२६. सुसमाचार प्रचार गर्नुको चाबी जिम्मेवारी नै हो
म आफ्नो कर्तव्यलाई त्यति गम्भीर रूपमा लिँदिनथिएँ र प्रायजसो सुस्त हुन्थेँ। म प्रायजसो अल्याङटल्याङ गर्थेँ। म सुसमाचार प्रचार गर्न लायक मानिसहरूलाई प्रवचनहरू सुन्न बोलाउँथेँ, तर तिनीहरूसँग कुराकानी गर्न वा आफूले सुनेको कुरा तिनीहरूलाई कस्तो लाग्यो भनेर सोध्न मन लाग्दैनथियो। धेरैभन्दा धेरै मानिसहरूलाई सुन्न बोलाएपछि मैले आफ्नो कर्तव्य राम्ररी पूरा गरेको हुन्छु भन्ने मलाई लाग्थ्यो। यसको साथै, मलाई यो काम सहज लाग्थ्यो। तिनीहरूसँग कुराकानी गर्न गाह्रो लाग्थ्यो; यसको लागि समय लाग्ने मात्र होइन, तिनीहरूको प्रश्नको उत्तर दिन धेरै प्रयास पनि लाग्थ्यो, त्यसकारण म तिनीहरूसँग अन्तरक्रिया गर्न चाहँदिनथिएँ। मलाई सुसमाचार सम्बन्धी कर्मचारीले तिनीहरूसँग कुराकानी गर्नेछन् र यो नै पर्याप्त हुन्छ, र मैले तिनीहरूको परिस्थिति जानिनँ भने पनि त्यसले फरक पार्दैन भन्ने लाग्थ्यो। एउटा भेलामा, अगुवाले भने, “जब हामी मानिसहरूलाई प्रवचन सुन्न बोलाउँछौँ, तब हामीले तिनीहरूको अवस्था के-कस्तो छ भनेर सेवापछि सोध्नुपर्छ, र तिनीहरू भेलाहरूमा आउँछन् कि आउँदैनन्, तिनीहरूले कुरा बुझे कि बुझेनन् भनी सोध्नुपर्छ, र तिनीहरूको दृष्टिकोण के छ सुन्नुपर्छ। हामीले तिनीहरूलाई प्रेम पूर्वक सहयोग गर्नको लागि सक्दो प्रयास गर्नुपर्छ, र यो हाम्रो जिम्मेवारी पनि हो।” तर मैले त्यो बेला यो कुरा बुझेकी थिइनँ। मलाई यो झमेला लाग्दो छ भन्ने लाग्थ्यो, त्यसकारण मैले त्यति धेरै बलिदान गरिनँ वा कठिनाइ भोगिनँ। मैले सबैभन्दा सजिलो बाटो रोजेँ, र मैले परिणामहरू हासिल गर्छु-गर्दिनँ भन्ने बारेमा विचार गरिनँ। एकपटक, अगुवाले के बताए भने कतिपय मानिसहरूले धेरै जना मानिसहरूलाई सुन्न बोलाए, तर तिनीहरूमध्ये थोरैले मात्र साँचो रूपमा खोजी वा अनुसन्धान गरे। मलाई यीमध्ये एक जना म पनि हुँ भन्ने थाहा थियो; म सतही काममा मात्रै ध्यान दिन्थेँ, र मैले कुनै पनि वास्तविक परिणामहरू प्राप्त गर्दिनथिएँ। त्यसपछि, अगुवा मेरो काम जाँच गर्न आए, र भने, “अहिले सुसमाचार प्रचार गर्न लायक यी मानिसहरूको अवस्था कस्तो छ?” मलाई लाज लाग्यो, र के भन्ने मलाई थाहा भएन। तिनीहरूमध्ये धेरै जनासँग म सम्पर्कमा थिइनँ, र प्रवचन सुन्न नआएका कतिपय मानिसहरूलाई सम्पर्क गरेकी थिइनँ। मैले त्यसरी तिनीहरूलाई त्यागेकी थिएँ।
अगुवासँग कुरा गरेपछि मैले मनन गर्न थालेँ। परमेश्वरले यसो भन्नुभएको रहेछ, “परमेश्वरले मानिसहरूलाई गर्न आवश्यक गराउनुभएका सबै कुराहरू र परमेश्वरको घरमा हुने विभिन्न प्रकारका सबै काम मानिसहरूले गर्नुपर्ने कामकुरा हुन्—ती सबै कुराहरू मानिसहरूका कर्तव्यमा गनिन्छन्। मानिसहरूले जुनसुकै काम गरे पनि, यो उनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्य हो। कर्तव्यहरूले एकदमै फराकिलो दायरा समेटेका हुन्छन्, र यिनमा थुप्रै क्षेत्रहरू समावेश हुन्छन्, तर तैँले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, सरल भाषामा भन्नुपर्दा, यो तेरो दायित्व