, शारीरिक कठिनाइलाई बेवास्ता गर्न, बिरामी हुँदासमेत काम गर्न सक्छन्। तिनीहरूमा यी सन्तोषजनक गुणहरू भए पनि, अनि तिनीहरू असल र सही मानिस भए पनि, तिनीहरूको हृदयमा अझै पनि आफूले पन्छाउन नसक्ने कुराहरू हुन्छन्: प्रतिष्ठा, फाइदा, हैसियत र घमण्ड। यदि तिनीहरू यी कुराहरूलाई कहिल्यै पन्छाउँदैनन् भने, के तिनीहरू सत्यता पछ्याउने मानिस हुन्? उत्तर आफैमा स्पष्ट छ। परमेश्‍वरमा विश्‍वास गर्नुको सबैभन्दा गाह्रो पक्ष भनेको स्वभाव परिवर्तन गर्नु हो। सायद तँ जीवनभरि अविवाहित रहन सक्छस्, वा कहिल्यै मिठो खान वा राम्रो लाउन सक्दैनस्; कतिपय मानिसहरू यसोसमेत भन्छन्, “जीवनभरि दुःख पाए पनि, वा जीवनभरि एक्लै भए पनि, म त्यो सहन सक्छु—परमेश्‍वर मेरो साथमा हुनुभएकाले, यी कुरा केही पनि होइनन्।” यस प्रकारका शारीरिक पीडा र कठिनाइलाई जित्‍न र समाधान गर्न सजिलो छ। केलाई जित्‍न सजिलो छैन? मान्छेको भ्रष्ट स्वभावलाई। भ्रष्ट स्वभावहरू आत्मसंयमद्वारा मात्र हटाउन सकिँदैन। मानिसहरू आफ्‍नो कर्तव्य उचित रूपमा निर्वाह गर्न, परमेश्‍वरको इच्‍छा पूरा गर्न, र भविष्यमा राज्यमा प्रवेश गर्नका लागि शारीरिक कष्ट सहन सक्छन्—तर के कष्ट भोग्‍न र मूल्य चुकाउन सक्‍नुको अर्थ तिनीहरूको स्वभाव परिवर्तन भएको छ भन्‍ने हो र? होइन। कसैको स्वभाव परिवर्तन भएको छ कि छैन भनेर मापन गर्न उसले कति कष्ट सहन सक्छ, वा उसले बाहिरी रूपमा कति असल व्यवहार देखाउँछ भनेर नहेर्। व्यक्तिको स्वभाव परिवर्तन भएको छ कि छैन भनी सही रूपमा मापन गर्ने एकमात्र तरिका भनेको तिनीहरूका कार्यहरूको उद्देश्य, मनसाय, र अभिप्राय, तिनीहरूले व्यवहार गर्ने र मामिलाहरू सम्हाल्ने सिद्धान्तहरू, अनि सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिलाई हेर्नु हो।

परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, कतिपय मानिसहरू बिलकुलै सांसारिक प्रवृतिहरूको पछि लाग्दैनन् वा आफ्ना लुगाफाटा र रूपरङ्गमा ध्यान दिँदैनन्। तिनीहरू कष्ट भोग्न र मेहनत गर्न, अनि देहसुखलाई वशमा राख्न र त्याग्न सक्छन्। तर तिनीहरू आफ्ना कर्तव्य निभाउँदा, अरूसित अन्तरक्रिया गर्दा र कामकुरा सम्हाल्दा, विरलै इमानदार हुन्छन्। तिनीहरू इमानदार हुन रुचाउँदैनन्, तिनीहरू सधैँ अलग देखिन र भिन्‍न हुन चाहन्छन्, अनि तिनीहरूले गर्ने र भन्‍ने हरेक कुराको पछाडि अभिप्राय हुन्छ। तिनीहरू आफू कति राम्रो छु भनी मानिसहरूलाई देखाउन, मानिसहरूको मन जित्न, अनि मानिसहरूलाई आफ्नो समर्थन र आराधना गर्न लगाउन यति हदसम्म अत्यन्तै होसियारी र सावधानीसाथ हिसाब लगाउँछन् कि मानिसहरू आफूलाई केही आइपर्दैपिच्छे तिनीहरूकहाँ आएर सहयोग माग्छन्। यसो गरेर, तिनीहरू दिखावा गरिरहेका हुन्छन्। तिनीहरूले प्रकट गर्ने त्यो कस्तो स्वभाव हो? त्यो शैतानी स्वभाव हो। के यस्ता मानिसहरू धैरै छन्? सबै जना यस्तै हुन्छन्। यसो हेर्दा, तिनीहरू सबै नियम पालना गर्छन्, अलि कष्ट भोग्न सक्छन्, अनि केही हदसम्म समर्पित हुन इच्छुक हुन्छन्। तिनीहरू थोरै सांसारिक कुराहरू त्याग्न सक्छन्, तिनीहरूसित सत्यता पछ्याउने अलि मात्रामा सङ्कल्प र चाहना हुन्छ, अनि तिनीहरूले परमेश्‍वरप्रति विश्‍वासको मार्गमा जग बसालेका हुन्छन्। तिनीहरूको भ्रष्ट स्वभाव मात्र जस्ताको तस्तै रहन्छ। तिनीहरू बिलकुलै परिवर्तन भएका हुँदैनन्। तिनीहरूले सत्यता बुझे पनि त्यसलाई अभ्यास गर्न सक्दैनन्। बिलकुलै परिवर्तन भएको छैन भन्‍नुको अर्थ त्यही हो। सबै कामकुरा आफूखुसी गर्नु त शैतानी स्वभावहरूमा जिउनेहरूले व्यवहार गर्ने तरिका हो। तिनीहरू आफ्ना कार्यहरूको अभिप्राय गलत हुँदा, परमेश्‍वरलाई प्रार्थना गर्दैनन्, वा आफ्नो इच्छा नकार्दैनन्, तिनीहरू सत्यता सिद्धान्तहरू खोज्दैनन्, न त तिनीहरू अरूबाट मद्दत माग्छन् वा अरूसित सङ्गति नै गर्छन्। तिनीहरू आफू जे चाहन्छन्, आफूलाई जे इच्छा लाग्छ त्यही गर्छन्; तिनीहरू असावधानीपूर्वक र संयमविना कार्य गर्छन्। तिनीहरूले बाहिरी रूपमा दुष्टता नगर्लान्, तर सत्यता अभ्यास पनि गर्दैनन्। तिनीहरू आफ्नो कार्यमा आफ्नै इच्छा पछ्याउँछन् अनि शैतानी स्वभावमा जिउँछन्। यसको मतलब तिनीहरूमा सत्यताप्रति प्रेम छैन वा तिनीहरूको हृदयमा परमेश्‍वरको डर छैन, अनि तिनीहरू परमेश्‍वरसामु जिउँदैनन्। तिनीहरूमध्ये कतिपयले परमेश्‍वरको वचन र सत्यता पनि बुझ्लान्, तर ती अभ्यास गर्न सक्दैनन्। किनभने तिनीहरू आफ्ना चाहना र महत्त्वाकाङ्क्षाहरूलाई जित्न सक्दैनन्। तिनीहरूलाई आफूले गरिरहेको काम गलत हो, त्यो अवरोध र बाधा हो, परमेश्‍वरलाई त्यो घृणा लाग्छ भनी प्रस्टसित थाहा छ, तैपनि तिनीहरू त्यो बारम्बार गर्छन्, र सोच्छन्, “के परमेश्‍वरमा विश्‍वास गर्नु आशिष प्राप्त गर्नका लागि होइन र? म आशिषहरूको पछि लाग्नुमा के गल्ती छ र? मैले परमेश्‍वरमा विश्‍वास गरेका वर्षहरूमा धेरै कष्ट भोगेको छु; मैले परमेश्‍वरका अनुमोदन र आशिषहरू प्राप्त गर्न आफ्नो जागिर छोडेको छु र संसारमा आफ्ना सम्भावनाहरू त्यागेको छु। मैले सहेका सबै कष्टहरूको आधारमा परमेश्‍वरले मलाई सम्झनुपर्छ। उहाँले मलाई आशिष् दिनुपर्छ र समृद्ध बनाउनुपर्छ।” यी वचनहरू मानव रुचि सुहाउँदा छन्। परमेश्‍वरमा विश्‍वास गर्ने हरेक व्यक्तिले यस्तै सोच्छ—तिनीहरूलाई आशिष प्राप्त गर्ने अभिप्रायद्वारा अलिकति दूषित हुनु त्यति ठूलो समस्या होइन भन्‍ने लाग्छ। तर यदि तैँले यी वचनहरूलाई ध्यानपूर्वक विचार गरिस् भने, के तीमध्ये कुनै सत्यता वा सत्यता वास्तविकताको भागबमोजिम छ? यो सब परित्याग र कष्टहरू असल मानव व्यवहारका प्रकार हुन्। यी कार्यहरू आशिष प्राप्त गर्ने अभिप्रायद्वारा नियन्त्रित हुन्छन्, अनि ती सत्यता अभ्यास होइनन्। यदि कुनै व्यक्तिले यी मानिसहरूको नैतिक व्यवहार मापन गर्न मान्छेका नैतिक मानकहरू प्रयोग गरेको भए, तिनीहरू मेहनती र मितव्ययी, परिश्रमी र बलिष्ठ मानिनेथिए। बेलाबेलामा तिनीहरू आफ्ना काममा यति तल्लीन हुन्छन् कि खान र सुत्न नै बिर्सिन्छन्, अनि तिनीहरूमध्ये कतिपयचाहिँ भेटेको चीज त्यसको धनीलाई फिर्ता गर्न, सहयोगी र परोपकारी हुन, अरूलाई समझदार र उदार भई व्यवहार गर्न, अति कन्जुस वा नाटीकुटी गर्ने नहुन, अनि आफूलाई सबैभन्दा बढी