६४. इमानदार व्यक्ति बनेर मैले के पाएँ
एउटा बैठकमा, एक अगुवाले नयाँ विश्वासीहरूलाई मलजल गर्ने म इन्चार्ज रहेको मण्डलीको काम कसरी अघि बढिरहेको छ भनेर सोधिन्। म अकमक्क परेँ। मैले विगत केही दिनदेखि फलोअप गरेको थिइनँ र यसबारे मलाई स्पष्ट जानकारी थिएन। मैले के भन्ने? मलाई थाहा छैन भनेँ भने, अगुवा र अरू सहकर्मीहरूले अवश्य नै मैले व्यवहारिक काम गरिरहेको छैन भनेर भन्नेछन्, र त्यो लाजमर्दो कुरा हुनेछ। मैले आफूलाई पहिले थाहा भएको कुरा मात्रै बताउँछु त्यसपछि के गर्न सकिन्छ, हेरौँला भन्ने सोचेँ। त्यसकारण मैले भनेँ, “त्यो कामको सबै बन्दोबस्त भएको छ, र हामीले केही टोली सदस्यहरू थपेका छौँ।” अगुवाले तुरुन्तै भनिहालिन्, “तपाईंले प्रश्नको उत्तर दिनुभएन, कुरा मात्र बङ्ग्याउनुभयो। त्यो त धुर्त्याइँ हो। थाहा छैन भने, थाहा छैन भन्नुहोस् र सक्दो चाँडो फलोअप गर्नुहोस्। किन त्यति सारो कुरा घुमाउनुहुन्छ? त्यो राम्रो होइन। गल्ती, गल्ती नै हो, तपाईंसँग यसलाई स्विकार्ने साहस हुनुपर्छ।” मलाई छटपटी र अप्ठ्यारो लाग्यो, र मेरो अनुहार रातोपिरो भयो। मलाई जे कुराको डर थियो त्यही भयो। मलाई त मैले पूरै इज्जत गुमाएको छु, सबैले मेरो वास्तविक रूप देखेका छन् जस्तो लाग्यो। अगुवाले भनेको कुरा ठीक हो भन्ने मलाई थाहा थियो, तर मैले मेरो हृदयमा यो कुरा स्विकार्नै सकिनँ। उनले यति धेरै भनिरहनु पर्दैनथ्यो जस्तो लाग्यो। के मैले यो समस्या जतिसक्दो चाँडो समाधान गरेमा सबै ठीकठाक हुन्नथ्यो र? उनले किन यी सब मानिसहरूको अगाडि मलाई काटछाँट र निराकरण गर्नुपरेको? मलाई निकै दुःख लाग्यो, त्यसैले मैले मनमनै प्रार्थना गरेँ, “हे परमेश्वर, आज जे भयो त्यसप्रति मनमा विरोध पलाएको छ र मैले यसलाई मान्नै सकिनँ। बिन्ती छ मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि मैले आफूलाई चिनेर पाठ सिक्न सकूँ।”
पछि, मैले परमेश्वरका वचनहरू पढेँ: “पहिले हामी यहोवा परमेश्वरले शैतानलाई कस्तो किसिमको प्रश्न सोध्नुभयो सो हेरौँ। ‘तँ कहाँबाट आइस्?’ के यो सीधा प्रश्न होइन र? के यसमा कुनै गुप्त अर्थ छ त? छैन; यो त एउटा सीधा प्रश्न हो। यदि मैले तिमीहरूलाई ‘तँ कहाँबाट आइस्?’ भनेर सोध्नुपर्यो भने, तिमीहरूले कसरी जवाफ दिनेथियौ? के यो जवाफ दिन गाह्रो प्रश्न हो? के तिमीहरूले ‘यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ’ भनेर जवाफ दिनेथियौ? (थिएनौ।) तिमीहरूले यस किसिमले जवाफ दिनेथिएनौ। त्यसो भए, शैतानले यसरी जवाफ दिँदा तिमीहरूलाई कस्तो अनुभूति हुन्छ? (शैतान हास्यास्पद र छली भएको हामी महसुस गर्छौं।) मैले कस्तो महसुस गरिरहेको छु भनी के तिमीहरू बताउन सक्छौ? हरेकपटक जब म शैतानका यी वचनहरूलाई देख्छु, तब मलाई घृणाको महसुस हुन्छ, किनभने शैतान बोल्छ तर यसका वचनहरूमा कुनै सारतत्व हुँदैन। के शैतानले परमेश्वरको प्रश्नको जवाफ दियो? दिएन, शैतानले बोलेका शब्दहरू जवाफ थिएनन्, ती शब्दहरूको केही अर्थ थिएन। ती परमेश्वरको प्रश्नको उत्तर थिएनन्। ‘पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ।’ तैँले यी शब्दहरूबाट के बुझ्छस्? शैतान कहाँबाट आएको हो? के तिमीहरूले यो प्रश्नको जवाफ पाएका छौ त? (छैनौँ।) यही नै शैतानको धूर्त योजनाको ‘विशिष्ट प्रतिभा’ हो—त्यसले वास्तवमा आफूले के भन्न खोजेको हो भनी कसैलाई पत्ता लगाउन दिँदैन। तैँले यी शब्दहरू सुनिसकेपछि पनि त्यसले के भन्न खोजेको हो भनी अझै छुट्याउन सक्दैनस्, यद्यपि त्यसले जवाफ भने दिइसकेको छ। तैपनि आफूले उत्तम रूपमा जवाफ दिएको छु भनी शैतानले विश्वास गर्छ। अनि तँचाहिँ कस्तो महसुस गर्छस् त? घिनाउँछस्? (हो।) अब तँ यी शब्दहरूको प्रत्युत्तरमा घिन महसुस गर्न थाल्छस्। शैतानका शब्दहरूमा केही निश्चित विशेषताहरू हुन्छन्: शैतानले जे बोल्छ त्यसले तँलाई टाउको कन्याउने बनाउँछ, तँ त्यसका शब्दहरूको स्रोत पत्ता लगाउन असक्षम हुन्छस्। कहिलेकाहीँ शैतानसँग मनसायहरू हुन्छन् र त्यसले जानाजानी बोल्छ, र कहिलेकाहीँ त्यसको आफ्नै प्रकृतिद्वारा सञ्चालित भई, यी शब्दहरू स्वतस्फूर्त रूपमा निस्कन्छन् र सीधै शैतानको मुखबाट आउँछन्। शैतानले यी शब्दहरूलाई मनन गर्दै लामो समय बिताउँदैन; यी शब्दहरूलाई विचारै नगरीकन व्यक्त गरिन्छ। जब परमेश्वरले शैतानलाई तँ कहाँबाट आएको होस् भनी सोध्नुभयो, तब त्यसले केही दोहोरो अर्थ लाग्ने शब्दहरूद्वारा जवाफ दियो। तैँले आफू धेरै अलमलिएको महसुस गर्छस्, तँलाई शैतान कहाँबाट आएको हो भनी ठ्याक्कै थाहा हुँदैन। तिमीहरूमाझ यस्तै किसिमले बोल्ने कोही छन्? यो कस्तो खालको बोल्ने तरिका हो त? (यो अस्पष्ट छ र यसले एक निश्चित जवाफ दिँदैन।) यस किसिमको बोल्ने तरिकालाई वर्णन गर्न हामी कस्ता शब्दहरूको प्रयोग गर्नुपर्छ? यो बहकाउने र गलत दिशातर्फ डोर्याउने किसिमको छ। मानौँ, कोही आफूले हिजो के गरेका थियौँ भनी अरूलाई थाहा नहोस् भन्ने चाहन्छन्। तैँले तिनीहरूलाई सोध्छस्: ‘मैले तपाईंलाई हिजो देखेको थिएँ। तपाईं कहाँ जाँदै हुनुहुन्थ्यो?’ तिनीहरू हिजो कहाँ गएका थिए भनी तिनीहरूले तँलाई सीधा कुरा बताउँदैनन्। बरु, तिनीहरू भन्छन्: ‘हिजोको दिन कस्तो व्यस्त दिन थियो। कस्तो थकान लगायो!’ के तिनीहरूले तेरो प्रश्नको जवाफ दिए त? तिनीहरूले जवाफ त दिए, तर तिनीहरूले तैँले चाहेको जवाफ दिएनन्। योचाहिँ मानिसको बोलीभित्रको कुटिलताको ‘विशिष्ट प्रतिभा’ हो। त्यसको अर्थ के हो भनी तैँले कहिल्यै पत्ता लगाउन सक्दैनस्, न त तँलाई तिनीहरूका शब्दहरूको स्रोत र अभिप्राय नै कहिल्यै थाहा हुन्छ। तिनीहरूले के कुरा लुकाउन खोजिरहेका छन् भनी तँलाई थाहा हुँदैन किनकि तिनीहरूको हृदयमा तिनीहरूको आफ्नै कथा हुन्छ—यो कपटीपन हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ४)। परमेश्वरको वचनले प्रकट गरेको कुराबाट, मैले शैतानका बोलीवचन र काममा मनसाय र युक्तिहरू लुकेका हुन्छन् भन्ने देखेँ। त्यसले आफ्ना लाजमर्दा मनसायहरू ढाकछोप गर्नको लागि, यो साँच्चै घुमाउरो पारामा बोल्छ ताकि मानिसहरूले बुझ्न नसकून्। यो साँच्चै नै कपटी र धूर्त छ। शैतानले परमेश्वरका प्रश्नहरूको उत्तर अस्पष्ट र भ्रामक रूपमा दिन्छ। परमेश्वरको लागि यो घृणित