६२. मैले ख्रीष्टविरोधीबारे कसरी रिपोर्ट गरेँ
केही वर्षअघि, म आफ्नो कर्तव्य निर्वाह गर्न बाहिरबाट आफ्नो स्थानीय मण्डलीमा फर्केँ। जब मैले अगुवा झाङ्ग शिनले शाओ लिउ मलजल डिकन भएको कुरा गरेको सुनेँ, तब म छक्क परेँ। मलाई थाहा थियो, शाओ लिउले विवादको बीउ रोप्ने, साथै मानिसहरूलाई दमन गर्ने र सजाय दिने गर्थिन्। मण्डलीमा शक्ति प्राप्त गर्नको लागि, उनले केही दुष्ट मानिसहरूसँग मिलेर अगुवा र कामदारहरू झूटा हुन् भनी दाबी गर्दै अराजकता मच्चाइन्। त्यतिबेला, ब्रदर-सिस्टरहरूले उनको व्यवहारका आधारमा उनलाई दुष्ट व्यक्तिका रूपमा चिनेका थिए र उनलाई निष्कासित गर्नका लागि सामग्रीहरू तयार गर्दै थिए। उनी अहिले कसरी मलजल गर्ने डिकन भइन् त? मैले झाङ्ग शिनलाई सोध्दा, उनले शाओ लिउ अहिले परिवर्तन भएकी र आफ्नो कर्तव्यमा बोझ बोकेकी, अनि मैले उनलाई विकासको दृष्टिकोणबाट प्रेमपूर्वक हेर्नुपर्ने बताइन्। मलाई शङ्का लागे तापनि, म भर्खरै फर्केकी थिएँ, त्यसैले के भइरहेको छ भन्ने मलाई थाहा थिएन, अनि मैले सोचेँ एक अगुवाको रूपमा, झाङ्ग शिनले मानिसहरू छान्दा सिद्धान्तविपरीत काम गर्नेछैनन्, त्यसैले मैले थप सोधिनँ। झाङ्ग शिनले फङ्ग लिङ्ग सिस्टरको बारेमा पनि उल्लेख गरिन्, जो पहिले उनीसँगै अगुवाको रूपमा सहकार्य गर्थिन्, बर्खास्त भएदेखि न त कर्तव्य निर्वाह गरेकी थिइन् न त भेलाहरूमा नै उपस्थित भएकी थिइन्, र पटक-पटक सङ्गति गर्दा पनि आफ्नो मार्ग परिवर्तन गरेकी थिइनन्। त्यसैले, उनलाई निकाल्नैपर्ने थियो, र झाङ्ग शिनले मलाई फङ्ग लिङ्गका दुष्कर्मका उदाहरणहरू दिन भनिन्। यसले गर्दा मलाई अलि शङ्का लाग्यो। फङ्ग लिङ्गले आफ्नो कर्तव्यमा बोझ नबोकेकी मात्रै थिइन् र उनी वास्तविक काम नगर्ने एक झूटा अगुवा थिइन्। तर बर्खास्त भएपछि, उनले अझै पनि सुसमाचार प्रचार गरिन्, साधारण कामहरू गरिन्, र कुनै दुष्कर्म गरिनन्। उनलाई किन निकाल्नुपर्ने भयो त? मैले जति यसबारे सोचेँ, त्यति नै यो गलत लाग्यो। मैले सम्झेँ, विगतमा झाङ्ग शिनसँग सम्पर्कमा रहँदा, उनी निकै प्रतिशोधी रहेकी थिइन्। फङ्ग लिङ्गले एकपटक माथिल्लो तहका अगुवाहरूलाई झाङ्ग शिन आफ्नो कर्तव्यमा बोझ बोक्दिनन् भनेर रिपोर्ट गरेकी थिइन्। कतै उनले यही घटनाको रिस साँधेर फङ्ग लिङ्गसँग बदला लिन खोजेकी त होइनन्? यदि त्यसो हो भने, झाङ्ग शिनले फङ्ग लिङ्गलाई सजाय दिइरहेकी थिइन्, र त्यो त दुष्कर्म गरिँदै थियो! तर मैले के पनि बुझेँ भने मलाई फङ्ग लिङ्गको हालको व्यवहारबारे थाहा थिएन, त्यसैले झाङ्ग शिनमा केही गडबडी छ भन्नेमा म विश्वस्त हुन सकिनँ। मैले आफू यकिन नभएसम्म पर्खने निर्णय गरेँ।
पछि, मैले सुनेँ झाङ्ग शिनले भेलाको समयमा तथ्यलाई बङ्ग्याएर फङ्ग लिङ्गको न्याय गरेकी थिइन्, र एउटी सिस्टरले उनको खण्डन गर्दा, उनले ती सिस्टर र फङ्ग लिङ्ग मिलेर अगुवाइमाथि आक्रमण गर्न गुटबन्दी गरेको आरोप लगाइन् र ती सिस्टरलाई एक्लै बसेर आत्मचिन्तन गर्ने प्रबन्ध गरिन्। अर्की एउटी सिस्टरले फङ्ग लिङ्ग अरूसँग प्रेमपूर्वक व्यवहार गर्छिन् भनेकीले, झाङ्ग शिनले ती सिस्टरको सुरक्षा खतरामा रहेको भन्ने झूट बोलिन्, र उनलाई तीन महिनासम्म भेलामा उपस्थित हुनबाट रोकिन्। साधारण मामिलाको जिम्मा लिने अर्की एउटी सिस्टर पनि थिइन्, जसलाई झाङ्ग शिनले केवल आफूलाई सल्लाह दिएकै कारण उनको कर्तव्य निर्वाह गर्नबाट रोकिन्। यसले मलाई साँच्चै स्तब्ध बनायो। झाङ्ग शिनमा परमेश्वरको पटक्कै डर नमान्ने हृदय कसरी हुन सक्यो? उनले मानिसहरूलाई दमन गर्न यति धेरै दुष्ट कामहरू गरिन्। अनि उनले दमन गरेकाहरू मण्डलीमा सत्यता पछ्याउने मानिसहरू थिए। झाङ्ग शिनमा पक्कै पनि समस्या थियो। म सङ्गति गर्न र समस्या खुट्ट्याउन नयाँ विश्वासीहरूलाई मलजल गर्ने सिस्टर लि शिनरुईकहाँ गएँ। उनले मलाई भनिन्, “शाओ लिउ बिलकुलै पश्चात्ताप देखाउँदिनन्। उनी अझै पनि आफूमाथि भएको अन्यायबारे गुनासो गरिरहन्छिन् र आफू उपस्थित हुने हरेक भेलामा को गलत थियो र को सही थियो भनी बहस गरिरहन्छिन्, जसले मण्डलीको जीवनमा अवरोध पुऱ्याइरहेको छ। फङ्ग लिङ्ग अगुवा हुँदा, उनले शाओ लिउको दुष्ट व्यवहारको जाँचपड्ताल गरेकी थिइन्, त्यसैले शाओ लिउले निर्लज्जतापूर्वक उनीसँग बदला लिन चाहेको बताएकी छिन्।” म आक्रोशित भएँ। झाङ्ग शिनले त खासमा शाओ लिउले पश्चात्ताप गरेकी भनेकी थिइन्। उनले स्पष्ट रूपमा मण्डलीमा बाधा दिइरहेकी एउटी दुष्ट व्यक्तिलाई प्रश्रय दिइरहेकी थिइन्। के यो एउटा झूटा अगुवाको सङ्केत थिएन र? यदि झाङ्ग शिनले तुरुन्तै आफ्नो मार्ग परिवर्तन गरिनन् भने, उनले मण्डलीको काममा ढिलाइ गर्नेछिन् भनी मैले सोचेँ, त्यसैले मैले पहिले उनलाई यी समस्याहरू औँल्याउने निर्णय गरेँ। झाङ्ग शिनलाई भेटेपछि, मैले उनलाई भनेँ उनले ती सिस्टरहरूलाई उनीहरूको कर्तव्य निर्वाह गर्नबाट रोकेर सिद्धान्तहरू उल्लङ्घन गरिन्। अचम्मको कुरा, उनी ममाथि चिच्याइन्, “कतिपय मानिसहरू मेरो आज्ञा मान्न अस्वीकार गर्छन्, र मेरो ढाडपछाडि कुरा काट्छन्! कसको मनमा मेरो बारेमा यस्ता विचारहरू छन् भन्ने मलाई राम्ररी थाहा छ। यदि तिनीहरूले मेरो आज्ञा मान्दैनन् भने, गएर माथिल्लो तहका अगुवाहरूलाई रिपोर्ट गरून्! मैले गर्ने सबै कुरा उचित र सही छ। कसैले मेरो बारेमा के भन्छ भन्ने मलाई डर लाग्दैन।” उनको क्रूर जवाफले मलाई डर लाग्यो। अब, मण्डलीमा उनैको अन्तिम निर्णय चल्थ्यो, र उनको कुरा नसुन्ने जो-कोहीलाई पनि उनी दमन गर्थिन् र यातना दिन्थिन्। अवस्था बिलकुल उनको पूर्ण नियन्त्रणको विन्दुमा पुग्यो। मैले उनलाई एउटा कुरा मात्र भनेकी थिएँ, र उनी यति क्रूर भइन् भने यदि मैले कुराहरू औँल्याउन र उनको खुलासा गर्न जारी राखेँ भने, उनले मलाई मेरो कर्तव्य निर्वाह गर्नबाट रोक्नेछिन् भनेर म डराएँ। यदि त्यसो भयो भने मेरो जीवन प्रवेशमा हानि पुग्नेछ। आफूले त्यो सोच्ने बित्तिकै, मैले उनका समस्याहरू औँल्याउन छोडेँ। घर पुगेपछि, मलाई साह्रै दोषी महसुस भयो। एउटी दुष्ट व्यक्तिले मण्डलीमा बाधा दिइरहेकी थिइन्, र मेरा ब्रदर-सिस्टरहरूलाई दमन गरिँदै थियो। यो मामिलालाई सम्हाल्नुको सट्टा, झाङ्ग शिनले मानिसहरूलाई दमन गरिरहेकी थिइन्, र जब मैले उनको समस्या औँल्याएँ, उनले स्वीकार गरिनन्। मैले यो अवस्था माथिल्लो तहका अगुवाहरूलाई रिपोर्ट गर्नुपर्छ भन्ने मलाई थाहा थियो। त्यसपछि, म शिनरुईलाई भेट्न गएँ। हामीले रिपोर्ट पत्र लेख्ने सिद्धान्तहरूबारे छलफल गर्यौँ र झाङ्ग शिनबारे रिपोर्ट गर्ने तयारी गर्यौँ। तर जब हामीले उनका दुष्ट व्यवहारहरू लेखिसक्यौँ र बुझाउने तयारी गर्यौँ, म हिचकिचाएँ। यदि झाङ्ग शिनले हाम्रो रिपोर्ट पत्रबारे थाहा पाइन्, हामीमाथि दोषारोपण गरिन्, हामीलाई फसाइन्, र हामीलाई निष्कासित गराइन् भने हामी के गर्ने? यदि मलाई निष्कासित गरिएको भए मैले कसरी मुक्ति पाउन सक्थेँ र? यसबारेमा सोचेपछि, मैले लामो समयसम्म पत्र बुझाइनँ। तर मण्डलीमा अराजकता देखेर, रिपोर्ट नगरेकोमा मलाई दोषी महसुस भयो। ती केही दिन, जब-जब म यो मामिलाबारे सोच्थेँ, मलाई साह्रै दुःख लाग्थ्यो।