मन पर्ने कुरा अरूलाई दिनसमेत इच्छुक हुन्छन्। मान्छेले यी सबै व्यवहारको प्रशंसा गर्दछ, र ऊ असल मानिसका रूपमा चिनिन्छ। यस्ता मानिसहरू गौरवशाली, प्रशंसनीय, अनि अनुमोदन पाउन योग्य देखिन्छन्; तिनीहरू आफ्ना कार्यहरूमा अत्यन्तै नैतिकवान, निष्पक्ष र उचित हुन्छन्। तिनीहरू अरूको दयाको ऋण तिर्छन् र भातृत्वलाई ख्याल राख्छन्, यतिसम्म कि आफ्ना कुनै साथीका लागि आफ्नो बलिदान दिनेछन्, र आफ्ना निकटतम मानिसहरूका निम्ति कष्ट सहनेछन् र सक्दो प्रयास गर्नेछन्। यस प्रकारको असल व्यक्तिलाई धेरै मानिसहरूले प्रशंसा गर्लान्, तैपनि के उसले वास्तवमै सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ? के उसले परमेश्‍वरलाई उच्च पार्न र उहाँको गवाही दिन आफ्नो जीवन अर्पण गर्नेछ? यस्तै हुन्छ भन्‍ने छैन। त्यसोभए के उसलाई असल व्यक्ति भन्‍न सकिन्छ? यदि तँ कुनै व्यक्तिले परमेश्‍वरको डर मान्छ कि मान्दैन र ऊ दुष्टताबाट अलग बस्छ कि बस्दैन, वा उसमा सत्यता वास्तविकता छ कि छैन भनी मूल्याङ्कन् गर्न खोज्दै छस् भने, के उसलाई सधैँ मानव धारणा, कल्पना, नीति र नैतिकताको आधारमा मूल्याङ्कन् गर्नु सही हुनेछ? के त्यो सत्यताअनुरूप हुनेछ? यदि मानव धारणा, कल्पना, नीति र नैतिकता सत्यता हुँदा हुन् त, परमेश्‍वरले सत्यता व्यक्त गर्नुपर्ने थिएन, न त न्याय र सजायको काम नै गर्नुपर्ने थियो। तैँले संसार र मानवजाति अन्धकारमय र दुष्ट छन्, तिनमा सत्यता छँदै छैन, र भ्रष्ट मानवजातिलाई परमेश्‍वरको मुक्ति आवश्यक छ भनेर स्पष्टसँग बुझ्नैपर्छ। तैँले परमेश्‍वर मात्र सत्यता हुनुहुन्छ, उहाँको वचनले मात्र मान्छेलाई शुद्ध पार्न सक्छ, उहाँले मात्र मान्छेलाई मुक्ति दिन सक्नुहुन्छ, अनि व्यक्तिको व्यवहार जति नै असल भए पनि त्यो सत्यता वास्तविकता होइन, र झनै त्यो सत्यताको त एकछेऊ पुग्दैन। मानिसहरूमाझ यी असल व्यवहारहरू व्यापक र परिचित बनेका भए पनि, ती सत्यता होइनन्, र कहिल्यै हुनेछैनन्, र तिनले कुनै कुरा परिवर्तन गर्न सक्दैनन्। के तँ आफ्ना साथीहरूका निम्ति आफ्नो बलिदान दिने र तिनीहरूका लागि सक्दो प्रयास गर्ने व्यक्तिलाई परमेश्‍वर र सत्यता स्विकार गर्न लगाउन सक्थिस्? कदापि सक्थिनस्, किनकि त्यस्तो व्यक्ति नास्तिक हो। के तँ परमेश्‍वरबारे धारणा र कल्पनाहरूले भरिएको व्यक्तिलाई उहाँप्रति साँचो समर्पण गराउन सक्थिस्? कदापि सक्थिनस्, किनकि जब व्यक्ति धारणाहरूले भरिन्छ, तब उसलाई सत्यता स्विकार्न र त्यसप्रति समर्पित हुन एकदमै कठिन हुन्छ। के व्यक्तिमा जतिसुकै मात्रामा असल व्यवहार छ भने ऊ परमेश्‍वरप्रति साँच्चै समर्पित हुन सक्छ? के उसले उहाँलाई साँचो प्रेम गर्न सक्छ? के उसले उहाँलाई उच्च पार्न र उहाँको गवाही दिन सक्छ? कदापि सक्दैन। के तँ प्रचार गर्ने र प्रभुका निम्ति काम गर्ने हरेक व्यक्ति परमेश्‍वरलाई साँचो प्रेम गर्ने व्यक्ति बन्छ भनेर ग्यारेन्टी दिन सक्छस्? त्यो एकदमै असम्भव हुनेछ। त्यसैले, कुनै व्यक्तिमा जति नै धेरै असल व्यवहार भए पनि, त्यसको मतलब उसले साँच्चै पश्चात्ताप गरेको छ र ऊ परिवर्तन भएको छ भन्‍ने होइन, झन् उसको जीवन स्वभाव परिवर्तन भएको छ भन्‍ने त हुँदै होइन।

तिमीहरूले असल व्यवहार भनेको के हो, र सत्यता अभ्यास गरेर आफ्‍नो स्वभावमा परिवर्तन पाउनु भनेको के हो त्यो छुट्याउन सिक्नैपर्छ। आफ्नो स्वभाव परिवर्तन गर्नमा सत्यता अभ्यास गर्नु, परमेश्‍वरका वचनहरू सुन्‍नु, उहाँको आज्ञापालन गर्नु, र उहाँका वचनहरूअनुसार जिउनु समावेश छन्। त्यसोभए परमेश्‍वरका वचनहरू अभ्यास गर्न र तीअनुसार जिउनका लागि व्यक्तिले के गर्नुपर्छ? उदाहरणका लागि, मानिलिऊँ दुई जना मानिसहरू अत्यन्तै मिल्ने साथी हुन्। तिनीहरूले विगतमा एकअर्कालाई सहयोग गरेका छन्, कठिन परिस्थितिहरू सँगै पार गरेका छन्, र तिनीहरू एकअर्कालाई बचाउन आफ्‍नो ज्यान दिन्थे। के त्यो सत्यता अभ्यास हो? त्यो भाइचारा हो, त्यो अरूका लागि आफूले त्याग गर्नु हो, त्यो असल व्यवहार हो, तर त्यो सत्यता अभ्यास गर्नु कदापि होइन। सत्यता अभ्यास गर्नु भनेको परमेश्‍वरका वचन र मागहरूअनुसार चल्नु हो; यो परमेश्‍वरको आज्ञापालन गर्नु र उहाँलाई सन्तुष्ट तुल्याउनु हो। असल व्यवहार भनेको देहगत सम्‍बन्धहरू पूरा गर्नु र भावनात्मक सम्‍बन्धहरूको संरक्षण गर्नु हो। त्यसकारण, भाइचारा, सम्‍बन्ध जोगाउनु, एकअर्कालाई सहयोग गर्नु, सहनु र सन्तुष्ट पार्नु यी सबै निजी, व्यक्तिगत मामिला हुन् र तिनको सत्यता अभ्याससँग कुनै सम्‍बन्ध छैन। त्यसकारण परमेश्‍वर मानिसहरूले अरूसँग कसरी व्यवहार गरेको माग गर्नुहुन्छ? (परमेश्‍वर हामीले एकअर्कालाई सिद्धान्तहरूअनुसार व्यवहार गरेको माग गर्नुहुन्छ। यदि अर्को व्यक्तिले कुनै गलत कुरा, सत्यता सिद्धान्तहरूअनुरूप नरहेको कुरा गर्छ भने, हामीले उसको कुरा सुन्‍नु हुँदैन, चाहे त्यो व्यक्ति हाम्रो आफ्‍नै आमा वा बुबा नै किन नहोस्। हामीले सत्यता सिद्धान्तहरूमा लागेर परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नैपर्छ।) (परमेश्‍वर दाजुभाइ-दिदीबहिनीहरूले एकअर्कालाई सहयोग गरून् भन्‍ने माग गर्नुहुन्छ। यदि हामीले अर्को व्यक्तिमा समस्या देख्यौँ भने, यसलाई औँल्याउनैपर्छ, यसबारे सङ्गति गर्नैपर्छ, र यसलाई समाधान गर्न सँगै सत्यता सिद्धान्तहरू खोजी गर्नैपर्छ। यसो गरेर मात्रै हामीले साँचो रूपमा तिनीहरूलाई सहयोग गरिरहेका हुन्छौँ।) उहाँ एकअर्काप्रति मानिसहरूको व्यवहार सत्यता सिद्धान्तहरूमा आधारित भएको चाहनुहुन्छ, चाहे त्यो सम्‍बन्ध जस्तोसुकै किन नहोस्। यी सिद्धान्तहरू बाहिरका कुनै कुरालाई सत्यता अभ्यास ठानिँदैन। उदाहरणका लागि, कुनै व्यक्तिले मण्डलीको काममा हानि गर्ने कुनै कुरा गर्छ, जुन कुराको सबैले निन्दा र विरोध गर्छन्। उसको साथीले भन्छ, “उसले गल्ती गर्‍यो भन्दैमा तपाईंहरूले उसलाई खुलासा गर्नु पर्दैन! म उसको साथी हुँ; सबैभन्दा पहिले, म ऊप्रति समझदार हुनैपर्छ; मैले उसलाई सहेर सहयोग गर्नैपर्छ। म तपाईंहरूले जस्तो उसको निन्दा गर्न सक्दिनँ। मैले उसलाई सान्त्वना दिनैपर्छ, चोट पुर्‍याउनु हुँदैन, र म उसलाई त्यो गल्ती ठूलो कुरा होइन भनेर भन्छु। तपाईंहरू कसैले फेरि पनि उसलाई निन्दा गरेर गाह्रो