२८. पाका उमेरकाहरूले पनि परमेश्वरको गवाही दिन सक्छन्
मैले ६२ वर्षको उमेरमा प्रभु येशूमाथि विश्वास गर्न थालेँ। प्रभुले उहाँका अनुयायीहरूलाई स्वर्गको राज्यमा प्रवेश र अनन्त जीवनको प्रतिज्ञा गर्नुहुन्छ भन्ने जानेर मलाई यो जीवनमा आशा छ जस्तो लाग्यो, अनि यति ठूलो आशिष् पाउने सोचले मेरो हृदय हर्षित भयो। मैले हरेक दिन असीम ऊर्जाले भरिपूर्ण भएर प्रभुका निम्ति मेहनत गर्न र आफूलाई उहाँप्रति अर्पण गर्न थालेँ। तीन वर्षपछि, मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गर्ने सौभाग्य पाएँ। प्रभुको पुनरागमनलाई स्वागत गर्न पाउँदा र पूर्ण रूपले मुक्ति पाएर स्वर्गको राज्यमा प्रवेश गर्ने आशा हुँदा म उत्साहित थिएँ। त्यसैले, मैले आफ्नो पछ्याइमा अझ मेहनत गर्न थालेँ। मैले अझ बढी त्याग र आफूलाई अर्पण गरेँ, सक्रिय रूपमा सुसमाचार प्रचार र कर्तव्य निर्वाह गरेँ, अनि साँझको समयमा पनि सुसमाचार प्रचार गर्न बाहिर जान्थेँ। पछि ब्रदर-सिस्टरहरूले मलाई मण्डली अगुवा र त्यसपछि प्रचारकका रूपमा चुने। पाको उमेरमा पनि यस्ता महत्त्वपूर्ण कर्तव्यहरू निर्वाह गर्ने मौका पाउँदा म धेरै खुसी थिएँ। हाम्रो भेलाहरूमा म सबैभन्दा पाको व्यक्ति भए तापनि, आफूले अझै पनि भेलाहरू सञ्चालन गर्न र अरूका समस्याहरू समाधानमा मद्दत गर्न सकेको देख्दा विशेष रूपमा सम्मानित महसुस गर्थेँ। म सोच्थेँ मैले आफ्नो पछ्याइमा मेहनत गरेँ भने, म पनि युवाहरू जस्तै निश्चय नै मुक्ति पाउन सक्छु। त्यसैले मैले आफ्नो कर्तव्यमा आफ्नो हृदय खन्याएँ।
हेर्दाहेर्दै सात-आठ वर्ष बित्यो, मेरो स्वास्थ्य र ऊर्जा पहिले जस्तो रहेन। त्यसपछि म ७३ वर्षको हुँदा मलाई स्ट्रोक भयो, तर दुई-चार दिन सलाइन पानी चढाएपछि, मेरा लक्षणहरू कतै बाँकी नरही चटक्कै हराएर गए। मलाई लाग्यो परमेश्वरले पक्कै म उहाँप्रति आफूलाई पूर्णहृदयले अर्पण गर्न तत्पर रहेको देख्नुभएको हुनुपर्छ, त्यसैले उहाँले मलाई आशिष् र सुरक्षा दिनुभएको हो। म एकदमै कृतज्ञ भएँ, र आफ्नो कर्तव्यलाई निरन्तरता दिएँ। तर, मेरो स्वास्थ्यलाई ध्यानमा राखेर, अगुवाले मेरो कर्तव्य परिवर्तन गरी घरमै अरू ब्रदर-सिस्टरहरूलाई अतिथिसत्कार गर्ने कर्तव्य दिनुभयो। अब मैले गर्न नपाउने थुप्रै कर्तव्य छन्, र मैले केवल घरमै ब्रदर-सिस्टरहरूलाई अतिथिसत्कार मात्रै गर्नुपर्छ भन्ने कुराले मलाई उदासीन बनायो। ऊर्जाले भरिएका र विभिन्न प्रकारका कर्तव्यमा व्यस्त रहेका सबै युवा ब्रदर-सिस्टरलाई देखेर मलाई डाह लाग्थ्यो। मैले सोचेँ, “म बूढो भएँ र मेरो स्वास्थ्य कमजोर छ। म जति नै चाहे पनि त्यति यताउता कुद्न सक्दिनँ, अनि मैले उप्रान्त गर्न नसक्ने धेरै प्रकारका कर्तव्य छन्। के यसको अर्थ म काम नलाग्ने भएँ भन्ने होइन र? काश! म १० वा २० वर्ष पछाडि फर्केर तिनीहरूले जस्तै विभिन्न प्रकारका कर्तव्य निर्वाह गर्न सक्ने भए। तब मेरो आशिषित हुने र मुक्ति पाउने सम्भावनाहरू अझ धेरै हुनेथिए! तर अहिले यो बुढो उमेरमा, म ती युवाहरूसँग तुलना गर्नै सक्दिनँ।” त्यो सोचले मलाई अनुत्प्रेरित बनायो, र थाहै नपाई म दिक्दार भएँ। मैले आफूलाई स्ट्रोक भएको विगत पनि सम्झिएँ, अनि के सोचेँ भने यो दोहोरिने खालको रोग भएकाले, कुनै दिन फेरि अर्को स्ट्रोक भयो भने, त्यो मेरो अन्त्य हुन सक्छ, र मैले परमेश्वरको महिमाको दिन देख्न पाउनेछैनँ। त्यस्तो भएमा मैले कसरी मुक्ति पाउनेछु र? अनि, परमेश्वरमा विश्वास गर्नुको के नै अर्थ हुनेछ? मेरा लागि यी धेरै निराशाजनक र दिक्दारलाग्दा सोचहरू थिए। केही समयसम्म त, मैले परमेश्वरका वचनहरू पढ्न वा भजनहरू सुन्नसमेत सकिनँ। मेरो पीडामा, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! मलाई लाग्छ अब मेरो मुक्तिको कुनै आशा छैन। म एकदमै नकारात्मक छु र मलाई आफ्नो सारा जीवनशक्ति नै निख्रिएजस्तो लाग्छ। परमेश्वर, म तपाईंबाट टाढा हुन चाहन्न। मलाई म सही स्थितिमा छैन भन्ने थाहा छ, तर यसलाई कसरी ठिक गर्ने थाहा छैन। कृपया मलाई यो गलत स्थितिबाट बाहिर निस्कन मार्गदर्शन गर्नुहोस्।”
