१०. नबुझीकन बुझेको नाटक गर्दा मैले दुःख पाएँ

ट्यामी, दक्षिण कोरिया

म मण्डलीका निम्ति डिजाइनको काम गरिरहेकी थिएँ। समय क्रममा, विभिन्न प्रकारका डिजाइन र चित्रहरू पूरा गर्दै जाँदा, मेरा सीपहरू धेरै निखारिए, र मलाई टोली अगुवा हुने भनेर चुनियो। मैले मनमनै विचार गरेँ, “म टोली अगुवाका रूपमा चुनिनु भनेको मसँग केही सीप र कार्य सामर्थ्य छन्, म अरू ब्रदर-सिस्टरहरूभन्दा असल छु अनि यो कामको जिम्मेवारी सम्हाल्न सक्छु। मैले यस कर्तव्यको कदर गर्नुपर्छ, मिहिनेत गर्नुपर्छ, सत्यता सिद्धान्तहरू खोज्नुपर्छ, र सक्दो प्रयास गर्नुपर्छ। मैले मण्डलीको काममा रोकावट ल्याउने खालका गल्तीहरू गर्नु हुँदैन। मैले सबैलाई म टोली अगुवा बन्न योग्य छु भनेर देखाउनुपर्छ।”

एकदिन मण्डली अगुवा आएर मलाई भन्नुभयो, “मण्डलीलाई हाम्रो एउटा भजन भिडिओका लागि ब्याकग्राउन्ड चित्र चाहिएको छ। हाम्रा पहिलेका ब्याकग्राउन्डहरूभन्दा यो बनाउन अलि गाह्रो हुनेछ। अरू सबै जना अहिले विभिन्न डिजाइनका व्यस्त रहनुभएकाले, हामी यो काम तपाईँलाई दिन चाहन्छौँ। तपाईँ यो गर्न सक्नुहुन्छ नि?” मेरा अगुवाको कुरा सुनेपछि मैले सोचेँ, “मैले पहिले कहिल्यै यस्तो गाह्रो ब्याकग्राउन्ड बनाएकी छैनँ, म राम्रा नतिजाहरूको ग्यारेन्टी गर्न सक्छु भनेर पक्का भन्न सक्दिनँ।” तर फेरि मैले विचार गरेँ, “अगुवा र ब्रदर-सिस्टरहरूले यो प्रोजेक्टमा ध्यान दिइरहेका हुनेछन्—मैले यो कर्तव्य निर्वाह गर्न थालेको दुई वर्षभन्दा बढी भइसक्यो, मैले थुप्रै गाह्रा समस्या र कामहरू सम्हालेकी छु, अनि राम्रै सीप सिकेकी छु। सायद यो पहिलो पटक होला, म यति गाह्रो ब्याकग्राउन्डमा हात हाल्दैछु, र पक्कै पनि केही अप्रत्याशित समस्या त आउनेछन्, तर मैले यस खालको काम पनि सम्हाल्न सकिनँ भने अरूले मेरा बारेमा के सोच्नेछन्? यदि मैले यो गर्न सकिनँ भने, के तिनीहरूले मसँग कार्य सामर्थ्य छैन अनि मैले आफ्नो कर्तव्यमा प्रगति नै गरेकी छैन भनेर सोच्नेछन्? अरू ब्रदर-सिस्टरहरू अहिले आ-आफ्नै प्रोजेक्टमा काम गरिरहेका छन्, अनि यस्तो बेला मलाई सघाउन अरू कसैलाई पठाउनुपर्‍यो भने, सबैले पक्कै सोच्नेछन् कि म ठूला जिम्मेवारीहरू सम्हाल्न सक्दिनँ, कठिन क्षणहरूमा म ठूलो बोझ उठाउन सक्दिनँ अनि म ठूलो कामका लागि योग्य छैन। म त्यस्तो हुन दिन सक्दिनँ! मैले जसरी भएपनि यो प्रोजेक्ट लिनैपर्छ। म नजानेका कुराहरू खोजेरै भए पनि सबै काम सही तरिकाले पूरा गर्नेछु र म चुनौतीपूर्ण कामहरू सम्हाल्न सक्छु भनेर सबैलाई देखाउनेछु।” यस्तो निधो गरेपछि, मैले निर्धक्क भएर जवाफ दिएँ, “म यो गर्न सक्छु, कुनै समस्या छैन। यो अरूभन्दा अलि गाह्रो र बढी मिहिनेत चाहिने ब्याकग्राउन्ड मात्र त हो नि। अलि बढी मिहिनेत गरेँ भने म राम्रो गुणस्तरको ग्यारेन्टी दिन सक्छु।” म ढुक्क भएको देखेर अगुवाले टाउको हल्लाउनुभयो अनि भन्नुभयो, “हामीसँग यो ब्याकग्राउन्ड बुझाउने समय एकदमै कम छ अनि यो डिजाइनले भजनभित्रको अर्थ र भावना झल्काउनुपर्छ। डिजाइन गर्दा तपाईँलाई कुनै समस्या भयो भने, हामीलाई तुरुन्तै सम्पर्क गर्नुहोला।” मेरो सुपरिवेक्षकले पनि भन्नुभयो, “यदि साँच्चै नै काम बन्न सकेन भने हामीलाई सिधै भन्नुहोला, अनि हामी तपाईँलाई सघाउन कसैलाई खटाउनेछौँ।” मैले हुन्छ भन्दै टाउको हल्लाएँ, म उत्साहित र चिन्तित दुवै थिएँ: यति महत्त्वपूर्ण डिजाइनमा काम गर्न पाउँदा म उत्साहित थिएँ, किनभने मैले राम्रो गर्न सकेमा प्रशंसा कमाउनेथिएँ, तर यस्तो गाह्रो काम सम्हाल्न म सक्षम हुन्छु कि हुन्न, अनि उनीहरूले चाहेको जस्तो गुणस्तर दिन सक्छु कि सक्दिनँ भनेर चिन्तित पनि थिएँ। तर जे भएपनि, म सबैलाई निराश पार्न सक्दिनथेँ। यो दुर्लभ मौकाको अधिकतम सदुपयोग गर्नका लागि मैले तुरुन्तै अध्ययन सुरु गर्नुपर्थ्यो, अनि काम गर्दै जाँदा नयाँ कुराहरू प्रयोग गरेर हेर्नुपर्थ्यो। यो काम जतिसुकै गाह्रो भएपनि म यसलाई पूरा गरेरै छाड्नेथिएँ।

डिजाइन गर्दा गर्दै, समय त उडेर गइरहेजस्तै लाग्यो अनि हरेक प्रकारका समस्याहरू देखा पर्न थाले। ममाथि दबाब बढ्दै गइरहेको म महसुस गर्न सक्थेँ। अगुवा र सुपरिवेक्षकले मेरो कामको प्रगति र कुनै समस्या परेको छ कि भनेर सोधिरहनुहुन्थ्यो। भित्रभित्रै एकदमै आत्तिएकी भए पनि, म उहाँहरूलाई सबै कुरा “राम्रै भइरहेको छ” भन्थेँ, तर वास्तवमा म कामिरहेकी हुन्थेँ: डिजाइनमा अझै पनि सुधार गर्नुपर्ने धेरै ठाउँ थिए। यसमा केही ठूला प्राविधिक फड्कोहरू पनि आवश्यक थिए। अन्तिम नतिजा कस्तो हुन्छ होला भन्ने मलाई साँच्चै केही थाहा थिएन। यदि यो राम्रो भएन भने, के सबैले म साँच्चै कति अदक्ष छु भनेर देख्नेछन्, अनि