१. मैले आफ्नो कर्तव्यलाई सही तरिकाले लिन सिकेँ
म एउटा सामान्य कृषक परिवारमा जन्मिएँ। हुर्किँदै गर्दा, मैले सधैँ आमाले खाना पकाएको र सरसफाइ गरेको देखेँ, तर बुबाले कहिल्यै खाना पकाएको वा घरको काम गरेको देखिनँ। हजुरबुबा पनि उस्तै हुनुहुन्थ्यो। कहिलेकाहीँ हजुरआमा दिनभरी घरमा नहुँदा, हजुरबुबा खाना पकाउनुभन्दा बरु भोकै बस्न रुचाउनुहुन्थ्यो, किनकि उहाँ खाना पकाउने काम महिलाको हो भन्ठान्नुहुन्थ्यो। मैले धेरैजसो परिवारमा पुरुषले घरबाहिरको काम गर्ने र महिलाले घरायसी काम सम्हाल्ने गरेको देखेँ: महिलाहरू घरमा खाना पकाउँथे भने पुरुषहरू बाहिर काममा व्यस्त हुन्थे। विवाहपछि, मेरी श्रीमतीले स्वाभाविक रूपमा घरका सबै काम सम्हालिन्। कहिलेकाहीँ उनी मलाई घरको केही काम गर्न भन्थिन्, तर म सधैँ अनिच्छुक हुन्थेँ र आनाकानी गर्थेँ। म सधैँ खाना पकाउने र घरको काम गर्ने जिम्मा महिलाहरूको हो भन्ने सोच्थेँ।
सन् २०२० को गर्मी याममा, अगुवाले मलाई एउटा टोलीलाई तत्काल अतिथि सत्कारकहरू चाहिएको बताउनुभयो, र गएर अतिथि सत्कार गर्न इच्छुक छौ कि भनेर सोध्नुभयो। मैले केही पनि भनिनँ, तर मनमनै सोचेँ, “मैले कहिल्यै अतिथि सत्कार गर्ने कर्तव्य निर्वाह गरेको छैनँ, र मलाई खाना समेत पकाउन आउँदैन।” तर तत्कालै मानिसहरू चाहिएको कुरालाई ख्याल गर्दै, म राजी भएँ। अतिथि सत्कार गर्ने कर्तव्य निर्वाह गर्दा, मेरो हरेक दिन भाँडा माझ्दै र सफा गर्दै चुलोचौकोमै बित्थ्यो, र म मनमनै सोच्थेँ, “यो त सिस्टरहरूले गर्ने कर्तव्य हो; मलाई किन यो काम गराइँदै छ? एउटा वयस्क पुरुष बारम्बार बजार गएर तरकारी किन्नु र कहिलेकाहीँ तरकारी बेच्नेहरूसँग मोलमोलाइ समेत गर्नु लाजमर्दो कुरा पनि हो!” हरेक पटक तरकारी किन्न बजार जाँदा मलाई चिन्ता लाग्थ्यो, किनकि मलाई अरूले हेयको नजरले हेर्लान् कि भन्ने डर हुन्थ्यो। म सधैँ हतार-हतार जान्थेँ र हतारमै फर्कन्थेँ, धेरै बेर बस्न चाहन्नथेँ। कहिलेकाहीँ केही ब्रदरले तरकारी धेरै नुनिलो वा खल्लो भयो भनेर टिप्पणी गर्थे, अनि म लज्जित हुन्थेँ र मनमनै तर्क गर्थेँ, “घरमा, घरको काम र खाना बनाउने काम सधैँ मेरी श्रीमतीले गरेकी छिन्, मैले होइन! त्यसबाहेक, म एक पुरुष हुँ, र यी त महिलाका काम हुन्, त्यसैले मलाई यी काम राम्ररी नआउनु सामान्य हो। तिमीहरू किन मेरो दृष्टिकोणबाट हेर्न सक्दैनौ?” यो कर्तव्य कहिले सकिएला भन्ने सोचेर मेरो मन अलि तितो भयो। म प्रायः ब्रदरहरू कामबारे कुरा गर्दै हाँसिरहेको देख्थेँ, तर म भने खुसी हुनै सक्दिनथेँ। मलाई आफूले पिठ्युँमा ठूलो ढुङ्गा बोकिरहेजस्तो महसुस हुन्थ्यो, र म आफूले यो कर्तव्य निर्वाह गर्नु नपर्ने दिनको तृष्णा गर्थेँ। ती दिनहरूमा, म खाना बनाउँदा खासै मेहनत गर्दिनथेँ, र हरेक बिहान चाउचाउ मात्र बनाउँथेँ। मैले उनीहरूले धेरै खाइरहेका छैनन् भन्ने देखेँ, तर उनीहरूलाई उक्त खाना खाने बानी छ कि छैन भनेर कहिल्यै सोधिनँ। त्यतिबेला बन्दा धेरै थियो, त्यसैले म त्यही उसिनेर दिन्थेँ, र ब्रदरहरूले अति थोरै खाए पनि म मतलब गर्दिनथेँ। म यतिमात्र सोच्थेँ, “बन्दा जसरी पकाए पनि, त्यो खासै मिठो हुने होइन।” पछि, ती ब्रदरहरूको कर्तव्यमा हेरफेर गरियो र उनीहरू सरेर गए, तर सुपरिवेक्षकले मलाई अतिथि सत्कार गर्ने कर्तव्य जारी राख्न भन्नुभयो। मैले बुझ्नै सकिनँ, “मजस्तो वयस्क पुरुषलाई किन बारम्बार अतिथि सत्कार गर्ने कर्तव्य निर्वाह गर्न भनिन्छ? खाना पकाउने, भाँडा माझ्ने र सरसफाइको काम त प्रायः सिस्टरहरूले गर्ने कुरा हुन्। के अरूले ‘एउटा ब्रदरले पो किन यो कर्तव्य निर्वाह गरिरहेको होला’ भनेर