४९. आफ्नो कर्तव्यप्रति उचित मनोवृत्ति
पहिले म मण्डलीमा नयाँ विश्वासीहरूलाई मलजल गर्थेँ, तर मेरो क्षमता अलि कमजोर भएकाले, मैले धेरै सत्यताहरू स्पष्ट रूपमा सङ्गति गर्न सकिनँ, र नयाँ विश्वासीहरूका समस्याहरू समाधान गर्न सकिनँ। यसबाहेक, म सधैँ आफ्नो छवि र हैसियतको सुरक्षा गरिरहेकी हुन्थेँ। मलाई कुराहरू स्पष्ट नहुँदा, अरूसँग मद्दत माग्न लाज लाग्थ्यो। फलस्वरूप, मैले नयाँ विश्वासीहरूलाई मलजल गर्ने काम राम्ररी गर्न सकिनँ र त्यसैकारण मलाई बर्खास्त गरियो। त्यसपछि, अगुवाले मलाई सामान्य मामिलाको काम गर्ने प्रबन्ध मिलाइन्। कर्तव्यमा भएको यो समायोजन सामना गर्दा म एकदमै दुःखी भएँ। मैले त्यो विशेष गरी अझ धेरै मानिसहरूले परमेश्वरका आखिरी दिनहरूको काम स्विकारिरहेका, र तिनीहरूलाई तुरुन्तै मलजल गर्नुपर्ने देख्दा स्वीकार गर्नै सकिनँ। ठिक त्यही बेला मेरो कर्तव्य परिवर्तन हुनुले कतै म खुलासा भएँ कि भनेर सोच्न लगायो। अरूले थाहा पाए भने मलाई के सोच्नेछन्, तिनीहरूले ममा क्षमताको कमी छ र म तुच्छ ठानिने थकाइलाग्दो र झिनामसिना काम मात्र गर्न सक्छु भनी सोच्नेछन् भनेर म चिन्तित भएँ। सुरुमा त मैले अरूसँगै नयाँ विश्वासीहरूलाई मलजल गरिरहेकी थिएँ, तर अहिले म सामान्य मामिलाहरू, झिनामसिना कामहरू सम्हाल्दै थिएँ, त्यस्तो कर्तव्यको के अर्थ थियो र? मैले जति राम्रो गरे पनि, म श्रमिक मात्र हुनेथिएँ र अन्त्यमा हटाइनेथिएँ। यसबारे जति धेरै सोचेँ, म त्यति नै दुःखी भएँ। मैले आफ्ना कामहरू राम्ररी पूरा गरिरहेकी थिइनँ, बरु तिनमा मन नलगाई केवल झारा टारेर सन्तुष्ट थिएँ। कहिलेकाहीँ साँझमा धेरै कामहरू गर्नुपर्ने हुन्थ्यो, तर म चाँडै नै झुल्न थाल्थेँ। एकपटक, मलजल कामको रेखदेख गर्ने सिस्टरले मलाई सन्देश पठाएर, पहिलेका केही कार्यसम्बन्धी कागजातहरू मिलाउन मदत मागिन्। त्यो पढ्दा मलाई साँच्चै प्रतिरोध महसुस भयो। “मैले अब मलजलको काम गरिरहेकी थिइनँ, उनले किन मलाई त्यो काम गर्न अनुरोध गर्नुपऱ्यो र?” यद्दपि मैले इन्कार गर्न सकिनँ, त्यसैले मन नलागी-नलागी हुन्छ भनेँ। भोलिपल्ट, मलजल गर्ने अर्की सिस्टरले मलाई कुनै काममा मदत मागिन्। म एकदमै अनिच्छुक थिएँ, र सोचेँ “सामान्य मामिलाहरू त साँच्चै झिनामसिना काम हुन्, र जोकोहीले मलाई के गर्ने भनेर बताउन सक्छ। यो वास्तवमा मेरो काम होइन, त्यसोभए उनले मलाई किन मदत गर्न लगाउनुपऱ्यो र?” मैले इन्कार गरेँ भने उनले मैले मण्डलीको कामलाई साथ दिइरहेकी छैनँ भनी सोच्नेछिन् भन्ने मलाई डर लाग्यो। विवश भएर, मैले उनलाई म त्यो गर्छु भनेँ।
केही दिनसम्म, मैले पटक्कै आत्मचिन्तन गरिनँ। मैले परमेश्वरबाटको कर्तव्य परिवर्तनलाई स्वीकार गर्न सकिनँ र म अगुवाप्रति प्रतिरोधी भएँ, उनले मेरा लागि परिस्थिति गाह्रो बनाइरहेकी छिन् भन्ने मलाई लाग्यो। मैले पहिले सँगै काम गरेकी सिस्टरलाई अलि जानाजानी भनेँ, “मैले मलजलको काम गर्दा एकछिन फुर्सद पाइनँ र आफूले गर्नुपर्ने सबै कुरा गरेँ। समस्याहरू आउँदा, अगुवाले मलाई कहिल्यै मदत गरिनन्, बरु उनले मलाई तुरुन्तै बर्खास्त गरिन्। खैर, जेसुकै होस्! म बर्खास्त भएकाले, यसमा मेरा लागि पक्कै कुनै पाठ हुनैपर्छ।” त्यो सुनेपछि, ती सिस्टरलाई पनि अगुवा मप्रति निष्पक्ष छैनन् जस्तो लाग्यो। त्यसबेला, मैले साँच्चै अन्यायमा परेको महसुस गरेँ। “मलाई किन सामान्य मामिलाहरू सम्हाल्न खटाइयो? के म झिनामसिना कामहरू गर्न मात्र सक्षम थिएँ? के म संवर्धन गर्न लायक थिइनँ? मलाई अब आफू बेकम्मा हुनेछु, र मैले अन्त्यसम्म आफ्नो विश्वास कायम राखे पनि म हटाइनेछु जस्तो लाग्यो।” यी विचारहरूले मलाई झन्-झन् दुःखी बनाए। मैले आफ्नो स्थिति ठिक छैन भन्ने बुझेँ, त्यसैले म तुरुन्तै प्रार्थनामा परमेश्वरसामु आएँ र भनेँ, “हे परमेश्वर, मलाई के भयो? यो