८. परमेश्‍वरको कामलाई जान्‍ने सम्बन्धी वचनहरू

२८४. परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभयो, र उहाँले उनीहरूलाई पृथ्वीमा राख्नुभयो र उनीहरूलाई त्यस बेलादेखि नै डोर्‍याउनुभएको छ, पछि उहाँले उनीहरूलाई मुक्ति दिनुभयो र मानवजातिका निम्ति पापबलिका रूपमा सेवा गर्नुभयो, र अन्तमा, उहाँले अझै मानवजातिलाई विजय गर्नुपर्छ, मानवलाई पूर्ण रूपमा मुक्ति दिनुपर्छ, र उनीहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गर्नुपर्छ। मानवजातिलाई उनीहरूको मौलिक स्वरूप र प्रतिरूपमा पुनर्स्थापना गर्ने कार्यमा—उहाँ सुरुदेखि अन्त्यसम्म नै संलग्न हुनुहुन्छ। परमेश्‍वरले उहाँको राज्य स्थापना गर्नुहुनेछ र मानवजातिको मौलिक स्वरूप पुनर्स्थापना गर्नुहुनेछ, जसको अर्थ, परमेश्‍वरले पृथ्वीमा र सारा सृष्टि गरिएका प्राणीमाथि उहाँको अधिकार पुनर्स्थापना गर्नुहुनेछ भन्‍ने हुन्छ। शैतानद्वारा भ्रष्ट तुल्याइएपछि मानवजातिले परमेश्‍वरको डर मान्ने उनीहरूको हृदय, साथै सृजित प्राणीहरूमा हुनुपर्ने कार्य गुम्यो, त्यसरी उनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्ने शत्रु भए। त्यसपछि मानवजाति शैतानको सत्तामा जियो र शैतानको चालबाजीको गोटी बन्यो; यसरी, परमेश्‍वरसित आफ्ना सृष्टि गरिएका प्राणीहरूमाझ काम गर्ने कुनै बाटो नै थिएन, र उनीहरूको भय प्राप्त गर्न उहाँ झनै असक्षम हुनुभयो। मानवलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, र उनीहरूले परमेश्‍वरको आराधना गर्नुपर्छ, तर वास्तवमा उनीहरूले उहाँतिर पिठ्यूँ फर्काए र सट्टामा शैतानको आराधना गरे। शैतान नै उनीहरूको हृदयको मूर्ति भयो। यसरी, परमेश्‍वरले उनीहरूको हृदयहरूमा उहाँको स्थान गुमाउनुभयो, भन्‍नुको मतलब, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्यो। यसकारण, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको अभिप्राय पुनर्स्थापना गर्न, उहाँले उनीहरूका मौलिक प्रतिरूप पुनर्स्थापना गर्नुपर्छ र मानवजातिलाई उनीहरूको भ्रष्ट स्वभावहरूबाट मुक्त गर्नुपर्छ। मानवलाई शैतानको हातबाट पुनः फिर्ता ल्याउन, उहाँले उनीहरूलाई पापबाट मुक्ति दिनुपर्छ। यसरी मात्र परमेश्‍वरले क्रमिक रूपले उनीहरूको मौलिक स्वरूप र कार्य पुनर्स्थापना गर्न सक्नुहुन्छ, र अन्तमा, उहाँको राज्य पुनर्स्थापना गर्नुहुन्छ। अन्त्यमा विद्रोहका ती सन्तानहरूको पूर्ण विनाश पनि मानवलाई अझ राम्रोसँग परमेश्‍वरको आराधना गर्न र पृथ्वीमा अझ राम्रोसँग जिउन सक्षम हुन दिनका निम्ति हुनेछ। परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभएको हुनाले, उहाँले उनीहरूलाई उहाँको आराधना गर्न लगाउनुहुनेछ; किनभने उहाँले मानवजातिको मौलिक कार्य पुनर्स्थापना गर्न चाहनुहुन्छ, उहाँले यसलाई पूर्ण रूपमा र विनामिसावट पुनर्स्थापना गर्नुहुनेछ। उहाँको अधिकारको पुनर्स्थापनाको अर्थ मानवजातिलाई उहाँको आराधना गर्न लगाउनु र उहाँको अधीनमा आउन लगाउनु हो भन्‍ने हुन्छ; यसको अर्थ परमेश्‍वरले मानवलाई उहाँको कारणले जिउन लगाउनुहुनेछ र उहाँको अधिकारको परिणामस्वरूप उहाँका शत्रुहरूलाई नष्ट हुन लगाउनुहुनेछ भन्‍ने हुन्छ। यसको अर्थ परमेश्‍वरले कुनै मानवबाट विनाप्रतिरोध मानव माझ उहाँ बारेको सबै थोकलाई निरन्तर रहन लगाउनुहुनेछ भन्ने हुन्छ। परमेश्‍वरले स्थापना गर्ने इच्छा गर्नुभएको राज्य उहाँको आफ्नै राज्य हो। उहाँले चाहनुभएको मानवजाति चाहिँ उहाँको आराधना गर्ने, उहाँप्रति पूर्ण रूपमा समर्पित हुने र उहाँको महिमा भएको मानवजाति हो। यदि परमेश्‍वरले नै भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्न भने, मानवजातिलाई सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्नेछ; मानव माझ उहाँको अझै कुनै अधिकार रहनेछैन र पृथ्वीमा उहाँको राज्य अस्तित्वमा रहन सक्नेछैन। यदि परमेश्‍वरले उहाँविरुद्ध विद्रोह गर्ने ती शत्रुहरूलाई नष्ट गर्नुभएन भने, उहाँ उहाँको पूर्ण महिमा हासिल गर्न असक्षम हुनुहुनेछ, न त पृथ्वीमा उहाँको राज्य स्थापना गर्न नै सक्षम हुनुहुनेछ। उहाँको कामको र उहाँको महान्‌ उपलब्धिका पूर्णताका चिन्हहरू यी हुनेछन्: उहाँविरुद्ध विद्रोही ती मानवजाति माझका उनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नु र पूर्ण बनाइएकाहरूलाई विश्राममा ल्याउनु। जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्‍वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्‍वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ। उहाँले पृथ्वीमाथि अनन्त विजय हासिल गर्नुभएको हुनेछ र उहाँको विरोध गर्नेहरू सबै अनन्तताको निम्ति नष्ट हुनेछन्। यसले मानवजातिलाई सृष्टि गर्ने उहाँको मौलिक अभिप्राय पुनर्स्थापना गर्नेछ; यसले सबै थोक सृष्टि गर्ने उहाँको अभिप्राय पुनर्स्थापना गर्नेछ, यसले सबै थोक माझ र उहाँको शत्रुहरूमाझ पृथ्वीमा उहाँको अधिकार पनि पुनर्स्थापना गर्नेछ। यो उहाँको पूर्ण विजयको सङ्केतहरू हुनेछन्। त्यस पश्चात्, मानवजाति विश्राममा प्रवेश गर्नेछ र सही मार्गमा हुने जीवन सुरुवात गर्नेछ। परमेश्‍वर पनि मानवजातिसँगै अनन्त विश्राममा प्रवेश गर्नुहुनेछ अनि उहाँ आफै र मानव दुवैले साझेदारी गर्ने अनन्त जीवनको प्रारम्भ गर्नुहुनेछ। पृथ्वीमा अशुद्धता र विद्रोहीपन हराइसकेको हुनेछ, सबै क्रन्दनहरू दूर भइसकेको हुनेछन्, र परमेश्‍वरको विरोध गर्ने यस संसारको सबै थोकको अस्तित्व नै मेटिसकेको हुनेछ। परमेश्‍वर र उहाँले मुक्ति दिनुभएका मानिसहरू मात्र रहनेछन्; उहाँको सृष्टि मात्र रहनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्

२८५. मेरो सम्पूर्ण व्यवस्थापनको योजना, छ-हजार-वर्षे व्यवस्थापन योजनामा तीन चरण वा तीन युग समावेश छन्: सुरुवातको व्यवस्थाको युग; अनुग्रहको युग (जुन छुटकाराको युग पनि हो); र आखिरी दिनहरूको राज्यको युग। यी तीन युगमा मेरो काम हरेक युगअनुसार विषयवस्तुमा भिन्‍न छ, तर प्रत्येक चरणमा यो काम मानिसका आवश्यकताहरूअनुसार गरिन्छ—वा अझै सटिक रूपमा भन्दा, मैले शैतानविरुद्ध छेडेको युद्धमा शैतानले चाल्ने युक्तिहरूअनुसार यो गरिन्छ। उद्देश्य भनेको शैतानलाई पराजित गर्नु, मेरो बुद्धि र सर्वशक्तिमान्‌ता प्रकट गर्नु, शैतानका सबै युक्ति खुलासा गर्नु र त्यसमार्फत शैतानको शक्तिअन्तर्गत जिउने सम्पूर्ण मानवजातिलाई मुक्ति दिनु हो। यो मेरो बुद्धि र सर्वशक्तिमान्‌ता प्रकट गर्न, र शैतानको असहनीय कुरूपतामाथि प्रकाश पार्नका लागि हो; अनि त्योभन्दा पनि अझै बढी, यो सृजित प्राणीहरूलाई असल र दुष्टबीचको भेद छुट्ट्याउने, म नै यावत् थोकको सार्वभौम हुँ भनी जान्ने, शैतान मानवजातिको शत्रु हो, पतित, दुष्ट हो भनी स्पष्टसित देख्ने तुल्याउनका लागि हो, र तिनीहरूलाई पूर्ण स्पष्टताका साथ असल र दुष्ट, सत्यता र भ्रम, पवित्रता र फोहोर, अनि महान् र नीचका बीचमा भिन्‍नता छुट्याउन सक्षम तुल्याउनका लागि हो। यो मानवजातिलाई भ्रष्ट तुल्याउने म नभएको, र मानवजातिलाई मुक्ति दिने र मानिसहरूलाई तिनीहरूले आनन्द लिन सक्ने कुराहरू प्रदान गर्ने म—सृष्टिकर्ता—मात्रै भएको भनी मेरो गवाही दिन अज्ञानी मानवजातिलाई सक्षम तुल्याउनका लागि हो; यो तिनीहरूलाई म नै यावत् थोकको सार्वभौम भएको र शैतान मैले सृष्टि गरेको र पछि मलाई धोका दिने एउटा प्राणी मात्र भएको भनी थाहा दिनका लागि हो। मेरो छ-हजार-वर्षे व्यवस्थापनको योजनालाई तीन चरणमा विभाजन गरिएको छ, र सृजित प्राणीहरूलाई मेरो गवाही दिन, मेरा अभिप्रायहरू बुझ्न, र म नै सत्यता भएको भनी जान्न सक्षम तुल्याउने परिणाम हासिल गर्न म यसरी काम गर्छु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। छुटकाराको युगको कामको वास्तविक कथा

२८६. परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू सबै मानवजातिको मुक्तिको लागि हो, भन्नुको तात्पर्य, ती शैतानले गम्भीर रूपमा भ्रष्ट पारेका मानवजातिको मुक्तिको लागि हो। तर परमेश्‍वरले शैतानविरुद्ध लडाइँ गर्न सक्नुभएको होस् भनेर ती अस्तित्वमा छन्। तसर्थ, जसरी मुक्तिको काम तीन चरणमा विभाजित हुन्छ, त्यसरी नै शैतानसँगको लडाइँ पनि तीन चरणमा विभाजित हुन्छ र परमेश्‍वरको कामका यी दुई पक्षहरू एकैसाथ सञ्चालन हुन्छन्। शैतानसँगको लडाइँ वास्तवमा मानवजातिको मुक्तिको लागि हो र मानवजातिको मुक्तिको काम सफलतापूर्वक एकै चरणमा पूरा गर्नसकिने कुरा होइन। शैतानसँगको लडाइँ पनि चरणहरू र कालहरूमा विभाजित गरिएको छ र शैतान विरुद्धको लडाइँ मानिसको आवश्यकता र शैतानले उसलाई कति हदसम्म भ्रष्ट बनाएको छ भन्‍ने कुराअनुसार छेडिन्छ। सायद, जसरी दुई सेनाले एकअर्कोसँग लड्छ त्यसरी यो लडाइँमा परमेश्‍वरले शैतानविरुद्ध हतियार उठाउनुहुनेछ भनी मानिसले आफ्नो कल्पनामा विश्‍वास गर्छ। मानिसको बुद्धिले कल्पना गर्न सक्ने यही मात्रै हो; यो एक अत्यन्त अस्पष्ट र अवास्तविक विचार हो, तापनि मानिसले यसैमा विश्‍वास गर्दछ। अनि मैले यहाँ मानिसको मुक्ति शैतानसँगको लडाइँको माध्यमद्वारा हुन्छ भनेकोले मानिसले लडाइँ यसरी नै सञ्चालन हुन्छ भनी कल्पना गर्छ। मानिसको मुक्तिको कार्यका तीन चरण छन्, भन्नुको अर्थ शैतानलाई एकै पटकमा सधैँका निम्ति पराजित गर्न त्योसितको लडाइँ तीनवटा चरणमा बाँडिएको छ। तापनि शैतानसँगको लडाइँको सम्पूर्ण कार्यको भित्री सत्यता के हो भने, यसका प्रभावहरू कामका धेरै चरणहरूद्वारा हासिल गरिन्छ: मानिसलाई अनुग्रह प्रदान गर्नु, मानिसको पापबलि हुनु, मानिसका पापहरू क्षमा गर्नु, मानिसलाई जित्नु र मानिसलाई सिद्ध बनाउनु। वास्तवमा, शैतानसँग लडाइँ गर्नु भनेको शैतानविरुद्ध हतियार उठाउनु होइन बरु मानिसलाई मुक्ति दिएर, मानिसको जीवनमा काम गरेर, मानिसको स्वभावलाई परिवर्तन गरेर, अनि शैतानलाई परास्त गरेर परमेश्‍वरलाई गवाही दिनु हो। शैतानको पराजय यसरी नै हुन्छ। मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गरेर शैतानलाई हराइन्छ। जब शैतान पराजित भएको हुन्छ, अर्थात् जब मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुन्छ, तब अपमानित भएको शैतान पूर्ण रूपमा बन्धनमा हुनेछ र यसप्रकार, मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुनेछ। यसैले, मानिसको मुक्तिको सार भनेको शैतानविरुद्धको लडाइँ हो र त्यो लडाइँ मुख्य रूपले मानिसको मुक्तिमा झल्किन्छ। आखिरी दिनहरूको चरण, जसमा मानिस जितिनुपर्छ, यो शैतानसितको लडाइँको अन्तिम चरण हो, र यो, शैतानको सत्ताबाट मानिसलाई पूर्ण मुक्त गर्ने काम पनि हो। मानिसको विजयको भित्री अर्थ शैतानको मूर्तरूपलाई—मानिस जसलाई शैतानले भ्रष्ट पारेको छ—उसको विजयपछि सृष्टिकर्ताकहाँ फर्काएर ल्याउनु हो, जसद्वारा उसले शैतानविरुद्ध विद्रोह गर्नेछ र पूर्ण रूपमा परमेश्‍वरमा फर्कन्छ। यस तरिकाले, मानिस पूर्ण रूपमा बचाइएको हुनेछ। र यसैले, विजयको काम शैतानविरुद्ध लडाइँको अन्तिम कार्य हो र शैतानको पराजयको खातिर परमेश्‍वरको प्रबन्धको अन्तिम चरण हो। यो कामविना मानिसको पूर्ण मुक्ति अन्ततः असम्भव नै हुनेथियो, शैतानको पूर्ण पराजय पनि असम्भव हुनेथियो र मानिसजाति कहिल्यै पनि सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्षम हुने थिएन वा शैतानको प्रभावबाट स्वतन्त्र हुन सक्नेथिएन। फलस्वरूप, मानिसको मुक्तिको काम शैतानसँगको लडाइँको अन्त्य हुनुभन्दा अघि समाप्त हुन सक्दैन, किनकि परमेश्‍वरको व्यवस्थापन कार्यको मुख्य भाग मानवजातिको मुक्तिको लागि हो। सबैभन्दा सुरुमा मानवजाति परमेश्‍वरको हातमा थियो, तर शैतानको प्रलोभन र भ्रष्टताका कारण, मानिस शैतानद्वारा बाँधियो र दुष्टको हातमा पऱ्यो। यसरी, शैतान परमेश्‍वरको व्यवस्थापनको कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वशमा पारेकाले र मानिस परमेश्‍वरका सबै व्यवस्थापनमा पूँजी भएकाले, यदि मानिसलाई मुक्ति दिइनु छ भने, उसलाई शैतानको हातबाट फिर्ता लिनैपर्छ, अर्थात् शैतानले कैदमा पारेको मानिसलाई फिर्ता लिनैपर्छ। यसरी, मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर अनि मानिसको सुरुको समझलाई पुनर्स्थापित गरेर शैतानलाई पराजित गर्नैपर्छ। यसरी कैद गरिएको मानिसलाई शैतानको हातबाट फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने, शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिसलाई शैतानको अँध्यारो प्रभावबाट स्वतन्त्र गरिएकाले, मानिस यो पूरै लडाइँको प्रतिफल बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिइनुपर्ने पात्र बन्छ, त्यसपछि मानवजातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

२८७. परमेश्‍वर सुरु र अन्त्य हुनुहुन्छ; उहाँको कामलाई गति दिने उहाँ स्वयम् नै हुनुहुन्छ, त्यसैले पहिलेको युगको अन्त्य गर्ने पनि स्वयम् उहाँ नै हुनुपर्दछ। त्यो उहाँले शैतानलाई हराउनुभएको र संसारमाथिको उहाँको विजयको प्रमाण हो। प्रत्येकचोटि उहाँ स्वयम्ले मानिसमाझ काम गर्नुहुँदा, त्यो एक नयाँ लडाइँको सुरुवात हो। नयाँ कामको सुरुवातविना, स्वाभाविक रूपमै पुरानोको अन्त्य हुनेथिएन। र जब पुरानोको अन्त्य भएको हुँदैन, तब त्यो शैतानसँगको लडाइँ अझै समाप्त हुन बाँकी छ भन्‍ने कुराको प्रमाण हो। यदि परमेश्‍वर स्वयम् आउनुहुन्छ, र मानिस बीचमा नयाँ काम गर्नुहुन्छ भने मात्र, मानिस शैतानको शक्तिबाट पूर्णतः उम्कन सक्छ र उसले नयाँ जीवन र नयाँ सुरुवात प्राप्त गर्न सक्छ। अन्यथा, मानिस सदासर्वदा पुरानो युगमा जिउनेछ र सधैँका लागि शैतानको पुरानो प्रभावमा जिउनेछ। परमेश्‍वरले अगुवाइ गर्नुभएको हरेक युगमा, मानिसको एक अंश स्वतन्त्र हुन्छ, र यसरी मानिस परमेश्‍वरको कामसहित नयाँ युगतर्फ अगि बढ्छ। परमेश्‍वरको विजय हुनुको अर्थ उहाँलाई पछ्याउने सबैको विजय हो। यदि सृष्टि गरिएको मानव जातिलाई युगको अन्त्य गर्ने जिम्मेवारी दिइयो भने त्यो मानिस वा शैतानको दृष्टिकोणबाट हुन्छ, र त्यो परमेश्‍वरको विरोध गर्नु वा उहाँलाई धोका दिनुभन्दा कम हुँदैन, त्यो परमेश्‍वरमा समर्पित हुने कार्य हुँदैन, र मानिसले गर्ने काम शैतानको हतियार बन्दछ। यदि मानिस परमेश्‍वर आफैले सुरु गर्नुभएको युगमा परमेश्‍वरमा समर्पित हुन्छ भने मात्र शैतानलाई पूर्ण रूपले विश्‍वस्त तुल्याउन सकिन्छ, किनकि सृष्टि गरिएको प्राणीको कर्तव्य त्यही नै हो। त्यसकारण म भन्छु, कि तिमीहरूले केवल उहाँलाई पछ्याउनु र तिमीहरू उहाँमा समर्पित हुनुपर्छ, त्योभन्दा बढी तिमीहरूले गर्नुपर्दैन। प्रत्येकले आफ्नो कर्तव्य पालन गर्नु र प्रत्येकले आ-आफ्नो काम गर्नु भनेको यही नै हो। परमेश्‍वरले आफ्‍नै काम गर्नुहुन्छ र उहाँको खातिर मानिसले यो गरिदिनु आवश्यक छैन, न त उहाँ सृष्टि गरिएका प्राणीहरूको काममा नै सहभागी बन्‍नुहुन्छ। मानिसले आफ्‍नै कर्तव्य पूरा गर्छ र ऊ परमेश्‍वरको काममा सहभागी हुँदैन। यो मात्र समर्पणता र शैतानको हारको प्रमाण हो। परमेश्‍वर आफैले नयाँ युग सुरु गर्ने काम समाप्त गर्नुभएपछि मानव जातिको बीचमा काम गर्न फेरि उहाँ आफै आउनुहुन्न। तब मात्र मानिसले आफ्नो काम गर्न र सृष्टि गरिएको एक प्राणीको रूपमा उसको काम पूरा गर्न आधिकारिक रूपमा नयाँ युगमा पाइला टेक्छ। यी नै ती सिद्धान्तहरू हुन् जसद्वारा परमेश्‍वरले काम गर्नुहुन्छ, जसलाई कसैले उल्लङ्घन गर्न सक्दैन। यस तरिकाले कार्य गर्नु मात्र समझदारी र व्यावहारिक हुन्छ। परमेश्‍वरको काम परमेश्‍वर आफैले गर्नुहुन्छ। उहाँको कामलाई गति दिने उहाँ नै हुनुहुन्छ, र उहाँको काम समाप्त गर्ने उहाँ नै हुनुहुन्छ। कामको योजना बनाउने, र त्यसलाई व्यवस्थापन गर्ने उहाँ नै हुनुहुन्छ, र अझ बढी, कामलाई फलदायी बनाउने उहाँ नै हुनुहुन्छ। बाइबलमा भनिएझैँ, “आदि र अन्त्य म नै हुँ; बीउ छर्ने र कटनी गर्ने म नै हुँ।” परमेश्‍वरको व्यवस्थापनसँग सम्बन्धित यो सबै काम उहाँ आफैले गर्नुहुन्छ। उहाँ छ हजार वर्षे व्यवस्थापन योजनाका सार्वभौम हुनुहुन्छ; उहाँको सट्टा कसैले पनि उहाँको काम गर्न सक्दैन र कसैले पनि उहाँको कामलाई समाप्तिमा ल्याउन सक्दैन, किनकि सबै थोक आफ्नो हातमा राख्नुहुने उहाँ नै हुनुहुन्छ। संसार सृष्टि गर्नुभएकाले, उहाँ सारा संसारलाई उहाँको ज्योतिमा जिउनका निम्ति डोऱ्याउनुहुनेछ, र उहाँले निश्चय नै सम्‍पूर्ण युगलाई पनि समाप्त गर्नुहुनेछ, यसरी आफ्नो सम्पूर्ण योजनालाई फलदायी बनाउनुहुनेछ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

