अभ्यास (६)

आज, पत्रुसको समझ प्राप्त गर्नेबारेमा चिन्ता नगर—धेरै मानिसहरूले पावलको समझ पनि प्राप्त गर्न सक्दैनन्। तिनीहरूसँग पावलको आत्म-सचेतना पनि हुँदैन। पावलले प्रभु येशूलाई सताएको कारण, तिनलाई प्रभुले प्रहार गर्नुभएको भए पनि, पछि तिनले प्रभुको निम्ति काम गर्ने र कष्ट भोग्‍ने संकल्प गरे। येशूले तिनलाई एउटा रोग दिनुभयो र पछि पावलले काम गर्न थालेपछि यो रोगलाई निरन्तर भोगे। किन तिनले तिनको शरीरमा एउटा काँडा छ भनी भने? त्यो काँडा वास्तवमा एउटा रोग थियो र पावलका लागि त्यो एक घातक कमजोरी थियो। तिनले जति धेरै काम गरे पनि वा तिनले कष्ट सहने जति ठूलो संकल्प गरे पनि तिनले त्यो काँडाबाट छुटकारा पाउन सकेनन्। तैपनि, पावल आजका तिमी मानिसहरूभन्दा धेरै क्षमता भएका व्यक्ति थिए र तिनी आत्म-सचेत थिए र तिनमा तिमीहरूभन्दा पनि बढी समझ थियो। येशूद्वारा प्रहार गरिएपछि, पावलले येशूका चेलाहरूलाई सताउन छाडे र येशूको लागि प्रचार गर्न र दुःख सहन थाले। कुन कुराले तिनलाई दुःखकष्ट सहन प्रेरित गऱ्यो? तिनले ठूलो ज्योति देखेका थिए, यसैले तिनले प्रभु येशूको साक्षी दिनैपर्छ, अब येशूका चेलाहरूलाई सताउनु हुँदैन र अबउप्रान्त परमेश्‍वरको कामको विरोध गर्नु हुँदैन भनी तिनले विश्‍वास गरे। पावल धर्मको एक उच्‍च ओहदाका व्यक्ति थिए। तिनी धेरै जानकार र प्रतिभाशाली थिए, तिनले सामान्य मानिसहरूलाई हेला गर्थे र तिनको व्यक्तित्व धेरै मानिसहरूको भन्दा बलियो थियो। तर तिनीमाथि त्यो “ठूलो ज्योति” चम्किएपछि, तिनले प्रभु येशूका लागि काम गर्न, परमेश्‍वरका लागि कष्ट भोग्‍ने संकल्प गर्न र आफूलाई परमेश्‍वरको सामु अर्पण गर्न सके, जुन कुराले तिनीसित समझ थियो भन्‍ने प्रमाणित गऱ्यो। तिनले येशूका चेलाहरूलाई सताउने र पक्राउ गर्ने गरिरहेका बेला, तिनीकहाँ देखा परेर येशूले भन्‍नुभयो: “ए पावल, तिमी किन मलाई सताउँछौ?” पावल तुरुन्तै लडे र तिनले भने: “तपाईं को हुनुहुन्छ, प्रभु?” आकाशबाट आएको आवाजले भन्यो: “म येशू हुँ जसलाई तिमी सताउँछौ।” पावल तुरुन्तै चेतनामा आए, र त्यसपछि मात्र तिनले येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्‍वर हुनुहुन्छ भनी जाने। “मैले आज्ञापालन गर्नैपर्छ। परमेश्‍वरले मलाई यो अनुग्रह दिनुभएको छ—मैले उहाँलाई यसरी सताएँ, तर पनि उहाँले मलाई प्रहार गर्नुभएन, न त उहाँले मलाई सराप्‍नुभयो। मैले उहाँका लागि कष्ट भोग्‍नैपर्छ।” पावलले के कुरालाई