५१. हामीमाथि आउने कष्ट पनि परमेश्वरको प्रेम हो
म सत्र वर्षकी हुँदा, मेरो बुबाको बिमारीका कारण देहान्त भयो, अनि त्यसको केही समय नबित्दै, मेरी आमाले आफ्नो आँखाको दृष्टि गुमाउनुभयो। मेरी आमाको हेरचाह गर्नका लागि, मैले विवाह गरेर घरजम बसाउनुपर्यो। विवाहपछि, मैले मेरो श्रीमान्को परिवार सम्पन्न नभएको पाएँ। मेरो श्रीमान्ले धेरै ऋण लिनुभएको कुरा मबाट लुकाउनुभएको रहेछ, र पैसा तिर्नु भन्दै हाम्रो घरमा मानिसहरू आइरहन्थे। यही कारणले गर्दा, म प्रायः सुस्केरा हाल्थेँ र रुन्थेँ। म धेरै पीडा र लाचारीले भरिएकी थिएँ। त्यसको केही समय पछि नै, एक जना आफन्तले मलाई परमेश्वरको आखिरी दिनहरूको सुसमाचार सुनाउनुभयो। मैले परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ र मानिसहरूलाई मुक्ति दिने काम गरिरहनुभएको छ भन्ने देखेँ। मलाई एउटा बाँच्ने आधार भेट्टाएजस्तो महसुस भयो, अनि म परमेश्वरतिर फर्किएँ र मेरो परिवारका सबै कठिनाइ उहाँलाई नै सुम्पेँ। बिस्तारै, घरको अवस्थामा केही सुधार आयो, र मैले मेरो हृदयमा गोप्य रूपमा परमेश्वरलाई धन्यवाद दिएँ। पछि, मेरो श्रीमान् बिरामी पर्नुभयो र उहाँको देहान्त भयो। हामीले आफूसँग भएको सबै बचत खर्च गर्यौँ र हाम्रा कुनै साथीसङ्गी वा आफन्तले हामीलाई सहयोग गरेनन्। मैले मानिसहरू भरपर्दा हुँदैनन् भन्ने कुरा थाहा पाएँ। जब मैले जीवनमा कठिनाइहरूको सामना गरेँ, तब मैले प्रार्थना गरेँ र परमेश्वरमा भर परेँ, अनि मैले परमेश्वरका केही आशिष् देखेँ। मेरी छोरी सानो छँदा कमजोर र रोगी थिइन्, तर मेरो श्रीमान्को मृत्युपछि, उनी त्यस्तो धेरै बिरामी पर्न छोडिन्। मेरो नसासम्बन्धी रोग पनि बिस्तारै सुधार हुँदै गयो। मैले पहिले अधिकारीहरूलाई उपहार किनेर दिन नसकेकाले रोकिएको जीवन निर्वाह भत्ता पनि पाउन थालेँ। मैले परमेश्वरको कृपा र सुरक्षा देखेँ, र म उहाँप्रति धेरै कृतज्ञ थिएँ, अनि हामी भर पर्न सक्ने परमेश्वर मात्रै एक हुनुहुन्छ भन्ने कुरामा म अझ बढी निश्चित भएँ। त्यसैले म आफ्नो पछ्याइमा अझ बढी उत्प्रेरित भएँ। मैले सोचेँ, जबसम्म म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छु, तबसम्म परमेश्वरले सधैँ हाम्रो रक्षा गर्नुहुनेछ, र हाम्रो परिवारमा कुनै प्रकोप वा दुर्भाग्यविना सबै कुरा सहज रूपमा अघि बढ्नेछ। त्यतिबेला, म मण्डलीले मेरा लागि बन्दोबस्त गरेका हरेक कर्तव्यमा सक्दो राम्रो गर्थेँ, र परमेश्वरका वचनका पुस्तकहरू ओसारपसार गर्ने जोखिम मोल्नुपरे पनि, मैले इन्कार गर्दिनँथिएँ। म अक्सर मेरी छोरीलाई परमेश्वरका चमत्कारिक कामहरू र अनुग्रहका बारेमा बताउँथेँ, र मसँग समय हुँदा, म उनलाई परमेश्वरका वचन पढेर सुनाउँथेँ। पछि, मेरी छोरीले आफ्नो पढाइ छाडेर आफ्नो कर्तव्यमा आफूलाई समर्पित गर्ने निर्णय गरिन्।
अप्रिल २०२० को एक दिन, मेरी छोरी आफ्नो कर्तव्य निर्वाह गरिरहेको अर्को ठाउँबाट अचानक घर फर्किइन्, र उनले आफ्नो मुटुमा केही असहज महसुस भइरहेको र केही दिन घरमै बसेर आराम गर्नुपर्ने बताइन्। सुरुमा त मलाई त्यस्तो केही होला जस्तो लागेन। मैले सोचेँ, “उनी सधैँ कमजोर रहेकी छिन्, र कहिलेकाहीँ अलिकति थकाइ लाग्दा उनको मुटुको धड्कन बढ्छ। उनलाई केवल आराम चाहिएको हो, र त्यसपछि उनी ठीक हुनेछिन्।” केही दिनपछि, मेरी छोरीको स्वास्थ्यमा केही सुधार आयो, र उनी आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर गइन्। तर त्यसको केही समय नबित्दै, उनी फेरि फर्किइन्। उनले कहिलेकाहीँ उनी आफ्ना कर्तव्य निर्वाह गर्न बाहिर जाँदा र अतिथिसत्कारक घरमा पुग्नेबित्तिकै, उनलाई सास फेर्न गाह्रो हुने र उनको शरीर काँप्ने गरेको बताइन्। मैले उनलाई जँचाउन अस्पताल लगेँ, र डाक्टरले उनलाई जन्मजात मुटु रोग भएको, र यस समस्याको कुनै विशेष औषधि नभएको, र हेरचाहद्वारा मात्र यसलाई व्यवस्थापन गर्न सकिने बताए। डाक्टरले यदि उनलाई बारम्बार समस्या बल्झिएन भने, उनको अवस्था स्थिर रहनेछ, तर समस्या बल्झिरह्यो भने, उनको शरीर सजिलै बिरामी पर्नसक्नेछ, र अवस्था एकदमै खराब भयो भने, शल्यक्रिया गर्नुपर्नेछ भनेर पनि बताए। मेरी छोरीको अवस्था कति गम्भीर छ भन्ने सुनेर मेरो मुटुको धड्कन