परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌‌

अधिकांश मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वासको सारतत्त्व धार्मिक सङ्कल्प हो: तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न असक्षम हुन्छन्‌ र परमेश्‍वरलाई केवल यान्त्रिक मानवले झैँ अनुसरण गर्न सक्छन्‌, परमेश्‍वरको लागि साँच्चै तृष्णा गर्न वा उहाँलाई श्रद्धा गर्न असमर्थ हुन्छन्‌। तिनीहरूले उहाँलाई केवल चुपचाप पछ्याउँछन्‌। धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्‌, तर परमेश्‍वरलाई प्रेम गर्नेहरू थोरै मात्र छन्‌; तिनीहरू विपत्तिसँग डराउने भएका हुनाले मात्र तिनीहरूले परमेश्‍वरलाई “श्रद्धा” गर्छन्‌, अन्यथा उहाँ उच्च र शक्तिशाली हुनुभएको हुनाले तिनीहरूले परमेश्‍वरलाई “सराहना” गर्छन्‌—तर तिनीहरूको श्रद्धा र सराहनामा, प्रेम वा साँचो तृष्णा हुँदैन। आफ्ना अनुभवहरूमा तिनीहरूले सत्यताका सानातिना विवरणहरू, वा अन्यथा, केही महत्त्वहीन रहस्यहरू खोज्छन्‌। अधिकांश मानिसहरूले केवल आशिषको लागि फाइदा लुट्न पछि लाग्छन्; तिनीहरूले सत्यतालाई खोज्दैनन्, न त तिनीहरूले परमेश्‍वरको आशिष पाउनको लागि साँचो रूपमा परमेश्‍वरको आज्ञा नै पालन गर्छन्‌। सबै मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वासको जीवन अर्थहीन छ, यो मूल्य विहीन छ, र यसमा तिनीहरूका व्यक्तिगत विचारहरू र खोजीहरू छन्‌; तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्नको लागि विश्‍वास गर्दैनन्‌, तर आशिषित हुनको खातिर मात्र गर्छन्‌। धेरै मानिसहरू आफूलाई खुसी लागे अनुसार काम गर्छन्‌; तिनीहरू आफू जे चाहन्छन्‌ त्यही गर्छन्‌ र कहिल्यै परमेश्‍वरको रुचिहरूको बारेमा, वा तिनीहरूले जे गर्छन्‌ त्यो परमेश्‍वरको इच्छाअनुसार छ कि छैन भन्ने बारेमा विचार गर्दैनन्‌। यस्ता मानिसहरूले साँचो विश्‍वास समेत प्राप्त गर्न सक्दैनन्‌, परमेश्‍वरप्रतिको प्रेम त परै जाओस्‌। परमेश्‍वरको सारतत्त्व मानिसले विश्‍वास गर्नको लागि मात्र होइन; अझ अधिक, यो त मानिसले प्रेम गर्नको लागि हो। तर परमेश्‍वरमाथि विश्‍वास गर्ने धेरैजसो यो “गोप्य कुरा” पत्ता लगाउन असक्षम छन्‌। मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्ने आँट गर्दैनन्‌, न त तिनीहरूले उहाँलाई प्रेम गर्ने प्रयत्न नै गर्छन्‌। परमेश्‍वरको बारेमा प्रेम गर्न योग्य कुराहरू यति धेरै छन्‌ भन्ने कुरा तिनीहरूले कहिल्यै पत्ता लगाएका छैनन्‌; परमेश्‍वर त मानिसहरूलाई प्रेम गर्नुहुने परमेश्‍वर हुनुहुन्छ, र उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जसलाई मानिसले प्रेम गर्छ भन्ने कुरा तिनीहरूले कहिल्यै पत्ता लगाएका छैनन्‌। परमेश्‍वरको प्रेमिलोपन उहाँको काममा व्यक्त गरिएको छ: मानिसहरूले उहाँको कामलाई अनुभव गर्दा मात्र तिनीहरूले उहाँको प्रेमिलोपन पत्ता लगाउन सक्छन्‌; तिनीहरूको वास्तविक अनुभवहरूमा मात्र तिनीहरूले परमेश्‍वरको प्रेमिलोपनलाई सराहना गर्न सक्छन्‌; र यसलाई वास्तविक जीवनमा अवलोकन नगरी, कसैले पनि परमेश्‍वरको प्रेमिलोपनलाई पत्ता लगाउन सक्दैन। परमेश्‍वरको बारेमा प्रेम गर्ने कुरा धेरै छन्, तर उहाँसँग वास्तविक रूपमा तल्लीन नभई मानिसहरू यसलाई पत्ता लगाउन असक्षम हुन्छन्‌। भन्नुको अर्थ, यदि परमेश्‍वर देह नबन्नुभएको भए, मानिसहरू उहाँसँग वास्तविक रूपमा तल्लीन हुन असक्षम हुनेथिए, र यदि तिनीहरू उहाँसँग वास्तविक रूपमा तल्लीन हुन असमर्थ भएका भए, तिनीहरू उहाँको काम अनुभव गर्न पनि समर्थ हुनेथिएनन्‌—र यसरी परमेश्‍वरप्रतिको तिनीहरूको प्रेममा अधिक असत्यता र मनगढन्तको धब्बा लाग्ने थियो। स्वर्गमा भएको परमेश्‍वरप्रतिको प्रेम पृथ्वीमा भएको परमेश्‍वरप्रतिको प्रेम जस्तै वास्तविक छैन, किनभने स्वर्गमा हुनुहुने परमेश्‍वरको बारेमा मानिसहरूको ज्ञान तिनीहरूको आफ्नै आँखाले देखेका र तिनीहरूले व्यक्तिगत रूपमा अनुभव गरेका कुराहरूमाथि भन्दा पनि तिनीहरूको कल्पनाहरूमाथि निर्माण भएको छ। जब परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, मानिसहरूले उहाँको वास्तविक कामहरू र उहाँको प्रेमिलोपन देख्न समर्थ हुन्छन्‌, र तिनीहरूले उहाँको व्यावहारिक र सामान्य स्वभाव देख्न सक्छन्‌, यी सबै नै स्वर्गमा हुनुहुने परमेश्‍वर सम्बन्धी ज्ञानभन्दा हजारौं गुना बढी वास्तविक हुन्छन्‌। मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई जतिसुकै प्रेम गरे तापनि यो प्रेम खासै वास्तविक छैन, र यो मानवीय विचारहरूले भरिएको छ। पृथ्वीमा परमेश्‍वरको निम्ति तिनीहरूको प्रेम जतिसुकै थोरै भएतापनि यो प्रेम वास्तविक हुन्छ; यो थोरै मात्र भए तापनि फेरि पनि यो वास्तविक हुन्छ। परमेश्‍वरले मानिसहरूलाई वास्तविक काममार्फत उहाँलाई चिन्न लगाउनुहुन्छ, र यही ज्ञानमार्फत उहाँले तिनीहरूको प्रेम प्राप्त गर्नुहुन्छ। यो पत्रुसको जस्तै हो: यदि उनी येशूसँग नजिएका भए, उसले येशूलाई श्रद्धा गर्नु असम्भव हुनेथियो। यसै गरी, येशूप्रतिको उसको निष्ठा पनि येशूसँग उसको तल्लीनतामा आधारित थियो। मानिसले परमेश्‍वरलाई प्रेम गर्न लगाउनको लागि उहाँ मानिसको बीचमा आउनुभएको छ र मानिससँग सँगै जिउनुहुन्छ, र उहाँले मानिसलाई देख्न र अनुभव गर्न लगाउन खोज्नुभएको एउटै कुरा भनेको परमेश्‍वरको वास्तविकता हो।

