२७. जिम्मेवारी लिने डरले मेरो स्वार्थीपन र घृणितपनलाई प्रकट गर्यो
सन् २०२३ मा, म मण्डलीमा लेखन-पठनको कर्तव्य निर्वाह गरिरहेको थिएँ। जुनमा, सुपरिवेक्षक याङ फेङले मलाई के बताए भने अगुवाहरूले तिनलाई अर्को ठाउँमा कर्तव्य निर्वाह गर्न खटाउने र मलाई सुपरिवेक्षक बनाउने योजना बनाइरहेका छन्। यो कुरा सुनेर, व्याकुल भएँ र सोचेँ, “मलाई सुपरिवेक्षक बनाउने अरे? त्यो कसरी सम्भव हुन सक्छ र! मैले परमेश्वरलाई पाएदेखि र आफ्नो कर्तव्य निर्वाह गर्न थालेदेखि नै, म सधैँ मण्डलीको साधारण सदस्य मात्रै भएको छु। म कहिल्यै सुपरिवेक्षक भएको छैनँ। सुपरिवेक्षकहरूका धेरै जिम्मेवारीहरू र कामको फराकिलो दायरा हुन्छन्। उनीहरू व्यावसायिक कामको लागि मात्र जिम्मेवार हुँदैनन्, तर उनीहरूले ब्रदर-सिस्टरहरूका स्थितिहरू र काममा उत्पन्न हुने विभिन्न समस्या पनि समाधान गर्नुपर्छ। यो साधारण सदस्यहरूको कामभन्दा धेरै जटिल हुन्छ। सामान्यतया, म मानिसहरूसँग कुराकानी गर्न सिपालु छैनँ, र ममा खुट्ट्याइको कमी छ। सुपरिवेक्षकले गर्नुपर्ने कामबारे मैले नबुझेका र कसरी गर्ने भनी थाहा नपाएका धेरै कुरा पनि छन्। के यो कर्तव्य मेरा लागि अत्यन्तै धेरै होइन र? यसबाहेक, सुपरिवेक्षकका जिम्मेवारीहरू साधारण सदस्यको भन्दा धेरै गम्भीर हुन्छन्। मैले लेखन-पठनको कर्तव्य निर्वाह गर्न सुरु गर्दा, सिद्धान्तहरूअनुसार लेखहरू नजाँच्ने र सधैँ आफ्नै इच्छाअनुसार ब्रदर-सिस्टरहरूका अनुभवात्मक गवाही लेखहरू खारेज गर्ने एक जना सुपरिवेक्षक थिए। यसले काममा अवरोध र बाधा पुऱ्यायो र तिनलाई बर्खास्त गरियो। यदि मैले यो कर्तव्य निर्वाह गरेको, अनि परिणामहरू खराब भएका वा कुनै समस्याहरू उत्पन्न भएका भए, मैले जिम्मेवारी लिनुपर्नेथ्यो। सबैभन्दा राम्रो अवस्थामा, मलाई काँटछाँट मात्र गरिनेथ्यो, तर नराम्रो अवस्थामा, यदि काममा अवरोध र बाधा पुगेको भए, मलाई मण्डलीबाट पखाल्न सक्थ्यो। यदि त्यसो भएको भए, मेरो भविष्य र गन्तव्य खतम हुनेथ्यो!” मैले त्यसबारे जति धेरै सोचेँ, मलाई यो कर्तव्य निर्वाह गर्न त्यति नै गाह्रो लाग्यो, त्यसैले मैले याङ फेङलाई भनेँ, “म यो कर्तव्य निर्वाह गर्न सक्दिनँ। अरू कतैबाट कुनै सुपरिवेक्षकलाई सरुवा गर्न सम्भव छ कि?” याङ फेङले उनीहरूले त्यस क्षण उपयुक्त व्यक्ति फेला पारेका छैनन् भनेर भने। मैले यो अवस्था परमेश्वरले अनुमति दिनुभएको हो, र मैले केवल अस्वीकार गर्न चाहनु र ममा समर्पणको मनोवृत्ति नहुनु गलत हो भनेर बुझेँ। त्यसैले, मैले पहिले समर्पित हुने निर्णय गरेँ। म सुपरिवेक्षकको कर्तव्य लिने सहमत भए पनि, जब मैले व्यावसायिक कामबाहेक अरू धेरै कामसँग म कसरी सम्पर्कमा आएको छैनँ भन्नेबारे सोच्दा, मलाई धेरै दबाब महसुस भयो, र आफूले अगाडि कसरी काम गर्नुपर्छ भन्ने थाहा थिएन, अनि मैले अगुवाहरूले अरू कसैलाई सुपरिवेक्षकको जिम्मेवारी लिन नियुक्त गर्लान् भन्ने आशा मात्र गरेँ।
त्यसपछि, मैले सोच्न थालेँ, “मैले यो कर्तव्य पहिले कहिल्यै निर्वाह गरेको छैनँ, र यसबारे मैले नबुझेका धेरै कुरा छन्, त्यसोभए परमेश्वरले मेरा लागि यस्तो परिस्थिति किन मिलाउनुभयो? अनि मैले यस मामिलालाई कसरी सम्हाल्नुपर्छ?” मैले यी कुराहरूबारे सोचिरहेकै बेला, अचानक परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “भर्खरै प्रवर्द्धन गरिएको बेला, कतिपय मानिसहरूलाई आफूले कुन कार्यहरू गर्नुपर्छ वा ती कसरी गर्ने भन्ने थाहा हुँदैन, र तिनीहरू अलि अन्योलमा पर्छन्। यो सामान्य हो; को चाहिँ सबथोक गर्न सक्षम भएर जन्मेको थियो र? यदि तैँले सबथोक गर्न सक्थिस् भने, त पक्कै पनि सबैभन्दा अहङ्कारी र अभिमानी मानिस हुने थिइस्, र कोहीसामु झुक्ने थिइनस्—त्यस अवस्थामा, के तैँले अझै पनि सत्यतालाई स्विकार्न सक्ने थिइस् त? यदि तैँले सबथोक गर्न सक्थिस् भने, के तँ अझै पनि परमेश्वरमा निर्भर हुने थिइस् र के तैँले उहाँबाट अपेक्षा गर्ने थिइस्? के तैँले अझै पनि तेरो आफ्नै भ्रष्टताका समस्याहरू समाधान गर्न सत्यता खोज्ने थिइस्? तैँले निश्चय नै खोज्ने थिइनस्। त्यसको विपरीत, तँ अहङ्कारी र अभिमानी हुने थिइस् र ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने थिइस्, तँ शक्ति र हैसियतका लागि लड्नेथिइस् र कसैसामु झुक्ने थिइनस्, साथै तैँले मानिसहरूलाई बहकाउने र फसाउने थिइस्, र मण्डलीका काममा बाधा र अवरोध पुऱ्याउने थिइस्—यस अवस्थामा, के तँ अझै पनि परमेश्वरको घरद्वारा प्रयोग गरिन सक्थिस् र? यदि तँलाई तँमा धेरै कमी-कमजोरीहरू छन् भन्ने थाहा छ भने, तैँले पालन गर्न र समर्पित हुन सिक्नुपर्छ, र परमेश्वरको घरका मागहरूअनुसार विभिन्न कार्यहरू राम्ररी गर्नुपर्छ; यसले तँलाई बिस्तारै, मानकअनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्ने अवस्थासम्म पुग्न मद्दत गर्नेछ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। परमेश्वरका वचनहरूले मेरो हृदयलाई तुरुन्तै उज्यालो दिए, र मैले परमेश्वरको अभिप्राय अझ अलि राम्ररी बुझ्न थालेँ। मैले आफूभित्र एउटा गलत दृष्टिकोण छ भनेर बुझेँ। मैले के सोचेँ भने सबै कुरा जान्ने र कुनै पनि कुरा गर्न सक्नेहरू मात्र सुपरिवेक्षकको कर्तव्य निर्वाह गर्न बढुवा हुन योग्य हुन्छन्। वास्तवमा, परमेश्वरको घरले धेरै मानिसलाई बढुवा र संवर्धन गरेको थियो, र उनीहरू सबैले सुरुमा सबै कुरा बुझेका थिएनन्, बरु, उनीहरूले क्रमिक तालिमद्वारा अलि-अलि गर्दै सिद्धान्तहरू बुझे। नयाँ कर्तव्य सुरु गर्दा सबै कुरा नबुझ्नु वा नजान्नु सामान्य हो, र ममा यस मामिलाप्रति सही मनोवृत्ति हुनुपर्थ्यो। पछि फर्केर सोच्दा, यी सबै वर्षहरूको दौरान मैले कर्तव्य निर्वाह निर्वाह गर्दा त्यस्तै भएको थिएन र? मैले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, सुरुमा तालिम थाल्दा सबै कुरा बुझेको थिइनँ, तर मैले केही सिद्धान्त बुझ्न सकेकाले मलाई तालिम दिन नियुक्त गरियो। पछि, परमेश्वरको अन्तर्दृष्टि र मेरा ब्रदर-सिस्टरहरूको मद्दतले गर्दा, साथै केही असफलता अनुभव गरे, प्रकट भएर, अनि सारांशीकरण र चिन्तन गरेर, मैले बिस्तारै केही सिद्धान्त बुझ्दै र जान्दै गएँ। यसपटक, मण्डलीले मलाई सुपरिवेक्षकको कर्तव्य निर्वाह गर्न खटाएको थियो, र सुरुमा मलाई त्यो कसरी गर्ने भने थाहा नभए तापनि, र मलाई केही कठिनाइ भए तापनि, यो पूर्ण रूपमा सामान्य हुनेथियो, र मैले समर्पित भएर सुरु गर्नुपर्थ्यो र तालिमको लागि परमेश्वरमा भर पर्नुपर्थ्यो। मैले परमेश्वरका वचनहरूबाट के पनि बुझेँ भने, यस कर्तव्यमा भएका मेरा धेरै कमजोरीले मलाई नम्र रहन मद्दत गर्न सक्थे, र समस्याहरू सामना गर्दा, म अरूका रायहरू अझ धेरै खोज्न सक्थेँ, जसले मलाई अहङ्कार र अभिमानका कारण आफ्नो कर्तव्यमा अवरोध र बाधा पुऱ्याउन अनि, र आफ्नै रायहरूमा टाँसिइरनबाट जोगिन सक्षम बनायो। म निकै अहङ्कारी भएकाले, र मैले आफूसँग केही बुद्धि र क्षमता छ, र केही सत्यता सिद्धान्त बुझेको छु भनी सोचेकाले, त्यसैले मैले अरूलाई तुच्छ ठानिरहेँ। जब म फरक रायहरू सामना गर्थे, तब म आफू सही छु भन्ने सोच्थेँ, र त्यसैले म अक्सर आफ्नै विचारहरूमा टाँसिइरहन्थेँ। यसले काममा अवरोध र बाधा पुऱ्याएको थियो र यसले गर्दा म झण्डै बर्खास्त भएको थिएँ। यदि मैले सबै कुरा जानेको र गर्न सकेको भए, म वास्वमा आफ्नो अहङ्कारी स्वभावका आधारमा कामकुराहरू गर्न प्रवृत्त हुनेथिएँ। तर यसपटक, सुपरिवेक्षकको कर्तव्यमा, ममा धेरै पक्षको कमी थियो, र मैले चाहेर पनि अहङ्कारी व्यवहार गर्न सक्दिनथेँ। यो वास्तवमा मेरा लागि सुरक्षा थियो।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “जब परमेश्वरको घरले कसैलाई अगुवा बनाउनका लागि प्रवर्द्धन र संवर्धन गर्छ, तब त्यसले उसलाई तालिम लिन, परमेश्वरमा निर्भर हुन, र सत्यतातर्फ लागिपर्न अझै ठूलो बोझ दिन्छ; त्यसपछि मात्रै उसको कद सक्दो चाँडो बढ्छ। उसलाई जति ठूलो बोझ दिइन्छ, ऊ त्यति नै बढी दबाबमा पर्छ, र ऊ त्यति नै सत्यताको खोजी गर्न र परमेश्वरमा निर्भर हुन बाध्य हुन्छ। अन्त्यमा, उसले आफ्नो काम राम्ररी गर्न र परमेश्वरको इच्छा पछ्याउन सक्छ, र त्यसरी उसले मुक्ति पाउने र सिद्ध पारिने सही मार्गमा पाइला राखेको हुन्छ—परमेश्वरको घरले मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्दा हासिल हुने नतिजा यही हो। यी निश्चित कार्यहरू नगरीकन, तिनीहरूलाई आफूमा के कुराको कमी छ, सिद्धान्तहरूअनुसार कसरी कामकुरा गर्ने, र सत्यता वास्तविकता हुनु भनेको के हो भनेर थाहै हुनेथिएन। त्यसकारण निश्चित काम गर्दा, तिनीहरूलाई आफ्नो कमीकमजोरी पत्ता लगाउन र तिनीहरूका वरदान बाहेक, तिनीहरूसँग सत्यता वास्तविकता छैन भनी देख्न मद्दत गर्छ; यसले तिनीहरूलाई तिनीहरू कति विपन्न र दयनीय छन् भनी बुझ्न मद्दत गर्छ, जसले तिनीहरूलाई तिनीहरू परमेश्वरमा निर्भर भएनन् र तिनीहरूले सत्यताको खोजी गरेनन् भने, तिनीहरूले कुनै पनि काम गर्न सक्नेछैनन् भन्ने महसुस गराउँछ; यसले तिनीहरूलाई साँच्चै आफूलाई चिन्ने अनि यदि तिनीहरूले सत्यता र स्वभाव परिवर्तन पछ्याएनन् भने, परमेश्वरद्वारा प्रयोग गरिन