६९. रोगहरू बारेको चिन्ता त्याग्नु

याङ जुन, चीन

सन् २०२३ को सुरुतिर, मैले मेरो टाउकोमा भुनभुन् भएको महसुस गरेँ, र मेरो रक्तचाप प्रायः उच्च हुने भएकाले, मैले नापेँ। सोच्दै नसोचेको कुरा, मेरो रक्तचाप तल्लो ११० mmHg र माथिल्लो १६० mmHg रहेछ। म छक्क परेँ, र सोचेँ, “किन यति धेरै बढेको? यो हिसाबले त ढिलो-चाँडो केही न केही भैहाल्छ नि!” मैले मेरो बुबालाई उच्च रक्तचापले गर्दा मस्तिष्कघात भएको, र बचाउन एक घण्टाभन्दा बढी प्रयास गरिए पनि उहाँ बित्नुभएको सम्झेँ। मेरी फुपूलाई पनि उच्च रक्तचापले गर्दा मस्तिष्कघात भएको र त्यसको दोस्रो दिन नै उहाँ बित्नुभएको थियो। पछि गएर म, मेरो दाइ र दिदीलाई पनि उच्च रक्तचाप देखियो। डाक्टरले हाम्रो परिवारमा यो वंशाणुगत रोग हुन सक्ने कुरा बताए र अबदेखि होसियार रहन सल्लाह दिए। मलाई अलि डर लाग्यो, कतै बुबा र फुपूजस्तै मेरो पनि अचानक मृत्यु हुने हो कि भनेर चिन्तित भएँ। पहिले म के सोच्थेँ भने, म परमेश्‍वरमा विश्‍वास गर्ने भएकाले उहाँले मेरो सुरक्षा गर्नुहुन्छ, र यो अलि-अलि उच्च रक्तचाप त केही ठूलो कुरा होइन, अनि यो पक्कै पनि ठूलो समस्या बन्दैन। तर अहिले यति धेरै रक्तचाप बढेको देखेर, मेरो मनमा गुनासो आउन थाल्यो, र मैले सोचेँ, “मैले यति वर्षदेखि मण्डलीमा आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेको छु, परमेश्‍वरले मेरो यो रोग पनि किन निको नपार्नुभएको होला? कतै एकदिन रक्तचाप बढेर म ढलेँ भने? मरिहालिनँ भने पनि अपाङ्ग हुन्छु, अनि त्यसपछि मैले कसरी मुक्ति पाउन सक्नेछु र? मैले आफै यसलाई नियन्त्रण गर्ने उपाय खोज्नुपर्छ, नत्र कुनै दिन यो रोग बढेर मेरो ज्यानै जान सक्छ।” त्यहाँबाट, मैले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन थालेँ। जहाँ कर्तव्य निर्वाह गर्न गए पनि, मैले उच्च रक्तचापको उपचार गर्ने तरिकाहरूबारे सोधपुछ गर्न कहिल्यै बिर्सिनँ, अनि फुर्सद पाउनेबित्तिकै इन्टरनेटमा खोज्थेँ। मेरो मलजल गर्ने कर्तव्यका लागि चाहिने सिद्धान्तहरूको अध्ययनलाई मैले बेवास्ता गरेँ, अनि अनुगमन गरी हल गर्नुपर्ने समस्याहरूलाई समयमै सम्बोधन गरिनँ। मेरा सबै सोचाइ रोगको उपचार गर्नमा नै केन्द्रित थिए। आफ्ना कर्तव्यप्रति यस्तो व्यवहार गर्नु अनुपयुक्त हो भन्ने मलाई थाहा थियो, तर नयाँ सदस्यहरूलाई मलजल गर्न चाहिने समय र शक्तिबारे सोच्नेबित्तिकै, मेरो रक्तचाप अझै बढ्छ कि भन्ने चिन्ता हुन्थ्यो, र रोगको उपचार गर्ने उपाय खोज्नु नै जरुरी हो जस्तो लाग्थ्यो। यो मनस्थितिमा, मेरो मनमा भएको अलिकति ग्लानि बोध पनि हराएर गयो।

एक पटक, मैले उच्च रक्तचापको उपचार गर्ने एउटा घरेलु उपचारबारे थाहा पाएँ, अनि धेरै मानिसले यसबाट लाभ पाएको मैले सुनेँ, त्यसैले खुसी हुँदै त्यो प्रयोग गर्न गएँ। केही समयपछि, मेरो रक्तचाप घट्नुको सट्टा झन् बढेर माथि त झन् १८० mmHg पो पुग्यो। यो नतिजा देखेर म स्तब्ध भएँ र आफैलाई सोधेँ, “मेरो रक्तचाप कसरी बढ्न सक्यो?” मलाई धेरै डर लाग्यो, अनि बुबा र फुपूजस्तै मेरो पनि अचानक मृत्यु हुन्छ कि भनेर चिन्तित भएँ। मैले उच्च रक्तचापले गर्दा मस्तिष्कघात भएका मानिसहरूबारे पनि सोचेँ, जसमध्ये कोही-कोही अनुहारको पक्षघात भएर ह्वीलचेयरमा बस्न बाध्य थिए, आफ्नो हेरचाह आफै गर्न सक्दैनथे, अनि अरू कतिपयको त शरीरको एक पाटो नै नचल्ने भएको थियो। मलाई डर लाग्यो, कुनै दिन मेरो हालत पनि त्यस्तै हुने हो कि। जति धेरै सोच्थेँ, त्यति नै धेरै डराउँथेँ, र म चिन्ता र फिक्रीमा डुबेँ, अनि मेरो ध्यान मेरा कर्तव्यहरूबाट पूरै हट्यो। मैले सोचेँ, “सायद मैले पहिले घर गएर आराम गरी रोग निको पारेर मात्र फेरि आफ्ना कर्तव्य निर्वाह गर्नुपर्छ।” तर चिनियाँ कम्युनिस्ट पार्टीका पुलिसले मलाई खोजिरहेकाले, म घर जान सक्दिनथेँ, त्यसैले