७१. देखावटीपनको पीडादायी पाठ
सन् २०१६ को अगस्टमा, म मण्डलीको सुसमाचार कामको जिम्मेवार थिएँ। सुरुमा यो कर्तव्य निर्वाह गर्न थाल्दा आफूमा अनुभवको कमी र सत्यताको सतही बुझाइ भएकाले, मैले ठूलो दबाब महसुस गरेँ, त्यसैले म आफ्ना कठिनाइहरूका बारेमा परमेश्वरलाई अक्सर प्रार्थना गर्थेँ, अनि सुसमाचार प्रचारसम्बन्धी सत्यता र सिद्धान्तहरूको अध्ययन गर्थेँ। केही कुरा नबुझेको बेला, म ब्रदर-सिस्टरहरूको मद्दत माग्थेँ। बिस्तारै, मैले केही सिद्धान्तहरू बुझ्न सकेँ, र काममा भएका समस्याहरू पत्ता लगाएर उचित सुझावहरू दिन सक्ने भएँ। सुसमाचारको कामले केही नतिजा देखाउन थाल्यो, र म परमेश्वरप्रति साँच्चै आभारी थिएँ। पछि, हाम्रो मण्डलीमा सुसमाचारको कामको प्रभावकारितामा सुधार भयो, र केही सुसमाचारसम्बन्धी कामदारलाई अगुवामा पदोन्नति गरियो। म अत्यन्तै खुसी भएँ, र सोचेँ, “काममा हासिल भएका यी नतिजाहरू हेर्दा, म त्यति नराम्री रहिनछु, मसँग केही क्षमता र कार्य सामर्थ्य रहेछन्।” यी सोचहरूले मेरो हृदयलाई मह खाएजस्तै गुलियो बनाए। त्यसपछि, ब्रदर-सिस्टरहरूसँग भेला हुँदा म पहिले जस्तो विनम्र रहिनँ। जब मैले केही ब्रदर-सिस्टरहरू सुसमाचारको काममा कठिनाइ भोगेपछि नकारात्मक भएको देख्थेँ, तब मैले यो कर्तव्य भर्खर सुरु गर्दा कसरी परमेश्वरमा भर परेर चुनौतीहरू पार गरेँ र काममा नतिजाहरू हासिल गरेँ भनेर सङ्गति गर्थेँ। मेरो कुरा सुनेर, ब्रदर-सिस्टरहरू सबैले मलाई प्रशंसाको नजरले हेरे, र उनीहरू उत्प्रेरित भएर आफ्ना कर्तव्यमा सहकार्यलाई निरन्तरता दिन इच्छुक भए। त्यसपछि, ब्रदर-सिस्टरहरू आफूलाई परेका कुनै पनि प्रश्न वा कठिनाइ लिएर मकहाँ आउँथे, र मैले सहकार्य गर्ने ब्रदर-सिस्टरहरूले पनि कठिनाइ भोग्दा अक्सर मेरो राय माग्थे। मैले सबैबाट सम्मान र समर्थन पाएकोमा म खुसी थिएँ, र मलाई आफू निकै सक्षम छु, र सुपरिवेक्षकका रूपमा म यो पदका लागि साँच्चै योग्य छु जस्तो लाग्यो।
सन् २०१७ को डिसेम्बरसम्ममा, हाम्रो मण्डलीमा धेरै नयाँ मानिसहरू आए, र एकपछि अर्को गरी धेरै नयाँ मण्डलीहरू स्थापना भए, अनि केही नयाँ सदस्यहरूलाई आफ्नो कर्तव्य सम्हालेको केही समयपछि नै पदोन्नति र संवर्धन गरियो। यो सबै देखेर ममा बलियो उपलब्धिको बोध भयो। मुखले त परमेश्वरको मार्गदर्शनका लागि आभारी छु भनेँ, तर हृदयमा भने मैले आफैँलाई प्रशंसा गरेँ। मैले आफूलाई सत्यता बुझेकी छु र मान्छे चिन्ने पारखी नजर छ भन्ठान्थेँ। मैले सोचेँ, मैले यो कर्तव्य पहिलो पटक सम्हाल्दा एउटा मात्र मण्डली थियो, र अहिले धेरै मण्डलीहरू स्थापना भइसकेका छन्, र मैले काम सम्हालेदेखि, मैले साँच्चै नै मण्डलीलाई केही प्रतिभाशाली व्यक्तिहरू दिएकी छु। मेरो हृदय खुसीले भरियो, र मैले आफूलाई अझ बढी सक्षम, एक साँचो प्रतिभा, र मण्डलीको खम्बा हुँ भन्ने महसुस गरेँ। मलाई परमेश्वरको महिमा चोरिरहेकी छु भन्ने महसुस भयो, र मैले अलिकति दोषी महसुस गरेँ, तर फेरि सोचेँ, “परमेश्वरको काम अलौकिक त छैन, यसका लागि मानव सहकार्य पनि चाहिन्छ, र मेरो सहकार्यविना, काम सफल हुने थिएन, अनि मैले यो कर्तव्य सबैभन्दा लामो समयदेखि गर्दै आएकी छु, त्यसैले थोरै श्रेयको हकदार त म पनि छु।” जब मैले यसरी सोचेँ, मेरो हृदयको दोषीपन हरायो। त्यसपछि, म अक्सर सुसमाचारसम्बन्धी कामदारहरूको अगाडि धाक नदेखाई बस्न सक्दिनथेँ, र भन्थेँ, “म भर्खरै फलानो मण्डलीबाट भर्खर आएँ। उनीहरूलाई केही समस्या थियो, तर मैले समाधान गरिदिएँ। भोलि, म अर्को मण्डलीमा जाँदैछु…।” ब्रदर-सिस्टरहरू सबैले मलाई प्रशंसाको नजरले हेरे। एउटी सिस्टरले त यसो पनि भनिन्, “तपाईं यति धेरै मण्डलीहरूको कामका लागि जिम्मेवार हुनुहुन्छ। हामीले त सम्हान नै सक्ने थिएनौँ, हाम्रो त दिमाग नै घुम्थ्यो। तपाईंले साँच्चै सत्यता बुझ्नुभएको छ र तपाईंसँग कार्य सामर्थ्य छ!” ती सिस्टरको प्रशंसा सुनेर मलाई निकै गर्व लाग्यो। मैले मनमनै सोचेँ, “त्यो त हो नि! म पक्कै पनि तिमीहरू सबैभन्दा असल छु, नत्र म कसरी सुपरिवेक्षक हुन सक्थेँ र?” त्यो समयमा, म शिर ठाडो पारेर हिँड्थेँ, र केही घटना हुँदा, म सत्यताका सिद्धान्तहरू खोज्दिनथेँ, बरु सीधै काम गर्थेँ। म सधैँ आफूले सत्यता बुझेकी छु र केही काम गर्न सक्छु भन्ठान्थेँ, र सुसमाचारको काम सम्हाल्नमा म नै सबैभन्दा उत्तम छु भन्ने विश्वास गर्थेँ। पछि, जब ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्यमा समस्याहरूको सामना गरे, उनीहरूले खोजीमा मेहनत लगाएनन्, र कठिनाइहरू पार गर्न परमेश्वरलाई प्रार्थना गरेनन् वा सत्यता खोजेनन्। बरु, उनीहरूले मैले सङ्गति गरेर समाधान गरिदिन्छु भनेर पर्खेर बसे। केही यस्ता समस्याहरू थिए जसका लागि मैले समाधान दिन सकिनँ, त्यसैले उनीहरूलाई झनै गाह्रो लाग्यो। फलस्वरूप, सुसमाचारको कामको प्रभावकारिता महिनैपिच्छे घट्दै गयो। यी घटनाहरू हुँदा, मैले राम्ररी आत्मचिन्तन गरिनँ, न आफूलाई चिनेँ। त्यो तबसम्म भयो जबसम्म परमेश्वरको ताडना र अनुशासन ममाथि आइलागेन।
