अभ्यास (७)

तिमीहरूको मानवतामा धेरै कुराको कमी छ, तिमीहरूको जीवनशैली अति नै निम्न र पतित छ, तिमीहरूसँग कुनै मानवता छैन, र तिमीहरूमा अन्तर्दृष्टिको कमी छ। त्यसकारण तिमीहरूले आफैलाई सामान्य मानवताका थोकहरूले सुसज्जित पार्नु आवश्यक छ। अन्तस्करण, तर्क-शक्ति र अन्तर्दृष्टि हुनु; कसरी बोल्ने र काम-कुराहरूलाई हेर्ने सो जान्नु; सरसफाइमा ध्यान दिनु; सामान्य मानवजस्तो व्यवहार गर्नु—यी सबै सामान्य मानवताको ज्ञानका विशेषताहरू हुन्। जब तिमीहरू यी कुराहरूमा उचित व्यवहार गर्छौ, तब तिमीहरूमा मानवताको एक स्वीकार्य स्तर भएको मानिन्छ। तिमीहरूले आफैलाई आत्मिक जीवनका लागि पनि सुसज्जित पार्नुपर्छ। तैँले परमेश्‍वरको पृथ्वीको कार्यको सम्पूर्णतालाई जान्‍नुपर्छ र तँसँग उहाँका वचनहरूको अनुभव हुनुपर्दछ। उहाँको प्रबन्धमा कसरी समर्पित हुने र सृष्टि गरिएको प्राणीको कर्तव्य कसरी पूरा गर्ने सो तैँले जान्‍नुपर्छ। तैँले आज प्रवेश गर्नुपर्ने कुराको दुई पक्षहरू यिनै हुन्—मानवताको जीवनको लागि आफैलाई सुसज्जित पार्नु, र आत्मिक जीवनका लागि अभ्यास गर्नु। यी दुवै अपरिहार्य छन्।

केही व्यक्तिहरू हास्यास्पद छन्: तिनीहरूले आफैलाई केवल मानवताका विशेषताहरूद्वारा सुसज्जित पार्न मात्र जान्दछन्। तिनीहरूको रूप-रङ्गमा कुनै दोष भेट्टाउन सकिँदैन; तिनीहरूले भन्‍ने कुरा र तिनीहरूका बोल्ने तरिका उचित हुन्छ, र तिनीहरूको वस्त्र अति मर्यादित र उचित हुन्छ। तर तिनीहरू भित्री रूपमा खाली हुन्छन्; तिनीहरूमा बाहिरी रूपमा मात्र सामान्य मानवता भएको जस्तो देखिन्छ। के खाने, के लगाउने, र के भन्‍ने जस्ता कुराहरूमा मात्र ध्यान केन्द्रित गर्नेहरू पनि कतिपय छन्। भुइँ सफा गर्ने, ओछ्यान मिलाउने, र साधारण सरसफाइ जस्ता कार्यहरूमा विशेष ध्यान दिनेहरू समेत छन्। यी सबै कार्यहरूमा तिनीहरू पोख्त हुन सक्दछन्, तर तैँले तिनीहरूलाई अन्त्यको दिनका परमेश्‍वरले गर्नुभएका कामहरू, वा सजाय, न्याय, वा परीक्षाहरू र शोधनको बारेमा रहेको तिनीहरूको ज्ञानको बारेमा कुरा गर्न लगाइस् भने, सायद तिनीहरूले सानोभन्दा सानो अनुभव पनि प्रदर्शन गर्दैनन्। तैँले तिनीहरूलाई सोध्न सक्छस्: “के तिमीले परमेश्‍वरले पृथ्वीमा गर्नुभएको प्राथमिक कामको बारेमा बुझेका छौ? आजका देहधारी परमेश्‍वरको काम येशूको कामभन्दा कसरी फरक छ? यहोवाको कामभन्दा कसरी फरक छ? के उहाँहरू एउटै परमेश्‍वर हुनुहुन्छ? के उहाँ यस युगलाई समाप्त गर्न आउनुभएको हो कि मानवजातिलाई मुक्ति दिन आउनुभएको हो?” तर त्यस्ता मानिसहरूसँग यी विषयहरूमा भन्नुपर्ने केही पनि हुँदैन। कसै-कसैले आफूलाई सुन्दर ढङ्गले, तर बाहिरपट्टि मात्र सिङ्गार्छन्: दिदी-बहिनीहरू आफूलाई फूलजस्तै सुन्दर रूपमा सिङ्गार्छन्, र दाजुभाइहरूले राजकुमार वा धनी ठाँटिला जवानहरूले जस्तै पोसाक पहिरिन्छन्। तिनीहरूले बाहिरी थोकहरूको मात्र वास्ता राख्छन्, जस्तै तिनीहरूले खाने र लाउने थोकहरू; भित्रपट्टि तिनीहरू बेसाहारा हुन्छन् र परमेश्‍वरको अलिकति पनि ज्ञान हुँदैन। यसमा के अर्थ हुन सक्छ? अनि कोही-कोही हुन्छन् जो गरिब भिखारीको जस्तो लुगा लाउँछन्—तिनीहरू वास्तवमा पूर्वी एसियाली दासहरू जस्ता देखिन्छन्! म तिमीहरूबाट के माग्छु के त्यो तिमीहरू साँच्चै बुझ्दैनौ? तिमीहरू आपसमा सर-सल्लाह गर: तिमीहरूले वास्तवमा के प्राप्त गरेका छौ? तिमीहरूले यतिका वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेका छौ, र पनि तिमीहरूले कटनी गरेका कुराहरू यिनै हुन्—के तिमीहरू लज्जित छैनौ? के तिमीहरूलाई लाज लाग्दैन? तिमीहरू यतिका वर्षसम्म साँचो मार्गको पछि लागेका थियौ, तापनि आज तिमीहरूको कद एउटा भँगेरीको भन्दा कम छ! तिमीहरूबीचका जवान स्‍त्रीहरूलाई हेर, आफैलाई एक-अर्कासँग दाँज्दै, तिमीहरूका वस्त्रहरू र शृङ्गारमा तिमीहरू तस्विरहरूजस्तो सुन्दर छौ—अनि तिमीहरू केको तुलना गर्छौ? तिमीहरूका सुखचैन? तिमीहरूका मागहरू? के म मोडेलहरू भर्ना गर्न आएको हुँ भनी तिमीहरू सोच्छौ? तिमीहरूलाई कुनै लाज छैन! तिमीहरूको जीवन कहाँ छ? के तिमीहरूले खोज्‍ने भनेको तिमीहरूका आफ्नै असंयमित इच्छा होइन र? तिमीहरू अति धेरै सुन्दर छौ भनी तिमीहरू सोच्छौ, तर तैँले हरप्रकारले सर्वोत्तम वस्त्र लगाइस् भने पनि के तँ वास्तवमा गोबरको थाकमा जन्मेको स्याउँस्याउँ गर्ने कीरा होइनस् र? आज, तैँले जुन यी स्वर्गीय आशिषहरूको आनन्द लिने सौभाग्य पाएको छस् त्यो तेरो सुन्दर अनुहारको कारणले होइन, तर परमेश्‍वरले तँलाई माथि उठाएर छूट दिनुभएकोले गर्दा हो। तँ कहाँबाट आएको होस् भन्‍ने कुरा के अझै पनि तँलाई अस्पष्ट छ? जीवनको कुरा गर्दा, तँ मूर्तिजस्तो गुँगो बन्दै आफ्नो मुख बन्द गर्छस्, तापनि तँमा वस्त्र पहिरिने आँट छ। अझै पनि तँलाई आफ्नो अनुहारमा लाली र पाउडर लगाउन मन लाग्छ! र तिमीहरूको माझमा भएका ठाँटिला व्यक्तिहरूलाई हेर, अनियन्त्रित मानिसहरू, जसले विरक्त अनुहार पारेर आरामसाथ घुम्दै, लखर-लखर गर्दै पूरा दिन बिताउँछन्। के एउटा व्यक्तिले यस्तै व्यवहार गर्नुपर्छ? तिमीहरूको माझमा प्रत्येक पुरुष र स्त्रीले सारा दिन आफ्नो ध्यान कुन कुरामा लगाउँछौ? भोजन खानका निम्ति कसमाथि निर्भर छौ भनी के तिमीहरू जान्दछौ? तिमीहरूका वस्त्र हेर, तिमीहरूले आफ्ना हातहरूमा के कटनी गरेका छौ हेर, तिमीहरूका पेट माड, तिमीहरूले विश्‍वासमा यतिका वर्षसम्म रगत र पसिनाको मूल्य चुकाएर तिमीहरूलाई के लाभ भएको छ? तँ अझै पनि ठाउँहरू हेर्न जाने कुरा सोच्छस्, तँ अझै पनि आफ्नो दुर्गन्धित शरीरलाई सिङ्गार्न चाहन्छस्—व्यर्थका खोजहरू! तँलाई एक सामान्य व्यक्ति हुने अनुरोध गरिएको छ, तापनि अहिले तँ केवल असामान्य मात्र होइन, पथभ्रष्ट पनि होस्। त्यस्तो व्यक्तिले मेरो सामुन्ने आउने आँट कसरी गर्न सक्छ? अरूको प्रशंसा पाउन आफ्नो आकर्षण र शरीरको आडम्बर देखाउने त्यस्तो मानवता, जो सधैँ शरीरको अभिलाषामा जिउँछ—के तँ फोहोर भूतात्माहरू र दुष्टात्माहरूको सन्तान होइनस् र? म त्यस्तो फोहोर भूतात्मालाई लामो समयसम्म अस्तित्वमा रहन दिनेछैनँ! अनि तँ आफ्नो हृदयमा के सोच्छस् त्यो मलाई थाहा छैन भन्‍ने नठान्। तँ आफ्नो अभिलाषा र तेरो शरीरलाई कडा नियन्त्रणमा राख्न सक्छस् होला, तर तैँले आफ्नो हृदयमा राखेका विचारहरूलाई म कसरी जान्न सक्दिनँ र? तेरा आँखाहरूले चाहना गर्ने सबै कुरा म कसरी थाहा पाउन सक्दिनँ र? के तिमी जवान स्त्रीहरू तिमीहरूका शरीर प्रदर्शन गर्न आफैलाई सुन्दर बनाउँदैनौ र? तिमीहरूका लागि पुरुषहरू के फाइदाका हुन्छन्? के तिनीहरूले साँच्चै तिमीहरूलाई कष्टको समुद्रबाट बचाउन सक्छन् र? तिमीहरू माझका ठाँटिला मानिसहरूको विषयमा कुरा गर्दा, तिमीहरू सबै आफूलाई भद्र र विशिष्ट देखाउन वस्त्र पहिरिन्छौ, तर के यो तिमीहरूको आकर्षक रूपतिर ध्यान खिच्‍नलाई बनाइने छली योजना होइन र? तिमीहरूले यो कसका निम्ति गरिरहेका छौ? तिमीहरूका लागि स्‍त्रीहरू