शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

तिमीहरू परीक्षा र शोधनको बीचमा छौ। शोधनको क्रममा तिमीहरूले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? शोधन अनुभव गरेपछि मानिसहरूले परमेश्‍वरलाई साँचो प्रशंसा चढाउन सक्छन्, र शोधनको बीचमा, तिनीहरूले आफूमा धेरै कुराको कमी छ भन्‍ने कुरा देख्‍न सक्छन्। तेरो शोधन जति धेरै हुन्छ, तैँले त्यति नै बढी देहलाई इन्कार गर्न सक्छस्; मानिसहरूको शोधन जति ठूलो हुन्छ, परमेश्‍वरप्रतिको तिनीहरूको प्रेम त्यति नै महान् हुन्छ। तिमीहरूले बुझ्नुपर्ने कुरा यही हो। मानिसहरू किन शोधनबाट गुज्रनुपर्छ? कस्तो प्रभाव पार्ने यसको लक्ष्य हुन्छ? परमेश्‍वरले मानिसमा गर्नुहुने शोधनको कामको महत्त्व के हो? यदि तँ साँच्चै परमेश्‍वरलाई खोज्छस् भने, केही हदसम्म उहाँको शोधन अनुभव गरेपछि तँलाई त्यो अति नै असल लाग्छ र अत्यन्तै आवश्यक छ भन्‍ने महसुस हुनेछ। शोधनको क्रममा मानिसले कसरी परमेश्‍वरलाई प्रेम गर्नुपर्छ? परमेश्‍वरलाई प्रेम गर्नका लागि उहाँको शोधनलाई स्वीकार गर्ने सङ्कल्प गरेर: शोधनको क्रममा तँलाई आन्तरिक रूपमा यातना दिइन्छ, मानौं तेरो हृदयमा छुरी चलाइएको छ, तैपनि तँ परमेश्‍वरलाई प्रेम गर्ने आफ्नो हृदय प्रयोग गरी उहाँलाई प्रसन्न तुल्याउन चाहन्छस्, र तँ देहको वास्ता गर्न अनिच्छुक हुन्छस्। परमेश्‍वरप्रतिको प्रेमलाई अभ्यास गर्नु भनेको यही हो। तँलाई आन्तरिक रूपमा चोट परेको हुन्छ, र तेरो कष्ट एक निश्चित बिन्दुमा पुगेको हुन्छ, तैपनि तँ अझै परमेश्‍वरसामु आउन र यसरी प्रार्थना गर्न इच्छुक हुन्छस्: “हे परमेश्‍वर! म तपाईंलाई छोड्न सक्दिनँ। मभित्र अन्धकार छ, तैपनि म तपाईंलाई सन्तुष्ट पार्न चाहन्छु; तपाईं मेरो हृदय जान्नुहुन्छ, र तपाईंले आफ्नो प्रेम मभित्र झनै धेरै हालिदिनुहोस् भन्‍ने म चाहन्छु।” यो शोधनको समयको अभ्यास हो। यदि तैँले परमेश्‍वरलाई प्रेम प्रेम गर्ने आफ्नो हृदयलाई आधारको रूपमा प्रयोग गर्छस् भने, शोधनले तँलाई परमेश्‍वरको अझ नजिक ल्याउन सक्छ र तँलाई परमेश्‍वरसँग अझ घनिष्ठ बनाउँछ। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले आफ्नो हृदय परमेश्‍वरलाई सुम्‍पनैपर्छ। यदि तैँले परमेश्‍वरको सामने आफ्‍नो हृदयलाई चढाउँछस् र सुम्पन्छस् भने, शोधनको अवधिमा उहाँलाई अस्वीकार गर्न वा छोड्न असम्भव हुनेछ। यस प्रकारले परमेश्‍वरसँगको तेरो सम्बन्ध अझ नजिक र अझ सामान्य हुँदै जानेछ, र उहाँसँगको तेरो कुराकानी अझ निरन्तर हुनेछ। यदि तँ सधैँ यस प्रकारले अभ्यास गर्छस् भने, तैँले परमेश्‍वरको प्रकाशमा अधिक समय बिताउनेछस् र उहाँको वचनको मार्गदर्शनमा अझ बढी समय बिताउनेछस्। तेरो स्वभावमा झन्-झन् बढी परिवर्तनहरू पनि हुनेछन् र तेरो ज्ञान दिन प्रतिदिन