२२. आफ्नो कर्तव्यमा सिद्धान्तहरू खोज्नु अत्यन्तै महत्त्वपूर्ण छ
म आफ्नो कर्तव्यमा यस्तो धारणा राख्ने गर्थेँ: म सोच्थेँ, मसँग असल अभिप्रायहरू भएसम्म र मैले आफ्नो कर्तव्य पूरा गर्न चाहेसम्म, मेरा असल अभिप्रायहरूका कारण मैले परमेश्वरको अनुमोदन र स्वीकृति पाउनेछु, र उहाँले मेरो कर्तव्यले राम्रा नतिजाहरू पाऊन् भन्ने आशिष् दिनुहुनेछ। तर मेरा प्रयासका बाबजुद मेरो आलोचना गर्दा, मलाई हप्काइँदा र काटछाँट समेत गरिँदा भने मलाई अन्यायमा परेको महसुस हुन्थ्यो। म अचम्म मानेर सोच्थेँ, “के परमेश्वरले मानिसहरूको भित्री हृदयको छानबिन गर्नुहुन्न र? मेरा असल अभिप्रायहरूलाई किन निरुत्साहित गरिँदै छ?” त्यसपछि, म आफ्नो कर्तव्यमा नकारात्मक, निष्क्रिय र अति सतर्क बन्थेँ। म प्रायः यस्तो अवस्थालाई कुण्ठाका साथ स्वीकार गर्थेँ, र यसरी कर्तव्य निर्वाह गर्दा म कहाँ चुकिरहेकी छु भन्नेबारे म कहिल्यै प्रस्ट थिइनँ। यो मेरो हृदयमा एउटा गाँठो बन्यो। मैले हालसालैका अनुभवहरूमा प्रार्थना गरेर खोजी गरेपछि मात्र यो समस्याबारे केही बुझाइ प्राप्त गरेँ।
मैले विगत दुई वर्षदेखि मण्डलीमा भिडियोको कामको सुपरिवेक्षण गर्दै आएकी छु, र २०२४ को मे महिनामा, अगुवाले एउटा भजन भिडियोमा प्रयोग गरिएको फुटेज यसको विषयवस्तुसँग मेल नखाएको पत्ता लगाउनुभयो र यसलाई फेरि बनाउनुपर्ने भयो। पछि, मैले त्यो भिडियो हेर्दा निर्माण टोलीले प्रयोग गरेका केही फुटेज एकदमै नवीन रहेको, तर गीतले व्यक्त गर्न खोजेको भावसँग भने मेल नखाएको पाएँ। मलाई लाग्यो, उनीहरूले नयाँपन ल्याउन खोजेका हुन सक्छन् तर सिद्धान्तहरू बुझ्न उनीहरू असफल भए। भोलिपल्ट, अगुवाले भिडियोमा रहेका समस्याहरूबारे विस्तृत रूपमा सङ्गति गर्नुभयो, र उहाँले भिडियो निर्माण टोलीलाई काटछाँट पनि गर्नुभयो। उहाँले उल्लेख गरेको एउटा मुख्य बुँदाले मलाई साँच्चै झस्कायो। अगुवाले उनीहरूको कर्तव्यमा कुनै पनि सिद्धान्त छैन, उनीहरूले सत्यता बुझेका छैनन्, उनीहरू कुराहरू स्पष्ट रूपमा खुट्ट्याउन सक्दैनन्, र खोजी गर्दैनन्, उनीहरू केवल आफ्ना धारणा, कल्पना र असल अभिप्रायहरूका आधारमा काम गर्छन्, र फलस्वरूप, उनीहरूले अवरोध र बाधाहरू सिर्जना गरेका छन् भन्नुभयो। यो सुन्दा, मलाई लाग्यो, “के यो मैले आफ्नो कर्तव्यमा प्रायः गरिरहने गल्ती होइन र?” हामीले हालसालै निर्माण गरेका भिडियोहरू प्रस्तुतिको ढाँचाको हिसाबले निकै नीरस थिए, र धेरै ब्रदर-सिस्टरले हामीले नयाँपन ल्याउनुपर्छ भनी सुझाव दिए। मैले सोचेँ, “यो साँचो हो, हाम्रा भिडियोहरूमा यो समस्या छ। त्यसैले, आउनुहोस् सिकौँ र एउटा साहसी फड्को मारौँ। हामी सिर्जनशील छौँ र विगतमै अल्झिएका छैनौँ भनेर सबैलाई देखाऔँ।” त्यसैले, ढाँचाको हिसाबले नयाँपन ल्याउन सकिन्छ भन्ने सोचेर मैले केही सन्दर्भ भिडियो खोजेँ। जब हामीले केही ब्रदर-सिस्टरलाई प्रारूपहरू देखायौँ, तब उनीहरूले यो निकै नवीन छ भने। यस पटक हामीले केही नयाँ ढाँचा प्रयोग गरेका हुनाले, मैले सोचेँ, “सायद हामीले अगुवालाई एकपटक हेर्न र जाँच गर्न दिनुपर्छ।” तर फेरि मलाई चिन्ता लाग्यो, “यदि अगुवाले सिद्धान्तसम्बन्धी केही समस्या भेटाउनुभयो र यी ढाँचाहरू अस्वीकार गर्नुभयो भने के गर्ने? सायद हामीले अगुवालाई यो देखाउनु हुँदैन र हामीलाई ठीक लागेको छ भने अपलोड गर्नुपर्छ।” तर मलाई यसमा ढुक्क लागेन, त्यसैले मैले डराउँदै भिडियो समीक्षाका लागि अगुवालाई बुझाएँ। अन्त्यमा अगुवाले थुप्रै समस्या औँल्याउनुभयो। उहाँले केही ढाँचा विषयवस्तुसँग मेल नखाएको बताउनुभयो, र उहाँले हाम्रा विचारहरू अति सरल भएको र हामीमा सुझबुझ नभएको पनि भन्नुभयो। म निकै खिन्न भएँ। भिडियोमा अझै पनि समस्याहरू छन् भनेर मलाई थाहा थियो, तर हाम्रा अभिप्रायहरू असल थिए र हामी नयाँपन ल्याउन चाहन्थ्यौँ। जोसले भरिएको हृदयका साथ, म काम राम्रोसँग गर्न चाहन्थेँ। हामीलाई अलि राम्रो महसुस गराउन अगुवाले हौसला दिने केही शब्द किन बोल्न सक्नुभएन?
