४. देहधारणका रहस्यहरूको खुलासा सम्बन्धी वचनहरू

१८७. पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको मासुको शरीरको माध्यमबाट छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र भ्रष्ट शैतानिक स्वभाव अझै रहिरह्यो। दोस्रो देहधारण पापको बलिदानको रूपमा सेवा गर्नु होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा बचाउनका लागि हो। यो यसकारण गरिएको हो, कि क्षमा गरिएकाहरूले तिनीहरूको पापबाट छुटकारा पाऊन् र पूर्ण रूपमा शुद्ध पारिऊन्, र स्वभावमा परिवर्तन प्राप्त गरेर शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून् र परमेश्‍वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ। व्यवस्थाको युग समाप्त भएर अनुग्रहको युगबाट परमेश्‍वरले मुक्तिको कामको सुरु गर्नुभयो, जुन आखिरी दिनहरूसम्म जारी रहन्छ, जब मानवजातिलाई उनीहरूको विद्रोहका लागि न्याय गर्ने र सजाय दिने क्रममा, उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुनेछ। त्यसबेला मात्र परमेश्‍वरले आफ्नो मुक्तिको कामलाई समाप्त गर्नुहुनेछ र विश्राममा प्रवेश गर्नुहुनेछ। त्यसकारण, कामका तीन चरणमा, परमेश्‍वर आफैले मानिसहरूको बीचमा काम गर्नका निम्ति केवल दुई पटक मात्र देहधारी बन्नुभयो। किनभने कामका तीन चरणमध्ये एउटा मानिसलाई उनीहरूको जीवनमा डोऱ्याउनु थियो, अनि अन्य दुईवटा मुक्तिको काम गर्नका निम्ति हो। केवल मानिस बनेर मात्र परमेश्‍वर मानिससँग बस्न, संसारको दु:ख अनुभव गर्न, र मानिसको सामान्य मासुको शरीरमा जिउन सक्नुहुन्छ। केवल यस तरिकाले मात्र उहाँले मानिसलाई सृष्टि गरिएका प्राणीहरूको रूपमा चाहिने कुराहरू व्यावहारिक तरिकाले प्रदान गर्न सक्नुहुन्छ। परमेश्‍वरको देहधारणद्वारा मानिसले परमेश्‍वरबाट पूर्ण मुक्ति पाउँछ, उसको प्रार्थनाको जबाफ स्वरूप सीधै स्वर्गबाट होइन। किनकि मानिस देह भएकोले ऊसँग परमेश्‍वरका आत्मालाई कुनै पनि तरिकाले देख्‍न सक्दैन, उहाँको आत्माको नजिक जाने कुरा त परै जाओस्। मानिस केवल परमेश्‍वरले देहधारण गर्नुभएको शरीरसित सम्पर्कमा आउन सक्छ, र केवल यस तरिकाले मात्र मानिसले सबै मार्गहरू र सबै सत्यताहरू बुझ्न सक्दछ, र पूर्ण मुक्ति प्राप्त गर्दछ। दोस्रो देहधारण मानिसका पापहरू मेटाउन र उसलाई पूर्ण रूपमा शुद्ध गर्न पर्याप्त हुनेछ। यसैले, दोस्रो देहधारणद्वारा परमेश्‍वरको सम्पूर्ण कामलाई समाप्त गरिनेछ र परमेश्‍वरको देहधारणको महत्त्व पूरा हुनेछ। त्यसपछि, शरीरमा गरिने परमेश्‍वरको काम पूर्ण रूपमा अन्त्य हुनेछ। दोस्रो देहधारणपछि, उहाँ आफ्नो कामको लागि तेस्रो पटक शरीर बन्नुहुनेछैन। किनकि उहाँको सम्पूर्ण व्यवस्थापन अन्त्य भएको हुनेछ। आखिरी दिनहरूका देहधारणले उहाँका चुनिएका मानिसहरूलाई पूर्ण रूपमा प्राप्त गर्नुभएको हुनेछ, र आखिरी दिनहरूमा मानवजाति सबैलाई उनीहरूका प्रकारअनुसार वर्गीकरण गरिएको हुनेछ। उहाँले फेरि मुक्तिको काम गर्नुहुनेछैन, न त उहाँ कुनै काम गर्न देहमा फर्केर नै आउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

१८८. यहोवाको कामपछि, येशू मानिसहरूको माझमा उहाँको काम गर्न देह बन्नुभयो। उहाँको काम एक्लोपनामा गरिएको थिएन, तर यहोवाको काममाथि निर्माण गरिएको थियो। यो एउटा नयाँ युगका निम्ति काम थियो जुन परमेश्वरले व्यवस्थाको युग अन्त्य गर्नुभएपछि गर्नुभयो। त्यसरी नै, येशूको काम समाप्त भएपछि, परमेश्वरले अर्को युगका लागि आफ्नो काम गर्न अघि बढनुभयो, किनकि परमेश्वरको सम्पूर्ण व्यवस्थापन सधैं अगाडि बढिरहेको छ। जब पुरानो युग बित्छ, त्यसको स्थानमा एउटा नयाँ युग आउँछ, अनि एकपटक पुरानो काम पूरा भएपछि, परमेश्वरको व्यवस्थापनलाई निरन्तरता दिने त्यहाँ नयाँ काम हुनेछ। यो देहधारण परमेश्वरको दोस्रो देहधारण हो, जसले येशूको कामलाई पछ्याउँदछ। निश्चय, यो देहधारण स्वतन्त्र रूपमा हुँदैन; यो व्यवस्थाको युग र अनुग्रहको युगपछिको तेस्रो चरणको काम हो। प्रत्येक पल्ट जब परमेश्वरले कामको नयाँ चरण थाल्नुहुन्छ, त्यहाँ सधैं नयाँ सुरुआत हुनु पर्दछ र त्यसले सधैं एउटा नयाँ युग ल्याउनु पर्दछ। त्यस्तै प्रकारले परमेश्वरको स्वभावमा, उहाँको काम गर्ने तरिकामा, उहाँको काम गर्ने स्थानमा र उहाँको नाउँमा पनि त्यही अनुरूप परिवर्तनहरू हुन्छन्। त्यसैले, नयाँ युगमा मानिसलाई परमेश्वरको काम स्वीकार गर्न गाह्रो हुनु कुनै अचम्म मान्नु पर्ने कुरा होइन। तर मानिसद्वारा उहाँको जस्तै प्रकारले विरोध भए पनि परमेश्वरले सधैं आफ्नो काम गरिरहनुभएको छ, र सारा मानवजातिलाई अगाडि बढाइरहनुभएको छ। जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्वर फेरि देह बन्नुभयो, र उहाँको देहधारणसितै उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र परमेश्वरको राज्यको युग सुरु गर्नुभयो। परमेश्वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्नेहरू जति सबैलाई परमेश्वरको राज्यको युगतिर लगिनेछ, र यसबाहेक व्यक्तिगत रूपमा परमेश्वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशू पापको बलि बन्न र मानिसको पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभयो, र दण्ड अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमुनि आउनेहरू सबैले अझ उच्च सत्यको आनन्द लिनेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्य, बाटो र जीवन प्राप्त गर्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

१८९. त्यो “देहधारण” परमेश्‍वर देहमा देखा पर्ने घटनाहो; परमेश्‍वरले सृष्टि गरिएको मानवजातिका बीचमा देहको प्रतिरूपमा काम गर्नुहुन्छ। त्यसकारण परमेश्‍वर देहधारी हुनको लागि, उहाँ सुरुमा देह, सामान्य मानवता सहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो। वास्तवमा, परमेश्‍वरको देहधारणको तात्पर्य भनेको परमेश्‍वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्‍वर उहाँको सार-तत्वमा नै देह बन्‍नुहुन्छ, मानिस बन्‍नुहुन्छ भन्‍ने हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

१९०. देहधारणको अर्थ परमेश्‍वरका आत्मा देह बन्‍नुहुन्छ, अर्थात्, परमेश्‍वर देह बन्‍नुहुन्छ भन्‍ने हो; देहले गर्ने काम आत्माको काम हो, जुन देहमा प्रकट हुन्छ, देहद्वारा व्यक्त हुन्छ। परमेश्‍वरको देहले बाहेक अरू कसैले पनि देहधारी परमेश्‍वरको सेवकाइलाई पूरा गर्न सक्दैन; अर्थात्, देहधारी परमेश्‍वरको शरीर, यस सामान्य मानवताले मात्रै—अरू कसैले होइन—ईश्‍वरीय कार्यलाई व्यक्त गर्न सक्छ। यदि, उहाँको पहिलो आगमनको अवधिमा, उनन्तीस वर्षको उमेरभन्दा पहिले परमेश्‍वरसँग सामान्य मानवता नभएको भए—यदि उहाँ जन्‍मने बित्तिकै उहाँले आश्चर्यकर्महरू गर्न सक्‍नुभएको भए, उहाँले बोल्‍न सिक्‍ने बित्तिकै उहाँले स्वर्गको भाषा बोल्‍न सक्‍नुभएको भए, यदि उहाँले पृथ्वीमा पाइला टेक्‍नुभएकै क्षणमा उहाँले सारा सांसारिक कुराहरूलाई बुझ्‍न, हरेक व्यक्तिका विचार र अभिप्रायहरूलाई जान्‍न सक्‍नुभएको भए—त्यस्तो व्यक्तिलाई सामान्य मानिस भनेर भन्‍न सकिँदैन थियो, र त्यस्तो देहलाई मानव देह भनेर भन्‍न सकिँदैन थियो। यदि ख्रीष्‍टको अवस्था यस्तो भएको भए, परमेश्‍वरको देहधारणको अर्थ र सार हराउने थियो। उहाँमा सामान्य मानवता छ भन्‍ने कुराले उहाँ शरीरमा देहधारी हुनुभएका परमेश्‍वर हुनुहुन्छ भन्‍ने प्रमाणित गर्छ; उहाँले सामान्य मानवको वृद्धि हुने प्रक्रिया भएर जानुहुन्छ भन्‍ने तथ्यले उहाँ सामान्य देह हुनुहुन्छ भन्‍ने कुरालाई थप प्रदर्शन गर्छ; यसको साथै, उहाँ परमेश्‍वरको वचन, परमेश्‍वरको आत्मा नै देह हुनुभएको हो भन्‍ने प्रमाणित गर्न उहाँको काम नै पर्याप्त छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

१९१. देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र परमेश्‍वरका आत्माले ख्रीष्‍टलाई देहधारण गर्नुभयो। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्‍नताको कारण के हो भने ख्रीष्‍ट देह र रगतले बनिनुभएको हुनुहुन्‍न; उहाँ आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवै छ। उहाँको ईश्‍वरत्व कुनै पनि मानिसमा छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरूलाई सञ्चालन गर्छ, र उहाँको ईश्‍वरत्वले परमेश्‍वर स्वयमको कार्यलाई अघि बढाउँछ। चाहे यो उहाँको मानवता होस् वा ईश्‍वरत्व होस्, यी दुवै नै स्वर्गमा बस्‍नुहुने पिताको इच्छामा समर्पित हुन्छन्। ख्रीष्‍टको सार भनेको आत्मा नै हो, जुन ईश्‍वरत्व हो। त्यसकारण, परमेश्‍वर स्वयम्‌को सार नै उहाँको सार हो; यो सारले उहाँको आफ्नै कार्यलाई बाधा दिँदैन, र उहाँको आफ्नै कार्यलाई नष्‍ट गर्ने कुनै पनि कार्य उहाँले गर्न सक्‍नुहुन्‍न, न त उहाँको आफ्नै इच्छा विरुद्ध जाने कुनै पनि वचन उहाँले कहिल्यै बोल्‍नुहुन्छ। त्यसकारण, देहधारी परमेश्‍वरले आफ्नै व्यवस्थापनलाई अवरोध गर्ने कुनै पनि काम कहिल्यै गर्नुहुन्‍न। सबै मानिसहरूले यही कुरालाई बुझ्‍नुपर्छ। पवित्र आत्माको कार्यको सार भनेको मानिसलाई मुक्ति दिनु हो, र यो परमेश्‍वरको आफ्नै व्यवस्थापनको लागि हो। त्यसरी नै, ख्रीष्‍टको कार्य पनि मानिसलाई मुक्ति दिनु नै हो, र यो परमेश्‍वरको इच्छाको लागि हो। परमेश्‍वर देहधारी हुनुहुने हुँदा आफ्नो काम गर्नको लागि उहाँको शरीर पर्याप्‍त छ भनेर उहाँले आफ्नो देहभित्रको आधारभूत स्वभावलाई महसुस गर्नुहुन्छ। त्यसकारण, देहधारणको समय अवधिमा ख्रीष्‍टको कार्यले परमेश्‍वरको आत्माका सबै कार्यलाई प्रतिस्थापन गर्छ, र देहधारणको समयभरि गरिने सबै कार्यको केन्द्र ख्रीष्‍टको कार्य नै हो। यो अन्य कुनै पनि युगको कार्यसँग मिसिन सक्दैन। र परमेश्‍वर देहधारी हुनुहुने हुँदा उहाँले आफ्नो देहको पहिचानमा कार्य गर्नुहुन्छ; उहाँ शरीरमा आउनुहुने भएकोले, आफूले गर्नुपर्ने कार्यलाई उहाँले देहमा नै पूरा गर्नुहुन्छ। परमेश्‍वरको आत्मा होस् वा ख्रीष्‍ट होस्, दुवै नै परमेश्‍वर स्वयम हुनुहुन्छ, र उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ र आफूले गर्नुपर्ने सेवकाइ गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो

१९२. जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँमा परमेश्वरको सार हुनेछ, र जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँमा परमेश्वरको अभिव्यक्ति हुनेछ। परमेश्वर देह बन्नुभएकोले, उहाँले आफूले चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्वर देह बन्नुभएकोले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यलाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। त्यो देह जसमा परमेश्वरको सार हुँदैन त्यो निश्चित रूपमा देहधारी परमेश्वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। अनि त्यसैले, यो देहधारी परमेश्वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी देखा पर्ने घटना भन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरू)। यदि मानिसले उहाँको बाहिरी देखा पर्ने घटनालाई मात्र जाँच्छ भने, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

१९३. परमेश्‍वरको देहधारणको तात्पर्य भनेको परमेश्‍वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्‍वर उहाँको सार-तत्वमा नै देह बन्‍नुहुन्छ, मानिस बन्‍नुहुन्छ भन्‍ने हो। उहाँको देहधारी जीवन र कामलाई दुई चरणमा विभाजित गर्न सकिन्छ। पहिलो उहाँले आफ्‍नो सेवकाइ गर्नुभन्दा पहिले जिउने जीवन हो। उहाँ सामान्य मानव आवश्यकताहरू (गाँस, बास, कपास, आराम), सामान्य मानव कमजोरीहरू, र सामान्य मानव भावनाहरू सहित, मानव जीवनका सामान्य नैतिकताहरू र नियमहरूको पालन गर्दै, अत्यन्तै सामान्य मानवतामा साधारण मानव परिवारमा जिउनुहुन्छ। अर्को शब्‍दमा भन्दा, यो पहिलो चरणको अवधिमा उहाँ सबै सामान्य मानव क्रियाकलापहरूमा संलग्‍न हुँदै, गैर-ईश्‍वरीय, पूर्ण रूपमा सामान्य मानवतामा जिउनुहुन्छ। दोस्रो चरण भनेको उहाँले आफ्‍नो सेवकाइ सुरु गर्नुभएपछि उहाँले जिउनुभएको जीवन हो। अलौकिकताको कुनै बाहिरी चिन्‍ह नदेखाइकन, उहाँ अझै पनि सामान्य मानव भेष सहितको यस सामान्य मानवतामा बास गर्नुहुन्छ। तैपनि उहाँ पूर्ण रूपमा आफ्‍नो सेवकाइको खातिर जिउनुहुन्छ, र यो समय अवधिमा उहाँको ईश्‍वरीयताको सामान्य कार्यलाई कायम राख्‍नको लागि नै उहाँको सामान्य मानवता पूर्ण रूपमा अस्तित्वमा रहन्छ, किनभने त्यस बेलासम्‍म उहाँको सामान्य मानवता उहाँको सेवकाइ गर्न सक्‍ने बिन्दुसम्‍म परिपक्‍व भइसकेको हुन्छ। त्यसैले, उहाँको जीवनको दोस्रो चरण भनेको उहाँको सामान्य मानवतामा उहाँको सेवकाइलाई प्रस्तुत गर्नु हो, जुन बेला यो सामान्य मानवता र पूर्ण ईश्‍वरीयता दुवैको जीवन हुन्छ। उहाँको जीवनको पहिलो चरणको अवधिमा, उहाँले पूर्ण रूपमा सामान्य मानवताको जीवन जिउनुको कारण के हो भने, उहाँको मानवता ईश्‍वरीय कार्यको पूर्णतालाई कायम राख्‍न अझै सक्षम भएको हुँदैन, परिपक्‍व भएको हुँदैन; उहाँको मानवता वृद्धि भएर परिपक्‍व भएपछि, आफ्‍नो सेवकाइको भार उठाउन सक्‍ने भएपछि मात्रै, उहाँ आफूले गर्नुपर्ने सेवकाइ गर्न तयार बन्‍न सक्‍नुहुन्छ। देहको रूपमा, उहाँ वृद्धि हुन र परिपक्‍व हुन आवश्यक हुने भएकोले, उहाँको जीवनको पहिलो चरण सामान्य मानवताको जीवन हो—जबकि दोस्रो चरणमा, उहाँको मानवता उहाँको काम गर्न र उहाँको सेवकाइलाई प्रदर्शन गर्न सक्षम भइसकेको हुनाले, उहाँको सेवकाइको अवधिमा देहधारी परमेश्‍वरले जिउनुहुने जीवन मानवता र पूर्ण ईश्‍वरीयता दुवैको जीवन हो। उहाँको जन्‍म भएको क्षणदेखि नै देहधारी परमेश्‍वरले अलौकिक चिन्ह र आश्चर्यकर्महरू गर्दै, आफ्‍नो सेवकाइलाई तत्परताको साथ सुरु गर्नुभएको भए, उहाँमा कुनै भौतिक सार हुने थिएन। त्यसकारण, उहाँको मानवता उहाँको भौतिक सारको खातिर अस्तित्वमा छ; मानवताविना कुनै देह हुन सक्दैन, र मानवता विनाको व्यक्ति मानव होइन। यसरी, परमेश्‍वरको देहको मानवता परमेश्‍वरको देहधारी शरीरको अन्तर्निहित गुण हो। “जब परमेश्‍वर देह बन्‍नुहुन्छ उहाँ पूर्ण रूपमा ईश्‍वरीय हुनुहुन्छ, र कुनै पनि हालतमा मानव हुनुहुन्‍न” भनी भन्‍नु भनेको ईश्‍वरनिन्दा हो, किनभने यो अभिव्यक्ति यथार्थ हुँदै होइन, र यसले देहधारणको सिद्धान्तलाई उल्‍लङ्घन गर्छ। उहाँले आफ्‍नो सेवकाइ गर्न सुरु गर्नुभएपछि पनि, आफ्‍नो काम गर्ने क्रममा उहाँ बाहिरी मानवताको भेष सहित आफ्‍नो ईश्‍वरीयतामा जिउनुहुन्छ; यस समयमा मात्रै, उहाँको मानवताले उहाँको ईश्‍वरीयतालाई सामान्य देहमा काम गर्न दिने एउटै उद्देश्यलाई पूरा गर्छ। त्यसैले कामको प्रतिनिधि उहाँको मानवतामा बास गर्ने ईश्‍वरीयता हो। उहाँको मानवता होइन, उहाँको ईश्‍वरीयता काममा छ, तैपनि यो ईश्‍वरीयता उहाँको मानवताभित्र लुकेको हुन्छ; वास्तवमा, उहाँको मानवताद्वारा होइन, उहाँको पूर्ण ईश्‍वरीयताद्वारा नै उहाँको कार्य गरिन्छ। तर काम गर्ने उहाँकै देह हो। उहाँ मानिस हुनुहुन्छ र परमेश्‍वर पनि हुनुहुन्छ भनेर भन्‍न सकिन्छ, किनभने परमेश्‍वर मानव भेष र मानव सार तर परमेश्‍वरको सारसहितको देहमा जिउनुहुने परमेश्‍वर बन्‍नुहुन्छ। उहाँ परमेश्‍वरको सारसहितको मानिस हुनुभएकोले, उहाँ सृष्टि गरिएका सारा मानिसहरूभन्दा माथि, परमेश्‍वरको काम गर्न सक्‍ने कुनै पनि मानिसभन्दा माथि हुनुहुन्छ। अनि त्यसैले, उहाँको जस्तो मानव भेष सहितका सबैमध्ये, मानवता सहितका सबैमध्ये, उहाँ मात्रै देहधारी परमेश्‍वर स्वयम् हुनुहुन्छ—अरू सबै सृष्टि गरिएका मानव हुन्। तिनीहरू सबैमा मानवता भए तापनि, सृष्टि गरिएका मानवमा मानवता बाहेक केही पनि हुँदैन, जबकि देहधारी परमेश्‍वर फरक हुनुहुन्छ: उहाँको देहमा उहाँमा मानवता मात्रै होइन, तर अझै महत्त्वपूर्ण कुरा, उहाँमा ईश्‍वरीयता छ। उहाँको देहको बाहिरी रूपमा र उहाँको दैनिक जीवनमा उहाँको मानवतालाई देख्‍न सकिन्छ, तर उहाँको ईश्‍वरीयतालाई बुझ्‍न गाह्रो छ। उहाँमा मानवता भएको बेला मात्रै उहाँको ईश्‍वरीयतालाई व्यक्त गरिने हुँदा, र मानिसहरूले यसलाई कल्‍पना गरे जत्तिको यो अलौकिक नभएको हुँदा, मानिसहरूले यसलाई देख्‍न निकै कठिन हुन्छ। आज पनि, देहधारी परमेश्‍वरको साँचो सारलाई बुझ्‍न मानिसहरूलाई अत्यन्तै कठिन भएको छ। यसको बारेमा यति लामो मैले बोलिसकेपछि पनि, तिमीहरूमध्ये धेरैको लागि यो अझै पनि रहस्य नै छ भन्‍ने म अपेक्षा गर्छु। वास्तवमा, यो विषय अत्यन्तै सरल छ: परमेश्‍वर देह बन्‍नुहुने भएकोले, उहाँको सार मानवता र ईश्‍वरीयताको संयोजन हो। यस संयोजनलाई परमेश्‍वर स्वयम्, पृथ्वीमा परमेश्‍वर स्वयम् हो भनी भनिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

१९४. देहधारी परमेश्‍वरको मानवता देहमा सामान्य ईश्‍वरीय कार्यलाई कायम राख्‍नको लागि अस्तित्वमा छ; उहाँको सामान्य मानव सोचाइले उहाँको सामान्य मानवता र उहाँका सबै सामान्य भौतिक क्रियाकलापहरूलाई कायम राख्छ। उहाँको सामान्य मानव सोचाइ देहमा परमेश्‍वरका सारा कार्यलाई कायम राख्‍नको लागि अस्तित्वमा छ भनेर भन्‍न सकिन्छ। यदि यो देहमा सामान्य मानव मन थिएन भने, परमेश्‍वरले देहमा काम गर्न सक्‍नुहुने थिएन, र उहाँले देहमा जे गर्नु आवश्यक छ त्यसलाई कहिल्यै पनि पूरा गर्न सकिँदैन थियो। देहधारी परमेश्‍वरमा सामान्य मानव मन भए तापनि, उहाँको काम मानव विचारद्वारा मिलावट भएको छैन; उहाँले मानव मन भएको मानवता धारण गर्ने पूर्वसर्त सहित, सामान्य मन सहित मानवतामा काम गर्नुहुन्छ, सामान्य मानव विचारको अभ्यासद्वारा होइन। उहाँका देहका विचारहरू जति नै उत्कृष्ट भए तापनि, उहाँको काम तर्क वा विचारबाट कलङ्कित छैन। अर्को शब्‍दमा भन्दा, उहाँको काम उहाँको देहको मनद्वारा पैदा भएको हुँदैन, तर यो उहाँको मानवतामा ईश्‍वरीय कार्यको प्रत्यक्ष अभिव्यक्ति हो। उहाँका सबै काम उहाँले पूरा गर्नैपर्ने सेवकाइ हो, र यीमध्ये कुनै पनि उहाँको मस्तिष्कमा पैदा हुँदैन। उदाहरणको लागि, बिरामीलाई चङ्गाइ गर्नु, भूत आत्‍माहरूलाई निकाल्‍नु, र क्रुसीकरण उहाँको मानव मनका उपजहरू थिएनन्, र मानव मन भएको कुनै पनि मानिसले ती हासिल गर्न सक्‍ने थिएन। त्यसरी नै, आजको विजयको काम देहधारी परमेश्‍वरले पूरा गर्नैपर्ने काम हो, तर यो मानव इच्‍छाको काम होइन, यो उहाँको ईश्‍वरीयताले गर्नुपर्ने काम हो, जुन काम गर्न कुनै पनि देहगत मानिस सक्षम छैन। त्यसैले देहधारी परमेश्‍वरमा सामान्य मानव मन हुनैपर्छ, सामान्य मानवता हुनैपर्छ, किनभने उहाँले सामान्य मनसहितको मानवतामा नै आफ्‍नो काम गर्नुपर्छ। देहधारी परमेश्‍वरको कामको सार, देहधारी परमेश्‍वरको खास सार यही नै हो।

येशूले काम गर्नुभन्दा पहिले, उहाँ केवल आफ्‍नो सामान्य मानवतामा जिउनुभयो। उहाँ परमेश्‍वर हुनुहुन्थ्यो भनेर कसैले भन्‍न सकेन, उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर कसैले पत्ता लगाएन; उहाँ पूर्ण रूपमा साधारण मानिस हुनुहुन्छ भन्‍ने मात्रै मानिसहरूलाई थाहा थियो। उहाँको पूर्ण सामान्य, साधारण मानवता नै परमेश्‍वर शरीरमा देहधारी हुनुभएको थियो, र अनुग्रहको युग देहधारी परमेश्‍वरको कामको युग थियो, आत्माको कामको युग थिएन भन्‍ने कुराको प्रमाण थियो। यो परमेश्‍वरको आत्मा पूर्ण रूपमा देहमा प्रकट हुनुभयो, परमेश्‍वरको देहधारणको युगमा उहाँको देहले आत्माका सबै कार्य गर्नेथियो भन्‍ने कुराको प्रमाण थियो। सामान्य मानवता सहितका ख्रीष्‍ट त्यो देह हो जसमा आत्मा प्रकट हुनुभयो, र जसमा सामान्य मानवता, सामान्य विवेक, र मानव विचार छ। “प्रकट हुनु” भनेको परमेश्‍वर मानिस बन्‍नु, आत्मा देह बन्‍नु हो; यसलाई अझै सरल रूपमा भन्दा, यो सामान्य मानवता सहितको देहमा परमेश्‍वर स्वयम् वास गर्नु हो, र यसद्वारा उहाँले आफ्‍नो ईश्‍वरीय कामलाई व्यक्त गर्नुहुन्छ—प्रकट हुनु, वा देहधारी हुनुको अर्थ यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

