५७. बुढेसकालमा झनै बढी सत्यता पछ्याउनुहोस्

जिन्‍रु, चीन

म एक इसाई परिवारमा जन्मेँ, र मैले ६० वर्षको उमेरमा सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्विकारेँ। मैले प्रभुलाई आखिरी दिनहरूमा स्वागत गर्न र परमेश्वरको अन्तिम घडीको काम स्विकार्न सकेकोमा र मुक्ति पाउने र राज्यमा प्रवेश गर्ने आफ्नो सपना चाँडै साकार हुन लागेकोमा आफूलाई निकै भाग्यमानी ठानेँ। मैले आफ्नो कर्तव्यमा मेहनत र त्यागहरू गरेँ भने, मलाई मुक्ति प्राप्त गर्ने मौका हुनेथ्यो। त्यसपछि, म मण्डलीले मलाई खटाएको कुनै पनि कर्तव्यमा लागिपरेँ, र ७० वर्षको उमेरमा समेत, म बाइक चलाउन र मण्डलीका केही काम गर्न सक्थेँ। म आफ्नो कर्तव्य निभाउँदै सिँढीमा माथि-तल गर्थेँ, कहिल्यै थकित महसुस गर्दिनथेँ। म आफूले अझै कर्तव्य निभाउन सकेकोमा खुसी थिएँ। म बुढी हुँदै जाँदा, बुढ्यौलीको असर मेरो शारीरिक क्षमतामा पऱ्यो र म शारीरिक रूपमा पहिलेजस्तो रहिनँ। मण्डलीले मेरो स्वास्थ्य विचार गरेर मलाई घरमा पाहुना राख्ने कर्तव्यमा खटायो। म अलि निराश भएँ। म बुढी हुँदै जाँदा, मेरो दृष्टि कमजोर भयो, र म बाइक चलाएर कर्तव्य निभाउन नसक्ने भएँ। म पाहुना राख्ने कर्तव्य मात्र गर्न सक्थेँ। मैले बुढी हुँदै जाँदा कुनै कर्तव्य गर्न सकिनँ भने, के अझै मुक्ति पाउन सक्थेँ र? म आफ्नो उमेर केही वर्ष कम भएको भए कति राम्रो हुनेथ्यो भनेर सोच्थेँ, र यताउता गएर परमेश्वरको काम गर्न सक्ने आफूभन्दा कान्छा ब्रदर-सिस्टरहरूलाई निकै ईर्ष्या गर्थेँ।

२०२२ को मार्चमा, मण्डलीका अगुवाले मलाई सिस्टर यु सिनलाई मद्दत गर्न खटाउनुभो। उनी ७८ वर्षकी थिइन् र उनलाई स्वास्थ्यको कारण हिँड्डुल गर्न गाह्रो थियो, र उनी बिलकुलै कुनै कर्तव्य निभाउन सक्थिनन्। उनको त्यो हालत देख्दा म दु:खी र निराश भएँ। म असी कटिसकेकी थिएँ, सिस्टर यु सिनभन्दा पनि जेठी थिएँ, मेरो स्वास्थ्य पहिलेजस्तो थिएन, र म पनि कुनै दिन बिरामी भएर कर्तव्य निभाउन सक्दिनँ कि, त्यो मलाई थाहा थिएन, त्यसपछि त म के कामको हुनेथेँ र? के मैले कुनै कर्तव्य निभाउन सकिनँ भने ममा मुक्ति पाउने आशा रहनेथ्यो? त्यसबारे जति धेरै सोच्थेँ त्यति नै व्याकुल हुन्थेँ। त्यसपछि म पनि बिरामी भएँ। एकपटक, मध्यरातमा शौचालय जान उठ्दा मलाई चक्कर लाग्यो, र बिहान हुँदा त, म ओछ्यानबाट निस्कनै सकिनँ। म यति रन्थनिएकी थिएँ कि आँखा खोल्नसमेत सकिनँ। मलाई वान्ता आयो र पखाला लाग्यो, र पेटमा पानीसमेत अडिन सकेन। मेरा श्रीमानले हाम्री छोरीलाई मेरो रेखदेख गर्न बोलाउनुभो, र दुई दिनपछि, म बल्ल ठिक हुन थालेँ। मैले आफ्नो कर्तव्यमा ढिलाइ गरिनँ, तर म निकै कमजोर थिएँ र ममा केही गर्ने शक्ति थिएन। मेरो पेटमा खान अडिन सकेन, र मलाई रन्थन भयो र वाकवाक लाग्यो। म चिन्तित भएँ, स्वास्थ्य दिनदिनै खस्किँदै गएकी बुढीमान्छे म, फेरि त्यस्तै बिरामी भएँ भने, के त्यति चाँडो निको हुन सक्थेँ र? यदि ममा सुधार आएन र कसैले मेरो रेखदेख गर्नुपर्ने भो भने, म कुनै कर्तव्य निभाउन सक्दिनथेँ, त्यसपछि के म बेकामकी हुनेथिनँ र? के म कर्तव्यविना राज्यमा प्रवेश गर्न सक्थेँ र? मेरो उमेर केही वर्ष कम भएको भए कति राम्रो हुनेथ्यो, २० वर्षपहिले जस्तो जतिखेर मैले भर्खरै यो चरणको काम स्विकारेकी थिएँ, र म कुनै काम गर्न डराउँदिनथेँ। मण्डलीले मलाई जे अह्राए पनि, नजिक होस् वा टाढा, म त्यो फत्ते गर्न सक्थेँ। कर्तव्य निभाउँदा, ममा आशिष् पाउने आशा बढी हुन्थ्यो। तर म विगतमा फर्कन सक्दिनथेँ र म कुनै कामको लायक थिइनँ। त्यसैले म दिनहरू अल्याङटल्याङ गर्दै यतिकै काट्थेँ। थाहै नपाई, म नकारात्मकता र गलतफहमीमा जिइरहेकी थिएँ। मेरो हालत नाजुक बन्दै गयो। ममा परमेश्वरका वचन पढ्ने इच्छा हरायो र कुनै कुरा गर्ने उत्साह भएन। मलाई पहिलेजस्तो आफ्नो कर्तव्यमा मन लागिरहेकी थिइनँ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! अब म बुढी भएँ र धेरै कर्तव्य निभाउन सक्दिनँ, राज्यमा प्रवेश गरेर मुक्ति पाउने आशा मेरो छैन। म साह्रै निराश छु। हे परमेश्वर, कृपया मलाई विश्वास र मार्गदर्शन दिनुहोस् ताकि म बुढ्यौलीको कारण पछि नपरूँ अनि तपाईंको इच्छा बुझ्न र यो हालतबाट निस्कन सकूँ।”

मैले परमेश्वरका केही वचन पढेपछि मेरो हालत सुध्रिन थाल्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ पाका मानिसहरू पनि छन्, जो ६० देखि ८० वा ९० वर्ष उमेरसम्मका छन् र जसले बुढेसकालको कारण केही कठिनाइहरू अनुभव गर्छन्। तर तिनीहरूको उमेर जति नै भए पनि, तिनीहरूको सोच सही वा तर्कसङ्गत हुन्छ नै भन्‍ने छैन, र तिनीहरूका विचार र दृष्टिकोणहरू सत्यताअनुरूप हुन्छन् नै भन्‍ने छैन। यी पाका मानिसहरूसँग पनि उस्तै समस्या हुन्छन्, र तिनीहरू सधैँ यस्तो चिन्ता गरिरहेका हुन्छन्, ‘अब त मेरो स्वास्थ्य स्थिति पनि त्यति राम्रो छैन र म सीमित काम मात्र गर्न सक्छु। यदि मैले यो थोरै कर्तव्य मात्रै निर्वाह गरेँ भने, के परमेश्‍वरले मलाई सम्झनुहोला त? कहिलेकाहीँ म बिरामी हुन्छु, र मलाई कसैले