पछि, मैले मनन गरेँ, “मेरो कर्तव्यमा अगुवाले मलाई हप्काउँदा र काटछाँट गर्दा, मलाई किन अन्यायमा परेको महसुस भयो र अगुवाले मलाई बुझ्नुभएन भन्ने समेत लाग्यो?” म आफ्नो कर्तव्यमा कहाँ गलत भएँ भनेर बुझ्न खोज्दै मैले परमेश्वरलाई प्रार्थना गरेँ। मेरो उपासनाको समयमा, मैले परमेश्वरका वचनहरू पढेँ: “तेरो कर्तव्य पूरा गर्दा, तैँले आफ्ना व्यक्तिगत रुचिहरूअनुसार, तँलाई जे मन लाग्छ त्यो गर्न, तँलाई जे गर्दा खुसी लाग्छ वा जुन कुराले तँलाई राम्रो देखाउँछ त्यो गर्दै अगि बढ्न मिल्दैन। यसो गर्नु भनेको आफ्नै इच्छाअनुसार काम गर्नु हो। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, यदि तँ आफ्नै व्यक्तिगत रुचिहरूमा भर पर्छस् र परमेश्वरले माग्नुभएको कुरा यही हो, र यही कुराले परमेश्वरलाई खुसी तुल्याउँछ भन्ने सोच्छस् भने, र यदि तँ जबरजस्ती परमेश्वरमाथि तेरा आफ्ना व्यक्तिगत रुचिहरू लाद्छस् वा ती सत्यता भएझैँ गरी अभ्यास गर्छस्, ती सत्यता सिद्धान्तहरू भएझैँ गरी पालन गर्छस् भने, के त्यो गल्ती होइन र? त्यो कर्तव्य निर्वाह गर्नु होइन, र यसरी निर्वाह गरिएको कर्तव्यलाई परमेश्वर सम्झनुहुन्न। कतिपय मानिस सत्यतालाई बुझ्दैनन्, र तिनीहरू आफ्ना कर्तव्यहरू राम्रोसँग पूरा गर्नु भनेको के हो भन्ने जान्दैनन्। तिनीहरू आफूले प्रयत्न गरेको र त्यसमा आफ्नो हृदय लगाएको, आफ्नो देहको विरुद्धमा विद्रोह गरेको र कष्ट भोगेको अनुभूति गर्छन्, तर तिनीहरू किन कहिल्यै मानकअनुरूप तरिकाले आफ्ना कर्तव्य निर्वाह गर्न सक्दैनन् त? परमेश्वर किन सधैँ असन्तुष्ट हुनुहुन्छ? यी मानिसहरूले कहाँ गल्ती गरेका छन्? परमेश्वरका मागहरूलाई खोज्नुको साटो तिनीहरूका आफ्नै विचारअनुसार व्यवहार गर्नु नै तिनीहरूको गल्ती थियो—कारण यही हो। तिनीहरूले आफ्नै चाहना, रुचि, र स्वार्थी उद्देश्यहरूलाई सत्यताको रूपमा लिए, र तिनीहरूले ती कुरालाई परमेश्वरले मन पराउनुभएको कुरा भएझैँ, ती उहाँका मानक र मागहरू भएझैँ व्यवहार गरे। तिनीहरूले जे सही, असल र सुन्दर भनेर विश्वास गरेका थिए त्यो नै सत्यता हो भन्ने देखे; यो गलत हो। वास्तवमा, यदि मानिसहरूले कहिलेकहीँ कुनै कुरा सही छ र त्यो सत्यतासँग मेल खान्छ भनी सोचे पनि, त्यसको अर्थ त्यो परमेश्वरका अभिप्रायहरूसँग मेल खान्छ भन्ने हुँदैन। मानिसहरूले कुनै कुरा सही छ भनेर जति धेरै सोच्छन्, तिनीहरू उत्ति नै बढी सतर्क हुनुपर्छ र तिनीहरूले सोचिरहेका कुराहरूले परमेश्वरका मागहरू पूरा गर्छ कि गर्दैन भनी अझ बढी सत्यताको खोजी गर्नुपर्छ। यदि त्यो उहाँका माग र उहाँका वचनहरूको ठ्याक्कै विपरीत हुन जान्छ भने, तँलाई त्यो सही लागे पनि अस्वीकार्य नै हुन्छ, त्यो एक मानवीय विचार मात्र हो, र तँलाई त्यो जति नै सही हो भन्ने लागे पनि त्यो सत्यतासँग मेल खानेछैन। कुनै कुरा सही वा गलत हो भन्ने कुरा परमेश्वरका वचनहरूको आधारमा निर्धारित हुनुपर्दछ। तैँले कुनै कुरालाई जत्ति नै सही ठाने पनि, परमेश्वरको वचनमा त्यसको आधार छैन भने, त्यो गलत नै हो र तैँले त्यो त्याग्नैपर्छ। त्यो सत्यतासँग मेल खाएमा मात्र स्वीकार्य हुन्छ, र सत्यता सिद्धान्तहरू यसरी कायम राखेमा मात्र तेरो कर्तव्य निर्वाह मानकअनुरूप हुन सक्छ। आखिर कर्तव्य के हो? यो परमेश्वरले मानिसहरूलाई सुम्पनुभएको एउटा आज्ञा हो, यो परमेश्वरको घरको कामको भाग हो, र परमेश्वरका चुनिएका हरेक मानिसहरूले वहन गर्नुपर्ने जिम्मेवारी र दायित्व हो। के कर्तव्य भनेको तेरो करियर हो र? के यो निजी पारिवारिक मामला हो? तँलाई कुनै कर्तव्य दिइएपछि, के त्यो कर्तव्य तेरो व्यक्तिगत मामिला बन्छ भनेर भन्नु उचित हुन्छ? यस्तो त अवश्य नै भन्न मिल्दैन। त्यसो भए तैँले आफ्नो कर्तव्य कसरी पूरा गर्नुपर्छ? परमेश्वरका मागहरू, वचन र मानकहरूअनुसार काम गरेर, अनि तेरो व्यवहारलाई मानवीय व्यक्तिगत चाहनाहरूको साटो सत्यता सिद्धान्तहरूमा आधारित गरेर। केही मानिसहरू भन्छन्, ‘मलाई एक पटक कर्तव्य दिएपछि के त्यो मेरो आफ्नै काम हुँदैन र? मेरो कर्तव्य मेरो जिम्मेवारी हो, र मलाई जुन जिम्मेवारी दिइन्छ के त्यो मेरो आफ्नै काम हुँदैन र? यदि मैले आफ्नो कर्तव्यलाई आफ्नै कामको रूपमा सम्हाल्छु भने, के त्यसको अर्थ म त्यो ठिकसँग गर्छु भन्ने हुँदैन र? यदि मैले त्यसलाई मेरो आफ्नै कामको रूपमा व्यवहार गरिनँ भने के म त्यो राम्रोसँग गर्नेछु र?’ यी कुराहरू सही छन् कि गलत? ती गलत छन्; ती सत्यसँग अमिल्दा छन्। कर्तव्य तेरो व्यक्तिगत कामकाज होइन, यो परमेश्वरको कामकाज हो, यो परमेश्वरको कामको एउटा हिस्सा हो, र तैँले त्यही गर्नुपर्छ जे परमेश्वरले अह्राउनुहुन्छ; परमेश्वरमा समर्पित हुने हृदयको साथ कर्तव्य निर्वाह गर्दा मात्र तँ मानकअनुरूपको हुनेछस्। यदि तँ सधैँ तेरा आफ्नै धारणा र कल्पनाहरूअनुसार, र तेरो आफ्नै झुकावअनुसार, आफ्नो कर्तव्य निर्वाह गर्छस् भने, तैँले कहिल्यै पनि मापदण्ड पूरा गर्नेछैनस्; आफूले चाहेजसरी मात्रै कर्तव्य निर्वाह गर्नु भनेको कर्तव्य निर्वाह गर्नु होइन, किनकि तैँले जे गरिरहेको छस् त्यो परमेश्वरको व्यवस्थापनको दायराभित्रको काम होइन, यो परमेश्वरको घरको काम होइन; यो त तैँले आफ्नै कामकारबाही सञ्चालन गरिरहेको र आफ्नै कार्य अघि बढाइरहेको अवस्था हो, र त्यसैले यसलाई परमेश्वरले सम्झनुहुन्न” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने मेरो मानसिकता ठ्याक्कै परमेश्वरले खुलासा गर्नुभएजस्तै रहेछ। मैले सोच्थेँ, जबसम्म म मेहनत र सोच लगाउँछु, र मूल्य चुकाएर कुराहरू बुझ्ने कोसिस गर्छु, तबसम्म मैले आफ्नो कर्तव्य पूरा गरिरहेकी हुन्छु र परमेश्वर सन्तुष्ट हुनुपर्छ। तर मेरा “असल अभिप्रायहरू” सिद्धान्तअनुरूप छन् कि छैनन् भनेर मैले ख्याल गरिनँ। कहिलेकाहीँ, क्षणिक आवेगमा, म कुनै कुरा उपयुक्त वा राम्रो छ भन्ने सोच्थेँ र गम्भीरतापूर्वक सिद्धान्तहरू नखोजी वा शान्त भएर जानकारी नहेरी, अध्ययन नगरी वा सारांश ननिकाली सिधै त्यो काम गर्न अघि बढ्थेँ। फलस्वरूप, मैले तयार पारेको काम प्रायः सिद्धान्तअनुरूप हुँदैनथ्यो। उदाहरणका लागि, भजन भिडियोहरू बनाउँदा, गैरविश्वासीहरूले मानिसहरूको ध्यान खिच्न र क्लिक दर बढाउनमा ध्यान दिन्छन्, र भिडियोहरूलाई बढी चकमधकमपूर्ण बनाउन प्रचुर मात्रामा दृश्य परिवर्तन र उच्चस्तरीय सम्पादन विधिहरू प्रयोग गर्छन्। तर हामीले भिडियो बनाउनुको मुख्य उद्देश्य भनेको मानिसहरूलाई शान्त हुन र परमेश्वरका वचनहरू सुन्न मद्दत गर्नु हो। यो परमेश्वरका वचनहरू प्रसार गर्न र उहाँको गवाही दिनका लागि हो। यदि हामीले व्यक्तिगत रुचि वा गैरविश्वासीका मापदण्डहरूलाई हाम्रा कर्तव्य निर्वाह गर्ने सिद्धान्तका रूपमा लियौँ भने, विचलनहरू प्रायः आइरहन्छन्, र नतिजाले परमेश्वरको गवाही दिन सक्दैन। साथै, मेरो क्षमता सीमित छ, र ममा सुझबुझपूर्ण निर्णय गर्ने सामर्थ्यको कमी छ। म आफ्नो कर्तव्य पूरा गर्ने कामना गर्छु, र कामकुरा गर्दा सिद्धान्तहरू पालना गर्न चाहन्छु, साथै नयाँपन ल्याउन र कुराहरू नदोहोर्याउन चाहन्छु, तर म सत्यता बुझ्दिनँ र कुराहरू स्पष्ट रूपमा देख्न सक्दिनँ, त्यसैले सिद्धान्तहरूसम्बन्धी बुझाइमा ममा प्रायः विचलनहरू आइरहन्छन्, र मेरो कामका नतिजाहरू राम्रा हुँदैनन्। उदाहरणका लागि, यस पटक, हामी भिडियोको ढाँचामा नयाँपन ल्याउन चाहन्थ्यौँ, तर जब मैले केही नयाँ कुरा सिक्थेँ, म तिनलाई भिडियोमा प्रयोग हतारिन्थेँ, तर वास्तविकतामा, मैले आफूले सिकेका कुराहरूको आधारभूत ज्ञान मात्र लिएकी थिएँ, र मैले दृश्य प्रस्तुतिको ढाँचा भिडियोको विषयवस्तुसँग मेल खान्छ कि खाँदैन वा केही तकनिक सिद्धान्तअनुसार प्रयोग गरिएका छन् कि छैनन् भनेर ख्याल गरिनँ। फलस्वरूप, भिडियोको प्रभावकारिता कमजोर भयो, र त्यसमा आधारभूत गल्तीहरू समेत भएका थिए। अगुवाले म सरल विचारकी भएको र ममा सुझबुझ नभएको भन्दै मेरा समस्याहरू औँल्याउनुभयो। मलाई अन्याय भएको र अगुवाले ख्याल नगरेको अनुभूति समेत भयो। मलाई मेरा मनसायहरू असल छन्, त्यसैले विचलन वा समस्याहरू भए पनि, मेरा असल अभिप्रायहरूका लागि अगुवाले मलाई सान्त्वनाका केही शब्द भन्नुपर्छ भन्ने लाग्यो। यस बिन्दुमा, मैले मनमनै सोचेँ, “के मेरो यस्तो माग सिद्धान्तअनुरूप छ र?” परमेश्वरको घरमा, कामकुरा गर्दा सिद्धान्तहरूलाई राम्रोसँग ध्यान दिइनुपर्छ, साथै सहीलाई सही, र गलतलाई गलत भन्नुपर्छ। यदि मैले तयार पारेका कामहरू सिद्धान्तअनुरूप छन् र तिनले राम्रा नतिजाहरू हासिल गर्छन् भने, मण्डलीले स्वभाविक रूपमा तिनलाई अपनाउनेछ। तर यदि तिनले सिद्धान्तहरू उल्लङ्घन गर्छन् र परमेश्वरको गवाही दिन सक्दैनन् भने, अगुवाले तिनलाई