एक रात, म शिनरुईको घर गएका बेला, झाङ्ग शिन अचानक आइन्, र आक्रामक रूपमा शिनरुईलाई मण्डलीमा उनको खुलासा गरेको आरोप लगाइन्। उनको उद्धत व्यवहार देखेर, मलाई साह्रै नै रिस उठ्यो। उनी साँच्चै नै धेरै अभिमानी थिइन्। उनले लापरवाहीपूर्वक दुष्कर्म गरिन्, तर अरूलाई उनको खुलासा गर्नबाट रोकिन्। मानिसहरूलाई बोल्ने अधिकारसमेत थिएन, र पूरै मण्डली उनको नियन्त्रणमा थियो। मैले न्यायको लागि खडा हुनुपर्थ्यो र मण्डलीको कामको रक्षा गर्न झाङ्ग शिनको खुलासा गर्नुपर्थ्यो। तर उनी कति घमण्डी थिइन्, कसैको कुरा सुन्दिनथिन् र साह्रै प्रतिशोधी थिइन् भन्ने कुरा विचार गर्दा, यदि मैले उनलाई उक्साएँ भने, उनले सजाय दिने अर्को व्यक्ति मै हुन सक्छु भन्ने लाग्यो। उनले मलाई निष्कासित गराउन कुनै झुठो आरोप लगाउन सक्थिन्। मभित्र साह्रै अन्तर्द्वन्द्व चल्यो, त्यसैले मैले चुपचाप परमेश्वरलाई मलाई साहस र आत्मविश्वास दिनुहोस् भनी पुकारेँ। मैले परमेश्वरको वचन सम्झेँ: “प्रत्येक मण्डलीमा त्यस्ता व्यक्तिहरू हुन्छन् जसले मण्डलीमा बाधा उत्पन्न गर्छन् वा परमेश्वरको काममा अवरोध पुऱ्याउँछन्। तिनीहरू सबै शैतानहरू हुन् जो छली-भेसमा परमेश्वरको घरमा पसेका छन्। … यस्ता मानिसहरू मण्डलीमा उन्मादपूर्ण रूपमा हुन्छन्, तिनीहरूले आफ्नो नकारात्मकता फैलाउँछन्, मृत्यु पोखाउँछन्, उनीहरूलाई जे मन लाग्छ त्यही गर्छन्, जे मन लाग्छ त्यही बोल्छन् र उनीहरूलाई रोक्ने हिम्मत कसैले पनि गर्दैन। तिनीहरू शैतानको स्वभावले भरिन्छन्। तिनीहरूले गडबडी गरेका लगत्तै मण्डलीमा मृत्युको हावा प्रवेश गरिहाल्छ। मण्डलीभित्र सत्यता अभ्यास गर्नेहरूलाई इन्कार गरिन्छ, र उनीहरू सबै कुरा दिन असमर्थ हुन्छन् भने मण्डलीमा बाधा दिने र मृत्यु फैलाउनेहरू जताततै दगुर्छन्—अनि, यति मात्र होइन, धेरैजसो मानिसहरूले उनीहरूलाई पछ्याउँछन्। त्यस्ता मण्डलीहरूमा शैतानले नै शासन गर्छ, जुन स्पष्ट र सरल कुरा हो; शैतान तिनीहरूको राजा हो। यदि त्यस्ता मण्डलीमा मानिसहरू खडा भएर प्रमुख भूतात्माहरूलाई इन्कार गर्दैनन् भने, तिनीहरू पनि ढिलो वा छिटो नाश हुनेछन्। अबदेखि उसो, त्यस्ता मण्डलीहरूको विरुद्धमा कारबाही गर्नुपर्छ। यदि थोरै सत्य अभ्यास गर्न सक्षम व्यक्तिहरूले खोजी गरेनन् भने त्यो मण्डलीलाई हटाइनेछ। यदि कुनै मण्डलीमा सत्यता अभ्यास गर्न इच्छुक हुने र परमेश्वरको गवाही दिनमा दृढ रहन सक्ने कोही छैन भने, त्यो मण्डलीलाई पूर्ण रूपमा अलग गर्नुपर्दछ, र अरू मण्डलीहरूसँग त्यसको सम्बन्ध विच्छेद गर्नुपर्दछ। यसलाई ‘मृत्युलाई गाड्नु’ भनिन्छ; शैतानलाई इन्कार गर्नु भनेको यही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्वरको वचनले मलाई साहस र बल दियो, र मलाई अब डर लाग्न छोड्यो। परमेश्वरको धर्मी स्वभावले उल्लङ्घन सहँदैन, र सबै प्रकारका दुष्ट कामहरू गर्ने ती दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूप्रति परमेश्वरभित्र अत्यन्तै घृणा र वितृष्णा हुन्छ। तिनीहरूले केही समयका लागि शक्ति हातमा लिएर उदण्ड मच्चाए तापनि, अन्तमा तिनीहरू प्रकटित भई हटाइनेछन्। परमेश्वरको वचन एकदमै स्पष्ट छ; जब दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मण्डलीलाई नियन्त्रण गर्छन्, यदि कसैले पनि सत्यता अभ्यास गर्दैन भने, तिनीहरूले यी दुष्ट शक्तिहरूलाई मण्डलीमा उदण्ड मच्चाउन छुट दिइरहेका हुन्छन्। यस्तो मण्डली शैतानद्वारा शासित हुन्छ, र यदि सदस्यहरूले पश्चात्ताप गर्दैनन् भने, तिनीहरू सबै परमेश्वरद्वारा परित्यक्त हुँदै हटाइनेछन्। मलाई यसले साँच्चै नै छोयो। झाङ्ग शिनले मण्डलीमा मेरा ब्रदर-सिस्टरहरूलाई आक्रमण गर्दै र यातना दिँदै निरङ्कुश शासन चलाइरहेकी थिइन्। तर आफूलाई बचाउनका लागि, मैले उनको खुलासा गर्न र उनलाई रोक्न कदम चालिनँ, उनलाई र शाओ लिउलाई दुष्ट काम गर्न र मण्डलीको काममा बाधा दिन छोडिदिएँ। म शैतानको पक्षमा उभिएर परमेश्वरको प्रतिरोध गर्दै थिएँ, र म पनि तिनीहरूको दुष्टतामा सहभागी थिएँ। यो कुरा बुझेपछि, मैले एउटी दुष्ट व्यक्तिलाई संरक्षण गरेको, अरूलाई दण्ड दिन आफ्नो पदको दुरुपयोग गरेको, र ख्रीष्टविरोधीको मार्गमा हिँडेकोमा झाङ्ग शिनको खुलासा गर्ने साहस प्राप्त गरेँ। झाङ्ग शिनले यो सुनेपछि, उनी निःशब्द भइन्। उनले तुरुन्तै विषय परिवर्तन गरिन्, फङ्ग लिङ्गलाई मण्डलीमा फिर्ता ल्याउन सहमत भइन्, र त्यसपछि उनी छोडेर गइन्।
त्यसपछि, परमेश्वरका वचनका केही खण्डहरूले मलाई केही स्पष्टता दिए, र मैले झाङ्ग शिनको सारलाई अझ बढी बुझ्न सकेँ। परमेश्वरका वचनहरूले भन्छन्: “ख्रीष्टविरोधीको सारको सबैभन्दा स्पष्ट देखिने एक विशेषता भनेको तिनीहरू शक्तिमा एकाधिकार राख्छन् र आफ्नै तानासाह सञ्चालन गर्छन्: तिनीहरूले कसैको कुरा सुन्दैनन्, कसैलाई पनि सम्मान गर्दैनन्, र मानिसहरूको सामर्थ्य जस्तोसुकै भए पनि, वा तिनीहरूले जुनसुकै सही दृष्टिकोण र बौद्धिक राय व्यक्त गर्न सक्ने भए पनि, वा तिनीहरूले जति नै उपयुक्त विधिहरू अगाडि सार्ने भए पनि, ख्रीष्टविरोधीहरूले ती कुराहरूमा कुनै चासो दिँदैनन्; यस्तो लाग्छ मानौँ तिनीहरूसँग सहकार्य गर्न वा तिनीहरूले गर्ने कुनै काममा सहभागी हुन कोही पनि योग्य छैन। ख्रीष्टविरोधीहरूसित यस्तो स्वभाव हुन्छ। कतिपय मानिसहरू यो खराब मानवताको हुनु हो भन्छन्—यो कसरी साधारण खराब मानवता मात्र हुन सक्छ र? यो पूर्णतया शैतानी स्वभाव हो, र यस्तो स्वभाव अत्यन्तै क्रूर हुन्छ। म किन तिनीहरूको स्वभाव अत्यन्तै क्रूर हुन्छ भनेर भन्दै छु त? ख्रीष्टविरोधीहरूले परमेश्वरको घरको सब थोक र मण्डलीको सम्पत्ति कब्जा गर्छन्, ती कुराहरूलाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा लिन्छन्, जुन सबै तिनीहरूले व्यवस्थापन गर्नुपर्ने हो, र तिनीहरूले कसैलाई पनि यसमा हस्तक्षेप गर्न दिँदैनन्। मण्डलीको काम गर्दा तिनीहरूले सोच्ने भनेकै तिनीहरूका आफ्नै हित, तिनीहरूका आफ्नै हैसियत, र तिनीहरूका आफ्नै गौरव मात्र हुन्। तिनीहरू कसैलाई पनि आफ्ना हितहरूमा हानि गर्न दिँदैनन्, क्षमता भएको र आफ्नो अनुभवात्मक गवाही सुनाउन सक्ने कसैलाई आफ्नो प्रतिष्ठा र हैसियतमा चुनौती