म सक्षम छैन र केवल फुर्ती लगाउन मात्र खोज्दै छु भन्नेछन्? मैले यो पूरा गर्छु भनेर बाचा गरिसकेकी हुनाले, अहिले आएर म यो गर्न सक्दिनँ भन्दा मेरो आफ्नै बेइज्जत हुनेछैन र? त्यसैले मैले जसोतसो हिम्मत जुटाएर काम गर्दै जाँदा आफैँ कुराहरू बुझ्दै जानुपरेको थियो। मैले अझै पनि कन्सेप्ट तयार पारिसकेकी थिइनँ, त्यसैले सोचविचार गर्न अलि समय लाग्यो। एकपटक, अगुवा हाम्रो स्टुडियोमा आउनुभयो र केही बेर मैले काम गरेको हेर्नुभयो, त्यसैले मैले सबै कुरा मेरो नियन्त्रणमा छ भन्ने भान पार्न जानीजानी एउटा सजिलो भाग खोलेँ र त्यसलाई छिटो-छिटो कोर्न थालेँ। तर वास्तवमा, म यति आत्तिएकी थिएँ कि मेरा हत्केलामा पसिना आइरहेको थियो। अगुवा त्यहाँबाट जानेबित्तिकै, म फेरि त्यही गाह्रो भागमा फर्किएँ र दिमाग खियाउन थालेँ। मैले धेरै बेरसम्म सोचेँ, तर पनि यसलाई कसरी सम्हाल्ने भनेर कुनै उपाय निकाल्न सकिनँ। त्यति हुँदा पनि, अगुवाले मेरो कार्य सामर्थ्यमाथि प्रश्न उठाउनुहोला भन्ने चिन्ताले म समस्या छ भनेर स्वीकार्न चाहन्नथेँ। मैले सोचेँ, मैले यति ठूलो दाबी गरिसकेकी छु, त्यसैले अब पछि हट्नु लाजमर्दो हुनेछ। मैले बस दाँत किटेर काम गर्दै कुराहरू बुझ्दै अघि बढ्नुपर्ने थियो तर मैले प्रभावकारी रूपमा काम गर्न सकिरहेकी थिइनँ र भावनात्मक रूपमा गलिसकेकी थिएँ। अन्तिम रात मैले अबेरसम्म जागा रहेर डिजाइन गरेँ। मेरा अगुवा र सुपरिवेक्षकले यसलाई हेर्नुभयो अनि भन्नुभयो, यो राम्रो देखिएको छ र अब थोरै सुधार गरे पुग्छ। तैपनि, म आफैँलाई खुसी राख्न सकिरहेकी थिइनँ—म निराश भएँ।

पछि, मेरो उपासनाको समयमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “यदि तँ हृदयमा बारम्बार दोषको भावनाका साथ जिउँछस्, असहज महसुस गर्छस्, तँमा कुनै शान्ति वा आनन्द छैन, र यदि तँ अक्सर यावत् प्रकारका कुराहरूका बारेमा चिन्तित र व्याकुल हुन्छस् भने, यसले के देखाउँछ? यसले तँ सत्यता अभ्यास गर्दैनस्, र परमेश्‍वरप्रति आफ्नो गवाहीमा दृढ रहँदैनस् भन्ने मात्र देखाउँछ। जब तँ शैतानी स्वभावहरूमाझ जिउँछस्, तब तैँले आफ्नै इच्छाअनुसार काम गर्छस्, सत्यता अभ्यास गर्न मन पराउँदैनस्, र सत्यतालाई धोका समेत दिन्छस्, र आफ्ना लक्ष्यहरू हासिल गर्न कुनै पनि उपाय अपनाउँछस्। तैँले आफ्नो आडम्बर, अभिमान, ख्याति, हैसियत, र स्वार्थहरूको मात्रै रक्षा गर्छस्। के यो स्वार्थी र घृणास्पद हुनु होइन र? जब तँ सधैँ आफ्नै लागि र आफ्नै स्वार्थका लागि जिउँछस्, तब जीवन अत्यन्तै पीडादायी बन्छ। तँसँग धेरै स्वार्थी चाहनाहरू, उल्झन, बन्धन, संशय, र हैरानीहरू हुन्छन्; तँमा अलिकति पनि शान्ति वा आनन्द हुँदैन। भ्रष्ट देहका लागि जिउनु चरम दुःखबाहेक केही होइन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ)। परमेश्‍वरका वचनहरूबारे विचार गर्दा, मैले के महसुस गरेँ भने डिजाइन पूरा गरिसकेपछि पनि म खुसी हुन नसक्नु, र उल्टै गलिसकेको र दिक्दार महसुस गर्नुको कारण मभित्र हैसियतको अत्यधिक चाहना हुनु थियो। आफ्ना कमीहरू नखुलून् भनेर, मैले आफैँलाई लुकाएँ, अरूका अगाडि झूटो मुखौटा पहिरिएँ। के त्यो थकाउने कुरा थिएन र? पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ जसले मलाई आफ्नो भ्रष्ट स्वभाव अझ राम्ररी बुझ्न मद्दत गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरू अन्तर्निहित रूपमै सृजित प्राणी हुन्। के सृजित प्राणीहरूले सर्वशक्तिमान्‌ता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, सबै कुरा स्पष्ट रूपमा देख्न, र सबै कुराका लागि सक्षम हुन सक्छन्? तिनीहरूले सक्दैनन्। तैपनि, मानिसहरूभित्र एउटा भ्रष्ट स्वभाव हुन्छ र एउटा घातक कमजोरी हुन्छ: तिनीहरूलाई आफूले कुनै सीप वा पेसा सिक्नेबित्तिकै आफू सक्षम छु, आफू हैसियत र महत्त्व भएको मानिस हुँ, र आफू पेसेवार हुँ भन्‍ने लाग्छ। तिनीहरूको वास्तविक सामर्थ्य जस्तो भए पनि, तिनीहरू सबै आफूलाई प्रसिद्ध वा असाधारण व्यक्तिको भेषमा प्रस्तुत गर्न चाहन्छन्, केही हदसम्म प्रसिद्ध व्यक्ति बन्न, र अरूलाई आफू एउटै पनि खोट नभएको सिद्ध र दोषरहित रहेको सोच्न लगाउन चाहन्छन्; तिनीहरू अरूको नजरमा भव्य र प्रभावशाली छविसहितको, कुनै पनि कुरा गर्ने क्षमता भएको, र आफूले गर्न नसक्ने केही पनि नभएको, कुनै सक्षम, शक्तिशाली, असाधारण, वा प्रसिद्ध र महान् व्यक्ति देखिन चाहन्छन्। तिनीहरू आफूले अरूको सहायता खोजेमा, आफू असक्षम र हीन देखिने, र मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्ने सोच्छन्। यसकारण, तिनीहरू सधैँ नाटक गर्न चाहन्छन्। कतिपय मानिसलाई कुनै काम गर्न लगाइँदा, उनीहरू आफूलाई त्यो गर्न आउँछ भनेर भन्छन् तर वास्तवमा तिनीहरूले त्यो जानेका हुँदैनन्। पछि, गुप्त रूपमा उनीहरू त्यसबारे खोजी गर्छन् र त्यो कसरी गर्ने भनी सिक्‍ने कोसिस गर्छन्, तर अन्ततः केही दिनसम्म अध्ययन गरेपछि पनि तिनीहरूले अझै त्यसलाई कसरी गर्ने भनेर बुझ्दैनन्। तिनीहरूले त्यो कसरी गर्दै छन् भनी सोधिँदा, तिनीहरू भन्छन्, ‘यो लगभग, लगभग सकियो!’ तर हृदयमा, तिनीहरूले यस्तो सोचिरहेका हुन्छन्, ‘यो अहिले सकिने त कुरै छैन, मैले केही बुझेको छैन, के गर्ने मलाई थाहा छैन! मैले मेरो भित्री कुरा फुत्काउनु हुँदैन, मैले मुखौटा ओढ्न जारी राख्‍नुपर्छ, मैले मानिसहरूलाई मेरा कमीकमजोरी र अज्ञानता देखाउनु हुँदैन, मैले तिनीहरूलाई मलाई हेप्‍न दिनु हुँदैन!’ यो कस्तो समस्या हो? यो कुनै पनि हालतमा आफ्‍नो इज्‍जत बचाउन भोग्ने कष्ट मात्र हो। यो कस्तो किसिमको स्वभाव हो? त्यस्ता मानिसहरूको अहङ्कारको कुनै सीमा हुँदैन, तिनीहरूले सबै समझ गुमाइसकेका हुन्छन्। तिनीहरू साधारण मानिस बन्‍न चाहँदैनन्, तिनीहरू मामुली, सामान्य मानिस बन्‍न चाहँदैनन्, बरु महामानव, असाधारण व्यक्ति, वा सक्षम मानिस बन्न चाहन्छन्। यो निकै ठूलो समस्या हो! सामान्य मानवताभित्रका कमजोरीहरू, कमीहरू, अज्ञानता, मूर्खता, र समझको कमीको सम्बन्धमा भन्दा, तिनीहरूले ती सबै कुरा पोको पार्छन्, र अरू मानिसहरूलाई त्यो देख्न दिँदैनन्—तिनीहरू आफ्नो भेष बदलिरहन्छन्। … मलाई भन, के यस्ता मानिसहरू सधैँ कुहिरोमा जिइरहेका हुँदैनन् र? के तिनीहरू सपना देखिरहेका छैनन् र? तिनीहरू आफूलाई चिन्दैनन्, तिनीहरू आफू को हुन् भन्ने जान्दैनन्, र तिनीहरू सामान्य मानवतामा जिउन जान्दैनन्। तिनीहरूले मानिसहरूले गर्नुपर्ने काम व्यावहारिक तरिकाले कहिल्यै गरेका छैनन्, न त तिनीहरू कहिल्यै सामान्य व्यक्तिजस्तो जिएका नै छन्। यदि तँ सधैँ अलमल्लमा र अन्योलपूर्ण तरिकामा जिउँछस्, व्यावहारिक तरिकामा कामकुराहरू गर्दैनस् र सधैँ आफ्ना कल्पनाहरूअनुसार जिउँछस् भने, यसले समस्या ल्याउँछ—तँ आफूलाई कसरी आचरणमा ढाल्ने भनेर जान्दैनस् र तैँले रोजेको जीवन मार्ग गलत छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्‍वरका वचनहरूले मेरो वर्तमान स्थितिको खुलासा गरे। डिजाइनमा केही समय काम गरिसकेकी, केही सीपहरू सिकिसकेकी र टोली अगुवासमेत छानिएकी हुनाले, मैले आफूसँग कार्य सामर्थ्य छ र म एक दुर्लभ प्रतिभाशाली व्यक्ति हुँ भन्ने ठानेँ। आफैँबारे यसरी सोच्न थालेपछि, अरूले मेरा बारेमा के सोच्छन् भन्ने कुरामा मैले विशेष ध्यान दिन थालेँ, उहाँहरूले मेरा कमीहरू पत्ता लगाउनुहोला र म यो कामका लागि योग्य छैन भन्नुहोला कि भन्ने चिन्ता लाग्थ्यो। विशेष गरी यो ब्याकग्राउन्ड चित्रको सन्दर्भमा, मैले पहिले कहिल्यै यति गाह्रो काम गरेकी थिइनँ, र म सफल हुन्छु कि हुन्न भन्ने कुरामा म आफै पक्का थिइनँ, तर आफ्नो प्रतिष्ठा र हैसियत जोगाउनका लागि, अनि मेरा सुपरिवेक्षक र अगुवाको भरोसा जित्नका लागि, मैले सबै कुरा आफ्नै नियन्त्रणमा भएको नाटक गरेँ। जब मैले समस्याहरूको सामना गरेँ र मेरो कुनै प्रगति भइरहेको थिएन, मैले मद्दत मागिनँ, बरु एक्लै सङ्घर्ष गरिरहेँ। जब मेरा अगुवाले मेरो प्रगति वा समस्याहरूका बारेमा सोधपुछ गर्नुभयो, म पूरै अन्योलमा परेकी भए पनि मैले उहाँलाई आफ्ना वास्तविक समस्याहरूबारे बताइनँ। बरु, मैले अगुवा र सुपरिवेक्षकलाई ढाँटे र छल गरेँ, यहाँसम्म कि अगुवालाई म यो काम पूरा गर्न सक्छु भन्ने भान पार्नका लागि आफू निकै सिपालु भएको नाटकसमेत गरेँ। मैले मेरा कमीहरू लुकाउनका लागि हरेक पक्षमा झूटो मुखौटा पहिरिएँ। अरूले मलाई जे पनि गर्न जान्ने र सबै कुरा थाहा भएको सोचून् भनेर म सधैँ आफूलाई एक प्रतिभाशाली कामदार भएजस्तो गरी प्रस्तुत गर्थेँ। मलाई आफू म एकदमै पाखण्डी र अहङ्कारी रहेछु भन्ने महसुस भयो। परमेश्‍वरका वचनहरूले भन्छन्: “मानिसहरू अन्तर्निहित रूपमै सृजित प्राणी हुन्। के सृजित प्राणीहरूले सर्वशक्तिमान्‌ता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, सबै कुरा स्पष्ट रूपमा देख्न, र सबै कुराका लागि सक्षम हुन सक्छन्? तिनीहरूले सक्दैनन्।” वास्तवमा, एउटा भ्रष्ट व्यक्ति कसरी सिद्ध र सर्वगुणसम्पन्न हुन सक्छ र? आफ्नो कर्तव्यमा कतिपय कुरा नबुझ्नु वा गर्न नसक्नु सामान्य कुरा हो, तर आफ्ना कमीहरूप्रति ममा त्यस्तो मनोवृत्ति थिएन। त्यसको सट्टा, म आफूलाई एक प्रतिभाशाली व्यक्तिका रूपमा चित्रण गर्न मरिहत्ते गर्थेँ। म केवल एक औसत, खोट भएको सृजित प्राणीका रूपमा देखिन चाहन्नथेँ। म सिद्ध र खोटरहित बन्न खोज्थेँ। म यति अहङ्कारी