७८. आमाबुबाको मृत्युको खबर पाएपछि

सु झेन, चीन

सानैदेखि मेरा आमाबुबाले मलाई धेरै माया गर्नुहुन्थ्यो, र उहाँहरूले म र मेरो भाइलाई स्कूल पढाउन कडा शारीरिक परिश्रम गर्नुहुन्थ्यो। उहाँहरूले बिहानदेखि बेलुकासम्म यतिबिघ्न मेहनत गरेको देखेर, म मनमनै सोच्थेँ, “म ठूली भएपछि, मैले धेरै पैसा कमाउनैपर्छ ताकि मैले मेरा आमाबुबालाई राम्रो जीवन दिन सकूँ।” म काम गर्न थालेपछि, आफ्ना आमाबुबाको जीवनस्तरमा सुधार ल्याउने आशामा, आफूले कमाएको सबै पैसा उहाँहरूलाई नै पठाइदिन्थेँ। पछि, मैले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ र मेरा आमाबुबालाई सुसमाचार सुनाएँ, तर मेरा बुबाले ठूलो रातो अजिङ्गरद्वारा सताइने डरले विश्वास गर्न छोड्नुभयो। तर मेरी आमाले भने मेरो कर्तव्यमा मलाई समर्थन गरिरहनुभयो र मेरो बच्चाको हेरचाह गर्न पनि मद्दत गर्नुभयो। मलाई मेरा आमाबुबाले मेरो लागि धेरै गर्नुभएको छ भन्ने लाग्थ्यो, र हरेकपटक म उहाँहरूलाई भेट्न घर जाँदा, म सकेजति उहाँहरूलाई घरको काममा सघाउने कोशिस गर्दै आफ्नो सन्तानी माया देखाउँथेँ, जसले गर्दा मेरो मनलाई आराम मिल्थ्यो। सन् २०२२ को जून महिनामा, सुसमाचार प्रचार गरेका कारण प्रहरीले मलाई खोज्न थाल्यो, र त्यसपछि, म मेरा आमाबुबा र बच्चालाई भेट्न घर फर्कन सकिनँ। मलाई मेरा आमाबुबा बूढा र कमजोर स्वास्थ्यका हुनुभएकाले, उहाँहरू बिरामी पर्नुभयो भने हेरचाह गर्ने कोही हुनेछैन भन्ने चिन्ता पनि लाग्थ्यो। परमेश्‍वरका वचनहरू पढेर, मैले मानिसको जीवन पूर्ण रूपमा परमेश्‍वरद्वारा प्रबन्ध गरिएको हुन्छ, र परमेश्‍वर मेरा आमाबुबाको भाग्यमाथि पनि सार्वभौम हुनुहुन्छ भनेर बुझेँ, त्यसैले मैले मेरा आमाबुबालाई परमेश्‍वरलाई सुम्पेँ, र मेरो स्थितिमा खासै असर परेन, जसले गर्दा मैले सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सकेँ।

सन् २०२२ नोभेम्बरको अन्त्यमा, मैले मेरी आमा अस्पतालमा रहेकी, र उहाँको अवस्था चिन्ताजनक रहेको भन्दै एउटी सिस्टरले पठाएको पत्र पाएँ। पत्रमा उहाँलाई लागेको बिमारी स्पष्ट उल्लेख गरिएको थिएन, र म मेरी आमालाई के बिमार लागेको हो वा उहाँको अवस्था कस्तो छ भनेर थाहा नपाउँदा धेरै चिन्तित भएँ। म आफ्नी आमालाई भेट्न साँच्चै फर्केर जान चाहन्थेँ। तर त्यसपछि मैले प्रहरीले मलाई अझै पनि खोजिरहेको छ, र थुप्रै मण्डलीहरूले सामना गरेका गिरफ्तारीहरूपछिका कामहरू सम्हाल्न म कति व्यस्त छु, अनि मैले छोडेर गएमा मण्डलीको काममा ढिलाइ हुन्छ भन्नेबारे सोचेँ। मेरो मनमा निकै द्वन्द्व चल्यो, त्यसैले मैले मेरी आमाको बिमारीलाई परमेश्‍वरलाई नै सुम्पेर उहाँलाई प्रार्थना गरेँ। सन् २०२३ मे महिनाको मध्यमा, मैले घरबाट एउटा पत्र पाएँ, जसमा मेरी आमा गत वर्ष स्ट्रोकले बित्नुभएको, र मेरा बुबाको पनि केही दिनअघि दमको रोगका कारण मृत्यु भएको भनिएको थियो। यो अचानकको खबर, मैले स्विकार्नै सकिनँ। उहाँहरू यति चाँडै बित्नुभयो र अब मेरा आमाबुबा हुनुहुन्न भन्ने सोच्दा, मनमा पीडाको बाढी नै आयो र मैले रुवाइ रोक्न सकिनँ। उहाँहरू बिरामी हुँदा उहाँहरूको हेरचाह गर्नका लागि म त्यहाँ थिइनँ, र उहाँहरू बित्नुअघि मैले उहाँहरूलाई अन्तिम पटक पनि देख्न पाइनँ भन्ने कुरा मैले सोचेँ। मलाई लाग्यो, उहाँहरू पक्कै धेरै दुःखी हुनुभएको थियो होला, र छोरीको नाताले मसँग निराश हुनुभएको थियो होला, अनि मेरा आफन्तहरूले मलाई पक्कै पनि कुपुत्री वा कृतघ्न नीच भनिरहेका थिए होलान्। मलाई यति कमजोर महसुस भयो कि रुनुबाहेक मैले केही गर्न सकिनँ। म आफ्नो कोठामा गएर पल्टँदा, मेरो दिमाग मेरा आमाबुबाका चित्रहरूले भरिएको थियो। उहाँहरूको मुस्कान, मप्रतिको उहाँहरूको दया, र हामीले सँगै बिताएका जीवनका दृश्यहरू चलचित्रमा जस्तै मेरो दिमागमा एकपछि अर्को गर्दै घुमिरहे। मेरा आमाबुबालाई मलाई हुर्काउन कति गाह्रो भएको थियो, उहाँहरूले मलाई स्कूल पढाउन कति कडा शारीरिक परिश्रम गर्नुभएको थियो, र म घरबाट टाढा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी बेला मेरी आमाले मेरो बच्चाको हेरचाह गर्न कसरी मद्दत गर्नुभएको थियो भन्नेबारे मैले सोचेँ। उहाँहरूले मेरा लागि गर्नुभएकाे हरेक साना कुराका लागि म उहाँहरूप्रति साह्रै ऋणी छु भन्ने महसुस भयो। म यति धेरै पीडामा थिएँ, र मैले यस्तोसम्म सोचेँ, यदि मैले आफ्नो कर्तव्य निर्वाह नगरेर बरु पैसा कमाउन काम गरेकी भए, मैले उहाँहरूलाई जीवन निर्वाहमा मद्दत गर्न सक्थेँ र उहाँहरू बिरामी हुँदा उपचारका लागि पैसा दिन सक्थेँ, र सायद उहाँहरू यति चाँडै बित्नुहुने थिएन। मैले उहाँहरूको हेरचाह गर्न उहाँहरूको छेउमा नगएका ती सबै वर्षहरूबारे, र छोरीका रूपमा आफ्नो जिम्मेवारी पूरा नगरेकोबारे सोच्दा, मलाई आफू अपराधी र उहाँहरूप्रति साह्रै ऋणी भए जस्तो महसुस भयो! ती दिनहरूमा, म खान र सुत्न नसकेर, साह्रै दिक्दार अवस्थामा थिएँ, दोष र पीडामा बाँचिरहेकी थिएँ। म आफ्नो कर्तव्य निर्वाह गरिरहेकी भए तापनि, मेरो मन साह्रै बेचैन थियो। ममा आफू जिम्मेवार रहेको सुसमाचारको काम अनुगमन गर्ने बोझको भाव पनि थिएन, र मेरो काममा पनि असर पर्‍यो। आफ्नो पीडामा, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरा आमाबुबा बित्नुभएको छ, र म ठूलो पीडा र सास्तीमा छु। कृपया मलाई मद्दत गर्नुहोस् र मेरो मनलाई बेचैन हुनबाट जोगाउनुहोस्।” प्रार्थनापछि, मेरो मन अलिक शान्त भयो। मैले आफ्ना आमाबुबाको मृत्युलाई कसरी सामना गर्ने भन्नेबारे परमेश्‍वरका वचनहरू सम्झेँ, त्यसैले मैले पढ्नका लागि तिनको खोजी गरेँ।