देहधारणको रहस्य (४)
तिमीहरूलाई बाइबलको पृष्ठभूमिको कथा र यसको निर्माणको बारेमा थाहा हुनुपर्दछ। यो ज्ञान ती व्यक्तिहरूको स्वामित्वमा हुँदैन जसले परमेश्वरको नयाँ कामलाई ग्रहण गरेका छैनन्। तिनीहरूलाई थाहा छैन। यदि तँ तिनीहरूसँग सारका यी विषयहरूमा स्पष्टसँग कुरा गर्छस् भने, तिनीहरूले उप्रान्त तँसँग बाइबलको बारेमा त्यत्ति कुरा गर्नेथिएनन्। तिनीहरू अगमवाणी गरिएको कुरालाई लगातार खोतलिरहन्छन्: के यो भनाइ पूरा भएको छ? के त्यो भनाइ पूरा भएको छ? तिनीहरूले सुसमाचारलाई बाइबलअनुसार ग्रहण गरेका हुन्छन्, र तिनीहरूले बाइबलअनुसार नै सुसमाचार प्रचार गर्छन्। परमेश्वरमाथि तिनीहरूले गरेको विश्वास बाइबलका वचनहरूमा आधारित हुन्छ; बाइबलविना, तिनीहरूले परमेश्वरमा विश्वास गर्नेछैनन्। तिनीहरू यसरी बाइबलका स-साना कुराहरू जाँच्दै यस्तै प्रकारले जिउँछन्। जब तिनीहरू एक पल्ट फेरि बाइबल खोतल्छन् र तँलाई स्पष्टीकरणका लागि सोध्छन्, तँ भन्छस्, “पहिले, हामी प्रत्येक भनाइको सत्यता प्रमाणित नगरौं। त्यसको साटो, पवित्र आत्माले कसरी काम गर्नुहुन्छ सो हेरौं। हामी हिँडेका मार्गलाई लिऔं, र त्यसलाई सत्यतासँग तुलना गरौं, कि यो मार्ग साँच्चै पवित्र आत्माको काम हो कि होइन हेरौं, र हामी पवित्र आत्माको काम प्रयोग गरी त्यो मार्ग सही छ कि छैन भनेर जाँचौं। यो भनाइ वा त्यो भनाइ अघिबाटै भनिएझैँ पूरा हुनआएको छ कि छैन भन्ने कुराचाहिँ हामी मानिसले पत्ता लगाउने कोसिस गर्नुहुँदैन। त्यसको साटो हामीले पवित्र आत्माको काम र परमेश्वरले हालमा गरिरहनुभएको कामको बारेमा कुरा गर्नु उत्तम हुन्छ।” बाइबलमा भएका अगमवाणीहरू अगमवक्ताहरूको समयमा दिइएका परमेश्वरका वचनहरू हुन् र ती परमेश्वरले प्रयोग गर्नुभएका मानिसहरूले प्रेरणा प्राप्त गरेपछि लेखेका वचनहरू हुन्; यी परमेश्वर स्वयम्ले मात्र यी वचनहरूलाई व्याख्या गर्न सक्नुहुन्छ, र केवल पवित्र आत्माले ती वचनहरूको अर्थ प्रकट गर्न सक्नुहुन्छ, र केवल परमेश्वर आफैले मात्र ती सात वटा मोहोर तोड्न र चर्मपत्रको मुट्ठो खोल्न सक्नुहुन्छ। तँ भन्छस्: “तपाईं परमेश्वर हुनुहुन्न, न त म नै हुँ। त्यसोभए, कसले हल्कासाथ परमेश्वरको वचनको व्याख्या गर्ने आँट गर्छ? के तँ अझै यी वचनहरूलाई व्याख्या गर्ने हिम्मत गर्छस्? यर्मिया, यूहन्ना र एलिया अगमवक्ताहरू आए भने पनि उनीहरूले समेत ती वचनहरू बोल्ने र तिनको व्याख्या गर्ने आँट गर्नेथिएनन्, किनकि तिनीहरू थुमा होइनन्। केवल थुमाले मात्र सात मोहोर तोड्न र चर्मपत्रको मुट्ठो खोल्न सक्नुहुन्छ, र अरू कसैले पनि उहाँको वचनको व्याख्या गर्न सक्दैन। म परमेश्वरको नाउँ खोस्ने हिम्मत गर्दिनँ, उहाँका वचनहरूको व्याख्या गर्ने कोसिस गर्ने त कुरै नगरौं। म त्यो व्यक्ति मात्र हुन सक्छु जो परमेश्वरप्रति समर्पित हुन्छ। के तपाईं परमेश्वर हुनुहुन्छ? कुनै पनि सृष्टि गरिएका प्राणीहरूले त्यो चर्मपत्रको मुट्ठो खोल्ने वा ती वचनहरूको व्याख्या गर्ने हिम्मत गर्दैनन्, र म पनि तिनको व्याख्या गर्ने आँट गर्दिनँ। तपाईंले तिनको व्याख्या गर्ने कोसिस नगर्नु नै राम्रो हुन्छ। कसैले पनि तिनको व्याख्या गर्ने कोसिस गर्नुहुँदैन। हामी पवित्र आत्माको कामको बारेमा कुरा गरौं; मानिसले यति मात्र गर्न सक्छ। मलाई यहोवा र येशूको कामको बारेमा थोरै मात्र थाहा छ, तर मलाई यस्तो कामको कुनै व्यक्तिगत अनुभव नभएको कारण, म यसको बारेमा केही हदसम्म मात्र कुरा गर्न सक्छु। यशैया वा येशूले उहाँहरूको समयमा बोल्नुभएका वचनहरूको अर्थको बारेमा म कुनै स्पष्टीकरण दिनेछैनँ। म बाइबलको अध्ययन गर्दिनँ, बरु म त परमेश्वरको वर्तमान कामको अनुसरण गर्दछु। तपाईंले वास्तवमा बाइबललाई सानो चर्मपत्रको मुट्ठो रूपमा हेर्नुहुन्छ, तर के यो केवल थुमाले मात्र खोल्न सक्ने वस्तु होइन र? थुमाबाहेक, अरू कसले यो खोल्न सक्छ र? तपाईं थुमा हुनुहुन्न, मैले म आफै परमेश्वर हुँ भनेर दाबी गर्ने आँट गर्ने कुरा त परै जाओस्, त्यसैले हामी बाइबलको विश्लेषण नगरौं वा यसका स-साना कुराहरूको जाँच नगरौं। पवित्र आत्माले गर्नुभएको कामको, अर्थात् वर्तमानमा परमेश्वर आफैले गर्नुभएको कामको बारेमा छलफल गर्नु धेरै राम्रो हुन्छ। परमेश्वरले कुन-कुन सिद्धान्तहरूद्वारा काम गर्नुहुन्छ, र उहाँको कामको सार के हो सो हेरौं अनि, यसलाई प्रयोग गर्दै के आज हामी हिँडेका मार्ग सही छ कि छैन सो जाँचौं, र त्यसरी यसलाई निश्चित गरौं।” यदि तिमीहरू सुसमाचार प्रचार गर्न चाहन्छौ भने, विशेष गरी धार्मिक संसारमा हुनेहरूलाई प्रचार गर्न चाहन्छौ भने, तिमीहरूले बाइबललाई बुझ्नुपर्छ र त्यसको भित्री कथालाई राम्ररी जान्नुपर्छ; अन्यथा, तेरो निम्ति सुसमाचार प्रचार गर्ने कुनै उपाय छैन। तैँले समग्र चित्रलाई राम्ररी बुझेर बाइबलका मृत शब्दहरूलाई एक-एक गरी जाँच्न बन्द गरिस्, अनि परमेश्वरको काम र जीवन सत्यताको बारेमा मात्र कुरा गरिस् भने, तैँले साँचो हृदयले खोजी गर्नेहरूलाई प्राप्त गर्न सक्नेछस्।
यहोवाको काम, उहाँले राख्नुभएका व्यवस्थाहरू, र उहाँले मानिसहरूलाई जीवन जिउन डोऱ्याउनको लागि प्रयोग गर्नुभएका सिद्धान्तहरू, व्यवस्थाको युगमा उहाँले गर्नुभएको कामको विषयवस्तु, उहाँले आफ्नो व्यवस्थालाई स्थापित गर्नुको महत्त्व, अनुग्रहको युगका निम्ति उहाँले गर्नुभएको काम र परमेश्वरले यस अन्तिम चरणमा गर्नुहुने कामको महत्त्व: तिमीहरूले बुझ्नैपर्ने कुराहरू यिनै हुन्। पहिलो चरण व्यवस्थाको युगको काम हो, दोस्रो अनुग्रहको युगको काम र तेस्रो आखिरी दिनहरूको काम हो। तिमीहरू परमेश्वरको कामका यी चरणहरूको बारेमा स्पष्ट हुनुपर्दछ। सुरुदेखि अन्त्यसम्म, जम्मा तीन चरणहरू छन्। कामको प्रत्येक चरणको सार के हो? छ हजार वर्षको प्रबन्ध योजनाको काममा कति वटा चरणहरू पूरा गरिन्छ? यी चरणहरूलाई कसरी पूरा गरिन्छ र किन प्रत्येकलाई त्यसको आफ्नै तरिकामा गरिन्छ? यी सबै महत्त्वपूर्ण प्रश्नहरू हुन्। प्रत्येक युगको कामको प्रतिनिधिमूलक महत्त्व छ। यहोवाले कुन काम गर्नुभयो? उहाँले त्यो किन विशेष तरिकाले गर्नुभयो? उहाँलाई किन यहोवा भनियो। फेरि, अनुग्रहको युगमा येशूले कुन काम गर्नुभयो र कुन तरिकामा त्यो गर्नुभयो? परमेश्वरको स्वभावको कुन पक्षहरूलाई कामको प्रत्येक चरण र प्रत्येक युगले प्रतिनिधित्व गर्दछ? उहाँको स्वभावका कुन-कुन पक्षहरूलाई व्यवस्थाको युगमा प्रकट गरिएका थिए? र अनुग्रहको युगमा कुन-कुनलाई प्रकट गरिएका थिए? र अन्तिम युगमा कुन-कुनलाई प्रकट गरियो? यी सारगत प्रश्नहरू हुन्, जुन विषयमा तिमीहरू स्पष्ट हुनुपर्दछ। परमेश्वरको सम्पूर्ण स्वभाव छ हजार वर्षको