यी नकारात्मक विचारहरूले ममाथि नियन्त्रण नजमाऊन् भनेर, मैले सचेत भई परमेश्वरका अझ धेरै वचन पढ्न थालेँ। एक दिन मैले परमेश्वरका वचनहरूमा यो कुरा पढेँ: “परमेश्वरको चाहना हरेक व्यक्ति सिद्ध पारिओस्, अन्त्यमा उहाँद्वारा प्राप्त हुन सकोस्, उहाँद्वारा पूर्ण रूपमा धोइओस् र उहाँले प्रेम गर्नुहुने मानिसहरू बनोस् भन्ने छ। मैले तिमीहरू पिछडिएका छौ वा कम क्षमताका छौ भने पनि—यी सब तथ्य हुन्। तर, मैले यसो भन्नुले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा गुमाएको छु भन्ने प्रमाणित गर्दैन, अनि म तिमीहरूलाई मुक्ति दिन अनिच्छुक छु भन्ने त झनै प्रमाणित गर्दैन। आज म तिमीहरूको लागि मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध पारिने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एक जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर क्षमताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँप्रतिका मेरा मागहरू यसअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्षम छस् भने, तँप्रति मेरा मागहरू यही बमोजिम हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्दिनँ, निश्चित प्रकारका प्रकार्य मात्र गर्न सक्छु भन्छस् भने, चाहे त्यो सुसमाचार प्रचार गर्ने होस् वा मण्डलीको रेखदेख गर्ने होस्, वा अन्य सामान्य कुराहरूमा सहभागी हुने होस्, मैले तँलाई सिद्ध पार्ने काम तैँले गर्ने प्रकार्यअनुसार हुनेछ। बफादार हुनु, अन्त्यसम्म समर्पित हुनु र परमेश्वरलाई सक्दो प्रेम गर्न खोज्नु—यी तैँले पूरा गर्नैपर्ने कुरा हुन्, केवल यी तीन कुरा, र यी सबैभन्दा राम्रा अभ्यासहरू हुन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। परमेश्वरका वचनहरूले मेरा लागि तत्कालै कुराहरू स्पष्ट पारिदिए। परमेश्वरले मानिसहरूका परिणाम तिनीहरूले उहाँका लागि कति कष्ट भोगेका छन्, तिनीहरूको योग्यताको हद कस्तो छ, वा तिनीहरूको कर्तव्यको दायरा कति छ भन्ने आधारमा निर्धारण गर्नुहुन्न। यदि तिनीहरूले उहाँप्रति आफूलाई अर्पण गर्छन्, सत्यता पछ्याउँछन्, उहाँप्रति साँचो समर्पणता देखाउँछन्, मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्छन्, र उहाँको साँचो गवाही दिन्छन् भने, उहाँले तिनीहरूलाई अनुमोदन गर्नुहुनेछ। तर मैले उहाँको अभिप्राय बुझिनँ र उहाँले कस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्छ भन्ने मलाई थाहा थिएन। म सधैँ के ठान्थेँ भने परमेश्वरप्रति आफूलाई अर्पण गरेर, कष्ट भोग्न र मूल्य चुकाउन सक्षम भएर, र धेरै काम गरेर म परमेश्वरद्वारा अनुमोदित हुनेछु। तर म बूढो हुँदै गएको र युवाहरू जसरी मेहनत गर्न नसक्ने भएकाले, मैले आफ्नै मुक्तिको सम्भावनालाई पहिल्यै नकारिसकेको थिएँ। म नकारात्मकता र गलत बुझाइहरूको दलदलमा फसेको थिएँ; म परमेश्वरको विरुद्ध निकै विद्रोही भएको थिएँ! साँचो कुरा त, म बूढो भएको र मैले युवाहरूले जति धेरैवटा कर्तव्य गर्न नसक्ने भए पनि, परमेश्वरले मसँग उही खालका मागहरू भने गर्नुभएन। उहाँले मलाई सत्यता पछ्याउने र आफ्नो कर्तव्य निर्वाह गर्ने मौकाहरूबाट वञ्चित पनि गरिरहनुभएको थिएन। मेरो दिमाग र समझ अझै ठिकठाकै थिए; म अझै पनि परमेश्वरका वचनहरू पढ्न र आफ्नो कर्तव्यमा सक्नेजति सबै गर्थेँ। तर परमेश्वरको अभिप्राय नखोजिकन, मैले आफूलाई बूढो र बेकामे, अनि परमेश्वरको निगाह गुमाएको व्यक्तिको बिल्ला भिराएको थिएँ। के त्यो परमेश्वरका बारेमा आफैँ अनुमान लगाउनु थिएन र? परमेश्वरले धेरैवटा कर्तव्य निर्वाह गरेर व्यक्तिले मुक्ति पाउनेछ, वा कोही बूढो भएपछि उसलाई उहाँले हटाउनुहुनेछ र उप्रान्त मुक्ति दिनुहुनेछैन भनेर कहिल्यै भन्नुभएन। उहाँ त वास्तवमा पाको उमेरकाहरूले कसरी सत्यता पछ्याउनुपर्छ र आफ्नो कर्तव्य कसरी गर्नुपर्छ भन्ने कुरामा एकदमै स्पष्ट हुनुहुन्थ्यो। म अन्त्यसम्मै बफादार र समर्पित रहेमा, र परमेश्वरलाई प्रेम गर्ने प्रयत्न गर्न सकेमा, मसँग मुक्तिको आशा रहन्थ्यो। परमेश्वरका वचनहरूका आधारमा कामकुरालाई नहेर्नु मेरो ठूलो मूर्खता थियो। मैले आफ्नै धारणा र कल्पनाहरूलाई सत्यता मानेँ, र परमेश्वरको अभिप्रायलाई गलत बुझिरहेँ। यो कुरा महसुस गर्दा मेरो विवेक ग्लानिले भरियो, र म प्रार्थना गर्दै परमेश्वरसामु आएँ, “हे परमेश्वर! म मेरा गलत दृष्टिकोणहरूका कारण नकारात्मक र प्रतिरोधी हुन छोड्नेछु। ममा अझै एक दिन भए पनि आफ्नो कर्तव्य निर्वाह गर्ने क्षमता रहेसम्म, म माथितिर उठ्ने प्रयास गर्नेछु र सत्यता पछ्याउन आफ्नो सक्दो प्रयास गर्नेछु।” प्रार्थना र परमेश्वरका वचनहरूको मार्गदर्शनले मलाई केही सान्त्वना दिए—म अब उति साह्रो निराश भइनँ। मैले सोचेँ, “मेरो समझ ठीकठाक रहेसम्म र म अझै पनि चलफिर गर्न सकेसम्म, म मेरा ब्रदर-सिस्टरहरूका लागि राम्रो अतिथिसत्कारक बन्न परमेश्वरमा भर पर्नेछु, आफ्नो कर्तव्यमा सक्दो प्रयास गर्नेछु, र परमेश्वरलाई मेरो हृदयदेखिको सेवा अर्पण गर्नेछु।”