दिन दिनु त परको कुरा हो। त्यसकारण, तिनीहरूले अनुभवात्मक गवाहीबारे बोल्न सक्ने, र सत्यता सङ्गति गर्न र परमेश्वरका चुनिएका मानिसहरूलाई भरणपोषण गर्न सक्नेहरूलाई प्रतिस्पर्धीहरू ठानी दबाउने र बहिष्कार गर्ने कोसिस गर्छन्, र तिनीहरू ती मानिसहरूलाई अरू सबैबाट पूर्ण रूपमा अलग्याउने, तिनीहरूको नाममाथि पूरै हिलो छयाप्ने, र तिनीहरूलाई लडाउने उन्माद प्रयास गर्छन्। त्यसपछि मात्रै ख्रीष्टविरोधीहरूले शान्ति महसुस गर्छन्। … के तिनीहरू परमेश्वरको घरको हितबारे सोच्छन्? सोच्दैनन्। तिनीहरू केको बारेमा सोच्छन्? तिनीहरू आफ्नो हैसियत कसरी कायम राख्ने त्यो मात्रै सोच्छन्। ख्रीष्टविरोधीहरू आफूले वास्तविक काम गर्न नसक्ने कुरा थाहा भएर पनि, सत्यताको खोजी गर्ने राम्रो क्षमता भएका मानिसहरूलाई संवर्धन वा प्रवर्धन गर्ने गर्दैनन्; तिनीहरूले प्रवर्धन गर्ने मानिसहरू त केवल तिनीहरूको चापलुसी गर्ने, अरूको आराधना गर्न तयार हुने, हृदयदेखि तिनीहरूलाई अनुमोदन र प्रशंसा गर्ने, चिप्लो घस्ने, सत्यताको बुझाइ नभएका र खुट्टयाउने क्षमता नभएकाहरू हुन्। ख्रीष्टविरोधीहरूले आफ्नो सेवा गराउन, आफ्नो लागि दौडधूप गराउन, हरेक दिन आफ्नो अघिपछि लाग्न यी मानिसहरूलाई आफ्नो पक्षमा बढुवा गर्छन्। यसले ख्रीष्टविरोधीहरूलाई मण्डलीमा शक्ति दिन्छ, र धेरै मानिसहरूलाई तिनीहरूको नजिक जाने, र तिनीहरूलाई पछ्याउने तुल्याउँछ, र कसैले पनि तिनीहरूलाई चिढ्याउने आँट गर्दैन। ख्रीष्टविरोधीहरूले संवर्धन गर्ने ती सबै मानिसहरू सत्यता नपछ्याउने मानिसहरू हुन्छन्। यिनीहरूमध्ये धेरैजसोमा आत्मिक बुझाइको कमी हुन्छ र नियम पालना गर्ने बाहेक यिनीहरूलाई केही आउँदैन। यिनीहरू प्रचलन र शासकहरूको पछि लाग्न मन पराउँछन्। यिनीहरू मालिक शक्तिशाली भएपछि साहस पाउनेहरू, अर्थात् अन्योलमा परेका मानिसहरूको झुण्ड हुन्। गैरविश्वासीहरूको त्यो भनाइ कस्तो पो छ? खराब मानिसको पूज्य पूर्वज बन्नुभन्दा असल मानिसको नोकर बन्नु नै राम्रो हुन्छ। ख्रीष्टविरोधीहरूले यसको ठ्याक्कै उल्टो काम गर्छन्—तिनीहरू त्यस्ता मानिसहरूको पूज्य पूर्वजझैँ व्यवहार गर्छन्, र उनीहरूलाई तिनीहरूको झन्डा फहराउने र जयजयकार गर्ने मानिसका रूपमा संवर्धन गर्ने प्रयास गर्छन्। जबजब मण्डलीमा ख्रीष्टविरोधीले शक्ति पाउँछ, तबतब उसले सधैँ अन्योलमा परेका मानिसहरू र अन्धो भएर यताउती गर्नेहरूलाई आफ्नो सहयोगीको रूपमा आकर्षित गर्छ, जबकि सत्यता बुझ्न र अभ्यास गर्न सक्ने, र कामको जिम्मा लिन सक्ने क्षमतावान् मानिसहरूलाई, विशेष गरी वास्तविक काम गर्न सक्ने अगुवा र कामदारहरूलाई भने बहिष्कार र दमन गर्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। “ख्रीष्टविरोधीले मतविरोधीहरूका रूपमा हेर्ने मानिसहरू को हुन्? कम्तीमा पनि, तिनीहरू ख्रीष्टविरोधीलाई अगुवाका रूपमा गम्भीरतासाथ नलिने मानिसहरू हुन् अर्थात् तिनीहरू ख्रीष्टविरोधीहरूलाई आदर वा आराधना नगर्ने, बरू तिनीहरूलाई साधारण व्यक्तिको रूपमा हेर्ने मानिसहरू हुन्। त्यो एउटा प्रकार हो। त्यसपछि सत्यतालाई प्रेम गर्ने, सत्यताको खोजी गर्ने, आफ्नो स्वभाव परिवर्तन गर्न खोज्ने, र परमेश्वरप्रतिको प्रेमको खोजी गर्ने मानिसहरू छन्; तिनीहरू ख्रीष्टविरोधीको भन्दा फरक मार्ग अपनाउँछन्, र ख्रीष्टविरोधीको नजरमा तिनीहरू मतविरोधीहरू बन्छन्। अरू कोही छन्? (ख्रीष्टविरोधीहरूलाई सधैँ सुझाव दिने, र तिनीहरूको खुलासा गर्ने आँट गर्ने मानिसहरू।) ख्रीष्टविरोधीलाई सुझाव दिन र तिनीहरूलाई खुलासा गर्न आँट गर्ने, वा तिनीहरूको भन्दा फरक विचार राख्ने मानिसहरूलाई ख्रीष्टविरोधीले मतविरोधीहरूको रूपमा हेर्छ। अनि अर्को प्रकारका मानिसहरू पनि हुन्छन्: जो क्षमता र सीपमा ख्रीष्टविरोधी जत्तिकै हुन्छन्, जसको बोलीवचन र व्यवहार क्षमता ख्रीष्टविरोधीहरूको जत्तिकै हुन्छ, वा जसलाई ख्रीष्टविरोधीले आफूभन्दा उच्च र उनीहरूलाई चिन्न सक्ने मानिसहरूका रूपमा ठान्छ। ख्रीष्टविरोधीका लागि, यो असह्य, र उसको हैसियतका निम्ति खतरायुक्त हुन्छ। यस्ता मानिसहरू ख्रीष्टविरोधीका सबैभन्दा ठूला मतविरोधीहरू हुन्। ख्रीष्टविरोधीले यस्ता मानिसहरूलाई कम आँक्ने वा थोरै लापरवाह बन्ने पनि आँट गर्दैनन्। तिनीहरू यस्ता मानिसहरूलाई काँडाको रूपमा हेर्छन्, सधैँ झिज्याउने कुराका रूपमा हेर्छन्, यस्ता मानिसहरूका विरुद्धमा सधैँ सचेत र सतर्क रहन्छन्, र आफूले गर्ने हरेक कुरामा तिनीहरू यस्ता मानिसहरूबाट टाढा बस्छन्। विशेष गरी जब ख्रीष्टविरोधीले कुनै मतविरोधीले उसलाई पहिचान र खुलासा गर्न लागेको देख्छ, तब तिनीहरू एकदमै अत्तालिन्छन्; यस्तो व्यक्तिलाई बहिष्कार र आक्रमण गर्न उसलाई यति तीव्र इच्छा हुन्छ कि त्यस मतविरोधीलाई मण्डलीबाट सफाइ गरेर ननिकालेसम्म उसलाई चित्त बुझ्दैन। यस्तो मानसिकता र यस्ता कुराहरूले भरिएको हृदय लिएर, तिनीहरूले के-के गर्न सक्छन् त? के तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई शत्रुको रूपमा हेर्ने, र तिनीहरूलाई खसाल्ने र निकाल्ने उपायहरू सोच्ने गर्छन्? अवश्य नै गर्छन्। तिनीहरूले मतविरोधीहरूलाई काबुमा राख्ने उपायहरू सोच्दै दिमाग खियाउँछन् र तिनीहरूलाई हराउनका लागि जुनसुकै हदसम्म जान्छन्, होइन र? मतविरोधीहरूलाई काबुमा राख्नुको अर्थ के हो भने, ख्रीष्टविरोधीले सबैलाई आफ्नो कुरा सुन्न लगाउँछ, ताकि कसैले पनि अरू केही बोल्ने वा फरक विचार राख्ने हिम्मत नै नगरून्, उसको खुलासा गर्नु त परै जाओस्। मतविरोधीलाई हराउनुको अर्थ ख्रीष्टविरोधीले उसलाई फसाउँछ र निन्दा गर्छ, केही झूटा कुरा खडा गरेर त्यस मतविरोधीलाई मूर्खजस्तो देखिने बनाउँछ र काँटछाँटमा पार्छ, जसले गर्दा त्यस व्यक्तिको प्रतिष्ठा भूईंमै गिर्छ। के यस्तो काम गर्नु दुष्ट कार्यको सबैभन्दा ठूलो रूप होइन र? के यसले परमेश्वरको स्वभावलाई चिढ्याउँदैन र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण गर्छन् र बहिष्कार गर्छन्)। ख्रीष्टविरोधीहरूको प्रकृति विशेषगरी दुराशयपूर्ण र क्रूर हुन्छ। शक्तिमा एकाधिकार जमाउन र एउटा स्वतन्त्र राज्य स्थापना गर्न, तिनीहरू आफूलाई मन पर्ने मानिसहरूलाई आफ्नो दाहिने हात बनाउन पदोन्नति गर्छन्, र यदि कसैले तिनीहरूका कमीकमजोरीहरू औँल्याउँछ, तिनीहरूको खुलासा गर्छ, वा तिनीहरूको हैसियतलाई खतरामा पार्छ भने, तिनीहरू उसलाई आफ्नो आँखाको कसिंगर ठान्छन्, आफूले सक्नेजति हर तरिकाले आक्रमण गर्छन् र बहिष्कार गर्छन्, र तिनिहरूलाई मण्डलीबाट समेत निकालिदिन्छन्। ख्रीष्टविरोधीहरूको सार दुष्ट मानिसहरूको जस्तै हुन्छ। तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र