बनाउनुभयो भने, तपाईंहरूले मेरो सामना गर्नु पर्नेछ। तपाईंहरूमध्ये कोही पनि तिनीसँग म जत्तिको नजिक हुनुहुन्‍न। हामी मिल्ने साथी हौँ। मैले उसको बचाउ गर्नुपर्छ भने गर्नेछु।” के यो सत्यता अभ्यास गर्नु हो? (होइन, यो त जिउने दर्शन हो।) व्यक्तिको मानसिकता अर्को सैद्धान्तिक जगमा पनि आधारित हुन्छ: उसले के विश्‍वास गर्छ भने, “मेरो साथीले मलाई मेरो जीवनको सबैभन्दा कठिन र पीडादायी समयमा सहयोग गरेको छ। अरू सबैले मलाई त्यागेका थिए, उसले मात्रै मेरो ख्याल गऱ्यो र मलाई सहयोग गऱ्यो। अहिले ऊ समस्यामा छ, र उसलाई सहयोग गर्ने पालो मेरो हो—विवेक र मानवता हुनु भनेको यही हो भन्‍ने मलाई लाग्छ। यदि तपाईंहरू परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ तर यति थोरै पनि विवेक छैन भने आफूलाई कसरी मानव भन्‍न सक्‍नुहुन्छ? के त्यसले परमेश्‍वरप्रति तपाईंहरूको विश्‍वास र तपाईंहरूको सत्यता अभ्यासलाई खोक्रो शब्द तुल्याउँदैन र?” यी शब्‍दहरू सही हुन् जस्तै लाग्छ। धेरैजसो मानिसहरू तिनको वास्तविकता बताउन सक्दैनन्—ती कुरा बोल्‍ने व्यक्तिले समेत सक्दैन, जसले आफ्ना कार्यहरूपछाडिको मनसाय सत्यताबाट मेल खान्छ भन्ठान्छ। तर के उसका कार्यहरू सही छन्? वास्तवमा, छैनन्। नियालेर हेर्, उसले बोल्‍ने हरेक शब्‍द मानव नीति, नैतिकता, र विवेकबाट आएको हुन्छ। यदि कसैले उसलाई मानव नीतिअनुसार मूल्याङ्कन् गर्ने हो भने, उसमा विवेक छ र ऊ वफादार व्यक्ति हो। आफ्‍नो साथीको यसरी बचाउ गर्दा ऊ असल व्यक्ति बन्छ। तर यो “असल व्यक्ति” को पछाडि कस्तो स्वभाव र सार लुकेको छ भनेर कसैलाई थाहा हुन्छ? ऊ परमेश्‍वरको साँचो विश्‍वासी होइन। सर्वप्रथम, जब केही आइपर्छ, उसले त्यस परिस्थितिलाई परमेश्‍वरका वचनहरूअनुसार हेर्दैन। उसले परमेश्‍वरका वचनहरूमा सत्यता खोजी गर्दैन, बरु अविश्‍वासीहरूको नैतिकता र नीति अनि जीवनसम्‍बन्धी उक्तिहरूअनुसार हेर्ने छनौट गर्छ। उसले शैतानका झूट र भ्रमहरूलाई सत्यताको रूपमा लिन्छ, र परमेश्‍वरका वचनहरूलाई एकातिर पन्छाउँछ, परमेश्‍वरका वचनहरूमा भनिएका कुराहरूलाई बेवास्ता गर्छ। उसले यसो गरेर सत्यताको उपहास गरिरहेको हुन्छ। यसले ऊ सत्यतालाई प्रेम गर्दैन भन्‍ने देखाउँछ। उसले सत्यताको ठाउँमा जीवनसम्बन्धी शैतानी उक्ति अनि मानिसका धारणा, नीति, र नैतिकतालाई राख्छ, र उसले शैतानी दर्शनहरूअनुसार कार्य गर्छ। उसले यो सत्यता अभ्यास गर्नु र परमेश्‍वरको इच्‍छा पुरा गर्नु हो, यो कार्य गर्ने धर्मी तरिका हो भनेर समेत विश्‍वस्त भई भन्छ। के उसले सत्यता उल्‍लङ्घन गर्न धार्मिकताको यो खोल ओढिरहेको मात्रै होइन र? मानिसहरूले कस्तो व्यवहार गर्छन् वा मामिलाहरू कसरी सम्हाल्छन् भन्‍ने सन्दर्भमा भन्‍नुपर्दा, के यस्तो परिस्थिति सामान्य होइन र? जब तँ सधैँ धर्मसिद्धान्तका शब्द र वाक्यांशहरू बोल्छस्, तब तँलाई आफूसँग सत्यता छैन र सत्यतामा साँच्चै सङ्गति गर्नुको मूल्य छ भनी तँलाई थाहा हुन्छ, अनि तँलाई यस अन्धकार र दुष्ट संसारमा सत्यता प्राप्त गरेकाहरूको जीवनको मात्र आशा र मूल्य छ भनेर पनि थाहा हुन्छ। तैपनि, जब तैँले सामना गर्नुपर्ने कुनै ठूलो घटना घट्छ र निर्णयहरू गर्नुपर्छ, तब तँलाई शैतानको दर्शन, नैतिकता र नीतिहरू सत्यता हुन् र ती उपयोगी छन् भन्‍ने लाग्छ। त्यस बेला, तँलाई परमेश्‍वरको वचनमा भएको आफूले पछ्याउन चाहने सत्यता उपयोगी लाग्दैन। यो कस्तो समस्या हो? यदि तँ परमेश्‍वरको वचन नै सत्यता हो भनी स्विकार्न सक्छस् भने, त्यसलाई किन अभ्यास गर्न सक्दैनस्? किन तँ सत्यता अभ्यास गर्ने आँट गर्दैनस्? तँलाई के कुरादेखि डर लाग्छ? तँलाई अरू मानिसले निन्दा र मूल्याङ्कन गर्छन्, सांसारिक सम्भावनाहरू गुम्छन्, अनि आफ्नो व्यक्तिगत हितमा क्षति पुग्छ भनेर डर लाग्छ। जब तँ सत्यता अभ्यास गर्दैनस्, जब तँ भगौडा बन्छस्, अनि परमेश्‍वरका वचनहरूमा भएको सत्यताको मूल्यलाई निर्णायक मोडमा नकार्छस्, तब यसले तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस्, बरु तँ शैतानी दर्शन, झूटो शिक्षा, र भ्रमलाई प्रेम गर्छस्, सांसारिक सम्भावना, आफ्नो देहगत हित, अनि आफ्नो ख्याति र हैसियतको पछि लाग्छस् भनेर प्रमाणित गर्छ। र पनि तँ सत्यतालाई प्रेम गरेको दाबी गर्छस्—यो पाखण्ड हो। यति कुरा नै तैँले कहिल्यै सत्यता स्विकारेको छैनस् वा परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा सत्यता अभ्यास गरेको छैनस् भनेर साबित गर्न यथेष्ट छ। त्यस अवस्थामा, के तँ हृदयमा परमेश्‍वरलाई श्रद्धा गर्छस्? के तेरो हृदयमा परमेश्‍वरका निम्ति स्थान छ? सामान्यतया तैँले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी स्विकार्ने भए पनि, जब केही आइपर्छ, तब परमेश्‍वर तेरो हृदयमा हुनुहुनेछैन र तैँले आफूलाई सबैभन्दा बढी महत्त्व दिनेछस्, अनि मानव सम्बन्ध, जिउने दर्शन, नैतिक नियम र सिद्धान्त, अनि विवेक र नैतिकताका मानकहरूलाई सत्यताको रूपमा लिनेछस्। शैतानका यी कामकुराले तेरो हृदयमा सत्यताको स्थान ओगटिसकेका हुन्छन्—त्यसैले के तेरो पतन भएको हुँदैन र? अहिले तैँले परमेश्‍वरलाई पूर्ण रूपमा धोका दिएको छस् र तँ पूर्णतया अन्धकारमा खसेको छस्।

थुप्रै मानिस आफूले परमेश्‍वरमा विश्‍वास गरेका धेरै वर्षमा अत्यन्तै व्यस्त भएका छन्, त्यसोभए किन तिनीहरूसँग सत्यता वास्तविकता छैन? खासमा, ती मानिसहरूले सत्यतालाई प्रेम नगर्नु नै समस्याको जड हो। यदि तैँले तिनीहरूलाई तिमीहरू सत्यतालाई प्रेम गर्दैनौ भनेर भनिस् भने, तिनीहरूले चित्त दुखाउनेछन्, तर वास्तवमा, के तिनीहरूको आक्रोश उचित छ? अहँ, छैन। ती मानिसहरूले जतिवटा प्रवचनहरू सुनेका वा जतिवटा धर्मसिद्धान्तहरू बुझेका भए पनि, अभ्यास गर्ने समय आउँदा तिनीहरू सत्यता अभ्यास गर्दैनन्; तिनीहरू सत्यता सिद्धान्तबमोजिम कार्य गर्दैनन्, मामिला सम्हाल्दैनन्, वा आफू वरपरका मानिस, घट्ना र परिस्थितिहरूलाई सम्हाल्दैनन्, र तिनीहरूसित सधैँ आफ्नै धारणाहरू हुन्छन्। जब कुनै व्यक्ति मसित बोलिरहेको हुन्छ, तब यी मानिसहरू सधैँ यसो भन्छन्, “मेरो कुरा सुन्‍नुस्, मलाई मेरो दृष्टिकोण बताउन दिनुस्; यो मेरो दृष्टिकोण हो, मैले भन्‍न खोजेको यो हो,” र “म यस तरिकाले