तर अझै पनि मैले नबुझेको एउटा कुरा थियो। किन म आफूलाई युवाहरू जति सक्षम नपाउँदा नकारात्मक भएँ, र ममा परमेश्वरलाई धोका दिने विचारसमेत आयो? त्यसको मूल कारण के थियो? मेरो खोजीका क्रममा, मैले परमेश्वरका वचनहरूमा यसो लेखिएको पढेँ: “मानिसहरू सबैले आशिष्, पुरस्कार, र मुकुटहरू पाउनका लागि परमेश्वरमा विश्वास गर्छन्। के हरेक व्यक्तिको हृदयमा यही अभिप्राय हुँदैन र? वास्तवमा, हरेक व्यक्तिमा हुन्छ। यो तथ्य हो। मानिसहरूले यसबारे प्रायः कुरा नगरे पनि, र आशिष् प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहनालाई ढाकछोप गरे पनि, मानिसहरूको हृदयको गहिराइमा रहेको यो चाहना, यो अभिप्राय र मनसाय कहिल्यै डगमगाएको छैन। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य निर्वाह गर्न सक्ने भए पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आशिष् प्राप्त गर्ने अभिप्राय कहिल्यै त्याग्दैनन् जुन तिनीहरूको हृदयको गहिराइमा लुकेको हुन्छ, र तिनीहरू सधैँ चुपचाप यसको सेवामा परिश्रम र दौडधुप गर्छन्। के मानिसहरूको हृदयको सबैभन्दा गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष् प्राप्त गर्ने यो अभिप्राय नहुने हो भने, तिमीहरूले कस्तो महसुस गर्नेथियौ? तिमीहरूले कस्तो मनोवृत्तिका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेथियौ र परमेश्वरलाई पछ्याउनेथियौ? यदि मानिसहरूको हृदयमा लुकेको आशिष् प्राप्त गर्ने यो अभिप्रायलाई पूर्ण रूपमा उन्मूलन गरियो भने तिनीहरूको के हालत हुनेथियो? यो सम्भव छ कि धेरै मानिसहरू नकारात्मक बन्नेथिए, र कतिपय आफ्नो कर्तव्यमा अप्रेरित हुनेथिए, र परमेश्वरमाथि विश्वासमा तिनीहरूको रुचि हराउनेथियो। तिनीहरूले आफ्नो आत्मा गुमाएजस्तो देखिनेथियो, र तिनीहरूको हृदय खोसिएजस्तो देखिनेथियो। त्यसैले म भन्छु कि आशिष् प्राप्त गर्ने अभिप्राय मानिसहरूको हृदयको गहिराइमा लुकेर रहने कुरा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। “ख्रीष्टविरोधीहरू नाफा र आशिष् प्राप्त गर्ने उद्देश्यले मात्रै परमेश्वरमा विश्वास गर्छन्। तिनीहरूले केही कष्ट भोगे पनि वा केही मूल्य चुकाए पनि, त्यो सबै परमेश्वरसँग सौदा गर्नका लागि हो। आशिष् र इनाम प्राप्त गर्ने तिनीहरूको अभिप्राय र इच्छा अत्यन्तै ठूलो हुन्छ, र तिनीहरू यस कुरामा कसिएर लागिरहन्छन्। तिनीहरू परमेश्वरले व्यक्त गरेका धेरै सत्यतामध्ये कुनैलाई पनि स्वीकार गर्दैनन्, तिनीहरू हृदयमा सधैँ के सोच्छन् भने परमेश्वरमा विश्वास गर्नु भनेको आशिष् र राम्रो गन्तव्य प्राप्त गर्नु हो, यो सर्वोच्च सिद्धान्त हो, र यसलाई कुनै कुराले उछिन्न सक्दैन। तिनीहरू के सोच्छन् भने मानिसहरूले आशिष् प्राप्त गर्नका लागि होइन भने परमेश्वरमा विश्वास गर्नु हुँदैन, र त्यो आशिष्का लागि होइन भने, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ वा मूल्य हुँदैन, त्यसले यसको अर्थ र मूल्य गुमाउनेछ। के ख्रीष्टविरोधीहरूमा यी विचारहरू अरू कसैले हालिदिएको हुन्छ? के ती अरूको शिक्षा वा प्रभावबाट आएका हुन्छन्? होइन, ती कुरा ख्रीष्टविरोधीहरूको अन्तर्निहित प्रकृति सारद्वारा निर्धारित हुन्छन्, जुन कुरालाई कसैले पनि परिवर्तन गर्न सक्दैन। आज देहधारी परमेश्वरले यति धेरै वचनहरू बोल्नुभएको भए पनि, ख्रीष्टविरोधीहरू तीमध्ये कुनै पनि वचन स्वीकार गर्दैनन्, बरु तिनको विरोध र निन्दा गर्छन्। सत्यताप्रति तिनीहरूलाई वितृष्णा हुने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति कहिल्यै परिवर्तन हुँदैन। यदि तिनीहरू परिवर्तन हुन सक्दैनन् भने, यसले केलाई जनाउँछ? यसले तिनीहरूको प्रकृति दुष्ट छ भन्ने कुरालाई जनाउँछ। यो सत्यता पछ्याउने वा नपछ्याउने कुरा होइन; यो दुष्ट स्वभाव हो, यो परमेश्वरविरुद्ध निर्लज्ज रूपमा कोलाहल मच्चाउनु र परमेश्वरको विरोध गर्नु हो। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो; यो तिनीहरूको साँचो रूप हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। “ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्यलाई लेनदेनका रूपमा लिन्छन्। तिनीहरू लेनदेन गर्ने र आशिष्हरू प्राप्त गर्ने अभिप्राय लिएर आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरूले सोच्छन्, आशिष्हरू प्राप्त गर्नकै लागि परमेश्वरमा विश्वास गर्नुपर्छ, र आफ्नो कर्तव्य निर्वाह गरेर आशिष्हरू प्राप्त गर्नु नै उचित कुरा हो। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नेजस्तो सकारात्मक कुरालाई बङ्ग्याउँछन् र सृजित प्राणीका रूपमा कर्तव्य निर्वाह गर्नुको मूल्य र महत्त्वलाई कलङ्कित पार्छन्, साथै यसो गर्नुको वैधतालाई पनि कलङ्कित पार्छन्; तिनीहरू सृजित प्राणीले स्वाभाविक रूपमा पूरा गर्नुपर्ने कर्तव्यलाई लेनदेनमा परिणत गर्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। मैले परमेश्वरका वचनहरूबाट के देखेँ भने ख्रीष्टविरोधीहरूले आशिष्हरू पाउनका लागि मात्रै परमेश्वरमाथि विश्वास गर्छन्; तिनीहरूको लेनदेनमुखी मानसिकता कहिल्यै बदलिँदैन, र परिस्थिति जतिसुकै कठिन वा दयनीय किन नहोस् तिनीहरू हार मान्दैनन्। आशिषित हुने सबै आशा गुमाउँदा, तिनीहरू आफ्नो जीवन नै गुमाएजस्तो गर्छन्। परमेश्वरमाथिको विश्वासलाई निरन्तरता दिनु अर्थहीन ठान्छन्, अनि परमेश्वरविरुद्ध लड्छन् र उहाँको प्रतिरोध गर्छन्। परमेश्वरका वचनहरूसँग आफूलाई तुलना गरेर हेर्दा, मैले ठ्याक्कै ख्रीष्टविरोधीले जस्तै व्यवहार गरिरहेको रहेछु। मैले प्रभुमाथि विश्वास गर्दा, मेरो विश्वासले मलाई स्वर्गको राज्यमा प्रवेश दिलाउन सक्छ भन्ने सुनेर म असाध्यै खुसी भएको थिएँ। मलाई यो जीवनमा अनुग्रह, र त्यसपछि आउने संसारमा अनन्त जीवन प्राप्त गर्नका लागि प्रभुको खातिर जुनसुकै कष्ट भोग्नु पनि सार्थक हुनेछ भन्ने लाग्थ्यो। आशिषित हुनु र स्वर्गको राज्यमा प्रवेश गर्नु मेरो आस्थाको लक्ष्य बन्यो, र मैले जति धेरै त्याग गर्छु अनि आफूलाई अर्पण गर्छु, भविष्यमा मेरा आशिष्हरू त्यति नै ठूला हुनेछन् भन्ने सोचेँ। सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेपछि, मलाई आशिषित हुने मेरो सपना साकार हुनेछ भन्ने अझ बढी महसुस भयो, र आफ्नो कर्तव्यप्रति अझ बढी उत्साह छायो। त्यतिबेला म ६६ वर्षको भए तापनि, मैले आफूलाई कत्ति पनि बूढो ठानिनँ। मैले केवल आफ्नो कर्तव्यमा मेहनत गरिरहेँ। म भेलाहरूका लागि सबैतिर साइकल नै चलाएर जान्थेँ र पछि मलाई स्ट्रोक हुँदासमेत, मैले त्यसको वास्ता गरिनँ। म केवल मेहनतका साथ आफ्नो कर्तव्य निर्वाह गर्न, अनि मेरो पसिना र कष्टलाई पुँजीका रूपमा प्रयोग गरेर, आशिष्हरू साट्न चाहन्थेँ। तर जब मैले आफू बुढो भएको, अब धेरैवटा कर्तव्य निर्वाह गर्न नसक्ने भएको, र पहिले जस्तै सबैतिर यात्रा गरिरहन नसक्ने भएको, र बिस्तारै धेरै काम गर्न असमर्थ हुँदै गएको देखेँ, तब मलाई आशिषित हुने मेरा आशाहरू क्षीण हुँदै गएका छन् जस्तो महसुस भयो। म यो कुरा स्वीकार गर्न चाहन्नथेँ। मैले मुखले केही नभने पनि, मेरो हृदयमा मैले परमेश्वरबारे गुनासो गरेँ; म परमेश्वरको सार्वभौमिकतालाई स्वीकार गर्न चाहन्नथेँ, त्यसैले म नकारात्मक, प्रतिरोधी र विवेकहीन बनेँ। मेरो आस्थामा मेरो मनसाय भनेकै आशिषित हुनु थियो, त्यो भनेको परमेश्वरसँग सौदाबाजी गर्नु थियो। के त्यो परमेश्वरमाथिको विश्वासका बारेमा ख्रीष्टविरोधीको भ्रामक दृष्टिकोण थिएन र? मैले कर्तव्य निर्वाह गर्ने जस्तो सकारात्मक र सुन्दर कुरालाई बङ्ग्याएको थिएँ। आफ्नो कर्तव्य निर्वाह गर्नु र सबैतिर यात्रा गर्नुलाई मैले स्वर्गको राज्यको आशिष्हरू साट्नका लागि परमेश्वरसँग सौदाबाजी गर्ने माध्यमको रूपमा प्रयोग गर्न मात्र जानेको थिएँ, अनि कर्तव्यलाई आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरूलाई सन्तुष्ट पार्ने साधन र सौदाबाजीको गोटीका रूपमा लिइरहेको थिएँ। म साँच्चिकै आशिषित हुने चाहनाले भाउन्न थिएँ र केवल स्वर्गको राज्यमा प्रवेश गर्ने कुरा सोच्न सक्थेँ। मलाई म आशिषित हुनेछु कि हुनेछैनँ, अनि मेरो परिणाम र गन्तव्य के होला भन्ने कुराको मात्रै चिन्ता थियो। मभित्र परमेश्वरको प्रेमको गुन तिर्ने वा उहाँका श्रमसाध्य अभिप्रायहरू बुझ्ने सोचहरू नै थिएनन्। के ममा अलिकति पनि विवेक थियो र? परमेश्वरले मलाई जीवनको सास र कर्तव्य निर्वाह गर्ने मौका दिनुभएको छ। यो पहिल्यै मेरा लागि उहाँको ठूलो अनुग्रह हो। तर म अझै पनि नकारात्मक र प्रतिरोधी बन्दै परमेश्वरबारे गुनासो गर्थेँ र सधैँ उहाँसँग बहस गर्थेँ। म एकदमै विद्रोही थिएँ, यदि परमेश्वरले मेरो जीवन नै लिनुभयो भने पनि, त्यो उहाँको धार्मिकता हुनेथियो। यी सबै कुरा बुझेपछि, मैले हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ, अनि आशिष्हरूप्रतिको मेरा मनसायहरू त्याग्न र उहाँको सार्वभौमिकता अनि बन्दोबस्तहरूप्रति समर्पित हुन मार्गदर्शन गर्नुहोस् भनी उहाँलाई बिन्ती गरेँ। मैले परमेश्वरका वचनहरू सम्झिएँ: “म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, ऊ कति दयनीय छ भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु ऊसँग सत्यता छ कि छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्वरका वचनहरूले मलाई होसमा आउन मद्दत गरे। मैले के महसुस गरेँ भने परमेश्वरले हाम्रो परिणाम र गन्तव्य निर्धारण गर्नुहुँदा, यो कुराको हामीले उहाँका लागि कति त्याग गरेका छौँ वा उहाँप्रति आफूलाई कति अर्पण गरेका छौँ, हामीले कति काम गरेका छौँ वा कष्ट भोगेका छौँ भन्ने कुरासँग कुनै सरोकार हुँदैन। यो त हामीले सत्यता प्राप्त गरेका छौँ कि छैनौँ, र हाम्रा स्वभावहरू परिवर्तन भएका छन् कि छैनन् भन्ने कुरामा आधारित हुन्छ। धेरैवटा कर्तव्य निर्वाह गर्दैमा हामीसँग सत्यता छ वा हाम्रो स्वभाव परिवर्तन भएको छ भन्ने हुँदैन। मैले जतिसुकै कर्तव्यहरू निर्वाह गरे तापनि, मुख्य कुरा म सत्यता पछ्याउने मार्गमा छु कि छैनँ भन्ने हो। पहिले, मैले धेरैवटा कर्तव्य निर्वाह गरेँ र सबैतिर यात्रा गरेँ, तर कहिल्यै सत्यता खोजिनँ। म आफ्नो सतही प्रयासलाई एउटा असल गन्तव्यसँग साट्न चाहन्थेँ। मैले परमेश्वरप्रति मेरो भित्री मनमा भएको लेनदेनमुखी र विरोधीयुक्त मानसिकतालाई देखिनँ। अन्ततः, जब आशिषित हुने मेरो चाहना चकनाचुर भयो, तब मैले परमेश्वरसँग बहस गरेँ र उहाँको विरुद्धमा गएँ। वास्तवमा, यदि मैले सत्यता नपछ्याई दौडधुप र आफूलाई अर्पण गर्ने काम मात्रै मात्रै गरेँ भने, म झन् बढी स्वार्थी र अहङ्कारी मात्र बन्नेथिएँ, र कहिल्यै स्वभावगत परिवर्तन हासिल गर्न सक्नेथिइनँ। अन्ततः मैले गरेका कामहरूको आधारमा म परमेश्वरसँग तर्क र बहस गर्न पुग्नेथिएँ, अनि झन्-झन् दुष्ट बन्दै जानेथिएँ। यो ठ्याक्कै पावलको जस्तै हो—तिनले धेरै काम गरे, र तिनले महान काम गरे, तर त्यो काम केवल धार्मिकताको मुकुट साट्नका लागि मात्रै गरे। त्यो सधैँ परमेश्वरसँगको लेनदेन मात्रै थियो। मृत्युको सङ्घारमा पुग्दासमेत तिनले पश्चात्ताप गरेनन्, र अन्ततः परमेश्वरद्वारा दण्डित हुन पुगे। अर्कोतर्फ, पत्रुसले धेरै काम त गरेनन्, तर आफ्नो आस्थामा तिनले पूर्णहृदयले सत्यता पछ्याए, अनि सबै कुरामा परमेश्वरको अभिप्राय खोजे र उहाँप्रति समर्पित हुने प्रयास गरे। तिनका कुनै सर्तहरू थिएनन् र आफू आशिषित हुनेछु कि हुनेछैनँ भनेर तिनले विचार गरेनन्। अन्ततः, तिनले परमेश्वरप्रतिको सर्वोच्च प्रेम र मृत्युसम्मै समर्पणता हासिल गरे, परमेश्वरको अनुमोदन प्राप्त गरे, र परमेश्वरद्वारा सिद्ध पारिए। पावल र पत्रुस दुवै जना विश्वासी थिए, तर पछ्याइमा तिनीहरूका मनसाय र दृष्टिकोणहरू फरक थिए, त्यसैले तिनीहरूका परिणामहरू पनि फरक भए। यसबाट हामी परमेश्वर धर्मी हुनुहुन्छ भन्ने देख्न सक्छौँ, र हामीले सत्यता र स्वभावगत परिवर्तन पछ्यायौँ भने मात्र परमेश्वरको अभिप्रायसँग मिल्दो हुन सक्छौँ। मेरो पछ्याइपछाडिको दृष्टिकोण र म हिँडिरहेको मार्ग पावलको जस्तै निरर्थक र गलत थियो, अनि मेरो परिणाम पनि पक्कै तिनको जस्तै हुनेथियो। धन्न, परमेश्वरका वचनहरूले मलाई अन्तर्दृष्टि दिए र उहाँको अभिप्राय, अनि आफ्नो आस्थाप्रति मेरो कस्तो दृष्टिकोण हुनुपर्छ भनी बुझ्न मार्गदर्शन गरे। मैले परमेश्वरको सार्वभौमिकता अनि बन्दोबस्तहरूप्रति समर्पित हुन, र समझ भएको एउटा सृजित प्राणी बन्न पनि सिकेँ। यो परमेश्वरको प्रेम हो। परमेश्वरको अभिप्राय बुझेपछि मेरो स्थितिमा धेरै सुधार आयो, र म उहाँप्रति अत्यन्तै कृतज्ञ भएँ। त्यसपछि, ब्रदर-सिस्टरहरू भेला हुन आएका बेला, म अतिथिसत्कार प्रदान गर्थेँ। तिनीहरू नआएको बेला, म शान्त भएर परमेश्वरका वचनहरू पढ्थेँ र मेरो स्थितिअनुसार सत्यता खोज्थेँ।
