अध्याय १०५
मेरा वचनका सिद्धान्तहरू र मैले काम गर्ने शैलीको कारण मानिसहरूले मलाई अस्वीकार गर्छन्; मैले यति धेरै समय बोल्नु पछिको उद्देश्य यही हो (यो ठूलो रातो अजिङ्गरका सारा सन्तानहरूप्रति निर्देशित छ)। यो मेरो कामको बुद्धिमानी तरिका हो; यो ठूलो रातो अजिङ्गरप्रतिको मेरो न्याय हो। यो मेरो रणनीति हो, र कुनै पनि व्यक्तिले यसलाई पूर्ण रूपमा बुझ्न सक्दैन। प्रत्येक मोडमा—अर्थात्, मेरो व्यवस्थापनको हरेक सङ्क्रमणकालीन चरणमा—केही मानिसहरूलाई निष्कासन गरिनु नै पर्छ; तिनीहरूलाई मेरो कामको क्रमअनुसार निष्कासन गरिन्छन्। यही, र केवल यही मात्रै मेरो सारा व्यवस्थापनको योजनाको काम गर्ने तरिका हो। मैले हटाउन चाहेका मानिसहरूलाई एक-एक गरेर फ्यालेपछि म मेरो अर्को चरणको काम सुरु गर्छु। तथापि, यो अन्तिम निष्कासन हुनेछ (र यसको अर्थ चीनका मण्डलीहरू भित्र हुने कुरा हो), अनि यो पृथ्वीको सृष्टिपछि सङ्क्रमणकालीन चरणको दौरानको यस्तो समय हो जहाँ धेरै मात्रामा मानिसहरूलाई निष्कासन गरिनेछ। इतिहासभरि मानिसहरू निष्कासन गरिँदा हरेक पटक पछिको काममा सेवा गर्नको निम्ति केही हिस्सा छोडिएको छ। तैपनि, यो पछिल्लो पटकको जस्तो होइन; यो स्वच्छ र प्रभावकारी छ। यो अहिलेसम्मको सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा व्यापक छ। धेरैजसो मानिसहरूले मेरा वचनहरू पढेपछि आफ्ना मनबाट शङ्का लाद्न खोज्छन्, अन्ततः तिनीहरूले यसलाई जित्न सक्दैनन्, र अन्त्यमा तिनीहरू आफ्ना संघर्षमा पतन हुन्छन्। यो तिनीहरूले निर्णय गर्ने कुरा होइन, किनकि जसलाई मैले अघिबाटै नियुक्त गरेको छु त्यो उम्कन सक्दैन र जसलाई मैले अघिबाटै नियुक्त गरेको छैन त्यसलाई म तिरस्कार मात्रै गर्नसक्छु। म केवल मैले निगाह गरेर हेर्ने मानिसहरूलाई मात्र प्रेम गर्छु; नत्रता कुनै पनि व्यक्ति स्वतन्त्रसाथ मेरो राज्य छोड्न र त्यसभित्र प्रवेश गर्न सक्दैन। यो मेरो फलामको डन्डा हो, र केवल यो मात्र मेरो प्रशासनिक आदेश लागू गर्ने कार्यको शक्तिशाली गवाही र पूर्ण प्रकटीकरण हो। यो केवल उत्साहित हुनु सम्बन्धी विषय मात्र होइन। शैतान पतनको विरुद्ध शक्तिहीन भएको छ भनेर मैले किन भनेको हुँ? सुरुमा त्यससँग शक्ति थियो, तर यो मेरो हातमा छ; यदि मैले त्यसलाई सुत भनेँ भने त्यो सुत्नुपर्छ, अनि यदि मैले त्यसलाई मेरो सेवा गर्नलाई उठ् भनेँ भने त्यसले उठेर मेरो सेवा गर्नुपर्छ, र राम्ररी