६०. पाखण्ड साह्रै पीडादायी हुन्छ
सन् २०२० को अगस्टमा, मैले कुनै वास्तविक काम नगरी आफ्नो कर्तव्यमा झारा टारिरहेकीले मलाई बर्खास्त गरियो। त्यसपछि, मलाई निकै नराम्रो लाग्यो र म पछुतोले भरिएँ, अनि मैले पश्चात्ताप गर्न र भविष्यमा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न चाहेँ।
पछि, मलाई अरू केही सिस्टरसँग मिलेर भिडियोहरू बनाउने काममा खटाइयो। एक दिन मैले सिस्टर याङ फानसँग बर्खास्त भएपछि आफूले प्राप्त गरेका केही चिन्तन र बुझाइबारे कुरा गरेँ। मैले भनेका कुराले उनलाई गहिरो असर गऱ्यो, तबउसो मप्रतिको उनको मनोवृत्ति बदलिएको मैले याद गरेँ। मैले भेलाहरूमा आफ्ना अनुभवहरूबारे बोल्दा, उनी एकदमै ध्यान दिएर सुन्थिन् र टाउको हल्लाइरहन्थिन्, अनि प्रायजसो मेरा रायहरूसँग सहमत हुन्थिन्। उनले मप्रति दिनदिनै अझ बढी ख्याल गरेकी जस्तो देखिन्थ्यो। मैले मनमनै सोचेँ: “उनी मलाई सम्मान गर्छिन् जस्तो देखिन्छ। मैले आफूले सिकेको कुराबारे कुरा गरेकी छु र साँचो पश्चात्ताप व्यक्त गरेकी छु, त्यसैले मैले त्यसलाई व्यवहारमा उतार्नुपर्छ। यदि उनले ममा कुनै परिवर्तन देखिनन् भने के सोच्लिन्? के उनले म कुरा मात्रै गर्छु र सत्यता अभ्यास गर्दिनँ भन्ने सोच्लिन्? के मप्रतिको उनको राम्रो छवि हराउनेछ?” यो सोच्दा म अलि व्याकुल र चिन्तित भएँ, र मैले अब आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न मात्र चाहिनँ। कहिलेकाहीँ म लामो समयसम्म बसेर भिडियो बनाउँथेँ, र मेरो ढाड दुख्थ्यो। मलाई अलि आराम गर्न मन लाग्थ्यो, तर म मेरा सिस्टरहरूले म अल्छी भइरहेकी छु भनी सोच्लान् भनेर डराउँथेँ। मैले मनमनै सोचेँ: “म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नेछु र अबउसो सुस्त हुनेछैनँ भनेर मैले भनेकी छु, मैले आफ्ना शब्दलाई व्यवहारमा उतारेको उनीहरूलाई हेर्न दिनैपर्छ।” त्यसैले म थाक्दा आराम गर्ने आँट गर्दिनथेँ, उनीहरूले म दैहिक आवश्यकताहरूलाई ध्यान दिइरहेकी छु र ममा आफ्नो कर्तव्यप्रति कुनै बोझ छैन भन्ने सोच्लान् भनेर डराउँथेँ। म निद्रा लाग्दा चाँडै सुत्ने आँट गर्दिनथेँ। मैले आफ्नो काम सिध्याइसकेकी भए पनि, म आफूलाई निरन्तर काम गर्न बाध्य पार्थेँ र राती ११:३० वा १२ नबजीकन आफ्नो कम्प्युटर बन्द गर्दिनथेँ। कहिलेकाहीँ म राती अबेरसम्म बस्थेँ र बिहान उठ्नै गाह्रो हुन्थ्यो, तर मेरा सिस्टरहरू चाँडै उठेको देख्थेँ, र उनीहरूमा आफ्नो नराम्रो छाप पर्ला भन्ने डरले म ढिलासम्म सुत्ने आँट गर्दिनथेँ। एकपटक, मैले याङ फानले दुइटा भिडियो काम गर्नुपर्ने रहेछ भन्ने देखेँ, तर मैले उनलाई मद्दत गर्ने योजना बनाइनँ किनभने ती गाह्रा थिए, र म त्यसको झन्झट लिन चाहन्नथेँ। तर त्यसपछि मैले सोचेँ, मसँग आफ्नै कुनै परियोजनाहरू छैनन्, त्यसैले यदि मैले मद्दत गर्ने प्रस्ताव राखिनँ भने, उनले निश्चय नै म सत्यता नपछ्याई, कुरा मात्रै गर्छु, अनि केवल शब्द र धर्मसिद्धान्तहरू मात्र फलाक्छु भन्ने सोच्नेछिन्। त्यसैले म याङ फानलाई भिडियोहरूमा मद्दत गर्न गएँ।
त्यतिखेर, मैले आफूलाई कर्तव्यमा समर्पित गरिरहेकी जस्तो देखिए पनि, मलाई आफ्नो हृदयमा यो सब आफ्नो छवि र हैसियतको सुरक्षा गर्नका लागि हो भन्ने थाहा थियो। यसले मलाई एकदमै बेचैन बनायो र मैले आफ्ना सिस्टरहरूसँग आफ्नो स्थितिबारे खुलेर बताउन चाहेँ, तर, त्यस पूरै समयमा ममा गुप्त मनसाय थियो भन्ने उनीहरूले थाहा पाउलान् र उनीहरूले मैले वास्तवमा पश्चात्ताप गरेकै छैनँ र म सत्यता अभ्यास नै गर्दिनँ भन्ने सोच्लान कि भनेर म डराएँ। उनीहरूले सायद मलाई छली पाखण्डीका रूपमा हेर्नेछन् र मैले आफ्नो बर्खास्तीपछि सिकेकी छु भनेका सबै कुरालाई बेवास्तासमेत गर्नेछन्। यी विचारहरूले मलाई सबैसामु खुलस्त हुन अनिच्छुक बनाए। भेलाहरूमा म सबैले अक्सर प्रकट गर्ने भ्रष्टताहरू, साथै केही सकारात्मक अनुभवात्मक ज्ञानबारे मात्र कुरा गर्थेँ, जबकि आफ्ना विचारहरूलाई आफूभित्र गहिराइमा लुकाएर राख्थेँ। मैले सकारात्मक अनुभवहरूबारे मात्र सङ्गति गरिरहेकीले, मेरा सिस्टरहरूले मलाई अझ बढी सम्मान गरे, र एउटा भेलामा याङ फानले मलाई सत्यता अभ्यास गर्न सकेकामा र एकदमै स्पष्ट रूपमा सत्यता सङ्गति गरेकामा मेरो प्रशंसा गरिन्। पछि मैले अरू केही