११. सुपरिवेक्षण स्वीकार गर्दा मलाई कसरी मदत मिल्यो
म मण्डलीका दुईवटा समूहको सुसमाचारको कामको जिम्मेवारीमा थिएँ। केही समयअघि, मेरो वरपरका केही ब्रदर-सिस्टरहरूले वास्तविक काम नगरेको र सधैँ आफ्नो कर्तव्यमा झारा टारेको कारणले उनीहरूलाई बर्खास्त गरिएको थियो। यो देखेर, म अलि आत्तिएँ। मैले सोचेँ, मैले पक्का पनि वास्तविक काम गर्नुपर्छ र वास्तविक समस्याहरू समाधान गर्नुपर्छ, नत्र म पनि बर्खास्त गरिनेछु। एक पटकको भेलामा, अगुवाले मलाई सोध्नुभयो, “के तपाईँले हालसालै अन्य मण्डलीहरूबाट सरुवा भएर आएका ब्रदर-सिस्टरहरूसँग कर्तव्य निर्वाह गर्ने सिद्धान्तहरूबारे सङ्गति गर्नुभएको छ?” म छक्क परेँ। त्यो एउटा समस्या थियो—मैले उनीहरूलाई हाम्रो कार्यप्रवाहबारे मात्र बताएकी थिएँ, सिद्धान्तहरूबारे होइन। मैले अगुवालाई के भन्नुपर्ने हो? यदि मैले उनीहरूसँग सङ्गति गरेकी छैनँ भनेँ भने, के उहाँले मैले वास्तविक काम गरिनँ भनेर सोच्नुहोला? तर यदि मैले सङ्गति गरेकी छु भनौँ भने, त्यो साँचो हुने थिएन। मलाई अलि दोषी महसुस भयो, र भकभकाउँदै भनेँ, “मैले उनीहरूमा जे कमी थियो, त्यसकै आधारमा थोरै सङ्गति गरेँ।” अगुवाले तुरुन्तै जवाफ दिनुभयो, “यदि तपाईँले उनीहरूसँग सिद्धान्तहरू बाँड्नुभएन भने, उनीहरूले आफ्नो कर्तव्यमा कुनै दिशा पाउनेछैनन्। के त्यसरी उनीहरूले राम्रो नतिजा ल्याउन सक्छन् त? हामीले यी ब्रदर-सिस्टरहरूको संवर्धनमा ध्यान दिनुपर्छ।” जब अगुवाले मेरो समस्या औँल्याउनुभयो, तब मलाई लाजले मेरो अनुहार तातेको महसुस भयो। त्यसपछि उहाँले मेरो बारेमा के सोच्नुहोला भनेर म सोच्न थालेँ। के उहाँले मैले यस्तो आधारभूत काम पनि गरिनँ, र मैले वास्तविक काम गरिनँ भनेर सोच्नुभयो होला?
धेरै समय नबित्दै, म जिम्मेवार भएको एउटा समूहको कामको नतिजा घट्न थाल्यो र त्यस समयमा मेरो काममा धेरै समस्याहरू देखा पर्न थाले। यस्तै भइरह्यो भने हाम्रो कामको प्रभावकारितामा असर पर्छ भन्ने विचार गरेर, अगुवाले म जिम्मेवार भएका समूहहरू दुईवटाबाट घटाएर एउटामा झार्नुभयो। मलाई यो खबर सुन्दा साह्रै नरमाइलो लाग्यो। कतै अगुवाले मलाई वास्तविक काम नगर्ने व्यक्ति ठान्नुभयो कि भनेर नसोची म बस्न सकिनँ। नत्र त, उहाँले मेरो जिम्मेवारीको दायरा घटाउनुहुने थिएन। पछिल्लो समय उहाँले मेरो कामको धेरै अनुगमन गरिरहनुभएको थियो। के उहाँले म आफ्नो कर्तव्यमा मेहनती छैनँ, र म भरपर्दो छैनँ भनेर सोच्नुभएको हो? भविष्यमा मेरा अझ धेरै समस्याहरू भेट्टाउनुभयो भने के उहाँले मलाई बर्खास्त गर्नुहोला? त्यस समयमा, जब म अगुवा हाम्रो भेलामा सहभागी हुनुहुनेछ भन्ने सुन्थेँ, तब म मनमनै उहाँले कस्ता प्रश्नहरू सोध्नुहोला, र कुन कामको अनुगमन गर्नुहोला भनेर सोच्न थाल्थेँ। अगुवाले प्रायजसो हरेक पटक ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्य कसरी निर्वाह गरिरहेका छन् भनेर सोध्नुहुनेछ भनेर म अनुमान गर्थेँ, त्यसैले म भेला हुनुभन्दा पहिले नै हतार-हतार त्यसबारे बुझ्न खोज्थेँ। कहिलेकाहीँ संयोगवश समाधान गर्नुपर्ने अन्य जरुरी समस्याहरू हुन्थे, तर भोलिपल्ट अगुवाका प्रश्नहरूको जवाफ दिन नसक्ने कुरा सोच्दा, मैले वास्तविक काम नगरेको कुरा प्रकाशमा आउला भनेर म डराउँथेँ। त्यसैले म ती तत्काल सम्बोधन गर्नुपर्ने समस्याहरूलाई थाती राख्थेँ र एक-एक गरेर अरूसँग कुरा गर्न जान्थेँ। केही समयपछि, मैले अगुवा प्रायः केन्द्रित हुने कामहरूमा मात्र निरन्तर काम गरेँ, र म हरेक दिन व्यस्त रहे पनि, मेरो कर्तव्यमा राम्रो नतिजा आइरहेको थिएन—वास्तवमा, मेरो काम अझ बिग्रँदै थियो। एक पटक भेलामा अगुवाले मलाई सोध्नुभयो, “जोअनाले पहिले सुसमाचार प्रचारमा साँच्चै