८७. उच्च दबाबपूर्ण शिक्षाले मेरी छोरीलाई हानि पुर्यायो
म सानो छँदा मेरा आमाबुबाको सम्बन्धविच्छेद भयो। मेरी दिदी र म बुवासँग बस्थ्यौँ, र हाम्रो जीवन साँच्चै कष्टकर थियो। हाम्रो परिवार सम्पन्न थिएन, त्यसमाथि मेरो पढाइ पनि कमजोर थियो, त्यसैले जुनियर हाइस्कुल पुगेपछि मैले स्कुल छोडेँ र काम गर्न थालेँ। म अशिक्षित थिएँ र शारीरिक श्रम गर्ने कामहरू मात्र गर्न सक्थेँ। यो थकाउने र अपमानजनक थियो। मैले मनमनै सोचेँ, “म अशिक्षित भएकोले, यो जुनीमा तल्लो दर्जाको कामदार मात्र बन्न सक्छु। जब मेरा आफ्नै छोराछोरी हुन्छन्, तब म तिनीहरूलाई मजस्तो अशिक्षित बन्न दिनेछैन।” त्यसैले, जब मेरो बिहे भयो र मेरी जेठी छोरी जन्मिइन्, तब मैले के आशा गरेँ भने, उनले कडा मिहिनेत गरेर पढून् र उनी भविष्यमा राम्रो विश्वविद्यालयमा भर्ना होऊन्—यसको अर्थ उनको भविष्य राम्रो हुनेछ, र यसले आमाको रूपमा मलाई पनि राम्रो देखाउनेछ।
त्यस अवधिमा, म छोरीको हेरचाह गर्दै श्रीमानसँग मिलेर घरमै सानो व्यवसाय चलाउँथेँ। जब उनी दुई वर्षकी भइन्, तब मैले उनलाई सिकाउन अनलाइनबाट प्रारम्भिक सिकाइका किताबहरू किनेँ। खाना पकाउँदा वा लुगा धुँदा, म उनलाई सान जी जिङ सिकाउँथेँ वा थाङ कविताहरू कण्ठ गर्न लगाउँथेँ। कहिलेकाहीँ, जब म एउटा वाक्य भन्थेँ, तब उनले अर्को वाक्य सम्झेर भन्न सक्थिन्। उनले कति छिटो सिकिरहेकी थिइन् भन्ने देखेर मलाई लाग्यो, मेरी छोरी निकै चलाख छिन्, र उनले भविष्यमा पढाइमा पक्कै पनि उत्कृष्टता हासिल गर्नेछिन्। जब उनी चार वर्षकी भइन्, तब मैले उनलाई किन्डरगार्टेन पठाएँ। छ महिनापछि, तल्लो कक्षामा उनले धेरै नसिकिरहेको देखेर, मैले उनलाई मध्यम कक्षामा सारिदिएँ, र त्यो पूरा नहुँदै, मैले उनलाई माथिल्लो कक्षामा सारिदिएँ। मैले छोरीका लागि रोजेको पहिलो किन्डरगार्टेन हाम्रो घरबाट टाढा थिएन, तर पछि मैले के याद गरेँ भने छोरीले त्यहाँ धेरै सिकिरहेकी थिइनन्, र मैले मनमनै सोचेँ, “यो समय बच्चाहरूले आफ्नो जग बसाल्ने समय हो। यदि उनले यहाँ पढिरहिन् भने, यसले उनको भविष्यको सम्भावनामा बाधा पुर्याउनेछ।” त्यसैले, मैले कसैलाई सोधखोज गर्न लगाएँ, र हामी बस्ने ठाउँबाट अलि टाढा भए पनि राम्रो किन्डरगार्टेन फेला पारेँ। म हरेक दिन छोरीलाई स्कुल पुर्याउन र लिन जान्थेँ, र त्यस समयमा म सोच्थेँ, “छोरीलाई राम्रो किन्डरगार्टेन पठाउनु उनको भविष्यका लागि फाइदाजनक हुन्छ। यो जतिसुकै गाह्रो भए पनि सार्थक हुन्छ।” मेरी छोरीले राम्रो अङ्क ल्याऊन् भनेर, मैले खाना र अन्य खर्चमा कटौती गरेँ र ५०० युआनभन्दा बढी पर्ने रिडिङ पेन किनेँ। मलाई लागेको थियो, यसले उनको ग्रेड सुधार्न मद्दत गर्नेछ। पछि, मेरी छोरी १ कक्षामा गइन्, र उनलाई खेल्न धेरै मन पर्थ्यो, त्यसैले मैले एउटा नियम बनाएँ: हरेक दिन खाना खाएपछि, उनले अक्षरहरू लेख्ने अभ्यास गर्नुपर्छ, र त्यसपछि पाठ्यपुस्तकको एउटा खण्ड सुनाउनुपर्छ, अनि मात्र उनी खेल्न जान पाउँछिन्। मैले उनका लागि पढाइको सबै बन्दोबस्त गरिदिएको र त्यो नसकी खेल्न नपाउने देखेपछि, उनी रुन्थिन् र कोलाहल मच्चाउँथिन्। म रिसाउँथेँ र उनलाई गाली गर्दै भन्थेँ, “तिमीले कडा मिहिनेत गरेर पढ्यौ र यो सबै गृहकार्य गर्न सक्यौ भने, मैले यो नियम लागू गर्नै पर्दैन नि। के यो नियम तिम्रै भलाइका लागि होइन र? फलानोकी छोरीलाई हेर त; उसको ग्रेड कति राम्रो छ? उसका आमाबुबा कहिल्यै घरमा हुँदैनन्, तैपनि उसलाई कसरी कडा मिहिनेत गरेर पढ्ने भन्ने थाहा छ। यदि तिमीले कडा मिहिनेत गरेर पढिनौ भने, स्कुल सकेपछि तिमीले जागिर पनि पाउनेछैनौ, उज्ज्वल भविष्यको त कुरै छोड। त्यो बेला खानलाई केही भएन भने, मसँग रुँदै नआऊ।” मेरो गालीले छोरीलाई चुप लगाउँथ्यो, र उनी मन नलागी-नलागी मेरा मागहरू मान्थिन् र पढ्थिन्। यसरी, मेरो कडा नियन्त्रणमा, छोरीको ग्रेडमा सुधार आयो। उनले परीक्षामा ९० भन्दा माथि, र कहिलेकाहीँ ९९ सम्म पनि अङ्क ल्याउँथिन्। तर म अझै पनि उनलाई गाली गर्थेँ, “तिमीले १०० को सट्टा ९९ किन ल्यायौ?” त्यसपछि, म उनलाई कडा मिहिनेत गरेर पढ्न प्रोत्साहित गर्थेँ, र खाली समयमा थप अध्ययनका लागि सामग्रीहरू किनिदिन्थेँ ताकि उनले सकेसम्म चाँडो परीक्षामा १०० अङ्क ल्याउन सकून्। सन् २०२१ को जुन महिनामा, मेरी छोरी कक्षा २ मा पढ्थिन्, र उनको ग्रेड लगातार खस्कँदै थियो, त्यसैले मैले उनलाई गाली गर्दै भनेँ, “तिम्रो परीक्षाको नतिजा किन पछि परिरहेको छ!” मैले उनलाई कक्षामा ध्यान नदिएको आरोप पनि लगाएँ। घरमा, म उनी पढेको हेर्थेँ, र कहिलेकाहीँ, जब उनले मेरो कुरा सुन्दिनथिन्, तब म उनलाई पिट्थेँ। मलाई देख्नेबित्तिकै मेरी छोरी डराउँथिन्, र मेरो प्रतिरोध गर्ने आँट नभएर, उनी आफैँलाई पिट्थिन्; उनी मेरो नजिक पनि पर्दिनथिन्। उनले त हजुरआमालाई “ममीले मलाई माया गर्नुहुन्न” समेत भनेकी थिइन्। त्यतिबेला म असाध्यै रिसाएकी थिएँ, र मैले छोरीलाई भनेँ, “तिमी अझै सानै छौ र कुराहरू बुझ्दिनौ; म यो सबै तिम्रै भलाइको लागि गर्दै छु। म सानो छँदा कडा मिहिनेत गरेर पढिनँ, त्यसैले मसँग भविष्यको कुनै सम्भावना छैन र म केवल तल्लो दर्जाको मान्छे मात्र हुन सकेँ। तिमीले कडा मिहिनेत गरेर पढ्नै पर्छ; तिमी मजस्तो बन्नु हुँदैन।” मेरी छोरीसँग मेरा मागहरू मान्नुको विकल्प थिएन।