रोकिएजस्तो भयो र मलाई एकदमै नमिठो अनुभूति भयो, “मेरो छोरीको अवस्था कसरी यति गम्भीर हुन सक्छ? परमेश्वरले किन उनको रक्षा गर्नुभएको छैन? उनी भर्खर बीस-बाइस उमेरकी छिन्! यदि उनी बारम्बार बिरामी भइरहिन् भने के होला? के उनको शरीर काम नलाग्ने हुँदैन र?” म निरन्तर तनावमा थिएँ, र मेरी छोरीको अवस्था झन् बिग्रँदै जाला भनेर डराउँथेँ। म अक्सर परमेश्वरलाई प्रार्थना गर्थेँ, र मेरी छोरीको बिमारी उहाँलाई नै सुम्पन्थेँ। मैले सोचेँ, परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, र जबसम्म हामी उहाँमा आस्था राख्छौँ र यो परिस्थितिबाट पाठ सिक्छौँ, उनको बिमारी निको हुँदै जानेछ। एकपटक, मेरी छोरी र म एउटा भेलामा जाँदा, हामी अतिथिसत्कारक घरमा पुग्नेबित्तिकै उनको समस्या एक्कासि बल्झियो। उनको सम्पूर्ण शरीर काँपिरहेको थियो, उनी लामो-लामो सास फेर्दै थिइन्, र उनको अनुहार रातोपिरो भयो। उनलाई सास फेर्न गाह्रो भयो र उनी मर्छिन् कि जस्तो देखिन्थ्यो। मेरी छोरीलाई यस्तो अवस्थामा देख्दा मेरो हृदय छियाछिया भयो, र मेरो हृदयबाट गुनासाहरू निस्किए, “मेरी छोरीले पूर्णकालीन रूपमा आफ्ना कर्तव्य निर्वाह गर्न आफ्नो पढाइ त्यागेकी छिन्, तैपनि उनलाई कसरी यस्तो गम्भीर रोग लाग्न सक्छ? के मेरी छोरी जीवनभरि नै यस समस्याबाट प्रताडित हुनुपर्ने हो? यदि उनलाई बारम्बार यस्ता आघात भइरहे र उनी बाँच्न सकिनन् भने के होला? यदि मेरी छोरीले मलाई छोडेर गइन् भने, म कसरी एक्लै बाँच्न सक्छु? परमेश्वर मानिसहरूलाई प्रेम र कृपा गर्नुहुन्छ भनिन्छ, तर उहाँले किन हाम्रो रक्षा गर्नुभएको छैन?” यी विचारहरूले मेरो हृदयलाई दमित र पीडित बनाए, र कहिलेकाहीँ म राति लुकेर रुन्थेँ। म नकारात्मकता र गुनासाहरूमा डुबेर बसेँ, मैले आफ्ना कर्तव्यमा मन लगाउन छोडेँ, र मैले धेरैजसो काम आफ्नी सहकर्मीलाई छोडिदिएँ। परमेश्वरका वचन खाने-पिउने क्रममा म केवल सरसर्ती पढ्थेँ, मेरा प्रार्थनाहरू पनि केवल झाराटारुवा किसिमका हुन्थे, र परमेश्वरसँगको मेरो सम्बन्ध टाढा हुँदै गयो। मेरी छोरीले मलाई यस्तो अवस्थामा देखेर भनिन्, “ममी, यो बिमारी मैले अनुभव गर्नैपर्ने कुरा हो। मैले देख्दै छु, तपाईँ नकारात्मकता र गुनासोमा डुबिरहनुभएको छ, र तपाईँले आफ्नो हृदय र परमेश्वरको बीचमा एउटा पर्खाल खडा गर्नुभएको छ। यसको समाधान गर्न तपाईँले परमेश्वरका वचन खोज्नुपर्छ।” मैले पनि मेरो स्थिति गलत छ भन्ने महसुस गरेँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ र आफ्ना भावनाहरू पोखेँ, “हे परमेश्वर, म अहिले धेरै कष्ट भोगिरहेकी छु। म मेरी छोरीको अवस्था सुधार हुनेछैन र झन् बिग्रँदै जानेछ भनेर चिन्तित छु। यदि मेरी छोरी बाँच्न सकिन भने मैले के गर्ने? मलाई थाहा छ, मेरो छोरीको यो बिमारीमा तपाईँको अनुमति छ, तर म तपाईँको अभिप्राय बुझ्दिनँ। कृपया मलाई पाठ सिक्न मार्गदर्शन गर्नुहोस् र यो पीडाबाट बाहिर निस्कन मद्दत गर्नुहोस्।”
एक बिहान, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “धेरै मानिसहरू बारम्बार बिमार पर्छन्, र तिनीहरूले परमेश्वरलाई जतिसुकै प्रार्थना गरे पनि, तिनीहरूमा सुधार हुँदैन। तिनीहरू आफ्नो बिमारबाट जति नै मुक्त हुन चाहे पनि, मुक्त हुन सक्दैनन्। कहिलेकाहीँ त, तिनीहरूले जीवन नै खतरामा पर्ने अवस्था सामना गर्न सक्छन्, र तीसँग जुझ्न बाध्य हुन्छन्। वास्तवमा, यदि व्यक्तिको हृदयमा परमेश्वरप्रतिको आस्था साँच्चै छ भने, उसले सर्वप्रथम मान्छेको आयु परमेश्वरकै हातमा हुन्छ भनेर जान्नैपर्छ। व्यक्तिको जन्म र मृत्युको समय परमेश्वरद्वारा पहिले नै तय गरिएको हुन्छ। जब परमेश्वरले मानिसहरूलाई बिमारी दिनुहुन्छ, त्यसको पछाडि कारण हुन्छ—त्यसको अर्थ हुन्छ। तिनीहरूले महसुस गर्न सक्ने भनेको रोगबिमार हो, तर वास्तवमा, तिनीहरूलाई दिइएको कुरा त अनुग्रह हो, बिमारी होइन। मानिसहरूले सर्वप्रथम यो तथ्यलाई पहिचान गर्नुपर्छ र यसबारे निश्चित हुनुपर्छ, र यसलाई गम्भीरतासाथ लिनुपर्छ। जब मानिसहरू बिमारीका कारण कष्ट भोगिरहेका हुन्छन्, तिनीहरू प्राय परमेश्वरअघि आउन सक्छन्, र आफूले गर्नुपर्ने काम सावधानी र सतर्कतासाथ गर्ने सुनिश्चित गर्न