कुरा हो। मेरो कुरा गर्दा, नयाँ विश्वासीहरूलाई मलजल गर्ने काम कसरी अघि बढिरहेको छ मलाई साँच्चै नै थाहा थिएन, तर मैले साँचो कुरा भनिनँ। मैले अगुवालाई भुलाउन घुमाउरो उत्तर दिएँ। अगुवालाई सत्यता नबताई प्रश्नको उत्तर दिएँ। आफ्नो इज्जत र हैसियत रक्षा गर्न, अनि मैले व्यवहारिक काम नगरिरहेको अगुवालाई थाहा नहोस्, र ब्रदर-सिस्टरहरूले मलाई नीच नठानून् भनेर, मैले तथ्यहरूलाई निर्धक्क गोलमटोल पारेँ, र तिनीहरूलाई बहकाउने र छल गर्ने प्रयास गरेँ। मैले शैतानी स्वभाव प्रकट गरिरहेको थिएँ। पछाडि फर्केर हेर्दा, मैले ब्रदर-सिस्टरहरूसँग प्राय त्यसरी नै व्यवहार गर्ने गरेको रहेछु। जस्तै कहिलेकहीँ केही मानिसहरूले मलाई सीप-आधारित प्रश्न गर्थे, तर मलाई यी कुराबारे राम्ररी थाहा हुँदैनथ्यो, अनि साँचो कुरा भनेँ भने तिनीहरूले मलाई नीच नजरले हेर्छन् भन्ने डर लाग्थ्यो, त्यसकारण म भन्थेँ, “यदि यो समस्या समाधान हुँदैन भने, के यो तपाईंको सीपको स्तरको समस्या मात्र त होइन, कि कसो? के तपाईं आफ्नो कर्तव्यमा अल्याङटलयाङ गर्दै आउनुभएकोले यस्तो भएको होइन र? कि तपाईं सिक्न र सञ्चार गर्न सकिरहनुभएको छैन?” झट्ट हेर्दा, मैले उत्तर दिइरहेको छु जस्तो देखिन्थ्यो, तर मलाई मनमा त्यस्तो उत्तरले समस्या हल हुँदैन भन्ने थाहा हुन्थ्यो। मलाई लाग्थ्यो, त्यसरी प्रतिप्रश्न गर्दा, तिनीहरूले आत्मचिन्तन गर्नेछन्, र मलाई प्रश्न सोध्न पनि छोड्नेछन्। त्यसरी, मेरा कमीकमजोरीहरू खुलासा हुँदैनथे। म आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गर्न सधैँ धूर्त र छली भइरहेको हुन्थेँ। म आफ्नो इज्जत गुमाउनुभन्दा झूट बोल्नमै खुशी थिएँ। त्यसले सत्यताप्रति दिक्क मान्ने मेरो कपटी र धूर्त प्रकृतिलाई पूर्ण रूपमा खुलासा गर्दियो। झूट बोल्नु र छल गर्नु साँच्चै नै चलाख कार्य हो जस्तो लाग्थ्यो, तर वास्तवमा यो मूर्खता रहेछ। मैले सबैलाई ठगेँ र भ्रममा पारेँ, र तिनीहरूले मलाई आदर गरे र मैले काम पूरा गर्न र आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छु भन्ने ठाने पनि, परमेश्वरले अनुमोदन गर्नुहुन्नथ्यो—उहाँले मलाई घृणा गर्नुहुन्थ्यो। अनि यी मानिसहरूको अनुमोदनको के फाइदा? त्यो बेला, मलाई रित्तो र दयनीय महसुस भयो। म बिहानदेखि रातीसम्मै व्यस्त हुन्थेँ, तर मैले एउटा पनि साँचो कुरा बोल्न सक्दिनथेँ। मेरो छली शैतानी स्वभाव पटक्कै परिवर्तन भएको थिएन, र ममा कुनै सत्यता वास्तविकता थिएन। त्यस दिन अगुवाले मलाई यति कठोरतासाथ खुलासा, काटछाँट र निराकरण गर्नु मेरो लागि एक चेतावनी थियो। म त्यसरी अघि बढिरहनु हुँदैन, बरु मैले परमेश्वरसित क्षमा माग्नुपर्छ, इमानदार व्यक्ति बन्ने प्रयास गर्नुपर्छ, र त्यो वास्तविकतामा जिउनुपर्छ भन्ने मलाई थाहा थियो।