स्वीकार गरे भने, तिनले प्रभु येशू ख्रीष्टलाई सताएका थिए र अहिले तिनी उहाँका चेलाहरूलाई मारिरहेका थिए र पनि परमेश्‍वरले तिनलाई सराप दिनुभएको थिएन, बरु तिनीमाथि ज्योति चम्काउनुभएको थियो। यसले तिनलाई उत्प्रेरणा दियो र तिनले भने: “मैले उहाँको अनुहार हेरिनँ, तैपनि मैले उहाँको स्वर सुनेँ र उहाँको ठूलो ज्योति देखेँ। अब मात्र मैले बुझेँ कि परमेश्‍वरले मलाई साँच्‍चै प्रेम गर्नुहुन्छ, र प्रभु येशू ख्रीष्ट साँच्‍चै मानिसलाई कृपा गर्नुहुने र मानिसका पापहरू सदाका लागि क्षमा गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। म एक पापी हुँ भन्‍ने कुरा मैले साँच्‍चै देखेँ।” पछि परमेश्‍वरले काम गर्न पावलका प्रतिभाहरूको प्रयोग गर्नुभयो, तर केही क्षणका लागि यो कुरालाई बिर्स। त्यस समय तिनको संकल्प, तिनको सामान्य मानव समझ र तिनको आत्म-सचेतना—तिमीहरूले यी कुराहरू प्राप्त गर्न सक्दैनौ। आज, के तिमीहरूले धेरै ज्योति पाएका छैनौ र? के परमेश्‍वरको स्वभाव प्रताप, क्रोध, न्याय र सजायको स्वभाव हो भनी धेरैले देखेका छैनन् र? मानिसहरूमाथि धेरैपटक सराप, परीक्षा र शोधन आइलागेको छ—अनि तिनीहरूले के सिकेका छन्? तैँले अनुशासन र निराकरणमा परेर के प्राप्त गरेको छस्? तँमाथि धेरैचोटि कठोर वचनहरू, प्रहार र न्याय आइलागेको छ, तैपनि तँ तिनमा ध्यान दिँदैनस्। तँमा पावलमा भएको समझ अलिकति पनि छैन—के तँ अति नै पछौटे होइनस् र? पावलले स्पष्टसँग नबुझेका कुराहरू पनि धेरै थिए। तिनलाई आफूमाथि ज्योति चम्केको मात्र थाहा थियो, तर आफूलाई प्रहार गरिएको कुरा थाहा थिएन; तिनले व्यक्तिगत रूपमा के विश्‍वास गरे भने तिनीमाथि ज्योति चम्केपछि तिनले आफूलाई परमेश्‍वरमा समर्पण गर्नुपर्छ, परमेश्‍वरको निम्ति कष्ट भोग्‍नुपर्छ, प्रभु येशू ख्रीष्टका लागि मार्ग तयार गर्न सबै कुरा गर्नुपर्छ र धेरै पापीहरूलाई प्रभुको छुटकारा दिलाउनुपर्छ। यो तिनको संकल्प र तिनको कामको एक मात्र उद्देश्य थियो—तर जब तिनले काम गरे, यो रोगले तिनलाई अझै पनि छोडेन, तिनको मृत्यु हुञ्‍जेलसम्‍म पनि छोडेन। पावलले २० वर्षभन्दा बढी समयसम्म काम गरे। तिनले ठूलो दुःख र धेरै सतावट र सङ्कष्टहरू भोगे, तर निश्‍चय नै यी सब पत्रुसले भोगेका परीक्षाहरूभन्दा कम थिए। यदि तिमीहरूमा पावलको जति पनि समझ छैन भने यो कति दयनीय कुरा हुन्छ? यस्तो अवस्था भएकोले, परमेश्‍वरले तिमीहरूमा अझ ठूलो काम गर्न कसरी सुरु गर्न सक्‍नुहुन्‍छ?