अचम्म मान्नेछन्? म कसरी मुख देखाएर हिँड्नु?” यसबारे सोच्दा मलाई हीनताबोध भयो। त्यस अवधिमा, मेरो स्थिति खराब थियो, र मलाई साँच्चै मेरो बेइज्जत भएको महसुस भयो। यदि मैले अतिथि सत्कार गर्ने कर्तव्य छोडेँ भने, मलाई म अनुचित व्यवहार गरिरहेको हुन्छु भन्ने लाग्थ्यो, तर यदि मैले त्यसलाई निरन्तरता दिएँ भने, मैले त्यसलाई कसरी पार लगाउनेथिएँ भन्ने कुरा मलाई थाहा थिएन। म बाहिरबाट कर्तव्य निर्वाह गरिरहेजस्तो देखिन्थेँ, तर मलाई भित्रभित्रै दबिएको महसुस हुन्थ्यो, र म आफूले गर्ने कुनै पनि कुरामा सक्रिय वा सचेत हुन्नथेँ। म सरसफाइ गर्नुपर्ने देख्थेँ तर गर्दिनथेँ, र केही पटक त यस्तो अवस्था आयो कि अरूले सहन नसकेर आफैँ सफा गर्न सघाउँथे। मण्डलीले पठाएका खानेकुराहरू पनि मैले समयमै सुकाइनँ, जसले गर्दा खानेकुरा बिग्रियो र फ्याँक्नुपर्ने भयो। अगुवाले यो कुरा थाहा पाएपछि मलाई भन्नुभयो, “खानामा त ढुसी लागेछ। यदि तिमी सचेत भएको भए, तिमीले यसलाई सुकाउनेथ्यौ, बिग्रने खानेकुरा समयमै खाइएको सुनिश्चित गर्नेथ्यौ, र यो खेर जाँदैनथ्यो। यस्ता समस्याहरू आउँछन् भने, तिमीले आफ्नो कर्तव्यप्रतिको मनोवृत्तिबारे चिन्तन गर्नुपर्छ।” अगुवाले यसो भनेको सुन्दा, मलाई अलिकति दोषी महसुस भयो। वास्तवमा मेरै लापरबाहीले गर्दा खानेकुरा बिग्रिएको थियो, तर त्यसपछि मैले आफ्नै बहाना बनाउन थालेँ, “घरमा हुँदा, सधैँ मेरी आमा र श्रीमतीले नै खानेकुरा सुकाउने गर्थे, र म त्यस काममा कहिल्यै संलग्न हुँदिनथेँ। मलाई यी कामहरू गर्न लगाइनु अत्यन्तै लाजमर्दो कुरा हो!” मलाई सधैँ आफू अपमानित भइरहेको जस्तो महसुस हुन्थ्यो, र म यो अवस्था सहनै चाहन्नथेँ, त्यसैले म केवल अगुवाले मलाई अरू नै कर्तव्यको प्रबन्ध गरिदेऊन् भन्ने आशा गर्थेँ। म यति नकारात्मक बनेँ कि परमेश्वरलाई प्रार्थना गर्दा के भन्ने भनेर मलाई थाहै थिएन, र परमेश्वरका वचनहरू पढ्दा मैले कुनै ज्योति भेट्टाइनँ। म हरेक दिन लखतरान हुन्थेँ, र निसास्सिएको महसुस गर्थेँ।
एउटा भेलाको दौरान, एउटी सिस्टरले म खराब स्थितिमा रहेको देखिन् र पाठ सिक्न सम्झाइन्। एक दिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “कर्तव्य भनेको के हो? परमेश्वरले मान्छेलाई सुम्पनुभएको आज्ञा नै मान्छेले निर्वाह गर्नुपर्ने कर्तव्य हो। उहाँले तँलाई चाहे जे सुम्पनुभए पनि, त्यसलाई निर्वाह गर्नु नै तेरो कर्तव्य हो। … व्यक्तिले आफ्नै भूमिका र पद खोज्नु र तोक्नुपर्छ—समझ भएको व्यक्तिले यसै गर्छ। त्यसपछि उसले परमेश्वरको प्रेम प्रतिदान गर्न र उहाँलाई सन्तुष्ट पार्न अडिग र स्थिर मनोवृत्तिसहित आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। यदि कर्तव्य निर्वाह गर्ने क्रममा व्यक्तिमा यस्तो मनोवृत्ति छ भने, उसको हृदय स्थिर र शान्त हुनेछ, उसले आफ्नो कर्तव्यमा सत्यता स्विकार्न सक्नेछ, र उसले बिस्तारै परमेश्वरका आवश्यकताहरूबमोजिम आफ्नो कर्तव्य निर्वाह गर्न थाल्नेछ। ऊ आफ्ना भ्रष्ट स्वभावहरू फाल्न, परमेश्वरका सबै बन्दोबस्तप्रति समर्पित हुन, र मानकअनुरूप तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम हुनेछ। यही नै परमेश्वरको अनुमोदन प्राप्त गर्ने तरिका हो। यदि तैँले साँच्चिकै परमेश्वरप्रति आफूलाई समर्पित गर्न र उहाँलाई प्रेम गर्ने र सन्तुष्ट तुल्याउने सही मानसिकताले आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस् भने, तँलाई पवित्र आत्माको कामले अगुवाइ र मार्गदर्शन गर्नेछ, तँ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता अभ्यास गर्न र सिद्धान्तहरूबमोजिम कार्य गर्न