२. कस्तो स्वभावले व्यक्तिलाई प्रतिवाद गर्न र बहाना बनाउन प्रेरित गर्छ?
सन् २०२४ को अप्रिलको एक दिन, मैले माथिल्ला अगुवाहरूबाट एउटा पत्र प्राप्त गरेँ। पत्रमा केही सिस्टरहरूले मेरा बारेमा अनेक समस्याहरू उठाएका छन् भनेर उल्लेख थियो। उनीहरूले मैले उनीहरूका लागि कुनै भेलाको प्रबन्ध नगरेको, अनि कामको अनुगमन गर्न र पत्रहरूको जवाफ दिन ढिलासुस्ती गरेको र काममा विलम्ब हुने गरेको बताएका थिए। तिनीहरूले रिपोर्ट गरेका समस्याहरू पढिसकेपछि, म लामो समयसम्म शान्त हुन सकिनँ, अनि मैले प्रतिवाद गर्दै यस्ता बहानाहरू प्रयोग गरी आफूलाई सही साबित गर्ने कोसिस गरिरहेँ, “यी कुराहरूका पछाडि वस्तुपरक कारणहरू छन्। भेला स्थल असुरक्षित भएकाले ती सिस्टरहरू केही समयका लागि भेलामा जान छाडेका थिए। मैले उनीहरूलाई भेला हुनका लागि छिट्टै एउटा घर खोज्न भनेँ, तर उनीहरूले कहिल्यै जवाफ दिएनन्। अन्य केही ब्रदर-सिस्टरहरूको हकमा भने, उनीहरूको सुरक्षामा जोखिम भएकाले, मैले हाललाई उनीहरूका लागि भेलाहरूको प्रबन्ध गरेकी छैनँ। उनीहरू भेला हुन नसक्नु मेरो गल्ती होइन, अनि किन सबैले ममाथि दोष थोपरिरहेका छन्? उनीहरूको भेला नभएको यस अवधिमा, मैले उनीहरूको स्थितिबारे सोध्न र उनीहरूसँग सङ्गति गर्न पत्रहरू लेख्दै आएकी छु। मैले उनीहरूलाई बेवास्ता गरिरहेकी हैनँ। उनीहरूले म कामको अनुगमन गर्ने र पत्रहरूको जवाफ दिने कुरामा ढिलो गर्छु भन्छन्, तर यो चिनियाँ कम्युनिस्ट पार्टीको सतावट र गिरफ्तारीले गर्दा हो। ब्रदर-सिस्टरहरू पहिले जस्तो बारम्बार भेट गर्न सकेका छैनन्, त्यसैले पक्कै पनि उनीहरूले पहिले जस्तो छिटो-छिटो पत्रहरू पाइरहेका छैनन्। यो पनि मेरो हातमा छैन। उनीहरू सबैले मबाट धेरै अपेक्षा गरिरहेका छन्। म हरेक दिन सबै प्रकारको कामको अनुगमन गर्छु, र मैले ब्रदर-सिस्टरहरूका प्रश्नहरूको जवाफ दिन पत्रहरू पनि लेख्नुपर्छ। कहिलेकाहीँ म यति व्यस्त हुन्छु कि राति दुई बजेसम्म काम गरिरहेकी हुन्छु। यसरी दुःख भोग्दा र मूल्य चुकाउँदा पनि मैले वास्तविक काम गरिरहेकी छैनँ भनेर कसरी भन्न सकिन्छ?” त्यतिबेला, मैले यो स्वीकार गर्नै सकिनँ। भोलिपल्ट, माथिल्ला अगुवाहरूले ब्रदर-सिस्टरहरूलाई मेरो मूल्याङ्कन लेख्न भने। मैले अनुमान गरेँ, अगुवाहरूलाई मैले वास्तविक काम गरिरहेकी छैनँ भन्ने लागेको हुनुपर्छ र उनीहरूले मलाई बर्खास्त गर्न लागेका छन्। जब मैले आफूले चुकाएको मूल्य र आफूलाई कसरी समर्पित गरेकी छु भन्नेबारे सोचेँ, तब मैले मनमनै प्रतिवाद गर्न र आफूलाई सही साबित गर्नबाट आफूलाई रोक्न सकिनँ, अनि सोचेँ, “एउटा झूटो अगुवाले कुनै वास्तविक काम बिलकुलै गर्दैन, तर मैले सधैँ काम गर्दै, समय दिँदै र यति ठूलो मूल्य चुकाउँदै आएकी छु। तपाईँहरू मैले अरू के गरेको चाहनुहुन्छ?” मैले यसबारे जति धेरै सोचेँ, म त्यति नै दिक्दार भएँ। मलाई मेरो स्थितिमा केही गडबडी छ भन्ने महसुस भयो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म आज यो अवस्थाप्रति समर्पित हुन सकिनँ। मैले के पाठ सिक्नुपर्ने हो मलाई थाहा छैन, र म तपाईँको अभिप्राय बुझ्दिनँ। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्।”
त्यसपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “कुनै अगुवाले अगुवा र कामदारहरूका जिम्मेवारी पूरा गरिरहेको छ कि ऊ झूटो अगुवा हो भनी कसरी मूल्याङ्कन गर्नुपर्छ? सबैभन्दा आधारभूत तहमा, उसले तिनीहरू वास्तविक काम गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूमा यो क्षमता छ कि छैन भनी हेर्नुपर्छ। त्यसपछि, उसले तिनीहरूमा यो काम राम्रोसँग गर्ने बोझ छ कि छैन भनी हेर्नुपर्छ। तिनीहरूले भन्ने कुराहरू कति मिठा सुनिन्छन् र तिनीहरूले धर्मसिद्धान्तहरू कति बुझेजस्तो देखिन्छ भन्ने कुराको वास्तै नगर्, अनि तिनीहरूले बाह्य मामलाहरू सम्हाल्दा तिनीहरू कति प्रतिभावान् र वरदानयुक्त छन् भन्ने कुराको पनि वास्ता नगर्—यी कुराहरू महत्त्वपूर्ण छैनन्। तिनीहरूले मण्डलीका सबैभन्दा आधारभूत कामहरू राम्ररी गर्न सक्छन् कि सक्दैनन्, सत्यता प्रयोग गरी समस्याहरू समाधान गर्न सक्छन् कि सक्दैनन्, र मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्याउन सक्छन् कि सक्दैनन् भन्ने कुराचाहिँ सबैभन्दा महत्त्वपूर्ण छ। सबैभन्दा सारभूत र अत्यावश्यक काम यही हो। यदि तिनीहरू यी वास्तविक कामहरू गर्न अक्षम छन् भने, तिनीहरूको क्षमता जति नै राम्रो भए पनि, तिनीहरूमा जति नै प्रतिभा भए पनि, वा तिनीहरूले जति धेरै कठिनाइ भोग्न र मूल्य चुकाउन सके पनि, तिनीहरू झूटा अगुवा नै हुन्। कतिपय मानिसहरू भन्छन्, ‘तिनीहरूले कुनै वास्तविक काम गर्दैनन् भन्ने कुरा अहिले बिर्सिदिऊँ। तिनीहरूको क्षमता राम्रो छ र तिनीहरू सक्षम छन्। तिनीहरूले केही समय तालिम लिए भने, तिनीहरूले अवश्यै वास्तविक काम गर्न सक्नेछन्। त्यसबाहेक, तिनीहरूले कुनै खराब काम गरेका छैनन् र दुष्टता गरेका छैनन्, अथवा अवरोध वा बाधाहरू पुर्याएका छैनन्—तपाईँ कसरी तिनीहरू झूटा अगुवा हुन् भनी भन्न सक्नुहुन्छ?’ यसलाई हामी कसरी व्याख्या गर्न सक्छौँ? तँ कति प्रतिभाशाली छस्, तँसित कुन स्तरको क्षमता र शिक्षा छ, तैँले कतिवटा नाराहरू फलाक्न सक्छस्, वा तैँले कतिवटा शब्द र धर्मसिद्धान्तहरू बुझेको छस् भन्ने कुराले फरक पर्दैन; तँ जतिसुकै व्यस्त भए पनि वा एक दिनमा तँ जति नै थकित भए पनि, वा तैँले जतिसुकै टाढा यात्रा गरेको भए पनि, तँ जतिसुकै मण्डलीहरूमा जाने गरे पनि, वा तैँले जतिसुकै जोखिम लिए पनि र जतिसुकै कष्ट सहे पनि—यी कुनै पनि कुराले महत्त्व राख्दैन। तैँले कामका बन्दोबस्तहरूका आधारमा आफ्नो काम गरिरहेको छस् कि छैनस्, तैँले ती प्रबन्धहरूलाई सही तरिकाले कार्यान्वयन गरिरहेको छस् कि छैनस्; तेरो अगुवाइको दौरान तँ आफू जिम्मेवार भएको हरेक विशिष्ट काममा सहभागी भइरहेको छस् कि छैनस्, र तैँले कतिवटा वास्तविक समस्याहरू समाधान गरेको छस्; तेरो अगुवाइ र मार्गदर्शनका कारण कति जना व्यक्तिहरूले सत्यता सिद्धान्तहरू बुझेका छन्, र मण्डलीको काम कति अघि बढेको र विकसित भएको छ भन्ने कुराहरूले चाहिँ महत्त्व राख्छन्—तैँले यी नतिजाहरू हासिल गरेको छस् कि छैनस् भन्ने कुराले चाहिँ महत्त्व राख्छ। तँ जुनसुकै विशिष्ट काममा संलग्न भए पनि, महत्त्वपूर्ण कुरा भनेको तैँले ठूलो बनेर आदेशहरू मात्र दिनुको साटो निरन्तर कामको अनुगमन र निर्देशन गरिरहेको छस् कि छैनस् भन्ने हो। यसअलावा, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जीवन प्रवेश पाउँछस् कि पाउँदैनस्, तैँले सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न सक्छस् कि सक्दैनस्, तँमा सत्यता अभ्यास गर्ने गवाही छ कि छैन, र परमेश्वरका चुनिएका मानिसहरूले सामना गरेका वास्तविक समस्याहरूलाई तैँले सम्हाल्न र समाधान गर्न सक्छस् कि सक्दैनस् भन्ने कुराहरूले पनि महत्त्व राख्छ। यी र यस्तै अन्य कामकुराहरू सबै कुनै अगुवा वा कामदारले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्ने मापदण्ड हुन्। के तिमीहरू यी मापदण्डहरू व्यावहारिक छन् भनेर भन्छौ? अनि के ती मानिसहरूप्रति निष्पक्ष छन्? (छन्।) ती सबैप्रति निष्पक्ष छन्। तेरो शिक्षाको स्तर जति भए पनि, तँ जवान भए पनि वा वृद्ध भए पनि, तैँले जतिसुकै वर्ष परमेश्वरमा विश्वास गरेको भए पनि, तँ जति नै वरिष्ठ भए पनि, वा तैँले परमेश्वरको वचन जति नै पढेको भए पनि, यीमध्ये कुनै पनि कुरा महत्त्वपूर्ण होइन। अगुवाका रूपमा चुनिएपछि तैँले मण्डलीको काम कति राम्रोसँग गर्छस्, तँ आफ्ना काममा कतिको प्रभावकारी र दक्ष छस्, अनि प्रत्येक काम व्यवस्थित र प्रभावकारी रूपमा अघि बढ्छ कि बढ्दैन, र त्यसमा ढिलाइ हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। कुनै अगुवा वा कामदारले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छ कि छैन भनेर मापन गर्दा मूल्याङ्कन गरिने मुख्य कुराहरू यिनै हुन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (९))। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने कुनै अगुवाले आफ्नो जिम्मेवारी पूरा गरेको छ कि छैन भनेर मापन गर्न, उसले कति दुःखकष्ट सहेको देखिन्छ वा कति त्याग गरेको छ भन्ने होइन, बरु उसले खास काम गरेको छ कि छैन, समस्याहरू समाधान गर्नका लागि सत्यता सङ्गति गर्न र सिद्धान्तअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ कि सक्दैन, अनि मण्डलीको कामका विभिन्न पक्षहरू सामान्य र व्यवस्थित ढङ्गले अघि बढ्न सकेको छ कि छैन भन्ने कुरालाई हेर्नुपर्छ। यदि मण्डलीका विभिन्न पक्षहरूमा कुनै खास काम भएको छैन र कुनै नतिजा आएको छैन भने, चाहे कोही व्यक्तिले जतिसुकै दुःखकष्ट भोगेको किन नदेखियोस् वा जतिसुकै मूल्य चुकाएको किन नहोस्, ऊ अझै पनि झूटो अगुवा नै हो। त्यसपछि मैले आत्मचिन्तन गरेँ। मैले परमेश्वरले तोकेका मानकहरू पूरा गरेकी रहेनछु, र मैले थोरै मूल्य चुकाएको र सतही काम गरेको जस्तो मात्र देखिएको रहेछ, तर काममा समस्या आउँदा, म दुःखकष्ट सहन वा ती समाधान गर्न लाग्ने मूल्य चुकाउन चाहन्न रहेछु भन्ने मैले देखेँ। उदाहरणका लागि, ब्रदर-सिस्टरहरूको मण्डली जीवन सामान्य रहेको सुनिश्चित गर्नु सबैभन्दा आधारभूत काम हो, तर केही ब्रदर-सिस्टरहरूसँग भेला हुनका लागि सुरक्षित ठाउँ थिएन। मैले उनीहरूलाई भेला हुन आफैँ एउटा घर खोज्न भनेँ, तर मैले यसको अनुगमन गरिनँ। अन्य ब्रदर-सिस्टरहरूको सुरक्षामा जोखिम थियो, तर मैले कामकुरालाई विशेष रूपमा कसरी मिलाउने भन्नेबारे कुनै वास्तविक विचार गरिनँ, न त मैले यस विषयमा मेरो सहकर्मीसँग छलफल गरेँ न त उचित प्रबन्ध गर्न माथिल्ला अगुवाहरूबाट मार्गदर्शन नै खोजेँ। मैले परिस्थितिमा सुधार नआउन्जेल पर्खन्छु अनि केही गर्छु भन्ने मात्र सोचेँ। मैले कुनै खास काम नै गरिरहेकी थिइनँ, र मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशप्रति ममा कुनै बोझको बोध थिएन। ब्रदर-सिस्टरहरूले म कामको अनुगमन गर्ने र पत्रहरूको जवाफ दिने कुरामा ढिलो छु भनेर औँल्याए, र मलाई पत्र अग्रप्रेषित गर्ने प्रक्रियामा समस्या छ भन्ने थाहा थियो। एकदुई पटक, साधारण मामिलाका कामदारहरूले पत्र अग्रप्रेषण गर्न ढिलो गरेकाले काममा बिलम्ब भएको थियो, र यो तत्काल समाधान गरिनुपर्ने समस्या थियो। तर जब मैले यो समस्या समाधान गर्ने हो भने साधारण मामिलाका कामदारहरूकहाँ जानुपर्छ र उनीहरूका खास कठिनाइहरू समाधान गर्न उनीहरूलाई सच्याउनुपर्छ र उनीहरूसँग सङ्गति गर्नुपर्छ भन्ने सोचेँ, तब मैले त्यो झन्झट बेहोर्न चाहिनँ, त्यसैले मैले खराब वातावरणलाई बहाना बनाएँ, र समस्यालाई सम्बोधन नगरी आलटाल मात्र गरिरहेँ। तथ्यहरूको प्रकाश र परमेश्वरका वचनहरूको खुलासासँग सामना हुँदा, मसँग आफ्नो सफाइ दिने कुनै आधार वा बहाना नै रहेन। मैले अगुवाका रूपमा आफ्नो जिम्मेवारी साँच्चै पूरा गरेकी थिइनँ, र मेरा समस्याहरूको रिपोर्ट गर्नुमा ब्रदर-सिस्टरहरू गलत थिएनन्। यदि म बर्खास्त हुने हो भने, म पूर्ण राजीखुसीका साथ त्यो स्वीकार गर्नेथिएँ।