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “आफ्‍ना आमाबुबाको निधन हुने कुरा आउँदा, मानिसहरूमा त्यसबारेमा पनि सही र तर्कसङ्गत मनोवृत्ति हुनुपर्छ। … त्यसोभए, यस्तो हुनुअघि, तैँले आफूमाथि आइपर्ने अप्रत्याशित बज्रपातलाई कसरी लिनुपर्छ, ताकि यसले तेरो कर्तव्य निर्वाहमा वा तैँले हिँड्ने बाटोमा असर नगरोस्, हस्तक्षेप नगरोस् वा प्रभाव नपारोस्? सुरुमा, वास्तवमा मृत्यु भनेको के हो, र वास्तवमा बितेर जानु भनेको के हो भन्‍ने कुरालाई हेरौँ—के यसको अर्थ व्यक्ति यो संसार छोडेर जाँदैछ भन्‍ने हुँदैन र? (हो।) यसको अर्थ व्यक्तिसँग भएको जीवन, त्यसको शारीरिक उपस्थिति मानिसहरूले देख्‍न सक्‍ने भौतिक संसारबाट हट्छ र हराउँछ भन्‍ने हुन्छ। त्यसपछि त्यो व्यक्ति अर्को संसारमा, र अर्को रूपमा बाँच्न जान्छ। तेरा आमाबुबाको देहान्त हुनुको अर्थ यस संसारमा तँसँगको तिनीहरूको सम्बन्ध भङ्ग भएको, हराएको र समाप्त भएको छ भन्‍ने हुन्छ। तिनीहरू अर्कै संसारमा, अन्य रूपमा बाँचिरहेका छन्। जहाँसम्म तिनीहरूको जीवन त्यो अर्को संसारमा कसरी चल्नेछ, तिनीहरू यस संसारमा फर्कनेछन् कि छैनन्, तँलाई फेरि भेट्नेछन् कि छैनन्, वा तँसँग कुनै पनि प्रकारको शारीरिक नाता वा भावनात्मक बन्धनहरू हुन्छन् कि हुँदैनन् भन्‍ने कुरा छ, त्यो कुरा परमेश्‍वरले तय गर्नुहुन्छ, र यसको तँसँग कुनै सम्बन्ध हुँदैन। संक्षेपमा, तिनीहरूको निधन हुनुको अर्थ यो संसारमा तिनीहरूको मिसन समाप्त भएको छ, र तिनीहरूको पछाडि पूर्ण विराम लगाइएको छ भन्‍ने हुन्छ। यस जीवनमा र यस संसारमा तिनीहरूका मिसन समाप्त भएका छन्, त्यसैले तिनीहरूसँगको तेरो सम्बन्ध पनि समाप्त भएको छ। जहाँसम्म भविष्यमा तिनीहरूको पुनर्जन्म हुनेछ कि छैन, वा तिनीहरूले अर्को संसारमा कुनै पनि प्रकारको दण्ड र प्रतिबन्ध, वा कुनै पनि प्रकारको निराकरण र बन्दोबस्तको सामना गर्नेछन् कि गर्नेछैनन् भन्‍ने कुरा छ, के तँसँग यसको कुनै सरोकार हुन्छ? के तैँले यो कुराको निर्णय गर्न सक्छस्? तँसँग यसको कुनै सम्बन्ध छैन, तैँले यसको निर्णय गर्न सक्दैनस्, र तैँले यसबारे कुनै समाचार प्राप्त गर्न सक्दैनस्। यस जीवनमा तिनीहरूसँगको तेरो सम्बन्ध त्यस बेला नै समाप्त हुन्छ। अर्थात्, १०, २०, ३०, वा ४० वर्षसम्म एकअर्काको साथमा बाँचिरहँदा तिमीहरूलाई सँगै बाँध्‍ने नियतिको अन्त्य त्यतिबेलै हुन्छ। त्यसपछि, तिनीहरू भनेका तिनीहरू नै हुन्छन्, तँ पनि तँ नै हुन्छस्, र तिमीहरूका बीचमा कुनै सम्बन्ध रहँदै रहँदैन। तिमीहरू सबैले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरूले आफ्नै कर्तव्य पूरा गरे, र तैँले आफ्नो कर्तव्य पूरा गर्छस्; जब तिनीहरू अब उही स्थानिक परिवेशमा बस्दैनन्, तब तिमीहरूका बीचमा कुनै सम्बन्ध बाँकी रहँदैन। तिनीहरूले परमेश्‍वरले तिनीहरूलाई सुम्पनुभएका मिसनहरू पहिले नै पूरा गरिसकेका हुन्छन्। त्यसकारण, तिनीहरूले तेरो लागि पूरा गरेका जिम्मेवारीहरूको कुरा आउँदा, जुन दिन तँ तिनीहरूबाट स्वतन्त्र रूपमा अस्तित्वमा रहन थाल्छस्, त्यही दिन त्यो कुराको अन्त्य भइसकेको हुन्छ—त्यसउपरान्त तेरा आमाबुबासँग तेरो कुनै सम्बन्ध रहँदैन। यदि तिनीहरू आज बिते भने, तैँले भावनात्मक स्तरमा मात्रै केही कुरा गुमाउनेछस्, र तेरो जीवनमा तृष्णा गर्नका लागि दुई जना प्रियजन घटेका मात्र हुन्छन्। तैँले तिनीहरूलाई फेरि कहिल्यै देख्‍नेछैनस्, र तैँले फेरि तिनीहरूका बारेमा कहिल्यै कुनै समाचार सुन्‍नेछैनस्। पछि तिनीहरूलाई के हुन्छ र तिनीहरूको भविष्य कस्तो हुन्छ भन्‍ने कुरासँग तेरो कुनै सरोकार हुँदैन, तिमीहरूका बीचमा कुनै रगतको नाता रहनेछैन, र तिमीहरू अब उस्तै प्रकारका प्राणी पनि रहनेछैनौ। कुरा यही नै हो। तेरा आमाबुबा बितेको खबर नै तैँले यस संसारमा तिनीहरूका बारेमा सुन्‍ने अन्तिम खबर हो, र तिनीहरूको जन्म, वृद्धावस्था, तिनीहरू बिरामी हुनु र मर्नु जस्ता अनुभवहरूबारे तैँले देख्‍ने र सुन्‍ने अन्तिम चरणहरू त्यही हुनेछ, यति हो। तिनीहरूको मृत्युले तँबाट केही पनि लैजानेछैन वा तँलाई केही दिनेछैन, र तिनीहरू केवल मरेका हुनेछन्, अनि मानिसहरूका रूपमा तिनीहरूको यात्रा समाप्त भएको हुनेछ। त्यसकारण, तिनीहरूको निधनको कुरा आउँदा, तिनीहरू आकस्मिक रूपमा मरे पनि, सामान्य रूपमा मरे पनि, रोगबाट मरे पनि, र यस्तै अन्य कारणले मरे पनि, यदि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्त नभएको भए, कुनै पनि व्यक्ति वा शक्तिले तिनीहरूको जीवन खोस्‍न सक्नेथिएन। तिनीहरूको मृत्यु हुनुको अर्थ तिनीहरूको शारीरिक जीवनको अन्त्य भयो भन्‍ने मात्र हुन्छ। यदि तँलाई तिनीहरूको याद आउँछ र तिनीहरूको तृष्णा हुन्छ, वा आफ्‍ना भावनाहरूका कारण तिनीहरूप्रति ग्लानि महसुस हुन्छ भने, तैँले त्यसो गर्नु हुँदैन, यी सबै अनावश्यक कुरा हुन्। तिनीहरू यस संसारबाट बिदा भएका छन्, त्यसैले तिनीहरूको सम्झना गर्नु निरर्थक छ, होइन र? यदि तँ ‘के मेरा आमाबुबाले मलाई यतिका वर्षसम्‍म सम्झनुभयो? मैले यतिका वर्षसम्म तिनीहरूलाई सन्तानी निष्ठा देखाउँदै तिनीहरूका साथमा नरहेका कारण तिनीहरूले झन् कति कष्ट भोगे होलान्? यतिका वर्षसम्‍म, म सधैँ तिनीहरूसँग केही दिन बिताउन