परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

अधिकांश मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वासको सारतत्त्व धार्मिक दृढ विश्‍वास नै हो: तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न असक्षम हुन्छन्‌ र परमेश्‍वरलाई केवल यान्त्रिक मानवले झैँ अनुसरण गर्न सक्छन्‌, परमेश्‍वरको लागि साँच्चै तृष्णा गर्न वा उहाँलाई श्रद्धा गर्न असमर्थ हुन्छन्‌। तिनीहरूले उहाँलाई केवल चुपचाप पछ्याउँछन्‌। धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्‌, तर परमेश्‍वरलाई प्रेम गर्नेहरू थोरै मात्र छन्‌; तिनीहरू विपत्तिसँग डराउने भएका हुनाले मात्र तिनीहरूले परमेश्‍वरको “डर” मान्छन्‌, अन्यथा उहाँ उच्च र शक्तिशाली हुनुभएको हुनाले तिनीहरूले परमेश्‍वरलाई “सराहना” गर्छन्‌—तर तिनीहरूको डर र सराहनामा, प्रेम वा साँचो तृष्णा हुँदैन। आफ्ना अनुभवहरूमा तिनीहरूले सत्यताका सानातिना विवरणहरू, वा अन्यथा, केही महत्त्वहीन रहस्यहरू खोज्छन्‌। अधिकांश मानिसहरूले केवल आशिषको लागि फाइदा लुट्न पछि लाग्छन्; तिनीहरूले सत्यतालाई खोज्दैनन्, न त तिनीहरूले परमेश्‍वरको आशिष पाउनको लागि साँचो रूपमा परमेश्‍वरप्रति समर्पणता नै देखाउँछन्। सबै मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वासको जीवन अर्थहीन छ, यो मूल्य विहीन छ, र यसमा तिनीहरूका व्यक्तिगत विचारहरू र खोजीहरू छन्‌; तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्नको लागि विश्‍वास गर्दैनन्‌, तर आशिषित हुनको खातिर मात्र गर्छन्‌। धेरै मानिसहरू आफूलाई खुसी लागे अनुसार काम गर्छन्‌; तिनीहरू आफू जे चाहन्छन्‌ त्यही गर्छन्‌ र कहिल्यै परमेश्‍वरको रुचिहरूको बारेमा, वा तिनीहरूले जे गर्छन्‌ त्यो परमेश्‍वरका अभिप्रायहरू अनुसार छ कि छैन भन्‍ने बारेमा विचार गर्दैनन्‌। यस्ता मानिसहरूले साँचो विश्‍वास समेत प्राप्त गर्न सक्दैनन्‌, परमेश्‍वरप्रतिको प्रेम त परै जाओस्‌। परमेश्‍वरको सार मानिसका लागि विश्‍वास गर्नहेतु मात्र होइन; अझ अधिक, यो त मानिसले प्रेम गर्नको लागि हो। तर परमेश्‍वरमाथि विश्‍वास गर्ने धेरैजनाले यो “गोप्य कुरा” पत्ता लगाउन सक्दैनन्। मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्ने आँट गर्दैनन्‌, न त तिनीहरूले उहाँलाई प्रेम गर्ने प्रयत्न नै गर्छन्‌। परमेश्‍वरको बारेमा प्रेम गर्न योग्य कुराहरू यति धेरै छन्‌ भन्‍ने कुरा तिनीहरूले कहिल्यै पत्ता लगाएका छैनन्‌; तिनीहरूले परमेश्‍वर त मानिसलाई प्रेम गर्नुहुने परमेश्‍वर हुनुहुन्छ, र उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जसलाई मानिसले प्रेम गर्छ भन्‍ने कुरा कहिल्यै पत्ता लगाएका छैनन्‌। परमेश्‍वरको प्रेमिलो स्वभाव उहाँको काममा व्यक्त हुन्छ: मानिसहरूले उहाँको कामलाई अनुभव गर्दा मात्र उहाँको प्रेमिलो स्वभाव पत्ता लगाउन सक्छन्‌; वास्तविकतामा मात्र मानिसहरूले परमेश्‍वरको प्रेमिलो स्वभावलाई प्रत्यक्ष अनुभव गर्न सक्छन्‌; र यसलाई वास्तविक जीवनमा अनुभव र अवलोकन नगरी, कसैले पनि परमेश्‍वरको प्रेमिलो स्वभावलाई पत्ता लगाउन सक्दैन। परमेश्‍वरको बारेमा प्रेम गर्ने कुरा धेरै छन्, तर उहाँसँग सम्पर्कमा नआई मानिसहरू यसलाई पत्ता लगाउन असक्षम हुन्छन्‌। भन्नुको अर्थ, यदि परमेश्‍वर देह नबन्नुभएको भए, मानिसहरू उहाँसँग वास्तवमा सम्पर्कमा आउन असक्षम हुनेथिए, र यदि तिनीहरू उहाँसँग वास्तविक रूपमा तल्लीन हुन असमर्थ भएका भए, तिनीहरू उहाँको काम अनुभव गर्न पनि समर्थ हुनेथिएनन्‌—र यसरी परमेश्‍वरप्रतिको तिनीहरूको प्रेम धेरै झूट र कल्पनाले कलङ्कित हुनेथियो। स्वर्गमा भएको परमेश्‍वरप्रतिको प्रेम पृथ्वीमा भएको परमेश्‍वरप्रतिको प्रेम जस्तै वास्तविक छैन, किनभने स्वर्गमा हुनुहुने परमेश्‍वरको बारेमा मानिसहरूको ज्ञान तिनीहरूको आफ्नै आँखाले देखेका र तिनीहरूले व्यक्तिगत रूपमा अनुभव गरेका कुराहरूमाथि भन्दा पनि तिनीहरूको कल्पनाहरूमाथि निर्माण भएको छ। जब परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, तिनीहरूले उहाँका व्यावहारिक कार्यहरू र उहाँको प्रेमिलो स्वभाव देख्न सक्छन्, र तिनीहरूले उहाँको व्यावहारिक र सामान्य स्वभाव देख्न सक्छन्‌, यी सबै नै स्वर्गमा हुनुहुने परमेश्‍वर सम्बन्धी ज्ञानभन्दा हजारौं गुना बढी वास्तविक हुन्छन्‌। मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई जतिसुकै प्रेम गरे तापनि त्यो वास्तविक नै हुँदैन, त्यो मानवीय विचारहरूले भरिएको हुन्छ। पृथ्वीमा हुनुहुने परमेश्‍वरका निम्ति तिनीहरूको प्रेम जतिसुकै थोरै भए तापनि यो प्रेम वास्तविक हुन्छ; यो थोरै मात्र भए तापनि फेरि पनि यो वास्तविक हुन्छ। परमेश्‍वरले मानिसहरूलाई व्यावहारिक काममार्फत उहाँलाई चिन्न लगाउनुहुन्छ, र यही ज्ञानमार्फत उहाँले तिनीहरूको प्रेम प्राप्त गर्नुहुन्छ। यो पत्रुसको जस्तै हो: यदि ऊ येशूसँग नजिएको भए, उसले येशूलाई श्रद्धा गर्न असम्भव हुनेथियो। येशूप्रतिको उसको बफादारी पनि येशूसँगको उसको सम्पर्कमा आधारित थियो। मानिसले परमेश्‍वरलाई प्रेम गर्न लगाउनको लागि उहाँ मानिसको बीचमा आउनुभएको छ र मानिससँग सँगै जिउनुहुन्छ, र उहाँले मानिसलाई देख्न र अनुभव गर्न लगाउन खोज्नुभएको एउटै कुरा भनेको परमेश्‍वरको व्यावहारिकता हो।

परमेश्‍वरले मानिसहरूलाई सिद्ध बनाउनको लागि व्यावहारिकतालाई र तथ्यहरूको प्रादुर्भावलाई प्रयोग गर्नुहुन्छ; परमेश्‍वरका वचनहरूले मानिसहरूलाई सिद्ध बनाउने उहाँको आंशिक भागलाई पूरा गर्छन्‌, र यो अगुवाइ गर्ने र बाटो खोल्ने काम हो। भन्नुको अर्थ, परमेश्‍वरका वचनहरूमा तैँले अभ्यासको मार्ग र दर्शनहरूको ज्ञान भेट्नुपर्छ। यी कुराहरू बुझेर, मानिसले उसको वास्तविक अभ्यासमा एउटा मार्ग र दर्शनहरू पाउनेछ, र परमेश्‍वरका वचनहरूमार्फत अन्तर्दृष्टि पाउन ऊ समर्थ हुनेछ; यी कुराहरू परमेश्‍वरबाट आएका हुन्‌ भन्‍ने कुरा उसले बुझ्न र धेरै कुरा छुट्याउन ऊ समर्थ हुनेछ। बुझिसकेपछि, मानिस तुरुन्तै यस वास्तविकताभित्र प्रवेश गर्नुपर्छ र उसको वास्तविक जीवनमा परमेश्‍वरलाई सन्तुष्ट पार्न परमेश्‍वरका वचनहरूलाई प्रयोग गर्नुपर्छ। परमेश्‍वरले तँलाई सबै कुराहरूमा अगुवाइ गर्नुहुनेछ र तँलाई अभ्यासको मार्ग दिनुहुनेछ, र उहाँ विशेष रूपमा प्रेमिलो हुनुहुन्छ भन्‍ने कुरा आभास गराउनुहुनेछ, र तँमा गरिएको परमेश्‍वरको कामको हरेक कदम तँलाई नै सिद्ध बनाउनको लागि हो भन्‍ने कुरा देख्न दिनुहुनेछ। यदि तैँले परमेश्‍वरको प्रेम देख्न चाहन्छस्‌ भने, यदि तैँले परमेश्‍वरको प्रेम साँच्चै अनुभव गर्न चाहन्छस् भने, तँ वास्तविकताभित्रको गहिराइमा जानुपर्छ, तँ वास्तविक जीवनभित्रको गहिराइमा जानुपर्छ र परमेश्‍वरले गर्नुहुने हरेक कुरा प्रेम र मुक्ति हो भन्‍ने कुरा देख्नुपर्छ, कि उहाँले जे अशुद्ध छन्‌ ती पछाडि छोड्नको लागि मानिसहरूलाई सक्षम पार्नुहुन्छ, र परमेश्‍वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्न असमर्थ भएका मानिसभित्रकै कुराहरूलाई शोधन गर्नुहुन्छ। परमेश्‍वरले मानिसको निम्ति जुटाउन वचनहरू प्रयोग गर्नुहुन्छ; उहाँले मानिसहरूलाई वास्तविक जीवनका परिस्थितिहरू अनुभव गर्ने प्रबन्ध मिलाउनुहुन्छ, र यदि मानिसहरूले धेरैजसो परमेश्‍वरका वचनहरूबाट खान्छन्‌ र पिउँछन्‌ भने, तिनीहरूले वास्तविक रूपमा तिनलाई अभ्यासमा लगाउँदा, तिनीहरूले धेरैजसो परमेश्‍वरका वचनहरूलाई प्रयोग गरेर तिनीहरूका जीवनहरूमा हुने सबै कठिनाइहरूलाई समाधान गर्न सक्छन्‌। भन्नुको अर्थ, वास्तविकताभित्रको गहिराइमा जानको निम्ति तँसँग परमेश्‍वरका वचनहरू हुनुपर्छ; यदि तैँले परमेश्‍वरका वचनहरू खाँदैनस्‌ र पिउँदैनस्‌ र तँ परमेश्‍वरको कामरहित छस्‌ भने, वास्तविक जीवनमा तँसँग कुनै मार्ग हुनेछैन। यदि तैँले कहिल्यै परमेश्‍वरका वचनहरू खाँदैनस्‌ वा पिउँदैनस्‌ भने, तँमाथि केही कुरा आइपर्दा तँ हक्‍का न बक्‍क हुनेछस्‌। तैँले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ भन्‍ने कुरा मात्र तँलाई थाहा छ, तर तँ कुनै भिन्नता छुट्याउन असमर्थ छस्‌ र तँसँग अभ्यासको मार्ग छैन; तँ भ्रमित र अन्योलग्रस्त छस्‌, पापमय स्वभावलाई सन्तुष्ट पारेर परमेश्‍वरलाई सन्तुष्ट पार्दैछु भन्‍ने समेत कहिलेकाहीँ तँ विश्‍वास गर्छस्‌—यो सबै नै परमेश्‍वरका वचनहरू नखानु र नपिउनुको परिणाम हो। भन्नुको अर्थ, यदि तँ परमेश्‍वरका वचनहरूको सहायता विहीन छस्‌ र वास्तविकताभित्र छामछुम मात्र गर्छस्‌ भने, तँ आधारभूत रूपमा अभ्यासको मार्ग पत्ता लगाउन असक्षम छस्‌। यस्ता मानिसहरूले परमेश्‍वरमाथि विश्‍वास गर्नुको अर्थ के हो भन्‍ने कुरा बुझ्दै-बुझ्दैनन्‌, परमेश्‍वरलाई प्रेम गर्नुको अर्थ के हो भन्‍ने कुरा तिनीहरूले बुझ्ने कुरा त परै जाओस्‌। यदि, परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र अगुवाइ प्रयोग गरेर, तैँले धेरै पटक प्रार्थना गर्छस्‌, र उत्खनन‌ गर्छस्‌, र खोज्छस्‌, र यसद्वारा तैँले अभ्यास गर्नु पर्ने कुरा के हो भन्‍ने कुरा पत्ता लगाउँछस्, पवित्र आत्माको कामको निम्ति अवसरहरू पत्ता लगाउँछस्‌, परमेश्‍वरसँग साँच्चै सहकार्य गर्छस्‌, र भ्रमित र अन्योलग्रस्त हुँदैनस्‌ भने, तैँले वास्तविक जीवनमा एउटा मार्ग पाउनेछस्‌, र साँच्चै परमेश्‍वरलाई सन्तुष्ट पार्नेछस्‌। जब तैँले परमेश्‍वरलाई सन्तुष्ट पारेको हुन्छस्‌, तँभित्र परमेश्‍वरको अगुवाइ हुनेछ, र तँ परमेश्‍वरद्वारा विशेष रूपमा आशिषित गरिएको हुनेछस्‌, जसले तँलाई आनन्दको आभास दिनेछ: तैँले परमेश्‍वरलाई सन्तुष्ट पारेको छस्‌ भन्‍ने कुराप्रति तैँले विशेष रूपमा सम्मानित भएको आभास गर्नेछस्‌, तैँले विशेष रूपमा भित्र उज्ज्वल भएको आभास गर्नेछस्‌, र तेरो हृदयमा तँ प्रस्ट र शान्त हुनेछस्‌। तेरो विवेक आरोपहरूबाट साम्य र मुक्त पारिनेछ, र तैँले तेरा दाजुभाइ र दिदीबहिनीहरूलाई देख्दा भित्री रूपमा आनन्दको आभास गर्नेछस्‌। परमेश्‍वरको प्रेमको आनन्द उपभोग गर्नु भनेकै यही हो, र यही मात्र साँच्चै परमेश्‍वरप्रति आनन्दित हुनु हो। परमेश्‍वरको प्रेमबाट आउने मानिसहरूको आनन्द अनुभवमार्फत प्राप्त गरिन्छ: कठिनाइ अनुभव गरेर, र सत्यतालाई अभ्यास गर्नुलाई अनुभव गरेर, तिनीहरूले परमेश्‍वरका आशिषहरू प्राप्त गर्छन्‌। यदि परमेश्‍वरले तँलाई प्रेम गर्नुहुन्छ, परमेश्‍वरले मानिसहरूको खातिर ठूलो मूल्य चुकाउनुभएको छ, उहाँले धैर्यपूर्वक र दयापूर्वक धेरै वचनहरू बोल्नुभएको छ र सदैव मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनेर मात्रै भन्छस् भने, तेरा कुराहरूका यी उच्चारण त परमेश्‍वरप्रतिको आनन्दको एउटा मात्र पाटो हो। तथापि, अझ उच्च आनन्द—साँचो आनन्द—तब हुन्छ जब मानिसहरूले आफ्नो वास्तविक जीवनमा सत्यतालाई अभ्यास गर्छन्‌, तब तिनीहरू आफ्नो हृदयमा शान्त र प्रस्ट हुन्छन्‌। तिनीहरू भित्र असाध्यै अभिप्रेरित भएको आभास गर्छन्‌ र परमेश्‍वर अति प्रेमिलो हुनुहुन्छ भनी आभास गर्छन्‌। तैँले आभास गर्नेछस्‌ कि तैँले चुकाएको मूल्य न्यायसङ्गत मात्रै छैन। आफ्ना प्रयासहरूमा ठूलो मूल्य चुकाएको हुनाले, तँ विशेष रूपमा भित्र उज्ज्वल हुनेछस्‌: तैँले साँच्चै परमेश्‍वरको प्रेमको आनन्द मनाउँदैछस्‌ भनी आभास गर्नेछस्‌ र परमेश्‍वरले मानिसहरूमा मुक्तिको काम गर्नुभएको छ, मानिसहरूलाई उहाँले शोधन कामको आशय तिनीहरूलाई शुद्ध गर्नु हो, र तिनीहरूले साँच्चै उहाँलाई प्रेम गर्छन्‌ कि गर्दैनन्‌ भनी परमेश्‍वरले मानिसहरूलाई जाँच गर्नुहुन्छ भन्‍ने कुरा तैँले बुझ्‍नेछस्। तैँले सदैव यसरी सत्यतालाई अभ्यास गरिस्‌ भने, तैँले विस्तारै परमेश्‍वरको धेरैजसो कामको बारेमा प्रस्ट ज्ञान वृद्धि गर्दै जानेछस्‌, र त्यस समयमा तेरो सामुन्ने परमेश्‍वरका वचनहरू घाम जत्तिकै छर्लङ्ग भएको तैँले आभास गर्नेछस्‌। यदि तैँले धेरै सत्यताहरूलाई प्रस्ट रूपमा बुझ्न सकिस्‌ भने, तैँले आभास गर्नेछस्‌ कि सबै कुराहरूलाई अभ्यासमा लगाउनु सजिलो छ, कि तैँले कुनै पनि