हेरचाह गर्नुपर्ने हुन्छ। जब मेरो हेरचाह गर्ने कोही हुँदैन, तब म आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्षम हुँदिनँ, त्यसकारण मैले के गर्न सक्छु र? म वृद्ध भइसकेँ र परमेश्‍वरका वचनहरू पढ्दा म ती याद गर्नै सक्दिनँ र सत्यता बुझ्‍न मलाई गाह्रो हुन्छ। सत्यतामा सङ्गति गर्दा, म अस्पष्ट र अतार्किक रूपमा बोल्छु, र अरूलाई सुनाउनका लागि मसँग कुनै राम्रो अनुभव छैन। म बूढो भएँ र मसँग पर्याप्त ऊर्जा छैन, मेरो दृष्टि पनि त्यति राम्रो छैन र मेरो शक्ति सकिएको छ। सबै कुरा मेरो लागि गाह्रो छ। मैले आफ्‍नो कर्तव्य निर्वाह गर्न नसक्‍ने मात्रै होइन, म सजिलै बिर्सिन्छु र गल्ती पनि गर्छु। कहिलेकाहीँ म अन्योलमा पर्छु र मण्डली र मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमा समस्या ल्याउँछु। मलाई सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न निकै गाह्रो हुन्छ। मैले के गर्न सक्छु र?’ … खास गरी, कतिपय पाका मानिसहरू यस्ता छन्, जो आफ्‍नो सारा समय आफूलाई परमेश्‍वरको लागि अर्पित गरेर अनि आफ्‍नो कर्तव्य पूरा गरेर नै बिताउन चाहन्छन्, तर शारीरिक रूपमा तिनीहरू ठीक हुँदैनन्। कतिलाई उच्‍च रक्तचापको समस्या हुन्छ, कतिलाई उच्च मधुमेह हुन्छ, कतिको ग्यास्ट्रिक समस्या हुन्छ, र तिनीहरूको शारीरिक क्षमताले कर्तव्यको माग पूरा गर्न सक्दैन, र त्यसकारण तिनीहरू फिक्री गर्छन्। तिनीहरूले भक्खरकाहरूले खान-पिउन, दौडन र उफ्रन सकेको देख्छन् र तिनीहरूलाई डाहा लाग्छ। तिनीहरूले भक्खरकाहरूले यस्ता कुराहरू गरेको जति देख्छन्, त्यति नै तिनीहरूलाई हैरानी हुन्छ, र तिनीहरूले सोच्छन्, ‘म आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न र सत्यता पछ्याउन र बुझ्‍न चाहन्छु, र म सत्यता अभ्यास गर्न पनि चाहन्छु, तैपनि किन गाह्रो हुन्छ? म अत्यन्तै वृद्ध र काम नलाग्‍ने भएको छु! के परमेश्‍वर पाका मानिसहरूलाई चाहनुहुन्‍न? के पाकाहरू साँच्‍चै काम नलाग्‍ने हुन्छन्? के हामीले मुक्ति प्राप्त गर्न सक्दैनौँ?’ यसबारे जसरी विचार गरे पनि तिनीहरू दुःखित हुन्छन् र खुसी हुन सक्दैनन्। तिनीहरू त्यस्तो सुन्दर समय र त्यस्तो ठूलो अवसर गुमाउन चाहँदैनन्, तर तिनीहरू भक्खरकाहरूले जसरी आफूलाई काममा अर्पित गर्न र आफ्‍नो सारा हृदय र प्राणले कर्तव्य पूरा गर्न सक्दैनन्। यी पाका मानिसहरू आफ्‍नो उमेरको कारण हैरानी, बेचैनी र चिन्ताको गहिराइमा डुब्छन्। कुनै मुस्किल, बाधा, कठिनाइ, वा अवरोध सामना गर्दा, हरेक-पटक नै तिनीहरूले आफ्‍नो उमेरलाई दोष दिन्छन्, र आफूलाई घृणासमेत गर्छन् र आफूलाई मन पराउँदैनन्। तर जे भए पनि, यसको कुनै सीप लाग्दैन, कुनै हल हुँदैन, र तिनीहरूसँग अघि बढ्ने कुनै बाटो हुँदैन। के साँच्‍चै तिनीहरूसँग अघि बढ्ने कुनै बाटो नहुने हो त? के यसको कुनै हल छ? (पाका मानिसहरूले पनि आफूले सक्नेजति आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ।) पाका मानिसहरूले आफूले सक्नेजति कर्तव्य निर्वाह गर्न व्यवहार्य हुन्छ, होइन र? के पाका मानिसहरू आफ्नो उमेरको कारण सत्यता पछ्याउन नसक्‍ने हुन्छन् र? के तिनीहरू सत्यता बुझ्‍न सक्‍ने हुँदैनन् र? (बुझ्‍न सक्‍ने हुन्छन्।) के पाकाहरूले सत्यता बुझ्‍न सक्छन्? तिनीहरूले त्यो केही मात्रामा बुझ्‍न सक्छन्। जवान मानिसहरूले पनि त्यो सबै बुझ्‍न सक्ने चाहिँ होइन। पाकाहरूमा सधैँ भ्रम हुन्छ, र तिनीहरूलाई आफू अन्योलमा परेको छु, आफ्नो स्मरण शक्ति खराब छ, त्यसकारण आफूले सत्यता बुझ्‍न सक्‍दिनँ भन्‍ने लाग्छ। के यो तथ्य हो? (होइन।) कम उमेरका मानिसहरूसँग पाकाहरूमा भन्दा ज्यादा ऊर्जा हुने, र तिनीहरू शारीरिक रूपमा दह्रिला हुने भए पनि, तिनीहरूको बुझ्‍ने, जान्‍ने, र चिन्‍ने क्षमता पाकाहरूको जति नै हुन्छ। के पाकाहरू पनि कुनै बेला जवान नै थिएनन् र? तिनीहरू बुढो भएर जन्‍मेका थिएनन्, र कम उमेरका मानिसहरू पनि एक दिन पाका हुनेछन्। पाकाहरूले सधैँ आफू वृद्ध, शारीरिक रूपमा कमजोर, बिसन्चो, र स्मरण शक्ति कमजोर भएको कारण, जवान मानिसहरूभन्दा फरक छु भनेर सोच्‍नु हुँदैन। वास्तवमा, यहाँ कुनै भिन्‍नता हुँदैन। कुनै भिन्‍नता हुँदैन भनेर मैले भन्‍नुको अर्थ के हो? कुनै व्यक्ति वृद्ध भए पनि जवान भए पनि, उसको भ्रष्ट स्वभाव उस्तै हुन्छ, सबै कुराहरूबारे उसको मनोवृत्ति र दृष्टिकोण उस्तै हुन्छ, र सबै किसिमका कुराहरूबारे उसको दृष्टिकोण र अडान उस्तै हुन्छन्। त्यसकारण, पाकाहरूले तिनीहरू वृद्ध भएकोले, भक्खरकाहरूको भन्दा कम अभिलाषा भएकोले, र तिनीहरू स्थिर हुन सक्‍ने भएकोले, तिनीहरूसँग कुनै बेकाबु अभिलाषा वा इच्छा हुँदैन, र तिनीहरूमा कम भ्रष्ट स्वभाव हुन्छ भनेर सोच्‍नु हुँदैन—यो एउटा भ्रम हो। भक्खरकाहरूले पदको लागि सङ्घर्ष गर्न सक्छन्, त्यसोभए के पाकाहरूले पदको लागि सङ्घर्ष गर्न सक्दैनन् र? भक्खरकाहरूले सिद्धान्तहरूविरुद्ध काम गर्न र स्वेच्‍छाचारी व्यवहार गर्न सक्छन्, त्यसोभए के पाकाहरूले त्यसो गर्न सक्दैनन् र? (तिनीहरूले सक्छन्।) भक्खरकाहरू अहङ्कारी