आत्मज्ञानले मात्रै सत्यता पछ्याउन सहयोग गर्छ
कतिपय मानिसले धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरिसकेपछि र धेरै प्रवचनहरूमा भाग लिइसकेपछि यी कुराहरूबाट थोरै लाभ लिएका हुन्छन्। कम्तीमा पनि तिनीहरू त्यस्ता केही वचन र धर्मसिद्धान्त कन्ठाग्र भन्न सक्छन् जुन सत्यताअनुरूप छन् जस्तो लाग्छ। तर पनि तिनीहरू आफूलाई केही आइपर्दा, सत्यता अभ्यास गर्न सक्दैनन्; तिनीहरू सत्यताअनुरूप एउटा पनि कुरा गर्न सक्दैनन्। के पनि भन्न सकिन्छ भने, तिनीहरूले परमेश्वरमा विश्वास गरेको यतिका वर्षसम्म, मण्डलीको काम जोगाउन केही गरेका छैनन्, वा एउटा पनि धर्मी काम गरेका छैनन्। यसलाई कसरी व्याख्या गर्न सकिन्छ? तिनीहरूले केही वचन र धर्मसिद्धान्त ओकल्न सक्ने भए पनि, पक्कै पनि सत्यता बुझ्दैनन्, त्यसैले तिनीहरू सत्यता अभ्यास गर्न सक्दैनन्। कतिपय मानिसले आफूलाई जान्नेबारे सङ्गति गर्दा, तिनीहरूको मुखबाट सुरुमा यो कुरा निस्कन्छ, “म दियाबलस, जिउँदो शैतान हुँ, परमेश्वरलाई विरोध गर्ने व्यक्ति हुँ। म उहाँको अवज्ञा गर्छु र उहाँलाई धोका दिन्छु; म सर्प हुँ, श्रापित हुनुपर्ने दुष्ट व्यक्ति हुँ।” के यो आफूलाई साँचो रूपमा चिन्न हो? तिनीहरूले समग्रमा मात्रै बोल्छन्। किन तिनीहरू उदाहरणहरू दिँदैनन्? विश्लेषण गर्नका लागि, किन तिनीहरू आफूले गरेका लाजमर्दा कुराहरू खुलासा गर्दैनन्? कतिपय समझ नभएका मानिस तिनीहरूको कुरा सुनेर सोच्छन्, “यो त साँचो आत्मज्ञान हो! तिनीहरू आफूलाई दियाबलस, शैतानको रूपमा चिनेर आफूलाई धिक्कार्ने समेत गर्छन्—तिनीहरू कति उचाइमा पुगिसकेका रहेछन्!” धेरै मानिस, विशेष गरी नयाँ विश्वासीहरू यस्तो कुराद्वारा भ्रमित हुने सम्भावना हुन्छ। तिनीहरूले यस्तो बोल्ने व्यक्ति शुद्ध छ र उसले आत्मिक कुराहरू बुझ्छ, ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हो, त्यसकारण नेतृत्व पदका लागि ऊ योग्य छ भन्ने सोच्छन्। तैपनि, तिनीहरूले त्यस व्यक्तिसँग केही समय कुराकानी गरिसकेपछि, वास्तविकता यो रहेनछ, त्यो व्यक्ति तिनीहरूले कल्पना गरेजस्तो रहेनछ, बरु अत्यन्तै झूटो र छली रहेछ, वास्तविकता लुकाउन र बहाना बनाउनमा सिपालु रहेछ भन्ने थाहा पाउँछन्, र यसले तिनीहरूलाई निकै खिन्न तुल्याउँछ। मानिसहरूले आफूलाई चिन्न सक्छन् भनेर कुन आधारमा भन्न सकिन्छ? हामीले तिनीहरूले बोलेको कुरालाई मात्रै ध्यान दिनु हुँदैन—मुख्य कुरा तिनीहरूले सत्यता अभ्यास र स्वीकार गर्न सक्छन् कि सक्दैनन् भन्ने हो। साँचो रूपमा सत्यता बुझ्ने मानिसहरूको हकमा भन्नुपर्दा, तिनीहरूमा आफूबारे साँचो ज्ञान हुने मात्र होइन, अझै महत्त्वपूर्ण कुरा त तिनीहरूले सत्यता अभ्यास पनि गर्न सक्छन्। तिनीहरूले आफ्नो साँचो बुझाइबारे बोल्ने मात्रै होइन आफूले भनेको कुरालाई साँचो रूपमा गर्न पनि सक्छन्। अर्थात्, तिनीहरूका बोलीवचन र व्यवहार पूर्णतया सुसङ्गत हुन्छन्। यदि तिनीहरूले बोलेको कुरा उचित र सहमतयोग्य सुनिन्छ, तर तिनीहरू बोलेको काम गर्दैनन्, र बोलेअनुसार जिउँदैनन् भने, यस तरिकाले तिनीहरू फरिसी बनेका हुन्छन्; तिनीहरू ढोङ्गी हुन्, आफूलाई साँचो रूपमा चिन्ने मानिसहरू हुँदै होइनन्। सत्यताबारे सङ्गति गर्दा धेरै मानिसहरू अत्यन्तै उचित सुनिन्छन्, तर आफूमा भ्रष्ट स्वभाव प्रकट भएको तिनीहरूलाई थाहै हुँदैन। के यी मानिसहरू आफूलाई चिन्ने मानिसहरू हुन्? यदि मानिसहरूले आफूलाई चिनेका छैनन् भने, के तिनीहरू सत्यता बुझ्ने मानिसहरू हुन्? आफूलाई नचिन्ने मानिसहरू सत्यता नबुझ्ने मानिसहरू हुन्, र आत्मज्ञानका खोक्रा शब्दहरू बोल्ने मानिसहरूमा झूटो आत्मिकता हुन्छ, तिनीहरू ढँटुवा हुन्। कतिपय मानिसहरूले वचन र धर्मसिद्धान्तहरू बोल्दा निकै तर्कसङ्गत सुनिन्छन्, तर आत्मामा तिनीहरूको स्थिति स्तब्ध र सुस्त हुन्छ, तिनीहरूले केही बुझ्दैनन्, र कुनै समस्याप्रति पनि प्रतिक्रिया दिँदैनन्। तिनीहरू भावशून्य हुन्छन् भनेर भन्न सकिन्छ, तर कहिलेकहीँ, तिनीहरूको कुरा सुन्दा, तिनीहरूको आत्मा निकै प्रखर छ जस्तो देखिन्छ। उदाहरणको लागि, कुनै घटना घटेपछि, तिनीहरूले तुरुन्तै आफूलाई चिन्न सक्छन्: “अहिले भर्खरै मभित्र एउटा विचार प्रकट भएको छ। यसबारे विचार गर्दा, मलाई महसुस भयो कि यो त धूर्त कार्य रहेछ, र मैले परमेश्वरलाई धोका दिइरहेको रहेछु।” तिनीहरूले यसो भनेको सुन्दा कतिपय अविवेकी मानिसहरूले डाहा गर्दै भन्छन्: “भ्रष्टता प्रकट हुँदा यस व्यक्तिले तुरुन्तै महसुस गर्न सक्दो रहेछ र यसबारेमा खुलेर सङ्गति गर्न पनि सक्दो रहेछ। ऊ प्रतिक्रिया दिन छिटो रहेछ, उसको आत्मा प्रखर रहेछ, र ऊ हामीभन्दा राम्रो रहेछ। ऊ पक्कै पनि सत्यता पछ्याउने व्यक्ति हो।” के यो मानिसहरूलाई मापन गर्ने सही तरिका हो त? (होइन।) त्यसो भए, मानिसहरूले आफूलाई साँच्चै चिनेका छन् कि छैनन् भनेर मूल्याङ्कन गर्ने आधार के हो? तिनीहरूको मुखबाट निस्कने कुराहरू मात्रै हेर्नु हुँदैन। तिनीहरूमा साँच्चै के प्रकट हुन्छ त्यसलाई हेर्नुपर्छ। यसको सबैभन्दा सरल विधि भनेको तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन् कि सक्दैनन् भनेर हेर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सत्यता अभ्यास गर्ने तिनीहरूको क्षमताले तिनीहरू साँचो रूपमा आफूलाई चिन्छन् भन्ने प्रमाणित गर्छ, किनभने आफूलाई साँचो रूपमा चिन्नेहरूले पश्चात्ताप गर्छन्, र पश्चात्ताप नदेखाएसम्म मानिसहरूले आफूलाई साँचो रूपमा चिन्दैनन्। उदाहरणको लागि, कुनै व्यक्तिले आफू छली छु, युक्ति र षड्यन्त्रले भरिएको छु भन्ने जानेको हुन सक्छ, र अरूले छलीपन प्रकट गर्दा उसले बताउन पनि सक्छ। त्यसैले, उसले आफू छली भएको स्विकारेपछि, साँचो रूपमा पश्चात्ताप गरेर आफ्नो छलीपन हटाउँछ कि हटाउँदैन, त्यो हेर्। अनि उसमा फेरि छलीपन प्रकट भयो भने, उसलाई फेरि छली भएकोमा आफूप्रति धिक्कार र लाज लाग्छ कि लाग्दैन, उसले साँच्चै पछुतो गर्छ कि गर्दैन त्यसलाई हेर। यदि उसमा लाजको कुनै बोध पनि हुँदैन र उसले पश्चात्ताप पनि गर्दैन भने, उसको आत्मज्ञान सतही, र लटरपटर गरिएको कुरा मात्रै हुन्छ। उसले झारा मात्रै टारिरहेको हुन्छ; उसको ज्ञान साँचो हुँदैन। उसलाई छल त्यस्तो दुष्ट वा पिशाची कुरा हो भन्ने अनुभूति हुँदैन, र उसलाई निश्चय नै छल भनेको कति निर्लज्ज र नीच व्यवहार हो भन्ने अनुभूति हुँदैन। ऊ सोच्छ, “मानिसहरू सबै छली हुन्छन्। मूर्खहरू मात्र छली हुँदैनन्। अलिकति छली हुँदैमा तिमी खराब व्यक्ति हुँदैनौ। मैले दुष्टता गरेको छैनँ; म सबैभन्दा छली व्यक्ति होइन।” के यस्तो व्यक्तिले साँचो रूपमा आफूलाई चिन्न सक्छ? कदापि सक्दैन। किनकि उसलाई आफ्नो छली स्वभावबारे ज्ञान हुँदैन, उसले छललाई घृणा गर्दैन, र आत्मज्ञानबारे उसले भन्ने सबथोक ढोँग र खोक्रो कुरा मात्र हुन्। आफ्ना भ्रष्ट स्वभावहरू नचिन्नु साँचो आत्मज्ञान होइन। छली मानिसहरूले साँचो रूपमा आफूलाई चिन्न नसक्नुको कारण के हो भने, तिनीहरूका लागि सत्यता स्विकार्नु सजिलो कुरा होइन। त्यसैले, तिनीहरूले जति नै वचन र धर्मसिद्धान्त ओकल्न सक्ने भए पनि, तिनीहरू साँचो रूपमा परिवर्तन हुनेछैनन्।
कुनै व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भनेर कसरी छुट्याउन सकिन्छ? एक हिसाबमा, यस व्यक्तिले आफूलाई परमेश्वरको वचनको आधारमा चिन्न सक्छ कि सक्दैन, उसले आफ्नो बारेमा मनन गर्न र साँचो ग्लानि महसुस गर्न सक्छ कि सक्दैन भनेर हेर्नुपर्छ; अर्को हिसाबमा, उसले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ कि सक्दैन भनेर हेर्नुपर्छ। यदि उसले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ भने, ऊ सत्यतालाई प्रेम गर्ने र परमेश्वरको काम पालन गर्ने व्यक्ति हो। यदि यस्ता व्यक्तिहरूले सत्यतालाई केवल पहिचान गर्छन्, तर स्विकार्ने वा अभ्यास गर्ने कहिल्यै गर्दैनन् अर्थात्, “म सबै सत्यता बुझ्छु, अभ्यास गर्नचाहिँ सक्दिनँ” भन्नेले जस्तै व्यवहार गर्छन् भने, तिनीहरू सत्यलाई प्रेम गर्ने मानिसहरू होइनन्। कतिपय मानिसहरूले परमेश्वरको वचन सत्यता हो र आफूमा भ्रष्ट स्वभाव छ भनेर स्विकार्छन्, र तिनीहरू पश्चात्ताप गर्न र आफूलाई बदलेर नयाँ पार्न तयार छौँ पनि भन्छन्, तर त्यसपछि तिनीहरूमा कुनै परिवर्तन आउँदैन। तिनीहरूको बोली र व्यवहार पहिलेको जस्तै हुन्छ। जब तिनीहरूले आफूलाई चिन्नेबारेमा कुरा गर्छन्, यस्तो लाग्छ कि तिनीहरूले चुट्किला सुनाइरहेका वा नारा फलाकिरहेका छन्। तिनीहरूले हृदयदेखि मनन गर्ने वा आफूलाई चिन्ने प्रयास बिलकुलै गर्दैनन्; मुख्य समस्या त तिनीहरूमा पछुताउने मनोवृत्ति नै हुँदैन। तिनीहरूले साँचो रूपमा आत्मचिन्तन गर्न आफ्नो भ्रष्टताबारे जस्ताको तस्तै खुलाउने काम त झनै कम गरिरहेका हुन्छन्। बरु, तिनीहरूले विधि पूरा गरेजस्तो गर्दै अनि झारा टार्दै आफूलाई चिनेको बहाना बनाइरहेका हुन्छन्। तिनीहरू आफूलाई साँचो रूपमा चिन्ने वा सत्यता स्विकार्ने मानिसहरू होइनन्। जब त्यस्ता मानिसहरूले आफूलाई चिनेको बारेमा कुरा गर्छन्, तिनीहरूले केवल झारा टारिरहेका हुन्छन्; तिनीहरू नाटक गर्न र छल्न अनि झूटो आत्मिकता देखाउनमा लागिरहेका हुन्छन्। कतिपय मानिस छली हुन्छन्, र जब तिनीहरूले अरूले आफ्नो आत्मज्ञान सङ्गति गरिरहेको देख्छन्, तब तिनीहरूले सोच्छन्, “अरू सबैले आफ्नो छलको बारेमा खुलेर विश्लेषण गर्छन्। यदि मैले केही भनिनँ भने त मैले आफूलाई चिनेकै छैन भनेर सबैले सोच्लान्। यस्तोमा मैले पनि केही बोलेजस्तो त गर्नैपर्ने भो!” त्यसपछि, तिनीहरूले आफ्नो छललाई अत्यन्तै गम्भीर भन्छन्, यसलाई नाटकीय शैलीमा प्रस्तुत गर्छन्, र हेर्दा खेरि तिनीहरूको आत्मज्ञान निकै गहनजस्तो लाग्छ। तिनीहरूको कुरा सुन्ने हरेकले तिनीहरूले साँच्चै आफूलाई चिनेका रहेछन् भन्ने सोच्छन्, र तिनीहरूलाई डाहाको नजरले हेर्छन्, अनि तिनीहरू महिमावान् भएको, तिनीहरूको शिरमा तेजस्वी ज्योति छाएको जस्तो महसुस गर्छन्। आत्मज्ञान पाएजस्तो नाटक गर्ने तिनीहरूको यो शैली, साथै देखावटी व्यवहार र छलले अरूलाई पूरै बहकाउँछ। यसो गर्दा के तिनीहरूको विवेक शान्त हुन्छ त? के यो केवल भद्दा छल होइन र? यदि मानिसहरूले आफूलाई जान्नेबारे खोक्रा कुरा मात्र गर्छन्, त्यो ज्ञान जति नै उच्च र असल हुन सक्ने भए पनि, र त्यसपछि पनि तिनीहरू पहिलेजस्तै भ्रष्ट स्वभाव प्रकट गरिरहन्छन्, र बिलकुलै परिवर्तन हुँदैनन् भने, त्यो साँचो आत्मज्ञान होइन। यदि मानिसहरूले यसरी जानीजानी नाटक गरेर धोका दिन सक्छन् भने, यसले तिनीहरूले सत्यता पटक्कै स्वीकार गर्दैनन्, र तिनीहरू अविश्वासीहरूजस्तै छन् भन्ने प्रमाणित गर्छ। आफ्नो आत्मज्ञानको