बढ्नेछ। जब परमेश्‍वरको परीक्षा अचानक तँमाथि आइपर्ने दिन आउनेछ, तब तँ परमेश्‍वरको पक्षमा खडा हुन सक्षम मात्र हुनेछैनस्, तर उहाँको गवाही दिन पनि सक्षम हुनेछस्। त्यसबेला तँ अय्यूब र पत्रुसजस्तै हुनेछस्। परमेश्‍वरको गवाही दिएपछि तैँले उहाँलाई साँच्चै प्रेम गर्नेछस्, र खुसीसाथ आफ्‍नो जीवन उहाँलाई समर्पण गर्नेछस्; तँ परमेश्‍वरको साक्षी र प्रिय बन्‍नेछस्। जुन प्रेमले शोधनको अनुभव गरेको हुन्छ त्यो प्रेम बलियो हुन्छ, कमजोर होइन। परमेश्‍वरले तँलाई जहिले वा जसरी उहाँका परीक्षाहरूमा पार्नुभए पनि, तैँले जिउने वा मर्ने चिन्तालाई पन्छाउन सक्षम हुनेछस्, सबै कुरा परमेश्‍वरका लागि खुशीसाथ त्याग्न सक्छस्, र उहाँका लागि खुसीसाथ कुनै पनि कुरा सहन सक्छस्—यसप्रकार तेरो प्रेम शुद्ध हुनेछ र तेरो विश्‍वास वास्तविक हुनेछ। तब मात्र तँ परमेश्‍वरद्वारा साँच्चै प्रेम गरिएको र उहाँद्वारा साँच्चै सिद्ध पारिएको व्यक्ति बन्‍नेछस्।

यदि मानिसहरू शैतानको प्रभावमा परे भने, तिनीहरूभित्र परमेश्‍वरप्रति कुनै प्रेम हुँदैन, र तिनीहरूको पहिलेको दर्शन, प्रेम, र सङ्कल्प हराइसकेको हुन्छ। मानिसहरूले आफूले परमेश्‍वरको लागि कष्ट भोग्नुपर्छ भन्‍ने महसुस गर्थे, तर आज तिनीहरू त्यसो गर्नु लाजमर्दो कुरा हो भन्‍ने ठान्छन्, र तिनीहरूसित गुनासोहरूको कुनै कमी हुँदैन। यो शैतानको काम हो, मानिस शैतानको सत्तामा परेको छ भन्‍ने कुराको चिह्न हो। यदि यस्तो अवस्थाको सामना गरिस् भने, तैँले प्रार्थना गर्नैपर्छ, र सकेसम्म त्यसलाई समाधान गर्नुपर्छ—यसले तँलाई शैतानको आक्रमणबाट रक्षा गर्नेछ। यो तीतो शोधनको समयमा नै मानिस सबैभन्दा सजिलोसँग शैतानको प्रभावमा पर्न सक्छ, त्यसैले त्यस्तो शोधनको अवधिमा तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? तैँले आफ्‍नो हृदय परमेश्‍वरसामु राख्दै र तेरो अन्तिम समय उहाँमा समर्पण गर्दै आफ्‍नो इच्‍छालाई पुकार्नुपर्छ। परमेश्‍वरले तँलाई जसरी शोधन गर्नुभए पनि तैँले परमेश्‍वरको इच्छा पूरा गर्नका लागि सत्यताको अभ्यास गर्न सक्नुपर्दछ र परमेश्‍वरलाई खोज्ने र बातचित गर्ने काम तँ आफैले गर्नुपर्छ। यस्ता समयमा, तँ जति धेरै निष्क्रिय बन्छस्, त्यति नै धेरै नकारात्मक बन्नेछस् र त्यति नै सहजै पछि हट्नेछस्। तैँले राम्ररी काम नगरे पनि जब तैँले आफ्नो काम गर्नुपर्ने हुन्छ, तैँले आफूले गर्न सक्‍नेजति गर्छस्, र परमेश्‍वरलाई प्रेम गर्ने तेरो हृदयबाहेक अरू केही प्रयोग नगरी त्यसो गर्न सक्छस्; अरूले जे भने पनि—तिनीहरूले तैँले राम्रो गरिस् वा नराम्रो गरिस् भनेर भने पनि—तेरा अभिप्रायहरू सही हुन्छन्, र तँ आत्म-धर्मी हुँदैनस्, किनकि तैँले परमेश्‍वरको तर्फबाट काम गरिरहेको हुन्छस्। जब अरूले तँलाई गलत अर्थ लगाउँछन्, तैँले परमेश्‍वरलाई प्रार्थना गर्दै यसो भन्न सक्छस्: “हे परमेश्‍वर! अरूले मलाई सहून् वा राम्रो व्यवहार गरून् भनी म भन्दिनँ, न त तिनीहरूले मलाई बुझून् वा स्वीकार गरून् नै भन्छु। म केवल यति भन्छु, कि मैले आफ्नो हृदयमा तपाईंलाई प्रेम गर्न सकूँ, मैले मेरो हृदयमा आराम पाउन सकूँ, र मेरो अन्तस्करण शुद्ध होस्। म अरूले मेरो प्रशंसा गरून् वा मलाई उच्च सम्मान गरून् भनी भन्दिनँ; म केवल मेरो हृदयदेखि नै तपाईंलाई सन्तुष्ट पार्न चाहन्छु; म आफूले सक्दो गरेर आफ्नो भूमिका निर्वाह गर्छु, र म मूर्ख, अबुझ, कम क्षमताको र अन्धो भए पनि तपाईं प्रेमिलो हुनुहुन्छ भन्‍ने म जान्दछु, र म आफूसँग भएका सबै कुरा तपाईंमा समर्पण गर्न इच्छुक छु।” तैँले यस्तो प्रकारले प्रार्थना गर्नसाथ, परमेश्‍वरलाई प्रेम गर्ने तेरो हृदय प्रेम देखा पर्दछ, र तैँले आफ्नो हृदयमा धेरै ढुक्क महसुस गर्छस्। परमेश्‍वरप्रतिको प्रेमलाई अभ्यास गर्नु भनेको यही हो। तैँले अनुभव गर्ने क्रममा, तँ दुई पटक असफल र एक पटक सफल हुनेछस्, वा पाँच पटक असफल र दुई पटक सफल हुनेछस्, र यसरी अनुभव गर्ने क्रममा तैँले असफलताबीच मात्र परमेश्‍वरको प्रेमिलोपनलाई देख्न सक्‍नेछस् र तँभित्र के कुराको कमी छ सो कुरा पत्ता लगाउन सक्छस्। जब तैँले अर्को पटक त्यस्ता परिस्थितिहरूको सामना गर्छस्, आफैलाई होसियार बनाउनुपर्छ, तेरा पाइलाहरूलाई धीमा बनाउनुपर्छ, र बारम्बार प्रार्थना गर्नुपर्छ। तैँले बिस्तारै यस्तो अवस्थामा विजय पाउने क्षमताको विकास गर्नेछस्। जब त्यस्तो हुन्छ, तेरा प्रार्थनाहरू प्रभावकारी भएका हुन्छन्। जब तँ यस पटक आफूलाई सफल भएको देख्छस्, तँ भित्री रूपमा खुसी हुनेछस्, र जब तैँले प्रार्थना गर्छस् तब परमेश्‍वरलाई महसुस गर्न सक्‍नेछस्, र पवित्र आत्माको उपस्थितिले तँलाई छोड्नुभएको हुनेछैन—तब मात्रै तैँले परमेश्‍वरले कसरी तँभित्र काम गर्नुहुन्छ सो जान्‍नेछस्। यसप्रकारको अभ्यासले तँलाई अनुभवको मार्ग दिनेछ। यदि तैँले सत्यता अभ्यास गरिनस् भने, तब तँभित्र पवित्र आत्माको उपस्थिति हुनेछैन। तर जब तैँले कुनै कुरालाई जस्ताको त्यस्तै सामना गर्दा सत्यता अभ्यास गरिस् भने, त्यसबेला त्यसले तँलाई भित्र चोट पुर्‍याए पनि, पछि पवित्र आत्मा तेरो साथमा हुनुहुनेछ, तैँले प्रार्थना गर्दा परमेश्‍वरको उपस्थितिलाई महसुस गर्न सक्नेछस्, तँसँग परमेश्‍वरका वचनहरू अभ्यास गर्ने शक्ति हुनेछ, र तेरा आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग कुराकानी गर्दा, तेरो विवेकमा कुनै कुराको बोझ हुनेछैन र तैँले शान्ति महसुस गर्नेछस्, र यसरी तैँले आफूले गरेका कामहरूलाई प्रकाशमा ल्याउन सक्नेछस्। अरूले जेसुकै भने पनि, तैँले परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्न सक्नेछस्, तँ अरूको करमा पर्नेछैनस्, सबै कुराभन्दा माथि उठ्नेछस्—र यसमा, तैँले गरेको परमेश्‍वरको वचनको अभ्यास प्रभावकारी भएको छ भनेर प्रदर्शन गर्नेछस्।