हुन सक्छन्, त्यसोभए के पाकाहरू पनि अहङ्कारी हुन सक्दैनन् र? तैपनि, जब पाकाहरू अहङ्कारी हुन्छन्, तब वृद्धावस्थाको कारण तिनीहरू त्यति आक्रामक हुँदैनन्, र त्यो त्यति उच्‍च अहङ्कार हुँदैन। भक्खरकाहरूले तिनीहरूको लचकदार हातखुट्टा र मस्तिष्कको कारण अहङ्कारको अझै स्पष्ट प्रकटीकरण देखाउन सक्छन्, जबकि पाकाहरूले तिनीहरूको कडा हातखुट्टा र अलचक मस्तिष्कको कारण अहङ्कारको त्यति स्पष्ट प्रकटीकरण देखाउँदैनन्। तैपनि, तिनीहरूको अहङ्कार र भ्रष्ट स्वभावको सार एउटै हुन्छ। कुनै पाको व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेको जति लामो समय भए पनि, वा उसले आफ्‍नो कर्तव्य पूरा गर्दै आएको जति वर्ष भए पनि, यदि ऊ सत्यता पछ्याउनमा लागेको छैन भने, उसको भ्रष्ट स्वभाव उस्तै रहनेछ। … त्यसकारण, पाका मानिसहरूको काम नै नभएको र तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न असक्षम हुने होइन, वा तिनीहरू सत्यता पछ्याउन असक्षम हुने त झनै होइन—तिनीहरूले गर्नुपर्ने धेरै कुराहरू छन्। तेरो जीवनकालमा तैँले सबै प्रकारका विधर्म र भ्रमहरू, साथै विभिन्‍न परम्परागत विचार र धारणाहरू, मूर्ख र हठी कुराहरू, रूढिवादी कुराहरू, अविवेकी कुराहरू, र विकृत कुराहरू थुपारेको छस्। यी कुराहरू तेरो हृदयमा ज्यादै नै थुप्रिएका छन्। तैँले यी कुराहरूलाई खोतल्न, चिरफार गर्न, र चिन्न जवान मानिसहरूले भन्दा पनि धेरै समय खर्च गर्नुपर्छ। तेरो कुनै काम नभएको होइन। जब तँ फुर्सदमा हुन्छस्, तब तँ हैरान, बेचैन, र चिन्तित बन्छस्, जुन न त तेरो काम हो न त तेरो जिम्मेवारी। सबैभन्दा पहिले, पाका मानिसहरूसँग सही मानसिकता हुनुपर्छ। तेरो उमेर ढल्किँदै गएको र तँ शारीरिक रूपमा केही बूढो भएको भए पनि, तँसँग जवान मानसिकता हुनुपर्छ। तँ बूढो हुँदै गएको, तेरो सोचाइ सुस्त भएको, र तेरो स्मरणशक्ति कमजोर भएको भए पनि, यदि तैँले अझै पनि आफूलाई चिन्न सक्छस्, अझै पनि मैले भनेका वचनहरू बुझ्न सक्छस्, र अझै पनि सत्यता बुझ्न सक्छस् भने, त्यसले तँ बूढो छैनस् र तेरो क्षमता कमजोर छैन भनी प्रमाणित गर्छ। यदि कोही ७० वा ८० को दशकमा छ तर सत्यता बुझ्न सक्षम छैन भने, यसले उसको कद धेरै सानो र अपुग छ भन्ने देखाउँछ। त्यसकारण, सत्यताका सम्बन्धमा उमेर असान्दर्भिक हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। मैले त्यो खण्ड धेरैपटक पढेँ। परमेश्वरको वचनले साँच्चै सिधै मेरो हृदय छोयो, र मेरो वास्तविक स्थिति उदाङ्गो पाऱ्यो। मैले बुझेँ, अब म बुढी भइसकेकी रहेछु र पहिलेको अवस्थामा रहेनछु, त्यसैले दौड्धुप गरेर कर्तव्य निभाउन सक्दिनथेँ, घरमा पाहुना राख्न मात्र सक्थेँ। अनि मैले सिस्टर यु सिनलाई घरमा कुनै कर्तव्य निभाउन नसक्ने अवस्थामा देख्दा, मलाई आफ्नो उमेरको साह्रै चिन्ता लाग्यो, यदि मैले कुनै दिन साँच्चै चलमल गर्न वा कर्तव्य निभाउन सकिनँ भने, मुक्ति पाउन सक्दिनथेँ। राज्यमा प्रवेश नपाउनेबारे सोच्दा मलाई असाध्यै पीडा हुन्थ्यो र दुःख लाग्थ्यो, र त्यसले गर्दा म आफ्नो गन्तव्यबारे चिन्तित हुन्थेँ। म नकारात्मक र निराशाजनक हालतमा जिएँ, ममा कुनै कुरा गर्ने उत्साह हरायो। परमेश्वरका वचन पढेर म उत्प्रेरित भएँ र मेरो मन प्रफुल्ल भयो। पाका मानिससँग कुनै विकल्प नहुने र उनीहरूले मुक्ति पाउन नसक्ने, हामीले केही गर्न वा कुनै कर्तव्य लिन नसक्ने होइन। बुढेसकालको अर्थ मन बुढो हुनु र हामीले गर्न सक्ने केही नहुनु होइन। पाका मानिसहरू अझै पहिलेजस्तै कामकुरा गर्न सक्छन्, हामीले परमेश्वरको वचन पढ्नुपर्छ र प्रार्थना गर्नुपर्छ, र हामी आफूले गर्न सक्ने कर्तव्य सदाझैँ गर्न सक्छौँ। पाकाहरूले पहिलेजति कर्तव्य गर्न नसक्ने हुनाले परमेश्वरले उनीहरूलाई अनुमोदन गर्दिनँ भनेर कहिल्यै भन्नुभएको छैन। साथै, वृद्ध र युवा दुवैमा भ्रष्ट स्वभावहरू हुन्छन्, र ती हटाउन हामी सबैले सत्यता खोज्नुपर्छ। विशेष गरी मजस्ता पाका मानिसका लागि, घर, विद्यालय, र समाजमा जिउने क्रममा, हामीले सबै प्रकारका सोच, धारणा र जीवनदर्शन विकास गरेका हुन्छौँ। अति धेरै यी शैतानी दर्शन, झूटो शिक्षा र भ्रमहरू मेरो दिमागमा थुप्रिएका थिए। म वर्षौँदेखि विश्वासी थिएँ, तर यी शैतानी विषहरू ममा अझै गढिएका थिए र ती मेरो बचाइका नियम बनेका थिए। कहिलेकाहीँ म अरूसँग भेलामा हुँदा, कोही गलत स्थितिमा जिइरहेको वा नकारात्मकता फैलाइरहेको देख्थेँ। उसले अरूलाई भनेको कुरा शिक्षाप्रद थिएन भनेर मैले एकदमै प्रस्टसित देखेँ, तर म आपसी सम्बन्ध जोगाउन चुप बसेँ। म “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ” भन्ने शैतानी दर्शनअनुसार जिएँ। म सत्यता अभ्यास गर्न अनिच्छुक भएँ, उसलाई चिढ्याउँछु कि भनी हिचकिचाएँ। भेलाहरूमा, हामीले बाइबलका केही पात्र र कथाबारे कुरा गर्दा, कतिपय ब्रदर-सिस्टरहरू त्यो बुझ्थेनन्, अनि म अहङ्कारी स्वभाव देखाउँथेँ। मलाई आफू पुरानो इसाई भएकाले उनीहरूभन्दा बढी जान्दछु भन्ने लाग्थ्यो, त्यसैले म उनीहरूलाई त्यो व्याख्या गरिदिन्थेँ, र त्यसलाई