१९५. ख्रीष्‍टको मानवता उहाँको ईश्‍वरत्वद्वारा सञ्चालित छ। उहाँ शरीरमा हुनुभए तापनि, उहाँको मानवता देहको मानिसजस्तो पूर्ण रूपमा छैन। उहाँमा उहाँको आफ्नै अद्वितीय चरित्र छ, र यो पनि उहाँको ईश्‍वरत्वद्वारा सञ्चालित छ। उहाँको ईश्‍वरत्वमा कुनै कमजोरी छैन; ख्रीष्‍टको कमजोरीले उहाँको मानवताको कमजोरीलाई जनाउँछ। केही हदसम्‍म, यो कमजोरीले उहाँको ईश्‍वरत्वलाई दिन्छ, तर त्यस किसिमका सीमितताहरू निश्‍चित क्षेत्र र समयभित्र हुन्छन्, र ती परिधि विहीन छैनन्। जब उहाँको ईश्‍वरत्वको कामलाई अघि बढाउने समय आउँछ, तब उहाँको मानवताको बाबजुद पनि यसलाई पूरा गरिन्छ। ख्रीष्‍टको मानवता पूर्ण रूपमा उहाँको ईश्‍वरत्वद्वारा निर्देशित छ। उहाँको मानवताको सामान्य जीवन बाहेक, उहाँको मानवताका अरू सबै कार्यहरू उहाँको ईश्‍वरत्वद्वारा प्रभावित, असरित, र निर्देशित हुन्छन्। ख्रीष्‍टमा एउटा मानवता भए तापनि, यसले उहाँको ईश्‍वरत्वलाई बाधा दिँदैन, र ठीक यही कारणले गर्दा ख्रीष्‍टको मानवता उहाँको ईश्‍वरत्वद्वारा निर्देशित छ; अरूसँग कसरी व्यवहार गर्ने त्यसमा उहाँको मानवता परिपक्‍व नभए तापनि, यसले उहाँको ईश्‍वरत्वको सामान्य कार्यलाई प्रभाव पार्दैन। उहाँको मानवता भ्रष्‍ट भएको छैन भनी भन्‍ने क्रममा मैले ख्रीष्‍टको मानवतालाई उहाँको ईश्‍वरत्वद्वारा प्रत्यक्ष रूपमा निर्देशित हुन सक्छ, र उहाँमा साधारण मानिसको भन्दा उच्‍च चेतना छ भनेर भन्‍न खोजेको हुँ। उहाँको कार्यमा ईश्‍वरत्वद्वारा निर्देशित हुनको लागि उहाँको मानवता सबैभन्दा उपयुक्त छ; उहाँको मानवता ईश्‍वरत्वको कार्यलाई व्यक्त गर्न सबैभन्दा बढी सक्षम छ, र त्यस्तो कार्यप्रति समर्पित हुन यो सबैभन्दा बढी सक्षम छ। शरीरमा काम गर्ने क्रममा उहाँले शरीरमा रहेको मानिसले पूरा गर्नुपर्ने कर्तव्यलाई कहिल्यै पनि बिर्सनुहुन्‍न; उहाँ स्वर्गमा परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्न सक्षम हुनुहुन्छ। उहाँमा परमेश्‍वरको स्वभाव छ, र उहाँको पहिचान परमेश्‍वर स्वयमको पहिचान हो। यो के मात्रै हो भने उहाँ पृथ्वीमा आउनुभएको छ र सृष्‍टि गरिएको प्राणी बन्‍नुभएको छ र सृष्‍टि गरिएको प्राणीको बाहिरी आवरण लिनुभएको छ र, अहिले एउटा मानवतालाई लिनुभएको छ जुन पहिले उहाँमा थिएन। स्वर्गमा परमेश्‍वरलाई आराधना गर्न उहाँ सक्षम हुनुहुन्छ; उहाँ परमेश्‍वर स्वयम हुनुहुन्छ र मानिसले उहाँको अनुकरण गर्न सक्दैन। उहाँको पहिचान परमेश्‍वर स्वयम नै हुनुहुन्छ। शरीरको दृष्टिकोणद्वारा उहाँले परमेश्‍वरको आराधना गर्नुहुन्छ; त्यसकारण, “स्वर्गमा ख्रीष्‍टले परमेश्‍वरलाई आराधना गर्नुहुन्छ” भन्‍ने वचनहरू गलत छैनन्। मानिसबाट उहाँले चाहने कुरा भनेको उहाँको आफ्नै स्वभाव हो; तिनीहरूबाट त्यस कुराको माग गर्नुभन्दा पहिले नै उहाँले मानिसबाट माग गर्नुहुने सबै कुरालाई पूरा गर्नुभएको छ। जुन कुरा आफूमा छैन उहाँले त्यो कुरा अरूबाट कहिल्यै पनि माग गर्नुहुन्‍न, किनभने यो सबैले नै उहाँको स्वभावलाई निर्माण गर्छ। उहाँले आफ्नो कार्यलाई जसरी अघि बढाउनुभए तापनि, परमेश्‍वरलाई अवज्ञा गर्ने तरिकाले उहाँले कहिल्यै पनि काम गर्नुहुन्‍न। उहाँले मानिसबाट जे माग्‍नुभए तापनि, मानिसले पूरा गर्न सक्‍नेभन्दा बाहिरको कुनै माग हुँदैन। उहाँले गर्ने सबै कुरा परमेश्‍वरको इच्छालाई पूरा गर्ने कार्य हो र ती सबै उहाँको व्यवस्थापनको खातिर हो। ख्रीष्‍टको ईश्‍वरत्व सबै मानिसभन्दा माथि छ; त्यसकारण, सृष्‍टि गरिएका सबै प्राणीहरूका सबैभन्दा उच्‍च अख्तियार उहाँ नै हुनुहुन्छ। उहाँको अख्तियार नै उहाँको ईश्‍वरत्व हो, अर्थात् परमेश्‍वर स्वयमको स्वभाव र अस्तित्व, जसले उहाँको पहिचानलाई निर्धारण गर्छ। त्यसकारण, उहाँको मानवता जतिसुकै सामान्य भए तापनि, उहाँमा परमेश्‍वर स्वयमको परिचय छ भन्‍ने कुरा अखण्डनीय छ; उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्‍नुभए तापनि र उहाँले परमेश्‍वरको इच्छालाई जसरी पालन गर्नुभए तापनि, उहाँ परमेश्‍वर स्वयम हुनुहुन्‍न भनेर भन्‍न सकिँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो

१९६. मानिसको देहधारी पुत्रले परमेश्‍वरको ईश्‍वरत्वलाई आफ्नो मानवताद्वारा प्रकट गर्नुभयो अनि मानवजातिलाई परमेश्‍वरको इच्छा प्रकट गर्नुभयो। अनि परमेश्‍वरको इच्छा तथा स्वभावलाई प्रकट गरेर, उहाँले आत्मिक संसारमा बास गर्नुहुने परमेश्‍वरलाई मानिसहरूकहाँ प्रकट पनि गरिदिनुभयो, जसलाई देख्न वा छुन सकिँदैन। मानिसहरूले जे देखे, त्यो भौतिक स्वरूपमा देह र रगतले बनेको परमेश्‍वर स्वयम्‌ हुनुहुन्थ्यो। त्यसैले, मानिसको देहधारी पुत्रले परमेश्‍वर स्‍वयम्‌को पहिचान, परमेश्‍वरको हैसियत, प्रतिरूप, स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई ठोस र मानवीय बनाउनुभयो। परमेश्‍वरको प्रतिरूपको सम्बन्धमा मानिसको पुत्रको बाह्य रूपमा केही सीमितताहरू भएको भए तापनि, उहाँको सार अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसले परमेश्‍वर स्वयम्‌को पहिचान तथा हैसियतलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्थ्यो—व्यक्त गर्ने शैलीमा मात्र केही भिन्नताहरू थिए। मानिसको पुत्रले उहाँको मानवतामा र उहाँको ईश्‍वरीयता दुवैमा परमेश्‍वर स्‍वयम्‌को पहिचान तथा हैसियतलाई प्रतिनिधित्व गरेको थियो भन्ने कुरालाई हामी इन्कार गर्न सक्दैनौं। तथापि, यस समयावधिमा परमेश्‍वरले देहद्वारा काम गर्नुभयो, देहको दृष्टिकोणबाट बोल्नुभयो, अनि मानिसको पुत्रको पहिचान र हैसियतमा मानवजातिको सामु उभिनुभयो र यसले मानिसहरूलाई परमेश्‍वरले मानवजातिको सामु दिनुभएको साँचो वचनहरू तथा कामलाई देख्‍ने र अनुभव गर्ने अवसर दियो। यसले मानिसहरूलाई नम्रताको बीचमा उहाँको ईश्‍वरत्व तथा उहाँको महानता देख्ने अन्तर्दृष्टि दिनुको साथै परमेश्‍वरको विशुद्धता तथा वास्तविकताको प्रारम्भिक बुझाइ तथा परिभाषा प्राप्त गर्न पनि दियो। प्रभु येशू ले पूरा गर्नुभएको काम, उहाँले काम गर्ने तरिकाहरू र उहाँले बोल्‍ने दृष्टिकोण, आत्मिक क्षेत्रमा रहेको परमेश्‍वरको वास्तविक व्यक्तित्वभन्दा फरक थियो, तैपनि उहाँको हरेक कुराले परमेश्‍वर स्वयम्‌लाई साँचो रूपमा प्रतिनिधित्व गर्‍यो, जसलाई मानवजातिले कहिल्यै देखेका छैनन्—यसलाई इन्कार गर्न सकिँदैन। भन्‍नुको अर्थ, परमेश्‍वर जुनसुकै रूपमा प्रकट हुनुभए तापनि, उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्नुभए तापनि, अथवा उहाँले जुनसुकै प्रतिरूपमा मानवजातिको सामना गर्नुभए तापनि, परमेश्‍वरले अरू केहीलाई होइन, तर आफैलाई प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले अरू कुनै मानवलाई प्रतिनिधित्व गर्न सक्‍नुहुन्‍न, न त भ्रष्ट मानवजातिमध्ये कसैलाई प्रतिनिधित्व गर्नुहुन्छ। परमेश्‍वर, परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ र यसलाई इन्कार गर्न सकिँदैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

१९७. आज चर्चा गरिएको व्यावहारिक परमेश्‍वर स्वयम्‌ले ‍दुवै मानवतामा र ईश्‍वरत्वमा काम गर्नुहुन्छ। व्यावहारिक परमेश्‍वरको स्वरूपद्वारा उहाँको सामान्य मानवीय काम र जीवन र उहाँको पूर्ण ईश्‍वरीय काम प्राप्त‍ गरिन्छन्। उहाँको मानवता र ईश्‍वरत्व एकै गरी गाभिएका छन्‌, दुवैका काम वचनहरूद्वारा सम्पन्न‍ गरिन्छ; चाहे मानवतामा होस्‌ वा ईश्‍वरत्वमा होस, उहाँले वचनहरू उच्‍चारण गर्नुहुन्छ। जब परमेश्‍वरले मानवतामा काम गर्नुहुन्छ, तब उहाँले मानवताको भाषा बोल्‍नुहुन्छ, ताकि मानिसहरू सहभागी हुन सकून्‌ र उनीहरूले बुझ्‍न सकून्। उहाँका वचनहरू सरल रूपमा बोलिएका छन् र बुझ्‍न अति सजिलो छ, यतिसम्म कि ती सबै मानिसहरूलाई उपलब्ध गराइन सकिन्छ; चाहे मानिसहरू ज्ञानले भरिएका होऊन् वा कम शिक्षित होऊन्, तिनीहरू सबै जनाले परमेश्‍वरका वचनहरू प्राप्त‍ गर्न सक्छन्। ईश्‍वरत्वमा हुने परमेश्‍वरका काम पनि वचनहरूद्वारा कार्यान्वयन गरिएको हुन्छन्, तर यो प्रबन्धले भरिएको हुन्छ, यो जीवनले भरिएको हुन्छ, यो मानिसका विचारहरूद्वारा दूषित बनाइएको हुँदैन, यसमा मानवीय प्राथमिकताहरू समावेश भएका हुँदैनन्‌, र यसमा मानवीय सीमाहरू हुँदैनन्‌, यो सामान्य मानवताको अधीनभन्दा बाहिर छ; यो देहमा कार्यान्वयन गरिएको हुन्छ, तर यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो। यदि मानिसहरूले मानवतामा परमेश्‍वरको कामलाई स्वीकार गर्छन् भने मात्र, तिनीहरूले आफैलाई एक निश्‍चित क्षेत्रमा सीमित गर्नेछन्, र तिनीहरूमा अलिकति परिवर्तन ल्याउन पनि निरन्तर निराकरण गर्न, काँटछाँट र अनुशासनको आवश्यकता पर्नेछ। पवित्र आत्माको काम वा उपस्थिति विना त तिनीहरू सधैँ आफ्ना पुराना मार्गहरूमा फर्कनेछन्‌; उहाँको ईश्‍वरत्वको कामद्वारा मात्र यी गम्भीर समस्याहरू र कमजोरीहरूलाई सुधार्न सकिन्छ, र तब मात्र मानिसहरूलाई पूर्ण बनाउन सकिन्छ। नित्य निरारकण र काँटछाँटको सट्टामा, आवश्यक कुरा, सबै कमी-कमजोरीहरू सुधार्न वचनहरूको प्रयोग गर्दै, मानिसको प्रत्येक स्थिति प्रकट गर्न वचनहरूको प्रयोग गर्दै, तिनीहरूको जीवन, तिनीहरूको प्रत्येक उच्‍चारण, तिनीहरूको प्रत्येक कार्यलाई मार्गदर्शन दिन, र तिनीहरूका अभिप्रायहरू र उत्प्रेरणाहरूलाई उदाङ्गो पार्न वचनहरूको प्रयोग गर्दै सकारात्मक प्रबन्ध नै हो। यो व्यावहारिक परमेश्‍वरको वास्तविक काम हो। त्यसैले, व्यावहारिक परमेश्‍वरप्रति तेरो प्रवृत्तिमा तैँले उहाँलाई पहिचान र स्वीकार गर्दै तत्कालै आफैलाई उहाँको मानवताको सामु समर्पित गर्नुपर्छ, र यस अतिरिक्त तैँले उहाँका ईश्‍वरीय काम र वचनहरू ग्रहण र पालन गर्नुपर्छ। देहमा परमेश्‍वरको स्वरूपको अर्थ परमेश्‍वरका आत्माका सबै काम र वचनहरू उहाँका सामान्य मानवताद्वारा र उहाँको देहधारी देहद्वारा सम्पन्न‍ गरिएका हुन्छन् भन्‍ने हुन्छ। अर्को शब्दमा, परमेश्‍वरका आत्माले तत्कालै उहाँका मानवीय कामलाई निर्देशित गर्नुहुन्छ र देहमा ईश्‍वरत्वको काम सम्पन्न‍ गर्नुहुन्छ, र देहधारी परमेश्‍वरमा तैँले मानवतामा परमेश्‍वरको काम र उहाँको पूर्ण ईश्‍वरीय काम दुवै देख्‍न सक्छस्‌। यही नै देहमा व्यावहारिक परमेश्‍वरको स्वरूपको वास्तविक महत्त्व हो। यदि तैँले यो कुरा स्पष्‍टसँग देख्‍न सक्छस्‌ भने, तैँले परमेश्‍वरका सबै फरक भागहरूसँग सम्बन्ध राख्‍न सक्षम हुनेछस्‌; तैँले ईश्‍वरत्वमा उहाँको काममाथि अनावश्यक महत्त्व जोड्न छोड्नेछस्‌, र तैँले मानवतामा उहाँको कामलाई अनावश्यक महत्त्वका साथ हेर्न छोड्नेछस्‌, र तँ अतिवादतिर जानेछैनस्‌, न त घुमाउरो मार्ग नै पछ्याउनेछस्‌। समग्रमा भन्‍नुपर्दा, व्यावहारिक परमेश्‍वरको अर्थ उहाँको मानवताको र उहाँको ईश्‍वरत्वको काम आत्माले निर्देशन गर्नुभए बमोजिम उहाँको देहद्वारा अभिव्यक्त गरिएको हुन्छ भन्‍ने हो, ताकि मानिसहरूले उहाँ सजीव र जीवन्त, वास्तविक र सत्य हुनुहुन्छ भन्‍ने कुरा देख्‍न सकून्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। व्यावहारिक परमेश्‍वर स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ भनी तैँले थाहा पाउनुपर्छ

१९८. सारा सृष्टिमाथिको अख्तियार परमेश्‍वरका आत्मासँग छ। परमेश्‍वरको आधारभूत स्वभाव सहितको शरीर पनि अख्तियारको अधीनमा हुन्छ, तर देहमा हुनुभएका परमेश्‍वरले ती सबै कार्यहरूलाई गर्न सक्‍नुहुन्‍छ, जुन कार्यहरूले स्वर्गमा हुनुहुने पिताको इच्छालाई पालन गर्छ। यसलाई कुनै पनि व्यक्तिले प्राप्‍त गर्न वा कल्पना गर्न सक्दैन। परमेश्‍वर स्वयम्‌ नै अख्तियार हुनुहुन्छ, तर उहाँको देह उहाँको अख्तियारप्रति समर्पित हुन सक्छ। “ख्रीष्‍टले परमेश्‍वर पिताको इच्छालाई पालन गर्नुहुन्छ” भनेर भन्‍ने क्रममा यही कुरालाई सूचित गरिन्छ। परमेश्‍वर आत्मा हुनुहुन्छ र जसरी परमेश्‍वर मानिस बन्‍न सक्‍नुहुन्‍छ त्यसरी नै उहाँले मुक्तिको काम पनि गर्न सक्‍नुहुन्‍छ। जे भए तापनि, परमेश्‍वर स्वयमले नै आफ्नो कार्य गर्नुहुन्छ; न त उहाँले बाधा दिनुहुन्छ न त हस्तक्षेप नै गर्नुहुन्छ, उहाँले आफैमा बाझिने किसिमको काम गर्नु त परै जाओस्, किनभने आत्मा र शरीरले गर्ने कार्यको सार उही प्रकारको हुन्छ। चाहे आत्मा होस् वा शरीर, दुवैले एउटै इच्छालाई पूरा गर्न र एउटै कार्यलाई व्यवस्थापन गर्नको लागि काम गर्नुहुन्छ। आत्मा र शरीरका गुणहरू पूर्ण रूपमा फरक भए तापनि, उहाँहरूका आधारभूत स्वभावहरू उस्तै छन्; दुवैमा परमेश्‍वर स्वयमको आधारभूत स्वभाव, अनि परमेश्‍वर स्वयमको पहिचान छ। परमेश्‍वर स्वयममा कुनै पनि अनाज्ञाकारीताको तत्वहरू छैन; उहाँको स्वभाव असल छ। उहाँ सारा सुन्दरता र भलाइ, साथै सारा प्रेमको अभिव्यक्ति हुनुहुन्छ। देहमा समेत परमेश्‍वरले त्यस्तो कुनै पनि काम गर्नुहुन्‍न जसले परमेश्‍वर पिताको अवज्ञा गर्छ। आफ्नो जीवन बलिदान दिनु पर्दा समेत उहाँले हृदयदेखि त्यसो गर्न चाहनुहुन्छ, र उहाँले अन्य कुनै पनि निर्णय गर्नुभएन। परमेश्‍वरमा स्वःधार्मिकता वा स्वःमहत्त्व, वा अभिमानी र अहङ्कारीको कुनै तत्व छैन; उहाँमा कुटिलका कुनै तत्वहरू छैनन्। परमेश्‍वरको अवज्ञा गर्ने हरेक कुरा शैतानबाट आउँछ; सारा कुरूपता र दुष्‍टताको स्रोत शैतान नै हो। मानिसमा शैतानको जस्तै गुणहरू हुनुको कारण के हो भने मानिसलाई शैतानले भ्रष्‍ट तुल्याएको छ र त्यसले मानिसमा काम गर्छ। ख्रीष्‍टलाई शैतानले भ्रष्‍ट तुल्याएको छैन, त्यसकारण उहाँमा परमेश्‍वरका चरित्रहरू मात्रै छन्, तर शैतानको कुनै चरित्रहरू छैनन्। काम जतिसुकै कठिन होस् वा शरीर जतिसुकै कमजोर होस्, जब परमेश्‍वर शरीरमा बस्‍नुहुन्छ, उहाँले परमेश्‍वर स्वयमको कार्यलाई बाधा दिने कुनै कुरा कहिल्यै पनि गर्नुहुनेछैन, अनाज्ञाकारीतामा परमेश्‍वर पिताको इच्छालाई त्याग्‍ने कुरा त परै जाओस्। उहाँले परमेश्‍वर पिताको इच्छालाई धोका दिनुभन्दा शरीरको पीडालाई भोग्‍नुहुन्छ; यो, येशूले प्रार्थनामा भन्‍नुभएको जस्तै छ, “पिता, यदि सम्भव छ भने, यो कचौरा मबाट हटोस्: तैपनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।” मानिसहरूले आफ्नो लागि आफै निर्णयहरू गर्छन्, तर ख्रीष्‍टले त्यसो गर्नुहुन्‍न। उहाँसँग परमेश्‍वर स्वयमको पहिचान भए तापनि, उहाँले परमेश्‍वर पिताको इच्छालाई खोज्‍नुहुन्छ, र परमेश्‍वर पिताले उहाँलाई सुम्‍पनुभएको कुरालाई शरीरको दृष्टिकोणद्वारा पूरा गर्नुहुन्छ। यो मानिसले पूरा गर्न नसक्‍ने कुरा हो। शैतानबाट आउने कुरामा परमेश्‍वरको स्वभाव हुँदैन; यसमा परमेश्‍वरको अवज्ञा गर्ने र उहाँलाई विरोध गर्ने कुरा मात्रै हुन्छ। यसले परमेश्‍वरलाई पूर्ण रूपमा पालन गर्न सक्दैन, परमेश्‍वरको इच्छालाई स्वेच्‍छाले पालन गर्ने कुरा त परै जाओस्। ख्रीष्‍टबाट टाढा रहेर सबै मानिसले त्यही काम गर्न सक्छन् जसले परमेश्‍वरको विरोध गर्छ, र कुनै पनि मानिसले परमेश्‍वरले सुम्‍पनुभएको कार्यलाई प्रत्यक्ष रूपमा गर्न सक्दैन; परमेश्‍वरको व्यवस्थापनलाई पूरा गर्नुपर्ने आफ्नो कर्तव्यको रूपमा एक जनाले पनि लिन सक्दैन। ख्रीष्‍टको आधारभूत स्वभाव भनेको परमेश्‍वर पिताको इच्छाप्रति समर्पित हुनु हो; परमेश्‍वरको विरुद्धमा अनाज्ञाकारी हुने कार्य शैतानको चरित्र हो। यी दुई गुणहरू परस्पर-विरोधी गुणहरू हुन्, र शैतानका गुणहरू भएको कसैलाई पनि ख्रीष्‍ट भन्‍न सकिँदैन। मानिसले परमेश्‍वरको खातिर उहाँको काम गर्न नसक्‍नुको कारण के हो भने मानिसमा परमेश्‍वरको कुनै पनि आधारभूत स्वभाव हुँदैन। मानिसको व्यक्तिगत रुचिहरूका लागि र भविष्यको आशाको लागि मात्रै मानिसले परमेश्‍वरको लागि काम गर्छ, तर ख्रीष्‍टले परमेश्‍वर पिताको इच्छालाई पूरा गर्नको लागि काम गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो

१९९. देहधारी परमेश्‍वरको बाहिरी रूप दुरुस्त मानिसको जस्तो भए तापनि, अनि उहाँले मानव ज्ञान सिक्नुहुने र मानव भाषा बोल्नुहुने भए तापनि, अनि कहिलेकाहीँ मानवजातिको आफ्नै विधिहरू वा बोल्ने तरिकाहरूद्वारा आफ्ना विचारहरू व्यक्त गर्नुभए तापनि, उहाँले जुन प्रकारले मानिसहरूलाई हेर्नुहुन्छ र कुराहरूको सारलाई हेर्नुहुन्छ, त्यो भ्रष्ट मानिसहरूले मानवजाति तथा कुराहरूको सारलाई हेरे तरिका जस्तो छैन। उहाँको दृष्टिकोण र उहाँ जुन उचाइमा खडा हुनुहुन्छ, त्यो भ्रष्ट व्यक्तिको निम्ति अप्राप्य कुरा हो। किनकि परमेश्‍वर सत्य हुनुहुन्छ, किनकि उहाँले जुन देह धारण गर्नुहुन्छ, त्यसमा पनि परमेश्‍वरको सार छ, अनि उहाँका विचारहरू र उहाँको मानवताद्वारा व्यक्त हुने कुरा पनि सत्यता नै हुन्। भ्रष्ट मानिसहरूका निम्ति, उहाँले देहमा जे व्यक्त गर्नुहुन्छ, ती सत्यता अनि जीवनका प्रबन्धहरू हुन्। यी प्रबन्धहरू एउटा व्यक्तिको निम्ति मात्र होइनन्, तर सारा मानवजातिको निम्ति हुन्। कुनै भ्रष्ट व्यक्तिको हृदयमा केवल त्यस्ता थोरै मानिसहरू मात्र हुन्छन् जो तिनीहरूसित सम्बन्धित हुन्छन्। तिनीहरूले यी थोरै मानिसहरूका निम्ति मात्र वास्ता गर्छन् र चिन्ता गर्छन्। जब विनाश आउन लागेको हुन्छ, तिनीहरूले पहिले आफ्नै छोराछोरीहरू, जीवनसाथी वा आमाबाबुको बारेमा सोच्छन्। बढीमा, अलिक बढी दयालु व्यक्तिले कोही आफन्त वा असल साथीको केही विचार गर्लान्, तर त्यस्तो दयालु व्यक्तिका विचारहरू समेत त्यसभन्दा पर जान्छ र? अहँ, कदापि जाँदैन। किनकि मानिसहरू आखिर मानिसहरू नै हुन्, अनि तिनीहरूले मानवको उचाइ तथा दृष्टिकोणबाट मात्र सबै कुरालाई हेर्न सक्छन्। तथापि, देहधारी परमेश्‍वर भ्रष्ट मानिसभन्दा पूर्ण रूपमा फरक हुनुहुन्छ। परमेश्‍वरको देहधारी शरीर चाहे जतिसुकै साधारण, जतिसुकै सामान्य र न्यून भए तापनि अथवा मानिसहरूले जतिसुकै नीच दृष्टिकोणले उहाँलाई तिरस्कार गरे तापनि, मानवजातिप्रति उहाँका विचारहरू तथा उहाँको धारणा यस्ता कुराहरू हुन्, जुन कुनै मानिसले हासिल गर्न सक्दैन, कुनै मानिसले अनुकरण गर्न सक्दैन। उहाँले मानवजातिलाई सधैँ ईश्‍वरत्वको दृष्टिकोणबाट, सृष्टिकर्ताको रूपमा रहेको उहाँको उच्‍च स्थानबाट अवलोकन गर्नुहुन्छ। उहाँले मानवजातिलाई सधैँ परमेश्‍वरको सार र मानसिकताबाट हेर्नुहुन्छ। उहाँले मानवजातिलाई एउटा औसत व्यक्तिको न्यून उचाइबाट वा एउटा भ्रष्ट मानिसको दृष्टिकोणबाट बिलकुल हेर्नुहुन्न। जब मानिसहरूले मानवजातिलाई हेर्छन्, तिनीहरूले मानव दृष्टिद्वारा हेर्छन्, अनि तिनीहरूले मानव ज्ञान र मानव नियम तथा सिद्धान्तहरू जस्ता कुराहरूलाई तिनीहरूका मापकको रूपमा प्रयोग गर्छन्। यो मानिसहरूले आफ्नो आँखाले हेर्न सक्ने परिधिभित्र र भ्रष्ट मानिसहरूले हासिल गर्न सक्‍ने परिधिभित्र पर्दछ। जब परमेश्‍वरले मानवजातिलाई हेर्नुहुन्छ, उहाँले ईश्‍वरीय दृष्टिले हेर्नुहुन्छ, अनि उहाँले आफ्नो सार तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई मापकको रूपमा प्रयोग गर्नुहुन्छ। यो परिधिभित्र मानिसहरूले देख्न नसक्ने कुराहरू पर्दछन्, अनि देहधारी परमेश्‍वर तथा भ्रष्ट मानिसहरू पूर्ण रूपले भिन्न हुनुभएको स्थान यहीँ नै हो। यो भिन्नता मानिसहरू र परमेश्‍वरको भिन्नाभिन्नै सारहरू द्वारा निर्धारित हुन्छ—यही भिन्नाभिन्नै सारहरूले नै उहाँहरूको पहिचान अनि स्थानहरू, साथै उहाँहरूले जुन दृष्टिकोण तथा उचाइबाट कुराहरू देख्नुहुन्छ, त्यसलाई निर्धारण गर्दछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

२००. तँसँग समाजका अनुभवहरू छन् या छैनन् र तेरो परिवारमा वास्तवमा तँ के-कसरी बस्छस् र यसभित्र तैँले के-कस्तो अनुभव गर्छस्, यी सबै कुराहरू तैँले जे व्यक्त गर्छस् त्यसमा देख्‍न सकिन्छ, जबकि देहधारी परमेश्‍वरको काममा तैँले उहाँसँग सामाजिक अनुभवहरू छन् कि छैनन् भनेर देख्‍न सक्दैनस्। मानिसको सारको बारे उहाँलाई राम्ररी थाहा छ र उहाँले सबै प्रकारका मानिसहरूसँग सम्‍बन्धित सबै प्रकारका अभ्यासहरूलाई प्रकट गर्न सक्‍नुहुन्छ। मानिसका भ्रष्ट स्वभावहरू र विद्रोही बानीबेहोरालाई प्रकट गर्नमा उहाँ अझै सिपालु हुनुहुन्छ। उहाँ सांसारिक मानिसहरूका बीचमा जिउनुहुन्‍न, तर मरणशीलहरूको प्रकृति र सांसारिक मानिसहरूको सारा भ्रष्टताबारे उहाँलाई थाहा छ। उहाँको सारत्व यही नै हो। उहाँले संसारसँग व्यवहार गर्नुहुन्‍न, तैपनि संसारसँग व्यवहार गर्ने नियमहरू उहाँलाई थाहा छ, किनभने उहाँले मानव प्रकृतिलाई राम्ररी बुझ्‍नुहुन्छ। आज र विगत दुवैमा, मानिसको आँखाले देख्‍न नसक्‍ने र मानिसको कानले सुन्‍न नसक्‍ने पवित्र आत्माको काम उहाँलाई थाहा छ। यसमा त्यो ज्ञान-बुद्धि पर्छ जुन जीवन जिउने दर्शन अनि मानिसहरूले बुझ्‍न नसक्‍ने आश्‍चर्य होइन। उहाँको सारत्व यही हो, जुन मानिसहरूको निम्ति खुला छ र मानिसहरूबाट लुकाइएको पनि छ। उहाँले जे व्यक्त गर्नुहुन्छ त्यो असाधारण व्यक्तिको सारत्व होइन, तर त्यो आत्माका अन्तर्निहित गुणहरू र सारत्व हो। उहाँले संसारको भ्रमण गर्नुहुन्‍न तर यसको सबै कुरा जान्‍नुहुन्छ। उहाँले “नर-वानरहरू” लाई सम्पर्क गर्नुहुन्छ जोसँग कुनै ज्ञान वा अन्तर्दृष्टि छैन, तर उहाँले ज्ञानभन्दा उच्‍च अनि महान् मानवहरूभन्दा माथिका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँ सुस्त र बोधो मानिसहरूका बीचमा बस्‍नुहुन्छ जो मानवताविहीन छन् र जसले मानवताको प्रचलन र जीवनलाई बुझ्दैनन्, तर उहाँले मानवजातिलाई मानवजातिको नीच र तुच्छ मानवतालाई प्रकट गर्दै सामान्य मानवतामा जिउन लगाउन सक्‍नुहुन्छ। यो सबै उहाँको सारत्व हो, र यो सारत्व कुनै पनि मासु र रगतले बनेको व्यक्तिको भन्दा उच्‍च छ। उहाँको लागि, उहाँले गर्नुपर्ने काम गर्नको लागि र भ्रष्ट मानवजातिको सारलाई पूर्णरूपमा प्रकट गर्नको लागि जटिल, कष्टकर, र घिनलाग्दो सामाजिक जीवनको अनुभव गर्नु जरुरी छैन। घिनलाग्दो सामाजिक जीवनले उहाँको देहलाई सुधार गर्दैन। उहाँको काम र वचनले मानिसको स्वभावलाई मात्रै प्रकट गर्छन् तर यिनले मानिसलाई संसारको सामना गर्नको लागि अनुभव र पाठहरू प्रदान गर्दैनन्। जब उहाँले मानिसलाई जीवन दिनुहुन्छ उहाँले समाज वा मानिसको परिवारको अनुसन्धान गर्नु जरुरी छैन। मानिसलाई उदाङ्गो पार्नु र न्याय गर्नु उहाँको देहका अनुभवहरूको अभिव्यक्ति होइन; यो त मानिसको अवज्ञाको बारेमा लामो समयको ज्ञान अनि मानिसको भ्रष्टताप्रतिको घृणापश्चात उहाँले मानिसको अधर्मसम्‍बन्धमा गर्नुभएको प्रकाश हो। उहाँले गर्नुहुने सबै कामको उद्देश्य मानिसलाई उहाँको स्वभाव प्रकट गर्नु र उहाँको सारत्वलाई व्यक्त गर्नु हो। उहाँले मात्रै यो काम गर्न सक्‍नुहुन्छ; यो मासु र रगतले बनेको व्यक्तिले हासिल गर्न सक्‍ने कुरा होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

२०१. ख्रीष्‍टको कार्य र अभिव्यक्तिले नै उहाँको स्वभावलाई निर्धारित गर्छ। उहाँमा समर्पित गरिएको साँचो हृदयलाई उहाँले पूर्ण गर्न सक्‍नुहुन्‍छ। उहाँले स्वर्गका परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्न सक्‍नुहुन्‍छ, र साँचो हृदयद्वारा नै उहाँले परमेश्‍वर पिताको इच्छालाई खोज्‍नुहुन्छ। यी सबैलाई उहाँको सारद्वारा नै निर्धारित गरिन्छ। र उहाँको सारद्वारा नै उहाँको प्राकृतिक प्रकाशलाई निर्धारित गरिन्छ; मैले यसलाई “प्राकृतिक प्रकाश” भन्‍नुको कारण के हो भने उहाँको अभिव्यक्ति अनुकरण होइन, वा मानिसको शिक्षाको परिणाम, वा मानिसले गरेको धेरै वर्षको परिश्रमको परिणाम होइन। उहाँले यो सिक्‍नुभएन वा आफैलाई यसद्वारा सजाउनुभएन; बरु, यो उहाँ आफैमा अन्तर्निहित छ। मानिसले उहाँको कार्य, उहाँको अभिव्यक्ति, उहाँको मानवता, र उहाँको सामान्य मानवताको सम्पूर्ण जीवनलाई इन्कार गर्न सक्छ, तर उहाँले स्वर्गमा परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्नुहुन्छ भन्‍ने कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन; उहाँ स्वर्गमा हुनुहुने पिताको इच्छालाई पूरा गर्नको लागि आउनुभएको हो भन्‍ने कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन, र उहाँले परमेश्‍वर पितालाई जुन इमानदारीताको साथ खोज्‍नुहुन्छ त्यसलाई कसैले पनि इन्कार गर्न सक्दैन। उहाँको स्वरूप इन्द्रियहरूका लागि आकर्षक नभए तापनि, उहाँको उपदेश असाधारण नभए तापनि, र उहाँको कार्य मानिसले कल्‍पना गरेजस्तो पृथ्वीलाई छताछुल्ल पार्ने वा स्वर्गलाई हल्‍लाउने किसिमको नभए तापनि, उहाँ वास्तवमा नै ख्रीष्‍ट हुनुहुन्छ, जसले साँचो हृदयको साथ स्वर्गमा हुनुहुने पिताको इच्छालाई पूरा गर्नुहुन्छ, जो स्वर्गीय पिताप्रति पूर्ण रूपमा समर्पित हुनुहुन्छ, र मृत्युसम्‍मै आज्ञाकारी हुनुहुन्छ। किनभने उहाँको सार ख्रीष्‍टकै सार हो। मानिसले यो सत्यतालाई विश्‍वास गर्न कठिन छ, तर सत्य यही नै हो। जब ख्रीष्‍टको सेवकाइ पूर्ण रूपमा पूरा भएको हुन्छ, उहाँको कार्यद्वारा मानिसले के कुरालाई देख्‍न सक्छ भने उहाँको स्वभाव र उहाँको अस्तित्वले स्वर्गको परमेश्‍वरको स्वभाव र अस्तित्वलाई प्रतिनिधित्व गर्छ। त्यो समयमा, उहाँको सम्पूर्ण कार्यको योगले उहाँ वास्तवमा देहधारी हुनुहुने वचन हुनुहुन्छ, र शरीर र रगतले बनिएको मानिसजस्तो हुनुहुन्‍न भन्‍ने कुरालाई पुष्‍टि गर्न सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो

२०२. देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसको बारेमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्‍वरको सार छ, र परमेश्‍वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्‍ट भनी भन्‍ने, तैपनि परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्। ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, तर उहाँ मानिसको बीचमा उहाँले आफ्‍नो काम गर्ने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्‍वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले हटाउन सक्‍ने देह होइन, तर पृथ्वीमा परमेश्‍वरको कार्यलाई पर्याप्त रूपमा वहन गर्न, र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न, अनि परमेश्‍वरको राम्ररी प्रतिनिधित्व गर्न, र मानिसलाई जीवन दिन सक्‍ने देह हो। ढिलो वा चाँडो, ख्रीष्‍टको नक्‍कल गर्नेहरू पतन हुनेछन्, किनभने तिनीहरूले आफूलाई ख्रीष्‍ट भनी दाबी गर्ने भए तापनि, तिनीहरूमा ख्रीष्‍टको कुनै पनि सार छैन। त्यसैले म भन्छु कि ख्रीष्‍टको विशुद्धतालाई मानिसले परिभाषित गर्न सक्दैन, तर परमेश्‍वर स्वयम्‌ले मात्र यसको उत्तर दिन र निर्णय गर्न सक्‍नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

२०३. परमेश्‍वरको आत्माले पहिरनुभएको देह परमेश्‍वरको आफ्नै देह हो। परमेश्‍वरको आत्मा सर्वोच्च हुनुहुन्छ; उहाँ सर्वशक्तिमान्, पवित्र र धर्मी हुनुहुन्छ। यसैगरी, उहाँको देह पनि सर्वोच्च, सर्वशक्तिमान्, पवित्र र धर्मी छ। यस्तो देहले मानवजातिको निम्ति धर्मी, हितकारी, पवित्र, महिमित र शक्तिशाली काम मात्र गर्न सक्छ; उहाँले सत्यताको उल्लङ्‍घन गर्ने, नैतिकता र न्यायको उल्लङ्‍घन गर्ने केही पनि गर्न सक्‍नुहुन्‍न, परमेश्‍वरको आत्मालाई विश्‍वासघात कुरा त परै जाओस्। परमेश्‍वरको आत्मा पवित्र हुनुहुन्छ र उहाँको देहलाई शैतानले भ्रष्ट पार्न सक्दैन; उहाँको देहको सार मानिसको देहभन्दा फरक छ। किनकि शैतानले मानिसलाई भ्रष्ट पारेको हो, परमेश्‍वरलाई होइन; शैतानले परमेश्‍वरको देहलाई कदापि भ्रष्ट पार्न सकेन। यसैले मानिस र ख्रीष्ट एउटै स्थानमा बास गर्नुहुने भए तापनि मानिसलाई मात्र शैतानले वश राख्छ, प्रयोग गर्छ र पासो पारेको छ। यसको विपरीत, ख्रीष्ट अनन्तदेखि शैतानको भ्रष्टतादेखि अभेद्य हुनुहुन्छ, किनकि शैतान कहिले पनि उच्च स्थानमा उक्लन सक्षम हुनेछैन र कहिले पनि परमेश्‍वरको नजिक जान सक्नेछैन। आज तिमीहरू सबैले बुझ्‍नुपर्छ कि मलाई विश्‍वासघात गर्ने मानवजातिलाई मात्र शैतानले भ्रष्ट पारेको छ। विश्‍वासघातको कुरा ख्रीष्टमा कुनै पनि हालतमा लागू हुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

२०४. परमेश्‍वर देह बन्‍नुभयो किनभने उहाँको कामको पात्र शैतानको आत्मा, वा कुनै पनि अमूर्त कुरा होइन, तर मानिस हो, जो देहको हो र जसलाई शैतानले भ्रष्ट तुल्याएको छ। मानिसको देह भ्रष्ट तुल्याइएको कारणले नै परमेश्‍वरले देहको मानिसलाई आफ्‍नो कामको पात्र बनाउनुभयो; यसको साथै, मानिस भ्रष्टताको पात्र भएकोले, परमेश्‍वरले मानिसलाई नै आफ्‍नो मुक्तिको कार्यको सबै चरणहरूको एक मात्र पात्र बनाउनुभयो। मानिस मरणशील प्राणी हो, ऊ देह र रगतले बनिएको छ, र मानिसलाई मुक्त गर्न सक्‍ने परमेश्‍वर मात्रै हुनुहुन्छ। यसरी, आफ्‍नो काम गर्नको लागि परमेश्‍वर मानिसको जस्तै गुणहरू भएको देह बन्‍नुपर्छ, ताकि उहाँको कामले अझै उत्तम प्रभावहरू हासिल गर्न सकोस्। मानिस देहको हो, र ऊ पापमाथि विजय प्राप्त गर्न र आफैलाई देहबाट मुक्त गर्नको लागि असक्षम छ, ठीक यही कारणले गर्दा आफ्‍नो काम गर्नको लागि परमेश्‍वर देह बन्‍नैपर्छ। देहधारी परमेश्‍वरको सार र पहिचान मानिसको सार र पहिचानबाट निकै फरक भए तापनि, उहाँको स्वरूप मानिसको जस्तै छ; उहाँमा सामान्य मानिसको जस्तो स्वरूप छ, र उहाँले सामान्य मानिसको जीवन जिउनुहुन्छ, र उहाँलाई देख्‍नेहरूले उहाँलाई सामान्य मानिसबाट अलग गर्न सक्दैनन्। यो सामान्य स्वरूप र सामान्य मानवता नै उहाँको लागि सामान्य मानवतामा आफ्‍नो ईश्‍वरीय काम गर्न पर्‍याप्त छन्। उहाँको देहले उहाँलाई सामान्य मानवतामा आफ्‍नो काम गर्न दिन्छ, र मानिसको बीचमा उहाँको काम गर्न यसैले सहायता गर्छ, यसको साथै, उहाँको सामान्य मानवताले मानिसको बीचमा मुक्तिको काम गर्न सहायता गर्छ। उहाँको सामान्य मानवताले मानिसको बीचमा निकै कोलाहल पैदा गरेको भए तापनि, त्यस किसिमको कोलाहलले उहाँको कार्यको सामान्य प्रभावहरूलाई असर गरेको छैन। छोटकरीमा, उहाँको सामान्य देहको काम मानिसको लागि निकै फाइदाजनक छ। धेरैजसो मानिसहरूले उहाँको सामान्य मानवतालाई स्वीकार नगरे तापनि, उहाँको कार्यले परिणामहरू पैदा गर्न सक्छ, र उहाँको सामान्य मानवताले गर्दा नै यी परिणामहरू हासिल गरिन्छ। यसमा कुनै शङ्का छैन। देहमा उहाँले गर्ने कार्यद्वारा, मानिसले उसको सामान्य मानवताको बारेमा मानिसको बीचमा रहेका धारणाहरूभन्दा दशौं वा दर्जनौं गुणा बढी कुराहरू प्राप्त गर्छ, र त्यस्ता धारणाहरू सबैलाई आखिरीमा उहाँको कार्यले निलिदिनेछन्। अनि उहाँको कार्यले हासिल गरेको प्रभाव, भन्‍नुको अर्थ, उहाँको विषयमा मानिससँग भएको ज्ञान उहाँको बारेमा मानिसमा भएका धारणाहरूभन्दा निकै बढी हुन्छ। देहमा उहाँले गर्नुहुने कामको कल्‍पना गर्ने वा नाप्‍ने कुनै तरिका छैन, किनभने उहाँको देह कुनै पनि देहको मानवजस्तो छैन; बाहिरी भेष समान भए पनि, सार भने समान छैन। उहाँको देहले मानिसको बीचमा परमेश्‍वर सम्‍बन्धी अनेक धारणाहरू उत्पन्‍न गर्छ, तैपनि उहाँको देहले मानिसलाई अझै बढी ज्ञान प्राप्त गर्न दिन्छ, र त्यस्तै बाहिरी भेष भएको कुनै पनि व्यक्तिलाई विजय समेत गर्नसक्छ। किनभने उहाँ मानव मात्रै हुनुहुन्‍न, तर मानवको बाहिरी भेष भएको ईश्‍वर हुनुहुन्छ, र कसैले पनि उहाँलाई पूर्ण रूपमा जान्‍न वा बुझ्‍न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

२०५. मानिसलाई शैतानले भ्रष्ट तुल्याएको छ र ऊ परमेश्‍वरका प्राणीहरूमध्ये सबैभन्दा उच्‍च छ, त्यसकारण मानिसलाई परमेश्‍वरको मुक्तिको खाँचो छ। परमेश्‍वरको मुक्तिको पात्र मानिस नै हो, शैतान होइन, र मुक्त गरिने भनेको मानिसको देह, र मानिसको प्राण नै हो, दियाबलस होइन। शैतान परमेश्‍वरको विनाशको पात्र हो, मानिस परमेश्‍वरको मुक्तिको पात्र हो, र मानिसको देहलाई शैतानले भ्रष्ट तुल्याएको छ, त्यसकारण सुरुमा मुक्त गरिने मानिसको देह नै हुनुपर्छ। मानिसको देहलाई अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याइएको छ, र यो परमेश्‍वरलाई विरोध गर्ने कुरा बनेको छ, यति हदसम्‍म कि यसले खुलेआम परमेश्‍वरको अस्तित्वको विरोध र इन्कार गर्छ। यो भ्रष्ट देह अत्यन्तै हठी छ, र देहको भ्रष्ट स्वभावलाई निराकरण गर्न वा परिवर्तन गर्न जत्तिको कठिन अरू केही छैन। बाधाहरू पैदा गर्नको लागि शैतान मानिसको देहमा आउँछ, र परमेश्‍वरको काममा बाधा ल्याउन र परमेश्‍वरको योजनामा हानी गर्न यसले मानिसको देह प्रयोग गर्छ, यसरी मानिस शैतान नै बनेको छ, र परमेश्‍वरको शत्रु बनेको छ। मानिसलाई मुक्त गर्नको लागि, उसलाई पहिले विजय गरिनैपर्छ। यही कारणले गर्दा नै परमेश्‍वर चुनौतीमा उठ्नुहुन्छ र आफ्‍नो अभिप्रायको काम गर्न, र शैतानसँग लडाइ गर्न देहमा आउनुहुन्छ। उहाँको उद्देश्य भनेको भ्रष्ट तुल्याएको मानिसलाई मुक्ति दिनु, र उहाँको विरुद्धमा विद्रोह गर्ने शैतानलाई हराउनु र नष्ट गर्नु हो। मानिसलाई विजय गर्ने आफ्‍नो कामद्वारा उहाँले शैतानलाई पराजित गर्नुहुन्छ, जबकि यही क्रममा उहाँले भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्छ। यसरी, यो एकै पटकमा दुई वटा उद्देश्यहरू हासिल गर्ने काम हो। मानिससँग अझै राम्ररी संलग्‍न हुन, र मानिसलाई राम्ररी विजय गर्नको लागि उहाँले देहमा काम गर्नुहुन्छ, र देहमा बोल्‍नुहुन्छ, र देहमा नै सबै काम गर्नुहुन्छ। अन्तिम पटक परमेश्‍वर देह बन्‍नुहुँदा, आखिरी दिनहरूको उहाँको कार्यलाई देहमा समाप्त गरिनेछ। उहाँले सबै मानिसहरूलाई प्रकार अनुसार वर्गीकरण गर्नुहुनेछ, आफ्‍नो सम्पूर्ण व्यवस्थापनलाई समाप्त गर्नुहुनेछ, र देहको उहाँको सम्पूर्ण कामलाई पनि समाप्त गर्नुहुनेछ। पृथ्वीको उहाँको सबै काम सकिएपछि, उहाँ पूर्ण रूपमा विजयी बन्‍नुहुनेछ। देहमा काम गर्ने क्रममा, परमेश्‍वरले मानवजातिलाई पुर्ण रूपमा विजय गर्नुभएको हुनेछ, र मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्नुभएको हुनेछ। के यसको अर्थ उहाँको सम्पूर्ण व्यवस्थापन समाप्त भइसकेको हुनेछ भन्‍ने होइन र? उहाँले शैतानलाई पूर्ण रूपमा हराएपछि र विजय बन्‍नुभएपछि, जब परमेश्‍वरले देहमा आफ्‍नो काम समाप्त गर्नुहुन्छ, तब मानिसलाई भ्रष्ट तुल्याउने थप मौका शैतानसँग हुनेछैन। परमेश्‍वरको पहिलो देहधारणको काम भनेको मानिसको पापहरूको छुटकारा र क्षमा थियो। अहिले यो मानवजातिलाई विजय गर्ने र पूर्ण रूपमा प्राप्त गर्ने काम हो, ताकि शैतानसँग उप्रान्त त्यसको काम गर्ने कुनै मार्ग नहोस्, र त्यो पूर्ण रूपमा हारोस्, अनि परमेश्‍वर पूर्ण रूपमा विजय बन्‍नुभएको होस्। देहको काम यही नै हो, र यो परमेश्‍वर स्वयमले गर्नुहुने काम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

२०६. मानिसको देह शैतानद्वारा भ्रष्ट तुल्याइएको छ, र यसलाई सबैभन्दा गहन रूपमा अन्धा तुल्याइएको, र अत्यन्तै उल्‍लेखनीय रूपमा हानी गरिएको छ। परमेश्‍वरले किन देहमा व्यक्तिगत रूपमा काम गर्नुहुन्छ त्यसको सबैभन्दा आधारभूत कारण उहाँको मुक्तिको पात्र मानिस भएकोले गर्दा नै हो, जो देह हो, र किनभने परमेश्‍वरको काममा वाधा दिनको लागि शैतानले पनि मानिसकै देहलाई प्रयोग गर्छ। शैतानसँगको युद्ध भनेको वास्तवमा मानिसलाई विजय गर्ने काम नै हो, र यसको साथै, मानिस पनि परमेश्‍वरको मुक्तिको पात्र हो। यसरी, देहधारी परमेश्‍वरको काम अत्यावश्यक छ। शैतानले मानिसको देहलाई भ्रष्ट तुल्यायो, र मानिस शैतानको मूर्तरूप बन्यो, अनि परमेश्‍वरद्वारा हराउने पात्र बन्यो। यसरी, शैतानसँग युद्ध गर्ने र मानिसलाई मुक्त गर्ने काम पृथ्वीमा हुन्छ, र शैतानसँग युद्ध गर्नको लागि परमेश्‍वर मानव बन्‍नैपर्छ। यो सबैभन्दा बढी व्यवहारिकता भएको काम हो। जब परमेश्‍वरले देहमा काम गरिरहनुभएको हुन्छ, उहाँले वास्तवमा देहमा शैतानसँग युद्ध गरिरहनुभएको हुन्छ। जब उहाँले देहमा काम गर्नुहुन्छ, उहाँले आत्मिक क्षेत्रमा आफ्‍नो काम गरिरहनुभएको हुन्छ, र उहाँले आफ्‍नो सम्पूर्ण कार्यलाई पृथ्वीमा आत्मिक क्षेत्रमा वास्तविक बनाउनुहुन्छ। विजय गरिने भनेको मानिस, उहाँप्रति अनाज्ञाकारी रहेको मानिस नै हो, र हराइने भनेको शैतानको मूर्तरूप हो (अवश्य नै, यो पनि मानिस नै हो), जो उहाँप्रति शत्रुतामा छ, र आखिरमा मुक्त गरिने पनि मानिस नै हो। यसरी, परमेश्‍वर सृष्टिको बाहिरी भेष भएको मानव बन्‍नु अझै बढी आवश्यक छ, ताकि उहाँले शैतानसँग वास्तविक लडाइ गर्न, उहाँप्रति अनाज्ञाकारी हुने र उहाँको जस्तै बाहिरी भेष भएको मानिसलाई विजय गर्न, र उहाँको जस्तै बाहिरी भेष भएको र शैतानद्वारा हानी गरिएको मानिसलाई मुक्त गर्न सक्‍नुभएको होस्। उहाँको शत्रु मानिस हो, उहाँको विजयको पात्र मानिस हो, र उहाँको मुक्तिको पात्र मानिस हो, जसलाई उहाँले नै सृष्टि गर्नुभएको थियो। त्यसकारण उहाँ मानव बन्‍नैपर्छ, र यसरी उहाँको काम निकै सहज बन्छ। उहाँले शैतानलाई हराउन र मानवजातिलाई विजय गर्न सक्‍नुहुन्छ, यसको साथै, उहाँले मानवजातिलाई मुक्त गर्न सक्‍नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

