४४. एक भेलापछि गरिएको चिन्तन

आन रान, चीन

२०२४ को नोभेम्बरमा, म मण्डलीमा अनुभवात्मक गवाही लेखहरूको जाँचबुझ गरिरहेकी थिएँ। एक दिन, हाम्री सुपरिवेक्षक हाम्रो टोली-भेलामा आइन् र उनले हालै हामीले बुझाएका लेखहरूका आधारमा, हामीले केही सिद्धान्तहरू राम्ररी बुझेका रहेनछौँ भन्ने आफूले देखेको बताइन्। उनी हामी सबै ती सिद्धान्तहरूमा पोख्त हुन सकौँ भनेर हामीसँगै केही लेखको जाँचबुझ गर्न चाहन्थिन्। उनले केही लेख छानिन् र हामी प्रत्येकलाई सिद्धान्तहरूका आधारमा तिनको समीक्षा गर्न र आ-आफ्नो टिप्पणी बताउन लगाइन्। हामीले एक-एक गरी आफ्नो धारणा राख्नुपर्छ भनेको सुन्नेबित्तिकै, म आत्तिन थालेँ। मैले सोचेँ, “मैले हालै जाँचबुझ गरेका केही लेखहरूमा केही स्पष्ट समस्याहरू थिए। के उनी यसलाई मैले सिद्धान्तहरू बुझेकी छु-छैन, म यो कर्तव्यका लागि योग्य छु-छैन भनी हेर्नका लागि प्रयोग गर्दैछिन्? यदि उनले मैले सिद्धान्तहरू बुझेकी छैनँ भन्ने थाहा पाइन् भने, मलाई पक्कै बर्खास्त गर्नेछिन्।” त्यसपछि, लेखहरू पढ्नका लागि मैले आफ्नो मन शान्त राख्न सकिनँ। मैले केवल कसरी झनै विस्तृत जवाफ दिने, र आफ्ना कमीकमजोरीहरूको खुलासा गर्नबाट बच्न के भन्ने भनेर सोच्ने कोसिस गरिरहेँ। हामीले पहिलो लेख पढिसकेपछि, झाङ यानले पहिला आफ्नो दृष्टिकोण राखिन्। उनले एउटा यस्तो समस्या औँल्याइन् जुन मैले देखेकी थिइनँ। सुपरिवेक्षकले सहमतिमा टाउको हल्लाएको देख्दा, मैले मनमनै सोचेँ, “झाङ यानको कुरा सही छ जस्तो देखिन्छ। जब मेरो बोल्ने पालो आउँछ, म पनि यो पक्षलाई थपेर आफ्नो जवाफलाई अझ पूर्ण बनाउनेछु। यसो गर्दा, सुपरिवेक्षकले मलाई त्यति असक्षम ठान्ने छैनन्।” त्यसपछि, सुपरिवेक्षकले मलाई बोलाइन्। मैले आफूले देखेका समस्याहरू बताएँ र झाङ यानले भनेको कुरा पनि थप्न भुलिनँ। जब सुपरिवेक्षकले अन्तमा सिद्धान्तहरूसँग जोडेर त्यस लेखको मूल्याङ्कन गरिन्, उनले झाङ यानको दृष्टिकोण उपयुक्त भएको बताइन्। मैले अलिकति राहत महसुस त गरेँ, तर धेरै असहज पनि भएँ। मलाई मनमा अलिकति अपराधबोध भयो। त्यसपछि, सुपरिवेक्षकले मैले नदेखेका अन्य समस्याहरू पनि उल्लेख गरिन्। म तुरुन्तै सोच्न थालेँ, “मैले यस्ता सामान्य समस्याहरू पनि पत्ता लगाउन सकिनँ। यति धेरै वर्षदेखि लेखन-पठनको कर्तव्य निर्वाह गर्दै आएर पनि यस्ता स्पष्ट समस्याहरू देख्न नसक्दा सुपरिवेक्षकले मेरो क्षमता साँच्चै कमजोर रहेछ भन्ने सोचेकी हुनुपर्छ। अर्को पटक आफ्नो धारणा व्यक्त गर्दा म अझ होसियार हुनुपर्छ।” जब हामीले अर्को लेख जाँच्न सुरु गर्‍यौँ, मेरो मन शान्त हुन लामो समय लाग्यो; मैले अघिल्लो लेखबारे आफूले दिएको कमजोर जवाफलाई दिमागबाट हटाउन सकिरहेकी थिइनँ। केही बेरमै, मलाई निद्रा लाग्न थाल्यो र मैले लेखको बाँकी भाग खासै बुझिनँ। छलफलको क्रममा, सुपरिवेक्षकले मेरो धारणा सोध्दा, मैले थोरै मात्र बताएँ। जब लेखकको बुझाइमा के-कस्ता समस्याहरू थिए भन्नेबारे छलफल गर्ने बेला आयो, म केवल भकभकाएँ र निकै बेरसम्म शब्दहरू निकाल्नै सकिनँ। सुरुमा त मैले म निद्राले झुलेकी थिएँ र राम्ररी बुझेकी थिइनँ भनेर भन्न लागेकी थिएँ, तर त्यतिबेलै मलाई के कुराको चिन्ता लाग्यो भने, यदि सुपरिवेक्षकले यस्तो अवस्थामा पनि म निदाउन लागेकी रहिछु भन्ने थाहा पाइन् भने, उनले म खराब स्थितिमा रहिछु र ममा पवित्र आत्माको काम रहेनछ भन्ने सोच्लिन्। यदि त्यसो भयो भने, मलाई पक्कै पनि बर्खास्त गरिनेछ। त्यसपछि, मैले तुरुन्तै आफूलाई ढाकछोप गर्ने प्रयास गर्दै भनेँ, “एकैछिन है, मैले भेट्टाएको समस्या कहाँ टिपोट गरेँ, त्यो खोज्दै छु।” मैले माउस स्क्रोल गर्दै, छिटो-छिटो गर्दै लेख सरसर्ती हेरेँ र सुपरिवेक्षकलाई छिटोभन्दा छिटो जवाफ दिनका लागि कुनै मुख्य समस्या पत्ता लगाउन आफ्नो दिमागलाई तीव्र गतिमा दौडाएँ। अन्तमा, सुपरिवेक्षकले अधीर हुँदै भनिन्, “जे देख्नुभयो त्यही भन्नुहोस् न। तपाईँ जवाफ दिन किन यति धेरै आनाकानी गरिरहनुभएको छ?” अरू कुनै उपाय नभएपछि, मैले अन्तमा स्वीकार गरेँ, “मेरो ध्यान हटेर म निद्राले अलि झुलेछु। मैले राम्ररी बुझिनँ।” त्यसपछि सुपरिवेक्षकले बस अर्की सिस्टरलाई आफ्नो धारणा राख्न आग्रह गरिन्। त्यतिबेला म असाध्यै लज्जित भएँ। मेरो मनमा ठूलो उथलपुथल भयो, र मेरो पछिल्लो समयको कामगराइका कारण सुपरिवेक्षकले मलाई बर्खास्त गर्लिन् कि भनेर म चिन्तित भएँ। केही घण्टापछि नै, म मानसिक रूपमा थकित भएँ। मलाई अब सुपरिवेक्षकसँग बसेर लेखहरू जाँच्ने र पेसागत सीपहरू अध्ययन गर्ने काम जारी राख्‍न मनै भएन।