सक्छन्, र आफ्नो कर्तव्यलाई अरूले भन्दा अझै बढी होसियारी र लगनसाथ लिन सक्छन्। जहाँसम्म मानिसहरूको कुरा छ, यो सुरक्षा हो, जन्जिर होइन। यो नकारात्मक पक्षको तौरतरिका हो। यसका साथै, सबैको आयु परमेश्वरद्वारा पूर्वनियोजित गरिएको छ। कुनै रोग चिकित्साको दृष्टिकोणबाट ज्यानै जाने हुन सक्छ, तर परमेश्वरको दृष्टिकोणबाट, यदि तेरो आयु अझै सकिएको छैन र तेरो समय आउन बाँकी नै छ भने, तँ चाहेर पनि मर्न सक्दैनस्। यदि तँलाई परमेश्वरले आज्ञा दिनुभएको छ, र तेरो मिसन पूरा भएको छैन भने, तँलाई प्राणघातक रोग लागे पनि, तँ मर्नेछैनस्—परमेश्वरले तँलाई अझै लानुहुनेछैन। यदि तँ प्रार्थना गर्दैनस् र सत्यता खोज्दैनस्, र आफ्नो रोगको उपचारमा ध्यान दिँदैनस्, वा तेरो उपचारमा ढिलाइ भयो भने पनि, तँ मर्नेछैनस्। यो कुरा विशेष गरी परमेश्वरले महत्त्वपूर्ण आज्ञा दिनुभएकाहरूका हकमा सत्य हो। जब तिनीहरूको मिसन पूरा हुन बाँकी हुन्छ, तब तिनीहरूलाई जुनसुकै रोग लागे पनि, तिनीहरू तुरुन्तै मर्नेछैनन्; तिनीहरू मिसन पूरा हुने अन्तिम क्षणसम्म जिउनेछन्। के तँसँग यो विश्वास छ?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचन पढेपछि, मैले धेरै ढुक्क महसुस गरेँ, र मेरो हृदय धेरै शान्त भयो। मानिसको जीवन र मृत्यु सबै परमेश्वरद्वारा पूर्वनिर्धारित हुन्छन्। मेरो चिन्ताको कुनै काम थिएन। यदि मेरी छोरीले आफ्नो मिसन पूरा गरेकी थिइनन् भने, उनलाई घातक रोग लागे पनि उनी मर्ने थिइनन्। र यदि उनले आफ्नो मिसन पूरा गरिसकेकी थिइन् भने, उनको समय सकिएपछि म उनलाई जोगाउन सक्ने थिइनँ। मैले मेरो श्रीमान् र बुबाको स्वास्थ्य राम्रो हुँदैहुँदै पनि अचानक बिरामी भएर छोटो समयमै उहाँहरूको मृत्यु भएको, तर मेरी सासू सधैँ बिरामी पर्दा उहाँ असी-पचासी वर्षसम्म बाँच्नुभएको कुरा सम्झेँ। मानिसको मृत्युको समय ऊ बिरामी हुनु वा नहुनुसँग सम्बन्धित छैन। यो परमेश्वरको सार्वभौमिकता र नियोजनमा निर्भर हुन्छ। मैले परमेश्वरका वचनअनुसार कुराहरूलाई हेर्नुपर्थ्यो, सत्यता खोज्नुपर्थ्यो, र यो परिस्थितिबाट पाठ सिक्नुपर्थ्यो।
पछि, मैले यस्तो परिस्थितिको सामना किन गर्नुपर्यो भनी बुझ्न खोजेँ। मैले “परीक्षाहरू र शोधनमार्फत गुज्रनेसम्बन्धी सिद्धान्तहरू” फेला पारेँ, र परमेश्वरका वचनको यो खण्ड देखेँ: “मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा पछ्याउने कुरा भनेको भविष्यका लागि आशिष्हरू प्राप्त गर्नु हो; तिनीहरूको विश्वासको लक्ष्य यही हो। सबै मानिसहरूसँग यही मनसाय र आशा हुन्छ, तर तिनीहरूको प्रकृतिमा भएको भ्रष्टतालाई परीक्षा र शोधनमार्फत निराकरण गरिनुपर्छ। जुनसुकै पक्षहरूमा मानिसहरूलाई शुद्ध पारिएको छैन र मानिसहरूले अझै भ्रष्टता प्रकट गर्छन्, तिनै पक्षहरूमा तिनीहरूलाई शोधन गरिनुपर्छ—यो परमेश्वरको प्रबन्ध हो। परमेश्वरले तेरो लागि वातावरणहरू खडा गर्नुहुन्छ, र तँलाई तिनमा शोधन भोग्न बाध्य पार्नुहुन्छ ताकि तैँले आफ्नो भ्रष्टता चिन्न सक्। अन्ततः तँ यस्तो बिन्दुमा पुग्छस् जहाँ तँ आफ्ना परिकल्पना र चाहनाहरू त्याग्न, अनि मर्नै परे पनि परमेश्वरको सार्वभौमिकता र प्रबन्धप्रति समर्पित हुन इच्छुक हुन्छस्। त्यसकारण, यदि मानिसहरूसँग शोधनका धेरै वर्षहरू छैनन् भने, यदि तिनीहरूले केही निश्चित मात्राको कष्ट सहन गर्दैनन् भने, तिनीहरूले आफ्ना सोच र हृदयमा देहको भ्रष्टताको बन्धनबाट आफूलाई मुक्त गर्न सक्नेछैनन्। जुन पक्षहरूमा मानिसहरू अझै आफ्नो शैतानी प्रकृतिको बन्धनमा हुन्छन्, र जुन पक्षहरूमा तिनीहरूसँग अझै आफ्नै चाहना र मागहरू हुन्छन्, तिनै पक्षहरूमा तिनीहरूले कष्ट भोग्नुपर्ने हुन्छ। कष्टमार्फत मात्र मानिसहरूले पाठ सिक्न सक्छन्, जसको मतलब तिनीहरू सत्यता प्राप्त गर्न र परमेश्वरका अभिप्रायहरू बुझ्न सक्षम हुन्छन्। वास्तवमा, कष्ट र परीक्षाहरू अनुभव गरेर धेरै सत्यताहरू बुझिन्छ। आरामदायी र सहज परिस्थितिमा वा परिस्थिति अनुकूल हुँदा, कसैले पनि परमेश्वरका अभिप्रायहरू बुझ्न, परमेश्वरको सर्वशक्तिमान्ता र बुद्धि चिन्न, वा परमेश्वरको धर्मी स्वभाव बोध गर्न सक्दैन। त्यो असम्भव हुनेछ!