धाक लगाउने पूँजीको रूपमा चलाउँथेँ। अत्यन्तै धेरै भ्रष्ट स्वभाव नहटाइएकाले, मैले अझ बढी जरुरी ठानेर सत्यता पछ्याने प्रयास गर्नुपर्थ्यो। मैले आफ्नो भ्रष्टता हटाउन बाँकी जीवनमा अझ धेरै सत्यता खोज्नुपर्छ। मैले गर्नुपर्ने काम र प्रवेश गर्नुपर्ने सत्यता अत्यन्तै धेरै छन्। तर, म सधैँ युवाहरूको राम्रो स्वास्थ्य र थुप्रै सम्भावित कर्तव्यको ईर्ष्या गर्थेँ, उनीहरूमा मुक्ति पाउने आशा बढी छ भन्ने सोच्थेँ। अहिले म चलमल गर्न नसक्ने र आफ्नो कर्तव्य सीमित भएकाले, मलाई राज्यमा ठाउँ मिल्नेछैन भनी चिन्ता लिन्थेँ। म निस्कनै नसक्ने नकारात्मक स्थितिमा डुबेँ। अहिले सोच्दा, त्यो ठूलो मूर्खता थिएछ। ममा उचित मनोवृत्ति हुनुपर्थ्यो। म बुढी र मेरो देह चाउरिँदै गएको भए पनि, अझै परमेश्वरको वचन बुझ्न सक्छु, र ममा अझै सामान्य समझ र विवेक छ, त्यसैले मैले समय खेर नफाली सत्यता पछ्याउनुपर्छ, र म पीडा र चिन्तामा जिइरहनु हुँदैन। यो कुरा परमेश्वरका वचनको यो खण्डमै पाइन्छ: “तँ बूढो हुँदै गएको, तेरो सोचाइ सुस्त भएको, र तेरो स्मरणशक्ति कमजोर भएको भए पनि, यदि तैँले अझै पनि आफूलाई चिन्न सक्छस्, अझै पनि मैले भनेका वचनहरू बुझ्न सक्छस्, र अझै पनि सत्यता बुझ्न सक्छस् भने, त्यसले तँ बूढो छैनस् र तेरो क्षमता कमजोर छैन भनी प्रमाणित गर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरको वचनले मेरो हृदय प्रफुल्ल बनायो, र मलाई तुरुन्तै केही कुराका लागि प्रयत्न गर्नुपर्छ भन्ने लाग्यो। परमेश्वर म बुढी छैन भन्नुहुन्छ, त्यसैले मैले आफ्नो बाँकी जीवनमा लगनशील भई झनै बढी सत्यता पछ्याउनुपर्छ।

मैले परमेश्वरका वचनमा यो पनि पढेँ: “म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, ऊ कति दयनीय छ भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु ऊसँग सत्यता छ कि छैन भन्‍ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। “परमेश्‍वरको चाहना हरेक व्यक्ति सिद्ध पारिओस्, अन्त्यमा उहाँद्वारा प्राप्त हुन सकोस्, उहाँद्वारा पूर्ण रूपमा धोइओस् र उहाँले प्रेम गर्नुहुने मानिसहरू बनोस् भन्‍ने छ। मैले तिमीहरू पिछडिएका छौ वा कम क्षमताका छौ भने पनि—यी सब तथ्य हुन्। तर, मैले यसो भन्नुले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा गुमाएको छु भन्‍ने प्रमाणित गर्दैन, अनि म तिमीहरूलाई मुक्ति दिन अनिच्छुक छु भन्‍ने त झनै प्रमाणित गर्दैन। आज म तिमीहरूको लागि मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध पारिने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एक जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर क्षमताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँप्रतिका मेरा मागहरू यसअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्‍ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्षम छस् भने, तँप्रति मेरा मागहरू यही बमोजिम हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्दिनँ, निश्‍चित प्रकारका प्रकार्य मात्र गर्न सक्छु भन्छस् भने, चाहे त्यो सुसमाचार प्रचार गर्ने होस् वा मण्डलीको रेखदेख गर्ने होस्, वा अन्य सामान्य कुराहरूमा सहभागी हुने होस्, मैले तँलाई सिद्ध पार्ने काम तैँले गर्ने प्रकार्यअनुसार हुनेछ। बफादार हुनु, अन्त्यसम्म समर्पित हुनु र परमेश्‍वरलाई सक्दो प्रेम गर्न खोज्नु—यी तैँले पूरा गर्नैपर्ने कुरा हुन्, केवल यी तीन कुरा, र यी सबैभन्दा राम्रा अभ्यासहरू हुन्” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। म परमेश्वरका यी वचनहरूद्वारा एकदमै उत्प्रेरित भएँ। परमेश्वरले कहिल्यै कसैको परिणाम क्षमता, उमेर वा उसले निभाएको कर्तव्यको मात्राको आधारमा निर्धारण गर्नुभएको छैन। परमेश्वर त मानिसहरू उहाँप्रति समर्पित र आज्ञाकारी छन् कि छैनन् भनेर मात्र हेर्नुहुन्छ। यदि कुनै व्यक्ति सत्यता पछ्याउन सङ्कल्पित छ, र उसले साँचो आस्था राख्छ र सत्यतालाई प्रेम गर्छ भने, परमेश्वरले उसलाई त्याग्नुहुनेछैन। मैले परमेश्वर धर्मी हुनुहुन्छ, र उहाँका मापदण्डहरू सबैका लागि एउटै हुँदैनन् भन्ने बुझेँ। उहाँ मानिसबाट उसको कद र उसले हासिल गर्न सक्ने कुराको आधारमा मागहरू गर्नुहुन्छ। पाहुना राख्न सक्नेहरूले पाहुना राख्नुपर्छ, सुसमाचार सुनाउन सक्नेहरूले सुसमाचार सुनाउनुपर्छ। मानिसले आफूले निभाउन सक्ने कर्तव्य निभाउनुपर्छ। हामी सत्यता पछ्याउन र परमेश्वरका वचनको आधारमा काम गर्न सक्छौँ भने, मुक्ति प्राप्त गर्ने मौका पाउँछौँ। तर मलाई बुढेसकालमा कुनै कर्तव्य गर्न सक्दिनँ, र परमेश्वरले मलाई अनुमोदन गर्नुहुन्न भन्ने लाग्थ्यो। म परमेश्वरलाई सांसारिक हाकिमजस्तो ठान्थेँ जसले तिमीलाई काम नसकिन्जेल र तिम्रो मूल्य होइन्जेल राख्नेछ नत्र हटाउनेछ। यो त परमेश्वरको डर नभएको हो। यो मैले आफ्ना गलत धारणा र कल्पनाको कारण परमेश्वरको इच्छालाई गलत बुझेको पनि हो। साथै, परमेश्वरले पाकाहरूलाई मुक्ति दिन वा सिद्ध पार्न सकिन्न भनेर कहिल्यै