पछि, मैले परमेश्वरमा विश्वास गर्न थालेँ, र म मण्डली अगुवाको रूपमा पनि चुनिएँ। म मण्डलीको काममा अलि व्यस्त हुन्थेँ, र घरमा छोरीको पढाइ हेर्ने धेरै समय पाउँदिनथेँ। उनको ग्रेड धेरै नै खस्कँदै थियो; सुरुमा उनले ९० भन्दा माथि अङ्क ल्याउँथिन्, र पछि बिस्तारै घटेर ७० को हाराहारीमा पुग्यो। मैले मनमनै सोचेँ, “यस्तै चलिरह्यो भने त, उनले जुनियर हाइस्कुल पनि पास गर्न सक्दिनन् होला, राम्रो विश्वविद्यालयमा भर्ना हुने र उज्ज्वल भविष्य बनाउने कुरा त परै जाओस्। यदि मेरी छोरीको भविष्यको कुनै सम्भावना भएन भने, यसले आमाको रूपमा मलाई पनि नराम्रो देखाउनेछ।” त्यसैले, म दिउँसो मण्डलीको काममा व्यस्त हुन्थेँ, र राति छोरीलाई अतिरिक्त कक्षाहरू पढाउँथेँ। तर उनलाई खेल्न मन पर्थ्यो र उनी त्यति आत्म-अनुशासित थिइनन्, अनि उनको ग्रेड झन्-झन् खराब हुँदै गयो। उनको शिक्षकले मलाई फोन गरेर छोरीको ग्रेड गम्भीर रूपमा खस्कँदै गएको बताउनुभयो, र म जतिसुकै व्यस्त भए पनि, मैले छोरीको पढाइमा ध्यान दिनुपर्छ भनेर पनि भन्नुभयो। शिक्षकले भनेको कुरा सुनेर, मैले मनमनै गुनासो गरेँ। मलाई लाग्यो, म आफ्नो कर्तव्यमा धेरै व्यस्त भएकोले नै मैले छोरीको पढाइमा निगरानी राख्न पाइनँ, त्यसैले गर्दा उनको ग्रेड यति धेरै खस्किएको हो। यसले गर्दा, म अगुवाको कर्तव्य निर्वाह गर्न चाहिनँ, म केवल हरेक हप्ता भेलामा सहभागी हुन र त्यतिमै चित्त बुझाउन चाहन्थेँ। त्यसो गर्दा, मसँग घरमा छोरीको पढाइ हेर्ने धेरै समय हुने थियो। त्यस दिउँसो, एउटी अगुवा हामीसँग भेला हुन आउनुभयो, तर म जान चाहिनँ। मलाई यसरी सोच्नु गलत हो भन्ने थाहा थियो, र मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरी छोरीको ग्रेड गम्भीर रूपमा खस्कँदै छ, र यो यस्तै रहिरह्यो भने, यसले उनको भविष्यको सम्भावनामा बाधा पुर्याउनेछ भन्ने मलाई चिन्ता छ। यही कारणले गर्दा, म अब अगुवा बन्न चाहन्नँ। मलाई थाहा छ यो गलत हो; कृपया मलाई निर्देशन दिनुहोस् र मलाई अभ्यासको बाटो देखाउनुहोस्।” प्रार्थना गरेपछि, म भेलामा सहभागी हुन गएँ, जहाँ मैले अगुवालाई आफ्नो स्थितिबारे बताएँ। उहाँले मसँग सङ्गति गर्नुभयो, र मलाई घर पुगेपछि मानिसहरूले आफ्ना छोराछोरीलाई शिक्षा दिने गलत तरिकाहरू प्रकाश गर्ने परमेश्वरका वचनहरू पढ्न पनि सम्झाउनुभयो।
घर पुगेपछि, मैले यस विषयमा परमेश्वरका वचनहरू फेला पारेँ र पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “हरेक आमाबुबा वा अग्रजसँग आफ्ना छोराछोरीप्रति ठूला-साना विविध अपेक्षाहरू हुन्छन्। तिनीहरू आफ्ना छोराछोरीले मेहनतसाथ अध्ययन गर्नेछन्, सुशील व्यवहार गर्नेछन्, स्कुलमा उत्कृष्ट नतिजा ल्याउनेछन्, उत्कृष्ट विद्यार्थी बन्नेछन्, र अल्छी गर्नेछैनन् भनी आशा गर्छन्। तिनीहरू आफ्ना छोराछोरीलाई शिक्षक र सहपाठीहरूले सम्मान गरून्, र तिनीहरूको ग्रेड नियमित रूपमा ८० भन्दा माथि होस् भन्ने चाहन्छन्। बच्चाले ६० अङ्क प्राप्त गरेमा उसलाई पिटिनेछ, र उसले ६० भन्दा कम अङ्क ल्याएमा उसले भित्तामा फर्केर आफ्ना गल्तीहरूबारे सोच्नुपर्नेछ, वा सजायस्वरूप नहल्लीकन उभिनुपर्नेछ। उसलाई खान, सुत्न, टिभी हेर्न, वा कम्प्युटरमा खेल्न दिइनेछैन, र उसलाई पहिले किनिदिने भनिएका राम्रा कपडा र खेलौनाहरू अब किनिदिइनेछैन। हरेक आमाबुबाहरू आफ्ना छोराछोरीप्रति विविध अपेक्षाहरू राख्छन् र उनीहरूमाथि ठूलाठूला आशाहरू राख्छन्। तिनीहरू आफ्ना छोराछोरीले जीवनमा सफलता पाउनेछन्, आफ्नो करियरमा फड्को मार्नेछन्, र आफ्ना पुर्खा र परिवारलाई सम्मान र गौरव दिलाउनेछन् भनी आशा गर्छन्। कुनै पनि आमाबुबाले आफ्ना छोराछोरी मगन्ते, किसान, वा लुटेरा र डाँका बनेको चाहँदैनन्। आमाबुबाहरू आफ्ना छोराछोरीले समाज प्रवेश गरेपछि दोस्रो दर्जाका नागरिक बनून्, फोहोर टिपून्, फुटपाथ व्यापारी बनून्, हिँड्दै-हिँड्दै सामान बेचून्, वा अरूको हेय दृष्टिमा परून् भन्ने पनि चाहँदैनन्। छोराछोरीले आमाबुबाका यी अपेक्षाहरू पूरा गर्न सके वा नसके पनि, र जुनै अवस्था भए पनि, आमाबुबामा छोराछोरीप्रति अनेक अपेक्षाहरू हुने गर्छन्। तिनीहरूका अपेक्षाहरू भनेको तिनीहरूलाई राम्रो र आदर्शवान् लाग्ने कुरा वा खोजहरू आफ्ना छोराछोरीमाथि थोपर्ने, उनीहरूमा आशा भरिदिने, र उनीहरूले आमाबुबाका यी इच्छाहरू पूरा गर्नेछन् भनी आशा गर्ने