सुसमाचार फैलाउँदा, पावलले ठूलो कष्ट भोगे। त्यस बेला तिनले गरेका काम, तिनको संकल्प, तिनको विश्‍वास, बफादारी, प्रेम, धैर्य र तिनको नम्रता, र तिनले जिएका अन्य धेरै बाह्य कुराहरू आज तिमीहरूको भन्दा उच्‍च थिए। कडा शब्दमा भन्‍ने हो भने, तिमीहरूभित्र कुनै सामान्य समझ छैन; तिमीहरूमा कुनै विवेक वा मानवता छैन। तिमीहरूमा धेरै कुराको अभाव छ! यसैले, तिमीहरूले जिउने कुरामा धेरैजसो समय कुनै सामान्य समझ पाइँदैन र आत्म-सचेतनाको नामनिसान समेत हुँदैन। त्यसबेला पावल शारीरिक रोगले ग्रस्त भए पनि तिनले प्रार्थना र खोजी गरिरहे: “वास्तवमा, यो रोग के हो? मैले प्रभुका निम्ति यी सबै काम गरेको छु, यो कष्टबाट म किन छुटकारा पाउँदिन? के प्रभु येशूले मलाई जाँचिरहनुभएको हुन सक्छ? के उहाँले मलाई प्रहार गर्नुभएको हो? यदि उहाँले मलाई प्रहार गर्नुभएको हो भने म त्यतिखेरै नै मर्नेथिएँ, र उहाँको निम्ति यी सबै कामहरू गर्न असमर्थ हुनेथिएँ, न त मैले त्यति धेरै ज्योति पाउन सक्थें। उहाँले मेरो संकल्प पनि पुरा गर्नुभयो।” पावलले त्यो रोग परमेश्‍वरले तिनलाई जाँच्न पठाउनुभएको हो र त्यो तिनको विश्‍वास र इच्छा-शक्तिलाई सन्तुलन गर्ने कार्य हो भन्‍ने महसुस गरे—पावलले यस कुरालाई यसरी नै हेरे। वास्तवमा, तिनको रोग प्रभु येशूले तिनलाई प्रहार गर्नुभएपछिको परिणाम थियो। त्यसले तिनलाई भावनात्मक दबाबमा पाऱ्यो र तिनको विद्रोहीपनलाई लगाम लगायो। यदि तिमीहरूले आफूलाई पावलको परिस्थितिमा पायौ भने, तिमीहरूले के गर्नेथियौ? के तिमीहरूको संकल्प र दुःख भोग्‍ने क्षमता पावलको जत्तिको हुन सक्थ्यो? आज, यदि तिमीहरूमाथि कुनै रोग आइलाग्यो, वा तिमीहरूले ठूलो परीक्षा भोग्‍नुपर्‍यो र तिमीहरू कष्टमा पर्‍यौ भने, तिमीहरू कस्तो हुनेछौ भन्‍ने कसलाई के थाहा। यदि तिमीहरूलाई पिँजडामा राखियो र तिमीहरूलाई निरन्तर खान-पिउन दिइयो भने, तिमीहरू ठीकठाक हुनेछौ। अन्यथा तिमीहरू मानवता नभएका ब्वाँसाहरू जस्तै हुनेछौ। त्यसैले जब तिमीहरूले थोरै बाधा वा कठिनाइ भोग्छौ, त्यो तिमीहरूका निम्ति राम्रो हुन्छ; यदि तिमीहरूलाई सहज समय दिइयो भने तिमीहरू बरबाद हुनेथ्यौ, तब तिमीहरू कसरी सुरक्षित हुन सक्थ्यौ? आज, तिमीहरूलाई सजाय, न्याय र श्राप दिइएको हुनाले तिमीहरूलाई सुरक्षा दिइएको छ। तिमीहरूले धेरै दुःख भोगेका हुनाले नै तिमीहरू सुरक्षित छौ। होइन भने तिमीहरू धेरै अघि नै भ्रष्टतामा पर्नेथ्यौ। यो जानीजानी तिमीहरूको स्थिति गाह्रो बनाइएको होइन—मानिसको प्रकृति परिवर्तन गर्न गाह्रो छ, र तिनीहरूको स्वभाव परिवर्तन गर्न पनि