भन्नुभएको छैन। मैले मण्डलीबाट निष्कासित भएका ख्रीष्टविरोधी र दुष्टकर्मीहरूबारे सोचेँ। कतिपय मभन्दा कान्छा थिए, र उनीहरूले आफ्नो कर्तव्यका निम्ति घर र जागिर त्यागेका थिए। उनीहरूले मानव मानकअनुसार कडा मेहनत गरे, तर उनीहरूले सत्यता पछ्याएनन् र उनीहरूको भ्रष्ट स्वभाव रत्तीभर बद्लिएन। उनीहरूले आफ्ना शैतानी प्रकृतिअनुसार कामकुरा गरे, परमेश्वरको घरको काममा अवरोध पुऱ्याए, कहिल्यै पश्चात्ताप गरेनन्, र उनीहरू अन्त्यमा परमेश्वरद्वारा हटाइए। पाका सदस्यहरूबारे कुरा गर्नुपर्दा, कतिपय घरमै बसेर पाहुना राख्ने काम गर्छन्, कतिपयले मण्डलीको हिसाबकिताब हेर्छन्, तर उनीहरू सबैले आफूले खेल्नुपर्ने भूमिका खेल्छन्। परमेश्वर उनीहरूलाई पाका भएकाले वा त्यति धेरै कर्तव्य निभाउन नसक्ने भएकाले पिठ्युँ फर्काउने वा हटाउने गर्नुहुन्न। मैले परमेश्वर मानिसलाई उसको उमेरको कारण नभई, उसको प्रकृति सारको कारण हटाउनुहुन्छ भन्ने बुझेँ। अब म बुढी भएकी छु, म मण्डलीलाई पहिलेजस्तो साथ दिन सक्दिनँ। म आफ्नो घरमा अरूलाई पाहुना राख्ने काम गरिरहेकी छु। त्यसैले मैले पाहुना राख्ने आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्छ र आफ्नो घरमा भेलाका लागि सुरक्षित वातावरण कायम राख्नुपर्छ, ताकि ब्रदर-सिस्टरहरू ढुक्कसँग आउजाउ गर्न सकून्। यो त मैले आफूलाई कर्तव्यप्रति समर्पित गर्नु हो। मेरी छिमेकी सिस्टर यु सिन अस्वस्थ छिन् र उनलाई साथ चाहिन्छ, त्यसैले मैले आफूले सक्दो गर्नुपर्छ, र उनीसँग भेटेर सङ्गति गर्नुपर्छ। र आफूलाई चुनौती वा समस्याहरू आइपर्दा, मैले ती समाधान गर्न प्रार्थना गर्नुपर्छ र परमेश्वरका वचन पढ्नुपर्छ। यदि पाँच केजी बोक्न सकिन्छ भने, म पाँच केजी बोक्नेछु, र २० केजी बोक्न सकिन्छ भने, २० केजी बोक्नेछु। तिमीले सक्दो राम्रो गर, र सकेजति गर—त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यो बुझेपछि, मलाई लज्जित र अपमानित महसुस भयो। मैले परमेश्वरको इच्छा बुझेकी थिइनँ र उहाँका वचनको आधारमा कामकुरा हेर्ने वा काम गर्ने गरिरहेकी थिइनँ। बरु, म आफ्नै गलत दृष्टिकोणअनुसार जिइरहेकी र परमेश्वरलाई गलत बुझिरहेकी थिएँ। म साँच्चै विद्रोही थिएँ।

मैले म किन बुढी हुने, कर्तव्य निभाउन नसक्ने, र हटाइनेबारे सधैँ चिन्ता गर्छु भनी चिन्तन गरेँ। त्यसको पछाडि के मनसाय थियो? मैले आफ्नो खोजीमा, परमेश्वरका वचनका दुइटा खण्ड पढेँ: “कतिपय मानिस परमेश्‍वरमाथिको आस्थालेगर्दा आशिषहरू पाइन्छ भन्‍ने देख्‍ने बित्तिकै जोशले भरिन्छन्, तर तिनीहरू शोधनहरू भोग्नुपर्छ भन्‍ने देख्‍ने बित्तिकै सबै ऊर्जा गुमाउँछन्। के त्यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? अन्ततः तैँले आफ्नो आस्थामा परमेश्‍वरसामु पूर्ण र पूरा समर्पणता हासिल गर्नैपर्छ। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तर अझै पनि उहाँबाट मागहरू गर्छस्, तैँले छोड्न नसक्ने धेरैवटा धार्मिक धारणा छन्, तैँले त्याग्न नसक्ने व्यक्तिगत हितहरू छन्, र अझै पनि तँ देहका आशिष्‌हरू खोज्छस् र परमेश्‍वरले तेरो देहलाई मुक्ति दिनुहोस्, तेरो प्राणलाई मुक्ति दिनुहोस् भन्ने चाहन्छस्—यी सबै गलत दृष्टिकोण भएका मानिसहरूमा हुने व्यवहारहरू हुन्। धार्मिक विश्‍वास हुने मानिसहरूमा परमेश्‍वरप्रति आस्था भए पनि, तिनीहरू आफ्नो स्वभाव परिवर्तन गर्न खोज्दैनन् र परमेश्‍वरको ज्ञान पछ्याउँदैनन्, बरु तिनीहरूको देहका हितहरू मात्र खोज्छन्। तिमीहरूमध्ये धेरै जनामा धार्मिक विश्वासको वर्गमा पर्ने आस्था छ; यो परमेश्‍वरमाथिको साँचो आस्था होइन। परमेश्‍वरमा विश्‍वास गर्नका निम्ति मानिसहरूमा उहाँका निम्ति दुःख भोग्न तयार हुने र आफैलाई त्याग्ने सङ्कल्प हुने हृदय हुनैपर्छ। मानिसले यी दुईवटा सर्त पूरा नगरे परमेश्‍वरमाथिको तिनीहरूको आस्था मान्य हुँदैन, र तिनीहरू आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्दैनन्। साँचो रूपले सत्यता, परमेश्‍वरको ज्ञान, र जीवन पछ्याउने मानिसहरू मात्रै परमेश्‍वरमा साँच्चै विश्‍वास गर्नेहरू हुन्” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। “मानिसहरू सबैले आशिष्‌, पुरस्कार, र मुकुटहरू पाउनका लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। के हरेक व्यक्तिको हृदयमा यही अभिप्राय हुँदैन र? वास्तवमा, हरेक व्यक्तिमा हुन्छ। यो तथ्य हो। मानिसहरूले यसबारे प्रायः कुरा नगरे पनि, र आशिष्‌ प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहनालाई ढाकछोप गरे पनि, मानिसहरूको हृदयको गहिराइमा रहेको यो चाहना, यो अभिप्राय र मनसाय कहिल्यै डगमगाएको छैन। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य निर्वाह गर्न सक्ने भए पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आशिष् प्राप्त गर्ने अभिप्राय कहिल्यै त्याग्दैनन् जुन तिनीहरूको हृदयको गहिराइमा लुकेको हुन्छ, र तिनीहरू सधैँ चुपचाप यसको सेवामा परिश्रम र दौडधुप गर्छन्। के मानिसहरूको हृदयको सबैभन्दा गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष्‌ प्राप्त गर्ने यो अभिप्राय नहुने हो भने, तिमीहरूले कस्तो महसुस गर्नेथियौ? तिमीहरूले कस्तो मनोवृत्तिका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेथियौ र परमेश्‍वरलाई पछ्याउनेथियौ? यदि मानिसहरूको हृदयमा लुकेको आशिष्‌ प्राप्त गर्ने यो अभिप्रायलाई पूर्ण रूपमा उन्मूलन गरियो भने तिनीहरूको के हालत हुनेथियो? यो सम्भव छ कि धेरै मानिसहरू नकारात्मक बन्नेथिए, र कतिपय आफ्नो कर्तव्यमा अप्रेरित हुनेथिए, र परमेश्‍वरमाथि विश्‍वासमा तिनीहरूको रुचि हराउनेथियो। तिनीहरूले आफ्नो आत्मा गुमाएजस्तो देखिनेथियो, र तिनीहरूको हृदय खोसिएजस्तो देखिनेथियो। त्यसैले म भन्छु कि आशिष्‌ प्राप्त गर्ने अभिप्राय मानिसहरूको हृदयको गहिराइमा लुकेर रहने कुरा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्वर यी वचनहरूमा ठ्याक्कै मेरै स्थितिको खुलासा र मूल्याङ्कन गर्नुहुन्छ। परमेश्वर साँच्चै मानिसको हृदय र मन जाँच्नुहुन्छ। यसले मेरा भित्री मनसाय र आशिष् पाउने आशा, अनि मेरो आस्था आशिषकै निम्ति मात्र हो भन्ने कुरा खुलासा गऱ्यो। मैले भर्खरै कामको यो चरण स्विकारेको बेला, म राज्यमा प्रवेश गर्ने मौकाद्वारा प्रेरित भएकी थिएँ। म मण्डलीले चाहेको जे पनि गर्न इच्छुक थिएँ। म घाम-पानी नभनी आफ्नो कर्तव्य निभाउँथेँ। म सोच्थेँ, यदि मैले मूल्य चुकाएँ भने परमेश्वरले अनुमोदन गर्नुहुनेछ, र त्यसपछि मुक्ति र स्वर्गको राज्यको आशिष् पाउनेछु। तर अब मैले आफ्नो उमेर ढल्दै गएको, र बुढ्यौलीको कारण पुरै शारीरले त्यति राम्रो काम नगरेको, र आफूले पहिले निभाउन सकेको कर्तव्यहरू निभाउन नसकेको देखेँ, त्यसैले, म आफू कुनै दिन बिरामी पर्नेछु र कर्तव्य निभाउन सक्नेछैनँ भनी चिन्तित भएँ। त्यसले गर्दा मलाई दुःख लाग्यो र पीडा भयो। अनि आफू बिरामी परेर चलहल गर्न नसकेका ती दुई दिनबारे सोच्दा, फेरि बिरामी परेर चाँडै निको भइनँ भने, कुनै कर्तव्य निभाउन सक्नेछैनँ र मुक्ति पाउन सक्दिनँ भनी मलाई झनै बढी चिन्ता लाग्यो। मलाई आफ्नो हृदय खोक्रो लाग्यो, अनि म उदास र खिन्न भएँ। ममा परमेश्वरका वचन पढ्ने र प्रार्थना गर्ने उत्साह भएन, मलाई हरेक दिन त्यतिकै अल्याङ्टल्याङ गरेर बिताउँछु भन्ने लाग्यो। मैले आफ्नो हृदयमा आशिष् पाउने मनसाय दह्रिलो गरी गडिएको छ, र म सधैँ यो लक्ष्य हासिल गर्न परिश्रम र प्रयत्न गरिरहेकी छु भन्ने साँच्चै बुझेँ। यसो हेर्दा म कर्तव्य निभाइरहेकी थिएँ र परमेश्वरलाई सन्तुष्ट तुल्याउन चाहन्थेँ, तर खासमा, म आफ्नो कर्तव्य स्वर्गको राज्यको आशिषसित साट्न चाहन्थेँ। म आफ्नो गन्तव्यका लागि काम गरिरहेकी थिएँ। म स्वभावैले साँच्चै अति दुष्ट र धूर्त छु। म इसाई परिवारमा जन्मेँ, मैले मेरा आमाबाबुलाई पछ्याएँ र सानैदेखि प्रभु येशूमा विश्वास गरेँ। मैले ६० वर्षकी हुँदा, परमेश्वरका आखिरी दिनहरूको काम स्विकारेँ। मैले अति धेरै कुरा पाइसकेकी छु। परमेश्वरले आखिरी दिनहरूको सत्यताको हरेक पक्षबारे प्रस्ट रूपमा सङ्गति गर्नुभएको छ, अनि उहाँको वचनको न्याय र सजायमार्फत, मैले आफ्नो भ्रष्ट प्रकृति र शैतानी विषलाई केही मात्रामा बुझेकी छु, म आफूलाई घृणा गर्न सक्छु, र मेरो भ्रष्ट स्वभाव अलि परिवर्तन भएको छ। यी मैले परमेश्वरका वचनको न्याय र सजाय अनुभव गरेर पाएका प्रतिफल हुन्। यो परमेश्वरबाटको ठूलो अनुग्रह हो! मैले यति ठूलो मुक्ति प्राप्त गरेकी छु। परमेश्वरले अहिले नै यो मेरो सास लानुहुने हो भने पनि, म पछुतो गर्नेथिनँ, र म परमेश्वरप्रति कृतज्ञ हुनेथेँ। तर म अहिले नि जीवितै छु, र मेरो सास चलिरहेको छ। मैले सम्पूर्ण हृदयले सत्यता र स्वभाव परिवर्तनलाई पछ्याउनुपर्छ। मैले भविष्यमा आशिष् पाऊँ वा विपत्ति भोगूँ, म परमेश्वरको शासन र बन्दोबस्तमा समर्पित हुनुपर्छ। सृजित प्राणीको रूपमा ममा हुनुपर्ने समझ यही हो। तर परमेश्वरका वचनबाट यत्तिका भरणपोषण पाएपछि पनि मलाई उहाँको प्रेमको ऋण कसरी तिर्ने भनी थाहा थिएन। म आफ्नो कर्तव्य प्रयोग गरेर राज्यको आशिष पाउन परमेश्वरसित सौदा गर्न चाहन्थेँ। मलाई त्यो कुरा पाउन सक्दिनँ भन्ने लाग्दा, नकारात्मक बनेँ र परमेश्वरलाई गलत बुझेँ। मसित विवेक वा समझ थिएन। मेरो मानवता कहाँ गयो? म अत्यन्तै स्वार्थी, घृणित र नीच थिएँ। आस्थामा मेरो आशय र दृष्टिकोण सही थिएन। म स्वर्गको राज्यमा प्रवेश गर्न मात्र चाहन्थेँ, र मैले दैहिक लाभ र आशिषहरू मात्र पछ्याउँथेँ। म पावलकै मार्गमा थिएँ। मैले पावलले कसरी त्यति धेरै कुरा हासिल गरे भनी सोचेँ, तर उनी इनाम र मुकुट पाउन मात्र आस्था राख्थेँ। उनले आफ्नो कामलाई परमेश्वरसित सौदा गर्न र त्यो स्वर्गका आशिषसँग साट्न चलाइरहेका थिए। उसले परमेश्वरलाई जान्न खोजेन। ऊ परमेश्वरविरोधी मार्गमा थियो। अन्त्यमा, ऊ परमेश्वरद्वारा दण्डित भयो। मेरो पछ्याइ पावलकै जस्तो थियो। मैले परमेश्वरलाई सन्तुष्ट पार्न स्वभाव परिवर्तनलाई पछ्याइनँ, र म आशिषका लागि मात्र आफ्नो कर्तव्य निभाइरहेकी थिएँ। यसो हेर्दा म कर्तव्य निभाइरहेकी थिएँ, तर