पनि एउटा कर्तव्य हो, त्यसोभए म किन सामान्य मामिलाहरू सम्हाल्न यस्तो असन्तुष्ट छु? हे परमेश्वर, कृपया मलाई आफूलाई बुझ्न र भ्रष्टतामा जिउन छोड्न अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले कर्तव्य परिवर्तनप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्तिबारे परमेश्वरका वचनहरू सम्झेँ। परमेश्वरका वचनहरूले भन्छन्: “तँलाई कुन कर्तव्य उचित हुन्छ भन्ने कुरा तेरा आफ्नै सबलताहरूमा आधारित हुनुपर्छ। यदि कहिलेकाहीँ मण्डलीले तेरा लागि मिलाएको कर्तव्य तैँले राम्रोसित गर्न सक्ने काम होइन वा तँलाई गर्न मनपर्ने काम होइन भने, तैँले कुराकानीमार्फत यो कुरा उठाउन र समाधान गर्न सक्छस्। तर यदि तँ त्यो कर्तव्य पूरा गर्न सक्छस्, र यो तैँले पूरा गर्नुपर्ने कर्तव्य हो, अनि कष्ट भोग्नुपर्छ भन्ने डरले मात्रै तँ यो कर्तव्य निर्वाह गर्न चाहँदैनस् भने, तँमा समस्या छ। यदि तँ आज्ञापालन गर्न र आफ्नो देहविरुद्ध विद्रोह गर्न तयार छस् भने, तँलाई तुलनात्मक रूपमा समझदार भनेर भन्न सकिन्छ। तर यदि तँ सधैँ यो वा त्यो कर्तव्य बढी प्रतिष्ठित छ भनेर हिसाबकिताब गर्छस्, र कुनै निश्चित कर्तव्य निर्वाह गर्दा तँलाई अरूले हेप्छन् भन्ने ठान्छस् भने, यसले तँमा भ्रष्ट स्वभाव छ भन्ने प्रमाणित गर्छ। कर्तव्यसम्बन्धी बुझाइमा तँ किन यति पूर्वाग्रही हुन्छस्? के आफ्नो विचारअनुसार कर्तव्य छनौट गरियो भने त्यो राम्ररी पूरा गर्न सकिन्छ त? यस्तै हुन्छ भन्ने छैन। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्नु हो, र यदि तैँले आफ्नो भ्रष्ट स्वभाव समाधान गरिनस् भने, आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्दैनस्, चाहे त्यो कर्तव्य तँलाई मनपर्ने नै किन नहोस्। कतिपय मानिसले सिद्धान्तहरू पालना नगरी आफ्नो कर्तव्य निर्वाह गर्छन्, र तिनीहरूको कर्तव्य निर्वाह सधैँ तिनीहरूकै रुचिमा आधारित हुन्छ, त्यसकारण तिनीहरूले कहिल्यै पनि कठिनाइहरू समाधान गर्न सक्दैनन्, तिनीहरू आफूले निभाउने कर्तव्यमा सधैँ अल्याङटल्याङ गर्छन्, र अन्त्यमा तिनीहरू हटाइन्छन्। के यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? … दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूसँग आफ्ना कर्तव्यमा कहिल्यै सही मनोवृत्ति हुँदैन। तिनीहरूका कर्तव्य अह्रावटहरू समायोजित गरिँदा तिनीहरू के सोच्छन्? ‘के तपाईंलाई म सेवाकर्ता मात्र हुँ भन्ने लाग्छ? जब तपाईं मलाई प्रयोग गर्नुहुन्छ, तब मलाई तपाईंका लागि सेवा गर्न लगाउनुहुन्छ, अनि जब मसँग तपाईंको काम सकिन्छ, तब तपाईं मलाई खेदाउनुहुन्छ। तर, म त्यस्तो सेवा गर्नेछैनँ! म अगुवा वा कामदार बन्न चाहन्छु, किनभने यहाँ आदर पाउने एउटै मात्र काम त्यही हो। यदि तपाईं मलाई अगुवा वा कामदार बन्न दिनुहुन्न र अझै पनि मैले परिश्रम गरेको चाहनुहुन्छ भने, त्यो कुरा बिर्सिदिनुभए हुन्छ!’ यो कस्तो प्रकारको मनोवृत्ति हो? के तिनीहरू समर्पित छन्? आफ्नो कर्तव्य अह्रावट समायोजित हुनुलाई तिनीहरूले कसरी लिन्छन्? उग्रता, तिनीहरूको आफ्नै विचार, र तिनीहरूको भ्रष्ट स्वभावको आधारले हेर्छन्, होइन त? अनि, यसलाई यसरी लिनुका परिणामहरू के-के हुन्? सर्वप्रथम, के तिनीहरू नयाँ कर्तव्यमा बफादार र सच्चा हुन सक्छन्? अहँ, सक्दैनन्। के तिनीहरूमा सकारात्मक मनोवृत्ति हुनेछ? तिनीहरू कस्ता स्थितिमा हुनेछन्? (दिक्दार स्थितिमा।) दिक्दारीको सार के हो? यो वैरभाव हो। अनि वैरी र दिक्दार मनस्थितिको अन्तिम परिणाम के हुन्छ? के त्यस्तो महसुस गर्ने व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ? (सक्दैन।) यदि कुनै व्यक्ति सधैँ नकारात्मक र वैरी हुन्छ भने, के ऊ कर्तव्य निर्वाह गर्न योग्य हुन्छ? उसले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, त्यो