के फाइदाका हुन्छन्? के तिनीहरू तिमीहरूका पापको स्रोत होइनन् र? तिमी पुरुष र स्त्रीहरूलाई मैले आफ्ना धेरै वचनहरू भनेको छु, तापनि तिमीहरूले तीमध्ये थोरै मात्र पालना गरेका छौ। तिमीहरूका कानले सुन्न गाह्रो छ, तिमीहरूका आँखाहरू धमिला भएका छन्, र तिमीहरूका हृदय यतिसम्म कठोर भएको छ कि तिमीहरूको शरीरमा अभिलाषाबाहेक अरू केही छैन, जसको पासोमा तिमीहरू उम्कन नसक्ने गरी फसेका छौ। फोहोर र मैलामा मडारिने तिमी कीराहरूको नजिक आउन को चाहन्छ? यो नभुल, कि तिमीहरू तीभन्दा बढी होइनौ जसलाई मैले गोबरको थुप्रोबाट उठाएको छु, कि सुरुमा तिमीहरूमा सामान्य मानवता थिएन। मैले तिमीहरूसँग माग्‍ने भनेको सामान्य मानवता हो, जुन सुरुमा तिमीहरूसित थिएन, तिमीहरूले आफ्नो अभिलाषा प्रकट गर भनेर होइन वा तिमीहरूको गनाउने शरीरलाई खुल्ला अधिकार दिनुपर्छ भन्‍ने होइन, जसलाई दियाबलसहरूले धेरै वर्षदेखि तालीम दिएको छ। जब तिमीहरूले त्यस्तो प्रकारले वस्त्र लाउँछौ तब तिमीहरू अझ गहिरो रूपले पासोमा पर्नेछौ भनी डराउँदैनौ। के तिमीहरू सुरुमा पापको अधीनमा थियौ भन्‍ने तिमीहरूलाई थाहा छैन? के तिमीहरूलाई थाहा छैन कि तिमीहरूका शरीरहरू अभिलाषाले पूरा भरिएका छन् अनि त्यो तिमीहरूका वस्त्रबाट पनि चुहिन्छ, र यसले तिमीहरूको अवस्था सहनै नसकिने गरी घिनलाग्दो र फोहोर भूतात्माहरूको जस्तो छ भनी प्रकट गर्दछ। के यो अरू कसैले भन्दा तिमीहरूले अझ स्पष्ट रूपमा जानेको कुरा होइन र? तिमीहरूका हृदय, तिमीहरूका आँखा, तिमीहरूका ओठ—के ती सबै फोहोर भूतात्माद्वारा अपवित्र पारिएका छैनन् र? के तिमीहरूका यी अङ्गहरू फोहोर छैनन् र? के तैँले जबसम्म काम गर्दैनस् तबसम्म तँ अति पवित्र छस् भनी सोच्छस्? के तैँले सुन्दर वस्त्रहरू पहिरिएर तिमीहरूको फोहोर आत्माहरूलाई लुकाउन सक्छौ भनी सोच्छस्? त्यसले काम गर्नेछैन! म तिमीहरूलाई अझ बढी वास्तविक हुने सल्लाह दिन्छु: छली र नकली नबन, अनि आफैलाई प्रदर्शन नगर। तिमीहरू एक-अर्काको अभिलाषाको प्रशंसा गर्दछौ, तर त्यसको बदलीमा तिमीहरू अनन्त दुःख-कष्ट र निर्मम ताडना मात्रै पाउनेछौ। तिमीहरूले एकअर्कालाई आँखा झिम्क्याउने र रोमान्समा लिप्त हुने के आवश्यकता छ? के यो तिमीहरूका इमानदारीको मापन, तिमीहरूका सोझोपनको सीमा हो? म तिमीहरू माझका ती मानिसहरूलाई घृणा गर्दछु, जो खराब औषधि र मन्त्रतन्त्रमा लिप्त छन्; म तिमीहरू बीचका ती युवा र युवतीहरूलाई घृणा गर्दछु, जसले तिनीहरूका आफ्नै शरीरलाई प्रेम गर्दछन्। तिमीहरूले आफैलाई नियन्त्रणमा राख्नु राम्रो हुन्थ्यो, किनकि अब तिमीहरूले सामान्य मानवता धारण गर्नु आवश्यक छ, र तिमीहरूलाई आफ्नो अभिलाषाको प्रदर्शन गर्ने अनुमति छैन—तापनि तिमीहरू आफूले सके जति हरेक मौका लिन्छौ, किनकि तिमीहरूको देह अति नै धेरै छ र तिमीहरूका अभिलाषा अति नै ठूलो छ!

बाहिरी रूपमा, तेरो मानवताको जीवन धेरै राम्रोसँग व्यवस्थित छ, तर तँलाई जीवनको बारेमा आफ्नो ज्ञानको कुरा गर्न लगाइयो भने तँसँग भन्‍नको लागि केही पनि हुँदैन; र यसमा तँ गरिब छस्। तैँले आफैलाई सत्यताले सुसज्जित पार्नुपर्छ! तेरो मानवताको जीवन अझ राम्रोका लागि परिवर्तन भएको छ, र त्यसरी तँभित्रको जीवन पनि परिवर्तन हुनुपर्दछ; तेरा विचारहरू परिवर्तन गर्, परमेश्‍वरमा विश्‍वास राख्ने सम्बन्धी तेरो धारणा परिवर्तन गर्, तँभित्रको ज्ञान र सोच परिवर्तन गर्, र तेरो धारणाभित्र रहेको परमेश्‍वर सम्बन्धी ज्ञान परिवर्तन गर्। काटछाँटद्वारा र प्रकाशहरूद्वारा र भरण-पोषणद्वारा तैँले आफ्नै बारेमा, मानव जीवन र परमेश्‍वरमाथिको विश्‍वासको बारेमा आफ्नो ज्ञान बिस्तारै परिवर्तन गर्दै जा; तेरो बुझाइलाई शुद्धताको लागि सक्षम बना। यस प्रकारले, मानिस भित्रका विचारहरू परिवर्तन हुन्छन्, उसले थोकहरूलाई हेर्ने तरिका परिवर्तन हुन्छ, र उसको मानसिक प्रवृत्ति परिवर्तन हुन्छ। यसलाई मात्र जीवनको स्वभाव परिवर्तन भनेर भन्न सकिन्छ। तँलाई सारा दिन परमेश्‍वरका वचनहरू पढेर, वा लुगाफाटो धोएर र सफा गरेर बिताउन भनिएको छैन। सामान्य मानवताको जीवन स्वाभाविक रूपमा कम्तीमा पनि सहनीय हुनुपर्छ। यसको अतिरिक्त, बाहिरी विषयहरूको सामना गर्दा तैँले अझै पनि केही अन्तर्दृष्टि र विवेक प्रयोग गर्नुपर्दछ; तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने तँ जीवनको सत्यताले सुसज्जित हुनुपर्छ। जब तैँले आफैलाई जीवनका लागि सुसज्जित पारिरहेको हुन्छस्, तैँले परमेश्‍वरको वचनहरू खाने र पिउने कुरामा ध्यान दिनु पर्दछ, तैँले परमेश्‍वरको ज्ञान, मानव जीवनबारे तेरो दृष्टिकोण, र निश्‍चित रूपमा, आखिरी दिनहरूको अवधिमा परमेश्‍वरले गर्नुभएको काम सम्‍बन्धी तेरो ज्ञानको कुरा गर्न सक्नुपर्दछ। तैँले जीवनलाई पछ्याउने हुनाले, तैँले आफैलाई यी कुराहरूद्वारा सुसज्जित पार्नुपर्छ। जब तँ परमेश्‍वरको वचन खान्छस् र पिउँछस्, तब तैँले ती कुराहरूसँग तेरो आफ्नै वास्तविकतालाई नाप्नुपर्छ। अर्थात्, जब तैँले आफ्नो वास्तविक अनुभवको क्रममा तेरा कमजोरीहरू पत्ता लगाउँछस्, तब तैँले अभ्यास गर्ने मार्ग खोज्न, तेरा गलत अभिप्राय र धारणाहरूको विरुद्ध विद्रोह गर्न सक्‍नुपर्छ। यदि तँ सधैँ यी थोकहरूका लागि प्रयास गर्छस् र तिनलाई हासिल गर्न तेरो हृदय समर्पित गर्छस् भने, तब तँसँग हिँड्ने मार्ग हुनेछ, तैँले रित्तो महसुस गर्नेछैनस्, यसरी तैँले एउटा सामान्य स्थिति कायम राख्न सक्छस्। तब मात्र तँ आफ्नो जीवनको बोझ बोक्ने, विश्‍वास भएको व्यक्ति हुनेछस्। किन केही मानिसहरूले परमेश्‍वरका वचनहरू पढेपछि ती अभ्यास गर्न सक्दैनन्? के तिनीहरूले अत्यन्त महत्त्वपूर्ण कुराहरू बुझ्न नसकेकाले गर्दा होइन र? के तिनीहरूले जीवनलाई गम्भीरतासाथ नलिएकाले गर्दा होइन र? तिनीहरूले महत्त्वपूर्ण कुराहरूलाई बुझ्न नसक्नु र तिनीहरूसँग अभ्यास गर्ने कुनै मार्ग नहुनुको कारण के हो भने, जब उनीहरूले परमेश्‍वरका वचनहरू पढ्छन्, तब तिनीहरू ती वचनसँग आफ्नो अवस्थालाई जोड्न सक्दैनन्, न त उनीहरूले आफ्नै अवस्थालाई नै वशमा राख्न सक्छन्। कतिपय मानिसहरू भन्छन्: “म परमेश्‍वरका वचनहरू पढ्छु र मेरो अवस्थालाई ती वचनसँग जोड्छु, र म भ्रष्ट र कमजोर क्षमताको छु भन्‍ने मलाई थाहा छ, तर म परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्दिनँ।” तैँले केवल सतह मात्र देखेको छस्; तँलाई थाहा नभएका धेरै वास्तविक कुराहरू छन्: शरीरका मनोरञ्जनहरूलाई कसरी पन्साउने, आत्म-धार्मिकतालाई कसरी पन्साउने, आफैलाई कसरी परिवर्तन गर्ने, यी कुराहरूमा कसरी प्रवेश गर्ने, तेरो क्षमतालाई कसरी सुधार गर्ने? र कुन पक्षबाट सुरु गर्ने। तैँले सतहका केही कुराहरूलाई मात्र बुझ्छस्, र तैँले जानेको कुरा यति मात्र हो कि तँ धेरै भ्रष्ट छस्। जब तँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्छस्, तब तैँले तँ कति धेरै भ्रष्ट छस् भन्‍ने बारेमा मात्र कुरा गर्छस्, र यस्तो देखिन्छ कि तैँले आफैलाई चिन्छस् र तेरो जीवनका लागि तैँले ठूलो बोझ बोक्छस्। वास्तविकतामा त, तेरो भ्रष्ट स्वभाव परिवर्तन भएको छैन, जसले के प्रमाणित गर्छ भने तैँले अभ्यास गर्ने मार्ग फेला पारेको छैनस्। यदि तैँले कुनै मण्डलीको नेतृत्व गरिरहेको छस् भने, तैँले दाजुभाइ-दिदीबहिनीहरूको अवस्थालाई बुझ्न र त्यो कुरा औंल्याउन सक्नुपर्छ। के यसो भनेर मात्र पुग्छ: “तिमी मानिसहरू विद्रोही र पछौटे छौ!”