३९. म यो मार्गमा दृढ छु
केही वर्ष पहिले सुसमाचार प्रचार गरेको निहुँमा मलाई प्रहरीले पक्राउ गरेको थियो। कम्युनिस्ट पार्टीले मलाई “पन्थ सङ्गठन निर्माण गरी प्रयोग गरेर कानुन कार्यान्वयनमा बाधा दिएको” भनेर तीन वर्ष जेल हाल्यो। बाहिर निस्केपछि, म अब फेरि भेलाहरूमा सहभागी भएर मेरो कर्तव्यलाई जारी राख्न सक्छु भन्ने ठानेकी थिएँ। पुलिसले मेरो निगरानी गरी मेरो स्वतन्त्रतालाई सीमित गर्नेछ भनेर मैले कल्पना पनि गरेकी थिइनँ। जब मेरो बुबाआमाले मलाई मेरो आवास दर्ताको लागि प्रहरी चौकी लैजानुभयो, तब मलाई हेर्ने अफिसरले जङ्गिँदै भन्यो, “तैँले यो ठाउँ छोडेर जान चाहेमा मलाई रिपोर्ट गर्नुपर्छ, र तँलाई पाँच वर्षसम्म यो सहर छोड्न वा विदेश जान निषेध गरिएको छ। तैँले आफ्नो विश्वासको अभ्यास गर्न वा भेलाहरूमा उपस्थित पाउनेछैनस्। यदि मैले तँ धार्मिक भेलामा गएको थाहा पाएँ भने, तँलाई तत्कालै फेरि जेलमा कोचिदिनेछु। तँ बाहिर निस्कन्छु भनेर नसोचे पनि हुन्छ!” म फेरि पक्राउ पर्ने डरले मेरो बुबाआमाले मैले परमेश्वरका वचनहरू नपढेको वा कुनै पनि दाजुभाइ-दिदीबहिनीलाई सम्पर्क नगरेको सुनिश्चित गर्न मेरी दिदीलाई मेरो निगरानी गर्न लगाउनुभयो। मेरी दिदीले मलाई सेल्स क्लर्कको जागिर खोजिदिइन्, र म घर आउन ढिला भो भने उहाँले मलाई कल गरेर “तँ कहाँ छेस्? के गरिरहेकी छेस्?” भनेर सोध्थिन्। एकपटक मैले मेरो ट्याब्लेटमा परमेश्वरको वचनहरू पढिरहेकी थिएँ, त्यस बेला मेरी दिदीले देखेर मैले परमेश्वरको वचन पढिरहेकी हो कि होइन भनेर केरकार गरिन्, र मबाट ट्याबलेट खोस्ने प्रयास समेत् गरिन्। मैले हतारहतार भनेँ, “म उपन्यास पढ्दैछु,” अनि उनले मलाई एक्लै छोडिदिइन्। त्यसपछिबाट, परमेश्वरका वचनहरू पढ्नको लागि म मेरो कम्बलमुनि लुक्नुपर्थ्यो, त्यो पनि तिनी निदाएपछि।
एकदिन, मेरी दिदीले मैले टिपोट गरेकी परमेश्वरका केही वचनहरू भेट्टाइन्, र मलाई प्रश्न गरिन्, “तँमा अझै विश्वास छ अनि भेलाहरूमा उपस्थित भइरहेकी छेस्, होइन त?” मैले रिसाउँदै भनेँ, “परमेश्वरमा विश्वास गर्नु र आराधना गर्नु सही र उचित कुरा हो। मलाई बाधा नदिनुहोस्।” त्यसपछि उनले हतारहतार हाम्री जेठी दिदीलाई कल गरिन्, जेठी दिदीले ढोकाबाट छिर्नेबित्तिकै मलाई थप्पड़ लगाइन् र चिच्याउँदै भनिन्, “तैँले कसरी अझै विश्वास गर्ने आँट गरिस्? तँ जेल परेदेखि हरेक दिन आमा रोइरहनु भएको छ! रुँदारुँदा उहाँको आँशु सुकिसक्यो। यदि तँलाई फेरि जेल लगियो भने उहाँलाई के हुनेछ सोचेकी छेस्? के तैँले यो परमेश्वरलाई छोडेर तुरुन्तै आमालाई खुशीसाथ बस्न दिन सक्दिनस्?” उनको कुरा सुनेर मलाई सहनै गाह्रो भयो र मेरो अनुहार हुँदै आँसु झरिरह्यो। म सानो छँदा देखि नै मेरी आमाले मलाई धेरै माया गर्दै आउनुभएको थियो, र अहिले म ठूली