थिएँ कि मैले आफ्नो समझ नै गुमाएकी थिएँ। मैले आफ्नो कर्तव्यमा सधैँ झूटो मुखौटा पहिरिने, अरूले मेरो वास्तविकता देख्लान् कि भनेर चिन्ता लिने, र आफूले नबुझेका कुरामा मद्दत नमाग्ने गरेकी कारणले गर्दा, चाँडै सकिनुपर्ने डिजाइन ढिलो गरी अघि बढ्यो, अनि म भावनात्मक रूपमा गल्न पुगेँ। मैले खोटरहित हुन खोज्नु मेरो मूर्खता रहेछ भन्ने महसुस गरेँ। म सधैँ आफ्ना कमीहरू लुकाइरहन्थेँ, तिनलाई स्विकार्ने र सामना गर्ने साहस ममा थिएन। फलस्वरूप, आफ्नो कर्तव्यमा म थकित हुने र पाखण्डी बन्ने मात्र होइन, मैले मण्डलीको काममा पनि ढिलासुस्ती गराएँ। यो कुरा महसुस गरेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! तपाईँको अन्तर्दृष्टि र मार्गदर्शनका लागि धन्यवाद, जसले मलाई यो मेरो लुकाउने बानी कति दयनीय रहेछ भनेर देख्न मद्दत गरेको छ। भविष्यमा म आफ्नो पछ्याइपछाडिको गलत दृष्टिकोणलाई सच्याउन, मेरा कमीहरूप्रति सही मनोवृत्ति राख्न, नबुझेको बेला सोध्न, कुराहरू लुकाउने र नाटक गर्ने बानीबाट टाढा रहन, अनि व्यावहारिक भएर आफ्नो कर्तव्य निर्वाह गर्न तयार छु।”

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। आफूलाई कसरी खोल्ने भनी सिक्नु जीवन प्रवेशतर्फको पहिलो कदम हो, र यो पहिलो तगारो हो, जसलाई पार गर्न सबैभन्दा कठिन हुन्छ। तैँले यो तगारो पार गरेपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ। जब तैँले यो कदम चाल्छस्, तब यसले के सङ्केत गर्नेछ? यसले के सङ्केत गर्नेछ भने, तँ आफ्नो हृदय खोलिरहेको छस्, र तेरा हरेक पक्षलाई—चाहे त्यो असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक—अरू मानिसहरू र परमेश्‍वरले देख्‍ने गरी उदाङ्गो पारिरहेको र खोलिरहेको छस्, परमेश्‍वरबाट कुनै कुरा लुकाइरहेको वा ढाकछोप गरिरहेको, परमेश्‍वरप्रति कुनै छद्मभेष, छल, वा कपट प्रयोग गरिरहेको छैनस्, र त्यसरी नै अरू मानिसहरूसँग पनि स्पष्ट भइरहेको छस्। यसरी, तँ ज्योतिमा जिउनेछस्; परमेश्‍वरले तेरो छानबिन त गर्नुहुन्छ नै, तेरा कार्यहरूमा सिद्धान्त र पारदर्शिता छ भनी अरू मानिसहरूले पनि देख्नेछन्। तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले के महसुस गरेँ भने, यदि म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न र परमेश्‍वरद्वारा अनुमोदित हुन चाहने हो भने सत्यताको खोजी गर्नु नै मुख्य कडी हो। मैले जस्तोसुकै भ्रष्ट स्वभावहरू प्रकट गरे पनि वा मेरो कर्तव्यमा जस्तोसुकै समस्याहरू रहे पनि, मैले प्रार्थनामा परमेश्‍वरसामु खुलस्त भएर मार्गदर्शन खोज्नुपर्थ्यो, प्रतिष्ठा र हैसियतको मेरो चाहनालाई विसर्जन गर्नुपर्थ्यो, ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्ने प्रयास गर्नुपर्थ्यो, कुराहरू लुकाउने र झूटो रूप देखाउने बानी छाडेर खुलस्त रूपमा प्रस्तुत भई सबैलाई मेरो वास्तविकता देख्न दिनुपर्थ्यो, आफूले जति गर्न सक्छु त्यति मात्र गर्ने, नसकेको बेला त्यो स्विकार्ने, र अरूसँग मिलेर सत्यता खोज्ने गर्नुपर्थ्यो। यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा कम थकानयुक्त र कम बाधक हुन्थ्यो—यो आनन्ददायी हुनेथियो। यो महसुस गरेपछि, मैले सम्पूर्ण डिजाइन प्रक्रियामा आफूले प्रकट गरेको भ्रष्टताबारे ब्रदर-सिस्टरहरूसँगको सङ्गतिमा खुलस्त रूपमा बताएँ र आफूले सामना गरेका समस्याहरूलाई उहाँहरूमाझ छलफलका लागि राखेँ। ब्रदर-सिस्टरहरूले मलाई सफ्टवेयर चलाउने र रेखाचित्र कोर्ने केही नयाँ प्रविधि र तरिकाहरू सिकाउनुभयो। त्यसपछि, मैले त्यो ब्याकग्राउन्ड चित्र पूरा गर्ने कामलाई निरन्तरता दिएँ, र सम्पूर्ण प्रक्रिया एकदमै सहज रूपमा अघि बढ्यो। पछि, केही ब्रदर-सिस्टरले मलाई भन्नुभयो, “तपाईँको ब्याकग्राउन्ड चित्र पहिलेका भन्दा धेरै राम्रो देखिएको छ। कुनै समय आफ्नो यो अनुभव र सिकाइ हामीसँग बाँड्नुहुन्छ कि?” यो कुरा सुन्दा मलाई धेरै खुसी लाग्यो र आफू वास्तवमै केही उपयोगी बन्न सकेको महसुस भयो। त्यो ब्याकग्राउन्ड डिजाइन गर्दाको मेरो अनुभवलाई फर्केर हेर्दा, मैले के बुझेँ भने आफूमा कमीहरू हुनु कुनै गलत कुरा होइन र अरूले ती कमीका बारेमा थाहा पाउँदैमा कुनै हानि हुँदैन। खुलस्त हुनु र सत्यता खोज्न सक्नु, अनि आफ्ना अनुचित अभिप्रायहरू र चाहनाहरूलाई पन्छाउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यसरी कर्तव्य निर्वाह गर्दा शान्ति र सहजता मिल्ने रहेछ।