उपचार गराउँदै आफ्ना कर्तव्यलाई निरन्तरता दिनुबाहेक मसँग अरू विकल्प थिएन। त्यसपछि, मैले आफ्नो शारीरिक अवस्थामा झनै ध्यान दिन थालेँ, अनि जब-जब मलाई रिङ्गटा लाग्थ्यो वा टाउको दुख्थ्यो, म मेरो रक्तचाप फेरि बढ्यो कि, वा हिँड्दा-हिँड्दै ढलेर फेरि कहिल्यै उठ्न नसक्ने पो हुँला कि भन्ने अनुमान गर्न पुगिहाल्थेँ। म हरेक दिन त्रसित रहन्थेँ, र त्यसको असर मेरो कर्तव्य निर्वाहमा पर्‍यो। पछि, मैले उच्च रक्तचाप भएका मानिसहरूले राति ढिलोसम्म बस्नु हुँदैन भन्ने सुनेँ, त्यसैले म साँझमा चाँडै सुत्न थालेँ, अनि तुरुन्तै गर्नुपर्ने काममा पनि हतार गर्न छोडेँ, तर भोलिपल्ट गर्नुपर्ने काम कति धेरै रहेको देख्दा, मलाई ठूलो दबाब महसुस हुन्थ्यो र म आत्तिन्थेँ। त्यस अवधिमा, म पूरै आफ्नो रोगमा डुबेको थिएँ, मेरा कर्तव्यहरूमा मेरो कार्यकुशलता निकै घटेको थियो, र त्यसले मलजलको काममा ढिलाइ गरिरहेको थियो। मलाई ग्लानि हुन्थ्यो, तर आफ्नो रोगबारे सोच्नेबित्तिकै त्यो ग्लानिको भावना हराएर जान्थ्यो। हरेक दिन, मैले के खान हुन्छ र के हुँदैन, अनि आफ्नो रोगको हेरचाह कसरी गर्ने भन्ने कुरामा नै ध्यान केन्द्रित गर्थेँ, र मलाई आफ्ना कर्तव्य निर्वाह गर्ने मन नै हुन्नथ्यो। मेरो मनमा केही गुनासाहरू पनि उब्जिन थाले, र मैले सोचेँ, “मैले मण्डलीमा आफ्ना कर्तव्य निर्वाह गर्दा दुःख भोगेको र आफूलाई समर्पित गरेको छु, परमेश्‍वरले किन मेरो सुरक्षा गर्नुभएको छैन? मेरो अवस्था सुध्रिनुको सट्टा लगातार झन्-झन् बिग्रँदै गइरहेको छ। अब मैले कसरी आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्न सक्छु र?” मेरो हृदय परमेश्‍वरबाट झन्-झन् टाढा हुँदै गयो, र मलाई प्रार्थना गर्न पनि मन लाग्न छाड्यो। मलाई एकदमै दिक्दार र पीडा महसुस भयो, अनि कुनै पनि दिन मेरो मृत्यु हुन सक्छ भनेर म त्रसित थिएँ। मेरो पीडामा, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, उहाँको अभिप्राय बुझ्न सकूँ भनेर उहाँको मार्गदर्शन मागेँ।

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “कतिपय मानिसहरूलाई आफू बिरामी छु भन्‍ने थाहा हुन्छ, अर्थात् तिनीहरूलाई कुनै वास्तविक रोग वा त्यस्तै प्रकारको कुनै रोग लागेको छ भन्‍ने थाहा हुन्छ, जस्तै पेटको रोग, कम्‍मर र खुट्टा दुख्‍ने, जोर्नी दुख्‍ने, हातखुट्टा दुख्‍ने, साथै छाला रोग, स्‍त्रीरोग, कलेजो रोग, उच्‍च रक्तचाप, मुटुरोग, आदि इत्यादि। तिनीहरूले सोच्छन्, ‘यदि मैले आफ्नो कर्तव्य पूरा गरिरहेँ भने, के परमेश्‍वरको घरले मेरो रोगको उपचार खर्च हेरिदिनेछ? यदि मेरो रोग झन् खराब भयो र यसले कर्तव्य पूरा गर्ने मेरो क्षमतामा असर पार्‍यो भने, के परमेश्‍वरले मलाई निको पार्नुहुनेछ? अरू मानिसहरू परमेश्‍वरमा विश्‍वास गरेपछि निको भएका छन्, त्यसकारण के म पनि निको हुनेछु? के परमेश्‍वरले अरूमाथि दया देखाउनुभएजस्तै मलाई पनि निको पार्नुहुनेछ? यदि मैले बफादारितासाथ आफ्‍नो कर्तव्य पूरा गरेँ भने, परमेश्‍वरले मलाई निको पार्नुपर्छ, तर मैले परमेश्‍वरले मलाई निको पार्नुहोओस् भनेर कामना गरेँ तर उहाँले निको पार्नुभएन भने, मैले के गर्ने होला?’ जब-जब तिनीहरूले यी कुराहरूबारे सोच्छन्, तिनीहरूलाई हृदयमा गहन बेचैनी पैदा भएको महसुस हुन्छ। तिनीहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्न कहिल्यै नछोडे पनि र आफूले गर्नुपर्ने कुरा सधैँ गरे पनि, तिनीहरू निरन्तर आफ्‍नो रोग, स्वास्थ्य स्थिति, भविष्य, र आफ्‍नो जीवन र मृत्युबारे मात्रै सोचिरहन्छन्। अन्त्यमा, तिनीहरूले यस्तो कामनापूर्ण निष्कर्ष निकाल्छन्, ‘परमेश्‍वरले मलाई निको पार्नुहुनेछ, र मलाई सुरक्षा दिनुहुनेछ। परमेश्‍वरले मलाई त्याग्‍नुहुनेछैन, र म बिरामी भएको देख्दा परमेश्‍वर हात बाँधेर बस्‍नुहुनेछैन।’ त्यस्ता विचारहरूको कुनै आधार हुँदैन, र ती एक प्रकारका धारणा नै हुन् भनेर पनि भन्‍न सकिन्छ। यस्ता धारणा र कल्‍पनाहरूद्वारा मानिसहरूले कहिल्यै पनि आफ्‍ना व्यावहारिक कठिनाइहरू समाधान गर्न सक्‍नेछैनन्, र तिनीहरूले हृदयभित्र अन्‍तस्‍करणमा आफ्‍नो स्वास्थ्य स्थिति र रोगबारे हैरानी, बेचैनी र चिन्ताको अस्पष्ट अनुभूति गर्नेछन्; यी कुराहरूको जिम्‍मेवारी कसले लिनेछ, वा तिनको जिम्‍मेवारी कसैले लिनेछ कि लिनेछैन भन्‍नेबारे तिनीहरूलाई केही थाहै हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। “कतिपय मानिसहरूले बिरामी भएको महसुस नगरे पनि र तिनीहरूमा कुनै रोग पत्ता लागेको नभए पनि, तिनीहरूलाई आफूमा कुनै सुषुप्त रोग छ भन्‍ने थाहा हुन्छ। कस्तो सुषुप्त रोग? उदाहरणको लागि, यो कुनै वंशाणुगत रोग हुन सक्छ, जस्तै मुटुरोग, मधुमेह, वा उच्‍च रक्तचाप, वा यो स्मरण शक्ति हराउने, जीउको कुनै भाग हल्‍लिरहने, वा कुनै किसिमको क्यान्सर हुन सक्छ—यी सबै सुषुप्त रूपमा रहने रोगहरू हुन्। … तिनीहरूले आफ्‍नो सुषुप्त रोगबारे केही नगर्न सक्दो प्रयास गरे पनि, कुनै दिन यो सुषुप्त रोग अचानक, कुनै निश्‍चित घडीमा, वा थाहै नभई देखा पर्नबाट रोक्‍न भनेर, बेलाबेलामा र अर्धचेतन रूपमा हरकिसिमका परम्‍परागत उपचारहरू खोजिहिँड्छन्। कतिपय मानिसहरूले त बारम्बार चिनियाँ जडीबुटी तयार गरेर खान पनि सक्छन्, कतिले चाहिँ चाहेको बेला खान सकिने परम्‍परागत औषधी कसरी बनाउने भनेर यदाकदा अरूलाई सोधिहिँड्छन्, अनि कतिपय मानिसहरूचाहिँ कसरत र विभिन्‍न प्रयोग गर्नको लागि बेलाबेलामा कसरतसम्‍बन्धी जानकारी अनलाइनमा खोजिहिँड्छन्। यो सुषुप्त रोग मात्रै भए पनि, यो कुरा तिनीहरूको दिमागको अग्र स्थानमा हुन्छ; ती मानिसहरूलाई बिसन्चो नभए पनि, वा तिनीहरूमा रोगको कुनै लक्षण नदेखिए पनि, तिनीहरूलाई अझै पनि यसबारेमा चिन्ता र बेचैनी हुन्छ, र भित्री रूपमा तिनीहरूलाई यसबारेमा हैरानी र हतोत्साह हुन्छ, जसले गर्दा तिनीहरू प्रार्थना गरेर वा आफ्‍नो कर्तव्य पूरा गरेर यी नकारात्मक संवेगहरू सुधार्ने वा हटाउने आशा गर्छन्। … जन्‍म, वृद्धावस्था, रोगबिमारी र मृत्यु मानवजातिमाझ निरन्तर आइरहने र जीवनमा टार्न नसकिने भए पनि, निश्‍चित शारीरिक अवस्था वा विशेष रोग भएका कतिपय मानिसहरूले चाहे आफ्‍नो कर्तव्य पूरा गर्दा होस् वा नगर्दा होस्, तिनीहरू देहका कठिनाइ र रोगहरूबारे सधैँ हैरानी, बेचैनी र चिन्तामा डुबिरहन्छन्; तिनीहरूले आफ्‍नो रोगबारे चिन्ता गर्छन्, रोगले आफ्नो जीवनमा ल्याउने धेरै कठिनाइहरूबारे चिन्ता गर्छन्, र आफ्नो रोग अझै बिग्रेर पो जान्छ कि, यो गम्‍भीर भयो भने यसले ल्याउने समस्याहरू के होलान्, र आफू यसबाट मर्ने पो हो कि भनेर चिन्ता गर्छन्। विशेष परिस्थिति र निश्‍चित अवस्थाहरूमा, गम्‍भीर प्रश्‍नहरूको यो श्रृङ्खलाले तिनीहरूलाई हैरानी, बेचैनी र चिन्तामा डुबाउँछ र तिनीहरूले यसबाट आफूलाई मुक्त गर्न सक्दैनन्; कतिपय मानिसहरू आफूलाई पहिले नै गम्‍भीर रोग लागिसकेको हुनाले वा भविष्यमा अवश्यै देखा पर्ने सुषुप्त रोगको कारण हैरानी, बेचैनी र चिन्ताको स्थितिमा जिउँछन्, अनि तिनीहरूमाथि यी नकारात्मक संवेगहरूको प्रभाव, असर, र नियन्त्रण परिरहन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरका वचनहरूले मेरो अवस्थालाई ठ्याक्कै खुलासा गरिदिए। जबदेखि मलाई उच्च रक्तचाप र यो वंशाणुगत रोग हो भन्ने थाहा भयो, कुनै दिन बुबा र फुपूजस्तै अचानक मेरो मृत्यु हुन्छ कि भन्ने चिन्ता लागिरह्यो। परमेश्‍वरलाई पाएपछि, मैले आफ्नो रोग उहाँलाई सुम्पेँ, उहाँले मलाई निको पार्नुहुन्छ भन्ने आशा राखेँ, तर धेरै वर्षसम्म आफ्ना कर्तव्य निर्वाह गरेपछि पनि, मेरो रक्तचाप घट्नुको सट्टा झन् बढ्दै गयो। त्यसैले मलाई कुनै दिन मेरो अचानक मृत्यु हुन्छ कि भन्ने