१६. म अब आफ्नो कर्तव्यमा केन्द्रित हुन सक्षम भएकी छु
फेब्रुअरी २१, २०२४, घमाइलो दिन
आज लेखन-पठनको कामकी सुपरिवेक्षकले अचानक मलाई एउटा मेसेज पठाइन्: “आजभोलि, एउटा पटकथा लेख्न तपाईँ अलिकति समय निकाल्नु हुन्छ कि? त्यसो हुँदा तपाईँ पटकथा लेखनका कर्तव्य निर्वाह गर्ने तालिम लिन सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने हामी हेर्न सक्छौँ।” जब मैले यो मेसेज देखेँ, मलाई असीम उत्साह जाग्यो। लेख्नु मेरो सोख हो। यदि मैले मण्डलीमा पटकथा लेखनका कर्तव्य निर्वाह गर्न पाएँ भने, लेखिका बन्ने मेरो सपना पूरा हुनेथियो। अझ, पटकथा लेखकहरू सबै गहिराइ र विचार भएका मानिसहरू हुन्छन्, जसले आफ्ना ब्रदर-सिस्टरहरूको सम्मान जित्न सक्छन्। अहिले मैले पटकथा लेखनका कर्तव्य निर्वाह गर्ने मौका पाएकीले, मैले यसको कदर गर्दै यसको पूर्ण लाभ उठाउनुपर्छ।
फेब्रुअरी २४, २०२४, धुम्मिएको दिन
बाहिर कुहिरो र तुवाँलो लागेको छ। म एउटा हातमा गाला अड्याएर अर्को हातले माउस चलाउँदै, कम्प्युटरको स्क्रिनमा एकटकले हेरिरहेकी थिएँ। तर, मेरो ध्यान भने हजारौँ माइल टाढा थियो। एक दिनअघि मैले सुपरिवेक्षकलाई मेरो जाँच-पटकथा दिएकी थिएँ, र जवाफ कहिले आउनेछ भन्ने मलाई थाहा थिएन। अचानक, एउटा नोटिफिकेसनको घण्टी बज्यो। त्यो सुपरिवेक्षकले पठाएको भ्वाइस मेसेज थियो: “मैले तपाईँको जाँच-पटकथा पढेँ। त्यसमा अझै पनि धेरै कमी छन्। अहिलेका लागि, सायद तपाईँ पहिले लेखहरू छान्ने तालिम लिन सक्नुहुन्छ।” यो मैले चाहेको नतिजा थिएन। मेरो धारणाअनुसार, मलाई लेखहरू छान्ने काममा कुनै प्राविधिक विषयवस्तु हुँदैन, र पटकथा लेखन छाडेर यो काम गर्दा, मैले आफ्नो प्रतिभा देखाउने र अरूको कदर पाउने त्यति मौका पाउनेछैन भन्ने लाग्थ्यो। तर, जे भए पनि, यो पनि त लेखन-पठनसम्बन्धी कर्तव्य नै हो। अन्तर्द्वन्द्व र दोधार महसुस गर्दै, मैले यसलाई स्वीकार गरेँ।
मार्च ६, २०२४, घमाइलो दिन
मेरो सामु धेरै लेख थुप्रिएका छन्, मैले ती लेख पढिरहेकी भए पनि, मेरो मस्तिष्कमा सुपरिवेक्षकले भनेका कुराहरू निरन्तर खेलाइरहेकी छु। मलाई पटकथा लेख्न लगाउने उनको योजना त छ? मैले लामो समय लेखन-पठनका कर्तव्य निर्वाह नगरेकीले, मलाई पहिले लेखहरू छान्ने काम गर्न लगाई मैले यो मौकाको सदुपयोग गरी आफूलाई सत्यताले सुसज्जित गर्न सकूँ भन्ने सोचेकी हुन् कि? त्यसपछि मैले आफूले पटकथा लेख्दाका ती राम्रा दिनहरू सम्झिएँ। त्यो कर्तव्य निर्वाह गर्दा थकाइ लाग्ने भए पनि, हरेक दिन निकै सन्तुष्टिदायक हुन्थ्यो। अगुवाको मार्गदर्शनमा, मैले आफ्ना पेसागत सीपहरूमा छिटो प्रगति गरेँ, र म अगुवा र निर्देशकहरूसँग प्रायजसो समस्याहरूबारे कुराकानी र छलफल गर्थेँ। सबैले मलाई निकै सम्मान गर्थे। तर अहिले, म लेखहरू छान्ने निरस र चर्चारहित काम मात्र गर्न सक्छु। मेरा चिनजानका ब्रदर-सिस्टरहरूले मलाई मैले निर्वाह गरिरहेको कर्तव्य सोध्दा, मलाई तिनीहरूसँग यसबारे कसरी कुरा गर्ने भन्ने पनि थाहा छैन। मलाई के लाग्छ भने मैले लेखन-पठनका कर्तव्य निर्वाह गरिरहे पनि, म सतही रूपमा थोरबहुत बदलाव ल्याउने काम मात्र गर्दैछु: म जे गर्दैछु त्यो नाम पाउने लायक जस्तो पटक्कै लाग्दैन। म कहिले पटकथा लेख्ने मौका पाउनेछु भन्ने मलाई थाहै छैन। मैले जति धेरै सोचेँ, म उति नै नकारात्मक बन्दै गएँ, र मैले हातमा भएका लेखहरू पढ्ने कार्यलाई निरन्तरता दिन सकिनँ। त्यसपछि मैले पढ्नका लागि परमेश्वरका वचन खोजी गरेँ। परमेश्वर भन्नुहुन्छ: “कर्तव्य निर्वाह गर्ने सबैका हकमा, तिनीहरूको सत्यताको बुझाइ जतिसुकै गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल अभ्यास भनेको हरेक मोडमा परमेश्वरको घरका हितहरूका बारेमा सोच्नु, आफ्ना स्वार्थी चाहनाहरू, व्यक्तिगत नियत, मनसाय, इज्जत, र हैसियतलाई त्याग्नु, र परमेश्वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नु हो—तिनीहरूले गर्नुपर्ने न्यूनतम कुरा यही हो। यदि कर्तव्य निर्वाह गर्ने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निर्वाह गरेको नै भएन। तैँले सर्वप्रथम परमेश्वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्वरका अभिप्रायको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। यसलाई दुई चरणमा विभाजन गर, अलिकति सम्झौता गर—के तिमीहरूलाई यसले कामकुरा अलि सजिलो बनाउँछ जस्तो लाग्दैन? यदि तैँले केही समय यसरी अभ्यास गरिस् भने, तँलाई परमेश्वरलाई सन्तुष्ट पार्नु गाह्रो कुरा होइन भन्ने महसुस हुन थाल्नेछ। यसबाहेक, यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस्; आफ्ना दायित्व र कर्तव्य पूरा गर्न सक्छस्; आफ्ना स्वार्थी चाहना, नियत, र मनसायहरूलाई पन्छाउन सक्छस्; परमेश्वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्; र परमेश्वरको घरका हितहरू, मण्डलीको काम, र तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई पहिलो स्थानमा राख्न सक्छस् भने, केही समय यसरी अनुभव गरेपछि, तँलाई यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो, मानिसहरू इमानदार र स्पष्ट तरिकाले जिउनुपर्छ, र तिनीहरूले कायर, फोहोरी, नीच अस्तित्व जिउनु हुँदैन, बरु तिनीहरू सोझो र न्यायवान् हुनुपर्छ भन्ने महसुस हुनेछ। तँलाई यो एउटा व्यक्तिले जिउनुपर्ने स्वरूप हो भन्ने महसुस हुनेछ। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका यी वचन पढिसकेपछि, म आत्मग्लानिले भरिएँ। म रुँदै परमेश्वरको सामु प्रार्थना गर्न आएँ, “हे प्रिय परमेश्वर, ममा विवेकको साह्रै कमी छ, र म पूर्ण रूपमा स्वार्थी र घृणास्पद छु। मण्डलीले मलाई लेखन-पठनका कर्तव्य निर्वाह गर्ने मौका दिनु नै तपाईँले मलाई उच्च पार्नुभएको कुरा थियो, तर म असन्तुष्ट रहिरहेँ, र निरन्तर आफ्नै इज्जत र हैसियतको ख्याल गरिरहेँ। बाहिरी रूपमा, म मेरा पेसागत सीपहरू सुधार गर्न र अझ राम्रो तालिम लिन चाहन्छु, तर यसको पछाडि लुकेका अभिप्राय भनेको मेरो आफ्नै प्रतिष्ठा र हैसियतसम्बन्धी मात्र छन्। म केवल मेरो कर्तव्य महत्त्वपूर्ण छ कि छैन, यसले मलाई प्रसिद्धि पाउने मौका दिन्छ कि दिँदैन, र म यसलाई अरूको सम्मान जित्न प्रयोग गर्न सक्छु कि सक्दिनँ भन्ने कुराको मात्र ख्याल गर्छु। जब मेरा इच्छाहरू पूरा भएनन्, तब मैले प्रतिरोध महसुस गरेँ र नकारात्मक बनेँ, र म यो कर्तव्य निर्वाह गर्न अनिच्छुक समेत बनेँ। मैले आफूलाई पूर्ण रूपमा स्वार्थी र घृणास्पद थिएछु भन्ने देखेँ! मैले केही समयदेखि लेखन-पठनका कर्तव्य निर्वाह गरेकी छैनँ, र ममा धेरै सिद्धान्तहरूको बोध छैन। न ममा सत्यताको स्पष्ट बुझाइ छ। यदि मलाई वास्तवमै गएर पटकथा लेख्न भनिएको भए, मैले त्यो काम धान्नै सक्ने थिइनँ। मेरा लागि उचित बन्दोबस्त भनेकै पहिले लेखहरू छान्ने तालिम दिनु थियो। तर अझै पनि मैले यसप्रति प्रतिरोध महसुस गरेँ। ममा बोधको एकदमै कमी रहेछ! प्रिय परमेश्वर, म धेरै विद्रोही भएकी छु। म अबदेखि आफ्ना हितहरूको ख्याल गर्न चाहन्नँ। म मण्डलीका बन्दोबस्तहरूमा समर्पित हुन, र आफ्नो वर्तमान कर्तव्य राम्रोसँग निर्वाह गर्न इच्छुक छु।” प्रार्थना गरेपछि, मलाई धेरै हल्का महसुस भयो, र उप्रान्त यस मामिलाद्वारा मेरो हृदय बाधा वा बन्धनमा परेन। जब मैले अर्को पटक ती लेखहरू पढ्न थालेँ, म आफ्नो हृदयलाई शान्त पार्न सक्षम भएँ।
मार्च १९, २०२४, धुम्मिएको दिन
म झण्डै एक महिनादेखि लेखन-पठनको कर्तव्य निर्वाह गरिरहेकी छु, र आफूले पढेका लेखहरूमा केही समस्या पत्ता लगाउन सकेकी छु। मैले छानेर चुनेका केही लेखका भिडियोहरू बनाइएका छन्। म धेरै खुसी छु, र म यो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्छु भन्ने मलाई विश्वास छ। केही दिनअघि सुपरिवेक्षकले भनेको कुरा मलाई याद छ, “अहिले, मण्डलीमा पटकथा लेखकहरूको कमी छ। यदि तपाईँलाई रुचि छ भने, तपाईँ पटकथा लेख्ने अभ्यास गर्न सक्नुहुन्छ।” यी शब्दहरूले ममा ठूलो प्रभाव पारे। मेरा लागि पटकथा लेख्ने आशा अझै बाँकी छ जस्तो छ। मेरो क्षमता औसत भएपनि यदि मैले आफूलाई प्रशस्त सत्यताले सुसज्जित गरेँ भने, म बिस्तारै सुधार गर्नेछु। यही कारणले गर्दा, म हरेक समूह-अध्ययन सत्रको व्यग्र प्रतीक्षा गरिरहेकी हुन्छु। यसरी, म थप सिद्धान्तहरू सिक्न र आफ्ना पेसागत सीपहरू सुधार गर्न सक्छु। लामो समयपछि, म पटकथा लेख्नका लागि बढुवा हुन सक्ने सम्भावना पनि छ। आज समूह-अध्ययनको दिन थियो। सधैँझैँ, म सबेरै उठेँ, तर अध्ययन सत्र सुरु हुनुअघि, सुपरिवेक्षकरले मलाई भनिन्, “तपाईँ आफ्नो समयतालिकाअनुसार सहभागी हुन चाहनुहुन्छ भने सहभागी हुनुहोस्, होइन भने सहभागी नभए पनि ठिकै छ।” अचानक, मलाई अलि अप्ठ्यारो महसुस भयो। उनले किन मैले अध्ययन गर्न जरूरी ठानिनन्? के उनले हामीलाई पटकथा लेख्ने तालिमबारे बताएकी थिइनन् र? सुपरिवेक्षकले आखिर मलाई संवर्धन गर्ने योजना बनाएकी रहिनछन् भन्ने जस्तो देखिन्थ्यो। केही समयपछि, पटकथा लेख्ने अरू दुई जना सिस्टरहरूलाई केही काम पऱ्यो। सुपरिवेक्षकले भनिन्, “आज यहाँ सबै जना हुनुहुन्न। भोलि नै अध्ययन गरौँला।” मैले आफूलाई शान्त रहन बाध्य पार्दै जवाफ दिएँ, “हुन्छ।” अफलाइन भएपछि, म लामो समयसम्म अलमल्ल परेँ। मलाई पटकथा लेख्ने मौका पाउने मेरो सपना पूर्ण रूपमा चकनाचुर भएजस्तो लाग्यो। के सुपरिवेक्षकले म संवर्धन गरिनका लागि योग्य छैनँ, र मेरो क्षमता पटकथा लेख्नका लागि पर्याप्त छैन भन्ने सोचिन्? म समूह-अध्ययन सत्रमा सहभागी हुनु वा नहुनुले किन खासै फरक पारेन? आज मेरो मनस्थिति एकदम गिरेको छ। कुनै काममा जाँगर चल्दैन, र आफ्नो कर्तव्य निर्वाहमा मेरो कार्यदक्षता एकदमै कम भएको छ। सामान्यतया, म दिनमा एक दर्जन जति लेख पढ्न सक्छु, तर आज मैले थोरै मात्र पढेँ। मेरो सोचाइ पनि धेरै अन्योलपूर्ण थियो, र मैले आफूले छर्लङ्ग देख्न नसकेका समस्याहरूमाथि सोचविचार गर्ने प्रयास गर्न चाहिनँ। मलाई रुन मात्र मन लाग्यो। मेरा आँसु थामिनसक्नु गरी बगे। हृदयमा, मैले परमेश्वरलाई भनेँ, “प्रिय परमेश्वर, म पटकथा कसरी लेख्ने भनेर तालिम लिन र आफ्नो केही योगदान दिन चाहन्छु। मैले जतिसुकै कष्ट भोग्नुपरे पनि, केही छैन। मेरो बढुवा किन कहिल्यै हुँदैन? प्रिय परमेश्वर, म तपाईँको अभिप्राय बुझ्दिनँ…।”