तिनीहरूमा विवेक वा समझ हुँदैन, र आफूले अरूलाई जतिसुकै दण्ड दिए पनि, तिनीहरूलाई दोषी महसुस हुँदैन। झाङ्ग शिनको व्यवहारलाई हेर्दा, एक अगुवाका रूपमा, उनले मण्डलीको कामलाई पटक्कै समर्थन गरिनन्, र उनले आफ्नो शक्ति मण्डली नियन्त्रण र असन्तुष्टहरूलाई आक्रमण अनि बहिष्कार गर्न आफ्ना अनुयायीहरूको संवर्धन गर्नमा प्रयोग गरिन्। शाओ लिउ एउटी दुष्ट व्यक्ति थिइन् र उनलाई निष्कासित गर्नु आवश्यक थियो, तर उनले झाङ्ग शिनको पक्ष लिएकोले, झाङ्ग शिनले उनलाई पदोन्नति गरिन् र उनलाई उनको दोषबाट मुक्त गर्न विभिन्न कारणहरू फेला पारिन्। फङ्ग लिङ्गमा इन्साफको बोध थियो, र जब उनले झाङ्ग शिनका समस्याहरू औँल्याइन्, झाङ्ग शिनले मनमा रिस लिईन्। जब फङ्ग लिङ्गलाई बर्खास्त गरियो, झाङ्ग शिनले बदला लिने मौका देखिन्, त्यसैले उनले फङ्ग लिङ्गलाई मण्डलीबाट निकाल्न हरसम्भव प्रयास गरिन्। जब अन्य कतिपय सिस्टरहरू फङ्ग लिङ्गको निन्दा गर्न उनको पछि लागेनन्, उनले तिनीहरूलाई दमन गरिन् र दण्ड दिइन्। झाङ्ग शिन दुराशयपूर्ण र क्रूर थिइन्; उनको हैसियतलाई खतरामा पार्ने वा उनको आज्ञा नमान्ने जो-सुकैलाई पनि उनी यातना दिन्थिन्, र उनले मण्डलीमा निरङ्कुश शासन चलाउँदै मनमानी गर्दै हिँडिन्, र अलिकति पनि पछुतो मानिनन्। उनी साँचो ख्रीष्टविरोधी थिइन्। झाङ्ग शिनको बारेमा यो कुरा पहिचान गरिसकेपछि, हामीले रिपोर्ट पत्र बुझायौँ।
झाङ्ग शिनले हामीसँग बदला लिन धेरै समय नै लागेन। उनले मलाई सुरक्षाको निम्ति खतरा भएको बहाना बनाएर भेलामा आउनबाट रोकिन्। सिस्टर लि शिनरुई र युआन सियुले झाङ्ग शिनको वास्तविकता पहिचान गरेकाले, उनले तिनीहरूलाई पनि भेलामा जानबाट रोकिन्। त्यसैले हामीले सँगै भेला गर्ने सहमति गर्यौँ। केही समयपछि, झाङ्ग शिनले म र शिनरुईलाई अगुवा पदको लागि होडबाजी गरेको, मण्डलीमा अराजकता मच्चाएको, र दुष्ट मानिस भएको झूटा आरोप लगाइन्, र ब्रदर-सिस्टरहरूलाई हामीलाई तिरस्कार गर्न भनिन्। कसै-कसैले विना कुनै खुट्याइ झाङ्ग शिनको कुरा पत्याए र मलाई बाटोमा देख्दा रूखो व्यवहार गर्दै वेवास्ता गर्थे। यस्तो हुँदा, मलाई दुःखी र अन्यायमा परेको महसुस भयो। किन सत्यता अभ्यास गरेपछि, हामीलाई यी दुष्ट शक्तिहरूद्वारा दमन गरिँदै, दण्ड दिइँदै र झूटा आरोप लगाइँदै थियो? दुष्ट काम गर्दागर्दै पनि झाङ्ग शिन किन मण्डलीमा फस्टाइरहेकी थिइन्? हाम्रा ब्रदर-सिस्टरहरूले हामीलाई किन गलत बुझे र तिरस्कार गरे? म यति धेरै पीडामा थिएँ, भविष्यमा आफ्नो बाटो कसरी हिँड्ने भन्ने मलाई थाहा थिएन, र म नकारात्मकतामा फसेकी थिएँ। ती दिनहरूमा भेला हुँदा, जब सिस्टरहरूले झाङ्ग शिनको व्यवहारलाई खुट्ट्याउँथे, मलाई बोल्न मन लाग्दैनथ्यो। मैले सोचेँ, “मैले झाङ्ग शिनको खुलासा गर्न कदम चालेँ, र मलाई दमन मात्र गरिएन, मेरा ब्रदर-सिस्टरहरूले मैले अगुवा पदका लागि होडबाजी गरेको भनेर गलत समेत बुझे। अब मलाई दमन गरिएको छ र एक्ल्याइएको छ। मेरो लागि को बोलिदेला र? ठीकै छ, छोडिदिऊँ, ती मण्डलीका मामिलाहरूसँग मेरो कुनै सरोकार छैन।” मलाई साह्रै कमजोर महसुस भइरहेको थियो, र म गहिरो आत्मिक अन्धकारमा थिएँ। आफ्नो पीडामा, मैले आँखामा आँसु लिएर परमेश्वरका अगाडि घुँडा टेकेँ र उहाँलाई बारम्बार भनेँ, “हे परमेश्वर! यी कुराहरू अनुभव गरेपछि म धेरै दुःख भोगिरहेकी छु। मण्डलीको हितको रक्षा गर्न सत्यता अभ्यास गर्दा मलाई किन दमन र तिरस्कार गरिँदै छ? हे परमेश्वर, कृपया मलाई मार्गदर्शन गर्नुहोस्, मलाई तपाईंको अभिप्राय बुझ्न मद्दत गर्नुहोस्।”
पछि, मैले परमेश्वरको वचनमा पढेँ: “वास्तविक जीवनका समस्याहरू सामना गर्ने क्रममा, तैँले परमेश्वरको अख्तियार र उहाँको सार्वभौमिकतालाई कसरी जान्नु र बुझ्नुपर्छ? जब तैँले यी समस्याहरू सामना गर्छस् र तिनलाई कसरी बुझ्ने, सम्हाल्ने, र अनुभव गर्ने भन्ने तँलाई थाहा हुँदैन, तब तँसँग परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुने अभिप्राय र चाहना छ भनेर प्रदर्शन गर्न, अनि यस समर्पणको वास्तविकता प्रदर्शन गर्न तैँले कस्तो मनोवृत्ति अपनाउनुपर्छ? पहिले, तैँले प्रतीक्षा गर्न सिक्नुपर्छ; त्यसपछि तैँले खोजी गर्न सिक्नुपर्छ; र त्यसपछि तैँले समर्पित हुन सिक्नुपर्छ। ‘प्रतीक्षा गर्नु’ भनेको परमेश्वरको समय प्रतीक्षा गर्नु हो, उहाँले तेरो निम्ति बन्दोबस्त गर्नुभएका मानिसहरू, घटनाहरू र कामकुराहरू प्रतीक्षा गर्नु हो, उहाँका अभिप्रायहरू तँकहाँ क्रमिक रूपमा प्रकट हुने प्रतीक्षा गर्नु हो। ‘खोजी गर्नु’ भनेको परमेश्वरले योजनाबद्ध गर्नुभएका मानिस, घटना, र कामकुराहरूमार्फत तँप्रति उहाँका श्रमसाध्य अभिप्रायहरूलाई जाँच गर्नु र बुझ्नु हो, तिनीहरूसित सम्बन्धित सत्यता बुझ्नु हो, मानिसहरूले हासिल गर्नैपर्ने कुराहरू र तिनीहरूले पालना गर्नैपर्ने मार्गहरूलाई बुझ्नु हो, र परमेश्वरले मानिसहरूमा के-कस्ता नतिजाहरू प्राप्त गर्न र तिनीहरूमा के-कस्ता उपलब्धिहरू हासिल गर्न चाहनुहुन्छ भनेर बुझ्नु हो। ‘समर्पित हुनु’ ले चाहिँ अवश्य नै परमेश्वरले योजनाबद्ध गर्नुभएका मानिसहरू, घटनाहरू, र कामकुराहरू स्वीकार गर्नुलाई जनाउँछ, उहाँको सार्वभौमिकता स्वीकार गर्नु र यसमार्फत, सृष्टिकर्ताले कसरी मानिसको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ, उहाँले कसरी मानिसलाई उहाँको जीवन आपूर्ति गर्नुहुन्छ, र मानिसभित्र उहाँले कसरी सत्यताको काम गर्नुहुन्छ भनेर अनुभव गर्नुलाई जनाउँछ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। परमेश्वरको वचन मनन गरेपछि, मैले अचानक बुझेँ, जब आफूले नबुझ्ने कामकुराहरू हुन्छन्, मैले समर्पणको मनोवृत्ति राख्नुपर्छ, परमेश्वरका अभिप्रायहरू खोज्न सिक्नुपर्छ, र परमेश्वरको समयअनुसार कामकुराहरू अघि बढ्न प्रतीक्षा गर्नुपर्छ। मैले बुझेँ हामीले रिपोर्ट पत्र बुझाएपछि, माथिल्लो तहका अगुवाहरूले यसलाई सम्हाल्ने एउटा प्रक्रिया थियो। उनीहरूले यसलाई सम्हाल्नुअघि, झाङ्ग शिनले निश्चित रूपमा दुष्ट कामगराइ, असन्तुष्टहरूमाथिको आक्रमण गर्न र बहिष्कार जारी राख्नेथिइन्, यो उनको दुष्ट प्रकृति प्रकट भइरहेको थियो। यो अवधिमा, हामीले धैर्य गर्दै र प्रतीक्षा गर्नुपर्थ्यो। यो प्रक्रियाको एक आवश्यक हिस्सा थियो। तर मसँग समर्पण गर्ने र प्रतीक्षा गर्ने हृदय थिएन, र मैले यो वातावरणमा पाठ सिक्न खोजिनँ। जब मैले झाङ्ग शिनलाई नसम्हालिएको, र बरु मलाई नै निन्दा र तिरस्कार गरिएको देखेँ, मैले परमेश्वरबारे गुनासो गरेँ र उहाँलाई गलत बुझेँ, उहाँको धार्मिकतालाई इन्कार गरेँ, र उहाँबाट निराश महसुस गरेँ। म कति अविवेकी थिएँ!