राम्रो गरेकी थिइन्, तर हालसालै किन कमजोर भइन्? के तपाईँलाई कारण थाहा छ?” म झसङ्ग भएँ। ओहो! म त अरू नै समस्याहरू सुल्झाउनमा पूर्ण रूपमा केन्द्रित भइरहेकी थिएँ। जोअनाले सुसमाचार प्रचारमा किन राम्रो गरिरहेकी छैनन् भन्ने मलाई थाहा थिएन। त्यसपछि अगुवाले मलाई सोधिरहनुभयो, “सुसमाचार प्रचार गर्दा जोअनाले कुन सत्यताहरूमा सङ्गति गरिरहेकी छिन्, र के उनले मानिसका धारणाहरू समाधान गरिरहेकी छिन् भन्ने तपाईँले जाँचबुझ गर्नुभएको छ?” त्यो प्रश्नले म झन् अत्तालिएँ। मैले त्यसबारे सोधेकै थिइनँ—अब मैले के गर्ने? यदि मैले भन्न सकिनँ भने, के अगुवाले मैले जोअनाको कामको अनुगमन गरिरहेकी थिइनँ, मैले समयमै उनका समस्याहरू पत्ता लगाएर समाधान गरिरहेकी थिइनँ, त्यसैले उनको कामको नतिजा घटिरहेको थियो भनेर सोच्नुहोला? त्यसैले मैले तुरुन्तै जोअनालाई सन्देश पठाएँ, तर उनले हेरिनन्। मलाई यति चिन्ता लाग्यो कि, मेरो हत्केलामा पसिना नै आयो। त्यसपछि मलाई अचानक के याद आयो भने, जोअनाले सुसमाचार प्रचार गर्दा आफूले के सङ्गति गरिरहेकी छु भनेर मलाई बताएकी थिइन्, त्यसैले मैले अगुवालाई तुरुन्तै बताएँ। उहाँले अरू केही भन्नुभएन, र मेरो चिन्ता अन्ततः शान्त भयो। केही समयसम्म, म अगुवाबाट सन्देश आउला भनेर डराउँथेँ, र कहिलेकाहीँ म भेला हुनुभन्दा अघिल्लो रात राम्रोसँग सुत्न पनि सक्दिनथेँ। म यस्तो नसोची बस्नै सक्दिनथिएँ, “अगुवाले मलाई के सोध्नुहोला? मैले कसरी जवाफ दिने?” भेलाको समय हुँदा म झन् आत्तिन्थेँ, र मेरो काममा थप समस्याहरू देखा परे भने म बर्खास्त हुनेछु भनेर चिन्ता लाग्थ्यो। म हरेक भेलामा कुनै न कुनै तरिकाले झारा टार्न सफल हुन्थेँ, तर भित्रभित्रै मलाई साह्रै दुःखी महसुस हुन्थ्यो, र यो मेरा लागि निकै थकाइलाग्दो थियो। मेरो कर्तव्यमा मसँग ऊर्जा नै हुन्थेन, र जब ब्रदर-सिस्टरहरूको काममा समस्याहरू आउँथे र उनीहरूको कामको नतिजा घट्थ्यो, तब मलाई त्यो सुल्झाउन मन लाग्दैनथ्यो। त्यस बिन्दुमा मैले म सही स्थितिमा छैनँ भन्ने महसुस गरेँ, त्यसैले म तुरुन्तै प्रार्थना गर्न र खोजी गर्न परमेश्वरसामु आएँ: “हे परमेश्वर, हालसालै म अगुवाले मेरो कामको सुपरिवेक्षण गर्दा साह्रै डराएकी छु। समस्याहरू देखा परे भने म बर्खास्त हुन्छु भनेर म चिन्तित छु। मलाई थाहा छ त्यो सही दृष्टिकोण होइन। म आत्मचिन्तन गर्न र आफूलाई चिन्न इच्छुक छु—कृपया मलाई निर्देशन दिनुहोस्।”
त्यसपछि मैले मेरो आत्मिक भक्तिमा परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “कतिपय मानिसहरू परमेश्वरको घरले मानिसहरूलाई निष्पक्ष व्यवहार गर्छ भनेर विश्वास नै गर्दैनन्। तिनीहरू यस घरमा परमेश्वरले शासन गर्नुहुन्छ र यहाँ सत्यताले शासन गर्छ भन्ने विश्वास गर्दैनन्। तिनीहरू विश्वास गर्छन् कि कुनै व्यक्तिले चाहे जे कर्तव्य निर्वाह गरे पनि, यदि त्यहाँ केही समस्या पैदा भयो भने, परमेश्वरको घरले त्यस व्यक्तिलाई तुरुन्तै सम्हाल्नेछ, उसको कर्तव्य निर्वाह गर्ने योग्यता खोस्नेछ, उसलाई बाहिर पठाउनेछ, वा मण्डलीबाट निकाल्ने पनि गर्नेछ। के साँच्चै त्यस्तै हुन्छ त? पक्कै पनि हुँदैन। परमेश्वरको घरले हरेक व्यक्तिलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्छ। परमेश्वरले हरेक व्यक्तिलाई गर्ने व्यवहारमा उहाँ धर्मी हुनुहुन्छ। उहाँ व्यक्तिले एकपटक कस्तो व्यवहार गऱ्यो भन्ने कुरालाई मात्र हेर्नुहुन्न; उहाँले व्यक्तिको प्रकृति सार, उसको अभिप्राय, र उसको मनोवृत्तिलाई हेर्नुहुन्छ। विशेषगरी, उहाँले कुनै व्यक्तिले गल्ती गर्दा आत्म-चिन्तन गर्न सक्छ कि सक्दैन, ऊ पश्चात्तापी हुन्छ-हुँदैन, अनि उसले उहाँका वचनहरूका आधारमा समस्याको सार