६५. सहजताको चाहना गर्दा म झण्डै नष्ट भएँ
सन् २०१९ मा, म भिडियो बनाउने कामको जिम्मेवार व्यक्ति थिएँ र यस क्रममा मण्डली अगुवाको रूपमा पनि काम गरिरहेकी थिएँ। मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्छु भनेर शपथ खाएँ। त्यसपछि, मैले आफ्नो कर्तव्यमा निकै मन लगाएँ र मण्डलीको काम कसरी गर्ने भनेर साझेदार सहकर्मी सिस्टरबाट सिकेँ। ठूलो वा सानो हरेक भेलामा सहभागी हुन म सक्दो प्रयास गर्थेँ, अनि दाजुभाइ-दिदीबहिनीहरूका अवस्था खराब हुँदा, उनीहरूसँग सङ्गति गर्न र उनीहरूका समस्याहरू समाधान गर्न म परमेश्वरको वचनमा खोजी गर्थेँ। यसबाहेक, मेरा दाजुभाइ-दिदीबहिनीहरूले बनाइसकेका भिडियोहरू हरेक दिन पुनः जाँच गर्थेँ। हरेक दिन म निकै व्यस्त हुन्थेँ। केही समयपछि म थकित भएँ, र सुरुमा मैले गरेको सङ्कल्प क्रमिक रूपमा गुमाउँदै गएँ। मलाई त्यस्तो व्यस्त जीवन जिउन झन्झन् अनिच्छा हुँदै गयो। विशेष गरी भिडियोहरू पुनरावलोकन गर्नुपर्दा, मैले एकदमै गहिरिएर सोच्नु र चिन्तन गर्नुपर्थ्यो, त्यसपछि मैले भेटेका समस्याहरू समाधान गर्न उचित सुझावहरू दिनुपर्थ्यो। यो काम मलाई एकदमै थकाइलाल्दो र मानसिक रूपमा अत्यन्तै बोझिलो लाग्थ्यो। यस्तो लाग्न थालेपछि, भिडियोहरू पुनरावलोकन गर्दा मलाई अल्छी लाग्न थाल्यो र कतिपय भिडियोको लागि त म झलक्क हेरेर प्रतिक्रिया दिन्थेँ। कहिलेकहीँ समस्याहरू हुन्थे र पनि म आँखा चिम्लन्थेँ किनभने तिनलाई सम्बोधन गर्नलाई मैले समाधानको बारेमा पनि सोच्नुपर्थ्यो, त्यसकारण म मुखमा चाबी लगाएर बस्थेँ। म आफ्नो कर्तव्यमा झन्झन् लापरवाही हुँदै गएँ, जसले गर्दा भिडियोहरू संशोधन गर्नको लागि पठाएको पठाायै गरिरहनुपर्थ्यो। यसले गर्दा धेरै मानिसहरूले मेहनत खेर जान्थ्यो। यी गम्भीर परिणामहरू थिए, तर मैले आत्मचिन्तन गरिनँ। मलाई त यो मसँग प्रत्यक्ष रूपमा सम्बन्धित छैन, र अरूको भिडियोहरूमा धेरै समस्याहरू भएकोले यस्तो भएको हो भन्नेसमेत लाग्थ्यो।
एकपटक मेरो जिम्मामा रहेको भिडियोको लागि नयाँ विचारको खाँचो थियो तर यसमा वास्वतिक प्राविधिक गतिरोध पैदा भयो। ब्रदर-सिस्टरहरूले फरक-फरक विचार दिइरहेका थिए, जसले गर्दा मलाई के गर्ने, के नगर्ने भएको थियो। मैले सोचेँ, “यसबारेमा सोच्दा नै जिउ गल्छ, तिनीहरूलाई नै योजना बनाउन दिनुपर्ला।” ममाथि समग्र कामको जिम्मेवारी छ भन्ने बहाना बनाउँदै मैले यो कामको जिम्मा आफू मुनिकालाई दिएँ, ताकि मैले यो भिडियोको रेखदेख र फलोअप नगर्नुको औचित्य साबित गर्न सकूँ। तर कसैले पनि पहिले यस्ता समस्याहरू भोगेका थिएनन्, र तिनीहरूमा कतिपय सिद्धान्तहरूको बुझाइ थिएन, त्यसैले यस्तो जटिल काम कसरी सम्हाल्ने तिनीहरूलाई थाहा थिएन। यसले गर्दा, काममा कुनै प्रगति भएन, र भिडियो त्यतिकै थन्कियो। मेरी साझेदार सहकर्मी लियाले हाम्रो काम प्रभावकारी नभएको र हाम्रो प्रगति ढिलो भइरहेको देखिन्, र उनले हामीलाई सम्झाउँदै अझै शीघ्र रूपमा काम अघि बढाउन अनुरोध गरिन्। उनले हामीलाई अत्यन्तै कठोर व्यवहार गरिरहेकी छिन् भनेर मैले गुनासो गरेँ र उनका बन्दोबस्तहरू इन्कार गर्दै अरू ब्रदर-सिस्टरहरू पनि मतिरै उभिए। यसले गर्दा लियाले अत्यन्तै बाँधिएको अनुभव गरिन् र हरेकपल्ट हामीसँग कार्य बन्दोबस्तको बारेमा छलफल गर्दा उनी अत्यन्तै सतर्क हुन थालिन्। यसले गर्दा एकपछि अर्को ढिलाइ भयो, जसले हाम्रो प्रगतिलाई पछि पार्यो। मलाई व्यावसायिक सीप सिक्न त्यति चासो थिएन, र तालिम सामग्रीहरू भेला गर्नु भनेको एकदमै ठूलो टाउको दुखाइ हो भन्ने लाग्थ्यो, त्यसकारण म सधैँ यो काम लियालाई दिन्थेँ। कहिलेकहीँ म आफ्नो कर्तव्यमा अत्यन्तै व्यस्त भएको बहाना बनाउँदै तालिममा सहभागी हुँदिनथेँ। यसरी, म आफ्नो कर्तव्यमा लापरवाही र सुस्त भएँ। एकपटक, मैले कामसम्बन्धी छलफलको लागि अग्रिम रूपमा तयारीसमेत गरिनँ, जसले गर्दा सबैको समय बरबाद भयो।
त्यसपछि एक दिन, खुड्किलोबाट ओर्लिरहेको बेला लडेर मैले गोलीगाँठो मर्काएँ। किन मलाई यस्तो भयो भनेर मैले मनन गरिनँ, र मेरो गोलीगाँठोमा चोट लागेको हुनाले म राम्ररी आराम गर्न सक्छु भन्ने सोचेँ। लियाले धेरै पटक मेरो खुलासा र निराकरण गरिन्, मैले आफ्नो कर्तव्यमा बोझ लिएकी छैनँ, यसले मण्डलीको काममा ढिलाइ भएको छ र अरूमा नकारात्मक असर पारेको छ भनेर भनिन्। उनको सङ्गतिपछि म केही दिनसम्म अलिक सक्रिय भएर लाग्थेँ, त्यसपछि फेरि पनि सुस्त हुन थाल्थेँ। यो समस्या अति गम्भीर छ भनेर मैले सोचेकी थिइनँ, र म आफ्नो खराबीलाई ठीकै छ भन्थेँ, र सोच्थेँ, “म अलिअलि मात्र अल्छी भएकी हुँ, तर अहङ्कार बनेकी छैन, एकतन्त्री व्यवहार गरेर अरूलाई दबाब वा दमनमा पारिरहेकी छैन, त्यसकारण यो ठूलो कुरो होइन। जे होस्, मसँग क्षमता र केही व्यावसायिक सीप छ, त्यसकारण मलाई बर्खास्त गरिनेछैन।” त्यसकारण, मैले लियाको चेतावनीलाई एउटा कानले सुनेर अर्को कानले उडाएँ र त्यसलाई अलिकति पनि गम्भीर रूपमा लिइनँ। म आफ्नो कर्तव्यमा सुस्त भइरहेँ र मैले कतिपय कामलाई बोझ, र झमेलाको रूपमा समेत लिएँ। आफ्नो कर्तव्यमा यति सुस्त भएको कारण फेरि परिमार्जन गर्नको लागि धेरै भिडियोहरूलाई फर्काउनुपर्थ्यो र तिनलाई रिलिज गर्नको लागि धेरैभन्दा धेरै समय लाग्थ्यो।