कार्य गर्न चाहन्छु, के तपाईंले मेरो कुरा सुन्‍नुहुनेछ?” तैँले आफूले भन्‍न खोजेको कुरा नभनीकन नै मलाई थाहा हुन्छ; तैँले आफूले भन्‍न खोजेको कुराबारे सधैँ बताइरहनै पर्दैन, त्यो सत्यता होइन, र त्यसलाई प्रस्ट रूपमा बताउँदैमा त्यो सत्यता बन्‍नेछैन। यदि तँ आफूमा जन्मैदेखि सत्यता छ भनी विश्‍वास गर्छस् भने, किन अझै पनि परमेश्‍वरमा विश्‍वास गर्छस्? यदि तँ परमेश्‍वरले व्यक्त गरेका सबै सत्यता सहज रूपमा बुझ्न सक्छस्—मानौँ तँ सबै सत्यता बुझ्न सक्छस् र तँ आफै सत्यता होस् अनि तैँले सम्पूर्ण समस्या समाधान गर्न सक्छस्—भने, किन अझै पनि परमेश्‍वरमा विश्‍वास गर्छस्? कतिपय मानिसहरू भन्छन्, “तपाईं किन सधैँ सही हुनुहुन्छ र सबै निर्णयहरू गर्न पाउनुहुन्छ? तपाईं किन मेरो कुरा सुन्‍नुहुन्‍न?” यी कस्ता प्रकारका शब्दहरू हुन्? मैले यत्तिका वर्षसम्म तेरो कुरा सुनेपछि, सही र सत्यताअनुरूपको एउटा शब्द सुनेको छैनँ, त्यसैले मैले किन तेरो कुरा सुन्‍ने? म मान्छेका केही अपेक्षाकृत सही विचारहरू सुन्‍न चाहन्छु। त्यसले केही मात्रामा मेरो सोच र ऊर्जा बचाउँछ, तर म त्यस्तो केही सुन्दिनँ। मैले सुन्‍ने भनेकै भ्रम र अनाज्ञाकारी शब्दहरू, गनगन र नकारात्मक कुरा मात्र हुन्; यो सब सत्यताविपरीत छन्, त्यसैले मैले त्यो किन सुन्‍ने? यदि सबै जनालाई तेरो कुरा सुन्‍न लगाइएको भए, तिनीहरूले परमेश्‍वरविरुद्ध विद्रोह गर्नेथिए, परमेश्‍वरको प्रतिरोध अनि स्वर्गको विरोध गर्नेथिए, तिनीहरू सबैले शैतानलाई पछ्याउनेथिए र अन्ततः नष्ट हुनेथिए। यदि तैँले मेरा वचनहरू सुनिस् र तिनलाई मनन गरिस् भने, सत्यता बुझ्नेछस्, तँ परमेश्‍वरसामु आउन र मुक्तिको मार्गमा हिँड्न सक्षम हुनेछस्। परमेश्‍वरका वचनहरूले मात्र मानिसहरूलाई मुक्ति दिन सक्छन्, अनि मानिसहरूले सत्यता बुझेर, सत्यता अभ्यास गरेर, र परमेश्‍वरप्रति समर्पित भएर मात्र परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छन्। मानिसहरूलाई सत्यता स्विकार्नु सजिलो हुँदैन। जब म मानिसहरूमाझ हुन्छु, दाजुभाइ-दिदीबहिनीहरू कसरी सत्यतामा भर्खरै प्रवेश गरेका छन्; तिनीहरूले मानिस, घट्ना, र कामकुरा बुझ्नमा र सत्यता अभ्यास गर्नमा के-कति प्रगति गरेका छन्; तिनीहरूको अवस्था कस्तो छ; तिनीहरूले आफ्ना गलत स्थितिहरू उल्ट्याएका र परिवर्तन गरेका छन् कि छैनन्; तिनीहरूलाई आफ्नो भ्रष्ट स्वभावबारे कतिको ज्ञान छ; तिनीहरूले आफ्नो भ्रष्ट स्वभावको प्रकटीकरणबाट आफूलाई कति बुझेका छन्; परमेश्‍वरबारे तिनीहरूको कतिवटा गलत बुझाइहरू हटेका छन्; र परमेश्‍वरबारे तिनीहरूको ज्ञान कति बढेको छ भनी सुन्‍न चाहन्छु। म यी अनुभवहरू र ज्ञानबारे सुन्‍न चाहन्छु, तर दुर्भाग्यवश अधिकांश मानिसहरू यस प्रकारको अनुभवात्मक गवाही दिन सक्दैनन्। तिनीहरूमा सत्यता वास्तविकता हुँदैन, अनि तिनीहरू धर्मसिद्धान्तका खोक्रा शब्द र वाक्यांशहरू; निरर्थक, गलत, र पूर्वाग्रही शब्दहरू अनि गुनासाहरू; वा देखावा गर्न र श्रेय लिन अनि इनाम पाउन खोज्ने शब्दहरू मात्र बोल्छन्। ती कुराहरू सुन्दा मलाई कस्तो अनुभूति हुन्छ होला भन्‍ने तिमीहरूलाई लाग्छ? के ती कुराले मेरो मुड राम्रो हुनेछ? (अहँ।) मानिसहरूले विरलै मात्र सत्यता अर्थात् मानिसले सुनेपछि तिनीहरूलाई राम्रो महसुस गराउने वचनहरूबारे आफ्ना व्यावहारिक अनुभव र अन्तर्ज्ञानबारे कुरा गर्छन्, अनि त्यस प्रकारका वचनहरूविना मानिसहरू किचाहिँ श्रेय लिने र इनाम खोज्ने गर्छन्, वा असान्दर्भिक र खोक्रा शब्दहरू बोल्छन्। के तैँले मसित ती खोक्रा धर्मसिद्धान्तहरूबारे कुरा गर्नुपर्छ? तैँले ती धर्मसिद्धान्तहरूबारे बोलेर अनभिज्ञ मानिसहरूलाई विरलै छल्न सक्छस्, त्यसैले के तीबारे मसँग कुरा गर्नु समझ नहुनु होइन र? केही मानिसहरू मसित भलाकुसारी गर्दा, जहिले पनि झूटो आत्मिक धर्मसिद्धान्तबारे कुरा गर्छन्, अनि कुनै मामिलाबारे छलफल गर्दा, तिनीहरू जहिले पनि यसो भन्छन्, “सबथोक परमेश्‍वरको हातमा छ, त्यो सबै परमेश्‍वरले तोक्नुभएको हो।” तिनीहरू बाहिरी मामिलाहरूबारे बोल्नु आत्मिक होइन र आत्मिक धर्मसिद्धान्तबारे बोल्न जान्‍नु मात्र आत्मिक हो भन्ठान्छन्। जब म तिनीहरूलाई केही व्यावहारिक वचनहरू बताउँछु र जियाइबारे तिनीहरूसित विस्तारमा कुरा गर्छु, तब तिनीहरू त्यो स्विकार्दैनन्; तिनीहरू सानदार प्रवचन र ठूल्ठूला आत्मिक धर्मसिद्धान्तहरू मात्र सुन्‍न चाहन्छन्। के यस्ता मानिसहरूमा वास्तविकता हुन्छ? तिनीहरूमा वास्तविकता नहुने मात्र होइन, समझको अत्यन्तै अभाव पनि हुन्छ। तिनीहरू साँच्चै अहङ्कारी र अज्ञानी मानिस हुन्।

स्वभाव परिवर्तनको पछि लाग्नका लागि पहिला कुन कुराहरू स्वभाव परिवर्तनसँग असम्बन्धित छन् र स्वभाव परिवर्तनको दायराभित्र पर्दैनन्, बरु ती बाहिरी असल व्यवहार हुन्, साथै परमेश्‍वरले बताउने स्वभाव परिवर्तनले केलाई जनाउँछ, र परमेश्‍वर मान्छेमा के परिवर्तन भएको चाहनुहुन्छ भनी बुझ्न आवश्यक छ—मानिसहरूले यी मामिलाहरू बुझ्नैपर्छ। मान्छेले स्वभाव परिवर्तन ठान्‍ने कुरा व्यवहार परिवर्तन मात्र हो, र त्यो परमेश्‍वरले बताउने स्वभाव परिवर्तनभन्दा फरक कुरा र फरक मार्ग हो। के मान्छेले स्वभाव परिवर्तन ठान्‍ने कुराले मानिसले परमेश्‍वरलाई अवज्ञा, विरोध वा विश्‍वासघात गर्नेछैन भनेर सुनिश्चित गर्न सक्छ? के त्यसले मानिसलाई अन्ततः आफ्नो गवाहीमा खरो उत्रिने र परमेश्‍वरको इच्छा पूरा गर्ने तुल्याउन सक्छ? परमेश्‍वरले बताउने स्वभाव परिवर्तनको अर्थ हो, मानिसहरू सत्यता अभ्यास गरेर, उहाँको न्याय र सजाय अनुभव गरेर, अनि उहाँको निराकरण, काँटछाँट, परीक्षा र शोधनमा परेर उहाँको इच्छा र सत्यता सिद्धान्त बुझ्छन्, र त्यसपछि सत्यता सिद्धान्तअनुसार जिउँछन्, परमेश्‍वरलाई गलत नबुझी उहाँको आज्ञा पालना गर्ने र डर मान्‍ने हृदय प्राप्त गर्छन्, अनि परमेश्‍वरको साँचो ज्ञान र साँचो आराधना गर्न पाउँछन्। परमेश्‍वर व्यक्तिको व्यवहार परिवर्तनबारे बताउनुहुन्छ, तर मान्छेले भन्‍ने स्वभाव परिवर्तनले केलाई जनाउँछ? त्यसले सुध्रिएको व्यवहार, सुशील र शान्त देखिनु, अनि अहङ्कारी नहुनुलाई जनाउँछ; त्यसको अर्थ परिष्कृत र अनुशासित तरिकाले बोल्नु, अटेरी र उपद्रवी नहुनु, अनि