२८८. परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको काम उहाँ आफैले व्यक्तिगत रूपमा गर्नुहुन्छ। पहिलो चरण—संसारको सृष्टि—परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा गर्नुभएको थियो र यदि त्यस्तो नभएको भए कसैले पनि मानवजातिलाई सृष्टि गर्न सक्नेथिएन; दोस्रो चरण सम्पूर्ण मानवजातिको उद्धार गर्नु थियो र यो पनि परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा आफै गर्नुभयो; तेस्रो चरणबारे केही भनिरहनुपर्दैन: परमेश्‍वरका सबै कामहरूको अन्त्य पनि परमेश्‍वर स्वयम्‌द्वारै गरिनु अझ बढी जरुरी छ। सम्पूर्ण मानवजातिलाई उद्धार गर्ने, जित्ने, प्राप्त गर्ने र सिद्ध बनाउने काम व्यक्तिगत रूपमा परमेश्‍वर स्वयम्‌ले गर्नुहुन्छ। यदि उहाँले व्यक्तिगत रूपमा यो काम गर्नुभएन भने, मानिसद्वारा उहाँको पहिचानको प्रतिनिधित्व हुन सक्दैन, न त मानिसद्वारा उहाँको काम गरिन नै सक्छ। शैतानलाई हराउन, मानवजातिलाई प्राप्त गर्न र पृथ्वीमा मानिसलाई सामान्य जीवन दिनका लागि उहाँले मानिसलाई व्यक्तिगत रूपमा डोऱ्याउनुहुन्छ र मानिसहरूको माझमा व्यक्तिगत रूपले काम गर्नुहुन्छ; उहाँको सम्पूर्ण व्यवस्थापन योजनाको खातिर र आफ्ना सबै कामका लागि उहाँले यो काम व्यक्तिगत रूपमा गर्नुपर्छ। यदि मानिसले परमेश्‍वरलाई देखोस् भनी उहाँ आउनुभएको हो, मानिसलाई खुसी पार्न आउनुभएको हो भनी उसले विश्‍वास गर्छ भने, त्यस्तो विश्‍वासको कुनै मूल्य हुँदैन, कुनै महत्त्व हुँदैन। मानिसको बुझाइ अति सतही छ! यो काम परमेश्‍वर आफैले गर्नुभयो भने मात्र उहाँले त्यसलाई पूरै र सम्पूर्ण रूपमा गर्न सक्नुहुन्छ। यदि मानिसले यो काम गर्ने हो भने, ऊ परमेश्‍वरको स्थान लिन असमर्थ हुनेछ। उसँग परमेश्‍वरको पहिचान वा वास्तविक गुण नभएकोले, ऊ परमेश्‍वरको काम गर्न असक्षम छ र यदि मानिसले यो काम गऱ्यो भने पनि त्यसको कुनै असर हुँदैन। परमेश्‍वर पहिलो पटक सारा मानवजातिलाई छुटकारा दिन, पापबाट छुटकारा दिन, मानिसलाई शुद्ध हुने र उसका पापहरूको क्षमा पाउने योग्यको बनाउन देह बन्नुभयो। विजयको काम पनि परमेश्‍वरले मानिसहरूको बीचमा व्यक्तिगत रूपमै गर्नुभयो। यदि यस चरणको अवधिमा, परमेश्‍वरले अगमवाणी मात्रै बोल्नुहुन्थ्यो भने, एकजना अगमवक्ता वा कुनै वरदान पाएको व्यक्तिलाई पाउन सकिन्थ्यो जसले उहाँको स्थान लिन सक्थ्यो; यदि केवल अगमवाणी मात्र बोलिएको हुन्थ्यो भने, मानिस परमेश्‍वरका लागि खडा हुन सक्थ्यो। तापनि यदि मानिस आफैले व्यक्तिगत रूपले परमेश्‍वरको काम गर्ने कोसिस गरेको भए र मानिसको जीवनको लागि काम गर्ने कोसिस गरेको भए, उसले यो काम गर्न असम्भव हुनेथियो। यो काम परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपले गर्नुपर्छ: यो काम गर्न परमेश्‍वर व्यक्तिगत रूपमा देह बन्नुपर्छ। वचनको युगमा, यदि अगमवाणी मात्र बोलिएको भए, यो काम यशैया वा एलिया अगमवक्ताले गर्न सक्थे र परमेश्‍वर आफैले यो काम गर्नुपर्ने आवश्यकता हुँदैनथ्यो। यस चरणमा गरिएको काम अगमवाणी बोल्नु मात्र नभएकोले र मानिसलाई जित्न र शैतानलाई हराउन वचनहरूको काम प्रयोग गर्नु महत्त्वपूर्ण भएकोले, यो काम मानिसले गर्न सक्दैन र यसलाई परमेश्‍वरले नै व्यक्तिगत रूपमा गर्नुपर्छ। व्यवस्थाको युगमा यहोवाले आफ्नो कामको एक भाग गर्नुभयो, त्यसपछि उहाँले केही वचनहरू बोल्नुभयो र अगमवक्ताहरूद्वारा केही काम गर्नुभयो। किनभने मानिसले यहोवाको काममा उहाँको स्थान लिनसक्छ र दर्शीहरूले हुन आउने कुराहरू भन्न सक्छ र उहाँको तर्फबाट केही सपनाहरूको अर्थ पनि खोल्न सक्छ। सुरुमा गरिएको काम मानिसको स्वभावलाई सीधै परिवर्तन गर्नका निम्ति थिएन र मानिसको पापसँग सम्बन्धित थिएन र मानिसले केवल व्यवस्थाको पालन गर्नु आवश्यक थियो। यसैले यहोवा मानिस बन्नुभएन र उहाँले आफूलाई प्रकट गर्नुभएन; यसको सट्टामा उहाँ सीधै मोशा र अरूसँग बोल्नुभयो, तिनीहरूलाई उहाँको पक्षमा बोल्न र काम गर्न लाउनुभयो र तिनीहरूलाई प्रत्यक्ष रूपमा मानवजातिको बीचमा काम गर्न लगाउनुभयो। परमेश्‍वरको कामको पहिलो चरण मानवजातिको नेतृत्व थियो। त्यो शैतानविरुद्धको युद्धको सुरुवात थियो, तर यो युद्ध आधिकारिक रूपमा सुरु हुनु बाँकी नै थियो। शैतानविरुद्धको आधिकारिक युद्ध परमेश्‍वरको पहिलो देहधारणबाट सुरु भयो र यो आजको दिनसम्म जारी रहेको छ। यस युद्धको पहिलो लडाइँ देहधारी परमेश्‍वर क्रूसमा टाँगिनुभएको बेला भएको थियो। देहधारी परमेश्‍वरको क्रूसीकरणले शैतानलाई हरायो, र यो युद्धको पहिलो सफल चरण थियो। जब देहधारी परमेश्‍वरले प्रत्यक्ष रूपमा मानिसको जीवनमा काम गर्न थाल्नुभयो, यो मानिसलाई पुन: प्राप्ति गर्ने कामको आधिकारिक सुरुवात थियो र यो मानिसको पुरानो स्वभाव परिवर्तन गर्ने काम भएकोले यो शैतानसित युद्ध गर्ने काम थियो। सुरुमा यहोवाले गर्नुभएको कामको चरण केवल पृथ्वीमा मानिसको जीवनलाई नेतृत्व गर्नु थियो। यो परमेश्‍वरको कामको सुरुवात थियो र यसमा कुनै युद्ध वा कुनै ठूलो काम सामेल नभएको भए पनि त्यसले आउनेवाला युद्धको जग बसाल्यो। पछि, अनुग्रहको युगको अवधिको कामको दोस्रो चरणमा मानिसको पुरानो स्वभाव परिवर्तन गर्ने कार्य सामेल थियो, जसको अर्थ यो हो कि मानव जीवन परमेश्‍वर आफैले बनाउनुभएको हो। यो काम परमेश्‍वरले व्यक्तिगत रूपमा गर्नुपर्थ्यो: यसका लागि परमेश्‍वर व्यक्तिगत रूपमा देह बन्नु आवश्यक थियो। यदि उहाँ मानिस बन्नुभएको थिएन भने, यस चरणको काममा अरू कसैले पनि उहाँको स्थान लिन सक्दैनथियो, किनकि त्यसले शैतानविरुद्ध प्रत्यक्ष लड्ने कामको प्रतिनिधित्व गर्थ्यो। यदि मानिसले परमेश्‍वरको तर्फबाट यो काम गरेको भए, जब मानिस शैतानको सामु उभिन्थ्यो तब शैतान झुक्नेथिएन र त्यसलाई हराउन असम्भव हुनेथियो। त्यसलाई पराजित गर्ने देहधारी परमेश्‍वर नै हुनुपर्थ्यो, किनकि देहधारी परमेश्‍वरको सार अझै पनि परमेश्‍वर नै हुन्छ, उहाँ अझै पनि मानिसको जीवन हुनुहुन्छ र उहाँ अझै पनि सृष्टिकर्ता हुनुहुन्छ; जे हुन्छ, उहाँको पहिचान र वास्तविक गुण परिवर्तन हुनेछैन। यसैले उहाँले देहधारण गर्नुभयो र शैतानलाई पूर्ण समर्पित गराउन काम गर्नुभयो। आखिरी दिनहरूको कामको अवधिमा यदि मानिसले यो काम गर्नुपर्थ्यो भने र सीधै वचनहरू बोल्न लगाइएको थियो भने, ऊ ती बोल्न असमर्थ हुनेथियो र यदि अगमवाणीहरू बोलिएका भए, त्यो अगमवाणीले मानिसलाई जित्न सक्दैनथियो। देहधारण गरेर परमेश्‍वर शैतानलाई हराउन र त्यसलाई पूर्ण रूपले झुक्ने तुल्याउन आउनुहुन्छ। जब उहाँले शैतानलाई पूर्ण रूपमा पराजित गर्नुहुन्छ, मानिसलाई पूर्ण रूपमा विजय गर्नुहुन्छ र पूर्ण रूपमा प्राप्त गर्नुहुन्छ, तब यो चरणको काम पूरा हुनेछ र सफलता हासिल गरिनेछ। परमेश्‍वरको व्यवस्थापनमा मानिस उहाँको लागि खडा हुन सक्दैन। विशेष गरी, युगको नेतृत्व गर्ने र नयाँ काम सुरु गर्ने कार्य परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा गर्नु झन् ठूलो आवश्यकता हुन्छ। मानिसलाई प्रकाश दिने र उसलाई अगमवाणी प्रदान गर्ने काम मानिसले गर्न सक्छ, तर यदि यो काम परमेश्‍वरले व्यक्तिगत रूपमा गर्नुपर्छ, परमेश्‍वर स्वयम् र शैतानबीचको युद्धको काम हो भने, यो काम मानिसले गर्न सक्दैन। कामको पहिलो चरणको अवधिमा जब शैतानसित कुनै युद्ध भइरहेको थिएन, तब यहोवाले अगमवक्ताहरूद्वारा बोलिएका अगमवाणी प्रयोग गर्दै इस्राएललाई व्यक्तिगत रूपमा डोऱ्याउनुभयो। पछि, दोस्रो चरणको काम शैतानसितको युद्ध थियो र परमेश्‍वर स्वयम्‌ व्यक्तिगत रूपमा देह बन्नुभयो र यो काम गर्न देहमा आउनुभयो। शैतानविरुद्धको युद्ध संलग्न कुनै पनि कुरामा परमेश्‍वरको देहधारण पनि सामेल हुन्छ, जसको अर्थ यो युद्ध मानिसले लड्न सक्दैन भन्‍ने हो। यदि मानिसले युद्ध गर्नुपरेको भए, ऊ शैतानलाई हराउन असमर्थ हुनेथियो। शैतानकै सत्तामा बसेर ऊसँग त्यसको युक्तिविरुद्ध लड्ने शक्ति कसरी हुन्थ्यो र? मानिस बीचमा छ: यदि तँ शैतानतर्फ झुक्छस् भने, तँ शैतानको होस् तर यदि तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्छस् भने, तँ उहाँको होस्। यदि यो युद्धको काममा मानिसले परमेश्‍वरको पक्षमा खडा हुने कोसिस गरेको भए र खडा भएको भए के ऊ सक्षम हुनेथियो? यदि उसले त्यसो गरेको भए, के ऊ धेरै समय अघि नै नाश हुनेथिएन? के ऊ धेरै समय अघि नै पाताल लोकमा प्रवेश गरिसकेको हुनेथिएन र? यसैले मानिसले परमेश्‍वरको काममा उहाँको स्थान लिन सक्दैन, जसको अर्थ यो हो कि मानिससँग परमेश्‍वरको सार हुँदैन र यदि तैँले शैतानसँग युद्ध गरिस् भने, त्यसलाई हराउन सक्नेथिएनस्। मानिसले केवल केही काम मात्रै गर्न सक्दछ; उसले केही मानिसहरूलाई जित्न सक्छ तर ऊ परमेश्‍वरको स्वयम्‌को काममा परमेश्‍वरको स्थानमा खडा हुन सक्दैन। मानिसले कसरी शैतानसँग युद्ध गर्न सक्थ्यो र? तैँले युद्ध सुरु गर्नुभन्दा पहिले नै शैतानले तँलाई कैदी बनाउनेथियो। जब परमेश्‍वर स्वयम्‌ले शैतानसँग युद्ध गर्नुहुन्छ र मानिसले यसै आधारमा परमेश्‍वरलाई पछ्याउँछ र उहाँप्रति समर्पण गर्छ, तब मात्र मानिस परमेश्‍वरद्वारा प्राप्त हुन सक्छ र शैतानका बन्धनहरूबाट उम्कन सक्छ। मानिसले जुन कुराहरू आफ्नै बुद्धि र क्षमताहरूले हासिल गर्न सक्छ ती अति सीमित छन्; ऊ मानिसलाई पूर्ण बनाउन, उसलाई डोऱ्याउन र त्यसबाहेक शैतानलाई हराउन असमर्थ छ। मानिसको ज्ञान र बुद्धिले शैतानका योजनाहरूलाई असफल बनाउन सक्दैन, त्यसैले मानिसले त्योसँग कसरी युद्ध गर्न सक्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

२८९. छ हजार वर्षभन्दा लामो अवधिमा गरिएको कामको सम्पूर्णता फरक-फरक युग आउने र जाने क्रममा परिवर्तन भएको छ। यो कार्यको परिवर्तन संसारको समग्र स्थिति र मानवजातिको समग्र विकाससम्‍बन्धी प्रवाहहरूमा आधारित छ; व्यवस्थापन कार्य पनि सोहीअनुरूप बिस्तारै मात्रै परिवर्तन भएको छ। यी सबै सृष्टिको सुरुवातदेखि योजना गरिएको थिएन। संसारको सृष्टि हुनुभन्दा पहिले, वा त्यसपछि चाँडै, यहोवाले कार्यको पहिलो चरण अर्थात् व्यवस्थाको कार्य; कार्यको दोस्रो चरण अर्थात् अनुग्रहको कार्य; वा कार्यको तेस्रो चरण अर्थात् विजयको कार्य—जुन उहाँले सुरुमा मोआबका केही सन्तानबाट सुरु गर्नुहुनेथियो, र यसद्वारा सम्पूर्ण ब्रह्माण्ड विजय गर्नुहुनेथियो—त्यसको योजना बनाउनुभएको थिएन। संसारलाई सृष्टि गरिसकेपछि, उहाँले यी वचन कहिल्यै बोल्‍नुभएन, न त मोआबपछि नै ती उहाँले कहिल्यै बोल्‍नुभयो; वास्तवमा, लोतभन्दा पहिले, ती उहाँले कहिल्यै उच्‍चारण गर्नुभएन। परमेश्‍वरका सबै काम तत्‍कालीन रूपमा गरिन्छ। उहाँको व्यवस्थापनको सम्पूर्ण छ हजार वर्षे कार्यको विकास पनि ठीक यसरी नै भएको छ; उहाँले संसारको सृष्टि हुनुभन्दा पहिले कुनै पनि हालतमा “मानवजातिको विकासको सारांश चार्ट” जस्तो योजना लेख्‍नुभएन। परमेश्‍वरको काममा, उहाँ के हुनुहुन्छ, त्यो प्रत्यक्ष रूपमा व्यक्त गर्नुहुन्छ; योजना बनाउन उहाँले आफ्‍नो दिमाग खियाउनुहुन्‍न। अवश्‍य नै, केही अगमवक्ताले निकै धेरै अगमवाणी बोलेका छन्, तर परमेश्‍वरको कार्य सधैँ नै सटीक योजनाअन्तर्गत नै रह्यो भन्‍न सकिँदैन; ती अगमवाणी परमेश्‍वरको त्यस समयको कार्यअनुसार गरिएका थिए। उहाँले गर्नुहुने सबै काम सबभन्दा व्यावहारिक काम हुन्छन्। उहाँले हरेक युगको विकासअनुसार यो गर्नुहुन्छ, र कामकुराहरू कसरी परिवर्तन हुन्छन् त्यसैको आधारमा गर्नुहुन्छ। उहाँको लागि, आफ्‍नो काम गर्नु भनेको रोगमा औषधी उपयुक्त हुनुजस्तै हो; उहाँले आफ्नो काम गर्ने क्रममा अवलोकन गर्नुहुन्छ, र आफ्ना अवलोकनअनुसार आफ्‍नो काम जारी राख्‍नुहुन्छ। आफ्‍नो कामको हरेक चरणमा, परमेश्‍वर आफ्‍नो प्रचुर बुद्धि र शक्ति व्यक्त गर्न सक्षम हुनुहुन्छ; उहाँले आफ्नो प्रशस्त बुद्धि र अख्तियार कुनै निश्‍चित युगको कामका आधारमा प्रकट गर्नुहुन्छ, र उहाँले त्यस युगमा फर्काएर ल्याउनुभएका सबैलाई उहाँको सम्पूर्ण स्वभाव देख्‍ने तुल्याउनुहुन्छ। उहाँले हरेक युगमा गरिनुपर्ने कामअनुसार नै मानिसको खाँचो आपूर्ति गर्नुहुन्छ, र जे काम गर्नुपर्ने हो, त्यो गर्नुहुन्छ। शैतानले जुन हदसम्‍म मानिसलाई भ्रष्ट तुल्याएको छ त्यसकै आधारमा उहाँले तिनीहरूको खाँचो आपूर्ति गरिदिनुहुन्छ। … मानवजातिबीच परमेश्‍वरले गर्ने कुनै पनि कार्यको तयारी संसारको सृष्टि हुँदा नै गरिएको थिएन; बरु, परिस्थितिको विकासले नै परमेश्‍वरलाई मानवजातिको बीचमा चरणबद्ध अनि अझै वास्तविक र व्यावहारिक रूपमा आफ्‍नो काम गर्ने तुल्याएको छ। उदाहरणको लागि, यहोवा परमेश्‍वरले स्‍त्रीलाई प्रलोभन गर्न सर्पको सृष्टि गर्नुभएन; त्यो उहाँको निश्‍चित योजना थिएन, न त त्यो उहाँले जानी-जानी पहिले नै निर्धारित गर्नुभएको कुरा नै थियो। त्यो अनपेक्षित घटना थियो भनेर भन्‍न सकिन्छ। तसर्थ, यही कारणले यहोवाले आदम र हव्‍वालाई अदनको बगैँचाबाट निकाल्नुभयो र फेरि कहिल्यै मानिस सिर्जना नगर्ने शपथ खानुभयो। तैपनि, यही जगमा मात्रै मानिसले परमेश्‍वरको बुद्धि पत्ता लगाउँछन्। यो मैले यसभन्दा पहिले भनेको जस्तै हो: “म शैतानका षड्यन्त्रहरूअनुसार मेरो बुद्धि प्रयोग गर्छु।” मानवजाति जति भ्रष्ट भए पनि वा सर्पले तिनीहरूलाई जसरी प्रलोभन गरे पनि, यहोवासँग उहाँको बुद्धि छँदैछ; तसर्थ, संसारको सृष्टि गरेदेखि नै उहाँ नयाँ काममा संलग्‍न हुनुहुन्छ, र यो कामको कुनै पनि चरण कहिल्यै दोहोरिएको छैन। शैतानले निरन्तर रूपमा षड्यन्त्रहरू लागू गरेको छ, मानवजाति निरन्तर रूपमा शैतानद्वारा भ्रष्ट तुल्याइएका छन्, र यहोवा परमेश्‍वरले अटुट रूपमा आफ्‍नो बुद्धिमानी काम गर्नुभएको छ। संसारको सृष्टि गरेपछि उहाँ कहिल्यै असफल हुनुभएको छैन, न त उहाँले कहिल्यै काम गर्न नै छोड्नुभएको छ। मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, उहाँले भ्रष्टताको स्रोत अर्थात् त्यस शत्रुलाई विजय गर्न तिनीहरूका बीचमा काम गरिरहनुभएको छ। प्रारम्‍भदेखि नै यो युद्ध सुरु भएको छ, र संसारको अन्त्य भइञ्‍जेल जारी रहनेछ। यति धेरै काम गर्दा, यहोवा परमेश्‍वरले शैतानद्वारा भ्रष्ट तुल्याइएका मानिसलाई उहाँको महान् मुक्ति प्राप्त गर्ने मात्र तुल्याउनुभएको छैन, तर तिनीहरूलाई उहाँको बुद्धि, सर्वशक्तिमान्‌ता र अख्तियार देख्‍ने पनि तुल्याउनुभएको छ। यसका साथै, अन्त्यमा उहाँले दुष्टलाई दण्ड र असललाई इनाम दिने उहाँको धर्मी स्वभाव देखाउनुहुनेछ। उहाँले शैतानसँग आजको दिनसम्‍मै युद्ध गर्नुभएको छ र उहाँ कहिल्यै हार्नुभएको छैन। किनभने उहाँ बुद्धिमानी परमेश्‍वर हुनुहुन्छ, र उहाँले शैतानका षड्यन्त्रहरूका आधारमा आफ्‍नो बुद्धि प्रयोग गर्नुहुन्छ। त्यसकारण, परमेश्‍वरले स्वर्गमा भएका यावत् थोकलाई उहाँको अख्‍तियारमा समर्पित हुने मात्रै तुल्याउनुहुन्‍न, तर उहाँले पृथ्वीका यावत् थोकलाई उहाँको पाउदानमुनि विश्राम गर्ने तुल्याउनुभएको छ र, त्यसका साथै, मानवजातिलाई आक्रमण र हैरान गर्ने दुष्टहरूलाई उहाँको सजायमा खस्ने तुल्याउनुहुन्छ। उहाँकै बुद्धिका कारण यी सबै कामका परिणाम आउँछन्। मानवजातिको अस्तित्वभन्दा पहिले उहाँले आफ्‍नो बुद्धिलाई कहिल्यै पनि प्रकट गर्नुभएको थिएन, किनभने स्वर्ग, पृथ्वी, वा ब्रह्माण्डमा कतै पनि उहाँको शत्रु थिएन, र प्रकृतिमा आक्रमण गर्ने कुनै पनि अन्धकारका शक्ति थिएन। प्रधान स्‍वर्गदूतले उहाँलाई धोका दिएपछि उहाँले पृथ्वीमा मानवजातिको सृष्टि गर्नुभयो, र मानवजातिकै कारण उहाँले प्रधान स्‍वर्गदूत अर्थात् शैतानसँगको सहस्राब्दीयौं लामो युद्ध—हरेक अर्को चरणसँगै अझै उग्र हुँदै जाने युद्ध—सुरु गर्नुभयो। यी हरेक चरणमा उहाँको सर्वशक्तिमान्‌ता र बुद्धि उपस्थित छन्। त्यसपछि मात्रै स्वर्ग र पृथ्वीका सबै चीजले परमेश्‍वरको बुद्धि, सर्वशक्तिमान्‌ता र खास गरी परमेश्‍वरको व्यावहारिकताको साक्षी देखेका छन्। उहाँले आजको दिनसम्‍म पनि यस्तै व्यावहारिक रूपमा आफ्‍नो काम गर्नुहुन्छ; साथै, उहाँले आफ्‍नो काम गर्ने क्रममा आफ्‍नो बुद्धि र सर्वशक्तिमान्‌तालाई पनि प्रकट गर्नुहुन्छ। उहाँले तिमीहरूलाई कार्यको हरेक चरणको भित्री सत्यता देख्‍ने, परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई ठ्याक्कै व्याख्या गर्ने, साथै, परमेश्‍वरको व्यावहारिकताको अन्तिम व्याख्यालाई हेर्ने तुल्याउनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ

२९०. पवित्र आत्माको काम सधैँ तत्कालीन रूपमा गरिन्छ; उहाँले कुनै पनि समयमा आफ्‍नो योजना बनाउन सक्‍नुहुन्छ, र यसलाई कुनै पनि समय अघि बढाउन सक्‍नुहुन्छ। पवित्र आत्‍माको कार्य वास्तविक छ, र यो सधैँ नयाँ हुन्छ, कहिल्यै पुरानो हुँदैन, र यो सधैँ उच्‍च हदसम्मै ताजा हुन्छ भनेर म सधैँ किन भन्छु? संसारको सृष्टि हुँदा पहिले नै उहाँको कामको योजना गरिएको थिएन; त्यो पटक्कै भएको होइन! कामको हरेक चरणले यसको सम्‍बन्धित समयमा उचित प्रभाव प्राप्त गर्छ, र ती चरणहरूले एकअर्कालाई अवरोध गर्दैनन्। धेरै पटक, पवित्र आत्माको हालैको कामसँग तेरो मनमा भएका योजनाहरू तुलनायोग्य हुँदैनन्। उहाँको काम मानिसले यो यस्तो हुनुपर्छ भनेर तर्क गरेजस्तो सरल छैन, न त यो, मानिसले कल्‍पना गरेजस्तो जटिल नै छ—यसमा मानिसलाई तिनीहरूको त्यतिबेलाको आवश्यकताअनुसार कुनै पनि समय र कुनै पनि स्थानमा आपूर्ति गर्ने कार्य समावेश हुन्छ। मानिसको सारबारे उहाँ जत्ति स्पष्ट अरू कोही छैन, र त्यही कारणले मानिसको यथार्थ खाँचोका निम्ति उहाँले गर्ने काम जत्तिको उपयुक्त अरू केही हुँदैन। त्यसकारण, मानव परिप्रेक्ष्यबाट विचार गर्दा, उहाँको काम कैयौं सहस्राब्दीपहिले नै योजना गरिएको जस्तो देखिन सक्छ। अहिले उहाँले तिमीहरूबीच काम गर्नुहुँदा, तिमीहरू जुन स्थितिमा छौ त्यसलाई हेर्दै काम गर्ने र बोल्‍ने गर्नुहुन्छ, त्यस क्रममा उहाँले मानिसहरूलाई जे खाँचो छ त्यहीअनुसारको वचन बोल्दै, आइपर्ने हरेक स्थितिमा सही वचनहरू बोल्‍नुहुन्छ। उहाँको कामको पहिलो चरणलाई लिऔं: सजायको समय। त्यसपछि, परमेश्‍वरले उहाँको कामलाई मानिसहरूले प्रदर्शन गरेको कुरा, तिनीहरूको विद्रोहीपन, तिनीहरूबाट निस्कने सकारात्मक अवस्थाहरू र नकारात्मक अवस्थाहरू, साथै तिनीहरू नकारात्मकताको निश्चित बिन्दुमा आइपुग्दा खस्किने सबैभन्दा तल्‍लो सीमाको आधारमा सञ्चालन गर्नुभयो; अनि उहाँले आफ्‍नो कामबाट अझै राम्रो परिणाम हासिल गर्न ती कुरालाई पकडमा राख्नुभयो। अर्थात्, कुनै निश्‍चित समयमा तिनीहरूको तत्कालीन अवस्था कस्तो छ त्यहीअनुसार उहाँले मानिसहरूबीच दिगो काम गर्नुहुन्छ; मानिसहरूका वास्तविक अवस्थाहरूअनुसार उहाँले आफ्‍नो कामको हरेक चरणलाई अघि बढाउनुहुन्छ। सृष्टि गरिएका सबै प्राणीहरू उहाँकै हातमा छन्; उहाँले कसरी तिनीहरूलाई नचिन्‍न सक्‍नुहुन्छ र? परमेश्‍वरले गर्नुपर्ने कामको अर्को चरण कुनै पनि समयमा र कुनै पनि स्थानमा मानिसहरूका अवस्थाहरूअनुसार गर्नुहुन्छ। कुनै पनि हालतमा यो काम हजारौं वर्षपहिले योजना गरिएको थिएन; त्यो त मानव धारणा हो! उहाँले आफ्‍नो कामका प्रभावहरूको अवलोकन गर्दै काम गर्नुहुन्छ, र उहाँको काम निरन्तर रूपमा गहन र विकसित हुँदै जान्छ; हरेक पटक, आफ्नो कामका परिणामहरू अवलोकन गरिसकेपछि, उहाँले आफ्‍नो कामको अर्को चरण कार्यान्वयन गर्नुहुन्छ। क्रमिक रूपमा परिवर्तन गर्न र समय बित्दै जाँदा मानिसहरूलाई उहाँको नयाँ काम देखाउन उहाँले धेरै कुराहरूको प्रयोग गर्नुहुन्छ। कार्य गर्ने यो शैलीले मानिसहरूको खाँचो पूरा गर्न सक्छ, किनभने परमेश्‍वर मानिसहरूलाई एकदमै राम्ररी चिन्‍नुहुन्छ। उहाँले स्वर्गबाट आफ्‍नो काम यसरी नै गर्नुहुन्छ। त्यसै गरी, यसरी नै देहधारी परमेश्‍वरले वास्तविक परिस्‍थितिहरूअनुसार बन्दोबस्त गर्दै र मानिसहरूबीच काम गर्दै आफ्‍नो काम गर्नुहुन्छ। उहाँको कुनै पनि काम संसारको सृष्टि गरिनुभन्दा पहिले नै बन्दोबस्त गरिएको थिएन, न त यसबारे पहिले नै सतर्कताको साथ योजना नै गरिएको थियो। संसारको सृष्टि गरिएको दुई हजार वर्षपछि, यहोवाले मानवजाति यति धेरै भ्रष्ट भएको देख्‍नुभयो कि व्यवस्थाको युग समाप्त भएपछि, यहोवाले अनुग्रहको युगमा मानवजातिलाई छुटकारा दिने आफ्‍नो काम गर्नुहुनेछ भनेर भविष्यवाणी गर्न उहाँले अगमवक्ता यशैयाको मुख प्रयोग गर्नुभयो। अवश्य नै, यो यहोवाको योजना थियो, तर यो योजना पनि त्यो समय उहाँले अवलोकन गरिरहनुभएका परिस्‍थितिहरूअनुसार नै बनाइएको थियो; अवश्य नै, उहाँले आदमको सृष्टि गरेलगत्तै यसबारे विचार गर्नुभएको थिएन। यशैयाले अगमवाणी मात्रै गरिदिए, तर यहोवाले व्यवस्थाको युगको अवधिमा यस कामको लागि अग्रिम तयारीहरू गर्नुभएको थिएन; बरु, उहाँले अनुग्रहको युगको प्रारम्‍भमा यो कामलाई गति दिनुभयो। यो त्यही बेला थियो, जुन बेला परमेश्‍वर देह बन्‍नुहुनेछ भन्‍ने सन्देशबारे योसेफलाई उजागर गर्न सन्देशवाहक उसको सपनामा देखा परे, अनि त्यसपछि मात्रै उहाँको देहधारणको काम सुरु भयो। मानिसहरूले कल्‍पना गरेजस्तो, परमेश्‍वरले आफ्‍नो देहधारणको कार्यको तयारी संसारको सृष्टि गरेपछि तुरुन्तै गर्नुभएको थिएन; मानवजातिको विकासको हद र शैतानसँगको उहाँको युद्धको अवस्थाको आधारमा मात्रै यससम्बन्धी निर्णय गरिएको थियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ

२९१. परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन तीन चरणमा विभाजित छन् र हरेक चरणमा, मानिसलाई उचित मागहरू गरिन्छ। यसको साथै, युगहरू बितेर जाने र अघि बढ्ने क्रममा, सारा मानवजातिको निम्ति परमेश्‍वरको मागहरू झन्-झन् उच्‍च हुँदै जान्छन्। यसरी, मानिसले “वचन देहमा देखा पर्नुहुन्छ” भन्ने तथ्य नदेखुञ्जेल, पाइला दर पाइला, यो परमेश्‍वरको व्यवस्थापनको काम यसको शिखरमा पुग्छ, र यस तरिकाले मानिसबाट गरिने मागहरू झन् उच्च बन्छन्, र यसैगरी मानिसले दिनुपर्ने गवाही पनि अझै उच्‍च बन्छ। परमेश्‍वरसँग साँचो रूपमा सहकार्य गर्न मानिस जति सक्षम हुन्छ, परमेश्‍वरले त्यति नै महिमा प्राप्त गर्नुहुन्छ। मानिसको सहकार्य भनेको उसले दिनुपर्छ भनी माग गरिएको गवाही हो र उसले दिने गवाही मानिसको अभ्यास हो। त्यसकारण, परमेश्‍वरको कार्यले पर्याप्त प्रभाव पार्छ कि पार्दैन र यो साँचो गवाही हुन सक्छ कि सक्दैन भन्‍ने कुरा अपरिहार्य रूपमा नै मानिसको सहकार्य र गवाहीसँग जोडिएका हुन्छन्। जब काम समाप्‍त हुन्छ, भन्‍नुको अर्थ जब परमेश्‍वरको सबै व्यवस्थापन यसको समाप्तिमा पुग्छ, मानिसले उच्‍च गवाही दिनु आवश्यक हुनेछ र जब परमेश्‍वरको कार्य यसको समाप्तिमा पुग्छ, मानिसको अभ्यास र प्रवेश यसको शीर्ष विन्दुमा पुग्‍नेछ। विगतमा, मानिसबाट व्यवस्था र आज्ञाहरूको पालन माग गरिन्थ्यो, र ऊबाट धैर्यता र नम्रता माग गरिन्थ्यो। आज, मानिसबाट परमेश्‍वरका सारा प्रबन्धहरूमा समर्पित हुनुपर्ने र ऊसँग परमेश्‍वरप्रतिको सर्वोच्‍च प्रेम हुनुपर्ने माग गरिन्छ, र अन्ततः सङ्कष्टबीचमा पनि उसले परमेश्‍वरलाई अझै पनि प्रेम गर्नुपर्ने माग गरिन्छ। यी तीन चरणहरू परमेश्‍वरले आफ्‍नो सम्पूर्ण व्यवस्थापनमा चरणबद्ध रूपले मानिसबाट गर्ने माग हुन्। परमेश्‍वरको कार्यको हरेक चरण पछिल्‍लोभन्दा अझै गहन हुन्छ र हरेक चरणमा मानिसलाई दिइने मागहरू पछिल्‍लोभन्दा अझै उच्‍च हुन्छन् र यसरी, परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनले बिस्तारै आकार लिँदै जान्छ। मानिसलाई दिइएका मागहरू अझै उच्‍च छन् भन्‍ने ठीक त्यही कारणले मानिसको स्वभाव परमेश्‍वरले माग गर्नुभएका मापदण्डहरूको झन्-झन् नजिक आउँछ, र त्यसपछि मात्रै सारा मानवजाति शैतानको प्रभावबाट बिस्तारै निस्किँदै आउन थाल्छ, तबसम्ममा, परमेश्‍वरको काम पूर्ण रूपमा समाप्त हुँदा, सारा मानवजाति शैतानको प्रभावबाट बचाइएको हुनेछ। जब त्यो समय आउँछ, तब परमेश्‍वरको काम यसको अन्त्यमा पुगेको हुनेछ र आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्नको लागि त्यसउप्रान्त परमेश्‍वरसँगको मानिसको सहकार्य हुनेछैन र सारा मानवजाति परमेश्‍वरको ज्योतिमा जिउनेछ र त्यसपछि, परमेश्‍वरविरुद्ध कुनै विद्रोह वा विरोध हुनेछैन। परमेश्‍वरले मानिसबाट मागहरू पनि गर्नुहुनेछैन र मानिस र परमेश्‍वरको बीचमा अझै मैत्रीपूर्ण सहकार्य हुनेछ, जुन एकसाथ मानिस र परमेश्‍वरको जीवन अर्थात् परमेश्‍वरको व्यवस्थापन पूर्ण रूपमा समाप्त भएपछि र शैतानका पकडहरूबाट परमेश्‍वरद्वारा मानिसलाई पूर्ण रूपमा बचाइएपछिको जीवन हुनेछ। परमेश्‍वरका पाइलाहरूलाई नजिकबाट पछ्याउन नसक्‍नेहरू त्यस्तो जीवन प्राप्त गर्न असमर्थ हुन्छन्। तिनीहरूले आफैलाई अन्धकारमा खसाएका हुनेछन्, जहाँ तिनीहरू रुनेछन् र दाह्रा किट्नेछन्; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई नपछ्याउने, परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँका सबै कार्यप्रति समर्पित नहुने मानिस हुन्। मानिस परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, उसले परमेश्‍वरका हरेक पदचापलाई नजिकबाट पछ्याउनैपर्छ; उसले “थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।” यस्तो गर्नेहरू मात्रै साँचो मार्गको साँच्चै खोजी गर्नेहरू हुन्, जो पवित्र आत्माको काम चिन्दछन्। शब्द र धर्मसिद्धान्तहरूलाई जिद्दीपूर्वक पालन गर्ने मानिसहरू पवित्र आत्‍माको कामद्वारा हटाइएकाहरू हुन्। हरेक समयावधिमा, परमेश्‍वरले नयाँ काम सुरु गर्नुहुनेछ र हरेक अवधिमा, मानिसमाझ नयाँ सुरुवात हुनेछ। यदि मानिस एउटा युगमा मात्रै लागू हुने “यहोवा नै परमेश्‍वर हुनुहुन्छ” र “येशू नै ख्रीष्‍ट हुनुहुन्छ” भन्‍ने सत्यताहरूलाई मात्रै पालन गर्छ भने, मानिस पवित्र आत्‍माको कामसँग कहिल्यै तालमेल राख्न सक्दैन, र ऊ पवित्र आत्‍माको काम प्राप्त गर्न सधैँका लागि असमर्थ हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