काम हो। त्यसोभए आमाबुबाका यी चाहनाहरूले तिनीहरूका छोराछोरीमाथि अनजानमा के-कस्ता परिणामहरू सिर्जना गर्छन्? (दबाब।) यी कुराहरूले दबाब सिर्जना गर्छन्, अनि अरू के सिर्जना गर्छन्? (बोझ।) यी कुराहरू दबाब र जन्जिर बन्छन्। आमाबुबाले आफ्ना छोराछोरीप्रति अपेक्षाहरू राख्ने भएकाले, तिनीहरूले छोराछोरीलाई ती अपेक्षाहरूअनुसार नै अनुशासनमा राख्छन्, मार्गदर्शन गर्छन्, र शिक्षा दिन्छन्; तिनीहरू आफ्ना अपेक्षाहरू पूरा गरून् भनेर छोराछोरीमा लगानी गर्ने वा उनीहरूको लागि जतिसुकै मूल्य तिर्ने कामसमेत गर्छन्। उदाहरणको लागि, आमाबुबाहरू आशा गर्छन् कि तिनीहरूका छोराछोरी स्कुलमा उत्कृष्ट बन्नेछन्, कक्षाकै उत्कृष्ट हुनेछन्, हरेक जाँचमा ९० भन्दा बढी अङ्क ल्याउनेछन्, सधैँ एक नम्बरमा आउनेछन्—वा नराम्रै भए पनि, पाँचौँ स्थानभन्दा तल कहिल्यै आउनेछैनन्। यी अपेक्षाहरू व्यक्त गरिसकेपछि, के आमाबुबाले पनि आफ्ना छोराछोरीलाई यी लक्ष्यहरूमा पुग्न मद्दत गर्न निश्चित त्यागहरू गरिरहेका हुँदैनन् र? (हुन्छन्।) यी लक्ष्यहरूमा पुग्नलाई छोराछोरीले बिहान सबेरै उठेर पाठहरू दोहोर्याउनेछन् र घोक्नेछन्, र उनीहरूलाई साथ दिन आमाबुबा पनि सबेरै उठ्नेछन्। गर्मीयाममा तिनीहरूले छोराछोरीलाई फ्यान चलाइदिने, चिसो पेय पदार्थ बनाइदिने वा आइसक्रिम किनिदिने गर्छन्। तिनीहरू बिहान उठेर सुरुमै छोराछोरीको लागि सोया दूध, डो स्टिक, र अण्डा तयार पार्छन्। विशेषगरी परीक्षाको समयमा, आमाबुबाले आफ्ना छोराछोरीलाई एउटा फ्राइ डो स्टिक र दुइटा अण्डा खान दिन्छन्, र यी चिजहरूले उनीहरूलाई १०० अङ्क ल्याउन मद्दत गर्नेछ भन्ने आशा गर्छन्। यदि तैँले ‘यो सबै खान सक्दिनँ, एउटा अण्डा भए पुग्छ’ भनिस् भने, तिनीहरूले यसो भन्नेछन्, ‘ए मूर्ख, एउटा मात्र अण्डा खाइस् भने तैँले १० अङ्क मात्र ल्याउनेछस्। आमाको लागि अर्को पनि खा त। सक्दो कोसिस गर्; यदि तैँले यो खाइस् भने, तैँले सय अङ्क ल्याउनेछस्।’ बच्चाले भन्छ, ‘म भर्खरै त उठेको, अहिले नै खान सक्दिनँ।’ ‘हुँदैन, तैँले खानैपर्छ! असल बनेर आमाले भनेको मान्। आमाले यो तेरै निम्ति गरेकी हो, त्यसैले आमाको लागि भए पनि यो खा त।’ अनि, बच्चाले मनन गर्छ, ‘आमाले निकै ख्याल राख्नुहुन्छ। उहाँले गर्ने सबथोक मेरै लागि हो, त्यसैले म खानेछु।’ खान त अण्डा नै खाइन्छ, तर के निलिन्छ? दबाब; हिचकिचाहट र अनिच्छा निलिन्छ। खानु राम्रो हो र आमासँग उच्च अपेक्षाहरू छन्, र मानवता र विवेकको नजरले हेर्दा यी कुराहरू स्विकार्नुपर्छ, तर समझको आधारमा हेर्दाचाहिँ, व्यक्तिले यस्तो प्रेम नकार्नुपर्छ र यस्तो कार्यशैली स्विकार्नु हुँदैन। तर कठै, तैँले गर्न सक्ने केही छैन। यदि तैँले खाइनस् भने, ऊ रिसाउनेछे, र तैँले कुटाइ र गाली खानेछस् र तैँले श्रापसमेत पाउनेछस्। … तैँले आमाबुबाका अपेक्षाबाट कस्तो शिक्षा पाउँछस्? (परीक्षामा राम्रो गर्नुपर्छ र सफल भविष्य बनाउनुपर्छ भन्ने शिक्षा।) तैँले तेरो प्रण देखाउनुपर्छ, तेरी आमाको प्रेम, मेहनत र त्याग साकार पार्नुपर्छ, र आमाबुबाका अपेक्षाहरू हासिल गर्नुपर्छ र तिनीहरूलाई निराश तुल्याउनु हुँदैन। तिनीहरूले तँलाई औधी प्रेम गर्छन्, तेरो लागि सबथोक दिएका छन्, र आफ्नो जीवनमार्फत तेरो लागि सबथोक गरिरहेका छन्। अनि, तिनीहरूका सबै त्याग, शिक्षा र प्रेम के बनेका हुन्छन् त? ती तैँले तिर्नैपर्ने ऋण बनेका हुन्छन्, र त्यो सँगसँगै, ती तेरो बोझ बनेका हुन्छन्। बोझ यसरी नै उत्पन्न हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। परमेश्वरले के खुलासा गर्नुभएको थियो भने जब आमाबुबाले आफ्ना छोराछोरीप्रति अपेक्षाहरू राख्छन्, तब उनीहरूले गरेका सबै कुरा छोराछोरीकै भलाइका लागि हुन् भनेर उनीहरूले सधैँ सोच्छन्। उनीहरू आफ्ना छोराछोरी असल विद्यार्थी बनून्, राम्रा विश्वविद्यालयहरूमा भर्ना होऊन् र उनीहरू राम्रा डिग्रीहरू प्राप्त गरून् भन्ने चाहन्छन् ताकि उनीहरूले आफ्ना पुर्खाको नाम राख्न र उच्च सामाजिक हैसियत पाउन सकून्। उनीहरू आफ्ना अपेक्षाहरूमा आधारित भएर छोराछोरीले निश्चित तरिकाले कामहरू गरून् भन्ने माग पनि गर्छन्। तर, उनीहरूले उनीहरूका निरन्तरका मागहरूले छोराछोरीलाई कति तनाव दिन्छ भन्ने कुराबारे विचार गर्दैनन्। परमेश्वरले जे खुलासा गर्नुभयो त्यो ठ्याक्कै मेरो स्थिति थियो। मैले के देखेँ भने मेरी छोरी करिब दुई वर्षकी हुँदा निकै चलाख थिइन्, त्यसैले मैले उनी ठूली भएपछि कडा मिहिनेत गरेर पढ्नेछिन् र राम्रो विश्वविद्यालयमा भर्ना हुनेछिन् भन्ने आशा गरेँ। त्यसो भयो भने, अरूले मलाई ठूलो मान्छे ठान्ने मात्र होइनन्, यसले हाम्रा पुर्खाको नाम पनि राख्नेथियो। मसँग यस्ता अपेक्षाहरू भएपछि, मैले छोरीका लागि राम्रो स्कुल खोज्न थालेँ ताकि सानै उमेरदेखि उनको जग बलियो होस्। उनको पढाइका लागि, मैले खाना र दैनिक खर्चमा कञ्जुस्याइँ गरेर एउटा रिडिङ पेन पनि किनिदिएँ, र उनले परीक्षामा पूरा अङ्क ल्याउनुपर्छ भनी माग गरेँ, अनि सधैँ राम्रो ग्रेड ल्याउने छिमेकीको बच्चासँग उनको तुलना गर्थेँ। यदि मेरी छोरीले मैले बनाएको योजनाअनुसार काम गर्न मानिनन् भने, म उनलाई “मैले गरेको सबै तिम्रै भलाइका लागि हो” भनेर भन्थेँ, तैपनि उनले मेरो कुरा सुनिनन् भने, म उनलाई “भविष्यमा तिमी मगन्तेजस्तै भएर बाँच्नेछौ” भन्दै पाठ पढाउथेँ। यसले गर्दा उनले मेरो अवज्ञा गर्ने आँट गर्दिनथिइन् र उनीसँग कुनै स्वतन्त्रता थिएन। उनी मसँग तर्क गर्ने आँट गर्दिनथिइन्, बरु उनी आफैँलाई पिट्थिन्, र उनी मबाट झन्-झन् टाढा हुँदै गइन्। यी सबै गरेर, मैले उनको कलिलो मस्तिष्कमा हानिबाहेक केही पुर्याइनँ। तर पनि, म अझै पनि यी सबै उनको भलाइका लागि नै गर्दै छु भन्ने सोच्थेँ, र छोरीलाई यसरी निर्देशन दिनु वास्तवमा गलत हो भन्ने मैले महसुस नै गरिनँ।
मैले परमेश्वरका अरू वचनहरू पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “‘उनीहरूले धेरै कुराहरू सिक्नु आवश्यक छ, उनीहरू पछि पर्नु हुँदैन’ भन्नेदेखि ‘उनीहरू ठूला भएपछि, उनीहरू संसारमा धेरै अगाडि पुग्नुपर्छ, र समाजमा स्थापित हुनुपर्छ’ भन्नेसम्मका सन्तानप्रतिका आमाबुबाका अपेक्षाहरू बिस्तारै तिनीहरूले छोराछोरीलाई दिने मापदण्ड बन्छन्। त्यो मापदण्ड यस्तो हुन्छ: तँ ठूलो भएर समाजमा स्थापित भएपछि, आफू कहाँबाट आएको हुँ भन्ने कुरा नबिर्सनू, आफ्ना आमाबुबालाई नबिर्सनू, तैँले सुरुमा तेरा आमाबुबाको ऋण तिर्नुपर्छ, तैँले तिनीहरूप्रति सन्तानीय भक्ति धर्म देखाउनुपर्छ, र तिनीहरूलाई राम्रो जीवन जिउन मद्दत गर्नुपर्छ, किनकि यो संसारमा तिनीहरू नै तेरा हितकारी मानिसहरू हुन्, तिनीहरूले नै तँलाई तालिम दिएका हुन्; तँ अहिले समाजमा स्थापित हुनु, साथै तैँले पाएको सबथोक, र तँसित भएको सबथोक तेरा आमाबुबाको अथक प्रयासद्वारा आर्जित भएका हुन्, त्यसैले तैँले बाँकी जीवनभर तिनीहरूको ऋण तिर्न, हर्जाना भर्न, र तिनीहरूलाई असल व्यवहार गर्नमा खर्चनुपर्छ। छोराछोरी वयस्क हुनुपहिले उनीहरूप्रति आमाबुबाले राख्ने अपेक्षाहरू—अर्थात् छोराछोरी समाजमा स्थापित होऊन् र संसारमा अगाडि पुगून् भन्ने अपेक्षाहरू—यसरी विकसित हुँदै, बिस्तारै आमाबुबाका निकै सामान्य अपेक्षाबाट छोराछोरीप्रतिका आमाबुबाका एक प्रकारका मापदण्ड र उक्साहटमा परिणत हुन्छन्। मानौँ, छोराछोरी वयस्कावस्थामा नपुग्दैको समयमा, उनीहरूले राम्रो ग्रेड प्राप्त गर्दैनन् रे; मानौँ, उनीहरूले विद्रोह गर्छन् रे, पढ्न वा आमाबुबाको आज्ञापालन गर्न चाहन्नन् रे, अनि तिनीहरूको अवज्ञा नै गर्छन् रे। अनि, उनीहरूका आमाबुबाले यसो भन्नेछन्: ‘के तैँले यो मेरो लागि सजिलो छ भन्ठान्छस्? तँलाई मैले यो सबै कसको निम्ति गरिरहेको छु भन्ने लाग्छ? म यो काम तेरै राम्रोको लागि गरिरहेको छु, हैन र? मैले जे गर्छु त्यो तेरै निम्ति गर्छु, तर तँ त्यसको कदरसमेत गर्दैनस्। के तँ मूर्ख होस्?’ तिनीहरूले यी शब्दद्वारा छोराछोरीलाई तर्साउनेछन् र बन्धक बनाउनेछन्। के यस्तो शैली ठिक हो त? (होइन।) यो ठिक होइन। आमाबुबाको यो ‘आदर्शमयी’ पाटो तिनीहरूको घृणित पाटो पनि हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। परमेश्वरले आमाबुबाले छोराछोरीप्रति राख्ने अपेक्षाहरू पछाडि लुकेका अभिप्राय र मनसायहरूलाई खुलासा गर्नुभएको छ। उनीहरूले के आशा गर्छन् भने, छोराछोरी हुर्काउन उनीहरूले चुकाएको मूल्यपछि, जब छोराछोरी अरूभन्दा उत्कृष्ट बन्छन्, तब यसले उनीहरूलाई राम्रो देखाउनेछ, र उनीहरूको पुर्खाको नाम राख्नेछ, अनि उनीहरूले छोराछोरीबाट केही भौतिक लाभहरू पनि प्राप्त गर्नेछन्, र यसरी, उनीहरूले चुकाएको मूल्यको प्रतिफल पाउनेछन्। यदि परमेश्वरले यो खुलासा नगर्नुभएको भए, म सधैँ मेरी छोरीलाई कडा मिहिनेत गरेर पढ्न सिकाउनु र मेरो कडा नियन्त्रणमा राख्नु उनको उज्ज्वल भविष्यका लागि हो भन्ने सोच्थेँ। तर, ती सबैका पछाडि, यो त केवल मेरो व्यक्तिगत स्वार्थका लागि पो रहेछ। मैले मेरी छोरीलाई सानैदेखि संवर्धन गरेकी थिएँ, र उनले सानै हुँदा बलियो जग बसाल्न सकून् भन्ने आशा गरेकी थिएँ, अनि उनी भविष्यमा राम्रो विश्वविद्यालयमा भर्ना हुन र आफ्ना दौंतरीहरूभन्दा उत्कृष्ट बन्न सकून्। यसले हाम्रा पुर्खाको नाम मात्र राख्ने थिएन, मलाई पनि राम्रो देखाउने थियो। अझ, भविष्यमा मेरी छोरीको जीवन राम्रो भयो भने आमाको रूपमा मेरा लागि पनि राम्रो हुने थियो—उनी मप्रति पितृभक्त बन्नेथिइन्, र मेरो जीवनमा पनि केही सुधार आउनेथियो। जब मैले मेरी छोरीलाई खेल्न अलि बढी मन पर्छ भन्ने देखेँ, तब मलाई यसले उनको ग्रेडमा असर गर्छ भन्ने चिन्ता लाग्यो, त्यसैले म उनलाई गाली गर्थेँ र पिट्थेँ। कर्तव्य निर्वाह गर्दा, म धेरै