बारेमा यस्तो शैलीमा कुरा गरेर, तिनीहरूले प्रचलनलाई मात्र पछ्याइरहेका हुन्छन् र अरू सबैलाई जे मन पर्छ त्यही मात्र बोलिरहेका हुन्छन्। के तिनीहरूको आत्मज्ञान र विश्लेषण छलपूर्ण हुँदैन र? के यो साँचो आत्मज्ञान हो त? अवश्य नै होइन। किनभने तिनीहरूले खुलेर हृदयबाट आफूलाई विश्लेषण गरिरहेका हुँदैनन्, केवल झारा टार्नको लागि आफूलाई जानेको छु भनेर झूटो र छली तरिकाले थोरै कुरा बोलिरहेका हुन्छन्। अझै गम्भीर कुरा त के हुन्छ भने अरूलाई तिनीहरूको श्रद्धा र डाहा गर्ने तुल्याउन, आत्मज्ञानको बारेमा कुरा गर्दा आफ्ना समस्याहरूलाई अझै गम्भीर देखाउन जानीजानी बढाइचढाइ गर्छन्, र त्यसमा व्यक्तिगत अभिप्राय र लक्ष्यहरू मिसाउँछन्। तिनीहरूले यसो गर्दा, आभारी महसुस गर्दैनन्, तिनीहरूले देखावटी रूप धारण गर्दै र छली काम गर्दै परमेश्वर विरुद्ध विद्रोह र धोकाको काम गर्दा पनि तिनीहरूले आफ्नो विवेकलाई धिक्कार्दैनन् र तिनीहरूले आफ्नो गल्ती स्विकार्न परमेश्वरलाई प्रार्थना गर्दैनन्। के यस्ता मानिसहरू हठी होइनन् र? यदि तिनीहरूलाई आभारी महसुस हुँदैन भने, के तिनीहरूलाई कहिल्यै अफसोस हुन्छ त? के सच्चा अफसोस नहुने व्यक्तिले देहसुख त्याग्न र सत्यता अभ्यास गर्न सक्छ? के सच्चा अफसोस नहुने व्यक्तिले साँचो रूपमा पश्चात्ताप गर्न सक्छ? अवश्य नै सक्दैन। यदि तिनीहरूलाई अफसोस समेत हुँदैन भने, के आत्मज्ञानको बारेमा कुरा गर्नु हास्यास्पद हुँदैन र? के यो नाटक र छल मात्रै हुँदैन र? कतिपय मानिसले झूट बोलेपछि र छल गरेपछि त्यो महसुस गर्न र पछुताउन सक्छन्। तिनीहरूमा लाजको बोध हुने भएकाले, तिनीहरू खुलस्त भएर आफ्नो भ्रष्टता अरूसामु स्विकार्न सर्माउँछन्, तर प्रार्थना गर्न र परमेश्वरसामु खुलस्त हुन सक्छन्। तिनीहरू पश्चात्ताप गर्न इच्छुक हुन्छन्, र पछि साँचो रूपमा परिवर्तन हुन्छन्। ऊ आफूलाई चिन्ने र साँचो पश्चात्ताप गर्ने व्यक्ति पनि हो। आफूले झूट बोलेको र छल गरेको छु भनी अरूसामु स्विकार्ने साहसी र परमेश्वरलाई प्रार्थना गरेर आफूलाई खुलस्त पार्न पनि सक्ने, आफ्नो भ्रष्टताको प्रकटीकरण स्विकार्ने व्यक्तिले आफूलाई चिन्न र साँचो पश्चात्ताप गर्न सक्छ। उसले केही समय प्रार्थना र सत्यता खोजी गरेपछि अभ्यासको मार्ग भेट्टाउँछ र उसमा केही परिवर्तन आउँछ। सबैको उस्तै प्रकृति सार भए पनि, र सबैमा भ्रष्ट स्वभाव भए पनि, सत्यता स्विकार्न सक्नेहरूमा मुक्ति प्राप्त गर्ने आशा हुन्छ। कतिपय मानिस परमेश्वरमा विश्वास गरेपछि परमेश्वरको वचन पढ्न आनन्द मान्छन्, र आत्मचिन्तनमा ध्यान दिन्छन्। तिनीहरू आफ्नो भ्रष्टता प्रकट भएको देख्दा, परमेश्वरप्रति ऋणी महसुस गर्छन् र आफ्नो झूट र जालझेलको समस्या हल गर्न प्राय: संयमी बन्ने गर्छन्। त्यसपछि पनि तिनीहरू आफूलाई नियन्त्रणमा राख्न नसकेर बारम्बार झूट बोल्छन् र छल गर्छन्। त्यसपछि नै तिनीहरू शैतानी स्वभावको समस्यालाई संयमद्वारा समाधान गर्न सकिँदैन भन्ने कुरा थाहा पाउँछन्। त्यसैले तिनीहरू परमेश्वरलाई प्रार्थना गर्छन्, आफ्नो कठिनाइ बताउँछन्, आफूलाई पापी प्रकृति र शैतानी प्रभावको नियन्त्रणबाट बचाइमाग्छन्, ताकि आफूलाई परमेश्वरको मुक्ति प्राप्त होस्। केही समयपछि, केही नतिजा प्राप्त हुनेछन्, तर तिनीहरूको झूट बोल्ने र छल गर्ने समस्याको मूलभूत समाधान हुनेछैन। त्यसैले अन्त्यमा तिनीहरू शैतानी स्वभावले आफ्नो हृदयमा लामो समयदेखि जरा गाडेको, र आफ्नो मर्ममै भेदेको महसुस गर्छन्। मानव प्रकृति शैतानी हुन्छ। परमेश्वरको वचनको न्याय र सजाय स्विकारेर अनि पवित्र आत्माको काम प्राप्त गरेर मात्र शैतानी स्वभावको बन्धनबाट मुक्त हुन सकिन्छ। परमेश्वरको वचनले तिनीहरूलाई अन्तर्दृष्टि दिएपछि र अगुवाइ गरेपछि मात्र तिनीहरूले आफ्नो भ्रष्टताको गहिराइ देख्छन् र भ्रष्ट मानवजाति वास्तवमा शैतानका सन्तान हुन् अनि परमेश्वरको मुक्तिको काम नहुँदो हो त सबैले अधोगति र विनाश भोग्नेथिए भनी थाहा पाउँछन्। त्यसपछि मात्र तिनीहरू परमेश्वरले न्याय र सजायमार्फत मानिसलाई मुक्ति दिनु कत्ति व्यावहारिक रहेछ भन्ने कुरा देख्छन्। तिनीहरूले यो अनुभव गरेपछि, हृदयबाटै परमेश्वरको न्याय र सजाय स्विकार्न सक्छन्, र तिनीहरूलाई भित्रैबाट साँचो पछुतो हुन थाल्छ। अब तिनीहरूमा साँच्चै चेतना हुन्छ र तिनीहरू आफूलाई चिन्न थाल्छन्। हृदयमा चेतना नभएकाहरूबारे भन्नुपर्दा, तिनीहरूले पनि केही आत्मिक वचन, केही समझका वचनहरू बोल्न सिक्लान्। तिनीहरू विशेष गरी ती “भक्तजन” भनौँदाहरूले एकदमै बारम्बार चलाउने थेगोहरू कन्ठाग्र भन्न सिपालु हुन्छन्, र ती निकै सच्चा पनि लाग्छ, र छल गरेर श्रोताहरूलाई रुवाउनेसमेत गर्छन्। फलस्वरूप, सबैले ती रुचाउँछन् र तिनलाई महत्त्व दिन्छन्। के यस्ता मानिसहरू धेरै छन्? यो कस्तो प्रकारको व्यक्ति हो? के यो फरिसी होइन र? यस्ता मानिसहरू सबैभन्दा छली हुन्छन्। पहिलोपटक यस्तो व्यक्तिलाई भेट्दा, सत्यता नबुझ्ने मानिसहरूले ऊ निकै आत्मिक छ भन्ठान्लान्, त्यसैले तिनीहरू उसलाई अगुवाको रूपमा चयन गर्छन्। फलस्वरूप एक वर्ष नकाट्दै उसले यी सबै नासमझ मानिसहरूलाई आफ्नो पक्षमा पारिसकेको हुन्छ। तिनीहरू उसको वरिपरि झुम्मिन्छन्, उसलाई अनुमोदन र कदर गर्छन्, केही आइपर्दा उसलाई मार्गदर्शन माग्छन्, र उसको बोल्ने शैली नक्कलसमेत गर्छन्। उसलाई पछ्याउनेहरू वचन र धर्मसिद्धान्त फलाक्न सिक्छन्, तिनीहरू मानिस र परमेश्वरलाई छल गर्न सिक्छन्, तर त्यसको नतिजास्वरूप परीक्षाहरू आइपर्दा तिनीहरू सबै निष्क्रिय र कमजोर हुन्छन्। तिनीहरू मनमा परमेश्वरलाई दोष दिन्छन् र शङ्का गर्छन्, र अलिकति पनि आस्था देखाउँदैनन्। व्यक्तिलाई आराधना गर्नु र पछ्याउनुको नतिजा यही हो। धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरे पनि र धेरै आत्मिक धर्मसिद्धान्त बोल्न सके पनि, तिनीहरूमा कुनै सत्यता वास्तविकता हुँदैन। तिनीहरू सबैलाई पाखण्डी फरिसीले बहकाएको र मोहित पारेको हुन्छ। के खुट्ट्याउन नसक्नेहरू सजिलै छलमा परेर गलत मार्गमा हिँड्दैनन् र? खुट्ट्याउन नसक्ने अलमलमा हुन्छन्, र तिनीहरू एकदमै सजिलै बहकिन्छन्!
व्यक्तिले खुट्ट्याउन सिक्नका लागि, सुरुमा आफ्ना समस्याहरूबारे चिन्तन गर्ने र तिनलाई खुट्ट्याउने तरिका सिक्नैपर्छ। हरेक व्यक्तिमा अहङ्कार र आत्म-धार्मीपन हुन्छ, र थोरै मात्र शक्ति पायो भने पनि ऊ स्वेच्छाचारी व्यवहार गर्नतिर लाग्न सक्छ। मानिसहरूले यो बारम्बार भइरहेको देख्छन्, र यसलाई तत्कालै बुझ्न सकिन्छ, तर सजिलै नदेखिने, वा मानिसहरू कम संवेदनशील हुने, र आफूमा वा अरूमा पत्ता लगाउन कठिन हुने भ्रष्ट स्वभावहरू के हुन्? (म छलीपनप्रति संवेदनशील छैनँ।) छलीपनप्रति असंवेदनशीलता, अनि अरू? (स्वार्थीपन र तिरस्कार्य।) स्वार्थीपन र तिरस्कार्य। उदाहरणका लागि, कतिपय मानिस केही काम गर्छन् र त्यो अरूलाई ध्यानमा राखेर गरिरहेको दाबी गर्छन्, सबैको अनुमोदन प्राप्त गर्न यसलाई प्रयोग गर्ने निहुँ बनाउँछन्। तर वास्तवमा, तिनीहरू यो आफू समस्याबाट जोगिन गर्छन्, यो मनसायबारे अरूलाई थाहा हुँदैन, र यो पत्ता लगाउन कठिन हुन्छ। अरू कस्ता भ्रष्ट स्वभावहरू पत्ता लगाउन सबैभन्दा कठिन हुन्छ? (पाखण्डीपन।) अर्थात्, बाहिर तिनीहरू असल व्यक्ति देखिन्छन्, प्रशंसा पाउन मानव धारणासँग मिल्ने केही कामकुरा गर्छन्, तर भित्र चाहिँ शैतानी दर्शन र गोप्य मनसायहरू लुकाएर राख्छन्। यो छली स्वभाव हो। के यो खुट्ट्याउन सजिलो छ? कम क्षमता भएका र सत्यता नबुझ्ने मानिसहरू कामकुरा छर्लङ्गै देख्न सक्दैनन्; तिनीहरू विशेष गरी यस प्रकारको व्यक्तिलाई खुट्ट्याउन सक्दैनन्। कतिपय अगुवा र सेवकहरू कुनै समस्या समाधान गर्दा, प्रस्ट रूपमा र तर्कसङ्गत ढङ्गले बोल्छन्, मानौँ तिनीहरूले उक्त समस्या छर्लङ्गै देखेका छन्, तर तिनीहरूले बोलिसक्दा उक्त समस्या हल भएको हुँदैन। तिनीहरू उक्त समस्या हल भइसकेको छ भनी तँलाई गलत विश्वाससमेत दिलाउँछन्; के यो मानिसहरूलाई धोका दिनु र छल गर्नु होइन र? आफ्नो कर्तव्य पालना गर्दा साँचो कदम नचाल्ने, अनि भरमार खोक्रो शब्द र चखिलो बोली बोल्नेहरू सबै पाखण्डी हुन्। तिनीहरू अति धेरै चतुर र कुटिल हुन्छन्। यस्तो व्यक्तिसँग लामो समयसम्म सङ्गत गरेपछि, के तिमीहरूले तिनीहरूलाई चिन्न सक्यौ? तिनीहरू यत्तिका वर्ष परमेश्वरमा विश्वास गरेपछि पनि किन परिवर्तन हुँदैनन्? यसको मूल कारण के हो? ठ्याक्कै भन्नुपर्दा, तिनीहरू सबै जना सत्यतादेखि दिक्क मान्ने मानिस हुन्, त्यसैले तिनीहरू सत्यता स्विकार्न अनिच्छुक हुन्छन्। तिनीहरू शैतानको दर्शनअनुसार जिउन रुचाउँछन्, यसले आफूलाई बेफाइदा नगर्ने मात्र होइन, तर प्रभावशाली र आकर्षक देखिनसमेत मद्दत गर्छ, अनि अरूलाई आफ्नो आदर गर्ने तुल्याउँछ भनी सोच्छन्। के यस्ता मानिसहरू धूर्त र छली होइनन् र? तिनीहरू मरेकाटे सत्यता स्विकार्दैनन्; के यस्तो व्यक्तिले मुक्ति प्राप्त गर्न सक्छ? कतिपय मानिस काटछाँट र निराकरण गरिँदा मुखले त आफ्ना दुष्कर्महरू स्विकार्न सक्छन्, तर मनमा भने यसरी प्रतिरोध गर्छन्: “तिमीले भनिरहेको कुरा सही भए पनि, म स्विकार्नेछैनँ। म तिमीसित अन्त्यसम्म नै लड्नेछु!” तिनीहरू भेष बदल्न निकै खप्पिस हुन्छन्, तिनीहरू मुखले स्विकार्छु भन्छन्, तर हृदयमा स्विकार्दैनन्। यो त सत्यतादेखि दिक्क मान्ने स्वभाव पनि हो। पत्ता लगाउन र देख्न गाह्रो हुने अरू भ्रष्ट स्वभावहरू के हुन्? के हठीपन पत्ता लगाउन कठिन छैन र? हठीपन पनि एक प्रकारको स्वभाव हो जुन अलिक लुकेको हुन्छ। यो प्राय: व्यक्तिको अटेरी हुँदै जिद्दी गर्ने दृष्टिकोणको रूपमा र सत्यता स्विकार्न कठिनाइ भएको रूपमा प्रकट हुन्छ। अरूले जसरी सत्यताअनुरूप बोले पनि, हठी व्यक्ति आफ्नै तौरतरिकामा अडिग रहन्छ। हठी स्वभाव भएको व्यक्तिले सत्यता स्विकार्ने सम्भावना सबैभन्दा कम हुन्छ। सत्यता नस्विकार्ने मानिसहरू यस प्रकारको हठी स्वभावलाई प्राय: आफूभित्रै लुकाउँछन्। जब मानिसहरू जिद्दी गर्दै आफूभित्रको कुरामा अडिग रहन्छन् वा आफ्नो व्यक्तिगत इच्छामा दृढ रहने मनोवृत्ति राख्छन्, तब त्यो पत्ता लगाउन कठिन हुन्छ। अरू के छन्? सत्यतालाई प्रेम नगर्ने र सत्यतादेखि दिक्क मान्ने कुरा पत्ता लगाउन कठिन हुन्छ। उग्रता पत्ता लगाउन कठिन हुन्छ। पत्ता लगाउन सबैभन्दा सजिलो त अहङ्कार र धूर्तता हुन्छन्, तर अरू—हठीपन, सत्यतादेखि दिक्क मान्नु, उग्रता, दुष्टता—यी सबै पत्ता लगाउन कठिन हुन्छ। दुष्टता पत्ता लगाउन सबैभन्दा कठिन हुन्छ, किनकि यो मान्छेको प्रकृति बनेको हुन्छ र तिनीहरू यसको महिमा गाउन थाल्छन्, र त्योभन्दा पनि दुष्टता तिनीहरूलाई दुष्ट