त्यत्तिकै कठिन छ। आज, तिमीहरूमा पावलको जस्तो विवेक वा समझ छैन, न त तिमीहरूमा आत्म-सचेतना नै छ। तिमीहरूलाई सधैँ दबाबमा पार्नुपर्छ र तिमीहरूका आत्मालाई जगाउन तिमीहरूलाई सधैँ सजाय र न्याय गर्नुपर्छ। सजाय र न्याय नै तिमीहरूको जीवनका निम्ति सर्वोत्तम छ। अनि आवश्यक पर्दा, तिमीहरूमाथि तथ्यहरूको सजाय पनि आइपर्नुपर्छ; तब मात्र तिमीहरू पूर्ण रूपमा समर्पित हुनेछौ। तिमीहरूको प्रकृति यस्तो छ कि सजाय र श्रापविना तिमीहरू आफ्नो शिर झुकाउन तयार हुँदैनौ, समर्पित हुन इच्छुक हुँदैनौ। तिमीहरूको आँखाअगाडि तथ्यहरू नराखीकन, कुनै प्रभाव हुनेछैन। तिमीहरू चरित्रमा अति तुच्छ र महत्त्वहीन छौ। सजाय र न्यायविना तिमीहरूलाई जित्‍न र तिमीहरूको अधार्मिकता र अवज्ञामाथि विजय हासिल गर्न गाह्रो छ। तिमीहरूको पुरानो प्रकृतिको जड गहिरो छ। यदि तिमीहरूलाई सिंहासनमा राखिएको भए, तिमीहरूलाई स्वर्गको उचाइ र पृथ्वीको गहिराइको बारेमा केही पनि थाहा हुँदैनथ्यो, तिमीहरू कहाँ जाँदै छौ भन्‍ने थाहा हुनु त परै जाओस्। तिमीहरू कहाँबाट आएका हौ भन्‍ने पनि तिमीहरूलाई थाहा हुँदैन, त्यसैले तिमीहरूले सृष्टिकर्ता परमप्रभुलाई कसरी चिन्‍न सक्छौ? आजको सामयिक सजाय र श्रापविना तिमीहरूको अन्तिम दिन धेरै अघि नै आइसकेको हुनेथ्यो। तिमीहरूको भाग्यको बारेमा त केही भनिएकै छैन—के त्यो झन् बढी आसन्‍न खतरामा पर्नेथिएन र? यो सामयिक सजाय र न्यायविना तिमीहरू कति धेरै अहङ्कारी हुनेथ्यौ वा तिमीहरू कति पतित हुनेथ्यौ, कसलाई थाहा छ र। यस सजाय र न्यायले तिमीहरूलाई आजको दिनमा ल्याएको छ र तिनले तिमीहरूको अस्तित्व सुरक्षित राखेका छन्। यदि तिमीहरू अझै पनि तिमीहरूका “पितापुर्खा” का जस्तै विधिहरू प्रयोग गरी “शिक्षित” हुन्थ्यौ भने, तिमीहरू कुन क्षेत्रभित्र प्रवेश गर्नेथ्यौ भनी कसले जान्दछ! तिमीहरूमा आफैलाई नियन्त्रण गर्ने र आफ्‍नै बारेमा चिन्तन गर्ने क्षमता छँदै छैन। तिमीहरूजस्ता मानिसहरू यदि कुनै पनि हस्तक्षेप वा बाधाविना पछि लाग्छौ र आज्ञापालन गर्छौ भने, मेरा उद्देश्यहरू हासिल हुनेछन्। के तिमीहरूले आजको सजाय र न्यायलाई स्वीकार गर्न अझ राम्रो गर्नुपर्दैन र? तिमीहरूसँग अरू के विकल्प छ र? जब पावलले प्रभु येशूले बोलिरहनुभएको र काम गरिरहनुभएको देखे, त्यसबेला पनि तिनले विश्‍वास गरेनन्। पछि, प्रभु येशू क्रूसमा टाँगिनुभयो र पुनरुत्थान हुनुभयो, तब तिनले यो तथ्य थाहा पाए, तैपनि तिनले सतावट र विरोध गर्न जारी राखे। जानीजानी पाप गर्नु भनेको यही हो र त्यसैले तिनलाई प्रहार गरियो। सुरुमा तिनले यहूदीहरूमाझ एक राजा