परमेश्‍वरले मानिसहरूलाई सिद्ध बनाउनको लागि वास्तविकतालाई र तथ्यहरूको प्रादुर्भावलाई प्रयोग गर्नुहुन्छ; परमेश्‍वरका वचनहरूले मानिसहरूलाई सिद्ध बनाउने उहाँको आंशिक भागलाई पूरा गर्छन्‌, र यो अगुवाइ गर्ने र बाटो खोल्ने काम हो। भन्नुको अर्थ, परमेश्‍वरका वचनहरूमा तैँले अभ्यासको मार्ग र दर्शनहरूको ज्ञान भेट्नुपर्छ। यी कुराहरू बुझेर, मानिसले उसको वास्तविक अभ्यासमा एउटा मार्ग र दर्शनहरू पाउनेछ, र परमेश्‍वरका वचनहरूमार्फत अन्तर्दृष्टि पाउन ऊ समर्थ हुनेछ; यी कुराहरू परमेश्‍वरबाट आएका हुन्‌ भन्ने कुरा उसले बुझ्न र धेरै कुरा छुट्याउन ऊ समर्थ हुनेछ। बुझिसकेपछि, मानिस तुरुन्तै यस वास्तविकताभित्र प्रवेश गर्नुपर्छ र उसको वास्तविक जीवनमा परमेश्‍वरलाई सन्तुष्ट पार्न परमेश्‍वरका वचनहरूलाई प्रयोग गर्नुपर्छ। परमेश्‍वरले तँलाई सबै कुराहरूमा अगुवाइ गर्नुहुनेछ र तँलाई अभ्यासको मार्ग दिनुहुनेछ, र उहाँ विशेष रूपमा प्रेमिलो हुनुहुन्छ भन्ने कुरा आभास गराउनुहुनेछ, र तँमा गरिएको परमेश्‍वरको कामको हरेक कदम तँलाई नै सिद्ध बनाउनको लागि हो भन्ने कुरा देख्न दिनुहुनेछ। यदि तैँले परमेश्‍वरको प्रेम देख्न चाहन्छस्‌‌ भने, यदि तैँले परमेश्‍वरको प्रेम साँच्चै अनुभव गर्न चाहन्छस् भने, तँ वास्तविकताभित्रको गहिराइमा जानुपर्छ, तँ वास्तविक जीवनभित्रको गहिराइमा जानुपर्छ र परमेश्‍वरले गर्नुहुने हरेक कुरा प्रेम र मुक्ति हो भन्ने कुरा देख्नुपर्छ, कि उहाँले जे अशुद्ध छन्‌ ती पछाडि छोड्नको लागि मानिसहरूलाई सक्षम पार्नुहुन्छ, र परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्न असमर्थ भएका मानिसभित्रकै कुराहरूलाई शोधन गर्नुहुन्छ। परमेश्‍वरले मानिसको निम्ति जुटाउन वचनहरू प्रयोग गर्नुहुन्छ; उहाँले मानिसहरूलाई वास्तविक जीवनका परिस्थितिहरू अनुभव गर्ने प्रबन्ध मिलाउनुहुन्छ, र यदि मानिसहरूले धेरैजसो परमेश्‍वरका वचनहरूबाट खान्छन्‌ र पिउँछन्‌ भने, तिनीहरूले वास्तविक रूपमा तिनलाई अभ्यासमा लगाउँदा, तिनीहरूले धेरैजसो परमेश्‍वरका वचनहरूलाई प्रयोग गरेर तिनीहरूका जीवनहरूमा हुने सबै कठिनाइहरूलाई समाधान गर्न सक्छन्‌। भन्नुको अर्थ, वास्तविकताभित्रको गहिराइमा जानको निम्ति तँसँग परमेश्‍वरका वचनहरू हुनुपर्छ; यदि तैँले परमेश्‍वरका वचनहरू खाँदैनस्‌ र पिउँदैनस्‌ र तँ परमेश्‍वरको कामरहित छस्‌ भने, वास्तविक जीवनमा तँसँग कुनै मार्ग हुनेछैन। यदि तैँले कहिल्यै परमेश्‍वरका वचनहरू खाँदैनस्‌ वा पिउँदैनस्‌ भने, तँमाथि केही कुरा आइपर्दा तँ हक्‍का न बक्‍क हुनेछस्‌‌। तैँले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ भन्ने कुरा मात्र तँलाई थाहा छ, तर तँ कुनै भिन्नता छुट्याउन असमर्थ छस्‌ र तँसँग अभ्यासको मार्ग छैन; तँ भ्रमित र अन्योलग्रस्त छस्‌, पापमय स्वभावलाई सन्तुष्ट पारेर परमेश्‍वरलाई सन्तुष्ट पार्दैछु भन्ने समेत कहिलेकाहीँ तँ विश्‍वास गर्छस्‌—यो सबै नै परमेश्‍वरका वचनहरू नखानु र नपिउनुको परिणाम हो। भन्नुको अर्थ, यदि तँ परमेश्‍वरका वचनहरूको सहायता विहीन छस्‌ र वास्तविकताभित्र छामछुम मात्र गर्छस्‌ भने, तँ आधारभूत रूपमा अभ्यासको मार्ग पत्ता लगाउन असक्षम छस्‌। यस्ता मानिसहरूले परमेश्‍वरमाथि विश्‍वास गर्नुको अर्थ के हो भन्ने कुरा बुझ्दै-बुझ्दैनन्‌, परमेश्‍वरलाई प्रेम गर्नुको अर्थ के हो भन्ने कुरा तिनीहरूले बुझ्ने कुरा त परै जाओस्‌। यदि, परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र अगुवाइ प्रयोग गरेर, तैँले धेरै पटक प्रार्थना गर्छस्‌, र उत्खनन‌ गर्छस्‌, र खोज्छस्‌‌, र यसद्वारा तैँले अभ्यास गर्नु पर्ने कुरा के हो भन्ने कुरा पत्ता लगाउँछस्, पवित्र आत्माको कामको निम्ति अवसरहरू पत्ता लगाउँछस्‌, परमेश्‍वरसँग साँच्चै सहकार्य गर्छस्‌, र भ्रमित र अन्योलग्रस्त हुँदैनस्‌ भने, तैँले वास्तविक जीवनमा एउटा मार्ग पाउनेछस्‌, र साँच्चै परमेश्‍वरलाई सन्तुष्ट पार्नेछस्‌। जब तैँले परमेश्‍वरलाई