प्रयोग गर्नुहुनेछैन, र उहाँले मेरा समस्याहरू पनि स्पष्ट रूपमा औँल्याउनुहुनेछ। यसरी सिधै औँल्याउनु मेरा कमजोरीहरू खुलासा गर्न वा मलाई आक्रमण गर्नका लागि होइन, बरु मलाई मेरा कमी र कमजोरीहरू स्पष्ट रूपमा देख्न मद्दत गर्नका लागि हो, ताकि मैले भविष्यमा सिद्धान्तहरू अझ बढी खोज्न सकूँ र आफ्ना व्यावसायिक सीपहरू सुधार्नमा अझ बढी मेहनत लगाउन सकूँ। यसरी, म अझ राम्रा भिडियोहरू बनाउन सक्षम हुनेछु। यस्ता औँल्याइ र काटछाँटहरू मानिसहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न मद्दत गर्ने उत्तम उपाय हुन्। तर म सही र गलत छुट्याउन असमर्थ थिएँ, र म सान्त्वना र समझदारीका शब्दहरू सुन्न रुचाउँथेँ, अनि जब अगुवाले मसँग थोरै कडा रूपमा बोल्नुहुन्थ्यो, तब मलाई प्रतिरोध महसुस भइहाल्थ्यो। मानौँ, मेरा अभिप्रायहरू असल भएसम्म, मैले गल्ती गरे पनि मेरो आलोचना गरिनु हुँदैन, र मलाई आफ्नो इज्जत जोगाउन दिइनुपर्छ। के यो शैतानको संसारसँग व्यवहार गर्ने दर्शन होइन र? यसबारे सोच्दा, यस्ता मागहरूमा साँच्चै समझको कमी छ, र यो सत्यता स्वीकार गर्ने व्यक्तिको व्यवहार होइन। हाम्रा कर्तव्यहरू निजी मामिला होइनन्। हरेक कर्तव्य परमेश्वरको घरको काम र परमेश्वरको गवाही दिने कुरासँग सम्बन्धित हुन्छ, त्यसैले हामीले यसलाई सावधानी र होसियारीका साथ, अनि परमेश्वरको डर मान्ने हृदयका साथ सम्हाल्नुपर्छ, र हामीले अझ बढी खोजी गर्नुपर्छ, अनि अरूसँग बढी परामर्श लिनुपर्छ ताकि हामी हाम्रा धारणा वा कल्पनाहरूका आधारमा परमेश्वरलाई लज्जित तुल्याउने कामहरू गर्नबाट बच्न सकौँ। सिद्धान्तहरू नखोजी केवल असल अभिप्राय र उत्साहमा भर पर्दा व्यक्तिले आफ्नो कर्तव्यमा अवरोध र बाधाहरू सिर्जना गर्ने सम्भावना हुन सक्छ।
पछि, मैले मनन गरेँ, “मलाई थाहा छ, कर्तव्यमा कुनै कुराको सामना गर्दा मैले सिद्धान्तहरू खोज्नुपर्छ, तर कहिलेकाहीँ, मलाई कुनै कुरा धेरै राम्रो लाग्छ र म सिद्धान्तहरू खोज्न नचाहिकन तुरुन्तै त्यो काम गर्छु। म किन यति मनोमानी गर्छु?” मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र मेरा कर्तव्यमा भएका मेरा अभिप्रायहरूबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “के परमेश्वरको घरमा सधैँ आफ्नो विज्ञता देखाउन र आफ्नो क्षमता प्रदर्शन गर्न चाहनु सही सुरुवात बिन्दु हो? (अहँ, होइन।) कसरी यो गलत छ? कारण बताओ त। (तिनीहरूको अभिप्राय आफ्नो प्रदर्शन गर्नु र आफूलाई पृथक देखाउनु हो—तिनीहरूले आफ्नै करियर पछ्याइरहेका हुन्छन्। तिनीहरूले आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने वा परमेश्वरको घरको काममा फाइदा पुग्ने गरी कसरी व्यवहार गर्ने भनेर विचार गरिरहेका हुँदैनन्। त्यसको सट्टा, तिनीहरूले परमेश्वरको घरका हितहरू रक्षा नगरी वा सत्यता सिद्धान्तहरू खोजी नगरी आफ्नै रुचिअनुसार काम गर्न चाहन्छन्।) अरूले यो मामलालाई कसरी हेर्छन्? (केही कुरा आइपर्नेबित्तिकै आफ्नो धाक लगाउनु शैतानी स्वभाव हो। तिनीहरूले आफ्नो कर्तव्य कसरी पूरा गर्ने र परमेश्वरको गवाही कसरी दिने भनेर सोच्दैनन्; तिनीहरूले सधैँ आफ्नै बारेमा मात्रै गवाही दिन चाहन्छन् र यो मार्ग अन्तर्निहित रूपमै गलत छ।) यो सुरुवात बिन्दु अन्तर्निहित रूपमै गलत छ, र यो निश्चित कुरा हो। त्यसोभए, कुन तरिकाले यो गलत छ? यो तिमीहरूले खण्डन गर्न नसक्ने कुरा हो। यस्तो लाग्छ, तिमीहरू सबैलाई दबाब महसुस भइरहेको छ, र तिमीहरू सबैजना आफ्नो क्षमता प्रदर्शन गर्न आफ्नो विज्ञता देखाउन चाहन्छौ—होइन र? गैरविश्वासीहरूमाझ एउटा भनाइ छ, त्यो के हो? ‘बुढी आईमाईले लाली लाई—तिमीहरूलाई देखाउनलाई।’ के ‘आफ्नो क्षमता प्रदर्शन गर्नु’ भनेको यही होइन र? (हो।) आफ्नो क्षमता प्रदर्शन गर्नु भनेको आफ्नो सक्षमता देखाउन र धाक लगाउन चाहनु हो, अरूहरूमाझ प्रतिष्ठा र हैसियत अनि उच्च आदर पाउन चाहनु हो। कम्तीमा पनि, यो अरूलाई आफ्ना क्षमताहरू प्रदर्शन गर्ने अवसर प्रयोग गर्दै यस्तो जानकारी दिन चाहनु हो: ‘मसँग केही वस्तविक सीप छन्, म साधारण व्यक्ति होइन, मलाई हेयको नजरले नहेर, म प्रतिभावान् व्यक्ति हुँ।’ कम्तीमा पनि, यसको भित्री अर्थ यही हो। त्यसकारण, जब कुनै व्यक्तिले त्यस्ता अभिप्रायहरू बोकेको हुन्छ र सधैँ आफ्नो क्षमता प्रदर्शन गर्न चाहन्छ, तब यसको प्रकृति के हुन्छ? तिनीहरूले आफ्नै करियर बनाउन, आफ्नै हैसियत बढाउन, अरू मानिसहरूमाझ दह्रिलो स्थान र प्रतिष्ठा स्थापित गर्न चाहन्छन्। यो कुरा यति सरल छ। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न वा परमेश्वरको घरको लागि यसो गरिरहेका हुँदैनन्, र तिनीहरूले सत्यता खोजी गरिरहेका र परमेश्वरको घरका सिद्धान्त र मापदण्डहरूअनुसार काम गरिरहेका हुँदैनन्। तिनीहरूले आफ्नै लागि, आफूलाई अझै बढी चिनाउन, आफ्नो मूल्य र प्रतिष्ठा बढाउन यसो गरिरहेका हुन्छन्; मानिसहरूले तिनीहरूलाई सुपरभाइजर वा अगुवा छनौट गरून् भनेर तिनीहरूले यसो गरिरहेका हुन्छन्। तिनीहरू अगुवा वा सेवक छनौट भइसकेपछि, के तिनीहरूले हैसियत पाउँदैनन् र? के त्यसपछि तिनीहरू लोकप्रिय स्थानमा हुँदैनन् र? तिनीहरूको खोज यही हो, र तिनीहरूको सुरुवात बिन्दु यति सरल हुन्छ—यो हैसियतको खोजभन्दा बढी अरू केही हुँदैन। तिनीहरूले उद्देश्यपूर्ण रूपमा हैसियत खोजिरहेका हुन्छन्, र परमेश्वरको घरको काम वा यसका हितहरू रक्षा गरिरहेका हुँदैनन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (६))। परमेश्वरका वचनहरूबाट, मैले के देखेँ भने एउटा व्यक्तिको आफ्ना कर्तव्यमा रहेका अभिप्राय र मनसायहरू धेरै महत्त्वपूर्ण हुन्छन्। यदि कुनै व्यक्तिले आफ्नो कर्तव्यलाई देखावा गर्ने माध्यमका रूपमा प्रयोग गर्छ, प्रशंसा पाउन र आफ्नो प्रतिष्ठालाई उचाइमा पुर्याउन आफ्ना प्रतिभाहरू प्रदर्शन गर्छ भने, तब उसले सोच्दै नसोची काम गर्ने सम्भावना हुन्छ, र उसको विचार आफ्नै प्रतिष्ठा र हैसियतमा केन्द्रित हुनेछ। यसरी आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको सारमा आफ्नै उद्यममा संलग्न हुनु हो। मैले यो पनि चिन्तन गरेँ, “मैले आफ्नो कर्तव्य निर्वाह गर्दा किन यति धेरै समस्याहरू उत्पन्न हुन्छन्?” किनभने मेरा अभिप्रायहरू समस्याग्रस्त थिए। मेरो कर्तव्यमा, म कसरी परमेश्वरको गवाही दिने वा अझ राम्रा नतिजाहरू हासिल गर्ने भनेर सोचिरहेकी हुन्नथेँ। बरु, आफ्नो कामलाई प्रयोग गरेर म विचार र सिर्जनशीलता भएको व्यक्ति हुँ, र म उही पुराना विचारहरूमा अल्झिएकी छैन भनेर प्रमाणित गर्न चाहन्थेँ। यो सबै अरूको प्रशंसा कमाउनका लागि थियो। उदाहरणका लागि, केही ब्रदर-सिस्टरले हालसालै हामीलाई केही सुझाव दिएका थिए, उनीहरूले हामीले निर्माण गरिरहेका भिडियोहरूको ढाँचामा विविधता नभएको बताएका थिए। मैले मनमनै सोचेँ, “यदि मैले अझै पनि नयाँपन ल्याइनँ भने, के उनीहरूले म सिर्जनशील छैन भन्ने सोच्नेछन्?” उनीहरूमा त्यस्तो छाप पर्न नदिन, मैले भिडियोहरूको अध्ययन गर्न थालेँ, लोकप्रिय देखिने र उच्च क्लिक दर भएका शैलीहरू छानेँ, र मानिसहरूले मलाई नयाँ दृष्टिकोणले हेरून् भनेर आफूले निर्माण गर्ने अर्को भिडियोमा केही नयाँ र उत्कृष्ट गर्नेबारे सोचेँ। जब हामीले केही ब्रदर-सिस्टरलाई भिडियोका नमुनाहरू देखायौँ, उनीहरूले यो निकै नवीन छ भने, त्यसैले म आफूप्रति निकै खुसी भएँ, र म सकेसम्म चाँडो धेरैभन्दा धेरै मानिसहरूले भिडियो हेरून् भनेर उत्सुक थिएँ। म यसलाई समीक्षाका लागि अगुवासमक्ष पेस गर्न पनि चाहन्नथेँ, किनकि मलाई उहाँले त्यो हेरेपछि सिद्धान्तसम्बन्धी केही समस्या औँल्याउनुहुनेछ, र भिडियो अपलोड हुनबाट रोकिनेछ भन्ने डर थियो। म उहाँबाट खोजी गर्नै चाहन्नथेँ। यी सबैबारे चिन्तन गर्दा, मलाई डरको आभास भयो। मैले आफ्नो कर्तव्यमा रहेका मेरा अभिप्रायहरू गलत छन्, र म साह्रै मनोमानी गर्छु भन्ने थाहा पाएँ। मैले समस्याग्रस्त भिडियो झन्डै अपलोड गरिसकेकी थिएँ, र यसले परमेश्वरको गवाही नदिने मात्र होइन बरु उहाँलाई अपमानित गर्ने थियो। यसको परिणाम अकल्पनीय हुने थियो।
