६६. ममा आफ्नो सहकर्मीप्रति अब कुनै तुच्छ भावना छैन

स्टिभन, दक्षिण कोरिया

म मण्डलीका पुस्तक र सामानहरूको व्यवस्थापन गर्छु। म सामान्यतया विभिन्न सामान वर्गीकरण गरी चिटिक्क मिलाएर राखिएका छन् कि छैनन्, र सामान आएका र गएका रेकर्डहरू स्पष्ट छन् कि छैनन् भनेर जाँच्ने गर्छु। मैले लापरवाही गरेँ भने सामानहरू लथालिङ्ग हुन्छन् कि भनी मलाई डर लाग्छ। मसँगै काम गर्ने ब्रदर क्यामरोन अलि लापरवाह थिए र सफासुग्घरमा ध्यान दिँदैनथे। कहिलेकाहीँ त उनी सामानहरू यत्तिकै फालिदिन्थे वा थुपारेर राख्थे, त्यसैले मलाई सधैँ उनको चिन्ता लागिरहन्थ्यो, र मैले सधैँ उनको काम जाँच्नुपर्थ्यो। हरेक पटक क्यामरोनले सामानहरू गलत ठाउँमा राखेको देख्दा वा उनले आएका र गएका सामानहरू लेखेका विवरणहरू अस्पष्ट भएको देख्दा, म यति अधीर र क्रुद्ध हुन्थेँ कि रिस थाम्नै सक्दिनथेँ र सङ्गति गरेर उनलाई मद्दत गर्दिनथेँ। सुरु-सुरुमा त, म उनको भावनाको ख्याल गर्थेँ र बोल्दा लवज र शब्दहरूमा होस पुर्‍याउँथेँ, तर समय बित्दै जाँदा, मैले ती कुराको वास्ता गर्न छाडिदिएँ, र हरेक पटक उनलाई तिमीले यो गलत गर्‍यौ वा त्यो गलत गर्‍यौ भन्थेँ। कहिलेकाहीँ त म रिसाउँथेँ र उनलाई हप्काउँदै भन्थेँ, “तिमीले किन फेरि सामानहरू गलत ठाउँमा राखेको? एउटा यहाँ छ, अर्को त्यहाँ छ। सामान जहाँबाट झिकेको हो त्यहीँ राख्न सक्दैनौ र? काम सकेपछि मिलाउन एकैछिन त लाग्छ नि, तर तिमी यत्तिकै लथालिङ्ग पारेर छाडिदिन्छौ, र पछि पनि कहिल्यै मिलाउँदैनौ।”

क्यामरोनप्रतिको मेरो मनोवृत्ति झन्-झन् खराब हुँदै गयो। कहिलेकाहीँ त, म आदेशात्मक स्वरमा उनलाई लथालिङ्ग सामानहरू मिलाउन भन्थेँ। मलाई याद छ, एक पटक, मैले सामान आएका र गएका विवरणहरू जाँच्दै गर्दा, उनले केही कुरा यति नराम्ररी सच्याएका रहेछन् कि के लेखेको हो भनेर ठम्याउनै नसकिने रहेको पाएँ। मेरो रिसको पारो तुरुन्तै तातियो, र मैले सोचेँ, “उनले यहाँ के लेखेका हुन् भनेर त म अन्दाजसमेत गर्न सक्दिनँ!” म सिधै क्यामरोनकहाँ गएँ। एउटा शिक्षकले विद्यार्थीलाई हप्काएझैँ, मैले ती विवरणहरू उनको अगाडि तेर्स्याउँदै कुन के हो भनेर सोधेँ। मैले भनेँ, “तिमीलाई थाहा छ म अहिले के गर्न चाहन्छु? म यी विवरणहरू लगेर अगुवालाई देखाइदिन चाहन्छु, ताकि उहाँले तिमी कसरी आफ्नो कर्तव्य निर्वाह गर्छौ, र तिमी कति लापरवाह हुन सक्छौ भनेर देख्न सक्नुहोस्!” क्यामरोनको अनुहारमा ग्लानि भाव देखियो, र उनले भविष्यमा ध्यान दिनेछु भने। उनले यस पटक झुक्किएर त्यस्तो भएको, र विवरण भर्दै गर्दा कसैले जरुरी कामले बोलाएको हुनाले आफूले त्यसबारे बिर्सिएको कुरा बताए। तर मैले उनको स्पष्टीकरण सुन्नै चाहिनँ। मैले झर्किएर भनेँ, “यदि फेरि यस्तो भयो भने, म यो विवरण पत्र सिधै अगुवालाई दिन्छु र जे गर्नुहुन्छ उहाँले नै गर्नुहुनेछ!” धेरै समय नबित्दै, मैले क्यामरोनको एउटा विवरण पत्रमा फेरि एउटा अस्पष्ट केरमेट देखेँ। यस पटक, म झनै रिसाएँ। म क्यामरोनलाई प्रश्न गर्न उनीकहाँ गएँ, “मैले तिमीलाई पहिल्यै भनेको होइन, यदि गल्ती भयो भने, त्यसलाई फेरि अर्को ठाउँमा लेख, त्यसैमाथि नकेर। तिमीले सच्याएको हेर त। तिमीले के लेखेको हौ, कसलाई थाहा? यदि मैले स्पष्ट देखिनँ भने, म तिमीलाई सोध्न आइरहनुपर्छ। तिमीलाई यो झर्कोलाग्दो लाग्दैन? तिमीलाई नलागे पनि मलाई त लाग्छ नि!” म फेरि रिसाएको देखेर, उनले त्यो विवरण पत्र टिपे र भने, “त्यसोभए म यसलाई फेरि सच्याउँछु।” म रिसाउँदै कराएँ, “पर्दैन! यसरी सच्याएर केही हुनेवाला छैन!” यति भनेर म त्यहाँबाट हिँडेँ, र उनलाई त्यहीँ त्यो विवरण पत्रसँगै अलमल्ल परेको अवस्थामा छाडिदिएँ। त्यतिखेर, मलाई आफूले अलि बढी नै गरेछु भन्ने आभास भयो। तर मैले त्यसबारे धेरै सोचिनँ, र त्यो कुरा त्यत्तिकै सामसुम भयो। केही दिनपछि, एउटा सामान्य कुरालाई लिएर म क्यामरोनसँग फेरि रिसाएँ। उनी पनि मसँग रिसाए, र हाम्रो भनाभन भयो।