एक दिन मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “परमेश्वर हरेक व्यक्तिका लागि उसको जन्मदेखि हालसम्मका दशकहरूमा केवल मूल्य चुकाउनुहुन्न। परमेश्वरको नजरमा, तँ यस संसारमा अनगिन्तीपटक आएको छस्, र तेरो अनगिन्तीपटक पुनर्जन्म भएको छ। यसको जिम्मेवार को हो? परमेश्वर यसको जिम्मेवार हुनुहुन्छ। तँसँग यी कुराहरू जान्ने कुनै उपाय छैन। हरेकपटक तँ यस संसारमा आउँदा, परमेश्वर व्यक्तिगत रूपमा तेरा लागि प्रबन्धहरू गर्नुहुन्छ: उहाँले तँ कति वर्ष जिउनेछस्, तँ कस्तो प्रकारको परिवारमा जन्मिनेछस्, तैँले कहिले घर बसाल्छस् र करियर बनाउनेछस्, साथै तैँले यस संसारमा के गर्नेछस् र कसरी जीविकोपार्जन गर्नेछस् भनी प्रबन्ध गर्नुहुन्छ। परमेश्वर तेरा लागि जीविकोपार्जन गर्ने एउटा तरिका प्रबन्ध गर्नुहुन्छ, ताकि तैँले यस जीवनमा आफ्नो मिसन सहज रूपमा पूरा गर्न सकेस्। अनि तैँले तेरो अर्को पुनर्जन्ममा के गर्नुपर्छ भन्ने सन्दर्भमा, परमेश्वर तेरा लागि त्यो जीवन प्रबन्ध गर्नुहुन्छ र तैँले जे पाउनुपर्छ र तँलाई जे दिइनुपर्छ सोअनुसार त्यो बनाउनुहुन्छ…। परमेश्वरले तेरा लागि यी प्रबन्धहरू धेरैपटक गर्नुभएको छ, र, अन्त्यमा, तँ आखिरी दिनहरूको युगमा, तेरो वर्तमान परिवारमा जन्मिस्। परमेश्वरले तेरा लागि उहाँमा विश्वास गर्न एउटा वातावरण प्रबन्ध गर्नुभयो, उहाँले तँलाई उहाँको आवाज सुन्न र उहाँसामु फर्कन दिनुभयो, ताकि तैँले उहाँलाई पछ्याउन र उहाँको घरमा कर्तव्य निर्वाह गर्न सकेस्। परमेश्वरबाटको यस्तो मार्गदर्शनले मात्रै तँ आजसम्म जिएको छस्। तँलाई तँ यस संसारमा कतिपटक आएको छस् भनेर थाहा छैन, न त तेरो रूप कतिपटक परिवर्तन भएको छ, तँ कति परिवारहरूबाट गुज्रेको छस्, तँ कति युग र वंशहरूमा जिएको छस् भनेर नै थाहा छ—तर परमेश्वरको हातले तँलाई सारा समय सम्हालिरहेको छ, र उहाँले तँलाई सधैँ हेरचाह गरिरहनुभएको छ। परमेश्वर एउटा व्यक्तिमा कति धेरै मेहनत खर्चनुहुन्छ! कतिपय मानिस भन्छन्, ‘म साठी वर्ष पुगेँ। साठी वर्षदेखि परमेश्वरले मलाई हेरचाह गरिरहनुभएको छ, सुरक्षा गरिरहनुभएको छ, र मार्गदर्शन गरिरहनुभएको छ। म बूढो भएपछि यदि मैले कर्तव्य निर्वाह गर्न सकिनँ र केही पनि गर्न सकिनँ भने—के परमेश्वरले अझै पनि मेरो वास्ता गर्नुहुनेछ?’ के यो भन्नु मूर्ख कुरा होइन र? परमेश्वर एक जीवनकालका लागि मात्र कुनै व्यक्तिको हेरचाह र सुरक्षा गर्नुहुन्न र उसको भवितव्यमाथि सार्वभौमिकता राख्नुहुन्न। यदि यो एउटै जीवनकाल, एउटै जीवन-समयका लागि भएको भए, त्यसले परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ र सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ भनी देखाउन सक्दैनथ्यो। कसैका लागि मेहनत खर्चँदा र मूल्य चुकाउँदा, परमेश्वरले तिनीहरूले यस जीवनमा के गर्नेछन् भनेर मात्रै प्रबन्ध गरिरहनुभएको हुँदैन—उहाँले तिनीहरूका लागि अनगिन्ती जीवनकालहरू प्रबन्ध गरिरहनुभएको हुन्छ। परमेश्वर पुनर्जन्म हुने हरेक आत्माका लागि पूर्ण जिम्मेवारी लिनुहुन्छ। उहाँ आफ्नो हृदयले काम गर्नुहुन्छ, आफ्नो जीवनको मूल्य चुकाउनुहुन्छ, हरेक व्यक्तिलाई मार्गदर्शन गर्नुहुन्छ र तिनीहरूको प्रत्येक जीवनको प्रबन्ध गर्नुहुन्छ। परमेश्वर मानिसका खातिर यस्तो मेहनत खर्चनुहुन्छ र यस्तो मूल्य चुकाउनुहुन्छ, र मानिसलाई यी सबै सत्यता र यो जीवन प्रदान गर्नुहुन्छ भन्ने कुरालाई विचार गर्दा, यदि मानिसहरू यी आखिरी दिनहरूमा सृजित प्राणीहरूको कर्तव्य निर्वाह गर्दैनन् र सृष्टिकर्तासामु फर्कँदैनन् भने—तिनीहरू जतिसुकै जीवन र पुस्ताहरूबाट गुज्रेर जिएका भए पनि, यदि तिनीहरू अन्ततः आफ्ना कर्तव्यहरू पूरा गर्न र परमेश्वरका मागहरू पूरा गर्न असफल हुन्छन् भने—के परमेश्वरप्रतिको तिनीहरूको ऋण अत्यन्तै ठूलो हुनेछैन र? के तिनीहरू परमेश्वरले चुकाएका सबै मूल्यहरूको अयोग्य हुनेछैनन् र? तिनीहरूमा विवेकको एकदमै कमी हुनेछ, तिनीहरू मानिस कहलाइन योग्य हुनेछैनन्, किनभने परमेश्वरप्रतिको