भएपछि, मैले उहाँलाई मेरो बारेमा चिन्ता गर्ने बनाइरहेकी थिएँ। यदि मलाई फेरि पक्राउ गरियो भने, के उहाँले सम्हाल्न सक्नुहुनेछ? मलाई अलिक कमजोर महसुस भइरहेको थियो, त्यसकारण मैले परमेश्वरलाई मेरो हृदयको रक्षा गर्न अनुरोध गर्दै तुरुन्तै प्रार्थना गरेँ। पछि, मैले परमेश्वरका वचनहरूमा यो देखेँ: “परमेश्वरले यो संसार सृष्टि गर्नुभयो र यसमा उहाँले जीवन दिनुभएको जीवित प्राणी मानिसलाई ल्याउनुभयो। पछि मानिसको आमाबुबा र नातेदारहरू भए, अनि ऊ एकलो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै उसलाई परमेश्वरको विधिभित्र रहनलाई निर्धारित गरिएको थियो। परमेश्वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीहरूलाई वृद्धि गराएर वयस्कमा पुर्याउँछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। मेरो हरेक सास परमेश्वरबाट नै आउँछ। म हुर्कँदै गर्दा परमेश्वरले नै मेरो हेरचाह र रक्षा गरिरहनुभएको थियो। मप्रति जोकोही दयालु वा सहयोगी हुन्छ भने त्यो परमेश्वरले नै व्यवस्था गर्नुभएको हो। म जन्मेको परिवार र मैले पाएको बाबुआमा त्यो पनि परमेश्वरले नै निर्णय गरी व्यवस्था गर्नुभएको हो। मैले परमेश्वरलाई धन्यवाद दिनुपर्छ र उहाँको प्रेमको ऋण तिर्नुपर्छ, जसको कृपाले कुनै घटनाविना म हुर्कन सकें र आजको दिन देख्न पाउनेगरी बाँच्न पाएकी छु। मेरो परिवारप्रतिको भावनाले यदि मैले परमेश्वरलाई इन्कार गरें वा उहाँलाई धोका दिएँ भने त्यो लाजमर्दो कुरा हुनेछ। मेरी आमाले मेरो चिन्ता गर्नुभयो र उहाँको स्वास्थ्य स्थिति खस्कँदै गएको थियो। के यो सबै कम्युनिस्ट पार्टीको कारणले नै भएको थिएन र? यदि तिनीहरूले मलाई पक्राउ गर्ने र सताउने नगरेका भए मेरो बुबाआमा डराउनुपर्ने थिएन। कम्युनिस्ट पार्टीले मैले परमेश्वरलाई धोका दिओस् भन्ने चाहन्छ। तर म यसका युक्तिहरूलाई सफल हुन दिनेछैन। यो सोचेपछि, मेरो सङ्कल्प फेरि जाग्यो। मेरो परिवार मेरो बाटोमा जति धेरै खडा भए पनि, मैले परमेश्वरमा विश्वास गर्नुपर्छ भन्ने मलाई थाहा भयो। त्यसपछि, मैले भेलामा सहभागी हुँदै र सुसमाचार प्रचार गर्दै मेरो जागिरलाई निरन्तरता दिएँ।
फेब्रवरी २०१७ मा, एकदिन बिहान म काममा जान तयार भइरहेकी थिएँ, त्यहीबेला एउटा फोन आयो। कुनै चेन नाम गरेको राजनीति तथा कानूनी मामिला आयोगका शाखा प्रमुखले मलाई भन्यो: “परमेश्वरमा विश्वास गर्दिनँ भन्ने कागज हस्ताक्षर गर्न दुई दिनभित्रमा आउनू। पक्राउ परी रिहाइ हुने अरू सबै स्थानीय विश्वासीहरूले हस्ताक्षर गरिसके, बाँकी तपाईं मात्र हुनुहुन्छ।” यो सुनेपछि मलाई निकै रिस उठ्यो। मेरो विश्वासमा मैले भेलामा सहभागी हुने र परमेश्वरका वचनहरू पढ्ने मात्र गरिरहेकी छु, तर तिनीहरूले मलाई यसको लागि जेलमा हाले, यातना दिए र जबरजस्ती मेरो दिमाग