इच्छुक हुनेछस्, अनि तँ परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति बन्नेछस्। यस तरिकाले तँ पूर्ण रूपले साँचो मानव रूपमा जिउनेछस्। व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्दै जाँदा उसको जीवन बिस्तारै वृद्धि हुँदै जान्छ। कर्तव्य निर्वाह नगर्नेहरूले जति नै वर्ष विश्वास गरे पनि, सत्यता र जीवन प्राप्त गर्न सक्दैनन्, किनकि तिनीहरूमा परमेश्वरको आशिष् हुँदैन। परमेश्वर निष्कपट रुपममा उहाँप्रति आफूलाई समर्पित गर्ने र आफ्नो क्षमताले भ्याएसम्म राम्ररी कर्तव्य निर्वाह गर्नेहरूलाई मात्र आशिष् प्रदान गर्नुहुन्छ। तैँले जे-जस्तो कर्तव्य निर्वाह गर्छस् र तैँले जे गर्न सक्छस्, त्यसलाई तेरो जिम्मेवारी र कर्तव्य ठान्, त्यसलाई स्वीकार गर् र त्यो काम राम्ररी गर्। तैँले कसरी त्यसलाई राम्ररी गर्छस्? ठ्याक्कै परमेश्वरका मागहरूअनुसार गरेर—तेरो सारा हृदय, सारा दिमाग, र सारा शक्ति लगाएर। तैँले यी वचनहरू मनन गर्नुपर्छ र आफूले कसरी सारा हृदयले आफ्नो कर्तव्य निर्वाह गर्न सक्छु भनी विचार गर्नुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूबाट मैले के देखेँ भने, मानिसहरूलाई जुनसुकै आज्ञा दिइए पनि, उनीहरूले त्यसलाई आफ्नो जिम्मेवारी र कर्तव्यका रूपमा लिनुपर्छ, र उनीहरूले त्यो आज्ञा आफ्नो सारा हृदय र सारा मनले पूरा गर्नुपर्छ। जब उनीहरूको मानसिकता आफ्नो कर्तव्यमा परमेश्वरलाई सन्तुष्ट पार्नमा केन्द्रित हुन्छ, तब मात्र उनीहरूले परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छन्। तर म सोच्थेँ, अतिथि सत्कार गर्ने कर्तव्य सिस्टरहरूको हो, र म एउटा ब्रदर भएकाले मैले यो कर्तव्य निर्वाह गर्नु हुँदैन। मलाई अतिथि सत्कार गर्ने कर्तव्य निर्वाह गर्न भनिनुको अर्थ मलाई होच्याइएको र तुच्छ ठानिएको हो भन्ने लाग्थ्यो। यस्तो गलत दृष्टिकोणका कारण, ममा आफ्नो कर्तव्यप्रति गम्भीरता वा जिम्मेवारीको बोध थिएन, र ब्रदरहरूको अतिथि सत्कार गर्दा, म सधैँ खालि चाउचाउ बनाउँथेँ वा बन्दा उसिन्थेँ। मैले ब्रदरहरूले त्यो मन नपराएको देखेँ, तर ब्रदरहरूले राम्ररी खऊन् र अघाऊन् भनेर परिकारहरू परिवर्तन गर्नेबारे मैले कहिल्यै सोचिनँ। मैले समयमै सरसफाइ गरिनँ, र मण्डलीले पठाएका खानेकुराहरू पनि समयमै सम्हालिनँ, जसले गर्दा ती बिग्रिए। म कसरी पूर्ण हृदय र शक्तिले आफ्नो कर्तव्य निर्वाह गरिरहेको थिएँ र? म त स्पष्ट रूपमा लापरबाह र झाराटारुवा भइरहेको थिएँ! मण्डलीले मलाई कर्तव्य निर्वाह गर्न दिएको अवसरको मैले कदर गरिनँ, र मैले गुनासो गरिरहेँ, प्रतिरोधी महसुस गरिरहेँ, र औपचारिकता मात्र पूरा गरिरहेँ। यसले परमेश्वरलाई साँच्चिकै दुःखी र निराश तुल्यायो! यदि म परिवर्तन भइनँ भने, अन्ततः मैले आफ्नो कर्तव्य निर्वाह गर्ने मौका गुमाउनेथिएँ। यो कुरा बुझेपछि, म अबउप्रान्त परमेश्वरका वचनहरूलाई व्यवहारमा लागू गर्न र मेरो अतिथि सत्कार गर्ने कर्तव्य गम्भीरतापूर्वक पूरा गर्न इच्छुक हुनेछु भनेर मैले सङ्कल्प गरेँ। त्यसैले मैले खाना पकाउन सिक्न थालेँ, म सरसफाइमा बढी सक्रिय भएँ, र मैले मेरो अतिथि सत्कार गर्ने कर्तव्यमा पर्ने सबै कुरा राम्ररी सम्हाल्न सक्दो प्रयास गरेँ।