पछि, म मनन गर्न थालेँ, “सुपरिवेक्षक हामीसँग बसेर लेखहरू जाँच्दै सिद्धान्तहरूमाथि सङ्गति गर्दै छिन्। के यो मेरा कमीकमजोरीहरू सुधार्ने एउटा ठूलो अवसर होइन र? म किन यति धेरै आत्तिएकी र थकित भएकी छु?” ठीक त्यही समयतिर, परमेश्‍वरका सबैभन्दा नयाँ वचनहरू जारी भएका थिए। आफ्नो आत्मिक भक्तिको समयमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “जब म मानिसहरूसँग कुराकानी गर्छु, कहिलेकाहीँ केही प्रश्‍नहरू सोध्छु, तब जटिल मन भएका कतिपय मानिसहरू यस्तो सोच्छन्, ‘तपाईँको प्रश्‍न निकै ठाडो छ। मलाई तपाईँले यो सोध्नुको अर्थ थाहा छैन। म आफ्नो जवाफमा होसियार हुनैपर्छ!’ म भन्छु, तैँले गलत बुझिस्। मैले जोसँग कुराकानी गरे पनि वा जे-जस्ता प्रश्‍नहरू सोधे पनि, अन्तिम लक्ष्य सधैँ समस्याहरू पत्ता लगाउनु र समाधान गर्नु, तँलाई सहयोग गर्नु र मार्गदर्शन गर्नु, र तँलाई समस्याहरू समाधान गर्न मद्दत गर्नु नै हुन्छ। सर्वप्रथम, यो तँलाई उदाङ्गो पार्न र तँलाई मूर्ख देखाउनका लागि होइन। दोस्रो, यो तैँले साँचो बोलिरहेको छस् कि छैनस् वा तँ निष्कपट व्यक्ति होस् कि होइनस् भनी जाँच्नका लागि होइन। तेस्रो, यो तँलाई छक्क्याएर तेरो वास्तविक अवस्था प्रकट गराउनका लागि होइन। चौथो, यो तँ उक्त काम गर्न सक्षम छस् कि छैनस् वा तँ वास्तविक काम गर्न सक्छस् कि सक्दैनस् भनी जाँच्नका लागि त झनै होइन। वास्तवमा, मैले तँसँग जसरी कुराकानी गरे पनि, यो सबै तँलाई आफ्नो कर्तव्य पूरा गर्न, काम राम्ररी गर्न, र समस्याहरू समाधान गर्न मद्दत र मार्गदर्शन गर्नका लागि हो। कतिपय मानिसहरू मेरा सरल सोधपुछहरूका बारेमा बढ्ता सोच्छन्, र त्यहाँ केही लुकेको अर्थ छ कि भनेर धेरै डराउँछन्। कतिले त म तिनीहरूविरुद्ध दाउपेच गर्दैछु भन्‍ने शङ्का समेत गर्छन्। म स्पष्ट रूपमा तँलाई समस्याहरू समाधान गर्न मद्दत गर्न चाहन्छु, तैपनि तँ गल्तीले म तेरो विरुद्धमा दाउपेच गर्दैछु भन्‍ने सोच्छस्। के यो त मलाई अन्याय गर्नु होइन र? (हो।) त्यसोभए यहाँ समस्या के हो त? मानव हृदय छली हुन्छ! मानिसहरूले ठूलो स्वरमा ‘तपाईँ परमेश्‍वर हुनुहुन्छ, मैले तपाईँलाई सत्यता बताउनैपर्छ, र म तपाईँसँग खुला हुनैपर्छ। म तपाईँलाई पछ्याउँछु, म तपाईँमा विश्‍वास गर्छु!’ भनेर भने पनि, भित्रभित्रै तिनीहरू त्यस्तो सोच्दैनन्। मेरा प्रश्‍नहरू जतिसुकै साधारण र सरल भए पनि, मानिसहरूले तिनलाई प्रायः अति संवेदनशील तरिकाले अर्थ्याउँछन्। तिनीहरूका अनुमानहरू र त्यसपछि छानबिनमार्फत, तिनीहरू धेरै घुमाउरा बाटाबाट गुज्रन्छन् र तिनीहरूले अन्तिम जवाफ भेट्टाए जस्तो देखिन्छ, तर वास्तवमा, त्यो कुरा मेरा वचनहरूको मूल अभिप्रायबाट धेरै टाढा हुन्छ। यो स्पष्ट रूपमा एउटा अत्यन्तै सरल प्रश्‍न हो, तैपनि तिनीहरू यस कुराबारे बढ्ता सोच्छन्। के यस्ता मानिसहरू अति संवेदनशील हुँदैनन् र? मैले जे सोधे पनि, त्यो सुनेपछि तिनीहरूको हृदयमा खैलाबैला मच्चिन्छ: ‘तपाईँ किन यो सोध्दै हुनुहुन्छ? म तपाईँलाई सन्तुष्ट पार्ने र कुनै पनि त्रुटि प्रकट नगर्ने तरिकाले कसरी जवाफ दिन सक्छु? मैले पहिले के भन्नुपर्छ, र पछि के भन्नुपर्छ?’ कुनै ढिलाइविना, तीनदेखि पाँच सेकेन्डभित्र शब्दहरू बाहिर आउँछन्। तिनीहरूको दिमाग कम्प्युटरभन्दा छिटो चल्छ। किन यति छिटो चल्छ? वास्तवमा, यो प्रक्रिया तिनीहरूका लागि बानी बनिसकेको हुन्छ; यो मानिसहरूसँग व्यवहार गर्ने र मामिलाहरू सम्हाल्ने तिनीहरूको सामान्य चाल र शैली हो। तिनीहरू सबैको विरुद्धमा दाउपेच गर्छन्। त्यसैले, मेरा सोधपुछहरू जतिसुकै सरल भए पनि, तिनीहरू त्यसबारे बढ्ता सोच्छन्, र मेरो केही उद्देश्य वा लक्ष्य छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू आफ्नो हृदयमा सोच्छन्, ‘यदि मैले साँचो जवाफ दिएँ भने, के मैले आफ्नो वास्तविक अवस्था खुलासा गर्नेछैन र? त्यो त आफैलाई घात गर्नु बराबर हो। म तपाईँलाई मेरो वास्तविक अवस्था पत्ता लगाउन दिन सक्दिनँ। त्यसोभए मैले कसरी उपयुक्त रूपमा जवाफ दिनुपर्छ? म कसरी तपाईँलाई खुसी र सन्तुष्ट पार्न सक्छु, तपाईँमा मेरो राम्रो छाप छोड्न सक्छु, र तपाईँलाई मलाई प्रयोग गरिरहन लगाउन सक्छु?’ हेर त, यी मानिसहरू कति छली हुन्छन्! यी मानिसहरूको मन निकै जटिल हुन्छ। मैले तिनीहरूसँग जसरी कुरा गरे पनि, तिनीहरूले शङ्का र छानबिन गर्नेछन्। के यस्ता मानिसहरूले सत्यता अभ्यास गर्न सक्छन्? के तिनीहरू परमेश्‍वरका निम्ति प्रयोगयोग्य हुन सक्छन्? पटक्कै सक्दैनन्। किनभने यस्ता मानिसहरूको मन निकै जटिल हुन्छ, र पटक्कै सरल हुँदैन; तिनीहरूसँग लामो समयसम्म सम्पर्कमा रहने जोकोहीले यो कुरा देख्न सक्छ(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२६))। परमेश्‍वरका वचनहरू पढ्दा, मैले ती वचनहरूले ठ्याक्कै मेरो स्थितिको वर्णन गरिरहेको महसुस गरेँ। परमेश्‍वरले ख्रीष्टसँग अन्तरक्रिया गर्दा मानिसहरूले प्रकट गर्ने सोच र विचारहरूलाई खुलासा गरिरहनुभएको भए पनि, मैले आफूले अरूसँग अन्तरक्रिया गर्दा, आफू पनि त्यस्तै मानसिकता प्रकट गर्दो रहेछु भन्ने महसुस गरेँ। मैले कसरी सुपरिवेक्षकले हामीलाई सुरुदेखि नै उनी हामीलाई सिद्धान्तहरू सिक्नमा मद्दत गर्न हामीसँग लेखहरू जाँचिरहेकी, र उनले हाम्रा दृष्टिकोण सोध्नु भनेको हाम्रा कमीकमजोरी र विचलनहरू बुझेर लक्षित सङ्गति र मद्दत प्रदान गर्ने एउटा उपाय हो भनेर भनेकी थिइन् भन्नेबारे सोचेँ। तर मेरो आफ्नै मन भने निकै जटिल थियो। मैले उनी हाम्रो सिद्धान्तहरूको बुझाइ जाँच्दै र हामी यो कर्तव्यका लागि योग्य छौँ कि छैनौँ भनेर निर्धारण गर्न खोज्दै छिन् भन्ने अनुमान गर्दै, उनको अभिप्रायबारे निरन्तर अड्कल काटिरहेँ। यदि उनले ममा धेरै कमीकमजोरी छन् भन्ने थाहा पाइन् भने, मलाई बर्खास्त गर्लिन् भन्‍ने कुरामा म विश्वस्त थिएँ। आफ्ना कमीकमजोरीहरू खुलासा नहोऊन् भनेर, मैले आफ्नो धारणा व्यक्त गर्दा आफूले देखेका समस्याहरूको सङ्ख्याबारे साँचो जवाफ दिइनँ। बरु, मैले सुपरिवेक्षकलाई आफूमा सिद्धान्तहरूको राम्रो बुझाइ र कुनै पनि समस्याबारे विस्तृत दृष्टिकोण छ भनी सोच्ने बनाउन हरसम्भव प्रयास गरेँ। म त झाङ यानले व्यक्त गरेको कुरा चोर्ने हदसम्म पुगेँ। हामीले दोस्रो लेखको समीक्षा गरिरहेका बेला, म स्पष्ट रूपमा निद्राले झुलेकी थिएँ र मैले कुनै पनि समस्या पहिचान गरेकी थिइनँ, र म त्यसबारे बिलकुल इमानदार बन्नुपर्थ्यो। तर म आफूले साँचो कुरा भनेमा, सुपरिवेक्षकमाथि मेरो झन् नराम्रो छाप पर्ला भनी डराएँ, त्यसैले मैले आफूले पत्ता लगाएको कुरा कहाँ टिपेकी थिएँ, त्यो बिर्सेकी भन्दै झूट बोलेँ। मैले त्यो खोज्ने नाटकसमेत गरेँ, जसले सबैको समय मात्र बर्बाद गर्‍यो। वास्तवमा, सुपरिवेक्षकले मेरो धारणा सोध्दा, मैले केवल सत्यतापूर्वक जवाफ दिए पुग्थ्यो। यदि म गलत हुन्थेँ भने, म आफ्नो विचलनको विश्लेषण गरेर त्यसलाई सच्याउन सक्थेँ। तर मेरो दिमाग ज्यादै जटिल थियो: म जतिखेर पनि सुपरिवेक्षकका अभिप्रायबारे अनुमान गर्न खोजिरहेकी हुन्थेँ। बोल्नुअघि मैले हरेक वाक्यलाई आफ्नो दिमागमा धेरै पटक घुमाउनुपर्थ्यो। चिन्तन गरेपछि, मैले आफूले विगतमा पनि यस्तो व्यवहार देखाएको महसुस गरेँ। मैले पहिलो पटक यो कर्तव्य सुरु गरेको बेला, अगुवाले कुनै निश्चित विषयमा मेरो विचार सोध्दा म धेरै आत्तिन्थेँ। उनी म यो कर्तव्यका लागि उपयुक्त छु कि छैनँ भनेर मापन गर्न, मेरो क्षमता र कामकुराहरू हेर्ने मेरो सामर्थ्यको मूल्याङ्कन गर्दै छिन् कि भनी म अवचेतन रूपमा अनुमान लगाउँथेँ। म अगुवाले मलाई छर्लङ्ग नदेख्ने गरी कसरी बोल्ने भन्नेबारे आफ्नो हृदयमा छिटो-छिटो सोच्थेँ। मैले हरेक शब्दबारे धेरै सोच्नुपर्थ्यो, र त्यसरी जिउनु थकाइलाग्दो