भुट्ने प्रयास गरे। अब रिहाइ भइसकेपछि पनि तिनीहरू अझै मेरो निगरानी गरिरहेका छन् र मैले मेरो विश्वास त्यागेको भन्ने कागजमा सही गर्न जबरजस्ती गर्दैछन्। परमेश्वरलाई मैले धोका दिऊँ भनेर तिनीहरूले जे पनि गर्नेछन्। तिनीहरू साँच्चै नै घृणित र दुष्ट छन्। म शैतानको चाललाई सफल हुन दिनेछैन। तर त्यसपछि मलाई लाग्यो, “यदि मैले तिनलाई म हस्ताक्षर नगर्ने भनी बताएँ भने, के त्यो राजनीति तथा कानूनी मामिला आयोगले मलाई फेरि जेल हाल्नेछ त? म फेरि जेलमा जान र त्यो अमानवीय जीवन जिउन चाहन्न।” यो सोचेर मैले उनलाई भनेँ: “म अर्को दुई दिनसम्म काममा व्यस्त छु र मसँग समय छैन। म केही दिनमा आउँछु।” तर अचम्म, भोलिपल्ट बिहान चीफ चेनले यसो भन्दै मेसेज पठाए: “तपाईंको स्वास्थ्य बीमाको कार्ड आएको छ। आजै आएर लैजानुहोस्।” मैले मनमनै सोचेँ: “मैले कहिल्यै स्वास्थ्य बीमाको कार्डको लागि निवेदन दिएकी छैन। के यो शैतानको चलाकी हो?” मैले परमेश्वरले भन्नुभएको यो वचन सम्झेँ: “तिमीहरू सँधै जागा र पर्खिरहनुपर्छ, र तिमीहरूले मेरो सामु अझै बढी प्रार्थना गर्नुपर्छ। तिमीहरूले शैतानका विभिन्न षड्यन्त्रहरू र धूर्त चलाकीहरूलाई पहिचान गर्नुपर्छ, आत्माहरूलाई चिन्नुपर्छ, मानिसहरूलाई जान्नुपर्छ, र हरेक प्रकारका मानिसहरू, घटनाहरू, र थोकहरूलाई छुट्याउन सक्नुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १७)। परमेश्वरका वचनहरूले मलाई शैतानका धेरै चलाकीहरू हुन्छन् भन्ने स्मरण गराए। मबाहेक पक्राउ परेर रिहाइ भएका सबै स्थानीय विश्वासीहरूले हस्ताक्षर गरिसकेका छन् भनेर चीफ चेनले म त्यहाँ जाओस् भनेर छल गर्ने प्रयास गरिरहेका थिए। त्यो चलाकी असफल भएको हुनाले मलाई लोभ्याउन उनले स्वास्थ्य बीमा कार्डको प्रयोग गरे। तिनी साँच्चै नै धूर्त रहेछन्। यो सबै कुरालाई विचार गरेर मैले नजाने निर्णय गरेँ।
त्यसपछि भोलिपल्ट बिहान, मेरो बुबा मैले काम गर्ने ठाउँमा आउनुभयो। हतारिंदै उहाँले मलाई भन्नुभयो, “हिजो बिहानै चीफ चेनले फोन गरेर उनको अफिस बोलाए। उनले मलाई तिमीले अझै आफ्नो विश्वासको अभ्यास गरिरहेकी छौ कि छैनौ भनेर नगरले विशेष अनुसन्धान गरिरहेको छ, र तिमीले विश्वास गर्दिनँ भनी उल्लेख गरेर कागजमा हस्ताक्षर गर्यौँ भने तिमीले अरूले जस्तै सामान्य जीवन जिउन सक्नेछौ, र कसैले पनि तिम्रो निगरानी गर्ने वा तिमीलाई खोज्ने छैन भनी बताए। तर तिमीले हस्ताक्षर गरेनौ भने, तिमीलाई पक्राउ गरेर सुधारको लागि जेलमा पठाइनेछ! मेरो कुरा सुन—तिम्रो विश्वासलाई त्यागिदेऊ र गएर आफ्नो नाममा हस्ताक्षर गर।” यो सुनेर ममा रिस र घृणा जाग्यो। मैले बुबालाई भनेँ: “बुबा तपाईंलाई थाह छ, परमेश्वरमा विश्वास गर्नु सही मार्ग हो। सतावटमा पर्छु भनी डराएर म कसरी मेरो विश्वास त्यागूँ? अहिले विपत्तिहरू