सन्तुष्ट पारेको हुन्छस्‌, तँभित्र परमेश्‍वरको अगुवाइ हुनेछ, र तँ परमेश्‍वरद्वारा विशेष रूपमा आशिषित गरिएको हुनेछस्‌, जसले तँलाई आनन्दको आभास दिनेछ: तैँले परमेश्‍वरलाई सन्तुष्ट पारेको छस्‌ भन्‍ने कुराप्रति तैँले विशेष रूपमा सम्मानित भएको आभास गर्नेछस्‌, तैँले विशेष रूपमा भित्र उज्ज्वल भएको आभास गर्नेछस्‌‌, र तेरो हृदयमा तँ प्रस्ट र शान्त हुनेछस्‌। तेरो विवेक आरोपहरूबाट साम्य र मुक्त पारिनेछ, र तैँले तेरा दाजुभाइ र दिदीबहिनीहरूलाई देख्दा भित्री रूपमा आनन्दको आभास गर्नेछस्‌। परमेश्‍वरको प्रेमको आनन्द उपभोग गर्नु भनेकै यही हो, र यही मात्र साँच्चै परमेश्‍वरप्रति आनन्दित हुनु हो। परमेश्‍वरको प्रेमबाट आउने मानिसहरूको आनन्द अनुभवमार्फत प्राप्त गरिन्छ: कठिनाइ अनुभव गरेर, र सत्यतालाई अभ्यास गर्नुलाई अनुभव गरेर, तिनीहरूले परमेश्‍वरका आशिषहरू प्राप्त गर्छन्‌। यदि परमेश्‍वरले तँलाई प्रेम गर्नुहुन्छ, परमेश्‍वरले मानिसहरूको खातिर ठूलो मूल्य चुकाउनुभएको छ, उहाँले धैर्यपूर्वक र दयापूर्वक धेरै वचनहरू बोल्नुभएको छ र सदैव मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनेर मात्रै भन्छस् भने, तेरा कुराहरूका यी उच्चारण त परमेश्‍वरप्रतिको आनन्दको एउटा मात्र पाटो हो। तथापि, अझ उच्च आनन्द—साँचो आनन्द—तब हुन्छ जब मानिसहरूले आफ्नो वास्तविक जीवनमा सत्यतालाई अभ्यास गर्छन्‌, तब तिनीहरू आफ्नो हृदयमा शान्त र प्रस्ट हुन्छन्‌। तिनीहरू भित्र असाध्यै अभिप्रेरित भएको आभास गर्छन्‌ र परमेश्‍वर अति प्रेमिलो हुनुहुन्छ भनी आभास गर्छन्‌। तैँले आभास गर्नेछस्‌ कि तैँले चुकाएको मूल्य न्यायसङ्गत मात्रै छैन। आफ्ना प्रयासहरूमा ठूलो मूल्य चुकाएको हुनाले, तँ विशेष रूपमा भित्र उज्ज्वल हुनेछस्‌: तैँले साँच्चै परमेश्‍वरको प्रेमको आनन्द मनाउँदैछस्‌ भनी आभास गर्नेछस्‌‌ र परमेश्‍वरले मानिसहरूमा मुक्तिको काम गर्नुभएको छ, मानिसहरूलाई उहाँले शोधन कामको आशय तिनीहरूलाई शुद्ध गर्नु हो, र तिनीहरूले साँच्चै उहाँलाई प्रेम गर्छन्‌ कि गर्दैनन्‌ भनी परमेश्‍वरले मानिसहरूलाई जाँच गर्नुहुन्छ भन्‍ने कुरा तैँले बुझ्‍नेछस्। तैँले सदैव यसरी सत्यतालाई अभ्यास गरिस्‌ भने, तैँले विस्तारै परमेश्‍वरको धेरैजसो कामको बारेमा प्रस्ट ज्ञान वृद्धि गर्दै जानेछस्‌, र त्यस समयमा तेरो सामुन्ने परमेश्‍वरका वचनहरू घाम जत्तिकै छर्लङ्ग भएको तैँले आभास गर्नेछस्‌। यदि तैँले धेरै सत्यताहरूलाई प्रस्ट रूपमा बुझ्न सकिस्‌ भने, तैँले आभास गर्नेछस्‌ कि सबै कुराहरूलाई अभ्यासमा लगाउनु सजिलो छ, कि तैँले कुनै पनि विषयमाथि विजय हासिल गर्न र कुनै पनि परीक्षामाथि विजय हासिल गर्न सक्छस्, र कुनै पनि कुरा तेरो लागि समस्या होइन भन्ने कुरा तैँले देख्नेछस्‌, जसले तँलाई अत्यन्तै स्वतन्त्र र मुक्त गर्नेछ। यस क्षणमा, तैँले परमेश्‍वरको प्रेमको आनन्द मनाउँदै गर्नेछस्‌, र परमेश्‍वरको साँचो प्रेम तँमाथि आएको हुनेछ। परमेश्‍वरले तिनलाई आशिष दिनुहुन्छ जससँग दर्शनहरू छन्‌, जससँग सत्यता छ, जोसँग ज्ञान छ, र जसले साँच्चै उहाँलाई प्रेम गर्छन्‌। यदि मानिसहरूले परमेश्‍वरको प्रेम देख्ने इच्छा गर्छन्‌ भने, तिनीहरूले वास्तविक जीवनमा सत्यतालाई अभ्यास गर्नुपर्छ, तिनीहरूले पीडा सहन गर्ने इच्छा गर्नुपर्छ र परमेश्‍वरलाई सन्तुष्ट पार्न तिनीहरूले प्रेम गर्ने थोकलाई त्याग्नुपर्छ, र तिनीहरूको आँखामा आँसुको बाबजुद पनि, तिनीहरूले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न अझै समर्थ हुनुपर्छ। यसरी परमेश्‍वरले तँलाई निश्चय नै आशिष दिनुहुनेछ, र यदि तैँले यस्तो किसिमको कठिनाइलाई सहिस्‌ भने, पवित्र आत्माको कामद्वारा यसलाई पछ्याइनेछ। साँचो जीवनमार्फत, र परमेश्‍वरका वचनहरूलाई अनुभव गरेर, मानिसहरू परमेश्‍वरको प्रेमिलोपनलाई हेर्न समर्थ हुन्छन्‌, र यदि तिनीहरूले परमेश्‍वरको प्रेमलाई चाखेका छन्‌ भने मात्र तिनीहरूले उहाँलाई साँच्चै प्रेम गर्न सक्छन्‌।