लाग्नेछैन। त्यसैले हठी व्यक्तिभन्दा दुष्ट स्वभाव पत्ता लगाउन बढी कठिन हुन्छ। कतिपय मानिस भन्छन्: “कसरी यो पत्ता लगाउन सजिलो हुन सक्दैन? सबै मानिसमा दुष्ट कामवासना हुन्छ। के त्यो दुष्टता होइन र?” त्यो सतही कुरा हो। साँचो दुष्टता भनेको के हो? कुन-कुन स्थितिहरू प्रकट हुँदा दुष्ट हुन्छन्? मानिसहरूले आफ्नो हृदयका गहिराइमा लुकेका दुष्ट र लाजमर्दा अभिप्रायहरू लुकाउनका लागि ठुल्ठुला अभिव्यक्तिहरू दिएर ती अभिव्यक्तिहरू असल, निष्कपट र न्यायसङ्गत छन् भनी अरूलाई विश्वस्त गराएर अन्तिममा आफ्ना गुप्त मनसायहरू पूरा गर्छन् भने के यो दुष्ट स्वभाव हो? किन यसलाई छली भएको नभनेर दुष्ट भएको भनिन्छ? स्वभाव र सारको हिसाबमा, छल त्यति खराब होइन। दुष्ट हुनु छली हुनुभन्दा धेरै गम्भीर कुरा हो, यो छलीपनभन्दा घातक र धूर्त हुन्छ, र औसतको व्यक्तिलाई यो कुरा देख्न गाह्रो हुन्छ। उदाहरणको लागि, हव्वालाई लोभ्याउन सर्पले कस्ता शब्दहरू प्रयोग गर्यो? देखावटी शब्दहरू, जुन सुन्दाखेरी सही र आफ्नो भलाइ गर्नेजस्ता देखिन्छन्। यी शब्दहरूमा कुनै गलत कुरा लुकेको वा तिनको पछाडि कुनै दुर्भावनापूर्ण अभिप्राय रहेको तँलाई थाहै हुँदैन, र साथै, शैतानले दिएका यी सुझावहरू तँ त्याग्नै सक्दैनस्। यो परीक्षा हो। जब तँलाई प्रलोभित गरिन्छ र तँ यस्ता शब्दहरू सुन्छस्, तब तँ नलोभिई बस्न सक्दैनस् र तँ पासोमा पर्ने सम्भावना धेरै हुन्छ, र त्यसरी तैँले शैतानको उद्देश्य हासिल गर्छस्। यसैलाई दुष्टता भनिन्छ। सर्पले हव्वालाई लोभ्याउन यही विधि प्रयोग गर्यो। के यो एक प्रकारको स्वभाव हो? (हो।) अनि, यस प्रकारको स्वभाव कहाँबाट आउँछ? यो सर्प, अर्थात् शैतानबाट आउँछ। यस प्रकारको दुष्ट स्वभाव मानिसको प्रकृतिमै रहेको हुन्छ। के यो दुष्टता मानिसको दुष्ट कामवासनाभन्दा फरक छैन र? दुष्ट कामवासना कसरी पैदा हुन्छ? त्यो देहसँग सम्बन्धित छ। साँच्चैको दुष्टता गहिरो रूपमा लुकेको एक प्रकारको स्वभाव हो, जुन सत्यताको अनुभव वा बुझाइविनाका मानिसहरूले बिलकुलै चिन्न सक्दैनन्। त्यसकारण मान्छेका स्वभावहरूमध्ये यसलाई पत्ता लगाउन सबैभन्दा कठिन हुन्छ। कस्तो प्रकारको व्यक्तिमा दुष्ट स्वभाव सबैभन्दा गम्भीर हुन्छ? अरूलाई शोषण गर्न रुचाउनेहरूमा। तिनीहरू चालबाजीमा यति सिपालु हुन्छन् कि तिनीहरूले चालबाजी गरेका मानिसहरूलाई त्यसपछि के भयो भन्ने नै थाहा हुँदैन। यस्तो व्यक्तिमा दुष्ट स्वभाव हुन्छ। दुष्ट मानिसहरू छल गर्दै अरू माध्यम प्रयोग गरेर आफ्नो छल ढाकछोप गर्छन्, आफ्ना पापहरू ढाक्छन्, र आफ्नो गोप्य अभिप्राय, लक्ष्य, र स्वार्थी चाहनाहरू लुकाउँछन्। यो दुष्ट कुरा हो। साथै, तिनीहरू विविध माध्यम प्रयोग गरेर लोभ्याउने, प्रलोभनमा पार्ने, फकाउने गर्छन्, आफ्ना लक्ष्यहरू हासिल गर्न तँलाई तिनीहरूको इच्छा पछ्याउन र तिनीहरूको स्वार्थी चाहना पूरा गर्न लगाउँछन्। यो सबै दुष्ट कुरा हो। यो असली शैतानी स्वभाव हो। के तिमीहरूले यीमध्ये कुनै व्यवहार देखाएका छौ? तिमीहरूले दुष्ट स्वभावका पक्षहरूमध्ये कुनचाहिँ बढी देखाएका छौ: प्रलोभन, लोभ्याइ, वा झूटले अरू झूट ढाक्ने काम? (मलाई आफूले ती सबै अलिअलि देखाएको छु जस्तो लाग्छ।) तँलाई आफूले ती सबै अलिअलि देखाएको छु जस्तो लाग्छ। अर्थात्, भावनात्मक रूपमा तँलाई आफूले यी व्यवहारहरू देखाएको छस् र देखाएको छैनस् भन्ने दुवै लाग्छ। तँ कुनै प्रमाण दिन सक्दैनस्। त्यसोभए, तैँले आफ्नो दैनिक जीवनमा कुनै कुरा सामना गर्दा, दुष्ट स्वभाव देखाइस् भने के तँ त्यो महसुस गर्छस्? वास्तवमा, यी कुराहरू हरेक व्यक्तिको स्वभावमा हुन्छन्। उदाहरणका लागि, तैँले नबुझ्ने कुरा छ, तर तँ आफूले त्यो बुझ्दिनँ भन्ने कुरा अरूलाई थाहा दिन चाहँदैनस्, त्यसैले तँ त्यो कुरा बुझ्छस् भनेर तिनीहरूलाई सोच्न लगाउन अनेक माध्यम प्रयोग गर्छस्। यो जालझेल हो। यस प्रकारको जालझेल दुष्टताको प्रकटीकरण हो। प्रलोभन र लोभ्याइ पनि छन्, यी सबै दुष्टताको प्रकटीकरण हुन्। के तिमीहरू अरूलाई प्राय: प्रलोभनमा पार्छौ? यदि तँ उचित ढङ्गमा कसैलाई बुझ्ने कोसिस गरिरहेको छस्, ऊसँग सङ्गति गर्न चाहिरहेको छस्, र त्यसो गर्नु तेरो कामका लागि आवश्यक छ र त्यो उचित अन्तरक्रिया हो भने, यो प्रलोभन होइन। तर यदि तँसँग व्यक्तिगत आशय र उद्देश्य छ, र तँ साँच्चै यो व्यक्तिको स्वभाव, पछ्याइ, र ज्ञान बुझ्न चाहँदैनस्, बरु उसको भित्री सोच र साँचो भावनाहरू खोतल्न चाहन्छस् भने, यसलाई दुष्टता, प्रलोभन, र लोभ्याइ भनिन्छ। यदि तँ यसो गर्छस् भने, तँमा दुष्ट स्वभाव छ; के यो लुकेको कुरा होइन र? के यस्तो स्वभाव परिवर्तन गर्न सजिलो हुन्छ? यदि तैँले आफ्नो स्वभावको हरेक पक्षमा के-कस्ता प्रकटीकरणहरू छन्, तिनले प्राय: कस्तो स्थिति पैदा गर्छन् भनी चिन्न, र तिनलाई आफूसँग मिलान गर्न, अनि यस प्रकारको स्वभाव कति भयानक र खतरनाक हुन्छ भनी अनुभूति गर्न सक्छस् भने, तँलाई यस सन्दर्भमा परिवर्तन हुनुपर्छ भन्ने जिम्मेवारी बोध हुन्छ, र तैँले परमेश्वरको वचनको तृष्णा गर्न र सत्यता स्विकार्न सक्नेछस्। त्यतिबेला नै तैँले परिवर्तन हुन र मुक्ति प्राप्त गर्न सक्छस्। तर यदि तैँले तिनलाई आफूसँग मिलान गरेपछि पनि सत्यताको तृष्णा गर्दैनस्, तँ ऋणी वा दोषी महसुस गर्दैनस्—झन् कुनै पश्चात्ताप गर्नु त परै जाओस्—अनि तँ सत्यतालाई प्रेम गर्दैनस् भने, तँलाई परिवर्तन हुन कठिन हुनेछ। र बुझेर केही हुँदैन, किनकि तैँले जेजति बुझेको छस् त्यो सबै धर्मसिद्धान्त मात्र हो। त्यो सत्यताको जुनै पक्ष भए पनि, यदि तेरो बुझाइ धर्मसिद्धान्तमै टुङ्गिन्छ अनि तेरो अभ्यास र प्रवेशसित जोडिँदैन भने, तैँले बुझ्ने धर्मसिद्धान्तको कुनै काम हुनेछैन। यदि तैँले सत्यता बुझिनस् भने, आफ्नो भ्रष्ट स्वभाव चिन्नेछैनस् र परमेश्वरसामु पश्चात्ताप गरेर पाप स्विकार्नेछैनस्, अनि परमेश्वरप्रति ऋणी महसुस र आफूलाई घृणा गर्नेछैनस्, त्यसैले तैले मुक्ति प्राप्त गर्ने मौका पाउँदै पाउनेछैनस्। यदि तैँले आफ्ना समस्याहरू कति गम्भीर छन् भनेर बुझ्छस्, तर त्यसको मतलब राख्दैनस् र आफूलाई घृणा गर्दैनस्, भित्री रूपमा अझै पनि अलिक भावशून्य र निष्क्रिय महसुस गर्छस्, परमेश्वरको न्याय र सजाय स्विकार्दैनस्, र आफ्नो भ्रष्ट स्वभाव हटाउन उहाँलाई प्रार्थना गर्दैनस् वा उहाँमा भर पर्दैनस् भने, तँ ठूलो खतरामा छस्, र तैँले मुक्ति प्राप्त गर्नेछैनस्।
मुक्ति प्राप्त गर्नका लागि के-कस्ता सर्तहरू छन्? प्रथमतः व्यक्तिले सत्यता बुझ्नैपर्छ र स्वेच्छाले परमेश्वरको न्याय र सजाय स्विकार्नैपर्छ। त्यसपछि, उसमा सहकार्य गर्ने इच्छा हुनैपर्छ, र ऊ आफूलाई त्याग्न र आफ्ना स्वार्थी चाहनाहरू त्याग्न इच्छुक हुनैपर्छ। स्वार्थी चाहनामा के-के पर्छन्? इज्जत, हैसियत, अभिमान, व्यक्तिको स्वार्थका विविध पक्ष, साथै व्यक्तिको योजना, चाहना, सम्भावना, गन्तव्य—चाहे तत्कालको होस् वा भविष्यको—ती सबै यसमा समावेश हुन्छन्। यदि तँ यी भ्रष्ट स्वभावहरू हटाउन सत्यता खोज्न सक्छस्, ती स्वभावहरू एक-एक गर्दै हटाउन सक्छस्, ती अलिअलि गर्दै त्याग्छस् भने, तँलाई सत्यता अभ्यास गर्न झन्-झन् सजिलो हुँदै जानेछ, र तँ परमेश्वरमा समर्पित हुने स्थितिमा पुग्नेछस्। तेरो कद बिस्तारै बढ्नेछ। तैँले सत्यता बुझेपछि र यी स्वार्थी चाहनाहरू छर्लङ्गै देख्न र अलिअलि गर्दै त्याग्न सकेपछि, तेरो स्वभाव परिवर्तन हुनेछ। अहिले तिमीहरू परिवर्तनको कुन हदमा पुगेका छौ? मेरो अवलोकनअनुसार, स्वभाव परिवर्तनको सत्यता वास्तविकताबारे भन्नुपर्दा, तिमीहरू मूलतः अझै तिनमा प्रवेश गरेका छैनौ। त्यसोभए, अहिले तिमीहरूको कद के हो, र तिमीहरू कस्तो स्थितिमा जिइरहेका छौ? तिमीहरूमध्ये बढीजसो कर्तव्य निर्वाहको तहमा रोकिएका छौ, र यही चरणमा अल्झिरहन्छौ: “मैले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ कि पर्दैन? म कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छु? के यसरी आफ्नो कर्तव्य निर्वाह गर्नु लापर्बाही गर्नु र झारा टार्नु हो?” कहिलेकाहीँ, तेरो कर्तव्य पालना विशेष गरी लापर्बाही र झारातिराइ हुँदा, तँलाई आत्मग्लानि हुनेछ। तँलाई आफू परमेश्वरप्रति ऋणी भएको, आफूले परमेश्वरलाई निराश तुल्याएको महसुस हुन्छ, र तैँले विलाप गर्ने र उहाँको प्रेमको ऋण तिर्न आफ्नो कर्तव्य राम्ररी निभाउने आफ्नो चाहना परमेश्वरलाई बताउनेसमेत गर्छस्। तर दुई दिनपछि, तँ फेरि निष्क्रिय बन्छस्, आफ्नो कर्तव्य निर्वाह गर्न पटक्कै चाहँदैनस्। तँ यो चरण कहिल्यै पार गर्न सक्दैनस्। के यो कद हुनु हो? (होइन।) जब तिमीहरूलाई कसरी वफादारीपूर्वक आफ्नो कर्तव्य निभाउने भन्नेबारे कुनै सङ्गति चाहिँदैन, आफ्नो कर्तव्य सम्पूर्ण हृदय र मनले निभाउनु आवश्यकता पर्दैन र परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनु आवश्यकता पर्दैन, र तिमीहरू आफ्नो कर्तव्यलाई आफ्नै मिशनको रूपमा लिन, कुनै माग, गुनासो र रोजाइविना त्यो राम्ररी निभाउन सक्छौ, तब तिमीहरूले निश्चित कद प्राप्त गरेका हुन्छौ। कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने भन्नेबारे सङ्गति गर्नु हामीलाई सधैँ चाहिरहेको हुन्छ। हामीले किन यो सङ्गति जारी राख्नुपर्छ? किनभने मानिसहरूलाई आफ्ना कर्तव्य कसरी पूरा गर्ने भनेर थाहा हुँदैन, र तिनीहरू सिद्धान्तहरू बुझ्न सक्दैनन्; तिनीहरूले कर्तव्य निर्वाहबारे विविध सत्यताहरू पूर्णतया बुझेका हुँदैनन्, न त सत्यता बुझेका र वास्तविकतामा प्रवेश गरेका नै हुन्छन्। कतिपय मानिस केही धर्मसिद्धान्त बुझ्छन् तर ती अभ्यास गर्न वा तिनमा प्रवेश गर्न, कष्ट र थकान सहन इच्छुक हुँदैनन्, सधैँ देहसुखको लोभ गर्छन्, अझै तिनीहरूका अति धेरै रोजाइ हुन्छन्, ती त्याग्न सक्दैनन्, र आफूलाई परमेश्वरको हातमा पूरै सुम्पिँदैनन्। तिनीहरूसँग अझै आफ्नै योजना र माग हुन्छन्; तिनीहरूको व्यक्तिगत इच्छा, सोच, र सम्भावना तिनीहरूमाथि अझै हाबी हुन्छन् र तिनले तिनीहरूलाई पकडमा राख्न सक्छन्: “यदि मैले यो कर्तव्य निर्वाह गरेँ भने, के अघि गएर मसँग राम्रो सम्भावना हुनेछ? के यसबाट मैले सिक्न सक्ने कुनै सीपहरू छन्? के मैले भविष्यमा परमेश्वरको घरमा कुनै कुरा हासिल गर्नेछु?” सधैँ यी कुराहरू मनन गर्नु, कर्तव्य पालन अलि कठिन र थकाइलाग्दो हुँदा, वा त्यसमा आनन्द नआउँदा, त्यो अप्रिय लाग्नु, समय बित्दै जाँदा असहज महसुस हुनु, निष्क्रिय बन्नु अनि अझै सत्यता र वैचारिक कामबारे सङ्गतिको आवश्यक पर्नु। यो कदको कमी हो। के यसमा स्वभाव परिवर्तन पर्छ? त्यसको अझै बेला भएकै छैन। तिमीहरूले आफ्ना कर्तव्य निभाउन बुझ्नुपर्ने सत्यता सिद्धान्तहरू जानेपछि, यो बाधा पार गरेपछि, पर्याप्त मात्रामा कर्तव्य पालन गर्न सक्छौ। त्यसपछि अगाडि बढ्दा स्वभाव परिवर्तन समावेश हुनेछ।
