७०. म किन सिद्धान्तहरूमा अडिग रहन सक्दिनँ?
सन् २०२१ को अगस्टमा, मैले मण्डली अगुवाको रूपमा अभ्यास गर्न थालेँ। सुसमाचारको कामकी इन्चार्ज लिलियनसँगको अन्तरक्रियामा, मैले तिनले अक्सर मानिसहरूका सानातिना समस्यालाई ठूलो बनाएर सबैलाई सुनाउने गरेकी देखेँ। तिनी अरूसँग राम्ररी काम गर्न सक्दिनथिन् र सधैँ तथ्यविपरीत कुरा गर्थिन्। एक पटक भेलामा, तिनले अघिल्लो मण्डली अगुवाले सुसमाचारको काममा ध्यान नदिएको र आफ्नो काम कस्तो भइरहेको छ भनेर कहिल्यै नसोधेको बताइन्। तर वास्तवमा, ती अगुवा तिनको कामको बारेमा निरन्तर सोधखोज गरिरहन्थे। साथै, तिनी हाम्रो अगुवालाई काम धेरै राम्रोसँग भइरहेको भनेर रिपोर्ट गर्थिन्, जसले गर्दा सबै कुरा सामान्य रूपमा अघि बढिरहेको छ भन्ने छाप पर्थ्यो। तर वास्तवमा, तिनले कुनै व्यावहारिक काम गराएकी थिइनन्। एउटा भेलामा, तिनले सुसमाचार फैलाउनेहरू राम्रा नभएका भन्दै, आफ्नो काममा भएका कठिनाइहरूमाथि जोड दिइरहिन्, तर मैले विस्तृत विवरणहरू जाँचबुझ गर्दा, तिनले नै धेरै कामहरू नगरेकी हुनाले तिनले त्यसो भन्नुको कुनै आधार छैन भन्ने थाहा पाएँ। मैले तिनलाई व्यावहारिक काम नगरेको र अरूमाथि दोष थोपरेकोमा आलोचना गरेँ। तिनले जवाफमा केही बोलिनन्। मैले सोचेँ तिनले आफ्नो बारेमा आत्म-चिन्तन गर्नेछिन्, तर अचम्मको कुरा, तिनले मेरी सहकर्मी, मायालाई एउटा मेसेज पठाइछन् जसमा तिनले अब उप्रान्त मेरो कुनै मतलबै गर्न नचाहने, मैले समस्या देख्नेबित्तिकै विना आधार तिनलाई काटछाँट गरेकी र तिनको वास्तविक कठिनाइ नबुझेकी भनेकी रहिछन्। तिनले त तिनी म जस्तो हुन नसक्ने, तर ब्रदर-सिस्टरहरूसँग प्रेम र धैर्यतासाथ व्यवहार गर्नुपर्छ पनि भनेकी रहिछन्। यो पढेपछि, म एकैछिन त अवाक् भएँ। तिनको कर्तव्यमा यति धेरै समस्याहरू थिए। मैले त केवल ती कुराहरू औँल्याइदिएकी मात्र थिएँ—त्यो त काटछाँट गर्नुको छेउछाऊ पनि थिएन। तिनले कसरी मैले विना आधार तिनलाई काटछाँट गरेँ भन्न सकिन्? भएको त्यस्तो थिएन। तिनी कसरी यति धेरै धूर्त र छली हुन सकेकी? मैले मायालाई सबै कुरा प्रस्ट पार्न चाहेँ, तर उनलाई आधा मेसेज लेखेपछि म हिचकिचाएँ। यदि मैले लिलियनका समस्याहरू व्याख्या वा वर्णन गर्दै मेसेज पठाएँ भने, मायाले समस्याको सामना गर्दा ममा आत्म-सचेतनाको कमी छ, र म मानिसहरूलाई सही तरिकाले व्यवहार गर्दिनँ भन्ने सोच्लिन्। यस्तो सोचेर मैले त्यो मेसेज पठाइनँ। पछि मैले सुनेँ लिलियनले अरूको अगाडि खुलस्त हुने बहाना बनाएर, मैले पृष्ठभूमि नै नबुझी विना आधार तिनलाई काटछाँट गरेकी, र त्यसले गर्दा तिनी नकारात्मक भएकी भनेकी रहिछन्। यो सुनेर मलाई साह्रै दुःख लाग्यो। भविष्यमा तिनको कामको जाँच कसरी गर्ने मलाई थाहा भएन, र मलाई तिनीसँग व्यवहार गर्न पक्कै गाह्रो छ जस्तो लाग्यो। केही दिनपछि, कामको आवश्यकता अनुसार, हामीले लिलियनको जिम्मेवारीको दायरामा रहेका केही मानिसहरूलाई मलजल गर्ने काममा सार्न चाह्यौँ। अचम्मको कुरा, मैले तिनलाई भन्नेबित्तिकै, तिनले अमिलो मुख लगाएर भनिन्: “उनीहरूलाई सार्न चाहनुहुन्छ भने सार्नुहोस् न। मलाई कुनै आपत्ति छैन। जेहोस्, मेरो कामको नतिजा त पक्कै पनि राम्रो हुनेछैन।” पछि तिनले मसँग खुलेरै आफू मलजल गर्ने कामको जिम्मेवारीमा रहेकी सिस्टरप्रति पूर्वाग्रही रहेकी, र त्यसैले गर्दा मानिसहरू सार्न सहमत नभएकी बताइन्। तिनले के पनि भनिन् भने यदि ती सिस्टरले थप समस्या खडा गरिन् भने तिनिमाथि कडा व्यवहार गरेकोमा कसैले दोष दिन पाउनेछैन। तिनका शब्दहरूमा धम्की सुनेर, मलाई के लाग्यो भने तिनीसँग व्यवहार गर्न मात्र गाह्रो होइन, तिनमा त मानवताको कमी समेत छ, र मैले तिनको कामको जाँच गर्दा होसियार हुनुपर्छ, नत्र तिनले मेरो विरुद्धमा प्रयोग गर्ने कुनै निहुँ भेट्टाउनेछिन्।
एक पटक, माथिल्लो तहका अगुवाले हामीलाई मण्डलीमा दुष्ट व्यक्तिहरू वा ख्रीष्टविरोधीहरू छन् कि छैनन् भनेर अनुसन्धान गरी पत्ता लगाउन र यदि कोही प्रकाशमा आएमा, तिनीहरूलाई मण्डलीबाट निष्कासित गर्न सफाइको काम सुम्पनुभयो। मेरो दिमागमा लिलियनको याद आयो। तिनको मानवता कमजोर थियो र तिनी सत्यतालाई स्वीकार गर्न इन्कार गर्थिन्। तिनी आफ्ना समस्या औँल्याइदिनेप्रति मनमा इबी राख्थिन्, र उनीहरूका पछाडि कुरा बङ्ग्याउने, कालोलाई सेतो बनाउने र आफ्नो पूर्वाग्रह फैलाउने गर्थिन्। मैले तिनको सामान्य व्यवहारबारे अनुसन्धान गर्नुपर्छ भन्ने सोचेँ। तर त्यसपछि मैले, लिलियन मैले तिनको कामको जाँच गरेकोमा कति