२९२. नयाँ युग सुरु गर्न परमेश्‍वर आफै आउनुहुन्छ, र त्यो युगलाई समाप्त गर्न परमेश्‍वर आफै आउनुहुन्छ। युग सुरु गर्ने र युग समाप्त गर्ने काम गर्न मानिस असक्षम छ। यदि येशू आउनुभएपछि पनि उहाँले यहोवाको कामलाई समाप्त गर्नुभएन भने, त्यो उहाँ एउटा व्यक्ति मात्र हुनुहुन्छ र परमेश्‍वरको प्रतिनिधित्व गर्न असमर्थ हुनुहुन्छ भन्‍ने कुराको प्रमाण हुनेथियो। वास्तवमा भन्‍ने हो भने, येशू आउनुभयो र यहोवाको कामलाई समाप्त गर्नुभयो, यहोवाको कामलाई निरन्तरता दिनुभयो र त्यसबाहेक आफ्नै एउटा नयाँ काम पनि गर्दैजानुभयो, ठीक यही कारणले यो एउटा नयाँ युग थियो र येशू परमेश्‍वर स्‍वयम्‌ नै हुनुहुन्थ्यो भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ। उहाँहरूले कामका दुई भिन्न-भिन्न चरणहरू गर्नुभयो। एउटा चरण मन्दिरमा पूरा गरियो, र अर्को मन्दिरको बाहिर सञ्चालन गरियो। एउटा चरण भनेको व्यवस्थाअनुसार मानिसको जीवनलाई मार्गदर्शन गर्नु थियो, र अर्को पापबलि चढाउनु थियो। कामका यी दुई चरणहरू स्पष्ट रूपमा फरक-फरक थिए; यसले नयाँ युगलाई पुरानोबाट छुट्ट्याउँछ, र ती दुई भिन्नाभिन्नै युग हुन् भन्नु पूर्ण रूपमा सही हुन्छ। उहाँहरूको कामको स्थान फरक थियो, र उहाँहरूको कामको विषयवस्तु फरक थियो, र उहाँहरूको कामको उद्देश्य पनि भिन्न थियो। त्यसरी नै, तिनलाई दुइटा युगमा विभाजन गर्न सकिन्छ; नयाँ र पुरानो करारहरूले नयाँ र पुरानो युगहरूलाई जनाउँछन्। जब येशू आउनुभयो उहाँ मन्दिरमा जानुभएन, जसले यहोवाको युग समाप्त भएको थियो भन्‍ने प्रमाणित गर्दछ। उहाँ मन्दिरभित्र पस्नुभएन, किनकि मन्दिरमा यहोवाको काम समाप्त भइसकेको थियो, र त्यसलाई फेरि गर्नुपर्ने आवश्यक थिएन, र त्यो फेरि गर्नु भनेको दोहोऱ्याउनु मात्रै हुनेथियो। मन्दिरलाई छोडेर, एउटा नयाँ काम सुरु गरेर अनि मन्दिरभन्दा बाहिर एउटा नयाँ मार्ग खोलेर मात्रै उहाँ परमेश्‍वरको कामलाई त्यसको चरम बिन्दुमा ल्याउन सक्षम हुनुभयो। यदि उहाँ आफ्नो काम गर्न मन्दिरबाट बाहिर नजानुभएको भए, परमेश्‍वरको काम मन्दिरको जगमाथि अड्केर बस्‍नेथियो, र त्यहाँ कुनै नयाँ परिवर्तनहरू हुनेथिएन। यसैले जब येशू आउनुभयो, उहाँ मन्दिरमा प्रवेश गर्नुभएन, र उहाँले मन्दिरमा आफ्नो काम गर्नुभएन। उहाँले मन्दिरको बाहिर काम गर्नुभयो, र आफ्ना चेलाहरूलाई डोऱ्याउँदै आफ्‍नो काम स्वतन्त्र रूपले अघि बढाउनुभयो। परमेश्‍वरले आफ्नो काम गर्न मन्दिरबाट प्रस्थान गर्नुको अर्थ परमेश्‍वरसँग नयाँ योजना थियो भन्‍ने हुन्छ। उहाँको काम मन्दिरको बाहिर सञ्चालन हुनुपर्ने थियो, र कार्यान्वयन गर्ने तरिकामा नियन्त्रित नरहेको नयाँ कार्य हुनुपर्थ्यो। येशू आइपुग्‍नुभएपछि तुरुन्तै उहाँले पुरानो करारको युगको यहोवाको कामलाई समाप्त गर्नुभयो। उहाँहरूलाई दुई फरक नाउँले बोलाइएको भए पनि, दुवै चरणका कामहरू पूरा गर्ने एउटै आत्मा हुनुहुन्थ्यो, र गरिएको काम निरन्तर भइरहने काम थियो। जसरी नाउँ फरक थियो, र कामको विषय फरक थियो, त्यसरी नै युग पनि फरक थियो। जब यहोवा आउनुभयो, त्यो यहोवाको युग थियो, र जब येशू आउनुभयो, त्यो येशूको युग थियो। त्यसैले, हरेक आगमन सँगै, परमेश्‍वरलाई एउटा नाउँले बोलाइन्छ, र जसले एउटा युगलाई प्रतिनिधित्व गर्छ, अनि उहाँ एउटा नयाँ मार्ग खोल्नुहुन्छ; र हरेक नयाँ मार्गका लागि, उहाँ एउटा नयाँ नाउँ धारण गर्नुहुन्छ। यो सबैले परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न, र उहाँको काम कहिल्यै अगाडि दिशातर्फ बढ्नबाट रोकिँदैन भन्ने देखाउँछ। इतिहास जहिल्यै पनि अगाडि बढिरहेको छ, र परमेश्‍वरको काम सधैँ अगाडि बढिरहेको छ। उहाँको छ हजार वर्षे व्यवस्थापन योजना लक्ष्यमा पुग्‍नका लागि, यो निरन्तर अगाडिको दिशामा अघि बढिरहनुपर्छ। हरेक दिन उहाँले नयाँ काम गर्नैपर्छ, हरेक वर्ष उहाँले नयाँ काम गर्नैपर्छ; उहाँले नयाँ मार्गहरू खोल्नैपर्छ, नयाँ युगहरू सुरु गर्नैपर्छ, र अझ नयाँ र महान् काम सुरु गर्नैपर्छ। यी सबैसँगै, उहाँ नयाँ नाउँहरू र नयाँ काम ल्याउनुहुन्छ। पलपलमा, परमेश्‍वरका आत्मा नयाँ काम गरिरहनुहुन्छ, पुराना तरिकाहरू वा प्रावधानहरूमा कहिल्यै टाँसिएर बस्नुहुन्न। न त उहाँको काम कहिल्यै रोकिएको छ, बरु हरेक बित्दो पलसँगै पूरा भइरहेको छ। … यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणको कामसम्म, यी तीन चरणले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनलाई एउटै निरन्तर धागोमा समावेश गर्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्‍वर सधैँ मानवजातिको व्यवस्थापन गर्दै काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगमा र विभिन्न स्थानमा हुने कामका तीन चरणहरू निस्सन्देह रूपमा एकै आत्माले गर्नुहुने काम नै हुन्। यी तीन वटा चरणलाई अलग गर्ने सबैले परमेश्‍वरको प्रतिरोध गर्छन्। अब, तैँले बुझ्नैपर्छ कि पहिलो चरणदेखि आजसम्मका सबै कामहरू एउटै परमेश्‍वरको, एउटै आत्माको काम हो। यस कुरामा कुनै शङ्का छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

२९३. जब प्रभु येशू आउनुभयो, तब उहाँले मानिसहरूलाई परमेश्‍वरले व्यवस्थाको युगलाई बिदा गर्नुभएको छ र नयाँ काम सुरु गर्नुभएको छ र यस नयाँ कामले शबाथ दिन पालन गर्न आवश्यक छैन भनी बताउन आफ्नो व्यवहारिक क्रियाहरूको प्रयोग गर्नुभयो। परमेश्‍वर शबाथ दिनको सीमाहरूबाट बाहिर निस्केर आउनु उहाँको नयाँ कामको एउटा पूर्वाभास मात्र थियो; वास्तविक र महान् काम आउन अझै बाँकी नै थियो। प्रभु येशूले आफ्नो काम सुरु गर्नुहुँदा, उहाँले व्यवस्थाको युगका “बन्धनहरू” पार गरिसक्नुभएको थियो, अनि उहाँले त्यस युगमा तोकिएका नियम र सिद्धान्तहरू तोडिसक्नुभएको थियो। उहाँमा व्यवस्थासँग सम्बन्धित कुनै नामोनिसान थिएन; उहाँले त्यसलाई पूर्ण रूपमा फाल्नुभएको थियो र त्यसलाई पालना गर्न छोड्नुभएको थियो, र मानिसहरूले त्यो कुरा पालना गर्नुपर्ने माग गर्न छोड्नुभएको थियो। त्यसैले, यहाँ तँ प्रभु येशू शबाथको दिनमा मकैबारी हुँदै जानुभएको, र प्रभुले विश्राम नलिनुभएको देख्छस्; उहाँ बाहिर काम गरिरहनुभएको थियो, र आराम गरिरहनुभएको थिएन। उहाँको यो कार्य मानिसहरूका धारणाहरूविपरीत थियो र यसले तिनीहरूलाई उहाँ अब व्यवस्थाअन्तर्गत जिउनुहुन्‍न, उहाँ शबाथको दिन पार गरेर मानिसहरूसमक्ष र तिनीहरूमाझ पूर्णतया नयाँ स्वरूप र काम गर्ने नयाँ शैलीको साथमा देखापर्नुभएको छ भन्‍ने सन्देश दियो। उहाँको यो कार्यले मानिसहरूलाई उहाँले आफूसित नयाँ काम, व्यवस्थाको अधीनबाट बाहिर निस्किएर र शबाथको दिनबाट छुट्टिएर सुरु भएको काम ल्याउनुभएको छ भन्‍ने कुरा बतायो। परमेश्‍वरले आफ्नो नयाँ काम गर्नुहुँदा, उहाँ विगतमा अल्झिन छोड्नुभयो, अनि उहाँ व्यवस्थाको युगका नियमहरूबारे चिन्तित हुन छोड्नुभयो। न त उहाँ अघिल्लो युगको आफ्नो कामद्वारा नै प्रभावित हुनुभयो, बरु उहाँले अरू जुनसुकै दिनझैँ शबाथको दिनमा पनि आफ्नो काम गर्नुभयो, अनि उहाँका चेलाहरूलाई शबाथको दिनमा भोक लाग्दा, तिनीहरू मकैको घोगा टिपेर खान सक्थे। परमेश्‍वरको नजरमा यो सबै निकै सामान्य कुरा थियो। परमेश्‍वरका निम्ति, उहाँले गर्न चाहनुभएका धेरै काम र उहाँले भन्न चाहनुभएका वचन सबैका नयाँ सुरुवातहरू हुन सक्छन्। उहाँले कुनै नयाँ कुरा सुरु गर्दा, उहाँ न त विगतको काम उल्लेख गर्नुहुन्छ न त त्यसलाई निरन्तर अघि बढाउनुहुन्छ। परमेश्‍वरको काममा उहाँका आफ्नै सिद्धान्तहरू हुने भएकाले, उहाँ आफूले नयाँ काम सुरु गर्न चाहनुभएको बेला नै मानवजातिलाई आफ्नो कामको नयाँ चरणमा ल्याउन चाहनुहुन्छ, अनि त्यहीबेला नै उहाँको काम माथिल्लो चरणमा प्रवेश गर्छ। यदि मानिसहरू पुराना भनाइ वा नियमहरू अनुसार नै निरन्तर काम गरिरहन्छन् वा निरन्तर तिनै कुरामा अडिग रहन्छन् भने, उहाँले त्यसलाई सम्झनुहुनेछैन वा अनुमोदन गर्नुहुनेछैन। किनभने उहाँले नयाँ काम ल्याइसक्नुभएको छ, र उहाँ आफ्नो कामको नयाँ चरणमा प्रवेश गरिसक्‍नुभएको छ। उहाँ नयाँ काम ल्याउँदा पूर्णतया नयाँ स्वरूपमा, पूर्णतया नयाँ कोणबाट अनि पूर्णतया नयाँ तरिकाले मानिसहरूकहाँ देखा पर्नुहुन्छ ताकि मानिसहरूले उहाँको स्वभावका फरक-फरक पक्षहरू तथा उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सो देख्न सकून्। यो उहाँको नयाँ कामका उद्देश्यहरूमध्ये एक हो। परमेश्‍वर पुराना कुराहरूमा टाँसिनुहुन्न वा उहाँ हिँडिसकेको बाटो हिँड्नुहुन्न; जब उहाँले काम गर्नुहुन्छ र बोल्नुहुन्छ, उहाँ मानिसहरूले कल्पना गरे जस्तो, यो निषेध गर्ने र त्यो निषेध गर्ने हुनुहुन्‍न। परमेश्‍वरमा सबै स्वतन्त्र र मुक्त छ, अनि त्यहाँ कुनै निषेध, कुनै बन्देज छैन—उहाँले मानवजातिकहाँ ल्याउनुहुने कुरा भनेका सारा स्वतन्त्रता तथा रिहाइ हो। उहाँ एक जीवित परमेश्‍वर हुनुहुन्छ, एक परमेश्‍वर जो सच्चा र साँचो रूपले अस्तित्वमा हुनुहुन्छ। उहाँ कठपुतली वा माटोको मूर्ति हुनुहुन्न, अनि उहाँ मानिसहरूले प्राणप्रतिष्ठा र आराधना गर्ने मूर्तिहरूभन्दा पूर्ण रूपमा अलग हुनुहुन्छ। उहाँ जीवित र जीवन्त हुनुहुन्छ, अनि उहाँका वचनहरू तथा कामले मानवजातिलाई ल्याउने कुरा भनेको सारा जीवन र ज्योति, स्वतन्त्रता तथा रिहाइ हुन् किनकि उहाँमा सत्यता, जीवन र मार्ग छर उहाँ, उहाँले गर्ने अभिप्राय राख्‍नुभएको सबै काम कुनै पनि कुराको बन्धनमा नपरी गर्नुहुन्छ। मानिसहरूले उहाँको नयाँ कामको बारेमा जे भने पनि र तिनीहरूले त्यसलाई जसरी हेरे तापनि वा मूल्याङ्कन गरे तापनि, उहाँले नहिचकिचाई आफूले गर्ने अभिप्राय राख्‍नुभएको काम गर्नुहुन्छ। उहाँको काम वा वचनका सम्बन्धमा कसैका धारणाहरू, वा तिनीहरूले गर्ने दोषारोपण, वा उहाँको नयाँ कामप्रतिको तिनीहरूको कडा विरोध वा प्रतिरोधबारे उहाँ चिन्तित हुनुहुनेछैन। मानव तर्क, वा मानव कल्पना, ज्ञान वा नैतिकता प्रयोग गरेर परमेश्‍वरले जे गर्नुहुन्छ, त्यसलाई मापन गरेर वा त्यसबारे फैसला गरेर उहाँको कामलाई बदनाम गर्न, बाधा दिन वा नोक्सानी पुर्‍याउनसृजित प्राणीमध्ये कसैका लागि पनि सम्भव हुँदैन। उहाँको काममा र उहाँले जे गर्नुहुन्छ त्यसमा कुनै प्रतिबन्ध छैन; कुनै व्यक्ति, घटना वा कामकुराद्वारा यसलाई बन्धनमा पारिनेछैन, न त कुनै प्रतिरोधी शक्तिहरूले बाधा दिन्छन्। जहाँसम्म उहाँको नयाँ कामको कुरा छ, उहाँ सदा विजयी राजा हुनुहुन्छ, अनि कुनै पनि प्रतिरोधी शक्तिहरू र मानवजातिका सबै विधर्मी तथा झूटा तर्कहरूलाई उहाँको पाउदानमुनि कुल्चिइन्छ। उहाँले आफ्‍नो कामको जुनसुकै नयाँ चरण कार्यान्वयन गरिरहनुभएको भए पनि, यो निश्चय नै मानवजातिको माझमा विकास र विस्तार हुनेछ, अनि त्यो निश्‍चय नै सारा ब्रह्माण्डभरि विना अवरोध अघि बढ्नेछ र पूर्ण सफलतामा ल्याइनेछ। परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि, उहाँको अख्तियार र शक्ति यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

२९४. परमेश्‍वरले विभिन्न युगअनुरूप उहाँको वचन बोल्नुहुन्छ र उहाँको काम गर्नुहुन्छ, र उहाँले फरक-फरक युगमा फरक-फरक वचनहरू बोल्नुहुन्छ। परमेश्‍वरले नियमहरू अनुसार काम गर्नुहुन्न वा त्यही काम दोहोऱ्याउनुहुन्न, वा विगतका कुराहरूमा डुब्‍नुहुन्‍न; उहाँ परमेश्‍वर हुनुहुन्छ, जो सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न, र उहाँले हरेक दिन नयाँ वचन बोल्नुहुन्छ। तैँले आज जे पालन गर्नुपर्छ त्यो पालन गर्नैपर्छ; यो मानिसको जिम्मेवारी र कर्तव्य हो। अहिलेको समयमा त्यो अभ्यास परमेश्‍वरको ज्योति र वचनमा केन्द्रित हुनु महत्त्वपूर्ण छ। परमेश्‍वरले नियमअनुसार गर्नुहुन्न, र आफ्नो बुद्धि र सर्वशक्तिमान्‌ता प्रष्ट पार्न उहाँ विभिन्न दृष्टिकोणबाट बोल्न सक्नुहुन्छ। उहाँ आत्माको, वा मानिसको वा तेस्रो व्यक्तिको दृष्टिकोणबाट बोल्नुभयो भन्‍ने कुराले कुनै फरक पार्दैन—परमेश्‍वर सधैँ परमेश्‍वर हुनुहुन्छ, अनि उहाँ मानिसको दृष्टिकोणबाट बोल्नुभयो भनेर तैँले उहाँ परमेश्‍वर हुनुहुन्न भनी भन्न सक्दैनस्। परमेश्‍वर विभिन्न दृष्टिकोणबाट बोल्नु भएकोले मानिसहरूका बीचमा धारणाहरू पनि प्रकट भएका छन्। त्यस्ता मानिसहरूमा परमेश्‍वरको ज्ञान हुँदैन, अनि उहाँको कामको ज्ञान हुँदैन। यदि परमेश्‍वर सधैँ एउटै दृष्टिकोणबाट बोल्नुभयो भने के मानिसले परमेश्‍वरको विषयमा नियमहरू बनाउँदैनन् र? के परमेश्‍वरले मानिसलाई त्यस्तो किसिमले काम गर्ने अनुमति दिन सक्नुहुन्थ्यो? परमेश्‍वर जुनसुकै दृष्टिकोणबाट बोल्नुभए पनि उहाँले त्यसो गर्ने कारणहरू छन्। यदि परमेश्‍वर सधैँ आत्माको दृष्टिकोणबाट बोल्नुभएको थियो भने के तँ उहाँसँग संलग्न हुन सक्‍नेथिइस्? यसैले तँलाई उहाँको वचन दिन र तँलाई वास्तविकतामा डोऱ्याउन उहाँ कहिलेकहीँ तेस्रो व्यक्तिको रूपमा बोल्नुहुन्छ। परमेश्‍वरले गर्नुहुने सबै कुरा उपयुक्त हुन्छन्। संक्षेपमा, यो सबै परमेश्‍वरद्वारा गरिन्छ, तैँले यसमा शङ्का गर्नु हुँदैन। उहाँ परमेश्‍वर हुनुहुन्छ, यसैले उहाँ जुनै दृष्टिकोणबाट बोल्नुभए पनि उहाँ सधैँ परमेश्‍वर नै हुनुहुनेछ। यो अपरिवर्तनीय सत्यता हो। उहाँले जसरी काम गर्नुभए पनि उहाँ परमेश्‍वर हुनुहुन्छ, उहाँको सार बदलिँदैन। पत्रुसले परमेश्‍वरलाई यति धेरै प्रेम गर्थे र तिनी परमेश्‍वरको आफ्नै अभिप्रायअनुसारका मानिस थिए, तर परमेश्‍वरले प्रभु र ख्रीष्टको रूपमा तिनको साक्षी दिनुभएन, किनकि एउटा प्राणीको सार जे छ त्यही हो, त्यो कहिल्यै बदलिन सक्दैन। परमेश्‍वरले आफ्नो काम नियमहरू अनुसार गर्नुहुन्न, तर आफ्नो कामलाई अझ प्रभावकारी बनाउन र उहाँको विषयमा मानिसको ज्ञानलाई अझ गहिरो बनाउन उहाँले विभिन्न तरिकाहरू प्रयोग गर्नुहुन्छ। उहाँले काम गर्नुहुने प्रत्येक तरिकाले उहाँलाई चिन्न मानिसलाई सहायता गर्दछ, र त्यो मानिसलाई सिद्ध बनाउनको निम्ति हो। उहाँले काम गर्ने जुनसुकै तरिका प्रयोग गर्नु भए पनि त्यो हरेक मानिसलाई निर्माण गर्न र सिद्ध बनाउनका निम्ति हो। उहाँको काम गर्ने एउटा तरिका धेरै समयसम्म रहे पनि त्यो उहाँप्रतिको मानिसको विश्‍वासलाई तयार पार्नको निम्ति हुन्छ। यसैले, तिमीहरूको हृदयमा कुनै शङ्का हुनु हुँदैन। यी सबै परमेश्‍वरको काम गर्ने चरणहरू हुन्, अनि तिमीहरू ती सबैमा समर्पित हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ

२९५. आखिरी दिनहरूमा, परमेश्‍वर मुख्य रूपमा आफ्ना वचनहरू बोल्न, मानिसको जीवनका लागि आवश्यक सबै कुरा व्याख्या गर्न, मानिसले प्रवेश गर्नुपर्ने कुराहरू औँल्याउन, मानिसलाई परमेश्‍वरका कार्यहरू देखाउन र मानिसलाई परमेश्‍वरको बुद्धि, सर्वशक्तिमान्‌ता र विलक्षणता देखाउन देह बन्नुभएको छ। परमेश्‍वरले बोल्ने धेरै तरिकामार्फत, मानिसले परमेश्‍वरको सर्वोच्चता, परमेश्‍वरको महान्‌ता, र त्योभन्दा बढी, परमेश्‍वरको नम्रता र गुप्तपन देख्छ। मानिसले परमेश्‍वर सर्वोच्च हुनुहुन्छ तर उहाँ नम्र र गुप्त हुनुहुन्छ अनि सबैभन्दा सानो बन्न सक्नुहुन्छ भन्ने देख्छ। उहाँका कतिपय वचन सिधै आत्माको दृष्टिकोणबाट, कतिपय वचन सिधै मानिसको दृष्टिकोणबाट र कतिपय वचन तेस्रो व्यक्तिको दृष्टिकोणबाट बोलिएका हुन्छन्। यसमा, परमेश्‍वरको कामको तरिका एकदमै फरक हुन्छ भनी देख्न सकिन्छ र उहाँ मानिसलाई वचनहरूमार्फत नै त्यो देख्न दिनुहुन्छ। आखिरी दिनहरूको दौरान परमेश्‍वरको काम सामान्य र व्यावहारिक दुवै हुन्छ र यसरी आखिरी दिनहरूका मानिसहरूको समूह सबैभन्दा ठूलो परीक्षामा पर्छन्। परमेश्‍वरको सामान्यता र व्यावहारिकताका कारण, सबै मानिस परीक्षाहरूबीच प्रवेश गरेका छन्; मानिस परमेश्‍वरका परीक्षाहरूमा पर्नुको कारण परमेश्‍वरको सामान्यता र व्यावहारिकता नै हो। येशूको युगमा, कुनै धारणा वा परीक्षाहरू थिएनन्। येशूले गरेका धेरैजसो काम मानिसका धारणाहरूअनुरूप भएकाले, मानिसहरूले उहाँलाई पछ्याए र तिनीहरूमा उहाँबारे कुनै धारणाहरू थिएनन्। आजका परीक्षाहरू मानिसले सामना गरेका अहिलेसम्मकै सबैभन्दा ठूला परीक्षा हुन् र जब यी मानिसहरू महासङ्कष्टबाट बाहिर आउँछन् भनेर भनिन्छ, तब यही सङ्कष्टलाई जनाइएको हो। आज, परमेश्‍वर यी मानिसहरूमा आस्था, प्रेम, कष्ट स्वीकार र समर्पण निर्माण गर्न बोल्नुहुन्छ। आखिरी दिनहरूका देहधारी परमेश्‍वरद्वारा बोलिएका वचनहरू मानिसको प्रकृति सार, मानिसका व्यवहार र प्रकटीकरणहरू अनि मानिसले वर्तमानमा प्रवेश गर्नुपर्ने कुराहरूअनुसार बोलिएका हुन्छन्। उहाँका वचनहरू व्यावहारिक र सामान्य दुवै हुन्छन्: उहाँ भोलिको कुरा गर्नुहुन्न, न त उहाँ हिजोलाई नै फर्केर हेर्नुहुन्छ; उहाँ आज प्रवेश गर्नुपर्ने, अभ्यास गर्नुपर्ने र बुझ्नुपर्ने कुराहरूबारे मात्र बोल्नुहुन्छ। अहिलेको दिनमा, यदि चिन्‍ह र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू धपाउन, बिरामीलाई निको पार्न र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुन्छ, र यदि त्यस्तो व्यक्तिले फर्किआउनुभएको येशू मै हुँ भनी दाबी गर्छ भने, यो कुनै दुष्टात्माले गरेको प्रतिरूपण हुन्छ, यो दुष्टात्माले येशूको नक्कल गर्ने कार्य हुन्छ। यो कुरा याद गर! परमेश्‍वरले एउटै काम दोहोर्‍याउनुहुन्‍न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। परमेश्‍वरको काम मानिसका धारणाहरूअनुरूप छैन; उदाहरणका लागि, पुरानो करारले मसीहको आगमनको भविष्यवाणी गर्‍यो, र अन्ततः आउने त येशू नै हुनुहुन्थ्यो। यसरी, फेरि अर्को मसीह आउनु गलत हुनेथ्यो। येशू एक पटक आइसक्‍नुभएको छ, र यदि “येशू” यस पटक फेरि आउनुभएको भए, त्यो गलत हुनेथ्यो। प्रत्येक युगको एउटा नाम छ, र हरेक नाममा उक्त युगको विशेषता हुन्छ। मानिसका धारणाहरूमा, परमेश्‍वरले सधैँ चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुपर्छ, सधैँ बिरामीलाई निको पार्नुपर्छ र भूतप्रेतहरू धपाउनुपर्छ, र सधैँ येशूजस्तै हुनुपर्छ। तर यसपटक, परमेश्‍वर बिलकुलै त्यस्तो हुनुहुन्‍न। आखिरी दिनहरूमा, यदि परमेश्‍वरले अझै पनि चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको, र अझै पनि भूतप्रेतहरू धपाउनुभएको र बिरामीलाई निको पार्नुभएको भए—यदि उहाँले ठ्याक्कै येशूले जस्तै गर्नुभएको भए—परमेश्‍वरले एउटै काम दोहोर्‍याउनुभएको हुनेथियो, र येशूको कामको कुनै महत्त्व वा मूल्य हुनेथिएन। त्यसैले, परमेश्‍वरले हरेक युगमा कामको एउटा चरण कार्यान्वयन गर्नुहुन्छ। उहाँको कामको हरेक चरण पूरा भएपछि, दुष्ट आत्माहरूले तुरुन्तै यसको नक्‍कल गर्ने कोसिस गर्छन्, र शैतानले परमेश्‍वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्‍वरले अलग विधि अपनाउनुहुन्छ। परमेश्‍वरले उहाँको कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्‍कल गर्ने कोसिस गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ। परमेश्‍वरको आजको काम किन येशूको कामभन्दा फरक छ? परमेश्‍वरले आज किन चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुहुन्‍न, पिशाचहरू धपाउनुहुन्‍न, र बिरामीहरू निको पार्नुहुन्‍न? यदि येशूको काम व्यवस्थाको युगमा गरिएको कामजस्तै भएको भए, के उहाँले अनुग्रहको युगको परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्‍नुहुन्थ्यो? के उहाँले क्रूसीकरणको काम पूरा गर्न सक्‍नुहुन्थ्यो? यदि येशू मन्दिरमा आबद्ध हुनुभएको र उहाँले व्यवस्थाको युगमा जस्तै शबाथको दिन पालन गर्नुभएको, उहाँलाई कसैले पनि नसताएको र सबैले अँगालेको भए, के उहाँ क्रूसमा टाँगिइन सक्‍नुहुन्थ्यो? के उहाँले छुटकाराको काम पूरा गर्न सक्‍नुहुन्थ्यो? यदि आखिरी दिनहरूका देहधारी परमेश्‍वरले पनि येशूले गर्नुभएजस्तै चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको भए, यसको के अर्थ हुन्थ्यो? यदि परमेश्‍वरले आखिरी दिनहरूमा उहाँको व्यवस्थापन योजनाको भागलाई प्रतिनिधित्व गर्ने उहाँको कामको अर्को भाग गर्नुभयो भने मात्र मानिसले परमेश्‍वरबारे झनै गहिरो ज्ञान प्राप्त गर्न सक्छ, र परमेश्‍वरको व्यवस्थापन योजना पूरा हुन सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वर्तमान कामसम्बन्धी ज्ञान

२९६. आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसलाई सिद्ध पार्न मुख्य रूपमा वचनकै प्रयोग गर्नुहुन्छ। उहाँ मानिसलाई जबर्जस्ती विश्‍वस्त तुल्याउन चिह्न र अचम्‍मका कार्यहरू प्रयोग गर्नुहुन्न; यसले परमेश्‍वरको महान् शक्ति प्रकट गर्न सक्दैन। यदि परमेश्‍वरले चिह्न र अचम्‍मका कार्यहरू मात्र देखाउनुभएको भए, यसले परमेश्‍वरको व्यावहारिकता प्रकट गर्न सक्नेथिएन, र यसले मानिसलाई सिद्ध पार्न सक्नेथिएन। परमेश्‍वरले मानिसहरूलाई चिह्न र अचम्‍मका कार्यहरूद्वारा सिद्ध पार्नुहुन्न, बरु मानिसलाई मलजल र रखवारी गर्न वचनको प्रयोग गर्नुहुन्छ, त्यसपछि मानिस पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन र परमेश्‍वरको ज्ञान प्राप्त गर्न सक्छ। उहाँले गर्ने काम र उहाँले बोल्ने वचनको उद्देश्य यही नै हो। परमेश्‍वर मानिसलाई सिद्ध पार्नका लागि चिह्न र अचम्‍मका कार्यहरू देखाउने विधि प्रयोग गर्नुहुन्न—उहाँ वचनहरू प्रयोग गर्नुहुन्छ, र मानिसलाई सिद्ध पार्नका लागि कामका धेरै वटा विधि प्रयोग गर्नुहुन्छ। चाहे त्यो शोधन होस्, काँटछाँट होस्, वा वचनहरूको प्रबन्ध होस्, मानिसलाई सिद्ध पार्न अनि मानिसलाई परमेश्‍वरको काम, बुद्धि र अद्भुतपनको ज्ञान प्राप्त गर्न सक्षम बनाउन परमेश्‍वर धैरै वटा फरक-फरक दृष्टिकोणबाट बोल्नुहुन्छ। जब परमेश्‍वरले आखिरी दिनहरूमा युगको समाप्ति गर्ने समयमा मानिसलाई पूर्ण पारिन्छ, तब ऊ चिन्ह र अचम्‍मका कार्यहरू हेर्न योग्य हुनेछ। जब तँ परमेश्‍वरलाई चिन्न थाल्छस् र परमेश्‍वरले जे गर्दा पनि उहाँप्रति समर्पित हुन सक्छस्, तब चिह्न र अचम्‍मका कार्यहरू देख्दा उहाँबारे अब तँमा कुनै धारणा हुनेछैन। यस क्षणमा, तँ भ्रष्ट छस् र परमेश्‍वरप्रति पूर्ण समर्पित हुन असक्षम छस्—के तँलाई तँ परमेश्‍वरका चिन्ह र अचम्‍मका कार्यहरू हेर्न योग्य छस् भन्‍ने लाग्छ? परमेश्‍वरले चिन्हहरू र आश्‍चर्यकर्महरू देखाउने बेला नै परमेश्‍वर मानिसलाई दण्ड दिनुहुन्छ, अनि त्यही बेला नै युग परिवर्तन हुन्छ, अनि अझ बढी, युग पनि अन्त्य हुन्छ। परमेश्‍वरको काम सामान्य रूपमा भइरहेको बेला उहाँ चिन्हहरू र आश्‍चर्यकर्महरू देखाउनुहुन्न। उहाँलाई चिन्हहरू र आश्‍चर्यकर्महरू देखाउनु अत्यन्तै सजिलो हुन्छ, तर परमेश्‍वरको कामको सिद्धान्त त्यो होइन, न त त्यो परमेश्‍वरद्वारा गरिने मानिसको व्यवस्थापन नै हो। यदि मानिसले चिन्हहरू र आश्‍चर्यकर्महरू देख्यो, र परमेश्‍वरको आत्मिक शरीर पनि मानिसकहाँ देखा पर्नुभयो भने, के सबै मानिसले परमेश्‍वरमा “विश्‍वास” गर्नेथिएनन् र? मैले यसभन्दा पहिले महासङ्कष्टबाट निस्केर आउने विजेताहरूको एउटा समूह पूर्वबाट प्राप्त गरिन्छन् भनेर भनेँ। यी वचनहरूको अर्थ के हो? तिनको अर्थ के हो भने, न्याय, सजाय, काँटछाँट, र हरकिसिमका शोधन भोगेपछि मात्र यी प्राप्त गरिने मानिसहरू साँचो रूपमा समर्पित हुन्छन्। यी मानिसहरूको विश्‍वास अस्पष्ट हुँदैन, तर व्यावहारिक हुन्छ। तिनीहरूले कुनै पनि चिन्ह र आश्‍चर्यकर्म वा कुनै चमत्कार देखेका हुँदैनन्; तिनीहरू कुनै ठूल्ठूला शब्द र धर्मसिद्धान्तहरू बोल्न, वा गहन अन्तर्ज्ञानहरूबारे कुरा गर्न सक्दैनन्; त्यसको साटो, तिनीहरूसित वास्तविकता र परमेश्‍वरका वचनहरू हुन्छन्, र परमेश्‍वरको व्यावहारिक र साँचो ज्ञान हुन्छ। के यस्तो समूह परमेश्‍वरको महान् शक्ति प्रकट गराउन अझ बढी सक्षम हुँदैन र? आखिरी दिनहरूमा परमेश्‍वरको काम व्यावहारिक काम हो। येशूको युगमा, उहाँ मानिसलाई सिद्ध पार्नका लागि नभई मानिसलाई छुटकारा दिन आउनुभयो, त्यसकारण, मानिसहरूलाई उहाँको पछि लगाउन उहाँले केही आश्‍चर्यकर्महरू प्रस्तुत गर्नुभयो। किनकि उहाँ मुख्य रूपमा क्रूसीकरणको काम पूरा गर्न आउनुभएको थियो, र चिह्नहरू देखाउनु उहाँको सेवकाइको पाटो थिएन। त्यस्ता चिन्ह र अचम्‍मका कार्यहरू उहाँको कामलाई अझ प्रभावकारी बनाउन गरिएका काम थिए; ती अतिरिक्त काम थिए, र तिनले सम्पूर्ण युगको कामको प्रतिनिधित्व गर्दैनथिए। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्‍वरले केही चिन्ह र अचम्‍मका कार्यहरू पनि देखाउनुभयो—तर परमेश्‍वरले आज गर्ने काम व्यावहारिक काम हो, र अहिले उहाँ पक्कै पनि चिन्ह र अचम्‍मका कार्यहरू देखाउनुहुन्‍न। यदि उहाँले चिन्ह र अचम्‍मका कार्यहरू देखाउनुभयो भने उहाँको व्यावहारिक काम लथालिङ्ग हुनेथियो, र उहाँले अरू थप काम गर्न सक्नुहुनेथिएन। यदि परमेश्‍वरले मानिसलाई सिद्ध पार्नका लागि वचन प्रयोग गर्ने भन्‍नुभयो, तर उहाँले चिन्ह र अचम्‍मका कार्यहरू पनि देखाउनुभयो भने, के मानिस साँच्चै उहाँमा विश्‍वास गर्छ कि गर्दैन भन्ने कुरा त्यसले प्रकाश गर्न सक्थ्यो र? तसर्थ, परमेश्‍वर त्यस्ता कामकुरा गर्नुहुन्न। मानिसभित्र धर्म ज्यादै छ; परमेश्‍वर मानिसभित्र भएका धार्मिक धारणाहरू र अलौकिक कुराहरू सबैलाई निष्कासित गर्न, मानिसलाई परमेश्‍वरको व्यवहारिकता थाहा दिन अनि परमेश्‍वरको अस्पष्ट र अवास्तविक अनि पटक्कै अस्तित्वमा छैन भन्न सकिने स्वरूपलाई हटाउन आखिरी दिनहरूमा आउनुभएको छ। त्यसैले, अब तैँले व्यावहारिकताको ज्ञान प्राप्त गर्नु मात्र मूल्यवान् कुरा रहेको छ! सत्यता सबै कुराभन्दा माथि छ। आज तँमा सत्यता कति छ? के चिन्ह र अचम्‍मका कार्यहरू देखाउने सबै परमेश्‍वर हुन्? दुष्टात्माहरूले पनि चिन्ह र अचम्‍मका कार्यहरू देखाउन सक्छन्; के ती सबै परमेश्‍वर हुन्? परमेश्‍वरमाथिको विश्‍वासमा मानिसले खोज्ने भनेको सत्यता हो र उसले पछ्याउने भनेको जीवन हो, चिन्ह र अचम्‍मका कार्यहरू होइनन्। परमेश्‍वरमा विश्‍वास गर्ने सबैको लक्ष्य यही नै हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ

२९७. यहोवाको काम संसारको सृष्टि थियो, यो सुरुवात थियो; कामको यो चरण कामको अन्त्य हो र यो समापन हो। सुरुमा, परमेश्‍वरको काम इस्राएलका चुनिएका मानिसहरूमाझ गरिएको थियो, र यो सबैभन्दा पवित्र स्थानमा गरिएको अभूतपूर्व काम थियो। कामको अन्तिम चरण संसारलाई न्याय गर्न र युगलाई अन्त्य गर्न सबैभन्दा फोहोरी देशमा गरिन्छ। पहिलो चरणमा, परमेश्‍वरको काम सबैभन्दा उज्यालो स्थानमा गरिएको थियो, र अन्तिम चरण सबैभन्दा अँध्यारो स्थानमा गरिन्छ, अनि यस अन्धकारलाई हटाइनेछ, उज्यालो ल्याइनेछ, र सबै मानिसमाथि विजय हासिल गरिनेछ। जब यस सबैभन्दा फोहोरी र सबैभन्दा अँध्यारो स्थानका मानिसहरूमाथि विजय हासिल गरिसकिएको हुन्छ, र सम्पूर्ण जनसङ्ख्याले परमेश्‍वर हुनुहुन्छ, जो साँचो परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गरेका हुन्छन्, र हरेक व्यक्ति पूर्ण रूपमा विश्वस्त भएको हुन्छ, तब यो तथ्य सम्पूर्ण ब्रह्माण्डमाथि विजय हासिल गर्ने काम गर्न प्रयोग गरिनेछ। कामको यो चरण प्रतिनिधिमूलक छ। यस युगको काम समाप्त भइसकेपछि, छ हजार वर्षे व्यवस्थापनको काम पूर्ण रूपमा समाप्त हुनेछ। सबैभन्दा अँध्यारो स्थानमा भएकाहरूमाथि विजय हासिल गरिसकेपछि, अरू सबै ठाउँमा पनि त्यसै हुनेछ भनेर भनिरहनु पर्दैन। त्यसकारण, चीनमा गरिने विजयको कामले मात्र प्रतिनिधिमूलक महत्त्व राख्छ। चीन अन्धकारका सबै शक्तिको मूर्तरूप हो, र चीनका मानिसहरूले देहका, शैतानका र सांसारिकताका सबै मानिसको प्रतिनिधित्व गर्छन्। चिनियाँ मानिसहरू नै ठूलो रातो अजिङ्गरद्वारा सबैभन्दा बढी भ्रष्ट तुल्याइएका छन्, जसले परमेश्‍वरको सबैभन्दा घोर विरोध गर्छन्, जसको मानवता सबैभन्दा नीच र सबैभन्दा फोहोरी छ, र त्यसैले तिनीहरू सम्पूर्ण भ्रष्ट मानवजातिका मूल रूप हुन्। यसको अर्थ अन्य देशहरूमा पटक्कै समस्या छैन भन्ने होइन; मानिसका धारणाहरू सबै उस्तै हुन्छन्, र यी देशका मानिसहरू राम्रो क्षमताका हुन सक्ने भए पनि, यदि तिनीहरू परमेश्‍वरलाई चिन्दैनन् भने, तिनीहरू उहाँको विरोध पक्कै गर्छन्। यहूदीहरूले पनि किन परमेश्‍वरको विरोध गरे र उहाँको विरुद्ध विद्रोह गरे? फरिसीहरूले पनि किन उहाँको विरोध गरे? यहूदाले किन येशूलाई विश्वासघात गरे? त्यसबेला, धेरै चेलाले येशूलाई चिनेका थिएनन्। येशू क्रूसमा टाँगिनुभएपछि र फेरि बौरिउठ्नुभएपछि पनि मानिसहरूले किन अझै उहाँमा विश्वास गरेनन्? के मानिसको विद्रोहीपन सबै उस्तै होइनन् र? यति मात्र हो कि, चीनका मानिसहरूलाई एउटा उदाहरण बनाइएको छ, र जब तिनीहरूमाथि विजय हासिल गरिन्छ, तब तिनीहरू नमुना र प्रतिरूप बन्नेछन्, अनि अरूका लागि सन्दर्भका रूपमा काम गर्नेछन्। मैले किन सधैँ तिमीहरू मेरो व्यवस्थापनको योजनाका सहायक हौ भनेर भनेको छु? चीनका मानिसहरूमा नै भ्रष्टता, फोहोरीपन, अधार्मिकता, विरोध, र विद्रोहीपन सबैभन्दा पूर्ण रूपमा देखिन्छन् र ती तिनका सबै विविध रूपमा प्रकट हुन्छन्। एकातिर, तिनीहरू कमजोर क्षमताका छन्, र अर्कोतिर, तिनीहरूको जीवन र मानसिकता पिछडिएको छ, अनि तिनीहरूको बानी, सामाजिक वातावरण, जन्मिएको परिवार—सबै कमजोर र सबैभन्दा पिछडिएका छन्। तिनीहरूको हैसियत पनि निम्न छ। यस स्थानको काम प्रतिनिधिमूलक छ, र यो परीक्षण काम पूर्ण रूपमा गरिसकिएपछि, परमेश्‍वरको त्यसपछिको काम अझ धेरै सजिलो हुनेछ। कामको यो चरण पूरा भएपछि, त्यसपछिको काम पटक्कै गाह्रो हुनेछैन। कामको यो चरण सम्पन्न भइसकेपछि, ठूलो सफलता पूर्ण रूपमा हासिल भएको हुनेछ, र सम्पूर्ण ब्रह्माण्डमा विजयको काम पूर्ण रूपमा समाप्त भएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (२)

२९८. परमेश्‍वरले ब्रह्माण्डमा आफ्नो कामको सम्पूर्ण ध्यान मानिसहरूको यस समूहमा लगाउनुभएको छ। उहाँले तिमीहरूका लागि आफ्नो सारा रगत-पसिनाको बलिदान गर्नुभएको छ; उहाँले ब्रह्माण्डमा रहेको आत्माको सबै काम फिर्ता लिएर तिमीहरूलाई दिनुभएको छ। यसैकारण तिमीहरू सौभाग्यशाली छौ। यसबाहेक, उहाँले आफ्नो महिमा इस्राएलदेखि, उहाँका चुनिएका मानिसहरूदेखि, तिमीहरूमा सार्नुभएको छ, अनि उहाँले आफ्नो योजनाको उद्देश्य यसै समूहमार्फत पूर्ण रूपमा प्रकट गर्नुहुनेछ। त्यसकारण, परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्ने तिमीहरू नै हौ, र त्योभन्दा पनि बढी, तिमीहरू परमेश्‍वरको महिमाको उत्तराधिकार प्राप्त गर्ने मानिस हौ। सायद, तिमीहरू सबैलाई यी वचनहरू याद छ होला: “किनभने हाम्रो हल्का दुःख, जुन क्षणभरका लागि मात्र हुन्छ, त्यसले हाम्रा निम्ति महिमाको अझै अत्याधिक र अनन्त भारको काम गर्छ।” तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू तिनको वास्तविक महत्त्वका बारेमा गहन रूपमा सचेत छौ। यी वचनहरूलाई परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा गुँडुल्किएर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यस देशमा रहेका मानिसहरू परमेश्‍वरमा विश्‍वास गरेका कारण अपमान र सतावटको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्‍वरले आफ्नो काम परमेश्‍वरको विरोध गर्ने भूमिमा गर्ने हुनाले, उहाँको सबै कामले भयङ्कर अवरोधहरू सामना गर्छ, र उहाँका धेरै वटा वचन तुरुन्तै पूरा गर्न सकिँदैन; यसर्थ, मानिसहरूलाई परमेश्‍वरका वचनहरूका कारण शोधन गरिन्छ, र त्यो पनि दुःखकै पाटो हो। ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम गर्न परमेश्‍वरलाई भयङ्कर गाह्रो हुन्छ, तर यही कठिनाइमार्फत परमेश्‍वरले एक चरणको आफ्नो काम गर्नुहुन्छ, ताकि उहाँले आफ्नो बुद्धि र उहाँका अचम्‍मका कार्यहरू प्रकाश गर्न सक्नुहोस्, अनि परमेश्‍वरले यो अवसरलाई प्रयोग गरेर मानिसहरूको यो समूहलाई पूर्ण पार्नुहुन्छ। मानिसहरूको दुःख भोगाइमार्फत, तिनीहरूको क्षमतामार्फत, अनि यस फोहोरी भूमिका मानिसहरूको सारा शैतानी स्वभावमार्फत नै परमेश्‍वरले आफ्नो शुद्धीकरण र विजयको काम गर्नुहुन्छ, ताकि यसबाट उहाँले महिमाका साथै उहाँका कार्यहरूको साक्षी दिने सबैलाई प्राप्त गर्न सक्‍नुभएको होस्। परमेश्‍वरले मानिसहरूको यस समूहका निम्ति चुकाउनुभएको सारा मूल्यको पूर्ण महत्त्व यस्तो छ। अर्थात्, परमेश्‍वर उहाँको विरोध गर्नेहरूमार्फत नै विजयको काम गर्नुहुन्छ, र यसरी मात्रै परमेश्‍वरको महान् शक्ति प्रकट हुन सक्छ। अर्को शब्दमा, फोहोरी भूमिमा रहेकाहरू मात्र परमेश्‍वरको महिमाको उत्तराधिकार हुन लायक छन्, र यसले मात्र परमेश्‍वरको महान् शक्तिमाथि प्रकाश पार्न सक्छ। यसैकारण त्यही फोहोरी भूमिबाट, र त्यही फोहोरी भूमिमा बस्नेहरूबाट नै परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ—परमेश्‍वरको अभिप्राय त्यस्तो छ। यो ठ्याक्कै येशूको कामको चरण जस्तै छ: उहाँ आफूलाई सताउने फरिसीहरूका माझमा मात्र महिमा प्राप्त गर्न सक्नुहुन्थ्यो; फरिसीहरूको सतावट र यहूदाको विश्‍वासघात नहुने हो भने, येशूलाई उपहास वा अपमान गरिएको हुनेथिएन, क्रूसमा टाँगिनु त झनै परको कुरा हो, र उहाँले महिमा प्राप्त गर्न सक्नुभएको हुनेथिएन। जहाँ परमेश्‍वरले प्रत्येक युगमा काम गर्नुहुन्छ, अनि जहाँ उहाँले देहमा आफ्नो काम गर्नुहुन्छ, त्यहीँ नै उहाँले महिमा प्राप्त गर्नुहुन्छ र त्यहीँ नै उहाँले प्राप्त गर्न चाहनुभएकाहरूलाई पनि प्राप्त गर्नुहुन्छ। यो नै परमेश्‍वरको कामको योजना हो, र यो नै उहाँको व्यवस्थापन हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

