५३. परमेश्वरको वचनले मेरो रक्षात्मकता र गलत बुझाइ हटाइदियो
सन् २०१४ मा, म मण्डली अगुवा हुँदा, कर्तव्य निर्वाहमा केही हदसम्म प्रभावकारी थिएँ, केही अनुभव बटुलेकी थिएँ, र सत्यता बुझेकी छु जस्तो लाग्थ्यो। समस्यामा पर्दा म सत्यता सिद्धान्त खोज्थिनँथेँ, प्रायः आफूखुसी गर्थेँ। त्यस समयमा, कसैले दुई मण्डलीका अगुवाहरूमा खराब मानवता छ, र उनीहरू अरूलाई दबाउने र सीमित पार्ने गर्छन् भनेर उजुरी गऱ्यो। म पूर्वाग्रही भएँ, र वास्तविक परिस्थितिलाई राम्रोसँग नबुझी सुनेको कुरा पत्याएँ। त्यसैले, मैले वास्तविक काम गर्न सक्ने एक अगुवालाई बर्खास्त गरेँ, र अर्को अगुवालाई पनि निष्कासन गर्ने गल्ती झन्डै गरेँ। त्यसले दुवै मण्डलीको काममा गम्भीर प्रभाव पार्यो। माथिल्ला अगुवाहरूले कर्तव्य निर्वाहमा म लापरवाह र हठी भएकोमा, सत्यता सिद्धान्तअनुसार कामकुरा नसम्हालेकोमा, र मनमानी ढङ्गमा मानिसलाई बर्खास्त र निष्कासित गरेकोमा कडासँग मेरो काटछाँट गरे। तर मैले आफूलाई चिनेकी नै थिइनँ, र तिनीहरूसँग तर्क गर्दै आफूलाई सही ठहर्याउने कोसिस गरेँ। आखिर, आफ्नो कर्तव्य निर्वाह गर्दा, कसले गल्ती गर्दैन र? मैले सत्यता नस्विकारेकाले, प्रायः काममा सिद्धान्त उल्लङ्घन गरेकाले, लापरवाह र हठी भएकाले र मण्डलीको काममा अवरोध र बाधा ल्याएकाले माथिल्ला अगुवाहरूले मलाई बर्खास्त गरे। म बर्खास्त भएपछि, माथिल्ला अगुवाहरूले मेरा लागि कुनै कर्तव्य निर्वाहको व्यवस्था गरेनन्, र मलाई आत्मचिन्तन गर्न दिए। त्यो बेला, मैले परमेश्वरको अभिप्राय बुझेकी थिइनँ, र म एकदमै नकारात्मक थिएँ। मलाई लाग्यो, परमेश्वरमा विश्वास गरेको यतिका वर्षमा मैले परिवार र करियर छोडेकी थिएँ, बिरामी हुँदा पनि प्रायः कर्तव्य निर्वाह गर्थेँ। मैले धेरै योगदान गरिनँ होला, तर धेरै मेहनत पक्कै गरेकी थिएँ। बर्खास्त हुनु एउटा कुरा थियो, तर कर्तव्य निर्वाह गर्न चाहिँ किन दिइएन? मैले दुइटा मात्र गल्ती गरेकी थिएँ, त्यसैले मलाई त्यस्तो व्यवहार गर्नु अति कठोर थिएन र? विशेष गरी, कहिल्यै अगुवा नबनेका ब्रदर-सिस्टरहरूले अझै पनि आफ्नो कर्तव्य निर्वाह गरिरहेको देख्दा, अनि, म, पहिलेको अगुवासँग निर्वाह गर्ने कुनै कर्तव्य नहुँदा, मैले सोचेँ, “यस्तो लाग्छ म अगुवा बन्न सक्दिनँ। अगुवा बन्दा उच्च मानक र कडा मापदण्डहरू पूरा गर्नुपर्छ। कुनै दिन थोरै मात्र लापरवाह भइयो भने परमेश्वरको विश्वासी जीवन सकिन सक्छ। त्यसले कसरी कुनै राम्रो अन्त र गन्तव्यमा पुर्याउन सक्छ र? कुनै पनि हालतमा, म फेरि कहिल्यै अगुवा बन्नेछैनँ।” अरू केही वर्षसम्म, मैले सधैँ मण्डलीमा लेखन-पठनको काम गरेँ, र अगुवा वा कामदारका रूपमा चुनावमा खडा हुने मौका हुँदा पनि, म सधैँ सहभागी हुनबाट पर हुन्थेँ। त्यो बेला, मलाई आफ्ना समस्याबारे थाहा थिएन, र त्यही गर्नु बुद्धिमानी हो भन्ने ठानेँ।
सन् २०२०, मे महिनामा, मण्डलीले अगुवाहरूको चुनाव गर्दै थियो। मेरा हृदयमा खलबली थियो: “लेखन-पठनको मेरो काम धेरै राम्रो थियो, र म चुनावमा सहभागी हुन चाहन्नथेँ। यदि म अगुवा चुनिएँ भने, त्यो नराम्रो कुरा हुने थियो। अगुवा बन्नु कठिन र जस नपाउने काम हो। यसलाई राम्रोसँग गर्ने अपेक्षा गरिन्छ, र, मण्डलीका काममा ढिलाइ भयो भने, अगुवाले नै जिम्मेवारी लिनुपर्छ। त्यसैले, ‘सबैले फाइदा लिन्छन्, तर दोष पाउने एक जना मात्र हुन्छ’ भन्ने कुरा एकदमै सही हो। पहिले, मैले आफू अगुवा हुँदा, केही अपराध गरेकी थिएँ। यदि म फेरि अगुवा भएँ र सिद्धान्त उल्लङ्घन हुने काम गरेँ, अनि मण्डलीका काममा ठुलो हानि पुर्याएँ भने, राम्रोमा म बर्खास्त हुनेछु। नराम्रोमा, मलाई निष्कासित गरिनेछ, र मैले मुक्ति पाउने मौका गुमाउनेछु।” मनमा यी विचार आएपछि, मैले बहाना भेट्टाएँ र हालै ममा मुटुसम्बन्धी समस्या बढेकाले म चुनावमा भाग लिन सक्दिनँ भनिदिएँ। त्यो बेला, मलाई अलिक दोषी महसुस भयो। “के यो चुनावबाट भाग्न खोजेको होइन र?” तर मैले सोचेँ, म वास्तवमा अगुवा बन्ने योग्य छैनँ, र हालै मुटुमा साँच्चै केही असहज भएको थियो, त्यसैले मसँग नजाने कारण थियो। त्यसरी सोच्दा, ममा भएको बेचैनी र ग्लानि गायब भयो। पछि, अर्को चुनाव हुँदा पनि म सहभागी हुन चाहिनँ, अगुवा हुनु खतरनाक हो भन्ने लाग्यो! काम धेरै थियो, सम्पहाल्नुपर्ने धेरै समस्या थियो, र म कुनै पनि समय खुलासा हुन सक्थेँ। मेरा छेउछाउका केही ब्रदर-सिस्टर अगुवा नहुँदा कुनै समस्यामा परेका थिएनन्। तर, अगुवा भएपछि केही झुटा अगुवाका रूपमा खुलासा भएर बर्खास्त भए, केही भने दुष्ट र खीष्टविरोधीका रूपमा खुलासा भएर निकालिए वा निष्कासित भए। हैसियतले मानिसहरू वास्तवमा को हुन् भन्ने कुरा खुलासा गरेकोजस्तो देखिन्थ्यो! आखिरमा, म पछि हटेँ र चुनावमा खडा भइनँ।