चाहन्थेँ, तिनीहरू यति चाँडै बित्‍ने अपेक्षा कहिल्यै गरेको थिइनँ। मलाई दुःख लागेको छ र आत्मग्‍लानि भएको छ’ भन्‍ने सोच्छस् भने, तैँले यसरी सोच्नु आवश्यक छैन, किनभने तिनीहरूको मृत्युको तँसँग कुनै सम्बन्ध छैन। तिनीहरूको मृत्युको किन तँसँग कुनै सम्‍बन्ध छैन? किनभने, यदि तैँले तिनीहरूलाई सन्तानी निष्ठा देखाएको वा तिनीहरूलाई साथ दिएको भए पनि, यो परमेश्‍वरले तँलाई दिनुभएको दायित्व वा काम होइन। तेरा आमाबुबाले तँबाट कति सौभाग्य र कति कष्ट भोग्‍नेछन् भनेर परमेश्‍वरले तय गर्नुभएको छ—तँसँग यसको कुनै सम्बन्ध छँदै छैन। तँ तिनीहरूका साथमा रहेकोले तिनीहरूले लामो जीवन जिउनेछन् भन्‍ने छैन, र तँ तिनीहरूबाट टाढा बसेकोले र तिनीहरूसँग प्राय भेट गर्न नसकेकोले तिनीहरूले छोटो जीवन जिउनेछन् भन्‍ने हुँदैन। तिनीहरू कति लामो समयसम्म बाँच्नेछन् भनेर परमेश्‍वरले तोक्‍नुभएको छ, र तँसँग यसको कुनै सम्बन्ध छैन। त्यसकारण, यदि तैँले आफ्‍नो जीवनकालमा नै आफ्ना आमाबुबाको निधन भएको समाचार सुनिस् भने, तैँले दोषी महसुस गर्नु पर्दैन। तैँले यस विषयलाई सही तरिकाले लिनुपर्छ र स्वीकार गर्नुपर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। “यदि तँ आफ्नो कर्तव्य पूरा गर्न आफ्नो घरबाट बाहिर अन्यत्र नगएर आफ्नो आमाबुबाको साथमा बसेको भए, के तैँले तिनीहरूलाई बिरामी पर्नबाट जोगाउन सक्थिस्? (सक्थिनँ।) के तैँले तेरा आमाबुबा बाँच्छन् कि मर्छन् भन्‍ने कुरालाई नियन्त्रण गर्न सक्छस्? के तैँले तिनीहरू धनी हुन्छन् कि गरिब हुन्छन् भनेर नियन्त्रण गर्न सक्छस्? (सक्दिनँ।) तेरा आमाबुबालाई जुनसुकै रोग लागे पनि, तँलाई हुर्काउँदा धेरै थकित भएर, वा तिनीहरूलाई तेरो धेरै याद आएर त्यस्तो भएको हुँदैन; विशेषगरी तिनीहरू तेरो कारणले गर्दा कुनै पनि ठूला, गम्भीर, र सम्भवतः घातक रोगहरूको सिकार हुनेछैनन्। त्यो तिनीहरूको भाग्य हो, र तँसँग त्यसको कुनै सम्बन्ध हुँदैन। तैँले आमाबुबालाई जति नै माया गरे पनि, तैँले बढीमा गर्न सक्‍ने भनेको तिनीहरूको दैहिक पीडा र बोझलाई थोरै मात्रामा कम गर्नु मात्र हो, तर तिनीहरू कहिले बिरामी हुन्छन्, तिनीहरूलाई कुन रोग लाग्छ, तिनीहरू कहिले मर्छन्, र कहाँ मर्छन् भन्‍ने कुराहरूको हकमा भन्दा—के यी कुराहरूसँग तेरो कुनै सम्बन्ध हुन्छ? अहँ, हुँदैन। यदि तँ आमाबुबालाई माया गर्ने व्यक्ति होस् भने, यदि तँ कसैको वास्ता नगर्ने बैगुनी होइनस् भने, र तैँले तिनीहरूसँग दिनभर बिताइस्, तिनीहरूको हेरचाह गरिस् भने, के तिनीहरू बिरामी पर्दैनन्? के तिनीहरू मर्दैनन्? यदि तिनीहरू बिरामी हुनु छ भने, जसरी पनि बिरामी हुँदैनन् र? यदि तिनीहरू मर्नु छ भने, जसरी पनि मर्दैनन् र? होइन र?(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने, कुनै व्यक्ति कहिले जन्मिन्छ, कहिले मर्छ, र उसको आयु कति हुन्छ, सबै परमेश्‍वरकै सार्वभौमिकता र पूर्वनिर्धारणका भाग हुन्। हाम्रा आमाबुबा कहिले र कसरी मर्नुहुन्छ भन्ने कुरा पनि परमेश्‍वरले नै प्रबन्ध र शासन गर्नुभएको हुन्छ। मैले परमेश्‍वरका वचनका आधारमा कामकुराहरूलाई हेरिरहेकी थिइनँ र मैले उहाँको सार्वभौमिकतालाई चिनेकी थिइनँ। मैले के सोचेकी थिएँ भने, यदि म आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर नगएकी भए, मैले आफ्ना आमाबुबाको हेरचाह गर्न सक्थेँ, र उहाँहरू बिरामी हुँदा मैले उहाँहरूलाई मेडिकल उपचार उपलब्ध गराउन सक्थेँ, र यसो गर्दा, उहाँहरू सायद केही वर्ष अझ बढी बाँच्नुहुन्थ्यो र यति चाँडै मर्नुहुने थिएन। मामिलाहरूप्रति मेरो दृष्टिकोण गैरविश्‍वासीको जस्तै र अविश्‍वासीको दृष्टिकोणसँग समान थियो। मैले सम्झेँ, पहिले मेरा आमाबुबा बिरामी हुँदा, म उहाँहरूलाई भेट्न घर गएँ, तर मैले केवल केही सान्त्वनाका शब्दहरू बोल्ने र ख्याल राख्न सल्लाह दिने, र औषधि किन्न आफूसँग भएको थोरै पैसा दिनेबाहेक केही गर्न सकिनँ। तर उहाँहरूको बिमारीमा सुधार भएन, र मैले उहाँहरूको पीडा कम गर्न सकिनँ। जब मैले विशेष गरी परमेश्‍वरका यी वचनहरू पढेँ: “तेरा आमाबुबालाई जुनसुकै रोग लागे पनि, तँलाई हुर्काउँदा धेरै थकित भएर, वा तिनीहरूलाई तेरो धेरै याद आएर त्यस्तो भएको हुँदैन; विशेषगरी तिनीहरू तेरो कारणले गर्दा कुनै पनि ठूला, गम्भीर, र सम्भवतः घातक रोगहरूको सिकार हुनेछैनन्। त्यो तिनीहरूको भाग्य हो, र तँसँग त्यसको कुनै सम्बन्ध हुँदैन,” मैले अन्ततः के बुझेँ भने, मेरा आमाबुबाको मृत्युको मसँग कुनै सम्बन्ध थिएन र जब उहाँहरूको आयु सिद्धियो, तब उहाँहरूले परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको समयमा यो संसार छोड्नुपर्ने थियो। यो उहाँहरूको भाग्य थियो। मैले मेरा बुबालाई गम्भीर अवस्थामा जीवन बचाउने उपचारका लागि धेरैपटक अस्पताल लगिएको, र सबैले बुबा बित्नुहुन्छ भन्ठानेका, तर आखिरमा उहाँ बाँच्नुभयो भनेर मेरी आमाले भन्नुभएको कुरा सम्झेँ। धेरै मानिसहरू वर्षौंसम्म आफ्ना आमाबुबाको छेउमा बसेर हेरचाह गर्छन्, तर उनीहरू बिरामी पर्दा मर्नबाट रोक्न सक्दैनन्। जतिसुकै पैसा भए पनि उनीहरूलाई बचाउन सकिँदैन। मैले के बुझेँ भने परमेश्‍वर हरेकको भाग्यमाथि सार्वभौम हुनुहुन्छ, र मैले मेरा आमाबुबाको छेउमा बसेर हेरचाह गरेकी भए तापनि, उहाँहरूलाई लाग्नुपर्ने रोगहरू लाग्ने नै थिए, र मैले उहाँहरूको उपचारमा जतिसुकै पैसा खर्च गरे पनि, त्यसले उहाँहरूको जीवन बचाउन सक्ने थिएन। यसबाहेक, मेरा आमाबुबा दुवै साट्ठी वर्षभन्दा माथिका हुनुहुन्थ्यो र मेरा बुबा धेरै वर्षदेखि दमबाट पीडित हुनुहुन्थ्यो र बाँच्नका लागि हरेक दिन औषधिमा निर्भर हुनुहुन्थ्यो, र उहाँलाई धेरै पीडा थियो। अब उहाँ बित्नुभएपछि, उहाँले बिमारीबाट दुःख भोग्नुपरेको थिएन, जुन उहाँक लागि एक प्रकारको राहत थियो। यी कुराहरू मनमा राखेर, मलाई केही राहत महसुस भयो, मेरो स्थितिमा केही सुधार आयो, र मैले सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ।