अब, चाहे कर्तव्य पालन गर्न होस् वा परमेश्वरको सेवा गर्न, त्यसका लागि बारम्बार आत्मचिन्तन गर्नु आवश्यक छ। व्यक्तिले जे-जस्ता गलत दृष्टिकोण वा भ्रष्ट स्वभाव प्रकट गर्ने भए पनि, उसले ती हटाउन सत्यता खोज्नैपर्छ। यसरी मात्र उसले आफ्नो कर्तव्य मापदण्डअनुरूप पूरा गर्न र परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छ। व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव चिन्न सक्नैपर्छ, अन्यथा उसले ती हटाउन सक्दैन। कतिपय मानिस भ्रष्ट स्वभावमा के पर्छ र के पर्दैन भनेर छर्लङ्ग देख्न सक्दैनन्। उदाहरणका लागि, मानिसहरूले खान वा लगाउन मन पराउने कुरा, तिनीहरूको जीवनशैलीका आनीबानी साथै पितापुर्खाको विरासत र परम्परागत अवधारणा—यीमध्ये कतिपय परम्परागत संस्कृति र रीतिरिवाजले, कतिपय शिक्षादीक्षा र पारिवारिक विरासतले, र कतिपय ज्ञान र अन्तर्ज्ञानको कमीले ल्याउँछन्। यी कुरा ठूला समस्या होइनन् र व्यक्तिको मानवताको गुण वा दोषसँग सम्बन्धित छैनन्, र कतिपयलाई त थप अन्तर्ज्ञान सिकेर र प्राप्त गरेर समाधान गर्न सकिन्छ। तर, परमेश्वरबारे धारणा वा गलत दृष्टिकोण वा भ्रष्ट स्वभावको समस्यालाई सत्यता खोजी गरेर समाधान गर्नैपर्छ, र ती मानव शिक्षाद्वारा परिवर्तन गर्न सकिँदैन। जे होस्, तेरो धारणा वा दृष्टिकोण जहाँबाट आउने भए पनि, यदि ती सत्यतासँग मिल्दैनन् भने, तैँले तिनलाई त्याग्नैपर्छ र ती हटाउन सत्यता खोज्नैपर्छ। सत्यता पछ्याएर व्यक्तिका सबै समस्या समाधान गर्न सकिन्छ। सत्यतासँग सम्बन्धित नदेखिने धेरै समस्यालाई सत्यता बुझेर अप्रत्यक्ष रूपले समाधान गर्न सकिन्छ। भ्रष्ट स्वभावसम्बन्धी समस्याहरूलाई मात्र नभई, कतिपय मानव व्यवहार, विधि, धारणा र बानीजस्ता भ्रष्ट स्वभावसँग असम्बन्धित समस्याहरूलाई पनि सत्यता प्रयोग गरेर समाधान गर्न सकिन्छ—यी समस्यालाई सत्यता प्रयोग गरेर मात्र पूर्णतया समाधान गर्न सकिन्छ। सत्यताले मानिसका भ्रष्ट स्वभावहरू हटाउन सक्ने मात्र होइन; यसले जीवनको लक्ष्य, जीवनको आधार, र जिउने सिद्धान्तको काम पनि गर्न सक्छ, अनि यसले व्यक्तिका सम्पूर्ण कठिनाइ र समस्या समाधान गर्न सक्छ। यसमा सन्देह छैन। अहिलेको मुख्य कुरा के हो? त्यो धेरै समस्याको उत्पत्ति सत्यता नबुझ्नुसँग सिधै सम्बन्धित छ भनेर बुझ्नु हो। धेरै मानिस आफूलाई केही आइपर्दा कसरी अभ्यास गर्ने भनी जान्दैनन्, र यो तिनीहरूले सत्यता नबुझ्नाले हुन्छ। मानिसहरू धेरै कुराको सार र जड छर्लङ्गै देख्न सक्दैनन्, र यो पनि तिनीहरूले सत्यता नबुझ्नाले नै हुन्छ। तर पनि तिनीहरू कसरी सत्यता नबुझिकन नै त्यति स्पष्टसँग कुरा गर्न सक्छन्? (त्यो सब शब्द र धर्मसिद्धान्त मात्र हुन्।) त्यसोभए यो धर्मसिद्धान्त बताउने समस्या समाधान गर्नैपर्छ। खोक्रा शब्दहरू बोल्ने, धर्मसिद्धान्त बताउने, र नारा लगाउने काम कम गर्; व्यावहारिक रूपमा बोल्ने, सत्यता अभ्यास गर्ने, आत्मज्ञान र आत्म-विश्लेषणबारे कुरा गर्ने, र अरूलाई सुधारात्मक र लाभदायक लाग्ने वचनहरू सुन्न दिने काम बढी गर्। यसो गर्ने व्यक्तिसँग मात्र सत्यता वास्तविकता हुन्छ। धर्मसिद्धान्त फलाक्ने र खोक्रा शब्दहरू बोल्ने, पाखण्डी र छली कुरा गर्ने, र सुधार नल्याउने बोली बोल्ने काम नगर्। कसरी तँ यस्तो बोलीबाट जोगिन सक्छस्? तैँले पहिला त यी कुराहरूको कुरूपता, मूर्खता, र निरर्थकता चिन्नु र छर्लङ्गै देख्नुपर्छ; त्यसपछि तैँले देहगत कुरा त्याग्न सक्नेछस्। त्यसबाहेक, तँसँग समझ पनि हुनैपर्छ। व्यक्तिसँग जति बढी समझ हुन्छ, ऊ त्यति नै सही र उचित तरिकाले बोल्नेछ, उसको मानवता त्यति नै बढी परिपक्व हुनेछ, उसको बोली त्यति नै बढी व्यावहारिक बन्नेछ, र उसले त्यति नै कम बकवास कुरा गर्नेछ। अनि उसले हृदयमा ती खोक्रा शब्दहरू, बढाइचढाइ, र झूटलाई घृणा गर्नेछ। कतिपय मानिसमा अति बढी अभिमान हुन्छ र तिनीहरू आफ्नो भेष बदल्न सधैँ राम्रा कुराहरू भन्न चाहन्छन्, अरूको हृदयमा आफ्नो हैसियत बसाल्न र तिनीहरूको सम्मान प्राप्त गर्न चाहन्छन्, अरूलाई तिनीहरू परमेश्वरमा एकदमै राम्ररी विश्वास गर्छन्, तिनीहरू राम्रा व्यक्ति हुन्, र विशेष गरी प्रशंसा गर्न लायक छन् भनी सोच्न लगाउँछन्। तिनीहरू आफ्नो भेष बदल्ने सधैँ यो अभिप्राय राख्छन्; तिनीहरू भ्रष्ट स्वभावद्वारा नियन्त्रित हुन्छन्। मानिसमा भ्रष्ट स्वभावहरू हुन्छन्, जुन परमेश्वरको विरोधमा मानिसले दुष्टता गर्नुको जड, समाधान गर्न सबैभन्दा कठिन समस्या हो। पवित्र आत्माले काम गर्नुभएन र परमेश्वर स्वयंले कसैलाई सिद्ध पार्नुभएन भने उसको भ्रष्ट स्वभावलाई शुद्ध पार्न सकिँदैन, र स्वभाव परिवर्तन हुन सक्दैन। अन्यथा, व्यक्तिले त्यो समाधान गर्नै सक्दैन। यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् भने, तैँले परमेश्वरको वचनअनुसार आफ्नो भ्रष्ट स्वभावबारे चिन्तन गर्नैपर्छ र त्यसलाई बुझ्नैपर्छ, खुलासा र न्यायसम्बन्धी परमेश्वरका वचनहरूको हरेक वाक्यको आधारमा आफ्नो मापन गर्नैपर्छ, अनि अलिअलि गर्दै आफ्ना सम्पूर्ण भ्रष्ट स्वभाव र स्थिति खोतल्नैपर्छ। सुरुमा आफ्नो बोली र कामको अभिप्राय र उद्देश्यलाई खोतल्, आफूले बोल्ने हरेक शब्दलाई विश्लेषण गर् र चिन्, अनि आफ्नो सोच र मनमा भएका कुनै पनि कुरालाई बेवास्ता नगर्। यसरी, तैँले झन्-झन् धेरै विश्लेषण गरेर र समझ प्राप्त गरेर, आफ्नो भ्रष्ट स्वभाव थोरै नभएर प्रचुर रहेछ, र शैतानका विषहरू सीमित नभई धेरै रहेछ भनी पत्ता लगाउनेछस्। यसरी, तैँले बिस्तारै आफ्नो भ्रष्ट स्वभाव र प्रकृति सारलाई प्रस्ट रूपमा देख्नेछस्, र शैतानले तँलाई कति गहन रूपमा भ्रष्ट तुल्याएको रहेछ भनेर महसुस गर्नेछस्। यतिबेला तँलाई परमेश्वरले व्यक्त गरेको सत्यता कति अमूल्य रहेछ भन्ने महसुस हुनेछ। यसले भ्रष्ट मानवजातिको स्वभाव र प्रकृतिका समस्याहरू समाधान गर्न सक्छ। परमेश्वरले मानवजातिलाई मुक्ति दिन भ्रष्ट मानवका लागि तयार पारेको यो ओखती अत्यन्तै प्रभावकारी छ, कुनै अमृतभन्दा मूल्यवान् छ। यसर्थ, तैँले परमेश्वरको मुक्ति प्राप्त गर्न स्वेच्छाले सत्यता पछ्याउँछस्, सत्यताको हरेक पक्षलाई झन्-झन् बढी प्रिय ठान्छस्, र झन्-झन् धेरै जोरदार ढङ्गमा त्यसलाई पछ्याउँछस्। कुनै व्यक्तिको हृदयमा यो भावना हुनु भनेको उसले केही सत्यता बुझिसकेको छ, र आफूलाई साँचो मार्गमा स्थापित गरिसकेको छ। यदि उसले थप गहनताका साथ त्यो अनुभव गर्न र परमेश्वरलाई हृदयबाट साँचो प्रेम गर्न सक्छ भने, उसको जीवन स्वभाव परिवर्तन हुन थाल्नेछ।
व्यवहारमा केही परिवर्तन ल्याउन सजिलो छ, तर व्यक्तिको जीवन स्वभाव परिवर्तन गर्न सजिलो छैन। भ्रष्ट स्वभावको समस्या समाधान गर्न सुरुमा आफूलाई चिन्नैपर्छ। त्यसका लागि सावधानी चाहिन्छ, आफ्नो अभिप्राय र स्थितिलाई अलिअलि गर्दै जाँच्न ध्यान दिनुपर्छ, अभिप्राय र बानी नै बसेको बोल्ने शैलीलाई निरन्तर जाँच्नुपर्छ। त्यसपछि एक दिन, एक्कासी महसुस हुनेछ: “म अरूको हृदयमा हैसियत पाउने आशाले आफ्नो भेष बदल्न सधैँ राम्रा कुराहरू भनिरहेको हुन्छु। यो दुष्ट स्वभाव हो। यो सामान्य मानवताको प्रकटीकरण होइन र यो सत्यताअनुरूप छैन। बोल्ने यो दुष्ट तरिका र अभिप्राय गलत हुन्, र यसलाई परिवर्तन गर्नैपर्छ र त्याग्नैपर्छ।” तँलाई यो कुरा महसुस भएपछि, आफ्नो दुष्ट स्वभाव अति गम्भीर रहेछ भन्ने झन्-झन् प्रस्टसँग महसुस हुनेछ। तैँले दुष्टता भनेको पुरुष र स्त्रीबीचको थोरै दुष्ट कामवासना हो भन्ने सोचेको थिइस्, र यस सम्बन्धमा आफू दुष्टता देखाए पनि, तँलाई आफू दुष्ट स्वभावको व्यक्ति होइन भन्ने लागेको थियो। यसले दुष्ट स्वभावबारे तँमा बुझाइको कमी छ भन्ने देखाउँछ; तैँले “दुष्ट” शब्दको सतही अर्थ जानेको जस्तो देखिन्थ्यो तर दुष्ट स्वभावलाई साँचो रूपमा चिन्न वा खुट्ट्याउन सक्थिनस्; र खासमा, तँ अझै “दुष्ट” शब्दको अर्थ बुझ्दैनस्। जब तैँले आफूले यस प्रकारको स्वभाव प्रकट गरेको छु भन्ने महसुस गर्छस्, तब आत्मचिन्तन गर्न र त्यसलाई चिन्न थाल्छस्, र त्यसको उत्पत्तिलाई गहन अनुसन्धान गर्छस्, र आफूमा साँच्चै यस्तो स्वभाव भएको देख्नेछस्। त्यसोभए तैँले त्यसपछि के गर्नुपर्छ? तैँले आफ्नो यस्तै बोल्ने शैलीपछाडिका अभिप्रायहरू निरन्तर रूपमा जाँच्नैपर्छ। तैँले यसरी लगातार खोतलेर, वास्तवमै आफूमा यस्तो स्वभाव र सार रहेछ भन्ने कुरा अझ बढी प्रामाणिक र सही ढङ्गमा थाहा पाउनेछस्। तैँले वास्तवमै आफूमा दुष्ट स्वभाव छ भनेर साँच्चै स्विकारेको दिन मात्र त्यसप्रति तँमा घृणा र वितृष्णा जाग्न थाल्नेछ। व्यक्तिले आफू असल, सोझो आचारणको, न्यायको बोध भएको, नैतिक निष्ठासहितको र सोझो व्यक्ति हो भनी सोच्न छोडेर, आफूमा अहङ्कार, हठीपन, छलीपन, दुष्टता, र सत्यतादेखि दिक्क मान्नेजस्ता प्रकृति सार छ भनेर बुझ्न थाल्छ। त्यो मोडमा, उसले आफूलाई सही मूल्याङ्कन गरेको हुनेछ र आफू वास्तवमा के हुँ भनेर चिन्नेछ। तैँले आफूमा यी प्रकटीकरण र स्थिति छन् भनी मुखले स्विकारेर वा सरसर्ती चिनेर मात्र साँचो घृणा जाग्नेछैन। यी भ्रष्ट स्वभावहरूको सार भनेको शैतानको घिनलाग्दो व्यवहार हो भन्ने थाहा पाएर मात्र व्यक्तिले आफूलाई साँच्चै घृणा गर्न सक्छ। स्वयंलाई घृणा गर्ने हदसम्म आफूलाई साँचो रूपमा चिन्न कस्तो मानवता चाहिन्छ? व्यक्तिले सकारात्मक कुरा, सत्यता, निष्पक्षता र धार्मिकतालाई प्रेम गर्नैपर्छ, उसमा विवेक र चेतना हुनुपर्छ, ऊ दयालु मनको अनि सत्यता स्विकार्न र अभ्यास गर्न सक्ने हुनुपर्छ—यस्ता सबै मानिसले साँचो रूपमा आफूलाई चिन्न र घृणा गर्न सक्छन्। सत्यतालाई प्रेम नगर्ने र सत्यता स्विकार्न कठिन लाग्नेहरूले आफूलाई कहिल्यै चिन्नेछैनन्। तिनीहरूले आफूलाई चिन्छु भनेर केही शब्द भने पनि, सत्यता अभ्यास गर्न सक्दैनन्, र आफूलाई कुनै साँचो परिवर्तन गर्नेछैनन्। आफूलाई चिन्नु सबैभन्दा गाह्रो काम हो। उदाहरणका लागि, कम क्षमताको कुनै व्यक्तिले यस्तो सोच्लान्, “ममा कम गुण छ। म स्वभावैले डरपोक छु र संलग्न हुन डराउँछु। हुन सक्छ, म संसारकै सबैभन्दा सोझो र कायर व्यक्ति हुँ। त्यसैले, यसले गर्दा म परमेश्वरको मुक्ति पाउन सबैभन्दा लायक व्यक्ति हुँ।” के यो साँच्चै आफूलाई चिन्नु हो र? यस्ता कुरा सत्यता नबुझ्ने व्यक्तिले गर्छन्। के कम गुण हुनुले स्वत: व्यक्तिमा भ्रष्ट स्वभाव छैन भन्ने अर्थ दिन्छ? के कायर मानिसमा पनि भ्रष्ट स्वभावहरू हुँदैनन् र? के तिनीहरू पनि शैतानद्वारा भ्रष्ट तुल्याइएका हुँदैनन् र? खासमा, यस्ता मानिसमा पनि उतिकै दुष्ट