प्रतिरोधी थिइन्, र तिनले मेरो पछाडि मैले विना आधार तिनलाई काटछाँट गरेँ भनेकी थिइन् भन्ने बारे सोचेँ। यदि म यस पटक तिनको बारेमा मूल्याङ्कन सङ्कलन गर्न गएँ भने, के ब्रदर-सिस्टरहरूले मैले उनीसँग बदल लिन यो मौकाको फाइदा उठाउँदैछु भन्ने सोच्लान्? के मेरी सहकर्मीले म हैसियतलाई धेरै माया गर्ने, र मेरा समस्या औँल्याउनेलाई मूल्य चुकाउन बाध्य पार्न मौका खोज्ने भन्ने सोच्लिन्? त्यसो भयो भने त, सबैजना मसँग डराउनेछन् र मदेखि तर्किनेछन्, र यदि तिनीहरूले मेरा समस्या खुट्याउन खोजे र मलाई झूटो अगुवा भनेर रिपोर्ट गरे भने त्यो ठूलो समस्या हुनेछ। मैले सोचेँ, छोडिदिऊँ। अरू कसैले तिनका समस्याहरू खुट्याएपछि म यसलाई समाधान गरूँला। नत्र, यदि म नै यो विषयमा बोल्ने पहिलो व्यक्ति भएँ भने, मानिसहरूले गलत बुझ्न सक्छन्। त्यसैले, मैले यो विषय उठाइनँ। धेरै समय नबित्दै, मायाले लिलियनको मानवता कमजोर भएको र तिनको व्यवहारबारे अनुसन्धान गर्न चाहेको बताइन्। तिनले त्यसो भन्दा मलाई खुसी र अलिकति दोषी दुवै महसुस भयो। मलाई लिलियनको बारेमा पहिल्यै थाहा थियो, र मैले तुरुन्तै तिनको व्यवहारको अनुसन्धान गर्नुपर्थ्यो, तर मानिसहरूले म तिनीसँग बदला लिइरहेकी छु भन्ने सोच्लान् भन्ने डरले मैले यसलाई समाधान गरिनँ। म मण्डलीको कामको रक्षा गरिरहेकी थिइनँ। तर कमसेकम अरू कसैले त केही भनेको थियो, त्यसैले मैले अब यसबारे चिन्ता लिनु पर्दैनथ्यो। लिलियनको बारेमा मूल्याङ्कन सङ्कलन गरेपछि, हामीले के देख्यौँ भने मूल्याङ्कन लेख्ने अधिकांश मानिसहरूले तिनलाई राम्ररी चिनेका रहेनछन् र एकदमै थोरै जानकारी दिएका थिए। केही मानिसहरूले मात्र तिनका समस्याहरू देखे। यस्तो परिस्थितिमा गर्ने सही कुरा भनेको लामो समयदेखि तिनीसँग अन्तरक्रिया गरेका मानिसहरूलाई खोजेर बुझ्नु हो भन्ने मलाई थाहा थियो, तर अरूले म व्यक्तिगत ईबीले गर्दा तिनलाई निशाना बनाइरहेकी छु भन्लान् भन्ने चिन्ताका कारण, मैले केही भन्न चाहिनँ। त्यति नै बेला, मायाले हामीले परिस्थिति कस्तो हुन्छ हेर्दै गर्नुपर्छ भनिन्, र मैले थप केही भनिनँ।
पछि मैले अरू ब्रदर-सिस्टरहरूले लिलियनलाई सुझाव दिएका तर तिनले ती स्वीकार नगर्नुका साथै, उल्टै झूटो आरोप लगाइकी थाहा पाएँ। एक पटक, एक जना मलजल गर्ने व्यक्तिले लिलियनलाई सुसमाचार फैलाउनेहरूले सुसमाचार सुनाएका केही मानिसहरू सिद्धान्तअनुसारका नभएका र तिनीहरूमा मानवताको कमी भएको प्रतिक्रिया दिए। लिलियनले त्यो स्वीकार्न गर्न नमान्ने मात्र होइन, सुसमाचार फैलाउनेहरूका अगाडि ती मलजल गर्ने व्यक्तिप्रति आफ्नो पूर्वाग्रह र गुनासो समेत पोखिन्। तिनले उनीहरू सबैले आफ्नो कर्तव्यमा सिद्धान्तहरू पछ्याइरहेका बताइन्, तर सुसमाचार फैलाउनेहरूले यति धेरै मेहनत गरेर धर्म परिवर्तन गराएका मानिसहरूसँग मलजल गर्नेहरूले सत्यताको बारेमा स्पष्ट रूपमा सङ्गति नगरेकाले, केही नयाँ विश्वासीहरूले अफवाहका कारण भ्रमित भएर छोडेका थिए। एउटा भेलामा, माया र मैले लिलियनको व्यवहार सम्बन्धमा यस समस्याको सारमाथि सङ्गति गर्दै त्यसको चिरफार गर्यौँ। हामीले त्यसपछि पनि तिनिसँग धेरै पटक सङ्गति गर्यौँ। मैले सोचेँ तिनले आत्म-चिन्तन गर्नेछिन्, तर तिनी टसको मस भइनन्, र मलजल गर्नेहरूविरुद्ध आफ्नो पूर्वाग्रह फैलाइरहिन्। तिनले आफू नकारात्मक महसुस गरिरहेकी र तिनलाई आफ्नो काम कसरी गर्ने भनेर थाहा नभएको बताइन्। तिनले रोपेको कलहको बीउले गर्दा, केही सुसमाचार फैलाउनेहरू र मलजल गर्नेहरू एकअर्कालाई गुनासो गरिरहेका थिए, र सामञ्जस्यपूर्ण सहकार्य थिएन। लिलियन अब सुपरीवेक्षकका रूपमा उपयुक्त छैनन् र तिनलाई तुरुन्तै हटाउनुपर्छ भन्ने मलाई थाहा भयो। सुरुमै छिट्टै अनुसन्धान गरेर तिनलाई नहटाएकोमा मलाई साह्रै पछुतो लाग्यो। तिनमा मानवताको कमी छ भन्ने मलाई थाहा थियो, तर मैले तिनलाई मण्डलीको काममा बाधा पुर्याइरहने थप मौकाहरू दिएँ। मलाई धेरै नराम्रो लाग्यो। मैले परमेश्वरलाई प्रार्थना गरेँ, र आत्म-चिन्तन गर्न अनि आफैँलाई चिन्नको लागि मार्गदर्शन दिनुहोस् भनी उहाँसँग बिन्ती गरेँ।