जति धेरै सत्यतालाई तैँले अभ्यास गर्छस्‌, त्यत्ति नै धेरै सत्यता तँसँग हुन्छ; जति धेरै सत्यतालाई तैँले अभ्यास गर्छस्‌, त्यत्ति नै धेरै परमेश्‍वरको प्रेम तँसँग हुन्छ; र जति धेरै सत्यतालाई तैँले अभ्यास गर्छस्‌, त्यत्ति नै धेरै तँ परमेश्‍वरद्वारा आशिषित हुन्छस्‌। यदि तैँले सदैव यसै गरी अभ्यास गरिस्‌ भने, तेरो लागि दिइने परमेश्‍वरको प्रेमले विस्तारै तँलाई देख्न सक्षम तुल्याउनेछ, जसरी पत्रुसले परमेश्‍वरलाई जाने: परमेश्‍वरसँग स्वर्ग र पृथ्वी सृष्टि गर्ने बुद्धि मात्र होइन, तर, त्योभन्दा पनि बढी, उहाँसँग मानिसहरूमा साँचो काम गर्ने बुद्धि पनि छ भनेर पत्रुसले भने। उहाँले स्वर्ग र पृथ्वीको र सबै कुराहरूको सृष्टि गर्नुभएको कारणले गर्दा मात्र मानिसहरूको प्रेमको योग्य हुनुभएको होइन, तर, त्योभन्दा पनि बढी, मानिसलाई सृष्टि गर्ने, मानिसलाई मुक्ति दिने, मानिसलाई पूर्ण बनाउने, र मानिसलाई आफ्नो प्रेम हस्तान्तरण गर्ने उहाँको क्षमताको कारणले गर्दा पनि उहाँ योग्य हुनुभएको हो भनेर पत्रुसले भने। त्यसैले पनि पत्रुस भन्छन्‌ कि मानिसको प्रेमको निम्ति उहाँमा योग्य कुराहरू धेरै छन्‌। पत्रुसले येशूलाई भने: “के स्वर्ग र पृथ्वी र सबै थोकहरू सृष्टि गर्नु नै मानिसहरूको प्रेम पाउन योग्य हुनुको एउटै कारण हो र? तपाईंमा अरू पनि धेरै कुराहरू छन्‌ जुन प्रेमिलो छन्‌। तपाईं वास्तविक जीवनमा कार्यरत र चलायमान हुनुहुन्छ, तपाईंको आत्माले मलाई भित्र स्पर्श गर्नुहुन्छ, तपाईंले मलाई ताडना दिनुहुन्छ, तपाईंले मलाई हप्काउनुहुन्छ—यी कुराहरू मानिसहरूको प्रेम पाउन अझ धेरै योग्य छन्‌।” यदि तँ परमेश्‍वरको प्रेम हेर्ने र अनुभव गर्ने इच्छा राख्छस्‌ भने, तैँले वास्तविक जीवनमा उत्खनन र खोजी गर्नुपर्छ र तेरो आफ्नै पापमय स्वभावलाई पन्साउने इच्छा राख्नुपर्छ। तैँले यो सङ्कल्प गर्नैपर्छ। तँ यस्तो सङ्कल्प भएको व्यक्ति हुनुपर्छ जसले अल्छी नबनी वा पापमय स्वभावका आनन्दहरूको लालसा नगरी, पापमय स्वभावको लागि नभएर परमेश्‍वरको लागि जिएर सबै कुराहरूमा परमेश्‍वरलाई सन्तुष्ट पार्न समर्थ हुन्छ। यस्ता समयहरू हुन सक्छन्‌ जब तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्दैनस्‌। त्यो तैँले परमेश्‍वरको इच्छा नबुझेको कारणले हो; अर्को पटक, अझ धेरै प्रयास चाहिने भए पनि, तैँले उहाँलाई सन्तुष्ट पार्नुपर्छ र पापमय स्वभावलाई सन्तुष्ट पार्ने होइन। जब तैँले यस्तो प्रकारले अनुभव गर्छस्‌, तैँले परमेश्‍वरलाई चिन्न आएको हुनेछस्‌। तैँले देख्नेछस्‌ कि परमेश्‍वरले स्वर्ग र पृथ्वी र सबै थोकहरू सृष्टि गर्न सक्नुहुन्छ, कि उहाँ देह बन्नुभएको छ ताकि मानिसहरूले वास्तवमा उहाँलाई देख्न सकून्‌ र वास्तवमा उहाँसँग तल्लीन हुन सकून्‌; तैँले के देख्नेछस्‌ भने उहाँ मानिसहरूको माझमा हिँडडुल गर्न समर्थ हुनुहुन्छ, र उहाँको आत्माले वास्तविक जीवनमा मानिसहरूलाई उहाँको प्रेमिलोपन देख्न र उहाँको ताडना, उहाँको सजाय, र उहाँका आशिषहरू अनुभव गर्न दिँदै पूर्ण बनाउन सक्नुहुन्छ। यदि तैँले सदैव यसरी अनुभव गरिस्‌ भने, वास्तविक जीवनमा तँ परमेश्‍वरबाट अलग्याउन नसकिने हुनेछस्‌, र यदि कुनै दिन परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य हुन छोड्छ भने, तँ सङ्घर्ष गर्न र पछुतो गर्न समर्थ हुनेछस्‌। जब परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य हुन्छ, तैँले परमेश्‍वरलाई त्याग्ने इच्छा कहिल्यै गर्नेछैनस्‌, र यदि कुनै दिन परमेश्‍वरले तँलाई त्याग्‍नेछु भनी भन्नुहुन्छ भने, तँ भयभीत हुनेछस्‌, र परमेश्‍वरद्वारा त्यागिइनुभन्दा बरु मरुँला भनी तैँले भन्‍नेछस्‌। यी भावनाहरू तँसँग हुनेबित्तिकै, तैँले परमेश्‍वरलाई त्याग्न असक्षम छस् भन्ने तैँले आभास गर्नेछस्‌, र यसरी, तँसँग एउटा जग हुनेछ, र तैँले साँच्चै परमेश्‍वरको प्रेमको आनन्द मनाउनेछस्‌।