र अहङ्कारी स्वभाव हुन्छ, र त्यसबाहेक यो अलिक गहिरिएर लुकेको र औसत मानिसको भन्दा बढी गढेको हुन्छ। म किन यो गहिरिएर लुकेको हुन्छ भन्छु? (किनकि तिनीहरू सधैँ आफूलाई राम्रो ठान्छन्।) ठिक भनिस्। यो भ्रमद्वारा तिनीहरू नै धोका खाएका र अलमलिएका हुन्छन्, जसले गर्दा तिनीहरूलाई सत्यता स्विकार्नु असम्भव हुन्छ। तिनीहरू आफू एकदमै ठिकठाक छँदै छु र आफूलाई परमेश्वरको न्याय र शुद्धिकरण चाहिँदैन भन्ठान्छन्। मानिसहरूलाई न्याय गर्ने र तिनीहरूको भ्रष्टता पर्दाफास गर्नेबारे परमेश्वरले भन्ने ती सबै वचन अरूप्रति अर्थात् अहङ्कारी स्वभावका दक्ष मानिसहरू, दुष्कर्मीहरू, बहकाउनेहरू—झूटा अगुवा र ख्रीष्टविरोधीहरूप्रति लक्षित छन्; तर ती वचन तिनीहरूजस्ता मानिसप्रति लक्षित छैनन्। तिनीहरू पहिल्यै राम्रा हुन्छन्; तिनीहरू निर्दोष, हिउँजस्तो स्वच्छ, र कलङ्करहित हुन्छन्। तिनीहरूले आफूलाई यसरी परिभाषित गर्दा, के साँचो रूपमा आफूलाई चिन्न सक्छन्? (सक्दैनन्।) तिनीहरू आफूलाई चिन्न सक्दैनन्, र निश्चय नै सत्यता बुझ्दैनन्। सम्भवतः तिनीहरू परमेश्वरले किन मानिसलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, कसरी मानिसलाई मुक्ति दिनुहुन्छ, वा भ्रष्ट स्वभाव कसरी शुद्ध पारिन्छ भन्नेजस्ता सत्यताहरू बुझ्न सक्दैनन्। आफूलाई अलिकति पनि नचिन्ने व्यक्तिले पक्कै पनि कुनै सत्यता बुझ्दैन। उसले प्रकट गर्ने यी गलत दृष्टिकोणहरू नै ऊ हास्यास्पद, निरर्थक मानिस हो भनेर देखाउन पर्याप्त हुन्छन्। तिनीहरूको बुझाइ निरर्थक हुन्छ, र तिनीहरू परमेश्वरमाथि आफ्नै विचार लाद्छन्; यो पनि दुष्टताकै स्वभाव हो। दुष्टता भनेको एक प्रकारको स्वभाव हो जुन पुरुष र महिलाबीचको व्यवहारको मामलामा मात्र देखिँदैन; अलिअलि दुष्ट कामवासनालाई स्वभावगत दुष्टताको दर्जामा राख्नु हुँदैन। तर यदि व्यक्तिको दुष्ट कामवासना अति तीव्र छ, र ऊ प्राय: स्वच्छन्द यौनसम्बन्ध वा समलैङ्गिकतामा निरन्तर संलग्न हुन्छ भने, त्यो दुष्ट काम हो। कतिपय मानिस यी दुईबीच फरक छुट्ट्याउन सक्दैनन्, र सधैँ दुष्ट कामवासनालाई दुष्टताको दर्जामा राख्छन्, अनि दुष्टतालाई दुष्ट कामवासनाको सन्दर्भमा व्याख्या गर्छन्; तिनीहरूमा समझको कमी हुन्छ। दुष्ट स्वभाव चिन्न सबैभन्दा कठिन हुन्छ। अति छली र दुष्ट व्यक्तिका कार्यहरू सबै दुष्ट हुन्छन्। उदाहरणका लागि, कतिपय मानिस झूट बोलेपछि मनमनै सोच्छन्, “यदि मैले आफ्नो बुझाइबारे बताइनँ भने, अरूले मेरो बारेमा के सोच्लान् कसलाई थाहा? मैले खुलस्त भएर थोरै सङ्गति गर्नैपर्छ; मैले आफ्नो बुझाइ बताइसकेपछि, कुरै सकिनेछ। मैले अरूलाई आफ्नो वास्तविक अभिप्राय थाहा दिएर मलाई छली ठान्न दिनु हुँदैन।” यो कस्तो स्वभाव हो? आफूलाई छली तरिकाले खुलस्त पार्नु—यसलाई दुष्टता भनिन्छ। अनि तिनीहरूले झूट बोलेपछि, यसरी जाँच्नेछन्: “के मैले झूट बोलेको कसैले थाहा पायो? के मेरो वास्तविक रूप कसैले देख्न सक्यो?” तिनीहरू अरूलाई फकाईफुस्लाई तिनीहरूबाट कुरा बुझ्छन् र तिनीहरूको छानबिन गर्न थाल्छन्; यो पनि दुष्ट कुरा हो। दुष्ट स्वभाव पत्ता लगाउन सजिलो छैन। विशेष गरी दुष्ट र छली तरिकाले कामकुरा गर्ने, अरूलाई आफ्नो वास्तविकता छर्लङ्ग देख्न कठिन बनाउने व्यक्ति दुष्ट हो। आफ्नो लक्ष्य हासिल गर्न चाल चल्ने र षड्यन्त्र रच्ने व्यक्ति दुष्ट हो। असल काम गरेको खोल ओडेर खराब कामकुरा गर्दै मानिसलाई ठग्ने, अरूलाई उसको सेवा गर्न लगाउने व्यक्ति दुष्टताको पराकाष्ठा हो। ठूलो रातो अजिङ्गर दुष्टताको पराकाष्ठा हो; शैतान दुष्टताको पराकाष्ठा हो; ती पिशाची राजाहरू दुष्टताका पराकाष्ठा हुन्; सबै दियाबलस दुष्ट हुन्।
व्यक्तिले स्वभाव परिवर्तन पछ्याउन सुरुमा आफ्नो भ्रष्ट स्वभाव चिन्न सक्नुपर्छ। आफूलाई साँचो रूपमा चिन्नुमा आफ्नो भ्रष्टताको सारलाई छर्लङ्गै देख्नु र राम्ररी विश्लेषण गर्नु, साथै भ्रष्ट स्वभावले ल्याउने विविध स्थितिलाई चिन्नु समावेश छन्। व्यक्तिले आफ्नै भ्रष्ट स्थिति र भ्रष्ट स्वभाव प्रस्ट रूपमा बुझेपछि मात्र आफ्नो देह र शैतानलाई घृणा गर्न सक्छ, र त्यसपछि मात्र त्यसले स्वभाव परिवर्तन गराउँछ। यदि उसले यी स्थितिहरू चिन्न सकेन, र तिनलाई आफूसँग जोड्न सकेन र मिलान गर्न सकेन भने, के उसको स्वभाव परिवर्तन हुन सक्छ र? सक्दैन। स्वभाव परिवर्तनका लागि व्यक्तिले आफ्नो भ्रष्ट स्वभावले पैदा गर्ने विभिन्न स्थिति चिन्नु आवश्यक हुन्छ; ऊ आफ्नो भ्रष्ट स्वभावको नियन्त्रणमा नरहने र सत्यता अभ्यास गर्ने अवस्थामा पुग्नैपर्छ—त्यसपछि मात्र उसको स्वभाव परिवर्तन सुरु हुन सक्छ। यदि उसले आफ्नो भ्रष्ट स्थितिको स्रोत चिन्न सक्दैन र आफूले बुझ्ने वचन र धर्मसिद्धान्तअनुसार मात्र आफूलाई सीमित पार्छ भने, उसमा केही असल व्यवहार भए पनि र ऊ बाहिरी रूपमा थोरै परिवर्तन भए पनि, त्यसलाई स्वभाव परिवर्तन मान्न सकिँदैन। त्यसलाई स्वभाव परिवर्तन मान्न नसकिने हुनाले, धेरैजसो मानिस आफ्नो कर्तव्य निर्वाहको क्रममा कस्तो भूमिका खेल्छन्? सेवाकर्ताको भूमिका खेल्छन्; तिनीहरू केवल प्रयत्न गर्छन् र आफूलाई काममा व्यस्त राख्छन्। तिनीहरूले पनि आफ्नो कर्तव्य निभाइरहेका भए पनि, बढीजसो ध्यान काम सकाउनमा मात्र लगाउँछन्, सत्यता खोज्दैनन् तर प्रयत्न मात्र गर्छन्। कहिलेकाहीँ, राम्रो मुडमा हुँदा तिनीहरूले थप प्रयत्न लगाउनेछन्, र कहिलेकाहीँ मुड खराब हुँदा तिनीहरू अलि सुस्ताउँछन्। तर पछि तिनीहरूले आफूलाई जाँच्नेछन् र पछुतो गर्नेछन्, त्यसैले तिनीहरूले फेरि थप प्रयत्न लगाउनेछन्, र यो पश्चात्ताप हो भनी विश्वास गर्छन्। वास्तवमा, यो साँचो परिवर्तन होइन, न यो साँचो पश्चात्ताप नै हो। साँचो पश्चात्ताप आफूलाई चिनेर सुरु हुन्छ; सुरुमा व्यवहार बद्लिन्छ। व्यक्तिको व्यवहार बद्लिसकेपछि, र उसले आफ्नो देहगत कुरा त्याग्न र सत्यता अभ्यास गर्न सकेपछि, अनि व्यवहारगत रूपमा उसको व्यवहार सिद्धान्तअनुरूप देखिएपछि, साँचो पश्चात्ताप गरिएको छ भन्ने अर्थ लाग्छ। त्यसपछि, उसले अलिअलि गर्दै सिद्धान्तअनुसार बोल्न र काम गर्न सक्छ अनि पूर्णतया सत्यता पालना गर्न सक्छ। यहीँबाट जीवन स्वभाव परिवर्तन हुन थाल्छ। अहिले तिमीहरू आफ्नो अनुभवको कुन चरणमा पुगेका छौ? (ममा बाहिरी रूपमा केही असल व्यवहार छन्।) अझै यो प्रयत्न लगाउने कालमै छ। कतिपय मानिस थोरै प्रयत्न लगाउँछन् र आफूले योगदान दिएको छु र परमेश्वरको आशिष् पाउन योग्य छु भनी सोच्छन्। भित्रचाहिँ तिनीहरू सधैँ यस्तो सोच्छन्: “यसबारे परमेश्वर के सोच्नुहुन्छ? मैले यतिका धेरै प्रयत्न लगाएको छु र यतिका धेरै कठिनाइ सहेको छु, के म स्वर्गको राज्यमा प्रवेश गर्न सक्छु?” सधैँ चुरो कुरो पत्ता लगाउन खोज्नु—यो कस्तो स्वभाव हो? यो छली, दुष्ट र अहङ्कारी स्वभाव हो। त्यसबाहेक, केही प्रयत्न लगाएर आशिष् पाउने आशा गर्नु तर अलिकति पनि सत्यता स्वीकार नगरी परमेश्वरमा विश्वास गर्नु; के यसमा हठी स्वभाव छैन र? हैसियतका लाभहरू कहिल्यै नत्याग्नु: के यो पनि हठीपन होइन र? तिनीहरू सधैँ यसरी चिन्ता लिइरहेका हुन्छन्: “के मैले यो कर्तव्य पालनामा कठिनाइ भोगेको परमेश्वरले याद गर्नुहुनेछ? के उहाँले मलाई केही आशिष् दिनुहुनेछ?” तिनीहरू मनमा सधैँ यस्ता आकलन गरिरहेका हुन्छन्। यसो हेर्दा तिनीहरू सौदा गरिरहेका जस्ता देखिन्छन्, तर खासमा यसमा धेरै प्रकारका भ्रष्ट स्वभाव मुछिएका हुन्छन्। सधैँ परमेश्वरसित सौदा गर्न चाहनु, परमेश्वरमा विश्वास गरेर सधैँ आशिष् प्राप्त गर्न चाहनु, सधैँ फाइदा उठाउन चाहनु र घाटा बेहोर्न नचाहनु, सधैँ कुटिल र गोप्य तरिका अपनाउनु—यो दुष्ट स्वभाव हाबी हुनु हो। यस्तो व्यक्तिले आफ्नो कर्तव्य पालना गर्दैपिच्छे केही प्रयत्न लगाउँदा, यस्तो कुरा जान्न चाहन्छ: “के मैले गरिरहेका सबै प्रयत्नमा आशिष् पाउनेछु? के म परमेश्वरमा विश्वास गरेर यतिका कष्ट भोगेपछि स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछु? के मैले आफ्नो कर्तव्य निभाउन सबथोक त्यागेकोमा परमेश्वरले मेरो सराहना गर्नुहुनेछ? परमेश्वर मलाई अनुमोदन गर्नुहुन्छ कि गर्नुहुन्न?” तिनीहरू दिनभरि यी प्रश्नबारे सोच्छन्। यदि तिनीहरूले ती कुरा एकै दिन पनि पत्ता लगाउन सकेनन् भने, तिनीहरू त्यो दिन बेचैन बन्नेछन्, आफ्नो कर्तव्य पालना गर्न वा मूल्य चुकाउन चाहँदैनन्, झन् सत्यता पछ्याउनु त परै जाओस्। सधैँ यी कुराको नियन्त्रण र बन्धनमा रहेर तिनीहरूमा कुनै साँचो आस्था पटक्कै हुँदैन। तिनीहरू परमेश्वरका प्रतिज्ञाहरू साँचो हुन् भनी विश्वास गर्दैनन्। तिनीहरू सत्यता पछ्याउँदा परमेश्वरबाट आशिष् अवश्य पाइनेछ भनी विश्वास गर्दैनन्। तिनीहरू हृदयमा सत्यतादेखि दिक्क मान्छन्। तिनीहरूले सत्यता पछ्याउन चाहे पनि, तिनीहरूमा त्यसका लागि ऊर्जा हुँदैन, त्यसैले तिनीहरूमा पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति हुँदैन, र तिनीहरू सत्यता बुझ्न सक्दैनन्। यस्तो व्यक्तिलाई आफ्नो कर्तव्य निभाउने क्रममा बारम्बार समस्याहरू आइपर्छन्, र ऊ प्राय: निष्क्रिय र कमजोर हुन्छ। उसले कठिनाइ आउँदा गुनासो पोख्छ, र आफूलाई विपत्ति आइपर्दा वा आफू गिरफ्तार हुँदा, परमेश्वरले आफूलाई सुरक्षा दिइरहनुभएको छैन र आफूलाई चाहनुहुन्न भन्ने निष्कर्ष निकाल्छ, र आफूलाई निराशामा धकेल्छ। यो कस्तो स्वभाव हो? के यो दुष्टपन होइन र? यस्तो व्यक्तिले रिस उठ्नेबित्तिकै के गर्नेछ? ऊ पक्कै पनि नकारात्मक र अल्छी हुनेछ; उसले आशाहिन भएर लत्तो छोड्नेछ। र उसले बारम्बार अगुवा र सेवकहरूलाई झूटा अगुवा र ख्रीष्टविरोधी भएको आरोप लगाउनेछ। उसले सिधै परमेश्वरलाई दोष लगाउने र उहाँको आलोचना गर्ने पनि गर्न सक्छ। केले गर्दा यी कुराहरू उत्पन्न हुन्छन्? ती दुष्ट स्वभावको नियन्त्रणमा हुन्छन्। तिनीहरू सांसारिक दृष्टिकोण र शैतानी तर्कअनुसार हरेक लगानीको प्रतिफल पाउनैपर्ने विश्वास गर्छन्। त्यस्तो क्षतिपूर्तिविना तिनीहरूले अबउसो लगानी गर्नेछैनन्। तिनीहरू प्रतिकारको मनस्थिति बनाउँछन् अनि आफ्नो जिम्मेवारी त्याग्न खोज्छन्, आफ्नो कर्तव्य अस्वीकार गर्छन्, र क्षतिपूर्ति माग्छन्। के यो दुष्टता होइन र? कुन तरिकामा यो पावलजस्तो हुनु हो? (पावलले आफ्नो दौड सकिसकेपछि र असल लडन्त लडिसकेपछि, आफ्ना लागि धार्मिकताको मुकुट सुरक्षित हुनेछ भन्ने विश्वास गर्थे।) तिनीहरू ठ्याक्कै यही कुरामा पावलसँग मेल खान्छन्। के तिमीहरू आफै पावलका यी प्रकटीकरणमध्ये कुनै देखाउँछौ? के तिमीहरू आफ्नो तुलना हुने यस्ता काममा संलग्न हुन्छौ? यदि तिमीहरू आफूलाई परमेश्वरका वचनहरूसित जोड्दैनौ भने, आफूलाई चिन्न सक्नेछैनौ। तिमीहरूले आफ्नो भ्रष्ट स्वभावको सार चिनेर मात्र साँचो रूपमा आफूलाई चिन्न सक्छौ। यदि तिमीहरू सतही सही कुरा र गलत कुरा मात्र चिन्छौ, वा आफू दियाबलस र शैतान हुँ भनी मात्र स्विकार्छौ भने, यो अति सामान्य र खोक्रो कुरा हो। यो गम्भीर बहानाबाजी हो, यो छद्मभेष हो, यो छलकटप हो। यसरी आफूलाई चिन्नेबारे कुरा गर्नु भनेको झूटो आत्मिकता हो, यो भ्रामक कुरा हो।