? होइन, तैँले निश्‍चित रूपमा उनीहरूको विद्रोहीपन र पछौटेपन कसरी प्रकट हुन्छन् त्यो बताउनुपर्छ। तैँले उनीहरूको विद्रोही अवस्थाहरू, उनीहरूका विद्रोही व्यवहारहरू, र उनीहरूका शैतानी स्वभावहरूको बारेमा कुरा गर्नैपर्छ, र तैँले यी कुराहरू त्यसरी बताउनुपर्छ कि तेरा वचनहरूमा सत्यता छ भनी तिनीहरू पूर्ण रूपले विश्‍वस्त होऊन्। तेरा कुराहरू बुझाउन तथ्य र उदाहरणहरू प्रयोग गर्, र उनीहरू कसरी विद्रोही व्यवहारबाट अलग हुन सक्छन् त्यो सटीक रूपले भन्, र अभ्यास गर्ने मार्ग देखा—मानिसहरूलाई विश्‍वस्त तुल्याउनुपर्ने यसरी नै हो। यसो गर्नेहरूले मात्र अरूलाई नेतृत्व गर्न सक्छन्; उनीहरूमा मात्र सत्यता वास्तविकता हुन्छ।

अहिले सङ्गतिद्वारा तिमीहरूलाई धेरै सत्यहरू प्रदान गरिएको छ, र तैँले ती सञ्चय गरेर राख्नुपर्छ। त्यहाँ जम्‍मा कति वटा सत्यताहरू छन् भनी तैँले निष्कर्षमा भन्न सक्नुपर्छ। तैँले व्यक्तिमा हुनुपर्ने सामान्य मानवताका विभिन्‍न पक्षहरूलाई जानेपछि र आफैले तिनका भिन्नता छुट्याउन सकेपछि, व्यक्तिको जीवनको स्वभावमा हुने परिवर्तनहरूका मुख्य पक्षहरू, गहन हुँदै जाने दर्शनहरू, र जान्‍न र अनुभव गर्नको लागि मानिसहरूले युगौँ युगदेखि प्रयोगमा ल्याएका गलत साधनहरू को बारेमा जान्‍न सकेपछि मात्र तँ सही मार्गमा हुनेछस्। धर्मका मानिसहरूले बाइबललाई पुज्छन्, मानौं यो परमेश्‍वर नै हुनुहुन्छ; निश्‍चित रूपमा, तिनीहरूले नयाँ करारका चार सुसमाचारलाई येशूका चार वटा फरक-फरक अनुहारको रूपमा लिन्छन् र तिनीहरूले पिता, पुत्र र पवित्र आत्मा त्रिएक परमेश्‍वरको बारेमा कुरा गर्छन्। यो सबैभन्दा विकृत कुरा हो, र तिमीहरू सबैले यस कुरालाई देख्‍नुपर्छ; त्योभन्दा पनि बढी, तँसँग देहधारी परमेश्‍वरको अस्तित्वको र आखिरी दिनहरूका कामको ज्ञान हुनुपर्छ। अभ्यास गर्ने ती पुराना तरिकाहरू पनि छन्, अभ्याससँग सम्बन्धित ती भ्रमहरू र विचलनहरू—आत्मामा जिउनु, पवित्र आत्माले भरिपूर्ण हुनु, जुनसुकै कुरा आइपरे पनि धैर्यसाथ स्वीकार गर्नु, अख्तियारको अधीनमा बस्नु—जुन कुराको बारेमा तँलाई थाहा हुनुपर्दछ; मानिसहरूले पहिले कसरी अभ्यास गरे, र आज मानिसहरूले कसरी अभ्यास गर्नुपर्छ त्यो तैँले जान्नुपर्छ। मण्डलीमा अगुवाहरू र कामदारहरूले कसरी सहकार्य गर्नुपर्छ; स्व-धार्मिकता र उच्चता देखाउने व्यवहार कसरी पन्साउने; दाजुभाइ-दिदीबहिनीहरू कसरी एक-अर्कासँग मिलेर बस्नुपर्छ; अन्य मानिसहरू र परमेश्‍वरसँग कसरी सामान्य सम्बन्धहरू स्थापना गर्ने; मानव जीवनमा कसरी सामान्यता हासिल गर्ने; मानिसहरूसँग तिनीहरूको आत्मिक जीवनमा के हुनुपर्छ; तिनीहरूले परमेश्‍वरका वचनहरू कसरी खानु र पिउनुपर्छ; परमेश्‍वरका कुन-कुन वचनहरू ज्ञानसँग सम्बन्धित छन्, तीमध्ये कुन-कुन दर्शनहरूसित सम्बन्धित छन्, र तीमध्ये कुन-कुन अभ्यास गर्ने मार्गसँग सम्बन्धित छन्—के यी सबैको बारेमा कुरा गरिएको छैन र? सत्यको पछि लाग्नेहरूका लागि यी वचनहरू खुला छन्, र कसैलाई पनि प्राथमिकता दिएर व्यवहार गरिँदैन। आज, तिमीहरूले परानिर्भरताको मानसिकतामा भर नपरेर, स्वतन्त्र रूपमा बाँच्ने क्षमता विकास गर्नुपर्छ। भविष्यमा, जब तिमीहरूलाई अगुवाइ गर्ने कोही हुँदैन, त्यसबेला तैँले मेरा यी वचनहरूको बारेमा सोच्नेछस्। महासङ्कष्टको समयमा, जब मण्डलीको जीवन जिउन सम्भव हुँदैन, जब दाजुभाइ-दिदीबहिनीहरूले एक-अर्कासँग भेट्न सक्दैनन्, तिनीहरूमध्ये धेरै जना एकलो जिइरहेका हुन्छन्, बढीमा मानिसहरूले उनीहरूको स्थानीय क्षेत्रका मानिसहरूसँग मात्र कुराकानी गर्न सक्छन्, ती समयहरूमा तिमीहरूको अहिलेको कदले तिमीहरू खडा हुन सक्दैनौ। महासङ्कष्टको बीचमा धेरैलाई दृढ रहन गाह्रो हुन्छ। जीवनको बाटो चिन्नेहरू र सत्यले पर्याप्त मात्रमा सुसज्जित भएकाहरू मात्र प्रगति गर्दै र बिस्तारै शुद्धीकरण र रूपान्तरण प्राप्त गर्दै अगाडि बढ्न सक्छन्। महासङ्कष्टबाट भएर जानु सजिलो कुरा होइन; यदि तैँले केही दिन मात्र तँ त्यसबाट भएर जानेछस् भनी सोच्छस् भने तेरो सोचविचार कतिको साधारण छ त्यस कुरालाई यसले प्रमाणित गर्दछ! तँलाई लाग्छ, धेरै सिद्धान्त बुझेर, तँ दृढ भएर खडा हुन सक्‍नेछस्, तर त्यस्तो होइन! यदि तैँले परमेश्‍वरको वचनका अत्यावश्यक कुराहरूलाई चिन्दैनस् भने, सत्यताको महत्त्वपूर्ण विशेषताहरूलाई बुझ्न सक्दैनस् र तँसँग अभ्यास गर्ने कुनै मार्ग छैन भने, जब समय आउँछ र तँलाई केही हुन्छ तब तँ अलमल्लमा पर्नेछस्। तैँले शैतानको परीक्षाको सामना गर्न सक्‍नेछैनस्, न त शोधनमा अघि बढ्न सक्छस्। यदि तँभित्र कुनै सत्यता छैन र तँमा दर्शनको अभाव छ भने, जब समय आउँछ, तब तैँले आफैलाई ढल्‍नबाट रोक्न सक्‍नेछैनस्। तैँले सबै आशा त्याग्‍नेछस् र भन्‍नेछस्, “ठीक छ, यदि म यसै पनि मर्दैछु भने, म अन्त्यसम्म नै सजाय भोग्‍नेछु! चाहे त्यो सजाय होस् वा अग्निको कुण्डमा पठाइने कार्य होस्, जे भए पनि त्यस्तै होस्—म जे आइपर्छ सो स्विकार्नेछ!” यो सेवा-कर्ताहरूको समयमा जस्तो थियो त्यस्तै छ: केही व्यक्तिहरूले चाहे जे भए पनि आफूहरू सेवा-कर्ता ठान्थे, त्यसैले उनीहरूले उप्रान्त जीवनको खोजी गरेनन्। तिनीहरूले धूम्रपान गरे र पिए, आफ्नो देहमा लिप्त रहे, र उनीहरूलाई जे मन पऱ्यो त्यही गरे। कोही-कोही काम गर्नका निम्ति संसारमा फर्के। एउटा बस्‍न अयोग्य वातावरण पनि त्यस्तै हुन्छ; यदि तँ त्यसमाथि विजयी बन्‍न सकिनस् भने, तैँले आफैमाथिको पकड अलिकति पनि गुमाइस् भने, तैँले सबै आशा त्याग्नेछस्। यदि तैँले शैतानको प्रभावलाई जित्न सक्दैनस् भने, तैँले थाहै नपाई शैतानले तँलाई कैदी बनाउनेछ र तँलाई फेरि विनाशमा पठाउनेछ। त्यसैले आज तैँले आफैलाई सत्यले सुसज्जित पार्नुपर्छ; तँ स्वतन्त्र रूपमा जिउन सक्नुपर्छ; र जब तँ परमेश्‍वरका वचनहरू पढ्छस्, तब तैँले अभ्यास गर्ने मार्गलाई खोज्न सक्नुपर्छ। यदि तँलाई पानी हाल्ने र गोठालो गर्ने कुनै अगुवाहरू वा कार्यकर्ताहरू छैनन् भने पनि, तैँले पछ्याउने मार्ग पत्ता लगाउन सक्नुपर्छ, आफ्नै कमी-कमजोरीहरू पत्ता लगाउन सक्नुपर्छ, तैँले आफैलाई सुसज्जित पार्नुपर्ने र अभ्यास गर्नुपर्ने सत्यताहरू पत्ता लगाउन सक्नुपर्छ। के परमेश्‍वर पृथ्वीमा आउनुभएपछि मानिससँग निरन्तर साथमा रहन सक्नुहुन्छ? केही मानिसहरू आफ्ना धारणाहरूमा यस्तो विश्‍वास गर्दछन्: “परमेश्‍वर, यदि तपाईंले हाम्रो निम्ति एक निश्चित बिन्दुसम्म काम गर्नुभएन भने तपाईंको काम समाप्त भएको