बिस्तारै, म गाह्रो प्रोजेक्टहरूका लागि गुणस्तरीय डिजाइनहरू दिन सक्ने भएँ अनि अरू ब्रदर-सिस्टरहरूले भन्दा धेरै बढी परिष्कृत डिजाइनहरू तयार गरिरहेकी थिएँ। उहाँहरू सधैँ मसँग डिजाइन कन्सेप्ट र अन्य प्राविधिक प्रश्नहरूबारे सल्लाह माग्ने गर्नुहुन्थ्यो। सुरु-सुरुमा त, म आफूलाई थाहा भएको कुराहरू बताइदिन्थेँ, तर सोध्नेहरूको सङ्ख्या बढ्दै जाँदा अन्जानमै मैले यस्तो सोच्न थालेँ, “अहिले त सबैले मेरा प्रतिभाहरू स्वीकारेका छन् जस्तो छ। नत्र, उनीहरूले मसित किन सल्लाह माग्थे र?” थाहै नपाई, म यो सन्तुष्टिको भावनामा साँच्चिकै रम्न थालेँ अनि म आफैँसँग निकै दङ्ग परेँ। तर त्यसपछि एउटा बिलकुलै अप्रत्याशित घटना घट्यो। एउटा भजनका लागि मैले डिजाइन गरेको ब्याकग्राउन्ड चित्रहरूमध्ये एउटामा, मेरा अगुवाले सिद्धान्तहरू उल्लङ्घन गर्ने एउटा समस्या देख्नुभयो र विचलनहरूबारे विश्लेषण गर्न मलाई बोलाउनुभयो। उहाँले त्यो चित्र त्यसै दिनमा सम्पादन गरिसक्नुपर्छ नत्र काममा ढिलाइ हुनेछ भन्दै म आफैँले त्यो सम्पादन गर्न सक्छु कि अरूको मद्दत चाहिन्छ भनेर सोध्नुभयो। मैले मनमनै सोचेँ, “यो चित्र मैले डिजाइन गरेकी हुँ, त्यसैले यदि मैले यो अरू कसैलाई दिएँ भने, यसबाट मेरा सीपहरू पर्याप्त नरहेको देखिनेछैन र? के मानिसहरूले म ठूला कुरा मात्र गर्छु, तर आवश्यक पर्दा काम देखाउन सक्दिनँ भनेर सोच्नेछैनन् र? त्यस्तो हुनै सक्दैन! म अहिले हार मान्न सक्दिनँ। यदि मैले यो समस्या आफैँ हल गर्न सकेँ भने, म आफ्नो काम गर्न सक्छु, म भरोसायोग्य र संवर्धन गरिन योग्य छु भनेर सबैले थाहा पाउनेछन्।” यो कुरा गुनेर, मैले अगुवालाई सिद्धान्तहरूअनुसार म आफैँ यसलाई सच्याउनेछु भनेर जवाफ दिएँ। सम्पादन गर्ने क्रममा, चित्रको एउटा भागका लागि मैले कुनै राम्रो कन्सेप्ट निकाल्नै सकिरहेकी थिइनँ। समय घर्किँदै गइरहेको थियो र म अझै त्यही कन्सेप्टमा अल्झिरहेकी थिएँ, जसले गर्दा म निकै तनावमा परेँ, म बस जतिसक्दो चाँडो यसलाई पूरा गर्न चाहन्थेँ, तर मैले डिजाइनमा जति नै फेरबदल गरे पनि, त्यो मिलिरहेको थिएन। म बिहानको ५ बजेसम्म त्यही कन्सेप्टमा अल्झिरहेँ, तैपनि केही सोच्न सकिनँ। मेरो दिमाग शून्य भएको थियो। तब मात्र मैले मलाई किन यो समस्या भइरहेको छ भनेर जाँच गर्न थालेँ। मलाई अचानक मेरो डिजाइनले सिद्धान्तहरू उल्लङ्घन गर्नुको कारण मैले सिद्धान्तका केही पक्ष नबुझेकाले रहेछ भन्ने महसुस भयो। यो सम्पादन गर्नुपरेकाले काममा पहिल्यै ढिलाइ भइसकेको थियो। मेरो सम्पादनले समस्याहरू हल गर्नेछ त भन्ने कुरामा म निश्चित थिइनँ, र यो चित्र तत्काल चाहिएको थियो, त्यसैले मैले सहकार्यका लागि कोही खोज्नुपर्छ भन्ने मलाई थाहा थियो। तर आफ्नो हैसियत र प्रतिष्ठा कायम राख्न, अनि आफ्ना कमीहरू लुकाउन, म एक्लै सङ्घर्ष गरेर यसलाई पार लगाउन खोजिरहेकी थिएँ। के मैले मण्डलीको काममा ढिलाइ गराइरहेकी थिइनँ र? यो कुरा बुझेपछि मलाई निकै ग्लानि भयो र पश्चात्ताप गर्न मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! म मेरो भ्रष्ट स्वभावले बाँधिएकी छु। कुनै समस्या आउनेबित्तिकै, अरूले मेरो प्रशंसा गरून् भनेर म सबै कुरा ठीकठाक भएझैँ नाटक गर्छु। म आफ्ना कमीहरूको उचित तरिकाले सामना गर्न सक्दिनँ। यसरी आफ्नो कर्तव्य निर्वाह गर्नु त निकै थकाइलाग्दो हुन्छ! प्रिय परमेश्‍वर, कृपया मलाई मेरो भ्रष्टता चिन्न र मेरो अभिमान त्याग्न मार्गदर्शन दिनुहोस्, ताकि म तपाईँका वचनहरूअनुसार अभ्यास गर्न सकूँ।” प्रार्थनापछि, मैले परमेश्‍वरका यी वचनहरू सम्झिएँ: “तँ सधैँ महानता, कुलीनता र हैसियत पछ्याउँछस्; तँ सधैँ अरूभन्दा श्रेष्ठ हुन खोज्छस्। यस्तो देख्दा परमेश्‍वरले कस्तो महसुस गर्नुहुन्छ? उहाँ यसलाई घृणा गर्नुहुन्छ र उहाँ आफूलाई तँबाट टाढा राख्नुहुन्छ। तँ जति धेरै महानता र नैतिक श्रेष्ठता पछ्याउँछस्, र अरूभन्दा अब्बल हुन, भिडभन्दा माथि उठ्न, असाधारण बन्न, र उल्लेखनीय बन्न खोज्छस्, परमेश्‍वरलाई तँप्रति त्यति नै धेरै वितृष्णा हुन्छ। यदि तँ आत्मचिन्तन र पश्चात्ताप गर्दैनस् भने, परमेश्‍वरले तँलाई घृणा र अस्वीकार गर्नुहुनेछ। तँ परमेश्‍वरले वितृष्णा गर्ने व्यक्ति कदापि बन्नु हुँदैन; तँ परमेश्‍वरले प्रेम गर्ने व्यक्ति बन्नैपर्छ। त्यसोभए, तँ परमेश्‍वरले प्रेम गर्ने व्यक्ति कसरी बन्न सक्छस्? आज्ञाकारी भई सत्यता स्वीकार गर्, एक सृजित प्राणीका रूपमा आफ्नो उचित स्थानमा बस्, धरातलमा टेकेर परमेश्‍वरका वचनहरूका आधारमा काम गर्, आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्, एक इमानदार व्यक्ति बन्, र मानव रूपमा जि। यति नै पर्याप्त छ, र यसले परमेश्‍वरलाई सन्तुष्ट पार्नेछ। मानिसहरूले महत्त्वाकाङ्क्षाहरू वा व्यर्थका सपनाहरू कदापि पाल्नु हुँदैन, तिनीहरूले ख्याति, प्राप्ति, र हैसियत पछ्याउनु हुँदैन, वा