खोज्ने क्रममा, मैले परमेश्वरका वचनहरूले यसो भनेको बुझेँ: “मानिसहरूले आफ्नो कर्तव्यप्रति कुनै जिम्मेवारी लिँदैनन्, झारा टार्ने किसिमले कर्तव्य निभाउँछन्, सधैँ हुन्छ मानिसलाई रिझाउने शैलीमा काम गर्छन्, र परमेश्वरको घरका हितहरूको रक्षा गर्दैनन् भने, त्यो कस्तो स्वभाव हो? यो धूर्तता हो, शैतानको स्वभाव हो। मानिसको संसारसँग व्यवहार गर्ने दर्शनको सबैभन्दा प्रमुख पक्ष भनेको धूर्तता हो। मानिसहरूलाई के लाग्छ भने यदि तिनीहरू धूर्त बनेनन् भने, तिनीहरूले अरूलाई रिस उठाउने सम्भावना हुन्छ र तिनीहरूले आफूलाई रक्षा गर्न सक्दैनन्; तिनीहरू अरू कसैलाई चोट पुर्याउने वा चिढ्याउने कार्य नगर्ने हदसम्मको धूर्त हुनुपर्छ, यसरी तिनीहरूले आफूलाई सुरक्षित राख्न, आफ्नो रोजी-रोटीलाई सुरक्षा गर्न, र अरू मानिसहरूमाझ दह्रिलो आधार बनाउन सक्छन् भन्ने तिनीहरूलाई लाग्छ। गैरविश्वासीहरू सबै नै शैतानका दर्शनहरूअनुसार जिउँछन्। तिनीहरू सबै अरूलाई रिझाउने र कसैलाई नचिढ्याउने हुन्छन्। तँ परमेश्वरको घरमा आएको छस्, तैँले परमेश्वरको वचन पढेको, र परमेश्वरको घरका प्रवचनहरू सुनेको छस्, तैपनि किन तँ सत्यताको अभ्यास गर्न, हृदयबाट बोल्न, र इमान्दार व्यक्ति बन्न सक्दैनस्? किन तँ सधैँ अरूलाई रिझाउने व्यक्ति भएको छस्? सधैँ अरूलाई रिझाउने व्यक्तिहरूले आफ्नै हित रक्षा गर्छन्, मण्डलीका हित रक्षा गर्दैनन्। कसैले दुष्कर्म गरिरहेको र मण्डलीका हितहरूमा हानि गरिरहेको देख्दा, तिनीहरूले यसलाई बेवास्ता गर्छन्। तिनीहरू सधैँ अरूलाई रिझाउने व्यक्ति बन्न चाहन्छन्, र कसैलाई चिढ्याउन चाहँदैनन्। यो गैरजिम्मेवार कार्य हो, र त्यस्तो व्यक्ति अत्यन्तै छली र विश्वासघाती हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूको प्रकाशबाट मैले बुझेँ म आफ्नो छवि र हैसियत जोगाउने प्रयासमा लिलियनलाई अप्रसन्न तुल्याउनबाट पन्छिएकी रहेछु, र तिनले मण्डलीको काममा बाधा पुर्याइरहेकी देख्दा पनि म मण्डलीको पक्षमा खडा भइनँ। बरु, म आँखा चिम्लेर मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्न खोजिरहेकी थिएँ। त्यो गैरजिम्मेवार, धूर्त व्यवहार थियो। गैरविश्वासीहरू आफ्नै हितको रक्षा गर्न शैतानी दर्शनहरूअनुसार जिउँछन्। तिनीहरू बोल्दा अरूलाई होसियारीसाथ नियाल्छन् र हावा कुन दिशातिर बहँदैछ भनेर हेर्छन्—त्यसरूपले तिनीहरू धूर्त र छली हुन्छन्। आफ्नो कर्तव्यमा, मेरो मनोवृत्ति पनि एक गैरविश्वासीको जस्तै थियो। लिलियनको मानवता राम्रो छैन र तिनले पहिल्यै मण्डलीको काममा बाधा पुर्याइसकेकी छिन् भन्ने मैले स्पष्ट रूपमा देखेकी थिएँ। तिनलाई बर्खास्त गर्नुपर्थ्यो। तर अरूले म तिनीसँग बदला लिइरहेकी भनी सोचून् भन्ने म चाहन्नथेँ, त्यसैले शङ्का उत्पन्न गर्न सक्ने कुनै पनि काम नगर्ने प्रयास गर्दै म यो मुद्दाबाट पन्छिएँ, र मैले लिलियनलाई सम्हाल्ने कुरा स्थगित गरेँ। म अरू ब्रदर-सिस्टरहरूले तिनलाई खुट्याउने बेलासम्म पर्खिन चाहन्थेँ। आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गर्न चाहँदै, र तिनले मण्डलीको काममा बाधा पुर्याइरहेकी छिन् भन्ने थाहा हुँदाहुँदै पनि, मैले सिद्धान्तहरू पालना गर्नुको सट्टा तिनलाई खुलासा नगरी, र परिस्थितिलाई उचित रूपमा नसम्हाली मण्डलीको हितलाई हानि हुन दिन नै रुचाइरहेँ। म साँच्चै धूर्त, स्वार्थी र नीच थिएँ। यो सोचेर मलाई पछुतो र दोषी महसुस भयो। मलाई थाहा थियो मैले अब आँखा चिम्लिरहनु हुँदैन। मैले मण्डलीको सिद्धान्तअनुसार लिलियनको मुद्दालाई सम्हाल्नुपर्थ्यो, र आफ्नै हितको मात्रै रक्षा गर्न छोड्नुपर्थ्यो।
त्यसपछि माया र म लिलियनसँग कुरा गर्न गयौँ, तिनले कसरी कुरा बंग्याउँछिन् र मनपरी ढंगले अरूको बारेमा आफ्नो पूर्वाग्रह फैलाउँछिन्, ब्रदर-सिस्टरहरू बीचको सम्बन्धलाई बिगार्छिन्, र त्यसले मण्डलीको काममा बाधा पुर्याएको छ भनी खुलासा गऱ्यौँ। अचम्मको कुरा, तिनले यो केही पनि स्वीकार गरिनन् बरु उल्टै गाली गरिन्, र क्रोधित हुँदै भनिन्, “मैले तिमीहरूलाई समस्याहरू बताएँ, तर तिमीहरूले तिनलाई समाधान गर्नुको सट्टा मेरो गल्ती खोज्न तिनको प्रयोग गऱ्यौ। मैले देख्दैछु तिमीहरू कुनै पनि वास्तविक काम गर्दैनौ।” तिनी बिलकुलै कुनै आत्म-सचेतनाविहीन र यति दमनकारी बनिरहेकी देखेर, हामीले परमेश्वरका सान्दर्भिक वचनहरूलाई आधार बनाएर तिनिसँग तिनका शब्द र कार्यहरूको प्रकृति र परिणामहरूबारे चिरफार गऱ्यौँ। तर तिनले यस्ता कुनै पनि कुरा सुनिनन्—तिनले तर्क गरिरहिन् र आफ्नो सफाइ दिइरहिन्।