चिन्ता लाग्यो, र विशेष गरी जब मैले उच्च रक्तचापको जटिलताका कारण आफ्नो हेरचाह आफै गर्न नसक्ने केही मानिसहरूलाई देखेँ, तब मलाई कुनै दिन उनीहरूजस्तै हुन्छु कि भन्ने झनै चिन्ता भयो। हैरानी र चिन्तामा जिउँदै, म लगातार उपचार खोजिरहेको थिएँ र आफ्ना कर्तव्य निर्वाह गर्ने मनस्थितिमा नै थिइनँ। मैले आफ्नो सबै शक्ति रोगको उपचारमा लगाएँ, र ममा आफ्ना कर्तव्यमा चाहिने सिद्धान्तहरू सिक्ने हृदय नै थिएन। मैले नयाँ सदस्यहरूसँग सङ्गति गर्न र उनीहरूका समस्याहरू समाधान गर्न हतार गरिनँ, जसले मलजलको काममा असर पाऱ्यो। यतिबेला, मैले बल्ल के महसुस गरेँ भने, हैरानी र चिन्तामा जिउँदा भय र अन्धकार मात्र बढ्दै जान्छ, अनि मृत्युको छायाको डरमा निरन्तर जिएकाले, मेरो हृदय परमेश्‍वरबाट झन्-झन् टाढा हुँदै गइरहेको थियो। म अब यसरी विद्रोही भएर जिउन चाहन्नथेँ, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, मलाई हैरानी र चिन्ताको नकारात्मक भावनाहरूबाट बाहिर निकाल्न उहाँको मार्गदर्शन मागेँ।

त्यसपछि, मैले परमेश्‍वरका यी वचनहरू भेटेँ: “सबैको आयु परमेश्‍वरद्वारा पूर्वनियोजित गरिएको छ। कुनै रोग चिकित्साको दृष्टिकोणबाट निको नहुने हुन सक्छ, तर परमेश्‍वरको दृष्टिकोणबाट, यदि तेरो आयु अझै सकिएको छैन र तेरो समय आउन बाँकी नै छ भने, तँ चाहेर पनि मर्न सक्दैनस्। यदि तँलाई परमेश्‍वरले आज्ञा दिनुभएको छ, र तेरो मिसन पूरा भएको छैन भने, तँलाई प्राणघातक रोग लागे पनि, तँ मर्नेछैनस्—परमेश्‍वरले तँलाई अझै लानुहुनेछैन। यदि तँ प्रार्थना गर्दैनस् र सत्यता खोज्दैनस्, र आफ्नो रोगको उपचारमा ध्यान दिँदैनस्, वा तेरो उपचारमा ढिलाइ भयो भने पनि, तँ मर्नेछैनस्। … अवश्य नै, चाहे मानिसहरू बिरामी होऊन् वा नहोऊन्, तिनीहरूसँग आफू जिउञ्जेल स्वास्थ्य तन्दुरुस्ती कायम गर्नेबारे केही साधारण समझ त हुनैपर्छ। यो परमेश्‍वरले मान्छेलाई दिनुभएको नैसर्गिक क्षमता हो। यो परमेश्‍वरले मान्छेलाई दिनुभएको स्वतन्त्र इच्छाको दायराभित्र व्यक्तिसँग हुनेपर्ने समझ र सामान्य सुझबुझ हो। जब तँ बिरामी पर्छस्, तब तँमा स्वास्थ्य हेरचाह र त्यस रोगसित जुझ्ने उपचारबारे केही साधारण समझ हुनुपर्छ—तैँले गर्नुपर्ने यही हो। तैपनि, तैँले तेरो रोगसँग यसरी व्यवहार गर्नु परमेश्‍वरले तेरा लागि तय गरिदिनुभएको आयुलाई चुनौती दिनका लागि होइन, न त उहाँले तेरो लागि तय गरिदिनुभएको आयुभर तैँले जिउने ग्यारेन्टी गर्नका लागि नै हो। यसको अर्थ के हो त? यसलाई यसरी भन्‍न सकिन्छ: निष्क्रिय हिसाबमा भन्दा, यदि तैँले आफ्‍नो रोगलाई गम्‍भीरतासाथ लिँदैनस् भने पनि, तँ आफ्नो कर्तव्य जसरी गर्नुपर्ने हो, त्यसरी नै गर्छस्, र अरूले भन्दा अलि बढी आराम गर्छस्, र तैँले आफ्‍नो कर्तव्यमा ढिलाइ गर्दैनस् भने, तेरो रोग बिग्रनेछैन र यसले तँ मर्नेछैनस्। सबैकुरा परमेश्‍वरले जे गर्नुहुन्छ त्यसमा भर पर्छ। अर्को शब्‍दमा भन्दा, यदि परमेश्‍वरको दृष्टिकोणमा तेरो तय भएको आयु अझै पूरा भएको छैन भने, तँ बिरामी नै परिस् भने पनि, परमेश्‍वरले तँलाई मर्न दिनुहुनेछैन। यदि तेरो रोग प्राणघातक होइन, तर तेरो समय आइसकेको छ भने, परमेश्‍वरले जुनसुकै बेला तँलाई लैजानुहुनेछ। के यो पूर्ण रूपमा परमेश्‍वरकै विचारको कृपामा हुँदैन र? यो उहाँको निर्धारणको कृपामा हुन्छ!