हामी मिलेर काम गर्न सकेका छैनौँ भन्ने कुरा अगुवाले थाहा पाउनुभयो, त्यसैले उहाँले मसँग सङ्गति गर्नुभयो र मलाई परमेश्‍वरका वचनको एउटा खण्ड पढेर सुनाउनुभयो: “एउटा ख्रीष्टविरोधीले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, उसले जोसँग सहकार्य गरे पनि, सधैँ द्वन्द्व र विवादहरू हुनेछन्। कतिपयले यसो भन्‍न सक्छन्, ‘यदि तिनीहरू सरसफाइको प्रभारी हुन् र तिनीहरूले हरेक दिन भवन भित्र सफा गर्छन् भने, अरूसँग सहकार्य नगर्नुको कारण के हुन्छ र?’ यसमा स्वभाव सम्‍बन्धी समस्या छ: तिनीहरूले जोसँग अन्तरक्रिया गरिरहेका वा काम गरिरहेका भए पनि, उसलाई सधैँ खिसी गर्छन्, सधैँ उसलाई भाषण दिन, तिनीहरूले भनेको कुरा गर्न लगाउन चाहन्छन्। के तिमीहरू त्यस्तो व्यक्तिले अरूसँग सहकार्य गर्न सक्छ भनेर भन्छौ? तिनीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्; किनभने तिनीहरूको भ्रष्ट स्वभाव अत्यन्तै गम्भीर हुन्छ। तिनीहरूले अरूसँग सहकार्य गर्न नसक्‍ने मात्र नभई तिनीहरूले सधैँ माथिबाट अरूलाई भाषण दिइरहेका र नियन्त्रित गरिरहेका हुन्छन्—तिनीहरू सधैँ मानिसहरूको काँधमा बसेर अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउन चाहन्छन्। यो स्वभावको समस्या मात्रै होइन—यो तिनीहरूको मानवतामा भएको गम्भीर समस्या पनि हो। तिनीहरूमा कुनै विवेक वा समझ हुँदैन। … मानिसहरू सामान्य रूपमा एक-अर्कासँग मिलेर बस्‍नका लागि निश्‍चित सर्तहरू पूरा गर्नैपर्ने हुन्छ: तिनीहरूले एक-अर्कासँग सहकार्य गर्न सक्नका लागि, तिनीहरूसँग कम्तीमा पनि विवेक र समझ हुनुपर्छ, साथै तिनीहरू धीरजी र सहनशील हुनुपर्छ। कुनै कर्तव्य निर्वाह गर्दा सहकार्य गर्नका लागि मानिसहरूको मन मिल्नैपर्छ; तिनीहरूले अर्को पक्षका सबल पक्षलाई प्रयोग गरेर आफ्ना कमजोरीहरूलाई पूर्ति गर्नुपर्छ, र धैर्यता र सहनशीलता राख्नुपर्छ, साथै तिनीहरूको आत्म-आचरणको आधारभूत स्तर कायम राख्नुपर्छ। यसरी नै सद्भावमा मिलेर बस्नुपर्छ, र कहिलेकहीँ द्वन्द्व र विवादहरू हुन सक्‍ने भए पनि, सहकार्य जारी रहन सक्छ, र कम्तीमा कुनै शत्रुता पैदा हुनेछैन। यदि कुनै व्यक्तिसँग त्यस्तो व्यवहारको आधारभूत स्तर छैन, ऊ विवेकशील वा तर्कसङ्गत छैन, र उसले नाफालाई ध्यानमा राखेर काम गर्छ, नाफा मात्रै खोज्छ, सधैँ अरूको खर्चमा नाफा कमाउन चाहन्छ भने, सहकार्य असम्भव हुनेछ। दुष्ट मानिसहरूका बीचमा र दियाबलस राजाहरूका बीचमा यस्तै हुन्छ, जसले एक-अर्कासँग निरन्तर लडाइँ गर्छन्। आत्मिक क्षेत्रका विभिन्‍न दुष्टात्माहरू एक-अर्कासँग मिल्दैनन्। कहिलेकहीँ दियाबलसहरूले गिरोहहरू बनाउन सक्ने भए पनि, यो सबै तिनीहरूका आफ्नै उद्देश्यहरू हासिल गर्नका लागि पारस्परिक रूपमा शोषण गर्ने कार्यमा आधारित हुन्छ। तिनीहरूका गिरोहहरू अस्थायी हुन्छन्, र चाँडै नै, ती आफै टुक्रन्छन्। मानिसहरूका हकमा पनि यही कुरा लागू हुन्छ। मानवताविनाका मानिसहरू अरूलाई बरबाद गर्ने कुहिएका स्याउहरू जस्तै हुन्; सामान्य मानवता भएका मानिसहरूसँग मात्रै सहकार्य गर्न सजिलो हुन्छ, तिनीहरू मात्रै अरूप्रति धैर्यवान् र सहनशील हुन्छन्, अरूका रायहरू सुन्न सक्षम हुन्छन्, र आफूले गर्ने काममा आफ्नो हैसियतलाई पन्छाउन, अरूसँग छलफल गरेर त्यो काम गर्न सक्षम हुन्छन्। तिनीहरूमा पनि भ्रष्ट स्वभावहरू हुन्छन्, र तिनीहरूले पनि सधैँ अरूले आफ्नो कुरा सुनून् भन्ने चाहन्छन्—तिनीहरूमा पनि त्यो अभिप्राय हुन्छ—तर तिनीहरूसँग विवेक र समझ हुने हुनाले, र तिनीहरूले सत्यताको खोजी गर्न, र आफूलाई चिन्‍न सक्‍ने, र त्यस्तो काम गर्नु अनुचित भएको महसुस गर्ने हुनाले, र जसका लागि तिनीहरूलाई धिक्‍कार महसुस हुने, र तिनीहरूले आफूलाई रोक्न सक्‍ने हुनाले, तिनीहरूको काम गर्ने तरिका र उपायहरू बिस्तारै परिवर्तन हुनेछन्। अनि यसरी, तिनीहरूले अरूसँग सहकार्य गर्न सक्‍नेछन्। तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गरिरहेका हुन्छन्, तर तिनीहरू दुष्ट मानिस होइनन्, र तिनीहरूमा ख्रीष्टविरोधीहरूको सार हुँदैन। अरूसँग सहकार्य गर्दा तिनीहरूलाई कुनै ठूलो