झन्-झन् गम्भीर भइरहेका छन्। मुक्तिदाता सर्वशक्तिमान् परमेश्वरले मानिसलाई पाप र विपत्तिहरूबाट मुक्ति दिन सत्यता व्यक्त गर्नुभएको छ। मुक्ति पाउने हाम्रो यो एकमात्र मौका हो। विश्वास नगरेमा हामी पक्कै पनि विपत्तिमा नष्ट हुनेछौं। कम्युनिस्ट पार्टीले उन्मत्त रूपमा विश्वासीहरूलाई पक्राउ गर्छ र सताउँछ, जबरजस्ती परमेश्वरलाई धोका दिन लगाउँछ, ताकि तिनीहरूले योसँगै नरकमा सजाय पाऊन्। मेरो नाममा हस्ताक्षर गर्नुको अर्थ परमेश्वरलाई धोका दिनु हो र अन्त्यमा म नष्ट हुनेछु! म त्यसमा हस्ताक्षर गर्न सक्दिनँ।” मेरो बुबा डराउँदै र आत्तिदै मलाई भन्नुभयो: “तिमीले हस्ताक्षर गरेनौ भने, प्रहरीले तिमीलाई सोझै जेलमा हाल्नेछ। तिमी साँच्चै फेरि त्यहाँ कष्ट भोग्न चाहन्छौ? यदि तिमी आफ्नो बारेमा सोच्दैनौ भने, तिम्री सानी बहिनीको बारेमा त विचार गर। कम्युनिस्ट पार्टीले विश्वासीको सम्पूर्ण परिवारलाई निशाना बनाउँछ। तिम्री जेठी दिदीलाई हेर। तिनले टिचर्स कलेजबाट दीक्षान्त पाएकी छिन्। तर तिम्रो विश्वासको कारण तिनी राजनीतिक मूल्याङ्कनमा फेल भइन्। तिनले प्रमुख इलेमेन्टरी स्कुलमा जागिर पाउन सकिनन्। तिम्री बहिनी यो टिचर्स कलेजबाट दीक्षान्त लिँदैछिन् र जागिर खोज्नेछिन्, अनि तिमीले हस्ताक्षर गरेनौ भने, तिनले राजनीतिक मूल्याङ्कन पास गर्नेछैनन् र अवश्य नै राम्रो जागिर पाउनेछैनन्। के तिमीले उनको भविष्य बरबाद गरिरहेकी छैनौ? मेरो कुरा सुन, दाँत बाँधेर भए पनि हस्ताक्षर गर। के तिमीले गुप्त रूपमा विश्वास गर्न सक्दैनौ र? तिमी किन यति जिद्दी हुन्छौ?” मेरो बुबाको थकित अनि आँसुले भरिएको अनुहारमा हेरेँ, उहाँ निकै चिन्तित हुनुहुन्थ्यो, उहाँको ओठ सुकेको थियो, मलाई अत्यन्तै नराम्रो र दोधार भयो। यदि मैले हस्ताक्षर गरेँ भने, मैले परमेश्वरलाई धोका दिइरहेकी हुन्थेँ र ममा पशुको छाप लाग्नेथ्यो; यो परमेश्वरको बदनाम गर्ने छाप हो, र उहाँले मलाई अनुमोदन गर्नुहुनेछैन। तर यदि मैले हस्ताक्षर गरिनँ भनेँ, मेरी बहिनी राजनीतिक मूल्याङ्कनमा पास हुनेछैनन् र उनको भविष्यमा असर पर्ने थियो। मेरो बाँकी जीवनभरि मेरो सारा परिवारले मलाई घृणा गर्नेछन्। अनि मैले हस्ताक्षर नगर्दा प्रहरीले मलाई फेरि जेलमा हालेर यातना दियो भने? उनीहरूले मलाई पिटेर मारे भने? यो सबै कुराको बारेमा विचार गर्दा मलाई छातीमा छुरा गाडिएको जस्तै अनुभव भयो। के गर्ने मलाई थाहा थिएन। मैले मेरो बुबालाई भनेँ: “मलाई यसमा विचार गर्न दिनुस्।” उहाँ जानुभएपछि, आखाँभरि आँसु पारेर परमेश्वरसँग प्रार्थना गरेँ: “हे परमेश्वर, मेरो हृदय कमजोर छ, बिन्ती छ मलाई विश्वास र शक्ति दिनुहोस् र मेरो गवाहीमा दह्रिलो गरी खडा हुन अगुवाइ गर्नुहोस्।”