एक दिन बिहान, अनपेक्षित रूपमा उच्च अगुवा हामीकहाँ आइन् र हाम्रो काममा कुनै पनि परिणामहरू नआइरहेको, र पहिले नै सम्बोधन गरिएका समस्याहरू बारम्बार दोहोरिइरहेको कुरा गरिन्। समस्या के हो भनेर उनले सोधिन्। उनले हामीमा यो कर्तव्य निभाउने क्षमता छ कि छैन भनेर पनि सोधिन्, र यस्तै भइरह्यो भने, हामी सबैलाई बर्खास्त गरिनेछ भनेर भनिन्। यो सुन्दा मलाई डर लाग्यो। म मण्डली अगुवा थिएँ र हाम्रो कामको नेतृत्व पनि गरिरहेकी थिएँ, त्यसकारण सबै कुरा भताभुङ्ग हुनुको पछाडि म प्रत्यक्ष रूपमा जिम्मेवार थिएँ। यो पूर्ण रूपमा मेरो लापरवाहीको कारणले भएको थियो। यसबारेमा जति सोचेँ, त्यति नै मैले समस्याको गम्भीरता महसुस गरेँ। मैले कसरी आफ्नो कर्तव्य निभाउँदै आएकी छु भन्ने कुरा थाहा पाएर उच्च अगुवाले तुरुन्तै मलाई बर्खास्त गरिन्। उनले मलाई कडाइका साथ निराकरण र काटछाँट गर्दै भनिन्, “मण्डलीले तपाईंलाई महत्त्वपूर्ण काम सुम्पेको छ, तर यति धेरै समस्या र कठिनाइहरू देख्दा पनि तपाईंलाई अलिकति पनि वास्ता छैन। तपाईं आफ्नै देहगत सहजतामा मात्रै ध्यान दिनुहुन्छ, भिडियोको काममा महिनौँसम्म कुनै प्रगति छैन। तपाईंमा अलिकति पनि विवेक देखिन्न! मण्डलीले तपाईंलाई वृद्धि-विकास गर्दै आइरहेको छ, तर परमेश्वरको इच्छाको बारेमा तपाईं सोच्दै सच्नुहुन्न, र यो अत्यन्तै निराशलाग्दो कुरा हो। तपाईं अगुवा हो तर आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुहुन्न। तपाईंले केही सिकिरहनुभएको छैन, र तपाईं प्रगति गर्न असक्षम र वृद्धि-विकास गर्न अयोग्य हुनुहुन्छ। पश्चात्ताप गरेर परिवर्तन हुनुभएन भने तपाईलाई हटाइनेछ।” उनका शब्दहरूले मलाई नराम्ररी प्रहार गरे। मेरो दिमाग शून्य भयो, र मैले आफैलाई सोधिरहेँ: मैले यतिका महिना के गरिरहेकी थिएँ? कसरी अवस्था यहाँसम्म आइपुग्यो? म वृद्धि-विकास गरिनँ योग्यकी छैन भनेर उनले भनेको सुन्दा मलाई साँच्चै नै मेरो भविष्य छैन जस्तो लाग्यो। म निकै दुःखी भएँ र मेरो सबै शक्ति मबाट खोसिएको जस्तो महसुस भयो। मैले आफ्नो कर्तव्यलाई सबैभन्दा महत्त्वपूर्ण नठानेकोमा मलाई आफैप्रति घृणा जाग्यो, तर अहिले ढीला भइसकेको थियो।
बर्खास्त भएपछि, म निराशाको नकारात्मक स्थितिमा डुबेँ। सबैले मेरो वास्तविक रूप देखेका छन्, र मलाई एउटा खराब उदाहरणको रूपमा पन्छाउनेछन्, अनि परमेश्वरले पनि मलाई घृणा गर्नुहुन्छ जस्तो लाग्यो। मलाई निराकरण गर्दा अगुवाले भनेका कुराहरू सोच्दा, मनै अमिलो भयो। मलाई खुलासा गरेर हटाइएजस्तो अनुभूति भयो। मेरो लागि ती दिनहरू साँच्चै नै पीडादायी थिए। त्यसपछि एक दिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, र त्यसले साँच्चै नै मेरो मन छोयो। परमेश्वरका वचनहरूले भन्छ: “यदि तँ परमेश्वरप्रति बफादार छस्, र इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्छस् भने, काटछाँट गरिँदा, के तँ अझै पनि नकारात्मक र कमजोर हुन सक्छस्? अनि, तँ साँच्चै नकारात्मक र कमजोर भइस् भने के गर्नुपर्छ? (हामीले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमा भर पर्नुपर्छ, परमेश्वरले के माग्नुहुन्छ त्यो सोच्ने प्रयास गर्नुपर्छ, र हामीमा के कमी छ, र हामीले कुन गल्ती गर्यौँ त्यो मनन गर्नुपर्छ; हामी जुन ठाउँमा लडेर झरेका हुन्छौँ, त्यहीँबाटै उठेर फेरि चढ्नुपर्छ।) ठीक भन्यौ। नकारात्मकता र कमजोरी ठूला समस्या होइनन्। परमेश्वरले तिनको निन्दा गर्नुहुन्न। जबसम्म व्यक्ति तल झरेपछि फेरि माथि आउन सक्छ, र जसबम्म उसले पाठ सिक्न, र सामान्य रूपमा कर्तव्य निर्वाह गर्न सक्छ, तबसम्म त्यो काफी नै हुन्छ। कसैले पनि तँलाई यो कुराको कारण नराम्रो ठान्नेछैन, त्यसकारण अटुट रूपमा नकारात्मक नबन्। यदि तैँले आफ्नो कर्तव्य त्यागेर भागिस् भने, तैँले आफूलाई पूर्ण रूपमा बरबाद गरेको हुनेछस्। हरव्यक्ति कहिलेकहीँ नकारात्मक र कमजोर हुन्छ—तर सत्यता खोजी गरेमा नकारात्मकता र कमजोरी सहजै हल हुन्छ। कति मानिसहरूको स्थिति परमेश्वरका वचनहरूको एउटा खण्ड पढ्दा वा एकदुई भजन गाउँदा नै पूर्ण रूपमा परिवर्तन हुन्छ; तिनीहरूले परमेश्वरलाई प्रार्थना गर्दा हृदय खोलेर उहाँको प्रशंसा गर्न सक्छन्। के तिनीहरूको समस्या हल भइसकेको हुँदैन र? काटछाँट गरिनु वास्तवमा पूर्ण रूपमा असल कुरा हो। काटछाँटका शब्दहरू अलिक कठोर, घोच्ने किसिमका भए पनि, तैँले समझैविना काम गरेकोले, र थाहै नपाई सिद्धान्तहरू उल्लङ्घन गरेकोले यस्तो गरिएको हो—यस्तो परिस्थितिमा तँलाई कसरी काटछाँट नगरी बस्न सकिन्थ्यो र? तँलाई यसरी काटछाँट गर्नु त तँलाई सहयोग गर्नु हो, तँप्रतिको प्रेम हो। तैँले यो कुरा बुझ्नुपर्छ र गुनासो गर्नु हुँदैन। त्यसकारण, यदि काटछाँटले नकारात्मकता र गुनासो पैदा हुन्छ भने, यो मूर्खता र अज्ञानता हो, यो समझ नभएको व्यक्तिले गर्ने व्यवहार हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू पढिरहेको बेला, मेरो आँखाबाट आँसु बगिरहे। मलाई निराकरण गर्दा अगुवाले भनेका सबै कुराहरू सही थिए, र मैले गर्दै आएका सबै कुराहरू अत्यन्तै खराब भएका कारण नै उनले मलाई यति कठोरताको साथ आलोचना गरेकी थिइन्। तर मैले हरेस खानु हुँदैनथ्यो। मैले आफू किन असफल भएँ भन्ने कुरालाई मनन गरेर जतिसक्दो चाँडो परिवर्तन हुनुपर्थ्यो र पश्चात्ताप गर्नुपर्थ्यो। त्यो नै मैले लिनुपर्ने सही तरिका थियो। त्यसकारण मैले प्रार्थना गरेँ, र मलाई आत्मचिन्तन गर्न र यो असफलतामार्फत आफैलाई चिन्न अगुवाइ गर्नुहोस् भनेर परमेश्वरलाई अनुरोध गरेँ।
एक दिन, मैले झूटा अगुवाहरूलाई खुलासा र विश्लेषण गर्ने परमेश्वरका केही वचनहरू पढेँ, जुन वचनहरूले मलाई आफ्नो बारेमा अलिक राम्ररी बुझ्न सहयोग गरे। परमेश्वरका वचनहरूले भन्छन्: “झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, तर अधिकारी कसरी बन्ने तिनीहरूलाई थाहा हुन्छ। अगुवा बनेपछि तिनीहरूले गर्ने पहिलो कुरा के हो? तिनीहरूले मानिसहरूको मन जित्ने प्रयास गर्न थाल्छन्। तिनीहरूले ‘नयाँ म्यानेजर आफ्नो प्रभाव छोड्न साह्रै इच्छुक छ’ भन्ने शैली अपनाउँछन्: सुरुमा तिनीहरूले मानिसहरूलाई अनुग्रह देखाउन थोरै कामहरू गर्छन्, मानिसहरूको जीवन सहज पार्न केही कुराहरू सम्हाल्छन्। तिनीहरूले मानिसहरूमा राम्रो प्रभाव पार्न आफू जनमतको पक्षमा छु भनेर देखाउने प्रयास गर्छन्, ताकि सबैले तिनीहरूको तारिफ गरून् र ‘हाम्रा लागि तिनीहरू आमाबुबाजस्तै हुन्’ भनेर भनून्! त्यसपछि तिनीहरूले आधिकारिक रूपमै पद हातमा लिन्छन्। तिनीहरूले अब धेरैजसो मानिसहरूको साथ पाएको र तिनीहरूको पद सुरक्षित भएको छु भन्ने महुसस गर्छन्; त्यसपछि तिनीहरूले हैसियतका फाइदाहरूको आनन्द उठाउन थाल्छन्, मानौँ यो तिनीहरूले पाउनुपर्ने कुरा हो। तिनीहरूका आदर्श वाक्यहरू यस्ता हुन्छन्, ‘मीठो खानु र राम्रो लगाउनु नै जीवन हो,’ ‘जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनु पर्छ,’ अनि ‘आजको मद्य आजै पिऊ, भोलिको चिन्ता भोलि नै लिऊ।’ तिनीहरूले हरदिनको आनन्द लिन्छन्, तिनीहरूले जतिसक्दो रमाइलो गर्छन्, र तिनीहरूले भविष्यको बारेमा कुनै विचार गर्दैनन्, अगुवाले के-कस्ता जिम्मेवारीहरूबारे विचार गर्नुपर्छ र के-कस्ता कर्तव्य पूरा गर्नुपर्छ भनेर तिनीहरूले विचार गर्नु त परै जाओस्। तिनीहरूले केही वचन र धर्मसिद्धान्तहरू प्रचार गर्छन् र देखाउनका लागि एकदुई वटा काम गर्छन्, तर तिनीहरूले कुनै पनि वास्तविक काम गर्दैनन्। तिनीहरू मण्डलीका वास्तविक समस्याहरूलाई पूर्ण रूपमा समाधान गर्नको लागि तिनलाई पत्ता लगाउने प्रयास गर्दैनन्। त्यस्तो सतही काम गर्नुको अर्थ के हुन्छ? के यो धोका होइन र? के यस्तो झूटो अगुवालाई गम्भीर जिम्मेवारी सुम्पन मिल्छ? के तिनीहरू अगुवा र सेवकहरू छनौट गर्नेसम्बन्धी परमेश्वरको घरका सिद्धान्त र सर्तहरूअनुरूप हुन्छन्? (हुँदैनन्।) यी मानिसहरूमा कुनै विवेक वा समझ हुँदैन, तिनीहरूमा जिम्मेवारीको कुनै बोध हुँदैन, तैपनि तिनीहरू मण्डली अगुवा भएर आधिकारिक रूपमा सेवा गर्न चाहन्छन्—तिनीहरू किन यति धेरै लाज पचेका हुन्छन्? जिम्मेवारीको बोध भएका कतिपय मानिसहरूको हकमा, यदि तिनीहरूमा कमजोर क्षमता छ भने, तिनीहरू अगुवा हुन सक्दैनन्—अनि कुनै जिम्मेवारीको बोध नभएका रद्दी मानिसहरूको त के कुरा गर्ने र! तिनीहरू त अगुवा बन्न झनै अयोग्य हुन्छन्। त्यस्ता सुस्त झूटा अगुवाहरू कति अल्छी हुन्छन्? तिनीहरूले कुनै समस्या पत्ता लगाउँछन्, र यो समस्या हो भन्ने तिनीहरूलाई थाहा पनि हुन्छ, तर तिनीहरूले यसलाई केहीजस्तो ठान्दैनन् र यसप्रति ध्यानै दिँदैनन्। तिनीहरू कति गैरजिम्मेवार हुन्छन्! तिनीहरू कुरा गर्न सिपालु हुन सक्ने र तिनीहरूमा थोरै क्षमता भएजस्तो देखिने भए पनि, तिनीहरू मण्डलीको कामका विविध समस्याहरू समाधान गर्न सक्दैनन्, जसले गर्दा काम ठप्प हुन्छ; समस्यामाथि समस्या थुप्रिरहन्छन्, तैपनि यी अगुवाहरूलाई यी कुराहरूको बारेमा कुनै चासो हुँदैन, र देखाउनलाई तिनीहरू व्यर्थका कामहरू गरिटोपल्छन्। अनि परिणाम के हुन्छ? के तिनीहरूले मण्डलीको काम भताभुङ्ग पार्दैनन् र, के तिनीहरूले गन्जागोल गर्दैनन् र? के तिनीहरूले मण्डलीमा कोलाहल र फाटो ल्याउँदैनन् र? यो अपरिहार्य परिणाम हो” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवा र सेवकहरूका जिम्मेवारीहरू (८))। “सम्पूर्ण झूटा अगुवाहरू वास्तविक काम कहिल्यै गर्दैनन् र तिनीहरू आफ्नो नेतृत्वदायी भूमिका कुनै आधिकारिक पद भएझैँ गर्छन्, र आफ्नो हैसियतका फाइदाहरूमा पूर्ण रूपमा रमाउँछन्। अगुवाले पूरा गर्नुपर्ने कर्तव्य र कामलाई तिनीहरूले घाँडो वा झमेलाको रूपमा लिन्छन्। तिनीहरू आफ्नो हृदयमा मण्डलीको कामप्रति अवज्ञाकारी हुन्छन्: यदि तैँले तिनीहरूलाई कामको निगरानी गर्न र त्यसभित्रका ती समस्याहरू पत्ता लगाउन लगाइस्, जुन फलोअप गरेर समाधान गर्न आवश्यक छ भने, तिनीहरू पूरै अनकनाउँछन्। यो अगुवा र सेवकहरूले गर्ने काम हो, यो तिनीहरूको जिम्मेवारी हो। यदि तँ यो काम गर्दैनस् भने—यदि तँलाई यो काम गर्ने इच्छा छैन भने—तँ किन अझै पनि अगुवा वा सेवक बन्ने इच्छा गर्छस्? तँ परमेश्वरका अभिप्रायहरूलाई वास्ता गर्नका लागि कि एउटा कर्मचारी बनेर हैसियतका फाइदाहरूमा रमाउन आफ्नो कर्तव्य पूरा गर्छस्? यदि तँ कुनै आधिकारिक पद हातमा लिनको लागि मात्र अगुवा बन्न चाहन्छस् भने के यो लाजमर्दो कुरा होइन र? यी मानिसहरूजति नीच चरित्रका अरू कोही छैनन्—यिनीहरूमा कुनै आत्मसम्मान हुँदैन, यिनीहरू लाज पचेका मान्छे हुन्” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवा र सेवकहरूका जिम्मेवारीहरू (८))। परमेश्वरका यी वचनहरू पढ्दा मलाई अत्यन्तै लाज लाग्यो। के म वास्तवमै परमेश्वरले बताउनुभएको जस्तै कामचोर अगुवा थिइनँ र? सुरुदेखि नै, मलाई इन्चार्जमा रहेको व्यक्तिले अन्तिम निर्णय मात्र लिँदैन, अरूको आदर पनि कमाउँछ भन्ने लाग्थ्यो, त्यसकारण यो हैसियतको खातिर म धेरै परिश्रम गर्थेँ र कष्ट भोग्थेँ। मैले धेरै जिम्मेवारी लिन सक्छु भन्ने भ्रममा पार्न म सबैलाई आफ्नो देखावटी रूप प्रदर्शन गर्थेँ। म यो पदमा पुगेपछि र अरूले मलाई भरोसा गर्न थालेपछि, मैले आफ्नो साँचो रङ्ग देखाएँ। मैले हैसियतकै आकर्षण चाहन थालेँ र कामको परिमाण र कठिनाइहरू देख्दा मलाई तिनको झमेलामा पर्न मन लागेन। मलाई यो बोझिलो लाग्यो त्यसकारण कसरी बोझ कम गर्ने र चिन्ताका विषयहरू घटाउने भन्नेबारेमा सोचेँ। भिडियोहरू पुनरावलोकन गर्ने काम मानसिक रूपमा अति थकाइलाग्दो हुन्छ र त्यो मलाई मन परेको थिएन, त्यसकारण म स्वेच्छाचारी ढङ्गले भर नलाग्ने सुझावहरू दिन्थेँ र अरूलाई बारम्बार इडिट गर्न लगाउँथेँ, यसरी मानव साधनको दुरुपयोग गर्थेँ। म इन्चार्ज रहेको भिडियोमा समस्याहरू आउँदा, म समाधानको लागि दिमाग खियाउँदिनथेँ, तर चलाकी प्रयोग गर्न आफ्नो प्रतिष्ठाको प्रयोग गरेर अरूलाई नै यो काम गराउँथेँ, अनि तिनलाई उपेक्षा र बेवास्ता गर्थेँ। त्यसले गर्दा समस्याहरू त्यतिकै रहिरहन्थ्यो र हाम्रो काममा कुनै प्रगति हुँदैनथ्यो। प्राविधिक तालिममा नजान र सम्भव भएसम्म यो काम अरूलाई नै दिन अनेक किसिमका बहानाहरू बनाउँथेँ। अर्जेन्ट कामको योजना बनाउनमा पनि म अल्याङटल्याङ गर्थेँ र गुनासोहरू मात्रै गर्थेँ, जसले गर्दा मेरी साझेदार सहकर्मीले बाँधिएको महसुस गर्थिन्। मैले समयमै धेरै काम नसम्हालेको कारण हाम्रो प्रगतिमा बाधा पुग्थ्यो।