एक दिन, म आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर गएका बेला, मैले बसमा मेरा आमाबुबाकै उमेरका एक वृद्ध दम्पतीलाई देखेँ, र मैले फेरि उहाँहरूकै बारेमा, र उहाँहरू कसरी बित्नुभयो र अब मसँग एउटै संसारमा हुनुहुन्न भन्नेबारे सोचेँ। यसबारे सोच्दा, मेरा आँखा आँसुले भरिए, र म एकदमै उदास स्थितिम पुगेँ। विशेष गरी नयाँ वर्षमा, म फेरि आफ्ना आमाबुबालाई सम्झिन्थेँ, र उहाँहरूलाई आरामदायी जीवन दिन नसकेकोमा म आफू कुपुत्री भएको महसुस गर्थेँ। यो एउटा यस्तो अड्चन थियो जसलाई मैले पार गर्नै सकिनँ र म उहाँहरूप्रति साह्रै ऋणी महसुस गर्थेँ। मलाई आफ्नो स्थिति गलत छ भन्ने थाहा थियो र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरा आमाबुबा बित्नुभयो र यो तपाईँको सार्वभौमिकता र बन्दोबस्त हो भन्ने मलाई थाहा छ, तर म अझै पनि यो कुरा छोड्न सक्दिनँ, र आफूलाई दोष र आत्म-ग्लानिमा बाँचिरहेकी पाउँछु। कृपया मेरो स्थिति समाधान गर्न मलाई मद्दत गर्नुहोस्।”

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “आमाबुबाका अपेक्षाहरू सम्हाल्ने सम्बन्धमा, कस्ता सिद्धान्तहरू पछ्याउनुपर्छ र कस्ता बोझहरू त्याग्नुपर्छ भन्‍ने कुरा के अब प्रस्ट छ? (प्रस्ट छ।) त्यसोभए, मानिसहरूले बोक्ने बोझहरू ठ्याक्कै के-के हुन्? तिनीहरूले आफ्ना आमाबुबाका कुरा सुन्नैपर्छ र आमाबुबालाई राम्रो जीवन जिउन दिनैपर्छ; तिनीहरूका आमाबुबाले गर्ने सबथोक तिनीहरूकै राम्रोको लागि हो; र कर्तव्यनिष्ठ सन्तान हुनको लागि तिनीहरूले आफ्ना आमाबुबाले जे भन्छन् त्यो गर्नैपर्छ। साथै, वयस्क व्यक्तिको रूपमा, तिनीहरूले आफ्ना आमाबुबाको लागि काम गर्ने, आमाबुबाको मायाको ऋण तिर्ने, उनीहरूप्रति कर्तव्यनिष्ठ हुने, उनीहरूलाई साथ दिने, उदास वा दुखित नबनाउने, निराश नपार्ने, र उनीहरूको दुःख कम गर्न वा पूर्ण रूपमा हटाउन सबथोक गर्ने गर्नैपर्छ। यदि तँ यो कुरा पूरा गर्न सक्दैनस् भने, तँ बैगुनी र अनुत्तरदायी होस्, तँ दैवी प्रतिशोध र अरूको तिरस्कार भोग्न लायक छस्, र तँ खराब व्यक्ति होस्। के यी तेरा बोझहरू होइनन् र? (हुन्।) यी कुराहरू मान्छेका बोझहरू भएकाले, मानिसहरूले सत्यता स्विकारेर उचित रूपमा यी कुराहरू सामना गर्नुपर्छ। सत्यता स्विकारेर मात्र यी बोझ र गलत सोच तथा दृष्टिकोणहरू त्याग्न र बदल्न सकिन्छ। यदि तँ सत्यता स्विकार्दैनस् भने, के तेरो लागि अर्को मार्ग हुन्छ? (हुँदैन।) यसर्थ, चाहे त्यो परिवारको बोझ त्याग्ने होस् वा देहको, त्यो सबैको लागि सुरुमा सही सोच तथा दृष्टिकोणहरू अनि सत्यता स्विकार्नुपर्छ। जब तैँले सत्यता स्विकार्न सुरु गर्छस्, तब तँभित्रका यी गलत सोच तथा दृष्टिकोणहरू बिस्तारै भत्किने, खुट्टिने र बुझिनेछन्, र बिस्तारै ती नकारिनेछन्। यी गलत सोच तथा दृष्टिकोणहरूलाई भत्काउने, खुट्ट्याउने, अनि त्याग्ने र इन्कार्ने क्रममा, तैँले बिस्तारै यी मामलाहरूप्रतिको तेरो मनोवृत्ति र हेराइ परिवर्तन गर्नेछस्। तेरो मानव विवेक र भावनाबाट आउने ती सोचहरू बिस्तारै कमजोर हुनेछन्; त्यसउप्रान्त तिनले तँलाई समस्या दिन वा तेरो मनमस्तिष्कको गहिराइमा तँलाई बाँध्न, तेरो जीवन नियन्त्रित वा प्रभावित पार्न, वा तेरो कर्तव्यपालनमा हस्तक्षेप गर्न छाड्नेछन्। उदाहरणको लागि, यदि तैँले सही सोच तथा दृष्टिकोणहरू अनि सत्यताको यो पक्ष स्विकारेको छस् भने, जब तैँले आफ्ना आमाबुबाको मृत्युको समाचार सुन्छस्, तब उनीहरूको निम्ति आँसु मात्र झार्नेछस्, तर यतिका वर्षसम्म तँलाई हुर्काउनमा उनीहरूले देखाएको मायाको ऋण आफूले नतिरेको, उनीहरूलाई ज्यादै दुःख दिएको, उनीहरूलाई अलिकति पनि त्यसको परिपूर्ति नगरेको, वा उनीहरूलाई राम्रो जीवन जिउन नदिएकोबारे तैँले केही पनि सोच्‍नेछैनस्। तैँले यी कुराहरूको लागि आफूलाई दोष दिन छोडिसकेको हुनेछस्—बरु, तैँले सामान्य मानव भावनाका जरुरतहरूबाट निस्कने सामान्य अभिव्यक्तिहरू प्रस्तुत गर्नेछस्; तैँले आँसु झार्नेछस् र त्यसपछि उनीहरूप्रतिको थोरै तड्पन अनुभव गर्नेछस्। परिस्थितिहरू चाँडै नै स्वाभाविक र सामान्य बन्नेछन्, र तँ चाँडै सामान्य जीवनमा फर्किनेछस् र कर्तव्यहरू निर्वाह गर्नेछस्; तँ यस मामलाद्वारा समस्यामा पर्नेछैनस्। तर यदि तैँले यी सत्यताहरू स्विकार्दैनस् भने, जब तैँले तेरा आमाबुबाको मृत्युको खबर सुन्छस्, तब तँ अनवरत रूपमा रुनेछस्। तँलाई उनीहरूप्रति दुःखी महसुस हुनेछ किनकि तेरा आमाबुबाको पूरै जिन्दगी सहज थिएन र उनीहरूले तँजस्तो अनुत्तरदायी सन्तान हुर्काए; उनीहरू बिरामी हुँदा तँ उनीहरूको नजिक भइनस्, र उनीहरूको मृत्यु हुँदा तैँले उनीहरूको अन्त्येष्टिमा बिलौना गर्ने वा जूठो बार्ने गरिनस्; तैँले उनीहरूलाई निराश तुल्याइस् र राम्रो जीवन जिउन दिइनस्। तँ लामो समयसम्म यो दोषी भावना बोकेर जिउनेछस्, र