त्यसपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ र उहाँलाई मलाई उहाँको धर्मी स्वभाव बुझ्नमा मार्गदर्शन गर्न आग्रह गरेँ। त्यसपछि, मैले परमेश्वरको वचनको यो खण्ड पढेँ: “मानिसहरूले परमेश्वरको धर्मी स्वभावलाई कसरी जान्ने र बुझ्ने गर्छन्? धर्मीजनले उहाँको आशिष् पाउँछन् र दुष्टले उहाँबाट सराप पाउँछन्। यो परमेश्वरको धार्मिकता हो। परमेश्वरले असल मानिसलाई इनाम र दुष्टलाई दण्ड दिनुहुन्छ, र उहाँले प्रत्येक मानिसलाई उसका कामहरूअनुसार प्रतिफल दिनुहुन्छ। यो सही कुरा हो, तर वर्तमान समयका कतिपय घटनाहरू मानव धारणाहरूसँग मिल्दैनन्, जस्तै—परमेश्वरमा विश्वास गर्ने र उहाँको आराधना गर्ने कतिपय मानिस मारिन्छन् वा तिनीहरूले उहाँको सराप पाउँछन्, वा तिनीहरूलाई उहाँले कहिल्यै आशिष् दिनुभएको छैन, वा वास्ता गर्नुभएको छैन; तिनीहरूले जति धेरै उहाँको आराधना गरे पनि, उहाँ तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ। केही दुष्ट मानिस छन् जसलाई परमेश्वर न त आशिष् दिनुहुन्छ, न दण्ड नै दिनुहुन्छ, तैपनि तिनीहरू धनी हुन्छन् र तिनीहरूका धेरै सन्तानहरू हुन्छन्, र तिनीहरूका सबै कुरा राम्ररी चलिरहेको हुन्छ; तिनीहरू सबै कुरामा सफल हुन्छन्। के यो परमेश्वरको धार्मिकता हो? कतिपय मानिसहरूले भन्छन्, ‘हामीले परमेश्वरको आराधना गर्छौँ, र पनि हामीले उहाँबाट आशिष्हरू पाएका छैनौँ, जबकि परमेश्वरको आराधना नगर्ने बरु उहाँको विरोध गर्ने दुष्ट मानिसहरूले हामीभन्दा अझै राम्रो र समृद्ध जीवन बिताइरहेका छन्। परमेश्वर धर्मी हुनुहुन्न!’ यसले तिमीहरूलाई के देखाउँदछ? मैले भर्खर तिमीहरूलाई दुई वटा उदाहरण दिएँ। तीमध्ये कुन चाहिँले परमेश्वरको धार्मिकताको बारेमा बताउँछ? कतिपय मानिसहरू भन्छन्, ‘ती दुवै परमेश्वरको धार्मिकताका प्रकटीकरण हुन्!’ किन तिनीहरूले यसो भन्छन्? परमेश्वरका कार्यहरूको पछाडि सिद्धान्तहरू हुन्छन्—यति मात्रै हो कि मानिसहरू ती सिद्धान्तहरू स्पष्ट रूपमा देख्न सक्दैनन्, र तिनलाई स्पष्ट देख्न असमर्थ हुन्छन्, त्यसैले तिनीहरूले परमेश्वर धर्मी हुनुहुन्न भनेर भन्न मिल्दैन। मानिसहरूले बाहिरी रूपमा जे छ त्यसलाई मात्रै देख्न सक्छन्; तिनीहरूले भित्रसम्म र वास्तविक रूप देख्न सक्दैनन्। त्यसकारण, परमेश्वरले जे गर्नुहुन्छ त्यो धर्मी हुन्छ, चाहे त्यो मानिसका धारणा र कल्पनाहरूसँग मिलोस् वा नमिलोस्। धेरै मानिसले परमेश्वर धर्मी हुनुहुन्न भनेर निरन्तर गुनासो गर्छन्, किनभने तिनीहरूले परिस्थिति के हो भनेर बुझ्दैनन्। यदि तिनीहरूले सधैँ धारणा र कल्पनाहरूको आधारमा परिस्थितिलाई हेरिरहेका हुन्छन् भने सहजै गल्ती गर्न सक्छन्। मानिसहरूको ज्ञान तिनीहरूका आफ्ना विचार र दृष्टिकोण, आफ्नो विचारको लेनदेन, वा असल र खराब, सही र गलतसम्बन्धी तिनीहरूको दृष्टिकोण, वा तर्कमा रहेको हुन्छ। जब कसैले यस्तो दृष्टिकोणले हेर्छ, तब उसले सजिलै परमेश्वरलाई गलत रूपमा बुझ्न र धारणाहरू बनाउन सक्छ, र त्यस व्यक्तिले उहाँको विरोध र उहाँको बारेमा गुनासो गर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “तिमीहरू के भन्छौ—के परमेश्वरले शैतानको विनाश गर्नु उहाँको धार्मिकताको प्रकटीकरण हो? (हो।) उहाँले शैतानलाई रहन दिनुभयो भने के हुन्छ? तिमीहरू भन्ने आँट गर्दैनौ, होइन त? परमेश्वरको सार धार्मिकता हो। उहाँले जे गर्नुहुन्छ त्यसलाई बुझ्न सजिलो नभए पनि, उहाँले गर्नुहुने सबै कार्य धर्मी हुन्छन्; यति मात्र हो कि मानिसहरूले त्यो बुझ्दैनन्। जब परमेश्वरले पत्रुसलाई शैतानको हातमा दिनुभयो, तब पत्रुसले कस्तो प्रतिक्रिया दिए? ‘मानवजाति तपाईंले गर्नुहुने काम बुझ्न असमर्थ छ, तर तपाईंले गर्नुहुने सबै कार्यमा तपाईंको भलो इच्छा सामेल छ; ती सबैमा धार्मिकता छ। तपाईंको बुद्धि र कार्यहरूका लागि म तपाईंको प्रशंसा नगरी बस्न कसरी सक्छु र?’ अब त तिमीहरूले देख्नुपर्ने हो, परमेश्वरले मानिसलाई मुक्ति दिनुहुने समयमा शैतानलाई नष्ट नगर्नुको कारण भनेकै शैतानले मानिसहरूलाई कसरी भ्रष्ट तुल्याएको छ र यसले तिनीहरूलाई कति हदसम्म भ्रष्ट तुल्याएको छ भनेर स्पष्ट रूपमा देख्न सकून्, अनि परमेश्वरले कसरी तिनीहरूलाई शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ भनेर देख्न सकून् भन्ने हो। अन्तिममा, जब मानिसहरूले सत्यता बुझिसकेका र शैतानको घिनलाग्दो अनुहार स्पष्टसित देखिसकेका हुन्छन्, अनि शैतानले तिनीहरूलाई भ्रष्ट पारेको राक्षसी पाप देखिसकेका हुन्छन्, तब परमेश्वरले शैतानलाई नष्ट गर्नुहुनेछ, र तिनीहरूलाई उहाँको धार्मिकता देखाउनुहुनेछ। परमेश्वरले जुन बेला शैतानलाई नष्ट गर्नुहुन्छ, त्यो समय निर्धारणमा परमेश्वरको स्वभाव र बुद्धि भरिएको हुन्छ। परमेश्वरले गर्नुहुने सबै कुरा धर्मी हुन्छन्। मानिसहरूले परमेश्वरको धार्मिकता बुझ्न नसक्लान्, तर तिनीहरूले आफ्नै इच्छाले फैसला गर्नु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तिनीहरूलाई बेमनासिब लाग्छ भने, वा यदि तिनीहरूसित त्यसको बारेमा कुनै धारणाहरू छन् भने, र त्यसले तिनीहरूलाई उहाँ धर्मी हुनुहुन्न भन्ने बनाउँछ भने, तिनीहरू सबैभन्दा अविवेकी भइरहेका हुन्छन्। तैँले देख्छस् कि पत्रुसले बुझ्न नसकिने केही कुरा भेट्टाए, तर तिनमा परमेश्वरको बुद्धि उपस्थित छ र ती कुरामा उहाँको असल इच्छा छ भनी तिनी निश्चित थिए। मानिसहरूले सबै कुरा बुझ्न सक्दैनन्; तिनीहरूले बुझ्न नसक्ने कुरा धेरै छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरको वचन मनन गर्दा, आफूमा धार्मिकता भनेको निष्पक्षता र तर्कयुक्तता हो भन्ने धारणा आएछ भन्ने मैले बुझेँ। एक दुष्ट व्यक्ति र ख्रीष्टविरोधीले मण्डलीको काममा अवरोध पुऱ्याइ, र हामीले त्यसको खुलासा र रिपोर्ट गर्न खडा भएर मण्डलीको हितको रक्षा गरेकाले, परमेश्वरले हामीलाई हेरचाह र सुरक्षा दिनुपर्थ्यो, र हामीलाई दमनमा पर्न दिनुहुँदैनथ्यो, अनि दुष्ट व्यक्ति र ख्रीष्टविरोधीलाई तुरुन्तै निष्कासित गरिनुपर्थ्यो। मैले यही नै परमेश्वरको धार्मिकता हो भन्ने सोचेँ। हामीले रिपोर्ट पत्र लेखेपछि र मैले ख्रीष्टविरोधी र दुष्ट व्यक्तिलाई