सिस्टरले म सत्यता पछ्याउँछु, आफ्नो भ्रष्टताबारे खुलस्त रूपमा बताउँछु, र आफ्नो कर्तव्यमा निकै सक्रियतासाथ संलग्न हुन्छु भनेका रहेछन् भन्ने सुनेँ। मलाई अलि खुसी लाग्यो, तर त्योभन्दा बढी, लाज र असहज महसुस भयो, किनभने उनीहरूले भनिरहेको कुरा वास्तविकताको नजिकसमेत छैन भन्ने मलाई थाहा थियो। म पटक्कै खुलस्त थिइनँ, मैले आफूभित्रको भ्रष्टताबारे कहिल्यै खुलस्त बताएकी थिइनँ र आफ्नो कर्तव्यप्रतिको मेरो उत्साहपछाडि अरू मनसायहरू थिए। मैले मनमनै सोचेँ: “यो एकदमै नराम्रो हो। सबैजना मेरो देखावटी रूपद्वारा सबै भ्रमित भएका छन्—मैले के गर्नुपर्ने?” मलाई साँच्चै दोषी महसुस भयो र आफ्ना सिस्टरहरूलाई खुलस्त बताउन, उनीहरूलाई मुर्ख बनाउन छोड्न चाहेँ, तर यदि मैले त्यसो गरेकी भए, उनीहरूले मेरा ती सोच र मनसायहरू थाहा पाउनेथिए, र उनीहरूले म छली व्यक्ति हुँ भनी सोच्नेथिए। मेरो राम्रो छवि मेटिनेथ्यो र कसैले पनि मलाई मान गर्नेथिएन। जब मैले यसबारे सोचेँ, तब मैले अरूलाई खुलस्त बताउने हिम्मत हारेँ।
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “वास्तवमा फरिसी के हो भन्ने कुरा के तिमीहरूलाई थाहा छ? के तिमीहरूको छेउछाउमा कुनै फरिसीहरू छन्? यी मानिसहरूलाई किन ‘फरिसीहरू’ भनिन्छ? फरिसीहरूलाई कसरी व्याख्या गरिन्छ? तिनीहरू ढोँगी, पूर्ण रूपमा बनावटी मानिसहरू हुन्, र तिनीहरूले आफूले गर्ने हरेक काममा नाटक गर्छन्। तिनीहरूले के नाटक गर्छन्? आफू असल, दयालु, र सकारात्मक भएको नाटक गर्छन्। के तिनीहरू वास्तवमा यस्तै हुन्छन् त? बिलकुलै हुँदैनन्। तिनीहरू ढोँगीहरू भएका हुनाले, तिनीहरूमा देखिने र प्रकट हुने हरेक कुरा झूटो हुन्छ; यो सबै बहाना हो—यो तिनीहरूको साँचो रूप होइन। तिनीहरूको साँचो अनुहार कहाँ लुकेको हुन्छ? यो अरूले कहिल्यै नदेख्ने गरी तिनीहरूको हृदयभित्रको गहिराइमा लुकेको हुन्छ। बाहिर देखिने हरेक कुरा नाटक हुन्छ, यो सबै बनावटी हुन्छ, तर तिनीहरूले मानिसहरूलाई मात्र मूर्ख बनाउन सक्छन्; परमेश्वरलाई मूर्ख बनाउन सक्दैनन्। यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, यदि तिनीहरूले साँचो रूपमा परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्दैनन् भने, तिनीहरूले साँचो रूपमा सत्यता बुझ्न सक्दैनन्, र तिनीहरूका वचनहरू सुन्दा जति नै मीठा लागे पनि, ती वचनहरू सत्यता वास्तविकता होइनन्, केवल शब्दहरू र धर्मसिद्धान्तहरू हुन्। केही मानिसहरूले शब्दहरू र धर्मसिद्धान्तहरूलाई सुगारटाइ गर्नमा मात्र ध्यान दिन्छन्, तिनीहरूले उच्च प्रवचन दिने जोकोहीको नक्कल गर्छन्, र नतिजास्वरूप केही वर्षभित्रमै तिनीहरूको शब्दहरू र धर्मसिद्धान्त वाचन कला झन्-झन् व्यापक बन्दै जान्छ र तिनीहरूलाई धेरै मानिसहरूले आदर र श्रद्धा गर्छन्, र त्यसपछि त तिनीहरूले छलावरण धारण गर्न थाल्छन्, अनि आफूले भन्ने र गर्ने कुरामा एकदमै धेरै ध्यान दिन र आफूलाई विशेष रूपमा धर्मी र आत्मिक देखाउन थाल्छन्। तिनीहरूले छलावरण धारण गर्नका लागि यी तथाकथित आत्मिक सिद्धान्तहरूको प्रयोग गर्छन्। तिनीहरू जहाँ-जहाँ जान्छन्, तिनीहरूले बोल्ने कुरा यही हो, जुन बाहिरबाट हेर्दा आकर्षक हुन्छन् र ती मानिसहरूका धारणाहरूसित मिल्छन्, तर तिनमा सत्यता वास्तविकता हुँदैन। यी कुराहरूको प्रवचनमार्फत—मानिसहरूका धारणा र रुचिसँग मिल्दा यी कुराहरूमार्फत—तिनीहरूले धेरै मानिसहरूलाई बहकाउँछन्। अरूको लागि, यस्ता मानिसहरू अत्यन्तै भक्त र नम्र देखिन सक्छन्, तर यो वास्तवमा देखावटी मात्र हो; तिनीहरू सहनशील, धैर्य, र प्रेमिलो देखिन्छन्, तर यो वास्तवमा बहाना मात्र हो; तिनीहरूले परमेश्वरलाई प्रेम गर्छौँ भनी भन्छन्, तर त्यो वास्तवमा नाटक मात्र हो। अरूले यस्ता मानिसहरूलाई पवित्र सोच्छन्, तर यो वास्तवमा नौटङ्की मात्र हुन्छ। साँचो रूपमा पवित्र व्यक्तिलाई कहाँ भेट्न सकिन्छ? मानव पवित्रता सबै देखावटी हो। यो सबै नाटक र बहाना मात्र हो। बाहिरी रूपमा, तिनीहरू परमेश्वरप्रति निष्ठावान् देखिन्छन्, तर वास्तवमा तिनीहरूले अरूले देखून् भनेर मात्रै कार्य प्रदर्शन गरिरहेका हुन्छन्। जब कसैले हेरिरहेका हुँदैनन्, तिनीहरू अलिकति पनि निष्ठावान् हुँदैनन्, र तिनीहरूले गर्ने हरेक कुरा झारा टार्ने