योग्य हुनु तिनीहरूका लागि असम्भव हुनेछ भनी स्पष्ट रूपमा देख्ने तुल्याउँछ। अगुवा र कामदारहरूलाई संवर्धन गरिँदा र तालिम दिइँदा हासिल हुनैपर्ने परिणामहरू यिनै हुन्। यी पक्षहरू बुझेर मात्र मानिसहरूले व्यावहारिक रूपमा सत्यता पछ्याउन, विनम्र रूपमा आफूलाई आचरणमा ढाल्न, आफ्नो काम गर्दा आफूबारे धाक नलगाउने प्रत्याभूति दिन, आफ्नो कर्तव्य पूरा गर्दा लगातार परमेश्वरलाई उच्च पार्न र परमेश्वरको गवाही दिन, र चरणबद्ध रूपमा सत्यता वास्तविकताभित्र प्रवेश गर्न सक्छन्। … तालिम लिने अवसरहरू जति धेरै छन्, मानिसहरूका अनुभवहरू त्यति नै प्रशस्त हुन्छन्, तिनीहरूको अन्तर्ज्ञान त्यति नै फराकिलो हुन्छ, र त्यति नै चाँडो तिनीहरूको वृद्धि हुनेछ। तर, यदि मानिसहरूले अगुवाइको काम गर्दैनन् भने, तिनीहरूले सामना गर्ने र भोग्ने कुरा भनेको तिनीहरूको व्यक्तिगत जीवनका पाटो र तिनीहरूका व्यक्तिगत अनुभवहरू मात्र हुनेछन्, साथै तिनीहरूले चिन्ने कुरा तिनीहरूका व्यक्तिगत भ्रष्ट स्वभावहरू र विभिन्न व्यक्तिगत स्थितिहरू मात्र हुनेछन्—जुन सबै तिनीहरू आफैसित मात्रै सम्बन्धित हुन्छन्। तिनीहरू अगुवा बनेपछि, तिनीहरूले अझ धेरै मानिस, घटना र वातावरणहरू सामना गर्छन्, जसले तिनीहरूलाई सत्यता सिद्धान्तहरू खोज्नका लागि बारम्बार परमेश्वरसामु आउन प्रोत्साहित गर्छ। तिनीहरूका लागि, यी मानिस, घटना र कामकुराहरू थाहै नपाई एउटा बोझ बन्छन्, र तिनले प्राकृतिक रूपमै सत्यता वास्तविकतामा तिनीहरूको प्रवेशका लागि अत्यन्तै अनुकूल वातावरण पनि सृजना गर्छन्, जुन राम्रो कुरा हो। त्यसैले, क्षमता भएको, बोझ बोक्ने, र काम गर्ने सक्षमता भएको व्यक्ति साधारण विश्वासीका रूपमा बिस्तारै, र अगुवा वा कामदारका रूपमा झन् छिटो प्रवेश गर्नेछ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। परमेश्वरका वचनहरू पढेपछि, मैले परमेश्वरको घरले मानिसहरूलाई बढावा दिने र संवर्धन गर्ने महत्त्वबारे अलि बुझ्न थालेँ। परमेश्वरको घरमा मानिसहरूलाई प्रकट गर्न वा हटाउन नभई, उनीहरूलाई बोझ दिन र तालिम दिनका लागि थप अवसरहरू प्रदान गर्न बढुवा र संवर्धन गरिन्छ। जिम्मेवारीहरू धेरै हुँदा, काममा सामना गरिने समस्याहरू बढ्छन्, अनि काँटछाँट, रोकावट र असफलताहरू पनि अझ बारम्बार हुनेछन्। यस्तो लाग्छ, देहले केही कष्ट भोग्नुपर्छ, तर परमेश्वर हामीलाई आफ्ना भ्रष्ट स्वभावहरू चिन्न आफ्ना कमजोरी र कमीहरू पत्ता लगाउन, र हामीलाई उहाँमा अझ बढी भर पर्न र सत्यता खोज्न बाध्य पार्न मद्दत गर्नका लागि यस्ता परिस्थितिहरू प्रयोग गर्नुहुन्छ। यो हाम्रा लागि आफूलाई बुझ्न, सत्यता वास्तविकताहरूमा प्रवेश गर्न, र मुक्ति प्राप्त गर्न लाभदायक छ। यदि हामीसँग थोरै अनुभव छ र कुनै कठिनाइहरू छैनन् भने, हाम्रा भ्रष्ट स्वभावहरूको प्रकटीकरण कम हुनेछ, त्यसले गर्दा हामीलाई आफ्ना कमजोरीहरू स्पष्ट रूपमा देख्न गाह्रो हुन्छ र आफ्ना भ्रष्ट स्वभावहरूबारे हाम्रो बुझाइ सीमित हुन्छ, हरेक क्षेत्रमा हाम्रो वृद्धि सुस्त हुन्छ। मैले त्यसबारे जति धेरै सोचेँ, त्यति नै धेरै मैले परमेश्वरको घरले कुनै व्यक्तिलाई बढुवा र संवर्धन गर्नुमा परमेश्वरको श्रमसाध्य अभिप्रायहरू समावेश छन् भनी बुझेँ। मण्डलीले मलाई सुपरिवेक्षकको कर्तव्य लिन खटाउनु जानाजानी मेरा निम्ति कामकुराहरू गाह्रो बनाउनका लागि थिएन, न त मलाई प्रकट गर्न वा हटाउनका लागि थियो, बरु मलाई थप तालिम प्राप्त गर्न, सत्यता वास्तविकताहरूमा अझ चाँडो प्रवेश गर्न, र आफ्नो कर्तव्य अझ राम्ररी निर्वाह गर्न सक्षम पार्नका लागि थियो। तर मैले परमेश्वरको अभिप्राय बुझिनँ र अझै पनि गुनासो र प्रतिरोध गरेँ। ममा साँच्चै मानवता र समझको कमी थियो!
पछि, मैले अझ केही सोचेँ, “म किन सुपरिवेक्षको कर्तव्य किन लिन अनिच्छुक थिएँ? गलत दृष्टिकोणहरू हुनुबाहेक, यसको पछाडि अरू कस्ता भ्रष्ट स्वभावहरू थिए?” मैले आफ्नो चिन्तनमा, परमेश्वरका थप वचनहरू पढेँ: “कतिपय मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी लिन डराउँछन्। यदि मण्डलीले तिनीहरूलाई कुनै काम गर्न दियो भने, सुरुमा तिनीहरूले यो काम गर्दा जिम्मेवारी लिनुपर्छ कि पर्दैन भनेर विचार गर्छन्, र पर्छ भने, तिनीहरूले त्यो काम स्विकार्दैनन्। कर्तव्य निर्वाह गर्ने तिनीहरूका सर्त यस्ता हुन्छन्: पहिलो, यो फुर्सदिलो काम हुनुपर्छ; दोस्रो, यो व्यस्त हुने वा थकाउने हुनु हुँदैन; र तेस्रो, जे काम गरे पनि, तिनीहरूले कुनै जिम्मेवारी लिनुपर्ने हुनु हुँदैन। तिनीहरूले लिने एउटै मात्र कर्तव्य