यसो गर्नुपर्छ। शैतान यसो गर्न राजी भएर होइन; मेरो फलामको डन्डाले शैतानमाथि शासन गर्ने भएकोले यसो भएको हो, र यसरी मात्र त्यो हृदय र वचनमा विश्वस्त हुन्छ। मेरो प्रशासनिक आदेशले यसलाई शासन गर्छ र मसँग मेरो शक्ति छ, यसैले शैतान बिलकुल आश्वस्त हुन बाहेक अरू केही गर्न सक्दैन; कुनै प्रतिरोधको निशानाविना त्यसलाई मेरो पाउदानमुनि कुल्चीमिल्ची पारिनुपर्छ। विगतमा, जब त्यसले मेरा छोराहरूको निम्ति सेवा प्रदान गरिरहेको थियो, शैतान अति दुस्साहसी भयो र मलाई शर्ममा पार्ने आशाले र म असक्षम छु भन्ने कुरा दाबी गर्नको निम्ति स्वेच्छाले तिनीहरूलाई हेप्ने गर्थ्यो। कति अन्धो! म तँलाई कुल्चीमिल्ची गरेर मार्नेछु! अघि बढ्; फेरि एक पटक क्रूर बन्ने हिम्मत गर्! मेरा छोराहरूसँग फेरि उदासीनताका साथ कठोर व्यवहार गरेर त हेर्! मानिसहरू जति इमान्दार हुन्छन् र तिनीहरूले जति मेरा वचनहरू सुन्छन् र मप्रति समर्पित हुन्छन्, तैँले तिनीहरूलाई त्यति नै हेप्छस् र एक्लो पार्छस् (मैले यहाँ विभाजन ल्याउनको निम्ति तैँले तेरा मित्रहरू जम्मा गरेको कुरालाई उल्लेख गरिरहेको छु।) अब तेरो क्रूरताका दिनहरूको अन्त हुन्छ र म थोरै-थोरै गरेर तँसँग हिसाबकिताब गर्दैछु; तैँले जे जति गरेको छस्, म त्यसको एक कण पनि हिसाब नगरी तँलाई छाड्दिनँ। अब शक्ति लिने तँ—शैतान—होइन; बरु, मैले त्यो शक्ति फिर्ता लिएको छु, अनि तेरो निराकरण गर्न मेरा छोराहरूलाई आह्वान गर्ने समय आएको छ। तँ आज्ञाकारी हुनुपर्छ र तैँले थोरै पनि प्रतिरोध गर्नु हुँदैन। विगतमा मेरो अगाडि हुँदा तैँले जति नै असल व्यवहार गरेको भए तापनि त्यसले आज तेरो मदत गर्नेछैन। यदि तँ मैले प्रेम गर्नेहरूमध्ये एक होइनस् भने, म तँलाई चाहँदिनँ। धेरै सङ्ख्या स्वीकार्य छैन; त्यो मैले अघिबाटै नियुक्त गरेको सङ्ख्या हुनुपर्छ र त्योभन्दा पनि थोरै झन् खराब हो। शैतान—विघटनकारी नहो! मैले कसलाई प्रेम गर्छु र कसलाई घृणा गर्छु भन्ने कुरामा के म मेरो आफ्नै हृदयभित्र स्पष्ट नहुन सक्छु? के मलाई सम्झना दिलाउनको निम्ति मलाई तेरो आवश्यकता पर्छ र? के शैतानले मेरा छोराहरूलाई जन्म दिन सक्छ? सबै व्यर्थ छन्! सबै खराब छन्! म सबैलाई सर्वथा र पूर्ण रूपमा परित्याग गर्छु। एक जनाको पनि चाहना छैन; सबै बाहिर जानुपर्छ! छ हजार वर्षको व्यवस्थापन योजना अन्तिम अवस्थामा छ, मेरो काम सकियो र यस जनावर र पशुको झुण्डलाई मैले हटाउनुपर्छ!