भिडभन्दा माथि उठ्न खोज्नु हुँदैन। त्योभन्दा पनि बढी, तिनीहरूले अतिमानव वा महान् व्यक्तित्व बन्न, अरूभन्दा अब्बल हुन, र अरूलाई तिनीहरूको मूर्तिपूजा गर्न लगाउन खोज्नु हुँदैन। भ्रष्ट मानिसहरूले लालसा गर्ने कुरा यही हो, र यो शैतानको मार्ग हो; परमेश्‍वर त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न। यदि मानिसहरूले निरन्तर ख्याति, प्राप्ति, र हैसियत पछ्याउँछन् र हठी भई पश्चात्ताप गर्न इन्कार गर्छन् भने, तिनीहरूले छुटकारा पाउन सक्दैनन्, र तिनीहरूका लागि एउटा मात्र परिणाम हुन्छ: हटाइ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्‍वरका वचनहरूले मेरो ठीक त्यही स्थितिलाई सम्बोधन गरेका थिए: म सधैँ प्रतिष्ठा, हैसियत, र प्रशंसाको पछि लागिरहेकी थिएँ। जब मैले अरूभन्दा बढी परिष्कृत डिजाइनहरू तयार गर्न सकेँ र गुणस्तरको ग्यारेन्टीसहित चुनौतीपूर्ण प्रोजेक्टहरू पूरा गरेँ, म अन्जानमै अहङ्कारी भएँ। अझ त्यसमाथि, जब अरू ब्रदर-सिस्टरहरू प्रश्नहरू लिएर मकहाँ आइरहन्थे, तब म गहिरो सन्तुष्टिको अनुभूति गर्थेँ र प्रशंसित भएको भावनामा रमाउँथेँ। मेरो एउटा चित्रमा समस्या देखिएर फिर्ता आउँदा, र अगुवाले समयका कारण सम्पादनमा अर्को कुनै ब्रदर वा सिस्टरको मद्दत लिन सुझाउँदा, मैले मण्डलीको कामलाई ख्याल गरिनँ, बरू अरूको मद्दत लिँदा मेरो असक्षमता प्रकट होला कि भन्ने मात्र चिन्ता गरिरहेँ। आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन, अनि अरूको नजरमा तल पर्नबाट बच्नका लागि, मैले सम्पादनको काम आफैँ जिम्मा लिएँ। जब मैले समस्याहरू सामना गरेँ, तब मद्दत माग्नुको सट्टा, मैले जसोतसो गर्दै दिमाग खियाउन लागेँ, सबै कुरालाई अड्काएर राखेँ। बाहिरबाट हेर्दा, म आफ्नो कर्तव्यमा अतिरिक्त समय काम गरिरहेकी छु जस्तो देखिए पनि, वास्तविकतामा, म केवल त्यो चित्रलाई सुधारेर आफ्ना प्रतिभाहरू प्रमाणित गर्ने प्रयास गर्दै मानिसहरूमा म भरोसायोग्य र भरपर्दो छु भन्ने भान पार्न खोजिरहेकी थिएँ। मैले आफूभित्र प्रतिष्ठा र हैसियतको अत्यधिक चाहना रहेको देखेँ। परमेश्‍वरले हाम्रा विचारहरूको छानबिन गर्नुहुन्छ—मैले ब्रदर-सिस्टरहरूसँग छल गर्न सके पनि, परमेश्‍वरसँग छल गर्न सक्दिनथेँ, र मैले आफ्ना कमीहरू जतिसुकै राम्ररी लुकाए पनि, यदि मेरो भ्रष्ट स्वभाव बदलिएन र मैले सत्यता प्राप्त गरिनँ भने, परमेश्‍वरले अझै पनि मलाई घृणा गर्नुहुनेछ र हटाउनुहुनेछ। प्रतिष्ठा र हैसियतको पछ्याइमा मैले मण्डलीको काममा ढिलाइ गराएकी थिएँ, र यदि मैले चिन्तन गरिनँ र परमेश्‍वरसामु पश्चात्ताप गरिनँ भने, मैले केवल आफूप्रति र अरूसँग छल गरिरहेकी हुनेथिएँ, र आफैँलाई हानि पुर्‍याइरहेकी हुनेथिएँ। यो कुरा महसुस गरेपछि, मैले तुरुन्तै डिजाइनमा सिपालु सिस्टरलाई मद्दत गर्न अनुरोध गरेँ। उहाँ र मैले चित्र कसरी सम्पादन गर्ने भनेर छलफल गर्‍यौँ र त्यसपछि मेरो कन्सेप्ट धेरै स्पष्ट भयो। केही समयपछि, मैले सम्पादन पूरा गरेँ।

पछि, मैले म सधैँ आफ्ना कमीहरू लुकाउन खोज्छु भन्नेबारे चिन्तन गर्न जारी राखेँ। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड देखेँ जसले ममा गहिरो प्रभाव पार्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “के कतिपय कामहरू गर्न नआउनु लाजमर्दो कुरा हो? के सबै काम गर्न सक्‍ने कोही छ? केही कामहरू गर्न नआउनु लाजमर्दो कुरा होइन। तँ साधारण व्यक्ति मात्रै होस् भन्‍ने नबिर्सी। कसैले पनि तँलाई आदर वा आराधना गर्दैन। साधारण व्यक्ति भनेको त्यही हो: एक साधारण व्यक्ति। यदि तँलाई कुनै काम गर्न आउँदैन भने, गर्न आउँदैन भनेर भन् न। तँ किन आफूलाई ढाकछोप गर्ने प्रयास गर्छस्? यदि तैँले जहिल्यै आफूलाई ढाकछोप गरिरहेको हुन्छस् भने मानिसहरूले तँसँग घिन मान्नेछन्। ढिलो-चाँडो, तेरो कुरा खुलासा हुनेछ, र त्यस बेला, तैँले आफ्नो गरिमा र निष्ठा गुमाउनेछस्। यो ख्रीष्टविरोधीको स्वभाव हो—उसले जहिल्यै आफूलाई सबै कुराको ज्ञान भएको, सबै कुरा गर्न सक्ने, सबै कुरामा सक्षम र योग्य व्यक्तिको रूपमा लिन्छ। के यसले उसलाई समस्यामा पार्नेछैन र? यदि ऊसँग इमानदार मनोवृत्ति भएको भए उसले के गर्नेथियो? उसले यसो भन्नेथियो: ‘म यो प्राविधिक सीपमा दक्ष छैनँ; मसँग अलिकति अनुभव मात्रै छ। मैले आफूले जानेका सबै कुरा लागु गरेँ, तर हामीले सामना गरिरहेका यी नयाँ समस्याहरू मैले बुझेको छैनँ। त्यसकारण, यदि हामी आफ्नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छौँ भने हामीले केही पेसागत ज्ञान सिक्‍नुपर्छ। पेसागत ज्ञानमा निपुण भएमा यसले हामीलाई आफ्नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्ने तुल्याउनेछ। परमेश्‍वरले हामीलाई यो कर्तव्य सुम्पनुभएको छ, त्यसकारण यसलाई राम्ररी पूरा गर्ने जिम्मेवारी हाम्रो हो। हामीले आफ्नो कर्तव्यको जिम्मेवारी वहन गर्ने मनोवृत्तिका आधारमा यो पेसागत ज्ञान सिक्‍नुपर्छ।’ यो नै सत्यताको अभ्यास गर्नु हो। ख्रीष्टविरोधीको स्वभाव भएको व्यक्तिले यसो गर्नेथिएन। यदि कुनै व्यक्तिमा अलिकति समझ छ भने, उसले यसो भन्‍नेछ: ‘मलाई यति मात्रै थाहा छ। तिमीले मलाई सम्मान गर्नुपर्दैन, र मैले स्वाङ पार्नुपर्दैन—के त्यसले कामकुरालाई झन् सहज बनाउनेछैन र? सधैँ आफूलाई ढाकछोप गर्नु दुःखदायी कुरा हो। यदि हामीलाई कुनै कुरा थाहा छैन भने, हामीले सँगै सिक्न सक्छौँ अनि हाम्रो कर्तव्य राम्ररी पूरा गर्न सामञ्जस्यताका साथ सहकार्य गर्न सक्छौँ। हामीसँग जिम्मेवार मनोवृत्ति हुन जरुरी छ।’ यो देख्दा, मानिसहरूले यसो सोच्नेथिए, ‘यो व्यक्ति हामीभन्दा असल छ; कुनै समस्या सामना गर्दा, ऊ अन्धाधुन्ध आफूलाई आफ्नो सीमाभन्दा बाहिर जबरजस्ती धकेल्दैन, न त उसले यसलाई अरूको काँधमा थोपरिदिने वा जिम्‍मेवारीबाट पन्छिने नै गर्छ। बरु, उसले यस कुराको जिम्‍मेवारी आफै लिन्छ र यसलाई गम्भीर र जिम्मेवार मनोवृत्तिका साथ व्यवहार गर्छ। यो एउटा असल व्यक्ति हो जो आफ्नो काम र कर्तव्यप्रति गम्भीर र जिम्मेवार छ। ऊ भरोसायोग्य छ। परमेश्‍वरको घरले उसलाई यो महत्त्वपूर्ण कार्य सुम्पेर ठीक गर्‍यो। परमेश्‍वरले साँच्‍चै नै मानिसहरूको हृदयको गहिराइको छानबिन गर्नुहुन्छ!’ यसरी आफ्नो कर्तव्य पूरा गरेर, तिनीहरूले आफ्नो सीप सुधार्नेछन् र सबैको अनुमोदन प्राप्त गर्नेछन्। यो अनुमोदन कसरी आउँछ? पहिलो कुरा, तिनीहरूले आफ्नो कर्तव्यलाई गम्भीर र जिम्मेवार मनोवृत्तिका साथ व्यवहार गरिरहेका हुन्छन्; दोस्रो कुरा, तिनीहरू एउटा इमानदार व्यक्ति बन्‍न सक्छन्, र तिनीहरूसँग व्यावहारिक र अध्ययनशील मनोवृत्ति हुन्छ; तेस्रो कुरा, तिनीहरूसँग पवित्र आत्माको मार्गदर्शन र अन्तर्दृष्टि हुन्छ भन्‍ने कुरालाई नकार्न सकिँदैन। त्यस्तो व्यक्तिसँग परमेश्‍वरको आशिष् हुन्छ; विवेक र समझ भएको व्यक्तिले हासिल गर्न सक्‍ने कुरा यही हो। उसमा भ्रष्ट स्वभाव, कमी र कमजोरीहरू हुने भए पनि, र उसलाई धेरै कुरा कसरी गर्ने भन्‍ने थाहा नहुने भए पनि, ऊ अझै पनि अभ्यासको सही मार्गमा हुन्छ। उसले आफूलाई ढाकछोप गर्ने वा छल गर्ने गर्दैन; उसमा आफ्नो कर्तव्यप्रति गम्भीर र जिम्मेवार मनोवृत्ति हुन्छ, र सत्यताको तृष्णा गर्ने र त्यसप्रति भक्तिको मनोवृत्ति हुन्छ। ख्रीष्टविरोधीहरूले कहिल्यै यी कुराहरू गर्न सक्‍नेछैनन् किनभने तिनीहरूको सोच्ने तरिका सत्यतालाई प्रेम गर्ने र पछ्याउने मानिसहरूको भन्दा सधैँ फरक हुनेछ। तिनीहरू किन फरक तरिकाले सोच्छन्? किनभने तिनीहरूभित्र नै शैतानको प्रकृति हुन्छ; तिनीहरू शैतानको स्वभाव अनुसार जिउँछन् र सधैँ प्रतिष्ठा र हैसियत पछ्याउँछन्, र निरन्तर शक्ति हासिल गर्ने आफ्नो उद्देश्य पूरा गर्ने आशा राख्छन्। तिनीहरू सधैँ युक्ति र चलाकीहरूमा संलग्‍न हुन विभिन्‍न माध्यमहरू प्रयोग गर्न खोज्छन्, मानिसहरूलाई साम, दाम, दण्ड, भेदमार्फत बहकाएर आफ्‍नो आराधना गर्न र आफूलाई पछ्याउन लगाउँछन्। त्यसकारण, मानिसहरूको आँखामा छारो हाल्‍नका लागि, तिनीहरूले आफूलाई ढाकछोप गर्ने, चलाकी गर्ने, झूट बोल्ने, र छल गर्ने, अरूलाई तिनीहरू सबै कुरामा सही छन्, तिनीहरू सबै कुरामा सक्षम छन्, र तिनीहरूले जे पनि कुरा गर्न सक्छन्; तिनीहरू अरूभन्दा चलाख छन्, तिनीहरू अरूभन्दा बुद्धिमानी छन्, तिनीहरूले अरूले भन्दा बढी बुझ्छन्; तिनीहरू सबै कुरामा अरूभन्दा सिपालु छन्, र तिनीहरू हरेक हिसाबमा अरूभन्दा माथि छन्—तिनीहरू कुनै पनि समूहमा सर्वोत्कृष्ट छन् भन्‍ने कुरा विश्‍वास दिलाउन हर प्रकारका तरिकाहरू खोज्छन्। तिनीहरूमा यस्तो खाँचो हुन्छ; ख्रीष्टविरोधीहरूको स्वभाव यही हो। यसरी, तिनीहरूले आफू जे होइन त्यसको ढोँग गर्न सिक्छन्, र यस्ता विभिन्न अभ्यास र प्रकटीकरणहरू पैदा गर्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग तीन))। ख्रीष्टविरोधीहरू प्रकृतिले नै छली र दुष्ट हुन्छन्। आफ्नो हैसियत र प्रतिष्ठा जोगाउन, तिनीहरूले नगर्ने भन्ने केही हुँदैन; तिनीहरू झूटो मुखौटा पहिरिन्छन्, झूट बोल्छन् र अरूलाई छल गर्छन्। मैले हाम्रो मण्डलीबाट निष्कासित गरिएको एउटा ख्रीष्टविरोधीलाई सम्झिएँ: आफूलाई स्थापित गर्न र प्रशंसा बटुल्नका लागि, समस्या आइपर्दा ऊ मद्दत माग्दैनथ्यो, अनि आफूलाई थाहा भएभन्दा बढी जान्ने नाटक गर्थ्यो, आफ्नो हैसियत र छवि जोगाउन मण्डलीको काममा ढिलाइ गर्न रुचाउँथ्यो। ऊ आफ्ना सफलताहरू