… मैले गरेका सबै कुरा सम्झिँदा, मलाई आफैलाई थप्पड हान्न मन लाग्यो। मैले केही हैसियत पाएपछि, मैले सहजताको तृष्णा गर्न थालेँ र निरन्तर धोकेबाज र काम ठग्ने व्यवहार गरिरहन्थेँ। मैले कामलाई केटाकेटीको खेलको रूपमा लिन्थेँ र अलिकति पनि जिम्मेवारी लिँदिनथेँ। म तुरुन्तै समस्याहरू समाधान गर्दिनथेँ र मण्डलीको काममा समस्या आइरहेको देख्दा चुपचाप बस्थेँ। मेरो व्यवहार कसरी कम्युनिस्ट पार्टीका अधिकारीहरूको भन्दा फरक थियो र? तिनीहरूले हैसियत हात पार्नको लागि हरप्रकारका युक्तिहरू प्रयोग गर्छन् तर त्यो हात परिसकेपछि मानिसहरूका समस्या समाधान गर्दैनन्। तिनीहरू छल गर्दै खान-पिउन, र आफ्नो शक्ति व्यक्तिगत फाइदाको लागि प्रयोग गर्न मात्रै चाहन्छन्। यस्तो गर्नु दुष्ट र लाजमर्दो काम हो। म ठीक त्यस्तै थिएँ। मण्डलीले मलाई यस्तो महत्त्वपूर्ण काम दिएको थियो, तर म आफ्नै देहगत आराम र सहजतामा मात्रै ध्यान दिन्थेँ र कुनै पनि वास्तविक काम गर्दिनथेँ। अहिले सुसमाचार सुनाउने सबैभन्दा महत्त्वपूर्ण समय हो, र जति चाँडो यी गवाही भिडियोहरू अनलाइन हुन्छन्, त्यति नै धेरै मानिसहरूले साँचो मार्ग खोजी र अनुसन्धान गर्न सक्छन्। तर मैले परमेश्वरको इच्छालाई पटक्कै विचार गरिनँ। मैले आफ्नो कर्तव्यलाई बेवास्ता गरेँ, र मण्डलीको कामलाई गम्भीर रूपमा ढिलाइ गराएँ। म कति स्वार्थी र खराब थिएछु, र ममा पूर्ण रूपमा मानवताको कमी थियो। त्यसपछि म कति अल्छी, स्वार्थी र घृणित मान्छे रहेछु भनेर मैले स्पष्ट रूपमा थाहा पाएँ। म छल गरेर यो पदमा आएँ अनि मैले कुनै पनि व्यवहारिक काम गरिनँ। ममा खराब चरित्र थियो र म भरोसा गर्न लायक थिइनँ। ममा साँच्चै नैतिकताको कुनै बोध थिएन। यी सबै कुराको बारेमा मनन गर्दा मुटुमा एकपछि अर्को पीडाले घोच्थ्यो। अनि, मैले प्रार्थना गरेँ, “हे परमेश्वर, ममा मानवताको धेरै कमी छ। मैले यो कर्तव्यलाई त स्वीकार गरेँ, तर आफ्नो काम राम्ररी गरिनँ, जसले मण्डलीको काममा बाधा दियो। हे परमेश्वर, मलाई बर्खास्त गरिनु पूर्ण रूपमा तपाईंको धार्मिकता थियो। म पश्चात्ताप गरेर परिवर्तन हुन चाहन्छु—मलाई आफूलाई चिन्न अगुवाइ गर्नुहोस्।”
चिन्तन गर्दा मलाई के याद आयो भने अरूले यसबारेमा मलाई धेरैपटक सङ्गति दिएका थिए, मेरा समस्या औल्याएका र मलाई निराकरण र खुलासा पनि गरेका थिए, तर मैले यसलाई हृदयमा कहीँकतै स्वीकार गरेकी थिइनँ। म अझै सोच्थेँ, अल्छी हुनु र देहगत सहजताको चाह गर्नु ठूलो समस्या होइन, मैले कसैलाई चोट पुर्याइरहेकी वा बाधा दिइरहेकी छैन। यसबाहेक, मसँग क्षमता र केही व्यावसायिक सीप भएकोले, केवल म अल्छी भएकोमा मण्डलीले मलाई बर्खास्त गर्दैन भन्ने लाग्थ्यो। मैले परमेश्वरका वचनहरू पढेपछि मात्रै यी मेरा आफ्नै धारणा र कल्पनाहरू मात्र रहेछन् भन्ने थाहा पाएँ। परमेश्वरका वचनहरूले भन्छन्: “कसको समस्या बढी गम्भीर हुन्छ: अल्छी मानिसहरूको कि कमजोर क्षमता भएका मानिसहरूको? (अल्छी मानिसहरूको।) किन अल्छी मानिसहरूको समस्या गम्भीर हुन्छ? (कमजोर क्षमता भएका मानिसहरू अगुवा तथा सेवकहरू बन्न सक्दैनन्, तर आफ्नो क्षमताअनुसारको कर्तव्य निभाउँदा तिनीहरू अलिक प्रभावकारी हुन सक्छन्। तैपनि, अल्छी मानिसहरूले केही पनि गर्न सक्दैनन्; तिनीहरूसँग क्षमता नै भए पनि, तिनीहरूले यसद्वारा केही गर्दैनन्।) अल्छी मानिसहरूले केही पनि गर्न सक्दैनन्। एक शब्दमा भन्दा, तिनीहरू रद्दी हुन्; तिनीहरू बेकारीपनले अशक्त पारिएकाहरू हुन्। अल्छी मानिसहरूको क्षमता जति नै राम्रो भए पनि, यो देखावटी कुरा मात्रै हुन्छ; तिनीहरूको राम्रो क्षमताको कुनै काम हुँदैन। यस्तो किन हुन्छ भने तिनीहरू अत्यन्तै अल्छी हुन्छन्, तिनीहरूलाई आफूले के गर्नुपर्ने हो सो थाहा हुन्छ, तर तिनीहरूले त्यो गर्दैनन्; तिनीहरूलाई कुनै कुरा समस्या हो भनेर थाहा नै भए पनि, यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्; काम प्रभावकारी हुनको लागि तिनीहरूले के-कस्ता कठिनाइहरू भोग्नुपर्छ तिनीहरूलाई थाहा हुन्छ, तर तिनीहरू त्यस्ता बहुमूल्य कठिनाइ भोग्न इच्छुक हुँदैनन्। फलस्वरूप, तिनीहरूले कुनै सत्यता प्राप्त गर्दैनन्, र कुनै वास्तविक काम गर्दैनन्। तिनीहरू मानिसहरूले भोग्नुपर्ने कठिनाइ भोग्न चाहँदैनन्; तिनीहरूलाई आराम, खुसी र फुर्सतको आनन्द, अनि स्वतन्त्र र तनावरहित जीवनको आनन्दको लोभ गर्न मात्रै आउँछ। के तिनीहरू बेकामका हुँदैनन् र? कठिनाइ भोग्न नसक्ने मानिसहरू जिउन योग्य हुँदैनन्। सधैँ परानिर्भर भएर जिउन चाहने व्यक्ति विवेक वा तर्कहीन व्यक्ति हुन्छ; तिनीहरू पशु हुन् र श्रम गर्नसमेत योग्य हुँदैनन्। तिनीहरूले कठिनाइहरू सामना गर्न नसक्ने हुँदा, तिनीहरूले श्रम गर्न चाहे पनि, परिणामहरू खराब हुन्छन्, र तिनीहरूले सत्यता प्राप्त गर्न चाहन्छन् भने, त्यसको आशा झनै कम हुन्छ। कष्ट भोग्न नचाहने र सत्यतालाई प्रेम नगर्ने व्यक्ति रद्दी हो; तिनीहरू श्रम गर्नसमेत योग्यका हुँदैनन्। तिनीहरू अलिकति पनि मानवता नभएका पशु हुन्। त्यस्ता मानिसहरूलाई हटाउनु परमेश्वरका अभिप्रायहरू अनुरूप हुन्छ” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवा र सेवकहरूका जिम्मेवारीहरू (८))। “परमेश्वरका आज्ञाहरूलाई तैँले कसरी लिन्छस् भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ, र त्यो एकदमै गम्भीर विषय हो! यदि परमेश्वरले मानिसहरूलाई सुम्पनुभएको कुरा तैँले पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तँलाई सजाय दिइनुपर्छ। परमेश्वरले सुम्पनुभएका आज्ञाहरूलाई मानिसहरूले पूरा गर्नुपर्छ भन्ने कुरा पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो। यो मान्छेको सर्वोच्च उत्तरदायित्व हो, र यो कुरा तिनीहरूको जीवन जत्तिकै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्वरका आज्ञाहरूलाई गम्भीरताका साथ लिँदैनस् भने तैँले उहाँलाई सबैभन्दा घोर रूपले धोका दिइरहेको हुन्छस्। यसमा, तँ यहूदाभन्दा पनि बढी विलापमय हुन्छस्, र तँ श्रापित हुनुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्वरका वचनहरू पढेपछि के महसुस गरेँ भने, मैले कसैलाई चोट पुर्याएजस्तो नदेखिए पनि, मैले