मानिँदैन, किनकि शैतानले तपाईंलाई दोष लगाउँदैछ।” म तँलाई भन्छु, जब म मेरा वचनहरू बोली सक्छु, तब मेरो काम सफलतापूर्वक समाप्त भएको हुनेछ। जब मसँग भन्‍नको लाग थप केही हुँदैन, तब मेरो काम पूरा हुनेछ। मेरो कामको समाप्ति नै शैतानको हारको प्रमाण हुनेछ, त्यसैले शैतानको कुनै दोषारोपणविना नै यो सफलतापूर्वक पूरा भएको छ भनेर भन्‍न सकिन्छ। तर मेरो काम समाप्त भइसक्दा पनि तँमा कुनै परिवर्तन भएन भने, तँजस्ता मानिसहरूलाई मुक्ति दिनै सकिँदैन र तिमीहरूलाई हटाइनेछ। म चाहिएको भन्दा बढी कुनै काम गर्नेछैनँ। तिमीहरूलाई केही हदसम्म विजय नगरुञ्‍जेल, र तिमीहरू सबैसँग सत्यको सबै पक्षको स्पष्ट ज्ञान नहुञ्जेल, र तेरो क्षमतामा सुधार नहुञ्जेल र तैँले भित्री र बाहिरी रूपमा साक्षी नदिउञ्जेल म पृथ्वीमा मेरो काम जारी राख्नेछैनँ। त्यो असम्भव हुनेछ! आज, मैले तिमीहरूमा गर्ने कामको उद्देश्य तिमीहरूलाई सामान्य मानवताको जीवनमा डोऱ्याउनु हो; यो नयाँ युगको प्रारम्‍भ गर्ने र मानवजातिलाई नयाँ युगको जीवनमा डोऱ्याउने काम हो। यो काम एक-एक चरण गर्दै पूरा गरिन्छ र यो तिमीहरूको बीचमा प्रत्यक्ष रूपमा विकास हुन्छ: म तिमीहरूलाई आमने-सामने सिकाउँछु; म तिमीहरूका हात समातेर डोऱ्याउँछु; म तिमीहरूले नबुझेका कुनै पनि कुरा बताउँछु, तिमीहरूमा अभाव भएको कुनै पनि थोक प्रदान गर्छु। यो भन्न सकिन्छ कि, तिमीहरूका लागि यो सब काम जीवनका निम्ति तिमीहरूको प्रबन्ध हो, यो तिमीहरूलाई सामान्य मानवताको जीवनमा डोऱ्याउनका निम्ति पनि हो; यो विशेषगरी आखिरी दिनहरूमा मानिसहरूको यो समूहको जीवनको पालनपोषण गर्ने उद्देश्यका लागि हो। मेरो लागि, यो सबै कामको अर्थ पुरानो युग अन्त्य गर्नु र एउटा नयाँ सुरुआत गर्नु हो; शैतानको लागि, म विशेषगरी त्यसलाई हराउन देह बनेको हुँ। मैले अहिले तिमीहरूको बीचमा गर्ने काम आज तिमीहरूका लागि भरण-पोषण र तिमीहरूको उचित समयको मुक्ति हो, तर यी केही छोटा वर्षहरूको अवधिमा, म तिमीहरूलाई सबै सत्यता, जीवनको सम्पूर्ण मार्ग, र भविष्यको काम पनि बताउनेछु; यो भविष्यमा तिमीहरूलाई विभिन्न कुराहरू सामान्य रूपले अनुभव गर्न सक्षम बनाउनको निम्ति पर्याप्त हुनेछ। मैले तिमीहरूलाई सुम्पेको मेरा सबै वचनहरू मात्र हुन्। म अरू कुनै सल्लाह दिँदिनँ; आज, मैले तिमीहरूसँग बोलेका सबै कुरा तिमीहरूका लागि मेरो सल्लाह हुन्, किनकि आज तिमीहरूलाई मैले बोल्ने धेरै वचनहरूको अनुभव तिमीहरूसँग छैन, र तिमीहरू तिनका भित्री अर्थ बुझ्दैनौ। आज मैले भनेको जस्तै एक दिन तिमीहरूका अनुभवहरूले फल दिनेछन्। यी वचनहरू तिमीहरूका आजको दर्शन हुन्, र ती यस्ता कुरा हुन् जसमाथि भविष्यमा तिमीहरू निर्भर हुनेछौ; ती आजको जीवनका लागि भरण-पोषण र भविष्यका लागि एउटा सल्लाह हुन्, र कुनै पनि अर्ती योभन्दा राम्रो हुन सक्दैन। किनकि पृथ्वीमा मैले काम गर्ने समय तिमीहरूले मेरा वचनहरूको अनुभव गर्ने समय जति लामो छैन; मैले केवल आफ्नो काम मात्र पूरा गर्दैछु, जबकि तिमीहरू जीवनको खोजी गर्दैछौ, जुन यस्तो प्रक्रिया हो जसको लागि जीवनभरिको लामो यात्रा समावेश हुन्छ। धेरै वटा कुराहरूको अनुभव गरेपछि मात्र तैँले जीवनको मार्ग प्राप्त गर्न सक्नेछस्; तब मात्र तैँले आज मैले बोलेका वचनहरूको भित्री अर्थ बुझ्न सक्नेछस्। जब तिमीहरूका हातमा मेरा वचनहरू हुन्छन्, मैले दिनुपर्ने सबै आज्ञाहरू तिमीहरूलाई दिइसकेपछि जब तिमीहरू प्रत्येकले मेरा सबै आज्ञाहरू प्राप्त गरेका हुन्छौ, र जति नै ठूलो प्रभाव हासिल गरे पनि, जब वचनहरूको काम समाप्त हुन्छ, त्यसबेला परमेश्‍वरको इच्छाको कार्यान्वयन पनि हासिल गरिएको हुनेछ। यो तैँले कल्पना गरेजस्तो होइन, कि तँ केही हदसम्म परिवर्तन हुनुपर्छ; परमेश्‍वरले तेरा धारणाहरू अनुसार काम गर्नुहुन्न।

मानिसहरूले केही दिनमा नै आफ्नो जीवनमा वृद्धि हासिल गर्दैनन्। तिनीहरूले दिनहुँ परमेश्‍वरका वचनहरू खाए र पिए पनि त्यो पर्याप्त हुँदैन। तिनीहरूले आफ्नो जीवनमा वृद्धिको एउटा अवधि अनुभव गर्नुपर्दछ। यो एक आवश्यक प्रक्रिया हो। आजका मानिसहरूको क्षमतालाई विचार गर्दा, तिनीहरूले के प्राप्त गर्न सक्छन्? परमेश्‍वरले मानिसहरूसँग तिनीहरूका आन्तरिक क्षमताको आधारमा माग गर्दै, तिनीहरूका आवश्यकता अनुसार काम गर्नुहुन्छ। मानौं, यो कार्य उच्च क्षमता भएका मानिसहरूको समूहमा गरिएको छ: तब बोलिएका वचनहरू तिमीहरूसँग बोलिएका वचनहरूभन्दा उच्च हुनेथिए, दर्शनहरू उच्च हुनेथिए र सत्यताहरू अझ धेरै उच्च हुनेथिए। केही वचनहरू अधिक कठोर, मानिसहरूको जीवनका लागि प्रबन्ध गर्न अझ सक्षम, रहस्यहरू प्रकट गर्न अझ बढी सक्षम हुनेथिए। त्यस्ता मानिसहरूको बीचमा बोल्दा, परमेश्‍वरले तिनीहरूका आवश्यकताअनुसार प्रबन्ध गर्नुहुनेथियो। आज तिमीहरूसँग गरिएका मागहरूलाई धेरै नै कठोर भन्न सकिन्छ; यदि यो काम उच्च क्षमताका मानिसहरूका बीचमा गरिएको भए, मागहरू अझै उच्च हुनेथिए। परमेश्‍वरका सबै काम मानिसको आन्तरिक क्षमताअनुसार गरिन्छ। मानिसहरू आज जुन हदसम्म परिवर्तन भएका र जितिएका छन्, त्यो सम्‍भव भएसम्‍मको सबैभन्दा ठूलो हद हो; कामको यस चरण कतिको प्रभावकारी भयो भनेर मापन गर्न तिमीहरूको आफ्नै विचारहरूको प्रयोग नगर। तिमीहरू आफूभित्र कुन कुरा छ भन्‍ने बारेमा स्पष्ट हुनुपर्दछ, र तिमीहरूले आफैले आफैलाई धेरै ठूलो सम्झनु हुँदैन। सुरुमा, तिमीहरू कोही पनि जीवनको पछि लागेनौ, तर तिमीहरू सडकमा घुमिहिँड्ने भिखारीहरू थियौ। तिमीहरू सबै एउटा ठूलो दर्शन देखेको जस्तो गरी पूर्ण विश्‍वस्त बनेर भुइँमा घोप्टो परेको कारण, तिमीहरूले कल्‍पना गरेको जस्तो हद अनुसार परमेश्‍वरले काम गर्नु—त्यो असम्भव हुनेछ! यो असम्भव छ, किनकि जसले परमेश्‍वरका आश्‍चर्यकर्महरू देखेको छैन उसले मैले भनेका सबै कुरा विश्‍वास गर्न सक्दैन। यदि तिमीहरूले मेरो वचनहरूलाई ध्यानपूर्वक जाँच्यौ भने पनि, तिमीहरूले तिनमा अझै पूर्ण रूपमा विश्‍वास गर्नेछैनौ; यो मानिसको प्रकृति हो। सत्यको पछि लाग्नेहरू केही परिवर्तनहरूबाट भएर जानेछ, जबकि सत्यको पछि नलाग्नेहरूको विश्‍वास घट्दै जानेछ र विलुप्त हुन पनि सक्‍नेछ। तिमीहरूको सबैभन्दा ठूलो कठिनाइ के हो भने, तिमीहरूले परमेश्‍वरको वचनको पूरा भएको नदेखुञ्जेल पूर्ण रूपमा विश्‍वास गर्न सक्दैनौ, र उहाँका आश्‍चर्यकर्महरू नदेखुञ्जेल तिमीहरूको मिलाप हुँदैन। त्यस्ता कुराहरू नदेखेसम्म परमेश्‍वरप्रति को पूर्ण रूपमा बफादार हुन सक्छ र? र यसैले म भन्छु कि तिमीहरू जे विश्‍वास गर्छौ त्यो परमेश्‍वरमाथिको विश्‍वास होइन, तर आश्‍चर्यकर्महरूमाथिको विश्‍वास हो। मैले अहिले सत्यका विभिन्न पक्षहरूको बारेमा स्पष्ट बताएको छु; ती प्रत्येक पूर्ण छन्, र ती सबैको बीचमा घनिष्ठ सम्बन्ध छ। तिमीहरूले ती देखेका छौ, र अब तिमीहरूले ती अभ्यास गर्नुपर्छ। आज म तँलाई बाटो देखाउँछु, र भविष्यमा, तँ आफैलाई त्यो अभ्यास गर्नुपर्छ। मैले अहिले बोल्ने वचनहरूले