घर पुगेको केही समयपछि नै म अचानक बिमारी भएँ। मलाई झाडापखाला र ज्वरोले सतायो, औषधिले पनि काम गरेन। निकै दिन कष्ट भोगेपछि म बल्ल ठिक भएँ। तर मेरा पाखुरा र घाँटीभरि ससाना रातो डाबर निस्कियो। मेरो अवस्था झन् झन् खराब भयो, र मलाई पसिना आउन थाल्नेबित्तिकै, पूरै शरीर पोलेको महसुस हुन्थ्यो। केही दिनपछि, आफ्नो बिमारीसँग लड्दा लड्दा म हत्तोहैरान भएकी थिएँ, र मेरो बिरामी कुनै संयोग होइन भन्ने बुझेँ। यो परमेश्वरको ताडना थियो। तर मलाई चिन्तन र बुझाइका लागि कुन बाटो लागूँ भन्ने थाहा थिएन। मैले परमेश्वरलाई प्रार्थना गरेँ, आफूलाई चिन्न र पाठ सिक्न मार्गदर्शन मागेँ।
म बिमारी छ भनेर मेरो अगुवाले थाहा पाएपछि उनले चुनावप्रतिको मेरो मनोवृत्तिबारे चिन्तन गर्न स्मरण गराइन्, र मेरो स्थितिसँग सम्बन्धित परमेश्वरका वचनको एउटा खण्ड फेला पारिन्: “आफ्नो शैतानी स्वभावमार्फत हैसियत प्राप्त गरेपछि, मानिसहरू खतरामा हुन्छन्। त्यसोभए, के गरिनुपर्छ? के तिनीहरूसँग पछ्याउने कुनै मार्ग हुँदैन? त्यस्तो खतरनाक परिस्थितिमा परिसकेपछि, के तिनीहरूका लागि फर्कने कुनै उपाय हुँदैन? मलाई बताओ त, भ्रष्ट मानिसहरू जोसुकै भए पनि, के हैसियत प्राप्त गरेपछि तिनीहरू ख्रीष्टविरोधी बन्दैनन् र? के यो निरपेक्ष कुरा हो? (यदि तिनीहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरू ख्रीष्टविरोधी बन्नेछन्, तर तिनीहरूले सत्यताको खोजी गर्छन् भने, तिनीहरू ख्रीष्टविरोधी बन्नेछैनन्।) यो पूर्ण रूपमा सही छ: यदि मानिसहरू सत्यताको पछि लाग्दैनन् भने, तिनीहरू निश्चित रूपमा ख्रीष्टविरोधीहरू हुनेछन्। के ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्ने सबैले हैसियतका निम्ति यसै गर्छन्? होइन, यो मुख्य रूपले तिनीहरूमा सत्यताप्रति प्रेम नभएकोले, तिनीहरू सही मानिसहरू नभएकोले गर्दा हो। चाहे तिनीहरूको हैसियत होस् वा नहोस्, सत्यको पछि नलाग्नेहरू सबै ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्छन्। जतिसुकै प्रवचनहरू सुने पनि त्यस्ता मानिसहरूले सत्य स्वीकार गर्दैनन्, तिनीहरू सही मार्गमा हिँड्दैनन् र बरु बाङ्गो मार्ग हिँड्न दृढ हुन्छन्। यो त मानिसहरूको खाने बानी जस्तै हो: कतिपयले आफ्नो शरीरलाई पोषण दिने र सामान्य जीवन जिउन सहयोग गर्ने खाने कुराहरू खाँदैनन्, बरु आफूलाई हानि गर्ने कुराहरू खान्छन्, र यसरी तिनीहरूले आफ्नै खुट्टामा बन्चरो हान्छन्। के यो तिनीहरूको आफ्नै निर्णय होइन र? हटाइएपछि, कतिपय अगुवाहरू र सेवकहरूले यसो भन्दै गलत धारणाहरू फैलाउँछन्, ‘अगुवा नबन, र हैसियत प्राप्त नगर। कुनै हैसियत प्राप्त गर्नेबित्तिकै मानिसहरू खतरामा हुन्छन्, र परमेश्वरले तिनीहरूलाई प्रकट गर्नुहुनेछ! तिनीहरू प्रकट भएपछि, तिनीहरू साधारण विश्वासी हुनसमेत योग्य हुँदैनन्, र तिनीहरूले कदापि आशिष् पाउनेछैनन्।’ त्यो कस्तो प्रकारको भनाइ हो? सबैभन्दा राम्रा अवस्थामा पनि यसले परमेश्वरको गलत बुझाइलाई प्रतिनिधित्व गर्छ; सबैभन्दा नराम्रो अवस्थामा त यो उहाँविरुद्धको ईश्वर निन्दा नै हो। यदि तँ सही मार्गमा हिँड्दैनस्, सत्यताको खोजी गर्दैनस्, र परमेश्वरको मार्गलाई पछ्याउँदैनस्, बरु ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्न जिद्दी गर्दै पावलको मार्गमा हिँड्न पुग्छस्, अनि अन्तिममा पावलको जस्तै परिणाम, तिनको जस्तै अन्त्य प्राप्त गरेर परमेश्वरको बारेमा गनगन गर्ने र परमेश्वरलाई अधर्मी भनेर आलोचना गर्ने गर्छस् भने, के तँ ख्रीष्टविरोधीको सच्चा उदाहरण होइनस् र? त्यस्तो बानीबेहोरा श्रापित हुन्छ! जब मानिसहरूले सत्यता बुझेका हुँदैनन्, तब तिनीहरू सधैँ आफ्नो धारणा र कल्पनाअनुसार जिउँछन्, र बारम्बार परमेश्वरलाई गलत अर्थ्याउँछन्, अनि तिनीहरूले परमेश्वरका कार्यहरू तिनीहरूका धारणाविपरीत रहेको अनुभव गर्छन्, जसले गर्दा