मेरो कर्तव्यलाई हल्का रूपमा लिएर मण्डलीको काममा बाधा पुर्याएकी थिएँ। त्यो परमेश्वरप्रतिको गम्भीर विश्वासघात थियो, यो यहूदाको भन्दा पनि धेरै घृणास्पद काम थियो। मैले आफ्नो कर्तव्यमा गरेका सबै कामहरूको बारेमा सोच्दा म थरथर भएँ। मैले अरूले दिएको सङ्गति र सूझावलाई धेरैपटक बेवास्ता गरेकी थिएँ, किनभने मलाई काम गर्न आउँछ र मसँग क्षमता छ, त्यसकारण अल्छी भएकै भरमा मण्डलीले मलाई बर्खास्त गर्दैन भन्ने ममा गलत सोच थियो। म कति दयनीय र दुराग्रही थिएँ। यो दयनीय र हाँसउठ्दो दुवै थियो, र यो कति खतरनाक कुरा हो भन्ने मैले देख्न सकेकी थिइनँ। परमेश्वरले क्षमता भएका, तर अल्छी र धोकेबाज मानिसहरूलाई घृणा गर्छु, र तिनीहरू घृणास्पद हुन्छन् र तिनीहरूमा कमजोर मानवता हुन्छ, र तिनीहरू परमेश्वरको भरोसायोग्य हुँदैनन् भनेर स्पष्ट रूपमै भन्नुभएको छ। तिनीहरूभन्दा त कमजोर क्षमता भएका तर व्यावहारिक, मेहनती र कष्ट भोग्न तयार हुने मानिसहरू नै बेस हुन्छन्। तिनीहरू आफ्नो कर्तव्यमा इमान्दार हुन्छन्। तिनीहरूले यसमा आफ्नो मन लगाउँछन् र तिनीहरू विवेकी र जिम्मेवार हुन्छन्। तर म भनेँ, मसँग अलिकति भए पनि क्षमता भएजस्तो देखिन्थ्यो, तर वास्तवमा, सृष्टि गरिएको प्राणीले आफ्नो कर्तव्यमा गर्नुपर्ने सबैभन्दा आधारभूत काम गर्न पनि सक्दिनथेँ। त्यो कस्तो मानवता र क्षमता हो? त्यस बेला मैले आफ्नो वास्तविकतालाई साँचो रूपमा देखेँ, र म वृद्धि-विकास गरिन योग्य छैन, अनि म पश्चात्ताप गरेर परिवर्तन भइनँ भने मलाई हटाइनेछ भनेर अगुवाले किन भनिन् भन्ने कुरा बुझेँ। त्यस्तो मानवता बोकेर हिँड्ने, अनि अल्छी र छली बन्ने, र आफ्नो कर्तव्यप्रति कुनै जिम्मेवारी बोध नगर्ने, म साँच्चै भरोसा गर्न लायक थिइनँ र मलाई बर्खास्त गरेर निकालिनु नै पर्थ्यो। मैले बरबाद गरेको सबै समयको बारेमा सोच्दा मलाई परमेश्वरप्रति साँच्चै नै ऋणी भएको अनुभव भयो। त्यसपछि मैले बस राम्रोसित सत्यताको खोजी गर्न, र परमेश्वरको प्रेमको ऋण तिर्नको लागि उचित रूपमा आफ्नो कर्तव्य पूरा गर्न मन गरेँ।
पछि, मैले लेख-रचनासम्बन्धी काम गर्न थालेँ। गर्नुपर्ने काम धेरै थियो र हरेक दिन व्यस्त भइन्थ्यो, त्यसकारण मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ र फेरि पहिलेजसरी देहको वशमा पर्नु हुँदैन भनेर आफूलाई चेतावनी दिइरन्थेँ। सुरुमा त, म आफ्नो कर्तव्यप्रति जिम्मेवार थिएँ। मलाई म केही हदसम्म परिवर्तन भएकी छु भन्ने लाग्यो। तर हाम्रो कामको भार बढ्न थालेपछि र केही कठिनाइ र समस्याहरू देखा पर्न थालेपछि, मेरो प्रकृति फेरि आफै देखा पर्यो। मैले सोचेँ, “यी समस्या समाधान गर्नु मानसिक रूपमा एकदमै थकाइलाग्दो हुन्छ, एकटपक सरसरती हेर्दा पुग्छ होला, र अझै जटिल समस्याहरू अरूलाई नै समाधान गर्न दिनुपर्ला।” एक सिस्टरले प्रायः मलाई अल्याङटल्याङ गरिरहनुभएको छ भनेर भन्ने गर्थिन्, र आफ्नो कर्तव्यलाई अझै गम्भीर रूपमा लिनुहोस् भनेर चेतावनी दिन्थिन्। म गर्छु भनेर भन्थेँ, र केही दिनसम्म राम्रो गर्थेँ, तर कुनै जटिल समस्या देखा परेपछि म चिन्तित हुन्थेँ, र यो ठूलो समस्या हो, यसलाई सम्हाल्नु थकाइलाग्दो हुन्छ भन्ने लाग्थ्यो, त्यसकारण म त्यसलाई त्यतिकै छोडिदिन्थेँ। दिनप्रतिदिन यो क्रम जारी रह्यो। हाम्रो समूहका दुई सिस्टरहरूले राम्रा नतिजाहरू हासिल नगरेका हुनाले तिनीहरूलाई स्थानान्तर गरियो र मनमा अचानक अशुभ भावना आयो। मैले आफ्नो कर्तव्यमा तिनीहरूले भन्दा राम्रो गरिरहेकी थिइनँ, र अरू सबैले मैलेभन्दा बढी प्रगति गरिरहेको देख्थेँ। म टोलीको सबैभन्दा खराब व्यक्ति बनेकी थिएँ। मैले अझै पनि आफ्नो कर्तव्य निभाइरहेकी भए पनि, मलाई निकै अप्ठ्यारो महसुस भयो र अब स्थानान्तर मलाई गरिनेछ भन्ने चिन्ता लाग्यो। पछि मैले एक सिस्टरसँग आफ्नो स्थितिको बारेमा कुरा गरेँ, र उनले के भनिन् भने, मसँग क्षमता नभएकोले मैले आफ्नो कर्तव्यमा राम्रा नतीजाहरू ल्याउन नसकेकी होइन, बरु म अत्यन्तै लापरबाह भएर त्यस्तो भएको हो। मैले कर्तव्य निर्वाह गर्न थालेको निकै भएको भए पनि मैले अझै पनि आधारभूत गल्तीहरू गरिरहेकी थिएँ, त्यसको मतलब यसप्रतिको मेरो मनोवृत्तिमा समस्या छ भन्ने थियो। उनले भनेको कुराले मनभित्र साँच्चै हलचल गरायो। मैले पहिले नै आफ्नो कर्तव्य राम्ररी पूरा गर्छु भनी सङ्कल्प गरेकी थिएँ, तर किन मैले यसलाई अझै पनि यसरी लिइरहेकी थिएँ? म प्रार्थना र खोजी गर्दै परमेश्वरकहाँ आएँ।
एक दिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मलाई मेरो समस्याको बारेमा अझै बढी स्पष्टता प्रदान गर्यो। परमेश्वरका वचनहरूले भन्छन्: “कतिपय मानिसहरूले जुन काम गरे पनि वा जुन कर्तव्य निभाए पनि, तिनीहरू यसमा सफल हुन सक्दैनन्, तिनीहरूका लागि यो धेरै गाह्रो हुन्छ, तिनीहरू मानिसहरूले पूरा गर्नुपर्ने कुनै पनि दायित्व वा जिम्मेवारी पूरा गर्न सक्दैनन्। के तिनीहरू रद्दी होइनन् र? के तिनीहरू अझै पनि मानिसहरू भनिन लायक हुन्छन् र? बुद्धू, मानसिक रूपमा अशक्त, र शारीरिक कमजोरी भएकाहरूबाहेक, आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्नु नपर्ने जीवित मानिस कोही छ र? तर यस्तो व्यक्तिले सधैँ धूर्त र फोहोरी खेल खेलिरहेको हुन्छ, र आफ्नो जिम्मेवारी पूरा गर्न चाहँदैन; यसको आशय के हो भने यस्ता व्यक्तिहरूले उचित व्यक्तिले जस्तो व्यवहार गर्न चाहँदैनन्। परमेश्वरले तिनीहरूलाई मानव बन्ने मौका दिनुभयो, र उहाँले तिमीहरूलाई क्षमता र वरदान दिनुभयो, तैपनि तिनीहरूले यी कुरालाई आफ्नो कर्तव्य निभाउन प्रयोग गर्न सक्दैनन्। तिनीहरूले केही गर्दैनन्, हरेक मोडमा आनन्द लिन मात्र चाहन्छन्। के त्यस्तो व्यक्ति मानव भनिन लायक हुन्छ? तिनीहरूलाई जुनसुकै काम दिइएको भए पनि, चाहे त्यो काम महत्त्वपूर्ण वा साधारण, कठिन वा सरल जे-जस्तो भए पनि, तिनीहरू सधैँ झाराटारुवा बन्छन्, सधैँ अल्छी र भर नलाग्ने हुन्छन्। समस्याहरू पैदा हुँदा, तिनीहरूले