पछि, मैले परमेश्वरका वचनका दुई खण्ड पढेँ जसले मलाई लिलियनको सार बुझ्न मद्दत गरे। परमेश्वरका वचनहरूले भन्छन्: “मण्डली जीवन र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा प्रायजसो बाधा दिने जोकोही व्यक्ति अविश्वासी र दुष्ट व्यक्ति हो र उसलाई मण्डलीबाट हटाइनु नै पर्छ। व्यक्ति जो भए पनि वा उसले विगतमा जस्तो कार्य गरेको भए पनि, यदि उसले मण्डलीको काम र मण्डली जीवनमा प्रायजसो बाधा दिन्छ, काटछाँट हुन इन्कार गर्छ, र सधैँ गलत तर्कद्वारा आत्मरक्षा गर्छ भने, उसलाई मण्डलीबाट हटाइनु नै पर्छ। यो शैली पूर्ण रूपमा मण्डलीको कामको सामान्य प्रगतिलाई कायम राख्न र परमेश्वरका चुनिएका मानिसहरूका हितहरूको रक्षा गर्नका लागि, सत्यता सिद्धान्तहरू र परमेश्वरका अभिप्रायहरूसँग पूर्ण रूपमा मिलाउने उद्देश्यका लागि हो” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१४))। “तिनीहरूले जे-जस्ता गल्तीहरू वा जे-जस्ता खराब कामहरू गरेका भए पनि, ती क्रूर स्वभावका मानिसहरूले कसैलाई पनि तिनीहरूको खुलासा गर्न वा तिनीहरूलाई काटछाँट गर्न दिनेछैनन्। यदि कसैले तिनीहरूको खुलासा गर्यो र तिनीहरूलाई चिढ्यायो भने, तिनीहरू रिसाउनेछन्, तिनीहरूले प्रतिशोध लिनेछन्, र मामलालाई कहिल्यै जान दिनेछैनन्। तिनीहरूसँग अरू मानिसहरूप्रति कुनै धैर्यता र सहनशीलता हुँदैन, र तिनीहरूले सहनशीलताको अभ्यास गर्दैनन्। तिनीहरूको आत्म-आचरण कुन सिद्धान्तमा आधारित हुन्छ? ‘धोका खानुभन्दा त धोका दिनु बेस।’ अर्को शब्दमा भन्दा, कसैले तिनीहरूलाई चिढ्याएमा तिनीहरूले त्यो सहँदैनन्। के यो दुष्ट मानिसहरूको तर्क होइन र? यो ठ्याक्कै दुष्ट मानिसहरूको तर्क नै हो। कसैले पनि तिनीहरूलाई चिढ्याउन पाइँदैन। कसैले तिनीहरूलाई अलिकति पनि चलाएमा तिनीहरूका लागि त्यो स्वीकार्य हुँदैन, र त्यसो गर्ने जोसुकैलाई तिनीहरूले घृणा गर्छन्। तिनीहरूले त्यस व्यक्तिलाई खेदो गरिरहनेछन् र यो कुरालाई कहिल्यै जान दिनेछैनन्—दुष्ट मानिसहरू यस्तै हुन्छन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१४))। परमेश्वरका वचनहरूबाट मैले के देखेँ भने दुष्ट व्यक्तिहरूको स्वभाव क्रूर हुन्छ र तिनीहरू सत्यतालाई अलिकति पनि स्वीकार गर्दैनन्। तिनीहरू तिनीहरूका समस्यालाई खुलासा गर्ने र औँल्याउनेहरूलाई घृणा गर्छन्, उसलाई शत्रुको रूपमा हेर्छन्, र तिनीहरूले बदलामा आक्रमण पनि गर्न सक्छन्। मैले लिलियनलाई त्यससँग दाँजेँ। समस्याहरूको सामना गर्दा तिनले कहिल्यै आत्म-चिन्तन गरिनन् वा आफ्नो बारेमा सिकिनन्, र तिनलाई सुझाव दिनेलाई घृणा गर्थिन्, उसलाई आफ्नो शत्रुको रूपमा हेर्थिन्। त्यति मात्र होइन, तिनी सत्यलाई बङ्ग्याउँथिन्, कालोलाई सेतो बनाउँथिन् र अरूका बारेमा पूर्वाग्रह र गुनासो फैलाउँथिन्, ब्रदर-सिस्टरहरूबिचको सम्बन्धमा समस्याहरू सृजना गर्थिन्। यसले असामञ्जस्यता निम्त्यायो, जसले सुसमाचारको काममा बाधा र अवरोध पुर्यायो। अरूले तिनलाई धेरै पटक सल्लाह दिए र मद्दत गरे, तर तिनले उनीहरूले भनेको कुरा स्वीकार गरिनन्। तिनले शत्रुतासाथ जवाफ दिइन् र अलिकति पनि पछुतोविना झूटो आरोप लगाइन्। स्वभावत: तिनी सत्यतालाई घृणा गर्थिन् र सत्यताप्रति तिनमा वितृष्णा थियो। तिनी एक दुष्ट व्यक्तिका रूपमा प्रमाणित भैसकेकी थिइन्, र यदि हामीले तिनलाई मण्डलीमा रहन दियौँ भने, त्यसले मण्डलीको काममा थप समस्या मात्र ल्याउने थियो। र यसैले, माया र मैले सिद्धान्तअनुसार लिलियनको व्यवहारबारेको हाम्रो खुट्याइसम्बन्धमा ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्यौँ, र मतदानपछि तिनलाई बर्खास्त गर्यौँ। हामीले तिनलाई एक्लै बसेर आत्म-चिन्तन गर्न लगायौँ, र यदि थप कुनै बाधा पुर्याएमा उनलाई निकालिदिने बतायौँ।
पछि, एकपछि अर्को गर्दै ब्रदर-सिस्टरहरूले लिलियनसँग काम गर्दा साँच्चै बाँधिएको महसुस भएको बताए। तिनी सधैँ माथिबाट मानिसहरूलाई हप्काउँथिन्, र धेरै मानिसहरू तिनीसँग डराउँथे। तिनी उनीहरूको कामको जाँच गर्न आउँदा, सबैजना पहिल्यै तयारी गर्थे, आफूले राम्ररी प्रस्टीकरण दिन नसकेको कुनै कुराका लागि हप्काइ खानुपर्ला भनेर चिन्तित हुन्थे। मलाई साह्रै असहज महसुस भयो। लिलियनले यति धेरै दुष्टता गरेकी थिइन्, ब्रदर-सिस्टरहरूलाई यति धेरै चोट पुर्याएकी थिइन्। म मण्डली अगुवा थिएँ, तर एक दुष्ट व्यक्ति पत्ता लगाएर पनि मैले त्यसलाई समाधान गर्न असफल भएँ। यस्तो अवस्थामा, म केका लागि थिएँ त? मैले कुनै वास्तविक काम गरिरहेकी थिइनँ। केही दिनसम्म मैले सोचिरहेँ, म किन अरू दुष्ट व्यक्तिहरू र ख्रीष्टविरोधीहरूलाई त ठीकसँग समाधान गर्न सक्छु, तर लिलियनको मामिलालाई भने बेवास्ता गरेँ र समाधान गर्न चाहिनँ। मैले परमेश्वरका केही वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरूले जे गरिरहेका भए पनि तिनीहरू सुरुमा आफ्नै हितहरूलाई विचार गर्छन् र यो