तिनीहरूमा नकारात्मक भावनाहरू पैदा हुन्छन्; मानिसहरूमा भ्रष्ट स्वभाव हुने भएकाले यस्तो हुने गर्छ। तिनीहरूको विश्वास अत्यन्तै सानो, तिनीहरूको कद अत्यन्तै कमजोर हुने भएकाले, र तिनीहरूले अत्यन्तै कम सत्यता बुझेका हुनाले तिनीहरूले नकारात्मक कुरा भन्छन् र गुनासो गर्छन्, तर ती सबै कुरा क्षमायोग्य हुन्छन्, र परमेश्वरले ती स्मरण गर्नुहुन्न। तैपनि, सही मार्गमा नहिँड्ने, र खास गरी परमेश्वरलाई छल्ने, विरोध गर्ने, धोका दिने, र उहाँसँग लड्ने मार्गमा हिँड्ने मानिसहरू पनि छन्। परमेश्वरले यी मानिसहरूलाई आखिरमा दण्ड र श्राप दिनुहुन्छ, र अनन्त विनाश र विध्वंशमा पार्नुहुन्छ। तिनीहरू कसरी यस्तो अवस्थामा पुग्छन्? तिनीहरूले आफ्नो बारेमा कहिल्यै मनन नगरेका र आफूलाई नचिनेका हुनाले, तिनीहरूले सत्यता पटक्कै स्वीकार नगरेका हुनाले, र तिनीहरू लापरवाह र स्वेच्छाचारी हुने हुनाले, अनि तिनीहरूलाई प्रकट गरेर हटाइएपछि परमेश्वर धर्मी हुनुहुन्न भन्दै जिद्दी गर्दै पश्चात्ताप गर्न इन्कार गर्ने, र परमेश्वरका विरुद्धमा गुनासोसमेत गर्ने हुनाले यस्तो हुन्छ। के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? (सक्दैनन्।) तिनीहरूले सक्दैनन्। त्यसकारण, प्रकट भएर हटाइएका व्यक्तिहरू सबै नै मुक्तिको पहुँचभन्दा बाहिर हुन्छन् भन्ने कुरा साँचो हो? तिनीहरू छुटकाराको पहुँचभन्दा पूरै बाहिर हुन्छन् भनेर भन्न मिल्दैन। कतिपय मानिसहरूले अत्यन्तै थोरै सत्यता बुझेका हुन्छन्, र तिनीहरू जवान र अनुभवहीन हुन्छन्—र तिनीहरू अगुवा वा सेवक बनेर हैसियत पाउनेबित्तिकै आफ्नो भ्रष्ट स्वभावबाट निर्देशित हुन्छन्, र हैसियतको पछि लाग्छन्, र हैसियतकै आनन्द लिन्छन्, र यसरी प्राकृतिक तवरबाटै तिनीहरू ख्रीष्टविरोधीको मार्गमा हिँड्छन्। यदि खुलासा र न्याय गरिएपछि, तिनीहरूले आफ्ना बारेमा मनन गरेर साँचो रूपमा पश्चात्ताप गर्न सक्छन्, निनवेका मानिसहरूले जस्तै दुष्टतालाई त्याग्छन्, त्यसउप्रान्त तिनीहरू पहिलेजस्तो दुष्टताको मार्ग पछ्याउन छोड्छन् भने, तिनीहरूले अझै पनि मुक्ति पाउने मौका पाउँछन्। तर त्यस्तो अवसरका सर्तहरू के-के हुन्? तिनीहरू पश्चात्ताप गर्ने र सत्यता स्विकार्न सक्ने हुनुपर्छ। यदि तिनीहरू त्यसो गर्न सक्छन् भने, तिनीहरूसँग अझै पनि केही आशा हुन्छ। यदि तिनीहरूले आफ्ना बारेमा मनन गर्न सक्दैनन्, सत्यता बिलकुलै स्विकार्दैनन् र साँचो रूपमा पश्चात्ताप गर्ने अभिप्राय राख्दैनन् भने, तिनीहरूलाई पूर्ण रूपमा हटाइनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने)। परमेश्वरका वचन पढेपछि, अगुवाले मलाई सम्झाइन्: “सधैँ तपाईँ अगुवा भएपछि सजिलै खुलासा, बर्खास्त होइन्छ वा हटाइन्छ भन्ने सोच्नुहुन्छ। के त्यो सही दृष्टिकोण हो? मानिस खुलासा हुने र हटाइने कुरा तिनीहरूले सत्यता पछ्याउँछन्-पछ्याउँदैनन्, र कुन मार्ग लिन्छन् भन्नेमा निर्भर रहन्छ। तिनीहरू अगुवा हुनुसँग यसको कुनै सम्बन्ध हुँदैन। यदि कुनै व्यक्ति अगुवा हो, तर सत्यता पछ्याउँदैन वा सही मार्गमा हिँड्दैन, यदि उसले दुष्ट काम गर्छ, मण्डलीका काममा बाधा र अवरोध पुऱ्याउँछ, पश्चात्ताप गर्न मान्दैन भने तिनीहरूलाई निश्चित रूपमा खुलासा गरी हटाइनेछ। कतिपय अगुवाले कर्तव्य निर्वाहबाट विचलित भई अपराध गरे पनि, सत्यता स्विकार्न, आत्मचिन्तन गरी आफूलाई चिन्न र साँचो पश्चात्ताप गर्न सक्छन् भने, मण्डलीले तिनीहरूलाई अभ्यास गरिरहने अवसर दिनेछ। तिनीहरू कम क्षमताको भए पनि र अगुवा बन्न योग्य नभए पनि, तिनीहरूलाई उचित कर्तव्य निर्वाहका लागि सरुवा गरिनेछ। मण्डलीमा धेरै अगुवा हुने कुरालाई विचार गर्दा, किन केहीले झन्-झन् धेरै सत्यता बुझ्छन्, र आफ्नो कर्तव्य झन्-झन् राम्रो गर्दै जान्छन्? किन केहीले दुष्ट कामकुरा बारम्बार गर्छन्, झुटा अगुवा र ख्रीष्टविरोधीका रूपमा खुलासा हुन्छन्, र अन्ततः हटाइन्छन्? के तिनीहरूको असफलताको अगुवा हुनुसँग कुनै सम्बन्ध छ? मण्डलीले धेरै दुष्ट मानिसलाई हटाएको छ, त्यसमा कैयौँ मानिस अगुवा थिएनन्। तिनीहरूको प्रकृतिले सत्यताप्रति वितृष्णा राख्ने र विरोध गर्ने, तिनीहरू सही मार्गमा नहिँड्ने, कर्तव्य निर्वाहमा लापरबाही भई दुष्कर्म गर्ने, बाधा र अवरोध पुऱ्याउने भएकाले हटाइएका थिए। के त्यसको अगुवा हुनुसँग कुनै सम्बन्ध छ?”