मार्च २०, २०२४, घमाइलो दिन
झ्यालबाहिर चराहरूको बिहानी चिरबिरले मलाई सपनाबाट ब्युँझायो। सधैँझैँ, मैले आफ्नो फोन अन गरेँ र परमेश्वरका वचन पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तिमीहरूले आफूलाई आचरणमा ढाल्नुका सिद्धान्तहरू के-के हुन्? तिमीहरूले आफ्नो स्थानअनुसार आफूलाई आचरणमा ढाल्नुपर्छ, आफ्नो उचित स्थान खोज्नुपर्छ, र आफूले निर्वाह गर्नुपर्ने कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ; त्यसपछि मात्र तिमीहरू समझ भएको व्यक्ति हुन्छौ। उदाहरणका रूपमा, यदि तँ निश्चित पेसागत सीपहरूमा पोख्त छस् र तँसँग सिद्धान्तहरूको बोध छ भने, तैँले आफ्नो जिम्मेवारी वहन गरी त्यस क्षेत्रमा उचित जाँचपड्ताल गर्नुपर्छ; यदि तँ विचार र अन्तर्दृष्टिहरू प्रदान गर्न सक्छस्, अरूलाई आफ्ना कर्तव्य अझ राम्ररी निर्वाह गर्न तिनीहरूलाई उत्प्रेरित गर्न सक्छस् भने—तैँले विचारहरू प्रदान गर्नुपर्छ। यदि तैँले आफ्नो निम्ति सही स्थान भेट्टाउन र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर सहकार्य गर्न सकिस् भने, आफ्नो कर्तव्य पूरा गरिरहेको हुनेछस्—तैँले आफ्नो स्थानअनुसार आफूलाई आचरणमा ढाल्नु भनेको यही हो। सुरुमा तैँले विचार मात्र प्रदान गर्लास्, तर यदि अरू केही दिने प्रयास गरिस् र त्यसो गर्न सक्दो कोसिस गर्न थालिस्, तैपनि सकिनस्; र त्यसपछि अरूले ती कुराद दिँदा, तँलाई अप्ठ्यारो लाग्छ, र तँ सुन्न चाहँदैनस्, र तेरो हृदयमा पीडा हुन्छ र तँ विवश हुन्छस्, र परमेश्वरबारे गुनासो गर्छस् र परमेश्वर अधर्मी हुनुहुन्छ भनी भन्छस् भने—त्यो महत्त्वाकाङ्क्षा हो। व्यक्तिमा महत्त्वाकाङ्क्षा उत्पन्न गर्ने स्वभाव के हो? अहङ्कारी स्वभावले महत्त्वाकाङ्क्षा उत्पन्न गर्दछ। यी अवस्थाहरू निश्चय नै कुनै पनि समय तिमीहरूमा पैदा हुन सक्छन्, र यदि तिमीहरूले ती समाधान गर्न सत्यता खोजी गर्दैनौ, र तिमीहरूमा जीवन प्रवेश छैन, र यस सन्दर्भमा परिवर्तन हुन सक्दैनौ भने, तिमीहरूले कर्तव्यहरू निर्वाह गर्ने योग्यता र शुद्धताको स्तर झर्ने छ, अनि परिणामहरू पनि त्यति राम्रा हुने छैनन्। यो चित्तबुझ्दो कर्तव्य निर्वाह होइन र यसको अर्थ परमेश्वरले तिमीहरूबाट महिमा प्राप्त गर्नुभएको छैन। परमेश्वरले हरेक व्यक्तिलाई फरक-फरक सबलता र प्रतिभा दिनुभएको छ। कतिपय मानिससँग दुई वा तीन क्षेत्रमा सबलताहरू हुन्छन्, कति जनासँग एउटा क्षेत्रमा सबलता हुन्छ, र कसैमा एउटै पनि सबलता हुँदैन—यदि तिमीहरूले यी विषयहरूलाई सही तरिकाले लिन सक्यौ भने, तिमीहरूमा सुझबुझ छ। सुझबुझ भएको व्यक्तिले आफ्नो स्थान पत्ता लगाउन सक्छ, र आफ्नो स्थानअनुसार चल्न र राम्रोसँग आफ्नो कर्तव्य निभाउन सक्छ। आफ्नो स्थान कहिल्यै पनि पत्ता लगाउन नसक्ने व्यक्तिमा सधैँ महत्त्वाकाङ्क्षा हुन्छ। ऊ सधैँ हृदयमा हैसियत र लाभलाई पछ्याउँछ। ऊ आफूसँग भएको कुरामा कहिल्यै सन्तुष्ट हुँदैन। उसले अझै धेरै लाभ प्राप्त गर्न जतिसक्दो धेरै कुरा लिने प्रयास गर्छ; उसले सधैँ आफ्ना अत्यधिक इच्छाहरू पूरा गर्ने आशा गर्छ। उसले आफूसँग प्रतिभा र राम्रो क्षमता छ भने, आफूले परमेश्वरको अझै धेरै अनुग्रह पाउनुपर्छ, र आफूमा केही मात्रामा अत्यधिक इच्छा हुनु गलत होइन भन्ने सोच्छ। के यस्तो व्यक्तिमा सुझबुझ हुन्छ? के सधैँ अत्यधिक इच्छा राख्नु लाजमर्दो कुरा होइन र? विवेक र समझ भएका मानिसहरूलाई यो लाजमर्दो कुरा हो भन्ने लाग्न सक्छ। सत्यता बुझ्ने मानिसहरूले कहिल्यै पनि यी मूर्ख कुराहरू गर्ने छैनन्। यदि तँ परमेश्वरको प्रेमको ऋण तिर्न इमानदारीपूर्वक आफ्नो कर्तव्य निभाउन चाहन्छस् भने, यो अत्यधिक इच्छा होइन। यो सामान्य मानवताको विवेक र समझअनुरूप छ। यसले परमेश्वरलाई खुसी तुल्याउँछ। यदि तँ साँच्चै आफ्नो कर्तव्य राम्ररी निभाउन चाहन्छस् भने, तैँले पहिले आफ्ना लागि सही स्थान खोज्नैपर्छ, र त्यसपछि तैँले जे गर्न सक्छस् त्यो तेरो सारा हृदयले, तेरो सारा मनले, तेरो सारा शक्तिले र आफूले सके जति गर्। यसले मानक पूरा गर्छ, र यस्तो कर्तव्य निर्वाहमा केही शुद्धता हुन्छ। वास्तविक सृजित प्राणीले गर्नुपर्ने कुरा यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचन पढ्दै गर्दा, मलाई परमेश्वर मेरो छेउमै बसेर