मात्र उल्लेख गर्थ्यो र आफ्ना असफलताहरू भन्दैनथ्यो, जसले गर्दा पटक-पटक मण्डलीको काममा नोक्सानी भयो, तर उसले कहिल्यै पश्चात्ताप गरेन। यसै कारण, उसलाई अन्ततः मण्डलीबाट निष्कासित गरियो। मैले उसको व्यवहारलाई आफ्नै व्यवहारसँग तुलना गरेँ: मैले आफ्नो कर्तव्यमा सत्यताका सिद्धान्तहरू खोज्ने कुरामा ध्यान दिइनँ, परमेश्‍वरको छानबिनलाई स्वीकार गरिनँ वा व्यावहारिक तरिकाले आफ्नो कर्तव्य निर्वाह गरिनँ, र अरूको प्रशंसा पाउन सधैँ झूटो मुखौटा पहिरिएँ। मेरो डिजाइनमा स्पष्ट रूपमा एउटा समस्या थियो, र यसलाई कसरी सम्पादन गर्ने भन्नेबारे मसँग स्पष्ट कन्सेप्ट थिएन, तर मैले मेरा ब्रदर-सिस्टरहरूसँग कुनै कुरामा खोजी वा छलफल गरिनँ, बरु आफैँले यसलाई हल गर्ने अड्डी कसेँ। मैले मण्डलीको कामलाई ख्याल गरिनँ, र अलिकति मात्र पनि आशा बाँकी रहँदासम्म म आफ्ना कमजोरीहरूलाई प्रकट गर्न चाहँदिनथेँ, मानौँ मण्डलीको काममा ढिलाइ हुनु कुनै ठूलो कुरा थिएन र सबैभन्दा महत्त्वपूर्ण कुरा मेरो छवि जोगाउनु थियो। मेरो छवि र हैसियतलाई खतरामा पार्ने कुराहरू लुकाउन मैले सबथोक गरेँ, चाहे त्यसो गर्नु जति नै थकाउने र कष्टकर किन नहोस्। मेरो तथाकथित “राम्रो छवि” गुमाउनु मेरो ज्यान गुमाउनुसरह हुनेछ भन्ने मलाई लाग्थ्यो। मेरा कार्यहरूले ख्रीष्टविरोधी स्वभावलाई प्रकट गरेका थिए। यो कुरा महसुस गरेपछि, मलाई अलिकति डर लाग्यो। मैले एउटा ख्रीष्टविरोधीले जस्तो सबै प्रकारका दुष्टताहरू गरेकी थिइनँ होला, तर म सधैँ प्रतिष्ठा, हैसियत र अरूको प्रशंसाकै खोजीमा रहन्थेँ, यहाँसम्म कि छली रूपमा कार्य गर्थेँ र अरूसँग छल गर्थेँ। यदि मैले यो स्वभावलाई समाधान नगरे, म अन्ततः परमेश्‍वरद्वारा प्रकट गरिएर हटाइनेथिएँ। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरी पश्चात्ताप गरेँ, मेरो अभिमान र हैसियतलाई फालेर उहाँका वचनहरूअनुसार अभ्यास गर्न तत्पर भएँ।

त्यसउपरान्त, मेरा डिजाइनहरूमा आफैले सम्हाल्न नसक्ने समस्याहरू आउँदा, म तुरुन्तै कसैलाई सम्पर्क गरेर खुलस्त भई सङ्गति गर्थेँ, अनि उहाँहरूका सुझावहरू खोज्ने र सुन्ने गर्थेँ। कहिलेकाहीँ, उहाँहरूलाई मसँगै बसेर डिजाइन गर्न भन्थेँ। एकपटक, मेरो डिजाइनमा फेरि अर्को समस्या आयो र केही बेर सोचविचार गर्दा पनि मैले अघि बढाउन सकिनँ। मेरा अगुवाले मेरो प्रगतिका बारेमा सोध्नुभयो र ममा झूटो मुखौटा पहिरिने सोच आयो, तर मलाई तुरुन्तै म फेरि हैसियत र प्रतिष्ठा जोगाउन खोज्दै छु भन्ने महसुस भयो। तब, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झिएँ: “यदि तँ कुनै कुरा पनि लुकाउँदैनस्, बाहिरी खोल ओढ्दैनस्, बहाना गर्दैनस्, कुराहरू ढाक्दैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूको सामु आफैलाई उदाङ्गो पार्छस्, तेरा भित्री सोच र विचारहरूलाई लुकाउँदैनस्, बरु अरूलाई तेरो निष्कपट मनोवृत्ति हेर्न दिन्छस् भने, सत्यले बिस्तारै तँमा जरा गाड्नेछ, यो फुल्नेछ र फल्नेछ, र यसले अलिअलि गर्दै परिणाम दिनेछ। यदि तेरो हृदय झन्-झन् इमानदार हुन्छ, र झन्-झन् परमेश्‍वरमा केन्द्रित हुन्छ भने, र यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्‍वरको घरका हितहरूतको रक्षा गर्न जान्दछस्, यी हितहरूको रक्षा गर्न नसक्दा तँलाई ग्लानि महसुस हुन्छ भने, यो कुरा सत्यले तँमा प्रभाव पारेको छ र त्यो तेरो जीवन बनेको छ भन्‍ने प्रमाण हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू एकदमै प्रेरणादायी थिए। मलाई थाहा थियो, मैले यसरी झूटो मुखौटा पहिरिरहने गर्नुहुँदैन; मैले आफ्ना कमीहरूको इमानदारीपूर्वक र शान्त भई सामना गर्नुपर्थ्यो। अरूले मेरा बारेमा जेसुकै सोचे पनि, मैले साँचो कुरा बोल्नुपर्थ्यो, र अरूसँग मिलेर समाधान खोज्नुपर्थ्यो। संयोगवश त्यस दिन एउटा भेला थियो, त्यसैले सङ्गतिमा मैले आफ्ना कठिनाइहरू र मैले प्रकट गरेका भ्रष्टताहरूबारे खुलस्त भएर बताएँ। बोलिसकेपछि, मैले हलुका महसुस गरेँ। मैले अरूसँग सबै कुरा छलफल गरेपछि, उहाँहरूले मलाई डिजाइन सुधार्ने तरिका निकाल्न मद्दत गर्नुभयो, र केही समयमै, मैले सम्पादन पूरा गरेँ। म धेरै खुसी भएँ! झूटो मुखौटा नपहिरिई खुलस्त र इमानदार हुनु कत्ति राम्रो हुँदो रहेछ भनेर मैले महसुस गर्न सकेँ! यो कुरा बुझ्न र रूपान्तरण हासिल गर्न सक्नु पूर्णतः परमेश्‍वरको मुक्तिले गर्दा नै सम्भव भएको थियो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ९. झुटा अगुवा बर्खास्तीबारे मेरा चिन्ताहरू

अर्को: ११. आफ्नो कर्तव्यमा मिहिनेत नगर्दा मलाई नै हानि भयो

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्