अगुवाको सङ्गति सुनेपछि, म प्रभावित भएँ। उनी सही थिइन्—कोही अगुवा बन्दैमा र उसको हैसियत हुँदैमा खुलासा भएर हटाइनेछन् भन्ने होइन। त्यसो हुनुको कारण मानिस हैसियत प्राप्त गरेपछि सही मार्गमा नहिँड्नु, र सत्यता नपछ्याउनु हो। तिनीहरू केवल हैसियतबाट पाइने लाभको लालसा गर्छन्, आफूखुसी गर्छन्, लापरवाह भई दुष्कर्म गर्छन् अनि बाधा र अवरोध पुऱ्याउँछन्। त्यसले तिनीहरूलाई झुटो अगुवा र ख्रीष्टविरोधी बनाउँछ, जो बर्खास्त भएर हटाइन्छन्। मैले केही समयअघि बर्खास्त गरिएका ब्रदर फाङ सुनलाई सम्झेँ। अगुवा भएर उनी सधैँ देखावटी गर्थे, आफूसँग काम गर्ने ब्रदरहरूलाई होच्याउँथे, पाखा लगाउँथे। त्यसले तिनीहरूलाई बाँधिएको महसुस गराउँथ्यो, त्यसैले तिनीहरू आफ्नो कर्तव्य सामान्य तरिकाले निर्वाह गर्न सक्दैनथे। अगुवाहरूले फाङ सुनसँग धेरैपटक सङ्गति गरे। तर उनी कहिल्यै बदलिएनन्, त्यसैले पछि उनी बर्खास्त भए। जब म अगुवाको पदबाट बर्खास्त भएकी थिएँ, यो म प्रायः लापरवाह र स्वेच्छाचारी भएकीले थियो। ब्रदर-सिस्टरहरूले दुइटा मण्डलीका अगुवामा समस्या छ भनी उजुरी गर्दा, मैले सिद्धान्त पछ्याएर ती उजुरीको छानबिन र पुस्ट्याइँ गरिनँ। बरु, आँखा चिम्लेर तिनीहरूको निन्दा गरेँ, एउटालाई बर्खास्त र अर्कोलाई झन्डै निष्कासितसमेत गरेँ। परिणामस्वरूप, मैले दुवै अगुवालाई हानि गरेँ, मण्डली लथालिङ्ग पारेँ। अहिले त्यसबारे सम्झँदा, मैले गरेका सबै कुरा दुष्ट थिए, जसले मण्डलीका काममा अवरोध पुऱ्याए, र ब्रदर-सिस्टरलाई हानि गरे। भाग्यवश, ती दुई गल्तीलाई पत्ता लगाएर उल्टाइयो। अन्यथा, परिणाम विनाशकारी हुनेथ्यो! मैले मेरो बर्खास्तको हैसियत हुनु वा अगुवा बन्नुसँग कुनै सम्बन्ध रहनेछ भन्ने बुझेँ। म बर्खास्त हुनुको कारण मेरो स्वभाव एकदमै अहङ्कारी हुनु थियो, समस्या आउँदा सत्यता खोजिनँ, सिद्धान्तअनुसार कामकुरा गरिनँ। बरु, मनोमानी ढङ्गले काम गरेँ, लापरबाह भई दुष्कर्म गरेँ, मण्डलीका काममा बाधा पुऱ्याएँ। मेरो काटछाँट गरिँदा, मैले आत्मचिन्तन गरिनँ। मेरो बर्खास्त सिद्धान्तअनुरूप छ, र यसले परमेश्वरको धार्मिकता देखाउँछ। तर पूरै समय, मैले आफूलाई चिनिनँ। म सधैँ परमेश्वरप्रति प्रतिरक्षात्मक भएँ, उहाँलाई गलत बुझेँ, र आफू अगुवा भएकीले खुलासा गरिएकी हुँ भन्ने ठानेँ। म धेरै मूर्ख र नासमझ थिएँ! अहिले आएर मात्रै के बुझेँ भने, त्यो बेला, मलाई तुरुन्तै बर्खास्त गरी दुष्टता गर्नबाट नरोकेको भए, मेरो अहङ्कारी स्वभावलाई हेर्दा, मैले अझ ठुलो दुष्टता गर्नेथेँ होला! मेरो बर्खास्त परमेश्वरले मेरो रक्षा गर्ने तरिका थियो, र आत्मचिन्तन गरी आफूलाई चिन्ने राम्रो अवसर पनि थियो। मैले पहिले सहकार्य गरेकी सिस्टर वाङ रुईलाई पनि सम्झेँ। उनलाई पनि बर्खास्त गरिएको थियो, तर, आफ्नो असफलतापछि उनले आत्मचिन्तन गर्न, आफूलाई चिन्न, पाठ सिक्न र परमेश्वरसामु पश्चात्ताप गर्न सकिन्। पछि, उनी फेरि अगुवा भएपछि उनले सत्यता खोज्न र सिद्धान्तका आधारमा काम गर्न सकिन्, प्रस्ट रूपमा प्रगति गरिन्। यी कुराहरू मनन गरेपछि, मैले बुझेँ, व्यक्तिको हैसियतले गर्दा ऊ खुलासा भएर हटाइँदैन—तिनीहरू आफ्नै भ्रष्ट स्वभावको सिकार हुन्छन्। यदि भ्रष्ट स्वभाव हल गरिएन भने, व्यक्ति अगुवा नभए पनि र उसले अगुवाका हैसियतमा दुष्टता नगरे पनि, सत्यता नपछ्याउँदा पनि उसलाई हटाइनेछ। मैले यो कुरा बुझेपछि मेरो स्थिति अलि बदलियो, तर ममा अझै पनि केही चिन्ता थिए: “सत्यताबारे मेरो बुझाइ सतही थियो। मण्डलीमा अगुवाहरूले निर्णय लिनुपर्ने धेरै समस्या हुन्छन्, र यदि कामकुरा राम्ररी व्यवस्थापन गरिएन अनि मण्डलीमा बाधा र अवरोध आयो भने, अपराध हुन सक्छ। यदि व्यक्ति अगुवा होइन, त्यस्तो काममा संलग्न छैन भने त्यस कामले तिनीहरूलाई दुष्टता वा परमेश्वरको विरोध गराउनेछैन। त्यसैले म चुनावमा खडा नभएकै राम्रो हो।” त्यसपछि, अगुवाले मलाई परमेश्वरका वचनको अर्को खण्ड देखाइन्: “म कसैले पनि परमेश्वरले तिनीहरूलाई चिसोमा छोडेर जानुभएको, परमेश्वरले तिनीहरूलाई त्याग्नुभएको वा तिरस्कार गर्नुभएको जस्तो महसुस गरेको हेर्न चाहन्न। म के मात्र हेर्न चाहन्छु भने, सबै जना सत्यता पछ्याउने र परमेश्वरलाई चिन्न खोज्ने मार्गमा लागून्, नहिचकिचाई वा पछाडि नफर्की, कुनै पनि फिक्री वा भारविना नै दृढतापूर्वक अघि बढून्। तैँले जस्तोसुकै गल्तीहरू गरेको भए पनि, तैँले