त्यसपछि, मैले ममा अरू केकस्ता कपटी व्यवहारहरू छन् भनेर विचार गरेँ। मैले आत्मजाँच गरेर तिनलाई परिवर्तन गर्नुपर्छ भन्ने मलाई थाहा थियो। आत्मचिन्तनद्वारा महसुस भयो कि मैले केही समयअघि लेखेको कामसम्बन्धी सारांशमा केही चतुरता लुकेका थिए। राम्रोसित र पूर्ण रूपमा गरिएको कामको बारेमा मैले विस्तृत रूपमा लेखेको थिएँ। तर लापरवाही र अप्रभावकारी रूपमा गरिएको कामको गरेमा मैले आम शब्दहरू प्रयोग गरेर लेखेको थिएँ, वा त्यसमा के-कसो हुँदै छ भनेर केही पनि लेखेको थिइनँ। मलाई याद छ, एउटा प्रोजेक्टको नतिजा राम्रो आइरहेको थिएन, तर कार्य सारांश लेख्ने बेला हुँदा, मैले साँचो कुरा लेखेँ भने सबैले के सोच्लान् भनेर सोच्न थालेँ। मैले त्यो सानो प्रोजेक्ट पनि राम्ररी गर्न सकिनँ, म अयोग्य छु भनेर पो भन्लान् कि? मैले फाइदा र बेफाइदा तुलना गरेँ, र प्रोजेक्टको प्रगतिबारे नलेख्ने निर्णय लिएँ ताकि कसैलाई पनि थाहा नहोस्, ताकि तिनीहरूले म अत्यन्तै व्यस्त छु र मैले यसबारेमा बिर्सेछु भनेर सोचून्। म षडयन्त्र गर्दै बारम्बार धूर्त र छली भइरहेको थिएँ। म कति कपटी रहेछु। मेरो विश्वासका यति वर्षहरूमा, मैले धेरै कर्तव्य पूरा गरेको र केही कठिनाइ भोग्न र मूल्य चुकाउन सकेको भए पनि, मैले सत्यताको खोजी गर्ने कार्यमा प्रयास लगाइरहेको थिइनँ। म आफ्नो प्रतिष्ठा र हैसियत कसरी रक्षा गर्ने भन्नेबारेमा मात्रै सोचिरहेको हुन्थेँ, त्यसकारण मेरो बोलीवचन र व्यवहार इमानदार व्यक्तिको जस्तो पटक्कै थिएन। सरल र खुलस्त व्यक्ति बन्ने मसँग साहस नै थिएन—कस्तो दयनीयता! कहिलेकहीँ आफैलाई सोध्थेँ: परमेश्वरले हामीलाई धेरै कुरा बताउनुभएको छ, र मैले उहाँका धेरै वचनहरू पढेको छु, तर के म यसमध्ये कुनैको वास्तविकतामा जिइरहेको छु त? म कामको सच्चा सारांशसमेत लेख्न सक्दिनथेँ। अन्त्यमा, मैले त्यसरी के प्राप्त गर्न सक्थेँ? त्यो बेला म खतरामा पर्न लागेको छु जस्तो मलाई लाग्यो। पश्चात्ताप र स्वभाव परिवर्तन गर्दिनथेँ भने, मलाई कुनै पनि बेला परमेश्वरले हटाउनुहुने थियो। मैले हृदयमा प्रार्थना गरेँ, “हे परमेश्वर, म गहन रूपमा भ्रष्ट भएको छु। आफ्नो इज्जत र हैसियत रक्षा गर्न म निरन्तर झूट बोलिरहेको र छल गरिरहेको हुन्छु। बिन्ती छ साँचो रूपमा आफूलाई चिन्न मलाई अन्तर्दृष्टि दिनुहोस्।”
त्यसपछि मैले परमेश्वरका अझ धेरै वचनहरू पढेँ, र तिनले भन्छन्: “यदि तिमीहरू अगुवा वा सेवक हौ भने, के तिमीहरूलाई परमेश्वरको घरले तिमीहरूको कामको बारेमा जाँचबुझ र सुपरिवेक्षण गर्छ भन्ने डर लाग्छ? के तिमीहरूलाई परमेश्वरको घरले तिमीहरूको कामका भूलचूक र गल्तीहरू पत्ता लगाएर तिमीहरूको काट-छाँट गर्नेछ भन्ने डर लाग्छ? के तिमीहरूलाई तिमीहरूको वास्तविक क्षमता र कदबारे माथिलाई थाहा भएपछि, उसले तिमीहरूलाई फरक नजरले हेर्नेछ र तिमीहरूलाई प्रवर्धन गर्नेबारे विचार गर्नुहुनेछैन भन्ने डर लाग्छ? यदि तँसित यी डर छन् भने, यसले तेरो प्रेरणा मण्डलीको कामका निम्ति होइन, तँ ख्याति र हैसियतका लागि काम गरिरहेको छस् भन्ने साबित गर्छ, जसबाट तँमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने प्रमाणित हुन्छ। यदि तँमा ख्रीष्टविरोधीको स्वभाव छ भने, तँ ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने, र ख्रीष्टविरोधीहरूले गरेको सबै दुष्टता गर्ने सम्भावना हुन्छ। यदि तेरो हृदयमा परमेश्वरको घरले