व्यवस्थापन योजनाको क्रममा प्रकाश भएको छ। यो अनुग्रहको युगमा मात्र प्रकाश भएको छैन, न त व्यवस्थाको युगमा मात्र प्रकाश गरिएको छ, आखिरी दिनहरूको यस अवधिमा मात्रै यसलाई प्रकट गरिएको छ भन्ने कुरा त परै जाओस्। आखिरी दिनहरूमा गरिएको कामले न्याय, क्रोध र सजायलाई प्रतिनिधित्व गर्दछ। आखिरी दिनहरूमा गरिएको कामले व्यवस्थाको युगको वा अनुग्रहको युगको कामको स्थान लिन सक्दैन। यद्यपि, यी तीन चरणहरू एकसाथ जोडिएका छन्, एउटै अस्तित्वमा छन्, र सबै एउटै परमेश्वरका काम हुन्। स्वाभाविक रूपमा, यस कामको कार्यान्वयनलाई अलग-अलग युगहरूमा विभाजित गरिएको छ। आखिरी दिनहरूमा गरिने काम सबै कामको समापन हो; व्यवस्थाको युगमा गरिएको काम सुरुवातको काम थियो; अनि अनुग्रहको युगमा गरिएको काम छुटकाराको काम थियो। छ हजार वर्षको व्यवस्थापन योजनाको कामका दर्शनहरूको कुरा गर्ने हो भने कसैले पनि त्यसको अन्तर्दृष्टि वा समझ प्राप्त गर्न सक्दैन, र यी दर्शनहरू पहेलीहरू नै रहन्छन्। आखिरी दिनहरूमा, राज्यको युगलाई प्रारम्भ गर्नका लागि वचनको काम मात्र गरिन्छ, तर यसले सबै युगको प्रतिनिधित्व गर्दैन। आखिरी दिनहरू आखिरी दिनहरूभन्दा बढी केही होइनन्, र परमेश्वरको राज्यको युगभन्दा बढी होइन, र तिनले अनुग्रहको युग वा व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्दैन। यति मात्र हो कि आखिरी दिनहरूमा, छ हजार वर्षे व्यवस्थापनको योजनाका सबै काम तिमीहरूलाई प्रकाश गरिएको छ। यो रहस्य प्रकट गर्नु हो। यस प्रकारको रहस्य कुनै मानिसले प्रकट गर्न नसक्ने कुरा हो। मानिससँग बाइबलसम्बन्धी बुझाइ जति नै धेरै भए पनि त्यो शब्दहरू भन्दा बढी केही हुँदैन, किनकि मानिसले बाइबलको सारलाई बुझ्दैन। बाइबल पढ्दा मानिसले केही सत्यता बुझ्ला, केही शब्दहरूको व्याख्या गर्न सक्ला, वा केही प्रसिद्ध खण्डहरू र अध्यायहरूलाई गम्भीर रूपमा जाँच गरेको होला, तर उसले ती शब्दहरूभित्र रहेको अर्थ कहिल्यै पनि खोल्न सक्नेछैन, किनकि मानिसले देख्ने भनेका मृत शब्दहरू मात्र हुन्, यहोवा र येशूको कामको दृश्य देख्दैनन्, र मानिससँग यस कामको रहस्य सुल्झाउने कुनै तरिका हुँदैन। त्यसकारण, छ हजार वर्षे व्यवस्थापन योजनाको रहस्य सबैभन्दा ठूलो, सबैभन्दा गहन रूपमा लुकाइएको रहस्य हो, र यो मानिसका निम्ति पूर्ण रूपमा बुझ्न नसकिने छ। परमेश्वर आफैले मानिसलाई व्याख्या नगरुञ्जेल र प्रकाश नगरुञ्जेल कसैले पनि परमेश्वरका अभिप्रायहरू सीधै बुझ्न सक्दैन; अन्यथा, यी कुराहरू मानिसका निम्ति सधैँ पहेली रहनेछन्, सधैँका लागि मोहोर लगाइएका रहस्यहरू रहनेछन्। धार्मिक संसारमा हुनेहरू सबैको त कुरै नगरौँ, यदि आज तिमीहरूलाई नबताइएको भए तिमीहरूले पनि यो बुझ्ने थिएनौ। छ हजार वर्षको यो काम अगमवक्ताहरूका सबै अगमवाणीहरूभन्दा धेरै रहस्यमय छ। सृष्टिदेखि अहिलेसम्मको सबैभन्दा ठूलो रहस्य यही हो, र युगौँ युगका अगमवक्ताहरूमध्ये कसैले पनि यसलाई बुझ्न सकेको छैन, किनकि यो रहस्यलाई अन्तिम युगमा मात्र प्रकट गरिन्छ र यसभन्दा अघि यसलाई कहिल्यै प्रकट गरिएको छैन। यदि तिमीहरू यो रहस्य बुझ्न सक्छौ भने, र यदि तिमीहरूले यसलाई सम्पूर्ण रूपमा ग्रहण गर्न सक्छौ भने, सबै धार्मिक व्यक्तिहरू यो रहस्यद्वारा परास्त हुनेछन्। सबैभन्दा ठूलो दर्शन यही नै हो; यो मानिसले बुझ्ने सबैभन्दा उत्कट इच्छा गर्ने, तर उसका निम्ति धेरै अस्पष्ट कुरा हो। जब तिमीहरू अनुग्रहको युगमा थियौ, त्यस बेला येशूले गर्नुभएको काम वा यहोवाले गर्नुभएको काम के थियो भन्ने तिमीहरूलाई थाहा थिएन। परमेश्वरले किन व्यवस्था दिनुभयो, किन उहाँले मानिसहरूलाई त्यो व्यवस्था पालन गर्न लगाउनुभयो वा मन्दिर किन बनाउनुपर्यो भनी मानिसहरूले बुझेनन्, र इस्राएलीहरूलाई किन मिश्रबाट उजाड-स्थानमा र त्यसपछि कनानमा लगियो भन्ने कुरा मानिसहरूले बुझ्ने कुरा त परै जाओस्। आज आएर मात्रै यी विषयहरूलाई प्रकट गरिएको छ।
आखिरी दिनहरूमा हुने काम तीनवटा चरणमध्ये अन्तिम चरण हो। यो अर्को नयाँ युगको काम हो र यसले व्यवस्थापनको कामको सम्पूर्णतालाई प्रतिनिधित्व गर्दैन। छ हजार वर्षको व्यवस्थापन योजनाको कामलाई तीन चरणमा विभाजन गरिएको छ। कुनै पनि एउटा चरणले मात्र तीनवटा युगको कामको प्रतिनिधित्व गर्न सक्दैन, तर सम्पूर्णको केवल एक भागलाई मात्र प्रतिनिधित्व गर्दछ। यहोवाको नाउँले परमेश्वरको सम्पूर्ण स्वभावलाई प्रतिनिधित्व गर्न सक्दैन। उहाँले व्यवस्थाको युगमा आफ्नो काम गर्नुभयो भन्ने तथ्यले परमेश्वर व्यवस्थाअन्तर्गत मात्र परमेश्वर हुन सक्नुहुन्छ भनी प्रमाणित गर्दैन। यहोवाले मानिसका लागि व्यवस्था दिनुभयो र मानिसलाई आज्ञाहरू सुम्पनुभयो र मानिसलाई मन्दिर र वेदीहरू बनाउन लगाउनुभयो; उहाँले गर्नुभएको कामले व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्दछ। उहाँले गर्नुभएको कामले परमेश्वर मानिसलाई व्यवस्था पालन गर्न लगाउने परमेश्वर मात्र हुनुहुन्छ, वा उहाँ मन्दिरमा आउनुहुने परमेश्वर हुनुहुन्छ वा उहाँ वेदीको सामने आउनुहुने परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्दैन। त्यसो हो भनी भन्नु असत्य हुनेथियो। व्यवस्था अन्तर्गत गरिएको कामले केवल एउटा युगलाई मात्र प्रतिनिधित्व गर्न सक्छ। त्यसकारण, यदि परमेश्वरले व्यवस्थाको युगमा मात्र काम गर्नुभएको भए, मानिसले यसो भन्दै परमेश्वरलाई सीमित पार्नेथ्यो, “परमेश्वर मन्दिरमा बस्नुहुने परमेश्वर हुनुहुन्छ, र परमेश्वरको सेवा गर्न हामीले पूजाहारीको पोसाक लगाउनुपर्छ र मन्दिरभित्र प्रवेश गर्नुपर्दछ।” यदि अनुग्रहको युगमा यो काम कहिल्यै नभएको भए र व्यवस्थाको युग अहिलेसम्म जारी नै रहेको भए मानिसले परमेश्वर दयालु र प्रेमिलो पनि हुनुहुन्छ भनी जान्ने थिएन। यदि व्यवस्थाको युगमा काम नगरिएको भए, त्यसको साटो अनुग्रहको युगमा मात्र काम भएको भए, मानिसलाई परमेश्वर मानिसलाई छुटकारा मात्र दिनुहुन्छ र परमेश्वर मानिसका पापहरू क्षमा गर्नुहुन्छ भन्ने मात्र थाहा हुनेथ्यो। मानिसले उहाँ पवित्र र निर्दोष हुनुहुन्छ, र मानिसको खातिर उहाँले आफैलाई बलिदान गर्न र क्रूसमा टाँगिन सक्नुहुन्छ भनेर मात्र जान्नेथियो। मानिसले यी सबै कुराहरू मात्र जान्नेथियो, तर अरू केही पनि बुझेको हुनेथिएन। त्यसकारण हरेक परमेश्वरको स्वभावको एउटा भागलाई प्रतिनिधित्व गर्छ। व्यवस्थाको युगले परमेश्वरको स्वभावका निश्चित पक्षहरूको प्रतिनिधित्व गर्छ, अनि अनुग्रहको युगले, र यो वर्तमान युगले पनि त्यसै गर्छन्: जब ती सबै तीन चरणहरूलाई एकट्ठा गरिन्छ, तब मात्र परमेश्वरको स्वभावको सम्पूर्णता प्रकट हुन सक्दछ। मानिसले तीन वटै