मलाई सान्त्वना दिँदै हुनुहुन्छ जस्तो लाग्यो। मेरो हृदयले न्यानो महसुस गऱ्यो। परमेश्वर हामीलाई आफ्नो स्थान फेला पार्ने, आफ्नो हैसियतअनुसार व्यवहार गर्ने, र हामीसँग भएका प्रतिभाहरूको पूर्ण उपयोग गर्ने स्वआचरणका सिद्धान्तहरू बताउनुहुन्छ। राम्रो पेसागत सीप भएका र सिद्धान्तको बलियो पकड भएका कतिपय मानिसहरूले अन्तिम जाँचको काम राम्रोसँग सम्हाल्नुपर्छ; र अन्तिम जाँच गर्न नसक्नेहरूले विचार वा सुझावहरू दिन सक्छन्, र आफ्ना ब्रदर-सिस्टरहरूसँग मिलेर आफ्ना कर्तव्यहरू पूरा गर्न काम गर्न सक्छन्। यसरी, परमेश्वर सन्तुष्ट हुनुहुनेछ। मैले आत्मचिन्तन गरेँ। मण्डलीले मैले लेखहरू छान्ने प्रबन्ध मिलायो। यसको एउटा पक्ष कामको आवश्यकता हो, भने अर्को पक्ष मेरो क्षमता र कदमा आधारित छ। तर ममा निरन्तर ठूला महत्त्वाकाङ्क्षाहरू थिए। मेरो क्षमता पटकथा लेख्नका लागि स्पष्ट रूपमा पर्याप्त छैन, तैपनि मैले मलाई त्यो अवसर नदिनुभएको भन्दै परमेश्वरप्रति गुनासो गरेँ। म साँच्चै कति अहङ्कारी थिएछु! म निरन्तर आफूलाई प्रदर्शन गर्न चाहन्थेँ, र सधैँ अरूले सम्मान गर्ने साहित्यिक प्रतिभा भएकी महिला बन्न चाहन्थेँ। यो इच्छा पूरा हुन नसक्नेबित्तिकै र मसँग मेरा प्रतिभाहरू प्रदर्शन गर्ने कुनै मञ्च नभएपछि, म नकारात्मक र अल्छी बनेँ। मलाई लेखहरू पढ्न पनि मन लागेन, र मैले आफूले छर्लङ्ग देख्न नसकेका समस्याहरूमाथि सोचविचार गर्ने प्रयास गर्न चाहिनँ। यसले लेखहरू छान्ने कार्य अगाडि बढाउनमा बाधा पुर्यायो। मलाई मैले आफ्नो कर्तव्य निर्वाह गर्दा त्यसमा आफ्ना बेलगाम महत्त्वाकाङ्क्षाहरू मिसाएकी रहेछु भन्ने थाहा भयो। म आफ्नो स्थानमा सन्तुष्ट थिइनँ: मलाई अरूले मात्र राम्रो मौका पाए भन्ने लाग्थ्यो, र मैले आफ्नो मुख्य काममा मन लगाउन पनि सकिनँ। म सधैँ आफ्नो सामर्थ्यभन्दा बाहिरको कर्तव्य निर्वाह गर्न चाहन्थेँ। यदि म सधैँ यस्तै अव्यवहारिक भएँ भने, पटकथा लेख्ने कुरा त परै जाओस्, म लेखहरू छान्ने कर्तव्य पनि राम्रोसँग निर्वाह गर्न सक्ने छैनँ। मलाई मेरो स्थिति निकै खतरनाक रहेछ भन्ने महसुस भयो। यदि मैले यसलाई चाँडै समाधान गरिनँ भने, म जुनसुकै बेला प्रकटित भई हटाइनेछु!
मार्च २४, २०२४, धुम्मिएको दिन
मलाई प्रतिष्ठा र हैसियत मेरो घातक कमजोरी हो भन्ने थाहा छ, तर मैले यो समस्या समाधान गर्न कहिल्यै कडा मेहनत गरेकी छैनँ। यस पटक, मैले ख्रीष्टविरोधीहरूले कसरी प्रतिष्ठा र हैसियत पछ्याउँछन् भनेर खुलासा गर्ने परमेश्वरका वचन खोजेँ। मैले परमेश्वरका यी वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य साधारण मानिसको भन्दा धेरै परको हदसम्म जान्छ र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र तिनीहरूले जीवनभर पछ्याउने लक्ष्य हो। आफूले गर्ने सबै कुराहरूमा तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले सुरुमा सोच्ने कुरा यही हो, जुन तिनीहरूसँग ख्रीष्टविरोधीहरूको स्वभाव र सार छ र यसैकारण मात्र तिनीहरू कामकुरालाई यसरी विचार गर्छन् भन्ने कुराको पर्याप्त प्रमाण हो। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले ख्याति र हैसियतको पछ्याइलाई छोड्न सक्दैनन्। तैँले तिनीहरूलाई जुनसुकै समूहका मानिसमाझ राखे पनि तिनीहरूले ख्याति र हैसियतबारे मात्रै सोच्न सक्छन्। ख्रीष्टविरोधीहरूले परमेश्वरमा विश्वास गर्ने भए पनि, तिनीहरू आफ्नो ख्याति र हैसियतको पछ्याइलाई परमेश्वरमाथिको विश्वास बराबर मान्छन् र यी दुइटा कुरालाई समान स्तरमा राख्छन्। भन्नुको मतलब, परमेश्वरमा विश्वास गर्ने मार्गमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियत पनि पछ्याउँछन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्वरमाथि विश्वास गर्दा सत्यताको पछ्याइ भनेको ख्याति र हैसियतको पछ्याइ हो, अनि ख्याति र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो—ख्याति र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। यदि तिनीहरूलाई आफूले ख्याति, प्राप्ति वा हैसियत प्राप्त गरेको छैन, कसैले पनि आफूलाई आदरभावले हेर्दैन, उच्च सम्मान गर्दैन, वा पछ्याउँदैन भन्ने लाग्यो भने, तिनीहरू उदास हुन्छन्, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्ने ठान्छन्, र तिनीहरूले मनमनै सोच्छन्, ‘के यसरी परमेश्वरमाथि विश्वास गरेर म असफल भएको हुँ? के मेरो लागि कुनै आशा छैन?’ तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा तिनीहरूको गुणगान गराउन सकिन्छ, आफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, प्राप्ति, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्। किन तिनीहरू सधैँ यस्ता कुराहरूलाई महत्त्व दिइरहन्छन् त? परमेश्वरका वचनहरू पढेपछि, उपदेशहरू सुनेपछि, के तिनीहरूले वास्तवमै यी सबै कुराहरू बुझ्दैनन् त? के तिनीहरू वास्तवमै यी सबै कुरा खुट्ट्याउन सक्षम छैनन् त? के परमेश्वरका वचनहरू र सत्यताले तिनीहरूका धारणा, विचार र रायहरूलाई बदल्न सक्दैनन् त? अवस्था बिलकुलै त्यस्तो होइन। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले र हृदयमा तिनीहरूले सत्यताप्रति वितृष्ण मान्ने हुनाले समस्या तिनीहरूमै हुन्छ, फलस्वरूप तिनीहरू सत्यता ग्रहण गर्न सक्दै नसक्ने हुन्छन्—र यो कुरा तिनीहरूको प्रकृति सारले निर्धारित गरेको हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरले भन्नुभयो, ख्रीष्टविरोधीहरूका निम्ति, प्रतिष्ठा र हैसियतको कदर गर्ने कुरा तिनीहरूको रगत र हड्डीमै हुन्छ। तिनीहरूले गर्ने हरेक कुरामा, तिनीहरूको पहिलो सोच नै आफ्नो प्रतिष्ठा र हैसियत, अनि मानिसहरू आफ्नो पछि लाग्ने र सम्मान गर्ने बनाउन कसरी कार्य गर्ने भन्ने हुन्छ। आफूले प्रतिष्ठा र हैसियत प्राप्त गर्न नसक्नेबित्तिकै, तिनिहरूलाई आफ्नो जीवनै खोसिएजस्तो हुन्छ, र तिनीहरूलाई जीवनको अब कुनै अर्थ छैन जस्तो लाग्छ। मेरो पछ्याइ पनि ख्रीष्टविरोधीको जस्तै भएको रहेछ। मैले आफू स्कुलमा हुँदा आफूले पुज्ने गरेकी एउटी कवयित्रीलाई सम्झिएँ। मलाई प्राचीन समयमा धेरै प्रतिभाशाली कवयित्रीहरू थिएनन्, र जुन कुरा दुर्लभ हुन्छ, त्यसको प्रशंसा छिट्टै गरिन्छ भन्ने लाग्थ्यो। म पनि भविष्यमा केही उपलब्धि हासिल गर्न चाहन्थेँ। म कुनै सानो, नाम नभएको व्यक्ति बन्न चाहन्नथेँ। मैले शैतानले मभित्र भरिदिएका “मानिसहरूमाझ वीर भएर बाँच, र मरेपछि आत्माहरूमाझ बहादुर आत्मा बन” र “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” जस्ता जियाइका नियमहरूलाई सर्वमान्य सिद्धान्तका रूपमा लिएकी थिएँ। आफू स्कुलमा हुँदा, म कक्षा समितिमा पर्न सकूँ भनेर धेरै मिहिनेत गरेर पढ्थेँ। स्कुल सकिएपछि, जब मेरा साथीहरू घर जान्थे, म केही साथीहरूले गृहकार्य पूरा गर्दा उनीहरूको सुपरिवेक्षण गर्न कक्षाकोठामै बस्थेँ। अन्ततः, शिक्षकले मलाई महत्त्व दिनुभयो। वास्तवमा, कक्षामा मेरो नतिजा सबैभन्दा उत्तम थिएन, तर साथीहरूमाझ आफूलाई अलग देखाउन, म लगनशीलताका साथ पढ्ने र विभिन्न विषयहरू सिक्ने गर्नुको सट्टा शिक्षकको अगाडि निरन्तर देखावटी गर्थेँ। अन्तमा, म कक्षा समितिमा परे पनि, त्यो एउटा नाम मात्रको पद थियो। तैपनि, म त्यो हैसियतले आफूलाई दिने आभाको आनन्द लिनबाट कहिल्यै अघाइनँ। मैले परमेश्वरमा विश्वास गर्न थालेपछि, मलाई प्रतिष्ठा र हैसियत पछ्याउनु गलत हो, र परमेश्वर मानिसको हैसियत कति ठूलो वा सानो छ भनेर हेर्नुहुन्न, बरु उसले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भनेर मात्र हेर्नुहुन्छ भन्ने महसुस भएपनि, आफ्नो हृदयमा, मैले अझै पनि प्रतिष्ठा र हैसियतको तिर्खा त्याग्न सकिनँ, र म आफ्नो कर्तव्यलाई अरूले महत्त्व र सम्मान दिन्छन् कि दिँदैनन् भन्ने कुरामा धेरै चासो राख्थेँ। यदि त्यो कुनै नदेखिने कर्तव्य हुन्थ्यो भने, म ठूलो पीडामा पर्थेँ र आफूले गर्ने कुनै पनि कुरामा रुचि जगाउन सक्दिनथेँ। यो ठ्याक्कै कस्तो थियो भने परमेश्वरले मलाई यी लेखन-पठनका कर्तव्य निर्वाह गर्न उच्च पारिसक्नुभएको थियो, तर मलाई लेखहरू छान्नु पटकथा लेख्नुजत्तिको महत्त्वपूर्ण छैन जस्तो लाग्थ्यो। त्यसैले म आफ्नो हृदयमा यस कर्तव्यलाई तुच्छ ठान्थेँ र सधैँ पटकथा लेख्न जान चाहन्थेँ। सुपरिवेक्षकले अप्रसङ्गवश भनेको एउटा कुराबाट, मैले सुपरिवेक्षकको मलाई संवर्धन गर्ने कुनै अभिप्राय छैन जस्तो ठानेँ, र म चरम पीडामा परेँ। मसँग केही गर्ने जाँगर थिएन। लेखहरू छानबिन गर्ने मेरो कार्यदक्षता पनि घट्यो, जसले लेख पेस गर्ने कार्य प्रगतिमा असर पुग्यो। मैले म शैतानका विचार र दृष्टिकोणहरूद्वारा बलियो गरी बाँधिइसकेकी रहेछु भन्ने देखेँ। वास्तवमा, लेखहरू छान्न हामीले केही सत्यताहरू बुझ्नुपर्छ र केही सिद्धान्तहरूको समझ हुनुपर्छ। नत्र भने, हामी कुन लेखहरू बहुमूल्य र उत्थानदायी छन् भनेर मूल्याङ्कन गर्न सक्नेछैनौँ। यदि मैले आफ्नो हृदय शान्त पारेर हरेक लेखले समेटेका सत्यताहरूमा गम्भीरतापूर्वक सोचविचार गर्न सकेकी भए, केही समयपछि मैले धेरै कुरा हासिल गर्ने थिएँ। तर, मैले ममाथि कति ठूलो अनुग्रह देखाइएको छ भन्ने महसुस गरिनँ। मैले प्रगतिको प्रयत्न गर्न यो कर्तव्य निर्वाह गर्दा आफूले प्रवेश गर्नुपर्ने सत्यता सिद्धान्तहरू खोजिनँ। बरु, मैले परमेश्वरलाई गलत बुझेँ र परमेश्वरले मलाई तालिम लिने अवसर दिनुभएन भनेर गुनासो गरेँ। म समझबाट असाध्यै पर रहेछु! सत्यता पछ्याउनमा ध्यान नदिइकन, मलाई वास्तवमै पटकथा लेख्न दिइएको भए र मेरो अहम् पूरा भएको भए पनि, मैले राम्रा पटकथा लेख्न सक्ने थिइनँ किनभने मसँग कुनै सत्यता वास्तविकता थिएन।
