ञ. प्रेमिलो परमेश्‍वरलाई कसरी पछ्याउने त्यसको सम्‍बन्धमा

४३६. परमेश्‍वरको सार मानिसका लागि विश्‍वास गर्नहेतु मात्र होइन; अझ अधिक, यो त मानिसले प्रेम गर्नको लागि हो। तर परमेश्‍वरमाथि विश्‍वास गर्ने धेरैजनाले यो “गोप्य कुरा” पत्ता लगाउन सक्दैनन्। मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्ने आँट गर्दैनन्‌, न त तिनीहरूले उहाँलाई प्रेम गर्ने प्रयत्न नै गर्छन्‌। परमेश्‍वरको बारेमा प्रेम गर्न योग्य कुराहरू यति धेरै छन्‌ भन्‍ने कुरा तिनीहरूले कहिल्यै पत्ता लगाएका छैनन्‌; तिनीहरूले परमेश्‍वर त मानिसलाई प्रेम गर्नुहुने परमेश्‍वर हुनुहुन्छ, र उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जसलाई मानिसले प्रेम गर्छ भन्‍ने कुरा कहिल्यै पत्ता लगाएका छैनन्‌। परमेश्‍वरको प्रेमिलो स्वभाव उहाँको काममा व्यक्त हुन्छ: मानिसहरूले उहाँको कामलाई अनुभव गर्दा मात्र उहाँको प्रेमिलो स्वभाव पत्ता लगाउन सक्छन्‌; वास्तविकतामा मात्र मानिसहरूले परमेश्‍वरको प्रेमिलो स्वभावलाई प्रत्यक्ष अनुभव गर्न सक्छन्‌; र यसलाई वास्तविक जीवनमा अनुभव र अवलोकन नगरी, कसैले पनि परमेश्‍वरको प्रेमिलो स्वभावलाई पत्ता लगाउन सक्दैन। परमेश्‍वरको बारेमा प्रेम गर्ने कुरा धेरै छन्, तर उहाँसँग सम्पर्कमा नआई मानिसहरू यसलाई पत्ता लगाउन असक्षम हुन्छन्‌। भन्नुको अर्थ, यदि परमेश्‍वर देह नबन्नुभएको भए, मानिसहरू उहाँसँग वास्तवमा सम्पर्कमा आउन असक्षम हुनेथिए, र यदि तिनीहरू उहाँसँग वास्तविक रूपमा तल्लीन हुन असमर्थ भएका भए, तिनीहरू उहाँको काम अनुभव गर्न पनि समर्थ हुनेथिएनन्‌—र यसरी परमेश्‍वरप्रतिको तिनीहरूको प्रेम धेरै झूट र कल्पनाले कलङ्कित हुनेथियो। स्वर्गमा भएको परमेश्‍वरप्रतिको प्रेम पृथ्वीमा भएको परमेश्‍वरप्रतिको प्रेम जस्तै वास्तविक छैन, किनभने स्वर्गमा हुनुहुने परमेश्‍वरको बारेमा मानिसहरूको ज्ञान तिनीहरूको आफ्नै आँखाले देखेका र तिनीहरूले व्यक्तिगत रूपमा अनुभव गरेका कुराहरूमाथि भन्दा पनि तिनीहरूको कल्पनाहरूमाथि निर्माण भएको छ। जब परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, तिनीहरूले उहाँका व्यावहारिक कार्यहरू र उहाँको प्रेमिलो स्वभाव देख्न सक्छन्, र तिनीहरूले उहाँको व्यावहारिक र सामान्य स्वभाव देख्न सक्छन्‌, यी सबै नै स्वर्गमा हुनुहुने परमेश्‍वर सम्बन्धी ज्ञानभन्दा हजारौं गुना बढी वास्तविक हुन्छन्‌। मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई जतिसुकै प्रेम गरे तापनि त्यो वास्तविक नै हुँदैन, त्यो मानवीय विचारहरूले भरिएको हुन्छ। पृथ्वीमा हुनुहुने परमेश्‍वरका निम्ति तिनीहरूको प्रेम जतिसुकै थोरै भए तापनि यो प्रेम वास्तविक हुन्छ; यो थोरै मात्र भए तापनि फेरि पनि यो वास्तविक हुन्छ। परमेश्‍वरले मानिसहरूलाई व्यावहारिक काममार्फत उहाँलाई चिन्न लगाउनुहुन्छ, र यही ज्ञानमार्फत उहाँले तिनीहरूको प्रेम प्राप्त गर्नुहुन्छ। यो पत्रुसको जस्तै हो: यदि ऊ येशूसँग नजिएको भए, उसले येशूलाई श्रद्धा गर्न असम्भव हुनेथियो। येशूप्रतिको उसको बफादारी पनि येशूसँगको उसको सम्पर्कमा आधारित थियो। मानिसले परमेश्‍वरलाई प्रेम गर्न लगाउनको लागि उहाँ मानिसको बीचमा आउनुभएको छ र मानिससँग सँगै जिउनुहुन्छ, र उहाँले मानिसलाई देख्न र अनुभव गर्न लगाउन खोज्नुभएको एउटै कुरा भनेको परमेश्‍वरको व्यावहारिकता हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

४३७. “प्रेम” भन्ने कुराले एउटा शुद्ध र निस्खोट स्नेहलाई जनाउँछ, जहाँ तैँले आफ्नो हृदयद्वारा प्रेम गर्छस्, महसुस गर्छस्, र ख्याल गर्छस्। प्रेममा सर्तहरू हुँदैनन्, बाधाहरू हुँदैनन्, र दूरी हुँदैन। प्रेममा कुनै शङ्का हुँदैन, कुनै छल हुँदैन, र कुनै धूर्त्याइँ हुँदैन। प्रेममा कुनै लेनदेन हुँदैन, र त्यहाँ कुनै पनि प्रकारको मिसावट हुँदैन। यदि तँसँग प्रेम छ भने, तैँले छल, गुनासो, विश्‍वासघात, विद्रोह, माग गर्नेछैनस्, वा केही प्राप्त गर्न वा निश्चित मात्रामा केही कुरा प्राप्त गर्न खोज्नेछैनस्। यदि तँसँग प्रेम छ भने, तैँले खुसीसाथ आफूलाई समर्पित गर्नेछस् र खुसीसाथ कष्ट भोग्नेछस्, तँ मसँग मिल्दो हुनेछस्, र तैँले मेरो लागि आफूसँग भएका सबै कुरा त्याग्नेछस्, आफ्नो परिवार, आफ्ना सम्भावनाहरू, आफ्नो यौवन, र आफ्नो विवाहलाई त्याग्नेछस्। नत्रभने, तेरो प्रेम पटक्कै प्रेम हुनेछैन, बरु छल र विश्‍वासघात हुनेछ! तेरो प्रेम कस्तो प्रकारको प्रेम हो? के यो साँचो प्रेम हो? कि झूटो हो? तैँले कति त्यागेको छस्? तैँले कति अर्पण गरेको छस्? मैले तँबाट कति प्रेम प्राप्त गरेको छु? के तँलाई थाहा छ? तिमीहरूका हृदयहरू दुष्टता, विश्‍वासघात, र छलले भरिएका छन्—त्यसोभए तिमीहरूको प्रेममा अशुद्धता चाहिँ कति छ? तिमीहरू आफूले मेरा लागि पहिले नै पर्याप्त त्यागिसकेको सोच्छौ; तिमीहरू मप्रति तिमीहरूको प्रेम पहिले नै पर्याप्त छ भन्ने सोच्छौ। तर त्यसोभए तिमीहरूका शब्द र कार्यहरूमा किन सधैँ विद्रोहीपन र छल हुन्छन्? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि तिमीहरू मेरो वचनलाई स्वीकार गर्दैनौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि मलाई इन्कार गर्छौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि तिमीहरू ममाथि अविश्‍वास गर्छौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि तिमीहरू मेरो अस्तित्वलाई स्वीकार गर्न सक्दैनौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ तर मलाई म जो हुँ त्यसअनुसार व्यवहार गर्दैनौ, र हरेक मोडमा मलाई कठिनाइमा पार्छौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि तिमीहरू हरेक मामलामा मलाई मूर्ख बनाउने र मलाई धोका दिने प्रयास गर्छौ। के यो प्रेम हो? तिमीहरू मेरो सेवा गर्छौ, तैपनि तिमीहरू मेरो भय मान्दैनौ। के यो प्रेम हो? तिमीहरू यावत् पक्ष र यावत् कुरामा मेरो विरोध गर्छौ। के यीमध्ये कुनै प्रेम हो? तिमीहरूले धेरै कुरा समर्पित गरेका छौ, यो साँचो हो, तैपनि मैले तिमीहरूसँग माग गर्ने कुरा तिमीहरूले कहिल्यै अभ्यास गरेका छैनौ। के यो प्रेम हुन सक्छ? ध्यानपूर्वक हेर्दा तिमीहरूमा मप्रतिको प्रेमको सङ्केत रत्तिभर छैन भन्‍ने देखिन्छ। यति धेरै वर्ष काम गरेपछि र मैले यति धेरै वचन आपूर्ति गरेपछि, तिमीहरूले वास्तवमा कति प्राप्त गरेका छौ? के यो ध्यानपूर्वक पछाडि फर्केर हेर्न लायक छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ

४३८. परमेश्‍वरलाई प्रेम गर्ने पाठभन्दा गहन पाठ अर्को छैन, र यसो पनि भन्‍न सकिन्छ कि जीवनभरिको विश्‍वासबाट मानिसहरूले सिक्ने पाठ भनेको परमेश्‍वरलाई प्रेम गर्ने भन्‍ने नै हो। भन्नुको अर्थ, यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने तैँले परमेश्‍वरलाई प्रेम गर्नैपर्छ। यदि तँ परमेश्‍वरमा विश्‍वास मात्र गर्छस् तर उहाँलाई प्रेम गर्दैनस् र तैँले परमेश्‍वरको ज्ञान हासिल गरेको छैनस्, र तेरो हृदयभित्रबाट निस्कने साँचो प्रेमका साथ परमेश्‍वरलाई कहिल्यै प्रेम गरेको छैनस् भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास निरर्थक छ; यदि तँ परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा परमेश्‍वरलाई प्रेम गर्दैनस् भने, तँ व्यर्थमा जिउँछस्, र तेरो सम्पूर्ण जीवन सबैभन्दा नीच जीवन हो। यदि तैँले आफ्नो सम्पूर्ण जीवनभरि परमेश्‍वरलाई कहिल्यै प्रेम गरेको वा सन्तुष्ट बनाएको छैनस् भने, तँ जिउनुको के अर्थ छ र? अनि परमेश्‍वरमाथिको तेरो विश्‍वासको के अर्थ छ र? के यो प्रयत्न खेर जानु होइन र? यसो भन्नुको अर्थ, यदि मानिसहरूले परमेश्‍वरलाई विश्‍वास र प्रेम गर्नु छ भने, उनीहरूले मूल्य चुकाउनैपर्छ। बाहिरी रूपमा निश्चित तरिकाले व्यवहार गर्ने प्रयास गर्नुभन्दा, उनीहरूले उनीहरूको हृदयको गहिराइमा साँचो अन्तर्ज्ञान खोज्नुपर्छ। यदि तँ गाउन र नाच्न उत्सुक छस्, तर सत्यता अभ्यास गर्न असक्षम छस् भने, के तैँले परमेश्‍वरलाई प्रेम गर्छस् भनेर मानिन्छ त? परमेश्‍वरलाई प्रेम गर्न सबै कुराहरूमा परमेश्‍वरका अभिप्रायहरू खोज्नु, “र तँलाई केही हुँदा तैँले आफूभित्रको गहिराइमा खोजनिधो गर्दै,” परमेश्‍वरका अभिप्राय बोध गर्ने प्रयास गर्नु, र यी मामलाहरूमा परमेश्‍वरका अभिप्राय के हुन्, उहाँ तँलाई के हासिल गर्न अह्राउनुहुन्छ, र तैँले उहाँका अभिप्रायलाई कसरी ख्याल गर्नुपर्छ भन्‍ने कुरा हेर्ने प्रयास गर्नु आवश्यक हुन्छ। उदाहरणको लागि: कठिनाइ सहनु पर्ने गरी तँलाई केही हुन्छ, उक्त समयमा परमेश्‍वरका अभिप्रायहरू के हुन् र उहाँका अभिप्रायहरूलाई तैँले कसरी ख्याल गर्नुपर्छ भनेर तैँले बुझ्नु पर्दछ। तैँले आफूलाई सन्तुष्ट बनाउनु हुँदैन: सर्वप्रथम, आफूलाई इन्कार गर्। देहभन्दा पतित कुरा अर्को छैन। तैँले परमेश्‍वरलाई सन्तुष्ट बनाउन र आफ्नो कर्तव्य पूरा गर्न प्रयास गर्नुपर्दछ। यस्ता सोचले, यो विषयमा परमेश्‍वरले तँमा विशेष अन्तर्दृष्टि ल्याइदिनुहुन्छ र तेरो हृदयले पनि आराम पाउनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

४३९. आज, तिमीहरू सबैलाई थाहा छ, मानिसले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको आत्माको मुक्ति र दैहिक सुस्वास्थ्यका लागि मात्र होइन, न त यो परमेश्‍वरलाई प्रेम गरेर आफ्नो जीवनलाई समृद्ध बनाउन, आदिका लागि नै हो। अहिलेको अवस्थामा हेर्दा, यदि तँ दैहिक सुस्वास्थ्य वा क्षणिक आनन्दका खातिर परमेश्‍वरलाई प्रेम गर्छस् भने, अन्तमा परमेश्‍वरप्रतिको तेरो प्रेम शिखरमा पुगे पनि र तैँले थप केही नमागे पनि, तैँले पछ्याउने यो प्रेम अझै पनि मिसावटी प्रेम नै हो र परमेश्‍वरलाई यो मन पर्दैन। आफ्नो नीरस अस्तित्वलाई समृद्ध बनाउन र आफ्नो हृदयको शून्यता भर्न परमेश्‍वरप्रतिको प्रेम प्रयोग गर्नेहरू सुखसुविधाको लालसा गर्ने खालका मानिस हुन्, साँच्चै परमेश्‍वरलाई प्रेम गर्न खोज्नेहरू होइनन्। यस प्रकारको प्रेम बाध्यात्मक हुन्छ, यो मानसिक सन्तुष्टिको पछ्याइ हो, र परमेश्‍वरलाई यसको कुनै आवश्यकता छैन। त्यसोभए, तेरो प्रेम कस्तो प्रकारको हो? तँ केका लागि परमेश्‍वरलाई प्रेम गर्छस्? अहिले तँभित्र परमेश्‍वरप्रतिको साँचो प्रेम कति छ? तिमीहरूमध्ये बहुसङ्ख्यकको प्रेम माथि उल्लेख गरिएको प्रकारको छ। यस्तो प्रेमले यथास्थितिलाई मात्र कायम राख्न सक्छ; यसले अपरिवर्तनीयता हासिल गर्न सक्दैन, न त यसले मानिसमा जरा गाड्न नै सक्छ। यस प्रकारको प्रेम भनेको फुल्ने तर फल नलागी ओइलाउने फूलजस्तो मात्र हो। अर्को शब्दमा भन्दा, तैँले एक पटकयसरी परमेश्‍वरलाई प्रेम गरेपछि, यदि तँलाई अगाडिको मार्गमा डोर्‍याउने कोही छैन भने, तँ ढल्नेछस्। यदि तँ परमेश्‍वरलाई प्रेम गर्ने समयमा मात्र उहाँलाई प्रेम गर्न सक्छस् तर त्यसपछि तेरो जीवन स्वभाव अपरिवर्तित रहन्छ भने, तँ अन्धकारको प्रभावको घेरामुनि नै रहनेछस्, उम्कन असक्षम हुनेछस्, र तँ शैतानको बन्धनबाट र यसद्वारा मूर्ख बनाइनबाट मुक्त हुन असक्षम नै रहनेछस्। यस्तो कोही पनि परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन सकिँदैन; अन्तमा, तिनीहरूको आत्मा, प्राण, र शरीर अझै पनि शैतानकै हुनेछ। यसबारे कुनै शङ्का हुनै सक्दैन। परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन नसकिनेहरू सबै आफ्नै मूल स्थानमा फर्कनेछन्, अर्थात्, शैतानकहाँ फर्कनेछन्, र तिनीहरू परमेश्‍वरबाट अर्को चरणको दण्ड स्वीकार गर्न आगो र गन्धकको कुण्डमा जानेछन्। परमेश्‍वरद्वारा प्राप्त गरिएकाहरू ती हुन्, जो शैतानविरुद्ध विद्रोह गर्छन् र त्यसको शक्तिबाट उम्कन्छन्। तिनीहरू आधिकारिक रूपमा राज्यका मानिसहरूमा गनिन्छन्। राज्यका मानिसहरूको उत्पत्ति यहीँबाट हुन्छ। के तँ यस प्रकारको व्यक्ति बन्न इच्छुक छस्? के तँ परमेश्‍वरद्वारा प्राप्त गरिन इच्छुक छस्? के तँ शैतानको सत्ताबाट उम्कन र परमेश्‍वरकहाँ फर्कन इच्छुक छस्? तँ अब एउटा शैतान होस् कि राज्यका मानिसहरूमध्ये एक होस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासीहरूले कस्तो दृष्टिकोण राख्‍नुपर्छ

४४०. मानिस अहिलेसम्म अन्धकारको प्रभावको कवचमुनि जिएको छ, शैतानको प्रभावको बन्धनमा परेको छ, उम्‍कनलाई असमर्थ छ, र उसको स्वभाव शैतानद्वारा संचालित गरिएकोले निरन्तर रूपमा भ्रष्ट हुन्छ। यसो भन्न सकिन्छ कि मानिस सँधै उसको भ्रष्ट शैतानी स्वभावमा जिएको छ र ऊ परमेश्‍वरलाई साँचो प्रेम गर्न असक्षम छ। यसो भएको हुनाले, यदि मानिसले परमेश्‍वरलाई प्रेम गर्ने इच्छा गर्दछ भने, उसले आफ्नो आत्म-धार्मिकता, अहम्‌ता, अहङ्कार, अभिमान र यस्तै कुराहरू—शैतानका स्वभावका हरेक कुराहरू फाल्नैपर्छ। नत्र भने, उसको प्रेम अशुद्ध प्रेम, शैतानी प्रेम, र पूर्ण रूपले परमेश्‍वरको स्वीकृती प्राप्त गर्न नसक्ने प्रेम हो। पवित्र आत्माद्वारा प्रत्यक्ष रूपमा सिद्ध, तोडिएका, काँटछाँट गरिने, अनुशासित गरिने, ताडना दिइने र शोधन गरिने जस्ता कार्य नगरिकन, कोही पनि परमेश्‍वरलाई साँचो प्रेम गर्न सक्षम हुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानिसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैन

४४१. जब मानिसहरूले आफ्नो हृदयद्वारा परमेश्‍वरलाई सम्पर्क गर्छन्, जब तिनीहरूको हृदय पूर्ण रूपमा उहाँमा फर्कन सक्छ, परमेश्‍वरप्रतिको मानिसको प्रेमको पहिलो चरण यही हो। तँ परमेश्‍वरलाई प्रेम गर्न चाहन्छस् भने, तैँले पहिले आफ्नो हृदय उहाँतिर फर्काउन सक्‍नुपर्छ। तेरो हृदय परमेश्‍वरतिर फर्काउनु भनेको के हो? यो भनेको तैँले आफ्नो हृदयमा खोजी गर्ने सबै कुरा परमेश्‍वरलाई प्रेम र प्राप्त गर्नका खातिर हुने अवस्था हो। यो अवस्थाले तैँले आफ्नो हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्काएको छस् भन्‍ने देखाउँछ। परमेश्‍वर र उहाँको वचनहरूबाहेक, तेरो हृदयमा लगभग अरू (परिवार, धनसम्पत्ति, पति, पत्‍नी, छोराछोरी, आदि) केही पनि हुँदैन। यदि केही छ भने पनि, त्यस्ता कुराले तेरो हृदय ओगट्न सक्दैनन्, र तँ आफ्ना भावी सम्भाव्यताहरूका बारेमा सोच्दैनस्, केवल परमेश्‍वरलाई प्रेम गर्न पछ्याउँछस्। यस्तो समयमा तैँले आफ्नो हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्काएको हुनेछस्। मानौं, तैँले अझै पनि आफ्नो हृदयमा आफ्नै लागि योजना बनाउँदै छस्, तँ सधैँ व्यक्तिगत फाइदाको पछि लागिरहेको छस्, र तैँले सधैँ यस्तो सोच्छस्: “मैले कहिले परमेश्‍वरसँग एउटा सानो बिन्ती गर्न सक्छु? मेरो परिवार कहिले धनी हुनेछ? मैले कसरी राम्रो लुगाफाटा पाउन सक्छु? …” यदि तँ त्यो स्थितिमा जिइरहेको छस् भने यसले तेरो हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्केको छैन भन्‍ने देखाउँछ। यदि तँसँग हृदयमा परमेश्‍वरका वचनहरू मात्रै छन् र तैँले परमेश्‍वरसँग प्रार्थना गर्न सक्छस् र हरसमय उहाँको नजिक हुन सक्छस् भने—मानौं उहाँ तेरो धेरै नजिक हुनुहुन्छ, मानौं परमेश्‍वर तँभित्र हुनुहुन्छ र तँ उहाँभित्र छस् भने—यदि तँ त्यस प्रकारको स्थितिमा छस् भने, त्यसको अर्थ तेरो हृदय परमेश्‍वरको उपस्थितिमा छ भन्‍ने हुन्छ। यदि तैँले हरेक दिन परमेश्‍वरसित प्रार्थना गर्छस् र प्रत्येक दिन उहाँका वचनहरू खान्छस् र पिउँछस्, सधैँ मण्डलीको कामको बारेमा सोचिरहेको हुन्छस् भने, र यदि तैँले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्छस् भने, यदि उहाँलाई सच्‍चा प्रेम गर्न र उहाँको हृदयलाई सन्तुष्ट पार्न आफ्‍नो हृदय प्रयोग गर्छस् भने, तेरो हृदय परमेश्‍वरको स्वामित्वमा हुनेछ। यदि तेरो हृदयलाई अन्य थुप्रै कुराहरूले कब्जा गरेको छ भने, यो अझै पनि शैतानको कब्जामा हुन्छ र यो साँचो रूपले परमेश्‍वरतर्फ फर्केको हुँदैन। जब कसैको हृदय साँच्‍चै परमेश्‍वरतर्फ फर्केको हुन्छ, तब तिनीहरूमा उहाँको निम्ति साँचो, स्वस्फूर्त प्रेम हुन्छ, र तिनीहरूले परमेश्‍वरको कामलाई ध्यान दिन सक्‍नेछन्। तिनीहरूमा अझै पनि मूर्खता र विवेकहीनताका पलहरू हुन सक्‍ने भए तापनि, तिनीहरूले परमेश्‍वरको घर, उहाँको काम, र तिनीहरूका आफ्नै स्वभावको परिवर्तनमा चासो देखाउँछन् र तिनीहरूको हृदय सही स्थानमा हुन्छ। केही मानिसहरूले जहिले पनि आफूले गरेका सबै काम मण्डलीका लागि हुन् भनी दाबी गरिरहेका हुन्छन्, तर वास्तवमा तिनीहरूले आफ्नो फाइदाका लागि काम गरिरहेका हुन्छन्। यस्ता मानिसहरूसित गलत अभिप्राय हुन्छ। तिनीहरू कुटिल र छली हुन्छन् र तिनीहरूले गर्ने धेरैजसो काम आफ्नै व्यक्तिगत फाइदाका लागि नै हुन्छन्। यस प्रकारको व्यक्तिले परमेश्‍वरप्रतिको प्रेमको खोजी गर्दैन; तिनीहरूको हृदय अझै पनि शैतानको अधीनमा हुन्छ र परमेश्‍वरतर्फ फर्कन सक्दैन। त्यसैले, परमेश्‍वरसँग यस प्रकारको व्यक्तिलाई प्राप्त गर्ने कुनै उपाय हुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वस्फूर्त हुन्छ

४४२. परमेश्‍वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र आइपर्ने सबै कुरा परमेश्‍वरसामु शैतानले थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्‍वरका लागि गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतान परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूब भने मानिसहरूका कार्य र बाधाहरूको सामना गरिरहेको थियो। तिमीहरूमा परमेश्‍वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्‍वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ। उदाहरणका लागि, यदि तँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूप्रति पूर्वाग्रही छस् भने, तँसँग भन्न मन लागेका यस्ता शब्दहरू हुनेछन्—जुन शब्दहरू तँलाई परमेश्‍वरलाई अप्रसन्न तुल्याउने खालका छन् भन्ने लाग्छ—तर यदि तैँले ती शब्दहरू भनिनस् भने, तँलाई भित्री रूपमा असहज महसुस हुनेछ, अनि यस क्षणमा, तँभित्र एउटा लडाइँ सुरु हुनेछ: “म बोलूँ कि नबोलूँ?” लडाइँ भनेको यही हो। यसरी, तैँले सामना गर्ने हरेक कुरामा एउटा लडाइँ हुन्छ। जब तँभित्रै लडाइँ हुन्छ, तब परमेश्‍वरले तेरो वास्तविक सहकार्य र वास्तविक दुःखमार्फत तँमा काम गर्नुहुन्छ, र अन्ततः तँ भित्री रूपमा यस मामलालाई त्याग्न सक्षम हुनेछस्, र तेरो रिस स्वतः मर्नेछ। यो पनि परमेश्‍वरसँगको तेरो सहकार्यको नतिजा नै हो। मानिसहरूले गर्ने हरेक कुरामा तिनीहरूले निश्चित मात्रामा रगत-पसिना बगाउनुपर्ने हुन्छ। खास दुःख नभोगी, तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्दैनन्; तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्ने नजिक पनि आउँदैनन्, र तिनीहरू खोक्रा नाराहरू मात्र फलाकिरहेका हुन्छन्! के यी खोक्रा नाराहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्? आत्मिक क्षेत्रमा परमेश्‍वर र शैतानबीच लडाइँ हुँदा, तैँले परमेश्‍वरलाई कसरी सन्तुष्ट पार्नुपर्छ, र उहाँप्रतिको गवाहीमा तँ कसरी दृढ रहनुपर्छ? तैँले यो थाहा पाउनुपर्छ कि तँलाई आइपर्ने हरेक कुरा एउटा ठूलो परीक्षा हो र त्यो परमेश्‍वरका लागि तैँले साक्षी दिनु आवश्यक हुने समय हो। ती बाहिरबाट नगण्य देखिए पनि, यी कुराहरू आइपर्दा, तिनले तँ परमेश्‍वरलाई प्रेम गर्छस् कि गर्दैनस् भन्‍ने कुरा देखाउँछन्। यदि तैँले उहाँलाई प्रेम गर्छस् भने, तँ उहाँप्रतिको गवाहीमा दृढ रहन सक्नेछस्, र यदि तैँले परमेश्‍वरलाई प्रेम गर्ने अभ्यास गरेको छैनस् भने, यसले तँ सत्यतालाई व्यवहारमा लागू गर्ने व्यक्ति होइनस्, तँ सत्यतारहित छस्, र जीवनरहित छस्, तँ भुस होस् भन्‍ने देखाउँछ! मानिसहरूलाई आइपर्ने सबै कुरामा, परमेश्‍वर तिनीहरू उहाँप्रतिको साक्षीमा दृढ रहून् भन्ने चाहनुहुन्छ। अहिले तँलाई कुनै उल्लेखनीय कुरा नभइरहेको भए पनि, र तैँले ठुलो गवाही नदिने भए पनि, तेरो दैनिक जीवनका सारा विवरण नै परमेश्‍वरलाई दिइने गवाहीसँग सम्बन्धित हुन्छ। यदि तँ तेरा दाजुभाइ र दिदीबहिनीहरू, तेरो परिवारका सदस्यहरू, र तेरो वरिपरिका सबैको प्रशंसा जित्न सक्छस्; यदि, कुनै दिन, गैरविश्‍वासीहरू आउँछन्, र तैँले गर्ने सबै कुराको प्रशंसा गर्छन्, र परमेश्‍वरले गर्ने सबै कुरा अद्भुत छन् भन्‍ने देख्छन् भने, यो नै तेरो गवाही हुनेछ। तँसँग अन्तर्ज्ञान नभए पनि र तेरो क्षमता कमजोर भए पनि, परमेश्‍वरद्वारा सिद्ध पारिएर, तँ उहाँलाई सन्तुष्ट पार्न र उहाँका अभिप्रायलाई ख्याल गर्न सक्षम हुन्छस्, जसले गर्दा अरू मानिसले सबैभन्दा कमजोर क्षमता भएका मानिसहरूमा उहाँले कति महान् काम गर्नुभएको छ भनी देखून्। जब मानिसहरू परमेश्‍वरलाई जान्न पुग्छन् र शैतानको अगाडि विजेता बन्छन्, धेरै हदसम्म परमेश्‍वरप्रति बफादार हुन्छन्, तब मानिसहरूको यो समूहभन्दा अरू कसैसँग पनि बढी दृढता हुँदैन, र यो नै सबैभन्दा महान् गवाही हो। तँ ठूलो काम गर्न असमर्थ भए पनि, तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम छस्। अरूले आफ्ना धारणाहरू त्याग्न सक्दैनन्, तर तँ सक्छस्; अरूले आफ्ना वास्तविक अनुभवहरूका दौरान परमेश्‍वरको साक्षी दिन सक्दैनन्, तर तँ आफ्नो वास्तविक कद र कार्यहरूमार्फत परमेश्‍वरको प्रेमको प्रतिदान गर्न र उहाँका लागि जोरदार साक्षी दिन सक्छस्। यसलाई मात्र वास्तवमै परमेश्‍वरलाई प्रेम गरेको मानिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