तिनीहरूको ऋण अत्यन्तै ठूलो हुनेछ। … परमेश्वरले मानिसलाई देखाउने अनुग्रह, प्रेम, र कृपा एक प्रकारको मनोवृत्ति मात्रै होइनन्—ती तथ्य पनि हुन्। त्यो कस्तो तथ्य हो? त्यो के हो भने परमेश्वर आफ्ना वचनहरू तँभित्र राख्नुहुन्छ, तँलाई अन्तर्दृष्टि दिनुहुन्छ, तँलाई उहाँका बारेमा के प्रेमिलो छ र यो संसार वास्तवमा के हो भनी देख्न दिनुहुन्छ, तँलाई ठूलो मानसिक स्पष्टता दिनुहुन्छ, र तँलाई उहाँका वचनहरू र सत्यता बुझ्न दिनुहुन्छ। यसरी, थाहै नपाई तैँले सत्यता प्राप्त गर्छस्। परमेश्वर तँमाथि एकदमै वास्तविक तरिकाले यति धेरै काम गर्नुहुन्छ, जसले तँलाई सत्यता प्राप्त गर्न सक्षम बनाउँछ। जब तँ सत्यता प्राप्त गर्छस्, जब तँ सबैभन्दा बहुमूल्य चीज, जुन अनन्त जीवन हो, प्राप्त गर्छस्, तब परमेश्वरका अभिप्रायहरू पूरा हुन्छन्। जब परमेश्वरले मानिसहरूले सत्यता पछ्याइरहेका छन् र उहाँसँग सहकार्य गर्न इच्छुक छन् भनी देख्नुहुन्छ, तब उहाँ खुसी र सन्तुष्ट हुनुहुन्छ। त्यसपछि उहाँसँग एउटा निश्चित मनोवृत्ति हुन्छ, र जब उहाँसँग त्यो मनोवृत्ति हुन्छ, तब उहाँ काम गर्नुहुन्छ, र मानिसलाई अनुमोदन गर्नुहुन्छ र आशिष् दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘म तँलाई इनाम दिनेछु। यी तैँले पाउनुपर्ने आशिष्हरू हुन्।’ अनि त्यसपछि तैँले सत्यता र जीवन प्राप्त गर्नेछस्। जब तँसँग सृष्टिकर्ताको ज्ञान हुन्छ र तैँले उहाँको कदर प्राप्त गरेको हुन्छस्, तब के तैँले अझै पनि आफ्नो हृदयमा रित्तोपन महसुस गर्नेछस्? गर्नेछैनस्। तैँले सन्तुष्ट महसुस गर्नेछस् र तँमा आनन्दको अनुभूति हुनेछ। के त्यो मूल्यवान् जीवन जिउनु होइन र? यो सबैभन्दा मूल्यवान् र अर्थपूर्ण जीवन हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउनु ठूलो महत्त्वको कुरा हो)। परमेश्वरका वचनहरू मेरा लागि असाध्यै सान्त्वनादायी र हृदयस्पर्शी थिए। मेरो उमेर कति थियो वा मेरो स्वास्थ्य कस्तो थियो भन्ने कुराले केही फरक पार्दैनथ्यो; मैले सत्यतालाई प्रेम गर्दा र पछ्याउँदासम्म परमेश्वरले मलाई तिरस्कार गर्नुहुने छैन। दुर्भाग्यवश, मैले परमेश्वरको अभिप्रायलाई गलत बुझेको थिएँ। म सोच्थेँ, म बूढो र बेकम्मा भएकाले, अब धेरैवटा कर्तव्य निर्वाह गर्न सक्दिनँ। कुनै दिन म गम्भीर रूपमा बिरामी परेर अचानक मर्न सक्छु, र मेरो मुक्तिको कुनै आशा छैन। मलाई परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन जस्तो लाग्यो, र म माथितिर उठ्ने प्रयास गर्न चाहिनँ। आफ्ना गलत दृष्टिकोणहरूको प्रभावमा परेर, मैले परमेश्वरको अभिप्रायलाई गलत बुझिरहेको थिएँ। म कमजोर र नकारात्मक स्थितिमा डुबेको थिएँ, र शैतानद्वारा खेलाइएको थिएँ। पहिले मलाई एउटा सृजित प्राणी भएका नाताले म परमेश्वरप्रति समर्पित हुनुपर्छ र उहाँलाई सन्तुष्ट पार्नुपर्छ भन्ने थाहा थिएन। त्यो बोधबिना नै, मैले केवल अनुग्रह र आशिष्हरू साट्नका लागि मात्र आफ्नो आस्थालाई कायम राखेँ—म परमेश्वरसँग सौदाबाजी गरिरहेको थिएँ। अहिले आएर मैले त्यस्तो पछ्याइ बोकेर म अरू सय वर्ष बाँचे पनि त्यसमा कुनै अर्थ वा मूल्य हुनेछैन भनी देख्न सकेँ। उदाहरणका लागि, अय्यूबले ती सबै प्रकोपहरूको सामना गर्दा, आफूले के पाएँ वा के गुमाएँ भनेर एकपटक पनि सोचेनन्। जब तिनको शरीरभरि खटिराहरू आए र जीवन असह्य भयो, तिनले परमेश्वरबारे कहिल्यै गुनासो गरेनन्। तिनमा परमेश्वरप्रति साँचो विश्वास थियो, तिनी उहाँको सार्वभौमिकता अनि बन्दोबस्तहरूप्रति समर्पित रहे, र उहाँको नामको प्रशंसा गरे। तिनले शैतानको अगाडि परमेश्वरको गुञ्जायमान साक्षी दिए, र अन्ततः परमेश्वरद्वारा आशिषित भए। अर्को पत्रुस थिए, जसले सम्पूर्ण जीवनभर सधैँ परमेश्वरलाई प्रेम गर्ने र सन्तुष्ट पार्ने कुरा पछ्याए, अनि आफ्नो वास्तविक जीवनमा प्रभुका वचनहरू अभ्यास गर्ने कुरामा केन्द्रित भए। अन्ततः, तिनी परमेश्वरका लागि क्रूसमा उल्टो टाँगिए, उहाँप्रतिको आफ्नो सर्वोच्च प्रेम र अन्तिम समर्पणता देखाए, अर्थपूर्ण जीवन जिएर परमेश्वरको अनुमोदन प्राप्त गरे। अहिले आएर मैले के बुझेँ भने एक विश्वासीका रूपमा, सबै कुरामा परमेश्वरप्रति समर्पित हुने र उहाँलाई सन्तुष्ट पार्ने कुरा पछ्याउनु, सृजित प्राणीको कर्तव्य राम्रोसँग निर्वाह