विषयमाथि विजय हासिल गर्न र कुनै पनि परीक्षामाथि विजय हासिल गर्न सक्छस्, र कुनै पनि कुरा तेरो लागि समस्या होइन भन्‍ने कुरा तैँले देख्नेछस्‌, जसले तँलाई अत्यन्तै स्वतन्त्र र मुक्त गर्नेछ। यस क्षणमा, तैँले परमेश्‍वरको प्रेमको आनन्द मनाउँदै गर्नेछस्‌, र परमेश्‍वरको साँचो प्रेम तँमाथि आएको हुनेछ। परमेश्‍वरले तिनलाई आशिष दिनुहुन्छ जससँग दर्शनहरू छन्‌, जससँग सत्यता छ, जोसँग ज्ञान छ, र जसले साँच्चै उहाँलाई प्रेम गर्छन्‌। यदि मानिसहरूले परमेश्‍वरको प्रेम देख्ने इच्छा गर्छन्‌ भने, तिनीहरूले वास्तविक जीवनमा सत्यतालाई अभ्यास गर्नुपर्छ, तिनीहरूले पीडा सहन गर्ने इच्छा गर्नुपर्छ र परमेश्‍वरलाई सन्तुष्ट पार्न तिनीहरूले प्रेम गर्ने थोकलाई त्याग्नुपर्छ, र तिनीहरूको आँखामा आँसुको बाबजुद पनि, तिनीहरूले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न अझै समर्थ हुनुपर्छ। यसरी परमेश्‍वरले तँलाई निश्चय नै आशिष दिनुहुनेछ, र यदि तैँले यस्तो किसिमको कठिनाइलाई सहिस्‌ भने, पवित्र आत्माको कामद्वारा यसलाई पछ्याइनेछ। साँचो जीवनमार्फत, र परमेश्‍वरका वचनहरूलाई अनुभव गरेर, मानिसहरू परमेश्‍वरको प्रेमिलोपनलाई हेर्न समर्थ हुन्छन्‌, र यदि तिनीहरूले परमेश्‍वरको प्रेमलाई चाखेका छन्‌ भने मात्र तिनीहरूले उहाँलाई साँच्चै प्रेम गर्न सक्छन्‌।

जो परमेश्‍वरलाई प्रेम गर्छन् तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिस हुन्, र सत्यतालाई प्रेम गर्नेहरू यसलाई जति बढी व्यवहारमा लागु गर्छन्, तिनीहरूसँग यो त्यति नै बढी हुन्छ; तिनीहरू यसलाई जति बढी व्यवहारमा लागु गर्छन्, तिनीहरूसँग परमेश्‍वरको प्रेम त्यति नै बढी हुन्छ; र तिनीहरू यसलाई जति बढी व्यवहारमा लागु गर्छन्, तिनीहरू परमेश्‍वरद्वारा त्यति नै बढी आशिषित् हुन्छन्। यदि तैँले सधैँ यसरी नै अभ्यास गरिस् भने, तँप्रतिको परमेश्‍वरको प्रेमले तँलाई बिस्तारै देख्न सक्षम बनाउनेछ, जसरी पत्रुसले परमेश्‍वरलाई चिने: पत्रुसले परमेश्‍वरसँग स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्ने बुद्धि मात्रै होइन, यसबाहेक, उहाँसँग मानिसहरूमा व्यावहारिक काम गर्ने बुद्धि पनि भएको भनेर भने। पत्रुसले भने कि उहाँले स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभएको कारणले मात्रै उहाँ मानिसहरूको प्रेमको योग्य हुनुभएको होइन, यसबाहेक, मानिसलाई सृष्टि गर्ने, मानिसलाई मुक्ति दिने, मानिसलाई सिद्ध पार्ने, र मानिसलाई उहाँको प्रेम दिने उहाँको सामर्थ्यको कारणले पनि उहाँ योग्य हुनुहुन्छ। त्यसैगरी, पत्रुसले उहाँमा मानिसको प्रेमको योग्य धेरै कुरा छन् भनेर पनि भने। पत्रुसले येशूलाई भने, “के स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नु मात्रै तपाईँ मानिसहरूको प्रेमको योग्य हुनुको कारण हो र? तपाईँमा प्रेम गर्नलायक कुरा अझ धेरै छ। तपाईँ वास्तविक जीवनमा काम गर्नुहुन्छ र हिँडडुल गर्नुहुन्छ, तपाईँको आत्माले मलाई भित्री रूपमा छुन्छ, तपाईँ मलाई ताडना दिनुहुन्छ, तपाईँ मलाई हप्काउनुहुन्छ—यी कुराहरू अझ बढी प्रेमको योग्य छन्।” यदि तँलाई परमेश्‍वरको प्रेम देख्ने र अनुभव गर्ने इच्छा छ भने, तैँले वास्तविक जीवनमा छामछुम गर्दै खोज्नुपर्छ र तँ आफ्नो देहलाई त्याग्न इच्छुक हुनुपर्छ। तैँले यो सङ्कल्प गर्नैपर्छ। तँ सङ्कल्प भएको व्यक्ति हुनैपर्छ जो अल्छी नभई वा देहका आनन्दहरूको लालसा नगरी, देहका लागि नभई परमेश्‍वरका लागि जिउँदै, सबै कुरामा परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम होस्। सायद तँ यस पटक परमेश्‍वरलाई सन्तुष्ट पार्दैनस् किनभने तँ परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनस्; अर्को पटक, तैँले केही मेहनत लगाउनुपरे पनि, तैँले उहाँलाई सन्तुष्ट पार्नैपर्छ र देहलाई सन्तुष्ट पार्नै हुँदैन। जब तँ यसरी अनुभव गर्छस्, तब तैँले परमेश्‍वरलाई चिनेको हुनेछस्। तैँले परमेश्‍वर स्वर्ग र पृथ्वी अनि