वास्तवमा परमेश्वरलाई छल गरिरहेकी थिएँ। म साँचो विश्वासी थिइनँ। साँचो विश्वासी त्यो व्यक्ति हो जसले सत्यता पछ्याउँछ, परमेश्वरलाई जान्न र प्रेम गर्न खोज्छ। उसले कसरी आफ्नो कर्तव्य निभाउँछ भन्ने कुराका कुनै सर्त वा सम्झौता हुँदैन। कुनै व्यक्तिगत मनसाय वा लक्ष्य, वा अत्यधिक चाहनाहरू हुँदैनन्। उसले आफ्नो सबथोक परमेश्वरलाई सन्तुष्ट पार्नमा लगाउँछ। ठ्याक्कै पत्रुसले जस्तै—उनले पावलले जति काम नगरे पनि, उनी परमेश्वरको न्याय र सजाय स्विकार्न, आफूलाई चिन्न, अनि परमेश्वरलाई चिन्न र प्रेम गर्न खोज्न सक्थे। अन्ततः, उनी मृत्युपर्यन्त समर्पित रहे, परमेश्वरको खातिर क्रूसमा उँधोमुन्टो टाँगिए, परमेश्वरको महिमा गर्न गवाही दिए। आफ्नो यस्तो आस्था बोकेर, सधैँ नीच मनसाय र चाहना लिएर, मैले जति नै वर्ष विश्वास गरे पनि कहिल्यै परमेश्वरको अनुमोदन प्राप्त गर्नेथिनँ। अन्त्यमा परमेश्वरले मलाई इन्कार र घृणा मात्र गर्नुहुनेथ्यो। पश्चात्ताप नगरी, र आफ्नो आस्था र कर्तव्यमा सौदाबाजी गरिरहेर, मैले अन्ततः सत्यता वा स्वभाव परिवर्तन हासिल गर्नेथिनँ। म पावलजस्तै, परमेश्वरद्वारा खुलासा हुनेथेँ र हटाइनेथेँ।

मैले परमेश्वरको यो वचन सम्झेँ: “मानिसको कर्तव्य र उसले आशिष्‌हरू पाउँछ कि सन्ताप भोग्छ भन्‍ने बीच कुनै सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा बहानाहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। यो मोडमा, मैले कर्तव्य भनेको सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कुरा हो, र यो आशिष् पाउनु वा दुर्भाग्य भोग्नुसँग सम्बन्धित छैन भन्ने बुझेँ। मैले परमेश्वरको घरको सदस्यको रूपमा, उहाँसँग सर्तहरू राख्नु हुँदैनथ्यो। मैले आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ। यो परिवारजस्तै हो। छोराछोरीले परिवारका लागि आफूले सक्ने काम गर्दा, के साँच्चै आफ्ना आमाबुबाबाट इनामस्वरूप पैसा माग्न मिल्छ? त्यो त परिवारको सदस्य नभई कामदार हुनेछ। परमेश्वरको परिवारको सदस्य र सृजित प्राणीको रूपमा, सृष्टिकर्ताका लागि थोरै कर्तव्य निभाउनु नै मैले गर्नुपर्ने कुरा हो, यो सही र स्वाभाविक हो। मैले सर्त वा इनामबारे नसोची आफ्नो भक्ति देखाउनुपर्छ। मैले गर्नुपर्ने कुरा त्यही हो। अब म बुढी भएँ र मेरो स्वास्थ्य राम्रो छैन, तर परमेश्वरले मलाई त्याग्नुभएको छैन। उहाँ अझै आफ्ना वचनमार्फत मलाई भरणपोषण र मार्गदर्शन गर्नुहुन्छ। म विवेकहीन हुन मिल्दैन, र मैले नकारात्मक स्थितिमा जिइरहन र आफूलाई दु:खी बनाउन मिल्दैन। मैले उचित मनोवृत्ति राख्नुपर्छ, अनि आफ्नो मानसिक हालत ठिक हुँदा र आफूमा समझ हुँदा नै, आफूलाई चिन्न र स्वभाव परिवर्तन पछ्याउन परमेश्वरको वचन अझ बढी पढ्नुपर्छ, अहिले आफूले गर्न सक्ने जस्तोसुकै कर्तव्य निभाउनुपर्छ, र परमेश्वरका नियम र बन्दोबस्तमा समर्पित हुनुपर्छ। मैले परमेश्वरको वचनमा अरू केही पढेँ: “हरेक व्यक्तिको हकमा कुरा गर्दा, तेरो क्षमता, तेरो उमेर, वा तैँले परमेश्‍वरमा विश्‍वास गरेको वर्ष सङ्ख्या जे-जति भए पनि, तैँले सत्यता पछ्याउने मार्गतर्फ प्रयास लगाउनुपर्छ। तैँले कुनै पनि वस्तुगत कारणलाई जोड दिनु हुँदैन; तैँले निःसर्त सत्यता पछ्याउनुपर्छ। झारा टार्दै नबस्। मानौँ तैँले सत्यता पछ्याइलाई आफ्नो जीवनमा ठूलो मामलाका रूपमा लिन्छस्, र यसतर्फ लागिपर्छस् र मेहनत गर्छस्, र तँ सायद अन्त्यमा आफ्नो पछ्याइमा आफूले आशा गरे जति सत्यता प्राप्त गर्न र त्यससम्म पुग्‍न असफल हुन्छस्, तर परमेश्‍वरले सत्यताको तेरो पछ्याइमा तैँले राख्ने मनोवृत्ति र तेरो निष्कपटताका आधारमा तँलाई उचित गन्तव्य दिनेछु भनी भन्‍नुहुन्छ—त्यो कति अद्भुत हुनेछ! अहिलेका लागि तेरो गन्तव्य वा परिणाम कस्तो हुनेछ, अनि के हुनेछ र भविष्य कस्तो छ, वा तँ प्रकोपबाट जोगिन सक्‍नेछस् र मर्नेछैनस् कि भन्ने कुरामा केन्द्रित नहो—यी कुराहरूका बारेमा सोच्‍ने वा यी कुराहरूका बारेमा अनुरोधहरू गर्ने नगर्। परमेश्‍वरका वचन र उहाँका मागहरूमा मात्रै ध्यान केन्द्रित गर्, र सत्यता पछ्याउन, आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्न, परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न पुग्, र परमेश्‍वरको छ हजार वर्षको प्रतीक्षा, र उहाँको छ हजार वर्षको अपेक्षाअनुरूप जिउने गर्। परमेश्‍वरलाई अलि सान्त्वना दे; तँमा आशा छ भन्‍ने उहाँलाई देखा, र तँमा उहाँका कामना साकार हुन दे। मलाई भन्, यदि तैँले त्यसो गरिस् भने के परमेश्‍वरले तँलाई अन्यायपूर्वक व्यवहार गर्नुहुनेछ? अवश्यै गर्नुहुनेछैन! अनि यदि अन्तिम नतिजाहरू तैँले कामना गरेजस्तो छैनन् भने पनि, सृजित प्राणीका रूपमा तैँले त्यो तथ्यलाई कसरी लिनुपर्छ? तँ कुनै व्यक्तिगत योजनाहरू नराखी, सबै कुरामा परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धमा समर्पित हुनुपर्छ। के सृष्टि गरिएको प्राणीले लिनुपर्ने दृष्टिकोण यही होइन र? (हो।) यो मानसिकता हुनु सही हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। मानिसले