र तैँले गर्नुपर्ने काम हो। यदि तैँले यसलाई हृदयबाटै राम्रोसँग निर्वाह गर्छस् भने, परमेश्वरले तँलाई अनुमोदन गर्नुहुनेछ, र तँलाई साँचो रूपमा परमेश्वरमा विश्वास गर्ने व्यक्तिको रूपमा मान्नुहुनेछ। तँ जोसुकै भए पनि, यदि तैँले सधैँ आफ्नो कर्तव्यबाट भाग्ने वा लुक्ने प्रयास गर्छस् भने, त्यहाँ समस्या छ। अलि कम गम्भीरतापूर्वक भन्नुपर्दा, तँ अत्यन्तै अल्छी, अत्यन्तै धूर्त छस्, तँ फोकटमा बस्छस्, तँलाई फुर्सत मन पर्छ र परिश्रम मन पर्दैन। अलि गम्भीर रूपमा भन्नुपर्दा, तँ आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक छस्, र तँसँग कुनै अर्पण वा समर्पण छैन। यदि तँ शारीरिक रूपमा लागिपर्ने कामको भार समेत बहन गर्न सक्दैनस् भने, तैँले केचाहिँ गर्न सक्छस्? तैँले के कामचाहिँ राम्ररी गर्न सक्छस्? यदि कुनै व्यक्ति आफ्नो कर्तव्यको सम्बन्धमा साँच्चिकै अर्पित छ र उसमा त्यसप्रति जिम्मेवारीबोध छ भने, त्यो परमेश्वरद्वारा माग गरिएको, र परमेश्वरको घरलाई खाँचो भएसम्म, तिनीहरूले आफ्नै निर्णय नगरी माग गरिएको जे पनि गर्नेछन्। के आफूले गर्न सक्ने र गर्नुपर्ने कर्तव्य राम्रोसँग गर्नु र त्यसलाई काँधमा लिनु नै कर्तव्य निर्वाह गर्नुको एउटा सिद्धान्त होइन र? (हो।)” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग चार))। “यदि तँ समर्पित र सच्चा छस् भने, तैँले कुनै काम गर्दा, तँ झाराटारुवा हुनेछैनस्, र तँ छली रूपमा सुस्ताउनेछैनस्, बरु तैँले त्यसमा आफ्नो पूरै हृदय र शक्ति लगाउनेछस्। यदि कुनै व्यक्तिको भित्री स्थिति गलत छ, र उसमा नकारात्मकता उत्पन्न हुन्छ भने, उसले जोस गुमाउनेछ, र ऊ झाराटारुवा हुन चाहनेछ। यदि उसलाई आफ्नो स्थिति ठीक छैन भनेर हृदयमा राम्ररी थाहा छ, तैपनि उसले सत्यता खोजी गरेर यसलाई सुल्झाउने प्रयास गर्दैन भने, यस्तो व्यक्तिमा सत्यताप्रति प्रेम हुँदैन—ऊ आफ्नो कर्तव्य निर्वाह गर्न अलिअलि मात्र इच्छुक हुन्छ; तर उसले कुनै पनि प्रयास गर्न वा कष्ट भोग्न चाहँदैन, र ऊ सधैँ छली रूपमा सुस्ताउने कोसिस गरिरहेको हुन्छ। वास्तवमा, परमेश्वरले पहिले नै यो सबै कुरा छानबिन गरिसक्नुभएको हुन्छ—त्यसो भए, तिनीहरूलाई किन उहाँ थोरै पनि ध्यान दिनुहुन्न? परमेश्वर त उहाँका चुनिएका मानिसहरू ब्युँझिऊन् र ती मानिसहरूलाई खुट्ट्याएर खुलासा गरून् र हटाऊन् भनेर मात्र प्रतीक्षारत हुनुहुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग चार))। परमेश्वरका वचनहरूमा, मैले के देखेँ भने आफ्नो कर्तव्यमा जिम्मेवार हुने मानिसहरूलाई काम पूरा गर्न अरूको रेखदेख चाहिँदैन; तिनीहरूले आफ्नो कर्तव्यमा आफ्नो मन लगाउँछन्। तर आफ्नो कर्तव्यप्रति गम्भीर नरहेका मानिसहरूले बहाना बनाउँछन् र अल्याङटल्याङ गर्छन्। मानिसहरूले हेर्दा तिनीहरूले धेरै काम गरेका छन् जस्तो देखिए पनि, यो सतही हुन्छ, र कुनै पनि वास्तविक परिणामहरू प्राप्त गरेको हुँदैन। तिनीहरूले मानिसहरूलाई धोका दिइरहेका हुन्छन्। परमेश्वरका वचनहरूले मेरो स्थितिलाई खुलासा गरे। सुसमाचार प्रचार गर्न लायक मानिसहरूलाई