चिन्तनमार्फत्, मैले म वास्तवमा आफ्ना व्यक्तिगत आकाङ्क्षा र लक्ष्यहरू प्राप्त गर्नका लागि मात्र पटकथा लेख्न चाहन्थेँ भन्ने महसुस गरेँ। मैले आफ्नो कर्तव्य निर्वाहलाई मेरा आकाङ्क्षाहरू पूरा गर्ने भर्याङको रूपमा लिएकी थिएँ। मैले परमेश्वरका वचन पढेँ: “संसारमा, आफ्ना आदर्शहरू पूरा गर्न खोज्नुलाई उचित मानिन्छ। तैँले जुनसुकै आदर्शहरू पछ्याए पनि, यदि ती वैधानिक छन् र तिनले कुनै पनि नैतिक सीमाहरू पार गर्दैनन् भने त्यो ठीकै हुन्छ। कसैले केही प्रश्न गर्दैन, र तँ सही वा गलतको झमेलामा पर्दैनस्। तँलाई जे मन पर्छ तैँले त्यही कुरा पछ्याउँछस्, र यदि तैँले त्यो पाइस् भने, र तैँले आफ्नो उद्देश्य प्राप्त गरिस् भने, तँ सफल भएको हुन्छस्; तर यदि तैँले छुटाइस् भने, र तँ असफल भइस् भने, त्यो तेरै हातको कुरा हो। तर जब तँ परमेश्वरको घरमा, अर्थात् यो विशेष स्थानमा प्रवेश गर्छस्, चाहे तैँले त्यो बेला आफूसँग जुनसुकै आदर्श र इच्छाहरू बोकेर हिँडेको भए पनि, तैँले ती सबै कुरा त्याग्नुपर्छ। यस्तो किन गर्नुपर्छ? किनभने आदर्श र इच्छाहरू पछ्याउनु, अर्थात् तैँले निश्चित रूपमा जुनै कुरा पछ्याए पनि—अहिले पछ्याउने कार्यबारे मात्रै कुरा गरौँ—यसले लिने कार्य र यसले लिने मार्ग पूराको पूरा अहम्, स्वार्थ, हैसियत, र प्रतिष्ठामा केन्द्रित हुन्छ। यो कुरा यी सबै कुराहरूमै केन्द्रित हुन्छ। अर्को शब्दमा भन्दा, जब मानिसहरूले आफ्ना आदर्शहरू पूरा गर्ने प्रयास गर्छन्, यसको लाभार्थी तिनीहरू मात्रै हुन्छन्। के व्यक्तिले आफ्नो हैसियत, प्रतिष्ठा, अभिमान, र शारीरिक हितहरूको खातिर आफ्ना आदर्शहरू पछ्याउनु धर्मी कार्य हुन्छ? (अहँ, हुँदैन।) व्यक्तिगत र निजी आदर्श, सोचविचार, र इच्छाहरूको खातिर, तिनीहरूले लिने विधि र पद्धति सबै आत्मकेन्द्रित र व्यक्तिगत लाभकेन्द्रित हुन्छन्। यदि हामीले त्यसलाई सत्यताको आधारमा मापन गर्यौँ भने, ती न त धर्मी न त तर्कसङ्गत नै हुन्छन्। मानिसहरूले ती कुराहरू त्याग्नुपर्छ, के यो कुरा पक्का होइन र? (हजुर, हो।) … मण्डली, अर्थात् परमेश्वरको घर परमेश्वरको इच्छा पूरा गरिने, उहाँको वचन घोषणा गरिने, उहाँको गवाही दिइने, र उहाँका चुनिएका मानिसहरूले शुद्धीकरण र मुक्ति प्राप्त गर्ने ठाउँ हो। यो यस्तो ठाउँ हो। यस्तो ठाउँमा, कुनै काम वा परियोजना, चाहे त्यो जेसुकै नै किन नहोस्, के त्यो व्यक्तिगत आदर्श र इच्छा पूरा गर्ने कार्यसँग मिल्दो हुन सक्छ? त्यस्तो कुनै पनि काम वा परियोजना छैन जसको उद्देश्य व्यक्तिगत आदर्श र इच्छाहरू पूरा गर्ने होस्, न त यी कुराका कुनै पनि पक्ष व्यक्तिगत आदर्श र इच्छाहरू पूरा गर्नको लागि नै अस्तित्वमा छन्। त्यसकारण, के व्यक्तिगत आदर्श र इच्छाहरू परमेश्वरको घरमा अस्तित्वमा हुनु हुन्छ? (हुँदैन।) ती अस्तित्वमा हुनु हुँदैन, किनभने व्यक्तिगत आदर्श र इच्छाहरू परमेश्वरले मण्डलीमा गर्न चाहनुहुने हरकामसँग बाझिन्छन्। व्यक्तिगत आदर्श र इच्छाहरू मण्डलीमा गरिने हरकामसँग बाझिन्छन्। ती सत्यतासँग बाझिन्छन्, र परमेश्वरको इच्छा, उहाँका वचनहरूको घोषणा, उहाँको गवाही दिने कार्य, र परमेश्वरका चुनिएका मानिसहरूलाई शुद्ध पार्ने र मुक्ति दिने कार्यबाट अन्यत्रै मोडिन्छन्। व्यक्तिका आदर्शहरू जे-जस्ता भए पनि, जबसम्म ती व्यक्तिगत आदर्श र इच्छाहरू हुन्छन्, तबसम्म तिनले मानिसहरूलाई परमेश्वरको इच्छा पछ्याउनबाट बाधा दिन्छन्, र उहाँका वचनहरू घोषणा गर्ने र उहाँको गवाही दिने कार्यमा असर वा अवरोध पुर्याउँछन्। अनि अवश्य नै, जबसम्म ती व्यक्तिगत आदर्श र इच्छाहरू हुन्छन्, तबसम्म तिनले मानिसहरूलाई शुद्धीकरण र मुक्ति प्राप्त गर्न पनि दिन सक्दैनन्। यो कुरा दुई पक्ष बाझिने कुरा मात्रै होइन, यो त यी दुई पक्ष आधारभूत रूपमै एकअर्काको विपरीत रहेको कुरा हो। आफ्ना आदर्श र इच्छाहरू पछ्याउँदा, तैँले परमेश्वरको इच्छा पूरा गर्ने, उहाँका वचनहरू घोषणा गर्ने र उहाँको गवाही दिने कार्यमा, र साथमा मानिसहरूको र तेरो आफ्नै मुक्तिमा समेत बाधा दिन्छस्। छोटकरीमा भन्दा, मानिसहरूका आदर्शहरू जेसुकै भए पनि, ती परमेश्वरको इच्छा पछ्याउनका लागि होइनन् र ती कुराहरूले परमेश्वरप्रति पूर्ण समर्पणको वास्तविक परिणाम हासिल गर्न सक्दैनन्। जब मानिसहरूले आफ्ना आदर्श र इच्छाहरू पछ्याउँछन्, तब तिनीहरूको अन्तिम उद्देश्य भनेको सत्यता बुझ्नु वा आफूलाई के-कस्तो व्यवहारमा ढाल्ने, परमेश्वरका अभिप्रायलाई कसरी सन्तुष्ट पार्ने, र आफ्नो कर्तव्य कसरी राम्रोसँग पूरा गर्ने र सृष्टि गरिएको प्राणीको रूपमा रहेको आफ्नो भूमिका कसरी निभाउने भनेर बुझ्नु होइन। यसको उद्देश्य मानिसहरूले परमेश्वरप्रतिको साँचो डर र समर्पण प्राप्त गरून् भन्ने हुँदैन। बरु यसको विपरीत हुन्छ; व्यक्तिका आदर्श र इच्छाहरू जतिजति पूरा हुँदै जान्छन्, त्यतित्यति नै ऊ परमेश्वरबाट टाढिने र शैतानसँग नजिकिने