यही हो। यो कस्तो प्रकारको व्यक्ति हो? के यो चिप्ले र छली व्यक्ति होइन र? तिनीहरूले सानोभन्दा सानो जिम्मेवारी पनि लिन चाहँदैनन्। तिनीहरू रूखबाट पात खस्दा त्यसले तिनीहरूको खप्पर फुटाउँछ भनेर समेत डराउँछन्। यस्तो व्यक्तिले कस्तो कर्तव्यचाहिँ पूरा गर्न सक्छ र? परमेश्वरको घरमा तिनीहरू के काम लाग्छन् र? परमेश्वरको घरको काम शैतानसँग युद्ध गर्ने, साथै राज्यको सुसमाचार फैलाउने हो। कुन कर्तव्यमा जिम्मेवारी हुँदैन र? के तिमीहरू अगुवा बन्दा जिम्मेवारी लिनुपर्छ भनेर सोच्छौ? के तिनीहरूको जिम्मेवारी झन् ठूलो हुँदैन र, अनि तिनीहरूले जिम्मेवारी झनै लिनु पर्दैन र? तैँले सुसमाचार प्रचार गरे पनि, गवाही दिए पनि, भिडियो बनाए पनि, र त्यस्तै अन्य काम गरे पनि, तैँले जुनसुकै काम गरे पनि, त्यो सत्यता सिद्धान्तहरूसँग सम्बन्धित छ भने, यसमा जिम्मेवारी निहित हुन्छ। यदि तेरो कर्तव्य निर्वाह गर्ने शैली सिद्धान्तहीन छ भने, यसले परमेश्वरको घरको काममा असर गर्छ, र यदि तँ जिम्मेवारी लिन डराउँछस् भने, तैँले कुनै पनि कर्तव्य निर्वाह गर्न सक्दैनस्। आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी लिन डराउने किसिमको व्यक्ति कायर हुन्छ, कि उसको स्वभावमा समस्या हुन्छ? तैँले यो भिन्नता छुट्याउन सक्नुपर्छ। वास्तवमा, यो कायरताको समस्या होइन। तिनीहरू धनी बन्ने कुरामा, वा आफ्नै फाइदाका लागि केही गरिरहँदा किन यति आँटिला हुन्छन्? तिनीहरूले यी कुराका लागि जुनसुकै जोखिम लिनेछन्। तर जब तिनीहरूले मण्डलीको लागि, परमेश्वरको घरको लागि काम गर्छन्, तबचाहिँ कुनै जोखिम लिँदैनन्। त्यस्ता मानिसहरू स्वार्थी र घृणास्पद हुन्छन्, र सबैभन्दा कुटिल हुन्छन्। … यदि तँ आफूलाई केही आइपर्दा सधैँ आफ्नै सुरक्षा गर्छस् र आफ्नो लागि पछाडिको ढोका र उम्कने बाटो खुला राख्छस् भने, के तैँले सत्यता अभ्यास गरिरहेको हुन्छस् र? यो सत्यता अभ्यास गर्नु होइन—यो धूर्त हुनु हो। तैँले अहिले परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। कर्तव्य निर्वाह गर्नुको पहिलो सिद्धान्त के हो त? यो के हो भने, तैँले सुरुमा त्यो कर्तव्य सम्पूर्ण हृदय लगाएर निर्वाह गर्नुपर्छ, कुनै कसर बाँकी छाड्नु हुँदैन, र यसरी परमेश्वरको घरको हितको रक्षा गर्नुपर्छ। यो तैँले अभ्यास गर्नुपर्ने एउटा सत्यता सिद्धान्त हो। आफ्नो लागि पछाडिको ढोका र उम्कने बाटो खुला राखेर आफैलाई रक्षा गर्नु भनेको गैरविश्वासीहरूले पछ्याउने अभ्यासको सिद्धान्त र तिनीहरूको सर्वोच्च दर्शन हो। यावत कुरामा, सबैभन्दा पहिले आफ्नै ख्याल गर्नु, अरू सबै कुराभन्दा अगाडि आफ्नै हितलाई राख्नु, र अरूका बारेमा नसोच्नु, परमेश्वरको घरको हित र अरूको हितको आफूसँग कुनै सम्बन्ध छैन भनी विश्वास गर्नु, आफ्नै हितको बारेमा सबैभन्दा पहिले सोच्नु र त्यसपछि आफ्नो उम्कने बाटोको बारेमा सोच्नु—के गैरविश्वासी भनेको त्यही होइन र? गैरविश्वासी भनेको ठ्याक्कै यही हो। यस प्रकारको व्यक्ति कर्तव्य निर्वाह गर्न लायक हुँदैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। मैले परमेश्वरका वचनहरूबाट के देखेँ भने आफ्ना कर्तव्यहरू निर्वाह गर्दा, मैले पहिले आफ्नो हृदय र शक्तिलाई कसरी समर्पिति गर्ने अनि मण्डलीका हितहरूलाई कसरी कायम राख्ने भनेर विचार गर्नुपर्छ। परमेश्वर भन्नुहुन्छ, यदि मानिसहरू जिम्मेवारी लिन निरन्तर डराउँछन्, सधैँ आफ्नो व्यक्तिगत हितहरूबारे योजना बनाउँछन् र सोच्छन्, अनि आफ्ना कर्तव्यहरू अस्वीकार गर्छन् र पन्छाउँछन् भने, तिनीहरू विश्वासघाती, स्वार्थी, घृणित हुन्, र गैरविश्वासीहरूभन्दा फरक हुँदैनन्। परमेश्वर त्यस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ र घिनाउनुहुन्छ। सुरुमा, मैले के सोचेको थिएँ भने मैले सुपरिवेक्षकको कर्तव्य कहिल्यै निर्वाह नगरेको र ममा कुनै अनुभव नभएको हुनाले, यो कर्तव्य अस्वीकार गर्नु मेरा लागि सामान्य हो, र यो कुनै गम्भीर मामिला होइन, तर अब मैले के बुझेँ भने यी त मेरा आफ्नै धारणा र कल्पनाहरू मात्र हुन्, र सत्यताअनुरूप छैनन्। मैले मलाई सुपरिवेक्षक बनाइँ छ भनेर सुनेको बेलालाई फर्केर सोचेँ। मैले यो परमेश्वरले उचाल्नुभएको हो भन्ने महसुस गरिनँ र यो कर्तव्य कसरी राम्रोसँग निर्वाह गर्ने भन्नेबारे सोचिनँ। बरु, मैले पहिला सुपरिवेक्षकका रूपमा आफूले काँधमा लिनुपर्ने धेरै जिम्मेवारीबारे, यदि मैले राम्रोसँग गरिनँ भने, मलाई काँटछाँट गरिनेछ, र यदि मैले कुनै अवरोध र बाधा पुऱ्याएँ भने, मेरो भविष्य र गन्तव्य खतम