व्यस्त भएकोले छोरीलाई निर्देशन दिन धेरै समय पाउँदिनथेँ। जब उनको ग्रेड गम्भीर रूपमा खस्किएको देखेँ, तब मलाई यदि यस्तै भइरह्यो भने उनको भविष्यको सम्भावना प्रभावित हुनेछ र मेरो छवि तथा चासोहरूको सन्दर्भमा मैले चाहेको कुरा पाउनेछैन भन्ने चिन्ता लाग्यो, त्यसैले मैले अगुवाको रूपमा कर्तव्य निर्वाह गर्न पनि चाहिनँ। अहिले सोच्दा, मैले छोरीका लागि गरेका यी कामहरू पछाडि मेरा अभिप्राय र मनसायहरू थिए, र ती सबै मेरो आफ्नै स्वार्थका लागि थिए भन्ने देख्छु। म यसप्रकारका शैतानी विषहरूद्वारा जिइरहेकी थिएँ, जस्तै “इनामविना औँलो पनि नउठाउनू” र “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ”। म साँच्चै असाध्यै स्वार्थी र घृणास्पद थिएँ।
पछि, मैले परमेश्वरका वचनहरू पढेँ र अभ्यास गर्ने बाटो भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “छोराछोरीप्रतिका आमाबुबाका अपेक्षाहरूको सार विश्लेषण गरेर, हामीले यी अपेक्षाहरू स्वार्थी खालका हुन्छन्, यी अपेक्षाहरू मानवताविरुद्ध जान्छन्, र अपेक्षाहरूको आमाबुबाका जिम्मेवारीहरूसँग कुनै सम्बन्ध हुँदैन भनेर बुझ्न सक्छौँ। आमाबुबाहरूले आफ्ना छोराछोरीमाथि सबै किसिमका अपेक्षा र मागहरू लाद्दा, तिनीहरूले उनीहरूमाथि ठूलो थप दबाब दिन्छन्—यो तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नु होइन। त्यसोभए, आमाबुबाहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू के-के हुन्। कम्तीमा पनि, तिनीहरूले आफ्ना छोराछोरीलाई सत्य बोल्ने र इमानदार ढङ्गले काम गर्ने इमानदार मानिस बन्न सिकाउनुपर्छ, र तिनीहरूलाई दयालु हुन र खराब कामहरू नगर्न सिकाउनुपर्छ, र तिनीहरूलाई सकारात्मक दिशामा डोऱ्याउनुपर्छ। यी तिनीहरूका सबैभन्दा आधारभूत जिम्मेवारीहरू हुन्। यसका साथै, तिनीहरूले आफ्ना छोराछोरीलाई तिनीहरूको क्षमता र अवस्थाहरूका आधारमा व्यावहारिक ज्ञान र सीपहरू आदि अध्ययन गर्न मार्गदर्शन गर्नुपर्छ। यदि आमाबुबाहरूले परमेश्वरमा विश्वास गर्छन् र सत्यता बुझ्छन् भने, आफ्ना छोराछोरीलाई परमेश्वरका वचनहरू पढ्न र सत्यता स्वीकार गर्न लगाउनुपर्छ, ताकि तिनीहरूले सृष्टिकर्तालाई चिनून्, र मानिसहरू परमेश्वरद्वारा सृष्टि गरिएका हुन् र यस ब्रह्माण्डमा परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने कुरा बुझून्। तिनीहरूले आफ्ना छोराछोरीलाई परमेश्वरलाई प्रार्थना गर्न र परमेश्वरका वचनहरू खान र पिउन अगुवाइ गर्नुपर्छ ताकि तिनीहरूले केही सत्यता बुझ्न सकून्, र तिनीहरू हुर्किएपछि सांसारिक प्रवृत्तिहरूलाई पछ्याउने, विभिन्न जटिल पारस्परिक सम्बन्धहरूमा फस्ने, र यस संसारका विभिन्न दुष्ट प्रवृत्तिहरूद्वारा लोभ्याइने, भ्रष्ट तुल्याइने, र विनाश हुनुको सट्टा परमेश्वरमा विश्वास गर्न, परमेश्वरलाई पछ्याउन, र सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्षम होऊन्। आमाबुबाहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू वास्तवमा यिनै हुन्। तिनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू भनेका, आमाबुबाको भूमिकामा रहेर, आफ्ना छोराछोरी वयस्क नहुञ्जेलसम्म तिनीहरूलाई सकारात्मक मार्गदर्शन र उपयुक्त सहयोग प्रदान गर्नु, साथै तिनीहरूको भौतिक जीवनमा दैनिक आवश्यकताहरूका सन्दर्भमा तुरुन्तै हेरचाह गर्नु हो। यदि तिनीहरूका छोराछोरी बिरामी भए भने, आमाबुबाहरूले आवश्यक पर्दा तिनीहरूको उपचार गराउनुपर्छ; तिनीहरूले आफ्ना छोराछोरीको पढाइमा ढिलाइ हुने डरले, उनीहरूलाई उपचार त्यागेर स्कुल जान लगाइरहनु हुँदैन। जब तिनीहरूका छोराछोरीलाई स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ, तब तिनीहरूलाई स्वास्थ्यलाभ गर्न दिनुपर्छ, र जब तिनीहरूलाई आराम गर्नुपर्ने हुन्छ, तब तिनीहरूलाई आराम गर्न दिनुपर्छ। तिनीहरूका छोराछोरीको स्वास्थ्य सुनिश्चित गर्नु अनिवार्य कुरा हो; यदि छोराछोरी पढाइमा पछि परे भने, आमाबुबाहरूले पछि त्यसलाई पूर्ति गर्ने उपाय खोज्न सक्छन्। आमाबुबाहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू यिनै हुन्। एकातिर, तिनीहरूले आफ्ना छोराछोरीलाई ठोस ज्ञान प्राप्त गर्न मद्दत गर्नुपर्छ; अर्कोतिर, तिनीहरूले आफ्ना छोराछोरीलाई सही मार्गमा हिँड्नका लागि मार्गदर्शन र शिक्षा दिनुपर्छ, र तिनीहरू समाजका अस्वस्थ प्रवृत्ति र दुष्ट अभ्यासहरूबाट प्रभावित नहोऊन् भनेर तिनीहरूको मानसिक स्वास्थ्य सुनिश्चित गर्नुपर्छ। यसका साथै, तिनीहरूले आफ्ना छोराछोरीलाई शारीरिक स्वास्थ्य सुनिश्चित गर्नका लागि उपयुक्त व्यायाम गर्नमा ध्यान दिन लगाउनुपर्छ। आमाबुबाले आफ्ना छोराछोरीहरूमाथि कुनै पनि अवास्तविक अपेक्षा वा मागहरू जबरजस्ती लाद्नुको सट्टा गर्नुपर्ने कुराहरू यिनै हुन्। आमाबुबाहरूले आफ्ना छोराछोरीलाई तिनीहरूको आत्माका लागि चाहिने कुराहरू