प्रवचनहरू सुन्न बोलाउने काम गर्नमा नै म खुशी थिएँ किनभने मैले कति जना मानिसहरूलाई बोलाएकी छु भनी सबैले देख्दा, तिनीहरूले मलाई जिम्मेवार व्यक्ति ठान्नेथिए। तर वास्तवमा, पछि तिनीहरूको अवस्था कस्तो छ भनेर मैले जान्नु पर्दा, मलाई मूल्य चुकाउन, वा थप समय र प्रयास लगाउन मन लाग्दैनथियो। म यो काम सुसमाचार सुनाउने कर्मचारीको हातमा सुम्पन चाहन्थेँ। मलाई सजिलो बाटो लिन मन पर्थ्यो। जुन तरिकामा कम कठिनाइ हुन्थ्यो र सबैभन्दा सहज हुन्थ्यो, म त्यही तरिका अपनाउँथेँ। कठिनाइ आइपर्दा म छिटो-मीठो तरिका अपनाउँथेँ। कुनै कुरा कठिन देखिएमा वा मैले धेरै प्रयास गर्नु परेमा म हरेस खान्थेँ। म कति सुस्त व्यक्ति रहेछु! सुसमाचार प्रचार गर्न लायक मानिसहरूले प्रवचनहरू सुनेपछि तिनीहरूसँग के-कस्ता प्रश्नहरू छन्, तिनीहरू भेलाहरूमा आइरहेका छन् कि छैनन्, र आउन छोडेका छन् भने, किन आउन छोडे इत्यादि कुरा पत्ता लगाउने झमेला लिन मलाई मन लाग्दैनथियो। म आफ्नो कर्तव्यमा निकै अजिम्मेवार थिएँ, र आफूलाई समर्पित गर्न चाहँदिनथिएँ, तैपनि म आफ्नो कर्तव्यमा प्रभावकारी छु भन्ने देखिन चाहन्थेँ। म कति धूर्त र छली थिएँ, र म भरोसा गर्न लायक थिइनँ। मलाई मेरो विगतको अर्को अनुभव याद आयो। जब म स्कूलमा थिएँ र नराम्रो अङ्क ल्याउँथेँ, तब मैले फेरि कक्षा दोहोर्याउनुपर्थ्यो, तर पनि म परिश्रम गरेर पढ्दिनथिएँ। म सधैँ कठिन कामको सट्टा सजिलो काम मन पराउँथेँ, र अल्छी गर्थेँ। यो मेरो प्रकृतिको भाग नै बनेको थियो। यो महसुस गरेपछि, मैले मेरो काममा अझै ध्यान दिन थालेँ, र मेरो शैली बदलेँ, अनि सुसमाचार प्रचार गर्न लायक मानिसहरूसँग कुराकानी गर्न थालेँ। म सुसमाचार सुनाउने कर्मचारीसँग कुराकानी गरेर तिनीहरूको सहयोग पनि लिन्थेँ। यसो गरेपछि, म अलिक प्रभावकारी भएँ।
पछि, मैले साँचो मार्ग स्वीकार गर्न तयार भएका मानिसहरूलाई मलजलकर्ताहरूको हातमा हस्तान्तरण गरेँ, तर भेलाहरूमा आइरहने मानिसहरू अझै पनि त्यति धेरै थिएनन्। एक जना व्यक्ति आफ्नो काममा अत्यन्तै व्यस्त भएको कारण भेलाहरूमा आउँदैनथिए। र, उनकी आमा भर्खरै बितेकी थिइन्। उनी शोकमा थिइन्, र संसारबाट अलग बसेकी थिइन्। केही सरल शब्दहरू बोल्ने बाहेक उनीसँग कसरी सङ्गति गर्ने मलाई थाहा थिएन। र जब कतिपय मानिसहरूलाई समस्या हुन्थ्यो, तब ती समस्या समाधान गर्न सहयोग गर्नको लागि मैले परमेश्वरको सही वचन भेट्टाउँदिनथिएँ। यो कुराले गर्दा मलाई गाह्रो भएको थियो। मानिसहरूलाई प्रवचन सुन्न बोलाउने काम गर्न नै मलाई मन पर्थ्यो, किनभने यो काम सजिलो थियो। तिनीहरूसँग कुराकानी गर्न मलाई त्यति मन पर्दैनथियो; तिनीहरूले मलाई मैले उत्तर दिन नसक्ने प्रश्नहरू गर्छन् भन्ने डर लाग्यो, त्यसकारण म तिनीहरूदेखि टाढा बस्थेँ वा तिनीहरूलाई त्याग्थेँ। करिब छ महिनापछि, मैले बोलाएका छ जनाले मात्रै परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेका छन् भन्ने देखेँ, जब कि अरू ब्रदर-सिस्टरहरूले धेरै जना मानिसहरूलाई विश्वासमा ल्याएका थिए। मलाई लाज लाग्यो र म पछुतोले भरिएँ। मैले यी छ महिनाको अवधिमा आफ्नो कर्तव्यमा लापरवाही गरिरहेकी थिएँ। यदि म फर्केर त्यो समयमा जान सक्ने भए, म लापरवाही हुनेथिइनँ। अरूले यति धेरै मानिसहरूलाई परमेश्वरको घरमा ल्याएका थिए भन्ने तथ्यले यो कुरा सम्भव छ भन्ने देखाएको थियो।