तेरो कामको रेखदेख गर्छ भन्ने डर छैन, र तँ माथिकाले सोधेका प्रश्न र सोधपूछको साँचो जवाफ केही नलुकाई, र आफूलाई थाहा भएजति दिन सक्छस् भने, तेरो कुरा सही वा गलत जे भए पनि, तैँले जस्तो भ्रष्टता प्रकट गरे पनि—तैँले ख्रीष्टविरोधीको स्वभाव प्रकट गरे पनि—तँ ख्रीष्टविरोधी कदापि ठहरिनेछैनस्। मुख्य कुरा भनेको तैँले आफ्नो ख्रीष्टविरोधी स्वभाव चिन्न सक्छस् कि सक्दैनस्, र यो समस्या हल गर्न सत्यता खोज्न सक्छस् कि सक्दैनस् भन्ने हो। यदि तँ सत्यता स्विकार्ने व्यक्ति होस् भने, तेरो ख्रीष्टविरोधी स्वभाव सच्याउन सकिन्छ। यदि तँलाई आफूमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने कुरा राम्ररी थाहा भएर पनि त्यो हटाउन सत्यता खोज्दैनस्, यदि तँ आइपर्ने समस्याहरू लुकाउने वा समस्याबारे झूट बोल्ने र जिम्मेवारी पन्छाउने कोसिस समेत गर्छस्, अनि काटछाँटमा पर्दा सत्यता स्विकार्दैनस् भने, यो गम्भीर समस्या हो, र तँ ख्रीष्टविरोधीभन्दा फरक छैनस्। तँमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने जानेर पनि किन तँ यसलाई सामना गर्ने आँट गर्दैनस्? किन तँ यसलाई खुलस्त रूपमा लिएर यसो भन्न सक्दैनस्, ‘यदि माथिबाट मेरो कामबारे सोधपुछ गरिन्छ भने, म आफूलाई थाहा भएको सबै कुरा भन्नेछु, र यदि मैले गरेका खराब कुराहरू खुलासा भए पनि, र उसलाई थाहा भएपछि माथिकोले मलाई प्रयोग गर्न छोडे पनि, र मैले आफ्नो हैसियत गुमाए पनि, म आफूले भन्नुपर्ने कुरा स्पष्ट रूपमा भन्नेछु’? परमेश्वरको घरले तेरो कामको रेखदेख र सोधखोज गर्नेछ भन्ने तेरो डरले तैँले सत्यताभन्दा बढी हैसियतलाई बहुमुल्य ठान्छस् भन्ने प्रमाणित गर्छ। के यो ख्रीष्टविरोधीको स्वभाव होइन र? हैसियतलाई सबैभन्दा माथि राख्नु ख्रीष्टविरोधीको स्वभाव हो। तैँले किन हैसियतलाई यति बहुमूल्य ठान्छस्? तैँले हैसियतबाट कस्ता-कस्ता फाइदाहरू प्राप्त गर्न सक्छस्? यदि हैसियतले तँमाथि विपत्ति, कठिनाइ, बेइज्जती, र पीडा ल्याउँछ भने, के तैँले अझै पनि यसलाई बहुमूल्य ठान्थिस्? (ठान्नेथिइनँ।) हैसियत हुँदा प्राप्त हुने कैयौँ लाभहरू छन्, जस्तै अरू मानिसहरूको डाहा, सम्मान, आदर, र चापलुसी, साथै तिनीहरूको आदर र सम्मान। तेरो हैसियतले तँलाई श्रेष्ठता र सौभाग्यको पनि अनुभूति गराउँछ जसले तँलाई गर्व र आत्मसम्मानको अनुभव गराउँछ। यसको साथै, तैँले अरूले उपभोग गर्न नपाउने कुराहरू पनि उपभोग गर्न सक्छस्, जस्तै हैसियतका लाभहरू र विशेष व्यवहार। यी कुराहरूबारे तैँले सोच्नसमेत आँट गर्दैनस्, र यी तैँले सपना देखेका र तृष्णा गरेका कुराहरू हुन्। के तँ यी कुराहरूलाई बहुमूल्य ठान्छस्? यदि हैसियत कुनै वास्तविक महत्त्वविनाको खोक्रो कुरा हो भने, र यसको प्रतिरक्षा गरेर कुनै वास्तविक उद्देश्य पूरा हुँदैन भने, के यसलाई बहुमूल्य ठान्नु मूर्खता होइन र? यदि तैँले देहका हित र आनन्दजस्ता कुराहरूलाई त्याग्न सक्छस् भने, प्रसिद्धि, प्राप्ति, र हैसियतले अबउप्रान्त तँलाई बन्धनमा पार्नेछैन। त्यसकारण, हैसियतलाई बहुमूल्य ठान्ने र पछ्याउने समस्या समाधान