सन् २०१८ को अप्रिलको एक दिन, मैले सहकार्य गरिरहेकी एउटी सिस्टर एउटा मण्डलीको भेलामा जानुपर्ने सुरुमा तय भएको थियो, तर अन्तिम समयमा तिनको केही काम पऱ्यो, त्यसैले म गएँ। भेला हुने ठाउँमा पुग्नेबित्तिकै, मलाई पुलिसले पक्राउ गर्यो र तीन वर्षको जेल सजाय सुनाइयो। सुरुमा, बन्दीगृहमा हुँदा, चीनमा परमेश्वरमा विश्वास गरेकाले सताइनु र पक्राउ पर्नु सामान्य हो भन्ने मलाई लाग्यो, त्यसैले मैले साँच्चै आत्मचिन्तन गरिनँ, न आफूलाई चिनेँ। त्यो तबसम्म रह्यो जबसम्म मलाई एक वर्ष सात महिना बन्दी राखेर जेलमा सारिएन। जेलमा, ज्यानको डरले म “तीन बयानको पत्र” मा हस्ताक्षर गर्न बाध्य भए। त्यो क्षण, म पछुतो, लाज र आत्म-धिक्कारले भरिएँ, र म पूर्ण रूपमा भत्किएँ। राती अबेर, ओछ्यानमा पल्टिरहँदा, पछुतोको आँसु अविरल रूपमा बगिरह्यो। मेरो पीडामा, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, यो परिस्थितिले मेरो बारेमा केही कुरा प्रकट गरेको छ, तर तपाईंको अभिप्राय के हो वा मैले कुन पाठ सिक्नुपर्छ भन्ने म बुझ्दिनँ। हे परमेश्वर, कृपया तपाईंको अभिप्राय बुझ्न मलाई मार्गदर्शन गर्नुहोस्।” त्यसपछि, मेरो गिरफ्तारीअघि कर्तव्य निर्वाह गर्दाका दृश्यहरू मेरो दिमागमा घुम्न थाले: म ब्रदर-सिस्टरहरूको अगाडि धाक देखाउँथेँ र घमन्डले बोल्थेँ, मैले सधैँ केही काम गर्न सक्नुको मतलब मैले सत्यता बुझेकी छु र केही वास्तविकताहरू हासिल गरेकी छु भन्ठान्थेँ, र आफूलाई मण्डलीको एक दुर्लभ प्रतिभा र खम्बा ठान्थेँ। मेरा दिनहरू अभिमान र अहङ्कारले भरिएका थिए। यसलाई मैले “तीन बयानको पत्र” मा हस्ताक्षर गरेर परमेश्वरलाई धोका दिएको समयसँग तुलना गर्दा—म मृत्युको डरले गर्दा कमजोर, काँतर र दयनीय थिएँ—कतै खाडल भए त्यहीँ भासूँजस्तो लाग्यो। त्यो क्षण, म किन अचानक पक्राउ परेँ भनेर मैले बुझ्न थालेँ। मैले पहिले पढेको परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “जब तिमीहरूले थोरै रोकटोक वा कठिनाइ भोग्छौ, त्यो तिमीहरूका निम्ति राम्रो हुन्छ; यदि तिमीहरूलाई सहज समय दिइयो भने तिमीहरू बरबाद हुनेथ्यौ, तब तिमीहरू कसरी सुरक्षित हुन सक्थ्यौ? आज, तिमीहरूलाई सजाय, न्याय र श्राप दिइएको हुनाले तिमीहरूलाई सुरक्षा दिइएको छ। तिमीहरूले धेरै दुःख भोगेका हुनाले नै तिमीहरू सुरक्षित छौ। होइन भने तिमीहरू धेरै अघि नै पतित हुनेथियौ। यो जानीजानी तिमीहरूको स्थिति गाह्रो बनाइएको होइन—मानिसको प्रकृति परिवर्तन गर्न गाह्रो छ, र त्यसैले तिनीहरूको स्वभाव परिवर्तन गर्न यो यसरी नै गरिनुपर्छ। आज, तिमीहरूमा पावलको जस्तो विवेक वा समझ छैन, न त तिमीहरूमा आत्म-सचेतना नै छ। तिमीहरूलाई सधैँ दबाबमा पार्नुपर्छ र तिमीहरूका आत्मालाई जगाउन तिमीहरूलाई सधैँ सजाय र न्याय गर्नुपर्छ। सजाय र न्याय नै तिमीहरूको जीवनका निम्ति सर्वोत्तम छ। अनि आवश्यक पर्दा, तिमीहरूमाथि तथ्यहरूको सजाय पनि आइपर्नुपर्छ; तब मात्र तिमीहरू पूर्ण रूपमा समर्पित हुनेछौ। तिमीहरूको प्रकृति यस्तो छ कि सजाय र श्रापविना तिमीहरू आफ्नो शिर झुकाउन इच्छुक हुँदैनौ, झुक्न इच्छुक हुँदैनौ। तिमीहरूको आँखाअगाडि तथ्यहरू नराखीकन, कुनै प्रभाव हुनेछैन। तिमीहरू चरित्रमा अति तुच्छ र महत्त्वहीन छौ। सजाय र न्यायविना तिमीहरूलाई विजय गर्न र तिमीहरूको अधार्मिकता र अवज्ञामाथि विजय हासिल गर्न गाह्रो छ। तिमीहरूको पुरानो प्रकृतिको जड अत्यन्तै गहिरो छ। यदि तिमीहरूलाई सिंहासनमा राखिएको भए, तिमीहरूलाई ब्रह्माण्डमा आफ्नो स्थान के हो भन्ने थाहा हुनेथिएन, तिमीहरू कहाँ जाँदै छौ भन्ने थाहा हुनु त परै जाओस्। तिमीहरू कहाँबाट आएका हौ भन्ने पनि तिमीहरूलाई थाहा हुँदैन, त्यसैले तिमीहरूले सृष्टिकर्तालाई कसरी चिन्न सक्छौ? आजको सामयिक सजाय र श्रापविना तिमीहरूको अन्तिम दिन धेरै अघि नै आइसकेको हुनेथ्यो। तिमीहरूको भाग्यका बारेमा त झन् के भन्नु—के त्यो झन् बढी आसन्न खतरामा पर्नेथिएन र? यो सामयिक सजाय र न्यायविना तिमीहरू कति धेरै अहङ्कारी हुनेथ्यौ वा तिमीहरू कति पतित हुनेथ्यौ, कसलाई थाहा छ र। यस सजाय र न्यायले तिमीहरूलाई आजको दिनमा ल्याएको छ र तिनले तिमीहरूको अस्तित्व सुरक्षित राखेका छन्। यदि तिमीहरू अझै पनि तिमीहरूका ‘पिता’ का जस्तै विधिहरू प्रयोग गरी ‘शिक्षित’ हुन्थ्यौ भने, तिमीहरू कुन क्षेत्रभित्र प्रवेश गर्नेथ्यौ भनी कसले जान्दछ! तिमीहरूमा आफैलाई नियन्त्रण गर्ने र आफ्नै बारेमा चिन्तन गर्ने क्षमता बिलकुल छैन। तिमीहरूजस्ता मानिस यदि कुनै पनि अवरोध वा बाधा सृजना नगरी पछि लाग्छौ र समर्पित हुन्छौ भने, मेरा उद्देश्यहरू हासिल हुनेछन्। के तिमीहरूले आजको सजाय र न्यायलाई स्वीकार गर्न अझ राम्रो गर्नुपर्दैन र? तिमीहरूसँग अरू के विकल्प छ र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (६))। परमेश्वरका वचनहरूमा मनन गरेर, मेरो गिरफ्तारी र कैद परमेश्वरको अनुशासन थियो भनेर मैले बुझ्न सकेँ। सुपरिवेक्षक हुँदाका समयमा, म साँच्चै नै अहङ्कारी थिएँ। जब-जब कामले