र तिनीहरूको भौतिक जीवनमा चाहिने कुराहरू दुवैका सन्दर्भमा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। तिनीहरूले उनीहरूलाई केही सामान्य ज्ञानका कुराहरू बताउनुपर्छ, जस्तै तिनीहरूले तातो खानेकुरा खानुपर्छ र चिसो खानेकुरा खानु हुँदैन, मौसम चिसो हुँदा चिसो लाग्न वा रुघाखोकी लाग्नबाट जोगिन न्यानो लुगा लगाउनुपर्छ, र यसरी तिनीहरूलाई आफ्नो स्वास्थ्यको हेरचाह गर्न सिक्न मद्दत गर्नुपर्छ। साथै, छोराछोरीको अबोध दिमागमा आफ्नो भविष्यबारे केही बचकाना र अपरिपक्व विचारहरू, वा केही चरम सोचहरू उत्पन्न हुँदा, आमाबुबाले त्यो कुरा थाहा पाउनेबित्तिकै उनीहरूलाई सही मार्गदर्शन प्रदान गर्नैपर्छ, ती बचकाना कल्पनाहरू र चरम कामकुरा सच्याउनैपर्छ, ताकि उनीहरूका छोराछोरी जीवनमा सही मार्गमा चल्न सकून्। यो तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्नु हो। आफ्ना जिम्मेवारीहरू पूरा गर्नुको अर्थ एकातिर आफ्ना छोराछोरीका जीवनको हेरचाह गर्नु हो, र अर्कोतिर आफ्ना छोराछोरीका सोचलाई मार्गदर्शन गर्नु र सच्याउनु, अनि तिनीहरूका सोच र विचारहरूबारे सही मार्गदर्शन दिनु हो। वास्तवमा, आमाबुबाले पूरा गर्नुपर्ने यी जिम्मेवारीहरूसँग सन्तानप्रतिको तिनीहरूका अपेक्षाहरूसँग कुनै सम्बन्ध हुँदैन। तैँले छोराछोरी ठूला भएपछि उनीहरू शारीरिक रूपले स्वस्थ हुनेछन् र उनीहरूसँग मानवता, विवेक र समझ हुनेछ, वा छोराछोरीले तँलाई छोराछोरीको धर्म देखाउनेछ भनी आशा गर्न मिल्छ, तर तैँले तेरा छोराछोरी ठूला भएपछि यो वा त्योजस्तो सेलिब्रेटी वा महान् व्यक्ति बन्नेछ भनी आशा राख्नु हुँदैन, र तैँले बारम्बार आफ्ना छोराछोरीलाई ‘हेर्, पल्लो घरकी साओमिङ् कति आज्ञाकारी छे!’ भनेर भनिरहनु हुँदैन। तेरा छोराछोरी भनेका तेरा छोराछोरी नै हुन्—तैँले पूरा गर्नुपर्ने जिम्मेवारी छिमेकी साओमिङ् कति महान् छे भनेर छोराछोरीलाई भन्नु वा उनीहरूलाई छिमेकी साओमिङ्बाट सिक्न लगाउनु होइन। यो आमाबुबाले गर्नुपर्ने काम होइन। हरव्यक्ति फरक हुन्छ। मानिसहरू आफ्नो सोच, विचार, रुचि, सोख, क्षमता, र व्यक्तित्वको सन्दर्भमा, र आफ्नो मानवता सार असल छ कि दुष्ट छ भन्ने सन्दर्भमा फरक हुन्छन्। कतिपय मानिस जन्मँदै बकबके हुन्छन्, त कतिपय जन्मजात अन्तर्मुखी हुन्छन् र दिनभरि एक शब्द नबोले पनि उदास महसुस गर्दैनन्। त्यसकारण, यदि आमाबुबाले आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहन्छन् भने, आफ्नै ख्याति, प्राप्ति, र पैसाको पछ्याइलाई छोराछोरीका निम्ति अपेक्षामा बदल्ने, ख्याति, प्राप्ति र संसारका यी कुराहरू छोराछोरीमाथि थोपर्ने गर्नुभन्दा बरु आफ्ना छोराछोरीको व्यक्तित्व, स्वभाव, रुचि, क्षमता र उनीहरूको मानवताका आवश्यकताहरू बुझ्ने कोसिस गर्नुपर्छ। आमाबुबाले यी कुराहरूलाई ‘आफ्ना छोराछोरीप्रतिका अपेक्षाहरू’ भन्ने मिठो संज्ञा दिन्छन्, तर वास्तवमा, ती त्यस्ता कुरा होइनन्। के प्रस्ट छ भने तिनीहरूले आफ्ना छोराछोरीलाई आगोको खाडलमा धकेल्न र दियाबलसहरूको हातमा पठाउन कोसिस गरिरहेका हुन्छन्। यदि तँ साँच्चिकै पर्याप्त गुणवान् आमाबुबा होस् भने, तैँले आफ्ना छोराछोरीको शारीरिक र मानसिक स्वास्थ्यका सन्दर्भमा आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ, उनीहरू वयस्कावस्था पुग्नुअघि नै उनीहरूमाथि तेरो इच्छा थोपर्ने, र उनीहरूको अबोध दिमागलाई उनीहरूले झेल्नु नपर्ने कुराहरू झेल्न लगाउने काम गर्नु हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने आमाबुबाले आफ्ना छोराछोरीमाथि थोपर्ने अनुपयुक्त माग र अपेक्षाहरूलाई त्याग्नुपर्छ। उनीहरूले छोराछोरीलाई खास स्थितिको आधारमा व्यवहार गर्नुपर्छ र ख्याति र प्राप्ति पछ्याउने आफ्नो चाहना छोराछोरीमाथि लाद्नु हुँदैन। मेरी छोरीलाई शिक्षा दिने सन्दर्भमा, मैले परमेश्वरका वचनहरूअनुसार अभ्यास गरेकी थिइनँ। मैले मेरी छोरीको खराब ग्रेडलाई सही रूपमा हेर्नुपर्थ्यो। मैले उनलाई छिमेकीको बच्चासँग तुलना गर्नु हुँदैनथ्यो, र उनले कडा मिहिनेत गरेर पढ्नै पर्छ र हाम्रा पुर्खाको नाम राख्दै आफ्ना दौंतरीहरूभन्दा उत्कृष्ट बन्नका लागि राम्रो विश्वविद्यालयमा भर्ना हुनै पर्छ भन्ने गलत विचार सानैमा उनीभित्र हालिदिनु हुँदैनथ्यो। साथै, विभिन्न उमेरका बालबालिकालाई उनीहरूको खास स्थितिको आधारमा मागहरू राख्नुपर्छ। मेरी छोरी १० वर्षकी पनि भएकी थिइनन्; गृहकार्य गर्नुअघि केही बेर रमाइलो गर्नु र खेल्नु उनका लागि सामान्य कुरा थियो। मैले उनलाई शिक्षा दिने आफ्नै तरिकाअनुसार मागहरू राख्नु र ती पूरा गर्न नसक्दा गाली गर्नु हुँदैनथ्यो। यसले उनको कलिलो मस्तिष्कमा हानिबाहेक केही पुर्याएन र यो वास्तवमा उनको भलाइका लागि गरिएको थिएन। आफ्नो बच्चाका लागि साँच्चै सही काम गर्न, मानिसले परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ, उनीहरूको क्षमता, व्यक्तित्व र उमेरको आधारमा व्यवहार गर्नुपर्छ। अझ, यदि मैले छोरीलाई आफ्नै तरिकाले शिक्षा दिएँ भने, उनलाई आफ्ना दौंतरीहरूभन्दा उत्कृष्ट बनाउने मेरो लक्ष्य पूरा भए पनि, उनले जति धेरै नास्तिकवादी ज्ञान हासिल गर्छिन् उति नै उनी परमेश्वरबाट टाढा हुँदै जानेछिन्। भविष्यमा मैले उनलाई सुसमाचार प्रचार गर्दा, उनले हासिल गरेको ज्ञान प्रयोग गरेर परमेश्वरलाई इन्कार र प्रतिरोध गर्न सक्छिन्। त्यसो भयो भने, मेरी छोरी बर्बाद हुनेछिन्। यो सबै बुझेपछि, मैले छोरीको ग्रेडमा त्यति धेरै ध्यान दिन छोडेँ, र भविष्यमा उनले विश्वविद्यालयमा भर्ना भएर मेरो नाम राख्नेछिन् भन्ने आशा पनि गर्न छोडेँ। म केवल उनले विद्यार्थी हुँदा केही व्यावहारिक ज्ञान सिकून् भन्ने आशा गर्थेँ। भविष्यमा उनले शैक्षिक सफलता पाउँछिन् कि पाउँदिनन् वा राम्रो जागिर पाउँछिन् कि पाउँदिनन्, अनि उनको भविष्यको सम्भावना कस्तो हुनेछ भन्ने कुरामा, म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित भएँ।
त्यसपछि, मैले परमेश्वरका अरू वचनहरू पढेँ: “जब व्यक्तिले आफ्ना आमाबाबुलाई छोडेर स्वतन्त्र बन्छ, तब उसले सामना गर्ने सामाजिक अवस्थाहरू, र उसको निम्ति उपलब्ध हुने कामको प्रकार र जीविका दुवैलाई उसको नियतिले तय गर्छ र उसको आमाबाबुसँग यसको कुनै सम्बन्ध हुँदैन। कतिपय मानिसहरूले कलेजमा राम्रो मुख्य विषय छान्छन् र स्नातक गरेपछि उत्कृष्ट जागिर पाउँछन्; तिनीहरूले जीवनको मार्गमा उत्कृष्ट सुरुवात गर्छन् भन्न सकिन्छ। अरू कतिले धेरै फरक-फरक सीपहरू सिक्छन् र तिनमा पोख्त हुन्छन्, तैपनि तिनीहरूले आफूलाई सुहाउने जागिर वा पद कहिल्यै भेट्टाउँदैनन्, तिनीहरूले आफ्नै करियर त झनै बनाउँदैनन्; यो भन्न सकिन्छ कि यस्ता मानिसहरूको जीवनको पहिलो कदम नै बाधा-अड्चन र कठिनाइहरूले भरिएको हुन्छ, तिनीहरूको भविष्य निराशाजनक र जीवन अनिश्चित हुन्छ। अरू कतिपय लगनशीलताका साथ अध्ययनमा लागिपर्छन्, तैपनि उच्च शिक्षा प्राप्त गर्ने हरेक अवसरलाई झिनो अन्तरले गुमाउँछन्; तिनीहरू कहिल्यै सफलता हासिल गर्न नसक्ने गरी बर्बाद भएका देखिन्छन्—यो भन्न सकिन्छ कि तिनीहरूको जीवनको मार्गका सबैभन्दा पहिलो आशाहरू धुवाँझैँ उडेर जान्छन्। अगाडिको बाटो सहज छ कि चट्टानी छ भन्ने थाहा नपाएर, तिनीहरूले पहिलो पटक मानव नियति कति अप्रत्याशित छ भनी महसुस गर्छन्, र यसरी डर र अपेक्षाको मिश्रित भावले जीवनको सामना गर्छन्। अरू कतिपय त्यति धेरै शिक्षित हुँदैनन्, तैपनि तिनीहरूले पुस्तकहरू लेख्न सक्छन्, र केही हदसम्म ख्याति कमाउँछन्। अनि अरू कतिपय त लगभग पूर्ण रूपमा निरक्षर हुन्छन्, तैपनि तिनीहरूले व्यापारमा पैसा कमाउन सक्छन् र त्यसरी तिनीहरू आफूलाई पाल्न सक्षम हुन्छन्। … व्यक्तिले कुन पेसा रोज्छ, कसरी जीविका चलाउँछ, उसले गर्ने छनौटहरू राम्रा छन् कि नराम्रा छन्—के मानिसहरूले यी कुराहरूमा कुनै छनौट गर्न पाउँछन्? के ती मानिसहरूका चाहना र निर्णयहरूमा आधारित हुन्छन्? धेरैजसो मानिसहरू थोरै काम गर्ने र धेरै कमाउने, घामपानीमा परिश्रम नगर्ने, सम्मानजनक पहिरन लगाउने, जहाँ गए पनि चम्किलो देखिने, सबैभन्दा माथि पुग्ने, र आफ्ना पुर्खाहरूलाई सम्मान दिलाउने इच्छा राख्छन्। मानिसहरूका यस्ता ‘सिद्ध’ इच्छाहरू हुन्छन्, तर जब तिनीहरूले जीवनको मार्गमा आफ्नो पहिलो कदम चाल्छन्, तब तिनीहरूले मानव नियति कति असिद्ध छ भनी बिस्तारै देख्न थाल्छन्, र पहिलो पटक साँच्चै के महसुस गर्छन् भने, व्यक्तिले आफ्नो भविष्यका लागि साहसी योजनाहरू बनाउन र मनोमानी रूपमा सबै प्रकारका सपनाहरू पाल्न सक्ने भए पनि, आफ्ना सपनाहरू साकार पार्ने क्षमता वा शक्ति कसैसँग हुँदैन, न त आफ्नै भविष्यलाई नियन्त्रण गर्ने क्षमता नै हुन्छ। व्यक्तिका सपना र उसले सामना गर्ने वास्तविकताहरूका बीचमा सधैँ एउटा अन्तर हुन्छ; परिस्थितिहरू कहिल्यै पनि व्यक्तिले कल्पना गरेजस्तो हुन सक्दैनन्, र यस्ता वास्तविकताहरूको सामना गर्दा, मानिसहरूले कहिल्यै सन्तुष्टि वा तृप्ति पाउन सक्दैनन्। कतिपय मानिसहरू त आफ्नो जीविका र भविष्यको खातिर, र आफ्नो भाग्य परिवर्तन गर्ने खातिर, बारम्बार सबै प्रकारका उपायहरू सोच्ने प्रयास गर्छन् र हरेक सम्भावित माध्यमको खोजी गर्छन्, साथै सबै प्रकारका प्रयास र त्यागहरू गर्छन्। तर अन्त्यमा, तिनीहरूले आफ्नै कडा परिश्रमद्वारा आफ्ना सपना र चाहनाहरू साकार पार्न सके पनि, तिनीहरूले आफ्नो भाग्य कहिल्यै परिवर्तन गर्न सक्दैनन्, र तिनीहरूले जतिसुकै सङ्घर्ष गरे पनि, तिनीहरू आफ्नो नियतिभन्दा बाहिर कहिल्यै जान सक्दैनन्। तिनीहरूको क्षमता र बौद्धिकतामा भिन्नताहरू भए पनि, र तिनीहरूमा सङ्कल्प भए पनि वा नभए पनि, सबै मानिसहरू भाग्यको अगाडि समान हुन्छन्, जहाँ तिनीहरूलाई ठूलो र