किन सत्यता पछ्याउनै पर्छ)। “सत्यता पछ्याउनु मानव जीवनको ठूलो मामला हो। सत्यता पछ्याउनुजत्तिको महत्त्वपूर्ण अरू कुनै कुरा छैन, र महत्तवको हिसाबमा सत्यता प्राप्त गर्ने कार्यलाई अरू कुनै मामलाले उछिन्दैन। के आजको दिनसम्‍म परमेश्‍वर पछ्याउनु सजिलो भयो र? छिटो गर्, र सत्यता पछ्याउने कार्यलाई महत्त्वको विषय बना! आखिरी दिनहरूमा गरिने कामको यो चरण परमेश्‍वरले आफ्‍नो छ हजार वर्षे व्यवस्थापन योजनाअन्तर्गत मानिसहरूमा गर्नुहुने कामको सबैभन्दा महत्त्वपूर्ण चरण हो। सत्यता पछ्याउने कार्य परमेश्‍वरले आफ्‍ना चुनिएका मानिसहरूबाट गर्ने सबैभन्दा ठूलो अपेक्षा हो। उहाँले के आशा गर्नुहुन्छ भने, मानिसहरू सही मार्गमा हिँड्न सकून्, अर्थात् सत्यता पछ्याउन सकून्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। मानिसले किन सत्यता पछ्याउनै पर्छ)। यो पढ्दा म साँच्चै प्रेरित र प्रभावित भएँ। परमेश्वरले हामीलाई उहाँको इच्छा, साथै उहाँले मानिसबाट माग र आशा गर्ने कुराबारे सबै बताउनुभएको छ। उहाँ हामीमा कति धेरै वा थोरै क्षमता छ, हामी कुन उमेरका हौँ, वा हामीले कतिवटा कर्तव्य निभाएका छौँ भन्ने चासो राख्नुहुन्न, उहाँ त हामी सत्यता पछ्याउँछौँ कि पछ्याउँदैनौँ, आफ्नो आस्थामा समर्पित छौँ कि छैनौँ, र आज्ञाकारी छौँ कि छैनौँ भनेर मात्र चासो राख्नुहुन्छ। अनुग्रहको युगमा जस्तै, एउटी विधवाले दुइटा स-साना सिक्का मात्र चढाउँदा पनि उनले परमेश्वरको अनुमोदन पाइन् किनभने उनले आफ्नो सबथोक उहाँलाई चढाइन्। परमेश्वरले उनको सच्चापन देख्नुभो। अहिले म बुढी भए पनि र आफूलाई कुनै रूपमा युवाहरूसँग दाँज्न नमिले पनि, म नकारात्मक छैनँ। म अघि बढ्न र हरेक दिनलाई सदुपयोग गर्न चाहन्छु। मैले आफूमा समझ र विवेक हुँदा नै, साँच्चै अझ बढी सत्यता पछ्याइरहेकी र परमेश्वरका वचन पढिरहेकी, आफूले बुझ्ने हर स-साना कुरा अभ्यास गरिरहेकी, र कर्तव्यमा सक्दो गरिरहेकी हुनुपर्छ। त्यसपछि म मर्दा, मेरो हृदय शान्त हुनेछ अनि मलाई जीवनभर सँभाल्नुभएकोमा म परमेश्वरलाई निराश पार्नेछैनँ। परमेश्वरले मलाई आखिरी दिनहरूमा जन्मन दिनुभो। मैले उहाँका आखिरी दिनहरूको काम ६० वर्षको उमेरमा स्विकार्न, परमेश्वरको देखापराइको गवाही दिन, आफैले उहाँको सोर सुन्न, अनि उहाँका वचनको न्याय र सजाय अनुभव गर्न सकेँ; यो मेरा लागि परमेश्वरको ठूलो अनुग्रह र आशिष् थियो। यदि म अझै बुढेसकालको कारण दु:खी भएर जिइरहेकी, आतुरी नगरी सत्यता पछ्याउने यो मौका नछोपेकी भए, मैले परमेश्वरको काम अनुभव गर्ने र मुक्ति पाउने मौका गुमाउनेथेँ। यदि मैले पछि सत्यता पछ्याउन चाहेकी भए, मेरो मौका गुम्नेथ्यो, र पछुताउन अति ढिला भइसकेको हुनेथ्यो। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! म पश्चात्ताप गर्न तयार छु। म अब नकारात्मकता, चिन्ता, र गलतफहमीमा जिउन चाहन्नँ। म तपाईंका वचनहरू अभ्यास गर्न, जीवित छँदै सत्यता पछ्याउन सक्दो गर्न, र जीवनमा सही मार्ग लिन चाहन्छु। म तपाईंका वचनबाट आफूले बुझ्ने सबै कुरा अभ्यास गर्न, आफ्नो कर्तव्य निभाउन, र तपाईंको इच्छा पूरा गर्न चाहन्छु। मैले आशिष् पाए पनि वा दुर्भाग्य भोगे पनि, म तपाईंको शासन र बन्दोबस्तहरूमा समर्पित हुन तयार छु।”

त्यसउप्रान्त, मैले परमेश्वरका वचन पढ्नमा र तिनलाई अझ बढी मनन गर्न ध्यान दिएकी छु। मण्डलीलाई मैले निभाउनु आवश्यक पर्ने जस्तोसुकै कार्तव्यमा म आफ्नो सबथोक लगाउँछु। मैले वर्षौँ विश्वासीको रूपमा रहेर केही अनुभव ज्ञान पाएकी छु, र मैले परमेश्वरको गवाही दिन लेखहरू लेख्ने अभ्यास गरेकी छु। विशेष गरी अहिले सुसमाचार सुनाउनेहरूलाई धार्मिक मानिसका धारणाहरू हटाउन लेखहरू चाहिन्छ, र म लामो समयदेखि आस्थामा रहेको व्यक्तिको रूपमा, केही लेख लेख्न, र राज्य सुसमाचार फैलाउन आफूले सक्ने काम गर्न रुचाउँछु। यसबाहेक, ममा अलि अहङ्कारी स्वभाव भएकाले र आफ्नो अहङ्कारको कारण आफनो परिवारलाई नियन्त्रित गर्ने झुकाव भएकाले म आफ्नो भ्रष्टताको यो पक्ष हटाउन, र मेरो परिवारसामु सामान्य मानवतामा जिउन सत्यता खोजिरहेकी छु। म ब्रदर-सिस्टरहरूसँग आफ्नो सामान्य अन्तरक्रियाहरूमा, कसैले सिद्धान्तविरोधी काम गरेको देख्दा, यदि मलाई उसलाई चिढ्याउन सक्ने वा उसमा मेरो खराब छाप पार्न सक्ने कुरा भन्न डर लागेमा, म शैतानी दर्शनद्वारा जिउनेछैनँ भनी परमेश्वरलाई प्रार्थना गर्छु, र म सत्यता अभ्यास गर्न, मण्डलीको हित कायम राख्न, र केवल मान्छे खुसी पारिहिँड्ने व्यक्ति नबन्न ध्यान दिन्छु। अहिले म हर स-साना कुरामा सत्यता अभ्यास गर्न आफूलाई तालिम दिइरहेकी छु, र मलाई निकै शान्ति र आनन्द लाग्छ। पीडा, फिक्री र चिन्तामुक्त हुन सकेको पूर्णतया परमेश्वरको मार्गदर्शन र अनुग्रहको कारणले गर्दा हो। म परमेश्वरप्रति एकदमै कृतज्ञ छु! सारा महिमा सर्वशक्तिमान् परमेश्वरलाई होस्!

अघिल्लो: ५६. मेरो कर्तव्य कसरी लेनदेन बन्यो

अर्को: ५८. एक जना सरकारी अधिकारीको निर्णय

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्