केही नतिजा देखाउँथ्यो, म ब्रदर-सिस्टरहरूको अगाडि धाक देखाउँथेँ। जब सुसमाचारसम्बन्धी कामदारहरूले कठिनाइहरूको सामना गर्थे र नकारात्मक बन्थे, म जानेबुझेरै आफ्का अनुभवहरू बाँडेर आफ्नो कार्य सामर्थ्यको धाक देखाउँथेँ, र मैले जिम्मा लिएको मण्डलीको सुसमाचारको कामले राम्रा नतिजाहरू हासिल गरेको छ भनेर पनि ब्रदर-सिस्टरहरूलाई बताउँथेँ, र सबैले मलाई उच्च ठान्ने बनाउँथेँ। पछि, केही नयाँ मण्डलीहरू स्थापना भए, र मैले आफ्नो कार्य सामर्थ्यको धाक देखाउन जारी राखेँ, जसले गर्दा अरूले मलाई अझ बढी उच्च ठाने। म यसरी निरन्तर धाक देखाउने भएकाले, ब्रदर-सिस्टरहरू सबैले ममा कर्तव्यप्रति बोझको भाव छ र काममा नतिजाहरू हासिल गर्न सक्छु भन्ठाने, र उनीहरूले मलाई सक्षम सुपरिवेक्षक हो भन्ने विश्वास गरे। म जहाँ गए पनि, सबैले मसँग विनम्रता र सम्मानपूर्वक कुरा गर्थे, जब-जब उनीहरूलाई समस्या पर्थ्यो, उनीहरू मेरो सल्लाह माग्न मन पराउँथे, र धेरैजसो समय, उनीहरूले मेरा सुझावहरू अपनाउँथे। मैले सहकार्य गर्ने सिस्टरले पनि अक्सर मेरो राय सोध्थिन्। सबैको समर्थन र प्रशंसा पाएर, मलाई धेरै सन्तोष मिल्यो, र म त अभिमानले फुलेर भुइँमा खुट्टा नटेक्ने भएँ। म मण्डलीमा एक अपरिहार्य व्यक्ति हुँ, मण्डलीको काम मविना चल्न सक्दैन, र म अरू सबैभन्दा राम्रो र महत्त्वपूर्ण छु भन्ने मलाई लाग्यो। यसरी धाक देखाएर, मैले मानिसहरूलाई आफ्नो अगाडि ल्याएँ। मैले थाहै नपाई परमेश्वरको स्वभावलाई उल्लङ्घन गरेकी थिएँ। म पतनको बाटो लागिरहेको कुरा परमेश्वरले सहन सक्नुभएन। पुलिसद्वारा पक्राउ पर्न दिएर, उहाँले मलाई दुष्टताको बाटोमा अघि बढ्नबाट रोक्नुभयो, र मलाई रोकिन र चिन्तन गर्न बाध्य तुल्याउनुभयो, ताकि म गलत बाटोबाट फर्कन सकूँ र समयमै जाग्न सकूँ, र गलत बाटोमा अझ अगाडि नबढूँ। जब मैले यो महसुस गरेँ, तब मेरा आँखा आँसुले भरिए। म परमेश्वरको प्रेम र उहाँको श्रमसाध्य अभिप्रायहरूबाट गहिरो रूपमा प्रभावित भएँ। मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरा लागि यस्तो अवस्थाको बन्दोबस्त गर्नुभएकोमा तपाईंलाई धन्यवाद। म तपाईंसमक्ष पश्चात्ताप गर्न इच्छुक छु। हे परमेश्वर, कृपया मलाई अन्तर्दृष्टि र मार्गदर्शन गर्नुहोस्, ताकि म आफ्नो बारेमा साँचो बुझाइ पाउन सकूँ।”
एक दिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “यदि तैँले आफ्नो हृदयमा साँच्चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन जान्नेछस् अनि तँ सत्यताको पछि लाग्ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्वरका अभिप्रायअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्नेछैन—यस अवस्थामा तैँले परमेश्वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना दुष्टता गर्न सजिलो हुन्छ, र तैँले नचाहँदा नचाहँदै पनि त्यो गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र अभिमानी स्वभाव भएको भए, परमेश्वरको विरोध नगर भनेर भनिँदा कुनै फरक पर्ने थिएन, किनभने तैँले आफूलाई नियन्त्रण गर्न सक्ने थिइनस्—यो तेरा लागि अनायासै हुने कुरा हुनेथियो। तैँले जानाजानी त्यसो गर्ने थिइनस्; तैँले आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको प्रभुत्वमा परेर त्यसो गर्ने थिइस्। तेरो अहङ्कार र अभिमानले तँलाई परमेश्वरलाई हेयको नजरले हेर्न र उहाँलाई बेवास्ता गर्न लगाउनेथ्यो; तिनले तँलाई आफूलाई उच्च पार्नतिर प्रवृत्त गर्नेथिए, र तँलाई हरेक मोडमा आफूलाई प्रदर्शन गर्ने तुल्याउनेथिए; तिनले तँलाई अरूलाई हेयको नजरले हेर्न लगाउनेथिए, र तेरो हृदयमा आफूबाहेक अरू कसैलाई नराख्न लगाउनेथिए; तिनले तेरो हृदयबाट परमेश्वरको स्थान खोस्नेथिए, र अन्ततः तँलाई परमेश्वरको स्थानमा बस्न र मानिसहरूलाई तँप्रति समर्पित हुन माग गर्न लगाउनेथिए, र तँलाई आफ्नै विचार, सोच, र धारणाहरूलाई सत्यताका रूपमा पुज्न लगाउनेथिए। आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्वरले मानिसको परमेश्वरप्रतिको प्रतिरोधको जड उसको अहङ्कारी र अभिमानी प्रकृति हो भनी खुलासा गर्नुहुन्छ। जब कुनै व्यक्तिमा अहङ्कारी स्वभाव हुन्छ, उसले आफूलाई श्रेष्ठ देख्नेछ, र आफू अरू सबैभन्दा असल छु भनी सोच्नेछ। अरूको माझमा, उसले अनियन्त्रित रूपमा आफ्नो गवाही दिनेछ र धाक देखाउनेछ, जसले गर्दा मानिसहरूले उसको प्रशंसा र आराधना गर्नेछन्। म सुपरिवेक्षक हुँदाको समयमा, मैले काममा केही नतिजाहरू हासिल गर्दा, म आफूमा क्षमता छ, मैले सत्यता बुझेकी छु र समस्याहरू समाधान गर्न सक्छु, र म प्रतिभाशाली मानिसहरू पत्ता लगाउन सक्छु भन्ठान्थेँ, र म आफूलाई कसैले ठाउँ लिन नसक्ने प्रतिभा र मण्डलीको खम्बा ठान्थेँ। यो सबै मेरो अहङ्कारी प्रकृतिद्वारा निर्देशित थियो। स्पष्ट रूपमा, सुसमाचारको कामले केही नतिजाहरू दिनु पवित्र आत्माको काम र मार्गदर्शन अनि ब्रदर-सिस्टरहरूको सहकार्यका कारणले थियो, तर मैले सबै श्रेय आफैँले लिएँ। मैले जानेबुझेरै ब्रदर-सिस्टरहरूको अगाडि धाक