मेरा वचनहरू पालना गर्ने र तिनलाई व्यवहारमा उतार्नेहरूलाई नै म प्रेम गर्छु; म तिनीहरूमध्ये एक जनालाई पनि त्याग्नेछैनँ, र कुनै एउटालाई पनि म जान दिनेछैनँ। यसैले ज्येष्ठ पुत्रहरूले चिन्ता गर्नुपर्ने आवश्यकता छैन। यसलाई मैले प्रदान गरेको हुनाले, यसलाई कसैले पनि टाढा लैजान सक्दैन र म यो मैले आशिष् दिएकाहरूलाई प्रदान गर्न बाध्य छु। मैले स्वीकृत गरेकाहरूलाई (संसारको सृष्टिभन्दा अघि), म आशिष् दिन्छु (आज)। मैले काम गर्ने तरिका यही हो, र मेरा प्रशासनिक आदेशका हरेक दफाहरूपछिको प्रमुख सिद्धान्त पनि यही हो, अनि यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन; एउटा पनि शब्द थप्न सकिँदैन, न त थप एक वाक्य नै, न त कुनै एउटा शब्द वा वाक्य नै हटाउन सकिन्छ। विगतमा मैले प्रायजसो भन्ने गर्थेँ, मेरो व्यक्तित्व तिमीहरू सामु देखापर्छ। त्यसो भए मेरो “व्यक्तित्व” के हो र यो कसरी देखापर्छ? के यसले सामान्य रूपमा त्यस व्यक्तिलाई जनाउँछ जो म हुँ? के यसको अर्थ मैले भन्ने हरेक वाक्य नै हो? यी अपरिहार्य दुई पक्षहरूले एउटा सानो भागलाई मात्र निर्माण गर्छ; अर्थात्, तिनमा मेरो व्यक्तित्वको पूर्ण व्याख्या समावेश छैन। मेरो व्यक्तित्वमा मेरो देहगत अस्तित्व, मेरा वचनहरू र मेरा कार्यहरू पनि समावेश हुन्छन्, तर सबैभन्दा सटीक व्याख्या भनेको, मेरा ज्येष्ठ पुत्रहरू र म नै मेरो व्यक्तित्व हौं। भन्नुको तात्पर्य, राज्य गर्ने र शक्ति भएका इसाईहरूको समूह मेरो व्यक्तित्व हुन्। यसैले, हरेक ज्येष्ठ पुत्रहरू अपरिहार्य छन् र मेरो व्यक्तित्वका भाग हुन्, यसैले म जोड दिन्छु कि मानिसहरूको सङ्ख्या न त धेरै (मेरो नाउँको अपमान गर्ने), अझ महत्त्वपूर्ण, न त थोरै (मलाई प्रकट गर्न असक्षम हुने गरी) हुनसक्छ। यसबाहेक, म पटक-पटक जोड दिन्छु कि मेरा ज्येष्ठ पुत्रहरू मेरा सबैभन्दा प्यारा, मेरा सम्पत्ति र मेरो छ हजार वर्षको व्यवस्थापन योजनाको निश्चितता हुन्; तिनले मात्र मेरो सिद्ध र पूर्ण प्रकटीकरण धारण गर्छन्। म स्वयम् मात्र मेरो व्यक्तित्वको पूर्ण प्रकटीकरण हुन सक्छु; मेरा ज्येष्ठ पुत्रहरूको साथमा मात्र म आफै सिद्ध र पूर्ण प्रकटीकरण हुँ ठहरिन सक्छु। यसैले मेरा ज्येष्ठ पुत्रहरूसँग कुनै पनि कुरालाई उपेक्षा नगरी म कठोर मागहरू राख्छु, र पटक-पटक मेरा ज्येष्ठ पुत्रहरू बाहेकका सबैलाई काट्छु र मार्छु; मैले भनेका सबै कुराहरूको जरा यही हो र मैले भनेका सबै कुराहरूको अन्तिम लक्ष्य यही हो। यसबाहेक, समय-समयमा म के जोड दिन्छु भने, तिनीहरू मैले स्वीकृत गरेका मानिसहरू हुनुपर्छ, जसलाई मैले संसारको उत्पत्ति भएदेखि व्यक्तिगत रूपमा चुनेको छु। तब “देखापर्नु” भन्ने शब्दलाई कसरी व्याख्या