मानिसहरूको वास्तविक अवस्थाको आधारमा तिनीहरूसित माग गर्दछ, र म तिनीहरूका आवश्यकताहरू र तिनीहरूको भित्री कुराहरूको आधारमा काम गर्दछु। व्यावहारिक परमेश्‍वर मानिसहरूका वास्तविक अवस्था र आवश्यकताअनुसार काम गर्न, व्यावहारिक कार्य गर्न पृथ्वीमा आउनुभएको छ। उहाँ अव्यावहारिक हुनुहुन्न। जब परमेश्‍वरले काम गर्नुहुन्छ, उहाँ मानिसहरूलाई जबरजस्ती गर्नुहुन्न। उदाहरणका लागि, तँ विवाह गर्ने वा नगर्ने, त्यो तेरा परिस्थितिहरूको वास्तविकताको आधारमा हुनुपर्छ; तँलाई स्पष्ट रूपमा सत्यता बताइएको छ, र म तँलाई बन्धनमा पार्दिनँ। केही मानिसका परिवारहरूले उनीहरूलाई थिचोमिचो गर्छन्, त्यसैले तिनीहरू विवाह नगरेसम्म परमेश्‍वरमा विश्‍वास गर्न सक्दैनन्। यस प्रकारले, विवाह वास्तवमा उनीहरूका लागि उपयोगी हुन्छ। अरूका लागि विवाहले कुनै फाइदा गर्दैन, बरु उनीहरू आफूसँग पहिले भएको कुरा गुमाउँछन्। तेरो आफ्नै मामिला तेरा वास्तविक परिस्थितिहरू र तेरो आफ्नै सङ्कल्पले निर्धारण गर्नुपर्दछ। म यहाँ तिमीहरूसँग मागहरू गर्नका निम्ति नियम र सर्तहरू आविष्कार गर्न आएको होइन। धेरै मानिस लगातार यसो भन्दै पुकार्ने गर्छन्, “परमेश्‍वर व्यावहारिक हुनुहुन्छ; उहाँको काम वास्तविकतामा, र हाम्रा परिस्थितिहरूको वास्तविकतामा आधारित छ”—तर वास्तवमा, के तँलाई यसलाई कुन कुराले व्यावहारिक बनाउँछ भन्ने थाहा छ? तेरा खोक्रा शब्दहरू धेरै नै भइसके! परमेश्‍वरको काम व्यावहारिक र यथार्थतामा आधारित हुन्छ; यसका कुनै प्रावधानहरू हुँदैनन्, बरु यो पूर्ण रूपमा स्वतन्त्र हुन्छ, यो सबै खुला र स्पष्ट रूपमा देख्न सकिने हुन्छ। यी केही सिद्धान्तहरूको विशेष विवरणहरू के-के हुन्? परमेश्‍वरको कामको कुन भाग यस प्रकारको छ के तँ भन्न सक्छस्? तैँले विस्तृत रूपमा बोल्नुपर्छ, तँसँग धेरै प्रकारका अनुभवका साक्षीहरू हुनुपर्दछ, र तँ परमेश्‍वरको कामको यस विशेषताको बारेमा एकदमै स्पष्ट हुनुपर्दछ—तैँले यो कुरा जान्नुपर्छ, र मात्र तँ यी वचनहरू बोल्न योग्यको हुनेछस्। यदि कसैले तँलाई यी प्रश्नहरू गरे भने के तँ जबाफ दिन सक्छस्: “आखिरी दिनमा देहधारी परमेश्‍वरले पृथ्वीमा के काम गर्नुभएको छ? तँ किन उहाँलाई व्यावहारिक परमेश्‍वर भन्छस्? यहाँ ‘व्यावहारिक’ को अर्थ के हो? के तँ उहाँको व्यावहारिक कामको बारेमा, त्यसले के कुरालाई समावेश गर्छ त्यसको बारेमा कुरा गर्न सक्छस्? येशू देहधारी परमेश्‍वर हुनुहुन्छ, र आजका परमेश्‍वर पनि देहधारी परमेश्‍वर नै हुनुहुन्छ, त्यसो भए उहाँहरूको बीचमा के-के भिन्नताहरू छन्? र के समानताहरू छन्? अनि समानताहरू के-के छन्? उहाँहरू प्रत्येकले के गर्नुभएको छ?” यो सब गवाही दिने कुरासित सम्बन्धित छ! यी कुराहरूको बारेमा अलमल्ल नपर। अरू मानिसहरू छन् जसले यसो भन्छन्: “आजको परमेश्‍वरको काम व्यावहारिक छ। यो कहिले पनि चमत्कार र आश्‍चर्यकर्महरूको प्रदर्शन होइन।” के उहाँले साँच्चै आश्‍चर्यकर्म र चमत्कारहरू गर्नुहुन्न? के तँ निश्चित छस्? के तँलाई मेरो खास काम के हो भन्‍ने थाहा छ? कसैले भन्ला कि उहाँले आश्‍चर्यकर्म र चमत्कारहरू गर्नुहुन्न, तर के उहाँले गर्ने काम र उहाँले बोलेका वचनहरू सबै आश्‍चर्यकर्म होइनन् र? कसैले भन्न सक्छ कि उहाँले आश्‍चर्यकर्म र चमत्कारहरू गर्नुहुन्न, तर यसलाई कसरी वर्णन गरिन्छ र यो कोप्रति लक्षित गरी भनिएको हो भन्‍ने कुरामा निर्भर हुन्छ। मण्डलीमा नगई उहाँले मानिसहरूको अवस्था उदाङ्गो पारिदिनुभएको छ, र बोल्‍ने बाहेक अरू कुनै काम नगरी, उहाँले मानिसहरूलाई अगाडि बढ्न प्रेरित गर्नुभएको छ—के यी आश्‍चर्यकर्महरू होइनन्? केवल वचनहरूद्वारा मात्र उहाँले मानिसहरूलाई जित्नुभएको छ, र मानिसहरू कुनै आशा वा आकांक्षा नराखी खुसीसाथ उहाँलाई पछ्याउँछन्—के यो एउटा आश्‍चर्यकर्म होइन? जब उहाँ बोल्नुहुन्छ, उहाँको वचनले मानिसमा निश्चित मनोभाव जगाउँछ। यदि तिनीहरूले आनन्दित अनुभव गरेनन् भने उनीहरू दुःखी महसुस गर्छन्; यदि तिनीहरू शोधनमा पर्दैनन् भने तिनीहरू सजायमा पर्छन्। केही तीखा वचनहरू प्रयोग गरेर, उहाँले मानिसहरूमाथि सजाय ल्याउनुहुन्छ—के यो अलौकिक कुरा होइन र? के मानिसहरूले त्यस्तो काम गर्न सक्छन्? तैँले यत्तिका वर्षसम्म बाइबल पढेको छस्, तर तैँले केही पनि बुझेको छैनस्, कुनै अन्तर्दृष्टि प्राप्त गरेको छैनस्; तैँले आफूलाई ती पुरानो, विश्‍वास गर्ने परम्परागत तरिकाबाट अलग गर्न सकेको छैनस्। तँसँग बाइबलको अर्थ बुझाउने कुनै तरिका छैन। तापनि उहाँले बाइबललाई पूर्ण रूपमा बुझ्न सक्नुहुन्छ—यो अलौकिक कुरा होइन? यदि परमेश्‍वर पृथ्वीमा आउनुहुँदा उहाँको बारेमा कुनै अलौकिक कुरा थिएन भने, के उहाँले तिमीहरूलाई जित्न सक्नुहुन्थ्यो होला? उहाँको असाधारण, ईश्‍वरीय कार्यविना, तिमीहरूमध्ये को विश्‍वस्त हुनेथियौ? तेरा दृष्टिमा, तिमीहरूसँग एक सामान्य व्यक्तिले काम गरिरहेको र जिइरहेको जस्तो देखिन्छ—बाहिरी रूपमा उहाँ सामान्य, साधारण व्यक्ति जस्तो देखिनुहुन्छ; तैँले जे देख्छस् त्यो सामान्य मानवताको बाहिरी रूप हो, तर वास्तवमा त्यो ईश्‍वरीय काम हो। त्यो सामान्य मानवता होइन, तर ईश्‍वरत्व हो; यो परमेश्‍वर आफैले काम गर्नुभएको हो, जुन काम उहाँले सामान्य मानवताको प्रयोग गरेर गर्नुहुन्छ। यसैले, उहाँको काम साधारण र अलौकिक दुवै छ। उहाँले गर्नुहुने काम मानिसले गर्न सक्दैन; र यो सामान्य मानिसहरूले गर्न नसक्ने भएकोले, यो एक असाधारण प्राणीद्वारा गरिन्छ। तापनि त्यो असाधारण कुरा ईश्‍वरत्व नै हो, मानवता होइन; ईश्‍वरत्व मानवता भन्दा फरक छ। पवित्र आत्माले प्रयोग गर्नुहुने व्यक्ति पनि साधारण, सामान्य मानिस हो, तर तिनीहरू यो काम गर्न असमर्थ हुन्छन्। भिन्नता यसैमा लुकेको छ। तँ भन्छस् होला: “परमेश्‍वर अलौकिक परमेश्‍वर हुनुहुन्न; उहाँले कुनै अलौकिक कार्य गर्नुहुन्न। हाम्रा परमेश्‍वरले व्यावहारिक वचनहरू बोल्नुहुन्छ। उहाँ व्यावहारिक कार्य गर्न मण्डलीमा आउनुहुन्छ। प्रत्येक दिन, उहाँ हामीसँग आमनेसामने बोल्‍नुहुन्छ, र उहाँले आमनेसामने हाम्रा अवस्थाहरूलाई औंल्याउनुहुन्छ—हाम्रा परमेश्‍वर व्यावहारिक हुनुहुन्छ! उहाँ हामीसँग जिउनुहुन्छ, र उहाँको हरेक कुरा पूर्ण रूपमा सामान्य छ। उहाँको रूप-रङ्गमा भएको कुनै पनि कुराले उहाँलाई परमेश्‍वर भनेर छुट्याउँदैन। कहिलेकहीँ यस्तो समय पनि हुन्छ जब उहाँ क्रोधित बन्नुहुन्छ र हामी उहाँको क्रोधको प्रतापलाई देख्छौं, र कहिलेकहीँ उहाँ मुस्कुराउनुहुन्छ, र हामी उहाँको मुस्कुराउने आचरण देख्छौं। उहाँ देह र रगतद्वारा बनिएको आकार र रूपसहितका परमेश्‍वर स्वयम् हुनुहुन्छ जो साँचो र व्यावहारिक हुनुहुन्छ।” जब तैँले यसरी गवाही दिन्छस्, यो एउटा अधुरो गवाही हुन्छ। त्यसले अरूलाई के सहायता गर्न सक्छ? यदि तैँले परमेश्‍वर स्‍वयम्‌को कामको भित्री कथा र सारको गवाही दिन सक्दैनस् भने, तेरो “गवाही” नाउँ लिन लायकको पनि हुँदैन!