गर्नुभन्दा पहिले कुन कुरा समाधान गर्नुपर्छ? सबभन्दा पहिले, दुष्कर्म र चलाकी गर्ने, कुरा लुकाउने, र ढाकछोप गर्ने, साथै हैसियतका लाभहरूमा रमाउन परमेश्वरको घरको सुपरिवेक्षण, सोधखोज, र अनुसन्धान इन्कार गर्ने कार्यमा सहभागी हुने समस्याको प्रकृतिलाई स्पष्टसित देख्न सक्नुपर्छ। के यो परमेश्वरविरुद्धको ठाडो प्रतिरोध र विरोध होइन र? यदि तैँले हैसियतका लाभहरूको लोभ गर्नुका प्रकृति र परिणामहरू स्पष्ट देख्न सक्छस् भने, हैसियतको पछि लाग्ने समस्या समाधान हुनेछ। यदि तैँले हैसियतका लाभहरूको लोभ गर्नुको सार छर्लङ्गै चिन्न सक्दैनस् भने, यो समस्या कहिल्यै समाधान हुनेछैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरको पालना गर्न होइन तर तिनीहरूको आफ्नै कुरा पालना गर्न लगाउँथे (भाग दुई))। यी वचनहरूले मलाई के बुझाए भने मैले झूट बोल्न र धोका दिनबाट आफूलाई रोक्न सकिनँ किनभने मैले प्रतिष्ठा र हैसियतलाई धेरै मूल्यवान् ठान्थेँ। मैले मेरो नाम र हैसियत रक्षा गर्न, अनि मैले कामको फलोअप गर्न नसक्नुको वास्तविकता अगुवाले नदेखून् भनेर, मेरा शब्दहरूद्वारा अगुवासँग युक्ति रच्ने, चलाकी गर्ने र भ्रम छर्ने प्रयास गरेँ। मैले कामको सारांश लेख्दा, मैले मेरा कमीकमजोरीहरू लुकाएँ, असल पक्षको बारेमा मात्रै लेखेँ, खराब पक्षको बारेमा लेखिनँ, ताकि अरूले मलाई म व्यवहारिक काम गर्ने अगुवा हुँ भनेर सोचून्। तिनीहरूले मेरो साँचो रूप देख्लान् र मलाई आदर गर्न छोड्लान्, त्यसपछि त्यो हैसियतले ल्याएको श्रेष्ठतामा म रमाउन पाउँदिनँ भन्ने डर लागेको थियो। जब मैले परमेश्वरका यी वचनहरू देखेँ: “हैसियतलाई सबैभन्दा माथि राख्नु ख्रीष्टविरोधीको स्वभाव हो,” तब मैले यो समस्या कति गम्भीर रहेछ भनेर बल्ल महसुस गरेँ। मलाई बहिष्कार गरिएका ती ख्रीष्टविरोधीहरूको याद आयो। तिनीहरू आफ्नो कर्तव्यमा सधैँ नाम र हैसियतको पछि लाग्थे, र तिनीहरू पर्दापछाडि चलाकी र छलछाम गर्थे। त्यसले मण्डलीको काममा गम्भीर रूपमा बाधा दियो, त्यसकारण तिनीहरूलाई खुलासा गरेर निकालियो। हैसियतका लाभहरूमा रमाउने झूटा अगुवाहरू पनि हुन्छन्। तिनीहरूले आफ्नो कर्तव्यमा सधैँ कपटी व्यवहार गर्छन् र आफूले वास्तविक काम नगर्दा सत्यता ढाकछोप गर्ने गर्छन्, जसले मण्डलीको काममा बाधा दिन्छ। मलाई याद छ, सुसमाचार कार्यको इन्चार्ज रहेकी एक सिस्टरले ठीक त्यसै गरेकी थिइन्। उनले त्यो बेला अर्को काम पनि सम्हालिरहेकी थिइन्, र दुवै पदमा उनी चिप्ले र छली थिइन्। सुसमाचारको कार्यमा, उनले अर्को काममा व्यस्त छु भनेर भन्थिन्, र अर्को काममा उनले सुसमाचारको काममा व्यस्त छु भनेर भन्थिन्। वास्तवमा, उनले दुवै ठाउँमा काम गरेकी हुँदिनथिन्, र अन्त्यमा खुलासा गरेर उनलाई हटाइयो। अरूको असफलताका पाठहरू मेरो लागि चेतावनी थियो। आफ्नो नाम र हैसियतको लागि खेल खेल्ने र छलछाम गर्ने गर्नु भनेको अरूलाई र आफैलाई समेत छलमा पार्नु थियो, र यो मूर्खता थियो। परमेश्वरले सबै कुरा देख्नुहुन्छ र उहाँ इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ। इमानदार मानिसहरूले