पछि, मैले परमेश्वरका केही वचन पढेँ, र अतिथि सत्कारप्रतिको मेरो निरन्तरको प्रतिरोधको मूल कारणबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तँलाई कुनै कर्तव्य निर्वाह गर्न दिइयो, र त्यसमा तँ पहिले समर्पित हुनै सक्दैनथिस् भने, अहिले तँ कुन हदसम्म समर्पित हुन सक्छस्? उदाहरणका लागि, मानौँ तँ एक ब्रदर होस्, र तँलाई हरेक दिन अन्य ब्रदर-सिस्टरहरूका लागि खाना बनाउन र भाँडा माझ्न भनियो। के तँ समर्पित हुन सक्नेथिइस्? (मलाई त्यस्तै लाग्छ।) सायद तँ छोटो समयका लागि सक्नेथिइस्, तर यदि तँलाई लामो समयसम्म यो कर्तव्य निर्वाह गर्न भनियो भने, के तँ समर्पित हुन सक्नेथिइस्? (मैले यो कर्तव्य कहिलेकाहीँ मात्रै निर्वाह गर्नुपरेको भए, म समर्पित हुन सक्नेथिएँ। यदि यो लामो समयका लागि भएको भए, सायद म सक्ने थिइनँ।) यसले तँमा समर्पणता छैन भन्ने देखाउँछ। मानिसहरूमा केले गर्दा समर्पणता हुँदैन? (मानिसहरूले आफ्नो हृदयमा परम्परागत धारणाहरू पालेका कारण यस्तो हुन्छ। तिनीहरू पुरुषहरूले घरबाहिर काम गर्नुपर्छ, र महिलाहरूले घरायसी काम सम्हाल्नुपर्छ, खाना पकाउनु महिलाको काम हो र ब्रदरले खाना पकाउँदा इज्जत जान्छ भन्ने सोच्छन्। त्यसैले समर्पित हुन सजिलो हुनेथिएन।) ठीक भनिस्। श्रम विभाजनको कुरा आउँदा मानिसहरू लैङ्गिक भेदभाव गर्छन्। पुरुषहरू सोच्छन्, ‘हामी पुरुषहरू बाहिर गएर जीविकोपार्जन गर्नुपर्छ। खाना पकाउने र सरसफाइ गर्ने जस्ता कामहरू महिलाहरूले गर्नुपर्छ। हामीलाई यो गर्न लगाउनु हुँदैन।’ तर अहिले यी विशेष परिस्थितिहरू हुन्, र तँलाई यो गर्न भनिएको छ, त्यसैले तँ के गर्छस्? समर्पित हुनका लागि तैँले कुन-कुन कठिनाइहरू समाधान गर्नैपर्छ? यो नै कुरोको चुरो हो। तैँले आफ्नो लैङ्गिक भेदभावलाई जित्नैपर्छ। पुरुषहरूले नै गर्नुपर्ने कुनै काम छैन, न त महिलाहरूले नै गर्नुपर्ने कुनै काम छ। सबैभन्दा पहिले, यसरी श्रम विभाजन नगर्। कसले कुन कर्तव्य गर्छ भन्ने कुरा उसको लिङ्गअनुसार निर्धारण गरिनु हुँदैन। तैँले आफ्नो घरमा र दैनिक जीवनमा यसरी श्रम विभाजन गर्न सक्छस्, तर अब यो तेरो कर्तव्यसँग सम्बन्धित भएपछि, तैँले यसलाई कसरी अर्थ्याउनुपर्छ? तैँले यो कर्तव्य परमेश्वरबाट आएको भनी लिनुपर्छ र स्विकार्नुपर्छ, अनि आफूभित्रका गलत दृष्टिकोण बदल्नुपर्छ। तैँले यसो भन्नुपर्छ, ‘म पुरुष हो भन्ने साँचो हो, तर म परमेश्वरका नजरमा मण्डलीको सदस्य र एक सृजित प्राणी हुँ। मलाई मण्डलीले जेसुकै काममा खटाए पनि म गर्नेछु; कामकुराहरू लिङ्गका आधारमा विभाजित हुँदैनन्।’ सर्वप्रथम त, तैँले आफ्ना गलत दृष्टिकोणहरू त्याग्नुपर्छ, त्यसपछि आफ्नो कर्तव्य स्विकार्नुपर्छ। के आफ्नो कर्तव्य स्विकार्नु साँचो समर्पणता हो त? (होइन।) त्यसपछिका दिनहरूमा, कसैले तेरो खाना अति नुनिलो छ, वा त्यसमा मसला पुगेको छैन, वा तैँले केही खानेकुरा राम्रोसँग बनाइनस् अनि तिनीहरूलाई त्यो खान मन भएन भने, वा तँलाई केही नयाँ खाना बनाउन लगाइयो भने, के तँ त्यो स्विकार्न सक्नेछस्? त्यो बेला, तँलाई असहज लाग्नेछ, अनि तँ यस्तो सोच्नेछस्, ‘म आत्मसम्मान भएको पुरुष हुँ, म यी सब ब्रदर-सिस्टरहरूका लागि खाना पकाउने गरी झुकिसकेको छु, तैपनि तिनीहरू यी सब गल्तीहरू औँल्याउँछन्। अब त मेरो इज्जत नै बाँकी रहेन।’ त्यो बेला, तँ समर्पित हुन चाहँदैनस्, चाहन्छस् त? (चाहँदिनँ।) यो कठिनाइ हो। जबजब तँ समर्पित हुन सक्दैनस्, त्यो कुनै भ्रष्ट स्वभाव प्रकट भएका कारण हुन्छ र त्यसले समस्या पैदा गर्छ, र तँलाई सत्यता अभ्यास गर्न र परमेश्वरप्रति समर्पित हुन नसक्ने बनाउँछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गर्नु नै जीवन प्रवेश प्राप्त गर्ने एक मात्र उपाय हो)। “कतिपय पुरुषमा यी पुरुषवादी सोचहरू हुन्छन्; तिनीहरू बच्चाहरूको हेरचाह गर्ने, लुगा धुने, खाना पकाउने, र सरसफाइ गर्नेजस्ता घरायसी कामहरूलाई तुच्छ ठान्छन्, र यी कुराहरू गर्न अनिच्छुक हुन्छन्। तिनीहरूले ती गरे पनि, अरूले तिनीहरूलाई तुच्छ ठान्लान् भनी डराएर अलि मन नलागी-नलागी गर्छन्। तिनीहरू सोच्छन्, ‘यदि म सधैँ यी कामहरू गरिरहन्छु भने, म महिलाभन्दा कसरी फरक हुन्छु र?’ के तिनीहरूको सोचाइमा समस्या छैन र? (छ।) चीनका केही प्रान्तमा, पुरुषहरू अक्सर एप्रोन लगाउँछन् र खाना पकाउँछन्। जब महिलाहरू कामबाट घर फर्कन्छन्, तब पुरुषहरूले तिनीहरूलाई खाना पस्केर दिन्छन्। महिलाहरू तिनीहरूका लागि तयार पारिएका यी भोजनहरू अधिकारपूर्वक खान्छन्, र पुरुषहरू अधिकारपूर्वक ती पकाउँछन्, यसबारे कहिल्यै लाज मान्दैनन्। निश्चित क्षेत्रका मानिसहरू विशेष गरी पुरुषवादी हुन्छन्—यो निस्सन्देह तिनीहरूका परिवारहरूको सिकाइ र प्रभावको परिणाम हो। त्यसोभए, के यस सिकाइले तँलाई हानि गरेको छ कि फाइदा पुऱ्याएको छ? (यसले मलाई हानि गरेको छ।) यसले मानिसहरूलाई धेरै हानि पुऱ्याएको छ। … आमाबुबाले हालिदिने पितृसत्तात्मक विचार र दृष्टिकोणहरू जिउनेसम्बन्धी सबैभन्दा आधारभूत र सरल नियमहरूका साथै महिला र पुरुषसम्बन्धी निश्चित गलत दृष्टिकोणहरूसँग सम्बन्धित हुन्छन्। सारांशमा भन्दा, यी सबै मानिसहरूका विचारहरूलाई पारिवारिक सिकाइले आकार दिनु हो। परमेश्वरमाथिको विश्वास र व्यक्तिको अस्तित्वको अवधिमा उसको जीवनमा यी विचार र दृष्टिकोणहरूको प्रभाव चाहे जतिसुकै होस्, वा चाहे यी कुराले जति नै समस्या र असहजता ल्याउन्, तर अन्तर्निहित रूपमा आमाबुबाले दिने शिक्षासँग यी कुराहरूको निश्चित सम्बन्ध हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१४))। परमेश्वरका वचनहरू पढेपछि मैले के बुझेँ भने, अतिथि सत्कार गर्ने कर्तव्य निर्वाह गर्दा मलाई दमन र पीडा महसुस हुनु, र ममा समर्पणताको कमी हुनुको मुख्य कारण “पुरुषले घरबाहिरको काम गर्नुपर्छ र महिलाले घरायसी काम सम्हाल्नुपर्छ” भन्ने भ्रामक दृष्टिकोण थियो। हामी गाउँमा हुँदा खेतमा काम गर्थ्यौं, र मेरी आमा र श्रीमतीले बाहिर काम गरेर घर फर्किसकेपछि पनि लुगा धुने, खाना पकाउने र गाईबस्तुलाई घाँस खुवाउने काम गर्नुपर्थ्यो। उनीहरू यति व्यस्त हुन्थे कि काम भ्याउनै मुस्किल पर्थ्यो। मैले यो देखेँ तर कहिल्यै सघाइनँ। म लुगा धुनु, खाना पकाउनु र घरायसी काम गर्नु सबै महिलाका काम हुन्, र पुरुषले केवल परिवार पाल्न पैसा कमाउनुपर्छ र घरबाहिरका काम गर्नुपर्छ भन्ने सोच्थेँ। मलाई लाग्थ्यो, यदि पुरुषहरूले घरको काम गरे भने, उनीहरूलाई निकम्मा ठानिन्छ र हेयको नजरले हेरिन्छ। यो दृष्टिकोण लिएर जिउँदा, म बिरलै घरको काममा सघाउँथेँ र ममा परिवारप्रतिको हेरचाह र चासोको कमी थियो। परमेश्वरलाई पाएपछि, जब मलाई अतिथि सत्कार गर्ने कर्तव्य निर्वाह गर्न भनियो, मैले सोचेँ, सरसफाइ गर्नु, तरकारी किन्नु र खाना पकाउनु त सिस्टरहरूका कर्तव्य हुन्, र ब्रदरहरूलाई यी काम गर्न लगाउनु हुँदैन। यो पुरुषप्रधान मानसिकताबाट प्रभावित भएर, म प्रतिरोधी महसुस गर्थेँ र आफ्नो कर्तव्यमा मन लगाउँदिनथेँ। तरकारी किन्न बजार जानु, तरकारी बेच्नेहरूसँग मोलमोलाइ गर्नु, अनि सस्तो र राम्रो तरकारी किन्नु एकदमै सामान्य कुरा हो। तर मलाई सधैँ यो लाजमर्दो लाग्थ्यो, र अरूले हेयको नजरले हेर्लान् कि भन्ने डर लाग्थ्यो। खाना पकाउँदा, म आफूलाई मन लागेअनुसार पकाउँथेँ, ब्रदरहरूको त्यस्तो खाने बानी छ कि छैन भन्ने कुराको पटक्कै ख्याल गर्दिनथेँ। म मेरो अतिथि सत्कार गर्ने कर्तव्यप्रति प्रतिरोधी भएकाले, आवश्यक पर्दा पनि म सरसफाइ गर्दिनथेँ। म साँच्चै मानवता र समझरहित थिएछु! यो पुरुषप्रधान मानसिकताले मेरो सोचलाई पूर्ण रूपमा विकृत बनाएको थियो। मैले कर्तव्यहरू परमेश्वरबाट आउँछन्, तिनमा हैसियत, लिङ्ग