जुनसुकै गलत मोड लिएको भए पनि वा तैँले जसरीसुकै अपराध गरेको भए पनि, परमेश्वर सम्बन्धी ज्ञानको खोजीमा तिनलाई तैँले बोक्नुपर्ने भारी वा भारीमाथि सुपारी बन्न नदे। निरन्तर अघि बढिराख्। हर समयमा, मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्राय कहिल्यै परिवर्तन हुँदैन। परमेश्वरको सारको सबैभन्दा बहुमूल्य पक्ष यही हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनले म साह्रै प्रभावित भएँ। मानिसको क्षणिक असफलता वा अपराधका कारण परमेश्वरले तिनीहरूलाई मुक्ति दिन छाड्नुहुने छैन। बरु, उहाँ तिनीहरूलाई पश्चात्ताप गर्ने मौका दिनुहुन्छ। मानिसहरू आफूले कर्तव्य निर्वाहमा गर्ने गल्ती र अपराधका लागि डराउनु पर्दैन। मानिस बदलिन सक्छ भने, परमेश्वरले तिनीहरूलाई मार्गदर्शन गरिरहनुहुनेछ। मैले केही अपराध गरेकी भए पनि, मण्डलीले मलाई आत्मचिन्तन र पश्चात्ताप गर्ने मौका दियो। त्यसले मलाई ती अपराधका लागि दोष दिएन र हटाएन। तर मैले आत्मचिन्तन गरिनँ, परमेश्वरप्रति प्रतिरक्षात्मक भएँ र उहाँलाई गलत बुझेँ, र अगुवा वा सेवक हुन तयार थिइनँ। म निकै जिद्दी थिएँ! यो बुझेपछि मलाई पछुतो र ग्लानि महसुस भयो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर! म एकदमै विद्रोही छु। म अब तपाईंलाई गलत बुझ्न र तपाईंप्रति प्रतिरक्षात्मक हुन चाहन्नँ। म पश्चात्ताप गर्न इच्छुक छु। बिन्ती, मलाई मार्गदर्शन गर्नुहोस्, म गलत रहेको ठाउँमा सच्च्याउनुहोस्।”
त्यसपछि मैले सोचेँ, मैले किन परमेश्वरलाई गलत बुझेँ, पूरै समय उहाँप्रति प्रतिरक्षात्मक बनेँ। मूल कारण के थियो? त्यो बेला, मेरो अगुवाले परमेश्वरको वचनको एउटा खण्ड पढेर सुनाइन्, जसले मलाई धेरै फाइदा गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तँ छली छस् भने, तँ सबै मानिस र विषयहरूप्रति सतर्क बन्नेछस् र शङ्कालु बन्नेछस्, यसैले मप्रतिको तेरो विश्वास शङ्काको जगमाथि निर्माण हुनेछ। त्यस्तो विश्वासलाई म कहिल्यै स्विकार्न सक्दिनँ। साँचो विश्वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। र यदि तँ परमेश्वरलाई शङ्का गर्न जिम्मेवार छस् र जानी-जानी उहाँको बारेमा अनुमान गर्छस् भने निस्सन्देह तँ सबै मानिसहरूमध्ये सबैभन्दा छली होस्। तँ परमेश्वर मानिसजस्तो हुन सक्नुहुन्छ कि सक्नुहुन्न भनेर अनुमान लगाउँछस्: क्षमा गर्नै नसकिने पापी, क्षुद्र चरित्र भएको, निष्पक्षता र विवेकरहित, न्यायको भावना नभएको, हिंस्रक युक्तिमा लागेको, छलपूर्ण र धूर्त, दुष्ट र अन्धकारद्वारा प्रसन्न, र यस्तै अरू। के मानिसहरूमा परमेश्वरको अलिकति पनि ज्ञान नभएको कारण तिनीहरूमा यस्ता विचारहरू आएका होइनन् र? त्यस्तो विश्वास पापभन्दा कम होइन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्वरलाई कसरी चिन्ने)। परमेश्वरका वचनले मलाई के बुझायो भने मेरो प्रकृति साह्रै छली भएकाले ममा परमेश्वरप्रति केही प्रतिरक्षात्मक थिएँ र मैले उहाँलाई गलत बुझेँ। एकपटक बर्खास्त भएपछि, मैले आफूलाई असफलतातिर डोर्याउने आफ्नो पूर्वमार्गबारे आत्मचिन्तन गरिनँ, न त उही गल्ती दोहोर्याउनबाट जोगिन पाठ नै सिकेँ। बरु सोचेँ, अगुवा हुनु भनेको सजिलै खुलासा हुनु र हटाइनु हो, त्यसैले “अगुवा” पदवीले मलाई पीडित बनाएको थियो। मैले परमेश्वरलाई सांसारिक शासकजस्तै हो भन्ने कल्पनासमेत गरेँ, जसले सानो गल्तीमा मानिसलाई मृत्युदण्ड दिन्छ। त्यसैले, कसैले चुनावको कुरा गर्नेबित्तिकै म तर्सन्थेँ, र आफू अगुवा भइयो भने सानो लापरबाहीले पनि मेरो खुलासा हुन्छ र असल गन्तव्य पाइनेछैन भन्ने डर लाग्थ्यो। त्यसैले मैले होसियारीसाथ निगरानी गरेँ र आफ्नो बचाउ गरिरहेँ। मैले यस परिस्थितिबाट बच्न बहानामाथि बहाना बनाएँ, र चुनावमा खडा हुन मानिनँ। म साह्रै छली थिएँ! मण्डलीले अगुवा र कामदारहरूलाई अभ्यासको अवसर दिन तालिम दिन्छ, ताकि तिनीहरूले सत्यता बुझ्न सकुन् र सम्भव भएसम्म छिटो वास्तविकतामा प्रवेश गरुन्। तर मैले भने परमेश्वर मलाई खुलासा गरेर हटाउन चाहनुहुन्छ भन्ने सोचेँ। के यो परमेश्वरलाई गलत बुझ्न र निन्दा गर्नु थिएन र? मैले परमेश्वरमा विश्वास गरेँ, तर उहाँलाई सधैँ अधर्मी नजरले हेरेँ, शङ्का गरेँ र उहाँप्रति प्रतिरक्षात्मक बनेँ, र आफ्नो सैतानी स्वभाव देखाएँ। परमेश्वरप्रति यस प्रकारको विश्वास उहाँको प्रतिरोध गर्नुजस्तै होइन र?