देखाएँ, जसले गर्दा उनीहरूले मैले सत्यता बुझेको र कार्य सामर्थ्य भएकाले नै कामले नतिजाहरू दियो भन्ठाने। अन्तमा, तिनीहरू सबैले मेरो प्रशंसा र आराधना गरे। म कति निर्लज्ज थिएँ! मैले परमेश्वरको प्रशासनिक आदेशहरूमध्ये पहिलो आदेशबारे सोचेँ: “मानिसले आफैलाई ठूलो बनाउनु हुँदैन, न त आफैलाई उच्च पार्नु हुन्छ। उसले परमेश्वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरले चुन्नु भएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश)। परमेश्वरले मानिसहरूलाई उहाँलाई उचाल्नु र महान् मानेर सम्मान गर्नु भनी चेताउनी दिनुहुन्छ। मानिसको हृदयमा, केवल परमेश्वरका लागि मात्र स्थान हुनुपर्छ, किनकि केवल परमेश्वर मात्र मानिसद्वारा आराधना गरिन योग्य हुनुहुन्छ। तर मैले आफैँलाई महान् मानेर सम्मान गरेँ र धाक देखाएँ, ब्रदर-सिस्टरहरूले आफ्ना हृदयमा मेरा लागि स्थान राखून् भन्ने चाहेँ। मैले गरेका हरेक काम मेरो अहङ्कारी प्रकृतिद्वारा निर्देशित थियो र परमेश्वरविरुद्धको प्रतिरोध थियो। मैले परमेश्वरको प्रशासनिक आदेशहरू उल्लङ्घन गरिसकेकी थिएँ, तैपनि म डराइनँ र त्यसैमा रमाएँ। म साँच्चै जड थिएँ! मण्डलीले मलाई कसरी सुपरिवेक्षकका रूपमा संवर्धन गर्यो भनेर मैले सोचेँ। एकातिर, यो मैले आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता र स्वभावमा परिवर्तनलाई पछ्याउन सकूँ भनेर थियो, र अर्कोतिर, यसले मलाई अगुवाइको भूमिका लिन सक्षम बनायो। जब काममा कठिनाइहरू आउँथे, तब म ब्रदर-सिस्टरहरूलाई परमेश्वरतिर हेर्न र उहाँमा भरोसा राख्न, सत्यता खोज्न र सिद्धान्तहरूअनुसार काम गर्न अगुवाइ गर्न सक्थेँ, जसले गर्दा ब्रदर-सिस्टरहरूले आफ्नो हृदयमा परमेश्वरलाई महान् मानेर सम्मान गर्न र उहाँका लागि स्थान राख्न सक्थे, र यसरी म मानिसहरूलाई परमेश्वरको सामु ल्याउन सक्थेँ। यो मेरो जिम्मेवारी र कर्तव्य थियो। तैपनि मैले सुपरिवेक्षकमा हुनुपर्ने जिम्मेवारीहरू पूरा गरिनँ, र बरु, मैले आफ्नो कामका हरेक अवसरको फाइदा उठाएर धाक देखाएँ र आफ्नो गवाही दिएँ, जसले गर्दा ब्रदर-सिस्टरहरूले मेरो प्रशंसा र आराधना गरे र कठिनाइहरूको सामना गर्दा परमेश्वरमा भर पर्नु वा सत्यताका सिद्धान्तहरू खोज्नुको सट्टा मकहाँ आए। मैले मानिसहरूलाई आफ्नो सामु ल्याएँ, र यसमा, म परमेश्वरसँग हैसियतका लागि प्रतिस्पर्धा गरिरहेकी थिएँ। म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ र परमेश्वरको स्वभावलाई उल्लङ्घन गरिसकेकी थिएँ। यदि मैले यसरी नै आफ्नो कर्तव्य निर्वाह गरिरहेँ भने, अन्ततः म परमेश्वरको प्रतिरोध गरेकाले दण्डित हुने थिएँ। यो महसुस गरेपछि, मेरो जीउभरि चिसो पसिना आयो, र के महसुस गरेँ भने यो गिरफ्तारी परमेश्वरको धर्मी स्वभाव ममाथि आइलागेको हो, र यो मेरा लागि परमेश्वरको ठूलो सुरक्षा र मुक्ति पनि हो। मैले साँचो मनले परमेश्वरलाई धन्यवाद दिएँ र यो वातावरणमा समर्पित भई पाठ सिक्न इच्छुक भएँ। सन् २०२१ मा, मैले आफ्नो सजाय पूरा गरेपछि मलाई रिहा गरियो र म चिनियाँ कम्युनिस्ट पार्टीको जेल, त्यो पृथ्वीको नरकबाट बाहिर निस्केँ।
घर फर्केको केही समयपछि, ब्रदर-सिस्टरहरूले मलाई परमेश्वरका वचनहरूका पुस्तकहरू ल्याइदिए, र म धेरै प्रभावित भएँ। एक दिन मेरो उपासनाको समयमा, मैले परमेश्वरका वचनहरूको एक खण्ड पढेँ: “के तिमीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्वरको अगुवाइ र पवित्र आत्माको अन्तर्दृष्टि महसुस गर्न सक्छौ? (सक्छौँ।) यदि तिमीहरू पवित्र आत्माको काम महसुस गर्न सक्छौ, तर अझै पनि आफूलाई उच्च ठान्छौ र आफूसँग वास्तविकता छ भन्ने सोच्छौ भने यहाँ के भइरहेको छ? (जब हाम्रो कर्तव्यले केही फल फलाउँछ, तब हामी परमेश्वरले आधा मात्रै श्रेय पाउनुहुन्छ, र आधा श्रेय हाम्रो हुन्छ भन्ने सोच्छौँ। हामी हाम्रो सहकार्यलाई असीमित रूपमा ठूलो पार्छौँ, हाम्रो सहकार्यभन्दा अरू केही पनि महत्त्वपूर्ण छैन, र योबिना परमेश्वरको अन्तर्दृष्टि सम्भव हुनेथिएन भन्ने सोच्छौँ।) त्यसोभए, परमेश्वरले किन तँलाई अन्तर्दृष्टि दिनुभयो? के परमेश्वरले अरूलाई पनि अन्तर्दृष्टि दिन सक्नुहुन्छ? (सक्नुहुन्छ।) जब परमेश्वरले कसैलाई अन्तर्दृष्टि दिनुहुन्छ, तब त्यो परमेश्वरको अनुग्रहद्वारा हुन्छ। अनि तैँले आफ्नो पक्षबाट पूरा गरेको त्यो थोरै सहकार्य के हो? के यसका लागि तैँले श्रेय पाउनुपर्छ, कि यो तेरो कर्तव्य र जिम्मेवारी हो? (यो हाम्रो कर्तव्य र जिम्मेवारी हो।) जब तँ यसलाई आफ्नो कर्तव्य र जिम्मेवारीका रूपमा पहिचान गर्छस्, तब तँसँग सही मनस्थिति हुन्छ र तैँले यसको श्रेय लिन खोज्नेबारे सोच्नेछैनस्। यदि तँ सधैँ ‘यो मेरो योगदान हो। के मेरो सहकार्यविना परमेश्वरको अन्तर्दृष्टि सम्भव हुनेथ्यो? यस कामका लागि मानिसको सहकार्य आवश्यक हुन्छ; धेरैजसो भाग हाम्रो सहकार्यले नै पूरा हुन्छ’ भन्ने सोच्छस् भने, तँ गलत छस्। पवित्र आत्माले तँलाई अन्तर्दृष्टि नदिनुभएको भए, र कसैले पनि तँलाई सत्यता सिद्धान्तहरूबारे सङ्गति