चरणहरूलाई जानिसकेपछि मात्रै उसले यसलाई पूर्ण रूपमा बुझ्न सक्छ। यी तीन चरणमध्ये कुनैलाई पनि हटाउन सकिँदैन। तैँले यी तीन चरणको कार्यलाई बुझिस् भने मात्र परमेश्वरको स्वभावलाई पूर्ण रूपमा बुझ्नेछस्। परमेश्वरले व्यवस्थाको युगमा उहाँको आफ्नो काम पूरा गर्नुभयो भन्ने तथ्यले उहाँ व्यवस्थाको अधीनमा हुनुहुने परमेश्वर मात्र हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्दैन, र उहाँले आफ्नो छुटकाराको काम पूरा गर्नुभयो भन्ने तथ्यको अर्थ परमेश्वरले मानवजातिलाई सधैँ छुटकारा दिइरहनुहुन्छ भन्ने हुँदैन। यी सबै मानिसले गरेका सीमितताहरू हुन्। अनुग्रहको युग समाप्त भइसकेपछि, तैँले परमेश्वर केवल क्रूसको परमेश्वर हुनुहुन्छ र क्रूसले मात्र परमेश्वरको मुक्तिलाई प्रतिनिधित्व गर्छ भन्न मिल्दैन। त्यसो गर्नु भनेको परमेश्वरलाई सीमित पार्नु हो। वर्तमान चरणमा, परमेश्वरले मुख्य रूपमा वचनको काम गरिरहनुभएको छ, तर तँ परमेश्वर मानिसप्रति कहिल्यै कृपालु हुनुभएको छैन र उहाँले सजाय र न्याय मात्र ल्याउनुभएको छ भन्न सक्दैनस्। आखिरी दिनहरूको कामले यहोवाको र येशूको कामलाई साथै मानिसले नबुझेका सबै रहस्यलाई उदाङ्गो पार्छ, र यसरी मानवजातिका गन्तव्य र परिणामहरू प्रकट गर्छ र मानवजातिमाझको मुक्तिका सबै काम अन्त्य गर्छ। आखिरी दिनहरूमा गरिने कामको यो चरणले सबै कुरालाई समाप्त गर्दछ। मानिसले नबुझेका सबै रहस्य खुलाउनैपर्छ, ताकि मानिसले ती कुराहरू छर्लङ्गै देख्न र ती सबैबारे हृदयमा एउटा बुझाइ प्राप्त गर्न सकोस्। त्यसपछि मात्र मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न सकिन्छ। छ हजार वर्षको व्यवस्थापन योजना पूरा भएपछि मात्र मानिसले पूर्ण रूपमा परमेश्वरको स्वभावलाई बुझ्न सक्नेछ, किनकि त्यस बेला उहाँको व्यवस्थापन योजना अन्त्य भएको हुनेछ। अब तिमीहरूले अन्तिम युगमा परमेश्वरको काम अनुभव गरेका छौ, त्यसकारण परमेश्वरको स्वभाव ठ्याक्कै के हो त? के तँलाई परमेश्वर वचनहरू मात्र बोल्ने र त्योभन्दा बढी केही नगर्ने परमेश्वर हुनुहुन्छ भन्ने आँट छ? तँ यसरी परमेश्वरलाई सीमित पार्ने आँट गर्दैनस्। परमेश्वर रहस्यहरू प्रकट गर्ने परमेश्वर हुनुहुन्छ, परमेश्वर थुमा हुनुहुन्छ र सातवटा मोहोर तोड्ने व्यक्ति हुनुहुन्छ भनेर कतिले भन्छन्। तर कसैले पनि यसरी परमेश्वरलाई सीमित पार्ने आँट गर्दैन। सायद अरूले भन्छन्, कि परमेश्वर देहधारी मानिस हुनुहुन्छ, तर पनि यो अझै सही हुँदैन। अझ अरूले भन्छन् होला, कि देहधारी परमेश्वरले केवल वचनहरू बोल्नुहुन्छ, र चिह्न र चमत्कारका कामहरू गर्नुहुन्न, तर तँ यस प्रकारले बोल्ने आँट कमै गर्छस्, किनकि येशू देहधारी बन्नुभयो र उहाँले चिन्ह र चमत्कारका कामहरू गर्नुभयो, ताकि तैँले परमेश्वरलाई यत्ति हलुका रूपमा परिभाषित गर्ने हिम्मत नगर्। छ हजार वर्षे व्यवस्थापन योजनाभरि गरिएका सबै काम अब मात्रै समाप्त हुन्छ। यो सबै काम मानिससामु प्रकट गरेपछि र मानवजातिको बीचमा गरिएपछि मात्र मानवजातिले परमेश्वरका सबै स्वभाव साथै उहाँसँग के छ र उहाँ के हुनुहुन्छ भन्ने कुरा थाहा पाउनेछ। जब यस चरणको काम पूर्ण रूपमा समाप्त हुन्छ, मानिसले नबुझेका सबै रहस्यहरू प्रकट भएका हुन्छन्, पहिले नबुझेका सबै सत्यताहरू स्पष्ट पारिनेछन्, र मानवजातिलाई उनीहरूको भावी मार्ग र गन्तव्यको बारेमा बताइनेछ। वर्तमान चरणमा गरिनुपर्ने सम्पूर्ण काम यही हो। मानिसले आज हिँडेको बाटो क्रूसको र दुःखको बाटो भए पनि मानिसले जुन अभ्यासहरू गर्छ, र ऊ आज जे खान्छ, पिउँछ र उपभोग गर्छ त्यो व्यवस्थाअन्तर्गतको र अनुग्रहको युगको मानिसभन्दा धेरै फरक छ। आज मानिसबाट जे माग गरिन्छ त्यो विगतको जस्तो छैन र व्यवस्थाको युगको मानिससित माग गरिएको जस्तो त झन् छँदै-छैन। अब, व्यवस्थाको अधीनमा परमेश्वरले इस्राएलमा आफ्नो काम गरिरहनुभएको बेला मानिससँग के माग गरिएको थियो? मानिसले शबाथ र यहोवाको व्यवस्था पालन गर्नु बाहेक अरू केही गर्नु पर्दैनथियो। कसैले पनि शबाथको दिनमा काम गर्नुहुँदैनथ्यो वा परमप्रभुको व्यवस्था उल्लङ्घन गर्नुहुँदैनथ्यो। तर अहिले त्यस्तो छैन। शबाथमा मानिस काम गर्छ, भेला हुन्छ र सधैँझैँ प्रार्थना गर्छ, र ऊमाथि कुनै नियन्त्रण लगाइँदैन। अनुग्रहको युगमा हुनेहरूले बप्तिस्मा लिनुपर्थ्यो, र तिनीहरूलाई उपवास बस्न, रोटी भाँच्न, दाखमद्य पिउन, शिर ढाक्न, र अरूका खुट्टा धोइदिन लगाइन्थ्यो। अहिले यी प्रावधानहरू खारेज गरिएका छन्, तर मानिसबाट अझ ठूला मागहरू गरिएका छन्, किनकि परमेश्वरको काम अझ गहिरो हुँदैजान्छ र मानिसको प्रवेश अझ उच्च हुँदैजान्छ। विगतमा, येशूले आफ्नो हात मानिसमाथि राख्नुहुन्थ्यो र प्रार्थना गर्नुहुन्थ्यो, तर अब सबै कुरा भनिएको छ, यसैले हात राखेर के हुन्छ र? वचनहरूले मात्र परिणाम प्राप्त गर्न सक्छ। विगतमा जब उहाँले मानिसमाथि आफ्नो हात राख्नुहुन्थ्यो, त्यो मानिसलाई आशिष् दिन र उसका रोगहरू निको पार्नका निम्ति हुन्थ्यो। त्यस बेला पवित्र आत्माले त्यसरी नै काम गर्नुभयो, तर अहिले त्यस्तो छैन। अहिले पवित्र आत्माले काम गर्न र परिणामहरू प्राप्त गर्न वचनहरूको प्रयोग गर्नुहुन्छ। उहाँका वचनहरू तिमीहरूलाई स्पष्ट पारिएको छ, र भनिएजस्तै गरी तिमीहरूले तिनलाई आफ्नो व्यवहारमा उतार्नुपर्छ। उहाँका वचनहरू उहाँका अभिप्रायहरू हुन्; ती उहाँले गर्न चाहनुभएका काम हुन्। उहाँका वचनहरूद्वारा तैँले उहाँको अभिप्रायहरूलाई र तैँले के प्राप्त गरेको उहाँ चाहनुहुन्छ त्यो बुझ्नेछस्, र हातहरू राख्नुपर्ने कुनै आवश्यकताविना नै तैँले सीधै उहाँका वचनहरूलाई व्यवहारमा उतार्न सक्छस्। कसै-कसैले यसो भन्लान्, “तपाईँको हात ममाथि राख्नुहोस्! तपाईँको हात ममाथि राख्नुहोस् ताकि मैले तपाईँको आशिष् पाउन सकूँ र म तपाईँमा सहभागी हुन सकूँ।” यो विगतको पुरानो अभ्यास हो, जुन अहिले अप्रचलित बनेको छ, किनकि युग परिवर्तन भएको छ। पवित्र आत्मा जथाभावी वा प्रावधानहरू लागु गरेर नभई युगअनुसार काम गर्नुहुन्छ। युग परिवर्तन भएको छ, र नयाँ युगले अनिवार्य रूपमा नै आफ्नो साथमा नयाँ काम ल्याउँदछ। कामको हरेक चरणमा यही कुरा लागू हुन्छ, त्यसैले उहाँको काम कहिल्यै दोहोरिँदैन। अनुग्रहको युगमा, येशूले त्यस प्रकारको काम प्रशस्तै गर्नुभयो, जस्तै बिरामीलाई निको पार्ने, भूतहरू निकाल्ने, मानिसको निम्ति प्रार्थना गर्न ऊमाथि आफ्नो हात राख्ने र मानिसलाई आशिष् दिने। तापनि, वर्तमान समयमा त्यसो गर्नु अर्थहीन हुनेछ। पवित्र आत्माले त्यस समयमा त्यसरी नै काम गर्नुभयो, किनकि त्यो अनुग्रहको युग थियो, र मानिसले उपभोग गर्न सक्ने पर्याप्त अनुग्रह