थियो। मैले यो एक क्षणिक छली स्वभावको प्रकटीकरण मात्र नभएर, म निरन्तर हिसाबकिताबको स्थितिमा जिइरहेकी समेत रहेछु भन्ने बुझेँ। मेरो प्रकृति नै छली थियो। मैले प्रभु येशूका वचनहरू सम्झेँ: “साँच्‍चै, म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनौ(मत्ती १८:३)। सर्वशक्तिमान्‌ परमेश्‍वरले यसो पनि भन्नुभयो: “यदि तँ छली छस् भने, तँ सबै मानिस र विषयहरूप्रति सतर्क बन्नेछस् र शङ्कालु बन्नेछस्, यसैले मप्रतिको तेरो विश्‍वास शङ्काको जगमाथि निर्माण हुनेछ। त्यस्तो विश्‍वासलाई म कहिल्यै स्विकार्न सक्दिनँ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई वास्तवमा कसरी चिन्ने)। परमेश्‍वरको सार विश्वासयोग्य छ; उहाँ इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र छली मानिसहरूलाई घृणा गर्नुहुन्छ। एक छली व्यक्तिले मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैन। मैले के महसुस गरेँ भने, यदि म पछि फर्किइनँ र परिवर्तन भइनँ, अनि एक इमानदार व्यक्ति बन्न सकिनँ भने, म जति नै त्याग गरेर समर्पित भए पनि, अन्ततः म परमेश्‍वरद्वारा हटाइने र तिरस्कृत हुनेछु। यस्तो सोच्दा, मेरो हृदय भारी भयो, र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म कत्ति छली छु। मेरा सबै वचन र कार्यहरू हिसाबकिताबले भरिएका छन्। म इमानदार व्यक्ति होइनँ। यदि मैले यस्तै गरिरहेँ भने, म तपाईँद्वारा निश्चय नै हटाइनेछु। म मेरो छली स्वभाव फाल्न र एक इमानदार व्यक्ति बन्न चाहन्छु। म तपाईँको मार्गदर्शन माग्दछु।” त्यसपछि, मैले सुपरिवेक्षकसामु आफ्नो स्थितिबारे खुलेर कुरा गरेँ। उनले मलाई कत्ति पनि हप्काइनन्; बरु, उनले मलाई मद्दत गर्न सत्यतामाथि सङ्गति गरिन् र सत्यता अभ्यास गर्न र एक इमानदार व्यक्ति बन्न प्रोत्साहन दिइन्।

पछि, मैले मनन गरेँ, म किन सधैँ आफ्ना कमीकमजोरीहरू खुलासा हुनेबारे यति धेरै चिन्तित हुन्छु? मैले हालै केही ब्रदर-सिस्टरहरू आफ्ना कर्तव्यमा सिद्धान्तहरू बुझ्न निरन्तर असफल भएकाले, र काममा अवरोध र बाधा पुर्‍याएकाले उनीहरूलाई बर्खास्त गरिएको भन्ने सुनेको कुरा सम्झेँ। हालै मैले बुझाएका लेखहरूमा केही समस्याहरू थिए, त्यसैले मैले के अनुमान गरेँ भने, सुपरिवेक्षक मलाई नियालेर हेर्न र मूल्याङ्कन गर्न आएकी हुन्, र यदि उनले मैले सिद्धान्तहरू बुझेकी छैनँ भन्ने थाहा पाइन् भने, उनले मलाई बर्खास्त गर्नेछिन्। यो स्थितिलाई सम्बोधन गर्न, मैले परमेश्‍वरका वचनहरू खोजेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरको घरले कस्ता मानिसहरूलाई बढुवा र प्रयोग गर्छ, र कस्तालाई गर्दैन, कस्ता मानिसहरूलाई संवर्धन गर्छ, र कस्ता मानिसहरूलाई गर्दैन भन्ने कुराका सिद्धान्तहरू छन्; यो सबै परमेश्‍वरको घरको कामका आवश्यकताहरूमा आधारित हुन्छ। जोसुकैलाई बढुवा र प्रयोग गरिए पनि, त्यसो गर्नुको उद्देश्य तिनीहरूलाई संवर्धन गर्नु हो ताकि तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सकून् र परमेश्‍वरको काम कसरी अनुभव गर्ने भनी जान्न सकून्, र तिनीहरूले काम वहन गर्न र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सकून्। जुनसुकै समस्या समाधान भइरहेको भए पनि, त्यसको उद्देश्य तिनीहरूलाई थप सत्यता बुझ्न सक्षम तुल्याउनु, र तिनीहरूले सामना गर्ने विभिन्न मानिस, घटना, र कामकुराहरूबाट पाठ सिक्न र खुट्ट्याउने क्षमता प्राप्त गर्न सिक्‍न सक्षम तुल्याउनु हो। यसरी, तिनीहरूलाई सबै पक्षमा सत्यता वास्तविकतामा प्रवेश गर्न सजिलो हुन्छ। यो तँलाई सेवा गर्न लगाउन तेरो फाइदा उठाउने कुरा होइन, कुनै उपयुक्त व्यक्ति भेट्टाउन नसकिएकाले खाली पद भर्न तेरो फाइदा उठाउने, अनि कुनै उपयुक्त व्यक्ति आएपछि तँलाई निकालिदिने कुरा त झनै होइन। कुरा त्यस्तो होइन। वास्तवमा, यो त तँलाई आफूलाई तालिम दिने मौका दिनु हो। यदि तँ सत्यता पछ्याउँछस् भने, तँ दृढ रहनेछस्; यदि तँ सत्यता पछ्याउँदैनस् भने, तँ अझै पनि दृढ रहन सक्नेछैनस्। परमेश्‍वरको घरले तँलाई मन नपराएकाले, यसले तँमाथि प्रभुत्व जमाउनेछ र तँलाई