राम्ररी पूरा गर्न सक्दैन। यो एक दुष्चक्र हो, र यसको परिणाम राम्रो हुँदैन। किन त्यसो हुन्छ? त्यस्ता मानिसहरू असल मार्गमा हुँदैनन्; तिनीहरू सत्यताको खोजी गर्दैनन्, तिनीहरू समर्पणकारी हुँदैनन्, र परमेश्वरको घरले तिनीहरूप्रति राख्ने मनोवृत्ति र व्यवहार गर्ने शैलीलाई तिनीहरूले राम्रोसँग बुझ्न सक्दैनन्। यो समस्या हो, होइन र? यो कर्तव्य अह्रावटमा गरिएको पूर्ण रूपमा उचित समायोजन हो, तर ख्रीष्टविरोधीहरू के भन्छन् भने यो तिनीहरूलाई सताउनका लागि गरिएको हो, तिनीहरूलाई मानवजस्तो व्यवहार गरिएको छैन, परमेश्वरका घरमा प्रेमको कमी छ, तिनीहरूलाई मेसिनजस्तो व्यवहार गरिएको छ, र तिनीहरूलाई चाहेको बेला बोलाउने, नचाहेको बेला खेदाउने गरिएको छ। के त्यो बङ्ग्याइएको तर्क होइन र? के यस्तो कुरा भन्ने व्यक्तिमा विवेक वा समझ हुन्छ? तिनीहरूमा कुनै मानवता हुँदैन! तिनीहरू पूर्ण रूपमा उचित विषयलाई विकृत पार्छन्; तिनीहरू पूर्ण रूपले उचित अभ्यासलाई बङ्ग्याएर नकारात्मक बनाउँछन्—के यो ख्रीष्टविरोधीको दुष्टता होइन र? के यस्तो दुष्ट व्यक्तिले सत्यता बुझ्न सक्छ? अवश्य सक्दैन। यो ख्रीष्टविरोधीको समस्या हो; तिनीहरूले आफूलाई जेसुकै आइपरे पनि त्यसबारे बाङ्गो पाराले सोच्नेछन्। तिनीहरू किन बाङ्गो पारामा सोच्छन्? किनभने तिनीहरूको प्रकृति सार अत्यन्तै दुष्ट हुन्छ। ख्रीष्टविरोधीको प्रकृति सार मूलतः दुष्ट हुन्छ, त्यसपछि क्रूर हुन्छ, र तिनीहरूका मुख्य चरित्र यिनै हुन्। ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिले तिनीहरूलाई कुनै पनि कुरा सही रूपमा बुझ्न दिँदैन, बरु त्यसको साटो, तिनीहरू सबै कुरा विकृत पार्छन्, तिनीहरू चरम हदसम्म पुग्छन्, नाटीकुटी गर्छन्, र तिनीहरूले परिस्थितिलाई उचित रूपमा सम्हाल्न वा सत्यता खोजी गर्न सक्दैनन्। त्यसपछि, तिनीहरू सक्रिय रूपमा प्रत्याक्रमण गर्छन् र बदला लिन खोज्छन्, मण्डलीका काममा बाधा दिन अरूलाई उक्साउँदै र आफ्ना पक्षमा ल्याउँदै धारणा फैलाउँछन् र नकारात्मकता व्यक्त गर्छन्। तिनीहरू गुप्त रूपमा केही गुनासा फैलाउँछन्, परमेश्वरको घरले मानिसहरूलाई व्यवहार गर्ने तरिका, यसका कतिपय प्रशासनिक नियम, केही निश्चित अगुवाहरूको काम गर्ने तरिकाहरूबारे टीकाटिप्पणी गर्छन्, र ती अगुवाहरूको निन्दा गर्छन्। यो कस्तो प्रकारको स्वभाव हो? यो क्रूर स्वभाव हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष् प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। परमेश्वरका वचनबाट मैले के बुझेँ भने कुनै कुरा सामना गर्दा, ख्रीष्ट विरोधीहरूले परमेश्वरका अभिप्रायलाई उचित रूपमा बुझ्न सक्दैनन्, बरु सधैँ कामकुरालाई गलत रूपमा लिन्छन्। तिनीहरू कर्तव्यमा भएको सामान्य परिवर्तनलाई आफूलाई पद घटुवा गरिएको ठान्छन्, आफ्ना लागि परिस्थिति गाह्रो बनाइँदै छ भन्ने सोच्छन्। तिनीहरू नकारात्मक र प्रतिरोधी बन्छन्, र मण्डलीको कामलाई बेवास्ता गर्दै कुनै पनि बेला आफ्नो कर्तव्य त्याग्न सक्छन्। ख्रीष्ट विरोधीहरूमा यस्तो दुष्ट प्रकृति हुन्छ! मैले आफूले पनि ठ्याक्कै त्यस्तै व्यवहार गरिरहेकी छु भन्ने देखेँ। मैले आफू बर्खास्त भएपछि कसरी असफल भएकी छु भनेर चिन्तन गर्नुपर्थ्यो, र यस नयाँ कर्तव्यको अवसरलाई अनमोल ठान्नुपर्थ्यो। तर मैले चिन्तनसमेत गरिनँ। मलाई अगुवा नै मप्रति कठोर भइरहेकी छिन्, सामान्य मामिलाहरू सम्हाल्नु अपमानजनक र लाजमर्दो हुन्छ, म झिनामसिना काम गर्दै छु र श्रमिक हुँदै छु, र संवर्धन गर्न लायक छैनँ जस्तो लाग्यो। म त्यसमा समर्पित हुनै सकिनँ, बरु मैले ठूलो अन्याय भोगेको महसुससेत गरेँ, र यस कर्तव्यप्रति एकदमै प्रतिरोधी भएँ। म सधैँ सुस्त भइरहेकी थिएँ, झारा टारिरहेकी थिएँ, यत्तिकै जीवन बिताउँदै थिएँ। म परमेश्वरविरुद्ध खडा भइरहेकी थिएँ र यस्तो