थियो। ऊबाट कुनै प्रकारको मूल्य माग गरिएको थिएन र उसले विश्वास गरुन्जेल, उसले अनुग्रह प्राप्त गर्थ्यो। सबैसँग अनुग्रहको साथ व्यवहार गरिन्थ्यो। अब युग परिवर्तन भएको छ, र परमेश्वरको काम अझ अगाडि बढेको छ; सजाय र न्यायको माध्यमबाट मानिसको विद्रोहीपन र मानिसभित्रका अशुद्ध थोकहरू फालिनेछन्। त्यो चरण छुटकाराको चरण भएकाले, मानिसलाई पापबाट छुटकारा दिन सकियोस् भनेर उसले उपभोग गर्न सक्ने प्रशस्त अनुग्रह देखाउँदै परमेश्वरले त्यस प्रकारले काम गर्न आवश्यक भयो। उहाँको अनुग्रहको माध्यमबाट उहाँले मानिसलाई उसका पापहरू क्षमा गरिदिनुभयो। यस वर्तमान चरणचाहिँ सजाय, न्याय, वचनहरूको प्रहार, साथै ताडना र वचनहरूको खुलासाद्वारा मानिसभित्रका अधर्मी कुराहरू खुलासा गर्नका लागि हो, ताकि त्यसपछि मानवजातिले मुक्ति पाउन सकोस्। यो काम छुटकाराभन्दा अझ गहिरो हुन्छ। अनुग्रहको युगमा भएको अनुग्रह मानिसको उपभोगका लागि पर्याप्त थियो; अब मानिसले यो अनुग्रहको अनुभव गरिसकेको छ, अब उसले यो उपभोग गर्नुपर्दैन। यो कामको समय अब बितिसकेको छ र अब यो गर्नुपर्दैन। अब मानिस वचनको न्यायद्वारा बच्नुपर्छ। मानिसको न्याय भएपछि, उसले सजाय पाएपछि र शोधन गरिएपछि त्यसैद्वारा उसको स्वभाव परिवर्तन हुन्छ। के यो सबै मैले बोलेका वचनहरूको कारणले गर्दा होइन र? कामको प्रत्येक चरणलाई सम्पूर्ण मानवजातिको प्रगति र युग अनुरूप नै गरिन्छ। काम सबै महत्त्वपूर्ण छ, र यो सबै अन्तिम मुक्तिका लागि गरिन्छ, ताकि मानवजातिले भविष्यमा एक राम्रो गन्तव्य पाउन सकोस्, र अन्त्यमा मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न सकियोस्।
आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू ल्याउन सकिन्छ। मानिसहरूले यी वचनहरू स्वीकार गरेर तिनीहरूमा आएका परिवर्तनहरू मानिसहरूले अनुग्रहको युगमा चिह्न र चमत्कारहरू स्वीकार गरेर तिनीहरूमा आएका परिवर्तनहरूभन्दा अत्यन्तै ठूला हुन्छन्। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर अनि प्रार्थना गरेर ऊबाट दुष्टात्माहरू निकालिए, तर मानिसभित्रका भ्रष्ट स्वभावहरू अझै रहिरहे। मानिसलाई उसको बिमारीबाट निको पारियो र उसका पापहरू क्षमा गरिए, तर मानिसले ऊभित्रका शैतानी भ्रष्ट स्वभावहरू कसरी फाल्न सक्छ भन्ने कुरा आउँदा, उसमा यो काम गर्न अझै बाँकी नै थियो। मानिसलाई उसको आस्थाका कारण मात्रै छुटकारा दिइयो र उसका पापहरू क्षमा गरियो, तर मानिसको पापी प्रकृति हटाइएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रह्यो। मानिसका पापहरू परमेश्वरको देहधारणमार्फत क्षमा गरिएका थिए, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्छ, तर मानिसलाई उप्रान्त कसरी पाप नगर्ने बनाउन सकिन्छ, र उसका भ्रष्ट स्वभाव र पापी प्रकृतिलाई कसरी पूर्ण रूपले फाल्न र उसको जीवन स्वभाव कसरी केही हदसम्म परिवर्तन गर्न सकिन्छ भन्ने सवालमा, ऊसँग यो समस्या समाधान गर्ने कुनै उपाय छैन। मानिसका पापहरू क्षमा गरिएका छन्, र यो परमेश्वरको क्रूसीकरणको कामका कारण हो, तर मानिस आफ्ना पुराना शैतानी भ्रष्ट स्वभावहरूभित्रै जिउन जारी राख्छ। यस्तो भएकोले, मानिसलाई उसका शैतानी भ्रष्ट स्वभावहरूबाट पूर्ण रूपमा मुक्ति दिइनैपर्छ, उसको पापी प्रकृति फेरि कहिल्यै विकास नहुने गरी, पूर्ण रूपले फालिनैपर्छ, र उसको स्वभाव रूपान्तरित हुनैपर्छ। यसका निम्ति मानिसले जीवनमा वृद्धि हुने मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने मार्गलाई बुझ्नु आवश्यक हुन्छ। यसका साथै, मानिसले यो मार्गअनुसार अभ्यास गर्नु आवश्यक हुन्छ, ताकि उसको स्वभाव बिस्तारै परिवर्तित हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, ताकि उसले गर्ने सबथोक परमेश्वरका अभिप्रायहरूअनुरूप होऊन्, ताकि उसले आफ्नो शैतानी भ्रष्ट स्वभाव फाल्न सकोस् र ताकि ऊ शैतानको अन्धकारको प्रभावबाट उम्कन सकोस्, यसरी ऊ पापबाट पूर्ण रूपमा निस्कन सकोस्। तब मात्र मानिसले पूर्ण मुक्तिको अनुग्रह पाएको हुनेछ। जुन बेला येशू आफ्नो काम गर्दै हुनुहुन्थ्यो, उहाँबारे मानिसको ज्ञान अझै धमिलो र अस्पष्ट नै थियो। मानिस सधैँ उहाँ दाऊदको पुत्र भएको विश्वास गर्थ्यो, र उहाँ एक महान् अगमवक्ता, मानिसलाई उसका पापहरूबाट छुटकारा दिने परोपकारी प्रभु हुनुहुन्छ भनेर भन्थ्यो। कोही-कोही आफ्नो विश्वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तर, मानिस आफैभित्र गहिरो जरा गाडेर बसेका शैतानी भ्रष्ट स्वभावहरू पत्ता लाउन असमर्थ थियो, न त उसलाई ती स्वभावहरू कसरी फाल्ने भन्ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्वासले सम्पूर्ण परिवारमा आशिष् ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्थ्यो भने, उसलाई मानकअनुरूपको विश्वासी मानिन्थ्यो। यस प्रकारका विश्वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले छुटकारा पाउँथे। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण, कामको त्यो चरण समाप्त भएपछि, न्याय र सजायको काम अझै बाँकी नै रह्यो। यो चरण भनेको मानिसलाई वचनको माध्यमद्वारा शुद्ध पार्नका लागि हो, र यसरी उसलाई पछ्याउने मार्ग दिनका लागि हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति फाल्न असफल हुनेथ्यो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले, मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम समाप्तिमा पुगिसकेको छ, र परमेश्वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसका भ्रष्ट स्वभावहरू अझै ऊभित्रै रहन्छन्, मानिसले अझै पनि पाप गर्न र परमेश्वरको प्रतिरोध गर्न सक्छ, र परमेश्वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। त्यसैले कामको यस चरणमा परमेश्वर वचन प्रयोग गरेर मानिसका भ्रष्ट स्वभावहरू खुलासा गर्नुहुन्छ, र उसलाई उचित मार्गअनुरूप अभ्यास गर्न लगाउनुहुन्छ। यस चरणको काम अघिल्लोभन्दा बढी अर्थपूर्ण छ, साथै अझ बढी फलदायी पनि छ, किनकि अहिले वचनले नै सिधै मानिसको जीवनलाई भरणपोषण गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपमा नवीकरण हुन सक्षम बनाउँछ; यो अझै पूर्ण कामको चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्वरको देहधारणको महत्त्व पूरा गरेको छ र मानिसको मुक्तिका लागि परमेश्वरको व्यवस्थापनको योजनालाई पूर्ण रूपमा पूरा गरेको छ।