परमेश्‍वरको गवाही दिनु भनेको मुख्य रूपले परमेश्‍वरको कामको बारेमा अनि परमेश्‍वरले मानिसहरूलाई कसरी विजय गर्नुहुन्छ, उहाँले कसरी मानिसहरूलाई मुक्ति दिनुहुन्छ, र उहाँले कसरी मानसिहरूलाई परिवर्तन गर्नुहुन्छ सोबारेमा तेरो ज्ञान बताउनु हो; यो भनेको परमेश्‍वरले मानिसहरूलाई उहाँद्वारा जितिन, सिद्ध बनाइन र उहाँद्वारा बचाइन दिँदै, कसरी उहाँले तिनीहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्नुहुन्छ भनी बताउनु हो। गवाही दिनु भनेको उहाँको काम र तैँले अनुभव गरेका सबै कुराहरूको बारेमा बताउनु हो। उहाँको कामले मात्र उहाँको प्रतिनिधित्व गर्न सक्दछ, र उहाँको कामले मात्र उहाँलाई उहाँको सम्पूर्णतामा सार्वजनिक रूपमा प्रकट गर्न सक्दछ; उहाँको कामले उहाँको साक्षी दिन्छ। उहाँको काम र वाणीहरूले सीधै आत्माको प्रतिनिधित्व गर्छन्; उहाँले गर्नुहुने कामलाई आत्माले अघि बढाउनुहुन्छ, र उहाँले बोल्नुहुने वचनहरू आत्माद्वारा बोलिन्छन्। यी कुराहरू परमेश्‍वरको देहधारी शरीरमार्फत व्यक्त गरिने मात्र हो। वास्तवमा, ती आत्माका अभिव्यक्तिहरू हुन्। उहाँले गर्नुहुने सबै काम र उहाँले बोल्नुहुने सबै वचनहरूले उहाँको सारतत्त्वलाई प्रतिनिधित्व गर्दछ। यदि परमेश्‍वर देहको आवरणमा मानिसमाझ आउनुभएपछि, उहाँले बोल्नुभएन वा काम गर्नुभएन र तिमीहरूलाई उहाँको व्यावहारिकता, उहाँको सामान्यता र उहाँको सर्वशक्तिमान्‌ता जान्‍न लगाउनुभयो भने, के तँ सक्‍नेथिइस्? के तँ आत्माको सार के हो भनी जान्न सक्‍नेथिइस्? के तँ उहाँको देहको प्रकृति के हो भनेर जान्न सक्‍नेथिइस्? तिमीहरूले उहाँको कामको प्रत्येक चरण अनुभव गरेका हुनाले मात्रै उहाँ तिमीहरूलाई उहाँका लागि गवाही दिन भन्नुहुन्छ। यदि तिमीहरू त्यस्तो अनुभवरहित भएको भए उहाँले तिमीहरूलाई गवाही दिन लगाउन जोड दिनुहुनेथिएन। तसर्थ, तैँले परमेश्‍वरको गवाही दिँदा उहाँको सामान्य मानवताको बाहिरी आवरणको मात्र गवाही दिने होइन, बरु तैँले उहाँले गर्ने काम र उहाँले डोऱ्याउने मार्गको गवाही दिनुपर्छ; तँलाई कसरी उहाँले जित्‍नुभयो र कुन-कुन पक्षहरूमा तँलाई सिद्ध बनाइयो सो बारे तैँले गवाही दिनुपर्छ। तैँले दिनुपर्ने प्रकारको गवाही यही हो। मानौँ, तँ जहाँ गए पनि यसरी कराउँछस्, “हाम्रा परमेश्‍वर काम गर्न आउनुभएको छ, र उहाँको काम साँच्चै व्यावहारिक छ! उहाँले कुनै अलौकिक कार्यहरू नगरी, कुनै आश्‍चर्यकर्म र चमत्कारहरू नगरी हामीलाई प्राप्त गर्नुभएको छ!” अरूले सोध्छन्, “उहाँले आश्‍चर्यकर्म र चमत्कारहरू गर्नुहुन्न भनी तिमीले भन्नुको अर्थ के हो? आश्‍चर्यकर्म र चमत्कारहरू नगरी उहाँले कसरी तिमीलाई जित्न सक्‍नुभयो?” अनि तँ यसो भन्छस्, “उहाँले कुनै चमत्कार वा आश्‍चर्यकर्महरू प्रदर्शन नगरी बोल्नुहुन्छ, उहाँले हामीलाई जित्नुभएको छ। उहाँको कामले हामीलाई जितेको छ।” अन्त्यमा, तँ कुनै सारभूत कुरा भन्न सक्दैनस्, र तँ विशिष्ट कुरा गर्न सक्दैनस्। के यो साँचो गवाही हो? देहधारी परमेश्‍वरले मानिसहरूलाई विजय गर्दा, उहाँले ईश्‍वरत्वमा बोल्नुले नै तिनीहरूलाई विजय गर्छ। उहाँको मानवताले यो कुरा पूरा गर्न सक्दैन; यो कुनै मरणशीलले हासिल गर्न सक्‍ने कुरा होइन, र सामान्य मानिसहरूमध्ये सबैभन्दा उच्च क्षमताको व्यक्तिले पनि यो काम गर्न सक्दैन, किनकि उहाँको ईश्‍वरत्व कुनै पनि सृष्टि गरिएको प्राणीको भन्दा उच्च छ। यो मानिसहरूका लागि असाधारण कुरा हो; आखिर, सृष्टिकर्ता कुनै पनि सृष्टिभन्दा उच्च हुनुहुन्छ। सृष्टि गरिएका प्राणीहरू सृष्टिकर्ता भन्दा उच्च हुन सक्दैनन्; यदि तँ उहाँभन्दा उच्च थिइस् भने, उहाँले तँलाई जित्न सक्नुहुने थिएन, र उहाँ तँभन्दा उच्च हुनुभएकोले मात्रै उहाँले तँलाई जित्न सक्नुहुन्छ। जसले सम्पूर्ण मानवजातिलाई जित्न सक्नुहुन्छ उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ, र अरू कसैले नभएर उहाँले मात्र यो काम गर्न सक्नुहुन्छ। “यो नै गवाही हो”—तैँले यस्तै प्रकारको गवाही दिनुपर्छ। तैँले चरणबद्ध रूपमा सजाय, न्याय, शोधन, परीक्षा, अड्चन र सङ्कष्टहरू अनुभव गरेको छस्, र तँलाई विजय गरिएको छ; तैँले देहका सम्भावनाहरू, तेरा व्यक्तिगत प्रेरणाहरू र देहका भित्री रुचिहरू त्यागेको छस्। अर्को वचनमा, परमेश्‍वरका वचनहरूले तेरो हृदयलाई पूर्ण रूपमा जितेको छ। तँ जीवनमा उहाँले माग गर्नुभएजति वृद्धि नभएको भए पनि, तँलाई यी सबै कुरा थाहा छ र उहाँले जे गर्नुहुन्छ त्यसप्रति तँ पूर्ण रूपमा विश्‍वस्त छस्। यो गवाही हो—व्यावहारिक गवाही! उहाँ मानिसलाई विजय गर्नका निम्ति न्याय र सजायको काम गर्न आउनुभएको छ; तर उहाँ आफ्नो काम टुङ्ग्याउन, युगको अन्त्य गर्न र समाप्तिको काम गर्न—सम्पूर्ण युगको अन्त्य गर्न, सबै मानवजातिलाई मुक्ति दिन, मानवजातिलाई पापबाट पूर्ण रूपमा मुक्ति दिन, र उहाँले सृष्टि गर्नुभएको मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्न पनि आउनुभएको छ। तैँले यी सबै कुराको गवाही दिनुपर्छ। तैँले परमेश्‍वरको धेरै कामको अनुभव गरेको छस्, तैँले यो आफ्नै आँखाले देखेको छस् र व्यक्तिगत रूपमा अनुभव गरेको छस्; अन्त्यमा आफ्नो जिम्मेवारीमा पर्ने प्रकार्य निर्वाह गर्न असक्षम