गर्नु, आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता बुझ्नु र प्राप्त गर्नु, अनि परमेश्वरप्रति समर्पित हुन र उहाँलाई प्रेम गर्न सिक्नु नै रित्तो जीवन नजिउने, अनि अर्थपूर्ण जीवन जिउने मार्ग हो। परमेश्वरको अनुमोदन प्राप्त गर्ने एक मात्र मार्ग यही हो। सधैँ परमेश्वरसँग सौदाबाजी गर्न खोज्नु, अनि मेहनत गर्नु र आफूलाई अर्पण गर्नुलाई स्वर्गको राज्यको आशिष्हरू साट्ने माध्यम बनाउनु नीच व्यवहार हो, र यसले अर्थ वा मूल्य नभएको जीवनतर्फ लैजान्छ। भविष्यमा मैले आशिष् पाउने छु कि छैनँ भन्ने कुरा मैले सोचिरहनु हुँदैनथ्यो। मैले त आफ्नो बाँकी रहेको प्रत्येक दिन सत्यता पछ्याउनुपर्थ्यो, परमेश्वरमा भर परेर आफ्नो कर्तव्य पूरा गर्न सक्दो प्रयास गर्नुपर्थ्यो, र स्वभावगत परिवर्तन पछ्याउनुपर्थ्यो। कुनै दिन म गम्भीर बिरामी पर्दा र मृत्युको सामना गरिरहँदा, अनि मसँग कर्तव्य निर्वाह गर्ने क्षमता नहुँदा पनि, म अझै पनि परमेश्वरका बन्दोबस्तहरूप्रति समर्पित रहनेथिएँ। मैले अहिले ध्यान केन्द्रित गर्नुपर्ने कुरा भनेको मेरो यस जीवनकालमा आफ्नो कर्तव्य निर्वाह गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न सक्दो प्रयास गर्नु हो। मेरो परिणाम जेसुकै होस्, चाहे जीवन होस् वा मरण, यो परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा निर्भर हुन्छ। यो मैले सृजित प्राणीका रूपमा ख्याल गर्नुपर्ने कुरा होइन। यसरी सोच्दा मैले धेरै हल्का महसुस गरेँ।
त्यसपछि, मैले नियमित रूपमा हरेक दिन परमेश्वरका वचनहरू पढ्न र भजनहरू सुन्न थालेँ। जब मलाई आफूले भ्रष्टता प्रकट गरेको महसुस हुन्थ्यो, तब म प्रार्थना गर्थेँ, सत्यता खोज्थेँ, मेरा शैतानी स्वभावहरूलाई चिन्थेँ, र मेरा ब्रदर-सिस्टरहरूसँगको खोजी र सङ्गतिमा खुलस्त हुन्थेँ। बिस्तारै मैले ती सबैबाट केही प्राप्त गरेँ। सामान्यतया, मैले निर्वाह गर्नुपर्ने कुनै कर्तव्य हुँदा म त्यसमा सक्रिय रूपमा लाग्थेँ, र मेरा वरपरका मानिसहरूलाई सकेसम्म सुसमाचार प्रचार गर्थेँ। ब्रदर-सिस्टरहरूले अनुभवात्मक गवाहीका लेखहरू लेखेको देख्दा, म पनि परमेश्वरको गवाही दिन मेरा अनुभवहरूलाई लेखमा ढाल्ने अभ्यास गर्थेँ। यो सबै गर्दा मलाई सन्तुष्टि र शान्ति मिल्थ्यो।
एक दिन, मैले परमेश्वरका वचनहरूको यो भजन सुनेँ: “सृजित प्राणी परमेश्वरको योजनाबद्ध कार्यको कृपामा हुनुपर्छ।” यसबाट म एकदमै प्रभावित भएँ। पत्रुसको अनुभवबारे उल्लेख गरिएको दोस्रो खण्ड मेरा लागि विशेष रूपमा हृदयस्पर्शी थियो। परमेश्वरका वचनहरूले भन्छन्: “विगतमा, परमेश्वरका खातिर पत्रुसलाई क्रूसमा उल्टो टाँगियो; तर यी अन्तिम दिनहरूमा तैँले परमेश्वरलाई सन्तुष्ट पार्नुपर्छ, र तेरा सबै ऊर्जा उहाँका लागि खर्चनुपर्छ। एक सृजित प्राणीले परमेश्वरका लागि के गर्न सक्छ? परमेश्वरले चाहेअनुसार तँलाई योजनाबद्ध गर्नका लागि तैँले अग्रिम रूपमा आफूलाई परमेश्वरप्रति अर्पण गर्नुपर्छ। त्यसले परमेश्वरलाई खुसी र प्रसन्न तुल्याएसम्म उहाँले आफ्नो अभिप्रायअनुसार तँसँग जे गर्न चाहनुहुन्छ उहाँलाई त्यही गर्न दे। मानिससँग गुनासोका शब्दहरू बोल्ने के अधिकार छ र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय ४१)। मैले यसलाई बारम्बार सुनेँ, र मलाई अझै सुनूँ जस्तो लागिरह्यो। यसको हरेक हरफ मेरा निम्ति प्रेरणादायी र हृदयस्पर्शी थिए, र मैले आफ्ना आँसुहरूलाई बगिरहनबाट रोक्न सकिनँ। म शैतानद्वारा भ्रष्ट तुल्याइएको सृजित प्राणी थिएँ र यति पाको उमेरसम्म जिएको थिएँ, तर मसँग अझै पनि परमेश्वरलाई पछ्याउने र उहाँको कामको अनुभव गर्ने, आफ्नो कर्तव्य निर्वाह गर्ने र परमेश्वरको साक्षी दिने मौका थियो। कति अद्भुत आशिष्! अहिले, परमेश्वरको वचन खाएर-पिएर, म आफ्ना भ्रष्टताहरू बुझ्न सक्ने भएको छु, र आशिष्हरू पाउनका लागि मेरा स्वार्थी र घृणास्पद मनसायहरू बदलेको छु। यो परमेश्वरको अनुग्रह हो! परमेश्वरले मलाई केही दिनु भएन भने पनि, म अन्त्यसम्मै उहाँको प्रशंसा गर्नेछु। मेरो जीवन अझै पनि सार्थक रहनेछ! म परमेश्वरप्रति समझदार र समर्पित सृजित प्राणी बन्ने कुराको खोजी गर्नेछु। मेरो स्वास्थ्य जस्तो भए पनि वा मेरो परिणाम जे भए पनि, म परमेश्वरलाई उहाँकै इच्छाअनुसार नै योजनाबद्ध गर्न दिन तत्पर छु।