प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “जब मानिसहरूलाई मुक्ति दिन बाँकी नै हुन्छ, तिनीहरूको जीवनलाई बारम्बार शैतानले बाधा दिने र नियन्त्रण गर्नेसमेत गरेको हुन्छ। अर्को शब्दमा भन्दा, मुक्ति नपाएका मानिसहरू शैतानका कैदीहरू हुन्, तिनीहरूसँग स्वतन्त्रता हुँदैन, तिनीहरूलाई शैतानले त्यागेको हुँदैन, तिनीहरू परमेश्वरको आराधना गर्न योग्य वा हकदार हुँदैनन्, र तिनीहरूलाई शैतानले नजिकबाट खेदो र भयानक आक्रमण गरेको हुन्छ। त्यस्ता मानिसहरूसँग बताउन सकिने कुनै खुसी हुँदैन, तिनीहरूसँग बताउन सकिने सामान्य अस्तित्वको कुनै अधिकार हुँदैन, र यसबाहेक तिनीहरूसँग बताउन सकिने कुनै मर्यादा हुँदैन। यदि तँ खडा भएर परमेश्वरप्रतिको आफ्नो विश्वास र उहाँप्रतिको समर्पण र भयलाई जीवन र मृत्युको लडाइँ लड्ने हतियारको रूपमा प्रयोग गर्दै शैतानसित युद्ध गरिस् भने मात्र तैँले शैतानलाई पूर्ण रूपमा पराजित गर्नेछस्, र त्यसलाई पिठिउँ फर्काएर भाग्ने र तँलाई देख्दा डरछेरुवा बन्ने तुल्याउन सक्छस्, ताकि त्यसले तेरो विरुद्धका आक्रमण र आरोपहरूलाई पूर्ण रूपमा त्यागोस्—तब मात्र तैँले मुक्ति र स्वतन्त्रता पाउँछस्। यदि तँ शैतानबाट पूर्ण रूपमा अलग हुन चाहन्छस् तर शैतानलाई पराजित गर्न मदत गर्ने हातहतियारहरूद्वारा सुसज्जित छैनस् भने तँ अझै पनि खतरामै छस्। समय बित्दै जाँदा, जब तँ शैतानद्वारा अत्यन्तै धेरै सताइएर तँमा अलिकति पनि शक्ति बाँकी रहँदैन, जब तँ अझै पनि गवाही दिन असमर्थ रहन्छस्, जब तैँले अझै पनि आफूलाई आफूविरुद्धका शैतानका आरोप र आक्रमणहरूबाट पूर्ण रूपमा स्वतन्त्र तुल्याएको हुँदैनस्, तब तँमा मुक्ति पाउने आशा निकै थोरै हुनेछ। आखिरीमा, जब परमेश्वरको कामको समाप्तिको घोषणा गरिनेछ, आफैलाई स्वतन्त्र पार्न नसक्ने गरी तँ अझै पनि शैतानको पकडमै हुनेछस्, र यसरी तँसँग कहिल्यै पनि मौका वा आशा हुनेछैन। अनि, यसको तात्पर्य भनेको, त्यस्ता मानिसहरू पूर्ण रूपमा शैतानको कैदमा परेका हुनेछन् भन्ने हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २)। परमेश्वरका वचनहरूको बारेमा विचार गरेपछि, कम्युनिस्ट पार्टीको सतावट र मेरो परिवारको हस्तक्षेप परीक्षाहरू र शैतानका आक्रमण हुन् भन्ने मैले बुझेँ। मैले शैतानले अय्यूबलाई परीक्षा गरेको बारेमा विचार गरेँ। तिनीसँग भएको सबै कुरा तिनीबाट चोरियो र आफ्ना छोराछोरी समेत गुमाए। तिनको शरीर घाउखटिराले भरिएको थियो, तिनकी आफ्नै पत्नीले तिनलाई आक्रमण गरिन् र परमेश्वरलाई त्यागेर मर्नु भनिन्, तर अय्यूबले परमेश्वरसँग कहिल्यै गुनासो गरेनन् वा उहाँलाई कहिल्यै इन्कार गरेनन्। अय्युबले यसो भन्दै उहाँको प्रशंसा गरिरहे: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। अय्यूबले परमेश्वरमाथिको आफ्नो विश्वास र उहाँको डरमार्फत शैतानका परीक्षाहरूमाथि विजय प्राप्त