४४३. जो परमेश्‍वरलाई प्रेम गर्छन् तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिस हुन्, र सत्यतालाई प्रेम गर्नेहरू यसलाई जति बढी व्यवहारमा लागु गर्छन्, तिनीहरूसँग यो त्यति नै बढी हुन्छ; तिनीहरू यसलाई जति बढी व्यवहारमा लागु गर्छन्, तिनीहरूसँग परमेश्‍वरको प्रेम त्यति नै बढी हुन्छ; र तिनीहरू यसलाई जति बढी व्यवहारमा लागु गर्छन्, तिनीहरू परमेश्‍वरद्वारा त्यति नै बढी आशिषित् हुन्छन्। यदि तैँले सधैँ यसरी नै अभ्यास गरिस् भने, तँप्रतिको परमेश्‍वरको प्रेमले तँलाई बिस्तारै देख्न सक्षम बनाउनेछ, जसरी पत्रुसले परमेश्‍वरलाई चिने: पत्रुसले परमेश्‍वरसँग स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्ने बुद्धि मात्रै होइन, यसबाहेक, उहाँसँग मानिसहरूमा व्यावहारिक काम गर्ने बुद्धि पनि भएको भनेर भने। पत्रुसले भने कि उहाँले स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभएको कारणले मात्रै उहाँ मानिसहरूको प्रेमको योग्य हुनुभएको होइन, यसबाहेक, मानिसलाई सृष्टि गर्ने, मानिसलाई मुक्ति दिने, मानिसलाई सिद्ध पार्ने, र मानिसलाई उहाँको प्रेम दिने उहाँको सामर्थ्यको कारणले पनि उहाँ योग्य हुनुहुन्छ। त्यसैगरी, पत्रुसले उहाँमा मानिसको प्रेमको योग्य धेरै कुरा छन् भनेर पनि भने। पत्रुसले येशूलाई भने, “के स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नु मात्रै तपाईँ मानिसहरूको प्रेमको योग्य हुनुको कारण हो र? तपाईँमा प्रेम गर्नलायक कुरा अझ धेरै छ। तपाईँ वास्तविक जीवनमा काम गर्नुहुन्छ र हिँडडुल गर्नुहुन्छ, तपाईँको आत्माले मलाई भित्री रूपमा छुन्छ, तपाईँ मलाई ताडना दिनुहुन्छ, तपाईँ मलाई हप्काउनुहुन्छ—यी कुराहरू अझ बढी प्रेमको योग्य छन्।” यदि तँलाई परमेश्‍वरको प्रेम देख्ने र अनुभव गर्ने इच्छा छ भने, तैँले वास्तविक जीवनमा छामछुम गर्दै खोज्नुपर्छ र तँ आफ्नो देहलाई त्याग्न इच्छुक हुनुपर्छ। तैँले यो सङ्कल्प गर्नैपर्छ। तँ सङ्कल्प भएको व्यक्ति हुनैपर्छ जो अल्छी नभई वा देहका आनन्दहरूको लालसा नगरी, देहका लागि नभई परमेश्‍वरका लागि जिउँदै, सबै कुरामा परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम होस्। सायद तँ यस पटक परमेश्‍वरलाई सन्तुष्ट पार्दैनस् किनभने तँ परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनस्; अर्को पटक, तैँले केही मेहनत लगाउनुपरे पनि, तैँले उहाँलाई सन्तुष्ट पार्नैपर्छ र देहलाई सन्तुष्ट पार्नै हुँदैन। जब तँ यसरी अनुभव गर्छस्, तब तैँले परमेश्‍वरलाई चिनेको हुनेछस्। तैँले परमेश्‍वर स्वर्ग र पृथ्वी अनि यावत् थोकको सृष्टि गर्न सक्नुहुन्छ, मानिसहरूले उहाँलाई वास्तविक र ठोस तरिकाले देख्न सकून् भनेर उहाँ देह बन्नुभएको छ, र उहाँ तिनीहरूसँग वास्तविक र ठोस तरिकाले कुराकानी गर्नुहुन्छ भन्ने कुरा देख्नेछस्; तैँले उहाँ मानिसमाझ हिँड्न सक्षम हुनुहुन्छ, र उहाँको आत्माले मानिसहरूलाई वास्तविक जीवनमा सिद्ध पार्न सक्छ भन्‍ने कुरा देख्नेछस्; तैँले यो सबै कुराले मानिसहरूलाई उहाँको प्रेमिलो स्वभाव देख्न र उहाँको अनुशासन, उहाँको ताडना, र उहाँका आशिष्‌हरू अनुभव गर्न मद्दत गर्छ भन्‍ने कुरा देख्नेछस्। यदि तैँले सधैँ यसरी नै अनुभव गरिस् भने, वास्तविक जीवनमा तँ परमेश्‍वरबाट छुट्टिनै सक्नेछैनस्, र यदि कुनै दिन परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य रहन छोड्यो भने, तँ हप्की भोग्न र पछुतो महसुस गर्न सक्षम हुनेछस्। परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य हुँदा, तँलाई कहिल्यै परमेश्‍वरलाई छोडेर जाने इच्छा हुनेछैन, र यदि कुनै दिन परमेश्‍वरले तँलाई त्याग्छु भन्नुभयो भने, तँ डराउनेछस्, र परमेश्‍वरद्वारा त्यागिनुभन्दा बरु मर्न तयार छु भनेर भन्नेछस्। यो आभास हुनेबित्तिकै, तँलाई आफू परमेश्‍वरलाई छोडेर जान असमर्थ रहेको महसुस हुनेछ, र यसप्रकार, तेरो एउटा जग बस्नेछ, र तैँले साँच्चिकै परमेश्‍वरको प्रेमको आनन्द लिनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

४४४. आज तँ परमेश्‍वरलाई ठ्याक्कै कति प्रेम गर्छस्? अनि परमेश्‍वरले तँमा गर्नुभएका सबै कामबारे तँलाई कति थाहा छ? तैँले सिक्नुपर्ने पाठहरू यिनै हुन्। जब परमेश्‍वर पृथ्वीमा आइपुग्नुहुन्छ, उहाँले मानिसमा गर्नुभएका र मानिसलाई देखाउनुभएका सबै कुरा मानिसले उहाँलाई प्रेम गरोस् र उहाँलाई साँचो रूपमा चिनोस् भनेर हो। मानिस परमेश्‍वरका लागि दुःख भोग्न सक्षम हुनु र यहाँसम्म पुग्न सक्नु, एकातिर, परमेश्‍वरको प्रेमको कारणले गर्दा हो, र अर्कोतिर, परमेश्‍वरको मुक्तिको कारणले गर्दा हो; अझ बढी, यो परमेश्‍वरले मानिसमा गर्नुभएको न्याय र सजायको कामको कारणले गर्दा हो। यदि तिमीहरूले परमेश्‍वरको न्याय, सजाय, र परीक्षाहरू भोगेनौ भने, र यदि परमेश्‍वरले तिमीहरूलाई दुःख भोग्न लगाउनुभएको छैन भने, इमानदारीपूर्वक भन्नुपर्दा, तिमीहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेछैनौ। मानिसमा परमेश्‍वरको काम जति ठूलो हुन्छ, मानिसको दुःख त्यति नै ठूलो हुन्छ, त्यति नै बढी यसले परमेश्‍वरको काम कति अर्थपूर्ण छ भन्‍ने कुरा देखाउँछ, र त्यति नै बढी मानिसको हृदयले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्छ। परमेश्‍वरलाई प्रेम गर्ने पाठ कसरी हासिल गरिन्छ? कष्ट र शोधनविना, कष्टकर परीक्षाहरूविना—र अझ बढी, यदि परमेश्‍वरले मानिसलाई अनुग्रह, प्रेमपूर्ण दया, र कृपा मात्रै प्रदान गर्नुभएको भए—के तँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने बिन्दुमा पुग्न सक्नेथिइस्? एकातिर, परमेश्‍वरका परीक्षाहरूका दौरान मानिसले आफ्ना कमीहरू थाहा पाउन र ऊ मामुली, तिरस्कारयोग्य, र नीच हो, ऊसँग केही छैन र ऊ केही पनि होइन भन्‍ने देख्न थाल्छ; अर्कोतिर, परीक्षाहरूका दौरान परमेश्‍वरले मानिसका लागि केही वातावरण खडा गर्नुहुन्छ ताकि उक्त वातावरणभित्र मानिसले परमेश्‍वरको प्रेमिलो स्वभावलाई अझ राम्ररी अनुभव गर्न सकोस्। पीडा ठूलो भए पनि, र कहिलेकाहीँ जित्न नसकिने भए पनि—हृदयविदारक शोकको स्तरमा पुगे पनि—यसलाई अनुभव गरेपछि, मानिसले आफूमाथिको परमेश्‍वरको काम कति प्रेमिलो छ भन्‍ने देख्छ, र यस जगमा मात्रै मानिसमा परमेश्‍वरप्रतिको साँचो प्रेम पैदा हुन्छ। आज मानिसले के देख्छ भने परमेश्‍वरको अनुग्रह, प्रेमपूर्ण दया, र कृपाले मात्रै, ऊ आफैलाई साँचो रूपमा चिन्न असक्षम हुन्छ, ऊ मानिसको सार जान्न त झनै सक्षम हुँदैन, अनि परमेश्‍वरको न्याय र शोधन दुवैमार्फत मात्रै, र शोधन प्रक्रियाको दौरान मात्रै, मानिसले आफूमा कमीहरू रहेको र आफूसँग केही पनि नभएको थाहा पाउन सक्छ। तसर्थ, मानिसको परमेश्‍वरप्रतिको प्रेम परमेश्‍वरको शोधन र न्यायको जगमा निर्माण हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