छर्लङ्ग बुझ्न सक्छ कि सक्दैन, र यसरी सत्यता बुझ्न, आफूलाई घृणा गर्न, अनि साँच्चै पश्चात्ताप गर्न सक्छ कि सक्दैन भनी हेर्नुहुन्छ। … मलाई भन, यदि कुनै व्यक्तिले गल्ती गरेको छ, तर ऊ साँचो बुझाइमा पुग्छ र पश्चात्ताप गर्न इच्छुक छ भने, के परमेश्वरको घरले उसलाई मौका दिँदैन र? परमेश्वरको छ हजार वर्षे व्यवस्थापन योजना समाप्त हुन लागेको बेला, निर्वाह गरिनुपर्ने कर्तव्यहरू धेरै छन्। तर यदि तँमा कुनै विवेक वा समझ छैन, र तँ आफ्नो उचित कार्यलाई ध्यान दिँदैनस् भने, यदि तैँले कर्तव्य निर्वाह गर्ने अवसर प्राप्त गरेको छस् तर यसलाई कदर गर्न जान्दैनस्, थोरै पनि सत्यता पछ्याउँदैनस्, र सबैभन्दा उपयुक्त समय त्यसै खेर फाल्छस् भने, तँलाई प्रकाश गरिनेछ। यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्नमा निरन्तर झाराटारुवा भइरहन्छस्, र काटछाँटको सामना गर्दा तँ पटक्कै समर्पित हुँदैनस् भने, के परमेश्वरको घरले अझै पनि तँलाई कर्तव्य निर्वाह गर्न प्रयोग गर्न सक्छ? परमेश्वरको घरमा, शैतानले होइन सत्यताले शासन गर्छ, र सबै कुरामा परमेश्वरले नै अन्तिम निर्णय गर्नुहुन्छ। मानिसलाई मुक्ति दिने काम उहाँले नै गर्दै हुनुहुन्छ, र उहाँ नै सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ। तैँले कुन सही र कुन गलत भनेर विश्लेषण गर्न आवश्यक छैन; तैँले सुन्ने र समर्पित हुने मात्रै गर्नुपर्छ। काटछाँट गराइको सामना गर्दा, तैँले सत्यता स्वीकार गर्नुपर्छ र आफ्ना गल्तीहरू सच्याउनुपर्छ। यदि तैँले त्यसो गरिस् भने, परमेश्वरको घरले कर्तव्य निर्वाह गर्ने तेरो योग्यता खोस्ने छैन। यदि तँ सधैँ आफूलाई हटाइएला भनेर डराउँछस्, सधैँ आफूलाई सही साबित गर्न खोज्छस्, सधैँ कुतर्क प्रयोग गरेर आफ्नो बचाउ गर्छस् भने, त्यो समस्या हो। तैँले अलिकति पनि सत्यता स्विकार्दैनस्, र तँ पूर्ण रूपमा असमझदार छस् भनेर अरूले देख्नेछन्। यसले समस्या निम्त्याउँछ, र मण्डलीले तँलाई तह लगाउनुपर्ने हुन्छ। तँ आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता पटक्कै स्वीकार गर्दैनस् र सधैँ प्रकाश हुने र हटाइने डर मान्छस्। तेरो यो डर मानव आशयले दूषित हुन्छ; यही डरभित्र भ्रष्ट शैतानी स्वभावहरू, साथै शङ्का, सतर्कता, र गलतफहमी हुन्छन्। यीमध्ये कुनै पनि मनोवृत्ति व्यक्तिमा हुनुहुँदैन। तैँले सुरुमा आफ्नो डर, साथै परमेश्वरसम्बन्धी तेरा गलत बुझाइहरू समाधान गर्नुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूबाट मैले के महसुस गरेँ भने, म बर्खास्त हुन डराउनुको कारण मैले परमेश्वरको स्वभाव र परमेश्वरको घरमा मानिसहरूलाई बर्खास्त गर्ने सिद्धान्तहरू नबुझ्नु नै रहेछ। जब मैले केही मानिसहरूलाई वास्तविक काम नगरेको कारणले बर्खास्त गरिएको देखेँ, र मेरो काममा पनि थुप्रै समस्याहरू उदाङ्गो भएका थिए, तब मलाई यदि अझै धेरै समस्याहरू देखा परे भने, अगुवाले मैले वास्तविक काम गरिरहेकी छैनँ भनेर सोच्नुहुनेछ र मलाई पनि बर्खास्त गर्नुहुनेछ भन्ने चिन्ता लाग्यो। त्यसैले अगुवाले मेरो कामको छानबिन गर्नुहुन्छ भनेर म गलतफहमी र सतर्कताको स्थितिमा डराउँदै जिइरहेकी थिएँ। वास्तवमा, मेरो काममा भएका समस्या र कमीकमजोरीहरू प्रकाशमा आउनु नराम्रो कुरा थिएन। त्यसले मलाई समयमै समस्याहरू पत्ता लगाउन र समाधान गर्न, अनि मेरो कर्तव्यमा मेरो प्रभावकारिता सुधार गर्न मद्दत गर्न सक्थ्यो। तर म आफैचाहिँ, सङ्कुचित र साँघुरो विचार भएकी थिएँ। जब अगुवाले मेरो कामको सुपरिवेक्षण गर्नुभयो, तब म सतर्क भएँ र मैले उहाँप्रति शङ्का गर्न थालेँ, कतै उहाँले मलाई वास्तविक काम नगर्ने र भर नपर्दो ठान्नुभयो कि भनेर सोच्न थालेँ। उहाँले मलाई अवलोकन