पछि, मैले परमेश्वरका थप वचन पढेपछि, उहाँको अभिप्राय केही हदसम्म बुझेँ। परमेश्वरका वचनहरूले भन्छन्: “कहिलेकहीँ, परमेश्वरले तेरो खुलासा गर्न वा तँलाई अनुशासनमा राख्न निश्चित मामला प्रयोग गर्नुहुन्छ। के यसको अर्थ तँलाई हटाइएको छ भन्ने हुन्छ? के यसको अर्थ तेरो अन्त्य आएको छ भन्ने हुन्छ? हुँदैन। … वास्तवमा, धेरैजसो अवस्थामा, मानिसहरूको चिन्ता तिनीहरूका आफ्नै स्वार्थबाट पैदा भएका हुन्छन्। सामान्य शब्दमा भन्दा, यो आफूलाई कुनै परिणाम हात नलाग्ला कि भन्ने तिनीहरूको डर हो। तिनीहरूले सधैँ यस्तो सोचिरहन्छन्, ‘यदि परमेश्वरले मेरो खुलासा गर्नुभयो, र मलाई हटाउनुभयो, र इन्कार्नुभयो भने के गर्ने?’ यो तैँले परमेश्वरलाई गलत अर्थ्याएको हो; यी तेरा एकतर्फी अनुमानहरू मात्रै हुन्। तैँले परमेश्वरको अभिप्राय के हो त्यो पत्ता लगाउनुपर्छ। जब उहाँले मानिसहरूको खुलासा गर्नुहुन्छ, त्यो तिनीहरूलाई हटाउन गरिएको हुँदैन। तिनीहरूका कमीकमजोरी, गल्ती, अनि तिनीहरूको प्रकृति सार पर्दाफास गर्न, तिनीहरूले आफैलाई चिनेर, र साँचो पश्चात्ताप गर्न सक्ने तुल्याउन तिनीहरूको खुलासा गरिन्छ; यसकारण, मानिसहरूको खुलासा गर्नु भनेको तिनीहरूको जीवनलाई वृद्धि हुन सहयोग गर्नको लागि हो। साँचो समझविना, मानिसहरूले परमेश्वरलाई गलत अर्थ्याउने र नकारात्मक र कमजोर बन्ने सम्भावना हुन्छ। तिनीहरू निराशसमेत हुन सक्छन्। वास्तवमा, परमेश्वरद्वारा खुलासा गरिनुको अर्थ तँलाई हटाइनेछ भन्ने हुँदैन। यो त तँलाई तेरो आफ्नो भ्रष्टता चिन्न मदत गर्न, र तँलाई पश्चात्ताप गर्न लगाउनको लागि गरिन्छ। मानिसहरू विद्रोही हुने भएकाले, र तिनीहरूको भ्रष्टता प्रकट हुँदा तिनीहरूले सत्यतामा समाधान नखोज्ने भएकाले, प्रायजसो परमेश्वरले अनुशासन प्रयोग गर्नुपर्ने हुन्छ। त्यसकारण कहिलेकाहीँ, उहाँले मानिसहरूको खुलासा गर्नुहुन्छ, अनि तिनीहरूको कुरूपता र दयनीय अवस्था पर्दाफास गरिदिनुहुन्छ, तिनीहरूलाई आफैलाई चिन्ने तुल्याउनुहुन्छ, जसले तिनीहरूको जीवन वृद्धि हुन सहयोग पुर्याउँछ। मानिसहरूको खुलासा गर्नुका दुई फरक आशयहरू हुन्छन्: दुष्टहरूको हकमा, खुलासा गरिनुको अर्थ तिनीहरूलाई हटाइनु भन्ने हुन्छ। सत्यता स्विकार्न सक्ने मानिसहरूको हकमा, यो ताकिता र चेतावनी हुन्छ; र तिनीहरूलाई आफ्नो बारे मनन गर्न, आफ्नो साँचो स्थिति देख्न, र बाटो बिराउन र लापरवाही हुन रोक्न लगाइन्छ, किनभने यसरी अघि बढ्नु खतरनाक हुनेछ। मानिसहरूको यसरी खुलासा गर्नुको उद्देश्य तिनीहरूलाई सम्झाउनको लागि हो, नत्र आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरू झाराटारुवा र लापरवाह बन्छन्, कामकुरालाई गम्भीर रूपमा लिँदैनन्, एक-दुईवटा नतिजा प्राप्त गर्दा नै सन्तुष्ट हुन्छन्, र आफ्नो कर्तव्य निर्वाह मानकअनुरूप छ भन्ने सोच्छन्, जबकि वास्तवमा परमेश्वरले मागअनुसार मापन गर्दा, तिनीहरू धेरै चुकेका हुन्छन्, तर अझै पनि तिनीहरू आत्मसन्तुष्ट बन्छन्, र आफूले ठिकै काम गरिरहेको ठान्छन्। त्यस्तो परिस्थितिमा, परमेश्वरले मानिसहरूलाई अनुशासनमा राख्नुहुन्छ, चेतावनी दिनुहुन्छ, र सम्झाउनुहुन्छ। कहिलेकहीँ, परमेश्वरले तिनीहरूको कुरूपता खुलासा गर्नुहुन्छ—र यसले ताकिताको रूपमा काम गर्नुपर्छ। त्यस्तो बेला तैँले आफ्नो बारेमा मनन गर्नुपर्छ: यसरी तैँले आफ्नो कर्तव्य निर्वाह गर्नु मानकअनुरूप हुँदैन, तँभित्र विद्रोहीपन छ, अत्यन्तै धेरै नकारात्मक तत्त्वहरू छन्, तैँले गर्ने हरेक कुरा लापरवाह रूपमा गरिएको छ, र तैँले अझै पनि पश्चात्ताप गरिनस् भने, तँ दण्डित हुनुपर्छ। परमेश्वरले तँलाई कहिलेकाहीँ, ताडना दिनुहुँदा, वा उदाङ्गो पार्नुहुँदा, यसको अर्थ तँलाई हटाइनेछ भन्ने नै हुँदैन। यो विषयलाई सही तरिकाले हेरिनुपर्छ। तँलाई हटाइयो नै भने पनि, तैँले यसलाई