शैलीका हुन्छन्। सतही रूपमा, तिनीहरूले आफैलाई परमेश्वरमा समर्पित गरेका छन्, र आफ्ना परिवार र जागिर छोडेका छन्। तर गोप्य रूपमा तिनीहरूले के गरिरहेका हुन्छन्? तिनीहरूले परमेश्वरको लागि काम गर्ने नाउँमा गोप्य रूपमा मण्डलीमा आफ्नै उद्यम सञ्चालन गरिरहेका र आफ्नै कारोबार अघि बढाइरहेका हुन्छन्, र मण्डलीबाट लाभ लिइरहेका र भेटी चोरिरहेका हुन्छन्…। यी मानिसहरू आधुनिक ढोँगी फरिसीहरू हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। मैले परमेश्वरको वचनमा मनन गर्दा, मैले फरिसीहरू कसरी एकदमै भक्त, नम्र र प्रेमिलो देखिन्थे भनी सम्झेँ। तिनीहरू सधैँ सडकमा उभिएर प्रार्थना गर्थे र सभाघरहरूमा धर्मशास्त्रको व्याख्या गर्थे, तर तिनीहरूले साँचो रूपमा परमेश्वरका वचनहरू पालन गरिरहेका थिएनन्। तिनीहरू छद्मवेश धारण गर्न र भेष बदल्न बाहिरबाट सद्गुणी व्यवहार गर्थे। तिनीहरू मानिसहरूलाई धोका दिन र उनीहरूमा झूटो छाप पार्न केही विधि र युक्तिहरू प्रयोग गर्थे, ताकि उनीहरूको पूजा र सम्मान होस्। आफ्नै व्यवहारलाई तुलना गर्दा, के म ती फरिसीहरूजस्तै पाखण्डी थिइनँ र? मैले मेरा सिस्टरहरूलाई आफूले साँच्चै पश्चात्ताप गरेकी छु, म कुरा मात्रै गर्दिनँ भनेर सोच्न लगाउन, र आफ्नो राम्रो छवि जोगाउन, मैले सधैँ आफ्नो साँचो रूपलाई लुकाउन र छोप्न नाटक गरेकी थिएँ। म आफ्नो कर्तव्यले थाक्दा आराम गर्ने वा राती थकित हुँदा सुत्ने आँट गर्दिनथेँ, र पर्याप्त आराम नगरीकन आफूलाई ओछ्यानबाट उठ्न बाध्य पार्थेँ। म स्पष्ट रूपमा याङ फानलाई भिडियो बनाउनमा मद्दत गर्न चाहन्नथेँ, तर म उनले मलाई आदर गरून् भन्ने चाहन्थेँ, त्यसैले मैले मन नलागी-नलागी उनलाई सहयोग गरेँ। तर वास्तवमा, ममा यस कर्तव्यका लागि साँचो बोझ थिएन। बाहिरबाट मैले सक्रिय र अग्रसर भएको नाटक गरेँ, र मलाई आफ्नो कर्तव्यमा गलत अभिप्रायहरू छन्, मैले अरूलाई ठगिरहेकी छु, र मैले उनीहरूलाई खुलस्त बताउनुपर्छ भन्ने स्पष्ट रूपमा थाहा भए पनि, मैले ती सबै घृणित मनसायहरू लुकाएँ र आफ्नो छविको सुरक्षा गर्न ती कुराबारे कसैलाई बताइनँ। यसले गर्दा मेरा सिस्टरहरूले मलाई अलि सम्मान गरे। के यो मेरो छली र भ्रामक काम थिएन र? म साँच्चै छली थिएँ र म पाखण्डी फरिसीहरूकै मार्गमा थिएँ। म हरसमय नाटक गरिरहेकी थिएँ। त्यसरी जिउनु थकाइलाग्दो मात्र थिएन, यसले मलाई दोषी महसुस गरायो, र यसले परमेश्वरमा घृणा र विरक्ति उत्पन्न गरायो। यो कति गम्भीर समस्या रहेछ भन्ने बुझेपछि, मैले एउटा भेलामा, त्यस अवधिमा मेरा कार्यपछाडिका मनसायहरू के थिए र मेरो पाखण्ड कसरी प्रकट भएको थियो भन्नेबारे आफ्ना सिस्टरहरूलाई खुलस्त बताउने हिम्मत जुटाएँ। त्यसपछि मैले त्यस्तो राहतको महसुस गरेँ, र मेरो अवस्था अझ राम्रो भयो। तर मलाई आफूले आफ्नो कर्तव्यपछाडि राखेका अभिप्रायहरूलाई सच्याउन एकदमै गाह्रो हुनेछ भन्ने पनि लाग्यो, त्यसैले म प्रार्थनामा परमेश्वरसामु आएँ, र उहाँलाई यो समस्या समाधान गर्न अनि शुद्ध र इमानदार हृदयले आफ्नो कर्तव्य पूरा गर्नमा मार्गदर्शन मागेँ।
त्यसपछि एक दिन, मैले परमेश्वरका केही वचन पढेँ: “परमेश्वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्न जो छली छन्। यदि तेरो हृदय इमानदार छैन भने—यदि तँ इमानदार व्यक्ति होइनस् भने—तँलाई परमेश्वरले प्राप्त गर्नुहुनेछैन। त्यसरी नै, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, र तँ परमेश्वरलाई प्राप्त गर्न पनि असमर्थ हुनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। यो पढ्नु साँच्चै पीड़ादायी थियो। म एकदमै छली थिएँ, मेरो दिमाग सत्यता अभ्यास कसरी गर्ने, र आफ्नो कर्तव्य कसरी उचित तवरले निर्वाह गर्ने भन्ने कुराले नभई, बरु कसरी प्रशंसा पाउने, र अरूमाथि कसरी राम्रो छाप पार्ने भन्ने कुटिल विचारहरूले भरिएको थियो। म कहिले सुत्ने भन्नेबारे समेत निरन्तर चिन्ता र हिसाब गरिरहेकी हुन्थेँ। परमेश्वरलाई सरल र इमानदार मानिसहरू मन पर्छ, र इमानदार मानिसहरूले मात्र उहाँको अनुमोदन पाउन सक्छन् र उहाँको मुक्तिको योग्य हुन्छन्। तर मेरो अभिप्राय सधैँ छली थियो। मैले त्यसलाई जति नै राम्ररी ढाकछोप गरे पनि, वा सबैको सम्मान र आराधना पाउन सके पनि, मैले परमेश्वरद्वारा मुक्ति पाउनेथिइनँ। अन्त्यमा म ती पाखण्डी फरिसीहरूजस्तै परमेश्वरद्वारा घृणित र श्रापित हुनेथिएँ। जब मैले यो सोचेँ, म आफैदेखि निकै निराश भएँ। आस्थाका ती सबै वर्षहरूमा, मैले इमानदारीजस्तो आधारभूत सत्यता वास्तविकतामा प्रवेश गरेकी थिइनँ, र म सदाझैँ छली नै थिएँ। मैले आफू साँच्चै परमेश्वरले माग गरेको कुराबाट धेरै टाढा छु भन्ने बुझेँ।
मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पनि पढेँ: “सबै विषयमा, तैँले सबै कुरा परमेश्वरको अघि उदाङ्गो पार्नुपर्छ र तँ खुलस्त हुनुपर्छ—यो एकमात्र सर्त र अवस्था हो जुन परमेश्वरको अगाडि कायम राखिनुपर्छ। तँ खुलस्त नहुँदा पनि, तँ परमेश्वरको अगाडि खुला हुन्छस्। परमेश्वरको दृष्टिकोणबाट हेर्दा, तँ यसबारे खुलस्त हुन्छस् कि हुँदैनस् भन्ने कुरा उहाँलाई थाहा हुन्छ। यदि तँ त्यसको वास्तविकतालाई देख्न सक्दैनस् भने के अत्यन्तै मूर्ख छैनस् र? त्यसोभए, तँ कसरी बाठो व्यक्ति हुन सक्छस् त? परमेश्वरको अघि आफूलाई उदाङ्गो पारेर। तँलाई थाहा छ, परमेश्वर सबै कुरा छानबीन गर्नुहुन्छ र सबै कुरा जान्नुहुन्छ, त्यसैले आफूलाई चलाख नठान्, अनि उहाँले थाहा पाउनुहुन्न होला भन्ने नसोच्; परमेश्वरले गोप्य रूपमा मानिसहरूको हृदय नियाल्नुहुने हुनाले, बाठा मानिसहरू अझ खुलस्त, अझ शुद्ध र इमानदार हुनुपर्छ—यसो गर्नु बुद्धिमानी काम हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। हो, ठीक हो। परमेश्वर हाम्रो हृदय र मन बुझ्नुहुन्छ, त्यसैले उहाँलाई मेरा मनसायहरू र म ठ्याक्कै कस्तो प्रकारको व्यक्ति हुँ भन्ने थाहा छ। मैले आफ्नो भ्रष्टता सबैबाट जसरी लुकाए पनि, परमेश्वरलाई त्यो सबबारे थाहा हुनेथियो। परमेश्वरलाई त्यो सबबारे थाहा हुनेथियो। मैले परमेश्वरमा विश्वास गरेँ तर मैले उहाँको छानबिन स्विकार्न सकिनँ। मैले अरूको सम्मान र प्रशंसा पाउन सत्यता पछ्याउने र साँचो पश्चात्ताप गर्ने व्यक्ति भएको नाटक गरेकी थिएँ। मैले आफूलाई थकित हुने हदसम्म सास्ती दिएकी थिएँ, म साह्रै मूर्ख र दयनीय थिएँ! वास्तवमा, जबसम्म हामी छली वा देहमा लिप्त भइरहेका हुँदैनौँ, तबसम्म हामालाई थकाइ वा निद्रा लाग्दा आरामको आवश्यकता पर्नु सामान्य हो, तर मैले मानव काम र आरामका यी नियमहरूलाई समेत इन्कार गरेकी थिएँ। मैले सबै कुरा मानिसहरूलाई मेरो सम्मान गर्न लगाउन मात्र गरेकी थिएँ। यसरी जिउनु साह्रै थकाइलाग्दो थियो। परमेश्वर भन्नुहुन्छ, बुद्धिमान मानिसहरूले खुला हृदयको हुन, परमेश्वरको छानबिन स्विकार्न अनि सरल र इमानदार बन्न सिक्नुपर्छ। यसरी जिएर मात्र आफूलाई मुक्त गर्न सकिन्छ। यो जानेर, मैले अबउसो नाटक गर्न चाहिनँ। त्यसपछि, म आफ्नो कर्तव्यबाट थाकेको बेला आराम गर्थें, र राति, म कामपछि निद्रा लाग्दा सुत्न जान्थेँ। म भेलाहरूमा आफ्नो वास्तविक स्थितिबारे खुलस्त बताउँथेँ र सङ्गति गर्थेँ। र आफ्नो कर्तव्यमा सक्रिय रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्थेँ। परिस्थिति कठिन हुँदा, म आफूलाई यो मेरो कर्तव्य हो र म यो अरू कसैलाई देखाउन गरिरहेकी छैनँ भनेर भन्थेँ। जब-जब मलाई नाटक गर्ने इच्छा हुन्थ्यो, तब-तब म परमेश्वरका यी वचनहरू सम्झन्थेँ: “सत्यता अभ्यास गर्न सक्नेहरूले आफूले गर्ने कामकुराहरूमा परमेश्वरको छानबिन स्विकार्न सक्छन्। जब तैँले परमेश्वरको छानबिन स्विकार्छस्, तेरो हृदय सोझो बन्नेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्वरका यी वचनहरूले मलाई अझ शुद्ध हुन र परमेश्वरको छानबिन स्विकार्न तयार हुन मद्दत गर्थे।
केही समयपछि, म याङ फानलाई एउटा नयाँ सीप सिकाइरहेकी थिएँ। सुरुमा म उनीसँग धैर्यशील हुन सकेँ, तर जब मैले उनी ढिलो सिक्ने व्यक्ति हुन् र धेरै गल्तीहरू गर्छिन् भन्ने देखेँ, तब मलाई झोँक चल्न थाल्यो र मैले उनलाई तिरस्कार गर्न र तुच्छ ठान्न थालेँ। उनले म प्रेमिलो छैनँ भन्लिन्भनेर डराएँ, त्यसैले मैले आफ्नो रिसलाई काबुमा राखेँ र सिकाउन जारी राखेँ। मेरो रिसको पारो चढ्दै छ भन्ने मलाई थाहा थियो। तर मैले भेलाहरूमा आफ्ना वास्तविक भावनाहरूबारे धेरै खुलस्त बताइनँ, किनभने मैले केही भनेँ भने, मेरा सिस्टरहरूले ममा प्रेम र धैर्यको कमी छ भनी सोच्लान् र त्यसले मेरो छवि बिगार्ला भन्ने मलाई चिन्ता भयो। साथै, जब म मेरा सिस्टरहरूले भ्रष्टता देखाइरहेका वा उनीहरू नकारात्मक र कमजोर बनिरहेका देख्थेँ, तब मैले ख्याल गर्ने र बुझकी भएको बहाना गरे पनि, मलाई उनीहरूप्रति केही तिरस्कार लाग्थ्यो र म उनीहरूलाई स्विकार्न चाहँदिनथेँ। मैले उनीहरूले ममा करुणाको कमी छ र मसँग घुलमिल हुन गाह्रो छ भन्लान् भन्ने डरले ती सबै कुरा बताउने कहिल्यै योजना बनाएकी थिइनँ।