समस्या हुँदैन। यदि तिनीहरू दुष्ट मानिस वा ख्रीष्टविरोधी थिए भने, तिनीहरूले अरूसँग सहकार्य गर्न सक्‍नेथिएनन्। सबै दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू यस्तै हुन्छन् जसलाई परमेश्‍वरको घरले निकाल्छ। तिनीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्, र फलस्वरूप तिनीहरू सबै प्रकाशमा पर्छन् र हटाइन्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्‍वरको वचन पढेपछि, अगुवाले मलाई सम्झाउँदै भन्नुभयो, “मानिसहरूसँग घुलमिल हुनका लागि हामीले कम्तीमा उनीहरूको सम्मान गर्नुपर्छ। यदि तपाईँ क्यामरोनलाई यसरी नै कराउनुहुन्छ र सधैँ हप्काउनुहुन्छ भने, तपाईँमा सबैभन्दा आधारभूत सम्मानसमेत छैन। के यो तपाईँको अति नै अहङ्कारीपन होइन र? तपाईँ उहाँले गर्ने हरेक कामलाई तुच्छ ठान्नुहुन्छ, र उहाँका गल्तीहरू कहिल्यै छाड्नुहुन्न। के यो उचित हो? क्यामरोन काममा व्यस्त रहनुहुन्छ र उहाँको स्मरणशक्ति कमजोर छ। केही समस्या आउनु स्वाभाविकै हो। के तपाईँले उहाँलाई उचित व्यवहार र अझ बढी मद्दत गर्नुपर्ने होइन र? त्यसमाथि, उहाँ निरन्तर सुधार गर्दै हुनुहुन्छ। तर तपाईँ भने उहाँमाथि सधैँ चिच्याइरहनुभयो। यो एउटा भ्रष्ट स्वभाव हो; यो मानवतासँग जोडिएको समस्या पनि हो। के तपाईँले ब्रदरको आँखाको कसिङ्गर मात्र नियालिरहेको, तर आफ्नै आँखाको मुढा नदेखिरहेको हैन र?” त्यसपछि, अगुवाले मलाई परमेश्‍वरका वचनको अर्को खण्ड पढेर सुनाउनुभयो जसमा भनिएको थियो: “तिमीहरू के भन्छौ, के अरूसँग सहकार्य गर्नु गाह्रो हुन्छ? वास्तवमा, गाह्रो हुँदैन। तिमीहरूले यो सजिलो छ भनेर समेत भन्‍न सक्छौ। तर पनि किन मानिसहरूलाई यो काम कठिन लाग्छ? किनभने तिनीहरूसँग भ्रष्ट स्वभाव हुन्छ। मानवता, विवेक, र समझ भएका मानिसहरूका लागि, अरूसँग सहकार्य गर्नु तुलनात्मक रूपमा सहज हुन्छ, र तिनीहरूले यसबाट आनन्द पनि लिन सक्छन्। किनभने कुनै व्यक्तिको क्षेत्र जे भए पनि, र उसले जे गरिरहेको भए पनि, उसले एक्लै काम पूरा गर्न सहज हुँदैन, त्यसैले मार्गदर्शन गर्ने र मदत गर्ने व्यक्ति हुनु सधैँ राम्रो हुन्छ—यसरी काम गर्नु आफू एक्लैले गर्नुभन्दा धेरै सहज हुन्छ। यसको साथै, मानिसहरूको क्षमताले के गर्न सक्छ वा तिनीहरू आफैले के अनुभव गर्न सक्छन् भन्‍ने कुराको पनि सीमा हुन्छ। सबै विषयमा कोही पनि पोख्त हुन सक्दैन; एउटै व्यक्तिले सबै कुरा जान्‍नु, सबै कुरामा सक्षम हुनु, र सबै कुरा हासिल गर्नु असम्‍भव हुन्छ—त्यो असम्‍भव कुरा हो, र सबैमा यो कुराको समझ हुनुपर्छ। त्यसकारण, तैँले महत्त्वपूर्ण वा महत्त्वहीन कार्य जे गरे पनि तँलाई सधैँ सहायता गर्ने, मार्गदर्शन र सल्लाह दिने, वा तँसँग सहकार्य गर्ने कोही चाहिनेछ। यो तैँले अझै सही रूपमा काम गर्ने, थोरै गल्तीहरू गर्ने र तँ बरालिने सम्‍भावना कम हुने कुरा सुनिश्‍चित गर्ने एउटै तरिका हो—र यो राम्रो कुरा हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्‍वरका वचन पढेपछि, अगुवाले अझै केही सङ्गति गर्नुभयो, र अन्तमा मलाई सोध्नुभयो, “यदि तपाईँ आफैले यी सामानहरूको व्यवस्थापन गर्नुपरेको भए, के तपाईँ कुनै गल्ती नगरी त्यो गर्न सक्नुहुन्थ्यो?” लज्जित हुँदै, मैले भनेँ, “सक्दिनथेँ।” अगुवाले भन्नुभयो, “सही भन्नुभयो। कोही पनि सर्वज्ञानी हुँदैन, र हरेकलाई आफ्ना कर्तव्यहरू निर्वाह गर्न सहकर्मीको आवश्यकता पर्छ। यदि तपाईँ मिलेर सहकार्य गर्न सक्नुहुन्न भने, तपाईँ कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्नुहुन्छ? तपाईँले यसबारे मनन गर्नुपर्छ र आफ्नै समस्याहरूमाथि चिन्तन गर्नुपर्छ।”