मात्रै परमेश्वरको घरमा दह्रिलो स्थान पाएका हुन्छन्, र धूर्त मानिसहरूलाई ढिलोचाँडो खुलासा गरेर हटाइनेछ। मेरो विश्वासमा मैले इमानदार व्यक्ति बन्ने प्रयास गरिरहेको थिइनँ, केवल देखावटी रूप धारण गर्दै नाटक गरिरहेको थिएँ, र मैले केही मानिसहरूलाई मूर्ख बनाए पनि, म परमेश्वरको सूक्ष्म जाँचबाट भाग्न सक्दिनथेँ। अन्त्यमा, परमेश्वरले मलाई खुलासा गरेर हटाउनुहुने थियो। त्यसपछि, मैले इमानदार व्यक्ति बन्नुको महत्त्व महसुस गरेँ र परमेश्वरले भन्नुभएजस्तै इमानदार व्यक्ति बन्नु र सबै कुरामा उहाँको छानबिन स्वीकार गर्नु मात्रै उहाँको अनुमोदन प्राप्त गर्ने एउटै तरिका हो भनेर बुझेँ। परमेश्वरका वचनहरूले यसो भन्छन्: “यदि कसैले आफ्नो हृदयमा भएको कुरा सधैँ साँचो रूपमा बताउँछ भने, यदि ऊ इमानदार भई साधारण रूपमा बोल्छ, र ऊ इमानदार छ भने, र कर्तव्य निर्वाह गर्दा ऊ कदापि झारा टार्ने गर्दैन भने, र यदि उसले आफूले बुझेको सत्यता अभ्यास गर्न सक्छ भने, यस व्यक्तिले सत्यता प्राप्त गर्ने आशा हुन्छ। यदि कुनै व्यक्तिले उसलाई कसैले पनि स्पष्ट रूपमा नदेखोस् भनेर सधैँ आफूलाई ढाकछोप गर्छ र हृदयको कुरा लुकाउँछ, र अरूलाई छल गर्न झूटो छवि प्रकट गर्छ भने, ऊ गम्भीर खतरामा हुन्छ, ऊ ठूलो समस्यामा हुन्छ, र उसले सत्यता प्राप्त गर्न अत्यन्तै गाह्रो हुन्छ। व्यक्तिको दैनिक जीवन र उसको बोलीवचन र व्यवहारबाट तैँले उसको सम्भावना के छ भन्ने कुरा स्पष्ट देख्न सक्छस्। यदि यो व्यक्तिले सधैँ बहाना बनाइरहेको, सधैँ फाइँफुट्टी लगाइरहेको हुन्छ भने, ऊ सत्यता स्वीकार गर्ने व्यक्ति होइन, र ढिलोचाँडो उसलाई खुलासा गरी हटाइनेछ। … कहिल्यै हृदय खुलस्त नबनाउने, कुरा ढाकछोप गर्ने र लुकाउन खोज्ने, आदरणीय भएको ढोंग गर्ने, अरूले आफ्नो बारेमा उच्च सोचून् भनी चाहने, अरूलाई आफ्नो पूर्ण मापन गर्न नदिने र अरूले आफ्नो आदर गरून् भनी चाहने मानिसहरू—के यी मानिसहरू मूर्ख हुँदैनन् र? यी मानिसहरू सबैभन्दा मूर्ख हुन्छन्! किनभने व्यक्तिको वास्तविकता ढिलोचाँडो आफै पर्दाफास हुनेछ। यस्तो व्यवहार अँगालेर, तिनीहरू कुन मार्ग हिँड्छन्? यो फरिसीहरूको मार्ग हो। के ढोँगीहरू खतरामा हुँदैनन् र? यिनीहरू परमेश्वरले सबैभन्दा बढी तिरस्कार गर्नुहुने मानिसहरू हुन्, त्यसैले तिमीहरू के सोच्छौ, के तिनीहरू खतरामा छन्, कि छैनन्? जो फरिसीहरू हुन् तिनीहरू सबै विनाशको बाटो हिँड्छन्!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। सधैँ लुक्नु अनि ढाकछोप गर्नु, सधैँ नाटक गर्नु गलत मार्ग हो, र सही मार्गमा नफर्के हो भने, अन्त्यमा नष्ट भइनेछ। मैले परमेश्वरलाई प्रार्थना गरेँ र सङ्कल्प लिएँ, अनि स्वभावमा परिवर्तन ल्याउन र इमानदार व्यक्ति बन्न तयार भएँ।