हुन सक्छ भन्नेबारे सोचेँ। मलाई लाग्यो, म साधारण टोली सदस्यजस्तै सुरक्षित हुनेछु, किनकि यसरी मैले धेरै जिम्मेवारी लिनुपर्नेछैन र म प्रकट गरिने वा हटाइने जोखिम कम हुनेछ। पछि, मैले त्यो कर्तव्य लिएपनि, एकदमै मन नलागी-नलागी त्यसो गरेँ, र सधैँ अगुवाहरूले मेरो ठाउँ लिने अरू कसैलाई भेट्टाउनेछन् भन्ने आशा गरेँ। मैले गैरविश्वासीहरूले अन्तरक्रिया गर्दा, कसरी तिनीहरू सधैँ एकअर्कासँग सतर्क हुन्छन्, सधैँ अरूले उनीहरूको हितविरुद्ध कार्य गर्लान् कि भनेर डराउँछन्, र त्यसैले तिनीहरू सधैँ आफ्नो स्वार्थ पूरा गर्ने दाउमा हुन्छन् भनेर सोचेँ। तर मैले परमेश्वरलाई विश्वास गरेको र आफ्नो कर्तव्य निर्वाह गरिरहेको भए तापनि, म अझै पनि परमेश्वरप्रति निरन्तर सतर्क थिएँ। यदि मलाई मण्डलीले मेरा लागि प्रबन्ध गरेको कर्तव्यले मेरो भविष्यलाई जोखिममा पार्दैन भन्ने लागेको भए, म मूल्य चुकाउन र ती गर्न इच्छुक भइरहेको हुन्थेँ, तर मलाई यी कर्तव्यहरूले केही जोखिम गराउन सक्छन् भन्ने लाग्नेबित्तिकै, म ती निर्वाह गर्न चाहन्नथिएँ। म अक्सर मैले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नुपर्छ भनेर दाबी गर्थेँ, तर जब म मेरो सहयोग चाहिने कुनै कर्तव्य सामना गर्थेँ, तब म आफ्नो व्यक्तिगत भविष्य र गन्तव्यलाई मात्र ख्याल गर्थेँ। मैले परमेश्वरलाई कुनै वास्ता नगरी, आफ्नो अनुभवको कमीलाई बहाना बनाएर आफ्ना कर्तव्यहरू पन्छाएँ। मैले म पूर्ण रूपमा स्वार्थी, घृणित, धूर्त, र छली भएको छु भनेर देखेँ। गैरविश्वासीहरू व्यक्तिगत हितहरूलाई सबैभन्दा माथि प्राथमिकता दिन्छन्, र के मेरा यी सोचहरू र मैले प्रकट गरिरहेका कुराहरू गैरविश्वासीहरूका जस्तै थिएनन् र? मैले आफूमा साँच्चै विवेक र समझको कमी छ भन्ने देखेँ। मैले सुपरिवेक्षकका रूपमा नबुझेका धेरै कुरा भए तापनि, पहिले तालिम लिनुपर्छ र कामकुराहरू कस्ता भएका छन् भनेर हेर्नुपर्छ। यदि मैले सक्दो गरेँ तर पनि आफ्नो कर्तव्यअनुरूप नभएको भए, मलाई कुनै पछुतो हुनेथिएन। पछि, याङ फेङले मलाई विभिन्न समूहहरूको कामसँग परिचित गराउन घुमाउन लगे। सुरुमा, मलाई एकदमै अन्योल भयो र के गर्ने वा कसरी गर्ने भन्ने थाहा थिएन, तर पछि, मैले अगाडिको मार्ग महसुस गर्दै त्यो गर्दा, अगाडि बढ्ने मार्ग फेला पारेँ।
केही समयपछि नै, सिसिपिले विश्वासीहरूविरुद्ध अर्को बृहत स्तरको गिरफ्तारी अभियान सुरु गर्यो, र हामी आफू बसिरहेको ठाउँ असुरक्षित भएकाले तुरुन्तै सर्नुपर्यो। अरू ठाउँहरूमा पनि परिस्थिति खराब थियो। माथिल्ला अगुवाहरूले विभिन्न ठाउँका मण्डलीहरूलाई लेखन-पठनको कर्तव्यका लागि राम्रो क्षमता भएका कर्मचारीहरू प्रदान गर्न अनुरोध गरे। मैले मनमनै सोचेँ, “अहिले हामी रहेको यस नाजुक परिस्थितिमा, मण्डलीका कतिपय काम लागू गर्न पहिले नै गाह्रो छ। यदि राम्रो क्षमता भएका मानिसहरूलाई सरुवा गरियो भने, हामीले अगाडि बढ्दै जाँदा काम प्रभावकारी हुनेछ भनेर कसरी आशा गर्न सक्छौँ? यदि याङ फेङ पनि यस महत्त्वपूर्ण क्षणमा गए भने, काम प्रभावकारी भएन वा कुनै समस्याहरू उत्पन्न भए भने, मैले जिम्मेवारी वहन गर्नुपर्नेछ। यदि कामकुराहरू साँच्चै खराब भए भने, मलाई बर्खास्त गरिन वा हटाइन सक्छ, र त्यसपछि मसँग राम्रो भविष्य वा गन्तव्य हुनेछैन।” यो सोचेर, मलाई आफूले सुरुमै यो कर्तव्य स्वीकार गरेकामा पछुतो भयो। संयोगवश, याङ फेङ सुरक्षा चिन्ताका कारण तत्कालका लागि त्यो प्रान्त छोडेर जान सकेनन्, र मैले सोचेँ, “यदि ऊ गएन भने, कामका लागि ऊ नै जिम्मेवार हुनेछ। म सुपरिवेक्षक भए पनि, केवल सहायक हुनेछु। यदि साँच्चै केही गलत भयो भने, अगुवाहरू उसैकहाँ जानेछन्।” त्यस दौरान, मैले आफ्नो हातमा भएको काममा व्यस्त भएको बहाना बनाएँ र समग्र काममा धेरै ध्यान दिइनँ। मैले मनमनै सोचेँ, “याङ फेङ अझै नगएकाले, उत्पन्न हुने कुनै पनि समस्याहरू उसले समाधान गर्न सक्छ।” केही समयपछि नै, अगुवाहरूले मेरो स्थिति बुझे र मलाई परमेश्वरका वचनहरूका केही खण्ड पठाए। परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीले आशिष् पाउने कुरालाई स्वर्गहरूभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र मानकअनुरूपको सृजित प्राणी बन्नुभन्दा महत्त्वपूर्ण कुराका रूपमा हेर्छ। तिनीहरू मानकअनुरूपको सृजित प्राणी बन्ने, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने र मुक्ति पाउनेजस्ता सबै कुरालाई क्षुद्र र उल्लेख गर्न वा टिप्पणी गर्नलायक पनि नभएका कुरा ठान्छन् जबकि आशिष्हरू पाउनु चाहिँ तिनीहरूका जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरू यसलाई आशिषित् हुने कुरासित जोड्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरू सधैँ आफ्ना निम्ति उम्कने बाटो छोडिराख्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष् प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। “विशेष गरी, कतिपय यस्ता मानिसहरू छन् जसलाई कुनै कामका लागि जिम्मेवारी लिन लगाइयो भने, तिनीहरूले कसरी आफ्नो बफादारी प्रदान गर्न सक्छु, वा यो कर्तव्य कसरी निर्वाह गर्न र यो काम कसरी राम्ररी पूरा गर्न सक्छु भनेर विचार गर्दैनन्। बरु, तिनीहरूले जिम्मेवारीलाई कसरी त्याग्ने, काट-छाँट हुनबाट कसरी जोगिने, कुनै पनि जिम्मेवारी लिनबाट कसरी बच्ने, र समस्या वा गल्तीहरू हुँदा त्यसबाट कसरी सकुशल बाहिर निस्कने भनेर विचार गर्छन्। तिनीहरूले कसरी आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्ने र आफ्नो बफादारी प्रदान गर्ने भन्ने बारेमा नभई पहिले कसरी आफ्नै भाग्ने बाटो र आफ्नै प्राथमिकता र चासोहरू पूरा गर्ने भनेर विचार गर्छन्। … त्यसोभए, कस्ता मानिसहरूले आफ्नो कर्तव्य यसरी निर्वाह गर्छन्? के तिनीहरू सत्यताको पछि लाग्ने मानिसहरू हुन्? सर्वप्रथम, एउटा कुरा निश्चित छ: यस्ता मानिसहरू सत्यताको पछि लाग्दैनन्। तिनीहरू समाजमा जसोतसो जीवन गुजार्दा जस्तै परमेश्वरको घरमा पनि केही आशिष्हरूको आनन्द लिन खोज्छन्, प्रख्यात हुन खोज्छन्, र लोकप्रियता कमाउन खोज्छन्। सारको हिसाबमा भन्दा, तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? तिनीहरू अविश्वासी हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। “यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरूको लागि आफ्ना हितहरू त्याग्नुजत्तिको गाह्रो अरू केही हुँदैन। किनभने तिनीहरूको जीवनदर्शन नै ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ र ‘पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो’ भन्ने हुन्छ। स्पष्टै छ, तिनीहरू आफ्नै हितहरूका लागि जिउँछन्। मानिसहरू सोच्छन्, यदि तिनीहरूको आफ्नो हित भएन वा तिनीहरूले त्यो गुमाए भने, तिनीहरू बाँच्न सक्नेछैनन्, मानौँ तिनीहरूको बचाइ तिनीहरूको आफ्नै हितमा निर्भर छ। त्यसैले धेरैजसो मानिस आफ्नो हितबाहेक अरू सबै कुराप्रति अन्धा हुन्छन्। तिनीहरू आफ्नो हितलाई अरू सबै कुराभन्दा माथि देख्छन्, र केवल आफ्नै हितका लागि जिउँछन्। तिनीहरू आफ्ना लागि केही नभएसम्म एउटा औँलो पनि उठाउँदैनन्, र तिनीहरूलाई आफ्नो हित त्याग् भन्नु त जीवन नै त्याग् भन्नुजस्तै हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो स्वभावलाई चिन्नु नै यसलाई परिवर्तन गर्ने आधार हो)। परमेश्वर के खुलासा गर्नुहुन्छ भने ख्रीष्ट विरोधीहरूले आशिष् पाउनुलाई परमेश्वरमा विश्वास गर्नुको लक्ष्यका रूपमा हेर्छन्। तिनीहरू सत्यता पछ्याउने प्रयास गर्दैनन् र हुने हरेक कुरालाई आशिष् पाउनुसँग जोड्छन्। विशेष गरी मण्डलीद्वारा खटाइएको कर्तव्यका सन्दर्भमा, तिनीहरू सधैँ जिम्मेवारी लिन वा काममा ढिलाइको कारण अपराधहरू गरिएलान् भनेर डराउँछन्, र तिनीहरू हटाइने र आशिष् पाउने मौका गुम्ने डरले परमेश्वरप्रति निरन्तर सतर्क रहन्छन्। यो साँच्चै तिनीहरूको दुष्टता र छलीपन हो! मैले आफ्नो व्यवहार ख्रीष्टविरोधीको जस्तै छ भनेर देखेँ। मलाई सुपरिवेक्षकको कर्तव्य सुम्पिएदेखि नै, मैले सोच्न सकेको भनेकै राम्रोसँग नगर्दा काममा कसरी हानि पुग्न सक्छ र जसले गर्दा सम्भवतः म प्रकट गरिन र हटाइन सक्छु अनि आशिष्को मौका गुम्न सक्छ भन्नेबारे थियो। मेरा सोचहरू कामसँग चाँडै कसरी परिचित हुने, वा काममा रहेका विभिन्न समस्याहरू कसरी समाधान गर्ने भन्नेबारे थिएनन्। मैले आफ्ना व्यक्तिगत हितहरूलाई मात्र वास्ता गरेँ। आफ्नो व्यवहारबारे चिन्तन गर्दा, मैले महसुस गरेँ कि म “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ” भन्ने शैतानी विषद्वारा नियन्त्रित भइरहेको थिएँ। मैले गरेको र भनेको हरेक कुरा आत्म-स्वार्थको सिद्धान्तमा आधारित थियो, र म पूर्ण रूपमा स्वार्थी र घृणित थिएँ। मलाई जब याङ फेङलाई अर्को ठाउँमा खटाइयो, तब धेरै मण्डलीको लेखन-पठनको कामको सुपरिवेक्षण गर्ने कोही हुनेछैन र काम प्रभावित हुनेछ भनेर राम्ररी थाहा थियो, तर म अझै पनि आफ्ना व्यक्तिगत हितहरूबारे चिन्तित भएँ र यो कर्तव्य स्वीकार गर्न अनिच्छुक थिएँ। मैले परमेश्वरका केही वचनहरू पढेको र मण्डलीले कसैलाई बढुवा गर्दा, परमेश्वरको अभिप्राय उनीहरूलाई