नोभेम्बरको एक दिन, एक जना अगुवाले मलाई अरू कतै कर्तव्य पूरा गर्ने प्रबन्ध मिलाए। मेरा सिस्टरहरूले म गएको देख्दा उनीहरूलाई दुःख लागेको बताए। सिस्टर ली झीले सत्यताबारे मेरो सङ्गति उनका लागि निकै शिक्षाप्रद र सहयोगी थियो, म अरूसँग निष्पक्ष थिएँ र मैले मानिसहरूलाई कहिल्यै तुच्छ ठानिनँ, अनि सत्यता बुझ्ने र पछ्याउनेहरूलाई जहाँ पनि स्वागत गरिन्छ भनेर बताइन्। उनीबाट यस्तो उच्च प्रशंसा सुन्दा मलाई अलि असहज भयो। मैले उनलाई अरूको प्रशंसा वा आराधना नगर्नु, त्यो उनीहरूका लागि राम्रो होइन भनेँ। याङ फानले सिधै मेरो प्रशंसा नगरिरहेकी भए पनि, उनले मलाई ली झीकै नजरले हेर्छिन् भन्ने कुरा म उनको आवाजमा सुन्न सक्थेँ। मलाई आफ्नो हृदयमा गह्रौँ बोझ छ जस्तो लाग्यो। मैले उनीहरूलाई भ्रमिता पारेँ कि र आफूमा कुनै समस्या छ कि भनेर सोचेँ। तर त्यसलाई अर्को तरिकाले हेर्दा, ममा भ्रष्ट स्वभाव भए पनि, मैले आत्मचिन्तन गर्न ध्यान दिएँ, र मैले समस्याहरू सामना गर्दा, ती समाधान गर्न सत्यता खोजेँ। सायद म साँच्चै उनीहरूभन्दा राम्रो थिएँ, त्यसैले उनीहरू मेरो सम्मान गर्थे। त्यो सोचेर, मैले ती चिन्ताहरूलाई आफ्नो दिमागबाट हटाएँ र त्यसबारे फेरि सोचिनँ।
पछि, मैले एउटा गवाही भिडियो हेरेँ, एक ढोङ्गीको पश्चात्ताप, जसमा कुनै सिस्टरले भेलाहरूमा उनी कसरी आफ्नो सङ्गतिमा केवल सकारात्मक अनुभवहरू मात्र बताउँथिन्, र कसरी अरू सबैले उनलाई साँच्चै सम्मान गर्थिन् भनेर बताइन्। उनलाई उनको पदबाट बर्खास्त गरियो, तर जिम्मेवारी लिन अर्को व्यक्ति चुन्ने समय आउँदा, ब्रदर-सिस्टरहरूले अझै सर्वसम्मतिले उनलाई नै जिम्मेवारी लिन मतदान गरे, उनीविना काम गर्न सकिँदैन जस्तो महसुस गरे। उनीहरू उनको यति धेरै आराधना र सम्मान गर्थे कि तिनीहरूमध्ये केहीले त लगभग उनलाई परमेश्वरजस्तै व्यवहार गर्थे। यसले मलाई साँच्चै जगायो: यो एउटा गम्भीर समस्या थियो। मैले हाल अरूले मलाई कत्ति धेरै सम्मान र प्रशंसा गरिरहेका छन् भन्नेबारे सोचेँ र मैले म सधैँ सकारात्मक प्रवेशबारे कुरा गर्ने ठ्याक्कै ती सिस्टरजस्तो हुन सक्छु र मैले सायद चिन्तन गर्नुपर्छ कि भन्ने सोचेँ। त्यसपछि मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरू अरूमाझ हुँदा ढोँग गर्न निकै सिपालु हुन्छन्। फरिसीहरूजस्तै, तिनीहरू बाहिरी रूपमा मानिसहरूप्रति अत्यन्तै सहनशील र धैर्य, नम्र र असल प्रकृतिका देखिन्छन्—तिनीहरू सबैसँग अत्यन्तै उदार र सहनशील देखिन्छन्। समस्याहरू सम्हाल्दा, तिनीहरूले सधैँ आफ्नो हैसियतबाट मानिसहरूप्रति आफू कति सहनशील छन् भन्ने कुरा देखाउँछन्, र हरेक पक्षमा तिनीहरू उदार र फराकिलो सोचका, र अरूको सानोतिनो कुरा किचकिच नगर्ने किसिमका देखिन्छन्, र तिनीहरू मानिसहरूलाई आफू कति महान् र दयालु छन् भन्ने कुरा देखाउँछन्। वास्तवमा, के ख्रीष्टविरोधीहरूसँग साँच्चै यी सारहरू हुन्छन् त? तिनीहरूले अरूलाई दयापूर्वक व्यवहार गर्छन्, तिनीहरू मानिसहरूप्रति सहनशील हुन्छन्, र तिनीहरूले सबै परिस्थितिमा मानिसहरूलाई सहयोग गर्न सक्छन्, तर यी कुराहरू गर्नुपछाडि तिनीहरूको गुप्त मनसाय के हुन्छ? यदि तिनीहरूले मानिसहरूलाई आफ्नो पक्षमा पार्ने र मानिसहरूको निगाह किन्ने प्रयास नगरिरहेका भए के तिनीहरूले अझै पनि यी कुराहरू गर्नेथिए त? के बन्द कोठाभित्र ख्रीष्टविरोधीहरू साँच्चै यस्तै हुन्छन् त? के तिनीहरू अरूमाझ हुँदा जस्तो देखिन्छन् त्यस्तै—नम्र र धैर्य, अरूप्रति सहनशील, र अरूलाई प्रेमले सहयोग गर्ने हुन्छन् त? के तिनीहरूसँग त्यस्तो सार र त्यस्तो स्वभाव हुन्छ त? के तिनीहरूको चरित्र यस्तै हुन्छ त? पटक्कै हुँदैन। तिनीहरूले गर्ने सबै कुरा ढोँग मात्रै हुन्छ र त्यो सब मानिसहरूलाई बहकाउन र मानिसहरूको निगाह किन्नका लागि गरिएको हुन्छ ताकि अझै धेरै मानिसहरूको