४४५. आज, धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू कष्टको कुनै मूल्य हुँदैन, र संसारले तिनीहरूलाई इन्कार गर्छ, तिनीहरूको घरेलु जीवन समस्याग्रस्त छ, परमेश्‍वरलाई तिनीहरू मनोहर लाग्दैनन्, र तिनीहरूको भविष्य धूमिल छ भन्ने विश्‍वास गर्छन्। कतिपय मानिसहरू केही हदसम्म कष्ट भोग्नुपर्दा, तिनीहरू मर्नसमेत चाहन्छन्। यो परमेश्‍वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायर हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र अयोग्य छन्! परमेश्‍वर मानिसले उहाँलाई प्रेम गरोस् भनी उत्कण्ठित हुनुहुन्छ, तर मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ, मानिसको कष्ट उति नै बढी हुन्छ, र मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ, मानिसका परीक्षाहरू उति नै ठुला हुन्छन्। यदि तँ उहाँलाई प्रेम गर्छस् भने, सबै प्रकारका कष्टहरू तँमाथि आइलाग्नेछन्—र यदि तँ उहाँलाई प्रेम गर्दैनस् भने, सायद तेरा निम्ति सबै कुरा सहज हुनेछ र तेरो वरिपरि सबथोक शान्तिपूर्ण हुनेछ। जब तँ परमेश्‍वरलाई प्रेम गर्छस्, तब तैँले आफ्नो वरिपरि विजय गर्न नसकिने धेरै कुराहरू छन् भन्ने सधैँ महसुस गर्नेछस्। अनि तेरो कद धेरै सानो भएकोले तँलाई शोधन गरिनेछ, र तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम हुनेछस्—तैँले सधैँ परमेश्‍वरका अभिप्रायहरू अति उच्च र मानिसको पहुँचभन्दा बाहिर छन् भन्‍ने महसुस गर्नेछस्। यी सबैका कारण तँलाई शोधन गरिनेछ—तँभित्र धेरै कमजोरीहरू भएकाले, र धेरै हिसाबले तँ परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न असक्षम भएकाले, तँलाई आन्तरिक रूपमा शोधन गरिनेछ। तैपनि शोधनद्वारा मात्र शुद्धीकरण हासिल गरिन्छ भन्‍ने कुरालाई तिमीहरूले स्पष्ट रूपमा देख्नैपर्छ। यसैले, यी आखिरी दिनहरूको दौरान तिमीहरूले परमेश्‍वरका निम्ति गवाही दिनैपर्छ। तिमीहरूका कष्टहरू जतिसुकै ठूला भए पनि, तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि, तिमीहरू परमेश्‍वरप्रति बफादार रहनैपर्छ र तिमीहरूले आफूलाई परमेश्‍वरको योजनाबद्ध कार्यको कृपामा राख्नुपर्छ; यो मात्रै परमेश्‍वरलाई साँच्चै प्रेम गर्नु हो, र यो मात्र बलियो र गुन्जायमान गवाही हो। जब तँ शैतानको प्रलोभनमा पर्छस्, तब तैँले यसो भन्नुपर्छ, “मेरो हृदय परमेश्‍वरको हो, र परमेश्‍वरले मलाई प्राप्त गरिसक्नुभएको छ। म तँलाई सन्तुष्ट पार्न सक्दिनँ—मैले परमेश्‍वरलाई उचित रूपमा सन्तुष्ट पार्नैपर्छ।” तँ परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छस्, परमेश्‍वरले तँलाई त्यति नै धेरै आशिष्‌ दिनुहुनेछ, र परमेश्‍वरलाई प्रेम गर्ने तेरो जाँगर त्यति नै धेरै हुनेछ; तँसँग आस्था र सङ्कल्प पनि हुनेछ, र तैँले परमेश्‍वरलाई प्रेम गरेर बिताएको जीवन नै सबैभन्दा मूल्यवान् र अर्थपूर्ण जीवन हो भन्‍ने महसुस गर्नेछस्। के भन्न सकिन्छ भने, परमेश्‍वरलाई प्रेम गर्नेबित्तिकै, तँ दुःखविहीन हुनेछस्। कहिलेकाहीँ तेरो देह कमजोर भए पनि र तेरा धेरै वास्तविक कठिनाइ भए पनि, यदि तँ यस्तो समयमा साँच्चै परमेश्‍वरमा भर पर्छस् भने, तैँले सान्त्वना पाउनेछस् र आफ्नो आत्माभित्र सहज र सहारा पाएको महसुस गर्नेछस्। यसरी, तैँले धेरै परिस्थितिलाई जित्न सक्नेछस्, र तँ आफूले भोगेको कष्टका कारण परमेश्‍वरबारे गुनासो गर्नेछैनस्। बरु, तैँले भजन गाउन, नाच्न, र प्रार्थना गर्न, भेला हुन र सङ्गति गर्न, र परमेश्‍वरबारे सोच्न चाहनेछस्, र परमेश्‍वरले प्रबन्ध गर्नुभएका तेरो वरिपरिका सबै मानिस, घटना र कामकुराहरू उचित छन् भन्‍ने महसुस गर्नेछस्। यदि तँ परमेश्‍वरलाई प्रेम गर्दैनस् भने, तँलाई आफूले हेर्ने कुनै पनि कुरा मनपर्ने छैन र तँलाई कुनै पनि कुरा ठिक लाग्नेछैन; तँलाई अलिकति पनि राहत मिल्नेछैन र तँ आफ्नो आत्माभित्र दबिएको हुनेछस्, र तैँले सधैँ परमेश्‍वरबारे गुनासाहरू पाल्नेछस्, र तँलाई आफूले भोगेको कष्ट धेरै ठूलो छ, र आफूमाथि धेरै ठूलो अन्याय भएको छ भन्‍ने महसुस हुनेछ। यदि तैँले सुखका खातिर नभई परमेश्‍वरलाई सन्तुष्ट पार्न र शैतानद्वारा दोष नलगाइनका लागि पछ्याउँछस् भने, त्यस्तो पछ्याइले तँलाई परमेश्‍वरलाई प्रेम गर्ने ठूलो जोश-जाँगर दिनेछ। जब तँ परमेश्‍वरद्वारा बोलिएका सबै कुरा अभ्यास गर्न सक्षम हुन्छस्, र तैँले गर्ने सबै कुराले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छ, तब यसलाई वास्तविकता हुनु भनिन्छ। परमेश्‍वरको सन्तुष्टिलाई पछ्याउनु भनेको उहाँका वचनहरूलाई अभ्यासमा लागू गर्न तेरो परमेश्‍वरलाई प्रेम गर्ने हृदय प्रयोग गर्नु हो। जस्तोसुकै समयमा पनि, अरूसँग बल नभएको बेलामा समेत, तँभित्र सधैँ परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुन्छ, र तँ भित्री गहिराइबाट परमेश्‍वरको तृष्णा गर्छस् र उहाँबारे सोच्छस्। यो साँचो कद हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

४४६. तीतो शोधनको दौरान नै मानिस सबैभन्दा सजिलै शैतानको प्रभावमा पर्न सक्छ, त्यसकारण त्यस्तो शोधनको दौरान तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? तैँले आफ्नो सङ्कल्प जुटाउनुपर्छ, आफ्नो हृदय परमेश्‍वरसामु राख्नुपर्छ र आफ्नो बाँकी समय उहाँलाई अर्पण गर्नुपर्छ। परमेश्‍वरले तँलाई जसरी शोधन गर्नुभए पनि, परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न तैँले सत्यतालाई व्यवहारमा लागु गर्न सक्नुपर्छ र तैँले परमेश्‍वरलाई खोज्ने र सङ्गति खोज्ने जिम्मा आफैले लिनुपर्छ। यस्ता समयमा, तँ जति बढी निष्क्रिय हुन्छस्, तँलाई नकारात्मक बन्न त्यति नै सजिलो हुनेछ र तँलाई पछि हट्न त्यति नै सजिलो हुनेछ। जब तैँले आफ्नो प्रकार्य पूरा गर्नुपर्ने हुन्छ, तैँले यो राम्ररी नगरे पनि, तँ आफ्नो सक्दो गर्छस्, र परमेश्‍वरलाई प्रेम गर्ने आफ्नो हृदयबाहेक अरू केही प्रयोग नगरी त्यसो गर्छस्; चाहे अरूले जेसुकै भनून्—चाहे तिनीहरूले तैँले राम्रो गरेको छस् भनून्, वा तैँले राम्रो गरेको छैनस् भनून्—समग्रमा, तेरा अभिप्रायहरू सही हुन्छन्, र तँ आत्म-धर्मी हुँदैनस्, किनभने तँ परमेश्‍वरको खातिर काम गरिरहेको हुन्छस्। जब अरूले तेरो गलत व्याख्या गर्छन्, तब तँ परमेश्‍वरलाई प्रार्थना गर्न र यसो भन्न सक्षम हुन्छस्, “हे परमेश्‍वर! म अरूले मलाई सहनशीलता देखाऊन् वा मलाई राम्रो व्यवहार गरून् भनेर माग गर्दिनँ, न त तिनीहरूले मलाई बुझून् वा मलाई अनुमोदन गरून् भन्ने नै माग गर्छु। म यति मात्र माग गर्छु कि म हृदयमा तपाईँलाई प्रेम गर्न सकूँ, मलाई हृदयमा ढुक्क होस्, र मेरो विवेक सफा होस्। म अरूले मलाई सराहना गरून्, वा मलाई उच्च सम्मान गरून् भन्ने माग गर्दिनँ; म मेरो हृदयबाट तपाईँलाई सन्तुष्ट पार्न मात्रै खोज्छु। म आफूले सक्नेजति सबै गरेर आफ्नो प्रकार्य पूरा गर्छु। म मूर्ख, कमजोर क्षमताको र अन्धो भए पनि, मलाई तपाईँ प्रेमिलो हुनुहुन्छ भन्‍ने थाहा छ, र म आफूसँग भएको सबै कुरा तपाईँलाई अर्पण गर्न इच्छुक छु।” तैँले यसप्रकार प्रार्थना गर्नेबित्तिकै, तेरो परमेश्‍वरलाई प्रेम गर्ने हृदय बाहिर आउँछ, र तँ हृदयमा धेरै सहज महसुस गर्छस्। परमेश्‍वरको प्रेम अभ्यास गर्नुको अर्थ यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