पछि, मैले परमेश्वरका वचनहरू सम्झेँ: “के तिमीहरूलाई मानिसले परमेश्वरलाई गर्ने सेवामा सबैभन्दा निषेधित कुरा के हो भन्ने थाहा छ? कतिपय अगुवा र कामदारहरू परमेश्वरलाई आफू वास्तवमा कति सक्षम छु भनी देखाउनका लागि सधैँ फरक हुन, अरूभन्दा उत्कृष्ट हुन, देखावटी गर्न अनि केही नयाँ चाल पहिल्याउन चाहन्छन्। तर, तिनीहरू सत्यता बुझ्न र परमेश्वरका वचनको वास्तविकतामा प्रवेश गर्नमा ध्यान दिँदैनन्। यो कार्य गर्ने सबैभन्दा मूर्खतापूर्ण तरिका हो। के यो ठ्याक्कै अहङ्कारी स्वभावको प्रकटीकरण होइन र? … त्यसैले, कहिले पनि आवेगमा आएर आफूलाई जे मन लाग्यो त्यही नगर्। तैँले नतिजाबारे कसरी सोच्न नसकेको? जब तैँले परमेश्वरको स्वभावलाई चिढ्याउँछस् र उहाँका प्रशासनिक आदेशहरूलाई उल्लङ्घन गर्छस्, र त्यसपछि तँ हटाइन्छस् भने, तैँले भन्नु पर्ने केही पनि बाँकी हुनेछैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरले भन्नुहुन्छ, कुनै व्यक्तिले आफ्नो कर्तव्यमा गर्न सक्ने सबैभन्दा निषेधित कुरा भनेको सधैँ फरक हुन र देखावा गर्न चाहनु हो। आफू कति सक्षम र सिपालु छु भनी देखाउनका लागि, मानिसहरू प्रायः आफ्नै इच्छाका आधारमा अन्धाधुन्ध र आवेगपूर्ण तरिकाले काम गर्छन्। यो अहङ्कारी स्वभावको प्रकटीकरण हो। जस्तै यस पटक हामीले भिडियो बनाउँदा, मैले सत्यता बुझेकी थिइनँ र मलाई योसँग सम्बन्धित व्यावसायिक सीपहरूको सतही ज्ञान मात्र थियो, मैले कार्यक्रमका धेरै ढाँचाहरू र प्रस्तुति विधिहरूबारे राम्ररी अनुसन्धान गरिनँ, र मलाई जे राम्रो लाग्यो त्यसकै आधारमा मैले विचारहरू सापट लिएँ। विशेष गरी जब ममा आफूलाई सिर्जनशील वा प्रेरित लाग्ने भिडियोका लागि केही विचार आउँथे, तब म आफैसँग निकै मख्ख पर्थेँ र ममा आफैप्रति ठूलो आत्मविश्वास हुन्थ्यो, अनि म सोच्थेँ, यो भिडियो निर्माणले पक्कै पनि मानिसहरूले मलाई नयाँ दृष्टिकोणले हेर्ने बनाउनेछ। यदि म अझ समझदार भएकी भए, र ममा सत्यतासम्बन्धी बुझाइको कमी छ अनि म कुराहरू स्पष्ट रूपमा देख्न सक्दिनँ भनेर मैले बुझेकी भए, नयाँ ढाँचा प्रयास गर्नुअघि मैले सावधानीपूर्वक अनुसन्धान गर्ने थिएँ र अरूसँग परामर्श लिने थिएँ, अनि भिडियो बनाइसकेपछि पटक-पटक समीक्षा गर्ने थिएँ र अझ बढी खोजी गर्ने थिएँ ताकि अपलोड गर्नुअघि त्यसमा कुनै समस्या नहोस्। तर ममा आफैप्रति अन्ध-आत्मविश्वास थियो, जुन मूर्खता र अज्ञानताको लक्षण हो। म साँच्चै अहङ्कारी र अज्ञानी थिएँ! मैले आफ्नै सामर्थ्यहरूलाई बुझिनँ र कामकुरा गर्दा खोजी गरिनँ। आफ्ना रुचिका आधारमा कर्तव्य निर्वाह गरेर, मैले अवरोधहरू निम्त्याउने सम्भावना थियो। मैले यसरी कर्तव्य निर्वाह गर्नु साँच्चै खतरनाक थियो!
मेरो उपासनाको समयमा, मैले परमेश्वरका वचनहरूका दुईवटा खण्ड पढेँ जसले मलाई अभ्यासको मार्ग अझ स्पष्ट पारिदिए। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तँ सत्यता सिद्धान्तहरूमा आधारित भएर कार्य गर्न चुक्छस्, र यसको साटो गैरविश्वासीहरूका गलत विचार र दृष्टिकोणहरूतर्फ झुकेर आफ्ना कार्यहरू तिनै कुराहरूमा आधारित बनाउँछस् भने, तेरो प्रयास व्यर्थ हुनेछ। यदि तैँले धेरै मूल्य चुकाइस् र धेरै मेहनत गरिस् नै भने पनि, तेरो अन्तिम परिणाम व्यर्थ नै हुनेछ। परमेश्वरले यो मामिलालाई कसरी हेर्नुहुन्छ? उहाँले यसलाई कसरी चित्रण गर्नुहुन्छ? उहाँले यसलाई कसरी सम्हाल्नुहुन्छ? कम्तीमा पनि, तेरा कामहरू असल छैनन्, तिनले परमेश्वरको गवाही दिने वा उहाँको महिमा बढाउने गर्दैनन्, र तैँले चुकाएको मूल्य र लगाएको मानसिक प्रयासलाई स्मरण गरिनेछैन; यो सबै व्यर्थ हुनेछ। कुरो बुझिस्? (बुझेँ।) तैँले कुनै काम गर्नुअघि, समय लिएर ध्यानपूर्वक विचार गर्, अरूसँग अझै बढी सङ्गति गर्, सुरु गर्नुपहिले सिद्धान्तहरूबारे स्पष्टता खोज्, र आफ्नो स्वार्थ र इच्छाहरूद्वारा प्रेरित भएर हतारमा वा आवेगमा काम नगर्। परिणाम जे भए पनि, अन्त्यमा त्यो तैँले आफै भोग्नुपर्छ, र नतिजा जे भए पनि, परमेश्वरबाट फैसला हुनेछ। यदि तँ तेरा कार्यहरू व्यर्थ नहोऊन्, ती कार्यहरू परमेश्वरद्वारा स्मरण गरिऊन्, वा अझ राम्रो त, ती कार्यहरू परमेश्वर प्रसन्न बन्नुहुने असल काम होऊन् भन्ने आशा गर्छस् भने, तैँले अझै बारम्बार सिद्धान्तहरू खोजी गर्नुपर्छ। यदि तँ यी कुराहरूबारे वास्ता गर्दैनस् भने, यदि तँलाई तेरा काम असल होऊन् नहोऊन् वा परमेश्वर ती कामप्रति प्रसन्न हुनुहोस् नहुनुहोस् मतलबै छैन, र तँ आफूलाई दण्ड पो हुने हो कि भनेर वास्तै गर्दैनस्, बरु ‘यसले केही फरक पार्दैन, आखिर अहिले मैले यसलाई देख्न वा महसुस पनि गर्न सक्दिनँ’ भनेर भन्छस् भने, यदि तँमा यी विचार र दृष्टिकोणहरू छन् भने, जब तैँले कुनै काम गर्छस्, तब तँसँग परमेश्वरको डर मान्ने हृदय हुनेछैन। तँ दुस्साहसी, अनियन्त्रित, र लापरवाह हुनेछस्, र तँमा कुनै पनि कुराप्रति चिन्ता वा संयम हुनेछैन। परमेश्वरको डर मान्ने हृदय