फर्केर आएपछि, मलाई साह्रै नराम्रो लाग्यो। आफूमा रहेको यति ठूलो समस्याबारे म कसरी अनजान हुन सकेँ? म आफ्नो मानवता राम्रो छ र म ब्रदर-सिस्टरहरूसँग घुलमिल हुन सक्छु भन्ने सोच्थेँ, तर आफ्नो कर्तव्यमा क्यामरोनसँग सहकार्य गर्न थालेदेखि, म सधैँ आत्मधर्मी भएँ, र मेरा विचार अनि कार्यहरू सही छन् भनी सोच्न थालेँ। मैले उनीमाथि आफ्नो इच्छा थोपरेँ र म जे चाहन्थेँ उनलाई त्यही गर्न लगाएँ। मैले सत्यतामा सङ्गति गरेर उनलाई मद्दत गरिनँ, म केवल रिसाएँ, उनलाई दोष लगाएँ, र उनलाई हप्काएँ। मसँग न मानवता थियो न त समझ नै! मलाई सधैँ आफू आफ्नो ब्रदरभन्दा राम्रो भएजस्तो लाग्थ्यो, त्यसैले मैले उनलाई हेलाँ गरेँ। मलाई उनी बिझाउने खालको लाग्थे, र मैले उनका सबल पक्ष र कमजोरीहरूलाई सही ढङ्गले सम्बोधन गर्न सकिनँ। मैले हरेक कुरामा धाक देखाएँ र उनलाई होच्याएँ। मूल रूपमा, क्यामरोन र म सँगै मिलेर मण्डलीका सामानहरू व्यवस्थापन गर्न जिम्मेवार थियौँ, तर म उनीसँग कुनै कुरा छलफल गर्दिनथेँ। म सधैँ आत्म-केन्द्रित हुन्थेँ, र अन्तिम निर्णय गर्थेँ, अनि क्यामरोनलाई आदेश दिन्थेँ। म अक्सर उनलाई गाली गर्थेँ र सानो बच्चालाई जस्तै अर्ती दिन्थेँ। मेरो स्वभाव अति नै अहङ्कारी थियो, र परमेश्‍वर यसलाई घृणा गर्नुहुन्थ्यो! मलाई आफू अहङ्कारी छु र सधैँ अरूलाई मेरो कुरा सुन्न बाध्य पार्छु भन्ने थाहा थियो, तर यो समस्या कसरी समाधान गर्ने भन्ने मलाई थाहा थिएन। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र परमेश्‍वरका वचनका सान्दर्भिक खण्डहरू खोजेँ। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरूले सधैँ मानिसहरूलाई नियन्त्रण गर्ने र विजय गर्ने महत्त्वाकाङ्क्षा र चाहना राख्छन् …। यो समस्या तिनीहरूले कसैसँग सहकार्य गर्न नसक्नुभन्दा पनि गम्भीर छ। तिमीहरूले अरूलाई नियन्त्रण गर्न र विजय गर्न मन पराउनेहरू कस्ता मानिस हुन् भन्छौ? कस्तो व्यक्तिसँग अरूलाई नियन्त्रण गर्ने र विजय गर्ने महत्त्वाकाङ्क्षा र चाहना हुन्छ? म तिमीहरूलाई एउटा उदाहरण दिन्छु। के हैसियतलाई अत्यन्तै मन पराउने मानिसहरूले अरूलाई नियन्त्रण र विजय गर्नमा आनन्द लिन्छन्? के तिनीहरू ख्रीष्टविरोधीहरू वर्गका होइनन् र? तिनीहरूले अरू मानिसहरूलाई बहकाउँछन्, नियन्त्रण गर्छन्, र अधीनमा राख्छन्, जसले गर्दा अरूले तिनीहरूलाई आराधना गर्छन् र तिनीहरूको कुरा मान्छन्। यसरी तिनीहरूले मानिसहरूको सम्‍मान र आदर प्राप्त गर्छन्, र आफूप्रति मानिसहरूलाई आराधना गर्न र आदरभावले हेर्न लगाउँछन्। के त्यसपछि मानिसहरूको हृदयमा तिनीहरूका लागि ठाउँ हुँदैन र? यदि मानिसहरू तिनीहरूप्रति विश्‍वस्त भएनन् र उनीहरूले तिनीहरूलाई अनुमोदन गरेनन् भने, के तिनीहरूको आराधना गर्नेथिए? कदापि गर्नेथिएनन्। त्यसकारण, यी मानिसहरूले हैसियत पाएपछि, तिनीहरूले अझै पनि अरूलाई मनाउन, पूर्ण रूपमा उनीहरूको मन जित्न, र प्रशंसा गर्न लगाउन आवश्यक पर्छ। त्यसपछि मात्रै मानिसहरूले तिनीहरूको आराधना गर्नेछन्। त्यो एक प्रकारको व्यक्ति हो। अर्को प्रकारको व्यक्ति पनि हुन्छ—जो विशेष गरी अहङ्कारी हुन्छन्। तिनीहरूले पनि मानिसहरूलाई उही तरिकाले व्यवहार गर्छन्: तिनीहरूले सुरुमा मानिसहरूलाई वशमा राख्छन्, सबैलाई तिनीहरूको आराधना र प्रशंसा गर्न लगाउँछन्। त्यसपछि मात्रै तिनीहरू सन्तुष्ट हुन्छन्। अत्यन्तै क्रूर मानिसहरू अरूलाई नियन्त्रण गर्न, मानिसहरूलाई आफ्नो कुरा सुन्न लगाउन, आफ्नो वरिपरि राख्न, र आफ्ना लागि काम गराउन पनि मन पराउँछन्। अत्यन्तै अहङ्कारी मानिसहरू र क्रूर स्वभावका मानिसहरू दुवैले शक्ति लिएपछि, तिनीहरू ख्रीष्टविरोधी बन्छन्। ख्रीष्टविरोधीहरूसँग सधैँ अरूलाई नियन्त्रण गर्ने र विजय गर्ने महत्त्वाकाङ्क्षा र चाहना हुन्छ; मानिसहरूसँगको भेटघाटमा, तिनीहरू सधैँ अरूले आफूलाई कसरी हेर्छन्, अरूको हृदयमा आफ्ना लागि ठाउँ छ कि छैन, र अरूले आफूलाई प्रसंशा र आराधना गर्छन् कि गर्दैनन् भनेर निश्‍चित हुन चाहन्छन्। यदि तिनीहरूले चाकडी गर्न, चापलुसी गर्न र खुसामद गर्न सिपालु व्यक्तिलाई भेटे भने, तिनीहरू अत्यन्तै खुसी हुन्छन्; त्यसपछि तिनीहरू उच्च ओहदामा बसेर मानिसहरूलाई झपार्न र बुलन्द विचारहरूबारे बकवास कुरा गर्न, मानिसहरूलाई प्रावधान, विधि, धर्मसिद्धान्त र धारणाहरू थोपरिरहन थाल्छन्। तिनीहरूले मानिसहरूलाई यी कुराहरू सत्यता हुन् भनेर स्विकार्न लगाउँछन्, र ती कुराहरूलाई सुन्दर देखाउँछन्: ‘यदि तिमीले यी कुराहरूलाई स्विकार्न सक्छौ भने, तिमी सत्यतालाई प्रेम गर्ने र पछ्याउने व्यक्ति हौ।’ अविवेकी मानिसहरूले तिनीहरूले भनेको कुरा उचित छ भनेर सोच्नेछन्, र उनीहरू यो कुरामा स्पष्ट नभए पनि, उनीहरूलाई यो सत्यता अनुरूप छ कि छैन भनेर थाहा नभए पनि, यति मात्र लाग्छ कि तिनीहरूले भनेको कुरामा केही गलत छैन, र यसले सत्यतालाई उल्लङ्घन गर्दैन। त्यसकारण, उनीहरूले ख्रीष्टविरोधीहरूको आज्ञापालन गर्छन्। यदि कसैले ख्रीष्टविरोधीलाई खुट्ट्याउन सक्छ र खुलासा गर्ने सम्भावना छ भने, यसले ख्रीष्टविरोधीलाई रिस उठाउनेछ, जसले ऊमाथि कुनै संकोच नमानी दोष थोपर्नेछ, उसलाई निन्दा गर्नेछ, र धाक देखाएर धम्की दिनेछ। खुट्याउने क्षमता नभएका मानिसहरू पूर्ण रूपमा ख्रीष्टविरोधीद्वारा वशमा पारिन्छन् र तिनीहरूले हृदयको गहिराइबाट उसको प्रशंसा गर्छन्, जसले गर्दा तिनीहरूमा ख्रीष्टविरोधीप्रति आराधना, भरोसा, र भय समेत पैदा हुन्छन्। तिनीहरूलाई ख्रीष्टविरोधीको दासत्वमा परेको छु भन्‍ने आभास हुन्छ, मानौँ तिनीहरूले ख्रीष्टविरोधीको नेतृत्व, शिक्षा र आलोचना गुमाए भने तिनीहरूलाई हृदयमा छटपटी हुनेछ। यी कुराहरूविना, यस्तो लाग्छ कि तिनीहरूलाई सुरक्षाको आभास हुँदैन, र परमेश्‍वरले अब तिनीहरूलाई नचाहन पनि सक्नुहुन्छ। त्यसपछि, ख्रीष्टविरोधी दुःखी हुनेछ भन्‍ने डरले, सबैले आफूले काम गर्दा ख्रीष्टविरोधीको हाउभाउलाई नियाल्न सिकेका हुन्छन्। तिनीहरू सबैले उसलाई खुशी पार्ने प्रयास गर्छन्; त्यस्ता मानिसहरू ख्रीष्टविरोधीलाई पछ्याउने कार्यमा दत्तचित्त भएर लागेका हुन्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो काममा शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छन्। तिनीहरू मानिसहरूलाई निश्‍चित प्रावधानहरू पालना गर्न सिकाउन सिपालु हुन्छन्; तिनीहरूले मानिसहरूलाई तिनीहरूले पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरू के-के हुन्, तिनीहरूले किन यसरी नै काम गर्नुपर्छ, परमेश्‍वरका अभिप्रायहरू के-के हुन्, परमेश्‍वरको घरले कामका लागि के-कस्ता बन्दोबस्तहरू गरेको छ, सबैभन्दा अत्यावश्यक र महत्त्वपूर्ण काम के हो, वा गर्नुपर्ने मुख्य काम के हो भनेर कहिल्यै बताउँदैनन्। ख्रीष्टविरोधीहरूले यी सबैभन्दा ठूलो महत्त्व भएका कुराहरूका बारेमा बिलकुलै केही भन्दैनन्। तिनीहरूले काम गर्दा र कामको बन्दोबस्त गर्दा कहिल्यै पनि सत्यतामा सङ्गति गर्दैनन्। तिनीहरू आफैले पनि सत्यता सिद्धान्तहरू बुझेका हुँदैनन्, त्यसकारण तिनीहरूले गर्न सक्‍ने भनेकै मानिसहरूलाई केही प्रावधान र धर्मसिद्धान्तहरू पालना गर्न सिकाउनु हो—र यदि मानिसहरू तिनीहरूका भनाइ र प्रावधानहरूको विरुद्धमा गए भने, तिनीहरूले ख्रीष्टविरोधीहरूको गाली र हप्काइको सामना गर्नेछन्। ख्रीष्टविरोधीहरू प्रायः परमेश्‍वरको घरको नाममा काम गर्छन्, उच्च ओहदामा बसेर अरूलाई हप्काउँछन् र भाषण दिन्छन्। कतिपय मानिसहरू तिनीहरूको भाषणद्वारा यति अकमकिएका समेत हुन्छन् कि ख्रीष्टविरोधीहरूका मापदण्डहरू अनुसार काम नगर्दा तिनीहरूलाई परमेश्‍वरप्रति ऋणी भएको महसुस हुन्छ। के त्यस्ता मानिसहरू ख्रीष्टविरोधीहरूको नियन्त्रणमा आएका छैनन् र? (आएका छन्।) ख्रीष्टविरोधीहरूको यो कस्तो व्यवहार हो? यो दासत्वको व्यवहार हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्‍वरले जे वर्णन गर्नुभयो त्यो ठ्याक्कै मेरो स्थिति थियो। क्यामरोनसँग काम गर्दा, मैले उनलाई एकदमै सरल स्वभावको पाएँ। काममा केही गल्ती हुँदा, मैले आलोचना गर्दा उनी त्यो स्वीकार गर्थे र खण्डन गर्ने प्रयास गर्दैनथे। मलाई लाग्थ्यो, उनी नरम छन् र उनलाई सजिलै दबाउन सकिन्छ, त्यसैले मैले उनीमाथि हैकम चलाएँ, र हरेक कुरामा आफ्नै निर्णय लादेँ। धेरै पटक त, मैले उनीसँग कामकुराहरू छलफल गर्नु झारा टार्ने काम मात्र हुन्थ्यो। अन्त्यमा, के गर्ने भनेर म आफै निर्णय गर्थेँ। साथै, सामानहरू व्यवस्थापन गर्न मैले बनाएका केही सावधानी नियम