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने, कुनै व्यक्तिको जीवन कति लामो हुन्छ भन्ने कुरा परमेश्‍वरद्वारा पूर्वनिर्धारित हुन्छ, र यो उनीहरू बिरामी छन् वा छैनन्, वा उनीहरूको रोग सामान्य छ वा गम्भीर छ भन्ने कुरामा निर्भर हुँदैन। जस्तै मेरी आमा, मैले सम्झन सक्ने भएदेखि नै उहाँ सधैँ बिरामी हुनुहुन्थ्यो, वर्षौँदेखि अस्पताल आउ-जाउ गरिरहनुहुन्थ्यो र औषधि खाइरहनुहुन्थ्यो। परिवारका सबैले भन्थे, मेरी आमा पक्कै पनि बुबाभन्दा धेरै बाँच्नुहुन्न किनभने बुबाको स्वास्थ्य राम्रो थियो, र हामीले दशकौँदेखि उहाँले औषधि खाएको देखेका थिएनौँ। तर अचम्मको कुरा, मेरो बुबालाई अचानक मस्तिष्कघात भयो र उहाँ बित्नुभयो, जबकि डाक्टरकहाँ निरन्तर गइरहने मेरी आमा भने बाँचिरहनुभएको छ। यी उदाहरणहरूबाट, मैले के देखेँ भने, कुनै व्यक्ति कहिले मर्छ भन्ने कुरा उसको हातमा हुँदैन। यदि कुनै व्यक्ति बिरामी नभए पनि, उसको आयु पुगेको छ भने ऊ मर्छ, र यदि उसको आयु पुगेको छैन भने, उसलाई घातक रोग लागे पनि ऊ मर्दैन। सबै कुरा परमेश्‍वरको पूर्वनिर्धारणको अधीनमा हुन्छ। तर मैले सधैँ आफ्नो जीवन र मृत्युलाई आफ्नै हातमा लिन र आफ्नो भाग्यलाई नियन्त्रण गर्न चाहेँ। मैले परमेश्‍वरको सर्वशक्तिमान्‌ता र सार्वभौमिकतालाई बुझिनँ, म कति अज्ञानी र अहङ्कारी थिएँ! यो कुरा महसुस गरेपछि, मलाई आत्म-घृणाको गहिरो बोध भयो, र म आफ्नो रोग परमेश्‍वरलाई सुम्पन तयार भएँ। यस क्षणमा, मैले स्वतन्त्र महसुस गरेँ र अब त्यति चिन्तित वा फिक्रीमा थिइनँ।

पछि, ब्रदर-सिस्टरहरूले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पठाए, र परमेश्‍वरका वचनहरू पढेपछि, मैले बल्ल के बुझेँ भने, रोगको आगमन परमेश्‍वरको श्रमसाध्य अभिप्रायबाट हुन्छ। परमेश्‍वर भन्‍नुहुन्छ: “जब परमेश्‍वरले तँ बिरामी पर्ने प्रबन्ध गर्नुहुन्छ, तब त्यो बिमारी ठूलो भए पनि वा सानो भए पनि, उहाँले त्यसो गर्नुको उद्देश्य तँलाई बिरामी पर्नुका विस्तृत विवरणहरू, त्यो रोगले तँलाई गर्ने हानि, त्यो रोगले तेरो जीवनमा ल्याउने विभिन्न असहजताहरू र अप्ठ्याराहरू, अनि त्यो रोगले तँलाई महसुस गराउने विभिन्न भावनाहरू अनुभव गर्ने तुल्याउनु होइन—उहाँको उद्देश्य तैँले बिरामी हुने प्रक्रियामा बिमारी अनुभव गर् भन्ने होइन। बरु, उहाँको उद्देश्य त तैँले त्यो बिमारीबाट पाठहरू सिक्, परमेश्‍वरका अभिप्राय कसरी बोध गर्ने भनी सिक्, तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरू र तँ बिरामी हुँदा परमेश्‍वरप्रति तँमा हुने गलत मनोवृत्तिहरू जान्, परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुन र परमेश्‍वरप्रति साँचो समर्पणता हासिल गर्न र आफ्‍नो गवाहीमा दृढ रहन सिक् भन्ने हो—मुख्य कुरा यही हो। परमेश्‍वरले तँलाई रोगबिमारीमार्फत मुक्ति दिन र पखाल्न चाहनुहुन्छ। उहाँले तेरो के कुरालाई पखाल्न चाहनुहुन्छ? उहाँ तैँले परमेश्‍वरमाथि राख्ने तेरा सबै अतिशयपूर्ण चाहना र माग पखाल्न चाहनुहुन्छ, र तैँले जुनसुकै हालतमा पनि बाँच्न र आफूलाई जीवित राख्नका लागि गर्ने विभिन्न युक्ति, फैसला, र योजनाहरूसमेत पखाल्न चाहनुहुन्छ। परमेश्‍वर तँलाई योजना बनाउन दिनुहुन्‍न, उहाँ तँलाई फैसला गर्न दिनुहुन्‍न, र उहाँ तँलाई उहाँबाट कुनै पनि अतिशयपूर्ण कुराको चाहना राख्‍न दिनुहुन्‍न; उहाँ त केवल तँलाई उहाँमा समर्पित हुनुपर्ने, र समर्पणतासम्बन्धी तेरो अभ्यास र अनुभवमा रोगप्रति तेरो आफ्‍नै मनोवृत्ति, र उहाँले तँलाई दिने यी शारीरिक अवस्थाहरूप्रतिको तेरो मनोवृत्ति, साथै तेरा व्यक्तिगत कामनाहरू जान्नुपर्ने माग गर्नुहुन्छ। जब तैँले यी कुराहरू जान्दछस्, तब तैँले परमेश्‍वरले तेरा लागि बिमारीका परिस्‍थितिहरू खडा गर्नु वा तँलाई यी शारीरिक अवस्थाहरू दिनु तेरा लागि कति फाइदाजनक छन् भन्‍ने कुरा बुझ्‍न सक्छस्; अनि तैँले यी कुराहरू तेरो स्वभाव परिवर्तन गर्नमा, तैँले मुक्ति पाउनमा, र तेरो जीवन प्रवेशमा कति उपयोगी छन् भन्‍ने कुरा बुझ्‍न सक्छस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने, रोगबाट पीडित हुनु भनेको बाहिरी वस्तुगत कारणहरू खोज्नु होइन, न त डरमा जिउनु र सङ्घर्ष गर्नु वा त्यसबाट भाग्न खोज्नु हो। यी कुनै पनि परमेश्‍वरको अभिप्राय होइन। परमेश्‍वरको अभिप्राय भनेको