त्यसपछि मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “कतिपय अगुवा र कामदारहरूले अवरोध र बाधाहरू ल्याउने, आफूभन्दा माथि रहेकाहरूलाई छल गर्ने जबकि आफूभन्दा तलका मानिसहरूबाट कुराहरू लुकाउने, वा कामका प्रबन्धहरूको विरुद्धमा जाने स्पष्ट कार्यहरू गर्छन्, र तिनीहरूको कार्यले मण्डलीको काममा ठूलो हानि समेत गर्छ। तैपनि तिनीहरूले आफ्नै समस्याहरूका बारेमा चिन्तन नगर्ने र तिनलाई चिन्न नपुग्ने मात्र होइन वा मण्डलीको काममा बाधा दिने आफ्नो दुष्कर्मको तथ्यलाई नमान्ने मात्र होइन, तर यसको विपरीत, तिनीहरूले आफूले राम्रो काम गरेको छु भन्ने समेत विश्वास गर्छन्, र तिनीहरूले कति धेरै काम गरेका छन्, कति धेरै कष्ट सहेका छन्, आफ्नो कामका अवधिमा कति धेरै योगदान दिएका छन्, काम गर्दा सुसमाचार प्रचार गरेर कति जना मानिसहरूलाई विश्वासमा ल्याएका छन्, र इत्यादि कुराका बारेमा घमन्ड गर्दै र गवाही दिँदै श्रेय र इनामहरू खोज्न चाहन्छन्। तिनीहरूले कति धेरै दुष्कर्म गरेका छन् वा मण्डलीको काममा कति ठूलो हानि गरेका छन् भन्ने कुराको पटक्कै हेक्का राख्दैनन्। अवश्य नै, तिनीहरू पश्चात्ताप पनि गर्दैनन्, र आफ्नो मार्ग परिवर्तन गर्नु त परको कुरा हो। मलाई भन, के त्यस्ता मानिसहरू लाजमर्दो रूपमा अटेरी हुँदैनन् र? (हुन्छन्।) यदि तैँले तिनीहरूलाई, ‘के तिमीले सत्यता सिद्धान्तहरू अनुसार मण्डलीको काम गऱ्यौ? के तिम्रो काम परमेश्वरको घरका कामका प्रबन्धहरू अनुरूप थियो?’ भनेर सोधिस् भने, तिनीहरू विषयबाट तर्किन्छन्। … मलाई भन, के यस्ता मानिसहरूसँग कुनै लाजको बोध हुन्छ? के तिनीहरूले ‘लाजको बोध’ भन्ने शब्दहरू अक्षरशः लेख्न पनि सक्छन् र? यदि तिनीहरूसँग साँच्चै नै लाजको बोध छैन भने, त्यो समस्याजनक कुरा हो। यदि तिनीहरूले दुष्कर्म गरेका छन् भन्ने कुरा तिनीहरूलाई हृदयमा स्पष्ट रूपमा थाहा छ तर तिनीहरू मौखिक रूपमा त्यो मान्न जिद्दी भएर इन्कार गर्छन् भने, के त्यस्ता मानिसहरू अत्यन्तै हठी हुँदैनन् र? यदि तिनीहरूले दुष्कर्म गरेका छन् भनेर हृदयमा पहिचान गर्छन् र मौखिक रूपमा पनि मान्न सक्छन् भने, तिनीहरूलाई अझै पनि विवेक भएको व्यक्तिको रूपमा गन्ती गरिन्छ—तिनीहरूमा अझै पनि लाजको बोध छ। यदि तिनीहरूले यसलाई मौखिक रूपमा मान्न नस्विकार्ने मात्र होइन तर तिनीहरू हृदयमा अवज्ञाकारी पनि हुन्छन्, निरन्तर प्रतिरोध गर्छन् र परमेश्वरको घरले तिनीहरूलाई अन्यायपूर्ण व्यवहार गरिरहेको छ र तिनीहरू दुर्भाग्यका सिकारहरू हुन् भनेर दाबीहरू समेत जताततै फैलाउँछन् भने, तिनीहरूको समस्या गम्भीर हुन्छ। कति गम्भीर? तिनीहरूसँग कुनै विवेक वा समझ पटक्कै हुँदैन। विवेकमा इन्साफ र दया दुवैको बोध हुनुपर्छ। इन्साफको बोधको एउटा पक्ष के हो भने मानिसहरूमा लाजको बोध हुनुपर्छ। मानिसहरूलाई लाज लाग्छ भने मात्रै तिनीहरू सीधा हुन, तिनीहरूमा इन्साफको बोध हुन, र तिनीहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्न र तिनलाई पक्रिराख्न सक्छन्। तर, यदि तेरो विवेक र इन्साफको बोधमा लाजको बोध छैन, र तँलाई लाजको बारेमा थाहा छैन भने—अनि, यदि तैँले कुनै गलत काम गरेपछि पनि, तँलाई त्यसबारे सरम लाग्दैन, र आत्म-चिन्तन गर्न वा आफूलाई घृणा गर्न आउँदैन, र तँलाई कुनै पछुतो लाग्दैन, र अरूले तँलाई कसरी खुलासा गर्छन् भन्ने कुराको वास्ता लाग्दैन, र तँलाई अप्ठेरो र लाज लाग्दैन भने—व्यक्तिका रूपमा तेरो विवेक समस्याजनक छ, र तँसँग कुनै विवेक छैन भनेर पनि भन्न सकिन्छ। त्यस्तो अवस्थामा, तेरो हृदय खराब छ कि दुष्ट छ भनेर भन्न गाह्रो हुन्छ—तेरो हृदय दुष्ट हुन सक्ने, यो ब्वाँसाको हृदय हुनसक्ने सम्भावना छ; सकारात्मक होइन तर नकारात्मक हुन सक्छ। विवेक र मानवताविनाका मानिसहरू पिशाचहरू हुन्। यदि तँ कुनै गलत काम गर्छस् र तँलाई पटक्कै लाज लाग्दैन, र तँलाई पछुतो वा ग्लानि बोध हुँदैन, र तँ आत्म-चिन्तन नगर्ने मात्र होइन बरु बहस गर्ने, विरोध गर्ने, र आफ्नो प्रतिरक्षा गर्ने र आफूलाई जायज तुल्याउने, सुन्दर देखिने देखावटी रूप धारण गर्ने समेत पनि गर्छस् भने, स्तरीय मानवताको तुलनामा मापन गर्दा, तेरो मानवता समस्याजनक हुन्छ” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (९))। परमेश्वरका वचनहरू पढेपछि, मलाई धेरै लाज लाग्यो। के म परमेश्वरले खुलासा गरेको जस्तै निर्लज्ज व्यक्ति थिइनँ र? जब ब्रदर-सिस्टरहरूले मेरा समस्याहरू रिपोर्ट गरे, मैले आत्मचिन्तन गरिनँ, बरु यसको सट्टा, मैले कति त्याग गरेकी छु र कति कष्ट सहेकी छु भन्दै तुरुन्तै आफ्नो बचाउ गर्ने प्रयास गरेँ। केही ब्रदर-सिस्टरहरू महिनौँदेखि भेलामा सहभागी हुन सकेका थिएनन्, र मण्डलीको काम समयमै अनुगमन गरिएको थिएन। यो सबै मैले समयमै वास्तविक समस्याहरू सम्बोधन गर्न नसक्नुसँग प्रत्यक्ष रूपमा सम्बन्धित थियो। एउटा मण्डली अगुवाका रूपमा, मैले ब्रदर-सिस्टरहरूका लागि सामान्य मण्डली जीवन समेत प्रबन्ध गर्न सकेकी थिइनँ। मैले सबैभन्दा आधारभूत कुराहरू समेत पूरा गरिनँ, तैपनि मैले ममाथि अन्याय भयो भनेर गनगन गरिरहेँ, र आफूले धेरै दिइसकेकी छु, र म कुनै खास काम नगर्ने ती झूटा अगुवाहरूभन्दा धेरै राम्रो छु भन्ने सोचेर आफ्नो सफाइ दिन वस्तुपरक कारणहरू प्रयोग गरिरहेँ। ममा साँच्चै कुनै समझको बोध नै थिएन! मैले केही काम गरेकी छु र केही हदसम्म मूल्य चुकाएकी छु जस्तो देखिए तापनि, म सतही काम मात्र गरिरहेकी थिएँ र मण्डलीका वास्तविक समस्याहरू समाधान गर्नमा मैले कुनै मेहनत लगाएकी थिइनँ। मैले कुनै खास काम गरेकी नै थिइनँ, तैपनि मैले प्रतिवाद गर्न र बहाना बनाउन जारी राखेँ। ममा साँच्चिकै लाज भन्ने चिज थिएन!