छन् जसलाई येशू पनि भनिन्छ भन्‍ने थाहा पाए, तिनले यो कुरा सुनेका थिए। पछि, तिनले मन्दिरमा प्रवचन दिने र देशभरि प्रचार गर्ने क्रममा, तिनी येशूको विरुद्धमा गए र अहङ्कार गर्दै कुनै पनि मानिसको आज्ञा पालन गर्न इन्कार गरे। यी कुराहरू त्यस समयमा कामको लागि ठूलो बाधा भए। जब येशू काम गर्दै हुनुहुन्थ्यो, त्यस बेला पावलले प्रत्यक्ष रूपमा मानिसहरूलाई सताएनन् र पक्राउ गरेनन्, तर येशूका कामहरूलाई नाश पार्न तिनले प्रचार र वचनहरूको प्रयोग गरे। पछि, प्रभु येशू ख्रीष्टलाई क्रूसमा टाँगिएपछि, तिनले चेलाहरूलाई पक्राउ गर्न थाले, हतारहतार ठाउँठाउँमा गए अनि उनीहरूलाई सताउन यथासक्दो कोसिस गरे। तिनीमाथि त्यो “ज्योति” चम्केपछि मात्र तिनमा चेतना आयो र तिनले ठूलो पछुतो महसुस गरे। तिनलाई प्रहार गरिएपछि तिनलाई रोगले कहिल्यै छोडेन। कहिलेकाहीँ, तिनले आफ्नो कष्ट झन्-झन् बढेर गएको महसुस गरे, र ओछ्यानबाट उठ्न सक्दैनथे। तिनी सोच्थे: “यो के भइरहेको छ? के मलाई साँच्‍चै प्रहार गरिएको हो?” त्यो रोगले तिनलाई कहिल्यै छोडेन र यही बिमारीको कारण तिनले धेरै काम गरे। यो भन्‍न सकिन्छ कि पावलको अहङ्कार र हठको कारण येशूले तिनमा यो रोग राखिदिनुभएको थियो; यो पावलको लागि एक दण्ड थियो, तर पावलका वरदानहरूलाई परमेश्‍वरको काममा प्रयोग गर्नका लागि पनि त्यसो गरिएको थियो, ताकि उहाँको काम बढेर जान सकोस्। वास्तवमा भन्‍ने हो भने, परमेश्‍वरको इच्‍छा पावललाई मुक्ति दिने नभई तिनलाई प्रयोग गर्ने थियो। तैपनि पावलको स्वभाव अत्यन्तै अहङ्कारी र हठी भएकोले तिनमा एउटा “काँडो” राखियो। आखिरमा, पावलले आफ्नो काम सिध्याएको समयसम्‍ममा त्यो रोग तिनका लागि त्यति ठूलो यातना रहेन र तिनको काम समाप्त हुन लागेको हुनाले, तिनले यसो भन्‍न सके, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ”—तिनले परमेश्‍वरको कामलाई नचिनेको हुनाले तिनले त्यसो भनेका थिए। तिमीहरूको माझमा पावलजस्ता व्यक्तिहरू धेरै छन्, तर यदि तिमीहरूमा साँच्‍चै अन्त्यसम्मै मार्ग पछ्याउने संकल्प छ भने तिमीहरूलाई दुर्व्यवहार गरिनेछैन। पावलले कस्तो प्रकारले विद्रोह र प्रतिरोध गरे भन्‍नेबारेमा हामी यहाँ छलफल गर्नेछैनौँ; हामी तिनका सकारात्मक र सराहनीय पक्षलाई हेरौँ: तिनीसँग विवेक थियो र “ज्योति” पाइसकेपछि तिनले आफूलाई परमेश्‍वरमा समर्पित गर्न र परमेश्‍वरका लागि कष्ट भोग्‍न सके। यो तिनको एक सबल पक्ष थियो। तर, यदि तिनमा एक सबल पक्ष भएकोले तिनी आशिषित थिए भनी विश्‍वास गर्नेहरू छन् भने, यदि तिनीहरू तिनलाई सजाय नै दिइएन भनी सोच्छन् भने, यी त समझ नभएका मानिसहरूका वचनहरू हुन्।