गरिरहनुभएको छ र मलाई कुनै दिन बर्खास्त गर्नुहोला भन्ने मलाई लाग्थ्यो। म अनेक जुक्ति र चालबाजीले भरिएकी थिएँ। मण्डलीमा मानिसहरूलाई बर्खास्त गर्ने सिद्धान्तहरू छन्। कर्तव्यमा सानो विचलन वा गल्तीका कारण कसैलाई पनि बर्खास्त गरिँदैन। बरु, मानिसहरूलाई अधिकतम हदसम्म पश्चात्ताप गर्ने मौका दिइन्छ, र यदि तिनीहरूले परिवर्तन हुन निरन्तर अस्वीकार गरे र काममा नोक्सानी पुर्याए भने मात्र तिनीहरूलाई बर्खास्त गरिन्छ। मैले अरू केही ब्रदर-सिस्टरहरूको काममा पनि केही विचलन र समस्याहरू देखा परेका थिए भन्ने कुरा सोचेँ, तर अगुवाले त्यसकै कारणले उनीहरूलाई बर्खास्त गर्नुभएको थिएन। बरु, उहाँले उनीहरूलाई समर्थन र मद्दत गर्न सक्दो प्रयास गर्नुभएको थियो, र उनीहरूसँग सिद्धान्तहरूबारे सङ्गति गर्नुभएको थियो। त्यसपछि निरन्तर विचलनहरूको सारांश निकालेर ती सच्याउँदै गर्दा, उनीहरूले आफ्नो कर्तव्यमा राम्रो नतिजा ल्याउँदै गएका थिए। केही ब्रदर-सिस्टरहरू आफ्नो कमजोर क्षमताका कारण निश्चित कर्तव्यहरूका लागि योग्य थिएनन्। मण्डलीले उनीहरूलाई मनपरी बर्खास्त गर्नुको सट्टा क्षमता र सबल पक्षहरूअनुसार उपयुक्त कर्तव्यहरूको व्यवस्था गरिदिएको थियो। वास्तविक काम नगरेको कारणले केही मानिसहरूलाई बर्खास्त गरिएको भए पनि, उनीहरूले केही समय आत्म-चिन्तन गरेपछि र आफूलाई चिनेपछि, अनि साँचो पश्चात्ताप देखाएपछि, मण्डलीले उनीहरूलाई पदोन्नति गरेको थियो र फेरि महत्त्वपूर्ण भूमिकाहरू दिएको थियो। त्यसैले, कर्तव्यमा समस्याहरू देखा पर्दा रत्तिभर डराउनु पर्दैन। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्यता स्वीकार गर्न र आफ्ना समस्याहरूबारे चिन्तन गर्न सक्नु हो, त्यसपछि साँचो रूपमा पश्चात्ताप गरेर परिवर्तन हुनु हो। मैले अगुवाले मेरा विचलन र समस्याहरूकै कारण मलाई बर्खास्त गर्नुभएको थिएन भन्ने कुरा विचार गरेँ। मैले अबदेखि सतर्क हुनु वा गलतफहमी पाल्नु हुँदैन भन्ने महसुस गरेँ। मैले मेरा समस्याहरूको सारांश निकाल्नुपर्छ र चिन्तन गर्नुपर्छ, अनि विचलनहरू सच्याउनुपर्छ। त्यसपछि म प्रार्थनामा परमेश्वरसामु आएँ, र मैले बर्खास्त भए पनि नभए पनि परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुने, अनि इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्ने इच्छा व्यक्त गरेँ। प्रार्थना गरेपछि मलाई निकै शान्तिको महसुस भयो।
पछि, मैले एउटी सिस्टरसँग मेरो स्थितिबारे खुलेर सङ्गति गरेँ। उहाँले मलाई सुपरिवेक्षण स्वीकार गर्नेबारे परमेश्वरका केही वचनहरू पढ्न सुझाव दिनुभयो। मैले परमेश्वरका वचनहरूमा यो पढेँ: “यदि परमेश्वरको घरले तँलाई सुपरिवेक्षण, अवलोकन, र बुझ्ने प्रयास गर्नुलाई तैँले स्विकार्न सक्छस् भने, त्यो गजबको कुरा हो। यसले तँलाई आफ्नो कर्तव्य पूरा गर्नमा, मानक पूरा गर्ने गरी कर्तव्य पूरा गर्न र परमेश्वरका अभिप्रायहरू पुरा गर्न सक्षम हुनमा मदत गर्छ। यसबाट तँलाई फाइदा र सहयोग पुग्छ, यसमा कुनै पनि घाटा छैन। तैँले एक पटक यो सिद्धान्त बुझिसकेपछि, अगुवा, कामदार, र परमेश्वरका चुनिएका मानिसहरूको सुपरिवेक्षणप्रति तँमा प्रतिरोध वा सावधानीको भावना हटिसकेको हुनुपर्ने होइन र? कहिलेकाहीँ कसैले तँलाई बुझ्ने प्रयास गर्दा, अवलोकन गर्दा, र तेरो कामलाई सुपरिवेक्षण गर्दा पनि, यो तैँले मनमा लिनुपर्ने कुरा होइन। म किन यसो भन्दै छु? किनभने अहिलेका तेरा कामहरू, तैँले निभाउने कर्तव्य, र तैँले गर्ने कुनै पनि काम कुनै एक व्यक्तिको निजी मामला वा व्यक्तिगत जागिर होइन; ती परमेश्वरको घरको कामसँग सम्बन्धित हुन्छन् र परमेश्वरको कामको एउटा पाटोसँग जोडिएका हुन्छन्। त्यसकारण, जब कसैले तँसँग खुला हृदयले