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचन पढेपछि, मैले परमेश्वरको अभिप्राय अलिक धेरै बुझेँ। मानिसहरूको आस्थामा धेरै अशुद्धता हुने भएकाले, त्यसलाई परीक्षा र शोधनद्वारा प्रकट गरिनुपर्छ। शोधनद्वारा मात्र मानिसले आफ्नो साँचो कद देखाउन सक्छ, र तब मात्र उसले आफ्नो भ्रष्टता थाहा पाउन सक्छ। पहिले, म कुराहरू त्याग्न, आफूलाई समर्पित गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न सक्थेँ। म परमेश्वरका वचनका पुस्तकहरू ओसारपसार गर्ने खतरनाक कर्तव्यबाट पनि पछि हटिनँ, र मेरी छोरीलाई पनि परमेश्वरको सामु ल्याएँ, त्यसैले मलाई मैले आफ्नो पछ्याइमा धेरै राम्रो गरिरहेकी छु भन्ने लाग्थ्यो। म परमेश्वरले मेरा त्याग र समर्पण देख्नुहुनेछ र हामीमाथि पक्कै पनि कृपा देखाइरहनुहुनेछ, अनि हाम्रो हेरचाह र रक्षा गर्नुहुनेछ भन्ने सोच्थेँ। तर जब मेरी छोरीलाई मुटुको रोग लाग्यो, र त्यो बल्झिरह्यो अनि उनी कमजोर भइन्, तब मैले परमेश्वरको हेरचाह र सुरक्षा देख्न सकिनँ, र मेरो साँचो कद प्रकट भयो। म नकारात्मक र असन्तुष्ट भएँ। मैले परमेश्वरसँग बहस गर्ने कोसिस समेत गरेँ, मेरा विगतका त्याग र समर्पणहरूको कुरा उठाएँ, र मैले आफ्नो कर्तव्यमा मन लगाउन छोडेँ। मैले परमेश्वरमाथिको मेरो विश्वास वास्तवमा उहाँबाट अनुग्रह र फाइदाहरू प्राप्त गर्नका लागि मात्र रहेछ, र म खासमा इमानदार भई परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने व्यक्ति होइन रहेछु भन्ने देखेँ। तब मात्र मैले मेरी छोरीको बिमारीमा परमेश्वरको श्रमसाध्य अभिप्रायहरू लुकेका रहेछन्, र परमेश्वरले मभित्रको भ्रष्टता र अशुद्धतालाई शुद्ध पार्न र परिवर्तन गर्न यी परिस्थितिहरूको बन्दोबस्त गर्नुभएको रहेछ भन्ने महसुस गरेँ। मैले उप्रान्त नकारात्मक र विरोधी बन्न छाड्नुपर्थ्यो। आफ्नो विश्वासका गलत अभिप्राय र दृष्टिकोणहरू समाधान गर्न म परमेश्वरका वचनतर्फ फर्कनुपर्थ्यो। परमेश्वरको अभिप्राय बुझेपछि, म केही हदसम्म समर्पित हुन सकेँ, र मेरो हृदयको पीडा कम भयो।
त्यसपछि मैले परमेश्वरका वचनका दुईवटा खण्ड पढेँ: “तँ केवल परमेश्वरमा विश्वास गरेपछि शान्ति प्राप्त गर्न सकूँ—आफ्ना छोराछोरी रोगमुक्त होऊन्, श्रीमान्ले राम्रो जागिर पाऊन्, छोराले असल श्रीमती पाऊन्, छोरीले असल श्रीमान् पाऊन्, आफ्नो गोरु र घोडाले राम्ररी खेत जोतून्, बालीनालीका लागि वर्षभरि राम्रो मौसम होस् भन्ने खोजी गर्छस्। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु—तेरो परिवारमा कुनै दुर्घटना नहोस्, तँलाई समस्याले नछोओस्, तँलाई कष्ट नपरोस्, तेरो परिवारको अन्न-बाली बाढीले नबगाओस्—कुनै पनि विपत्तिले असर नपारोस्, ‘परमेश्वरको अङ्गालोमा’ जिउन पाइयोस्, आरामदायी निवासमा जिउन पाइयोस् भन्ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायर—के तँसँग हृदय छ, के तँसँग आत्मा छ? के तँ पशु होइनस् र? बदलामा केही पनि नमागी म तँलाई साँचो मार्ग प्रदान गर्छु, तैपनि तँ पछ्याउँदैनस्। के तँ अझै पनि परमेश्वरमा विश्वास गर्नेहरूमा पर्छस्? म तँलाई साँचो मानव जीवन दिन्छु, तैपनि तँ पछ्याउँदैनस्। के तँ सुँगुर र कुकुरसँग एउटै प्रकारको छैनस् र? सुँगुरहरू मानिसको जीवन पछ्याउँदैनन्, तिनीहरू पखालिनुको पछि लाग्दैनन्, र तिनीहरू जीवन के हो भन्ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्न खाएपछि तिनीहरू त्यत्तिकै सुत्छन्। मैले तँलाई साँचो मार्ग प्रदान गरेको छु, तैपनि तैँले त्यो प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई निरन्तरता दिन इच्छुक छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन घृणित र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तँ कुनै पनि लक्ष्य पछ्याउँदैनस्, त्यसकारण, के तेरो जीवन सबैभन्दा नीच छैन र? के तँसँग परमेश्वरको सामना गर्ने दुस्साहस छ? तैँले यसरी नै अनुभव गरिरहिस् भने, के तैँले केही पनि प्राप्त नगर्ने होइन र? तँलाई साँचो मार्ग प्रदान गरिएको छ, तर तैँले अन्त्यमा त्यो प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो आफ्नै पछ्याइमा निर्भर हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। “कतिपय मानिस परमेश्वरमाथिको