नगरेको भए, तैँले कसरी सहकार्य गर्न सक्थिस्? परमेश्वरले के गराउन चाहनुहुन्छ भन्ने कुरा तैँले जान्नेथिइनस्, न त तँलाई अभ्यासको मार्ग नै थाहा हुनेथ्यो। तैँले परमेश्वरमा समर्पित हुन र परमेश्वरका काममा सहकार्य गर्न चाहे पनि, कसरी गर्ने तँलाई थाहा हुनेथिएन। के तेरो यो ‘सहकार्य’ खोक्रो शब्द मात्र होइन र? साँचो सहकार्यविना, तैँले आफ्नै विचारहरूअनुसार मात्रै काम गरिरहेको हुन्छस्—त्यस्तो अवस्थामा, के तैँले पूरा गर्ने कर्तव्य मापदण्डअनुरूप हुन सक्थ्यो? बिलकुलै सक्दैनथ्यो, जसले हालको समस्यालाई सङ्केत गर्छ। त्यो समस्या के हो? कुनै व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे तापनि, उसले नतिजा हासिल गर्छ कि गर्दैन, मापदण्डअनुसार कर्तव्य निर्वाह गर्छ कि गर्दैन, र परमेश्वरको स्वीकृति प्राप्त गर्छ कि गर्दैन भन्ने कुरा परमेश्वरका कार्यहरूमा निर्भर हुन्छ। तैँले तेरा जिम्मेवारी र कर्तव्यहरू पूरा गरिस् भने पनि, यदि परमेश्वरले कार्य गर्नुहुन्न, उहाँले तँलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्न भने, तँलाई तेरो मार्ग, तेरो दिशा वा तेरा लक्ष्यहरू थाहा हुनेछैन। आखिर त्यसबाट के आउँछ? तैँले हर समय मेहनत गरेपछि, आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गरेको हुनेछैनस्, न त सत्यता र जीवन नै प्राप्त गरेको हुनेछस्—त्यो सब व्यर्थ भएको हुनेछ। त्यसैले, तैँले मापदण्डअनुसार आफ्नो कर्तव्य निर्वाह गर्नु, दाजुभाइ र दिदीबहिनीहरूलाई सुधार गर्नु र परमेश्वरको स्वीकृति प्राप्त गर्नु पुरै परमेश्वरमै निर्भर हुन्छ! मानिसहरूले ती कुरा मात्र गर्न सक्छन् जुन गर्न तिनीहरू सक्षम छन्, जुन कुरा तिनीहरूले गर्नुपर्छ र जुन कुरा तिनीहरूका अन्तर्निहित क्षमताभित्र छ—योभन्दा बढी होइन। त्यसपछि आखिरमा तैँले आफ्नो कर्तव्य प्रभावकारी शैलीमा निर्वाह गर्ने कुरा परमेश्वरका वचनहरूको मार्गदर्शन र पवित्र आत्माको अन्तर्दृष्टि अनि अगुवाइमा निर्भर हुन्छ, त्यसपछि मात्र तैँले सत्यता बुझ्न र परमेश्वरले प्रदान गरेको मार्ग र उहाँले तय गरेको सिद्धान्तअनुसार उहाँको आज्ञा पूरा गर्न सक्छस्। यो त परमेश्वरको अनुग्रह र आशिष् हो, अनि यदि मानिसहरूले यसलाई देख्न सक्दैनन् भने, तिनीहरू अन्धा हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। यो खण्ड पढेपछि, मैले परमेश्वरको महिमा चोर्न सक्नुको कारण मैले आफूभित्र एउटा भ्रामक दृष्टिकोण राख्नु थियो भनेर बुझेँ। म के ठान्थेँ भने मेरो सहकार्यले गर्दा नै पवित्र आत्माले काम गर्नुभयो र कामले नतिजाहरू दिन सक्यो। मैले मानव सहकार्यलाई चाहिनेभन्दा बढी महत्त्व दिएँ। सत्य त के हो भने, मानव सहकार्य पनि सत्यताका सिद्धान्तहरू बुझ्ने कुरामा आधारित हुन्छ। परमेश्वरले सत्यता व्यक्त नगरिकन, मानव सहकार्यको कुनै दिशा हुँदैन। मानव सहकार्य केवल आफ्ना कर्तव्य र जिम्मेवारीहरू पूरा गर्नु हो, र कामले नतिजाहरू हासिल गर्छ कि गर्दैन भन्ने कुरा मूलतः पवित्र आत्माको काममा निर्भर हुन्छ। मैले यो कर्तव्य भर्खर सुरु गर्दाको समयबारे चिन्तन गर्दा, मैले धेरै सिद्धान्त बुझेकी थिइनँ, त्यसैले मैले धेरै प्रार्थना गरेँ र सिद्धान्तहरूको अध्ययन गरेँ, र ब्रदर-सिस्टरहरूसँग खोजेँ। बिस्तारै, मैले केही सिद्धान्त बुझेँ, र पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शनले म केही समस्या पत्ता लगाउन र समाधान गर्न सक्षम भएँ। तब मात्र सुसमाचारको कामले राम्रा नतिजाहरू हासिल गर्यो। पछि, म आत्म-सन्तुष्टिको अवस्थामा जिएँ, र मैले कम प्रार्थना गरेँ र सत्यताका सिद्धान्तहरू खोज्न छोडेँ, त्यसैले उप्रान्त पवित्र आत्माको काम प्राप्त गर्न सकिनँ, र मैले धेरै समस्याहरू कसरी समाधान गर्ने भनेर जानिनँ, जसले सुसमाचारको कामलाई असर गर्यो। विशेष गरी म पक्राउ परेर जेल परेपछि, मण्डलीको सुसमाचारको काम मेरो गिरफ्तारीको कारणले रोकिएन, बरु स्थिर रूपमा अघि बढ्यो र अझ फलदायी बन्यो। तैपनि मैले मूर्खतापूर्वक र अन्धाधुन्ध आफ्नो सहकार्यलाई असाधारण महत्त्वका रूपमा हेरेँ, र मविना मण्डलीको कामले राम्रा नतिजाहरू हासिल गर्दैन भन्ने ठानेँ। अहिले फर्केर हेर्दा, मलाई लाज लाग्यो। यसबाहेक, मैले केही प्रतिभाशाली व्यक्तिहरू उपलब्ध गराउनुको तथ्य यो थिएन कि मैले सत्यता बुझेकी थिएँ र सही मानिसहरू छनौट गर्न सक्षम थिएँ, बरु परमेश्वरले आफ्नो कामका लागि विभिन्न प्रकारका प्रतिभाशाली व्यक्तिहरूलाई लामो समयदेखि नै तयार पार्नुभएको थियो। साथै, मानिसहरू छनौट गर्ने प्रक्रियामा, यस्ता धेरै विषयहरू थिए जसमा म अस्पष्ट थिएँ, जुन मैले सहकार्य गरिरहेकी सिस्टरसँग सत्यताका सिद्धान्तहरू खोजेर मात्र स्पष्ट रूपमा देखेँ। यदि परमेश्वरले सत्यता व्यक्त नगर्नुभएको भए, कर्तव्यहरूको निर्वाहसँग सम्बन्धित सिद्धान्तहरूलाई यति स्पष्ट रूपमा सङ्गति नगरिदिनुभएको भए, म कसरी सम्भवतः यी सिद्धान्तहरूलाई बुझ्न वा बोध गर्न सक्थेँ, वा आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्थेँ? वास्तवमा, परमेश्वरले आफ्नो काम आफैँ गरिरहनुभएको थियो, र मैले केवल एक मानवका रूपमा गर्नुपर्ने मेरो कर्तव्यको सानो हिस्सा मात्र पूरा गरिरहेकी थिएँ। मेरा लागि घमन्ड गर्ने कुनै कुरा थिएन।