२०७. परमेश्‍वरले मानिसलाई मुक्ति दिने काम सोझै आत्माको विधि र आत्माको पहिचानको माध्यमबाट गरिँदैन, किनकि उहाँका आत्मालाई मानिसले न त छुन सक्छ न त देख्न नै सक्छ, न त मानिस नजिक जान नै सक्दछ। यदि उहाँले मानिसलाई सीधा आत्माको दृष्टिकोण प्रयोग गरी मुक्ति दिन खोज्नुभयो भने, मानिस उहाँको मुक्ति प्राप्त गर्न असमर्थ बन्‍नेथियो। यदि परमेश्‍वरले सृष्टि गरिएको मानिसको बाहिरी रूप धारण गर्नुभएको थिएन भने, मानिसले यो मुक्ति पाउने कुनै उपाय हुनेथिएन। किनकि जसरी यहोवाको बादलको नजिक कोही पनि जान सकेन त्यसरी नै मानिस उहाँको नजिक आउने कुनै उपाय छैन। केवल एक सृष्टि गरिएको एक प्राणी बनेर अर्थात् उहाँको वचनलाई उहाँ बन्न लाग्नुभएको मासुको शरीरमा राखेर मात्र उहाँले आफ्नो पछि लाग्नेहरूमा व्यक्तिगत तवरले वचनअनुसार काम गर्न सक्नुहुन्छ। तब मात्र मानिसले व्यक्तिगत रूपमा उहाँको वचनलाई देख्न र सुन्न सक्दछ, र यसरी मात्र उसले पूर्ण रूपमा मुक्ति पाउन सक्छ। यदि परमेश्‍वर मानिस बन्नुभएको थिएन भने, मासु र रगत हुने कसैले पनि त्यस्तो ठूलो उद्धार प्राप्त गर्न सक्नेथिएन, न त एकै जना व्यक्तिले समेत मुक्ति पाउनेथियो। यदि परमेश्‍वरका आत्माले मानवजातिको माझ प्रत्यक्ष रूपमा काम गर्नुभएको भए, सम्पूर्ण मानवजाति नै नष्ट हुनेथियो, अन्यथा, परमेश्‍वरको सम्पर्कमा आउनै नसक्‍ने गरी तिनीहरू पूर्ण रूपले शैतानको कैदमा पर्नेथिए।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

२०८. देहधारी परमेश्‍वर देहमा आउनुको एउटै मात्र कारण भनेको भ्रष्ट मानिसहरूको आवश्यकताको कारणले गर्दा मात्रै हो। परमेश्‍वरको होइन, तर मानिसका आवश्यकताहरूको कारणले नै यसो भएको हो, र उहाँका सबै बलिदानहरू र दु:खकष्टहरू मानवजातिको खातिर हुन्, परमेश्‍वर स्वयमको फाइदाको लागि होइन। परमेश्‍वरको लागि कुनै फाइदा र बेफाइदा वा इनाम छैन; उहाँले कुनै भविष्यको कटनी होइन, तर जुन कुरा मूल रूपमा उहाँको थियो त्यसको कटनी गर्नुहुन्छ। उहाँले मानवजातिको लागि गर्ने र बलिदान दिने सबै कुराहरू उहाँले ठूलो इनामहरू प्राप्त गर्न सक्‍नुभएको होस् भनेर होइन, तर पूर्ण रूपमा मानवजातिकै खातिर गरिन्छन्। देहमा परमेश्‍वरले गर्नुहुने कार्यमा विभिन्‍न अकल्‍पनीय कठिनाइहरू समावेश भए तापनि, यसले आखिरमा हासिल गर्ने प्रभावहरू आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको कामभन्दा बढी हुन्छ। देहको कार्यमा धेरै कठिनाइ समावेश छ, र देहले आत्माले जस्तै महान् पहिचान प्राप्त गर्न सक्दैन, उहाँले आत्माले जस्तै अलौकिक कार्यहरू गर्न सक्‍नुहुन्‍न, उहाँले आत्माको जस्तै अख्तियार पाउन सक्‍ने कुरा त परै जाओस्। तैपनि उहाँको साधारण देहले गर्ने कार्यको सार आत्माले प्रत्यक्ष रूपमा गर्ने कामभन्दा धेरै नै श्रेष्ठ हुन्छ, र सारा मानवजातिको आवश्यकताहरूको उत्तर यही देह स्वयम् नै हुनुहुन्छ। मुक्त गरिनेहरूका लागि, आत्माको उपयोगी मूल्य देहको भन्दा निकै कम हुन्छ: आत्माको कामले सारा ब्रह्माण्ड, सारा हिमाल, नदीहरू, तालतलैयाहरू, अनि समुद्रहरूलाई समावेश गर्न सक्‍ने भए तापनि, देहको काम उहाँ सम्पर्कमा आउने हरेक व्यक्तिसँग अझै प्रभावकारी रूपमा सम्‍बन्धित हुन्छ। यति मात्र होइन, परमेश्‍वरको देहको मूर्त रूपलाई मानिसले अझै राम्ररी बुझ्‍न र भरोसा गर्न सक्छ, र यसले परमेश्‍वर सम्‍बन्धी मानिसको ज्ञानलाई अझै थप रूपमा गहन तुल्याउन सक्छ, र परमेश्‍वरका वास्तविक कार्यहरूका बारेमा मानिसमा अझै प्रगाढ छवि छोड्न सक्छ। आत्माको कामलाई रहस्यले ढाकेको हुन्छ; मरणशील प्राणीको लागि यो बुझ्‍न कठिन छ, र तिनीहरूले यसलाई देख्‍न अझै कठिन छ, त्यसकारण तिनीहरू खोक्रा कल्‍पनाहरूको मात्रै भर पर्न सक्छन्। तैपनि, देहको काम सामान्य, र वास्तविकतामा आधारित छ, अनि यसमा प्रशस्त बुद्धि छ, साथै यो मानिसको भौतिक आँखाले देख्‍न सक्‍ने तथ्य हो; परमेश्‍वरको कामको बुद्धिलाई मानिसले व्यक्तिगत रूपमा नै अनुभव गर्न सक्छ, र उसको प्रशस्त कल्‍पनाहरूको प्रयोग गर्ने कुनै आवश्यकता हुँदैन। देहमा परमेश्‍वरले गर्नुहुने कामको यथार्थता र वास्तविक मूल्य यही नै हो। आत्माले मानिसको लागि अदृश्य र उसलाई कल्‍पना गर्न कठिन हुने कुराहरू मात्रै गर्न सक्‍नुहुन्छ, उदाहरणको लागि आत्माको अन्तर्दृष्टि, आत्माको हलचल, र आत्माको अगुवाइ, तर मन भएको मानिसको लागि, यिनले कुनै पनि स्पष्ट अर्थ प्रदान गर्दैन। तिनीहरूले स्पर्श, वा वृहत् अर्थ मात्रै प्रदान गर्न सक्छन्, र शब्‍दहरूद्वारा निर्देशन दिन सक्दैनन्। तैपनि, देहमा परमेश्‍वरले गर्नुहुने कार्य निकै फरक छ: यसमा शब्‍दहरूको यथार्थ निर्देशन संलग्‍न हुन्छ, यसको स्पष्ट इच्‍छा हुन्छ, र यसमा आवश्यक उद्देश्यहरू स्पष्ट हुन्छन्। त्यसकारण मानिसले छामछुम गरिहिँड्नु वा आफ्‍नो कल्‍पनाको प्रयोग गर्नु आवश्यक हुँदैन, अनुमानहरू गर्नु पर्ने त परै जाओस्। देहको कामको स्पष्टता यही हो, र यो आत्माको कामभन्दा निकै फरक छ। सीमित क्षेत्रको लागि मात्रै आत्माको काम उपयुक्त हुन्छ र यसले देहको कामलाई प्रतिस्थापन गर्न सक्दैन। देहको कार्यले मानिसलाई आत्माको कार्यले भन्दा धेरै यथार्थ र आवश्यक लक्ष्यहरू र अझै वास्तविक, बहुमूल्य ज्ञान दिन्छ। भ्रष्ट मानिसको लागि सबैभन्दा मूल्यवान् काम भनेको त्यही हो जुन कामले सटीक शब्‍दहरू, पछ्याउनको लागि स्पष्ट लक्ष्यहरू प्रदान गर्न सक्छ, जसलाई देख्‍न र छुन सकिन्छ। मानिसको स्वादको लागि वास्तविक काम र समय अनुसारको अगुवाइ मात्रै उपयुक्त छन्, र वास्तविक कार्यले मात्रै मानिसलाई उसको भ्रष्ट र पतित स्वभावबाट मुक्त गर्न सक्छ। यसलाई देहधारी परमेश्‍वरले मात्रै हासिल गर्न सक्‍नुहुन्छ; देहधारी परमेश्‍वरले मात्रै मानिसलाई उसको पहिलेको भ्रष्ट र पतित स्वभावबाट मुक्त गर्न सक्‍नुहुन्छ। आत्मा परमेश्‍वरको अन्तर्निहित सार भए तापनि, यस प्रकारको कामलाई उहाँको देहले मात्र गर्न सक्‍नुहुन्छ। यदि आत्माले एकलै काम गर्नुभयो भने, उहाँको काम प्रभावकारी हुनु सम्‍भव हुनेथिएन—यो स्पष्ट सत्यता हो। यो देहको कारण धेरैजसो मानिसहरू परमेश्‍वरका शत्रुहरू बनेका भए पनि, जब उहाँले आफ्‍नो काम समाप्त गर्नुहुन्छ, तब उहाँका विरुद्धमा हुनेहरू उहाँका शत्रुहरू बन्‍न छोडेका मात्र हुनेछैनन्, तर यसको विपरीत तिनीहरू उहाँका साक्षीहरू बन्‍नेछन्। तिनीहरू उहाँले विजय गर्नुभएका साक्षीहरू, उहाँको लागि अनुकूल र उहाँबाट अलग गर्न नसकिने साक्षीहरू बन्‍नेछन्। उहाँले मानिसलाई मानिसको निम्ति देहमा उहाँको कार्यको महत्त्वलाई जान्‍ने तुल्याउनुहुन्छ, र मानिसको अस्तित्वको लागि मानिसले उहाँको देहको महत्त्वलाई जान्‍नुपर्छ, मानिसको जीवनको वृद्धिको लागि उहाँको वास्तविक मूल्यलाई जान्‍नुपर्छ, यति मात्र होइन, यो देह जीवनको जीवित जग बन्‍नेछ जसबाट मानिस अलग हुन सक्‍दैन भन्‍ने पनि जान्‍नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

२०९. परमेश्‍वरको देहधारी शरीर परमेश्‍वरको पहिचान र स्थानसँग मिल्दै नमिल्‍ने, र मानिसको लागि यो उहाँको वास्तविक स्थितिसँग अमेल देखिने भए तापनि, परमेश्‍वरको साँचो स्वरूप वा परमेश्‍वरको साँचो पहिचान नभएको यो देहले त्यो काम गर्न सक्‍नुहुन्छ जुन काम गर्न परमेश्‍वरको आत्मा असमर्थ छ। परमेश्‍वरको देहधारणको साँचो महत्त्व र मूल्य यही हो, र मानिसले कदर गर्न र स्वीकार गर्न नसक्‍ने भनेको यही महत्त्व र मूल्य नै हो। सबै मानवजातिले परमेश्‍वरको आत्मालाई आदरका साथ हेर्ने र परमेश्‍वरको देहलाई हेलाको साथ हेर्ने भए तापनि, तिनीहरूले जसरी हेरे पनि वा विचार गरे पनि, देहको वास्तविक महत्त्व र मूल्य आत्माको भन्दा बढी नै छ। अवश्‍य नै, यो भ्रष्ट मानिसको लागि मात्रै हो। सत्यको खोजी गर्ने र परमेश्‍वरको प्रकटको लागि तृष्णा गर्ने हरेकको लागि, आत्माको कामले स्पर्श वा प्रेरणा, अनि अवर्णनीय र अकल्‍पनीय आश्‍चर्यको आभास, अनि यो महान्, श्रेष्ठ, र प्रशंसनीय छ, तैपनि सबैको लागि यो प्राप्त गर्न र भेट्टाउन नसकिने छ भन्‍ने भाव मात्रै दिन्छ। मानिस र परमेश्‍वरका आत्माले एक-अर्कालाई टाढाबाट मात्रै हेर्न सक्‍नुहुन्छ, मानौं उहाँहरूको बीचमा ठूलो दूरी छ, र उहाँहरू कहिल्यै उस्तै बन्‍न सक्‍नुहुन्‍न, मानौं मानिस र परमेश्‍वरलाई अदृश्य पर्खालले अलग गरेको छ। वास्तवमा, यो आत्माले मानिसलाई दिनुभएको एउटा भ्रम मात्रै हो, किनभने आत्मा र मानिस उस्तै प्रकारको हुनुहुन्‍न र उहाँहरू एउटै संसारमा सँगै अस्तित्वमा कहिल्यै रहन सक्‍नुहुन्‍न, किनभने आत्मामा मानिसको केही पनि छैन। त्यसकारण मानिसलाई आत्माको खाँचो छैन, किनभने मानिसलाई सबैभन्दा बढी आवश्यक पर्ने काम आत्माले प्रत्यक्ष रूपमा गर्न सक्‍नुहुन्‍न। देहको कामले मानिसलाई पछ्याउनको लागि वास्तविक उद्देश्यहरू, स्पष्ट शब्‍दहरू र उहाँ वास्तविक र सामान्य हुनुहुन्छ, उहाँ नम्र र सर्वसाधारण हुनुहुन्छ भन्‍ने आभास दिन्छ। मानिसले उहाँको डर मान्‍न सक्‍ने भए तापनि, धेरैजसो मानिसहरूका लागि उहाँ सजिलै सम्‍बन्धित हुन सकिने हुनुहुन्छ: मानिसले उहाँको मुहारलाई हेर्न सक्छन्, र उहाँको आवाजलाई सुन्‍न सक्छन्, र उसले उहाँलाई टाढाबाट हेर्नु पर्दैन। यो देह मानिसले पहुँच गर्न सकिने हुनुहुन्छ, टाढा, बुझ्‍न नसकिने होइन, तर देख्‍न सकिने र छुन सकिने हुनुहुन्छ, किनभने यो देह मानिसकै संसारमा हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

२१०. अहिले मानिसले देहधारी परमेश्‍वरको काम वास्तवमै असाधारण छ, र यसमा मानिसले प्राप्त गर्न नसक्‍ने, र रहस्य र अचम्‍मका कुराहरू धेरै कुराहरू छन् भन्‍ने देख्‍न सक्छ। त्यसैकारण धेरै जना अधीनमा बसेका छन्। कोही-कोही तिनीहरूका जन्मदेखि नै कहिल्यै कसैको अधीनमा बसेका छैनन्, तापनि तिनीहरूले आजको दिनमा परमेश्‍वरका वचनहरू देख्दा तिनीहरूले थाहै नपाई तिनीहरू अधीनमा बसेका हुन्छन्, अनि तिनीहरू जाँच्ने वा अरू कुनै कुरा गर्ने आँट गर्दैनन्। मानवता वचनको अधीनमा परेको छ र वचनको न्यायको मुनि लम्पसार परेको छ। यदि परमेश्‍वरका आत्माले मानिससँग सीधै बोल्नुहुन्थ्यो भने मानवजाति सबै त्यो आवाजको अधीनमा बस्‍नेथिए, अनि जसरी पावल दमस्कसको बाटोको ज्योतिले गर्दा भुइँमा लडेका थिए त्यसरी नै तिनीहरू प्रकाशको वचनविना नै लड्नेथिए। यदि परमेश्‍वरले यस प्रकारले काम गरिरहनुभएको भए, मानिसले कहिल्यै पनि वचनको न्यायद्वारा आफ्नो भ्रष्टतालाई जान्न र त्यसबाट मुक्ति प्राप्त गर्न सक्दैनथियो। केवल मानिस बनेर मात्र परमेश्‍वरले प्रत्येक र सबै मानवजातिको कानमा उहाँका वचनहरू पुर्‍याउन सक्नुहुन्छ, यसरी जसको कान छ ती सबैले उहाँको वचन सुन्न र वचनद्वारा न्यायको कामलाई स्वीकार गर्न सक्छन्। यो आत्मा प्रकट भएर मानिसलाई अधीनमा बस्न डर देखाएर होइन, बरु उहाँको वचनद्वारा प्राप्त गरिने परिणाम हो। यस्तो व्यावहारिक र अझ असाधारण कार्यको माध्यमबाट मात्रै धेरै वर्षदेखि भित्र लुकेको मानिसको पुरानो स्वभावलाई पूर्ण रूपमा प्रकट गर्न सकिन्छ, यसरी मानिसले त्यसलाई चिन्न र परिवर्तन गर्न सक्दछ। यी सबै देहधारी परमेश्‍वरका व्यावहारिक कार्यहरू हुन्, जसमा व्यावहारिक रूपमा बोलेर अनि न्याय कार्यान्वयन गरेर उहाँले वचनद्वारा मानिसमा न्यायको परिणाम प्राप्त गर्नुहुन्छ। देहधारी परमेश्‍वरको अधिकार र परमेश्‍वरको देहधारणको महत्त्व यही हो। यो देहधारी परमेश्‍वरको अधिकार जनाउन, वचनको कामले हासिल गरेका परिणामहरू जनाउन र आत्मा देहमा आउनुभएको छ भनी बताउन र वचनद्वारा मानिसको न्याय गरी उहाँको अधिकार प्रदर्शन गर्नका निम्ति गरिन्छ। उहाँको शरीर एक साधारण र सामान्य मानवताको बाहिरी रूप भए पनि उहाँका वचनहरूले प्राप्त गरेका परिणामहरूले मानिसलाई उहाँ अधिकारले पूर्ण हुनुहुन्छ, उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ र उहाँका वचनहरू स्वयम् परमेश्‍वरका अभिव्यक्ति हुन् भनी देखाउँछ। यस माध्यमद्वारा सबै मानवजातिलाई उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ, उहाँ देह बन्‍नुभएका परमेश्‍वर हुनुहुन्छ, उहाँलाई कसैले उल्‍लङ्घन गर्नु हुँदैन, र अनि कसैले पनि वचनद्वारा गरिने उहाँको न्यायलाई उछिन्न सक्दैन, अन्धकारको कुनै शक्ति उहाँको अख्तियारमाथि विजयी हुन सक्दैन भनी देखाइन्छ। उहाँ देहधारी हुनुभएका वचन हुनुहुन्छ, त्यसकारण र उहाँको अधिकारको कारण र वचनद्वारा उहाँले गर्ने न्यायको कारण मानिस पूर्ण रूपमा उहाँको अधीनमा बस्छ। उहाँको देहधारी शरीरद्वारा ल्याइएको काम उहाँसित भएको अधिकार हो। शरीरले पनि अख्तियार प्राप्त गर्न सकोस् भनेर उहाँ देह बन्नुको हो, र उहाँ मानिसले देख्न र अनुभव गर्न सक्‍ने गरी मानिसमा व्यावहारिक ढङ्गले काम गर्न सक्षम हुनुहुन्छ। यो काम परमेश्‍वरका आत्माले सीधै गर्नुभएको कामभन्दा धेरै यथार्थ परक हुन्छ, जोसँग सबै अधिकार छ, र यसका परिणामहरू पनि स्पष्ट हुन्छन्। किनकि देहधारी परमेश्‍वर व्यावहारिक रूपमा बोल्न र काम गर्न सक्नुहुन्छ। उहाँको देहको बाहिरी रूपको कुनै अधिकार हुँदैन, र मानिस त्यसको नजिक जान सक्छ, जबकी उहाँको अस्तित्वले अख्तियार बोक्दछ, तर उहाँको अख्तियारलाई कसैले देख्न सक्दैन। जब उहाँ बोल्नुहुन्छ र काम गर्नुहुन्छ, मानिसले उहाँको अख्तियारको अस्तित्व पत्ता लगाउन सक्दैन; यसले उहाँलाई व्यावहारिक प्रकृतिको काम गर्न सहयोग पुर्‍याउँछ। यो सबै व्यावहारिक कार्यले परिणामहरू प्राप्त गर्न सक्छ। कुनै मानिसले उहाँमा अधिकार छ भन्‍ने महसुस नगरे पनि, वा उहाँलाई दुःखी बनाउनु हुँदैन भनी नबुझे पनि, वा उहाँको क्रोध नदेखे पनि, उहाँले उहाँको गुप्त अख्तियार, उहाँको लुकेको क्रोध र उहाँले खुल्लमखुल्ला बोल्नुहुने वचनबाट आफ्ना वचनहरूद्वारा आफूले चाहनुभएको परिणाम प्राप्त गर्नुहुन्छ। अर्को शब्दमा, उहाँको आवाजको सुर, उहाँको बोलीको कठोरता, र उहाँको वचनका सबै बुद्धिद्वारा मानिस पूर्ण रूपले विश्‍वस्त हुन्छ। यस प्रकारले, मानिस देहधारी परमेश्‍वरको अधीनमा बस्छ, जसको कुनै अधिकार छैन जस्तो देखिन्छ, यसरी मानिसलाई बचाउने परमेश्‍वरको उद्देश्य पूरा हुन्छ। यो उहाँको देहधारणको महत्त्वको अर्को पक्ष हो: अझ बढी यथार्थतापूर्वक बोल्नु र उहाँको वचनको वास्तविकतालाई मानिसमा प्रभाव पार्ने तुल्याउनु, यसैले कि मानिसले परमेश्‍वरको वचनको शक्तिलाई देख्न सकोस्। त्यसकारण, यदि देहधारणको माध्यमद्वारा यो काम गरिएको थिएन भने, त्यसले थोरै परिणामहरू पनि प्राप्त गर्न सक्दैनथियो र पापीहरूलाई पूर्ण रूपमा मुक्ति दिन सक्ने थिएन। यदि परमेश्‍वर मानिस नबन्नुभएको भए उहाँ आत्मा नै रहनुहुने थियो, जो मानिसका निम्ति अदृश्य र अनुभव गर्न नसकिने दुवै हुनेथियो। मानिस शारीरिक प्राणी भएकोले ऊ र परमेश्‍वर दुई फरक संसारका हुनुहुन्छ र जसका विभिन्न प्रकृतिहरू छन्। मानिस देह भएकोले परमेश्‍वरका आत्मा ऊसित सँगै रहन सक्दैन, र तिनको बीचमा सम्बन्ध स्थापित गर्ने कुनै उपाय छैन, अनि मानिस आत्मामा परिवर्तन हुनु त झन् हुनै नसक्ने कुरा हो। यस्तो भएकोले, आफ्‍नो मूल कार्यलाई गर्नको लागि परमेश्‍वरका आत्मा सृष्टि गरिएको प्राणी हुनु नै पर्दछ। परमेश्‍वर उच्च स्थानमा चढ्न र मानव प्राणी बन्नका निम्ति आफूलाई नम्र तुल्याउन, दुवै कार्य गर्न सक्‍ने हुनुहुन्छ, यसरी उहाँले मानवजातिका माझमा काम गर्न र तिनीहरूका बीचमा सक्‍नुहुन्छ, तर मानिस उच्च स्थानमा उक्लिन र आत्मा बन्न सक्दैन, र ऊ तल्लो स्थानमा त झनै ओर्लन सक्दैन। यसैले गर्दा परमेश्‍वर आफ्नो काम पूरा गर्न मानिस बन्नुपर्छ। यसरी नै, पहिलो देहधारणको अवधिमा देहधारी परमेश्‍वरको शरीरले मात्रै उहाँको क्रूसीकरणद्वारा मानिसलाई छुटकारा दिन सक्यो, नत्र भने परमेश्‍वरका आत्मा मानिसको पापबलिको रूपमा क्रूसमा टाँगिने कुनै उपाय हुनेथिएन। परमेश्‍वर मानिसको पापबलि हुनका निम्ति सीधै मानिस बन्न सक्नुहुन्थ्यो, तर मानिस परमेश्‍वरले उसको निम्ति तयार पार्नुभएको पापबलि बोकेर सीधै स्वर्गमा उक्लिन सक्दैनथ्यो। यस्तो भएकोले, परमेश्‍वरलाई स्वर्ग र पृथ्वीको बीचमा केही पल्ट आउने र जाने गर्न लाउनु मात्र सम्भव हुन्थ्यो, मानिसलाई मुक्ति पाउनका निम्ति स्वर्गमा उक्लिन लगाउनु सम्भव भएन, किनकि मानिस पतित भएको थियो, साथै मानिस यसै पनि स्वर्गमा उक्लिनु सक्दैन, झन् पापबलि प्राप्त गर्न सक्‍नु त कुरै नगरौं। त्यसकारण, येशू मानवजातिको बीचमा आउनु र कुनै मानिसले गर्न नसक्ने काम व्यक्तिगत रूपमा गर्नु आवश्यक थियो। हरेक चोटि परमेश्‍वर अति आवश्यक परेकोले गर्दा मात्रै मानिस बन्नुहुन्छ। यदि कुनै पनि चरणहरू प्रत्यक्ष रूपमा परमेश्‍वरका आत्माद्वारा पूरा गर्न सकिन्थ्यो भने उहाँ देहधारी हुने अपमानजनक कार्यमा समर्पित बन्नुहुने थिएन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