नसम्हालिएको, अझै पनि मण्डलीमा उच्च पदमा रहेको, र हामीलाई एक्ल्याएको र निन्दा गरेको देखेपछि, मैले परमेश्वरको धार्मिकतामाथि शङ्का गर्न थालेँ, र अविवेकी भई परमेश्वरको धार्मिकता कहाँ छ भनेर सोध्न पुगेँ। म कति अहङ्कारी थिएँ! मैले सोचेँ, जब पत्रुस परीक्षामा परे, उनी पीडादायी शोधनबाट गुज्रिए। परमेश्वरले के गरिरहनुभएको हो भन्ने उनले बुझ्न नसके तापनि, परमेश्वरले जे गर्नुभए पनि उहाँ धर्मी हुनुहुन्छ, र त्यसमा परमेश्वरको बुद्धि हुन्छ भन्ने विश्वास गरे। त्यसैले त उनी परमेश्वरमा समर्पित हुन सके, र अन्तमा, उनले परमेश्वरलाई अत्यन्तै प्रेम गरे, मृत्युसम्मै उहाँमा समर्पित भए, र सुन्दर गवाही दिए। तर मैले सत्यता बुझिनँ र आफूले अगाडि देखेका थोरै कुराका आधारमा लेनदेनको दृष्टिकोणबाट परमेश्वरको धार्मिकतालाई मूल्याङ्कन गरेँ। जब परमेश्वरले मेरा धारणाहरू अनुरूप, मलाई फाइदा हुने कामहरू गर्नुहुन्थ्यो, तब म परमेश्वरलाई धर्मी ठान्थेँ, र म परमेश्वरको प्रशंसा गर्न सक्थेँ। जब मलाई एक ख्रीष्टविरोधीद्वारा दमन गरियो, र मेरो भविष्य र गन्तव्य खतरामा पर्यो, मैले परमेश्वरमाथिको आस्था गुमाएँ, र परमेश्वर धर्मी हुनुहुन्छ भन्नेमा समेत शङ्का गरेँ र मण्डली सत्यता र धार्मिकताद्वारा शासित हुन्छ भन्ने कुरा इन्कार गरेँ। मैले परमेश्वरको धार्मिकतालाई पूर्ण रूपमा उहाँका कार्यहरूबाट मलाई लाभ भयो कि भएन भन्ने आधारमा मूल्याङ्कन गरेँ। यो सरासर मूर्खता थियो। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, परमेश्वरको सार धार्मिकता हो, र परमेश्वरले दुष्टतालाई घृणा गर्नुहुन्छ, यो उहाँको सारले निर्धारण गर्छ। मण्डलीले ख्रीष्टविरोधी र दुष्ट व्यक्तिलाई तत्कालका लागि निष्कासित गरेको थिएन तैपनि, यसको मतलब परमेश्वर तिनीहरूको कार्यदेखि घिनाउनुहुन्नथ्यो भन्ने होइन, यसको मतलब परमेश्वरले दुष्टतालाई घृणा गर्नुहुन्नथ्यो भन्ने होइन, र यसको मतलब मण्डली सत्यताद्वारा शासित थिएन भन्ने होइन। यसमा परमेश्वरको बुद्धि र असल अभिप्रायहरू थिए, मैले मात्रै त्यो कुरा बुझिनँ। म विवेकी हुनुपर्थ्यो, एक सृजित प्राणीको रूपमा आफ्नो स्थान लिनुपर्थ्यो, परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुनुपर्थ्यो, परमेश्वरलाई प्रार्थना गर्नुपर्थ्यो र खोज्नुपर्थ्यो, र उहाँको अन्तर्दृष्टि र मार्गदर्शनको प्रतीक्षा गर्नुपर्थ्यो। जब मैले यो कुरा बुझेँ, मेरो हृदय उज्यालो भयो, र परमेश्वरप्रतिको मेरो गलतफहमी हट्यो। मैले के पनि बुझेँ भने मण्डलीका केही ब्रदर-सिस्टरहरूले अझै पनि झाङ्ग शिनको वास्तविकता देखेका थिएनन्। यी कुराहरूद्वारा, बिस्तारै बिस्तारै, तिनीहरू सबैले झाङ्ग शिनको सार देख्ने थिए। तिनीहरूले उनलाई तिरस्कार गर्नुअघि सबैले उनको वास्तविकता देख्नुपर्थ्यो। यसले हामीलाई हाम्रो खुट्ट्याउने क्षमता विकास गर्न साँच्चै मद्दत गर्नेथियो। यो बुझेपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ र म उहाँको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुन चाहन्छु, र यो वातावरणमा पाठ सिक्न चाहन्छु भनेँ।
पछि, मैले परमेश्वरको वचनमा पढेँ: “यदि तँ मुक्ति पाउन चाहन्छस् भने, तैँले ठूलो रातो अजिङ्गरको अवरोधलाई मात्र पार गर्नुपर्ने होइन, र तैँले ठूलो रातो अजिङ्गरलाई छर्लङ्ग देख्न, यसको घिनलाग्दो अनुहारलाई देखेर यसविरुद्ध पूर्ण रूपमा विद्रोह गर्न सक्षम मात्र हुनुपर्ने होइन—तैँले ख्रीष्टविरोधीहरूको अवरोधलाई पनि पार गर्नुपर्ने हुन्छ। मण्डलीमा, ख्रीष्टविरोधी परमेश्वरको मात्रै शत्रु हुँदैन, परमेश्वरका चुनिएका मानिसहरूको पनि शत्रु हुन्छ। यदि तिमीहरूले ख्रीष्टविरोधीलाई खुट्ट्याउन सक्दैनौ भने, तिमीहरू बहकाउमा पर्ने र जितिने, ख्रीष्टविरोधीको मार्गमा हिँड्ने, र परमेश्वरद्वारा श्रापित र दण्डित हुने सम्भावना हुन्छ। यदि त्यस्तो भयो भने, परमेश्वरमाथिको तिमीहरूको विश्वास पूर्ण रूपमा असफल हुनेछ। मुक्ति पाउनको लागि मानिसहरूमा के हुनुपर्छ? पहिलो, तिनीहरूले धेरै सत्यता बुझेको हुनुपर्छ, र ख्रीष्टविरोधीको सार, स्वभाव, र मार्गलाई खुट्ट्याउन सक्नुपर्छ। परमेश्वरमा विश्वास गर्दा मानिसहरूलाई पुज्ने वा पछ्याउने अवस्थाबाट निश्चित रूपमा बच्ने, र परमेश्वरलाई अन्त्यसम्मै पछ्याउने एक मात्र उपाय यही हो। ख्रीष्टविरोधीलाई खुट्ट्याउन सक्ने मानिसहरूले मात्रै साँचो रूपमा परमेश्वरमा विश्वास गर्न, उहाँलाई पछ्याउन, र उहाँको लागि गवाही दिन सक्छन्। त्यसपछि कसै-कसैले भन्लान्, ‘यदि अहिले मसँग यसका लागि सत्यता छैन भने, म के गरूँ?’ तैँले अविलम्ब आफूलाई सत्यताले सुसज्जित गर्नैपर्छ; तैँले मानिसहरू र चीजहरूलाई सूक्ष्म रूपमा चिन्न सिक्नैपर्छ। ख्रीष्टविरोधीलाई खुट्ट्याउनु चानचुने कुरा होइन, र यसका लागि तिनीहरूको सारलाई स्पष्ट रूपमा देख्ने, र तिनीहरूको हरेक कार्यपछाडि लुकेका षड्यन्त्र, चलाकी, र मनसाय र उद्देश्यहरूलाई बुझ्ने क्षमता चाहिन्छ। त्यसरी तँ तिनीहरूको बहकाउ वा नियन्त्रणमा पर्दैनस्, र तँ दह्रिलो गरी खडा हुन, सत्यतालाई सुरक्षित र बलियो रूपमा पछ्याउन, र सत्यता पछ्याउने र मुक्ति पाउने मार्गमा दृढ भएर लागिपर्न सक्छस्। यदि तैँले ख्रीष्टविरोधीका तगारोहरू पार गर्न सक्दैनस् भने तँ ठूलो खतरामा छस् भनेर भन्न सकिन्छ, र तैँले ख्रीष्टविरोधीको बहकाउ र पकडमा परी शैतानको प्रभावमा जिउने सम्भावना हुन्छ। … यसकारण, यदि तँ मुक्ति पाउने स्थानमा पुग्न चाहन्छस् भने तैँले पार गर्नुपर्ने पहिलो जाँच भनेको शैतानलाई बुझ्नु र छर्लङ्ग देख्न सक्ने हुनु हो, साथै तँमा खडा भएर शैतानलाई खुलासा गर्ने र त्याग्ने साहस पनि हुनैपर्छ। त्यसोभए शैतान कहाँ छ? शैतान तेरो छेउमा छ र तेरो वरिपरि छ; त्यसले तेरो हृदयभित्र पनि बास गरिरहेको हुन सक्छ। यदि तँ शैतानको स्वभावभित्र जिइरहेको छस् भने, तँ शैतानको होस् भनेर भन्न सकिन्छ। तैँले आत्मिक क्षेत्रको शैतान वा दुष्टात्माहरूलाई देख्न वा छुन सक्दैनस्, तर वास्तविक जीवनमा अस्तित्वमा रहने शैतानहरू र जीवित दियाबलसहरू सबैतिर छन्। सत्यताप्रति वितृष्ण हुने कुनै पनि व्यक्ति दुष्ट हो, र सत्यतालाई स्वीकार नगर्ने