नभएपछि, तैँले कार्य गर्दा लिने दिशा भड्किने हुन सक्छ। मानव स्वभाव र जन्मजात गुणअनुसार, अन्तिम परिणाम के हुन सक्छ भने, तेरा कार्यहरू परमेश्वरलाई प्रसन्न पार्ने वा उहाँद्वारा स्मरण गरिने कुरा हुन सक्दैनन्, बरु उल्टै ती कार्यहरू बाधा, अवरोध र दुष्कर्महरूसमेत बनिदिन्छन्। तसर्थ, तेरो अन्तिम परिणाम के हुनेछ, र परमेश्वरले यसलाई कसरी लिनुहुन्छ र सम्हाल्नुहुन्छ भन्ने कुरा स्पष्ट छ। त्यसकारण, जुनसुकै कुरा गर्नुअघि, र जुनसुकै कुरा सम्हाल्नुअघि, तैँले आफू के चाहन्छु भन्ने कुरा पहिले मनन गर्नुपर्छ, र यो कुराको अन्तिम परिणाम के हुनेछ भनेर राम्ररी विचार गर्नुपर्छ, र त्यसपछि मात्र अगाडि बढ्नुपर्छ। त्यसोभए, यो मामिला के कुरासँग सम्बन्धित छ? यो मामिला तैँले कुनै पनि काम गर्दा पछ्याउने मनोवृत्ति र सिद्धान्तहरूसँग सम्बन्धित छ। यसको लागि सबैभन्दा राम्रो मनोवृत्ति भनेको झन् बारम्बार सिद्धान्तहरू खोजी गरिरहनु हो अनि आफ्नो चैतन्य, प्राथमिकता, अभिप्राय, इच्छा, वा तात्कालिक चासोहरूलाई आफ्नो निर्णयको आधार नबनाउनु हो; बरु यसको साटो, तैँले सिद्धान्तहरू खोज्नुपर्छ, र अझै बारम्बार रूपमा परमेश्वरको अघि प्रार्थना र खोजी गर्नुपर्छ, आफ्ना विश्वासी दाजुभाइ-दिदीबहिनीसामु यस्ता मामिलाहरू उठाउनुपर्छ, र आफूसँग काम गर्ने विश्वासी दाजुभाइ-दिदीबहिनीसँग कर्तव्य पूरा गर्नहेतु सङ्गति र खोजी गर्नुपर्छ। काम गर्नुअघि सिद्धान्तहरू ठिक पार्; आवेगमा काम नगर्, र भ्रमित नबन्। तँ किन परमेश्वरमा विश्वास गर्छस्? तैँले पेट पाल्न, समय बिताउन, फेसन गर्न, वा आफ्ना आत्मिक आवश्यकताहरू पूरा गर्न त्यसो गर्दैनस्। तैँले मुक्ति पाउनको लागि त्यसो गर्छस्। अनि, तैँले कसरी मुक्ति पाउन सक्छस्? जब तैँले कुनै काम गर्छस्, तब त्यो काम मुक्ति, परमेश्वरका मापदण्डहरू, र सत्यतासँग जोडिएको हुनुपर्छ, होइन र?” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१५))। “यो परमेश्वरको घर भएको हुनाले, मानिसहरूले आफूले यहाँ निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नु मात्र सही र उचित हुन्छ। तर मानिसहरूले आफ्नो लागि, आफ्नो दैनिक अस्तित्व, जीवन, परिवार, वा करियरको लागि यसो गरिरहेका हुँदैनन्। त्यसोभए तिनीहरूले यो केको लागि यसो गरिरहेका हुन्छन् त? परमेश्वरको कामको लागि, र परमेश्वरको व्यवस्थापनको लागि। चाहे यो कर्तव्य जुनसुकै विशिष्ट पेसामा परे पनि वा यो जुनसुकै प्रकारको काम भए पनि, वा चाहे यो एउटा विराम चिन्ह प्रयोग गर्ने वा ढाँचा मिलाउनेजस्तो सानो काम भए पनि, वा कुनै विशिष्ट प्रकारको महत्त्वपूर्ण काम भए पनि, यो सबै परमेश्वरको कामको क्षेत्रभित्र पर्छ। त्यसकारण, यदि तँसँग समझशक्ति छ भने, तैँले सुरुमा आफूलाई यो कुरा सोध्नुपर्छ, ‘मैले यो काम कसरी गर्ने? परमेश्वरका मापदण्डहरू के-के हुन्? परमेश्वरको घरले के-कस्ता सिद्धान्तहरू तय गरेको छ?’ त्यसपछि, त्यससँग सम्बन्धित सिद्धान्तहरू एकएक गरी सूचीबद्ध गर् र ती हरेक नियम र सिद्धान्तहरू कठोर रूपमा पालना गर्दै काम गर्। तैँले गर्ने हरेक काम जबसम्म सिद्धान्तहरूअनुसार हुन्छन् र सिद्धान्तको दायराभन्दा बाहिर जाँदैनन्, तबसम्म ती कुराहरू उचित नै हुनेछन्, र परमेश्वरले तेरो त्यो कामलाई तैँले आफ्नो कर्तव्य निर्वाह गरेको रूपमा लिएर वर्गीकरण गर्नुहुनेछ। के यो कुरा मानिसहरूले बुझ्नुपर्ने कुरा होइन र? (हो।) यदि तैँले यो कुरा बुझ्छस् भने, तैँले सधैँभरि कसरी काम गर्न चाहन्छस् वा तैँले के गर्न चाहन्छस् त्यस कुरामा विचार गरिरहनु पर्दैन। यसरी सोच्नु र काम गर्नु भनेको समझको कमी हुनु हो। के समझविनाका कुराहरू गरिनुपर्ने हो र? अहँ, होइन। यदि तँलाई त्यस्तो कुरा गर्न मन लाग्यो भने, तैँले यसबारेमा के गर्नुपर्छ? (आफूविरुद्ध विद्रोह गर्नुपर्छ।) तैँले आफूविरुद्ध विद्रोह गर्नुपर्छ र आफूलाई त्याग्नुपर्छ, र आफ्नो कर्तव्य र परमेश्वरको घरका मापदण्ड र सिद्धान्तहरूलाई पहिलो स्थानमा राख्नुपर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (६))। परमेश्वरका वचनहरू पढेपछि, मेरो हृदय उज्यालो भयो, र केलाई असल कार्य भनिन्छ भनेर मैले बुझेँ। अर्थात्, सिद्धान्तहरू र परमेश्वरका मागहरूअनुसार काम गर्नु, यसरी परमेश्वरको गवाही दिनु र उहाँलाई महिमित तुल्याउनु। जब यी सकारात्मक