प्रकारको नकारात्मकता प्रयोग गरेर परमेश्वरविरुद्ध गइरहेकी थिएँ। मलजल गर्ने सिस्टरहरू मदत माग्न मकहाँ आउँदा, मैले सहकार्य गर्न चाहिनँ, बरु गुनासाहरूले भरिएँ। मैले सोचेँ, तिनीहरूले मलाई आदेश दिँदै छन्, मलाई परिश्रम र झिनामसिना कामहरू गराउँदै छन्। मैले अन्यायमा परेको आफ्ना भावना पोख्न चाहेँ, त्यसैले मैले आफ्ना गुनासाहरू मेरी पूर्व सहकर्मीलाई सुनाएँ, अगुवाका बारेमा गुनासो गरेँ। त्यसले उनलाई असर गर्यो र अन्त्यमा उनी अगुवाप्रति पूर्वाग्रही भइन्। त्यो कर्तव्य परिवर्तनले मलाई पूर्ण रूपमा खुलासा गर्यो। मैले आफ्नो कर्तव्य पूर्णतया व्यक्तिगत रुचिका आधारमा निर्वाह गरेँ, आफूलाई राम्रो देखाउने कर्तव्य मात्र निर्वाह गर्न चाहेँ। हैसियत कम भएकाले, मलाई अरूले मेरो सम्मान गर्दैनन् र मसँग आशिषको आशा छैन भन्ने लाग्यो, त्यसैले म नकारात्मक भएँ र आलटाल गरेँ, परमेश्वरविरुद्ध गएँ, यहाँसम्म कि आफ्नो कर्तव्यमा रिस पोखेँ। मैले आफ्नै पूर्वाग्रह र धारणाहरू फैलाएँ, र अर्को व्यक्तिलाई मेरा लागि लड्न लगाएँ। त्यो ख्रीष्टविरोधीभन्दा कसरी फरक थियो र? ममा साँच्चै कुनै सामान्य मानवता वा समझ थिएन!
त्यसपछि मैले परमेश्वरका केही वचन पढेँ: “कतिपय मानिसहरू आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्दैनन्, तिनीहरूले सधैँ झारातिरुवा शैलीमा काम गर्छन्, र बाधा वा अवरोध खडा गर्छन्, र अन्त्यमा, तिनीहरूलाई प्रतिस्थापन गरिन्छ। तर तिनीहरूलाई मण्डलीबाट निष्कासन भने गरिँदैन, र त्यो तिनीहरूलाई पश्चात्ताप गर्ने मौका दिइएको हो। हरेक व्यक्तिमा भ्रष्ट स्वभाव हुन्छ, र हरेक व्यक्ति कुनै बेला अलमल र दोधारमा पर्छ, र कुनै बेला तिनीहरूको कद सानो हुन्छ। तँलाई मौका दिइनुको उद्देश्य तैँले यो सबै कुरा सुल्टाउन सक् भन्ने हो। अनि तैँले कसरी यसलाई सुल्टाउन सक्छस्? तैँले चिन्तन गर्नुपर्छ र आफ्ना विगतका गल्तीहरू चिन्नुपर्छ; बहानाहरू बनाउने नगर्, र धारणाहरू फैलाउँदै नहिँड्। यदि तैँले परमेश्वरलाई गलत बुझ्छस् र अरूले पनि तँसँगै परमेश्वरलाई गलत बुझून् भनेर तैँले केहीजस्तो नमानी यी गलत बुझाइहरू अरूकहाँ फैलाउँछस् भने, र यदि तँसँग धारणाहरू छन् र सबैमा तेरा जस्तै धारणा हुन् र तँसँगै परमेश्वरसँग तर्क गरून् भनी ती धारणा फैलाउँदै हिँड्छस् भने, के तैँले मानिसहरूलाई उक्साइरहेको हुँदैनस् र? के यो परमेश्वरलाई विरोध गर्नु होइन र? अनि के परमेश्वरको विरोध गर्दा कुनै असल कुरा आउन सक्छ? के तैँले अझै मुक्ति पाउन सक्छस्? तँ परमेश्वरले तँलाई मुक्ति दिनुहुनेछ भन्ने आशा गर्छस्, तर पनि तँ उहाँको काम स्विकार्न मान्दैनस्, र तैँले परमेश्वरको प्रतिरोध र विरोध गर्छस्, त्यसोभए के परमेश्वरले अझै तँलाई मुक्ति दिनुहुनेछ र? यी कुराको आशा गर्न छोड्। तैँले गल्ती गर्दा, परमेश्वरले तँलाई जवाफदेही तुल्याउनुभएन, न त यो एउटा गल्तीको कारण तँलाई हटाउनु नै भयो। परमेश्वरको घरले तँलाई मौका दियो र कर्तव्य निर्वाह गरिरहन, अनि पश्चात्ताप गर्ने मौका दियो, र यो परमेश्वरले तँलाई दिनुभएको अवसर हो; यदि तँसँग विवेक र समझ छ भने, तैँले यसलाई कदर गर्नुपर्छ। कतिपय मानिसहरू आफ्ना कर्तव्य निर्वाह गर्दा सधैँ झारातिरुवा शैलीमा काम गर्छन्, र तिनीहरूलाई प्रतिस्थापन गरिन्छ; कतिपयलाई स्थानान्तर गरिन्छ। के यसको अर्थ तिनीहरूलाई हटाइएको छ भन्ने हुन्छ? परमेश्वरले त्यसो भन्नुभएको होइन; तँसँग अझै पनि मौका हुन्छ। त्यसो भए, तैँले के गर्नुपर्छ? तैँले मनन गरेर आफूलाई चिन्नुपर्छ, र साँचो पश्चात्ताप हासिल गर्नुपर्छ; मार्ग यही हो। तर कतिपय मानिसहरूले त्यसो गर्दैनन्। तिनीहरूले प्रतिकार गर्छन्, र यसो भन्छन्, ‘मैले गलत कुरा भनेकोले र कसैलाई चिढ्याएकोले मलाई यो कर्तव्य निर्वाह गर्न दिइएन।’ तिनीहरूले आफूभित्र समस्या नियाल्दैनन्, मनन गर्दैनन्, सत्यता खोजी गर्दैनन्, परमेश्वरका बन्दोबस्त र योजनाबद्ध कार्यहरूप्रति समर्पित हुँदैनन्, र धारणाहरू फैलाएर परमेश्वरको विरोध गर्छन्। के तिनीहरू शैतान नै बनिसकेका हुँदैनन् र? जब तैँले शैतानले गर्ने काम गर्छस्, त्यसउप्रान्त तँ परमेश्वरको अनुयायी रहँदैनस्। तँ परमेश्वरको शत्रु बनिसकेको हुन्छस्—के परमेश्वरले आफ्नो शत्रुलाई मुक्ति दिनुहुन्छ? दिनुहुन्न। परमेश्वरले भ्रष्ट स्वभाव भएका र वास्तविक मानिसहरूलाई मुक्ति दिनुहुन्छ—दियाबलस, र उहाँका शत्रुहरूलाई होइन। जब तँ परमेश्वरको विरुद्धमा जान्छस्, र परमेश्वरको बारेमा गुनासो गर्छस्, अनि परमेश्वरको गलत अर्थ लगाउँछस् अनि उहाँको आलोचना गर्दै परमेश्वरको बारेमा धारणाहरू फैलाउँछस्, तब तँ पूर्ण रूपमा परमेश्वरको विरुद्धमा हुन्छस्; तैँले परमेश्वरको विरुद्धमा कोहोलो मच्चाइरहेको हुन्छस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ)। म परमेश्वरका वचनहरूद्वारा गहन रूपमा प्रभावित भएँ। मलाई बर्खास्त गरिएको भए पनि, मण्डलीले मलाई अझै कर्तव्य निर्वाह गर्ने मौका दियो। त्यसले म सत्यता पछ्याउन सक्दिनँ, मलाई हटाइनेछ भनेर भनेन। मलाई अर्को कर्तव्य लिन खटाइएको थियो, जसले मलाई साँच्चै आत्मचिन्तन गर्ने र आफूलाई बुझ्ने मौका दियो। तर परमेश्वरको अभिप्राय नबुझेर, मैले बर्खास्त गरिनुलाई हैसियत र इज्जत गुमाउनु हो भन्ने सोचेँ। म नकारात्मक र प्रतिरोधी भएँ। म अत्यन्तै विद्रोही र असमझदार थिएँ! जब म नयाँ विश्वासीहरूलाई मलजल गरिरहेकी हुन्थेँ, तब मेरो क्षमता राम्रो नभएकाले, सत्यताबारे स्पष्ट रूपमा सङ्गति गर्न सक्दिनथेँ, र नयाँ विश्वासीहरूका प्रश्नहरू समयमै समाधान हुँदैनथे। अरूले मलाई तुच्छ ठान्लान् भन्ने डरले, म सधैँ नाटक गर्थेँ र आफूले सामना गरेका कठिनाइहरूबारे कहिल्यै खुलस्त हुँदिनथेँ र मद्दत खोज्दिनथेँ। अगुवाले मलाई त्यस कर्तव्यका लागि सिद्धान्त र विधिहरूबारे सङ्गति गरिन्, तर म केवल तीबारे जानेर नै सन्तुष्ट भएँ, र पछि मैले ती कसरी अभ्यास र लागू गर्ने भनेर सोचिनँ। त्यसैले, मैले धेरैपटकको सङ्गतिपछि पनि धेरै सिद्धान्तहरू बुझिनँ र मेरो मलजलको कामले कहिल्यै राम्रो परिणाम दिएन। ममा कमजोर क्षमता मात्र थिएन, तर म अत्यन्तै अहङ्कारी पनि थिएँ र ममा सत्यता खोज्ने इच्छा थिएन। मैले साँच्चै आफ्ना सीप सुधारिरहेकी थिइनँ, र मेरो काममा कुनै प्रगति थिएन। त्यसैले मलाई अर्को कर्तव्यमा सार्नु आवश्यक थियो। तर मैले आफ्नो भ्रष्टता र दोषहरू स्वीकार गरिनँ। म आफ्नो स्थानान्तरणप्रति रुष्ट भएँ र त्यो स्विकार्न मानिनँ। मैले त परमेश्वर मलाई खुलासा गर्दै हुनुहुन्छ, मलाई नराम्रो देखाउँदै हुनुहुन्छ, उहाँले मलाई हटाउन लाग्नुभएको छ भनी गलत बुझेँ। त्यो मेरो पूर्णतया हास्यास्पद कुरा र असमझदारी थियो। मेरो कमजोर क्षमता र नयाँ विश्वासीहरूको मलजलमा उपलब्धिको कमीले गर्दा, म प्रायः नकारात्मक महसुस गर्थेँ। यदि मैले त्यो कर्तव्य गरिरहेकी भए, त्यसले मेरो आफ्नै जीवनलाई हानि मात्र पुऱ्याउनेथिएन, तर मण्डलीको काममा पनि रोकावट ल्याउनेथियो। मेरो क्षमता र सबलताका आधारमा, अगुवाले मलाई मैले गर्न सक्ने कर्तव्य दिइन्। त्यो सिद्धान्त पछ्याउनु, र आफ्नो जीवनप्रति जिम्मेवार हुनु थियो। तर मलाई आफ्ना लागि के राम्रो हुन्छ भन्ने थाहा थिएन। मैले आफूलाई चिन्न आत्मचिन्तन गरिनँ, बरु प्रतिआक्रमण गरेँ, अगुवालाई उनको पिठ्यूँपछाडि आलोचना गरेँ, नकारात्मकता फैलाएँ। बाहिरबाट हेर्दा, मैले केवल उनमा गल्ती खोजिरहेकी जस्तो देखिन्थ्यो, तर वास्तवमा मैले परमेश्वरको विरोध गरिरहेकी थिएँ, म उहाँविरुद्ध गइरहेकी थिएँ। यसरी खुलासा हुँदा, मैले देखेँ, ममा क्षमताको कमी मात्र भएको होइन, तर गम्भीर रूपमा भ्रष्ट स्वभाव पनि थियो। यदि म जसरी समर्पित हुनुपर्ने हो त्यसरी समर्पित नभएकी र मैले गम्भीरतापूर्वक आफ्नो कर्तव्य नगरेकी भए, म खुलासा हुनेथिएँ र हटाइनेथिएँ!