२११. मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामको लागि देहमा हुनुहुने परमेश्‍वर जत्तिको अरू कोही पनि उपयुक्त र योग्य छैन। यदि परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा नै न्याय गर्नुभएको भए, यो सर्व-स्वीकार्य हुँदैनथियो। यसको साथै, मानिसले त्यस्तो कार्यलाई स्वीकार गर्नु कठिन हुनेथियो, किनभने आत्मा मानिससँग आमने-सामने हुन सक्‍नुहुन्‍न, र यस कारणले गर्दा, यसको प्रभाव तत्‍कालीन हुनेथिएन, मानिसले परमेश्‍वरको रिस उठाउन नसकिने स्वभावलाई अझै स्पष्ट रूपमा देख्‍न सक्‍नु त परै जाओस्। देहमा हुनुहुने परमेश्‍वरले मानिसको भ्रष्टतालाई न्याय गर्नुभयो भने मात्रै शैतान पूर्ण रूपमा हार्न सक्छ। मानिसजस्तै सामान्य मानवता धारण गर्नुभएको हुनाले, देहमा हुनुहुने परमेश्‍वरले मानिसको अधार्मिकतालाई प्रत्यक्ष रूपमा न्याय गर्न सक्‍नुहुन्छ; यो उहाँको अन्तर्निहित पवित्रता, र उहाँको असाधारणताको चिन्‍ह हो। मानिसलाई न्याय गर्नको लागि परमेश्‍वर मात्रै योग्य, र यसो गर्ने स्थानमा हुनुहुन्छ, किनभने उहाँमा सत्यता, र धार्मिकता छ, त्यसैले उहाँले मानिसलाई न्याय गर्न सक्‍नुहुन्छ। सत्यता र धार्मिकता विहीनहरू अरूलाई न्याय गर्न योग्य छैनन्। यदि यो काम परमेश्‍वरका आत्माले गर्नुभयो भने, यसको अर्थ शैतानमाथिको विजय हो भन्नेथिएन। आत्मा अन्तर्निहित रूपमा मरणशील प्राणीहरूभन्दा उच्‍च हुन्छ, र परमेश्‍वरका आत्मा अन्तर्निहित रूपमा नै पवित्र, अनि देहमाथि विजयी हुनुहुन्छ। यदि यो काम आत्माले प्रत्यक्ष रूपमा गर्नुभयो भने, उहाँले मानिसका सारा अनाज्ञाकारितालाई न्याय गर्न सक्‍नुहुनेथिएन र मानिसको सबै अधार्मिकतालाई प्रकट गर्न सक्‍नुहुनेथिएन। किनभने न्यायको काम परमेश्‍वर सम्‍बन्धी मानिसको धारणाद्वारा पनि अघि बढाइन्छ, र आत्माको बारेमा मानिससँग कुनै धारणा कहिल्यै थिएन, त्यसकारण मानिसको अधार्मिकतालाई अझै राम्ररी प्रकट गर्न आत्मा असक्षम हुनुहुन्छ, त्यस्तो अधार्मिकतालाई पूर्ण रूपमा खुलासा गर्ने कुरा त परै जाओस्। देहधारी परमेश्‍वर उहाँलाई नचिन्‍नेहरू सबैका शत्रु हुनुहुन्छ। मानिसका धारणाहरूलाई र उहाँ प्रतिको विरोधलाई न्याय गरेर, उहाँले मानवजातिका सारा अनाज्ञाकारीतालाई खुलासा गर्नुहुन्छ। देहमा उहाँले गर्नुहुने कामका प्रभावहरू आत्माका कामभन्दा अझै स्पष्ट हुन्छन्। त्यसैले, सारा मानवजातिको न्याय प्रत्यक्ष रूपमा आत्माले गर्नुहुन्‍न, तर यो देहधारी परमेश्‍वरको काम हो। देहमा हुनुहुने परमेश्‍वरलाई मानिसले देख्‍न र छुन सक्छ, र देहमा हुनुहुने परमेश्‍वरले मानिसलाई पूर्ण रूपमा विजय गर्न सक्‍नुहुन्छ। देहमा हुनुहुने परमेश्‍वरसँगको आफ्‍नो सम्‍बन्धमा, मानिस विरोधबाट आज्ञापालनमा, सतावटबाट स्वीकारमा, धारणाहरूबाट ज्ञानमा, अनि इन्कारबाट प्रेममा उन्नत हुन्छन्—यी देहधारी परमेश्‍वरको कामका प्रभावहरू हुन्। उहाँको न्यायलाई स्वीकार गरेर मात्रै मानिस मुक्त हुन सक्छ, उहाँको मुखका वचनहरूद्वारा मात्रै मानिसले बिस्तारै उहाँलाई चिन्दै जान्छ, उहाँप्रतिको उसको विरोधको अवधिमा उहाँले मानिसलाई विजय गर्नुहुन्छ, र उहाँको सजायको स्वीकारको अवधिमा उसले उहाँबाट जीवनको आपूर्ति प्राप्त गर्छ। यी सबै काम देहमा हुनुहुने परमेश्‍वरको काम हो, र आत्माको रूपमा आफ्ना पहिचानमा हुनुभएका परमेश्‍वरको काम होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

२१२. जब परमेश्‍वर अझै देहधारी भइसक्नुभएको थिएन, त्यो बेला उहाँले भन्नुभएको अधिकांश कुरा मानिसहरूले बुझेनन्, किनकि उहाँका वचनहरू पूर्ण ईश्‍वरत्वबाट आएका थिए। उहाँले भन्नुभएको कुराको दृष्टिकोण र सन्दर्भ मानवजातिको लागि अदृश्य र अगम्य थियो यो आत्मिक क्षेत्रबाट व्यक्त गरिएको थियो जसलाई मानिसहरूले देख्न सक्दैनथे। देहमा जिउने मानिसहरू आत्मिक क्षेत्रबाट भएर जान सक्दैनथिए। तर परमेश्‍वर देह बनिसक्‍नुभएपछि उहाँले मानवजातिको दृष्टिकोणबाट बोल्नुभयो, अनि उहाँ आत्मिक क्षेत्रको सीमादेखि बाहिर आउनुभयो र त्यसलाई नाघ्नुभयो। मानवजातिले परमेश्‍वरलाई बुझ्न र चिन्न सकून्, उहाँको अभिप्राय तथा उहाँको अपेक्षित स्तरहरूलाई तिनीहरूको क्षमताको सीमाभित्र तथा तिनीहरूले सक्ने स्तरसम्म आत्मसात् गर्न सकून् भनेर आफ्नो ईश्‍वरीय स्वभाव, इच्छा तथा धारणालाई मानवले कल्पना गर्न सक्ने कुराहरू, तिनीहरूले आफ्‍नो जीवनमा देखेका तथा सामना गरेका कुराहरूद्वारा अनि मानिसहरूले स्वीकार गर्न सक्ने विधिहरू प्रयोग गरेर तिनीहरूले बुझ्न सक्ने ज्ञानद्वारा व्यक्त गर्न सक्नुभयो। मानवजातिमा उहाँको कामको विधि तथा सिद्धान्त यही नै थियो। देहमा काम गर्ने परमेश्‍वरका धेरैजसो तरिका तथा उहाँका सिद्धान्तहरू मानवताको माध्यमले वा मानवताद्वारा हासिल गरिएको भए तापनि, यसले प्रत्यक्ष रूपमा ईश्‍वरत्वद्वारा काम गरेर हासिल गर्न नसकिने परिणामहरू हासिल गर्न सक्यो। मानवजातिमा परमेश्‍वरको काम अझै बढी ठोस, विशुद्ध तथा लक्षित थियो, विधिहरू अझ धेरै लचकदार थिए, अनि यो व्यवस्थाको युगमा सम्पन्न गरिएको कामलाई नाघ्‍ने किसिमको थियो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

२१३. देहमा परमेश्‍वरको आगमनको प्राथमिक अर्थ मानिसहरूलाई परमेश्‍वरका वास्तविक कामहरू देख्‍न सक्षम तुल्याउनु, निराकार आत्मालाई देहको आकार दिनु, र मानिसहरूलाई उहाँलाई हेर्न र छुन दिनु हो। यसरी, उहाँद्वारा सिद्ध बनाइएका मानिसहरूले उहाँले चाहनु भए अनुसार जिउनेछन्‌, तिनीहरू उहाँद्वारा हासिल गरिनेछन्‌, र उहाँको हृदयअनुसारका मानिसहरू बन्‍नेछन्। यदि परमेश्‍वर स्वर्गमा मात्र बोल्‍नुहुन्थ्यो र पृथ्‍वीमा साँच्‍चिकै नआउनुभएको भए, मानिसहरूले परमेश्‍वरलाई अझै चिन्‍न सक्‍ने थिएनन्; तिनीहरूले खोक्रो सिद्धान्त प्रयोग गरी परमेश्‍वरका कामहरूको विषयमा प्रचार गर्न मात्र सक्षम हुनेथिए र परमेश्‍वरका वचनहरू वास्तविकताको रूपमा प्राप्त‍ गर्ने थिएनन्। जसलाई उहाँले हासिल गर्नुहुन्छ ती मानिसहरूका निम्ति उदाहरण र नमुनाको रूपमा कार्य गर्न परमेश्‍वर मुख्यगरी यस पृथ्‍वीमा आउनुभएको हो; यसरी मात्र मानिसहरूले वास्तवमा परमेश्‍वरलाई चिन्‍न सक्छन्, परमेश्‍वरलाई छुन सक्छन्, र उहाँलाई हेर्न सक्छन्, र तब मात्र तिनीहरूलाई साँच्‍चिकै परमेश्‍वरद्वारा हासिल गरिन सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। व्यावहारिक परमेश्‍वर स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ भनी तैँले थाहा पाउनुपर्छ

२१४. परमेश्‍वरले आफैलाई कुनै बिन्दुसम्म होच्याउनु हुँदा मात्र, भन्नुको मतलब, परमेश्‍वर देह बन्नुहुँदा मात्र, मानिस उहाँसँग घनिष्ठ र विश्‍वासपात्र हुन सक्छ। परमेश्‍वर आत्मा हुनुहुन्छ: मानिसहरू कसरी यस आत्मासँग घनिष्ठ हुन सक्छन् जो‌ यति उच्च र अगाध हुनुहुन्छ? जब परमेश्‍वरको आत्मा देहमा अवतरण गर्नुहुन्छ, र बाहिरी स्वरूपमा मानिसजस्तै प्राणी बन्नुहुन्छ, तब मात्र मानिसहरूले उहाँको इच्छा बुझ्न सक्छन्‌ र वास्तवमा उहाँद्वारा प्राप्त गरिन सक्छन्। उहाँ देहमा बोल्नुहुन्छ र कार्य गर्नुहुन्छ, मानिस जातिको सुख, दुःख, र सङ्कष्टहरूमा सामेल हुनुहुन्छ, मानिस जातिजस्तै त्यही संसारमा जिउनुहुन्छ, मानिस जातिलाई संरक्षण गर्नुहुन्छ, र तिनीहरूलाई अगुवाइ गर्नुहुन्छ, र यसद्वारा उहाँले मानिसहरूलाई शुद्ध पार्नुहुन्छ र तिनीहरूलाई उहाँको उद्धार र उहाँको आशिष प्राप्त गर्न दिनुहुन्छ। यी कुराहरू प्राप्त गरेर, मानिसहरूले साँच्चै परमेश्‍वरको इच्छा बुझ्छन्‌, र तब मात्र तिनीहरू परमेश्‍वरसँग घनिष्ठ हुन सक्छन्‌। यो मात्र व्यावहारिक छ। यदि परमेश्‍वर मानिसहरूको निम्ति अदृश्य र अमूर्त हुनुभएको भए, तिनीहरू कसरी उहाँसँग घनिष्ठ हुन सक्थे होलान्‌? के यो खोक्रो सिद्धान्त होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌

२१५. देहमा जिउने सबैका लागि, तिनीहरूको स्वभावलाई परिवर्तन गर्नको लागि लक्ष्यहरूको पछि लाग्‍न आवश्यकता पर्छ, र परमेश्‍वरलाई चिन्‍नको लागि परमेश्‍वरको वास्तविक कार्यहरू र वास्तविक मुहारलाई हेर्नु आवश्यक हुन्छ। यी दुवै कुरा परमेश्‍वरको देहधारी शरीरले मात्रै हासिल गर्न सक्‍नुहुन्छ, र यी दुवै कुरा सामान्य र वास्तविक देहले मात्रै पूरा गर्न सक्‍नुहुन्छ। यही कारणले देहधारण अत्यावश्यक छ, र यसै कारणले सारा भ्रष्ट मानवजातिलाई यसको खाँचो छ। मानिसहरूले परमेश्‍वरलाई जान्‍नु आवश्यक भएकोले, तिनीहरूका हृदयबाट अस्पष्ट र अलौकिक ईश्‍वरहरूका स्वरूपहरूलाई हटाइनै पर्छ, अनि तिनीहरूले आफ्‍ना भ्रष्ट स्वभावलाई त्याग्‍नु आवश्यक भएकोले, तिनीहरूले सुरुमा आफ्‍ना भ्रष्ट स्वभावलाई चिन्‍नैपर्छ। यदि मानिसले मानिसहरूका हृदयबाट अस्पष्ट ईश्‍वरहरूका स्वरूपहरूलाई हटाउने काम मात्रै गर्‍यो भने, ऊ उचित प्रभाव हासिल गर्न असफल हुनेछ। मानिसहरूको हृदयमा भएको अस्पष्ट ईश्‍वरहरूका स्वरूपहरूलाई वचनहरूले मात्रै खुलासा गर्न, हटाउन, वा पूर्ण रूपमा निकाल्‍न सक्दैन। यसो गर्ने क्रममा, आखिरमा अझै मानिसहरूका हृदयबाट जरा गाडेर बसेका यी कुराहरूलाई हटाउन सम्‍भव हुनेछैन। यी अस्पष्ट र अलौकिक कुराहरूलाई व्यवहारिक परमेश्‍वर र परमेश्‍वरको साँचो स्वरूपले प्रतिस्थापन गरेर, अनि मानिसहरूलाई बिस्तारै ती चिनाएर मात्रै, उचित प्रभाव हासिल गर्न सकिन्छ। विगतमा उसले खोजेको परमेश्‍वर अस्पष्ट र अलौकिक छ भन्‍ने कुरालाई मानिसले पहिचान गर्छ। यो प्रभाव हासिल गर्न सक्‍ने आत्माको प्रत्यक्ष नेतृत्व होइन, निश्‍चित व्यक्तिको शिक्षाहरूको त कुरै छाँडौ, तर यो त देहधारी परमेश्‍वर नै हुनुहुन्छ। जब देहधारी परमेश्‍वरले आधिकारिक रूपमा आफ्‍नो काम गर्नुहुन्छ तब मानिसका धारणाहरूलाई नाङ्गेझार पारिन्छ, किनभने देहधारी परमेश्‍वरको सामान्यता र वास्तविकता नै मानिसको कल्‍पनामा भएको अस्पष्ट र अलौकिक ईश्‍वरलाई हटाउने प्रतिपक्ष हो। मानिसको मूल धारणाहरूलाई देहधारी परमेश्‍वरको विरुद्धमा तुलना गरियो भने मात्रै खुलासा गर्न सकिन्छ। देहधारी परमेश्‍वरसँगको तुलनाविना, मानिसका धारणाहरूलाई खुलासा गर्न सकिँदैन; अर्को शब्‍दमा भन्दा, प्रतिभारको रूपमा रहेको वास्तविकताविना, अस्पष्ट कुराहरूलाई प्रकट गर्न सकिँदैन। यो कार्य गर्नको लागि वचनहरूको प्रयोग गर्न सक्‍ने कोही छैन, र वचनहरूको प्रयोग गरी यो स्पष्ट पार्न सक्‍ने कोही पनि छैन। परमेश्‍वर स्वयमले मात्रै उहाँको आफ्‍नो काम गर्न सक्‍नुहुन्छ, र कसैले पनि उहाँको तर्फबाट यो काम गर्न सक्दैन। मानिसको भाषा जति नै सम्‍पन्‍न भए तापनि, परमेश्‍वरको वास्तविकता र सामान्यतालाई स्पष्ट रूपमा व्यक्त गर्न ऊ सक्षम छैन। यदि परमेश्‍वरले व्यक्तिगत रूपमा मानिसको बीचमा काम गर्नुभयो र आफ्‍नो स्वरूप र आफ्‍नो अस्तित्वलाई पूर्ण रूपमा देखाउनुभयो भने मात्रै, मानिसले अझै व्यवहारिक रूपमा परमेश्‍वरलाई चिन्‍न सक्छ, र उहाँलाई अझै स्पष्ट रूपमा चिन्‍न सक्छ। यो प्रभावलाई देहका कुनै पनि मानिसले हासिल गर्न सक्दैन। अवश्‍य नै, यो प्रभाव हासिल गर्न परमेश्‍वरका आत्मा असमर्थ हुनुहुन्छ। परमेश्‍वरले भ्रष्ट मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्न सक्‍नुहुन्छ, तर यो काम परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा पूरा गर्न सक्‍नुहुन्‍न; बरु, यो परमेश्‍वरका आत्माले धारण गर्नुहुने देहले, अर्थात् परमेश्‍वरको देहधारी शरीरले मात्रै पूरा गर्न सक्छ। यो देह मानिस हो र परमेश्‍वर पनि हुनुहुन्छ, यो सामान्य मानवता भएको मानिस अनि पूर्ण ईश्‍वरीयता भएको परमेश्‍वर पनि हुनुहुन्छ। त्यसकारण, यो देह परमेश्‍वरका आत्मा हुनुहुन्‍न, र आत्माभन्दा निकै फरक हुनुहुन्छ, तैपनि मानिसलाई मुक्ति दिनुहुने देहधारी परमेश्‍वर स्वयम् नै हुनुहुन्छ, जो आत्मा हुनुहुन्छ र देह पनि हुनुहुन्छ। उहाँलाई जसरी कहलाइए तापनि, आखिरमा मानवजातिलाई मुक्ति दिनुहुने परमेश्‍वर स्वयम् नै हुनुहुन्छ। परमेश्‍वरका आत्मा देहबाट अविभाज्य छ, र देहको काम परमेश्‍वरका आत्माको काम पनि हो; यति मात्रै हो कि यो काम आत्माको पहिचान प्रयोग गरेर गरिँदैन, तर देहको पहिचान प्रयोग गरेर गरिन्छ। आत्माले प्रत्यक्ष रूपमा गर्नु पर्ने कामको लागि देहधारणको आवश्यकता पर्दैन, र देहले गर्नु पर्ने कामलाई आत्माले प्रत्यक्ष रूपमा गर्न सक्‍नुहुन्‍न, र देहधारी परमेश्‍वरले मात्रै यो गर्न सक्‍नुहुन्छ। यो कामको लागि आवश्यक पर्ने कुरा यही हो, र भ्रष्ट मानवजातिलाई आवश्यक पर्ने कुरा यही नै हो। परमेश्‍वरको कार्यका तीन चरणहरूमा, एउटै चरणलाई मात्रै पवित्र आत्माले प्रत्यक्ष रूपमा गर्नुभयो, र बाँकी दुई वटा चरणहरूलाई देहधारी परमेश्‍वरले गर्नुहुन्छ, प्रत्यक्ष रूपमा आत्माले होइन। आत्माले गर्नुभएको व्यवस्थाको युगको कार्यमा मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गर्ने कार्य समावेश थिएन, न त परमेश्‍वरसँग सम्‍बन्धित मानिसको ज्ञानसँग नै यसको कुनै सम्‍बन्ध थियो। अनुग्रहको युग र राज्यको युगको परमेश्‍वरको देहको काममा मानिसको भ्रष्ट स्वभाव र परमेश्‍वर सम्‍बन्धी उसको ज्ञान संलग्‍न छ, र यो मुक्तिको कामको महत्त्वपूर्ण र निर्णायक भाग हो। त्यसकारण, भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ, र देहधारी परमेश्‍वरको प्रत्यक्ष कार्यको अझै बढी खाँचोमा छ। उसलाई गोठाला गर्न, उसलाई सहयोग गर्न, उसलाई पानी दिन, उसलाई खुवाउन, उसलाई न्याय गर्न र सजाय दिनको लागि मानवजातिलाई देहधारी परमेश्‍वर चाहिन्छ, र देहधारी परमेश्‍वरबाट उसलाई अझै बढी अनुग्रह र अझै बढी छुटकाराको खाँचो छ। देहमा हुनुहुने परमेश्‍वर मात्रै मानिसको सहयोगी, मानिसको गोठालो, सँधै उपलब्ध हुने सहयोग हुन सक्‍नुहुन्छ, र आज र विगतको समय दुवैमा देहधारणको आवश्यकता यी सबै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

२१६. परमेश्‍वर पृथ्वीमा मानिसको बीचमा आफ्नो काम गर्न, आफैलाई मानिसकहाँ व्यक्तिगत रूपले प्रकट गर्न र मानिसलाई उहाँलाई हेर्ने मौका दिन आउनुभयो; के यो सानो विषय हो? यो वास्तवमा सरल छैन! यो मानिसले सोचेजस्तो होइन: मानिसले उहाँलाई हेर्न सकोस्, मानिसले परमेश्‍वर यथार्थ हुनुहुन्छ, अस्पष्ट वा खोक्रो होइन, र परमेश्‍वर उच्‍च हुनुहुन्छ, तर नम्र पनि हुनुहुन्छ भन्‍ने जानोस् भनी परमेश्‍वर आउनुभएको छ। के यो त्यत्ति सरल हुन सक्छ? शैतानले मानिसको शरीरलाई भ्रष्ट पारेको छ, र परमेश्‍वरले मुक्ति दिने अभिप्राय राख्‍नुभएको मानिस नै हो परमेश्‍वरले, त्यसकारण शैतानसँग लडाइँ गर्न र मानिसलाई व्यक्तिगत रूपमा गोठाला गर्नको लागि परमेश्‍वरले देह धारण गर्नुपर्छ। केवल यो मात्रै उहाँको कामको लागि लाभदायक छ। शैतानलाई हराउनका लागि र मानिसजातिलाई अझ राम्ररी मुक्ति दिनको लागि परमेश्‍वरका दुईवटा देहधारण अस्तित्वमा आएका छन्। चाहे परमेश्‍वरका आत्मा होऊन् वा परमेश्‍वरको देहधारणको शरीर, शैतानसँग लडाइँ गर्ने परमेश्‍वर मात्र हुन सक्‍नुहुन्छ। छोटकरीमा, शैतानको साथ लडाइँ गर्ने स्वर्गदूतहरू हुन सक्दैनन्, झन् मानिस त हुनै सक्दैन, जसलाई शैतानले भ्रष्ट पारेको छ। स्वर्गदूतहरू यो लडाइँ लड्न शक्तिहीन छन्, र मानिस त झन् अझै दुर्बल छ। त्यसरी नै, यदि परमेश्‍वर मानिसको जीवनमा काम गर्न चाहनुहुन्छ भने, यदि उहाँ मानिसलाई मुक्ति दिन व्यक्तिगत रूपमा पृथ्वीमा आउन चाहनुहुन्छ भने उहाँ व्यक्तिगत रूपमा नै देह बन्नुपर्दछ—अर्थात्, उहाँले व्यक्तिगत रूपमा देह धारण गर्नुपर्दछ, र आफ्नो जन्मजात पहिचान र उहाँले गर्नुपर्ने कामको साथमा मानिसकहाँ आएर व्यक्तिगत रूपमा मानिसलाई मुक्ति दिनु पर्छ। यदि होइन भने, यदि यो काम परमेश्‍वरको आत्मा वा मानिसले गर्ने हो भने यो लडाइँबाट कहिल्यै केही पनि प्राप्त हुँदैन, र यो कहिल्यै पनि समाप्त हुँदैन। जब परमेश्‍वर मानिसको बीचमा शैतानको विरुद्धमा व्यक्तिगत रूपमा युद्धमा जान देह बन्नुहुन्छ तब मात्र मानिसले मुक्ति पाउने मौका पाउँछ। यसको साथै, केवल त्यसपछि मात्रै शैतान सर्ममा पर्छ र त्योसित शोषण गर्ने कुनै मौका वा कार्यान्वयन गर्ने कुनै योजना हुँदैन। देहधारी परमेश्‍वरले गर्नुहुने काम परमेश्‍वरका आत्माले हासिल गर्न सक्‍नुहुन्‍न र यो मासुले बनेको कुनै पनि मानिसले परमेश्‍वरको तर्फबाट गर्नु अझ असम्भव हुनेथियो, किनकि उहाँले गर्नुहुने काम मानिसको जीवनका लागि र मानिसको भ्रष्ट स्वभाव परिवर्तन गर्नका लागि हो। यदि मानिसले यस लडाइँमा भाग लिनु परेको भए ऊ केवल लथालिङ्ग अवस्थामा भाग्‍नेथियो र ऊ आफ्नो भ्रष्ट स्वभाव परिवर्तन गर्न असक्षम हुनेथियो। ऊ मानिसलाई क्रूसबाट बचाउन वा सबै विद्रोही मानव जातिलाई जित्न असक्षम हुनेथियो, तर केवल थोरै पुरानो काम मात्र गर्न सक्नेथियो जुन सिद्धान्तहरू भन्दा पर जान सक्दैन वा शैतानलाई पराजित गर्नेसित सम्बन्धित नरहेको कार्य मात्रै गर्न सक्‍नेथियो। त्यसोभए किन झमेलामा पर्ने? शैतानलाई हराउने त परै जाओस्, मानव जातिलाई समेत प्राप्त गर्न नसक्ने कामको के महत्त्व हुन्छ? यसैले शैतानसितको लडाइँ केवल परमेश्‍वर स्वयम्‌ले मात्र गर्न सक्नुहुन्छ र यो मानिसले गर्नु असम्भव छ। मानिसको कर्तव्य भनेको आज्ञापालन गर्नु र अनुसरण गर्नु हो, किनकि मानिस आकाश र पृथ्वी सृष्टि गर्ने जस्तो काम गर्न असमर्थ छ, यसबाहेक न त उसले शैतानसित लडाइँ गर्ने काम नै गर्नसक्छ। मानिसले परमेश्‍वर स्‍वयम्‌को नेतृत्वमुनि रहेर मात्र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्छ, जसद्वारा शैतान पराजित हुन्छ; मानिसले गर्न सक्ने यति मात्र हो। तसर्थ, हरेक चोटि नयाँ लडाइँ सुरु हुँदा यो काम परमेश्‍वर स्‍वयम्‌ले व्यक्तिगत रूपमा गर्नुहुन्छ, जसद्वारा उहाँले सम्पूर्ण युगको नेतृत्व गर्नुहुन्छ र सम्पूर्ण मानव जातिका लागि नयाँ बाटो खोलिदिनुहुन्छ। प्रत्येक नयाँ युगको उदय शैतानसँगको लडाइँको एउटा नयाँ सुरुआत हो, जसद्वारा मानिस नयाँ, अझ सुन्दर संसारमा प्रवेश गर्दछ, र एउटा नयाँ युगमा जसलाई परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा नेतृत्व गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