नतिजाहरू हासिल हुन्छन् तब मात्र कुनै कार्यलाई असल कार्य भन्न सकिन्छ, र तब मात्र परमेश्वरले यसलाई अनुमोदन र स्वीकार गर्नुहुनेछ। यदि हामीले सत्यता सिद्धान्तहरू नखोजी आफ्नै इच्छा वा आवेगका आधारमा अन्धाधुन्ध काम गर्यौँ भने, जतिसुकै मेहनत लगाए पनि, र जतिसुकै मूल्य चुकाए पनि, यो सबै व्यर्थ हुन्छ र यो परमेश्वरका अभिप्रायहरूसँग बिलकुलै मेल खाँदैन। यो सिद्धान्तविपरीत पनि जान सक्छ र यसले बाधा र अवरोधहरू निम्त्याउन सक्छ। मैले के बुझेँ भने कामकुरा गर्दा व्यक्तिका अभिप्रायहरू अत्यन्तै महत्त्वपूर्ण हुन्छन्, र व्यक्तिले हिँड्ने मार्गको पनि ठूलो महत्त्व हुन्छ। साथै, परमेश्वरको घरमा मेरो कर्तव्य निर्वाह गर्नु भनेको मेरा निजी मामिलाहरू सम्हाल्नु होइन, र मैले आफूखुसी कार्य गर्न मिल्दैन। परमेश्वरले भन्नुभएझैँ, विराम चिह्न वा ढाँचाजस्तो सानोभन्दा सानो कुराका हकमा पनि, व्यक्तिले सान्दर्भिक सिद्धान्तहरू खोज्नुपर्छ। यो व्यक्तिको कर्तव्यप्रतिको मनोवृति र उसमा परमेश्वरको डर मान्ने हृदय छ कि छैन भन्ने कुरासँग सम्बन्धित छ। त्यसैले, कुनै पनि काम गर्नुअघि, हामीले पहिले यसमा कुन सिद्धान्तहरू समावेश छन्, परमेश्वरले के माग गर्नुहुन्छ, परमेश्वरलाई सन्तुष्ट पार्ने गरी काम कसरी गर्न सकिन्छ, र कसरी सकारात्मक नतिजाहरू हासिल गर्न सकिन्छ भनेर चिन्तन गर्नुपर्छ। यी समस्याहरूमाथि बढी चिन्तन गरेर, हामी प्रार्थना र खोजी गर्ने अझ बलियो चाहनाका साथ सावधानीपूर्वक काम गर्न सक्छौँ, र हामी सचेत भएर सम्बन्धित सिद्धान्तहरू पनि खोज्नेछौँ। तत्कालका लागि कुनै स्पष्ट सिद्धान्तहरू फेला नपरे पनि, हामी सत्यता बुझेका वा यी सीपहरूमा दक्षता भएकाहरूबाट अझ बढी सङ्गति खोज्न सक्छौँ, र काम गर्ने एउटा अपेक्षाकृत उपयुक्त मार्ग खोज्न सक्छौँ। यदि धेरैजसो मानिसले कुनै कुरा स्पष्ट रूपमा देख्न सक्दैनन् भने, हामी माथिबाट खोजी गर्न सक्छौँ, र हामीले आफ्नो क्षमताको सीमाभित्र रहेर सक्दो प्रयास गर्नुपर्छ, अनि यदि पछि विचलनहरू भेटिए भने, हामीले तिनलाई सारांशीकृत गर्ने र सच्याउने गर्नुपर्छ। यसरी, हाम्रो कर्तव्य निर्वाह तुलनात्मक रूपमा सही हुनेछ। पछि, आफ्नो कर्तव्य निर्वाह गर्दा, मैले सचेत भएर परमेश्वरलाई प्रार्थना गरेँ, र मैले कसरी सकारात्मक नतिजाहरू हासिल गर्ने भनेर खोजी गरेँ। विशेष गरी मलाई निकै सन्तोषजनक र राम्रो लागेका कुराहरूका सम्बन्धमा, म आफैप्रति कम आत्मविश्वासी भएँ, र म पुष्टि गर्नका लागि अरू केही मानिससँग सल्लाह माग्थेँ। यदि धेरैजसो मानिस कुनै कुरालाई उपयुक्त छ भनी सहमत भए भने, म सोहीअनुसार अघि बढ्थेँ। यसरी आफ्नो कर्तव्य निर्वाह गरेर, मैले अझै सहज महसुस गरेँ। उदाहरणका लागि, हालसालै हामीले एउटा नयाँ पोस्टरको ढाँचा प्रयोग गरेर हेर्यौँ, र हामीले केही नयाँ तत्त्व समाहित गर्यौँ। सुरुमा केही योजना बनाउनका लागि मैले ब्रदर-सिस्टरहरूसँग विस्तृत छलफल गरेँ। हामीले लिएको दिशा उपयुक्त छ कि छैन भन्नेमा हामी निश्चित थिएनौँ, त्यसैले हामीले अगुवासँग सल्लाह माग्यौँ। निर्माण प्रक्रियाको दौरान, केही मानिसले प्रश्नहरू उठाए, र हामीले आफू स्पष्ट नभएका समस्याहरूबारे निरन्तर खोजी गरिरह्यौँ। हाम्रो खोजीमा, अगुवाले हाम्रा पोस्टरहरूमा केही समस्या औँल्याउनुभयो, त्यसैले हामीले यस क्षेत्रसँग सम्बन्धित सान्दर्भिक व्यावसायिक सीप र ज्ञानको अध्ययन गर्यौँ, र अन्ततः, हामीले बनाएका पोस्टरहरू अलि बढी उपयुक्त बने।
यस अनुभवमार्फत, मैले के थाहा पाएँ भने आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रिया भनेको सत्यता सिद्धान्तहरू खोज्ने प्रक्रिया हो, र व्यक्तिमा परमेश्वरको डर मान्ने हृदय हुनुपर्छ र आफ्नो कर्तव्य निर्वाह गर्दा उसले सही सिद्धान्तहरू फेला पार्नुपर्छ। यसो गरेर मात्र उसले परमेश्वरका अभिप्रायहरूसँग मिल्नेगरी काम गर्न सक्छ। यसले मनलाई शान्ति दिने मात्र नभ उसलाई आफ्ना व्यावसायिक सीपहरू बढाउन पनि मद्दत गर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, खोजीमार्फत, व्यक्तिले परमेश्वरसामु शान्त भएर अझ बढी समय बिताउँछ, आफ्नो उचित काममा अझ बढी ध्यान केन्द्रित गर्छ, र परमेश्वरसँगको उसको सम्बन्ध पनि अझ निकट बन्छ। सिद्धान्तअनुसार काम गर्नुका फलहरू यिनै हुन्। परमेश्वरलाई धन्यवाद!