कुरा गर्ने र यस दौरान तेरो अवस्था कस्तो छ भनेर पत्ता लगाउने कोसिस गर्दै तँलाई थोरै सुपरिवेक्षण गर्छ वा नियालेर हेर्छ, वा तँलाई गहिराइमा बुझ्ने प्रयास गर्छ, अनि कहिलेकाहीँ तिनीहरूको मनोवृत्ति केही कठोर भएको बेला तिनीहरूले तँलाई अलि काटछाँट गर्छन्, अनुशासनमा राख्छन्, र हप्काउँछन्, तब यो सबै परमेश्वरको घरको कामप्रतिको तिनीहरूको कर्तव्यनिष्ठ र जिम्मेवार मनोवृत्तिकै कारणले गर्दा हो। तैँले कुनै नकारात्मक विचारहरू बोक्नु हुँदैन, र नकारात्मक भावनाले प्रतिक्रिया दिनु हुँदैन” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (७))। परमेश्वरका वचनहरू पढ्दा मलाई अन्तर्दृष्टि मिल्यो। हामीले पाएका कामहरू व्यक्तिगत मामिला होइनन्। ती महत्त्वपूर्ण मामिलाहरू हुन्, जसमा मण्डलीको काम र हाम्रा ब्रदर-सिस्टरहरूको जीवन प्रवेश समावेश हुन्छ। जब अगुवा र कामदारहरूले हाम्रो कर्तव्यको निरीक्षण र छानबिन गर्छन्, तब उनीहरूले जे गर्नुपर्ने हो त्यही गरिरहेका हुन्छन्। यो हाम्रो कर्तव्य र मण्डलीको कामको लागि लाभदायक हुन्छ। सबैसँग भ्रष्ट स्वभावहरू हुन्छन्। हामीले सत्यता प्राप्त गर्नुअघि, हाम्रो जीवन स्वभाव परिवर्तन हुनुअघि, हामी भरपर्दो वा विश्वासयोग्य हुँदैनौँ। यदि हाम्रो सुपरिवेक्षण गरिएन भने, हामी कुनै पनि क्षण आफ्नै बाटोमा लाग्ने सम्भावना हुन्छ। हामी आफ्नो काममा स्वेच्छाचारी र धूर्त अनि चिप्लो हुनेछौँ, र हामीले मण्डलीको काममा बाधा दिने र अवरोध पुर्याउने कामहरू गर्नेछौँ। त्यसैले, अगुवाहरूले हाम्रो कामको सुपरिवेक्षण गर्दा यो हामीलाई हाम्रो कर्तव्य राम्रोसँग निर्वाह गर्न मद्दत गर्न, र मण्डलीको कामको सुचारु प्रगतिका लागि गरिएको हुन्छ। मलाई याद छ, पहिला जब अगुवाले मैले नयाँ टोली सदस्यहरूसँग सुसमाचार प्रचारका सिद्धान्तहरू बाँड्नमा ध्यान केन्द्रित गरेकी थिइनँ भनेर उल्लेख गर्नुभयो, त्यो वास्तवमै मेरो कर्तव्यमा भएको एउटा विचलन थियो। मैले आफ्नो कर्तव्यमा प्रगति गर्नेबारे सोचिरहेकी थिइनँ, बरु म त यथास्थितिमा सन्तुष्ट थिएँ, त्यसैले म कामसँग परिचित नभएका ब्रदर-सिस्टरहरूलाई समय बित्दै जाँदा बिस्तारै सिकाउन सकिन्छ, र त्यसले हाम्रो कामको प्रभावकारितामा असर गर्नेछैन भन्ने सोच्थेँ। मेरो कर्तव्यप्रतिको त्यो मनोवृत्ति वास्तवमा परमेश्वरको लागि घृणित थियो, र यदि मैले यसलाई परिवर्तन गरिनँ भने, समयसँगै यसले मण्डलीको काममा बाधा पुर्याउने मात्र होइन, मेरो आफ्नै जीवन प्रवेशमा पनि हानि पुर्याउने थियो। जब अगुवाले यो समस्या याद गरेर मलाई औँल्याउनुभयो, त्यसबेला यदि मैले समयमै आत्म-चिन्तन गरेर मेरा विचलनहरू सच्याउन सकेको भए, त्यो मेरा लागि निकै लाभदायक हुनेथियो। र जब-जब अगुवाले मेरो कामको जाँच गर्नुभयो, तब-तब उहाँले मैले सामान्यतया देख्न नसक्ने केही समस्याहरू औँल्याउनुभयो। यसरी, मेरो काममा रहेका धेरै समस्याहरू ढिलाइ नभई समाधान हुन सक्थे, र मैले अभ्यासको बाटो र कर्तव्यमा एउटा दिशा पाउन सक्थेँ। यो सबै महसुस गरेपछि, म कति मूर्ख रहेछु भन्ने महसुस गरेँ, र म पछुतोले भरिएँ। यदि मैले स्वेच्छाले अगुवासँग मेरा काममा भएका विचलनहरू बाँड्न सकेकी भए, यी समस्याहरू धेरै पहिले नै समाधान हुन सक्थे, र सुसमाचार सम्बन्धी हाम्रो कामले नोक्सानी बेहोर्नुपर्ने थिएन।