२९९. परमेश्‍वरका केही हजार वर्षको योजनामा, देहमा कामका दुई भाग गरिन्छन्: पहिलो क्रूसीकरणको काम हो, जसका लागि उहाँ महिमा प्राप्त गर्नुहुन्छ; अर्को आखिरी दिनहरूमा गरिने विजय र सिद्धीकरणको काम हो, जसका लागि उहाँ महिमा प्राप्त गर्नुहुन्छ। परमेश्‍वरको व्यवस्थापन यही हो। त्यसैले परमेश्‍वरको काम, वा परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आज्ञालाई सामान्य कुराका रूपमा नलिऊ। तिमीहरू सबै परमेश्‍वरको महिमाको अत्यन्तै अत्यधिक र अनन्त भारको उत्तराधिकार प्राप्त गर्नेहरू हौ, र यो परमेश्‍वरद्वारा विशेष रूपमा नियोजित थियो। उहाँको महिमाका दुई भागमध्ये, एउटा तिमीहरूमा प्रकट गरिन्छ; परमेश्‍वरको महिमाको एउटा भागको सम्पूर्णता तिमीहरूलाई दिइएको छ, ताकि यो तिमीहरूको उत्तराधिकार हुन सकोस्। यो त परमेश्‍वरले तिमीहरूलाई उचाल्नुभएको हो, र यो उहाँले धेरै अघि पूर्वनिर्धारित गर्नुभएको योजना पनि हो। ठूलो रातो अजिङ्गर बस्ने भूमिमा परमेश्‍वरले गर्नुभएको कामको महान्‌तालाई विचार गर्दा, यदि यो काम अन्यत्र सारिएको भए, यसले धेरै अघि नै ठूलो फल फलाउनेथ्यो र मानिसले यसलाई सहजै स्वीकार गर्नेथ्यो। यसबाहेक, परमेश्‍वरमा विश्‍वास गर्ने पश्‍चिमका ती पादरीहरूका लागि यो काम स्वीकार गर्न अत्यन्तै सजिलो हुनेथ्यो, किनभने येशूको कामको चरण एउटा नजिरका रूपमा रहेको छ। यसैकारण परमेश्‍वर महिमा प्राप्त गर्ने कामको यो चरण अन्यत्र हासिल गर्न सक्नुहुन्न; जब कामलाई मानिसहरूले समर्थन गर्छन् र राज्यले मान्यता दिन्छ, तब परमेश्‍वरको महिमा स्थापित हुने कुनै ठाउँ हुँदैन। यस भूमिमा कामको यस चरणले बोक्ने असाधारण महत्त्व ठ्याक्कै यही हो। तिमीहरूमध्ये एक जना पनि कानुनद्वारा संरक्षित छैन—बरु, तिमीहरू त कानुनद्वारा दण्डित छौ। अझ ठूलो कठिनाइ त के हो भने, मानिसहरू तिमीहरूलाई बुझ्दैनन्: चाहे तिमीहरूका आफन्त होऊन्, तिमीहरूका बाबु-आमा होऊन्, तिमीहरूका इष्टमित्र होऊन्, अथवा तिमीहरूका सहकर्मीहरू नै किन नहोऊन्, तिनीहरूमध्ये कोही पनि तिमीहरूलाई बुझ्दैनन्। जब तिमीहरू परमेश्‍वरद्वारा “त्यागिन्छौ,” तब तिमीहरूका निम्ति यस संसारमा जिइरहन असम्भव हुन्छ, तर त्यसो भए तापनि, मानिसहरू अझै पनि परमेश्‍वरदेखि टाढा जाने कुरा सहन सक्दैनन्। यही नै मानिसहरूलाई परमेश्‍वरले विजय गर्नुको महत्त्व, र परमेश्‍वरको महिमा हो। तिमीहरूले आज जे उत्तराधिकार पाएका छौ त्यो युगौँदेखिका प्रेरित र अगमवक्ताहरूको भन्दा बढी छ त्यो मोशा र पत्रुसको भन्दा पनि ठूलो छ। आशिष्‌हरू एक-दुई दिनमा प्राप्त गर्न सकिँदैन; ती ठूलो मूल्य चुकाएर कमाइनुपर्छ। भन्नुको अर्थ, तिमीहरूसित शोधन भोगेको प्रेम हुनैपर्छ, तिमीहरूमा ठूलो आस्था हुनैपर्छ, अनि तिमीहरूले हासिल गर्नुपर्छ भनी परमेश्‍वरले माग गर्ने धेरै सत्यता तिमीहरूमा हुनैपर्छ; अझ भन्नुपर्दा, तिमीहरू नतर्सी वा पछाडि नहटी इन्साफतर्फ फर्कन सक्नुपर्छ, अनि तिमीहरूमा मृत्युसम्‍मै स्थिर रूपमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ। तिमीहरूसँग सङ्कल्प हुनैपर्छ, तिमीहरूको जीवन स्वभाव परिवर्तन हुनैपर्छ, तिमीहरूको भ्रष्टता निको हुनैपर्छ, तिमीहरूले कुनै पनि गुनासोविना परमेश्‍वरका सबै योजनाबद्धता स्वीकार गर्नैपर्छ, अनि तिमीहरू मृत्युसम्‍मै समर्पित हुन पनि सक्नैपर्छ। तिमीहरूले हासिल गर्नुपर्ने कुरा यही नै हो, परमेश्‍वरको कामको अन्तिम उद्देश्य यही नै हो, र परमेश्‍वरले मानिसहरूको यस समूहबाट माग गर्ने कुरा यही नै हो। उहाँले तिमीहरूलाई दिनुहुने भएकाले, उहाँले तिमीहरूबाट अवश्यै फिर्ता माग्नुहुनेछ, र अवश्यै तिमीहरूका लागि उचित मागहरू अगाडि सार्नुहुनेछ। त्यसकारण परमेश्‍वरले गर्ने सबै कामको पछाडि कारण हुन्छ। यसबाट परमेश्‍वरले किन बारम्बार उच्च मानक र कठोर मागहरू तोक्ने काम गर्नुहुन्छ भन्ने कुरा देख्न सकिन्छ। यसकारण, तिमीहरू परमेश्‍वरमाथिको आस्थाले भरिएको हुनुपर्छ। संक्षिप्तमा, परमेश्‍वरको सबै काम तिमीहरूकै खातिर गरिन्छ, यो तिमीहरू उहाँको उत्तराधिकार प्राप्त गर्न योग्य बन्न सक भनेर गरिन्छ। यो परमेश्‍वरको आफ्नै महिमाको खातिर हो भन्नुको सट्टा, यो तिमीहरूको मुक्ति अनि फोहोर भूमिमा गहिरो गरी पीडित भएका मानिसहरूको यस समूहलाई सिद्ध पार्नका खातिर हो भन्नु राम्रो हुन्छ। तिमीहरूले परमेश्‍वरको अभिप्राय बुझ्नुपर्छ। त्यसैले, म अन्तर्ज्ञान वा समझ नभएका त्यस्ता धेरै अज्ञानी मानिसहरूलाई अर्ती दिन्छु: परमेश्‍वरको परीक्षा नलेओ र उप्रान्त प्रतिरोध नगर। मानिसले कहिल्यै नसहेको सबै कष्ट परमेश्‍वरले भोगिसक्नुभएको छ र उहाँले धेरै अघि मानिसको सट्टा अझ बढी अपमान पनि सहनुभएको छ। त्यसोभए, तिमीहरूले त्याग्न नसक्ने कुरा के छ? परमेश्‍वरको अभिप्रायभन्दा बढी महत्त्वपूर्ण के हुन सक्छ? परमेश्‍वरको प्रेमभन्दा उच्च के हुन सक्छ? यस फोहोर भूमिमा परमेश्‍वरलाई आफ्नो काम सम्पन्न गर्नु पहिल्यै पर्याप्त रूपमा कठिन छ; यदि, यसमाथि, मानिसले थाहा हुँदाहुँदै र जानाजानी गलत कामहरू गर्छ भने, परमेश्‍वरको काम लम्ब्याउनै पर्नेछ। छोटकरीमा, यो कसैको हितमा हुँदैन, यसले कसैलाई लाभ दिँदैन। परमेश्‍वर समयद्वारा बाँधिनुहुन्न; सबैभन्दा पहिले उहाँको काम र महिमा आउँछन्। त्यसकारण, यदि कुनै कुरा उहाँको कामको पाटो हो भने, उहाँले त्यसका निम्ति कुनै पनि मूल्य तिर्नुहुनेछ, चाहे त्यसका लागि जति नै समय किन नलागोस्। परमेश्‍वरको स्वभाव यही हो: आफ्नो काम नसिध्याएसम्म उहाँले विश्राम लिनुहुनेछैन। उहाँले आफ्नो महिमाको दोस्रो भाग प्राप्त गर्नुभएपछि मात्र उहाँको काम समाप्त हुनेछ। यदि, सम्पूर्ण ब्रह्माण्डमा, परमेश्‍वरले महिमा प्राप्त गर्ने आफ्नो कामको दोस्रो भाग पूरा गर्नुभएन भने, उहाँको दिन कहिल्यै आउनेछैन, उहाँको हातले उहाँका चुनिएका मानिसहरूलाई कहिल्यै छोड्नेछैन, उहाँको महिमा इस्राएलमाथि कहिल्यै ओर्लनेछैन, र उहाँको योजना कहिल्यै टुङ्गिनेछैन। तिमीहरूले परमेश्‍वरको अभिप्राय देख्न सक्नुपर्छ, र परमेश्‍वरको काम स्वर्ग र पृथ्वी अनि यावत् थोकको सृष्टिजत्तिको सरल छैन भन्ने देख्नुपर्छ। किनभने आजको काम भनेको भ्रष्ट तुल्याइएका, र चरम रूपमा संवेदनहीन भएकाहरूलाई रूपान्तरण गर्नु हो, यो सृष्टि गरिएका तर शैतानद्वारा प्रशोधन गरिएकाहरूलाई शुद्ध पार्नु हो। यो आदम वा हव्वाको सृष्टि होइन, ज्योतिको सृष्टि, वा हरेक वनस्पति र जनावरको सृष्टि त झनै होइन। परमेश्‍वर शैतानद्वारा भ्रष्ट पारिएका कुराहरूलाई पखाल्नुहुन्छ र त्यसपछि तिनलाई नयाँ रूपमा प्राप्त गर्नुहुन्छ, र तिनलाई उहाँकै कुराहरू बन्ने, र उहाँको महिमा बन्ने तुल्याउनुहुन्छ। यो मानिसले कल्पना गरेजस्तो स्वर्ग र पृथ्वी अनि यावत् थोकको सृष्टिजत्तिको सरल छैन, र यो मानिसले कल्पना गरेजस्तो शैतानलाई अतल कुण्डमा फालियोस् भनी सराप्ने काम जस्तो पनि होइन; बरु, यो त मानिसलाई रूपान्तरण गर्ने, नकारात्मक, र उहाँका नरहेका कुराहरूलाई सकारात्मक कुरामा, र उहाँका कुराहरूमा बदल्ने काम हो। परमेश्‍वरको कामको यस चरणपछाडिको यथार्थ यही हो। तिमीहरूले यो कुरा बुझ्नैपर्छ, र मामिलाहरूलाई अति सरलीकरण गर्नबाट जोगिनैपर्छ। परमेश्‍वरको काम कुनै पनि साधारण कामजस्तो छैन। यसको अद्भुतता र बुद्धि मानिसको दिमागभन्दा बाहिरका कुरा हुन्। परमेश्‍वर कामको यस चरणमा यावत् थोक सृष्टि गर्नुहुन्न, तर उहाँ तिनलाई नष्ट पनि गर्नुहुन्न। बरु, उहाँ आफूले सृष्टि गर्नुभएका यावत् थोकलाई रूपान्तरण गर्नुहुन्छ, र शैतानद्वारा अशुद्ध पारिएका सबै कुरालाई पखाल्नुहुन्छ। अनि यसरी परमेश्‍वर एउटा महान् कार्यमा लाग्नुहुन्छ। परमेश्‍वरको कामको सम्पूर्ण महत्त्व यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

३००. परमेश्‍वरले शैतानलाई हराउनको लागि मानिसहरूको व्यवस्थापनको प्रयोग गर्नुहुन्छ। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याएर तिनीहरूको भविष्यलाई समाप्त गर्छ र परमेश्‍वरको कार्यमा बाधा दिन्छ। अर्कोतर्फ, मानवजातिको मुक्ति नै परमेश्‍वरको कार्य हो। परमेश्‍वरको कामको कुन चरण मानवजातिलाई मुक्त गर्नको लागि होइन? कुन चरण मानवजातिलाई धुनको लागि, र तिनीहरूलाई धर्मी रूपमा व्यवहार गर्ने र प्रेम गर्न सकिनेहरूको प्रतिरूपमा जिउने तुल्याउनको लागि होइन? तैपनि, शैतानले यसो गर्दैन। त्यसले मानवजातिलाई भ्रष्ट तुल्याउँछ; त्यसले मानवजातिलाई भ्रष्ट तुल्याउने त्यसको काम सम्पूर्ण ब्रह्माण्डभरि नै निरन्तर रूपमा जारी राख्छ। अवश्‍य नै, परमेश्‍वरले पनि शैतानलाई कुनै ध्यान नै नदिइकन आफ्‍नो काम गर्नुहुन्छ। शैतानसँग जति नै धेरै अख्‍तियार भए तापनि, त्यो अख्तियार परमेश्‍वरले नै त्यसलाई दिनुभएको थियो; परमेश्‍वरले आफ्‍नो सम्पूर्ण अख्तियार त्यसलाई दिनुभएन, त्यसकारण शैतानले जेसुकै गरे तापनि, त्यसले परमेश्‍वरलाई कहिल्यै उछिन्न सक्दैन र त्यो सधैँ नै परमेश्‍वरको पकडभित्रै हुनेछ। स्वर्गमा हुँदा परमेश्‍वरले आफ्‍नो कुनै पनि कार्य प्रकट गर्नुभएन। उहाँले शैतानलाई अख्तियारको सानो भाग मात्रै दिएर अरू स्वर्गदूतहरूमाथि नियन्त्रण अभ्यास गर्न दिनुभयो। त्यसकारण, शैतानले जेसुकै गरे तापनि, परमेश्‍वरको अख्‍तियारलाई उछिन्न सक्दैन, किनभने परमेश्‍वरले त्यसलाई सुरुमा दिनुभएको अख्तियार सीमित छ। परमेश्‍वरले काम गर्नुहुँदा, शैतानले बाधा दिन्छ। आखिरी दिनहरूमा, त्यसका बाधाहरू समाप्त हुनेछन्; त्यसरी नै, परमेश्‍वरको कार्य पनि समाप्त हुनेछ, अनि परमेश्‍वरले जुन प्रकारका मानिसहरूलाई पूर्ण बनाउन चाहनुहुन्छ तिनीहरू पनि पूर्ण हुनेछन्। परमेश्‍वरले मानिसहरूलाई सकारात्मक रूपमा निर्देशित गर्नुहुन्छ; उहाँको जीवन जिउँदो पानी हो, जुन नाप्‍न नसकिने र सीमारहित छ। शैतानले मानिसलाई निश्‍चित हदसम्‍म भ्रष्ट तुल्याएको छ; अन्त्यमा, जीवनको जिउँदो पानीले मानिसलाई पूर्ण बनाउनेछ, अनि हस्तक्षेप गर्नु र त्यसको काम गर्नु शैतानको लागि असम्‍भव हुनेछ। यसरी, परमेश्‍वरले यी मानिसहरूलाई पूर्ण रूपमा प्राप्त गर्न सक्‍नुहुनेछ। अहिले समेत, शैतानले यो स्वीकार गर्न मान्दैन; त्यसले निरन्तर रूपमा आफैलाई परमेश्‍वर विरुद्धमा खडा गर्छ, तर उहाँले त्यसलाई कुनै ध्यान दिनुहुन्‍न। परमेश्‍वरले भन्‍नुभएको छ, “शैतानका सारा अन्धकारका शक्तिहरू र सारा अन्धकारका प्रभावहरूमाथि म विजय हुनेछु।” अहिले देहमा गरिनुपर्ने काम यही नै हो, र देह बन्‍ने कार्यलाई महत्त्वपूर्ण तुल्याउने पनि यही नै हो: अर्थात्, आखिरी दिनहरूमा शैतानलाई हराउने कामको चरण पूरा गर्नु, अनि शैतानको स्वामित्वमा रहेका सबै कुरालाई हटाउनु। शैतानमाथिको परमेश्‍वरको विजय अपरिहार्य छ! वास्तवमा, शैतान धेरै पहिले नै असफल भइसक्यो। जब ठूलो रातो अजिङ्गरको देशभरि सुसमाचार फैलन सुरु भयो—अर्थात्, जब देहधारी परमेश्‍वरले आफ्‍नो काम सुरु गर्नुभयो र यो काम अघि बढ्यो—तब शैतान पूर्ण रूपमा पराजित भयो, किनभने देहधारणको खास उद्देश्य नै शैतानलाई जित्‍नु थियो। परमेश्‍वर फेरि पनि देह बन्‍नुभएको छ र कुनै पनि शक्तिले रोक्‍न नसक्‍ने आफ्‍नो काम उहाँले सुरु गर्नुभएको छ भन्‍ने थाहा पाउनेबित्तिकै, शैतान यो कामको अघि अक्क न बक्क बन्यो, अनि थप कुनै पनि दुष्कर्म गर्ने आँट गरेन। सुरुमा शैतानले पनि प्रशस्तै बुद्धि प्राप्त गरेको छु भन्‍ने ठान्यो, अनि त्यसले परमेश्‍वरको कार्यमा अवरोध र बाधा पुऱ्यायो; तैपनि, परमेश्‍वर फेरि देह बन्‍नुहुनेछ, वा परमेश्‍वरले आफ्नो काममा शैतानको विद्रोहीपनलाई मानवजातिको लागि प्रकाश र न्यायको रूपमा प्रयोग गर्नुहुनेछ, जसद्वारा उहाँले मानिसहरूलाई विजय गर्नुहुनेछ र शैतानलाई हराउनुहुनेछ भन्‍ने अपेक्षा त्यसले गरेको थिएन। परमेश्‍वर शैतानभन्दा बुद्धिमानी हुनुहुन्छ, र उहाँको कामले त्यसलाई अत्यन्तै बढी मात्रामा उछिन्छ। त्यसकारण, मैले यसभन्दा अघि उल्‍लेख गरेझैँ, “मैले गर्ने काम शैतानका चालहरूको प्रतिक्रियामा गरिन्छ; अन्त्यमा, म मेरो सर्वशक्तिमान्‌ता र शैतानको शक्तिहीनतालाई प्रकट गर्नेछु।” परमेश्‍वरले अग्रस्थानमा आफ्‍नो काम गर्नुहुन्छ, तर आखिरमा, नष्ट भइञ्‍जेलसम्‍म शैतान पछि-पछि दगुर्छ—त्यसलाई केले प्रहार गर्‍यो त्यो पनि त्यसलाई थाहा हुनेछैन! त्यसलाई पहिले नै प्रहार गरेर चकनाचूर पारिसकिएपछि मात्रै त्यसले सत्यतालाई महसुस गर्नेछ, र त्यस बेलासम्‍म, त्यो पहिले नै आगोको कुण्डमा परिसकेको हुनेछ। के त्यसबेला शैतान पूर्ण रूपमा विश्‍वस्त हुनेछैन र? किनभने त्यसपछि त्योसँग प्रयोग गर्ने कुनै पनि युक्ति हुनेछैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ

३०१. ठूलो रातो अजिङ्गरको देशमा, मैले मानवजातिले बुझ्न नसक्ने कामको एउटा चरण गरेको छु, जसले गर्दा तिनीहरू हावामा हल्लिने गर्छन्, र त्यसपछि धेरै जना हावाको बहावसँगै चुपचाप बहँदै जान्छन्। साँच्चै, यो मैले सफा गर्न लागेको “खला” हो; मैले तृष्णा गरेको कुरा यही हो र मेरो योजना पनि यही हो। किनभने म काम गरिरहेको बेला धेरै दुष्ट जन सुटुक्क पसेका छन्, तर म तिनीहरूलाई धपाउन हतार गर्दिनँ। बरु, सही समय आएपछि म तिनीहरूलाई तितरबितर पार्नेछु। त्यसपछि मात्र म जीवनको मूल हुनेछु, र मलाई साँच्चै प्रेम गर्नेहरूलाई मबाट अन्जीरको रूखको फल र लिली फूलको सुगन्ध प्राप्त गर्न दिनेछु। शैतान बस्ने भूमिमा, धूलोको भूमिमा, कुनै शुद्ध सुन बाँकी छैन, केवल बालुवा छ, र त्यसैले, यी परिस्थितिहरू सामना गर्दै, म कामको यस्तो चरण गर्छु। तिमीहरूले थाहा पाउनुपर्छ कि मैले प्राप्‍त गर्ने भनेको शुद्ध र प्रशोधित सुन हो, बालुवा होइन। मेरो घरमा दुष्ट जनहरू कसरी रहन सक्छन्? म फ्याउराहरू परजीवीका रूपमा मेरो स्वर्गमा बसिरहेको कसरी सहन सक्छु? म तिनीहरूलाई धपाउन हरेक विधि प्रयोग गर्छु। मेरा अभिप्रायहरू प्रकट हुनुभन्दा पहिले, म के गर्न गइरहेको छु भन्‍ने कसैलाई थाहा हुँदैन। यही मौका छोपेर, म ती दुष्ट जनहरूलाई धपाउँछु, र तिनीहरू मेरो उपस्थिति छोडेर जान बाध्य हुन्छन्। दुष्टलाई म यस्तै गर्छु, तर तिनीहरूले मेरा लागि सेवा गर्ने दिन अझै आउनेछ। आशिष्‌प्रतिको मानिसहरूको चाहना अत्यन्तै तीव्र छ; त्यसैले, म पछाडि फर्किन्छु र अन्यजातिहरूलाई मेरो महिमामय मुहार देखाउँछु, ताकि मानिसहरू सबै आफ्नै संसारमा जिऊन् र आफैलाई जाँचून्, जबकि म आफूले भन्नुपर्ने वचनहरू भनिरहन्छु, र तिनीहरूलाई आवश्यक पर्ने कुराहरू आपूर्ति गरिरहन्छु। जब मानिसहरूको होस खुल्छ, तब मैले मेरो काम धेरै अघि नै फैलाइसकेको हुनेछु। त्यसपछि म तिनीहरूलाई मेरा अभिप्रायहरू व्यक्त गर्नेछु, र तिनीहरूमा मेरो कामको दोस्रो भाग सुरु गर्नेछु, मेरो कामसँग सहकार्य गर्नका लागि सबै मानिसलाई मलाई नजिकबाट पछ्याउन दिनेछु, र मैले गर्नैपर्ने काम मसँगै गर्न तिनीहरूलाई आफ्नो क्षमताले भ्याएसम्म सबै कुरा गर्न दिनेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जन गर्जिन्छन्—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

३०२. मेरो योजनामा, शैतानले अहिलेसम्म नै पाइलैपिच्छे पछ्याउँदै आएको छ र यसले मेरो बुद्धिको प्रतिभारको रूपमा, मेरो मौलिक योजनालाई अवरोध गर्ने तरिका र माध्यमहरू पत्ता लगाउने कोसिस गर्दै आएको छ। तर के म त्यसका छली युक्तिहरूमा फस्‍न सकुँला र? स्वर्ग र पृथ्वीका यावत् थोकले मेरो सेवा गर्ने वस्तुका रूपमा कार्य गर्छन्; के शैतानका छली युक्तिहरू फरक हुन सक्लान्‌ र? ठीक यहीँनेर नै मेरो बुद्धिले प्रतिच्‍छेदन गर्छ; मेरा कार्यहरूको अद्भुतता ठीक यही नै हो, र मेरो सम्पूर्ण व्यवस्थापन योजनाको सञ्‍चालन सिद्धान्त नै यही हो। राज्य निर्माणको युगमा, अझै पनि म शैतानको छली युक्तिहरूलाई पन्छाउँदिन, बरु मैले गर्नैपर्ने कार्यलाई जारी राख्छु। ब्रह्माण्ड र यावत् थोकहरूको माझमा, मैले शैतानका कार्यहरूलाई मेरो प्रतिभारका रूपमा छानेको छु। के यो मेरो बुद्धिको प्रदर्शन होइन र? मेरो कार्यका बारेमा रहेको अद्भुतता ठीक यही नै होइन र? राज्यको युगभित्र प्रवेश गर्ने समयमा, स्वर्ग र पृथ्वीका सबै थोक पूर्ण रूपमा रूपान्तरित हुन्छन्, र तिनले उत्सव र आनन्द मनाउँछन्‌। के तिमीहरू फरक छौ र? कसको हृदयमा महको मिठास छैन र? कसको हृदय आनन्दले भरिएर छताछुल्ल भइरहेको छैन र? कसका हात र खुट्टा उल्लासले नाच्दैनन् र? कसको मुखले प्रशंसाका शब्दहरू बोल्दैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ८

३०३. जब परमेश्‍वरका मानिसहरू सबै पूर्ण पारिएका हुन्छन् र पृथ्वीका सबै देशहरू ख्रीष्टको राज्य बनेका हुन्छन्, तब त्यो सात मेघगर्जन गर्जने समय हुनेछ। आजको दिन त्यस चरणतर्फको लम्काइ हो; त्यस दिनतर्फको धावा बोलिसकिएको छ। यो परमेश्‍वरको योजना हो र निकट भविष्यमा यो साकार हुनेछ। यद्यपि, परमेश्‍वरले जे बोल्नुहुन्छ ती सबै उहाँले पहिले नै पूरा गरिसक्‍नुभएको छ। त्यसैले, पृथ्वीका देशहरू बालुवामा बनाइएका महल मात्र हुन् जुन टुक्राटुक्रा हुन लागेका छन् भन्ने कुरा स्पष्ट छ—अन्तिम दिन आउनै लागेको छ र ठूलो रातो अजिङ्गर परमेश्‍वरको वचनमुनि गिर्नेछ। परमेश्‍वरको योजना पूर्ण रूपमा सफल भएको सुनिश्‍चित गर्न स्वर्गदूतहरू मानव संसारमा ओर्लेका छन् र परमेश्‍वरलाई सन्तुष्ट पार्नका निम्ति उनीहरूले सक्दो गर्न थालेका छन्, साथै देहधारी परमेश्‍वर स्वयम् शत्रुविरुद्ध युद्ध गर्न युद्धको मैदानमा उपस्थित हुनुभएको छ। जहाँ देहधारण हुनुहुन्छ, शत्रुलाई त्यहीँ नष्ट गरिन्छ। नष्ट हुनेमा चीन पहिलो हुनेछ; त्यसलाई परमेश्‍वरको हातद्वारा सखाप पारिनेछ। परमेश्‍वरले त्यसलाई बिलकुलै दया देखाउनुहुनेछैन। परमेश्‍वरका मानिसहरू अझ परिपक्व हुँदै जाँदा, त्यसले ठूलो रातो अजिङ्गरको थप पतन भइरहेको प्रमाणित गर्छ; मानिसले यो प्रस्ट रूपमा देख्‍न सक्छ। परमेश्‍वरका मानिसहरूको परिपक्‍वता शत्रुको विनाशको पूर्वसङ्केत हो। “प्रतिस्पर्धा गर्छु” को अर्थबारे छोटो व्याख्या यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय १०

३०४. म राज्यमा शासन गर्छु, र त्यसभन्दा पनि बढी, म सम्पूर्ण ब्रह्माण्डभरि शासन गर्छु: म राज्यको राजा र ब्रह्माण्डको प्रमुख, दुवै हुँ। अब उप्रान्त, म जो चुनिएका मानिस होइनन् तिनीहरू सबैलाई भेला गर्नेछु र अन्यजातिहरूमाझ मेरो काम सुरु गर्नेछु, र म सम्पूर्ण ब्रह्माण्डलाई मेरा प्रशासनिक आदेशहरू घोषणा गर्नेछु, ताकि म सहज रूपमा आफ्नो कामको अर्को चरणमा लाग्न सकूँ। अन्यजातिहरूमाझ मेरो काम फैलाउन, म सजाय प्रयोग गर्नेछु, भन्‍नुको अर्थ, म जो-जो अन्यजाति हुन् तिनीहरू सबैको विरुद्धमा “बल” प्रयोग गर्नेछु। स्वाभाविक रूपमा, यो काम र चुनिएका मानिसहरूमाझ गरिने मेरो काम एकै समयमा गरिनेछ। जब मेरा मानिसहरूले पृथ्वीमा राजाका रूपमा शासन गर्छन्, त्यो पृथ्वीका सबै मानिस विजय गरिएको दिन पनि हुनेछ, अनि त्यसभन्दा बढी, मैले विश्राम गर्ने समय पनि त्यही हुनेछ—र त्यसपछि मात्र म विजय गरिएकाहरू सबैकहाँ देखा पर्नेछु। म पवित्र राज्यमा देखा पर्छु, र म आफूलाई फोहोरको देशबाट लुकाउँछु। विजय गरिएका र मेरो सामु समर्पित बनेका सबैले आफ्नै आँखाले मेरो मुहार देख्न सक्छन् र आफ्नै कानले मेरो स्वर सुन्न सक्छन्। आखिरी दिनहरूमा जन्मनेहरूको आशिष् यही नै हो, यो मद्वारा पूर्वनियोजित गरिएको आशिष् हो, र यसलाई कुनै पनि मानिसले बदल्न सक्दैन। आज म भविष्यको कामका खातिर यसरी काम गर्छु। मेरा सबै काम अन्तर्सम्बन्धित छन्, यी सबैमा एउटा बोलावट र जवाफ हुन्छ: कुनै पनि चरण कहिल्यै अचानक रोकिएको छैन र कुनै पनि चरण अर्कोभन्दा अलग्गै गरिएको छैन। कुरा यस्तै होइन र? के विगतको काम आजको कामको जग होइन र? के विगतका वचनहरू आजका वचनहरूका पूर्वरूप होइनन् र? के विगतका चरणहरू आजका चरणहरूका मूल होइनन् र? जब म औपचारिक रूपमा चर्मपत्रको मुठो खोल्छु, त्यसै बेला ब्रह्माण्डका मानिसहरूले सजाय पाउँछन्, त्यसै बेला विश्‍वभरिका मानिसहरू परीक्षाहरूमा पारिन्छन्, र त्यो नै मेरो कामको चरमोत्कर्ष हो; सबै मानिस ज्योतिबिनाको भूमिमा जिउँछन्, र सबै मानिस तिनीहरूको वातावरणले खडा गरेका खतराहरूमाझ जिउँछन्। अर्को शब्दमा भन्नुपर्दा, यो मानिसले सृष्टिको समयदेखि आजसम्म कहिल्यै अनुभव नगरेको जीवन हो, र युगौँभरि कसैले पनि यस प्रकारको जीवनको “आनन्द” लिएको छैन, त्यसैले म भन्छु, मैले पहिले कहिल्यै नगरिएको काम गरेको छु। यो नै वास्तविक अवस्था हो, र यो नै भित्री अर्थ हो। मेरो दिन सम्पूर्ण मानवजातिको नजिक आइरहेको हुनाले, यो टाढा नदेखिने हुनाले बरु मानिसकै आँखासामु भएकाले, यसको फलस्वरूप को भयभीत नहोला र? अनि यसमा प्रसन्न हुन नसक्ने को होला र? फोहोरी सहर बेबिलोनले अन्ततः आफ्नो अन्तिम दिन भोगेको छ; मानिसको एउटा बिलकुलै नयाँ संसारसँग पुनर्मिलन भएको छ, साथै स्वर्ग र पृथ्वी परिवर्तन र नवीकरण गरिएका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २९

३०५. जब पृथ्वीमा सिनिम साकार हुन्छ—जब राज्य साकार हुन्छ—त्यस उप्रान्त पृथ्वीमा फेरि युद्ध हुनेछैन; तब फेरि कहिल्यै पनि अनिकाल, महामारी, र भूकम्पहरू हुनेछैनन्; मानिसहरूले हतियारहरू उत्पादन गर्न छोड्नेछन्; सबै जना शान्ति र स्थिरतामा जिउनेछन्; र मानिसहरूमाझ सामान्य व्यवहार हुनेछ, र देशहरूबीच सामान्य व्यवहार हुनेछ। तापनि त्यससँग वर्तमान समयको कुनै तुलना हुँदैन। आकाशमुनिका सबै थोक कोलाहलमा छन्, र हरेक देशमा बिस्तारै सत्ताकब्जा हुन थालेको छ। परमेश्‍वरका वाणीहरूको फलस्वरूप मानिसहरू बिस्तारै परिवर्तन हुँदैछन्, र आन्तरिक रूपमा प्रत्येक देश बिस्तारै ध्वस्त हुँदैछ। बेबिलोनका स्थिर जगहरू बालुवाको महलजस्तै हल्लिन थाल्छन् र परमेश्‍वरका अभिप्रायहरू परिवर्तन हुँदै जाँदा थाहै नपाई संसारमा ठूला परिवर्तनहरू हुन्छन्, अनि कुनै पनि समय हरप्रकारका चिह्नहरू देखा पर्छन्, त्यसले मानिसहरूलाई संसारको अन्तिम दिन आइपुगेको छ भनी देखाउँछन्! परमेश्‍वरको योजना यही हो; उहाँले काम गर्नुहुने चरणहरू यिनै हुन्, र प्रत्येक देश निश्चय टुक्रा-टुक्रा हुनेछ। पुरानो सदोम दोस्रोपटक नाश हुनेछ, र त्यसैले परमेश्‍वर भन्नुहुन्छ, “संसार पतन भइरहेको छ! बेबिलोन पक्षाघातको चपेटामा छ!” परमेश्‍वरबाहेक अरू कसैले पनि यो पूर्ण रूपले बुझ्न सक्दैन, आखिर जे भए पनि मानिसको चेतना सीमित छ। उदाहरणको लागि, आन्तरिक मामिला मन्त्रीहरूलाई वर्तमान परिस्थितिहरू अस्थिर र कोलाहलमय छन् भनी थाहा हुन सक्छ, तर ती समाधान गर्न तिनीहरू असक्षम हुन्छन्। तिनीहरूले आफ्नो शिर उच्च हुने, सूर्य एकचोटि फेरि पूर्वबाट उदाएर, देशभरि चम्कने र मामिलाहरूको यस दयनीय अवस्थालाई उल्टाउने दिनको आशा गर्दै तिनीहरू जे हुँदैछ, त्यसैसँग अगाडि मात्र बढ्न सक्छन्। तापनि, सूर्य फेरि दोस्रो पटक उदाउँदा त्यसको उद्देश्य भनेको पुरानो व्यवस्थालाई पुनर्स्थापित गर्नु होइन भन्‍ने तिनीहरूलाई अत्तोपत्तो हुँदैन—यो एउटा पुनर्जागरण हो, एउटा पूर्ण परिवर्तन हो। सारा ब्रह्माण्डको लागि परमेश्‍वरको योजना यस्तै छ। उहाँले नयाँ संसार ल्याउनुहुनेछ, तर सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँले पहिले मानिसलाई नवीकरण गर्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय २२ साथै अध्याय २३

३०६. यो भन्न सकिन्छ कि आजका सबै वाणीहरूले भविष्यका विषयहरूमा अगमवाणीहरू गर्छन्; यी वाणीहरू परमेश्‍वरले उहाँको कामको अर्को चरणको प्रबन्ध कसरी गर्नुहुन्छ भन्‍ने कुरा हुन्। परमेश्‍वरले मण्डलीका मानिसहरूमा उहाँको काम लगभग समाप्त गरिसक्नुभएको छ र त्यसपछि उहाँ सबै मानिसहरूको सामु क्रोध सहित देखा पर्नुहुनेछ। परमेश्‍वरले भन्‍नुभए झैँ, “म पृथ्वीका मानिसहरूलाई मेरा कामहरू स्वीकार गर्न लगाउनेछु, र मेरा कामहरू ‘न्यायआसनको अगाडि’ प्रमाणित हुनेछन्, ताकि पृथ्वीका मानिसहरूले तिनलाई स्वीकार गरेर, घोप्टो परून्।” के तिमीहरूले यी वचनहरूमा केही देख्यौ? यसमा परमेश्‍वरको कामको अर्को भागको सारांश छ। सर्वप्रथम, परमेश्‍वरले राजनैतिक शक्ति भएका सबै पाले कुकुरहरूलाई इमानदारीसाथ विश्‍वस्त हुने तुल्याउनुहुनेछ अनि तिनीहरूलाई तिनीहरूका आफ्नै इच्छाको इतिहासको मञ्चबाट पछि सर्ने, फेरि कहिल्यै ओहदाका निम्ति कुनै लडाइँ नगर्ने, फेरि कहिल्यै युक्तिहरू र षड्यन्त्रमा संलग्न नहुने बनाउनुहुनेछ। यो काम परमेश्‍वरले पृथ्वीमा विभिन्न विपत्तिहरू खडा गरी अगाडि बढाउनुपर्छ। तर यसको मतलब परमेश्‍वर देखा पर्नुहुनेछ भन्‍ने पटक्कै होइन। यस समयमा, ठूलो रातो अजिङ्गरको देश अझै पनि फोहोरको देश हुनेछ, र त्यसैले परमेश्‍वर देखा पर्नुहुनेछैन, तर केवल सजायद्वारा देखा पर्नुहुनेछ। परमेश्‍वरको धार्मिक स्वभाव त्यस्तै छ, जसबाट कोही पनि उम्कन सक्दैन। यस समय अवधिमा, ठूलो रातो अजिङ्गरको देशमा बस्ने सबैले विपत्ति भोग्नुपर्नेछ, जसमा स्वाभाविक रूपमा पृथ्वीको राज्य (मण्डली) पनि समावेश हुन्छ। तथ्यहरू बाहिर आउने समय यही नै हो, र यसरी सबै मानिसहरूले यसको अनुभव गर्छन्, र कोही पनि उम्कन सक्दैनन्। परमेश्‍वरले नै यो पूर्वनिर्धारित गरिसक्नुभएको छ। कामको ठीक यही चरणको कारणले नै परमेश्‍वर भन्नुहुन्छ, “ठूला-ठूला योजनाहरूलाई अघि बढाउने समय अहिले नै हो।” किनकि भविष्यमा यस पृथ्वीमा कुनै मण्डली हुनेछैन, र विनाशको आगमनको कारण, मानिसहरू केवल उनीहरूको अगाडि जे छ त्यसको बारेमा मात्र सोच्न सक्ने हुनेछन्, र अरू सबै कुरालाई बेवास्ता गर्नेछन्, र विनाशको बीचमा परमेश्‍वरको आनन्द लिनु उनीहरूलाई कठिन हुनेछ। यसैले, यस सुन्दर समयमा मानिसहरूलाई तिनीहरूका सम्पूर्ण हृदयले परमेश्‍वरलाई प्रेम गर्न आग्रह गरिएको छ, ताकि तिनीहरूले मौका नगुमाऊन्। जब यो तथ्य समाप्त हुन्छ, परमेश्‍वरले त्यो ठूलो रातो अजिङ्गरलाई पूर्ण रूपमा पराजित गर्नुभएको हुनेछ, र यसरी परमेश्‍वरका मानिसहरूले गवाही दिने कामको अन्त्य हुनेछ; त्यसपछि, ठूलो रातो अजिङ्गरको देशलाई पूर्ण रूपमा नष्ट पारेर छोडेपछि परमेश्‍वरले कामको अर्को चरण सुरु गर्नुहुनेछ, र अन्त्यमा सारा ब्रह्माण्डभरिका मानिसहरूलाई क्रूसमा उल्टो झुन्ड्याएर काँटी ठोक्नुहुनेछ, त्यसपछि उहाँले सम्पूर्ण मानव जातिलाई नाश गर्नुहुनेछ—परमेश्‍वरको कामको भविष्यका चरणहरू यिनै हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय ४२