मानिसहरू अक्सर परमेश्‍वरलाई तिनीहरूको आफ्नो जीवन हुन दिने कुरा गर्छन्‌, तर तिनीहरूको अनुभव त्यो बिन्दुसम्म अझै आइपुगेको हुँदैन। परमेश्‍वर नै तेरो जीवन हुनुहुन्छ, उहाँले हरेक दिन तँलाई अगुवाइ गर्नुहुन्छ, हरेक दिन तँ उहाँका वचनहरू खान्छस्‌ र पिउँछस्‌, र तैँले हरेक दिन उहाँसित प्रार्थना गर्छस्‌, त्यसैले उहाँ तेरो जीवन बन्नुभएको छ भनेर मात्रै तँ भनिरहेको छस्। यस्तो भन्नेहरूको ज्ञान अत्यन्तै सतही छ। धेरै मानिसहरूमा कुनै जग छैन; परमेश्‍वरका वचनहरू तिनमा रोपिएका छन्‌, तर ती उम्रिएका छैनन्‌, तिनीहरूले कुनै फल फलाउने कुरा त परै जाओस्‌। आज, तैँले कुन हदसम्म अनुभव गरेको छस्‌? यहाँसम्म आइपुग्नलाई परमेश्‍वरले तँलाई बलजफती गर्नुभएपछि, बल्ल तैँले परमेश्‍वरलाई त्याग्न सक्दैनस्‌ भनी आभास गर्छस्‌। कुनै दिन, जब तेरो अनुभव एउटा निश्चित बिन्दुमा आइपुगेको हुनेछ, तब यदि परमेश्‍वरले तँलाई त्याग्ने बनाउनुभयो भने, तैँले त्यसो गर्न समर्थ हुन्थिनस्‌। तैँले आफूभित्र परमेश्‍वर बिना हुन सक्दैनस्‌ भनी सदैव आभास गर्नेछस्; तँ पति, पत्नी, वा बालबच्चा बिना, परिवार बिना, आमा वा बुवा बिना, पापमय स्वभावका आनन्दहरू बिना हुन सक्छस्‌, तर तँ परमेश्‍वर बिना हुन सक्दैनस्‌। परमेश्‍वर बिना हुनु भनेको तेरो जीवन गुमाउनु जस्तै हुनेथियो; तँ परमेश्‍वर बिना जिउन समर्थ हुने थिइनस्। जब तैँले यस बिन्दुसम्म अनुभव गरेको हुन्छस्‌, तब तैँले परमेश्‍वरमाथि तेरो विश्‍वासको निशानालाई लगाएको हुनेछस्‌, र यसरी परमेश्‍वर तेरो जीवन बन्नुभएको हुनुहुनेछ, उहाँ तेरो अस्तित्वको जग बन्नुभएको हुनुहुनेछ। तैँले फेरि कहिल्यै परमेश्‍वरलाई त्याग्न समर्थ हुनेछैनस्‌। जब तैँले यो हदसम्म अनुभव गरेको हुन्छस्‌‌, तब तैँले साँच्चै परमेश्‍वरको प्रेमको आनन्द मनाएको हुनेछस्‌, र जब परमेश्‍वरसँग तेरो चाहिँदो घनिष्ठ सम्बन्ध हुन्छ, तब उहाँ तेरो जीवन, तेरो प्रेम हुनुहुनेछ र त्यही समयमा तैँले परमेश्‍वरसित प्रार्थना गर्नेछस्‌ र भन्‍नेछस्‌: “हे परमेश्‍वर! म तपाईंलाई छोड्न सक्दिनँ। तपाईं नै मेरो जीवन हुनुहुन्छ। म अरू हरेक कुरा बिना अघि बढ्न सक्छु—तर तपाईं बिना जिएर म अघि बढ्न सक्दिनँ।” यो नै मानिसहरूको साँचो कद हो; यही नै वास्तविक जीवन हो। केही मानिसहरू आज आइपुगेको ठाउँसम्म आइपुग्‍न बाध्य पारिएका हुन्‌: तिनीहरूले चाहे पनि नचाहे पनि तिनीहरू अघि बढ्नुपर्छ, र तिनीहरूले सदैव यस्तो आभास गर्छन्‌ मानौं तिनीहरू दुई ढुङ्गा बीचको तरुल बनेको स्थितिमा छन्‌। तैँले यस्तो अनुभव गर्नुपर्छ कि परमेश्‍वर तेरो जीवन हुनुहुन्छ, यदि परमेश्‍वर तेरो हृदयबाट निकालिनुभयो भने, यो तेरो जीवन गुमाएको जस्तै हुन्थ्यो; परमेश्‍वर तेरो जीवन हुनुपर्छ, र तँ उहाँलाई त्याग्नको लागि असक्षम हुनुपर्छ। यसरी, तैँले परमेश्‍वरलाई वास्तवमा अनुभव गरेको हुनेछस्‌, र यस समयमा, जब तैँले परमेश्‍वरलाई प्रेम गर्छस्‌, तैँले परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेछस्‌, र यो एकल, शुद्ध प्रेम हुनेछ। कुनै दिन, जब तेरा अनुभवहरू यस्ता हुन्छन्‌ कि तेरो जीवन एउटा निश्चित बिन्दुमा आइपुगेको छ, जब तैँले परमेश्‍वरसित प्रार्थना गर्छस्‌, र परमेश्‍वरका वचनहरू खान्छस्‌ र पिउँछस्‌, तब तँ परमेश्‍वरलाई त्याग्न भित्र असमर्थ हुनेछस्‌, न त तैँले चाहेर पनि उहाँलाई बिर्सन समर्थ हुनेछस्‌। परमेश्‍वर तेरो जीवन बन्नुभएको हुनेछ; तैँले संसारलाई बिर्सन सक्छस्‌, तैँले तेरो पत्नी, पति, वा बालबच्चा बिर्सन सक्छस्‌, तर तैँले परमेश्‍वरलाई बिर्सन कठिन हुनेछ—यसो गर्नु असम्भव हुनेछ, यो नै तेरो साँचो जीवन र परमेश्‍वरको निम्ति तेरो साँचो प्रेम हो। जब परमेश्‍वरप्रतिको मानिसहरूको प्रेम एक निश्चित बिन्दुमा आइपुगेको हुन्छ, तब अरू कुनै कुराप्रतिको तिनीहरूको प्रेम परमेश्‍वरप्रतिको तिनीहरूको प्रेमको बराबरी हुँदैन; परमेश्‍वरप्रतिको तिनिहरूको प्रेम पहिला आउँछ। यसरी तैँले अन्य हरेक कुरा त्याग्न समर्थ हुन्छस्‌, र परमेश्‍वरबाटको सबै निराकरण र छिँवल्ने कार्यलाई स्विकार गर्न इच्छुक हुन्छस्‌। जब तैँले अन्य सबै कुराहरूलाई नाघ्‍ने परमेश्‍वरप्रतिको प्रेम हासिल गरेको हुन्छस्‌, तँ वास्तविकतामा र परमेश्‍वरको प्रेममा बाँच्नेछस्‌।

