८०. रोगले सिकाएका पाठ

ली जिए, चीन

सन् २०२२ को अन्त्यतिर, एक बिहान उठ्दा मलाई एक्कासि रिङ्‌गटा लाग्यो। म हतारिएर उठेकीले यस्तो भएको होला भन्ठानेर मैले छिट्टै आँखा चिम्लेँ, अनि एकैछिनमा अलि सञ्चो भयो। तर साँझपख, फेरि रिङ्‌गटा लाग्न थाल्यो, चार-पाँचचोटि आउने-जाने भइरह्यो, अनि मलाई कतै कुनै रोग त लागेन भनेर चिन्ता लाग्न थाल्यो। अस्पतालमा जँचाउँदा, मेरो रक्तचाप १९५ mmHg पुगेको रहेछ। म आश्चर्यचकित भएँ, अनि सोचेँ, “मैले यी वर्षहरूमा आफ्नो आस्थामा सधैँ त्याग गरेकी छु र आफूलाई समर्पित गरेकी छु, धेरै दुःखकष्ट भोगेकी छु, अनि परमेश्‍वरले मेरो स्वास्थ्यलाई राम्रो राख्नुभएको छ। मेरो रक्तचाप कसरी एक्कासि यति धेरै उच्च हुन सक्छ?” घर फर्कँदै गर्दा मेरो मन भारी भयो, अनि मैले मेरो बुबा उच्च रक्तचापले गर्दा मस्तिष्कघात भएर दश वर्षभन्दा बढी समयसम्म आधा शरीर पक्षाघात भई ओछ्यान पर्नुभएको र अन्ततः बित्नुभएको कुरा सम्झिएँ। मैले सोचेँ, “मेरो रक्तचाप यति उच्च छ, मेरो हालत पनि बुबाको जस्तै भयो भने के गर्ने? मैले आफ्नो स्वास्थ्यको राम्रो हेरविचार गर्नुपर्छ। अब मैले पहिले जस्तो धेरै खटेर काम गर्नु हुँदैन। यदि मेरो स्वास्थ्य झनै बिग्रियो र मैले कर्तव्य निर्वाह गर्न सकिनँ भने, के म काम नलाग्ने हुँदिन र? यदि म मरेँ अनि मैले मुक्ति पाउने मौका गुमाएँ भने के होला?” म अत्तालिएको र चिन्तित स्थितिमा जिउन थालेँ। पछि, भेलाहरूमा ब्रदर-सिस्टरहरूले उच्च रक्तचापको उपचारबारे कुरा गरेको सुन्दा, म घरमा गएर तुरुन्तै ती उपायहरू अपनाइहाल्थेँ। म हरेक बिहान र बेलुका आफ्नो रक्तचाप नाप्थेँ, अनि रक्तचापको औषधि खान बिर्सने आँट पनि गर्दिनथेँ। म खानपानमा विशेष ध्यान दिन्थेँ र कसरी आफ्नो स्वास्थ्य सुधार गर्ने भन्नेबारे मात्र सोचिरहन्थेँ। केही समयपछि, मेरो रक्तचाप स्थिर भयो र रिङ्‌गटा लाग्न छोड्यो। मैले सोचेँ, “मैले आफ्नो स्वास्थ्य सुधार गरिरहनुपर्छ र पहिले जस्तो कडा मिहिनेत गर्नु हुँदैन, नत्र मेरो अवस्था बिग्रन सक्छ। जबसम्म म स्वस्थ रहन्छु र कर्तव्य निर्वाह गर्न सक्छु, तबसम्म मसँग मुक्ति पाउने मौका हुनेछ।” पछि, मैले कर्तव्य निर्वाह गरिरहेको जस्तो देखिए पनि, भित्रभित्रै ममा कुनै उत्प्रेरणा थिएन, अनि मुस्किल समयमा म सबैभन्दा पहिले आफ्नो स्वास्थ्यकै चिन्ता गर्थेँ। दिउँसो भेलाका क्रममा म मण्डलीमा समस्याहरू देख्थेँ, अनि साँझमा ती समस्या समाधान गर्न सत्यता खोज्नेबारे सोच्थेँ। तर जब अबेर भएको देख्थेँ, राति जाग्राम बस्दा रक्तचाप बढ्ला भन्ने डरले म हतार-हतार आराम गर्न जान्थेँ। म जिम्मेवार भएको एउटा मण्डलीमा, केही नयाँ सदस्यहरू तीन महिनादेखि भेलामा आएका थिएनन्। म गएर उनीहरूलाई मलजल गर्न र सघाउन चाहन्थेँ, तर उनीहरू दिउँसो काम गर्ने भएकाले, म राति मात्रै उनीहरूलाई मलजल गर्न जान सक्थेँ, र यदि म गएँ भने, मेरो आराममा असर पर्नेथियो। साथै, एक-दुई चरणको सङ्गतिले मात्र नयाँ सदस्यहरूलाई सघाउने काम प्रभावकारी हुन्थेन, र यसका लागि धेरै समय र ऊर्जा आवश्यक हुन्थ्यो। म मेरो शरीरले यो धान्न सक्छ कि सक्दैन भनी सोच्थेँ। यदि म धेरै थाकेँ र मेरो रक्तचाप बढ्यो भने, अनि बुबालाई जस्तै मलाई पनि मस्तिष्कघात भएर पक्षाघात भयो भने मैले के गर्ने? यस्तै कुरा मनमा लिएर, मैले ती नयाँ सदस्यहरूलाई सघाउने जिम्मा अरू ब्रदर-सिस्टरहरूलाई दिएँ। त्यस समयमा, म कर्तव्य निर्वाह त गर्दै थिएँ, तर म निरन्तर हैरानी र चिन्तामा जिइरहेकी थिएँ।