सर्वशक्तिमान् परमेश्वरका वचनहरूले यसो भन्दा रहेछन्, “सुसमाचार प्रचार गर्दा, मानिसहरूले आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ र सुसमाचार स्विकार्न चाहने हरेक व्यक्तिसँग इमानदारीपूर्वक व्यवहार गर्नैपर्छ। परमेश्वर मान्छेलाई सम्भव भएसम्म मुक्ति दिनुहुन्छ, र मानिसहरूले परमेश्वरका अभिप्रायहरूलाई वास्ता गर्नैपर्छ, तिनीहरूले साँचो मार्गबारे खोजी र अनुसन्धान गरिरहेका कसैलाई पनि लापरवाही रूपमा छुटाउनु हुँदैन। यसका साथै, सुसमाचार प्रचार गर्दा, तैँले सिद्धान्तहरू बुझ्नैपर्छ। साँचो मार्ग अनुसन्धान गरिरहेको हरव्यक्तिका हकमा, तैँले तिनीहरूको धार्मिक पृष्ठभूमि के हो, तिनीहरूको क्षमता असल छ कि खराब, र तिनीहरूको चरित्र कस्तो छ भनी अवलोकन गर्नु, बुझ्नु, र जान्नुपर्छ। यदि तैँले सत्यताको तृष्णा गर्ने, परमेश्वरका वचनहरू बुझ्न सक्ने, र सत्यता स्वीकार गर्न सक्ने व्यक्ति भेट्टाइस् भने, त्यो व्यक्तिलाई परमेश्वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। तिनीहरूसँग सत्यता सङ्गति गर्न र तिनीहरू प्राप्त गर्नका लागि तैँले सारा शक्तिले प्रयास गर्नुपर्छ, तर, यदि तिनीहरू कमजोर मानवता र खराब चरित्रका छन्, र तिनीहरूको तृष्णा एउटा नाटक हो, र तिनीहरू कहिल्यै नसकिनेगरी तर्क गरिरहन्छन्, र आफ्नै धारणामा कसिलोगरी टाँसिइरहन्छन् भने—त्यो अवस्थामा, तैँले तिनीहरूलाई पाखा लगाउनुपर्छ र छोडिदिनुपर्छ। साँचो मार्ग अनुसन्धान गरिरहेका कतिपय मानिस बुझ्न सक्ने र राम्रो क्षमताका हुन्छन्, तर तिनीहरू धेरै अहङ्कारी र आत्मधर्मी हुन्छन्, साथै तिनीहरू कडाइका साथ धार्मिक धारणाहरूको पालना गर्छन्। यी परिस्थितिहरूमा, यी धारणाहरूलाई समाधान गर्न मद्दत गर्नका लागि तैँले प्रेम र धैर्यका साथ तिनीहरूलाई सत्यताबारे सङ्गति गर्नुपर्छ। तैँले तिनीहरूसँग सत्यताबारे जसरी सङ्गति गर्दा पनि तिनीहरूले सत्यता स्वीकार गर्दैनन् भने मात्रै तैँले हार मान्नुपर्छ—त्यसपछि, तैँले आफ्नो दायित्व पूरा गरेको हुनेछस् र सबैभन्दा धेरै मात्रामा दया देखाएको हुनेछस्। छोटकरीमा, सत्यतालाई मान्ने र स्वीकार गर्ने कुनै पनि व्यक्तिलाई हल्कासँग नछोड्। यदि तिनीहरू साँचो मार्गबारे अनुसन्धान गर्न इच्छुक छन् र तिनीहरूले सत्यता खोजी गर्न सक्छन् भने, तैँले तिनीहरूलाई परमेश्वरका अझ धेरै वचनहरू पढेर सुनाउन र तिनीहरूसँग सत्यताबारे अझ धेरै सङ्गति गर्न, अनि परमेश्वरको कामको गवाही दिन र तिनीहरूका धारणा र जिज्ञासा समाधान गर्न आफूले सकेजति सबै गर्नुपर्छ, ताकि तैँले तिनीहरूलाई प्राप्त गर्न र परमेश्वरसामु ल्याउन सक्। यो सुसमाचार प्रचार गर्ने सिद्धान्तअनुरूप छ। त्यसोभए, तिनीहरूलाई कसरी प्राप्त गर्न सकिन्छ? तिनीहरूसँग कुराकानी गर्ने क्रममा, यदि तैँले