परमेश्वरले मानिसलाई मुक्ति दिने काम सिधै आत्माको माध्यमबाट र आत्माको पहिचानद्वारा गरिँदैन, किनकि उहाँको आत्मालाई मानिसले न त छुन सक्छ न त देख्न नै सक्छ, न त मानिस उहाँको नजिक जान नै सक्छ। यदि उहाँले मानिसलाई आत्माका रूपमा सिधै मुक्ति दिने प्रयास गर्नुभएको भए, मानिस उहाँको मुक्तिको अनुग्रह पाउन असमर्थ हुनेथ्यो। यदि परमेश्वरले सृजित प्राणीको बाहिरी आवरण धारण नगर्नुभएको भए, मानिससँग यो मुक्तिको अनुग्रह पाउने कुनै उपाय हुनेथिएन। किनकि जसरी यहोवाको बादल नजिक कोही पनि जान सकेन, त्यसरी नै मानिस उहाँको नजिक आउने उपाय बिलकुलै छैन। एक सृजित मानव बनेर मात्र, अर्थात्, उहाँको मार्गलाई उहाँ बन्न लाग्नुभएको देहमा हालेर मात्र उहाँलाई पछ्याउनेहरू सबैमा उहाँ व्यक्तिगत रूपमा उक्त मार्ग हालिदिन सक्नुहुन्छ। तब मात्र मानिसले व्यक्तिगत रूपमा उहाँको मार्ग सुन्न र देख्न सक्छ, र उहाँको मार्ग प्राप्त गर्न समेत सक्छ, र यस माध्यमबाट पूर्ण रूपमा मुक्ति पाउन सक्छ। परमेश्वर देह नबन्नुभएको भए, देह र रगतको कसैले पनि त्यस्तो ठूलो मुक्तिको अनुग्रह पाउन सक्नेथिएन, न त एकै जना व्यक्तिले समेत मुक्ति पाउनेथियो। यदि परमेश्वरका आत्माले मानवजातिमाझ प्रत्यक्ष रूपमा काम गर्नुभएको भए, सम्पूर्ण मानवजातिलाई नै ढालिनेथियो, वा, परमेश्वरको सम्पर्कमा आउने कुनै उपाय नभएर, तिनीहरूलाई शैतानले पूर्ण रूपमा कैदी बनाउनेथियो। पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको देहको शरीरद्वारा छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र शैतानी भ्रष्ट स्वभावहरू अझै रहिरहे। दोस्रो देहधारण उप्रान्त पापबलिका रूपमा सेवा गर्नका लागि होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा मुक्ति दिनका लागि हो। यो यसकारण गरिएको हो ताकि जसका पापहरू क्षमा गरिएका छन्, तिनीहरू पापबाट मुक्त होऊन् र पूर्ण रूपमा शुद्ध पारिऊन्, र स्वभाव परिवर्तन हासिल गरून्, र यसरी शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन र परमेश्वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ। व्यवस्थाको युग समाप्त भएपछि र अनुग्रहको युग सुरु भएदेखि, परमेश्वरले मुक्तिको कामको सुरुवात गर्नुभयो, जुन आखिरी दिनहरूसम्म जारी रहन्छ, जब परमेश्वर मानवजातिलाई तिनीहरूको विद्रोहीपनका लागि न्याय गर्ने र सजाय दिने काम गर्नुहुन्छ, जसमार्फत मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुन्छ। यसपछि मात्र परमेश्वर उहाँको मुक्तिको कामलाई टुङ्ग्याउनुहुनेछ र विश्राममा प्रवेश गर्नुहुनेछ। त्यसकारण, कामका तीन चरणमा, परमेश्वर आफैले मानिसहरूको बीचमा काम गर्नका निम्ति केवल दुई पटक मात्र देहधारी बन्नुभयो। किनभने कामका तीन चरणमध्ये एउटा चरण मात्र मानिसहरूलाई जीवन जिउन मार्गदर्शन गर्नका लागि हो, अनि अन्य दुईवटा मुक्तिको काम गर्नका निम्ति हो। देह बनेर मात्र परमेश्वर मानिससँग बस्न, संसारको कष्ट भोग्न, र सामान्य देहको शरीरमा जिउन सक्नुहुन्छ। यसरी मात्र उहाँ मानिसहरूलाई सृजित प्राणीका रूपमा चाहिने व्यावहारिक मार्ग आपूर्ति गर्न सक्नुहुन्छ। मानिसले परमेश्वरको देहधारणमार्फत नै परमेश्वरबाट पूर्ण मुक्तिको अनुग्रह पाउँछ, उसको आफ्नै याचनामार्फत सिधै स्वर्गबाट पाउँदैन। मानिस देह र रगतको हो, उसले परमेश्वरका आत्मालाई कुनै पनि तरिकाले देख्न सक्दैन, उहाँका आत्माको नजिक त झन् जान सक्दैन, त्यसैले ऊ केवल परमेश्वरको देहधारी शरीरको सम्पर्कमा आउन सक्छ। यस माध्यमबाट मात्र मानिसले सबै मार्ग र सबै सत्यता बोध गर्न साथै पूर्ण मुक्तिको अनुग्रह पाउन सक्छ। मानिसलाई उसका पापहरूबाट मुक्त गर्न र उसलाई पूर्ण रूपमा शुद्ध गर्न दोस्रो देहधारण नै पर्याप्त छ। यसैले, दोस्रो देहधारणद्वारा परमेश्वरको सम्पूर्ण कामलाई समाप्त गरिनेछ र परमेश्वरको देहधारणको महत्त्व पूरा हुनेछ। त्यसपछि, देहमा गरिने परमेश्वरको काम पूर्ण रूपमा अन्त्य हुनेछ। दोस्रो देहधारणपछि, उहाँ आफ्नो कामका लागि तेस्रो पटक देह बन्नुहुनेछैन। किनकि उहाँको सम्पूर्ण व्यवस्थापन समाप्त भएको हुनेछ, आखिरी दिनहरूका देहधारणले उहाँले छान्नुभएका मानिसहरू पूर्ण रूपमा प्राप्त गर्नुभएको हुनेछ, र आखिरी दिनहरूको मानवजाति सबै तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिएका हुनेछन्। उहाँले फेरि मुक्तिको काम गर्नुहुनेछैन, न त उहाँ कुनै काम गर्न देहमा फर्केर नै आउनुहुनेछ। आखिरी दिनहरूको काममा, वचनको शक्ति चिह्न र चमत्कारका कार्यहरूको प्रकटीकरणभन्दा अझ ठूलो हुन्छ, र वचनको अख्तियारले चिह्न र चमत्कारहरूको अख्तियारलाई उछिन्छ। वचनले मानिसको हृदयको गहिराइमा गाडिएका सबै भ्रष्ट स्वभावलाई खुलासा गर्दछ। तँसित तिनलाई आफै पत्ता लगाउने कुनै उपाय छैन। जब वचनद्वारा तिनलाई खुलासा गरिन्छ तब तैँले तिनलाई प्राकृतिक रूपमै पत्ता लगाउनेछस्; तैँले आफ्नो स्वीकृति दिनुपर्नेछ, र तँ पूर्ण रूपमा विश्वस्त हुनेछस्। के यो वचनको अख्तियार होइन र? यो आज वचनको कामद्वारा प्राप्त गरिने नतिजा हो। त्यसकारण, रोग निको पारेर र भूतहरू निकालेर मानिस उसका पापहरूबाट पूर्ण रूपले मुक्त हुन सक्दैन, न त चिह्न र चमत्कारहरू देखाएर नै उसलाई सम्पूर्ण रूपमा पूर्ण बनाउन सकिन्छ। रोग निको पार्ने र भूतहरू धपाउने अख्तियारले मानिसलाई अनुग्रह मात्र दिन्छ, तर मानिसको देह अझै पनि शैतानकै हुन्छ, र शैतानी भ्रष्ट स्वभावहरू अझै पनि मानिसभित्रै रहेका हुन्छन्। अर्को शब्दमा भन्ने हो भने, शुद्ध पारिएको मानिस अझै पनि पाप र फोहोरकै हुन्छ। वचनको माध्यमबाट शुद्ध पारिएपछि मात्र मानिस परमेश्वरद्वारा प्राप्त गरिन र पवित्र पारिन सक्छ। जब मानिसबाट भूतहरू निकालिन्थ्यो र उसले छुटकारा पाउँथ्यो, त्यसको मतलब ऊ शैतानको हातबाट खोसिएर परमेश्वरमा फर्कियो भन्ने मात्र हुन्थ्यो। तर, मानिस अझै पनि परमेश्वरद्वारा शुद्ध पारिएको वा परिवर्तन गरिएको छैन, र ऊ भ्रष्ट नै रहेको छ। मानिसभित्र अझै पनि फोहोर, प्रतिरोध, र विद्रोहीपन छन्; परमेश्वरले छुटकारा दिनुभएकोले मानिस उहाँकहाँ फर्केको मात्र हुन्छ, तर ऊसँग परमेश्वरको बारेमा रत्तीभर पनि ज्ञान हुँदैन र अझै पनि ऊ उहाँको विरोध गर्न र उहाँलाई धोका दिन सक्षम हुन्छ। मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्र पहिल्यै रोपिएका थिए, र शैतानद्वारा भ्रष्ट तुल्याइएको हजारौँ वर्षपछि, ऊसँग भित्र परमेश्वरको प्रतिरोध गर्ने एउटा प्रकृति हुन्छ। यसकारण, जब मानिसलाई छुटकारा दिइयो, त्यो छुटकारा भन्दा अरू केही पनि थिएन। अर्थात्, मानिसलाई ठूलो मूल्यमा किनेर फिर्ता लिइएको थियो, तर ऊभित्रको विषाक्त प्रकृति हटाइएको थिएन। यस्तो फोहोरी मानिसले परमेश्वरलाई सेवा गर्न योग्य हुनुभन्दा अघि परिवर्तन भोग्नैपर्छ। यस न्याय र सजायको