एकपटक, एउटा भेलामा, एक जना अगुवाले मलाई सुसमाचारको कामको सुपरिवेक्षण गर्न सक्नुहुन्छ भनेर सोध्नुभयो। मैले सोचेँ, “मेरो रक्तचाप अझै अलिकति उच्च नै छ, म सुसमाचार प्रचार त गर्न सक्छु, तर सुपरिवेक्षकको जिम्मेवारी सम्हाल्दा धेरै काम गर्नुपर्ने हुन्छ। मेरो शरीरले यो कसरी धान्ला?” मैले तुरुन्तै अगुवालाई भनेँ, “मेरो रक्तचाप धेरै उच्च छ र मेरो शरीरले यो धान्न सक्दैन, त्यसैले म यो कर्तव्य निर्वाह गर्न सक्दिनँ।” अगुवाले मलाई अझै खोजी गर्न भन्नुभयो। त्यो रात, ओछ्यानमा यताउति कोल्टे फेर्दै, म निदाउनै सकिनँ। मलाई थाहा थियो, सुसमाचारको विस्तारका लागि तत्कालै सहकार्यको खाँचो छ, तर मलाई ठूलो कार्यभार र सुपरिवेक्षक हुनुका अनगिन्ती चिन्ताहरूबारे पीर लाग्थ्यो। म धेरै खटेर काम गर्दा मेरो अवस्था झनै बिग्रन सक्छ र मस्तिष्कघात हुन सक्छ, अनि यदि म मरिनँ भने पनि, मलाई पक्षाघात हुन सक्छ भनेर डराएकी थिएँ, त्यसैले म सोच्थेँ, भविष्यमा मैले कर्तव्य निर्वाह गर्न सकिनँ भने म के कामको हुन्छु र? धेरै सोचविचार गरेपछि, मैले आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै बढी महत्त्वपूर्ण छ भन्ने निर्णय गरेँ, र अर्को पटक अगुवालाई भेट्दा, मैले जिम्मेवारीबाट पन्छिनका लागि बहाना बनाएँ। एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ, जसले मलाई एकदमै गहिरोसँग प्रभावित गर्‍यो। परमेश्‍वर भन्‍नुहुन्छ: “अर्को प्रकारका मानिसहरू पनि हुन्छन्: जो आफ्ना कर्तव्यहरू पूरा गर्न मान्दैनन्। परमेश्‍वरको घरले तिनीहरूलाई जस्तो अनुरोध गरे पनि, जस्तो काम गराए पनि, जस्तो कर्तव्य पूरा गर्न लगाए पनि, ठूलोसानो जस्तोसुकै मामलामा होस्, कहिलेकहीँ खबर पुर्‍याउनेजस्तो सरल काम नै भए पनि—तिनीहरू त्यो गर्न चाहँदैनन्। परमेश्‍वरको विश्‍वासी भनेर आफै दाबी गर्ने ती मानिसहरू कुनै गैरविश्‍वासीको मदत लिएर गर्न सकिने काम पनि गर्न सक्दैनन्। यो त सत्यता स्विकार्न र कर्तव्य पूरा गर्न नमान्‍नु हो। दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई जसरी अर्ती दिए पनि, तिनीहरू त्यो इन्कार गर्छन्, स्वीकार गर्दैनन्; मण्डलीले तिनीहरूलाई कुनै कर्तव्य निर्वाह गराउने चाँजोपाँजो मिलाउँदा, तिनीहरू बेवास्ता गर्छन्, र त्यसलाई नकार्न अनेक बहाना बनाउँछन्। यिनीहरू कर्तव्य पूरा गर्न नमान्‍ने मानिस हुन्। परमेश्‍वरका नजरमा, त्यस्ता मानिसहरू पछि हटिसकेका हुन्छन्। परमेश्‍वरको घरले तिनीहरूलाई निकालेका वा तिनीहरूको नाम काटेका कारण तिनीहरू पछि हटेका होइनन्; बरु यो त तिनीहरूमै साँचो विश्‍वास नभएर हो—तिनीहरू आफूलाई परमेश्‍वरको विश्‍वासी हो भनी स्विकार्दैनन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, म झसङ्ग भएँ, अनि मैले सोचेँ, “आफ्नो कर्तव्य निर्वाह गर्न अस्वीकार गर्नु यति गम्भीर कुरा हो कि यसो गर्दा परमेश्‍वरद्वारा हटाइन सकिन्छ भन्ने त मलाई थाहै थिएन! अहिले सुसमाचारको काममा सहकार्य गर्न मानिसहरूको खाँचो भएको हुँदा, मैले परमेश्‍वरको हृदयको ख्याल गर्नुपर्छ र सुपरिवेक्षकको कर्तव्य लिनुपर्छ, अनि मैले गर्नुपर्ने काम गर्नुपर्छ, तर मेरो स्वास्थ्य बिग्रला भन्ने चिन्ताले गर्दा म कर्तव्यबाट पन्छिरहन्छु। के यो पनि आफ्नो कर्तव्य अस्वीकार गर्नु होइन र? त्यसो हो भने, के यसले गर्दा पनि म परमेश्‍वरद्वारा हटाइन सक्दिनँ र?” यस्तो सोच्दा म धेरै डराएँ। मलाई लाग्यो, अब मेरो लागि सबै सकियो, र मुक्ति पाउने कुनै मौका बाँकी छैन, अनि सुरुमै कर्तव्य अस्वीकार गरेकोमा मलाई पछुतो लाग्यो। तर जे हुनु भइसकेको थियो, त्यो बगेको खोला जस्तै थियो जुन फर्कँदैन। मेरो मन तुरुन्तै कुँडियो, र म एकदमै दिक्दार भएँ। ती दिनहरूमा, मेरो मुटु ढुङ्गाले थिचेजस्तो गह्रौँ महसुस हुन्थ्यो। मैले मेरो स्थिति गलत छ भन्ने महसुस गरेँ, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले आफ्नो कर्तव्य अस्वीकार गर्नु हुँदैनथियो। म समर्पित हुन र तपाईँको अभिप्राय खोज्न इच्छुक छु।”

एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “जब परमेश्‍वरले कुनै व्यक्तिलाई खुलासा गर्नुहुन्छ, तब उसले यसलाई कसरी सम्हाल्नुपर्छ, र के छनौट गर्नुपर्छ? उसले सत्यता खोज्नैपर्छ, र कुनै पनि हालतमा बेवकुफ बन्‍नु हुँदैन। परमेश्‍वरको न्याय र सजाय अनुभव गर्नु, अनि आफ्‍नो भ्रष्टता जस्ताको त्यस्तै देख्‍नु तेरा लागि राम्रो कुरा हो, तैपनि किन तँ नकारात्मक छस्? परमेश्‍वरले तैँले आफूलाई बुझ् भनेर, र तँलाई मुक्ति दिनका निम्ति तँलाई खुलासा गर्नुहुन्छ। वास्तवमा, तैँले प्रकट गर्ने भ्रष्ट स्वभाव तेरो प्रकृतिबाट उत्पन्‍न हुन्छ। परमेश्‍वर तँलाई खुलासा गर्न चाहनुहुन्छ भन्‍ने होइन, तर यदि उहाँले तँलाई खुलासा गर्नुभएन भने पनि, के तैँले यो प्रकट गर्दैनस् र? तैँले परमेश्‍वरमा विश्‍वास गर्नुअघि, उहाँले तँलाई खुलासा गर्नुभएको थिएन, त्यसकारण के तैँले जिएको सबै कुरा एउटा शैतानी भ्रष्ट स्वभाव थिएन र? तँ शैतानी स्वभावअनुसार जिउने व्यक्ति होस्। तँ यी कुराले गर्दा यति चकित हुनु पर्दैन। तँ अलिकति भ्रष्‍टता प्रकट गर्दा नै डरले थुरथुर हुन्छस्, र आफ्नो सबै कुरा खतम भयो, परमेश्‍वर तँलाई चाहनुहुन्‍न, र तैँले गरेका सबै कुरा खेर गएका छन् भन्‍ने सोच्छस्। बढ्ता प्रतिक्रिया नदे। परमेश्‍वरले मुक्ति दिने त रोबटलाई नभई भ्रष्ट मानिसलाई नै हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पावलको प्रकृति सार कसरी खुट्ट्याउने)। परमेश्‍वरका वचनहरूले सम्झाएको कुराले मलाई के बुझायो भने, वातावरणहरूको प्रबन्ध गरेर र मलाई प्रकट गरेर, परमेश्‍वरले मलाई दोषी ठहर्‍याइरहनुभएको वा हटाउने अभिप्राय राखिरहनुभएको थिएन, बरु, उहाँले मलाई सत्यता खोज्न, मभित्र कस्ता गलत सोच, दृष्टिकोण र अभिप्रायहरू मिसिएका छन् भनी चिन्न, अनि मेरो भ्रष्ट स्वभावलाई शुद्ध पार्न र परिवर्तन गर्न लगाउनका लागि आफ्ना वचनहरूको कठोर न्याय प्रयोग गरिरहनुभएको थियो। यो मेरो जीवनप्रति जिम्मेवार हुनु थियो। तर मैले परमेश्‍वरको अभिप्राय खोजेकी थिइनँ, र परमेश्‍वरका कठोर न्यायका वचनहरूको सामना गर्दा, मैले आत्मचिन्तन गरेकी वा पाठ सिकेकी थिइनँ। मैले परमेश्‍वरमाथि शङ्का गरेकी थिएँ र उहाँलाई गलत बुझेकी थिएँ, परमेश्‍वर मलाई हटाउन चाहनुहुन्छ भन्ने सोचेकी थिएँ, जसले गर्दा मैले नकारात्मक महसुस गरेँ र आफैँबारे फैसला गरेँ। मैले आफू कति विद्रोही भएकी रहेछु भन्ने महसुस गरेँ! म यसरी नै चलिरहन चाहन्नथेँ। म परमेश्‍वरले प्रबन्ध गर्नुभएको यस वातावरणमा सत्यता खोज्न र पाठ सिक्न इच्छुक भएँ।

मेरो खोजीको दौरान, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि कुनै व्यक्तिले मूल्यवान्‌ र अर्थपूर्ण जीवन जिउन चाहन्छ भने, उसले सत्यता पछ्याउनु अनिवार्य हुन्छ। पहिलो र सबैभन्दा मुख्य कुरा त, तिनीहरूमा जीवनसम्‍बन्धी सही दृष्टिकोण हुनुपर्छ, साथै जीवन र जीवनको बाटोमा सामना हुने विभिन्‍न ठूलासाना मामिलाहरूबारे पनि सही सोच र दृष्टिकोणहरू हुनुपर्छ। तिनीहरूले जीवनको सिलसिलामा वा दैनिक जीवनमा सामना गर्ने विभिन्‍न कुराहरूलाई चरम वा उग्र सोच र दृष्टिकोणले हेर्नुको सट्टा, सही दृष्टिकोण र सही अडानसाथ यी सबै मामलाहरूलाई हेर्नुपर्छ। अवश्य नै, तिनीहरूले यी कुराहरूलाई सांसारिक दृष्टिकोणले पनि हेर्नु हुँदैन, बरु तिनीहरूले त्यस्ता नकारात्मक र गलत सोच र दृष्टिकोणहरू त्याग्‍नुपर्छ। … एउटा उदाहरण दिएर भन्दा, मानौँ कुनै व्यक्तिलाई क्यान्सर लागेको छ र उसलाई मर्छु भन्‍ने डर छ। उसले मृत्यु इन्कार्ने प्रयास गर्छ र आफूलाई मृत्युबाट रक्षा होस् र थप केही वर्ष भए पनि आफ्नो आयु बढोस् भनेर उसले सुरक्षाको लागि निरन्तर परमेश्‍वरलाई प्रार्थना गर्छ। ऊ थप केही वर्ष बाँचे पनि, र उसले आफ्‍नो उद्देश्य प्राप्त गरेर अनि मृत्युबाट जोगिएर पाउने खुसी अनुभव गरे पनि, उसले हैरानी, चिन्ता, र बेचैनीजस्ता नकारात्मक संवेगहरू बोकेर हिँड्छ। … उसको मृत्युभन्दा पहिले, के उसले धेरै दौडधूप र मेहनत गरेन र? (हो, गर्‍यो।) अरूले जस्तै, उसले पनि परमेश्‍वरमा विश्‍वास गर्थ्यो र आफ्‍नो कर्तव्य पूरा गर्थ्यो, र बाहिरबाट हेर्दा, अरू कोही र उसमा कुनै भिन्‍नता देखिँदैनथ्यो। जब उसले रोग र मृत्यु सामना गर्‍यो, तब पनि उसले परमेश्‍वरलाई प्रार्थना गरिरह्यो र अझै आफ्‍नो कर्तव्य त्यागेन। उसले पहिले जत्ति नै काम गरिरह्यो। तैपनि, यसमा मानिसहरूले बुझ्‍नु र जान्‍नुपर्ने एउटा कुरा छ: यो व्यक्तिले लिएका सोच र दृष्टिकोणहरू निरन्तर नै नकारात्मक र गलत थिए। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा उसले भोगेको कष्ट वा चुकाएको मूल्य जति नै भए पनि, उसले आफ्‍नो खोजीमा यी गलत सोच र दृष्टिकोणहरू बोकिरह्यो। ऊ निरन्तर यी कुराहरूको नियन्त्रणमा रहिरह्यो र उसले आफ्‍नो कर्तव्यमा नकारात्मक संवेगहरूलाई ल्याइरह्यो, अनि आफू बाँच्‍न सकूँ, र आफ्‍नो उद्देश्य हासिल होस् भनेर उसले आफ्‍नो कर्तव्य पूर्तिलाई परमेश्‍वरको अघि चढाउने प्रयास गरिरह्यो। उसको खोजीको उद्देश्य सत्यता बुझ्‍नु वा प्राप्त गर्नु, वा परमेश्‍वरका सम्पूर्ण योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु थिएन। उसको खोजीको उद्देश्य यसको ठीक विपरीत थियो। ऊ आफ्‍नै इच्छा र मापदण्डहरूअनुसार जिउन, र आफूले पछ्याएको कुरा पाउन चाहन्थ्यो। ऊ आफ्‍नो भाग्य र आफ्‍नो जीवन र मृत्युसमेत आफै बन्दोबस्त र योजनाबद्ध गर्न चाहन्थ्यो। त्यसकारण, त्यो बाटोको अन्त्यमा, उसको परिणाम यो भयो कि उसले केही पनि प्राप्त गरेन। उसले सत्यता प्राप्त गरेन, बरु अन्त्यमा परमेश्‍वरलाई इन्कार गर्‍यो, अनि उहाँमाथिको विश्‍वास गुमायो। मृत्यु नजिक आइरहेको बेला पनि, उसले मानिसहरू कसरी जिउनुपर्छ र सृष्टि गरिएको प्राणीले सृष्टिकर्ताका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई कसरी लिनुपर्छ भन्‍ने कुरा बुझेन। त्यो उसको सबैभन्दा दयनीय र दुःखलाग्दो कुरा थियो। मृत्युको मुखमा पुग्दा पनि, उसले व्यक्तिको सम्पूर्ण जीवनभरि, सबै कुरा सृष्टिकर्ताको सार्वभौमिकता र बन्दोबस्तमा हुन्छ भन्‍ने कुरा बुझ्‍न सकेन। यदि सृष्टिकर्ताले तँ बाँचेको चाहनुहुन्छ भने, तँ घातक रोगको सिकार भए पनि, तँ मर्दैनस्। यदि सृष्टिकर्ताले तँ मरेको चाहनुहुन्छ भने, तँ जवान, स्वस्थ, र दह्रिलो भए पनि, तेरो समय आउँछ, र तँ मर्नु नै पर्छ। सबै कुरा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा हुन्छ, यो परमेश्‍वरको अख्तियार हो, र कोही पनि योभन्दा माथि उठ्न सक्दैन। उसले यस्तो सरल तथ्य पनि बुझ्‍न सकेन—के यो दयनीय कुरा होइन र? (हो।) उसले परमेश्‍वरमा विश्‍वास गरे पनि, भेलामा सहभागिता जनाए पनि, प्रवचन सुने पनि, र आफ्‍नो कर्तव्य पूरा गरे पनि, परमेश्‍वरको अस्तित्वमा विश्‍वास गरे पनि, उसले जीवन र मृत्युलगायत मानव नियति मानव इच्छाको अधीनमा होइन परमेश्‍वरको हातमा हुन्छ भन्‍ने कुरा स्विकार्न बारम्बार इन्कार गरिरह्यो। आफूलाई इच्छा लाग्यो भन्दैमा कोही पनि मरिहाल्‍न सक्दैन, र कसैले बाँच्‍न चाहन्छ र मृत्युको डर मान्छ भन्दैमा ऊ बाँच्छ नै भन्‍ने हुँदैन। उसले यस्तो सरल तथ्य पनि बुझ्‍न सकेन, अनि आउन लागेको मृत्यु सामना गर्दा पनि उसले यो कुरा देख्‍न सकेन, र व्यक्तिको जीवन र मृत्यु उसको हातमा हुँदैन, बरु सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएको कुरामा निर्भर हुन्छ भन्‍ने कुरा जानेन। के यो दुःखको कुरा होइन र? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (६))। परमेश्‍वरका वचनहरूको यो खण्ड पढिसकेपछि, म भक्कानिएर रोएँ। मलाई लाग्थ्यो, यतिका वर्ष परमेश्‍वरमा विश्‍वास गरेर मैले केही सत्यता वास्तविकता हासिल गरेकी छु, तर मलाई के थाहा थियो र, मैले परमेश्‍वरको सार्वभौमिकता पटक्कै बुझेकी रहेनछु, र उहाँको काम कसरी अनुभव गर्ने भन्ने मलाई थाहा नै रहेनछ। जब म बिरामी परेँ, मैले यो परमेश्‍वरबाट आएको भनी स्विकारेकी थिइनँ, न त मैले सत्यता खोजेकी वा यसबाट पाठ नै सिकेकी थिएँ। बरु, म गैरविश्‍वासीहरूको दृष्टिकोणअनुसार जिएकी थिएँ, र यो रोग थकानले गर्दा भएको हो अनि मैले आफ्नो शरीरको हेरचाहमा ध्यान दिनुपर्छ भन्ठानेकी थिएँ, र शरीरको राम्रो हेरचाह गरेर मात्रै निको भइन्छ, नत्र, मेरो हालत पनि बुबाको जस्तै हुनेछ र म एक दिन यही रोगले मर्न पनि सक्छु भन्ने लागेको थियो। जतिसक्दो चाँडो रोगबाट छुटकारा पाउन, मैले आफूले सुनेका जुनसुकै उपचारहरू अपनाउन हतार गरेकी थिएँ। म चिन्ता र थकानले मेरो अवस्था बिगार्छ भनी डराएकी थिएँ, त्यसैले म काममा समस्याहरू समाधान गर्नबाट पन्छिएकी थिएँ र मैले सघाउनुपर्ने नयाँ सदस्यहरूलाई अरूको जिम्मा लगाइदिएकी थिएँ। ममा मेरो कर्तव्यप्रतिको बोझको बोध झन्-झन् कम हुँदै गएको थियो। जब अगुवाले कामको सुपरिवेक्षण गर्न मलाई बढुवा गर्न चाहनुभयो, तब चिन्ता र थकानले मेरो रक्तचाप बढाउँछ र मलाई मस्तिष्कघात