मानिसहरूले रोगहरूबाट पाठ सिकून्, परमेश्‍वरको अभिप्राय बुझून्, आफ्नो भ्रष्टतालाई चिन्तन गरेर चिनून्, र आफ्नो जीवन स्वभावमा केही परिवर्तनहरूको अनुभव गरून् भन्ने हो। मैले सोचेँ, मेरो रोगको समयमा मैले परमेश्‍वरको अभिप्राय नबुझेको र नखोजेको, बरु हैरानी र चिन्तामा जिएको, अनि परमेश्‍वरले मेरो सुरक्षा नगर्नुभएको वा मेरो रोग निको नपार्नुभएको भनेर उहाँमाथि गुनासोसमेत गरेको थिएँ। यो पूर्ण रूपमा परमेश्‍वरको अभिप्रायविरुद्ध थियो। यसरी मैले आफूलाई कसरी बुझ्न र पाठ सिक्न सक्थेँ र? यो सोचेर, मैले चिन्तन गर्न थालेँ, “मेरो रोग निको नहुँदा मैले किन परमेश्‍वरमाथि गुनासो गरेँ?” मेरो चिन्तनको क्रममा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र आफूबारे केही बुझाइ प्राप्त गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “मैले तिनीहरूलाई निको पार्छु भनेर मात्र धेरैले मलाई विश्‍वास गर्छन्। धेरैले ममा मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मेरो आफ्नो शक्ति प्रयोग गरूँ भनेर मात्र विश्वास गर्छन्, अनि धेरैले ममा तिनीहरूले शान्ति र आनन्द प्राप्‍त गर्न सकून्‌ भनेर मात्र विश्‍वास गर्छन्। मबाट अझ धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्‍वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्‍वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नलाई धेरैले ममा विश्‍वास गर्छन्। धेरैले अस्थायी सान्त्वनाका निम्ति मात्र ममा विश्‍वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्‍त गर्न खोज्दैनन्। जब म मेरो क्रोध मानिसहरूलाई प्रदान गर्छु र कुनै समय तिनीहरूसँग भएका सबै हर्ष र शान्ति खोस्छु, तब तिनीहरू सशङ्कित हुन्छन्। जब म मानिसहरूलाई नरकको कष्ट प्रदान गरेर स्वर्गको आशिष्‌ फिर्ता लिन्छु, तब तिनीहरू क्रोधित हुन्छन्। जब मानिसहरू आफूलाई निको पारिदिन भनी मलाई बिन्ती गर्छन् र म तिनीहरूलाई ध्यान दिन्‍नँ र तिनीहरूप्रति घृणा महसुस गर्छु, तब तिनीहरू मबाट टाढा जान्छन् र बरु दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्छन्। जब म मानिसहरूले मबाट माग गरेका सबैथोक खोस्छु, तिनीहरू सबैजना कुनै नामनिसानविनै गायब हुन्छन्। त्यसैले त म भन्छु, मैले प्रदान गर्ने अनुग्रह अत्यन्तै प्रशस्त भएको हुनाले र प्राप्त गर्नका लागि प्रशस्त लाभहरू भएकाले नै मानिसहरूले ममा विश्‍वास गर्ने गर्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्‍वरका वचनहरू पढेर, मलाई एकदमै लाज लाग्यो। परमेश्‍वरले खुलासा गरेको कुरा ठ्याक्कै मेरो स्थिति थियो। फर्केर हेर्दा, मैले सुरुमा परमेश्‍वरमा विश्‍वास गरेको नै आशिष् र अनुग्रह पाउनका लागि थियो, सोच्थेँ जबसम्म म परमेश्‍वरमा विश्वास गर्छु र आफ्ना कर्तव्यहरू पूरा गर्छु, तबसम्म उहाँले मेरो हेरविचार र सुरक्षा गर्नुहुन्छ, अनि मलाई रोग वा प्रकोपविना शान्ति र सहजतामा जिउन दिनुहुन्छ। त्यसैले जब मेरो अवस्था बिग्रियो, मैले असामान्य व्यवहार गरेँ, परमेश्‍वरविरुद्ध गुनासो गरेँ र उहाँसँग तर्क गरेँ, आफ्ना कर्तव्यहरूमा झारा टार्ने र गैरजिम्मेवार भएँ, र त्यसलाई त्याग्ने विचारसमेत गरेँ। मैले देखेँ, म परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमार्फत आशिष् खोजिरहेको थिएँ, मेरा कर्तव्य, त्याग र समर्पणलाई परमेश्‍वरको सुरक्षा र आशिष्‌सँग साट्न खोजिरहेको थिएँ, र मेरो रोग निको होस् भन्ने आशा गरिरहेको थिएँ। यो छल र परमेश्‍वरसँग खुलेआम मोलतोल गर्ने प्रयास थियो। म पावलको मार्ग पछ्याइरहेको थिएँ। पावलले वर्षौँसम्म काम र आफूलाई समर्पित गरे, तर यो सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य राम्ररी पूरा गरी परमेश्‍वरलाई सन्तुष्ट पार्न नभएर, इनाम र मुकुट पाउनका लागि थियो। अन्ततः