आफ्नो जिम्मेवारी अरूको काँधमा थुपार्न चाहन्छन्; तिनीहरूले कुनै पनि जिम्मेवारी वहन गर्दैनन्, बरु परजीवी जीवन जिइरहन चाहन्छन्। के तिनीहरू बेकारका रद्दी होइनन् र? समाजमा, बाँच्नको लागि कसले पो आफ्नै भरोसा गर्नु पर्दैन र? व्यक्ति ठूलो भएपछि, उसले आफ्नो ज्यान आफै पाल्नुपर्छ। तिनीहरूका आमाबुबाले आफ्नो जिम्मेवारी पूरा गरिसकेका हुन्छन्। तिनीहरूका आमाबुबाले तिनीहरूलाई सहयोग गर्ने इच्छा गरे पनि, तिनीहरूलाई सहयोग लिन अप्ठ्यारो लाग्नुपर्छ, र तिनीहरूले ‘मेरा आमाबुबाले छोराछोरी हुर्काउने आफ्नो काम पूरा गर्नुभएको छ। म ठूलो भइसकेँ, र मेरो शरीर पनि ठीकठाक छ—म आत्मनिर्भर भई बाँच्न सक्नुपर्छ’ भन्ने कुरा पहिचान गर्न सक्नुपर्छ। के वयस्कमा कम्तीमा पनि यतिको समझ हुनुपर्दैन र? यदि कसैमा साँच्चै समझ छ भने, उसले आफ्ना आमाबुबासँग हात पसारिरहनु हुँदैन; तिनीहरूलाई अरू हाँस्लान्, र आफू लाजमा पर्नुपर्ला भन्ने डर हुनुपर्छ। त्यसो भए, सहजतालाई मन पराउने र कामलाई घृणा गर्ने मानिसहरूमा समझ हुन्छ? (हुँदैन।) तिनीहरूले सधैँ केही नदिई केही पाउन चाहन्छन्; तिनीहरूले कहिल्यै जिम्मेवारी लिन चाहँदैनन्, आकासबाट मिठाइ झरेर तिनीहरूको मुखमा परोस् भन्ने कामना गर्छन्; तिनीहरू कामै नगरी दिनमा तीनपटक खान चाहन्छन्, बस कसैले भात पस्केर दियोस्, र मीठो-मीठो खानेकुरा दियोस् भन्ने चाहन्छन्। के यो परजीवीको मानसिकता होइन र? अनि परजीवी मानिसहरूमा विवेक र समझ हुन्छ त? के तिनीहरूमा इज्जत र सत्यनिष्ठा हुन्छ त? अवश्य नै हुँदैन; तिनीहरू केही न कामका भातमाराहरू, विवेक वा समझविनाका पशुहरू हुन्। तिनीहरूमध्ये कोही पनि परमेश्वरको घरमा रहन लायक हुँदैनन्” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवा र सेवकहरूका जिम्मेवारीहरू (८))। परमेश्वरका वचनहरूबाट मैले के चाल पाएँ भने विवेक र समझ भएका मानिसहरूले कर्तव्यमा सर्वस्व समर्पित गर्छन् र उचित रूपमा कर्तव्य पूरा गर्छन्। तर सामान्य मानवता र समझ नभएका मानिसहरूले कहिल्यै पनि कष्ट भोग्ने वा असुविधा भोग्ने इच्छा गर्दैनन्, सधैँ चलाकी गर्ने र काम गरेको जस्तो गर्ने मात्र गर्छन्, र आफ्नो जिम्मेवारी वा दायित्वको बारेमा पटक्कै विचार गर्दैनन्। परमेश्वरले तिनीहरूलाई क्षमता र वरदान, साथै कर्तव्य पूरा गर्ने मौका दिनुभए पनि, तिनीहरूले कुनै पनि कुरा नसिक्ने हुनाले, र तिनीहरूमा देहगत सुखमा रमाउन चाहना, र जिम्मेवारीको शून्य बोध हुने हुनाले, अन्त्यमा तिनीहरूले केही पनि गर्न सक्दैनन् र तिनीहरू काम नलाग्ने बन्छन्। म परमेश्वरले बताउनुभएका यी व्यर्थका मानिसहरूमध्येकी एक थिएँ। मलाई बर्खास्त गरिएपछि, मण्डलीले मलाई लेख-रचनाको काम गर्न दिएको थियो, जुन मलाई पश्चात्ताप गर्न दिइएको मौका थियो, तर यसलाई कसरी कदर गर्ने मलाई थाहा थिएन। मैले आफ्नो कर्तव्यमा सुधार ल्याउन चाहन्नथेँ, र वास्तविक कठिनाइहरूको सामना गर्दा, अरू कसैलाई ती सुम्पिहाल्थेँ, म कामकुराबारे राम्ररी विचार गर्नका लागि मानसिक ऊर्जा वा समय खर्च गर्न पूर्ण रूपमा अनिच्छुक थिएँ। फलस्वरूप, मैले आफ्नो कर्तव्यमा कुनै पनि प्रगति गरिरहेकी थिइनँ। मलाई एकदमै बेचैन भयो: म किन कठिनाइबाट पछि हटेँ, र कष्टबाट लुकिबसेँ?
एक पटक मैले मेरो भक्तिको समयमा परमेश्वरका केही वचनहरू पढेँ जसले मलाई समस्याको जडबारेमा केही मात्रमा बुझ्न सहयोग गरे। परमेश्वरका वचनहरूले भन्छन्: “आज, मैले भन्ने वचनहरूमा तँ विश्वास गर्दैनस्, र तिनलाई तैँले ध्यानै दिँदैनस्; जब यस प्रकारको काम फैलने दिन आउनेछ र तैँले यसको सम्पूर्णता देख्नेछस्, तब तँ पछुताउनेछस्, र त्यो समय तँ अक्क न बक्क हुनेछस्। आशिष्हरू छन्, तैपनि तिनमा आनन्द लिन तैँले जान्दैनस्, र सत्यता छ, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तैँले आफैमा तिरस्कार ल्याउँदैनस् र? आज, परमेश्वरको कार्यको अर्को चरण सुरु हुन बाँकी नै भए पनि, तँबाट अपेक्षा गरिएका मापदण्डहरू र तँलाई जिउन आग्रह गरिएका कुराहरू असाधारण होइनन्। काम धेरै छन्, र सत्यता पनि धेरै छन्; के ती तैँले थाहा पाउन योग्य छैनन् र? के परमेश्वरको सजाय र न्याय तेरो आत्मालाई बिउँझाउन असक्षम छ? के परमेश्वरको सजाय र न्याय तँलाई आफूले आफैलाई घृणा गर्ने बनाउन असक्षम छ? के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवं थोरै दैहिक सहजतामा जिउन पाउँदा सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्तिलाई देखेका तर यसलाई प्राप्त गर्नको लागि खोजी नगर्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; आफैलाई देहमा मस्त पार्ने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्वरमाथिको तेरो विश्वासमा तँ कुनै पनि चुनौती वा संकष्टहरू, वा थोरै पनि कष्ट नआओस् भन्ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरूको खोजी गर्छस् जुन व्यर्थ छन्, र तैँले जीवनलाई कुनै मूल्यको ठान्दैनस्, बरु सत्यताको सट्टा आफ्नै अनावश्यक विचारहरूलाई अघि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्नता छ र? सत्यताको खोजी नगरेर देहलाई प्रेम गर्नेहरू सबै नै पशुहरू होइनन् र? आत्माविहीन रहेका मृत मानिसहरू सबै जिउँदो लासहरू होइनन् र? तिमीहरूका माझमा कति वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै काम मात्र गरिएका छन्? तिमीहरूका माझमा मैले कति भरणपोषण गरेँ? त्यसो भए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केको बारेमा गुनासो गर्नु छ? के तैँले देहलाई अत्यन्तै धेरै प्रेम गर्ने हुनाले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के यो तेरा विचारहरू अत्यन्तै अनावश्यक भएकोले होइन र? के यो तँ अत्यन्तै मूर्ख भएकोले होइन र? यदि तँ यी आशिष्हरू प्राप्त गर्न असक्षम छस् भने, तँलाई मुक्ति नदिनुभएकोमा के तैँले परमेश्वरलाई दोष दिन सक्छस्? … सधैँ देहको खोजी गर्ने तँजस्तो कायरमा—के तँमा हृदय छ, के तँसँग