नहो। त्यो धेरै दुःखलाग्दो कुरा हुनेछ! भविष्यमा, जब सुसमाचार फैलाइन्छ, तैँले आफ्नै ज्ञानको कुरा गर्न सक्षम हुनुपर्दछ, तैँले आफ्नो हृदयमा प्राप्त गरेका सबै कुराहरूको गवाही दिनुपर्छ, र कुनै पनि कोसिस बाँकी राख्नुहुँदैन। सृजित प्राणीले प्राप्त गर्नुपर्ने कुरा यही हो। परमेश्‍वरको कामको यस चरणको महत्त्व ठ्याक्कै के हो? यसको प्रभाव के हो? अनि मानिसहरूमा यो कतिसम्म साकार पारिएको छ? मानिसहरूले के गर्नुपर्छ? जब तिमीहरू देहधारी परमेश्‍वरले संसारमा आएदेखि गर्नुभएका सबै कामबारे पूर्ण रूपमा व्याख्या सक्छौ, तब तिमीहरूको गवाही पूर्ण हुनेछ। जब तँ उहाँको कामको महत्त्व; त्यसका विषयवस्तुहरू; त्यसको सार; त्यसले प्रतिनिधित्व गर्ने स्वभाव र त्यसका सिद्धान्तहरू गरी यी पाँच वटा कुरा पूर्ण रूपमा व्याख्या गर्न सक्छस्, तब त्यसले तँ परमेश्‍वरको गवाही दिन सक्षम छस्, र तँमा साँच्चै ज्ञान छ भन्‍ने कुरा प्रमाणित गर्नेछ। मैले तिमीहरूबाट गरेका मागहरू अति उच्च छैनन्, र साँचो हृदयले पछ्याउने सबैले ती प्राप्त गर्न सक्छन्। यदि तँसँग परमेश्‍वरका साक्षीहरूमध्ये एक बन्ने सङ्कल्प छ भने, तैँले परमेश्‍वर कुन कुरालाई घृणा गर्नुहुन्छ र कुन कुरालाई प्रेम गर्नुहुन्छ भन्ने कुरा बुझ्नैपर्छ। तैँले उहाँका धेरै कामहरूको अनुभव गरेको छस्; यस कामद्वारा तैँले उहाँको स्वभाव जान्नुपर्छ, उहाँका अभिप्रायहरू र मानवजातिप्रति उहाँका मागहरू बुझ्नुपर्छ, अनि यो ज्ञानलाई उहाँको गवाही दिन र तेरो कर्तव्य पूरा गर्न प्रयोग गर्नुपर्छ। तैँले यसो मात्रै भन्न सक्छस्, “हामी परमेश्‍वरलाई चिन्छौँ। उहाँको न्याय र सजाय धेरै कठोर छन्। उहाँका वचनहरू अति कठोर छन्; उहाँ धर्मी र प्रतापी हुनुहुन्छ, र कसैले पनि उहाँविरुद्ध अपराध गर्नु हुँदैन,” तर के यी वचनहरूले आखिरमा मानिसका लागि प्रबन्ध गर्दछन्? मानिसहरूमा तिनको प्रभाव कस्तो हुन्छ? न्याय र सजायको यो काम तेरो लागि सबैभन्दा फाइदाजनक छ भनी के तँलाई साँच्चै थाहा छ? परमेश्‍वरको न्याय र सजायले तेरो विद्रोहीपन र भ्रष्टतालाई खुलासा गर्दैछन्, होइन र? तिनले तँभित्रका घिनलाग्दा र भ्रष्ट थोकहरूलाई सफा गर्न र निकाल्न सक्छन्, के सक्दैनन् र? यदि कुनै न्याय र सजाय नभएको भए, तँ कस्तो हुनेथिइस् होला? शैतानले तँलाई अति गहन हदसम्म भ्रष्ट पारेको छ भन्‍ने कुरालाई के तैँले साँच्चै बुझ्न सक्छस्? आज, तिमीहरूले आफैलाई यी कुराहरूले सुसज्जित पार्नुपर्छ र ती कुरालाई राम्ररी जान्नुपर्छ।

वर्तमान समयमा परमेश्‍वरमाथि विश्‍वास गर्नु तिमीहरूले कल्‍पना गरेको जस्तो—अर्थात् परमेश्‍वरको वचन पढ्नु, प्रार्थना गर्नु, भजन गाउनु, नाच्नु, आफ्नो कर्तव्य पूरा गर्नु र सामान्य मानवताको जीवन जिउनु होइन। के विश्‍वास गर्नु साँच्चै त्यत्ति सजिलो हुनसक्छ? परिणामहरू मुख्य कुरा हुन्। तँसँग कामहरू गर्ने तरिकाहरू कति वटा छन् त्यो महत्त्वपूर्ण होइन; तैँले कस्तो प्रकारले सर्वोत्तम नतिजा प्राप्त गर्न सक्छन् त्यो महत्त्वपूर्ण हुन्छ। हुन सक्छ, तैँले परमेश्‍वरका केही वचनहरूलाई पालन गर्न सक्छस् र तेरा केही ज्ञानको बारेमा व्याख्या गर्न सक्छस्, तर जब तँ तिनलाई पन्साउँछस्, तँसँग भन्नुपर्ने केही पनि हुँदैन। यसैबाट तँ वचन र सिद्धान्तहरूको कुरा गर्न सक्छस्, तर तँमा अनुभवको ज्ञानको कमी छ भन्‍ने प्रमाणित हुन्छ। आज, यदि तँ महत्त्वपूर्ण कुरा बुझ्न असफल भइस् भने यसले काम गर्नेछैन—यो वास्तविकतामा प्रवेश गर्नका निम्ति अति नै महत्त्वपूर्ण हुन्छ! आफैलाई यसरी तालिम दिन सुरु गर्: पहिलो, परमेश्‍वरका वचनहरू पढ्; तिनमा भएका आत्मिक शब्दहरूलाई राम्ररी जान्; तीभित्र रहेको मुख्य दर्शनहरूको खोजी गर्; अभ्याससँग सम्बन्धित भागहरूलाई पहिचान गर्; यी सबै कुरालाई एक-एक गर्दै एकसाथ मिला; तेरो अनुभवभित्र रही तिनमा प्रवेश गर; तैँले बुझ्‍नैपर्ने महत्त्वपूर्ण कुराहरू यिनै हुन्। परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा पूरा गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण अभ्यास भनेको यही हो: परमेश्‍वरका वचनहरूको एउटा अध्याय पढिसकेपछि तैँले दर्शनहरूसित सम्बन्धित मुख्य भागहरूलाई पत्ता लगाउन सक्नुपर्छ, र तैँले अभ्याससित सम्बन्धित मुख्य भागहरूलाई पनि चिन्न सक्नुपर्छ; दर्शनलाई जगको रूपमा प्रयोग गर्, र अभ्यासलाई तेरो जीवनको मार्गदर्शकको रूपमा प्रयोग गर्। तिमीहरूमा धेरै अभाव हुने र तिमीहरूका निम्ति सबैभन्दा कठिन कुराहरू यिनै हुन्; आफ्नो हृदयमा तिमीहरू वास्तवमा ती कुरामा बिरलै ध्यान दिन्छौ। सामान्यतया, तिमीहरू सबै आलस्य, प्रेरणा नपाएको, कुनै पनि व्यक्तिगत बलिदान गर्न अनिच्छुक अवस्थामा हुन्छौ; वा तिमीहरू निष्क्रियतासाथ पर्खन्छौ, र कतिले त गुनासो पनि गर्छौ; तिनीहरू परमेश्‍वरको कामका लक्ष्यहरू र महत्त्वलाई बुझ्दैनन्, र सत्यताको पछि लाग्नु तिनीहरूलाई कठिन हुन्छ। त्यस्ता मानिसहरू सत्यताका विपरीत हुन्छन् र अन्त्यमा तिनीहरूलाई हटाइनेछ। तिनीहरूमध्ये कसैलाई पनि सिद्ध बनाउन सकिँदैन, र कोही पनि जीवित रहन सक्दैन। यदि मानिसहरूमा शैतानका शक्तिहरूको विरोध गर्ने थोरै पनि संकल्प छैन भने तिनीहरूका निम्ति कुनै आशा हुँदैन!