हुन्छ भन्ने डरले मैले त्यो कर्तव्य इन्कार गरेकी थिएँ। मैले परमेश्‍वरमा विश्‍वास गरेकी भए पनि, मैले उहाँको सर्वशक्तिमान्‌ता र सार्वभौमिकतामा भरोसा गरेकी थिइनँ, वा मेरो जीवन उहाँको हातमा छ भन्ने विश्‍वास गरेकी थिइनँ। मेरो सम्पूर्ण ध्यान कसरी आफ्नो स्वास्थ्य जोगाउने भन्नेमा केन्द्रित थियो, मानौँ, मानिसहरूको राम्रो स्वास्थ्य केवल आफ्नै प्रयासको नतिजा हो, र परमेश्‍वरको सार्वभौमिकतासँग यसको कुनै सरोकार छैन। मैले एउटा विश्‍वासीको जस्तो व्यवहार फिटिक्कै गरेकी थिएन! मैले कसरी परमेश्‍वरले निरन्तर सङ्गति गर्दै, हामीलाई उहाँका वचनहरूका आधारमा, र सत्यतालाई मापदण्डका रूपमा लिएर मानिस र कामकुरालाई हेर्न सिकाउनुहुन्छ भन्ने कुराबारे सोचेँ। जहाँसम्म मेरो स्वास्थ्यको कुरा छ, मलाई कुन रोग लाग्न सक्छ, म कहिले बिरामी हुन सक्छु, र म कहिले मर्न सक्छु भन्ने कुरा, परमेश्‍वरले यी सबै पहिल्यै निर्धारण गरिसक्नुभएको छ। यदि परमेश्‍वरले म मरेको चाहनुहुन्छ भने, मैले जतिसुकै राम्ररी आफ्नो हेरचाह गरे पनि, म बाँच्न सक्दिनँ, र यदि परमेश्‍वरले म बाँचेको चाहनुहुन्छ भने, मलाई गम्भीर रोग लागे पनि म मर्नेछैनँ। यो ती धनी मानिसहरू जस्तै हो जसले स्वास्थ्य जोगाउन दिनहुँ सर्वोत्तम खानेकुरा खान्छन्, तर समय आएपछि मृत्युलाई टार्न सक्दैनन्, जबकि, साधारण र सस्तो खाना खाएर गुजारा चलाउने धेरै सर्वसाधारण मानिसहरूमध्ये धेरै जना लामो समयसम्म बाँच्छन्। मानिसहरूको भाग्य स्वर्गद्वारा पूर्वनिर्धारित हुन्छ भनी गैरविश्‍वासीहरूले समेत स्वीकार गर्छन्। धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेर र उहाँका धेरै वचन खाएर-पिएर पनि, मसँग यति आधारभूत बुझाइको समेत कमी थियो। मेरो आस्था अत्यन्तै दयनीय थियो! मैले परमेश्‍वरका वचनअनुसार कामकुरालाई हेरेकी थिइनँ वा सत्यता खोजेकी थिइनँ। म निरन्तर कसरी आफ्नो स्वास्थ्य जोगाउने भन्ने बारेमा मात्र सोच्दै आइरहेकी थिएँ, मेरो हृदयमा परमेश्‍वरका लागि कुनै स्थान थिएन। म र गैरविश्‍वासीहरूमा के फरक थियो र? परमेश्‍वरले मलाई यो रोग लाग्न दिनुको उद्देश्य मलाई सत्यता खोज्न र यसबाट पाठ सिक्न लगाउनु, मभित्रका गलत अभिप्राय र दृष्टिकोणहरूलाई पखाल्नु र परिवर्तन गर्नु, अनि मेरो विचलित मार्गलाई सच्याउनु थियो। यो मेरा लागि परमेश्‍वरको मुक्ति थियो। यदि म पाठ नसिक्ने कुरालाई निरन्तर दिइरहन्थेँ भने, मेरो रोग कम भए पनि, मैले कुनै सत्यता पाउने थिइनँ, र यो व्यर्थको अनुभव हुने थियो। परमेश्‍वरको अभिप्राय बुझेपछि, मलाई पहिले जस्तो आफ्नो रोगले बाँधेको महसुस हुन छोड्यो। मैले आफ्नो नियमित आराम र कामको तालिकालाई उचित तरिकाले मिलाएँ, र मेरो मन कर्तव्यमा केन्द्रित हुन थाल्यो, यतिसम्म कि धेरै व्यस्त हुँदा, म आफू बिरामी भएको कुरा पनि बिर्सिन्थेँ। कहिलेकाहीँ त म औषधि खान वा रक्तचाप नाप्न पनि बिर्सिन्थेँ, असजिलो महसुस नै हुन्नथ्यो। व्यक्तिलाई जुनसुकै रोग लागे पनि, त्यो परमेश्‍वरको हातमा हुँदो रहेछ, र उसका पीर र चिन्ताहरू अनावश्यक रहेछन् भन्ने कुरा मैले भित्री रूपमै महसुस गरेँ। यी कुराहरूले केही परिवर्तन त गर्दैनन् नै, यिनले गर्दा व्यक्तिलाई शैतानले उल्लु बनाउँछ र सताउँछ, अनि ऊ अझ ठूलो कष्टमा जिउन बाध्य पनि हुन्छ।

पछि, एउटी सिस्टरले मलाई के याद दिलाइन् भने, रोग आइपर्दा, यदि हामी महत्त्वपूर्ण कर्तव्यहरू लिन अनिच्छुक हुन्छौँ, र हैरानी तथा चिन्ताका नकारात्मक भावनाहरूमा जिउँछौँ भने, यो कुरा के पछ्याउने भन्ने सम्बन्धी हाम्रो दृष्टिकोण र आशिष् पाउने हाम्रो अभिप्रायसँग सम्बन्धित हुन्छ। सिस्टरले याद दिलाएको कुरामार्फत, मैले यस सम्बन्धमा खोजी र चिन्तन गरेँ। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने निर्णय गर्नुअघि, हृदयभित्र आफ्नो भविष्य, आफ्ना आशिष्‌हरू, असल गन्तव्य, र मुकुटसमेत प्राप्त गर्ने अपेक्षाहरूले भरिन्छन्, र यी कुराहरू हासिल गर्ने कुरामा तिनीहरू सबैभन्दा बढी विश्‍वस्त हुन्छन्। तिनीहरू त्यस्ता अभिप्राय र आकाङ्क्षाहरू लिएर कर्तव्य निर्वाह गर्न परमेश्‍वरको घर आउँछन्। त्यसोभए, के तिनीहरूले कर्तव्य निर्वाह गर्दा त्यसमा परमेश्‍वरले अपेक्षा गर्नुहुने निष्कपटता, साँचो विश्‍वास र बफादारी हुन्छ त? यस बिन्दुमा, अझै पनि तिनीहरूको साँचो बफादारी, विश्‍वास, वा निष्कपटता देख्‍न सकिँदैन, किनभने हरेकले आफ्नो कर्तव्य निर्वाह गर्नुअघि पूर्ण रूपमा लेनदेनको मानसिकता बोकेको हुन्छ; हरेकले हितहरूद्वारा उत्प्रेरित भएर, अनि आफ्ना छचल्किरहेका महत्त्वाकाङ्क्षा र चाहनाहरूको पूर्वसर्तका आधारमा नै कर्तव्य निर्वाह गर्ने निर्णय गर्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुमा तिनीहरूको अभिप्राय के हुन्छ? सम्झौता गर्नु, विनिमय गर्नु हुन्छ। के भन्‍न सकिन्छ भने तिनीहरूले कर्तव्य निर्वाह गर्नका लागि तय गर्ने सर्तहरू यिनै हुन्: ‘यदि मैले आफ्नो कर्तव्य निर्वाह गरेँ भने, मैले आशिष्‌हरू प्राप्त गर्नैपर्छ र असल गन्तव्य पाउनैपर्छ। मैले परमेश्‍वरले मानवजातिका लागि तयार गरिएको छ भनेर भन्नुभएका सबै आशिष्‌ र फाइदा प्राप्त गर्नैपर्छ। यदि मैले ती कुराहरू प्राप्त गर्न सकिनँ भने, म यो कर्तव्य निर्वाह गर्नेछैनँ।’ तिनीहरू त्यस्ता अभिप्राय, महत्त्वाकाङ्क्षा र चाहनाहरू लिएर परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न आउँछन्। तिनीहरूसँग केही निष्कपटता भएजस्तो देखिन्छ, अनि अवश्य नै नयाँ विश्‍वासीहरू र भर्खरै आफ्नो कर्तव्य निर्वाह गर्न थालेकाहरूको हकमा भन्दा, यसलाई उत्साह भनेर पनि भन्‍न सकिन्छ। तर यसमा कुनै साँचो विश्‍वास वा बफादारी हुँदैन; त्यसमा त्यस हदको उत्साह मात्र हुन्छ। यसलाई निष्कपटता भन्‍न सकिँदैन। आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यप्रति ख्रीष्टविरोधीहरूको यो मनोवृत्ति हेर्दा, यो पूर्ण रूपमा लेनदेनमा आधारित हुन्छ र यो आशिष्‌हरू प्राप्त गर्ने, स्वर्गको राज्यमा प्रवेश गर्ने, मुकुट प्राप्त गर्ने, र इनामहरू प्राप्त गर्नेजस्ता फाइदाहरूप्रति तिनीहरूका इच्छाहरूले भरिएको हुन्छ। त्यसकारण, बाहिरबाट हेर्दा के देखिन्छ भने, धेरै ख्रीष्टविरोधीले निष्कासित हुनुभन्दा पहिले, आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन् र तिनीहरूले औसत व्यक्तिले भन्दा बढी त्याग गरेका र कष्ट भोगेका हुन्छन्। तिनीहरूले समर्पित गर्ने कुरा र चुकाउने मूल्य पावलको जस्तै हुन्छ, र तिनीहरू पावलले भन्दा कम दौडधूप गर्दैनन्। यो कुरा सबैले देख्‍न सक्‍ने कुरा हो। तिनीहरूको व्यवहार अनि कष्ट भोग्‍ने र मूल्य चुकाउने तिनीहरूको सङ्कल्पका हिसाबमा हेर्दा त, तिनीहरूले केही पनि प्राप्त नगर्ने भन्‍ने त नहुनुपर्ने हो। तर परमेश्‍वर कुनै व्यक्तिलाई उसको बाहिरी व्यवहारका आधारमा होइन, उसको सार, उसको स्वभाव, उसले प्रकट गर्ने कुरा, र उसले गर्ने हरेक कुराको प्रकृति र सारका आधारमा हेर्नुहुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्‍वरका वचनले ठ्याक्कै मेरो स्थिति खुलासा गरे। परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, मण्डलीले मेरा लागि जुनसुकै कर्तव्यको प्रबन्ध गरे पनि, म कहिल्यै त्यसबाट पन्छिनँ, र मेरो गैरविश्‍वासी परिवारबाट अड्चन, कम्युनिस्ट पार्टीबाट सतावट, र संसारबाट खिल्ली र बदनामीको सामना गर्नुपरे पनि, परिस्थिति जतिसुकै गाह्रो वा कष्टकर भए पनि, कर्तव्य निर्वाह गर्ने मेरो अठोट कहिल्यै डगमगाएन। त्यसैले मैले परमेश्‍वरले मेरा सबै त्याग अवश्य सम्झनुहुनेछ भन्ठानेकी थिएँ, तर ममा देखिएको उच्च रक्तचापले आशिष् पाउने मेरो चाहना पूर्ण रूपमा प्रकट गरिदियो। मलाई आफू स्वस्थ रहूञ्जेल र आफूले निरन्तर कर्तव्य निर्वाह गर्न सकूञ्जेल, मुक्ति पाउने आशा हुन्छ भन्ने लाग्थ्यो। तर जब आफ्नो कर्तव्य निर्वाह गर्दा दुःख भोग्नु र मूल्य चुकाउनु पर्नेभयो, तब मलाई यसले मेरो स्वास्थ्य बिगार्छ र म आशिष् नपाइकन मर्छु भन्ने चिन्ता लाग्यो, त्यसैले मैले कुनै साँचो बफादारीविना नै कर्तव्यलाई झाराटारुवा तरिकाले लिएँ। यसो हुनुको कारण पूर्ण रूपमा “अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ,” र “सास भइन्जेल आस हुन्छ” जस्ता