सबै विचार गरेपछि मात्रै तिनीहरू काम गर्छन्; तिनीहरू सम्झौता नगरी साँचो रूपमा, इमानदारीपूर्वक र पूर्ण रूपले सत्यतामा समर्पित हुँदैनन्, तर छनौट गरेर अनि सर्तमा मात्रै सो गर्छन्। यो कस्तो सर्त हो? यो तिनीहरूको हैसियत र प्रतिष्ठालाई रक्षा गरिनैपर्छ, र कुनै घाटा हुनै हुँदैन भन्ने सर्त हो। यो सर्त पूरा भएपछि मात्रै तिनीहरू के गर्ने भनेर निर्णय र छनौट गर्छन्। अर्थात् सत्यता सिद्धान्तहरू, परमेश्वरका आज्ञाहरू र परमेश्वरको घरको कामलाई कसरी लिने वा आफूले सामना गर्ने कुराहरू कसरी सम्हाल्ने भन्ने कुरालाई ख्रीष्टविरोधीहरू गम्भीर रूपमा विचार गर्छन्। तिनीहरू परमेश्वरका अभिप्रायहरू कसरी पूरा गर्ने, परमेश्वरको घरका हितहरूलाई हानि गर्नबाट कसरी बच्ने, परमेश्वरलाई कसरी सन्तुष्ट तुल्याउने वा दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी फाइदा पुऱ्याउने भन्नेबारे विचार गर्दैनन्; यी तिनीहरूले विचार गर्ने कुरा होइनन्। ख्रीष्टविरोधीहरू केलाई विचार गर्छन्? कतै आफ्नो हैसियत र प्रतिष्ठामा असर पो पुग्ने हो कि र प्रतिष्ठा पो घट्ने हो कि भनेर विचार गर्छन्। यदि सत्यता सिद्धान्तहरूअनुसार कुनै काम गर्दा मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुग्छ, तर तिनीहरूको आफ्नै प्रतिष्ठामा धक्का पुग्छ र धेरै मानिसले तिनीहरूको साँचो कद अनि तिनीहरूमा कस्तो प्रकृति सार छ भन्ने कुरा थाहा पाउँछन् भने तिनीहरूले अवश्य नै सत्यता सिद्धान्तहरूअनुसार काम गर्नेछैनन्। यदि केही वास्तविक काम गर्दा अझ धेरै मानिसले तिनीहरूको इज्जत गर्छन्, आदर र प्रशंसा गर्छन्, तिनीहरूलाई झन् ठूलो प्रतिष्ठा हासिल गर्न दिन्छन् वा तिनीहरूको बोली अख्तियारपूर्ण बन्छ र अझै धेरै मानिसले तिनीहरूको कुरा मान्छन् भने तिनीहरू त्यो काम त्यसरी गर्ने निर्णय गर्छन्; नत्र तिनीहरूले परमेश्वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूका हितका खातिर आफ्नै हितहरूलाई बेवास्ता गर्ने निर्णय कहिल्यै गर्नेछैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो। के यो स्वार्थी र घृणास्पद कुरा होइन र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। “यदि कसैले सत्यलाई प्रेम गर्छु भन्छ र उनीहरू सत्यको पछि लाग्छौँ भनी भन्छन्, तर सारगत रूपमा उनीहरूको पछ्याउने लक्ष्य भनेको, आफैलाई विशिष्ट बनाउनु, धाकरवाफ देखाउनु, मानिसहरूलाई उनीहरूको बारेमा उच्च सोच्ने बनाउनु, उनीहरूका आफ्नै स्वार्थ पूरा गर्नु हो र उनीहरू परमेश्वरमा समर्पित हुन वा उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, बरु त्यसको सट्टा ख्याति, प्राप्ति र हैसियत हासिल गर्न कर्तव्य निर्वाह गर्छन् भने, उनीहरूको खोजी अवैध हुन्छ। यस्तो मामिला हुँदा, जब मण्डलीको कामको कुरा आउँछ, के उनीहरूका कार्यहरू बाधा-व्यवधान हुन्छन्, कि उनीहरूले यसलाई अगाडि बढाउन सहयोग गर्छन्? उनीहरू स्पष्ट रूपमा बाधा-व्यवधान हुन्; उनीहरूले यसलाई अगाडि बढाउँदैनन्। केही मानिसहरू मण्डलीको काम गर्ने झन्डा फहराउँदै, आफ्नै व्यक्तिगत ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने, आफ्नै उद्यममा संलग्न हुने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने गर्छन्—के यस किसिमका व्यक्तिहरूले आफ्नो कर्तव्य गरिरहेका हुन्छन् र? उनीहरूले गर्ने सबै कामहरूले आधारभूत रूपमा बाधा दिन्छन्, अवरोध पुऱ्याउँछन् र मण्डलीको कामलाई हानि गर्छन्। तिनीहरूको ख्याति, प्राप्ति र हैसियतको खोजीको परिणाम के हुन्छ? सबैभन्दा पहिले, यसले परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरका वचनहरू सामान्यतया कसरी खान्छन् र पिउँछन्, र कसरी सत्यता बुझ्छन् भन्ने कुरामा असर पुर्याउँछ, यसले उनीहरूको जीवन प्रवेशमा बाधा उत्पन्न गर्छ, उनीहरूलाई परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नबाट रोक्छ, र उनीहरूलाई गलत मार्गमा डोर्याउँछ—र यसले चुनिएका जनहरूलाई हानि गर्छ र बरबादीमा पुर्याउँछ। अनि, यसले अन्त्यमा मण्डलीको कामलाई के गर्छ? यो बाधा, क्षति, र विघटन हो। मानिसहरूले ख्याति, प्राप्ति र हैसियतको खोजी गर्दाको परिणाम यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्वरका वचनहरूले के प्रकट गर्छन् भने ख्रीष्टविरोधीहरू आफ्नो काममा केवल आफ्नै प्रतिष्ठा र हैसियतलाई मात्र विचार गर्छन्। यदि तिनीहरू आफ्नो प्रतिष्ठा बढाउने कुनै काम गर्न सक्छन् भने, ख्रीष्टविरोधीले ठ्याक्कै त्यही गर्नेछ। यदि