२१७. किन देहधारणको अर्थ येशूको काममा पूरा भएन भनेर म भन्छु? किनभने वचन पूर्ण रूपमा देह बनेन। येशूले जे गर्नुभयो त्यो देहमा परमेश्‍वरले गर्ने कामको एउटा भाग मात्रै थियो; उहाँले उद्धारको काम मात्रै गर्नुभयो, र मानिसलाई पूर्ण रूपमा प्राप्त गर्ने काम गर्नुभएन। यस कारणले गर्दा, आखिरी दिनहरूमा परमेश्‍वर फेरि देह बन्‍नुभएको छ। कामको यो चरणलाई पनि सामान्य देहमा नै गरिन्छ; यो पूर्ण रूपमा सामान्य मानवद्वारा गरिन्छ, जसको मानवता अलिकति पनि असाधारण छैन। अर्को शब्‍दमा भन्दा, परमेश्‍वर पूर्ण रूपमा मानव बन्‍नुभएको छ; उहाँ त्यो व्यक्ति हुनुहुन्छ जसको पहिचान परमेश्‍वरको, पूर्ण मानवको, पूर्ण देहको छ, जसले काम गरिरहनुभएको छ। मानव आँखाले देहगत शरीरलाई देख्छ जुन विल्कुलै असाधारण छैन, जो एक साधारण व्यक्ति हुनुहुन्छ जसले स्वर्गको भाषा बोल्‍न सक्‍नुहुन्छ, जसले कुनै पनि आश्‍चर्यकर्मका चिन्‍हहरू देखाउने, आश्‍चर्यकर्महरू गर्ने गर्नुहुन्‍न, ठूला सभा हलहरूमा धर्मको आन्तरिक सत्यतालाई खुलासा गर्ने त परै जाओस्। मानिसहरूका लागि, दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा अत्यन्तै फरक देखिन सक्छ, यति फरक कि उहाँहरू दुईमा कुनै पनि मिल्‍ने कुरा छैन भन्‍ने देखिन्छ, र पहिलोको कुनै काम यस पटक देखिँदैन। दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा फरक भए तापनि, त्यसले उहाँहरूको स्रोत एउटै र उही होइन भनेर प्रमाणित गर्दैन। उहाँहरूको स्रोत एउटै हो कि होइन भन्‍ने कुरा देहहरूले गर्ने कामको स्वभावमा निर्भर हुन्छ, र उहाँहरूको बाहिरी भेषहरूमा होइन। उहाँको कामको तीन चरणहरूको अवधिमा, परमेश्‍वर दुई पटक देहधारी हुनुभएको छ, र दुवै समयमा देहधारी परमेश्‍वरको कामले नयाँ युगलाई सुरु गर्छ, नयाँ कामलाई आरम्‍भ गर्छ; देहधारणहरू एक-अर्काका पूरक हुन्। यी दुई देहहरू एउटै स्रोतबाट आउँछन् भनेर मानव आँखाले भन्‍नु असम्‍भव छ। यो मानव आँखा वा मानव मनको क्षमताभन्दा बाहिरको कुरा हो भनेर भनिरहनु आवश्यक छैन। तर उहाँहरूको सारमा, उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूको काम एउटै आत्माबाट आउँछ। दुई देहधारी शरीरहरू उही स्रोतबाट आउँछ कि आउँदैन भन्‍ने कुरालाई उहाँहरू जन्‍मनुभएको युग र स्थान वा अन्य कारकतत्वहरूद्वारा मूल्याङ्कन गर्न सकिँदैन, तर उहाँहरूले व्यक्त गर्नुभएको ईश्‍वरीय कामद्वारा गर्न सकिन्छ। दोस्रो देहधारी शरीरले येशूले गर्नुभएको कुनै पनि काम गर्नुहुन्‍न, किनभने परमेश्‍वरको कामले चलनलाई पालन गर्दैन, तर हरेक पटक यसले नयाँ मार्ग खोल्छ। दोस्रो देहधारी शरीरले मानिसहरूको मनमा पहिलो देहको छविलाई गहन बनाउने वा ठोस बनाउने होइन, तर यसलाई पूरा गर्ने र सिद्ध बनाउने, परमेश्‍वर सम्‍बन्धी मानिसको ज्ञानलाई गहन बनाउने, मानिसहरूको हृदयमा रहेका सम्पूर्ण नियमहरूलाई तोड्ने, र तिनीहरूका हृदयमा भएको परमेश्‍वरका गलत प्रतिरूपहरूलाई हटाउने उद्देश्य राख्छ। परमेश्‍वरको आफ्‍नै कामको कुनै पनि व्यक्तिगत चरणले मानिसलाई उहाँ सम्‍बन्धी पूर्ण ज्ञान दिन सक्दैन भनेर भन्‍न सकिन्छ; हरेकले एक भाग मात्रै दिन्छ, पूर्णता होइन। परमेश्‍वरले आफ्‍नो स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्नुभएको भए तापनि, मानिसको सीमित समझशक्तिको कारण, परमेश्‍वर सम्‍बन्धी उसको ज्ञान अपूरो नै रहन्छ। मानव भाषाको प्रयोग गरेर परमेश्‍वरको स्वभावको पूर्णतालाई व्यक्त गर्नु असम्‍भव छ; यसको साथै, उहाँको कामको एकल चरणले कसरी परमेश्‍वरलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ? उहाँले आफ्‍नो सामान्य मानवताको आवरणभित्र रही देहमा काम गर्नुहुन्छ, र उहाँको ईश्‍वरीयताका अभिव्यक्तिहरूद्वारा मात्रै उहाँलाई चिन्‍न सकिन्छ, उहाँको शारीरिक आवरणद्वारा होइन। मानिसलाई उहाँका विभिन्‍न कामको माध्यमद्वारा उहाँलाई चिन्‍न दिनको लागि परमेश्‍वर देहमा आउनुहुन्छ, र उहाँको कामका कुनै पनि दुई चरणहरू उस्तै हुँदैनन्। यसरी मात्रै देहमा परमेश्‍वरले गर्नुहुने कामको पूर्ण ज्ञान मानिसले पाउन सक्छ, एउटै मात्र पक्षमा मात्रै सीमित हुँदैन। दुई देहधारी शरीरका काम फरक भए तापनि, देहहरूका सार, र उहाँहरूका कामको स्रोत उस्तै छन्; के मात्रै हो भने उहाँहरू कामका फरक-फरक चरणहरूलाई गर्नको निम्ति अस्तित्वमा हुनुहुन्छ, र दुई फरक युगहरूमा खडा हुनुहुन्छ। जेसुकै भए तापनि, परमेश्‍वरका देहधारी शरीरहरूको उही सार र उही व्युत्पत्ति छ—यो कसैले पनि नकार्न नसक्‍ने सत्य हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

२१८. आफ्‍नो पहिलो देहधारणमा परमेश्‍वरले देहधारणको कार्यलाई पूरा गर्नुभएन; उहाँले कामको पहिलो चरणलाई मात्रै पूरा गर्नुभयो जसलाई परमेश्‍वरले देहमा गर्नु अत्यावश्यक थियो। त्यसैले, देहधारणको कामलाई पूरा गर्नको लागि, देहका सारा सामान्यता र वास्तविकतामा जिउँदै, अर्थात्, परमेश्‍वरको वचनलाई पूर्ण रूपमा सामान्य र साधारण देहमा प्रकट गर्दै, देहमा उहाँले अपूरो छोड्नुभएको कामलाई त्यसद्वारा समाप्त गर्दै परमेश्‍वर फेरि पनि देहमा फर्कनुभएको छ। वास्तवमा, दोस्रो देहधारी शरीर पहिलोजस्तै छ, तर यो पहिलोभन्दा अझै वास्तविक, अझै सामान्य छ। परिणामस्वरूप, दोस्रो देहधारी शरीरले सामना गर्ने कष्ट पहिलोको भन्दा ठूलो छ, तर यो कष्ट उहाँको देहको सेवकाइको परिणाम हो, जुन भ्रष्ट मानिसको कष्टजस्तो छैन। यो उहाँको देहको सामान्यता र वास्तविकताबाट पनि निस्किआउँछ। उहाँले आफ्‍नो सेवकाइ अत्यन्तै सामान्य र वास्तविक देहमा गर्नुहुने हुँदा, देहले अत्यन्तै धेरै कठिनाइको सामना गर्नुपर्छ। यो देह जति सामान्य र जति वास्तविक छ, उहाँले आफ्‍नो सेवकाइ गर्ने क्रममा त्यति नै बढी कष्ट भोग्‍नुहुनेछ। परमेश्‍वरको कामलाई अत्यन्तै सामान्य देहमा व्यक्त गरिएको छ, जुन अलौकिक छँदै छैन। उहाँको देह सामान्य छ र यसले मानिसलाई मुक्त गर्ने कार्यको भारलाई पनि बोक्‍नु पर्ने भएकोले, उहाँले अलौकिक देहले भन्दा पनि बढी कष्ट भोग्‍नुपर्छ—अनि यी सबै कष्ट उहाँको देहको वास्तविकता र सामान्यताबाट आउँछ। आफ्‍ना सेवकाइहरू गर्ने क्रममा दुई देहधारी शरीरहरूले सामना गरेका कष्टबाट, देहधारी शरीरको सारलाई देख्‍न सकिन्छ। देह जति सामान्य छ, काम गर्ने क्रममा उहाँले त्यति नै ठूलो कष्ट भोग्‍नुपर्छ; काम गर्ने देह जति वास्तविक छ, मानिसहरूका धारणा त्यति नै कठोर हुन्छ, र उहाँमा त्यति नै खतराहरू पर्ने सम्‍भावना हुन्छ। तैपनि, देह जति वास्तविक छ, र देहमा सामान्य मानवको आवश्यकताहरू र पूर्ण चेतना जति हुन्छ, परमेश्‍वरको कामलाई देहमा लिन उहाँ त्यति नै सक्षम हुनुहुन्छ। क्रूसमा कांटी ठोकिएको येशूकै देह थियो, पापबलिको रूपमा दिइएको उहाँकै देह थियो; सामान्य मानवता सहितको देहको माध्यमद्वारा नै उहाँले शैतानलाई जित्‍नुभयो र मानिसलाई क्रूसबाट पुर्ण रूपमा मुक्त गर्नुभयो। अनि पूर्ण देहको रूपमा नै परमेश्‍वरले आफ्‍नो दोस्रो देहधारणमा विजयको काम गर्नुहुन्छ र शैतानलाई जित्‍नुहुन्छ। पुर्ण रूपमा सामान्य र वास्तविक देहले मात्रै विजयको कामलाई पूर्ण रूपमा गर्न सक्छ र शक्तिशाली गवाही दिन सक्छ। भन्‍नुको अर्थ, मानिसको विजय देहमा हुनुभएका परमेश्‍वरको वास्तविकता र सामान्यताद्वारा प्रभावकारी बनाइन्छ, अलौकिक आश्चर्यकर्महरू र प्रकाशहरूद्वारा होइन। यस देहधारी परमेश्‍वरको सेवकाइ बोल्‍नु, र त्यसद्वारा मानिसलाई जित्‍नु र सिद्ध गर्नु हो; अर्को शब्‍दमा भन्दा, आत्माको काम देहमा प्रकट भयो, देहको कर्तव्य भनेको बोल्‍नु र त्यसद्वारा मानिसलाई पूर्ण रूपमा जित्‍नु, प्रकट गर्नु, सिद्ध पार्नु, र हटाउनु हो। त्यसैले, विजयको काममा नै परमेश्‍वरले देहमा गर्नुहुने काम पूर्ण रूपमा पूरा हुनेछ। उद्धारको प्रारम्‍भिक कार्य देहधारणको कार्यको सुरुवात मात्रै थियो; विजयको काम गर्ने देहले देहधारणको सम्पूर्ण कामलाई पूरा गर्नेछ। लिङ्गमा, एक जना पुरुष र अर्को स्त्री हुनुहुन्छ, त्यसकारण परमेश्‍वरको देहधारणको महत्त्व पूरा हुन्छ, र यसले परमेश्‍वर सम्‍बन्धी मानिसका धारणाहरूलाई हटाउँछ: परमेश्‍वर पुरुष र स्त्री दुवै बन्‍न सक्‍नुहुन्छ, र वास्तवमा, देहधारी परमेश्‍वर लिङ्गरहित हुनुहुन्छ। उहाँले पुरुष र स्त्री दुवैलाई बनाउनुभयो, र उहाँको लागि, कुनै लिङ्गको विभाजन छैन। कामको यो चरणमा, परमेश्‍वरले चिन्‍हहरू र आश्‍चर्यका कामहरू गर्नुहुन्‍न, ताकि त्यो कामले वचनको माध्यमद्वारा यसका परिणामहरूलाई हासिल गर्न सक्‍नेछ। यसको साथै, यसको कारण के हो भने, यस पटक देहधारी परमेश्‍वरको काम भनेको बिरामीलाई निको पार्नु र भूत आत्‍माहरूलाई धपाउनु होइन, तर बोलेर मानिसलाई जित्‍नु हो, भन्‍नुको अर्थ परमेश्‍वरको यस देहधारी शरीरमा भएको जन्‍मजात क्षमता भनेको वचन बोल्‍नु र मानिसलाई जित्‍नु हो, बिरामीलाई निको पार्नु र भूत आत्‍माहरूलाई धपाउनु होइन। सामान्य मानवतामा उहाँको काम भनेको आश्चर्यकर्महरू गर्नु होइन, बिरामी निको पार्नु र भूत आत्‍माहरू धपाउनु होइन, तर बोल्‍नु हो, र त्यसकारण दोस्रो देहधारी शरीर मानिसहरूका लागि पहिलोभन्दा अझै सामान्य देखिन्छ। परमेश्‍वरको देहधारण झूट होइन भन्‍ने मानिसहरूले देख्छन्; तर यस देहधारी परमेश्‍वर देहधारी येशूभन्दा फरक हुनुहुन्छ, र उहाँहरू दुवै देहधारी परमेश्‍वर हुनुभए तापनि, उहाँहरू पूर्ण रूपमा उस्तै हुनुहुन्‍न। येशूमा सामान्य मानवता, साधारण मानवता थियो, तर उहाँले धेरै चिन्‍हहरू र आश्चर्यकर्महरू गर्नुभयो। यस देहधारी परमेश्‍वरमा, मानव आँखाले कुनै चिन्‍हहरू वा आश्‍चर्यका कामहरू देख्‍नेछैन, न त बिरामीलाई निको पारेको न त भूत आत्‍माहरूलाई निकालेको, न त समुद्रमा हिँडेको न त चालीस दिनसम्‍म उपवास बसेको नै देख्‍नेछ…। येशूले गर्नुभएको काम उहाँले गर्नुहुन्‍न, वास्तवमा उहाँको देह येशूको भन्दा फरक भएर होइन, तर बिरामीलाई चङ्गाइ गर्नु र भूत आत्‍माहरूलाई धपाउनु उहाँको सेवकाइ नभएकोले हो। उहाँले उहाँको आफ्नै कामलाई तोड्नुहुन्‍न, उहाँको आफ्‍नै कामलाई वाधा दिनुहुन्‍न। उहाँले मानिसलाई आफ्‍ना वास्तविक वचनहरूद्वारा जित्‍नुहुने हुँदा, उहाँले आश्‍चर्यकर्महरूद्वारा जित्‍नुको कुनै आवश्यकता पर्दैन, त्यसैले यो चरण भनेको देहधारणको कामलाई पूरा गर्नु हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

२१९. परमेश्‍वरले गर्नुभएको कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। त्यो बेला, जब येशू आउनुभयो, उहाँ पुरुष हुनुहुन्थ्यो, र यस पटक जब परमेश्‍वर आउनुहुन्छ, उहाँ महिला हुनुहुन्छ। यसबाट, तैँले के देख्‍न सक्छस् भने आफ्‍नो कामको लागि परमेश्‍वरले पुरुष र स्‍त्री दुवै सृष्टि गर्नुभयो, र उहाँको लागि लिङ्गको कुनै भिन्‍नता छैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँले आफूलाई खुशी लागेको कुनै पनि देह लिन सक्‍नुहुन्छ, र त्यो देहले उहाँलाई प्रतिनिधित्व गर्न सक्छ; चाहे यो पुरुष होस् या स्‍त्री, जबसम्म यो उहाँको देहधारी शरीर हो, यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ। यदि उहाँ आउनुहुँदा येशू स्‍त्रीको रूपमा देखा पर्नुभएको भए, अर्को शब्‍दमा भन्दा, यदि पवित्र आत्‍माद्वारा शिशु बालक नभई शिशु बालिका गर्भमा बसेको भए, कामको त्यो चरण उही रूपमा पूरा भएको हुनेथियो। यदि त्यसो भएको भए, कामको वर्तमान चरण पुरुषद्वारा पूरा गरिनु पर्नेथियो, तर काम उही रूपमा पूरा हुनेथियो। यीमध्ये कुनै पनि चरणमा गरिएको काम उत्तिकै महत्त्वपूर्ण छन्; कुनै पनि चरणको काम दोहोरिँदैन, न त यो अर्कोसँग बाझिने नै गर्छ। त्यो समयमा, येशूले आफ्‍नो काम गर्ने क्रममा, उहाँलाई एक मात्र पुत्र भनियो, र “पुत्र” ले पुरुष लिङ्गलाई जनाउँछ। हालको यो चरणमा किन एक मात्र पुत्रलाई उल्‍लेख गरिँदैन? कामका आवश्यकताहरूको कारणले येशूको भन्दा फरक लिङ्ग परिवर्तनलाई बाध्य गरेको छ। परमेश्‍वरको लागि लिङ्गमा कुनै भिन्‍नता छैन। उहाँले आफ्‍नो इच्‍छा अनुसार आफ्‍नो काम गर्नुहुन्छ, र आफ्‍नो काम गर्ने क्रममा उहाँ कुनै पनि प्रतिबन्ध हरूको अधीनमा हुनुहुन्‍न, तर विशेष गरी स्वतन्त्र हुनुहुन्छ। तैपनि कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्

२२०. येशूले गर्नुभएको कामको चरणले “वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो” भन्ने सार मात्र पूरा गर्‍यो: परमेश्‍वरको सत्यता परमेश्‍वरसँग थियो, र परमेश्‍वरका आत्मा देहसँग हुनुहुन्थ्यो र त्यो देहबाट अलग गर्न नसकिने थियो। अर्थात्, देहधारी परमेश्‍वरको देह परमेश्‍वरका आत्माको साथमा हुनुहुन्थ्यो, जुन देहधारण गर्नुहुने येशू नै परमेश्‍वरको पहिलो देहधारण हुनुहुन्थ्यो भन्ने कुराको अझ ठूलो प्रमाण हो। कामको यो चरणले “वचन देह बन्नुहुन्छ” भन्ने वाक्यांशको सटीक रूपमा भित्री अर्थ पूरा गर्दछ, “वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन परमेश्‍वर हुनुहुन्थ्यो” भन्ने वाक्यांशमा गहिरो अर्थ थप्दछ र तँलाई “आदिमा वचन थियो” भन्ने वचनमा ठोस रूपमा विश्‍वास गर्ने तुल्याउँछ बनाउँछ। भन्नुको अर्थ के हो भने, सृष्टिको समयमा परमेश्‍वरसँग वचनहरू थिए, उहाँका वचनहरू उहाँसँगै थिए र उहाँबाट अलग हुन सक्दैनथे, अनि अन्तिम युगमा, उहाँले आफ्‍ना वचनहरूको शक्ति र अख्तियारलाई अझ स्पष्ट पार्नुहुन्छ र मानिसलाई उहाँका सबै मार्गहरू देख्ने—उहाँका सबै वचनहरू सुन्ने अनुमति दिनुहुन्छ। अन्तिम युगको काम यस्तै हो। तैँले यी कुराहरू सम्पूर्ण रूपमा बुझ्नुपर्छ। यो देहलाई जान्‍नुको सवाल होइन, तर तैँले देह र वचनलाई कसरी बुझ्छस् भन्ने कुराको सवाल हो। यो तैँले धारण गर्नुपर्ने, सबैले जान्‍नुपर्ने गवाही हो। यो दोस्रो देहधारणको काम हो—र परमेश्‍वर देह बन्नुहुने अन्तिम पटक हो—त्यसैले यसले देहधारणको महत्त्वलाई पूर्ण रूपमा पूरा गर्दछ, र देहमा परमेश्‍वरका सम्पूर्ण कामहरूलाई पूरा र प्रस्तुत गर्दछ, परमेश्‍वर देहमा हुनुहुने युगलाई समाप्त गर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (४)

२२१. मुख्यतः “परमेश्‍वर शरीर बन्नुहुन्छ” भन्ने तथ्यलाई पूरा गर्न परमेश्‍वर यस पृथ्वीमा आउनुभएको हो, भन्नुको तात्पर्य, उहाँ आफ्ना वचनहरू शरीरबाट जारी गर्न सकियोस् भनेर आउनुभएको हो (पुरानो नियममा मोशाको समय जस्तो होइन, जब परमेश्‍वरको आवाज आकाशबाट प्रत्यक्ष जारी भयो)। त्यस पछि, उहाँका सबै वचनहरू सहस्राब्दीय राज्यको युगको अवधिमा पूरा हुनेछन्, तिनीहरू मानव आँखाको सामु देखिने तथ्यहरू बन्नेछन्, र तिनलाई मानिसहरूले आफ्नै आँखा प्रयोग गरेर अलिकति भिन्‍नताविना देख्नेछन्। यो परमेश्‍वरको देहधारणको सर्वोच्च अर्थ यही हो। अर्थात, आत्माको काम देह र वचनहरू मार्फत पूरा हुन्छ। “परमेश्‍वर शरीर बन्नुहुन्छ” र “शरीरमा परमेश्‍वर देखा पर्नु” भन्नुको सही अर्थ यही हो। परमेश्‍वरले मात्रै आत्माको इच्छा बताउन सक्नुहुन्छ, र देहका परमेश्‍वर मात्र आत्माको तर्फबाट बोल्न सक्नुहुन्छ; परमेश्‍वरका वचनहरू देहधारी परमेश्‍वरमा स्पष्ट पारिन्छन्, र अरू हरेक व्यक्ति तिनैबाट निर्देशित हुन्छन्। कोही पनि स्वतन्त्र छैन, तिनीहरू सबै यस दायराभित्र छन्। यी वाणीहरूबाट मात्र मानिस सचेत हुन सक्छन्; यस तरिकाले प्राप्त नगर्नेहरूले यदि स्वर्गबाट वाणीहरू पाउन सक्छौं भन्ने सोच्छन् भने, उनीहरूले दिवास्वप्न देखिरहेका छन्। देहधारी परमेश्‍वरको देहमा यस्तो अख्तियार प्रदर्शन हुन्छ, जसले गर्दा सबैले पूर्ण भरोसाका साथ यसमा विश्‍वास गर्छन्। सबैभन्दा आदरणीय विज्ञहरू र धार्मिक पाष्टरहरूले पनि यी वचनहरू बोल्न सक्दैनन्। उनीहरू सबै तिनका मुनि समर्पित हुनुपर्दछ, र कोही अर्को सुरुवात गर्न सक्षम हुनेछैनन्। परमेश्‍वरले ब्रह्माण्ड विजय गर्न वचनहरू प्रयोग गर्नुहुनेछ। उहाँले सम्पूर्ण ब्रह्माण्डका सबै मानिसलाई पराजित गर्न यो काम आफ्नो देहधारी शरीरले गर्नुहुनेछैन, तर देहधारी परमेश्‍वरको मुखबाट निस्केका वचनहरू प्रयोग गरेर गर्नुहुन्छ; परमेश्‍वर शरीर हुनु भनेको यही मात्रै हो, र परमेश्‍वर शरीरमा देखा पर्नुहुन्छ भन्ने यही मात्रै हो। सम्भवतः, मानिसहरूलाई यस्तो लाग्न सक्छ कि परमेश्‍वरले धेरै काम गर्नुभएको छैन—तर परमेश्‍वरले उहाँका वचन उच्चारण गर्नु मात्र पर्छ, र उनीहरू पूर्ण रूपमा विश्‍वस्त हुनेछन् र अचम्मित हुनेछन्। तथ्य बिना, मानिसहरू चिच्याउँछन् र चीत्कार गर्दछन्; परमेश्‍वरका वचनहरूले उनीहरू शान्त हुन्छन्। परमेश्‍वरले यस तथ्यलाई अवश्य पूरा गर्नुहुनेछ, किनकि यो परमेश्‍वरको दीर्घ-स्थापित योजना हो: पृथ्वीमा वचनको आगमनको तथ्यलाई पूरा गर्ने।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ

२२२. परमेश्‍वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुभएको बेला उहाँको पछि लाग्ने केही मानिसहरूलाई मात्र देहधारी बन्नुभएका परमेश्‍वरले आफैलाई प्रकट गर्नुहुन्छ, सबै प्राणीहरूलाई होइन। उहाँ केवल आफ्नो कामको एक चरण पूरा गर्न मात्र देह बन्नुभयो, मानिसलाई आफ्नो स्वरूप देखाउनका निम्ति होइन। यद्यपि उहाँको काम उहाँ आफैले गर्नुपर्दछ, त्यसैले उहाँले देहमा नै त्यो गर्नु आवश्यक छ। जब यो काम समाप्त हुन्छ, उहाँ मानव संसारबाट प्रस्थान गर्नुहुनेछ; उहाँ आउने कामको बाटोमा खडा हुने डरले मानिसजाति बीच लामो समयसम्म बस्न सक्नुहुन्न। उहाँले भीडलाई जे देखाउनुहुन्छ त्यो उहाँको धर्मी स्वभाव र उहाँका सबै कामहरू मात्र हुन्, र उहाँ दुई पटक मानिस बन्नुभएको स्वरूप होइन, किनकि परमेश्‍वरको स्वरूपलाई उहाँको स्वभावद्वारा मात्र देखाउन सकिन्छ, र उहाँको देहधारी मासुले त्यसको स्थान लिन सक्दैन। उहाँको देहको स्वरूप सीमित मानिसहरूलाई मात्र, उहाँले देहमा काम गर्नुहुँदा उहाँको पछि लाग्‍नेहरूलाई मात्र देखाइन्छ। यसैले गर्दा अहिले भइरहेको काम गोप्य रूपमा गरिन्छ। त्यसरी नै, जब येशूले आफ्नो काम गर्नुभयो, तब उहाँले आफूलाई यहूदीकहाँ मात्र देखाउनुभयो, र अरू कुनै पनि जातिको सामु आफैलाई खुल्लमखुल्ला कहिल्यै देखाउनुभएन। यसरी, उहाँले आफ्नो काम सिध्याइसक्नुभएपछि, उहाँ मानिसको संसारबाट तुरुन्तै जानुभयो र त्यहाँ बस्नुभएन; पछिबाट आफैलाई प्रकट गर्ने उहाँ अर्थात् मानिसको स्वरूप हुनुहुन्न थियो, तर पवित्र आत्मा हुनुहुन्थ्यो, जसले प्रत्यक्ष रूपमा काम गर्नुभयो। जब देहधारी परमेश्‍वरको काम पूर्ण रूपमा समाप्त हुन्छ, उहाँ मरणशील संसारबाट जानुहुन्छ, र उहाँले देहमा हुँदा जुन काम गर्नुभयो त्यो काम फेरि कहिल्यै गर्नुहुनेछैन। त्यसपछि, सबै काम पवित्र आत्माले नै प्रत्यक्ष रूपमा गर्नुहुनेछ। यस अवधिमा, मानिसले उहाँको शारीरिक स्वरूपलाई मुस्किलले देख्न सक्छ; उहाँले आफूलाई मानिसकहाँ कुनै पनि हालतमा देखाउनुहुन्‍न, तर सदासर्वदा लागि लुक्नुहुन्छ। देहधारी परमेश्‍वरको कामको समय सीमित छ। यो एक निश्चित युग, अवधि, जाति र विशेष मानिसहरू माझ पूरा गरिन्छ। यो कामले केवल परमेश्‍वरले देहधारण गर्नुभएको अवधिमा गरिएको कार्यलाई मात्रै प्रतिनिधित्व गर्दछ, र यो त्यस युगको लागि विशेष हुन्छ; यसले एक विशेष युगमा परमेश्‍वरका आत्माको कामलाई प्रतिनिधित्व गर्दछ, र उहाँको सम्पूर्ण कार्यलाई होइन। त्यसैले, देह बनेको परमेश्‍वरको स्वरूप सबै मानिसलाई देखाइनेछैन। भीडलाई जे देखाइन्छ त्यो उहाँ दुईचोटि देह बन्नुहुँदाको उहाँको स्वरूप होइन, बरु परमेश्‍वरको धार्मिकता र यसको पूर्णतामा उहाँको स्वभाव हो। मानिसलाई देखाइएको स्वरूप यो एउटै मात्र होइन, न त दुईवटा मिश्रित स्वरूपहरू नै हो। त्यसकारण, परमेश्‍वरको देहधारी शरीरले आफूले गर्नुपर्ने काम पूरा गरेपछि यस पृथ्वीबाट प्रस्थान गर्नु अनिवार्य छ, किनकि उहाँ आफूले गर्नुपर्ने काम गर्न मात्र आउनुहुन्छ, मानिसहरूलाई आफ्नो स्वरूप देखाउनु होइन। देहधारणको महत्त्वलाई परमेश्‍वरले दुई पटक देह बनेर पूरा गरिसक्नुभएको छ, तापनि उहाँलाई अघि कहिल्यै नदेख्ने कुनै पनि जातिको सामु उहाँले आफूलाई प्रकट गर्नुहुनेछैन। येशू फेरि कहिल्यै पनि आफूलाई धार्मिकताको सूर्यको रूपमा यहूदीहरू सामु देखा पर्नुहुनेछैन, न त उहाँ जैतून डाँडामा उक्लेर सबै मानिसहरूको सामु देखा नै पर्नुहुनेछ; यहूदीहरूले येशू यहूदियामा हुनुहुँदाको अवधिमा उहाँको चित्र मात्र देखेका छन्। किनकि येशूले उहाँको देहधारणमा गर्नुभएको काम दुई हजार वर्ष अघि नै समाप्त भयो; उहाँ एक यहूदीको रूपमा यहूदियामा फर्कनुहुनेछैन, उहाँले आफैलाई कुनै पनि अन्यजाति मानिसहरूकहाँ प्रकट गर्नुहुनेछ भन्‍ने कुरा त परै जाओस्, किनकि मानिस बनेको येशूको देह एक यहूदीको रूप मात्र हो, र यूहन्नाले देखेका मानिसको पुत्रको स्वरूप होइन। येशूले आफ्ना चेलाहरूलाई उहाँ फेरि आउनुहुनेछ भनेर प्रतिज्ञा गर्नुभए पनि उहाँले आफैलाई ती सबै अन्यजाति राष्ट्रहरूमा एक यहूदीको रूपमा प्रकट गर्नुहुनेछैन। देहधारी परमेश्‍वरको काम भनेको एउटा युग सुरु गर्नु हो भन्‍ने तिमीहरूले जान्‍नुपर्छ। यो काम केही वर्षहरूमा सीमित हुन्छ, र उहाँले परमेश्‍वरको आत्माका सबै काम पूरा गर्न सक्नुहुन्न। त्यसरी नै, एक यहूदीको रूपमा रहेको येशूको रूपले केवल उहाँले यहूदियामा काम गर्नुहुँदाको परमेश्‍वरको स्वरूपलाई मात्र प्रतिनिधित्व गर्न सक्दछ, र उहाँले क्रूसमा टाँगिने काम मात्र गर्न सक्नुहुन्थ्यो। येशू देहमा हुनुभएको अवधिमा, उहाँले युगलाई अन्त्य गर्ने वा मानव जातिलाई नाश पार्ने काम गर्न सक्नुभएन। त्यसकारण, उहाँ क्रूसमा टाँगिनुभएपछि र आफ्नो कामलाई निष्कर्षमा पुऱ्याउनुभएपछि, उहाँ उच्चमा चढिजानुभयो र सधैँभरिका लागि आफूलाई मानिसबाट लुकाउनुभयो। त्यस बेलादेखि यता, अन्यजाति देशहरूका विश्‍वासयोग्य विश्‍वासीहरू प्रभु येशूको प्रकटीकरण देख्न असमर्थ थिए, तर तिनीहरूले भित्तामा टाँसेका उहाँको तस्विरलाई मात्रै देख्‍न सक्थे। यो चित्र मानिसले बनाएको चित्र मात्रै हो, र त्यो परमेश्‍वर आफैले मानिसलाई देखाउनुभएको चित्र होइन। परमेश्‍वरले आफैलाई उहाँले दुईचोटि देहधारण गर्नुभएको देहमा खुल्लमखुल्ला भीडहरूको सामु प्रकट गर्नुहुनेछैन। उहाँले मानव जातिको बीचमा गर्नुहुने काम भनेको उनीहरूलाई उहाँको स्वभाव बुझ्ने मौका दिनको लागि हो। मानिसलाई यी सबै कुरालाई विभिन्न युगहरूको कामद्वारा देखाइन्छ; यो येशूको प्रकटीकरणद्वारा नभई उहाँले प्रकट गर्नुभएको स्वभाव र उहाँले गर्नुभएका कामद्वारा पूरा हुन्छ। यो भनेको के हो भने, देहधारण भएको स्वरूपद्वारा होइन, तर देहधारी परमेश्‍वरले गर्नुभएको कामद्वारा मानिसको निम्ति परमेश्‍वरको स्वरूप प्रकट गरिन्छ, जोसँग स्वरूप र रूप दुवै छ; र उहाँको कामद्वारा, उहाँको स्वरूप देखाइन्छ र उहाँको स्वभावलाई प्रकट गरिन्छ। उहाँले देहमा गर्न चाहनुभएको कामको महत्त्व यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (२)

२२३. परमेश्‍वर सारा ब्रह्माण्डमा र माथिको क्षेत्रमा महान् हुनुभएकोले के उहाँले देहको स्वरूप प्रयोग गरेर आफूलाई पूर्ण रूपमा व्याख्या गर्न सक्नुहुन्छ र? आफ्नो कामको एक चरण गर्नका लागि परमेश्‍वरले आफैलाई यस देह धारण गराउनुहुन्छ। देहको यो स्वरूपमा कुनै खास महत्त्व छैन, युगहरू बितेर जाने कुरासँग यसको कुनै सम्बन्ध छैन, न त परमेश्‍वरको स्वभावसँग यसको कुनै सम्बन्ध छ। येशूले किन आफ्नो स्वरूप रहिरहन किन दिनुभएन? किन उहाँले मानिसलाई उहाँको चित्र बनाउनु दिनुभएन, जुन पछिबाट आउने पुस्ताहरूलाई हस्तान्तरण गर्न सकिन्थ्यो? किन उहाँले मानिसहरूलाई उहाँको स्वरूप परमेश्‍वरको प्रतिरूप हो भनेर स्वीकार गर्ने अनुमति दिनुभएन? मानिसको स्वरूप परमेश्‍वरको स्वरूपमा सृष्टि गरिएको भए पनि, के मानिसको स्वरूपले परमेश्‍वरको उच्च स्वरूपको प्रतिनिधित्व गर्नु सम्भव थियो? जब परमेश्‍वर देह बन्नुहुन्छ, उहाँ केवल स्वर्गबाट मात्र एउटा खास शरीरमा आउनुहुन्छ। देहमा ओर्लनुहुने उहाँको आत्मा नै हो, जसद्वारा उहाँले आत्माको काम गर्नुहुन्छ। शरीरमा प्रकट गरिने आत्मा यही हो, र आत्माले नै देहमा उहाँको काम गर्नुहुन्छ। देहमा गरिएको कामले आत्मालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्दछ, र देह कामका लागि हो, तर त्यसको अर्थ देहको स्वरूप परमेश्‍वर स्वयम्‌को स्वरूपको प्रतिस्थापन हो भन्ने होइन; परमेश्‍वर देह बन्नुको उद्देश्य वा महत्त्व यो होइन। आत्माले शरीरमा उहाँको काम राम्ररी हासिल गर्न सक्‍नुभएको होस् भनेर उहाँको कामको निम्ति उपयुक्त वास गर्ने ठाउँ प्राप्त गर्न, मानिसहरूले उहाँका कामहरू देखून्, उहाँको स्वभावलाई बुझ्न सकून्, उहाँका वचनहरू सुन्न सकून्, र उहाँको कामको चमत्कारहरू जान्न सकून् भनेर मात्रै उहाँले देहमा काम गर्नुहुन्छ। उहाँको नाउँले उहाँको स्वभावको प्रतिनिधित्व गर्दछ, उहाँको कामले उहाँको चिनारीको प्रतिनिधित्व गर्दछ, तर उहाँको देहको रूपले उहाँको स्वरूपको प्रतिनिधित्व गर्छ भनी उहाँले कहिल्यै पनि भन्नुभएन, त्यो त केवल मानिसको धारणा मात्रै हो। यसैले, परमेश्‍वरको देहधारणको महत्त्वपूर्ण पक्षहरू उहाँको नाउँ, उहाँको काम, उहाँको स्वभाव, र उहाँको लिङ्ग हो। यस युगमा उहाँको व्यवस्थापनको प्रतिनिधित्व गर्न यी कुराहरूको प्रयोग गरिन्छ। उहाँको व्यवस्थापनसँग उहाँ शरीरमा देखा पर्नुहुने कुराको कुनै सम्बन्ध छैन, त्यो त्यस समयको उहाँको कामका निम्ति मात्र हो। तापनि देहधारी परमेश्‍वरको कुनै विशेष रूप नहुनु असम्भव छ, यसकारण उहाँले आफ्नो प्रकटीकरण निश्चित गर्न एउटा उपयुक्त परिवार चुन्नुहुन्छ। यदि परमेश्‍वरको प्रकटीकरणसित प्रतिनिधित्वको महत्त्व हुन्थ्यो भने उहाँको जस्तै अनुहार भएका सबै जनाले परमेश्‍वरको प्रतिनिधित्व गर्नेथिए। के त्यो अति भयानक गल्ती हुनेथिएन र? मानिसले येशूलाई पुजून् भनेर मानिसले उहाँको चित्र बनाएका थिए। त्यस बेला, पवित्र आत्माले कुनै विशेष निर्देशनहरू दिनुभएन, त्यसकारण मानिसले त्यो काल्पनिक चित्र आजसम्म हस्तान्तरण गर्दैआएको छ। वास्तवमा, परमेश्‍वरको सुरुको मनसाय अनुसार मानिसले त्यसो गर्नुहुँदैन थियो। मानिसको जोशले मात्र येशूको चित्र आजको दिनसम्म रहेको छ। परमेश्‍वर आत्मा हुनुहुन्छ, र अन्तिम विश्लेषणमा पनि मानिसले उहाँको स्वरूप के हो सो पूर्ण रूपमा पत्ता लगाउन सक्दैन। उहाँको स्वरूपलाई उहाँको स्वभावले मात्र प्रतिनिधित्व गर्न सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

२२४. परमेश्‍वर मानिसलाई उहाँको देहबारे जान्न दिने, वा देहधारी परमेश्‍वरको शरीर र मानिसको शरीर बीचका भिन्नताहरू छुट्ट्याउन दिने उद्देश्यले देहधारी बन्नुभएको होइन; न त परमेश्‍वर मानिसको समझशक्तिलाई तालिम दिनका लागि नै देह बन्नुभएको हो, र मानिसलाई परमेश्‍वरको देहधारी शरीरको पूजा गर्ने अनुमति दिने र त्यसरी ठूलो महिमा प्राप्त गर्ने उद्देश्यले त झन् यो हुँदै-होइन। यी कुनै पनि कुरा परमेश्‍वर देह बन्नुको मूल अभिप्राय होइन। न त मानिसलाई दोषी ठहराउनका लागि, न त जानाजानी मानिसलाई प्रकट गर्न, न त उसका निम्ति स्थितिहरू गाह्रो बनाउन परमेश्‍वर देह बन्नुभएको हो। यीमध्ये कुनै पनि कुराहरू परमेश्‍वरको मूल अभिप्राय होइन। हरेक पल्ट जब परमेश्‍वर देह बन्नुहुन्छ, त्यो अपरिहार्य कुरा हुन्छ। उहाँले जसरी काम गर्नुहुन्छ त्यो उहाँको महान् काम र उहाँको ठूलो व्यवस्थापनको खातिर गर्नुहुन्छ, मानिसले कल्पना गरेको जस्तो प्रकारले काम गर्नको लागि होइन। परमेश्‍वर उहाँको कामको आवश्यकताअनुसार मात्र पृथ्वीमा आउनुहुन्छ, र आवश्यक पर्दा मात्र आउनुहुन्छ। उहाँ केवल यता-उता हेर्नका निम्ति मात्र पृथ्वीमा आउनुहुन्न, तर उहाँले गर्नुपर्ने काम पूरा गर्न आउनुहुन्छ। उहाँले आफ्नो काम पूरा गर्न किन यस्तो गह्रौं बोझ लिनुहुन्छ र यस्तो ठूलो जोखिम उठाउनुहुन्छ? जब आवश्यक पर्छ तब परमेश्‍वर देह बन्नुहुन्छ, र सधैँ द्वित्तिय महत्त्वसहित देह बन्नुहुन्छ। यदि मानिसहरूलाई उहाँतिर हेर्न लगाउनु र तिनीहरूका क्षितिजलाई फराकिलो बनाउनका लागि मात्र हो भने, निश्‍चित रूपमा उहाँ कहिल्यै पनि त्यति सजिलै मानिसहरूको बीचमा आउनुहुने थिएन। उहाँ आफ्नो व्यवस्थापन र उहाँको महान् कामको खातिर, र अझै बढी मानवजाति प्राप्त गर्न सकूँ भनेर पृथ्वीमा आउनुहुन्छ। उहाँ युगको प्रतिनिधित्व गर्न आउनुहुन्छ, उहाँ शैतानलाई हराउन आउनुहुन्छ, र शैतानलाई हराउनका लागि उहाँले आफैमा शरीर धारण गर्नुहुन्छ। अझ बढी, उहाँ सम्पूर्ण मानवजातिलाई तिनीहरूको जीवन जिउन अगुवाइ गर्नका निम्ति आउनुहुन्छ। यी सबै उहाँको व्यवस्थापनसित सम्बन्धित छन्, र यो सम्पूर्ण ब्रह्माण्डको कामसँग सम्बन्धित छ। यदि मानिसलाई उहाँको देह चिन्ने तुल्याउन र मानिसहरूका आँखा खोलिदिनका निम्ति मात्र परमेश्‍वर मानिस बन्नुभयो भने उहाँले किन सबै देशको यात्रा गर्नुभएन? के यो अत्यन्तै सजिलो कुरा हुनेछैन र? तर उहाँले त्यसो गर्नुभएन, बरु उहाँले बस्‍नलाई उपयुक्त स्थान चुनेर आफूले गर्नुपर्ने काम सुरु गर्नुहुन्छ। यो देह मात्रै पनि धेरै महत्त्वपूर्ण छ। उहाँले सम्पूर्ण युगको प्रतिनिधित्व गर्नुहुन्छ, साथै सम्पूर्ण युगको काम पनि गर्नुहुन्छ; उहाँले अघिल्लो युगको अन्त्य गर्ने र नयाँ युग सुरु गर्ने, दुवै काम गर्नुहुन्छ। यी सबै महत्त्वपूर्ण कुरा हुन्, जुन परमेश्‍वरको व्यवस्थापनसँग सम्बन्धित छ, र यो सबै एक चरणको कामको महत्त्व हो, जुन काम गर्न परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (३)

२२५. पृथ्वीमा ख्रीष्‍टले परमेश्‍वर स्वयमको प्रतिनिधित्व गरेर काम गर्न सक्षम हुनुभए तापनि, सबै मानिसलाई शरीरमा रहेको आफ्नो स्वरूपलाई देखाउने अभिप्रायका साथ उहाँ आउनुहुन्‍न। सबै मानिसले उहाँलाई देखून् भनेर उहाँ आउनुहुन्‍न; उहाँको हातद्वारा मानिसलाई डोर्‍याउनको निम्ति उहाँ आउनुहुन्छ, र यसद्वारा मानिस नयाँ युगमा प्रवेश गर्छ। ख्रीष्‍टको शरीरको उद्देश्य परमेश्‍वर स्वयमको कार्य, अर्थात्, शरीरमा गरिने परमेश्‍वरको कार्यको लागि हो, तर उहाँको देहको सारलाई पूर्ण रूपमा बुझ्‍न मानिसलाई सक्षम गराउनु होइन। उहाँले जसरी काम गर्नुभए तापनि, उहाँले गर्ने कुनै पनि कुरा शरीरद्वारा प्राप्‍त गर्न सकिनेभन्दा बाहिर जाँदैन। उहाँले जसरी काम गर्नुभए तापनि, उहाँले सामान्य मानवताद्वारा शरीरमा त्यो गर्नुहुन्छ, र मानिसलाई परमेश्‍वरको साँचो अनुहार पूर्ण रूपमा प्रकट गर्नुहुन्‍न। यसको साथै, शरीरमा उहाँले गर्ने कार्य मानिसले विचार गर्ने जत्तिको अलौकिक वा अथाह कहिल्यै हुँदैन। ख्रीष्‍टले शरीरमा परमेश्‍वर स्वयमलाई प्रतिनिधित्व गर्नुभए तापनि र परमेश्‍वर स्वयमले गर्नुपर्ने कार्यलाई व्यक्तिगत रूपमा आफै गर्नुहुने भए तापनि, उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्नुहुन्‍न, न त उहाँले उत्तेजनाको साथ आफ्नै कार्यहरूको घोषणा नै गर्नुहुन्छ। बरु, उहाँ आफ्नो शरीरभित्र गुप्त, नम्र रहनुहुन्छ। ख्रीष्‍ट बाहेक, आफूलाई ख्रीष्‍ट भनी झूटो रूपमा दाबी गर्नेहरूमा उहाँका गुणहरू हुँदैन। झूटा ख्रीष्टहरूको अहङ्कारी र आफैलाई उचाल्‍ने स्वभावसँग तुलना गर्दा, शरीरको कुन आचरण साँचो ख्रीष्‍ट हो त्यस कुरालाई छर्लङ्ग पारिदिन्छ। तिनीहरू जति झूट हुन्, त्यति नै हदसम्‍म झूटा ख्रीष्‍टहरूले आफैप्रति घमण्ड गर्छन्, र मानिसहरूलाई धोका दिनका लागि त्यति नै तिनीहरूले चिन्‍हरू देखाउन र अचम्‍मका कामहरू गर्न सक्छन्। झूटा ख्रीष्‍टहरूमा परमेश्‍वरको गुणहरू हुँदैन; झूटा ख्रीष्टहरूको कुनै पनि तत्वद्वारा ख्रीष्‍ट कलङ्कित हुनुहुन्‍न। देहको कार्य गर्नको लागि मात्रै परमेश्‍वर देह बन्‍नुहुन्छ, उहाँलाई हेर्नको निम्ति मानिसहरूलाई सक्षम तुल्याउनको लागि मात्रै होइन। बरु, उहाँले आफ्नो कामलाई नै उहाँको पहिचान पुष्‍टि गर्न दिनुहुन्छ, र आफूले प्रकट गरेको कुरालाई नै उहाँले आफ्नो स्वभावलाई प्रमाणित गर्न दिनुहुन्छ। उहाँको स्वभाव आधारहीन छैन; उहाँको पहिचानलाई उहाँको हातद्वारा खोसेर लिइएको थिएन; उहाँको कार्य र उहाँको स्वभावद्वारा नै यसलाई निर्धारित गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो

२२६. देहमा गरिने उहाँको कार्यको सबैभन्दा उत्तम कुरा भनेको उहाँले यथार्थ वचनहरू र अर्तीहरू, र मानवजातिप्रतिको उहाँको निश्‍चित इच्छालाई उहाँको पछि लाग्‍नेहरूमा छोड्न सक्‍नुहुन्छ, ताकि त्यसपछि उहाँका अनुयायीहरूले अझै यथार्थ रूपमा र अझै ठोस रूपमा देहमा गरिने उहाँको सारा काम, र सारा मानवजातिप्रति उहाँको इच्‍छालाई यो मार्ग स्वीकार गर्नेहरूमा हस्तान्तरण गर्न सक्‍नेछन्। मानिसको बीचमा देहमा गरिने परमेश्‍वरको कामले मात्रै परमेश्‍वर मानिससँगै रहनु र सँगै बस्‍नुको तथ्यलाई साँचो रूपमा पूरा गर्न सक्छ। यो कार्यले मात्रै परमेश्‍वरको मुहारलाई हेर्ने, परमेश्‍वरको कामलाई अवलोकन गर्ने, र परमेश्‍वरको व्यक्तिगत वचन सुन्‍ने मानिसको इच्‍छालाई पुरा गर्न सक्छ। यहोवाको फर्काइ मानवजातिकहाँ देखा परेको बेला मात्रै देहधारी परमेश्‍वरले त्यो युगलाई समाप्त गर्नुहुन्छ, र अस्पष्ट परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको युगलाई पनि उहाँले समाप्त गर्नुहुन्छ। निश्‍चित रूपमा, अन्तिम देहधारी परमेश्‍वरको कार्यले सारा मानवजातिलाई त्यो युगमा ल्याउँछ जुन अझै वास्तविक, अझै व्यवहारिक, र अझै सुन्दर हुन्छ। उहाँले व्यवस्था र धर्मसिद्धान्तको युगलाई समाप्त गर्ने मात्र होइन, तर अझै महत्त्वपूर्ण कुरा, उहाँले मानवजातिको निम्ति त्यो परमेश्‍वरलाई प्रकट गर्नुहुन्छ जो वास्तविक र सामान्य हुनुहुन्छ, जो धर्मी र पवित्र हुनुहुन्छ, जसले व्यवस्थापन योजनाको कार्य खुल्ला पार्नुहुन्छ, जसले मानवजातिको रहस्यहरू र गन्तव्यलाई प्रदर्शन गर्नुहुन्छ, जसले मानवजातिलाई सृष्टि गर्नुभयो र व्यवस्थापन कार्यलाई समाप्त गर्नुहुन्छ, अनि जो हजारौं वर्षसम्‍म गुप्त बस्‍नुभयो। उहाँले अस्पष्टताको युगलाई पूर्ण रूपमा समाप्त गर्नुहुन्छ, उहाँले त्यो युगलाई अन्त्य गर्नुहुन्छ जुन युगमा सारा मानवजातिले परमेश्‍वरको मुहारलाई हेर्ने इच्‍छा गर्छन् तर त्यसो गर्न सक्दैनन्, उहाँले त्यो युगलाई समाप्त गर्नुहुन्छ जुन युगमा सारा मानवजातिले शैतानको सेवा गरे, अनि उहाँले सारा मानवजातिलाई पूर्ण रूपमा नयाँ युगमा डोर्याउनुहुन्छ। यी सबै परमेश्‍वरको आत्माको स्थानमा देहमा हुनुहुने परमेश्‍वरको कामको परिणाम हो। जब परमेश्‍वरले देहमा काम गर्नुहुन्छ, उहाँलाई पछ्याउनेहरूले उप्रान्त त्यस्ता कुराहरूलाई खोजी गर्ने र छामछुम गर्ने गर्दैनन्, जुन अस्तित्वमा छ र अस्तित्वमा छैन जस्तो देखिन्छ, र तिनीहरूले अस्पष्ट परमेश्‍वरको इच्‍छाको बारेमा अनुमान गर्न छोड्छन्। जब परमेश्‍वरले देहमा गर्ने आफ्‍नो कामलाई फैलाउनुहुन्छ, उहाँलाई पछ्याउनेहरूले उहाँले देहमा गर्नुभएको कामलाई सारा धर्महरू र सम्प्रदायहरूमा फैलाउँछन्, र तिनीहरूले उहाँका सबै वचनहरूलाई सारा मानवजातिको कानमा सुनाउनेछन्। उहाँको सुसमाचारलाई ग्रहण गरेकाहरूले सुनेका सबै कुरा उहाँका कार्यका तथ्यहरू हुनेछन्, मानिसले व्यक्तिगत रूपमा देखेका र सुनेका कुराहरू हुनेछन्, र तथ्यहरू हुनेछन्, हल्‍ला मात्र होइन। यी तथ्यहरू त्यो सबुत हो जसद्वारा उहाँले काम फैलाउनुहुन्छ, र ती उहाँले काम फैलाउने क्रममा प्रयोग गर्नुहुने औजारहरू पनि हुन्। तथ्यहरूको अस्तित्वविना, उहाँको सुसमाचार सारा देशहरू र सबै स्थानहरूमा फैलने थिएनन्; तथ्यहरूविना तर मानिसहरूको कल्‍पनाहरूद्वारा मात्रै, उहाँले सारा ब्रह्माण्डलाई विजय गर्ने काम कहिल्यै गर्न सक्‍नुहुने थिएन। आत्मा मानिसको लागि अस्पृश्य छ, र मानिसको लागि अदृश्य छ, र मानिसको लागि गरिने परमेश्‍वरको कामको थप प्रमाण वा तथ्यहरूलाई छोड्न आत्माको काम असमर्थ छ। मानिसले परमेश्‍वरको वास्तविक मुहारलाई कहिल्यै हेर्नेछैन, उसले सँधै अस्तित्वमा नभएको अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्नेछ। मानिसले परमेश्‍वरको मुहारलाई कहिल्यै हेर्नेछैन, न त मानिसले कहिल्यै परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्‍नुभएको वचनहरूलाई नै सुन्‍नेछ। आखिर, मानिसका कल्‍पनाहरू रित्तो छन्, र परमेश्‍वरको साँचो मुहारलाई प्रतिस्थापन गर्न सक्दैनन्; परमेश्‍वरको अन्तर्निहित स्वभाव, र परमेश्‍वर स्वयमको कामको नक्‍कल मानिसले गर्न सक्दैन। स्वर्गका अदृश्य परमेश्‍वर र उहाँको कार्यलाई देहधारी परमेश्‍वरले मात्रै पृथ्वीमा ल्याउन सक्‍नुहुन्छ जसले व्यक्तिगत रूपमै मानिसहरूको बीचमा आफ्‍नो काम गर्नुहुन्छ। परमेश्‍वर मानिसको बीचमा प्रकट हुने सबैभन्दा उत्तम तरिका यही नै हो, जसमा मानिसले परमेश्‍वरलाई देख्छ र परमेश्‍वरको साँचो मुहारलाई चिन्दछ, र गैर-देहधारी परमेश्‍वरले यो हासिल गर्न सक्‍नुहुन्‍न। आफ्‍नो कामलाई यो चरणसम्‍म अघि बढाइसकेपछि, परमेश्‍वरको कार्यले पहिले नै अधिकतम प्रभाव हासिल गरिसकेको छ, र यो पूर्ण रूपमा सफल भएको छ। देहमा परमेश्‍वरको व्यक्तिगत कामले उहाँको सम्पूर्ण व्यवस्थापन कार्यको नब्‍बे प्रतिशत काम पहिले नै पूरा गरिसकेको छ। यो देहले उहाँको सम्पूर्ण कामको निम्ति उत्तम सुरुवात, र उहाँको सम्पूर्ण कार्यको सारांश प्रदान गरेको छ, र उहाँले आफ्‍ना सारा कार्यलाई प्रकट गर्नुभएको छ, र यो सम्पूर्ण कार्यलाई अन्तिम रूपमा पूर्णता दिनुभएको छ। यसपछि, परमेश्‍वरको कार्यको चौथो चरण गर्नको लागि अर्का देहधारी परमेश्‍वर हुनुहुनेछैन, र परमेश्‍वरको तेस्रो देहधारणको कुनै पनि आश्‍चर्यजनक काम कहिल्यै हुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