हृदयमा तिनीहरूले सकारात्मक छाप पार्न सकून्, र आफूलाई समस्या पर्दा मानिसहरूले पहिले तिनीहरूबारे सोचून् र तिनीहरूकै सहयोग खोजून्। यो उद्देश्य हासिल गर्नका लागि, ख्रीष्टविरोधीहरूले जानीजानी अरूको अगाडि देखावटी गर्ने, सही कुराहरू बोल्ने र गर्ने षड्यन्त्र गर्छन्। तिनीहरूले बोल्नुभन्दा पहिले, आफ्नो मनमा कति पटक शब्दहरू छान्ने वा हेरफेर गर्ने गर्छन् कसलाई पो थाहा हुन्छ र। तिनीहरूले जानीजानी आफ्नो शब्दशैली, अभिव्यक्ति, स्वरको भाव, र आवाजबारे, र मानिसहरूप्रति देखाउने आफ्नो हेराइ र बोल्ने शैलीबारे पनि सोचविचार गर्न जानाजान युक्ति रच्छन् र दिमाग खियाउँछन्। तिनीहरूले आफूले कुरा गरिरहेको व्यक्ति को हो, त्यो व्यक्ति वृद्ध छ कि जवान, त्यो व्यक्तिको हैसियत आफ्नो भन्दा उच्च छ कि निचो, त्यो व्यक्तिले तिनीहरूलाई उच्च मान्छ कि मान्दैन, त्यो व्यक्तिले तिनीहरूलाई सुटुक्क घृणा गर्छ कि गर्दैन, त्यो व्यक्तिको व्यक्तित्व तिनीहरूको व्यक्तित्वसँग मिल्छ कि मिल्दैन, त्यो व्यक्तिले के कर्तव्य गर्छ, र मण्डलीमा र दाजुभाइ-दिदीबहिनीहरूका हृदयमा उसको स्थान के छ भन्नेबारे सोचविचार गर्छन्। तिनीहरूले ध्यान दिएर यी कुराहरू अवलोकन र मनन गर्छन्, र यी कुराहरू मनन गरिसकेपछि, तिनीहरूले हरप्रकारका मानिसहरूलाई व्यवहार गर्ने तरिकाहरू निकाल्छन्। ख्रीष्टविरोधीहरूले विभिन्न प्रकारका मानिसहरूलाई जुनसुकै तरिकाले व्यवहार गरे पनि, तिनीहरूको उद्देश्य मानिसहरूलाई तिनीहरूलाई उच्च मान्न लगाउनु, तिनीहरूलाई आफूसरह होइन बरु आफूभन्दा उच्च नजरले हेर्न लगाउनु, तिनीहरूले बोल्दा अझै धेरै मानिसहरूलाई सम्मान गर्न र उच्च नजरले हेर्न लगाउनु, तिनीहरूले कामकुरा गर्दा तिनीहरूलाई समर्थन गर्न र पछ्याउन लगाउनु, तिनीहरूले गल्ती गर्दा तिनीहरूलाई दोषमुक्त गर्न र प्रतिरक्षा गर्न लगाउनु, र तिनीहरूलाई प्रकट र इन्कार गरिँदा अझै धेरै मानिसहरूलाई तिनीहरूको बचाउ गर्न लगाउनु, तिनीहरूको पक्षमा रोइकराइ गर्दै गुनासो गर्न लगाउनु, र परमेश्वरसँग बहस गर्न र उहाँको विरोध गर्न अडान लिन लगाउनु बाहेक अरू केही हुँदैन। जब तिनीहरू शक्तिबाट च्युत हुन्छन्, तब तिनीहरूले धेरै मानिसहरूलाई आफूलाई सहयोग गर्न, समर्थन व्यक्त गर्न, र आफ्नो पक्षमा खडा हुन लगाउन सक्छन्, जसले के देखाउँछ भने, ख्रीष्टविरोधीहरूले उद्देश्यपूर्ण रूपले मण्डलीमा षड्यन्त्र गरेर जगेर्ना गरेको हैसियत र शक्तिले मानिसहरूका हृदयमा गहिरो जरा गाडिसकेको छ, र तिनीहरूको ‘श्रमसाध्य प्रयास’ व्यर्थ भएको छैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस))। ख्रीष्ट विरोधीहरूबारे परमेश्वरको प्रकाशद्वारा, मैले के सिकेँ भने तिनीहरूले अरूको आराधना र सम्मान पाउन, नम्रता, धैर्य र प्रेमको नाटक गर्छन्, र यसरी ख्रीष्टविरोधीहरूले उनीहरूलाई भ्रममा पार्छन् र उनीहरूको हृदय जित्छन्। मैले ठ्याक्कै ख्रीष्टविरोधीले जस्तै नाटक गरिरहेकी थिएँ। मैले याङ फानलाई तालिम दिइरहेका बेला, आफूलाई दिक्क लागे पनि, मैले अरूको सम्मान पाउन धैर्यवान् भएको नाटक गरेँ। मैले मेरा सिस्टरहरूले भ्रष्टता प्रकट गरेका देख्दा, भित्रभित्रै उनीहरूलाई तिरस्कार गरेँ र स्वीकार गर्न चाहिनँ, तर मैले उनीहरूमा बसेको मेरो राम्रो छवि बिग्रिएला भन्ने डरले अझै ख्याल गर्ने र बुझकी भएको नाटक गरेँ, र उनीहरूमध्ये कसैसँग पनि कहिल्यै साँचो रूपमा खुलस्त भइनँ। मैले उनीहरूलाई अन्धो बनाएकी थिएँ र धोका दिएकी थिएँ ताकि उनीहरूले मेरो निरन्तर प्रशंसा र सम्मान गरून्। मैले आफू कत्ति छली रहेछु भन्ने बुझ्न सकेँ।
मैले म किन नाटक गर्न छोड्न सक्दिनँ भनेर सोच्न थालेँ। यो कस्तो स्वभाव थियो? मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “सामान्यतया छलीपन बाहिरी रूपमा देख्न सकिन्छ: कुनै व्यक्तिले टालमटोल गर्छ वा आलङ्कारिक भाषा प्रयोग गर्छ, अनि उसले के सोचिरहेको छ भनेर कसैले पनि बुझ्न सक्दैन। त्यो छलीपन हो। दुष्टताको मूल विशेषता के हो? त्यो के हो भने तिनीहरूका शब्दहरू अत्यन्तै मिठा सुनिन्छन्, साथै बाहिरबाट हेर्दा सबथोक सही देखिन्छन्। कुनै समस्या देखिँदैन, र हरेक कोणबाट कामकुराहरू निकै राम्रा देखिन्छन्। जब तिनीहरू केही गर्छन्, तँ तिनीहरूले कुनै विशेष माध्यमहरू