हेर्दा त समस्यारहित र सामानहरू व्यवस्थापन गर्न सहयोगी देखिन्थे, तर मैले ती नियमहरू सान्दर्भिक सिद्धान्तहरूमा आधारित भएर बनाएको थिइनँ। बरु, मैले ती क्यामरोनका समस्याहरू सम्बोधन गर्नका लागि बनाएको थिएँ। ती नियमहरू ठ्याक्कै उनकै लागि बनाइएका थिए भनेर भन्न सकिन्छ। जब-जब उनी ती सावधानीहरू अपनाउन चुक्थे, म उनलाई दोष लगाउने र हप्काउने बहाना पाउँथेँ, र उनीसँग विरोध गर्ने कुनै उपाय हुँदैनथ्यो। उनले अघिल्लो पटक मैले निर्देशन दिएअनुसार विवरण पत्र नभर्दाको समय जस्तै, मैले कुनै सङ्कोच नमानी उनलाई गाली गरेँ र मैले चाहेअनुसार गर्न बाध्य पारेँ। मलाई उनले त्यस दिन भनेको कुरा याद आयो, “तपाईँले सामानहरू मिलाइरहेको देख्नेबित्तिकै, म तपाईँबाट तर्किने प्रयास गर्छु। मैले राम्ररी काम गरिनँ भने तपाईँले फेरि मेरो आलोचना गर्नुहुन्छ कि भनेर मलाई डर लाग्छ।” त्यो सोचले मलाई निकै दुःखी बनायो। मैले प्रकट गरेको शैतानी स्वभावले मेरो ब्रदरको हृदयमा कालो छाया पारिदिएको थियो र उनलाई बन्धनमा पारेको थियो। यो ठ्याक्कै परमेश्‍वरको वचनले खुलासा गरेजस्तै थियो: “यदि मानिसहरू तिनीहरूका भनाइ र प्रावधानहरूको विरुद्धमा गए भने, तिनीहरूले ख्रीष्टविरोधीहरूको गाली र हप्काइको सामना गर्नेछन्। ख्रीष्टविरोधीहरू प्रायः परमेश्‍वरको घरको नाममा काम गर्छन्, उच्च ओहदामा बसेर अरूलाई हप्काउँछन् र भाषण दिन्छन्। कतिपय मानिसहरू तिनीहरूको भाषणद्वारा यति अकमकिएका समेत हुन्छन् कि ख्रीष्टविरोधीहरूका मापदण्डहरू अनुसार काम नगर्दा तिनीहरूलाई परमेश्‍वरप्रति ऋणी भएको महसुस हुन्छ। के त्यस्ता मानिसहरू ख्रीष्टविरोधीहरूको नियन्त्रणमा आएका छैनन् र?” मैले अन्ततः आफ्नो समस्या गम्भीर रहेछ भन्ने महसुस गरेँ। क्यामरोनसँग सहकार्य गर्न थालेदेखि, मेरो ख्रीष्टविरोधी स्वभाव प्रकट भएको थियो। अहिले त मसँग कुनै हैसियत थिएन, तर यदि मसँग हैसियत भएको भए, मानिसहरूलाई बन्धनमा पार्न र नियन्त्रण गर्न अझ सजिलो हुने थिएन र? त्यस अवस्थामा, के म ख्रीष्टविरोधी हुने थिइनँ र? म सामान्यतया सत्यता खोज्ने वा आत्मचिन्तन गर्ने कुरामा ध्यान दिन्नथेँ। मैले अनजानमै बारम्बार भ्रष्ट स्वभाव प्रकट गर्थेँ। म अत्यन्तै संवेदनहीन थिएँ। मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “यदि तँ परमेश्‍वरको घरको सदस्य होस्, र पनि आफ्‍नो कार्य-व्यवहारमा सधैँ गरम मिजास देखाउँछस्, सधैँ आफूभित्रको प्राकृतिक कुरा प्रकट गर्छस्, र मानव माध्यम र भ्रष्ट, शैतानी स्वभावअनुसार कामकुरा गर्दै सधैँ आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्छस् भने, यसको अन्तिम परिणाम तैँले दुष्कर्म गर्नु र परमेश्‍वरको विरोध गर्नु हुनेछ—अनि यस पूरै अवधिभर तँ पश्‍चात्तापविहीन रहन्छस् र सत्यता खोजी गर्ने मार्गमा हिँड्न सक्दैनस् भने, तँलाई खुलासा गरेर निकालिनुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यतालाई स्विकारेर मात्र भ्रष्ट स्वभावहरूलाई समाधान गर्न सकिन्छ)। मैले क्यामरोनसँग गरेको व्यवहार सम्झिएँ। आफ्नो क्षणिक राहतका लागि असन्तुष्टि पोख्न, मैले मेरो ब्रदरको भावनालाई पूर्ण रूपमा बेवास्ता गरेको थिएँ। क्यामरोनको विवरण पत्र नबुझिने देखेर रिसाउँदा, मैले उनलाई गल्ती गरेको सानो बच्चालाई जस्तै अर्ती दिएँ। उनी एक शब्द नबोली त्यहाँ बसिरहे, र जब उनले आफ्नो गल्ती स्विकारे, तब मैले त्यसलाई रुखो भई अस्वीकार गरेँ। त्यो दृश्य मेरो दिमागमा गढेर बसेको थियो, जुन बिर्सन असम्भव थियो। त्यसबारे सोच्दा, म आफ्नो हृदयको ग्लानि र पीडा व्यक्त नै गर्न सक्दिनथेँ। मैले आफैलाई सोधेँ, “मैले आफ्नो ब्रदरलाई कसरी यस्तो व्यवहार गर्न सकेँ? मैले कहिल्यै उनीसँग सङ्गति गरिनँ वा उहाँलाई मद्दत गरेको छैनँ, त्यसैले उनलाई हप्काउने म को हुँ र? म उनलाई कसरी आफ्नो ब्रदर भन्ने आँट गर्न सक्छु र?” हरेक प्रश्नले मलाई निःशब्द बनायो। विगतमा मलाई सधैँ लाग्थ्यो, दोष क्यामरोनकै हो, उनमा नै धेरै कमजोरी छन् र उनले नै मलाई यति धेरै झन्झटमा पारेका हुन्। तर अहिले मलाई वास्तविक समस्या ममा पो रहेछ भन्ने महसुस भयो। धेरै पटक सम्झाउँदा पनि नबदलिने व्यक्ति म नै थिएँ, र अति नै अहङ्कारी अनि कुनै मानवता नभएको व्यक्ति पनि म नै थिएँ! मलाई गहिरो पछुतो भयो, त्यसैले मैले चुपचाप परमेश्‍वरलाई प्रार्थना गरेँ र म पश्‍चात्ताप गर्न चाहन्छु भनेर भनेँ।