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ, र मैले अझै बढी लज्जित, अप्ठ्यारो र अपमानित महसुस गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले मानिसहरूमा धेरै काम गर्नुभएको छ, तर के उहाँले यसबारे कहिल्यै बोल्नुभएको छ? के उहाँले कहिल्यै यसको व्याख्या गर्नुभएको छ? के उहाँले कहिल्यै यो कुराको घोषणा गर्नुभएको छ? अहँ, उहाँले त्यसो गर्नुभएको छैन। मानिसहरूले परमेश्वरलाई जसरी गलत बुझे पनि, उहाँ व्याख्या गर्नुहुन्न। परमेश्वरको दृष्टिकोणबाट हेर्दा, तँ साठी वर्षको भए पनि वा असी वर्षको भए पनि, परमेश्वरबारे तेरो बुझाइ अत्यन्तै सीमित हुन्छ, र तँलाई कति थोरै थाहा छ भन्ने आधारमा, तँ अझै पनि बच्चा होस्। परमेश्वर यसलाई तेरो विरुद्धमा प्रयोग गर्नुहुन्न; तँ अझै पनि अपरिपक्व बच्चा होस्। कतिपय मानिस धेरै वर्ष जिएका भए पनि र तिनीहरूको शरीरले वृद्ध अवस्थाका लक्षणहरू देखाए पनि, त्यसले केही फरक पार्दैन; परमेश्वरबारे तिनीहरूको बुझाइ अझै पनि अत्यन्तै अपरिपक्व र सतही छ। परमेश्वर यसमा तँलाई दोषी मान्नुहुन्न—यदि तैँले बुझिनस् भने, बुझिनस्। त्यो तेरो क्षमता र सामर्थ्य हो, र यसलाई परिवर्तन गर्न सकिँदैन। परमेश्वर तँलाई कुनै कुरामा जबरजस्ती गर्नुहुन्न। परमेश्वर मानिसहरूले उहाँको गवाही दिऊन् भन्ने माग गर्नुहुन्छ, तर के उहाँले आफ्नो गवाही दिनुभएको छ? (छैन।) अर्कोतर्फ, शैतानलाई यसले गरेको सानो कुराबारे समेत मानिसहरूले थाहा पाउनेछैनन् भन्ने डर लाग्छ। ख्रीष्टविरोधीहरू पनि त्यस्तै हुन्छन्: तिनीहरूले गर्ने हरेक सानो कामबारे सबैको अगाडि घमण्ड गर्छन्। तिनीहरूको कुरा सुन्दा, तिनीहरूले परमेश्वरको गवाही दिइरहेका छन् जस्तो लाग्छ—तर यदि तैँले ध्यान दिएर सुनिस् भने तिनीहरूले परमेश्वरको गवाही दिइरहेका छैनन्, तर तिनीहरूले देखावा गरिरहेका छन्, आफूलाई बढावा दिइरहेका छन् भन्ने कुरा पत्ता लगाउनेछस्। तिनीहरूले भनेको कुरापछाडिको अभिप्राय र सार भनेको परमेश्वरसँग उहाँका चुनिएका मानिसहरू, र हैसियतका लागि होड गर्नु हो। परमेश्वर नम्र र गुप्त हुनुहुन्छ, र शैतानले आफ्नो धाक लगाउँछ। के भिन्नता छ? देखावा गर्नु र नम्रता अनि गुप्तपन: सकारात्मक कुराहरू केके हुन्? (नम्रता र गुप्तपन।) के शैतानलाई नम्र भनेर व्याख्या गर्न सकिन्छ? (सकिँदैन।) किन? यसको दुष्ट प्रकृति सारका आधारमा हेर्दा, यो बेकामको कसिङ्गर टुक्रा हो भन्ने देखिन्छ; शैतानले आफ्नो धाक नलगाउनु त असामान्य हुन्छ। शैतानलाई कसरी ‘नम्र’ भनेर भन्न सकिन्छ? ‘नम्रता’ त परमेश्वरका सन्दर्भमा मात्रै भन्न सकिन्छ। परमेश्वरको पहिचान, सार, र स्वभाव उच्च र आदरणीय छन्, तर उहाँ कहिल्यै पनि देखावा गर्नुहुन्न। परमेश्वर नम्र र गुप्त हुनुहुन्छ, त्यसकारण मानिसहरूले उहाँले के गर्नुभएको छ भन्ने देख्दैनन्, तर उहाँले यस्तो अज्ञात रूपमा काम गर्नुहुने हुनाले, मानवजातिलाई निरन्तर भरणपोषण, पालनपोषण गरिन्छ र मार्गदर्शन दिइन्छ—र यो सबै परमेश्वरले नै मिलाउनुभएको हो। के परमेश्वर यी कुराहरू कहिल्यै घोषणा गर्नुहुन्न, कहिल्यै उल्लेख गर्नुहुन्न भन्ने कुरा गुप्तपन र नम्रता होइन र? परमेश्वरले यी कुराहरू गर्न सक्नुहुन्छ तर उहाँ कहिल्यै तीबारे उल्लेख गर्नुहुन्न वा घोषणा गर्नुहुन्न, र तीबारे मानिसहरूसँग तर्क गर्नुहुन्न, त्यसैले त उहाँ नम्र हुनुहुन्छ। तँ त्यस्ता कुराहरू गर्न सक्दैनस् भने तँसँग नम्रताबारे कुरा गर्ने के अधिकार हुन्छ र? तैँले तीमध्ये कुनै पनि काम गरिनस्, तैपनि त्यसका लागि श्रेय लिने जिद्दी गर्छस्—लाजमर्दो व्यवहार गर्नु भनेको यही हो। परमेश्वर मानवजातिलाई अगुवाइ गर्दै, यस्तो ठूलो काम गर्नुहुन्छ, र उहाँ सम्पूर्ण ब्रह्माण्डको नेतृत्व गर्नुहुन्छ। उहाँको अख्तियार र शक्ति अत्यन्तै विशाल छ, तैपनि उहाँले कहिल्यै ‘मेरो शक्ति असाधारण छ’ भनेर भन्नुभएको छैन। उहाँ सबै थोकमाझ लुकेर बस्नुहुन्छ, सबै कुरामाथि शासन गर्नुहुन्छ, मानवजातिलाई खुवाउनुहुन्छ र भरणपोषण गर्नुहुन्छ, र सबै मानवजातिलाई पुस्तौँ पुस्तासम्म निरन्तर अघि बढ्न दिनुहुन्छ। उदाहरणका लागि, हावा र घामलाई वा पृथ्वीमा मानव अस्तित्वका लागि आवश्यक रहेका सबै भौतिक कुरालाई लिऊँ—ती सबै निरन्तर रूपमा चलिरहन्छन्। परमेश्वरले मानिसका लागि प्रदान गर्ने कुरामा कुनै प्रश्न छैन। यदि शैतानले कुनै असल काम गरेको भए, के यसले चुपचाप काम गर्नेथ्यो, र अज्ञात नायक बन्नेथ्यो? कहिल्यै त्यसो गर्नेथिएन। त्यो त मण्डलीमा रहेका कतिपय ख्रीष्टविरोधी जस्तै हो, जसले पहिले खतरनाक काम गरेका थिए, विभिन्न कुरा त्यागेका थिए र कष्ट भोगेका थिए, सायद जेलसमेत गएका थिए; कति जनाले परमेश्वरको घरको कामको एउटा पक्षमा योगदान दिएका पनि हुन सक्छन्। तिनीहरू यी कुरा कहिल्यै बिर्सँदैनन्, तिनीहरू ती