हटाउने मौका खोज्नेछ भन्ने कुरा बिलकुलै होइन। जब परमेश्‍वरको घरले तँलाई संवर्धन र बढुवा गर्ने भनेर भन्छ, तब यसले साँच्चै तँलाई संवर्धन गर्नेछ। महत्त्वपूर्ण कुरा त तँ सत्यताका लागि कसरी लागिपर्छस् भन्ने नै हो। यदि तैँले अलिकति पनि सत्यता स्वीकार गरिनस् भने, परमेश्‍वरको घरले तँलाई त्याग्नेछ र उप्रान्त तँलाई संवर्धन गर्नेछैन। कतिपय मानिसहरूको क्षमता कमजोर भएकाले र तिनीहरू वास्तविक काम गर्न नसक्ने हुनाले, केही समयको संवर्धनपछि, तिनीहरूलाई बर्खास्त गरिन्छ। कतिपयले संवर्धनको अवधिमा अलिकति पनि सत्यता स्वीकार गर्दैनन्, मनमानी ढङ्गले कार्य गर्छन्, र परमेश्‍वरको घरको काममा अवरोध गर्छन् र बाधा दिन्छन्, अनि तिनीहरू बर्खास्त हुन्छन्। अझै अरू कतिपयले त सत्यता पटक्कै पछ्याउँदैनन्, तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्छन्, सधैँ ख्याति, प्राप्ति, र हैसियतका लागि काम गर्छन्, अनि तिनीहरू बर्खास्त हुन्छन् र हटाइन्छन्। यी अवस्थाहरू सबैलाई मानिसहरूलाई प्रयोग गर्नेसम्बन्धी परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार नै सम्हालिन्छ। परमेश्‍वरको घरले सत्यता स्वीकार गर्न सक्ने र सत्यताका लागि लागिपर्नेहरूले केही गल्तीहरू गरेर अपराध गरे पनि, तिनीहरूलाई अझै पनि संवर्धन गर्नेछ। यदि ऊ सत्यता स्वीकार गर्न सक्ने व्यक्ति होइन भने, र ऊमाथि काटछाँट आइपर्दा ऊ सत्यता स्वीकार गर्दैन भने, उसलाई सीधै बर्खास्त गरिनुपर्छ र हटाइनुपर्छ। … परिस्थिति जस्तोसुकै भए पनि, जब परमेश्‍वरको घरले यी मानिसहरूलाई बढुवा गर्छ, तब त्यो सधैँ तिनीहरूलाई संवर्धन गर्न र तिनीहरूलाई सत्यता वास्तविकतामा डोऱ्याउनका लागि गरिएको हुन्छ, र तिनीहरूले मण्डलीको काम राम्ररी पूरा गर्न सकून् र आफूले पूरा गर्नुपर्ने कर्तव्यहरू निर्वाह गर्न सकून् भन्‍ने आशा गरिन्छ। यदि तँ मूर्ख भएकाले र तँमा अन्तर्ज्ञानको कमी भएकाले वा तेरो क्षमता कमजोर भएकाले तँ कुनै काम कसरी गर्ने भनी जान्दैनस् भने पनि, जबसम्म तँ सत्यता सिद्धान्तहरूका लागि लागिपर्छस्, तँमा यो जिम्मेवारी बोध हुन्छ, तँ यो काम राम्ररी गर्न इच्छुक हुन्छस्, र मण्डलीको कामको रक्षा गर्न सक्छस्, तबसम्‍म तैँले विगतमा केही मूर्खतापूर्ण कामहरू गरेको भए पनि परमेश्‍वरको घरले अझै पनि तँलाई संवर्धन गर्नेछ। … तँ जति धेरै काम गर्न सक्षम भए पनि, वा तेरो क्षमता जस्तोसुकै भए पनि, तँलाई बढुवा र प्रयोग गर्नु भनेको तँलाई शोषण गर्नु होइन। बरु, यसको अभिप्राय त तँलाई काम गर्नमा तालिम लिन दिनका लागि यो अवसर प्रयोग गर्नु हो, र तेरो सत्यताको पछ्याइमार्फत र तैँले गर्ने कडा परिश्रम र उठाउने भारी बोझमार्फत तँलाई सिद्ध पार्नु हो। एकातिर, यसले व्यक्तिगत रूपमा तँलाई सिद्ध पारिरहेको हुन्छ; अर्कोतिर, यसले परमेश्‍वरको घरको काम पनि पूरा गरिरहेको हुन्छ। तैँले असल कार्यहरू पनि तयार गरेको हुन्छस् र आफ्नो व्यक्तिगत जीवन प्रवेशमा पनि लाभ कमाएको हुन्छस्। त्यो कति राम्रो कुरा हो! त्यो त एउटै चालमा दुई वटा राम्रा नतिजाहरू प्राप्त गर्नु हो(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२६))। मैले परमेश्‍वरका वचनहरूमा के देखेँ भने, जब परमेश्‍वरको घरले कसैलाई पदोन्नति गर्छ, तब साँचो रूपमा उनीहरूलाई संवर्धन गर्छ। अगुवा र सुपरिवेक्षकहरूले उनीहरूका कमीकमजोरीहरूका लागि मार्गदर्शन र मद्दत प्रदान गर्नेछन्। यदि उनीहरू सत्यता स्वीकार गर्न सक्छन् भने, उनीहरूले आफ्नो जीवनमा प्रगति मात्र गर्नेछैनन्, उनीहरूको कामका नतिजाहरू समेत अझ उन्नत हुँदै जानेछन्। त्यसमाथि, परमेश्‍वरको घरसँग मानिसहरूलाई बर्खास्त गर्नेसम्बन्धी सिद्धान्तहरू हुन्छन्; यसले केवल केही कमीकमजोरी वा अपर्याप्तताहरूकै कारण कसैलाई बर्खास्त गर्दैन। हालै बर्खास्त गरिएका वा हटाइएका केही मानिसलाई उनीहरूको कमजोर क्षमताले काम रोकेकाले मात्र बर्खास्त गरिएको थियो, र त्यसपछि मण्डलीले उनीहरूको क्षमताका आधारमा उनीहरूका लागि अझ उपयुक्त कर्तव्यको व्यवस्था गर्‍यो; अरूहरू चाहिँ विशेष गरी हठी भएका, सिद्धान्तहरूमाथिको