परमेश्‍वरले गर्नुहुने शोधन जति ठूलो हुन्छ, मानिसहरूको हृदयले त्यति नै धेरै परमेश्‍वरलाई प्रेम गर्न सक्दछन्। तिनीहरूको हृदयको यातनाले तिनीहरूका जीवनमा फाइदा पुर्‍याउँछ, तिनीहरू परमेश्‍वरसामु शान्त हुन अझ बढी सक्षम हुन्छन्, परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध अझ घनिष्ठ हुन्छ, र तिनीहरू परमेश्‍वरको सर्वोच्च प्रेम र उहाँको सर्वोच्च मुक्ति देख्न अझै सक्षम हुन्छन्। पत्रुसले सयौं पटक शोधनको अनुभव गरे, र अय्यूबले धेरै परीक्षा भोगे। यदि तिमीहरू पनि परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छौ भने, सयौं पटक शोधनबाट गुज्रनुपर्छ; यदि तिमीहरू यो प्रक्रियाबाट गुज्रन्छौ र यस चरणमा भर पर्छौ भने मात्रै परमेश्‍वरको इच्छा पूरा गर्न सक्षम हुनेछौ र परमेश्‍वरद्वारा सिद्ध पारिनेछौ। शोधन त्यो उत्तम माध्यम हो जसद्वारा परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनुहुन्छ; शोधन र तीता परीक्षाहरूले मात्र मानिसहरूको हृदयमा परमेश्‍वरप्रति साँचो प्रेम उत्पन्न गर्न सक्छ। दु:ख-कष्टविना मानिसहरूमा परमेश्‍वरप्रति साँचो प्रेमको कमी हुन्छ; यदि तिनीहरूलाई भित्री रूपमा जाँचिएन भने, यदि तिनीहरू वास्तवमा शोधनबाट गुज्रेनन् भने तिनीहरूका हृदय सधैँ बाहिर-बाहिर भौँतारिरहन्छन्। एक निश्चित बिन्दुसम्म शोधन गरिएपछि तैँले आफ्नै कमजोरी र कठिनाइहरूलाई देख्नेछस्, तँमा कति कमीकमजोरी रहेछन् र तँ आफूले सामना गर्ने धेरै समस्याहरूमाथि विजय हासिल गर्न नसक्ने रहेछस् भनी देख्नेछस्, र तेरो अनाज्ञाकारिता कति ठूलो रहेछ भनी बुझ्नेछस्। परीक्षाहरूको अवधिमा मात्रै मानिसहरूले आफ्नो वास्तविक अवस्था जान्न सक्छन्; परीक्षाहरूले मानिसलाई अझ राम्ररी सिद्ध हुन सक्षम बनाउँछन्।

पत्रुसले आफ्नो जीवनकालमा सयौं पटक शोधनको अनुभव गरे, र धेरै पीडादायी कठिनाइहरू भोगे। यही शोधन परमेश्‍वरप्रति तिनको सर्वोच्च प्रेमको जग र तिनको सम्पूर्ण जीवनको सबैभन्दा महत्त्वपूर्ण अनुभव बन्यो। एक अर्थमा, परमेश्‍वरलाई प्रेम गर्ने तिनको सङ्कल्‍पकै कारण तिनमा उहाँप्रति सर्वोच्च प्रेम थियो; तैपनि अझ महत्त्वपूर्ण कुरा, तिनी जुन शोधन र कष्टबाट गुज्रिए त्यसकै कारण त्यस्तो भएको थियो। त्यो कष्ट नै परमेश्‍वरलाई प्रेम गर्ने मार्गमा तिनको पथप्रदर्शक र सबैभन्दा स्मरणीय कुरा बन्यो। यदि मानिसहरू परमेश्‍वरलाई प्रेम गर्दा शोधनबाट गुज्रँदैनन् भने, तिनीहरूको प्रेम अशुद्धता र आफ्नै प्राथमिकताहरूले भरिएको हुन्छ; यसप्रकारको प्रेम शैतानका विचारहरूले भरिएको हुन्छ, र परमेश्‍वरको