अब, तिमीहरूको खोजी प्रभावकारी भएको छ वा छैन त्यसको नाप तिमीहरूमा अहिले जे छ त्यसद्वारा गरिन्छ। तिमीहरूको परिणाम निर्धारण गर्न यही कुरा प्रयोग गरिन्छ; भन्नुको अर्थ तिमीहरूको परिणाम तिमीहरूले गरेका बलिदानहरूमा र तिमीहरूले गरेका कामकुराहरूका आधारमा प्रकट गरिन्छ। तिमीहरूको परिणाम तिमीहरूको पछ्याइ, तिमीहरूको विश्‍वास र तिमीहरूले गरेका कामकुराद्वारा प्रकट गर्न सकिन्छ। तिमीहरू सबैमध्ये धेरै जना यस्ता छन् जो पहिलेबाटै मुक्तिभन्दा धेरै पर छन्, किनकि आजको दिन मानिसका परिणामहरू प्रकट गर्ने दिन हो, र म मेरो काममा अस्तव्यस्त दिमाग भएको व्यक्ति हुनेछैन; मुक्तिबाट पूर्ण रूपमा पछि हुनेहरूलाई म अर्को युगमा डोऱ्याउनेछैनँ। एउटा यस्तो समय आउनेछ जब मेरो काम समाप्त हुन्छ। म ती दुर्गन्धित, आत्माविहीन लासहरूमा काम गर्नेछैनँ जसलाई पटक्कै मुक्ति दिन सकिँदैन। मानिसको मुक्तिका आखिरी दिनहरू अहिले नै हो, र म व्यर्थको काम गर्नेछैन। स्वर्ग र पृथ्वीको विरुद्ध निन्दा नगर—संसारको अन्त्य हुँदैछ, यो अपरिहार्य छ। स्थिति यस अवस्थामा आइपुगेको छ, र मानव जातिको रूपमा त्यसलाई रोक्नको लागि तैँले गर्न सक्ने कुनै कुरा छैन; तैँले आफ्नो इच्छाअनुसार स्थिति बदल्‍न सक्दैनस्। हिजो, तैँले सत्यता पछ्याउन मूल्य चुकाइनस् र तँ अर्पित थिइनस्; आज समय आएको छ, तँ मुक्तिभन्दा बाहिर छस्; अनि भोलि तँलाई हटाइनेछ, र तेरो मुक्तिको लागि कुनै उपमार्ग हुनेछैन। म दयालु र नरम हृदयको छु र म तँलाई मुक्ति दिन आफ्नो सक्दो प्रयास गर्दैछु, तर यदि तँ आफ्‍नो तर्फबाट कोसिस गर्दैनस् वा आफैले केही सोच्दैनस् भने, त्योसँग मेरो के सरोकार हुन्छ र? जसले आफ्नो देहको बारेमा मात्र सोच्छ र आराम-सुविधा उपभोग गर्छ; जसले विश्‍वास गरेकोजस्तो देखिन्छ तर वास्तवमा विश्‍वास गरेका हुँदैनन्, जो खराब औषधी र मन्त्रतन्त्रमा लागेका हुन्छन्, जो लम्पट र विघटित छन्; जसले यहोवालाई चढाइएका बलिहरू र उहाँका सम्पत्तिहरू चोर्छन्, जसले घूसहरू मन पराउँछन्; जो केही नगरिकन स्वर्गमा उक्लने सपना देख्छन्; जो अहङ्कारी र अभिमानी छन्, जो व्यक्तिगत ख्याति र प्राप्तिका लागि मात्र प्रतिस्पर्धा गर्छन्; जो अशिष्ट वचनहरू फैलाउँछन्; जो परमेश्‍वरको स्वयम्को ईशनिन्दा गर्छन्; जो केही गर्दैनन् तर स्वयम् परमेश्‍वरको विरुद्ध दोष लाउँछन् र उहाँको गिल्‍ला गर्छन्; जो समूहहरू बनाउँछन् र स्वतन्त्रताको खोजी गर्छन्; जो परमेश्‍वरभन्दा आफूलाई उच्च पार्छन्; ती अगम्भीर युवाहरू, प्रौढहरू र वृद्ध-वृद्धा पुरुष र महिलाहरू, जो व्यभिचारमा फसेका छन्; व्यक्तिगत ख्याति र प्राप्तिको आनन्द लिने र अरूको बीचमा व्यक्तिगत हैसियत पछ्याउने ती पुरुष र महिलाहरू, पापमा फसेका ती अपश्‍चात्तापी मानिसहरू—के तिनीहरू सबै मुक्तिभन्दा बाहिर छैनन् र? व्यभिचार, पापी अवस्था, खराब औषधी, मन्त्रतन्त्र, ईशनिन्दात्मक शब्दहरू, र अशिष्ट शब्दहरू सबैले तिमीहरूमाझ दङ्गा मच्चाउँछन्; तिमीहरूमाझमा सत्यता र जीवनका वचनहरू कुल्चिइन्छन् र तिमीहरूमाझ पवित्र वचनहरू अशुद्ध पारिन्छन्। तिमी अन्यजातिहरू, फोहोर र विद्रोहले फुलिएका छौ! तिमीहरूको परिणाम के हुनेछ? जसले देहलाई प्रेम गर्दछन्, जसले देहको मन्त्रतन्त्र गर्दछन् र जो व्यभिचारको पापमा फसेका छन् तिनीहरूसँग जीवित रहने साहस कसरी हुन सक्छ! के तिमीलाई थाहा छैन, कि तिमीहरूजस्ता मानिसहरू मुक्ति पाउनै नसक्‍ने कीराहरू हौ? तिमीहरूलाई यो र त्यो माग गर्ने अधिकार कुन कुराले दिन्छ? आजको मितिसम्म, सत्यलाई प्रेम नगर्नेहरू र केवल देहलाई प्रेम गर्नेहरूमा अलिकता पनि परिवर्तन आएको छैन—त्यस्ता मानिसहरूले कसरी मुक्ति पाउन सक्छन्? जो जीवनको मार्गलाई प्रेम गर्दैनन्, जो परमेश्‍वरलाई उच्च पार्दैनन् र उहाँको साक्षी दिँदैनन्, जो आफ्नै हैसियतका खातिर युक्ति रच्छन्, जो आफैलाई उच्च पार्छन्—के तिनीहरू आज पनि त्यस्तै छैनन् र? तिनीहरूलाई मुक्ति दिनुको मूल्य के छ र? तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो वरिष्ठता कति ठूलो छ वा तैँले कति वर्षदेखि काम गर्दै आएको छस् भन्‍ने कुरामा निर्भर हुँदैन, र यो तैँले कति वटा योग्यता-प्रमाणहरू प्राप्त गरेको छस् भन्‍ने कुरामा त झनै निर्भर हुँदैन। बरु, यो त तेरो पछ्याइले फल फलाएको छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। तैँले यो जान्नु पर्दछ, जसलाई मुक्ति दिइएको छ तिनीहरू फल फलाउने “रूखहरू” हुन्, रमणीय पातहरू र प्रशस्त फूलहरू मात्र भएको तर फल नफल्ने रूखहरू होइनन्। यदि तैँले धेरै वर्ष गल्लीहरूमा घुमेर बिताएका छस् भने पनि, त्यसले के फरक पार्छ र? तेरो गवाही कहाँ छ? तँसँग आफैलाई प्रेम गर्ने र तेरा कामुक चाहनाहरूप्रति मोहित हुने हृदयभन्दा परमेश्‍वरको डर मान्ने हृदय धेरै कम छ—के यस प्रकारको व्यक्ति पतित होइन र? ऊ कसरी मुक्तिको नमुना र प्रारूप बन्न सक्छ? तेरो प्रकृति सुधार्न नसकिने छ, तँमा अति धेरै विद्रोहीपन छ, तैँले छुटकारा पाउनै सक्दैनस्! के यस्ता मानिसहरू हटाइने मानिसहरू होइनन्? के मेरो काम समाप्त हुने समय तेरो अन्तिम दिन आउने समय होइन र? मैले तिमीहरूमाझ अत्यन्तै धेरै काम गरेको र अत्यन्तै धेरै वचनहरू बोलेको छु—त्यसमध्ये कति साँच्चै तिमीहरूको कानमा पसेको छ? त्यसमध्ये कतिप्रति तिमीहरू कहिल्यै समर्पित भएका छौ? जब मेरो काम समाप्त हुन्छ, त्यो तैँले मेरो विरोध गर्न छोड्ने, तँ मेरो विरुद्धमा खडा हुन छोड्ने समय हुनेछ। मैले काम गर्दै गर्दा, तिमीहरू निरन्तर मेरो विरुद्ध काम गर्दछौ; तिमीहरू कहिल्यै मेरा वचनहरू पालन गर्दैनौ। म मेरो काम गर्दछु, र तँ तेरो आफ्नै “काम” गर्छस्, र आफ्नै सानो राज्य बनाउँछस्। तिमीहरू मविरुद्ध काम गर्नेबाहेक अरू केही नगर्ने स्याल र कुकुरहरूको बथान हौ! तिमीहरूलाई आफ्नो अविभाजित प्रेम दिनेहरूलाई तिमीहरू आफ्नो अङ्गालोमा ल्याउने निरन्तर कोसिस गरिरहेका छौ—तिमीहरूको डर मान्ने हृदय कहाँ छ? तिमीहरूले गर्ने सबै कुरा छली छन्! तिमीहरूसँग कुनै समर्पण वा डर छैन, र तिमीहरूले गर्ने सबै कुरा छली र ईशनिन्दात्मक छन्! के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? यौन रूपमा अनैतिक र कामुक पुरुषहरू सधैँ उनीहरूका आफ्नै आनन्दका निम्ति उत्ताउली वेश्याहरूलाई आकर्षित गर्न चाहन्छन्। म त्यस्ता यौन अनैतिक भूतात्माहरूलाई पटक्कै मुक्ति दिनेछैनँ। म तिमी फोहोर पिशाचहरूलाई पूर्ण रूपमा घृणा गर्छु, र तिमीहरूका कामुकता र उत्ताउलोपनले तिमीहरूलाई नरकमा डुबाउनेछन्। तिमीहरूको आफ्नै बारेमा तिमीहरूको भनाइ के छ? तिमी फोहोर पिशाच र दुष्टात्माहरू तिरस्कार्य छौ! तिमीहरू घिनलाग्दा छौ! यस्तो फोहोरलाई कसरी मुक्ति दिन सकिन्छ र? के पापमा फस्नेहरूलाई अझै मुक्ति दिन सकिन्छ? आज, तिमीहरूको हृदय यो सत्यता, यो मार्ग र यो जीवनप्रति आकर्षित छैन; बरु, त्यो त पापीपन, पैसा, हैसियत, ख्याति, प्राप्ति, देहको आनन्द, साथै पुरुषको सुन्दरता र महिलाको उत्ताउलोपनतर्फ आकर्षित छ। त्यसले तिमीहरूलाई कसरी मेरो राज्यमा प्रवेश गर्न योग्य बनाउँछ? तिमीहरूका छविहरू परमेश्‍वरको भन्दा पनि ठूला छन्, तिमीहरूको हैसियत परमेश्‍वरको भन्दा पनि उच्च छ, मानिसहरूमाझ तिमीहरूको इज्जतको त झन् कुरै नगरौँ—तिमीहरू वास्तवमा मानिसहरूले पूजा गर्ने मूर्ति बनेका छौ। के तिमीहरूमध्ये प्रत्येक नै प्रधान स्वर्गदूत बनेका छैनौ र? जब मानिसहरूका परिणामहरू प्रकाश गरिन्छन्, जुन बेला मुक्तिको काम पनि त्यसको अन्त्य नजिकै आइपुगेको हुनेछ, तब तिमीहरूमध्ये धेरै जना मुक्ति पाउन नसक्ने लासहरू भइसकेका हुनेछौ र तिमीहरूलाई हटाउनैपर्ने हुन्छ। मुक्तिको कामको बेला, म सबै मानिसहरूप्रति दयालु र भलो हुन्छु। जब काम समाप्त हुन्छ, तब फरक-फरक प्रकारका मानिसका परिणामहरू प्रकट हुनेछन्, र त्यस बेला म दयालु र असल हुनेछैनँ, किनकि मानिसहरूका परिणामहरू प्रकट भइसकेका हुनेछन्, र हरेकलाई आ-आफ्नो प्रकारअनुसार वर्गीकृत गरिएको हुनेछ, र मुक्तिको युग बितिसकेको हुने, र बितिसकेपछि त्यो नफर्किने भएकै कारण थप मुक्तिको काम गर्नुको कुनै फाइदा हुनेछैन।

अघिल्लो: अभ्यास (६)

अर्को: अभ्यास (८)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्