कुनै पनि सङ्गति स्वीकार गर्न इन्कार गरेका, र काममा अवरोध र बाधा पुर्‍याएका कारण बर्खास्त गरिएका थिए। लेखन-पठनको कर्तव्यमा बिताएको मेरो समयलाई फर्केर सोच्दा, जब-जब अगुवा र सुपरिवेक्षकहरू म खराब स्थितिमा भएको वा मेरो कर्तव्यका नतिजाहरू कमजोर भएकाे देख्थे, उनीहरू मलाई मद्दत गर्न सङ्गति गर्थे। जब उनीहरू केही समयपछि मैले प्रगति गरेको देख्थे, उनीहरू मलाई यो कर्तव्यमा तालिम जारी राख्न दिन्थे। यस पटक, जब अगुवाले हाम्रो कर्तव्यमा लगातार समस्याहरू भइरहेको देखिन्, उनले सुपरिवेक्षकले हामीलाई सिद्धान्तहरू अध्ययनमा मद्दत गर्ने प्रबन्ध गरिन्। हामी जतिसक्दो चाँडो सिद्धान्तहरू बुझ्न र आफ्ना कर्तव्यहरू पूरा गर्न सकौँ भन्ने आशामा यो गरिएको थियो। यो परमेश्‍वरका वचनहरूले भनेजस्तै हो: “जब परमेश्‍वरको घरले तँलाई संवर्धन र बढुवा गर्ने भनेर भन्छ, तब यसले साँच्चै तँलाई संवर्धन गर्नेछ। महत्त्वपूर्ण कुरा त तँ सत्यताका लागि कसरी लागिपर्छस् भन्ने नै हो।” मैले आफ्नै औसत क्षमता र केही सिद्धान्तबारे आफ्नो सीमित बुझाइबारे सोचेँ। समस्या उत्पन्न हुँदा सुपरिवेक्षकले कुराहरू औँल्याइदिनु र मद्दत गर्नु, अनि मसँग सिद्धान्तहरू अध्ययन गर्नुले, मलाई मेरो कर्तव्य अझ राम्रोसँग निर्वाह गर्न मद्दत गर्न सक्छ। यो कत्ति राम्रो कुरा हो! यो त परमेश्‍वरले मलाई साँचो रूपमा संवर्धन गर्न मानिस, घटना र कामकुराहरूको प्रयोग गर्नु थियो। मैले परमेश्‍वरलाई धन्यवाद दिनुपर्थ्यो, तर त्यसको सट्टा, मैले हरेक कुरालाई हिसाबकिताबका साथ र शत्रुतापूर्ण हृदयले हेरेँ। म साँच्चै नै कत्ति विवेक र समझविहीन रहेछु!

पछि, सुपरिवेक्षकले हाम्रा कमीकमजोरीहरूको आधारमा सबैका लागि एक अध्ययन योजना बनाइन् र मसँग सङ्गति गर्न र मलाई मद्दत गर्न परमेश्‍वरका सान्दर्भिक वचनहरू खोजिन्। मैले आफ्नो हृदयको गहिराइबाट परमेश्‍वरलाई धन्यवाद दिएँ। त्यसपछि, म आफ्ना सिस्टरहरूसँग गम्भीरतापूर्वक सान्दर्भिक सिद्धान्तहरू मनन गर्न थालेँ। केही समयको अध्ययनमार्फत्, मैले सिद्धान्तहरू अझ स्पष्ट रूपमा बुझेँ, र मैले बुझाएका लेखहरूमा देखिने समस्याहरूको सङ्ख्यामा उल्लेखनीय कमी आयो। यो व्यावहारिक अनुभवमार्फत, मैले अझ गहन रूपमा के महसुस गरेँ भने, जब परमेश्‍वरको घरले मानिसहरूलाई बढुवा र संवर्धन गर्छ, यसले हामीलाई सिद्धान्तहरू बुझ्न र हाम्रा कर्तव्यहरू राम्रोसँग निर्वाह गर्नमा सघाउन, र साथसाथै, हामीलाई सत्यता बुझ्न र हाम्रो जीवनमा प्रगति गर्नमा मद्दत गर्नका लागि त्यसो गर्छ। एक दिन, अनुभवात्मक गवाही लेखहरू जाँच्दै गर्दा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र मेरो समस्याबारे केही नयाँ बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिसहरूले कैयौँ वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका छन्, तर तिनीहरूले थोरै पनि सत्यता बुझ्दैनन्। तिनीहरूको दृष्टिकोण गैरविश्‍वासीहरूको जस्तै हुन्छ। जब तिनीहरूले कुनै झूटा अगुवा वा ख्रीष्टविरोधीलाई प्रकाश गरिएको र हटाइएको देख्छन्, तब तिनीहरू सोच्छन्, ‘एक विश्‍वासी र परमेश्‍वरको अनुयायीको रूपमा, परमेश्‍वरसामु जिउनु भनेको भीरको बाटो हिँड्नु जस्तै हो! यो चक्‍कुको धारमा उभिनु जस्तै हो!’ अनि अरूले भन्छन्, ‘एक अगुवा वा कामदार हुनु र परमेश्‍वरको सेवा गर्नु जोखिमपूर्ण छ। यो “राजाको नजिक हुनु बाघसँग सुत्‍नुजत्तिकै खतरनाक हुन्छ” भन्ने भनाइ जस्तै हो। यदि तिमीले केही गलत गर्‍यौ वा भन्यौ भने, तिमीले परमेश्‍वरको स्वभावलाई चिढ्याउनेछौ, र तिमी हटाइनेछौ र दण्डित हुनेछौ!’ के यी टिप्पणीहरू सही छन्? ‘भीरको बाटो हिँड्नु’ र ‘चक्‍कुको धारमा उभिनु’—यी शब्दहरूको अर्थ के हो? यी शब्दहरूको अर्थ अवस्था धेरै खतरनाक छ—व्यक्तिले हरेक क्षण ठूलो खतराको सामना गर्नेछ, र अलिकति पनि लापरवाहीले उसको खुट्टा चिप्लिनेछ भन्‍ने हुन्छ। ‘राजाको नजिक हुनु बाघसँग सुत्‍नुजत्तिकै खतरनाक हुन्छ’ भन्‍ने भनाइ गैरविश्‍वासीहरूमाझ प्रचलित छ। यसको अर्थ एक दियाबलस राजाको उपस्थितिमा जिउनु खतरनाक हुन्छ भन्‍ने हो। यदि कसैले यो भनाइलाई परमेश्‍वरको सेवा गर्नमा लागू गर्छ भने, तिनीहरूले कहाँ गलत गरेका छन्? परमेश्‍वर अर्थात् सृष्टिकर्तालाई दियाबलस राजासँग तुलना गर्नु—के यो ईश्‍वर-निन्दा होइन र? यो गम्‍भीर समस्या हो। परमेश्‍वर धर्मी र पवित्र परमेश्‍वर हुनुहुन्छ; परमेश्‍वरको प्रतिरोध गरेकोमा र उहाँप्रति शत्रुवत् बनेकोमा मानिसलाई दण्ड दिइनुपर्छ भन्‍ने कुरा पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो। शैतान र दियाबलसहरूसँग अलिकति पनि सत्यता छैन; तिनीहरू फोहोरी र दुष्ट छन्, र तिनीहरूले निर्दोषहरूको हत्या गर्छन्, र असलहरूलाई ठाडै निल्छन्। तिनीहरूलाई कसरी परमेश्‍वरसँग समान रूपमा उल्लेख गर्न सकिन्छ? किन मानिसहरू तथ्य बङ्ग्याउँदै परमेश्‍वरमाथि लाञ्छना लाउँछन्? यो परमेश्‍वरविरुद्धको ठूलो निन्दा हो!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। मेरो स्थिति ठ्याक्कै परमेश्‍वरका वचनहरूले खुलासा गरेजस्तै थियो। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गरेकी भएता पनि, म कामकुराहरूलाई सत्यताको दृष्टिकोणबाट हेर्न असमर्थ थिएँ। बरु, म गैरविश्वासीहरूका दृष्टिकोणमा टाँसिएँ, र “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्‍नू, तर अरूले गर्ने हानिप्रति सधैँ रक्षात्मक रहनु” भन्ने शैतानी दर्शनअनुसार जिइरहेकी थिएँ। म मानिसहरूसँग अन्तरक्रिया गर्दा सधैँ सतर्क रहन्थेँ, एकैछिन पनि आफ्नो सतर्कता गुमाएँ भने मविरुद्ध षड्यन्त्र रचिनेछ कि भनेर निरन्तर चिन्तित हुन्थेँ। यो ठ्याक्कै कुनै बेला भएको कुरा जस्तै थियो, जब सुपरिवेक्षकले हाम्रो कर्तव्यमा समस्या र विचलनहरू देखा परिरहेको देखेकी थिइन् र हामीलाई सिद्धान्तहरू बुझ्नमा मद्दत गर्न हामीसँग लेखहरू जाँच्न चाहेकी थिइन्। तर मैले भने, उनी मलाई बर्खास्त गर्न प्रमाणका रूपमा प्रयोग गर्नका लागि मेरो वास्तविक अवस्था पत्ता लगाउन चाहन्छिन् भन्ने अनुमान गरेँ। फलस्वरूप, मेरो हृदय उनीप्रतिको शत्रुताले भरियो। म हर समय एक डरलाग्दो शत्रुको सामना गरेजस्तै सतर्क हुन्थेँ, यदि एक सेकेन्डका लागि पनि म लापरवाह भएँ भने, मैले केही गलत जवाफ दिन सक्छु, र उनले मेरो कमीकमजोरी समातेर मलाई बर्खास्त गर्लिन् भनी चिन्तित हुन्थेँ। शैतान सत्तामा रहेका ठाउँहरूमा पारस्परिक सम्बन्धहरू कलह र हिसाबकिताबले भरिएका हुन्छन्। थोरै पनि लापरवाहीले षड्यन्त्रमा परेर आफ्नो आधिकारिक पद गुमाउन सकिन्छ, र जीवनसमेत खतरामा पर्न सक्छ। अनि यहाँ म परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ, तैपनि म संसारमा शासन गर्ने शक्तिहरूविरुद्ध भएझैँ सतर्क थिएँ। मैले परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ, वा परमेश्‍वर हामी हरेकप्रति सच्चा र इमानदार हुनुहुन्छ भन्ने कुरामा कत्ति पनि विश्वास गरिनँ। यो त परमेश्‍वरलाई बदनाम र निन्दा गर्नु थियो! यसको प्रकृति डरलाग्दो थियो! मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, तपाईँको घरमा आफूले कर्तव्य निर्वाह गरेको यतिका वर्षसम्म, मैले तपाईँको मलजल र भरणपोषणको आनन्द लिएकी छु, म धेरै सत्यता बुझ्न पुगेकी छु, र मैले कसरी आफूलाई आचरणमा ढाल्ने भन्नेबारे केही सिद्धान्त सिकेकी छु। यो सबै तपाईँको प्रेम र मुक्ति हो। तर म अझै पनि तपाईँप्रति सतर्क छु, र तपाईँ र मेरो बिचको व्यवधान निकै ठूलो छ। यसले तपाईँलाई साँच्चै दुःखी बनाउँछ। परमेश्‍वर, म पश्चात्ताप गर्न इच्छुक छु। म तपाईँको हृदयलाई सान्त्वना दिनका लागि एक इमानदार व्यक्ति बन्नुको पछि लाग्न चाहन्छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।”