हुन्छ। त्यसै गरी, व्यक्तिले आफ्ना आदर्शहरू जतिजति पछ्याउँदै र हासिल गर्दै जान्छ, त्यतित्यति नै उसको हृदय परमेश्वरविरुद्ध विद्रोही हुँदै जान्छ, त्यतित्यति नै ऊ परमेश्वरबाट टाढा हुँदै जान्छ, र अन्त्यमा, जब व्यक्तिले आफूले इच्छा गरेअनुसार आफ्ना आदर्शहरू पछ्याउँछ र आफ्ना इच्छाहरू साकार पार्छ र पूरा गर्छ, तब त्यति नै धेरै ऊ परमेश्वर, उहाँको सार्वभौमिकता, र उहाँको सबै कुरा घृणा गर्ने बन्छ। यस्ता व्यक्तिहरू त परमेश्वरलाई इन्कार गर्ने, विरोध गर्ने, र उहाँविरुद्ध खडा हुने मार्गसमेत हिँड्न सक्छन्। यही नै यसको अन्तिम परिणाम हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। परमेश्वरका वचनले मलाई मेरो हृदयभित्र लुकेको गलत पछ्याइबारे बुझाइ प्रदान गरे। मैले परमेश्वरको घर र मण्डलीलाई मेरा व्यक्तिगत आकाङ्क्षाहरू पूरा गर्ने स्थानको रूपमा लिएकी थिएँ, र मण्डलीका विभिन्न कर्तव्यहरूलाई संसारका विभिन्न पेसाहरूजस्तै मानेकी थिएँ। मलाई लेखन-पठनको काम मन पर्थ्यो, र म यस काममा आफ्नो महत्त्व प्रदर्शन गर्न सक्छु जस्तो लाग्थ्यो। मलाई साहित्य लेख्ने मानिसहरूमा बढी गहिराइ र धेरै विचारहरू हुन्छन्, र मानिसहरू उनीहरूलाई महत्त्व र ध्यान दिन्छन् भन्ने पनि लाग्थ्यो। आफ्नो कर्तव्य निर्वाह गर्दाको मेरो सुरुवातको बिन्दु, मेरो मुहान नै गलत थियो: त्यो भीडभन्दा अलग देखिनका लागि थियो, सत्यता पछ्याउन वा सत्यता प्राप्त गर्नका लागि थिएन। मैले लेखहरू छान्ने गर्ने कर्तव्य निर्वाह गरिरहेकी भएपनि, मैले लेखहरू पढ्ने आफ्नो कार्यदक्षता र समस्याहरू आकलन गर्ने आफ्नो क्षमता सुधार्नका लागि सिद्धान्तहरू खोज्ने वा आफूलाई सत्यताले सुसज्जित गर्ने कार्य विरलै गरेकी छु। बरु, म त बढुवा हुने प्रतीक्षा मात्र गरिरहेकी छु। सुपरभाइजरले हामीले अध्ययन गरिरहेको कुरा मेरो हालको कर्तव्यसँग असम्बन्धित रहेको बताउँदा, मैले सुपरभाइजरको मलाई संवर्धन गर्ने कुनै योजना नै छैन भन्ने सोचेँ, त्यसैले मैले नकारात्मकता र अल्छ्याँइमार्फत् आफ्नो हृदयको असन्तुष्टि पोखेँ। के म पूर्ण रूपमा असमझदार बनिरहेकी थिइनँ र? मैले के महसुस गरेँ भने हाम्रा आफ्नै आकाङ्क्षाहरू पछ्याउनु स्वार्थी कुरा हो: यसले हाम्रो कर्तव्यलाई अगाडि बढाउने कुरामा कुनै प्रभाव पार्दैन, र यसले मण्डलीको काममा बाधा समेत पुर्याउँछ। वास्तवमा, मेरो क्षमता औसत छ, र मेरो भाषागत सीप अलि न्यून छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त, म धेरै सत्यताहरू पूर्ण रूपमा बुझ्दिनँ, र पटकथा लेख्ने कामका लागि म योग्य नै छैनँ। मेरा लागि लेखहरू छान्ने बन्दोबस्त गरिनु उपयुक्त थियो। मण्डलीले मलाई लेखन-पठनको कर्तव्यमा तालिम लिने अनुमति दियो। तर, म आफ्नो स्थानमा सन्तुष्ट थिइनँ, र मैले परमेश्वरलाई गलत समेत बुझेँ। ममा साँच्चै समझको पूर्ण अभाव थियो! जस्तो कि परमेश्वर भन्नुहुन्छ: “व्यक्तिका आदर्शहरू जे-जस्ता भए पनि, जबसम्म ती व्यक्तिगत आदर्श र इच्छाहरू हुन्छन्, तबसम्म तिनले मानिसहरूलाई परमेश्वरको इच्छा पछ्याउनबाट बाधा दिन्छन्, र उहाँका वचनहरू घोषणा गर्ने र उहाँको गवाही दिने कार्यमा असर वा अवरोध पुर्याउँछन्। अनि अवश्य नै, जबसम्म ती व्यक्तिगत आदर्श र इच्छाहरू हुन्छन्, तबसम्म तिनले मानिसहरूलाई शुद्धीकरण र मुक्ति प्राप्त गर्न पनि दिन सक्दैनन्।” अहिले, मेरो हृदयले निकै उज्यालो महसुस गर्छ, र म परमेश्वर किन मानिसलाई आफ्ना आकाङ्क्षाहरू त्याग भन्नुहुन्छ भन्ने कुरा बुझ्छु। वास्तवमा, मण्डली परमेश्वरको इच्छा पूरा गरिने ठाउँ हो। यो एउटा यस्तो स्थान हो जहाँ मानिसहरू सत्यता पछ्याउन, शुद्ध हुन, र मुक्ति प्राप्त गर्न सक्छन्। तर, म हिँडेको बाटो परमेश्वरको अभिप्रायविपरीत दौडिरहेको थियो। यो अवधिमा, म हरेक दिन मेरा आकाङ्क्षाहरू कसरी पूरा गर्ने भनेर सोच्दै निकै संवेदनशील बन्थेँ। आफूले कर्तव्य निर्वाह गर्दैगर्दा कसैले भनेको अप्रासङ्गिक शब्दले पनि मेरो स्थितिलाई असर गर्थ्यो, र मेरो हृदय र मन दिनभरि अशान्त हुन्थ्यो। मैले परमेश्वरका बारेमा कुनै गुनासो व्यक्त गर्ने आँट नगरे पनि, म हृदयमा परमेश्वरसँग जुधिरहेँ, र परमेश्वरसँगको मेरो सम्बन्ध अत्यन्तै टाढा थियो। यो वास्तवमा एक प्रकारको मौन विरोध थियो। म परमेश्वरको प्रतिरोध गरिरहेकी थिएँ र परमेश्वरविरुद्ध विद्रोह गरिरहेकी थिएँ! मैले निरन्तर मेरा आफ्नै आकाङ्क्षाहरू पूरा गर्ने कुरा पछ्याएँ। यो एउटा गैरविश्वासीको दृष्टिकोण हो। यदि म यस मार्गमा लागिरहेकी भए, मेरा आफ्नै स्वभावहरू कहिल्यै परिवर्तन हुन सक्ने थिएनन्, साथै मैले मण्डलीको काममा अवरोध र बाधा पुर्याउने थिएँ। त्यसैले म जे गर्दै थिएँ त्यो असल कार्यहरू तयार गर्नु थिएन: यो त दुष्ट कार्यहरू थुपार्नु थियो। यो कुरा महसुस गरेपछि, म आफ्नो हृदयको गहिराइबाटै मेरा महत्त्वाकाङ्क्षी इच्छाहरू त्याग्न र मेरो हालको कर्तव्य राम्रोसँग निर्वाह गर्दै परमेश्वरलाई सन्तुष्ट पार्न इच्छुक भएँ।