कामको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोरी र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्न पुग्नेछ, र ऊ पूर्णतः परिवर्तन हुन र शुद्ध गरिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। हालका सबै काम मानिस शुद्ध पारिन र परिवर्तित हुन सकोस् भनेर गरिन्छ; वचनको न्याय र सजाय, अनि शोधनको माध्यमबाट मानिसले आफ्नो भ्रष्टता फाल्न अनि ऊ शुद्ध पारिन सकोस् भनेर गरिन्छ। कामको यो चरण मुक्तिको काम हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु बढी उचित हुन्छ। वास्तवमा, यो चरण विजयको काम पनि हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। वचनको न्याय र सजायमार्फत नै मानिस परमेश्वरद्वारा प्राप्त गरिन पुग्छ, र वचनमार्फत गरिने शोधन, न्याय, र खुलासाले नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, मनसाय र व्यक्तिगत आशाहरूलाई पूर्ण रूपमा प्रकट गर्छन्। मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएका भए पनि, यसलाई केवल परमेश्वरले उसका अपराधहरू याद नगर्नुभएको र उसका अपराधहरूअनुसार ऊसँग व्यवहार नगर्नुभएको मान्न सकिन्छ। तर, मानिस पापबाट मुक्त नभईकन देहमा जिउँछ, र ऊ निरन्तर पाप गरिरहन, अटुट रूपमा आफ्नो शैतानी भ्रष्ट स्वभावहरू प्रकट गरिरहन मात्र सक्छ। मानिसले जिउने जीवन यही हो, पाप गर्ने र क्षमा गरिने एउटा निरन्तर चक्र। अधिकांश मानिसहरूले दिनमा पाप गर्छन् र साँझमा पाप स्वीकार गर्छन्। अनि त्यसैले, पापबलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि, त्यसले मानिसलाई पापबाट मुक्ति दिन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभावहरू छन्। उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्ने थाहा पाए, तब तिनीहरूले गुनासो गरे, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानिस अझै पनि परमेश्वरको प्रभुत्वको अन्तर्गत पूर्ण रूपमा समर्पित हुन असमर्थ छ भनी देखाउँदैन र? के ठ्याक्कै यही नै मानिसका शैतानी भ्रष्ट स्वभाव होइनन् र? जब तँलाई सजायको अधीनमा पारिएको थिएन, तँ तेरो हात अरू सबैका भन्दा माथि उठाउँथिस्, येशूको भन्दा पनि माथि उठाउँथिस्। अनि तँ ठूलो स्वरमा कराउँथिस्, “परमेश्वरको प्यारो छोरा हुनू! परमेश्वरको एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मरौँला! त्यो वृद्ध शैतानविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर सदाका लागि शक्तिबाट खसोस्। परमेश्वरले हामीलाई पूर्ण बनाउनुहोओस्!” तैँले अरू सबैको भन्दा चर्को स्वरमा पुकारिस्। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, तेरा भ्रष्ट स्वभावहरू प्रकट भए। तेरो पुकार रोकियो, र तैँले तेरो सङ्कल्प गुमाइस्। मानिसको भ्रष्टता यही नै हो; यो यस्तो कुरा हो, जुन पापभन्दा गहिरो छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरूबारे सचेत हुनु मानिसका निम्ति सजिलो छैन, र ऊसँग गहिरो जरा गाडेको आफ्नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन। वचनको न्यायमार्फत मात्रै यो नतिजा हासिल गर्न सकिन्छ। यसरी मात्र मानिसलाई यस बिन्दुबाट बिस्तारै परिवर्तन गर्न सकिन्छ। मानिस विगतमा यसरी चिच्याउँथ्यो, किनभने उसमा आफ्ना अन्तर्निहित भ्रष्ट स्वभावहरूबारे कुनै बुझाइ थिएन। मानिसभित्र रहेका अशुद्धताहरू यिनै हुन्। न्याय र सजायको लामो अवधिभरि, मानिस तनावको वातावरणमा जियो। के यो सबै वचनको माध्यमद्वारा हासिल भएको थिएन र? के तँ पनि सेवाकर्ताहरूको परीक्षण हुनु अघि एकदमै ठूलो आवाजमा कराइनस् र? “हामी राज्यमा प्रवेश गरेका छौँ! यो नाउँ स्वीकार गर्नेहरू सबै राज्यमा प्रवेश गरेका छन्! सबै जना परमेश्वरकहाँ सहभागी भएका छन्!” जब सेवाकर्ताहरूको परीक्षा आयो, तँ रुनै छोडिस्। सबैभन्दा सुरुमा सबै जना कराए, “परमेश्वर! तपाईँले मलाई जहाँ राख्नुभए पनि, म तपाईँका योजनाबद्ध कार्यहरूप्रति अवश्यै समर्पित हुनेछु।” परमेश्वरका वचनहरू पढिसकेपछि मानिसहरूले भने, “मेरो पावल को हुनेछ? म राजी छु!” तब तिनीहरूले यी वचनहरू देखे, “अय्यूबको आस्था कस्तो थियो?” र भने, “म अय्यूबको आस्था आफूमा राख्न इच्छुक छु। हे परमेश्वर, बिन्ती मेरो परीक्षा गर्नुहोस्!” जब सेवा-कर्ताहरूको परीक्षण आयो, तिनीहरू एकैचोटि ढले, र मुस्किलले फेरि खडा हुन सके। त्यसपछि, अलिअलि गर्दै तिनीहरूको हृदयमा रहेका अशुद्धताहरू बिस्तारै कम हुँदै गए। के यो वचनद्वारा प्राप्त भएको थिएन र? यसैले, आज तिमीहरूले जे अनुभव गर्यौ ती वचनद्वारा प्राप्त गरिएका परिणामहरू हुन्, ती येशूको चिन्ह र चमत्कारहरूद्वारा प्राप्त गरिएका भन्दा पनि महान् छन्। तैँले देखेको परमेश्वरको महिमा र तैँले देख्ने परमेश्वर स्वयम्को अख्तियार केवल क्रूसीकरण, बिरामीलाई निको पार्ने र भूतहरू निकाल्ने माध्यमबाट मात्र देखिँदैन, तर त्योभन्दा बढी उहाँको वचनले गर्ने न्यायबाट देखिन्छ। यसले तँलाई परमेश्वरको अख्तियार र शक्तिमा केवल चिन्हहरू, बिरामीलाई निको पार्ने र भूतहरू धपाउने काम मात्र समावेश हुँदैन, तर परमेश्वरको वचनको न्यायले अझ राम्ररी परमेश्वरको अख्तियारलाई प्रतिनिधित्व गर्न अनि उहाँको सर्वशक्तिमान्तालाई प्रकाश गर्न सक्छ भन्ने देखाउँछ।
मानिसले अहिले के हासिल गरेको छ—उसको वर्तमान कद, ज्ञान, प्रेम, बफादारी, समर्पण र अन्तर्दृष्टि—वचनको न्यायको माध्यमबाट प्राप्त भएका कुराहरू यिनै हुन्। तँ आजको दिनसम्म बफादार हुन र खडा रहन सकेको छस्, त्यो वचनको माध्यमद्वारा नै हो। अहिले मानिसले देहधारी परमेश्वरको काम वास्तवमै असाधारण छ, र यसमा मानिसद्वारा प्राप्त गर्न नसकिने, र रहस्य र अचम्मका कुराहरू धेरै छन् भन्ने देख्छ। त्यसैकारण धेरै जना अधीनमा बसेका छन्। कोही-कोही तिनीहरूका जन्मदेखि नै कहिल्यै कसैको अधीनमा बसेका छैनन्, तापनि तिनीहरूले आजको दिनमा परमेश्वरका वचनहरू देख्दा तिनीहरूले थाहै नपाई तिनीहरू अधीनमा बसेका हुन्छन्, अनि तिनीहरू जाँच्ने वा अरू कुनै कुरा गर्ने आँट गर्दैनन्। मानवता वचनको अधीनमा परेको छ र वचनको न्यायको मुनि लम्पसार परेको छ। यदि परमेश्वरका आत्माले मानिससँग सिधै बोल्नुहुन्थ्यो भने मानवजाति सबै त्यो आवाजप्रति समर्पित हुनेथिए, र परमेश्वरले आफ्ना वचनहरूद्वारा मानिसको खुलासा गर्नु नपरी तिनीहरू त्यसरी नै लम्पसार पर्नेथिए, जसरी पावल दमस्कसको बाटोको ज्योतिले गर्दा भुइँमा लडेका थिए। यदि परमेश्वरले यस प्रकारले काम गरिरहनुभएको भए, मानिसले कहिल्यै पनि वचनको न्यायद्वारा आफ्नो भ्रष्टतालाई जान्न र त्यसबाट मुक्ति प्राप्त गर्न सक्दैनथियो। केवल देहधारी हुनुभएर मात्र परमेश्वरले हरेक