इच्छा पूरा गर्न आधारभूत रूपमै असमर्थ हुन्छ। परमेश्‍वरलाई प्रेम गर्ने सङ्कल्प हुनु र उहाँलाई साँच्चै प्रेम गर्नु एउटै कुरा होइन। तिनीहरूले आफ्नो मनमा परमेश्‍वरलाई प्रेम गर्ने र सन्तुष्ट पार्ने कुरा मात्र सोचे पनि, र तिनीहरूका विचारहरू पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित र कुनै मानवीय विचारविहीन देखिए पनि, ती विचारहरू परमेश्‍वरसामु ल्याइएपछि उहाँले त्यस्ता विचारहरूलाई प्रशंसा गर्नुहुन्न वा आशिष्‌ दिनुहुन्न। मानिसहरूले सबै सत्यता राम्ररी बुझेको अवस्थामा समेत—तिनीहरूले ती सबै थाहा पाएको अवस्थामा—त्यसलाई परमेश्‍वरप्रतिको प्रेमको सङ्केत भन्न सकिँदैन, यी मानिसहरूले साँच्चै परमेश्‍वरलाई प्रेम गर्दछन् भन्न सकिँदैन। शोधनबाट नगुज्रिकन मानिसहरूले धेरैवटा सत्यताहरू बुझेका भए पनि, ती सत्यताहरूलाई अभ्यास गर्न सक्दैनन्; शोधनको अवधिमा मात्र मानिसहरूले यी सत्यताहरूको वास्तविक अर्थ बुझ्न सक्दछन्, तब मात्र मानिसहरूले वास्तविक रूपमा त्यसको भित्री अर्थलाई बुझ्‍न सक्छन्। त्यसबेला, जब तिनीहरूले फेरि प्रयास गर्छन्, तिनीहरू सत्यलाई उचित रूपमा र परमेश्‍वरको इच्छाअनुसार अभ्यास गर्न सक्षम हुन्छन्; त्यस समयमा तिनीहरूका मानवीय विचारहरू कम हुन्छन्, तिनीहरूको मानव भ्रष्टता कम भएको हुन्छ, र तिनीहरूका मानवीय भावनाहरू घटेका हुन्छन्; त्यसबेला मात्र तिनीहरूको अभ्यास परमेश्‍वरको प्रेमको वास्तविक अभिव्यक्ति हुन्छ। परमेश्‍वरप्रति प्रेमको सत्यताको प्रभाव मौखिक ज्ञान वा मानसिक तत्परताबाट प्राप्त हुन सक्दैन, न त यो त्यस सत्यतालाई बुझेर मात्र प्राप्त गर्न सकिन्छ। यसका लागि मानिसहरूले मूल्य चुकाउनुपर्छ, तिनीहरू शोधनको अवधिमा धेरै तीतोपनबाट गुज्रिनुपर्छ, अनि तब मात्र तिनीहरूको प्रेम शुद्ध र परमेश्‍वरको हृदयअनुरूप हुनेछ। मानिसले उहाँलाई प्रेम गरोस् भनी उहाँले राख्नुभएको सर्तमा, मानिसले उसको जोश वा आफ्नै इच्छाको प्रयोग गरेर उहाँलाई प्रेम गरोस् भन्‍ने उहाँ चाहनुहुन्न; उहाँको सेवा गर्नको लागि इमानदारीता र सत्यताको प्रयोग गरेर मात्र मानिसले उहाँलाई साँचो प्रेम गर्न सक्दछ। तर मानिस भ्रष्टताको बीचमा जिउँछ, र यसैले मानिस परमेश्‍वरको सेवामा सत्यता र इमानदारीता प्रयोग गर्न असमर्थ छ। ऊ परमेश्‍वरको विषयमा कि त अत्यन्तै जोशिलो कि त अत्यन्तै चिसो र लापरवाह हुन्छ; उसले कि त परमेश्‍वरलाई चरम प्रेम गर्छ कि त चरम घृणा गर्छ। भ्रष्टतामा जिउनेहरू सधैँ यी दुई चरम अवस्थाको बीचमा बाँचिरहेका हुन्छन्, जहिले पनि तिनीहरू आफ्नै इच्छामा जिउँछन्, तापनि तिनीहरूलाई आफू सही छु भन्‍ने लाग्छ। मैले यो कुरा घरीघरी उल्‍लेख गरेको भए पनि, मानिसहरू यसलाई गम्भीरतासाथ लिन असमर्थ छन्, तिनीहरू यसको महत्त्वलाई राम्ररी