शैतानी विचार र दृष्टिकोणहरूको नियन्त्रण थियो। मेरो ज्यानै जोखिममा पार्ने सम्भावना भएको रोग आइपर्दा, म कष्ट भोग्न र आफूलाई समर्पित गर्न अनिच्छुक भएँ, र मेरा सारा समय आफ्नो परिणाम र गन्तव्यबारे चिन्ता गरेर बिताएँ, अनि आफ्नो कर्तव्यलाई झाराटारुवा तरिकाले र बोझको कुनै बोध नगरी सम्हालेँ, कहिलेकाहीँ त त्यसलाई अस्वीकार पनि गरेँ। मैले अक्सर आफू परमेश्‍वरलाई सन्तुष्ट पार्न कर्तव्य निर्वाह गर्दैछु भनेर भनेकी थिएँ, तर अहिले मैले मेरो कर्तव्य निर्वाह आशिष् पाउने चाहनाद्वारा निर्देशित रहेछ भन्ने महसुस गरेँ। मैले परमेश्‍वरप्रति बफादार भएजस्तो गरेर केही त्याग र अर्पित गरेजस्तो देखिए पनि, वास्तवमा, ममा परमेश्‍वरप्रति कुनै साँचो इमानदारी थिएन। यो सबै लेनदेन र छलको कुरा थियो। मैले के देखेँ भने, मेरो स्वभाव साँच्चै छली र दुष्ट रहेछ, अनि मेरा कष्ट र त्यागहरू परमेश्‍वरसँग मोलतोल गर्ने प्रयासहरू मात्र रहेछन्। म त ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी रहेछु! मैले परमेश्‍वर बोल्न र हामीलाई प्रशस्त सत्यता प्रदान गर्न कसरी देहधारी हुनुभयो, कसरी परमेश्‍वरले बदलामा केही नमागी हामीलाई यति धेरै दिनुभएको छ, र कसरी परमेश्‍वरको प्रेम र मुक्ति साँचो र वास्तविक छ, जबकि मैले चाहिँ पूर्ण रूपमा आफ्नै प्राप्ति र आशिष्‌हरूका लागि कर्तव्य निर्वाह गरेँ, र मेरो सानो त्याग पनि परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास थियो भन्ने बारेमा सोचेँ, मैले आफू कति स्वार्थी र विवेकहीन रहेछु भन्ने महसुस गरेँ! म यसरी चलिरहन सक्दिनथेँ। मैले तुरुन्तै पश्चात्ताप गर्नुपर्थ्यो। चाहे मैले आशिष पाऊँ वा दुर्भाग्य भोगूँ, म परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित भएर आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्थ्यो।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “आफ्नो जीवनमा सबैले मृत्युको सामना गर्नैपर्छ, अर्थात् सबैले आफ्‍नो यात्राको अन्त्यमा सामना गर्नुपर्ने कुरा मृत्यु नै हो। तर, मृत्युका विविध प्रकृति छन्। यीमध्ये एउटा के हो भने, परमेश्‍वरले पूर्वनियोजन गर्नुभएको समयमा, कुनै व्यक्तिले आफ्‍नै मिसन पूरा गरेको हुन्छ र परमेश्‍वर उसको भौतिक जीवनलाई अन्त्य गर्नुहुन्छ, त्यसैले उसको भौतिक जीवन समाप्त हुन्छ, तर यसको अर्थ उसको जीवन समाप्त भएको छ भन्‍ने हुँदैन। जब कुनै व्यक्तिको देहको अस्तित्व समाप्त हुन्छ, तब उसको जीवन समाप्त हुन्छ—के यस्तै नैहो त? (होइन।) मृत्युपछि तेरो जीवन कुन रूपमा अस्तित्वमा रहनेछ भन्‍ने कुरा तँ जीवित हुँदा परमेश्‍वरको काम र वचनहरूलाई कसरी लिन्छस् भन्‍ने कुरामा निर्भर हुन्छ—यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। मृत्युपछि तँ कुन रूपमा रहनेछस्, वा तँ अस्तित्वमा हुनेछस् कि छैनस् भन्‍ने कुरा तँ जीवित हुँदा परमेश्‍वर र सत्यताप्रतिको तेरो मनोवृत्तिमा निर्भर हुन्छ। यदि तँ जीवित हुँदा, तैँले मृत्यु र सबै प्रकारका रोग-बिमारीको सामना गर्दा, सत्यताप्रतिको तेरो मनोवृत्ति विद्रोह, विरोध, र वितृष्णाको छ भने, तेरो भौतिक जीवन समाप्त भएपछि, तँ कुन तरिकाले अस्तित्वमा रहनेछस्? तँ अवश्य नै अरू कुनै तरिकाले अस्तित्वमा रहनेछस्, र तेरो जीवन अवश्य नै जारी रहनेछैन। यसको विपरीत, यदि तँ जीवित हुँदा, तेरो देहभित्र चेतना हुँदा, सत्यता र परमेश्‍वरप्रति तैँले समर्पणता र बफादारिताको मनोवृत्ति देखाइस् र तँमा साँचो विश्‍वास छ भने, तेरो भौतिक जीवन समाप्त भयो भने पनि, तेरो जीवन अझै पनि अर्को क्षेत्रमा फरक रूपमा अस्तित्वमा रहिरहनेछ। मृत्युको परिभाषा यही नै हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मेरो हृदय अत्यन्तै उज्यालो भयो! परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, सबैले मृत्युको सामना गर्नुपर्छ, तर हरेक मृत्युको प्रकृति फरक हुन्छ। कतिपय मानिस सत्यता पछ्याउँछन् र बफादारीसाथ आफ्नो कर्तव्य निर्वाह गर्छन्, अनि यदि मरेर जीवन समाप्त भयो भने पनि, यसको अर्थ उनीहरूले मुक्ति पाएका