यावत् थोकको सृष्टि गर्न सक्नुहुन्छ, मानिसहरूले उहाँलाई वास्तविक र ठोस तरिकाले देख्न सकून् भनेर उहाँ देह बन्नुभएको छ, र उहाँ तिनीहरूसँग वास्तविक र ठोस तरिकाले कुराकानी गर्नुहुन्छ भन्ने कुरा देख्नेछस्; तैँले उहाँ मानिसमाझ हिँड्न सक्षम हुनुहुन्छ, र उहाँको आत्माले मानिसहरूलाई वास्तविक जीवनमा सिद्ध पार्न सक्छ भन्‍ने कुरा देख्नेछस्; तैँले यो सबै कुराले मानिसहरूलाई उहाँको प्रेमिलो स्वभाव देख्न र उहाँको अनुशासन, उहाँको ताडना, र उहाँका आशिष्‌हरू अनुभव गर्न मद्दत गर्छ भन्‍ने कुरा देख्नेछस्। यदि तैँले सधैँ यसरी नै अनुभव गरिस् भने, वास्तविक जीवनमा तँ परमेश्‍वरबाट छुट्टिनै सक्नेछैनस्, र यदि कुनै दिन परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य रहन छोड्यो भने, तँ हप्की भोग्न र पछुतो महसुस गर्न सक्षम हुनेछस्। परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य हुँदा, तँलाई कहिल्यै परमेश्‍वरलाई छोडेर जाने इच्छा हुनेछैन, र यदि कुनै दिन परमेश्‍वरले तँलाई त्याग्छु भन्नुभयो भने, तँ डराउनेछस्, र परमेश्‍वरद्वारा त्यागिनुभन्दा बरु मर्न तयार छु भनेर भन्नेछस्। यो आभास हुनेबित्तिकै, तँलाई आफू परमेश्‍वरलाई छोडेर जान असमर्थ रहेको महसुस हुनेछ, र यसप्रकार, तेरो एउटा जग बस्नेछ, र तैँले साँच्चिकै परमेश्‍वरको प्रेमको आनन्द लिनेछस्।

मानिसहरू अक्सर परमेश्‍वरलाई तिनीहरूको आफ्नो जीवन हुन दिने कुरा गर्छन्‌, तर तिनीहरूको अनुभव त्यो बिन्दुसम्म अझै आइपुगेको हुँदैन। परमेश्‍वर नै तेरो जीवन हुनुहुन्छ, उहाँले हरेक दिन तँलाई अगुवाइ गर्नुहुन्छ, हरेक दिन तँ उहाँका वचनहरू खान्छस्‌ र पिउँछस्‌, र तैँले हरेक दिन उहाँसित प्रार्थना गर्छस्‌, त्यसैले उहाँ तेरो जीवन बन्नुभएको छ भनेर मात्रै तँ भनिरहेको छस्। यस्तो भन्‍नेहरूको ज्ञान अत्यन्तै सतही छ। धेरै मानिसहरूमा कुनै जग छैन; परमेश्‍वरका वचनहरू तिनमा रोपिएका छन्‌, तर ती उम्रिएका छैनन्‌, तिनीहरूले कुनै फल फलाउने कुरा त परै जाओस्‌। आज, तैँले कुन हदसम्म अनुभव गरेको छस्‌? यहाँसम्म आइपुग्नलाई परमेश्‍वरले तँलाई बलजफती गर्नुभएपछि, बल्ल तैँले परमेश्‍वरलाई त्याग्न सक्दैनस्‌ भनी आभास गर्छस्‌। कुनै दिन, जब तेरो अनुभव एउटा निश्चित बिन्दुमा आइपुगेको हुनेछ, तब यदि परमेश्‍वरले तँलाई त्याग्ने बनाउनुभयो भने, तैँले त्यसो गर्न समर्थ हुन्थिनस्‌। तैँले आफूभित्र परमेश्‍वर बिना हुन सक्दैनस्‌ भनी सदैव आभास गर्नेछस्; तँ पति, पत्नी, वा बालबच्चा बिना, परिवार बिना, आमा वा बुवा बिना, पापमय स्वभावका आनन्दहरू बिना हुन सक्छस्‌, तर तँ परमेश्‍वर बिना हुन सक्दैनस्‌। परमेश्‍वर बिना हुनु भनेको तेरो जीवन गुमाउनु जस्तै हुनेथियो; तँ परमेश्‍वर बिना जिउन समर्थ हुने थिइनस्। जब तैँले यस बिन्दुसम्म अनुभव गरेको हुन्छस्‌, तब तैँले परमेश्‍वरमाथि तेरो विश्‍वासको निशानालाई लगाएको हुनेछस्‌, र यसरी परमेश्‍वर तेरो जीवन बन्नुभएको हुनुहुनेछ, उहाँ तेरो अस्तित्वको जग बन्नुभएको हुनुहुनेछ। तैँले फेरि कहिल्यै परमेश्‍वरलाई त्याग्न समर्थ हुनेछैनस्‌। जब तैँले यो हदसम्म अनुभव गरेको हुन्छस्‌, तब तैँले साँच्चै परमेश्‍वरको प्रेमको आनन्द मनाएको हुनेछस्‌, र जब परमेश्‍वरसँग तेरो चाहिँदो घनिष्ठ सम्बन्ध हुन्छ, तब उहाँ तेरो जीवन, तेरो प्रेम हुनुहुनेछ र त्यही समयमा तैँले परमेश्‍वरसित प्रार्थना गर्नेछस्‌ र भन्‍नेछस्‌: “हे परमेश्‍वर! म तपाईंलाई छोड्न सक्दिनँ। तपाईं नै मेरो जीवन हुनुहुन्छ। म अरू हरेक कुरा बिना अघि बढ्न सक्छु—तर तपाईं बिना जिएर म अघि बढ्न सक्दिनँ।” यो नै मानिसहरूको साँचो कद हो; यही नै वास्तविक जीवन हो। केही मानिसहरू आज आइपुगेको ठाउँसम्म आइपुग्‍न बाध्य पारिएका हुन्‌: तिनीहरूले चाहे पनि नचाहे पनि तिनीहरू अघि बढ्नुपर्छ, र तिनीहरूले सदैव यस्तो आभास गर्छन्‌ मानौं तिनीहरू दुई ढुङ्गा बीचको तरुल बनेको स्थितिमा छन्‌। तैँले यस्तो अनुभव गर्नुपर्छ कि परमेश्‍वर तेरो जीवन