पछि, मैले आफैबारे चिन्तन गरेँ। म किन सधैँ अगुवाको सुपरिवेक्षण र बर्खास्त हुने कुराबाट डराइरहेकी थिएँ? समस्याको जड के थियो त? मैले मेरो आत्मिक भक्तिमा परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “यदि तिमीहरू अगुवा वा कामदार हौ भने, के तिमीहरूलाई परमेश्वरको घरले तिमीहरूको कामबारे सोधपुछ र सुपरिवेक्षण गर्छ भन्ने डर लाग्छ? के तिमीहरूलाई परमेश्वरको घरले तिमीहरूको कामका त्रुटि र विचलनहरू पत्ता लगाएर तिमीहरूलाई काटछाँट गर्नेछ भन्ने डर लाग्छ? के तिमीहरूलाई तिमीहरूको वास्तविक क्षमता र कदबारे माथिलाई थाहा भएपछि, उसले तिमीहरूलाई फरक नजरले हेर्नेछ र तिमीहरूलाई बढुवा गर्नेबारे विचार गर्नेछैन भन्ने डर लाग्छ? यदि तँसित यी डर छन् भने, यसले तँ मण्डलीको कामका निम्ति होइन, ख्याति र हैसियतका लागि काम गर्न प्रेरित भइरहेको छस् भन्ने साबित गर्छ, जसबाट तँमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने प्रमाणित हुन्छ। यदि तँमा ख्रीष्टविरोधीको स्वभाव छ भने, तँ ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने, र तैँले ख्रीष्टविरोधीहरूले गरेको सबै दुष्टता गर्ने ठूलो सम्भावना हुन्छ। यदि तेरो हृदयमा परमेश्वरको घरले तेरो कामको सुपरिवेक्षण गर्छ भन्ने डर छैन, र तँ माथिले सोधेका प्रश्न र सोधपुछको साँचो जवाफ केही नलुकाई, र आफूलाई थाहा भएजति दिन सक्छस् भने, तेरो कुरा सही वा गलत जे भए पनि, तैँले जस्तो भ्रष्टता प्रकट गरे पनि—तैँले ख्रीष्टविरोधीको स्वभाव प्रकट गरे पनि—तँलाई कदापि ख्रीष्टविरोधीका रूपमा चित्रण गरिनेछैन। मुख्य कुरा भनेको तैँले आफ्नो ख्रीष्टविरोधी स्वभाव चिन्न सक्छस् कि सक्दैनस्, र यो समस्या हल गर्न सत्यता खोज्न सक्छस् कि सक्दैनस् भन्ने हो। यदि तँ सत्यता स्विकार्ने व्यक्ति होस् भने, तेरो ख्रीष्टविरोधी स्वभाव समाधान गर्न सकिन्छ। यदि तँलाई आफूमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने कुरा राम्ररी थाहा भएर पनि त्यो समाधान गर्न सत्यता खोज्दैनस्, यदि तँ आइपर्ने समस्याहरू लुकाउने वा समस्याबारे झूट बोल्ने र जिम्मेवारी पन्छाउने कोसिससमेत गर्छस्, अनि काटछाँटमा पर्दा सत्यता स्विकार्दैनस् भने, यो गम्भीर समस्या हो, र तँ ख्रीष्टविरोधीभन्दा फरक होइनस्। तँ आफूमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने जानेर पनि किन यसलाई सामना गर्ने आँट गर्दैनस्? किन तँ यसलाई खुलस्त रूपमा लिएर यसो भन्न सक्दैनस्, ‘यदि माथिबाट मेरो कामबारे सोधपुछ गरिन्छ भने, म आफूलाई थाहा भएको सबै कुरा भन्नेछु, र यदि मैले गरेका खराब कुराहरू खुलासा भए पनि, र माथिलाई थाहा भएपछि उसले मलाई प्रयोग गर्न छोडे पनि, र मैले आफ्नो हैसियत गुमाए पनि, म आफूले भन्नुपर्ने कुरा स्पष्ट रूपमा भन्नेछु’? परमेश्वरको घरले तेरो कामको सुपरिवेक्षण र सोधपुछ गर्नेछ भन्ने डरले तँ सत्यताभन्दा बढी हैसियतलाई बहुमूल्य ठान्छस् भन्ने प्रमाणित गर्छ। के यो ख्रीष्टविरोधीको स्वभाव होइन र? हैसियतलाई सबैभन्दा माथि राख्नु ख्रीष्टविरोधीको स्वभाव हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। परमेश्वरका वचनहरूले म किन अगुवाले मेरो कामको सुपरिवेक्षण गर्दा डराउँथेँ भन्ने कुराको जड उदाङ्गो पारिदिए। म आफ्नो हैसियतमा धेरै लिप्त भएकी थिएँ। म अगुवाले मेरो कर्तव्यमा रहेका समस्याहरू पत्ता लगाउनुहुनेछ, अनि मैले वास्तविक काम गरिनँ भनेर सोच्नुहुनेछ र मलाई बर्खास्त गर्नुहुनेछ भनेर डराउँथेँ। त्यसैले आफ्नो हैसियत जोगाउन, मैले गर्नुपर्ने महत्त्वपूर्ण र अत्यावश्यक काम नगरी, कर्तव्यमा देखावटी र सतही काम मात्र गरेँ। फलस्वरूप, सुसमाचारको कामको नतिजा घट्यो। म कति स्वार्थी र घृणास्पद थिएँ! जोसँग साँच्चै परमेश्वरको डर मान्ने हृदय हुन्छ, उनीहरूले आफ्नो कर्तव्यमा मण्डलीको कामलाई पहिलो प्राथमिकता दिन्छन्। मण्डलीको कामको रक्षा गर्न, उनीहरू बरु आफ्नो नाम र हैसियतमा आँच आएको हेर्न चाहन्छन्। उनीहरू आफ्नो कर्तव्यमा परमेश्वरको छानबिन र ब्रदर-सिस्टरहरूको सुपरिवेक्षणलाई स्वीकार गर्न सक्छन्। उनीहरूको