मानवका कानमा उहाँका वचनहरू व्यक्तिगत रूपमा पुर्याउन सक्नुहुन्छ, ताकि जसको हुने सबैले उहाँको वचन सुन्न र वचनद्वारा गरिने न्यायको काम स्वीकार गर्न सकून्। यो नै उहाँको वचनद्वारा हासिल भएको साँचो नतिजा हो, मानिसलाई डरले अभिभूत पार्न आत्मा प्रकट हुनु होइन। यही व्यावहारिक तर असाधारण काममार्फत मात्रै मानिसभित्र धेरै वर्षदेखि लुकेर रहेका उसका पुराना स्वभावहरूलाई पूर्ण रूपमा खुलासा गर्न सकिन्छ, ताकि मानिसले तिनलाई चिन्न र परिवर्तन अनुभव गर्न सकून्। यी कुराहरू सबै देहधारी परमेश्वरका व्यावहारिक काम हुन्, जसमा उहाँ पूर्णतया व्यावहारिक रूपमा बोल्नुहुन्छ र न्याय कार्यान्वयन गर्नुहुन्छ, अनि त्यसपछि वचनद्वारा मानिसमाथि न्यायका नतिजाहरू हासिल गर्नुहुन्छ। देहधारी परमेश्वरको अख्तियार र परमेश्वरको देहधारणको महत्त्व यही हो। यो देहधारी परमेश्वरको अख्तियार प्रकट गर्न, वचनको कामद्वारा हासिल गरिएका नतिजाहरू प्रकट गर्न, र आत्मा देहमा आउनुभएको छ र उहाँ वचनद्वारा मानिसको न्याय गरी उहाँको अख्तियार प्रदर्शन गर्नुहुन्छ भन्ने कुरा प्रकट गर्नका निम्ति गरिन्छ। उहाँको देह एक साधारण, सामान्य मानवताको बाहिरी आवरण भए पनि उहाँ अख्तियारले पूर्ण हुनुहुन्छ, उहाँ स्वयम् परमेश्वर हुनुहुन्छ र उहाँका वचनहरू स्वयम् परमेश्वरका अभिव्यक्ति हुन् भनी देखाउने भनेको उहाँका वचनहरूले हासिल गर्ने नतिजाहरूले नै हो। यस माध्यमद्वारा सबै मानवजातिलाई उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ, उहाँ देह बन्नुभएका परमेश्वर स्वयम् हुनुहुन्छ, उहाँविरुद्ध कसैले पनि अपराध गर्नु हुँदैन, र कसैले पनि वचनद्वारा गरिने उहाँको न्यायलाई उछिन्न सक्दैन, अन्धकारको कुनै शक्ति उहाँको अख्तियारमाथि विजयी हुन सक्दैन भनी देखाइन्छ। मानिस उहाँप्रति समर्पित हुनु भनेको पूर्णतया उहाँले देहधारण गर्नुभएको देहका कारणले हो, सबै उहाँको अख्तियारका कारण र वचनद्वारा उहाँले गर्नुहुने न्यायका कारणले गर्दा हो। उहाँको देहधारी देहद्वारा ल्याइएको काम उहाँसित भएको अख्तियार हो। शरीरले पनि अख्तियार प्राप्त गर्न सकोस् भनेर उहाँ देह बन्नुभएको हो, र उहाँ मानिसले देख्न र अनुभव गर्न सक्ने गरी मानिसमा व्यावहारिक ढङ्गले काम गर्न सक्षम हुनुहुन्छ। यो काम परमेश्वरका आत्माले सिधै गरेको कामभन्दा धेरै व्यावहारिक हुन्छ, जोसँग सबै अधिकार छ, र यसका परिणामहरू पनि स्पष्ट हुन्छन्। किनकि देहधारी परमेश्वर व्यावहारिक रूपमा बोल्न र काम गर्न सक्नुहुन्छ। उहाँको देहको बाहिरी आवरणको कुनै अख्तियार हुँदैन, र मानिस त्यसको नजिक जान सक्छ, जबकी उहाँको सारले अख्तियार बोक्दछ, तर उहाँको अख्तियारलाई कसैले पनि देख्न सक्दैन। जब उहाँ बोल्नुहुन्छ र काम गर्नुहुन्छ, मानिसले उहाँको अख्तियारको अस्तित्व पत्ता लगाउन सक्दैन; यसले उहाँलाई उहाँको प्राकृतिक काम गर्न सहयोग पुर्याउँछ। यो सबै व्यावहारिक कार्यले परिणामहरू प्राप्त गर्न सक्छ। कुनै पनि मानिसले उहाँमा अख्तियार छ भन्ने महसुस नगरे पनि, वा उहाँविरुद्ध कुनै अपराध गर्नु हुँदैन भन्ने कुरा नबुझे पनि, वा उहाँको क्रोध नदेखे पनि, उहाँले उहाँको गुप्त अख्तियार, उहाँको लुकेको क्रोध र उहाँले खुल्लमखुल्ला बोल्नुहुने वचनबाट आफ्ना वचनहरूद्वारा आफूले चाहनुभएको परिणाम प्राप्त गर्नुहुन्छ। अर्को शब्दमा, उहाँको आवाजको सुर, उहाँको बोलीको कठोरता, र उहाँको वचनका सबै बुद्धिद्वारा मानिस पूर्ण रूपले विश्वस्त हुन्छ। यस प्रकारले, मानिस देहधारी परमेश्वरको अधीनमा बस्छ, जसको कुनै अधिकार छैन जस्तो देखिन्छ, यसरी मानिसलाई बचाउने परमेश्वरको उद्देश्य पूरा हुन्छ। यो उहाँको देहधारणको महत्त्वको अर्को पक्ष हो: अझ बढी व्यावहारिक तरिकामा बोल्नु, उहाँका वचनहरूको वास्तविकतालाई मानिसमा त्यसका नतिजाहरू हासिल गर्न दिनु, र मानिसलाई परमेश्वरको वचनको शक्तिको साक्षी बन्न दिनु हो। त्यसकारण, यदि देहधारणको माध्यमद्वारा यो काम गरिएको थिएन भने, त्यसले थोरै परिणामहरू पनि प्राप्त गर्न सक्दैनथियो र पापी मानिसहरूलाई पूर्ण रूपमा मुक्ति दिन सक्ने थिएन। यदि परमेश्वर देह नबन्नुभएको भए, उहाँ मानिसका निम्ति अदृश्य र पहुँचबाहिरको आत्मा नै रहनुहुनेथ्यो। मानिस शारीरिक प्राणी भएकोले ऊ र परमेश्वर दुई फरक संसारका हुनुहुन्छ र जसका विभिन्न प्रकृतिहरू छन्। परमेश्वरका आत्मा देहले बनेको मानिससँग नमिल्ने हुनुहुन्छ, र दुईबीच कुनै हालतमा सम्बन्ध स्थापित गर्न सकिँदैन; यसैबीच, मानिस आत्मामा परिणत हुन सक्दैन। यस्तो भएकोले, आफ्नो मूल कार्य गर्नको लागि परमेश्वरका आत्मा सृजित प्राणी हुनु नै पर्दछ। परमेश्वर सर्वोच्च स्थानमा उक्लन र सृजित मानव बन्नका निम्ति आफूलाई नम्र तुल्याउने दुवै गर्न सक्नुहुन्छ, मानवजातिका माझमा काम गर्न र तिनीहरूका बीचमा रहन सक्नुहुन्छ, तर मानिस सर्वोच्च स्थानमा उक्लिन र आत्मा बन्न सक्दैन, र ऊ सबैभन्दा तल्लो स्थानमा त झनै ओर्लन सक्दैन। यसैले गर्दा परमेश्वर आफ्नो काम पूरा गर्न देह बन्नुपर्छ। यो त ठ्याक्कै पहिलो देहधारणको अवधिमा देहधारी परमेश्वरको शरीरले मात्रै उहाँको क्रूसीकरणद्वारा मानिसलाई छुटकारा दिन सक्नु, तर परमेश्वरका आत्मा मानिसको पापबलिका रूपमा क्रूसमा टाँगिने कुनै उपाय नहुनु जस्तै हो। परमेश्वर मानिसको पापबलि हुनका निम्ति सीधै मानिस बन्न सक्नुहुन्थ्यो, तर मानिस परमेश्वरले उसको निम्ति तयार पार्नुभएको पापबलि बोकेर सीधै स्वर्गमा उक्लिन सक्दैनथ्यो। यस्तो भएकोले, परमेश्वरलाई स्वर्ग र पृथ्वीको बीचमा केही पल्ट आउने र जाने गर्न लाउनु मात्र सम्भव हुन्थ्यो, मानिसलाई यो मुक्तिको अनुग्रह लिन स्वर्गमा उक्लिन लगाउनु सम्भव थिएन, किनकि मानिस पतित भएको थियो, साथै मानिस यसै पनि स्वर्गमा उक्लिन सक्दैन, झन् पापबलि प्राप्त गर्न सक्नु त कुरै नगरौं। त्यसकारण, येशू मानवजातिको बीचमा आउनु र कुनै मानिसले गर्न नसक्ने काम व्यक्तिगत रूपमा गर्नु आवश्यक थियो। हरेक चोटि परमेश्वर अति आवश्यक परेकोले गर्दा मात्रै मानिस बन्नुहुन्छ। यदि कुनै पनि चरण प्रत्यक्ष रूपमा परमेश्वरका आत्माद्वारा पूरा गर्न सकिन्थ्यो भने, उहाँले देहधारण गर्दा भोग्नुपरेका गुनासाहरू र अपमान सहनुहुनेथिएन।