कुराका लागि जीवनभरको श्रेय पाउनुपर्छ भन्ने सोच्छन्, तिनीहरू यी कुरालाई आफ्नो जीवनकालको पूँजी ठान्छन्—यसले मानिसहरू कति सानो छन् भन्ने कुरा देखाउँछ! मानिसहरू साँच्चै नै साना हुन्छन्, र शैतान निर्लज्ज हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। परमेश्वरको सार विनम्र, सुन्दर र असल छ, जबकि शैतानको सार दुष्ट, कुरूप र निर्लज्ज छ। मैले बाइबलमा शैतानले प्रभु येशूलाई परीक्षा गरेका बारेमा कसरी बताइएको छ भनेर सोचेँ। प्रस्ट छ, संसारका सबै कुरा परमेश्वरद्वारा सृष्टि गरिएको हो, तैपनि शैतानले आफूले सबै कुरा सृष्टि गरेको दाबी गर्यो र प्रभु येशूलाई आफ्नो आराधना गराउन परीक्षा गर्ने प्रयास गर्यो। मैले चिनियाँ कम्युनिस्ट पार्टीका बारेमा पनि सोचेँ। मानवजातिले उपभोग गर्ने सबै कुरा स्पष्ट रूपमा परमेश्वरबाट आउँछ, र परमेश्वरले मानवजातिका सबै दैनिक आवश्यकता पूर्ति गर्नुहुन्छ, तैपनि चिनियाँ कम्युनिस्ट पार्टीले आफूले मानिसहरूलाई राम्रो जीवन दिएको दाबी गर्छ, जसले गर्दा मानिसहरूले यी कुराहरूको श्रेय उसैलाई दिन्छन्। मैले मण्डलीबाट निष्कासित गरिएका ती ख्रीष्टविरोधीहरूबारे पनि सोचेँ। तिनीहरूले निरन्तर धाक देखाउँथे र आफूलाई उचाल्थे, उनीहरूले परमेश्वरको घरका लागि कति काम गरेका थिए र कति कष्ट सहेका थिए भनेर कुरा गर्थे, मानिसहरूलाई बहकाएर आफूलाई पछ्याउन र आराधना गराउन यो कुरा प्रयोग गर्थे। यी कुराहरू देख्दा मलाई दियाबलस र शैतान साँच्चै कति निर्लज्ज छन् भन्ने महसुस भयो! आफ्नो बारेमा सोच्दा, प्रस्ट छ, पवित्र आत्माको कामका कारणले गर्दा मण्डलीको कामले नतिजाहरू हासिल गरेको थियो, तैपनि मैले गुपचुप रूपमा आफ्ना उपलब्धिहरू गन्ती गर्थेँ र अक्सर ब्रदर-सिस्टरहरूलाई देखाउँथेँ, जसले गर्दा सबैले यी मेरा उपलब्धिहरू हुन् भन्ठाने, मलाई उच्च सम्मान गरे, र आफ्नो हृदयमा मेरा लागि स्थान दिए। के मेरो व्यवहार आफूलाई उचाल्ने र धाक देखाउने ती ख्रीष्टविरोधीहरूको जस्तै थिएन र? म कसरी यति निर्लज्ज र पूर्ण रूपमा विवेक र समझहीन हुन सकेँ! परमेश्वरले मानवजातिलाई मुक्ति दिन मानिस बन्न आफैलाई विनम्र बनाउनुभयो; उहाँ आफ्नो ज्यान जोखिममा पार्न र ठूलो अपमान अनि कष्ट सहन इच्छुक हुनुहुन्छ, मानिसहरूको माझमा काम गर्न र हामीलाई मुक्ति दिन आउनुहुन्छ। परमेश्वरले मानवजातिका लागि सबै कुरा दिनुभएको छ, यद्यपि उहाँले आफ्ना कामहरू कहिल्यै घोषणा गर्नुहुन्न। उहाँले चुपचाप आफूले गर्न चाहेको काम गर्नुहुन्छ। तर मेरो सन्दर्भमा, एक सानो सृजित प्राणी, मैले गरेको सबै कुरा मेरो आफ्नै कर्तव्य र जिम्मेवारी पूरा गर्नु थियो, तर मैले आफ्नो आडम्बर गर्न र धाक देखाउन विभिन्न तरिका प्रयोग गरेँ। म साँच्चै तुच्छ र बेकम्मा थिएँ! मैले पश्चात्तापमा परमेश्वरलाई प्रार्थना गरेँ, उहाँलाई मेरा अपराधहरू क्षमा गरिदिनुहोस् भनी बिन्ती गरेँ। म नयाँ सुरुवात गर्न र मेरो अहङ्कारी स्वभावलाई रूपान्तरण गर्न इच्छुक थिएँ, र सबै कुरामा परमेश्वरलाई उचाल्न र उहाँको गवाही दिन सिक्न इच्छुक थिएँ।
पछि, मैले परमेश्वरलाई कसरी उचाल्ने र उहाँको गवाही दिने अभ्यास गर्ने बारेमा एउटा खण्ड पढेँ: “परमेश्वरको गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, र मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले के-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्नेबारेमा नै कुरा गर्नुपर्छ। तिमीहरूले तिमीहरूका अनुभवमा कति भ्रष्टता प्रकट गरेका छौ, तिमीहरूले कति धेरै कष्ट सहेका छौ, परमेश्वरको प्रतिरोध गर्न तिमीहरूले कति धेरै कुराहरू गरेका छौ, अन्त्यमा तिमीहरू परमेश्वरद्वारा कसरी विजय गरियौ, तिमीहरूले परमेश्वरको कामको कति वास्तविक ज्ञान प्राप्त गरेका छौ, र तिमीहरूले परमेश्वरको प्रेम चुकाउन कसरी उहाँको गवाही दिनुपर्दछ भन्ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यी शब्दहरूमा ठोसता प्रदान गर्नुपर्छ, जबकि सरल तरिकाले बोल्नुपर्छ। रित्ता सिद्धान्तहरूका बारेमा कुरा नगर। व्यावहारिक तरिकाले बोल; हृदयबाट बोल। तिमीहरूले विभिन्न कुराहरूको अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउने प्रयासमा गहन लाग्ने, रित्ता सिद्धान्तहरू तयार नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र समझहीन देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूका बारेमा बताउनुपर्छ, र अझ बढी हृदयबाट बोल्नुपर्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूका लागि सबैभन्दा उपयुक्त देखिन्छ। तिमीहरू विगतमा परमेश्वरलाई सबैभन्दा धेरै विरोध गर्ने र उहाँप्रति समर्पित हुन सबैभन्दा कम झुकाव राख्ने मानिसहरू थियौ, तर अब तिमीहरू जितिएका छौ—त्यो कुरा कहिल्यै नबिर्स। तिमीहरूले यी विषयहरूमा धेरै चिन्तन र मनन गर्नुपर्छ। जब मानिसहरूले ती कुराहरू स्पष्ट बुझ्छन्, तब तिनीहरूलाई गवाही कसरी दिनुपर्छ भन्ने थाहा हुनेछ, अन्यथा, तिनीहरूले लाजमर्दो र मूर्ख कामहरू गर्न सक्नेछन्, जुन परमेश्वरको लागि