प्रार्थना गर्दा र परमेश्‍वरका वचनहरू पढ्दा धेरैजसो मानिसहरू परमेश्‍वरमा समर्पित हुन तयार हुन्छन्, तर एकान्तमा चाहिँ दुराचारी बन्छन् र त्यसबारेमा केही पनि सोच्दैनन्। एकपछि अर्को तह प्रकट गर्दै परमेश्‍वरका वचनहरू बारम्बार बोलिएका छन्, र मानिसहरूको तल्लो तहको पर्दाफास भएपछि मात्र तिनीहरूले “शान्ति पाउँछन्” र तिनीहरू कम अभिमानी र हठी बन्छन्, कम असह्य अहङ्कारी हुन्छन्। आज तिमीहरूको अवस्था जस्तो छ, त्यसअनुसार त तिमीहरूलाई अझै पनि निर्ममतापूर्वक प्रहार र पर्दाफास गरिनुपर्छ र सानोभन्दा सानो कुरालाई समेत नछोडीकन न्याय गरिनुपर्छ, ताकि तिमीहरूलाई सास फेर्ने मौका समेत नहोस्। तिमीहरूलाई कठोर सजाय र न्यायले नछोडेकै जाती, र निन्दा र सरापहरू तिमीहरूबाट टाढा नहटेकै राम्रो, ताकि तिमीहरूले परमेश्‍वरका प्रशासनिक आदेशहरूका हात तिमीहरूबाट कहिल्यै अलग हुँदैन भन्‍ने देख्‍न सक। व्यवस्थाको युगमा परमप्रभुले आफूलाई कहिल्यै नत्याग्‍नुभएको हारूनले देखे (तिनले यहोवाको निरन्तर मार्गदर्शन र सुरक्षा देखेका थिए; आज तिमीहरूले देख्‍ने परमेश्‍वरको मार्गदर्शन भनेका सजाय, सराप र न्याय हुन्), ठीक त्यसरी नै आज यहोवाको प्रशासनिक आदेशहरूको हातले तिमीहरूलाई पनि छोड्दैन। तैपनि, एउटा कुरामा तिमीहरू ढुक्‍क हुन सक्छौ: तिमीहरूले जसरी विरोध, विद्रोह र आलोचना गरे पनि, तिमीहरूको देहलाई कुनै हानि हुनेछैन। तर यदि तिनीहरू विरोधको धेरै हदसम्‍म जान्छन् र काममा बाधा दिन्छन् भने, त्यो स्वीकार्य हुँदैन; त्यसमा सीमा हुन्‍छ। मण्डलीको जीवनलाई बाधा नदेओ वा हस्तक्षेप नगर, र पवित्र आत्माको काममा बाधा नदेओ। बाँकी कुराका लागि, तैँले जे चाहन्छस् त्यही गर्न सक्छस्। यदि तँ जीवनलाई पछ्याउन चाहँदिनँ, संसारमा फर्कन चाहन्छु भन्छस् भने छिटो गर् र गइहाल! तिमीहरूले जे गर्छौ त्यसले परमेश्‍वरको काममा बाधा पुर्‍याउँदैन भने तिमीहरूले जेसुकै गर्न सक्छौ। तैपनि तैँले जान्‍नुपर्ने अर्को एउटा कुरा छ: अन्त्यमा, त्यसरी जानाजानी पाप गर्नेहरू सबैलाई नाश पारिनेछ। आज, तँलाई निन्दा नगरिएला, तर अन्त्यमा, थोरै मानिसहरूले मात्र साक्षी दिन सक्‍नेछन्—र बाँकी सबै खतरामा पर्नेछन्। यदि तँ यस प्रवाहमा हुन चाहँदैनस् भने ठीकै छ। आजका मानिसहरूलाई सहनशीलताको साथ व्यवहार गरिन्छ; यदि तँ भोलिको सजायप्रति डराउँदैनस् भने म तँलाई सीमित गर्दिनँ। तर यदि तँ यो प्रवाहमा छस् भने, तैँले गवाही दिनुपर्छ, र तँलाई सजाय दिइनैपर्छ। यदि तँ यसलाई अस्वीकार गरेर संसारमा फर्कन