सिद्धान्तअनुसार काम गर्दा आफ्नो प्रतिष्ठा वा हैसियतमा हानि पुग्न सक्छ भने, ख्रीष्टविरोधीले सिद्धान्तहरूलाई एकातिर पन्छाउनेछ र केवल आफ्नो व्यक्तिगत स्वार्थको रक्षा गर्ने, आफूलाई फाइदा पुर्याउने कुरा मात्र सोच्नेछ। तिनीहरू विशेष गरी स्वार्थी र नीच हुन्छन्। अनि, के म पनि ख्रीष्टविरोधीले जस्तै काम गरिरहेकी थिइनँ र? मैले लिलियन कमजोर मानवता भएकी व्यक्ति हुन्, र तिनी सत्यतालाई पछ्याउँदिनन् भन्ने धेरै अघि नै थाहा पाएकी थिएँ। तिनी आफूलाई सुझाव दिने जोकोहीलाई घृणा गर्थिन्, तिनीहरूको गल्ती खोज्थिन् र त्यसैलाई प्रयोग गरेर तिनीहरूलाई न्याय र आक्रमण गर्थिन्, र यदि तुरुन्तै प्रतिस्थापन नगरिएमा तिनले मण्डलीको काममा बाधा पुर्याइरहने थिइन्। तर उनमा म विरुद्ध कतिपय कुरा भएकोले, म ब्रदर-सिस्टरहरूले मैले तिनको अनुसन्धान गरेर तिनलाई केवल दुःख दिइरहेकी छु भनी सोच्लान् भनेर डराएँ। तिनीहरूले मलाई झूटो अगुवा पनि सोच्न सक्थे। मैले आफ्नो पद खतरामा पर्ला भन्ने महसुस गरेँ। र लिलियनको स्वभावका कारण, म यदि मैले तिनलाई बर्खास्त गरेँ भने, तिनले मेरो पछाडि मेरो बदनाम गर्नेछिन् वा मलाई निन्दा गर्ने वा रिपोर्ट गर्ने कुनै बहाना खोज्नेछिन् भनेर डराएँ। तिनलाई समाधान गर्नु मेरा लागि हानिकारक मात्र हुन सक्छ, र मेरो प्रतिष्ठा र पदमा सजिलै असर पार्न सक्छ भन्ने मलाई लाग्यो, त्यसैले मैले पर्ख र हेरको मनोवृत्ति अपनाएँ र केही पनि गरिनँ। म साँच्चै धूर्त र स्वार्थी थिएँ! जब मैले पहिले सफाइको कामको दौरान निकालिनु पर्ने वा निष्कासित गरिनु पर्ने मानिसहरू पत्ता लगाएकी थिएँ, मैले त्यसलाई सिद्धान्तअनुसार समाधान गर्न सकेकी थिएँ। त्यो मैले तिनीहरूमध्ये धेरैजसोलाई नचिनेका कारणले थियो। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरूले मेरो प्रतिष्ठा र हैसियतका लागि कुनै खतरा खडा गरेका थिएनन्। यदि मैले तिनीहरूलाई मण्डलीबाट निकालेँ वा निष्कासित गरेँ भने, ब्रदर-सिस्टरहरूले मलाई सत्य बुझ्ने र खुट्याइ भएकी, र वास्तविक काम गर्ने अगुवाका रूपमा विचार गर्ने थिए। तर मेरो आफ्नै पदलाई सीधै असर गर्ने समस्या, लिलियनलाई समाधान गर्दा भने, मैले आफ्नो स्वार्थको रक्षा गर्ने कोशिस गर्दै वास्तविकताबाट एकदम मुख लुकाएँ। पहिले, म सिद्धान्तहरूमा अडिग रहेको मैले साँच्चै मण्डलीको काम राम्रोसँग गर्न चाहेकोले नभई मेरो व्यक्तिगत स्वार्थ खतरामा नपरेका कारणले थियो। मैले परमेश्वरका वचनहरूबाट बुझेँ व्यक्तिगत प्रतिष्ठा र हैसियतको रक्षा गर्न काम गर्नु मूलतः मण्डलीको कामलाई बिगार्नु र बाधा दिनु हो। यसले कामको सामान्य प्रगतिमा बाधा पुर्याउँछ। आफ्नो प्रतिष्ठा र पदको रक्षा गर्न चाहँदा, मैले एक दुष्ट व्यक्तिलाई तुरुन्तै समाधान गर्न सकिनँ। त्यो समस्याको प्रकृति साँच्चै गम्भीर छ। यो केवल भ्रष्टता प्रकट गर्ने सानो उदाहरण होइन, यो वास्तवमा एक दुष्ट व्यक्तिलाई आश्रय दिनु हो, तिनलाई मण्डलीको काममा बाधा पुर्याउन छुट दिनु हो। त्यो शैतानको नोकरका रूपमा काम गर्नु हो र दुष्टता गर्नु पनि हो। परमेश्वरका यी वचनहरू विशेष गरी मार्मिक थिए: “तैँले दुष्ट मानिसहरूमा दुष्ट मानिसहरूको सार छ भन्ने थाहा पाउनेबित्तिकै, तिनीहरूले कुनै ठूलो दुष्टता गर्नुभन्दा पहिले नै, तिनीहरूलाई अलग गर्नुपर्छ वा निकाल्नुपर्छ। यसले तिनीहरूले गर्ने क्षतिलाई न्यूनीकरण गर्नेछ; यो नै बुद्धिमानी निर्णय हो। यदि अगुवाहरू र कामदारहरू कुनै दुष्ट व्यक्तिले केही विपत्ति नल्याएसम्म उसलाई तह लगाउँदैनन् भने, तिनीहरू निष्क्रिय भइरहेका छन्। त्यसले अगुवाहरू र कामदारहरू अत्यन्तै मूर्ख छन्, र तिनीहरूको व्यवहारमा कुनै सिद्धान्तहरू छैनन् भन्ने कुरालाई प्रमाणित गर्नेछ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१४))। परमेश्वरका वचनहरूमाथि विचार गर्दा मलाई धेरै नराम्रो र धेरै दोषी महसुस भयो। एक अगुवाका रूपमा, मेरो काम परमेश्वरका चुनिएका मानिसहरूलाई दुष्ट व्यक्तिहरूको दमन र बाधाबाट जोगाउनु, र मण्डलीको सामान्य जीवनको रक्षा गर्नु थियो ताकि यसको काम उचित र व्यवस्थित तरिकाले अगाडि बढ्न सकोस्। तर जब मण्डलीमा एक दुष्ट व्यक्ति देखा परी, मैले आलटाल गरेँ र केही पनि गरिनँ। मैले अगुवाका जिम्मेवारीहरू पूरा गरिरहेकी थिइनँ, जसले गर्दा ब्रदर-सिस्टरहरू दुष्ट व्यक्तिद्वारा बन्धन र आक्रमणमा परे, अनि तिनीहरूको जीवन प्रवेशमा हानि पुग्यो। मण्डलीको काममा पनि बाधा पुग्यो। मैले गरेको कुरा परमेश्वरका निम्ति घृणित थियो!