तिनीहरू राम्रो क्षमता र असल मानवता भएका मानिसहरू हुन् भन्ने निश्चित गरिस् भने, तैँले आफ्नो जिम्मेवारि पूरा गर्न सके जति सबै कुरा गर्नुपर्छ; तैँले निश्चित मूल्य चुकाउनुपर्छ, र निश्चित तरिका र माध्यमहरू प्रयोग गर्नुपर्छ, र यदि त्यो व्यक्तिलाई प्राप्त गर्नकै खातिर हो भने तैँले जस्तोसुकै विधिहरू प्रयोग गरे पनि फरक पर्दैन। समग्रमा, तिनीहरूलाई प्राप्त गर्नका लागि, तैँले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, र प्रेमको प्रयोग गर्नुपर्छ, र आफ्नो शक्तिले भ्याएसम्म सबै कुरा गर्नुपर्छ। आफूले बुझेका सबै सत्यता तैँले सङ्गति गर्नुपर्छ र गर्नुपर्ने सबै कुरा गर्नुपर्छ। यो व्यक्तिलाई विश्वासमा ल्याउन सकिएन भने पनि, तेरो विवेक सफा हुनेछ। तैँले आफूले गर्न सक्ने सबै गरिसकेको हुनेछस्। यदि तैँले सत्यताबारे स्पष्ट रूपमा सङ्गति गरिनस्, र त्यो व्यक्ति आफ्नो धारणामा लागिरहन्छ भने, र यदि तैँले आफ्नो धैर्य गुमाइस्, र आफ्नै हिसाबले यो व्यक्तिलाई छोडिदिइस् भने, यो तँ आफ्नो जिम्मेवारीबाट विमुख हुनु हो, र तेरो लागि यो एउटा अपराध र कलङ्क हुनेछ। कतिपय मानिस भन्छन्, ‘के यो कलङ्क लाग्नु भनेको मलाई परमेश्वरले दोषी ठहराउनुभएको हो?’ यो मानिसहरूले यी कुरा अनजानमा गरेका हुन् कि जानीजानी गरेका हुन् भन्नेमा भर पर्छ। आक्कलझुक्कल अपराध गर्दा परमेश्वरले मानिसहरूलाई दोषी ठहर्याउनुहुन्न; तिनीहरूले पश्चात्ताप मात्रै गरे पुग्छ। तर जब तिनीहरूले जानीजानी गलत काम गरेर पश्चात्ताप गर्न मान्दैनन्, तब परमेश्वरले तिनीहरूलाई दोषी ठहर्याउनुहुन्छ। आफूलाई साँचो मार्गबारे स्पष्ट थाहा हुँदाहुँदै पनि तिनीहरूले जानाजानी पाप गर्छन् भने परमेश्वरले तिनीहरूलाई कसरी दोषी ठहर्याउनुहुन्न र? सत्यता सिद्धान्तहरूअनुसार हेर्दा, यसो गर्नु भनेको गैरजिम्मेवार र लापरवाह हुनु हो, र कम्तीमा पनि, यी मानिसहरूले आफ्ना जिम्मेवारी पूरा गरेका छैनन्; परमेश्वरले त्यसरी नै तिनीहरूका गल्तीहरूको मूल्याङ्कन गर्नुहुन्छ। यदि तिनीहरूले पश्चात्ताप गर्न मानेनन् भने, तिनीहरू दोषी ठहर्याइनेछन्। त्यसकारण, त्यस्ता गल्तीहरू कम गर्न वा त्यसबाट बच्न, मानिसहरूले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दो गर्नुपर्छ, साँचो मार्ग अनुसन्धान गरिरहेका मानिसहरूसँग भएका सबै प्रश्नहरूलाई सम्बोधन गर्न सक्रिय रूपमा प्रयास गर्नुपर्छ, र निश्चय नै महत्त्वपूर्ण प्रश्नहरूलाई थाती राख्ने वा ढिलाइ गर्ने गर्नु हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचनहरू पढेपछि म सोच्न बाध्य भएँ, र यसले मलाई निकै भावुक तुल्यायो। परमेश्वरले मानिसहरूलाई कर्तव्य दिनुभएको थियो, र त्यसमा तनमन लगाऊन् भन्ने अपेक्षा गर्नुभएको थियो, तर म मानिसहरूलाई परमेश्वरकहाँ ल्याउन आफ्नो कर्तव्यमा बलिदानहरू गर्न तयार थिइनँ। म अत्यन्तै अल्छी, र आफ्नो कर्तव्यमा अत्यन्तै सुस्त थिएँ। मैले परमेश्वरले भन्नुभए अनुसार गरेर साँचो मार्गको अनुसन्धान गर्ने सबैलाई उत्सुकताको साथ दिइनँ, वा आफ्नो जिम्मेवारी पूरा गरिनँ। मलाई धेरै