जब मानिसहरूभित्र परमेश्‍वर जीवन बन्नुहुन्छ तब तुरुन्तै मानिसहरू परमेश्‍वरलाई त्याग्न असमर्थ हुन्छन्‌। के यो परमेश्‍वरको काम होइन र? योभन्दा महान्‌ साक्षी अरू केही छैन। परमेश्‍वरले एक निश्चित बिन्दुसम्म काम गर्नुभएको छ; उहाँले मानिसहरूलाई सेवा गर्न, सजाय पाउन वा मर्न भन्नुभएको छ, र मानिसहरू तर्किएका छैनन्‌, जसले देखाउँछ कि तिनीहरू परमेश्‍वरद्वारा जितिएका छन्‌। सत्यता भएका मानिसहरू ती हुन्‌ जो, तिनको वास्तविक अनुभवहरूमा, कहिल्यै पछि नहटी, आफ्नो साक्षीमा दृढ खडा हुन, आफ्नो स्थितिमा दृढ खडा हुन‌, परमेश्‍वरको पक्षमा खडा हुन सक्छन्‌‌, र जसले परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरूसँग सामान्य सम्बन्ध राख्न सक्छन्‌, जो, जब परिस्थितिहरू तिनीहरूमाथि आइलाग्छन्‌, परमेश्‍वरलाई पूर्ण रूपमा आज्ञापालन गर्न समर्थ हुन्छन्‌, र मृत्युसम्मै परमेश्‍वरको आज्ञापालन गर्न सक्छन्‌। वास्तविक जीवनमा तेरा अभ्यास र प्रकाशहरू परमेश्‍वरको साक्षी हुन्‌, ती मानिसको जियाइ र परमेश्‍वरको गवाही हुन्‌, र यो साँच्चै परमेश्‍वरको प्रेमको आनन्द उपभोग गर्नु हो; जब तैँले यस बिन्दुसम्म अनुभव गरेको हुन्छस्‌, तब चाहिने प्रभाव हासिल गरिएको हुनेछ। तँसँग वास्तविक जियाइ छ र तेरो हरेक कार्यलाई अरूहरूद्वारा सराहनासहित हेरिन्छ। तेरो पहिरन र बाहिरी रूप अउल्लेखनीय छन्‌, तर तैँले सर्वोत्कृष्ट पवित्र जीवन जिउँछस्‌, र जब तैँले परमेश्‍वरका वचनहरू बोल्छस्‌, तँ उहाँद्वारा निर्देशित र अन्तर्दृष्टि प्रदान गरिएको हुन्छस्‌। तैँले आफ्ना वचनहरूमार्फत परमेश्‍वरको इच्छा बोल्न, वास्तविकता सञ्चार गर्न समर्थ हुन्छस्‌, र तैँले आत्मामा सेवा गर्नेबारे धेरै कुरा बुझ्छस्‌। तँ तेरो बोलीमा प्रस्ट छस्‌, तँ शिष्ट र सदाचारी, मुकाबिला-नगर्ने र मर्यादाशील छस्‌, आफूमाथि विपत् आइलाग्दा परमेश्‍वरका प्रबन्धहरूको पालन गर्न र आफ्नो साक्षीमा दृढ खडा हुन समर्थ छस्‌, र जेसुकैको सामना गरेको भएतापनि तँ शान्त र सौहार्द छस्‌। यस प्रकारको व्यक्तिले साँच्चै परमेश्‍वरको प्रेम देखेको हुन्छ। केही मानिसहरू अझै पनि जवान छन्, तर तिनीहरूले कुनै अर्ध-बैँसे व्यक्तिले जस्तो व्यवहार गर्छन्‌; तिनीहरू परिपक्‍व, सत्यताले भरिएका, र अरूहरूले सराहना हुन्छन्‌—अनि यी त्यस्ता मानिसहरू हुन्‌ जससँग साक्षी छ र जो परमेश्‍वरको प्रकटीकरण हुन्‌। भन्नुको अर्थ, जब तिनीहरूले एउटा निश्चित बिन्दुसम्‍म अनुभव गरेका हुन्छन्‌, तब भित्र तिनीहरूसँग परमेश्‍वरप्रतिको अन्तर्दृष्टि रहनेछ‌, र तिनीहरूको बाहिरी स्वभाव पनि स्थिर हुनेछ। धेरै मानिसहरूले सत्यतालाई अभ्यास गर्दैनन्‌ र आफ्नो साक्षीमा दृढ खडा हुँदैनन्‌। यस्ता मानिसहरूमा परमेश्‍वरको प्रेम, वा परमेश्‍वरप्रतिको साक्षी हुँदैन, र यी यस्ता मानिसहरू हुन्‌ जो परमेश्‍वरद्वारा घिनाइएका हुन्छन्‌। तिनीहरूले भेलाहरूमा परमेश्‍वरका वचनहरू पढ्छन्‌, तर तिनीहरूले जे जिउँछन्‌ त्यो शैतान हो, र यसले परमेश्‍वरको अनादर गर्ने, परमेश्‍वरको बदख्वाइँ गर्ने, र परमेश्‍वरको निन्दा गर्ने गर्छ। यस्ता मानिसहरूमा परमेश्‍वरको प्रेमको कुनै सङ्केत हुँदैन, र तिनीहरूसँग पवित्र आत्माको काम हुँदै हुँदैन। त्यसैले, मानिसहरूका वचनहरू र कार्यहरूले शैतानको प्रतिनिधित्व गर्छन्‌। यदि तेरो हृदय सदैव परमेश्‍वरको सामुन्ने शान्तिमा छ भने, र तैँले तेरो वरिपरि भएका मानिसहरू र कुराहरूमा, र तेरो वरिपरि के हुँदैछ त्यसमा, सदैव ध्यान दिन्छस्‌ भने, र यदि तँ परमेश्‍वरको बोझप्रति विवेकी हुन्छस्‌ भने, र तँसँग सदैव परमेश्‍वरलाई श्रद्धा गर्ने हृदय छ भने, परमेश्‍वरले अक्सर तँलाई भित्रै अन्तर्दृष्टि दिनुहुनेछ। मण्डलीमा मानिसहरू हुन्छन्‌ जो “निरीक्षकहरू” हुन्‌: तिनीहरू अरूहरूको कमजोरीहरू हेर्न निस्कन्छन्‌ र त्यसपछि तिनैलाई नक्कल र अनुसरण गर्छन्‌। तिनीहरू फरक छुट्याउन असमर्थ हुन्छन्‌, तिनीहरूले पापलाई घृणा गर्दैनन्‌ र शैतानका कुराहरूद्वारा घिनाउँदैनन्‌ वा दिगमिगाउँदैनन्‌‌। यस्ता मानिसहरू शैतानका कुराहरूले भरिएका हुन्छन्‌, र तिनीहरू अन्ततः परमेश्‍वरद्वारा पूर्ण रूपमा त्यागिएका हुनेछन्‌। परमेश्‍वरको सामुन्ने तेरो हृदय सदैव श्रद्धालु हुनुपर्छ, तँ आफ्नो वचनहरू र कार्यहरूमा शिष्ट हुनुपर्छ र कहिल्यै परमेश्‍वरलाई विरोध गर्ने वा रिस उठाउने इच्छा गर्नुहुँदैन। तँमा परमेश्‍वरको कामलाई व्यर्थ बनाउन तँ कहिल्यै इच्छुक हुनुहुँदैन, वा तैँले सहेका सबै कठिनाइहरूलाई र तैँले अभ्यास गरेका सबै कुराहरूलाई बिना अर्थको हुन दिनु हुँदैन। तँ अघि बढ्ने मार्गमा अझ कठोर काम गर्न र परमेश्‍वरलाई प्रेम गर्न इच्छुक हुनुपर्छ। यी यस्ता मानिसहरू हुन् जससँग दर्शन तिनीहरूको जगको रूपमा हुन्छ। यी यस्ता मानिसहरू हुन्‌ जसले प्रगति खोज्छन्‌।