कामको यो अन्तिम चरणमा, वचनको माध्यमद्वारा परिणामहरू प्राप्त गरिन्छ। वचनको माध्यमबाट, मानिसले धेरै वटा रहस्यहरू र परमेश्वरले विगतका पुस्ताहरूमा गर्नुभएको कामलाई बुझ्न सक्छ; वचनद्वारा मानिसले पवित्र आत्माबाट अन्तर्ज्ञान प्राप्त गर्दछ; वचनद्वारा नै मानिसले विगतका पुस्ताहरूले कहिल्यै बुझ्न नसकेका रहस्यहरू साथै विगत समयका अगमवक्ता र प्रेरितहरूका कामहरूलाई र उनीहरूले काम गरेका सिद्धान्तहरूलाई बुझ्न सक्दछ; वचनद्वारा, मानिसले स्वयम् परमेश्वरको स्वभावलाई साथै मानिसको विद्रोहीपन र विरोधलाई बुझ्न सक्छ, साथै उसको आफ्नै सारलाई पनि बुझ्न सक्छ। कामका यी चरणहरू र बोलिएका सबै वचनहरूद्वारा, मानिसले आत्माको काम, देहधारी परमेश्वरको शरीरले गर्ने काम, र अझ त्योभन्दा बढी उहाँको सम्पूर्ण स्वभावको बारेमा जान्दछ। परमेश्वरको छ हजार वर्षभन्दा धेरै समयको व्यवस्थापनको कामसम्बन्धी तेरो ज्ञान पनि वचनको माध्यमबाट नै प्राप्त भएको थियो। के तेरा पहिलेका धारणाहरू र तिनलाई पन्छ्याउने कार्यमा तैँले पाएको सफलता पनि वचनबाटै प्राप्त भएको होइन? अघिल्लो चरणमा, येशूले चिह्न र चमत्कारका कामहरू गर्नुभयो, तर यस चरणमा कुनै चिह्न र चमत्कारहरू छैनन्। परमेश्वरले किन चिह्न र चमत्कारहरू प्रकट गर्नुहुन्न भन्ने तेरो बुझाइ पनि के वचनद्वारा नै प्राप्त गरिएको होइन र? त्यसकारण, यस चरणमा बोलिएका वचनहरूले विगतका पुस्ताहरूका प्रेरितहरू र अगमवक्ताहरूले गरेका कार्यलाई उछिन्छन्। अगमवक्ताहरूले गरेका अगमवाणीहरूले पनि यो परिणाम प्राप्त गर्न सक्दैनथियो। अगमवक्ताहरूले केवल अगमवाणी बोले, तिनीहरूले भविष्यमा के हुनेछ भन्ने कुरा बताए, तर त्यस समयमा परमेश्वरले गर्न चाहनुभएको कामको बारेमा बताएनन्। न त उनीहरूले मानवजातिलाई तिनीहरूका जीवनमा डोऱ्याउन, वा मानवजातिलाई सत्यता दिन, वा तिनीहरूलाई रहस्य प्रकट गर्न नै बोले, जीवन प्रदान गर्नको लागि बोल्ने कुरा त परै जाओस्। यस चरणमा बोलिएका वचनहरूमा भविष्यवाणी र सत्यता छ, तर मुख्य रूपमा यी वचनहरूले मानिसलाई जीवन प्रदान गर्ने काम गर्दछ। वर्तमानका यी वचनहरू अगमवक्ताहरूका अगमवाणीहरूभन्दा फरक छन्। यो चरणको काम मानिसको जीवनका लागि हो, मानिसको जीवनको स्वभाव परिवर्तन गर्नका लागि हो, तर अगमवाणी बोल्नका लागि होइन। पहिलो चरण यहोवाको कामको निम्ति थियो: उहाँको काम भनेको पृथ्वीमा मानिसहरूलाई परमेश्वरको आराधना गर्न तयार पार्नु थियो। यो पृथ्वीमा काम सुरु गर्ने ठाउँ खोज्ने सुरुवाती काम थियो। त्यसबेला, यहोवाले इस्राएलीहरूलाई शबाथ पालन गर्न, तिनीहरूका आमाबाबुको आदर गर्न र एक-अर्कासित मिलेर जीवन बिताउन सिकाउनुभयो। किनभने त्यस समयका मानिसहरूले मानिस कुन कुराले बनेको छ भनी बुझेका थिएनन्, न त तिनीहरूले यस पृथ्वीमा कसरी जिउने भनी बुझेका नै थिए। कामको पहिलो चरणमा उहाँले मानवजातिलाई तिनीहरूका जीवन जिउन मार्गनिर्देशन गर्नु आवश्यक थियो। यहोवाले उनीहरूलाई भन्नुभएका सबै कुरा अघिबाट मानवजातिलाई थाहा थिएन वा तिनीहरूको स्वामित्वमा थिएन। त्यस बेला परमेश्वरले अगमवाणीहरू बोल्न धेरै जना अगमवक्ताहरू खडा गर्नुभयो, र तिनीहरूले ती सबै यहोवाको निर्देशनमा गरे। यो परमेश्वरको कामको एउटा भाग मात्र थियो। पहिलो चरणमा, परमेश्वर देह बन्नुभएन, यसैले उहाँले सबै कुल र जातिहरूलाई अगमवक्ताहरूद्वारा निर्देशन दिनुभयो। जब येशूले आफ्नो समयमा काम गर्नुभयो, उहाँ आजको दिनमा जत्तिकै धेरै बोल्नुभएन। आखिरी दिनहरूमा हुने वचन कामको यो चरण विगतको कुनै पनि युगहरू र पुस्ताहरूमा कहिल्यै गरिएको छैन। यशैया, दानिएल र यूहन्नाले धेरै अगमवाणीहरू बोलेका भए तापनि, तिनीहरूका अगमवाणीहरू अहिले बोलिएका वचनहरूभन्दा बिलकुलै फरक थिए। तिनीहरूले जे बोले ती अगमवाणीहरू मात्र थिए, तर अहिले बोलिएका वचनहरू त्यस्ता होइनन्। यदि मैले अहिले बोलेका सबै कुरालाई अगमवाणीमा परिणत गरें भने के तिमीहरू त्यसलाई बुझ्न सक्नेछौ? मैले बोलेको कुरा म गएपछि हुने कुराहरू हुन् भन्ने मानिलिने हो भने, तैँले त्यो कसरी बुझ्न सक्नेछस्? वचनको काम येशूको समयमा वा व्यवस्थाको युगमा कहिल्यै गरिएको थिएन। सायद कतिले भन्नेछन्, “के यहोवाले पनि उहाँको कामको समयमा वचनहरू बोल्नुभएन र? के येशूले काम गरिरहनुभएको बेला रोग निको पार्ने, भूतहरू निकाल्ने, र चिन्ह र चमत्कारका कामहरू गर्ने बाहेक वचनहरू पनि बोल्नुभएन र?” बोलिएका कुराहरूका बीचमा भिन्नता हुन्छन्। यहोवाले बोल्नुभएका वचनहरूको सार के थियो? उहाँले मानवजातिलाई पृथ्वीमा आफ्नो जीवन बिताउन मात्र डोऱ्याउँदै हुनुहुन्थ्यो, जसले जीवनका आत्मिक विषयहरूलाई छोएन। जब यहोवाले बोल्नुभयो, सबै ठाउँका मानिसहरूलाई निर्देशन दिनलाई बोल्नुभयो भनी किन भनिएको छ? “निर्देशन” शब्दको अर्थ स्पष्ट रूपमा भन्नु र सिधा आदेश दिनु भन्ने हुन्छ। उहाँले मानिसलाई जीवन मात्र दिनुभएन; उहाँले दृष्टान्तहरूको माध्यमद्वारा होइन बरु मानिसलाई हातले समात्नुभयो र उहाँको डर मान्न सिकाउनुभयो। यहोवाले इस्राएलमा गरेको काम मानिसलाई काँटछाँट गर्न वा उसलाई अनुशासनमा राख्न वा न्याय र दण्ड दिनका निम्ति थिएन, त्यो मानिसलाई डोऱ्याउनका निम्ति थियो। यहोवाले मोशालाई तिनका आफ्ना मानिसहरूलाई उजाड्-स्थानमा मन्न बटुल्न लगाउनू भनी आज्ञा दिनुभयो। प्रत्येक बिहान सूर्योदय हुनुभन्दा अघि उनीहरूले त्यो दिनलाई पुग्नेजति मन्न बटुल्नु पर्थ्यो। मन्न भोलिको दिनसम्म राख्न सकिँदैनथ्यो, किनकि त्यो कुहिहाल्थ्यो। उहाँले मानिसहरूलाई भाषण दिनुभएन वा तिनीहरूको प्रकृति प्रकट गरिदिनुभएन, न त उहाँले तिनीहरूका विचार र सोचाइहरूलाई नै खुलासा गरिदिनुभयो। उहाँले मानिसहरूलाई परिवर्तन गर्नुभएन, बरु उनीहरूको जीवन अगि बढाउन मार्गनिर्देशन दिनुभयो। त्यस समयका मानिसहरू केही नबुझ्ने र केवल केही आधारभूत अचेतन चाल मात्र चाल्न सक्ने बालबालिकाहरू जस्ता थिए, त्यसैले यहोवाले भीडहरूलाई डोऱ्याउन व्यवस्थाहरू मात्र घोषणा गर्नुभयो।
यसैले साँचो हृदयले खोजी गर्नेहरूले आजको दिनमा गरिएको कामको ज्ञान प्राप्त गरून् र तिनीहरू पूर्ण रूपमा विश्वस्त हुन सकून् भनी सुसमाचार फैलाउनका लागि, तैँले भित्रको कथा, त्यसको सार र प्रत्येक चरणमा गरिएको कामको महत्त्वलाई स्पष्ट रूपमा बुझ्नुपर्छ। यसलाई यस्तो बनाएर राख्, ताकि तेरो सङ्गति सुनेर अरूले पनि यहोवाको काम, येशूका काम र अझ बढी आजका परमेश्वरका सबै कामहरू, साथै यी तीन चरणहरूको बीचका सम्बन्धहरू साथै भिन्नताहरूलाई बुझ्न सकून्। यसलाई यस्तो बनाएर राख्, ताकि तिनीहरूले सुनिसकेपछि, अरूले यी तीन चरणले एकले अर्कोलाई बाधा दिएनन्, तर यी सबै एउटै आत्माको काम हुन् भनी बुझ्न सकून्। उहाँहरूले विभिन्न युगहरूमा काम गर्नुहुने भए तापनि, उहाँहरूले गर्नुहुने कामको विषयवस्तु भिन्न भए तापनि, र उहाँहरूले बोल्ने वचनहरू फरक भए तापनि, उहाँहरूले काम गर्ने सिद्धान्तहरू एउटै र उस्तै हुन्छन्। यी कुराहरू परमेश्वरलाई पछ्याउने सबै मानिसहरूले बुझ्नुपर्ने सबैभन्दा ठूला दर्शनहरू हुन्।