गरिन्छ? के यो कुनै व्यक्ति आत्मिक संसारमा प्रवेश गर्ने समयको बारेमा हो? यो मेरो शारीरिक अस्तित्व अभिषेक हुँदाको समय हो भनेर धेरै मानिसहरूले विश्वास गर्छन्, तर यो सबै झूटो हो; यो अलिकति पनि सत्य होइन। यसको मूल अर्थ अनुसार “देखापर्नु” लाई बुझ्न कुनै पनि हालतमा कठिन छैन, तर यसलाई मेरो अभिप्रायअनुसार बुझ्न अझ कठिन छ। यसर्थ, यसो भन्न सकिन्छ: जब मैले मानवजातिलाई बनाएँ, मैले प्रेम गरेका मानिसहरूको समूहभित्र मेरो गुण हाल्दैथिएँ, अनि यही मानिसहरूको समूह नै मेरो व्यक्तित्व थियो। यसलाई अर्को तरिकाले भन्नुपर्दा, त्यस बेलासम्म मेरो व्यक्तित्व पहिले नै देखापरेको थियो। यो नाम स्वीकार गरेपछि मेरो व्यक्तित्व देखापरेको होइन; बरु, मानिसको यो समूहलाई मैले अघिबाटै नियुक्त गरेपछि यो देखा पर्यो, किनकि तिनीहरूमा मेरो गुण थियो (तिनीहरूको प्रकृति परिवर्तन हुँदैन र तिनीहरू अझ पनि मेरो व्यक्तित्वको भाग हुन्)। यसैले, सृष्टिको समयदेखि वर्तमान समयसम्म मेरो व्यक्तित्व सधैँ देखापरेको छ। धेरै मानिसहरू यो धारणामा विश्वास राख्छन् कि मेरो देहगत अस्तित्व मेरो व्यक्तित्व हो, जुन पूर्ण रूपले त्यसो होइन; त्यो विचार तिनीहरूको विचार र धारणाहरूमा उत्पन्न भएको हुन्छ। यदि मेरो देहगत अस्तित्व मात्रै मेरो व्यक्तित्व भएको भए, शैतानलाई शर्ममा पार्न त्यो पर्याप्त हुनेथिएन। यसले मेरो नामलाई महिमित पार्न सक्नेथिएन र यसले वास्तवमा मेरो नामलाई शर्ममा पार्दै विपरीत असर पार्नेथियो, अनि यो युगहरूभरि शैतानले मेरो नामलाई शर्ममा पार्ने चिन्ह बन्नेथियो। म बुद्धिमान परमेश्वर स्वयम् हुँ र म यस्तो मूर्ख कुरा कहिले गर्नेथिइनँ।
मेरो कामको परिणाम हुनुपर्छ र यसबाहेक, मैले विधिपूर्वक वचनहरू बोल्नुपर्छ र मेरा सबै वचन र वाणीहरू मेरो आत्माद्वारा बोलिन्छन् र म मेरो आत्माले गरेबमोजिम बोल्छु। यसैले, सबैले मेरा वचनहरूद्वारा मेरो आत्मालाई अनुभव गर्नुपर्छ, मेरो आत्माले के गरिरहनुभएको छ भनेर देख्नुपर्छ; तिनीहरूले मैले ठ्याक्कै के गर्न चाहन्छु भन्ने देख्नुपर्छ, तिनीहरूले मेरा वचनहरूमा आधारित भएर मैले काम गर्ने विधि देख्नुपर्छ र मेरो समस्त प्रशासनिक योजनाका सिद्धान्तहरू के छन् भन्ने देख्नुपर्छ। म ब्रह्माण्डको सारा तस्विर हेर्छु: हरेक व्यक्ति, हरेक घटना र हरेक स्थान मेरा हुकुमभित्र पर्छन्। मेरो योजनालाई विफल पार्न हिम्मत गर्ने कोही छैन; सबै मैले अघिबाटै नियुक्त गरेको क्रमअनुसार चरणबद्ध रूपमा अगाडि बढ्छन्। यो मेरो शक्ति हो; मेरो सारा योजनाको व्यवस्थापन गर्ने बुद्धि यहाँ छ। कसैले पनि पूर्ण रूपमा बुझ्न र स्पष्टसँग बोल्न सक्दैन; सबै काम मैले व्यक्तिगत रूपमा गर्छु र मैले मात्र नियन्त्रण गर्छु।