वा उमेरको कुनै भेद हुँदैन, र मैले यसलाई परमेश्वरबाट आएको भनी स्वीकार गर्नुपर्छ, यसलाई कदर र प्रेम गर्नुपर्ने जिम्मेवारीका रूपमा लिनुपर्छ, अनि आफूलाई बफादारीपूर्वक कर्तव्यप्रति समर्पित गर्नुपर्छ र परमेश्वरलाई सन्तुष्ट पार्नुपर्छ भन्ने कुराबारे सोचेँ। तर म “पुरुषले घरबाहिरको काम गर्नुपर्छ र महिलाले घरायसी काम सम्हाल्नुपर्छ” भन्ने मानसिकताअनुसार जिउँथेँ। मैले आफ्नै भावनाहरूको मात्र ख्याल गरेँ, र वास्तवमा मेरो जिम्मेवारी र कर्तव्य के हो भन्ने कुराको कहिल्यै ख्याल गरिनँ। ममा समर्पणता छँदै थिएन। के म यस कुरामा परमेश्वरको विरोध गरिरहेको थिइनँ र? यो महसुस गरेपछि, मलाई गहिरो गरी पछुतो र दोषी महसुस भयो, र मैले परमेश्वरसामु आएर प्रार्थना गरेँ, “हे परमेश्वर, म ‘पुरुषले घरबाहिरको काम गर्नुपर्छ र महिलाले घरायसी काम सम्हाल्नुपर्छ’ भन्ने मानसिकताद्वारा नियन्त्रित भएको छु, ममा अतिथि सत्कार गर्ने कर्तव्यप्रति समर्पणता छैन, र म लगातार तपाईँको विरोध गर्दै आइरहेको छु। म अत्यन्तै असमझदार रहँदै आएको छु! हे परमेश्वर, म गलत थिएँ, तर म तपाईँसामु पश्चात्ताप गर्न चाहन्छु।”
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ, र मानिसहरूलाई मापन गर्ने परमेश्वरको मानक बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरसँग मानवजातिको लिङ्गबारे भन्नुपर्ने कुनै विशेष कुरा छैन, किनभने पुरुष र महिला दुवै परमेश्वरका सृष्टि हुन् र परमेश्वरबाट आउँछन्। मानवजातिको भाषामा भन्नुपर्दा, ‘हत्केला र हत्केलापछाडिको भाग दुवै मासुले बनेका हुन्छन्’—पुरुष वा महिलाप्रति परमेश्वरको कुनै पूर्वाग्रह छैन, न त उहाँ एउटा लिङ्गलाई वा अर्को लिङ्गलाई फरक माग गर्नुहुन्छ, किनभने ती दुवै समान हुन्। त्यसकारण, तँ पुरुष भए पनि महिला भए पनि परमेश्वर तँलाई न्याय गर्न उही केही मानक प्रयोग गर्नुहुन्छ—उहाँले तँसँग कस्तो मानवता सार छ, तँ कुन मार्गमा हिँड्छस्, सत्यताप्रति तेरो मनोवृत्ति कस्तो छ, तँ सत्यतालाई प्रेम गर्छस् कि गर्दैनस्, तँमा परमेश्वरको डर मान्ने हृदय छ कि छैन, र तँ उहाँमा समर्पित हुन सक्छस् कि सक्दैनस्, त्यो हेर्नुहुनेछ। परमेश्वर कुनै व्यक्तिलाई चुन्ने र कुनै निश्चित कर्तव्य निर्वाह गर्न वा कुनै निश्चित जिम्मेवारी पूरा गर्न संवर्धन गर्ने क्रममा, ऊ पुरुष हो कि महिला हो भनेर हेर्नुहुन्न। परमेश्वर मानिसहरू पुरुष भए पनि महिला भए पनि, तिनीहरूमा विवेक र समझ छ कि छैन, तिनीहरूको क्षमता मानकअनुरूप छ कि छैन, तिनीहरू सत्यता स्वीकार गर्छन् कि गर्दैनन् र तिनीहरू कुन मार्गमा हिँड्छन् भनी हेरेर तिनीहरूलाई बढुवा दिनुहुन्छ र प्रयोग गर्नुहुन्छ। अवश्य नै, परमेश्वर मानवजातिलाई मुक्ति दिने र सिद्ध गर्ने क्रममा, तिनीहरूको लिङ्गबारे विचार गर्नुहुन्न। यदि तँ महिला होस् भने, परमेश्वर तँ सद्गुणी, दयालु, सुशील, वा नैतिकवान् छस् कि छैनस्, वा शिष्ट छस् कि छैनस् भनेर विचार गर्नुहुन्न, अनि उहाँ पुरुषहरूलाई उनीहरूको पुरुषार्थ र पुरुषत्वका आधारमा मूल्याङ्कन गर्नुहुन्न—यी कुरा परमेश्वरले पुरुष र स्त्रीलाई मूल्याङ्कन गर्ने मानक होइनन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। परमेश्वरका वचनहरूबाट मैले के देखेँ भने, परमेश्वरको स्वभाव धर्मी छ, र उहाँ मानिसहरूलाई लिङ्गका आधारमा फरक व्यवहार गर्नुहुन्न। जब परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुभयो, उहाँले उनीहरूप्रति कुनै लैङ्गिक भेदभाव राख्नुभएन, र उनीहरूप्रति परमेश्वरको प्रेम र हेरचाह समान थियो, कुनै कृपावाद थिएन। आखिरी दिनहरूमा