२२७. यो देह सामान्य र वास्तविक भए तापनि, उहाँ सामान्य देह हुनुहुन्‍न: उहाँ मानिस मात्रैको देह हुनुहुन्‍न, तर त्यो देह हुनुहुन्छ जुन मानवीय र ईश्वरीय दुवै हो। उहाँ र मानिसको बीचको भिन्‍नता यही नै हो, र परमेश्‍वरको पहिचानको चिन्‍ह यही नै हो। यस किसिमको देहले मात्रै उहाँले अभिप्राय राख्नुभएको काम गर्न सक्छ, र देहमा परमेश्‍वरको सेवकाइलाई पूरा गर्न, र मानिसको बीचमा उहाँको कामलाई पूर्ण रूपमा पूरा गर्न सक्छ। यस्तो नभएको भए, मानिसको बीचमा उहाँको काम सँधै रित्तो र त्रुटिपूर्ण हुनेथियो। परमेश्‍वरले शैतानको आत्मासँग युद्ध गरेर विजयी भएर निस्कन सक्‍नुहुने भए तापनि, भ्रष्ट मानिसको पुरानो प्रकृतिलाई कहिल्यै पनि समाधान गर्न सकिँदैन, र परमेश्‍वरप्रति अनाज्ञाकारी र उहाँको विरोध गर्नेहरू साँचो रूपमा उहाँको प्रभुत्वको अधीनस्थ कहिल्यै बन्‍न सक्दैनन्, भन्‍नुको अर्थ, उहाँले मानवजातिलाई कहिल्यै विजय गर्न सक्‍नुहुन्‍न, र सारा मानवजातिलाई कहिल्यै प्राप्त गर्न सक्‍नुहुन्‍न। यदि पृथ्वीमा उहाँको काम कहिल्यै समाधान गर्न सकिँदैन भने, उहाँको व्यवस्थापनलाई कहिल्यै पनि समाप्त गर्न सकिनेछैन, र सारा मानवजाति विश्राममा प्रवेश गर्न सक्‍नेछैन। यदि परमेश्‍वर आफ्‍ना सारा प्राणीहरूसँग विश्राममा प्रवेश गर्न सक्‍नुहुन्‍न भने, त्यस्तो व्यवस्थापन कार्यको परिणाम कहिल्यै हुनेछैन, र परिणामस्वरूप परमेश्‍वरको महिमा हराउनेछ। उहाँको देहमा कुनै अख्तियार नभए तापनि, उहाँले गर्ने कामले यसको प्रभाव हासिल गर्नेछ। उहाँको कामको अपरिहार्य दिशा यही नै हो। उहाँको देहमा अख्तियार भए पनि वा नभए पनि, जबसम्‍म उहाँ आफै परमेश्‍वरको काम गर्न सक्‍नुहुन्छ, तबसम्‍म उहाँ परमेश्‍वर स्वयम नै हुनुहुन्छ। उहाँको देह जति सामान्य र साधारण भए तापनि, उहाँले गर्नुपर्ने काम उहाँले गर्न सक्‍नुहुन्छ, किनभने यो देह परमेश्‍वर नै हुनुहुन्छ, मानव मात्रै होइन। यो देहले मानिसले गर्न नसक्‍ने काम गर्न सक्‍नुको कारण के हो भने, उहाँको भित्री सार कुनै पनि मानवको जस्तो छैन, र उहाँले मानिसलाई मुक्त गर्न सक्‍नुको कारण के हो भने, उहाँको पहिचान कुनै पनि मानिसको भन्दा फरक छ। यो देह मानवजातिको निम्ति महत्त्वपूर्ण छ किनभने उहाँ मानिस हुनुहुन्छ, र त्योभन्दा पनि बढी, उहाँ परमेश्‍वर हुनुहुन्छ, किनभने देहको साधारण मानिसले गर्न नसक्‍ने काम उहाँले गर्न सक्‍नुहुन्छ, किनभने उहाँले पृथ्वीमा उहाँसँग बस्‍ने भ्रष्ट मानिसलाई मुक्त गर्न सक्‍नुहुन्छ। उहाँ मानिस समान हुनुभए तापनि, देहधारी परमेश्‍वर मानवजातिको लागि कुनै पनि मूल्यवान् मानिसभन्दा बढी महत्त्वपूर्ण छ, किनभने उहाँले परमेश्‍वरका आत्माले गर्न नसक्‍ने काम गर्न सक्‍नुहुन्छ, परमेश्‍वर स्वयमको गवाही दिनको लागि परमेश्‍वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ, र मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्नको लागि परमेश्‍वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ। परिणामस्वरूप, यो देह सामान्य र साधारण भए तापनि, मानवजातिप्रति उहाँको योगदान र मानवजातिको अस्तित्वप्रति उहाँको महत्त्वले उहाँलाई अत्यन्तै बहुमूल्‍य तुल्याउँछ, र यो देहको वास्तविक मूल्य र महत्त्वलाई कुनै पनि मानवले नाप्‍न सक्दैन। यो देहले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्न नसके तापनि, उहाँले मानवजातिलाई विजय गर्न र शैतानलाई हराउन, र शैतानलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा समर्पित हुने तुल्याउनको लागि आफ्‍नो काम प्रयोग गर्न सक्‍नुहुन्छ। परमेश्‍वर देहधारी हुनुभएकोले उहाँले शैतानलाई हराउन सक्‍नुहुन्छ र मानवजातिलाई मुक्त गर्न सक्‍नुहुन्छ। उहाँले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्नुहुन्‍न, बरु शैतानद्वारा भ्रष्ट तुल्याइएका मानवजातिलाई विजय गर्ने काम गर्नको लागि उहाँ देह बन्‍नुहुन्छ। यसरी, उहाँ आफ्‍ना प्राणीहरूका माझ आफ्‍नो लागि गवाही दिन अझै बढी सक्षम हुनुहुन्छ, र भ्रष्ट मानिसलाई मुक्त गर्न उहाँ अझै सक्षम हुनुहुन्छ। परमेश्‍वरका आत्माद्वारा शैतानलाई प्रत्यक्ष रूपमा नष्ट गर्ने कार्यले भन्दा, देहधारी परमेश्‍वरको शैतानमाथिको विजयले अझै ठूलो गवाही दिन्छ, र यो अझै विश्‍वास दिलाउने हुन्छ। देहमा हुनुहुने परमेश्‍वर मानिसलाई सृष्टिकर्ता चिन्‍न सहायता गर्न अझै बढी सक्षम हुनुहुन्छ र उहाँका प्राणीहरूका बीचमा आफ्‍नो गवाही दिनको लागि अझै बढी सक्षम हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

२२८. यो समयको आसपास, परमेश्वर आत्मिक शरीरमा होइन तर अति साधारण शरीरमा काम गर्नको लागि आउनुहुन्छ। अझ, यो परमेश्वरको दोस्रो देहधारणको शरीर मात्र होइन, यो त्यो शरीर पनि हो जसबाट परमेश्वर देहमा फर्किनु हुन्छ। यो अति साधारण देह हो। तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यहरूको लाभ पाउन सक्छस्। यो निरर्थक देहले परमेश्वरबाट सत्यका सबै वचनहरू मूर्तरूप दिन्छ, आखिरी दिनहरूमा परमेश्वरका कामको जिम्मा लिन्छ र मानिसको लागि बुझ्नको लागि परमेश्वरको स्वभावको सम्पूर्णता व्यक्त गर्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्यहरू बताउनु हुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले तँलाई बताउन सकेको छैन, र उहाँले तँलाई सत्यहरू पनि बताउनु हुनेछ जुन सत्यहरू तैँले बुझ्दैनस्। उहाँ राज्यमा तेरो प्रवेशद्वार र नयाँ युगमा तेरो पथप्रदर्शक हुनुहुन्छ। यस्तो साधारण देहले बुझ्न नसकिने धेरै रहस्यहरू धारण गर्छ। उहाँका कार्यहरू तँलाई दुर्बोध हुन सक्छन्, तर उहाँले गर्नुभएका कामको सम्पूर्ण लक्ष्य तँलाई उहाँ मानिसहरूले विश्वास गरे जस्तो साधारण देह होइन भन्ने तँलाई हेर्न दिन पर्याप्त छ। किनकि उहाँले परमेश्वरको इच्छा र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्वरले देखाउनु हुने हेरविचारको उहाँ प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरू सुन्न नसके पनि जसले स्वर्गहरू र पृथ्वी हल्लाएको देखिन्छ, वा बलिरहेका ज्वालाहरू जस्ता उहाँका आँखाहरू हेर्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन अनुभव गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट सुन्न सक्छस् कि परमेश्वर क्रोधी हुनुहुन्छ र थाहा पाउन सक्छस् कि परमेश्वरले मानवजातिको लागि करुणा देखाइरहनु भएको छ; तँ परमेश्वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस् र अझ, सबै मानवजातिको लागि परमेश्वरको व्यग्रता महसुस सक्छस्। आखिरी दिनहरूमा परमेश्वरको काम पृथ्वीका मानिसहरू माझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्वर मानिसलाई हेर्न दिनु हो, र परमेश्वरलाई बुझ्न, उहाँको आज्ञा पालन गर्न, आदर गर्न र प्रेम गर्न मानिसलाई सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुन त यो दिनमा मानिसले देख्ने परमेश्वर मानिस जस्तै हुनुहुन्छ, एउटा नाक र दुई आँखा भएका परमेश्वर, र साधारण परमेश्वर, अन्त्यमा परमेश्वरले तिमीहरूलाई देखाउनु हुनेछ कि यदि यो मानिस अस्तित्वमा थिएन भने, स्वर्ग र पृथ्वीमा भयानक परिवर्तन भएर जाने थियो; यदि यो मानिस अस्तित्वमा थिएन भने, स्वर्गहरू फिका हुने थिए, यो पृथ्वी अस्तव्यस्ततामा जाकिने थियो, र सबै मानवजाति भोकमरी र विपत्तिहरूका माझमा जिउने थिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि तिमीहरूलाई आखिरी दिनहरूमा मुक्ति दिन देहधारी परमेश्वर आउनु भएन भने, त्यसबेला परमेश्वरले सबै मानवजातिलाई धेरै अघि नै नरकमा विनाश गरिसक्नु भएको हुने थियो; यदि यो देह अस्तित्वमा रहेको थिएन भने, तिमीहरू सधैँको लागि महापापीहरू हुने थियौ, र तिमीहरू सदैव लाशहरू हुने थियौ। तिमीहरूले थाहा पाउनुपर्छ कि यदि यो देह अस्तित्वमा रहेको थिएन भने, सबै मानवजातिले एक अपरिहार्य विपत्ति सामना गर्नु पर्ने थियो, र आखिरी दिनहरूमा मानवजातिलाई परमेश्वरले दिने त्यो भन्दा कठोर दण्डबाट बच्न उनीहरूलाई असम्भव हुने थियो। यदि यो साधारण देह जन्मिएको थिएन भने, तिमीहरू सबै त्यो स्थितिमा हुने थियौ जहाँ बाँच्न सक्षम नभएर तिमीहरू जीवनको लागि याचना गर्ने थियो र मर्न सक्षम नभएर मृत्युको लागि प्रार्थना गर्ने थियो; यदि यो देह अस्तित्वमा रहेको थिएन भने, त्यसपछि तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्वरको सिंहासनको सामुन्ने आउन सक्षम हुने थिएनौ, तर बरु, तेरो घोर पापहरूका कारणले परमेश्वरद्वारा तँ दण्डित हुने थिइस्। के तिमीहरूलाई थाहा थियो कि यदि यो देहमा परमेश्वरको पुनरागमनको लागि थिएन भने, कसैलाई पनि मुक्तिमा मौका हुने थिएन; र यदि यो देहको आगमनको लागि थिएन भने, परमेश्वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुने थिएन? यो यसो हुने हुनाले, के तिमीहरू परमेश्वरको दोस्रो देहधारणलाई अझसम्म इन्कार गर्न सक्षम छौ? यो साधारण मानिसबाट तिमीहरूले यति धेरै फाइदाहरू प्राप्त गर्न सक्ने भएकाले, किन तिमीहरूले उहाँलाई खुशीसाथ स्वीकार गरेनौ?

परमेश्वरको काम यस्तो काम हो जसलाई तँ बुझ्न सक्दैनस्। यदि तँ न त तेरो छनोट सही छ कि छैन पूर्ण रूपमा बुझ्न सक्छस् न त तँ परमेश्वरको काम सफल हुन्छ कि भन्ने थाहा पाउन सक्छस्, त्यसो हो भने किन तेरो भाग्यको परीक्षा नगर्ने र हेर्ने कि के यो साधारण मानिस तेरो लागि ठूलो सहयोग हुन सक्छ कि सक्दैन, र के परमेश्वरले साँच्चिकै महान् काम गर्नुभएको छ कि छैन? यद्यपि, मैले तँलाई भन्नैपर्छ कि नोआको समयमा, मानिसहरू खाइरहेका र पिइरहेका, विवाह गरिरहेका र विवाहमा यति हदसम्म दिइरहेका थिए कि परमेश्वरको लागि साक्षी दिन असह्य थियो, त्यसैले आठ जनाको नोआको परिवार र सबै प्रकारका चराहरू र चौपायाहरूलाई मात्र छाडेर मानवजातिलाई नष्ट गर्न उहाँले विशाल जलप्रलय पठाउनुभयो। आखिरी दिनहरूमा, यद्यपि परमेश्वरद्वारा बचाएर राखिएकाहरू सबै अन्त्यसम्म उहाँप्रति बफादार रहेकाहरू थिए। हुन त दुवै युगहरू परमेश्वरलाई साक्षी दिन असह्य ठूलो भ्रष्टताका समय थिए, र दुवै युगहरूमा मानवजाति परमेश्वर उनीहरूको प्रभु हुनुहुन्थ्यो भन्ने इन्कार गर्न यति भ्रष्ट भए कि परमेश्वरले नोआको समयमा मानिसहरूलाई मात्र नष्ट गर्नुभयो। दुवै युगहरूमा मानवजातिले परमेश्वरलाई ठूलो दुःख दिए, तर पनि परमेश्वरले अहिलेसम्म आखिरी दिनहरूका मानिससँग धैर्य गर्नुभयो। किन हो यो? तिमीहरूले किन कहिल्यै आश्चर्य मानेनौ? यदि तिमीहरूलाई साँच्चिकै थाहा छैन भने, मलाई भन्न देऊ। आखिरी दिनहरूमा मानिसहरूलाई परमेश्वरले कृपा गर्न सक्नुको कारण उनीहरू नोआको समयका मानिसहरूभन्दा कम भ्रष्ट भएर होइन, अथवा उनीहरूले परमेश्वरलाई पश्चाताप देखाएको भएर होइन, आखिरी दिनहरूमा प्रविधि यति आधुनिक छ कि उनीहरूलाई परमेश्वर स्वयमले नष्ट गर्न सक्नुहुन्न भन्ने कुरा त परै छाडौं। बरु, यसको कारण यो हो कि परमेश्वरले मानिसहरूको एक समूहमा आखिरी दिनहरूमा गर्नु पर्ने काम छ, र यो काम परमेश्वर स्वयमले उहाँको देहधारणमा गर्ने चाहना राख्नु हुन्छ। अझ बढी, परमेश्वर उहाँको मुक्तिका पात्रहरू र उहाँको व्यवस्थापनको योजनाको फल बन्न यो समूहको एक भाग छान्ने, र ती मानिसहरूलाई अर्को युगमा ल्याउने चाहना राख्नुहुन्छ। त्यसैले, जे भए पनि, परमेश्वरले चुकाउनुभएको यो मूल्य पूर्ण रूपले उहाँको देहधारी शरीरले आखिरी दिनहरूमा गर्ने कामको तयारीको लागि हो। यो देहको कारणले तिमीहरू आजका दिनसम्म आइपुगेका छौ। परमेश्वर देहमा जिउनुहुने भएकाले तिमीहरूलाई जीवित रहने मौका छ। यो साधारण मानिसको कारणले यो सबै सौभाग्य प्राप्त भएको हो। यति मात्र होइन, तर अन्त्यमा, प्रत्येक राष्ट्रले यो साधारण मानिसलाई आराधना गर्नेछन्, साथै धन्यवाद दिनेछन् र यो महत्वहीन मानिसको आज्ञापालन गर्नेछन्, किनकि यो उहाँले ल्याउनुभएको सत्य, जीवन, र मार्ग हो जसले सबै मानवजातिलाई मुक्ति दिएको छ, परमेश्वर र मानिस बीचको द्वन्द्वलाई कम गरेको छ, उनीहरू बीचको दूरीलाई छोट्याएको छ र परमेश्वर र मानिसका बिचारहरू बीचको सम्बन्ध खुला गरेको छ। यो उहाँ नै हुनुहुन्छ जसले परमेश्वरको लागि अझ महान् महिमा प्राप्त गर्नुभएको छ। के यस किसिमको साधारण मानिस तेरो विश्वास र आराधनाको लागि अयोग्य छ? के यस किसिमको साधारण देह ख्रीष्ट भनिन अनुपयुक्त छ? के यस किसिमको साधारण मानिस मानिसहरूका माझ परमेश्वरको अभिव्यक्ति बन्न सक्दैन? के यस प्रकारको मानिस जसले मानवजातिलाई विपत्तिबाट जोगाएको छ, तिमीहरूको प्रेम र तिम्रो चाहना उहाँमा राख्न योग्य छैन? यदि तिमीहरूले उहाँको मुखबाट अभिव्यक्त सत्यहरू इन्कार गर्यौ र तिमीहरू माझ उहाँको अस्तित्व घृणा गर्यौ भने, त्यसपछि अन्त्यमा तिमीहरूको के हुनेछ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

२२९. आखिरी दिनहरूमा परमेश्वरका सबै काम यही साधारण मानिसद्वारा गरिन्छ। उहाँले सबै कुरा तँलाई प्रदान गर्नुहुनेछ, र त्यो भन्दा बढी, तँसँग सम्बन्धित सबै कुराको निर्णय गर्न उहाँ सक्षम हुनुहुनेछ। के यस प्रकारको मानिस तिमीहरूले उहाँ जस्तो हुनुपर्ने हो विश्‍वास गर्छौ त्यस्तो हुन सक्छ: यति सामान्य मानिस कि उल्लेख गर्न नै अयोग्य? के उहाँको सत्य तिमीहरूलाई पूर्णरूपमा विश्वस्त तुल्याउन पर्याप्त छैन? के उहाँका कामहरूको साक्षी तिमीहरूलाई पूर्णरूपमा विश्वस्त तुल्याउन पर्याप्त छैन? अथवा के उहाँले तिमीहरूलाई डोर्याउनु हुने त्यो बाटो तिमीहरूको लागि हिँड्न योग्य छैन? जब सबै भनिन्छ र गरिन्छ, त्यस्तो के छ जसले तिमीहरूलाई उहाँलाई घृणा गर्न र उहाँलाई टाढा फाल्न र उहाँलाई फराकिलो स्थान दिन लगाउँछ? यो यही मानिस हो जसले सत्य अभिव्यक्त गर्छ, यो यही मानिस हो जसले सत्य प्रदान गर्छ, र यो यही मानिस हो जसले तिमीहरूलाई पछ्याउने मार्ग दिन्छ। के यो हुन सक्छ कि तिमीहरू यी सत्यहरूभित्र परमेश्वरको कामका चिन्हहरू भेट्न अझसम्म पनि असक्षम छौ? येशूको कामविना, मानवजाति क्रूसबाट ओर्लन सक्ने थिएनन्, तर आजको देहधारण बिना, क्रूसबाट ओर्लिएकाहरूले कहिल्यै परमेश्वरको समर्थन प्राप्त गर्न वा नयाँ युगमा प्रवेश गर्न सक्ने थिएनन्। यो साधारण मानिसको आगमनविना, तिमीहरूले परमेश्वरको सही मुखाकृति देख्ने अवसर कहिल्यै पाउने थिएनौ, न त तिमीहरू योग्य नै हुने थियौ, किनकि तिमीहरू सबै धेरै पहिले नष्ट गरिसक्नु पर्ने पात्रहरू हौं। परमेश्वरको दोस्रो देहधारणको आगमनको कारणले, तिमीहरूलाई परमेश्वरले क्षमा दिनुभएको छ र तिमीहरूलाई कृपा देखाउनु भएको छ। यसका बावजुद, मैले तिमीहरूलाई अन्तिमतिर छोड्नै पर्ने वचनहरू अझै यी छन्ः यो साधारण मानिस, जो देहधारी परमेश्वर हुनुहुन्छ, तिमीहरूको लागि अति नै महत्वको हुनुहुन्छ। यो परमेश्वरले मानिसहरू माझ पहिले नै गरिसक्नु भएको महान् कुरा हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

२३०. ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भरोसा नगरिकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्‍टले ल्याउनुभएको जीवनको बाटोलाई स्वीकार नगर्नेहरू कल्‍पनामा हराएका छन्। त्यसैले म भन्छु कि आखिरी दिनहरूका ख्रीष्‍टलाई स्वीकार नगर्नेहरूलाई परमेश्‍वरले सदासर्वदा नै घृणा गर्नुहुनेछ। ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको बाटो हुनुहुन्छ, र उहाँबाट उम्केर कोही पनि जान सक्दैन। ख्रीष्‍टद्वारा बाहेक परमेश्‍वरले कसैलाई पनि सिद्ध पार्नुहुन्‍न। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, र त्यसकारण तैँले उहाँका वचनहरूलाई स्वीकार गरेर उहाँको बाटोलाई पालन गर्नैपर्छ। सत्यतालाई प्राप्त गर्न असक्षम हुँदा-हुँदै र जीवनको प्रावधानलाई स्वीकार गर्न असक्षम हुँदा-हुँदै, तैँले आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै विचार गर्न सक्दैनस्। उहाँमा साँचो रूपमा विश्‍वास गर्नेहरू सबैले जीवन प्राप्त गरून् भनेर ख्रीष्‍ट आखिरी दिनहरूमा आउनुहुन्छ। उहाँको काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नको खातिर हो, र उहाँको काम नै नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नै पर्ने मार्ग हो। यदि तैँले उहाँलाई स्वीकार गर्न सक्दैनस्, बरु उहाँलाई दोष दिन्छस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँको खेदो समेत गर्छस् भने, तँ अवश्य नै अनन्तसम्‍म जल्‍नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यही ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नको लागि परमेश्‍वरले जिम्‍मा दिनुभएको व्यक्ति हुनुहुन्छ। त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुराहरूलाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईश्‍वरनिन्दा गर्छस्। पवित्र आत्माको ईश्‍वरनिन्दा गर्नेहरूले पाउने दण्ड सबैको लागि प्रष्टै छन्। म तँलाई यो पनि भन्छु कि यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको विरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको तिरस्कार गरिस् भने, तेरो सट्टामा परिणामहरू भोगिदिने अरू कोही पनि हुनेछैन। यसको साथै, यो दिनदेखि उसो परमेश्‍वरबाट स्वीकृती प्राप्त गर्ने अर्को मौका तैँले पाउनेछैनस्; यदि तैँले आफैलाई छुटाउने प्रयास गरिस् भने पनि, तैँले फेरि कहिल्यै पनि परमेश्‍वरको मुहारलाई देख्‍नेछैनस्। किनभने तैँले जे विरोध गर्छस् त्यो मानिस होइन, तैँले जे तिरस्कार गर्छस् त्यो कुनै तुच्छ कुरा होइन, तर ख्रीष्‍ट हुनुहुन्छ। यसको परिणामहरू के हुनेछन् के तँलाई थाहा छ? तैँले सानो गल्ती होइन, तर घृणित पाप गरेको हुनेछस्। त्यसैले म जोकोहीलाई सत्यको अघि आफ्‍नो दारा नदेखाओ वा लापरवाह आलोचना नगर भन्‍ने सल्‍लाह दिन्छु, किनभने सत्यले मात्रै तँलाई जीवन दिनेछ, र सत्य बाहेक अरू केहीले पनि तँलाई पुनर्जन्‍म पाउने र परमेश्‍वरको मुहारलाई फेरि हेर्ने तुल्याउन सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

अघिल्लो: ३. परमेश्‍वरको देखा पर्ने घटना र कामको गवाही बन्‍ने सम्बन्धी वचनहरू

अर्को: ५. परमेश्‍वरको हरेक चरणको काम र परमेश्‍वरको नाम बीचको सम्बन्ध सम्बन्धी वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्