उनले यसो भनेर आफ्नो साँचो भावना व्यक्त गरे: “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। पावलले प्रभुका लागि काम गरेको धार्मिकताको मुकुट माग्न र आशिष् खोज्नका लागि थियो। मेरो विश्‍वास र कर्तव्यमा, म पनि आशिष् र शान्ति खोजिरहेको थिएँ, र जब मैले यी कुराहरू पाइनँ, मैले परमेश्‍वरसँग तर्क गरेँ र उहाँको प्रतिरोध गरेँ। ममा परमेश्‍वरको डर मान्‍ने हृदय थिएन। मैले आफू कति अविवेकी, असमझदार र घृणित रहेछु भन्ने देखेँ! त्यो क्षण म पछुतो र ग्लानिले भरिएँ। म अब परमेश्‍वरलाई छल गर्न वा उहाँसँग मोलतोल गर्न चाहन्नथेँ। म केवल आफ्नो कर्तव्य राम्ररी पूरा गरी परमेश्‍वरको हृदयलाई सान्त्वना दिन चाहन्थेँ। पछि, आफ्नो कर्तव्य निर्वाह गर्दा, म प्रायः परमेश्‍वरलाई प्रार्थना गर्थेँ, उहाँसँग अन्तर्दृष्टि र मार्गदर्शन माग्थेँ, ताकि मैले रोगमार्फत आत्मचिन्तन गरी आफूलाई बुझ्न सिक्न सकूँ। थाहै नपाई, मेरो स्थिति धेरै सुधार भयो, र म आफ्ना कर्तव्यमा उत्प्रेरित भएँ।

पछि, जब म जाँचका लागि अस्पताल गएँ, तब मेरो रक्तचाप अझै पनि निकै उच्च रहेको पाएँ, र मेरो मनमा फेरि चिन्ता आउन थाल्यो, र सोचेँ “यदि मेरो रक्तचाप यस्तै उच्च रहिरह्यो भने, के म कुनै दिन अचानक मर्छु होला?” मलाई कि म फेरि चिन्ता र फिक्रीमा जिइरहेको महसुस भयो, त्यसैले म परमेश्‍वरका वचनहरूतिर फर्केँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यो जीवनमा सबैले मृत्युको सामना गर्नैपर्छ, अर्थात् सबैले आफ्‍नो यात्राको अन्त्यमा सामना गर्नुपर्ने कुरा मृत्यु नै हो। तैपनि, मृत्युका धेरै विविध गुणहरू छन्। यीमध्ये एउटा के हो भने, परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको समयमा, तैँले आफ्‍नो मिसन पूरा गरेको हुन्छस् र परमेश्‍वरले तेरो दैहिक जीवनमुनि एउटा रेखा कोर्नुहुन्छ, र तेरो दैहिक जीवन समाप्त हुन्छ, तर यसको अर्थ तेरो जीवन समाप्त भएको छ भन्‍ने हुँदैन। जब कुनै व्यक्ति देहविहीन हुन्छ, तब उसको जीवन समाप्त हुन्छ—के यस्तै नैहो त? (होइन।) मृत्युपछि तेरो जीवन कुन रूपमा रहन्छ भन्‍ने कुरा तँ जीवित हुँदा परमेश्‍वरको काम र वचनहरूलाई कसरी लिइस् भन्‍ने कुरामा निर्भर हुन्छ—यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। मृत्युपछि तँ कुन रूपमा रहनेछस्, वा तँ अस्तित्वमा हुनेछस् कि छैनस् भन्‍ने कुरा तँ जीवित हुँदा परमेश्‍वर र सत्यताप्रति तेरो मनोवृत्ति कस्तो थियो भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तँ जीवित हुँदा, तैँले मृत्यु र सबै प्रकारका रोग-बिमारीको सामना गर्दा, सत्यताप्रतिको तेरो मनोवृत्ति विद्रोही, विरोधी, र सत्यताप्रति वितृष्ण हुने किसिमको छ भने, तेरो देहको जीवनको समय समाप्त हुने समय आएपछि, तेरो मृत्युपछि तँ कुन तरिकाले अस्तित्वमा रहनेछस्? तँ अवश्य नै अरू कुनै तरिकाले अस्तित्वमा रहनेछस्, र तेरो जीवन अवश्य नै जारी रहनेछैन। यसको विपरीत, यदि तँ जीवित हुँदा, तेरो देहमा जागरूकता हुँदा, सत्यता र परमेश्‍वरप्रति तैँले समर्पणता र बफादारिताको मनोवृत्ति देखाइस् र तँमा साँचो विश्‍वास छ भने, तेरो दैहिक जीवन समाप्त भए पनि, तेरो जीवन अर्को संसारमा फरक रूपमा अस्तित्वमा रहिरहनेछ। यो मृत्युको एउटा व्याख्या हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने, कुनै व्यक्तिको जीवन र मृत्यु परमेश्‍वरद्वारा पूर्वनिर्धारित हुन्छ, सबैजना मर्नुपर्छ, तर मृत्युको प्रकृति र मृत्युपछिको परिणाम व्यक्तिपिच्छे फरक हुन्छ। यो परिणाम व्यक्ति जीवित छँदा सत्यताप्रतिको उसको मनोवृत्ति र आफ्ना कर्तव्यप्रतिको उसको मनोवृत्तिमा निर्भर हुन्छ। मैले पत्रुसबारे सोचेँ। प्रभु येशूले उनलाई आफ्ना भेडाहरूको हेरचाह गर्ने र खुवाउने आज्ञा सुम्पनुभएको थियो, र पत्रुसले प्रभु येशूको