अप्रिल २, २०२४, घमाइलो दिन
आज, मैले परमेश्वरका वचनको एउटा खण्डमा प्रतिष्ठा र हैसियत त्याग्ने बाटो फेला पारेँ। मैले परमेश्वरका वचन पढेँ: “त्यसोभए, एक सृजित प्राणीका कर्तव्यहरू के हुन्? एक सृजित प्राणीका जिम्मेवारीहरू के हुन्? परमेश्वरको वचनले सृजित प्राणीहरूका कर्तव्य, दायित्व, र जिम्मेवारीहरूलाई स्पष्ट रूपमा प्रस्तुत गर्छ, होइन र? मानौँ तैँले एक सृजित प्राणीको कर्तव्य लिएको छस्। त्यसोभए, आजको दिनदेखि, तँ परमेश्वरको घरको एक साँचो सदस्य होस्; अर्थात्, तैँले आफूलाई परमेश्वरको एउटा सृजित प्राणीका रूपमा स्वीकार गर्छस्। आजको दिनदेखि, तैँले आफ्नो जीवनका योजनाहरूलाई पुनःनिर्माण गर्नुपर्छ—तैँले आफ्नो जीवनका लागि तय गरेका पहिलेका आकाङ्क्षा, चाहना, र लक्ष्यहरूलाई अबदेखि पछ्याउनु हुँदैन। बरु, तैँले एक सृजित प्राणीका रूपमा तँसँग हुनुपर्ने जीवनका लक्ष्य र दिशाको योजना बनाउन एउटा नयाँ पहिचान र दृष्टिकोण अपनाउनुपर्छ। पहिला, तेरा लक्ष्य र दिशा अगुवाइको भूमिका लिने, वा कुनै उद्योगमा अगुवाइ गर्ने वा उत्कृष्ट हुने, वा कुनै निश्चित काममा संलग्न हुने वा कुनै विशेष पेसागत सीपमा निपुण हुने एक प्रसिद्ध व्यक्ति बन्ने हुनु हुँदैन। बरु, तैँले आफ्नो कर्तव्यलाई परमेश्वरबाट आएको भनी स्वीकार गर्नुपर्छ—अर्थात्, तैँले कुन काम गर्नुपर्छ र अहिले, यस क्षणमा, तैँले कुन कर्तव्य पूरा गर्न आवश्यक छ भनी जान्नुपर्छ, र तैँले परमेश्वरका अभिप्रायहरू खोजी गर्नैपर्छ। परमेश्वरले तैँले जे गर्न माग गर्नुभए पनि र परमेश्वरको घरले तेरा लागि जुनसुकै कर्तव्य प्रबन्ध गरेको भए पनि, तैँले त्यो कर्तव्य पूरा गर्नका लागि बुझ्नुपर्ने सत्यताहरू र तैँले पछ्याउनुपर्ने र बोध गर्नुपर्ने सिद्धान्तहरू पत्ता लगाउनैपर्छ र तँ तिनका बारेमा स्पष्ट हुनैपर्छ। यदि तैँले तिनलाई याद गर्न सक्दैनस् भने, तैँले तिनलाई लेखेर राख्न सक्छस् र, जब तँसँग समय हुन्छ, तब तिनलाई अझ बढी हेर्न र तिनलाई अझ बढी मनन गर्न सक्छस्। परमेश्वरका सृजित प्राणीहरूमध्ये एक भएको नाताले, तेरो प्राथमिक जीवन लक्ष्य एक सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्ने र मानकअनुरूपको एक सृजित प्राणी बन्ने हुनुपर्छ। तँसँग हुनुपर्ने सबैभन्दा आधारभूत जीवन लक्ष्य यही हो। दोस्रो र अझ विशेष कुरा भनेको एक सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने र मानकअनुरूपको सृजित प्राणी कसरी बन्ने भन्ने हो। यो सबैभन्दा महत्त्वपूर्ण छ। भ्रष्ट मानवजातिले पछ्याउने यी दिशा र लक्ष्यहरू—जस्तै प्रतिष्ठा, हैसियत, आडम्बर, र व्यक्तिगत भविष्य—ती सबै तैँले त्याग्नुपर्ने कुरा हुन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। परमेश्वरका वचनले मेरो हृदय उज्यालो बनाए। म एक सृजित प्राणी हुँ र मैले आफ्नो स्थानअनुसार मेरा कर्तव्यहरू पूरा गर्नुपर्छ। मैले मेरा आफ्नै आकाङ्क्षा र इच्छाहरू त्याग्नुपर्छ, र परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ। आज मण्डलीले मेरो लागि बन्दोबस्त गरेको कर्तव्य मलाई मन पर्ने होस् वा नहोस्, वा यो मैले महत्त्वपूर्ण ठानेको वा तुच्छ ठानेको काम होस्, परमेश्वरबाट आउँदासम्म, मैले यसलाई पूर्ण आज्ञाकारिताका साथ स्वीकार गर्नुपर्छ। अहिले म लेखहरू छान्ने जिम्मेवारीमा छु, त्यसैले मैले सिद्धान्तहरूअनुसार राम्रा लेखहरू छान्नुपर्छ, र यस काममा राम्रो नतिजा हासिल गर्न आफूले बुझ्न नसकेका समस्याहरूमा मेहनत गर्नुपर्छ।
अप्रिल ३, २०२४, घमाइलो दिन
हालसालै, एउटी नयाँ सिस्टर हाम्रो टोलीमा सामेल भएकी छिन्। उनी पटकथा लेख्ने तालिम लिँदै छिन्। मेरो मन फेरि अशान्त भयो। के सुपरिवेक्षकले पटकथा लेखकहरूको कमी छैन भनेकी थिइनन् र? मलाई बढुवा दिनुको सट्टा उनले किन नयाँ मान्छे खोजिन्? के म साँच्चै त्यति खराब छु? मैले म फेरि एकपटक प्रतिष्ठा र हैसियतबाट प्रभावित भइरहेकी छु भन्ने महसुस गरेँ, र हतार-हतार हृदयमा प्रार्थना गरेँ। जसले बढुवा पाए पनि, अहिले मैले गर्नुपर्ने कुरा भनेको आफ्नो कर्तव्य जारी राख्नु हो र यस कुराले विचलित नहुनु हो। त्यसपछि, मैले राम्रा लेखहरू कसरी छान्ने, र लेखमा भएको बुझाइ व्यावहारिक छ कि छैन भनेर कसरी मूल्याङ्कन गर्ने भन्नेसम्बन्धी सिद्धान्तहरू खोज्नमा समय र मेहनत लगाएँ। आफूले बुझ्न नसकेका कुराहरूका बारेमा मेरा सिस्टरहरूसँग छलफल गरेँ, र सकारात्मक दृष्टिकोणका साथ आफ्नो कर्तव्य निर्वाह गरेँ। मैले हैसियत पछ्याउन छोडेँ। बिस्तारै, मेरो हृदय धेरै शान्त हुँदै गयो, र म आफ्नो कर्तव्यमा अझ बढी ध्यान लगाउन सक्षम भएँ। मैले कर्तव्य निर्वाह गर्दा परमेश्वरको अगुवाइ पनि महसुस गर्न सकेँ। धन्यवाद परमेश्वर!