आस्थालेगर्दा आशिषहरू पाइन्छ भन्ने देख्ने बित्तिकै जोशले भरिन्छन्, तर तिनीहरू शोधनहरू भोग्नुपर्छ भन्ने देख्ने बित्तिकै सबै ऊर्जा गुमाउँछन्। के त्यो परमेश्वरमा विश्वास गर्नु हो? अन्ततः तैँले आफ्नो आस्थामा परमेश्वरसामु पूर्ण र पूरा समर्पणता हासिल गर्नैपर्छ। तँ परमेश्वरमा विश्वास गर्छस्, तर अझै पनि उहाँबाट मागहरू गर्छस्, तैँले छोड्न नसक्ने धेरैवटा धार्मिक धारणा छन्, तैँले त्याग्न नसक्ने व्यक्तिगत हितहरू छन्, र अझै पनि तँ देहका आशिष्हरू खोज्छस् र परमेश्वरले तेरो देहलाई मुक्ति दिनुहोस्, तेरो प्राणलाई मुक्ति दिनुहोस् भन्ने चाहन्छस्—यी सबै गलत दृष्टिकोण भएका मानिसहरूमा हुने व्यवहारहरू हुन्। धार्मिक विश्वास हुने मानिसहरूमा परमेश्वरप्रति आस्था भए पनि, तिनीहरू आफ्नो स्वभाव परिवर्तन गर्न खोज्दैनन् र परमेश्वरको ज्ञान पछ्याउँदैनन्, बरु तिनीहरूको देहका हितहरू मात्र खोज्छन्। तिमीहरूमध्ये धेरै जनामा धार्मिक विश्वासको वर्गमा पर्ने आस्था छ; यो परमेश्वरमाथिको साँचो आस्था होइन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्वरले वर्णन गर्नुभएको कुरा ठ्याक्कै मेरो स्थिति थियो। म लाचार र पीडामा हुँदा परमेश्वरमा विश्वास गर्न पुगेँ, र मैले परमेश्वरका अनुग्रह र आशिष्हरू देखेँ, त्यसैले मैले परमेश्वरलाई मलाई मद्दत गर्ने र मेरा कठिनाइहरू कम गर्ने एक मात्र सहाराका रूपमा लिएँ। विशेष गरी मेरो श्रीमान्को देहान्तपछि र म मेरी छोरीसँग एक्लै भएपछि, मैले परमेश्वरलाई झन् धेरै आफ्नो अन्तिम आशाका रूपमा लिएँ। म ठान्थेँ, जबसम्म हामी इमानदार भई परमेश्वरमा विश्वास गर्छौँ र आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्छौँ, तबसम्म परमेश्वरले हाम्रो रक्षा गर्नुहुनेछ र हामीलाई सुरक्षित राख्नुहुनेछ। मैले यी धारणाहरूसहित परमेश्वरमा विश्वास गरेँ, त्यसैले जब परमेश्वरले हाम्रो हेरचाह र रक्षा गर्नुभयो र हामीले कुनै दुर्भाग्य भोग्नुपरेन, तब म कुराहरू त्याग्न र आफूलाई समर्पित गर्न तत्पर भएँ, र म आफ्ना कर्तव्य निर्वाह गर्न उत्प्रेरित भएँ। जब मैले मेरो छोरीको मुटुको रोग बिग्रँदै गएको र परमेश्वरले उनलाई निको नपार्नुभएको देखेँ, म हताश र निराश भएँ, र मेरो मनोवृत्ति तुरुन्तै बदलियो। मेरो नकारात्मकता र गुनासाहरू सतहमा आए, र मैले परमेश्वरसँग बहस गर्ने कोसिसमा आफ्ना त्याग र समर्पणहरू समेत अघि सारेँ, र परमेश्वरले हामीलाई यस्तो व्यवहार गर्नुहुँदैन भन्ने सोचेँ। म उप्रान्त आफ्नो कर्तव्यमा मन लगाउन चाहन्नथेँ। म परमेश्वरप्रति नकारात्मक र प्रतिरोधी भएँ। तब मात्र मैले म केवल आफ्ना कठिनाइहरू समाधान गर्न र उहाँले हाम्रो हेरचाह, रक्षा र हामीलाई शान्तिपूर्ण जीवन प्रदान गर्नुहोस् भन्नका लागि परमेश्वरलाई प्रयोग गर्न मात्र उहाँमा विश्वास गरिरहेकी रहेछु भन्ने थाहा पाएँ। मेरा वर्षौँका त्याग र समर्पणहरू पटक्कै इमानदार रहेका थिएनन्। म परमेश्वरप्रति अनुचित मागहरू र अत्याधिक चाहनाहरूले भरिएकी थिएँ। मैले परमेश्वरसँग सौदाबाजी गर्ने र उहाँलाई धोका दिने कोसिस गरिरहेकी थिएँ। म साँच्चै समझविहीन थिएँ! जब मैले भर्खरै परमेश्वरमा विश्वास गर्न थालेकी थिएँ, तब मेरो कद सानो थियो, र परमेश्वरले कृपा गरेर हामीलाई केही अनुग्रह दिनुभयो। यो पहिले नै परमेश्वरको विशेष अनुग्रह थियो, तर मेरो लोभ कहिल्यै तृप्त भएन। म सधैँ परमेश्वरले मलाई अनुग्रह देखाइरहनुहोस् भन्ने चाहन्थेँ, र जब मैले परमेश्वरको अनुग्रह देख्न सकिनँ, म उहाँप्रति शत्रुवत् भएँ। ममा साँच्चै कुनै मानवता थिएन! मैले परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेकी थिएँ, हरेक दिन परमेश्वरका वचन पढिरहेकी थिएँ, र सिद्धान्तका सन्दर्भमा, मैले परमेश्वर मानिसहरूलाई न्याय गर्ने र शुद्ध पार्ने काम गर्दै हुनुहुन्छ भन्ने बुझेकी थिएँ, तैपनि आस्थासम्बन्धी मेरा दृष्टिकोणहरू अनुग्रहको युगमै सीमित थिए। म केवल परमेश्वरबाट अनुग्रह र आशिष्हरूको माग गरिरहन चाहन्थेँ। म धार्मिक समुदायका ती मानिसहरूभन्दा फरक थिइनँ जो केवल धित मरुञ्जेल खान खोज्छन्, धर्ममा मात्र विश्वास गर्ने एक अविश्वासी थिएँ। यदि मैले यस प्रकारको विश्वास जारी राखेँ भने, मैले सत्यता कहिल्यै प्राप्त गर्नेथिइनँ, र मेरो स्वभाव परिवर्तन हुनेथिएन, र यदि मैले पश्चात्ताप गरिनँ भने कहिल्यै मुक्ति पाउनेथिइनँ।
पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ र परमेश्वरको प्रेमको शुद्ध बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरूले आफ्नो हृदयमा भएका परमेश्वरसँग नमिल्ने, वा उहाँबारे गलत बुझेको कुनै पनि कुरा बारम्बार जाँच गर्नुपर्छ। यी गलत बुझाइहरू कसरी उत्पन्न हुन्छन्? किन मानिसहरू परमेश्वरलाई गलत बुझ्छन्? (किनकि तिनीहरूको स्वार्थ प्रभावित हुन्छ।) मानिसहरूले यहूदियाबाट भएको यहूदीहरूको निर्वासनका तथ्यहरू देखेपछि, दुःख मान्छन्, र भन्छन्, ‘सुरुमा, परमेश्वरले इस्राएलीहरूलाई धेरै प्रेम गर्नुभयो। उहाँले तिनीहरूलाई मिश्रबाट निकालेर लाल समुद्र पार गराउनुभयो स्वर्गबाट मन्न बर्साइदिनुभयो र पिउनको लागि पानीको मुहान फुटाइदिनुभयो, त्यसपछि व्यक्तिगत रूपमै डोर्याउन व्यवस्था दिनुभयो, र जिउने तरिका सिकाउनुभयो। मान्छेको लागि परमेश्वरको प्रेम प्रचुर थियो—त्यतिखेरका मानिसहरू साह्रै भाग्यशाली थिए! कसरी तिनीहरूप्रतिको परमेश्वरको मनोवृत्ति आँखा झिमिक्क गर्दै उल्टिन पुग्यो? उहाँको त्यत्रो प्रेम कहाँ हरायो?’ मानिसहरूको भावना यसबाट पर जान सक्दैन, र तिनीहरू शङ्का गर्न थाल्छन् र भन्छन्, ‘परमेश्वर प्रेम हुनुहुन्छ कि हुनुहुन्न? इस्राएलीहरूप्रतिको उहाँको पहिलेको मनोवृत्ति अहिले किन बिलकुलै देखिँदैन? उहाँको प्रेम त नामनिसान नरही हरायो। के उहाँमा अलिकति पनि प्रेम छ?’ मानिसहरूको गलत बुझाइ यहीँबाट सुरु हुन्छ। मानिसहरूले कुन सन्दर्भमा गलत बुझाइ राख्छन्? के त्यो परमेश्वरका कार्यहरू मान्छेका धारणा र कल्पनाहरूसँग नमिलेर हुन सक्छ? के यही तथ्यले गर्दा मानिसहरू परमेश्वरलाई गलत बुझ्छन्? मान्छेहरूले परमेश्वरको प्रेमलाई परिसीमित पार्ने भएकाले उहाँलाई गलत बुझ्छन्, होइन र? तिनीहरू सोच्छन्, ‘परमेश्वर प्रेम हुनुहुन्छ। त्यसकारण, उहाँले मानिसहरू ख्याल गर्नुपर्छ र सुरक्षा दिनुपर्छ, र तिनीहरूलाई अनुग्रह र आशिष् प्रदान गर्नुपर्छ। परमेश्वरको प्रेम भनेकै यही हो! परमेश्वरले मानिसहरूलाई यसरी प्रेम गर्नुभएको मलाई मन पर्छ। परमेश्वरले मानिसहरूलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा मैले विशेषतः उहाँले तिनीहरूलाई लाल समुद्र पार गराएर डोर्यानुहुँदा देखेँ। त्यतिखेरका मानिसहरू धेरै आशिषित् थिए! म तिनीहरूमध्ये एक हुन सके त!’ जब तँ यस कथाबाट मोहित हुन्छस्, तब तँ परमेश्वरले त्यस क्षणमा प्रकाश गर्नुभएको प्रेमलाई सर्वोच्च सत्यता र उहाँको सारको एक्लो निशानको रूपमा लिन्छस्। तैँले हृदयमा उहाँलाई परिसीमित पार्छस्, र परमेश्वरले त्यस क्षणमा गर्नुभएका सबै कुरा सर्वोच्च सत्यता हुन् भनेर फैसला सुनाउँछस्। तँ सोच्छस्, यो परमेश्वरको सबैभन्दा प्रेमिलो पक्ष, र मानिसहरूलाई सबैभन्दा धेरै उहाँको सम्मान गर्न र डर मान्न लगाउने कुरा हो, अनि यो परमेश्वरको प्रेम हो। वास्तवमा, परमेश्वरका कार्यहरू आफै सकारात्मक थिए, तर तेरो परिसीमनका कारण, ती तेरो दिमागका धारणाहरू, र परमेश्वरबारे फैसला सुनाउने तेरो आधार बन्न पुगे। ती कुराले तँलाई परमेश्वरको प्रेमलाई गलत बुझ्न लगाउँछन्, मानौँ त्यसमा कृपा, वास्ता, सुरक्षा, मार्गदर्शन, अनुग्रह, र आशिष्बाहेक अरू केही छैन—मानौँ, परमेश्वरको प्रेम यति नै हो। प्रेमका यी पक्षहरूलाई किन तँ यति धेरै प्रिय ठान्छस्? के यो तेरो स्वार्थसँग जोडिएकोले हो? (हो।) यो कुन-कुन स्वार्थसँग जोडिएको छ? (देह सुख र आरामदायी जीवन।) जब मानिसहरू परमेश्वरमा विश्वास गर्छन्, तब उहाँबाट यी चीजहरू प्राप्त गर्न चाहन्छन्, तर अरू चीज चाहँदैनन्। मान्छेले न्याय, सजाय, परीक्षा, शोधन, परमेश्वरको निम्ति कष्टभोग, विभिन्न कुराहरूको त्याग र आफूलाई समर्पित गर्ने वा यहाँसम्म कि आफ्नो जीवन बलिदान दिनेजस्ता कुराहरूबारे सोच्न चाहँदैनन्। तिनीहरू त केवल परमेश्वरको प्रेम, वास्ता, सुरक्षा, र मार्गदर्शनमा रमाउन चाहन्छन्, त्यसैले तिनीहरू परमेश्वरको प्रेम नै उहाँको सारको एक मात्र विशेषता, र उहाँको एक मात्र सार हो भनेर फैसला सुनाउँछन् गर्छन्। के परमेश्वरले