के तिमीहरूले कहिल्यै छली व्यक्तिले कसरी आफूलाई चिन्ने कोसिस गर्छ भन्ने कुरा देखेका छौ? तिनीहरू आफू दियाबलस र शैतान भएको भन्दै र आफैलाई सराप्दै अतिरञ्जन गर्न खोज्छन्; तर तिनीहरू आफूले कस्ता क्रूर र दुष्ट कार्यहरू गरेका छन् भनेर भन्दैनन्, न त आफ्नो हृदयको फोहोरीपन र भ्रष्टता विश्लेषण नै गर्छन्। तिनीहरू आफू दियाबलस र शैतान हुँ, आफूले परमेश्वरको अवज्ञा र विरोध गरेको छु भनेर मात्र भन्छन्, खोक्रो शब्द र अर्ध सत्य बोलेर आफ्नो निन्दा गर्छन्, र अरूलाई यस्तो महसुस गराउँछन्, “अब त यो आफूलाई साँच्चै चिन्ने व्यक्ति भएको छ; उसको बुझाइ अति गहन छ।” तिनीहरू आफू कति आत्मिक छु भनेर अरूलाई देखाउँछन्, र अरूलाई आफू सत्यता पछ्याउने व्यक्ति हुँ भनी ईर्ष्या गर्ने तुल्याउँछन्। तर तिनीहरूले यसरी आफूलाई केही वर्षसम्म चिनेपछि पनि साँचो पश्चात्ताप गरेका हुँदैनन्, र कसैले पनि तिनीहरूले वास्तवमै सत्यता अभ्यास गरेको वा सिद्धान्तअनुसार कामकुरा गरेको कुनै अवस्था देख्दैन। तिनीहरूको जीवन स्वभावमा कुनै परिवर्तन हुँदैन, त्यसैले समस्या पर्दाफास हुन्छ: यो साँचो रूपमा आफूलाई चिन्नु होइन। यो छद्मभेष र छलकपट हो, र यो व्यक्ति पाखण्डी हो। कसैले आफूलाई चिन्नेबारे जसरी बोले पनि, उसको बोली कति मिठो छ वा उसको ज्ञान कति गहन छ भन्नेतिर ध्यान नदे। नियाल्नुपर्ने मुख्य कुरा के हो? तिनीहरू सत्यता कति अभ्यास गर्न सक्छन्, र मण्डलीको काम कायम राख्न सत्यता सिद्धान्तहरू पालना गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरालाई हेर्। व्यक्तिमा साँचो परिवर्तन आएको छ कि छैन भन्ने कुरा यी दुई सूचकले नै बताउँछन्। मानिसलाई मूल्याङ्कन् गर्ने र चिन्ने सिद्धान्त यही हो। तिनीहरूको मुखबाट निस्कने राम्रा कुराहरू नसुन्; वास्तवमा तिनीहरू के गर्छन्, त्यो नियाल्। कतिपय मानिस आफूलाई चिन्नेबारे कुरा गर्दा बाहिरी रूपमा त्यसलाई गम्भीरतापूर्वक लिइरहेका जस्ता देखिन्छन्। तिनीहरू आफ्नो गलत विचार वा अनुचित सोचबारे अरूसित कुरा गर्छन्, खुलस्त हुन्छन् र आफूलाई उदाङ्गो पार्छन्, तर कुराकानी सकिएपछि पनि तिनीहरूले साँचो पश्चात्ताप गरेका हुँदैनन्। तिनीहरू आफूलाई केही आइपर्दा न त सत्यता अभ्यास गर्छन्, न त सिद्धान्त पालना गर्ने, मण्डलीको काम कायम राख्ने, वा कुनै परिवर्तन देखाउने नै गर्छन्। यसरी आफूलाई चिन्नु, खुलस्त हुनु र सङ्गति गर्नुको कुनै अर्थ छैन। सायद यस्तो व्यक्तिलाई लाग्छ, आफूलाई यसरी चिन्नुको अर्थ आफूले साँच्चै पश्चात्ताप गरेको छु र सत्यता अभ्यास गरिरहेको छु भन्ने हो, तर अन्त्यमा, बर्षौँको यो बुझाइपछि पनि कुनै परिवर्तन आएको हुँदैन। के आफूलाई चिन्ने यो तरिका झारा टार्नु, प्रक्रिया पूरा गर्नु मात्र होइन र? त्यसले वास्तविक प्रभाव पार्दैन; के ऊ आफैसँग खेलबाड गरिरहेको छैन र? एकपटक म कतै गएको थिएँ र म त्यहाँ पुग्दा, कोही व्यक्ति मेसिनले घाँस काटिरहेको थियो। त्यो मेसिनको चर्को आवाजले होहल्लाह मच्चिरहेको थियो। म दुईतीन पटक त्यहाँ जाँदा हरेकपटक नै त्यस्तै अवस्था भेट्टाएकाले उक्त व्यक्तिलाई सोधेँ, “घाँस काट्ने तिमीहरूको निश्चित समय छैन?” उसले जवाफ दियो, “ए, म त परमेश्वर आउनुभएको देख्दा मात्र घाँस काट्छु। यो त मलाई पनि नराम्रो लाग्छ।” कुरा खुट्ट्याउन नसक्ने मानिसहरूले यो सुनेर ऊ इमानदार छ, आफ्नो मनमा जे छ त्यही भनिरहेको छ भन्ने सोच्लान्। तिनीहरूलाई उसले आफ्नो गल्ती स्विकारिरहेको र आफूलाई जानिरहेको छ भन्ने लाग्छ, र यसरी तिनीहरू भ्रमित हुन्छन्। तर के सत्यता बुझ्ने व्यक्तिले यसलाई त्यसरी हेर्नेथिए र? यसबारे सही दृष्टिकोण के हो? यो परिस्थितिलाई राम्ररी बुझ्न सक्नेहरूले यस्तो सोच्नेछन्, “तिमी कर्तव्य निर्वाह गर्दा आफ्नो जिम्मेवारी लिइरहेको छैनौ; के तिमी देखाउनका लागि मात्र यसो गरिरहेका छैनौ र?” तर उक्त घाँस काट्ने व्यक्ति अरूले यसरी सोच्लान् भनेर डराउँछ, त्यसैले उसले तिनीहरूको मुख बन्द गर्न पहिल्यै त्यसरी बोल्छ। यो अत्यन्तै सिपालु वाककौशल हो, होइन र? (हो।) खासमा, उसले कसरी यो परिस्थितिलाई सम्हाल्ने, तँलाई पहिल्यै बोलेर भ्रममा पार्ने र ऊ निकै स्पष्टवादी हो, ऊ खुलस्त बोल्न र आफ्नो गल्ती स्विकार्न सक्छ भनी सोच्न लगाउने भनेर धेरै पहिले नै निर्धारण गरेको थियो। ऊ यस्तो सोचिरहेको हुन्छ: “म सत्यता बुझ्छु; तिमीले मलाई बताइरहनु पर्दैन। पहिले म त्यो स्विकार्नेछु। तिमी मेरो वाककौशलविरुद्ध के भन्न सक्दो रहेछौ हेरौँ त। म यही नै गर्नेछु; तिमी मलाई के गर्न सक्छौ?” यसमा कुन स्वभावहरू मुछिएका छन्? सर्वप्रथम, उसले सबथोक बुझ्छ। उसलाई आफूले गल्ती गर्दा पश्चात्ताप गर्न आउँछ। उसले अरूमा यही छाप पार्छ, भ्रम सिर्जना गर्न र अरूलाई उसको आदर गर्ने तुल्याउन भेष बदल्छ र झूटहरू प्रयोग गर्छ। ऊ हदै चतुर छ, उसलाई आफ्नो बोलीले अरूलाई कुन हदसम्म भ्रममा पार्नेछ र तिनीहरूको प्रतिक्रिया के हुनेछ भन्ने थाहा छ। उसले यो सबको पहिल्यै आकलन गरिसकेको हुन्छ। यो कस्तो स्वभाव हो? यो दुष्ट स्वभाव हो। त्यसबाहेक, उसले यी कुराहरू भन्न सक्नुले के पुष्टि गर्छ भने, उसले यो अहिले मात्र महसुस गरेको होइन, तर यस्तो व्यवहार गर्नु लापर्बाही र झारा टार्नु हो, अहिले नै यसो गर्नु हुँदैन, यस्तो खोल ओड्नु हुँदैन, र आफ्नो गौरवका निम्ति कार्य गर्नु हुँदैन भनेर निकै पहिले थाहा पाएको हुन्छ। त्यसोभए किन उसले अझै त्यसो गर्छ? के यो हठीपन होइन र? त्यसमा देखावटीपन, हठीपन, र दुष्टता पनि छ। के तिमीहरू त्यो खुट्ट्याउन सक्छौ? कतिपयले अरूलाई मात्र खुट्ट्याउन सक्छन् तर आफूलाई खुट्ट्याउन सक्दैनन्। यस्तो किन? यदि व्यक्तिले आफूलाई साँचो रूपमा खुट्ट्याउन सक्छ भने, त्यसै गरी अरूलाई पनि खुट्ट्याउन सक्छ। यदि उसले अरूलाई मात्र खुट्ट्याउन सक्छ तर आफूलाई खुट्ट्याउन सक्दैन भने, यसको मतलब उसको स्वभाव र चरित्रमा समस्या छ। सत्यतासँग अरू मानिसलाई दाँज्ने तर आफूलाई चाहिँ नदाँज्ने—यो निश्चय नै सत्यतालाई प्रेम गर्ने व्यक्ति होइन, झन् सत्यतालाई स्विकार्ने व्यक्ति हुनु त परै जाओस्।
कसैले आफ्नो भ्रष्टता कति गम्भीर हो भनेर पत्ता लगाउन सक्नु राम्रो कुरा हो कि नराम्रो? यो राम्रो कुरा हो। तैँले जति बढी आफ्नो भ्रष्टता पत्ता लगाएर सही रूपमा बुझ्न सक्छस्, र जति बढी आफ्नो सार बुझ्न सक्छस्, त्यति नै बढी मुक्ति पाउन सक्छस् र तँ मुक्ति प्राप्त गर्न त्यति नै निकट हुनेछस्। तैँले जति आफ्नो समस्या पत्ता लगाउन सक्दैनस्, सधैँ आफू असल र ठिक भएको जति विश्वास गर्छस्, त्यति नै तँ मुक्तिको मार्गबाट टाढा हुन्छस्—तँ झन् धेरै खतरामा हुन्छस्। यदि तैँले आफ्नो कर्तव्य अत्यन्तै राम्ररी निर्वाह गरेकोमा अनि सत्यतामा सङ्गति र सत्यता अभ्यास गर्ने आफ्नो क्षमतामा सधैँ घमण्ड गर्ने व्यक्ति देखिस् भने, यसले उक्त व्यक्तिको कद अत्यन्तै सानो छ भन्ने प्रमाणित गर्छ। ऊ बालकजस्तो हुन्छ, र उसको जीवन अपरिपक्व हुन्छ। कस्तो प्रकारको व्यक्तिमा मुक्ति प्राप्त गर्ने आशा बढी हुन्छ र ऊ मुक्ति पाइने मार्गमा हिँड्न सक्छ? यस्तै व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव साँचो रूपमा चिन्छ। उसले जति गहिराइमा त्यो कुरा बुझ्छ, ऊ मुक्ति पाउन त्यति नै निकट हुन्छ। आफ्ना सबै भ्रष्ट स्वभाव शैतानी प्रकृतिबाट आउँछन् भनी बुझ्नु, आफूमा विवेक वा समझ नभएको, आफूले कुनै सत्यता अभ्यास गर्न नसकेको, आफू आफ्नो भ्रष्ट स्वभावअनुसार मात्र जिएको र आफूमा कुनै मानवता पटक्कै नभएको, आफू जिउँदो दियाबलस र जिउँदो शैतान भएको देख्नु—यो नै साँचो रूपमा आफ्नो भ्रष्टताको सारलाई चिन्नु हो। त्यसलाई यसरी बुझ्दा त्यो समस्या अलिक गम्भीर भएको देखिन्छ, तर यो राम्रो कुरा हो कि नराम्रो? (राम्रो कुरा।) यो राम्रो कुरा भए पनि, कतिपय मानिस आफ्नो दियाबलसरूपी र शैतानी पक्षलाई देख्दा नकारात्मक बन्छन्, र सोच्छन्, “अब म सकिएँ। परमेश्वर मलाई चाहनुहुन्न। म पक्कै पनि नरकमा पुग्नेछु। परमेश्वरले कसैगरी पनि मलाई मुक्ति दिनुहुनेछैन।” के यस्तै हुन्छ? ल भन् त, के आफूलाई जति बढी बुझ्यो त्यति नै नकारात्मक बन्ने मानिसहरू हुन्छन्? तिनीहरू सोच्छन्, “म पूरै बर्बाद भएँ। परमेश्वरले मलाई न्याय गरिरहनुभएको र सजाय दिइरहनुभएको छ। यो त दण्ड, बदला हो। परमेश्वर मलाई चाहनुहुन्न। मेरो मुक्ति पाउने आशा छैन।” के मानिसमा यस्ता गलत बुझाइहरू हुन्छन्? (हुन्छन्।) वास्तवमा, व्यक्तिले आफ्नो आशाहिनतालाई जति बढी चिन्छ, उति नै बढी आशा पाउँछ। नकारात्मक नबन्, हार नमान्। आफूलाई चिन्नु राम्रो कुरा हो, यो मुक्ति प्राप्त गर्ने अत्यावश्यक मार्ग हो। यदि व्यक्ति आफ्नो भ्रष्ट स्वभाव र विविध पक्षमा परमेश्वरको प्रतिरोध गर्नेबारे पूर्णतया अनभिज्ञ हुन्छ, र परिवर्तन हुने योजनासमेत बनाउँदैन भने, यो समस्या हो। यस्तो व्यक्ति भावशून्य र मृत व्यक्ति हो। के मृत व्यक्तिलाई जीवित पार्न सजिलो हुन्छ? एकपटक मरिसकेपछि, उसलाई जीवित पार्नु सजिलो हुँदैन।