गवाही दिनु होइन, बरु परमेश्वरलाई लज्जित तुल्याउनु हो। सच्चा अनुभवहरू र सत्यताको बुझाइविना परमेश्वरको लागि गवाही दिन सम्भव हुँदैन। परमेश्वरमाथिको भ्रमित र अन्योलपूर्ण विश्वास भएका मानिसहरूले परमेश्वरको लागि कहिल्यै गवाही दिन सक्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्वरका वचनहरूबाट, मैले मानिसहरूको माझमा कसरी परमेश्वरलाई उचाल्ने र उहाँको गवाही दिने भनेर बुझेँ। एकातिर, हामीले परमेश्वरका वचनहरूको न्याय, सजाय, काटछाँट, परीक्षाहरू र शोधनलाई कसरी अनुभव गरेका छौँ, परमेश्वरको कामको महत्त्व र उहाँका अभिप्रायहरू के हुन्, र उहाँ हामीमा कस्तो प्रकारको प्रभावहरू हासिल गर्न चाहनुहुन्छ भन्ने बारेमा ब्रदर-सिस्टरहरूसँग धेरै कुरा बाँड्न आवश्यक छ, ताकि अरूले परमेश्वरलाई चिन्न सकून् र मानवजातिलाई मुक्ति दिने उहाँको श्रमसाध्य अभिप्रायहरू बुझ्न सकून्। अर्कोतिर, हामीले आफ्ना अनुभवहरूमा प्रकट गरेका भ्रष्टता, र परमेश्वरविरुद्ध गरेका विद्रोही र अटेरी कुराहरूलाई पनि खोल्नु र उदाङ्गो पार्नुपर्छ, ताकि अरूले हाम्रा कार्यहरूको प्रकृति बुझ्न र त्यसबाट खुट्ट्याउने शक्ति प्राप्त गर्न सकून्। यसरी, तिनीहरूले यी कुराहरूको प्रकाशमा आफूलाई हेर्न सक्छन्, र आफ्नो भ्रष्ट स्वभावलाई चिन्न र घृणा गर्न सक्छन्। यसरी अभ्यास गरेर मात्र हामी साँच्चै परमेश्वरलाई उचाल्न र उहाँको गवाही दिन सक्छौँ। तर मैले असल कुराहरू मात्र बोल्न रोजेँ। मैले काममा नतिजाहरू हासिल गर्न कसरी परमेश्वरमा भर परेँ, मैले कति जना मानिसलाई प्राप्त गरेँ र कतिवटा मण्डली स्थापना गरेँ भन्ने बारेमा मात्र कुरा गरेँ, जबकि यस प्रक्रियामा मैले प्रकट गरेको विद्रोह, भ्रष्टता र कमजोरीबारे उल्लेख गरिनँ। मैले यी कुराहरू ब्रदर-सिस्टरहरूसमक्ष उदाङ्गो पारिनँ। फलस्वरूप, उनीहरू मेरो देखावटी असल व्यवहारले गर्दा बहकिए। मैले जे गरेकी थिएँ र जसरी व्यवहार गरेकी थिएँ, ती सबै परमेश्वरका वचनहरूको विपरीत थिए, र मैले परमेश्वरसमक्ष पश्चात्ताप गर्नुपर्थ्यो र तहाँबाट उहाँका वचनहरूअनुसार अभ्यास गर्नुपर्थ्यो।
जेलबाट छुटेको पाँच महिनापछि, मण्डलीले मलाई सुसमाचार प्रचार जारी राख्नका लागि प्रबन्ध मिलायो। म धेरै प्रभावित भएँ, र मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने र परमेश्वरप्रतिको मेरो विगतको ऋण चुकाउने सङ्कल्प गरेँ। एउटा भेलाको क्रममा, एक जना नयाँ सदस्यले केही धारणाहरू उठाइन्, त्यसैले मैले धैर्यपूर्वक तिनीसँग परमेश्वरका वचनहरू सङ्गति गरेँ, र अन्तमा, तिनका धारणाहरू समाधान भए। तिनले यो भेलाबाट आफोले धेरै कुरा प्राप्त गरेको भनिन्, र तिनीसँग सङ्गति गर्न ब्रदर-सिस्टरहरूलाई ल्याइदिनुभएकोमा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति ठूलो धन्यवाद व्यक्त गरिन्। तिनी बोल्दा धेरै उत्साहित थिइन्, र म छेउमा बसेर सुन्दै गर्दा, म गुपचुप रूपमा रमाएँ, र मनमनै सोचेँ, “सिस्टरका धारणाहरू मुख्यतया मेरो सङ्गतिबाट समाधान भएका हुन्। यस्तो देखिन्छ म त त्यति नराम्री रहिनछु, र म केही समस्याहरू समाधान गर्न सत्यता सङ्गति गर्न सक्छु।” जब ममा यस्ता सोचहरू आए, मलाई फेरि एकपटक म परमेश्वरको महिमा चोरिरहेकी छु भन्ने महसुस भयो। मैले मेरो वरपरका ब्रदर-सिस्टरहरूले परमेश्वरको मार्गदर्शनका लागि धन्यवाद दिइरहेको देखेँ, जबकि म यहाँ निर्लज्ज भई आफैँलाई प्रशंसा गरिरहेकी थिएँ, र मलाई आफैँदेखि साँच्चै घृणा लाग्यो। म कति निर्लज्ज थिएँ! मैले तुरुन्तै आफ्नो हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँका वचनहरू सम्झेँ: “जब तँमा परमेश्वरबारे केही बुझाइ हुन्छ, जब तैँले आफ्नै भ्रष्टता देख्न र अहङ्कार र अभिमानको घृणास्पदता र कुरूपता बुझ्न सक्छस्, तब तैँले घृणित, घिनाएको, र दुःखी महसुस गर्नेछस्। तैँले परमेश्वरलाई सन्तुष्ट पार्न सचेत रूपमा केही कुरा गर्न सक्नेछस् अनि त्यसपछि, तैँले सहज महसुस गर्नेछस्। तैँले सचेत भई परमेश्वरका वचनहरू पढ्नेछस्, परमेश्वरको बढाइ गर्नेछस्, परमेश्वरको गवाही दिनेछस्, र हृदयमा आनन्दित महसुस गर्नेछस्। तैँले सचेत रूपमा आफूलाई उदाङ्गो पार्नेछस्, आफ्नै कुरूपता खुलासा गर्नेछस्, र यसो गरेर, तँलाई भित्रबाट राम्रो महसुस हुनेछ र तेरो मुड सुध्रनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। मैले ब्रदर-सिस्टरहरूसँग मेरा घृणित सोचहरूका बारेमा खुलेर कुरा गरेँ। मैले के पनि उल्लेख गरेँ भने आजको भेलाका केही विषयहरू मैले सुरुमा राम्ररी बुझेकी थिइनँ, तर सङ्गतिको प्रक्रियामा, मैले बिस्तारै परमेश्वरका वचनहरूको अन्तर्दृष्टिद्वारा स्पष्टता प्राप्त गरेँ, र यो मेरो मौलिक कद थिएन, यो त पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शन थियो। यी कुरा भनेपछि, मैले आफ्नो हृदयमा गहिरो शान्ति बोध गरेँ, र मलाई यसरी जिउनु साँच्चै असल हो भन्ने लाग्यो! ममा हुन सकेको यो रूपान्तरण परमेश्वरका वचनहरूको न्याय र सजायले ममाथि ल्याएको नतिजा थियो। परमेश्वरलाई धन्यवाद!