हुनुहुन्छ, यदि परमेश्‍वर तेरो हृदयबाट निकालिनुभयो भने, यो तेरो जीवन गुमाएको जस्तै हुन्थ्यो; परमेश्‍वर तेरो जीवन हुनुपर्छ, र तँ उहाँलाई त्याग्नको लागि असक्षम हुनुपर्छ। यसरी, तैँले परमेश्‍वरलाई वास्तवमा अनुभव गरेको हुनेछस्‌, र यस समयमा, जब तैँले परमेश्‍वरलाई प्रेम गर्छस्‌, तैँले परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेछस्‌, र यो एकल, शुद्ध प्रेम हुनेछ। कुनै दिन, जब तेरा अनुभवहरू यस्ता हुन्छन्‌ कि तेरो जीवन एउटा निश्चित बिन्दुमा आइपुगेको छ, जब तैँले परमेश्‍वरसित प्रार्थना गर्छस्‌, र परमेश्‍वरका वचनहरू खान्छस्‌ र पिउँछस्‌, तब तँ परमेश्‍वरलाई त्याग्न भित्र असमर्थ हुनेछस्‌, न त तैँले चाहेर पनि उहाँलाई बिर्सन समर्थ हुनेछस्‌। परमेश्‍वर तेरो जीवन बन्नुभएको हुनेछ; तैँले संसारलाई बिर्सन सक्छस्‌, तैँले तेरो पत्नी, पति, वा बालबच्चा बिर्सन सक्छस्‌, तर तैँले परमेश्‍वरलाई बिर्सन कठिन हुनेछ—यसो गर्नु असम्भव हुनेछ, यो नै तेरो साँचो जीवन र परमेश्‍वरको निम्ति तेरो साँचो प्रेम हो। जब परमेश्‍वरप्रतिको मानिसहरूको प्रेम एक निश्चित बिन्दुमा आइपुगेको हुन्छ, तब अरू कुनै कुराप्रतिको तिनीहरूको प्रेम परमेश्‍वरप्रतिको तिनीहरूको प्रेमको बराबरी हुँदैन; परमेश्‍वरप्रतिको तिनिहरूको प्रेम पहिला आउँछ। यसरी तैँले अन्य हरेक कुरा त्याग्न समर्थ हुन्छस्‌, र परमेश्‍वरबाटको सबै छिँवल्ने कार्यलाई स्विकार गर्न इच्छुक हुन्छस्‌। जब तैँले अन्य सबै कुराहरूलाई नाघ्‍ने परमेश्‍वरप्रतिको प्रेम हासिल गरेको हुन्छस्‌, तँ वास्तविकतामा र परमेश्‍वरको प्रेममा बाँच्नेछस्‌।

परमेश्‍वर मानिसहरूभित्र जीवन बन्नेबित्तिकै, मानिसहरू परमेश्‍वरलाई छोड्न असक्षम हुन्छन्। के यो परमेश्‍वरको कार्य होइन र? योभन्दा ठूलो गवाही छैन! परमेश्‍वरले निश्चित बिन्दुसम्म काम गर्नुभएको छ; उहाँले मानिसहरूलाई सेवा गर्न, सजाय पाउन वा मर्न भन्नुभएको छ र मानिसहरू पछि हटेका छैनन्, जसले तिनीहरूमाथि परमेश्‍वरले विजय हासिल गर्नुभएको छ भन्‍ने देखाउँछ। सत्यता भएका मानिसहरू ती हुन् जो आफ्ना वास्तविक अनुभवहरूमा कहिल्यै पछि नहटी आफ्नो गवाहीमा दृढ रहन, आफ्नो स्थानमा दृढ रहन, परमेश्‍वरको पक्षमा खडा हुन सक्छन् र जसले परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरूसँग सामान्य सम्बन्ध राख्न सक्छन्, जो आफूमाथि कामकुराहरू आइपर्दा, परमेश्‍वरप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन् र मृत्युसम्मै परमेश्‍वरप्रति समर्पित हुन सक्छन्। वास्तविक जीवनमा तेरो अभ्यास र प्रकटीकरणहरू परमेश्‍वरप्रतिको गवाही हुन्, ती मानिसको जियाइ र परमेश्‍वरप्रतिको गवाही हुन् अनि यो साँच्चै परमेश्‍वरको प्रेमको आनन्द उठाउनु हो; जब तैँले यस बिन्दुसम्म अनुभव गरेको हुन्छस्, तब उचित परिणाम हासिल भएको हुनेछ। तँसँग वास्तविक जियाइ हुन्छ र तेरो हरेक कार्यलाई अरूले प्रशंसाका साथ हेर्छन्। तेरो लुगाफाटो र बाहिरी रूप सामान्य हुन्छ, तर तँ अत्यन्तै भक्तिपूर्ण जीवन जिउँछस् र जब तँ परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्छस्, तब उहाँ तँलाई मार्गदर्शन गर्नुहुन्छ र अन्तर्दृष्टि दिनुहुन्छ। तँ आफ्ना शब्दहरूमार्फत परमेश्‍वरका अभिप्रायहरू बोल्न सक्छस्, वास्तविकताहरू सङ्गति गर्न सक्छस् र आत्मामा सेवा गर्ने धेरै मामिला बुझ्छस्। तँ शिष्टताका साथ बोल्छस्, तँ भद्र र सोझो छस्, तँ विवादहरूमा संलग्न हुँदैनस् र दुराचारी छैनस्, तँ आफूलाई कामकुराहरू आइपर्दा परमेश्‍वरका प्रबन्धहरूप्रति समर्पित हुन र आफ्नो गवाहीमा दृढ रहन सक्छस् अनि तँ आफूले जुनसुकै कुरा सम्हालिरहेको भए पनि, शान्त र संयमित हुन्छस्। यस प्रकारको व्यक्तिले साँच्चै परमेश्‍वरको प्रेम देखेको हुन्छ। कतिपय मानिस अझै जवान हुन्छन् तर तिनीहरू अधबैँसे व्यक्तिले जस्तै व्यवहार गर्छन्; तिनीहरू परिपक्व हुन्छन्, तिनीहरूमा सत्यता हुन्छ र तिनीहरूलाई अरूले प्रशंसा गर्छन्—र