परमेश्वरले मानवजातिलाई मुक्ति दिन बोल्ने वचनहरू सबै मानिसप्रति लक्षित छन्, चाहे तिनीहरूको राष्ट्रियता, जाति वा लिङ्ग जेसुकै होस्। मैले मेरो अनुभवमा के पनि देखेँ भने, परमेश्वरको घरले मानिसहरूलाई बढुवा र प्रयोग गर्दा लिङ्गलाई ख्याल गर्दैन, बरु कुनै व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन र उसमा विवेक र समझ छ कि छैन भन्ने कुरालाई ख्याल राख्छ, र उसले हिँड्ने मार्गलाई हेर्छ। अगुवा र कामदारहरू ब्रदरहरू नै हुनुपर्छ, र अतिथि सत्कार गर्ने कर्तव्य सिस्टरहरूले नै गर्नुपर्छ भन्ने कुनै नियम छैन। उदाहरणका लागि, म एक जना ब्रदरलाई चिन्थेँ र उनी पनि अतिथि सत्कार गर्ने कर्तव्य नै निर्वाह गरिरहेका थिए, र उनी समय पाउनेबित्तिकै परमेश्वरका वचनहरू पढ्नमा ध्यान केन्द्रित गर्थे। भेलाहरूको दौरान, उनी आफ्ना स्थिति र कठिनाइहरूबारे खुलेर सङ्गति गर्थे, र कठिनाइहरू सामना गर्नुपर्दा, उनी सत्यता खोज्थे र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नमा ध्यान केन्द्रित गर्थे। ती ब्रदरले लिङ्गको बन्धनमा नपरी आफ्नो कर्तव्य निर्वाह गरे। त्यसपछि मैले पुरुषप्रधानताको यो बेतुके दृष्टिकोणअनुसार जिउनु गलत र अतिवादी कुरा हो, र यो पूर्ण रूपमा परमेश्वरका वचनहरूको विरुद्धमा जान्छ भन्ने महसुस गरेँ। यी सत्यताहरू बुझेपछि, मैले यस पुरुषप्रधान मानसिकताबारे केही समझ प्राप्त गरेँ र म यसलाई हृदयबाट त्याग्न इच्छुक भएँ। म मेरो अतिथि सत्कार गर्ने कर्तव्यलाई पूर्ण रूपमा स्वीकार गर्न पनि सक्षम भएँ।
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ, र यो अतिथि सत्कार गर्ने कर्तव्य कसरी राम्रोसँग निर्वाह गर्ने भन्नेबारे म अझ स्पष्ट भएँ। परमेश्वर भन्नुहुन्छ: “तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, तैँले बुझ्नुपर्ने सिद्धान्तहरू र तैँले अभ्यास गर्नुपर्ने सत्यताहरू एउटै हुन्छन्। तँलाई अगुवा बन्न अनुरोध गरिए पनि वा कामदार बन्न अनुरोध गरिए पनि, वा अतिथि सत्कारकका रूपमा तैँले खान पकाए पनि वा तँलाई केही बाह्य कामकाज सम्हाल्न लगाइए पनि वा कुनै शारीरिक परिश्रम गर्न लगाइए पनि, यी विभिन्न कर्तव्यहरू निर्वाह गर्दा पालन गर्नुपर्ने सत्यता सिद्धान्तहरू उही हुन्छन्, र ती सबै कर्तव्यहरू सत्यता र परमेश्वरका वचनहरूमा आधारित हुनुपर्छ। अनि यी सिद्धान्तहरूमध्ये सबैभन्दा ठूलो र मुख्य कुन हो त? त्यो राम्रोसँग आफ्नो कर्तव्य निर्वाह गर्नमा तन, मन, र बल समर्पित गर्नु, र मानकअनुरूप कर्तव्य निर्वाह गर्नु हो। … उदाहरणका लागि, मानौँ ब्रदर-सिस्टरहरूका लागि खाना पकाउनु तेरो जिम्मेवारी हो, र त्यो तेरो कर्तव्य हो। तैँले यो कामलाई कसरी लिनुपर्छ? (हामीले सत्यता सिद्धान्तहरू खोज्नुपर्छ।) तँ सत्यता सिद्धान्तहरू कसरी खोज्छस्? यो वास्तविकता र सत्यतासँग सम्बन्धित हुन्छ। तैँले सत्यता कसरी अभ्यास गर्ने र यो कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने भनी सोच्नैपर्छ। यसमा सत्यताका कुन-कुन पक्षहरू समावेश हुन्छन्? पहिलो चरण के हो भने, तैँले सबैभन्दा पहिले यो जान्नैपर्छ, ‘म आफ्नै लागि खाना पकाउँदै छैनँ। यो मेरो कर्तव्य हो।’ यो दर्शनको पक्षसँग सम्बन्धित हुन्छ। दोस्रो चरण नि? (हामीले खाना कसरी राम्ररी पकाउने भनी सोच्नैपर्छ।) राम्ररी पकाउनुको मानक के हो? (हामीले परमेश्वरका मागहरूको खोजी गर्नैपर्छ।) ठीक हो। परमेश्वरका मागहरू मात्रै सत्यता, मानक र सिद्धान्त हुन्। परमेश्वरका मागहरूअनुसार कामहरू गर्—यो सत्यताको एउटा पक्ष हो। तैँले सबैभन्दा पहिले सत्यताको यो पक्षबारे सोच्नैपर्छ, र त्यसपछि चिन्तन गर्नैपर्छ, ‘परमेश्वरले मलाई यो कर्तव्य निर्वाह गर्न दिनुभएको छ। परमेश्वरले माग गर्नुभएको मानक के हो?’ तँसँग सबैभन्दा पहिले यो जग हुनैपर्छ। त्यसोभए, परमेश्वरको मानक पूरा गर्न तैँले कसरी कार्य गर्नुपर्छ? तैँले पकाएको खाना स्वस्थकर, स्वादिष्ट, स्वच्छ, र शरीरलाई हानिकारक नहुने हुनुपर्छ—यसमा यिनै कुरा समावेश हुन्छन्। जबसम्म तँ यो सिद्धान्तअनुसार कार्य गर्छस्, तबसम्म तैँले पकाएको खाना परमेश्वरका मागहरूअनुसार बनाइनेछ। म किन यसो भन्छु? किनभने तैँले यो कर्तव्यका सिद्धान्तहरू खोजिस्, र तेरा कार्यहरू परमेश्वरले तोक्नुभएको दायराभन्दा बाहिर गएनन्। तैँले कार्य गरेको तरिका सही थियो। तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिस्, र तैँले यो मानकअनुरूप हुने तरिकाले निर्वाह गरिस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ)। परमेश्वरका वचनहरूबाट मैले के देखेँ भने, हामीले जुनसुकै कर्तव्य निर्वाह गरे पनि सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नैपर्छ, र हामीले परमेश्वरका वचनहरूअनुसार त्यसलाई राम्ररी गर्न आफ्नो हृदय र मेहनत अर्पित गर्नुपर्छ। उदाहरणका लागि, मैले अतिथि सत्कार गर्ने कर्तव्य निर्वाह गर्दा, यदि खाना राम्ररी तयार गरिएन, जसले गर्दा अरूलाई खान मन नलाग्ने वा उनीहरूको स्वास्थ्यमा असर पर्ने अवस्था आयो भने, मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेको हुँदैन। खानाको कुरा आउँदा, मैले सुकाउनुपर्ने खानालाई सुकाउनुपर्छ, र खाइहाल्नुपर्ने खाना खेर जान नदिनका लागि खुवाइहाल्नुपर्छ। अझ, परमेश्वरको सबैभन्दा कडा विरोध गर्ने देश चीनमा, हामी अतिथि सत्कार गर्ने कर्तव्यमा सधैँ सतर्क रहनैपर्छ, आफ्नो वरपरको वातावरणलाई ध्यान दिनुपर्छ, र हाम्रा ब्रदर-सिस्टरहरूको सुरक्षा सुनिश्चित गर्नुपर्छ। यो बुझेपछि, फेरि तरकारी किन्न बजार जाँदा, मैले गुणस्तरीय र सस्तो सागसब्जी कसरी खरिद गर्ने भनेर सोचेँ, र अरूले के सोच्छन् भन्ने कुराको वास्तै गरिनँ। मैले स्वादिलो, पौष्टिक र स्वस्थकर खाना तयार गर्नुपर्छ भन्ने सिद्धान्त नै बनाएँ, र आफूलाई बनाउन नआउने खानाबारे म मेरा ब्रदर-सिस्टरहरूलाई सोध्थेँ वा भिडियो ट्युटोरियलहरूबाट सिक्थेँ। केही समयपछि, घरमा खाना पकाउने र सरसफाइ गर्ने दुवै कामको स्थितिमा ठूलो सुधार आयो। पछि, मैले इलेक्ट्रोनिक्स मर्मत गर्न एक जना ब्रदरसँग सहकार्य गरेँ, र म आफैँ अग्रसर भएर खाना पकाउँथेँ र घरका कामहरू गर्थेँ। कहिलेकाहीँ, ब्रदर-सिस्टरहरू हाम्रो घरमा आउँदा, उनीहरू हाम्रो प्रशंसा नगरी बस्नै सक्दैनथे, र यसो भन्थे, “तपाईँको घर कति सफा छ!” र “यो खाना कस्तो खाउँखाउँ लाग्दो देखिन्छ।” यी कुराहरू सुनेपछि, मैले हृदयको गहिराइदेखि नै परमेश्वरलाई धन्यवाद दिएँ।
मैले कर्तव्यहरू परमेश्वरले मानवजातिलाई दिएका आज्ञा हुन्, र हामीले लिङ्गको पर्वाह नगरी पूरा गर्नुपर्ने हाम्रो जिम्मेवारी र दायित्व हुन्, अनि हामीले यसलाई विनाशर्त स्वीकार गर्नुपर्छ र पूरा गर्न सक्दो प्रयास गर्नुपर्छ भन्ने बुझेँ। मैले के पनि बुझेँ भने, हामीले कुन कर्तव्य निर्वाह गर्छौं भन्ने कुराले फरक पार्दैन, र महत्त्वपूर्ण कुरा भनेको हामीले आफ्ना कर्तव्यहरूमा सत्यताको खोजी गर्नु र आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्नु हो। सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न खोज्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मेरा यी परिवर्तन र प्राप्तिहरू सबै परमेश्वरका वचनहरूले मलाई मार्गदर्शन गरेको नतिजा थिए। परमेश्वरलाई धन्यवाद!