चाहन्छस् भने ठीकै छ—कसैले तँलाई रोक्दैन! तर यदि तैँले विनाशकारी काम गर्छस् र परमेश्‍वरको काममा बाधा पुर्‍याउँछस् भने, तँलाई त्यसका लागि बिलकुलै क्षमा गर्न सकिँदैन! कुन-कुन मानिसहरूलाई सजाय दिइन्छ र कसका परिवारहरूलाई श्राप दिइन्छ भन्‍ने बारेमा तेरो आँखाले देख्‍ने र तेरो कानले सुन्‍ने कुराहरूको बारेमा भन्दा, यी सबैका लागि सीमितता र सीमाहरू छन्। पवित्र आत्माले हलकासित काम गर्नुहुन्‍न। तिमीहरूले गरेका पापहरूको आधारमा, यदि तिमीहरूसित व्यवहार गर्नुपऱ्यो र तिमीहरूको आफ्नै अधार्मिकताअनुसार तिमीहरूलाई गम्भीरतासाथ लिनुपऱ्यो भने, तिमीहरूमध्ये को बाँच्न सक्‍नेक्थौ? तिमीहरू सबै विपत्तिमा पर्नेथ्यौ, र तिमीहरूमध्ये कसैको पनि राम्रो परिणाम हुन्थेन। तैपनि आज धेरै मानिसहरूलाई सहिष्णुताका साथ व्यवहार गरिन्छ। तिमीहरूले आलोचना, विद्रोह र विरोध गरे पनि, जबसम्म तिमीहरूले बाधा दिँदैनौ, तबसम्‍म म तिमीहरूलाई मुस्कानसहित सामना गर्नेछु। यदि तिमीहरूले साँच्‍चै नै जीवनको खोजी गर्दै छौ भने, तिमीहरूले थोरै सजाय भोग्‍नुपर्नेछ, र तिमीहरू शल्यक्रियाको टेबलमा जानलाई आफूले मन पराएको कुरासँग अलग हुनुपरेको पीडा सहनुपर्नेछ; पत्रुसले परीक्षा र कष्ट स्वीकार गरेजस्तै तैँले पीडा सहनु नै पर्नेछ। आज, तँ न्याय आसनको सामुन्‍ने छस्। भविष्यमा, तँ “शिर काट्ने यन्त्र” मा जानुपर्छ, जुन तैँले आफैलाई “बलिदान” गर्ने समय हुनेछ।

आखिरी दिनहरूको कामको यो अन्तिम चरणमा, सायद तँ परमेश्‍वरले तेरो शरीरलाई नाश गर्नुहुनेछैन र तैँले उहाँको विरोध गरे पनि वा उहाँलाई दोष लगाए पनि आफूले कुनै व्यथा सहनुपर्नेछैन भन्‍ने विश्‍वास गर्छस् होला—तर जब तँमाथि परमेश्‍वरका कठोर वचनहरू आइपर्छन्, जब तेरो विद्रोह र प्रतिरोध अनि तेरो घिनलाग्दो रूप सबै उदाङ्गो हुन्छन्, तब तँ लुक्‍न सक्‍नेछैनस्। तँ आतङ्कित हुनेछस् र अन्योलमा पर्नेछस्। आज, तिमीहरूमा थोरै भए पनि विवेक हुनुपर्छ। परमेश्‍वरको विरोध र विद्रोह गर्ने दुष्टहरूको भूमिका नखेल। तैँले आफ्नो पुरानो पुर्खातर्फ पिठिउँ फर्काउनुपर्छ; तँमा हुनुपर्ने कद यही हो र तँमा हुनुपर्ने मानवता यही हो। तँ सधैँ आफ्नो भविष्यका सम्भावनाहरू वा आजको आनन्दलाई पन्साउन असक्षम हुन्‍छस्। परमेश्‍वर भन्‍नुहुन्छ: “जबसम्म तिमीहरू मेरो अनुसरण गर्न र सत्यको पछि लाग्‍न सक्दो प्रयास गर्छौ, म तिमीहरूलाई निश्‍चित रूपले सिद्ध बनाउनेछु। तिमीहरू सिद्ध पारिएपछि, तिमीहरूको गन्तव्य सुन्दर हुनेछ—तिमीहरूलाई मेरो राज्यमा मसँग आशिष्‌हरूको आनन्द लिन ल्याइनेछ।” तिमीहरूका निम्ति एउटा सुन्दर