हृदय सरल र इमानदार हुन्छ। तर म आफैचाहिँ, मैले आफ्नो नाम र हैसियत कसरी जोगाउने भन्ने मात्र सोचेँ, र आफ्नो हैसियत सुरक्षित गर्न मण्डलीको काममा नोक्सानी भएको सहन पनि तयार थिएँ। मैले ख्रीष्ट विरोधीहरूले कसरी अरू सबै कुराभन्दा हैसियतलाई महत्त्व दिन्छन् र हैसियत पाउन जस्तोसुकै हदसम्म पनि जान्छन् भन्ने कुरा सोचेँ। मेरो व्यवहारले ठ्याक्कै ख्रीष्ट विरोधीको स्वभाव प्रकट गरिरहेको थियो। मैले जति धेरै यसबारे सोचेँ, उति नै मैले जिइरहेको र प्रकट गरिरहेको कुरा कुनै निष्ठा वा मर्यादा नभएको कुनै जोकरको व्यवहारजस्तो लाग्यो। मलाई आफैदेखि घिन लाग्यो। म हृदयको गहिराइदेखि नै एक सोझो र सम्मानित व्यक्ति बन्न चाहन्थेँ। मैले परमेश्वरका यी वचनहरू सम्झिएँ: “सत्यतालाई प्रेम गर्नेहरूले सत्यता अभ्यास गर्न र इमानदार मानिस हुन रोज्छन्। यो सही मार्ग हो र यो परमेश्वरद्वारा आशिषित हुन्छ। यदि व्यक्तिले सत्यता प्रेम गर्दैन भने, उसले के रोज्छ? तिनीहरूले आफ्नो प्रतिष्ठा, हैसियत, मर्यादा र निष्ठाको खोल कायम राख्न झुटहरू प्रयोग गर्न रोज्छन्। यसका लागि बरु तिनीहरू सत्यता अभ्यास गर्नुभन्दा छली मानिस हुन्छन् अनि परमेश्वरद्वारा घृणा र इन्कार गरिन्छन्। त्यस्ता मानिसहरू सत्यताप्रति वितृष्णा राख्ने र परमेश्वरलाई इन्कार गर्नेहरू हुन्। तिनीहरू आफ्नै प्रतिष्ठा र हैसियत रोज्छन्; तिनीहरू छली मानिस बन्न चाहन्छन्। तिनीहरू परमेश्वर खुसी बन्नुहुन्छ कि हुन्न वा उहाँले तिनीहरूलाई मुक्ति दिनुहुन्छ कि हुन्न भनेर वास्ता गर्दैनन्। के त्यस्ता मानिसहरूले परमेश्वरबाट अझै पनि मुक्ति पाउन सक्छन् त? निश्चय नै सक्दैनन्, किनकि तिनीहरूले गलत मार्ग रोजेका छन्। तिनीहरू ढाँटेर अनि छल गरेर मात्र जिउन सक्छन्; तिनीहरू हरदिन झूट बोल्ने र त्यसलाई ढाकछोप गर्ने, अनि आफ्नो सफाइ दिन दिमाग खियाउने पीडादायी दिनहरू मात्र बिताउन सक्छन्। यदि तँ झूटहरूले तैँले चाहने प्रतिष्ठा, हैसियत, आडम्बर र घमण्ड कायम राख्न सक्छन् भनेर सोच्छस् भने, तँ पूरै गलत छस्। वास्तवमा, झूटहरू बोलेर, तैँले आफ्नो आडम्बर र घमण्ड अनि आफ्नो मर्यादा र निष्ठा कायम राख्न नसक्ने मात्र होइन, त्योभन्दा पनि खराब कुरा त, तैँले सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्ने मौका पनि गुमाउँछस्। तैँले त्यो बेला आफ्नो प्रतिष्ठा, हैसियत, आडम्बर, र घमण्ड कायम राख्न सके पनि, तैँले सत्यता त्यागेको र परमेश्वरलाई धोका दिएको हुन्छस्। यसको मतलब, तैँले उहाँबाट मुक्ति पाउने र सिद्ध पारिने तेरो मौका पूर्णतया गुमाएको हुन्छस्, जुन सबैभन्दा ठूलो क्षति र अनन्त पछुतो हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्वरका वचनहरू मनन गर्दा मलाई लाज लाग्यो। आफ्नो नाम र हैसियत देखौटी रूपमा जोगाउन झूटमा भर परेर, मैले आफूलाई साह्रै बाठो ठानेकी थिएँ, तर मैले एक इमानदार व्यक्ति बन्ने मौका गुमाइरहेकी थिएँ, अझ बढी त, मैले मुक्ति र सत्यता प्राप्त गर्ने मौका गुमाइरहेकी थिएँ। त्यो कहिल्यै भरपाई गर्न नसकिने क्षति थियो। मैले आफ्नो नाम र हैसियत जोगाउन बारम्बार झूट र चालबाजी प्रयोग गरेँ, तर परमेश्वरले हरेक कुरा जाँच्नुहुन्छ। मैले मानिसहरूलाई केही समयका लागि मूर्ख बनाउन सक्थेँ, तर म परमेश्वरको छानबिनबाट कहिल्यै उम्कन सक्दिनथेँ। मैले वास्तविक काम नगरेको र त्यसले काममा पुर्याएको नोक्सानी ढिलोचाँडो प्रकाशमा आउने नै थियो। परमेश्वरको स्वभावले कुनै चिढ्याइ सहँदैन। यदि मैले पश्चात्ताप गरिनँ, बरु झूट बोल्ने अनि आफ्नो हैसियत जोगाउने काम मात्र गरिरहेँ भने, ढिलोचाँडो म बर्खास्त हुने नै थिएँ। मैले ती झूटा अगुवाहरू र ख्रीष्ट विरोधीहरूका बारेमा सोचेँ। उनीहरूले