त्यसबारे सोच्दा तँ रुनेछस् र हृदयमा कताकता दुखाइ महसुस गर्नेछस्। जब-जब तैँले त्यससँग सम्बन्धित परिस्थितिहरू वा मानिस, घटना र वस्तुहरू सामना गर्छस्, तब-तब तैँले भावुक प्रतिक्रिया जनाउनेछस्; यो दोषी भावना तेरो बाँकी जीवनभर तँसँगै रहनसमेत सक्छ। अनि, यसको कारण के हो? त्यो के हो भने, तैँले सत्यता वा सही सोच तथा दृष्टिकोणहरूलाई कहिल्यै तेरो जीवनको रूपमा स्विकारिनस्; तेरा पुराना सोच तथा दृष्टिकोणहरू तँमाथि निरन्तर हाबी भएका छन्, र तिनले तेरो जीवन प्रभावित पारेका छन्। त्यसैले, तैँले तेरो बाँकी जीवन तेरा आमाबुबाको मृत्युको पीडामा बिताउनेछस्। यो अविरल दुःखले थोरै दैहिक असहजताभन्दा ठूला परिणामहरू निम्त्याउनेछ; त्यसले तेरो जीवन, कर्तव्यपालनप्रतिको तेरो मनोवृत्ति, मण्डलीको कामप्रतिको तेरो मनोवृत्ति, परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति, साथै कुनै पनि व्यक्तिप्रतिको वा तेरो प्राणसँग सम्बन्धित मामलाप्रतिको तेरो मनोवृत्तिलाई असर पार्नेछ। तँ अझ बढी मामलाहरूप्रति निराश र निरुत्साहित, आशाहीन र निष्क्रिय बन्न सक्छस्, र तैँले जीवनप्रतिको आस्था अनि कुनै पनि कुराप्रतिको उत्साह वा उत्प्रेरणा, आदि इत्यादिसमेत गुमाउन सक्छस्। समयक्रममा, त्यसको असर तेरो सामान्य दैनिक जीवनमा मात्र सीमित हुनेछैन; त्यसले कर्तव्यपालनप्रतिको तेरो मनोवृत्ति र जीवनमा तैँले लिने मार्गलाई पनि असर पार्नेछ। यो एकदमै खतरनाक कुरा हो। यो खतराको परिणामस्वरूप तैँले सृष्टि गरिएको प्राणीको रूपमा पर्याप्त मात्रामा कर्तव्य निभाउन नसक्‍ने हुन सक्छ, र तैँले बीचैमा कर्तव्यपालन छोड्न वा आफूले निभाउने कर्तव्यहरूप्रति प्रतिरोधी मुड र मनोवृत्ति राख्नसमेत सक्नेछस्। छोटकरीमा भन्‍नुपर्दा, समयसँगै यस्तो परिस्थिति अपरिहार्य रूपमा खराब बन्नेछ र यसले तेरो मुड, भावना, र मानसिकता घातक दिशातिर अगाडि बढाउनेछ। कुरो बुझिस्? (बुझेँ।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने, म पीडा र दोषमा बाँचिरहेकी छु, किनभने मैले शैतानका परम्परागत विचारहरू स्वीकार गरेकी छु, जस्तै “सन्तानी माया नै सबैभन्दा ठूलो पुण्य हो,” “वृद्धावस्थामा आफ्ना आमाबुबाको हेरचाह गर्नुपर्छ र उहाँहरूलाई अन्तिम समयसम्म साथ दिनुपर्छ,” र “आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ।” मैले आमाबुबाप्रति सन्तानको धर्म निभाउनु, उहाँहरूलाई वृद्धावस्थामा पालनपोषण गर्नु र उहाँहरूलाई अन्तिम समयसम्म साथ दिनु नै विवेक र मानवता भएको व्यक्तिको चिनारी हो, र यदि कुनै व्यक्तिले यी कुराहरू गर्दैन भने, ऊ विवेकहीन र मानवताविहीन हुन्छ भन्ने विश्वास गरेकी थिएँ, त्यसैले मेरो हृदय दोषले भरिएको थियो, र मैले आफ्नो अन्तरात्मामा निन्दा र बेचैनी महसुस गरेँ। मेरा आमा र बुबा दुवैको मृत्युको खबर पाएपछि, मैले उहाँहरूलाई मलाई हुर्काउन कति गाह्रो भएको थियो र उहाँहरूले मेरो लागि कति धेरै त्याग गर्नुभएको थियो भन्नेबारे सोचेँ। तर मैले उहाँहरूलाई वृद्धावस्थामा आराम दिएकी थिइनँ, वा उहाँहरू बिरामी हुँदा हेरचाह गरेकी थिइनँ, र उहाँहरू बित्नुअघि मैले उहाँहरूलाई अन्तिम पटक देखेकी सम्म थिइनँ। मलाई आफू कुपुत्री हुँ र मैले सन्तानका रूपमा आफ्नो जिम्मेवारी पूरा गरेकी छैन, र यसैकारण, अरूले मलाई निन्दा र तिरस्कार गर्नेछन् भन्ने लागिरह्यो, त्यसैले मैले आफूलाई क्षमा गर्न सकिनँ। मैले “सन्तानी माया नै सबैभन्दा ठूलो पुण्य हो,” “वृद्धावस्थामा आफ्ना आमाबुबाको हेरचाह गर्नुपर्छ र उहाँहरूलाई अन्तिम समयसम्म साथ दिनुपर्छ,” र “आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ” जस्ता विचारहरूलाई सकारात्मक कुराहरू मानेकी थिएँ, तर मैले परमेश्‍वरका वचनअनुसार कुराहरूलाई हेरिनँ। वास्तवमा, परमेश्‍वरले कुनै व्यक्तिमा विवेक र मानवता छ कि छैन भन्ने कुराको न्याय उसले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न र उहाँलाई सन्तुष्ट पार्न सक्छ कि सक्दैन भन्ने आधारमा गर्नुहुन्छ। यदि कुनै व्यक्तिले परमेश्‍वरका निम्ति आफूलाई समर्पित गर्न सबै कुरा त्याग्न सक्छ र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्छ भने, त्यस्तो व्यक्ति परमेश्‍वरप्रति बफादार हुन्छ र उसमा ठूलो विवेक र मानवता हुन्छ। यसको विपरीत, यदि कुनै व्यक्तिले सन्तानी धर्म निभाउन आफ्नो कर्तव्य त्याग्छ भने, उसले आफ्ना आमाबुबाको धेरै राम्रो हेरचाह गरे पनि र सबैले उसलाई असल सन्तान भनेर प्रशंसा गरे पनि, त्यस्तो व्यक्ति आफ्ना दैहिक भावनाहरूका लागि बाँचिरहेको हुन्छ, र ऊ स्वार्थी, नीच, र मानवताविहीन हुन्छ। मैले प्रभुको सुसमाचार प्रचार गर्न आफ्ना परिवार र काम त्याग्ने इतिहासभरिका ती सन्तहरूका बारेमा सोचेँ। मानिसहरूलाई परमेश्‍वरकहाँ ल्याउन र उनीहरूले उहाँको मुक्ति प्राप्त गरून् भनेर उनीहरूले आफ्नो मातृभूमि र परिवार छोडे। मानिसहरूका नजरमा, उनीहरूले आफ्नो परिवारको हेरचाह नगरेका वा आफ्ना आमाबुबाप्रति सन्तानी धर्म ननिभाएकाले निर्दयी देखिन्थे, तर परमेश्‍वरको नजरमा, उनीहरूले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गरे, र उनीहरूमा विवेक र मानवता थियो। उनीहरूका कामहरू परमेश्‍वरद्वारा स्मरण गरिए। म परमेश्‍वरमाथिको आस्थाको सही मार्गमा हिँडिरहेकी थिएँ, चिनियाँ कम्युनिष्ट पार्टीबाट खेदो भोग्दै थिएँ र घर फर्कन सकेकी थिइनँ। मैले मेरो