गरे। परमेश्वरको लागि सानदार गवाही दिँदै शैतानलाई लाजमा पारे अनि हराए। म जेलबाट छुटेपछि कम्युनिस्ट पार्टीले मेरो परिवारको प्रयोग गरी मेरो विश्वासत्यागको कागजमा हस्ताक्षर गर्न दबाब दिने प्रयास गर्यो। यो शैतानको परीक्षा र आक्रमण नै थियो। मलाई परमेश्वरलाई धोका दिन लगाउन शैतानले परिवारप्रतिको मेरो प्रेम र बहिनीको भविष्यप्रतिको मेरो चिन्तालाई प्रयोग गरिरहेको थियो। यदि मैले परमेश्वरलाई धोका दिएर मेरो परिवार र देहसुखका चासोहरूको प्रतिरक्षा गरेकी भए, के मे शैतानको कैदमा हुनेथिइनँ र? म शैतानका चलाकीहरूमा पर्नु हुँदैन, बरु अय्यूबका उदाहरण पछ्याएर परमेश्वरको गवाहीमा खडा भएर शैतानलाई लज्जित पार्नुपर्छ भन्ने मलाई थाहा थियो।
पछि मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढें: “शैतान जति नै ‘शक्तिशाली’ भए तापनि, त्यो जति नै दुस्साहसी र महत्त्वाकांक्षी भए तापनि, हानि पुऱ्याउने यसको क्षमता जति नै ठूलो भए पनि, त्यसले मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने उपायहरू जति नै धेरै भए पनि, त्यसले मानिसलाई विचलित बनाउने त्यसका चलाकी र युक्तिहरू जति नै चतुर भए तापनि, यो जति परिवर्तनीय स्वरूपमा अस्तित्वमा रहे तापनि, यसले एउटै जीवित प्राणीलाई सृष्टि गर्न कहिल्यै सकेको छैन, सबै थोकको अस्तित्वको लागि व्यवस्था वा नियमहरू कहिल्यै निर्माण गर्न सकेको छैन, र सजीव होस् वा निर्जीव होस् त्यसले कुनै पनि वस्तुलाई शासन गर्न र नियन्त्रण गर्न कहिल्यै सकेको छैन। आकाशमण्डल र वायुमण्डलमा, त्योबाट जन्मेको वा त्यसको कारणले अस्तित्वमा रहेको एक जना व्यक्ति वा थोक छैन; त्यसद्वारा शासन गरिएको, वा त्यसद्वारा नियन्त्रण गरिएको एउटै व्यक्ति वा वस्तु छैन। यसको विपरीत, त्यो परमेश्वरको प्रभुत्वमा जिउनु पर्ने मात्रै होइन, तर, त्योभन्दा पनि बढी, त्यसले परमेश्वरका सबै आदेश र आज्ञाहरूलाई पालना गर्नैपर्छ। परमेश्वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्लाउने स्वतन्त्रता समेत छैन, परमेश्वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्। परमेश्वरको नजरमा, शैतान पहाडका लिली फूल, आकाशमा उड्ने चराचुरुङ्गी, समुद्रका माछा, र पृथ्वीका कीराभन्दा सानो छ। सबै थोकको बीचमा रहेको त्यसको भूमिका भनेको सबै थोकको सेवा गर्नु, र मानवजातिको लागि काम गर्नु, अनि परमेश्वरको काम र उहाँको व्यवस्थापन योजनामा सेवा गर्नु हो। त्यसको प्रकृति जस्तोसुकै दुर्भावनापूर्ण भए तापनि, र त्यसको सार जति नै दुष्ट भए तापनि, त्यसले गर्न सक्ने एउटै मात्र कुरा भनेको त्यसको कार्यगत गुणलाई कर्तव्यनिष्ठ भई पालन गर्नु हो: परमेश्वरको सेवामा हुनु, र परमेश्वरको लागि भिन्न धार प्रदान गर्नु। शैतानको सार र स्थान यही नै हो। त्यसको सार जीवनसँग जोडिएको छैन, शक्तिसँग जोडिएको छैन, अख्तियारसँग जोडिएको छैन; त्यो परमेश्वरको सेवा गर्ने मेसिनजस्तै परमेश्वरको हातमा खेलिरहेको हुन्छ!” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १)। यो पढेपछि यसले मलाई परमेश्वरको अख्तियार र सार्वभौमिकताको बारेमा केही अन्तर्दृष्टि प्रदान गर्यो। शैतान जतिसुकै पाशविक भए पनि यो परमेश्वरको हातको खेलौना, उहाँको सेवा गर्ने औजार मात्रै हो। मैले कम्युनिस्ट पार्टीले मलाई पक्राउ गरेको र यातना दिएको कुरा सम्झेँ। जब म देहमा कमजोर थिएँ, परमेश्वरका वचनहरूले मेरो विश्वास दह्रिलो बनाएका थिए र हरेक कठिनाइबाट डोर्याएका थिए। म जेलबाट छुटेपछि चिनियाँ कम्युनिस्ट पार्टीले मलाई निगरानी गरिरह्यो, र तिनीहरूको झुटमा परेर मेरो परिवारले पनि मेरो निगरानी गरी मेरो विश्वासमा बाधा दिए। तर परमेश्वरका वचनहरूको मार्गदर्शनको कारण मैले केही सत्यताहरू बुझेँ, एकपछि अर्को परीक्षामा विजयी भएँ, र परमेश्वरलाई पछ्याउने मेरो सङ्कल्प दह्रिलो भयो। ती सबै कुराबाट मैले के देखेँ भने शैतान त परमेश्वरले उहाँका चुनिएका मानिसहरूलाई सिद्ध पार्न प्रयोग गर्नुहुने औजार मात्रै हो। मैले डराउनुपर्ने कुरा केही थिएन। परमेश्वरले सबै थोकमाथि शासन गर्नुहुन्छ—हरेक व्यक्तिको नियति उहाँकै हातमा छ। मेरो जीवन र मृत्यु परमेश्वरकै हातमा छ। मेरी बहिनीले जागिर पाउँछिन् कि पाउँदिनन्, वा उनको भविष्य कस्तो हुनेछ—यी सबै कुरा परमेश्वरले नै निर्धारित गर्नुहुन्छ। कम्युनिस्ट पार्टीले आफ्नै भवितव्य समेत नियन्त्रण गर्न सक्दैन, तब कसरी मेरो जीवन र मृत्यु, मेरी बहिनीको भविष्यलाई नियन्त्रण गर्न सक्छ र? यदि मलाई कुनै दिन फेरि पुलिसले पक्रिएर यातना दियो भने पनि त्यो परमेश्वरले नै हुन दिनुभकोले गर्दा हुनेछ। मैले परमेश्वरमा भरोसा गर्नुपर्नेछ र गवाही बन्नुपर्नेछ। यदि मैले मेरो आफ्नै जीवन रक्षा गरेकी, मेरो परिवारको हितको चिन्ता गरेकी र परमेश्वरलाई धोका दिएर त्यो कागजमा हस्ताक्षर गरेकी भए त्यो लाजको निशान हुनेथियो। म बाँचे पनि जिउँदो लास हुनेथिएँ। त्यो कुरालाई ध्यानमा राख्दै, मैले शैतानका परीक्षा र आक्रमणलाई प्रतिरोध गर्न, अनि मेरो गवाहीमा दृढ खडा भई शैतानलाई लज्जित पार्न आफैलाई दह्रिलो बनाएँ।
त्यो रात म घर पुगेपछि, तब मेरी दिदीले चिच्याउँदै मलाई भनिन्: “राजनीतिक र कानुनी मामला आयोगले तँलाई तीन दिनको समय दिएको छ। भोलि अन्तिम दिन हो। तँ त्यो कागजमा हस्ताक्षर गर्छेस् कि गर्दिनस्? आमा र बुबा वृद्ध हुँदै गइरहनुभएको छ। उहाँहरूले सधैँ तेरो फिक्री गर्नुहुन्छ। तँ जेलमा हुँदाको तीन वर्षको अवधिमा उहाँहरू बिरलै खानु वा सुत्नु हुन्थ्यो! तँ अब जेलमुक्त भएकी छेस्, तर उहाँहरू अझै पनि डरमा बाँचिरहनुभएको छ। के उहाँहरूलाई यसरी निराश