नाम र हैसियतका लागि मात्र काम गरे, र वास्तविक काम पटक्कै गरेनन्। उनीहरूमध्ये कतिपय त आफ्नो नाम र हैसियत जोगाउन मण्डलीको काममा अवरोध गर्न र बाधा दिन समेत तयार थिए, र अन्ततः तिनीहरूले धेरै दुष्ट कामहरू गरे, अनि तिनीहरू प्रकाश पारिए र हटाइए। मैले अहिले परमेश्वरको घरको सबैभन्दा महत्त्वपूर्ण काम भनेको राज्यको सुसमाचार फैलाउनु हो भन्ने कुरा पनि सोचेँ। तर सुसमाचारको कामको जिम्मेवारीमा भएको व्यक्तिको रूपमा, म सुसमाचारको काममा प्रेरक शक्ति बन्नु त कता हो कता, उल्टै आफ्नो नाम र हैसियत जोगाउने प्रयास गर्दै, मैले हाम्रो सुसमाचारको काममा बाधा पुर्याइरहेकी थिएँ। मेरो व्यवहारको आधारमा, मलाई त बर्खास्त नै गरिनुपर्ने थियो। आफ्नो कर्तव्य निर्वाह गर्न निरन्तरता दिन पाउनु नै मेरा लागि परमेश्वरको ठूलो सहिष्णुता थियो। यो सबै महसुस गरेपछि, म प्रार्थना गर्न र पश्चात्ताप गर्न परमेश्वरसामु आएँ, आफ्नो गलत खोजलाई परिवर्तन गर्न, मेरो बारेमा अगुवाको सुपरिवेक्षण स्वीकार गर्न, र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्दो प्रयास गर्न तयार भएँ।
पछि मेरो आत्मिक भक्तिमा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई अभ्यासको बाटो देखायो। परमेश्वरका वचनहरूले भन्छन्: “अरूको रेखदेख, जाँच, र निरीक्षणलाई स्वीकार गर्न सक्ने मानिसहरू नै सबैभन्दा समझदार हुन्छन्, तिनीहरूमा सहनशीलता र सामान्य मानवता हुन्छ। जब तैँले तेरो तरिका गलत छ वा तैँले भ्रष्ट स्वभाव प्रकट गर्छस् भनेर पत्ता लगाउँछस्, तब यदि तैँले मन खोलेर मानिसहरूसँग कुराकानी गर्न सक्छस् भने, यसले तेरो वरिपरिका मानिसहरूलाई तेरो सुपरिवेक्षण गर्न मद्दत गर्नेछ। सुपरिवेक्षण स्वीकार गर्नु अवश्य नै अत्यावश्यक कुरा हो, तर मुख्य कुरा भनेको परमेश्वरलाई प्रार्थना गर्नु, उहाँमा भरोसा गर्नु, र निरन्तर आत्मजाँच गर्नु हो। विशेष गरी जब तैँले गलत मार्ग लिएको हुन्छस् वा कुनै गलत काम गरेको हुन्छस्, वा जब तैँले स्वेच्छाचारी र तानासाही शैलीमा काम गर्न लागेको हुन्छस्, अनि तेरो नजिक रहेको कसैले तँलाई यो कुरा औँल्याउँछ र सचेत गराउँछ, तब तैँले त्यो कुरा स्वीकार गर्नैपर्छ र तुरुन्तै आत्मचिन्तन गर्नुपर्छ, र आफ्नो गल्ती स्वीकार गरेर सुधार गर्नुपर्छ। यसले तँलाई ख्रीष्टविरोधीहरूका मार्गमा कदम चाल्नबाट रोक्न सक्छ। यदि कसैले तँलाई यसरी सहयोग गरिरहेको र सचेत गराइरहेको छ भने, के तैँले थाहै नपाई सुरक्षा पाइरहेको हुँदैनस् र? तेरो लागि, यो एक प्रकारको सुरक्षा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्वरलाई धन्यवाद होस्! अभ्यासको बाटो पाएपछि मलाई ठूलो छुटकारा महसुस भयो र म अब अगुवाको सुपरिवेक्षण र मेरो कामबारेको सोधपुछप्रति सतर्क हुन छोडेँ। साथै, मैले आफ्ना समस्याहरू लुकाउन छोडेँ, बरु वास्तविक काम गर्न र वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान केन्द्रित गर्न थालेँ। जब अगुवाले मेरो कामबारे सोध्नुहुन्थ्यो, तब मलाई त्यस्तो बाँधिएको महसुस हुँदैनथ्यो, र म सचेत भई परमेश्वरको छानबिन स्वीकार गर्न र एक इमानदार व्यक्ति बन्ने अभ्यास गर्न सक्षम भएँ। मैले कुनै काम राम्रोसँग नगर्दा म त्यसलाई स्वीकार गर्न सक्थेँ, र मैले आफ्नो नाम र हैसियत जोगाउन छोडेँ। जब अगुवाले मेरो काममा समस्याहरू भेट्टाउनुहुन्थ्यो, तब उहाँले मेरो बारेमा के सोच्नुहोला वा मलाई बर्खास्त गर्नुहोला कि भनेर सोच्न छोडेँ, बरु जतिसक्दो चाँडो कुराहरू सुधार्ने र आफ्नो काम राम्रोसँग गर्नेबारे मात्र सोच्थेँ। यी सबै कुरा अभ्यासमा लगाएदेखि मलाई साँच्चै सहज महसुस भएको छ, र खुलेर आफ्नो कर्तव्य निर्वाह गर्नु साँच्चै आनन्दमय कुरा हो।