जना मानिसहरूलाई सुन्न बोलाउनु नै पर्याप्त छ, र त्यसपछि गर्नुपर्ने काम मेरो काम होइन भन्ने लाग्थ्यो। मेरो नजरमा, त्यो काम मलजलकर्ताको जिम्मेवारी हो, र तिनीहरू भेलामा आउनु-नआउनु मेरो समस्या वा मेरो जिम्मेवारी होइन भन्ने लाग्थ्यो। त्यसकारण जब तिनीहरू भेलामा आउँदैनथिए, तब मैले तिनीहरूलाई सहयोग गर्न परमेश्वरका वचनहरू सुनाउने सक्दो प्रयास गर्दिनथिएँ। मलाई तिनीहरूको समस्याहरू समाधान गर्न कठिन हुन्छ भन्ने लाग्थ्यो, त्यसकारण म तिनीहरूलाई छोडिदिन चाहन्थेँ। तर वास्तवमा, सुसमाचार प्रचार गर्ने सम्बन्धी सिद्धान्तहरू अनुरूप रहेर, मैले तिनीहरूलाई गम्भीर रूपमा ध्यान दिनुपर्थ्यो, र तिनीहरूलाई सुन्न बोलाउने व्यक्ति म नै हुन्थेँ। साधारण परिस्थितिमा, पछि पनि मैले तिनीहरूसँग सम्पर्क कायम गरिरहनु पर्थ्यो, तर मैले त्यसो गरिनँ। मैले तिनीहरूलाई मलजलकर्ताको हातमा सुम्पेँ र त्यतिकै छोडिदिएँ। ममा साँच्चै नै जिम्मेवारी बोध थिएन, न त परमेश्वरको इच्छाप्रति ध्यान थियो। मैले मेरो समस्या पहिचान गरेपछि, मैले आफ्नो आचरण परिवर्तन गर्ने अठोट गरेँ, तर मैले यो एकलै गर्न सक्दिनँ भन्ने मलाई थाहा थियो। मैले प्रार्थना गरेर परमेश्वरको सहायता खोज्नुपर्थ्यो। त्यसपछि, जब म सुसमाचार प्रचार गर्न लायक व्यक्तिहरू भेट्थेँ, तब म तिनीहरूलाई उहाँकहाँ ल्याउन, र परिश्रम गरेर वास्तविक बलिदानहरू गर्न सहायता गर्नुहोस्, पहिलेजस्तो लापरवाही हुनबाट जोगाउनुहोस् भनेर परमेश्वरलाई प्रायजसो प्रार्थना गर्थेँ। मैले मेरो अगुवालाई पनि मानिसहरूलाई कसरी परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्न लगाउने भनेर सोधेँ। उनले मलाई धेरै तरिकाहरू बताइन्, र मैले अझै के कुरा लागू गरेकी छैन भनेर हेर्ने इच्छा गर्दै मनन गर्न थालेँ। मैले आफ्नो काममा सत्यताको खोजी गरिरहेकी छैन, र मैले मेरा ब्रदर-सिस्टरहरूबाट सिकिरहेकी छैन भन्ने थाहा पाएँ। जब कतिपय मानिसहरू भेलामा आउँदैनथिए, मैले किन आएन भनेर जान्न चाहिनँ, र म तिनीहरूलाई त्याग्न मात्रै चाहन्थेँ। मेरो कर्तव्यप्रतिको मेरो आचरण अत्यन्तै लापरवाही किसिमको रहेछ।
यो कुराले मलाई परमेश्वरले भन्नुभएको यो वचन याद दिलायो, “तैँले परमेश्वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। यो एकदमै गम्भीर कुरा हो! यदि परमेश्वरले तँलाई सुम्पनुभएको कुरा तँ पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तैँले आफ्नो दण्ड स्विकार्नुपर्छ। परमेश्वरले सुम्पनुभएका आज्ञाहरू मानिसहरूले पूरा गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित हो। यो मानिसको सर्वोच्च जिम्मेवारी हो, र यो उसको जीवनजत्तिकै नै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्वरका आज्ञाहरूलाई हल्का रूपमा लिन्छस् भने, यो परमेश्वरलाई दिइएको सबैभन्दा गम्भीर धोका हो। त्यसो गरेर, तँ यहूदाभन्दा पनि बढी निन्दनीय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले परमेश्वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्ने भन्नेबारेमा स्पष्ट बुझाइ प्राप्त गर्नैपर्छ र, कम्तीमा पनि, तिनीहरूले यो बुझ्नुपर्छ: परमेश्वरले मानिसहरूलाई आज्ञाहरू सुम्पनु भनेको उहाँले मानिसलाई उच्च पार्नुभएको हो, र यो उहाँले मानिसलाई देखाउने एक प्रकारको विशेष अनुग्रह हो, यो सबैभन्दा महिमामयी कुरा हो, र अरू सबै कुरा—आफ्नै जीवन समेत—त्याग्न सकिन्छ—तर परमेश्वरका आज्ञाहरू पूरा गरिनैपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्वरका वचनहरू पढेपछि, मलाई निकै लाज लाग्यो। परमेश्वरको सृष्टि भएको हुनाले, मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ। यो मेरो मिसन र जिउनुको कारण हो। यदि मैले यो काम गर्न सक्दिनँ भने, मैले म सृष्टि हुनुको उद्देश्यलाई गुमाएको हुन्छु, र म परमेश्वरको अघि जिउन योग्य हुनेछैनँ। अन्त्यमा परमेश्वरले मलाई घृणा गर्नुहुनेछ र हटाउनुहुनेछ। राज्यको सुसमाचार फैलाउनु नै परमेश्वरको सबैभन्दा अत्यावश्यक इच्छा हो, र मैले आफ्नो कर्तव्यमा सबै कुरा सुम्पनुपर्छ, यसप्रति हेलचेक्रयाइ गर्नु हुँदैन। मलाई परमेश्वरले नोआलाई जहाज बनाउन दिनुभएको बोलावटको बारेमा याद आयो। यो अत्यन्तै कठिन काम भए पनि, नोआले हरेस खाएनन्। जहाज कहिले पूरा हुनेछ वा कहिले प्रलय हुन्छ भनेर तिनले परमेश्वरलाई सोधेनन्। तिनले परमेश्वरका निर्देशनहरूलाई पछ्याएर जहाज बनाउने काम मात्रै गरे। यो महसुस गरेपछि, मैले के चाल पाएँ भने मैले आफ्नो कर्तव्यप्रतिको आफ्नो आचरणलाई परिवर्तन गर्नुपर्छ, नोआको उदाहरण पछ्याउनुपर्छ, र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा सक्दो प्रयास गर्नुपर्छ। एक पटक भेलाको बेला, अरूले प्रचार सम्बन्धी आफ्ना अनुभवहरू र सुसमाचार प्रचार गर्न लायक मानिसहरूका समस्याहरू समाधान गर्न कसरी तिनीहरूले परमेश्वरको वचन प्रयोग गरिरहेका छन् बाँडिरहेका थिए। तिनीहरूको कुरा सुनेर म निकै भावुक भएँ। मलाई उप्रान्त अल्छी हुन मन लागेन। म जिम्मेवार हुन चाहेँ। म मेरो सबै ऊर्जा आफ्नो कर्तव्यमा लगाउन चाहन्थेँ।
को-को मानिसहरू भेलामा आएका छैनन् भनेर म निरन्तर अवलोकन गर्थेँ, र नआएकाहरूलाई तुरुन्तै सम्पर्क गर्थेँ, र तिनीहरूलाई परमेश्वरका वचनहरूमा सङ्गति दिन्थेँ। जब मैले हरेक व्यक्तिलाई सहभागी गराउन मन लगाएँ, तब तिनीहरूमध्ये धेरै जना नियमित रूपमा सङ्गति आए। मलाई याद छ, एक जना व्यक्ति धेरै दिनदेखि आएका थिएनन्। मैले उनलाई टेक्स्ट मेसेज पठाएँ, तर केही दिनसम्म उनले प्रतिक्रिया नदिएपछि, मलाई चिन्ता लाग्न थाल्यो। मैले मलजलकर्ता ब्रदर डेर्लीलाई बोलाएँ र यसको बारेमा बुझेँ। तिनले उनको काममा समस्याहरू भइरहेको छ, त्यसकारण तिनले उनीसँग परमेश्वरका केही वचनहरू बाँडे भनेर बताए। यो सुनेपछि, मलाई यो पर्याप्त छैन भन्ने लाग्यो, त्यसकारण मैले ब्रदर डेर्लीलाई उनलाई फोन गरेर फोनमा सङ्गति गर्न अनुरोध गरेँ। अचम्मको कुरा के भयो भने, सङ्गतिपछि, उनले त्यही दिनदेखि सहभागिता जनाउन थालिन्, र पहिले नआएकोमा माफी मागिन्। केही समयपछि नै, उनी मण्डलीमा आबद्ध भइन्। मेरो हृदय उल्लसित भयो। म परमेश्वरप्रति अत्यन्तै आभारी भएँ!