४४७. शोधनको दौरान मानिसले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? परमेश्‍वरलाई प्रेम गर्ने सङ्कल्प प्रयोग गरेर उहाँको शोधनलाई स्वीकार गर्ने: शोधनको दौरान तँलाई भित्रभित्रै सास्ती हुन्छ, मानौँ तेरो हृदयमा छुरा घुमाइँदै छ, तैपनि तँ परमेश्‍वरलाई प्रेम गर्ने हृदय प्रयोग गरेर परमेश्‍वरलाई सन्तुष्ट पार्न इच्छुक हुन्छस्, र तँ देहको हेरचाह गर्न अनिच्छुक हुन्छस्। परमेश्‍वरको प्रेम अभ्यास गर्नुको अर्थ यही हो। तँलाई भित्र पीडा हुन्छ, र तेरो दुःख एक निश्चित बिन्दुमा पुगेको हुन्छ, तर तँ अझै पनि परमेश्‍वरसामु आउन र यसो भन्दै प्रार्थना गर्न इच्छुक हुन्छस्, “हे परमेश्‍वर! म तपाईँलाई छोडेर जान सक्दिनँ। मभित्र अन्धकार भए पनि, म तपाईँलाई सन्तुष्ट पार्न इच्छुक छु; तपाईँलाई मेरो हृदय थाहा छ, र तपाईँ आफ्नो अझ धेरै प्रेम मभित्र हालिदिनुहोस्।” यो शोधनको दौरान गरिने अभ्यास हो। यदि तँ परमेश्‍वरलाई प्रेम गर्ने हृदयलाई जगका रूपमा प्रयोग गर्छस् भने, शोधनले तँलाई परमेश्‍वरको अझ नजिक ल्याउन र तँलाई परमेश्‍वरसँग अझ घनिष्ठ बनाउन सक्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, तैँले आफ्नो हृदय परमेश्‍वरसामु हस्तान्तरण गर्नैपर्छ। यदि तँ आफ्नो हृदय परमेश्‍वरसामु अर्पण गर्छस् र राख्छस् भने, शोधनको दौरान तँ पक्कै पनि परमेश्‍वरलाई नकार्नेछैनस्, वा परमेश्‍वरलाई छोडेर जानेछैनस्। यसरी परमेश्‍वरसँगको तेरो सम्बन्ध झन्-झन् नजिक र झन्-झन् सामान्य बन्दै जानेछ, र परमेश्‍वरसँगको तेरो सङ्गति झन्-झन् बाक्लिदै जानेछ। यदि तँ सधैँ यसरी अभ्यास गर्छस् भने, तैँले अझ धेरै समय परमेश्‍वरको ज्योतिमा र अझ धेरै समय उहाँका वचनहरूको मार्गदर्शनमा बिताउनेछस्। तेरो स्वभावमा पनि झन्-झन् धेरै परिवर्तन आउनेछन्, र तेरो ज्ञान दिनदिनै बढ्दै जानेछ। जब एक दिन तँमाथि अचानक परमेश्‍वरका परीक्षाहरू आइपर्छन्, तब तँ परमेश्‍वरको पक्षमा खडा हुन मात्र सक्षम हुनेछैनस्, परमेश्‍वरका लागि साक्षी दिन पनि सक्षम हुनेछस्। त्यसबेला, तँ अय्यूब जस्तै, र पत्रुस जस्तै हुनेछस्। जब तैँले परमेश्‍वरका लागि साक्षी दिएको हुन्छस्, यसले तँ उहाँलाई साँचो रूपमा प्रेम गर्ने व्यक्ति होस्, उहाँका लागि खुसीसाथ आफ्नो ज्यान दिने व्यक्ति होस्, र तँ परमेश्‍वरको साक्षी होस्, र परमेश्‍वरद्वारा प्रेम गरिने व्यक्ति होस् भन्‍ने अर्थ दिनेछ। शोधन अनुभव गरेको प्रेम बलियो हुन्छ, कमजोर हुँदैन। परमेश्‍वरले तँलाई जहिले वा जसरी आफ्ना परीक्षाहरूमा पार्नुभए पनि, तँ आफ्नो जीवनलाई बेवास्ता गर्न, परमेश्‍वरका लागि खुसीसाथ सबै कुरा पन्छाउन, र परमेश्‍वरका लागि खुसीसाथ जुनसुकै कुरा सहन सक्षम हुन्छस्—यसरी तेरो प्रेम शुद्ध हुनेछ र तेरो आस्थामा वास्तविकता हुनेछ। त्यसपछि मात्रै तँ साँच्चिकै परमेश्‍वरद्वारा प्रेम गरिने, र साँच्चिकै परमेश्‍वरद्वारा सिद्ध पारिएको व्यक्ति हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

४४८. परमेश्‍वर मानिसलाई सजाय दिनुहुन्छ र न्याय गर्नुहुन्छ किनभने यो उहाँको कार्यका लागि आवश्यक छ र त्यसबाहेक, मानिसलाई पनि यसको आवश्यकता छ। मानिसलाई सजाय दिइनुपर्छ र न्याय गरिनुपर्छ, त्यसपछि मात्रै उसले परमेश्‍वरलाई प्रेम गर्ने क्षमता हासिल गर्न सक्छ। आज तिमीहरू पूर्ण रूपमा विश्‍वस्त भएका छौ, तर जब तिमीहरू अलिकति बाधा सामना गर्छौ, तब तिमीहरूलाई समस्या हुन्छ; तिमीहरूको कद अझै पनि अत्यन्तै सानो छ र गहन ज्ञान प्राप्त गर्नका लागि तिमीहरूले अझै त्यस किसिमको सजाय र न्याय अनुभव गर्नुपर्छ। आज, तिमीहरूसँग धेरथोर परमेश्‍वरको अलिकति डर मान्ने हृदय छ र तिमीहरू परमेश्‍वरदेखि डराउँछौ र उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने तिमीहरूलाई थाहा छ तर तिमीहरूसँग उहाँप्रतिको महान् प्रेम छैन, झन् तिमीहरूले शुद्ध प्रेम प्राप्त गरिसकेको हुने त कुरै नगरौँ; तिमीहरूको ज्ञान अत्यन्तै सतही छ र तिमीहरूको कद अझै अपर्याप्त छ। तैँले साँचो रूपमा कुनै परिस्थिति सामना गर्दा त्यसमा अझै गवाही दिएको हुँदैनस्, तेरो प्रवेश अत्यन्तै थोरै मात्र सक्रिय हुन्छस् र कसरी अभ्यास गर्ने सो तँलाई केही थाहा हुँदैन। धेरैजसो मानिस निष्क्रिय र सुस्त छन्; तिनीहरू परमेश्‍वरलाई आफ्‍नो हृदयमा गोप्य रूपमा मात्र प्रेम गर्छन् तर तिनीहरूमा अभ्यास गर्ने कुनै उपाय छैन, न त तिनीहरू आफ्‍ना उद्देश्यहरू के हुन् भन्‍नेबारे नै स्पष्ट छन्। सिद्ध पारिएकाहरूमा सामान्य मानवता मात्र नभई विवेकको हदभन्दा माथिका सत्यताहरू पनि हुन्छन्, र ती सत्यता विवेकका मापदण्डहरूभन्दा माथि हुन्छन्; तिनीहरूले परमेश्‍वरको प्रेमको ऋण तिर्न विवेकको प्रयोग त गर्छन् नै, तर त्योभन्दा पनि बढी, तिनीहरूले परमेश्‍वरलाई चिनेका छन्, र परमेश्‍वर प्रेमिलो हुनुहुन्छ, मानिसको प्रेमको योग्य हुनुहुन्छ र परमेश्‍वरमा प्रेम गर्नुपर्ने कुरा धेरै छन् भन्‍ने कुरा देखेका छन्; मानिसले उहाँलाई प्रेम नगरीकन बस्‍न सक्दैन! सिद्ध पारिएकाहरूको परमेश्‍वरप्रतिको प्रेम तिनीहरूका आफ्‍नै आकाङ्क्षाहरू पूरा गर्नका लागि हो। तिनीहरूको प्रेम स्वस्फूर्त प्रेम हो र त्यस प्रेमले सट्टामा केही पनि माग्दैन र त्यो कुनै कारोबार होइन। तिनीहरू अरू केही कारणले नभई उहाँप्रतिको तिनीहरूको ज्ञानको कारणले मात्रै परमेश्‍वरलाई प्रेम गर्छन्। त्यस्ता मानिसहरू आफूलाई परमेश्‍वरले अनुग्रह गर्नुहुन्छ कि गर्नुहुन्‍न भन्‍ने कुरालाई वास्ता गर्दैनन् र परमेश्‍वरलाई सन्तुष्ट पार्नेबाहेक अरू केही कुराद्वारा तिनीहरू सन्तुष्ट हुँदैनन्। तिनीहरू परमेश्‍वरसँग मोलतोल गर्दैनन्, न त परमेश्‍वरप्रतिको आफ्‍नो प्रेमलाई नै विवेकका आधारमा मापन गर्छन्: “तपाईँले मलाई दिनुभएको छ, त्यसैले यसको सट्टामा म तपाईँलाई प्रेम गर्छु; यदि तपाईँ मलाई दिनुहुन्‍न भने, यसको सट्टामा मसँग तपाईँलाई दिन केही पनि हुँदैन।” सिद्ध पारिएकाहरू सधैँ यस्तो विश्‍वास गर्छन्: “परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ र उहाँ हामीमा आफ्‍नो काम गर्नुहुन्छ। सिद्ध पारिनका लागि मसँग यो मौका, अवस्था र योग्यता भएको हुनाले, मेरो उद्देश्य अर्थपूर्ण जीवन जिउने हुनुपर्छ र मैले उहाँलाई सन्तुष्ट पार्नुपर्छ।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