आज्ञालाई आफ्नो जीवनभरिको मिसनका रूपमा लिए। सतावट, सङ्कष्ट, वा रोगको शोधन जस्तोसुकै अवस्थामा पनि, उनले आफ्नो कर्तव्य कहिल्यै त्यागेनन्। पत्रुसले उनको जीवन क्रूसमा उँधोमुन्टो टाँगेर समाप्त नगरिञ्जेलसम्म विश्‍वासीहरूलाई मलजल गरे र उनीहरूको विश्‍वासलाई बलियो बनाए। पत्रुसले मृत्युको सामना गर्दा डराएनन्, र उनले आफ्नो सम्पूर्ण जीवन दाउमा राखेर परमेश्‍वरले दिएको मिसन पूरा गरे र परमेश्‍वरको अनुमोदन प्राप्त गरे। मैले पावलबारे पनि सोचेँ, जो परमेश्‍वरको महान् ज्योतिद्वारा ढालिएपछि, प्रभुको सुसमाचार प्रचार गर्न धेरै कष्ट भोगे। तर उनले आफ्नो कष्टलाई आशिष् पाउने सर्त र परमेश्‍वरबाट मुकुट दाबी गर्ने मोलतोलको माध्यमका रूपमा हेरे। उनका परिश्रमहरू परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास थिए, जसको अभिप्राय आफ्नै लागि आशिष् पाउनु थियो; सृजित प्राणीको मिसन पूरा गर्नु थिएन; उनी परमेश्‍वरको विरुद्धमा विद्रोह र प्रतिरोध गरिरहेका थिए। उनले परमेश्‍वरको अनुमोदन पाउनुको सट्टा दोषी ठहरिए। पत्रुस र पावलका उदाहरणहरूबाट, मैले के बुझेँ भने, व्यक्तिगत अनुरोध वा मागहरूविना, आफ्नो कर्तव्य पूरा गर्न पूर्ण रूपमा समर्पित भएर जीवन जिउनु नै सबैभन्दा मूल्यवान् र अर्थपूर्ण कुरा हो। यो एउटा सृजित प्राणीले गर्नुपर्ने कुरा हो र यही कुराले परमेश्‍वरको अनुमोदन पाउँछ। चिन्तन गर्दा, मैले आफ्ना कर्तव्यप्रतिको मेरो मनोवृत्ति पावलको जस्तै रहेको देखेँ। मैले त्याग र समर्पणलाई आशिष् प्राप्त गर्ने माध्यमका रूपमा हेरेँ, परमेश्‍वरले मलाई निको पार्नुहुन्छ भन्ने आशा राखेँ, र आफूले चाहेको नपाउँदा, मैले परमेश्‍वरविरुद्ध गुनासो गरेँ। यदि म यसरी देहलाई सन्तुष्ट पार्न मात्र जिइरहेँ भने, तब म स्वस्थ र रोग वा प्रकोपबाट मुक्त भए पनि, यदि मेरो भ्रष्ट स्वभाव अपरिवर्तित रह्यो र मैले अझै पनि परमेश्‍वरको प्रतिरोध गरेँ भने, के म हिँड्ने लाशजस्तै जिइरहेको हुने थिइनँ र? यसको के अर्थ हुन्थ्यो र? मैले पत्रुसको उदाहरण पछ्याउनुपर्थ्यो। यद्यपि मसँग पत्रुसको जस्तो क्षमता वा उनको जस्तो मानवता छैन, तर पनि मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्दो प्रयास गर्नुपर्थ्यो, परमेश्‍वरलाई सन्तुष्ट पार्न सृजित प्राणीले गर्ने कार्य गर्नुपर्थ्यो, ताकि यदि म कुनै दिन मरेँ भने पनि, मलाई कुनै पछुतो नहोस्, र कम्तीमा मेरो आत्मा सहजता र शान्तिता रहोस्। तहाँदेखि, जब मैले आफ्नो कर्तव्य निर्वाह गरेँ, मलाई धेरै सहज महसुस भयो, र मलाई उप्रान्त आफ्नो रोगद्वारा बाँधिएको महसुस भएन। कहिलेकाहीँ आफ्नो कर्तव्य निर्वाह गरिरहेका बेला रिङ्गटा लाग्दा, मैले उचित विश्राम लिएँ, मैले तोकिएको समयमा औषधि खाएँ, र लामो समयको बसाइले असहज हुँदा उठेर व्यायाम र जीउ तन्काउने गरेँ। मैले आफ्नो कर्तव्यमा ढिलाइ नगर्ने प्रयास गरेँ। ब्रदर-सिस्टरहरूले काममा आइपरेका समस्याहरू समाधान गर्न मद्दत माग्दा, मलाई ती समस्याको सम्बोधन गर्दा लाग्ने प्रयासले दिक्क लाग्न छाड्यो, र मैले सङ्गति गर्न र समस्याहरू समाधान गर्न सक्दो प्रयास गरेँ। जब मैले आफ्नो हृदयलाई कर्तव्यमा समर्पित गरेँ, कहिलेकाहीँ थाहै नपाई राति ढिलोसम्म काम गर्दा पनि रिङ्गटा लागेन, र अन्ततः, मैले औषधि खान छोडेँ। तर मेरो अवस्था बिग्रिएन, बरु मलाई अझ तनावमुक्त महसुस भयो। वास्तवमा, उच्च रक्तचाप मैले कल्पना गरेजस्तो डरलाग्दो रहेनछ। परमेश्‍वरका वचनहरूले नै मलाई रोगको हैरानी, चिन्ता र फिक्रीबाट बाहिर निस्कन मद्दत गरे, र मलाई मेरो नकारात्मक स्थितिबाट बाहिर निकाले। सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ६८. अरूसँग आफूलाई दाँज्दाको पीडा

अर्को: ७०.पैसा र हैसियतले मेरो लागि के गर्‍यो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्