पछि, मैले कुराहरू मनमा खेलाइरहेँ। मलाई थाहा थियो जब एक दुष्ट व्यक्तिले मण्डलीको काममा बाधा पुर्याइरहेको हुन्छ, तब त्यस मामिलालाई छिट्टै समाधान गर्नु सिद्धान्तअनुरूप हुन्छ। त्यसोभए म किन अरूले अवस्थालाई गलत बुझ्लान् र मैले तिनलाई सताइरहेकी भन्लान् भनेर डराइरहेकी थिएँ? र वास्तवमा कसैलाई सताउनु भनेको के हो? मैले परमेश्वरका वचनहरूमा यो पढेँ: “ख्रीष्टविरोधीहरूले काम गर्दा देखापर्ने अरू साझा प्रकटीकरणहरू के-के हुन्? (ख्रीष्टविरोधीहरूले आफ्नै हैसियतका खातिर मानिसहरूलाई दमन गर्छन् र सास्ती दिन्छन्।) ख्रीष्टविरोधीहरूका लागि अरू मानिसहरूलाई सास्ती दिनु सबैभन्दा सामान्य काम हो, र यो तिनीहरूको ठोस प्रकटीकरणहरूमध्ये एक हो। आफ्नो हैसियत कायम राख्नका लागि, ख्रीष्टविरोधीहरूले सधैँ सबैलाई, तिनीहरूलाई पालन गर्न र तिनीहरूको कुरा सुन्न माग गरिरहेका हुन्छन्। यदि तिनीहरूले कसैले तिनीहरूको कुरा नसुन्ने वा तिनीहरूप्रति विरोधी वा प्रतिरोधी भएको भेटे भने, तिनीहरू त्यस व्यक्तिलाई काबुमा ल्याउन दमन गर्ने र सास्ती दिने चाल चल्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो भन्दा फरक विचार राख्नेहरूलाई प्राय दमन गर्छन्। तिनीहरूले सत्यता खोजी गर्ने र बफादारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्ने मानिसहरूलाई प्राय दमन गर्छन्। तुलनात्मक रूपमा शिष्ट र सोझा जो तिनीहरूको चापलुसी वा लोलोपोतो नगर्ने मानिसहरूलाई तिनीहरूले प्राय दमन गर्छन्। तिनीहरूसँग नमिल्ने वा तिनीहरूको अधीनमा नआउने मानिसहरूलाई तिनीहरूले दमन गर्छन्। ख्रीष्टविरोधीहरूले अरूलाई सत्यताका सिद्धान्तहरूका आधारमा व्यवहार गर्दैनन्। तिनीहरूले मानिसहरूसँग निष्पक्ष व्यवहार गर्न सक्दैनन्। जब तिनीहरूले कसैलाई मन पराउँदैनन्, जब कोही हृदयबाट तिनीहरूको अधीनमा आएको छैन जस्तो देखिन्छ, तब तिनीहरूले त्यस व्यक्तिलाई आक्रमण गर्न र सास्ती दिन मौका र बहाना खोज्छन्, र विभिन्न अत्तो थाप्नेसमेत गर्छन्, यहाँसम्म कि त्यस व्यक्तिलाई दमन गर्नको लागि मण्डलीको काम गरेको झण्डासमेत बोक्छन्। मानिसहरू नमनशील नभएसम्म र तिनीहरूलाई नाइँ भन्ने आँट गर्न नसक्ने अवस्थामा नपुगेसम्म तिनीहरू लागिपर्न छोड्दैनन्; मानिसहरूले तिनीहरूको हैसियत र शक्ति स्वीकार गरेर, तिनीहरूलाई मुस्कुराउँदै नमस्कार गर्ने, तिनीहरूप्रति समर्थन र अनुपालन व्यक्त गर्ने, र तिनीहरूबारे कुनै जोखाना गर्ने आँट नै नगर्ने अवस्थामा नपुगेसम्म तिनीहरू लागिपर्न छोड्दैनन्। कुनै पनि परिस्थितिमा, कुनै पनि समूहमा, ख्रीष्टविरोधीहरूले अरूसँग गर्ने व्यवहारमा ‘निष्पक्ष’ भन्ने शब्द अवस्थित हुँदैन, र परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने दाजुभाइ-दिदीबहिनीहरूप्रति तिनीहरूले गर्ने व्यवहारमा ‘प्रेमपूर्ण’ भन्ने शब्द अवस्थित हुँदैन। तिनीहरूको हैसियतलाई चुनौती दिने जोकोहीलाई तिनीहरूले आफ्नो आँखाको कसिङ्गर र शरीरको काँडा ठान्छन्, र उसलाई सास्ती दिन तिनीहरूले मौका र बहाना खोज्छन्। यदि त्यो व्यक्ति अधीनमा आउन मान्दैन भने, उसलाई सास्ती दिन्छन्, र त्यो व्यक्ति काबुमा नआएसम्म तिनीहरू रोकिँदैनन्। ख्रीष्टविरोधीहरूको यस्तो व्यवहार सत्यताका सिद्धान्तहरूसँग एकदमै नमिल्दो र सत्यतासँग शत्रुवत् हुन्छ, त्यसकारण, के तिनीहरूलाई काटछाँट गरिनुपर्छ? यति मात्र होइन—तिनीहरूलाई खुलासा गर्ने, खुट्टयाउने, र चित्रण गर्नेबाहेक कुनै पनि कारबाही पर्याप्त हुनेछैन। ख्रीष्टविरोधीले सबैलाई उसको आफ्नै प्राथमिकता, अभिप्राय र लक्ष्यअनुसार व्यवहार गर्छ। तिनीहरूको अख्तियारअन्तर्गत, इन्साफको बोध भएकाहरू, न्यायोचित रूपमा बोल्न सक्नेहरू, अन्यायसँग लड्ने आँट गर्नेहरू, सत्यताका सिद्धान्तहरू पालना गर्नेहरू, साँचो रूपमा प्रतिभावान् र