तालिम दिनु र सत्यता बुझाउनु हो, उनीहरूलाई प्रकट गर्नु र हटाउनु होइन भनेर बुझेको भए तापनि, मलाई अझै पनि असुरक्षित महसुस भयो र ममा परमेश्वरलाई सबै कुरा सुम्पने साहस थिएन। विशेष गरी, सिसिपिले गरेका गिरफ्तारीहरूपछि, कामले विभिन्न कठिनाइ सामना गर्यो, अनि विवेक र समझ भएको व्यक्तिले सक्रिय रूपमा जिम्मेवारी लिनेथियो। तर मेरो सबै सोच आफ्नै भविष्य र आफ्ना लागि कसरी मद्दत पुग्ने योजना बनाउने भन्नेबारे थियो। जिम्मेवारी वहन गर्नबाट बच्न, मैले समग्र काममा भाग नलिन आफ्नो हालको काममा व्यस्त भएको बहाना बनाएँ, र मैले के पनि सोचेँ भने याङ फेङ जोखिममा भएकाले, उसलाई अन्यत्र आफ्नो कर्तव्य निर्वाह गर्न सुविधा हुनेछैन, त्यसैले मैले सुपरिवेक्षक बन्नु र आफूलाई जोखिममा पार्नु पर्दैन। मैले आफ्ना व्यक्तिगत हितहरूबारे मात्र सोचेँ र मण्डलीको कामलाई पटक्कै वास्ता गरिनँ। मैले अरूको अहितसमेत चिताएँ र दुर्भावपूर्ण सोचहरू प्रकट गरेँ। ममा कुन हिसाबले मानवता थियो र? मैले के देखेँ भने मैले आशिष् र इनामहरू पाउनका लागि मात्र विश्वास गरेको रहेछु, र मैले आफूले केही कर्तव्य निर्वाह गर्न सक्दासमेत, परमेश्वरसँग मोलतोल गर्ने प्रयास मात्र गरिरहेको थिएँ। साँच्चै मैले जिम्मेवारी लिनुपर्दा, म पन्छिन्थेँ। मेरो हृदयमा परमेश्वर वा आफ्नो कर्तव्यप्रति सच्चापन थिएन! मैले “म आफ्ना कर्तव्यहरू राम्रोसँग निर्वाह गर्नेछु र परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नेछु” भन्नेजस्ता भनिरहेका कुराहरू सबै खोक्रा शब्द मात्र थिए। म केवल भविष्यमा परमेश्वरले मलाई राम्रो गन्तव्य दिनुहोओस् भनेर उहाँको कृपादृष्टि पाउने प्रयासमा राम्रो सुनिने कुराहरू भनिरहेको थिएँ। के मैले परमेश्वरलाई धोका दिने र प्रयोग गर्ने प्रयास मात्र गरिरहेको थिइनँ र? मैले आफू स्वार्थी र घृणित छु मात्र होइन तर ममा साँच्चै दुष्ट स्वभाव छ भनेर पनि बुझेँ। मैले जति धेरै चिन्तन गरेँ, त्यति नै मलाई आफूले प्रकट गरेका कुराहरू परमेश्वरका लागि घृणित र घृणास्पद छन् भन्ने लाग्यो। मैले आफ्नो सीमित कद र अनुभवबारे सोचेँ, र के देखेँ भने परमेश्वरले मलाई सुपरिवेक्षकको कर्तव्यमा तालिम लिने अवसर दिएर अनुग्रह गर्नुभएको थियो, र यो मैले सिद्धान्तहरू चाँडै बुझ्न र सत्यता वास्तविकताहरूमा प्रवेश गर्न सकेकाले गर्दा थियो। तर मैले परमेश्वरले मलाई दिएको यस अवसरको कदर गरिनँ, न त आफ्नो कर्तव्य कसरी राम्रोसँग निर्वाह गर्ने र परमेश्वरको प्रेमको ऋण चुकाउने भन्नेबारे नै सोचेँ। बरु, मैले आफ्नो कर्तव्य अस्वीकार गरेँ र पन्छाएँ। ममा साँच्चै विवेक र समझको कमी थियो अनि मैले राम्रो र नराम्रो छुट्याउन सकिनँ! यो बुझेर, म दोषी भावना र ऋणी भएको भावनाले भरिएँ, र मैले याङ फेङ यहाँ छँदा नै ऊबाट सकेसम्म धेरै सिक्ने मौका छोप्न चाहेँ। केही समयपछि नै, याङ फेङ र कैयौँ ब्रदर-सिस्टरहरूलाई प्रहरीले पक्र्यो, र सबै काम मेरो काँधमा आइपऱ्यो। केही दबाब भए तापनि, मलाई म यस परिस्थितिबाट भाग्नु हुँदैन र मैले आफ्नो कर्तव्य लिनुपर्छ भन्ने थाहा थियो, त्यसैले मैले कर्तव्यहरू निर्वाह गर्न आफ्ना ब्रदर-सिस्टरहरूसँग सहकार्य गरेँ।
एकपटक, मैले आफ्नै धारणा र कल्पनाहरूका आधारमा एउटा अनुभवात्मक गवाहीको लेख रद्द गरेँ र माथिल्ला अगुवाहरूले यो मामिला अनुगमन गर्न र जाँच्न पत्र पठाए। मैले सोचेँ, “यो सानो कुरा होइन। यो काँटछाँटमा परिने कुरा मात्र नहुन सक्छ, र सबैभन्दा खराब अवस्थामा, मलाई बर्खास्तसमेत गरिन सक्छ।” मैले अगुवाहरूले यसलाई समाधान गर्ने प्रतीक्षा गर्दै गर्दा यस समस्याका कारणहरूबारे चिन्तन गरेँ। अगुवाहरूले के थाहा पाए भने हामीसँगे यस्तो समस्या पहिलोपटक भएको हो, त्यसैले उनीहरूले हामीलाई जवाफदेही ठहराएनन्, तर उनीहरूले हामीलाई अझ धेरै चिन्तन र सारांशीकरण गर्न प्रोत्साहित गरे। त्यतिबेला मैले सोचेँ, “यस कर्तव्यको जिम्मेवारी अत्यन्तै ठूलो छ। म किन अगुवाहरूलाई यो कर्तव्य निर्वाह गर्न नै सक्दिनँ भनेर भन्दिनँ र बरु कम जिम्मेवारी भएको कर्तव्य लिन्छु भनेर अनुरोध गर्दिनँ?” मैले यो सोचिरहेको बेला, यी सोचहरू गलत हुन् भनेर बुझेँ र परमेश्वरका यी वचनहरू सम्झेँ: “के परमेश्वरले सबै कुराको छानबिन गर्नुहुन्छ भन्ने तँलाई विश्वास लाग्छ? सबैले गल्ती गर्छन्। यदि सही अभिप्राय भएको व्यक्तिमा अनुभवको कमी छ र उसले यस्तो कुरा पहिले कहिल्यै सम्हालेको छैन, तर उसले सक्दो प्रयास गरेको छ भने, यो कुरा परमेश्वरले देख्नुहुन्छ। तैँले परमेश्वरले सबै कुरा र मानिसको हृदय छानबीन