परमेश्वरले यसो पनि भन्नुभएको रहेछ, “यदि तँमा साँच्चै नै विवेक र समझ छ भने, तैँले काम गर्दा त्यसमा अलिक बढी हृदय लगाउँछस्, साथै अलिक बढी सद्भावना, जिम्मेवारी, र ख्याल लगाउँछस्, र तँ थप प्रयास लगाउन सक्षम हुन्छस्। जब तँ थप प्रयास लगाउन सक्षम हुन्छस्, तब तैँले निर्वाह गर्ने कर्तव्यका नतिजाहरूमा सुधार आउनेछ। तेरा नतिजाहरू अझ राम्रा हुनेछन् र तिनले अरू मानिसहरू र परमेश्वर दुवैलाई सन्तुष्ट तुल्याउनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “तैँले सकारात्मक कोणबाट प्रवेश लिनैपर्छ। यदि तँ निष्क्रिय भएर पर्खन्छस् भने, तँ अझै पनि नकारात्मक नै भइरहेको हुन्छस्। तँ मसँगको सहकार्यमा सक्रिय हुनैपर्छ; परिश्रमी हुनैपर्छ, र अल्छी हुनै हुँदैन। सधैँ मसँग सङ्गति गर् र मसँग अझ गहन घनिष्ठता हासिल गर्। यदि तँ बुझ्दैनस् भने, शीघ्र परिणामहरूका लागि अधीर नबन्। म तँलाई बताउनेछैन भन्ने होइन; कुरा के हो भने, तँ मेरो उपस्थितिमा ममा निर्भर हुन्छस् कि हुँदैनस्, र ममा भर पर्नका लागि तँमा विश्वास छ कि छैन भनेर म हेर्न चाहन्छु। तँ सधैँ मेरो नजिक आउनैपर्छ, र सबै कुरा मेरो हातमा छोड्नैपर्छ। व्यर्थमा पछाडि नहट्। तँ केही समयका लागियसरी मेरो नजिक आइस् भने, तैँले थाहा पाउनुअघि नै मेरा अभिप्रायहरू तँसामु प्रकट हुनेछन्। यदि तैँले ती बोध गरिस् भने, तँ वास्तवमै मेरो आमनेसामने आएको हुनेछस्—तैँले वास्तवमै मेरो अनुहार भेट्टाएको हुनेछस्। भित्रभित्रै, तँमा उल्लेखनीय स्पष्टता र स्थिरता हुनेछ, र तँसँग निर्भर हुनका लागि केही कुरा, साथै शक्ति, आस्था र अगाडि हिँड्ने मार्ग हुनेछ। तेरा लागि सबै कुरा सहज हुनेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ९)। पहिले, म आफ्नो कर्तव्य निष्क्रिय हुन्थेँ र ममा अग्रसरताको कमी थियो। म सुसमाचार प्रचार गर्न लायक व्यक्तिहरूलाई लापरवाही रूपमा छोडिदिन्थेँ। परमेश्वरका वचनहरूको अगुवाइले मलाई हाम्रो हृदयमा जे छ त्यो अत्यन्तै महत्त्वपूर्ण हुन्छ भन्ने स्मरण गरायो। जब हामी मानिसहरूलाई प्रेमको साथ व्यवहार गर्छौँ, र इमानदारी पूर्वक सङ्गति गर्छौँ, तब हामीले परमेश्वरको अगुवाइ देख्नेछौँ। मैले यो बुझेपछि, परमेश्वरलाई प्रार्थना गरेँ, र मलाई आफ्नो कर्तव्य राम्ररी पूरा गर्न अनि उहाँका वचनहरू सचेत भई अभ्यास गर्न सहयोग गर्नुहोस् भनी अनुरोध गरेँ। त्यसपछि, म सुसमाचार प्रचार गर्न लायक मानिसहरूसँग बोल्न सक्रिय भएर लागिपर्न थालेँ। यदि तिनीहरूले प्रचार गर्ने सिद्धान्तहरू पूरा गरे भने, म तिनीहरूले परमेश्वरको कामलाई स्वीकार गरिञ्जेलसम्म तिनीहरूको परिस्थितिको बारेमा बुझिरहन्थेँ। यसो गर्न थालेपछि, परमेश्वरले मलाई अलि-अलि गर्दै अगुवाइ गरिरहनुभएको छ, र आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर बुझ्न मलाई सहयोग गरिरहनुभएको छ भन्ने अनुभव भयो, र मलाई हृदयमा अत्यन्तै ढुक्क लाग्यो। परमेश्वरलाई धन्यवाद होस्!