गन्तव्यको प्रतिज्ञा गरिएको छ, तैपनि तिमीहरूका मापदण्डहरूलाई कहिल्यै पनि कम गर्न सकिँदैन। एउटा सर्त पनि छ: तिमीहरूलाई विजय गरिए पनि वा सिद्ध पारिए पनि, आज तिमीहरूले केही सजाय र केही कष्ट भोग्‍नुपर्नेछ; तिमीहरूलाई प्रहार र अनुशासित गरिनुपर्छ; तैँले मेरो वचन सुन्‍नुपर्छ, मेरो मार्ग पछ्याउनुपर्छ, र परमेश्‍वरको इच्छाबमोजिम काम गर्नुपर्छ—तिमी मानिसहरूले गर्नुपर्ने कार्य यही हो। तैँले जसरी पछ्याए पनि, तैँले यसरी स्पष्ट रूपमा सुन्‍नुपर्छ। यदि तँसँग सच्‍चा अन्तर्दृष्टिहरू छन् भने, तँ पछि लागिरहन सक्छस्। यदि तँलाई यहाँ कुनै सम्भावना वा आशा छैन भन्‍ने लाग्छ भने, तँ जान सक्छस्। तँलाई यी वचनहरू स्पष्ट रूपमा बताइएको छ, तर यदि तँ साँच्‍चै जान चाहन्छस् भने, त्यसले तँसित अलिकति पनि विवेक छैन भन्‍ने मात्र देखाउँछ; तेरो यस्तो कार्य नै तँ एक नरपिशाच होस् भन्‍ने प्रमाणित गर्न पर्याप्त हुन्छ। तैँले सबै कुरा परमेश्‍वरका योजनाबद्ध कार्यहरूको अधीनमा छोडेको छु भनेर भन्छस्, तैपनि तेरो देह र तँ जसरी जिउँछस् सो आधारमा हेर्दा, अझै पनि तँ शैतानको प्रभुत्वमै जिउँछस्। शैतान पनि परमेश्‍वरको हातमा हुन्छ, तर तँ आफै अझै शैतानको अधीनमा छस् र तँलाई परमेश्‍वरद्वारा मुक्त गरिनु अझै बाँकी नै छ, किनकि तँ अझै पनि शैतानको प्रभावमा बाँचिरहेको छस्। तैँले मुक्ति पाउनका लागि कसरी खोजी गर्नुपर्छ? विकल्प रोज्ने काम तेरो हो—तैँले हिँड्ने बाटो तैँले आफै चुन्‍नुपर्छ। अन्त्यमा, यदि तैँले “मसँग केही पनि राम्रो छैन, म मेरो विवेकद्वारा परमेश्‍वरको प्रेमको ऋण चुकाउँछु, र मसँग थोरै मात्र भए पनि मानवता हुनुपर्छ। मैले कुनै ठूलो कुरा हासिल गर्न सक्दिनँ, न त मेरो क्षमता त्यति उच्‍च छ; म परमेश्‍वरको कामको दर्शन र अर्थलाई बुझ्दिनँ। म केवल परमेश्‍वरको प्रेमको ऋण तिर्छु, म त्यही गर्छु जे परमेश्‍वरले भन्‍नुहुन्छ, र म जे गर्न सक्छु ती सब गर्छु। म परमेश्‍वरको सृष्टिको रूपमा रहेको मेरो कर्तव्य राम्ररी पूरा गर्छु,” भनेर भन्‍न सकिस् भने, म सन्तुष्ट हुनेछु। तैँले दिनसक्‍ने सबैभन्दा उत्कृष्ट गवाही यही हो। मानिसहरूको एउटा समूहबाट अपेक्षा गरिएको सर्वोच्‍च मापदण्ड अर्थात् परमेश्‍वरको सृष्टिको कर्तव्य पूरा गर्नु यही हो। तैँले जति गर्न सक्छस् त्यत्ति गर्; तँबाट अपेक्षा गरिएको मापदण्ड त्यत्ति धेरै उच्‍च छैन। जबसम्म तैँले सक्‍ने जति सबै गर्छस्, तब त्यो तेरो गवाही हुन्छ।

अघिल्लो: विजयको कामको भित्री सत्यता (४)

अर्को: अभ्यास (७)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्