इस्राएलीहरूलाई लाल समुद्र पार गराउँदै डोर्याउने क्रममा गर्नुभएका कुराहरू मान्छेका धारणाहरूको स्रोत बनेनन् र? (हो, बने।) यसले एउटा सन्दर्भ खडा गऱ्यो जसको आधारमा मानिसहरूले परमेश्वरबारे धारणाहरू बनाए। यदि तिनीहरूले यसरी परमेश्वरबारे धारणाहरू बनाए भने, के तिनीहरूले परमेश्वरको काम र स्वभावबारे साँचो बुझाइ प्राप्त गर्न सक्छन् त? यो प्रस्ट छ कि तिनीहरूले नबुझ्ने मात्र होइन, तिनीहरूको त्यसको गलत व्याख्या गर्नेछन् र त्यसबारे धारणाहरू बनाउनेछन्। यसले के प्रमाणित गर्छ भने मान्छेको बुझाइ अति सङ्कुचित हुन्छ, र त्यो साँचो बुझाइ हुँदैन। किनकि यो सत्यता नभई, मान्छेले आफ्नै धारणा, कल्पना, र स्वार्थी चाहनाको आधारमा परमेश्वरबाट आएको ठानी विश्लेषण गर्ने र अर्थ्याउने एक प्रकारको प्रेम र बुझाइ भएकोले, त्यो परमेश्वरको साँचो सारसँग मिल्दैन। परमेश्वरले मानिसहरूलाई कृपा, मुक्ति, वास्ता, सुरक्षा, र तिनीहरूको प्रार्थना सुनेरबाहेक अरू कुन तरिकाले प्रेम गर्नुहुन्छ? (ताडना, अनुशासन, काटछाँट, न्याय, सजाय, परीक्षा, र शोधनमार्फत।) त्यो सही हो। परमेश्वरले आफ्नो प्रेम अनेकौँ तरिकाले देखाउनुहुन्छ: प्रहार गरेर, ताडना दिएर, हप्काएर, अनि न्याय, सजाय, परीक्षा, शोधन आदि इत्यादिमार्फत। यी सबै परमेश्वरको प्रेमका पक्षहरू हुन्। यो दृष्टिकोण मात्र विस्तृत र सत्यताबमोजिम छ। यदि तैँले यो बुझिस् भने, आफूलाई जाँचेर आफूले परमेश्वरलाई गलत बुझेको रहेछ भनी थाहा पाउँदा, के आफ्ना विकृतिहरू चिन्न, र आफूले कहाँनेर गल्ती गरेको रहेछु भनेर राम्ररी चिन्तन गर्न सक्दैनस् र? के यसले तँलाई परमेश्वरबारे तेरा गलतबुझाइहरू सुल्झाउन मद्दत गर्न सक्दैन र? (हो, सक्छ।) तैँले यो कुरा हासिल गर्न सत्यता खोजी गर्नैपर्छ। यदि मानिसहरूले सत्यता खोजी गरे भने, परमेश्वरबारे आफ्ना गलतबुझाइहरू हटाउन सक्छन्, र तिनीहरूले परमेश्वरबारे आफ्ना गलतबुझाइहरू हटाएपछि, परमेश्वरका सबै बन्दोबस्तहरू पालना गर्न सक्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता बुझेर मात्र व्यक्तिले परमेश्वरका कार्यहरू चिन्न सक्छ)। परमेश्वरका वचन पढेपछि, अन्ततः मैले ममा आफ्नी छोरीको बिमारीप्रति यति कडा प्रतिक्रिया, र यति धेरै नकारात्मकता र पीडा भएको त मैले परमेश्वरको प्रेमलाई सीमित गरेका कारणले पो रहेछ भन्ने महसुस गरेँ। जब म असहाय थिएँ, तब मैले परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँको हेरचाह र सुरक्षा देखेँ, त्यसैले म आफ्ना धारणा र कल्पनाहरूमा भर पर्न थालेँ, र मैले परमेश्वरलाई मानिसहरूलाई शान्ति र आनन्द दिने कृपालु परमेश्वरका रूपमा सीमित गरेँ। मैले जबसम्म मानिसहरू समस्या परेको बेला परमेश्वरलाई प्रार्थना गर्छन्, तबसम्म परमेश्वरले तिनीहरूका लागि बाटो खोलिदिनुहुनेछ र जुनसुकै क्षण वा ठाउँमा तिनीहरूलाई मद्दत गर्नुहुनेछ भन्ने ठानेँ। मैले यो मात्र परमेश्वरको प्रेम हो भन्ने सोचेँ। आफ्नी छोरी बिरामी हुँदा, मैले परमेश्वरले मानिसहरूलाई प्रेम गर्नुहुने भएकाले, उहाँले मेरी छोरीलाई पक्कै निको पार्नुहुनेछ भन्ने विश्वास गरेँ, तर आफ्नी छोरीको बिमारीमा सुधार नआएपछि भने, म परमेश्वरको प्रेममा शङ्का गर्न थालेँ र उहाँप्रति गुनासाहरूले भरिएँ। मैले परमेश्वरको प्रेमलाई यसले मलाई फाइदा पुर्यायो कि पुर्याएन भन्ने आधारमा नापेँ। जब मैले हामीमाथि परमेश्वरको हेरचाह र सुरक्षा देखेँ, मैले यसलाई उहाँको प्रेमका रूपमा स्वीकार गरेँ, तर जब परमेश्वरले बन्दोबस्त गरेको परिस्थिति मेरा चाहनाअनुरूप भएन र त्यसले मलाई फाइदा पुर्याएन, तब मैले त्यसलाई स्वीकार गर्न अस्वीकार गरेँ र त्यसलाई परमेश्वरको प्रेमका रूपमा मानिनँ। मैले परमेश्वरको प्रेमबारे मेरो बुझाइ पूर्णतया एकाङ्गी र विकृत रहेछ, र त्यो सत्यतासँग पटक्कै मेल नखाने रहेछ भन्ने देखेँ! अहिले, परमेश्वरले वचनहरू व्यक्त गर्दै हुनुहुन्छ र न्याय तथा शुद्धीकरणको काम गर्दै हुनुहुन्छ, मानिसहरूलाई अनुग्रह दिने काम होइन। जब मानिसहरू पहिलोपटक परमेश्वरमा विश्वास गर्न पुग्छन् र तिनीहरूको कद सानो हुन्छ, तब परमेश्वरले तिनीहरूमाथि कृपा देखाउनुहुन्छ र तिनीहरूलाई केही अनुग्रह र आशिष्हरू