यिनीहरू गवाही भएका मानिस र परमेश्‍वरको प्रकटीकरण हुन्। अर्थात्, जब मानिसहरूले कुनै निश्चित बिन्दुसम्म अनुभव गरेका हुन्छन्, तब तिनीहरूभित्र परमेश्‍वरबारे अन्तर्दृष्टि हुनेछ र तिनीहरूको बाहिरी स्वभाव पनि स्थिर हुनेछ। धेरै मानिस सत्यता अभ्यास गर्दैनन् र आफ्नो गवाहीमा दृढ रहँदैनन्। त्यस्ता मानिसहरूमा परमेश्‍वरप्रतिको प्रेम वा परमेश्‍वरप्रतिको गवाही हुँदैन र यिनीहरू परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्ने मानिस हुन्। तिनीहरू भेलाहरूमा परमेश्‍वरका वचनहरू पढ्छन्, तर तिनीहरू जे जिउँछन् त्यो शैतान हो र यो परमेश्‍वरलाई बेइज्जत गर्नु, परमेश्‍वरलाई गलत रूपमा प्रस्तुत गर्नु र परमेश्‍वरको निन्दा गर्नु हो। त्यस्ता मानिसहरूमा, परमेश्‍वरको प्रेमको कुनै सङ्केत हुँदैन र तिनीहरूसँग पवित्र आत्माको काम पटक्कै हुँदैन। त्यसैले, तिनीहरूका शब्द र कार्यहरूले शैतानलाई प्रतिनिधित्व गर्छन्। यदि तेरो हृदय सधैँ परमेश्‍वरसामु शान्त रहन्छ र तँ सधैँ आफू वरिपरिका मानिस, घटना र कामकुराहरूमा ध्यान दिन्छस् अनि यदि तँ परमेश्‍वरको बोझको ख्याल गर्छस् र तँसँग सधैँ परमेश्‍वरको डर मान्ने हृदय हुन्छ भने, परमेश्‍वरले तँलाई भित्र प्रायजसो अन्तर्दृष्टि दिनुहुनेछ। मण्डलीमा यस्ता मानिसहरू हुन्छन् जो “सुपरिवेक्षक” हुन्: तिनीहरू अरूका कमजोरीहरू हेर्न थाल्छन् अनि त्यसपछि तिनीहरूको नक्कल र अनुकरण गर्छन्। तिनीहरू खुट्ट्याउन असक्षम हुन्छन्, तिनीहरू पापलाई घृणा गर्दैनन् र शैतानका कुराहरूलाई घृणा गर्दैनन् वा तीप्रति घिन मान्दैनन्। त्यस्ता मानिसहरू शैतानका कुराहरूले भरिएका हुन्छन् र अन्ततः तिनीहरूलाई परमेश्‍वरले पूर्ण रूपमा त्याग्नुहुनेछ। तँसँग परमेश्‍वरसामु सधैँ परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्छ, तँ आफ्ना शब्द र कार्यहरूमा संयमित हुनुपर्छ र तैँले परमेश्‍वरको विरोध गर्ने वा उहाँलाई दुःखी तुल्याउने इच्छा कहिल्यै गर्नु हुँदैन। तैँले आफूमाथि परमेश्‍वरको काम व्यर्थ होस् वा आफूले सहेका सबै कष्ट र अभ्यास गरेका सबै कुरा खेर जाऊन् भन्‍ने इच्छा कहिल्यै गर्नु हुँदैन। तँ अगाडिको मार्गमा अझ कडा परिश्रम गर्न र परमेश्‍वरलाई अझ बढी प्रेम गर्न इच्छुक हुनैपर्छ। यिनीहरू जगका रूपमा दर्शन हुने मानिस हुन्। यिनीहरू प्रगति खोज्ने मानिस हुन्।

यदि मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन् र परमेश्‍वरको डर मान्‍ने हृदयद्वारा परमेश्‍वरका वचनहरू अनुभव गर्छन् भने, त्यस्ता मानिसहरूमा परमेश्‍वरको मुक्ति र परमेश्‍वरको प्रेम देख्न सकिन्छ। यी मानिसहरू परमेश्‍वरको साक्षी दिन सक्षम हुन्छन्; तिनीहरू सत्यता जिउँछन्, र तिनीहरू साक्षी पनि सत्यताको, परमेश्‍वर के हुनुहुन्छ भन्‍ने कुराको, र परमेश्‍वरको स्वभावको नै दिन्छन्। तिनीहरू परमेश्‍वरको प्रेममा जिउँछन् र तिनीहरूले परमेश्‍वरको प्रेम देखेका छन्। यदि मानिसहरू परमेश्‍वरलाई प्रेम गर्न चाहन्छन् भने, तिनीहरूले परमेश्‍वरको प्रेमिलो स्वभाव अनुभव गर्नैपर्छ र परमेश्‍वरको प्रेमिलो स्वभाव देख्नैपर्छ; त्यसपछि मात्रै तिनीहरूमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय, र अर्पित भई परमेश्‍वरप्रति आफूलाई अर्पण गर्ने हृदय जाग्न सक्छ। परमेश्‍वर मानिसहरूलाई वचनहरूमार्फत वा तिनीहरूका कल्पनाहरूमार्फत उहाँलाई प्रेम गर्न लगाउनुहुन्न, र उहाँ मानिसहरूलाई उहाँलाई प्रेम गर्न भनी जबरजस्ती गर्नुहुन्न। यसको सट्टा, उहाँ तिनीहरूलाई आफ्नै इच्छाले उहाँलाई प्रेम गर्न दिनुहुन्छ, र उहाँ तिनीहरूलाई उहाँका काम र वचनहरूमा उहाँको प्रेमिलो स्वभाव देखाउनुहुन्छ, जसपछि तिनीहरूमा परमेश्‍वरप्रतिको प्रेम पैदा हुन्छ। यसरी मात्रै मानिसहरू साँचो रूपमा परमेश्‍वरको साक्षी दिन सक्छन्। मानिसहरू अरूहरूद्वारा त्यसो गर्न भनिएको कारण परमेश्‍वरलाई प्रेम गर्दैनन्‌, न त यो कुनै क्षणिक भावनात्मक उत्तेजना हो। तिनीहरू परमेश्‍वरलाई प्रेम गर्छन्‌ किनभने तिनीहरूले उहाँको प्रेमिलोपन देखेका छन्‌, तिनीहरूले उहाँमा मानिसहरूको प्रेमको लायक अति धेरै कुरा छन्‌ भन्ने देखेका छन्, तिनीहरूले परमेश्‍वरको मुक्ति, बुद्धि, र अचम्मका कार्यहरू देखेका छन्—अनि परिणामस्वरूप, तिनीहरू परमेश्‍वरलाई साँच्चै प्रशंसा गर्छन्‌ र साँच्चै उहाँको तृष्णा गर्छन्‌, र तिनीहरूमा यस्तो उत्कण्ठा जाग्छ कि तिनीहरू परमेश्‍वरलाई प्राप्त नगरी बाँच्न सक्दैनन्‌। परमेश्‍वरको साँचो साक्षी दिनेहरूले जोडदार गवाही दिन सक्नुको कारण के हो भने तिनीहरूको गवाही परमेश्‍वरबारे साँचो ज्ञान र उहाँप्रतिको साँचो अभिलाषाको जगमा अडेको हुन्छ। यस्तो गवाही कुनै भावनात्मक आवेगअनुसार दिइँदैन, बरु परमेश्‍वर र उहाँको स्वभावबारे तिनीहरूको ज्ञानअनुसार दिइन्छ। तिनीहरूले परमेश्‍वरलाई चिनेका हुनाले, तिनीहरू आफूले अवश्यै परमेश्‍वरको साक्षी दिनैपर्ने र परमेश्‍वरको अभिलाषा राख्ने सबैलाई परमेश्‍वर चिनाउनैपर्ने, र परमेश्‍वरको प्रेमिलो स्वभाव र उहाँको व्यावहारिकताप्रति सचेत हुनैपर्ने ठान्छन्। परमेश्‍वरप्रतिको मानिसहरूको प्रेम जस्तै, तिनीहरूको गवाही पनि स्वतःस्फूर्त हुन्छ; यसमा वास्तविकता हुन्छ साथै यसको वास्तविक महत्त्व र मूल्य हुन्छ। यो निष्क्रिय वा खोक्रो र अर्थहीन हुँदैन। साँचो रूपमा परमेश्‍वरलाई प्रेम गर्नेहरूको जीवनमा मात्रै सबैभन्दा बढी मूल्य र अर्थ हुन्छ, र तिनीहरू मात्रै साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्छन् भनेर भनिनुको कारण के हो भने यी मानिसहरू परमेश्‍वरको ज्योतिमा जिउन सक्षम हुन्छन् र परमेश्‍वरको काम र व्यवस्थापनका लागि जिउन सक्षम हुन्छन्। किनभने तिनीहरू अन्धकारमा जिउँदैनन्, बरु ज्योतिमा जिउँछन्; तिनीहरू अर्थहीन जीवन जिउँदैनन्, बरु परमेश्‍वरद्वारा आशिषित् जीवन जिउँछन्। परमेश्‍वरलाई प्रेम गर्नेहरू मात्रै परमेश्‍वरको साक्षी दिन सक्षम हुन्छन्, तिनीहरू मात्रै परमेश्‍वरका साक्षी हुन्, तिनीहरू मात्रै परमेश्‍वरद्वारा आशिषित् हुन्छन्, र तिनीहरू मात्रै परमेश्‍वरका प्रतिज्ञाहरू उत्तराधिकारमा प्राप्त गर्न सक्षम हुन्छन्। परमेश्‍वरलाई प्रेम गर्नेहरू परमेश्‍वरका घनिष्ठ मानिस हुन्; तिनीहरू परमेश्‍वरका प्रिय मानिस हुन्, र तिनीहरूले परमेश्‍वरसँगै आशिष्‌हरूको आनन्द लिन सक्छन्। यस्ता मानिसहरू मात्रै अनन्तसम्म जिउनेछन्, र तिनीहरू मात्रै सधैँभरि परमेश्‍वरको हेरचाह र सुरक्षामा जिउनेछन्। परमेश्‍वर मानिसहरूले प्रेम गर्नका लागि हुनुहुन्छ, र उहाँ सबै मानिसको प्रेमको योग्य हुनुहुन्छ, तर सबै मानिस परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुँदैनन्, र सबै मानिस परमेश्‍वरको साक्षी दिन र परमेश्‍वरसँगै शासन गर्न सक्दैनन्। साँचो रूपमा परमेश्‍वरलाई प्रेम गर्नेहरू परमेश्‍वरको गवाही दिन र आफ्ना सबै प्रयास परमेश्‍वरको कामप्रति समर्पित गर्न सक्षम हुने हुनाले, तिनीहरू स्वर्गमुनि जहाँसुकै हिँड्न सक्छन् जसमा तिनीहरूलाई कसैले पनि विरोध गर्ने आँट गर्दैन, र तिनीहरू पृथ्वीमाथि राज गर्न र परमेश्‍वरका सबै मानिसमाथि शासन गर्न सक्छन्। यी मानिसहरू संसारभरिबाट एकजुट भएका हुन्। तिनीहरू संसारभरिका मानिस हुन् जो फरक-फरक भाषा बोल्छन् र जसको छालाको रङ फरक-फरक छ, तर तिनीहरूको अस्तित्वको महत्त्व एउटै रहेको छ; तिनीहरू सबैसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय रहेको छ, तिनीहरू सबैले एउटै गवाही दिन्छन्, साथै तिनीहरूको एउटै सङ्कल्प, र एउटै इच्छा रहेको छ। परमेश्‍वरलाई प्रेम गर्नेहरू संसारभरि स्वतन्त्र रूपमा हिँड्न सक्छन्, र परमेश्‍वरको साक्षी दिनेहरू ब्रह्माण्डभरि यात्रा गर्न सक्छन्। यी मानिस परमेश्‍वरका प्रिय हुन्, तिनीहरू परमेश्‍वरद्वारा आशिषित् हुन्छन्, र तिनीहरू सधैँभरि उहाँको ज्योतिभित्र जिउनेछन्।

अघिल्लो: शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

अर्को: अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्