चिन्तन गर्दा, मैले आफूमा भएको भ्रामक दृष्टिकोण पनि पत्ता लगाएँ। मैले सोचेँ, कर्तव्यहरू विभिन्न दर्जाका हुन्छन्, निम्न र उच्च दर्जाका हुन्छन्, र केवल अगुवाइ गर्नु वा मलजलको काम मात्र वास्तविक कर्तव्य हो, जबकि सामान्य मामिलाको काम कर्तव्यमा गनिँदैन। मैले त्यो निम्न स्तरको काम हो, यस्ता कर्तव्यहरू निर्वाह गर्नु भनेको श्रम गर्नु मात्र हो, र मैले श्रम गरेपछि मलाई हटाइनेछ भन्ने सोचेँ। त्यसैले, मलाई सामान्य मामिलाहरू सम्हाल्न खटाइँदै छ भन्ने सुन्दा, हीनताबोध भयो, र मेसिनजस्तो व्यवहार गरिएको महसुस भयो। म यसप्रति साँच्चै प्रतिरोधी भएँ र ममा आफ्नो कर्तव्य निर्वाह गर्ने उत्साहसमेत थिएन। तर मण्डलीमा, सबै कर्तव्य मानवजातिलाई मुक्ति दिने परमेश्वरको व्यवस्थापन योजनाका लागि हुन्। चाहे अगुवा हुनु होस्, मलजलकर्ता होस्, वा सामान्य मामिलाको काम गर्नु होस्, त्यो सब कर्तव्य निर्वाह गर्नु हो, र सबैले राम्रोसँग सहकार्य गर्न आवश्यक छ। यो एउटा मेसिनजस्तै हो, हरेक पुर्जाको आफ्नै उद्देश्य हुन्छ, त्यसैले कर्तव्यमा ठूलो वा सानो, उच्च वा निम्न, महान् वा तुच्छ भन्ने हुँदैन, केवल फरक-फरक कार्यहरू हुन्छन्। जे कर्तव्य निर्वाह गरिहेका भए पनि, सबैले सिक्नुपर्ने पाठहरू, र उनीहरूले अभ्यास गर्नुपर्ने र प्रवेश गर्नुपर्ने सत्यताका सिद्धान्तहरू हुन्छन्। जबसम्म हामी सत्यता पछ्याउँछौँ, तबसम्म हामी सबैले परमेश्वरबाट मुक्ति पाउन सक्छौँ। तर म सधैँ कामकुराबारे गलत सोचिरहेकी हुन्थेँ। मैले सामान्य मामिलाहरू सम्हाल्नु भनेको केवल श्रम र झिनामसिना कामहरू गर्नु हो भन्ने सोचेँ। मैले त्यो विकृत दृष्टिकोणलाई आफ्नो कर्तव्य परिवर्तनमा लागू गरेँ र परमेश्वरको अभिप्रायलाई गलत बुझेँ। त्यो परमेश्वरका लागि साँच्चै घृणित र अप्रिय कुरा हो। त्यसले मलाई परमेश्वरका केही वचनको सम्झना दिलायो: “परमेश्वरको चाहना हरेक व्यक्ति सिद्ध बनोस्, अन्त्यमा उहाँद्वारा प्राप्त हुन सकोस्, उहाँद्वारा पूर्ण रूपमा धोइओस् र उहाँले प्रेम गर्नुहुने मानिसहरू बनोस् भन्ने छ। मैले तिमीहरू पिछडिएका वा कम क्षमताका छौ भनेर भने पनि नभने पनि—यी सब तथ्य हुन्। मैले त्यसो भनेको कुराले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा हराएको छु र तिमीहरूलाई बचाउन अझ कम अनिच्छुक छु भन्ने प्रमाणित गर्दैन। आज म तिमीहरूको लागि मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध बन्ने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एकै जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर योग्यताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँसित मेरा मागहरू तेरो असाक्षरताअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथि-सत्कार प्रदान गर्न सक्छस् भने, तँसँग मेरा मागहरू त्यस क्षमताअनुसार हुनेछन्; यदि तँ अतिथि-सत्कार गर्न सक्दिनँ, निश्चित कामहरू मात्र गर्न सक्छु भन्छस् भने, जस्तै सुसमाचार फैलाउने वा मण्डलीको रेखदेख गर्ने वा अन्य सामान्य कुराहरूमा सहभागी हुने, मैले तँलाई सिद्ध बनाउने काम तैँले गर्ने कामअनुसार हुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। परमेश्वरको वचन पढेर, म साँच्चै प्रभावित भएँ, तर सँगसँगै लज्जित पनि भएँ। मैले परमेश्वरको अभिप्राय नबुझी उहाँलाई गलत बुझेँ र दोष लगाएँ। मैले सोचेँ, मलाई कमजोर क्षमताको कारण सामान्य मामिलाको काममा खटाइएको छ, र मेरो श्रम सकिएपछि मलाई हटाइनेछ। वास्तवमा, परमेश्वरले कमजोर क्षमता भएका मानिसहरूलाई मुक्ति दिनुहुन्न भनेर कहिल्यै भन्नुभएको छैन, र उहाँ मानिसहरूलाई तिनीहरूको क्षमता वा तिनीहरू कस्तो कर्तव्य निर्वाह