दिनुहुन्छ। परमेश्वरले आफ्नो प्रेम व्यक्त गर्ने यो एउटा तरिका हो। जब मानिसहरूले केही सत्यता बुझ्छन् र तिनीहरूको कद बढ्छ, तब परमेश्वरले तिनीहरूको कदअनुसार विभिन्न परिस्थितिहरूको बन्दोबस्त गर्नुहुन्छ ताकि तिनीहरूलाई जाँच्न र शोधन गर्न सकियोस्। यसले मानिसहरूलाई विभिन्न परिस्थितिहरूमा आफूलाई र परमेश्वरलाई चिन्ने अनुमति दिन्छ, तिनीहरूको स्वभावमा परिवर्तन ल्याउँछ, र मानिसहरूलाई सत्यता बुझ्न र परमेश्वरको मुक्ति प्राप्त गर्न सक्षम बनाउँछ। यो झन् बढी परमेश्वरको प्रेम हो। हामी दुवैले मेरी छोरीको बिमारीबाट थोरै कष्ट भोगेका भए तापनि, यसले मेरो आस्थामा भएको अशुद्धतालाई प्रकट गर्यो, र मैले परमेश्वरको कामबारे मेरो बुझाइ धारणा र कल्पनाहरूले भरिएको रहेछ भन्ने देखेँ र म तिनीहरूलाई समयमै सच्याउन सक्षम भएँ। मेरी छोरीले पनि आफ्ना प्रयास र त्याग अनि समर्पण आशिष्हरू प्राप्त गर्नका लागि रहेछन्, र उनी आफ्नै धारणाको ईश्वरमा विश्वास गरिरहेकी रहिछन् भन्ने बुझिन्, अनि उनले आस्थासम्बन्धी आफ्ना गलत दृष्टिकोणहरू परिवर्तन गरिन् र परमेश्वरको नजिक भइन्। यो हाम्रा लागि परमेश्वरको प्रेम र मुक्ति थियो। यी कुराहरू बुझेपछि, परमेश्वरप्रतिको मेरा गुनासा र गलतफहमीहरू हराए, र म आफ्ना कर्तव्य सामान्य रूपमा निर्वाह गर्न सक्षम भएँ।
पछि, मैले परमेश्वरका यी वचनहरूमा अभ्यासको मार्ग फेला पारेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तँ परमेश्वरमा विश्वास गर्छस् र परमेश्वरलाई पछ्याउँछस्, त्यसैले तँमा परमेश्वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ। तैँले आफ्नो भ्रष्ट स्वभाव फाल्नैपर्छ, तैँले परमेश्वरका अभिप्रायहरूको पूर्ति पछ्याउनैपर्छ, र सृजित प्राणीको कर्तव्य पूरा गर्नैपर्छ। तँ परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने हुनाले, तैँले सबै कुरा उहाँलाई नै चढाउनुपर्छ, र तैँले व्यक्तिगत छनौट वा मागहरू गर्नु हुँदैन, अनि तैँले परमेश्वरका अभिप्राय पूरा गर्नुपर्छ। तँ सृजित मानव भएको हुनाले, तँ आफूलाई सृष्टि गर्नुहुने प्रभुमा समर्पित हुनुपर्छ, किनभने तँ अन्तर्निहित रूपमा नै आफूलाई नियन्त्रण गर्न सक्दैनस्, र तँसँग तेरो आफ्नै भवितव्यलाई नियन्त्रण गर्ने कुनै अन्तर्निहित क्षमता छैन। तँ परमेश्वरमा विश्वास गर्ने व्यक्ति भएको हुनाले, तैँले पवित्रीकरण र परिवर्तन पछ्याउनुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ)। परमेश्वरका वचन पढेपछि, मैले हाम्रो आस्थामा, हामीले परमेश्वरको अनुग्रहको आनन्द लिन खोज्नुहुँदैन वा सधैँ उहाँले हामीलाई प्रेम गर्नुहोस् भनी माग गर्नुहुँदैन भन्ने बुझेँ। यसको सट्टा, हामीले परमेश्वरको काम अनुभव गर्न, र परमेश्वरले बन्दोबस्त गरेका सबै व्यक्ति, घटना र कामकुराहरू अनुभव गर्न सृजित प्राणीहरूको स्थानमा खडा हुनुपर्छ। कष्ट र परीक्षाहरू आए पनि, जब हामी परमेश्वरका अभिप्रायहरू बुझ्दैनौँ, तब हामी समर्पित हुनुपर्छ, अक्सर प्रार्थना र खोजी गर्नुपर्छ, हामीले प्रकट गरेका भ्रष्ट स्वभावहरूबारे चिन्तन गर्नुपर्छ, पश्चात्ताप गर्नुपर्छ, परिवर्तन हुनुपर्छ, र परमेश्वरलाई सन्तुष्ट पार्न आफ्ना कर्तव्यमा डटिरहनुपर्छ। एउटा सृजित प्राणीले गर्नुपर्ने यही हो। म पहिले सधैँ आरामदायी वातावरणमा मात्र जिएकी थिएँ। म हावाहुरी र वर्षाको सामना गर्न असमर्थ हरितगृहको फूलजस्तै थिएँ। म धेरै कमजोर थिएँ र मेरो कद सानो थियो, र अलिकति कठिनाइ आउँदा पनि, म नकारात्मक र कमजोर हुन्थेँ, र परीक्षा र शोधनहरूको सामना गर्दा, म पटक्कै दृढ रहन सक्दिनथेँ। यो परिस्थितिबाट गुज्रिएपछि, मेरो कद अलिकति बढ्यो, मैले आफ्नो भ्रष्टताबारे केही बुझाइ प्राप्त गरेँ, र मैले परमेश्वरको कामका बारेमा पनि राम्रो बुझाइ पाएँ। यो मेरा लागि साँच्चै लाभदायक भएको छ!
अहिले, मेरी छोरीको बिमारी पूर्ण रूपमा निको भएको छैन, र यो अझै पनि कहिलेकाहीँ बल्झिन्छ, र उनलाई बिरामी भएको देख्दा मलाई दुःख लाग्छ र मेरो मन दुख्छ, तैपनि म यसद्वारा त्यति बाँधिएकी छैन, र म आफ्ना कर्तव्य सामान्य रूपमा निर्वाह गर्न सक्षम भएकी छु। यो परिवर्तन र यो बुझाइ परमेश्वरका वचनको परिणामस्वरूप आएको हो।