परमेश्वरका वचनहरूले यसो भन्दा रहेछन्: “तैँले गर्ने सबै काम, प्रत्येक कार्य, प्रत्येक उद्देश्य र प्रत्येक प्रतिक्रिया परमेश्वरको सामु ल्याउनुपर्छ। यहाँसम्म कि तेरो दैनिक आत्मिक जीवन—तेरा प्रार्थनाहरू, परमेश्वरसँगको तेरो घनिष्ठता, तँ परमेश्वरका वचनहरू कसरी खान्छस् र पिउँछस्, तेरा भाइबहिनीहरूसित तेरो सङ्गति र मण्डलीभित्रको तेरो जीवन—र साझेदारीमा गरिएको तेरो सेवालाई परमेश्वरको जाँचका निम्ति उहाँको सामने ल्याउन सकिन्छ। यो यस्तो अभ्यास हो जसले तँलाई जीवनमा वृद्धि हासिल गर्न मद्दत गर्दछ। परमेश्वरको जाँच स्वीकार्ने प्रक्रिया शुद्धीकरणको प्रक्रिया हो। तँ जति धेरै परमेश्वरको जाँचलाई स्वीकार गर्न सक्छस्, त्यति नै बढी तँ शुद्ध हुन्छस् र त्यति धेरै तँ परमेश्वरका अभिप्रायहरू अनुसारको हुन्छस्, तँ अनैतिक कार्यमा आकर्षित हुनेछैनस्, र तेरो हृदय उहाँको उपस्थितिमा रहनेछ। तैँले उहाँको जाँचलाई जति धेरै स्वीकार गर्छस्, शैतानको अपमान र देहको विरुद्धमा विद्रोह गर्ने तेरो क्षमता त्यति नै बढी हुन्छ। यसैले परमेश्वरको जाँचलाई स्वीकार गर्नु भनेको मानिसहरूले अनुसरण गर्नुपर्ने अभ्यास हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरले उहाँका अभिप्रायअनुसार हुनेहरूलाई सिद्ध बनाउनुहुन्छ)। परमेश्वरका वचनहरू मनन गरेर मैले अभ्यासको मार्ग भेट्टाएँ: र त्यो हो, परमेश्वरको सूक्ष्म जाँच स्विकार्नु। जबसम्म हामी परमेश्वरको सूक्ष्म जाँच स्विकार्छौँ, तबसम्म हाम्रो चिप्ले र छली मनसाय र विचारहरूलाई सजिलै सुधार्न सकिन्छ, र यसरी मात्रै हाम्रो हृदय झन्झन् शुद्ध र इमान्दार हुन सक्छ, र यसरी मात्रै हामीले सहजै रूपमा सत्यता अभ्यास गर्न र आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छौँ। परमेश्वरको इच्छा बुझेपछि, मैले परमेश्वरको अघि आफ्नो हृदय खोल्ने, बहाना नबनाउने वा आफूलाई राम्रो देखाउने प्रयास नगर्ने र सबै कुरामा परमेश्वरको छानबिन स्वीकार गर्ने अभ्यास गरेँ। त्यसपछि कामको सारांश लेख्दा म आफैलाई इमान्दार बन्न र परमेश्वरको छानबिन स्वीकार गर्न, र आफूले राम्ररी पूरा नगरेको कामको बारेमा हुबहु व्याख्या गर्न चेतावनी दिन्थेँ। अगुवाले मेरो कामको बारेमा सोध्दा, म सचेत भएर साँचो कुरा भन्ने अभ्यास गर्थेँ। अरूले मलाई प्रश्न सोध्दा, म आफूलाई थाहा नभएको बारेमा साँचो कुरा बताउँथेँ। थाहा छ भने थाहा छ भन्थेँ, र थाहा छैन भने, थाहा छैन भन्थेँ। यसरी अभ्यास गरेपछि मैले निकै सहज महसुस गरेँ। मैले के अनुभव गरेँ भने सचेत भई परमेश्वरको छानबिन स्वीकार गर्नु नै सत्यता वास्तविकतामा प्रवेश गर्ने र भ्रष्टता हटाउने मार्ग हो। मेरो काटछाँट र निराकरण नभएको भए, मैले आफ्नो भ्रष्ट स्वभावलाई गम्भीर रूपमा जाँच्ने थिइनँ, र वास्तविकतामा प्रवेश गर्न सत्यताको खोजी अवश्य गर्ने थिइनँ। अनि, मैले विश्वास गरेको जति वर्ष भए पनि, मैले जति धेरै वटा कर्तव्य पूरा गरेको भए पनि, वा मैले जति कष्ट भोगे पनि, मेरो भ्रष्ट स्वभाव कहिल्यै परिवर्तन हुने थिएन। मैले अन्त्यसम्मै मेरो विश्वास कायम राखे पनि मुक्ति पाउन सक्ने थिइनँ, र म परमेश्वरद्वारा हटाइने कुरा पूर्वनिर्धारित हुने थियो।
त्यो बेला काटछाँट र निराकरण भएपछि, मैले इमानदार व्यक्ति बन्नुको महत्त्व देखेँ, र मैले आफ्नो छली र कपटी शैतानी स्वभावको बारेमा केही बुझाइ प्राप्त गरेँ। त्यो परमेश्वरको प्रेम र मुक्ति थियो!