आत्मा छ? के तँ वनपशु होइनस् र? सट्टामा केही पनि नमागी नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्वरमा विश्वास गर्नेहरूमध्ये एक होस्? म तँलाई साँचो मानव जीवन दिन्छु, तैपनि तँ यसलाई खोज्दैनस्। के तँ सुँगुर वा कुकुरभन्दा फरक छस् र? सुँगुरहरूले मानिसको जीवनको खोजी गर्दैनन्, तिनीहरू शुद्ध गरिने कार्यको खोजी गर्दैनन् र तिनीहरूले जीवन के हो भन्ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्न खाएपछि तिनीहरू सुत्छन्। मैले तँलाई साँचो मार्ग दिएको छु, तैपनि तैँले यसलाई प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई जारी राख्न तयार छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन तिरस्कारयोग्य र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तैँले कुनै पनि लक्ष्यहरूको खोजी गर्दैनस्; के तेरो जीवन सबैभन्दा नीच छैन र? के परमेश्वरलाई हेर्ने आँट तँसँग छ? तैँले यस्तै अनुभव गरिरहिस् भने, के तैँले केही प्राप्त गर्नेछस् र? साँचो मार्ग तँलाई दिइएको छ, तर तैँले यसलाई प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो आफ्नै व्यक्तिगत खोजीमा निर्भर हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। मैले यो खण्ड बारम्बार पढेँ। विशेष गरी “पशुहरू,” “सुँगुर वा कुकुर,” र “नीच” भन्ने शब्दहरू पढ्दा, हरेकपटक नै मलाई मेरो गालामा थप्पड हानिएको जस्तो लाग्थ्यो। मैले आफैलाई सोधेँ: “मैले वास्तवमा किन परमेश्वरमा विश्वास गर्छु? के सहजतामा रमाउनको लागि मात्रै हो? परमेश्वरका यति धेरै वचनहरू पढेर पनि किन मैले जीवनमा यस्तो नीच खोजी गरिरहेकी छु?” मलाई साँच्चै शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ जस्तो लाग्यो। म “जीवन त खानु र लाउनु मात्रै हो,” “मोजमस्ती गरेर दिनको सदुपयोग गर, किनभने जीवन छोटो छ,” र “आजको मद्य आजै पिऊ, भोलिको चिन्ता भोलि नै गर” भन्ने शैतानी दर्शनहरू मेरा जिउने वाणी बनेका थिए। मैले शारीरिक आराम र आनन्दलाई नै मेरो जीवनको मुख्य खोजीको रूपमा हेर्थेँ। मलाई याद छ, मेरा कक्षाका सबै साथीहरू हाइस्कूलको प्रवेश परीक्षा आउनुभन्दा पहिले कति धेरै पढ्थे, तर मलाई त्यसो गर्नु अत्यन्तै तनावपूर्ण लाग्थ्यो, त्यसकारण म तनावमुक्त हुन खेलमैदान जान्थेँ। मैले जीवनमा आफूलाई राम्रो व्यवहार गर्नुपर्छ, र भोलि जेजस्तो भए पनि आउने हरेक पलमा आनन्द लिनुपर्छ जस्तो लाग्थ्यो। मेरो कक्षाका साथीहरूले म कति ढुक्कको छु भनेर भन्थे र मलाई यसरी जिउनु नै राम्रो हो भन्ने लाग्थ्यो। म हरेक दिन कुनै तनाव वा चिन्ता नलिई खुशीसाथ बस्थेँ। मैले चाहेको जीवन त्यही थियो। मैले विश्वासमा आएपछि र कर्तव्य निभाउन थालेपछि पनि यो दृष्टिकोण परिवर्तन गरेकी थिइनँ। कुनै जटिल वा कठिन समस्या आइपर्दा, मलाई यो दुःख हुन्छ भन्ने लाग्थ्यो र यसबाट टाढा बस्न मन लाग्थ्यो, यसरी म अलिकति पनि शारीरिक असहजता वा पीडा सहन चाहँदिनथेँ। मलाई केही नगरी यताउता त्यतिकै सहज रूपमा घुमिहिँड्न मन लाग्थ्यो। तर त्यसरी जिएर मैले वास्तवमा के पाएकी थिएँ? मैले आफ्नो कर्तव्यमा कुनै प्रगति गरिनँ, र मैले आफ्नो चरित्र र इज्जत खेर फालेँ किनभने मैले गैरजिम्मेवार व्यवहार गरेर मण्डलीको काममा बाधा दिएँ। मैले परमेश्वरलाई मप्रति घिनाउने पारेँ, र ब्रदर-सिस्टरहरूलाई दिक्क लगाएँ। बचाइका यी शैतानी दृष्टिकोणहरूले निकै हानि गर्छन्। यसरी जिउँदा, म इज्जत वा गरिमाविहीन र जीवनमा कुनै उद्देश्य नभएको व्यक्ति बनेकी थिएँ। यो एकदमै पतीत कुरा थियो! वास्तवमा, कठिनाइहरूको सामना गर्दा, मैले सत्यताको खोजी गर्न अनि सत्यतालाई बुझ्न र प्राप्त गर्नको लागि मैले त्यो परिस्थितिको प्रयोग गर्नुपर्छ भन्ने परमेश्वरको इच्छा थियो। तर मैले यसलाई कदर गरिनँ र सत्यता प्राप्त गर्ने धेरै मौकाहरू त्यतिकै गुमाएँ। बाइबल भन्छ: “मूर्खहरूको उन्नतिले तिनीहरूलाई नष्ट गर्नेछ” (हितोपदेश १:३२)। त्यो वास्तवमै साँचो हो। परमेश्वरको वचनमा यसो पनि भनिएको छ: “मानिसको देह त्यही सर्प जस्तै हो: यसको सार भनेको उनीहरूको जीवनमा हानि पुर्याउनु हो—र जब यसले सम्पूर्ण रूपमा आफ्नै बाटो समात्छ, तेरो जीवन खोसिन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। मैले कसरी बारम्बार आफ्नो कर्तव्यलाई हल्कासित लिएकी थिएँ, कसरी काममा हानि पुऱ्याएकी थिएँ र परमेश्वरप्रति ऋणी भएकी थिएँ भन्ने कुरा मलाई याद आयो। मलाई असाध्यै दुःख लाग्यो र पछुतो भयो। परमेश्वरमाथिको मेरो विश्वासको वृतान्तमा यी कुराहरू कहिल्यै धोएर फ्याँक्न नसकिने दाग बनेका थिए, र मलाई यसबारेमा सधैँ पछुतो हुनेछ! मलाई हृदयको अन्तस्करणदेखि नै आफूप्रति घृणा जाग्यो। आँसु झार्दै मैले प्रार्थना गरेँ, “परमेश्वर, मैले तपाईंलाई निराश तुल्याँएँ। धेरै वर्षदेखि विश्वास गरेर पनि मैले सत्यता कहिल्यै खोजी गरिनँ, देहका क्षणिक सहजताहरू मात्रै खोजेँ। म अत्यन्तै भ्रष्ट रहेछु! हे परमेश्वर, मैले बल्ल देहको सार देखेँ र मेरा अपराधहरूलाई ढाक्ने गरी मैले कहिल्यै सुकर्म गरी सक्दिनँ होला, तर पनि म पश्चात्ताप गर्न चाहन्छु, सत्यताको पछि लागेर नयाँ सुरुवात गर्न चाहन्छु।”