सन्तानी धर्म वा विवेकको कमीले गर्दा नभई परिस्थितिका कारणले आफ्ना आमाबुबाको हेरचाह गर्न सकेकी थिइनँ। मेरो परिवारले मलाई जसरी हेरे पनि वा गैरविश्‍वासीहरूले मलाई जसरी सरापे पनि, म हिँडिरहेको बाटो गलत थिएन। अरूले मलाई कसरी हेर्छन् भन्ने कुरा महत्त्वपूर्ण होइन, मैले परमेश्‍वरको अनुमोदन पाउन सक्छु कि सक्दिनँ भन्ने कुराले बढी अर्थ राख्छ। यही नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। म आफ्ना आमाबुबाको मृत्युका कारण उहाँहरूप्रति ऋणी र दोषीको स्थितिमा जिइरहेकी थिएँ, परमेश्‍वरप्रति गुनासो र विद्रोह पालेर बसेकी थिएँ, र आफ्नो कर्तव्यमा बफादार थिइनँ। ममा कुन हिसाबले मानवता वा विवेक रहेछ र? परमेश्‍वरले मलाई जीवन दिनुभएको थियो, मलाई हेरचाह र सुरक्षा गर्नुभएको थियो, र मेरा सबै आवश्यकताहरू पूरा गर्नुभएको थियो, तर पनि म उहाँबारे गुनासो गरिरहेकी थिएँ। म साँच्चै सही र गलत छुट्याउन नसक्ने र अविवेकी रहेछु! यी कुराहरू बुझेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म मेरा आमाबुबाको मृत्युको पीडामा बाँच्न चाहन्न, म तपाईँसामु पश्चात्ताप गर्न चाहन्छु।”

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “तेरा आमाबुबाले तँलाई जन्म दिने कुरालाई हेरौँ। तिनीहरूले तँलाई जन्माऊन् भनेर कसले निर्णय गरेको थियो: तैँले कि तेरा आमाबुबाले? कसले कसलाई रोजेको हो? यदि तैँले यसलाई परमेश्‍वरको दृष्टिकोणबाट हेरिस् भने, जवाफ यस्तो हुन्छ: कसैले पनि होइन। तँलाई जन्‍म दिनका लागि न त तैँले निर्णय गरिस्, न त तेरा आमाबुबाले नै। यदि तैँले यस कुराको जडलाई हेरिस् भने, यो परमेश्‍वरद्वारा निर्धारित गरिएको हो। हामी यो विषयलाई अहिलेका लागि पन्छाउनेछौँ, किनकि मानिसहरूलाई यो कुरा बुझ्न सहज नै हुन्छ। तेरो दृष्टिकोणबाट हेर्दा, तँ निष्क्रिय रूपमा तेरा आमाबुबाबाट जन्मिएको थिइस्, र यस विषयमा तँसँग कुनै विकल्प थिएन। तेरा आमाबुबाको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले आफ्‍नै स्वतन्त्र इच्छाले तँलाई जन्म दिएका हुन्, होइन र? अर्को शब्दमा भन्दा, परमेश्‍वरको हुकुमलाई पन्छाएर हेर्दा, जब तँलाई जन्म दिने कुरामा तेरा आमाबुबासँग सबै निर्णय गर्ने शक्ति थियो। तिनीहरूले तँलाई जन्माउने छनौट गरे, र तिनीहरूले सबै कुराको निर्णय गरे। तिनीहरूले तँलाई जन्माऊन् भनेर तैँले तिनीहरूका लागि निर्णय गरिनस्, तँ तिनीहरूबाट निष्क्रिय रूपमा जन्मिएको थिइस्, र तँसँग यस विषयमा कुनै विकल्प थिएन। त्यसकारण, तेरा आमाबुबासँग नै निर्णय गर्ने सबै शक्ति भएकोले, र तिनीहरूले तँलाई जन्म दिने निर्णय गरेकोले, तँलाई हुर्काउने, बढाएर वयस्क बनाउने, शिक्षा दिने, खुवाउने, लुगा लगाउने र पैसा दिने दायित्व र जिम्मेवारी तिनीहरूको नै हुन्छ—यो तिनीहरूको जिम्मेवारी र दायित्व हो, र तिनीहरूले गर्नुपर्ने कुरा यही हो। जबकि तिनीहरूले तँलाई हुर्काइरहेका बेला तँ सधैँ निष्क्रिय थिइस्, तँसँग छनौट गर्ने अधिकार थिएन—तिनीहरूले नै तँलाई हुर्काउनुपर्थ्यो। तँ सानै भएकोले, तँसँग आफूलाई हुर्काउने क्षमता थिएन, तँसँग तेरा आमाबुबाको हातबाट निष्क्रिय रूपमा हुर्किनेबाहेक अरू कुनै विकल्प थिएन। तँलाई तेरा आमाबुबाले रोजेको तरिकाले हुर्काइयो, यदि तिनीहरूले तँलाई राम्रो खानपान दिए भने, तँ त्यो राम्रो खानपान गर्थिस्। यदि तेरा आमाबुबाले तँलाई भूस र जङ्गली सागसब्जी खाएर बाँच्‍ने वातावरण दिएका भए, तँ भूस र जङ्गली सागसब्जी नै खाएर बाँच्थिस्। जे भए पनि, जब तँ हुर्किरहेको थिइस्, तब तँ निष्क्रिय थिइस्, र तेरा आमाबुबाले आफ्नो जिम्मेवारी पूरा गरिरहेका थिए। यो कुरा त तेरा आमाबुबाले कुनै फूलको हेरचाह गरेजस्तै हो। तिनीहरूले फूलको हेरचाह गर्न चाहने हुनाले, तिनीहरूले त्यसलाई मलजल गर्नुपर्छ, र त्यसले घामको प्रकाश पाउने सुनिश्चित गर्नुपर्छ। त्यसैले, मानिसहरूका सन्दर्भमा भन्दा, तेरा आमाबुबाले तँलाई सावधानीपूर्वक हेरचाह गरे पनि वा तेरो राम्रो देखभाल गरे पनि, जे भए पनि तिनीहरूले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका थिए। तिनीहरूले तँलाई जुन कारणले हुर्काए पनि, त्यो तिनीहरूको जिम्मेवारी थियो—तिनीहरूले तँलाई जन्म दिएका हुनाले, तिनीहरूले तेरो जिम्मेवारी लिनुपर्छ। यसको आधारमा, के तेरा आमाबुबाले तेरा लागि गरेका सबै कुरालाई मायाका रूपमा लिन सकिन्छ? सकिँदैन, होइन र? (हजुर।) तेरा आमाबुबाले तँप्रतिको जिम्मेवारी पूरा गर्ने कार्यलाई तेरा आमाबुबाको मायाका रूपमा लिन मिल्दैन, त्यसैले यदि तिनीहरूले फूल वा बोटबिरुवाप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्छन्, त्यसलाई मलजल गर्छन् भने, के त्यो मायाका रूपमा गणना हुन्छ? (हुँदैन।) त्यो त झन् माया हुँदै होइन। फूलहरू र बोटबिरुवाहरू बाहिर नै राम्रोसँग बढ्छन्—यदि तिनलाई हावा, घाम र वर्षाको पानी पाउने गरी जमिनमा रोपिए भने, ती फस्टाउँछन्। तिनलाई घरभित्र गमलामा रोपियो भने बाहिर जस्तो फस्टाउँदैनन्, तर ती जहाँ भए पनि, बाँचिरहेका त हुन्छन् नि, होइन र? ती जहाँ भए पनि, यो कुरा परमेश्‍वरले नै निर्धारित गर्नुभएको हुन्छ। तँ जीवित व्यक्ति होस्, र परमेश्‍वरले हरेक जीवनको जिम्मेवारी लिनुहुन्छ, यसलाई बाँच्न सक्‍ने तुल्याउनुहुन्छ, र सृष्टि गरिएका सबै प्राणीहरूले पालना गर्नुपर्ने नियम पालना गर्न लगाउनुहुन्छ। तर एक व्यक्तिका रूपमा, तँ आफ्‍ना आमाबुबाले तँलाई हुर्काएको परिवेशमा जिउँछस्, त्यसैले तँ त्यही वातावरणमा हुर्कनुपर्छ र रहनुपर्छ। तँ धेरै हदसम्म परमेश्‍वरको निर्धारणका कारण त्यस परिवेशमा जिउँछस्; केही हदसम्म, तेरा आमाबुबाले तँलाई हुर्काएको कारणले त्यसो हुन्छ, होइन र? जे भए पनि, तँलाई हुर्काएर तेरा आमाबुबाले आफ्‍नो जिम्मेवारी र दायित्व पूरा गरिरहेका हुन्छन्। तँलाई हुर्काएर वयस्क बनाउनु तिनीहरूको दायित्व र जिम्मेवारी हो, र यसलाई दया-माया भन्‍न मिल्दैन। यदि यसलाई दया-माया भन्‍न सकिँदैन भने, के यो तैँले आनन्द लिनुपर्ने कुरा होइन र? (हो।) यो तैँले पाउनुपर्ने एक प्रकारको अधिकार हो। तँलाई तेरा आमाबुबाले हुर्काउनुपर्छ, किनभने तँ वयस्क हुनुभन्दा पहिले, तैँले खेल्ने हुर्कँदै गरेको बच्‍चाको भूमिका खेल्छस्। त्यसकारण, तेरा आमाबुबाले तँप्रतिको एक प्रकारको जिम्मेवारी मात्रै पूरा गरिरहेका हुन्छन्, र तैँले त्यसलाई लिइरहेको हुन्छस् मात्रै, तर तैँले तिनीहरूबाट पक्‍कै पनि अनुग्रह वा दया-माया प्राप्त गरिरहेको हुँदैनस्। कुनै पनि जीवित प्राणीका लागि, सन्तान जन्माउनु र तिनको हेरचाह गर्नु, प्रजनन गर्नु, र अर्को पुस्तालाई हुर्काउनु भनेको एक प्रकारको जिम्मेवारी हो। उदाहरणका लागि, चराचुरुङ्गी, गाईवस्तु, भेडा, र बाघले पनि प्रजनन गरेपछि आफ्नो सन्तानको हेरचाह गर्नुपर्छ। आफ्नो सन्तानलाई नहुर्काउने कुनै जीवित प्राणी छैन। केही अपवादहरू हुन सक्छन्, तर ती धेरै छैनन्। यो जीवित प्राणीहरूको अस्तित्वमा रहेको प्राकृतिक अवस्था नै हो, यो जीवित प्राणीहरूको अन्तर्निहित प्रवृत्ति हो, र यसलाई दया-मायाका रूपमा लिन सकिँदैन। तिनीहरूले त सृष्टिकर्ताले जनावरहरू र मानवजातिका लागि तोक्‍नुभएको नियमको पालना मात्रै गरिरहेका हुन्छन्। त्यसकारण, तेरा आमाबुबाले तँलाई हुर्काउनु भनेको एक प्रकारको दया-माया होइन। यसका आधारमा के भन्‍न सकिन्छ भने तेरा आमाबुबा तेरा ऋणदाता होइनन्। तिनीहरूले तँप्रतिको आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्। तिनीहरूले तेरा लागि जतिसुकै मेहनत गरे पनि र पैसा खर्च गरे पनि, तिनीहरूले तँलाई त्यसको भरपाई माग्‍नु हुँदैन, किनभने आमाबुबाका रूपमा तिनीहरूको जिम्मेवारी यही नै हो। यो जिम्मेवारी र दायित्व भएको हुनाले, यो निःशुल्क हुनुपर्छ, र तिनीहरूले भरपाई माग्‍नु हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने, उहाँहरूले मलाई जन्म दिएपछि मलाई हुर्काउनु उहाँहरूको जिम्मेवारी र दायित्व थियो, र यसलाई उपकार मान्न सकिँदैन। मैले सत्यता बुझेकी थिइनँ र मेरा आमाबुबाको हेरचाह र पालनपोषणलाई उपकार ठानेकी थिएँ, उहाँहरूले मेरा लागि धेरै गर्दै र मप्रति दयालु रहँदै आउनुभएको छ, त्यसैले मैले उहाँहरूको उपकार चुकाउनुपर्छ भन्ने सोचेकी थिएँ। मेरा आमाबुबा बिरामी हुँदा, म उहाँहरूको हेरचाह गर्न फर्किनँ, र उहाँहरू बित्नुहुँदा, मैले उहाँहरूलाई अन्तिम पटक देख्न सम्म पनि पाइनँ। मलाई मेरा आमाबुबाप्रति साह्रै ऋणी महसुस भयो, तर परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने छोराछोरीलाई वयस्क नहुञ्जेल हुर्काउनु आमाबुबाले गर्नुपर्ने काम हो। यो उहाँहरूको जिम्मेवारी हो। जसरी एउटा गमलाको बोटको हेरचाह गर्ने व्यक्तिको त्यसमा पानी हाल्ने र मल हाल्ने जिम्मेवारी हुन्छ, त्यसरी नै यसलाई उपकार मानिँदैन। मेरा आमाबुबाको असलपन र उहाँहरूले मेरा लागि गर्नुभएका सबै कुरा परमेश्‍वरकै सार्वभौमिकता र बन्दोबस्तबाट आए, र मैले यसलाई परमेश्‍वरबाट आएको हो भनेर स्वीकार गर्नुपर्छ। मैले आफ्ना आमाबुबालाई तिर्नुपर्ने केही थिएन, न त कुनै कुरा चुकाउनु वा क्षतिपूर्ति दिनु नै आवश्यक थियो। यो बुझेपछि, मेरो हृदयको पीडा केही कम भयो।

आफ्ना आमाबुबालाई कसरी हेर्ने भन्नेबारे, मैले परमेश्‍वरका वचनहरूमा एउटा मार्ग भेट्टाएँ। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “तेरा आमाबुबा तेरा ऋणदाता होइनन्—अर्थात्, तिनीहरूले तँलाई हुर्काउनमा यति लामो समय खर्च गरेका छन् भन्दैमा तैँले तिनीहरूको ऋण कसरी चुकाउने भनेर सधैँ सोचिरहनु हुँदैन। यदि तैँले तिनीहरूको ऋण तिर्न सकिनस् भने, यदि तैँले तिनीहरूको ऋण चुक्ता गर्ने मौका वा सही परिस्थिति पाइनस् भने, तैँले सधैँ दुखी र दोषी महसुस गर्नेछस्, यहाँसम्‍म कि तैँले कसैले आफ्‍ना आमाबुबाको हेरचाह गरिरहेको, वा आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउन केही गरिरहेको तँलाई दुःख लाग्छ। तेरा आमाबुबाले तँलाई हुर्काऊन्, र तँलाई वयस्क बनाऊन् भनेर परमेश्‍वरले नै तय गर्नुभएको हो, तर तैँले आफ्नो जीवन तिनीहरूको ऋण चुक्ता गर्नमा बिता भनेर यसो गर्नुभएको होइन। तैँले यो जीवनमा पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू छन्, तैँले हिँड्नुपर्ने मार्ग छ, र तेरो आफ्नै जीवन छ। यो जीवनमा, तैँले आफ्नो सम्पूर्ण शक्ति आमाबुबाको दया-मायाको ऋण चुक्ता गर्नमा नै लगाउनु हुँदैन। यो त तेरो जीवनमा र तेरो जीवनको मार्गमा तेरो साथ रहिरहने कुरा मात्रै हो। मानवता र भावनात्मक सम्बन्धका सन्दर्भमा भन्दा, यो अपरिहार्य कुरा हो। तर तँ र तेरा आमाबुबाको सम्बन्ध कस्तो हुने भनेर लेखिएको छ, तिमीहरू आफ्नो बाँकी जीवनभरि सँगै बस्‍न पाउँछौ कि पाउँदैनौ, वा तिमीहरू अलग हुन्छौ कि हुँदैनौ, र भाग्यले सँगै जोडिएका हुन्छौ कि हुँदैनौ भन्‍ने कुरा परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा निर्भर हुन्छ। यदि यो जीवनमा तँ आफ्ना आमाबुबाभन्दा फरक ठाउँमा हुनेछस्, तँ तिनीहरूबाट धेरै टाढा हुनेछस्, र प्रायजसो तिनीहरूसँगै बस्‍न पाउँदैनस् भनेर परमेश्‍वरले योजनाबद्ध र बन्दोबस्त गर्नुभएको छ भने, तेरो लागि तिनीहरूप्रतिको आफ्ना जिम्मेवारीहरू पूरा गर्नु भनेको एक प्रकारको तिर्सना मात्र रहन्छ। यदि परमेश्‍वरले तँलाई यस जीवनमा तेरा आमाबुबाको धेरै नजिक रहन, र तिनीहरूको साथमा बस्‍न सक्‍ने बन्दोबस्त गर्नुभएको छ भने, तैँले आफ्‍ना आमाबुबाप्रतिका तेरा केही जिम्मेवारीहरू पूरा गर्नु, र तिनीहरूलाई केही सन्तानी निष्ठा देखाउनु नै तैँले यस जीवनमा गर्नुपर्ने कुराहरू हुन्—यसबारे कुनै पनि कुराको आलोचना गर्न सकिँदैन। तर यदि तँ आफ्ना आमाबुबाभन्दा फरक ठाउँमा छस्, र तैँले तिनीहरूलाई सन्तानी निष्ठा देखाउने मौका वा सही परिस्थितिहरू पाइनस् भने, तैँले यसलाई लाजमर्दो कुरा मान्‍नु पर्दैन। तैँले आफ्‍ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउन नसकेको कारण तिनीहरूको अनुहार हेर्न लाज मान्‍नु हुँदैन, तेरो परिस्थितिले गर्दा यस्तो भएको मात्र हो। सन्तानका रूपमा, तैँले तेरा आमाबुबा तेरा ऋणदाता होइनन् भन्‍ने कुरा बुझ्‍नुपर्छ। तैँले यस जीवनमा गर्नुपर्ने धेरै कुरा छन्, र यी सबै कुराहरू सृष्टि गरिएको प्राणीले गर्नुपर्ने, सृष्टिका प्रभुले तँलाई सुम्पनुभएका कुराहरू हुन्, र तैँले तेरा आमाबुबाको दया-मायाको ऋण तिर्ने कार्यसँग तिनको कुनै सम्‍बन्ध छैन। आफ्‍ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउनु, तिनीहरूको दया-मायाको ऋण तिर्नु, तिनीहरूको दया-माया फर्काउनु—तेरो जीवनको मिसनसँग यी कुराहरूको कुनै सम्‍बन्ध हुँदैन। तैँले आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउनु, तिनीहरूको ऋण तिर्नु, वा तिनीहरूप्रतिको आफ्नो कुनै पनि जिम्मेवारी पूरा गर्नु आवश्यक छैन भनेर पनि भन्‍न सकिन्छ। स्पष्ट रूपमा भन्दा, परिस्‍थितिले दियो भने तैँले यो कार्य थोरै मात्रामा गर्न सक्छस् र आफ्‍ना केही जिम्मेवारीहरू पूरा गर्न सक्छस्; परिस्‍थितिले दिएन भने, तैँले त्यसो गर्न जिद्दी गर्नु पर्दैन। यदि तैँले आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउने आफ्नो जिम्मेवारी पूरा गर्न सकिनस् भने, यो भयानक कुरा होइन, यो तेरो विवेक, मानवीय नैतिकता र मानवीय धारणाहरूविपरीत कुरा मात्र हो। तर कम्तीमा पनि, यो सत्यताविपरीत कुरा होइन, र परमेश्‍वरले यसका लागि तेरो निन्दा गर्नुहुनेछैन। जब तैँले सत्यता बुझ्छस्, तब तेरो विवेकले यसैको कारण तँलाई दोषी महसुस गराउँदैन। के तिमीहरूले सत्यताको यस पक्ष बुझिसकेपछि तिमीहरूको हृदय स्थिर भएन र? (भयो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने मेरा आमाबुबा मेरा ऋणदाता हुनुहुन्नथ्यो। आखिरी दिनहरूमा जन्मिनका लागि परमेश्‍वरले मेरा निम्ति गर्नुभएको पूर्वनिर्धारण मेरा आमाबुबाको ऋण चुकाउन वा उहाँहरूप्रति सन्तानी धर्म निभाउनका लागि होइन, बरु मैले पूरा गर्नैपर्ने त्यो मिसनलाई पूर्णता दिनका लागि हो, त्यो भनेको मैले एक व्यक्तिका रूपमा सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु हो। सन्तानी धर्म आफ्नै परिस्थितिमा आधारित हुनुपर्छ। यदि यसले कर्तव्यमा ढिलाइ गर्दैन भने, छोराछोरीको जिम्मेवारी पूरा गर्न आफ्ना आमाबुबालाई भेट्न जान सकिन्छ। तर यदि, आफ्नो कर्तव्य निर्वाहमा बाहिर हुँदा, आफ्ना आमाबुबाको छेउमा बसेर हेरचाह गर्ने अवसर छैन भने, उनीहरूले ऋणी वा दोषी महसुस गर्नु आवश्यक छैन। निर्णायक समयमा, कर्तव्यलाई प्राथमिकता दिनैपर्छ। यो कुरा विशेष गरी परमेश्‍वरका यी वचनहरू पढेपछि स्पष्ट भयो: “मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा, परमेश्‍वरको आदेशलाई पूरा गर्नका निम्ति हाम्रा मन र शरीरलाई बलिदानको रूपमा चढाउने हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरको सार्वभौमिकताको कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्‍वरको आदेश र मानवजातिको न्यायोचित अभियानप्रति समर्पित छैनन् भने, परमेश्‍वरको आदेशका निम्ति शहीद भएकाहरूसामु हाम्रा आत्मालाई लाज लाग्नेछ, र हामीलाई सबै थोक प्रदान गर्नुहुने परमेश्‍वरसामु झन् धेरै लाज लाग्नेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ)। परमेश्‍वर मानव जीवनको स्रोत हुनुहुन्छ। मेरो जीवन परमेश्‍वरले दिनुभएको थियो र आज म जीवित हुनु पनि परमेश्‍वरकै हेरचाह र सुरक्षाका कारण हो। आज सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु मेरो जिम्मेवारी र दायित्व हो। यो बुझेपछि, म मेरा आमाबुबाको मृत्युलाई सही रूपमा हेर्न सक्छु।

म अझै पनि कहिलेकाहीँ आफ्ना आमाबुबालाई सम्झन्छु, तैपनि म अब यसबाट बाँधिएकी छैन र आफ्नो कर्तव्यमा ध्यान केन्द्रित गर्न सक्छु। परमेश्‍वरका वचनहरूले नै मलाई आफ्ना आमाबुबाको मृत्युलाई कसरी सही रूपमा हेर्ने भनेर बुझ्न, र आफ्ना आमाबुबालाई हेर्नेबारेका अभ्यासका सिद्धान्तहरू सिक्न मार्गदर्शन गरेका छन्। म आफ्नो पीडाबाट बाहिर निस्केकी छु। म परमेश्‍वरको मुक्तिका लागि धन्यवाद दिन्छु!

अघिल्लो: ७६. कर्तव्य गुमाएपछि गरिएका चिन्तन

अर्को: ७९. अगुवा बन्न अनिच्छुक हुनु—म के कुरामा यति चिन्तित थिएँ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्