३०७. सबै मानिसहरूले पृथ्वीमा मेरो कामका उद्देश्यहरू बुझ्न आवश्यक छ, भन्नुको अर्थ, म अन्ततः जे प्राप्त गर्न चाहन्छु, र यसलाई पूरा गर्न सक्‍नुभन्दा पहिले मैले यो काममा कुन स्तर हासिल गर्नुपर्छ। आजको दिनसम्म मसँग हिँडिसकेपछि, यदि मानिसहरूले मेरो काम के हो भन्‍ने बारेमा बुझेका छैनन् भने, के तिनीहरू मसँग व्यर्थमा हिँडेका होइनन् र? यदि मानिसहरूले मलाई पछ्याउँछन् भने, तिनीहरूले मेरा अभिप्राय पनि जान्नुपर्छ। म यस पृथ्वीमा हजारौं वर्षदेखि काम गर्दै आइरहेको छु, र हालसम्म पनि मेरो कामलाई निरन्तरता दिन्छु। मेरो काममा धेरै परियोजनाहरू भए तापनि, यसको उद्देश्य अपरिवर्तित रहन्छ; यद्यपि म मानिसप्रतिको न्याय र सजायले भरिएको छु, उदाहरणका लागि, मैले जे गर्छु त्यो अझै पनि उसैको मुक्तिको खातिर हो, र मानिसलाई पूर्ण बनाइसकेपछि सबै अन्यजातिहरूका माझ मेरो सुसमाचार अझ फैलाउनको खातिर र मेरो काम अझ विस्तार गर्नको खातिर हो। यसैले आज, धेरै मानिसहरू लामो समयदेखि गहिरो निराशामा डुबेको यस्तो समयमा, म अझै पनि मेरो कामलाई निरन्तरता दिन्छु, मैले मानिसलाई न्याय गर्न र सजाय दिन मैले गर्नुपर्ने काम जारी राख्छु। म जे भन्छु त्योसँग मानिस वाक्क भएको छ भन्‍ने यथार्थताको बाबजुद पनि, र उसलाई मेरो कामप्रति चासो राख्ने कुनै इच्छा नभए तापनि, म अझै पनि आफ्नो कर्तव्य पूरा गर्दैछु, किनकि मेरो कामको उद्देश्य अपरिवर्तित रहन्छ, र मेरो मौलिक योजना भङ्ग हुनेछैन। मेरो न्यायको उद्देश्य भनेको मानिसलाई अझ राम्रोसँग ममा समर्पित हुने तुल्याउनु हो, र मेरो सजायको उद्देश्य भनेको मानिसलाई अझ राम्रोसँग परिवर्तन हासिल गर्ने तुल्याउनु हो। मैले गर्ने सबथोक मेरो व्यवस्थापनका खातिर नै हुने भए पनि, मैले मानिसका लागि फाइदाजनक नहुने कुनै काम कहिल्यै गरेको छैनँ, किनकि म इस्राएलभन्दा बाहिरका सबै राष्ट्रलाई इस्राएलीहरूजस्तै समर्पित बनाउन, उनीहरूलाई वास्तविक मानव बनाउन चाहन्छु, ताकि मसँग इस्राएलभन्दा बाहिरको भूमिमा पनि पाइला टेक्‍ने ठाउँ होस्। यो मेरो व्यवस्थापन हो; यो अन्यजाति राष्ट्रहरूमाझको मेरो काम हो। अहिले समेत, धेरै मानिसहरू अझै पनि मेरो व्यवस्थापन बुझ्दैनन्‌, किनभने उनीहरू त्यस्ता कुराहरूबारे वास्ता गर्दैनन्‌, बरु आफ्नै भविष्य र गन्तव्यको मात्र वास्ता गर्छन्। मैले जे भने पनि, मानिसहरू मैले गर्ने कामप्रति उदासीन रहन्छन्‌, यसको सट्टा उनीहरू सारा हृदयले आफ्नो भावी गन्तव्यमा केन्द्रित हुन्छन्। यदि कामकुरा यसरी नै चलिरहेमा, मेरो काम कसरी फैलिन सक्छ? मेरो सुसमाचार कसरी सारा संसारभरि प्रचार गर्न सकिन्छ? तिमीहरूले थाहा पाउनुपर्छ कि जब मेरो काम फैलिन्छ, म तिमीहरूलाई छरपस्ट पार्नेछु, र यहोवाले इस्राएलको प्रत्येक कुललाई प्रहार गर्नुभएजसरी नै तिमीहरूलाई प्रहार गर्नेछु। यी सबै कुराहरू मेरो सुसमाचार पृथ्वीभरि फैलियोस्, मेरो काम अन्यजाति राष्ट्रहरूसम्म फैलियोस्‌, जसले मेरो नामलाई वयस्क र बच्चाहरू दुवैमाझ समान रूपमा महान् मानेर सम्मानित गरिने, र सबै जाति र राष्ट्रहरूका मानिसहरूको मुखबाट मेरो पवित्र नामको गुणगान गरिने तुल्याओस् भनेर गरिनेछ। यो अन्तिम युगमा, अन्यजाति राष्ट्रहरूमाझ मेरो नाम महान् भनी उच्च पारियोस्, मेरा कार्य अन्यजाति राष्ट्रहरूका मानिसहरूले देखून्, तिनीहरूले मलाई मेरा कार्यहरूका आधारमा सर्वशक्तिमान् भनून्, र मेरा वचनहरू चाँडै पूरा होऊन्। म इस्राएलीहरूको परमेश्‍वर मात्र होइन, बरु सबै अन्यजाति राष्ट्रहरूका मानिसहरूको, मैले श्राप दिएका राष्ट्रहरू समेतका मानिसहरूको पनि परमेश्‍वर हुँ भनेर म सबै मानिसहरूलाई थाहा हुने तुल्याउनेछु। म सबै सृजित प्राणीहरूको परमेश्‍वर हुँ भनेर सबै मानिसहरूले देख्ने तुल्याउनेछु। मेरो सबैभन्दा ठूलो काम, आखिरी दिनहरूका लागि मेरो कामको योजनाको उद्देश्य, र आखिरी दिनहरूमा मैले पूरा गर्न चाहेको एउटै काम यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो

३०८. के तिमीहरूले परमेश्‍वरले मानिसहरूको यस समूहमा के काम पूरा गर्नुहुनेछ भन्‍ने कुरा देखेका छौ? परमेश्‍वरले एक पटक भन्नुभएको थियो, सहस्राब्दीय राज्यमा समेत मानिसहरूले अझै पनि उहाँका वाणीहरूलाई निरन्तर पछ्याउनैपर्छ, र भविष्यमा परमेश्‍वरका वाणीहरूले कनानको असल भूमिमा मानिसको जीवनलाई सिधै मार्गदर्शन गरिरहनेछन्। जब मोशा उजाड-स्थानमा थिए, तब परमेश्‍वरले तिनलाई सिधै निर्देशन दिनुभयो र तिनीसँग बोल्नुभयो। परमेश्‍वरले स्वर्गबाट मानिसहरूलाई आनन्द लिनका लागि खानेकुरा, पानी र मन्‍न पठाउनुभयो, र आज पनि यो यस्तै छ: परमेश्‍वरले मानिसहरूलाई आनन्द लिनका लागि खाने र पिउने कुराहरू व्यक्तिगत रूपमा पठाउनुभएको छ, र उहाँले मानिसहरूलाई सजाय दिन व्यक्तिगत रूपमा श्रापहरू पठाउनुभएको छ। त्यसकारण, उहाँको कामको हरेक चरण परमेश्‍वरद्वारा व्यक्तिगत रूपमा गरिन्छ। आज, मानिसहरू तथ्यहरूको घटना खोज्छन्, तिनीहरू सङ्केत र आश्चर्यकर्महरू देख्न खोज्छन्, र त्यस्ता सबै मानिसलाई त्यागिने सम्भावना छ, किनभने परमेश्‍वरको काम झन्-झन् व्यावहारिक बन्दै गइरहेको छ। परमेश्‍वर स्वर्गबाट ओर्लनुभएको छ भन्‍ने कुरा कसैलाई थाहा छैन, तिनीहरू परमेश्‍वरले स्वर्गबाट खानेकुरा र पौष्टिक तत्त्वहरू पठाउनुभएको छ भन्‍ने कुराबारे पनि अनभिज्ञ छन्—तैपनि परमेश्‍वर वास्तवमा अस्तित्वमा हुनुहुन्छ, र मानिसहरूले कल्पना गर्ने सहस्राब्दीय राज्यको उत्साहजनक दृश्य पनि परमेश्‍वरले व्यक्तिगत रूपमा वाणीहरू बोल्नु नै हो। यो तथ्य हो, र यसलाई मात्रै पृथ्वीमा परमेश्‍वरसँग राजाहरूका रूपमा शक्ति प्रयोग गर्नु भनिन्छ। पृथ्वीमा परमेश्‍वरसँग राजाहरूका रूपमा शक्ति प्रयोग गर्नुले देहलाई जनाउँछ। जुन कुरा देहको होइन, त्यो पृथ्वीमा अस्तित्वमा हुँदैन, र यसरी तेस्रो स्वर्गमा जानमा ध्यान केन्द्रित गर्नेहरू सबैले व्यर्थमा त्यसो गर्छन्। एक दिन, जब सम्पूर्ण ब्रह्माण्ड परमेश्‍वरकहाँ फर्कन्छ, तब ब्रह्माण्डमा उहाँको कामको केन्द्रले उहाँका वाणीहरूलाई पछ्याउनेछ। अन्यत्र, कतिपय मानिसले टेलिफोन प्रयोग गर्नेछन्, कतिपय मानिस विमान चढ्नेछन्, कतिपय मानिस डुङ्गा चढेर समुद्र पार गर्नेछन्, र कतिपयले परमेश्‍वरका वाणीहरू प्राप्त गर्न लेजरहरू प्रयोग गर्नेछन्। सबै जना प्रशंसा र तृष्णाले भरिपूर्ण हुनेछन्। तिनीहरू सबै परमेश्‍वरको नजिक आउनेछन्, र परमेश्‍वरतर्फ भेला हुनेछन्, र सबैले परमेश्‍वरको आराधना गर्नेछन्। अनि यी सबै परमेश्‍वरका कार्यहरू हुनेछन्। यो कुरा याद राख! परमेश्‍वरले अवश्य नै अरू कतै फेरि कहिल्यै सुरु गर्नुहुनेछैन। परमेश्‍वरले यो तथ्य पूरा गर्नुहुनेछ: उहाँले ब्रह्माण्डका सारा मानिसलाई उहाँसामु आएर पृथ्वीमा हुनुभएको परमेश्‍वरको आराधना गर्न लगाउनुहुनेछ। अरू ठाउँको उहाँको काम अन्त्य हुनेछ, र मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। यो योसेफजस्तै हुनेछ: सबै जना खानेकुराका लागि तिनीकहाँ आए, र तिनको सामने घुँडा टेके, किनभने तिनीसँग खाने कुराहरू थिए। अनिकालको कष्टबाट उम्कनका लागि, मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। सम्पूर्ण धार्मिक संसारले गम्भीर अनिकाल भोग्‍नेछ, अनि आजका परमेश्‍वर मात्रै जिउँदो पानीको मूल हुनुहुन्छ, जोसँग मानिसको आनन्दका लागि प्रदान गरिएको सधैँ बगिरहने मूल छ, र मानिसहरू आउनेछन् र उहाँकै भर पर्नेछन्। त्यो परमेश्‍वरका कार्यहरू प्रकट हुने र परमेश्‍वरले महिमा प्राप्त गर्ने समय हुनेछ; ब्रह्माण्डका सारा मानिस यो सामान्य “मानव” लाई दण्डवत् गर्न आउनेछन्। के यो परमेश्‍वरले महिमा प्राप्त गर्ने दिन हुनेछैन र? एक दिन, वृद्ध पाष्टरहरूले जिउँदो पानीको मूलबाट पानी खोज्दै टेलिग्रामहरू पठाउनेछन्। तिनीहरू वृद्ध हुनेछन्, तैपनि तिनीहरू आफूले तुच्छ ठानेको यस व्यक्तिको आराधना गर्न आउनेछन्। तिनीहरूले उहाँलाई आफ्ना मुखले स्वीकार गर्नेछन् र आफ्नो हृदयले उहाँमा विश्‍वास गर्नेछन्—के यो सङ्केत र आश्चर्यकर्म होइन र? सम्पूर्ण राज्यले हर्षोल्लास गर्ने दिन परमेश्‍वरले महिमा प्राप्त गर्ने दिन हुनेछ, र तिमीहरूकहाँ आउने र परमेश्‍वरको असल समाचार प्राप्त गर्ने जोकोही परमेश्‍वरद्वारा आशिषित हुनेछ, र त्यसो गर्ने देश र परमेश्‍वरले मानिसहरूलाई आशिष्‌ दिनुहुनेछ र उनीहरूको हेरचाह गर्नुहुनेछ। भविष्यको दिशा यस्तो हुनेछ: परमेश्‍वरका वाणीहरू प्राप्त गर्नेहरूसँग पृथ्वीमा अघि बढ्ने मार्ग हुनेछ, र चाहे तिनीहरू व्यापार, वैज्ञानिक अनुसन्धान, शिक्षा, वा उद्योगमा संलग्न होऊन्, परमेश्‍वरका वाणीहरूविनाका मानिसहरूलाई एक कदम चाल्न समेत असम्भव हुनेछ, र तिनीहरू साँचो मार्ग खोज्न बाध्य हुनेछन्। “सत्यताको साथमा तिमी सम्पूर्ण संसारभरि हिँड्नेछौ; सत्यताविना, तिमी कतै पुग्नेछैनौ” भनेर भन्नुको अर्थ यही हो। तथ्यहरू यिनै हुन्। परमेश्‍वर सम्पूर्ण ब्रह्माण्डलाई नियन्त्रण गर्न र मानवजातिको मालिक बन्न र मानवजातिलाई विजय गर्न मार्ग (जसको अर्थ उहाँका सबै वचनहरू हुन्) प्रयोग गर्नुहुन्छ। मानिसहरू सधैँ परमेश्‍वरले काम गर्ने तरिकामा ठूलो परिवर्तनको आशा गरिरहेका हुन्छन्। इमानदारीपूर्वक भन्नुपर्दा, परमेश्‍वरले मानिसहरूलाई वचनहरूमार्फत नै नियन्त्रण गर्नुहुन्छ, र चाहे तँलाई इच्छा होस् वा नहोस्, तैँले उहाँले भन्नुभएको कुरा गर्नैपर्छ; यो एउटा वस्तुगत तथ्य हो, र यसलाई सबैले स्वीकार गर्नैपर्छ, र त्यसैगरी, यो अपरिहार्य छ, र सर्वविदित छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ

३०९. परमेश्‍वरका वचनहरू अनगिन्ती घरहरूमा फैलिनेछन्, ती सबैलाई थाहा हुनेछन्, र त्यसपछि मात्रै उहाँको कार्य ब्रह्माण्डभरि फैलिनेछ। भन्नुको अर्थ के हो भने, यदि परमेश्‍वरको काम सम्पूर्ण ब्रह्माण्डमा फैलिनु छ भने, उहाँका वचनहरू फैलिनै पर्छ। परमेश्‍वरको महिमाको दिनमा, परमेश्‍वरका वचनहरूले आफ्नो शक्ति र अख्तियार देखाउनेछन्। अनन्त कालदेखि आजसम्मका उहाँका हरेक वचनहरू पूरा हुनेछन् र घट्नेछन्। यसप्रकार, पृथ्वीमा परमेश्‍वरको महिमा हुनेछ—अर्थात, उहाँका वचनहरूले पृथ्वीमा शासन गर्नेछन्। सबै दुष्ट मानिसहरूलाई परमेश्‍वरको मुखबाट निस्केका वचनहरूको नतिजास्वरूप सजाय दिइनेछ, सबै धर्मीहरू उहाँको मुखबाट निस्केका वचनहरूको नतिजास्वरूप आशिषित हुनेछन्, र उहाँको मुखबाट निस्केका वचनहरूद्वारा सबै स्थापित हुनेछन् र पूरा गरिनेछन्। न त उहाँले कुनै सङ्केत वा चमत्कारहरू व्यक्त गर्नुहुनेछ; उहाँका वचनले सबै पूरा गर्नेछन्, र उहाँका वचनले तथ्यहरू उत्पन्न गर्दछन्। पृथ्वीमा भएका हरेकले परमेश्‍वरका वचनहरू उद्घोष गर्नेछन् र तिनको गुणगान गर्नेछन्, चाहे तिनीहरू वयस्क हुन् वा बच्चा, पुरुष, महिला, वृद्ध वा जवान हुन्, सबै मानिसहरू परमेश्‍वरका वचनको अधीनमा समर्पित हुनेछन्। परमेश्‍वरका वचनहरू मानिसले पृथ्वीमा स्पष्ट र जीवन्त रूपमा देख्ने गरी देहमा देखा पर्दछन्। वचन देह बन्नुहुन्छ भन्नुको अर्थ यही हो। मुख्यतः “परमेश्‍वर शरीर बन्नुहुन्छ” भन्‍ने तथ्यलाई पूरा गर्न परमेश्‍वर यस पृथ्वीमा आउनुभएको हो, भन्नुको तात्पर्य, उहाँ आफ्ना वचनहरू शरीरबाट जारी गर्न सकियोस् भनेर आउनुभएको हो (पुरानो नियममा मोशाको समय जस्तो होइन, जब परमेश्‍वरको आवाज आकाशबाट प्रत्यक्ष जारी भयो)। त्यस पछि, उहाँका सबै वचनहरू सहस्राब्दीय राज्यको युगको अवधिमा पूरा हुनेछन्, तिनीहरू मानव आँखाको सामु देखिने तथ्यहरू बन्नेछन्, र तिनलाई मानिसहरूले आफ्नै आँखा प्रयोग गरेर अलिकति भिन्‍नताविना देख्नेछन्। परमेश्‍वरको देहधारणको विशाल महत्त्व यही हो। अर्थात, आत्माको काम देह र वचनहरू मार्फत पूरा हुन्छ। “परमेश्‍वर शरीर बन्नुहुन्छ” र “शरीरमा परमेश्‍वर देखा पर्नु” भन्नुको सही अर्थ यही हो। परमेश्‍वरले मात्रै आत्माका अभिप्राय बताउन सक्नुहुन्छ, र देहमा हुनुहुने परमेश्‍वर मात्र आत्माको तर्फबाट बोल्न सक्नुहुन्छ; परमेश्‍वरका वचनहरू देहधारी परमेश्‍वरमा प्रकट गरिन्छन्, र अरू हरेक व्यक्ति तिनैबाट निर्देशित हुन्छन्। कोही पनि यसबाट उम्कन सक्दैन, तिनीहरू सबै यस दायराभित्र छन्। यी वाणीहरूबाट मात्र मानिस सचेत हुन सक्छन्; तीबिना, यदि मानिसहरूले स्वर्गबाट वाणीहरू पाउन सकिन्छ भन्‍ने सोच्छन् भने, उनीहरू सपना देखिरहेका छन्। देहधारी परमेश्‍वरको देहमा यस्तो अख्तियार प्रदर्शन हुन्छ, जसले गर्दा सबैले पूर्ण भरोसाका साथ यसमा विश्‍वास गर्छन्। सबैभन्दा आदरणीय विज्ञहरू र धार्मिक पाष्टरहरूले पनि यी वचनहरू बोल्न सक्दैनन्। उनीहरू सबै तिनका मुनि अर्पित हुनुपर्दछ, र कोही अर्को सुरुवात गर्न सक्षम हुनेछैनन्। परमेश्‍वरले ब्रह्माण्ड विजय गर्न वचनहरू प्रयोग गर्नुहुनेछ। उहाँले सम्पूर्ण ब्रह्माण्डका सबै मानिसलाई विजय गर्न यो काम आफ्नो देहधारी देहले गर्नुहुनेछैन, तर देहधारी परमेश्‍वरको मुखबाट निस्केका वाणीहरू प्रयोग गरेर गर्नुहुन्छ; मार्ग देह हुनु भनेको यही मात्रै हो, र वचन देहमा देखा पर्नुहुन्छ भन्‍ने यही मात्रै हो। सम्भवतः, मानिसहरूलाई यस्तो लाग्न सक्छ कि परमेश्‍वरले कुनै महान् काम गर्नुभएको छैन—तर परमेश्‍वरले उहाँका वचन उच्चारण गरेपछि, उनीहरू पूर्ण रूपमा विश्‍वस्त हुनेछन् र आश्चर्यचकित हुनेछन्। तथ्य बिना, मानिसहरू चिच्याउँछन् र चीत्कार गर्दछन्; परमेश्‍वरका वचनहरूले उनीहरू शान्त हुन्छन्। परमेश्‍वरले यस तथ्यलाई अवश्य पूरा गर्नुहुनेछ, किनकि यो परमेश्‍वरको दीर्घ-स्थापित योजना हो: पृथ्वीमा वचनको आगमनको तथ्यलाई पूरा गर्ने। वास्तवमा, मैले सरल रूपमा व्याख्या गर्नु आवश्यक छैन—पृथ्वीमा सहस्राब्दीय राज्यको आगमन हुनु भनेको पृथ्वीमा परमेश्‍वरका वचनहरूको आगमन हुनु हो। स्वर्गबाट नयाँ यरूशलेममा ओर्लनु भनेको मानिसबीच बस्न, मानिसको हरेक कार्य र उसको हरेक सोच र विचारमा साथ दिनका लागि परमेश्‍वरका वचनहरूको आगमन हुनु हो। यो पनि परमेश्‍वरले पूरा गर्नुहुने तथ्य नै हो; यो सहस्राब्दीय राज्यको सौन्दर्य हो। यो परमेश्‍वरले बनाउनुभएको योजना हो: उहाँका वचनहरू पृथ्वीमा एक हजार वर्षको लागि देखा पर्नेछन्, र तिनले उहाँका सबै कार्यहरू प्रकाश गर्नेछन्, र पृथ्वीमा उहाँका सबै कामहरू पूरा गर्नेछन्, त्यसपछि मानवजातिको यो चरणको अन्त्य हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ

अघिल्लो: ७. परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सम्बन्धी वचनहरू

अर्को: ९. परमेश्‍वरको काम र मानिसको काम बीचको भिन्‍नता प्रकट गर्ने वचनहरूको सम्बन्धमा

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्