पारेर तँलाई खुशी हुन्छ? तेरो विवेक त छ? कागजमा सही गर्दैमा मर्छेस र?” शैतानले फेरि मेरो परिवारको माध्यमद्वारा आक्रमण गरिरहेको मैले महसुस गरेँ। मलाई परमेश्वरका यी वचनहरू याद आयो: “तँभित्र मेरो साहस हुनुपर्छ, र विश्वास नगर्ने आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिप्रति समर्पित हुनु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि मेरो बुद्धिमा भर पर्; शैतानका कुनै पनि षड्यन्त्रलाई प्रभाव पार्न नदे। मेरो अगाडि तेरो हृदय राख्नको लागि तेरो सम्पूर्ण प्रयास लगा, र म तँलाई सान्त्वना दिनेछु र तेरो लागि शान्ति र खुशी ल्याइदिनेछु। अरू मानिसहरूको अगाडि कुनै निश्चित रूपमा खडा हुने प्रयास नगर्; के मलाई सन्तुष्ट बनाउँदा यसले थप महत्त्व र वजन बोक्दैन र? मलाई सन्तुष्ट बनाउँदा, के तँ अनन्त र आजीवन शान्ति र खुशीले थप परिपूर्ण हुनेछैनस् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०)। परमेश्वरका वचनले मलाई शक्ति दियो। परमेश्वरमाथिको विश्वास सही मार्ग हो र जेजस्तो भए पनि उहाँमा रहेको मेरो विश्वास कायम राख्दै मैले उहाँलाई पछ्याउनुथियो। मलाई मेरो विश्वासबाट टाढा राख्नको लागि कम्युनिस्ट पार्टीले मेरो परिवारलाई भ्रमित पारी दबाब दियो। यसले मलाई सत्यतालाई घृणा गर्ने र परमेश्वरको शत्रु बन्ने कम्युनिस्ट पार्टीको दुष्ट सार झन् स्पष्ट रूपमा देखायो। मैले तिनीहरूलाई हृदयदेखि नै घृणा र तिरस्कार गरेँ। परिवारले नबुझे पनि वा समर्थन नगरे पनि, मैले साक्षीको रूपमा खडा भएर शैतानलाई लज्जित पार्नु थियो। यो सोचेर मैले मेरी दिदीलाई भनेँ: “आमा र बुबाले राम्ररी खाना नखानुभएको वा न्सुत्नुभएको र निरन्तर चिन्ता गरिरहनुभएको के यो सबै पार्टीको गल्ती होइन र? परमेश्वरमा विश्वास गर्नु, असल व्यक्ति बन्नु र सही मार्ग अपनाउनु सही र उचित कुरा हो। तर पार्टीले मलाई पक्राउ मात्रै गरेन, यसले त हाम्रो लागि उम्कने कुनै बाटोसमेत छोडेन। यो पार्टी अपराधी हो!” त्यो क्षणमा मेरी दिदीले यसो भन्दै कल गरिन्: “तँ भोलि हस्ताक्षर गर्छेस् कि गर्दिनस्? तँसँग दुई वटा मात्रै विकल्प छन्। तैँले कि त परमेश्वरमा विश्वास गर्दिनँ अनि काममा गएर पैसा कमाउनेछु र असल जीवन जिउनेछु भन्दै त्यो कागजमा हस्ताक्षर गर्, वा हस्ताक्षर गर्दै नगर, अनि जेलमा कोचिने प्रतीक्षा गर!” मैले दृढ़ भई उत्तर दिएँ: “जेलमा नै फर्केर जानु परे पनि म त्यो कागजमा सही गर्नेछैन!” उनले रिसाउँदै फोन राखिन्, र मेरो अर्की दिदीले मलाई बेवास्ता गरिन्।
पछि, म मेरो कर्तव्य पूरा गर्न सहरबाहिर गएँ। त्यो सम्पूर्ण अनुभवलाई फर्केर सोच्दा, म मेरो हृदयमा स्थिरताको अनुभव गर्छु। मलाई यो मैले गरेको सबैभन्दा राम्रो निर्णय थियो भन्ने लाग्छ, र म यसको बारेमा कहिल्यै पछुताउनेछैन।