त्यसपछि, मैले ब्रदर-सिस्टरहरूसँग सिद्धान्तहरूअनुरूप कसरी व्यवहार गर्ने भन्ने कुरा खोजेँ। मैले परमेश्‍वरको वचनमा यो खण्ड पढेँ: “दाजुभाइ-दिदीबहिनीहरूले कसरी पारस्परिक व्यवहार गर्ने भन्‍नेबारे सिद्धान्तहरू हुनुपर्छ। सधैँ अरूका गल्तीहरूमा ध्यान नदेऊ, बरु तिमीहरूले बारम्बार आफूलाई जाँच्नैपर्छ, र त्यसपछि आफूले अरू मानिसलाई दखल पुग्ने वा हानि हुने कुरा गरेको सक्रियतासाथ स्वीकार गर, अनि खुलस्त हुन र सङ्गति गर्न सिक। यसरी आपसी समझदारी हुन सक्छ। यसबाहेक, आफूमाथि जे आइपरे पनि, तिमीहरूले परिस्थितिलाई परमेश्‍वरका वचनहरूको आधारमा हेर्नुपर्छ। यदि मानिसहरूले सत्यता सिद्धान्तहरू बुझ्‍न र अभ्यासको मार्ग भेट्टाउन सक्छन् भने, तिनीहरू एकै मन र हृदयका बन्‍नेछन्, अनि दाजुभाइ-दिदीबहिनीहरूबीचको सम्‍बन्ध सामान्य हुनेछ, तिनीहरू गैरविश्‍वासीहरूजस्तो उदासीन, रूखो, र निर्दयी बन्‍नेछैनन्, र तिनीहरूले आपसी शङ्का र सतर्कतालाई त्याग्‍नेछन्। दाजुभाइ-दिदीबहिनीहरू एकअर्कासँग अझ घनिष्ठ बन्‍नेछन्; तिनीहरूले एकअर्कालाई सहयोग गर्न प्रेम गर्न सक्‍नेछन्; तिनीहरूको हृदयमा सद्‌भाव हुनेछ, र तिनीहरू एकअर्काप्रति सहनशील र दयालु हुनेछन्, र तिनीहरूले एकअर्कालाई एक्ल्याउनुको सट्टा, एकअर्काको डाहा गर्नुको सट्टा, एकअर्कासँग आफूलाई तुलना गर्नुको सट्टा, र एकअर्काविरुद्ध गुप्त रूपमा प्रतिस्पर्धा र अवज्ञा गर्नुको सट्टा, एकअर्कालाई साथ र सहयोग दिनेछन्। यदि मानिसहरू गैरविश्‍वासीहरूजस्ता छन् भने तिनीहरूले कसरी आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन्? यसले तिनीहरूको जीवन प्रवेशमा असर गर्ने मात्र होइन, अरूलाई समेत हानि र असर गर्नेछ। … जब मानिसहरू आफ्‍नो भ्रष्ट स्वभावअनुसार जिउँछन्, तब तिनीहरूलाई परमेश्‍वरको अघि शान्त रहन अत्यन्तै गाह्रो हुन्छ, र सत्यताको अभ्यास गर्न र परमेश्‍वरका वचनहरूअनुसार जिउन निकै कठिन हुन्छ। परमेश्‍वरसामु जिउनका लागि, तिमीहरूले आफूबारे चिन्तन गर्न र आफूलाई चिन्‍न, अनि परमेश्‍वरलाई साँचो रूपमा प्रार्थना गर्न सिक्‍नुपर्छ, र त्यसपछि तिमीहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग कसरी मिलेर बस्‍ने भनेर सिक्‍नुपर्छ। तिमीहरू एकअर्काप्रति सहनशील हुनैपर्छ, एकअर्काप्रति कोमल हुनैपर्छ, र अरूसित कस्ता सामर्थ्य र गुण छन् भनेर देख्न सक्नुपर्छ, अनि तिमीहरूले अरूका विचारहरू अनि सही कुराहरू स्वीकार गर्न सिक्‍नुपर्छ। आफैमा लिप्त नहोओ, महत्त्वाकाङ्क्षा र चाहना नराख, अनि आफू अरू मानिसहरूभन्दा असल छु भन्‍ने नसोच, र आफूलाई महान् व्यक्तित्व ठान्‍ने अनि अरूलाई तिमीहरूले भनेको कुरा मान्‍न लगाउने, तिमीहरूको आज्ञापालन गर्न लगाउने, र तिमीहरूलाई आदर गर्न र उचाल्‍न लगाउने नगर—यो विकृति हो। … त्यसोभए, परमेश्‍वरले मानिसहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ? परमेश्‍वरले मानिसहरू कस्ता देखिन्छन्, तिनीहरू अग्ला छन् कि होचा छन् भनेर वास्ता गर्नुहुन्‍न। बरु, उहाँले तिनीहरूको हृदय दयालु छ कि छैन, तिनीहरू सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन्, र तिनीहरू परमेश्‍वरलाई प्रेम गर्छन् कि गर्दैनन् र उहाँप्रति समर्पित हुन्छन् कि हुँदैनन् भन्‍ने कुरा हेर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूप्रतिको आफ्‍नो व्यवहार यही कुरामा आधारित गर्नुहुन्छ। यदि मानिसहरूले पनि यसो गर्न सक्छन् भने, तिनीहरूले अरूलाई निष्पक्ष व्यवहार गर्न सक्नेछन्, र त्यो सत्यता सिद्धान्तहरूअनुरूप हुनेछ। सर्वप्रथम, हामीले परमेश्‍वरका अभिप्राय बुझ्नैपर्छ, र परमेश्‍वर मानिसहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ भनेर थाहा पाउनैपर्छ, त्यसपछि हामीसँग पनि मानिसहरूलाई कस्तो व्यवहार गर्ने भन्‍नेबारे सिद्धान्त र मार्ग हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। हो। हामीले आफ्ना कर्तव्यहरूमा एक-अर्कासँग अन्तरक्रिया गर्दा, कम्तीमा पनि सामान्य मानवता जिउनुपर्छ, एक-अर्कालाई साथ र मद्दत दिनुपर्छ, सहनशील र धैर्यवान् हुनुपर्छ, एक-अर्काको ख्याल राख्नुपर्छ, मानिसहरू सिद्धान्तविपरीत जाँदा उनीहरूलाई मद्दत गर्न सत्यतामा सङ्गति गर्नुपर्छ, र गम्भीर अवस्थाहरूमा, हामी उनीहरूलाई खुलासा र काटछाँट गर्न सक्छौँ। सिद्धान्तहरूअनुरूप काम गर्ने एक मात्र तरिका यही हो। ब्रदर-सिस्टरहरू फरक-फरक ठाउँबाट आउँछन्, र हरेकको रहनसहन, अनुभव, उमेर र क्षमता फरक-फरक हुन्छ। उनीहरूमा जस्तोसुकै कमी-कमजोरीहरू भए तापनि, हामीले उनीहरूसँग उचित व्यवहार गर्नुपर्छ, उनीहरूबाट धेरै माग कहिल्यै गर्नु हुँदैन, र उनीहरूप्रति समझदार र सहनशील हुनुपर्छ। क्यामरोन सामान्यतया मर्मतसम्भारको काममा व्यस्त रहन्थे। यसका साथै, उनी सामानहरू आएको र गएको विवरण राख्ने काममा त्यति सिपालु थिएनन्। मैले थप जिम्मेवारी लिनुपर्थ्यो र अझ बढी समझदार हुनुपर्थ्यो, र मैले उनलाई मेरै तरिकाअनुसार काम गर्न बाध्य पार्नु हुँदैनथ्यो। ममा अलिकता पनि मानवता थिएन। मेरो ब्रदर मर्मतसम्भारको काममा सिपालु थिए, आफ्नो मर्मतको काम लगनका साथ गर्थे, र आफ्नो कर्तव्यमा कष्ट भोग्न डराउँदैनथे। यस पक्षमा, उनी मभन्दा धेरै श्रेष्ठ थिए। तर मैले आफ्नो ब्रदरका सबल पक्षहरूलाई हेरिनँ। मैले त उनका कमजोरीहरूमा मात्र ध्यान केन्द्रित गरेँ, उनलाई दोष लगाएँ, र हप्काएँ। म कति अहङ्कारी र मूर्ख थिएँ!

पछि, मैले सचेत भई आफ्नो स्थिति परिवर्तन गरेँ र सिद्धान्तहरूअनुसार अभ्यास गरेँ। फेरि कामकुराहरू आइपर्दा, म धेरै शान्त रहेँ, र क्यामरोनप्रति अझ बढी समझदार पनि भएँ। एक पटक, म कुनै कामले बाहिर गएको थिएँ र त्यहाँ केही समय बस्नुपर्ने भयो, अनि क्यामरोन एक्लैले कामकुराहरू व्यवस्थापन गर्नुपर्ने भयो। केही दिनपछि, मैले क्यामरोनलाई काम कसरी भइरहेको छ भनेर सोध्न फोन गरेँ। उनले शान्त र सतर्क हुँदै भने, “तपाईँलाई कस्तो लाग्छ? तपाईँले जसरी सोच्नुभएको छ, ठ्याक्कै त्यसरी नै भइरहेको छ।” यो सुनेर मलाई निकै नराम्रो लाग्यो। मेरो ब्रदरले किन यस्तो कुरा गरेका होलान्? विगतमा मैले उनीप्रति गरेको व्यवहार मेरो भ्रष्ट स्वभावबाट आएको, र त्यसले उनलाई सधैँ आफू केही पनि होइन र कुनै पनि काम राम्ररी गर्न सक्दिनँ भन्ने महसुस गराएकाले नै उनले त्यसो भनेका होइनन् र? मैले यसबारे जति धेरै सोचेँ, मलाई त्यति नै पीडा भयो, तर यसले सत्यता अभ्यास गर्ने र आफूलाई परिवर्तन गर्ने मेरो सङ्कल्पलाई अझ बलियो बनायो। मैले क्यामरोनलाई सान्त्वना दिँदै भनेँ, “कुन-कुन सामान ठाउँमा छैनन् भनेर यसो हेर र समय निकालेर मिलाऊ। तिमी प्रायः अरू कामहरूमा व्यस्त रहन्छौ, त्यसैले अलि-अलि लथालिङ्ग हुनु त स्वाभाविकै हो। यदि तिमीसँग साँच्चै मिलाउने समय छैन भने, म फर्केर आएपछि हामी मिलेर गरौँला।” फोनमा कुरा गरिसकेपछि, क्यामरोनले एक्लै व्यवस्थापन गर्न सक्नुहुन्न होला भन्ने सोचेर, मैले उनलाई सघाउन अरूलाई आग्रह गरेँ। विगतमा यस्तै कुराहरू हुँदा, म उनका गल्तीहरूका लागि सधैँ उनलाई कराउँथेँ र हप्काउँथेँ। अहिले, फेरि त्यस्तै कुराहरू हुँदा, म तिनलाई सही तरिकाले सम्हाल्न, अनि सङ्गति गरेर उनलाई मद्दत पनि गर्न सक्छु। यसले मलाई शान्ति र सहजता महसुस गराउँछ। यो एउटा सानो परिवर्तन भए पनि, म खुसी छु, किनकि मलाई यो एउटा राम्रो सुरुवात हो भन्ने लाग्छ। मलाई विश्वास छ, यदि मैले परमेश्‍वरका वचनअनुसार अभ्यास गर्दै प्रवेश गरेँ भने, म आफ्नो भ्रष्ट स्वभाव फाल्न सक्षम हुनेछु। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ६५. म यति व्यस्त हुनुको कारण

अर्को: ६७. एक पछि अर्को अग्नि परीक्षा

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्