४४९. आफ्नो जीवनकालमा, पत्रुसले सयौँ पटक शोधन अनुभव गरे र धेरै वटा पीडादायी परिष्करण भोगे। यो शोधन नै परमेश्‍वरप्रतिको उनको सर्वोच्च प्रेमको जग, र उनको सम्पूर्ण जीवनको सबैभन्दा महत्त्वपूर्ण अनुभव बन्यो। उनी परमेश्‍वरप्रतिको सर्वोच्च प्रेम धारण गर्न सक्षम हुनु एक हिसाबले परमेश्‍वरलाई प्रेम गर्ने उनको सङ्कल्पकै कारणले थियो; तर अझ महत्त्वपूर्ण कुरा, यो उनले भोगेका शोधन र दुःखका कारणले थियो। यो दुःख परमेश्‍वरलाई प्रेम गर्ने मार्गमा उनको मार्गदर्शक, र उनका लागि सबैभन्दा स्मरणीय कुरा बन्यो। यदि मानिसहरू परमेश्‍वरलाई प्रेम गर्दा शोधनको पीडा भोग्दैनन् भने, तिनीहरूको प्रेम अशुद्धता र तिनीहरूका आफ्नै अभिरुचिहरूले भरिपूर्ण हुन्छ; यस्तो प्रेम शैतानका विचारहरूले भरिएको हुन्छ, र आधारभूत रूपमा परमेश्‍वरका अभिप्रायहरू पूरा असमर्थ हुन्छ। परमेश्‍वरलाई प्रेम गर्ने सङ्कल्प हुनु र साँचो रूपमा परमेश्‍वरलाई प्रेम गर्नु एउटै कुरा होइन। तिनीहरूले आफ्नो हृदयमा सोच्ने सबै कुरा परमेश्‍वरलाई प्रेम गर्न र सन्तुष्ट पार्नका खातिर भए पनि—यसमा कुनै मानव विचार नभएको जस्तो देखिने, सबै कुरा परमेश्‍वरको खातिर भएको जस्तो देखिने भए पनि—जब परमेश्‍वरलाई प्रेम गर्ने यस्तो अभ्यास उहाँसामु ल्याइन्छ, तब उहाँ यसलाई न त अनुमोदन गर्नुहुन्छ न त आशिष्‌ दिनुहुन्छ। मानिसहरूले सबै सत्यता पूर्ण रूपमा बुझ्ने र जान्ने हो भने पनि, यसलाई परमेश्‍वरलाई प्रेम गर्ने सङ्केत हो भनेर भन्न सकिँदैन, यी मानिसहरूसँग परमेश्‍वरलाई प्रेम गर्ने वास्तविकता छ भनेर भन्न सकिँदैन। शोधन नभोगी धेरै वटा सत्यता बुझेका भए पनि, मानिसहरू यी सत्यताहरूलाई व्यवहारमा लागु गर्न असमर्थ हुन्छन्; शोधनको दौरान मात्रै मानिसहरूले यी सत्यताहरूको साँचो अर्थ बुझ्न सक्छन्, त्यसपछि मात्रै मानिसहरूले तिनको भित्री अर्थ साँचो रूपमा बुझ्न सक्छन्। त्यो बेला, तिनीहरूले यी सत्यताहरू अभ्यास गर्दा, तिनीहरू सटीक रूपमा, र परमेश्‍वरका अभिप्रायहरूअनुरूप त्यसो गर्न सक्षम हुन्छन्; त्यो बेला तिनीहरूको अभ्यासमा, तिनीहरूका आफ्नै विचारहरू कम हुन्छन्, तिनीहरूको भ्रष्टता घट्छ, र तिनीहरूका मानवीय भावनाहरू कम हुन्छन्। त्यो बेला मात्रै तिनीहरूको अभ्यास परमेश्‍वरको प्रेमको साँचो प्रकटीकरण हुन्छ। परमेश्‍वरको प्रेमको सत्यताको परिणाम बोलिएको ज्ञान वा मानसिक इच्छाबाट हासिल हुँदैन, न त त्यो उक्त सत्यता बुझेर मात्रै हासिल गर्न सकिन्छ। यसका लागि मानिसहरूले एउटा मूल्य चुकाउनुपर्छ, तिनीहरूले शोधनको दौरान धेरै पीडा भोग्नुपर्छ, अनि त्यसपछि मात्रै तिनीहरूको प्रेम शुद्ध र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

४५०. उनलाई सिद्ध बनाइएपछि, आफ्‍नो जीवनको अन्त्यतिर पत्रुसले भने, “हे परमेश्‍वर! यदि मैले थप केही वर्ष जिउनुपर्थ्यो भने, म तपाईंको अझ शुद्ध र अझ गहन प्रेम प्राप्त गर्ने कामना गर्नेथिएँ।” उनी क्रूसमा टाँगिन लागेको बेला, उनले आफ्‍नो हृदयमा यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! तपाईंको समय अब आइपुगेको छ; तपाईंले मेरो लागि तयार पार्नुभएको समय आइपुगेको छ। म तपाईंको लागि क्रूसमा टाँगिनैपर्छ, मैले तपाईंलाई यो गवाही दिनैपर्छ र मलाई आशा छ मेरो प्रेमले तपाईंका मापदण्डहरू पूरा गर्न सक्छ र यो अझै शुद्ध हुन सक्छ। आज तपाईंको लागि मर्न सक्‍नु र तपाईंको लागि क्रूसमा टाँगिन सक्‍नु मेरो लागि सान्त्वना र आश्‍वासन दिने किसिमको छ, किनभने तपाईंको लागि क्रूसमा मर्न सक्‍नु र तपाईंका इच्‍छाहरू पूरा गर्नु र आफैलाई तपाईंमा अर्पित गर्न सक्‍नु, र तपाईंलाई आफ्‍नो जीवन चढाउनुजत्तिको आनन्दको कुरा मेरो लागि अरू केही छैन। हे परमेश्‍वर! तपाईं कति प्रेमिलो हुनुहुन्छ! यदि तपाईंले मलाई जिउन दिनुभएको भए, तपाईंलाई म अझै बढी प्रेम गर्न इच्‍छुक हुनेथिएँ। जबसम्‍म म जीवित रहन्छु, तबसम्‍म म तपाईंलाई नै प्रेम गर्नेछु। म तपाईंलाई अझै गहन रूपमा प्रेम गर्न चाहन्छु। तपाईंले मलाई न्याय गर्नुहुन्छ, मलाई सजाय दिनुहुन्छ र मलाई जाँच्‍नुहुन्छ किनभने म धर्मी छैनँ र मैले पाप गरेको छु। अनि तपाईंको धर्मी स्वभाव मेरो लागि अझै स्पष्ट हुन्छ। यो मेरो लागि एउटा आशिष्‌ हो, किनभने म तपाईंलाई अझै गहन रूपमा प्रेम गर्न सक्छु र तपाईंले मलाई प्रेम गर्नुभएन भने पनि म तपाईंलाई यसरी नै प्रेम गर्न इच्‍छुक छु। तपाईंको धर्मी स्वभावलाई हेर्न म इच्‍छुक छु, किनभने यसले मलाई अर्थपूर्ण जीवन जिउनको लागि अझै सक्षम तुल्याउँछ। मेरो जीवन अहिले अझै अर्थपूर्ण भएको मलाई आभास हुन्छ, किनभने म तपाईंको लागि क्रूसमा टाँगिएको छु र तपाईंको लागि मर्नु अर्थपूर्ण छ। तैपनि, मलाई अझै पनि सन्तुष्टिको आभास छैन, किनभने मलाई तपाईंको बारेमा अत्यन्तै थोरै मात्रै ज्ञान छ, मलाई थाहा छ म तपाईंका इच्‍छाहरूलाई पूर्ण रूपमा पूरा गर्न सक्दिनँ र मैले तपाईंको ऋण थोरै मात्रै तिरेको छु। मेरो जीवनमा, तपाईंलाई मैले मेरो सम्पूर्णता फिर्ता दिन असक्षम रहेको छु; म त्योबाट धेरै टाढा छु। यस क्षणमा फर्केर हेर्दा, म तपाईंप्रति अत्यन्तै ऋणी भएको आभास गर्छु, र मेरा सबै गल्तीहरूको निम्ति र मैले तपाईंलाई फिर्ता नदिएको सबै प्रेम चुकाउनलाई मसँग यो बाहेक अरू क्षण छैन।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