स्विकार्नुपर्छ र यसमा समर्पित हुनुपर्छ, र तुरुन्तै मनन गरेर पश्चात्ताप गरिहाल्नुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर र परमेश्वरप्रति समर्पित भएर मात्रै स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्वरको वचन पढेर म निकै प्रभावित भएँ, र मलाई एकदमै लज्जित र दोषी महसुस भयो। परमेश्वर मानिसलाई खुलासा, काटछाँट र अनुशासित गर्नुहुन्छ, ताकि तिनीहरूले आफूलाई बुझ्न, पश्चात्ताप गर्न र परिवर्तित हुन सकून्। मलाई काटछाँट गरिँदा, मैले हताश र असफल अनुभव गर्दा, मैले मानवजातिलाई मुक्ति दिने परमेश्वरको असल अभिप्राय बुझेकी थिइनँ। म बस “जति ठुलो छ, त्यति नै जोडसँग लड्छ” र “माथि पुगेपछि एक्लो होइन्छ” जस्ता सैतानका झूट र दुष्ट शब्दहरूमा टाँसिरहेकी थिएँ, म कल्पना गर्थेँ, मण्डलीमा अगुवा हुनु भनेको बाहिरी संसारको अधिकारी हुनुजस्तै हो, र जति ठुलो पद, त्यति ठुलो जोखिम, जति अधिक अगुवा होइन्छ, त्यति नै छिटो खुलासा भएर हटाइन्छ। विगत केही वर्षमा, मैले सधैँ परमेश्वरलाई गलत बुझेँ, उहाँप्रति प्रतिरोधी भएँ, र मेरो हृदय परमेश्वरका लागि सधैँ बन्द थियो। मैले अगुवाका चुनावमा खडा हुन बारम्बार मानिनँ। मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेकी भए पनि, मेरा मनमा शङ्का थियो, त्यसैले आफ्नो सब थोक दिन सकिनँ, र सधैँ सत्यता पछ्याउने कुरामा सधैँ उदासीन मनोवृत्ति हुन्थ्यो। म शैतानका जालमा परकी थिएँ, र त्यसको हातमा कष्ट भोगेँ, र त्यसले मेरो जीवनलाई कति हानि गरिरहेको छ भन्ने समेत मलाई थाहा थिएन। अब म जोखिममा थिएँ, र परमेश्वरलाई गलत बुझ्न र हानि पुर्याउन सक्दिनथेँ। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म तपाईँसामु पश्चात्ताप गर्न, र चुनावलाई सही रूपमा लिन चाहन्छु। म चुनिए पनि नचुनिएपछि, म तपाईँको बन्दोबस्तमा समर्पित हुनेछु।”
निर्वाचनको समय आउँदा, म अझै पनि असमञ्जसमा थिएँ: “यसपटक तिनीहरूले मलाई चुने भने मैले त्यो पद स्वीकार गर्नुपर्छ। तर, जागिर गर्ने मेरो सामर्थ्य र मेरो क्षमता औसत छ, त्यसैले मैले राम्रो गरिनँ भने नि? त्यो अरू कसैलाई दिनु नै राम्रो हो। त्यसरी, म फेरि खुलासा हुने छैनँ।” यस दुबिधामा, मैले परमेश्वरको वचन सम्झेँ: “राज्यमा परमेश्वरका जनहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा अनि सृष्टिकर्तासामु सृजित प्राणीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरू शान्त रूपमा, परमेश्वरको डर मान्ने हृदयका साथ अघि बढ्नुपर्छ। तिनीहरूले अल्याङटल्याङ गर्ने, पछि हट्ने वा अति सावधान हुने गर्नुहुन्न। यदि तँलाई यो स्थिति गलत हो भन्ने थाहा छ र यदि तँ यसलाई समाधान गर्नहेतु सत्यता खोज्नुको सट्टा निरन्तर यसबारे चिन्ता गरिरहन्छस् भने, तँलाई त्यसले बाधा पुर्याइरहेको र बाँधिरहेको छ, र तैँले आफ्नो कर्तव्य निभाउन सक्नेछैनस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनले सम्झौटोको काम गर्यो। म सधैँ चुनावबारे चिन्तित भइरहेकी थिएँ, र महत्त्वपूर्ण क्षणमा म फेरि पछि हट्न र उम्कन चाहेँ। सृजित प्राणीका लागि, आफ्ना कर्तव्य निर्वाह गर्नु सही र उचित कुरा हो—यो एउटा सम्मान हो। तर वास्तवमा, म जिम्मेवारीबाट भागेँ, कायर, प्रतिरक्षात्मक र शङ्कालु भएँ। यो एकदमै मूर्ख र दयनीय कुरा थियो! म परमेश्वरतर्फ फर्कनुपर्थ्यो, सरल र इमानदार व्यक्ति बन्नुपर्थ्यो, मैले आफ्नो भविष्य र अन्तिम गन्तव्यबारे चिन्ता गर्न छोड्नुपर्थ्यो र उहाँलाई आफ्नो हृदय दिनुपर्थ्यो। म चुनिए पनि नचुनिए पनि, भाग्न र लुक्न मिल्दैनथ्यो। म निर्वाचित भएकी भए, त्यो स्वीकार गरी राम्ररी कर्तव्य निर्वाह गर्नुपर्थ्यो। मैले यस्तो मानसिकता बनाएपछि, मेरो मनबाट ठुलो भारी हटेजस्तो भयो र म भारमुक्त भएँ।