यदि मानिसहरूले परमेश्‍वरलाई श्रद्धा गर्ने हृदयले परमेश्‍वरमा विश्‍वास गर्छन्‌ र परमेश्‍वरका वचनहरूको अनुभव गर्छन्‌ भने, यस्ता मानिसहरूमा परमेश्‍वरको मुक्ति र परमेश्‍वरको प्रेम देख्न सकिन्छ। यी मानिसहरू परमेश्‍वरलाई प्रमाणित गर्नको लागि समर्थ छन्; तिनीहरूले सत्यतालाई अभ्यास गर्छन्‌, र तिनीहरूले जे प्रमाणित गर्छन् त्यो पनि सत्यता, परमेश्‍वर जे हुनुहुन्छ र परमेश्‍वरको स्वभाव जे छ त्यो नै हो। तिनीहरू परमेश्‍वरको प्रेमको माझमा जिउँछन्‌ र तिनीहरूले परमेश्‍वरको प्रेमलाई देखेका छन्‌। यदि मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्ने इच्छा राख्छन्‌ भने, तिनीहरूले परमेश्‍वरको प्रेमिलोपनको स्वाद लिनुपर्छ र परमेश्‍वरको प्रेमिलोपनलाई देख्नुपर्छ; तब मात्र तिनीहरूमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय जगाउन सकिन्छ, एउटा यस्तो हृदय जसले परमेश्‍वरको निम्ति आफैलाई निष्ठा पूर्वक दिनको लागि मानिसहरूलाई प्रेरणा दिन्छ। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको वचनहरू र अभिव्यक्तिहरूमार्फत वा तिनीहरूको कल्पनामार्फत उहाँलाई प्रेम गर्न लगाउनुहुन्न, र उहाँले मानिसहरूलाई उहाँलाई प्रेम गर्न लगाउनको लागि बलजफती गर्नुहुन्न। बरु, उहाँले तिनीहरूलाई तिनीहरूको आफ्नै इच्छाले उहाँलाई प्रेम गर्न दिनुहुन्छ, र उहाँले तिनीहरूलाई उहाँको काम र उच्चारणहरूमा आफ्नो प्रेमिलोपन हेर्न दिनुहुन्छ, जसपछि तिनीहरूमा परमेश्‍वरप्रतिको प्रेम जन्मिन्छ। यसरी मात्र मानिसहरूले साँच्चै परमेश्‍वरको साक्षी दिन सक्छन्‌। अरूहरूद्वारा त्यसो गर्नलाई भनिएकोले गर्दा मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्दैनन्‌, न त यो कुनै क्षणिक भावनात्मक आवेग हो। तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन्‌ किनभने तिनीहरूले उहाँको प्रेमिलोपन देखेका छन्‌ कि मानिसहरूको प्रेमको योग्यको उहाँमा अति धेरै कुराहरू छन्‌, तिनीहरूले परमेश्‍वरको मुक्ति, बुद्धि, र अचम्मका कार्यहरू देखेका हुनाले, र यसको परिणाम स्वरूप, तिनीहरूले परमेश्‍वरलाई साँच्चै प्रशंसा गर्छन्‌ र साँच्चै उहाँको तृष्णा गर्छन्‌, र तिनीहरूमा यस्तो उत्कण्ठा जाग्छ कि परमेश्‍वरलाई प्राप्त नगरी तिनीहरू बाँच्न सक्दैनन्‌। परमेश्‍वरको साँच्चै गवाही दिनेहरूले किन सानदार साक्षी दिन समर्थ हुन्छन्‌ भन्ने कुराको कारण यही हो कि तिनीहरूको साक्षी साँचो ज्ञान र परमेश्‍वरको लागि साँचो तृष्णाको जगमाथि खडा छ। यस्तो साक्षी कुनै भावनात्मक संवेगअनुसार प्रदर्शन गरिएको होइन, तर परमेश्‍वरको ज्ञान र उहाँको स्वभावअनुसार हो। तिनीहरूले परमेश्‍वरलाई चिन्न आएका हुनाले, तिनीहरूले आभास गर्छन्‌ कि तिनीहरूले निश्चय नै परमेश्‍वरको गवाही दिनुपर्छ र परमेश्‍वरको लागि तृष्णा राख्नेहरू सबैलाई नै परमेश्‍वरलाई चिन्न लगाउनुपर्छ, र परमेश्‍वरको प्रेमिलोपन र उहाँको वास्तविकताको बारेमा सचेत हुनुपर्छ‌। परमेश्‍वरको लागि मानिसहरूको प्रेम जस्तै, तिनीहरूको गवाही स्वतःस्फूर्त हुन्छ; यो वास्तविक हुन्छ र यसको वास्तविक महत्त्व र मूल्य हुन्छ। यो निष्क्रिय वा खोक्रो र अर्थहीन छैन। परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरूसँग मात्र आफ्नो जीवनमा सर्व मूल्य र अर्थ हुनुको कारण, तिनीहरूले मात्र परमेश्‍वरमा साँच्चै विश्‍वास गर्ने कारण यही हो कि यी मानिसहरू परमेश्‍वरको ज्योतिमा जिउन समर्थ हुन्छन्‌ र परमेश्‍वरको काम र व्यवस्थापनको लागि जिउन समर्थ हुन्छन्‌। यस्तो किन हुन्छ भने तिनीहरू अन्धकारमा जिउँदैनन्‌, तर ज्योतिमा जिउँछन्‌; तिनीहरूले अर्थहीन जीवन जिउँदैनन्‌, तर परमेश्‍वरद्वारा आशिषित गरिएको जीवन जिउँछन्‌। परमेश्‍वरलाई प्रेम गर्नेहरू मात्र परमेश्‍वरको गवाही दिन समर्थ हुन्छन्‌, तिनीहरू मात्र परमेश्‍वरका साक्षीहरू हुन्‌, तिनीहरूले मात्र परमेश्‍वरद्वारा आशिष पाएका हुन्छन्‌, र तिनीहरूले मात्र परमेश्‍वरका प्रतिज्ञाहरू पाउन समर्थ हुन्छन्‌। परमेश्‍वरलाई प्रेम गर्नेहरू परमेश्‍वरका हितैषीहरू हुन्‌; ती परमेश्‍वरद्वारा प्रेम गरिएका व्यक्तिहरू हुन्‌, र तिनीहरूले परमेश्‍वरसँग सँगै आशिषहरूको आनन्द उपभोग गर्न सक्छन्‌। यस्ता मानिसहरू मात्र अनन्तसम्म जिउनेछन्‌‌, र तिनीहरू मात्र सदाको लागि परमेश्‍वरको स्याहार र सुरक्षा अन्तर्गत जिउनेछन्‌‌। मानिसहरूले प्रेम गरून्‌ भन्ने पक्षमा परमेश्‍वर हुनुहुन्छ, र उहाँ सबै मानिसहरूको प्रेमको योग्य हुनुहुन्छ, तर सबै मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुँदैनन्‌, र सबै मानिसहरू परमेश्‍वरको गवाही दिन सक्दैनन्‌ र परमेश्‍वरसँगै शक्ति कायम राख्न सक्दैनन्‌। तिनीहरूले परमेश्‍वरको साक्षी दिन समर्थ हुने भएकाले र तिनीहरूले परमेश्‍वरको काममा आफ्ना सबै प्रयासहरू लगाएका हुनाले परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू स्वर्गमुनि जुनसुकै ठाउँमा कसैले तिनीहरूलाई विरोध गर्न आँट नगर्ने गरी हिँड्न सक्छन्‌, र तिनीहरूले पृथ्वीमा शक्ति अभ्यास गर्न सक्छन्‌ र परमेश्‍वरका सारा मानिसहरूमाथि शासन गर्न गर्छन्‌। यी मानिसहरू संसारभरिबाट आएका छन्‌। तिनीहरूले विभिन्न भाषा बोल्छन्‌ र तिनीहरूका वर्णहरू फरक-फरक छन्‌, तर तिनीहरूको अस्तित्वको एउटै अर्थ छ; तिनीहरू सबैसँग एउटै हृदय छ जसले परमेश्‍वरलाई प्रेम गर्छ, तिनीहरू सबैले एउटै साक्षी प्रदान गर्छन्‌, र तिनीहरूसँग एउटै सङ्कल्प, र एउटै इच्छा छ। परमेश्‍वरलाई प्रेम गर्नेहरू संसारभरि स्वतन्त्र हिँडडुल गर्न सक्छन्‌, र परमेश्‍वरको साक्षी दिनेहरू ब्रह्माण्डभरि नै यात्रा गर्न सक्छन्‌। यी मानिसहरू परमेश्‍वरद्वारा प्रेम गरिएका हुन्छन्‌, तिनीहरू परमेश्‍वरद्वारा आशिषित गरिएका हुन्छन्‌, र तिनीहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌।