अगुवाहरूले मलाई सत्यता स्वीकार गर्दिन भनेको कुरा मैले सम्झेँ, र मलाई लाग्यो, उनीहरूले ब्रदर-सिस्टरहरूलाई मेरो मूल्याङ्कन लेख्न भनेकाले, यस पटक मलाई बर्खास्त गर्न लागेका हुन् सक्छन्। परमेश्वरले सत्यता स्वीकार गर्न सक्नेहरूलाई मुक्ति दिनुहुन्छ, र मजस्तो व्यक्तिले मुक्ति पाउन धेरै गाह्रो देखिन्थ्यो। मैले त्यसपछिका केही दिनहरू नैराश्यतामा डुबेर र केही पनि गर्न अप्रेरित भएर बिताएँ। पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ जसले मलाई गहिरो रूपमा छोयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले जे गर्नुभए पनि, उहाँ मानिसहरूको सर्वोत्तम भलाइ चाहनुहुन्छ। उहाँले जुनसुकै परिस्थिति खडा गर्नुभए पनि वा उहाँले तँलाई जेसुकै गर्न लगाउनु भए पनि, उहाँ सधैँ उत्तम परिणाम हेर्न चाहनुहुन्छ। मानौँ, तैँले कुनै कुरा अनुभव गर्छस् र रोकावटहरू र असफलताको सामना गर्छस्। परमेश्वर तँ असफल हुँदा निरुत्साहित भएको, आफू सिद्धिएको र शैतानद्वारा खोसिई लगिएको भन्ने सोचेको, त्यसपछि हरेस खाएको, कहिल्यै आफ्नो खुट्टामा फेरि खडा हुन नसकेको, र दिक्दारीमा डुबेको देख्न चाहनुहुन्न—परमेश्वर यस्तो परिणाम देख्न चाहनुहुन्न। परमेश्वर के देख्न चाहनुहुन्छ त? उहाँ तँ यस मामिलामा असफल भएको भए पनि, तैँले सत्यता खोज्न र आत्मचिन्तन गर्न सकेको, आफ्नो असफलताको कारण पत्ता लगाउन सकेको, यो असफलताले तँलाई सिकाएको पाठ स्विकार्न, भविष्यमा यस कुरालाई याद गर्न, यसरी काम गर्नु गलत हो, र परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्नु मात्र ठीक हो भन्ने जानेको, र यस्तो महसुस गरेको देख्न चाहनुहुन्छ, ‘म खराब व्यक्ति हुँ। ममा भ्रष्ट शैतानी स्वभाव छ। ममा विद्रोहीपन छ। म परमेश्वरले भन्नुभएका धर्मी मानिसहरूदेखि निकै टाढा छु, र ममा परमेश्वरको डर मान्ने हृदय छैन।’ तैँले यो तथ्यलाई स्पष्टसँग देखेको छस्; तैँले यो मामलाको सत्यता जान्न पुगेको छस्, र यो रोकावट र असफलताबाट, तैँले केही बोध पाएको छस् र तँ परिपक्व भएको छस्। परमेश्वर यही हेर्न चाहनुहुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पावलको प्रकृति सार कसरी खुट्ट्याउने)। परमेश्वरका वचनहरू न्यानो तरङ्ग जस्तै थिए, जसले मेरो हृदयलाई सान्त्वना दिए। परमेश्वरले जसरी काम गर्नुभए पनि, त्यो सधैँ असल हुन्छ। परमेश्वरले मानिसहरूमा भएको भ्रष्टता खुलासा गर्दा पनि, त्यो उनीहरूले आफूलाई चिनून्, पश्चात्ताप गरून् र परिवर्तन होऊन्, अनि अन्ततः आफ्ना भ्रष्ट स्वभावहरू फालून् र परमेश्वरको मुक्ति पाऊन् भन्ने आशाले गरिएको हुन्छ। परमेश्वर म यति नकारात्मक भएको देख्न चाहनुहुन्नथ्यो, र म आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्न सत्यता खोज्छु कि भन्ने आशामा नै उहाँले यी परिस्थितिहरूको बन्दोबस्त गर्नुभएको थियो। परमेश्वर मलाई मुक्ति दिन चाहनुहुन्थ्यो, हटाउन होइन। परमेश्वरले मदेखि हरेस खानुभएको थिएन, त्यसैले मैले आफैँदेखि हरेस खान मिल्दैनथ्यो। ममा भ्रष्ट स्वभावहरू भएको भए पनि, मैले सत्यता पछ्याउन नछाडेसम्म परमेश्वरले मलाई मुक्ति दिने आशा थियो। यो सोचेर, म नकारात्मक हुन छोडेँ, र म सत्यता खोज्न र आफ्ना समस्याहरू समाधान गर्न चाहन्थेँ।
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “ख्रीष्टविरोधीहरूको हृदयमा प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। तिनीहरूलाई यो विश्वास हुन्छ कि यदि तिनीहरूले आफ्नो गल्ती स्वीकार गर्थे भने तिनीहरूले उत्तरदायित्व स्वीकार गर्नुपर्थ्यो र त्यसपछि तिनीहरूको हैसियत र प्रतिष्ठामा गम्भीर असर पर्थ्यो। फलस्वरूप तिनीहरूले ‘मरे पनि नस्विकार्ने’ मनोवृत्तिका साथ प्रतिरोध गर्छन्। मानिसहरूले तिनीहरूलाई जेजसरी खुलासा वा चिरफार गरे पनि तिनीहरूले ती कुरा इन्कार गर्न सक्दो गर्छन्। छोटकरीमा भन्दा तिनीहरूको इन्कार जानाजान गरिएको भए पनि नभए पनि एक हिसाब यी व्यवहारहरूले सत्यताप्रति वितृष्ण बन्ने र सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधीहरूको प्रकृति सार खुलासा गर्छन्। यसले अर्को हिसाबमा ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत, प्रतिष्ठा र हितलाई कति मूल्यवान् ठान्छन् भन्ने तथ्यलाई देखाउँछ। यस क्रममा मण्डलीको काम र हितप्रतिचाहिँ तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? यो अवहेलना र गैरजिम्मेवारीपूर्ण हुन्छ। तिनीहरूमा विवेक र समझको पूरै अभाव हुन्छ। के ख्रीष्टविरोधीहरू उत्तरदायित्वबाट पन्छिएको कुराले यी समस्याहरूलाई प्रदर्शन गर्दैन र? एक हिसाबमा जिम्मेवारीबाट पन्छिनुले सत्यताप्रति वितृष्ण बन्ने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति सारलाई प्रमाणित गर्छ भने अर्को हिसाबमा तिनीहरूमा विवेक, समझ र मानवताको कमी छ भन्ने देखाउँछ। तिनीहरूको बाधा र दुष्कर्मले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा जति नै हानि पुगे