शिक्षितहरू, परमेश्वरको गवाही दिन सक्नेहरू—त्यस्ता सबै मानिसहरूले ख्रीष्टविरोधीको डाहा सहनुपर्नेछ, दमन र बहिस्कार भोग्नुपर्नेछ, र फेरि उठ्न नसक्ने अवस्थामा पुग्ने गरी ख्रीष्टविरोधीको पैतालामुनि समेत कुल्चिइनुपर्छ। असल मानिसहरू र सत्यता पछ्याउने मानिसहरूलाई ख्रीष्टविरोधीले यस्तो घृणाको साथ व्यवहार गर्छ। ख्रीष्टविरोधीले डाहा महसुस गर्ने र दमन गर्ने लगभग अधिकांश मानिसहरू सकारात्मक व्यक्तित्त्वहरू र असल मानिसहरू नै हुन्छन् भन्न सकिन्छ। तिनीहरूमध्ये धेरैजसो मानिसहरू परमेश्वरले मुक्ति दिनुहुने, परमेश्वरले प्रयोग गर्न सक्नुहुने, र परमेश्वरले सिद्ध तुल्याउनुहुने मानिसहरू हुन्छन्। परमेश्वरले मुक्ति दिनुहुने र प्रयोग गर्नुहुने अनि सिद्ध तुल्याउनुहुने मानिसहरूविरुद्ध त्यस्तो दमन र बहिष्कारको रणनीति अपनाउँदा, के ख्रीष्टविरोधीहरू परमेश्वरविरोधी हुँदैनन् र? के तिनीहरूले परमेश्वरको प्रतिरोध गरिरहेका हुँदैनन् र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एघार)। परमेश्वरका वचनहरूमाथि मनन गर्दा, मैले बुझेँ कसैलाई सताउनु र सिद्धान्तहरूमा अडिग रहनु दुई फरक कुराहरू हुन्। हामीले आफ्नो कार्य पछाडिको मनसायलाई विचार गर्नुपर्छ, र हामीले कसैसँग गर्ने व्यवहार परमेश्वरका वचनहरूमा आधारित छ कि छैन भनेर पनि विचार गर्नुपर्छ। यदि हामीले सत्यता सिद्धान्तहरूका आधारमा कसैलाई दुष्ट व्यक्ति वा ख्रीष्टविरोधी बनिरहेको भनेर पहिचान गर्छौँ भने, तिनीहरूलाई निकाल्नु वा निष्कासित गर्नु सिद्धान्तअनुसार मण्डलीलाई विपत्तिबाट मुक्त गर्नु हो। यो सताउनु होइन। तर जब ख्रीष्टविरोधीहरू र दुष्ट व्यक्तिहरूले अरूलाई दबाउँछन् र सताउँछन्, त्यो पूर्ण रूपमा तिनीहरूको क्रूर मनसायबाट पैदा हुन्छ। तिनीहरू सत्यता पछ्याउने र इन्साफको बोध भएकाहरूप्रति ईर्ष्या गर्छन्। तिनीहरू आफूलाई खुट्याउन सक्ने र आफूलाई खुलासा गर्न आँट गर्नेहरूलाई घृणा गर्छन्। तिनीहरू आफ्नो शक्ति र हैसियत जोगाउन विरोधीहरूलाई हटाउँछन्। तिनीहरू अरूको सानोभन्दा सानो मुद्दामा उफ्रन्छन् र त्यसलाई ठूलो बनाउँछन्। तिनीहरू तथ्यहरू बङ्ग्याउँछन् र अरूको निन्दा गर्छन्, उनीहरूलाई निकाल्न वा निष्कासित गर्नका लागि सबै प्रकारका आरोपहरू लगाउँछन्। तिनीहरूका मनसाय र अभिप्रायहरू पूर्ण रूपमा सत्यता र परमेश्वरका विरुद्धमा हुन्छन्। तिनीहरू परमेश्वरद्वारा निन्दित र श्रापित हुन्छन्। म परमेश्वरका वचनअनुसार, आफूले लिलियनलाई एक दुष्ट व्यक्तिको रूपमा खुट्याएका आधारमा उनलाई खुलासा र बर्खास्त गरिरहेकी थिएँ। यो व्यक्तिगत इबीका कारणले थिएन, र मैले तिनलाई सताइरहेकी थिइनँ। म कुराहरूलाई सतही रूपमा हेरिरहेकी थिएँ र सताउनु वास्तवमा के हो भनेर बुझिनँ। मलाई लाग्यो मप्रति इबी राख्ने कसैसँग सम्बन्धित मुद्दा सम्हाल्नु भनेको उनीहरूलाई सताउनु हो। मैले तिनी दुष्ट व्यक्ति थिइन् कि थिइनन् र तिनले मण्डलीमा कस्तो भूमिका खेलिरहेकी थिइन् भनेर विचार गरिनँ। म आफ्नो गलत दृष्टिकोणको परिणाम स्वरूप, निष्क्रिय भएँ। कति मूर्ख! यो सबै कुरा बुझेपछि ठूलो छुटकारा महसुस भयो।
त्यसपछि, मैले उद्देश्यपूर्वक सिद्धान्तअनुसार आफ्नो कर्तव्य निभाउने अभ्यास गरेँ। विशेष गरी सफाइको कामका सन्दर्भमा, यदि कोही व्यक्ति निकालिनु वा निष्कासित गरिनुपर्ने उम्मेदवार हो भनेर निश्चित भयो भने, चाहे उनीहरूले मप्रति इबी राखेका होऊन् वा नहोऊन्, म त्यसलाई सिद्धान्तअनुसार नै समाधान गर्थेँ। जब मैले त्यसलाई व्यवहारमा लागू गरेँ, मैले मनमा धेरै शान्ति महसुस गरेँ। मैले व्यक्तिगत रूपमा अनुभव गरेकी छु कर्तव्य पूरा गर्दा, हामीले प्रतिष्ठा र हैसियतको चिन्तालाई पन्छाउनुपर्छ, सिद्धान्तहरूलाई कायम राख्नुपर्छ र मण्डलीको कामको रक्षा गर्नुपर्छ, र यसरी शान्ति र आनन्द महसुस गर्नुपर्छ।