गर्नुहुन्छ भनेर विश्वास गर्नैपर्छ। यदि व्यक्तिले यो कुरासमेत विश्वास गर्दैन भने, के ऊ अविश्वासी होइन र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरका वचनहरूले मलाई परमेश्वर हामीलाई केवल घटनाहरूको परिणामका आधारमा व्यवहार गर्नुहुन्न, तर हाम्रा कर्तव्यहरूमा भएका हाम्रा अभिप्रायहरू र समस्याहरू उत्पन्न हुने सन्दर्भलाई पनि विचार गर्नुहुन्छ भनेर बुझाए। उदाहरणका लागि, कतिपय मानिसले भर्खरै कुनै कर्तव्य लिएका हुन सक्छन्, अनि उनीहरूले लामो समय तालिम नलिएका र उनीहरूसँग सिद्धान्तहरूबारे सीमित बुझाइ भएको कारण, उनीहरूका कर्तव्यहरूमा विचलनहरू आउन सक्छन्, र उनीहरूलाई पहिले सङ्गति र मद्दत दिनुपर्छ। तालिम अवधिपछि, यदि उनीहरूले तुलनात्मक रूपले कमजोर क्षमताको कारण अझै सुधार गरेका छैनन् भने, उनीहरूलाई अझ उपयुक्त कर्तव्यमा पुन: खटाउनुपर्छ। तर, यदि उनीहरूको क्षमता स्वीकार्य छ तर उनीहरू निरन्तर आफ्नो कर्तव्यमा आफ्नै अभिप्राय र भ्रष्ट स्वभावमा भर पर्छन्, र उनीहरू सिद्धान्तहरू उल्लङ्घन गर्छन् अनि अवरोध र बाधा पुऱ्याउँछन् भने, उनीहरूलाई काँटछाँट गर्नुपर्छ। र यदि उनीहरू अझै पनि पश्चात्ताप गर्दैनन् भने, उनीहरूलाई बर्खास्त गर्नुपर्छ र हटाउनुपर्छ। परमेश्वरको घरमा, मानिसहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गरिन्छ, चाहे उनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरेका किन नहून् वा चाहे तिनीहरू सुपरिवेक्षक नै किन नहौऊन्। मैले लेखन-पठनको कर्तव्य पहिलोपटक निर्वाह गर्दा देखेको सुपरिवेक्षकजस्तै जसलाई बर्खास्त गरिएको थियो, उनी लामो समयदेखि गलत स्थितिमा जिइरहेका थिए, र आफ्नो कर्तव्य अहङ्कारी र आत्म-धर्मी तरिकाले र सिद्धान्तहरू नखोजी निर्वाह गरिरहेका थिए, र उनले काममा गम्भीर रूपले अवरोध पुऱ्याएका थिए। यसले गर्दा उनी बर्खास्त भएका थिए। तर परमेश्वरको घरले यस कारणले उनलाई निष्कासित गरेन, र जब उनले आफूलाई चिन्तन गर्न र चिन्न थाल्यो अनि उनी पश्चात्ताप गर्न इच्छुक भए, तब परमेश्वरको घरले उनलाई अर्को मौका दियो, र उनी आजसम्म आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्। अर्कोतर्फ, कतिपय मानिस आफ्नो कर्तव्यमा खराब कामहरू गर्दै बेलगाम हुन्छन्, र उनीहरू काममा अवरोध र बाधा पुऱ्याउँछन् र पश्चात्ताप गर्न मान्दैनन्। त्यस्ता मानिसहरूले थोरै जिम्मेवारी उठाए पनि वा उनीहरू सुपरिवेक्षक वा अगुवा र कामदार नभए पनि, उनीहरूलाई पनि हटाइनेछ। यो बुझेर, मैले परमेश्वरको धर्मी स्वभावबारे केही बुझाइ प्राप्त गरेँ। विगतमा, मैले परमेश्वरलाई सरकारी अधिकारीजस्तो ठान्थेँ जसले मानिसहरूलाई आफ्ना हितहरूलाई असर गर्ने कुनै गलत कुरा गरेको देखेमा सताउने र दमन गर्ने गर्थ्यो, र जसले परिस्थितिहरूको सन्दर्भलाई पटक्कै विचार गर्दैनथ्यो, झन् मानिसहरूलाई उनीहरूको सारका आधारमा व्यवहार गर्नु त परै जाओस्। मैले सोचेँ, यदि कसैले केवल गलत कुरा भन्यो वा अलिकति उसको इच्छाविरुद्ध केही गर्यो भने, उसले त्यस व्यक्तिलाई तह लगाउन आफ्नो शक्ति प्रयोग गर्न सक्थ्यो। यस्तो दृष्टिकोणले परमेश्वरको आलोचना गर्नु उहाँविरुद्ध निन्दा र ईश्वर-निन्दा हो! यो बुझेर, मैले परमेश्वरप्रतिको आफ्नो सतर्कता र गलतफहमीहरूलाई त्यागेँ, र मैले आफूलाई शान्त भएर आफ्ना कर्तव्यहरू सामना गर्न सक्षम पाएँ। काम सम्हाल्दा वा लेखहरू जाँच्दा, म कामकुराहरूलाई अझ गम्भीरतापूर्वक लिन्थेँ र आफूले गर्न सक्ने कुरा गर्थेँ, र यदि आफूले जिम्मेवारी लिनुपर्ने कुनै समस्या उत्पन्न भयो भने, म समर्पित हुन्थेँ, त्यो सामना गर्थेँ, र त्यो अनुभव गर्थेँ।
अहिले म आफ्ना कर्तव्यहरू निर्वाह गर्दा, अझै पनि कहिलेकाहीँ आफ्नो भविष्य र भवितव्यलाई वास्ता गर्छु, यदि मैले नराम्रो गरेँ भने, यसले अवरोध र बाधा निम्त्याउनेछ र म प्रकट गरिन र हटाइन सक्छु भनेर डराउँछु, तर म परमेश्वरलाई प्रार्थना गर्न, यी सोचहरूविरुद्ध विद्रोह गर्न, र सामान्य रूपमा आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्षम छु। कहिलेकाहीँ, म कामकुराहरू स्पष्ट रूपमा नदेख्न सक्छु वा आफ्ना कर्तव्यहरू इमानदारीसाथ निर्वाह नगर्न सक्छु, जसले गर्दा समस्याहरू निम्तिन्छन्, तर म केवल सतर्कता र गलतफहमीमा जिउँदिनँ। बरु, म कामकुराहरू सही रूपमा सम्हाल्न, आत्मचिन्तन गर्न र यी मामिलाहरूका कारणहरू समयमै भेट्टाउन, र समस्याहरू पत्ता लाग्दा तुरुन्तै कामकुराहरू परिवर्तन गर्न सक्छु। यसरी अभ्यास गर्दा, मलाई शान्ति र चैन महसुस हुन्छ। परमेश्वरलाई धन्यवाद!