अघिल्लो: विश्‍वासमा, व्यक्तिले वास्तविकतालाई जोड दिनुपर्छ—धार्मिक विधिविधानमा संलग्‍न हुनु विश्‍वास होइन

अर्को: वास्तविकता कसरी थाहा पाउने

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

धेरै सहस्राब्दीदेखि मानिसले मुक्तिदाताको आगमन देख्न सक्‍ने उत्कट इच्छा गरेको छ। हजारौँ वर्षदेखि उहाँको निम्ति उत्कट इच्छा गर्ने र चाह...

देहधारणको रहस्य (३)

जब परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ, उहाँ कुनै निर्माण कार्यमा वा अभियानमा संलग्न हुनका लागि आउनुहुन्न, तर आफ्नो सेवकाइ पूरा गर्न...

अध्याय ४

मेरो अगाडि सेवा गर्ने मेरा सबै मानिसहरूले विगतको विषयमा फेरि सोच्नुपर्छ: के मप्रतिको तिमीहरूको प्रेम अशुद्धताले कलङ्कित थियो? के मप्रति...

विजयको कामको भित्री सत्यता (३)

विजयको कामको अपेक्षित प्रभाव, सबैभन्दा बढी, मानिसको शरीरले अब उसो विद्रोह नगरोस्; अर्थात्, मानिसको दिमागले परमेश्‍वरको बारेमा नयाँ ज्ञान...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्