यसपटक चुनावको परिणाम आउँदा, म र अर्की सिस्टर चुनियौँ। म अब परमेश्वरप्रति गलतफहमीमा र प्रतिरक्षात्मक रहिनँ, आफ्नो कर्तव्य राम्ररी निर्वाह नगरेमा हटाइने डर पनि रहेन। बरु, म यस अवसरको कदर गर्न, आफ्नो कर्तव्य सक्दो राम्ररी निर्वाह गर्न र परमेश्वरप्रतिको ऋण तिर्न चाहन्थेँ। पछि, मैले परमेश्वरको वचन पढेँ: “के तिमीहरूलाई ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न डर लाग्छ? (लाग्छ।) के डर आफैमा उपयोगी हुन्छ? हुँदैन—डरले मात्रै समस्या समाधान गर्न सक्दैन। ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्न डराउनु सामान्य कुरा हो। यसले ऊ सत्यतालाई प्रेम गर्ने, सत्यताका निम्ति लागिपर्ने र सत्यता पछ्याउन इच्छुक व्यक्ति हो भन्ने देखाउँछ। यदि तँ हृदयमा डर मान्छस् भने, तैँले सत्यताको खोजी गर्नुपर्छ र अभ्यासको मार्ग भेट्टाउनुपर्छ। तैँले अरूसँग सद्भावपूर्ण सहकार्य गर्न सिकेर सुरुवात गर्नैपर्छ। यदि समस्या छ भने, सङ्गति र छलफलद्वारा समाधान गर्, ताकि हरेकले सिद्धान्तहरूका साथै समाधानसम्बन्धी निश्चित तर्क र कार्यक्रमहरू जान्न सकून्। के यसले तँलाई स्वेच्छाचारी र एकतर्फी रूपमा काम गर्नबाट रोक्दैन र? यसको साथै, यदि तँसँग परमेश्वरको डर मान्ने हृदय छ भने, तैँले स्वाभाविक रूपमै परमेश्वरको छानबिन स्वीकार गर्न सक्छस्, तर तैँले परमेश्वरका चुनिएका मानिसहरूको रेखदेखलाई पनि स्विकार्न सिक्नुपर्छ, जसको लागि तँमा सहनशीलता र स्वीकार क्षमता हुनुपर्छ। … रेखदेख स्वीकार गर्नु अवश्य नै अत्यावश्यक कुरा हो, तर मुख्य कुरा भनेको परमेश्वरलाई प्रार्थना गर्नु र उहाँमा भरोसा गर्नु, अनि निरन्तर आत्मजाँच गर्नु हो। विशेष गरी जब तैँले गलत मार्ग लिएको हुन्छस् वा कुनै गलत काम गरेको हुन्छस्, वा जब तैँले स्वेच्छाचारी र एकतर्फी रूपमा काम गर्न लागेको हुन्छस्, अनि तेरो नजिक रहेको कसैले तँलाई यो कुरा औँल्याउँछ र चेतावनी दिन्छ, तब तैँले त्यो कुरा स्वीकार गरेर तुरुन्तै आत्मचिन्तन गर्नुपर्छ, र आफ्नो गल्ती स्वीकार गरेर सुधार गर्नुपर्छ। यसले तँलाई ख्रीष्टविरोधीहरूका मार्गमा कदम चाल्नबाट रोक्न सक्छ। यदि कसैले तँलाई यसरी सहयोग गरिरहेको र चेतावनी दिइरहेको छ भने, के तैँले थाहै नपाई सुरक्षा पाइरहेको हुँदैनस् र? हुन्छस्—त्यो तेरो सुरक्षा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्वरका वचनले गलत मार्ग लिनबाट जोगिन सहयोग गर्ने अभ्यासको सिद्धान्त देखाउँछ: जे समस्या आए पनि सत्यता खोज, ब्रदर-सिस्टरहरूसँग मिलेर कामकुराबारे छलफल गर, सौहार्दपूर्ण सहकार्य गर, अनि सत्यता सिद्धान्तअनुसार आफ्नो कर्तव्य निर्वाह गर; आफ्नो अहङ्कारी स्वभावका आधारमा मनमानी तरिकाले काम नगर र एकपक्षीय निर्णय नगर, र कर्तव्य निर्वाह गर्दा ब्रदर-सिस्टरहरूको सुपरिवेक्षण स्विकार। यदि तिमी ख्रीष्टविरोधका मार्गमा हिँड्ने र खुलासा हुने डरकै कारण आफ्नो कर्तव्य गर्दैनौ भने, त्यसले गर्दा समस्या हल गर्न नसकिने मात्र होइन, तर सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मौका पनि गुम्नेछ। के यो खाना अड्किन्छ भनेर खानै छोड्नुजस्तो होइन र? त्यसपछि मैले आफ्नो पहिलेका असफलताबाट पाठ सिकेँ, र कर्तव्य निर्वाह गर्दा मेरो मनोवृत्ति निकै सही हुँदै गयो। समस्यामा परेमा, होसियारीसाथ सबैसँग छलफल गर्न, मिलेर सहकार्य गर्न, र एकसाथ सत्यता सिद्धान्त खोज्न सक्थेँ। केही समयपछि, मैले परमेश्वरको मार्गदर्शन देखेँ, र आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गरेँ।
यस अनुभवले मलाई आत्मचिन्तन गर्न र आफ्नो भ्रष्ट स्वभाव चिन्न बाध्य पाऱ्यो, जसले मलाई परमेश्वरको अभिप्राय बुझ्न, परमेश्वरप्रतिको गलतफहमी र प्रतिरक्षात्मक भावना हटाउन, अनि आफ्नो कर्तव्य सहजतापूर्वक निर्वाह गर्न सहयोग गर्यो। परमेश्वरलाई धन्यवाद होस्!