गर्छन् भन्ने आधारमा व्यवहार गर्नुहुन्न। उहाँ तिनीहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन् र सत्यता पछ्याउँछन् कि भनेर हेर्नुहुन्छ। तिनीहरूले मुक्ति पाउन सक्छन् कि सक्दैनन् भन्ने कुराको चाबी त्यही हो। मैले पहिले मण्डलीले निकालेकी एउटी दुष्ट व्यक्तिलाई सम्झेँ। उनी क्षमतावान् देखिन्थिन् र उनको कर्तव्यले प्रशंसा कमाउँथ्यो, तर उनी सधैँ हैसियत पछ्याउँथिन्, अरूलाई दमन गर्थिन् र फरक विचार राख्नेहरूलाई पाखा लगाउँथिन्। उनलाई बारम्बार काटछाँट गरिएको थियो, तर उनले पश्चात्ताप गरिनन्। अन्त्यमा, उनलाई मण्डलीबाट निकालियो। र हालका वर्षहरूमा खुलासा गरिएका र हटाइएका अधिकांश झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूमा बाहिरबाट हेर्दा क्षमता र प्रतिभा भएको देखिन्छ, तर तिनीहरूले सत्यता पछ्याएनन्। तिनीहरू सबैले नाम र हैसियतका लागि धेरै दुष्टता गरे, र तिनीहरू परमेश्वरविरुद्धको मार्गमा थिए। कसैको क्षमता जति नै ठूलो देखिए पनि, उसको हैसियत जति नै उच्च भए पनि, यदि ऊ सत्यता पछ्याउँदैन भने, परमेश्वरद्वारा खुलासा गरिनु र हटाइनु केवल समयको कुरा हो। मैले कर्तव्यहरू उल्लेखनीय नहुने औसत क्षमताका केही ब्रदर-सिस्टरहरूबारे पनि सोचेँ, तर तिनीहरूले सृजित प्राणीको स्थानमा खडा भएर आफ्नो हृदय त्यसमा लगाउन सक्छन्। जब तिनीहरूले भ्रष्टता प्रकट गर्छन्, तब तिनीहरू प्रार्थना गर्न र खोज्न, आत्मचिन्तन गर्न अनि परमेश्वरका वचनहरूमार्फत आफूलाई चिन्न परमेश्वरसामु आउँछन्। समयसँगै तिनीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन हुन्छन्। परमेश्वरको स्वभाव एकदमै धर्मी छ। परमेश्वरले कसैलाई पनि अन्याय गर्नुहुन्न। हाम्रो क्षमताको गुणस्तर जस्तोसुकै भए पनि, हामीले जुनसुकै कर्तव्य गरे पनि, परमेश्वर सबैलाई समान रूपमा पालनपोषण र मलजल गर्नुहुन्छ, अनि हाम्रा लागि परमेश्वरका वचनहरू अनुभव गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न परिस्थितिहरू मिलाउनुहुन्छ। मानिसलाई मुक्ति दिने परमेश्वरको काम एकदमै व्यावहारिक छ! परमेश्वरको अभिप्राय बुझेपछि, म आफ्नो हालको कर्तव्यप्रति त्यति प्रतिरोधी भइनँ, बरु मैले समर्पित हुन र त्यसलाई राम्रोसँग निर्वाह गर्न चाहेँ।
मैले पछि परमेश्वरका केही वचन पढेँ: “चाहे तिमीहरूको कर्तव्य ठूलो होस् वा सानो, भौतिक होस् वा मानसिक, बाह्य मामलाहरू सम्हाल्ने कुरा होस् वा भित्री काम, तिमीहरूले आज परमेश्वरको घरमा आफ्नो कर्तव्य निभाउन सक्छौ, र कसैले पनि आफ्नो कर्तव्य संयोगवश निभाइरहेको छैन। यो तेरो रोजाइ कसरी हुन सक्छ? यो सबैको अगुवाइ परमेश्वरले नै गर्नुहुन्छ। परमेश्वरले तँलाई आज्ञा दिनुभएको कारण मात्र तँ यसरी उत्प्रेरित भएको छस्, तँमा मिसन र जिम्मेवारीको यो समझ छ, र तँ यो कर्तव्य निभाउन सक्छस्। गैरविश्वासीहरूमध्ये कति धेरै जनामा सुन्दर रूप, ज्ञान वा प्रतिभा हुन्छ, तर के परमेश्वरले तिनीहरूलाई रुचाउनुहुन्छ त? अहँ, रुचाउनुहुन्न। परमेश्वरले तिनीहरूलाई चुन्नुभएन, र उहाँ तिमीहरूलाई मात्र रुचाउनुहुन्छ। उहाँले आफ्नो व्यवस्थापन योजनामा तिमीहरू सबैलाई हरेक प्रकारको भूमिका निर्वाह गर्न, हरेक प्रकारको कर्तव्य निर्वाह गर्न, र विभिन्न प्रकारका जिम्मेवारी वहन गर्न लगाउनुभएको छ। जब अन्ततः परमेश्वरको व्यवस्थापन योजना सक्किन्छ र हासिल हुन्छ, यो कत्रो महिमा र गौरवको कुरा हुनेछ! त्यसैले, मानिसहरूले आज आफ्नो कर्तव्य निभाउने क्रममा अलिकति कठिनाइ भोग्दा; केही कुराहरू त्याग गर्नुपर्दा, आफूलाई अलिकति समर्पित गर्दा, र निश्चित मूल्य चुकाउँदा; संसारमा आफ्नो हैसियत अनि प्रसिद्धि र प्राप्ति गुमाउँदा; र यी सबै कुराहरू बिलाउँदा, परमेश्वरले तिनीहरूबाट यी सबै कुराहरू लैजानुभए जस्तै देखिन्छ, तर तिनीहरूले अझ बढी बहुमूल्य र