बुझ्न असमर्थ छन्, र त्यसैले तिनीहरू तिनीहरूको आफ्‍नै इच्‍छामा निर्भर रहने आत्म-छलको विश्‍वासको बीचमा, परमेश्‍वरप्रतिको प्रेमको भ्रममा जिइरहेका हुन्छन्। इतिहासभरि, मानवजातिको विकास हुँदै जाने क्रममा र युगहरू बित्दै जाने क्रममा, मानिसहरूबाट परमेश्‍वरले गर्नुभएका मागहरू झन्-झन् ठूला भएका छन्, अनि उहाँले मानिसहरू उहाँप्रति पूर्ण भक्त होऊन् भनी झन्-झन् बढी माग गर्नुभएको छ। तैपनि परमेश्‍वरप्रतिको मानिसको ज्ञान झन्-झन् अस्पष्ट र अमूर्त भएको छ, र परमेश्‍वरप्रतिको उसको प्रेम झन्-झन् अशुद्ध हुँदै गएको छ। मानिसको अवस्था र उसले गर्ने सबै काम परमेश्‍वरको इच्छा विपरीत हुँदैछ, किनकि मानिस शैतानद्वारा अझ गहन रूपमा भ्रष्ट भएको छ। यसको लागि परमेश्‍वरले धेरै काम, अझ ठूलो मुक्तिको काम गर्नु आवश्यक हुन्छ। मानिस परमेश्‍वरले ऊबाट गर्नुभएको मागमा झन्-झन् कठोर भएको छ र परमेश्‍वरप्रति उसको प्रेम सधैँ घट्दै गइरहेको छ। मानिसहरू सत्यताविहीन भई अनाज्ञाकारीतामा जिउँछन्, मानवताविनाको जीवन जिउँछन्; तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि प्रेम नहुने मात्र होइन, तर तिनीहरू अनाज्ञाकारिता र विरोधले भरिएका छन्। तिनीहरूले आफूमा परमेश्‍वरका निम्ति अत्याधिक प्रेम छ, र तिनीहरू उहाँप्रति अत्यन्तै सहनशील भए भन्‍ने विचार गर्ने भए तापनि, परमेश्‍वरले त्यस्तो विश्‍वास गर्नुहुन्न। उहाँप्रतिको मानिसको प्रेम कति कलङ्कित छ भन्‍ने कुरा उहाँले स्पष्ट जान्नुहुन्छ, र मानिसको उक्साइमा उहाँले आफ्नो धारणा परिवर्तन गर्नुभएको छैन, न त मानिसले भक्ति गरेको परिणामस्वरूप उहाँले उसको सद्भावनाको ऋण नै चुकाउनुभएको छ। परमेश्‍वर मानिसजस्तो हुनुहुन्न, उहाँले भिन्नता छुट्ट्याउन सक्नुहुन्छ: कसले उहाँलाई साँचो प्रेम गर्छ र कसले गर्दैन त्यो उहाँले जान्नुहुन्छ, र मानिसका क्षणिक आवेगहरूको कारण जोशले भरिनु र आफ्‍नो नियन्त्रण गुमाउनुको साटो उहाँले मानिससित उसको सार र आचरणअनुसार व्यवहार गर्नुहुन्छ। परमेश्‍वर आखिर परमेश्‍वर नै हुनुहुन्छ, र उहाँसँग उहाँको मर्यादा र अन्तर्दृष्टि छ; मानिस आखिर मानिस नै हो, र उसको प्रेम सत्यताअनुरूप नहुँदा परमेश्‍वरले आफ्नो मुन्टो फर्काउनुहुन्न। यसको ठीक विपरीत, मानिसले गर्ने सबै उचित कुरामा उहाँले ध्यान दिनुहुन्छ।

परमेश्‍वरले मानिसको अवस्था र उहाँप्रति उसको मनोवृत्ति सामना गरेपछि परमेश्‍वरले नयाँ काम गर्नुभएको छ, जसले मानिसलाई उहाँको ज्ञान प्राप्त गर्ने र उहाँप्रति आज्ञाकारी हुने अनि साथै प्रेम र गवाही दुवै प्राप्त गर्ने तुल्याउँछ। यसैले, परमेश्‍वरले गर्नुहुने मानिसको शोधनको, साथै उहाँको न्यायको, उसलाई निराकरण र काटछाँट गर्ने कार्यको उसले अनुभव गर्नुपर्दछ, जुनविना उसले परमेश्‍वरलाई