सानो, उच्च र निच, सम्मानित र तुच्छ भनेर छुट्याइँदैन। व्यक्ति कुन पेसामा संलग्न हुन्छ, उसले जीविकाका लागि के गर्छ, र जीवनमा ऊसँग कति धन छ भन्ने कुरा उसका आमाबुबा, उसको प्रतिभा, वा उसको प्रयास र महत्त्वाकाङ्क्षाहरूमा निर्भर हुँदैन—यो सृष्टिकर्ताको पूर्वनियोजनमा निर्भर हुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने मानिसको जीवनकालको सम्भावना र भाग्य सबै परमेश्वरको सार्वभौमिकताअन्तर्गत पर्छन्। मेरो बच्चा राम्रो विश्वविद्यालयमा भर्ना हुन र उनले राम्रो जागिर पाउन सक्छ कि सक्दैन भन्ने कुरा मैले उनीसँग गरेका मागहरूमा निर्भर हुँदैन, न त यो उनको कडा परिश्रममा नै निर्भर हुन्छ। यो सबै परमेश्वरको पुर्वनियोजनमा निहित हुन्छ। परमेश्वरले मानिसको जन्म हुनुअघि नै उसको सम्पूर्ण जीवनको प्रबन्ध गरिसक्नुभएको हुन्छ। कोही-कोही विश्वविद्यालय जान्छन् र तिनीहरूले राम्रो डिग्री हासिल गर्छन् तर चित्तबुझ्दो जागिर पाउन सक्दैनन्, जबकि उच्च शिक्षा नलिएका अरू कतिपयले आफ्नो लागि राम्रो करियर बनाउन सक्छन्। मेरो एउटा साथी हुनुहुन्थ्यो जसको छोरा विश्वविद्यालयमा भर्ना भयो तर उसले कहिल्यै जागिर पाएन र ऊ बेरोजगार भएर घरमै बस्यो। साथै, मेरी हजुरआमाकी बुहारी पनि विश्वविद्यालयमा भर्ना भइन्, तर उनले राम्रो जागिर पाउन सकिनन् र घर फर्केर खेतीकिसानी गरिन्, जबकि मेरा श्रीमान्का काकाले प्राथमिक विद्यालय पनि पूरा गर्नुभएको थिएन र धेरै अक्षर पढ्न पनि जान्नुहुन्नथ्यो, तैपनि उहाँले कारखाना खोल्नुभयो र धेरै पैसा कमाउने मालिक बन्नुभयो। वास्तविक जीवनका यी उदाहरणहरूबाट, मैले के देखेँ भने कुनै व्यक्तिले राम्रो जागिर पाउँछ कि पाउँदैन र उसको भविष्य उज्ज्वल हुन्छ कि हुँदैन भन्ने कुरा ऊ विश्वविद्यालयमा भर्ना हुन सक्छ कि सक्दैन भन्ने कुरामा भर पर्दैन, न त यो उसका आमाबुबाले उसलाई कसरी शिक्षा दिन्छन् भन्ने कुराबाट नै आउँछ। यो सबै परमेश्वरको नियोजनमा निहित हुन्छ। मैले भविष्यमा यो गलत दृष्टिकोणलाई उल्ट्याउनुपर्थ्यो र छोरीप्रतिको मेरा अपेक्षाहरूलाई त्याग्नुपर्थ्यो, अनि अरूभन्दा विशिष्ट बन्ने मेरो चाहना पूरा गर्नका लागि उनले आफ्नो पढाइलाई माध्यम बनाउनुपर्छ भनेर माग गर्न छोड्नुपर्थ्यो।
त्यसपछि, मैले सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गरेँ, र मैले मेरी छोरीलाई पहिलेको जस्तो शिक्षा दिन छोडेँ। उनको खाली समयमा, म उनीसँग परमेश्वरमा विश्वास गर्ने बारेमा कुरा गर्थेँ, र उनलाई स्वर्ग र पृथ्वी अनि यावत् थोक, साथै मानवजातिलाई पनि परमेश्वरले सृष्टि गर्नुभएको हो, हामीसँग भएका सबै थोक उहाँले नै हामीलाई प्रदान गर्नुभएको हो, र मानिसहरूले उहाँमा विश्वास र उहाँको आराधना गर्नुपर्छ भनेर बुझाउँथेँ। उनी मसँगै बसेर परमेश्वरका वचनहरू पढ्न र मेरो सङ्गति सुन्न राजी हुन्थिन्, र म धेरै खुसी थिएँ। केही समय बित्यो, र मेरी छोरी आज्ञाकारी भइन्। उनले समयमै गृहकार्य पूरा गर्थिन् र उनको ग्रेडमा बिस्तारै सुधार आयो, र उनले हरेक परीक्षामा करिब ८० अङ्क ल्याउन थालिन्। म खुसी भए पनि, यो मैले पहिले महसुस गरेको भन्दा अलि बेग्लै खालको खुसी थियो। मैले छोरीलाई भनेँ, “तिमीले परीक्षामा कति ग्रेड ल्यायौ भन्ने कुराले कुनै फरक पार्दैन। म तिमीले १०० ल्याउनुपर्छ भनेर माग गर्दिनँ, र भविष्यमा तिमी राम्रो विश्वविद्यालयमा भर्ना हुनै पर्छ भनेर पनि माग गर्दिनँ। किनभने परमेश्वरका वचनहरूले मलाई मानिसको भविष्य र भाग्य सबै उहाँको हातमा छ भनेर सिकाएको छ। मानिसको जीवन परमेश्वरबाट आउँछ, र जब तिमी ठूली हुन्छ्यौ, तब म यति मात्र आशा गर्न सक्छु कि तिमीले राम्ररी परमेश्वरमा विश्वास गर्नेछौ र परमेश्वरको घरमा आफ्नो कर्तव्य पूरा गर्नेछौ।” उनले खुसी हुँदै भनिन्, “मलाई थाहा छ,” र उनले मलाई अहिले उनी अरू बच्चाहरूभन्दा धेरै खुसी भएको पनि बताइन्। मैले के देखेँ भने जब मैले परमेश्वरका वचनहरूअनुसार अभ्यास गरेँ, तब मेरी छोरीले अब दुःख पाइनन् र मैले उनलाई सही मार्गमा ल्याउन सकेँ। मलाई मुक्त महसुस भयो, र मैले आफ्नो कर्तव्य पूरा गर्नमा बढी ऊर्जा लगाउन सकेँ।
यस अनुभवमार्फत, मैले के बुझेँ भने परमेश्वरले मानिसको जीवनमाथि सार्वभौमिकता राख्नुहुन्छ, र उहाँले नै मेरी छोरीको भाग्यमाथि पनि सार्वभौमिकता राख्नुभएको छ र त्यसको प्रबन्ध गर्नुभएको छ। यो उनको हातमा थिएन, अझ भन्नुपर्दा, यो मेरो हातमा पनि थिएन। मैले के पनि बुझेँ भने मेरी छोरीले पढाइमा उत्कृष्टता हासिल गरोस् र उनको भविष्य उज्ज्वल होस् भन्ने चाहना राख्नु सबै मेरो व्यक्तिगत ख्याति र प्राप्तिका लागि थियो; यो स्वार्थी र घृणास्पद थियो। अहिले, म छोरीप्रतिको मेरा अपेक्षाहरू त्याग्न र परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्न सक्षम भएकी छु। परमेश्वरलाई धन्यवाद!