मूल्यवान् कुरा प्राप्त गरेका छन्। मानिसहरूले परमेश्वरबाट के प्राप्त गरेका छन्? तिनीहरूले आफ्नो कर्तव्य निभाएर सत्यता र जीवन प्राप्त गरेका छन्। तैँले आफ्नो कर्तव्य निर्वाह गरिसकेपछि मात्रै परमेश्वरको आज्ञा पूरा गरेको हुन्छस्, तँ आफ्नो पूरै जीवन आफ्नो मिसन र परमेश्वरले तँलाई दिनुभएको आज्ञाका निम्ति जिउँछस्, तँसँग सुन्दर गवाही हुन्छ, र तँ मूल्यवान् जीवन जिउँछस्—तब मात्र तँ वास्तविक व्यक्ति बन्छस्! अनि म किन तँलाई वास्तविक व्यक्ति भन्छु? किनभने परमेश्वरले तँलाई चुन्नुभएको छ र उहाँको व्यवस्थापनअन्तर्गत तँलाई सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निभाउने तुल्याउनुभएको छ। यो तेरो जीवनको सबैभन्दा ठूलो मूल्य र अर्थ हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “तैँले परमेश्वरसामु के भन्छस् वा के प्रतिज्ञा गर्छस्, परमेश्वर त्यो हेर्नुहुन्न। उहाँ त तैँले गर्ने कार्यमा सत्यता वास्तविकता छ कि छैन भनेर हेर्नुहुन्छ। साथै, परमेश्वर तेरा कार्यहरू कति उच्च, गहन, वा शक्तिशाली छन् भनेर वास्ता गर्नुहुन्न, र तैँले कुनै सानो कुरा नै गरे पनि, यदि परमेश्वरले तेरो हरेक चालमा इमानदारिता देख्नुभयो भने, उहाँले यसो भन्नुहुनेछ, ‘यो व्यक्तिले इमान्दारितासाथ ममा विश्वास गर्छ। उसले कहिल्यै घमण्ड गरेको छैन। उसले आफ्नो स्थानअनुसार आचरण गर्छ। उसले परमेश्वरको घरमा ठूलो योगदान नदिएको भए पनि र ऊ कमजोर क्षमताको भए पनि, आफूले गर्ने हरेक काममा ऊ दृढ र इमानदार छ।’ यो ‘इमानदारीता’ मा के कुरा समावेश हुन्छ? यसमा परमेश्वरप्रतिको डर र समर्पण, साथै साँचो विश्वास र प्रेम समावेश हुन्छ; यसमा परमेश्वरले हेर्न चाहनुहुने सबै कुरा समावेश हुन्छ। त्यस्ता मानिसहरू अरूको नजरमा उल्लेखनीय नदेखिन सक्छ, अनी तिनीहरू खाना पकाउने वा सरसफाइ गर्ने, अर्थात् साधारण कर्तव्य पूरा गर्ने व्यक्तिसमेत हुन सक्छन्। त्यस्ता मानिसहरू अरूको लागि उल्लेखनीय हुँदैनन्, तिनीहरूले ठूलो उपलब्धि केही पनि हासिल गरेका हुँदैनन्, र तिनीहरूमा कुनै पनि आदरणीय, प्रशंसनीय वा डाहा गर्नलायक कुरा हुँदैन—तिनीहरू केवल साधारण मानिसहरू हुन्छन्। तैपनि, परमेश्वरले तोक्नुभएका सबै कुरा तिनीहरूमा पाइन्छ, र तिनीहरू ती मापदण्डअनुसार नै जिउँछन्, र तिनीहरूले परमेश्वरलाई सर्वस्व दिएका हुन्छन्। ल मलाई भन त, तिमीहरूलाई परमेश्वरले योभन्दा बढी के चाहनुहुन्छ जस्तो लाग्छ? उहाँ तिनीहरूसँग सन्तुष्ट हुनुहुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले मलाई के देखाए भने मैले जुनै कर्तव्य पाए पनि, त्यो परमेश्वरको प्रभुत्व र बन्दोबस्तबाट हो। म समर्पित हुनुपर्छ र मैले यो सबलाई आफ्नो हृदयले लिनुपर्छ। मेरो क्षमता जस्तो भए पनि वा म जति गर्न सक्षम भए पनि, मैले आफूसँग भएको सबै कुरा लगाउनुपर्छ, त्यसमा आफ्नो सबै दिनुपर्छ। त्यो परमेश्वरको अभिप्राय हो, र मैले आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको वास्तवमा त्यही हो।
त्यसपछि, मैले सही मनोवृत्ति अपनाएँ र सामान्य मामिलाको काम लगनशील भई गरेँ, र केही समयपछि, मैले त्यो आफूले कल्पना गरेजस्तो पट्यारलाग्दो बिलकुलै थिएन। त्यस कर्तव्यमा बुझ्न र प्रवेश गर्नका लागि धेरै सिद्धान्त छन्, र यो निर्वाह गर्ने क्रममा साँचो, सत्यता खोज्ने हृदयको आवश्यकता पर्दछ। अभ्यासको एक अवधिमार्फत, मैले सामान्य मामिलाहरू सम्हालेर धेरै कुरा प्राप्त गरेँ। मैले केही सीप सिकेँ र केही सिद्धान्त बुझेँ, अनि परमेश्वरद्वारा मानवजातिको मुक्ति गरिनु कत्ति व्यावहारिक छ भनेर पनि अनुभव गरेँ। यो कर्तव्य परिवर्तनले कर्तव्यप्रतिको मेरो गलत दृष्टिकोणलाई बदल्यो र म परमेश्वरका बन्दोबस्तहरूमा समर्पित हुन र आफ्नो कर्तव्यमा सक्दो गर्न इच्छुक भएँ। परमेश्वरलाई धन्यवाद होस्!