कहिल्यै चिन्न सक्दैन र कहिल्यै पनि उहाँलाई साँच्चै प्रेम गर्न र उहाँको साक्षी दिन सक्दैन। परमेश्‍वरले मानिसमा गर्नुहुने शोधन एकतर्फी प्रभावका लागि मात्र होइन, तर बहुपक्षीय प्रभावको खातिर हो। परमेश्‍वरले सत्यताको खोजी गर्न इच्छुक व्यक्तिहरूमा उनीहरूको सङ्कल्प र प्रेमलाई सिद्ध बनाउन, यस्तै प्रकारले मात्र शोधन गर्नुहुन्छ। जो सत्यताको खोजी गर्न इच्छुक छन् र जसले परमेश्‍वरको उत्कट चाहना गर्दछन्, उनीहरूका लागि यस्तो शोधनभन्दा धेरै अर्थपूर्ण वा ठूलो सहयोगपूर्ण कुरा अरू कुनै पनि हुँदैन। परमेश्‍वरको स्वभावलाई मानिसले यति सजिलैसँग जान्न वा बुझ्‍न सक्दैन, किनकि परमेश्‍वर आखिर परमेश्‍वर नै हुनुहुन्छ। अन्त्यमा, परमेश्‍वरमा मानिसको जस्तो स्वभाव हुनु असम्भव छ, र त्यसैले मानिसले परमेश्‍वरको स्वभाव जान्न सजिलो छैन। सत्यता मानिसभित्र स्वाभाविक रूपमा हुँदैन र शैतानद्वारा भ्रष्ट पारिएकाहरूले यसलाई सजिलै बुझ्न सक्दैनन्; मानिस सत्यताविहीन छ, र सत्यतालाई व्यवहारमा उतार्ने सङकल्पविहीन छ, र यदि उसले कष्ट भोग्दैन र उसलाई शोधन वा न्याय गरिँदैन भने, उसको सङ्कल्पलाई कहिल्यै पनि सिद्ध तुल्याइँदैन। सबै मानिसहरूका लागि शोधन धेरै पीडादायक हुन्छ, र यसलाई स्वीकार्न धेरै गाह्रो हुन्छ—तर शोधनको बेला नै परमेश्‍वरले मानिसको निम्ति उहाँको धर्मी स्वभाव स्पष्ट पार्नुहुन्छ, र मानिसका लागि आफ्ना मागहरू सार्वजनिक गर्नुहुन्छ र थप अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ र थप वास्तविक काटछाँट र निराकरण गर्नुहुन्छ; तथ्यहरू र सत्यबीच तुलना गरेर उहाँले मानिसलाई उसको आफ्नैबारेमा र सत्यको अझ धेरै ज्ञान दिनुहुन्छ, र उसलाई परमेश्‍वरको इच्छाको अझ बढी बुझाइ दिनुहुन्छ, यसरी मानिसलाई परमेश्‍वरप्रति अझ साँचो र अझ शुद्ध प्रेम गर्ने तुल्याउनुहुन्छ। शोधन कार्यलाई अघि बढाउने परमेश्‍वरका उद्देश्यहरू यिनै हुन्। परमेश्‍वरले मानिसमा गर्नुहुने सबै कामहरूका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्‍वरले अर्थहीन काम गर्नुहुन्न, न त कुनै यस्तो काम गर्नुहुन्छ जसद्वारा मानिसलाई कुनै लाभ हुँदैन। शोधनको अर्थ मानिसहरूलाई परमेश्‍वरको उपस्थितिबाट हटाउनु होइन, न त तिनीहरूलाई नरकमा नाश गर्नु नै हो। बरु, यसको अर्थ शोधनको समयमा मानिसको स्वभाव परिवर्तन गर्नु हो, उसका आशय, पुराना दृष्टिकोण, परमेश्‍वरप्रतिको उसको प्रेम र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नु हो। शोधन मानिसको एक वास्तविक जाँच हो, र एकप्रकारको वास्तविक तालिम हो। शोधनको अवधिमा मात्र उसको प्रेमले यसको अन्तर्निहित कार्य गर्न सक्छ।

अघिल्लो: पत्रुसले येशूलाई कसरी चिने

अर्को: परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्