व्यक्तिको बोली र व्यवहारमा विवेक, समझ, र नैतिक स्तर हुनु हो। के मान्छेले भन्‍ने स्वभाव परिवर्तन र परमेश्‍वरले माग गर्ने स्वभाव परिवर्तनबीच कुनै भिन्‍नता छ? के भिन्‍नता छ? मान्छेले भन्‍ने स्वभाव परिवर्तन बाहिरी व्यवहारमा आउने परिवर्तन, मानव धारणा र कल्पनाअनुरूपको परिवर्तन हो। परमेश्‍वरले माग गर्ने स्वभाव परिवर्तन भनेको आफ्नो भ्रष्ट स्वभाव हटाउनु हो, यो सत्यता बुझेर, कामकुराबारे आफ्नो दृष्टिकोण परिवर्तन गरेर, आफ्नो जीवनका दृष्टिकोण र मूल्यमान्यताहरू परिवर्तन गरेर जीवन स्वभावमा आउने परिवर्तन हो। यसमा एउटा भिन्‍नता छ। तैँले मानिसहरू वा कामकुराहरू जे सम्हालिरहेको भए पनि, तेरा मनसायहरू, तेरो कार्यका सिद्धान्तहरू, अनि तेरो मापनको मानक सबै सत्यताबमोजिम हुनैपर्छ, अनि तैँले सत्यता सिद्धान्त खोज्नैपर्छ; स्वभाव परिवर्तन गर्ने एकमात्र तरिका यही हो। यदि तँ आफूलाई जहिले पनि व्यावहारिकी मानकद्वारा मापन गर्छस्, सधैँ आफ्नो बाहिरी व्यवहार परिवर्तनहरूमा केन्द्रित हुन्छस्, अनि आफू मानव स्वरूपमा जिइरहेको र आफूमा अलि असल व्यवहार भएकै कारण आफूसँग परमेश्‍वरको अनुमोदन छ भन्ठान्छस् भने, त्यो पूर्ण रूपमा गलत हो। तँमा भ्रष्ट स्वभावहरू भएकाले, तैँले परमेश्‍वरको विरोध गर्न सक्ने र परमेश्‍वरलाई विश्‍वासघात गर्ने जोखिम भएकाले, यदि आफ्नो भ्रष्ट स्वभाव हटाउन सत्यता खोज्दैनस् भने, तेरो बाहिरी व्यवहार जति नै राम्रो भए पनि, तँ परमेश्‍वरप्रति साँचो आज्ञाकारी बन्‍न सक्नेछैनस्, अनि परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सक्षम हुनेछैनस्। के बाहिरी असल व्यवहारले मात्र परमेश्‍वरको डर मान्‍ने हृदय बनाउन सक्छ र? के त्यसले व्यक्तिलाई परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने तुल्याउन सक्छ? यदि मानिसहरू परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सक्दैनन् भने, जति नै मात्रामा असल व्यवहार भए पनि त्यसले तिनीहरूमा परमेश्‍वरप्रति साँचो आज्ञाकारिता छ भन्‍ने जनाउँदैन। त्यसकारण, जति मात्रामा असल व्यवहार भए पनि त्यसले स्वभाव परिवर्तनलाई जनाउँदैन। कतिपय मानिसहरू विद्वानझैँ एकदमै परिष्कृत ढङ्गमा बोल्छन्, कहिल्यै असभ्य भाषा प्रयोग गर्दैनन्—तिनीहरूको मुखबाट समेत यस्ता शब्दहरू निस्कन्छन्, मानौँ ती शब्दहरू साहित्यकार वा वक्ताजस्ता विज्ञहरूको कलमद्वारा कोरिएका हुन्। यी सतही स्तरका व्यवहार र प्रकटीकरणहरूलाई हेर्दा, कुनै समस्या देख्न सकिँदैन, तर तँ कसरी तिनीहरूको स्वभावमा समस्याहरू भए-नभएको पत्ता लगाउन सक्छस्? तिनीहरूको स्वभावमा कुनै परिवर्तन आएको छ कि छैन भनी तँ कसरी मापन गर्न सक्छस्? यो कुरा केबाट छर्लङ्गै देख्न सकिन्छ? (सत्यताप्रति तिनीहरूको मनोवृति हेरेर।) त्यो कुरा मापन गर्ने यो एउटा सूचक हो। अरू कुनै छन्? (कामकुरा गर्ने तिनीहरूका सिद्धान्तहरू, र कामकुराबारे तिनीहरूको दृष्टिकोणहरूलाई हेर्।) यस कुरोको चुरो त्यसैमा छ। तैँले तिनीहरूको बोल्ने शैलीलाई हेर्नै हुँदैन, चाहे त्यो भाषा शिष्ट होस् वा अश्लील, वा बौद्धिक—सतहलाई नहेर्। कतिपय मानिस अत्यन्तै घुमाउरो पाराले बोल्छन्, आफ्ना कुरा व्यक्त गर्न जान्दैनन्, अनि चिन्तित हुँदा बेचैन हुन्छन्—के यो तिनीहरूको स्वभावसँग सम्बन्धित छ? (छैन।) यो बाहिरी व्यवहार मात्र हो, बढीमा यो तिनीहरूको व्यक्तिगत चरित्र वा पारिवारिक शिक्षादीक्षासँग सम्बन्धित छ, यो तिनीहरूको स्वभावसँग सम्बन्धित छैन। त्यसोभए तँ तिनीहरूको स्वभाव कस्तो प्रकारको छ, तिनीहरूको स्वभाव परिवर्तन भएको छ कि छैन, र तिनीहरू सत्यता अभ्यास गर्ने मानिस हुन् कि हैनन् भनेर कसरी देख्न सक्छस्? तिनीहरूले बोल्ने कुरा हेरेर। यदि तिनीहरूको हरेक शब्द साँचो छ, र त्यो तिनीहरूको हृदयको गहिराइबाट आउँछ, त्यसमा कुनै चाहना वा महत्त्वाकाङ्क्षा छैन, र तिनीहरूको बोली पछाडि कुनै अभिप्राय छैन, तिनीहरू खुला र इमानदार शब्दहरू मात्र बोल्छन्, अनि आफ्ना कठिनाइ र कमजोरीबारे अरूलाई खुलस्तसित बताउन, आफूले प्राप्त गर्ने ज्योति र अन्तर्दृष्टिबारे अरूसँग कुरा गर्न र बाँड्न सक्छन्, यदि तिनीहरू आफूले गर्न चाहने कुराबारे सच्चा छन्, र तिनीहरू आफूलाई पूर्ण रूपमा उदाङ्गो र खुलस्त पार्छन् भने, के यिनीहरू सत्यता पछ्याउने मानिस होइनन् र? अहिले, तिनीहरूको स्वभाव परिवर्तन भएको छ कि छैन, वा यो कति परिवर्तन भएको छ भन्‍नेबारे कुरा नगरौँ, तर यी खुलासा र प्रकटीकरणहरूद्वारा मूल्याङ्कन् गर्दा, यिनीहरू सत्यता अभ्यास गर्ने मानिस हुन्। अब, तिनीहरूले अरू मानिसलाई व्यवहार गर्ने तरिकालाई हेरौँ। तिनीहरू मानिसलाई निष्पक्ष व्यवहार गर्न र तिनीहरूलाई दमन नगर्न सक्षम छन्, तिनीहरू कमजोर दाजुभाइ-दिदीबहिनीहरूलाई साथ र सहयोग दिन्छन्, र तिनीहरूको मजाक उडाउँदैनन्। त्यसबाहेक, तिनीहरू आफ्ना कर्तव्यमा परमेश्‍वरका इच्छाप्रति समर्पित र विचारशील हुन्छन्, र जुनै कठिनाइहरू सामना गर्नुपरे पनि, तिनीहरू हार मान्दैनन्, अनि परमेश्‍वरको घरको हितलाई जोगाउन सक्षम हुन्छन्। के यी कुरा सत्यता अभ्यास गर्ने मानिसहरूका प्रकटीकरण होइनन् र? (ती नै हुन्।) त्यस्ता मानिसहरू अपेक्षाकृत सोझा हुन्छन् र तुलनात्मक रूपमा सत्यतालाई निकै प्रेम गर्छन्। कुनै व्यक्ति अत्यन्तै परिष्कृत ढङ्गले बोल्ला, उचित तरिकाले पोशाक लगाउला, र बाहिरबाट धेरै भक्त देखिएला, तर ऊ के कुरा बोल्छ? ऊ यसो भन्छ, “फलानो अगुवासँगै काम गर्ने गर्थेँ, र उसमा बोल्न गाह्रो हुने समस्या भएकाले भेलाहरूमा सङ्गति गर्दा म नै बढी बोल्नुपर्थ्यो—सक्षम व्यक्तिले जहिले पनि बढी नै काम गर्नुपर्छ नि, हैन त? फलस्वरूप, दाजुभाइ-दिदीबहिनीहरूले मलाई पुज्न थाले, मैले तिनीहरूलाई त्यसो गर्नदेखि रोक्न सकिनँ, मैले सङ्गति गर्न जारी राख्नुपर्थ्यो। मबाट व्यक्तिगत रूपमा मलजल पाएपछि, धेरै दाजुभाइ-दिदीबहिनीहरू मसित निकै नजिक भए, जसले गर्दा तिनीहरूमध्ये कसैलाई केही समस्या आइपर्दा, म प्रायः ती समाधान गर्न सक्थेँ। कतिपय मानिस कमजोर बन्दा, मैले तिनीहरूसँग सङ्गति मात्र गर्नुपर्थ्यो, अनि तिनीहरूले पुनः शक्ति प्राप्त गर्थे। ममा अरू खोटहरू छैनन्, मेरो सबैभन्दा ठूलो त्रुटि नै मेरो कोमल हृदय हो। म अरूले