४५१. सबै मानिसहरू अर्थपूर्ण जीवन जिउने खोजीमा लाग्नुपर्छ, र आफ्‍ना वर्तमान परिस्‍थितिहरूप्रति सन्तुष्ट हुनु हुँदैन। तिनीहरूले पत्रुसको स्वरूपमा जिउनैपर्छ, र तिनीहरूसँग पत्रुसका ज्ञान र अनुभवहरू हुनैपर्छ। तिनीहरूले अझै उच्‍च र अझै गहन कुराहरूको खोजी गर्नुपर्छ। तिनीहरूले परमेश्‍वरप्रतिको अझ गहिरो र शुद्ध प्रेम, साथै मूल्य र अर्थसहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्र जीवन हो; तब मात्र तिनीहरू पत्रुसजस्तै हुनेछन्। तैँले सकारात्मक पाटोतर्फ सक्रिय रूपमा प्रवेश गर्न ध्यान दिनुपर्छ, र अस्थायी सहजतामा सन्तुष्ट भएकै कारण नकारात्मक हुने र आफूलाई पछाडि धकेल्ने, र त्यो सँगसँगै अझै प्रगाढ, अझै विस्तृत र अझै व्यवहारिक सत्यताहरूलाई बेवास्ता गर्ने गर्नु हुँदैन। तँमा व्यवहारिक प्रेम हुनैपर्छ, र तैँले कुनै जनावरको भन्दा फरक नभएको यो पतित, निस्फिक्री जीवनबाट आफूलाई मुक्त गर्ने हरसम्भव उपाय पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्यवान् जीवन जिउनैपर्छ, र तैँले आफैलाई मूर्ख बनाउनु वा आफ्‍नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नु हुँदैन। सङ्कल्प भएका र परमेश्‍वरलाई प्रेम गर्ने हरेकका लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन्‌ र दह्रिलो गरी खडा हुन नसकिने कुनै इन्साफ छैन। तैँले आफ्‍नो जीवन कसरी जिउनुपर्छ? तैँले कसरी परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, र यो प्रेम प्रयोग गरेर उहाँका अभिप्रायहरू पूरा गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमको सङ्कल्प र दृढता हुनैपर्छ, र तँ कायर, दुर्बल व्यक्ति बन्‍नु हुँदैन। तैँले अर्थपूर्ण जीवन र अर्थपूर्ण सत्यताहरूको अनुभव गर्न सिक्‍नैपर्छ, र आफूलाई त्यसरी झाराटारूवा व्यवहार गर्नु हुँदैन। तैँले थाहै नपाई, तेरो जीवन बितेर जानेछ; त्यसपछि के तैँले अझै पनि परमेश्‍वरलाई प्रेम गर्ने यस्तो अवसर पाउनेछस्? के मानिसले आफू मरेपछि परमेश्‍वरलाई प्रेम गर्न सक्छ? तँसँग पनि पत्रुसको जस्तै सङ्कल्प र विवेक हुनुपर्छ; तैँले अर्थपूर्ण जीवन जिउनैपर्छ, र आफैसँग खेलबाड गर्नु हुँदैन। मानवका रूपमा र परमेश्‍वरलाई पछ्याउने व्यक्तिका रूपमा, तैँले आफ्‍नो जीवनलाई होसियारीपूर्वक ख्याल गर्न र सम्हाल्न जरुरी छ—तैँले कसरी आफूलाई परमेश्‍वरप्रति अर्पित गर्नुपर्छ, तैँले कसरी परमेश्‍वरमा अझ अर्थपूर्ण विश्‍वास राख्‍नुपर्छ, र तैँले परमेश्‍वरलाई प्रेम गर्ने हुनाले, तैँले कसरी उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले प्रेम गर्नुपर्छ भन्‍ने कुरालाई ख्याल गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

४५२. यदि मानिसहरू परमेश्‍वरलाई प्रेम गर्न चाहन्छन् भने, तिनीहरूले परमेश्‍वरको प्रेमिलो स्वभाव अनुभव गर्नैपर्छ र परमेश्‍वरको प्रेमिलो स्वभाव देख्नैपर्छ; त्यसपछि मात्रै तिनीहरूमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय, र अर्पित भई परमेश्‍वरप्रति आफूलाई अर्पण गर्ने हृदय जाग्न सक्छ। परमेश्‍वर मानिसहरूलाई वचनहरूमार्फत वा तिनीहरूका कल्पनाहरूमार्फत उहाँलाई प्रेम गर्न लगाउनुहुन्न, र उहाँ मानिसहरूलाई उहाँलाई प्रेम गर्न भनी जबरजस्ती गर्नुहुन्न। यसको सट्टा, उहाँ तिनीहरूलाई आफ्नै इच्छाले उहाँलाई प्रेम गर्न दिनुहुन्छ, र उहाँ तिनीहरूलाई उहाँका काम र वचनहरूमा उहाँको प्रेमिलो स्वभाव देखाउनुहुन्छ, जसपछि तिनीहरूमा परमेश्‍वरप्रतिको प्रेम पैदा हुन्छ। यसरी मात्रै मानिसहरू साँचो रूपमा परमेश्‍वरको साक्षी दिन सक्छन्। मानिसहरू अरूहरूद्वारा त्यसो गर्न भनिएको कारण परमेश्‍वरलाई प्रेम गर्दैनन्‌, न त यो कुनै क्षणिक भावनात्मक उत्तेजना हो। तिनीहरू परमेश्‍वरलाई प्रेम गर्छन्‌ किनभने तिनीहरूले उहाँको प्रेमिलोपन देखेका छन्‌, तिनीहरूले उहाँमा मानिसहरूको प्रेमको लायक अति धेरै कुरा छन्‌ भन्ने देखेका छन्, तिनीहरूले परमेश्‍वरको मुक्ति, बुद्धि, र अचम्मका कार्यहरू देखेका छन्—अनि परिणामस्वरूप, तिनीहरू परमेश्‍वरलाई साँच्चै प्रशंसा गर्छन्‌ र साँच्चै उहाँको तृष्णा गर्छन्‌, र तिनीहरूमा यस्तो उत्कण्ठा जाग्छ कि तिनीहरू परमेश्‍वरलाई प्राप्त नगरी बाँच्न सक्दैनन्‌। परमेश्‍वरको साँचो साक्षी दिनेहरूले जोडदार गवाही दिन सक्नुको कारण के हो भने तिनीहरूको गवाही परमेश्‍वरबारे साँचो ज्ञान र उहाँप्रतिको साँचो अभिलाषाको जगमा अडेको हुन्छ। यस्तो गवाही कुनै भावनात्मक आवेगअनुसार दिइँदैन, बरु परमेश्‍वर र उहाँको स्वभावबारे तिनीहरूको ज्ञानअनुसार दिइन्छ। तिनीहरूले परमेश्‍वरलाई चिनेका हुनाले, तिनीहरू आफूले अवश्यै परमेश्‍वरको साक्षी दिनैपर्ने र परमेश्‍वरको अभिलाषा राख्ने सबैलाई परमेश्‍वर चिनाउनैपर्ने, र परमेश्‍वरको प्रेमिलो स्वभाव र उहाँको व्यावहारिकताप्रति सचेत हुनैपर्ने ठान्छन्। परमेश्‍वरप्रतिको मानिसहरूको प्रेम जस्तै, तिनीहरूको गवाही पनि स्वतःस्फूर्त हुन्छ; यसमा वास्तविकता हुन्छ साथै यसको वास्तविक महत्त्व र मूल्य हुन्छ। यो निष्क्रिय वा खोक्रो र अर्थहीन हुँदैन। साँचो रूपमा परमेश्‍वरलाई प्रेम गर्नेहरूको जीवनमा मात्रै सबैभन्दा बढी मूल्य र अर्थ हुन्छ, र तिनीहरू मात्रै साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्छन् भनेर भनिनुको कारण के हो भने यी मानिसहरू परमेश्‍वरको ज्योतिमा जिउन सक्षम हुन्छन् र परमेश्‍वरको काम र व्यवस्थापनका लागि जिउन सक्षम हुन्छन्। किनभने तिनीहरू अन्धकारमा जिउँदैनन्, बरु ज्योतिमा जिउँछन्; तिनीहरू अर्थहीन जीवन जिउँदैनन्, बरु परमेश्‍वरद्वारा आशिषित् जीवन जिउँछन्। परमेश्‍वरलाई प्रेम गर्नेहरू मात्रै परमेश्‍वरको साक्षी दिन सक्षम हुन्छन्, तिनीहरू मात्रै परमेश्‍वरका साक्षी हुन्, तिनीहरू मात्रै परमेश्‍वरद्वारा आशिषित् हुन्छन्, र तिनीहरू मात्रै परमेश्‍वरका प्रतिज्ञाहरू उत्तराधिकारमा प्राप्त गर्न सक्षम हुन्छन्। परमेश्‍वरलाई प्रेम गर्नेहरू परमेश्‍वरका घनिष्ठ मानिस हुन्; तिनीहरू परमेश्‍वरका प्रिय मानिस हुन्, र तिनीहरूले परमेश्‍वरसँगै आशिष्‌हरूको आनन्द लिन सक्छन्। यस्ता मानिसहरू मात्रै अनन्तसम्म जिउनेछन्, र तिनीहरू मात्रै सधैँभरि परमेश्‍वरको हेरचाह र सुरक्षामा जिउनेछन्। परमेश्‍वर मानिसहरूले प्रेम गर्नका लागि हुनुहुन्छ, र उहाँ सबै मानिसको प्रेमको योग्य हुनुहुन्छ, तर सबै मानिस परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुँदैनन्, र सबै मानिस परमेश्‍वरको साक्षी दिन र परमेश्‍वरसँगै शासन गर्न सक्दैनन्। साँचो रूपमा परमेश्‍वरलाई प्रेम गर्नेहरू परमेश्‍वरको गवाही दिन र आफ्ना सबै प्रयास परमेश्‍वरको कामप्रति समर्पित गर्न सक्षम हुने हुनाले, तिनीहरू स्वर्गमुनि जहाँसुकै हिँड्न सक्छन् जसमा तिनीहरूलाई कसैले पनि विरोध गर्ने आँट गर्दैन, र तिनीहरू पृथ्वीमाथि राज गर्न र परमेश्‍वरका सबै मानिसमाथि शासन गर्न सक्छन्। यी मानिसहरू संसारभरिबाट एकजुट भएका हुन्। तिनीहरू संसारभरिका मानिस हुन् जो फरक-फरक भाषा बोल्छन् र जसको छालाको रङ फरक-फरक छ, तर तिनीहरूको अस्तित्वको महत्त्व एउटै रहेको छ; तिनीहरू सबैसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय रहेको छ, तिनीहरू सबैले एउटै गवाही दिन्छन्, साथै तिनीहरूको एउटै सङ्कल्प, र एउटै इच्छा रहेको छ। परमेश्‍वरलाई प्रेम गर्नेहरू संसारभरि स्वतन्त्र रूपमा हिँड्न सक्छन्, र परमेश्‍वरको साक्षी दिनेहरू ब्रह्माण्डभरि यात्रा गर्न सक्छन्। यी मानिस परमेश्‍वरका प्रिय हुन्, तिनीहरू परमेश्‍वरद्वारा आशिषित् हुन्छन्, र तिनीहरू सधैँभरि उहाँको ज्योतिभित्र जिउनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

अघिल्लो: झ. विश्‍वासमा आफ्‍नो मार्ग कसरी छनौट गर्ने सो सम्बन्धमा

अर्को: ट. परमेश्‍वरको ज्ञान कसरी प्राप्त गर्ने त्यसको सम्बन्धमा

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्