कस्तो व्यक्तिलाई परमेश्वर अझै पश्चात्ताप गर्ने अवसर दिनुहुन्छ? कस्तो व्यक्तिमा अझै मुक्ति पाउने आशा हुन्छ? यी मानिसहरूले कस्ता प्रकटीकरणहरू देखाउनुपर्छ? सर्वप्रथम, तिनीहरूमा विवेक हुनैपर्छ। तिनीहरू आफूलाई जे आइपरे पनि, त्यो परमेश्वरबाट आएको भनी ग्रहण गर्न सक्छन्, र आफूलाई मुक्ति दिन परमेश्वरले नै काम गरिरहनुभएको छ भनी हृदयले बुझ्छन्। तिनीहरूले भन्नेछन्, “म परमेश्वरको इच्छा बुझ्न सक्दिनँ, न त आफूलाई यस्तो कुरा आइपर्नुको कारण नै बुझ्न सक्छु, तर मलाई भरोसा छ परमेश्वरले मलाई मुक्ति दिन त्यो गरिरहनुभएको छ। मैले उहाँविरुद्ध विद्रोह गर्नु वा उहाँको चित्त दुखाउनु हुँदैन। मैले समर्पण गरेर आफूलाई त्याग्नैपर्छ।” तिनीहरूमा यस्तो विवेक हुन्छ। त्यसबाहेक, समझको सन्दर्भमा भन्नुपर्दा, तिनीहरू सोच्छन्, “परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। म सृष्टि गरिएको प्राणी हुँ। परमेश्वर जे गर्नुहुन्छ त्यो ठिकै हुन्छ। परमेश्वर मेरो भ्रष्ट स्वभावलाई शुद्ध पार्न मलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ। सृष्टिकर्ताले आफ्ना सृष्टि गरिएका प्राणीहरूलाई जस्तो व्यवहार गर्नुभए पनि, त्यो पूर्णतया तर्कसङ्गत र उचित हुन्छ।” के मानिसमा हुनुपर्ने समझ यही होइन र? मानिसले यसो भन्दै परमेश्वरलाई माग गर्नु हुँदैन, “म मानव हुँ। मेरो व्यक्तित्व र इज्जत छ। म तपाईंलाई मप्रति यस्तो व्यवहार गर्न दिनेछैनँ।” के यो उचित हो? यो शैतानी स्वभाव हो, यसमा सामान्य मानवताको समझ छैन, र परमेश्वरले यस्तो मानिसलाई मुक्ति दिनुहुनेछैन; उहाँ तिनीहरूलाई सृष्टि गरिएका प्राणीको रूपमा स्विकार्नुहुन्न। मानौँ तैँले यसो भनिस्, “मलाई परमेश्वरले सृष्टि गर्नुभयो; उहाँले मलाई जस्तो व्यवहार गर्न चाहनुभए पनि ठिकै छ। उहाँले मलाई गधा वा घोडा, वा अरू जेसुकैको रूपमा व्यवहार गर्न मिल्छ। मेरो आफ्नै रोजाइ वा मापदण्ड छैन।” यदि तैँले त्यसो भनिस् भने, के तेँले आफ्नो कर्तव्य निर्वाह अलि कठिन वा थकाइलाग्दो भएमा रोजेर काम गर्नेथिस्? (गर्नेथिइनँ।) ठिक भनिस्। तँ समर्पित हुनैपर्छ। तँ कसरी समर्पित हुन्छस्? सुरुमा, समर्पण गर्नु कठिन र गाह्रो हुन्छ। तँ सधैँ उम्कन र अस्वीकार गर्न चाहन्छस्। त्यसोभए तैँले के गर्नुपर्छ? तैँले परमेश्वरसामु आएर प्रार्थना गर्ने, सत्यता खोज्ने, समस्याको सारलाई प्रस्टसँग बुझ्ने, र त्यसपछि अभ्यासको मार्ग भेट्टाउने गर्नैपर्छ। तैँले सत्यता अभ्यासमा आफ्नो हृदय र प्रयत्न निकै लगाउनुपर्छ, र अलिअलि गर्दै समर्पण गर्नुपर्छ। समझ हुनु भनेको यही हो। तँमा पहिला यस्तो समझ हुनैपर्छ। व्यक्तिमा विवेक र समझ भइसकेपछि, उसलाई अरू के आवश्यक पर्छ? लाजको भावना। कस्ता परिस्थितिहरूमा व्यक्तिमा लाजको भावना हुनुपर्छ? आफूले केही गलत गर्दा, विद्रोहीपन, कुटिलपन र छलीपन प्रकट गर्दा, झूट बोल्दा र छलकपटमा संलग्न हुँदा—त्यतिबेला उसमा चेतना र लाजको भावना हुनुपर्छ। उसले यसरी कामकुरा गर्नु सत्यताबमोजिम हुँदैन र यो अमर्यादित कुरा हो भनेर उसले जान्नैपर्छ, पछुतो लाग्न जान्नैपर्छ। लाजको भावना नहुने व्यक्ति निर्लज्ज र लाज पचेको व्यक्ति हो जो मानव भन्नलायक हुँदैन। सत्यता नस्विकार्ने व्यक्ति पूर्णतया बर्बाद हुन्छ। उसलाई सत्यतामा जसरी सङ्गति गरे पनि, उसले त्यो ग्रहण गर्दैन; र जे भनिए पनि, उसको होश खुल्दैन। यसलाई लाजको भावना नहुनु भनिन्छ। के लाजको भावना नभएका मानिसहरूले पछुतो गर्न सक्छन्? लाजको भावनाविना व्यक्तिमा मर्यादा हुँदैन, र यस्तो व्यक्तिलाई पछुतो कुन चराको नाम हो थाहा हुँदैन। के पछुतो थाहा नहुने मानिसहरू बद्लिन सक्छन्? (सक्दैनन्।) बद्लिन नसक्नेहरूले आफ्नो हातमा भएको दुष्टता त्याग्नेछैनन्। “तिनीहरू हरेकलाई आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्काऊ” (योना ३:८)। यसो गर्न सक्न व्यक्तिमा के हुनैपर्छ? उसमा लाजको भावना र विवेक हुनैपर्छ। आफूले गल्ती गर्दा, उसले आफूलाई धिक्कार्नेछ र पछुतो गर्नेछ, र आफ्ना गलत तरिकाहरू त्याग्नेछ। यस्तो व्यक्ति बद्लिन सक्छ। व्यक्तिको मानवतामा कम्तीमा हुनैपर्ने कुरा यही हो। विवेक, समझ, र लाजको भावनाबाहेक अरू के आवश्यक छ? (सकारात्मक कुराहरूप्रति प्रेम।) ठिक भनिस्। सकारात्मक कुराप्रति प्रेम हुनुको अर्थ सत्यतालाई प्रेम गर्नु हो। सत्यतालाई प्रेम गर्नेहरू मात्र दयालु मानिस हुन्। के दुष्ट मानिसले सकारात्मक कुरालाई प्रेम गर्छ र? खराब मानिसहरू दुष्ट, पापमय र विषालु कुरालाई प्रेम गर्छन्; तिनीहरू नकारात्मक कुरासित सम्बन्धित सबै कुरालाई प्रेम गर्छन्। तैँले तिनीहरूसित सकारात्मक कुराबारे वा कसरी कुनै कुराले मानिसलाई लाभ पुऱ्याउँछ र त्यो कसरी परमेश्वरबाट आउँछ भन्नेबारे कुरा गर्दा, तिनीहरू खुसी हुँदैनन् र तीबारे सुन्न चासो दिँदैनन्—तिनीहरूमा मुक्ति पाउने आशा हुँदैन। कसैले तिनीहरूलाई जति नै राम्ररी सङ्गति गरे पनि वा तिनीहरूसित जति नै व्यावहारिक ढङ्गमा बोले पनि, तिनीहरू चासो नै दिँदैनन्, अनि दुस्मनी र शत्रुतासमेत देखाउन सक्छन्। तर कसैले देहसुखबारे कुरा गरेको सुन्दा तिनीहरू उत्साहित हुन्छन्, र तिनीहरूमा ऊर्जा भरिन्छ। यो पापमय र दुष्ट स्वभाव हो, र तिनीहरू राम्रो मनका होइनन्। त्यसैले तिनीहरू सम्भवतः सकारात्मक कुरालाई प्रेम गर्न सक्दैनन्। तिनीहरूले हृदयमा सकारात्मक कुरालाई कसरी लिन्छन्? तिनीहरू ती कुरालाई घृणा गर्छन् र तुच्छ ठान्छन्, तिनीहरू यी कुरालाई उपहास गर्छन्। इमानदार व्यक्ति बन्ने सम्बन्धमा, तिनीहरू यस्तो सोच्छन्, “इमानदार हुनुमा बेफाइदा मात्र छ। म त हुनेछैनँ! यदि तिमी इमानदार छौ भने मूर्ख हौ। आफूलाई हेर त, तिमी आफ्नो भविष्य वा स्वास्थ्यलाई पर्बाह नै नगरी आफ्नो कर्तव्य पालनामा कठिनाइ भोग्छौ र कडा मेहनत गर्छौ। यदि तिमी थकानले ढल्यौ भने कसले ख्याल गर्नेछ? म त आफूलाई थकित पार्न सक्दिनँ।” अरू कसैले भन्ला, “यसबाट उम्कने बाटो खोजौँ। हामी गोरुजस्तो खट्नु हुँदैन। हामीले आफ्नो अतिरिक्त योजना तयार पार्नुपर्छ र त्यसपछि थोरै मात्र थप प्रयत्न लगाउनुपर्छ।” यो सुनेर ती दुष्ट व्यक्तिहरू खुसी हुनेछन्; तिनीहरूले चाहेको पनि ठ्याक्कै त्यही हो। तर परमेश्वरप्रति पूर्ण समर्पण र आफ्नो कर्तव्यमा वफादारीपूर्वक समर्पित हुने सम्बन्धमा भने, तिनीहरूलाई घृणा र तिरस्कार लाग्नेछ, र तिनीहरूले त्यो स्विकार्नेछैनन्। के यस्तो व्यक्ति दुष्ट होइन र? यस्ता सबै मानिसमा दुष्ट स्वभाव हुन्छ। यदि तैँले तिनीहरूसँग सत्यतामा सङ्गति गरिस् र अभ्यासका सिद्धान्तहरूबारे कुरा गरिस् भने, तिनीहरू त्यो अस्वीकार गर्छन् र सुन्न चाहँदैनन्। तिनीहरू यसले आफ्नो आत्मसम्मानमा धक्का पुऱ्याउँछ, मर्यादामा चोट पुऱ्याउँछ, र त्यसबाट लाभ मिल्दैन भन्ने सोच्नेछन्। तिनीहरूले मनमनै भन्नेछन्: “सत्यता र अभ्यासका सिद्धान्तहरूबारे बोलेको बोलेकै गर्नु, इमानदार व्यक्ति बन्नेबारे सधैँ कुरा गरिरहनु—के इमानदारीले तेरो पेट भर्न सक्छ? के तैँले इमानदारीपूर्वक बोलेर पैसा पाउन सक्छस्? मलाई त ठग्नुमा नै फाइदा हुनेछ!” यो कस्तो तर्क हो? यो डाँकाको तर्क हो। के यो दुष्ट स्वभाव होइन र? के यस्तो व्यक्ति दयालु हुन्छ? (हुँदैन।) यस्तो व्यक्तिले सत्यता हासिल गर्न सक्दैन। उसले जे जति गर्ने काम, समर्पण, र परित्याग सबैको कुनै उद्देश्य हुन्छ, जसको उसले पहिल्यै राम्ररी हिसाब लगाएको हुन्छ। ऊ केही कुरा दिँदा बढी प्रतिफल पायो भने मात्र त्यसलाई राम्रो सौदाबाजी ठान्छ। यो कस्तो स्वभाव हो? यो दुष्ट र खराब स्वभाव हो।
परमेश्वरमा विश्वास गर्ने धेरैजसोले सत्यता खोज्दैनन्। तिनीहरू सधैँ आफ्नै योजना र बन्दोबस्तहरू गर्न रुचाउँछन्। फलस्वरूप, धेरै वर्षसम्म यसो गरेपछि तिनीहरूले खासै केही हासिल गरेका हुँदैनन्—तिनीहरूले कुनै सत्यता बुझ्नेछैनन् र कुनै अनुभवात्मक गवाही दिन सक्नेछैनन्। त्यतिबेला तिनीहरूले पछुतो गर्नेछन् र परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरू पालना गर्नु अनि परमेश्वरको मापदण्डअनुसार उहाँमा विश्वास गर्नु उत्तम हुनेछ भनी सोच्नेछन्। त्यतिबेला तिनीहरूले आफूलाई निकै चलाख ठानेका थिए, आफ्नै इच्छाअनुसार योजनाहरू बनाए, तर सत्यता प्राप्त नभएपछि, अन्त्यमा तिनीहरू नै हारे। मानिसहरू यी असफलताहरूमार्फत् मात्र सत्यता बुझ्छन् र जाग्छन्। तिनीहरू जीवनमा केही हदसम्म क्षति भोगिसकेपछि मात्र सही मार्गमा हिँड्छन्, र चोरबाटो लाग्न थाल्छन्। यदि तिनीहरूले परमेश्वरको मापदण्डअनुसार उहाँमा विश्वास गरेका भए, यात्राको क्रममा आउने अति धेरै घुमाउरा बाटाहरू पन्छाउनेथिए। कतिपय मानिसहरू धेरै कुराको अनुभव अनि केही असफलता र रोकावट सामना गरेपछि, केही सत्यता बुझ्छन्। तिनीहरू यी मामलाहरू छर्लङ्गै देख्छन्, र सबथोक परमेश्वरलाई सुम्पन सक्छन्, अनि स्वेच्छाले उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन्छन्। त्यतिबेला, तिनीहरू सही मार्गमा हुन्छन्। तर दुष्ट र खराब स्वभावका मानिसहरू आफूलाई परमेश्वरमा सुम्पिँदैनन्। तिनीहरू सधैँ आफ्नै प्रयत्नमा भर पर्न चाहन्छन्, र सधैँ प्रश्न गर्छन्, “के नियति साँच्चै नै परमेश्वरको नियन्त्रणमा हुन्छ? के परमेश्वर साँच्चै सबै कुरामाथि सार्वभौम हुनुहुन्छ?” कतिपय मानिस परमेश्वरको घरमा उही प्रवचन र सङ्गतिहरू जति बढी सुन्छन् त्यति नै ऊर्जावान् महसुस गर्छन्। तिनीहरू जति बढी सुन्छन् त्यति नै तिनीहरूको स्थितिमा सुधार आउँछ र तिनीहरू परिवर्तन हुन्छन्। तर अन्य कतिपयलाई भने त्यो झन्-झन् जटिल र अप्राप्य लाग्छ। यिनीहरू आत्मिक बुझाइ नभएका मानिस हुन्। अनि अझ अरूले चाहिँ प्रवचन र सङ्गतिहरू सुन्छन् र क्लान्त हुन्छन् अनि तिनीहरूको रुचि पूरै मर्छ। यसले मानिसहरूको प्रकृतिमा हुने भिन्नतालाई प्रकट गर्छ, असल र खराब, सत्यतालाई प्रेम गर्ने र सत्यतालाई प्रेम नगर्नेहरू छुट्याउँछ। एउटा समूहले परमेश्वरको वचन, सत्यता, अनि उहाँको न्याय र सजाय स्विकार्छ। अर्को समूहले प्रवचन जसरी सुने पनि सत्यता स्विकार्दैन। तिनीहरू यो सब बुझेर बुझ्न नसकिने कुरा हुन् भन्ने सोच्छन्, र तिनीहरूले त्यो बुझिहाले पनि, अभ्यास गर्न चाहँदैनन्, किनकि तिनीहरू आफ्ना योजना, स्वार्थी चाहना, र रुचिहरू त्याग्न सक्दैनन्। त्यसैले, तिनीहरू वर्षौँ विश्वास गरेपछि पनि परिवर्तन हुँदैनन्। के मण्डली भित्रका यी दुई समूहबीच स्पष्ट भिन्नताहरू छैनन् र? अरूले जे भने पनि साँचो रूपमा परमेश्वरलाई चाहनेहरू त्यसको प्रभावमा पर्दैनन्; तिनीहरू आफूलाई परमेश्वरमा समर्पित गरिरहन्छन्, परमेश्वरका वचनहरू सही हुन् र परमेश्वरको वचनअनुसार अभ्यास गर्नु नै सर्वोच्च सिद्धान्त हो भन्ने विश्वास गर्छन्। दुष्ट र सत्यतालाई प्रेम नगर्नेहरू सधैँ सक्रिय रूपले सोचिरहेका हुन्छन्। यदि तिनीहरूले आज आशिष् पाउने आशाको झलक देखेमा, त्यसमा दिलोज्यान लगाउँछन् र सबैको मन जित्ने आशाले उनीहरूले देख्नेगरी असल कार्यहरू गर्छन्। तर केही समयपछि, जब परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभएको हुँदैन, तब तिनीहरू पछुताउँछन् र गुनासो गर्छन्, अनि यो निष्कर्षमा पुग्छन्: “परमेश्वर सबैमाथि सार्वभौम हुनुहुन्छ; उहाँ पक्षपात गर्नुहुन्न—यी वचनहरू साँचो हुन् भनेर म त्यति निश्चित छैनँ।” तिनीहरू आफ्नो वर्तमान रुचिभन्दा बाहिर देख्नै सक्दैनन्; यदि त्यसबाट आफूलाई लाभ हुँदैन भने, तिनीहरू एउटा सिन्कोसमेत भाँच्दैनन्। के यो दुष्टता होइन र? तिनीहरूले जोसँग अन्तरक्रिया गरे पनि, उनीहरूसँग सौदा गर्न खोज्छन्, र तिनीहरू परमेश्वरसँग समेत सौदा गर्न खोज्छन्। तिनीहरू सोच्छन्: “मैले केही नाफा हेर्नुपर्छ, र अहिले नै हेर्नुपर्छ। मैले तत्काल नाफा प्राप्त गर्नैपर्छ!” यस्तो बलजफती—के तिनीहरूमा दुष्ट स्वभाव छ भन्नु अत्युक्ति हुनेछ र? (हुनेछैन।) त्यसोभए, तिनीहरूको दुष्टता कसरी पुष्टि गर्न सकिन्छ? तिनीहरूले आफूलाई थोरै परीक्षा वा विपत्ति आइपर्दा, त्यो