पनि तिनीहरूले धिक्कार अनुभूति गर्दैनन् र तिनीहरूलाई यसबारे कति पनि खराब महसुस हुँदैन। यो कस्तो प्रकारको प्राणी हो? आफ्नो गल्ती अलिकति मात्र स्वीकार गरे पनि तिनीहरूमा थोरै विवेक र समझ छ भन्ने देखिन्थ्यो, तर यी ख्रीष्टविरोधीहरूसँग अलिकति पनि मानवता हुँदैन। त्यसकारण तिमीहरू तिनीहरू के हुन् भनी भन्छौ? ख्रीष्टविरोधीहरू सारमा दियाबलसहरू हुन्। आफूले परमेश्वरको घरको हितमा जति नै ठूलो हानि पुर्याए पनि तिनीहरूले त्यो देख्दैनन्। यसको कारण तिनीहरू हृदयमा अलिकति पनि दुःखी हुँदैनन्, न त तिनीहरूले आफैलाई गाली नै गर्छन्, तिनीहरूले ऋणी अनुभव गर्ने त कुरै नगरौँ। यो सामान्य मानिसमा देखिनुपर्ने कुरा हुँदै होइन। तिनीहरू दियाबलस हुन् र दियाबलसहरूमा अलिकति पनि विवेक वा समझ हुँदैन। तिनीहरूले जति धेरै खराब कुरा गरे पनि, तिनीहरूले मण्डलीको काममा जति ठूलो घाटा ल्याए पनि, तिनीहरूले यो कुरा स्वीकार गर्न जोरदार रूपमा इन्कार गर्छन्। तिनीहरू यो कुरा स्विकार्नु भनेको तिनीहरूले केही गलत गरेका छन् भन्ने अर्थ लाग्नु हो भन्ने विश्वास गर्छन्। तिनीहरूले सोच्छन्, ‘के मैले कुनै गल्ती गर्न सक्थेँ र? म त कहिल्यै पनि कुनै गलत गर्दिनथिएँ! यदि मलाई आफ्नो गल्ती स्विकार्न बाध्य बनाइयो भने के त्यो मेरो चरित्रको अपमान हुँदैन र? म त्यो घटनामा संलग्न भए पनि मैले त्यो घटना गराएको होइन र म प्रमुख इन्चार्ज पनि थिइनँ। जा जसलाई चाहन्छस् खोज्, तर तँ मलाई खोज्न आउनु हुँदैन। जे भए पनि म यो गल्ती स्विकार्न सक्दिनँ। म यो जिम्मेवारी लिन सक्दिनँ!’ तिनीहरूलाई लाग्छ कि यदि तिनीहरूले आफ्नो गल्ती स्वीकार गरे भने तिनीहरूलाई दोषी ठहराइनेछ, मृत्युको सजाय दिइनेछ, अनि नरक पठाइनेछ र आगो र गन्धकको कुण्डमा हालिनेछ। मलाई भन त के यस्ता मानिसहरूले सत्यता स्वीकार गर्न सक्छन्? के कसैले तिनीहरूको साँचो पश्चात्ताप अपेक्षा गर्न सक्छ? अरूले जेजसरी सत्यता सङ्गति गरे पनि ख्रीष्टविरोधीहरूले अझै पनि यसको विरोध गर्छन्, यस विरुद्ध उभिन्छन् र हृदयको गहिराइमा यसको अवज्ञा गर्छन्। तिनीहरूलाई बर्खास्त गरिएपछि पनि तिनीहरूले अझै पनि आफ्ना गल्तीहरू स्वीकार गर्दैनन् र तिनीहरूले पश्चात्तापका कुनै प्रकटीकरणहरू देखाउँदैनन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरले खुलासा गर्नुहुन्छ, ख्रीष्टविरोधीहरूले परमेश्वरको घरको हितमा जतिसुकै हानि पुऱ्याए पनि, जब काटछाँट गरिन्छ, तब उनीहरूले आफ्ना गल्तीहरू स्विकार्न नमान्ने मात्र होइन, प्रतिरोध र वितृष्णा पनि महसुस गर्छन्, र उनीहरू कुनै पनि दोषीपन वा ऋणीपनको बोधविना निरन्तर प्रतिवाद गर्ने, आफ्नो सफाइ दिने, र जिम्मेवारी समेत पन्छाउने प्रयास गरिरहन्छन्। यसबाट, हामी के देख्न सक्छौँ भने ख्रीष्टविरोधीहरू वास्तवमै सत्यताप्रति वितृष्ण हुने र सत्यतालाई घृणा गर्ने प्रकृतिका हुन्छन्। फेरि आफ्नै व्यवहारलाई हेर्दा, मैले त्यो ठ्याक्कै ख्रीष्टविरोधीको जस्तै भएको देखेँ। मैले स्पष्ट रूपमा खास काम गर्न सकेकी थिइनँ, तर जब सिस्टरहरूले यो कुरा उठाए, मैले प्रतिरोध महसुस गरेँ र प्रतिवाद गरेँ, मैले थोरै पनि आज्ञापालन वा स्वीकारोक्ति देखाइनँ। आफ्नो ख्याति र हैसियत जोगाउनका निम्ति, मैले खास काम नगरेकोमा आफूलाई माफी दिन चिनियाँ कम्युनिस्ट पार्टीको गिरफ्तार र सतावटको ठोस कारणलाई जोड दिइरहेँ, र मैले आत्म-धार्मिकताको दम्भका साथ प्रतिवाद गर्ने प्रयास गरिरहेँ। मसँग कुन हिसाबमा कुनै समझ थियो र? वास्तवमा, ब्रदर-सिस्टरहरूले पहिले नै मलाई यी समस्याहरू रिपोर्ट गरेका थिए, तर मैले तिनलाई कहिल्यै गम्भीरतापूर्वक लिएकी थिइनँ, त्यसैले सिस्टरहरूले यो मामिला माथिल्ला अगुवाहरूलाई रिपोर्ट गरे। तर मैले सिस्टरहरूले मबाट उच्च अपेक्षा राखेका छन् भन्ठानेँ। के म पूर्णतया असमझदार भइरहेकी थिइनँ र? मैले आफ्नै स्वार्थलाई ज्यादै महत्त्व दिएँ, र मैले मण्डलीको काम वा मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशबारे पटक्कै वास्ता गरिनँ। म साँच्चै यस्तो महत्त्वपूर्ण कर्तव्यको लायक थिइनँ।
तब, परमेश्वरका वचनहरू पढेपछि, मैले स्वीकार गर्न नमान्नु र सत्यताप्रति म वितृष्ण हुनु प्रकृति र परिणामहरूबारे मैले थप बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तिनीहरूले जे सोचे पनि वा जे भने पनि वा कामकुरालाई जसरी हेरे पनि, तिनीहरू सधैँ आफ्नै दृष्टिकोण र मनोवृत्तिहरू सही छन्, र अरूको कुरा आफ्नो जत्तिको राम्रो वा सही छैन भन्ने सोच्छन्। तिनीहरू सधैँ आफ्नै रायमा झुण्डिरहन्छन्, र जसले बोले पनि, तिनीहरूले उसको कुरा सुन्ने छैनन्। अरू कसैले भनेको कुरा सही वा सत्यताअनुरूप भए पनि, तिनीहरूले त्यो स्वीकार गर्नेछैनन्; तिनीहरूले सुनिरहेको जस्तो मात्र देखिन्छ, तर त्यो विचारलाई फिटिक्कै अपनाउनेछैनन्, र काम गर्ने समय आउँदा, तिनीहरूले अझै पनि आफ्नै तरिकाले काम गर्नेछन्, सधैँ आफूले भनेको कुरा नै सही र उचित हो भन्ने ठान्छन्। … परमेश्वरले तेरो यस्तो व्यवहार देखेपछि के भन्नुहुनेछ? परमेश्वरले यसो भन्नुहुनेछ: ‘तँ हठी छस्! तैँले आफू गलत छु भनी थाहा नपाउँदा आफ्ना विचारमा झुण्डिनु स्वाभाविक हो, तर आफू गलत छु भन्ने प्रस्ट थाहा हुँदाहुँदै पनि आफ्नो विचारमा झुण्डिन्छस्, पश्चात्ताप नगरी मर्छस् भने, तँ जिद्दी मूर्ख होस्, र तँ समस्यामा पर्छस्। जसले सुझाव दिए पनि यदि तैँले सधैँ त्यसप्रति नकारात्मक, प्रतिरोधी मनोवृत्ति अपनाउँछस्, र अलिकति पनि सत्यता स्विकार्दैनस्, अनि तेरो हृदय पूर्णतया प्रतिरोधी, एकलकाँटे र उपेक्षा गर्ने खालको छ भने तँ अत्यन्तै मूर्ख छस्, तँ हास्यास्पद व्यक्ति होस्! तँसँग व्यवहार गर्न असाध्यै गाह्रो हुन्छ!’ तँसँग व्यवहार गर्न कुन हिसाबमा गाह्रो हुन्छ? तँसँग व्यवहार गर्न गाह्रो हुन्छ किनकि तैँले देखाइरहेको कुरा गलत शैली वा गलत व्यवहार होइन, यो त तेरो स्वभावको प्रकटीकरण हो। कस्तो स्वभावको प्रकटीकरण? तँ सत्यताप्रति वितृष्ण हुने र तैँले सत्यतालाई घृणा गर्ने स्वभाव। तँ सत्यतालाई घृणा गर्ने व्यक्ति भनेर चित्रित भएपछि, परमेश्वरका दृष्टिमा तँ समस्यामा पर्छस्, र उहाँले तँलाई तिरस्कार र बेवास्ता गर्नुहुनेछ। मानिसहरूको दृष्टिकोणबाट, तिनीहरूले बढीमा यसो भन्नेछन्: ‘यस व्यक्तिको स्वभाव खराब छ, ऊ अति जिद्दी, हठी र अहङ्कारी छ! यस व्यक्तिसँग मिलेर बस्न गाह्रो छ र ऊ सत्यतालाई प्रेम गर्दैन। उसले कहिल्यै सत्यता स्विकारेको छैन र सत्यता अभ्यास गर्दैन।’ बढीमा, सबैले तेरो यस्तो मूल्याङ्कन गर्नेछन्, तर के यो मूल्याङ्कनले तेरो भाग्य निर्धारित गर्न सक्छ? मानिसहरूले तँलाई गर्ने मूल्याङ्कनले तेरो भाग्य निर्धारण गर्न सक्दैन, तर तैँले एउटा कुरा भने बिर्सनै हुँदैन: परमेश्वरले मानिसको हृदय छानबिन गर्नुहुन्छ, र साथै उहाँले तिनीहरूको हरेक शब्द र कार्य अवलोकन गर्नुहुन्छ। यदि परमेश्वरले तँलाई यसरी परिभाषित गर्नुहुन्छ र तैँले सत्यतालाई घृणा गर्छस् भनेर भन्नुहुन्छ, यदि उहाँले तँमा थोरै भ्रष्ट स्वभाव छ वा तँ थोरै अनाज्ञाकारी छस् मात्र भन्नुहुन्न भने, के यो निकै गम्भीर समस्या होइन? (यो गम्भीर समस्या हो।) यो त समस्या हो, र यो समस्या मानिसहरूले तँलाई कसरी हेर्छन् वा कसरी मूल्याङ्कन गर्छन् भन्ने कुरामा नभई, सत्यतालाई घृणा गर्ने तेरो भ्रष्ट स्वभावलाई परमेश्वरले कसरी हेर्नुहुन्छ भन्ने कुरामा हुन्छ। त्यसोभए, परमेश्वरले त्यसलाई कसरी हेर्नुहुन्छ? के परमेश्वरले तँ सत्यतालाई घृणा गर्छस्, प्रेम गर्दैनस् भनेर मात्र निर्धारण गर्नुभएको छ, त्यति नै हो? कुरा त्यति सरल छ? सत्यता कहाँबाट आउँछ? सत्यताले कसको प्रतिनिधित्व गर्छ? (यसले परमेश्वरको प्रतिनिधित्व गर्छ।) यसलाई मनन गर्: यदि कुनै व्यक्तिले सत्यतालाई घृणा गर्छ भने, परमेश्वरले आफ्नो नजरबाट उसलाई कसरी हेर्नुहुन्छ? (उहाँको शत्रुको रूपमा हेर्नुहुन्छ।) के यो गम्भीर समस्या होइन र? जब कुनै व्यक्तिले सत्यतालाई घृणा गर्छ, तब उसले परमेश्वरलाई घृणा गर्छ!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको अघि बारम्बार जिएर मात्रै उहाँसँग सामान्य सम्बन्ध राख्न सकिन्छ)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने व्यक्तिले अरूको सल्लाह र मार्गदर्शन कहिल्यै स्वीकार नगर्नुको अर्थ वास्तवमा उसले सत्यता स्वीकार गर्न सक्दैन भन्ने हुन्छ। सत्यता परमेश्वरबाट आउँछ, त्यसैले सत्यता स्वीकार नगर्नुको सार सत्यताप्रति वितृष्ण हुनु र सत्यतालाई घृणा गर्नु हो! मैले मण्डलीबाट निष्कासित गरिएका केही ख्रीष्टविरोधीहरूबारे सोचेँ। उनीहरूले मण्डलीको काममा जतिसुकै क्षति पुऱ्याए पनि, वा ब्रदर-सिस्टरहरूले सत्यताबारे जतिसुकै सङ्गति गरे पनि वा उनीहरूलाई जतिसुकै काटछाँट गरे पनि, उनीहरूले आफ्ना गल्तीहरू स्वीकार गर्न कदापि मानेनन्, र आफूलाई सल्लाह दिने ब्रदर-सिस्टरहरूप्रति उनीहरूले असन्तोषसमेत व्यक्त गरे। उनीहरूले सत्यता स्वीकार नगरेकाले, उनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ अवरोध र बाधाहरू सिर्जना गरे, र अन्त्यमा, उनीहरूले धेरै दुष्ट कार्यहरू गरे र उनीहरू मण्डलीबाट निष्कासित भए। त्यसपछि मैले आफैँबारे सोचेँ। ब्रदर-सिस्टरहरूले मेरा समस्याहरूबारे गरेका रिपोर्टहरू तथ्यपूर्ण थिए, र उनीहरूको रिपोर्टको उद्देश्य मलाई यी समस्याहरू छिट्टै समाधान गर्न मद्दत गर्नु थियो ताकि ब्रदर-सिस्टरहरूले सामान्य मण्डली जीवन पाउन सकून्, र मण्डलीको काम सहज रूपमा अघि बढ्न सकोस्। यो सब मण्डलीको हितको रक्षा गर्नलाई थियो, र यो गर्नु एउटा सकारात्मक कुरा हो। तर मैले यो स्वीकार नगरेकी मात्र होइन, मैले हठपूर्वक प्रतिवाद गर्ने र बहाना बनाउने प्रयास गरेँ। मैले ब्रदर-सिस्टरहरूको सल्लाह स्विकार्न नसकेको देखिए पनि, वास्तविकतामा, मैले सकारात्मक कुराहरू वा सत्यता स्वीकार गर्न सकेकी थिइनँ। यो प्रकृति परमेश्वरको प्रतिरोध गर्ने प्रकृति हो! मलाई के महसुस भयो भने सत्यताप्रतिको मेरो