कष्ट भोगेको हेर्नै सक्दिनँ; कोही व्यक्तिले कष्ट भोग्दा, म चिन्तित हुन्छु, अनि म उसको ठाउँमा आफूले कष्ट भोग्न सकूँ भन्‍ने इच्छा गर्छु।” यी शब्दहरूको अर्थ के हो? यी शब्दहरूमा समस्या देखिँदैन, तर के तिनीहरूको बोलीपछाडिको मनसायमा समस्या छ? (हो, तिनीहरू आफूलाई उच्च पारिरहेका हुन्छन् र आफ्नो गवाही दिइरहेका हुन्छन्।) त्यस्तो व्यक्तिको स्वभाव कस्तो हुन्छ? तिनीहरूको स्वभाव अहङ्कारी र छली हुन्छ, तिनीहरू यो विधि प्रयोग गर्न चाहन्छन् अनि प्रभाव पार्न, अरू केही कुरा अलिकति लागू गर्न, अरूलाई आफ्नो आदर र आराधना गर्न लगाउन यी सबै शब्दहरू प्रयोग गर्न चाहन्छन्। तिनीहरूको शब्दहरूको अभिप्राय र उद्देश्य यही हो। अलमल्लमा परेका समझहीन मानिसहरूले तिनीहरूको कुरा सुन्‍नेछन् र यस्तो सोच्नेछन्, “यो व्यक्ति साँच्चै महान् छ, ऊ अगुवा हुनु कुनै आश्चर्य होइन, ऊ हामीभन्दा राम्रो छ, ऊसँग अगुवाइ गर्ने गुण छ।” यो अन्योल व्यक्तिको सोचाइ हो जसले कामकुराहरू छर्लङ्गै देख्न सक्दैन। समझ भएकाहरूले यसरी बुझ्नेछन्: “ऊ मानिसहरूले उसलाई आदर गरेको आफू चाहँदैन पनि भन्‍ने तर वास्तवमा मानिसहरूले उसलाई आदर गरून् भनी आफू कति असल छ, आफूले कति मेहनत गर्छ भनेर अनि आफूले निर्वाह गरेका सेवाहरू, आफूले कति लाभ प्राप्त गरेको छ र दाजुभाइ-दिदीबहिनीहरूलाई कति सहयोग गरेको छ भन्‍नेबारे अति धेरै बोल्यो। खासमा, ऊ अथक रूपमा दौडधुप गरिरहेको हुन्छ ताकि मानिसहरूले उसलाई आदर र पूजा गरून्। ऊ अहङ्कारी मात्र नभई अत्यन्तै छली पनि छ! ऊ मानिसहरूको मन जित्न, हैसियतका लागि परमेश्‍वरसित होडबाजी गर्न चाहन्छ, र मानिसहरूलाई बहकाउन उसले यो विधि प्रयोग गर्छ। के ऊ ठ्याक्कै पावलजस्तै छैन र? ऊ दियाबलस हो! उसले लामो समयसम्म बोल्यो तर आफ्ना त्रुटि वा कमीकमजोरीहरूबारे कुरै गरेन, मानौँ उसमा भ्रष्ट स्वभावहरू छैनन्; उसले कुरा गरेका त्रुटिहरूले मानिसहरूलाई उसको अत्यन्तै ईर्ष्या र प्रशंसा गर्ने बनाउँछन्, अनि आफू अयोग्य भएको महसुस गर्न लगाउँछन्। उसले मानिसहरूलाई सिधै उसको आराधना गर्न र महिमा गर्न नलगाए पनि, उसका शब्दहरूको प्रभाव भनेकै मानिसहरूलाई उसको आराधना र महिमा गर्न लगाउनु हो; उसले मानिसहरूको मन जित्छ र लुट्छ, अनि उसले अन्योल, अज्ञानी र अपरिपक्व कद भएका मानिसहरूलाई बहकाउँछ। के त्यो मानिसहरूलाई छल गर्नु होइन र? उसका शब्दहरूपछाडिको ध्येय असाध्यै अन्तर्घाती र अति दुष्ट छन्! यो व्यक्ति ख्रीष्टविरोधीहरूको वर्गमा पर्छ, यो खुट्याउन सजिलो छ।” यी दुई थरिका मानिसहरूबीच स्पष्ट भिन्‍नता छ। एक थरिको व्यक्ति अत्यन्तै स्पष्ट र सामान्य तरिकाले बोल्छ, तर ऊ इमानदार छ, अनि ऊ साँचो रूपमा र हृदयबाटै बोल्छ; उसले जे भने पनि, मानिसहरूले उसको आराधना गर्नेछैन, बरु हृदयमा उसको पक्ष मात्र लिनेछ। यस्तो व्यक्तिले मानिसहरूको हृदय लुट्दैन वा तिनीहरूको हृदयमा स्थान ओगट्दैन, र मानिसहरूलाई आफूसमान व्यवहार गर्न सक्छ; मानिसहरू उसको बन्धन, तिकडम वा नियन्त्रणमा हुनेछैनन्। यो साँच्चिकै असल व्यक्ति हो। तिनीहरूको बोली, तिनीहरूले व्यवहार गर्ने र मामिलाहरू सम्हाल्ने तरिकामा कुनै पनि महत्त्वाकाङ्क्षा वा चाहना प्रकट हुँदैन, वा तिनीहरू मानिसहरूलाई नियन्त्रण गर्न र तिनीहरूको हृदयमा स्थान ओगट्न चाहन्छन् भन्‍ने देखिँदैन; तिनीहरूमा त्यो स्वभाव हुँदैन, तिनीहरू मानवता भएका व्यक्ति हुन्। दुष्ट, सधैँ महत्त्वाकाङ्क्षी र अरूलाई नियन्त्रण गर्न चाहने मानिसहरू वास्तवमै शक्ति र हैसियतलाई पुज्छन्, त्यसैले तिनीहरू प्रायः देखावा गर्ने र आफ्नै गवाही दिने कुराहरू भन्छन्, अनि मानिसहरूलाई बहकाउने र नियन्त्रण गर्ने कुराहरू गर्छन्। स्पष्टतः यो शैतानी स्वभाव हो; यिनीहरू मानवताविनाका मानिस हुन्। कतिपय मानिसमा प्रतिभा, क्षमता, र योग्यत हुँदैन, अनि तिनीहरू बाहिरी रूपमा सुशील र सरल देखिन्छन्। तिनीहरू मानिसहरूको समूहमा धम्की र बहिष्कारमा परेको देखिन्छन्, अनि तिनीहरू लगनशील भई र अज्ञात रूपले काम गर्छन्। के यसको मतलब तिनीहरू सत्यता पछ्याउने हुन्? के तिनीहरूमा महत्त्वाङ्क्षाहरू छन्? (छन्।) किन हामी यस्तो मानिसमा पनि महत्त्वाकाङ्क्षा हुन्छ भन्छौँ? (किनकि सबै मानिसमा भ्रष्ट स्वभावहरू हुन्छन्।) ठिक हो, तिनीहरूमा भ्रष्ट स्वभाव हुन्छ, त्यसैले तिनीहरूमा महत्त्वाकाङ्क्षाहरू हुन्छन्, तर तिनीहरूसँग यी महत्त्वाकाङ्क्षाहरू पूरा गर्ने ठाउँ मात्र छैन। तिनीहरूलाई कसैले पनि अवसर दिँदैन र तिनीहरू अवसर पाउन सक्दैनन्, त्यसैले तिनीहरूका महत्त्वाकाङ्क्षाहरू लुकेका हुन्छन्। यस्तो व्यक्तिले आफ्ना महत्त्वाकाङ्क्षाहरू पूरा गर्ने अवसर पाएपछि, उपयुक्त परिस्थिति र समयमा उसका महत्त्वाकाङ्क्षाहरू खुलासा हुनेछन्। त्यस बेला तैँले कुनै कुरा स्पष्टसँग भन्‍न नसक्ने यस असल सुशील र सरल व्यक्ति पनि भ्रष्ट स्वभावबाट अछुतो छैन भनेर थाहा पाउनेछस्। तैँले ऊ महत्त्वाङ्क्षाविहीन छैन, झन् उसमा असल मानवता वा कम भ्रष्टता हुनु त परको कुरा हो भनेर देख्नेछस्। यदि मैले यस मामिलालाई प्रस्ट नपारेको भए, त्यस्तो व्यक्तिले अझै पनि यस्तो सोच्नेथियो, “म असल व्यक्ति हुँ, मैले आफ्नो स्वभाव परिवर्तन गर्नुपर्दैन, म सत्यता बुझ्छु, म परमेश्‍वरको आज्ञा पालना गर्ने व्यक्ति हुँ, मसँग लामो समयदेखि सत्यता वास्तविकता छँदै छ। तिमीहरू सबैमा भ्रष्ट स्वभावहरू छन्, तिमीहरूलाई न्याय, दण्ड, काँटछाँट र निराकरण गर्नुपर्छ किनकि तिमीहरू गहन रूपमा भ्रष्ट छौ, तिमीहरू सबैमा क्षमता छ, र तिमीहरू विशेष गरी अहङ्कारी छौ।” के तिनीहरूलाई यो स्पष्टीकरण भ्रमपूर्ण लाग्दैन र? यो अर्को प्रकारको अहङ्कार हो। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, अनि थुप्रै भिन्‍न-भिन्नै तरिका र स्वरूपमा अहङ्कार प्रकट हुन्छ, जसले गर्दा मानिसहरूलाई खुट्याउन कठिन हुन्छ, र सावधान रहन लगभग असम्भव हुन्छ। के ती निकम्मा र मन्द बुद्धिका मानिसहरूमा अहङ्कारी स्वभाव हुँदैन? के तिनीहरूमा भ्रष्ट स्वभाव हुँदैन? तिनीहरूमा पनि यी स्वभावहरू हुन्छन्; मूर्खहरूसमेत अहङ्कारी हुन्छन्। अल्प ज्ञान भएकाहरू अहङ्कारी मात्र हुँदैनन्, तिनीहरूले आफ्नो भेष बदल्न पनि सिकेका हुन्छन्, र तिनीहरू मानिसलाई छल्न अझ खप्पिस हुन्छन्; यो खुट्याउन सजिलो छैन। जब अविश्‍वासीहरूले अरूलाई खुट्याउँछन्, तब तिनीहरू परम्परागत संस्कृतिका नैतिक मानकअनुसार असल र खराब मानिसबीच फरक छुट्याउँछन्, अनि व्यक्तिको व्यवहार र प्रकटीकरणको आधारमा मात्र त्यसबारे फैसला सुनाउँछन्। के यसले तिनीहरूलाई उक्त व्यक्तिको प्रकृति सार छर्लङ्गै देख्ने तुल्याउँछ? (अहँ।) त्यसोभए तँ मानिसहरूलाई ठ्याक्कै कसरी चिन्‍न सक्छस्? तँ केको आधारमा मानिसहरूलाई सही रूपमा चिन्‍न र छर्लङ्गै देख्न सक्छस्? निस्सन्देह, मानिसहरूलाई सत्यता र परमेश्‍वरको वचनको आधारमा मात्र सही रूपमा चिन्‍न सकिन्छ, यो एकदमै निश्चित छ। कतिपय मानिस मानव धारणा र कल्पना अनि परम्परागत नैतिकतासँग तुलना गरेर मात्र अरू मानिसलाई चिन्छन्; के यस तरिकाले मानिसलाई छर्लङ्गै देख्न सम्भव छ? कदापि छैन। मानिसहरूले प्रकट गर्ने सोच, दृष्टिकोण, र अभिप्रायहरूलाई परमेश्‍वरको वचनको आधारमा अवलोकन गर्नु अत्यावश्यक छ; मानिसका शब्द र कार्यहरूका उद्देश्य र लक्ष्यहरूलाई हेर्नु अत्यावश्यक छ—तिनीहरूको भ्रष्ट स्वभाव र प्रकृति वास्तवमा कस्ता छन् भनी पत्ता लगाउने तरिका यही मात्र हो। उक्त व्यक्ति जो भए पनि, यदि उसले कामकुराबारे थुप्रै विचार प्रकट गर्छ र ऊ सबै मामिलासम्बन्धी आफ्नो राय व्यक्त गर्न सक्छ भने, उसको भ्रष्ट स्वभाव र प्रकृति सार चिन्‍न एकदमै सजिलो हुन्छ। यदि उसको विचार र राय सत्यताअनुरूप पटक्कै छैन भने, के उसको शैतानी स्वभाव र शैतानी प्रकृति पूर्ण रूपले खुलासा हुँदैन र? त्यसकारण, तँ परमेश्‍वरको वचन र सत्यताअनुसार मानिसहरूलाई चिन्छस् भने, तैँले सबै मानिसहरूमा भ्रष्ट स्वभाव र शैतानी प्रकृति छ, र तिनीहरू सबैलाई परमेश्‍वरको मुक्ति चाहिन्छ भनेर देख्न सक्नेछस्।

सत्यता बुझ्नेहरूले सजिलै कामकुराहरू छर्लङ्गै देख्न र मानिसहरू चिन्‍न सक्छन्। के तिमीहरूलाई मानिसहरू चिन्‍ने तरिका थाहा छ? के तिमीहरूलाई आफ्नो जीवनका हर प्रकारका मानिस, घट्ना र वस्तुहरूको अवलोकन् गर्ने तरिका थाहा छ? थाहा छैन भने, यसले तँ वास्तवमा अझै पनि सत्यता बुझ्दैनस् भन्‍ने देखाउँछ। तैँले मानिसहरू चिन्‍न सक्नका लागि, पहिला आफूले भन्‍ने कुरा सत्यतासँग मिल्छ कि मिल्दैन र तैँले गर्ने कुरमा सिद्धान्तहरू छन् कि छैनन् भनी बुझ्न सक्नुपर्छ। जब तँ आफ्ना बोली र कार्यहरू खुट्याउने तरिका जान्दछस्, र समस्याहरू बुझ्न र समाधान गर्न सक्छस्, तब तैँले मानिसहरू चिन्‍न सक्नेछस्। सबै प्रकारका मानिस, घट्ना र कामकुरा खुट्याउने तरिका जान्‍नु सजिलो कुरा होइन; त्यो धर्मसिद्धान्तका केही शब्द र वाक्यांशहरू बोल्ने तरिका जान्दैमा हासिल गर्न सकिने कुरा होइन। तैँले धेरै कुरा अनुभव गर्नैपर्छ, र कम्तीमा पनि धेरै असफलता र रोकावटहरू अनुभव गर्नैपर्छ। त्यसपछि मात्र तैँले आफूलाई चिन्‍न सक्नेछस्। सुरुमा आफूलाई चिन्‍ने अभ्यास गर्, अनि तैँले बिस्तारै हरेक प्रकारका मानिस, घट्ना र कामकुरा खुट्याउन सिक्नेछस्। पहिला आफूलाई चिन्‍न सिक्नु, आफ्नो व्यवहार र भ्रष्ट स्वभाव, साथै आफ्नो विचलन, स्थिति र अयोग्यतालाई प्रस्ट रूपमा खुट्याउन सक्नु, अनि यी कुराहरूको सार छर्लङ्गै देख्न सक्नु—समझ हुनु भनेको यही हो। यदि तैँले आफूलाई राम्ररी चिन्‍न सकिस् भने, अरूलाई पनि चिन्‍न सक्नेछस्; यदि तैँले आफ्नै मामिलाहरू राम्ररी खुट्याउन सक्दैनस् भने, अरूबारे तेरो खुट्याइ अवश्य नै सही हुनेछैन। कतिपय मानिसहरू अरूका समस्याहरू एकदमै प्रस्टसँग खुट्याउन सक्छन्, तर आफूले त्यही गल्ती गर्दा आफूमा समस्या छ भनेर स्विकार्दैनन्। यहाँ समस्या के हो? के यो तिनीहरूको स्वभावमा भएको समस्या होइन र? सामान्य परिस्थितिहरूमा, अरूलाई चिन्‍नु भनेको वास्तवमा आफैलाई चिन्‍नु बराबर हो। यदि तँ अरूलाई राम्ररी चिन्‍न सक्छस् तर आत्मचिन्तन गर्दैनस् र आफूलाई चिन्दैनस्, अनि आफू अरूभन्दा बलियो छ भनेरसमेत सोच्छस् भने, तँ समस्यामा पर्छस्—तँसँग अनुचित अभिप्रायहरू छन् र तेरो स्वभावमा समस्या छ। कतिपय मानिसहरू अरूलाई चिन्‍न प्रखर हुन्छन्, र तिनीहरूले भन्‍ने हरेक कुरा प्रस्ट र अर्थपूर्ण हुन्छ, तर तिनीहरू आफ्नै समस्याहरू चिन्‍न सक्दैनन्। के यो साँचो हो? यो देखावटी रूप हो, यो छल हो। खासमा, यी मानिसहरूमा क्षमता नहुने होइन; तिनीहरू आफूलाई चिन्छन्, तर तिनीहरू त्यसबारे साँचो बोल्दैनन्। तिनीहरूलाई के भइरहेको छ भन्‍ने कुरा आफ्नो हृदयमा थाहा हुन्छ, तर तिनीहरू त्यो व्यक्त गर्दैनन्। यस्तो व्यक्ति दुईजिब्रे र एकदमै बेइमान हुन्छ; बेइमानी ढङ्गमा बोल्ने व्यक्ति इमानदार नभई धूर्त र छली, झूट बोल्ने व्यक्ति हो। यदि कसैले आफूलाई प्रस्टसँग चिन्‍न सक्छ, अनि अरूको फाइदाका लागि आफ्नो विश्लेषण गर्न र आफूलाई उदाङ्गो पार्न सक्छ भने, ऊ साँच्चै सत्यता बुझ्ने, सोझो र इमानदार चरित्र भएको, अनि शुद्ध तरिकामा खुलस्त हुने व्यक्ति हो। यो चानचुने मामिला होइन; यस्तो व्यक्तिले सत्यता बुझ्नेबित्तिकै त्यसलाई अभ्यास गर्न सक्छ, अनि ऊ निश्चित रूपमा सत्यता पछ्याउने, र परमेश्‍वरलाई आनन्दित तुल्याउने व्यक्ति हो। तैँले सत्यतालाई बुझ्नेबित्तिकै अभ्यास गर्न पहिला आफू असल चरित्रको र इमानदार व्यक्ति बन्नैपर्छ। सबै जना सत्यता पछ्याउन इच्‍छुक भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्नु त्यति सरल कुरा होइन। यसको मुख्य कुरा भनेको सत्यताको खोजी गर्ने र सत्यतालाई अभ्यास गर्ने कार्यमा ध्यान दिनु हो। तैँले आफ्नो हृदयमा यी कुराहरूका बारेमा हरेक दिन सोचविचार गर्नुपर्छ। तैँले जस्तोसुकै समस्या वा कठिनाइको सामना गरे पनि, सत्यता अभ्यास गर्न नछोड्; तैँले सत्यता खोजी गर्न र आफ्‍नो बारेमा मनन गर्न सिक्‍नुपर्छ, अनि अन्त्यमा सत्यता अभ्यास गर्नुपर्छ। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो; तैँले कदापि तेरा आफ्ना स्वार्थहरू जोगाउने कोसिस गर्नै हुँदैन, अनि यदि तैँले आफ्‍ना हितहरूलाई पहिलो प्राथमिकता दिन्छस् भने, तैँले सत्यता अभ्यास गर्न सक्‍नेछैनस्। ती आत्म-केन्द्रित मानिसहरूलाई हेर्—तिनीहरूमध्ये कसले सत्यता अभ्यास गर्न सक्छ? एउटाले पनि सक्दैन। सत्यता अभ्यास गर्ने सबै मानिसहरू इमानदार, सत्यतालाई प्रेम गर्ने र दयालु मानिसहरू हुन्। तिनीहरू सबैमा विवेक र समझ हुन्छ, तिनीहरूले आफ्‍नै हित, अभिमान, र घमण्ड छोड्न अनि देहसुख त्याग्‍न सक्छन्। यी मानिसहरू सत्यता अभ्यास गर्न सक्‍ने मानिसहरू हुन्। तैँले सत्यता अभ्यास गर्नका लागि सुल्झाउनुपर्ने पहिलो कुरा आफ्नो स्वार्थीपन र स्वार्थी स्वभाव हो; यो समस्या समाधान गरेपछि, तँमा कुनै ठूला कठिनाइहरू हुनेछैनन्। यदि तँ सत्यता स्विकार्न सक्छस्, आफ्नो भ्रष्ट स्वभाव चिन्छस्, अनि त्यसलाई हटाउन सत्यता खोजी गर्छस् भने, तैँले सत्यता अभ्यास गर्न सक्नेछस्। यदि तँ सत्यता स्विकार्दैनस् भने, आफ्नो भ्रष्ट स्वभावको समस्या समाधान गर्न सक्षम हुनेछैनस्, यसरी तैँले सत्यता अभ्यास गर्न सक्नेछैनस्। सत्यता अभ्यास गर्नमा सबैभन्दा ठूलो कठिनाइ भनेको भ्रष्ट स्वभाव हो, मुख्यतः स्वार्थी, घृणित, र स्वार्थी स्वभाव हो। तेरो भ्रष्ट स्वभावको समस्या समाधान भएमा, तँलाई अन्य कठिनाइहरूले बिलकुलै समस्या खडा गर्नेछैनन्। अवश्य नै, कतिपय मानिसहरूले सत्यता अभ्यास गर्न नसक्नुको कारण भनेको तिनीहरूमा अझै पनि एक प्रकारको भ्रष्ट स्वभाव अर्थात् अहङ्कारी र आत्मधर्मी स्वभाव हुनु हो। सधैँ अभिमानी हुनु अनि सधैँ आफ्नै दृष्टिकोणलाई सही ठान्‍नु, सधैँ आफ्नै तरिकाले कामकुरा गर्न चाहनु, यो नै अहङ्कार र आत्मधार्मिकता अनि सत्यता स्विकार्न नसक्नु हो। मानिसहरूले सत्यता अभ्यास गर्दा सामना गर्ने सबैभन्दा ठूलो कठिनाइ यही हो। यदि तिनीहरू यो कठिनाइ हटाउन सत्यता खोज्न सक्छन् भने, सत्यता अभ्यास गर्नमा तिनीहरूलाई कुनै ठूलो समस्या हुनेछैन। अन्य समस्याहरूको सन्दर्भमा भन्‍नुपर्दा, यदि तिनीहरू आत्मचिन्तन गर्न, आफ्नो स्थिति जान्‍न, सत्यता खोज्न, अनि मनन र सङ्गति गर्नका लागि परमेश्‍वरको वचनका केही सान्दर्भिक खण्डहरू खोज्न सक्छन् भने, कुनै पनि समस्या सजिलै समाधान गर्न सकिन्छ। सत्यता पछ्याउनेहरूले मनन गर्नैपर्छ र आफ्ना समस्याहरू समाधान गर्न हरेक दिन सत्यता खोज्नैपर्छ, किनकि मानिसहरूले आफ्ना कर्तव्य निभाउनुको अलावा, कैयौँ परिस्थितिहरू सामना गर्न सक्छन् जुन हरेक दिन सत्यता अभ्यास गर्नुसँग सम्बन्धित हुन्छन्; तिनीहरू बाहिर नजाने वा अन्य मानिसहरूको सम्पर्कमा नआउने भए पनि, सत्यता अभ्यासका केही मामिलाहरू समेटिने सम्भावना हुन्छ। उदाहरणका लागि, त्यस दिन तँ कसरी जिइरहेको हुन्छस्, त्यस दिन तेरो जीवनको मुख्य ध्यान केमा हुनुपर्छ, तैँले कसरी त्यसलाई मिलाउनुपर्छ, तैँले कस्ता कर्तव्यहरू पूरा गर्नुपर्छ, तैँले आफ्नो कर्तव्यमा आइपर्ने कठिनाइहरूलाई सुल्झाउन कसरी सत्यता खोज्नुपर्छ, तेरो हृदयमा कस्ता भ्रष्ट कुराहरू छन् जुन तैँले चिन्तन गर्नु, बुझ्नु र समाधान गर्नुपर्छ—यी सबै कुराले सत्यताका पक्षहरू समेट्छन्, अनि यदि तैँले ती सुल्झाउन सत्यता खोज्दैनस् भने, तँ त्यस दिन आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्षम नहोलास्, अनि के त्यो वास्तविक समस्या होइन र? यदि तैँले हरेक दिनको उपलब्ध समयमा सोच्ने सबथोक आफ्नो भ्रष्ट स्वभाव कसरी सुल्झाउने, कसरी सत्यता अभ्यास गर्ने, अनि कसरी सत्यता सिद्धान्त बुझ्ने भन्‍नेसँग सम्बन्धित छ भने, तैँले परमेश्‍वरका वचनहरूअनुसार आफ्ना समस्याहरू सुल्झाउनका लागि सत्यता प्रयोग गर्न सिक्नेछस्। यसरी तैँले स्वतन्त्रत रूपले जिउने क्षमता प्राप्त गर्नेछस्, तँमा जीवन प्रवेश हुनेछ, तैँले परमेश्‍वरलाई पछ्याउनमा ठूला कठिनाइहरू सामना गर्नेछैनस्, अनि तँ क्रमिक रूपमा सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। यदि तँ आफ्नो हृदयमा अझै प्रतिष्ठा र हैसियतमै केन्द्रित छस्, अझै देखावा गर्न र मानिसहरूलाई आफ्नो मान गर्न लगाउनमै तल्लिन छस् भने, तँ सत्यता पछ्याउने व्यक्ति हैनस्, अनि तँ गलत मार्गमा हिँडिरहेको छस्। तैँले पछ्याउने कुरा सत्यता होइन, न त त्यो जीवन नै हो, बरु त्यो तँलाई मनपर्ने कुराहरू हो, त्यो ख्याति, फाइदा, र हैसियत हो—जुन अवस्थामा, तैँले गर्ने कुनै पनि कुरा सत्यतासँग सम्बन्धित हुँदैन, ती सबै दुष्कर्म, र सेवा चढाउनु हुन्। यदि तँ आफ्नो हृदयमा सत्यतालाई प्रेम गर्छस्, अनि सधैँ सत्यताका लागि लागिपर्छस्, स्वभाव परिवर्तनको पछि लाग्छस्, परमेश्‍वरप्रति सच्चा आज्ञाकारी हुन सक्छस्, र परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सक्छस्, अनि आफूले गर्ने हरेक कुरामा संयमित छस्, र परमेश्‍वरको छानबीन स्विकार्न सक्छस् भने, तेरो स्थितिमा सुधार आइरहनेछ, अनि तँ परमेश्‍वरसामु जिउने व्यक्ति बन्‍नेछस्। सत्यतालाई प्रेम गर्ने मानिसहरू सत्यतालाई प्रेम नगर्नेहरूभन्दा फरक मार्गमा हिँड्छन्: सत्यतालाई प्रेम नगर्ने मानिसहरू सधैँ शैतानका दर्शनअनुसार जिउनमा ध्यान दिन्छन्, तिनीहरू असल व्यवहार र भक्तिपनको बाह्य प्रदर्शनमै सन्तुष्ट हुन्छन्, तर तिनीहरूको हृदयमा अझै पनि महत्वाकाङ्क्षा र चाहनाहरू हुन्छन्, अनि तिनीहरू अझै पनि ख्याति, नाफा र हैसियतको पछि लाग्छन्, अझै पनि आशिष्‌ पाउन र राज्यमा प्रवेश गर्न चाहन्छन्—तर तिनीहरूले सत्यता खोजी गर्दैनन्, र तिनीहरूको भ्रष्ट स्वभावलाई फालिएको छैन, त्यसैले तिनीहरू सधैँ शैतानको शक्तिमा परेर जिउँछन्। सत्यतालाई प्रेम गर्ने मानिसहरूले सबै कुरामा त्यसैको खोजी गर्छन्, तिनीहरू आफूमाथि चिन्तन गर्छन् र आफूलाई चिन्‍ने प्रयास गर्छन्, तिनीहरू सत्यता अभ्यास गर्नमा ध्यान दिन्छन्, र तिनीहरूको हृदयमा परमेश्‍वरप्रतिको आज्ञापालन र डर सधैँ हुन्छ। तिनीहरूमा परमेश्‍वरबारे कुनै धारणा वा गलत बुझाइहरू उत्पन्‍न भए, तिनीहरूले तुरुन्तै परमेश्‍वरसँग प्रार्थना गर्छन् र तिनलाई समाधान गर्न सत्यता खोजी गर्छन्। तिनीहरूले आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्नमा ध्यान लगाउँछन् ताकि परमेश्‍वरको इच्छा तृप्त होस्; र तिनीहरू सत्यताप्रति लागिपर्छन् र परमेश्‍वरको ज्ञानको पछि लाग्छन्, परमेश्वरको भय मान्ने हृदय पाउँछन् र सबै दुष्कर्मबाट अलग बस्छन्। यिनीहरू सधैँ परमेश्‍वरको सामु जिउने मानिसहरू हुन्।

फेब्रुवरी १, २०१८

अघिल्लो: धर्ममा विश्वास गरेर वा धार्मिक समारोहमा सहभागी भएर मुक्ति पाउन सकिँदैन

अर्को: आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्