कुनै पनि अगुवा वा कामदार ख्रीष्टविरोधी वा झूटो अगुवा हो। के त्यस्ता व्यक्तिहरू शैतान र जिउँदा दियाबलसहरू होइनन् र? तैँले पूजा गर्ने र भर पर्ने मानिसहरू तिनै हुन सक्छन्; तिनीहरू तँलाई डोऱ्याउने मानिसहरू वा तैँले लामो समयदेखि आफ्नो हृदयमा आदर गरेका, विश्वास गरेका वा आशा लिएका मानिसहरू हुन सक्छन्। तापनि, वास्तवमा, तिनीहरू तेरो बाटो छेक्ने र तँलाई सत्यता खोजी गर्न र मुक्ति प्राप्त गर्नबाट रोक्ने बाधाहरू हुन्; तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले तेरो जीवनलाई र तँ हिँड्ने मार्गलाई नियन्त्रण गर्न सक्छन्, र तिनीहरूले मुक्ति पाउने तेरो मौकालाई नाश पार्न सक्छन्। यदि तँ तिनीहरूलाई खुट्ट्याउन र तिनीहरूलाई छर्लङ्ग देख्न असफल भइस् भने, कुनै पनि क्षण अचानक तँ तिनीहरूको बहकाउमा पर्न र पकडमा आउन सक्छस्। यसैले, तँ ठूलो खतरामा छस्। यदि तैँले आफूलाई यो खतराबाट मुक्त गर्न सक्दैनस् भने, तँ शैतानको बलि हुन्छस्। जेहोस्, ख्रीष्टविरोधीको बहकाउ र नियन्त्रणमा परेका, र ख्रीष्टविरोधीको अनुयायी बनेका मानिसहरूले कहिल्यै पनि मुक्ति पाउन सक्दैनन्। तिनीहरूले सत्यतालाई प्रेम वा खोजी नगर्ने हुनाले, परिणामस्वरूप, तिनीहरू ख्रीष्टविरोधीको बहकाउमा पर्नु र तिनीहरूले तिनलाई पछ्याउनु अवश्यम्भावी हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तीन: तिनीहरूले सत्यता पछ्याउनेहरूलाई बहिष्कार र आक्रमण गर्छन्)। परमेश्वरको वचन मनन गरेपछि, मैले उहाँको अभिप्राय बुझेँ। परमेश्वर मण्डलीमा ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूलाई देखा पर्न दिनुहुन्छ, र यसको पछाडि उहाँको बुद्धि हुन्छ। परमेश्वरले मानिसहरूलाई खुट्ट्याउने क्षमता दिन तिनीहरूको बाधा र बहकाउलाई माध्यमको रूपमा प्रयोग गरिरहनुभएको छ ताकि तिनीहरूले शैतानको अँध्यारो प्रभावबाट आफूलाई मुक्त गर्न र मुक्ति प्राप्त गर्न सकून्। मैले कसरी झाङ्ग शिनले मलाई दमन र दण्ड दिइन्, र मेरा ब्रदर-सिस्टरहरूले मलाई गलत बुझे र तिरस्कार गरे भन्ने बारे सोचेँ। यसका कारण मलाई केही दुःख भए पनि, यो प्रक्रियाको दौडान, मैले ख्रीष्टविरोधीहरूले कसरी मानिसहरूलाई बहकाउँछन् र हानि गर्छन् भन्ने एउटा वास्तविक उदाहरण देखेँ, मैले ज्ञान र खुट्ट्याइ प्राप्त गरेँ, र मैले झाङ्ग शिन एक ख्रीष्टविरोधी हुन्, जसको सार सत्यतालाई घृणा गर्ने र परमेश्वरप्रति शत्रुतापूर्ण छ भन्ने प्रष्ट बुझेँ। मैले अब उनीद्वारा बाँधिएको र नियन्त्रित भएको महसुस गरिनँ, र मैले उनको असफलताबाट सिकेँ र गलत बाटो लिनबाट जोगिन सकेँ। के यी वास्तविक लाभहरू थिएनन् र? के यो सबै परमेश्वरको प्रेम र मुक्ति थिएन र? मैले यसबारे जति धेरै सोचेँ, त्यति नै मैले परमेश्वर कति बुद्धिमान् र धर्मी हुनुहुन्छ भन्ने महसुस गरेँ, र उहाँको धर्मी स्वभावलाई नचिनेकोमा त्यति नै पछुतो मानेँ। जब मलाई दमन गरियो, मैले त्यो सबै अन्यायको दोष परमेश्वरमाथि थोपरेँ, र उहाँलाई गलत बुझेँ र उहाँबारे गुनासो गरेँ। म यति विद्रोही रहेछु! जब मैले यो कुरा बुझेँ, मैले परमेश्वरप्रति ऋणी महसुस गरेँ, र मैले पश्चात्ताप गर्न चाहेँ। झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूको खुलासा गर्नु एक असल र धर्मी कार्य हो, र यो मेरो जिम्मेवारी र दायित्व थियो। यदि दुष्ट मानिसहरूको खुलासा गर्न र निष्कासित गर्न सकियो भने, मेरा ब्रदर-सिस्टरहरूले राम्रो मण्डली जीवन बिताउन सक्नेथिए। मेरा ब्रदर-सिस्टरहरूले मलाई गलत बुझे पनि, वा मलाई ख्रीष्टविरोधीद्वारा निष्कासित गरिए पनि, पछुताउनुपर्ने केही थिएन। मैले परमेश्वरको वचनको अर्को खण्डको बारेमा सोचेँ: “दुष्ट मानिसहरू सधैँ दुष्ट नै हुन्छन्, र तिनीहरू कहिल्यै पनि दण्डको दिनबाट उम्कनेछैनन्। असल मानिसहरू सधैँ असल नै हुन्छन् र परमेश्वरको कामको अन्त्य हुँदा तिनीहरूलाई प्रकाश गरिनेछ। दुष्टहरूमध्धे एक जनालाई पनि धर्मी मानिनेछैन, न त एक जना पनि धर्मीलाई नै दुष्ट मानिनेछ। के मैले कुनै मानिसलाई गलत रूपमा आरोपित हुन दिनेछु र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्वरले प्राप्त गर्नुहुनेछ)। परमेश्वरको वचन एकदमै स्पष्ट थियो। परमेश्वर धर्मी हुनुहुन्छ, उहाँले साँचो रूपमा उहाँलाई प्रेम गर्नेहरूलाई कृपा र मुक्ति दिनुहुन्छ, र उहाँले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई श्राप दिनुहुन्छ र दण्ड दिनुहुन्छ। यो परमेश्वरको धर्मी स्वभावद्वारा निर्धारित हुन्छ। मैले मुक्ति पाउँछु-पाउँदिनँ भन्ने कुरा परमेश्वरको हातमा छ, ख्रीष्टविरोधीहरूको होइन। हाम्रो मण्डली ख्रीष्टविरोधीद्वारा नियन्त्रित थियो, र हामीलाई दमन गरिएको थियो, तैपनि यो केवल अस्थायी थियो। परमेश्वरले सबै कुरा देख्नुहुन्छ, पवित्र आत्माले सबै कुरा प्रकट गर्नुहुन्छ, र ढिलो-चाँडो, ख्रीष्टविरोधी प्रकटित भई हटाइनेछन्। ती दिनहरूमा, म अक्सर परमेश्वरको वचन मनन गर्थेँ, र बिस्तारै, मैले मेरो हृदयमा मुक्त महसुस गरेँ, र मैले परमेश्वरको काममा आत्मविश्वास प्राप्त गरेँ।
एक दिन, माथिल्लो तहका अगुवाहरूले हाम्रो मण्डलीको अराजकता समाधान गर्न दुई सिस्टरहरूलाई व्यवस्था मिलाउनुभयो। हामी धेरै उत्साहित भयौँ, र हामीले परमेश्वरलाई पटक-पटक धन्यवाद दियौँ। अचम्मको कुरा, हामीले झाङ्ग शिनको दुष्ट व्यवहारबारे सत्यतापूर्वक रिपोर्ट गरेपछि, उनलाई झूटा अगुवा भएकोले मात्र बर्खास्त गरिइन्। हामी सबैले मण्डली जीवन पुनः सुरु गरेपनि, मेरो मन बेचैन रहिरह्यो। झाङ्ग शिन स्वभावैले दुष्ट थिइन्। उनले आफ्नो हैसियतका लागि दृढतापूर्वक मानिसहरूलाई दण्ड दिएकी र दमन गरेकी थिइन्, र दुष्ट मानिसहरूलाई आफ्नो पक्षमा तानिन् र तिनीहरूको रक्षा गरिन्। उनले सत्यतालाई पनि पटक्कै स्वीकार गरिनन्, र उनले पश्चात्ताप गर्न अस्वीकार गरिन्। उनी झूटा अगुवा थिइनन्, उनी साँचो ख्रीष्टविरोधी थिइन्। तर त्यसपछि मैले सोचेँ, “यदि मैले यो कुरा उठाएँ भने, के ब्रदर-सिस्टरहरूले म हठी भएर उनको मामिला नछोडेको भन्लान् कि? त्यसोभए छोडिदिऊँ, यो मेरो सरोकारको विषय होइन। जे भए पनि, अब उनले मलाई केही गर्नेछैनन्।” यो कुरा मनमा