स्विकार्न सक्नेछैनन् र आफ्नो कर्तव्य निर्वाह गर्नेछैनन्। तिनीहरूलाई आफूले क्षति भोगेको छु भन्ने लाग्छ: “मैले अति धेरै लगानी गरेको छु तर पनि परमेश्वरले मलाई आशिष् दिनुभएको छैन। परमेश्वर हुनुहुन्छ के त? यो सही मार्ग हो कि होइन?” तिनीहरूको हृदयमा शङ्का उब्जिन्छ। तिनीहरू नाफा हेर्न चाहन्छन्, र यसबाट तिनीहरू स्वेच्छाले र इमानदारीसाथ त्याग गर्दैनन् भन्ने पुष्टि हुन्छ; यसरी तिनीहरू खुलासा हुन्छन्। अय्यूबलाई परीक्षाहरू आइरहेको बेला उनकी श्रीमतीले के भनी? (“के तपाईं अझै पनि आफ्नो निष्ठा कायम राख्नुहुन्छ? परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस्” (अय्यूब २:९)।) ऊ गैरविश्वासी थिई, विपत्ति आइपर्दा परमेश्वरलाई नकारी र त्यागी। जब परमेश्वरले आशिष् दिनुभयो, तब उसले भनी, “यहोवा परमेश्वर, तपाईं महान् मुक्तिदाता हुनुहुन्छ! तपाईंले मलाई यतिका धेरै धनसम्पत्ति र आशिष् दिनुभएको छ। म तपाईंलाई पछ्याउनेछु। तपाईं मेरा परमेश्वर हुनुहुन्छ!” तर परमेश्वरले उसको सम्पत्ति लैजानुहुँदा, उसले भनी, “तपाईं मेरा परमेश्वर हुनुहुन्न।” उसले अय्यूबलाई यस्तोसमेत भनी, “विश्वास नगर्नुस्। परमेश्वर हुनुहुन्न! यदि हुनुभएको भए, उहाँले कसरी डाँकाहरूलाई हाम्रो धनसम्पत्ति लान दिन सक्नुहुन्थ्यो र? उहाँले किन हाम्रो सुरक्षा गर्नुभएन?” यो कस्तो स्वभाव हो? यो दुष्ट स्वभाव हो। आफ्नो हितमा धक्का पुग्नेबित्तिकै अनि आफ्ना लक्ष्य र चाहनाहरू पूरा नहुनेबित्तिकै, तिनीहरू आक्रोशित हुन्छन्, विद्रोह गर्छन, अनि यहूदा बनेर परमेश्वरलाई विश्वासघात गर्छन् र त्याग्छन्। के यस्ता मानिस धेरै छन्? झनै प्रस्ट रूपले देखिने यस्ता दुष्ट मानिस र गैरविश्वासीहरू अझै पनि मण्डलीभित्र केही होलान्। तर कतिपय मानिसमा यस्तो स्थिति मात्र हुन्छ; अर्थात्, तिनीहरूमा यस्तो स्वभाव हुन्छ, तर तिनीहरू यस प्रकारकै हुन् भन्ने होइन। तर, यदि तँमा यस्तो स्वभाव छ भने, के त्यो परिवर्तन गर्नुपर्छ? (पर्छ।) यदि तँमा यस्तो स्वभाव छ भने, त्यसको अर्थ तेरो प्रकृति पनि दुष्ट छ। यस्तो दुष्ट स्वभावले गर्दा तैँले परमेश्वरलाई विरोध गर्न, विश्वासघात गर्न, र कुनै पनि बेला उहाँप्रति शत्रुवत् व्यवहार गर्न सक्छस्। तैँले परमेश्वरसित आफ्नो ठ्याक नमिलेको दिन मात्र यी भ्रष्ट स्वभावहरू परिवर्तन गर्दैनस्। जब परमेश्वरसँग तेरो ठ्याक मिल्दैन, तब तँ उहाँसामु आएर उहाँको काम अनुभव गर्न सक्दैनस् र तैँले कुनै हालतमा मुक्ति प्राप्त गर्दैनस्।
अय्यूब साँचो आस्था राख्ने मान्छे थियो। परमेश्वरले उसलाई आशिषित् तुल्याउनुहुँदा, उसले परमेश्वरलाई धन्यवाद दियो। परमेश्वरले उसलाई अनुशासनमा राख्नुहुँदा र सबथोकबाट व़ञ्चित गराउनुहुँदा पनि उसले परमेश्वरलाई धन्यवाद दियो। उसको अनुभवको अन्त्यमा, ऊ बुढो हुँदा र उसका सबै कुरा परमेश्वरले लैजानुहुँदा, अय्यूबले कस्तो प्रतिक्रिया देखायो? उसले गुनासो गरेन मात्र होइन, तर परमेश्वरको प्रशंसा गऱ्यो र उहाँको गवाही दियो। के यसमा दुष्ट स्वभाव छ? खराब स्वभाव नि? (छैन।) के अय्यूबले यतिका धेरै धनसम्पत्ति गुमाएपछि विद्रोह गऱ्यो? के उसले गुनासो गऱ्यो? (गरेन।) उसले विद्रोह गरेन, बरु परमेश्वरको प्रशंसा गऱ्यो। यो कस्तो स्वभाव हो? यसमा सामान्य मानवतामा हुनुपर्ने थुप्रै कुरा समावेश छन्: विवेक, समझ, र सकारात्मक कुराप्रति प्रेम। सर्वप्रथम, अय्यूबसँग विवेक थियो। उसलाई आफूसँग भएका सबथोक परमेश्वरले दिनुभएको हो भन्ने कुरा मनमा थाहा थियो, र यसका लागि उसले परमेश्वरलाई धन्यवाद दियो। साथै, उसमा समझ थियो। उसको कुन अभिव्यक्तिले उसमा समझ थियो भन्ने कुरा पुष्टि गर्छ? (उसले भन्यो: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)।) यो अभिव्यक्तिले परमेश्वरका परीक्षाहरूबारे अय्यूबको साँचो अनुभव र बुझाइको गवाही दिन्छ; यसले उसको साँचो कद र मानवतालाई व्यक्त गर्छ। अय्यूबसँग अरू के थियो? (सत्यताप्रति प्रेम।) यसलाई कसरी मापन गरिन्छ? परमेश्वरले उसलाई वञ्चित गरेको मामलामा सत्यताप्रति उसको प्रेम हामी कसरी देख्न सक्छौ? (उसले आफूलाई केही आइपर्दा सत्यता खोज्न सक्यो।) सत्यता खोज्नु भनेको सत्यतालाई प्रेम गरेको देखाउनु हो। यी घट्नाहरू आफू वरपर घट्दा अय्यूबलाई जति नै असहज र पीडा भए पनि, उसले गुनासो गरेन—के यो सत्यतालाई प्रेम गरेको देखाउनु होइन र? सत्यतालाई प्रेम गर्नुको अर्को महत्त्वपूर्ण प्रकटीकरण के हो? (समर्पित हुने क्षमता।) हामी यो कसरी सत्यतालाई प्रेम गर्नुको व्यावहारिक र सही प्रकटीकरण हो भनेर थाहा पाउँछौँ? मानिसहरू प्राय: यसो भन्छन्, “परमेश्वरले मानिसका लागि गर्ने सबथोक लाभदायक हुन्छन् र त्यसमा परमेश्वरका असल अभिप्रायहरू हुन्छन्।” के सत्यता यही हो? (हो।) तर के तँ त्यो स्विकार्न सक्छस्? परमेश्वरले तँलाई आशिष् दिनुहुँदा त तँ त्यो स्विकार्न सक्छस्, तर उहाँले तेरो सबथोक लैजानुहुँदा नि, के तँ त्यो स्विकार्न सक्छस्? सक्दैनस्, तर अय्यूबले सक्यो। उसले यो अभिव्यक्तिलाई सत्यता मान्यो—के उसले सत्यतालाई प्रेम गरेन र? जब परमेश्वरले उसका सबथोक लानुभयो, उसको ठूलो क्षति गराउनुभयो, र जब अय्यूब त्यस्तो गम्भीर रोगले पीडित भयो, तब “परमेश्वरले गर्ने सबथोक सही हुन्छन् र त्यसमा परमेश्वरका असल अभिप्रायहरू हुन्छन्” भन्ने यो एउटा अभिव्यक्तिको कारण र अय्यूबले हृदयमा यो नै सत्यता हो भनी बुझेको कारण, उसले जति ठूलो कष्ट भोगे पनि, यो अभिव्यक्ति सही हो भनेर जोर दिन सक्यो। त्यसैले हामी अय्यूबले सत्यतालाई प्रेम गर्थ्यो भनेर भन्छौँ। त्यसबाहेक, अय्यूबलाई जाँच्न परमेश्वरले जुनै माध्यम प्रयोग गर्नुभए पनि, उसले त्यो स्विकाऱ्यो। उहाँले ती वस्तुहरू लैजानुभए पनि वा डाँकाहरूलाई ती लैजान लगाउनुभए पनि, वा अय्यूबलाई घाउको कष्ट दिनुभए पनि, यी सबै कुरा मानव धारणाविपरीत छन्—तर अय्यूबले यी कुराहरूलाई कसरी लियो? के उसले परमेश्वरलाई गुनासो गऱ्यो? उसले परमेश्वरलाई दोष लगाउने एक शब्द पनि बोलेन। यो सत्यतालाई प्रेम गर्नु, निष्पक्षतालाई प्रेम गर्नु, र धार्मिकतालाई प्रेम गर्नु हो। उसले मनमनै भन्यो, “परमेश्वर हामी मानिसप्रति अत्यन्तै निष्पक्ष र अत्यन्तै धर्मी हुनुहुन्छ! परमेश्वर जे गर्नुहुन्छ त्यो ठिकै हुन्छ!” यसरी, उसले यसो भन्दै परमेश्वरको प्रशंसा गर्न सक्यो: “परमेश्वरले जे गर्नुभए पनि म गुनासो गर्नेछैनँ। परमेश्वरको नजरमा, सृष्टि गरिएका प्राणीहरू किरासरह हुन्। तर परमेश्वरले तिनीहरूलाई जस्तो व्यवहार गर्नुभए पनि त्यो ठिक र न्यायसङ्गत हुन्छ।” ऊ परमेश्वरले जे गर्नुभयो त्यो सब ठिक र सकारात्मक कुरा हो भनी विश्वास गर्थे। उसले आफूलाई चरम पीडा र असहज हुँदा पनि गुनासो गरेन। यो सत्यताप्रति सच्चा प्रेम हो जसलाई सबैले तारिफ गर्नैपर्छ; र यो सबै व्यावहारिक रूपमा देखाइएको थियो। अय्यूबले जति नै धेरै गुमाए पनि वा उसको परिस्थिति जति नै कठिन भए पनि, परमेश्वरलाई गुनासो गरेन; ऊ समर्पित भयो। यो सत्यतालाई प्रेम गरेको देखाउनु हो। उसले आफ्ना कठिनाइहरूलाई जित्न सक्यो; ती कुराका लागि उसले परमेश्वरलाई दोष दिएन वा परमेश्वरलाई कुनै माग गरेन। यो सत्यतालाई प्रेम गर्नु हो, यो साँचो समर्पण हो। साँचो समर्पण गर्नेहरू मात्र सत्यतालाई प्रेम गर्ने मानिस हुन्। कतिपय मानिस साधारणतया धर्मसिद्धान्त फलाक्न र नारा लगाउनमा उत्कृष्ट हुन्छन्, तर आफूलाई केही गम्भीर कुरा आइपर्दा सधैँ परमेश्वरलाई मागहरू राख्छन्, र निरन्तर उहाँलाई यस्तो बिन्ती गर्छन्: “हे परमेश्वर, कृपया मेरो रोग हटाइदिनुहोस्! कृपया मेरो धनसम्पत्ति फिर्ता गर्नुहोस्!” के यो समर्पण हो? तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिस होइनन्। तिनीहरू झूट बोल्न र अरूलाई बहकाउन रुचाउँछन्, अनि हृदयमा धन र लाभलाई प्रेम गर्छन्। अय्यूबले भौतिक लाभ र आफ्ना सारा सरसम्पत्तिलाई हल्का ठान्यो, ती सबैलाई राम्ररी बुझेको थियो, त्यसैले उसले समर्पण गर्न सक्यो। अय्यूबले हृदयमा यी कुराहरू छर्लङ्गै देख्न सक्यो। उसले भन्यो, “व्यक्तिले यस जुनीमा जति नै कमाए पनि, त्यो सबै परमेश्वरबाटै आउँछ। यदि परमेश्वरले तँलाई कमाउन दिनुभएन भने, तैँले एक सुको कमाउनेछैनस्। यदि उहाँले कमाउन दिनुभयो भने, उहाँ जति दिनुहुन्छ तैँले त्यति पाउनेछस्।” उसले सबै कुरामाथि परमेश्वरको सार्वभौमिकता छ भन्ने तथ्यलाई प्रस्टसँग देख्यो, यो सत्यताले उसको हृदयमा जरा गाड्यो। “परमेश्वर सबै कुरामाथि सार्वभौम हुनुहुन्छ”—अय्यूबका लागि यो वाक्य प्रश्नचिह्नसहित आएन, विस्मयादिबोधक चिह्नसहित आयो। यो वाक्य उसको जीवन बन्यो र उसको हृदयमा गडियो। अय्यूबको मानवतामा अरू के थियो? उसले किन आफू जन्मेको दिनलाई सराप्यो? ऊ परमेश्वरलाई आफ्नो पीडा देखाएर आफ्ना लागि दुःख मान्न लगाउनुभन्दा बरु मर्न तयार हुनेथ्यो। यो कस्तो गुण हो, कस्तो सार हो? (दया।) अय्यूबको दयाका प्रमुख प्रकटीकरणहरू के-के हुन्? ऊ परमेश्वरप्रति विचारशील थियो र उहाँलाई बुझ्थ्यो, अनि उसले परमेश्वरलाई प्रेम गर्न र सन्तुष्ट तुल्याउन सक्यो। यदि कसैसँग यी गुणहरू छन् भने, उसँग चरित्र हुन्छ। चरित्र कसरी निर्माण हुन्छ? सत्यता बुझ्ने, परमेश्वरका परीक्षा र शैतानका प्रलोभनहरू आइपर्दा आफ्नो गवाहीमा खरो उत्रिन सक्ने, मानवझैँ जिउन सक्ने, मानव हुनुको स्तरमा पुग्ने, र निश्चित मात्रामा सत्यता हुने व्यक्तिमा मात्र चरित्र हुन्छ। मानवता सारको सन्दर्भमा भन्नुपर्दा, अय्यूबको हृदय दयालु भएकाले गर्दा मात्र उसले आफ्नो जन्मदिनलाई सराप्न सके र ऊ परमेश्वरलाई आफ्नो पीडा देखाएर दुखित र चिन्तित तुल्याउनुभन्दा मर्न तयार थियो। अय्यूबको मानवता यही थियो। व्यक्तिमा दयालु मानवता र सार भएमा मात्र उसले परमेश्वरलाई प्रेम गर्नेछ र उहाँप्रति चासो लिनेछ। यदि उसमा यीमध्ये कुनै कुरा पनि छैन भने, ऊ भावशून्य र कठोर हुनेछ। यस कुरालाई पावलसँग दाँज्, जो अय्यूबको ठिक उल्टो थियो। पावल सधैँ आफूबारे मात्र सोच्थ्यो, र परमेश्वरसित सौदासमेत गर्न चाहन्थ्यो। ऊ मुकुट प्राप्त गर्न चाहन्थ्यो, ख्रीष्ट बनेर ख्रीष्टको ठाउँ लिन चाहन्थ्यो। उसले मुकुट पाउन नसक्दा परमेश्वरसँग विवाद गर्न र उहाँविरुद्ध मुद्दा लड्न खोज्यो। कस्तो समझहीन! यसले पावलमा लाजको भावना थिएन भन्ने देखाउँछ। शैतानको भ्रष्ट स्वभाव भएका मानिसहरू परिवर्तन हुनैपर्छ। यदि कसैले सत्यता बुझ्छ, अनि त्यो स्विकार्न र अभ्यास गर्न सक्छ भने, ऊ परमेश्वरप्रति समर्पित हुन सक्नेछ। ऊ परमेश्वरको विरोध गर्न छोडेर उहाँसित मिल्नेछ। यस्तै व्यक्तिले सत्यता र जीवन प्राप्त गर्छ। परमेश्वरले चाहने सृष्टि गरिएको प्राणी यही हो।
जुलाई १३, २०१८