मनोवृत्ति गहिरो रूपमा अनादरपूर्ण छ, र मैले यसलाई परिवर्तन गरिनँ भने, फेरि कहिले परमेश्वरको प्रतिरोध गर्न पुग्नेछु भनेर भन्न सकिँदैनथ्यो, मैले झन्-झन् बढी अपराधहरू गर्नेथिएँ, र अन्त्यमा, म ख्रीष्टविरोधी जस्तै हटाइनेथिएँ। जब मैले यो महसुस गरेँ, मलाई डर लाग्यो। मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी थिएँ र परमेश्वरका धेरै वचनहरू खाएकी-पिएकी थिएँ, तर म आफ्नो शैतानी स्वभावअनुसार जिइरहेकी थिएँ र अरूको सल्लाह स्वीकार गर्न मानिरहेकी थिइनँ। कर्तव्य निर्वाह गर्दाको यो मनोवृत्ति देखेर, परमेश्वरले मलाई तिरस्कार गर्नुहुन्छ, र मैले यसरी नै निरन्तर रूपमा परमेश्वरमा विश्वास गरेर सम्पूर्ण जीवन बिताएँ भने पनि, मैले कहिल्यै सत्यता प्राप्त गर्नेथिइनँ, र मेरा भ्रष्ट स्वभावहरू कहिल्यै शुद्ध हुनेथिएनन्। मेरो अन्तर हृदयदेखि, मैले के महसुस गरेँ भने खुलासा हुनु भनेको हटाइनु होइन रहेछ, बरु मेरा लागि परमेश्वरको मुक्ति रहेछ। मण्डलीले मलाई बर्खास्त गरेको थिएन बरु मलाई अर्को मौका दिएको थियो र मैले चाँडो पश्चात्ताप गर्नुपर्थ्यो।
मैले अभ्यासको मार्ग खोज्न थालेँ, र मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ, त्यसैले मैले त्यो खोजेर पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तँ परमेश्वरलाई पछ्याउन र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छस् भने, सुरुमा तैँले परिस्थितिहरू सोचेजस्तो नहुँदा आवेशमा आउनबाट जोगिनुपर्छ। पहिले शान्त बन् र परमेश्वरको अघि मौन बस्, र हृदयमा उहाँलाई प्रार्थना गर् र उहाँबाट खोजी गर्। हठ नगर्; पहिले समर्पित बन्। त्यस्तो मानसिकताद्वारा मात्रै तैँले समस्याहरूको अझ उत्तम समाधान निकाल्न सक्छस्। यदि तँ परमेश्वरको अघि जिउनमा दृढ रहन सकिस्, र तँमाथि जेसुकै आइपरे पनि, तैँले उहाँलाई प्रार्थना गर्न र उहाँबाट खोजी गर्न सक्छस्, र समर्पणको मानसिकताले त्यसलाई सामना गर्न सक्छस् भने, तेरो भ्रष्ट स्वभावका प्रकटीकरणहरू जति नै धेरै भए पनि, वा तैँले विगतमा जे-जस्ता अपराधहरू गरेको भए पनि—जबसम्म तैँले सत्यताको खोजी गर्छस्, तबसम्म ती कुरालाई समाधान गर्न सकिनेछ। तँमाथि जस्तोसुकै परीक्षा आइपरे पनि, तँ दह्रिलो गरी खडा हुन सक्नेछस्। जबसम्म तँसँग सही मानसिकता हुन्छ, जबसम्म तैँले सत्यतालाई स्वीकार गर्न, र परमेश्वरका मापदण्डहरूबमोजिम उहाँमा समर्पित हुन सक्छस्, तबसम्म तँ सत्यतालाई अभ्यास गर्न पूर्ण रूपमा सक्षम हुन्छस्। तँ कहिलेकाहीँ अलिक विद्रोही र प्रतिरोधी हुन सक्ने भए पनि, र कहिलेकाहीँ प्रतिरक्षात्मक तर्क प्रस्तुत गर्ने र समर्पित हुन नसक्ने भए पनि, यदि तैँले परमेश्वरलाई प्रार्थना गर्न र आफ्नो विद्रोही स्थितिलाई परिवर्तन गर्न सक्छस् भने, तैँले सत्यता स्वीकार गर्न सक्छस्। त्यसो गरिसकेपछि, तँमा किन त्यस्तो विद्रोहीपन र प्रतिरोध पैदा भयो भन्नेबारेमा मनन गर्। कारण पत्ता लगा, त्यसपछि त्यसलाई समाधान गर्न सत्यता खोजी गर्, अनि तेरो भ्रष्ट स्वभावको त्यो पक्ष शुद्ध हुन सक्छ। त्यसरी ठोक्किएर लडेर धेरै पटक उठेपछि, तैँले सत्यता अभ्यास गर्न नसकुन्जेलसम्म, तेरो भ्रष्ट स्वभाव क्रमिक रूपमा हट्दै जानेछ। त्यसपछि, तँभित्र सत्यताले शासन गर्नेछ र त्यो तेरो जीवन बन्नेछ, र सत्यतासम्बन्धी तेरो अभ्यासमा थप बाधाहरू आउनेछैनन्। तँ परमेश्वरमा साँचो रूपले समर्पित हुन सक्नेछस्, र तैँले सत्यता वास्तविकतामा जिउनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले अभ्यासको मार्ग धेरै स्पष्ट पार्छन्। मुख्य कुरा भनेको कामकुरा सामना गर्दा सत्यता स्वीकार गर्ने हृदय हुनु हो। त्यस समयमा हामीले आफूलाई जतिसुकै समझदार ठान्ने भए पनि, हामीले आफ्नो बचाउ गर्ने कारण देखाउनु हुँदैन। बरु, हामीले परमेश्वरसामु आफ्नो हृदय शान्त पार्नुपर्छ, प्रार्थना गर्नुपर्छ र उहाँबाट खोजी गर्नुपर्छ। तब मात्र हामीले पवित्र आत्माको मार्गदर्शन प्राप्त गर्न सक्छौँ। साथसाथै, हामीले आफ्ना समस्याहरूबारे चिन्तन गर्नुपर्छ र तिनलाई समाधान गर्न सम्बन्धित सत्यताहरू खोज्नुपर्छ, र जब हामीमा आफ्ना भ्रष्ट स्वभावहरूबारे बुझाइ हुन्छ, तब हाम्रो हृदयले सत्यता स्वीकार गर्न र समर्पित हुन सक्छ। मैले परमेश्वरले मलाई दिएको मार्गअनुसार अभ्यास गर्नुपर्छ।