प्रयोग गरेको देख्दैनस्, अनि बाहिरबाट हेर्दा कमजोरी वा खोटको कुनै सङ्केत हुँदैन, तैपनि तिनीहरू आफ्नो लक्ष्य हासिल गर्छन्। तिनीहरू अत्यन्तै गोप्य तरिकाले कामकुरा गर्छन्। ख्रीष्टविरोधीहरूले यसरी नै मानिसहरूलाई भ्रममा पार्छन्। यस्ता मानिस र मामलाहरू खुट्ट्याउन सबैभन्दा गाह्रो हुन्छ। कतिपय मानिस प्रायः सही कुराहरू भन्छन्, कर्णप्रिय बहानाहरू बनाउँछन्, अनि मानिसहरूको आँखामा छारो हाल्न मानव स्नेहअनुरूपका निश्चित धर्मसिद्धान्त, भनाइ, वा कार्यहरू प्रयोग गर्छन्। तिनीहरू आफ्ना गोप्य उद्देश्यहरू पूरा गर्नका निम्ति एउटा काम गर्दा अर्को काम गरेको नाटक गर्छन्। यो दुष्टता हो, तर धेरैजसो मानिस यी व्यवहारहरूलाई छलीपन ठान्छन्। मानिसहरूले दुष्टतालाई सीमित मात्रामा बुझेका र विश्लेषण गरेका हुन्छन्। वास्तवमा, छलीपनलाई भन्दा दुष्टतालाई खुट्ट्याउन धेरै गाह्रो हुन्छ किनकि त्यो बढी गोप्य हुन्छ, अनि त्यसका विधि र कार्यहरू बढी परिष्कृत हुन्छन्। यदि कुनै व्यक्तिमा छली स्वभाव छ भने, सामान्यतया अरूले ऊसँग कुरा गरेको दुई-तीन दिनमै उसको छलीपन पत्ता लगाउन सक्छन्, वा तिनीहरूले त्यस व्यक्तिका कार्य र शब्दहरूमा उसको छली स्वभावको प्रकटीकरण देख्न सक्छन्। तर, मानौँ त्यो व्यक्ति दुष्ट छ: यो केही दिनमै खुट्ट्याउन सकिँदैन, किनकि छोटो अवधिमा कुनै ठूला घटना वा विशेष परिस्थिति नआई, उसले बोलेको सुनेर मात्र कुनै पनि कुरा खुट्ट्याउन सजिलो हुँदैन। ऊ सधैँ सही कुराहरू भन्ने र गर्ने गर्छ, अनि एकपछि अर्को सही धर्मसिद्धान्त प्रस्तुत गर्छ। ऊसँग केही दिन अन्तरक्रिया गरेपछि, तँलाई यो व्यक्ति निकै राम्रो छ, उसले कामकुरा त्याग्न र आफूलाई समर्पित गर्न सक्छ, उसमा आत्मिक बुझाइ छ, परमेश्वरलाई प्रेम गर्ने हृदय छ, र उसको कार्यशैलीमा विवेक र समझ दुवै छ भन्ने लाग्ला। तर उसले केही मामला सम्हालेपछि, तैँले उसका बोली र व्यवहारमा अति धेरै कुरा, अति धेरै शैतानी अभिप्रायहरू मिसिएका रहेछन् भन्ने देख्छस्। तँलाई यो व्यक्ति इमानदार नभई छली हो—दुष्ट कुरा हो भन्ने महसुस हुन्छ। ऊ बारम्बार सत्यतासँग मिल्दो र मानव स्नेहसहितका सही शब्द र मिठा वाक्यांशहरू प्रयोग गरेर मानिसहरूसँग अन्तरक्रिया गर्छ। एकातिर, ऊ आफूलाई स्थापित गर्छ, र अर्कोतिर, अरूलाई भ्रममा पारेर मानिसहरूमाझ प्रतिष्ठा र हैसियत प्राप्त गर्छ। यस्ता व्यक्तिहरू अत्यन्तै भ्रामक हुन्छन्, अनि तिनीहरूले शक्ति र हैसियत प्राप्त गरेपछि धेरै मानिसलाई भ्रममा पार्न र हानि पुऱ्याउन सक्छन्। दुष्ट स्वभावका मानिसहरू अत्यन्तै खतरनाक हुन्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रण गर्छन्)। मैले परमेश्वरका वचनहरू पढेपछि यो ढोँगपछाडि, छली स्वभावभन्दा देख्न गाह्रो एउटा दुष्ट स्वभावले मलाई नियन्त्रण गरिरहेको छ भनेर बुझेँ। दुष्ट स्वभावका मानिसहरू आफ्नै गुप्त मनसायहरूका लागि मानिसहरूलाई भ्रममा पार्न र उनीहरूको हृदय जित्न असल र सत्यताअनुरूप देखिने कामकुरा गर्ने प्रयास गर्छन्, र मानिसहरू अनजानमा यसद्वारा भ्रमित हुन्छन्। म ठ्याक्कै त्यस्तै थिएँ। मलाई मेरा ब्रदर-सिस्टरहरूलाई सत्यता पछ्याउने र प्रेमिलो मानिसहरू मन पर्छ, यी मानिसहरूलाई मण्डलीमा सम्मान र प्रशंसा गरिन्छ भन्ने थाहा थियो, त्यसैले मैले त्यस्तै प्रकारको व्यक्ति भएको नाटक गरेँ। म कष्ट भोग्न, मूल्य चुकाउन, सक्रिय रूपमा आफ्नो कर्तव्य पूरा गर्न, र अरूप्रति प्रेमिलो हुन तयार देखिन्थेँ, र मैले बाहिरी रूपमा सत्यताअनुरूप काम गरेजस्तो व्यवहार गरेँ। तर मेरो उद्देश्य त सत्यता अभ्यास गर्नु नभई, अरूबाट सम्मान पाउनु र उनीहरूको हृदय जित्नु थियो। म साँच्चै दुष्ट र घृणित थिएँ। यदि परमेश्वरका वचनहरूको न्याय र प्रकाश नभएको भए, मैले मुखुण्डो लगाएर म अलि छली मात्र भइरहेकी छु भनी सोच्नेथिएँ, तर ममा दुष्ट स्वभाव हाबी भएको छ वा त्यसरी मानिसहरूलाई भ्रममा पार्नु र उनीहरूको हृदय जित्नु भनेको म परमेश्वरविरुद्धको मार्गमा हिँडिरहेकी छु भन्ने हो भनेर सोच्नेथिइनँ। हामी परमेश्वरका सृष्टि हौँ र परमेश्वर मात्र आराधनाको योग्य हुनुहुन्छ, तर म शैतानद्वारा अत्यन्तै गहन रूपमा भ्रष्ट पारिएकी थिएँ, र तैपनि म सधैँ मेरा ब्रदर-सिस्टरहरूमाझ उच्च पदमा रहन अनि सम्मान र आराधना पाउन चाहन्थेँ। के म प्रधान स्वर्गदूतले जस्तै अभिनय गरिरहेकी थिइनँ र? परमेश्वरको धर्मी स्वभावले मानिसद्वारा चिढ्याइएको सहनेछैन, त्यसैले यदि मैले पश्चात्ताप गरिनँ भने, म अन्ततः फारसीहरूजस्तै परमेश्वरद्वारा श्रापित र घृणित हुनेथिएँ। यसले गर्दा मलाई डर लाग्यो। यदि मैले त्यसै गरिरहेँ भने, परिणामहरू एकदमै गम्भीर हुनेछन् भन्ने मलाई थाहा थियो। मैले देहविरुद्ध विद्रोह गर्ने र सरल, इमानदार व्यक्ति बन्ने सङ्कल्प गरेँ।