छैनन् भन्ने हुँदैन। उनीहरूले आफ्नो जीवनको मिसन पूरा गरी परमेश्‍वरकहाँ फर्केका हुन्छन्। यो अर्को रूपमा जिउनु हो। मैले मुक्ति जीवन वा मृत्युसँग सम्बन्धित छैन, बरु यो त परमेश्‍वर र सत्यताप्रति व्यक्तिको मनोवृत्तिमा निर्भर हुन्छ भन्ने कुरा पनि बुझेँ। सत्यता पछ्याउनु, सत्यता सिद्धान्तहरूअनुसार कामकुरा सम्हाल्नमा केन्द्रित हुनु, अनि परमेश्‍वरप्रति साँचो समर्पणता र साँचो डर हुनु नै मुक्तिको मानक हो। तर, जब ममाथि रोग आइपर्‍यो, म आफ्नो रोगमै रुमल्लिएर बसेँ, परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुन सकिनँ, अनि आफ्नो कर्तव्यलाई हल्का रूपमा लिएँ वा अस्वीकार समेत गरेँ। सत्यता नपछ्याईकन र आफ्नो स्वभाव परिवर्तन नगरीकन, मैले आफ्नो देहको जतिसुकै राम्रो हेरचाह गरे पनि, मैले मुक्ति पाउने थिइनँ। म निरन्तर आफ्नो रोगबारे चिन्तित थिएँ, र म आफ्नो कर्तव्य निर्वाह गर्ने कुरामा चिन्तित हुन वा थकित हुन चाहन्नथेँ, महत्त्वपूर्ण आज्ञाहरू स्वीकार गर्ने त झन् कुरै भएन। मैले धेरै चिन्ता नगरेकी वा ठूलो मूल्य नचुकाएकी भए पनि, मैले एउटा सृजित प्राणीबाट अपेक्षा गरिने जिम्मेवारीहरू पूरा गरेकी थिइनँ, जसले गर्दा अपूरणीय पछुतो र ऋण बाँकी रह्यो। जब म यसबारे सोच्थेँ, मेरो विवेक अशान्त हुन्थ्यो। त्यतिबेला मात्रै मैले व्यक्तिको जीवनकालमा उसको शारीरिक अवस्था जस्तोसुकै भए पनि, सत्यता पछ्याउँदा र राम्ररी कर्तव्य निर्वाह गर्न आफूले सक्दो गर्दा मात्रै जीवनले मूल्य र अर्थ पाउँदो रहेछ, अनि बिरामी वा थकित हुँदा पनि, यो जीवनभर रित्तोपनमा जिउनुभन्दा धेरै गुणा उत्तम हुँदो रहेछ भन्ने कुरा साँचो रूपमा महसुस गरेँ। यो महसुस गरेपछि, ममा कर्तव्य निर्वाह गर्ने जोस आयो र मैले भित्री रूपमै सत्यता पछ्याउने र लगनशीलताका साथ कर्तव्य निर्वाह गर्ने, अनि यदि परमेश्‍वरले मलाई अर्को मौका दिनुभयो भने, अब उप्रान्त म आफ्नो देहमा ध्यान दिनेछैनँ भन्ने सङ्कल्प गरेँ।

तीन महिनापछि, अगुवाले मेरा लागि फेरि सुसमाचारको कामको सुपरिवेक्षण गर्ने प्रबन्ध गर्नुभयो। मलाई थाहा थियो, यो परमेश्‍वरले मलाई पश्चात्ताप गर्ने मौका दिनुभएको हो, र म आफ्नो रोगबारे चिन्तित भइरहन मिल्दैनथ्यो, त्यसैले मैले यो कर्तव्य स्वीकार गरेँ। वास्तवमा आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, मैले धेरै कठिनाइको सामना गरेँ र कहिलेकाहीँ मलाई अलि थकाइ पनि लाग्थ्यो, अनि मेरो शरीरले धान्न सक्दैन कि भनेर म अझै पनि चिन्ता गर्थेँ, त्यसैले मैले मेरो रोगलाई परमेश्‍वरको हातमा सुम्पेर उहाँलाई प्रार्थना गरेँ। मेरो रोग बिग्रिए पनि, म उप्रान्त कर्तव्यमा ढिलाइ गर्न चाहन्नथेँ। प्रार्थना गरेपछि, मेरो हृदय पहिले जस्तो बाँधिएको महसुस भएन। मैले आफ्नो आराम र कामको तालिका उचित तरिकाले मिलाएँ, र काममा कठिनाइहरू आइपर्दा, मैले मेरा सहकर्मी सिस्टरहरूसँग समाधानहरूबारे छलफल गरेँ। यस्तो अभ्यास मैले सोचेजस्तो थकाइलाग्दो थिएन, र परमेश्‍वरले मलाई दिनुभएका बोझहरू सबै मेरो वहन गर्ने क्षमताभित्रै छन् भन्ने मैले पाएँ। एक दिन, मैले अतिथि सत्कारक सिस्टरले रक्तचाप नाप्दै गरेको देखेँ, त्यसैले मैले आफ्नो पनि नापेँ, अनि म त छक्कै परेँ, मेरो रक्तचाप सामान्य थियो। मैले मेरो हृदयदेखि नै परमेश्‍वरलाई धन्यवाद दिएँ!

परमेश्‍वरका वचनहरूले नै पछ्याउनुपर्ने कुराहरूप्रतिका मेरा भ्रामक दृष्टिकोणहरू सच्याए, अनि मैले परमेश्‍वरको सार्वभौमिकता र पूर्वनियोजनबारे केही बुझाइ र अनुभव हासिल गरेँ। मैले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको केवल आशिष खोज्नु हुनु हुँदैन, र सत्यता पछ्याएर, परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित भएर, अनि सृजित प्राणीको कर्तव्य राम्ररी निर्वाह गरेर मात्रै जीवन मूल्यवान् र अर्थपूर्ण हुन सक्छ भन्ने कुरा पनि बुझेँ। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ७९. समस्याहरू रिपोर्ट गर्न लागेको डर

अर्को: ८१. मैले साँचो सुखी जीवन भेट्टाएँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्