जुन महिनाको एक दिन, सुसमाचारको कामको जिम्मेवारी सम्हालेकी सिस्टर लिन वेईले आफूले दुई हप्ताअघि मसँग मण्डलीको सुसमाचारको कामबारे सोधपुछ गरेको, तर मैले उनलाई कहिल्यै कुनै पृष्ठपोषण नदिएको भनेर पत्र लेखिन्। लिन वेईले औँल्याएका समस्याहरू देख्दा, मैले केही प्रतिरोध महसुस गरेँ, र पत्र पढिसक्नुअघि नै, मैले हृदयमा प्रतिवाद गर्न थालेँ, र सोचेँ, “मैले सुसमाचारको कामको अनुगमन गरेकी छु, तर सुसमाचार प्रचारकहरूले आफ्ना जवाफमा विवरणहरू प्रदान गरेनन्, त्यसैले मैले तिमीलाई कुनै पृष्ठपोषण दिन सकिनँ। तिमीले जसरी भन्यौ, त्यसले त मैले कामको अनुगमन नै नगरेको जस्तो देखाउँछ!” पत्रको अन्त्यमा, लिन वेईले मलाई मेरा कर्तव्यहरूमा भएका विचलनहरूको सारांश निकाल्ने र पाठ सिकाइमा केन्द्रित हुने कुरामा मार्गदर्शन गर्न आफ्नै अनुभवहरू बाँडिन्, ताकि मैले राम्रोसँग आफ्नो कर्तव्य निर्वाह गर्न सकूँ। त्यस क्षणमा, मलाई आफूले भर्खरै प्रकट गरेको स्वभाव अझै पनि प्रतिवाद गर्ने, बहाना बनाउने र सत्यता स्वीकार नगर्ने स्वभाव नै रहेको महसुस भयो। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, आज, ती सिस्टरले मेरा समस्याहरू औँल्याउँदा, मैले अझै पनि प्रतिवाद गर्ने र आफ्नो सफाइ दिने प्रयास गर्न चाहेँ। कृपया मलाई स्वीकार गर्ने बिन्दुबाट सुरु गर्न र त्यसपछि यसमार्फत आत्मचिन्तन गर्न मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “आफूलाई परिआउँदा व्यक्तिमा पहिले सत्यता स्वीकार गर्ने मनोवृत्ति हुनुपर्छ। यस प्रकारको मनोवृत्ति नहुनु भनेको मोही थाप्ने ढुङ्ग्रो नहुनुजस्तै हो, यसरी तँ सत्यता प्राप्त गर्न नसक्ने बन्नु हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यो परिस्थितिको सामनाले, मलाई पहिले समर्पित भएर मात्र पाठ सिक्न सकिन्छ भन्ने महसुस गरायो। त्यसपछि मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “त्यसोभए, समर्पित हुने मनोवृत्ति ठ्याक्कै कस्तो हुन्छ? पहिलो कुरा त, तँसँग सकारात्मक मनोवृत्ति हुनुपर्छ: जब तँलाई काटछाँट गरिन्छ, तैँले सुरुमै सही र गलत विश्लेषण गर्दैनस्—समर्पित हृदयले यसलाई स्वीकार मात्र गर्छस्। उदाहरणको लागि, कसैले तैँले केही गलत गरिस् भन्न सक्छ। तैँले आफ्नो हृदयमा यो नबुझे पनि, र तँलाई आफूले के गल्ती गरेँ भनेर थाहा नभए पनि, तँ यसलाई स्विकार्छस्। स्वीकार मूलतः सकारात्मक मनोवृत्ति हो। यसका साथै, यसमा अलि बढी नकारात्मक हुने एउटा मनोवृत्ति पनि हुन्छ, जुन मौनता कायम राख्नु र कुनै प्रतिरोध नगर्नु हो। यसमा कस्तो खाले व्यवहार समावेश हुन्छ? तँ तर्क गर्दैनस्, आफ्नो प्रतिरक्षा गर्दैनस्, न आफ्नो लागि वस्तुगत बहानाहरू बनाउँछस्। यदि तँ आफ्नो लागि सधैँ बहाना बनाउँछस्, तर्क गर्छस्, र जिम्मेवारी अरू मानिसहरूमा थोपर्छस् भने, के त्यो प्रतिरोध होइन र? त्यो विद्रोही स्वभाव हो। तैँले अस्वीकार, प्रतिरोध, वा तर्क गर्नु हुँदैन। यदि तैँले सही तर्क गर्छस् नै भने पनि, के त्यो सत्यता हुन्छ र? त्यो त मानिसको वस्तुगत बहाना हो, सत्यता होइन। तँलाई यो कुरा किन भयो, वा यो कसरी आयो भनेर वस्तुगत बहानाहरू सोधिएको होइन बरु, तेरो कार्यको प्रकृति सत्यताअनुरूप छैन भनेर तँलाई भनिएको हो। यदि तँसँग यो स्तरको ज्ञान छ भने, तँ वास्तवमै स्विकार्न र प्रतिरोध नगर्न सक्षम हुनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्वरका वचनहरूले स्पष्ट रूपमा अभ्यासको मार्ग कोर्छन्। कुनै अवस्था सामना गर्दा मैले सुरुमै सही वा गलत भनी विश्लेषण गर्नु हुँदैन। मैले कहाँ गल्ती गरेँ भनेर मैले अझै देख्न नसके पनि, मैले पहिले मेरी सिस्टरले औँल्याएका समस्याहरू स्वीकार गर्नुपर्छ र आत्मचिन्तन गर्नुपर्छ। मैले ठोस कारणहरू पेस गर्ने प्रयास गर्नु हुँदैनथ्यो, किनकि मेरा स्पष्टीकरणहरू सही भए पनि, ती सत्यता थिएनन्। जब ममा समर्पित मानसिकता आयो, तब मेरो हृदय शान्त भयो। त्यसपछि मैले समस्या वास्तवमा कहाँ छ भनेर हेर्न सुसमाचार प्रचारकहरूसँगको मेरो हालसालैको पत्राचार समीक्षा गर्न थालेँ। मैले के पत्ता लगाएँ भने केही मानिसहरूलाई मैले एक पटक मात्र विवरणहरू सोध्दो रहेछु, र उनीहरूबाट जवाफ आएन भने, मैले फेरि तीबारे अनुगमन गर्दो रहेनछु; कतिपयले विवरणविना नै जवाफ लेखेका रहेछन्। वास्तवमा, यी सवालहरूका सम्बन्धमा, मैले लिखित रूपमा विशिष्ट विवरणहरू माग्न फेरि पत्र लेख्नुपर्थ्यो र लिन वेईलाई सकेसम्म चाँडो प्रतिक्रिया दिनुपर्थ्यो, तर मैले कामको अनुगमन नगरेकी र कामकुरा कसरी भइरहेको छ भन्ने मलाई थाहा नभएको हुनाले, मैले त्यसो गर्न सकिनँ, जसले गर्दा लिन वेईले हामीलाई समयमै विचलनहरू सच्याउन वा समस्याहरू समाधान गर्नमा मद्दत गर्न सकिनन्। सुसमाचारको कामको सुस्त प्रगति हुनुमा वास्तवमा म नै जिम्मेवार थिएँ। परमेश्वरका वचनहरूले नै मलाई मेरा समस्याहरू महसुस गराए, र मैले साँच्चै लिन वेईको मार्गदर्शन र सहयोगलाई पूर्ण हृदयले स्वीकार गर्न सकेँ। त्यसपछि, मैले सुसमाचार प्रचारकहरूसँग सङ्गति गरेँ, उनीहरूलाई सुसमाचारको कामबारे विशिष्ट पृष्ठपोषण दिन आग्रह गरेँ, ताकि हामीले विचलनहरू तत्काल सच्याउन सकौँ र हाम्रा कर्तव्यहरूमा राम्रो नतिजा सुनिश्चित गर्न सकौँ। सुसमाचारको काममा समस्या र कठिनाइहरू उत्पन्न हुँदा, मैले लिन वेईलाई तत्काल पृष्ठपोषण दिएँ र उनीसँगै मिलेर समाधानहरू खोजेँ। साथसाथै, मैले सचेत भई नियमित रूपमा कामको अनुगमन गर्न र यो उचित रूपमा कार्यान्वयन भएको छ भन्ने सुनिश्चित गर्न पनि थालेँ। परमेश्वरलाई धन्यवाद! ममा आएको यो परिवर्तन परमेश्वरका वचनहरूले ल्याएको हो।