त्यसपछि, मैले आफूविरुद्ध विद्रोह गर्न काम गरेँ, र म अरूसँग खुलस्त हुन थालेँ। एकपटक, मैले एउटा भिडियो बनाउँदा पर्याप्त ध्यान दिएकी थिइनँ जसको अर्थ त्यसमा धेरै समस्या आए र त्यसलाई दोहोऱ्याएर गर्दा हाम्रो काममा धेरै ढिलाइ भयो। एउटी सिस्टरले म गैरजिम्मेवार भएकी छु र ममा भर पर्न सकिँदैन भनेर भन्दा, मलाई असन्तुष्ट, प्रतिरोध महसुस भयो र मैले बहस गर्न चाहेँ। पछि एउटा भेलामा एक जना अगुवाले मेरो स्थितिबारे सोधे, र मैले सोचेँ: “यदि मैले साँच्चै सबै कुरा बताएँ भने, ब्रदर-सिस्टरहरूले म सत्यता स्विकार्न सक्दिनँ, म आफ्नो बचाउ मात्र गरिरहन्छु भनेर सोच्न सक्छन्। त्यतिबेला सबैले मलाई के सोच्न्लान्? मैले नबोल्नु नै राम्रो हुन्छ।” त्यसपछि मैले आफूले फेरि नाटक गर्नेबारे सोचिरहेकी छु भन्ने स्पष्ट रूपमा बुझेँ, त्यसैले मैले प्रार्थना गरेँ, र परमेश्वरका वचनहरूको एउटा खण्ड मेरो दिमागमा आयो। परमेश्वर भन्नुहुन्छ: “तैँले हरेक पटक कुनै काम सक्दा, चाहे तँलाई त्यो काम सही रूपमा गरिएजस्तो लागे पनि, त्यो काम सत्यताअनुरूप नहुन सक्छ। यसको पनि चिरफार गरिनैपर्छ, र यसलाई परमेश्वरका वचनहरूअनुसार तुलना, पुष्टि र खुट्ट्याउने गरिनुपर्छ। यस तरिकाले, त्यो सही थियो कि गलत थियो भन्ने कुरा स्पष्ट हुन्छ। यसको साथै, तैँले गलत गरेँ भनी लागेको कुरालाई पनि चिरफार गरिनैपर्छ। यसका लागि दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गर्दै, खोजी गर्दै, र एकअर्कालाई सहयोग गर्दै थप समय बिताउनुपर्छ। तैँले जति धेरै सङ्गति गर्छस्, तेरो हृदय त्यति नै बढी उज्यालो हुनेछ, र तैँले त्यति नै बढी सत्यता सिद्धान्तहरू बुझ्नेछस्। यो परमेश्वरको आशिष् हो। यदि तिमीहरूमध्ये कसैले पनि आफ्नो हृदय खोल्दैनौ, र अरूका नजरमा राम्रो छाप छोड्न र आफूलाई अरूले उच्च मानून् र आफ्नो खिल्ली नउडाऊन् भन्ने उद्देश्यले, तिमीहरू सबैले आफूलाई ढाकछोप गर्छौ भने, तिमीहरूले साँचो वृद्धि अनुभव गर्नेछैनौ। यदि तैँले सधैँ भेष बदल्छस् र सङ्गतिमा कहिल्यै खुल्दैनस् भने, तैँले पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्नेछैनस्, र तँ सत्यता बुझ्न सक्षम हुनेछैनस्। अनि, यसको परिणाम के हुनेछ? तँ सदासर्वदा अन्धकारमै जिउनेछस्, र तँलाई मुक्ति दिइनेछैन। यदि तँ सत्यता प्राप्त गर्न र आफ्नो स्वभाव परिवर्तन गर्न चाहन्छस् भने, तैँले सत्यता प्राप्त गर्न र सत्यता अभ्यास गर्नलाई मूल्य चुकाउनैपर्छ, र तैँले आफ्नो हृदय खोलेर अरूसित सङ्गति गर्नैपर्छ। यो तेरो जीवन प्रवेश र तेरो स्वभावगत परिवर्तन दुवैका लागि फाइदाजनक हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए। मैले परमेश्वरको छानबिन स्विकार्नुपर्थ्यो, र अरू मानिसूले मेरा बारेमा जे सोचे पनि, मैले खुलस्त हुनुपर्थ्यो र सत्यता अभ्यास गर्नुपर्थ्यो। मेरो समस्या समाधान गर्न सकिने एकमात्र तरिका यही थियो। त्यसबेला मैले सबैलाई आफ्नो स्थितिबारे खुलस्तसित बताउन र आफ्नो भ्रष्टता प्रकट गर्न हिम्मत जुटाएँ। त्यसो गरेपछि मैले धेरै स्वतन्त्र महसुस गरेँ, र अरूसँग सङ्गति गर्दा मलाई आफ्नै समस्या बुझ्न सहयोग मिल्यो।
त्यतिखेर प्रकट भएका तथ्यहरूले मलाई ममा छली, दुष्ट स्वभाव छ भन्ने देखाए। मैले अरूबाट प्रशंसा र आराधना पाउन सधैँ नाटक गरिरहेकी थिएँ। परमेश्वरका वचनहरूको न्याय र प्रकाशविना, मैले आफूलाई पटक्कै चिन्न सक्नेथिइनँ र म परिवर्तन हुन सक्नेथिइनँ। अब म के पनि बुझ्छु भने कामकुरा गर्दा हाम्रा मनसाय धेरै महत्त्वपूर्ण हुन्छन्, र परमेश्वरको छानबिन स्विकार्न र आफ्ना कर्तव्यमा आफ्ना मनसाय सच्याउन सक्नु, अनि खुलस्त र इमानदार हुनु नै परमेश्वरको अनुमोदन पाउने र उहाँलाई खुसी तुल्याउने एकमात्र तरिका हो।