एक सिस्टरले पछि मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड पठाइन् जसले मलाई अभ्यास र प्रवेशको मार्ग भेट्टाउन मदत गर्यो। परमेश्वरका वचनहरूले भन्छन्: “जब मानिसहरूसँग विचार हुन्छ, तिनीहरूसँग विकल्प हुन्छ। यदि तिनीहरूको जीवनमा केही आइपर्यो र तिनीहरूले गलत विकल्प रोजे भने, तिनीहरूले आफूलाई परिवर्तन गरेर सही विकल्प रोज्नुपर्छ; तिनीहरू आफ्नो गल्तीमै लागिरहनु पटक्कै हुँदैन। यस्ता मानिसहरू अक्कली हुन्छन्। तर यदि तिनीहरूलाई आफूले गलत विकल्प रोजेको कुरा थाहा हुन्छ र पनि आफूलाई परिवर्तन गर्दैनन् भने, तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू होइनन्, र त्यस्ता मानिसहरूले साँचो रूपमा परमेश्वरलाई चाहँदैनन्। उदाहरणका लागि, मानिलिऊँ तँ आफ्नो कर्तव्य निभाउँदा झाराटारुवा र सुस्त बन्न चाहन्छस्। तँ अल्याङटल्याङ गर्ने, र परमेश्वरको सूक्ष्म जाँचबाट पन्छिने प्रयास गर्छस्। त्यस्तो बेला, तुरुन्तै परमेश्वरलाई प्रार्थना गरिहाल्, र यो सही किसिमको व्यवहार हो कि होइन भनेर मनन गर्। त्यसपछि यो कुरा विचार गर्: ‘म किन परमेश्वरमा विश्वास गर्छु? त्यस्तो झाराटारुवा व्यवहारले मान्छेको आँखा छल्न सक्ला, तर के परमेश्वरको आँखा छल्न सक्छ? अनि, मैले लापरवाही गर्नलाई परमेश्वरमा विश्वास गरेको होइन—यो त मुक्ति पाउनको लागि हो। मैले यसरी व्यवहार गर्नु सामान्य मानवताको अभिव्यक्ति होइन, न त परमेश्वरले यसलाई प्रिय नै ठान्नुहुन्छ। हो, बाहिर संसारमा मैले लापरवाही गर्न सक्थेँ र आफूलाई मन लागेअनुसार गर्न सक्थेँ, तर अहिले त म परमेश्वरको घरमा छु, म परमेश्वरको सार्वभौमिकताको अधीनमा, परमेश्वरको नजरको सूक्ष्म जाँचमा छु। म एक व्यक्ति हुँ, मैले आफ्नो विवेकअनुसार काम गर्नुपर्छ, आफ्नो खुशीअनुसार होइन। मैले परमेश्वरका वचनहरूअनुसार काम गर्नुपर्छ, म झाराटारुवा हुनु हुँदैन, म सुस्त बन्नु हुँदैन। त्यसो भए, म कसरी सुस्त नभई, झाराटारुवा काम नगरी बस्न सक्छु? मैले केही प्रयास गर्नैपर्छ। भर्खरै मलाई यसरी काम गर्न धेरै झमेला हुन्छ जस्तो लाग्यो, म कठिनाइबाट बच्न चाहेँ, तर अब मैले यो कुरा बुझेँ: यसरी काम गर्न धेरै झमेला हुन्छ होला, तर यो प्रभावकारी तरिका हो, त्यसकारण यो काम यसरी नै गरिनुपर्छ।’ जब तैँले काम गरिरहेको हुन्छस् र अझै पनि तँलाई कठिनाइको डर लाग्छ, तब त्यस्तो बेला तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ: ‘हे परमेश्वर! म अल्छी र धूर्त छु, मलाई अनुशासनमा राख्नुहोस् र गाली गर्नुहोस्, ताकि मेरो विवेकले केही अनुभूत गरोस्, अनि मलाई लाजको अनुभूति होस्। म झाराटारुवा बन्न चाहन्नँ। बिन्ती छ मलाई अगुवाइ र अन्तर्दृष्टि प्रदान गर्नुहोस्, र मेरो विद्रोहीपन र कुरूपता देखाइदिनुहोस्।’ जब तैँले त्यसरी प्रार्थना गर्छस् र आत्मचिन्तन गर्दै आफूलाई चिन्ने प्रयास गर्छस्, तब यसले पछुतोको भावना पैदा गर्छ, अनि तैँले आफ्नो कुरूपतालाई घृणा गर्न सक्नेछस्, अनि तेरो गलत स्थिति परिवर्तन हुन थाल्छ, र तैँले यस विषयमा मनन गरेर आफूलाई यसो भन्न सक्नेछस्, ‘म किन झाराटारुवा छु? म किन सधैँ सुस्त हुन खोज्छु? यस्तो व्यवहार गर्नु भनेको विवेक वा समझमा कमी हुनु हो—के म अझै परमेश्वरमा विश्वास गर्ने व्यक्ति हुँ त? मैले किन यस्ता कुराहरूलाई गम्भीर रूपमा लिन सक्दिनँ? के मैले अलिक बढी समय र प्रयास लगाउनु आवश्यक छैन र? यो ठूलो बोझ त होइन। मैले गर्नुपर्ने यही हो; मैले योसमेत गर्न सक्दिनँ भने, के म मानव भनिनसमेत लायक हुन्छु र?’ फलस्वरूप, तैँले सङ्कल्प गर्नेछस् र शपथ खानेछस्: ‘हे परमेश्वर! मैले तपाईंलाई निराश तुल्याएँ, म साँच्चै नै गहन रूपमा भ्रष्ट भएको छु, ममा कुनै विवेक वा समझ छैन, म मानवताहीन छु, अब म पश्चात्ताप गर्न चाहन्छु। बिन्ती छ मलाई क्षमा गर्नुहोस्, म अवश्य परिवर्तन हुनेछु। मैले पश्चात्ताप गरिनँ भने, तपाईं मलाई दण्ड दिनुहोस्।’ त्यसपछि, तेरो मानसिकतामा परिवर्तन आउनेछ, र तँ बदलिन थाल्नेस्। तैँले पहिलेजस्तो झाराटारुवा नभई, बरु कर्तव्यनिष्ठ भएर काम गर्न र आफ्नो कर्तव्य निभाउन थाल्नेछस्, र तँ कष्ट भोग्न र मूल्य चुकाउन सक्षम हुनेछस्। तँलाई यसरी कर्तव्य पूरा गर्नु अद्भूत हुन्छ जस्तो लाग्नेछ, र तेरो हृदयमा शान्ति र आनन्द हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। परमेश्वरका वचनहरूबाट मैले के देखेँ भने मानिसहरूको रूपमा हामीले गर्नुपर्ने आधारभूत कुरा भनेकै आफ्नो कर्तव्यमा पूर्ण रूपमा लागिपर्नु हो। जति नै कठिन भए पनि, सरल वा जटिल जे-जस्तो भए पनि, हामीले हाम्रो जिम्मेवारीहरू पूरा गर्नुपर्छ र यसलाई गम्भीर रूपमा अनि पूर्ण हृदयले गर्नुपर्छ। हामीले आफूले गर्न सक्ने सबै कुरा गर्नुपर्छ। कर्तव्यप्रति हुनुपर्ने सही मनोवृत्ति त्यही हो। परमेश्वरको वचनले हाम्रो लागि अभ्यासको मार्ग देखाउँछ। हामीलाई विश्वासघाती र चिप्ले बन्न मन लाग्न थालेको महसुस गरेपछि, हामीले परमेश्वरको सूक्ष्म जाँचलाई स्वीकार गर्नुपर्छ, प्रार्थना गरेर देहलाई परित्याग गर्नुपर्छ। परमेश्वरका वचनहरूलाई मनन गरेपछि, मैले मानवप्रतिको उहाँको संवेदनशीलता र करुणा अनुभव गर्न सकेँ। अभ्यास र प्रवेशका यी मार्गहरूका बारेमा उहाँले अत्यन्तै स्पष्ट रूपमा बताउनुभएको छ, ताकि हामी मानव रूपमा जिउन सकौँ। परमेश्वरको इच्छा र मापदण्डलाई बुझेपछि, मैले प्रार्थना गरेँ अनि स्वेच्छाले आफ्नो दैहिकता पन्छ्याएँ।
एकपटक, म फेरि पनि जटिल समस्यामा परेँ, र त्यति बेला मलाई अल्याङटल्याङ गर्न र झारा टार्न मन लाग्यो, त्यसकारण मैले प्रार्थना गरेँ: “परमेश्वर, मलाई फेरि पनि आफ्नो कर्तव्यमा चिप्ले बन्न मन लागेको छ, तर म यसरी अघि बढ्न चाहँदिनँ। बिन्ती छ मलाई दैहिकता पन्छ्याउन, सत्यताको अभ्यास गर्न, र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न अगुवाइ गर्नुहोस्।” प्रार्थना गरेपछि, मलाई के लाग्यो भने म धोकेबाज र चिप्ले बनेको अरूले नदेखे पनि परमेश्वरले देख्नुहुन्छ। मैले सत्यता अभ्यास गरिरहकी छु कि देहमा लागिरहेकी छु भन्ने कुरा उहाँले देख्नुहुन्छ। यस्तो सोच आएपछि, मैले यो समस्या कसरी हल गर्ने भनेर चिन्तन गर्न आफ्नो हृदयलाई शान्त पारेँ, र थाहै नपाई, केही सिद्धान्तहरूबारे म अझ स्पष्ट भएँ। तुरुन्तै समस्या समाधान भयो। एकदुई पटक त्यसरी अभ्यास गरिसकेपछि, मलाई हृदयमा निकै शान्त भयो र यो कर्तव्य निर्वाह गर्ने राम्रो तरिका हो भन्ने लाग्यो। यसको साथै, विगतमा स्थानान्तर हुन्छु भनी मेरो मनमा आएका डरहरू हराएर गए।
अलिकति भए पनि परिवर्तन हुन सक्नु परमेश्वरले मलाई दिनुभएको मुक्ति थियो, र परमेश्वरका वचनहरूको न्याय, प्रकाश र भरणपोषणद्वारा म अलिअलि गर्दै बिउँझिएँ। परमेश्वरलाई धन्यवाद होस्!