अर्को घटनामा, अर्की सुपरिवेक्षक हामीसँग पेसागत सीपहरू अध्ययन गर्दै थिइन् र उनले हामीलाई एक-एक गरी आफ्नो दृष्टिकोण राख्न आग्रह गरिन्। सुरुमा, म अझै पनि अलि आत्तिएँ, मैले राम्रो जवाफ दिन सक्दिनँ कि वा केही विचलनहरू गर्छु कि र सुपरिवेक्षकले मलाई छर्लङ्ग देख्लिन् कि भनी चिन्तित थिएँ। त्यतिबेला, मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “अरूसँग दाउपेच नगरी कुराकानी गर्नका लागि, तैँले सामान्य मानवताको विवेक र चेतनाको दायराभित्र रहेर कुराकानी गर्न सिक्नैपर्छ। कुराकानीको उद्देश्य अरूलाई मद्दत गर्नु र तिनीहरूबाट मद्दत र लाभहरू प्राप्त गर्नु पनि हो। यो सामान्य कुराकानी हो, र यसरी तैँले दाउपेच नगरी कुराकानी गर्न सक्छस्(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२६))। “साँचो रूपमा भन्दा, तैँले सुरुमा आफ्‍ना व्यक्तिगत चाहनाहरूलाई पन्छाउनैपर्छ। परमेश्‍वरले तँसँग कस्तो व्यवहार गर्नुहुन्छ भन्‍ने कुरामा ध्यान केन्द्रित गर्नुको सट्टा, तैँले आफूलाई परमेश्‍वरसामु उदाङ्गो पार्नुपर्छ र हृदयमा जे छ त्यो कुरा भन्नुपर्छ, तेरा शब्‍दहरूका परिणाम के हुनेछन् भनेर मनन वा सोचविचार नगर्; तैँले जे विचार गरिरहेको छस् त्यही भन्, तेरा मनसायहरूलाई पन्छाएर राख्, अनि कुनै उद्देश्य हासिल गर्नका लागि मात्रै कुराहरू बोल्‍ने नगर्। तँसँग अति धेरै व्यक्तिगत अभिप्राय र दूषणहरू छन्, तँ सधैँ आफूले बोल्ने शैलीमा हिसाबकिताब गरिरहेको हुन्छस्, र सोच्छस्, ‘मैले यो कुरा भन्‍नुपर्छ, त्यो कुरा होइन, मैले बोल्‍ने कुरामा म होशियार बन्‍नुपर्छ। यसलाई म आफूलाई फाइदा हुने गरी, र मेरा कमीकमजोरी ढाकिने र परमेश्‍वरमा राम्रो छाप पर्ने गरी बताउनेछु।’ के यो मनसायहरू बोक्नु होइन र? तिमीहरूले मुख खोल्‍नुभन्दा पहिले, तिमीहरूको मन कपटी विचारहरूले भरिएको हुन्छ, तिमीहरू आफूले भन्‍न चाहेको कुरालाई धेरैपटक खेलाउँछौ, र यसरी तिमीहरूका मुखबाट निस्कँदा ती शब्‍दहरू त्यति शुद्ध हुँदैनन्, र ती अलिकति पनि सच्‍चा हुँदैनन्, र तिनमा तिमीहरूका आफ्‍नै मनसाय र शैतानका चलाकीहरू हुन्छन्। इमानदार बन्‍नु भनेको यो होइन; यो त अशुभ अभिप्राय र दुर्भावपूर्ण मनसाय राख्‍नु हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग दुई))। मैले परमेश्‍वरका वचनहरूबाट बुझेँ, हिसाबी हुन छोड्नका लागि, तपाईँले आफ्नै मनसाय र लक्ष्यविना र आफ्ना शब्दहरूलाई विश्लेषण वा प्रशोधन नगरी, सामान्य मानवताको विवेक र चेतनाभित्र रहेर अरूसँग सङ्गति गर्ने अभ्यास गर्नैपर्छ। तपाईँले जे सोच्नुहुन्छ त्यही भन्नुपर्छ। उद्देश्य एकअर्कालाई मद्दत गर्नु र सबैलाई लाभ पुर्‍याउनु हो। मैले के महसुस गरेँ भने, सुपरिवेक्षक आज हामीसँग पेसागत सीपहरू अध्ययन गर्नु भनेको हाम्रा लागि सिद्धान्तहरू छलफल गरेर एकअर्काका सबल पक्षबाट सिक्ने र आफ्ना कमीकमजोरीहरू पूर्ति गर्ने एउटा अवसर रहेछ, ताकि हामी ती सिद्धान्तहरू अझ राम्रोसँग बुझ्न सकौँ। मैले यसलाई एक स्पष्ट मनोवृत्तिका साथ लिनुपर्छ, जति बुझेकी छु त्यति नै भन्नुपर्छ, र यदि मैले केही गलत भनेँ भने, मैले आफ्ना ब्रदर-सिस्टरहरूको मार्गदर्शन र मद्दत स्वीकार गर्नुपर्छ। यो सिक्ने र विचार साटसाट गर्ने एउटा ठूलो अवसर थियो; मैले यति धेरै चिन्ता लिनु आवश्यक थिएन। त्यसैले मैले आफ्नो हृदयमा प्रार्थना गरेँ, “हे परमेश्‍वर, कृपया मेरो हृदयलाई तपाईँसामु शान्त राखिदिनुहोस्, र म आफ्ना विचारहरू राख्दा तपाईँको छानबिन स्वीकार गर्न सकूँ।” प्रार्थना गरेपछि, म आफूलाई शान्त पार्न र सिद्धान्तहरू मनन गर्न सक्षम भएँ। मैले कतिपय सिद्धान्तबारे केही नयाँ सुझबुझ पनि पाएँ र मैले ती पहिलेभन्दा अझ स्पष्ट रूपमा बुझेको महसुस गरेँ। सुपरिवेक्षकको सङ्गतिमार्फत, मैले आफ्नै केही कमीकमजोरी पनि पत्ता लगाएँ। त्यो अध्ययन सत्रको दौरान मैले निकै स्वतन्त्र महसुस गरेँ, र मैले केही लाभहरू हासिल गरेँ। त्यसपछि, जब-जब सुपरिवेक्षक हामीसँग लेखहरूको समीक्षा गर्नमा सामेल हुन्थिन् वा मलाई प्रश्नहरू सोध्थिन्, म सचेत रूपमा परमेश्‍वरका वचनहरूअनुसार एक इमानदार व्यक्ति बन्ने अभ्यास गर्थेँ। मलाई हृदयमा झन्-झन् स्वतन्त्र महसुस हुन थाल्यो, र मैले एक इमानदार व्यक्ति हुनुको आनन्दको अलिकति स्वाद चाखेँ। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ४१. आफ्नो बच्चाको रुचि र सोखप्रति कस्तो व्यवहार गर्ने

अर्को: ४७. म आफू अत्यन्तै स्वार्थी छु भन्ने कुरा बुझ्छु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्