राखेर, मैले यी कुराहरू अबदेखि उल्लेख नगर्ने निर्णय गरेँ। मेरो भक्ति साधनाको समयमा, मैले परमेश्वरको वचनमा पढेँ: “ख्रीष्टविरोधीहरूले कहिल्यै सत्यता स्विकार्नेछैनन्; तिनीहरू अन्त्यसम्मै आफ्ना गल्तीहरूमा अडिग रहनेछन्, कहिल्यै बाटो बदल्दैनन् वा पश्चात्ताप गर्दैनन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट छ: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग तीन))। झाङ्ग शिनमा ख्रीष्टविरोधीको सार छ, र यदि उनलाई निष्कासित गरिएन भने, उनले मण्डलीको जीवनमा बाधा दिन र अराजकता मच्चाउन कुनै पनि मौका खोज्नेछिन्, र त्यसपछि मेरा ब्रदर-सिस्टरहरूले फेरि उनको हातबाट दुःख भोग्नेछन् भन्ने मलाई थाहा थियो। मैले खडा भएर झाङ्ग शिनको खुलासा गर्नुपर्थ्यो। मैले आफूलाई बचाइरहन मिल्दैनथ्यो। मैले परमेश्वरको वचनमा पढेँ: “सत्यता तँभित्रको जीवन बनिसकेपछि, जब तैँले परमेश्वरको निन्दा गर्ने, परमेश्वरको डर नमान्ने, र आफ्नो कर्तव्य पूरा गर्दा झारा टार्ने, वा मण्डलीको काममा बाधा र अवरोध गर्ने व्यक्तिलाई देख्छस्, तब तेरो प्रतिक्रिया सत्यता सिद्धान्तहरूअनुसार हुनेछ, र तैँले तिनीहरूलाई आवश्यकताअनुसार पहिचान गरेर खुलासा गर्न सक्नेछस्। यदि सत्यता तेरो जीवन बनेको छैन, र तँ अझै पनि तेरो शैतानी स्वभावमा जिउँछस् भने, जब तैँले मण्डलीको काममा बाधा र अवरोध पैदा गर्ने दुष्ट मानिसहरू र दियाबलसहरूलाई पत्ता लगाउँछस्, तब तैँले आँखा चिम्लनेछस् र नसुनेको जस्तो गर्नेछस्; आफ्नो विवेकमा कुनै धिक्कारको अनुभूति नगरीकन तैँले तिनीहरूलाई पन्छाउँछस्। कसैले मण्डलीको काममा बाधा पैदा गरिरहेको छ भने त्यस कुराको तँसँग कुनै सम्बन्ध छैन भन्ने समेत तँलाई लाग्नेछ। मण्डलीका कार्य र परमेश्वरको घरका हितहरूमा जति नै धेरै हानि भए पनि, तैँले वास्ता, हस्तक्षेप वा ग्लानि महसुस गर्दैनस् जसले तँलाई विवेक वा समझ नभएको व्यक्ति, एक अविश्वासी, एक श्रमिक बनाउँछ। तँ परमेश्वरबाट आउने कुरा खान्छस्, परमेश्वरबाट आउने कुरा पिउँछस्, र परमेश्वरबाट आएका सबै कुरामा रमाउँछस्, तैपनि परमेश्वरको घरका हितहरूमा हुने कुनै पनि हानि तँसँग सम्बन्धित छैन भन्ने ठान्छस्—त्यसैले तँ जुन थालमा खायो त्यही थालमा थुक्ने धोकेबाज होस्। यदि तैँले परमेश्वरको घरका हितहरूको रक्षा गर्दैनस् भने, तँ के मानव समेत होस् र? यो त मण्डलीमा आफै घुसेको नरपिशाच हो। तैँले परमेश्वरमा विश्वास गरेको नाटक गर्छस्, चुनिएको जन भएको ढोँग गर्छस्, र तँ परमेश्वरको घरमा मुफ्तखोरी गर्न चाहन्छस्। तँ मानवजातिको जीवन जिइरहेको छैनस्, तँ मान्छे होइन पिशाचजस्तो छस्, र तँ स्पष्ट रूपमै अविश्वासी होस्। यदि तँ परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने व्यक्ति होस् भने, तैँले सत्यता र जीवन पाउन बाँकी नै भए पनि, कम्तीमा पनि तैँले परमेश्वरको पक्षमा उभिएर बोल्नेछस् र काम गर्नेछस्; कम्तीमा पनि, तैँले परमेश्वरको घरका हितहरूमा सम्झौता भएको देख्दा तँ हात बाँधेर बस्नेछैनस्। तँलाई त्यस्तो समस्याप्रति आँखा चिम्लन मन लाग्दा, ग्लानि महसुस हुनेछ, र तँ व्याकुल हुनेछस्, र मनमनै भन्नेछस्, ‘मैले हात बाँधेर बस्नु हुँदैन, खडा हुनुपर्छ र केही बोल्नुपर्छ, मैले जिम्मेवारी लिनुपर्छ, मैले यो दुष्ट व्यवहारलाई पर्दाफास गर्नैपर्छ, मैले यसलाई रोक्नैपर्छ ताकि परमेश्वरको घरका हितहरूमा हानि नपुगोस्, र मण्डली जीवनमा बाधा नपुगोस्।’ यदि सत्यता तेरो जीवन बनेको छ भने, तँसँग यो साहस र सङ्कल्प मात्रै हुँदैन, र त्यस विषयलाई तैँले पूर्ण रूपमा बुझ्न मात्र सक्नेछैनस्, बरु तैँले त परमेश्वरको कार्य र उहाँको घरका हितहरूको लागि तैँले उठाउनुपर्ने जिम्मेवारी समेत पूरा गर्नेछस्, त्यसरी तेरो कर्तव्य पूरा हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरको वचन पढेर, मैले बुझेँ उहाँको अन्तर्दृष्टि र मार्गदर्शनद्वारा नै मैले झाङ्ग शिन र शाओ लिउका दुष्ट कामहरूबारे केही खुट्ट्याइ प्राप्त गरेकी थिएँ। यदि म खडा भएर तिनीहरूको खुलासा गरिनँ भने, ममा विवेक हुने थिएन र म मण्डलीको कामको रक्षा गर्न असफल हुनेथिएँ। मैले अबदेखि देखेको नदेख्यै गरेर स्वार्थी र नीच बन्न मिल्दैनथ्यो। मैले राज्यको युगको प्रशासनिक आदेशहरूमा लेखिएको कुरा सम्झेँ: “परमेश्वरको कामका निम्ति फाइदाजनक सबै कुरा गर्नू र परमेश्वरको कामको हितका निम्ति हानिकारक केही नगर्नू। परमेश्वरको नाउँ, उहाँको गवाही र उहाँको कामको प्रतिरक्षा गर्नू” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरले चुन्नु भएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश)। मैले परमेश्वरका मागहरू बुझेँ। म मण्डलीकी सदस्य थिएँ, त्यसैले मण्डलीको कामको सवाल भएको अवस्थामा, खडा भएर त्यसको रक्षा गर्नु मेरो जिम्मेवारी थियो। पछि, माथिल्लो तहका अगुवाहरू अवस्थाबारे बुझ्न आए। मैले झाङ्ग शिन र शाओ लिउको दुष्ट व्यवहारबारे रिपोर्ट गरेँ र माथिल्लो तहका अगुवाहरूले यसलाई प्रमाणित गर्न फेरि जाँचबुझ गर्न थाले। ख्रीष्टविरोधीहरूलाई पहिचान गर्ने सम्बन्धमा सत्यताबारे भेलामा सङ्गति गरेर, सबै ब्रदर-सिस्टरहरूले खुट्ट्याइ प्राप्त गरे। एक-एक गरी, तिनीहरूले झाङ्ग शिन र शाओ लिउका दुष्ट कामहरूको खुलासा र रिपोर्ट गरे। अन्तमा, झाङ्ग शिन एक साँचो ख्रीष्टविरोधी, एउटी दुष्ट दियाबलस हुन् भन्ने निर्धारण गरियो, र उनलाई मण्डलीबाट निष्कासित गरियो। शाओ लिउले, आफ्ना दुष्ट कामहरूका लागि पश्चात्ताप गर्न अस्वीकार गरेपछि, ख्रीष्टविरोधीको सहयोगी भएकोले निष्कासित भइन्। झाङ्ग शिनद्वारा बहकाइएका केही ब्रदर-सिस्टरहरू होसमा आए, र तिनीहरू सबैले झाङ्ग शिनलाई तिरस्कार गरे र उनलाई पछ्याउन छोडे। त्यसपछि, मण्डली जीवन सामान्य अवस्थामा फर्कियो।
यो ख्रीष्टविरोधीबारे रिपोर्ट गर्दा उतार-चढावहरू आए, तर उनीद्वारा दमनमा पर्दा मलाई ख्रीष्टविरोधीहरूबारेको केही खुट्ट्याइ प्राप्त गर्न, मेरो अन्तर्दृष्टि विकास गर्न र परमेश्वरको धर्मी स्वभावको केही वास्तविक अनुभव र ज्ञान प्राप्त गर्न मद्दत मिल्यो, र परमेश्वरमा मेरो आस्था अझ बढ्यो। सम्पूर्ण धन्यवाद परमेश्वरमै जाओस्!